‘स्वर्णकथा नेपाली फुटबलको’ पुस्तक सार्वजनिक


काठमाडौँ । नेपाली फुटबलको इतिहास समेटिएको ‘स्वर्णकथा नेपाली फुटबलको’ पुस्तक सार्वजनिक गरिएको छ । खेल पत्रकार हिमेशरत्न बज्राचार्यले लेखेको पुस्तक आइतबार आयोजित एक कार्यक्रममा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान राजुकाजी शाक्यले लोकार्पण गरे ।
बुकहिलले प्रकाशन गरेको उक्त पुस्तकमा नेपाली फुटबलको सुरुआतदेखि १०० वर्ष लामो इतिहासका घटनाक्रम समेटिएको छ । पुस्तकमा नेपालले विसं १९८४ र १९९३ मा दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जित्दाका क्षणहरू पनि समेटिएका छन् ।
नेपाली फुटबल इतिहास समेटेर लेखिएको यो पहिलो नेपाली पुस्तक हो । अखिल नेपाल फुटबल सङ्घका महासचिव किरण राईले लेखकले फुटबलका घटनाक्रमलाई उत्कृष्ट तरिकाले प्रस्तुत गरेको भन्दै नेपाली फुटबलमा पहिलो दस्ताबेजका रूपमा यो पुस्तक भित्रिएको बताए ।
बुकहिलका भूपेन्द्र खड्काले फुटबलमा रुचि हुने हरेक पाठकका साथै विद्यालयस्तरका विद्यार्थीका लागि पुस्तक उपयोगी हुने बताए ।
एथ्लेटिक्स खेलकी धाविका सन्तोषी श्रेष्ठले हरेक क्षेत्रमा साहित्य महत्वपूर्ण हुने भन्दै नेपाली खेलकुदमा पनि खेल साहित्य लेखिनुपर्ने आवश्यकता औँल्याइन् । उनले लेखक बज्राचार्यको नाममै रत्न रहेको र रत्नले लेखेको स्वर्णकथा रत्न जस्तै राम्रो रहेको टिप्पणी गरिन् ।
लेखक बज्रचार्यले पुस्तक लेखन कार्यमा साथ दिने सबैलाई धन्यवाद दिँदै आफू सानैदेखि फुटबलको समर्थक र पछि फुटबलबारे लेख्दै आएकाले पुस्तक निकाल्ने आफ्नो सपना पूरा भएको बताए ।