कोटीहोम साच्चिकै ऐतिहासिक रहेछ : महानायक हमाल


पोखरा । पोखरामा जारी कोटिहोम विराट ज्ञान महायज्ञमा महानायक राजेश हमाल छमछमी नाचेका छन् । महानायक हमाललाई छैटौँ भ्वाइस अफ नेपालका विजेता प्रशेष पाण्डेले साथ दिएका थिए ।
पाण्डेको गीतमा महानायक हमालसँगै कोटिहोमका संकल्पकर्ता बालयोगेश्वर श्रीविजय कृष्णमूर्तिजी र भक्तजन पनि नाचेका थिए । कोटीहोममा महानायक राजेश हमालको सहभागिताले आफूहरु निकै निकै उत्साहित भएको श्रीविजय कृष्णमूर्तिजीले बताए ।
उनले गण्डकीको कोटीहोम निकै सफल भएको दावी गर्दै अन्य प्रदेशमा पनि कोटीहोम गर्ने बताए ।
उक्त अवसरमा महानायक हमालले पवित्र मेलामा उपस्थिति जनाउने मौका दिएकोमा आयोजकप्रति आभार व्यक्त गरे । कोटिहोम दर्शन गर्दै गर्दा उपस्थित भक्तजन उत्साहित भएको पाएको भन्दै उनले सत्मार्गतर्फ लाग्न सके जीवनले सार्थकता पाउने स्पष्ट पारे ।
कोटीहोम साच्चिकै ऐतिहासिक रहेको भन्दै उनले जीवनलाई आनन्दित बनाउन यस्ता खालका कोटिहोम आवश्यक रहेको बताए ।
कोटीहोममा भागवत मञ्जरी राधिका दासीको प्रवचन सुन्न भक्तजन ओइरिएका छन् । सोमबार महानायक राजेश हमालको सहभागिताका साथै राधिका दासीको प्रवचन सुन्न टाढाटाढाबाट भक्तजन पुगेका छन् ।
पोखरा स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटीहोम सञ्चालन भइरहेको छ । कोटीहोम जेठ २६ गतेसम्म सञ्चालन हुनेछ ।