भिजिट भिसा प्रकरणबारे सदनमा जवाफ दिने वातावरण बनाउन गृहमन्त्रीको आग्रह


काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे संसदमै जवाफ दिने बताएका छन् । बुधबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री लेखकले समितिमा सबै सांसदहरूले जवाफ नपाउने भएकाले संसद्मै जवाफ दिने गरी व्यवस्था मिलाइदिन समिति सदस्यसँग आग्रह गरे ।
उनले भने, ‘अरु साथीहरुलाई पनि यो जिज्ञासा भएकाले मेरो प्रार्थना के छ भने हाउसमा बोल्न पाउँ, यो उठेका सबै प्रश्नको जवाफ दिन्छु ।’
भिजिट भिसा प्रकरणमा गृहमन्त्री संलग्न रहेको आरोप लगाउँदै प्रमुख प्रतिपक्ष दलसहितका विपक्षी राजनीतिक दलहरूले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै संसद अवरुद्ध गर्दै आएका छन् ।
बैठकमा नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणको छानबिनका लागि समिति बनाउन माग गरेको छ । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणबारे छानबिनका लागि समिति बनाउन माग गरेका हुन् ।
उनले गृहमन्त्रीले एकैदिन अख्तियारमा कार्यरत प्रहरी अधिकारीको सरुवा गर्ने र फेरि तत्काल फिर्ता गर्ने काम गर्नुले थप शङ्का पैदा भएकाले छानबिन समिति बनाउनुपर्ने बताए ।