उत्तर कोरियासँगको ‘घाउ निको पार्ने’ दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपतिको प्रतिबद्धता


सियोल । दक्षिण कोरियाका नवनियुक्त राष्ट्रपति ली जे–म्युङले आणविक शक्ति सम्पन्न उत्तर कोरियासँग सम्पर्क गरेर ‘घाउ निको पार्ने’ प्रतिबद्धता व्यक्त गरेका छन् ।
दक्षिण कोरियाका नयाँ मध्यमार्गी वामपन्थी नेताले ‘बढ्दो संरक्षणवाद र आपूर्ति शृङ्खलाको पुनर्संरचना’ ले एशियाको निर्यातमा निर्भर चौथो ठूलो अर्थतन्त्रका लागि अस्तित्वको खतरा उत्पन्न गरेको चेतावनी पनि दिएका छन् ।
मध्यावधि निर्वाचनमा लीले पूर्व राष्ट्रपति युन सुक योलको पूर्व पार्टी कन्जरभेटिभ पार्टीका नेता किम मुन–सोलाई पराजित गर्दै विजयी भएका छन् ।
निर्वाचनमा लीले ४९.४ प्रतिशत मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी किमले ४१.२ प्रतिशत मत प्राप्त गरेका छन् । किमले पार्टीमा आन्तरिक कलह र तेस्रो पक्षका उम्मेदवारले दक्षिणपन्थी मत विभाजन गरेका कारण आफ्नो पराजय भएको बताएका छन् ।
निर्वाचित भएलगत्तै लीले दक्षिण कोरियाका शीर्ष सैन्य कमाण्डरसँग कुरा गरी बुधबार औपचारिक रूपमा देशको सशस्त्र बलको सञ्चालन नेतृत्व ग्रहण गरेका छन् । उनले प्योङयाङको उक्साहटविरूद्ध ‘तत्परता’ कायम राख्न पनि शीर्ष सैन्य कमाण्डरलाई आग्रह गरेका छन् ।
उनले भने, “हामी विभाजन र युद्धको घाउ निको पार्नेछौं र शान्ति र समृद्धिको भविष्य स्थापित गर्नेछौं । जतिसुकै मूल्यमा पनि युद्धभन्दा शान्ति राम्रो हो।”
उनले उत्तर कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि सञ्चार माध्यम खोल्ने र वार्ता र सहकार्यलाई अगाडि बढाउने क्रममा उत्तर कोरियाको आणविक र सैन्य उक्साहटलाई रोक्ने बताएका छन् ।
अमेरिकाले दक्षिण कोरियाको महत्वपूर्ण स्टील र आल्मुनियम निर्यातमा ५० प्रतिशत कर लगाउने तयारी गरिरहेका समय करको घोषणा गर्नुभन्दा केही घण्टाअघि लीले पदभार ग्रहण गरेका छन् ।
“बढ्दो संरक्षणवाद र आपूर्ति शृङ्खलाको पुनर्संरचनाजस्ता विश्व व्यवस्थामा भएका तीव्र परिवर्तनले हाम्रो अस्तित्वमाथि नै खतरा उत्पन्न गरेको छ,” लीले भने।
दक्षिण कोरियाको स्टक बजार र मुद्राले चुनावको नतिजाप्रति सकारात्मक प्रतिक्रिया देखाएको छ । बुधबार मुख्य स्टक बजार कोस्पी र कोरियाली मुद्राको मूल्यमा उच्च वृद्धि देखिएको छ ।