ट्रम्पद्वारा १२ देशका नागरिकलाई अमेरिकामा यात्रा प्रतिबन्ध लगाउने निर्णयमा हस्ताक्षर


बीबीसी । अमेरिकाले १२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्णप्रतिबन्ध लगाउने निर्णय गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्णप्रतिबन्ध लगाउने निर्णयमा हस्ताक्षर गरेका हुन् ।
ट्रम्पले अफगानिस्तान, म्यानमार, चाड, गणतन्त्र कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकहरुलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेका हुन् । यसैगरी ट्रम्पले बुरुन्डी, क्युबा, लाओस, सिएरालियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका नागरिकहरूलाई आंशिक रुपमा प्रतिबन्ध लगाउने घोषणामा पनि हस्ताक्षर गरेका छन् ।
ह्वाइट हाउसका डेपुटी प्रेस सचिव एबिगेल ज्याक्सनले ट्रम्पले अमेरिकी नागरिकहरूलाई ‘खतरनाक विदेशी तत्वहरूबाट जोगाउने प्रतिवद्धता अनुसार’ यो निर्णय लिएको बताइन् ।
ट्रम्पले बुधबार राति सार्वजनिक भिडियो सन्देशमा भने, ‘कोलोराडोको बोल्डरमा हालै भएको आतंकवादी आक्रमणले हामीलाई विदेशी नागरिकहरूबाट आउने खतरा पुनः स्मरण गराएको छ, विशेषगरी ती जो बिना उचित जाँच अमेरिकामा प्रवेश गर्छन् वा भिसा अवधि समाप्त भए पनि फर्कदैनन्।’
ट्रम्पका अनुसार, पहिलो कार्यकालमा लागू गरिएको यात्रा प्रतिबन्ध नीति ‘सबैभन्दा सफल’मध्ये एक थियो, जसले अमेरिकामा सम्भावित ठूलो आतंकवादी आक्रमणहरू रोक्न सघायो ।
उनले अफगानिस्तानको उदाहरण दिँदै भने, ‘अफगान विद्यार्थीहरूको भिसा उल्लंघन दर २९.३% पुगेको छ र देश तालिबानको नियन्त्रणमा छ, जुन आतंकवादी समूहको रूपमा मान्यता प्राप्त छ।’
यसका अतिरिक्त, इरान, लिबिया, सोमालिया र यमन जस्ता देशहरू पनि सूचीमा छन्, जहाँ सरकारहरूको कागजात प्रमाणीकरण प्रणाली विश्वासिलो छैन ।
उनले भने, ‘त्यसैले आज म नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गर्दैछु, जसअन्तर्गत यमन, सोमालिया, हाइटी, लिबिया र अन्य केही देशमाथि यात्रा प्रतिबन्ध लागु हुनेछ। हामी हाम्रो देशमा हानि पुर्याउने नियत राख्ने कसैलाई पनि प्रवेश गर्न दिनेछैनौं। अमेरिका सुरक्षित राख्ने हाम्रो संकल्प रोक्न कुनै कुरा सक्षम हुने छैन।’