प्रतिपक्षका नेताहरुलाई कानुनी डण्डा वर्षाउने काम कुशासन हो : गुरुङ


काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले प्रतिपक्षका नेताहरुलाई कानुनी डण्डा वर्षाउने ओली सरकारको शुशासन नभइ कुशासन भएको बताएका छन् ।शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमा उनले प्रतिपक्षलाई छानीछानी सत्ता र शक्तिको दुरुपयोग गरी बदला लिने ओली सरकार सत्तापक्षीय नेताहरुलाई छानविन भन्दा पुरस्कृत गरिरहेको बताए ।
उनले भने, ‘प्रतिपक्षलाई छानीछानी सत्ता र शक्तिको दुरुपयोग गरी बदला लिने ओली सरकार सत्तापक्षीय नेताहरुलाई छानविन भन्दा पुरस्कृत गरिरहेको छ ।’
नेपालको स्थायीत्व र शान्तिलाई खल्बल्याउने विदेशी योजना अनुसार पछिल्लो समयमा प्रतिपक्ष दलका मुख्य नेताहरुलाई वर्तमान सत्ताले विभिन्न बाहानामा आक्रमण गरिरहेको समेत गुरुङले आरोप लगाएका छन् ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई भ्रष्टाचारको मुद्दा दायर गरिनु, रास्वपा सभापति रवि लामिछनेमाथि हदभन्दा बढी कानुनी डण्डा बर्षाउनु, कुलमान घिसिङलाई हटाउनु, बालेन शाहलाई चलाईराख्नु प्रतिशोध र बदलाभाव भएको पनि उनको भनाइ छ ।
सोही क्रममा वरिष्ठ अधिवक्ता एकराज भण्डारीले अग्नि सापकोटा र सूर्यमान दोङलगायतका मुद्दा नियमित अदालतको नभइ टीआरसीको क्षेत्राअधिकारभित्र पर्ने बताए ।
भण्डारीले शान्ति सम्झौता भएको २० वर्ष र जनयुद्धकालिन मुद्धा किनारा लगाउन आयोग बनेको १० वर्ष वितिसक्दा पनि शान्ति सम्झौतालाई तार्किक निष्कर्षमा पुर्याउनतिर दलहरुको ध्यान नहुनुको परिणाम पछिल्लो आवस्था आएको जिकिर गरे ।
संक्रमणकालिन न्यायको सिद्धान्त अनुसार जनयुद्धकाललिन उपलब्धि र क्षति कुनै एकपक्षको मात्रै नभएर सम्पूर्ण राज्यको भएको बताउँदै त्यसमा सबै एकजुट भएर किनारा लगाउनुपर्ने बताए ।