योजनाको ढिलासुस्तीप्रति उद्योगमन्त्री भण्डारीद्वारा चिन्ता व्यक्त


सीपी लोहिया, बैतडी । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी जिल्ला स्थित कार्यालय प्रमुखहरूसँगको बैठकमा सहभागी भएका छन् ।
पाटनस्थित भएको बैठकमा मन्त्री भण्डारीले कार्यालय प्रमुखहरूलाई योजनाहरू समयमै कार्यान्वयन गर्न र समग्र प्रशासनिक कामकाजमा चुस्तता ल्याउन निर्देशन दिएका छन् । योजनाको ढिलासुस्तीप्रति गम्भीर चिन्ता व्यक्त गदै उनले चालु आर्थिक वर्षको ११ महिनामा जिल्लाका कार्यालयहरूको कुल खर्च ५० प्रतिशतमा सीमित रहनु विकास योजनाको कमजोर कार्यान्वयन भएको बताए ।
उनले साउन महिनामै बजेट उपलब्ध हुँदा पनि योजना कार्यान्वयनमा आठ–नौ महिना ढिलाइ हुनु अत्यन्तै दुःखद भएको बताए । “आर्थिक वर्षको सुरुवातमै बजेट आउँछ भने योजना कार्यान्वयनमा ढिलाइ किन हुन्छ ? यो प्रवृत्तिको अन्त्य गर्नु जरुरी छ ।”
उनले भने, “सालभरि पर्खिएर अन्त्यमा हतारमा काम गर्ने प्रवृत्तिले बजेटको प्रभावकारिता घटाउनुका साथै कामको गुणस्तरमा पनि असर पारिरहेको छ ।” मन्त्री भण्डारीले यस्ता प्रवृत्तिबाट सुधार नगरे जिल्लाको विकास अपेक्षाअनुसार अगाडि बढ्न नसक्ने बताए ।
उनले जिल्लाका कार्यालयहरूमा सुशासनको प्रत्याभूति हुनु आवश्यक रहेको बताए । दायित्व सार्ने प्रवृत्तिका कारण कार्यालयहरूले आफैँले लिने जिम्मेवारीबाट पन्छिन खोज्नु दीर्घकालीन रूपमा हानिकारक हुने उनको भनाई छ ।
मन्त्री भण्डारीले विकासे योजनाहरूको सन्दर्भमा विगतका अधुरा जिम्मेवारी परिपूर्ति गर्न भन्दै नयाँ काममा ढिलाइ गर्ने प्रवृत्ति स्वीकार्य नहुने बताए । योजनाको समयमै गर्नुपर्ने बताउँदै उनले योजनाहरूको गुणस्तर र मापदण्डबिना कुनै भुक्तानी नगर्न निर्देशन दिए।
प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलाई सम्बन्धित भुक्तानी विवरणको सूची तयार पार्न र आवश्यक छानबिन गरेर मात्र प्रक्रिया अघि बढाउन निर्देशन दिए ।
विपद् व्यवस्थापनको सन्दर्भमा मन्त्री भण्डारीले मनसुनजन्य घटनाहरूको सम्भावित जोखिमप्रति सजग रहनुपर्नेमा जोड दिए । यस वर्ष विगतका वर्षहरूको तुलनामा बढी वर्षा हुने मौसम पूर्वानुमान रहेको भन्दै उनले प्रमुख जिल्ला अधिकारी उपाध्यायलाई पूर्व तयारीमा लाग्न निर्देशन दिए ।
उनले सम्भावित बाढी, पहिरो र अन्य प्राकृतिक प्रकोपका घटनाबाट हुने क्षति न्यूनीकरणका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सरोकारवाला निकायहरूबीच समन्वयकारी भूमिका खेल्न आग्रह गरे । प्रमुख जिल्ला अधिकारी उपाध्यायले विपद् जोखिम नियन्त्रणको लागि आवश्यक पूर्व तयारी भइरहेको जानकारी दिए ।