भारतबाट फर्केका पाँच जनामा कोरोनाको सङ्क्रमण


कञ्चनपुर, २३ जेठ : गौरीफन्टा नाका हँुदै भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोनाको सङ्क्रमण देखापरेको छ । सो नाका हुँदै फर्केका पाँच महिलाको आज ‘एन्टिजेन’ परीक्षण गर्दा नतिजा ‘पोजेटिभ’ आएको हो । ती मध्ये तीन जना कैलाली र दुई जना अछामका हुन् ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीका अनुसार भारतबाट फर्केका शङ्कास्पद ३० जनाको एन्टिजेन परीक्षण गरिएको थियो । कोरोना सङ्क्रमित पाँचै जनालाई ‘होम क्वारेण्टाइन’मा बस्न परामर्श दिइएको छ । दुई दिनअघि मात्रै यही नाका भएर भारतबाट आएका ३६ जनाको एन्टिजेन परीक्षण गर्दा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
तीन दिनमा भारतबाट फर्केका आठ जनामा कोराना संक्रमण देखा परेको सूचना अधिकारी जोशीले जानकारी दिनुभयो । संक्रमितहरुमा ज्वरो र रुघाखोकीको समस्या रहेको उहाँको भनाइ छ ।
एन्टिजेनको नतिजा पोजेटिभ आएका आठै जनाको नमूना काठमाडौँस्थित प्रयोगशालामा पठाइएको छ । आपतकालीन सञ्चालन केन्द्रले सीमा नाकामा तीन दिनदेखि ‘हेल्थ डेस्क’ राखेर कोराना परीक्षण गर्दै आएको छ ।
“पुरानै स्टकमा रहेका किट प्रयोग गरी परीक्षण गर्दै थियौँ, आज थप दुई सय किट प्राप्त भएको छ”, सूचना अधिकारी जोशीले भन्नुभयो, “दुई÷तीन दिनभित्रै सीमा नाका गड्डाचौकीमा हेल्थ डेस्क राखेर कोरोना परीक्षण गर्छौँ ।”