बाजुरा आगलागी पीडितहरूलाई एनआरएनएको सहयोग


काठमाडौं । शुक्रवार बाजुराको बुढिगंगा नगरपालिकाको बाम्काबजारमा भएको भीषण आगलागीबाट पीडितहरूलाई राहत स्वरूप गैर आवासीय नेपाली संघ (एनआरएनए) ले रु पाँच लाख सहयोग गर्ने भएको छ ।
एनआरएनए आइसिसीका अध्यक्ष महेश श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको बैठकले त्यस्तो निर्णय गरेको संघका प्रवक्ता गंगाधर गौतमले जानकारी दिए । उक्त सहयोग रकम आगलागी पीडित २० परिवारलाई जनही रु २५ हजारको दरले वितरण गरिने पनि संघले जनाएको छ ।
बैठकमा अध्यक्ष श्रेष्ठले संघले स्थापना गरेको आपत्कालीन कोषमा रु ५ लाख जम्मा गर्ने घोषणा गरे । उनले नेपालीहरूको सुख दुखमा एनआरएनए सधैँ सँगसँगै रहने वाचा पनि व्यक्त गरे । यसै गरी उक्त कोषमा सबै पदाधिकारीहरूले जनही रु एक, एक लाख जम्मा गर्ने पनि बैठकले निर्णय गरेको छ ।
बुढीगंगा नगरपालिका ६ साफे, मार्तडी सडक खण्डमा पर्ने बाम्का बजारमा शुक्रबार दिउँसो आगलागी हुँदा दर्जनौँ पसलहरू जलेर ध्वस्त भएका छन् । स्थानीय एक होटेलमा ग्यास सिलिन्डर पड्केर आगलागी सुरु भएको समाचारहरूमा जनाइएको छ ।
दमकल नभएकाले समयमै आगो नियन्त्रणमा लिन नसकिएको स्थानीय बासिन्दाहरूले बताएका छन् ।