दुर्घटनाग्रस्त एयर इण्डियाको विमानमा थिए चार देशका नागरिक


बीबीसी । भारतमा गुजरात राज्यको अहमदाबादमा आफ्नो विमान दुर्घटनाग्रस्त भएको एयर इन्डियाले जनाएको छ । एयर इन्डियाले उसको सामाजिक सञ्जाल एक्समा दुर्घटनाको पुष्टि गर्दै लेखेको छ, ‘अहमदाबाद–लन्डन ग्याटविक उडानमा रहेको फ्लाइट नम्बर एआई १७१ आज, १२ जुन २०२५मा एक दुर्घटनामा परेको छ।’
विमानमा चालकदलका सदस्यसहित २४२ जना यात्रु रहेका र ती मध्ये १६९ जना भारतीय नागरिक, ५३ जना ब्रिटिश नागरिक, १ क्यानडेली नागरिक र ७ पोर्चुगलका नागरिक थिए ।
भारतको नागरिक उड्डयन निर्देशनालयका प्रमुख फैज अहमद किदवईले एशोसिएटेड प्रेस समाचार एजेन्सीसँग कुराकानी गर्दै एयर इन्डियाको यात्रुवाहक विमान मेघानी नगर भनिने एक आवासीय क्षेत्रमा खसेको बताएका छन् ।
दुर्घटनामा घाइतेहरू भएकाहरूलाई नजिकको अस्पतालमा लगिएको छ । गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेलले ‘युद्धस्तरमा तत्काल उद्धार तथा राहतको कार्य गर्न’ निर्देशन दिइएको बताएका छन् ।
अहमदाबादको सरदार बल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलका एकजना प्रवक्ताले विमानस्थल बन्द गरिएको र अर्को सूचना जारी नभएसम्मका लागि त्यहाँका सबै उडान गतिविधिहरू स्थगित गरिएको बताएका छन् ।
एयर इन्डियाले दुर्घटनाको कारण तथा अन्य जानकारीबारे आफूले सूचना सङ्कलन गरिरहेको र चाँडै त्यसबारे अद्यावधिक गरिने बताएको छ।