पोर्चुगलमा लोकप्रिय नेपालीको रेष्टुरेन्ट उत्कृष्ट अवार्ड जित्न सफल


काठमाडौँ । नेपाली सेफ टङ्क सापकोटाले पोर्चुगलमा सञ्चालन गरेको रेष्टुरेन्ट ‘उत्कृष्ट अवार्ड’ को उपाधि जित्न सफल भएको छ ।
बागलुङका सेफ सापकोटाले पोर्चुगलको राजधानी लिस्बनमा सञ्चालन गरेको इटालियन रेष्टुरेन्ट ‘र्फोनो दी ओरो’ युरोपकै शीर्ष १०औँ स्थानमा परी ‘अवार्ड’ जित्न सफल भएकोे जानकारी दिए ।
यसरी युरोपका ५० उत्कृष्टमध्ये १०औँ र पोर्चुगलमा सर्वोत्कृष्ट पिज्जा रेष्टुरेन्ट बन्न सफल भएका सञ्चालक सापकोटाको योगदान र भूमिकालाई कदर गर्दै ‘उत्कृष्ट पिज्जा अवार्ड’ र ‘परफर्मेन्स अफ द इयर २०२५–रोबो अवार्ड’ बाट उनी सम्मानित भएका छन् । ‘फिफ्टी टप पिज्जा युरोप’ ले स्पेनको राजधानी म्याड्रिडमा आयोजना गरेको कार्यक्रममा सेफ सापकोटालाई ‘अवार्ड’सहित पुरस्कृत गरेको हो ।
यसरी प्रत्येक वर्ष प्रदान गरिने अवार्डअन्तर्गत यस वर्ष ‘युरोपको उत्कृष्ट १०औँ पिज्जेरिया’ र ‘परफर्मेन्स अफ द इयर २०२५–रोबो अवार्ड’ प्राप्त गरेको रेष्टुरेन्ट सञ्चालक सापकोटाले जानकारी दिए । ‘र्फोनो दी ओरो’ युरोपको उत्कृष्ट १०औँ र पोर्चुगलको सर्वोत्कृष्ट रेष्टुरेन्ट बन्नसमेत सफल भएको उनले बताए ।
“एउटा नेपालीले सञ्चालन गरेको रेष्टुरेन्ट युरोपकै उत्कृष्ट १० भित्र पर्न सफल हुनु नेपाल र नेपालीका लागि गौरवको विषय हो”, खुसी व्यक्त गर्दै सापकोटाले भने, “उत्कृष्ट १० को अवार्ड पाउने पोर्चुगलकै पहिलो रेष्टुरेन्ट बन्नु आफ्नो व्यावसायिक जीवन र इतिहासकै ठूलो उपलब्धि हो ।”
‘फिफ्टी टप पिज्जा युरोप’ एक अन्तरराष्ट्रिय गाइड हो, जसले हरेक वर्ष उत्कृष्ट पिज्जा रेष्टुरेन्टहरूको मूल्याङ्कन गर्दै शीर्ष ५० सूची सार्वजनिक गर्दछ । स्वाद, गुणस्तर, सेवा, वातावरण, परम्परागत पिज्जा निर्माणको शैली तथा ग्राहक सन्तुष्टिलगायतका मापदण्डहरूका आधारमा उत्कृष्ट रेष्टुरेन्ट मूल्याङ्कन तथा वर्गीकरण गरिने प्रावधान छ ।
करिब २८ वर्षदेखि सपरिवार पोर्चुगल बस्दै आएका बागलुङ, दमेकका सापकोटाको राजधानी लिस्बनमा ३ इटालियन र १ नेपाली गरी ४ रेष्टुरेन्ट सञ्चालनमा छन् । पाककलामा उत्कृष्ट कला कौशल प्रदर्शन गरेकै कारण उनले दर्जनौँ ‘अवार्ड’ तथा पुरस्कारसमेत प्राप्त गरिसकेका छन् । केही महिनाअघि मात्रै इटालियन खानाको परम्परा, खानपानको शैली, खानाको स्वाद, व्यञ्जन र परिकारलाई समेटेर सापकोटाले निर्माण गर्नुभएको इटालियन खानासम्बन्धी वृत्तचित्र ‘इटालीको स्वाद’ यहाँ सार्वजनिक गरिएको थियो।