गण्डकी प्रदेशस्तरीय क्रिकेट : स्याङ्जा फाइनलमा


कास्की, ३ असारः स्याङ्जा पोखरामा जारी तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय पुरूष टि–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सोमबार भएको समूह ‘ए’ को लिग चरणको खेलमा तनहुँलाई २९ रनले हराउँदै स्याङ्जा उपाधि नजिक पुगेको हो ।
कप्तान सन्दीप क्षेत्रीको उत्कृष्ट प्रदर्शनले स्याङ्जा समूह विजेता बनेको हो । स्याङ्जाले टस जितेर पारीको सुरूआत गर्दै तनहुँविरुद्ध निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ८८ रनको चुनौतीपूर्ण योगफल प्रस्तुत गरेको थियो ।
सन्दीपले उत्कृष्ट ब्याटिङ गर्दै ६६ बलमा छ चौका र आठ छक्का सहित ९९ रन बनाए । खेलमा जितका लागि १८९ रनको लक्ष्य पछ्याएको तनहुँ १९ ओभरको तेस्रो बलमा सम्पूर्ण विकेट गुमाउँदै १५९ रन मात्रै बनाउन सक्यो । तनहुँको बंश क्षेत्रीले छ चौका प्रहार गर्दै ४५ बलमा सर्वाधिक ५६ रन बनाए ।
यसैगरी सोमबार नै सम्पन्न बाग्लुङ र म्याग्दीबीचको खेलमा बागलुङले म्याग्दीलाई आठ विकेटले पराजित गर्दै प्रतियोगितामा सान्त्वना जित हात पारेको छ ।
समूह ‘ए’को लिग चरणको अन्तिम खेलमा बाग्लुङ आफ्नो तीन खेलमा दुईमा हार र एकमा जित गरी दुई अङ्कका साथ समूहमा तेस्रो स्थानमा रहँदा म्याग्दी अङ्कविहीन बन्न पुग्यो ।
वर्षाका कारण घटाइएको १० ओभरको छोटो खेलमा म्याग्दीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । निर्धारित १० ओभरमा म्याग्दीले तीन विकेट गुमाउँदै ६४ रन मात्र बनायो ।
जवाफी ब्याटिङमा बागलुङले पाँच ओभरको तेस्रो बलमा दुई विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो । बागलुङका लागि सन्दीप यादव २० रनमा अविजित रहे ।
प्रादेशिक क्रिकेट सङ्घ गण्डकीको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धनमा जारी प्रतियोगिताको लिग चरणअन्तर्गत भोली समूह ‘बी’ अन्तर्गतका खेलहरु सञ्चालन हुनेछन् ।
पहिलो खेल कास्की र पर्वत तथा दोस्रो खेल नवलपुर र गोरखाका बीच सञ्चालन हुने प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिनुभयो । समूह ‘बी’को बिजेताले फाइनलमा स्याङ्जासँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता कूल आठ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा स्याङ्जा, बागलुङ, तनहुँ र म्याग्दी रहँदा समूह ‘बी’ मा कास्की, नवलपुर, पर्वत र गोरखा छन् । प्रतियोगिताको विजेता टिमले नगद रु एक लाख र ट्रफी, उपविजेताले रु ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।त्यस्तै, उत्कृष्ट खेलाडीलाई रु चार हजार, उत्कृष्ट ब्याटर, बलर र उदियमान खेलाडीलाई जनही रु दुई हजारसहित ट्रफी प्रदान गरिनेछ ।