`

हिमाल र पर्वतीय क्षेत्रको बजारीकरण गरौँ : पूर्वअर्थमन्त्री शर्मा

Nepal One HD ३ असार २०८२ १८:३२
राजनीति

काठमाडौँ, ३ असारः पूर्वअर्थमन्त्री जनार्दन शर्माले हिमाल हाम्रो गौरवपूर्ण सम्पत्ति भएकाले यसकोे संरक्षणसहित सौन्दर्य कायम कसरी गर्ने भन्ने आजको चुनौती रहेको बताउनुभएको छ ।राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको आज अवलोकनपछि पूर्वमन्त्री शर्माले हिमाल र पर्वतीय क्षेत्रलाई बजारीकरण गर्न सके मुलुकको आर्थिक क्षेत्रमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शर्माले भन्नुभयो, “हामीसँग अथाह प्राकृतिक साधनस्रोत छ । हिमाल हाम्रा गौरव हुन्, यो देशको पुँजी पनि हो । प्राकृतिक रुपमा मनमोहक दृश्यहरु पनि छन् । तथापि जलवायु सङ्कटले विश्वव्यापी समस्या खडा भएको छ ।”

राससले आफ्ना कामको एउटा संश्लेषणका रुपमा तस्बिर प्रदर्शनी गरेकामा प्रशंसा गर्दै पूर्वऊर्जा, जलस्रोत सिँचाइमन्त्री शर्माले भन्नुभयो, “प्रदर्शनीमा जलवायु सङ्कट र प्राकृतिक सौन्दर्य, संस्कृतिसँग सम्बन्धित अत्यन्त दुर्लभ र महत्वपूर्ण तस्बिर छन् । प्रदर्शनीले धेरै क्षेत्रलाई एक ठाउँमा प्रस्तुत गर्न सफल भएको छ ।”

प्रदर्शनीले यस क्षेत्रमा काम गर्नेलाई मात्र प्रोत्साहन गर्ने नभई ती ठाउँ घुम्न नपाएकालाई त्यहाँ जान प्रेरित गर्ने उल्लेख गर्दै उहाँले प्रदर्शनीले मुलुकमा पर्यटकीय गन्तव्यहरुको थप विस्तार गर्न योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

नेता शर्माले भन्नुभयो, “आमसञ्चार क्षेत्रमा राससले गरेका काम र ऐतिहासिक घटनाक्रमको प्रदर्शनी केन्द्र भएको छ, यो राष्ट्रकै लागि पुँजी हो ।”

सो अवसरमा पूर्वमन्त्री शर्माले रासस मिडिया सङ्ग्रहालय र समाचार बुलेटिन कक्षको पनि अवलोकन गर्नुभयो । यसअघि राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा र महाप्रबन्धक सिद्धराज राईले उहाँलाई स्वागत गर्दै हिमाल र पर्वतीय क्षेत्रका मनमोहक दृश्यलाई एकै थलोबाट हेर्न, जान्न र बुझन सकियोस् भन्ने हेतुले प्रदर्शनी आयोजना गरिएको बताउनुभयो ।

गत जेठ ११ गतेदेखि सुरु भएको प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्चिमसम्म फैलिएका विभिन्न हिमशृङ्खला, हिमाली जनजीवन तथा प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ तस्बिर राखिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *