`

वरिष्ठ गायक दीप श्रेष्ठलाई सङ्गीततर्फ ‘दीर्घसाधना सम्मान’ प्रदान गरिने

Nepal One HD ४ असार २०८२ १५:२३
मनोरञ्जन

काठमाडौँ । पाँच दशक भन्दा अघिदेखि गीतसङ्गीतको क्षेत्रमा सक्रिय रहेका वरिष्ठ गायक दीप श्रेष्ठलाई ‘नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान दीर्घसाधना सम्मान’ प्रदान गरिने भएको छ ।

विसं २००७ मङ्सिर २६ गते सुनसरीको धरानमा जन्मिएका गायक श्रेष्ठले १८ वर्षको उमेरमा रेडियो नेपालमा ‘म पत्थरको देवता होइन’ बोलको गीत रेकर्ड गरी सङ्गीत क्षेत्रमा प्रवेश गरेका थिए ।

उनले सङ्गीत क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै यस वर्ष दीर्घसाधना सम्मान प्रदान गर्ने घोषणा गरिएको नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्माले जानकारी दिइन् । उक्त सम्मानको राशि दुई लाख रुपैयाँ र ताम्रपत्र रहेको छ ।

श्रेष्ठले रेडियो नेपालबाट २०२७ साल र २०२८ सालमा पुरुषतर्फ उत्कृष्ट गायन उपाधि र २०३० सालमा स्वर्ण पदक प्राप्त गरेका थिए । उनले चार सय बढी गीत गाएका छन् । प्रतिष्ठानले दीर्घसाधना सम्मानसहित ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार’ पाउने नौ जना स्रष्टाको नामावली सार्वजनिक गरेको छ ।

यही असार ११ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट राष्ट्रपति भवन शीतलनिवासमा उक्त पुरस्कार तथा सम्मान प्रदान गरिने कुलपति शर्माले जानकारी दिइन् ।

यस्तै ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार’ गायिका कुन्ती मोक्तान, वरिष्ठ सङ्गीत संयोजक राजु अग्रवाल, वरिष्ठ नृत्य निर्देशक भुवनदास श्रेष्ठ, वरिष्ठ रङ्गकर्मी हरिबादुर थापा र वरिष्ठ नाटककार वेदकुमारी न्यौपानेलाई प्रदान गरिने भएको छ ।

खोज तथा अनुसन्धान नृत्य विधातर्फ खोज तथा अनुसन्धानकर्ता कृष्णप्रसाद पौडेल (नृत्यानन्द), वरिष्ठ लोकगायक नारायण रायमाझी र वरिष्ठ शास्त्रीय सङ्गीत साधक कुशेश्वरप्रसाद राईलाई उक्त पुरस्कार प्रदान गरिने प्रतिष्ठानकी सदस्य सचिव कुष्मा महरा ‘प्रगति’ ले जानकारी दिइन् । उनकाअनुसार सबै पुरस्कारको राशि जनही एक लाख रुपैयाँ र ताम्रपत्र रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *