`

योगेशको प्रश्नः हामीले विपिन जोशीलाई किन ल्याउन सकेनौं ?

Nepal One HD ७ असार २०८२ १५:३१
राजनीति

काठमाडौँ । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले मन्त्रीहरु संसद बैठकमा अनुपस्थित भएको भन्दै असन्तुष्टि जनाएका छन् ।

शनिबारको प्रतिनिधिसभा बैठकमा सचिव भट्टराईले मन्त्रीहरु संसद बैठकमा नआउदा समय संचालन हुन नसकेको भन्दै मन्त्रीहरुको संसदको भन्दा महत्वपूर्ण काम के हुन्छ भन्दै प्रश्न गरेका हुन् । संसद भन्दामाथि केही नभएको भन्दै मन्त्रीहरुलाई यसविषयमा गम्भीर बन्न सुझाव दिए ।

उनले भने, ‘एक दिनमा १० वटा मन्त्रालयको बजेटमाथि छलफल गरेर कसरी कन्स्ट्रक्टिभ भूमिका खेल्न सक्छौं, यो एउटा गम्भीर प्रश्न हो । १० वटा किन पुग्यो ? हिजो केही मन्त्री आउनु भएन, अस्ति केही मन्त्री आउनु भएन । अनि थपिदै जाँदा १० वटा पुग्यो । म माननीय मन्त्रीहरुलाई भन्न चाहन्छु, संसद चलिरहेको बेलामा, संसदमा विनियोजन शीर्षकमाथि छलफल भइरहेको बेला, त्यो भन्दा महत्वपूर्ण अर्को काम के होला त यहाँहरुको, जसले गर्दा यहाँ नआएर अन्त जानुपर्ने कारण के पर्यो होला, यो निकै गम्भीर प्रश्न हो ।’

भट्टराईले मन्त्रीजी नआएर यो संसदप्रतिको गम्भीर जवाफदेहिताको प्रश्न उठेको बताए ।
त्यस्तै उनले हाम्रो कूटनीति कमजोर भएको भन्दै यसलाई पुनर्विचार गर्नुपर्ने बेला आएको बताए ।

उनले हमासको अपहरणमा परेका विपिनलाई सकुशल स्वदेश फिर्ता ल्याउन नसक्नुका कारणबारे समीक्षा गर्नुपर्ने बताए ।

उनले भने, ‘आज विश्वमञ्च शक्ति राष्ट्रका कारणले बदलिराखेको छ । हामीले हाम्रो विपिन जोशीलाई छुटाउन सकिराखेका छैनौँ । जबकी हमास र इजरायलले सयौंको संख्यामा युद्धबन्दीहरू आदान–प्रदान गरे । त्यसक्रममा हाम्रो विपिन जोशी किन हामीले ल्याउन सकेनौँ ? कहीँ हाम्रो कूटनीतिक पहल पुगेन कि ? कहीँ हामीले विदेश मामिलामा लिएका अडानले गर्दा हामी कहीँ अल्झि राखेका छौँ कि ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *