तेस्रो एकदिवसीय क्रिकेटमा श्रीलंकामाथि भारतको ३१७ रनको जित

NepalOne २ माघ २०७९ १२:५२
खेलकुद

काठमाडौं । आइतबार भएको तेस्रो एकदिवसीय क्रिकेटमा भारतले श्रीलंकालाई ३९१ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याउदै श्रीलंका जम्मा ७३ रन जोड्दा अलआउट भयो ।
सन् २००८ मा न्युजिल्याण्डले आयरल्याण्डमाथि निकालेको २९० रनको जित सबैभन्दा फराकिलो थियो । त्यो कीर्तिमान पछ्याउदै भारत एक दिवसीय क्रिकेटकै अहिलेसम्मकै सबैभन्दा धेरै ३१७ रनको फराकिलो जित आफ्नो नाममा राख्न सफल भएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली भारतका विराट कोहलीको नटआउट १६६ , शुभम गिलको ११६, श्रेयस ऐयरले ३८ र रोहित शर्माले ४२ रनको मद्दतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३९० रन जोडेको थियो ।३९१ रनको लक्ष्यको पछि लाग्दा श्रीलंकाका नुवानिदु फर्नान्डोले १९, कसुन राजिथाले नटआउट १३ र दसुन सनकाले ११ रन जोड्नुबाहेक अरु ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

भारतका मोहम्मद सिराजले ४, मोहम्मद सामी र कुलदिप यादवले २र२ विकेट लिए ।यो जितसँगै भारतले तीन खेलको श्रृङ्खला क्लिनस्वीप गरेको छ । पहिले एकदिवसीयमा भारत ६७ रनले विजयी भएको थियो भने दोस्रो एकदिवसीय ४ विकेटले जितेको थियो ।


प्रतिक्रिया