शेखर पक्षको बैठकमा नेताहरुको प्रश्न : ‘चुनावपछि गठबन्धन किन टुट्यो ?’


काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको बैठकमा नेताहरुले सभापति शेरबहादुर देउवाले चुनावअघिको गठबन्धनलाई चुनावपछि निरन्तरता दिन नसकेको आरोप लगाएका छन् । आइतबार काठमाडौंको बत्तिसपुतलीमा भएको भेलामा समसामयिक राजनीतिक घटनाक्रम र आन्तरिक विषयबारेको छलफलमा नेताहरु गठबन्धनलाई चुनावपछि किन निरन्तरता दिन नसकेको भन्ने कुरा उठेको थियो ।
‘चार पार्टी मिलेर स्थानीय र प्रदेश तथा प्रतिनिधि सभा चुनावमा गइएको हो । तर चुनावपछि गठबन्धन निरन्तर रहेन ।’ बैठकमा सहभागी नेता चन्द्र भण्डारीले भने, ‘चुनावका बेला त्यसबेलाको गठबन्धनले जनतासँग विकास निर्माणलगायत प्रतिबद्धता गरेका थिए तर चुनावपछि गठबन्धन किन टुट्यो ? यो विषयमा समीक्षा हुनुपर्छ ।’ यही माघ १५ गतेदेखि बस्ने केन्द्रीय समिति बैठकमा यो विषयमा समीक्षा हुनेभएको छ ।
बैठकमा कांग्रेसले किन ढुलमुले नीति लिइरहेको छ । स्पष्ट दृष्टिकोणका साथ कांग्रेस हिँडिरहेको छैन, सानका साथ प्रमुख प्रतिपक्षमै बस्नुपर्थ्यो र जनताका कुरा सदनमा उठान गर्नुपर्थ्यो भन्ने नेताहरूले बताएका थिए । प्रधानमन्त्रीलाई विश्वासको मत दिएको कांग्रेसले अन्य दलको सहयोगमा सभामुख र उपसभामुखमा भने पार्टीबाट उम्मेदवार उठाएको थियो ।
बैठकमा नेताहरुले संसदीय दलमा आफ्नो समूहको मत एकीकृत हुन नसक्नुको कारण खोजेका छन् । संसदीय दलको नेताको चुनावमा आफ्नो समूहका उम्मेदवार गगन थापाले समूहकै मत पनि नपाएको विषय उठाउँदै नेताहरूले त्यसको कारण खोजेका हुन् । बैठकमा सहभागी भएका एक नेताले प्रश्न गरे, ‘टिममा भोट त आउनुपर्ने हो । कि टिम भन्दै हिँड्नु भएन । टिमको नेता क्लियर हुनुपर्छ । अन्तिम समयसम्म हाम्रो टिमको उम्मेदवार किन चयन गर्न सकेनौं ?
कोइरालासहित उनी पक्षका पदाधिकारी, केन्द्रीय सदस्यहरू, प्रतिनिधि सभा सांसदहरू र प्रदेश सभापति भेलामा उपस्थित थिए ।