त्रुटि भएको स्वीकार गर्दै क्यानका अध्यक्ष चन्दले भने: ‘सेभेन थ्री स्पोर्टसलाई विश्वास गर्नु नै गलत भयो’


काठमाडौं । नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुर बहादुर चन्दले नेपाल टी २० लिगमा सेभेन थ्री स्पोर्टसलाई विश्वास गर्नु नै गलत भएको बताएका छन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले आफूहरूबाट खेलमा म्याच फिक्सिङ प्रमाणित भएपछि त्रुटि भएको स्वीकार गर्दै सेभेन थ्री स्पोर्टसलाई विश्वास गर्नु आफ्नो गल्ति भएको बताएका हुन् । तर आफूहरुको नियत गलत नभएको उनले दाबी गरेका छन् ।
उनले नेपाली क्रिकेटमा ग्रहण लागेको टिप्पणी पनि गरे । त्यसलाई सुधार्न सबैको सहयोग आवश्यक रहेको चन्दको भनाइ छ । क्यानले बलात्कारको आरोपमा निलम्बनमा परेका क्रिकेटर सन्दीप लामिछानेलाई टिममा फर्काउने बारेमा आफूहरु छलफलमा रहेको बताएको छ । नेपालको विद्यमान कानूनले जे अनुमति दिन्छ त्यसै अनुसार अघि बढ्ने उनले बताएका छन् । आईसीसीले पनि नेपालको कानुनले जे भन्छ, त्यही अनुसार गर भनेको छ,’ चन्दले भने, ‘के गर्ने भनेर हामी सरोकारवालासँग छलफलमा छौं ।
त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टी–२० लिगमा भएको प्रतियोगितामा स्पट फिक्सिङ भएको नेपाल प्रहरीको अनुसन्धानले देखाएको छ । नेपाली क्रिकेटर आदिल आलम र पूर्व क्रिकेटर मोहबुब आलम पक्राउ परेका छन् भने उनीहरुसहित १० जनाविरुद्ध मुद्दा चलाउने केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी को तयारी छ ।