कामपाले न्यायिक समिति राष्ट्रिय सम्मेलनको आयोजना गर्दै


काठमाडौँ – काठमाडौँ महानगरपालिकाले चैत्र १५ र १६ गते न्यायिक समिति राष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ ।
बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै महानगरले काठमाडौँमा आयोजना हुने न्यायिक समिति राष्ट्रिय सम्मेलनको तयारी पुरा भएको जनाएको हो । सम्मेलनमा सबै पालिकाका न्यायिक समितिका संयोजक वा सदस्य मध्येबाट एक–एक जना गरी ४ सय ५० पालिकाबाट सहभागिता हुने महानगरकी उपप्रमुख सुनिता डंगोलले जानकारी दिनुभयो ।
स्थानीय विवाद निरूपणमा न्यायिक समितिले सम्पादन गरेका काम, प्राप्त भएका सफलता, भोगेका समस्या र चुनौती सम्बन्धी अनुभव सिकाई र भोगाई आदान प्रदान गर्न सम्मेलनको आयोजना गरिएको उहाँले बताउनुभयो । सम्मेलनको पहिलो दिन विभिन्न चार वटा मुख्य कार्यपत्रको प्रस्तुति हुने र दोस्रो दिन विवाद निरूपण काठमाडौँ घोषणा पत्र जारी गर्दै सम्मेलन समापन हुने डंगोलले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा महानगरकी उपप्रमुख डंगोलले स्थानीय विवादहरू नजिकैको सरकारी कार्यालयहरूमा मेलमिलापका माध्यमबाट समाधान गराउनका लागि काठमाडौँ महानगरले आवश्यक कानुन तर्जुमा गरेर राजपत्रमा प्रकाशित गरिसकेको जानकारी दिनुभयो ।
जारी भएका कानुनी प्रबन्धको कार्यान्वयन गर्दै सबै वडामा महिला सञ्जाल गठन भइरहेको उहाँले बताउनुभयो । न्यायिक समितिमा आउने धेरै विवादहरूमा बहाल र कोठा खाली गराउने विषयका छन् । उक्त विषयलाई व्यवस्थापन गर्न महानगरले घर बहाल व्यवस्था निर्देशिका जारी रहेको महानगरले जनाएको छ ।