नेपाल र यूएईको बाँकी खेल भोलि हुने


काठमाडौं / एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र यूएईबीचको फाइनल खेल आजका लागि स्थगित भएको छ । वर्षाका कारण खेल सम्भव नभएपछि भोलिलाई सारिएको हो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले २७ दशमलव ३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउँदा खेल रोकिएको हो । खेल रोकिनुअघि युएईका लागि आसिफ खानले ४६ रन बनाए भने आयन लाक्राले १३ रन जोडे ।त्यस्तै मुहम्मद वासिमले ११ रन बनाउँदा बसिर हमिदले १० बनाए ।
नेपालका ललित राजबंशीले तीन विकेट लिए । साथै करण केसी र सन्दीप लामिछानेले दुई-दुई विकेट लिए भने गुल्शन झा र सोमपाल कामीले एक-एक विकेट लिए ।
बाँकी खेल मंगलबार बिहान ९ बजे सुरू हुनेछ । भोलि पानी परेर २० ओभर पनि खेल नहुने स्थिति भए सुपर ओभरमा नतिजा लिइनेछ । पहिलो सुपर ओभर टाई भए, दोस्रो सुपरओभर हुनेछ र, त्यो पनि नभए नेपालले एकदिवसीय वरियतामा माथि रहेको हैसियतले एसिया कपमा स्थान बनाउने छ ।