काठमाडौँ – तीन दलका शीर्ष नेताहरूको बैठक सकिएको छ ।
पशुपतिनाथको जलहरीका विषयमा संसद्मा उठेको विवादपछि अवरुद्ध संसद् खुलाउन बसेको बैठकले सांसदले दिएको अभिव्यक्ति रेकर्डबाट हटाउने समझदारी गरेको छ ।
यो सहमतिसँगै आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको जवाफ दिन सम्बोधन गर्ने सहमति शीर्ष नेताहरुबीच भएको छ ।
बैठकमा प्रधानमन्त्री प्रचण्डले जलहरी लगाउने विषय पशुपति क्षेत्र विकास कोषसँग सम्बन्धित रहेकाले तत्कालीन प्रधानमन्त्री केपी ओली यसमा नजोडिने स्पष्ट पार्नुभएको एमालेका सचेतक पदम गिरीले जानकारी दिनुभयो ।
बैठकमा आगामी दिनमा पनि यस्ता तथ्यहीन आरोपहरू संसद्मा नलगाउन प्रधानमन्त्रीले सांसदहरूलाई अनुरोध गर्ने सहमति भएको गिरीले बताउनुभयो ।