प्रधानमन्त्री प्रचण्ड आज साँझ ४ बजे स्वदेश फर्कने

प्रधानमन्त्री प्रचण्ड आज साँझ ४ बजे स्वदेश फर्कने

काठमाडौँ – भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्कँदै हुनुहुन्छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा गत जेठ १७ गते भारतको औपचारिक भ्रमणमा जानुभएका प्रधानमन्त्री दाहाल आज स्वदेश फर्कन लाग्नुभएको हो ।

भारत भ्रमणको क्रममा पहिलो दिन प्रधानमन्त्री दाहालले भारतीय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गर्नुभएको थियो भने उहाँ सोही दिन नयाँ दिल्लीस्थित नेपाली राजदुतवासले आयोजना गरेको रात्रि भोजमा सहभागी हुनुभएको थियो । 

जेठ १८ गते प्रधानमन्त्री दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको थियो । सोही दिन नेपाल–भारतका बिचमा ७ बुँदे सहमतिसमेत भएको थियो । मुख्यतः सो सहमतिमा नेपालको जलविद्युत भारतमा निर्यात गर्ने विषयलाई प्राथमिकता दिएको थियो । भारतसँग भएको सहमति अनुसार १० वर्षमा भारतले १० हजार मेगावाट बिजुली खरिद गर्ने जनाएको थियो । 

जेठ १९ गते महाराष्ट्रको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा उनी पूजा अर्चना गर्न पुग्नुभएको थियो। भारतका १२ ज्योतिर्लिङ्ग मध्ये एक महाकालेश्वर मन्दिरमा पूजा अर्चना गरेका प्रचण्डले नेपालबाट लगिएको १०८ केजी रुद्राक्ष तथा ५१ हजार रुपैयाँ दानसमेत गर्नुभयो ।

उहाँले सो क्रममा मन्दिर भित्र पूजापाठसहित श्रीमती सीता दाहालको स्वास्थ्य लाभको कामना गर्दै आरती समेत गर्नुभएको थियो । उहाँले दिउँसो इन्दौर देवगुराडिया ट्रेचिङ ग्राउन्डमा स्थापित एसियाको सबैभन्दा ठुलो नेप्रा र सिएनजी प्लान्टको अवलोकन गर्नुभएको थियो ।  

आज पनि प्रधानमन्त्री प्रचण्ड बिहानभरि व्यस्त रहनुहुने छ । बिहान महाराष्ट्रस्थित टाटा कन्सेल्टेन्सी सर्भिसको भ्रमण गरेपछि विज्ञान प्रविधि सम्बन्धी विश्व प्रसिद्ध संस्था इन्फोसिसको भ्रमण गर्नेछन् भने स्पेसल इकोनोमजी जोनको भ्रमण सकेपछि प्रधानमन्त्री प्रचण्ड अपराह्न १२ बजेपछि आफ्नो औपचारिक कार्यक्रम सम्पन्न गर्नुहुनेछ ।  

उहाँ साँझ ४ बजे नेपाल एयरलाइन्सको विमानमार्फत मुम्बईबाट स्वदेश फर्कनुहुनेछ ।  

nepalone