`

सामुदायिक विद्यालयको गुणस्तर सुधारमा सघाउने अध्यक्ष प्रचण्डको प्रतिबद्धता

तनहुँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामुदायिक विद्यालयहरुको गुणस्तर सुधारमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित पञ्चमुनिदेव माध्यमिक विद्यालयका सञ्चालक, शिक्षक, विद्यार्थी एवं अभिवाकसँग शुक्रबार बिहान भएको सङ्क्षिप्त भेटमा प्रचण्डले ग्रामीण भेगका विद्यालयको भौतिक विकासका साथै प्राज्ञिक उन्नयनमा आफ्नो तथा पार्टीका तर्फबाट सक्दो सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

निजी विद्यालयमा विद्यार्थीको सङ्ख्या बढी र सामुदायिकमा कम हुनुहुँदैन भन्दै उनले स्रोत–साधन पाएमा सामुदायिक विद्यालय निजीसँग प्रतिस्पर्धा गर्न सक्षम रहेका बताए ।

उनले भने, ‘सामुदायिक विद्यालयले पनि गुणस्तरीय शिक्षा दिन सक्छन् ।’ अध्यक्ष दाहालले उक्त विद्यालयलाई नमूना विद्यालय बनाउनुपर्नेमा जोड दिए ।

तोलामा एक हजारले घट्यो सुन

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलाको एक लाख ७० हजार कायम भएको छ ।

बिहीबार प्रतितोला एक लाख ७१ हजारमा खरिदबिक्री भएको सुन शुक्रबार एक हजारले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यसैगरी, चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार नौ सय ९० रुपैयाँमा किनबेच हुनेछ ।

आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुन दुई हजार नौ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

नेपाली भएर बाँच्ने आधार दिन प्रधानमन्त्रीलाई बालेनको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूलाई नेपाली भएर बाँच्ने आधार दिन आग्रह गरेका छन् ।

शुक्रबार सामाजिक संजालमार्फत मेयर साहले आफूलाई मेयर नभई एक नेपाली भएर बाँच्ने आधार बनाइदिन आग्रह गरेका हुन् ।

उनले भनेका छन्, ‘प्यारो प्रधानमन्त्रीज्यू, अमेरिकाले corrupt भनिसक्यो, इन्डियाले भिकारी भनिसक्यो, चीनले मान्छे गन्दैन, मलाई मेयर हो भनेर बिर्सिनुस्, नेपाली भएर बाँच्ने आधार त दिनुस् ।’

रक्सौल हुँदै केआइआइटीबाट एक सय ५९ विद्यार्थी स्वदेश फिर्ता

वीरगञ्ज । भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआइआइटी) मा अध्ययनरत एक सय ५९ जना विद्यार्थी रक्सौल भएर स्वदेश फर्किएका छन् ।

केआइआइटीमा अध्ययनरत विद्यार्थी प्रकृति लम्सालको शङ्कास्पद मृत्युपछि उत्पन्न विषम परिस्थितिका कारण उनीहरू स्वदेश आएका हुन् । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीका अनुसार बिहीबार बेलुका एक सय ५९ जना विद्यार्थी रक्सौल हुँदै स्वदेश आएका हुन् ।

बिहीबार बेलुका नै वीरगञ्जका युवाले लम्साल र सिरहामा बलात्कारपछि ज्यान गुमाएकी रिन्कु सदाले न्याय पाउनुपर्ने माग गर्दै मैनबत्ती जुलुस निकालेका थिए । लम्साल र सदाको अस्वाभाविक मृत्यु भएकाले पनि न्यायिक छानबिन हुनुपर्ने उनीहरूको माग छ ।

डीभी चिठ्ठा प्रणाली पनि रोक्न ट्रम्पलाई बालेनको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिएका छन् ।

सामाजिक संजालमार्फत मेयर साहले नेपाल अमेरिकाभन्दा राम्रो रहेको महसुस गराएको भन्दै धन्यवाद दिएका हुन् ।

उनले भनेका छन्, ‘तपाईंले हामीलाई हाम्रो देश तपाईंको भन्दा राम्रो रहेको महसुस गराउनुभएकोमा धन्यवाद छ ।’

उनले नेपाली जनशक्ति देश छाडेर विदेश पलायन भएकाले नेपाल गरिब भएको पनि टिप्पणी गरेका छन् । तर, अमेरिकीहरू अल्छी रहेको र उनीहरूले आफैँले आफ्नो देश बनाउन नसक्ने पनि टिप्पणी गरेका छन् । मेयर साहले डीभी चिठ्ठा प्रणाली रोक्न पनि आग्रह गरेका छन् ।

 https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2FbalenOfficial%2Fposts%2Fpfbid0tXqDQwLS9b1uPBx3tDy19kuvNr58G8XpKtafaher234xQQHVm9ZfrXenvbdGe4qXl&show_text=true&width=500

नेपाल अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा

काठमाडौं । नेपाल काठमाडौँमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । बिहिबार त्रिपुरेश्वरस्थित दशरथ रगंशालमा भएको खेलमा लेबनानलाई १– ० ले पराजित गर्दैै नेपाल फाइनल प्रवेश गरेको हो ।

नेपालका लागि सावित्रा भण्डारीले गोल गरेर सफलता दिलाइन् । नेपालसँगै म्यानमारले पनि फाइनलको यात्रा तय गरेको छ । खेलको ४२औँ मिनेटमा सावित्रिले गरेको गोल नै निर्णायक बन्न पुग्यो । दुवै टोली राम्रो अवसर पाए पनि सदुपयोग गर्न सकेनन्।

नेपालले अब आइतबार प्रतियोगिता अन्तर्गतको अन्तिम खेलमा म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको फाइनल फागुन १४ गते हुनेछ।

रास्वपाको सचिवालय बैठका सात निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टीले सदनमा उठाउनुपर्ने प्रधान राष्ट्रिय मुद्दाहरु र जनजीविकाका सवालहरुमा सुझावहरु लिंदै सदनलाई जनता र राष्ट्रप्रति थप जवाफदेही बनाउने भएको छ । बिहीबार बसेको पार्टी सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा पार्टी कार्यवाहक सभापति डीपी अर्याल र उपसभापति डा. स्वर्णिम वाग्लेले समसामयिक राजनीतिक परिस्थितिकाबारे समीक्षा प्रस्तुत गरेका थिए । बैठकले सातै प्रदेशमा राष्ट्रिय तथा सामाजिक जीवनमा महत्वपूर्ण व्यक्तित्वहरुलाई भेटघाट/संवाद गर्ने सर्वाङ्गीण संवादको तयारीका लागि प्रदेश समितिहरुलाई निर्देशन दिएको छ ।

त्यस्तै पार्टीको केन्द्रीय सदस्यहरुको राजनीतिक अभिमुखीकरणका लागि फागुन ९ र १० गते आयोजना हुन गइरहेको केन्द्रीय प्रशिक्षण कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि आवश्यक तयारी भएको र क्रमशः प्रदेश, जिल्ला र पालिका तहसम्म यस्तो प्रशिक्षण सञ्चालन गर्दै जाने बैठकले निर्णय गरेको छ ।

बैठकले पार्टीको केन्द्रीय संगठन विभाग सदस्यमा कृष्णमान श्रेष्ठलाई मनोनयन गरेको छ भने बागमती प्रदेश समितिको रिक्त सहमहामन्त्रीको जिम्मेवारीमा प्रदेश समितिबाट प्राप्त सिफारिस बमोजिम कविन्द्र कार्की (काठमाडौं) र राधिका तिमल्सिना (चितवन) लाई अनुमोदन गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषद बैठकका १३ निर्णय

काठमाडौं । सरकारले एउटै प्रकृतिको कामका लागि स्थापना भएका फरक–फरक संरचना गाभ्ने, खारेज गर्ने वा हस्तान्तरण गर्नेसम्बन्धी अध्ययन प्रतिवेदन कार्यान्वयनका लागि उच्चस्तरीय कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

फागुन ६ गते बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक खर्च पुनरावलोकन आयोग, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग र एउटै प्रकृतिको कामका लागि स्थापना भएका फरक–फरक संरचना गाभ्ने, खारेज गर्ने वा हस्तान्तरण गर्नेसम्बन्धी अध्ययन प्रतिवेदनले सिफारिस गरेका सुझावहरूको कार्यान्वयनका लागि मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा सुझाव कार्यान्वयन उच्चस्तरीय कार्यदल गठन गर्ने निर्णय भएको जानकारी दिए ।

त्यस्तै बैठकले फागुन १२ गते हुने संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदको ५८ औँ नियमित बैठकमा सहभागिताका लागि हुने परराष्ट्रमन्त्रीको जेनेभा भ्रमण पनि स्वीकृत गरेको छ ।

सरकारले आगामी वर्ष २०८२ को वर्षभरी दिइने सार्वजनिक बिदा तथा कार्यालय समय निर्धाणका विषयमा पनि स्वीकृत गरेको बताए। सरकारले औद्योगिक व्यावसाय पहिलो संशोधन नियमावली २०८१ स्वीकृत गरेको छ।

यस्ता छन् बैठकका निर्णय

१) सार्वजनिक खर्च पुनरावलोकन आयोग २०७५, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१, एउटै प्रकृतिका कामका लागि स्थापना भएका अलग अलग संरचना गाभ्ने, खारेज गर्ने वा हस्तान्तरण गर्ने सम्बन्धी अध्ययन प्रतिवेदन २०८१ ले सिफारिस गरेका सुझावहरूको कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदका कार्यालयका सचिवको संयोजकत्वमा सुझाव कार्यान्वयन उच्च स्तरीय कार्यदल गठन गर्ने।

२) नेपाल खानेपानी संस्थानको महाप्रवन्धक पदमा अर्जुनबाबु ढकाल (गोरखा) लाई नियुक्त गर्ने,

३) नेपाल प्रहरीको अतिक्ति प्रहरी महानीरिक्षक रविन्द्र केसीको राजीनामा स्वीकृत गर्ने

४) संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदको ५८ औँ नियमित सत्र अन्तर्गत २०८१ फागुन १२ देखि १४ गतेसम्म स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने हाइ लेवल सेगमेन्टमा सहभागी हुन माननीय परराष्ट्रमन्त्रीको भ्रमण स्वीकृत गर्ने,

५) नेपाल सरकारको नाममा दर्ता रहेको सरकारी जग्गा प्रसुती गृह निर्माण, स्वास्थ्य चौकी भवन निर्माण, वडा कार्यालय भवन निर्माण र आयुर्वेद औषधालय भवन निर्माणका लागि मायादेवी गाउँपालिका रुपन्देहीलाई प्रयोग गर्न स्वीकृति दिने,

६) नेपाल सरकारको नाममा दर्ता रहेको सार्वजनिक प्रकृतिको जग्गा जिल्ला प्रहरी कार्यालय रुकुमकोटका लागि प्रयोग गर्न स्वीकृती दिने,

७) भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रश्तावमा नेपाल सरकारको नाममा दर्ता भएको सार्वजनिक प्रकृतिको जग्गा बहुउद्देशीय पोलि टेक्निकल इन्ष्टिच्युट व्यावसायिक प्रशिक्षण केन्द्रको भवन निर्माण प्रयोजनका लागि श्रम रोजगार तथा सामाजिक मन्त्रालयलाई प्रयोग गर्न दिने,

८) पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयको प्रश्तावमा नेपाल सरकार र ओमान सरकारबीच हुने पर्यटन क्षेत्रमा सहयोगको आदानप्रदान सम्बन्धी समझदारीमा भएको हस्ताक्षरलाई स्वीकृत दिने,

९) नेपाल र संयुक्त राज्य अमेरिकाबीच हुने पुरातात्विक र समुदायको सांस्कृतिक विषयमा सम्बन्धित सामग्रीहरूको ओसार प्रसार तथा आयात प्रतिवन्ध सम्झौता स्वीकृत गर्ने,

१०) जर्मनीको बलिनमा आयोजना हुने पर्यटन मेला इन्टरनेश्नल टुरिजम बोड्र्स आइटिभी बर्लिन २०२५ र फ्रान्समा आयोजना हुने ७५ औँ अन्नपूर्ण दिवसमा फागुन २० देखि २४ गतेसम्म सहभागी हुन पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेलाई स्वीकृति दिने,

११) मानव बेचबिखन तथा ओसारप्रसार ऐन २०६४ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने,

१२) औद्योगिक व्यावसाय पहिलो संशोधन नियमावली २०८१ स्वीकृत गर्ने,

१३) विक्रम संवत् २०८२ साल वैशाख १ गतेदेखि चैत्र मसान्तसम्म एक वर्षभरि दिइने सार्वजनिक बिदा तथा कार्यालय समय निर्धारण गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशत गर्ने।

पोखरामा जिपले स्कुटरलाई ठक्कर दिँदा आमाको मृत्यु, छोरा घाइते

पोखरा । पोखराको फिर्केमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

बिहीबार दिउँसो सिर्जनाचोबाट जिरोकिलोतर्फ गइरहेको ग३च८९७७ नम्बरको जिपले सिर्जनाचोकतर्फ आउँदै गरेको ग१३प ३२०६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा स्कुटरमा सवार माया गुरुङको मृत्यु भएको हो ।

माया स्कुटरको पछाडि सवार थिइन् भने स्कुटर छोरा मनोजले चलाएका थिए । दुर्घटनामा गम्भीर घाइते भएकी उनको मेट्रोसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही दुर्घटनामा घाइते भएका मायाका छोरा २६ वर्षीय मनोज गुरुङको अवस्था गम्भीर छ । उनको सोही अस्पतालमा उपचार भइरहेको छ । जिप चालक स्याङ्जा हरिनाश गाउँपालिका वडा नम्बर १ का २५ वर्षीय निर्मल गुरुङलाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको छ ।

दशौँ नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु

काठमाडौँ। आजदेखि यही फागुन ११ गतेसम्म भृकुटीमण्डपमा दशौँ नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु भएको छ। प्रदर्शनीको शुभारम्भ गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विकास निर्माणका काममा प्राथमिकता निर्धारण जरुरी रहेको बताए।

‘मुलुकलाई समृद्ध बनाउन र स्थानीयको उत्पादन सहरसम्म पुर्‍याउन आवश्यक सडक र बाटो निर्माण सरकारको प्राथमिकतामा छ,’ मन्त्री दाहालले भने,’वस्तु आयातका लागि एक देशसँग मात्र निर्भर हुने अवस्थाको अन्त्य गर्न सरकारले काम गरिरहेको छ।’

प्रदर्शनीमा विभिन्न देशका ३०० भन्दा बढी कम्पनीहरूको १५० बढी स्टल छन्। प्रदर्शनीमा निर्माणसम्बन्धी उद्योग, कम्पनी, डिलर तथा सब डिलरहरू र बिक्रेताहरूले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरूका बारेमा जानकारी गराउने स्टलहरू रहेको आयोजक संस्थामध्येका मिडिया स्पेस सोलुसन्स प्रालिका प्रबन्ध निर्देशक सिर्जल भट्टराईले बताए।

उनका अनुसार निर्माण क्षेत्रमा आएका नयाँ प्रविधिका बारेमा जानकारी गराउने उद्देश्यले प्रदर्शनी सुरु गरिएको हो। अन्तर्राष्ट्रिय प्रदर्शनीमा ‘कन्स्ट्रक्सन मेटेरियल्स’, ‘कन्स्ट्रक्सन मेसिनरी’, ‘प्रिफ्याब स्ट्रक्चर’, ‘युपिभिसी विन्डोज मेसिनरी’, ‘युपिभिसी प्रोफाइल’, ‘डोर्स एन्ड विन्डोज’, ‘आर्किटेक्चर हार्डवेयर’, ‘बाथरुम फिटिङ्स’, ‘पाइप, टायल्स एन्ड स्यानिटरी वायर’, ‘रफिङ’, ‘प्री इन्जिनियरिङ बिल्डिङ, पावर टुल्स’, ‘विन्डोज’लगायतका सामग्रीहरू रहनेछन्।

मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरएक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिले संयुक्त रूपमा आयोजना गरेको प्रदर्शनीमा निर्माण व्यवसायसम्बन्धी उत्पादन र नवीनतम प्रविधि प्रमुख आकर्षण रहने प्रबन्ध निर्देशक भट्टराईले बताए। प्रदर्शनीस्थल बिहान १० देखि बेलुका ६ बजेसम्म खुल्ला रहने र निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

उक्त प्रदर्शनी ४० देखि ४५ हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ। प्रदर्शनीले नेपालमा उत्पादन भइरहेका सामग्री र प्रविधिहरूलाई पनि अन्तर्राष्ट्रिय बजारसम्म लैजान सहयोग पुग्ने विश्वास आयोजकको छ।

सुदूरपश्चिमको विकासबारे प्रधानमन्त्रीसँग गम्भीर छलफल भएको छ : मन्त्री भण्डारी

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सुदूरपश्चिमको विकासका लागि सु.प.प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसद, मन्त्री र अन्य नेताहरू एक ठाउँमा उभिएको बताएका छन् ।

प्रेस चौतारी नेपालले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारमा सहभागी मन्त्री, सांसद तथा नेताहरूले हालै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेर सुदूरपश्चिमका महत्त्वपूर्ण विकास निर्माणका योजनालाई गति दिन ध्यानाकर्षण गराइएको बताए ।

‘सुदूरपश्चिमबाट सरकारमा सम्मिलित सबै मन्त्री, माननीय र यहाँका नेताहरूले प्रधानमन्त्री ज्यूलाई भेटेर प्रदेशको विकाससँग जोडिएका गेटा स्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने, महाकाली कोरिडोर, खुटिया दिपायल फास्ट ट्रयाक, प्रदेशको राजधानी निर्माणलाई अघि बढाउने जस्ता कुरामा महत्त्वपूर्ण छलफल भएको छ,’ उनले भने ।
अधुरा कामहरूलाई पूर्णता दिने र नयाँ कामको थालनी गर्ने विषयमा प्रधानमन्त्रीसँग महत्त्वपूर्ण छलफल भएको भण्डारीको भनाई थियो ।

सेती प्रादेशिक अस्पताल समेतलाई जोडेर जनशक्ति व्यवस्थापन गर्दै शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने कुरा अघि बढेको उनले बताए । प्रदेशको राजधानी निर्माणको काम पनि चाडै अघि बढ्ने मन्त्री भण्डारीको भनाई थियो ।

उनले सरकारले ल्याएका अध्यादेश सहमतिमै पारित हुने बताए । ‘संसद्को अधिवेशन सुचारु छ । हामीले थुप्रै विधेयक प्रस्तुत गर्दै पारित पनि भएका छन् । सरकारले ल्याएको अध्यादेश पनि संसद्मा प्रवेश पाउदैछ,’ भण्डारीले भने, ‘सहमतिमै अध्यादेश पारित हुने तयारी भइरहेको कुरा म जानकारी गराउन चाहन्छु ।’

अध्यादेशले सरकारलाई प्रभावकारी कार्य सम्पादन र सुशासनको प्रत्याभूति दिलाउने जस्ता महत्त्वपूर्ण विषय समेटेको बताउँदै भण्डारीले अहिले देखिएका जटिलता अन्त्य हुने उल्लेख गरेका छन् ।

‘सरकारले अहिले सम्पादन गरिरहेका कामहरूको परिणाम निकाल्ने कुरामा थुप्रै जटिलता र समस्याका चाङहरू छन् । परिणाम निकाल्न निश्चित कोर्स लिन्छ नै । त्यसैले ६ महिनाको परिणाम पर्याप्त होइन,’ भण्डारीले भने, ‘सरकारले गति लिइरहेको छ । कार्य सम्पादनलाई प्रभावकारी बनाउने र सुशासनलाई प्रत्याभूति गर्ने थुप्रै विषय अध्यादेशले अघि सारेको छ । निजी क्षेत्रले समेत स्वागत गरेको छ ।’

सरकारको अर्ध वार्षिक समीक्षाको परिणामका आधारमा अहिले नै विषयगत मन्त्रालयका बारेमा धारणा बनाइहाल्नुपर्ने अवस्था नभएको पनि उनको भनाई थियो ।

केबलकार विवादले ताप्लेजुङमा फेरि झडप, पाथीभरा क्षेत्र तनावग्रस्त

ताप्लेजुङ । पाथीभरामा केबलकार निर्माणलाई लिएर ताप्लेजुङमा बिहीबार फेरि झडप भएको छ । आन्दोलित समूह र प्रहरबीच केबलकारको बेस स्टेशन निर्माणस्थल काफ्लेपाटीमा झडप भएको हो ।

‘नो केबलकार समूह’ र सुरक्षार्थ तैनाथ प्रहरीबीच झडप भएको हो ।  प्रदर्शनकारीले ढुंगामुढा हानेपछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले ७ सेल अश्रुग्यास प्रहार गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार पाथीभरा क्षेत्रमा निर्माण भइरहेको केबलकार निर्माण रोक्न माग गर्दै नो केबलकार पक्षले पदयात्रा आयोजना गरेको थियो । पदयात्रामा आएकाहरूले केबलकार निर्माणस्थलमा रहेका निर्माण समाग्रीहरू कब्जामा लिन खोजेपछि सशस्त्र प्रहरीले रोकेको थियो ।

सो क्रममा केबलकारविरोधी समूहले ढुंगामुढा गरेको प्रहरीले जनाएकाे छ । केही छिन तनावग्रस्त बनेको सो क्षेत्र अहिले सामान्यतर्फ फर्किँदैछ ।

निर्माणस्थल कब्जा गर्ने उद्देश्यले अघि बढेका पहिचानवादी आन्दोलनकारीलाई रोक्न खोज्दा ढुंगा हानेर तोडफोडमा उत्रिएपछि उनीहरुलाई पछि हटाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार सशस्त्र प्रहरीका ११ जना र प्रदर्शनकारीतर्फ एकजनासहित १२ जना घाइते भएका छन् ।

Video: Itahari News HD

‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा छुट्टै ऐन सरकारको प्राथमिकतामा’

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी छुट्टै ऐन सरकारको प्राथमिकतामा रहेको बताए ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रद्वारा बेलायत सरकारको सहयोगमा सञ्चालित नेपाल नवीकरणीय ऊर्जा कार्यक्रमको सिकाइ आदानप्रदान कार्यक्रममा उनले सरकारले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा छुट्टै ऐनको व्यवस्थालाई प्राथमिकतामा राखेको जनाए।

ऊर्जामन्त्री खड्काले नवीकरणीय ऊर्जा परियोजनामा निजी क्षेत्रको लगानी वृद्धि गर्ने र ऊर्जाको पहुँच पुर्‍याउन यो कार्यक्रमले सहयोग पुगेको सुनाए ।

ऊर्जा प्रणालीलाई गुणस्तरीय र भरपर्दो बनाउन, दिगो ऊर्जा ‘च्यालेन्ज फन्ड’ मार्फत वितरित नवीकरणीय ऊर्जा परियोजनाको वित्तीय सम्भाव्यता र दिगो सञ्चालनका लागि कार्यक्रमले पुर्‍याएको योगदानको उनले प्रशंसा गरे ।

सरकारले आफ्ना नीति, रणनीति, योजना तथा लक्ष्यमार्फत नवीकरणीय ऊर्जाको विस्तार तथा ऊर्जा दक्षताको अवलम्बनलाई विशेष प्राथमिकता दिंदै आएको उनले बताए ।

मन्त्रिपरिषद्‌बाट हालै स्वीकृत ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८१’ मा नेपालले अघि सारेका स्वच्छ ऊर्जा र जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धता र राष्ट्रिय लक्ष्यमा नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता र स्वच्छ ऊर्जा रुपान्तरणलाई उच्च प्राथमिकता दिएको मन्त्री खड्काको भनाइ छ ।

सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट उत्पादन गर्दै विद्युत् खपत प्रतिव्यक्ति वार्षिक एक हजार ५०० युनिट पुर्‍याउने लक्ष्यसहित स्वीकृत मार्गचित्रमा राष्ट्रिय ग्रिड नपुगेका स्थानमा अफग्रिड सौर्य, वायु तथा लघु जलविद्युतमार्फत दुई वर्षभित्र शतप्रतिशत घरधुरीमा विद्युत् पहुँच पुर्‍याउने लक्ष्य लिएको उनले बताए ।

पेरिस सम्झौताअनुसार सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्यमा झार्ने प्रतिबद्धतालाई पूरा गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने मन्त्री खड्काको भनाइ छ । ०७५ माघदेखि कार्यान्वयन भई सञ्चालन आएको उक्त कार्यक्रम आगामी चैत १८ गते सम्पन्न हुँदैछ ।

कार्यक्रमले विद्युत् नभएका घरमा विद्युतीकरण, लघु जलविद्युत् निर्माण, विद्युतीय चुल्होको विस्तार, सौर्य ऊर्जाको विकास, विद्युतीय सिँचाइलगायत क्षेत्रमा काम गरेको केन्द्रका नायब कार्यकारी निर्देशक डा नारायणप्रसाद अधिकारीले जनाए ।

म्यानमारद्वारा किर्गिस्तान पाँच शून्य गोलले पराजित

काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबलमा म्यानमारले दोस्रो जित हासिल निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहीबार भएको पहिलो खेलमा म्यानमारले किर्गिस्तानलाई ५ शून्य गोलले हराएको हो ।

पहिलो हाफमा ४ गोल गरेको म्यानमारले दोस्रो हाफमा १ गोल गरेको थियो । म्यानमारकी यून वादी र मे हचटेटले २/२ तथा सनदर लिनले गोल गरे ।

प्रतियोगितामा म्यानमारको यो लगातार दोस्रो जित हो । यसअघिको खेलमा म्यानमारले लेबनानलाई हराएको थियो भने किर्गिस्तान नेपालसँग पराजित भएको थियो । प्रतियोगितामा आज साँझ ६ बजे नेपाल र लेबनान खेल्दै छन् ।

मोदीले दिए दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तालाई शुभकामना

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीकी नवनियुक्त मुख्यमन्त्री रेखा गुप्तालाई बधाइ तथा शुभकामना दिएका छन् ।

बिहीबार दिल्लीको रामलीला मैदानमा आयोजित शपथ ग्रहण समारोहमा सहभागी भएका मोदीले गुप्तालाई बधाई दिँदै भनेका छन्, ‘मलाई विश्वास छ, उहाँले दिल्लीको विकासका लागि जोशका साथ काम गर्नुहुनेछ ।’

प्रधानमन्त्री मोदीले उनलाई सफल कार्यकालको शुभकामना पनि व्यक्त गरेका छन् ।  उनले भाजपा नेतृ गुप्ता तल्लो तहबाट उठ्दै मुख्यमन्त्रीसम्म बनेको उल्लेख गरेका छन् ।

गुप्तालाई बुधबार मात्रै पार्टीको संसदीय दलको बैठकले मुख्यमन्त्री बनाउने निर्णय लिएको थियो । सोही अनुसार बिहीबार मुख्यमन्त्री नियुक्त भएकी उनले लगत्तै उपराज्यपाल विनयकुमार सक्सेनासँग पद तथा गोपनियताको शपथ लिएकी हुन् ।

रेखा गुप्ता दिल्लीको नवौं मुख्यमन्त्री तथा चौथो महिला मुख्यमन्त्री बनेकी छिन् । यसअघि सुष्मा स्वराज, शिला दीक्षित र आतिशी मुख्यमन्त्री बनेका थिए । दिल्लीमा परवेश सिंह, आशिष सूद, मनजिंदर सिंह सिरसा, रविन्द्र इन्द्रज सिंह, कपिल मिश्रा र पंकजकुमार सिंह क्याबिनेट मन्त्री बनेका छन् ।

दीक्षित विद्यार्थीलाई प्रधानमन्त्रीको आग्रहः नागरिक सर्वोच्चताको गर्व तपाईंहरुमा होस्

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञान, दर्शन, योग र खोजको उद्गमस्थल नेपालमा दीक्षित विद्यार्थीले सदैव इमानदार भएर देशका लागि काम गर्नुपर्नेमा जोड दिएका छन् ।

कास्कीको ढुंगेपाटनमा बिहीबार आयोजित पोखरा विश्वविद्यालयको २०औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आत्मविश्वासका साथ इमानदार भई समाजका लागि सकारात्मक काममा आफूले प्राप्त गरेको ज्ञानको उपयोग गर्न दीक्षित विद्यार्थीसँग आग्रह गरे ।

‘इमानदारिताले मात्रै सकारात्मक सफलता पाउन सकिन्छ । बेइमानी गरेर पाएको सफलता समाजका लागि उपयोगी हुँदैन । तपाईंहरुले राम्रो पढेको हो भने पनि त्यसलाई समाजमा नकारात्मकता, चोरी, ठगीजस्ता अपराधका काममा प्रयोग गरेमा त्यसलाई सफलता मान्न सकिँदैन,’ कुलपति ओलीले भने, ‘तपाईंहरू समाज र देशका लागि उपयोगी हुनुपर्छ । आफ्ना लागि मात्रै गर्न खोजेमा स्वार्थी भइन्छ । देश र समाजका लागि केही गर्नुस् । नागरिक सर्वोच्चताको गर्व तपाईंहरुमा होस् ।’

उनले सानो देशमा छु भन्ने हीनताबोधी भावना नराख्न आग्रह गर्दै कुनै पनि देशको सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन भन्ने विषयमा स्पष्ट भई सदैव नेपाल र नेपालीलाई केन्द्रमा राखेर काम गर्न आग्रह गरे । ‘हात्ती देख्ने बित्तिकै भागेमा माउते हुन सकिँदैन । हात्तीलाई तालिम दिएर माउते हुने कोसिस गर्नुस् । साहसी हुनुस्, दुस्साहासी नहुनुस्,’ प्रधानमन्त्री ओलीले भने, ‘हामीसँग उर्वर भूमि छ । यसलाई रुपान्तरणकारी विकासमा लान सकिन्छ । यस काममा विश्वविद्यालय लागोस् । सरकार विश्वविद्यालयको साथमा छ ।’

समारोहमा कुलपति ओलीले विश्वविद्यालयका विभिन्न सङ्काय र तहका गरी सात हजार ८७२ विद्यार्थीलाई दीक्षित गराउनुभयो । साथै उनले कुलपति पदकबाट सर्वोत्कृष्ट विद्यार्थीलाई पुरस्कृत पनि गरे ।

लुम्बिनी प्रदेशको पुँजीगत खर्च २२ र चालु खर्च २८ प्रतिशत मात्र

लुम्बिनी ।  लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको हालसम्म कुल बजेटको २४.९१ प्रतिशत खर्च गरेको छ ।

चालु वर्षमा ३८ अर्ब ९७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । यसमा पुँजीगततर्फ २४ अर्ब ५८ करोड र चालु खर्चतर्फ ११ अर्ब २४ करोड विनियोजन गरिएको थियो ।

प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयले आज आयोजना गरेको अर्धवार्षिक समीक्षामा चालु आर्थिक वर्षको फागुन ३ गतेसम्मको तथ्याङ्कअनुसार पुँजीगत खर्च २२.८३ प्रतिशत र चालु खर्च २८।४७ प्रतिशत रहेको सार्वजनिक गरिएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित अर्धवार्षिक समीक्षामा मुख्यमन्त्री चेतनारायण आचार्यले चालु आर्थिक वर्षमा विनियोजन भएको पुँजीगत बजेटको कार्यान्वयन र भुक्तानीलाई विशेष ध्यान दिन मातहतका निकायलाई निर्देशन दिए।

उनले प्रदेश सरकारले पुँजीगत खर्च गर्न नसकेको भन्ने आलोचनालाई चिर्न खर्चलाई प्रभावकारी रूपमा बढाउनुपर्नेमा जोड दिए।

‘वैशाख महिनालाई अन्तिम भुक्तानीको महिना बनाउन सक्ने हो भने धेरै समस्या हल भएर जाने थिए, मुख्यमन्त्री आचार्यले भने, अन्य प्रदेशको तुलनामा माघ मसान्तसम्म लुम्बिनी प्रदेशको पुँजीगत खर्च सबैभन्दा राम्रो छ । तर यसलाई निरन्तरता दिनेगरी काम गरौँ ।’

सङ्घीय सरकारबाट प्राप्त समानीकरण, ससर्त तथा विशेष अनुदानका कार्यक्रम कार्यान्वयनमा विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए । सङ्घबाट प्राप्त भएको बजेट कार्यान्वयन नभएमा फिर्ता नहुने गरी कार्यान्वयन गर्न जोड दिनैपर्ने उनले बताए ।

मुख्यमन्त्री आचार्यले टुक्रे आयोजना निरुत्साहित गर्न योजना छनोटमा कठोर बन्नुपर्ने धारणा राख्दै प्रदेश सरकारले बहुवर्षीय आयोजनालाई प्राथमिकता दिने स्पष्ट पारे । ‘हामीले टुक्रे आयोजनालाई निरुत्साहित गर्न बहुवर्षीय आयोजनालाई प्राथमिकतामा राख्नुपर्छ, उनले भने, राजनीतिक तहबाट पनि यसबारे छलफल अघि बढाउनुपर्छ ।’

आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीको अध्यक्षता कार्यक्रममा स्वास्थ्यमन्त्री खेमबहादुर सारु, वन तथा वातावरणमन्त्री देवकरण कलवार, प्रमुख सचिव बाबुराम अधिकारी, प्रदेश योजना आयोगका उपाध्यक्ष डा डिल्लीराज अर्याललगायत मन्त्रालयका सचिवहरूले अहिलेसम्मका उपलब्धि र भावी योजनाका बारेमा आफ्ना धारणा राखेका थिए । कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव डिलाराम पन्थीले समीक्षा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

हनुमानढोकामा युवक मृत्यु प्रकरणः दुईजना प्रहरी नियन्त्रणमा

काठमाडौँ । हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिरअगाडि एक युवक मृत भेटिएको प्रकरणमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । 

हातमा सुजन शाक्य नाम लेखेका ३१ वर्षीय एक युवक बिहीबार मृत  भेटिएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवम् प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

उनले भने, ‘हातमा सुजन शाक्य नाम लेखिएको छ, उनको पूरै परिचय खुलेको छैन, उक्त प्रकरणमा दुई जनालाई नियन्त्रणमा लिएर हामीले अनुसन्धान गर्दैछौँ ।’ मृतकको शरीरमा चोटपटक देखिएको प्रहरीले जनाएको छ ।

भक्तपुर अस्पतालमा ‘सिटी स्क्यान मेसिन’

भक्तपुर । स्थापना भएको १२० वर्षपछि भक्तपुर अस्पतालले पहिलोपटक ‘सिटी स्क्यान मेसिन’ सञ्चालनमा ल्याउने भएको छ । चन्द्रशमशेर राणाले स्थापना गरेको  अस्पतालमा सञ्चालनका लागि बागमती प्रदेश सरकारले खरिद गरेर पठाएको मेसिन अस्पतालमा आइपुगेको छ ।

मेसिन अस्पतालमा आएसँगै प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापा र प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले उक्त मेसिन जडान कार्यको अवलोकन गरे । मन्त्री थापाले अस्पताल आइसकेको सिटी स्क्यान मेसिन जडान कार्य चाँडोभन्दा चाँडोे सम्पन्न गरेर सेवा सञ्चालन गर्न आज अस्पताललाई निर्देशन दिए ।

उनले सेवा विस्तारका लागिसमेत आवश्यक सहजीकरण गरिदिने प्रतिबद्धता जनाउँदै कुनै पनि सेवामा सेवाग्राहीको गुनासो नआउने गरी काम गर्न अस्पतालका कार्यकारी निर्देशक डा सुरेन्द्रप्रसाद भट्टलाई निर्देशन दिए ।

मन्त्री थापा र प्रदेशसभा सदस्य श्रेष्ठले अस्पतालका विभिन्न शाखा एवं सेवाको अनुगमन गरे । उनीहरुले अस्पतालमा भर्ना भएका बिरामीसँग भेट गरी अस्पतालको सेवाका बारेमा जानकारी लिए । अस्पतालका लागि प्रदेशको स्वास्थ्य मन्त्रालयले बोलपत्र आह्वान गरी ८ करोड रुपैयाँ बजेटमा १२८ स्लाइसको सिटी स्क्यान मेसिन खरिद गरेको मन्त्री थापाले राससलाई जानकारी दिए ।

उनले भने, “भक्तपुर अस्पतालमा स्वास्थ्य मन्त्रालयले पहिलो पटक सिटी स्क्यान मेसिन अस्पतालमा ल्याएको छ, यसै महिना यो सञ्चालनमा आउँछ, साथै यस अस्पतालका लागि १ करोड १० लाख रुपैयाँको लागतमा मेमोग्राम मेसिन ल्याउन बोलपत्र आह्वान गरिसकेका छौँ, यो मेसिन जडान गरेपछि यहाँका महिलालाई स्तन क्यान्सरको पहिचान एवं ‘स्क्रिनिङ’ गर्न सजिलो हुन्छ र बिरामीले अन्य अस्पतालमा धाउनु पर्दैन, दुवै मेसिन सञ्चालनका लागि आवश्यक दक्ष जनशक्ति पनि सरकारले व्यवस्थापन गर्छ ।”

माओवादी संविधान संशोधनको पक्षमा छः नारायणकाजी श्रेष्ठ

धरान ।  नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादी संविधान संशोधनको पक्षमा रहेको बताएका छन्।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र धरान उपमहानगर समितिले बिहीबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका श्रेष्ठले भने, ‘समग्र जनताको हित, विकास र समृद्धि प्राप्ति गर्न संविधानको मूल मर्मको रक्षा हुने गरी माओवादी संविधान संशोधनको पक्षमा छ।’

उनले पछिल्लो समय पार्टीले सुदृढीकरण अभियान चलाउन सुरु गरेपछि माओवादी बलियो बन्दै गएको बताए। उनले सामाजिक र आर्थिक रुपान्तरण नै समृद्धिको आधार रहेको पनि बताए।

लोकतन्त्रको रक्षा गर्न सामाजिक आर्थिक रुपान्तरण आवश्यक रहेको बताउँदै उनले सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्राथमिकतामा राखेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयनमा सबैले ध्यान दिनुपर्ने बताए।

ताप्लेजुङको पाथीभरामा निर्माण गर्न लागेको केबुलकार विवादले धरान प्रभावित भइरहेको विषयमा उनले स्थानीयवासीको मागलाई सम्बोधन गरेर केबुलकार निर्माण गर्नुपर्ने र वार्ताकै माध्यमबाट विवाद समाधान गर्नुपर्ने बताए।

हमासद्वारा बिबास परिवारका तीनसहित चार जना इजरायली बन्धकको शव हस्तान्तरण

खान युनिस । हमासले गाजा युद्ध सुरु भएदेखि इजरायलमा व्याप्त अग्निपरीक्षाको प्रतीक बनेका बिबास परिवारसहित चार जना इजरायली बन्धकको शव रहेको कफिन बिहीबार हस्तान्तरण गरेको छ ।

सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणपछि हमासले पहिलो पटक शव हस्तान्तरण गरेको हो । यो हमास र इजरायली पक्षबीच जनवरी १५ मा सहमति गरिएको र जनवरी १९ मा कार्यान्वयनमा आएको युद्धविराम सम्झौताअन्तर्गत भइरहेको छ । बदलामा इजरायली जेलमा रहेका जीवित प्यालेस्टिनी बन्दीको आदानप्रदान हुनेछ ।

दुई छोराहरू केफिर र एरियलसहित शिरी बिबास तथा ओडेद लिफशिट्जको शव फिर्ता गर्ने समारोह दक्षिणी गाजा शहर खान युनिसबाट भएको हो ।

हस्तान्तरण गर्नुअघि हमासले बलौटे जमिनमा बनाइएको मञ्चमा चारवटा कालो कफिन प्रदर्शन गरेको थियो ।

प्रत्येक ‘कास्केट’मा मृतकको सानो फोटो राखिएको र कफिनको छेउमा राखिएका सेतो नक्कली क्षेप्यास्त्रमा अमेरिकी बमले मारिएका लेखिएको छ ।

इजरायली सेनाले ‘बन्धकहरूको शव’ आफू र गाजास्थित शिन बेट आन्तरिक सुरक्षा एजेन्सीलाई हस्तान्तरण गरिएको बताएको छ ।

हमासले बिबास परिवारको अपहरणका समय गरेको भिडियो प्रसारणमा आमा र उनका छोराहरू चार वर्षीय एरियल र केवल नौ महिनाका केफिरलाई गाजा सीमा नजिकैको उनीहरूको घरबाट जफत गरिएको देखिएको थियो ।

केटाहरूका बुबा र शिरीका पति यार्डेन बिबासलाई सोही दिन छुट्टाछुट्टै अपहरण गरिएको थियो र फेब्रुअरी १ मा गाजा पट्टीबाट बन्धक–कैदी आदानप्रदानमा रिहा गरिएको थियो।

गाजामा १५ महिनाभन्दा लामो संघर्षपछि जनवरी १९ मा इजरायल र हमासबीच भएको युद्धविरामको पहिलो छ हप्ताको प्रथम चरणको एक हिस्साका रुपमा उनीहरुको शव स्वदेश फिर्ता गरिएको हो ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बिहीबार बन्धकको शब फिर्ताको क्षण इजरायलका लागि निकै कठिन दिन हुने बताएका थिए ।
युद्धविरामको पहिलो चरणअन्तर्गत अहिलेसम्म एक हजार १०० भन्दा बढी प्यालेस्टिनी कैदीहरूको बदलामा १९ जना इजरायली बन्धकलाई लडाकूहरूले रेड क्रसमार्फत् इजरायललाई हस्तान्तरण गरेका छन्।

पोपको स्वास्थ्यमा क्रमिक सुधार

भ्याटिनक सिटी । पोप फ्रान्सिसको स्वास्थ्यमा सामान्य सुधार देखिएको छ । उनलको उपचारमा संलग्न भ्याटिकनले अस्पतालका चिकित्सकहरूले स्वास्थ्यमा सुधार भएको बताएका हुन् ।

उनी ब्रोन्काइटिसका कारण गत शुक्रबार रोमको जेमेली अस्पतालमा भर्ना भएका थिए । उपचारकै क्रममा ८८ वर्षीय क्रिश्चियन धर्मगुरू पोपको दुवै फोक्सोमा निमोनिया देखिएको थियो ।

यसैबीच, धर्मगुरू पोपलाई इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनीले भेट गरेका छन् । “करिब २० मिनेटको भेटमा प्रधानमन्त्री मेलोनीसँग स्वभाविक कुराकानी भएको र उहाँलाई स्वागत गर्न धर्मगुरूसँग पर्याप्त ऊर्जा थियो,” अस्पताल स्रोतले बताएको छ ।

पोपले हालैका वर्षहरूमा ठूलो आन्द्रा र हर्नियाको शल्यक्रियादेखि लिएर हिँडडुलमा समस्याजस्ता थुप्रै समस्याहरूको सामना गर्नुपरेको छ । पछिल्लो समय उनी  ब्रोन्काइटिसको उपचारका लागि अस्पताल गएका थिए । तर उपचारका क्रममा उनमा निमोनियाको पनि समस्या देखिएको छ ।

महोत्तरीका क्रिकेट खेलाडीको वृद्धि विकासमा सहयोग गर्ने एनआरएनए मलेसियाको वचन

काठमाडौं । जिल्ला क्रिकेट संघ महोत्तरीका अध्यक्ष रोशनकुमार सिंह नेतृत्वको टोलीले गैरआवासीय नेपाली संघ(एनआरएनए) मलेसियाका पदाधिकारीसँग भेट गरेको छ ।

भेटमा संघको मलेसियाका अध्यक्ष राकेश महतो र मलेसियाका पदाधिकरीसँग क्रिकेट संघको टोलीले भेट गरेको हो । भेटमा अध्यक्ष महतोले महोत्तरी क्रिकेट संघका १८ खेलाडीलाई बोलाउने मलेसिया बोलाउने वचन दिएका छन् । खेलाडीहरुको आर्थिक दायित्व एनआरएनले बेहोर्ने अध्यक्ष महतोले बताएका छन् ।

उनले आउने समयमा मलेसियाको क्रिकेट बोर्डसँग सहकार्य गरी प्रतियोगिता आयोजना गर्ने बताएका छन् । जिल्ला क्रिकेट संघ महोत्तरीको टोली मलेसियामा प्रतियोगिता आयोजना गर्न एनआरएनए मलेसियालाई सहयोगका लागि आग्रह गर्न गएको हो ।

धनगढीका चार सामुदायिक विद्यालयमा ‘ग्रासरुट फुटबल’ सञ्चालन

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका क्षेत्रका चार सामुदायिक विद्यालयमा ‘ग्रासरुट फुटबल’ कार्यक्रम सञ्चालन हुने भएको छ । ‘ग्रासरुट फुटबल’ कार्यक्रम सञ्चालनका लागि धनगढी उपमहानगरपालिका र जिल्ला फुटबल सङ्घबीच सम्झौता भएको छ ।

धनगढी–१६ को बेहडाबाबा माध्यमिक विद्यालय, वडा नं ११ को दक्षिणकाली बहिरा आवासीय विद्यालय, वडा नं १५ को राष्ट्रिय माध्यमिक विद्यालय उर्मी र धनगढी–७ को पटेला खेल मैदानमा ‘ग्रासरुट फुटबल’ कार्यक्रम सञ्चालन हुने भएको उपमहानगरपालिकाले जनाएको छ ।

नेपालको संविधानमा भएको व्यवस्था तथा खेलकुद शिक्षा विकास ऐन, २०७९ को दफा १० बमोजिम कैलाली जिल्ला फुटबल सङ्घसँग सम्झौता गरिएको नगरप्रमुख गोपाल हमालले बताए । उपमहानगरपालिकाले फुटबल मैदान निर्माणका साथै प्राविधिक तथा आर्थिक सहयोग गर्नेछ । 

फुटबल सङ्घले खेल सामग्री, खेलाडी, प्रशिक्षकलगायतको व्यवस्थापन गर्नेछभने  उपमहानगरपालिकाको निजी स्रोतबाट ‘ग्रासरुट फुटबल’ को खर्च ब्यहोर्ने गरी सम्झौता गरिएको हमालको भनाइ छ ।

नयाँ फुटबल खेलाडी उत्पादनका लागि विद्यालयस्तरबाटै प्रशिक्षणको कार्यक्रम सञ्चालन गरिएको उपमहानगरपालिकाले जनाएको छ । गत वर्ष ‘ग्रासरुट क्रिकेट’ कार्यक्रमको सुरुवात गरेको उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा ‘ग्रासरुट फुटबल’ कार्यक्रम सञ्चालन गर्न सम्झौता गरेको हो ।

गत आर्थिक वर्ष सुरुआत गरिएको ग्रासरुट क्रिकेट कार्यक्रमसमेत सञ्चालनमा रहेको युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक केशव खत्रीले बताए । उनले क्रिकेट, ब्याडमिन्टनलगायत खेलकुद कार्यक्रम सञ्चालनमा रहेका वडामा हाल फुटबल कार्यक्रम सञ्चालन नगरिने जानकारी दिए । 

नेप्सेमा सामान्य वृद्धि

काठमाडौं । बिहीबार शेयर बजार नेप्से सामान्य अंकले बढेको छ । बिहीबार नेप्से ३ दशमलव १४ अङ्कले बढेर २ हजार ७ सय ४३ दशमलव ७४ विन्दुमा पुगेको छ ।

आज व्यापार, बीमा र अन्य बाहेक सबै समूहको शेयर घटेको छ । आज व्यापार समूहको शेयर साढे ३ प्रतिशतभन्दा धेरै र जीवन बीमा समूहको शेयर झन्डै साढे २ प्रतिशतले उकालो लागेको छ ।

आज गार्डियन माइक्रो लाइफ इन्सुरेन्सको शेयर १० प्रतिशत तथा विन नेपाल लघुवित्त र अपर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

नेप्से सामान्य बढेको दिन बाराही हाइड्रोपावर पब्लिक कम्पनीको शेयर भने ८ प्रतिशतभन्दा धेरैले घटेको छ । आज ३ सय ९ वटा कम्पनीका १ करोड ५६ लाख कित्ता शेयर ८ अर्ब ६२ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

पृथ्वी राजमार्गको पूर्वी खण्डमा ७७ दशमलव सात प्रतिशत प्रगति

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत पृथ्वी राजमार्गको पूर्वी खण्डमा सडक विस्तार कार्य ७७ दशमलव सात प्रतिशत भौतिक प्रगति भएको छ ।

पूर्वी खण्डमा पर्ने ४१ दशमलव ४५ किलोमिटर दूरी सडकमध्ये ७२ दशमलव एक किमी सडक कालोपत्र गरिएको हो । त्यसमा ३४ दशमलव पाँच चार लेन र तीन दशमलव एक दुई लेन सडक कालोपत्र गरिएको हो ।

आयोजनाका अनुसार ४४ किमी सडकमा दोस्रो (अन्तिम चरण) को कालोपत्र भएको छ । सोमा १५ दशमलव छ चारलेन र १२ दशमलव ७३ किलोमिटर दुई लेन रहेको आयोेजनाको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।

पहिलो चरणमा छ सेन्टिमिटर मोटाइको सडक कालोपत्र गरिएको थियो । दोस्रो चरणमा चार सेमी गरी कुल १० सेन्टिमिटरको सडक कालोपत्र हुनेछ । जिल्लाको आँबुखैरेनी गाउँपालिकाको मार्कीचोकबाट ‘डबल लेयर’को कालोपत्र कार्य अघि बढाउनाका साथै कालोपत्र नगरिएका स्थानमा पनि काम सुरु गरिएको उनले बताए ।

“दुईतर्फी सडकमध्ये एकतर्फी कालोपत्र भई बाँकी रहेका अर्को सडक साइडमा पनि कालोपत्रको कार्य अघि बढाइएको छ”, उनले भने, “जिल्लाको सदरमुकाम दमौली खण्डमा अहिले सडक विस्तार कार्यले गति लिइरहेको छ ।” पृथ्वी राजमार्गको पूर्वी खण्डमा पर्ने आँबुखैरेनी–जामुने विसं २०७७ माघ १७ गते चाइना कन्स्ट्रक्सन कम्पनी कर्पोरेसनले रु छ अर्ब २१ करोड ३१ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

विसं २०८१ वैशाखसम्म काम सम्पन्न गर्नेगरी सम्झौता गरिएको थियो । हाल पुनः म्याद थप गरी निर्माण कार्यलाई निरन्तरता दिइएको छ । एसियाली विकास बैङ्क एडिबीको ऋण सहयोगमा चार लेनमा सडक विस्तार भइरहेको हो ।

पोखरा विश्वविद्यालयबाट सात हजार ८७२ विद्यार्थी दीक्षित

गण्डकी  । पोखरा विश्वविद्यालयको २०औँ दीक्षान्त समारोहबाट सात हजार ८७२ विद्यार्थी दीक्षित भएका छन् । पोखरा महानगरपालिका–३० ढुङ्गेपाटनस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा बिहीबार आयोजित विशेष समारोहबीच विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरुलाई दीक्षित गराएका हुन् । 


सो विश्वविद्यालयअन्तर्गतका विभिन्न क्याम्पसबाट स्नातक, स्नातकोत्तर र विद्यावारिधि तह उत्तीर्ण गरको विद्यार्थी आज दीक्षित भएका हुन् ।


पोखरा विश्वविद्यालयअन्तर्गत देशभर सञ्चालित क्याम्पसहरूबाट विभिन्न ६८ विधामा करिब ४० हजार विद्यार्थी अध्ययनरत रहेका विश्वविद्यालयले जनाएको छ । 

पोखराका मेयर आचार्य अस्पतालबाट डिस्चार्ज

काठमाडौं । पोखरामा भएको बेलुन विस्फोटमा परी घाइते भएका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य उपचारपछि अस्पतालबाट बिहीबार डिस्चार्ज भएका छन् ।

पोखरा भ्रमण वर्ष समारोह उद्घाटन गर्ने क्रममा बेलुन विस्फोट भएपछि घाइते भएका मेयर आचार्य बिहीबार कीर्तिपुरस्थित बर्न अस्पतालबाट उपचारपछि डिस्चार्ज भएका हुन् ।

उनीसँग सोही विस्फोटमा परेर घाइते भएका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल यसअघि नै डिस्चार्ज भइसकेका छन् । आचार्यले डिस्चार्ज भएपछि उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा अस्पताल परिवारप्रति आभार व्यक्त गरेका छन् ।

केआईआईटी घटना कूटनीतिक माध्यमबाट समाधान भयोः परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली विद्यार्थीको मृत्यु र त्यसपछि विकसित घटनाक्रमलाई नेपाल सरकारले गम्भीर रूपमा लिएर कूटनीतिक माध्यमबाट समाधान गरेको बताएकी छन् ।

ओमनको मस्कटमा आयोजित आठौँ हिन्द महासागर सम्मेलनमा सहभागी भएर बिहीबार स्वदेश फर्किएकी परराष्ट्रमन्त्री राणाले यस विषयमा आफूले ओडिसाका उच्च शिक्षा मन्त्री सूर्यवंशी सुरजसँग फोनमा कुराकानी गरेर नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाहीका साथै त्यहाँका नेपाली विद्यार्थीहरूलाई कलेजमा सुरक्षित वातावरण सहित पठनपाठनको व्यवस्थाका लागि आग्रह गरेको जानकारी दिइन् ।

भारतीय मन्त्री सुरजले पनि उक्त घटनालाई ओडिसा राज्यले गम्भीर रूपमा लिएको र प्रकृतिलाई न्याय र दोषीमाथि कारबाहीका लागि उच्चस्तरीय छानबीन समिति गठन गरिएको जानकारी गराएका थिए ।

उनले भनिन् ‘उक्त घटनापछि हामीले तत्कालै कूटनीतिक पहल सुरु गर्यौँ । त्यसपछि विश्वविद्यालयले माफी मागेर विद्यार्थीलाई होस्टेल फर्काएको छ भने दुव्र्यवहार गर्ने कलेजका स्टाफलाई कारबाही गरेको छ ।’

उनले यसमा दिल्लीस्थित नेपाली राजदूतावासले ओडिसा सरकार र विश्वविद्यालय प्रशासनसँग सम्पर्कमा रहेर आवश्यक समन्वयका साथ काम गरिरहेको जानकारी दिइन् ।

त्यसैगरी मन्त्री राणाले ओमानको भ्रमणका क्रममा इरानका परराष्ट्र मन्त्रीसँग विपिन जोशीको अवस्थाबारे छलफल भएको जानकारी दिइन् । उनले भनिन्, ‘मैले इरानको परराष्ट्र मन्त्रीसँग पनि कुरा गरें । त्यो कुरा विपिन जोशीको नै बारेमा मूल छलफल भएको थियो । उहाँले पनि म प्रयास गर्छु भन्नुभएको छ । केही सूचनाहरू मागेका छौ र गम्भीर भएर लागेका छौ भन्नु भएको छ । यही कुरा कतारको प्रतिनिधिहरूले पनि गर्नु भएको थियो ।’

यसको साथै, उनले ओमानसँग कागजको बिक्रीलाई व्यवसायिक गर्ने र पर्यटकको क्षेत्रलाई सुधार गर्ने बारेमा दुईवटा एमओयुहरू साइन भएको पनि बताइन् ।

यस्तै, उनले घरेलु कामदारको रूपमा महिलाहरू जाने विषयलाई पुनःविचार गरेर एउटा टिम बनाएर फिल्ड रिसर्च गरेर नै काम गर्ने पनि बताइन् ।

परराष्ट्रमन्त्री राणा ओमानका विदेशमन्त्री सायद बद्र बिन हमाद बिन हमूद अल बुसैदीको निमन्त्रणामा एक साता लामो भ्रमणका लागि चार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओमान भ्रमणमा गएकी थिइन् ।

सात महिनामा १ खर्ब २७ अर्बको वस्तु विदेश निर्यात हुँदा आयात १० प्रतिशतले वृद्धि

काठमाडौं । पछिल्लो समय आयात र निर्यातमा वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो सात महिनामा निर्यात ४६.५० प्रतिशले बढेको छ ।

गतआर्थिक वर्ष २०८०/८१ को सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपाल ४० अर्ब ३७ करोड रुपैयाँले निर्यात बढाउन सफल भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको माघ महिनासम्मको तथ्यांक अनुसार नेपालले यो अवधिमा १ खर्ब २७ अर्ब रुपैयाँको निर्यात गरेको छ ।

यस्तो निर्यात गत आर्थिक वर्षको सोही अवधिमा ८६ अर्ब ८३ करोड रुपैयाँको निर्यात गरेको थियो । यस्तो निर्यात गत वर्षको तुलनामा यो वर्षको पहिलो सात महिनामा ४६.५० प्रतिशतको उत्साहपूर्ण वृद्धि भएको देखिएको छ ।

निर्यातसँगै आयात पनि १० प्रतिशतले बढेको छ । माघसम्ममा नेपालको आयात ९ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ ।

यस्तो आयात गतवर्षको सोही अवधिमा ८ अर्ब ९७ अर्ब ९४ करोड रुपैयाँ मात्रै रहेको पनि तथ्यांकले देखाएको छ ।

त्यस्तै नेपालको कुल वैदेशिक व्यापार यो अवधिमा १३ प्रतिशतले बढेको छ । यो अवधिमा नेपालको आयात र निर्यातको बजार ११ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ ।

नेपालमा आयात हुने वस्तुमा सबैभन्दा बढी पेट्रोलियम पदार्थ रहेको छ । नेपालमा पछिल्लो सात महिनामा १ खर्ब ५० अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ ।

सरकारले ल्याएका अध्यादेश सहमतिमै पारित हुन्छन्ः उद्योगमन्त्री भण्डारी

कैलाली । उद्योग  वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले ल्याएका अध्यादेश सहमतिमै पारित हुने बताएका छन्  ।

प्रेस चौतारी कैलालीले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारले पछिल्लो समय ल्याएका अध्यादेशले छिट्टै संसद्मा प्रवेश पाउने बताए ।

उनले भने,’संसद्को अधिवेशन जारी छ, केही समयमा सरकारले ल्याएका अध्यादेशले संसद्मा प्रवेश पाउनेछन्, सहमतिका साथ अध्यादेश पारित गर्ने गरी तयारी भइरहेको छ ।’

मन्त्री भण्डारीले सरकारले ल्याएका अध्यादेशले निजी क्षेत्र उत्साहित भएको उल्लेख गर्दै अध्यादेशले लगानीमैत्री वातावरण बन्ने खालको सुनिश्चितता भएको बताए ।

‘अध्यादेशले अगाडि ल्याएका मान्यता सरकारको प्रभावकारितासँग कति उपयुक्त छन् भन्ने कुराको छलफल र बहसबाट यसलाई टुङ्ग्याउनु पर्छ जस्तो लाग्छ,’ उनले भने,’संसद्मा पनि एउटा वातावरण बन्छ, त्यसलाई अगाडि बढाउने सरकारले तयारी थालेको छ ।’

त्यस्तै, तत्काल गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई सेती प्रादेशिक अस्पतालमा रहेका केही जनशक्तिलाई जोडेर अगाडि बढाउने कुरा भएको उनले बताए ।

बालबालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि हस्तान्तरण

काठमाडौं । बालबालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा बिहीबार एक समारोहबीच हस्तान्तरण गरिएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का नेपाल प्रतिनिधि डा. राजेश सम्भाजीराव पाण्डव र युनिसेफका निमित्त नेपाल प्रतिनिधि बुधि सेटियावनले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई औषधि हस्तान्तरण गरेका हुन् ।

प्राप्त औषधि भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर क्यान्सर अस्पतालमा बाल क्यान्सरको उपचारमा प्रयोग हुने जनाइएको छ ।

नेपालले ‘ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्स’ अन्तर्गत बालबालिकामा हुने क्यान्सर उपचारका लागि अत्यावश्यक औषधि केही दिनअघि प्राप्त गरेको थियो । पहिलो चरणमा एक वर्षका लागि तीन प्रकारका औषधि प्राप्त भएका थिए ।

डब्लुएचओ र ‘सेन्ट जुड चिल्ड्रेन्स रिसर्च हस्पिटल’को संयुक्त सहकार्यमा विसं २०८० चैत १४ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र डब्लुएचओबीच बाल क्यान्सर उपचारमा प्रयोग हुने ३५ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने सम्भौता भएको थियो ।

औषधी हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दे स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले क्यान्सर नियन्त्रणका लागि राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति अवलम्बन गरेर उपचारसँगै निरोधात्मक विधि प्रवर्द्धनको काम गरिरहेको बताए ।

उनले भने, ‘कोही पनि बालबालिका आर्थिक अभावमा क्यान्सरको उपचारबाट बञ्चित हुन नपरोस भनी निःशुल्क उपचारको व्यवस्था गरेका छौँ । औषधिको सहयोगले बालबालिकाको क्यान्सर उपचार प्रभावकारी हुनेमा विश्वस्त छौँ ।’

सम्झौताअनुसार आगामी पाँच वर्ष (सन् २०२५ देखि २०३० सम्म) का लागि ती संस्थाले ले ३५ प्रकारका अत्यावश्यक औषधि निःशुल्क उपलब्ध गराउनेछ ।

यस कार्यक्रममार्फत् औषधि प्रदान गर्नुको साथै ती औषधिको उचित भण्डारण र व्यवस्थापनमा चार वटा अस्पताललाई आवश्यक ‘रेफ्रिजेरेटर’ र ‘हाइग्रोमिटर’ खरिद गरी सम्बन्धित अस्पताललाई हस्तान्तरण गरिने स्वास्थ्य मन्त्रायलयले जनाएको छ ।

नेपालमा हरेक वर्ष करिब एक हजार पाँच सय बालबालिकामा क्यान्सर देखिने गरेको छ । सेवामा सीमित पहुँच र स्रोत अभावका कारण तीमध्ये करिब एक–तिहाइले मात्र उपचार पाउने गरेका छन् । नेपालमा क्यान्सरपीडित बालबालिकाको बाँच्ने सम्भावना दर केवल ३० प्रतिशत छ । विकसित मुलुकमा यो दर ८० प्रतिशत भन्दा बढी छ ।

चीनसँग व्यापार सम्झौता सम्भव : ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग व्यापार सम्झौता ‘सम्भव’ रहेको बताएका छन् ।

ट्रम्पले सन् २०२० मा अमेरिकाले चीनसँग ठूलो व्यापार सम्झौता गर्न सहमति जनाइसकेको र नयाँ सम्झौता सम्भव भएको बताएका हुन् ।

आफ्नो दोस्रो कार्यकालको एक महिनापछि ट्रम्पले चीन, छिमेकी क्यानडा, मेक्सिको र युरोपेली सङ्घलाई लक्षित गर्दै सहयोगी र प्रतिद्वन्द्वीमाथि व्यापक कर लगाउने चेतावनी दिएका थिए ।

फेब्रुअरीको सुरुमा उनले चीनबाट आयात हुने सबै उत्पादनमा १० प्रतिशत थप भन्सार शुल्क लगाएका थिए ।

उनले सबै आयातित कारहरूमा २५ प्रतिशत कर लगाउने र औषधी र ‘सेमीकन्डक्टर’मा समान वा उच्च शुल्क लगाउने चेतावनी पनि दि‌ँदै आएका छन् ।

ट्रम्पले सुरुमा सबै क्यानेडियाली र मेक्सिकोली आयातमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका थिए तर निर्णय लागु हुनुभन्दा केही घण्टा अघि सैद्धान्तिक रूपमा निर्णयलाई थाति राख्दै मार्च १ सम्म निर्णयलाई कार्यान्वयनमा नलाने बताएपछि एक महिनाको लागि राहत मिलेको थियो ।

उनले गत हप्ता विदेशबाट आयात हुने स्टील र आल्मुनियममा २५ प्रतिशत थप कर लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।

इरानमा सन् २०२४ मा ९७५ जनालाई मृत्युदण्ड

पेरिस। इरानले गत वर्ष मृत्युदण्डको व्यवस्थामा ‘डरलाग्दो वृद्धि’ गर्दै कम्तीमा ९७५ जनालाई मृत्युदण्ड दिएको दुई मानव अधिकार समूहले बिहीबार बताएका छन्।

नर्वेस्थित इरान ह्युमन राइट्स (आईएचआर) र फ्रान्सेली समूह ‘टुगेदर अगेन्स्ट द डेथ पेनल्टी (ईसीपीएम)’ का अनुसार सन् २००८ पछि इरानमा सन् २०२४ मा मृत्युदण्डको सजाय सुनाइएको यो सबैभन्दा बढी सङ्ख्या हो ।

इरानले मृत्युदण्डलाई ‘राजनीतिक उत्पीडनको मुख्य हतियार’का रूपमा प्रयोग गरेको आरोप लगाउँदै संयुक्त प्रतिवेदनमा भनिएको छ, “यो आँकडाले सन् २०२४ मा इरानमा मृत्युदण्डको प्रयोगमा डरलाग्दो वृद्धि भएको देखाउँछ।

आईएचआरका निर्देशक महमुद अमिरी मोगद्दामले भने, “यी मृत्युदण्डहरू इस्लामिक गणतन्त्रले सत्तामा आफ्नो पकड कायम राख्न आफ्नै जनताविरुद्ध गरेको युद्धको एक हिस्सा हो।”

“इरान र इजरायलबीच युद्धको खतरा बढ्दै जाँदा वर्षको अन्तिम तीन महिनामा हरेक दिन औसतमा पाँच जनालाई मृत्युदण्ड दिइएको छ,” उनले भने ।

इरानमा सन् २०२३ मा ८३४ जनालाई मृत्युदण्ड दिइएको थियो । गत वर्षको तुलनामा यो बर्ष मृत्युदण्डको सजाय पाएकाको सङ्ख्या १७ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।

मृत्युदण्ड दिइएका ९७५ जनामध्ये चार जनालाई सार्वजनिक स्थानमा फाँसी दिइएको थियो भने ३१ जना महिला थिए।

–विरोध प्रदर्शन गर्नेलाई समेत मृत्युदण्ड–

मानव अधिकारवादी समूहका अनुसार चीनपछि इरान विश्वकै सबैभन्दा बढी मृत्युदण्ड दिने मुलुक बनेको छ । सन् २०२२ मा देशव्यापी विरोध प्रदर्शन सुरु भएपछि जनतामा डर छर्न अधिकारीहरूले मृत्युदण्डको प्रयोगलाई वृद्धि गरेको आरोप उनीहरूले लगाएका छन्।

सन् १९७९ को क्रान्तिले पश्चिमा समर्थित मोहम्मद रेजा पहलबी ९शाह० लाई सत्ताच्युत गरेपछि स्थापित शरियामा आधारित न्यायिक प्रणालीको प्रमुख खम्बा मृत्युदण्ड हो ।

मृत्युदण्डको सजाय हुने अपराधहरूमा हत्या, बलात्कार र लागूपदार्थका अपराधहरू समावेश छन् तर ‘सामाजिक मूल्यमान्यता र मानवीय मर्यादा विपरीत’ आचरण र ‘राज्यविरोधी गतिविधि’ जस्ता अस्पष्ट शब्दहरूको प्रयोग गरी पनि मृत्युदण्डको सजाय दिइने गरेको अधिकारकर्मीहरूले बताएका छन् । उनीहरूका अनुसार यि शब्दजाल सरकारसँग भिन्न धारणा राख्ने असन्तुष्टहरूविरुद्ध प्रयोग गरिने गरेको पाइन्छ ।

हालैका वर्षहरूमा, मृत्युदण्डको सजाय सुनाइएकाहरूलाई प्रायजसो जेल परिसर र कहिलेकाहीं सार्वजनिक रूपमा फाँसी दिएर मृत्युदण्ड दिइने गरेको छ । यद्यपि, अन्य विधिहरू विधान पुस्तकहरूमा उल्लेख गरिएअनुसार रहन्छन् ।

सन् २०२२ को सेप्टेम्बरमा इरानको अनिवार्य ड्रेस कोड उल्लङ्घन गरेको आरोपमा पक्राउ परेकी इरानी–कुर्दिश महिला महसा अमिनीको हिरासतमा मृत्यु भएपछि सुरु भएको राष्ट्रव्यापी विरोध प्रदर्शनका क्रममा गत वर्ष दुई जनालाई मृत्युदण्ड दिइएको थियो ।

सन् २०२२ को अक्टोबरमा भएको प्रदर्शनका क्रममा एक प्रहरी अधिकारीको कारले हानेर हत्या गरेको आरोपमा २३ वर्षीय मोहम्मद घोबादलुलाई जनवरी २०२४ मा मृत्युदण्ड दिइएको थियो । मानव अधिकारवादी समूहहरूले उनको मुद्दा निकै त्रुटिपूर्ण भएको आरोप लगाएका छन् र न्यायाधीशहरूले उनी द्वीध्रुबी विकार (बाइपोलर डिसअर्डर अर्थात् म्यानिक डिप्रेसन)बाट पीडित भएको प्रतिरक्षामा प्रस्तुत प्रमाणलाई बेवास्ता गरेका छन्।

सन् २०२२ को प्रदर्शनका क्रममा रिभोल्युसनरी गार्डको हत्या गरेको आरोपमा ३४ वर्षीय घोलामरेजा रसाइलाई गत अगस्टमा गोप्य रूपमा मृत्युदण्ड दिइएको थियो । अधिकारकर्मीहरूले उनको स्वीकारोक्ति यातनाबाट प्राप्त भएको बताएका छन्।

अधिकारवादी समूहहरूले इरानले गत वर्ष थप मृत्युदण्ड दिएको हुन सक्ने प्रमाण रहेको र उनीहरूले आफ्नो प्रतिवेदनको पुष्टि गर्न नसकेको बताएका छन् ।

उनीहरूले सन् २०२४ मा थप ३९ जनालाई मृत्युदण्ड दिइएको खबर आएको र दोस्रो स्रोतबाट पुष्टि गर्न नसकिएको बताएका छन् ।

आईएचआरको तथ्याङ्कअनुसार यस वर्ष इरानले कम्तीमा १२१ जनालाई मृत्युदण्ड दिइसकेको छ । रासस

कांग्रेस सभापति देउवाको भारत भ्रमण रद्द

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमणमा नजाने भएका छन् । आज सभापति देउवा भारत प्रस्थान गर्ने भनिए कार्यक्रम रद्द भएको कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

प्रयागराजमा आयोजित कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एन्ड सस्टेनेबिलिटी कार्यक्रममा वक्ताका रूपमा देउवा सहभागी हुने भनिएको थियो । महाकुम्भमा सहभागी हुन जाँदा देउवाले केही राजनीतिक भेटघाट समेत गर्ने तयारी थियो ।

सरकारले प्रभावकारी भूमिका नखेले देशको स्थिति थप अप्ठ्यारोमा पर्छः शेखर कोइराला

सुर्खेत । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले १५ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार आफू नै रहेको बताएका छन् ।

बिहीबार सुर्खेत विमानस्थलमा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा कोइरालाले १५औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा आफूले यसअघि नै गरेको बताएका हुन् ।

उनले पार्टीको महाधिवेशन निर्धारित मितिमै हुनुपर्ने र त्यसका लागि कांग्रेस कार्यकर्ताले दबाब सृजना गर्नुपर्ने बताए ।

पार्टी सभापति शेरबहादुर देउवा निकटका ११ नेताले गत शुक्रवार १५औं महाधिवेशनको रणनीतिबारे छलफल गरेको सन्दर्भमा उनले भने, ‘१५औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा मेले गरिसकेको छु । ११ भाइको सक्रियताको कुरा उठ्यो, १४औं महाधिवेशनमा पनि उहाँहरूले देउवालाई सपोर्ट गरेकै हो ।’

उनले २०८४ को आमनिर्वाचनपछि महाधिवेशन भए पार्टी कमजोर हुने बताए । उनले भने, ‘मैले धेरै पटक भनिरहेको छु कि समयमै महाधिवेशन गरौँ । पार्टी विधान र संविधानभन्दा बाहिर जानु हुँदैन । चुनावपछि महाधिवेशन गरे पार्टी कमजोर हुन्छ ।’

कोइरालाले सरकारले प्रभावकारी भूमिका नखेले देशको स्थिति थप अप्ठ्यारोमा पर्ने बताए । उनले भने, ‘सातबुँदे सहमति अनुसार सरकार अघि बढेको छैन । आर्थिक अवस्था सुधार भएन । सुशासन त छँदै छैन ।’

झापामा प्रविधिको प्रयोग गरेर चैते धान रोपिँदै

झापा । झापा जिल्लाका आठवटा पालिकामा कृषि ज्ञान केन्द्रले प्रविधिको प्रयोग गरेर ४८ विगाह जमिनमा यसवर्ष परीक्षणका लागि चैते धान रोप्ने भएको छ ।

परम्परागत खेती भन्दा मेसिनरीको प्रयोगले गरेको खेती सस्तो र उत्पादन समेत बढी हुने कुरा किसानलाई प्रत्यक्ष जानकारी दिने उद्देश्यले कृषि यान्त्रिकिकरण प्रदर्शन कार्यक्रम अन्तर्गत मेशिनबाट चैते धान रोपाइँ (प्रविधि प्रदर्शन) गर्न लागेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए ।

उनका अनुसार स्थानीय पालिकाहरुको सहयोगमा कृषक समूहरुको छनौट गरी केन्द्रले धमाधम हर्दिनाथ–१ चैते धानको ब्याड राख्न सुरु गरेको छ ।

छनौटमा माईपश्चिमबाट गौरीगञ्ज गाउँपालिका–९ को स्यालडाँगी उद्यमशील कृषक समूह, गौरादह नगरपालिका–९ को अजम्बरी कृषक समूह, शिवसताक्षी नगरपालिका–३ को विनायक कृषक समूह र कमल गाउँपालिका–१ को पिपलगाँछी कृषक समूह परेको उनले जानकारी दिए ।

यसैगरी माईपूर्व बुद्धशान्ति गाउँपालिका–३ को दिपज्योति कृषक समूह, अर्जुनधारा नगरपालिका–३ स्थित सिर्जना कृषक समूह, भद्रपुर नगरपालिका–३ को आपगाछी कृषि तथा पशुपालन फार्म र हल्दिबारी गाउँपालिका–४ स्थित अमराघुट्टु कृषक समूह अन्तरगत कृषियन्त्र प्रयोग प्रदर्शन गरिने भएको छ ।

उनले नेपाल बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित एनएमसी कृषि फार्मसँग भाडामा लिएर कृषि उपकरण किसानलाई निःशुल्क उपलब्ध गराइएको बताए । उनले प्रत्येक कृषक समूहलाई छ विगाहको दरले सो धान खेती गराउने जानकारी दिए ।

उनले कृषक समूहलाई निःशुल्क धानको बीउ, ब्याड राख्ने ट्रे र धान रोप्ने मेसिन उपलब्ध गराइएको बताए । प्रमुख विष्टले मल, खनजोत र बालीको रेखदेख किसान स्वयम्ले गर्नुपर्ने बताउँदै ट्रेमा राखिएको विउ मर्न थालेमा आवश्यकता अनुसार विषादिसमेत निःशुल्क उपलब्ध गराउने बताए ।

उनले तोकिएका समूहमध्ये अधिकांशले ब्याड राख्ने काम गरिरहेको बताए । १५० वटा ट्रेमा उमारिएको विउले एक विगाह जमिनलाई पुग्ने र यो धान विउ राखेको दिनदेखि १२० दिनमा पाक्ने उनको भनाई छ । केन्द्रका अनुसार धानको विउ राखेको २५ दिनमै खेतमा राप्ने सकिने छ ।

गाउँपालिकाको बेवास्ताले बेवारिसे बन्यो सभाहल

ठाकुरबाबा । बर्दियाको बढैयाताल गाउँपालिकाको एक मात्र सभाहल उपयोगमा चासो नदिँदा निर्माण सम्पन्न नहुँदै जीर्ण र बेवारिसे बनेको छ । बढैयाताल गाउँपालिका–८ पशुपतिनगरमा रहेको उक्त सभाहल ७० लाख २६ हजार रुपैयाँमा निमार्ण गरिएको थियो ।

दुई सय ४२ वर्गमिटर क्षेत्रफलमा निर्मित तीन सय जना क्षमताको सुविधा सम्पन्न सभाहलमा शौचालय, आराम कक्ष र पोसाक परिवर्तन गर्ने कक्ष रहेको गाउँपालिकाको योजना शाखा उपप्रमुख उमानबहादुर हमालले जानकारी दिए ।

गाउँपालिका र निमार्ण कम्पनीबीच भएको सम्झौता अनुसार निर्माण कम्पनीले काम नगरेको र समयमा हस्तान्तरण नगर्दा सभाहल जीर्ण र बेवारिसे बनेको वडा नं ८ का वडा सदस्य दिल्लीप्रसाद गौतमले बताए ।

जय बागेश्वरी निमार्ण सेवा कम्पनी र बढैयाताल गाउँपालिकाबीच विसं २०७८ जेठ ८ गते ठेक्का सम्झौता भएको थियो । सम्झौता बमोजिम पूर्ण रुपमा निर्माण सम्पन्न नभएपछि निर्माण कम्पनीले पुनः भत्किएका ठाउँमा मर्मत सुरु गरेको छ ।

सभाहल उपयुक्त स्थानमा निर्माण नगर्दा महँगो भाडा तिरेर गाउँपालिकाले होटलमा कार्यक्रम गर्ने गरेको स्थानीयको भनाइ छ । गाउँपालिकाको कार्यालय रहेको स्थानदेखि पाँच किलोमिटर पश्चिममा निर्मित सभाहलका झ्यालका सिसा फुटेका छन् भने छाडा पशुको विश्रामस्थल र बालबालिका खेल्ने ठाउँ बनेको छ । 

म्याग्दीको दुर्गम बस्ती बगरमा सडक सञ्जालमा जोडियो

म्याग्दी (बेनी) । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको दुर्गम बस्ती बगर गाउँमा सडकको पहुँच पुगेको छ । सोही वडाको नाउरामा पुगेको सडकलाई ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत आयोजनाले पहुँचमार्ग निर्माणको क्रममा बगर स्थित जेल्टुङ बस्तीमा सडकको पहुँच पुगेको हो ।

नाउरादेखि म्याग्दी खोलाको किनार हुँदै भिर पहाड काटेर छ किलोमिटर लामो सडकको ट्याक निर्माण भएपछि बगरको जेल्टुङ सडकको पहुँचमा जोडिएको म्याग्दीखोला जलविद्युत आयोजना प्रमुख ज्योतिकुमार केसीले जानकारी दिए। ट्याक खोल्न बाँकी रहेको नाउराको भिर छिचोलिएसँगै बुधवार जेल्टुङमा पहिलो पटक बोलेरो जीप पुगेको थियो ।

चक्रीय धौलागिरि पदमार्ग अन्तरगत अन्तिम मानव बस्तीको रूपमा रहेको बगर सडक सञ्जालले जोडिएसँगै स्थानीयबासीलाई गाउँपालिकाको केन्द्र र जिल्ला सदरमुकाम आवत जावत गर्न सहज भएको धवलागिरि-४ मुदीका वडा अध्यक्ष यामप्रसाद घर्तिमगरले बताए। सडकले बगर र जेल्टुङ गाउँका करिब ६० घरधुरी लाभान्वित भएका छन् ।

यस अघि नाउराको अक्करे भिरमा बनाइएको गोरेटो बाटो हुँदै करिब २ देखि ३ घण्टा लाग्ने बाटो सडक सञ्जालले ३० मिनेटमा छोटिएको छ । सडकको पहुँच विस्तार भएसँगै ऊर्जा डेभलपर्स प्रा.लि. अन्तगत रहेको हाइड्रो भिलेज प्रा.लि प्रवर्द्धक रहेको ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युतको जेल्टुङमा विद्युतगृहको लागि बंकर घर र क्याम्प लगायतका पूर्वाधार निर्माण सुरु हुने भएको छ ।

यस आयोजनाको बाँधस्थल रहने दोभानसम्म थप ११ किलोमिटर सडकको पहुँच विस्तार गर्ने कार्यसँगै विद्युतगृह, सुरुङमार्ग निर्माणको काम एकैसाथ अघि बढाउने आयोजनाले जनाएको छ । धवलागिरि गाउँपालिका-४ को चेचुङ गाउँमा हालै ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत आयोजनाले सडकको पहुँच विस्तार गरेको थियो । यस वडाको अर्चे र नेरवाङमा अझै सडक पुग्न सकेको छैन ।

पाल्पाका नागरिकलाई घरआँगनमै सेवा

रामपुर (पाल्पा) । राज्यका विभिन्न निकायबाट प्रवाह हुने सेवा रामपुर नगरपालिको अगुवाइमा घुम्ती शिविर सञ्चालन गरेर गाउँगाउँमा प्रवाह भएको छ । आफ्नो घरआँगनमै सेवा पाएर सेवाग्राही मक्ख परेका छन् ।

घुम्ती शिविरमार्फत गाउँमै सेवा पाउँदा धेरै सजिलो भएको रामपुर–९ बस्ने स्थानीय राजन सुनार बताउछन् । “सानो कामका लागि धेरै समय बिताउनुपर्ने, यातायात खर्च, कहिलेकाहीँ सोही दिन काम सम्पन्न नहुँदा अर्को दिन फेरि धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ”, उनले भने ।

हिउँदे अधिवेशनबाट बजेट रकमान्तर भएका योजनाको सम्झौता, बैंक खाता खोल्ने, ज्येष्ठ नागरिक परिचयपत्र, अपाङ्ग परिचयपत्र वितरण, पञ्जीकरण सेवा, व्यवसाय दर्ता तथा नवीकरण, कृषि तथा पशु सेवालगायतका सेवा आँखा, कान, घाँटी तथा दन्त परीक्षणसहित सेवा प्रवाह शिविरमार्फत भएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डितका अनुसार शिविरमा छ सय १० सेवाग्राहीले सेवा लिएका छन् । भविष्यमा पनि यस्ता शिविर सञ्चालन गरिने छ ।