`

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं, २७ फागुन – काठमाडौं उपत्यकाका अधिकांश क्षेत्रमा अहिले भारी वर्षा भइरहेको छ । 

काठमाडौंको धाप र सुन्दरीजल तथा भक्तपुरको नगरकोट क्षेत्रमा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।  

गाडी दुर्घटना हुँदा बन्दीपुरमा १२ जना घाइते

तनहुँ, २७ फागुन – तनहुँको बन्दीपुरमा गाडी दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।  शनिबार दिउँसो सवा ३ बजे बन्दीपुर गाउँपालिका-१ नाहालास्थित पृथ्वी राजमार्गमा गाडी दुर्घटना भएको हो ।

दमौलीबाट डुम्रे जाँदै गरेको गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

बाग्मति प्रदेश ०६-००१ ज ००१७ नम्बरको फोर्स गाडी अचानक अनियन्त्रित भएर भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाइ छ ।

घाइतेमध्ये चार जनालाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा पठाइएको छ। यस्तै घाइते सात जनालाई काठमाडौंस्थित ट्रमा अस्पतालमा पठाइएको छ । 

चालक नवीन राईको तनहुँमै उपचार भइरहेकको छ ।

सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ, मंगलबारसम्म आवेदन दिन सकिने

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरले शुक्रबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले आफ्नो जारी पुँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५ प्रतिशत को ८९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता सेयर बिक्रीमा ल्याएको हो। 

यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १० प्रतिशत अर्थात् ४ लाख ९९ हजार ८७५ कित्तां सेयर र सामूहिक लगानी कोषहरुको लागि ५ प्रतिशत अर्थात २ लाख ४९ हजार ९३६ कित्ता सेयर बाँडफाँट गरिसकेको छ। 

यता सर्वसाधारणका लागि बाँकी रहेको ४२ लाख ४८ हजार ९३८ कित्ता सेयर कम्पनीले बिक्री गर्न लागेको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गरेको छ ।

यसमा फागुन ३० गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयावधिमा सबै सेयर बिक्री नभएमा चैत १० गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।

यसलाई रेटिङ एजेन्सी केयर नेपालले ‘केयर एनपी डबल बी’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ ।

राष्ट्रपति, उपराष्ट्रपति र पूर्व राष्ट्रपतिको तलब कति हुन्छ ?

देशमा गणतन्त्र सुरुवातसँगै विक्रम संवत् २०६५मा डा. रामवरण यादव नेपालका प्रथम राष्ट्रपति निर्वाचित भए।नेपालको दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारीको दोस्रो कार्यकाल पूरा हुन लागेसँगै नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल नयाँ राष्ट्रपति निर्वाचित भएका छन्।

देशमा राजतन्त्र अन्त्य गरेर गणतन्त्र स्थापना गरेको १५ वर्ष हुन लागेको छ।आम सर्वसाधारण राष्ट्राध्यक्ष बन्ने ढोका खुलेसँगै त्यसले राष्ट्रप्रमुखका नाममा देशले बेहोर्दै आएको व्ययभार पनि कम हुने अपेक्षा आम सर्वसाधारणले गरेका थिए।तर बेला बखत खास गरी पूर्व राष्ट्रपतिले राज्य ढुकुटीबाट प्राप्त गर्ने सेवा सुविधाबारे प्रश्नहरू तेर्सिने गरेका छन्।

नेपालमा बहालवाला अनि पूर्व राष्ट्रपति तथा उपराष्ट्रपतिले राज्यबाट आखिर के कति सुविधा प्राप्त गर्छन्?

राष्ट्रपति, उपराष्ट्रपतिले के कस्ता सेवा सुविधा प्राप्त गर्छन्?
बहालवाला राष्ट्रपति र उपराष्ट्रपतिको हकमा पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७४ले त्यसबारे व्यवस्था गरेको छ।उक्त ऐनले राष्ट्रपति र उपराष्ट्रपतिलाई मासिक पारिश्रमिकदेखि आवास, सवारी तथा इन्धन अनि सञ्चार सुविधाको व्यवस्था गरेको छ।

जसअनुसार राष्ट्रपतिले पारिश्रमिकका रूपमा प्रति महिना रु १,५०,४५० बुझ्ने र पोसाकका लागि वार्षिक रु २५,००० व्यवस्था छ भने उपराष्ट्रपतिको मासिक तलब रु १,०८,०३० छ। उनले वर्षमा २०,००० पोसाक खर्च प्राप्त गर्ने व्यवस्था ऐनले गरेको छ।

बहालवाला राष्ट्रपति र उपराष्ट्रपतिलाई अतिथि सत्कार अनि भइपरि खर्चको सुविधा पनि दिइएको छ।यो कानुन अनुसार राष्ट्रपति र उपराष्ट्रपतिलाई प्रत्येक महिना मासिक पारिश्रमिक बराबरको अतिरिक्त रकम पाउँछन्। यस्तो रकम अतिथि सत्कार तथा भइपरि खर्चबापत दिइने उल्लेख छ।त्यस्तो खर्चको बिल भरपाई पेस गर्नु पर्दैन।

त्यस्तै पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७४ले दैनिक भत्ता अनि बीमाको पनि व्यवस्था पनि गरेको छ।देशभित्रै भ्रमण गर्दा राष्ट्रपति र उपराष्ट्रपतिले ३,३०० रुपैयाँका दरले दैनिक भत्ता पाउँछन् भने विदेश भ्रमणका क्रममा दिनको २५० अमेरिकी डलर (बुधवारको विनिमय दर अनुसार ३२ हजार ८०० भन्दा बढी) भत्ता प्राप्त गर्छन्।

युरोपेली राष्ट्रहरू, अस्ट्रेलिया, न्यूजिल्यान्ड, अमेरिका, क्यानडा, कुवेत, कोरिया, जापान, हङकङ, रुस, कतार, जाम्बिया, यूएई, सिङ्गापुर, लेवनान र बहराइनको भ्रमण गर्दा उक्त दरमा ३३ प्रतिशत थप रकम उपलब्ध गराइने कानुनी व्यवस्था छ।

चाडपर्व खर्चबापत उनीहरूले आफ्नो धर्म, संस्कृति र परम्परा अनुसार मनाइने चाडपर्वका लागि आफूले खाइपाइ आएको एक महिनाको पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष प्राप्त गर्ने प्रावधान राखिएको छ।

सचिवालयमा कति कर्मचारी हुन्छन्?
ऐनले राष्ट्रपतिका लागि १९ जना र उपराष्ट्रपतिका लागि १५ जना कर्मचारीको व्यवस्था गरेको छ।कानुनी व्यवस्था अनुसार दुवैको सचिवालयमा एक एक जना राजपत्रमा अङ्कित विशिष्ट श्रेणी सरहका प्रमुख स्वकीय सचिव रहने प्रावधान छ।राष्ट्रपतिलाई एक जना प्रथम श्रेणी सरहका सह स्वकीय सचिव उपलब्ध गराइएको भए पनि उपराष्ट्रपतिलाई त्यस्तो सुविधा दिइएको छैन।

त्यस्तै द्वितीय श्रेणी सरहका उप स्वकीय सचिव राष्ट्रपतिलाई दुई जना र उपराष्ट्रपतिलाई एक जना उपलब्ध गराइएको छ। त्यसबाहेक दुबैलाई स्वकीय अधिकृत, कम्प्युटर सहायक, फोटोग्राफर अनि प्रेस संयोजकको सुविधा दिइएको छ।

राष्ट्रपतिलाई चार चार जना र उपराष्ट्रपतिलाई तीन तीन जना सवारी चालक र कार्यालय सहयोगीको सुविधा उपलब्ध गराइएको छ।राष्ट्रपति र उपराष्ट्रपतिले बढीमा क्रमशः सात र पाँच जना विज्ञ नियुक्त गर्न सक्ने व्यवस्था ऐनले गरेको छ।विज्ञ, निजी सचिवालयका कर्मचारी लगायतको पारिश्रमिक तथा सुविधा सरकारले तोके बमोजिम हुने व्यवस्था छ।

‘कुरुवालाई पनि भत्ता’
राष्ट्रपति र उपराष्ट्रपतिलाई एक एक जना निजी चिकित्सक पनि उपलब्ध गराइएको छ।उनीहरूको स्वदेशमा उपचार गराउँदा वा नेपालमा उपचार हुन नसक्ने अवस्थामा विदेशमा उपचार गराउँदा लागेको खर्च सरकारले बेहोर्ने व्यवस्था गरिएको छ।

अस्पतालमा भर्ना भएका बेला कुरुवा बसेबापत तीन जनासम्मको ‘मनासिब खर्च’ पनि सरकारले उपलब्ध गराउने व्यवस्था छ।

पूर्वराष्ट्रपति र उपराष्ट्रपतिबारे के छ व्यवस्था?
अधिकारीहरूका अनुसार पूर्वराष्ट्रपतिको सन्दर्भमा सरकारले मन्त्रीपरिषद्को निर्णय बमोजिम सुविधा उपलब्ध गराउने गरेको छ।पूर्वउपराष्ट्रपतिको नाममा भने हालसम्म ‘कुनै पनि निर्णय भएको नपाइएको’ गृह मन्त्रालयका उप सचिव दिलकुमार तामाङले जानकारी दिए।

‘‘अहिले चाहिँ पूर्व उपराष्ट्रपति समेतलाई सुविधा उपलब्ध गराउने गरी गृहकार्य भइरहेको बुझेको छु। तर आधिकारिक रूपमा निर्णय भए जस्तो लाग्दैन,’’ मन्त्रालयका सूचना अधिकारीसमेत रहेका तामाङले भने।उनका अनुसार तत्कालीन नेपाल सरकारको निर्णय अनुसार पूर्व राष्ट्रपतिलाई मासिक ५० हजार रुपैयाँ वृत्ति उपलब्ध गराउने गरिएको छ।

त्यस्तै आवास सुविधा अन्तर्गत घर भाडाका लागि मासिक २ लाख रुपैयाँ उपलब्ध गराउने गरिएको छ। काठमाण्डूमा घर भएको अवस्थामा मर्मत खर्च भनेर एक लाख रुपैयाँ दिइने गरेको छ।‘‘काठमाण्डूमा घर हुनेलाई चाहिँ मासिक दुई लाख रुपैयाँ जुन मैले भने त्यसको आधा रकम उपलब्ध गराइने छ भनेर निर्णय भएको देखिन्छ,’’ तामाङले भने।

त्यस्तै पूर्व राष्ट्रपतिलाई सवारी साधन र सो सरह इन्धन उपलब्ध गराउने मन्त्रिपरिषद्ले निर्णय गरेको अधिकारीहरू बताउँछन्।पूर्व राष्ट्रपतिलाई सचिवालयको सुविधा पनि सरकारले उपलब्ध गराएको छ।सरकारले उप सचिव स्तरका कर्मचारीलाई निजी सचिव, सवारी चालक, कार्यालय सहयोगी पनि उपलब्ध गराउने गरेको छ।त्यस्तै पत्रपत्रिका, बिजुली लगायतको बिल बमोजिम रकम भुक्तानी दिने निर्णय पनि सरकारले गरेको छ।

सुरक्षा व्यवस्था कस्तो छ?
तामाङका अनुसार विशिष्ट व्यक्तिहरूको सुरक्षा उपलब्ध गराउनका लागि २०७७मा सरकारले स्वीकृत गरेको कार्यविधिमा आधारित रहेर सुरक्षाकर्मी गृह मन्त्रालयले उपलब्ध गराउने गरेको छ।उक्त कार्यविधि सुरक्षा प्रयोजनका लागि गोप्य राखिएको उनले जानकारी दिए।

‘‘त्यसैलाई प्रयोग गरेर सुरक्षाकर्मी तैनाथ गर्ने गरेका छौँ उच्च पदाधिकारी र पूर्व पदाधिकारीहरूलाई,’’ उनले थपे।उपराष्ट्रपतिको हकमा स्पष्ट निर्णय नभएको सरकारी भनाइ रहे पनि सवारी साधन, चालक लगायतको सुविधा उपलब्ध गराइएको मन्त्रालयको भनाइ छ।‘‘तर उहाँलाई (उप राष्ट्रपतिलाई) कसरी उपलब्ध गराइएको छ भन्ने विषयबारे निर्णय भने मैले पाइनँ,’’ उनले भने।

‘‘हिजो (मङ्गलवार) भएको छलफलमा पूर्व उप राष्ट्रपतिलाई पनि मन्त्रिपरिषद्ले (सुविधा दिने) निर्णय गर्ने तयारी भइरहेको बुझिएको छ। त्यो सुविधा हालका पूर्व उपराष्ट्रपतिले पनि पाउनु हुने छ।’’२०७२ कार्तिकमा कार्यकाल सम्पन्न भएको ६ महिनापछि कान्तिपुर दैनिकले प्रकाशन गरेको समाचारमा परमानन्द झालाई पूर्व उपराष्ट्रपतिका हैसियतमा कुनै आर्थिक सुविधा उपलब्ध नगराइएको उल्लेख छ।

समाचारमा उनलाई उपलब्ध गराइएका सवारी चालकदेखि सुरक्षाकर्मीसम्मको भार उनकै नाममा आएको बताइएको छ।विगतमा पूर्व राष्ट्रपति र उपराष्ट्रपतिलाई उपलब्ध गराउने सुविधाबारे सरकारले कानुन नै ल्याउने तयारी गरेको भए पनि त्यो प्रयास सफल हुन सकेको छैन।

सर्वोच्च अदालतले २०६८ सालमा कानुन बनाएर मात्रै पूर्व पदाधिकारीहरूलाई सुविधा उपलब्ध गराउन आदेश दिएको थियो।त्यसपछि २०६९, २०७३ र २०७५ मा अध्यादेश मार्फत उक्त विषयलाई व्यवस्थापन गर्न खोजिएको भए पनि अध्यादेश कानुनका रूपमा परिणत हुन नसकेको गृह मन्त्रालयले जनाएको छ।

थप सुविधा माग पनि गर्न मिल्छ?
अधिकारीहरूका अनुसार खास गरी औषधोपचारका विषयमा सरकारले पूर्व राष्ट्रपतिलाई सुविधा उपलब्ध गराउने गरेको छ।त्यसका लागि सम्बन्धित मन्त्रालयले प्रस्ताव लाने गरेको र कहिलेकाहीँ ठाडो प्रस्तावका रूपमा निर्णय भएर पनि आएको देखिएको तामाङ बताउँछन्।

पूर्व राष्ट्रपति यादवलाई हालसम्म ३५ लाख रुपैयाँ औषधोपचार खर्च उपलब्ध गराइएको विवरण आफूले प्राप्त गरेको तामाङले जानकारी दिए।उनका अनुसार २०७९ कार्तिक तीन गतेको निर्णय अनुसार यादवलाई २५ लाख रुपैयाँ उपलब्ध गराइएको थियो।त्यस्तै २०७८ कार्तिक ८ गतेको निर्णय अनुसार उनलाई १० लाख उपलब्ध गराइएको गृह मन्त्रालयले जनाएको छ।समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो ।

मध्यपहाडी लोकमार्ग कालोपत्रेका काममा माटो मिसिएको बालुवा प्रयोग

खोटाङ – मध्यपहाडी लोकमार्ग अन्तरगत भोजपुर–दिक्तेल सडक खण्ड, खोटाङको कालोपत्रेको काममा गुणस्तरहिन सामग्री प्रयोग भएको पाइएको छ । जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई नेतृत्वको टोलीले फागुन २५ गते गरेको निरिक्षणका क्रममा ठाउँ–ठाउँमा कम गुणस्तरको सव–वेस तयारी अवस्थामा राखिएको र ढलानका क्रममा माटो मिसिएको बालुवा प्रयोग गरेको पाइएको हो । 

खोटाङभित्र पर्ने चखेवाभञ्ज्याङ–सेखुवा सडक (१० किलोमिटर) खण्ड कालोपत्रेको जिम्मा लिएको निर्माण कम्पनी भारत कन्स्ट्रक्सन–मैनाचुली–सिद्धिशाही जेभी काठ्माडौंले कजवे निर्माणका क्रममा स्टाण्डर्ड विपरितको बालुवा प्रयोग गरिरहेको भेटिएको जिल्ला समन्वय समितिका प्रमुख राईले बताए । निर्माण कम्पनीलाई कम गुणस्तरको निर्माण सामग्री हटाउन तथा माटो मिसिएको बालुवा प्रयोग गरेर निर्माण गरिएको स्ट्रक्चर भत्काएर पुःन गुणस्तरको बालुवा प्रयोग गरेर काम गर्न निर्देशन दिइएको छ । निर्माण कम्पनीलाई स्टाण्डर्ड स्पेसीफिकेसन फर रोड एण्ड ब्रिज वर्कस्, २०७३ अनुसार गुणस्तरको निर्माण सामग्री प्रयोग गर्न पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजनाको कार्यालय, धुलिखेल, काभ्रेपलाञ्चोकको लेटरहेडमा कागज गरिएको छ । 

भारत कन्स्ट्रक्सन–मैनाचुली–सिद्धिशाहीले २०७५ फागुन ३० सम्ममा सम्पन्न गर्ने गरि २०७२ चैत २ गते चखेवाभञ्ज्याङ–सेखुवा खण्ड कालोपत्रेको सम्झौता गरेको थियो । तर सम्झौता अनुसार काम नगरेपछि थप भएको पहिलो म्याद २०७७ पुस १३, दोश्रो म्याद २०७८ असार १३ र तेश्रोपल्ट थप भएको म्याद २०७८ फागुन ३० गते मै नाघिसकेको थियो । 

आफ्नो प्रतिवद्धतामा चुक्दै ठेकेदार  

१२ औं संशोधन अन्तरगत सो आयोजनाको म्याद आगामी असार मसान्तसम्म थप भएको छ । तर निर्माण कम्पनीको ढिलासुस्तीका कारण थप म्यादभित्र सडक कालोपत्रेको काम सम्पन्न हुने अवस्था नदेखिएको प्रमुख राई बताउँछन् ।

ढिलासुस्ती भएपछि पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालयले ठेक्का तोड्नका लागि गत मंसिर १८ गते सडक विभाग समक्ष सिफारिस गरेपछि काम सुचारु गरेको ठेकेदार कम्पनीले चैत पहिलो साताबाट डिबिएसटीको काम सुरु गर्ने र बैसाख मसान्तसम्ममा डिबिएसटीको काम सम्पन्न गर्ने प्रतिवद्धता जनाएको थियो । तर ठेकेदारले आफ्नो ‘सेड्युल’ अनुसार काम नगरेको प्रमुख राईले बताए ।

 
पंखु खोला पुल निर्माणको काम पुःन रोकियो 

यस्तै, मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्डको पंखु खोला पुल निर्माणको काम रोकिएको छ । म्याद नाघेको वर्षौं वितेपछि सुचारु भएको पुलको काम पुःन रोकिएको हो । पंखु खोलामा अबुटमेन्ट र लिफ्ट ढलान गरेको तर हाल निर्माणस्थलमा निर्माण सामग्री डण्डी, गिटी, बालुवा र सिमेन्ट नदेखिएको र निर्माण कार्य रोकिएको देखिएको जिसस प्रमुख राईले बताए ।

निर्माण कम्पनीलाई तत्काल आवश्यक निर्माण सामग्री ल्याएर पुलको काम सुचारु गर्न निर्देशन दिइएको छ । यस्तै, छेपे खोला र मेवा खोलाको पुल निर्माणको काम चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने निर्माण व्यवसायीले प्रतिवद्धता जनाएका छन् । 

निर्देशक श्याम बेनेगलको दुवै मिर्गौला खराब

मुम्बई । भारतीय फिल्म निर्माता तथा निर्देशक श्याम बेनेगलको दुवै मिर्गौला खराब भएको छ । दुई दिन अघि स्वास्थ्य परीक्षणका क्रममा उनको मिर्गौला खराब भएको खुलेको हो । उनको हाल घरमा उपचार भइरहेको छ र डायलिसिस पनि जारी छ ।

बेनेगलले पनि आफ्नो स्वास्थ्य खराब भएको पुष्टि गरेका छन् । ‘म स्वस्थ छैन । डाक्टरले आराम गर्न सल्लाह दिएका छन् । मेरो मेडिकेसन चलिरहेको छ । अहिले घरमै डायलिसिस गरिरहेको छु,’ उनले भनेका छन् ।

श्यामका कार्यालयका कर्मचारीले उनको स्वास्थ्य केही दिनअघिसम्म ठिक रहेको बताएका छन् । कर्मचारीका अनुसार दुई तीनदेखि अफिस नआएका श्याम नियमित रुपमा आफ्नो प्रोजेक्टको योजना बनाइरहेका थिए ।

उनको बंगलादेश सरकारसँगको ‘मुजीबः द मेकिङ अफ ए नेसन’ फिल्म तयारी अवस्थामा छ । यो फिल्म बंगलादेशको पहिलो राष्ट्रपति मुजीबुर्रहमानको जिन्दगीमा आधारित छ । यद्यपि विवादका कारण फिल्मको रिलिज सरिरहेको छ ।

श्यामले ‘जुबैदा’, ‘द मेकिङ अफ द महात्मा’, ‘नेताजी सुभाषचन्द्र बोसः द फरगोटन हीरो’, ‘मण्डी’, ‘आरोहन’, ‘वेलकम टु सज्जनपुर’ जस्ता फिल्म बनाएका छन् । उनका फिल्मले ८ वटा राष्ट्रिय अवार्ड जितिसकेको छ । उनले दादा साहब फाल्के सम्मान पनि पाएका छन् ।

श्यामले हालसम्म २४ फिल्म, २५ डकुमेन्ट्री र १५ एड फिल्म बनाएका छन् । फिल्म जगतमा योगदान दिएको भन्दै उनले सन् १९७६ मा पद्मश्री सम्मानसमेत पाएका थिए ।

उनले भारतीय फिल्ममा नसीरुद्दीन शाह, ओम पुरी, अमरीश पुरी, अनन्त नाग, शबाना आजमी, स्मिता पाटिल र छायांकार गोविन्द निलहानीलाई भित्र्याएका छन् ।

निर्यात जीडीपीको २० प्रतिशत पुर्‍याउने लक्ष्य

काठमाडाैँ । निर्यात व्यापारलाई कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को २० प्रतिशत पुर्‍याउने लक्ष्यसहित नेपाल व्यापार एकीकृत रणनीति तयार भएको छ । जीडीपीमा हाल ६ दशमलव ३ प्रतिशत रहेको वस्तु तथा सेवाको अनुपात बढाएर २० प्रतिशत पुर्‍याउने लक्ष्यसहित नयाँ व्यापार रणनीति तयार गरिएको हो ।

जीडीपीमा हाल ४८ दशमलव १ प्रतिशत रहेको कुल व्यापार क्षेत्रको अनुपात बढाएर ५५ प्रतिशत पुर्‍याउने लक्ष्य रणनीतिमा राखिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल व्यापार एकीकृत रणनीति (एनटीआईएस) २०७९ तयार गरी स्वीकृतका लागि मन्त्रिपरिषद्मा पठाउने तयारी गरेको छ । मन्त्रालयका उपसचिव भक्तराज जोशीले रणनीतिको मस्यौदा तयार गरी स्वीकृतका लागि मन्त्रिपरिषद्मा पेस गर्न लागिएको जानकारी दिए । निर्यात प्रवर्द्धन गरी आयात न्यूनीकरण गर्ने लक्ष्यसहितको रणनीति स्वीकृत भएपछि कार्यान्वयनमा आउने उहाँले जानकारी दिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

एकीकृत हुँदै विभाजित माओवादी पार्टी

काठमाडौँ । माओवादी जनयुद्धको समयमा एउटै पार्टीमा रहेका तर अहिले विभिन्न समूहमा विभाजित माओवादी धारका पार्टीहरू एकीकृत हुने क्रममा छन् ।

माओवादी जनआन्दोलनका कमान्डरसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गरिएपछि ती पार्टीहरू एकीकृत हुन थालेका हुन् ।

माओवादी धारका राजनीतिक दलहरूले विस्तृत शान्ति सम्झौताको मर्म र भावना विपरीतका गतिविधिको संयुक्त प्रतिवाद गर्ने निष्कर्षसहित जनताका बीचमा पुग्ने निर्णय गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको माओवादी धारका राजनीतिक दलहरूको बैठकले शान्ति प्रक्रियासँग जोडिएका विषयहरू विस्तृत शान्ति सम्झौताको भावना र मर्मअनुरूप व्यवस्थापन गरिनुपर्नेमा जोड दिएका छन् ।यो खबर आजको राजधानी दैनिकमा छन् ।

सीमा नाघ्दै निर्वाचन आयोग, अदालतकै अधिकार हातमा लिँदै

काठमाडौँ । निर्वाचन आयोगले संवैधानिक सीमा, व्यवस्था र अधिकार विपरीत राजनीतिक निर्णय लिएर मुलुकलाई राजनीतिक अस्थिरतातर्फ धकेल्ने प्रयास थालेको छ । स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनका क्रममा पनि विभिन्न दलका स्वार्थ पूरा गर्न राजनीतिक निर्णय लिँदै आएको आयोगले उपराष्ट्रपतिका विषयमा संविधानको व्याख्या आफू अनुकूल गरेको छ ।

पछिल्लो दिनमा विकास भएको राजनीतिक घटनाक्रमलाई समेत प्रभावित गर्ने गरी आयोगको पदाधिकारी बैठकले शुक्रबार उपराष्ट्रपतिमा महिला उम्मेदवार हुनुपर्ने निर्णय गरेको हो । संविधानका कुनै पनि धारामा विवाद भए त्यसको व्याख्या गर्ने अन्तिम अधिकार सर्वोच्च अदालतलाई छ ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले आयोगको अधिकार र सीमाबाहिर गएर राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेको जनाउँदै फरक लिंगको उम्मेदवार हुनुपर्ने धारणा बाहिर ल्याएका हुन्।

आयोगको शुक्रबारको पदाधिकारी बैठकले उपराष्ट्रपतिमा महिला नै उम्मेदवार हुनुपर्ने निर्णय गरेको जनाउँदै उनले पुरुषको उम्मेदवारी दर्ता नगर्न निर्देशन दिएको धारणा सार्वजनिक गरेका हुन् ।

संविधानको धारा ७० ले राष्ट्रपति र उपराष्ट्रपति फरकफरक लिंग वा समुदायको हुने व्यवस्था गरेको छ ।त्यसको गलत व्याख्या गर्दै प्रमुख आयुक्त थपलियाले फरक लिंग हुनुपर्ने जनाउँदै दलीय स्वार्थ र चाहनाको पक्षपोषण गर्न खोजेको देखिएको छ ।यो खबर आजको नागरिक दैनिकमा छ ।

स्ववियु निर्वाचन : आज प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने

काठमाडौं। स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअन्तर्गत शनिबार उम्मेदवारको मनोनयन पत्र प्रत्यक्षतर्फको र समानुपातिक तर्फको नामावली दाखिलासहितका कार्यक्रम रहेको छ । 

त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको स्ववियु निर्वाचनको कार्यतालिकाअनुसार शनिबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयनपत्र प्रत्यक्षतर्फको र समानुपातिक तर्फको नामावली दाखिला गर्ने कार्यक्रम छ । 

साथै शनिबार नै साँझ ५ बजे प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यक्रम छ । 

स्ववियु निर्वाचनको मतदान ५ चैतमा बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म हुनेछ  । 


 

उपराष्ट्रपति उम्मेदवार तय गर्न एमाले सचिवालय बैठक बस्दै

काठमाडौं, २७ फागुन । नेकपा एमालेले उपपराष्ट्रपतिको उम्मेदवारी टुंगो लगाउन सचिवालयको बैठक बोलाएको छ। 

शनिबार बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बस्ने गरि सचिवालयको बैठक बोलाईएको छ । निर्वाचन आयोगका कार्यतालिका अनुसार ९ बजे देखी सुरु हुने मनोनयन दर्तालाई ध्यानमा राखेर एमालेले उम्मेदवार तय गर्न लागेको हो ।  

उपराष्ट्रपति निर्वाचन: आजै मनोनयन दर्तादेखि उम्मेदवारको सूची प्रकाशनसम्म

काठमाडौं, २७ फागुन । राष्ट्रपति निर्वाचन सकिएलगत्तै निर्वाचन आयोगले उपराष्ट्रपति पदका लागि निर्वाचन प्रक्रिया सुरु गरेको छ ।

जसअनुसार निर्वाचन आयोगले जारी गरेको कार्यतालिका अनुसार आज उपराष्ट्रपति पदका लागि उम्मेदवार मनोनयनको समय छुटयाएको छ ।

आज बिहान ९ बजे देखी २ बजेसम्मका लागि उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता गर्नका लागि समय तालिका छुटयाएको हो । आयोगका अनुसार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अवस्थित निर्वाचन कार्यालयमा गएर उम्मेदवार मनोनयन गर्नुपर्नेछ । 

यसैगरी आज उपराष्ट्रपति पदमा मनोनयन पत्र दर्ता भएको सुचना जारी गर्ने देखी उम्मेदवारको नाम सार्वजनिक गर्ने दावी बिरोध गर्नेसम्मको कार्यतालिका निर्वाचन आयोगले यसअघि नै सार्वजनिक गरिसकेको छ ।

लोकसेवा आयोगका अध्यक्ष रेग्मीसहित १० जनाविरुद्ध अवहेलना मुद्दा दर्ता

काठमाडौं, २६ फागुन – लोकसेवा आयोगका तत्कालीन अध्यक्ष माधवप्रसाद रेग्मी, कर्मचारी सञ्चय कोषका तत्कालीन राजश्व सचिव डा. रामप्रसाद घिमिरे र अर्थ मन्त्रालयका तत्कालीन सहसचिव लक्ष्मीप्रसाद निरौलासहित १० जनाविरुद्ध अदालतको अपहेलना मुद्दा दर्ता भएको छ ।

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. हरिप्रसाद अधिकारी, कर्मचारी सञ्चय कोषका सञ्चालक गणेश सिंह भण्डारी, नेपाल बीमा प्राधिकरणका सञ्चालक राजु रमण पौडेल, कर्मचारी संचय कोषका पदपूर्ति समितिका अध्यक्ष जितेन्द्र धिताल, अर्थ मन्त्रालयका प्रतिनिधि वसन्तराज तिवारी, लोकसेवा आयोगका प्रतिनिधि राम गोविन्द अर्याल, पदपूर्ति समितिका सदस्य सचिव दामोदरप्रसाद सुवेदीविरुद्ध अवहेलना मुद्दा दर्ता भएको हो ।

अधिवक्ता दीपकराज जोशीले उनीहरूलाई अदालतको अवहेलनामा झिकाई सजाय गरी फैसला गरी पाऊँ भन्दै निवेदन दर्ता गराएका हुन् ।

कर्मचारी सञ्चय कोषले कर्मचारी भर्नाको विषयमा अदालतबाट भएको यसअघिको फैसला कार्यान्वयन नगरेको हुनाले माथि उल्लेख गरिएका व्यक्तिहरूविरुद्ध फागुन २६ गते रिट दर्ता भएको हो । फागुन २९ गते उक्त रिटको पेशीसमेत तोकिएको छ।

कर्मचारी संचय कोष  कर्मचारी सेवा शर्त (एघारौँ संशोधन) नियमावली २०७५ बमोजिम कर्मचारी संचयकोषले २०७७ सालमा फाइल बढुवा, आन्तरिक बढुवासहित ७६ जना कर्मचारीको पदपूर्ति गरिएकोमा सोही विषयमा सर्वोच्च अदालतमा मुद्दा दर्ता हुँदा २०७७ वैशाख १० गते उक्त कर्मचारी सेवा शर्त (एघारौँ संशोधन) नियमावली २०७५ खारेज गर्नुका साथै उक्त संशोधनको आधारमा सिर्जित पद तथा बढुवा भएका कर्मचारीको बढुवासमेत खारेज हुने आदेश दिएको थियो ।

तर, कर्मचारी संचय कोषले हालसम्म उक्त पद खारेज नगरी बढुवा भएका त्यस बेलाका कर्मचारीहरू हालसम्म काम गरिरहेको, नयाँ विज्ञापनसमेत आह्वान गरी अदालतको फैसलाको अवहेलना गरेको भन्दै कारबाही गर्न माग गर्दै मुद्दा दर्ता गरिएको हो ।

सभामुख घिमिरे नेतृत्वको टोली बहराइन प्रस्थान

काठमाडौं, २६ फागुन – प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे अन्तरव्यवस्थापिका संघको १४६औं महासभामा सहभागी हुन ९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बहराइन प्रस्थान गरेका छन् ।

आज साँझ ७ बजे फ्लाइ दुबईको एफजेड ५७६ उडानबाट दुबई हुँदै टोली मानमा प्रस्थान गर्ने छ । प्रतिनिधिमण्डलमा सांसदहरु रमेश लेखक, हितराज पाण्डे र सन्तोष परियार, राष्ट्रिय सभाका सदस्इ ईन्दु कडरिया, संघीय संसदका महासचिव डा. भरतराज गौतम, प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी, सभामुखका स्वकीय सचिव तेजप्रकाश र संघीय सचिवालयका शाखा अधिकृत राजन घिमिरे सहभागी छन् ।

सभामुख घिमिरेले ‘प्रोमोटिङ पिशफुल कोएक्जिस्टेन्स एण्ड इन्क्लुसिभ सोसाइटीजः फाइटिङ इन्टोलेरेन्स’ विषयको जेनरल डिबेटमा संसदको तर्फबाट वक्तव्य प्रस्तुत गर्ने कार्यक्रम रहेको संद्धीय संसदका प्रवक्ता सहसचिव एकराम गिरीले विप्तिमार्फत जानकारी दिएका छन् ।

टोलीले फागुन २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर–व्यवस्थापिका संघको १४६ औं बैठकमा भाग लिनेछ । सभामुखमा निर्वाचित भएपछि उनको पहिलो विदेश भ्रमण हो ।
 

राष्ट्रपति निर्वाचनमा सुवास नेम्वाङको खर्च कति ?

काठमाडौं, २६ फागुन । राष्ट्रपति पदका एमाले उम्मेदवार सुवास नेम्वाङले आफ्नो खर्च विवरण बुझाएका छन् ।

शुक्रबार निर्वाचन आयोगमा बुझाएको उनको खर्च विवरण अनुसार नेम्वाङले राष्ट्रपति निर्वाचनमा १६ हजार ५०० रुपैयाँ खर्च गरेका छन् ।

जसमध्ये प्रचार प्रसार, छापा एवं विद्युतीय शीर्षकअन्तर्गत मतदाताहरुलाई एसएमएस पठाउँदा १० हजार रुपैयाँ र मसलन्दमा ६ हजार ५०० रुपैयाँ खर्च भएको नेम्वाङले उल्लेख छ ।

नेम्वाङका तर्फबाट उनका निर्वाचन प्रतिनिधि महेशकुमार बर्तौलाले निर्वाचन अधिकृत महेश शर्मालाई खर्च विवरण बुझाएका हुन् । 


बिहीबार भएको राष्ट्रपति निर्वाचनमा कांग्रेससहित दलका उम्मेदवार रामचन्द्र पौडेलसँग नेम्वाङ पराजित भएका थिए ।  
 

श्री एयरलाइन्सलाई दिइयो उडान अनुमति

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सका सबै जहाजमाथि लगाएको ग्राउन्डेड फुकुवा गरेको छ। प्राधिकरणका प्राविधिकहरूले श्रीका उडानमा रहेका जहाजको जाँचपडताल गरेर उडानका लागि अनुमति दिएको प्राधिकरणले जनाएको छ।

भैरहवाको उडानमा जहाजको दायाँ इन्जिनमा आगो लागेको संकेत देखापरेको घटनापछि नियमनकारी निकाय प्राधिकरणले शुक्रबारदेखि कुनै पनि सेक्टरमा उडान गर्न नपाउने निर्णय गरेको थियो।

यसैबीच, श्री एयरलाइन्सले प्राधिकरणका विज्ञ टोलीद्वारा आफ्ना कम्पनीका जहाजहरु जाँच तथा अध्ययन गरी पुन: सेवा सञ्चालन गर्न अनुमति दिएको जनाएको छ।

कर्पोरेट प्रबन्धक अनिल मानन्धरले शुक्रबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘नेपाल नागरिक उड्डयन प्राधिकरणले विज्ञहरुको टोलीद्वारा यस एयरलाइन्सको सम्पूर्ण जहाजको प्राविधिक जाँच, इन्जिनियरिङ, अपरेसन, सुरक्षा तथा कम्पनीको वित्ती स्थिति तथा प्रशासनिक क्षमताको विस्तृत अध्ययन गरी श्री एयरलाइन्स उडानका लागि पूर्ण सुरक्षित भएकोले पुन: सेवा सञ्चालन गर्न अनुमति प्रदान गरेको व्यहोरा हाम्रा सम्पूर्ण आदरणीय यात्रु तथा शुभचिन्तकहरुलाई जानकारी गराउन चाहन्छौं।’

उपसभापति भन्छन्- उपराष्ट्रपतिमा महिला नै हुनुपर्छ भन्ने छैन 

काठमाडौं, २६ फागुन – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पुरुष राष्ट्रपति भइसकेपछि उपराष्ट्रपतिमा महिला नै हुनुपर्छ भन्ने नरहेको बताएका छन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपराष्ट्रपतिको उम्मेदवार महिला नै हुनुपर्छ भनेको खबर आफूले पढेको भन्दै  उनले त्यो भनाइ संविधान अनुकुल नरहेको बताए ।

शुक्रबार १० दलीय गठबन्धन कार्यदलको बैठकपछि सिंहदरबारमा पत्रकारसित कुरा गर्दै खड्काले प्रमुख निर्वाचन आयुक्त थपलियाले संविधानको व्यवस्था विपरीत अभिव्यक्ति दिएको बताए ।

नेपालको संविधानले राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्ग वा फरक समुदाय हुनुपर्छ भनेको उल्लेख गर्दै खड्काले एउटै समुदायको पुरुष राष्ट्रपति उपराष्ट्रपति दुवै हुन सक्दैन भनेर मात्रै संविधानले व्यवस्था गरेको बताए ।

उपसभापति खड्काले राष्ट्रपति निर्वाचन भइसकेपछिको समीक्षाका रुपमा कार्यदलको बैठक बसेको बताए ।

निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष बुझायो राष्ट्रपति निर्वाचनको परिणाम

काठमाडौं, २६ फागुन – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको परिणाम बुझाएको छ ।

आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले यही फागुन २५ गते सम्पन्न राष्ट्रपति निर्वाचनको परिणामसहितको प्रतिवेदन आज हस्तान्तरण गरेका हुन् । राष्ट्रपतिमा कांग्रेस सांसद रामचन्द्र पौडेल निर्वाचित भएका छन् ।

जनमत पार्टीले सप्तरीकी ममता झालाई उपराष्ट्रपतिमा उठाउने

सप्तरी, २६ फागुन – जनमत पार्टीले सप्तरीकी ममता झालाई उपराष्ट्रपति उठाउने निर्णय गरेको छ । जनमत पार्टीले उपराष्ट्रपति आफूले पाउनु पर्ने दाबी गर्दै झाको नाम अघि सारेको हो ।

सदभावना पार्टीबाट राजनीति सुरु गरेकी  झा जनमत पार्टीकी सप्तरी जिल्ला इञ्जार्ज हुन् । उनले स्थानीय तह चुनावमा राजविराज नगरपालिकाको मेयरमा समेत उम्मेदवारी दिएकी थिइन् ।

उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी जसपा नेपालले पनि दाबी गर्दै आएको छ । उसले बारा २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यस्तै नागरिक उन्मुक्ति पार्टीले पनि उपराष्ट्रपति आफूले पाउनु पर्ने भन्दै उमेर नै नपुगेकी रञ्जिता श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

यता सप्तरीका स्थानीयहरूले राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजय भईसकेकोले उपराष्ट्रपति जुनसुकै पार्टीको महिला भएपनि महिलानै हुनुपर्ने दाबी गर्दै आएका छन् ।

राष्ट्रपति निर्वाचनको मत परिणामको प्रतिवेदन राष्ट्रपति भण्डारी समक्ष बुझाईदै

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मत परिणामसहितको प्रतिवेदन राष्ट्रपति बिद्यादेवी भण्डारीसमक्ष आज बुझाउँदैछ ।

राष्ट्रपति निर्वाचनवाट नेपाली कांग्रेसका सांसद रामचन्द्र पौडेले निर्वाचत भएको भोलीपल्ट अर्थात फागुन २६ गते मतपरिणामसहितको प्रतिवेदन बुझाउन लागेको हो ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणाम सहितको प्रतिवेदन शुक्रवार राष्ट्रपतिसमक्ष पेश गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए ।

राष्ट्रपति राष्ट्रको अभिभावक भएकाले राष्ट्रलाई सर्वोपरी हितमा राखेर काम गर्नुपर्छ – माधव नेपाल

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कुनै पनि समस्याको वैज्ञानिक समाधान खोज्नुपर्ने बताएका छन् । बिहिबार नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिन सङ्घीय संसद् भवन पुगेका नेपालले यस्तो बताएका हुन् । गठबन्धनको सरकार बनिसकेपछि स्वाभाविकरूपमा राष्ट्र र जनताप्रति गम्भीर जिम्मेवारी हुने उनले बताए ।

उनले भने “भागबन्डामा अलमलिने भन्दा पनि देश र जनताको निम्ति के गर्ने भन्ने कुरा चिन्ताको विषय हुन्छ”उनले राष्ट्रपतिको मतपरिणामलाई अत्यन्तै सकारात्मक र उत्साहवर्द्धक रूपमा लिएको बताए । उनले भने, “हामीले जस्तो प्रकारको गठबन्धनका घटकहरूबीच सहमति गरेका थियौँ तदअनुरूपनै मत परिणाम प्राप्त भएको छ ।”

राष्ट्रपति राष्ट्रको अभिभावक भएकाले राष्ट्रलाई सर्वोपरी हितमा राखेर काम गर्नुपर्ने उनको भनाई छ । राष्ट्रपतिले संविधानले दिएको दायराभित्र बसेर आफ्नो जिम्मेवारी पूरा गर्दै आजसम्मको सङ्घर्ष र बलिदानीबाट प्राप्त उपलब्धिहरू संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशितालगायतका उपलब्धिको रक्षा गर्ने काममा जुट्नुपर्ने उनको भनाई छ ।

पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि मुगुमा दीपावली

मुगु, २५ फागुन – मुलुकमा तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि कर्णाली प्रदेशको मुगु जिल्लामा दीप प्रज्वलन गरिएको छ । नेपाल तरुण दल मुगु र नेपाल विद्यार्थी संघ मुगुले बिहीबार साँझ सदरमुकाम गमगढी बजारको कृष्ण चोकमा नव निर्वाचित राष्ट्रपति पौडयालको खुसिमा दीप प्रज्वलन गरिएको हो ।  

नेपाली कांग्रेसको नेताले राष्ट्रपति पाएपछि दीप प्रज्वलन गर्नुका साथै खुसि साटासाट गरेको नेपाल विद्यार्थी संघ मुगुका सभापति सोविन्द्र बहादुर मल्लले बताए ।

पौडेल १६ वर्ष हुँदादेखि राजनीतिमा प्रवेश गरेका थिए । पौडेल ६३ वर्षे सक्रिय राजनीतिक यात्रा पार गर्दै गणतन्त्र नेपाललको तेस्रो राष्ट्रपति बन्न पुगेका छन् । पौडेलले आजसम्म गरेको राजनीतिको फल पाएको उनले बताए । उनले भने, ‘रामचन्द्र पौडेल राष्ट्रपति हुँदा मलाई धेरै खुसी लागेको छ । 

राष्ट्रपतिमा पौडेलको जितसँगै गठबन्धन समृद्धिको यात्रामा अघि बढ्यो : नेता महर

काठमाडौं, २५ फागुन – नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी भएसँगै निर्वाचन अघिको गठबन्धन समृद्धिको यात्रामा अगाडि बढेको बताएका छन् ।

चुनावअघि संविधानको रक्षा, स्थिरता र समृद्धिको नारा दिएर चुनावी तालमेलमा होमिएको गठबन्धन विचमा केही विचलित भए पनि फेरि सही बाटोमा हिँडेको बताए ।

‘मुलुकको समृद्धि नचाहने तत्वले विचमा खेल्न खोजे । आत्तिएकाहरूले गठबन्धनलाई टुटाएर मुलुकमा अस्थिरता सिर्जना गर्नखोजे । तर, अन्तत्वगत्वा सत्यको जित भएको छ । संविधानको रक्षा, स्थिरता र समृद्धिको नारा दिएर जनतासामू मिलेर काम गर्ने वाचा गरेको गठबन्धन पुन: एक ठाउँमा उभिएको छ । अब पक्कै पनि मुलुकले अपेक्षित गति लिने छ,’ महरले भने । जनताले यही गठबन्धनलाई मिलेर जान म्यान्डेट दिएको हुनाले त्यो भन्दा दाँयाबाँया गर्न नहुने तर्क गरे ।

लोकतान्त्रिक आन्दोलनमा पौडेलले पुर्‍याएको योगदानको चर्चा गर्दै महरले सच्चा र आदर्श राजनीतिज्ञको आज उपयुक्त सम्मान भएको बताए ।

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै कांग्रेसका वरिष्ठ नेता पौडेल मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

निर्वाचन आयोगका अनुसार पौडेलले ३३ हजार ८०२ मतभार पाउँदा नेम्वाङले १५ हजार ५१८ मतभार ल्याएका छन्। राष्ट्रपति निर्वाचनका लागि कांग्रेसले सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रसहितका ७ दलसँग गठबन्धन गरेको थियो ।
 

अर्काको नाममा ट्रायल दिने र दिन लगाउने दुई जना पक्राउ

काठमाडौं, २५ फागुन – नक्कली परीक्षार्थी बनेर अर्काको नाममा सवारी चालक अनुमति पत्रको ट्रायल (प्रयोगात्मक परीक्षा) दिने र दिन लगाउने २ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । 

बिहीबार सर्लाहीको बलरा नगरपालिका- ६ घर भइ काभ्रेपलाञ्चोकको बनेपा बस्दै आएका २१ वर्षीय सन्तोष कुमार कुशवाहा र सिरहाको मिर्चैया नगरपालिका- ४ घर भइ भक्तपुरको लोकन्थली बस्दै आएका २० वर्षीय रविकुमार साहलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । 

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको ट्राफिक प्रहरी टोलिले भक्तपुरको राधे राधे ट्रायल सेन्टरबाट कुशवाहाको नाममा साहले दुईपाङ्गे सवारी साधनको ट्रायल दिइरहेको पाइएकाले दुवै जनालाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा आएका दुवै जनालाई प्रहरी वृत्त ठिमी भक्तपुर पठाइएको छ ।

अर्काको नाममा झुक्याएर ट्रायल दिने प्रवृत्तीलाई रोक्नको लागि विशेष कडाइ गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह-प्रवक्ता एवं प्रहरी उपरीक्षक अबि नारायण काफ्लेले बताए । यसका साथै अर्कै व्यक्तिले परीक्षा दिएर सवारी चालक अनुमति पत्र निकाल्दा दक्ष चालकको कमि भइ दुर्घटना समेत निम्तिने भएकाले ट्रायल सेन्टरहरूमा थप निगरानी बढाइएको उनको भनाई छ।

रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएको खुसियालीमा गृह जिल्लामा दीप प्रज्ज्वलन

काठमाडौं – नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको गृह जिल्ला तनहुँमा दीप प्रज्ज्वलन गरिएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य समेत रहेका पौडेल बिहिबार भएको राष्ट्रपति निवाृचनमा विजयी भएका हुन् ।

उनी राष्ट्रपतिमा निर्वाचित भएको खुसियालीमा उनको गृह जिल्ला तनहुँको दमौली व्यास नगरपालिका–३ अनसन चौतारीमा दीप प्रज्ज्वलन गरिएको हो ।दीप प्रज्ज्वलन नेपाल विद्यार्थी सङ्घ भानुभक्त क्याम्पस एकाइको आयोजनामा गरिएको हो ।

नवनियुक्त राष्ट्रपतिलाई नेपाली जनसम्पर्क समिति अमेरिकाको बधाई

काठमाडौं, २५ फागुन – नेपाली जनसम्पर्क समिति अमेरिकाले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई ज्ञापन गरेको छ । एक विज्ञप्ति जारी गर्दै सम्पर्क समितिका अध्यक्ष आनन्द विष्टले पौडेललाई बधाई ज्ञापन गरेका छन् ।

‘नेपालको तेस्रो राष्ट्रपतिका रुपमा लोकतन्त्र र प्रजातन्त्र स्थापनाका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको पौडेलको जितले गौरव बढाएको महसुस भएको छ। पौडेलको सफल कार्यकालको शुभकामना व्यक्त गछौं,’ विष्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उहाँले राष्ट्र हितलाई केन्द्रमा राखेर काम गर्नुहुनेमा हामी सबै विश्वस्त छौं।’ राष्ट्रपति राष्ट्रको अभिभावक भएकाले पौडेलाई  राष्ट्रलाई सर्वोपरी राखेर काम गर्नसमेत उनले सुझाव दिएका छन् ।

पौडेलको अभिभावकत्वमा संघीय लोकतान्त्रीक गणतन्त्र थप मजबुद हुने विश्वास आफूहरूको रहेको विष्टले बताए ।

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै कांग्रेसका वरिष्ठ नेता पौडेल मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका हुन् । 

निर्वाचन आयोगका अनुसार पौडेलले ३३ हजार ८०२ मतभार पाउँदा नेम्वाङले १५ हजार ५१८ मतभार ल्याएका छन्। राष्ट्रपति निर्वाचनका लागि कांग्रेसले सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रसहितका ७ दलसँग गठबन्धन गरेको थियो ।
 

भिरबाट लडेर बाजुरामा एक बालिकाको मृत्यु

बाजुरा, २५ फागुन – भिरबाट लडेर बाजुरामा एक बालिकाको मृत्यु भएको छ । विद्यालय जाने क्रममा भिरबाट लडेर बालिकाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार बडीमालिका नगरपालिका–६ कोर्ध फडील्लाकी ६ वर्षीया कमला बडुवालको आज बिहान लडेर मृत्यु भएको हो । उनी सोही वडामा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा कक्षा १ मा अध्ययनरत थिइन् । विद्यालय गाउँबाट टाढा हुँदा बिहान ९ बजे घरबाट हिडेकी थिइन् ।

कमला घर नजिकै रहेको ढागीलोटा भन्ने ठाउँमा बाटो अप्ठ्यारो हुँदा खुट्टा चिप्लिदा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बेमौसमी हिमपातले किसान खुशी

लमजुङ, २५ फागुन – हिमाली जिल्ला मनाङमा हिमपात हुन थालेको छ। प्राकृतिक रूपमा हेर्ने हो भने मंसिरको पहिलो साता हिमपात हुनुपर्ने हो। तर, यसपटक समय सकिएपछि हिमपात भएको छ। यस वर्ष बेमौसममा हिमपातको सुरुवात भएको हो।

समयभन्दा ढिला गरी मनाङमा हिमपात भएको प्रमुख जिल्ला अधिकारी सुप्रभा खनालले बताइन् । 

तल्लो मनाङमा हिउँ परेपछि स्थानीयवासी खुसी भएका उनले बताए। मनाङमा फागुनको तेस्रो साता लागेपछि मात्रै केही मात्रामा हिमपात भएको प्रजिअ खनालको भनाइ छ। 

‘यस वर्ष हिमपात हुँदैन कि भन्ने डर लागेको थियो, आजदेखि अलि बढी हिमपात भएको छ, खुसी लागेको छ, हिमपात भएन भने उत्पादन नहुनुका साथै सुक्खापन आउन सक्ने सम्भावना थियो,’ ङिस्याङ गाउँपालिका–१ पिसाङका ७४ वर्षीय किसान याङदुङ गुरुङले भने। 

ढिला गरी परेको हिमपातले जमिनको सतहमात्रै भिज्ने हुँदा उत्पादन खासै नबढ्ने उनले बताए। ‘यहाँको मुख्य बाली आलु र करु हो। चैत, वैशाखमा लगाइने यी बालीलाई पुसमा हिउँ पर्नुपर्छ । तर, यसपटक ढिला गरी पर्यो, माटो राम्ररी नभिजे पनि सुक्खापन कम हुन्छ,’ किसान गुरुङले भने, ‘जमिन तातिएपछि हिमपात हुँदा हिउँको पानी जमिनमुनि नपुग्दै माथि नै सुक्छ। चिस्यान नभए खेतीबालीलाई पुग्दैन र राम्रो उत्पादन हुँदैन, तर पनि हामी किसान खुसी भएका छौँ।’ 

उनका अनुसार समयमा हिमपात नहुँदा सबैभन्दा बढी स्याउ उत्पादनमा असर गर्छ। 

कांग्रेस कैलालीले स्ववियुको लागि खटायो प्रतिनिधि 

धनगढी, २५ फागुन – आगामी चैत ५ र ८ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई मध्येनजर गर्दै नेपाली कांग्रेस कैलालीले जिल्ला प्रतिनिधि खटाएको छ । 

नेपाल विद्यार्थी संघका उम्मेदवारलाई विजयी गराउन जिल्ला कार्य सम्पादन समिति कैलालीको बिहीबार जिल्ला पार्टी कार्यालय, धनगढीमा बसेको बैठकले प्रतिनिधि खटाउने निर्णय गरेको हो ।

समितिले संघीय निर्वाचन क्षेत्र १ र २ मा जिल्ला सचिव नृप बहादुर सुनार, निर्वाचन क्षेत्र नम्बर ३ उपसभापति भिम बडुवाल र निर्वाचन क्षेत्र ४ र ५ जिल्ला सचिव केशव राज मिश्रलाई खटाइएको प्रचार–प्रसार विभाग प्रमुख तपेन्द्र भुषालले जानकारी दिए ।

त्यस्तै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा पार्टीगत रुपमा कहीँ गठबन्धन गर्न चाहेमा केन्द्रीय गठबन्धनका विद्यार्थी संगठनबीच कहीँ कुनै क्याम्पसमा तालमेलको जरुरी देखिए त्यसलाई सहज बनाउन गठबन्धन दलसँग जिल्ला स्तरमा आवश्यक समन्वय गर्ने जिम्मेवारी जिल्ला उपसभापति खेमराज डंगौरा थारुलाई दिएको संयोजक भुषालले जानकारी दिए । 

टेलिकमले अफर : १९९ रूपैयाँमा एक महिनाका लागि ४२० मिनेट भ्वाइस, ४२० एसएमएस र ४२०० एमबी डेटा

काठमाडौं – सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले विन्टर अफर २०७९ अन्तर्गत सजिलो प्रिपेड कम्बो प्याक सञ्चालन गरिरहेको छ । यसअन्तर्गत रु. १९९ मा २८ दिनसम्म प्रयोग गर्न सकिने गरी डेटा, भ्वाइस र एसएमएसको अफर दिइएको हो ।

कम्पनीका अनुसार यो प्याक लिने ग्राहकले २८ दिनका लागि कूल ४२०० एमबी डेटा (प्रतिदिन १५० एमबीसम्म), ४२० मिनेट भ्वाइस (अल नेट- प्रतिदिन १५ मिनेटसम्म) र ४२० एसएमएस (अल नेट- प्रतिदिन १५ एसएमएससम्म) को सुविधा पाउनेछन् ।

सेवा लिन ग्राहकले मोबाइलमा १४१५२*३# डायल गर्नुपर्ने छ । साथै टेलिकमको मोबाइल एपबाट समेत यो प्याक एक्टिभेट गर्न सकिने कम्पनीले जनाएको छ ।

राष्ट्र हितमात्रै काम गर्न नयाँ राष्ट्रपतिलाई माधव नेपालको सुझाव

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई राष्ट्र हितलाई केन्द्रमा राखेरमात्रै काम गर्न आग्रह गरेका छन् ।

‘राष्ट्रपति भनेको राष्ट्रको अभिभावक हो । उहाँले राष्ट्रलाई सर्वोपरी राख्नुपर्छ । राष्ट्रको हितमा कुठाराघात हुने, प्रतिकूल असर पर्ने कुनै काम गर्न हुँदैन । देशको शिर निहुरिने कुनै काम गर्नु हुँदैन,’ सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार पौडेल निर्वाचित भएपछि नेपालले भने ।

राष्ट्रपति निर्वाचित भइसकेपछि गठबन्धन स्वभाविक‍रूपमा अगाडि बढ्ने नेपालको प्रतिक्रिया छ ।

जसपा सांसद राजकिशोर भन्छन्– उपराष्ट्रपतिको उम्मेदवार रामसहाय यादव

काठमाडौं, २५ फागुन । जसपाले उपराष्ट्रपतिको उम्मेदवारको रुपमा रामसहाय यादवलाई अघि सारेको छ ।

३ चैतमा हुने उपराष्ट्रपति पदको उम्मेदवारको रुपमा रामसहाय यादवलाई उठाउने जसपाले निर्णय गरेको हो । 

बिहीबार बसेको जसपाको बैठकले रामसहाय यादवलाई उपराष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेको सो पार्टीका सांसद राजकिशोर यादवले जानकारी दिए । 

‘पार्टीले उपराष्ट्रपतिमा रामसहाय यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ,’ उनले भने । 
 

प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’मा

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वाेच्च अदालतमा परेको मुद्दा बिहीबार हेर्न नभ्याइनेमा परेको छ । 

माओवादी युद्धकालीन विषयलाई लिएर मंगलबार परेको रिटको सुनुवाइका लागि बिहीबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको थियो । तर, हेर्न नभ्याइनेमा परेको सर्वाेच्च अदालत प्रशासनले जनाएको छ । 

माओवादी युद्धकालमा मारिएका भनिएका १७ हजार व्यक्तिमध्ये आफूले पाँच हजारको जिम्मा लिने १ माघ २०७६मा दिएको प्रचण्डको सार्वजनिक अभिव्यक्तिलाई साबिती बयानको रुपमा लिँदै गत मंगलबार सर्वाेच्च अदालतमा दुईवटा छुट्टाछुटै रिट दर्ता भएको थियो । 
 

नवनिर्वाचित राष्ट्रपतिलाई माधव नेपालको बधाई 

काठमाडौं, २५ फागुन – नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बधाई ज्ञापन गरेका छन् । एक समारोहबीच प्रधानमन्त्रीले राष्ट्रपतिलाई बधाई दिएका हुन् ।

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै कांग्रेसका वरिष्ठ नेता पौडेल मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका हुन् । 

निर्वाचन आयोगका अनुसार पौडेलले ३३ हजार ८०२ मतभार पाउँदा नेम्वाङले १५ हजार ५१८ मतभार ल्याएका छन् । राष्ट्रपति निर्वाचनका लागि कांग्रेसले सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रसहितका ७ दलसँग गठबन्धन गरेको थियो ।
 

नवनिर्वाचित राष्ट्रपतिलाई प्रधानमन्त्री प्रचण्डको बधाई 

काठमाडौं, नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाई ज्ञापन गरेका छन्। एक समारोहबीच प्रधानमन्त्रीले राष्ट्रपतिलाई बधाई दिएका हुन् ।

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै कांग्रेसका वरिष्ठ नेता पौडेल मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका हुन्। 

निर्वाचन आयोगका अनुसार पौडेलले ३३ हजार ८०२ मतभार पाउँदा नेम्वाङले १५ हजार ५१८ मतभार ल्याएका छन्। राष्ट्रपति निर्वाचनका लागि कांग्रेसले सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रसहितका ७ दलसँग गठबन्धन गरेको थियो।

प्रचण्डविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध परेको मुद्दाको पहिलो सुनवाइ आज हुनेभएको छ। उनीमाथि पाँच हजार जनाको हत्या गरेको साबिती बयानलाई आधार बनाएर गत मंगलबार मुद्दा दायर भएकोमा आज त्यसमाथि सुनुवाइ हुने भएको हो।

प्रधानमन्त्री प्रचण्डले २०७६ माघ १ गते टुँडीखेलमा आयोजित थारु माघी महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै आफूले दश वर्षे युद्धकालमा भएको पाँच हजार जनाको हत्याको जिम्मा लिने बताएका थिए । सोही अभिव्यक्तिलाई मुख्य विषय बनाएर पीडितले मुद्दा दायर गरेका थिए ।

रिट निवेदनको पक्षमा कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका रामेछापका ज्ञानेन्द्रराज आरणसहित रहेका छन् ।

दोस्रो अर्थशास्त्री सम्मेलन फागुन २६ र २७ गते काठमाडौंमा

काठमाडौं, २५ फागुन – दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन फागुन २६ र २७ गते काठमाडौंमा आयोजना गरिने भएको छ। 

‘आत्मनिर्भर तथा समुन्नत अर्थतन्त्र निर्माणमा हाम्रो अभियान’ नाराका साथ सम्मेलन विभिन्न सङ्घ संस्थासँगको सहकार्यमा राष्ट्रिय आर्थिक सरोकार समाज, नेपालले सम्मेलन आयोजना गर्न लागेको हो ।

सम्मेलनमा अर्थतन्त्रका समसामयिक मुद्दामा बहस चलाई समाधानका उपायसहित सरकार, राजनैतिक दल तथा नीति निर्माणमा संलग्न निकायलाई कार्यान्वयनका लागि सुझाव दिइने आयोजकले जनाएको छ ।  

दुई दिने सम्मेलनलाई पहिलो दिन उदघाटनसत्र र दोस्रो दिन प्राविधिकसत्र गरी विभाजन गरिएको आयोजक संस्थाले प्रेस विज्ञप्तिमार्फत जनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यक्रमको उद्घाटन गर्ने छन् ।

राष्ट्रिय सभागृहमा शुक्रबार दिउँसो २ बजे सुरु हुने र दोस्रो दिनको कार्यक्रम बिहान ७ बजेदेखि होटल एलो प्यागोडा जमलमा हुनेछ । पहिलो दिनको उदघाटन सत्रमा एउटा र प्राविधिक सत्रमा १५ वटा समसामयिक विषयमा कार्यपत्र प्रस्तुत हुनेछ । 

अर्थशास्त्री सम्मेलनमा प्रधानमन्त्रीका साथै पूर्व प्रधानमन्त्रीहरु, पूर्व अर्थमन्त्रीहरु, राजनीतिक पार्टीका प्रतिनिधि, राष्ट्रिय योजना आयोगका वर्तमान तथा पूर्व उपाध्यक्षहरु, राष्ट्रबैंकका गभर्नर तथा पूर्व गभर्नरहरु, वरिष्ठ तथा उदयीमान अर्थशास्त्रीहरु, कामपा प्रमुख, बैंकर्स एसोसिएसनका प्रतिनिधि, उद्योग वाणिज्य महासङ्घ नेपाल, उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष, सहकारी महासङ्घका अध्यक्ष, एनआरएनएका अध्यक्ष, विश्वविद्यालयका उपकुलपतिलगायतको सहभागिता रहने बताइएको छ ।

राष्ट्रपति निर्वाचनमा दुई थरी मतपत्रको ब्यवस्था (नमुना पत्रसहित)

काठमाडौं, २५ फागुन । आज  हुने राष्ट्रपति निर्वाचनको निम्ति अलग अलग दुईवटा मतपत्र उपलब्ध हुनेछ ।

निर्वाचन आयोगले ब्यवस्था गरे अनुसार संघीय र प्रदेश सांसदका लागि रातो र हरियो गरी अलग–अलग मतपत्र उपलब्ध हुन लागेकाे हाे ।

रातो मतपत्र संघीय संसदका प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदलाई दिइने छ भने हरियो मतपत्र प्रदेश सभाका सांसदलाई दिइने आयाेगका सह सचिव तथा प्रबक्ता  शालिकराम पाैडेलले जानकारी दिएका छन् ।

मुलुकको तेस्रो राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनवाट नेपाली कांग्रेसका बरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दाल नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङ बिच प्रतिस्पर्धा हुनेछ ।

राष्ट्रपति निर्वाचनमा मतदाताले ५ मध्ये एउटा परिचयपत्र देखाउनु पर्ने

काठमाडौं, २५ फागुन । निर्वाचन आयोगले आज हुने राष्ट्रपति निर्वाचनका आफनो नाम उल्लेख भएको ५ मध्ये एक परिचय पत्र लिएर मतदान स्थलमा जानुपर्नेछ ।

राष्ट्रपति पद निर्वाचनमा मतदाताहरूले मतदान गर्न आयोगले स्पष्ट रुपमा कानुनी ब्यवस्था गरेका भन्दै ५ वटा एउटा परिचय खुल्ने कागजात लैजानु पर्ने जनाएको हो ।

जसअनुसार निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचय पत्र, नेपाली नागरिकताको प्रमाण पत्र,  सम्बन्धित् संसद सभा सचिवालयबाट जारी भएको परिचय पत्र मतदान गर्नु अघि देखाउनु पर्नेछ । 

सो परिचय पत्र नभएमा निर्वाचन अधिकृतबाट सम्बन्धित् सभाको सदस्यमा निर्वाचित हुँदा उपलब्ध गराइएको प्रमाण पत्र वा राष्ट्रिय परिचय पत्रमध्ये एउटा लिएर मतदानस्थलमा जानु पर्ने आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

आज हुने राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनवाट नेपाली कांग्रेसका बरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दाल नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङ बिच प्रतिस्पर्धा हुनेछ ।

राष्ट्रपति निर्वाचन: मतदान स्थलमा मोबाइल लैजान प्रतिबन्ध, लगे जफत हुने

काठमाडौं, २५ फागुन । आज हुन गईरहेको राष्ट्रपति निर्वाचनमा मतदाताहरुलाई मतदानस्थलमा मोबाइल लैजान प्रतिबन्ध लगाईको छ ।

मतदाताहरुले मतदानस्थलमा मोबाइल लगेमा जफत हुने र निर्वाचन आयोगले कसुर गरेको ठानी कारबाहीसमेत गर्नेछ ।

‘मतदानस्थलमा मोबाईल लैजान प्रतिबन्ध छ, गोप्य मतदान भएकाले तस्विर खिच्न पनि प्रतिबन्ध छ, यसो गरेका पाईएमा कानुन अनुसार कसुर गरेको ठहरिनेछ,’ निर्वाचन अधिकृत महेश शर्मा पौडेलले भने, ‘साथै, लाइटर, हातहतियारजस्ता निर्वाचन आयोगले प्रतिबन्ध लगाएका कुनै पनि समान लैजान पाईने छैन । ‘

आज हुने राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनवाट नेपाली कांग्रेसका बरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दाल नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङ बिच प्रतिस्पर्धा हुनेछ ।