`

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।मंगलबार दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ ।

कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ ।यस्तै, आज राती भने कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

संस्कृत विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा शर्मा

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगको अध्यक्ष पदमा प्राध्यापक डा भागवतप्रसाद शर्मालाई नियुक्त गर्नुभएको छ ।

प्रधानमन्त्री कार्कीले नेपाल संस्कृत विश्वविद्यालय ऐन २०४३ को दफा ९ ‘क’ को उपदफा (२) अनुसार दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका–१८ का प्राध्यापक शर्मालाई सेवा आयोगको अध्यक्ष पदमा तीन वर्षका लागि नियुक्त गर्नुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्राध्यापक शर्माले यसअघि विश्वविद्यालयको शिक्षाध्यक्ष रही कार्यसम्पादन गर्नुभएको थियो ।

त्यसैगरी प्रधानमन्त्री कार्कीले विश्वविद्यालयको सोही नियम अनुसार सेवा आयोगको सदस्य पदमा फुङलिङ–३ ताप्लेजुङका प्राध्यापक डा रमेश घिमिरेलाई नियुक्त गर्नुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

सरकार पत्रकारको हकहित र पेसागत सुरक्षाका लागि प्रतिबद्ध छः सञ्चारमन्त्री खरेल

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार पत्रकारको हकहित र पेसागत सुरक्षासँगै प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि प्रतिबद्ध रहेको बताउनुभएको छ ।

मन्त्रालयमा नेपाल पत्रकार महासङ्घका पदाधिकारीसँगको छलफलमा मन्त्री खरेलले पत्रकारको जीवन सुरक्षा र पेसागत, व्यावसायिक सुरक्षाका लागि आवश्यक सहजीकरण गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सञ्चारमन्त्री खरेलले सरकार र पत्रकार महासङ्घसँग नीतिगतलगायत विषयमा हातेमालो गरेर अगाडि बढ्न पनि तयार रहेको बताउनुभयो । उहाँले समग्र पत्रकारिता क्षेत्रको व्यावसायिक दक्षता अभिवृद्धि, सामाजिक सुरक्षालगायत विषयमा महासङ्घसँग नीतिगत छलफल र समझदारीका आधारमा अघि बढ्ने उल्लेख गर्नुभयो ।

उहाँले महासङ्घले उठाएको विषयलाई कार्यान्वयन गर्दै जाने भन्दै रचनात्मक सुझाव दिन आग्रह गर्नुभयो । उहाँले अगाडि भन्नुभयो, “अबको कुनै पनि नीतिगत छलफलमा मन्त्रालय र महासङ्घको समन्वय र सहमतिमा काम अगाडि बढाउनुपर्छ ।”

मन्त्री खरेलले पत्रकारको पेसागत र भौतिक सुरक्षाको सुनिश्चितताका लागि सरकारले आवश्यक पहल गर्ने बताउनुभयो । साथै उहाँले योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा ल्याउन मन्त्रालयले समिति गठन गरेर काम सुरु गरेको र सुरुमा सरकारी सञ्चारमाध्यमबाट लागू हुने जानकारी दिनुभयो ।

महासङ्घका अध्यक्ष निर्मला शर्माले पत्रकारको पेसागत र भौतिक सुरक्षाका साथै नीतिगत सुधारका लागि मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । उहाँले श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन र मिडिया हाउस र समग्र पत्रकारिता क्षेत्रको समस्या समाधानका लागि सरकारसँग सहकार्य गरेर अगाडि बढ्न महासङ्घ तयार रहेको उल्लेख गर्नुभयो । महासङ्घका महासचिव रामजी दाहालले महासङ्घको ध्यानाकर्षण पत्र पढेर सुनाउनुभयो ।

महासङ्घका अध्यक्ष शर्माको नेतृत्वको टोलीले महासङ्घको आगामी कार्ययोजना र मन्त्रालयको तर्फबाट गर्नुपर्ने सहजीकरणलगायत विषयको नौबुँदे ज्ञापनपत्र सञ्चारमन्त्री खरेलसमक्ष बुझाएको हो । ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री खरेलले मन्त्रालयको तर्फबाट सहयोग गर्ने वचन दिनुभयो ।

नीतिनिर्माणमा साझेदारी, जेनजी आन्दोलनका क्रममा घाइते पत्रकारका लागि उचित राहत तथा क्षतिपूर्तिको प्रबन्ध मिलाउन, श्रमजीवी पत्रकार ऐन कार्यान्वयनलगायत विषयमा मन्त्रालयको तर्फबाट समन्वय र सहजीकरण गरिदिन महासङ्घले आग्रह गरेको छ ।

तोकिएको समयमा निर्वाचन गराउन कांग्रेस पूर्वमहामन्त्रीद्वयको सरकारलाई आग्रह

काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले मुलुकमा देखिएको राजनीतिक अनिश्चितता अन्त्य गरी तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न÷गराउन सरकारलाई आग्रह गर्नुभएको छ ।

नेपाली कांग्रेसका संस्थापक नेता, प्रजातान्त्रिक आन्दोलनका अग्रदूत तथा लौहपुरुष गणेशमान सिंहको १११औँ जन्मजयन्तीका अवसरमा आयोजित समारोहमा उहाँहरूले मुलुकलाई स्थायित्व र सुशासनको मार्गमा अघि बढाउनका लागि समयमै निर्वाचन सम्पन्न गर्नु अत्यावश्यक रहेको धारणा राख्नुभयो ।

पूर्वमहामन्त्री सिंहले मुलुक अहिले गम्भीर राजनीतिक सङ्कट र अनिश्चितताको परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै त्यसको समाधान निर्वाचन भएको बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नो प्रतिनिधि चुन्ने जनताको अधिकारलाई कार्यान्वयन गर्ने माध्यम निर्वाचन हो । त्यसैले निर्वाचनलाई तोकिएको समयमा सम्पन्न गर्न नसक्दा लोकतान्त्रिक मूल्य र संविधानमाथिको विश्वासमा असर पर्न सक्छ ।”

पूर्वमहामन्त्री सिटौलाले वर्तमान राजनीतिक अवस्था अत्यन्त जटिल बन्दै गएको उल्लेख गर्दै सबै राजनीतिक दलहरूबीच सहमति, सहकार्य र आपसी विश्वास कायम गरी अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो, “मुलुकलाई स्थिर सरकार र दीर्घकालीन समाधानको आवश्यकता छ । त्यो मार्ग निर्वाचनबाट मात्रै सम्भव छ । त्यसैले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न सबै पक्षले इमान्दार भएर प्रयास गर्नुपर्छ ।” उहाँले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारलाई पनि निर्वाचन मिति सार्ने वा टार्ने कुनै पनि कदम नचाल्न आग्रह गर्नुभयो ।

आगामी फागुन २१ गते तोकिएको निर्वाचनलाई सफल र विश्वसनीय बनाउन सबै दल, निर्वाचन आयोग, सुरक्षा निकाय र नागरिक समाजबीच समन्वय तथा विश्वासको वातावरण सिर्जना गर्नुपर्नेमा उहाँहरूले जोड दिनुभयो ।

पूर्वमहामन्त्रीद्वयले गणेशमान सिंहको बलिदान, त्याग र लोकतन्त्रप्रतिको योगदान स्मरण गर्दै उहाँका आदर्शलाई आत्मसात् गर्नुपर्ने आवश्यकता पनि औँल्याउनुभयो । गणेशमान सिंहले जीवनभर प्रजातन्त्र र जनअधिकारका लागि सङ्घर्ष गर्नुभएको थियो र उहाँकै बाटो पछ्याउँदै अहिलेका नेताहरूले पनि जनताको भरोसा कायम राख्ने काम गर्नुपर्ने पूर्वमहामन्त्रीद्वयले बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका विभिन्न तहका नेता, कार्यकर्ता, शुभेच्छुक तथा लोकतान्त्रिक आन्दोलनका अभियन्ताको उपस्थित थियो ।

क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने

काठमाडौँ – नेपाल राष्ट्र बैंकले क्यासिनोसहित यस्ता प्रकृतिका संस्थाले अनुमति (इजाजत) लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा तीन अनुसार इजाजत लिएर मात्रै विदेशी विनिमयको कारोबार गनुपर्ने प्रावधान अनुसार नयाँ प्रबन्ध गरिएको जनाएको छ ।

विदेशी विनिमयका सम्बन्धमा विभिन्न विनियमावलीसमेत जारी भएको स्मरण गराउँदै केन्द्रीय बैंकले क्यासिनोलाई विदेशी विनिमयको कारोबार गर्न इजाजत प्रदान गर्ने स्म्बन्धमा नयाँ व्यवस्था गरिएको जनाएको हो । क्यासिनोलगायतका संस्थाले इजाजत लिएर विदेशी विनिमय (भारतीय मुद्रा समेत)को कारोबार गर्नु÷गराउनु पर्ने केन्द्रीय बैंकको सूचनामा उल्लेख छ ।

त्यस्तै, भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन जारी गर्दै ‘प्रिपेड कार्ड’, ‘डेबिट कार्ड’ र ‘क्रेडिट कार्ड’बाट गरिने कारोबारको सीमा निर्धारण गरिएको छ । नयाँ व्यवस्थाअनुसार डेबिट कार्डबाट प्रतिकारोबार रु २० हजार बराबर मात्रै गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ । यो व्यवस्थाअनुसार अब प्रतिदिन रु ५० हजार बराबरको मात्रै कारोबार हुनेछ । यसअघि प्रतिदिन रु एक लाख बराबरको कारोबार हुँदै आएको थियो ।

यसैगरी, प्रिपेड कार्डबाट प्रतिकारोबार रु १० हजार बराबर मात्रै गर्न सकिनेछ । प्रतिदिन रु २० हजार बराबर मात्रै कारोबार गर्न सकिने र मासिक रूपमा रु दुई लाख बराबर कारोबार हुनेछ । प्रिपेड कार्डबाट हुने कारोबारमा भने कुनै संशोधन भएको छैन । क्रेडिट कार्डका हकमा स्वीकृत सीमाको १० प्रतिशतसम्म गर्न सकिने पूरानै व्यवस्था कायम छ ।

बेमौसमी वर्षाले सिरहामा १० हजार हेक्टर धानबालीमा क्षति

सिरहा – मोन्था चक्रवातको प्रभावले भएको बेमौसमी वर्षाका कारण जिल्लामा करिब १० हजार हेक्टरभन्दा बढी धानबालीमा क्षति पुगेको छ । जिल्लाका आठ नगरपालिका र नौ गाउँपालिका गरी १७ स्थानीय तहका कृषि शाखाले सङ्कलन गरेको प्रारम्भिक विवरणअनुसार करिब १० हजार ७२८ हेक्टर क्षेत्रमा रहेका धानबालीमा क्षति पुगेको हो ।

कृषि शाखाबाट प्राप्त विवरणअनुसार लहान नगरपालिकामा सबैभन्दा बढी दुई हजार २३२ हेक्टर, औरही नगरपालिकामा एक हजार ३५८ हेक्टर र नरहा गाउँपालिकामा करिब ८०० हेक्टर क्षेत्रमा धानबालीमा क्षति पुगेको छ ।

लहान नगरपालिका कृषि शाखा प्रमुख प्रकाश साहका अनुसार किसानले लगाएका बासमती र सुक्खा प्रजातिका धानमध्ये करिब ५० प्रतिशत बालीमा क्षति पुगेको छ । उहाँका अनुसार किसानले राम्रो मूल्य पाउने आशामा उन्नत जातका धान लगाएका थिए ।

पूर्व–पश्चिम लोकमार्गबाट दक्षिणतर्फका अधिकांश क्षेत्र बोरिङ, भूमिगत सिँचाइ र कमला नहर प्रणालीबाट सिञ्चित क्षेत्र भएकाले त्यहाँ लगाइएका उन्नत जातका धानमा बढी क्षति पुगेको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।

“पाक्न लागेको धानमा वर्षाले क्षति पु¥याएपछि स्वतः उत्पादन घट्ने निश्चित छ”, केन्द्रका प्रमुख नरेन्द्रकुमार महासेठले भन्नुभयो, “धानका बोट ढलेका कारण दाना कुहिने र उत्पादन घट्ने अवस्था देखिएको छ ।”

केन्द्रका अनुसार जिल्लामा ५४ हजार हेक्टरमा वर्षे र एक हजार ३४५ हेक्टरमा चैते धानखेती हुँदै आएको छ । अघिल्लो वर्ष ५५ हजार ३४५ हेक्टर क्षेत्रमा दुई लाख २८ हजार ६९६ मेट्रिकटन धान उत्पादन भए पनि यो वर्ष उत्पादनमा उल्लेख्य कमी आउने अनुमान गरिएको छ ।

आधिकारिकताबिनाका सामान खरिद नगर्न प्रहरीको आग्रह

वीरगञ्ज (पर्सा) – पर्सामा विभिन्न व्यापारिक प्रतिष्ठानको बिलबिजक नक्कली बनाएर कारोबार गर्ने प्रवृत्ति देखिएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिबहादुर बस्नेतले केही दिनयता सामाजिक सञ्जालमार्फत विभिन्न प्रतिष्ठित व्यापारिक प्रतिष्ठानहरूको बिलबिजक नक्कली बनाइ त्यस्ता बिलबिजकमार्फत विभिन्न व्यापारिक समूहबाट सामान खरिद गरेर ठगी गर्ने प्रवृत्ति बढेकाले सचेत रहन अनुरोध गर्नुभयो ।

“नक्कली बिलबिजक बनाएर यहाँ सिमेन्ट, छड, मदिरा, मोटर पाटर््स आदि) खरिद गरी ठगी गर्ने गरिएको घटना आइरहेको हुँदा व्यापारिक कारोबार गर्दा एकिन भएपश्चात मात्र गर्नुहुन अनुरोध गरिन्छ”, उहाँले भन्नुभयो, “आधिकारिकताबिनाका कुनै सामान खरिद नगर्नुहुन अनुरोध गरिन्छ, अन्यथा प्रचलित कानुनबमोजिम कारबाही हुने व्यहोरासमेत अनुरोध गरिन्छ ।”

वीरगञ्ज उद्योग वाणिज्य सङ्घले केही दिनदेखि यहाँ नक्कली बिलबिजक बनाएर सिमेन्ट, छड, मदिरा, मोटर पाटर््स आदि खरिद गरी ठगी गर्ने गरिएको घटना आइरहेको हुँदा व्यापारिक कारोबार गर्दा सामान खरिद गर्ने प्रतिष्ठानका आधिकारिक व्यक्तिसँग एकिन गरी मात्र कारोबार गर्नुहुन अनुरोध गरेको छ ।

सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले प्रतिष्ठित औद्योगिक घराना, उद्योग तथा व्यावसायिक प्रतिष्ठानहरूका नाममा सामान खरिद गर्न आउने खरिदकर्ताको आधिकारिकता नबुझी त्यस्तासँग व्यावसायिक कारोबार, लेनदेन नगर्न हुनसमेत अनुरोध गरेको छ ।

बागलुङमा ५३२ जना डेङ्गी सङ्क्रमित फेला

ढोरपाटन (बागलुङ) – जिल्लामा पछिल्लो तीव्र गतिमा डेङ्गी सङ्क्रमण बढ्दै गएको छ । जिल्लाभर ५३२ जनालाई डेङ्गी सङ्क्रमण भएको हो । जिल्लाको बरेङ गाउँपालिकाबाहेक सबै पालिकामा सङ्क्रमित देखा परेका प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

जिल्लामा सबैभन्दा बढी बागलुङ नगरपालिका र सबैभन्दा कम तमानखोला गाउँपालिकामा सङ्क्रमित रहेका छन् । बागलुङमा २९५ र तमानखोलामा एक जनामा डेङ्गी सङ्क्रमित देखा परेका प्रदेश जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी देवप्रकाश घिमिरेले जानकारी दिनुभयो । सङ्क्रमण बढ्दै गएपछि लक्षण देखिएका बिरामीको दशवटै पालिकामा परीक्षण गरिरहेको उहाँले बताउनुभयो ।

घिमिरेका अनुसार दसैँ र तिहार पछाडि सङ्क्रमितको सङ्ख्या बढेको बताउनुभयो । “सङ्क्रमण बढेपछि परीक्षणलाई तीव्रता दिएका छौँ, वर्षात् हुँदासम्म त्यति सङ्क्रमण फैलिएको थिएन, अहिले बढिरहेको छ । बरेङ गाउँपालिकामा बाहेक अरु पालिकामा सङ्क्रमित भेटिएका छन्”, उहाँले भन्नुभयो, “धौलागिरि अस्पताल बागलुङमा, गलकोट अस्पताल, बुर्तिबाङ अस्पताल र कुस्मिशेरा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको व्यवस्था मिलाइएको छ ।”

डेङ्गी सङ्क्रमणबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट जोगिनुपर्ने गलकोट नगर अस्पतालका प्रमुख डा राजेश पौडेलले बताउनुभयो । खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुँडालगायत पानी जम्मा हुने स्थान र लामखुट्टेको बासस्थान नष्ट गर्नुपर्ने उहाँको भनाइ छ ।

जेनजी प्रदर्शनका क्रममा झापामा प्रहरी कार्यालय तोडफोडमा संलग्न १२ जना पक्राउ

झापा – जेनजी प्रदर्शनका क्रममा जिल्लाका विभिन्न प्रहरी कार्यालयको भवन र सवारी साधन तोडफोड, आगजनी र लुटपाटमा संलग्न १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।प्रदर्शनका क्रममा गत भदौ २४ गते झापाको अनारमनी, सुरुङ्गा र दमकस्थित इलाका प्रहरी कार्यालयमा आगजनी, तोडफोड, लुटपाट र प्रहरी कर्मचारीमाथि साङ्घातिक आक्रमणका घटना भएका थिए । सो घटनाको सिसिटिभी फुटेज, भिडियो र फोटोको अध्ययन र विश्लेषणका आधारमा अभियुक्तको पहिचान गरी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारीदिनुभयो ।

पक्राउ पर्नेहरुमा विर्तामोड–५ का ४५ वर्षीय नवराज राई, सोही वडाका २२ वर्षीय राजन चौधरी, सोही वडाका २० वर्षीय आयूष धिमाल, कनकाई–१ का ४२ वर्षीय गोपाल संग्रौला, कनकाई–३ का २५ वर्षीय विष्णु विक, शिवसताक्षी–१० का २५ वर्षीय कुशल तिम्सिना, सोही वडाका ३१ वर्षीय सञ्जय बस्नेत, विर्तामोड–५ की २४ वर्षीया पूजा मगर र अर्जुनधारा–७ का २८ वर्षीय सुरज राई छन् ।

यसैगरी, दमक–३ का १९ वर्षीय रियाज सिलवाल, इलामको चुलाचुली–३ का २२ वर्षीय नकुल अधिकारी र पाँचथर मिक्लाजुङ–५ घर भई हाल दमक–१ मा बसोबास गर्दै आएका २२ वर्षीय साजन ल्हागुन समेत पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरुलाई अपराधिक उपद्रव र ज्यान मार्ने उद्योग कसुरमा मुद्धा दर्ता गरी झापा जिल्ला अदालबाट म्याद लिएर अनुसन्धान कार्य भइरहेको प्रहरी प्रवक्ता खड्काले जानकारी दिनुभयो । जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते इलाका प्रहरी कार्यालयहरुमा तोडफोड र आगजनी हुँदा ९९ थान हतियार लुटिएकामा ७७ थान फिर्ता भइसकेको छ । अब २२ थान हतियार फिर्ता हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

महागुरु फाल्गुनन्दको १४१औँ जयन्ती मनाइँदै

काठमाडौँ – किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किरात, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उहाँको महत्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत गर्नुभएको थियो । यसलाई सत्य धर्म मुचुल्का भनिन्छ । यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो ।

किरात समाज सुधारका लागि नीतिसमेत निर्माण गरी योगदान गर्नुभएका फाल्गुनन्दको विसं २००५ मा निधन भएको हो । किरात समाज सुधारमा उहाँले पु¥याउनुभएको योगदानको कदर गर्दै उहाँलाई २०६६ मङ्सिर १६ गते सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

उहाँको योगदानको कदर गर्दै किराँती समुदायको बसोबास रहेको पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापालगायत किरात समुदायको बसोबास भएका जिल्लामा फाल्गुनन्द जयन्ती मनाउने गरिन्छ ।

राजधानीमा पनि विभिन्न कार्यक्रम गरी किरात समुदायले महागुरु फाल्गुनन्द जयन्ती मनाउने गरेको किरात ज्योतिष सङ्घका अध्यक्ष चन्द्रकुमार शेर्माले राससलाई जानकारी दिनुभयो ।

केन्द्रीय बैंकले उपदान कोषको तीन अर्ब ७० करोड लगानी गर्ने

काठमाडौँ – नेपाल राष्ट्र बैंकले उपदान कोषमा रहेको रु तीन अर्ब ७० करोड बराबरको रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत एक वर्षका लागि उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्ने जनाएको हो ।

सूचना अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा रु दुई अर्ब ९६ करोड, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा रु ५५ करोड ५० लाख, राष्ट्रियस्तरका वित्त कम्पनीमा रु १८ करोड ५० लाख बराबरको रकम लगानी गर्न लागिएको उल्लेख छ ।

बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको दुई वर्ष पूरा भएको, बैंकबाट तोकिएको न्यूनतम कूल पुँजीकोष कायम रहेको, निष्क्रिय कर्जा कूल कर्जा सापटीको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्ने जनाइएको छ ।

बैंक तथा वित्तीय संस्था कर्जा निक्षेप अनुपात केन्द्रीय बैंकले निर्धारण गरेको सीमाभित्र रहेको, अघिल्लो आर्थिक वर्षको नाफा–नोक्सान हिसाबअनुसार खुद मुनाफामा रहेको हुनुपर्नेलगात सर्त पूरा गरेको हुनुपर्नेछ । साथै बैंक तथा वित्तीय संस्थाले उक्त रकम लिनका लागि प्रस्ताव गरिएको ब्याजदरसहित आवेदन दिन सूचनामा आग्रह गरिएको छ ।

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४२ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६९ पैसा र बिक्रीदर १६४ रुपैयाँ ३८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १८७ रुपैयाँ २१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७५ रुपैयाँ ६९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९२ रुपैयाँ ८७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १०९ रुपैयाँ १३ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ १९ पैसा र बिक्रीदर नौ रुपैयाँ २२ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १९ रुपैयाँ ९७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०२ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ३८ पैसा र बिक्रीदर चार रुपैयाँ ३९ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३४ रुपैयाँ १९ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७३ पैसा र बिक्रीदर नौ रुपैयाँ ७७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १४ रुपैयाँ ९५ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ९२ पैसा र बिक्रीदर २२ रुपैयाँ ०१ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १८ रुपैयाँ २२ पैसा र बिक्रीदर १८ रुपैयाँ ३० पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपैयाँ ०८ पैसा र बिक्रीदर ४६३ रुपैयाँ ०३ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३७७ रुपैयाँ २६ पैसा, ओमनी रियाल एकको खरिददर ३६७ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ४० पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

निकोलसलाई हाजिरी जमानीमा राखी अनुसन्धान गर्न परमादेश

काठमाडौँ – सर्वोच्च अदालतले निकोलस भनेर चिनिने कमल भुसालको बन्दीप्रत्यक्षीकरणको रिट निवेदन खारेज गर्दै हाजिरी जमानीमा राखी अनुसन्धान गर्न गृह मन्त्रालयको नाममा परमादेश जारी गरेको छ ।

न्यायाधीशद्वय डा नहकुल सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले आज आफूलाई थुनामुक्त गर्न आदेशको माग गर्दै दायर गरेको बन्दी रिट निवेदन खारेज गर्दै हाजिरी जमानीमा राखेर अनुसन्धान गर्न परमादेश जारी गरेको हो ।

आदेशमा भनिएको छ, “निजको अभिव्यक्तिकै आधारमा थुनामा नै राखी अनुसन्धान गर्नु संविधानले आत्मसात गरेको वैयक्तिक स्वतन्त्रताको संरक्षणसम्बन्धी मूल्यमान्यता अनुकूल नदेखिएकाले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ समेतको कानुनी व्यवस्थाको रोहमा निज उपरको अनुसन्धान तहकीकातको विश्वसनीयता र प्रभावकारितामा असर नपर्ने गरी निजबाट धरौट वा जमानत लिई वा निजलाई हाजिरी जमानीमा राखी अनुसन्धान गर्नु ।”

आदेशमा निजको साथबाट कुनै विष्फोटक पदार्थ वा हातहतियार आदि बरामद भएको वा निज कुनै कसुर गरिरहेको अवस्थामा पक्राउ परेको नदेखिएको र निजको अभिव्यक्तिकै थुनामा राख्नुभन्दा हाजिरी जमानीमा राखेर अनुसन्धान गर्दा उपयुक्त हुने ठहर गरिएको छ ।

भुसाललाई समाजमा अफवाह फैलाउने र भड्काउपूर्ण अभिव्यक्ति दिएको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । आफूलाई थुनामुक्त गर्न माग गर्दै भुसालको हकमा सुनिलप्रसाद साहले बन्दी प्रत्यक्षीकरणको रिट निवदेन दायर गर्नुभएको थियो ।

एनपिएलको खेल तालिका सार्वजनिक

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणको तालिका आज सार्वजनिक गरेको छ । आगामी मङ्सिर १ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगिताका खेलहरू कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा हुनेछ ।

आगामी मङ्सिर १ गते हुने उद्घाटन खेल साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीच हुनेछ । उक्त खेल दिउँसो ४ बजे हुने तय भएको छ ।

प्रतियोगितामा विभिन्न आठ टोली सहभागी छन् । दिनमा दुई वटा खेल हुँदा पहिलो खेल दिउँसो ११ः४५ र दोस्रो खेल ३ः३० तथा ४ बजे सुरू हुनेछन् । प्लेअफका तीन खेल भने दिउँसो ४ बजे सुरू हुनेछन् । आगामी मङ्सिर २७ गते हुने फाइनल पनि फ्लडलाइटमा हुने तयारी रहेको क्यानले जनाएको छ ।

कुल ३२ खेलमध्ये २३ खेल फ्लडलाइटमा खेलाइनेछन् ।

राणा शासनविरुद्ध गणेशमान सतिसालझै अभिनुभयोः पूर्वराष्ट्रपति डा यादव

काठमाडौँ – पूर्वराष्ट्रपति डा रामवरण यादवले नेपाली कांग्रेसका संस्थापक नेता तथा लौहपुरुष गणेशमान सिंहको योगदान नेपाली जनताको स्वतन्त्रता, लोकतन्त्र र राष्ट्रिय चेतनाको यात्रामा सदैव अमर रहने बताउनुभएको छ ।

आज गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति शान्ति प्रतिष्ठानले आयोजना गरेको गणेशमान सिंहको १११ औँ जन्मजयन्ती तथा जनआन्दोलन स्वर्ण पदक वितरण समारोहलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले गणेशमान सिंहले जहानियाँ राणा शासनका विरुद्ध जुन ढङ्गले आन्दोलनको अगुवाइ गर्नुभयो, त्यो नेपाली इतिहासमा सतिसालझैँ दृढ र अविचलित उदाहरण बनेको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, “गणेशमान सिंहले नेपाली समाजलाई स्वतन्त्रताको बाटो देखाउनुभयो । उहाँको योगदान केवल कांग्रेस पार्टीका लागि मात्रै होइन, सम्पूर्ण नेपाली जनताको लागि थियो । उहाँले देखाएको मार्ग अनुशरण गर्नसके मात्रै देश साँचो अर्थमा समृद्ध र लोकतान्त्रिक बन्न सक्छ ।”

पूर्वराष्ट्रपति डा यादवले गणेशमान सिंहको नेतृत्व, साहस र राष्ट्रप्रेमकै कारण आफू पनि राजनीतिमा प्रवेश गरेको र उहाँले पार्टी तथा देशको हितलाई सधैँ व्यक्तिगत स्वार्थभन्दा माथि राख्ने असाधारण गुण प्रदर्शन गर्नुभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “गणेशमान सिंहले कहिल्यै पद वा शक्ति खोज्नुभएन । उहाँले पार्टी र देशको हितलाई सधैँ व्यक्तिगत स्वार्थभन्दा माथि राख्नुभयो । त्यही नै उहाँको महानता हो ।”

डा यादवले विसं २०१७ को घटनापछि नेपाली कांग्रेसको नेतृत्वमा विपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईजस्ता नेताहरूको योगदानले देशमा लोकतन्त्रको नयाँ आधार तयार भएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, “म जनकपुरमा जन्मेको एक साधारण व्यक्ति हुँ । हामीलाई लोकतन्त्रप्रेमी बनाउने प्रेरणा दिने काम विपी, गणेशमान र कृष्णप्रसादबाट आएको हो । काङ्ग्रेसका नेता कार्यकर्ताहरूको पहिचान नै उहाँहरूको त्याग र आदर्शबाट बनेको हो ।”

पूर्वराष्ट्रपति यादवले आफ्नो विद्यार्थी जीवनको पनि स्मरण गर्नुहुँदै आफू डाक्टर पढ्न भारत गएको बेला गणेशमान सिंहले कलकत्तामा रहेका लाखौँ नेपालीहरूका बीचमा डाक्टरको रूपमा सेवा गर्नुहोस् र लोकतन्त्रका विषयमा छलफल गर्नुहोस् भन्ने खालका विशेष सन्देश दिनुभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “देशका लागि सीपयुक्त प्राविधिक जनशक्ति चाहिन्छ, राम्रोसँग डाक्टर पढेर नेपाल फर्कनुहोस् । उहाँका यी शब्दहरूले मलाई मात्र होइन, हजारौँ युवालाई पनि देश सेवाको बाटोमा अघि बढ्ने प्रेरणा दिएको छ ।”

वरिष्ठ पत्रकार विष्णु निष्ठुरीले नेपाली इतिहास र लोकतन्त्र प्राप्तिका लागि नेपाली पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको थियो । कार्यक्रममा लोकतान्त्रिक आन्दोलनका योद्धा एवं वरिष्ठ पत्रकार विष्णु निष्ठुरीलाई ‘जनआन्दोलन स्वर्ण पदक’ प्रदान गरिएको थियो ।

सो अवसरमा वक्ताहरूले गणेशमान सिंहको योगदानलाई स्मरण गर्दै उहाँको आदर्श, निष्ठा र साहस नेपाली राजनीतिका सबै पुस्ताका लागि प्रेरणाको स्रोत रहेको उल्लेख गर्नुभएको थियो ।

जनता समाजवादी पार्टी र नेपाली कम्युनिष्ट पार्टीबीच एकता हुने

काठमाडौँ, २४ कात्तिकः जनता समाजवादी पार्टी र नेपाली कम्युनिष्ट पार्टीबीच एकता हुने भएको छ । दुवै पार्टीका नेताहरुबीच राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक प्रणाली तथा कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने सैद्धान्तिक समझदारी भएकाले एकीकरणका लागि प्रक्रिया सुरु गरिएको हो ।

अशोक राई नेतृत्वको पार्टीले हालै सम्पन्न केन्द्रीय बैठकबाट एकताका लागि केन्द्रीय कार्यकारिणी परिषदलाई जिम्मेवारीसमेत प्रदान गरेको केन्द्रीय सदस्य सोनाम लामाले जानकारी दिनुभयो । उहाँले दुवै पक्ष सैद्धान्तिक विषयमा सहमत भएपछि केही नेताहरु व्यवस्थापनलगायत प्राविधिक विषयको टुङ्गो लगाइने र केही दिनभित्र एकताको घोषणा गरिने जानकारी दिनुभयो ।

नेपाली कम्युनिष्ट पार्टीले समान विचारधारा भएका समूह तथा राजनीतिक दलसँग एकता गरी बृहत् कम्युनिष्ट केन्द्र निर्माणको अभियान थालेको छ ।

नेकपा माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)लगायत दश वामपन्थी दलले गत बुधबार एकता गरेपछि गठन भएको उक्त पार्टीले चुनाव अगाडि वाम शक्ति ध्रुवीकरण गर्ने जनाएको छ ।

छिट्टै सातै प्रदेशमा एकतासभा गर्ने तयारी समेत गरेको पार्टीले नेकपा (एमाले)का पूर्वउपाध्यक्ष एवं मातृभूमि जागरण अभियानका संयोजक भीम रावलसँग पनि एकताको सम्पूर्ण तयारी पूरा गरेको जनाइएको छ ।

भारतको अनुदान सहयोगमा ११ नयाँ विकास परियोजनाका लागि सम्झौतामा हस्ताक्षर

काठमाडौँ – भारत सरकारको अनुदान सहयोगमा नेपालमा शिक्षा, स्वास्थ्य र फोहर व्यवस्थापनका क्षेत्रमा कार्यान्वयन हुने ११ वटा उच्च प्रभाव समुदाय विकास परियोजनाका लागि आज सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा यहाँस्थित भारतीय दूतावास, नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल सरकारका परियोजना कार्यान्वयन निकायहरूले हस्ताक्षर गरेका हुन् । उक्त परियोजनाहरू करिब रु एक अर्ब १६ करोड लागतमा कार्यान्वयन हुने दूतावासले जनाएको छ ।

भारत सरकारले सन् २००३ देखि नेपालमा हालसम्म ५९० वटा उच्च प्रभाव समुदाय विकास परियोजनाहरू सञ्चालन गरेको छ । तीमध्ये ५०२ परियोजनाहरू शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, सम्पर्क मार्ग र सार्वजनिक उपयोगिता क्षेत्रमा पूरा भइसकेका छन् भने बाँकी परियोजनाहरू विभिन्न चरणमा कार्यान्वयन भइरहेका छन् । यी सबै परियोजनाहरू नेपालका सातै प्रदेशमा रहेका छन् ।

छिमेकी मुलुकका रूपमा भारत र नेपालबीच दीर्घकालीन, बहुआयामिक र बहुक्षेत्रीय सहकार्य रहँदै आएको छ । भारत सरकारद्वारा समर्थित यी परियोजनाहरूले नेपालमा जनशक्तिकरणका साथै प्राथमिकता प्राप्त क्षेत्रमा पूर्वाधार विकासमा टेवा पु¥याउने विश्वास लिइएको छ ।

एमालेमा सबैलाई बस्न मिल्ने फराकिलो ठाउँ छ – अध्यक्ष ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेमा सबैलाई बस्न मिल्ने फराकिलो स्थान भएको बताउनुभएको छ ।एमालेद्वारा आज काठमाडौँमा आयोजित ‘घर फर्क राष्ट्रिय अभियान घोषणा’ कार्यक्रममा अध्यक्ष ओलीले जनताले सबैभन्दा बढी भोट लिएको फराकिलो स्थान भएको पार्टी भएको बताउनुभएको हो ।

“नेकपा एमाले सानो चित्त भएको, सानो दिल भएको हल्ला चलाइएको छ, देशका जनताले सबैभन्दा बढी भोट भएको, सबैभन्दा धेरै कार्यकर्ता भएको पार्टीलाई साँघुरो चित्त भएको भनिरहेका छन्”, उहाँले भन्नुभयो, “यहाँ कोही पनि खाँदाखाँद गरेर बस्नुपर्ने छैन, फराकिलो ढङ्गले मज्जाले बस्न पाइने स्पेस छ, नेकपा एमालेमा ।”

उहाँले वर्तमान सरकारलाई तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्ने कार्यभार दिएको भए पनि निर्वाचनभन्दा बाहिरको काममा बढी ध्यान दिएको बताउनुभयो ।

अध्यक्ष ओलीले प्रत्येक घरघरमा एमालेका युवा रहेको उल्लेख गर्दै भन्नुभयो, “एमाले देश बनाउने आशा र भरोसाको केन्द्र हो, फेसबुकको युवा होइन, घरघरको युवा एमालेसँग छ ।”

आज एमाले पुनःप्रवेश गर्नुभएकी नेत्री रामकुमारी झाँक्रीले क्रान्तिकारी शक्तिहरू अब अलमल्ल गरेर बस्न नहुने उल्लेख गर्दै एमालेमा फर्किन आह्वान गर्नुभयो । उहाँले सार्वभौमिकता, सार्वजनिक सम्पत्ति, नागरिक जीवनको रक्षाका लागि एमालेमा आउनुपर्नेमा जोड दिनुभयो ।

आजै एमालेमा प्रवेश गर्नुभएको किसान श्रेष्ठले चार वर्षअघि गरेको निर्णय गल्ती थियो भन्ने निष्कर्षका साथ कलम पार्टीलाई बिर्सजन गर्दै एमालेमा प्रवेश गरेको बताउनुभयो ।

उहाँले आदर्श, दृष्टि र देशलाई आर्थिक तथा राजनीतिक अवस्थाबाट देशलाई निकास दिने सामथ्र्य एमालेसँगै रहेको बताउनुभयो । “मुलुकको विकास, समृद्धि र सुशासनका लागि काम गर्ने एमाले नै हो”, नेता श्रेष्ठले भन्नुभयो, “एमाले र देशलाई समृद्ध गर्ने केवल चाहना छ ।”

समर डेफलिम्पिक्समा सहभागी हुन जुडो टोली जापान जाँदै

काठमाडौं – समर डेफलिम्पिक्समा सहभागी हुन नेपाली जुडो टोली भोलि जापानको टोकियो जाने भएको छ ।

नोभेम्बर १५ देखि २६ तारिखसम्म हुने डेफलिम्पिक्सको जुडोमा २ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुष ६० केजीमा लक्की चौधरी तथा महिला ५२ केजीमा सुष्मा तामाङले प्रतिस्पर्धा गर्ने छन् ।

टोली प्रमुखमा नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो सङ्घका अध्यक्ष धर्मकुमार श्रेष्ठ, व्यवस्थापकमा रोजिना श्रेष्ठ र प्रशिक्षकमा सन्जित डङ्गोल रहेका छन् । घरमा शोक परेका कारण प्रशिक्षक डङ्गोल भने नोभेम्बर १४ तारिखमा जापान जाने छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्यले आज एक कार्यक्रमबीच बिदाइ गर्नुभयो । सो अवसरमा राखेप कार्यकारी समितिका सदस्यद्वय भानबहादुर चन्द र सुवर्ण श्रेष्ठ, राखेपका सदस्य जगतसिंह धामीलगायतको उपस्थिति रहेको थियो । डेफलिम्पिक्समा नेपालले जुडो बाहेक कराते, एथलेटिक्स, तेक्वान्दो, ब्याडमिन्टन र टेबलटेनिसमा पनि सहभागिता जानाउने छ ।

दिल्लीमा वायु प्रदूषण चरम स्तरमा

धुवाँको बाक्लो तहले सोमबार भारतको राजधानी नयाँदिल्लीलाई ढाकेको छ । प्रदूषणको स्तर तीव्र रूपमा बढ्दै गएपछि हावामा तीखो गन्ध भरिएको छ, जसले जनस्वास्थ्य सङ्कटलाई थप गम्भीर बनाएको छ । यस स्थितिप्रति असन्तुष्टि जनाउँदै बासिन्दाहरू सरकारी कदमको माग गर्दै सडकमा उत्रिएका छन् ।

विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेको जोखिम सीमाभन्दा धेरै माथि पुगेको दिल्लीको वायु गुणस्तर सूचकाङ्क (एक्युआई) सोमबार बिहान ३४४ मा नापिएको थियो । यो स्तर ‘गम्भीर’ श्रेणीमा पर्दछ र सास फेर्नका लागि अत्यन्त खतरनाक मानिन्छ ।

आइतबार साँझ, अभिभावक र वातावरणीय कार्यकर्ताहरू सहित सयौँ नागरिकले नयाँदिल्लीको प्रसिद्ध इन्डिया गेट अगाडि भेला भई एक दुर्लभ विरोध प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरूले मुखमा मास्क लगाउनुका साथै ‘मलाई सास फेर्न गाह्रो भइरहेको छ’ जस्ता प्लेकार्डहरू बोकेका थिए ।

“म यहाँ एक नागरिकका रूपमा उपस्थित भएकी छु जसले सहरको बिग्रँदो हावाप्रति गहिरो चिन्ता राख्छिन् । हामी सास फेर्न पनि सङ्घर्ष गर्नुपरेको अवस्थामा पुगेका छौँ”, आफ्नो पहिलो नाम मात्र बताउनुभएकी प्रदर्शनकारी मेघनाले भन्नुभयो ।

प्रदर्शनपछि प्रहरी प्रशासनले प्लेकार्ड र ब्यानरहरू जफत गरी प्रदर्शनकारीहरूलाई ‘अनुमति बिना प्रदर्शन नगर्न’ आग्रह गर्दै तितरबितर हुन निर्देशन दिएको थियो ।

राजधानीको बढ्दो प्रदूषणका कारण टाउको दुख्ने, आँखामा जलन र लगातार खोकीका समस्या देखिएका छन् । बासिन्दाहरूले यो वार्षिक स्वास्थ्य सङ्कट बनेको अवस्थामा नीतिगत कदमभन्दा पनि एकअर्कामाथि दोषारोपणमै सीमित रहेका राजनीतिज्ञहरूप्रति असन्तुष्टि व्यक्त गर्न थालेका छन् ।

करीब तीन करोड जनसङ्ख्या भएको नयाँदिल्ली र यसको वरपरका क्षेत्रहरू बर्सेनि विश्वकै सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा शीर्ष स्थानमा रहँदै आएका छन् । स्विट्जरल्यान्डमा आधारित वायु गुणस्तर अनुगमन संस्था ‘आइक्युएयर’को हालैको प्रतिवेदनअनुसार विश्वका १० सबैभन्दा प्रदूषित सहरमध्ये ६ वटा भारतका छन्, जसमा नयाँदिल्लीलाई सबैभन्दा प्रदूषित राजधानीका रूपमा दर्ज गरिएको छ ।

नजिकैका राज्यहरूमा किसानहरूले बालीका अवशेष जलाउँदा र जाडो मौसममा तापक्रम घटेर धुवाँ जम्दा दिल्लीको हावाको गुणस्तर झनै बिग्रन्छ । यस धुवाँमा सवारीसाधन र उद्योगहरूबाट निस्कने धुवाँ मिसिँदा विषाक्त कणहरू लामो समयसम्म हावामा रहन्छन् । सुक्खा र हावा रहित मौसमका कारण कहिलेकाहीँ प्रदूषणको स्तर विश्व स्वास्थ्य सङ्गठनले तोकेको सुरक्षित सीमाभन्दा २० गुणा बढी पुग्ने गरेको छ ।

प्रदूषण नियन्त्रणका लागि अधिकारीहरूले अस्थायी रूपमा निर्माण कार्यमा प्रतिबन्ध लगाउनुका साथै डिजेल जेनेरेटरको प्रयोग रोकेका छन् । साथै, वर्षा गराउने आशाले ‘क्लाउड सिडिङ’ को प्रयोगसमेत गरिएको छ । यद्यपि, वातावरणविद्हरूको भनाइमा दीर्घकालीन रूपमा उत्सर्जन घटाउने ठोस नीति र स्थायी समाधानले मात्र राजधानीका नागरिकहरूलाई साँच्चिकै राहत दिलाउन सक्छ ।

झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई

झापा – शिवसताक्षीस्थित दूधे रङशालामा आज सम्पन्न एलभिडी झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । प्रतिस्पर्धी विभागीय टोली एपिएफ फुटबल क्लबलाई १–० गोलले पराजित गर्दै नेपाल पुलिस क्लबले उपाधि कब्जा गरेको होे ।

उपाधिसँगै पुलिस क्लबले नगद रु १० लाख १० हजार, मेडल र ट्रफी प्राप्त गरेको छभने उपविजयी एपिएफ फुटबल क्लबले नगद रु पाँच लाख प्राप्त गरेको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको उपाधि पुलिस क्लबकी मीना देउवाले हात पारेकी छन् । उनले प्रतियोगिता अवधिभर सात गोल गर्दै गोल्डकपकी टप स्कोरर बनेर रु २५ हजार र सर्वोत्कृष्ट खेलाडी बन्दै रु एक लाख ५० हजार प्राप्त गरिन् ।

प्लेयर अफ द म्याचको उपाधि पुलिस क्लबकी पूजा रानाले जितेकी छन् । यसैगरी, उत्कृष्ट गोलकिपर उषा नाथ (पुलिस क्लब), उत्कृष्ट डिफेन्डर मनमाया दमाई (एपिएफ क्लब), उत्कृष्ट मिडफिल्डर रेनुका नगरकोटी (एपिएफ क्लब), उत्कृष्ट फरवार्ड अनिता बस्नेत (एपिएफ क्लब), उत्कृष्ट प्रशिक्षक भोला सिलवाल (पुलिस क्लब) र उदीयमान खेलाडी जेनिफर राना मगर (त्रिभुवन आर्मी क्लब) बनेकी छन् । उत्कृष्ट विजेताहरुले जनही रु २५ हजार प्राप्त गरे ।

विजेता तथा उपविजेता टोलीलाई गोल्डकपका अध्यक्ष सन्तोष थोप्रा, प्रमुख अतिथि शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्रा, झापा गोल्डकपका अध्यक्ष केदार गिरी, अन्तरराष्ट्रिय झापाली समाजकी उपाध्यक्ष सीता पाण्डेलगायतले वितरण गर्नुभएको थियो ।

यातायात क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउनु सरकारको प्राथमिकता रहेको छ – मुख्यमन्त्री पाण्डे

कास्की, २४ कात्तिकः गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यातायात क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउने तथा यस क्षेत्रको लगानीलाई सुरक्षित गर्ने सरकारको प्राथमिकता रहेको बताउनुभएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकी प्रदेशको सातौँ वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उहाँले जनताको चाहनाअनुसार यातायात सेवा पु¥याउन सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “यातायात क्षेत्रमा सम्बद्ध लाखौँ मजदुरको पेशागत सुरक्षा ग्यारेन्टी र जनताको चाहनाअनुसार सरल र सुविधायुक्त यातायातको चाहनालाई सम्बोधन गर्ने कार्यभार प्रदेश सरकारको छ । प्रदेश सरकारले बनाउने ऐन कानुनले मात्र यी कुराहरु सम्भव छैन । यसका लागि यस क्षेत्रमा लगानी गर्ने लगानीकर्ता, मजदुर र सरकारको बीचमा सामञ्जस्य र सौहार्दपूर्ण वातावरण आवश्यक छ ।”

मुख्यमन्त्री पाण्डेले यातायात क्षेत्रको सुधारका लागि आवश्यक कानुनी जटिलतालाई सरकारले सहज बनाउने प्रतिबद्धतासमेत जनाउनुभयो । उहाँले व्यवसायीको खर्बौंको लगानी डुब्न नदिन र लाखौँ रोजगारी खोस्ने कुनै पनि कार्य सरकारले नगर्ने समेत स्पष्ट पार्नुभयो ।

कार्यक्रममा मुख्यमन्त्री पाण्डेले ‘राइड सेयरिङ’ गैरकानुनी रुपमा चलेको भएकाले त्यसलाई प्रदेश सरकारले नियमन गर्न खोजेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “गैरकानुनी रुपमा चलेको व्यवसायलाई कर र सुरक्षाको दायरामा ल्याउन खोजिएको हो । यसबाट सरकार र व्यवसायीबीच असमझदारी भयो । यातायात क्षेत्रलाई क्रमिक रुपमा प्रविधिमैत्री बनाउनु आवश्यक ।”

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले व्यवसायी कहिल्यै पनि प्रविधिको विरोधी नभएको बताउँदै विदेशी गैरकानुनी ‘एप्स’को मात्र आफूहरुले विरोध गरेको बताउनुभयो ।

चलचित्र क्षेत्रको विकासका लागि सरकारले नीतिगत पहल गर्नेछः सञ्चारमन्त्री खरेल

काठमाडौँ, २४ कात्तिकः सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली चलचित्र क्षेत्रको समग्र विकासका लागि नीतिगत सुधारको पहल गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

चलचित्र विकास बोर्डले आज आयोजना गरेको ‘सांस्कृतिक रुपान्तर पुरस्कार–२०८२’ समारोहमा मन्त्री खरेलले चलचित्रको विकास, विस्तार र दिगोपनाका साथै चलचित्रकर्मीको बृहत्तर हितमा मन्त्रालयले नीतिगत र संरचनागत सुधारका लागि काम गर्ने उल्लेख गर्नुभयो ।

सञ्चारमन्त्री खरेलले समाज रुपान्तरणका निम्ति नेपाली चलचित्रको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । उहाँले चलचित्रकर्मी देशको परिवर्तनको शूत्रधार भएको पनि उल्लेख गर्नुभयो । सञ्चारमन्त्री खरेलले भन्नुभयो, “देशको परिवर्तनको शूत्रधार चलचित्र क्षेत्र हो । जस्ले आफ्नो सम्पूर्ण जविन राष्ट्रको निम्ति बिताउनुभएको छ । तपाईँहरुको सामाजिक सुरक्षालगायत विषयमा राज्यले हेर्नुपर्ने हुन्छ ।”

चलचित्रकर्मीले ऐतिहासिक चलचित्र आमा माइतीघरलगायत देशको गाथा गाएर मातृभूमिको रक्षा गरेर राष्ट्रप्रतिको भाव दर्शाउन खेलेको भूमिकालाई बिर्सन नहुनेमा उहाँले जोडल दिनुभयो । “चलचित्र निर्देशन, अभिनय र कथावस्तुमार्फत समाजभित्रका कुरीति, अव्यवस्थाका विरुद्धमा चेतनाको विगुल फुक्ने नायक नायिका, निर्देशकलगायतमा नमन गर्दछु”, उहाँले भन्नुभयो ।

उहाँले चलचित्रकर्मी प्रेम, शान्ति, भावना र आत्मीयताको प्रतीक हुन् भन्दै चलचित्रकर्मीले जतिकै नेपालका राजनीतिक दल, प्रशासकहरुले गरिदिएको भए अहिले परिवर्तनले खोजेकोबमोजिम हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाली चलचित्रमार्फत समाज रुपान्तरणको लागि खेलेको भूमिका र योगदानलाई मुलुकले कहिल्यै भुल्ने छैन भन्नुभयो । उहाँले भन्नुभयो, “देश र जनताको हितमा, नेपाली चलचित्र क्षेत्रको विकास र चलचित्रकर्मीका लागि आफ्नो कार्यकालमा राज्यको तर्फबाट के–के गर्न सकिन्छ कार्ययोजना ल्याउन मन्त्रालयका पदाधिकारिलाई आवश्यक निर्देशन दिएको छु, केही नीतिगत परिवर्तनमा गर्नुपर्ने कामबारे छलफल सुरु भइसकेको छ ।”

सञ्चारमन्त्री खरेलले नेपाली चलचित्र क्षेत्रमा समयसापेक्ष नवीनता र सिर्जनात्मक परिवर्तन आएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “पहिला गाउँ समाजको देखेको, थाहा पाएको कथा गाथा र व्यथा पस्कने चलचित्र जगतमा आजकाल लुकेका कुरा, लुकाइएका विषय, नदेखिएका कुरा, भविष्यमा हुने विषयलाई कथावस्तु र गीत सङ्गीतमार्फत नेपालीको मन मस्तिष्कसम्म गुञ्जायमान गराउन सफल भएको छ, त्यसैले म सम्पूर्ण चलचित्रकर्मीलाई बधाई दिन चाहन्छु ।”

सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले चलचित्र क्षेत्रको दिगो विकासका लागि मन्त्रालयले आवश्यक सहजीकरण गर्ने बताउनुभयो । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्र क्षेत्रको विकास, चलचित्रकर्मीको सामाजिक सुरक्षालगायत विविध विषयमा मन्त्रालयसँग समन्वय गरेर अगाडि बढ्ने बताउनुभयो ।

सो अवसरमा सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा उल्लेखनीय योगदान पु¥याउने १५ जना चलचित्रकर्मीलाई नगद र कदरपत्रसहित सम्मान गरेको छ । यसरी सम्मानित हुनेमा कलाकारहरु शिव श्रेष्ठ, सविता गुरुङ, तीर्थ थापा, हेमन्त बुढाथोकी, गायक एस कुमार, गायिका अन्जु पन्त, चलचित्र पत्रकार ध्रुव लम्साल, चलचित्र महोत्सव व्यवस्थापक रम्यता लिम्बू, निर्देशकद्वय सम्झना रौनियार र युवराज लामा, निर्माता किशन पोखरेल, केशव भट्टराई (कलाकार–मरणोपरान्त), कलाकार नाजिर हुसेन, रिमेश अधिकारी र रेनीश फागो हुनुहुन्छ । सञ्चारमन्त्री खरेलले ती सबै पुरस्कार प्रदान गर्नुभयो ।

प्रधानमन्त्री कार्कीले गरिन् स्थानीय जनप्रतिनिधिसँग छलफल

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले आज स्थानीय सरकारका जनप्रतिनिधिहरुसँग छलफल गर्नुभएको छ ।प्रधानमन्त्री कार्कीले गाउँपालिका राष्ट्रिय महासङ्घ र नगरपालिका राष्ट्रिय महासङ्घका पदाधिकारीसँग आज दिउँसो बालुवाटारमा छलफल गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिनुभयो ।

उहाँले पछिल्लो समय उत्पन्न परिस्थितिमा स्थानीय सरकारले गरिरहेका कामकारबाही, भोग्नुपरेका समस्या र निर्वाचनको तयारीका सम्बन्धमा छलफल तथा परामर्श गर्नुभएको हो ।

सङ्घ, प्रदेश र स्थानीय सरकारबीच सहकार्य, समन्वय र सहअस्तित्वको भावनासहित अघि बढ्ने विषयमा उपस्थित सबैको एकमत थियो । आगामी निर्वाचनको वातावरण बनाउनका लागि मुलुकमा सुशासन र शान्ति सुव्यवस्था कायम गराउन पनि सहकार्य गर्नुपर्ने उहाँहरुको धारणा थियो ।

स्थानीय तहका जनप्रतिनिधिहरुले प्रधानमन्त्री कार्की नेतृत्वको सरकारले निर्वाचनको वातावरण बनाउन निर्वाह गरिरहेको भूमिकाको सराहना गर्दै आशा जगाउने काम गरेकोमा प्रसन्नता व्यक्त गर्नुभयो ।

छलफलमा सरकारका तर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल र कानुनमन्त्री अनिलकुमार सिन्हाको पनि उपस्थिति थियो । गृहमन्त्री अर्यालले असामान्य परिस्थितिमा आएको यो सरकारले शान्ति सुव्यवस्थाका निम्ति स्थानीय सरकारले गर्नसक्ने सहयोगका निम्ति आग्रह गर्नुभयो ।

सरकारले केही हतियार र करिब पाँच हजार कैदीबन्दीको खोजी गरिरहेकाले त्यसबारे सूचना उपलब्ध गराउनका निम्ति सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।

स्थानीय जनप्रतिनिधिहरुले हालै सरकारले मितव्ययिता कायम गर्न जारी गरेको मार्गदर्शनका कारण करारका कर्मचारी राख्न नपाएको र ठेक्का लागिसकेका योजना पनि अनिश्चित भएकाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

उहाँहरुले तीनै तहका सरकारहरुबीच समन्वय गर्न गठित संयन्त्रहरुका बैठक राखी क्रियाशील गराउन पनि प्रधानमन्त्रीसमक्ष आग्रह गर्नुभयो ।

निर्वाचन सम्पन्न गर्न स्थानीय सरकारको अझ बढी भूमिका हुने भएकाले समन्वय र सहकार्यबाटै अघि बढ्ने प्रधानमन्त्री कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनमा स्थानीय तहको भूमिका महत्त्वपूर्ण हुन्छ । निर्वाचनको वातावरण बनाउन र तयारी गर्न तपाईँहरुसँग समन्वय र सहकार्य नगरी हुन्न । तपाईँहरुका चासो हामी सम्बोधन गर्छौं । गर्नैपर्छ । चिन्ता नगर्नुहोस् । आफ्नो काममा निर्धक्कसँग अगाडि बढ्नुहोस् । अहिले सबै मिलेर यो परिस्थितिको निकास निकाल्नुपर्छ ।” दलीय पद्धतिमा दललाई बाहेक गरेर अघि बढ्न नसकिने पनि उहाँले स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री कार्कीले जेनजीलाई पनि पार्टी बनाएर चुनावमा प्रतिस्पर्धा गर्न आफूले सुझाएको जानकारी दिनुभयो । राजनीतिमा संस्कार र अनुशासन पनि अनिवार्य रहेको उहाँको धारणा थियो ।

सो छलफलमा गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष लक्ष्मीदेवी पाण्डे र नगरपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गानासहित विभिन्न पदाधिकारीहरुको उपस्थिति थियो ।

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुन पहिलो साता

काठमाडौँ – सरकारले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन पहिलो साता आयोजना गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को आजको बैठकले आगामी फागुन १ गतेदेखि ७ गतेसम्म कर्णाली प्रदेशमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।

बैठकले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण दोस्रो संशोधन नियामावली, २०८२ स्वीकृत गर्ने निर्णय भएको छ । साथै गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगमा निजामतीतर्फ चार र नेपाल प्रहरीबाट ११ जना कर्मचारी थप्ने निर्णय भएको मन्त्री खरेलले जानकारी दिनुभयो ।

सरकारले यही कात्तिक २६ गतेदेखि २८ गतेसम्म भारतको नयाँदिल्लीमा आयोजना हुने नेपाल–इन्डिया कोअर्डिनेसन बैठकको नवौँ बैठकमा सहभागी हुनका लागि सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्याल संयोजकत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति प्रदान गर्ने, भू–उपयोग तेस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गर्ने समेत बैठकले निर्णय गरेको मन्त्री खरेलले बताउनुभयो ।

नेपाल प्रहरीको महानिरीक्षकमा कार्की नियुक्त

काठमाडौँ – सरकारले नेपाल प्रहरीको महानिरीक्षक पदमा प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले कार्कीलाई यही कात्तिक २७ गतेदेखि लागू हुने गरी महानिरीक्षक पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।

लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि

लुम्बिनी २४, कात्तिकः लुम्बिनी प्रदेशसभाको हिउँदे (सातौँ) अधिवेशन मङ्सिर ८ गते बस्ने भएको छ । प्रदेश मन्त्रिपरिषद् बैठकको आज बसेको हिउँदे अधिवेशन मङ्सिर ८ गते सोमबारका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले जानकारी दिनुभयो ।

संवैधानिक व्यवस्थाअनुसार सरकारले प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । हिउँदे अधिवेशनका लागि छलफल गर्न प्रदेशसभा सचिवालयमा स्थानीय तहका कर्मचारीहरूको सेवा–सुविधासम्बन्धी संशोधन गर्न बनेको विधेयक र लुम्बिनी अध्ययन अनुसन्धान प्रशिक्षण प्रतिष्ठान विधेयक दर्ता भइसकेका छन् । त्यसैगरी, दलित अधिकारसम्बन्धी विधेयक र बडघरसम्बन्धी विधेयक दर्ता गर्ने तयारी छ ।

त्यसैगरी विभिन्न समितिका प्रतिवेदनहरू र महालेखा परीक्षकको प्रतिवेदन पनि दर्ता भई हिउँदे अधिवेशनमा छलफलका लागि प्रस्तुत हुनेछन् । लुम्बिनीमा गत भदौ ३१ गते वर्षे अधिवेशन अन्त्य भएको थियो ।

कोशी प्रदेश प्रमुख खापुङसमक्ष आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस

मोरङ, २४ कात्तिकः कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष आज आदिवासी जनजाति आयोगले छैटौँ वार्षिक प्रतिवेदन पेस गरेको छ । प्रदेश प्रमुख खापुङलाई आयोगका अध्यक्ष रामबहादुर थापा मगरले प्रमुखको कार्यालय विराटनगरमा नेपालको संविधानको धारा २९४ को उपचारा(३) बमोजिम आयोगको आव २०८१÷८२ को वार्षिक प्रतिवेदन बुझाउनुभयो ।

प्रमुख खापुङले प्रतिवेदन ग्रहण गर्दै नेपालको राष्ट्रिय एकतालाई बलियो बनाउन आयोग निर्माण भएको र यसले संविधानको मर्मअनुसार समानता र समावेशीताको क्षेत्रमा काम गरिरहेको बताउनुभयो ।

उहाँले हाम्रोजस्तो विभिन्न भौगोलिक विशेषता भएको देशमा बसोबास गर्ने सबै क्षेत्रका जनताको सबै क्षेत्रमा उचित प्रतिनिधित्व होस् भन्ने उद्देश्यले संविधानको परिकल्पनाअनुसार आयोगले मेहनतका साथ कार्य गरिरहेको जानकारी दिनुभयो ।

आयोगका अध्यक्ष मगरले स्थायी सरकारको रुपमा रहेको निजामती सेवामा आदिवासी जनजातिको प्रतिनिधित्व १६ दशमलव नौ प्रतिशत र शिक्षक सेवामा ११ दशमलव तीन प्रतिशत मात्र रहेकाले यसले समावेशी राज्य निर्माण हुन नसकेको धारणा राख्नुभयो ।

उहाँले आयोगले हालसम्म पाँच वटा प्रतिवेदन पेस गरिसक्दा पनि प्रदेशसभामा एक पटक पनि छलफल नभएकोतर्फ ध्यानाकर्षण गराउँदै आयोगको प्रदेशस्तरीय कार्यालय स्थापनाका लागि सरकारले सहयोग नगरेकोले कामकारबाही प्रभावित भएको गुनासो गर्नुभयो ।

विगतमा पार्टी विद्रोहमा लाग्नु जीवनकै ठूलो भूल भयो : किसान श्रेष्ठ

काठमाडौं । नेकपा एमालेमा फर्किएका तत्कालीन सांसद किसान श्रेष्ठले विभिन्न कारणले पार्टी विद्रोहमा लाग्नु जीवनकै ठूलो भूल भएको बताएका छन् । सोमबार राष्ट्रिय सभा गृहमा घर फर्क अभियानमा बोल्दै श्रेष्ठले विगतमा भएका गल्ती, कमजोरीलाई सच्याउँदै पार्टीमा फर्किने अभियानमा सामेल हुन सबैमा आग्रह गरे ।

उनले भने, ‘विगतमा विभिन्न कारणले हामी पार्टी विद्रोहमा लागेकै हौँ र त्यो हाम्रो जीवनकै भूल थियो भन्ने कुरा समयले बताएको छ । यसर्थ, विगतमा भएका गल्ती, कमजोरीलाई सच्याउँदै पार्टीमा फर्किने अभियानमा सामेल हुनुहुन देश तथा विदेशमा रहनुभएका सम्पूर्ण कमरेडलाई हामी आह्वान गर्दछौँ । यस्तो काम समयमै गर्दा स्वयं व्यक्ति, पार्टी र मुलुकका निम्ति हितकर हुन्छ ।
एमाले छोडेपछि पार्टी केवल एउटा संगठन होइन, एमाले आदर्श, दृष्टि र राष्ट्र निर्माणको मूल प्रवाह भएको आफूहरुले बुझेको बताए ।

आज केवल पार्टीमा फर्किएको मात्र नभई आदर्श, मार्ग र प्रतिबद्धता फर्काएको उनले बताए । देशलाई आर्थिक समृद्धि र स्थायित्वको बाटोमा अघि बढाउने यात्रामा ओलीको नेतृत्वमा पुनः एकताबद्ध हुने उनको भनाई छ ।

‘आज हामी केवल पार्टीमा फर्किएका हैनौँ, हामीले हाम्रो आदर्श, मार्ग र प्रतिबद्धता फर्काएका छौँ । हामीसँगै आएका र आउने क्रममा रहनुभएका साथीहरू पनि यही भावनाका प्रतिनिधि हुनुहुन्छ । अब आगामी राजनीतिमा, हामी सबै मिलेर एमालेलाई अझ सबल, आधुनिक र जनमुखी बनाउन तयार छौँ ।

देशलाई आर्थिक समृद्धि र स्थायित्वको बाटोमा अघि बढाउने यात्रामा हामी सबै केपी शर्मा ओलीज्यूको नेतृत्वमा पुनः एकताबद्ध हुँदैछौँ । आज म र हामी समस्त फर्किएका साथीहरु यहाँ अत्यन्त भावुक मन लिएर उभिएका छौँ ।’त्यस्तै सोही कार्यक्रममा बोल्दै नेकपा एमालेमा पुन फर्किएकी नेकपा एसकी नेतृ रामकुमारी झाँक्रीले जेनजी आन्दोलनको भर्सेसमा नेकपा एमाले उभिएको बताइन् । जेनजीको नाममा भइरहेको क्रियाकलाप  नितान्त सरकारविरुद्धको एउटा प्रहार भएको पनि उनको भनाई छ ।

उनले भनिन्, ‘जेनजीको नाममा जे भइरहेको थियो । त्यो नितान्त सरकारविरुद्धको एउटा प्रहार थियो । सरकारविरुद्ध थिएन भने सरकारसमक्ष माग कस्ले प्रस्तुत गरेको थियो ? जेनजी आन्दोलन युवा पुस्ताको एउटा आक्रोस थियो । त्यो सामान्य थियो । त्यसमा रोटी सेक्नको लागि सरकारका विरुद्ध जुनजुन तत्वहरु सामेल भए, आज फर्केर हेर्दा जेनजी आन्दोलन भर्सेस नेकपा एमाले त्यसको नेतृत्व एउटा उभिएको छ ।’ कार्यक्रममा उनले ओलीलाई राष्ट्रवादी व्यक्तित्व कमरेड भन्दै सम्बोधन गरेकी थिइन् ।

ओलीको कटाक्ष : हातपाऊ बसेका बुढापाखा अन्त गए, युवाहरु एमालेमा आए

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट बुढापाका बाहिरिएको र युवा पुस्ता धमाधम प्रवेश गर्न थालेको दाबी गरेका छन् ।उनले नेकपा एसका नेताहरुप्रति लक्षित गर्दै काम गर्न नसक्ने र हातपाऊ बसेका बुढापाखा अन्त गएको र युवा पुस्ताहरु एमालेमा आउन थालेको भन्दै कटाक्ष गरेका हुन् ।

सोमबार ‘घर फर्क राष्ट्रिय अभियान’ घोषणा सभालाई सम्बोधन गर्दै उनले आफूहरुको आग्रहले नभई आफ्नो अनुभवले नेकपा एसका नेताहरु घर फर्किएको उनको भनाइ छ । उनले भने,‘गाउँखाने कथा जस्तो काम गर्न नसक्ने र हात पाऊ बसेका बुढापाखा अलग भएपनि युवा पुस्ता भित्रिरहेका छन् ।

हाम्रो आग्रहले होइन् उहाँहरुको अनुभवले घर फर्कनु भएको हो । हामीले आह्वान गरौं । तर फकाइफुल्याई वरीयतामा केही पनि दिन्छु भनेका छैनौं । यो चाहियो भनेको छैनौं । घर फर्कने छौं मात्र भन्नुभएको छ ।’त्यस्तै उनले नेकपा एमाले सानो चित्त, साघुरो मन र दिल भएको भनेर हल्ला चलाइएकोमा रोष व्यक्त गरे । एमालेमा कोही खाँदाखाँद गरेर बस्नुपर्ने अवस्था नभई फराकीलोसँग बस्ने इस्पेस रहेको बताए ।

अध्यक्ष ओलीले अब उप्रान्त नेकपा एमालेले जेनजी आन्दोलनको जस्तो घट्ना हुन नदिने भन्दै आगो लगाउनेलाई छुट नदिने बताए । त्यस्तै उनले निजी सम्पत्ति स्वाह पारिदने चिनिएका तत्वहरुलाई सरकारले गिरफ्तार र कारवाही नगरेको भन्दै यस्तो दण्डहीनताको प्रवृत्तिले दिर्घकालिन प्रतिसोध जन्माएर समाजमा दिर्घकालिन अशान्ति हुने बताए । उनले समयमा नै दोषीहरुलाई कानुनी कारवाहीगर्न सरकारलाई चेतावनी दिए ।

‘अब उप्रान्त नेकपा एमालेले यस्तो घट्ना हुन दिने छैन् । आगो लगाउनेलाई छुट दिने छैन् । निजी सम्पत्ति स्वाहा पारिदने तत्वहरु चिनिएका छन् । गिरफ्तार वा कारवाही गर्न नहुने पनि हुन्छ ? म सरकारलाई चेतावनी दिन्छु । यस्तो दण्डहिनताको प्रवृत्तिले प्रतिसोध जन्माएर समाजमा दिर्घकालिन अशान्ति हुनसक्छ । त्यसकारण समयमा नै कानुनी कारवाही गर्नुपर्छ,’ उनले भने ।
जेनजीको नाममा युवाहरुलाई एउटा परिस्थिति खडा गरेर मार्ने मराउने काम भएको बताउँदै उनले संसद विघटन गर्ने र हुनै नहुने मान्छे संविधान मिचेर प्रधानमन्त्री हुने जस्ता सबै नराम्रो कामहरु भएको बताए ।

उनले भने,‘जेनजीको नाममा आन्दोलन होइन अर्कै चिजको भएछ । राष्ट्र र व्यक्तिको सम्पति जलाइएछ । थुप्रै युवाहरु एउटा परिस्थिति खडा गरेर मार्ने मराउने काम भएछ । संसद विघटन गर्ने अनि हुनै नहुने मान्छे संविधान मिचेर प्रधानमन्त्री भएछन् । नहुन पर्ने सबै नराम्रो काम भएछ । असंवैधानिक सरकार बनेछ । लोकतन्त्र विरोधी र जनमतलाई अनादार गर्ने सरकार बनेछ । संविधान जगाउने र जसबाट संसद पुर्नस्थापना गर्ने बाटो नै ठिक रहेछ भनेर केही जेनजी र युवाहरु एमालेमा नयाँ प्रवेश गर्नुभएको छ ।’

मुख्यमन्त्री कार्कीसँग ‘एसडिसी’का सहायक निर्देशक विकीको शिष्टाचार भेट

मोरङ, २४ कात्तिकः कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोअपरेसन (एसडिसी)का सहायक निर्देशक आर्नो विकीले आज शिष्टाचार भेट गर्नुभएको छ ।

सो अवसरमा द्विपक्षीय सहयोगका विभिन्न विषयमा कुराकानी भएको मुख्यमन्त्री कार्कीको सचिवायले जनाएको छ । मुख्यमन्त्री कार्कीले सङ्घीयता कार्यान्वयनमा स्वीस सरकारले गरेको सहयोगको प्रशंसा गर्नुभयो ।

नेपालको शान्ति, समृद्धि र विकासका लागि स्वीस सरकारले गरेको सहयोग महत्त्वपूर्ण भएको बताउँदै मुख्यमन्त्री कार्कीले जलवायु परिवर्तनलगायतका विषयमा सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

सहायक निर्देशक विकीले कोशी प्रदेश सम्भावनायुक्त प्रदेश भएको चर्चा गर्दै यो प्रदेशमा विकास र पर्यटनको तथा सम्भावना भएको बताउनुभयो । लोकतन्त्रको यात्रा महत्वपूर्ण भएको बताउँदै उहाँले यो बेलामा सबैले आफ्नो भूमिका प्रभावकारी रुपमा देखाउनुपर्ने बताउनुभयो ।

निर्वाचनअघि पार्टीको अधिवेशन : कांग्रेस महामन्त्री थापा

काठमाडौँ, २४ कात्तिकः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी फागुन २१ को निर्वाचनले संविधानलाई सही मार्गमा ल्याउने बताउनुभएको छ ।

उहाँले आज सामाजिक सञ्जालमार्फत निर्वाचनबाटै नयाँ संसद् र यसले संविधानलाई सही मार्गमा ल्याउने उल्लेख गर्नुभयो । महामन्त्री थापाले भन्नुभयो,“संविधानलाई सही मार्गमा ल्याउने फागुन २१ को निर्वाचन मात्र एक मात्र बाटो हो, यसमा कुनै अलमल छैन ।”

उहाँले नेपाली कांग्रेसको तर्फबाट प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठकमा पार्टीको निर्णय स्पष्टरूपमा प्रस्तुत गरिसकेको बताउनुभयो ।

उहाँले कांग्रेसको केन्द्रीय कार्यसमितिमा अहिले भइरहेको अलमल निर्वाचनको विषयका सन्दर्भमा नभएको स्पष्ट पार्नुभयो । महामन्त्री थापाले निर्वाचनअघि पार्टीको अधिवेशन गरे अधिवेशनबाट आउने नेपाली कांग्रेसको नीति र नेतृत्वले मात्र कांग्रेसलाई निर्वाचन लड्न योग्य बनाउने पनि उल्लेख गर्नुभयो ।

रुपन्देहीमा करिव २३ लाख बराबारको अवैध सामान बरामद

देवदह (रुपन्देही), २४ कात्तिकः जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दुई दिनमा झण्डै २३ लाख बराबरको अवैध सामान बरामद गरेको छ ।यही कात्तिक २१ र २२ गते जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा अवैधरुपमा भन्सार छली, चोरी पैठारी गरिएको अन्दाजी रु २२ लाख ८८ हजार २२८ बराबरको सामान नियन्त्रणमा लिइएको रुपन्देही प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएका सामान यही कात्तिक २३ गते आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया, रुपन्देही पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले रोहिणी गाउँपालिका–२ स्थित मैनिहवाबाट ऊलन लेडिज कुर्ता, बच्चाको मोजा, टोपी, टाउजर सेट, हुडी, जेन्स मोजा गरी एक लाख २५ हजार ८ सय बराबरको सामान बरामद गरेको छ ।

त्यस्तै इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले तिलोत्तमा नगरपालिका–३ स्थित शङ्करनगरबााट भारतीय नम्बर प्लेट कारको पछाडी सिटमुनी लुकाइछिपाइ बिलबिजक नभएको सामान बरामद गरेको छ । सामान र कारसहित गरी १८ लाख ४० हजार २२८ बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उक्त कारबाट ल्यापटपको चार्जर झोला, पहेँलो रगको धातुबाट बनेको जस्तो देखिने गाई आकारको मूर्ति, मदिराका बोतल, विभिन्न कम्पनीका मोबाइलको डिस्प्ले र डिस्प्लेका प्याकेट र गमको प्याकेटहरु बरामद गरेको छ ।

त्यसैगरी प्रहरी चौकी शिवपुर गोनाहा र प्रहरी चौकी मर्यादपुरबाट खटिएको संयुक्त टोलीले मायादेवी गाउँपालिका–५ स्थित गोनाहाबाट लु २२ प १२५७ नम्बरको मोटरसाइकल, उलन लेडिज सुट, उनि सल, काँचो कपडा, लेडिज बाक्लो उलन सुट, काँचो कपडा गरी रु तीन लाख २२ हजार २०० बराबरको सामान बरामद गरेको छ ।

कक्षा १२ को मौका परीक्षाको परीक्षाफल सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को पूरकतर्फको मौका परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।असोज ७ र ८ गते सञ्चालन भएको मौका परीक्षाको नतिजा बोर्डले आइतबार सार्वजनिक गरेको हो ।

पूरकतर्फको मौका परीक्षाको नतिजा बोर्डको वेबसाइट, नेपाल टेलिकमको वेबसाइट र १६०० मा एसएमएस गरी नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ ।

परीक्षामा सहभागी १ लाख ४ हजार २६ विद्यार्थीमध्ये ७६ हजार ३६७ जना ७३.४१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गरेको बोर्डले जनाएको छ । ४ परीक्षार्थीको परीक्षाफल भने रद्द गरिएको छ ।

निर्धारित समयभन्दा अगावै तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

राँझा (बाँके), २४ कात्तिकः नेपालगञ्जस्थित राँझा विमानस्थलको सुविधायुक्त नयाँ टर्मिनल भवन निर्धारित समयभन्दा दुई महिना पहिलेनै निर्माण सम्पन्न भएको छ ।विसं २०७९ पुसबाट काम सुरू गरेको निर्माण कम्पनीले २०८२ पुसमा काम सक्ने गरी तीन वर्षको समयावधि पाएकामा दुई महिना अगाडि नै निर्माण पूरा गरेको राँझा विमानस्थल टर्मिनल भवन आयोजनाका प्रमुख नलविक्रम थापाले जानकारी दिनुभयो ।

आयोजनाको काम सम्पन्न भएसँगै केही दिनभित्रमा निर्माण पक्षबाट हस्तान्तरण हुने र त्यसपछि पनि नागरिक उड्ययन प्राधिकरणको विज्ञ टोलीबाट स्थलगत अनुगमन गरिने उहाँले बताउनुभयो ।

आयोजना प्रमुख थापाले भन्नुभयो, “विज्ञले अनुगमन गरे पश्चात पुरानो टर्मिनल भवनमा रहेको एक्सरे मेसिनलगायत आवश्यक सामान नयाँमा सारेर अबको १५ दिनभित्रमा नयाँबाट सेवा सुरु हुनेछ । नेपालगञ्जमा निर्मित टर्मिनल भवन अन्तरराष्ट्रिय मापदण्ड अनुसार निर्माण गरिएकोले आन्तरिक र बाह्य दुबै उडानका लागि उपयुक्त रहेको छ ।”

उहाँका अनुसार, भ्याट बाहेक कूल रु दुई अर्ब ७४ करोड २० लाख १८ हजार ९९३ लागतमा निर्माण कम्पनीले टर्मिनल भवन निर्माण गरेको हो । नवनिर्मित टर्मिनल भवन सेमी बेसमेन्टसहित तीन तलाको छ । जसको बेसमेन्ट कमर्सियल प्रयोजनका लागि निर्माण गरिएको छ । जहाँ कुल २४ वटा पसल रहनेछन् ।

पाँच हजार ७५ स्क्वायर मिटरको क्षेत्रफल ओगटेको टर्मिनल भवनभित्र यात्रु जाँच कक्ष १४, भिआइपी रूम तीन, चिल्ड्रेन प्लेइङ एरिया एउटा, भन्सार र क्वारेन्टाइन जाँचका लागि अलग÷अलग कोठा निर्माण गरिएका छन् । भविष्यमा अन्तरररष्ट्रिय उडान हुने सम्भावनालाई दृष्टिगत गर्दै घरेलु र अन्तरराष्ट्रिय उडानका लागि अलग÷अलग यात्रु प्रस्थान र आवागमन ढोका तयार गरिएको छ । नवनिर्मित टर्मिनल भवनको यात्रु क्षमताप्रति घण्टा ६२८ छ ।

नयाँ टर्मिनल भवनभित्र बगैँचाका साथै पाँचदेखि १४ मिटर फराकिलो बाटो निर्माण गरिएको छ । टर्मिनल भवनको परिसरमा ढल निकास तथा बढी भएको पानी निकासका लागि उचित नालाको विकास गरिएको छ ।

नयाँ टर्मिनल भवन क्षेत्रमा एप्रोन अर्थात् जहाज पार्किङ गर्ने ठाउँ पनि निर्माण गरिएको छ । जसमा एटिआर–७२ जहाज ३ वटा र ट्विअटर जहाज ५ वटा एकै पटकमा पार्किङ गर्न मिल्ने सुविधा रहेको आयोजना प्रमुख थापाको भनाइ छ ।

मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोज कुमार यादव नियुक्त

जनकपुर । मधेश प्रदेशको मुख्यमन्त्रीमा एमालेका सरोज कुमार यादव नियुक्त भएका छन् ।मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(३) बमोजिम संसद्‍को ठूलो दलको हैसियतले यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गरेकी हुन् । यादवलाई आज विहान मुख्यमन्त्री पदमा नियुक्त गरिएको हो ।

हिजो रातभरि मधेश प्रदेशस्थित मधेश भवनमा पछिल्लो समय लोसपाको नेतृत्वमा ५ दलिय गठबन्धन बनेकोमा नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीले समर्थन जनाउँदै मुख्यमन्त्री पदमा दाबी पेस गर्न कसरत गरिरहेका थिए ।

बिहान प्रदेश प्रमुख भण्डारीले आफूलाई सन्चो नभएको भनेर काठमाडौं जान लागेको सूचना दिएका थिए ।प्रदेश प्रमुख भण्डारीले काठमाडांै जाने क्रममा बाटोमै एक होटलमा यादवलाई मुख्यमन्त्रीको सपथ खुवाएको जनाइएको छ । अहिले प्रदेश प्रमुख र एमालेको व्यापक विरोध सामाजिक सञ्जालमा भइरहेको छ ।

करिव ५३ करोडको लागतमा दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नति सुरु

म्याग्दी, २४ कात्तिकः म्याग्दीको धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नति सुरु भएको छ । गण्डकी प्रदेश र सङ्घीय सरकारको साझेदारीमा मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडक कालोपत्र गर्ने योजना सुरु भएको हो ।

पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले धवलागिरि गाउँपालिका–७ मच्छिममा पहिलो चरणमा सडक फराकिलो पार्न थालेको म्याग्दी १(ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुुविन)ले जानकारी दिनुभयो ।

“मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको दरवाङ–मुना– ढोरपाटन सडक स्तरोन्नतिका लागि रु ९२ करोड ९२ लाखको स्रोत सुनिश्चितता भएको थियो,” उहाँले भन्नुभयो “योजनामार्फत दरवाङ–धारापानी (सात किलोमिटर) र मच्छिम–मुना (चार किलोमिटर) अक्सफाल्ट प्रविधिको कालोपत्र र ढलान हुुनेछ् ।”

पूर्वाधार विकास कार्यालय र ठेकेदारका प्राविधिक टोलीले संयुक्त सर्वेक्षण सकेपछि गत हप्तादेखि उपकरण र मजदुर परिचालन भएका हुन् । गण्डकी प्रदेशमार्फत म्याग्दीमा भित्रिएको हालसम्मकामध्ये सबैभन्दा ठूलो र धेरै बजेटको आयोजना भएको जुग्जालीले बताउनुभयो ।

प्रशासनीक खर्च बाहेक रु ६७ करोड लागत अनुमान गरिएको योजना कार्यान्वयनका लागि ठेक्का प्रतिस्पर्धाका क्रममा सबैभन्दा कम रु ५२ करोड ८० लाख ५३ हजार कबोलेको निर्माण कम्पनीसँग २०८२ असार ११ गते ठेक्का सम्झौता भएको थियो ।

म्याग्दीको मङ्गला मालिका, धवलागिरि गाउँपालिकाका साथै बागलुङको ढोरपाटन र पूर्वीरुकुमका बासिन्दालाई पोखरा–काठमाडौँ जावतजावत गर्न ७० किलोमिटर छोटो पर्ने भएकाले जुग्जालीले गण्डकी प्रदेशको पूर्वभौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको नेतृत्व गरेको समयमा विसं २०८० माघमा यो सडकलाई सङ्घीय समपूरक योजनामा समावेश गराउने निर्णय गराउनुभएको थियो ।

सङ्घीय र प्रदेश सरकारको समपुुरक ५०÷५० प्रतिशत लागत साझेदारी रहने यस योजनाको ठेक्का अवधि २७ महिनाको रहेको कार्यालय प्रमुख विष्णु पौडेलले जानकारी दिनुभयो । सङ्घीय र प्रदेश सरकारले आर्थिक वर्ष २०८१÷८२ मा रु २४ बजेट विनियोजन गरेको यस योजनाका लागि चाालु आर्थिक वर्ष २०८२÷०८३ मा रु २३ करोड २२ लाख विनियोजन भएको छ ।

उक्त सडकअन्तर्गतको धवलागिरि गाउँपालिका–७ धारापानीबाट ताकम हुँदै झिनडाँडा खण्डको चार किलोमिटर दूरीको सडक कालोपत्र, ढलान र ग्राभेलका लागि आर्थिक वर्ष २०८०÷८१ मा रु १४ करोड ६१ लाख ६१ हजारमा ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीले करिब ६० प्रतिशत भौतिक प्रगति गरेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

बेनीबाट मङ्गला हुँदै मालिका गाउँपालिकाको केन्द्र दरवाङ जोड्ने २४ किलोमिटर सडक कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ । बेनी–तोलाबाङ खण्डमा १८ किलोमिटर कालोपत्र भएको छ । यो सडकले भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित धवलागिरि गाउँपालिकाको पूर्वाधार र आर्थिक क्षेत्रमा रुपान्तरण गराउने अपेक्षा गरिएको वडा नं.–३ का अध्यक्ष तथा गाउँकार्यपालिकाका प्रवक्ता देवेन्द्र रोकाले बताउनुभयो ।

विसं २०७१ मा मुनामा सडक पुगेको थियो । हाल कच्ची अवस्थामा रहेको सडक गाउँपालिकाले मर्मत गरेर यातायात सञ्चालनको व्यवस्था मिलाएको छ । सडक स्तरोन्नति सुरु भएपछि स्थानीयवासीमा खुसीयाली छाएको उहाँले बताउनुभयो । सडक निर्माणलाई गुणस्तरीय हिसाबले समयमै सम्पन्न गराउन गाउँपालिकाले समन्वय र सहजीकरण गर्ने रोकाले बताउनुभयो ।

मुना हुँदै मरेनीबाट जलजला र ढोरपाटन जोड्ने सडकको गत आर्थिक वर्षमा मार्ग खुलेको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताउनुभयो । “गत वर्ष मार्ग खुलेको मुना–खोरीया–मरेनी–जलजला खण्डको सडकमा यातायात सञ्चालन गर्न मर्मतका लागि सडक डिभिजनसँग ठेक्का सम्झौता गरेको निर्माण कम्पनीलाई ताकेता गरेका छाँै,” उहाँले भन्नुभयो “बेनीदेखि मुना खण्डको सडक स्तरोन्नतिसँगै जलजला हुँदै ढोरपाटनको मार्ग खुलेपछि स्थानीयवासीका साथै ढोरपाटन घुम्न जाने पर्यटकहरुलाई सहज हुनेछ् ।”

अब १० लाखसम्मको औषधि खरिदमा पनि अनिवार्य बोलपत्र

हेटौंडा । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले प्रदेशभित्रका स्वास्थ्य संस्थामा भइरहेको औषधि तथा स्वास्थ्य सामग्री खरिदसम्बन्धी अनियमितता रोक्न कडा कदम चालेको छ । मन्त्रालयले अबदेखि १० लाख रुपैयाँसम्मका औषधि, सर्जिकल सामग्री र उपकरण खरिदमा पनि अनिवार्य रूपमा बोलपत्र प्रक्रिया अपनाउनुपर्ने ८८ व्यवस्था गरेको छ ।

यसअघि जिल्ला अस्पतालहरूले २० लाख रुपैयाँसम्मका सामग्री सिंधा खरिद गर्न सक्ने प्रावधानमा टेकेर महिनैपिच्छे टुक्रा–टुक्रा पारेर बिचौलियाको दबाबमा सामान खरिद गर्ने गरेको गुनासो बढेपछि मन्त्रालयले यो निर्णय गरेको हो ।

बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले जिल्लाका अस्पतालहरूमा औषधि र उपकरण खरिदका क्रममा देखिएका बेथिति अन्त्य गर्न मन्त्रालयले यस्तो निर्देशन जारी गरेको बताए । उनका अनुसार केही बिचौलियाले नेताहरू र उच्च अधिकारीको नाममा दबाब दिँदै अस्पतालका निर्देशक र जनस्वास्थ्य प्रमुखलाई बारम्बार प्रभाव पार्ने प्रयास गर्दै आएका छन् ।

मन्त्री थापामगरले भने, ‘हामी बिरामीको स्वास्थ्यका लागि बजेट विनियोजन गर्छौं, तर बिचौलियाहरूले नेताको हवाला दिँदै अस्पताल र स्वास्थ्य प्रमुखलाई दबाब दिने गरेका छन्। कतिपयले मिलोमतो गरेर एक आर्थिक वर्षमा करोडौँको खरिद टुक्रा–टुक्रा पारेर गर्ने गरेको पाइएपछि अब यस्तो बेथिति रोक्न मन्त्रालयले १० लाखसम्मको खरिदमा पनि बोलपत्र प्रक्रिया अनिवार्य गरेको हो ।’
मन्त्रीका अनुसार यो निर्देशन प्रदेशका सबै १३ वटा जिल्ला अस्पतालमा लागू हुनेछ । मन्त्रालयले यसबारे लिखित परिपत्र पठाइसकेको छ ।

नयाँ व्यवस्था अनुसार, सबै खरिद प्रक्रिया पारदर्शी बनाउन बोलपत्र प्रणाली ( अनिवार्य गरिँदा व्यवसायीहरूबीच निष्पक्ष प्रतिस्पर्धा बढ्ने, गुणस्तरीय सामग्री प्राप्त हुने र बजेटको दुरुपयोग घट्ने मन्त्रालयको विश्वास छ ।स्वास्थ्यमन्त्री थापामगरले भने, ‘अब औषधि खरिदमा बिचौलियाको दबाब चल्ने छैन । हाम्रा स्वास्थ्य संस्था पारदर्शी हुनेछन् र बिरामीलाई गुणस्तरीय सेवा दिने वातावरण तयार हुनेछ ।’

मौसम पूर्वानुमान : आज यी दुई प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।सोमबार दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ ।

कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ ।सोमबार कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

बढ्दैछ अलैंचीको मूल्य, ताप्लेजुङमा प्रतिमन एक लाख दुई हजार पुग्यो

ताप्लेजुङ- पूर्वी पहाडी भेगको प्रमुख नगदेबाली अलैँचीको मूल्यमा पछिल्लो समय वृद्धि भएको छ । ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन (४० किलो) रु एक लाख नाघेको छ ।

गुणस्तरीय अलैँची प्रतिमन एक लाख दुई हजारमा कारोबार भएको अलैँची व्यवसायी सङ्घका जिल्ला अध्यक्ष भद्रवीर रेग्मीले जानकारी दिनुभयो । शनिबार प्रतिमन रु ९६ हजार रहेको अलैँचीको मूल्य अपराह्नपछि प्रतिमन रु दुई हजारले बढेर रु ९८ हजार पुगेको थियो । फेरि प्रतिमन रु चार हजारका दरले वृद्धि भई रु एक लाख दुई हजार पुगेको उहाँले बताउनुभयो ।

असोज दोस्रो सातासम्म प्रतिमन रु ८५ हजारमा स्थिर रहेको अलैँचीको मूल्य एक महिनाको अवधिमा रु १५–१७ हजारले वृद्धि भएको छ । नयाँ उत्पादन सुरु भएपछि रु ८० हजार प्रतिमनबाट कारोबार सुरु भएको अलैँचीको मूल्यमा यस वर्ष अपेक्षाकृत वृद्धि भएको व्यवसायीहरू बताउँछन् । नेपालमा उत्पादित अलैँची भारतीय बजार हुँदै तेस्रो मुलुक निर्यात हुने गर्दछ ।