`

हिउँदयाम सुरु भएको खुसीयालीमा मुक्तिक्षेत्रमा ‘यार्तुङ’ आरम्भ

मुस्ताङ, २० साउन : वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सांस्कृतिक पर्व ‘यार्तुङ’ आरम्भ भएको छ । यहाँको वडा एक खिङ्गा गाउँबाट यस वर्षको ‘यार्तुङ’ पर्व थालिएको हो । सोमबार खिङ्गा गाउँका गाउँलेले यार्तुङ पर्व हर्षाेल्लासमय रूपमा मनाएका छन् ।

‘यारको अर्थ बर्खा’ र ‘तुङको अर्थ समाप्ति’ भन्ने बुझिन्छ । यसैका खातिर बर्खायाम सकिएको र हिउँदयाम सुरु भएको भन्दै खिङ्गा गाउँमा यार्तुङ पर्व मनाइएको हो । बर्खायाममा उवा र जाँैलगायतका अन्नबाली थन्क्याएर खेतबारीमा फापरबाली छरेपछि वारागुङ मुक्तिक्षेत्रमा ‘यार्तुङ’ पर्व मनाइने गरिन्छ । यार्तुङ पर्वका बेला यहाँका स्थानीय नागरिक फुर्सदिला हुन्छन् । यही फुर्सदिलो महिनामा धार्मिक तथा सांस्कृतिक पर्व यार्तुङ सदीयौँदेखि मनाइने गरिएको हो ।

यार्तुङ पर्वमा प्रकृति र विश्वशान्तिको कामना गरिने प्रचलन रहेको वारागुङ मुक्तिक्षेत्र–१ वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिनुभयो । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाभित्रका १९ वटा गाउँ र उपल्लो मुस्ताङमा फरकफरक तिथिमा यार्तुङ पर्व मनाइने गरिएको छ । खिङ्गा गाउँमा औपचारिक रूपमा यार्तुङ पर्व मनाउने क्रमको प्रारम्भ भएको उहाँले बताउनुभयो । खिङ्गाबाट सुरु भएको धार्मिक तथा सांस्कृतिक पर्व यार्तुङ त्यसपछि क्रमशः यहाँका सबै स्थानमा गुरुङ, विष्ट र लोवा समुदायले मनाउने प्रचलन छ ।

सोमबार खिङ्गा गाउँमा सबै घरका स्थानीय नागरिक समाजघरमा एकतृत भएका थिए । समाजघरमा जम्मा भएका स्थानीय गुरुङ समुदाय गाउँकै गुम्बामा सामूहिक रूपमा यार्तुङ पर्वको धार्मिक पूजापाठमा उपस्थित भए । गुम्बामा पुजारीद्वारा पूजापाठ सकेपछि पुनः समाजघरमा खानपान गरेर यार्तुङ पर्वको कार्यक्रममा सहभागी भएको वडाध्यक्ष गुरुङको भनाइ छ ।

स्थानीय पुरुष तथा महिलाको आफ्नो जातीय मौलिक वेशभूषा पहिरिएर मुक्तिनाथ मन्दिर र त्यहाँको नरसिंह गुम्बाको दर्शनमा निस्किएका थिए । अठार वर्षदेखि ६० वर्षसम्मका पुरुष तथा महिलाहरुले धार्मिक तथा सांस्कृतिक प्रचलनअनुसार यार्तुङ पर्वलाई आत्मसात् गर्दै खिङ्गा गाउँबाट मुक्तिनाथसम्मको यात्रा पूरा गरेका थिए । पुरुषहरू वेशभूषामा चिटिक्क सजिदै घोडामा सवार थिए भने महिला घोडाको अघिअघि स्थानीय भाषामा यार्तुङसम्बन्धी गीत गाउँदै मुक्तिनाथतर्फ लागेका थिए ।

महिलाले स्थानीय भाषामा गीत गाउँदै यार्तुङ पर्व आयो, यार्तुङमा सबैलाई राम्रो भयो, अनिष्ट भएन, प्रकृतिले साथ देओस र सबैतिर शान्ति छाओस् भन्ने कामना गरेको खिङ्गा गाउँकी स्थानीय सेर्केनी गुरुङले उल्लेख गर्नुभयो । यार्तुङमा गाइने स्थानीय भाषाको गीतलाई फेन्दुन छोकी रिला भन्ने गरिएको स्थानीय सेर्केनी गुरुङको भनाइ छ ।

यहाँको खिङ्गा गाउँबाट दर्जनौँ घोडाको लावालस्करसहित निस्किएको टोलीले मुक्तिनाथ मन्दिर र त्यहाँको गुम्बा दर्शन गरी पुराङ रानीपौवामा फर्किएको थियो । खिङ्गा गाउँका युवाले मुक्तिनाथस्थित पुराङ रानीपौवामा साहसिक रूपमा घोडा दौडाएका थिए । गाउँका पुजारीसहित निस्किएको यार्तुङ टोलीले रानीपौवामा स्थानीय स्याब्रो नाच र स्थानीय भाषाको गीत गाउँदै रमाइलो गरेका थिए ।

स्थानीय याङजुङ गुरुङले यार्तुङ पर्वमा घोडा चढेर मनाउनैपर्ने प्रचलन रहेको बताउनुभयो । “यार्तुङमा घोडा नचढेमा यार्तुङ पर्वको कुनै अर्थ हुँदैन, यार्तुङमा घोडा चढ्ने, तारा खेल्ने र स्थानीय सांस्कृतिक मौलिकता पस्किएरमात्र यार्तुङ पर्वको औचित्य हुने गुरुङले बताउनुभयो । यार्तुङ पर्वमा गाउँका पुजारीले भोजन गरेपछि मात्रै गाउँले भोजन गर्न पाउने सांस्कृतिक प्रचलन रहेको उहाँले उल्लेख गर्नुभयो ।

यहाँको खिङ्गा गाउँबाट मुक्तिनाथसम्मको करिब पाँच किलोमिटर दूरीमा घोडाका लस्कर निस्किएको थियो । घोडाको लस्कर निस्किँदा दुर्घटनाको जोखिम हुने भएकाले करिब एक घण्टा मुक्तिनाथ सडकमा सवारी चलाउन रोक लगाइएको थियो ।

‘कुलिङ अफ पिरियड’सम्बन्धी छानबिन समितिद्वारा प्रतिवेदन तयार

काठमाडौँ, २० साउन : सङ्घीय निजामती सेवा विधेयक, २०८० मा त्रुटि भएको भनी उठाइएका विषयमा गठित अध्ययन तथा छानबिन विशेष समितिले आफ्नो प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेस गर्ने तयारी गरेको छ । रातभर सिंहदरबारमा बसेर समितिले तयार गरेको प्रतिवेदन आजको बैठकमा पेस गर्ने निर्णय भएको समिति सदस्य माधव सापकोटाले जानकारी दिनुभयो । समितिले २९ दिनसम्म विभिन्न ३७ बैठक बसेर प्रतिवेदनलाई अन्तिम रुप दिएको हो ।

त्रुटि कसरी हुन्छन् भविष्यमा यस्ता त्रुटि हुन नदिन विशेषज्ञसँग परामर्श गरेर विशेष समितिले प्रतिवेदन तयार गरेको जनाइएको छ । समितिमा संसद्मा विधेयक निर्माणको सन्दर्भमा हुने गरेको यस प्रकारका गतिविधि आगामी दिनमा हुन नदिन कमीकमजोरीलाई सच्याउन सरोकारवाला व्यक्तिसमेत विभिन्न कोणबाट छलफल भएको छ ।

प्रतिनिधिसभाले गत असार २३ गते उच्चस्तरीय छानबिन विशेष समिति गठन गरेको थियो । समितिमा नेपाली कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, नेपाल कम्यनिष्ट पार्टी (एमाले)बाट नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीाबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की रहनुभएको छ ।

प्रधानमन्त्रीद्वारा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई बधाई

काठमाडौँ,- प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ मा उत्तीर्ण सबै विद्यार्थीलाई बधाई ज्ञापन गर्नुभएको छ । उहाँले   सामाजिक सञ्जालमार्फत कक्षा १२ उत्तीर्ण भएका सबैलाई बधाई ज्ञापन गर्नुभएको हो ।

“भू–परिवेष्ठित विकासशील देशहरूको अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी हुन म तुर्कमिनस्थानमा छु । नेपालमा कक्षा १२ को रिजल्ट आयो भन्ने थाहा पाएँ । बधाई नानीबाबुहरू !”, प्रधानमन्त्री ओलीले लेख्नुभएको छ । उहाँले विद्यार्थीहरूको मेहनत सफल भएको भन्दै अब स्वदेशमा पढ्ने र केही गर्ने नयाँ यात्राको सुरुआत गर्न आग्रह सबैलाई गर्नुभयो ।

“तपाईंहरूको मेहनत सफल भयो, अब नेपालमै पढ्ने र केही गर्ने नयाँ यात्राको सुरुआत गरौँ । फेरि पनि बधाई सबैलाई”, प्रधानमन्त्री ओलीले लेख्नुभएको छ । आज साँझ राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित नतिजाअनुसार नियमिततर्फ ६१ दशमलव १७ र आंशिकतर्फ ३६ दशमलव ४९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

गोरेटो एजुकेशन कन्सलट्यान्सीको आयोजनामा १२ अगष्टमा नयाँ बानेश्वरमा अष्ट्रेलियन एजुकेशन फेयर २०२५ हुँदै

काठमाडौँ-काठमाडौँमा अष्ट्रेलियन एजुकेशन फेयर २०२५ नामक शैक्षिक मेला हुने भएको छ। नयाँ बानेश्वरमा रहेको गोरेटो एजुकेशन कन्सलट्यान्सीको आयोजनामा अध्ययनका लागि अष्ट्रेलिया जाने बिद्यार्थीहरुलाई लक्षीत गर्दै अष्ट्रेलियन एजुकेशन फेयर २०२५ को आयोजना गर्न लागिएको हो । शैक्षिक मेला यही १२ अगष्टबाट सुरु हुनेछ भने मेला ५ दिनसम्म चल्नेछ ।

अष्ट्रेलियन एजुकेशन फेयर नाम दिइएको शैक्षिक मेलामा अष्ट्रेलियाका विभिन्न कलेजहरुका प्रतिनिधीहरुकै उपस्थितीमा कुन शहरका कुन विश्वबिद्यालयमा जाँदा बिदार्थीलाई उपयुक्त हुन्छ भन्ने विषयमा पनि जानकारी दिइनेछ ।

यस फेयरमा अष्ट्रेलियामा रहेका विश्वबिद्यालयहरुको भौतिक संरचनादेखि दक्ष र अनुभवी काउन्स्लररुबाट पनि कोर्स सेलेक्सन, अध्ययनमा जाँदा लाग्ने लागतदेखि आईएलट्स, टोफेलका बारेमा पनि जानकारी दिइनेछ । फेयरमा उपस्थित हुने बिद्यार्थीहरुमध्ये १० भन्दा बढी बिद्यार्थीलाई आईएलट्स, टोफेलको निशुल्क व्यबस्था गरिने बताइएको छ । ५ दिनसम्म चल्ने फेयरमा राष्ट्रिय स्तरका कलाकारहरुले पनि आफ्नो प्रस्तुती दिनेछन् ।

महाकाली सन्धि कार्यान्वय नहुँदा दोधारा-चाँदनीमा नहर निर्माण अन्योल

दोधारा चाँदनी (कञ्चनपुर), २० साउनः नेपाल-भारतबीच एकीकृत महाकाली सन्धि सम्झौता भएको तीनदशक पुगिसक्दा पनि उक्त सन्धि सम्झौताअनुसार दोधारा-चाँदनी नहर निर्माण अन्योल बनेको छ ।

नेपालतर्फ नहर निर्माणका लागि जग्गा अधिग्रहण गरे पनि भारतीय पक्षले निर्माण गर्नुपर्ने एक हजार १०० मिटर मूल नहर निर्माण नहुँदा तीन दशकसम्म पनि दोधारा–चाँदनीले पानी पाउन नसकेको हो ।

महाकाली सन्धिअनुसार भारतले नेपाललाई दोधारा–चाँदनीमा सिँचाइका लागि ३५० क्युसेक पानी नहरमार्फत उपलब्ध गराउनुपर्ने थियो । विसं २०५२ माघ २९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरसिंह रावलले महाकाली सन्धिमा हस्ताक्षर गर्नुभएको थियो ।

सन्धिमा कञ्चनपुरको दोधारा-चाँदनीलाई शारदा नहरबाट सिँचाइका लागि पानी दिने विषय उल्लेख भए पनि कार्यान्वयन हुन नसकेको महाकाली सिँचाइ आयोजना तेस्रो चरणका आयोजना निर्देशक डा योगेन्द्र मिश्रले बताउनुभयो । दोधारा–चाँदनीमा नेपाली पक्षले नहर निर्माणका लागि मुआब्जा वितरण गरेर जग्गा अधिग्रहण गरिसकेको उहाँले जानकारी दिनुभयो ।

“भारतीय भूमिमा भारतीय पक्षले बनाउनुपर्ने एक हजार १०० मिटर नहर निर्माण भएपछि मात्रै दोधारा-चाँदनीले पानी पाउने हो । उक्त नहर अहिलेसम्म निर्माण हुन सकेको छैन”, उहाँले भन्नुभयो, “हामीले जग्गा अधिग्रहण गरिसकेका छौँ, ठेक्का भने लाग्न सकेको छैन ।” उहाँले भारतले नहर बनाउन सुरु गरेमात्रै नेपालतर्फ निर्माण सुरु हुने बताउनुभयो ।

निर्देशक डा मिश्रका अनुसार नेपालले सीमाबाट दोधारातर्फ १६ किमी मूल नहर बनाउनुपर्नेछ । शारदा नहरबाट दोधारा-चाँदनीमा पानी पुगे यहाँ तीन हजार ४० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्ने उहाँले जानकारी दिनुभयो ।

महाकाली सन्धिमा सन्धी सम्झौता भएको छ महिनाभित्र नहर निर्माण सम्पन्न गरिसक्नुपर्नेमा सम्झौताको ३० वर्षसम्म पनि नेपालले पाउनुपर्ने पानी नपाएको महाकाली सन्धिका जानकार विष्णु अवस्थीले बताउनुभयो ।

“सन्धि सम्झौता भएको तीन दशकसम्म पनि नेपालले पानी पाउन सकेको छैन, यसमा सरकार गम्भीर भएर समन्वय गर्नु जरुरी छ”, उहाँले भन्नुभयो, “यसपटक प्रधानमन्त्रीको भ्रमणमा यो विषयले प्राथमिकता पाउनुपर्छ, नेपालले सन्धि सम्झौताअनुसारको पानी पाउनुपर्छ ।”

डोका बिक्रीबाट मासिक ४० हजार आम्दानी

भोजपुर, २० साउनः भोजपुर टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका ४० वर्षीय चन्दबहादुर तामाङले डोका बिक्रीबाट मासिक रु ३५ हजारसम्म आम्दानी गर्दै आउनुभएको छ ।

प्रविधिको विकाससँगै गाउँघरमा नाङ्लो, डोको, थुन्से, फिपी, ढाँकी, मान्द्रो, डालोलगायत सामग्री लोप हुँदै गएको अवस्थामा उहाँले डोका बिक्रीबाट मासिक रु ३५ हजारसम्म आम्दानी गर्दै आउनुभएको हो ।

स्थानीय बजारमा डोकोको प्रशस्त माग हुने गरेकाले आफूले बुनेका डोका भोजपुर सदरमुकामका साथै स्थानीय बजारमा बिक्री हुने तामाङले बताउनुभयो । डोका बुन्ने कामबाट परिवार चलाउन समस्या नरहेको उहाँको भनाइ छ । करिब ४१ वर्षअघिदेखि डोका बुनेर बिक्री गर्दै आएको बताउँदै उहाँले एकदिनमा १० वटासम्म तयार हुने जानकारी दिनुभयो ।

“निकै लामो समयदेखि डोका बुन्ने काम गर्दै आएको छु”, तामाङले भन्नुभयो, “एक दिनमा आठदेखि १० वटासम्म डोका बुन्छु । डोका बिक्रीबाट मासिक रु ३५ हजारसम्म आम्दानी हुन्छ ।” उहाँका अनुसार स्थानीय बजारमा प्रतिवटा रु ३५० देखि ४०० सम्ममा डोको बिक्री हुन्छ । घरको अन्य काम नगरी यही मात्र पेसा गर्ने हो भने वार्षिक रु सातदेखि आठ लाखसम्म आम्दानी लिन सकिने उहाँको भनाइ छ ।

“डोका बुन्ने कामबाट प्रशस्त आम्दानी हुन्छ”, तामाङले भन्नुभयो, “यही मात्र व्यवसाय गर्ने हो भने वार्षिक रु आठ लाखसम्म आम्दानी गर्न कठिन छैन । अन्य कृषिकर्म गरेर बचेको समयमा बुनेर पनि वार्षिक रु तीनदेखि रु चार लाखसम्म आम्दानी हुन्छ ।”

आफूले बुनेको मालिङ्गो (लेकमा पाइने बाँस प्रजातिको बनस्पति) का डोका जतनसँग प्रयोग गरेमा तीन वर्षसम्म टिक्ने उहाँको भनाइ छ । मालिङ्गोबाहेक, सिँगाने, निकालो, बाँसलगायतको चोयाबाट पनि डोका तयार गर्न सकिने उहाँको भनाइ छ । डोकाका लागि विभिन्न ठाउँबाट माग हुने तामाङले बताउनुभयो ।

सामुदायिक वनले कडाइ गर्ने भएकाले कच्चापदार्थ जुटाउन समस्या रहेको तामाङले बताउनुभयो । मालिङ्गो काट्नका लागि वर्षमा एक पटक मात्र वन खुला हुने गरेको उहाँको भनाइ छ । आफ्नै निजी बारीमा उत्पादन हुने मालिङ्गो, सिँगाने लगायत कच्चापदार्थबाट डोका बुन्दै आएको तामाङले जानकारी दिनुभयो ।

प्रविधिको विकाससँगै गाउँघरमा नाङ्लो, डोको, थुन्से, फिपी, ढाँकी, मान्द्रो, डालोलगायत बनाउने सीप हराउँदै गएकाले यसको संरक्षण गर्न आवश्यक रहेकाले यसलाई निरन्तरता दिएको तामाङले बताउनुभयो । गाउँघरमा बुढापाकाले मात्र चोयाका सामग्री बनाउने गरेको स्मरण गर्दै उहाँले यस्ता परम्परागत कामलाई व्यावसायीकरण गर्नसके अझ सहज हुने उहाँले धारणा राख्नुभयो । परम्परागत सेसालाई व्यावसायीकरण गर्न स्थानीयले सरकारले सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, २० साउनः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ सात पैसा र बिक्रीदर १६२ रुपैयाँ ७७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ २३ पैसा र बिक्रीदर १८७ रुपैयाँ तीन पैसा, स्विस फ्रयाङ्क एकको खरिददर १७३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७४ रुपैयाँ १५ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ७० पैसा र बिक्रीदर ९१ रुपैयाँ नौ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १०२ रुपैयाँ तीन पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ७४ पैसा र बिक्रीदर १०९ रुपैयाँ २१ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४९ पैसा र बिक्रीदर नौ रुपैयाँ ५३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ५० पैसा र बिक्रीदर १९ रुपैयाँ ५९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४७ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ४० पैसा र बिक्रीदर ३८ रुपैयाँ ५६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइभाट एकको खरिददर चार रुपैयाँ ३२ पैसा र बिक्रीदर चार रुपैयाँ ३४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ १० पैसा र बिक्रीदर ३८ रुपैयाँ २७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ तीन पैसा र बिक्रीदर ३३ रुपैयाँ १७ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १२ पैसा र बिक्रीदर १० रुपैयाँ १६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ५० पैसा र बिक्रीदर १४ रुपैयाँ ५६ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ७२ पैसा र बिक्रीदर २१ रुपैयाँ ८१ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७ रुपैयाँ ९१ पैसा, कुवेती दिनार एकको खरिददर ४५८ रुपैयाँ १० पैसा र बिक्रीदर ४६० रुपैयाँ सात पैसा, बहराइन दिनार एकको खरिददर ३७१ रुपैयाँ २५ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ८४ पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रुपैयाँ ५२ पैसा र विक्रीदर ३६५ रुपैयाँ आठ पैसा निर्धारण गरेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

बजेट नल्याएका स्थानीय तहलाई सामान्य प्रशासन मन्त्रालयले सहजीकरण गर्ने

काठमाडौँ, २० साउनः सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरूमा स्थलगत रूपमा छलफलमार्फत समस्या समाधानका लागि सहजीकरण गर्दै यथाशीघ्र बजेट तथा कार्यक्रम पारित गरी कार्यान्वयनमा ल्याउने भएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेको निर्देशनमा मन्त्रालयका  सहसचिवको नेतृत्वमा तीन महाशाखाका प्रमुख कालीप्रसाद पराजुली प्रकाश दाहाल र रुद्रसिंह तामाङको नेतृत्वमा सहजीकरणको काम गर्ने निर्णय भएको हो ।
त्यस्तो वातावरण निर्माणका लागि पहल गर्न गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र सम्बन्धित जिल्ला समन्वय समितिका पदाधिकारी प्रतिनिधिसमेतको संलग्नतामा यही साउन २१ गतदेखि विभिन्न तीन वटा टोली परिचालन गर्ने निर्णय गरेको मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
सङ्घीय व्यवस्थामा स्थानीय तहको सशक्तीकरणको मूल आधारका रूपमा आर्थिक स्वायत्तता र वित्तीय अनुशासन रहेको हुन्छ । नेपालको संविधानले धारा ५९ मा आर्थिक अधिकारको प्रयोग र धारा ६० मा राजस्व स्रोतको बाँडफाँटको अधिकार सुनिश्चित गरी स्थानीय तहलाई आर्थिक स्वायत्तता प्रदान गरेको छ ।
सो अधिकारको विधिसम्मत प्रयोग गर्दै स्थानीय तहमा वित्तीय अनुशासन कायम गर्न नेपालको संविधानको धारा २३० मा गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक आर्थिक वर्षको राजस्व र व्ययको अनुमान गाउँसभा वा नगरसभामा पेस गरी पारित गराउनुपर्ने व्यवस्था गरिएको छ ।
अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २७ मा स्थानीय तहले सञ्चित कोषमाथि व्ययभार हुने रकमबाहेकका अन्य रकम आफ्नो बजेटमा व्यवस्था गरेर सभाबाट स्वीकृत भएपछि मात्र खर्च गर्नुपर्ने व्यवस्था गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ ले कार्यपालिकाबाट स्वीकृत बजेट असार १० गतेभित्र सभासमक्ष पेस गर्नुपर्ने र सो बजेट असार मसान्तभित्र पारित गरी सक्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ ।
स्थानीय तहमा सुशासनको प्रवर्द्धन र सेवा प्रवाहको सुनिश्चितता गर्न उपर्युक्त अनुुसारका संवैधानिक तथा कानुनी व्यवस्थाबमोजिम समयमै बजेट पारित गरी कार्यान्वयन गर्नु अनिवार्य भए पनि केही उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकाले हालसम्म पनि चालु आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रम सभाबाट पारित गरी कार्यान्वयनमा ल्याउन सकेको देखिँदैन ।
सरकार कार्यविभाजन नियमावली, २०७४ अनुसार सङ्घ र स्थानीय तह तथा प्रदेश र स्थानीय तहबीचको सम्पर्क र समन्वयको जिम्मेवारी यस मन्त्रालयमा रहेको छ । सो जिम्मेवारीअनुरुप सभाबाट समयमै बजेट तथा कार्यक्रम पारित गराई कार्यान्वयनमा ल्याउन नसकेका स्थानीय तहहरुका समस्याका सम्बन्धमा छलफल गरी समाधानका लागि सहजीकरण गर्ने विषयलाई यस मन्त्रालयले गम्भीरतापूर्वक लिएको छ ।

बालविवाहले सामाजिक विकास र स्वास्थ्यमा चुनौती

म्याग्दी, २० साउनः म्याग्दीमा २० वर्षभन्दा कम उमेरमा सुत्केरी हुने र सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या करिब १४ प्रतिशत छ । बालविवाहका कारण शारीरिक र मानसिक रूपमा परिपक्क नभएका युवती तथा किशोरी आमा बन्न र अनिच्छुक गर्भधारण गर्न बाध्य भएका हुन् ।

स्वास्थ्य कार्यालय म्याग्दीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा सुत्केरी भएका र सुरक्षित गर्भपतन सेवा लिएका एक हजार ३८४ जनामध्ये १३ दशमलव ७२ प्रतिशत २० वर्ष मुनिका छन् ।

कार्यालयका सूचना अधिकारी गणेश सुवेदीले गत आवमा २० वर्ष मुनिका १६१ जना सुत्केरी हुँदा सुरक्षित गर्भपतन सेवा लिने सो उमेर समूहका किशोरी तथा युवतीको सङ्ख्या २९ रहेको जानकारी दिनुभयो । बीस वर्ष माथिका ५२८ जना सुत्केरी भएका र ६६६ जनाले सुरक्षित गर्भपतन सेवा लिएका सूचना अधिकारी सुवेदीले बताउनुभयो ।

आव २०८०/८१ मा म्याग्दीमा सुत्केरी हुने र सुरक्षित गर्भपतन सेवा लिने एक हजार ४६५ जनामध्ये २० वर्ष मुनिको सङ्ख्या १० दशमलव शून्य सात प्रतिशत थियो । बीस वर्ष मुनिका १३२ जना र २० वर्ष पुगेका ५९७ जना सुत्केरी भएका थिए ।

अघिल्लो वर्ष गर्भपतन गराउने २० वर्ष मुनिकाको सङ्ख्या ३३ जना थियो भने २० वर्ष बढीका ८६८ जना थिए । विसं २०६८ को जनगणनाअनुसार म्याग्दीमा प्रजननयोग्य उमेर समूहका महिलाको सङ्ख्या २१ हजार १८३ जना छ । जिल्लाका ४७ प्रतिशत दम्पतीले मात्र परिवार नियोजनका साधनको प्रयोग गर्ने स्वास्थ्य कार्यालयको तथ्याङ्क छ ।

म्याग्दी बहुमुखी क्याम्पसका उपप्रध्यापक रेखाकौशल रेग्मीले समाजमा शैली फेरिए पनि बालविवाह कायम रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कले पुष्टि गरेको बताउनुभयो । बालविवाह, असुरक्षित र अनिच्छुक गर्भधारणका प्रमुख कारण समस्या हुने गएको उहाँको भनाइ छ ।

रेग्मीले भन्नुभयो “गरिबी, अभिभावकको निगरानी नहुने, असल अभिभावकत्व र संरक्षण नपाउने, भावनात्मक परिबन्धमा परेर किशोरी बालविवाह गर्न र अनिच्छुक गर्भधारण गर्न बाध्य भएका देखिन्छन् ।”

शारिरिक तथा मानसिक रूपमा परिपक्क नभएका किशोरी, युवती आमा र गर्भवती हुँदा उच्च शिक्षा, रोजगारीको अवसरबाट बञ्चित हुने र सामाजिक रूपमा पछि गर्ने गरेका उपप्रध्यापक रेग्मीले बताउनुभयो ।

बीस वर्षभन्दा कम उमेरमा विवाह दर्ता नहुने, विवाह दर्ता नभइकन जन्मदर्ता नहुने भएकाले बालबालिकालाई विद्यालय भर्ना गर्न, राज्यले दिने सेवासुविधा उपभोग गर्न र अन्य सरकारी कागजात बनाउन समस्या हुन थालेको छ ।

उमेर नपुगी विवाह गरेका दम्पतीले जिम्मेवारी पूरा गर्न नसक्ने र पारिवारिक विचलन आउने गरेको छ । पारिवारिक विचलनका कारण सम्बन्धविच्छेद बढेको छ । जिल्ला अदालतमा आव २०८१÷०८२ मा दर्ता भएका ५७२ मध्ये ३३३ वटा सम्बन्धविच्छेदका मुद्दा रहेका स्रेस्तेदार भोलाराज रेग्मीले बताउनुभयो ।

पछिल्ला केही वर्षयता म्याग्दी अदालतमा दर्ता हुने आधाभन्दा बढी मुद्दा सम्बन्धविच्छेदका हुने उहाँले बताउनुभयो । अदालत र प्रहरीमा बालविवाहसम्बन्धी मुद्दाको सङ्ख्या भने शून्य छ ।

प्रादेशिक अस्पताल बेनीका प्रमुख डा रविरञ्जन प्रधानले परिवार नियोजनका साधनको प्रयोग कम हुनु, सुत्केरी हुनेभन्दा गर्भपतन गराउनेको सङ्ख्या बढी र २० वर्षभन्दा कम उमेर समूहका सुत्केरी र गर्भपतन गराउनेको सङ्ख्या बढ्नुले मातृशिशु प्रजनन स्वास्थ्यमा चुनौती थपेको बताउनुभयो । चौध÷पन्ध्र वर्षका किशोरीसमेत आमा बनेका उहाँले जानकारी दिनुभयो ।

“सुरक्षित गर्भपतन सेवाको पहुँचसँगै सेवा लिने बढ्नुलाई सकारात्मक मानिए पनि धेरैपटक गर्भपतन गराउँदा स्वास्थ्यलाई राम्रो गर्दैन”, उहाँले भन्नुभयो, “शारीरिक र मानसिक रूपमा सक्षम भइनसकेका किशोरी आमा बन्दा उनीहरूको प्रजनन स्वास्थ्यमा जोखिम हुन्छ ।”

बालविवाह न्यूनीकरणका लागि राज्यका निकायले जिम्मेवार भएर सचेतनामूलक अभियान चलाउने, अभिभावकले सन्तानप्रतिको जिम्मेवारी निभाउने र स्वयं किशोरी तथा युवती सचेत हुने, मेलाजात्रालाई नियमन गर्नुपर्ने उपप्रध्यापक रेग्मीको भनाइ छ ।

सप्तकोसी नदीमा पानीको बहाव एक लाख ७९ हजार क्युसेक

इनरुवा (सुनसरी), २० साउनः पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार भएको वर्षाले कोशी ब्यारेज भएर बग्ने पानीको बहावमा सोमबार बिहानैदेखि उतारचढाव हुनेक्रम जारी छ ।

सोमबार बिहान ६ बजेको मापनअनुसार एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेकामा राति ८ बजे गरिएको मापनअनुसार एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेण्ड रहेको थियो ।

सोमबार राति १० बजेको मापनअनुसार एक लाख ७९ हजार ७४० क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिनुभयो । अहिले ५२ वटा मूल र चार वटा नहरका ढोकामध्ये १९ वटा खुला गरिएको उहाँले जानकारी दिनुभयो ।

कोशी ब्यारेज भएर एक लाख ५० हजारभन्दा माथि पानीको बहाव भएपछि सर्वसाधारणलाई सचेत गर्न खतराको सङ्केतस्वरुप रातो बत्ती बाल्ने गरिएको छ । सोहीअनुसार रातोबत्ती बालिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

विसं २०६५ भदौ २ गते एक लाख ६८ हजार क्युसेक पानीको बहाव हुँदा सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काएको थियो ।

आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ, २० साउनः सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज दिउँसो १ः०० बजे बस्दैछ । बैठकमा ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१’ लाई पारित गर्ने सम्भावित कार्यसूची छ ।

त्यसअघि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो विधेयक सदनमा दफावार छलफल गरियोस् भन्ने प्रस्ताव राख्नुहुनेछ । सो विधेयकमाथि प्राप्त भएका संशोधन प्रस्तावलाई निणयार्थ प्रस्तुत गरिनेछ । बैठकमा अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुनेछ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ प्रस्तुत गर्नुहुनेछ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाई धरौटीमा रिहा

काठमाडौँ, २० साउनः पाटन उच्च अदालतको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाई डिल्लीबजार कारागारबाट रिहाइ भएका छन् । सोमबार सो अदालतले दुई वटा मुद्दामा प्रसाईसँग रु २८ लाख धरौटी माग गरेको थियो ।

उच्च अदालतले प्रसाईलाई तीनकुने घटनाका सम्बन्धमा रु तीन लाख र बैंकिङ कसुर मुद्दामा रु २५ लाख धरौटी माग गरेको थियो । अदालती प्रक्रिया पूरा भएपछि कारागारले सोमबार राति प्रसाईलाई रिहा गरेको हो ।

पाटन उच्च अदालतका न्यायाधीशद्वय टङ्कप्रसाद गुरुङ र डिल्लीराज श्रेष्ठको संयुक्त इजलाशले प्रसाईसहित सुशील बराल, डण्डपाणि रेग्मी, तारा राजावादी भन्ने सरोज गौतमलाई धरौटी माग गरेको थियो ।

काठमाडौँ जिल्ला अदालतले यसअघि प्रसाईलाई राज्यविरुद्धको कसुर, कर्तव्य ज्यान, बज्यान मार्ने उद्योग र आपराधिक उपद्रवमा थुनामा पठाउने आदेश दिएको थियो । सो आदेशविरुद्ध प्रसाईले उच्च अदालतमा निवेदन दिएका थिए । त्यस्तै, पाटन उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको संयुक्त इजलाशले पनि बैंकिङ कसुर मुद्दामा धरौटी माग गरेको थियो ।

आजको मौसम : कोशी र मधेस प्रदेशका केही स्थानमा वर्षाको पूर्वानुमान

काठमाडौँ, २० साउन : हाल देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग अनुसार आज दिउँसो देशभर अधिकांश बदली रहने छ । कोशी र मधेस प्रदेशका केही स्थान तथा अन्य प्रदेशका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।

त्यसैगरी, आज राति देशभर अधिकांश बदली रहनुका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा अन्य प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकोछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रदेश प्रमुखद्वारा चारवटा विधेयक प्रमाणीकरण

बाग्मती, १९ साउनः बाग्मती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाबाट पारित चारवटा विधेयक आज प्रमाणीकरण गर्नुभएको छ । प्रदेश प्रमुख देवकोटाले प्रदेशसभाबाट पारित प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रादेशिक व्यापार तथा व्यवसायसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको हो ।

प्रदेश प्रमुख देवकोटाले ती सबै विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संविधानको धारा २०१ को उपधारा (४) बमोजिम प्रमाणीकरण गर्नुभएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले जानकारी दिनुभयो । ती चारवटै विधेयकहरु प्रदेशसभाबाट पारित भई प्रमाणीकरणका लागि प्रदेश प्रमुख कार्यालय पठाइएको थियो ।

संविधानअनुसार सङ्घीयता कार्यान्वयन गरिनुपर्नेमा कार्यवाह प्रधानमन्त्री सिंहको जोड

कास्की, १९ साउनः कार्यवाहक प्रधानमन्त्री एव शहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधानअनुसार सङ्घीयता कार्यान्वयनमा जोड दिनुभएको छ ।

आज पोखरामा सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय कास्कीको नवनिर्मित भवनको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “ठूला योजना सङ्घले, मध्यम योजना प्रदेश र साना योजना स्थानीय सरकारले बनाउने हो । तर सो अनुसार अहिले कार्यान्वयन हुन सकिरहेको छैन ।”

उहाँले आगामी दिनमा सङ्घीयताको अभ्यास हुँदै जाँदा व्यावहारिक रुपमै कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री सिंहले विकास निर्माणका काम सम्झौताअनुरुप समयमा सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । सरकारले भौतिक निर्माणलाई समयमै सम्पन्न गर्न कडाइका साथ काम गरिरहेको उल्लेख गर्नुभयो । मन्त्री सिंहले संविधानले परिकल्पना गरेअनुसार अधिकारहरु प्रदेश र स्थानीय तहमा पु¥याउन नसकेको स्वीकार गर्नुभयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले उस्तै योजना कार्यान्वयन गर्दा सङ्घीयताको मर्मविपरीत भएको बताउनुभयो ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सङ्घीय सरकारले निर्माण गरेका पूर्वाधारहरुको पनि महानगरबाट पूरा गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्नेमा जोड दिनुभयो । नवनिर्मित सो कार्यालयको भवन रु चार करोड १७ लाख ३३ हजार ६८६ मा निर्माण गरिएको सङ्घीय आयोजना कार्यान्वयन इकाइ कास्कीका प्रमुख (सिडिई) सुनिता श्रेष्ठले जानकारी दिनुभयो ।

भवन निर्माणको जिम्मा सूर्य कन्स्ट्रक्सन कम्पनी प्रालिले लिएको थियो । सो कम्पनीले तोकिएको मितिभन्दा अगावै भवन निर्माण गरेको हो ।

मेडिकल व्यवसायी प्रसाईंलाई धरौटीमा छाड्न आदेश

काठमाडौँ, १९ साउन : उच्च अदालत पाटनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई बैङ्किङ कसुर र राजावादी आन्दोलनसँग जोडिएको दुवै मुद्दामा धरौटीमा छाड्न आदेश दिएको छ ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीले बैङ्किङ कसुरमा रु २५ लाख धरौटीमा छाड्न आदेश गरेको हो । आदेशमा भनिएको छ, “घटना विवरण कागज गर्ने व्यक्तिहरुले गरेको कागज, सहप्रतिवादीहरुले अनुसन्धानमा गरेको बयान, छानबिन समितिको प्रतिवेदन व्यहोरा समेतलाई मध्यनजर गरी मिसिल संलग्न तत्काल प्राप्त प्रमाणहरुबाट यी प्रतिवादी दुर्गा प्रसाईं निर्दोष रहेछन् भनी अहिले नै भन्न सकिने अवस्था देखिएन ।” अदालतले प्रसाईं क्यान्सर रोगबाट पीडित भएको भन्ने प्रमाणबाट देखिएकाले धरौटीमा छाड्ने आदेश गरेको हो ।

त्यसैगरी आजै, उच्च अदालत पाटनका न्यायाधीश टङ्कप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले गत चैत १५ गते राजावादीको आन्दोलनका नाममा भएको हिंसात्मक प्रदर्शनसँग जोडिएको मुद्दामा धरौटीमा छाड्न आदेश दिएको छ । सो मुद्दामा रु तीन लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

मेडिकल व्यवसायी प्रसाईंविरुद्ध राज्यविरुद्धको कसुर, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवमा जिल्ला अदालत, काठमाडौँमा मुद्दा दर्ता भएको थियो । अदालतले प्रसार्इंलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । प्रसाईंले जिल्लाको आदेशविरुद्ध उच्च अदालत पाटन दिएको निवेदनमाथिको सुनुवाइपछि धरौटीमा छाड्ने आदेश भएको हो ।

पशुपति क्षेत्रका यज्ञले धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने

काठमाडौँ, १९ साउनः पशुपति क्षेत्रमा भइरहेका यज्ञले धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने जनाइएको छ ।

पशुपति क्षेत्रस्थित वनकालीको हंसमण्डपमा यही साउन १४ देखि सुरु भएको दशमहाविद्या रुद्रहवन महायज्ञका सङ्कल्पकर्ता कालीबाबाले आज पत्रकार सम्मेलन आयोजना गर्नुभएको थियो । सो पत्रकार सम्मेलनमा पशुपति क्षेत्रमा भइरहेका सबै यज्ञको मुख्य उद्देश्य नेपालमा आन्तरिक एवम् बाह्य धार्मिक पर्यटक भित्र्याएर नेपालीलाई सुख, शान्ति र समृद्धि दिन सकिने उहाँले बताउनुभयो ।

नेपालमा पर्यटन प्रवर्द्धन गर्न सके विदेश जाने युवालाई स्वदेशमै रोजगारी दिन सकिने उहाँको भनाइ छ । नेपाल मानव सेवा फाउन्डेसनका अध्यक्ष विजय कृष्ण मूर्तिले भारतका एक प्रतिशतमात्र मानिसले धार्मिक पर्यटन प्रवर्द्धनका क्रममा नेपाल ल्याउन सके समृद्धि प्राप्तिका लागि सहयोग पुग्ने बताउनुभयो ।

कालिका साधना आश्रम, शिवशक्ति बाबा कालीदास धामको आयोजना र मानवसेवा फाउण्डेशनको सहकार्य रहेको दशमहाविद्या रुद्रहवन महायज्ञमा साउनमा पशुपतिनाथको दर्शन गर्न आएका भक्तजन पनि आउने गरेका छन् ।

भारतले धौलिगङ्गा बाँधको ढोका खोल्ने, महाकाली किनारका बासिन्दालाई सतर्क रहन आग्रह

खलङ्गा, १९ साउनः भारतले नेपालको दार्चुलासँग जोडिएको धौलिगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोल्ने भएपछि महाकाली नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

उत्तराखण्डमा रहेको उक्त जलविद्युत् परियोजना सिल्ट सफाइका लागि मङ्गलबार बाँधको ढोका खोल्ने भनी भारतीय पक्षले जानकारी गराएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीले जारी गरेको सूचनामा २० गते बिहान ६ देखि २१ गते बिहान ६ बजेसम्म माटो, बालुवालगायतका वस्तु जम्मा भएकाले सफाइ प्रयोजनका लागि ढोका खोलिने जानकारी प्राप्त भएको उल्लेख छ । उक्त समयमा महाकाली नदीमा जलस्तर बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई पूर्वसतर्कता अपनाउन आग्रह गरिएको उहाँले उल्लेख गर्नुभएको छ ।

गृहमन्त्री लेखकद्वारा विधयेक समिति बैठक आह्वान

काठमाडौँ, १९ साउनः गृहमन्त्री रमेश लेखकले मन्त्रिपरिषद्अन्तर्गतको विधयेक समितिको बैठक बोलाउनुभएको छ ।

मङ्गलबार बिहान ९ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक बोलाइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा हाल चर्चामा रहेको मुलुकी अपराध (संहिता) ऐन, २०७४ लाई संशोधन गरी केही निश्चित परिस्थितिमा बहुविवाहलाई कानुनी वैधता दिने प्रस्तावित कानुनलगायतका विषयमा छलफल हुने जनाइएको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव गरेको उक्त विधयेक सम्बन्धमा विभिन्न खाले विचार व्यक्त भइरहेका बेला विधेयक समितिका संयोजकसमेत रहनुभएका गृहमन्त्री लेखकले बैठक आह्वान गर्नुभएको हो । मन्त्री लेखकले उक्त विषयमा अध्ययनका साथै सरोकार भएका मन्त्री र उच्चस्तरीय सरकारी अधिकारीसँग छलफल गरिरहनुभएको पनि उहाँको सचिवालयले जनाएको छ ।

‘विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौतालाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव पारित

काठमाडौँ, १९ साउनः सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकमा ‘विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौतालाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव बहुमतले पारित भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौताको प्रावधान माथि सदनमा छलफल गरियोस्’ भनी प्रस्ताव पेस गर्नुभयो । उक्त प्रस्तावमाथिको छलफलपछि उक्त सम्झौतालाई अनुमोदन गरिएको हो ।

छलफलमा सांसद रमा कोइराला पौड्याल, हेमराज राई, हितराज पाण्डे, प्रेम सुवाल सहभागी हुनुभयो । मन्त्री भण्डारीले एक बहुपक्षीय सम्झौता भएको र कार्यान्वयन भएको खण्डमा विश्व व्यापार सङ्गठनसँग नेपालका थप माग र मुद्दाले प्राथमिकता पाउने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हालसम्म १०६ वटा राष्ट्रले समर्थन जनाइसकेका छन् । यो सम्झौताले मुलुकलाई लाभ नै प्राप्त हुन्छ । यसको सान्दर्भिकता र महत्व छ । भूपरिवेष्ठित राष्ट्र हौँ तर समुद्रमा नेपालको पनि अधिकार छ । सम्झौताले नेपालमा उत्पादित माछाले बजार पाउँछन् ।”

प्रतिनिधिसभाको अर्को बैठक साउन २० गते दिउँसो १ बजे बस्नेछ ।

मन्त्री शाहीको नर्वे भ्रमण औपचारिक र उद्देश्य केन्द्रितः वन मन्त्रालय

काठमाडौँ, १९ साउनः वन तथा वातावरण मन्त्रालयले मन्त्री ऐनबहादुर शाही ठकुरीको नर्वे भ्रमण औपचारिक तथा उद्देश्य केन्द्रित रहेको जनाएको छ ।

मन्त्रालयले आज विज्ञप्तिमार्फत उहाँको भ्रमणका सम्बन्धमा प्रकाशित समाचार तथा टिप्पणीप्रति स्पष्ट पार्दै भ्रमणले नेपाल–नर्वेबीच कूटनीतिक सम्बन्ध सुदृढ गर्नमा थप योगदान पुग्ने उल्लेख गरेको छ ।

‘यही साउन ९ देखि १४ गतेसम्म नर्वेमा आयोजना भएको सहयोग सवलीकरण कार्यक्रममा मन्त्रालयलाई सहभागिताका लागि इंगल्यान्ड विश्वविद्यालयबाट असार २० गते डेनमार्कस्थित नेपाली दूतावास तथा परराष्ट्र मन्त्रालयमार्फत औपचारिक निमन्त्रणा आएको थियोे,’ विज्ञप्तिमा उल्लेख छ ।

सोही निमन्त्रणाका आधारमा मन्त्रालयबाट मन्त्रिपरिषद्मा प्रस्ताव पेस भई नेपाल सरकार मन्त्रिपरिषद्बाट असार २३ गते नेपाल सरकारलाई कुनै थप आर्थिक दायित्व नपर्ने गरी सहभागी हुन वनमन्त्री शाहीलाई स्वीकृति प्रदान गरिएको थियो ।

सोहीबमोजिम भ्रमण कार्यक्रममा मन्त्री शाही नर्वे भ्रमणमा जानुभएको र उक्त कार्यक्रममा भ्रमण खर्च आयोजकबाट नै व्यहोरिएको तथा अन्य खर्च व्यक्तिगत तवरबाट भएकाले यसमा सरकारलाई कुनै आर्थिक दायित्व नपरेको मन्त्रालयले स्पष्ट पारेको छ ।

उपरोक्त भ्रमण कार्यक्रम सो विश्वविद्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोषसँगको साझेदारिता प्रवर्द्धनका सन्दर्भमा महत्त्वपूर्ण रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी भ्रमणका क्रममा मन्त्रालयस्तरीय र उच्च शैक्षिक संस्थासँग भएका अन्तरक्रियाले नेपालको संरक्षण उपलब्धिप्रति आपसी सहकार्य र सद्भाव बढाएको र पारिस्थितिकीय प्रणालीमा गरिने अनुसन्धान र जैविक विविधता संरक्षणमा नेपाल–नर्वे सहकार्यलाई थप मजबुत बनाउने बलियो आधार तयार गरेको बताइएको छ ।

‘बहुविवाहलाई कानुनी मान्यता दिन हुँदैन’

काठमाडौँ, १९ साउनः अधिवक्तारूले बहुविवाहलाई कानुनी मान्यता दिन नहुनेमा जोड दिएका छन् । यहाँ आज आयोजित साक्षात्कारमा वरिष्ठ अधिवक्ताहरू रामनारायण बिडारी, दिनेश त्रिपाठी र बालकृष्ण न्यौपानेले बहुविवाह गर्न पाउने गरी विधेयकमा व्यवस्था गर्न नहुनेमा जोड दिनुभयो ।

वरिष्ठ अधिवक्ता बिडारीले महिलालाई दमन हुने प्रकारको कुनै पनि कानुन ल्याउन नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “लोग्नेमान्छेले मायाप्रेममा पारेर अर्की महिलासँग सम्बन्ध गरेर गर्भाधान गराएछ भने त्यस्तो गर्भाधानबाट जन्मिएकी बच्चा भएकी आमालाई स्वास्नी कायम हुनेछ भनेर लेखेछ । यस्तो कानुन बनाएछन् । यसले समाज भाँड्छ, नारीलाई दमन गर्छ ।”

वरिष्ठ अधिवक्ता त्रिपाठीले बहुविवाहलाई मान्यता दिनेगरी ल्याउन लागिएको कानुन निन्दनीय रहेको भन्दै लोकतान्त्रिक समाजमा यस्तो प्रकारको कानुनको कल्पना पनि गर्न नसकिने बताउनुभयो । “बहुविवाह अर्को ठूलो सामाजिक भ्रष्टाचार हो, यो निन्दनीय छ । सभ्य समाजमा बहुविवाह हुन सक्दैन, लोकतान्त्रिक समाजमा यसको परिकल्पना पनि गर्न सकिँदैन । यस्तो कानुनको मस्यौदा तयार हुँदैछ भन्ने सुनिएको छ, यसको चौतर्फी विरोध गरिनुपर्छ ।”

वरिष्ठ अधिवक्ता न्यौपानेले राजनीतिक दलहरूले आफ्ना कार्यकर्ताहरु मुद्दा मामिलामा परेपछि उनीहरूलाई उन्मुक्ति दिन यस्तो बहुविवाह गर्न पाउने कानुन ल्याउन खोजिएको हुनसक्ने आरोप लगाउनुभयो ।

समुन्नत राष्ट्र निर्माणका लागि समाजवाद कार्यान्वयन : अध्यक्ष नेपाल

काठमाडौँ, १९ साउनः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विद्यमान गरिबी, पछौटेपन, सामाजिक विभेदको अन्त्य गरी समुन्नत राष्ट्र निर्माणका लागि समाजवाद कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनद्वारा आज आयोजित कार्यक्रममा उहाँले सामाजिक न्याय, समानता, न्यायोचित वितरण प्रणालीका आधारमा आर्थिक विकासका अवसरका लागि समाजवादी व्यवस्था उपयुक्त रहेको बताउनुभयो ।

अध्यक्ष नेपालले मुलुकको आर्थिक प्रगति र जनताको समृद्धिका लागि लैङ्गिक हिंसा, अन्याय, अत्याचार, विषमता सामाजिक रुपान्तरणका बाधक रहेकाले त्यसको अन्त्य गरी असल संस्कारको विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले समाजवादी क्रान्तिलाई पूरा गर्न कम्युनिष्ट पार्टीका भूमिकाबारे प्रकाश पार्दै सङ्गठन विस्तारका लागि सही कार्यदिशा निर्माण गर्नुपर्ने बताउनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले आफ्नो पार्टीले अङ्गीकार गरेको नीति तथा कार्यक्रमका कारण मूलधारको कम्युनिष्ट पार्टी भएको दाबी गर्दै आर्थिक पारदर्शितामा जोड दिनुभयो ।

सो अवसरमा काठमाडौँका विभिन्न विद्यालयबाट हालै एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मान गरिएको थियो ।

एसियन बक्सिङमा नेपालको पदक पक्का

काठमाडौँ, १९ साउनः एसियाली बक्सिङ च्याम्पियनसिपमाको पुरुष यु–२२ उमेर समूहमा नेपालका अर्पिल रानाले कम्तीमा कास्य पदक पक्का गरेका छन् ।

थाइल्यान्डको बैङ्ककमा भएको ५० केजी तौल समूहमा अर्पिल सेफिफाइनल प्रवेश गरेसँगै कास्य पदक पक्का भएको बक्सिङका अन्तरराष्ट्रिय को–ओडिनेटर तथा नेपाल बक्सिङ महासङ्घका उपाध्यक्ष श्यामकाजी अवालेले जानकारी दिनुभयो ।

एसियन बक्सिङको आयोजनामा थाइल्यान्डको बैङ्ककमा जारी प्रतियोगितामा अर्पिलले भूटानी मुक्केबाज किन्ले फुन्चोलाई ४ः१ (स्प्लिट) अङ्कका आधारमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन् ।

यसअघि अर्पिलले साउदी अरबका मुक्केबाज इब्राहिमलाई ५–० ले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका थिए । अर्पिलले अगस्त ६ तारिखमा जापानका मुक्केबाज सोदाई कोटोसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

जापानी मुक्केबाज कोटोले फिलिपिनी मुक्केबाजलाई ५–० ले पाखा लगाउँदै सेमिफाइनल यात्रा तय गरे

माओवादी केन्द्रले भदौ तेस्रो सातादेखि जनजागरण अभियानलाई पुनः सञ्चालन गर्ने

काठमाडौँ, १९ साउनः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सम्पन्न भएको छ बैठकले आगामी भदौ तेस्रो सातादेखि मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियानलाई पुनः सञ्चालनमा ल्याउने भएको छ ।

पार्टीको स्थायी कमिटी बैठकले अत्यधिक वर्षाका कारण स्थगित भएको मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियानलाई आगामी भदौ तेस्रो सातादेखि पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

यस्तै, विसं २०७९ को पार्टीको राष्ट्रिय महाधिवेशनको कार्यतालिकाअन्तर्गत यस वर्षको दसैँपश्चात् केन्द्रीय समिति बैठक बस्ने र उक्त बैठकबाट राष्ट्रिय महाधिवेशनको मिति टुङ्गो लगाइने निर्णय भएको उपाध्यक्ष तथा पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो । बैठकले पार्टीको सङ्गठनात्मक एकता र वैचारिक स्पष्टता सुनिश्चित गर्न महत्त्वपूर्ण निर्णय गरेको उहाँले बताउनुभयो ।

बैठकले विचारको स्वतन्त्रता र बहसलाई सम्मान गर्दै कार्यान्वयनमा एकरूपता ल्याउनुपर्ने निष्कर्ष निकालेको छ । साथै, निजी स्वार्थमा आधारित, पार्टी हितविपरीत गतिविधि गर्ने गुट र स्वार्थ समूहको अन्त्य गर्ने सामूहिक सङ्कल्प व्यक्त गरिएको प्रवक्ता सापकोटाले बताउनुभयो । ।

“प्रतिगमन र यथास्थितिवादविरुद्ध दृढताका साथ उभिएर सामाजिक–आर्थिक रुपान्तरण र सामाजिक न्यायसहितको समृद्धि आजको राष्ट्रिय कार्यभार भएको निष्कर्षमा बैठक पुगेको छ । त्यस कार्यभार पूरा गर्न पार्टीको रुपान्तरण र पुनर्गठनको प्रक्रिया थप गतिशील र सशक्त रूपमा अघि बढाउन साङ्गठनिक एकता कायम गर्ने निर्णय गरिएको छ”, उहाँले भन्नुभयो ।

नेकपा (विप्लव) लगायत क्रान्तिकारी शक्तिहरूसँग पार्टी एकताको पहल गर्दै संवाद अघि बढाउने र समाजवादी मोर्चाको सुदृढीकरण तथा विस्तारमा पनि प्रयत्न गर्ने निर्णय भएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । बैठकमा पार्टीबाट विगतमा भएका गल्ती, कमजोरीहरूको समीक्षासमेत गरिएको छ ।

बैठकले राष्ट्रियता, जनतन्त्र, जनजीविका, सुशासन तथा सामाजिक न्यायसँग सम्बन्धित विविध विषयमा समसामयिक राजनीतक प्रस्ताव गर्दै खबरदारी गरेको छ । यही साउन १६ गतेदेखि सुरु भएको बैठक आज सम्पन्न भएको हो ।

हलेसी दुर्घटना अपडेट : मृतक र घाइतेको पहिचान खुल्यो

खोटाङ, १९ साउन : यहाँको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित डौँठेखोलामा भएको माईक्रोबस दुर्घटनाका मृतक तथा घाइतेको पहिचान खुलेको छ । त्रिधार्मिकस्थल हलेसी दर्शन गरेर आज बिहान सिरहाको गोलबजारतर्फ फर्किँदै गरेको प्रदेश २–०१–००१ ज ००५३ नम्बरको माईक्रोबस अनियन्त्रित भइ सडकदेखि करिब २०० मिटर तल खस्दा एक जनाको मृत्यु र १७ जना घाइते भएका थिए ।

दुर्घटनामा परी सिरहा नराह गाउँपालिका–५ निवासी २८ वर्षीया ममतादेवी यादवको मृत्यु भएको हो । दुर्घटनाग्रस्त माईक्रोबसभित्रै च्यापिनु भएका ममतादेवीलाई उपचारका लागि उदयपुरको कटारी अस्पताल पु-याइएकामा अस्पतालले मृत घोषणा गरेको हो ।

घाइते हुनेमा सोही स्थानका ७० वर्षीय राजु यादव, ४९ वर्षीया सरितादेवी ठाकुर, ३२ वर्षीया सविताकुमारी यादव, ४० वर्षीया मिथिलाकुमारी यादव, ३० वर्षीयाा पुनम यादव, ३२ वर्षीया लक्ष्मी शर्मा, ३२ वर्षीय नदिन शर्मा, झालुदेवी यादव र सोही गाउँपालिकाको वडा नं. २ चन्द्र अयोध्यापुरका ५७ वर्षीय धनेश्वर यादव तथा धनुषा जिल्ला सबेला नगरपालिका–४ पटेर्वा निवासी ७९ वर्षीय दुर्योधन यादव रहेका छन् । उनीहरु सबैजनालाई प्राथमिक उपचारपछि थप उपचारका लागि एम्बुलेन्समार्फत राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।

दुर्घटनाका सामान्य घाइतेहरुको उदयपुर घुर्मीस्थित जनसेवा पोलिक्लिनिकमा प्राथमिक उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ । माइक्रोबसका चालक सिरहा नगरपालिका–३ सारसोरका २८ वर्षीय रामनाथ साह फरार छन् । उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक हेमन्त राईले जानकारी दिनुभयो ।

मैदानमा छिरेपछि जुध्ने, लड्ने र जसरी नि ढाल्ने भन्ने सोच आयो : रवीन्द्र

काठमाडौं । भारतको नोएडामा भएको म्याट्रिक्स फाइट नाइट (एमएफए) १७ मा बान्टमवेट च्याम्पियन बनेका बझाङका रवीन्द्र ढाँट स्वदेश फर्किएका छन् ।उनी सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएका हुन् । रवीन्द्रको स्वागतमा दर्जनौं समर्थक विमानस्थल पुगेका थिए ।

स्वदेश फर्किएसँगै सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले खेल्नको लागि मैदानमा छिरेपछि डर भन्ने कुरा आफैं हटेर गएको बताए । उनले देशवासीहरुको लागि अझै यो भन्दा धेरै राम्रो खेल्नुपर्ने बताए ।

उनले भने, ‘खेल्नको लागि मैदानमा छिरेपछि डर भन्ने कुरा हुँदैन रहेछ । भित्र छिरेपछि जुध्ने हो, लड्ने हो जसरी नि ढाल्ने हो भन्ने सोचले गएको थिए । सरकारलाई केही भन्दिन । यत्रो माया गर्ने दर्शक हुनुहुन्छ । दर्शकहरु र फ्यानहरुको लागि अझै धेरै राम्रो गर्न मन छ । देशवासीहरुको लागि मैंले अझै यो भन्दा धेरै राम्रो गर्न आवश्यक छ ।’

ढाट आइतबार राति भएको खेलमा भारतका चोंगरेंग कोरेनलाई हराउँदै बान्टमवेट च्याम्पियन बन्ने पहिलो नेपाली बनेका थिए । आफ्नो व्यावसायिक रेकर्ड ८–१ मा सुधार गर्दै रवीन्द्रले कोरेनको पाँच लडाइँको जितको श्रृंखलालाई भंग गरिदिएका थिए ।

विपद व्यवस्थापन प्राधिकरण र इस्ट–चाइना युनिभर्सिटीका प्रतिनिधिबीच विपद छलफल

काठमाडौँ, १९ साउनः राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई दिनेश भट्ट र छिमेकी राष्ट्र चीनको जियान्सी प्रान्तमा रहेको इस्ट–चाइना युनिभर्सिटी अफ टेक्नोलोजीका प्राध्यापक हुई चेन नेतृत्वको प्रतिनिधिमण्डलबीच आज छलफल भएको छ ।

सिंहदरबारमा भएको छलफलमा उक्त विश्वविद्यालयको ‘स्कूल अफ जिओफिजिक्स एण्ड स्पेस एक्प्लोरेसन’सँग सम्बद्ध प्राध्यापक हुईले भौगर्भिक प्रकोपको अनुगमन, पहिचान, पूर्वसूचना प्रणाली र रोकथामका बारेमा विश्वविद्यालयले गरिरहेका काम र त्रिभुवन विश्वविद्यालयसँगको साझेदारीबारे जानकारी गराउनुभएको थियो ।

कार्यकारी प्रमुख भट्टले गत महिनाको रसुवा बाढी एवं विगत वर्षमा तिब्बत हुँदै नेपाल प्रवेश गर्ने नदीमा आएका आकस्मिक बाढीले पुर्याएको ठूलो क्षतिका विषयमा जानकारी गराउनुभएको थियो ।

उहाँले नेपाल र चीनबीच ‘रियल–टाइम डाटा’ को आदानप्रदानलगायत पूर्वसूचना प्रणाली अत्यावश्यक भइसकेको उल्लेख गर्दै सहकार्यका लागि प्राधिकरण तयार रहेको बताउनुभयो । चिनियाँ प्रतिनिधिमण्डल पनि उक्त विषयप्रति सकारात्मक रहेको प्राधिकरणले जनाएको छ ।

पार्टीभित्रका सबैखाले गुटबन्दीको अन्त्य गर्ने संकल्प गरेका छौं : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रका सबैखाले गुटबन्दी समूहवद्धताको अन्त्य गर्ने संकल्पकासाथ अघि बढ्ने सामूहिक प्रतिवद्धता गरेको बताएका छन् ।

सोमबार सम्पन्न भएको स्थायी समितिको बैठकपछि उनले पार्टीलाई एकतावद्ध गर्ने चुनौती देखिएतापनि त्यसलाई जिम्मेवारीपूर्वक पूरा गरेको बताए ।

दाहालले भने, ‘देशको लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणको निम्ति पार्टी जसले महत्वपूसर्ण भूमिका खेल्यो । यसलाई एकतावद्ध गर्ने चुनौती हाम्रो सामू थियो । त्यो चुनौतीलाई हामीलाई जिम्मेवारीपूर्वक पूरा गरेको छौं र सामूहिक प्रतिवद्धता गरेका छौं । अझ सुदृढ एकताकासाथ सबैखाले गुटबन्दी समूहवद्धताको अन्त्य गर्ने संकल्प लिएका छौं । सामूहिक रूपमा प्रतिवद्धता गरेका छौं ।’

उनले कुलिङ पिरियडको विषयमा जुन चलखेल र गल्ती भएको छ, त्यसका दोषीलाई कारवाही गर्नेगरी छानविन समितिले रिर्पोट ल्याउनुपर्ने बताए ।

पदयात्राले हिन्दूत्वको पक्षमा जनदबाब सिर्जना गर्छ : राजेन्द्र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजनीतिक दलहरुलाई हिन्दूत्वको पक्षमा जनदबाब सिर्जना गर्ने उद्देश्यका साथ धार्मिक पदयात्रा आयोजना गरेको बताएका छन्

सोमबार राप्रपाको नेपाल सनातन धर्म संस्कृति संगठनले आयोजना गरेको मैतीदेवीबाट पशुपतिनाथसम्मको धार्मिक पदयात्रापछि उनले नेपालमा हिन्दु राष्ट्र पुनःस्थापना गर्ने र त्यसका लागि नेपाली जनतामा हिन्दुत्वको भावनाको जागरण गराउने, यसको पक्षमा जनमत निर्माण गर्ने उद्देश्यका साथ हरेक वर्ष धार्मिक पदयात्रा गर्ने गरेको बताए ।

उनले भने, ‘नेपाल सनातन धर्म संस्कृति संगठनको आयोजना हामीले हरेक वर्ष श्रावणको एउटा सोमबार मैतीदेवीबाट पशुपतिनाथ पदयात्रा गर्ने गरेको छ । यसको मूल उद्देश्य भनेको नेपालमा हिन्दु राष्ट्र पुनःस्थापना गर्ने र त्यसका लागि नेपाली जनतामा हिन्दुत्वको भावनाको जागरण गराउने, यसको पक्षमा जनमत निर्माण गर्ने, सरकार र अन्य राजनीतिक दलहरुलाई हिन्दुत्वको पक्षमा जनदबाब सिर्जना गर्ने रहेको छ ।’यस्तै, उनले हिन्दुत्वको संरक्षणको लागि कार्यक्रमहरु सबैतिर भइरहेको देख्दा र नयाँ जागरण आइरहेको देख्दा खुसी लागेको पनि बताए ।

सोही क्रममा राप्रपाका वरिष्ठ नेता पशुपति शमशेर जबराले पनि नेपाल धर्मको केन्द्र भएपनि धर्मको नाममा कहिले पनि लडाइ नभएको भन्दै नेपालमा सबै धर्म एकै ठाँउमा मिलेर बसेको बताए ।पदयात्रामा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपाका नेताहरू, धार्मिक क्षेत्रका अगुवाहरू, सामाजिक जीवनका विशिष्ट व्यक्तिहरुको सहभागिता थियो ।

तारकेश्वर गाँउपालिका–६ का वडाध्यक्ष रिमालको निधन

त्रिशूली।  नुवाकोटको तारकेश्वर गाउँपालिका-६ का वडाध्यक्ष नारायणप्रसाद रिमालको निधन भएको छ। वडाध्यक्ष रिमालको निधनप्रति गाउँपालिकाले दुख व्यक्त गरेको छ।आज तारकेश्वर गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण सरकारी तथा सार्वजनिक कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा दिइएको गाउँपालिकाले जनाएको छ ।

साथै आज सरकारी कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने निर्णय गरिएको अध्यक्ष अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

 

 

 

भिजिट भिसामा जाने वार्षिक पौने तीन लाख, ४२ प्रतिशतभन्दा बढी महिला

काठमाडौँ, १९ साउन : पछिल्लो समय त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ‘भिजिट भिसा’मा विभिन्न गन्तव्यमूलुक जाने नेपालीको सङ्ख्या उल्लेख्य रुपमा बढ्दो छ । यही विषयलाई थप व्यवस्थित बनाउन नेपाल सरकारले अध्यागमन क्षेत्र सुधारका अल्पकालीनदेखि दीर्घकालीनसम्मका योजना तयार गरेको छ ।

भिजिट भिसा प्रक्रियामा देखिएका विकृति र विसङ्गतिको समाधानका लागि सदनदेखि सडकसम्म आवाज उठ्दै आएका छन् । सरकारले यसमा सुधारका लागि छानबिन समिति गठन गरी काम सुरु गरिसकेको छ । अर्काेतिर यही प्रकरणको विषयमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रतिनिधिसभामा दुई राजनीतिक दलले बैठकलाई अवरोध गर्दै आएका छन् ।

गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले नेपाल प्रवेश गर्ने वा नेपालबाट बाहिरिने यात्रुहरूको राहदानी, भिसा र अन्य कागजातको जाँच गरी आधिकारिकता प्रमाणित गर्ने काम गर्दै आएको छ । विमानस्थलबाट बर्सेनि यसरी भिजिट भिसामा यात्रा गर्ने नेपालीको सङ्ख्या बढ्दै जाँदा व्यवस्थापनका लागि स्रोतसाधन र प्रविधिमा चाप बढेको छ । अध्यागमन विमानस्थल कार्यालयमा हाल झण्डै एक सय ५० जना कर्मचारी समयतालिका अनुसार कार्यरत रहेको विभागले जनाएको छ ।

गृह मन्त्रालयले अध्यागमन क्षेत्रलाई चुस्त बनाउन भन्दै केही दिन अघिमात्र विभागको महानिर्देशकमा रामचन्द्र तिवारी र विमानस्थल अध्यागमन कार्यालय प्रमुखमा नरहरि अर्याललाई खटाएको छ । महानिर्देशक तिवारीले विभागलाई केवल आगमन र प्रस्थानको अभिलेख राख्ने निकायमा सीमित नराखी राष्ट्रिय सुरक्षा र सुरक्षित आप्रवासनका क्षेत्रमा नीतिगत सुझाव दिने एक विशेषज्ञ निकायको रूपमा विकास गर्ने गरी काम गर्ने बताउनुभयो ।

उहाँले अध्यागमनसम्बन्धी ऐन, नियम र कार्यविधिलाई वर्तमान समयको आवश्यकता र अन्तरराष्ट्रिय अभ्यास अनुकूल परिमार्जन आवश्यक रहेको उल्लेख गर्दै प्रविधिमा आधारित सुधारका विभिन्न कार्ययोजनासमेत तयार गरेको अवगत गराउनुभयो ।महानिर्देशक तिवारीले भन्नुभयो, “राहदानी विभाग, वैदेशिक रोजगार विभाग, कन्सुलर सेवा विभाग र सुरक्षा निकायलगायत सबै निकायको डाटालाई अध्यागमन प्रणालीसँग एकीकृत गर्ने एकीकृत डिजिटल अध्यागमन प्रणाली बनाउने योजनामा छौँ ।” त्यस्तै मानव संसाधन विकास र सुदृढीकरण गर्ने, विशेषज्ञता र वृत्ति विकास, उच्चस्तरको निष्ठा र अनुशासन, अन्तर–निकाय समन्वय र सहकार्यका योजनाबारे उहाँले सुनाउनुभयो ।

उहाँले भिजिट भिसा प्रक्रियामादेखि समस्या समाधानका लागि परराष्ट्र, श्रम, गृह मन्त्रालय, नेपाल प्रहरी, र राष्ट्रिय अनुसन्धान विभागबीच सूचना आदानप्रदान र सहकार्यका लागि एक बलियो र स्थायी संयन्त्र निर्माण गर्नुपर्ने आवश्यकता आँैल्याउनुभयो ।

सन् २०२४ मा दुई लाख ७१ हजार ३०५ जना नेपालीले भिजिट भिसामा विभिन्न मुलुकमा यात्रा गरेका थिए । सन् २०२३ मा दुई लाख दुई हजार ४१९ ले यात्रा गरेका थिए, भने सन् २०२२ मा एक लाख ७५ हजार ७९० र ९० हजार १८१ नेपालीले भिजिट भिसामा यात्रा गरेको विभागको तथ्याङ्क छ । यो सङ्ख्या सन् २०२५ को जुलाई सम्ममा एक लाख ३४ हजार ८२५ पुगेको छ । भिजिट भिसामा जाने प्रमुख गन्तव्य मुलुकहरुमा युएई, थाईल्याण्ड, ओमान, कतार, मलेसियालगायत रहेका छन् ।

“भिजिट भिसा समस्या खुद्रे र प्रतिक्रियात्मक सुधारले होइन, वृहत, एकीकृत र दूरगामी सोचले मात्र समाधान सम्भव छ । ‘भिजिट भिसामा कडाइ’ को असफल भाष्यबाटमाथि उठेर सहजीकरण, नियमन र संरक्षणको नयाँ मार्गचित्र अँगाल्नुपर्छ भन्ने विभागको निष्कर्ष छ” उहाँले भन्नुभयो । प्रस्थान व्यवस्थापन र यसको बहसमा मात्र सम्पूर्णमूलुक केन्द्रित भएको परिस्थितिमा विभागले आगामी दिनमा आगमनमा पनि प्राथमिकताका साथ कार्य गर्ने योजना तयार गरेको जनाएको छ ।

महिलाको सङ्ख्यामा उल्लेख्य वृद्धि

भिजिट भिसामा जाने महिला यात्रुहरूको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ । कूल सङ्ख्यामा महिलाको हिस्सा सन् २०२१ को १४.४ प्रतिशतबाट बढेर सन् २०२४ मा ४२.१ प्रतिशत पुगेको छ । खासगरी युएई र थाईल्याण्डजस्ता गन्तव्यमा महिला यात्रुहरुको सङ्ख्या उल्लेख्य रहेको तथ्याङ्क छ । त्यसैगरी, युएई, ओमान र कुवेत मात्र यस्ता गन्तव्य हुन् जहाँ पाँच वर्षको अवधिमा महिला यात्रुको कूल सङ्ख्या पुरुषको भन्दा बढी भएको छ ।

भिजिट तथा पर्यटक भिसामा विदेश यात्रा गर्दा म्याद भएको बैध राहदानी र यात्रा प्रयोजनसम्बन्धी भिसा, दुईतर्फी हवाई टिकट, खर्च व्यहोर्ने व्यक्ति वा संस्थाको सबै व्यहोरा खुलेको पत्र वा साथमा न्यूनतम् ५०० अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा सटही गरेको प्रमाण हुनुपर्ने प्रावधान छ ।

विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत नरहरि घिमिरेले भिजिट भिसा प्रक्रियामा देखिएका समस्या समाधानमा विशेष कार्ययोजनासहित आफूहरु खटिएको बताउनुभयो । अन्तरप्रणाली आवद्धताका विषयमा सुधार गरी अघि बढ्ने प्रण गर्दै उहाँले भन्नुभयो, “यो राष्ट्रको गरिमासँग जोडिएको विषय हो, यसमा सफलता प्राप्त गर्न सबै निकाय र क्षेत्रको सहयोग आवश्यक हुन्छ । अनिमात्र सुशासन कायम गर्न सकिन्छ ।”अध्यागमन सुधारको लक्ष्य भनेको प्रविधिमैत्री, सुरक्षित, कुशल, पारदर्शी र नागरिकप्रति जवाफदेही प्रणाली निर्माण गर्नुभएको उल्लेख गर्दै उहाँले अनिमात्र राष्ट्रिय सुरक्षाको रक्षा गर्न र आफ्ना तथा विदेशी नागरिकको अधिकार र मर्यादाको सम्मान हुने बताउनुभयो ।

दलालको लहलहैमा भिजिट भिसामार्फत सेटिङमा विभिन्न मुलुकमा रोजगारीका लागि जाने सर्वसाधारण अनेकौ तहमा ठगिँदै आएका छन् । त्यस्ता सर्वसाधारण अध्यागमनसम्म आइपुग्दा आधा दर्जन तहसम्म ठगिने गरेका छन् । खासगरी श्रम प्रक्रियाको झन्झट र ढिलासुस्ती, भिजिट भिसामा विदेश जान छिटोछरितो देखिनु, सरकारी प्रतिबन्धलाई छल्न, लागत र आर्थिक प्रलोभनलगायत कारणले सर्वसाधारण श्रम स्वीकृति लिएर कामका लागि विदेश जान मन पराउँदैनन् ।

यस बाहेक अपारदर्शी शुल्क, आकर्षक तलब र कामको प्रलोभन, एजेन्ट÷दलालको विश्वास र धोका, जोखिमबारे अनभिज्ञता, रोजगारदातासँगको बन्धन, आफ्नै इच्छाले काम खोज्ने सोचलगायत कारणले पनि श्रम स्वीकृति लिएर भन्दा भिजिट भिसामा कामका लागि विदेश जाने सङ्ख्या बढेको हो ।

बोलबम लगायतका मौलिक परम्पराको जगेर्ना गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध छ : मन्त्री यादव

काठमाडौँ, १९ साउन : खानेपानीमन्त्री प्रदीप यादवले बोलबम लगायतका मौलिक परम्पराको जगेर्ना गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनु भएको छ ।

काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१, ओख्रेनीमा बोलबम काँवरीया संघको आयोजनामा २९ औँ श्रावणी मेला तथा बोलबम काँवर यात्रा मेलाको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले बोलबमले हाम्रो सांस्कृतिक एकता र धार्मिक आस्थालाई झल्काउँने बताउनुभयो ।

उहाँले भन्नुभयो, “बोलबम संस्कृति समाजलाई एकताबद्ध गर्ने, धार्मिक र सांस्कृतिक चेतनालाई मजबुत बनाउने माध्यम हो । बोलबम लगायतका मौलिक परम्पराको जगेर्नाका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध छ ।”

सोही कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले बोलबम लगायतका हाम्रा धार्मिक, पर्यटकीय एवं संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्नु सबै तह र तप्काको साझा जिम्मेवारी भएको उल्लेख गर्नुभयो ।

धार्मिक, सांस्कृतिक र सामाजिक चेतनाको प्रवाह गराउने यस्ता आयोजनाहरूले हाम्रो पहिचानलाई अझ सुदृढ बनाउने मन्त्री यादवले विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “हिन्दुहरुको धार्मिक आस्थाको धरोहर भनेको भगवान पशुपतिनाथ हो । जो नेपालमा छ । बोलबम काँवर यात्रीले पशुपतिनाथमा जल चढाउछन् । उनीहरुले हिन्दु धर्मको रक्षा गर्ने छन् ।”

आज सोमबार भगवान पशुपतिनाथमा बोलबम काँवर यात्री लगायतले सहज रुपमा जल चढाउन सक्ने गरी त्यहाँको एउटा ढोका खोल्नका लागि आफुले पशुपति क्षेत्र विकास कोषका कार्यकारी सदस्य, पदाधिकारी, पर्यटनमन्त्री लगायतसँग समन्वय गर्ने समेत आश्वासन दिनुभयो ।

गोकर्णेश्वर नगरपालिकामा बोलबम काँवरीया संघलाई पुजाआजाका लागि आवश्यक पर्ने जग्गा उपलब्ध गराई सहयोग गरी दिनका लागि नगरप्रमुखलाई मन्त्री यादवले आग्रह गर्नुभयो ।

मन्त्री यादवले नेपालभरिका विभिन्न शिवालयहरूमा श्रावण महिनाको पावन अवसरमा काँवरिया भक्तजनहरूद्वारा गरिने विशेष पूजापाठ र साधनाले हाम्रो मौलिक संस्कारको समृद्धि र निरन्तरतामा अतुलनीय योगदान दिँदै आएको बताउनुभयो ।

यातायात कार्यालयको राजस्व सङ्कलन बढ्यो

फिक्कल (इलाम), १९ साउन : यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८१÷८२ मा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । एक वर्षको अवधिमा रु १३ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको सो कार्यालयले रु १३ करोड ८२ लाख तीन हजार पाँच सय १७ राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख खगेन्द्रप्रसाद मैनालीले जानकारी दिनुभयो । कार्यालयले अघिल्लो आर्थिक वर्षभन्दा रु दुई करोड ४९ लाख ४१ हजार आठ सय ३९ बढी राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा २२ दशमलव ०२ प्रतिशतले वृद्धि हो । कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०÷८१ मा रु ११ करोड ३२ लाख ६१ हजार छ सय ७८ मात्र राजस्व सङ्कलन गरेको थियो ।

कार्यालयले सवारी साधन वार्षिक करबाट रु नौ करोड ९६ लाख तीन हजार चार सय ४२ सङ्कलन गरेको छ । सवारी दर्ता÷नामसारी÷नवीकरणबाट रु ७२ लाख तीन हजार पाँच सय ५५ सङ्कलन गरेको छ । त्यस्तै, व्यवसाय रजिस्ट्रेशन दर्ता दस्तुरबाट रु एक लाख २८ हजार दुई सय सङ्कलन भएको कार्यालय प्रमुख मैनालीले जानकारी दिनुभयो ।

त्यस्तै आयकरबाट रु ३७ लाख ८५ हजार पाँच सय ९० सङ्कलन गरेको छ । कार्यालयले चालक अनुमतिपत्रबाट रु एक करोड ४३ लाख १७ हजार तीस सङ्कलन गरेको छ । त्यसैगरी नेपाल भारत सीमाक्षेत्र पशुपतिनगरमा स्थापना गरिएको सवारी पटके बाटो इजाजत राजस्व असुली केन्द्रबाट रु एक करोड छ लाख १७ हजार तीस राजस्व सङ्कलन भएको छ । इलाम सदरमुकामस्थित कार्यालय र पशुपतिनगरबाट रुट पर्मिट र पटकेबाट रु एक करोड तीस लाख ७२ हजार दुई सय तीस राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले भारतीय चार चक्के सवारी नेपाल प्रवेश गर्दा रु पाँच सय १० र मोटरसाइकलको रु दुई सय १० राजस्व लिने व्यवस्था गरेको थियो । यातायात व्यवस्था सेवा कार्यालयकै मातहतमा रहने गरी अघिल्लो वर्ष पशुपतिनगरमा राजस्व असुली केन्द्र स्थापना भएको थियो ।

यहाँको यातायात व्यवस्था सेवा कार्यालयको कार्यक्षेत्र इलामसँगै पूर्वी पहाडी जिल्ला पाँचथर र ताप्लेजुङ भए पनि झापासहितका सेवाग्राहीसमेत सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा लिन आउने गरेको कार्यालय प्रमुख मैनालीले बताउनुभयो ।

मकवानपुरको बकैयामा इभि भ्यान दुर्घटना : तीन घाइते, एकको अवस्था गम्भीर

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ३ जलजलेमा आज बिहान इभि भ्यान दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। दुर्घटनामा परेका एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

स्थानीय विजय लामा थिङको अनुसार बिहानको समयमा भ्यान अनियन्त्रित भई सडकबाट तल खस्दा यात्रुहरू घाइते भएका हुन्। घाइतेहरूमध्ये एकको अवस्था गम्भीर रहेकाले छ । घाइतेहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ । सुरक्षाकर्मीहरू घटनास्थलमा पुगिसकेका छन् भने स्थानीय बासिन्दाहरूको सहयोगमा घाइतेको उद्धार गरिएको थियो।दुर्घटनामा संलग्न इभि भ्यान कुन कम्पनीको हो र कहाँ जाँदै थियो भन्नेबारे विस्तृत विवरण आउन बाँकी छ।

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाडौँ, १९ साउनः प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई प्रदान गर्नुभएको छ ।

प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तुर्कमेनिस्तानमा हुने तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन गएराति त्यसतर्फ प्रस्थान गरेपछि पार्टी कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पोखरेललाई प्रदान गर्नुभएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम जानकारी दिनुभयो ।

उहाँका अनुसार एमाले विधान २०४९ (संशोशन २०७८)को धारा २१ को उपधारा (२) बमोजिम वरिष्ठ उपाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो । उक्त धारामा अध्यक्षको अनुपस्थितिमा वरिष्ठ उपाध्यक्षलाई अध्यक्ष गर्ने काम गर्ने उल्लेख छ । प्रधानमन्त्री ओली यही साउन २३ गते शुक्रबार राति स्वदेश फर्कनुहुने कार्यक्रम छ ।

सप्तकोशी नदीमा पानीको वहाव उच्च, २३ ढोका खुल्ला

इनरुवा (सुनसरी), १९ साउन : वर्षाका कारणले सप्तकोशी नदीमा पानीको वहाव उच्च भएको छ । आइतबार साँझ कोशी ब्यारेजमा प्रतिसेकेण्ड एक लाख ९१ हजार २१० क्यूसेक पानीको वहाव मापन गरिएको थियो ।

आज बिहान गरिएको मापनमा कोशी ब्यारेजर भएर एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेण्ड पानीको वहाव रहेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिनुभयो । अहिले ५२ मूल र चार नहरको गरेर ५६ ढोकामध्ये २३ खुल्ला गरिएको उहाँले जानकारी दिनुभयो । कोशी ब्यारेज भएर एक लाख ५० हजार भन्दामाथि पानीको वहाव भएपछि सर्वसाधारणलाई सचेत गर्न खतराको सङ्केतस्वरुप रातो बत्ती बाल्ने गरिएको छ ।

सोही अनुसार रातो बत्ती बालिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । २०६५ भदौ २ गते एक लाख ६८ हजार क्यूसेक पानीको वहाव हुँदा सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काएको थियो ।

कोशी प्रदेशमा सुरक्षा र विपद् व्यवस्थापनबारे उच्चस्तरीय छलफल

विराटनगर । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आइतबार बसेको कोशी प्रदेश सुरक्षा समन्वय समितिको बैठकले प्रदेशको समग्र शान्ति सुरक्षाको अवस्था, विपद् व्यवस्थापन, लागू पदार्थको रोकथाम, तथा सीमा क्षेत्रका तस्करी नियन्त्रणलगायत विषयमा महत्वपूर्ण निर्णय गरेको छ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको विशेष आतिथ्यमा सम्पन्न बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कमलबहादुर थापाले वर्तमान सुरक्षा चुनौती, गर्नुपर्ने कार्य, र सीमा सुरक्षा विषयमा विस्तृत छलफल गरिएको जानकारी दिए।

बैठकमा लागू पदार्थको विक्री–वितरण तथा ओसारपसार नियन्त्रण, सडकमा सुशासन कायम गर्ने, र आगामी चाडपर्वलाई लक्षित गरी बजार अनुगमन तथा कालोबजारी नियन्त्रणलाई प्रभावकारी बनाउने विषयमा कार्ययोजना बनाएर अगाडि बढ्ने निर्णय गरिएको छ।

मुख्यमन्त्री कार्कीले सीमा क्षेत्रमा भइरहेको तस्करीलाई नियन्त्रण गर्न सुरक्षा निकायहरूलाई थप प्रभावकारी ढंगले परिचालन गर्न निर्देशन दिए। साथै उनले कोशी प्रदेशका विभिन्न जिल्लामा सञ्चालनमा आउन लागेको रथयात्रा तथा विराटनगरको रथयात्राको सुरक्षा प्रबन्धमा विशेष ध्यान दिन आग्रह गरे।

‘चाडपर्वहरू नजिकिँदै छन्, यस्तो समयमा बजारमा कृत्रिम अभाव र मूल्यवृद्धि हुन नदिन बजार अनुगमनमा तीव्रता दिन आवश्यक छ,’ मुख्यमन्त्री कार्कीको भनाइ थियो।

बैठकमा मोरङ, सुनसरी र झापाका प्रमुख जिल्ला अधिकारी, प्रदेश प्रहरी प्रमुख, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरू लगायत सुरक्षासम्बन्धी निकायका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

तराई–मधेशमा देखिएको सिँचाइको समस्यालाई ‘द्रुत मार्र्ग’बाट समाधान निकाल्न सकिन्छ : महानिर्देशक बराल

काठमाडौँ, १९ साउन : जलस्रोत तथा सिँचाइ विभागका नवनियुक्त महानिर्देशक मित्र बरालले राष्ट्रिय गौरबका आयोजनालाई सधैँभरी ‘आयोजनामै मात्रै सीमित’ नराखी यसको प्रतिफल उपभोग चाँडै गराउन समयमै कार्यसम्पादन पूरा गर्नुपर्नेमा जोडदिनुभएको छ ।

उहाँले भन्नुभयो, “राष्ट्रिय गौरबका आयोजना निर्धारित समयभित्र सम्पन्न भएमा गरिबी निवारण र आर्थिक समृद्धिमा टेवा मिल्छ । राष्ट्रिय ध्येय पूरा हुन्छ ।” विभागको ३०औंँ महानिर्देशकका रुपमा आइतबार पद बहाली गर्दै उहाँले तराई–मधेशमा सिँचाइ अभावले खेतीयोग्य जमिन बाँझै रहेको उल्लेख गर्दै सिँचाइको समस्यालाई ‘द्रुत मार्र्ग’ र दीर्घकालीन गरी दुई चरणमा समाधान खोज्न सकिन्छ, यसका लागि विभाग तयार छ भन्नुभयो ।

नवनियुक्त महानिर्देशक बरालले विभाग मातहातका कर्मचारीलाई परिणाम देखिने गरी काम गर्न निर्देशन दिँदै भन्नुभयो “हामीसँग पर्याप्त पुँजी छ, दक्ष छौंँ, सूचना प्रविधि छ, यातायातको सुविधा छ, यसैगरी योजनालाई छिटो सम्पन्न गर्ने हामीसँग आधुनिक नवीनतम प्रविधि छ । यस्तो अवस्थामा हामीले समयमै आयोजना सम्पन्न गर्नेबाहेक कुनै बाहनाबाजीमा छुट हुने छैन ।”

‘टिम इफोर्ट’ बिना काम सफल नहुने जनाउँदै उहाँले ‘टिमको स्प्रिट’मै रहेर सबैले अहोरात्र खटिनुपर्नेमा जोड दिनुभयो । आफ्नो कार्यकालमा देशभरका थुप्रै आयोजनामा गरेका अनुभव र जिम्मेवारीको महत्व प्रकाश पार्दै नवनियुक्त महानिर्देशक बरालले उपत्यका बाहिर जिम्मेवारी लिएर जाँदा आफू नौ वर्षमा काठमाडौंँ आएर विभागमा पाइला टेकेको अनुभव सुनाउनुभयो ।

उहाँले भन्नुभयो, “हामी अहिले आर्थिक वर्षका सुरुआतमा भएकाले ‘टिम स्प्रिट’ मिलाएर काम गर्दा असम्भव केही हुँदैन । यसरी काम गर्दा विभागको उद्देश्य अनि लक्ष्य पनि पूरा हुने र परिणाम देखिने गरी काम गर्न मन्त्रालयको निर्देशन र अपेक्षालाई पूरा गर्न सकिन्छ ।”

आर्थिक वर्ष सुरुआती महिनाको आधा समय गुज्रदासमेत विभाग मातहतका आयोजनाका दुईवटा मात्रै बोलपत्र आएको जनाउँदै उहाँले सर्वसम्पन्न भइसकेपछि अड्कलेर काम नगर्न कर्मचारीहरुलाई आग्रह गर्नुभयोे । हाल विभागमा ६०१ जनाको दरबन्दी रहेको छ । उहाँले भन्नुभयो,“एकीकृत जलस्रोत व्यवस्थापनको माध्यमवाट सन्तुलित, स्थिर तथा दीगो आर्थिक विकास हासिल गर्ने र दिगो एवं भरपर्दो संरचनागत तथा गैर संरचनागत प्रविधि र जनचेतना अभिवृद्धि लगायतका कार्य गरी जलाधार व्यवस्थापन तथा जल उत्पन्न प्रकोप न्युनीकरण एवं व्यवस्थापनबाट आर्थिक सामाजिक हानिनोक्सानी न्यूनीकरण गर्ने विभागको लक्ष्य हो । जलस्रोत तथा सिँचाइ संरचनाको उचित विकास, मर्मत सम्भार तथा व्यवस्थापन गरी कृषियोग्य भूमिमा वर्षैभरी दिगो एवं भरपर्दाे सिँचाइ सुविधा उपलब्ध गराई कृषि उत्पादकत्व तथा उत्पादन वृद्धि गरी गरिबी निवारणमा टेवा पु¥याउने दायित्व हो ।”

नेपाल टेलिकमबाट विल्डिङ कन्स्ट्रक्सन इञ्जीनीयरका रुपमा आफ्नोे सेवा सुरुआत गर्नुभएका बरालले जलस्रोत तथा सिँचाइ विभागमा २०५१ सालदेखि सेवा गर्दै आउनुभएको छ । विभाग मातहातका ठूला–ठूला सिँचाइ आयोजनामा कामको अनुभव बटुलिसकेको उहाँ जलस्रोत तथा सिँचाइ क्षेत्रका अनुभवी र विज्ञका रुपमा परिचित हुनुहुन्छ ।

कार्यक्रममा निवर्तमान महानिर्देशक सञ्जीव बरालले विभागले जलस्रोत तथा सिँचाइ विज्ञलाई नयाँ महानिर्देशक पाएकामा खुसी व्यक्त गर्दै उहाँको कार्यकालमा विभागले ऐतिहासिक काम गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा विभागका उपमहानिर्देशक सन्तोष कैनी विभागका मुख्य प्रशासकीय अधिकृत रामप्रसाद पौडेल विभागका गतिविधि जानकारी गराउनुभएको थियो ।

आँखा उपचार सेवालाई थप प्रभावकारी बनाउन सहकार्य

काठमाडौँ, १९ साउन : नेपाल नेत्रज्योति सङ्घ र नेपलिज डक्टर्स एसोसिएसन बेलायतकाबीचमा आँखा उपचारका क्षेत्रमा आपसी सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । बेलायतमा रहेका नेपाली चिकित्सकको संस्थाको ४० औँ वार्षिकोत्सवका अवसमा आइतबार आयोजित कार्यक्रममा उक्त समझादारीपत्रमा हस्ताक्षर गरिएको हो । समझादारीपत्रमा सङ्घका तर्फबाट केन्द्रीय सदस्य प्राडा सबिना श्रेष्ठ र एसोसिएसनका तर्फबाट अध्यक्ष सञ्जीव नेपालीले हस्ताक्षर गर्नुभएको सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

सङ्घकी सदस्य प्राडा श्रेष्ठका अनुसार नेपालमा आँखा उपचार सेवाका विकास र विस्तारको उद्देश्यसहित दुई संस्थाका बीचमा सहकार्य भएको हो । उहाँले एसोसिएसनले नेपालमा सञ्चालन हुने आँखा उपचार सेवासम्बन्धी कार्यक्रमलाई थप प्रभावकारी बनाउन स्वयंसेवी सेवामा संलग्न हुन इच्छुक योग्य नेत्र विशेषज्ञ तथा आँखाका स्वास्थ्यकर्मीलाई नेपालमा परिचालन गर्ने जानकारी दिनुभयो ।

त्यसैगरी आँखा उपचारका लागि आवश्यक स्वास्थ्य उपकरण तथा औषधिको व्यवस्थापनका लागिसमेत एसोसियसनले समन्वय गर्नेछ ।

एसोसिएसनले नेपालमा विभिन्न निःशुल्क उपचार शिविरसहित विभिन्न सामाजिक कार्य गर्दै आएको छ । विसं २०३५ मा स्थापना भएको नेपाल नेत्रज्योति सङ्घ नेपालकै अग्रणी गैर–सरकारी संस्था हो । यसले सुलभ र गुणस्तरीयय आँखा उपचार सेवा प्रदान गर्दै आएको छ । २८ आँखा अस्पताल, दुई सय २४ आँखा उपचार केन्द्र र ४५ जिल्ला शाखामार्फत सङ्घले वार्षिक ३० लाखभन्दा बढी व्यक्तिलाई सेवा दिँदै आएको छ, भने तीन लाखभन्दा बढी आँखाको शल्यक्रिया गर्दै आएको छ ।