`

रोजगारीको माग गर्दै मधेस प्रदेशका शहीद परिवारको प्रदर्शन

जनकपुर, ८ मङ्सिर : मधेस आन्दोलनका शहिद परिवारका सदस्यहरूले रोजगारीको माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि प्रदर्शन गरेका छन् । सो आन्दोलनमा मधेश प्रदेशबाट ५२ जना शहिद भएका थिए ।

सात वर्ष आगाडि मधेश प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले शहिद परिवारका एक÷एक जनालाई रोजगार दिने निर्णय गरेपनि हालसम्म कार्यान्वयन नभएको भन्दै शहिद परिवारका सदस्य आन्दोलित भएका हुन् ।

मुख्यमन्त्री कार्यालय अगाडि गरिएको प्रदर्शनमा प्रदेशका आठै जिल्लाका शहिद परिवारका सदस्य सहभागी भएका छन् । उनीहरूले प्रदेश सरकारले आफूहरूको माग पूरा नगरेसम्म घर नफर्किने चेतावनी दिएका छन् ।

शहिद परिवारका सदस्य रामनरेश राय यादवले मुख्यमन्त्री सतिशकुमार सिंहलाई पहिलो मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न पटकपटक भेटेर आग्रह गर्दा पनि बेवास्ता गरेपछि आन्दोलन गर्नुपरेको गुनासो गर्नुभयो ।

उहाँका अनुसार बाउन्न शहिद परिवारका एक÷एक सदस्यलाई रोजगार दिने सरकारले निर्णय गरे पनि सात वर्ष बितिसक्यो तर कायान्वयन भएको छैन । केही शहिद परिवारलाई मात्र करारको जागिर दिएको छ । तर उनीहरूलाई पनि हटाउन खोजिएको उहाँले बताउनुभयो ।

यादवले भन्नुभयो, “सरकारले गरेको निर्णयअनुसार सबै शहिद परिवारका एक÷एक सदस्यलाई स्थायी जागिरको व्यवस्थापन गर्नुपर्ने आफूहरूको माग रहेको छ ।” माग पूरा नगरे आफूहरू पनि सहादत दिने यादवले चेतावनीसमेत दिनुभयो ।

भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीद्वारा मुक्तिनाथमा पूजाअर्चना

काठमाडौँ, ८ मङ्सिर : नेपालको औपचारिक भ्रमणमा रहनुभएका भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले आज मुस्ताङ जिल्लास्थित मुक्तिनाथ मन्दिरको भ्रमण गर्नुभएको छ ।

सो अवसरमा उहाँले मुक्तिनाथ मन्दिरमा पूजाअर्चनासहित दर्शन गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नेपाल र भारतका हिन्दू एवं बौद्ध धर्मावलम्बीले मुक्तिनाथको पूजा, आराधना एवं दर्शन गर्ने गरेका छन् । प्रत्येक वर्ष हजारौँ भारतीय दर्शनार्थी मुक्तिनाथको दर्शनका लागि आउने गरेका छन् ।

आजै, भारतीय स्थल सेनाध्यक्ष जनरल द्विवेदीले पोखरास्थित श्री पश्चिम पृतना मुख्यालयको भ्रमण गर्नुभएको छ । उहाँलाई पृतनापति उपरथी सन्तोष बल्लभ पौडेलले पश्चिम पृतनामा स्वागत गर्नुभएको थियो ।

नेपाली सेनाको निमन्त्रणामा उहाँ बुधबार नेपाल भ्रमणमा आउनुभएको हो । बिहीबार उहाँले सेनाको राष्ट्रपति रामचन्द्र पौडेलबाट मानार्थ महारथीबाट सुशोभित हुनुभएको छ ।

एनसिक्युजीको मस्यौदामै एलडिसीको असन्तुष्ट, सहमति जुट्ने अपेक्षा

काठमाडौँ, ९ मङ्सिर : नेपाललगायत अति कम विकसित मुलुकहरूको समूह (एलडिसी) ले नयाँ सामूहिक परिमाणात्मक लक्ष्य (एनसिक्यूजी) मा सार्वजनिक गरिएको जलवायु वित्तसम्बन्धी मस्यौदाप्रति असन्तुष्टि जनाएको छ । बाकुको अजरबैजानमा जारी रहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रारूप महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरूको २९औँ शिखर सम्मेलन (कोप–२९) मा सार्वजनिक गरिएको मस्यौदाले स्पष्ट रूपमा जलवायु वित्तको आकार बढाउनेलगायत विषयमा नखुलाइएको भन्दै असन्तुष्ट जनाइएको हो । पूर्वनिर्धारित तालिकाअनुसार शुक्रबार नै कोप सकिने भनिए पनि एलडिसी लगायतका समूहले राखेको ‘एजेन्डा’ का सबै बुँदामा सहमति जुट्न नसकेपछि आज पनि पैरवी भइरहेको छ ।

एलडिसी समूह, जी सेभेन्टी सेभेन एन्ड चाइनाको समूहले धनी तथा विकसित मुलुकहरूलाई यतिबेला एनसिक्युजीको एजेन्डा कार्यान्वयनका लागि दबाब दिइरहेका छन् । एनसिक्युजीसम्बन्धी सार्वजनिक गरिएका केही बुँदाहरू स्पष्ट नभएकाले एलडिसी लगायतको समूहको असन्तुष्टि देखिएको र पैरवी निरन्तर अघि बढिरहेको बताउनुहुन्छ, बाकुमै रहनुभएका वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन माहाशाखाका प्रमुख डा सिन्धुप्रसाद ढुङ्गाना । “एनसिक्युजीअन्तर्गत धनी तथा विकासोन्मुख मुलुकहरूले जलवायु वित्तको आकार बढाएर सन् २०२६ पछि वार्षिक दुई सय ५० बिलियन हरेक वर्ष पुर्‍याउनुपर्ने भन्ने एलडिसी लगायतका समूहको माग थियो, तर मस्यौदामा तर सन् २०३५ सम्ममा भनिएको छ । सन् २०३४ पछि पो बढाउन लागिएको हो कि ! कति पैसा बढाउने भन्ने विषयमा मस्यौदाले स्पष्ट बोलेकै छैन,” उहाँले भन्नुभयो, “जलवायुको सङ्कट छिटोछिटो निम्तिरहेको छ । अब जलवायु वित्तको आकार बढाउने बढाउनुपर्ने दायित्व पनि छिटै पूरा गरौँ भनेर यतिबेला कोपमा पैरवी निरन्तर भई नै रहेको छ । आज रातिसम्ममा केही सकारात्मक नतिजा आउने अपेक्षा छ ।”

ढुङ्गानाले कोपका एजेन्डामा एनसिक्युजी समाहित हुन, विशेषगरी पर्वतमा आधारित कार्य र पेरिस सम्झौताअनुसार विश्वभर जलवायु परिवर्तन रोक्न गरिएका प्रयासहरूको समीक्षा गर्ने प्रक्रिया (ग्लोबल स्टकटेक) समाहित हुनु सकारात्मक पक्ष रहेको टिप्पणी गर्नुभयो । एलडिसीका अध्यक्ष इभान्स न्जेवाले प्रेस विज्ञप्ति जारी गर्दै आर्थिक सहयोग आवश्यक महत्वाकाङ्क्षाको स्तरमा नभएको भन्दै असन्तुष्ट जनाउनुभएको छ । “यसले विकसित राष्ट्रहरूको वर्तमान प्रतिबद्धतालाई कमजोर बनाउँछ र विश्वव्यापी जलवायु कार्यका लागि आवश्यक महत्वाकाङ्क्षा झल्काउँदैन । हाम्रो समूह यो मस्यौदा पाठले हाम्रा तीन वर्षको कडा मेहनतलाई प्रतिबिम्बित नगरेको देख्दा निराश छ,” एलडिसीद्वारा जारी विज्ञप्तिमा न्जेवाले भन्नुभएको छ, “यो मस्यौदा धेरै विषयमा कमजोर छ । यसले सबैभन्दा संवेदनशील राष्ट्रहरू, विशेषगरी कम विकसित देश (एलडिसी) र साना द्विपीय विकासशील देशहरू (एलआइडिएस) का मुद्दाहरूलाई ध्यानमा राखेको छैन ।” प्रस्तावित वित्तीय परिमाण आवश्यकताभन्दा धेरै कम रहेको र एलडिसीका लागि न्यूनतम रकम छुट्याउने सुनिश्चिता नभएको र जलवायुजन्य हानि तथा क्षतिलाई सम्बोधन गर्नका लागि मस्यौदामा नयाँ लक्ष्यमा नदेखिएको एलडिसीको भनाइ छ । “जलवायु परिवर्तन सन्धि र पेरिस सम्झौताअन्तर्गत स्थापित कोषहरूमार्फत प्रवाहित हुने न्यूनतम हिस्साको सुनिश्चितता पनि छैन ।

पाठमा पहुँचसम्बन्धी व्यवस्था कमजोर छ र सबैभन्दा संवेदनशील समूहका लागि पहुँच सुधार गर्न स्पष्ट प्रतिबद्धता छैन,” विज्ञप्तिमार्फत एलडिसीले भनेको छ, “त्यसैगरी, जलवायु वित्तको परिभाषा अस्पष्ट छ, जसले हिसाब–किताबमा अन्योल सिर्जना गर्छ । दुबईमा गत वर्ष हामी सबैले सामूहिक रूपमा सहमति गरेको ग्लोबल स्टकटेक परिणामको कार्यान्वयनसम्बन्धी मस्यौदामा अझ धेरै काम गर्न आवश्यक छ ।” सामूहिक रूपमा सहमति गरेका सबै स्टकटेक परिणामहरूको कार्यान्वयन सुनिश्चित गर्नुपर्ने, कार्यान्वयनका प्रविधिको व्यवस्था गरिनुपर्ने, तापक्रम वृद्धिलाई १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित गर्ने महत्वाकाङ्क्षालाई केन्द्रमा राख्नुपर्ने एलडिसीको माग छ । विज्ञप्तिमा भनिएको छ, “अन्यथा हाम्रो अस्तित्वलाई खतरामा पार्नेछ, यसको अर्थ हरेक देशका राष्ट्रिय निर्धारित योगदान (एनडिसी) लाई अद्यावधिक गरेर महत्वाकाङ्क्षा बढाउन बलियो आह्वान गर्नुपर्ने तथा एनडिसी कार्यान्वयनका लागि समर्थन सुनिश्चित गर्नुपर्छ । तर, हाल यो सबै विशेषता मस्यौदामा छैन ।” कम विकसित देशहरूको समूह (एलडिसी) मा अफ्रिका, एसिया–प्रशान्त र क्यारिबियनका ४५ देशहरू सम्मिलित रहेको जसको संयुक्त जनसङ्ख्या एक अर्बभन्दा बढी छ । इभान्स न्जेवा कम विकसित देशहरूको समूहका वर्तमान अध्यक्ष र मालावी सरकारका जलवायु परिवर्तन तथा युएनएफसिसिसीका फोकल पर्सन हुनुहुन्छ । के हो ? एनसिक्युजी नयाँ सामूहिक परिमाणात्मक लक्ष्य (एनसिक्युजी) जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना (युएनएफसिसिसी) अन्तर्गत विकसित राष्ट्रहरूले विकासशील राष्ट्रहरूलाई उपलब्ध गराउने वित्तीय सहयोगको परिमाणात्मक रूपमा तोकिएको नयाँ लक्ष्य हो । सन् २०२५ पछिका लागि जलवायु वित्तको व्यवस्थापन, वितरण र प्रभावलाई सुनिश्चित गर्न नयाँ दिगो र प्रभावकारी उपायको खोजी लक्ष्य एनसिक्युजीको हो । विकसित राष्ट्रहरूले २०२० सम्म प्रतिवर्ष एक सय अर्ब अमेरिकी डलर जुटाउने लक्ष्य पूरा गर्न नसकेकाले २०२५ पछिको वित्तीय संरचनामा सुधार गर्ने उद्देश्यले एनसिक्युजी सुरूआत गरिएको थियो । एनसिक्युजीले अनुकूलन, न्यूनीकरण, जलवायु क्षति र हानि सम्बोधनका लागि सहयोग गर्ने अपेक्षा छ ।

जलवायु जोखिममा रहेका देशहरूको आवश्यकताअनुसार वित्तीय प्रवाह सुनिश्चित गर्न, लक्ष्य परिमाण र पहुँच दुवैमा सुधार गर्ने एनसिक्युजीको अर्को लक्ष्य रहेको छ । जलवायुविद् मञ्जित ढकालले एनसिक्युजीले विकसित र विकासशील राष्ट्रबीच सहमति गरेर लक्ष्य निर्धारण गर्ने, ती लक्ष्यहरूको कार्यान्वयन सुनिश्चित गर्ने, यस लक्ष्यले जलवायु वित्तको क्षेत्रलाई थप दिगो र समावेशी बनाउने उद्देश्य लिएको बताउनुभयो । एनसिक्युजीको सफल कार्यान्वयनले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न र जोखिम कम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ । “एनसिक्युजीले जलवायु परिवर्तनलाई सम्बोधन गर्न आर्थिक स्रोतको प्रभावकारी परिचालन गर्ने उद्देश्यले स्थापना गरिएको महत्वपूर्ण संरचना हो । यो लक्ष्य संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन संरचना सम्मेलन (युएनएफसिसिसी) अन्तर्गत विशेषगरी २०२५ पछि जलवायु वित्तको व्यवस्थापन गर्न विश्वव्यापी सहकार्यका लागि एउटा मार्गचित्र हो,” एनसिक्युजीको परिभाष अझै स्पष्ट गर्दै ढकालले भन्नुभयो, “एनसिक्युजीको मर्म भनेको जलवायु परिवर्तनको प्रभावको सामना गर्न विकासशील र कम विकसित राष्ट्रहरूको आवश्यकता पूर्ति गर्दै उनीहरूको दिगो विकासलाई सुनिश्चित गर्नु हो ।” उहाँले कोपमा एनसिक्युजीको सफल कार्यान्वयनका लागि यतिबेला वार्ता चलिरहेको भन्दै सकारात्मक निचोडको समेत अपेक्षा गर्नुभयो ।

एनसिक्युजी कार्यान्वयनले मात्रै जलवायुका नीतिहरू कार्यान्वयन गर्न सकिने उहाँको भनाइ छ । “विकासोन्मुख मुलुकहरूबाट वार्षिक एक दशमलव तीन ट्रिलियन अमेरिकी डलर आवश्यक पर्ने भनेर माग भएको छ । यस पनि सानो अर्थतन्त्र भएका अतिकम विकसित मुलुकका समूह (एलडिसी) लाई वार्षिक दुई सय बिलियन अमेरिकी डलर आवश्यक पर्छ भनिएको छ,” ढकालले भन्नुभयो, “तर सन् २०२२ सम्ममा एक सय २० बिलियन मात्रै उपलब्ध भएको देखिन्छ । जलवायु वित्तको माग र व्यवस्थापनबीच ठूलो अन्तर देखियो । तसर्थ कोपमा जलवायु बित्तको आकार बढाउन जोडबल भइरहेको छ ।”

ईयद्वारा नाइजरका लागि खटाएका दूत फिर्ता ; प्रवक्ता

सत्तारूढ जुन्टाले पश्चिम अफ्रिकी देशलाई सहयोग पुर्याउने तरिका माथि प्रश्न उठाए पछि युरोपियन युनियनले शनिबार नाइजरबाट आफ्ना दूतलाई फिर्ता बोलाएको जनाएको छ ।

इयुले ब्रसेल्समा परामर्शका लागि आफ्ना राजदूत फिर्ता बोलाउने निर्णय गरेको इयु प्रवक्ताले बताउनु भएको हो ।

नाइजरले शुक्रबार युरोपेली युनियनका राजदूतलाई अधिकारीहरूलाई जानकारी नदिई गैरसरकारी संस्थाहरूलाई मानवीय सहायताका लागि १.३ मिलियन युरो वितरण गरेको आरोप लगाएको थियो ।

यसले कोष व्यवस्थापन गर्ने तरिकाको लेखापरीक्षण गर्न आग्रह गरेको छ ।

अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता

किमाथाङ्का (सङ्खुवासभा), ८ मङ्सिर : सङ्खुवासभाको चैनपुर नगरपालिका–११ खहरेस्थित अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता भएका छन् । चैनपुर–११ कुइबिरका ४८ वर्षीय गजेन्द्र जिमी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताउनुभयो ।

शनिबार दिउँसो चैनपुर–११ खहरेस्थित अरुण नदीमा पूजा गर्न क्रममा चिप्लिएर जिमी बेपत्ता हुनुभएको प्रहरी निरीक्षक लामिछानेले बताउनुभयो । जिमीको सशस्त्र प्रहरी, प्रहरी र स्थानीयले खोजीकार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार गजेन्द्र अरुण नदीमा पूजा सुरु गरे लगत्तै नदीमा चिप्लिएर बेपत्ता हुनुभएको थियो । चैनपुर–११ कुइबिरका गजेन्द्र परिवारका छ जनासहित शनिबार अरुण नदी पुग्नुभएको थियो । शनिबार साँझसम्म पनि जिमीको शव फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेता अभिवृद्धि आवश्यक’

काठमाडौँ, ८ मङ्सिर : नेपालका लागि जापानका राजदूत किकुता युताकाले विपद् उत्थान पूर्वाधार निर्माण गरेर विपद्बाट हुनसक्ने जोखिम एवं क्षति न्यूनीकरण गर्न सकिने बताउनुभएको छ ।

जापानिज युनिर्भसिटीज् एलुम्नाई एसोसिएसन नेपाल (जुआन)द्वारा आज आयोजित ‘जलवायु परिवर्तन र प्राकृतिक प्रकोपको सम्बोधन : जापान र नेपाल भोगाइ’ विषयक गोष्ठीमा उहाँले विपद्बाट हुनसक्ने जोखिम एवं क्षति कम गर्नका लागि जनचेतना अभिवृद्धि, पूर्व तयारी, विपद् उत्थान पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

गत मनसुनमा काठमाडौँ उपत्यकालगायत देशभरका विभिन्न ठाँउमा बाढी र पहिराले धेरै सडक अवरुद्ध हुँदा निर्माणाधीन नागढुङ्गा सुरुङमार्ग आकस्मिक रुटका रुपमा प्रयोग गरिएको स्मरण गर्दै राजदूत युताकाले विपद् उत्थान पूर्वाधार निर्माणबाट प्राकृतिक प्रकोपको समयमा राहत र उद्धारमा समेत सहयोग पुग्ने बताउनुभयो ।

“जापान र नेपाल दुवै भूकम्पीय र हिमाली देश हुन् । दुवै देशले हरेक वर्ष जसो समान किसिमको प्राकृतिक प्रकोपको सामना गर्नुपरेको छ । यद्यपि, पछिल्ला वर्षमा जलवायु परिवर्तनका कारण प्राकृतिक प्रकोपको प्रभाव भयावह बन्दै गएको छ”, राजदूत युताकाले भन्नुभयो, “विपद् प्रतिरोध पूर्वाधारको निर्माणसँगै पूर्वतयारी र जनचेतनाले यसबाट हुने क्षति कम गर्न सकिन्छ ।”

जुआनका अध्यक्ष डा सुनिल बाबु श्रेष्ठले विपद्को पूर्वतयारी, प्रारम्भिक चेतावनी प्रणाली र प्रकोप सामना गर्ने क्षमता अभिवृद्धिका लागि अपनाइने अभ्यासका विषयमा गोष्ठी आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले जलवायु परिवर्तन र प्राकृतिक प्रकोपको जोखिमका विषयमा दीर्घकालीन समाधान खोज्न यस गोष्ठीले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

इराकमा भएको हवाई आक्रमणमा पाँच जना आइएस लडाकुको मृत्यु

इराकको उत्तरी प्रान्त किर्कुकमा गरिएको हवाई आक्रमणमा इस्लामिक स्टेट (आइएस) का पाँच जना लडाकुको मृत्यु भएको इराकी सेनाले शनिबार जनाएको छ ।

गुप्तचर रिपोर्टको आधारमा, इराकी सेनाले शुक्रबार प्रान्तीय राजधानी किर्कुकको पश्चिममा रहेको दुर्गम क्षेत्रमा आइएस लडाँकु लुकेको ठाउँमा हवाई आक्रमण गरेको इराकी संयुक्त अपरेसन कमान्डसँग सम्बद्ध मिडिया आउटलेट सुरक्षा मिडिया सेलले जनाएको छ ।

इराकी सेना र गुप्तचरको संयुक्त बलले शनिबार बम विस्फोट भएको स्थानमा पाँचजना “आतङ्ककारी“ को शव फेला पारेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा चार राइफल, दुई विस्फोटक बेल्ट, छ वटा ह्यान्ड ग्रेनेड, गोलाबारुदलगाएत सञ्चार उपकरणहरू पनि फेला पारेको उल्लेख गरेको छ ।

सन् २०१७ आइएसको पराजयपछि इराकको सुरक्षा स्थितिमा केहि सुधार आएको थियो यद्यपि, अझै पनि सहरी तथा दुर्गम क्षेत्रहरूमा लुकेका आइएसका अवशेषहरूले सुरक्षा बल र नागरिकहरू विरुद्ध बारम्बार आक्रमण गर्दै आइरहेका छन् ।

काठमाडौँमा आज तीन शव भेटिए

काठमाडौँ, ८ मङ्सिरः काठमाडौँका विभिन्न क्षेत्रमा आजमात्रै तीन जना मृत भेटिएका छन् ।

काठमाडौँको गोकर्णेश्वर नगरपालिका, टोखा र दक्षिणकालीमा शव भेटिएको काठमाडौँका प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभएको छ । उहाँका अनुसार गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित निमा तामाङको घरको आँगनमा सोलुखुम्बु घर भएका ५२ वर्षीय नरबहादुर राई, टोखा नगरपालिका–१० खरिबोटस्थित सत्कार खाजा पसलका सञ्चालक सुनसरी धरान उपमहानगरपालिका घर भएका ५५ वर्षीय अर्जुनकुमार राई आफ्नै खाजा पसल अगाडि मृत फेला परेका छन् ।

यसैगरी दक्षिणकाली नगरपालिका–६ दक्षिणकाली साँस्कृतिक क्षेत्र सुधार समितिको जङ्गलको पानी ट्याङ्की नजिक खोल्सामा आज बिहान एक पुरुष मृत भेटिएका प्रहरीले जनाएको छ । अन्दाजी ६० वर्षीय ती पुरूषको पहिचान खुलेको छैन । तीनै वटा घटनाबारे अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द

काठमाडौँ, ८ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपाली विशेषताको समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम नलिने दृढता व्यक्त गर्नुभएको छ ।

नेत्रविक्रम चन्दको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीको ११औँ स्थापना दिवसका अवसरमा भृकुटीमण्डपमा आज आयोजित सभामा उहाँले ८० को दशकलाई राष्ट्रिय स्वाधिनता, समाजवाद निर्माणलाई केन्द्रित गरी आफ्ना कार्यक्रम र राजनीतिक गतिविधि अघि बढाउने धारणा राख्नुभयो ।

विगतमा नेकपा (माओवादी) मा रही नेपाली जनताको परिवर्तनको चाहना र न्यायका लागि गरेको योगदान इतिहास साक्षी रहेको बताउँदै महासचिव चन्दले देश र नेपाली जनताको सुख तथा समृद्धिका सधैँ काम गरिरहने विचार प्रकट गर्नुभयो ।

पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माले विगतमा क्रान्तिको अगुवाई गरेका कतिपय कम्युनिष्ट पार्टीमा उतार–चढाव तथा विचलन आएपछि जनताको क्रान्तिको नेतृत्व आफ्नो पार्टीले गर्दैआएको बताउनुभयो ।

केन्द्रिय सदस्य माइला लामाले मुलुकको अस्थिर राजनीति र वेरोजगारलगायतकारण युवापुस्ता अध्ययन र रोजगारीका लागि विदेशिन बाध्य हुँदा गाँउघर खाली हुन पुगेको घटना सुनाउनुभयो ।

तत्कालीन नेकपा (माओवादी)बाट अलग भइ विसं २०७१ मा एउटा धारले महासचिव चन्दको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी गठन गरेको थियो । सभाअघि स्थापना दिवसका अवसरमा आयोजित झाँकिसहितको र्‍यालीले नगर परिक्रमा गरेको थियो भने सभामा महासचिव चन्दले पार्टीको झण्डोलन गर्नुभयो ।

कन्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते

दोधारा चादनी (कन्चनपुर), ८ मङ्सिरः पूर्वपश्चिम राजमार्गअन्तर्गत कन्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुरमा यात्रुबाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् ।

धनगढीबाट महेन्द्रनगर आउँदै गरेको ना ४ ख ७७५५ नं को बस दुर्घटना हुँदा बसमा सवार ३१ जना घाइते भएका छन् र दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक उमेश जोशीले जानकारी दिनुभयो ।

घाइतेहरूको अत्तरिया र महेन्द्रनगरस्थित महाकाली अस्पतालमा उपचार भइरहेको र घटनाबारे अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

वरिष्ठ अभिनेता कृष्ण मल्ल नेपाल फिल्म सोसाइटीको अध्यक्षमा निर्विरोध निर्वाचित

काठमाडौं । वरिष्ठ अभिनेता कृष्ण मल्ल नेपाल फिल्म सोसाइटीको केन्द्रीय अध्यक्षमा पुनः निर्बिरोध निर्वाचित हुनुभएको छ। नेपाल फिल्म सोसाइटीको १२ औं साधारण सभाबाट बिशिष्ठ अभिनेता मल्ल अध्यक्ष पदमा चयन हुनुभएको हो।

काभ्रेपलान्चोकको थुम्की रिसोर्टमा भएको साधारण सभा धुलिखेल नगरपालिकाको नगर प्रमुख अशोक ब्याञ्जु श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने बिशिष्ठ अतिथिहरुमा बरिष्ठ अभिनेत्री बसुन्धरा भुसाल, बरिष्ठ लोक गायक प्रेमराजा महत, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, निर्देशक समाजका अध्यक्ष जनकदिप पराजुली, लक्ष्मण न्यौपाने र अभिनेत्री करिश्मा मानन्धर रहनुभएको थियो।

अध्यक्षमा निवार्चित भएपछि अध्यक्ष मल्लले नेपाली कलाकारिताको विकासमा आफू कटिबद्ध भइ लागिपर्ने र नेपाली चलचित्रलाइ अन्तराष्ट्रिय स्तरमा पुर्याउन अहोरात्र खट्ने बताउनु भयो ।

सोसाइटीको प्रथम उपाध्यक्षमा निर्माता मोहनकृष्ण श्रेष्ठ द्वितीय उपाध्यक्षमा नारायण प्रधान र तृतीय उपाध्यक्षमा राकेश खड्का निर्वाचित हुनुभएको छ । त्यसैगरी महासचिवमा राजेन्द्रकुमार बिसुराल, सचिवमा टङ्कनाथ पौडेल र कोषाध्यक्षमा शङ्करलाल श्रेष्ठ, सह कोषाध्यक्षमा दुर्गा बिशुराल र सोसाइटीको सदस्यहरुमा क्रमशः सुनिल कटुवाल, मदुकुमार श्रेष्ठ, गोपालकाजि कायस्थ, शिवहरि बैरागी, शर्मिला मल्ल, आरपी पन्त र सुभाष खड्का सर्वसम्मत चयन हुनु भएकाछन् । नेपाल फिल्म सोसाइटीको शाखा अमेरिका र बेलायतमा समेत रहेको छ ।

हिमालय एयरलाइन्सले उच्चतम श्रेणीको भाडादरमा टिकट बिक्री नगर्ने

काठमाडौँ – वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले उच्चतम श्रेणीको भाडादरमा टिकट बिक्री नगर्ने जनाएको छ ।केही समययता अत्यधिक भाडादर लिइएको यात्रुहरूको गुनासो आएपछि एयरलाइन्सले आज प्रेस विज्ञप्ति जारी गर्दै मङ्सिर ६ गतेदेखि उच्चतम श्रेणीको भाडादरमा टिकट बिक्री नगर्ने निर्णयबारे जानकारी दिएको छ ।

“‘वाइ’ क्लास भाडा नर्मल इकोनमिक्लासको उच्चतम श्रेणीको भाडादर हो । यात्रुहरूलाई सहज बनाउन २१ नोभेम्बरदेखि सो भाडादरमा टिकट बिक्री नगर्ने निर्णय गरिएको छ”, विज्ञप्तिमा भनिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक १० घण्टा बन्द भएको छ । सोही जनगुनासोप्रति आफ्नो ध्यानार्कषण भएको एयरलाइन्सले बताएको हो । इस एयरलाइन्सले रहेर भाडादर कायम गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनमा सबै अन्तर्राष्ट्रिय एअरलाइन्स्को सहमतिमा कात्तिक २५ गतेदेखि अर्को सूचना जारी नहुन्जेलसम्म सबै ‘ग्रुप टीबीए’ बुकिङ निलम्वन गरिसकेको छ ।

रूससँगको दुर्लभ सम्झौतापछि कुस्र्कका दर्जनौँ बासिन्दा युक्रेनबाट फिर्ताः मस्को

मस्को र किएभबीच दुर्लभ र ‘कठिन’ वार्तापछि रूसको सीमावर्ती क्षेत्र कुस्र्कका दर्जनौं बासिन्दालाई युक्रेनबाट रूस फर्काइएको मस्कोले शुक्रबार जनाएको छ ।

किएभले अगस्टमा कुस्र्क क्षेत्रमा ठूलो हवाई आक्रमण सुरु गरेर हजारौं सर्वसाधारणको बसोबास रहेको रूसी भूभाग कब्जा गरेको थियो ।

त्यहाँका बासिन्दालाई किन युक्रेन पुर्‍याइयो भन्ने स्पष्ट भएको छैन र किएभको तर्फबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन ।

“आज कुस्र्क क्षेत्रका ४६ जना बासिन्दा युक्रेनी पक्षसँग वार्ताको प्रक्रियाको परिणामस्वरुप युक्रेनबाट रुस फर्केका छन्,” रुसी मानवअधिकारकर्मी तातियाना मोस्ककोभाले भन्नुभयोे ।

स्थानीय गभर्नर एलेक्सी स्मिरनोभका अनुसार ती सबै बासिन्दा युक्रेनले आफ्नो भूमि फिर्ता गर्न रूसको कुस्र्क क्षेत्रमा आक्रमण सुरु गरेको केही समयपछि नै कब्जा गरेको सुदझाको जिल्लाका सीमावर्ती सहर सुडझान्स्कीका हुन् ।

टेलिग्राममा उहाँले भन्नुभएको छ, “हाम्रा देशवासीलाई स्वदेश फर्काउनका लागि भएको कठिन र लामो वार्ताले परिणाम ल्याएको छ ।”

सम्झौता अनुसार १२ जना बालबालिकालाई समेत बेलारुस हुँदै स्वदेश फर्काइएको र सबैलाई आवश्यक सहयोग गरिएको उहाँले बताउनुभयो ।

युक्रेन द्वन्द्वको तनावपूर्ण क्षणमा किएभले रूसतर्फ बेलायत र अमेरिकाले आपूर्ति गरेको लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेको छ भने मस्कोले आफ्नो छिमेकी मुलुकमाथि हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको छ ।

नागरिकहरूको सीमित फिर्ती, साथै कब्जा गरिएका सैनिकहरूको आदान–प्रदान र मारिएका लडाकुहरूको शवहरू दुई पक्षहरू बीच सहयोगको एक मात्र क्षेत्र बनेको छ, जुन मस्कोले फेब्रुअरी २०२२ मा आक्रमण सुरु गरेदेखि ‘आफ्नो पूर्ण क्षमता’ प्रयोग गरी लडिरहेको छ।

कथाकार मैनालीको ‘परालको आगो’मा अभिनेत्री सुहाना थापा अनुबन्धित

काठमाडौं । कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’मा आधारित रहेर निर्माण हुने फिल्म ‘परालको आगो’मा अभिनेत्री सुहाना थापा अनुबन्धित भएकी छन् । फिल्म निर्माण कम्पनी हरिओम सिने मेकर्सका तर्फबाट निर्माता सुशील पोखरेलले सुहानालाई शुक्रबार फिल्ममा अनुबन्धित गरेकी हुन् । मैनाली कथा पुरस्कार ट्रस्टले केही समयअघि हरिओम सिने मेकर्स निर्माता कम्पनीलाई फिल्म निर्माणको मञ्जुरी दिएको छ । ‘परालको आगो’ मैनालीको कथा संग्रह ‘नासो’मा संग्रहित छ ।

फिल्ममा अनुबन्धित भएपछि सुहानाले खुशी व्यक्त गरेकी छन् । ‘एउटा अमर कृतिमा काम गर्न पाउनु मेरो लागि सौभाग्य हो । त्यहीकारण मैले घरबाहिरको फिल्म पहिलोपटक साइन गरें’, सुहानाले भनिन् ।

उनले दर्जनौं मल्टिस्टारलाई अभिनय गराएर त्यही मात्रामा सुपरहिट फिल्म दिएको ठूलो ब्यानर हरिओम सिने मेकर्स र ‘बुलाकी’ जस्तो दर्जनौं अवार्ड विजेता निर्देशक लक्ष्मण सुनारसँग काम गर्न पाउनु अर्को खुशीको कुरा रहेको बताइन् । ‘सुशील अंकलसँग सहकार्य गर्न पाउनु मेरो लागि अझ खुशीको कुरा हो’, उनले भनिन् । निर्माता पोखेलका अनुसार फिल्मको प्रदर्शन २०८२ को दशैंमा हुनेछ । यो नाममा ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले फिल्म निर्माण गरेका थिए ।

निर्माता पोखरेलले यसपटक लोकेसन, प्रस्तुतीकरण र पटकथालाई फरक किसिमले फिल्ममा प्रस्तुत गर्न लागेको बताए । निर्देशक लक्ष्मण सुनारको निर्देशन रहने फिल्म फागुनदेखि छायांकनमा जाँदैछ । कथा ‘परालको आगो’ मा दुई पात्र चामे र गौँथलीको झैँझगडालाई प्रस्तुत गरिएको छ ।निर्माता पोखरेलले यसअघि फिल्महरु ‘मैदान’, ‘जीवनदाता’, ‘निगरानी’, ‘जय शिव शंकर’, ‘लभ सभ’, ‘राधे’ र ‘यात्रा’ निर्माण गरिसकेका छन् ।

नेपालगञ्ज उपमहानगरद्वारा १० प्रतिशतलाई निःशुल्क सेवा दिन निर्देशन

जानकी (बाँके – नेपालगञ्ज उपमहानगरपालिकाले सबै अस्पताल तथा निजी स्वास्थ्य संस्थालाई कुल सेवाग्राही तथा शय्याको कम्तीमा १० प्रतिशत तोकिएका सेवाग्राहीलाई अनिवार्य निःशुल्क सेवा दिन निर्देशन दिएको छ ।

उपमहानगर कार्यालयले उपमहानगरभित्रका सबै अस्पताल तथा निजी स्वास्थ्य संस्थालाई पत्र काट्दै गरिब, विपन्न, असहाय, अपाङ्ग, सीमान्तकृतलगायत लक्षित समूहका १० प्रतिशत सेवाग्राहीलाई अनिवार्य निःशुल्क सेवा दिने व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

नगरप्रमुख प्रशान्त विष्टद्वारा जारी गरिएको पत्रमा उपमहानगरपालिकाको नगर स्वास्थ्य सेवा ऐन, २०७९ को परिच्छेद ७ को दफा २३ अनुसार स्वास्थ्य संस्था तथा अस्पतालहरुले कुल सेवाग्राही तथा शय्याको कम्तीमा १० प्रतिशत गरिब, विपन्न, असहाय, अपाङ्ग, सीमान्तकृतलगायत सेवाग्राहीलाई अनिवार्य निःशुल्क सेवा दिने व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिइएको उपमहानगरका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले जानकारी दिनुभयो ।

पटकपटक पत्राचार गर्दासमेत सेवाग्राहीबाट गुनासो आएको भन्दै उपमहानगरले अब पनि उक्त निर्देशनलाई अटेरी गर्दै कार्यान्वयन नगरेको पाइएमा कारबाही हुने चेतावनी दिएको छ ।

मिश्रित निर्वाचन प्रणाली संशोधन गर्नुपर्ने डा महतको भनाइ

लेखनाथ (कास्की) – नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले मिश्रित निर्वाचन प्रणालीलाई संशोधन गर्न आवश्यक भएको बताउनुभएको छ । नेपाली काङ्ग्रेस बिपी स्मृति प्रतिष्ठान गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित डा महतद्वारा लिखित ‘नेपाली कांग्रेस र राष्ट्रनिर्माण’ नामक पुस्तकको परिचर्चा कार्यक्रममा पार्टी प्रवक्तासमेत रहनुभएका डा महतले समावेशी सहितको प्रत्यक्ष निर्वाचन आवश्यक रहेकाले मिश्रित निर्वाचन प्रणाली संशोधन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

यो पुस्तक बिपी कोइराला स्कूल अफ पब्लिक पोलिसीद्वारा सन् २०२१ मा पहिलो पटक प्रकाशन भएको थियो । डा महतले बिपीको आर्थिक नीतिको चिन्तनसँग वर्तमान आर्थिक नीतिलाई जोड्दै कांग्रेस अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । तत्कालीन समयमा बिपीले समाजवादी अर्थतन्त्रलाई अगाडि बढाउँदै विपन्न वर्गको जीवनस्थल उकास्ने काममा सक्रिय रहेको जानकारी दिँदै उहाँले त्यसबेला कृषिमा आधारित अर्थतन्त्र थियो भने अहिले उद्योगमा भएको उल्लेख गर्नुभयो ।

विसं २०१२ मा बिपीले प्रजातान्त्रिक समाजवादलाई अँगाल्दै आर्थिक नीतिलाई अगाडि सार्नुभएकाले कांग्रेसले बिपीको बाटोलाई छाड्न नहुने नेता डा महतले धारणा राख्नुभयो । “युवालाई आर्थिक उपार्जनसँग जोडेर अगाडि बढ्नु वर्तमान समयको आवश्यकता हो”, उहाँले भन्नुभयो, “प्रजातान्त्रिक समाजवाद बिना आर्थिक समृद्धिको कल्पना गर्न सकिँदैन ।”

पार्टीको आन्तरिक कारणबाट निर्वाचनमा पराजय हुन नदिन पार्टीका नेता तथा कार्यकर्ता एकजुट भएर जनताको सेवामा जुट्नुपर्नेमा नेता महतको जोड छ । विसं २०८४ को निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमतमा पु¥याउन पार्टीका नेता तथा कार्यकर्ता सकारात्मक ऊर्जाका साथ जनतामाझ जानुपर्ने उहाँले सुझाव दिनुभयो ।

कांग्रेसले प्रजातन्त्रमा विश्वास राख्ने भएकाले पार्टीप्रति नेपाली आमजनताको विश्वास कायम रहेको बताउँदै उहाँले जनता केन्द्रित भएर विकास, निर्माण सबै लाग्नुको विकल्प नभएको बताउनुभयो ।

नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले कांग्रेसले आफूलाई चिन्न नसक्दा पार्टी कमजोर हुँदै गएको बताउनुभयो । कांग्रेसले आफ्नो पहिचान बिर्सन नहुने भन्दै उहाँले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै भएकाले कांग्रेस जनताको मालिक नभई सेवक भएर प्रस्तुत हुन उहाँले आग्रह गर्नुभयो ।

डा महतद्वारा लिखित उक्त पुस्तकका प्रमुख परिचर्चाकार प्राडा यादव शर्मा गौडेलले आर्थिक समानताले समाजको उत्पादन सम्भावनालाई उजागर गर्ने हँुदा आर्थिक वृद्धिको प्रमुख सर्तका रुपमा लिन सकिने बताउनुभयो । पुस्तकमा विसं २०१५ पछि कांग्रेसको सरकार बनेपछि राणाहरुको सम्पत्ति सरलीकरण गर्नु, वन नीतिमा सुधार, वार्षिक बजेटमा विकासतर्फ ४७.६ प्रतिशत गरी वृद्धि, कृषिमा आत्मनिर्भरता, साना उद्योगहरुको विस्तार, भूमि सुधार, शिक्षा तथा स्वास्थ्यमा सुधार, यातायात, सञ्चार र पूर्वाधार विस्तारमा विकास भएको उल्लेख भएको जनाउँदै उहाँले त्यतिबेला पनि आर्थिक नीतिलाई सही आकार दिएको पुस्तकमा उल्लेख भएको बताउनुभयो ।

उक्त कार्यक्रमको अध्यक्षता नेपाली कांग्रेस बिपी स्मृति प्रतिष्ठान गण्डकीका अध्यक्ष माधवप्रसाद वास्तोलाले गर्नुभएको थियो ।

सन् २०२४ मा २८१ सहायताकर्मीको मृत्यु भएको राष्ट्रसङ्घद्वारा पुष्टि

सन् २०२४ लाई मानवीय सहायताका लागि सबैभन्दा घातक वर्ष घोषणा गरिएको संयुक्त राष्ट्रसङ्घका सहायता प्रमुखले शुक्रबार बताउनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घका मानवीय मामिला तथा आपतकालीन राहत संयोजक टम फ्लेचरले भन्नुभयो,“मानवीय सहायताकर्मीहरू अकल्पनीय दरमा मारिएका छन्, उनीहरूको साहस र मानवतालाई गोली र बमको निशाना बनाइएको छ ।”

सन् २०२३ मा ३३ देशमा २८० जना मानवीय सहायताकर्मीको मृत्यु भएको थियो तर सन् २०२४ सकिन करिब एक महिना बाँकी रहँदा २८१ मानवीय सहायताकर्मीको मृत्यु भइसकेको छ ।

फ्लेचरले भन्नुभयो,“यो हिंसा सहायता अभियानका लागि अकल्पनीय र विनाशकारी छ ।”

“द्वन्द्वरत राष्ट्र र पक्षहरूले मानवताको रक्षा गर्नुपर्छ, अन्तर्राष्ट्रिय कानूनको पालना गर्नुपर्छ, यस्ता हिंसात्मक घटनाका लागि जिम्मेवारहरूलाई कारबाही गर्नुपर्छ र दण्डहीनताको युगको लागि आह्वान गर्नुपर्दछ ।”

गाजामा इजरायलको विनाशकारी युद्धका कारण सन् २०२३ को अक्टोबर ७ मा हमासले गरेको आक्रमणपछि प्यालेस्टिनी शरणार्थीलाई सहयोग गर्ने संयुक्त राष्ट्रसङ्घीय निकाय युएनआरडब्लुएका तीन जना सहायताकर्मीको मृत्यु भएको उहाँको कार्यालयले जनाएको छ ।

यसैबीच, ओसीएचएका प्रवक्ता जेन्स लार्र्कले जेनेभामा पत्रकारसँग कुरा गर्दै युएनआरडब्लुएका २४३ जना कर्मचारीको मृत्यु भएको बताउनुभयो ।

गाजाबाहेक अफगानिस्तान, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, सुडान र युक्रेनलगायत विभिन्न देशमा सहायताकर्मीहरू अपहरण, चोटपटक, उत्पीडन र स्वेच्छाचारी रूपले हिरासतमा राखिएको एजेन्सीले जनाएको छ ।

फ्लेचरको कार्यालयले एक विज्ञप्तिमार्फत् दिएको जानकारीअनुसार मृत्यु हुनेमा अधिकांश गैरसरकारी संस्था, संयुक्त राष्ट्रसङ्घका निकाय र रेडक्रसको रेड क्रिसेन्ट अभियानमा कार्यरत स्थानीय कर्मचारी रहेका छन् ।

“मानवीय सहायताकर्मीहरूविरुद्ध हुने हिंसा द्वन्द्वग्रस्त क्षेत्रमा सर्वसाधारणलाई हानि पु¥याउने व्यापक प्रवृत्तिको एक हिस्सा हो,” विज्ञप्तिमा भनिएको छ।

फ्लेचरले भन्नुभयो, “सन् २०२३ मा १४ वटा देशका सशस्त्र द्वन्द्वमा ३३ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको थियो । यो सन् २०२२ को तुलनामा ७२ प्रतिशतले बढी हो ।”

ओसीएचएका प्रवक्ता लार्र्कले मानवतावीय सहयोगका लागि खटिने व्यक्तिको हत्याको उच्च सङ्ख्या हुनुले आफुलाई बिचलित बनाएको बताउनुभयो ।

संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले गत मे महिनामा सहायताकर्मीहरूविरुद्ध बढ्दो हिंसा र धम्कीको प्रतिक्रियास्वरूप एक प्रस्ताव पारित गरेको थियो।

अर्को हप्ता हुने परिषद्को बैठकमा प्रस्तुत हुने संयुक्त राष्ट्रसङ्घका प्रमुखसँग यस्ता घटनाको नियन्त्रण र प्रतिकार्यका उपाय तथा मानवीय कर्मचारीको सुरक्षा र दुव्र्यवहारका लागि जवाफदेहीता बढाउने उपायका बारेमा सुझाव माग गरिएको छ ।

लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु

काठमाडौँ, ८ मङ्सिरः मनाङ मर्स्याङ्दी जलविद्युत् कम्पनीद्वारा प्रवर्दित एक सय ३५ मेगावाट क्षमताको अर्धजलाशययुक्त मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनसँगै निर्माण प्रारम्भ भएको छ ।

आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन भएसँगै निर्माण प्रारम्भ भएको आयोजनाको लगानीकर्तामध्येको एक कम्पनी बुटवल पावर कम्पनी लिमिटेडले प्रेस विज्ञप्ति निकालेर जनाएको छ । गत महिना चीनको एक्जीम बैंकसँग कर्जा सम्झौता भएको थियो । सम्झौताअनुसार एक्जीम बैंकले एक अर्ब २४ करोड २५ लाख चिनियाँ युआनअर्थात् १७ करोड ५२ लाख ५० हजार अमेरिकी डलर ऋण लगानी गर्नेछ । बाँकी ऋण रकम अन्य स्रोतबाट जुटाइएको छ । आयोजनाको अनुमानित लागत ३२ करोड ३० लाख अमेरिकी डलर रहेको छ ।

आयोजनामा बुटवल पावर कम्पनीसँगै चिनियाँ कम्पनीहरू एसीआईजी इन्टरनेशनल लिमिटेड, सिङचेङ इन्टरनेशनल इन्भेष्टमेन्ट कम्पनी लिमिटेड र क्यूवाइइसी इन्टरनेशनल कम्पनी लिमिटेड र सो कम्पनीहरूको संयुक्त लगानीको एसिआइजी इन्टरनेसनल नेपाल हाइड्रो जोइन्ट डेभलपमेन्ट इन्भेष्टमेन्ट कम्पनीको लगानी छ ।

आयोजनाको निर्माण चीनको सिनोहाइड्रो ब्युरो सेभेन कम्पनी लिमिटेडले र निर्माण सुपरीवेक्षण सोही नर्थवेष्ट इन्जिनियरिङ कम्पनीले गरिरहेको विज्ञप्तिमा जनाइएको छ । आयोजना निर्धारित कार्ययोजनाअनुरूप ४२ महीनाभित्र सम्पन्न गर्ने लक्ष्य छ ।

राजापानी सिद्धेश्वर महादेव ओझेलमा

दमौली (तनहुँ), ८ मङ्सिरः धार्मिक तथा पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको व्यास नगरपालिका–९ गजौडेस्थित राजापानी सिद्धेश्वर महादेव मन्दिर ओझेलमा परेको छ । सदरमुकाम दमौलीबाट कलेस्ती हुँदै १६ किलोमिटर दूरीमा अवस्थित उक्त ठाउँ प्रचारप्रसार अभावमा ओझेलमा परेको हो । यहाँ हरिबोधनी एकादशी र शिवरात्रिको बेला विशेष मेला लाग्ने गर्दछ ।

स्थानीय बसुन्धरा घर्तीले यस ठाउँलाई धार्मिक तथा पर्यटकीयस्थल बनाउन सरोकार भएका निकायसहित स्थानीयवासीले पहल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “धेरै वर्ष पहिला यो मन्दिर पत्ता लागेको हो । यसको विशेष महत्व छ । यसको संरक्षण र प्रवर्द्धन गर्न सके यहाँ धार्मिक पर्यटक भित्र्याउन सकिन्छ । यसको प्रचारप्रसार गर्दै यहाँ पूर्वाधार निर्माणतर्फ स्थानीय तहले पनि चासो दिनुपर्छ ।”

सदरमुकाम नजिकै रहेर पनि यस ठाउँको सोचे अनुरुपको विकास हुन नसकेको राजापानी सिद्धेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका पूर्वकोषाध्यक्ष बलबहादुर भुजेलले उल्लेख गर्नुभयो ।

मन्दिरमा भाकल (कामना) गर्दा आफ्ना मनोकाङ्क्षा पूरा हुने विश्वास रहँदै आएको समितिका अध्यक्ष होमबहादुर गोदारले बताउनुभयो । उहाँले भन्नुभयो, “मन्दिरको प्रचारप्रसारका लागि हामी क्रियाशील छौँ । यसको प्रवर्द्धनका लागि स्थानीय तहलाई पनि अनुरोध गरेका छाँै ।” उहाँका अनुसार दुःखकष्टबाट मुक्ति, लाभको कुनै कामना, मनको इच्छा पूरा गरिदेऊ, पूरा भएमा फूलको डोली लिएर दर्शन गर्न आउँछु जस्ता विभिन्न भाकलहरु गर्ने गरिन्छ ।

कुनै समय गोपाल घर्ती भन्ने व्यक्तिले राति सपनामा हालको मन्दिर भएको ठाउँमा शिलाबाट दूध आएको देखि भोलिपल्ट गएर उक्त शिला देउराली भन्ने ठाउँमा लैजादै गर्दा उनी बिरामी भई सो शिला त्यही ठाउँमा छाडेर गएका पछि हेर्दा शिला पुन पहिलेकै उठाएको ठाउँमा भेटिएको भन्ने किंवदन्ती रहेको स्थानीय ज्येष्ठ नागरिक बताउँछन् ।

अबुधाबीमा निर्यात प्रवर्द्धनबारे छलफल

काठमाडौँ, ८ मङ्सिरः आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनलाई विशेष जोड दिने सरकारको नीतिअनुसार गत बिहीबार अबुधाबीस्थित नेपाली राजदूतावासमा निर्यात प्रवद्र्धनसम्बन्धी छलफल कार्यक्रम आयोजना गरियो ।

संयुक्त अरब इमिरेट्स९युएई०का लागि नेपालका राजदूत तेजबहादुर क्षेत्रीले देशको निर्यात व्यापारलाई प्रवरद्धधन गर्दै नेपाल र युएईबीचको व्यापारिक सम्बन्धलाई अभिवृद्धिका निम्ति राजदूतावास क्रियाशील रहेको बताउनुभयो । आर्थिक कूटनीतिका माध्यमबाट समृद्ध नेपाल निर्माणको अभियानमा सक्दो योगदान गर्न आफू प्रतिबद्ध रहेको उहाँले दोहोर्याउनुभयो ।

त्यस अवसरमा नेपालका उद्योगी–व्यवसायी सम्मिलित प्रतिनिधिमण्डल र गैरआवासीय नेपाली सङ्घ, युएई,नेपाल विजनेस काउन्सिल युएई तथा यूएईमा रहेका उद्योगी–व्यवसायीबीच नेपाल र युएईबीचको नेपालको व्यापार घाटालाई कम गर्दै युएईका बजारमा नेपाली उत्पादनलाई सहज रूपमा स्थापित गराउने विषयमा गहन छलफल भएको उक्त दूतावासले जनाएको छ ।

नेपालका सामग्री उक्त देशमा निर्वाध पुर्याउन विद्यमान चुनौती र भविष्यमा दुई देशबीच अपनाउनु पर्ने कानुनी तथा नीतिगत उपायका बारेमा सहभागीले सुझाव दिएका थिए ।

यसैबीच, मङ्सिर २ देखि ५ गतेसम्म दुबईमा आयोजना भएको ‘मिडल इष्ट अर्ग्यानिक एण्ड नेचुरल प्रडक्ट एक्स्पो’मा नेपालका १२ कक्षमार्फत नेपाली उत्पादन प्रवर्द्धन गरिएको थियो ।

मेलामा नेपाल उद्योग वाणिज्य महासङ्घ तथा नेपाल निर्यात व्यावसायी महासङ्घका प्रतिनिधि सहभागी थिए । विगत २२ वर्षदेखि सञ्चालन हुँदै आएको उक्त मेलामा नेपाल पहिलोपटक सहभागी भएको हो ।

करिब पाँच सय पसल अनुगमन गर्दा २० मात्रै नियमअनुरुप

काठमाडौँ, ८ मङ्सिरः काठमाडौँ महानगरपालिकाले चार सय ९७ पसलको अनुगमन गर्दा २० वटा मात्रै नियमअनुरुप सञ्चालन भएका पाइएको छ । साथै दुई सय बढी व्यवसाय दर्ता नगरी सञ्चालन भएको पाइएको हो ।

गत असोज १० गतेदेखि कामपाले सुरु गरेको पर्वलक्षित अनुगमनमा चार सय ९७ पसलमध्ये २० वटा नियमानुसार सञ्चालन भएका पाइएको कामपाले जनाएको छ ।

एक सय ३३ वटामा म्याद सकिएका वस्तु भेटिएका छन् भने तीन सय ११ वटामा मूल्य सूची फेला नपरेको, दुई सय व्यवसाय दर्ता नगराई सञ्चालन भएको पाइएको कामपाको कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार अनुगमन गरिएका पसलमध्ये चार सय ३८ किराना, १८ मिठाई, १९ ड्राई फुड, सात मसला र १५ वटा डेरी पसल रहेका छन् ।

बजारमा बिस्कुट, चकलेट, चाउचाउ, पापड, मसला, केचअप, जामलगायत खाद्य वस्तुमा म्याद सकिएको पाइएको न्यौपानेले बताउनुभयो । रसायन भएका वस्तुसँगै खाद्य वस्तु राखिएको, मूल्यसूची नराखिएको, व्यवसाय दर्ता नगरेको, पसल परिसरको सरसफाइमा ध्यान नदिएको, लेबल नभएका वस्तु बेच्न राखिएको, ढक तराजु प्रमाणीकरण नगरी प्रयोग गरिएकोलगायत समस्या रहेका उहाँले जानकारी दिनुभयो ।

मिठाई पसलहरुमा स्वीकृत भएकै रङ्ग प्रयोग गरिए पनि मात्रा नमिलाइएको, तेललाई बारम्बार प्रयोग गरिएको, मिठाईमा उत्पादन र म्याद सकिने मिति उल्लेख नगरिएको, मिठाई बनाउने ठाउँ, पसल र भाँडाकुँडाको सरसफाइमा नभएको पनि अनुगमनका क्रममा फेला परेका उहाँले उल्लेख गर्नुभयो । यी समस्या समाधानका लागि सम्बन्धितलाई अनुगमन टोलीले स्थलगत रुपमा निर्देशन र सुझाव दिएको छ ।

कामपाले खाद्य स्वच्छता प्रवर्द्धन तथा प्रमाणीकरणका लागि खाद्य स्वच्छताः प्रवर्द्धन शिविर (फुड सेफ्टी, वुट क्याम्प) कार्यक्रमसमेत सञ्चालन गरिरहेको विभागले जनाएको छ ।

खाद्य सेवामा अत्यधिक उपयोग हुने खानेकुरासँग सम्बन्धित क्षेत्रका व्यवसायीलाई खाद्य स्वच्छतासम्बन्धी तालिम प्रदान गरिने कृषि तथा पशुपन्छी विभागका प्रमुख न्यौपानेले बताउनुभयो । पहिलो चरणमा साना तथा मध्यम भोजनालयका तीन सय सञ्चालकलाई तालिम दिइउको उहाँले जानकारी दिनुभयो ।

दोस्रो चरणमा दसैँ लक्षित खानेकुरामध्ये मासुजन्य खाद्य वस्तुका उत्पादक तथा बिक्रेता तीन सय २१ र तिहारमा धेरै खपत हुने मिठाईजन्य खाद्यवस्तुको स्वच्छताका लागि तेस्रो चरणमा एक सय ६२ जनालाई तालिम दिइएको कामपाको कृषि तथा पशुपन्छी विभागले जनाएको छ ।

अन्तर–सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र

झापा, ८ मङ्सिरः सशस्त्र प्रहरी बलले झापाको अन्तर–सीमा क्षेत्रमा हुनसक्ने अपराध र भन्सार राजस्व छलीलगायत गतिविधि नियन्त्रण गर्ने उद्देश्यले सक्रियता बढाएको छ । सीमा सुरक्षाका सशस्त्रले लागि नियमित गस्ती, चेकजाँच र तालिमप्राप्त कुकुरको समेत प्रयोग गर्न थालेको हो ।

मेचीनगरको उत्तरी क्षेत्र बाहुनडाँगीबाट दक्षिणको गौरीगञ्जसम्म भारतसँग जोडिएको एक सय ४४ किलोमिटर सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलका चारवटा सीमा सुरक्षा गुल्म र १७ वटा बोर्डर आउट पोस्ट (बिओपी)हरु तैनाथ रहेका सशस्त्र प्रहरी बल २ नं गण चन्द्रगढीका सूचना अधिकारी मदन रसाइलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सीमा क्षेत्रका बासिन्दासँग सहकार्य गर्दै अपराध नियन्त्रणलाई थप सहज तुल्याउन सशस्त्र प्रहरी बलले झापाको सीमावर्ती २१ वटा वडामा वडास्तरीय सहजीकरण समिति गठन गरेको छ ।

चालु आर्थिक वर्षको चार महिनामा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा गुल्म र बोर्डर आउट पोस्टहरुले रु चार करोड ७८ लाख ४३ हजार पाच सय ५३ मूल्य बराबरको कर बीजक नभएको अवैध सामान बरामद गरेर भन्सारमा दाखिला गरेको सूचना अधिकारी रसाइलीले बताउनुभयो ।

बरामद भएका मालसामानहरुमा लागुऔषध, मदिरा, लत्ताकपडा, सवारी साधन, चौपाया, मोटर पार्टस्, सुर्तीजन्य पदार्थ, हार्डवेयर, मासुजन्य, किराना सामान लगायत रहेका छन् । गत आवमा सशस्त्र प्रहरी बलले झापामा भन्सार छलेर भित्र्याइएको रु ११ करोड १० लाख ८४ हजार मूल्य बराबरको मालसामान बरामद गरेको थियो । उक्त अवधिमा लागुऔषधका एक सय चारजना कारोबारी, ८१ वटा चौपाया, १२ सवारी साधन, सात सय ८९ गोलिया काठ र २४ बोरा पटाका समातिएको थियो ।

उहाँका अनुसार शुक्रबार कचनकबल गाउँपालिका–५ निवासी ४० वर्षीय नजाम खातुनको घरमा भारतबाट भन्सार छलेर ल्याइएको सामान लुकाएर राखिएको सूचना पाएपछि घेराबारी गुल्मबाट खटिएको सशस्त्र प्रहरी बलको टोलीले रु १२ लाख २० हजार मूल्य बराबरको लत्ताकपडा बरामद गरेको छ ।

बलको काँकडभिट्टास्थित सीमा सुरक्षा गुल्मले मेचीनगर–६ मा शुक्रबार रु एक लाख ८० हजार मूल्य बराबरको सुपारी बेवारिसे अवस्थामा फेला पारेको छ । सुपारी नेपालबाट भारत लैजान प्रतिबन्ध भउ पनि तस्करहरुले सीमा सुरक्षाकर्मीको आँखा छलेर भारत लैजाने गरेका छन् ।

सुपारीसँगै रु ५७ हजार मूल्य बराबरको पाँच हजार ८६ वटा विभिन्न फूलका बिरुवा सीमा क्षेत्रबाट बेवारिसे अवस्थामा फेला पारेको थियो । केही दिनअघि भन्सार छलेर भित्र्याइएको ठूलो मात्राको मदिरासमेत सशस्त्र प्रहरी बलले बरामद गरेको थियो ।

पछिल्लो समय लागुऔषधको ओसारपसार बढेसँगै सशस्त्रले निगरानी पनि बढाएको छ । सशस्त्र प्रहरी बलको काँकडभिट्टा गुल्मले यस्ता गतिविधि नियन्त्रणका लागि पूर्वीनाकामा चेकजाँचका लागि जोजो नामक तालिम प्राप्त कुकुरसमेत परिचालन गरिएको सूचना अधिकारी रसाइलीले जानकारी दिनुभयो । काँकडभिट्टा नाकामा परिचालन गरिएको तालिम प्राप्त कुकुरको सहायताले लागुऔषधको ओसारपसार रोक्न सहज भएको उहाँको भनाइ छ ।

चार महिनाको अवधिमा जिल्लामा सशस्त्र प्रहरी बलले लागुपदार्थ ओसारपसारमा संलग्न ५४ जना र त्यस कार्यमा प्रयोग भएका आठवटा सवारी साधन नियन्त्रणमा लिएको जनाएको छ ।

“सिटी सफारी, स्कुटर र मोटरसाइकलमार्फत मेची पुल पार गर्ने शङ्कास्पद व्यक्तिहरुको शारीरिक तलासी र निगरानी गर्न मानवीय जनशक्तिलाई नै सहज हुन्छ”, सूचना अधिकारी रसाइलीले भन्नुभयो, “तर कतिपय व्यक्तिले मलद्वारमा ब्राउन सुगर लुकाएर ल्याउने गरेका छन् । त्यस्तो अवस्थामा तालिमप्राप्त कुकुरको सहयोग प्रभावकारी हुन्छ ।”

गत कात्तिक २९ गते काँकडभिट्टाको मेची पुलमा तालिम प्राप्त कुकुरको सहायताले भारतबाट सिटी सफारी चढेर नेपाल आउँदै गरेका तीनजनाको मलद्वारबाट ब्राउन सुगर बरामद गरिएको थियो । सूचना अधिकारी रसाइलीका अनुसार मलद्वारमा प्लास्टिकको पोको पारी ब्राउन सुगर तस्करी गर्नेहरु मुगु जिल्लाको खत्याड गाउँपालिका–७ का २२ वर्षीय हिराप्रसाद जैसी, मेचीनगर–१० का ३३ वर्षीय नेसरु मिया र दमक–३ का २५ वर्षीय मनिष धिमाल रहेका छन् ।

झापाको काँकडभिट्टा, बाहुनडाँगी, भद्रपुर, कचनकबल, टाघनडुब्बा र गौरीगञ्ज सीमा क्षेत्रबाट तस्करहरुले भन्सार छलेर लागुऔषध, लत्ताकपडा, मदिरा, मलखादलगायत सामान नेपाल भित्र्याउने क्रम बढेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल आपसी सहकार्यका साथ नियन्त्रणमा खटिएका हुन् । सशस्त्र प्रहरी बलले सीमाको सुरक्षा, अन्तर सीमा अपराध नियन्त्रण, मानव तस्करी नियन्त्रण, हातहतियार तस्करी नियन्त्रणलगायत कार्यमा विशेष निगरानी बढाएको रसाइलीले बताउनुभयो ।

तेस्रो मुलुकका नागरिकबाट हुनसक्ने घूसपैठसमेत सशस्त्र प्रहरी बलले नियन्त्रण गर्दै आएको छ । गत कात्तिक २८ गते भारतको पानीटङ्कीबाट नेपालतर्फ विना प्रवेशाज्ञा घुसेका दुईजना बङ्गलादेशी नागरिकलाई सशस्त्र प्रहरी बलको सीमामा तैनाथ टोलीले नियन्त्रणमा लिएर अध्यागमन कार्यालयमा अनुसन्धानका लागि बुझाएको थियो ।

राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेन जलविद्युत् आयोजनाको बिजुली

काठमाडौँ, ८ मङ्सिरः चिलिमेको सहायक कम्पनी साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले निर्माण गरेको साञ्जेन जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा जोडिएको छ । शुक्रबार साँझ उक्त आयोजनाको पहिलो युनिटबाट उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोडिएको हो ।

रसुवाको आमाछोदिङ्मो–५ मा निर्माण भएको सो आयोजनाको क्षमता ४२ दशमलव पाँच मेगावाट रहेको छ । सबै प्राविधिक परीक्षण सम्पन्न भई पहिलो युनिटबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजनाका सब इञ्जिनियर रबिन कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार एक युनिटबाट पाँच मेगावाट बिजुली उत्पादन भएको छ ।

सो आयोजनाको बाँकी रहेको दुई युनिटको पनि आइतबारसम्म परीक्षण गरेर केन्द्रीय प्रणालीमा जोडिने तयारी गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्पणबहादुर सिंहले जानकारी दिनुभयो ।

‘क्यास्केड मोडल’ मा निर्माण गरिएका अर्धजलाशय प्रकृतिको दुई आयोजनामध्ये साञ्जेन (माथिल्लो) जलविद्युत् आयोजना २०८० भदौ मसान्तमा सम्पन्न गरी विसं २०८० असोज २१ गतेदेखि राष्ट्रिय प्रणालीमा बिजुली उपलब्ध गराउँदै आएको थियो ।

कुल ११ केभी क्षमताको आपत्कालीन प्रसारण लाइनमार्फत व्यापारीक रुपमा बिजुली प्रवाह गरिरहेको छ । सो आयोजनाको विद्युत् प्रवाहका लागि कम्पनी आफैँले आठ किलोमिटर ११ केभी डबल सर्किट प्रसारणलाइन तथा १३२÷११ केभी सबस्टेसन निर्माण कार्य सम्पन्न गरेको थियो ।

चिलिमे त्रिशूली ६६ केभी प्रसारण लाइनमार्फत क्षमताको सीमितताका कारण करिब आठ दशमलव पाँच मेगावाट विद्युत् वैकल्पिक रुपमा बिक्री गरी हालसम्म करिब रु ३० करोड आम्दानी गरिसकेको छ ।

साञ्जेन तथा साञ्जेन (माथिल्लो) दुवै आयोजना २०७२ सालको भूकम्प, कोभिड–१९, नाकाबन्दी, राष्ट्रिय प्रसारण लाइन उपलब्ध नहुनुलगायत कारणले निर्धारित समयमा सम्पन्न हुन सकेको थिएन । हालै चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण लाइन सम्पन्न हुने बित्तिकै ती आयोजनाबाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्न सफल भएको कम्पनीले जनाएको छ ।

नेपालमा निर्माणाधीन अर्धजलाशययुक्त आयोजनामध्ये नमूना आयोजना रहेको कम्पनीले जनाएको छ । साञ्जेन माथिल्लो जलविद्युत् आयोजनाको बाँधस्थलमा करिब ४४ हजार घनमिटर क्षमताको पानी जम्मा गरी राष्ट्रिय विद्युत् प्रणालीलाई ७० मिनेट सहज गर्न सकिने ‘पिकिङ पोखरी’ निर्माण गरिएको छ ।

उक्त पोखरीको पानी सञ्चय गरी साँझको समयमा थप बिजुली उत्पादन गरी राष्ट्रिय विद्युत् प्रणालीमा उल्लेखनीय योगदान गर्न सकिने आयोजनाका प्रमुख कार्यकारी अधिकृत सिंहले जानकारी दिनुभयो । उक्त पिकिङ पोखरीका कारण आयोजना मर्मतसम्भार गर्न र ‘इमर्जेन्सी ब्रेकडाउन’मा समेत पावरहाउस सञ्चालन गर्न सकिने उहाँको भनाइ छ ।

नेपालमा भएका क्यासकेड आयोजनामध्ये विशेष प्रविधि जडान गरी साञ्जेन माथिल्लो आयोजना मर्मतसम्भार गर्दा पनि तल्लो आयोजना निरन्तर विद्युत् उत्पादन गर्न सकिने नेपालकै पहिलो आयोजना रहेको कम्पनीका सचिव घनश्याम श्रेष्ठले बताउनुभयो ।

नेपालमा नमूना प्रविधिका रुपमा पहिलोपटक जडान गरिएको उक्त प्रविधि आगामी दिनमा अन्य क्यासकेड आयोजनाले जडान गरी क्यासकेडको तल्लो आयोजना माथिल्लो आयोजनामा रहने निर्भरता कम गर्न सकिने उहाँले बताउनुभयो ।

जर्मनीमा निर्माण भएको एक प्रकारको अत्याधुनिक प्रविधिको उपकरणका कारण कम्पनीलाई आयोजना मर्मतसम्भार समयका कारण हुने क्षति रोकी आर्थिक रुपमा ठूलो राहत दिने सकिने श्रेष्ठले बताउनुभयो । सोही विशेषताका कारण काठमाडाँै विश्वविद्यालयले उक्त आयोजनाको नमूना आफ्नो प्रयोगशालामा समेत सञ्चालन गरेको छ ।

हाल नेपालमा विकास गरिएका क्यास्केड आयोजनामध्ये यो नमूना आयोजना रहेकाले जलविद्युत् विकास, नवीकरणीय ऊर्जा, हाइड्रोलोजी, दिगो विकास लगायतका विषयमा अध्ययनरत विद्यार्थीको प्रयोगात्मक अध्ययन–अनुसन्धानका लागिसमेत उपयोग गर्न सकिने कम्पनी सचिव श्रेष्ठको भनाइ छ ।

साञ्जेन (माथिल्लो) जलविद्युत् आयोजनको सिभिल निर्माण कार्य इसिआई बर्जगुरु, इलेक्ट्रोमेकानिकल निर्माण कार्य विश्वकै ठूलो टर्वाइन निर्माणकर्तामध्ये एक चिनियाँ कम्पनी डोङफोङले गरेको हो भने हाइड्रो मेकानिकल निर्माण स्वदेशी कम्पनी नेपाल हाइड्रोले गरेको हो ।

कम्पनीले निर्माणाधिन ४२ दशमलव पाँच मेगावाट क्षमताको साञ्जेन जलविद्युत् आयोजनाको समेत सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी परीक्षण उत्पादन सुरु गरेको हो । यसबाट हिउँद महिनामा हुने प्रणालीको असन्तुलन केही हदसम्म समाधान गर्न मद्दत पुग्ने विश्वास लिइएको छ ।

आन्तरिक राजस्व कार्यालयमा निःशुल्क करदाता सहायता कक्ष

चितवन, ८ मङ्सिरः आन्तरिक राजस्व कार्यालय भरतपुर परिसरमा निःशुल्क करदाता सहायता कक्ष स्थापना गरिएको छ । उद्योग वाणिज्य सङ्घ चितवनले जिआइजेडको सहयोगमा कक्ष स्थापना गरेको हो ।

कक्षको शुक्रबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । जिआइजेड नेपालका राष्ट्रिय प्रतिनिधि पाउलिना क्याम्पोस मोन्ट्रेरस, चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, आन्तरिक राजस्व कार्यालयका प्रमुख पुण्यविक्रम खड्का र उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।

सो अवसरमा जिआइजेडका प्रतिनिधिहरु, उद्योगी व्यवसायी, लेखासँग सम्बन्धित विभिन्न व्यक्तिको उपस्थिति थियो । सङ्घका अध्यक्ष श्रेष्ठले कक्षमा कम्प्युटर, प्रिन्टर, डिस्प्ले बोर्डलगायत सामग्रीसहित सङ्घले एकजना कर्मचारीको व्यवस्था गरेको छ । ती कर्मचारीमार्फत करदाताहरुलाई दर्ता, नवीकरण, करचुक्ता, कर शिक्षा–परामर्श लगायतका सेवा दिइनेछ ।

कार्यालयका प्रमुख खड्काले यस कार्यालयअन्तर्गत ७४ हजार करदाता रहेको भन्दै सेवाग्राहीको सहजीकरणका लागि कक्ष प्रभावकारी बन्ने बताउनुभयो ।

देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ, ८ मङ्सिरः देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा भारत उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर निम्नचापीय प्रणाली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ ।

विभागका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी एवं हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, बागमती गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने भएकाले विभागले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

काठमाडौँ उपत्यकाको अहिलेको न्यूनतम तापक्रम ९ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । आज यहाँको अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियसका बीच रहने विभागले जनाएको छ ।

केन्द्रीय बैङ्कको अध्ययनः गण्डकीमा कृषि भूमि घट्यो

काठमाडौँ, ८ मङ्सिरः गण्डकी प्रदेशमा कृषि क्षेत्र क्रमशः घट्दै गएको नेपाल राष्ट्र बैङ्कले गरेको एक अध्ययनमा पाइएको छ । केन्द्रीय बैङ्कले शुक्रबार सार्वजनिक गरेको ‘वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०८०÷८१’ मा गण्डकी प्रदेशका ११ जिल्लामा प्रमुख कृषि बालीले ढाकेको क्षेत्रफल अघिल्लो वर्षको तुलनामा करिब सात दशमलव सात प्रतिशतले घटेको उल्लेख छ ।

अध्ययनअनुसार सो प्रदेशमा चार लाख लाख ३७ हजार नौ सय ७२ हेक्टर मात्रै कृषि बालीले ढाकेको क्षेत्र रहेको उल्लेख छ । त्यसमा तरकारीखेतीले ढाकेको क्षेत्रफल भने दुई दशमलव शून्य सात प्रतिशतले वृद्धि भएको छ । अत्याधुनिक खेती प्रणालीका कारण उत्पादनमा केही बढोत्तरी भएको अध्ययनले देखाएको छ ।

त्यस्तै, मसला, फलफूलखेती र खाद्य, नगदे तथा अन्य बालीले ढाकेको क्षेत्रफल क्रमशः शून्य दशमलव ४१ प्रतिशत, आठ दशमलव २३ प्रतिशत र आठ दशमलव ३८ प्रतिशतले कमी आएको छ ।

प्रमुख कृषि बालीको उत्पादनमा भने चार दशमलव ७७ प्रतिशतले वृद्धि भएको उक्त अध्ययनमा उल्लेख छ । खाद्य तथा अन्य बालीको उत्पादनमा चार दशमलव ७१ प्रतिशत, तरकारी उत्पादनमा पाँच दशमलव ४४ प्रतिशत, फलफूल उत्पादनमा तीन दशमलव ८० प्रतिशत र मसला उत्पादनमा चार दशमलव ५२ प्रतिशतले वृद्धि भएको छ ।

समीक्षा वर्षमा पशुजन्य उत्पादनतर्पm दूधको उत्पादन तीन दशमलव ३८ प्रतिशत, अण्डाको उत्पादन १५ दशमलव २९ प्रतिशत र मासुको उत्पादन एक प्रतिशतले ह्रास आएको छभने माछाको उत्पादनमा चार दशमलव ९९ प्रतिशतले वृद्धि भएको छ ।

वनजन्य उत्पादनतर्पm काठको उत्पादनमा २६ दशमलव १९ प्रतिशतले वृद्धि भएको छभने दाउरा उत्पादनमा तीन दशमलव १४ प्रतिशतले कमी आएको छ । सो प्रदेशमा बैङ्क तथा वित्तीय संस्थाहरुले कृषि, वन र माछापालन क्षेत्रमा रु २८ अर्ब ४० करोड कर्जा लगानी गरेका छन् । यो रकम यस प्रदेशमा प्रवाहित कुल कर्जाको आठ दशमलव १४ प्रतिशत रहेको छ ।

त्यस्तै, अध्ययनमा समेटिएका उद्योगको औसत उत्पादन क्षमता उपयोग ३९.२ प्रतिशत रहेको छ । गत आर्थिक वर्षमा यस्तो अनुपात ४२ दशमलव चार प्रतिशत रहेको थियो । सिमेन्ट, औषधि, बिस्कुट, प्रशोधित दूध, तोरीको तेल र चुरोटको उत्पादनमा वृिद्ध भएको छभने इँटा, चकलेट, चाउचाउ, ड्राई सिरप औषधि, वियर, ट्याब्लेट औषधि, तरल औषधि र क्याप्सुल औषधिको उत्पादनमा कमी भएको छ ।

बैङ्क तथा वित्तीय संस्थाहरुले गण्डकी प्रदेशमा प्रवाहित कुल कर्जाको आठ दशमलव ८८ प्रतिशत अर्थात् रु ३१ अर्ब एक करोड कर्जा औद्योगिक क्षेत्रतर्फ प्रवाह गरेका छन् । सो प्रदेशमा पर्यटक आगमनको सङ्ख्या छ दशमलव एक प्रतिशतले वृद्धि भई ५५ हजार एक सय ४९ रहेको छ । त्यस्तै होटलको शय्या सङ्ख्या बिक्री २४ दशमलव तीन प्रतिशतले वृद्धि भई ७३ हजार एक सय २६ रहको छभने होटलहरुको अकुपेन्सी ३० दशमलव ७३ प्रतिशत छ । जुन गत वर्ष २४ दशमलव ६१ प्रतिशत थियो ।

आन्तरिक तथा बाह्य पयर्टनमा व्यापक सुधार आएकाले सेवा क्षेत्रमा तदनुरुपको सकारात्मक प्रभाव देखिएको हो । प्रदेशमा २१ हवाई कम्पनीमार्फत उडान भई ११ हजार चार सय ८५ पटक उडान भएको छभने हवाई कम्पनीको सिट उपयोग क्षमता ७७ दशमलव ८५ प्रतिशत रहेको छ । गत वर्षको हवाई कम्पनीको सिट उपयोग क्षमता ७४ दशमलव ५४ प्रतिशत थियो ।

सो प्रदेशमा उच्च शिक्षाका लागि विदेश जाने प्रवृत्ति हाबी भएको, बसाइँसराईलगायत कारणले विद्यार्थी र शिक्षकको सङ्ख्यामा क्रमशः तीन दशमलव ४० प्रतिशत र चार दशमलव १६ प्रतिशतले कमी आएको छ । साथै, विद्यार्थी सङ्ख्यामा आएको कमीले गर्दा क्याम्पसहरु गाभिन गई क्याम्पसको सङ्ख्यामा समेत दुई दशमलव ८२ प्रतिशतले कमी आएको छ ।

समीक्षा वर्षमा बैङ्क तथा वित्तीय संस्थाहरुको निक्षेप परिचालन १२ दशमलव पाँच प्रतिशतले वृद्धि भई रु पाँच पाँच खर्ब ३४ अर्ब ४० करोड पुगेको छ । कुल कर्जा प्रवाह भने एक दशमलव सात प्रतिशतले ह्रास भई रु तीन खर्ब ४९ अर्ब सात करोड पुगेको छ । पर्यटन क्षेत्रमा प्रवाहित कर्जा रकम गत वर्षभन्दा नौ दशमलव ९० प्रतिशतले वृद्धि भई रु २३ अर्ब ७६ करोड पुगेको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ८ मङ्सिरः नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैङ्कले सार्वजनिक गरेको विवरणअनुसार शुक्रबारको तुलनामा आज अमेरिकी डलर, युरो, स्टर्लिङ पाउन्ड, क्यानेडियन डलर, चिनियाँ युआन लगायतको मूल्य घटेको छ । कुवेती दिनार, थाईभाटलगायतको भने मूल्य बढेको छ ।

आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४२ पैसा निर्धारण भएको छ । यस्तै, युरो एकको खरिददर एक सय ४० रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ १४ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ६८ रुपैयाँ ८६ पैसा तथा बिक्रीदर एक सय ६९ रुपैयाँ ६१ पैसा कायम भएको छ । केन्द्रीय बैङ्कले स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ७५ पैसा तथा बिक्रीदर एक सय ५२ रुपैयाँ ४२ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६३ बिक्रीदर ८८ रुपैयाँ ०२ पैसा निर्धारण भएको जनाएको छ ।

आजका लागि क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३७ पैसा तथा बिक्री दर ९६ रुपैयाँ ८० पैसा तथा सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ०४ पैसा तथा बिक्रीदर एक सय रुपैयाँ ४९ पैसा कायम गरिएको छ ।

यस्तै जापानी येन १० को खरिददर आठ रुपैयाँ ७३ पैसा तथा बिक्रीदर आठ रुपैयाँ ७७ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६१ पैसा तथा बिक्रीदर १८ रुपैयाँ ६९ पैसा, साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ९१ पैसा तथा बिक्रीदर ३६ रुपैयाँ ०७ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९७ पैसा तथा बिक्रीदर ३७ रुपैयाँ १३ पैसा तय भएको केन्द्रीय बैङ्कले जनाएको छ ।

यस्तै, थाईभाट एकको खरिददर तीन रुपैयाँ ९१ पैसा, तथा बिक्रीदर तीन रुपैयाँ ९२ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ७१ पैसा तथा बिक्रीदर ३६ रुपैयाँ ८७ पैसा निर्धारण भएको छ ।

मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ १८ पैसा तथा बिक्रीदर ३० रुपैयाँ ३१ पैसा, दक्षिण कोरियाली वन एक सयको खरिददर नौ रुपैयाँ ५९ पैसा तथा बिक्रीदर नौ रुपैयाँ ६३ पैसा निर्धारण भएको छ ।

स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ १७ पैसा तथा बिक्रीदर १२ रुपैयाँ २२ पैसा, डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ८४ पैसा तथा बिक्रीदर १८ रुपैयाँ ९३ पैसा र हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३२ पैसा तथा बिक्रीदर १७ रुपैयाँ ४० पैसा तय गरेको छ ।

कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ तथा बिक्रीदर चार सय ३९ रुपैयाँ ९५ पैसा र बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ६८ पैसा तथा बिक्रीदर तीन सय ५९ रुपैयाँ २८ पैसा निर्धारण गरिएको केन्द्रीय बैङ्कले जनाएको छ ।

ओमानी रियाल एकको खरिददर तीन सय ५० रुपैयाँ २० पैसा र बिक्री दर तीन सय ५१ रुपैयाँ ७५ पैसा निर्धारण भएको छ । केन्द्रीय बैङ्कले आजदेखि ओमानी रियालको खरिद बिक्री सुरु भएको जनाएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

जनताले अनुभूति गर्नेगरी कार्यसम्पादन गर्नुपर्छः मन्त्री अधिकारी

राँझा (बाँके), ८ मङ्सिरः भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले जनताले अनुभूति गर्नेगरी कार्यसम्पादन गर्नुपर्ने बताउनुभएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागद्वारा शुक्रबार नेपालगञ्जमा आयोजित लुम्बिनी र कर्णाली प्रदेशका मालपोत तथा भूमिसुधार कार्यालयहरुको वार्षिक प्रगति समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताले अनुभूति गर्नेगरी कर्मचारीबाट कार्यसम्पादन हुनुपर्नेमा जोड दिनुभयो ।

कानुनको विधिमा चल्ने र विधिको शासन लागू गर्ने जिम्मेवारी बोकेका कर्मचारीले स्वार्थ राखेर काम गर्न नहुने उल्लेख गर्दै मन्त्री अधिकारीले परिवर्तनको आशयअनुरुप कर्मचारीलाई कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । “हामीले जनतालाई आशा जगाउने गरी काम गरिरहेका छौँ, त्यसको प्रतिफल आइरहेको छ”, उहाँले भन्नुभयो, “मुलुकमा राजनीतिक स्थायित्व र समृद्धिका लागि वर्तमान सरकार दृढताका साथ काम गरिरहेको छ ।”

मन्त्री अधिकारीले कुनै पनि भ्रम वा अफवाहका पछाडि नलागी तथ्यका आधारमा भावनात्मक एकताका साथ देश र जनताको सेवामा सबै समर्पित हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिनिधिसभाका सांसद दीपा शर्माले अनुभव साटासाटले कार्यसम्पादनमा थप टेवा पुग्ने बताउँदै जनताले चाहेको सेवा प्रवाह गर्न प्रगति समीक्षाको उद्देश्य हुनुपर्नेमा जोड दिनुभयो ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक शिवप्रसाद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले अव्यवस्थित बसोबास, भूमिहीन तथा सुकुम्वासीका समस्या स्थायी रुपमा समाधान गर्न सरकारले पहल गर्नुपर्ने बताउनुभएको थियो ।

विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्‍यो सर्वोच्चमा पुनरावेदन

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न मुद्दाका प्रतिवादीविरुद्ध विशेष अदालतले गरेको फैसलामा चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

आयोगले प्रतिवादी भूषण झा, भिमबहादुर रोकाया, दलबहादुर बुढा, सुष्मा कार्की भण्डारीविरुद्ध दायर गरेको मुद्दामा विशेष अदालतले विसं २०८० फागुन १८ गते सफाइ दिएको थियो । विशेष अदालतले गरेको उक्त फैसलामा आयोगले चित्त नबुझाई आयोगले शुक्रबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

त्यस्तै, आयोगले घनश्याम दुवे, ठाकुरप्रसाद गुरौला, शक्तिप्रसाद सापकोटा, पुष्पा सापकोटाविरुद्ध विशेषमा दायर गरेको मुद्दामा सफाइ दिएको थियो । झुट्ठा सरुवा पत्रका आधारमा शिक्षक कायम गरी भ्रष्टाचार गरेको अभियोगमा मनकाकुमारी अवस्थी, नरबहादुर कुँवर, जयराज जोशीको मुद्दामा पनि विशेषले सफाइ दिएको थियो । सो मुद्दामा आयोगले पुनः पुनरावेदन गरेको छ ।

सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको अभियोगमा आयोगले दायर गरेको मुद्दामा चन्द्रसिंह लामा, सङ्गीता चौलागाई, माधवप्रसाद चौलागाईंलाई पनि विशेष अदालतले सफाइ दिएको थियो । निजहरुलाई गत जेठ २३ गते दिइएको सफाइ चित्त नबुझेको भन्दै आयोगले शुक्रबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगले सम्राटबहादुर शाहविरुद्ध दायर गरेको मुद्दामा विशेष अदालतले गत मङ्सिर ७ गते सफाइ दिएको थियो । प्रतिवादी महेश सिंह कठायत समेतको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझेको भन्दै शुक्रबार पुनरावेदन गरेको छ ।

त्यस्तै, प्रतिवादी विनोदकुमार यादवविरुद्ध गलत प्रतिवेदन तयार पारी भ्रष्टाचार गरेको अभियोगमा दायर भएको मुद्दामा समेत विशेषले विसं २०८० फागुन ६ गते सफाइ दिएको थियो । सो फैसलामा समेत चित्त नबुझाई पुनरावेदन गरिएको प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।

प्रतिवादी परशुराम अधिकारी, सीताराम पोखरेल, ताराप्रसाद जोशी र प्रसाराम भुसाल, भक्तरत्न तुलाधर, शशी तुलाधर, रानु तुलाधर र दिव्य तुलाधरविरुद्ध दायर भएको मुद्दामा २०८० माघ ७ गते सफाइ दिएको थियो । सो फैसलाविरुद्ध आयोग शुक्रबार सर्वोच्च अदालत पुगेको हो ।

प्रतिवादी नारायणप्रसाद पौडेल लगायतको मुद्दामा समेत विशेषले गत मङ्सिर ७ मा सफाइ दिएको थियो । सो मुद्दामा पनि आयोगले शुक्रबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो । यस्तै, सरकारी रकमको हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा केशवप्रसाद आचार्य, लोकेन्द्र कार्की, विशाल सुन्दास, माधवप्रसाद, पुष्पराज सिग्देल विरुद्धको मुद्दामा पनि विशेषले विसं २०८० पुस १८ गते सफाइ दिएको थियो । सो सफाइमा चित्त नबुझेको भन्दै आयोगले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको हो ।

ज्यान कसुर मुद्दामा मृतकको नजिकको हकदारले पाउनुपर्ने क्षतिपूर्ति लगायतका मुद्दामा सहजीकरण गरिदिने भन्दै जिल्ला प्रशासन कार्यालय महोत्तरीमा कार्यरत नायब सुब्बा अशोककुमार यादवले र २० हजार घूस लिएको अभियोगमा शुक्रबार पक्राउ गरेको हो ।

आयोगको महोत्तरी कार्यालयबाट गएको टोलीले नासु यादवलाई जिल्ला प्रशासन कार्यालय परिसरबाट पक्राउ गरेको हो । आरोपी यादवमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

क्षेप्यास्त्र प्रहारको सन्देश बुझ्न अमेरिकालाई रूसको चेतावनी

रूसले युक्रेनमा आणविक हतियार बोक्न सक्ने क्षेप्यास्त्र प्रहार गरेपछि राष्ट्रपति भ्लादिमिर पुटिनले दिएको चेतावनीलाई वासिङ्टनले बुझेको रूसी प्रशासनिक केन्द्र क्रेमलिनले क्रेमलिनले शुक्रबार जनाएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भन्नुभयो, “वासिङ्टनको वर्तमान प्रशासनले यस घोषणालाई बुझ्नेछ भन्नेमा हामीलाई कुनै शङ्का छैन ।”

युक्रेनमा जारी द्वन्द्व ‘विश्वव्यापी’ युद्धको विशेषता भएको र पश्चिमा मुलुकहरूमाथि आक्रमण हुने सम्भावनालाई राष्ट्रपति पुटिनले सङ्केत गर्नुभएको छ ।

पेस्कोभले यो सन्देश व्यापक, स्पष्ट र तार्किक भएको दावी गर्नुभएको छ ।

हालैका दिनहरूमा युक्रेनले पहिलो पटक रुसी भूमिमा अमेरिका र बेलायतले आपूर्ति गरेको क्षेप्यास्त्र प्रहार गरेको छ। यसले करिब तीन वर्ष लामो द्वन्द्वलाई थप चर्काएको सङ्केत मान्न सकिन्छ ।

युक्रेनलाई आफ्नो क्षेप्यास्त्र प्रयोग गर्न अनुमति दिने पश्चिमा देशहरू युद्धमा प्रत्यक्ष सहभागी भएको बुझ्नुपर्ने मस्कोले जनाएको छ ।

पेस्कोभले भन्नुभयो, “मुख्य सन्देश के हो भने क्षेप्यास्त्र उत्पादन गर्ने, युक्रेनलाई आपूर्ति गर्ने र पछि रूसी भूमिमा आक्रमण गर्ने पश्चिमा मुलुकहरूको ‘लापरबाहीपूर्ण’ निर्णय र कार्यहरू रूसी पक्षको प्रतिक्रियाबिना रहन सक्दैनन्।”

राहदानीको विद्युतीय प्रणालीमा समस्या

काठमाडौँ, ७ मङ्सिर : राहदानीको विद्युतीय प्रणालीमा समस्या आएको छ । राहदानी विभागले प्रणालीमा आएको समस्याका कारण विद्युतीय राहदानी सेवा सुचारू गर्न नसकिएको आज जानकारी गराएको हो ।

विभागका शाखा अधिकृत किरणकुमार गुरूङले उक्त समस्यालाई प्राविधिक समूहबाट समाधानका कार्य भइरहेको जानकारी दिनुभयो ।

विभागले आज सार्वजनिक सूचना जारी गर्दै भनेको छ, “यही मङ्सिर ६ गतेदेखि समस्या आएको र यसको पूर्ण समाधानका सम्बन्धमा प्रारम्भिक निष्कर्ष मङ्सिर ९ गतेसम्ममा थप जानकारी गराउन सकिने बेहोरा अनुरोध छ ।”

विद्युतीय प्रणालीमा आएको समस्या समाधान गरी मङ्सिर १० गतेसम्ममा राहदानीको सेवा पूर्णरूपमा सुचारू गराउन प्रयासरत रहेको विभागले जानकारी गराएको छ ।

विभागले उक्त समस्याबारे ६६ वटै जिल्ला प्रशासन कार्यालय तथा १७ वटै इलाका प्रशासन कार्यालयलाई समेत जानकारी पठाएको छ ।

नगराइनमा नगरसभा नहुँला शिक्षक तथा कर्मचारीले तलबसमेत पाएनन्

जनकपुरधाम, ७ मङ्सिरः धनुषाको नगराइन नगरपालिकाअन्तर्गत विभिन्न वडा तथा शाखामा कार्यरत कर्मचारी तथा शिक्षकले विगत चार महिनादेखि तलब सुविधा पाएका छैनन् । त्यसको विरोधमा आन्दोलनमा हुँदा कामकाज नै प्रभावित भएको छ ।

पटकपटक ताकेता गर्दा पनि तलब सुविधा नपाएपछि बाध्य भएर दैनिक कामकाज छाडेर आन्दोलनमा उत्रिनुपरेको राजेश्वर निधि माध्यमिक विद्यालयका प्राध्यानापक प्रेमकुमार निधिले बताउनुभयो । उहाँका अनुसार साउनदेखि नै त्यहाँका १६ वटा विद्यालयका शिक्षक तथा कर्मचारी, कार्यालय सहयोगी, स्वास्थ्य शाखाका कर्मचारी र स्वास्थ्यकर्मी, विभिन्न वडाका कर्मचारीले तलब पाएका छैनन् ।

बडादसैँ, तिहार तथा छठपर्वजस्ता महत्त्वपूर्ण पर्वमा समेत तलब नदिएको र हाल दैनिक गुजारा चलाउन पनि समस्या भएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको प्रधानाध्यापक निधिको भनाइ छ । “भदौमा तलब सुविधाको माग गर्दै त्यहाँका कर्मचारी तथा शिक्षकले नगरप्रमुख, उपप्रमुख तथा प्रशासकीय अधिकृतलाई ज्ञापनपत्रसमेत बुझाएका थियौँ तर हालसम्म पनि त्यसको सुनुवाइ भएन । पछिल्लो समय दैनिक जीवनयापनका लागि अत्यावश्यक वस्तुको जोहो गर्न पनि समस्या भयो, त्यसैले आन्दोलन गर्नुपरेको छ”, उहाँले भन्नुभयो ।

यहाँ नगरप्रमुख र उपप्रमुख फरक पार्टीका भएकाले सुरुदेखि नै समस्या हुँदै आएको छ । यहाँ नगरप्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा (एमाले) बाट निर्वाचित प्रतिनिधि छन् । यसपटक पनि २०८१-८२ को नगरसभासमेत हुनसकेको छैन । नगरप्रमुख विजय यादवले नगरसभाबाट नीति, कार्यक्रम र बजेट नै पारित नभएकाले तलब खुवाउनसमेत नसकिएको बताउनुभयो ।

उपप्रमुख राधादेवीले स्थानीय सरकार ऐन सञ्चालन ऐन, २०७६ खारेज गरी स्थानीय सरकार २०७४ लागू नभएसम्म नगरसभा हुन नदिने भन्दै विरोध जनाएपछि सभा बस्न सकेको छैन । उहाँले आफ्नो माग सम्बोधन हुने अवस्थामा मात्रै नगरसभालगायतका काम अगाडि बढ्ने अडान दोहो¥याउनुभयो ।

स्थानीय रामेश्वर यादवले नगरप्रमुख, उपप्रमुख तथा वडाध्यक्षको आन्तरिक विवादका कारण नगरपालिकाले समस्या भोगिरेको बताउनुभयो । आन्दोलनका कारण अहिले नगरपालिकाको मुख्यद्वारमा ताला लगाइएको छ ।

उपनिर्वाचनमा कांग्रेसलाई मतदान गर्न आग्रह : नेता शर्मा

जलेश्वर (महोत्तरी), ७ मङ्सिर : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका–२ मा हुन गइरहेको उपनिर्वाचनमा नेपाली कांग्रेसलाई मतदान गर्न आग्रह गर्नुभएको छ ।

नेपाली कांग्रेसका उम्मेदवार जनिफ खानसँगै जनताको घरदैलोमा भोट माग्दै हिँडेका नेपाली कांग्रेसका महामन्त्री शर्माले कांग्रेस नै नेपालको युवा, वयस्क र वृद्ध सबैलाई साथसाथै लिएर हिँड्ने पार्टी भएकाले रामगोपालपुर–२ का जनतालाई सो वडाको उपनिर्वाचनमा कांग्रेसलाई नै जिताउन आग्रह गर्नुभयो ।

तराई, पहाड, हिमाल सबै स्थानमा बसोबास गर्ने नेपाली दाजुभाइ दिदीबहिनीलाई एक साथ लिएर बढ्ने, सबैको सहभागिता गराउने र सबैलाई अवसर दिने एक मात्र पार्टी कांग्रेस रहेको भन्दै उहाँले आफ्नो स्थान र अधिकार सूरक्षित गर्न कांग्रेसका उम्मेदवारलाई भोट दिन आग्रह गर्नुभयो ।

नेता शर्माले यस पार्टीले कुनै जात, धर्म, समुदाय, वर्ग, लिङ्ग नहेरि सबैलाई समान व्यवहार गर्ने भएकाले उपचुनावमा कुनै जात, धर्म, समुदाय, वर्ग, लिङ्ग नहेरी केवल कांग्रेसकै उम्मेदवारलाई भोट दिन मतदाता सबैलाई आग्रह गर्नुभयो । उहाँले उपचुनावले आउँदो २०८४ को निर्वाचनको आधार तयार गर्ने भएकाले यस निर्वाचनको अधिकांश ठाउँमा कांग्रेसको उम्मेदवारलाई जिताएर एकल बहुमतको सरकार बनाउने झझल्को देखाइदिन मतदातालाई आग्रह गर्नुभयो ।

रामगोपालपुर २ को वडाध्यक्ष पदमा राजनीतिक दलका ७ र ११ जना स्वतन्त्रसहित १८ जनाले चुनावी प्रतिस्पर्धा गर्दैछन् भने दुई हजार एक सय ४१ जना मतदाताले मतदान गर्नेभएका छन् ।

वैज्ञानिक चिन्तन बोकेका युवा तयार गर्नुपर्नेमा शिक्षा मन्त्री भट्टराईको जोड

भक्तपुर, ७ मङ्सिरः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले वैज्ञानिक चिन्तन बोकेका युवा तयार गर्नेगरी उच्च शिक्षा विकास गर्नुपनेमा जोड दिनुभएको छ ।

आज सानोथिमिमा आयोजित विश्वविद्यालय अनुदान आयोगको ३१औँ वार्षिकोत्सव कार्यक्रममा उहाँले उच्च शिक्षा सुधारको दायित्व विश्वविद्यालय अनुदान आयोग र विश्वविद्यालयहरूको भएको बताउनुभयो । उहाँले भन्नुभयो, “देशलाई आत्मनिर्भर बनाएर अर्थतन्त्रलाई वृद्धि गर्नुपर्ने आजको आवश्यकता हो । उद्यमशीलतालाई जोड दिएर नवप्रवर्तन र वैज्ञानिक चिन्तन बोकेका युवा तयार गर्नेगरी उच्च शिक्षा निर्माण गर्नुपर्ने दायित्व विश्वविद्यालय अनुदान आयोग र विश्वविद्यालयहरूको हो । अबको उच्च शिक्षा नीति त्यसैमा केन्द्रित हुनुपर्छ ।”

उच्च शिक्षा सञ्चालन गर्ने संस्थाहरूलाई संविधानको मर्मअनुसार समय सान्दर्भिक बनाउनुपर्नेमा जोड दिँदै शिक्षामन्त्री भट्टराईले आजको विश्वव्यापीकरणको दुनियाँमा देशलाई अविकसित र कमजोर राज्य ठान्ने मानसिकता त्याग्नुपर्ने बताउनुभयो ।

शिक्षामन्त्री भट्टराईले विश्वविद्यालय सुधार र आर्थिक परनिर्भर अन्त्य गर्दै युवा पलायन रोक्नुपर्ने धारणा राख्नुभयो । पुरानै शिक्षा ऐनअनुसार देशको शिक्षा नीति सञ्चालन भइरहेको केही समस्या रहेका र नीतिगत तहमा रहेका अप्ठ्याराको पहिचान गरी त्यसलाई फुकाउँदै जानुपर्ने उहाँको भनाइ थियो । “सरकार र सरोकार भएका सबैले देशमै बसेरै केही गर्छु भन्ने जनशक्तिलाई बढी जिम्मेवार भएर सहयोग गर्नुपर्छ । नेपालमै केही गर्छु भन्नेलाई प्रोत्साहित गरिनुपर्छ । विदेश पलायन हुने युवालाई यही केही गर्न दिनुपर्छ”, शिक्षामन्त्री भट्टराईले भन्नुभयो ।

शैक्षिक ‘क्यालेण्डर’को सबैले पालना गर्नुपर्नेमा जोड दिँदै उहाँले क्यालेण्डर पालना नगर्ने छुट कुनै पनि विश्वविद्यालयलाई नभएको बताउनुभयो । मन्त्री भट्टराईले भन्नुभयो, “नेपालमा शैक्षिक क्यालेण्डर अवरुद्ध हुँदा समयमै उच्च शिक्षाको पढाइ सकिँदैन र पढ्दापढ्दै जिन्दगी बित्छ भन्ने युवा मतलाई चिर्नुपर्छ । त्यसका लागि आयोगले नियमित अनुगमन, सम्पर्क र समन्वय गर्नुपर्छ ।”

कार्यक्रममा आयोगका अध्यक्ष प्रा डा देवराज अधिकारीले उच्च शिक्षाका लागि नेपाली विद्यार्थी र ठूलो धनराशि बाहिरिने गरेकाले यो प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने उल्लेख गर्नुभयो । शिक्षा मन्त्रालयका सचिव डा दीपक काफ्ले, आयोगका सदस्यसचिव प्रा शङ्करप्रसाद भण्डारी, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा केशरजङ्ग बराल, काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापा, आयोगका पूर्वअध्यक्ष प्रा डा कृष्णबहादुर थापा, प्रा डा पराशर कोइराला, प्रा विदुर उपाध्याय, आयोगका पहिलो सदस्यसचिव प्रा डा होमनाथ भट्टराईलगायतले नेपालको उच्च शिक्षाका सन्दर्भमा उठेका प्रश्नका जवाफ आयोग र विश्वविद्यालयहरूले दिन सक्नुपर्ने बताउनुभयो ।

त्यस अवसरमा उत्कृष्ट कर्मचारी र वार्षिकोत्सवका अवसरमा आयोजित अतिरिक्त क्रियाकलापका विजेतालाई पुरस्कृत गरिएको आयोगका उपनिर्देशक देवेन्द्र रावलले जानकारी दिनुभयो ।

‘देशलाई सही बाटोमा डोर्‍याउन जरुरी छ’ – राजेन्द्र लिङ्देन

सुदूरपश्चिम, ७ मङ्सिर : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई सही बाटोमा डोर्‍याउन सचेत र सजग हुनुपर्ने बेला आएको बताउनुभएको छ ।

राप्रपाद्वारा कैलालीको साडेपानीमा आज आयोजित आमसभामा अध्यक्ष लिङ्देनले देशलाई सही बाटोमा लैजाने कामको नेतृत्व अन्य राजनीतिक दलले नभई राप्रपाले मात्रै गर्नसक्ने जिकिर गर्नुभयो ।

सुन्दर, बैभवशाली र प्रशस्त सम्भावना भएको हाम्रो देश भएर पनि गलत नेतृत्वकै कारण अहिलेसम्म विकास हुन सकेको उल्लेख गर्दै उहाँले कृषि, बिजुली, पर्यटन, सूचना प्रविधिको विकास गर्न सकिएमा विकासले फड्को मार्न सक्ने बताउनुभयो ।

आमसभामा सो पार्टीका उपाध्यक्ष विक्रम पाण्डे, प्रवक्ता ज्ञानेन्द्र शाही, प्रदेश अध्यक्ष धर्मराज जोशी, जयन्त चन्द, वीरेन्द्र बमलगायत नेताले समसामयिक राजनीतिका बारेमा धारणा राख्नुभएको थियो ।

रक्षामन्त्रीसँग भारतीयस्थल सेनाध्यक्षको शिष्टाचार भेट

काठमाडौँ, ७ मङ्सिर : यही मङ्सिर ५ गतेदेखि नेपालको औपचारिक भ्रमणमा रहनुभएका मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले आज रक्षामन्त्रीसँग शिष्टाचार भेट गर्नुभएको छ । जनरल द्विवेदीले आज रक्षा मन्त्रालयमा मन्त्री मानवीर राईसँग शिष्टाचार भेटघाट गर्नुभएको छ ।

भारतीय स्थल सेनाध्यक्ष जनरल द्विवेदीले आज बिहान माउण्टेन फ्लाइटमार्फत विभिन्न हिमालको अवलोकन गर्नुभएको थियो । तत्पश्चात उहाँले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको समेत भ्रमण गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सो अवसरमा उहाँलाई उक्त कलेजका विविध गतिविधिबारे जानकारी गराइनुका साथै उहाँले कलेजमा तालिमरत सैनिक कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृतहरूसँग अन्तक्र्रिया गर्नुभएको थियो ।

कृषि र पर्यटन क्षेत्रमा प्रदेश सरकारले लगानी गर्नेछ : मुख्यमन्त्री लामा

मनहरी, ७ मङ्सिर : बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले कृषि र पर्यटनको सम्भाव्यता बोकेका क्षेत्रमा प्रदेश सरकारले लगानी गर्ने बताउनुभएको छ । उहाँले पर्यटन क्षेत्रमा लगानी बढाउन सके आन्तरिक मात्र नभई विदेशी पर्यटकलाई ल्याउन सकिने बताउनुभयो ।

मकवानपुरगढी गाउँपालिका–८ बुढीचौरमा ऐतिहासिक धार्मिकस्थलको रूपमा रहेको ऋषेश्वर मन्दिर र गुफा क्षेत्रमा निर्माण गरिएको बुद्धमूर्ति अनावरण तथा प्राण प्रतिष्ठान कार्यक्रमलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री लामाले बुढीचौरमा कृषि र पर्यटनको सम्भाव्यता बोकेकाले यसलाई थप विस्तार गर्न प्रदेश सरकारले थप सहयोग गर्ने बताउनुभयो ।

मुख्यमन्त्री लामाले सोच र आँट गर्न सके यहाँ पर्यटनको विकास तीव्र गतिमा गर्न सकिने उल्लेख गर्दै हेटौँडाको सडक सञ्जालको समस्या समाधानका लागि आगामी बजेटमा सम्बोधन गरिने विश्वास दिलाउनुभयो । उहाँले सडक सहज भए यहाँ उत्पादन भएका बेमौसमी तरकारी र दूधजन्य वस्तुहरू बजारीकरण गर्न सहज हुने बताउनुभयो ।

प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरीले बुढीचौर पर्यटनको प्रचुर सम्भावना बोकेको वडा रहेको बताउनुभयो । अघिल्लो वर्षमा प्रदेश सरकारले समपूरकअन्तर्गत बजेट आइरहेको बताउँदै उहाँले बुद्धमूर्तिको वरपरका क्षेत्रमा थप व्यवस्थित गर्न यसै आवमा पर्यटन आयोजनामार्फत पाँच लाख रकम प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले बुढीचौरमा ऐतिहासिक धार्मिकस्थलसहित कृषि र पर्यटनको सम्भावना बोकेको वडा रहेको बताउनुभयो । उहाँले गाउँपालिकाबाट आर्थिक वर्ष २०८०/८१ मा रु १० लाख बजेटबाट बुद्धमूर्ति निर्माण गरिएको जानकारी दिनुभयो ।

बिआरआईमा अनुदान मात्र स्वीकार्यः नेता निधि

जनकपुर, ७ मङ्सिरः नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले बिआरआई अनुदानका रूपमा प्राप्त भएमा मात्र स्वीकार्न सकिने बताउनुभएको छ ।

जनकपुरधाम विमानस्थलमा आज पत्रकारहरूसँग उहाँले बिआरआईका विषयमा राष्ट्रिय छलफल र बहस गरी साझा धारणा बनाउनुपर्नेमा जोड दिनुभयो । “आयोजना अनुदानमा दिइयो भने ठिक छ तर ऋणका रूपमा लिनु हुँदैन। यसमा हामीले आफ्नो कुरा राखिरहेकै छौँ”, निधिले भन्नुभयो ।

उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणअघि नै आवश्यक छलफल गरी समझदारीमा पुग्नुपर्ने बताउनुभयो । “ऋण लिने गरी कुनै सम्झौता गर्न नहुने पक्षमा कांग्रेस रहेको छ । यसमा बृहत छलफल गरी निष्कर्षमा पुग्न जरूरी छ । अन्तर्राष्ट्रिय सम्बन्ध समिति र संसद्मा पनि यस विषयभित्रका सन्दर्भ र योजनाबारे छलफल हुनपर्छ ।”

भयरहित वातावरणमा निर्वाचन गराउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ, ७ मङ्सिर : गृहमन्त्री रमेश लेखक आसन्न स्थानीय तहको उपनिर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ । आज भर्चुवल विधिबाट ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा समितिका पदाधीकारीसितको छलफलका क्रममा गृहमन्त्री लेखकले निर्वाचन सुरक्षा सामान्य रुपमा नलिन आग्रह गर्नुभयो ।

“३३ जिल्लाका ४१ स्थानमा उपनिर्वाचन हुँदैछ,” गृहमन्त्री लेखकले भन्नुभयो, “शान्ति सुरक्षा नभएर पुनःमतदानको स्थिति आए सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख जिम्मेवारी हुनुहोला ।” निर्वाचन सुरक्षाका लागि आवश्यक परे नेपाली सेनासमेत परिचालन गर्न सक्ने विषयमा सरकारले तयारी गरेको बताउँदै उहाँले शान्ति सुरक्षाकै कारण निर्वाचन बिथोलिनेस्थिति आउन नदिन आग्रह गर्नुभयो ।

“लोकतन्त्रको आधार भनेकै निर्वाचन हो,” मन्त्री लेखकले भन्नुभयो, “त्यसकारण भयरहित वातावरणमा निर्वाचन गराउन खटिनुहोस् ।” उहाँले पछिल्लो समय मुलुकमा लागुऔषधको अवैध कारोवार र दुव्र्यसन बढ्नुका साथै ठूलो चुनौतीका रुपमा देखापरेको बताउनुभयो ।”

लागुऔषध नियन्त्रणमा कारबाहीसँगै सचेतनामा जिल्लामा जोड दिन निर्देशन गर्दै गृहमन्त्री लेखकले भन्नुभयो, “भ्रष्टाचार र अवाञ्छनीय स्वीकार्य छैन ।” त्यसैगरी सामाजिक सञ्जाल र डिजिटल मिडियाका माध्यमको दुरुपयोग बढेकाप्रति चिन्ता व्यक्त गर्दै सो नियन्त्रणका लागि प्रहरीको साइबर ब्युराले कारबाही अघि बढाइरहेको बताउनुभयो । “जिल्लामा हेडस्पीज दिने, अरुको मनमार्दन गरेर सामाजिक सञ्चाल प्रयोग गर्ने कार्य हुँदैछन्,” उहाँले भन्नुभयो, “लोकतन्त्र अनुशासनको पद्धति हो, अराजकताको पद्धति होइन ।”

गृहमन्त्री लेखकले देशभरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा संयन्त्रलाई राजस्व चुहावन नियन्त्रण, पछिल्लो समय चुनौतीका रुपमा देखिएको लागुऔषध नियन्त्रण, आत्महत्या न्यूनीकरण र सवारी दुर्घटना न्यूनीकरणमा गम्भीर भएर काम गर्न निर्देशन दिनुभयो ।

मन्त्री लेखकले नागरिकको गुनासो व्यवस्थापनका लागि गृह मन्त्रालयले आवश्यक संयन्त्र निर्माण गरिरहेको जानकारी दिनुभयो । “२४ सै घण्टा काम गर्ने गरी गुनासो व्यवस्थापन केन्द्र स्थापना केही दिनमै हुन्छ,” उहाँले भन्नुभयो, “जिल्लामा नागरिकको गुनासो सुन्ने पहिलो अधिकारी नै प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले हो ।”

त्यसैगरी गृहसचिव गोकर्णमणि दुवाडीले सरकारप्रति नागरिकको भरोसा बढ्ने गरी काम गर्न निर्देशन दिनुभयो । उहाँले वैदेशिक रोजगारीका नाउँमा ठगी, आर्थिक अपराध, सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण, आत्महत्या, लागुऔषध नियन्त्रणलगायत विषयमा ध्यान दिन प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा संयन्त्रलाई निर्देशन दिनुभयो ।

गृह मन्त्रालयद्वारा आयोजित उक्त भर्जुवल बैठकमा प्रहरी प्रमुख प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बल नेपालका प्रमुख प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापासहित मन्त्रालयको विभिन्न महाशाखाका प्रमुखहरुको सहभागिता रहेको थियो ।

एमालेको जागरणसभामा जे देखियो…

काठमाडौँ, ७ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज काठमाडौँको दरबारमार्गमा आयोजना गरेको जागरणसभामा पार्टीका कार्यकर्ताको मुहारमा उत्साह र जोश देखिन्थ्यो ।

पार्टीका नेता तथा कार्यकर्ताले एउटा हातमा नेपालको झण्डा, अर्को हातमा एमाले पार्टीको झण्डा लिएर बेलाबेला उत्साहित भएर फहराइरहेको दृश्य देखिन्थ्यो । त्यही सभामा एउटा ठूलो बोराभरि भुटेको मकै थियो । सभामा उपस्थित नेता, कार्यकताले पालैपालो निकाल्दै एक–एक मुठ्ठी खाँदै थिए ।

एमालेनिकट राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालका कलाकारले बीचबीचमा सभालाई उत्साह भर्न गीत गाएपछि झन् उत्साहित भएर झण्डाहरू फहराउँदै नाचेको दृश्य देखिन्थ्यो ।

राष्ट्रिय जनसांस्कृति महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले लेख्नुभएको गीतलाई कलाकार अमृत खातीले गाउनुभएको थियो । गीतमा भनिएको थियो, ‘लागौँ सबै विकासको बाटोमा, मोती फल्छ नेपाली माटोमा ।’ कलाकार खातीकै स्वरमा अर्को गीत ‘अँध्यारोमा बलेको टुकी, एमालेको जनताको ढुकढुकी ।’

अर्का कलाकार भीमसेन खतिवडाको स्वरमा प्रस्तुत भएको गीतमा शब्दहरूमा यस्तो थियो, ‘देश बनाउन ढिला भो, उठौँ साथी हो, समयले कोल्टे फेर्यो जुटौँ साथी हो ।’ त्यस्तै कलाकार खतिवडाको स्वरमा अर्को गीत ‘राम्रो नि नेकपा (एमाले) लाल सूर्य झलल्, जनता ताती लौ एमालेमाथि मिसियो सलल् ।’

कलाकार रामप्रसाद अवस्थीको स्वरमा सुनिएको थियो, ‘लिपुलेक, लिम्पियाधुरा, कालापानी फिर्ता ल्याउनुछ, भन्नुहुन्छ बाबा र आमाले देश बनाउने पार्टी हो एमाले ।’ अर्का कलाकार वैकुण्ठ महतको स्वरमा घन्किएको थियो, ‘हाम्रो नेपाल, हाम्रै एमाले’ जनसांस्कृति महासङ्घका कलाकारहरूले पालोपालो सभालाई मनोरञ्जन तथा उत्साह भरेका थिए ।

कलाकारसँगसँगै सभाका उपस्थित सबै नेता तथा कार्यकर्ताले झण्डा फहराउँदै एकै स्वरमा गाउँदै थिए, ‘पूर्वको माया पश्चिमलाई, पश्चिमको माया पूर्वलाई…’ यस्तैयस्तै धेरै गीत कलाकारले गाएका थिए । जसले जागरणसभालाई थप ऊर्जा दिएको थियो ।

सभामा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको उपस्थित भएपछि निकैबेर नेपालको र एमाले पार्टीको झण्डा फहराएर पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए । उहाँले सभालाई सम्बोधन गर्न थालेपछि सहभागीहरूको मुहारमा छुट्टै चमक देखिन्थ्यो ।

“समाजमा अराजकता मच्चाउने, सामाजिक सद्भाव र विद्वेष फैलाउने काम भइरहेको छ, तपाईँहरू भ्रममा नपर्नुस्”, सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीले भन्नुभयो, “यो सरकार मुलुकमा सुशासन, राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्न बनेको हो ।”

राष्ट्रिय सद्भाव कायम गर्ने र समाजमा फैलिएको नकारात्मक दृष्टिकोणलाई सकारात्मक दिशातर्फ लैजाने उद्देश्यले आज जागरणसभा आयोजना गरेको भए पनि नेता तथा कार्यकर्ताले आउँदो मङ्सिर १६ को उपचुनावलाई पनि पार्टीको विजयका लागि मतदात गर्न आग्रह गरिरहेका थिए ।

नेकपा (एमाले)का महसचिव शङ्कर पोखरेलले सभालाई सम्बोधन गर्दै भन्नुभयो, “एमाले जनताको ह्दयमा छ, राष्ट्रको ह्दयमा छ, आउँदो उपनिर्वाचनमा एमालेका उम्मेदवारलाई विजयी गराउनुस् ।”

जागरणसभाको नेतृत्व नेकपा (एमाले) बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेलले गर्नुभएको थियो । उक्त सभाको र्याली भद्रकालीबाट सुरु भएको थियो । र्यालीमा ‘अघि बढ, ओली सरकार’, ‘कुप्रचार र गलत सूचना त्यागौँः तथ्य र सत्यलाई आत्मसात् गरौँ’, ‘अराजकता सहिन्नः सहिष्णुता छोडिन्न’, ‘निराशा छोड्ने होः आशा र समृद्धि बाँड्ने हो’, ‘प्रतिगमन र पश्चगमन मानिदैनः प्रगतिशील र अग्रगमन छाडिदैन’, ‘देश बन्दैन नकरात्मकतालेःअघि बढौँ सकरात्मकताले’, ‘सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गरौँ’ भन्ने नारा गुञ्जिएको थियो ।

र्याली दरबारमार्गमा सभामा परिणत भएको थियो । सभामा उपस्थित सबै नेता कार्यकर्तालाई राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालका कलाकारले गीतमार्फत स्वागत गरेका थिए । देशभक्तिपूर्ण, देश विकास गर्ने, माटोको माया गर्नुका साथै राष्ट्रिय एकता कायम गर्ने गीतहरूले उपस्थित नेता, कार्यकर्तामा उत्साह भरेको थियो ।