`

मेची नदीको बगरमा काँसघारी फाँडेर दुई युवा किसानले फलाए ८६ लाखको आलु

झापा, २६ मङ्सिर : दशगजासँग जोडिएको मेची नदीको बगरमा काँसघारी फाँडेर दुई युवा किसानले रु ८६ लाखको आलु फलाएका छन् ।मेचीनगर वडा नं १५ मा लीला खनाल र हरि नेपालले यसै वर्ष एक सय आठ बिघा जग्गा लिजमा लिएर नेपाली बाबु स्मार्ट कृषि फार्म सञ्चालन गर्नुभएको थियो । फार्मको ११ बिघा जग्गामा पहिलो बालीको रुपमा आलु उत्पादन भएको हो ।

आधुनिक प्रविधिबाट रु ४५ लाख लगानीमा आलु खेती गरेको सञ्चालक खनालले जानकारी दिनुभयो । उहाँका अनुसार हाल एक कट्ठा जमिनमा लगभग ११ क्विन्टलका दरले आलु उत्पादन भएको छ । आलु खन्ने, रोप्ने, गोड्ने र सिँचाइका लागि ४५ जना श्रमिकले दैनिक रोजगारी पाइरहेका छन् ।

फार्ममा उत्पादित पहिलो यामको सेतो आलु खन्ने र बिक्री गर्ने काम धमाधम भइरहेको छ । एघार बिघामा दुई हजार तीन सय ३२ क्विन्टल आलु फलेको र विर्तामोडलगायत झापाका विभिन्न बजारबाट खेतमै आउने व्यापारीले प्रतिक्विन्टल रु तीन हजार सात सयका दरले आलु किनेर लैजाने गरेको खनालले जानकारी दिनुभयो ।

आलु व्यापारीले फार्मबाट प्रतिकेजी रु ३७ का दरले लैजाने गरेको उक्त आलु हाल खुद्रा बजारमा प्रतिकेजी रु ५० देखि रु ६० सम्ममा बिक्री हुने गरेको छ । रासायनिक तथा कीटनाशक विषादीको प्रयोग नगरी अर्गानिक प्रविधिबाट खेती गरिएको हुँदा आलुले राम्रो बजार पाएको सञ्चालकको भनाइ छ ।

गत वर्ष भारतको मणिपुरबाट आएर झापामा जग्गा किनेका एक प्रवासी नेपालीसँग लीला खनालको भेट भएको थियो । ती प्रवासी नेपालीले आफूले मणिपुरमा आलु फलाएर बेचेको पैसाले जग्गा किनेको खनाललाई बताउनुभएको थियो । आलु बेचेर जग्गा जोड्ने कुराले आलु खेती गर्ने प्रेरणा मिलेको खनालले बताउनुभयो । त्यसपछि आलु खेतीको सम्भाव्यताबारे मणिपुर, आसाम र पञ्जाबसम्म पुगेर खनालले अध्ययन अवलोकन गर्नुभएको थियो ।

खनाल पाँच वर्ष कोरियामा वैदेशिक रोजगारीमा जानुभएको थियो । विदेशबाट फर्केपछि उहाँ परम्परागत कृषि कर्मसँगै घडेरी व्यवसायमा लाग्नुभएको थियो । अब पूर्णकालीन कृषि व्यवसायमा लाग्ने उहाँको सोच छ ।

आलुले राम्रो उत्पादनसँगै नाफा दिएपछि फार्मका अर्का सञ्चालक हरि नेपाल उत्साहित हुनुहुन्छ । “पहिलोपटक लगाएको आलुमै सोचेभन्दा राम्रो आम्दानी भयो”, उहाँले भन्नुभयो, “आउँदो साल अहिलेको तुलनामा दोब्बर जग्गामा आलु खेती गर्ने सोच बनाएका छौँ । अरु बाली पनि आशलाग्दो रुपमा फष्टाइरहेको छ ।”

उहाँ पनि विगतमा तीन वर्ष मलेसियामा वैदेशिक रोजगारी गरेर फर्कनुभएको हो । विदेशमा रहँदा उहाँले मलेसियाको कृषि फार्मको अध्ययन गर्नुभएको थियो । विदेशबाट फर्केपछि मेचीनगरमा अमृत डेरी स्थापना गर्नुभएको उहाँले बिगत चार वर्षदेखि आफूलाई कृषि व्यवसायमा केन्द्रित गर्नुभएको छ ।

विदेशबाट फर्केका र कृषिमै केही नयाँ काम गरौँ भन्ने सोच बोकेका खनाल र नेपालले यसै वर्ष साझेदारीमा मेचीनगरको वडा नं १० र १५ मा जग्गा लिजमा लिएर ठूलो मात्रामा तरकारी खेती सुरु गर्नुभएको हो ।

“अहिले आलु फलेको ठाउँ मेची नदीको काँसघारी रहेको बगर जग्गा हो”, फार्ममा सञ्चालक नेपालले भन्नुभयो, “स्थानीय विद्यालय र केही किसानको स्वामित्वको जग्गा भएकाले उहाँहरुसँग सम्झौता गरेर लिजमा जग्गा लिँदा यहाँ बाली उत्पादन होला भनेर कसैले पत्याएका थिएनन् ।”

काँसघारी फँडानी गरेर ट्र्याक्टरले बाँझो फुटाएको उक्त जग्गा सीमानाको दशगजामै जोडिएको छ । कतिपय जग्गामा बर्खामा खोलाको भेल पस्ने त्रास छ । काँसघारीलाई उर्बर जमिनमा परिणत गर्न निकै मिहेनत र लगानी खर्च भएको नेपालले बताउनुभयो ।

फार्मका कृषि प्राविधिक विमल तामाङले बगरको मिश्रित दोमट माटोमा उर्बरा शक्ति धेरै हुने भएकाले आलुखेतीका लागि उक्त जग्गा चयन गरिएको बताउनुभयो । उहाँले फार्ममा गोबर र तोरीको पिनालाई मलको रुपमा अत्यधिक प्रयोग गरिएको जानकारी दिनुभयो ।

फार्मले स्थानीय कालिका प्राथमिक विद्यालयको ८६ बिघा र स्थानीयवासीको २२ बिघा गरी एक सय आठ बिघा जग्गा लिजमा लिएको हो । सोमध्ये ११ बिघामा आलु खेती र अढाइ बिघा जग्गामा फर्सी खेती गरिएको छ । अन्य जमिनमा लौका, टमाटर, फूलकोपीलगायतका तरकारी लगाइएको छ ।

बर्सातको समयमा मेची नदीमा आउने बाढीले पु¥याउन सक्ने क्षति फार्मको सबैभन्दा ठूलो चुनौती हो । स्थानीय, प्रदेश र सङ्घीय सरकारबाट फार्मले हालसम्म कुनै अनुदान लिएको छैन । नदीमा तटबन्धन र फार्मसम्म विद्युतीय प्रसारण लाइन पु¥याइदिन स्थानीय सरकारसँग आग्रह गरिएको सञ्चालक खनालले बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डसमक्ष मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रस्तुत

काठमाडौँ, २६ मङ्सिर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित तीन सदस्यीय अनुचित लेनदेन ‘मिटरब्याजसम्बन्धी जाँचबुझ आयोग’ ले आफ्नो प्रतिवेदन पेस गरेको छ ।

प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री दाहालले त्यसलाई तत्काल कार्यान्वयनका निम्ति उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो । प्रतिवेदन अध्ययन गरेर त्यसलाई यथाशीघ्र कार्यान्वयन गर्ने मन्त्री श्रेष्ठले बताउनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रदेश प्रमुख शेरचनका दश दाजुभाइले गरे विद्यालयलाई दश रोपनी जग्गा दान

म्याग्दी, २६ मङ्सिर : लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनका दश दाजुभाइले मङ्गलबार म्याग्दीको एक विद्यालयलाई करिब दश रोपनी जग्गा दान गर्नुभएको छ । शेरचनका दश जना दाजुभाइले आफ्नो जन्मथलो म्याग्दीको मालिका गाउँपालिका–४ मा रहेको ओखरबोट माविलाई नौ रोपनी तीन आना तीन दाम दुई पैसा क्षेत्रफलको जग्गा दान गर्नुभएको हो ।

नेपाल सरकारको मापदण्डअनुसार रु ४४ लाख ७७ हजार मूल्य कायम भएको जग्गा निःशुल्क उपलब्ध गराउनुभएका शेरचन परिवारले थप रु तीन लाख ३५ हजार सात सय ७७ राजस्व र रु पाँच हजार लेखापढी व्यवसायीको शुल्क पनि आफैँले बेहोर्नुभएको ओखरबोट माविका प्रअ नवीन कार्कीले जानकारी दिनुभयो ।

“मालपोत कार्यालय म्याग्दीबाट औपचारिकरुपमा विद्यालयको नाममा जग्गा प्राप्त भएको छ”, उहाँले भन्नुभयो, “बुधबार विद्यालयमा शेरचन परिवारलाई गाउँलेको तर्फबाट अभिनन्दन गर्ने कार्यक्रम छ ।”

हाल विद्यालय रहेको ठाउँ पहिरोको जोखिममा परेपछि स्थानान्तरणका लागि शेरचन परिवारले जग्गा दान गर्नुभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक पुनले बताउनुभयो । विद्यालयका संस्थापक स्व उमादेवी शेरचनका श्रीमान् बडीबहादुर शेरचनका छोरा, छोरी तथा बुहारीहरुले सो जग्गा दान गर्नुभएको हो ।

जग्गा दान गर्नेमा धनबहादुर÷उषा शेरचन, स्व ताराकुमार शेरचनकी श्रीमती जयाकुमारी शेरचन, अमिक शेरचन÷शान्ति शेरचन, चित्रलाल शेरचन÷तेजकुमारी शेरचन, खगेन्द्र शेरचन÷मीना शेरचन, प्रान्ति शेरचन÷विश्वप्रभा शेरचन, काजु शेरचन÷धनकुमारी शेरचन, दीपेन्द्र शेरचन÷फूलमाया (घर्ती) शेरचन, नवरत्न शेरचन÷मीना शेरचन, गुप्तमा (दशरथ) शेरचन÷नन्दकुमारी शेरचन र छोरी दर्पण (शेरचन) गौचन रहनुभएको छ ।

विसं २००८ मा स्थापना भएको यस विद्यालयमा दुई सय ११ विद्यार्थी छन् । विद्यालयमा कक्षा १० सम्म पठनपाठन हुने गरेको छ । जग्गादाता शेरचन परिवारको पुख्र्यौली थलो ओखरबोट हो । उहाँहरु हाल देशका विभिन्न ठाउँमा पेसा, व्यवसाय र सामाजिक क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।

नेपाल र भारतबीच ‘डिजिटल’ सहकार्य बढाउन सञ्चारमन्त्री शर्माको जोड

काठमाडौँ, २६ मङ्सिर : सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले समृद्धिका लागि नेपाल र भारतबीच ‘डिजिटल’ सहकार्य अभिवृद्धिमा जोड दिनुभएको छ । यहाँस्थित भारतीय दूतावास, नेपाल राष्ट्र बैंक, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम र एकीकृत विकास अध्ययन संस्थाद्वारा संयुक्तरुपमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री शर्माले प्रविधिका क्षेत्रमा सहकार्यका लागि दुवै मुलुकका अधिकारीलाई आग्रह गर्नुभयो ।

“प्रविधिको विकास र प्रयोगमा सहकार्य गरौँ, यसको प्रयोगबाट समुन्नत राष्ट्र बनाऔँ”, सरकारका प्रवक्ताको समेत जिम्मेवारी सम्हाल्नुभएकी मन्त्री शर्माले भन्नुभयो । सूचना प्रविधिको उच्चतम प्रयोगमा भारतको महत्वपूर्ण सहयोग रहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि भारतीय सहयोगले निरन्तरता पाउने अपेक्षा गर्नुभयो ।

मुलुकको समग्र विकासका लागि सरकारले सूचना प्रविधिको प्रयोगलाई उच्च प्राथमिकता दिएको बताउँदै मन्त्री शर्माले सार्वजनिक सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग बढाइएको जानकारी दिनुभयो । नेपाल डिजिटल रुपान्तरणमा तीव्ररुपमा अघि बढिरहेको जानकारी दिँदै उहाँले छिमेकी भारतले प्रविधिका क्षेत्रमा गरेको विकास र प्रयोग नेपालका लागि पनि महत्वपूर्ण भएको बताउनुभयो । सूचना प्रविधिलाई सरकारले महत्वपूर्ण साधनका रुपमा लिएको उल्लेख गर्दै उहाँले प्रत्येक सार्वजनिक निकायले प्रविधिका माध्यमबाट सेवा प्रवाह गर्न सुरु गरिसकेका जानकारी दिनुभयो । “त्यसको परिणामस्वरुप सार्वजनिक सेवामा विद्युतीय प्रणालीको प्रयोगमा बढोत्तरी भएको छ, विद्युतीय माध्यमबाट पनि सेवा प्रवाह भइरहेको छ”, उहाँले भन्नुभयो ।

नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले विकासोन्मुख मुलुकमा प्रविधिको प्रयोग महत्वपूर्ण हुने उल्लेख गर्दै प्रविधिको प्रयोगका सम्बन्धमा नेपालसँग सहकार्य गर्न भारत तयार रहेको बताउनुभयो । भारत र नेपालबीच सदियौँदेखि घनिष्ठ एवं मित्रवत् सम्बन्ध रहेको चर्चा गर्दै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा भएका द्विपक्षीय सम्झौता कार्यान्वयनको चरणमा रहेका बताउनुभयो ।

भारतको डिजिटल सार्वजनिक पूर्वाधार केन्द्रका सहअध्यक्ष प्रमोद बर्माले डिजिटल सार्वजनिक पूर्वाधारको विकास र प्रयोगमा भारत निकै अगाडि रहेको जानकारी दिँदै प्रविधिको सदुपयोगबाट समृद्धि हासिल गर्न सकिने बताउनुभयो । प्रतिनिधिसभा सदस्य स्वर्णीम वाग्लेले नेपालबाट विश्वबजारमा सूचना प्रविधिको बिक्री हुन थाल्नु उत्साहप्रद रहेको भन्दै युवा पुस्ता विदेशिने क्रम जारी रहेको अवस्थामा सूचना प्रविधिको क्षेत्रले स्वदेशमा नै रोजगारीका अवसर उपलब्ध गराउने सम्भावना बढाएको बताउनुभयो ।

एडिबीद्वारा जलवायु परिवर्तन व्यवस्थापनका लागि लाओसलाई ३ करोड २० लाख डलर ऋण

एसियाली विकास बैंक एडिबीले जलवायु परिवर्तनबाट सृजित समस्यासँग जुँध्न लाओसलाई ३ करोड २० लाख ऋण स्वीकृत गरेको छ ।देशका विभिन्न प्रान्तका कृषक समुदायको जीविकोपार्जनमा सुधार ल्याउँनका लागि मङ्गलबार तीन करोड २० लाख अमेरिकी डलर ऋिण स्वीकृत गरेको छ ।

एडिबीको बाढी तथा खडेरी न्यूनीकरण र व्यवस्थापन क्षेत्र परियोजनाले लाओसलाई बाढी र खडेरीबाट हुने क्षतिलाई कम गर्न आहार विविधता क्षेत्रमा सहयोग गर्ने बताएको छ । एडिबीका अनसुार परियोजनाले उच्च मूल्यका तथा बजारमुखी बालीहरू विस्तार गरेर आर्थिक विविधीकरणलाई प्रवर्धन गर्न एवं अतिरिक्त कृषि जनशक्तिलाई रोजगारी उन्मुख बनाउने लगायतका कार्य गर्ने छ । साथै व्यापार वृद्धि गर्दै कृषि निर्यात विस्तारको माध्यामबाट विदेशी मुद्रा तथा कर राजस्व आर्जन गर्ने लक्ष्य पनि लाओसले अगाडि बढाएको छ।

खडेरी, बाढी तथा मौसमी जोखिमको हिसाबले लाओस उच्च जोखिममा रहेको एडीबीले जनाएको छ । पछिल्ले समय मौसमी जोखिमका कारण लाओसको कुल ग्रार्हस्थ उत्पादनमा करिब दुई प्रतिशत कमी आएको अनुमान गरिएको छ । अत्यधिक गर्मीका कारण बाली उत्पादन घट्दै गहिरहेको समयमा सिञ्चाइको उच्च आवाश्यकता रहेको तथा माटोको स्वस्थ्यमा पनि कमी आएका कारण सुख्खा मौसमी धानको उत्पादन भने स्वात्तै बढ्दै गएको छ ।

पुमाले इजराइली राष्ट्रिय फुटबल टोलीसँग फुटबल सामग्री सम्झौता अन्त्य गर्ने

जर्मन खेलकुद सामग्री निर्माता पुमाले गाजामा युद्ध सुरु हुनुभन्दा अघि गरिएको निर्णयमा इजराइली राष्ट्रिय फुटबल टोलीसँगको प्रायोजन सम्झौता अन्त्य गर्ने मङ्गलबार बताएको छ ।

सन् २०२२ को अन्त्यमा गरिएको रणनीति समीक्षापछि आगामी वर्षदेखि इजराइली टोलीलाई सामग्री उपलब्ध गराउन बन्द गर्ने कम्पनीले बताएको छ । “दुई नयाँ हस्ताक्षरित राष्ट्रिय टोलीहरूको घोषणा यो वर्षको अन्त्य र सन् २०२४ मा गरिने छ, सर्बिया र इजराइलजस्ता केही महासङ्घको सम्झौता भने सन् २०२४ मा समाप्त हुनेछ”, कम्पनीका एक प्रवक्ताले विज्ञप्तिमार्फत भन्नुभयो, “यी निर्णय सन् २०२२ मा टोली जर्सीको डिजाइन र विकासका लागि नियमित समयसीमाअनुसार लिइएको थियो ।”

सन् २०१८ मा इजराइलसँग हस्ताक्षर गरिएको सम्झौताले पुमा ब्रान्ड बहिष्कार गर्न प्रेरित गरेको छ । अभियानकर्ताहरूले पुमामाथि इजराइली एफएसँग उसको सम्झौतामार्फत पश्चिम किनारमा अवैध इजराइली बस्तीहरूको समर्थन गरेको आरोप लगाएका छन् । इजराइली एफएमा कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रका टोलीहरू समावेश छन् ।

अक्टोबरमा गाजामा इजराइल र हमासबीचको युद्धको प्रारम्भले इजराइलको समर्थन गर्ने उत्पादनहरू बहिष्कार गर्ने लामो समयदेखिको मागलाई बलियो बनाएको छ ।

हमासका लडाकूहरूले गाजाको सैन्यीकृत सीमा तोडेर करिब एक हजार दुई सय मानिसको मृत्यु र दुई सय ४० बन्धकहरू अपहरण गर्ने गरी अक्टोबर ७ मा अभूतपूर्व आक्रमण गरेपछि दुवै पक्षबीच युद्ध सुरु भएको छ । बन्धक बनाइएकामध्ये एक सय ३७ जना गाजामा रहेका छन् ।

जवाफमा इजराइलले हमासलाई समाप्त पार्ने वाचा गरेको छ र गाजामा व्यापक बमबारी र स्थल कारबाही सुरु गरेको छ । इजराइलको जवाफी आक्रमणमा अधिकांश महिला र बालबालिकासहित गाजामा कम्तीमा १८ हजार दुई सय मानिस मारिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

शिव शनि धामको धार्मिक महत्व

अजयकुमार झा/काठमाडौँ, २६ मङ्सिर : सनातन धर्मका मठ, मन्दिर, देवस्थल आदि हरेक गाउँ, टोल, समुदायमा भेटिन्छन्, तर सनातनी तीर्थहरु प्रायः दुर्गम पर्वतमालाहरुमा नै रहेको पाइन्छन् । तीर्थहरु दुर्गम स्थानमै स्थापित तथा विकसित हुनुको कारणहरु अनेक हुन सक्छन् तर प्रमुख कारणको रुपमा ती तीर्थस्थलहरु कुनै सन्त, सन्यासी, योगी, वैरागी, ऋषि, मुनि, महात्माहरुले निर्माण गरेको हुनुपर्छ, जो परिवार, समाज र मानिसहरुको भीडभाडबाट अलग्ग गएर विकट अन्कन्टार ठाउँमा बसेर साधना र तपस्यामा जीवन समर्पित गर्दथे भन्न सकिन्छ ।

कालान्तरमा धर्मानुरागीहरुमा तीर्थयात्राको रहर र लहर बढ्दै, तीर्थस्थल वरपर तीर्थालुको सेवा र सुविधाको उपलब्धताले बजार र बस्ती बन्दै बढ्दै तथा यातायातको विकास र विस्तार हुँदै गर्दा त्यस्ता दुर्गम स्थानहरु पनि सुगम बन्दै गएका हुन् । यस्तै तीर्थस्थलको रुपमा सप्तरीको चुरे वन फेंदीमा पनि एक दशकयता एउटा नयाँ ठाउँ विकसित हुँदै आएको छ, जसलाई शिव शनि धाम भनेर चिनिन्छ । चुरिया पर्वतमालाको यस भूभागमा रुपनीमाई, अग्निसाइर, कृष्णाराम मरौटीजस्ता देवस्थल र लोकदेवस्थलहरु धेरै पहिलेदेखि नै रहेका छन् । पछिल्लो समय शिव शनि धाममा भक्तजनको भीड दिन प्रतिदिन बढ्दो छ ।

सप्तरीको मध्य उत्तरी क्षेत्र साविकको तेरहौता गाविस–५ र हालको रुपनी गाउँपालिका–६ अन्तर्गत पर्ने चुरे फेदी दुधैला खोलासँगैको डाँडामा शिव शनि धाम रहेको छ । पूर्व–पश्चिम राजमार्गमा रुपनीदेखि पूर्वतर्फ पाँच किलोमिटर गएपछि वीरेन्द्रबजार आउँछ । वीरेन्द्रबजारको पश्चिमी भाग र मध्यभागबाट गरी दुईवटा बाटो शिव शनि धामतर्फ गएको छ, जुन दुधैला खोला किनार पुगेर आपसमा गासिन्छ । दुधैला खोलालाई पटकपटक पार गर्दै वा खोलैखोला भएर तीन चार किलोमिटर हिँडेपछि शिव शनि धाम पुग्ने गरिन्छ ।

दुधैला खोला कहिल्यै सुक्दैन; धेरथोर पानी जहिले पनि रहन्छ । वीरेन्द्रबजारबाट शिव शनि धामतर्फ जाने दुइटै बाटाको मुखमा ठूलो पक्की द्वार निर्माण गरिएको छ । पूर्वका आगन्तुक पूर्वीद्वार र पश्चिमका आगन्तुक पश्चिमीद्वारबाट प्रवेश गर्न सकिने भएपनि पश्चिमी द्वारबाट जाने बाटोलाई मूलबाटोको रुपमा विकास गर्न लागिएको छ ।

राजमार्गदेखि दुधैला खोलासम्म खण्डस्मित भइसकेको छ भने ठाउँठाउँमा कालोपत्रेसमेत भइरहेको छ । दुधैला खोलामा पुरानो डाइभर्सनसँगै पक्की पुल निर्माणाधीन छ । यो पुल बनेपछि शिव शनि धामको तीन चार किलोमिटर लामो बाटो एक किलोमिटरमा छोट्टिनेछ । शिव शनि धाममा बिजुली पु¥याउने काम पनि धमाधम भइरहेको छ । शिव शनि धामको पर्यटकीय पूर्वाधारको विकासमा नेपाली सेनाले पनि धेरै काम गरेको छ । यहाँ आसपासमा सेनाको चाँदमारी पोष्ट रहेको छ ।

शिव शनि धाम प्राकृतिक रुपमा नै धर्तीको अद्वितीय अंश हो । कैलाश सदृश्य चुरिया पर्वतको यो शृङ्खला वानस्पतिक दृष्टिले पनि महत्वपूर्ण छ । चुरियाको फेद र दुधैला खोला र धारा खोलाको सङ्गममा कैलाश पर्वत जस्तो गजबको डाँडो छ । यसै टाकुरामा तलदेखि माथि टुप्पोसम्म ठाउँठाउँमा देवीदेवताका आकृतिहरु स्थापना गरिएका छन् । सबैभन्दा माथि शिवको प्रतिमा र बृत्ताकारमा १०८ वटा शिवलिङ्ग स्थापना गरिएका छन् भने त्यसमुनिको स्थानमा शनिदेवको प्रतिमा स्थापित छ । त्यस्तै पार्वती, गणेशसहितको पूर्ण शिव परिवार, नन्दी, भैरव, आदि देवता छन् । यहाँ पञ्चमुखी हनुमान, गोरखनाथ, प्रेतराज, नागराज, नवग्रह, महाकालेश्वर, शिव परिवार देवताहरुका मूर्ति पनि राखिएका छन् ।

राजा शलहेश, दिनाभद्रीजस्ता लोकदेवलाई पनि समावेश गरिएको पाइन्छ । दुधैला खोलालाई नाघेर शिव शनि धामको द्वार र परिसरमा प्रवेश गर्न सकिन्छ । तीर्थस्थलमा नियमित पूजापाठका लागि पुजारीहरु पनि बस्दछन् । शिव शनि धाममा हरेक सोमबार र शनिबार भक्तजनको भीड हुन्छ । शनिदेवको दर्शन गर्नाले ग्रहशान्ति हुने विश्वास छ । देशकै ग्रहदशा शान्त गर्न र मानव जीवनको कल्याणका लागि समय समयमा यज्ञ, अष्टयामलगायतका अनुष्ठानसमेत आयोजना गरिन्छन् । करिब २५ वर्षअघि सत्यनारायण साह नामक एक धर्मभिरुले शनिदेवको उक्त शिला स्थापना गरेको बताइन्छ । उक्त शिलाको कारणले उक्त स्थानको नाम शिव शनि धाम भनी प्रचार हुन थाल्यो ।

नव ग्रहमध्येका एक देवता शनिदेव (शनिग्रह) को उपासनाको आधार र कारणबारे पनि परिचित हुन थालेका छन् । शनिदेवद्वारा नै हाम्रो सांसारिक जीवनको कार्यक्षेत्र वा कर्मजीवन सञ्चालित भएको मानिन्छ । मानिसको जन्मकुण्डलीको दशम भावलाई कर्म, पिता र राज्यपक्षको प्रतीक मानिन्छ भने एकादश भावलाई आय र राज्यसुखको भाव मानिन्छ । त्यसैले कर्म, सत्ता र आयको प्रतिनिधि ग्रह भएका कारणले जन्मकुण्डलीमा शनिको स्थान महत्वपूर्ण मानिन्छ ।

शनिदेवलाई न्यायको देवता मानिन्छ । शनिदेवले राम्रो काम गर्नेलाई राम्रो र नराम्रो काम गर्नेका लागि नराम्रो फल दिन्छन् । दोषपूर्ण कर्मका कारण मानिसको जीवनमा शनिदोष प्रत्यक्ष हुन्छ । शनिदोष भएका व्यक्तिले शनिदेवको उपासना गरी आफ्नो जीवनलाई दोषरहित बनाउन सक्छन् । शनिदेवको पूजा पश्चात भगवान हनुमानको पूजा गर्ने चलन छ ।

जुवा खेल्ने, सट्टेबाजी गर्ने, रक्सी पिउने, ब्याज दिने, व्यभिचार गर्ने, अप्राकृतिक यौन सम्बन्ध राख्ने, झुट्टा गवाही दिने, निर्दोष मानिसलाई यातना दिने, माता, पिता र गुरुको अपमान जस्ता कार्य गर्नाले शनिदोष उत्पन्न हुन्छ । शनिदोष भएका व्यक्तिले जीवनमा दुःख, कष्ट, क्षति, विफलता आदिको सामना गर्नुपर्छ । त्यसैले आम मानिस शनिदेवसँग भयभित रहन्छन् । तर जागरुक मानिस शनिदेव प्रति श्रद्धा र विश्वास राखेर उनको उपासना गरेर आफ्नो नराम्रा कर्मप्रति प्रायश्चित गरेर दोषमुक्त भएपछि शनिदेवको कृपा प्राप्त गर्छन् । जीवन दुःख, कष्ट, पीडा, विफलताबाट मुक्त हुन्छ ।

पुराणहरुमा शनि ग्रहप्रति अनेक आख्यान देखिन्छन् । शनि देवलाई सूर्यपुत्र एवं कर्मफल दाता मानिन्छ । शनिलाई पितृ शत्रु पनि भनिन्छ । शनि ग्रहको विषयमा अनेक भ्रम फैलिएको छ । शनिलाई मारक, अशुभ र दुःखकारक मान्नेहरु छन् । तर शनि मारक, अशुभ र दुःखकारक होइनन् । शनिदेव शत्रु होइनन्, मित्र हुन् । मोक्ष प्रदान गर्ने एक मात्र शनि ग्रह नै हो । शनिले प्रकृतिमा सन्तुलन उत्पन्न गर्दछ । प्रत्येक प्राणीका साथ उचित न्याय गर्दछ । जसले अनुचित, विषमता र अस्वभाविकतालाई आश्रय दिन्छ, शनि केवल उसैले दण्डित (प्रताडित) गर्दछ । जसले जीवनमा सद्कर्म गर्दछ, उसलाई शनिले शुभ योग प्रदान गर्दछ ।

वीरेन्द्रबजारदेखि करिब तीन चार किलोमिटर उत्तर दुधैला खोला र धारा खोलाको सङ्गममा अवस्थित प्रसिद्ध शिव शनि धाममा दर्शन गर्नका लागि सप्तरी, सुनसरी, सिरहा जिल्लाबाट ठूलो सङ्ख्यामा भक्तजन आउँछन् । धाममा अहिले हुँदै गरेको पूर्वाधार विकासले धार्मिक पर्यटक बढ्दै जाने सम्भावना छ । यस क्षेत्रको पूर्वाधारको विकासमा पूर्व–पश्चिम राजमार्ग तथा रुपनी–राजविराज सहायक मार्गको त ठूलो योगदान रहने नै छ त्यसमा वीरेन्द्र बजार–तेरहौता–राजविराज–फकिरा हुँदै भारतीय सीमासम्म बन्ने सडकले समेत ठूलो सहयोग गर्ने देखिन्छ । उक्त सडक निर्माण भएपछि राजविराजबाट १० कि.मि. टाढा रहेको पूर्व–पश्चिम राजमार्गसँगको दूरी घटेर छ किमिमा पुग्ने बताइन्छ ।

नव ग्रहहरुको कक्ष क्रममा शनि सूर्यदेखि ८८ करोड ६१ लाख माइल दूरीमा पर्दछ । पृथ्वीदेखि शनिग्रहको दूरी ७१ करोड ३१ लाख ४३ हजार माइल छ । शनि ग्रहको व्यास ७५ हजार १०० माइल छ । शनिग्रह छ माइल प्रतिसेकेण्डको गतिबाट साढे २१ वर्षमा आफ्नो कक्षमा सूर्यको परिक्रमा पूरा गर्दछ । शनि ग्रहको सतहको तापमान २४० फÞोरनहाइट छ । शनिग्रहको चारैतिर सातवटा वलय (ग्यासका घेरा) छन् । शनिग्रहको १५ वटा चन्द्रमा छ, जसको प्रत्येकको व्यास पृथ्वीभन्दा निकै बढी छ । शनि मूल रुपमा ग्रह नै हो, जसलाई हामी भगवान मान्दछौं ।

‘ब्रह्मा मुरारी त्रिपुरान्तकारी भानु शशि भूमिसुतो बुधश्च । गुरुश्च शुक्र शनि राहुकेतवः कुर्वन्तु सर्वे मम सुप्रभातम् ।’ भनेर नवग्रहकै पूजा गरिन्छ । नवग्रहमा सूर्य, बुध, शुक्र, पृथ्वी, चन्द्रमा, मंगल, गुरु, राहु, केतु पर्दछन् । चन्द्रमा, राहु र केतुलाई ग्रहको वैज्ञानिक परिभाषा अनुसार ग्रह मानिदैन । मानिसको जीवनमा चन्द्रमा, राहु र केतुको पनि विशेष प्रभाव पर्दछ । सनातन धर्मको यो विशेषता हो कि उसले सम्पूर्ण प्रकृतिलाई समग्रमा र प्रकृतिका हिस्साहरुलाई अंशको रुपमा पृथक पृथक अस्तित्व स्वीकार गर्दछ र उसको विशिष्ट स्वभावको आधारमा उसको उपासना गर्दछ । (लेखक इतिहास, संस्कृति र समसामयिक विषयमा जानकार हुनुहुन्छ)

एनसेल प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्नेमा जोड

भक्तपुर – नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वउद्योगमन्त्री सोमप्रसाद पाण्डेले एनसेल प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिनुभएको छ । रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको सञ्चार–संवाद कार्यक्रममा उहाँले एनसेललाई अब राष्ट्रियकरण गर्नुपर्ने बताउनुभयो ।

पूर्वमन्त्री पाण्डेले भन्नुभयो, “डेढ खर्बको लागत रहेको एनसेल कम्पनीको शेयर खरिद बिक्रीको रकम रु ६ अर्बमात्रै हुनुले त्यहाँ गलत भएको तथ्य उजागर भएको छ, सरकारी अभिलेख हेर्दा पनि एनसेलले रु छ अर्ब मुनाफाको अंश विदेश लगेको देखिन्छ, यस्तो अवस्थामा ठूलो रकम कर छलेको सहजै अनुमान गर्न सकिन्छ छानबिन समितिले निष्पक्ष छानबिन त्यसलाई राष्ट्रियकरण गरिनुपर्छ ।”

फरक सन्दर्भमा नेता पाण्डेले मेलम्चीको पानीे काठमाडौँबासीलाई यथाशीघ्र उपलब्ध गराउन, काठमाडौँ उपत्यकामा द्रुत बससेवा स्थानीय निकायसँग समन्वय गरेर सञ्चालन गर्न, धौवादीस्थित फलाम खानी संरक्षणलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

सामुदायिक शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गर्न काठमाडौँ महानगर र केयुबीच सम्झौता

काठमाडौँ २६ मङ्सिर: सामुदायिक शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले काठमाडौँ विश्वविद्यालय (केयु)सँग सम्झौता गरेको छ । महानगरपालिकाले चालु आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याएको गौरव योजना अन्र्तगत ‘गरी खाने शिक्षा, महानगरको इच्छा’ लाई दिगो र प्रभावकारी रुपमा सञ्चालन गर्नु सहकार्यको मुख्य उद्देश्य भएको महानगरपालिकाको शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले राससलाई बताउनुभयो ।

विभागका प्रमुख कोइराला र विश्वविद्यालयको शिक्षा विभागका डीन प्रा. डा. बालचन्द्र लुइँटेलले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । सम्झौताबमोजिम महानगरपालिकाले गत वैशाखदेखि लागु गरेको शिक्षामा सिप, पुस्तकरहित शुक्रबार तथा बाल सञ्जाल गठन तथा सशक्तीकरण, शिक्षक विद्यार्थीको प्रविधिमैत्री सीप विकास कार्यक्रम, शिक्षण सुधार, प्रारम्भिक वाल विकास कक्षाको स्तरोन्नतिमा सहकार्य हुनेछ ।

हाल महानगरपालिकाले ८९ सामुदायिक विद्यालयमा दुई हजार २०२ जना शिक्षकले अध्यापन गर्नु हुन्छ । विभागका प्रमुख कोइरालाले सामुदायिक शिक्षाको स्तर उकास्दै संस्थागत विद्यालयमा पनि कार्यक्रम क्रमशः कार्यान्वयन गरिने बताउनुभयो । महानगरपालिकाले ‘गरी खाने शिक्षा, महानगरको इच्छा’ कार्यान्वयन गर्न रु ५० करोड विनियोजन गरेको छ ।

गमगाढ नदीमा पुल निर्माण नहुँदा स्थानीय र विद्यार्थीलाई विद्यालय आउजाउ गर्न समस्या

मुगु, २६ मङ्सिर : गमगाढ नदीमा ठेकेदारले पुल निर्माण नगर्दा स्थानीय र विद्यार्थीलाई विद्यालयमा आउजाउ गर्न समस्या भएको छ । वर्षाको समयमा खोला बढ्ने र बाढीले बगाउने डरले आकाशमा कालो बादल लाग्नासाथ विद्यार्थी बिदा मागेर घर फर्किन्छन् ।

मुगुको छायाँनाथ रारा नगरपालिका १, १०, ११ र १२ त्यसैगरी मुगूम कार्मारोङ गाउँपालिकाका स्थानीय जिल्ला सदरमुकाम गमगढी बजारमा आउँदा जाँदा गमगाढ खोला तर्नका लागि खोलामाथि राखिएका काठका दुई लाप्का भएर खोला तर्दा काँप्दै खोला तर्ने गर्छन् । दिनमा यही लाप्काको भरमा काम्दै सयौँको सङ्ख्यामा गमगाढ खोलामाथि तर्ने गरेको स्थानीय सुरेन्द्रबहादुर मल्लले बताउनुभयो ।

छायाँनाथ रारा नगरपालिका–१ श्रीनगर गाउँमा रहेको मीन माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत छात्रा सपना मल्ल र महाकाली नमूना माध्यमिक विद्यालय कक्षा ८ मा अध्ययनरत छात्रा मुस्कान मल्लले आफ्नो घरबाट विद्यालय जाँदा गमगाढ खोलामाथिका दुई लाप्का भएर जानुपर्ने बाध्यता भएकाले सधैँ विद्यालय जाँदा र घर फर्कँदा डराउँदै खोला तर्ने गरेको गुनासो गर्नुभयो ।

मुगूम कार्मारोङ गाउँपालिका–२ मुगुगाउँका पेमा तोर्चे लामाले भारी बोकेर उक्त खोला तर्दा काठका लाप्का हल्लिएर रिँगटा लाग्दा खोला किनारमा खसेको सम्झँदै भन्नुभयो, “सदरमुकाम गमगढीबाट यार्सा टिप्न पाटन जाँदा चाहिने औषधि, लत्ताकपडा र केही खानेकुरा किनेर घर फर्किंदै थिएँ, खोलामा खसेँ, भारी बगायो, म बाँचेँ ।”

जिल्ला सदरमुकाम जाँदा र फर्किँदा बाटोमा पर्ने गमगाढ खोलाको अल्कासाँघु भन्ने स्थानमा पक्की पुल नहुँदा सिङ्गो मुगूम कार्मारोङ गाउँपालिका र छायाँनाथ रारा नगरपालिका–१९ गाउँका बासिन्दाले सधैँ सास्ती भोग्दै आएका छन् ।

मीन माविमा अध्ययनरत विद्यार्थी आकाशमा कालो बादल आउनासाथ बिदा मागेर घर जान हतार गर्ने गरेको शिक्षक शिवलक्ष्मी मल्लले बताउनुभयो । उहाँका अनुसार वर्षाको समयमा बाढी आएर खोला तर्न कठिन हुने भएकाले पानी पर्नुभन्दा पहिल्यै खोला तरिसक्नका लागि पढाइ बीचमै छाडेर विद्यार्थी घर जान हतार गर्ने गरेका छन् । पुल नहुँदा त्यही खोला तरेर आउने विद्यार्थीको पढाइमा समेत असर गरेको शिक्षक मल्लले बताउनुभयो ।

सडक डिभिजन कार्यालय जुम्लाले नाग्म गमगढी लोगमार्गको नदी र खोला खण्डमा पर्ने दश वटा पक्की पुलको निर्माण गर्न विसं २०७८ फागुन ९ गते हिम सगरमाथा कन्स्ट्रक्सन प्रालिसँग रु ३२ करोड ६८ लाख ९२ हजारमा सम्झौता गरेको थियो ।

निर्माण प्रालिले कालीकाखेतु, बाँजागाड, विष्टवाडा, रोकायावाडा, गोठीजिउला, पिना, झ्यारीखोला, गमगाढ, लुम्स त्यसैगरी काठेखोलासम्म नाग्म गमगढी लोगमार्गको नदी र खोला खण्डमा पर्ने दश वटा पक्की पुलको निर्माण ०८२ साल भदौ ८ गतेभित्र सम्पन्न गर्ने गर्ने गरी जिम्मा लिएको थियो ।

गमगाढ खोलामा निर्माण हुने पक्की पुल ठेकेदार कम्पनीको लापरबाहीका कारण सम्झौता भएको तीन वर्ष बित्नलाग्दा पनि सम्पन्न हुन सकेको छैन । सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी चित्र चौलागाईंले नाग्म गमगढी लोकमार्गअन्तर्गत पर्ने गमगाढ नदीका निर्माण हुने पक्की पुल निर्माण गर्न जिम्मा लिएको हिम सगरमाथा कन्स्ट्रक्सन प्रालिलाई कार्यालयबाट पटकपटक पत्राचार भएको जनाइएको छ ।

जाजरकोटको नलगाडमा वाणिज्य बैंक स्थापना

जाजरकोट, २६ मङ्सिर : राष्ट्रिय वाणिज्य बैंकले नलगाड नगरपालिकाको दल्लीबाट आफ्नो सेवा सुरु गरेको छ । सहुलियत कर्जा कार्यक्रमदेखि अन्य कारोबार गर्ने उद्देश्यसहित नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीमा शाखा स्थापना भएको जाजरकोट शाखाका प्रमुख निमबहादुर शाहीले जानकारी दिनुभयो । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकासहितलाई सेवा प्रवाह गर्ने उद्देश्यका साथ दल्लीमा वाणिज्यको शाखा स्थापना भएको शाहीले जानकारी दिनुभयो ।

भूकम्पबाट पीडित बनेका यस क्षेत्रका सर्वसाधारणलाई वाणिज्य बैंकको शाखा विस्तारले भारी मात्रामा सहयोग पुगेको नलगाड नगरपालिकाका नगरप्रमुख डम्बर रावतले बताउनुभयो । वाणिज्य बैंक स्थापनाका लागि नगरपालिकाले पटक पटक माग पत्र पेश गर्दै आएको थियो । द्वन्द्वकालमा नेपाल बैंक लिमिटेड दल्लीबाट सदरमुकाम खलङ्गामा विस्थापित भएको थियो ।

पुरुष पनि घरेलु हिंसामा !


राँझा (बाँके), २६ मङ्सिर : बाँकेमा पुरुष पनि घरेलु हिंसामा परेको जनाउँदै न्यायका लागि प्रहरी कार्यालयमा उजुरी दिन पुगेका छन् । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म ४० जना पुरुषले न्यायका लागि उजुरी दिएको जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र प्रमुख प्रहरी निरीक्षक महेश्वरी विष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार पुरुषको तर्फबाट पनि हिंसामा परेको उजुरी आइरहेका छन् । तर पुरुषले दिने उजुरीको तुलनामा महिलाको सङ्ख्या अत्यधिक छ । “अधिकांश हिंसामा परेको उजुरी महिलाको तर्फबाट आउने गरेका छन्”, प्रहरी निरीक्षक विष्टले भन्नुभयो, “कतिपय अवस्थामा पुरुषको तर्फबाट पनि उजुरी आइरहेका छन्, हामीले आवश्यक कारबाही गरिरहेका छाँै ।”

जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्याङ्कअनुसार बाँकेमा पछिल्लो तीन वर्षमा घरेलु हिंसाका दुई हजार सात सय ५० वटा उजुरी दर्ता भएका छन् । अधिकांश घटनामा महिला पीडित रहेका छन् । अहिले पुरुषले समेत आफूमाथि हिंसा भएको भन्दै उजुरी दिन थालेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेमा आव २०७७÷७८ मा सात सय ३८, २०७८÷७९ मा आठ सय ८९, २०७९÷८० मा आठ सय ८५ र चालु आवको साउनदेखि हालसम्म घरेलु हिंसामा परेको जनाउँदै तीन सय ३२ वटा उजुरी परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले हिंसामा परेको भन्दै उजुरी दिने महिलामा बयान फिर्ता गरी उजुरी फिर्ता हुने प्रवृत्ति पनि देखिएको बताउनुभयो ।

“निवेदन दिइसकेपछि कतिपय निवेदनकर्ता सम्पर्कमा आउँदैनन् । प्रतिशोध साँध्नका लागि उजुरी दिने र त्यसपछि वास्तै नगर्ने प्रवृत्तिसमेत बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “उजुरी परेपछि हिंसासँग जोडिएका घटनालाई सुक्ष्मरूपले गम्भीरतापूर्वक अनुसन्धान गर्ने गरिएको छ ।”

आज स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस,नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइँदै

काठमाडौँ, २६ मङ्सिर: स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ । हरेक वर्ष डिसेम्बर १२ का दिन यो दिवस मनाइन्छ । यस वर्ष ‘सबैको स्वास्थ्यका लागि आजैदेखि जुटौँ’ भन्ने नारा रहेको छ ।

सो नारा दिगो विकास एजेण्डा, २०३० अन्तर्गत गरिएको ‘कसैलाई पछि नछाडौँ’ भन्ने मूल नारामा आधारित छ । दिगो विकास एजेण्डाले स्वास्थ्यलाई मौलिक अधिकारका रूपमा स्वीकार गरेको छ । दिगो विकास परिलक्ष्यले कुनै आर्थिक कठिनाइबिना सबैले गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पाएको सुनिश्चित गर्न स्वास्थ्यमा सर्वव्यापी पहुँच हुनुपर्ने कुरामा जोड दिन्छ । नेपालले दिगो विकास लक्ष्य प्राप्तिका लागि अन्तर्राष्ट्रियस्तरमा गरेको प्रतिबद्धताअनुसार नै स्वास्थ्यमा सर्वव्यापी पहुँच पुर्याउने लक्ष्य लिएको छ ।

स्वास्थ्य सेवा विभाग ,उपचारात्मक सेवा महाशाखाअन्तर्गतको आधारभूत स्वास्थ्य व्यवस्थापन शाखा प्रमुख डा पोमावति थापाले दिवसका अवसरमा स्वास्थ्यमा सर्वव्यापी पहुँचका लागि अहिलेसम्मको प्रगति समीक्षा, आगामी योजना र जनतामा सचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।

“स्वास्थ्यमा सर्वव्यापी पहुँच भन्नाले सबै मानिसको आफूले चाहेको बेला, चाहेको ठाउँमा कुनै आर्थिक कठिनाइबिना आफूलाई चाहिएका सबै प्रकारका गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच हुनु भन्ने हो”, उहाँ भन्नुहुन्छ । यसले जीवनको चरणबद्ध पद्धतिमा आधारित भई प्रवर्द्धनात्मक, निवारणात्मक, उपचारात्मकदेखि प्रशामक सेवासम्मका अत्यावश्यक स्वास्थ्य सेवाको पूर्ण निरन्तरता दिनुपर्ने कुरालाई समेट्छ ।

“आधारभूत स्वास्थ्य सेवाका लागि प्रत्येक व्यक्तिको पहुँचमा पुर्याउनका लागि प्रत्येक वडामा स्वास्थ्यचौकीदेखि प्रत्येक पालिकामा अस्पतालको व्यवस्था छ”, सर्वव्यापी पहुँचका लागि सरकारको प्रयासबारे उहाँ भन्नुहुन्छ, “सरकारले विशेषज्ञ सेवालाई स्वास्थ्य बीमा तथा सामाजिक सुरक्षाबाट जस्तै गरिब, विपन्न, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, हिंसापीडित, द्वन्द्वपीडित, दीर्घरोगका बिरामीलाई सहुलियत, निःशुल्क डायलायसिस, विद्यालय नर्सलगायतका थुप्रै कार्यक्रमले स्वास्थ्यमा सर्वव्यापी पहुँचका लागि हो ।” यसका लागि दुर्गम क्षेत्रमा बसोबास गर्ने, लाभका अवसरबाट पछि परेका र सङ्कटासन्न अवस्थामा रहेका विभिन्न समूहको हकमा स्वास्थ्य सेवा पहुँचमा असमानता रहनु मुख्य चुनौती रहेको स्वास्थ्यकर्मीहरू बताउनुहुन्छ ।

शाखा डा थापा भन्नुहुन्छ, “स्वास्थ्य सेवा लिँदा आफ्नो गोजीको खर्चमा मात्र भर पर्नुपरेको छ । नेपाल दक्षिण एसियाकै महँगो उपचार सेवा हुनेमध्येको एक देश हो, जुन हाम्रा लागि चुनौती हो ।”

फिस्लिङ तोक्दाङ नौ किमी सडक : नौ करोड खर्चिए पनि उस्तै !

मुग्लिन ९चितवन०, २६ मङ्सिर स् पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङबाट इच्छाकामना मन्दिरसम्म सडकको नयाँ ट्रयाक खन्ने काम विसं २०६५ मा सम्पन्न भयो । तत्कालीन दारेचोक गाउँ विकास समितिबाट रु ५० हजार बजेट विनियोजन गरी सडकको नयाँ ट्रयाक फिस्लिङबाट खन्ने काम सुरु गरिएको थियो ।

उक्त ५० हजारबाट सडकको ट्याक खन्न सम्भव थिएन । स्थानीयले चन्दा उठाएर ट्रयाक खन्ने काम सम्पन्न गरे । सो ट्रयाक खन्ने काममा मनकामना दर्शन प्रालिले पनि साथ दियो । स्थानीय लोकबहादुर गुरुङका अनुसार मनकामना दर्शन प्रालिले सडक खन्ने एउटा मेसिन उपलब्ध गराएको थियो । उहाँका अनुसार उक्त ट्रयाक खोल्न रु ४६ लाख खर्च भएको थियो ।पन्ध्र वर्षअघि ट्रयाक खनेर गाडी गुड्न थालेको यस ग्रामीण सडकमा यात्रा भने सधैँ जोखिपूर्ण रहेको छ । हिउँदमा केही सहज भए पनि भरपर्दो नाली, पर्खाल नहँुदा वर्षायाममा निकै जोखिम रहेको र नियमित सवारीसाधन जान सक्ने अवस्था नहुने उहाँको भनाइ छ ।स्थानीय गुरुङले भन्नुभयो, “सडक निर्माण गरेको १५ वर्ष भयो, सडक स्तरोन्नति नहुँदा जोखिम यात्रा गर्न बाध्य छौँ, हिउँदमा केही सहज भए पनि बर्खामा भने नियमित सवारी नै चल्न सक्ने अवस्था रहँदैन ।” उहाँका अनुसार यस भेगमा वर्षायाममा उत्पादन हुने तरकारी बजारसम्म लैजान समस्या छ । इच्छाकामनाको तोक्दाङ, माझगाउँलगायतका गाउँ सुन्तला र तरकारी खेतीका लागि उर्वर भूमि मानिन्छ । यस भेगका स्थानीयको मुख्य अम्दानीको स्रोत सुन्तला र तरकारी खेती हो । गाउँपालिकाले माँझगाउँलाई सुन्तलाको पकेट क्षेत्र घोषणा गरेको छ । सडक सहज नहुँदा यहाँका स्थानीय किसान मर्कामा परेका छन् ।नौ करोड खर्चिए पनि सडक उस्तैउक्त सडकखण्डअन्तर्गत फिस्लिङबाट तोक्दाङसम्म नौ किलोमिटर विसं २०७४ मा रु नौ करोड खर्चिएर स्तरोन्नति गरिए पनि एक वर्ष पनि टिक्न सकेन । वर्ष दिन नपुग्दै सडक पुरानै अवस्थामा आएको स्थानीयको भनाइ छ । ग्रामीण सडक सञ्जाल सुधार आयोजनाअन्तर्गत उक्त नौ किलोमिटर सडकको स्तरोन्नतिको काम भएका थिए । ग्राभेल, पर्खाल, नाला निर्माणलगायतका काम पनि ती भत्किएका छन् ।धार्मिक पर्यटकीयस्थल इच्छाकामना मन्दिर जाने यस मुख्य ग्रामीण सडकको स्तरोन्नतिका लागि प्राथमिकतामा राखेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले यस सडक स्तरोन्नतिका लागि गाउँपालिकाले पहल गरिरहेको जानकारी दिनुभयो । तत्काल गाउँपालिकाको बजेटबाट एक किलोमिटर सडक कालोपत्र गर्ने काम भइरहेको र बढी जोखिम रहेको स्थानमा ढलान गरिने बताउनुभयो ।अध्यक्ष गुरुङले भन्नुभयो, “इच्छाकामना मन्दिर जाने यस सडकलाई हामीले प्राथमिकतामा राखेका छौँ, कालोपत्रक लागि केन्द्र र प्रदेशमा पहल गरेका छौँ, तत्काल गाउँपालिकाको बजेटले एक किलोमिटर कालोपत्र गर्ने काम भइरहेको छ भने अप्ठ्यारा खण्डमा ढलान गर्ने छौँ”, फिस्लिङ–शक्तिखोर ग्रामीण सडक आयोजनाभित्र पर्ने यस सडक कालोपत्रका लागि छुट्याएको बजेटसमेत आर्थिक अभाव रहेको जनाउँदै अर्थ मन्त्रालयले रोकेको उहाँको भनाइ छ ।–––

विद्युत् छ : पङ्खा, टिभी र पानी तान्ने उपकरण चल्दैन

कञ्चनपुर, २६ मङ्सिर : शुक्लाफाँटा नगरपालिका–४ सिकलपट्टिका दुई सय बढी बासिन्दाको घर–घरमा विद्युत्का मिटर जडान गरिएका छन् । नियमितरूपमा प्रत्येक महिनाको अन्त्यमा स्थानीय बासिन्दाले विद्युत्को महसुल पनि तिर्दै आएका छन् । विद्युत् शक्ति (भोल्टेज) कम हुँदा एक दशकदेखि विद्युत् सेवा भने सहजरूपमा पाउन सकेका छैनन् । एक बल्वबाहेक अन्य विद्युतीय उपकरण नचल्ने गरेको वीरबहादुर चन्दले गुनासो गर्नुभयो ।

“ पङ्खा चल्दैन, खेतमा सिँचाइ गर्ने विद्युतीय मोटर चल्दैन, टिभी राखेका छाँै, कम भोल्टेजकै कारण हेर्न पाएका छैनौँ”, उहाँले भन्नुभयो, “यस समस्याबारे पटक–पटक वडादेखि विद्युत् कार्यालयसम्म पुगे पनि सुनवाइ हुनसकेको छैन ।” दुई वर्षअघि वडामा गाउँका सबै जनाको संयुक्त हस्ताक्षर गरी निवेदन दिए पनि बेवास्ता गरिएको उहाँले बताउनुभयो । “पोलमा विद्युत्का दुईवटामात्रै तार तानिएका छन्”, स्थानीय हेमराज जोशीले भन्नुभयो, “विद्युत्को भोल्टेज नपुग्दा ‘डिमलाइट’ हुने गरेको छ, एक दशकदेखि समस्या भए पनि निराकरण हुनसकेको छैन ।”

तार तानेर तीन वा चार फेसको विद्युत् लाइन बनाइनुपर्ने उहाँको माग छ । विद्युतीय मोटर चलाउनका लागि भोल्टेज नपुग्दा सबै जनाले विकल्पका रूपमा डिजेल इन्जिन राखेर खेतमा सिँचाइ गर्दै आएका छन् । “विद्युत् सेवा सहज भए विद्युतीय मोटरबाट पानी तान्न सस्तो पर्ने थियो”, स्थानीय मानसिंह जाग्रीले भन्नुभयो, “महँगो डिजेल इन्जिन खरिद गरी सिँचाइको व्यवस्था गर्नुपर्ने बाध्यता छ ।” वडाध्यक्ष कमल ठकुल्लाले ट्रान्फर्मरले भार धान्न नसक्दा नयाँ ट्रान्सफर्मर जडानका लागि पहल भइरहेको बताउनुभयो ।

“प्राविधिकले ट्रान्सफर्मर जडान गर्ने ठाउँ हेरेर गएका छन्”, उहाँले भन्नुभयो, “एक–दुई महिनाभित्रै ट्रान्सफर्मर जडान गर्ने कार्यसँगै थ्री फेज विद्युतीय लाइन जडानको कार्य हुन्छ ।” सिकलपट्टिका बासिन्दाको विद्युत्को समस्या समाधान गर्नका लागि पटक–पटक विद्युत् कार्यालयसम्म पुगेको उल्लेख गर्नुहुँदै उहाँले पटक पटक पचात्रार गरिएको बताउनुभयो । धेरै पहलपछि सङ्घीय सरकारका तर्फबाट ‘ट्रान्सफर्मर’ उपलब्ध हुन लागेको उहाँको भनाइ छ ।

तराईमा हुस्सु र कुहिरो, यस्तो छ आज दिनभरको मौसम

काठमाडौं – मंगलबार हिमाली भू-भागमा हिमपात र पहाडी भू-भागमा सामान्य बदली रहेको छ।जल तथा मौसम विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका केही स्थानहरूमा हुस्सु / कुहिरो लागेको छ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

आज राती देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

जिल्ला कारागार तनहुँमा पानीको अभाव हुँदा कैदीबन्दीलाई समस्या

दमौली (तनहुँ), २६ मङ्सिर : जिल्ला कारागार तनहुँमा पानीको अभाव भएको छ । कारागारमा दैनिक ३५ हजार लिटर पानीको आवश्यक पर्नेमा हाल दैनिक २० हजार लिटरमात्रै आपूर्ति भइरहेको छ । पानी अभावमा कैदीबन्दीलाई समस्या भएको कारागारका निमित्त प्रमुख नारायण अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दैनिक आवश्यकताभन्दा १५ हजार लिटर कम पानी आपूर्ति हुँदा कैदीबन्दीलाई समस्या परिरहेको छ ।”

मादी नदीको किनारमा इनार खनेर पानीको व्यवस्थापन गरिँदै आएकामा केही महिनायता नदीको गहिराइ बढेर इनारमा पानी कम भएपछि पानीको आपूर्तिमा कमी आएको उहाँ भनाइ छ । उहाँले भन्नुभयो, “अब पानीको आपूर्ति बढाउन नयाँ इनार खन्नुपर्ने मात्र विकल्प छ । अहिले जाडोको समयमा पानी अभावले धेरै असर नगरे पनि गर्मीयाम सुरु भएपछि समस्या हुन्छ ।” जाडोयाममै पानीको आपूर्ति बढाउने विकल्प तयार गर्नुपर्ने अवस्था रहेको उहाँ बताउनुभयो ।

कारागार निरीक्षणका लागि सोमबार पुग्नुभएका तनहुँका निमित्त प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीसमक्ष कारागार प्रमुख अधिकारीले पानीको व्यवस्थाका लागि अहिलेबाटै काम गर्नुपर्ने विषय अवगत गराउनुभएको छ । निमित्त प्रजिअ भण्डारीले पानीको समस्याका बारेमा कारागार व्यवस्थापन विभाग र गृह मन्त्रालयमा लेखी पठाउने जानकारी दिनुभयो । मादी नदीबाट ल्याइएको पानी नुहाउन, लुगा धुन, सरसफाइ तथा शौचालयका लागि उपयोग गरिन्छ ।

पिउनका लागि भने कारागारभित्र दमौली खानेपानी तथा उपभोक्ता संस्थामार्फत चारवटा धारा जडान गरिएको छ । कारागारमा महिला र पुरुष गरी तीन सय दुई कैदीबन्दी छन् । महिलातर्फ २० र पुरुषतर्फ एक सय १४ जनाको क्षमता रहेकामा महिलातर्फ २२ र पुरुषतर्फ दुई सय ८० कैदीबन्दी छन् । करागारका निमित्त प्रमुख अधिकारीका अनुसार महिला कारागारमा आमासँग तीन बालिका पनि छन् । कारागारमा जबर्जस्ती करणी मुद्दाका ८६, लागुऔषध मुद्दाका ५६, कर्तव्य ज्यान मुद्दाका ५३, चोरीका २७, सवारी ज्यानका १९ जना कैदीबन्दी छन् ।

निर्माणाधीन हतुवागढी लिफ्ट खानेपानी आयोजनाको काम अन्तिम चरणमा

भोजपुर, २६ मङ्सिर-भोजपुरको हतुवागढी गाउँपालिकामा निर्माणाधीन हतुवागढी लिफ्ट खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । अनुमानित कुल रु १८ करोड ५३ लाख ८२ हजार लागतमा आयोजनाको काम थालनी गरिएको हो ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरअन्तर्गत निर्माण भइरहेको यो आयोजनाको पाँच स्थानमा ट्याङ्की र पालेघर निर्माणसँगै चार हजार दुई सय मिटर मुख्य पाइप लाइन विस्तारको काम सम्पन्न भएको निर्माण उपभोक्ता समितिले जनाएको छ । अब शाखा लाइन विस्तार र करिब एक सय ५० मिटर मुख्य पाइप बिच्छ्याउन बाँकी रहेको समितिका अध्यक्ष बलबहादुर मगरले बताउनुभयो ।“आयोजनाको करिब ७० प्रतिशत काम सम्पन्न भएको छ”, उहाँले भन्नुभयो, “कामलाई तीव्ररूपमा अघि बढाएका छौँ । हाल मुहानबाट करिब एक सय ५० मिटर मुख्य पाइप लाइन विस्तार गर्न बाँकी छ । विद्युत् विस्तारपछि पानी वितरणको काम थालनी गर्छौँ । बर्सेनि थोरै बजेट विनियोजन हुँदा काममा केही ढिलाइ भएको अवस्था छ ।”यो आयोजनाबाट हतुवागढी गाउँपालिका वडा नं १ र २ रानीबासका करिब आठ सय ४८ परिवारलाई पानी विस्तार हुने उपभोक्ता समितिको भनाइ छ । हेङ्माखोला र कावाखोलाको बीचबाट लिफ्ट गरेर पानी बस्तीमा ल्याउन आर्थिक वर्ष २०७५÷७६ बाट आयोजना निर्माण थालिएको हो ।निर्माण भइरहेको आयोजनास्थलको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरले स्थलगत अनुगमन गरेको छ । योजना सञ्चालन भइरहेको स्थानमा देखिएका समस्या समाधान गरेर चाँडो पानी सञ्चालन गर्ने लक्ष्यका साथ काम अघि बढाएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरका प्रमुख देवनाथ सिंहले बताउनुभयो । भौतिक निर्माणको काम करिब अन्तिम चरणमा पुगेकाले अब विद्युत् विस्तार गरेर पानी वितरणको काम सुरु गर्ने तयारी रहेको प्रमुख सिंहको भनाइ छ ।“यो योजनाको पाइप लाइन विस्तारसँगै अन्य संरचनाको काम करिब अन्तिम चरणमा पुगेको छ”, प्रमुख सिंहले भन्नुभयो, “अब विद्युत् विस्तारको काम बाँकी छ । यो पनि चाँडो सुरु गरेर पानी सञ्चालन गर्ने लक्ष्य छ । तत्काललाई हामीले पहिलो लिफ्टमा पानी फाल्ने तयारी गरेका छौँ ।”स्थलगतरूपमा योजनाको अनुगमन गरेर आवश्यक कामलाई तीव्रता दिइएको कार्यालयको भनाइ छ । क्रमगत योजना रहेकाले यो वर्ष यहाँ थप काम गर्नका लागि रु ५८ लाख बजेट विनियोजन भएको कार्यालयको भनाइ छ । प्रदेश सरकारबाट थप बजेट आएमा यो आर्थिक वर्षमा सम्पूर्ण ट्याङ्कीमा पानी खसाल्न सकिने प्रमुख सिंहले बताउनुभयो । “यो क्रमागत योजना हो”, उहाँले भन्नुभयो, “प्रदेश सरकारबाट बर्सेनि थोर–थोरै बजेट विनियोजन हुने गरेको अवस्था छ । पर्याप्तरूपमा बजेट आएको खण्डमा यो आर्थिक वर्षमा आयोजनाको काम सम्पन्न हुन्छ ।”आयोजनाको कामलाई समयमा सम्पन्न गराउन आवश्यक भूमिका खेलिरहेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो । कतिपय खण्डमा योजना सञ्चालन पूर्व स्थानीय तहमा समन्वय नगरिँदा समस्या हुने गरेको अध्यक्ष राईको भनाइ छ । योजना सञ्चालनपश्चात यसको दिगो व्यवस्थापन गर्न उपभोक्ता समिति, खानेपानी कार्यालय र स्थानीय सरकारले लिखित निर्णय गरेर योजनाबद्धरूपमा काम गर्नुपर्ने उहाँको भनाइ छ ।“योजनालाई सम्पन्न गराउन हामीले पनि आफ्नो तहबाट भूमिका खेलिरहेका छौँ”, अध्यक्ष राईले भन्नुभयो, “प्रदेश सरकारबाट पर्याप्त बजेट नआउँदा काममा केही ढिलाइ भएको अवस्था पनि छ । यसलाई समयमा सम्पन्न गराएर यसको दिगो व्यवस्थापनका लागि काम गर्न आवश्यक छ ।”योजनाबाट पानीको समस्यामा रहेका स्थानीयलाई राहत मिल्ने हतुवावढी–१ का अध्यक्ष कुमार विष्टले बताउनुभयो । यो आयोजनाबाट यहाँका तीन सय बढी परिवारले पानीको उपभोग गर्न पाउने उहाँको भनाइ छ । “यहाँका स्थानीय पानीको पर्खाइमा रहेको अवस्था छ”, उहाँले भन्नुभयो, “हामीले पनि आयोजना समयमा सम्पन्न गराउन भूमिका खेलिरहेका छौँ । पानी बस्तीमा आएपश्चात वर्षौँबाट रहँदै आएको पानीको समस्या अन्त्य हुनेछ ।”वडाको तर्फबाट बाटो मर्मत गर्नेलगायतका काम गरेको हतुवागढी–२ का वडाध्यक्ष विचारी थापाले बताउनुभयो । वडाको तर्फबाट ठूलो काम गर्न नसके पनि यो योजना सम्पन्न गराउन सडक विस्तारलगायत काम गरिरहेको उहाँको भनाइ छ । यो आयोजनाबाट यहाँका चार सय ५० बढी स्थानीयले पानीको उपभोग गर्न पाउने वडाध्यक्ष थापाले बताउनुभयो ।

भूकम्पपीडितलाई चिसोबाट जोगाउन कर्णाली प्रदेश सरकारलाई आग्रह

जाजरकोट, २६ मङ्सिर : राष्ट्रिय मानवअधिकार आयोगले भूकम्पपीडितलाई चिसोबाट जोगाउन आवश्यक व्यवस्था मिलाउन कर्णाली प्रदेश सरकारलाई आग्रह गरेको छ । जाजरकोट र रुकुम पश्चिम पुगेर फर्किनुभएका आयोगका सदस्य मिहिर ठाकुरले त्रिपालमुनि बसेका ४३ जनाको चिसोबाट मृत्यु भइसकेको जनाउँदै उनीहरुलाई चिसोबाट जोगाउन तत्काल आवश्यक व्यवस्था गर्न जरुरी रहेको बताउनुभयो ।

सोमबार आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीसँगको भेटमा आयोगका सदस्य ठाकुरले तत्काल चिसोबाट बचाउन नसकिए त्रिपालमुनि अझ धेरै ज्यान जान सक्ने बताउनुभयो । “त्रिपालमुनि बसिरहेका दीर्घरोगी, सुत्केरी, गर्भवती, महिला र वृद्धवृद्धा धेरै प्रभावित भएको पाइयो, बिरामीको सङ्ख्या पनि अधिक छ । दाउरा वितरणदेखि न्यानो कपडा भूकम्पपीडितलाई आवश्यक छ, यसतर्फ प्रदेश सरकारले ध्यान दिन आवश्यक छ ।”

जाजरकोट जिल्ला अस्पतालमा आवश्यक जनशक्ति र औषधिको पनि अभाव रहेको पाइएको सदस्य ठाकुरले बताउनुभयो । उहाँले केही पालिकामा अझै सरकारले घोषणा गरेको अस्थायी घर बनाउनका लागि पहिलो किस्ताको रकम पनि नपुगेको भन्दै यसतर्फ गम्भीर हुन आग्रह गर्नुभयो । “राहत वितरण प्रक्रिया पनि पारदर्शी हुनसकेको देखिएन, टाठाबाठाले नै धेरै राहत लिएको पाइयो”, उहाँले भन्नुभयो, “यसतर्फ पनि ध्यान दिन आवश्यक छ ।”

उहाँले प्रदेश सरकारलाई पुनःनिर्माण प्राधिकरण गठन गरेर काम गर्न सुझाव दिनुभयो । आन्तरिक मामिला तथा कानुनमन्त्री जिसीले सङ्घीय सरकारले भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणमा प्रदेशको भूमिकालाई शून्य बनाएको आरोप लगाउनुभयो । उहाँले अस्थायी आवास निर्माणका लागि प्रदेश सरकारले रु एक अर्ब छुट्याएको भए पनि सङ्घीय सरकारले दिने निर्णय गरिसकेकाले सार्वजनिक संरचना निर्माणमा उक्त रकम खर्चिने बताउनुभयो ।

प्रदेशले सङ्घीयता कार्यान्वयन गर्न कानुन निर्माणलाई पूर्णता दिनु आवश्यक : सभामुख पाठक

भक्तपुर, २६ मङ्सिर : बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सङ्घीयता कार्यान्वयका लागि प्रदेशले आफ्नो ऐन, नीति, कानुन निर्माणलाई पूर्णता दिनुपर्ने आवश्यकता औल्याउनुभएको छ ।

प्रदेशसभाका विषयगत समितिका सभापति, सदस्य र सचिवहरूका लागि प्रभावकारी समिति सञ्चालन र तथ्यमा आधारित कानुन निर्माण तथा संसदीय निगरानीसम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रमको समापन गर्दै उहाँले अब प्रदेशको ऐन, नियम, कानुन, विधेयक निर्माणलगायतका काममा सहजता हुने विश्वास व्यक्त गर्नुभयो ।ऐन, नीति, कानुन निर्माणदेखि विधेयक निर्माणसम्ममा सहजता प्रदान गर्न अभिमुखीकरण सफल हुने जनाउँदै उहाँले बागमती प्रदेशसभाका सबै गतिविधि अन्य प्रदेशको भन्दा अगाडि र सिकाइका लागि नमूना बन्नुपर्ने बताउनुभयो ।कार्यक्रममा प्रतिनिधिसभाका पूर्वउपसभामुख पुष्पा भुसालले स्थलगत संसदीय निगरानीको विधि र प्रक्रियाका बारेमा सहभागीलाई प्रशिक्षित गराउनुभएको थियो ।प्रतिनिधिसभा कानुन न्याय तथा मानवअधिकार समितिका पूर्वसभापति कृष्णभक्त पोखरेलले कानुन निर्माणको अवधारणा, आवश्यकता र महत्वसहित कानुन निर्माणमा विषयगत समितिको भूमिकाका बारेमा कार्यपत्र प्रस्तुत गर्दै प्रभावकारी समिति सञ्चालनमा सभापति र सचिव तथा सचिवालयको भूमिकाका अहं हुने बताउनुभयो ।त्यसैगरी प्रतिनिधिसभा सदस्य एवं अधिवक्ता मीन विश्वकर्माले संसदीय निगरानी निरन्तर गर्नुपर्ने जनाउँदै समितिको भूमिका प्रभावकारी हुनुपर्ने औँल्याउनुभयो । संसदीय निगरानीको अवधारणा, अर्थ, उद्देश्य, आवश्यकता र महत्वका बारेमा चर्चा गर्दै उहाँले सरकारी आश्वासनको निगरानी, सरकार वा सम्बन्धित निकायको ढाँचाका बारेमा जानकारी गराउनुभएको थियो ।सो अवसरमा बागमती प्रदेशसभाका पूर्वप्रदेश मामिला समिति सभापति माधव पौडेल, प्रदेशसभाका लेखा समितिका पूर्वसभापति न्हुच्छेनारायण श्रेष्ठले विगतमा समितिका सभापति भएर गरेका कामका अनुभव सुनाउँदै यहाँका चुनौती र अवसरका बारेमा जानकारी गराउनुभएको थियो ।

बाराकी २० वर्षीया मिन्कुदेवीले जन्माइन् तिम्ल्याहा शिशु

बारा, २६ मङ्सिर : बाराको कलैया उपमहानगरपालिका–१६ मझौलियाकी २० वर्षीया मिन्कुदेवी रामले तीन सन्तानलाई जन्म दिनुभएको छ । वीरगञ्जको विर्तास्थित श्रीराम अस्पतालमा उहाँले शल्यक्रियामार्फत गत आइतबार दुई छोरा र एक छोरीलाई जन्म दिनुभएको हो ।

अस्पतालमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ दिप्ती यादवले ती नवजात तिम्ल्याहा नवजात शिशु तथा आमाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “शल्यक्रियामार्फत तिम्ल्याहा शिशु जन्मिएका हुन् । शिशु सहित आमाको स्वास्थ्यस्थित सामान्य रहेको छ । ”मिन्कुदेवीका पति सङ्खुरामले स्थानीय स्वास्थ्यचौकीले सिफारिस गरेपछि सुत्केरी हुनका लागि मिन्कुलाई वीरगञ्ज लगिएको बताउनुभयो ।

जलविद्युत उत्पादनमा निजी क्षेत्रको फड्को,छोटो समयमै २१ सय मेगावाटभन्दा धेरै बिजुली उत्पादन

निजीक्षेत्रले जलविद्युत् उत्पादन गर्न थालेको झन्डै तीन दशकमा कुल जडित क्षमताको ७६ प्रतिशतभन्दा धेरै बिजुली उत्पादन गर्दै आइरहेको छ । निजी क्षेत्रले छोटो समयमै २१ सय मेगावाटभन्दा धेरै बिजुली उत्पादन गर्नुका पछाडि मुख्य दुई कारण रहेका छन् ।

२०४९ सालमा ल्याइएको विद्युत् ऐन, २०४९ र २०५७ सालमा निजीक्षेत्रसँगको विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) को जगमा नेपालमा जलविद्युत् आयोजनाले फड्को मार्ने गरी विकास सम्भव भएको हो । यो भन्दा अगाडि निजीक्षेत्रले जलविद्युत् आयोजना निर्माण गर्ने वातावरण भइसकेको थिएन् ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार हालसम्म राष्ट्रिय प्रसारण लाइनमा २८३६.९३ मेगावाट क्षमताको बिजुली जोडिएको छ । सोमध्ये निजी सहायक क्षेत्रको (प्राधिकरणको कम्पनी) सहितको कुल उत्पादनको हिस्सा भने ७६.६८ प्रतिशत रहेको छ ।

प्राधिकरण मातहतका आयोजनाको हिस्सा भने २३.२९ प्रतिशत रहेको छ । कुल जडित क्षमता २८ सय ३६.९३ मेगावाटमध्ये निजी क्षेत्रबाट उत्पादित बिजुलीको हिस्सा १६९७.४९ मेगावाट रहेको छ । प्राधिकरणको सहायकमातहतका आयोजनाबाट ६६१ मेगावाट उत्पादन हुँदै आइरहेको छ ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले विद्युत्को कुल जडित क्षमतामध्ये निजी क्षेत्रको हिस्सा मात्र करिब ६० प्रतिशतको हाराहारीमा रहेको बताए ।
उनले भने, कुल जडित क्षमतामध्ये निजीक्षेत्रको हिस्सा ५९.८३ प्रतिशत छ । प्राधिकरणको मातहतका सहायक कम्पनीको हिस्सा १६.८५ प्रतिशत छ । प्राधिकरण मातहतका आयोजनाको हिस्सा भने २३।२९ प्रतिशत रहेको छ, यो समाचार नागरिक दैनिकमा छ ।

कोप२८ मस्यौदा सम्झौतामा जीवाश्म इन्धन उत्पादन र खपतलाई कम गर्न आह्वान, असहमतका स्वर उठे


संयुक्त राष्ट्रसङ्घीय अमिराती अध्यक्षले सोमबार प्रस्ताव गर्नुभएको जलवायु सम्झौताको नयाँ मस्यौदामा जीवाश्म इन्धनको उत्पादन र खपतलाई कम गर्न आह्वान गरिएको छ । यद्यपि सम्झौतामा अहिले ‘चरणबद्ध अन्त्य’ को उल्लेख गरिएको छैन ।

कोप२८ का अध्यक्ष एवं संयुक्त अरब इमिरेट्स (युएई) को राष्ट्रिय तेल कम्पनीका प्रमुख सुल्तान अल जाबेरको नेतृत्वमा तयार पारिएको मस्यौदा सम्झौताको पाठ दुबईमा वार्षिक जलवायु सम्मेलनको अन्तिम दिनको पूर्वसन्ध्यामा जारी गरिएको थियो । 

मस्यौदामा ‘विज्ञानलाई ध्यानमा राख्दै सन् २०५० अघि वा वरपर शुद्ध शून्य हासिल गर्न सकियोस् भन्ने हिसाबले उचित, व्यवस्थित र न्यायसङ्गत तरिकाले जीवाश्म इन्धनको खपत र उत्पादनलाई कम गर्न आह्वान गरिएको छ ।’ शुक्रबार यसअघिको मस्यौदामा ‘चरणबद्ध अन्त्य’ शब्द समावेश थियो । उक्त शब्दमा जलवायु अभियानकर्ता, तल्लो टापुका राज्य र युरोपेली युनियनले जोड दिइरहेका थिए । 

साउदी अरब, इराक र ओपेक तेल गठबन्धनका प्रमुखले कोप२८ को कुनै पनि सम्झौतामा जीवाश्म इन्धनलाई लक्षित गर्ने भाषाको विरोध गरेका छन् ।

यसैबीच जलवायु परिवर्तनबाट लोप हुने डर भएका साना टापुहरूको समूहले सोमबार दुबईमा जलवायु वार्तामा नयाँ मस्यौदा सम्झौताको निन्दा गर्दै उनीहरूको चासोहरूलाई बेवास्ता गरिएको बताएका छन् । 

साना टापु राज्यहरूको गठबन्धनका अध्यक्ष सामोआका तोओलेसुलुसुलु सेड्रिक सुस्टरले भन्नुभयो, “हाम्रो आवाज सुनिएको छैन भन्ने हामीलाई लागेको छ, धेरै अन्य पक्षहरूले प्रक्रियाको पारदर्शिता र समावेशितामा सम्झौता गर्दै प्राथमिकतात्मक व्यवहारको आनन्द लिएको प्रतीत हुन्छ ।”

त्यस्तै युरोपेली युनियन (इयु) का जलवायु प्रमुखले जीवाश्म इन्धनलाई चरणबद्ध अन्त्यको आह्वान गर्न असफल रहेको सोमबार प्रस्तावित सम्झौतमाथि निराशा व्यक्त गर्नुभएको छ । 

इयुका जलवायु आयुक्त वोपके होकेस्ट्रले पत्रकारहरूसँग भन्नुभयो, “मस्यौदा सम्झौतामा केही राम्रा कुरा छन् तर समग्रमा यो स्पष्टरूपमा अपर्याप्त छ, जुन समस्या समाधान गर्नका लागि हामी यहाँ आयौँ, त्यसलाई सम्बोधन गर्न यो पर्याप्त छैन ।”

जीवाश्म इन्धनको चरणबद्ध अन्त्य गर्ने मस्यौदा प्रस्तावको माग कमजोर हुँदै गएपछि अमेरिकाले जीवाश्म इन्धनका बारेमा कडा भाषाका लागि आह्वान गरेको छ । 

“हामी मस्यौदा तयार गर्ने धेरै मानिसको प्रयासहरूको सराहना गर्दछौँ, उहाँहरूले विभिन्न चासोलाई सन्तुलित गर्न चाहनुभएको छ”, विदेश मन्त्रालयका एक प्रवक्ताले भन्नुभयो, “एउटै समयमा जीवाश्म इन्धनको मुद्दासहित न्यूनीकरण खण्डलाई पर्याप्तरूपमा बलियो बनाउन आवश्यक छ र वित्त खण्डमा भएका अशुद्धहरूलाई सच्याउनु पर्छ ।”

फ्रान्सले पनि जीवाश्म इन्धनको चरणबद्ध अन्त्यको माग पूरा नगर्ने नयाँ मस्यौदा सम्झौताप्रति निराशा व्यक्त गरेको छ । फ्रान्सका ऊर्जा परिवर्तनमन्त्री एग्नेस पन्नियर–रुनाचेरले दुबईमा शिखर सम्मेलनमा भन्नुभयो, “यो मस्यौदा अपर्याप्त छ, यसमा यस्तो तत्व छ जुन स्वीकार्य छैन, यो निराशाजनक छ ।”

सुगम स्थानीय तहमा सेवा गर्न रहर गर्ने कर्मचारीले रुचाएनन् दुर्गम र मधेश

काठमाडौँ । सुगम स्थानीय तहमा सेवा गर्न रहर गर्ने कर्मचारी दुर्गम र मधेशका स्थानीय तहमा भने कर गर्दा पनि सेवा गर्न मान्दैनन् । सुगम स्थानीय तहमा सरुवा हुन उच्च पदस्थ कर्मचारी र नेतालाई भनसुन गर्ने कर्मचारी दुर्गम र मधेशका सुगम स्थानीय तहमा समेत सेवा गर्न नमान्ने कर्मचारीको प्रवृत्तिले सङ्घीयता कार्यान्वयनमा समस्या सिर्जना हुन थालेको छ ।

सङ्घीयता कार्यान्वयन भएको सात वर्ष बितिसक्दा पनि दुर्गम र मधेश प्रदेशका स्थानीय तहमा सङ्घीय सरकारले पठाउने प्रमुख प्रशासकीय अधिकृतको सधैँजसो अभाव रहँदै आएको छ । प्रमुख प्रशासकीय अधिकृत अभावमा उक्त पालिकामा नियमित सेवा प्रवाह नै प्रभावित भएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार सात वर्षदेखि सङ्घीय निजामती सेवा ऐन निर्माण हुन नसक्दा दुर्गम र मधेशका स्थानीय तहमा कर्मचारीलाई सेवा प्रवाहका लागि प्रेरित गर्न नसकिएको हो । मन्त्रालयका प्रशासन शाखा प्रमुख एवं उपसचिव भोजराज घिमिरेले अहिले पनि दुर्गम र मधेश प्रदेशका १९२ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत रिक्त छन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।

रुकुम पश्चिममा २५ हजार लाभग्राही यकिन, विवरण सङ्कलन अझै जारी

त्रिवेणी (रुकुमपश्चिम), २६ मङ्सिर : गत कात्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुम पश्चिममा २५ हजार लाभग्राहीको सङ्ख्या यकिन भएको छ । जिल्लाका छवटै पालिकामा ती लाभग्राहीको सङ्ख्या यकिन भएको हो । प्रभावित क्षेत्रमा क्षतिको विवरण सङ्कलन गरेर २५ हजार लाभग्राहीको प्रहरी लागत तयार भएको र केही स्थानीय तहमा अझै सङ्कलनको काम जारी रहेको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिनुभयो ।

उहाँका अनुसार लाभग्राहीको विवरण सङ्कलनको काम जारी रहेकाले जिल्लामा पाँच हजार लाभग्राही बढ्नसक्ने जनाइएको छ । हालसम्म आठबीसकोट, चौरजहारी र मुसीकोट नगरपालिका तथा त्रिवेणी, बाँफीकोट र सानीभेरी गाउँपालिकामा गरेर साढे १७ हजार लाभग्राहीलाई अस्थायी आवास निर्माण गर्नका लागि प्रतिघर रु २५ हजारका दरले रु ४३ करोड ७५ लाख रकम स्थानीय तह विपद् जोखिम न्यूनीकरण कोषमा पठाइसकिएको छ । अब सङ्घीय सरकारले पठाएको रु ५० करोडमा रु छ करोड २५ लाख रकम मौज्दात रहेको सहायक प्रजिअ बढुवालले जानकारी दिनुभयो ।“पच्चीस हजार लाभग्राहीको प्रहरी मुचुल्का तयार भइसकेको छ, विवरण सङ्कलनको काम केही ठाउँमा बाँकी रहेकाले पाँच हजार लाभग्राही थपिने अनुमान हामीले गरेका छौँ, सङ्घीय सरकारले अस्थायी आवास निर्माणका लागि पठाएको रु ५० करोड रकमले नपुग्ने देखिएपछि ३० हजार लाभग्राहीका लागि रकम माग गरेर पठाएका छौँ”, उहाँले भन्नुयभो । घर क्षति भएका लाभग्राहीको विवरण सङ्कलनको काम एक महिना बढी हुँदा पनि अझै पूर्ण विवरण आएको छ । सबै पालिकाबाट लाभग्राहीको विवरण आउन अझै तीन–चार दिन लाग्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।भूकम्पले बढी मानवीयसँगै भौतिक संरचनामा ठूुलो क्षति पुर्याएको आठबीसकोट नगरपालिकाको भने अस्थायी आवास निर्माण गर्नुपर्ने क्षतिको पूर्ण विवरण आएको छ । नगरपालिकाभर नै हजार नौ सय ६२ लाभग्राही यकिन भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जानकारी दिनुभयो । उहाँका अनुसार तीमध्ये साढे चार हजार लागग्राहीको रकम स्थानीय तह विपद् जोखिम न्यूनीकरण कोषमा जम्मा भएको छ ।केही लाभग्राहीको खातामा रकम गइसके पनि केही लाभग्राहीको खाता सञ्चालन नहुँदा ढिलाइ भएको छ । आठबीसकोटमा एउटा मात्रै बैंक हुँदा लाभग्राहीलाई खाता सञ्चालनमा समस्या हुने गरेको पीडित परिवारको गुनासो छ । आठबीसकोट नगरपालिकामा यकिन भएका लाभग्राहीमध्ये पाँच हजार चार सय ६२ जनाको भने पहिलो किस्तावापतको रकम आउन बाँकी रहेको शाहले जाजकारी दिनुभयो ।कति भूकम्पपीडितका अस्थायी आवास बने कतिका बन्न बाँकी छन् । त्यसको विवरण स्थानीय तहले सङ्कलन गरेका छैनन् । चौरजहारी नगरपालिकाले भने हालसम्म आठवटा अस्थायी आवास निर्माण भएर पीडित परिवार बस्न थालेको जनाएको छ । नगरपालिकाभित्र चार सय ३५ अस्थायी आवास निर्माणको अन्तिम चरणमा पुगेको चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीकय अधिकृृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य लाभग्राही पनि स्थानीय कच्चा पदार्थ, काठ, बाँसलगायत जस्तापाता प्रयोग गरेर अस्थायी आवास निर्माण जुटेका छन् ।नगरपालिकामा छ हजार दुई सय ७९ लाभग्राहीका लागि विपद् जोखिम न्यूनीकरण कोषमा पहिलो किस्ताबापतको रु २५ हजारका दरले रु १५ करोड ६९ लाख ७५ हजार रकम प्राप्त भएको छ । त्यसमध्ये बैंकमा खाता खोलेका साढे सात सय लाभग्राहीको खातामा रकम पठाएको छ । बाँकी लाभग्राहीको पनि खाता सञ्चालन भएमा तत्काल रकम पठाइने निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकालले जानकारी दिनुभयो । लाभग्राहीको विरण सङ्कलनको काम नसकिएकाले अझै नगरपालिकामा आठ सय लाभग्राही थपिने नगरपालिकाले जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीहरूले राखे सम्पत्ति विवरण गोप्य

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्रीद्वय नारायणकाजी श्रेष्ठ र पूर्णबहादुर खड्कालगायत सरकारका २५ जना मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक हुन सकेको छैन। झण्डै एक वर्षदेखि उनीहरूको सम्पत्ति विवरण गोप्य राखिँदै आइएको छ।

आर्थिक वर्ष सकिएको ६० दिनभित्र नयाँ सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधानलाई प्रधानमन्त्री, उपप्रधानमन्त्रीका साथै सबैजसो मन्त्रीहरूले उल्लङ्घन गरेका छन्।भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार आर्थिक वर्ष सकिएको ६० दिनभित्र प्रधानमन्त्री, मन्त्रीलगायत सबै राष्ट्र सेवकले तोकिएको निकायमा सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधान छ। सोअनुसार असोज मसान्तसम्म सबैले नयाँ सम्पत्ति विवरण बुझाउनु पर्छ। तर, अहिलेसम्म उनीहरू कसैले पनि नयाँ सम्पत्ति विवरण बुझाएका छैनन्।सरकारको वेबसाइटमा प्रधानमन्त्री तथा मन्त्रीहरूको नयाँ सम्पत्ति विवरण राखिएको छैन। कार्यालयको वेबसाइटमा पुरानै सम्पत्ति विवरण पनि प्राप्त भएको मात्रै भनिएको छ तर सार्वजनिक गरिएको छैन।यसअघि प्रधानमन्त्री कार्यालयको वेबसाइटमा नै सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने गरेको थियो । प्रचण्ड नेतृत्वको सरकार गठन भएको एक वर्ष पुग्नै लाग्दासमेत अझसम्म प्रधानमन्त्रीलगायत कुनै पनि मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक हुन सकेको छैन।पुरानो सम्पत्ति विवरण सार्वजनिक हुन नसकेको र नयाँ सम्पत्ति विवरण पनि नबुझाइएकाले कुन मन्त्रीको सम्पत्ति कति घट्यो वा बढ्यो भन्ने बारेमा विश्लेषण गर्न नसकिने अवस्था छ। सुशासनका विज्ञहरूले प्रधानमन्त्री तथा मन्त्रीहरूले सम्पत्ति विवरण गोप्य राख्नुले उनीहरू भ्रष्टाचारमा लिप्त भएको अनुमान गर्न सकिने बताएका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सम्पत्ति विवरण गोप्य राख्नेहरूमा कृषि तथा पशुपंक्षी मन्त्री बेदुराम भुसाल, कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिह भण्डारी, अर्थ मन्त्री प्रकाशशरण महत, खानेपानी मन्त्री महिन्द्र राय यादव रहेका छन्।यसै गरी ऊर्जा जलस्रोत तथा सिचाई मन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीलगायतले पनि सम्पत्ति विवरण गोप्य राखेका छन् ।यस्तै, सम्पत्ति विवरण गोप्य राख्नेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल, सहरी विकास मन्त्री सिता गुरुङ, युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्य, वन तथा वातावरण मन्त्री वीरेन्द्रप्रसाद महतो र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनितादेवी रहेका छन्।यसै गरी राज्यमन्त्रीहरू सुनितादेवी श्रीपाली, नन्दा चपाईं र प्रमिला कुमारीको पनि सम्पत्ति विवरण गोप्य नै राखिएको छ। विगतका धेरैजसो सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले सरकार गठन भएलगत्तै आफू र परिवारको नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गर्ने गरेका थिए।तर वर्तमान गठबन्धन सरकारका प्रधानमन्त्री प्रचण्डलगायत सबै मन्त्रीहरूको सम्पत्ति विवरण हालसम्म सार्वजनिक हुन सकेको छैन। प्रधानमन्त्री प्रचण्डको सरकार ११ पुष २०७९ मा गठन भएको थियो। यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

सेताम्मे हिमाल किन कालो हुँदैछ ?

गण्डकी, २६ मङ्सिर : “विश्वव्यापी ताममान वृद्धिले हिमालका हिउँ पग्लँदै गए माउण्टेन क्लाइम्बिङ कुनै दिन रक क्लाइम्बिङमा फेरिन सक्छ”, विश्व वन्यजन्तु कोषका नेपाल प्रमुख एवं संरक्षणविद् डा घनश्याम गुरुङले भन्नुभयो, “जलवायु परिवर्तनको असर न्यूनीकरणका उपाय अपनाउनु र यससँग अनुकूलन हुनुको विकल्प हामीसँग छैन ।”

पोखरामा जारी अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवका अवसरमा सोमबार आयोजित ‘हिमाल किन कालो हुँदैछ ? के यो परिवर्तन हाम्रो जीवनसँग सम्बन्धित छ ?’ शीर्षकमा भएको समूहगत छलफलमा उहाँले पृथ्वीको बढ्दो तापमानलाई रोक्न स्वच्छ ऊर्जाको प्रयोग बढाउनुपर्ने बताउनुभयो । संरक्षणविद् गुरुङले अहिलेकै गतिमा हिउँ पग्लँदै गए आउँदा केही वर्षभित्रैमा हिमालहरू कालापत्थरमा परिणत हुने उल्लेख गर्नुभयो ।पृथ्वीको तापक्रम वृद्धि र धुवाँधुलोका कारण हिमाल पग्लिरहेको उहाँको भनाइ छ । संरक्षणविद् गुरुङले कार्बन उत्सर्जनमा नेपालको योगदान नभए पनि जलवायु परिवर्तनको विश्वव्यापी असरबाट बच्न स्थानीय तवरबाटै योजना बनाउनुपर्ने धारणा राख्नुभयो । “जलवायु परिर्तनमा विकसित देशको मात्र दोष छ, नेपालको केही भूमिका छैन भनेर हामी चुप लागेर बस्नु हुँदैन”, उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय समुदायमा आवाज उठाउन पनि हामीसँग नैतिक धरातल चाहिन्छ ।”कार्यक्रमका अर्का वक्ता जीविकोपार्जन तथा बसाइँसराइविद् डा अमिना महर्जनले जलवायु परिवर्तनले नेपालमा मात्र नभएर सिङ्गो हिन्दूकुश क्षेत्रकै हिमाल सुक्खा बन्दै गएको बताउनुभयो । “जलवायु परिवर्तनले पर्यावरण, कृषि, पर्यटन, स्वास्थ्यलगायत यावत क्षेत्रमा प्रत्यक्ष÷अप्रत्यक्ष असर पुर्याइरहेको छ”, उहाँले भन्नुभयो, “जलवायु परिवर्तनको प्रभाव अझ बढ्दै जान्छ, घट्दैन तसर्थ यससँग अनुकूलन हुनुबाहेक अर्को विकल्प छैन ।”पृथ्वीको तापमान वृद्धि हुँदै जानुमा नेपालको कुनै भूमिका नभए पनि यसको परिणाम भने भोग्नुपरिरहेको उहाँले बताउनुभयो । केही महिनाअघि मुस्ताङको कागबेनीमा आएको बाढी, सन् २०१२ मा हिमपहिरोका कारण सेती नदीमा आएको बाढी त्यसकै उदाहरण भएको उहाँले बताउनुभयो ।“जलवायु परिवर्तनका कारण स्वास्थ्य क्षेत्रमा परेको प्रभावबारे कम बहस हुने गरेको छ, खासै अनुसन्धान पनि भएको छैन”, डा महर्जनले भन्नुभयो, “नयाँ–नयाँ जनस्वास्थ्यका समस्या निम्तिरहेका छन्, रोग विस्तार भएका छन् ।” उहाँले जलवायु अनुकूलन योजनाका लागि सरकार र अन्तर्राष्ट्रिय क्षेत्रबाट न्यूनमात्र मद्दत आउने गरेको उल्लेख गर्नुभयो । “जति प्रयास स्थानीय समुदायबाट भएको छ, सरकारबाट त्यति हुनसकेको छैन, ‘लस एण्ड ड्यामेज फण्ड’का लागि पनि सरकारले अन्तर्राष्ट्रियस्तरमा आवाज उठाउनुपर्छ ।”छलफलमा भाग लिँदै वरिष्ठ पत्रकार कुन्द दीक्षितले जलवायु परिवर्तनलाई अब जलवायु सङ्कट भन्नुपर्ने बेला आएको बताउनुभयो । उहाँले जलवायु परिवर्तनलाई वातावरणीय समस्याका रूपमा मात्र नहेरेर अर्थ–राजनीतिक पाटोबाट पनि हेर्नुपर्ने धारणा राख्नुभयो । “पृथ्वीको तापमान वृद्धि भइरहेको छ, अबको केही दशकमा हाम्रा हिमालहरू हिमालजस्तै नरहन सक्छन्, त्यसबाट पानीको सङ्कट उत्पन्न हुन्छ”, उहाँले भन्नुभयो, “पानीमा आधारित कृषि र जनजीवनमा ठूलो असर पर्छ ।”हिमालबाट हिउँ रित्तिए नदी र पानीको स्रोत सुक्ने उहाँले बताउनुभयो । नेपालले खनिज तेलको खपत घटाएर स्वच्छ ऊर्जाको प्रयोगलाई बढाउनुपर्ने उहाँले सुझाव छ । पत्रकार दीक्षितले पेट्रोलियम पदार्थको सट्टा जलविद्युत् र नवीकरणीय ऊर्जाको प्रयोगलाई राज्यले प्रोत्साहित गर्नुपर्ने धारणा राख्नुभयो ।“नेपालमा उत्पादन हुने बिजुली स्वदेशमै खपत गर्न विद्युतीय सवारीसाधन चलाउनदेखि भान्छामा पनि विद्युतीय उपकरणको प्रयोगलाई बढाउनु आवश्यक छ”, पत्रकार दीक्षितले भन्नुभयो, “पृथ्वीको तापक्रम बढ्नुमा खनिज तेलको प्रमुख हात छ, यसको सट्टा अब स्वच्छ ऊर्जा प्रयोग गर्नुपर्छ ।” उहाँले नेपालको कुल आयातको २५ प्रतिशत पेट्रोलियम पदार्थले ओगट्ने गरेको बताउनुभयो ।जलवायु परिवर्तन र खाद्य सुरक्षामा अनुसन्धानरत डा जगन्नाथ अधिकारीले हिमालको सम्बन्ध नेपाली संस्कृतिसँग पनि जोडिएको बताउनुभयो । “बिहानै हिमाल हेर्यो भने दिन पवित्र हुन्छ भन्ने मान्यता छ, विभिन्न देवीदेवताका नामबाट पनि हिमाललाई पुकारिन्छ”, उहाँले भन्नुभयो, “हिमालय क्षेत्र मानिसको जनजीवन र संस्कृतिसँग प्रत्यक्ष जोडिएको छ, हिउँ नरहे हाम्रा सांस्कृतिक परम्परा पनि हराउन सक्छन् ।” हिउँ पग्लँदै गएपछि पोखराबाट देखिने हिमालको सुन्दरता पनि विस्तारै खस्कँदै गएको डा अधिकारीले बताउनुभयो ।हावापानीमा आएको परिवर्तनका कारण कृषि उत्पादन कम हुने, बालीनालीमा रोग कीराले सताउनेजस्ता समस्या बढिरहेको उहाँले बताउनुभयो । “कृषि उत्पादन घट्दा खाद्य सुरक्षामा पनि असर पुग्छ, मुस्ताङ, मनाङजस्ता हिमाली जिल्लामा त हिउँ नपरेसम्म खेती बाली नै हुँदैन”, डा अधिकारीले भन्नुभयो, “प्राकृतिक विपद्को पनि उस्तै जोखिम छ, जलवायु परिर्वतनका बहुअसर छन् ।” उहाँले जलवायु परिवर्तनसँग जुध्न नेपालले अन्तर्राष्ट्रिय सहयोग जुटाउनुपर्ने धारणा राख्नुभयो ।

साउदीमा कार्यरत नेपाली कामदारलाई तलब पाउन सकस

काठमाडौं । दुई वर्षअगाडि साउदी अरब पुगेका रूपन्देहीका मोहम्मद हुसैन फकिर मुसलमान सम्झौताअनुसारको काम र तलब नपाएपछि रोजगारदाता कम्पनी छाडेर भागे । त्यसलगत्तै उनलाई सो रोजगारदाताले भगौडा कामदारको सूचीमा राख्यो ।

पछि नेपाल फर्किने बेलामा आवश्यक पर्ने एक्जिट भिसा लगाउनुपर्ने भएपछि उनी गत ५ नोभेम्बरमा नेपाली दूतावास रियादका अवैधानिक प्रतिनिधि विशालकुमार श्रेष्ठ र अली हुसैन मियाँको सम्पर्कमा पुगे । उनलाई आवश्यक कागजात बनाएर सफर जेल पठाइयो । १५ दिन जेल बसेपछि गत २० नोभेम्बरमा सफर जेलमार्फत एक्जिट (बहिर्गमन) भिसा प्राप्त गरी उनी नेपाल फर्किए ।


उनी त एक प्रतिनिधि पात्र मात्र हुन् । पछिल्ला दिनमा साउदीमा कार्यरत वैदेशिक कामदारलाई रोजगारदाता कम्पनीले अकमा नबनाइदिने, करार बमोजिम तलब सुविधा नदिने प्रवृत्ति बढ्दै गएको छ । यसले गर्दा विदेशमा श्रम गर्न त्यहाँ पुगेका नेपाली दाजुभाइ बाहिर हिँडडुल गर्न, आफूले कमाएको धेरथोर पैसा घर परिवारलाई पठाउन वञ्चित हुनु परिरहेको छ । साथै प्रहरीले पक्राउ गरी जरिमाना गराउनेलगायत धेरै समस्याबाट पीडित हुनुपरेको गैरआवासीय नेपाली संघ ९एनआरएनए०ले जनाएको छ ।

यस्ता घटना कम गर्न नेपाली दूतावास रियादले साउदी अरबमा रहेका सम्पूर्ण नेपाली दाजुभाइलाई कम्पनीले आफूले पाउने सुविधाबाट वञ्चित गरेमा तुरुन्त श्रमिक अदालतमा उजुरी गरी कानुनी बाटो समाती आफ्नो अधिकार लिन अनुरोध गरेको छ । यसका लागि दूतावास तथा साउदीमा भएका नेपाली समाजका अगुवाले साथ सहयोग गर्ने जनाएको छ ।

पछिल्लो समय साउदी पुगेर हजारौं नेपाली कामदारले नेपालमा गरिएको सम्झौताअनुसार तलब नपाउने र पाए पनि समयमा नपाउँदा कम्पनी छाडेर गैरकानुनी तरिकाले काम गर्ने क्रम बढेको छ । यसरी गैरकानुनी तरिकाले काम गर्दा त्यहाँको प्रहरीले पक्राउ गर्ने र केही समय जेल बसेर मात्र नेपाल फर्किन पाउने अवस्था छ ।

साउदीमा ११ हजारभन्दा बढी नेपालीले गैरकानुनी रूपमा काम गर्ने गरेको दूतावासको तथ्यांक छ । यो दूतावासको सम्पर्कमा आएकाको मात्र तथ्यांक हो । यो समाचार राजधानी दैनिकमा छ ।

राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्ने जसपाको निर्णय

दावरी (ललितपुर)- जनता समाजावादी पार्टी, नेपालले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा सम्पन्न जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले निर्वाचन आयोगमा दल दर्ताको निर्णय गरेको हो ।

बैठकले राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयनका लागि आगामी पुस १० गते केन्द्रीय कार्यकारिणी समितिको पुनः बैठक बस्ने निर्णय गरेको छ । यसका साथै, कार्यकारिणी समितिले यही पुस २५, २६ र २७ गते पार्टीको राजनीतिक समितिको बैठक आह्वान गरेको छ । 

जसपा नेपालले सञ्चालन गरेको तीन महिने सङ्गठन विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा गर्दै उक्त अभियानलाई पुस मसान्तसम्म थप प्रभावकारी ढङ्गले निरन्तरता दिने निर्णय गरेको छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्दै जसपा नेपालले यसबीच सञ्चालन गरेको प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण अभियान प्रभावकारी रहेको निष्कर्षसमेत निकालेको छ ।

कार्यालयमा धर्ना, जुलुस नगर्न ईपीएस कोरिया शाखाको आग्रह

काठमाडौँ-वैदेशिक रोजगार विभाग ईपीएस शाखा कार्यालयले परीक्षार्थीलाई धर्ना, जुलुस जस्ता कार्यक्रम तत्काल बन्द गर्न अनुरोध गरेको छ । दक्षिण कोरियामा उत्पादनमुलक क्षेत्रका लागि कामदार माग गर्दा यसअघि सञ्चालित ‘सीप बिल्डिङ’मा अनुत्तीर्ण परीक्षार्थीले आवेदन दिन नपाउने भनेपछि परीक्षार्थीले कार्यालयमा धर्ना दिँदै आएका थिए ।

सन् २०२३ मा कुनै पनि क्षेत्रको कोरियन भाषा परीक्षाको फारम भर्न नपाइने व्यहोरा उल्लेख गरिएको भन्दै परीक्षार्थीहरुले धर्ना, जुलुस तथा विरोध गर्न थालेपछि कार्यालयले त्यस्तो नगर्न आग्रह गरेको हो । 

कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै उठान गरेका मागका विषयमा कोरिया सरकारसँग छलफल भइरहेको ईपीएस कोरिया शाखा कार्यालयले जनाएको छ । नेपालस्थित दक्षिण कोरियाको सम्पर्क कार्यालय एचआरडी सर्भिस अफ कोरिया, ईपीएस सेन्टर नेपाल र अन्य सम्बन्धित निकायसँग छलफल भइरहेको र निष्कर्षमा पुग्न केही समय लाग्ने भएकाले धर्ना, जुलुस जस्ता विरोधका कार्यक्रम रोक्न विज्ञप्तिमार्फत आग्रह गरिएको छ । 

बागमती प्रदेश प्रमुख शर्माको स्वास्थ्यमा सुधार

मकवानपुर, २५ मङ्सिरः बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माको स्वास्थ्यमा सुधार आएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उहाँ आइतबार काठमाडौँको चावहिलस्थित हेल्पिङ ह्यान्ड अस्पताल भर्ना हुनुभएको थियो ।

उहाँका स्वकीय सचिव पारसमणि फुयाँलले भोलि अपराह्नसम्ममा प्रदेश प्रमुख शर्मालाई अस्पतालबाट डिस्चार्ज हुनसक्ने बताउनुभयो । प्रदेश प्रमुख शर्मा गत शनिबार चीनको पाँचदिने भ्रमण सकेर स्वदेश फर्कनुभएको थियो । 

संसदीय दलको विधान पुनःसंरचना गर्ने रास्वपाको निर्णय

काठमाडौँ, २५ मङ्सिर : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान पुनःसंरचना गर्ने निर्णय गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा बसेको संसदीय दलको बैठकमा दलको विधानमा पुनःसंरचना गर्ने विषयमा छलफल भएको सो पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिनुभयो ।

“हामीले यसअघि नै संसदीय दलको विधानको मस्यौदा तयार गरेका थियाैँ । जलेश्वरको बैठकपछि त्यसलाई फेरि पुनःसंरचना गर्नपर्ने भएर विधानसम्बन्धी छलफल गर्‍याैँ”, उहाँले भन्नुभयो । 

बैठकमा आगामी अधिवेशनमा संसद् र संसदीय समितिलाई सक्रिय बनाउने विषयमा छलफल भएको उहाँले बताउनुभयो । उहाँका अनुसार सांसदले आफ्नो क्षेत्रगत समस्या संसदको शून्य समयमा र राष्ट्रिय मुद्दा विशेष समयमा प्रस्तुत गर्ने विषयमा छलफल भएको बताउनुभयो । प्रमुख सचेतक परियारले भन्नुभयो, “पार्टीले राष्ट्रिय मुद्दालाई अध्ययन र अनुसन्धान गरी टुङ्गाउने हिसाबले उठान गर्नेबारे पनि छलफल भयो ।” 

सचेतक निशा डाँगीले जनताका मुद्दा र सार्वजनिक महत्वका विषयमा उठाएको मुद्दाको सम्बोधन र समाधानका विषयमा पार्टी कहाँ चुक्यो भन्नेमा छलफल भएको जानकारी दिनुभयो ।

“हामीले विगतमा जे जति मुद्दा उठायाैँ, त्यसलाई टुङ्गोमा पुर्‍याउन बिर्सिएको होकि भन्ने विषय आजको बैठकमा छलफल भयो”, उहाँले भन्नुभयो, “ विगतमा हामी कहिँकतै चुकेको भए आगामी दिनमा कस्ता मुद्दा उठाउने र त्यसलाई कसरी निरन्तरता दिने विषयमा पनि छलफल केन्द्रित भयो ।” 

‘समाजवादी जागरण अभियान’ ले नयाँ तरङ्ग : अध्यक्ष नेपाल

काठमाडौँ, २५ मङ्सिर : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समाजवादको आधारभूत मान्यतालाई जनताकाबीच पु¥याउन ‘समाजवादी जागरण अभियान’ ले समाजमा नयाँ तरङ्ग सृजना गरेको बताउनुभएको छ ।

गत असोजमा सम्पन्न अभियानमा खटिएका स्वयंसेवकलाई सम्मान गर्न पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले मुलुकमा पहिलो पटक आफ्नो पार्टीले समाजवादी जागरण अभियान सम्पन्न गरेको बताउनुभयो । सो अभियानले देशको राजनीति नै तरङ्गित बनाएकाले अहिले अन्य पार्टीले पनि अवलम्बन गरिरहेको उहाँले सुनाउनुभयो ।

एकीकृत समाजवादीले अघि सारेको उक्त अभियान जनतासँग एकाकार हुन प्रभावकारी भएकाले अरूले पनि अनुसरण गरेको बताउँदै उहाँले भन्नुभयो, “राम्रो कामको अरुले पनि अनुसरण गर्छन् । पार्टीलाई हेयको दृष्टिकोणले हेर्ने, जोसँग हाम्रो ठूलो अन्तरविरोध छ, त्यही पार्टीले हामीले घोषणा गरेको कार्यक्रम टिपेर हिँडिरहेको छ ।”

अध्यक्ष नेपालले अभियानका क्रममा खटिएका स्वयंसेवकलाई धन्यवाद दिँदै पार्टीको सिद्धान्त र विचारप्रति प्रतिबद्ध भएर जनताको सेवामा क्रियाशील रहन निर्देशन दिनुभयो । अभियानका क्रममा भएका केही कमी कमजोरीबाट पाठ सिकेर अगाडि बढ्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “हामीले अरूको प्रशंसा सुन्ने हो, हामीले गरेका कामको गहिरो समीक्षा गर्नुपर्छ । हामीले तय गर्ने मञ्च, हामीले प्रयोग गर्ने सडक, सुरक्षा आदिका बारेमा हामीले सचेतना अपनाउनुपर्छ । राम्रा कुरालाई फैलाउने र कमजोरीलाई सुधार गर्दै अगाडि बढ्नुपर्छ ।”

समाजवादी जागरण अभियानलाई जनताले सकारात्मक रूपमा लिएको बताउदै अध्यक्ष नेपालले भन्नुभयो, “हामीले सम्पन्न गरेको अभियानलाई राजनीतिक क्षेत्रमा सकारात्मक रूपमा लिएका छन, त्यसको प्रशंसा भएको छ ।”

महासचिव घनश्याम भुसालले मुलुकमा राष्ट्रिय पूँजी परिचालन गरी उद्यमशीलताको विकास गर्न समाजवादको खाँचो औँल्याउँदै त्यसले रोजगारीका साथै उत्पादन वृद्धि गर्ने र राष्ट्र निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

स्वयंसेवक सञ्चालन कमिटीका संयोजक विष्णु लम्सालले वर्तमान व्यवस्थामाथि उठेका चुनौतीलाई सामना गर्न परिवर्तन पक्ष सबै एकमत हुनुपर्नेमा जोड दिँदै भेला, सम्मेलन र सभाको आयोजना गरी जनतालाई जानकारी गराउनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री कप सुदूरपश्चिम छनौट : बैतडी दोस्रो जितसँगै शीर्ष स्थानमा

बैतडी, २५ मङ्सिर : प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौटमा बैतडीले लगातार दोस्रो जित निकालेको छ । दोस्रो जितसँगै बैतडी शीर्ष स्थानमा उक्लिएको छ ।

पहिलो खेलमा बझाङलाई छ विकेटले हराएको बैतडीले दोस्रो खेलमा कञ्चनपुरमाथि ३३ रनको जित दर्ता ग¥यो । बैतडीले दिएको १३० रनको लक्ष्य पन्छाएको कञ्चनपुरले निर्धारित १५ ओभरमा चार विकेटको क्षतिमा ९६ रन मात्रै जोड्न सक्यो । उसका रेवती धामीले २८ र कप्तान बिन्दु रावलले २४ रन बनाइन् । बैतडीका लागि करिष्मा थापा र वसन्ती बोहराले एक÷एक विकेट लिइन् ।

त्यसअघि कैलालीको तेघरीस्थित सैनिक आवासीय महाविद्यालयको खेलमैदान पहिला ब्याटिङ गरेको बैतडीले १५ ओभरमा दुई विकेटको क्षतिमा १२९ रन बनायो । जसमा कप्तान रितु कनौजियाले अविजित ३५ र लक्ष्मी महरले २८ रनको योगदान गरिन् ।

कञ्चनपुरका लागि अर्चना चन्दले एक विकेट हात पारिन् । रितु खेलकी ओम्यान अफ द म्याच चुनिएकी स्कोरर नरेन्द्रराज भट्टले बताउनुभयो । प्रदेशस्तरीय छनौट प्रतियोगिताका सबै खेल जित्दै च्याम्पियन हुने लक्ष्य रहेको बैतडीका टिम व्यवस्थापक अनिल विष्टले बताउनुभयो । प्रदेशस्तरीय छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको सुदूरपश्चिमको टोली बनाइनेछ । उक्त टोलीले अगामी पुसमा हुने राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनेछ ।

काठमाडौँमा हुने प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सात प्रदेश र एक विभागीय क्लब एपीएफको सहभागिता रहने नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो ।

काठमाडौँ महानगरका सामुदायिक कुकुरमा ‘डिस्टेम्पर’ रोग, सचेत रहन आग्रह

काठमाडौँ, २५ मङ्सिर : काठमाडाैँ महानगरपालिकाले केही स्थानका सामुदायिक कुकुरमा ‘डिस्टेम्पर’ रोग देखा परेकाले सचेत रहन आग्रह गरेको छ । महानगर पशुपन्छी विभागका प्रमुख डा अवधेश झाका अनुसार यो रोग कुकुरका लागि प्राणघातक मानिन्छ । यस रोग लागेका कुकुरलाई विशेषगरी ज्वरो आउँछ । खाना खान सक्दैनन् भने झोक्राउने, नाकमा सिँगान र आँखामा चिप्रा देखिने जस्ता लक्षण देखिन्छन् । त्यस्तै खोक्ने, बान्ता गर्ने, पातलो दिशा गर्ने, छारे रोगजस्तो लक्षण देखाउने, लड्बडाएर हिँड्ने, किटकिट गरेर दाँत बजाउने यस रोगका मुख्य लक्षण हुन् ।

स्थानीयबाट आएको सूचनाका आधारमा कुकुरमा परीक्षण गर्दा रोग पुष्टि भएको प्रमुख झाको भनाइ छ । कुकुरहरुमा हुने यो रोग एउटा कुकुरदेखि अर्को कुकुरमा सजिलै सर्छ तर कुकुरबाट मान्छेमा भने सर्दैन । कुकुरमा रोग लागेको पुष्टि भएपछि महानगरले व्यवस्थापन सुरु गरेको विभागले जनाएको छ । 

विभागका अनुसार यदि कुनै पनि सामुदायिक कुकुरमा यस्ता रोग लागेको थाहा पाएमा महानगरको निःशुल्क टेलिफोन नम्बरमा सम्पर्क १६६००१०५५११ र ११८० मा फोन गरी जानकारी दिन विभागले अनुरोध गरेको छ । कुकुरबाट कुकुरमा सर्ने भएकाले रोग फैलिएका ठाउँमा घरपालुवा कुकुर बाहिर नलैजान र कुकुरहरुलाई रोगविरुद्धको खोप अनिवार्य लगाउन विभागले आग्रह गरेको छ ।  

महानगरले सामुदायिक कुकुरको अनियन्त्रित प्रजनन रोक्नका लागि बन्ध्याकरण प्रक्रिया पनि अघि बढाएको छ । आगामी पुस महिनासम्मा करिब छ हजार कुकुरलाई बन्ध्याकरण र रेबिजविरुद्धको खोप लगाइने महानगरको भनाइ छ । हाल महानगरमा २२ हजार सामुदायिक कुकुर रहेको अनुमान छ ।

एउटै बहसमा लाखौँ लिने गरेको गुनासो आएका छन्, यसलाई सुधार गर्नूस्: मन्त्री गुरुङ

चितवन, २५ मङ्सिर : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले धेरै पारिश्रमिक लिएर न्याय पाइन्छ भन्ने भ्रम जनतामा रहेको भन्दै यसलाई चिर्न जरुरी रहेको बताउनुभएको छ । नेपाल बार एसोसिएसनका ४९औँ कार्यकारिणी परिषद् बैठकलाई आज सौराहामा सम्बोधन गर्दै उहाँले अधिवक्ताहरुले न्याय दिनका लागि पारिश्रमिकबापत ठूलो रकम माग गर्ने गरेको गुनासो आएकाले यसतर्फ ध्यान दिन बारलाई अनुरोध गर्नुभएको हो ।

उहाँले भन्नुभयो, “एउटै बहसमा लाखौँ लिने गरेको गुनासो आएका छन्, यसलाई सुधार गर्नूस् । धेरै पैसा लिँदैमा न्याय दिन सकिन्छ र ?” अहिले सामान्य परिवारका व्यक्तिहरुले न्याय पाउन कठिन हुने गरेको उहाँले बताउनुभयो । 

अधिवक्ताको शुल्क मिलानमा बारले ध्यान दिन जरुरी रहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “न्यायालयमा भ्रष्टाचार भयो भन्ने अनि आफूहरुले एक पटकको लाखौँ रुपैयाँ लिने । यो चाहिँ के हो ?” न्यायालयमा देखिएको फोहर हटाउनु आफ्नो जिम्मेवारी रहेको बताउँदै उहाँले न्याय क्षेत्रको सुधारका लागि सबैले म–म भनेर अघि बढ्न जरुरी रहेको बताउनुभयो । बदल्ने कुराको आफैँबाट सुरुआत गर्नुपर्ने भन्दै उहाँले आफू सबै कुरामा पारदर्शी हुनुपर्छ भन्नेमा लागेको बताउनुभयो ।

कानुन मन्त्रालयको विषयमा आम नागरिकमा भएको बुझाइ चिर्दै अघि बढ्नका लागि बारले भूमिका खेल्नुपर्ने उहाँले बताउनुभयो । कानुन बनाउने कुरामा समेत विभिन्न समस्या देखिने गरेको उहाँको गुनासो थियो । अहिले सरकारले बनाएका कानुनहरुसमेत संसद्मा पेस गर्न नसकिएको मन्त्री गुरुङको भनाइ थियो ।

कार्यक्रममा बोल्दै महान्यायाधिवक्ता डा दीनमणि पोख्रेलले राजनैतिक आस्थाका आधारमा न्याय दिनु गलत भएको बताउनुभयो । न्याय सबैका लागि समान हुने भन्दै उहाँले राजनैतिक आस्थाका कारण कसैलाई काखा र कसैलाई पाखा गर्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “कानुनको प्रयोगमा पूर्वाग्रह राख्नु हुँदैन ।”

अधिवक्ताहरुले स्वार्थ समूहको चाहना के हो भन्ने बुझ्न जरुरी रहेको बताउनुभयो । कानुनको सुविधाबाट कोही वञ्चित र कसैले फाइदा उठाउने काम गर्न नहुने उहाँको भनाइ थियो ।

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले बारले संविधानको रक्षा गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेको व्यवस्थाविरुद्ध लाग्न बारलाई छुट छैन । अन्यथा हरेक १०–१० वर्षमा संविधान बनाउने देशमा दर्ज हुनुपर्छ ।” संविधानको रक्षाका लागि बारले रचनात्मक काम गर्नुपर्ने उहाँको भनाइ थियो । न्यायालयमा भएको विसङ्गतिको विषयमा बार अघि बढ्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिलामन्त्री गङ्गा नारायण श्रेष्ठ, बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता ज्ञानेन्द्र नेपाल, अधिवक्ता लीलामणि पौडेल, विजय मिश्र, विनय सिंह, चण्डेश्वर श्रेष्ठ, हर्कबहादुर रावल लगायतले बोल्नुभएको थियो ।

आइतबारदेखि सुरु भएको मानव अधिकारसम्बन्धी राष्ट्रिय गोष्ठी तथा ४९औँ केन्द्रीय कार्यकारिणी परिषद् बैठक आज समापन हुँदैछ । बन्दसत्रमा नीतिगत कुराहरु अनुमोदन गरिने अध्यक्ष घिमिरेले बताउनुभयो ।

बैठकमा न्यायालयको अहिलेको अवस्था के छ, बारले कस्तो नीति ल्याउने, न्यायाधीशहरुको निर्णय र यसको प्रभाव कस्तो छ भन्ने विषयमा समेत छलफल हुनेछ । बारले सर्वोच्चका न्यायाधीशको कार्यकाल ७ वर्ष हुनुपर्ने माग उठाउँदै आएको र यस विषयमा समेत परिषद् बैठकमा छलफल हुने घिमिरेले बताउनुभयो ।बैठकमा देशभरका एक हजारभन्दा बढी कानुन व्यवसायी सहभागी भएका छन् । बैठक चितवन घोषणापत्र जारी गर्दै सकिने उहाँले जानकारी दिनुभयो ।

बागलुङका गाउँ–गाउँमा किबी खेतीको लहर, प्रति किलो दुई सय ५०मा सहजै बिक्री

गलकोट / बागलुङमा थोरै लगानीमा राम्रो आम्दानी गर्ने उत्कृष्ट फलफूल खेतीको रुपमा किबीलाई लिन थालिएको छ । पछिल्लो समय शिक्षा, रोजगारलगायत कारणले बसाइँसराइ गर्नेको सङ्ख्या बढ्दै गएपछि बाँझो खेतीयोग्य जग्गाको सदुपयोग गर्दै गाउँगाउँमा किबी खेतीको लहर चलेको हो ।

गाउँमा उत्पादन भएको किबी अहिले बागलुङ बजारमा देख्न सकिन्छ । केही वर्ष पहिलासम्म आयात गरिएको किबी बिक्री गर्दै आएका बागलुङका फलफूल व्यवसायी अहिले स्थानीयस्तरमा उत्पादित किबी बिक्री हुन थालेको बताउँछन् ।

बागलुङ नगरपालिका–८ सिगानाका पूर्व वडाध्यक्ष जितबहादुर जिसीले किबी खेती गर्न थालेको दुई वर्ष भयो । पहिलो वर्ष थोरै उत्पादन भएकाले बजारमा पुर्‍याउन नसकेको बताउँदै उहाँले यस पटक बजारमा पठाउन थालिएको जानकारी दिए । ‘आफू वडाध्यक्ष हुँदा किसानलाई सुन्तला र फलफूल खेतीमा आकर्षण गरेको थिएँ । अहिले आफैँले खेती गर्दा राम्रो उत्पादन भएको छ’, उनले भने।

पछिल्लो समय जिसी मात्रै होइन बागलुङका गाउँ–गाउँमा किबी खेती विस्तार हुँदै गएको छ । बागलुङमा पछिल्लो समय बागलुङमा एक सय भन्दाबढी किसान किबी खेतीमा लागेका छन् ।

काठेखोला गाउँपालिका–५ बिहुँका खिमानन्द कँडेलले उत्पादन गरेको किबी बागलुङ बजारहुँदै चितवन पुगेको बताए । पहाडी जग्गाको सदुपयोगसँगै बहुगुणी फलको राम्रो सम्भावना रहेको उनको भनाइ थियो ।

गतवर्ष चार हजार केजी बिक्री गर्नुभएका बागलुङका पुराना किबी किसान मेहरसिंङ पाइजाले यसवर्ष भने असिनाका कारण उत्पादनमा गिरावट आएको बताए । बागलुङमा सबैभन्दा ठूलो क्षेत्रफलमा किबी लगाउने पाइजाले यसवर्ष आम्दानी घटेको बताउँदै उचित काँटछाँट गर्दा राम्रो उत्पादन दिने बताए। प्रतिकेजी रू १०० मा बिक्री भए पनि किबीमा नाफा रहेको उनले अनुभव सुनाए ।

एक पटक किबीको झाल र थाक्रा व्यवस्थापन गरे पुग्ने भन्दै किबीलाई सामान्य हेरचाहमा राम्रो उत्पादन दिन सक्ने बागलुङ भकुण्डेका हर्कबहादुर थापाले बताए । उत्पादित किबी भकुण्डेकै अतिथि सत्कार घरबासमा आउने विदेशी पर्यटकले उपभोग गर्ने गरेका उनको भनाइ थियो । विसं २०७३ मा पोखरामा किबीको बिरुवा देख्नुभएका हर्कबहादुरले बारीमा जम्मा पाँचबोट मात्रै लगाएका थिए ।

उक्त बोटमै वार्षिक पाँच सय केजी किबी उत्पादन हुने गरेको थापाले जानकारी दिए। मलजल र थाँक्रो राम्रो भएमा एउटै बोटमा धेरै फलाउन सकिने उनले बताए। थापाको घरनै अहिले किबीले ढाकेको छ । अहिले भकुण्डेमा मात्रै आधादर्जन किसानले व्यावसायिक किबी खेती गर्दै आएका छन् ।

किबी खेती गर्दा जग्गा सदुपयोग हुनुका साथै आम्दानी स्रोत बन्ने भएपछि किसान यसतर्फ आकर्षित भएका काठेखोला-७ का वडाध्यक्ष प्रेम लामिछानेले बताए । ‘आफैबाट सुरु गरेँ अरुलाई भन्न र सिकाउन सहज हुन्छ भनेर चार रोपनी जग्गामा किबी खेती गरेको छु । पहाडी क्षेत्रमा धेरै स्याहार गर्न नपर्ने र एक पटक लगानी गरेपछि वर्षौँ लगानी थप्न नपर्ने खेती हो’, उनले भने, ‘एकै पटक उत्पादन भए पनि लामो समय टिकाउन सक्ने फलफूल भएकाले धेरै किसान किबी खेतीमा आकर्षित भएका छन् ।’

रेशमा वडा कार्यालयले अनुदानमा किबीका बिरुवासमेत वितरण गर्दै आएको लामिछानेले जानकारी दिएका छन् । उनका अनुसार किबीप्रति किलो स्थानीय बजारमा दुई सयदेखि दुई सय ५० सम्ममा सहजै बिक्री वितरण हुने गरेको छ ।

किबीको नियमित सेवनबाट गर्भवती, रक्तचाप, मुटु र रुघाखोकीलगायत बिरामीलाई विशेष फाइदा पुग्ने भएकाले बजारमा यसको माग बढी भएको स्वास्थ्यकर्मीको भनाइ छ । किबी खेती एक हजार दुई सयदेखि दुई हजार फिटसम्मको उचाइमा लगाउन सकिने कृषि ज्ञान केन्द्रले जनाएको छ ।

रोपेको तीन वर्षदेखि उत्पादन दिन सुरु गर्ने यो बिरुवाले लगातार लामो समयसम्म राम्रो उत्पादन दिने भएकाले किसानको आकर्षण बढेको कृषि ज्ञान केन्द्र बागलुङका बागवानी विकास अधिकृत कुमार पुनले जानकारी दिए ।

नेपालबाट वार्षिक १२ अर्बको हस्तकला विदेश निर्यात

काठमाडौँ, २५ मङ्सिर: नेपालबाट वार्षिक रु १२ अर्ब मूल्य बराबरको हस्तकला विदेश निर्यात हुने गरेको छ । नेपाल हस्तकला महासङ्घले २०औँ हस्तकला व्यापार मेला तथा १८औँ हस्तकला प्रतियोगिताबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपालबाट ६० भन्दा बढी देशमा सो मूल्य बराबरको हस्तकला विदेश निर्यात हुने गरेको जानकारी दिइयो ।

त्यस अवसरमा महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले राष्ट्रिय अर्थतन्त्रमा नेपाली हस्तकला क्षेत्रको महत्वपूर्ण योगदान रहेकाले हस्तकलाको संरक्षण र संवद्र्धनमा सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । आगामी मङ्सिर २८ देखि पुस २ गतेसम्म आयोजना हुन लागको १८औँ हस्तकला प्रतियोगिता र २०औँ हस्तकला व्यापार मेलामा सहभागी हुन आग्रह गर्नुभयो ।

दरबारमार्गस्थित होटल डेल अन्नपूर्णमा आयोजना गर्न लागिएको व्यापार मेला तथा प्रतियोगितामा तीन प्याभिलियनसहित एक सय ३० कक्ष रहनेछन् । मेलामा एक लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकको भनाइ छ ।

अठारौँ हस्तकला प्रतियोगितामा परम्परागत विधातर्फ पौभा र समसामयिक विधातर्फ छ्वाली कलाको प्रतियोगिता गराइने छ । प्रतियोगितामा प्रथम पुरस्कार रु ५० हजार, द्वितीय पुरस्कार रु ३० हजार र तृतीय पुरस्कार रु २० हजार राखिएको छ । सो अवसरमा ७० वर्ष नाघेका १० जना ज्येष्ठ तथा वरिष्ठ कलाकारलाई सम्मान गरिनेछ ।

मन्त्री बस्नेतद्धारा कुश्मा-नयाँ बुटवल दुई सय २० केभी प्रसारण लाइनको उद्घाटन

काठमाडौँ, २५ मङ्सिर : नवलपरासी, रुपन्देहीलगायत जिल्लामा सहज विद्युत् आपूर्तिका लागि महत्वपूर्ण मानिएको कालीगण्डकी करिडोर दुई सय २० केभी क्षमताको प्रसारण लाइन आयोजनाअन्तर्गत कुश्मा–नयाँ बुटवल खण्ड आज उद्घाटन भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आज सो आयोजनाको दोस्रो खण्डअन्तर्गत पवर्तको कुश्मा नगरपालिका–२ खुर्कोटबाट नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–१३ सूर्यबस्तीस्थित नयाँ बुटवल सबस्टेसनसम्मको करिब ९० किलोमिटर प्रसारण लाइनको उद्घाटन गर्नुभयो । उक्त खण्डको निर्माण सम्पन्न गरी गत असोज अन्तिमदेखि प्रसारण लाइन सञ्चालनमा ल्याइएको थियो ।

कालीगण्डकी र यसका सहायक नदीमा निर्माण हुने जलविद्युत् आयोजनाहरुको विद्युत् एकीकृत गरी राष्ट्रिय प्रणालीमा समाहित गर्न कालीगण्डकी करिडोर दुई सय २० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको हो ।

कालीगण्डकी करिडोर दुई सय २० केभी डबल सर्किट प्रसारण लाइन आयोजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना सबस्टेसनबाट सुरु भई पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को नयाँ बुटवल सबस्टेसनसम्मको करिब एक सय ३० किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको छ । प्रसारण लाइनले करिब एक हजार दुई सय मेगावाट विद्युत् भार बोक्न सक्ने छ ।

उद्घाटन समारोहमा मन्त्री बस्नेतले कालीगण्डकी करिडोर प्रसारण लाइन नेपालको पूर्व–पश्चिम विद्युत् जोड्न र अन्तरदेशीय विद्युत् व्यापारका लागि महत्वपूर्ण भएको बताउनुभयो । एक÷डेढ वर्षभित्रमा सुक्खायाममा समेत विद्युत् आयात गर्न नपर्ने गरी काम गरिरहेको उल्लेख गर्दै बस्नेतले २०९२ सालभित्रमा २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने कार्यदेश र कार्यदिशाका साथ अगाडि बढिरहेको बताउनुभयो । उहाँले सङ्घीय, प्रदेश र स्थानीय तीनवटै सरकारको एकीकृत र सामूहिक प्रयासमा सिँचाइमा देखिएको विद्युतीकरणको समस्या समाधान गरिने उल्लेख गर्नुभयो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थानीय रुपमा विद्युत् खपत गर्न, पूर्व–पश्चिम प्रवाह र भारततर्फ निर्यात गर्न नयाँ बुटवल सबस्टेसन विद्युत्को ठूलो पुलिङ हबका रुपमा रहेको बताउनुभयो । देशभर नै प्रसारण लाइनको सञ्चालन बनाउन काम भइरहेको उल्लेख गर्दै घिसिङले यसका लागि आगामी पाँच÷छ वर्षभित्रमा झन्डै रु सात खर्ब आवश्यक पर्ने बताउनुभयो ।

एसियाली विकास बैंक, नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वाले कोभिड–१९ को महामारी, रूख कटानमा रहेको जटिल कानुनी व्यवस्थालाई पार गर्दै आयोजना सम्पन्न हुनु प्रशंसायोग्य रहेको बताउनुभयो । हिमाली क्षेत्रमा उत्पादन भएको नेपालको हरित स्वच्छ ऊर्जा दक्षिण एसियाली क्षेत्रमा विस्तार र औद्योगिक क्षेत्रमा खपतका लागि प्रसारण लाइनले योगदान पुग्ने उल्लेख गर्दै उहाँले कालीगण्डकी करिडोर आयोजना निर्माणमा अवलम्बन गरिएका राम्रा अभ्यासहरुलाई अन्य आयोजनामा पनि अनुकरण गर्न सकिने बताउनुभयो ।

प्राधिकरणले कालीगण्डकी करिडोर प्रसारण लाइनलाई दुई खण्डमा विभाजन गरी निर्माण गरेको थियो । पहिलो खण्डअन्तर्गत दानादेखि पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटसम्मको करिब ४० किलोमिटर प्रसारण लाइन निर्माण गरिएको थियो । पहिलो खण्डमा नै खुर्कोटमा २२०÷१३२ केभी र दानामा २२०÷१३२÷३३ केभी सबस्टेसन निर्माण सम्पन्न भई सञ्चालनमा छन् । दुबै सबस्टेसनमा १००÷१०० एमभिए क्षमताका पावर ट्रान्सफर्मर राखिएका छन् ।

कुश्मा–नयाँ बुटवल खण्डमा दुई सय ३६ वटा टावर निर्माण गरिएको छ । सुनवल नगरपालिका–१३ बडेराबाट नयाँ बुटवल सबस्टेसनसम्म २२० केभीको चार सर्किट (मल्टी सर्किट) लाइनका लागि टावरहरु निर्माण गरिएको छ ।

मुलुकभित्र उत्पादित विद्युत्को आन्तरिक खपत एवं द्विपक्षीय तथा क्षेत्रीय विद्युत् व्यापार प्रवद्र्धनका लागि आन्तरिक प्रसारण एवं वितरण र अन्तरदेशीय प्रसारण प्रणालीहरुको विस्तार तथा सदृढीकरणका लागि नयाँ बुटवल २२० केभी सबस्टेसनको निर्माण गरिएको हो ।

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालनमा आएपछि एकीकृत विद्युत् प्रणालीको विश्वसनीयता बढ्ने र नवलपरासी, रुपन्देहीलगायत क्षेत्रको भोल्टेज सुधार भएको छ । मुस्ताङ, म्याग्दीलगायत जिल्लामा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाहरुको विद्युत् कालीगण्डकी यही प्रसारण लाइनमा जोडी राष्ट्रिय प्रणालीमा समाहित गरिने छ ।

रूख कटान अनुमति प्रक्रियामा भएको ढिलाइ, स्थानीयको अवरोध, कोभिड–१९को महामारीलगायत कारणले कालीगण्डकी करिडोर प्रसारण लाइन निर्माण प्रभावित भएको आयोजना प्रमुख चन्दन घोषले बताउनुभयो ।

कुश्मा–नयाँ बुटवल खण्ड निर्माणका लागि भारतीय कम्पनी एल एन्ड टीसँग २०७४ मङ्सिरमा ठेक्का सम्झौता भएको थियो । उक्त सम्झौता २०७४ पुसबाट कार्यान्वयनमा आएको थियो ।

नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक)अन्तर्गत विद्युत् प्रणाली विस्तार परियोजनाबाट प्राप्त सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजना निर्माण गरिएको हो । आयोजनाको अनुमानित लागत करिब रु ११ अर्ब छ ।

नयाँ बुटवल सबस्टेसनबाट बर्दघाटसम्मको लाइन निर्माण सम्पन्न भएपछि हेटौँडाबाट नयाँ बुटवलसम्म २२० केभी प्रसारण लाइन पूर्वाधार संरचना तयार हुने छ । नयाँ बुटवल–बर्दघाट २१ किलोमिटर प्रसारण लाइन निर्माणाधीन छ । अहिले हेटौँडाबाट भरतपुर हुँदै बर्दघाटसम्मको २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । भारतसँगको विद्युत् व्यापारका लागि नयाँ बुटवल–गोरखपुर चार सय केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइन पनि निर्माण गर्न लागिएको छ ।

देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् सोही प्रसारण लाइनमार्फत भारततर्फ निर्यात गरिने छ । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)मार्फत प्राप्त हुने अनुदानबाट नयाँ बुटवलमा चार सय केभीको सबस्टेसन र सरकार तथा प्राधिकरणको लगानीमा बुटवल–गोरखपुर प्रसारण लाइनअन्तर्गत नेपाल खण्डको निर्माण गरिने छ । नयाँ बुटवल–लमही (दाङ) चार सय केभी प्रसारण लाइन निर्माण हुँदैछ ।

विदेशबाट फर्केर तीन जना युवाले गरे सामूहिक माछापालन, भन्छन्– माग बढे पनि पर्याप्त उत्पादन गर्न सकिएन


गलेश्वर / वैदेशिक रोजगारीमा भनेजस्तो कमाइ नभएपछि स्वदेश फर्केर पश्चिम म्याग्दीको मालिका गाउँपालिका–३ का तीन जना युवाले सामूहिक माछापालन गरेका छन्

स्थानीय पूर्णबहादुर रोका, तेजेन्द्र बुढा र यमेन्द्र रोकाले मालिका–३ मा पर्ने टिमुरे खोलामा सामूहिक माछापालन थालेका हुन् । उक्त सामूहिक माछापालन पश्चिम म्याग्दीका लागि उदाहरणीय व्यवसाय बनेको छ ।

पूर्ण कतारमा छ र यामेन्द्र तीन वर्ष तथा तेजेन्द्र बहराइनमा तीन वर्ष काम गरेर स्वदेश फर्किएपछि सामूहिक माछापालनमा लागेका हुन् । टिमुरे खोला नजिकैको आठ रोपनी जग्गा भाडामा लिएर उनीहरुले सामूहिक रूपमा ट्राउट जातका माछा पालेका छन् ।

रू २० लाख लगानीमा माछापालनका लागि १० पोखरी निर्माण गरिएको पूर्णले जानकारी दिए । विसं २०७९ कात्तिकदेखि मालिका रेन्बो ट्राउट फर्म दर्ता गरी माछापालन व्यवसाय सुरु गरिएको उनले बताए । “सुरुमा रू आठ लाखको लगानीमा छ वटा पोखरी (रेसवे) निर्माण गरी माछापालन थालनी गर्‍यौँं । अहिले १० पोखरी निर्माण गरेका छौंँ”,उनले भने ।

गण्डकी रेन्बो ट्राउटबाट १० हजार अण्डा ल्याएर ह्याचिरिङ गरिएको जनाउँदै पूर्णले करिब नौ महिनामा माछा बिक्रीका लागि तयार हुने बताए । अहिले पोखरीमै भुरा उत्पादन हुने भन्दै १२ हजार बढी माछा हुर्किरहेका उनले जानकारी दिए । पूर्णका अनुसार पहिलो वर्ष सात सय केजी बढी माछा बिक्री भएको थियो ।

यस वर्ष दुई हजार केजी उत्पादन गर्ने लक्ष्य रहेको उहाँको भनाइ थियो । पहिलो वर्षको आम्दानी पनि व्यवसाय विस्तारमा लगाइएको बताउँदै उनले यस वर्षदेखि राम्रो आम्दानी लिन सकिने बताए । माछापालनका लागि चिसो र बहाव भएको स्वच्छ पानी आवश्यक हुने सञ्चालक पूर्णको भनाइ थियो ।

वर्षातको समयमा माछाका भुरा बचाउन गाह्रो हुने तेजेन्द्रले सुनाए । यहाँ उत्पादित माछा नजिकैको दरबाङ बजारसहित सदरमुकाम बेनी र छिमेकी जिल्ला बागलुङसम्म लगिएको उनले बताए । पहिलो वर्ष प्रतिकेजी रू एक हजार दुई सयमा बिक्री गरिएकामा यस वर्ष भने दानाको मूल्य बढेकाले रू एक हजार तीन सयमा बेच्ने गरिएको तेजेन्द्रले जानकारी दिए । बजारमा माग बढे पनि पर्याप्त उत्पादन गर्न नसकिएको उनको भनाइ थियो ।

उनीहरुले टिमुरेमा सामूहिक रुपमा आफ्नै रेष्टुराँ पनि सञ्चालन गरेका छन् । पोखरीमा उत्पादित माछा रेस्टुराँमा समेत खपत हुने गरेको माछापालका यमेन्द्रले जानकारी दिए । माछापालन गरी मनग्य आम्दानी भएकाले विदेशभन्दा नेपालमै फाइदा भएको उनको भनाइ थियो । आधुनिक किसिमले पोखरी निर्माण गरेर व्यावसायिक रूपमा माछापालन सुरु गरिएकाले फर्ममा परिवारका अन्य सदस्यलेसमेत साथ दिनुभएको यमेन्द्रले बताए ।

मालिका–३ का वडाध्यक्ष मोतीप्रसाद बुढाले गाउँमै युवाको लगानीमा व्यावसायिक माछापालन गरेसँगै अन्य युवाका लागि पनि प्रेरणाको स्रोत बनेको बताए । उनका अनुसार वडाको ५० प्रतिशत अनुदान कार्यक्रमबाट पोखरी वरिपरी घेरबार गरिएको छ । सरकारबाट पाउने ऋण र अनुदानमा समेत झन्झटिलो प्रक्रिया भएको भन्दै वास्तविक किसानसँग अनुदान पुग्न नसकेको माछापालक रोकाले गुनासो गरे। आगामी दिनमा यस व्यवसायलाई अझै विस्तार गर्ने सोच रहेको उनले बताए ।