`

अब सडक मर्मतमा आउने गुनासोलाई तत्कालै सम्बोधन हुन्छ – मन्त्री घिसिङ

काठमाडौँ, १२ मङ्सिर : भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सडक मर्मतमा आउने गुनासोलाई तत्कालै सम्बोधन गरिने बताउनुभएको छ । उहाँले आज सडक डिभिजन कार्यालय काठमाडौँले प्रयोगमा ल्याएको सडक मर्मत एम्बुलेन्स प्रयोगको सुरुआत गर्दै सडक एम्बुलेन्स नेपालमा नमूनाका रूपमा प्रयोगमा ल्याइएको प्रष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “सडक एम्बुलेन्स नेपालमा नमूनाका रूपमा प्रयोगमा ल्याइएको छ, त्यसलाई अन्य मुख्य सहरमा पनि विस्तार गरिनेछ, विकसित देशमा जस्तै अत्याधुनिक उपकरण जडान गरी सडक मर्मत सेवा प्रवाह अझै प्रभावकारी बनाइने छ ।”

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले सडक एम्बुलेन्स प्रयोगले सडक मर्मतका विषयमा आउने गुनासो तत्काल सम्बोधन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सडक मर्मतकार्य प्रभावकारी तथा पारदर्शी बनाउन एम्बुलेन्सले सहयोग गर्नेमा जोड दिनुभयो । एम्बुलेन्स प्रयोगबाट तीन सय ६५ दिन र चौबीसै घण्टा तयारी अवस्थामा रहने, सडक तत्कालै मर्मत गरी सहज आवागमन सुनिश्चित प्रदान गर्न सकिनेछ ।

सडक डिभिजन कार्यालय काठमाडौँको कार्यक्षेत्रमा पर्ने काठमाडौँ जिल्लाभित्रका सामरिक महत्त्वका सडक तत्काल मर्मत गर्न एम्बुलेन्स प्रयोगमा ल्याइने छ । सडकमा देखिएका खाल्डाखुल्डी तत्काल जानकारी दिई मर्मत अगाडि बढाउन मोबाइल एप पनि सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय काठमाडौँले जनाएको छ ।

प्रधानमन्त्री कार्कीसँग खेलकुद परिषद्का सदस्य सचिवको विदाइ भेट

काठमाडौँ – राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले प्रधानमन्त्री सुशीला कार्कीसँग बिदाइ भेट गर्नुभएको छ ।

परिषद्का संरक्षक एवं प्रधानमन्त्री कार्कीले घिसिङले आफ्नो कार्यकालमा नेपाली खेलकुदका लागि दिनुभएको योगदानको सराहना गर्दै आगामी सुखद् जीवनका लागि शुभकामना दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सदस्यसचिव घिसिङको पदावधि यही मङ्सिर १३ गते सकिँदैछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा भएको कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, मुख्यसचिव सुमनराज अर्याल, प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलगायतको उपस्थिति थियो ।

केही करसम्बन्धी सेवाहरू स्थानीय तहबाट सुरु गरिने : अर्थमन्त्री खनाल

काठमाडौँ, १२ मङ्सिर : अर्थमन्त्री रामेश्वर खनालले करदाता सेवा कार्यालयबाट प्रदान भएका केही करसम्बन्धी सेवाहरू स्थानीय तहबाट सुरु गर्ने बताउनुभएको छ ।

अन्तरसरकारी वित्त परिषद्को ११औँ बैठकलाई आज सम्बोधन गर्दै परिषद्का संयोजकसमेत रहनुभएका मन्त्री खनालले करदाता सेवा कार्यालयबाट प्रदान भएका केही करसम्बन्धी सेवाहरू स्थानीय तहबाट सुरु गर्ने प्रबन्ध मिलाइएको बताउनुभएको हो । करदाताले स्थानीयस्तरमै सेवा प्राप्त गर्ने र स्थानीय तहको राजस्व क्षमतासमेत अभिवृद्धि हुने जानकारी उहाँले गराउनुभयो ।

अर्थमन्त्री खनालले बजेट निर्माण र कार्यान्वयनमा प्रदेश र स्थानीय तहहरू स्वतन्त्र, स्वयं उत्तरदायी भएको धारणा व्यक्त गर्नुभयो । वित्तीय सङ्घीयतप्रतिको प्रतिबद्धतासमेत जनाउनुभयो । बैठकमा मधेस प्रदेशका मुख्यमन्त्री तथा अर्थमन्त्री र अन्य प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीहरूलगायत परिषद्का सदस्यहरूले वित्तीय सङ्घीयता कार्यान्वयनका सम्बन्धमा देखापरेका समस्या र समाधानका उपायका सम्बन्धमा आआफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा सातै प्रदेशका अर्थमन्त्रीहरूले संयुक्त रूपमा तयार गरेको वित्तीय सङ्घीयता सम्बद्ध घोषणापत्र कार्यान्वयन सहजीकरणका लागि सङ्घीय अर्थमन्त्रीसमक्ष पेस गरेका थिए । सोही अवसरमा नगरपालिका सङ्घ र गाउँपालिका महासङ्घका अध्यक्षसहित विभिन्न पालिकाका प्रतिनिधि सदस्यहरूले वित्तीय समानीकरण अनुदान विनियोजनबमोजिम प्राप्त हुनुपर्ने, वित्तीय सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित कानुनी तथा प्रक्रियागत विषयहरूमा छिट्टै टुङ्गोमा पुग्नुपर्नेमा जोड दिएका थिए ।

यसै क्रममा विज्ञ सदस्य, विभिन्न मन्त्रालयका सचिव, अर्थसचिव एवं नेपाल राष्ट्र बैंकका गभर्नरले बैठकमा उठेका विषयमा आआफ्नो क्षेत्रबाट योगदान पुर्याउने धारणा राखेका थिए ।

ताप्लेजुङको सिदिङवामा आगलागी, ५० लाखभन्दा बढीको क्षति

ताप्लेजुङ, १२ मङ्सिर : ताप्लेजुङको सिदिङवा गाउँपालिका–४ भञ्ज्याङ बजारमा विद्युत् सर्ट भएर लागेको आगलागीबाट करिब रु ५० लाखबराबरको क्षति भएको छ ।

स्थानीय डेनी तामाङको पाँचतले टिनले छाएको पक्की घरको चौथो तलाबाट भएको आगलागीका कारण रु ५० लाखबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागीबाट टिनको छानो, काठपात, मेसिनरी सामान, ल्याप्टप, कम्प्युटरलगायत सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जटाशङ्कर यादवले जानकारी दिनुभयो ।

आगलागी भएको खबर प्राप्त भएलगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । प्रहरी र स्थानीयको सक्रियतामा आगलागी नियन्त्रणमा आएको बताइएको छ ।

पूर्वाधार योजनाको ड्रइङ, डिजाइनिङमा वातावरणीय पक्ष समावेश गर्न निर्देशन

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको उपप्रमुख सुनिता डङ्गोलले पूर्वाधार योजनाको ड्रइङ, डिजाइनिङ, लागत अनुमान गर्दा डिजाइनरलाई वातावरण तथा सामाजिक पक्ष समावेश गर्न निर्देशन दिनुभएको छ । पूर्वाधार योजनाको काम गर्दा उक्त स्थानमा त्यसअघि भएका पूर्वाधारको सुक्ष्म अवस्थामा ध्यान दिन पनि उपप्रमुख डङ्गोलले विभागलाई निर्देशन दिनुभएको हो ।

जमल–कमलाछी–असन, भोटाहिटी–असन, असन–बालकुमारी–मच्छिन्द्र बहाल हुँदै इन्द्रचोकसम्म ढुङ्गा बिछ्याउने योजनाको अनुगमनका क्रममा पानी पुनःभरण प्रणाली सुधार गर्नुपर्नेमा उहाँको जोड थियो ।

“सडक आफैँलाई पानी पुनःभरण हुनसक्ने बनाउन सम्भव भएन भने वाटर रिचार्ज राखेर भए पनि पानी पुनःभरण गराउनुपर्छ । यससँगै त्यो ठाउँमा पहिले नै निर्माण भएका पूर्वाधार, सामाजिक अपेक्षा र आवश्यकतालाई ख्याल गर्नुपर्छ,” उहाँले भन्नुभयो ।

यस सडकखण्डमा सतहको पानी कसरी निकास हुन्छ ? सडकमा पानी जम्मा भएर पैदलयात्री, स्थानीयवासी तथा व्यापारिक क्रियाकलापमा असर हुन्छ कि हुँदैन भन्नेजस्ता विषयमा पनि ध्यान दिन आग्रह गरिएको छ ।

उक्त सडकखण्डमा पानी पुनःभरण हुने विधिबाट ढुङ्गा बिछ्याउने योजना थियो । यसका लागि एक सय मिटर सडकमा करिब एक महिना परीक्षण गरियो । सवारीसाधनको नियमित आवतजावतले पानी पुनःभरणसहितको सडक निर्माण टिकाउ नहुने भएपछि तर्जुमा गरिएको योजना संशोधन गरेर कार्यान्वयनमा ल्याइएको हो ।

करिब नौ सय मिटर लामो यो सडकखण्डमा न्यूनतम ४.५ फिट र धेरैमा १२ फिट चौडाइ छ । यहाँ १२ इञ्च लम्बाइ, आठ इञ्च चौडाइ र चार इञ्च मोटाइ भएका ढुङ्गा छापिएका छन् ।

रु चार करोड ४२ लाख ८३ हजार लागत अनुमान रहेको योजनाका लागि सार्वजनिक खरिद प्रक्रियाबाट रु तीन करोड ५१ लाख १४ हजार कबोल गर्ने आइएस निर्माण सेवाले काम गरेको हो । विसं २०८२ असोज मसान्तसम्ममा काम सम्पन्न गर्नेगरी २०८१ असार २४ गते निर्माण पक्षलाई कार्यादेश दिइएको थियो । जमिनमा पानी पुनःभरण गराउने परीक्षण र योजना संशोधनका कारण निर्माण अवधि बढेको पनि कामपाले जानकारी दिएको छ ।

अनुगमनका क्रममा वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्यहरू, विपद् व्यवस्थापन तथा वातावरण अनुगमन टोलीसहित स्थानीयहरूको समेत सभागिता थियो ।

विदुर पाण्डेको नयाँ र्‍याप गीत ‘गन्तव्य’ सार्वजनिक

काठमाडौं । विदुर पाण्डे ‘जनताजीवन’को आवाजमा नयाँ र्‍याप गीत ‘गन्तव्य’ सार्वजनिक भएको छ । परम्परागत र्‍याप विधाभन्दा फरक, यस गीतले सनातन दर्शन, पूर्वीय सभ्यता, आत्मअनुशासन र स्वाभिमानजस्ता गहिरा विषयवस्तुलाई उठान गरेको छ ।

सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा चर्चा बटुलिरहेको यस गीतको हुक लाइन— “मैले भनेको है पक्कै, जिन्दगीमा पाउन गन्तव्य” ले युवापुस्तालाई लक्ष्यप्रति केन्द्रित रहन प्रेरित गरेको छ।

गीतलाई तीन मुख्य खण्डमा विभाजन गरी कथावाचन शैलीमा प्रस्तुत गरिएको छ । पहिलोमा आक्रोश र आस्था: पहिलो खण्डमा जीवनका संघर्ष, आलोचना र कठिनाइहरूलाई देखाइएको छ। जस्तोसुकै परिस्थितिमा पनि ‘महाकाल’ र ‘पशुपतिनाथ’ को आशीर्वादलाई शक्ति मान्दै सत्यको बाटोमा हिँड्ने अठोट यसमा व्यक्त गरिएको छ।

दोस्रोमा महत्त्वाकाङ्क्षा र प्रेरणा: दोस्रो खण्डमा पूर्व भारतीय राष्ट्रपति डा. एपीजे अब्दुल कलामको उदाहरण दिँदै कडा परिश्रम र इमानदारिताले मात्र सफलताको ‘रकेट’ उड्ने सन्देश दिइएको छ। यहाँ प्रलोभन र झूटो प्रशंसालाई त्याग्दै निरन्तरतामा जोड दिइएको छ।

तेस्रोमा अध्यात्म र स्वाभिमान: अन्तिम खण्डमा काली, दुर्गा, लक्ष्मी र सरस्वतीजस्ता दैवी शक्तिहरूको स्मरण गर्दै आध्यात्मिक चेतनालाई उजागर गरिएको छ। गायकले पैसा र प्रसिद्धिभन्दा माथि ‘स्वाभिमान’ नै मानिसको वास्तविक जित भएको निष्कर्ष निकालेका छन्।
गायकको सन्देश: “हाम्रो सभ्यतामा महाविज्ञान छ”

गीत सार्वजनिक गर्दै गायकले यो केवल मनोरञ्जन नभई नयाँ पुस्तालाई आफ्नो जरो चिनाउने प्रयास भएको बताएका छन् । आफू सनातनी हिन्दु भएकोमा गर्व व्यक्त गर्दै उनले भनेका छन् ।

“आज विकसित राष्ट्रहरूले हाम्रो योग, ध्यान, आयुर्वेद, ज्योतिष र वैष्णव परम्परालाई अपनाइरहेका छन्। तर, हामी आफ्नै पवित्र भूमिमा जन्मिएर पनि गलत भाष्यका कारण यो महान् सभ्यताबाट टाढिँदै छौँ। विज्ञान त अहिले सिकिँदै छ, हाम्रो सभ्यतामा त ‘महाविज्ञान’ छ—त्यो पनि गोप्य।”

हिप–हप संगीतमा प्राय: नसमेटिने ‘सनातन धर्म’ र ‘सांस्कृतिक गौरव’ जस्ता विषयलाई ‘एग्रेसिभ फ्लो’ मा प्रस्तुत गरिएको भन्दै दर्शकहरूले गीतको प्रशंसा गरेका छन् ।

सरकारको मुख्य काम संस्थागत सुदृढीकरण हो – स्वास्थ्यमन्त्री डा गौतम

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले सरकारको मुख्य काम संस्थागत प्रणालीको सुदृढीकरण भएको बताउनुभएको छ ।

मन्त्रालयको आयोजनामा आज भएको राष्ट्रिय वार्षिक समीक्षा गोष्ठी (आव २०८१/८२) को उद्घाटन गर्दै उहाँले सरकार निर्वाचन गराउन जिम्मेवारी साथ सरकार गठन भए पनि सरकारको मुख्य काम संस्थागत प्रणालीमा सुधार गर्नु रहेको बताउनुभयो ।

भ्रष्टाचारको निर्मूल र बेथिति अन्त्य हुनुपर्ने कार्यादेश (म्यान्डेट) सहित सरकार गठन भएको उहाँको भनाइ छ । मन्त्री गौतमले आफू छोटो समय मन्त्रालयको नेतृत्व गर्न पाए पनि मानसिक स्वास्थ्य, श्रमिक स्वास्थ्य र चार प्रदेश (लुम्बिनी, मधेस, कर्णाली र सुदूरपश्चिम)को स्वास्थ्य सूचाङ्कलाई बढाउने रहेको बताउनुभयो । “स्वास्थ्य सूचाङ्क कमजोर रहेका चार प्रदेशमा कार्यक्रम प्रभावकारी कार्यन्वयन गर्दै लैजानु पर्दछ”, उहाँले भन्नुभयो, “प्रदेशभित्र पनि जिल्लाको स्वास्थ्य सूचाङ्कलाई पनि बढाउन आवश्यक रहेको छ ।”

मन्त्री डा गौतमले औषधि आपूर्ति र स्वास्थ्य बीमा कार्यक्रममा पनि धेरै नै समस्या देखिएकाले समस्या गरेर लैजाने बताउनुभयो । उहाँका अनुसार औषधि आपूर्तिमा अहिले विज्ञ राखेर काम भइरहेको छ ।

स्वास्थ्य बीमा कार्यक्रमलाई पनि अझ प्रभावकारी रूपमा लैजानु अहिलेको आवश्यकता रहेको बताउँदै उहाँले मन्त्रालयका कर्मचारीको काम गर्ने ऊर्जा र इच्छा देखाएर काम गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री गौतमले गत वर्षको प्रगति विवरण राम्रो देखिएको भन्दै ७२ प्रतिशत स्वास्थ्य संस्थाको भौतिक प्रगति र ८० प्रतिशत खर्च गरेर सुधार गरिएको बताउनुभयो ।

मन्त्रालयका सचिव डा विकास देवकोटाले स्रोत कटौती भएको अवस्थामा कार्यक्रमलाई प्रभावकारी रूपमा लैजानुपर्ने चुनौती रहेको बताउनुभयो । उहाँले अरु क्षेत्रले गरेका समस्याका कारणले स्वास्थ्य क्षेत्रमा आइपर्ने काम पनि मन्त्रालयले गर्नुपर्ने भएको भनेजस्तो काम प्रभावकारी हुन नसकेको उल्लेख गर्नुभयो ।

उहाँले स्वास्थ्य बीमा बोर्डमा अस्पतालले दाबी गर्ने २५ प्रतिशत डुब्लिकेशन देखिएको बताउनुभयो । कार्यक्रममा सात प्रदेशका स्वास्थ्य क्षेत्र हेर्ने मन्त्रालयले आआफ्नो प्रगति विवरण प्रस्तुत गरेका थिए ।

प्रधानमन्त्री कार्कीले गरिन् जेनजी अगुवासँग छलफल

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले आज जेनजी आन्दोलनका अगुवा प्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ । सरकार र आन्दोलनकारीबीच हुन लागेको सम्झौताको मस्यौदालाई अन्तिम रूप दिने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावतले जानकारी दिनुभयो ।

सोही अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जेनजी प्रतिनिधिहरूले सम्झौतामा हस्ताक्षर गर्ने काम चाँडो टुङ्गो लगाउन आग्रह गर्नुभएको थियो । सरकारका अधिकारीहरूले जेनजीका तर्फबाट प्राप्त दस्तावेज अध्ययन गरी अन्तिम रूप दिने क्रममै रहेको बताउनुभएको थियो ।

प्रधानमन्त्री कार्कीले यो विषय चाँडो टुङ्ग्याउन निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “अब यो विषय धेरै लम्ब्याउनु हुँदैन । आज सकिन्छ भने आजै, आज नभए भोलि शनिबारको दिनसमेत काम गर्नुहोस्, पर्सि आइतबार दिनभर लागे लागोस्, जेजे हेर्नुपर्छ हेर्नुहोस् । सोमबारभित्रमा अन्तिम रूप दिइएको हुनुपर्छ । अब धेरै दिन कुर्न सकिँदैन । हस्ताक्षर गरेकै कारणले केही व्यहोर्नुपरे म बेहोरौँला । मेरो सिङ्गो मन्त्रिपरिषद्ले त्यसको जिम्मेवारी लिन्छ । यो राजनीतिक दस्तावेज हो । कर्मचारी प्रशासकहरूले चिन्ता लिनु पर्दैन ।”

पूर्वीनाकाबाट कफीको आयात बढ्यो

झापा, १२ मङ्सिर : पूर्वीनाका काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक अवधिमा रु १२ करोड पाँच लाख १० हजार मूल्य बराबरको कफी आयात भएको छ ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार साउनदेखि कात्तिकसम्मको सो अवधिमा ८९ हजार ६२९ किलोग्राम कफी आयात भएको छ ।

गत आव २०८१/८२ को सोही अवधिको तुलनामा यस वर्ष कफीको आयात १५ प्रतिशतले वृद्धि भएको उहाँले जानकारी दिनुभयो । गत आव २०८१/८२ को साउनदेखि कात्तिकसम्मको चार महिनामा रु १० करोड ४७ लाख ३३ हजार मूल्यबराबरको ९५ हजार ५८९ किलोग्राम कफी आयात भएको भन्सारले जनाएको छ ।

प्रधानमन्त्री कार्की र अध्यक्ष ढकालबीच भेटवार्तामा के के भयो ?

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले आगामी चुनावबाट असल प्रतिनिधि संसद्मा पठाउनुपर्ने धारणा राख्नुभएको छ । नेपाल परिवार दलको प्रतिनिधिमण्डलसँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटवार्ताका क्रममा उहाँले चुनावमा हुने अनावश्यक खर्च र अनुचित तवरले मतदाता प्रभावित पार्ने प्रवृत्ति रोक्नुपर्ने धारणा राख्नुभएको हो ।

प्रधानमन्त्रीले भन्नुभएको छ, “तपाईँहरू चुनावको तयारीमा जुट्नुभएको छ । यो खुसीको कुरा हो । सँगसँगै यो चुनाव विगतभन्दा फरक हुनुपर्छ । कम खर्चमा हुनुपर्छ । प्रचारप्रसारमा तडकभडक हुनुहुँदैन । उम्मेदवारको पैसा खर्च नहुनेगरी प्रचारको शैली परिवर्तन गर्नुपर्छ । अनि सदनमा पनि राम्रा मान्छे पुग्छन् ।”

प्रतिनिधिमण्डलका तर्फबाट परिवार दलका अध्यक्ष एकनाथ ढकालले वर्तमान सरकार गठन भएपछि तत्कालै आफ्नो पार्टीले स्वागत गरेको र गुणदोषका आधारमा आलोचना वा समर्थन गर्ने बताउनुभयो । उहाँले निर्वाचन प्रयोजनका लागि आफूले दल दर्ता गरिसकेको पनि जानकारी गराउँदै निर्वाचनको वातावरण बनाउन प्रधानमन्त्रीले गरिरहेको प्रयास प्रसंशनीय रहेको बताउनुभयो ।

“यहाँले जुन परिस्थितिमा जिम्मेवारी लिनुभयो, त्यो स्वागतयोग्य छ । हामीले दलका तर्फबाट तत्कालै स्वागत गर्ने निर्णय पनि गरेका थियौँ । अहिले निर्वाचनको वातारण बनाउन खटिइरहनुपर्छ । सबै दल पनि अब निर्वाचनकै तयारीमा जुट्नुपर्छ । हामी यसैका निम्ति लागिरहेका छौँ । निर्वाचनको वातावरण बनाउनका लागि प्रमुख दलको नेतृत्वसँग पनि संवाद गर्नुहोस् भन्ने हाम्रो सुझाव छ ।”

एनपिएल : बसिर अहमद बने अर्धशतक जोड्ने १३औँ खेलाडी

काठमाडौँ – विराटनगर किङ्ग्सका बसिर अहमद राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा अर्धशतक हिर्काउने १३औँ खेलाडी बनेका छन् ।

उनले कर्णाली याक्सविरुद्धको खेलमा ३७ बलमा दुई छक्का र तीन चौकाको मद्दतमा अर्धशतक पूरा गरे । उनी जारी सिजनमा अर्धशतक हिर्काउने १३औँ खेलाडी बने पनि हालसम्म १७ अर्धशतक बनेका छन् ।

जसमा चितवन राइनोजका रवि बोपराले तीन, पोखरा एभेन्जर्सका कुशल भुर्तेल र कर्णाली याक्सका प्रियान्क पन्चालले दुई–दुई अर्धशतक हिर्काएका छन् ।

यस्तै, सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी, जोश ब्राउन, हरमित सिंह, विराटनगर किङ्ग्सका लोकेश बम, मार्टिन गुप्टिल, पोखराका सुमित बर्माले, काठमाडौं गोर्खाजका जोन सिम्प्सन, जनकपुर बोल्ट्सका वायन पार्नेल र आशिफ शेखले एक–एक अर्धशतक हिर्काएका छन् । कर्णालीका मार्क वाटमात्र जारी प्रतियोगितामा शतक हिर्काउने खेलाडी हुन् ।

खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट

काठमाडौँ, १२ मङ्सिर : नेपाल वायुसेवा निगमले खाडी मुलुकमा जाने नेपाली श्रमिकका लागि विशेष छुटसहित नयाँ भाडादर लागू गरेको छ । निगमले आज विज्ञप्ती जारी गरी निगमले रोजगारीका लागि दमाम, दोहा, दुबई र मलेसियाको क्वालालाम्पुर जाने श्रमिकहरूको सहजताका लागि १० प्रतिशत विशेष छुट दिने निर्णय गरेको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, “श्रमिक यात्रुहरूको सर्वसुलभताका लागि नेपालबाट तोकिएको गन्तव्यमा यात्रा गर्दा प्रत्येक उडानमा १० वटा सिटमा साविकको भाडामा १०% विशेष सहुलियत दिने निर्णय गरेको छ ।’

सो भाडादर श्रम मुलुकमा यात्रा गर्ने यात्रुले आवश्यक कागजातसहित निगमको नेपालस्थित कार्यालयका टिकट काउन्टरबाट सेवा लिन सक्ने जनाइएको छ । यसबाट श्रम मुलुकमा यात्रा गर्ने यात्रुलाई विशेष सुविधा, सहयोग तथा सहुलियत हुने विश्वास निगमले लिएको छ ।

सीमामा हुने अवैध ओसारपसार नियन्त्रणमा कडाइ गर्नुपर्ने

काठमाडौँ, १२ मङ्सिरः सीमामा हुने अवैध ओसारपसार नियन्त्रणमा कडाइ गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले यहाँ आज आयोजना गरेको खुल्ला सीमा नाका कारण हुनसक्ने पशु तथा कृषिजन्य पदार्थहरुको अवैध ओसारपसार नियन्त्रणसम्बन्धी अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।

अन्तरदेशीय सीमा क्षेत्रमा हुने पशु तथा कृषिजन्य पदार्थको अवैध ओसारपसारले देशको आर्थिक क्षेत्रमा नकारात्मक असर पारेको गर्दै सरोकारवालाले सीमामा परिचालित सुरक्षाकर्मी तथा सरोकारवाला निकायले सम्बद्ध निकायहरुसँग समन्वय र सहकार्य गरी सीमामा हुने अवैध ओसारपसार नियन्त्रण गर्नुपर्ने बताउनुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सीमा नाकामा हुने अवैध गतिविधि तथा ओसारपसारमा संलग्नसम्बन्धी सूचना समयमा नै प्राप्त गर्न सीमा क्षेत्रको समुदायस्तरमा सूचक तयार गरी कार्य गर्न जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “राजस्व छली भएमा देशको लागि आर्थिक रुपमा हुने क्षति, रोगजन्य तथा स्वास्थ्यमा असर पर्ने विषादीयुक्त कृषिजन्य सामाग्री प्रयोगमा रोक तथा स्वेदशी वस्तुको उत्पादन र प्रयोगमा जोड दिन आवश्यक छ, यी र यस्ता विषयमा विषयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न जरुरी छ ।”

महानिरीक्षक अर्यालले सीमा क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रण कार्यमा एकले अर्कोलाई दोष लगाएर पन्छिनुभन्दा पनि आपसी समन्वय र सहकार्य गरी अवैध ओसारपसार र चोरीनिकासीलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने सकारात्मक भावना लिएर इमान्दारिताका साथ कार्य गर्न सकियो भने राजस्व वृद्धिमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सीमा सुरक्षा विभागका प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेशबहादुर ठाडा मगरले खुला सीमा नाका कारण हुने अवैध क्रियाकलाप तथा गतिविधिलाई न्यूनीकरण, रोकथाम तथा ओसारपसारलाई नियन्त्रण गर्न प्रदेशस्तरमा यस्ता कार्यक्रम सञ्चालनका लागि सम्बन्धित सरोकारवाला निकायसँग आपसी समन्वय तथा सहकार्य गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो ।

पशु सेवा विभाग हरिहरभवन ललितपुरका महानिर्देशक डा रामनन्दन तिवारीले अन्तरदेशीय खुल्ला सीमा नाका कारण पशु तथा कृषिजन्य पदार्थको अवैध ओसारपसारको नियन्त्रण एवं नियमन, कृषि क्षेत्रको वर्तमान अवस्था, अवैध ओसारपसारले कृषि बजार क्षेत्रमा पारेको नकारात्मक प्रभाव, समस्या र चुनौतीमा प्रस्ष्ट पार्नुभयो ।

गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेले सीमा नाकाबाट हुने अवैध ओसारपसार नियन्त्रण तथा रोक लगाउने कार्यमा अन्तरनिकाय बीच आपसी समन्वय र सहकार्य गरी सीमा क्षेत्रमा देखिएका समस्याको समाधानका लागि कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो ।

प्लान्ट क्वारेनटाइन तथा विषादी व्यवस्थापन केन्द्र हरिहर भवन ललितपुरका वरिष्ठ बाली संरक्षण अधिकृत प्रकाश पौडेलले सीमामा परिचालित सम्बद्ध निकायलाई प्रविधि, स्रोतसाधन तथा भौतिक पूर्वाधारको समेत उपलब्धता गराउनुपर्ने बताउनुभयो ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशन विनोदप्रसाद उपाध्यायले सीमा नाकामा अन्तरराष्ट्रिय मापदण्ड अनुरुप मान्यता प्राप्त विलविजक नभएका सामानको जाँच गरी अवैध ओसारपसार नियन्त्रण गर्न सरोकारवाला निकाय तदारुकतासाथ लाग्नुपर्ने बताउनुभयो ।

सङ्कट समाधानका लागि एउटै मोर्चा आवश्यक छ – प्रचण्ड

सुदूरपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रमा उत्पन्न सङ्कट समाधानका लागि वामपन्थी र गैरवामपन्थी शक्तिलाई एउटै मोर्चामा ल्याउन जरुरी रहेको बताउनुभएको छ ।

विभिन्न कम्युनिष्ट घटकहरु मिलेर गठन गरिएको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को आज धनगढीबाट सुरु गरिएको पार्टी एकता सन्देश सभामा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका दाहालले नेकपा पार्टीमा अन्य वामपन्थी र देशभक्तहरु केन्द्रित भएर अटाउन सक्ने बताउनुभयो ।

भदौ २३ र २४ गतेको घटनापछिको परिस्थिति समाधानका लागि वामपन्थी प्रगतिशील, लोकतान्त्रिक शक्तिलाई नेपाली कम्युनिष्ट पार्टीको मोर्चामा ल्याउन पहल भइरहेको जानकारी दिनुभयो । हिजो भए गरेका कमीकमजोरीको समीक्षा गरी महान उद्देश्य बोकेर नेकपाको निर्माण सुरु गरिएको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “नेकपाले कोरेको गोरेटो बाटोमा देश अघि बढ्दै छ, नेपालको एक नम्बर पार्टी नेकपा भइ छाड्छ ।”

देशभरका क्रान्तिकारीले नेकपालाई नयाँ आशा र भरोसाका साथ हेरिरहेको उल्लेख गर्नुहुँदै उहाँले बृहत शक्ति निर्माणका लागि पार्टीमा ध्रुविकृत हुन सबैलाई अपिल गर्नुभयो । हाल उत्पन्न सङ्कटको निकासका लागि निर्वाचनको विकल्प नदेखिएकाले निर्वाचनको वातावरण बनाउने काममा लाग्न नेता कार्यकर्तालाई उहाँले निर्देशन दिनुभयो ।

पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वामपन्थी पार्टीहरुमा विगतमा भएका टुटफुटबाट शिक्षा लिएर नेपाली राजनीतिलाई स्वच्छ बनाउँदै नेकपा अघि बढ्न लागेको बताउनुभयो । समाज रुपान्तरणका लागि पार्टीमा समाहित भएर अगाडि बढ्नमा सहयोग गर्न आग्रह गर्दै उहाँले भन्नुभयो, “नयाँ क्रान्तिकारी पार्टी बनाउने सोचले गठन भएको नेकपाले भ्रष्टाचार र बेथितिको अन्त्य र जनताको पक्षमा काम गर्ने सङ्कल्प लिएको छ ।”

सो पार्टीका नेता भीमबहादुर रावलले देशको मुहार फेर्न गठन भएको नेकपाले देशलाई रुपान्तरण र परिवर्तन गर्न चाहेको बताउनुभयो । उहाँले देशको स्वाधिनता र समृद्धिको यात्रालाई अगाडि बढाउन पार्टी क्रियाशील रहेको उल्लेख गर्नुभयो । सन्देश सभामा पार्टीका नेता प्रकाश शाह, गिरीराजमणि पोखरेल, भानुभक्त जोशीलगायतले पार्टी गठन र समसामयिक राजनीतिका बारेमा बोल्नुभएको थियो ।

झण्डै एक दर्जनभन्दा बढी वाम घटक मिलेर गठन गरिएको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी एकता सन्देश आज पहिलो पटक सुदूरपश्चिम प्रदेशको धनगढीबाट सुरु गरेको हो । सन्देश सभास्थलमा अशान्ति हुन नपाओस् भनेर ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको थियो ।

स्रोत नखुलेको १० लाखसहित एक जना पक्राउ

वीरगञ्ज (पर्सा) : प्रहरीले स्रोत नखुलेको रु १० लाख रकमसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा प्रहरीले बिहीबार वीरगञ्ज महानगर–१६ स्थित रजतजयन्तीचोकमा जाँच गर्ने क्रममा मधेस प्रदेश ०३ ०२५ प ९८०७ नम्बरको मोटरसाइकलमा सवार भारत बिहार राज्य मोतीहारी थाना रक्सौलका ५३ वर्षीय सुरेन्द्र साहको साथबाट रु १० लाखसहित पक्राउ गरेको हो ।

पर्सा प्रहरीका प्रवक्ता राजु कार्कीले स्रोत नखुलेको रकमसहित पक्राउ परेका साहको विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

नियमित महाधिवेशनका लागि बृहत युवा विद्यार्थी भेला

काठमाडौँ, १२ मङ्सिर : नेपाली कांग्रेस सम्बद्ध युवा र विद्यार्थी सङ्गठनले आज यहाँ नियमित महाधिवेशनका लागि बृहत युवा विद्यार्थी भेला आयोजना गरेको छ ।

उनीहरुले नियमित महाधिवेशन गर्नुपर्ने मागसहित बृहत भेला आयोजना गरेका हुन् । भेलामा पार्टीका विभिन्न तहका नेताहरूले नियमित महाधिवेशन गर्नुपर्ने विषयमा सम्बोधन गरेको विद्यार्थी नेता मनिषजङ्ग थापाले जानकारी दिनुभयो ।

कार्यक्रमका वक्ता एवं नेविसङ्घका केन्द्रीय सदस्य आदर्श मल्लले पार्टीभित्र भागबण्डाको खेलले गर्दा नेपाल विद्यार्थी सङ्घलगायत भातृसंस्थाहरुको अवस्था कमजोर हुँदै गएको बताउनुभयो । उहाँले पार्टीलाई एकताबद्ध गरेर निर्वाचनमा सहभागी हुने वातावरण बनाउन सबै गम्भीर हुनुपर्ने धारणा राख्नुभयो ।

कांग्रेसका युवा नेता पुष्पकुमार शाहीले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टीलाई बलियो बनाउनुपर्ने तथा जेनजी युवाको भावना सम्बोधन गर्नका लागि भए पनि कांग्रेस नियमित महाधिवेशनमा जानुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “पार्टीमा विशेष महाधिवेशन वा नियमित महाधिवेशनको विवाद आवश्यक छैन । वडादेखि केन्द्रसम्म जेनजी युवाको प्रतिनिधित्व सुनिश्चितता गराउन नियमित महाधिवेशन आवश्यक छ ।”

अधिकांश वक्ताहरुले देशको अवस्थालाई मध्यनजर गर्दै कांग्रेस आगामी फागनु २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा चुनावमा केन्द्रित हुनुपर्ने तथा नियमित महाधिवेशनमा जानुपर्ने धारणा राखेका थिए । उक्त भेलामा नेपाली कांग्रेसका महिला केन्द्रीय सदस्य, तरुण दल केन्द्रीय सदस्य, युवा तथा विद्यार्थी सङ्घका केन्द्रीय सदस्यहरूको सहभागिता रहेको थियो ।

विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली लागू गरिने

काठमाडौँ, १२ मङ्सिर : अध्यागमन विभागले आगामी पुस १७ गतेदेखि विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमा ल्याउने भएको छ ।

यसका लागि विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने सबै सार्वजनिक संस्था र निजी कम्पनीलाई यस प्रणालीमा अनिवार्य रुपमा आबद्ध हुन अनुरोध गरेको छ । विभागले बिहीबार एक सूचना जारी गर्दै प्रणाली लागू गर्ने विषयमा विभागले गत असोज १ गतेदेखि लागू हुने गरी कार्य योजना तयार पारेको भए पनि मुलुकको विभिन्न घटनाक्रमका कारण कार्यान्वयन हुन नसकेको जनाएको छ ।

यस प्रणालीको कार्यान्वयनमार्फत नेपाल प्रवेश गर्ने विदेशी नागरिकको बसाइ तथा उनीहरुको गतिविधिसम्बन्धी व्यवस्थित अभिलेख राख्ने र आपत्कालीन अवस्थामा खोज, उद्धार तथा सुरक्षा सुनिश्चित गर्न सहज हुने विश्वास लिइएको छ । यसका साथै सुरक्षा निकाय, पर्यटन व्यवसायी तथा सरोकारवाला अन्य निकायहरुबीच सूचना आदानप्रदान प्रक्रियालाई सरल र प्रभावकारी बनाइ पर्यटन क्षेत्रको सुरक्षित र व्यवस्थित विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

नेपालमा भ्रमण गर्ने विदेशी नागरिकको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्यले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (फरेन नेश्नल्स म्यानेजमेन्ट इन्फमेशन सिस्टम) को विकास गरिएको हो ।

सो प्रणालीलाई पहिलो चरणमा पुस १७ गतेदेखि काठमाडाँै उपत्यकाभित्रका तारे होटलहरुमा अनिवार्य रुपमा लागू गरिनेछ । दोस्रो चरणमा फागुन १७ देखि देशभित्रका सबै तारे होटल, विमान कम्पनी, टुर्स एण्ड ट्राभल्स कम्पनी, मनी एक्सचेञ्जरहरुमा र क्रमशः सबै प्रकारका होटल, गेष्ट हाउस र अन्य सार्वजनिक तथा निजी संस्थाबाट प्रवाह हुने सेवामा लागू गरिने बताइएको छ ।

अब विदेशमा रहेका नेपालीलाई नेपालबाटै स्वास्थ्य परामर्श

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रोजगारीको सिलसिलामा विदेशमा रहेका नेपालीलाई स्वास्थ्य परामर्श सेवा सुरु गरेको छ ।

मन्त्रालयले भाइबर, इमो र ह्वाटसएपमार्फत मिर्गौला रोग र अन्य रोगसम्बन्धी परामर्श २४सै घण्टा उपलब्ध गराउने मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मिर्गौला रोगसम्बन्धी सेवाका लागि नम्बर ००९७७ ९७६३४९०९०० मा भाइबर, इमो वा ह्वाटसएपमा फोन गर्न सक्ने व्यवस्था मिलाइएको छ । मिर्गौलासम्बन्धी रोगको परामर्श सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अन्य स्वास्थ्य सेवासम्बन्धी परामर्श सेवा वीर अस्पतालबाट २४सै घण्टा उपलब्ध गराउने गरी व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।

अन्य स्वास्थ्य सेवाका लागि ००९७७ ९८५१३४५७०१ र ००९७७ ९८५१३४५७०२ नम्बरको भाइबर र ह्वाटसएपमा फोन गर्न सकिने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता बुढाथोकीले विदेशमा धेरै नेपाली बिरामी हुँदा समस्या पर्ने भएकाले परामर्श सेवा सुरु गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार विदेश जाने क्रममा श्रमिकलाई आवश्यक स्वास्थ्यसम्बन्धी जानकारीका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका विभिन्न स्थानहरुमा सचेतनामूलक सन्देश राखिएको छ ।

जापानमा बेरोजगारी दर २.६ प्रतिशतमा स्थिर

जापानमा अक्टोबर महिनामा बेरोजगारी दर लगातार तेस्रो महिना २.६ प्रतिशतमा स्थिर रहेको छ । तर बेरोजगारहरूको सङ्ख्या बढिरहेको छ ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार, रोजगारप्राप्त व्यक्तिहरूको सङ्ख्या ६८ लाख ४६ हजार पुगेको छ, जुन अघिल्लो महिनाभन्दा सानो वृद्धि हो। बेरोजगारको सङ्ख्या १८ लाख ५० हजार पुगेको छ, जुन २.२ प्रतिशतले बढेको छ ।

बेरोजगारमध्ये चार लाख ६० हजार जनाले अनिच्छापूर्वक जागिर गुमाएका छन्, जुन अघिल्लो महिनाभन्दा ७ प्रतिशत बढी हो । नयाँ रोजगार खोज्ने व्यक्तिहरूको संख्या ५० हजार पुगेको छ, जुन ४.२ प्रतिशतले बढेको छ ।

महिला कामदारको सङ्ख्या ३१ लाख ५९ हजार पुगेको छ, जुन जनवरी १९५३ पछि सबैभन्दा उच्च स्तर हो ।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार, अक्टोबरमा रोजगार उपलब्धता अनुपात १.१८ रहेको छ । यसको अर्थ, प्रत्येक १०० रोजगार खोज्ने व्यक्तिका लागि ११८ जागिर उपलब्ध छन् । यो अनुपात जनवरी सन् २०२२ पछि पहिलो पटक १.२० भन्दा तल झरेको छ ।

मन्त्रालयलेस्व–चेकआउट प्रणालीको प्रयोग र न्यूनतम तलबमा क्रमिक वृद्धिले यसमा केही प्रभाव पारेको जनाएको छ ।

सातवटा उद्योग र फर्मलाई कारबाहीका साथै निर्देशन

काठमाडौँ, १२ मङ्सिर : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न सातवटा उद्योग र फर्मलाई कारबाही तथा निर्देशन गरेको छ । विभागको टोलीले आज ती उद्योग र फर्महरूको अनुगमन निरीक्षण गरी उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन तथा कारबाही गरेको हो ।

तारकेश्वर–५ गोलढुङ्गास्थित क्रिष्टल स्टोरलाई रु दुई लाख पाँच हजार, काठमाडौँ मनपा–३१ नयाँबानेश्वरस्थित घुम्ती किचेनलाई रु २० हजार, काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलस्थित ग्रिन बड्स बेकरी क्याफे प्रालिलाई रु पाँच हजार कारबाहीस्वरुप जरिवाना गराएको हो ।

त्यसैगरी, ललितपुर महानगरपालिकाको पुल्चोकस्थित सुमेरु अस्ताल परिसरमा रहेको क्यान्टिन, महालक्ष्मी नपा–१ ललितपुरस्थित किष्ट क्याफेटेरिया, काठमाडौँ मनपा–२९ सिंहदरबारस्थित जीएण्डबी क्याफे, काठमाडौँ मनपा–२७ वीर अस्पतालमा रहेको ग्रुप गुजेश्वरी होटल प्रालि (शाखा)लाई सामान्य निर्देशन दिएको छ ।

स्वास्थ्य मन्त्री गौतमसँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ, १२ मङ्सिर : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले आज शिष्टाचार भेटघाट भएको छ ।

मन्त्रालयमा भएको भेटका क्रममा दुई देशबीचको ऐतिहासिक र अतुलनीय मित्रता रहेको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रमा विद्यमान द्विपक्षीय साझेदारीलाई अझ दिगो र प्रभावकारी बनाउने सम्बन्धमा छलफल भएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।

भेटमा मन्त्री गौतमले नेपाल–भारतबीचको सम्बन्ध गहिरो रहेको र स्वास्थ्य क्षेत्रमा भारतले गरेको निरन्तर सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । साथै उहाँले मातृ तथा शिशु स्वास्थ्य, मानसिक स्वास्थ्य, स्वास्थ्य बीमा, राष्ट्रिय औषधि प्रयोगशालाको परीक्षण क्षमता अभिवृद्धि र प्रवासमा रहेका नेपाली श्रमिकको स्वास्थ्य सुधार मन्त्रालयको प्रमुख प्राथमिकतामा रहेको बताउनुभयो ।

राजदूत श्रीवास्तवले भारत–नेपाल सम्बन्धको महत्व दोहोर्याउँदै राष्ट्रिय औषधि प्रयोगशालाको स्तरोन्नतिका लागि भवन निर्माण, आवश्यक उपकरण र जनशक्तिको तालिममा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सुनसरीमा मोटरसाइकल ट्रकमा ठोक्किँदा चालकको मृत्यु

धरान (सुनसरी), १२ मङ्सिरः तीव्र गतिको मोटर साइकल सडक किनारमा रोकिएको ट्रकमा ठोक्किँदा त्यसका चालकको मृत्यु भएको छभने सोही वाहनमा सवार अर्का एक जना गम्भीर घाइते भएका छन् ।

धरान उपमहानगरपालिका–८ तीनकुनेस्थित सडक किनारमा रोकेर राखिएको प्रदेश १–०२–००१ ख ८७५७ नम्बरको ट्रकमा प्रदेश १–०३–००१ प १३२४ नम्बरको मोटरसाइकल गए राति ठोक्किँदा चालक इटहरी उपमहानगरपालिका–४ का २५ वर्षीय मञ्जिल लिम्बूको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चन्द्र खड्काका अनुसार मोटरसाइकलमा सवार इटहरी–५ का ३२ वर्षीय अमित राईको अवस्था गम्भीर छ । निजको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार भइरहेको छ ।

निर्देशक सरोज पौडेलको नयाँ चलचित्र ‘सिन्दुरे जात्रा’ घोषणा

काठमाडौं । निर्देशक सरोज पौडेलले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । चर्चित चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक पौडेलले चलचित्र ‘सिन्दुरे जात्रा’ निर्माणको घोषणा गरेका हुन् ।

निर्देशक पौडेलले टाइटल अनाउन्समेन्ट टिजरमार्फत चलचित्र निर्माणको घोषणा गरेका हुन् । २६ सेकेन्डको टाइटल अनाउन्समेन्ट टिजरमा सिनेमाको टाइटल छ । सिन्दुरे जात्राको मन्त्र पढेजस्तो आवाज रहे पनि के भनेको हो त्यो भने बुझिँदैन ।

चलचित्रमा कथा पनि निर्देशक पौडेल स्वयंको रहनेछ । नुवाकोटमा मनाइने गरेको ऐतिहासिक सिन्दुरे जात्रामा आधारित चलचित्र हो वा अरु नै कथा रहनेछ यसबारे निर्देशक पौडेलले केही बताएका छैनन् ।
सारंगी फिल्म्सको प्रस्तुति रहेको सिनेमाको निर्मातामा प्रभाकार श्रेष्ठ छन् । चलचित्रमा को–को कलाकार रहनेछन् भन्ने केही समयपछि जानकारी गराउने निर्देशक पौडेलले बताए ।आरआर फिल्मस्ले वितरण गर्ने चलचित्रको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ । चलचित्र कहिले रिलिज गर्ने त्यो पनि निर्देशक पौडेलले प्रष्ट पारेका छैनन् ।

केही महिनाअगाडि निर्देशक पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्र ‘कोशेढुङ्गा’ प्रदर्शनमा आएको थियो । प्रदर्शन भइरहेका बेला जेनजीको आन्दोलनका कारण उत्पन्न असहज परिस्थितिबाट प्रभावित बन्न पुगेको ‘कोशेढुङ्गा’ले समाजिक विषय, मनोभावना र निर्देशन शैलीका कारण राम्रो प्रतिक्रिया बटुलेको थियो ।निर्देशक पौडेलले यो नयाँ प्रोजेक्टबाट कस्तो नयाँ सिर्जना ल्याउने हुन् भन्नेमा चासो विषय बन्ने निश्चित छ ।

बेनी–पाखापानी सडकः किराखोर–नेप्टेचौर खण्डमा धमाधम कालोपत्र हुँदै

म्याग्दी, १२ मङ्सिरः बेनी–पाखापानी सडकअन्तर्गत किराखोर–नेप्टेचौर खण्डमा कालोपत्र गर्न थालिएको छ ।

बेनी नगरपालिका–९ किराखोरदेखि नेप्टेचौरस्थित वडा कार्यालयसम्मको दुई किलोमिटर सडक ‘प्रिमिक्स’ प्रविधिको कालोपत्र थालिएको हो ।

बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीका अनुसार सात मिटर चौडा सडक कालोपत्र हुनेछ । नेप्टेचौर–तोरीपानी खण्डमा थप दुई किलोमिटर ग्राभेल पनि गरिने छ ।

वर्षा यामको पानीको निकासका निम्ति नाला र टेवा पर्खाललगायत सडक संरक्षणका संरचना पनि धमाधम निर्माण भइरहेका छन् । यो सडक कालोपत्र गर्न रु १० करोड १६ लाख एक हजार ३६४ मा निर्माण कम्पनीसँग सम्झौता भएको छ ।

कांग्रेस एकताबद्ध भएर महाधिवेशन र निर्वाचनमा होमिने वातावरण बन्दैछः नेता महर

काठमाडौँ-नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले पार्टीलाई एकताबद्ध बनाएर यथाशीघ्र निर्वाचनमा होमिने वातावरण निर्माण भइरहेको र पार्टीको आगामी बैठकसम्ममा पार्टीका सबै समस्या समाधान हुने बताउनुभएको छ ।

स्ववियु परिषद् नेपालको राष्ट्रिय अधिवेशन–२०८२ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले पार्टी विधान र संविधानको सीमाभित्रै रहेर देश र कांग्रेसभित्रका सबै समस्याको निकास सम्भव रहेको बताउनुभयो ।

शीर्ष नेतृत्व तहमा र अन्य समूहका बीचमा फरकफरक ढङ्गले गहन छलफल चलिरहेको छ “पार्टी एकताबद्ध हुन्छ र यथाशीघ्र निर्वाचनमा होमिने वातावरण बन्दैछ”, नेता महरले भन्नुभयो, “अहिलेकै केन्द्रीय समितिमार्फत निकास निकाल्न हामी सबै प्रयासरत छौँ ।”

उहाँले पार्टी नेतृत्वले विगतका अभ्यासहरूको समीक्षा गर्दै स्पष्ट मार्गचित्र (रोडम्याप) दिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हिजोदेखि गरी आएका वा अवलम्बन गरेका के–केलाई निरन्तरता दिने, के–केलाई परिमार्जन गर्ने र के–केलाई पूर्णतः निषेध गर्ने त्यसको रोडम्याप नेतृत्वले दिन सक्नुपर्छ । भोलिका कर्णधार पुस्ताले स्पष्टता खोजेको छ ।”नेता महरले ‘जेनजी’ पुस्ताको प्रतिनिधिका रूपमा रहेका स्ववियु परिषद्का प्रतिनिधिहरूले समाजमा फैलिँदै गरेको राजनीतिक चेतनालाई सही दिशा र गति दिनुपर्ने बताउनुभयो ।

नेपालको शिक्षा नीति प्रविधि र कृत्रिम बौद्धिकता (एआई)मा आएको परिवर्तनअनुसार समयसापेक्ष हुनुपर्ने जरुरी रहेको उल्लेख गर्दै उहाँले नेपालमै उच्च शिक्षा अध्ययनको सुरुआत पहिलो जननिर्वाचित प्रधानमन्त्री एवं कांग्रेसका संस्थापक बिपी कोइरालाले त्रिभुवन विश्वविद्यालय स्थापना गरेको प्रसङ्ग सुनाउँदै महरले शिक्षामा २० प्रतिशत बढी लगानी आवश्यक रहेको बताउनुभयो ।

आफू नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को अध्यक्ष हुँदा रूपान्तरणको एजेन्डा राख्दै समावेशी विधान निर्माण गरेको स्मरण गर्दै नेता महरले ऐतिहासिक सङ्घर्षपछि नेविसङ्घमा ३२ र स्ववियुमा २८ वर्षे हदबन्दी लगाएको विषय आज झनै सान्दर्भिक बनेको दाबी गर्नुभयो ।पार्टीभित्र युवाको सम्मानजनक उपस्थितिको वकालत गर्दै आएका उहाँले जारी केन्द्रीय समिति बैठकमा आफूले ठोस प्रस्ताव राखेको जानकारी दिनुभयो ।

बहुमत ल्याएर देशलाई अघि बढाउँछौँ : हर्क साम्पाङ

ताप्लेजुङ- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशमा व्याप्त भ्रष्टाचार, विभेद र राजनीतिक अस्थिरताका कारण आमूल परिवर्तन नभएको बताउनुभएको छ । ताप्लेजुङमा आयोजित पार्टीको कार्यक्रममा साम्पाङले बढ्दो भ्रष्टाचार, विभेद, श्रमको सम्मान नहुनुजस्ता कारणले देश विकासको बाटोमा अघि बढ्न नसकिरहेको जिकिर गर्नुभयो ।

अध्यक्ष साम्पाङले देश परिवर्तन गर्न श्रम संस्कृति पार्टीले बहुमत ल्याएर देशलाई परिवर्तनको बाटोमा अघि बढाउने दाबी गर्नुभयो । उहाँले विदेशीको इसारामा नचल्ने, नेपालको माटो–भूमि संरक्षण गर्ने, नागरिकलाई श्रममार्फत आत्मनिर्भर बनाउने र शिक्षामा व्यावहारिक परिवर्तन ल्याउनेजस्ता विषय आफ्ना प्राथमिकतामा रहेको भन्दै आगामी निर्वाचनमा भोटका लागि अपिलसमेत गर्नुभयो ।

जनताको जितका लागि श्रमको सम्मान, व्यावहारिक शिक्षा र सादगी जीवनमार्फत राष्ट्रलाई समृद्धितर्फ लैजाने नै पार्टीको लक्ष्य रहेकाले सोहीअनुसार अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । श्रम संस्कार, संस्कृति र प्रविधिको विकाससहित अघि बढ्ने आफ्नो पार्टीको लक्ष्य रहेको उहाँको भनाइ छ ।

प्रहरीको पेस्तोल लुटपाट गरी आपराधिक गतिविधिमा संलग्न तीन जना पक्राउ

काठमाडौँ-गत भदौ २३ र २४ गतेको जेनजी युवाहरूको प्रदर्शनका क्रममा प्रहरी कार्यालयबाट हतियार (पेस्तोल) लुटपाट गरी विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर बागमती गाउँपालिका–७ घर भई हाल काठमाडौँ महानगरपालिका–२८ बागबजार बस्ने २५ वर्षीय निकेश विक, मकवानपुर बागमती गाउँपालिका–७ घर भई काठमाडौँ बागबजार बस्ने २५ वर्षीय सुरज विक तथा बागलुङ ढोरपाटन नगरपालिका–३ घर भई हाल काठमाडौँ–२८ भृकुटीमण्डप बस्ने २५ वर्षीय बालकृष्ण गैरे रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा प्रहरी कार्यालयबाट हतियार लुटपाट गरी विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको भन्ने विशेष सूचनाका आधारमा निजहरूलाई पक्राउ गरिएको हो ।”

पक्राउ परेकाहरूबाट प्रहरीले सिएफ ९८–९००१०४००८२३६ नम्बरको पेस्तोल एक थान र सोही पेस्तोलको म्याग्जिन एक थान तथा टाइप ५४–५५०१११३३ नम्बरको पेस्तोल एक थान बरामद गरेको जनाइएको छ । पक्राउ परेका तीनै जनालाई हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, पठाइएको सूचना अधिकारी आचार्यले बताउनुभयो ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि सर्यो

पाटन  ललितपुर- आज बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबारका लागि सारिएको छ ।पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिनुभएको जानकारीअनुसार मङ्सिर १२ गते शुक्रबार दिउँसो २ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर, ललितपुरमा बस्ने भनिएको बैठक यही मङ्सिर १४ गते आइतबार दिउँसो २ः०० बजे बस्ने भएको छ ।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सात वटै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उहाँले जानकारी गराउनुभयो ।

पकेट क्षेत्र निर्धारण गरेर किवीखेतीमा लगानी गर्दै पौवादुङमा

भोजपुर, १२ मङ्सिर : पकेट क्षेत्र घोषणा गरी गाउँपालिकाले लगानी बढाएपछि भोजपुरको पौवादुङमाका किसान व्यावसायिक किबीखेतीतर्फ आकर्षित भएका छन् । श्यामशिलाका १७ किसान अहिले सङ्गठित रूपमा किबी उत्पादनमा जुट्दै दिगो आयस्रोतको नयाँ सम्भावना निर्माण गरिरहेका छन् ।

यहाँका किसानले किबी बेचबिखन गरेर आम्दानीसमेत लिन थालेका छन् । भोजपुर–लेगुवा मुख्य सडकखण्ड आसपासमा पर्ने भएकाले यहाँका किसानले उत्पादन गरेको किबीको बेचविखनमा पनि सहजता छ । गाउँपालिकाले पकेट क्षेत्र निर्धारण गरेर किबीखेतीमा लगानी बढाएपछि यहाँका अधिकांशले व्यावसायिक किबीखेती गरिरहेको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिनुभयो । यहाँ गाईपालनको कार्यक्रम सञ्चालन भइरहेकाले उत्पादित गोबरको मलको सदुपयोग गर्दै किसान किबीखेतीमा जुटेको उहाँको भनाइ छ ।

“हाम्रो क्षेत्र किबीखेतीका लागि उपयुक्त भूगोल रहेको स्थान हो”, वडाध्यक्ष तामाङले भन्नुभयो, “यहाँ गाउँपालिकाको अनुदान सहयोगमा पशुपालनको कार्यक्रम पनि सञ्चालन गरेका छौँ । त्यही मलको सदुपयोग गर्दै किसानहरूले किबीखेती गर्दै आएका छन् ।”

एकपटक विस्तार गरेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएसँगै यो क्षेत्रका किसान व्यावसायिक किबीखेतीमा जुटेका हुन् । गाउँपालिकाले किसानको दिगो आयस्रोतका रूपमा विकास गर्न किबीलगायत बहुवर्षीय बाली विस्तारमा जोड दिएको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो । प्रशस्त घाँस पाइने क्षेत्र भएकाले यहाँ उन्नत जातका गाईसमेत वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

“हामीले यहाँ पशुपालन र फलफूलखेतीमा जोड दिएका छौँ”, उपाध्यक्ष राईले भन्नुभयो, “पशुपालनबाट उत्पादन भएको मलको सदुपयोग गर्ने लक्ष्यले किबीखेतीमा पनि सहयोग गरेका छौँ । नागरिकलाई आर्थिकसँगै पोषणमा जोड्ने हाम्रो सोच हो ।”

गाउँपालिकाले भूगोल सुहाउँदो फलफूल तथा तरकारीखेतीमा जोड दिएको पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । कृषिबाट आत्मनिर्भर बनाउने लक्ष्यका साथ किसानलाई व्यावसायिक खेती प्रणालीमा लाग्न सहयोगका कार्यक्रम सञ्चालन भइरहेको अध्यक्ष राईको भनाइ छ ।

“किसानको मुख्य आम्दानीको श्रोत नै कृषि हो”, अध्यक्ष राईले भन्नुभयो, “श्यामशिलामा किबीको राम्रो सम्भावना रहेकाले पकेट क्षेत्र निर्धारण गरेका छौँ । अन्य स्थानमा कागती, आभोकाडोलगायत बालीका लागि कार्यक्रम सञ्चालन गर्दै आएका छौँ । गाउँपालिकाले सहयोगका कार्यक्रम सञ्चालन गरेसँगै किसान आयआर्जनमा जोडिएका छन् ।”

गाउँपालिकाका किसानको मुख्य आम्दानीको स्रोत कृषि रहेकाले किसानलाई आवश्यकता तथा मागका आधारमा गाउँपालिकाले सहयोग गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । पशुपालनसँगै विभिन्न खेती प्रणालीमा जोडिएका किसानलाई आवश्यक तालिम तथा नियमित प्राविधिक सहयोग गर्दै आएको उहाँका भनाइ छ ।

मकवानपुरको कर्रा चोकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

वाग्मती, १२ मङ्सिरः पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ कर्रा चोकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

पशुपतिनगरबाट हेटाँैडा बजारतर्फ आउँदै गरेको ना३८प ५८५० नम्बरको मोटरसाइकलले गए राति ठक्कर दिँदा पैदलयात्री पर्साको वीरगञ्ज महानगरपालिका–१६ नागुवा घर भई हेटौँडा उपमहानगरपालिका–१० मा डेरा गरी बस्ने ५५ वर्षीया खुइली डोमको मृत्युु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते डोमको उपचारको क्रममा हेटौँडा अस्पताल मृत्युु भएको हो । ठक्कर दिने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १४०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १००, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १२०, सानो (भारतीय) प्रतिकिलो रु ११५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु १२०, आलु रातो प्रतिकिलो रु ५५, आलु रातो (भारतीय) प्रतिकिलो रु ४५, आलु सेतो प्रतिकिलो रु ४२, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३४ रहेको छ ।

यस्तै, गाजर (लोकल) प्रतिकिलो रु १५०, गाजर (तराई) प्रतिकिलो रु १३०, बन्दा (लोकल) प्रतिकिलो रु ७०, बन्दा (तराई) प्रतिकिलो रु ५०, काउली स्थानीय प्रतिकिलो रु ६०, काउली (तराई) प्रतिकिलो रु ५०,सेतो मूला (लोकल) प्रतिकिलो रु ५०, भन्टा लाम्चो प्रतिकिलो रु ७०, भन्टा डल्लो प्रतिकिलो रु ८०, तने बोडी प्रतिकिलो रु १७०, मकै बोडी प्रतिकिलो रु ८० कायम भएको छ ।

त्यसैगरी, मटरकोसा प्रतिकिलो रु १३०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १५५, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु १५०, तिते करेला प्रतिकिलो रु १४०, परबर (लोकल) प्रतिकिलो रु १००, परबर (तराई) प्रतिकिलो रु १००, घिरौँला प्रतिकिलो रु १६०, फर्सी पाकेको प्रतिकिलो रु ३५, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ६०, भिन्डी प्रतिकिलो १००, सखरखण्ड प्रतिकिलो ८०, बरेला प्रतिकिलो रु ८० र पिँडालु प्रतिकिलो रु ११०, स्कुस प्रतिकिलो रु ३० कायम गरिएको छ ।

त्यसैगरी, तरुल प्रतिकिलो रु ९०, च्याउ (कन्य) प्रतिकिलो रु २३०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, ब्रोकाउली प्रतिकिलो रु १५०, चुकुन्दर प्रतिकिलो रु १००, रातो बन्दा प्रतिकिलो रु १५०, जिरीको साग प्रतिकिलो रु ५००, सेलरी प्रतिकिलो रु १५०, पार्सले प्रतिकिलो रु ५००, सौफको साग प्रतिकिलो रु १८०, पुदिना प्रतिकिलो रु ५५०, गान्टेमुला प्रतिकिलो रु १००, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ ।

त्यसैगरी, स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३२०, केरा (दर्जन) रु १४०, अनार प्रतिकिलो रु ४००, सुन्तला (नेपाली) प्रतिकिलो रु १२०, तरबुजा हरियो प्रतिकिलो रु ८०, जुनार प्रतिकिलो रु २६०, भुइँकटहर प्रतिगोटा रु १७०, कागती प्रतिकिलो रु १२०, काँक्रो (लोकल) प्रतिकिलो रु ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो ३५, लप्सी प्रतिकिलो रु ६५, अमला प्रतिकिलो रु ८०, अदुवा प्रतिकिलो रु ७०, सुकेको खुर्सानी प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ११०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु १६०, भेडे खुर्सानी प्रतिकिलो रु १७०, सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १८०, छ्यापी (सुकेको) प्रतिकिलो रु २५०, छ्यापी (हरियो) प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रूख टमाटर प्रतिकिलो रु १४०, राजा (च्याउ) प्रतिकिलो रु ३००, सिताके (च्याउ) प्रतिकिलो रु ९००, काँक्रो (लोकल क्रस) प्रतिकिलो रु ५० निर्धारण गरिएको छ ।

भेटी परिचालन गरेर गलेश्वरलाई उज्यालो बनाइयो

म्याग्दी – भक्तजनले चढाएको भेटीमार्फत भएको आम्दानी परिचालन गरेर म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर मन्दिर परिसरलाई रातिको समयमा पनि उज्यालो बनाइएको छ ।

गलेश्वर क्षेत्र विकास कोषले ‘हाइ मस्ट लाइट’ जडान गरेर मन्दिर परिसर रातमा पनि उज्यालो भएको हो । म्याग्दीमा पहिलोपटक गलेश्वरमा बिहीबार यस्तो प्रविधिको विद्युत् लाइट जडान गरिएको हो । रु नौ लाख ७४ हजार खर्चेर बत्ती जडान गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो । “गलेश्वर मन्दिर दर्शनका लागि आएका भक्तजनले चढाएको भेटीलगायत आन्तरिक आम्दानी परिचालन गरेर बत्ती जडान गरिएको हो”, उहाँले भन्नुभयो, “रातको समयमा पनि उज्यालो भएपछि भक्तजनलाई सहज, सुरक्षा व्यवस्थापनमा सहयोग पुग्नुका साथै गलेश्वर मन्दिर परिसर पनि रमणीय देखिएको छ ।”

सोह्र मिटर अग्लो विद्युत्को पोलको टुप्पामा चारैतिर फर्काएर चार–चार सय वाट क्षमताका आठ वटा बत्ती राखिएको छ । अग्लो पोलमा राखिएको बत्तीले मन्दिर परिसरलाई उज्यालो बनाएको छ । रातको समयमा मात्र बत्ती बल्ने र दिउँसो बन्द हुने स्वचालित उपकरण जडान भएको छ ।

कोषका संरक्षकसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले बत्तीको स्वीच थिचेर बिहीबार साँझ उद्घाटन गर्नुभयो । कोषका पदाधिकारी, नेपाल विद्युत् प्राधिकरणको बेनी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीलगायत प्राविधिक र आपूर्तिकर्ता कम्पनीका प्रतिनिधि टोलीको उपस्थिति थियो ।

हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ प्रवेशद्धारका रूपमा परिचित गलेश्वर म्याग्दीको प्रमुख धार्मिकस्थल हो । कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वरमा शिवालय मन्दिर छ । हिन्दू धर्मगन्थ्रमा गलेश्वरमा सतिदेवीको गला पतन भएको उल्लेख छ । साउनको सोमबार, बालाचतुर्दशी र महाशिवरात्रि पर्वमा मेला लाग्ने गलेश्वरमा दैनिक पूजाआज हुन्छ । गलेश्वरमा पूजाआजा र दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वास छ ।

गलेश्वर मन्दिरमा दाताले चढाउने भेटी र दाताको सहयोग पूर्वाधार निर्माण, स्थानीय विकास र सामाजिक क्षेत्रमा परिचालन गरिएको छ । यस वर्ष बेनी नगरपालिकासँग साझेदारी गरेर गलेश्वर बजार सौन्दर्यकरण योजनालाई निरन्तरता दिइएको कोषका सदस्यस

क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा सेफ पक्राउ

काठमाडौँ – नेपाल प्रहरीले अवैध रूपमा क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा काठमाडौँ महानगरपालिका–१५ डल्लु बस्ने मोहम्मद सेफलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी पवनकुमार भट्टराईका अनुसार अभौतिक मुद्रा किप्टो करेन्सीको कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा बारा कलैया नगरपालिका घर भई काठमाडौँको डल्लु बस्दै आएका सेफलाई पक्राउ गरिएको हो ।

कारोबार गर्न प्रयोग भएको विभिन्न कम्पनीको मोबाइल दुई थानसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । सेफलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा रु १९ करोड ८१ लाख ४९ हजार ५८१ भन्दा बढी बराबरको अभौतिक कारोबार भएको पाइएको प्रहरीको भनाइ छ ।

प्रहरीले अभौतिक मुद्राको प्रयोग गर्न नहुनेसम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको समेत म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

‘कांग्रेस नेता प्रधान नभई नीति प्रधान पार्टी हो’ – सहमहामन्त्री राठौर

काठमाडौँ – नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली कांग्रेस नेताप्रधान नभई नीतिप्रधान पार्टी भएको बताउनुभएको छ ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गतको स्ववियु परिषद्को राष्ट्रिय अधिवेशनको आज काठमाडौँमा उद्घाटन गर्दै सहमहामन्त्री राठौरले पछिल्लो समयमा नीति, सिद्धान्तलाई गौण बनाएर म भएमात्र कांग्रेस बच्छ, म नभए कांग्रेस सिद्धिन्छ भन्ने भाष्य सृजना गरेर केही व्यक्तिले नीतिप्रधान कांग्रेसलाई नेताप्रधान बनाउने दुष्प्रयास गरेको बताउनुभयो । नीतिलाई प्रधान मानेर हिँड्न सबै तयार भएमात्र कांग्रेसले एकढिक्का भएर सबैखाले समस्याको समाधान दिनसक्ने उहाँले बताउनुभयो ।

नेता राठौरले बिपी कोइराला, सुवर्णशम्शेर राणा र कृष्णप्रसाद भट्टराईहरूले स्थापना गरेको पार्टीमा उहाँहरूपछि पनि थुप्रै नेता आएको, गएको र त्यो क्रम चलिरहेको बताउँदै कांग्रेस कुनै एक नेताको पार्टी नभई विचार, सिद्धान्त, निष्ठा र आस्थाको सङ्गठन भएको बताउनुभयो ।

कांग्रेसमा नेताहरू अस्थायी र नीति तथा विचार स्थायी रूपमा रहेको र देशका तमाम मजदुर, किसान, महिलासहितका विभिन्न वर्ग र क्षेत्रका मानिसहरूको साझा घर भएको उहाँको तर्क थियो ।

विद्युत् नियमन आयोगलाई साफिरको सदस्यता लिन स्वीकृति

काठमाडौँ, १२ मङ्सिर : नेपाल ऊर्जा क्षेत्रको नियमनकारी निकायका रूपमा रहेको विद्युत् नियमन आयोगले साउथ एसिया फोरम फर इन्फ्रास्टक्चर रेगुलेशन (साफिर) अर्थात दक्षिण एसियाली पूर्वाधार नियमन मञ्चको सदस्यता प्राप्त गर्ने भएको छ ।

सदस्यता प्राप्तिका लागि सरकारले आयोगलाई अनुमति दिएको छ । मन्त्रिपरिषद्को यही मङ्सिर ८ गतेको बैठकले सो संस्थाको सदस्यताका लागि स्वीकृति दिएको छ । आयोग विगत केही वर्षयता उक्त मञ्चमा सदस्यता प्राप्त गर्ने प्रक्रियामा सक्रिय रूपमा संलग्न हुँदै आएको थियो । क्षेत्रीय तथा अन्तरराष्ट्रिय नियामक निकायसँग अनुभव आदानप्रदान, उत्कृष्ट अभ्यासको अङ्गीकरण तथा नियामकीय सीप र क्षमता विकासको दृष्टिले साफिरको सदस्यता आयोगका लागि महत्त्वपूर्ण उपलब्धि हुने आयोगले जनाएको छ ।

आयोगले साफिरको सदस्यता प्राप्त गरेसँगै विद्युत् क्षेत्रको सुधारका लागि आवश्यक हुने विविध नियामकीय अभ्याससम्बन्धी जानकारी प्राप्त हुनेछ । यस्तै, विभिन्न देशका नियामक सङ्घसंस्था तथा निकायबीच अनुभव तथा ज्ञान आदानप्रदान गर्न तथा ऊर्जासम्बन्धी खोज अनुसन्धानलाई प्रोत्साहन गर्न सहज हुनेछ । नियामक संस्थाहरूबीच क्षमता अभिवृद्धि, उत्कृष्ट अभ्यास र ज्ञानको आदानप्रदान तथा प्राविधिक दक्षताको प्रवाहबाट समुचित राष्ट्रको मानव स्रोत क्षमतामा अभिवृद्धि हुने विश्वास लिइएको छ ।

अन्त्यमा साफिरको सदस्यता प्रदान गर्ने प्रक्रियाका क्रममा साथ र सहयोग प्रदान गर्नुहुने नेपाल सरकार, अर्थ मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका साथै आयोगका पदाधिकारी, कर्मचारी तथा सम्पूर्ण सरोकारवालाप्रति आयोग हार्दिक कृतज्ञता व्यक्त गर्दछ ।

आयोगको कार्यसञ्चालन तथा नियामकीय जिम्मेवारीमा आवश्यक प्राविधिक र संस्थागत दक्षता अभिवृद्धि गर्ने हेतु क्षेत्रीय तथा अन्तरराष्ट्रिय नियामक संस्था तथा निकायहरूसँग समन्वय र सहकार्य गर्नु अपरिहार्य रहेको ठहर गरेको छ ।

विद्युत् नियमन आयोग नियमावली, २०७५ को नियम २० को उपनियम २ बमोजिम अध्यक्षले आयोगको तर्फबाट स्वदेश वा विदेशका नियमनकारी सङ्घसंस्था, निकायहरूसँग सम्पर्क गर्न र कुनै सम्झौता गर्नुपर्ने भएमा आयोगको स्वीकृति लिई सम्झौता गर्न सक्ने कानुनी आधार रहेको छ ।

पूर्वीनाका काँकडभिट्टाबाट एक अर्ब ३७ करोडको चिया निर्यात

झापा, १२ मङ्सिरः पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको निर्यात भएको छ ।मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार समीक्षा अवधिमा ४६ लाख ८८ हजार ९३२ किलोग्राम चिया भारततर्फ निर्यात भएको हो । गत आवको सोही अवधिको तुलनामा यो ३७ प्रतिशतले कम हो ।

गत आवको उक्त अवधिमा रु दुई अर्ब २० करोड ४८ लाख ४० हजार बराबरको चिया निर्यात भएको थियो । यो चालु आवमा रु ८३ करोड १७ लाख ६२ हजारले कम हो ।

षडानन्द नगरपालिकामा बीमासम्बन्धी अन्तरक्रिया सम्पन्न

भोजपुर – नेपाल बीमा प्राधिकरण, कोशी प्रदेशको आयोजनामा भोजपुरको षडानन्द नगरपालिका मा बीमासम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रियामा तेस्रो पक्ष बीमाअन्तर्गत पर्ने विषयहरू, कर छुट, जीवन बीमाको बोनस गणना, कृषि तथा बाली बीमाका शुल्क र प्रक्रिया, जीवन बीमाको बचत तथा लगानी पक्ष, र कर्मचारीहरूलाई तोकिँदै आएका लक्ष्य (टार्गेट) जस्ता विषयमा प्रश्न उठाइएका थिए।

षडानन्द नगरपालिका कि उप–प्रमुख प्रमिला राईले सबै नागरिक बीमासँग परिचित भए पनि यसको प्रभावकारी विस्तारका लागि स्थानीय तहले अग्रसर हुनुपर्ने आवश्यकता औँल्याइन् । उनले बीमाका शर्त, प्रक्रिया र सुविधाबारे स्पष्ट जानकारी दिनुपर्ने, कर्मचारी तथा अभिकर्ताबाट हुन सक्ने गलत अभ्यास रोक्न कडा नियमन आवश्यक रहेको र गतिविधिमा संलग्न मध्यस्थकर्तालाई कानुनी कारबाही गर्न सकिनेप्रति ध्यानाकर्षण गराइन् ।

उठेका प्रश्नहरूको जवाफ दिँदै प्राधिकरण प्रमुख प्रती देवले बीमा सेवा केवल लाइसेन्स प्राप्त कम्पनी वा अधिकृत व्यक्तिमार्फत मात्र लिन सहभागीहरूलाई आग्रह गरिन्। दाबी दर्ता गर्दा घटनाको यथार्थ विवरण अनिवार्य रूपमा बुझाउनुपर्ने र बीमा सम्बन्धी उजुरी अनलाइनबाट दर्ता गर्न सकिने व्यवस्था रहेको जानकारी उनले दिइन् । उनका अनुसार कृषि बीमामा सरकारले ५० देखि ८० प्रतिशतसम्म अनुदान उपलब्ध गराउँदै आएको छ। निजीर्वन बीमामा क्षति मूल्यांकनका कारण दाबी भुक्तानीमा केही समय लाग्न सक्ने भएकाले धैर्य गर्न पनि उनले अनुरोध गरिन्।

कार्यक्रममा नगर उप–प्रमुख प्रमिला राई प्रमुख अतिथिका रूपमा सहभागी भइन्। वडा नं. ३ का अध्यक्ष साङ देम्बा राई, वडा नं. ९ का अध्यक्ष ङिमा शेर्पा, वडा नं. ८ का अध्यक्ष सुवास तामाङ, प्रस्तुतकर्ता सचिन राई र कार्यक्रम सञ्चालक मिलन पोखरेलसहित स्थानीय सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, कुनको मूल्य कति

काठमाडौँ, १२ मङ्सिर : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ६० पैसा र बिक्रीदर १४३ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ १६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ८५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८९ रुपैयाँ ४० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ ८९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ६३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ०५ पैसा र बिक्रीदर ९३ रुपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ५२ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ११० रुपैयाँ ३२ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ १२ पैसा र बिक्रीदर नौ रुपैयाँ १६ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ १३ पैसा र बिक्रीदर २० रुपैयाँ २२ पैसा , साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३८ रुपैयाँ १८ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ १३ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३० पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ४३ पैसा र बिक्रीदर चार रुपैयाँ ४४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ९९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ६६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७५ पैसा र बिक्रीदर नौ रुपैयाँ ८० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५ रुपैयाँ ०९ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ११ पैसा र बिक्रीदर २२ रुपैयाँ २१ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ३३ पैसा र बिक्रीदर १८ रुपैयाँ ४१ पैसा, कुवेती दिनार एकको खरिददर ४६४ रुपैयाँ ४० पैसा र बिक्रीदर ४६६ रुपैयाँ ३६ पैसा, बहराइन दिनार एकको खरिददर ३७८ रुपैयाँ २६ पैसा र बिक्रीदर ३७९ रुपैयाँ ८५ पैसा , ओमनी रियाल एकको खरिददर ३७० रुपैयाँ ३८ पैसा र बिक्रीदर ३७१ रुपैयाँ ९४ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

नेपाल र बङ्गलादेशबीच विस्तार हुँदै ऊर्जा सहकार्य

काठमाडौँ, १२ मङ्सिर : बङ्गलादेशले नेपालबाट थप २० मेगावाट बिजुली लैजान सहमत भएको छ । नेपाल र बङ्गलादेशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बिहीबार सम्पन्न सातौँ बैठकले हाल निर्यात भइरहेको ४० मेगावाट जलविद्युत्का अतिरिक्त थप २० मेगावाट बिजुली निर्यातका लागि आवश्यक प्रक्रिया पूरा गर्ने सहमति भएको छ ।

आवश्यक प्राविधिक तयारी गरेर बङ्गलादेशले थप बिजुली आयात गर्ने सहमति भएको सो बैठकमा सहभागी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता सन्दीपकुमार देवले जानकारी दिनुभयो । निर्देशक समितिको बैठकमा नेपालका तर्फबाट ऊर्जा सचिव चिरञ्जीवी चटौत र बङ्गलादेशका तर्फबाट विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका सचिव फर्जाना ममताजको सहअध्यक्षतामा ढाकामा सम्पन्न भएको हो ।

सो बैठकमा बुधबार (मङ्सिर १०)मा सम्पन्न संयुक्त कार्यदलको बैठकले गरेका सिफारिसमा छलफल गरेको थियो । संयुक्त कार्यदलको बैठकमा ऊर्जा मन्त्रालयका सहसचिव देव र बङ्गलादेश सरकारका तर्फबाट विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका अतिरिक्त सचिव केएम अलि रेजाको सहअध्यक्षता रहेको थियो ।

निर्देशक समितिको बैठकमा विभिन्न छवटा विषयमा छलफल भएको ऊर्जा मन्त्रालयका प्रवक्तासमेत रहनुभएका सहसचिव देवले जानकारी दिनुभयो । बैठकले नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता प्रवर्द्धन गर्नेसम्बन्धी समझदारीपत्रमा आआफ्नो प्रक्रिया पूरा गरी हस्ताक्षर गर्ने सहमति भएको छ ।

सो सम्झौताअन्तर्गत बङ्गलादेशले नेपाललाई ऊर्जा परीक्षण, विद्युतीय सवारीसाधनको चार्जिङ स्टेशन, रूफटप सोलारजस्ता क्षेत्रमा प्राविधिक सहायता प्रदान गर्नेछ । यस्तै दुई देशबीच क्षमता अभिवृद्धि कार्यक्रमसमेत अगाडि बढाइनेछ ।

विसं २०८१ असोज १७ गते नेपालबाट ४० मेगावाट बिजुली निर्यातका लागि सम्झौता भएको थियो । सोही सम्झौतापछि भारतीय ग्रिडमार्फत बिजुली बङ्गलादेश निर्यात भइरहेको छ । नेपालका तर्फबाट नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेशका तर्फबाट बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतका तर्फबाट एनटिपीसी विद्युत् निगमबीच त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको थियो ।

प्राधिकरणले बङ्गलादेशलाई छ दशमलव चार सेन्टमा प्रतियुनिटका दरमा बिजुली बिक्रीका लागि सम्झौता गरेको थियो । ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन, भारतीय प्रसारण प्रणाली र बहरामपुर (भारत) भेरामारा (बङ्गलादेश) अन्तरदेशीय प्रसारण लाइन हुँदै बिजुली प्रवाह भइरहेको छ । त्यसअघि २०८१ जेठ ११ गते नेपाल बङ्गलादेशबीच जलस्रोत क्षेत्रमा सहकार्यका लागि स्थापित संयन्त्र, विज्ञ समितिको बैठकले जलस्रोत क्षेत्रको विकासमा साझा सहकार्य गर्ने सहमति भएको थियो ।

विसं २०८० जेठ २ गते सम्पन्न पाँचौँ बैठकले नेपालमा उत्पादित ४० मेगावाट बिजुली निर्यातका लागि विद्युत् बिक्री सम्झौतामा हस्ताक्षर गर्ने सहमति भएको थियो । प्राधिकरणले भारतीय एजेन्सी एनभिभीएनलाई बिजुली उपलब्ध गराएको छ । सो कम्पनीले भारतीय संरचना प्रयोग गरेर बिजुली बङ्गलादेश पुर्याइरहेको छ । नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय प्रसारण लाइन हुँदै विद्युत् निर्यात भइरहेको छ ।

कुल चार सय केभी क्षमताको सो प्रसारण लाइनमार्फत पठाइएको बिजुलीको हिसाब मुजफ्फरपुरमा राखिँदै आएको छ । मुजफ्फरपुरदेखि भारतको प्रसारण लाइनमार्फत (बेहरामपुर भेरामारा) चार सय केभी बिजुली बङ्गलादेश गइरहेको छ ।

प्राधिकरणले वर्षायामको पाँच महिना (जुन १५ देखि १५ नोभेम्बरसम्म) बङ्गलादेश बिजुली निर्यात गर्र्न गरी यसअघि नै सम्झौता भएको थियो । लामो गृहकार्य र छलफलपछि अन्ततः नेपालको बिजुली बङ्गलादेश जाने सम्झौतामा हस्ताक्षर भएको थियो ।

विसं २०८० जेठ २ को ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा सुनकोशी तेस्रो जलविद्युत् आयोजनाको निर्माण र विकासका लागि प्राधिकरण र बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डबीच छ महिनाभित्र संयुक्त उपक्रममा हस्ताक्षर गर्ने सम्झौता भएको थियो । त्यसपछि हरेकजसो संयुक्त निर्देशक समितिको बैठकमा दुई देशबीच सुनकोशी तेस्रो जलविद्युत् आयोजनाका बारेमा पनि उल्लेख हुने गरेको छ । यसपटक पनि निर्देशक समितिको बैठकमा सो आयोजनाको बारेमा उल्लेख गरिएको छ ।

यसपटक पनि बैठकपछि जारी गरिएको वक्तव्यमा सुनकोशी तेस्रो जलविद्युत् आयोजनाको लगानी प्रक्रियामा अगाडि बढाउनका लागि बङ्गलादेशले आयोजना मूल्यङ्कनका लागि विशेषज्ञ समिति गठन गरी लगानी प्रक्रियालाई अगाडि बढाउने र संयुक्त उपक्रम निर्माणसम्बन्धी समझदारीलाई शीघ्र निष्कर्षमा पुर्याउने उल्लेख छ ।

यसअघि नै दुई देशबीच सहकार्यपूर्ण सहभागिताका आधारमा सो आयोजना विकास गर्ने सम्बन्धमा प्राधिकरण र बङ्गलादेशको पावर डेभलपमेन्ट बोर्डबीच संयुक्त कम्पनी स्थापना गर्नेसम्बन्धी संयुक्त उपक्रम सम्झौता आगामी सचिवस्तरीय संयन्त्रको बैठकअगावै टुङ्गो लगाउने सहमति भएको थियो ।

नेपाल र बङ्गलादेशबीच विद्युत् व्यापारका लागि प्रस्तावित अन्तरदेशीय प्रसारण लाइनको प्राविधिक र आर्थिक पक्षको अध्ययन गर्ने सहमति यसअघि भएको थियो । यस्तै, नेपालको जलविद्युत् क्षेत्रमा लगानी प्रवर्द्धनका लागि बङ्गलादेशको निजी क्षेत्रलाई आकर्षित गर्न आवश्यक पहल गर्ने सहमति पनि भएको थियो ।

यस्तै नेपाल, बङ्गलादेश र भारतबीच विद्युत् व्यापार, अन्तरदेशीय प्रसारण लाइन निर्माणलगायत विद्युत् क्षेत्रमा सहकार्यका लागि द्विपक्षीय बैठकमा त्रिपक्षीय संयन्त्र बनाउन आ–आफ्नोतर्फबाट पहल गर्ने सहमति भएको थियो ।बिहीबार सम्पन्न बैठकमा समेत नेपाल, भारत र बङ्गलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा भारतको सहमति लिन दुवै देशले संयुक्त रूपमा प्रयास गर्ने उल्लेख छ ।

बङ्गलादेशले सन् २०४० सम्म नेपालबाट नौ हजार मेगावाट बिजुली लैजाने यसअघि नै घोषणा गरिसकेको छ । नेपाल र भारतबीच पनि १० वर्षमा १० हजार बिजुली निर्यात गर्नेसम्बन्धी दीर्घकालीन सम्झौता यसअघि नै भइसकेको छ । दुई देशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी द्विपक्षीय समझदारीमा २०७५ सालमा नै हस्ताक्षर भइसकेको छ ।

संयुक्त निर्देशक समितिको पाँचौँ बैठकमा नै दुई देशबीच विद्युत् व्यापारका लागि अन्तरदेशीय प्रसारण लाइनका सम्भाव्य विकल्पको अध्ययन गर्न प्राविधिक टोलीलाई निर्देशन दिने निर्णय गरेको थियो ।

दुई देशका ऊर्जा सचिवस्तरीय संयन्त्रको पहिलो बैठक २०७५ मङ्सिर १७ र १८ मा काठमाडौँमा सम्पन्न भएको थियो । सोही बैठकमा नेपालको बिजुली बङ्गलादेश लैजान सहजीकरण गर्ने विषयमा प्रारम्भिक छलफल भएको थियो ।

त्यसअघि २०७५ साउन २५ गते तत्कालीन ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र बङ्गलादेशका विद्युत ऊर्जा तथा खनिज स्रोत राज्यमन्त्री नसरुल हमिदबीच विद्युत् क्षेत्रमा द्विपक्षीय सहकार्य सुरुआत गर्ने प्रयोजनार्थ एक समझदारीमा हस्ताक्षर भएको थियो । सोही समझदारीपछि दुई देशका ऊर्जा सचिवस्तरीय संयन्त्रको बैठक नियमित बस्दै आएको छ । सो संयन्त्रमार्फत ऊर्जा क्षेत्रको विकास, ऊर्जा सहकार्य, यस क्षेत्रमा भएको विकासको अनुभव आदानप्रदान हुँदै आएको छ ।

कोरला नाकामा व्यापारिक चहलपहल बढेपछि बेँसीमा झरेनन् माथिल्लो मुस्ताङी

मुस्ताङ, १२ मङ्सिर : अघिल्लो वर्षसम्म यतिबेला माथिल्लो मुस्ताङ लगभग मानवविहीन अवस्थामा हुन्थ्यो । हिउँदयामको कात्तिकअगावै माथिल्लो मुस्ताङका अधिकांश नागरिक जाडो छल्न र घुम्ती व्यापार–व्यवसाय चलाउन बेँसीमा झर्दथे ।

माथिल्लो मुस्ताङका अधिकांश नागरिक हिउँदयाममा जाडो छल्न र घुम्ती व्यवसाय चलाउन बेँसी झर्ने परम्परा सदिँयौदेखि चल्दै आइरहेको छ । नेपाल–चीन सीमावर्ती लोमान्थाङ र लोघेकर दामोदरकुुण्ड गाउँपालिकाका अधिकांश नागरिक बर्खे अन्नबाली घरमा भित्र्याएपछि बेँसी झर्थे । अत्यधिक चिसो सिरेटो चल्ने, हिमपातको जोखिमका साथै माथिल्लो मुस्ताङको दैनिक जनजीवन निकै कष्टकर हुन्थ्यो । अत्यधिक चिसोका कारण माथिल्लो मुस्ताङमा खानेपानीका धारा, शौचालयको सेफ्टीट्याङ्की र सिँचाई कुलोसमेत बरफ बनेर जम्ने गर्छ ।

यसरी हिउँदयाममा अत्यधिक चिसो र हिमपातले जनजीवन कष्टकर हुने र हिउँदयाममा कुनै काम गर्न नसकिने भएकाले त्यहाँका नागरिकहरू बाध्य भएर बेँसी झर्ने प्रचलन रहँदै आएको थियो । यहाँका सबै शैक्षिक संस्था पनि जाडो छल्न र घुम्ती कक्षा सञ्चालन गर्न कात्तिकअगावै बेँसी झर्छन् । यसपालि पनि माथिल्लो मुस्ताङका सबै शैक्षिक संस्था बेँसी झरिसकेका छन् । अत्यधिक चिसोका कारण विद्यार्थी विद्यालयमा उपस्थित हुन नसक्ने, चिसोका कारण विद्यार्थीलाई रुघाखोकी र निमोनियाजस्ता समस्या देखिने र अभिभावकहरू पनि बेँसी झर्ने गर्दा विद्यालय पनि बेँसी झार्ने गरिएको छ ।

अत्यधिक चिसो र हिमपातको जोखिम टार्न माथिल्लो मुस्ताङका अधिकांश नागरिक घरमा ताल्चा मारेर बेँसी झर्दथे । गाउँमा केही ज्येष्ठ नागरिक र याकचौँरी तथा भेडाच्याङ्ग्रा रेखदेख गर्ने गोठालाबाहेक सबै मुस्ताङीहरू यो समय पूरै पोखरा, काठमाडौँलगायत स्थानमा झर्थे । केही नागरिकहरू ‘स्वेटर’को व्यापारका लागि भारतका विभिन्न सहरसम्म पुग्थे । यसैगरी कात्तिकअगावै बेँसी झरेका माथिल्लो मुस्ताङीहरू चैत–वैशाखमा मात्र साविक स्थानमा फर्किन्थे ।

तर अहिले माथिल्लो मुस्ताङको अवस्था निकै फेरिएको छ । सदिँयौदेखि बेँसी झर्ने परम्परा रहेको यहाँको ऐतिहासिक प्रचलनमा परिवर्तन आउन थालेको छ । यहाँको नेपाल–चीन उत्तरी कोरलानाका कोभिडअघि अल्पकालीन अन्तरदेशीय व्यापार मेलाका रूपमा बर्सेनि असार र भदौमा सीमित समयका लागि चल्थ्यो । कोभिडपछि २०८० साल कात्तिक २७ गते यहाँको कोरलानाका माथिल्लो मुस्ताङीका लागि बाह्रै महिना चीनले खुला गरिदियो । तर नाका आंशिक रूपमा खुला भए पनि माथिल्लो मुस्ताङीले राम्ररी व्यापार–व्यवसाय चलाउन अझै सकिरहेको अवस्था थिएन । तैपनि नाकामा केही नागरिकले त्रिपाल टाँटेर व्यापार चलाएका थिए ।

जब कोरलानाका गत ३० भदौमा पूर्ण रूपमा सञ्चालनमा आयो, तब माथिल्लो मुस्ताङीका लागि वैकल्पिक रोजगारी ढोका खुल्न पुग्यो । बाढीपहिरोले तातोपानीनाका र रसुवागढीनाका अवरुद्ध भएपछि कोरलानाकामा नेपाल–चीन व्यापारको मार्ग पूर्ण रूपमा खुला भयो । यो नाकाबाट हालसम्म मुस्ताङ भन्सार कार्यालयले झन्डै रु चार अर्बको राजस्व योगदान गरिसकेको छ ।

कोरलानाका पूर्ण रूपमा सञ्चालनमा आएसँगै माथिल्लो मुस्ताङका धेरैजसो नागरिकले नाकाबाट व्यापार व्यवसायका साथै अस्थायी वैकल्पिक राजगारी पाएका लोमान्थाङ–२ छोसेका वडाध्यक्ष कर्मा नाम्गेल गुरुङले जानकारी दिनुभयो । गत वर्षसम्म माथिल्लो मुस्ताङका ९० प्रतिशत नागरिक यतिबेला जाडो छल्न बेँसी झरिसक्नेमा यस वर्ष आंशिक नागरिकमात्र बेँसी झरेको उहाँको भनाइ छ । कोरलानाकाको नेपाल–चीन दसगजा क्षेत्रमा माथिल्लो मुस्ताङी करिब तीन दर्जन बढीले त्रिपालको टहरा निर्माण गरी व्यापार व्यवसाय चलाएर बसेको वडाध्यक्ष गुरुङले बताउनुभयो ।

कोरलानाकामा व्यापार गर्ने, कोरलास्थित चीनको हाटबजारमा व्यापार गर्न बस्ने, नेपाल–चीन आयातनिर्यातका मालवस्तु ‘लोडअनलोड’ गर्ने र चीनबाट पैठारी गरिएका विद्युतीय कार (ईभी) चिनियाँ भन्सारबाट नेपाली भन्सारसम्म ल्याउन स्थानीय युवाले राम्रो रोजगारी प्राप्त गरेको वडाध्यक्ष गुरुङको भनाइ छ । कोरलानाका पूर्ण रूपमा सञ्चालनमा आएपछि यहाँका युवायुवतीले दैनिक रु पाँचदेखि १० हजारसम्म आम्दानी गर्ने गरेका उहाँले जानकारी दिनुभयो । नाकाको भित्र र बाहिर सबै गरी झन्डै पाँच सयभन्दा बढी व्यक्तिले रोजगारी प्राप्त गरेको बताउनुभयो ।

दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टका अनुसार कोरलानाकामा व्यापारिक तथा पर्यटकीय चहलपहल बढेपछि माथिल्लो मुस्ताङका दुईतिहाइ नागरिक साविककै स्थानमा रहेका छन् । मार्ग खुलेसँगै मुस्ताङीहरू यथास्थानमै बसेर रमाइरहेका छन् । गत वर्ष यसबेलासम्म ८० प्रतिशत नागरिक जाडो छल्न बेँसी झर्ने गरेकामा यस वर्षमा लोमान्थाङ गाउँपालिकाबाट ३० प्रतिशत र लोघेकर दामोदरकुण्ड गाउँपालिकाबाट ५० प्रतिशत नागरिक बेँसी झरेका छन् ।

त्यसैगरी, कोरलानाका पूर्ण रूपमा सञ्चालनमा आएपछि जोमसोम–कोरला सडकमार्गमा सञ्चालनमा रहेका होटल यथाअवस्थामा खुलेका छन्भने लोमान्थाङ बजारका पूरै होटल सञ्चालनमा रहेका एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो । “केही घरमा ताल्चा मारेर बेँसी झरेका छन्, अधिकांश होटल र केही घरमा मानिस बसेका छन्, कोरलानाका बन्द भएमात्र यहाँका नागरिक झर्नेवाला छन्, नत्र यही बसेर व्यापार चलाएर बस्ने मनस्थितिमा छन्”, कार्यालय प्रमुख पौडेलले भन्नुभयो ।

प्रमुख पौडेल उपल्लो मुस्ताङमा हिउँदयामसँगै चिसो अत्यधिक बढेका कारण दैनिक जनजीवनमा समेत प्रतिकूल असर पारेको बताउनुभयो । “बिहानबेलुका माइनस २० डिग्रीसम्म पुग्छ, कुलो, धारा र सेफ्टीट्याङ्की जम्छ भने दिउँसो घाम लाग्दा हिँडडुल गर्न सकिने भए पनि बिहान र बेलुका बाहिर निस्कन सक्ने अवस्था हुँदैन”, कार्यालय प्रमुख पौडेलले भन्नुभयो ।

यस्तै, नेपाल–चीन कोरलानाकामा मालवस्तु ढुवानीका लागि झन्डै तीन सय बढी कन्टेनर लोडअनलोडको पर्खाइमा बसेको भन्सारका कार्यालय प्रमुख रमेश पौडेलले जानकारी दिनुभयो । चिनियाँ भन्सार, कोरलानाका र मुस्ताङ भन्सार कार्यालयमा मालवस्तु ढुवानीका साधन पैठारी र भन्सार जाँचपासका लागि लामबद्ध रहेको भन्सार प्रमुख पौडेलले सुनाउनुभयो ।