`

पोखरा बसपार्कका ५२० संरचना हटाइयो

कास्की। पोखरा महानगरपालिकाले बसपार्क क्षेत्रका ५२० वटा संरचना हटाएको छ ।

यही जेठ ४ गतेदेखि बसपार्कभित्रका व्यापारिक कम्प्लेक्स र सटरहरूमा डोजर चलाएको महानगरले हालसम्म बास्तोला कम्प्लेक्सका ३२० र अन्य २०० सटर कवलहरू खाली गरेको हो ।

हाल त्यस स्थानलाई सम्याउने काम भइरहेको र थप कार्यलाई निरन्तरता दिइएको पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले जानकारी दिए ।

देशको प्रमुख पर्यटकीय गन्तव्यसमेत रहेकाले पोखरामा सुविधा सम्पन्न बसपार्क निर्माणका लागि विसं २०३० मा २०५ रोपनी जमिन अधिग्रहण गरिए पनि हालसम्म बसपार्क बनेको छैन भने अधिग्रहण गरिएको जग्गासमेत अहिले २६ रोपनी मात्र बाँकी छ । पछिल्लो समय महानगरले बसपार्कको जग्गाभित्रका संरचना हटाउने र सुकुमवासीले अतिक्रमण गरेको जग्गा खाली गर्न प्रक्रिया सुरु गरेको हो ।

महानगरले लालपूर्जाभित्रका व्यापारिक संरचना हटाए पनि मुख्य चासो रहेको सुकुमवासी बस्ती खाली गर्न भने अझै बाँकी छ । बसपार्कभित्र तीन वटा सुकुमवासी बस्तीमा ५७२ घर परिवारले जग्ग्गा अतिक्रमण गरेर बसोबास गर्दै आएका छन् । महानगरले सुकुमवासीलाई अन्यत्र व्यवस्थापनपछि मात्र अतिक्रमति घर टहरनामा डोजर चलाउने जनाएको छ ।

महानगरपालिकाले हाल डोजर लगाएर खाली गरेको बाँस्तोला कम्प्लेक्सको जग्गासहित पेट्रोलपम्प लाइनको जग्गा व्यक्तिको स्वामित्वमा छ । विसं २०३० मा बसपार्कका लागि अधिग्रहण गरिएको भए पनि पछि पोखरा उपत्यका नगर विकास समितिले अधिग्रहित जग्गाभित्र सट्टा भर्ना तथा घडेरी वितरण गर्ने निर्णय गरेको थियो ।

महागरले पछिल्लो समय जग्गा सट्टा भर्नाको निर्णय लगायतको विषयमा छानबिनका लागि पूर्वन्यायाधीशको नेतृत्वमा न्यायिक समितिसमेत गठन गरेको छ । सो समितिको प्रतिवेदन अझै पेस हुन सकेको छैन ।

यसैगरी बसपार्कका भूमिहीन सुकुमवासीको वैकल्पिक व्यवस्थाका लागिसमेत महानगरका विभिन्न छ स्थानमा जग्गा खोजी गरेर यसको प्राविधिक अध्ययनको काम भइरहेको महानगरले जनाएको छ ।

फिफा विश्वकप : इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा

काठमाडौँ – फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा टुङ्गिएको छ । समूह ‘एल’अन्तर्गतको आफ्नो दोस्रो खेलमा दुवै टोलीले गोलरहित बराबरी खेले ।

समूह चरणको आफ्नो पहिलो खेलमा इङ्ग्ल्याण्डले क्रोएसियालाई ४–२ गोलअन्तर र घानाले पानामालाई १–० गोलले पराजित गरेका थिए ।

विश्वकप प्रतियोगिताअन्तर्गत गए राति भएको खेलमा पोर्चुगलले उज्वेकिस्तानलाई ५–० गोलअन्तरले पराजित गरेको थियो

यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ २८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १७३ रुपैयाँ ०७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपैयाँ ९४ पैसा र बिक्रीदर २०० रुपैयाँ ७३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८७ रुपैयाँ ५९ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०५ रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १०७ रुपैयाँ ०७ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ७६ पैसा र बिक्रीदर ११७ रुपैयाँ २३ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३७ पैसा र बिक्रीदर नौ रुपैयाँ ४० पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३० पैसा र बिक्रीदर २२ रुपैयाँ ३९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ३० पैसा र बिक्रीदर ४० रुपैयाँ ४६ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ५० पैसा र बिक्रीदर ४१ रुपैयाँ ६७ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५६ पैसा र बिक्रीदर चार रुपैयाँ ५८ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ १९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६८ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८५ पैसा र बिक्रीदर नौ रुपैयाँ ८८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६० पैसा र बिक्रीदर १५ रुपैयाँ ६६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ०६ पैसा र बिक्रीदर २३ रुपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङ्कङ डलर एकको खरिददर १९ रुपैयाँ ३० पैसा र बिक्रीदर १९ रुपैयाँ ३७ पैसा, कुवेती दिनार एकको खरिददर ४९१ रुपैयाँ ७३ पैसा र बिक्रीदर ४९३ रुपैयाँ ६८ पैसा, बहराइन दिनार एकको खरिददर ४०१ रुपैयाँ २८ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ८७ पैसा, ओमनी रियाल एकको खरिददर ३९२ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३९४ रुपैयाँ ५१ पैसा रहेको छ ।

त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

अत्यधिक गर्मी बढेपछि नेपालगन्जमा तीन दिन विद्यालय बन्द

नेपालगन्ज । अत्यधिक गर्मी बढेपछि नेपालगन्जमा बुधबारदेखि लागू हुनेगरी तीन दिनका लागि १६३ वटा विद्यालय बन्द गरिने भएको छ । यसअघि पनि उपमहानगरले सूचना जारी गर्दै गर्मीका कारण विद्यालय बन्द गरेको थियो ।गर्मीले विद्यार्थीलाई विद्यालय आवतजावत गर्न कठिनाइ भई स्वास्थ्यमा प्रतिकूल असर हुने जोखिमलाई ध्यान दिँदै असार १०, ११ र १२ गते विद्यालय बन्द गरिने भएको छ ।

उपमहानगरका शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर खत्रीले जल तथा मौसम विज्ञान विभागलगायतको सुझावका आधारमा तीन दिन विद्यालय तहका सम्पूर्ण पठनपाठन बन्द गरिने जानकारी दिए । उनले गर्मीले अधिकांश विद्यालयका विद्यार्थीमा बेहोस हुने, टाउको दुख्नेलगायतका लक्षण देखिएकाले विद्यालय बन्द गर्न बाध्य भएका भएको जानकारी दिए ।

नेपालगन्ज उपमहानगरपालिकामा संस्थागत ८२, सामुदायिक ४२ र धार्मिक विद्यालय ३९ गरी कुल १६३ विद्यालय रहेका छन् । जल तथा मौसम विज्ञान कार्यालय, कोहलपुरका अनुसार त्यहाँ आजको अधिकतम तापक्रम ३९ डिग्री सेल्सियस रहेको छ ।कार्यालयका सिनियर डिभिजनल हाइड्रोलोजिष्ट रामप्रसाद अवस्थीले नेपालगन्जमा ४० र खजुरामा ३९.६ अधिकतम तापक्रम रेकर्ड भएको जानकारी दिए ।

रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण

भैरहवा । जिल्ला प्रशासन कार्यालय रूपन्देहीले चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म १४ हजार १११ जनालाई राहदानी वितरण गरेको छ।सो कार्यालयका अनुसार गत जेठ मसान्तसम्ममा १६ हजार ९३५ जनाले राहदानीका लागि आवेदन दिएकामा १४ हजार १३४ राहदानी कार्यालयमा प्राप्त भई १४ हजार १११ जनालाई वितरण गरिएको छ।

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले वैदेशिक रोजगारी, उच्च शिक्षा तथा विभिन्न प्रयोजनका लागि विदेश जाने नागरिकको सङ्ख्या बढ्दै जाँदा राहदानी सेवाको मागमा उल्लेख्य वृद्धि भएको बताए । उनले सेवाग्राहीलाई सहज र छिटो सेवा उपलब्ध गराउन कार्यालयले आवश्यक व्यवस्थापन गरेसँगै सेवाग्राहीबाट गुनासो आउनेक्रम रोकिएको जानकारी दिए।

सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले रूपन्देहीमा राहदानी बनाउने दर लुम्बिनी प्रदेशकै उच्च रहेको बताए । उनले खाडी मुलुक, मलेसिया, जापान, दक्षिण कोरियालगायतका देशमा रोजगारीका लागि जाने युवाको सङ्ख्या बढी रहेका अवस्थामा तुलनात्मक रुपमा धेरै जनसङ्ख्या भएको रुपन्देहीमा राहदानीको माग बढेको स्पष्ट पारे । उनले विशेषगरी वैदेशिक रोजगारी, अध्ययन, व्यावसायिक भ्रमण, पर्यटन तथा अन्य व्यक्तिगत प्रयोजनका लागि राहदानीको माग हुनेगरेको बताए।यसै

गरी, रपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले राहदानीसँग सम्बन्धित सेवाग्राहीको चापलाई दृष्टिगत गरी अनलाइन आवेदन, बायोमेट्रिक विवरण सङ्कलन तथा राहदानी वितरण प्रक्रियालाई थप व्यवस्थित बनाइएकाले सेवाप्रति गुनासो नरेको बताए।

रास्वपा केन्द्रीय सदस्यमा निर्मल गौतमको उम्मेदवारीको चर्चा

चितवन । रास्वपाका युवा नेता तथा वित्तिय विष्लेषक निर्मल गौतमले रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । लामो समय बैँक तथा वृत्तिय क्षेत्रमा अनुभव बटुलीसकेका गौतमले खुल्ला तर्फबाट केन्द्रिय समितिको सदस्य पदमा उम्मेद्धवारी दर्ता गराएका हुन् । चितवनमा जारी पार्टीको पहिलो महाधिवेशनमा उनले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् ।

केन्द्रिय सदस्यमा उम्मेदवारी दिनेमध्यमा उनी कम उमेरका र सानै उमेरमा विभिन्न अभियान, नेतृत्व विकास तालिम, संवाद तथा अधिकारमुखी कार्यक्रममार्फत खारिएका युवा नेता हुन् । नेपालमा अधिकारमा आधारित विकासको बहस सान्दर्भिक बन्दै गइरहेका बेला युवा राजनीतिज्ञ गौतमलाई रास्वपाभित्र महत्त्वपूर्ण रूपमा हेरिएको छ। युवाको आवाजलाई पार्टीको केन्द्रीय तहसम्म पुर्‍याउने र नेतृत्वलाई थप सशक्त बनाउन आफ्नो उम्मेदवारी रहेको उनले बताए । नयाँ पुस्तालाई सक्रिय राजनीतिमा प्रेरित गर्ने उद्देश्यका साथ मैले आफ्नो उम्मेदवारी दिएको हुँ, उनले भने ।

एक सफल वित्तिय विष्लेषकका रुपमा गौतमले काम गर्ने क्रममा सहकारीले सृजना गरेको दुई अर्ब भन्दा बढी रकम करको दायरामा ल्याई कसुर आर्जित सम्पत्तिलाई सरकारको आयमा समेत बृद्धि गर्न उनले उल्लेखनिय भूमिका खेलेका छन् । उनको कामको रास्वपा बृत्तमा निकै प्रशंसा हुने गरेको छ

रास्वापा महाधिवेशन निर्वाचन तालिका पुनः संशोधन

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन तालिका तेस्रो पटक संशोधन गरी सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आज संशोधित तालिका सार्वजनिक गरेको हो ।

तालिका अनुसार महाधिवेशनका प्रतिनिधिहरूको अन्तिम नामावली सार्वजनिक गरिएको छ । आयोगका प्रमुख भुवन केसीका अनुसार आज साँझ ५ः०० बजे महाधिवेशन प्रतिनिधिहरूको नाम सार्वजनिक गरिएको हो ।

आजै साँझ ७ः०० बजे देखि ७ः३० बजेसम्म पार्टी सभापतिको उम्मेद्वारका लागि फारम वितरण गर्ने कार्यतालिका छ । पार्टी केन्द्रीय सदस्यका लागि ७ः३० बजे देखि ९ः३० बजेसम्म फारम वितरण र दर्ता गरिनेछ । उहाँका अनुसार उम्मेद्वारको प्रारम्भिक नामावली राति १०ः०० बजे प्रकाशन गरिनेछ ।

उम्मेद्वार बिरुद्ध दाविविरोध गर्न राति १०ः३० बजे सम्मको समय दिइएको छ । दाविविरोध परेका उम्मेद्वारको जाँचबुझ राति ११ः०० बजेसम्म गरिने छ । राति ११ः१५ बजे उम्मेद्वारले निर्वाचन आयोगको सचिवालयमार्फत उम्मेद्वारी फिर्ता लिन सक्ने छन् । अन्तिम नामावली ११ः४५ बजे प्रकाशन गरिने उनले जानकारी दिए ।

बुधबार बिहान पहिलो चरणको मतदान हुने केसीले बताउनुभयो । मतदान सकिएको दुई घण्टा पछि मत गणनाको गरी परिणाम घोषणा गरिने आयोगले जनाएको छ ।

पहिलो चरणको मत परिणाम घोषणा भएसँगै दोस्रो चरणको उम्मेद्वारी तथा अन्य थप कार्यतालिका प्रकाशन गरिने छ ।

अन्तिम मनोनयनका लागि तीन हजार २९७ जनाको आवेदन

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले प्रदान गर्ने शैक्षिक सत्र २०८३/८४ मा कक्षा ११ र १२ का लागि अन्तिम मनोनयनलागि तीन हजार २९७ जनाको आवेदन प्राप्त भएको छ ।

प्राप्त आवेदनमध्येबाट ५८६ जनालाई मनोनयन गरिएको कामपा शिक्षा विभागले जानकारी दिएको छ । जसमा शिक्षा विषयका लागि दुई जना, मानविकीमा छ जना, कानुनमा २३ जना, व्यवस्थापनमा २७३ जना विज्ञानमा २८२ जना विद्यार्थी मनोनयन हुने भएको शिक्षा विभागका प्रमुख नमराज ढकालले जानकारी दिए ।

शिक्षा अधिकृत प्रल्हाद खतिवडाका अनुसार पहिलो र दोस्रो मनोनयन सूचीमा नपरेका र अन्तिम मनोनयनमा समावेश हुन चाहेका परीक्षार्थीलाई विषय र शिक्षण संस्थाको प्राथमिकता क्रम छनोट गर्न असार ४ गते बिहान १० बजेदेखि ८ गते साँझ ५ बजेसम्मको अवधि दिइएको थियो । मनोनयनमा परेका विद्यार्थीहरूले असार ११ गतेभित्र तोकिएको शिक्षण संस्थामा भर्ना भइसक्नुपर्नेछ ।

यसवर्षका लागि कामपाले १४५ वटा शिक्षण संस्थामा चार हजार ८५७ कोटा निर्धारण गरिएकोमा निर्धारित कोटामध्ये पहिलो मनोनयन सूचीबाट तीन हजार ५१ जना विद्यार्थी, दोस्रो सूचीबाट २३० जना गरी तीन हजार २८१ जना विद्यार्थी भएपछि बाँकी रहेका एक हजार ५७६ कोटाका लागि विषय र शिक्षण संस्थाको प्राथमिकता छान्न अवसर प्रदान गरिएको थियो ।

कामपाको छात्रवृत्ति छनोट परीक्षाको पहिलो म्याचिङ लिष्टबाट तीन हजार ५१ जना विद्यार्थी छात्रवृत्ति कोटामा भर्ना हुनुभएको थियो । छात्रवृत्ति छनोट परीक्षाबाट योग्यता क्रमको अन्तिम सूचीमा प्रकाशित नामबाट पहिलो मनोनयन सूचीमा तीन हजार ७३५ विद्यार्थी थिए । यी विद्यार्थीलाई जेठ २७ गतेभित्र भर्ना भइसक्न समय दिइएको थियो ।

यीमध्ये एक हजार ९०१ जना विज्ञान विषयमा, व्यवस्थापनमा एक हजार १११ जना, कानुनमा ३४ जना र मानविकीमा पाँच जना विद्यार्थी भर्ना भएका छन् ।

यसरी भर्ना भएका विद्यार्थीहरूको विवरण सफ्टवेयरमा प्रविष्ट गराएपछि रिक्त हुन आएका बाँकी सिटका आधारमा परीक्षा समितिले म्याचिङ लिष्टको दोस्रो सूचीमा ४८६ जनाको नाम प्रकाशन गर्‍यो ।

छात्रवृत्ति छनोटका लागि जेठ १७ गते लिइएको परीक्षाको १८ गते प्रारम्भिक योग्यता सूची र २१ गते अन्तिम सूची प्रकाशित भएको थियो । १८ गतेदेखि २० गतेसम्म पुनर्योग र विवरण सच्याउन समय दिइएको थियो ।

गण्डकी प्रदेशसभा: मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल सुरु

गण्डकी। गण्डकी प्रदेशसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयकअन्तर्गत मन्त्रालयत शीर्षकमाथिको छलफल सुरु भएको छ ।

आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले गत शुक्रबार प्रदेशसभामा प्रस्तुत गर्नुभएको आगामी आवको सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको सामान्य छलफल सोमबार सकिएपछि मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल सुरु भएको हो ।

उद्योग तथा पर्यटन मन्त्रालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमा छलफल सुरु भएको प्रदेशसभाका सभामुख कृष्णप्रसाद धितालले बताए ।

आजको छलफलमा प्रदेशसभा सदस्य महेश भट्टराई, देवका पहाडी त्रिपाठी, कुसुम पुन बुढा, बिन्दु पौडेल, श्यामराजा महतलगायतले आफ्ना धारणा राखेका थिउ ।

छलफलमा भाग लिनुहुने प्रदेशसभा सदस्यहरूले बजेटको प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए । दुरगामी प्रभाव पार्ने र नागरिकको जीवनस्तरमा सुधार ल्याउने कार्यक्रम तथा योजनालाई प्राथमिकतामा दिनुपर्ने उनीहरूको भनाइ थियो ।

गण्डकी प्रदेश सरकारले यही असार १ गते रु ३२ अर्ब ९९ करोड ९९ लाखको बजेट सार्वजनिक गरेको थियो । विनियोजन विधेयकमाथि प्रदेशसभामा छलफल जारी छ । प्रदेशसभाको अर्को बैठक बुधबार बिहान ११ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

सरकारले घोषणा गरे बमोजिम काम नगरे जसपा सडकमा ओर्लिन्छ : उपेन्द्र यादव

जनकपुर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले रास्वपा नेतृत्वको हालको सरकारले घोषणा गरे बमोजिम काम नगरे जसपा नेपाल सडकमा डन्डा लिएर ओर्लिने चेतावनी दिएका छन् ।

मंगलबार जनकपुरधाममा आयोजित पार्टीको अगुवा कार्यकर्ता भेला, अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रममा बोल्दै अध्यक्ष यादवले प्रधानमन्त्री बालेन्द्र साह –बालेन) ले जनकपुरधाममा गरेको भाषणको स्मरण गराउँदै, संविधान संशोधन गरी संघीयता मजबुत बनाउने कार्यमा सरकार चुके आफ्नो पार्टी सडकमा उत्रीने चेतावनी दिए । उनले जसपा नेपालकै एजेन्डालाई बालेन्द्र नेतृत्वको सरकारले उठाएर अगाडि बढेको दाबी गरे । अध्यक्ष यादवले जसपा नेपाल प्रतिनिधि सभाको चुनावमा सिट हासिल गर्नेतर्फ हारे पनि राजनितिक रुपमा नहारेको जानकारी गराए ।

अध्यक्ष यादवले पार्टीले चुनावमा हार बेहोर्नुको आन्तरीक कारणहरुको समिक्षा गर्दै त्रुटी सच्चाएर आगामि चुनावको तयारी गर्ने बताए । जसपा नेपालको नेतृत्वमा मधेश प्रदेश सरकार बनेको बेला गरेका कयौं कार्य र उपलब्धिहरुको प्रचार प्रसार गर्न आफूहरु चुकेको अध्यक्ष यादवको भनाई थियो । उनले जनकपुरधाममा एमबीबीएसको पढाईदेखि कृषि विश्वविद्यालय स्थापना गर्ने कार्यसमेत जसपा नेपालको सरकारलेनै गरे पनि जनता समक्ष यी कार्यहरुबारे जानकारी नभएकोले पनि आफूहरु हारेको बताए ।

अध्यक्ष यादवले अब जसपा नेपाल जनताकोबीचमा गएर जनादेश अनुसार काम गर्ने जानकारी दिए । उनले पार्टीको सिद्धान्त र जनअपेक्षा अनुसार मधेश र मधेशवासीको हक अधिकार सुनिश्चित गर्नका निम्ति कार्य गर्ने धारणा राखे ।

एमाले उपाध्यक्ष विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अनुमति

काठमाडौं । पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ। सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री पौडेललाई विशेष अदालतले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

विशेष अदालतले मंगलबार जारी गरेको सूचनाअनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा पौडेलविरुद्ध जारी गरिएको जरूरी पक्राउ पूर्जी स्वीकृत गर्दै पहिलो पटक सात दिनको म्याद थप गरिएको हो।

सदस्य न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले अनुसन्धान प्रयोजनका लागि म्याद थप गर्ने आदेश दिएको अदालतले जनाएको छ।

अदालतको आदेशअनुसार आरोपी विष्णु प्रसाद पौडेललाई न्यायिक हिरासतमा पठाइएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेलमाथि भइरहेको अनुसन्धानलाई अगाडि बढाउन म्याद थपको माग गरेको थियो। अदालतले सोही मागअनुसार पहिलो चरणमा सात दिनको म्याद स्वीकृत गरेको हो।

यसअघि मंगलबार विशेष अदालतमा म्याद थपसम्बन्धी बहस भएको थियो। अब विभागले अदालतले दिएको समयभित्र थप अनुसन्धान प्रक्रिया अघि बढाउनेछ।

प्रधानमन्त्री शाह बन्दसत्रमा सहभागी

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह महाधिवेशनको बन्दसत्रमा सहभागी हुनुभएको छ ।बन्दसत्रमा पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहनुभएको छ । त्यसअघि अनुशासन आयोगको प्रतिवेदन, आर्थिक प्रतिवेदन सङ्गठनात्मक प्रतिवेदन पेस भएका थिए ।

यसैगरी, पार्टी उपभापति स्वर्णिम वाग्लेले अर्थ राजनीतिक प्रस्ताव र सहमहामन्त्री विपीनकुमार आचार्यले केन्द्रीय समितिबाट पारित विधान संशोध प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

कोशी प्रदेश : बजेटमाथिको सामान्य छलफल सकियो

विराटनगर। कोशी प्रदेशसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट माथिको सामान्य छलफल सकिएको छ ।कोशी प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिंथेपले राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी सदनमा असार ७ गते प्रस्ताव गर्नुभएको थियो ।

छलफलमा कोशी प्रदेशसभाका २४ जना सदस्यहरूले सुझाव, सल्लाह, टिप्पणी र संशयसहित आआफ्ना धारणा राख्नुभएको थियो । छलफलमा उठेका प्रश्नको जवाफमा मन्त्री लिंथेपले छलफलमा उठेका रचनात्मक सुझावलाई शिरोधार्य गर्ने भन्दै बजेट न्यायोचित र सन्तुलित छ भन्नुुभयो ।

उहाँले आन्तरिक आय रु पाँच अर्ब ५० करोड उठ्ने लक्ष्य राखेको प्रदेश सरकारले कृषि, सिँचाइ, सडक, पूर्वाधार, निजी क्षेत्र र उदय परियोजनामा गर्ने लगानीबाट प्रदेशको आर्थिक वृद्धि दर पाँच प्रतिशत बढी हुने दाबी गर्नुभयो ।मन्त्री लिंथेपले प्रदेशका १०० वटा विद्यालयमा प्रविधिमैत्री शिक्षा लागू हुने जानकारी दिँदै जङ्गली हात्ती र बाँदरलाई नियन्त्रण गर्न साझा धारणा बनाउनुपर्ने कुरामा जोड दिनुभयो ।

बाँदर र हात्तीको विषयमा आवाज उठिरहेकाले सरकारले ठोस नीति बनाइ अघि बढ्नुपर्नेमा उहाँको जोड थियो । मन्त्री लिंथेपले आर्थिक वर्ष २०८३/८४ सेवा र कार्यका लागि कोशी प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३ विचार गरियोस् भनी प्रस्ताव सदनमा पेस गर्नुभयो ।

सो प्रस्तावलाई सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भयो ।समसामयिक विषयमा कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले गत असार ४ गते विराटनरस्थित आफ्ना निवासमा प्रहरीद्वारा भएको खानतलासीको विषयमा आफ्ना कुरा राख्नुभएको थियो ।

त्यस्तै विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेशसभा संसदीय दलका तर्फबाट रेवतीरमण भण्डारीले र शून्य समयमा कोशी प्रदेशसभाका सदस्य सविना बजगाईं, सिर्जना राई र मीना श्रेष्ठले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । प्रदेशसभाको अर्को बैठक असार ११ गते दिउँसो १ बजे बस्नेछ ।

ललितपुरलाई ‘उज्यालो नगर’ बनाइने

ललितपुर। ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र पर्ने चक्रपथ खण्डमा स्मार्ट स्ट्रिट लाइट जडानकार्यलाई प्राथमिकतामा राखेको छ ।

सडकको सौन्दर्य अभिवृद्धि गर्नुका साथै रातिको समयमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ग्वार्को, सातदोबाटो, एकान्तकुना हुँदै कलङ्कीतर्फको चक्रपथ खण्डमा आधुनिक स्मार्ट स्ट्रिट लाइट जडान गरिएको हो ।

महानगरपालिकाले ‘देशकै उज्यालो महानगरपालिका’ बनाउने दीर्घकालीन लक्ष्यअनुसार भित्री सडक तथा अन्य मुख्य सडकमा समेत स्मार्ट बत्ती जडानकार्य अघि बढाइरहेको जनाएको छ । यसअन्तर्गत दोस्रो चरणमा ललितपुर क्षेत्रभित्रको ७.९ किलोमिटर चक्रपथ क्षेत्रमा लाइट जडान गर्ने योजना कार्यान्वयन भइरहेको छ ।

ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनका अनुसार परियोजनाका लागि महानगरपालिकाले रु १० करोड तथा नेपाल विद्युत् प्राधिकरणले रु तीन करोड सहयोग गरेको छ । यसरी कुल रु १३ करोडको लगानीमा स्मार्ट स्ट्रिट लाइट जडानको काम अघि बढाइएको हो ।

नगरप्रमुख महर्जनले चक्रपथमा आधुनिक बत्ती जडान भएपछि सडक रातभर उज्यालो रहने, यात्रु तथा सवारी चालकलाई सहज हुने र दुर्घटनाको जोखिम कम हुने विश्वास व्यक्त ग ।

उहाँका अनुसार परियोजनाअन्तर्गत ११ मिटर अग्ला ३७१ वटा पोल, आठ मिटर अग्ला १९५, सात मिटर अग्ला २२४ पोल तथा १२ मिटर अग्ला ६६ वटा मिनीमास्ट जडान गरिनेछ ।

महानगरपालिका क्षेत्रभित्रको सम्पूर्ण ७.९ किलोमिटर चक्रपथ खण्ड प्रभावकारी रूपमा उज्यालो हुने अपेक्षा गरिएको छ ।महानगरपालिकाले पहिलो चरणमा बालकुमारीदेखि सातदोबाटोसम्म बत्ती सञ्चालनमा ल्याउने र त्यसपछि क्रमशः अन्य क्षेत्रमा विस्तार गर्दै लैजाने जनाएको छ ।

नगरप्रमुख महर्जनले आगामी तीन महिनाभित्र अधिकांश क्षेत्रमा बत्ती सञ्चालनमा आउने जानकारी दिँदै स्मार्ट स्ट्रिट लाइट परियोजनाले ललितपुरलाई सुरक्षित, व्यवस्थित र आधुनिक सहरका रूपमा विकास गर्न महत्त्वपूर्ण योगदान पुग्ने बताए ।

विदेश पठाउने भन्दै २३ लाख ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने भन्दै रु २३ लाख ६५ हजार ठगी गर्ने तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका–१ का ५० वर्षीय युवकराज पराजुली, जिल्ला दोलखा जिरी नगरपालिका–३ का ३४ वर्षीय टङ्कबहादुर खड्का तथा सुनसरी धरान उपमहानगरपालिका–६ का ३४ वर्षीय मनिष पोदार रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सुरतकुमार थापा क्षेत्रीले जानकारी दिए।

उनले भने, “पक्राउ परेकामध्य पराजुलीले न्यूजील्यान्ड पठाउने भन्दै रु १६ लाख ६५ हजार, खड्काले लिथुआनिया पठाउने भन्दै रु पाँच लाख तथा पोदारले बेलायत पठाउने भन्दै रु दुई लाख रकम लिई विदेश नपठाइ सम्पर्कविहीन भएको उजुरीका आधारमा पक्राउ गरिएको हो ।”

पक्राउ परेका तिनै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरी उपरीक्षक थापा क्षेत्रीले बताए।

विष्णु पौडेलको गिरफ्तारीप्रति एमालेको घोर भत्र्सना, अविलम्ब रिहाइको माग

काठमाडौं । नेकपा (एमाले)ले उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीप्रति घोर भत्र्सना गरेको छ।मंगलबार बसेको संसदीय दलको बैठकले उनको गिरफ्तारीको कडा शब्दमा निन्दा गर्दै अविलम्ब विनासर्त रिहाइको माग गर्ने निर्णय गरेको संसदीय दलका सचेतक ऐन महरले जानकारी दिए।

उनले भने, ‘एमाले संसदीय दलको बैठकले विष्णु पौडेलको गिरफ्तारीप्रति घोर भत्र्सना गरेको छ र उहाँलाई अविलम्ब विनासर्त रिहा गर्न माग गरेको छ।’त्यस्तै, उनको अनुसार सरकार तानाशाही र स्वेच्छाचारी अधिनायकवादको बाटोमा हिँडेको तथा विधिको शासन र कानुनी राज्यको खिलाफमा रहेको निष्कर्ष बैठकले निकालेको छ।

‘सरकार तानाशाही र स्वेच्छाचारी बाटोमा छ। यो कदम पूर्णतः अधिनायकवादी छ र विधिको शासन एवं कानुनी राज्यको विरुद्धमा छ,’ उनले थपे।सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा प्रहरीले पौडेललाई सुर्खेतको वीरेन्द्रनगरबाट पक्राउ गरेको हो।

झापामा चट्याङ लागेर एक जनाको मृत्यु

झापा । झापाको गौरीगञ्जमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगञ्ज–३ सयपत्री टोल निवासी ३० वर्षीय बलबहादुर श्रेष्ठ रहेका छन् ।

भोजपुरको आमचोक–९ घर भई उनी स्थानीय चन्द्रमाया श्रेष्ठको घरमा डेरा गरी बस्दै आएका र आज बिहान आली खन्ने क्रममा उनलाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवाले जानकारी दिए ।
चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ६४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २२ लाख ९६ हजार ५०८ राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ७९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १४७, सङ्केत बत्ती उल्लङ्घनकर्ता १५४ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १२२ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ११९, निषेधित क्षेत्रमा हर्न बजाउने ११३, सडकपेटीमा सवारीसाधन पार्किङ गर्ने ११९, एकतर्फी बाटोमा सवारी चलाउने १०० र अन्य सवारी नियम पालना नगरेका एक हजार ६८८ जनालाई कारबाही गरिएको हो ।

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की । पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित बसपार्क क्षेत्रभित्रका सबै व्यापारिक संरचना हटाएको छ ।

बसपार्कभित्रको बास्तोला कम्प्लेक्ससहित उत्तरतर्फको पेट्रोलपम्प लाइनका सटर तथा कबलहरु समेत हटाइएका छन् । विसं २०३० मा बसपार्कको जग्गा अधिग्रहण गरेको आधा शताब्दीपछि बसपार्क निर्माणका लागि ‘साइट क्लियर’ गर्ने काम सुरु गरिएको हो । संरचना हटाएको क्षेत्रमा सरसफाइ गरेर सम्याइएको छ ।

महानगरले लालपूर्जाभित्रका व्यापारिक संरचना हटाए पनि मुख्य चासो रहेको सुकुमवासी बस्ती खाली गर्न भने अझै बाँकी छ । बसपार्कभित्र तीन वटा सुकुमवासी बस्तीमा ५७२ घर परिवारले जग्ग्गा अतिक्रमण गरेर बसोबास गर्दै आएका छन् । महानगरले सुकुमवासीलाई अन्यत्र व्यवस्थापनपछि मात्र अतिक्रमति घर टहरनामा डोजर चलाउने जनाएको छ ।

पोखरा महानगर प्रमुख धनराज आचार्यले सुकुमवासी बस्तीको व्यवस्थापन नगरिकन उनीहरुलाई त्यहाँबाट नहटाइने बताए । उनले भने, “सुकुमवासी बस्तीका साथीहरूको डकुमेन्ट भेरिफिकेसनसहित विवरण छानबिन भइरहेको छ । केही व्यक्तिहरुले तीनपुस्ते सही विवरण नदिएको तथा झुट्टा विवरण दिएको पाइएको छ । यस्तो झुटो विवरण प्रमाणित भएमा प्रचलित कानुनअनुसार कारबाही हुन्छ । विवरण प्रमाणित गर्ने काम पूरा भएलगत्तै सुकुम्वासी बस्ती स्थानान्तरण प्रक्रिया गछौँ ।”

प्रमुख आचार्यले सुकुमवासी बस्तीको व्यवस्थापन नगरी हटाइने छैन भन्ने प्रतिबद्धता महानगरबाट पटक–पटक दोहोर्याइए पनि केही गैरसुकुमवासी व्यक्तिहरू तथा असम्बन्धित व्यक्तिहरू बस्तीभित्र प्रवेश गरी गलत सूचना दिने र भड्काउने कार्य भएको पाइएकाले यसप्रति कसैले पनि भ्रममा नपर्न अनुरोध गरे ।

महानगरपालिकाले हाल डोजर लगाएर खाली गरेको बास्तोला कम्प्लेक्सको जग्गासहित पेट्रोलपम्प लाइनको जग्गा व्यक्तिको स्वामित्वमा छ । विसं २०३० मा बसपार्कका लागि अधिग्रहण गरिएको भएपनि पछि पोखरा उपत्यका नगर विकास समितिले अधिग्रहित जग्गाभित्र सट्टाभर्ना तथा घडेरी वितरण गर्ने निर्णय गरेको थियो ।

महागरले पछिल्लो समय जग्गा सट्टाभर्नाको निर्णय लगायतको विषयमा छानबिनका लागि पूर्वन्यायाधीशको नेतृत्वमा न्यायिक समिति गठन गरेको छ । सो समितिको प्रतिवेदन अझै पेस हुन सकेको छैन ।

बसपार्कभित्रका सुकुमवासीहरु आफूहरुको अन्यत्र व्यवस्थापन हुनेबित्तिकै बस्ती खाली गर्न तयार रहेको बताएका छन् । सुकुमवासी सरोकार समितिका अध्यक्ष प्रेम गुरुङले विकल्प पाउनसाथ बसोबास गरिरहेको स्थानबाट हट्न तयार रहेको बताए । उनले भने,“बसपार्क लामो समयअघिको योजना हो तर हामीलाई देखाएर बन्न सकेको छैन । हामी विकासविरोधी होइनौँ, बाधक बन्दैनौँ, महानगरले हामीलाई कहाँ गएर बस्ने भन्ने ठाउँ देखाइदियोस् हामी जान तयार छौँ ।”

जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा

जुम्ला। खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयले चालु आर्थिक वर्षभित्रमा खानेपानी, सिँचाइ, नदी नियन्त्रण र ऊर्जासम्बन्धी करिब ९४ योजना कार्यान्वयनको अन्तिम चरणमा पुर्याएको छ ।

कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकस मन्त्रालयबाट स्वाकृति भई आएका ९४ वटा योजनामध्ये ८५ वटा योजना उपभोक्ता समितिसँग सम्झौता भई अहिलेसम्म ५० बाट योजना निर्माण सम्पन्न भएका छन् ।

नौ योजना ठेक्का भई हालसम्म सात वटा योजना निर्माण सम्पन्न भएको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय जुम्लाका प्रमुख अकलबहादुर महतले जानकारी दिए ।

उक्त योजनामध्ये यहाकाँ आठवटै स्थानीय तहका लागि मन्त्रालयबाट क्रमागत सिँचाइका ७३ वटा योजना रहेका छन् । १७ वटा योजना तटबन्धन र खानेपानीका २५ वटा योजना यो आर्थिक वर्षभित्र सम्पन्न हुने कार्यालय प्रमुख महतको भनाइ छ ।

खानेपानी, सिँचाइ, नदी नियन्त्रण र ऊर्जासम्बन्धी योजनालाई विशेष प्राथमिकतामा राखेर योजनालाई कार्यान्वयन गरिने भएको छ । कार्यालयले सञ्चालन गरेका सिँचाइ आयोजनाबाट यहाँका जमिनमा सिँचाइ सुविधा विस्तार भई खेतीयोग्य जमिनमा स्तरोन्नति भएको छ ।

चालु आवको जेठसम्म कूल बजेटको पुँजीगत खर्च करिब ५० प्रतिशत खर्च भएको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय जुम्लाले जनाएको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गर्दै बागमती प्रदेश सरकार

मकवानपुर । बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गर्ने भएको छ ।सरकारको आर्थिक वर्ष २०८३ / ०८४ को बजेटमा समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गर्ने गरी कार्यक्रम अघि सारिएको हो ।

सहकारी संस्थाहरूको अनुगमन, सुपरीवेक्षण र वित्तीय अनुशासनका लागि बजेट व्यवस्था गरिएको आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले बताए ।
सार्वजनिक स्थलहरूमा सिसीटिभी क्यामरा जडान गरी डिजिटल क्राइम ट्र्याकिङ सिस्टम विकास गरिने बजेटमा उल्लेख छ ।

लागुऔषध दुरूपयोग, मानव बेचबिखन र साइबर अपराध न्यूनीकरणका लागि सुरक्षा सचेतना अभियान सञ्चालन गर्ने बजेटमा भनिएको छ । बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रमा तटबन्ध निर्माण, विपद् स्वयंसेवक परिचालन र विपद् बीमा कार्यक्रम सञ्चालन गरिने मन्त्री तामाङले बताए ।सवारी साधनको चाप बढी हुने स्थानहरूमा ट्राफिक लाइट जडान र प्रदेशका मुख्य नाकाहरूमा स्मार्ट चेकपोस्ट स्थापना गरिने सरकारले जनाएको छ ।

पहिले गिरफ्तार गर्ने र बल्ल अनुसन्धान सुरू गर्नु गलत भन्दै सरकारमाथि खनिए प्रदीप ज्ञवाली

काठमाडौं – एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेपछि प्रदीप ज्ञवालीले सामाजिक सञ्जालमार्फत सरकारको शैली गलत भएको टिप्पणी गरेका छन् । उनले पहिले गिरफ्तार गर्ने र बल्ल अनुसन्धान सुरू गर्नु गलत भएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् – ‘राज्यका संवैधानिक र कानुनी अख्तियारप्राप्त निकायले चाहेको अनुसन्धानमा सहयोग गर्ने, आफूमाथि उठेका प्रश्नको कानुन सम्मत् सामना गर्ने र न्यायालयको फैसलालाई सहज ढङ्गले स्वीकार गर्ने नेकपा (एमाले) को स्थापित मान्यता हो । नेकपा ( एमाले) ले यस मान्यतालाई अवलम्बन गर्दै आएको छ ।’

‘पहिले निष्पक्ष र गहिरो अनुसन्धान गर्ने, अभियोजन पश्चात् अदालतको निर्णयका आधारमा अगाडि बढ्ने र अत्यावश्यक स्थितिमा मात्रै नियन्त्रणमा लिने विधि नै अनुसन्धान र न्याय निरूपणको स्थापित विधि हुनु पर्ने हो ।

तर पहिले गिरफ्तार गर्ने र बल्ल अनुसन्धान सुरू गर्ने शृङ्खला लामो समयदेखि चलिरहेको छ ।राज्यका कुनै पनि निकायका निर्णयहरू पूर्वाग्रह र प्रतिशोध प्रेरित हुनुहुँदैन ।’

फिफा विश्वकप : सेनेगलमाथि रोमाञ्चक जित निकाल्दै नर्वे नकाउट चरणमा

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत आज बिहान भएको खेलमा नर्वेले सानदार जित निकालेको छ । खेलमा एर्लिङ हालान्ड चम्किदा नर्वेले सेनेगललाई ३-२ गोलले हराउन सफल भयो । खेलमा हालान्डले २ गोल गरेका हुन् ।

खेलमा नर्वेको लागि एर्लिङ हालान्डले २ गोल गर्दा मार्कस पेडरसनले १ गोल गरे। सेनेगलका लागि इस्माइल सार्रले २ गोल फर्काए। जितसँगै नर्वे नकाउट चरणमा पुगेको छ ।

बिरामीले सोधेः डाक्टरसाप, क्यान्सर निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै समस्या हुन्छ कि हुँदैन ? क्यान्सर रोग निको भएपछि फेरि दोहोरिने सम्भावना हुन्छ कि हुँदैन ? क्यान्सर निको भएपछि पहिला जस्तै जीवन जिउँन सकिन्छ ?

सूर्यविनायक नगरपालिकाले आज आयोजना गरेको क्यान्सर रोगसम्बन्धी एकदिने सचेतना एवं उत्प्रेरणा कार्यक्रममा क्यान्सरलाई पराजित गरी सामान्य जीवनयापन गरिरहेका व्यक्तिहरूले यी र यस्ता धेरै प्रश्नहरु क्यान्सर रोग विशेषज्ञसमक्ष राखे । नेपाल क्यान्सर सर्भाइभर सोसाइटीको समन्वयमा सम्पन्न कार्यक्रममा भक्तपुर क्यान्सर अस्पतालका प्रमुख डा उज्ज्वल चालिसेसँग क्यान्सर रोगसँग सङ्घर्ष गरिरहेका, क्यान्सरलाई पराजित गरी सामान्य जीवनयापन गरिरहेका र हाल किमोथेरापी तथा अन्य उपचार प्रक्रियामा रहेका बिरामीले पीडादायक भोगाइ राखेका थिए।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता तिम्सिना भट्टराईले क्यान्सर रोगसँग सङ्घर्ष गरी जीवन जितेका व्यक्तिहरू जीवन जिउन प्ररेणा, उपचाररत बिरामीमा आशा एवं आत्मविश्वास जगाउने, सर्भाइभरहरूबीच अनुभव आदानप्रदान गराउने तथा परिवार, स्वास्थ्य संस्था, स्थानीय सरकार र समुदायबीच सहकार्यको वातावरण निर्माण गर्न कार्यक्रम सफल भएको बताए ।

कार्यक्रममा भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा चालिसेले क्यान्सरका बिरामीबाट आएका प्रश्नको जवाफ दिँदै क्यान्सर रोग पत्ता लागेपछि उपचार गरे निको हुने बताउँदै चौथो चरणमा पुगेमात्रै समस्या आउने बताए । उनले क्यान्सर निको भएपछि पुरानै जीवनमा फर्केर सहज जीवनयापन गर्नसक्ने बताउँदै रोग लागेपछि नआत्तिन, नियमित उपचार र परीक्षणमा रहनुपर्ने बताए । उनले क्यान्सर निको भएपछि गर्भधारण गर्न र बच्चा जन्माउन सकिने बताउँदै क्यान्सर रोगबाट गाउँगाउँमा सचेतना प्रवाह गर्न आवश्यक भएको बताए ।

कार्यक्रमका सभापति एवं नगरपालिकाका सामाजिक विकास समितिका संयोजक रविन्द्र सापकोटाले क्यान्सर रोगलाई केबल शारीरिक रोगका रूपमा मात्र नभई मानसिक, सामाजिक र आर्थिक पक्षसँग पनि जोडिएको विषयका रूपमा हेर्नुपर्ने आवश्यकता औँल्याए ।

स्वास्थ्य शाखा प्रमुख वसन्त चौलागाईंले सूर्यविनायक नगरपालिकाको अभिलेखअनुसार हाल करिब २४० क्यान्सरबाट प्रभावित व्यक्ति विभिन्न प्रकारका सहायता तथा सेवाबाट लाभान्वित हुँदै आएका बताए । कार्यक्रममा नगरपालिकाभित्र क्यान्सर रोगको उपचारमा रहेका र क्यान्सर रोग निको भएकाहरुको सहभागिता थियो ।

एम्बाप्पे चम्किँदा इराकमाथि फ्रान्सको सानदार जित

काठमाडौं – फिफा विश्वकप फुटबलअन्तर्गत आज बिहान भएको खेलमा इराकमाथि फ्रान्सले सानदार जित निकालेको छ । खेलको १४ औँ र ५४ औँ मिनेटमा कप्तान किलियन एम्बाप्पेले गोल गरे । त्यसपछि ठूलो पानी परेपछि खेल २ घण्टा रोकिएको थियो । त्यसपछि दोस्रो हाफको ६६ औँ मिनेटमा फ्रान्सकै उस्मान डेम्बेलेले गोल गरे ।

यससँगै साबिक उपविजेता फ्रान्स फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रबेश गरेको छ । यसअघि पहिलो खेलमा फ्रान्सले सेनेगललाई ३–१ गोलले पराजित गरेको थियो । फ्रान्स २ खेलमा ६ अङ्क बनाएर नकआउट चरणमा पुगेको हो ।

सिदिङ्वा गाउँपालिकाले ५० युनिटसम्मको विद्युत् महसुलमा ५० प्रतिशत अनुदान दिने

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ देखि ५० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्ताको विद्युत् महसुलमा ५० प्रतिशत अनुदान उपलब्ध गराउने घोषणा गरेको छ ।

आइतबार सम्पन्न गाउँपालिकाको १९औँ गाउँ अधिवेशनमा अध्यक्ष मानबहादुर राईले आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् । विद्युत् महसुलमा राहत दिने कार्यक्रमले न्यून तथा मध्यम आय भएका परिवारलाई प्रत्यक्ष लाभ पुग्ने गाउँपालिकाको अपेक्षा छ ।

गाउँपालिकाका सूचना अधिकारी रुद्र बेघाका अनुसार पालिकाभित्र रहेका दुई हजार ५०० भन्दा बढी घरधुरीमध्ये मासिक ५० युनिटसम्म विद्युत् खपत गर्ने परिवार उक्त कार्यक्रमबाट लाभान्वित हुनेछन् । पचास युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्ताको हकमा भने यो सुविधा लागू नहुने उनले जानकारी दिए ।

अध्यक्ष राईले ‘एक घर एक करेसाबारी, प्राङ्गारिक तरकारी’ नारासहित कृषिमा आत्मनिर्भरता बढाउने, किसानलाई प्रोत्साहन गर्ने तथा स्थानीय उत्पादन वृद्धि गर्ने विभिन्न कार्यक्रमसमेत सार्वजनिक गरे । ‘स्वस्थ माटो, स्वस्थ उत्पादन’ स्वस्थ भान्सा, स्वस्थ जीवन कार्यक्रमलाई प्रभावकारी बनाउन ल्याब सेवालाई निरन्तरता, प्राङ्गारिक मल उत्पादन र प्रयोग गर्नेलाई प्रोत्साहन गर्नुका साथै पशुपालनमा अनुदानको व्यवस्था गर्ने पनि उनको भनाइ छ ।

यसैबिच, गाउँपालिकाले आगामी आवका लागि रु ५३ करोड आठ लाख २६ हजारको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको गाउँसभा तथा अधिवेशनमा उपाध्यक्ष कृष्णकुमारी कँडरियाले बजेट प्रस्तुत गरेका हुन् । गाउँपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रम तथा बजेटमा विद्युत् महसुलमा अनुदान, कृषि उत्पादन वृद्धि, प्राङ्गारिक खेती प्रवर्द्धन तथा स्थानीय नागरिकको जीवनस्तर उकास्ने कार्यक्रमलाई प्राथमिकतामा राखिएको जनाएको छ ।

जेलन्स्कीद्वारा बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा

किएभ। युक्रेनले सोमबार रुसी आक्रमणविरुद्ध बेलायतका प्रधानमन्त्री केइर स्टार्मरको समर्थनको प्रशंसा गरेको छ । प्रधानमन्त्री स्टार्मरले पदबाट राजिनामा दिने घोषणा सोमबार गर्नुभएको छ ।

उता रूसले भने प्रधानमन्त्री स्टार्मरको राजीनामाको घोषणालाई उल्लेख गर्दै उहाँको स्थानमा जोसुकै आए पनि कुनै परिवर्तन नहुने बताएको छ ।रुसले सन् २०२२ को फेब्रुअरीमा आक्रमण गरेपछि लन्डन युक्रेनको सबैभन्दा दृढ समर्थकमध्ये एक रहँदै आएको छ । त्यसयता बेलायतका चार जना प्रधानमन्त्रीले हतियार र आर्थिक सहयोग उपलब्ध गराएका छन् ।

“हाम्रो सहकार्य र तपाईंको समर्थन र संयुक्त निर्णयहरूका लागि प्रधानमन्त्री स्टार्मरलाई धन्यवाद । यसले हाम्रो युरोप र जीवनको रक्षालाई बलियो बनाउन मद्दत गरेको छ,” युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एक्समा लेख्नुभएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले दैनिक ब्रिफिङमा स्टार्मरको रेकर्डको आलोचना गर्दै भन्नुभयो, “डाउनिङ स्ट्रिटको नेतृत्व जोसुकैले लिएपनि रूसको हेराइमा खासै परिवर्तन हुने देखिँदैन।”
“रुस–बेलायत सम्बन्धको हिसाबले स्टार्मर कुनै विशेष रूपमा अलग देखिनुभएन,” उहाँले एएफपीलगायत पत्रकारहरूसँग भन्नुभयो ।

“हालको बेलायतमा राजनीतिक दृश्यमा कसैले पनि प्रधानमन्त्री स्टार्मरभन्दा फरक अडान लिनेछन् भन्ने सम्भावना निकै कम छ।”सन् २०२४ देखि सत्तामा रहेका स्टार्मरले सोमबार राजिनामा घोषणा गर्नुभएको छ । उहाँ महिनौँदेखि नीतिगत रूपमा पछि हटेको भन्दै जनतामा गहिरो असन्तुष्टि र आफ्नै पार्टीभित्र घट्दो समर्थनका कारण राजिनामा दिने दबाबमा पर्नुभएको थियो ।

पाँच प्रदेशमा मनसुन फैलियो, विभिन्न क्षेत्रमा भारी वर्षा

काठमाडौँ । सोमबार मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा सोमबारदेखि पाँच प्रदेशमा मनसुन फैलिएको र सोही मनसुनी वायुको प्रभाव भएका क्षेत्रमा बढी वर्षा भएको छ ।

सोमबार कोशी, बागमती, मधेस प्रदेशमा पुरै तथा गण्डकी प्रदेशका अधिकांश र लुम्बिनी प्रदेशका केही क्षेत्रमा मनसुन प्रवेश भएको छ । विभागका सूचना अधिकारी दिनकर कायस्थले केही ठाउँमा भारी वर्षासहित पूर्वदेखि गण्डकी प्रदेशसम्म बढी वर्षा भएको जानकारी दिए ।

सोमबार रातीको अभिलेख अनुसार गएको २४ घण्टामा कास्कीमा ९८.२ र सुनसरीमा ८८.४ मिलिलिटर वर्षा भएको छ । यस्तै स्याङजा, लमजुङ, गोरखा, मकवानपुर, सिन्धुली, सङ्खुवासभा, ताप्लेजुङमा ५०देखि ६६ मिलिलिटरसम्म वर्षा भएको छ ।

राति कोशी प्रदेशका पहाडी तथा तराई भू–भाग एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना विभागले साँझ जारी गरेको बुलेटिनमा उल्लेख छ । मङ्गलबार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थानमा पनि तातो दिन हुने बताइएको छ ।

मङ्गलबार देशका हिमाली र पहाडी भू–भाग साथै कोशी प्रदेशका तराई भू–भागमा साधारणतया बादल लाग्ने छ । मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशको तराई भू–भागमा आंशिक बादल लाग्ने छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा/हिमपातको सम्भावना छ ।

कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानमा र मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराईको एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुने बताइएको छ । हाल नेपालमा मनसुनी वायुसँगै पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले बदली भइरहेको हो । अहिले लमजुङ, स्याङ्जा, कास्की, चितवन, नवलपरासीपूर्वलगायत क्षेत्रमा पानी परिरहेको छ ।

विष्णु पौडेल पक्राउपछि एमाले आक्रोशित, ओलीले दिए सरकारलाई चेतावनी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारी राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र भएको बताएका छन् ।

अध्यक्ष ओलीले भने – ‘वर्तमान सत्तापक्षले विपक्षी दलहरू प्रति अख्तियार गरिरहेको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको यो अर्को पराकाष्ठा हो । यो दमनकारी कदम म र हाम्रो पार्टी नेकपा (एमाले) माथि लगातार भइरहेका शृङ्खलाबद्ध प्रहार र राजनीतिक षड्यन्त्रको निरन्तरता हो भन्ने कुरा स्पष्ट छ,’

अध्यक्ष ओलीले पूर्वनिर्धारित कार्यपालिका हुँदाहुँदै विधिको शासन र सामान्य कानुनी प्रक्रियाको धज्जी उडाएर गिरफ्तारी गरिएको उल्लेख गरे । सोधपुछका अन्य विकल्प हुँदाहुँदै सरकारले सस्तो लोकप्रियताका लागि यस्तो हर्कत गरेको उनको भनाइ छ ।

‘जुनसुकै बेला सोधपुछ गर्न सकिने वा उहाँकै उपस्थितिमा प्रक्रिया अगाडि बढाउन सकिने विकल्पलाई नियतवश लत्त्याइएको छ । सार्वजनिक पद धारण गरिसकेका र कानुनलाई सदैव सम्मान गर्ने राजनीतिक व्यक्तित्वलाई केवल सस्तो स्टन्टु र सस्तो राजनीतिक खपतका लागि बदनियत पूर्वक गिरफ्तार गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

वर्तमान सरकार अलोकतान्त्रिक, सर्वसत्तावाद र अधिनायकवादको बाटोतर्फ उन्मुख भएको भन्दै ओलीले यस्ता हर्कत तत्काल रोक्न चेतावनी दिए । उनले विपक्षी दलमाथिको प्रहार बन्द नभए त्यसको परिणाम राम्रो नहुने चेतावनीसमेत दिए ।

 

रास्वपाको बन्दसत्र आजदेखि, प्रतिनिधि परिचयपत्र वितरण सुरु

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र आज हुने भएको छ ।यसका लागि आज बिहान ७ः०० बजेदेखि प्रतिनिधि परिचयपत्र वितरण सुरु गरिँदै छ । सोमबार बिहान ८ः३० बजेदेखि सुरु गर्ने भनिएको बन्दसत्र प्राविधिक कारणले एक दिन ढिलाइ भएको हो ।

पार्टीका प्रवक्ता मनिष झाका अनुसार बिहान परिचयपत्र वितरणपछि बन्दसत्र सुरुआत गरिने छ । उहाँले महाधिवेशन प्रतिनिधिको प्रदेशबाट प्राप्त नामावली रुजु गर्ने र महाधिवेशन प्रतिनिधि कार्ड छपाइ गर्ने कार्य नसकिएकाले महाधिवेशनको बन्दसत्रपछि सरेको बताउनुभयो ।

महाधिवेशन पार्टी सर्वोच्च निकाय भएकाले यस प्रक्रियामा विवाद नआओस् भन्नेमा पार्टी प्रतिबद्ध रहेको जनाउँदै उहाँले केही ढिलाइ भए पनि समस्या नआउने गरी काम गरिएको जानकारी दिनुभयो ।

उहाँले सोमबार साँझ ७ः०० बजेदेखि नै कार्ड वितरण थालिएको जानकारी दिनुभयो । राति छपाइ भएका कार्ड प्रदेशमार्फत अहिले बिहानदेखि वितरण थालिने छ । सात प्रदेश र समायोजन एवं प्रवाषका कार्ड फरक फरक ठाउँबाट सहज रुपमा वितरण गरिने पार्टीले जनाएको छ ।

कार्ड वितरणपछि पूर्ववत् तालिकाअनुसार नै बन्दसत्र सञ्चालन गरिने जनाइएको छ । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रको सुरुमा अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नुहुने छ । त्यसमा छलफल हुनेछ । सो पश्चात कोषाध्यक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदन प्रस्तुति र छलफल हुनेछ ।

कोषाध्यक्षको प्रतिवेदनपछि महामन्त्री कविन्द्र बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुति र त्यसमाथि छलफल हुनेछ । सोपश्चात् पार्टीका सहमहामन्त्रीले विधानमाथिको छलफल र त्यसलाई अनुमोदन गराइने छ ।

विधान अनुमोदनपछि पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस तथा छलफल र अनुमोदन गरिने छ । पार्टी सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठन घोषणा एवं आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई दिने सम्भावित तालिका रहेको छ । सोपश्चात् निर्वाचन आयोगले निर्वाचन प्रक्रियासम्बन्धी जानकारी र तालिका प्रकाशन गर्ने छ ।

आइतबार दिउँसो गेष्टहाउस चौरमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्रका कार्यक्रम उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा भइरहेको छ ।

विश्वकप फुटबल : अर्जेन्टिना नकआउट चरणमा प्रवेश, २ गोल गरेसँगै मेस्सी बने सर्वाधिक गोल गर्ने खेलाडी

काठमाडौँ – विश्वकप फुटबल २०२६ को आज बिहान भएको खेलमा अर्जेन्टिनाले सानदार जित निकालेको छ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतले अष्ट्रियालाई हराउदै अर्जेन्टिना नकआउट चरणमा प्रवेश गरेको हो ।

खेलमा मेस्सीले खेलको ३८औँ मिनेटमा पहिलो गोल गरेर अर्जेन्टिनालाई अग्रता दिलाए । त्यसपछि खेलको दोस्रोे हाफको अतिरिक्त समयमा अर्को गोल गरे । जितसँगै अर्जेन्टिनाका कप्तान मेस्सीले जर्मनीका मिरोस्लाभ क्लोजको नाममा रहेको १६ गोलको कीर्तिमानलाई पछि पार्दै विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ १९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७९ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ १४ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ १४ पैसा र बिक्रीदर २०० रुपैयाँ ९३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ०२ पैसा र बिक्रीदर १८७ रुपैयाँ ७७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ८५ पैसा र बिक्रीदर १०६ रुपैयाँ २७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ६५ पैसा र बिक्रीदर १०७ रुपैयाँ ०७ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ९१ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३८ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३५ पैसा र बिक्रीदर नौ रुपैयाँ ३८ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३२ पैसा र बिक्रीदर २२ रुपैयाँ ४१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ २७ पैसा र बिक्रीदर ४० रुपैयाँ ४३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५९ पैसा र बिक्रीदर चार रुपैयाँ ६१ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ १६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५८ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८३ पैसा र बिक्रीदर नौ रुपैयाँ ८७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७४ पैसा र बिक्रीदर १५ रुपैयाँ ८१ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ १६ पैसा र बिक्रीदर २३ रुपैयाँ २६ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १९ रुपैयाँ २८ पैसा र बिक्रीदर १९ रुपैयाँ ३६ पैसा, कुवेती दिनार एकको खरिददर ४९१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४९३ रुपैयाँ ३९ पैसा, बहराइन दिनार एकको खरिददर ४०१ रुपैयाँ ०५ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ६४ पैसा, ओमनी रियाल एकको खरिददर ३९२ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३९४ रुपैयाँ २८ पैसा रहेको छ ।

त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

भरतपुर महानगरद्वारा पाँच अर्ब ५१ करोडको बजेट प्रस्तुत, क्रिकेट रङ्गशाला निर्माणका लागि १४ करोड छुट्याइयो

भरतपुर। भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि रु पाँच अर्ब ५१ करोड ७० लाख २३ हजारको बजेट प्रस्तुत गरेको छ ।महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले आज उक्त बजेट सार्वजनिक गरे ।

महानगरले आगामी आवको बजेटमा अन्तर सरकार वित्तीय हस्तान्तरणबाट (सङ्घ र प्रदेशतर्फ) रु दुई अर्ब १७ करोड ७३ लाख ९८ हजार, सङ्घ राजश्व बाँडफाँटबाट रु ३३ करोड १२ लाख ६४ हजार, बागमती प्रदेश सरकारको राजस्व बाँडफाँटबाट रु १३ करोड ४० लाख ६१ हजार, नगर विकास कोषबाट रु चार करोड, जनसहभागिताबाट रु तीन करोड, बैंक मौज्दात रु ७४ करोड ५० लाख, सडक बोर्ड नेपालबाट रु एक करोड ९३ लाख रहने अनुमान गरेको छ । महानगरले चालु आर्थिक वर्षको बजेट रु पाँच अर्ब २२ करोडको बजेट ल्याएको थियो ।

नगरसभामा नीति तथा कार्यक्रम पेस गर्दै कार्यवाहक नगरप्रमुख अधिकारीले चालु आर्थिक वर्षमा पुँजीगत खर्च कम हुँदा विकास निर्माण सुस्ताएको र राजश्व सङ्कलनको लक्ष्यमा केही धक्का पुगेको बताए। चालु आवमा महानगरले आन्तरिक आयतर्फ रु एक अर्ब ८० करोडको लक्ष्य राखेको छ ।

महानगरले सहरी पूर्वाधार, कृषि तथा पशुविकास, शिक्षा, स्वास्थ्य र खानेपानीमा प्राथमिकताका साथ बजेट विनियोजन गरेको छ । बजेटले ‘दिगो पूर्वाधार, समृद्धिको आधार’ भन्ने नारालाई आत्मसात गरेको नगरप्रमुख अधिकारीले बताए ।

सार्वजनिक निजी साझेदारीमा फोहर मैला प्रशोधन केन्द्र स्थापना, निकुञ्जसँग जोडिएको बस्तीमा जङ्गली जनावरलाई छेकबार लगाउन फाउण्डेशनसहित मेसजाली निर्माण, आयुर्वेद अस्पताल निर्माण र भरतपुरलाई साइकल लेन बनाउने कामलाई जारी राख्ने जस्ता विषय नीति तथा कार्यक्रममा समेटिएका छन् ।

यस्तै महानगरले रामपुरको निर्माणधीन क्रिकेट रङ्गशाला निर्माणका लागि १४ करोड रुपैयाँ छुट्याएको छ ।

चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने

ब्रसेल्स। युरोपेली सङ्घ (इयू) व्यापार प्रमुख मारोस सेफ्कोभिचले चिनियाँ वाणिज्य मन्त्री वाङ वेन्टाओसँग ब्रसेल्समा जुन २९ मा वार्ता गर्ने कार्यक्रम तय भएको इयूले जनाएको छ।

इयूले संवादमार्फत व्यापारिक तनाव सम्बोधन गर्न खोजिरहेको स्पष्ट पार्दै इयू व्यापार प्रवक्ताले सोमबार एएफपीसँग वार्ताको कार्यक्रमबारे बताएका हुन्

“म पुष्टि गर्न सक्छु कि आयुक्त सेफ्कोभिचले जुन २९ सोमबार ब्रसेल्समा मन्त्री वाङलाई स्वागत गर्दै बैठक गर्नेछन्,” इयू व्यापार प्रवक्ता ओलोफ गिलले भने

युरोपेली सङ्घ (इयू) ले पछिल्ला केही हप्ताहरूमा चीनसँगको २७ देशीय समूहको व्यापार असन्तुलन सम्बोधन गर्नुपर्ने विषयमा कडा धारणा अघि बढाएको छ ।

गत वर्ष इयूको व्यापार घाटा करिब ३६० अर्ब युरो (४१२ अर्ब अमेरिकी डलर) पुगेको थियो, अर्थात् इयूले गतबर्ष चीनबाट निकै बढी आयात गरेको तर निर्यात निकै कम गरेको थियो ।

गत हप्ता इयूका नेताहरूले ब्रसेल्सले दुई पक्षीय रणनीति अपनाउनुपर्ने सहमति जनाएका थिए ।

व्यापार नीति हेर्ने युरोपेली आयोगलाई उनीहरूले चीनसँग संवाद गर्नुका साथै चिनियाँ निर्यातको वृद्धिलाई सामना गर्न बलियो औजारहरू विकास गर्न निर्देशन दिएका छन्।

आयोगका मुख्य प्रवक्ता पाउला पिन्होले इयूले एउटा यस्तो संयन्त्रमा काम गरिरहेको बताउनभयो, जसको ‘उद्देश्य इयू सदस्य राष्ट्रहरूबीच एकताको भावना विकास गरी व्यापार असन्तुलन र अनुचित अभ्यासलाई प्रतिकार गर्नु’ हो,

नवलपुरमा इभी हाइस पल्टिँदा आठ जना घाइते, दुईको अवस्था गम्भीर

नवलपुर । पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका-१० पितौजीमा आज साँझ इभी हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

पोखराबाट कृष्णनगर कपिल्बस्तुतर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०३ च १२०५ नम्बरको विद्युतीय सवारी (इभी) हाइस अनियन्त्रित भई सडकमा पल्टिएको थियो । दुर्घटनापछि सशस्त्र प्रहरी बलको टोली तत्काल घटनास्थल पुगेर उद्धारकार्य गरेको थियो ।

सशस्त्र प्रहरी नायब उपरीक्षक लक्ष्मण बरालको कमाण्डमा खटिएको १५ सदस्यीय टोलीले हाइसमा सवार नौ जनामध्ये आठ जना घाइतेको उद्धार गरी उपचारका लागि चितवन मेडिकल कलेज, भरतपुर पठाइएको जनाएको छ । दुर्घटनामा कपिलवस्तुको कृष्णनगर नगरपालिका-२ निवासी २७ वर्षीया श्रद्धा अग्रवाल र १५ महिनाका नौसद रिसिङ अग्रवाल गम्भीर घाइते भएका प्रहरी नायब उपरीक्षक बरालले जानकारी दिए ।

उनका अनुसार सवारी चालक कपिलवस्तुको मायादेवी गाउँपालिका-२ निवासी २४ वर्षीय विष्णु घर्ती, कृष्णनगर नगरपालिका-२ का २६ वर्षीय ऋषभ अग्रवाल, २५ वर्षीया रिद्धिसिंह सिंहनिया, २३ वर्षीया सेरी सिंह, २७ वर्षीया शिवानी अग्रवाल र ३१ वर्षीय अरविन्द अग्रवाल घाइते भएका छन् । घटनास्थलमा अस्थायी प्रहरी पोष्ट बेल्डियाबाट प्रहरीको टोली खटिई दुर्घटनाग्रस्त सवारीसाधन नियन्त्रणमा लिएको छ । दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

बारामा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा तीन जनाको ज्यान गयो

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा आज साँझ मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जीतपुरबाट वीरगन्जतर्फ जाँदै गरेको बा६८प ७५९१ नम्बरको मोटरसाइकलले छातापिपरा चोकमा सडक पार गर्दै गरेका पैदल यात्रुलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार दुई युवक र एक पैदल यात्रुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए । मृतकमध्ये दुई जनाको मात्रै पहिचान खुलेको छ ।

प्रहरी नायब उपरीक्षक घलेका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा जीतपुरसिमरा-१ पथलैया घर भई हाल काठमाडौँ बसोबास गर्ने २० वर्षीय सभ्य अधिकारी र मोटरसाइकल चालक काठमाडौँ टोखा नगरपालिकाका डिजेन जोशी रहेका छन् । पैदल यात्रुको पहिचान खुल्न बाँकी रहेको उनले जानकारी दिए ।

दुर्घटनामा गम्भीर भएका तीनै जनालाई अस्पताल पुर्‍याइएपनि चिकित्सकले मृत घोषणा गरेका प्रहरी नायब उपरीक्षक घलेले जानकारी दिए । उनका अनुसार मृतकमध्ये जोशी र अधिकारीको शव बयोधा अस्पतालमा छ भने पैदल यात्रुको शव नारायणी अस्पतालमा राखिएको छ ।

मुक्तिनाथ आकर्षणले मुस्ताङमा विदेशी पर्यटकको संख्या ह्वात्तै बढ्यो

मुस्ताङ । मुस्ताङ आउने विदेशी पर्यटक बढेका छन् । गत आर्थिक वर्ष २०८१/८२ को ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ८१ दशमलव ८४ प्रतिशतले बढेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

कार्यालयका अनुसार चालु आवको जेठसम्म मुस्ताङमा दुई लाख ४४ हजार ८८० विदेशी पर्यटकले भ्रमण गरेका छन् भने गत आवको सोही अवधिमा एक लाख ३४ हजार ६६४ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए ।

यसवर्ष भारतीय पर्यटकको आगमन अत्यधिक रहेको जनाइएको छ । छिमेकी मुलुक भारतमा चर्को गर्मी छल्न तथा धार्मिक हिसाबले पनि मुक्तिनाथ आउनेहरु बढेकाले मुस्ताङमा विदेश पर्यटक आगमन बढेको हो ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ईश्वर महतका अनुसार चालु आवको जेठमा मात्रै ९० हजार ९३९ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् । जसमध्ये ९० प्रतिशत बढी भारतीय पर्यटक नै रहेको प्रहरी निरीक्षक महतले जानकारी दिए । गतवर्षको जेठमा २४ हजार ३७२ जना विदेशी पर्यटक मुस्ताङ आएका थिए ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आव २०८०/८१ मा ९९ हजार ३९९ जना र आव २०८१/८२ मा एक लाख ५० हजार ४५३ जना विदेशी पर्यटक मुस्ताङ आएका थिए ।

बाहुनडाँगीमा हात्ती आतंक बढेपछि सशस्त्र प्रहरीको स्पेसल टास्कफोर्स परिचालन

झापा । हात्ती प्रभावित मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सशस्त्र प्रहरी बलले थप जनशक्ति परिचालन गरेको छ । भारतबाट दर्जनौँको सङ्ख्यामा दिनहुँ भित्रिने जङ्गली हात्तीको बथानले क्षति पुर्‍याउन थालेपछि जनधनको सुरक्षा गरी हात्ती नियन्त्रण गर्ने उद्देश्यका साथ १० जना सुरक्षाकर्मी रहेको ‘स्पेसल टास्कफोर्स’ परिचालन गरिएको हो ।

‘स्पेशल टास्कफोर्स’ बाहुनडाँगी पठाइसकिएको बताउँदै सशस्त्र प्रहरी बल नेपालको नम्बर २ गणका सूचना अधिकारी सुमन पोखरेलले बाहुनडाँगी सुरक्षा पोस्टमा यसअघिदेखि २० जना सुरक्षाकर्मी रहँदै आएको जानकारी दिए । उनले भने, “अहिले हात्ती नियन्त्रण गर्न भनेर स्पेसल टास्कफोर्सअन्तर्गत १० जना सुरक्षाकर्मी थप गरिएको हो ।”

मेचीनगर नगरपालिका–१ र ४ स्थित बाहुनडाँगी क्षेत्रमा भारतको आसाम र पश्चिम बङ्गालको वन्यजन्तु आरक्षण रहेको जङ्गलबाट नेपालमा हात्तीको बथान भित्रिने गरेका छन् । नौ दिनअघि हात्तीले मेचीनगर–४ की ६२ वर्षीय पदमा पौडेललाई घरमै आक्रमण गर्दा उनको मृत्यु भएको थियो भने केही महिनायता व्यापक मात्रामा अन्न र फलफूल बालीमा क्षति पुर्‍याइरहेको छ ।

हात्तीका कारण स्थानीयवासीले असुरक्षा महसुस गरेपछि झापा निर्वाचन क्षेत्र नं १ की प्रतिनिधिसभा सदस्य निशा डाँगीले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर स्पेशल टास्कफोर्स खटाउन माग गरेकी थिइन् । सांसद डाँगीले बाहुनडाँगीमा हात्ती नियन्त्रणका लागि सुरक्षाकर्मीको स्पेशल टास्कफोर्स परिचालन हुने प्रतिबद्धता जनाएकी थिइन् ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सशस्त्र प्रहरी, नेपाल प्रहरी र वन सुरक्षाकर्मी संलग्न स्पेसल टास्कफोर्स परिचालन गरिने बताए । उनले केही सुरक्षाकर्मी हात्ती नियन्त्रणमा परिचालन भइसकेको जानकारी दिए । नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैको बाहुनडाँगी क्षेत्रमा सुरक्षा चौकी छन् । बाहुनडाँगी बजार, तिरिङ र नकलबन्दा सीमा क्षेत्रमा सशस्त्र प्रहरीको बिओपी र नेपाल प्रहरीको चौकी छ ।

स्पेसल टास्कफोर्समा परिचालित सुरक्षाकर्मी स्थानीयवासीको सुरक्षार्थ राति र दिउँसो गस्ती गर्ने, हात्ती धपाउने र आवश्यकताअनुसार जुनसुकै बेला पनि परिचालन हुने सशस्त्र प्रहरी बल नम्बर २ गणका सूचना अधिकारी पोखरेलले बताए । हात्ती नियन्त्रणका लागि परिचालित प्रहरीको टोली बाहुनडाँगीस्थित ब्यारेकमा बसेको छ । “अहिले खटिएकाहरूका लागि छुट्टै ब्यारेकको व्यवस्था छैन”, उनले भने, “बाहुनडाँगी ब्यारेकमा बस्ने व्यवस्था गरेका छौँ ।”

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवाले बाहुनडाँगीमा पहिल्यैदेखि नेपाल प्रहरीको जनशक्ति तैनाथ रहेको जनाउँदै हात्ती नियन्त्रणका लागि भनेर जनशक्ति थप नगरिएको बताए । मेचीनगर–४ का सन्तोष सुवेदीले बाहुनडाँगी क्षेत्रमा हात्ती नियन्त्रणका लागि १० जना थप जनशक्ति आइपुगेको जनाउँदै उनीहरूले स्थानीय युवाको द्रूत परिचालन टोलीसँग समन्वय गरिरहेको बताए ।

अत्यधिक गर्मीका कारण धनगढीका विद्यालय चार दिन बिदा

कैलाली। केही दिनदेखि गर्मी अत्यधिक बढेपछि धनगढी उपमहानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालय चार दिनका लागि बिदा दिने निर्णय गरेको छ ।

बढ्दो गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै उपमहानगरले सामुदायिक तथा संस्थागत विद्यालयमा चार दिन बिदा दिने निर्णय गरेको हो ।

गर्मीका कारण विद्यालयमा अध्ययनरत् विद्यार्थीहरूमा विभिन्न स्वास्थ्य समस्या देखिन सक्ने सम्भावना रहेकाले त्यसको प्रतिकूल असरबाट बच्न र सुरक्षित रहन धनगढीभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा यही असार ९ गतेदेखि १२ गतेसम्म पठनपाठन स्थगित गर्ने निर्णय भएको उपमहानगरपालिका, शिक्षा शाखाद्वारा जारी सूचनामा उल्लेख छ ।

गर्मीका कारण विद्यार्थीहरूमा विभिन्न स्वास्थ्य समस्या देखिन सक्ने जोखिम बढेकाले वर्षे तथा हिउँदे बिदाबाट मिलान हुने गरी बिदा व्यवस्था गरिएको जारी सूचनामा उल्लेख गरिएको छ ।

साथै, उपमहानगरले शिक्षक, विद्यार्थी र अभिभावकलाई गर्मी तथा लु (तातो हावा) बाट बच्नका लागि सावधानीका उपायहरू अवलम्बन गर्नुहुन पनि अनुरोध गरेको छ ।

रास्वपाको बन्दसत्र स्थगित, प्रतिनिधि कार्ड वितरणपछि भोलिबाट सुरु हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत आज सुरु हुने भनिएको बन्दसत्र स्थगित गरिएको छ ।मंगलबार पार्टीको प्रतिनिधि व्यवस्थापन उपसमितिले जारी गरेको सूचना अनुसार महाधिवेशन प्रतिनिधिहरूको प्रदेशबाट प्राप्त नामावली रुजु गर्ने तथा प्रतिनिधि कार्ड प्रिन्ट गर्ने कार्यमा अपेक्षाभन्दा बढी समय लागेकाले बन्दसत्र आजका लागि स्थगित गरिएको हो।

सूचनामा आज साँझ ७ बजेदेखि प्रिन्ट भइसकेका प्रतिनिधि कार्ड वितरण सुरु गरिने तथा प्रक्रियामा रहेका कार्डहरू भोलि बिहान ७ बजेदेखि वितरण गरिने उल्लेख गरिएको छ। प्रतिनिधि कार्ड वितरण सम्पन्न भएपछि बन्दसत्रको कार्यक्रम सुरु गरिने जनाइएको छ।

पार्टीले महाधिवेशन आफ्नो सर्वोच्च निकाय भएकाले प्रतिनिधि व्यवस्थापन प्रक्रियामा कुनै विवाद नआओस् भन्नेमा प्रतिबद्ध रहेको जनाएको छ।

यसबाट महाधिवेशन प्रतिनिधि, पार्टी सदस्य तथा शुभेच्छुकहरूमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै धैर्यता, संयमता र सहयोगका लागि सम्पूर्णलाई आग्रह गरेको छ ।