`

बेनी–रणवाङ–दरवाङ सडक स्तरोन्नति हुँदै

म्याग्दी । बेनी-दरबाङ सडक आयोजनाको तेस्रो (रणवाङ-दरवाङ) खण्ड कालोपत्र गर्न धमाधम स्तरोन्नति भइरहेको छ ।

गण्डकी प्रदेशको ‘एक निर्वाचन क्षेत्र एक सडक’ कार्यक्रमअन्तर्गत पूर्वाधार विकास कार्यालयमार्फत स्तरोन्नति जारी छ । हाल सडक चौडा बनाउने, पानीको निकासका निम्ति नाली र भूक्षयबाट सडकलाई जोगाउन पर्खाल बनाउनका साथै कालोपत्र गर्न ‘सवबेस’, ‘बेस’ राखेर सम्म्याइँदै छ ।

बाइस करोड ५७ लाखको लागतमा निर्माण सम्पन्न हुने यो सडक खण्डमा चालु आर्थिक वर्षभित्र नै कालोपत्र पनि गरिने निर्माण कम्पनीले जनाएको छ । मंगला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकामसँग जोड्ने २४ किलोमिटर लामो यो सडक २०६३ मा खुलेको हो । बेनीबाट सिमसम्म १२ दशमलव पाँच किलोमिटर कालोपत्र भइसकेको छ ।

बागलुङको बुर्तिवाङमा ५० शय्याको अस्पताल निर्माण

बागलुङ । ढोरपाटन नगरपालिका-१ बुर्तिवाङमा शुक्रबारदेखि ५० शय्याको अस्पताल सञ्चालन भएको छ । यसबाट निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकाका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन् ।

पचास शय्याको अस्पतालमा स्तरोन्नतिपछि जनशक्ति व्यवस्थापनको कामलाई अगाडि बढाइएको गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले शुक्रबार अस्पतालको सेवा प्रारम्भ गर्दै बताए ।

विसं २०२१ मा दुई कोठाबाट स्थापना भएको स्वास्थ्य संस्था ६० वर्षपछि अस्पताल बनेको हो । विसं २०६४ मा जिल्ला अस्पतालमा स्तरोन्नति गर्न रु ३२ करोड लागतमा भौतिक पूर्वाधार निर्माण प्रारम्भ भएको थियो ।

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शय्याको प्रादेशिक अस्पतालका रूपमा सञ्चालन गरिने उल्लेख थियो । अस्पतालमा पूर्वाधार, उपकरण तथा जनशक्ति व्यवस्थापनका लागि रु. १२ करोड विनियोजन गरिएको थियो ।

फेवातालमा ‘ड्रागन बोट रेस फेस्टिभल’ सुरु

कास्की । नेपाल र छिमेकीमूलुक चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले आजदेखि पोखरामा दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’ सुरु भएको छ ।

आइतबार बिहान युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले फेस्टिभलको उद्घाटन गरेका हुन् । फेष्टिभलमा नेपाल, चीन र सिङ्गापुरका खेलाडी सहभागी भएका छन् । प्रतियोगिता यही पुस १५ गतेसम्म सञ्चालन हुनेछ ।

गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा सुरु भएको प्रतियोगितामा २० टोली सहभागी भएका छन् ।

प्रतियोगितामा सहभागिताका लागि चीनको छेन्दुबाट विमान चार्टर गरी एक सय २९ खेलाडी यही पुस ११ गते पोखरा आएका थिए । सहभागी टोलीले फेवातालमा दैनिक अभ्यास गरिरहेका छन् ।

प्रतियोगितामा चीनको आठ, सिङ्गापुरको एक तथा बाँकी ११ टोली नेपालका विभिन्न ठाउँबाट सहभागी हुने भएका छन् । प्रतियोगितामा गण्डकी, बागमती, कर्णाली, त्रिभुवन आर्मी क्लब, ड्रागन बोर्ट गण्डकी, बेगनास टोली, रुपाताल टोली र नेपाल र्याफ्टिङ एजेन्सिज एशोसिएशन (नारा) सहित नेपालका ११ टोलीको सहभागिता रहने छ ।

प्रतियोगितामा पाँच सय सय र दुई सय मिटर दौडका विजेता टोलीलाई पाँच हजार अमेरिकी डलर, उपविजेतालाई दुई हजार डलर र तृर्तीय हुने टोलीलाई एक हजार दुई सय अमेरिकी डलर पुरस्कार प्रदान गरिने छ ।

दक्षिण कोरियामा विमान दुर्घटनामा मृतकको संख्या ६२ पुग्यो

बीबीसी । दक्षिण कोरियामा १८१ यात्रु बोकेको एउटा विमान एउटा विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा कम्तीमा ६२ जनाको ज्यान गएको देशको अग्नि नियन्त्रण सेवाले जनाएको छ ।

नेशनल फायर एजेन्सीले मृतक ६२ मध्ये ३७ जना महिला र २५ जना पुरुषहरू रहेका जनाएको छ । उक्त विमान धावनमार्गबाट उछिट्टिएको थियो र देशको दक्षिण पश्चिममा पर्ने मुआन अन्तर्राष्ट्रिय विमानस्थलको पर्खालमा ठोक्किएको थियो ।

जेजु एयरको उक्त विमानमा १७५ जना यात्रु र ६ जना चालक दलका सदस्य थिए। सो विमान थाइल्यान्डको बैंककबाट फर्किरहेको थियो र उक्त दुर्घटना अवतरणको समयमा भएको विवरण आएका छन् ।

दक्षिण कोरियामा विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४७ पुग्यो

बीबीसी । दक्षिण कोरियामा १८१ यात्रु बोकेको विमान एउटा विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा कम्तीमा ४७ जनाको मृत्यु भएको छ ।

उक्त विमान धावनमार्गबाट उछिट्टिएको थियो र देशको दक्षिण पश्चिममा पर्ने मुआन अन्तर्राष्ट्रिय विमानस्थलको पर्खालमा ठोक्किएको थियो । जेजु एयरको उक्त विमानमा १७५ जना यात्रु र ६ जना चालक दलका सदस्य थिए।

विमान थाइल्यान्डको ब्याङ्ककबाट फर्किरहेको थियो र उक्त दुर्घटना अवतरणको समयमा भएको योन्हाप समाचार संस्थाले जनाएको छ । केही व्यक्तिको जीवितै उद्धार गरिएको छ र उद्धार प्रयासहरू जारी रहेको अग्नि नियन्त्रकले बताएका छन् ।

विमानमा १७३ जना दक्षिण कोरियाका नागरिक र दुई जना थाई नागरिक रहेका योन्हापले जनाएको छ ।

दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा १८१ यात्रु सवार विमान दुर्घटना

सियोल । दक्षिण कोरियामा धावनमार्गमै विमान दुर्घटना भएको छ । १८१ जना यात्रु सवार विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलको पर्खालमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा कम्तिमा २८ जनाको मृत्यु भएको छ । विमानमा १७५ यात्रु र ६ जना चालक दलका सदस्य रहेका थिए । जेजु एयरको उक्त विमान थाइल्याण्डबाट फर्किएको थियो र अवतरण गर्ने क्रममा दुर्घटना भएको बताइएको छ ।

सम्पत्ति शुद्धीकरणको हतियारले अब ठूला दलका कोही नेता जोगिनेवाला छैनन्ः अध्यक्ष लिङ्देन

सुनसरी । राष्ट्रिय प्रजातन्त्र पार्टी का अध्यक्ष राजेन्द्र लिङ्देनले सम्पत्ति शुद्धीकरणको हतियारले अब ठूला दलका कोही नजोगिने बताएका छन् ।

पार्टीको कोशी प्रदेश समितिले शनिबार इटहरीमा आयोजना गरेको बृहत् विरोधसभामा अध्यक्ष लिङदेनले नेपालका सबै नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्ने भन्दै शुरुमा राप्रपा नेताहरूबाट छानबिन गर्न तयार रहेको बताए ।

उनले अब दाप बाहिर आइसकेको हतियार नरोकिने बताए । उनले भने, भने, ‘रास्वपा सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको हतियार चलेको छ, अब दाप बाहिर आइसकेको यो हतियार रोकिनेछैन र रोकिन पनि हुँदैन ।’

अहिलेको व्यवस्थाले भ्रष्टाचारलाई झन्झन् संरक्षण गरेको भन्दै देशको लागि राजासहितको प्रजातन्त्र र हिन्दू राष्ट्र अपरिहार्य रहेकोमा जोड दिए ।

पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्व र कार्यशैलीका कारण प्रजातन्त्र खतरामा परेको दाबी गरे । उनले प्रजातान्त्रिक दलहरूको नाममा प्रजातन्त्र मास्ने काम भएको बताए ।

पोखरामा सडक महोत्सव सुरु

पोखरा । ‘सडकमै खाऔं, सकडमै नाचौं, सडकमै रमाऔं’ भन्ने नारासहित पोखरामा शनिबारदेखि २६ औ पोखरा सडक महोत्सव सुरु भएको छ ।

रेवान पोखराले अंग्रेजी नयाँवर्षको स्वागतमा विगत २६ वर्षदेखि महोत्सवको आयोजना गर्दै आएको छ । लेकसाइडको खहरेचोकबाट सुरु विभिन्न सांस्कृतिक झाँकी सहितको र्यालीले कोमागाने पार्क पुगेर औपचारीक रुपमा सुरु भएको छ । महोत्सवको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका छन् ।

पोखराको फिस्टेल गेट देखि डिहिकोपाटनसम्मको करिब साढे ३ किलोमिटर खुल्ला सडकमा महोत्सव संचालन भएको छ । विभिन्न झाँकीमा स्वदेशी तथा विदेशी पर्यटकहरु रमाएका छन् । खुल्ला सडकमा टेबल कुर्ची निकाली सडकमै खाने, सडकमै सास्कृतिक तथा विभिन्न कार्यक्रम संचालन हुने छन् ।

महोत्सवलाई लक्षित गरि लेकसाईड क्षेत्रलाई दुलही झैं सिगारिएको छ । पुस १७ गते सम्म संचालन हुने महोत्सव रङ्गीचङ्गी भएको छ । महोत्सवमा सडकमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकार, विभिन्न मनोरन्जनात्मक कार्यक्रम, पर्यटन, खेलकुद, हस्तकला प्रदर्शनी, बालउद्यान, साहसिक पर्यटक खेलकुद वृत्तचित्र प्रदर्शनी, लोकदोहोरी, लाइभ कन्सर्टलगायत कार्यक्रम हुनेछन् ।

सबैको सक्रियताले मात्र अर्थतन्त्र सबल बन्छ : मुख्यमन्त्री लामा

चितवन। बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सबै क्षेत्रको सहकार्य र सक्रियता आवश्यक रहेको बताएका छन् ।

चितवन उद्योग सङ्घको ३३औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले मुलुकको अर्थतन्त्र चलायमान बनाउन उद्योगधन्दा, व्यापार, व्यवसाय चलायमान हुनुपर्नेमा जोड दिए ।

कृषि क्षेत्रमा प्रभावकारी रूपमा लगानी गर्न नसक्दा अर्थतन्त्र धराशायी बन्दै गएको भन्दै मुख्यमन्त्री लामाले विद्यमान कानुनको सबै क्षेत्रबाट पालना हुनुपर्ने बताए। उनले भने, ‘सबै क्षेत्रको समानुपातिक सुधार गर्न कानुनको कार्यान्वयन प्रभावकारी हुनुपर्छ, कृषकका लागि छुट्टाइएको बजेट वास्तविक कृषकले उपभोग गर्न पाउनुपर्छ ।’

युवा विदेशिने क्रम रोक्न प्रदेश सरकारले स्वरोजगारका अवसर सृजना, सीपमूलक तालिमलगायत क्षेत्रमा लगानी गरिरहेको बताउँदै मुख्यमन्त्री लामाले उद्योग पुस्तान्तरणको समस्या अहिलेको जटिल समस्याका रूपमा रहेको उल्लेख गरे।

‘उद्योग, व्यवसाय नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्नेमा युवा विदेशिने क्रम नरोकिएकाले यो विषय जटिल बन्दै गएको छ । विदेश पलायनदर रोकेर नेपालमा स्वरोजगारमूलक काम गर्ने वातावरण बनाउन सबैको सक्रियता आवश्यक छ ।’

बागमती प्रदेशसभाका सांसद उत्तम जोशी, जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, नेपाल उद्योग परिसङ्घका कार्यवाहक अध्यक्ष वीरेन्द्रराज पाण्डेले वर्तमान सरकारले लगानीकर्तालाई प्रोत्साहन गर्ने नीति लिन आवश्यक रहेकामा जोड दिए । उनीहरूले लगानीमैत्री वातावरण तयार गर्दै राज्यले युवा पुस्तालाई स्वदेशमा केही गर्न सकिन्छ भन्ने ऊर्जा प्रदान गर्न आवश्यक रहेको बताए।

कार्यक्रममा बोल्ने वक्ताहरूले उद्योगलाई समयसापेक्ष रूपमा गतिशीलता प्रदान गरी सञ्चालन गर्न सक्ने वातावरण तयार गर्न सरकारसँग माग गरेका थिए ।

नेपाली कांग्रेस चितवनका जिल्ला सभापति राजेश्वर खनाल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का जिल्ला संयोजक रामचन्द्र अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति कृष्णप्रसाद भुसाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का जिल्ला अध्यक्ष रुद्र ढकाल, उद्योग सङ्घ चितवनका कार्यवाहक अध्यक्ष मदन घिमिरेलगायत वक्ताले उद्योग क्षेत्रको विकासका लागि सरकारले ठोस निर्णय लिन जरुरी रहेको बताएका थिए ।

सशस्त्र प्रहरीमा ‘ग्रासरुट’ फुटबल प्रशिक्षण

काठमाडौँ । दक्ष र अनुशासित खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ सशस्त्र प्रहरी बलमा पहिलो पटक ‘ग्रासरुट फुटबल प्रशिक्षण-२०८१’ सञ्चालन भएको छ ।

सशस्त्र प्रहरी मुख्यालय हल्चोकमा शनिबार आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले ग्रासरुट फुटबलका प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी नायव उपरीक्षक जिवेश पाण्डेलाई फुटबल हस्तान्तरण गरे ।

सो क्रममा महानिरीक्षक अर्यालले ग्रासरुट फुटबल प्रशिक्षणले बालबालिकाहरूको बौद्धिक, भावनात्मक र शारीरिक विकासमा समेत वृद्धि हुने विश्वास व्यक्त गरे । यसअन्तर्गत ६ देखि १५ वर्षसम्मका बालबालिकालाई फुटबल प्रशिक्षण दिएर उत्कृष्ट खेलाडी उत्पादन गर्ने राखिएको छ ।

महानिरीक्षक अर्यालले फुटबल खेलमा रुचि राख्ने सम्पूर्ण बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरू र सर्वसाधारणका सन्ततीलाई अनुभवी प्रशिक्षकद्वारा प्रशिक्षण गराई उत्कृष्ट खेलाडी तयार पार्न ग्रासरुट फुटबल प्रशिक्षण कार्य सफल हुने विश्वास व्यक्त गरे ।

सोही अवसरमा महानिरीक्षक अर्यालले प्रधान कार्यालय परिसरमा नवनिर्मित बक्सिङ रिङको समेत उद्घाटन गरे । उनले बक्सिङ विधाका खेलाडीलाई प्रशिक्षणमा सहजताका लागि आधारभूत स्तरको नेपाल एपिएफ बक्सिङ प्रशिक्षण रिङको निर्माण गरी प्रशिक्षण गराउन लागिएको बताए ।

ग्रासरुट फुटबल प्रशिक्षणमा वहालवाला सशस्त्र प्रहरी कर्मचारीका एक सय २९ सन्तति, अमर तथा अवकाशप्राप्त सशस्त्र प्रहरीका चार सन्तति र सर्वसाधारण नागरिकका एक सय ३५ सन्नति गरी कुल दुई सय ६८ जना सहभागी रहेका सशस्त्र प्रहरीका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

वर्तमान सरकारले भ्रष्टाचारको पक्षमा काम गरेको प्रचण्डको आरोप

कञ्चनपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार भ्रष्टाचारको संरक्षक भएको आरोप लगाएका छन् । कञ्चनपुरको पुनर्वासमा शनिबार आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले यो सरकारले भ्रष्टाचारको पक्षमा काम गरेको आरोप लगाएका हुन् ।

उनले माओवादी पार्टी बलियो र देशको एक नम्बरको पार्टी भए देशमा सुशासनको नयाँ युग सुरु हुने बताए । उनले आफ्नो सरकार आएपछि गिरिबन्धु, यती ओम्नी र वाइडबडीमा भएको भ्रष्टाचारको फाइल खोल्ने बताए ।

यसअघि पनि आफू नेतृत्वको सरकारले भ्रष्टाचारका फाइल खोल्न खोज्दा सरकार ढलेको बताए । उनले भने, ‘म तपाईंहरुलाई भन्न चाहन्छु–गिरीबन्धुको फाइल खुल्नेछ। त्यसलाई लुकाउने दिइने छैन। ओम्नीमा भएको भ्रष्टाचारको पनि फाइल खुल्नेछ र वाइडवडीको भ्रष्टाचार छोडिने छैन। यो सबैको निम्ति माओवादी केन्द्रलाई बलियो बनाउन जरुरी छ ।’

उनले आफू नेतृत्वको सरकारले गरेका कामका कारण देशभर माओवादी केन्द्रमा एकताबद्ध हुने र समायोजन हुने लहर चलेको बताए ।

त्रिविका दीक्षित विद्यार्थीलाई प्रधानमन्त्रीको आग्रहः विनयशील हुनु, घमण्ड नगर्नु

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली शान्तिपूर्ण, सम्मानित, समृद्ध र सुखी रुपमा बाँच्न पाउने अवस्था सृजनाका लागि प्राप्त ज्ञान प्रयोग गर्न आग्रह गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयको शनिबार आयोजित  ५०औँ दीक्षान्त समारोहमा विश्वविद्यालयलका कुलपति प्रधानमन्त्री ओलीले समाजलाई लोकतान्त्रिक, सु–संस्कृत र इमानदारपूर्ण बनाउन र विद्यावान् हुँ भन्ने कुनै घमण्ड नगरी विनयशील हुन पनि आग्रह गरे ।

प्रधानमन्त्री ओलीले उपाधि प्राप्त भएपछि अध्ययन पूरा नहुने तर्क गर्दै प्राप्त ज्ञानलाई व्यावहारिक जीवनमा उतारेर परिस्कृत गर्न आग्रह गरे । “आफैँसँग भएको विद्या व्यवहारमा उतार्न सकिएन भने त्यो विद्या काम लाग्दैन । ज्ञानलाई व्यावहारिक रुपमा र समाजको समग्र पक्षको भलाइका लागि प्रयोग गर्नुपर्छ ।”, प्रधानमन्त्री ओलीले भने, “हामीले मुलुकमा विद्यमान २० प्रतिशतको निरपेक्ष गरिबी अन्त्य गर्ने अभिभारा लिनुपर्छ । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाको यात्रालाई हामीले अगाडि बढाउनुपर्छ ।”

प्रधानमन्त्री ओलीले हाम्रो मुलुक ज्ञान, ध्यान, योग र संस्कृतिको भूमि भएको उल्लेख गर्दै पुर्खाको ज्ञानप्रति कृतज्ञ भएर उहाँहरुबाट सिक्नुपर्नेमा जोड दिए ।

प्रमुख अतिथि अर्थशास्त्री डा रामप्रकाश यादवले विद्यार्थी जीवनको सङ्घर्ष र इमानदारीले लक्ष्यप्राप्तिमा जोकोहीलाई सफलता हासिल हुने बताए ।

सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले अध्ययन–अध्यापनमा प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिइन् । विश्वविद्यालयका उपकुलपति प्रा डा केशरजङ्ग बरालले विश्वविद्यालय मातहतका क्याम्पसहरु गाभ्ने नीति लिइएको जानकारी दिए ।

हात्तीलाई बनभोज

चितवन सौराहामा  आयोजित १८औँ पर्यटन तथा हात्ती महोत्सवको शनिबार तेस्रो दिन अवसरमा हात्तीलाई बनभोज गराउँदै माउते।

तस्बिरः चन्द्रकला क्षेत्री/रासस

त्रिभुवन विश्वविद्यालयबाट १४ हजार विद्यार्थी दीक्षित

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका १४ हजार तीन सय आठ जना विद्यार्थी दीक्षित भएका छन्। प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबार आयोजित ५० औँ दीक्षान्त समारोहमा विद्यावारिधि गर्ने र सर्वोत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरे।

त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार स्नातक तहका नौ हजार ६८, स्नातकोत्तर तहका पाँच हजार ५५, एमफिलका ६३ र विद्यावारिधि (पिएचडी) का एक सय २२ जना विद्यार्थी दीक्षित भएका छन्।

त्रिभुवन विश्वविद्यालयबाट लिइएका विभिन्न तह एवं विषयका परीक्षामा सर्वप्रथम भएका विद्यार्थीलाई विभिन्न पदकबाट पुरस्कृतसमेत गरिएको छ। यस वर्षको त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ सहिद उपप्राध्यापक हरिराज अधिकारी स्वर्णपदक व्यवस्थापन संकायका हीरा श्रेष्ठलाई र श्री इन्द्रभक्त श्रेष्ठ स्वर्णपदक स्कुल अफ म्यानेजमेन्टका सुधा काफ्लेलाई प्रदान गरिएको छ।

यसैगरी, अमृत पदक रसायनशास्त्र केन्द्रीय विभागका सुशील पोखरेललाई, मदन विद्या वातावरण विज्ञान पुरस्कार वातावरण विज्ञान केन्द्रीय विभागका रिकिता भण्डारीलाई, नेपाल बैंक लिमिटेड सरदार गुञ्जमान सिंह स्वर्णपदक र रामकृष्ण न्हुच्छे प्रधान पुरस्कार काठमाडौँ मोडल कलेजका रेविका भण्डारीलाई प्रदान गरिएको छ।

नरेन्द्रमणि आचार्य दीक्षित पदक र डा. मोहनप्रसाद लाखे स्वर्णपदक रत्नराज्यलक्ष्मी क्याम्पसका सुदीक्षा घिमिरेले पाएकी छन्। शान्ति–नारायण मिश्र पदकबाट पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभागका सञ्जीवकुमार सिंह, डा. दुबसु क्षेत्री स्वर्ण पदकबाट अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागका प्रतीकराज जोशी, इमिरेट्स प्रा. डा रामप्रसाद चौधरी स्वर्ण पदकबाट वनस्पति शास्त्र केन्द्रीय विभागका श्रीणा क्षेत्री र नारायण शान्ति मिश्र पदकबाट पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका चेतना कुँवरबाछ पुरस्कृत भएका छन्।

तारपद चौधरी पदक, खगेन्द्रमान सिंह प्रधान पदक र चन्द्रराज ढुङ्गेल स्मृति पुरस्कार श्रीज्या काफ्लेले पाएका छन्। काफ्ले अर्थशास्त्र केन्द्रीय विभागकी छात्रा छन्। शील्पा विष्ट प्राज्ञिक उत्कृष्टता पुरस्कार शिक्षाशास्त्र केन्द्रीय विभागका सीताकुमारी श्रेष्ठले प्राप्त गरेकी छन्।

आप्रवासी सङ्कटका कारण सन् २०२४ मा अमेरिकामा घरबारविहीनको सङ्ख्या उच्च

वासिङटन । संयुक्त राज्य अमेरिकामा घरबार विहीनता उच्च स्तरमा पुगेको जो बाइडन प्रशासनको एक नयाँ रिपोर्टले देखाएको छ। देशमा करिब २० वर्षअघि सङ्घीय सरकारले यस बिषयमा रेकर्ड राख्न सुरु गरेको थियो ।

सन् २०२४ को जनवरीमा एकै रातमा करिब सात लाख ७२ हजार मानिस घरबारविहीन भएका थिए, जुन अघिल्लो वर्षको तुलनामा १८ प्रतिशतले बढी हो ।

ब्लुमबर्ग न्यूजले शुक्रबार सरकारी प्रतिवेदनलाई उदृत गर्दै भनेको छ, “यो सङ्ख्या सन् २०२३ को तुलनामा ३९ प्रतिशतले वृद्धि भएको र यसमध्ये ८० हजारभन्दा बढी बालबालिका भएका परिवार रहेका छन् ।’

जनवरीमा न्युयोर्क शहर, डेनभर, सिकागो र अन्य शहरहरूमा आप्रवासीहरूको आगमनले आश्रय प्रणालीलाई सङ्कटमा पार्दा पारिवारिक बेघर वा आश्रयविहीन जनसङ्ख्याको यो वृद्धि, लगभग ७ प्रतिशतले बढेको छ ।

सीमामा कमजोर सुरक्षाको कारण आप्रबासीहरूको प्रवेश बढेको र यसरी आएका आप्रबासी दक्ष र यसका कारण उनीहरू बेरोजगार बन्ने र घरबारबिहीन हुने क्रम बढ्ने गरेको छ । यसबाहेक दुव्र्यसनीका कारण पनि अमेरिकीहरूले आफ्नो आश्रयस्थल गुमाउँदा घरबारबिहीन बनने गरेका रिपोर्टमा उल्लेख गरिएको छ।

ह्वाइट हाउस र अमेरिकी आवास तथा शहरी विकास विभागका अधिकारीहरूका अनुसार बाइडेनले शरणको दाबीमाथि कडा कदम चालेपछि गत जुनदेखि नै यो सङ्कट कम भएको जनाएका छन् । अधिकारीहरूले गैरकानुनी रूपमा सीमा पार गर्ने क्रम निकै कम भएको बताएका छन् ।

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युनको पक्ष र विपक्षमा देशव्यापी विरोध प्रदर्शन

सियोल । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योलमाथि महाभियोग लगाइएको दुई सातापछि उनका समर्थक र विरोधीले शनिबार विरोध प्रदर्शन गरेका छन् ।

गत डिसेम्बरको शुरुमा सैनिक शासन लागू गर्न खोजेपछि युनको पक्ष र विपक्षमा व्यापक प्रदर्शन भएको छ र यसले देशलाई दशकौँ यताकै सबैभन्दा खराब राजनीतिक सङ्कटमा धकेलेको छ ।

युनको महाभियोग प्रक्रिया पूरा गर्न र उनलाई न्यायको कठघरामा ल्याउन माग गर्न अस्वीकार गरेपछि सांसदहरूले शुक्रबार युनको स्थानमा कार्यवाहक राष्ट्रपति बनेका हान डक–सोमाथि महाभियोग लगाएका थिए ।

युन र हानको भाग्यको फैसला संवैधानिक अदालतले गर्ने हो तर दुवै खेमाका प्रदर्शनकारीले यसबीचमा दबाब जारी राख्ने प्रतिबद्धता जनाएका छन् ।

“राष्ट्रपति युनको रक्षाका लागि करिब २० लाख मानिस एकजुट हुनेछन्,” सियोलमा आयोजित र्याली आयोजकमध्येका एक युनका समर्थक री काङ सानले भने ।

उनले भने, “महाभियोगविरुद्ध जनताको आवाजलाई अझ सशक्त बनाउने हाम्रो प्रयासलाई र्यालीले निरन्तरता दिएको छ।”

युन विरोधी र्यालीका आयोजकले उहाँविरूद्धको महाभियोगलाई समर्थन गर्नेहरुको आक्रोश ‘झनै चर्को रुपमा जलिरहेको’ बताए ।

र्यालीका सहभागीले ‘अब युनलाई तत्काल बर्खास्त गर्न र सजायको माग गरिरहेका’ बताएका छन् ।

विपक्षी र हानबीच उनले संवैधानिक अदालतमा रिक्त रहेका तीन थप न्यायाधीशहरू नियुक्त गर्न इन्कार गरेपछि द्वन्द्व बढेको र पछि यसैको शिलशिलामा उनले कोही ‘सैन्य कानुन’ कार्यान्वयन गर्ने घोषणापछि विपक्षी निलम्बित राष्ट्रपति र उहाँका मन्त्रीहरूप्रति आक्रोशित बनेका छन् ।

युनलाई महाभियोग लगाउने संसदको निर्णयलाई कायम राख्ने वा नराख्ने भन्ने विषयमा अहिलेका छ जना न्यायाधीशले निर्णय गर्न सक्ने भए पनि असहमति जनाउने मतले उनलाई पुनर्बहाली गर्नेछ ।

विपक्षीहरूले हानले नौ सदस्यीय बेन्च भर्नका लागि थप तीन जना मनोनीत व्यक्तिहरूलाई अनुमोदन गरोस् भन्ने चाहन्थे, जुन उहाँले गर्न अस्वीकार गर्नुभएको थियो । यसले गर्दा दुवै पक्ष गतिरोधमा परेका थिए।

दोस्रो महाभियोगले अर्थमन्त्री चोइ साङ मोकलाई कार्यवाहक राष्ट्रपति र प्रधानमन्त्रीको भूमिकामा नियुक्त गरेको छ । यसले देशलाई अनिश्चितताको शिकार बनाएको छ ।

इन्चोन नेसनल युनिभर्सिटीका प्राध्यापक ली जुन हानले भने, “हामीले यसअघि पनि कार्यवाहक राष्ट्रपति बनाएका थियौँ तर हामीले विकल्पको विकल्प खोज्दै एकपछि अर्को महाभियोग प्रस्तावमाथि छलफल र मतदान गरेको यो पहिलो पटक हो ।”

चोईले महाभियोगपछि जारी गरेको वक्तव्यमा भनिएको छ, “यस घडीमा सरकारी उथलपुथल कम गर्नु सबैभन्दा महत्वपूर्ण छ, सरकारले पनि आफ्नो सम्पूर्ण प्रयासलाई उथलपुथलको यस कालखण्डबाट पार पाउनका लागि समर्पित गर्नेछ ।”

हानजस्तै चोइले पनि नयाँ न्यायाधीशको नियुक्ति स्वीकार गर्न विपक्षीको दबाबको सामना गर्नुपर्नेछ । यदि उनले अस्वीकार गरेमा उनले पनि महाभियोगको सामना गर्नु पर्ने अवस्था आउनसक्छ ।

कृष्णसारको आहाराका लागि संरक्षण क्षेत्रभित्रै अनाज खेती

गुलरिया । कृष्णसारको आहारा सङ्कट टार्न बर्दियाको खैरापुरमा मौसमीखेती थालिएको छ । संरक्षण क्षेत्रभित्रै कृष्णसारको वासस्थान परिसरको आठ हेक्टर क्षेत्रफलमा खेती गरिएको छ ।

हिउँदमा कृष्णसारको आहारा मासिएपछि कृष्णसार संरक्षण क्षेत्रमा मौसमीखेती गर्नुपरेको कृष्णसार संरक्षण क्षेत्रका संरक्षण अधिकृत भोजराज पन्थले बताए ।

उनले भने, ‘पहिलो चरण गरिएको खेतीमा गहुँ, मकै, केराउ, मसुरोलगायत अनाज छरेका छौँ । यसले केही दिनलाई कृष्णसारको आहाराको जोहो हुन्छ ।’ पहिलो पटक छरेको अनाज कृष्णसारले खाएर सकेपछि पुनः दोस्रो चरणमा छर्ने तयारी कार्यालयको छ ।

वन्यजन्तु संरक्षण ऐन, २०२९ ले सूचीकृत गरेको वन्यजन्तु कृष्णसार प्राकृतिक बासस्थानमा लोप हुने खतरा बढेपछि सरकारले संरक्षण क्षेत्र घोषणा गरी यसको संरक्षण थालनी गरेको हो । कृष्णसारको प्राकृतिक वासस्थान खैरापुरमा सिरुलगायत दुबो पनि लगाइएको छ । कृष्णसारले यस्तो दुबोको टुसा खान मन पराउने बताइएको छ ।

गुलरिया नगरपालिकाको खैरी पटाहा क्षेत्रको प्राकृतिक वासस्थानमा भाले, पोथी बच्चा गरी दुई सय १७ वटा कृष्णसार रहेको कृष्णसार संक्षण क्षेत्र कार्यालयको तथ्याङ्क छ ।

कृष्णसारको बासस्थान अतिक्रमण, चरीचरण क्षेत्रमा पार्थेनियमलगायत मिचाहा प्रजाति, छाडा पशुको खुला चरीचरण कृष्णसार संरक्षणको प्रमुख चुनौती रहेको संरक्षण अधिकृत पन्थ बताउँछन् ।

यथेष्ट आर्थिक अभावकाबीच पनि संरक्षणमा चुनौती रहेको छ । हिउँदमा कृष्णसारको चरीचरण क्षेत्रका आहारा घाँस सुक्ने भएकाले पनि समस्या पर्ने गरेको कार्यालयले जनाएको छ ।

प्रमुख दलहरुको सहमतिमा संविधान संशोधन हुनेछ : सञ्चारमन्त्री गुरुङ

कास्की । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रमुख दलहरुसँगको  सहमतिमा संविधान संशोधन गरिने बताएका छन् ।

कास्कीको माछापुछ्रे गाउँपालिका–१ टुसेमा निर्माण भएको नानामोहन ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको शनिबार उद्घाटन गर्दै उनले प्रमुख राजनीतिक दलहरुको सहमतिमा संविधान संशोधन गरिने बताएका हुन् । उनले संशोधनका निम्ति संविधानको समीक्षा गरिने बताए ।

गुरुङले भने, ‘सरकारमा रहेका प्रमुख दुई दलको उच्चस्तरीय राजनीतिक संयन्त्र बनेको छ । यस संयन्त्रको पहिलो काम संविधान संशोधनका लागि प्रक्रियागत काम प्रारम्भ गर्नु हुनेछ । प्रतिनिधिसभा र राष्ट्रियसभाका समितिमा विचाराधीन विधेयकहरु शीघ्र अनुमोदन गर्ने र रोकिएका विधेयक मापदण्ड तयार गरी यथाशीघ्र टुङ्गो लगाउने सरकारको योजना छ ।’ 

उनले प्रदेश र स्थानीय तहका लागि आवश्यक कानुन चाँडै निर्माण गर्न प्रक्रियागत काम सरकारले अघि बढाएको जानकारी दिए । उनले ज्येष्ठ नागरिकका लागि सेवा केन्द्र स्थापना हनु सकारात्मक हो भन्दै केन्द्र सञ्चालनका लागि सरकारका तर्फबाट सहयोग हुने  प्रतिबद्धता व्यक्त गरे । 

त्यस अवसरमा स्वीट्जरल्याण्डका एहमान स्टिफटङको पाँच करोड आर्थिक सहयोगमा निर्माण भएको दिवा सेवाकेन्द्र भवन आमास्मृति प्रतिष्ठानलाई हस्तान्तरण गरिएको थियो । भवन निर्माणका लागि स्थानीय कर्णबहादुर गुरुङले आफ्ना स्वर्गीय आमा नाना र बुबा मोहनको स्मृतिमा चार रोपनी जग्गा प्रदान गरेका थिए  ।

पिएल प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा हुनुहुन्थ्योः सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौँ महानगरपालिका पूर्वप्रमुख पिएल सिंहलाई मुलुकको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धाको रुपमा स्मरण गरेका छन् ।

कांग्रेस जिल्ला कार्यसमिति काठमाडौँद्वारा स्वर्गीय सिंहको १३औँ पुण्यतिथिमा आज भएको श्रद्धाञ्जलीसभामा पूर्वप्रधानमन्त्री देउवाले जनसम्पर्क एवं लोकप्रियताका आधारमा उनी.समकालीन नेताहरुमा धेरै अगाडि रहेको स्मरण गरे ।

सभापति देउवाले प्रजातान्त्रिक आदर्श तथा सिद्धान्तप्रति प्रतिबद्ध उनले लौहपुरुष गणेशमान सिंहको परिवारको मात्र नभई सम्पूर्ण काठमाडौँवासीको सेवामा आफ्नो जीवन समर्पण गरेको बताए । कांग्रेसको संस्थागत साङ्गठनिक विकासमा उनले निर्वाह गरेको भूमिकाको सराहना गर्दै स्वर्गीय सिंहले देखाएको बाटोमा इमान्दार भएर लाग्न पार्टीका नेता तथा कार्यकतालाई उनले आह्वान गरे ।

एनपीएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’

महोत्तरी । नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो संस्करण विजेता जनकपुर बोल्ट्सका खेलाडीहरु महोत्तरीमा शनिबार आयोजित ‘ट्रफी परेड’मा सहभागी भएका छन् ।

मधेस प्रदेशका सबै जिल्लामा विजयोत्सव मनाउने क्रममा  शनिबार महोत्तरी आइपुगेको उक्त टोलीलाई मटिहानीका नगरबासीले भव्य स्वागत गरे ।

मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल, जनप्रतिनिधि र नगरबासीले विजेता टोलीको स्वागत गरेका थिए । विजेता टिमका खेलाडीलाई पूmलका माला तथा दोसल्ला ओढाएर नगरप्रमुख मण्डलले स्वागत गर्नुभयो । खेलाडीलाई ट्रफीसहित मटिहानी नगर परिक्रमा गराइएको थियो ।

खेलाडीलाई मुलुककै जेठो विद्यालय राजकीय संस्कृत माध्यमिक विद्यालय (गुरुकूल) मटिहानीका वटुकले न्यानो स्वागत गरेका छन् । नगर परिक्रमाका क्रममा गुरुकूल परिसर पुगेका जनकपुर बोल्टसका खेलाडीलाई वटुकले वैदिक मन्त्रले स्वस्तीवाचन गरेका थिए ।

मटिहानीको स्वागत ग्रहणपछि टोली आज जलेश्वर नगरपालिकातर्फ अघि बढेको थियो । जलेश्वरका नगरप्रमुख सुरेश साह सोनारले खेलाडीहरुको स्वागत गरेका थिए । नगरबासीले जनकपुर बोल्ट्सका खेलाडीलाई काँधमा बोकेर खुशी व्यक्त गरेका थिए ।

त्यस अवसरमा नगरप्रमुख सोनारले खेलमार्फत मुलुकको प्रतिष्ठा अभिवृद्धि गर्ने खेलाडीलाई नगरमा स्वागत गर्न पाउँदा निकै खुसी लागेको बताए । विजयी टोली जलेश्वरबाट एकडारा गाउँपालिका, मनराशिशवा नगरपालिका, सम्सी र सोनमा गाउँपालिकाका विभिन्न बस्तीहरुमा विजयोत्सव मनाउँदै सर्लाहीतर्फ प्रस्थान गर्नेछन् ।

जनकपुर बोल्टस्का प्रबन्ध निर्देशक निरज खतिवडाले आम नागरिकको चासो र आफूहरुले जितमा देखिएको खुसी एवं आत्मीयताबाट आफू्हरुलाई ऊर्जा मिलेको बताए ।

जनकपुर बोल्टस्ले एनपिएल जितेको खुशियालीमा मधेस प्रदेशका आठवटै जिल्लामा विजयोत्सव मनाउँदै छ । शुक्रबार धनुषाको जनकपुरधामबाट सुरु भएको ‘ट्रफी परेड’ आज महोत्तरी, सर्लाही र रौतहटमा आयोजना गरिएको हो । टोलीले आइतबार बारा र पर्सा, सोमबार सिरहा र सप्तरी पुग्ने तालिका छ ।

क्यानाडामा लहरे खोकीका विरामीको संख्या निरन्तर वृद्धि

ओटावा । क्यानडाका विभिन्न प्रान्त र क्षेत्रमा लहरेखोकी अर्थात् १०० दिनभन्दा बढी खोकीको समस्या भएका बिरामीको सङ्ख्या बढ्दै गएको सञ्चारमाध्यमले जनाएका छन् ।

क्यानडाका स्वास्थ्य अधिकारीहरूले यस वर्ष अहिलेसम्म लहरे खोकी (पर्टुसिस) का १९ हजारभन्दा बढी विरामीमा देखिएको छ । सामान्यतया, क्यानडामा एक हजारदेखि तीन हजारसम्म सङ्क्रमित भेटिने गरेकोमा यो बर्षको सङ्क्रमण दर निकै बढी भएको देखिन्छ, क्यानडाको सीटीभी न्यूजले जनाएको छ ।

क्यानडाका प्रमुख जनस्वास्थ्य अधिकृत डा. थेरेसा टामले सन् २०२५ सम्ममा आफ्नो सबैभन्दा ठूलो स्वास्थ्य समस्याबारे उजागर गर्दै भने, ‘लहरे खोकीलाई वर्षौंसम्मको निरन्तर खोपद्वारा नियन्त्रण गरिएको थियो र यो फेरि आउनुको एक कारण लहरे खोकीको लागि दिइने नियमित बाल्यकालको खोपमा अवरोध हो ।’

सीटीभी न्युजका अनुसार क्यानाडामा रुघाखोकीलाई ‘राष्ट्रिय स्तरमा देखिएको रोग’ को रूपमा लिइनछ र यसलाई क्यानेडियाली ‘नोटिफाइबल डिजिज सर्भिलेन्स सिस्टम’मार्फत निगरानी गरिन्छ।

टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन अघि नबढाउन अदालतलाई ट्रम्पको आग्रह

वासिङ्टन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो जनवरी २० को सपथअघि टिकटक लाई चिनियाँ मालिक बाइटडान्सले बिक्री नगरे प्रतिबन्ध लगाउने कानुन रोक्न सर्वोच्च अदालतलाई आग्रह गर्दै शुक्रबार संक्षिप्त निवेदन दर्ता गरेका छन् ।

ट्रम्पको कानुनी टोलीले लेखेको छ, ‘यस मुद्दाको नवीनता र कठिनाईलाई ध्यानमा राख्दै, अदालतले यी मुद्दाहरूलाई सम्बोधन गर्न थप समय प्रदान गर्न हालको वैधानिक समयसीमालाई स्थगन गर्न विचार गर्नुपर्छ।’

ट्रम्पले सन् २०१७/०२१ को पहिलो कार्यकालमा टिकटकको चर्को विरोध गरेका थिए र राष्ट्रिय सुरक्षाको कारण देखाउँदै भिडियो एपमाथि प्रतिबन्ध लगाउने असफल प्रयास गरेका थिए ।

चिनियाँ सरकारले अमेरिकी टिकटक प्रयोगकर्ताको तथ्याङ्क चोर्न सक्ने वा प्लेटफर्ममा जे देखिन्छ त्यसमा हेरफेर गर्न सक्ने भन्दै रिपब्लिकनले चिन्ता व्यक्त गर्दै प्लेटफर्ममाथि प्रतिबन्ध लगाउन माग माग गरेको थियो ।

अन्य अमेरिकी अधिकारीहरूले पनि युवाहरूमाझ भिडियो शेयरिङ एपको लोकप्रियतामा चिन्ता व्यक्त गरेका थिए र यसको मूल कम्पनी चीनको अधीनमा रहेको र एपको प्रयोग प्रोपोगान्डा फैलाउनका लागि गरिएको आरोप लगाएका थिए ।

ट्रम्पले बिक्री मूल्यमा सरकारको साझेदारीको साथ एक अमेरिकी कम्पनीलाई टिकटक खरिद गर्न प्रस्ताव गरेका छन् । समयक्रमसँगै, ट्रम्पको टिकटकप्रतिको धारणालाई पछ्याउँदै वर्तमान राष्ट्रपति जो बाइडेन एक चरण अगाडि बढेका छन् । उनले ट्रम्पले लगाएका समान कारणहरू देखाउँदै एपलाई प्रतिबन्ध लगाउने कानूनमा हस्ताक्षर गरेका छन् तर, अहिले ट्रम्पले आफ्नो बाटो परिवर्तन गरेका छन् ।

ब्लुमबर्गसँगको कुराकानीमा उनले भनेका छन्, ‘अहिले मेरो टिकटकबारे धारणा फरक बनेको छ । म टिकटकको पक्षमा छु किनकि हामीलाई प्रतिस्पर्धाको आवश्यकता छ।’

उनले भने, ‘यदि हामीसँग टिकटक छैन भने यसको विकल्पमा जुकरबर्गको फेसबुक र इन्स्टाग्राम हुनेछ । यसको एकाधिकारले सामाजिक सञ्जालमा प्रतिस्पर्धाको वातावरण रहने छैन।’

मार्क जुकरबर्गले स्थापना गरेको फेसबुक र मेटा सामाजिक साम्राज्यको एक हिस्सा हो । फेसबुकले सन् २०२१ जनवरी ६ मा अमेरिकी संसदमा ट्रम्पका समर्थकहरूले आक्रमण गरेपछि ट्रम्पमाथि प्रतिबन्ध लगाएको थियो । यो प्रतिबन्ध ट्रम्पले थप हिंसालाई बढावा दिनको लागी प्लेटफर्मको उपयोग गर्ने चिन्ता को कारण प्रेरित रहेको दाबी मेटाको थियो ।

ट्रम्पमाथि सामाजिक सञ्जाल प्लेटफर्ममा लगाइएको प्रतिबन्ध पछि हटाइएको थियो ।

विदेशबाट आइएमईमार्फत् रकम पठाएर एक करोड जितेकी प्रमिलालाई चेक हस्तान्तरण

काठमाडौं । विदेशमा कमाएको रकम आइएमईमार्फत पठाएर १ करोड रुपैयाँ जितेकी प्रमिला रोकायालाई आइएमई ग्रुपले चेक हस्तान्तरण गरेको छ ।

जापानको क्योदाइबाट आइएमई रेमिटमार्फत रकम पठाएकी प्रमिलालाई एक करोडको चेक हस्तान्तरण गरिएको हो । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ९ स्थित बल्मी टोलकी रोकायलाई शनिवार कैलाली पुगेर ग्लोवल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले चेक हस्तान्तरण गरेका हुन् ।

चेक बुझेपछि प्रमिलाले आइएमईमार्फत रकम पठाउँदा प्राप्त भएको रकमबाट बुबा आमाका लागि घर बनाइदिने योजना बनाएको बताइन् ।

आइएमईका ब्रान्ड एम्बेसडर दीपाश्री निरौलाले गत असोजमा काठमाण्डौंमा सार्वजनिक लक्की ड्र मार्फत सेवाग्राहीको नम्बर छनोट गर्दा प्रमिला रोकाया करोडपति क्याम्पेनको भाग्यशाली विजेता बन्न सफल भएकी हुन् ।

आइएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम–रेमिटेन्स मार्फत रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले गत वर्ष सञ्चालन गरेको ‘आइएमई गरौँ,करोडपति बनौँ’ योजना अन्तर्गत भाग्यशाली सेवाग्राहीको छनोट गरिएको थियो ।

भारतका पूर्वप्रधानमन्त्री सिंहको शनिबार राजकीय सम्मानसहित अन्त्येष्टि, दिल्लीमा श्रद्धाञ्जलि दिनेको भीड

नयाँदिल्ली । भारतको आर्थिक उदारीकरणका लागि महत्वपूर्ण भूमिका खेल्नुभएका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय अन्त्येष्टि अघि उनको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्न उनका शुभचिन्तक शनिबार भारतको राजधानी दिल्लीमा भेला भएका छन् ।

सन् २००४ देखि २०१४ सम्म राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नुभएका सिंहको बिहीबार ९२ वर्षको उमेरमा निधन भएपछि सात दिनको राष्ट्रिय शोक घोषणा गरिएको छ ।

फूलको मालाले ढाकिएको उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि नयाँ दिल्लीस्थित कांग्रेस पार्टीको मुख्यालयमा लगिएको छ ।

उनको पार्थिव शरीरलाई पूर्ण राजकीय सम्मानका साथ आजै अन्त्येष्टि गरिनेछ ।

उनको अन्त्येष्टिमा प्रधानमन्त्री नरेन्द्र मोदीलगायतका नेताहरूको सहभागिता हुने बताइएको छ । प्रधानमन्त्री मोदी सिंहलाई भारतका ‘विशिष्ट नेता’ मध्ये एक व्यक्ति भएको उल्लेख गरेका छन् ।

विपक्षी काङ्ग्रेसका नेता राहुल गान्धीले आफूले एक गुरु र मार्गदर्शक गुमाएको बताउँदै सिंहले अपार बुद्धि र निष्ठाका साथ भारतको नेतृत्व गरेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले सिंहलाई ’सच्चा राजनेता’ को संज्ञा दिँदै भने, “उहाँले आगामी पुस्ताका लागि भारत र समग्र विश्वलाई बलियो बनाउने ऐतिहासिक प्रगतिको खाका तयार पार्नुभएको छ ।”

कर्मचारीबाट राजनीतिमा आउनुभएका पूर्व प्रधानमन्त्री सिंहको पहिलो कार्यकालमा आर्थिक उछालका लागि उनलाई उच्च सम्मान गर्ने गरिएको छ ।

सिंहको दोस्रो कार्यकालमा भने केही भ्रष्टाचारका ठूला काण्ड, सुस्त आर्थिक वृद्धि र उच्च मुद्रास्फीतिको शृङ्खलापछि सन् २०१४ मा काङ्ग्रेसबाट प्रतिस्पर्धी भारतीय जनता पार्टीले सत्ता लिन सफल भएको थियो ।

सन् १९३२ मा हाल पाकिस्तानमा रहेको गह गाउँमा जन्मिएका सिंहले तत्कालीन बेलायतशासित भारतमा गरिबी उन्मूलनको उपाय खोज्न अर्थशास्त्रको अध्ययन गरेको बताउने गर्थे ।

उनले क्याम्ब्रिज विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए भने अक्सफोर्डबाट विद्यावारिधी पूरा गरेका थिए ।

सिंहले वरिष्ठ निजामती सेवामा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

भारतीय केन्द्रीय बैङ्कको गभर्नरको रूपमा काम गरेका उनले संयुक्त राष्ट्र सङ्घलगायत विश्वव्यापी निकायहरूमा विभिन्न कामको नेतृत्वसमेत लिएका थिए ।

सन् १९९१ मा तत्कालीन कांग्रेस प्रधानमन्त्री पीभी नरसिंह रावले उनलाई अर्थमन्त्रीको रूपमा सेवा गर्ने र भारतलाई आधुनिक इतिहासको सबैभन्दा खराब वित्तीय सङ्कटबाट मुक्त गर्ने जिम्मा दिएका थिए । उनी अर्थमन्त्रीका रूपमा दिएको सफलताले उनलाई दुई कार्यकालसम्म प्रधानमन्त्री बन्ने बाटो खुलेको थियो ।

आफ्नो पहिलो कार्यकालमा सिंहले नौ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य प्राप्ति गर्दै भारतीय अर्थतन्त्रलाई कुशल नेतृत्व प्रदान गरेका थिए ।

उनले संयुक्त राज्य अमेरिकासँग ऐतिहासिक आणविक सम्झौतामा हस्ताक्षर गर्नुभएको थियोे जसले भारतलाई भारतको बढ्दो ऊर्जा आवश्यकता पूरा गर्न मद्दत गर्नेछ ।

भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले सिंहलाई श्रद्धाञ्जलि दिँदै भनेकी छन्, “सिंहलाई राष्ट्रका लागि उहाँको सेवा, निष्कलङ्क राजनीतिक जीवन र परम विनम्रताको लागि सधैं सम्झना गरिनेछ।”

आरजु कैलालीबाट चुनाव लड्ने

धनगढी । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अबको निर्वाचनमा कैलालीबाट उम्मेदवार बन्ने बताएकी छिन् ।

कैलालीको धनगढीमा शनिबार आयोजित कार्यकर्ता घेटघाटमा मन्त्री राणाले यस्तो बताएकी हुन् । उनले भनिन्, ‘म यहाँ आएर चुनाव लडेको थिएँ तपाईँहरु सबैले त्यो बेला पनि सहयोग गर्नुभएको हो । प्राविधिक कारणले हारियो । फेरि पनि यहीँ आएर चुनाव लड्ने मेरो विचार छ ।’

२०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राणा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेकी थिइन् । उनी नेकपा (एमाले) का उम्मेदवार नारदमुनि रानासंग पराजित भएकी थिइन् । राना २७ हजार २ सय २ मत ल्याइ विजयी भएका थिए । आरजुले २२ हजार ३ सय २२ मत ल्याएकी थिइन् ।

क्षयरोग अन्त्यका लागि ढोरपाटनका वडा तहमै खोज अभियान

गलकोट । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेयले क्षयरोगको अन्त्यका लागि प्रदेश सरकारले वडा तहमै खोज्न थालेको बताएका छन्।

शनिबार ढोरपाटन नगरपालिका–८ को सेराबाङमा आयोजित एक्सरेद्वारा छातिरोगसम्बन्धी खोजपडताल कार्यक्रमको शुभारम्भ गर्दै मुख्यमन्त्री पाण्डेले क्षयरोग समयमै पत्ता लगाउन सकेमा उक्त रोगबाट मुक्त हुन सकिने बताए। उनले डिजिटल एक्सरे लिएर वडा तहमै स्वास्थ्यकर्मी पठाइरहेको बताए ।

बिरामी नभई अस्पताल नजाने बानीको अन्त्य गर्न सचेतना आवश्यक रहेकाले समय–समयमा स्वास्थ्य परीक्षण गर्न आवश्यक रहेको बताए।

दुर्गम गाउँमा स्वास्थ्य सेवा गण्डकी प्रदेशको प्राथमिकता रहेको मुख्यमन्त्रीको भनाइ छ । साथै उनले घरमै हुने सुत्केरी गराउने चलन अन्त्य गर्न गण्डकी प्रदेश सरकारले सचेतना अभियान चलाएको गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले जानकारी दिए ।

दूरदराजका बिरामीलाई सेवा दिन बुर्तिवाङमा ५० शय्याको अस्पताल स्थापना गरेको उनको भनाइ थियो । गण्डकी प्रदेशको क्षयरोग उपचार केन्द्रको आयोजना, स्वास्थ्य कार्यालय बागलुङ र ढोरपाटन नगरपालिकाको समन्वयमा खोजपडताल थालिएको छ ।

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न, पेट्रोल र मट्टितेल आयात सुरु

बागमती । भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पाइपलाइनबाटै पेट्रोलियम पदार्थको आयात गर्न परीक्षण सुरु भएको छ । यसका लागि पेट्रोलियम पाइपलाइन विस्तारको पूरा भएसँगै परीक्षण थालिएको हो ।

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन विस्तारको सम्पूर्ण काम सकिएको र परीक्षणका लागि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल आयात गर्न थालिएको नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख प्रलयंकर आचार्यले जानकारी दिए।

“पाइपलाइन परीक्षण गर्न तत्कालका लागि विस्तार गरिएको पाइपलाइनबाटै पेट्रोल पाँच हजार पाँच सय केएल र एक हजार केएल मट्टितेल ल्याएका छौँ”, प्रमुख आचार्यले भने, “पाइपलाइनबाट ल्याइएको पेट्रोलियम पदार्थको परीक्षण भइरहेको छ ।” यससँगै पाइपलाइनबाटै पेट्रोलियम पदार्थको नियमित आयात गर्नका लागि आवश्यक तयारीसमेत भइरहेको उनले जानकारी दिए ।

उनले भने, “जनवरी २०२५ देखि पाइपलाइनबाटै पेट्रोलियम पदार्थको नियमित आयात गर्ने भनिए पनि आवश्यक तयारी पूरा नभएकाले केही दिन ढिला हुने छ ।”

पाइलाइन विस्तार परियोजनाअन्तर्गत भारतीय आयल निगमले अमलेखगञ्जस्थित डिपोमा चार हजार एक सय किलो लिटर क्षमताका दुई पेट्रोल ट्याङ्क, दुई सय ५ं० किलोलिटर क्षमताका दुई ट्रान्समिक्स ट्र्याङ्क, पेट्रोल ढुवानीका लागि २४ पूर्ण स्वचालित लोडिङ वे–रिफिलर०, पम्प हाउस र प्रयोगशाला निर्माण गरेको प्रमुख आचार्यले बताए ।

सोही परियोजनाअन्तर्गत फायर फाइटिङ सिस्टमको स्तरोन्नति, पानी र तेल छुट्याउने ओडब्ल्युएस सिस्टम तथा पिएमसिसी कक्षसमेत निर्माण गरिएको छ । सन् २०२३ भित्र सम्पूर्ण पूर्वाधार निर्माण सम्पन्न गर्नेगरी लिखिता इन्फास्ट्रक्चर प्रालिलाई ठेक्का दिइएको थियो । तर विभिन्न कारणले केही दिनअघिमात्र पाइपलाइन विस्तारको काम सकिएको प्रमुख आचार्यले बताए ।

यस्तै पेट्रोल र डिजेल दुवै हुनसक्ने मिश्रित इन्धन राख्नका लागि दुई ट्रान्समिक्स ट्र्याङ्क र डिपोभित्रको सुरक्षाका लागि तीन हजार किलोलिटर क्षमताको फायरवाटर ट्र्याङ्क भारतीय आयल निगमनले निर्माण गरिदिएको छ ।

परियोजनाअन्तर्गत पहिलो चरणको काम सम्पन्न भई गत २०७६ साल भदौ २५ गतेदेखि पाइपलाइनबाट डिजेलको आयात भइरहेको छ । परियोजनाको दोस्रो चरणको सकिएपछि पाइपलाइनबाटै पेट्रोल र मट्टितेलकोसमेत आयात हुने जनाएको छ ।

“एउटै पाइपलाइनबाट पेट्रोल र मट्टितेल आयात गर्न सम्भव भए पनि भण्डारण गर्ने क्षमता नहुँदा ट्र्याङ्करबाटै पेट्रोलियम पदार्थ ल्याउनुपर्ने बाध्यता थियो”, प्रमुख आचार्यले भने “आयोजनाको काम सम्पन्न भएपछि पेट्रोल, डिजेल र मट्टितेल गरी तीनवटै पदार्थको नियमित आयात पाइपलाइनबाटै हुन्छ ।”

मेतिहारी–अमलेखगञ्ज पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात हुदाँ प्राविधिक नोक्सानी शून्य हुने, ढुवानी भाडासमेत बचत हुने तथा वातावरणीय प्रदूषण कम गर्न सहयोग पुग्ने कार्यालय प्रमुख आचार्यको भनाइ छ ।

यो आयोजना निर्माण सम्पन्न भएसँगै अमलेखगञ्ज डिपोमा डिजेलको भण्डारण क्षमता २४ हजार आठ सय ४० किलोलिटर र पेट्रोलको भण्डारण क्षमता १६ हजार छ सय ३० किलोलिटर पुग्नेछ ।

प्रवासी नेपालीद्वारा म्याग्दीको दुई विद्यालयलाई कम्युटर सहयोग

म्याग्दी । प्रवासी नेपालीले म्याग्दीको दुई विद्यालयलाई  ६ लाख पचास हजार मूल्य बराबरको सूचना प्रविधिका सामग्री उपलब्ध गराएका छन् ।

अमेरिकास्थित वाल्टिमोरमा बसोबास गर्ने नेपाली आबद्ध लायन्स क्लब अफ वाल्टिमोर नेप्लिजले बेनी नगरपालिका–८ कालिपुलको बालमन्दिर माध्यमिक र वडा नं. २ बगरफाँटको सरस्वती आधारभूत विद्यालयलाई कम्प्युटर उपलब्ध गराएका हुन् ।

सरस्वती आधारभूत र बालमन्दिर माविको अवस्थाका विषयमा अमेरिकामा क्लबले आयोजना गरेको वृत्तचित्रको विशेष प्रदर्शनी ‘च्यारिटी सो’ मार्फत सहयोग जुटाएर सहयोग गरिएको लायन्स क्लब अफ बाल्टिमोरका अध्यक्ष बैकुण्ठमान श्रेष्ठले बताए ।

क्लबले नौ थान कम्प्युटर उपलब्ध गराएको बालमन्दिर माविमा इन्टरनेट जडान, पुराना कम्प्युटर र विद्युत् मर्मत, रंगरोगन र सन्देशमूलक चित्र सहित रु। पाँच लाख ५० हजार मूल्य बराबरको सामग्री उपलब्ध गराएको छ ।

सरस्वती आधारभूतलाई रु। एक लाख मूल्य बराबरको दुई थान कम्प्युटर र एक थान रंङ्गिन प्रिन्टर सहयोग गरेको छ । क्लबका अध्यक्ष श्रेष्ठले आज बेनी नगरपालिकाका प्रमुख सुरत केसी, बनेपा–८ का अध्यक्ष उत्तम कर्माचार्य मार्फत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रअलाई सामग्री हस्तान्तरण गरेका थिए ।

यसैगरी सरस्वती आधारभूतको कक्षा ६ की छात्रा सृष्टि विकलाई रु। ३० हजार र बालमन्दिर आधारभूतको कक्षा ८ का रिजन बिक र कक्षा ५ की सोनिया क्षेत्रीको पठनपाठनका लागि रु। १५/१५ हजार सहयोग गरेको छ ।

अमेरिकामा रहेका बालमन्दिर माविका पुर्व विद्यार्थी प्रेम चर्माकार र लायन्स क्लब अफ बेनी लभ्लिहिलको समन्वयमा विद्यालयलाई प्रविधिका सामग्री सहयोग गरिएको हो । कम्प्युटर र शैक्षिक सामग्रीले विद्यालयको पठनपाठन तथा प्रशासनिक काममा प्रविधिको प्रयोग गर्न सहयोग पुगेको बालमन्दिर माविका प्रअ सुरेन्द्र केसीले बताए ।

सवस्टेशन निर्माणका लागि हुम्लामा ११० रोपनी जग्गा अधिग्रहण

काठमाडौँ । हुम्लाको सर्केघाट गाउँपालिकामा निर्माण हुन लागेको ४००/१३२ केभी सवस्टेशन निर्माणका लागि ११० रोपनी जग्गा अधिग्रहण गरिने भएको छ ।

राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले हुम्ला र मुगु जिल्लामा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारणमा समाहित गराउन आवश्यक सवस्टेशन निर्माणका जग्गा अधिग्रहणका लागि जिल्ला प्रशासन कार्यालय हुम्लालाई अनुरोध गरेसँगै जिप्रका हुम्लाले उक्त जग्गा अधिग्रहण गर्न लागेको हो ।

राष्ट्रिय प्रसारण ग्रीड कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा.नेत्र ज्ञवालीले हुम्ला कर्णाली र मुगु कर्णालीमा उत्पादित हुने दुई हजार ५०० मेगावाट विद्युतलाई राष्ट्रिय प्रसारण ग्रीडमा आबद्ध गराउनका लागि सर्केघाटमा सवस्टेशन निर्माण गर्न लागिएको जानकारी दिए ।

डा. ज्ञवालीले उक्त सवस्टेशन निर्माणले हुम्ला र मुगु क्षेत्रको जलविद्युत् विकासमा महत्त्वपूर्ण उपलब्धिसावित हुने बताए । कैलालीको दोधराबाट सुरु भई कालिकोट भएर हुम्ला जाने यो प्रसारण लाइन करिब २२० किलोमिटरको हुनेछ । हाल कैलालीको दोधरादेखि कालिकोटको फुकोटसम्मको प्रसारण लाइन निर्माणाधीन रहेको छ ।

उक्त जग्गा अधिग्रहण गरेपश्चात् हुम्ला–कालिकोट खण्डको ९० किलोमिटर खण्डको विस्तृत इन्जिनियरिङ र वातावरण अध्ययन सुरु गरिने र दुई वर्षपछि निर्माणमा जान सकिने राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले जनाएको छ ।

पहिलो पाँच महिनामा बागमती प्रदेश सरकारको करिब १२ प्रतिशत मात्र बजेट खर्च

हेटौँडा । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनाको अवधिमा बागमती प्रदेश सरकारको खर्च निराशाजनक देखिएको छ । प्रदेश सरकारले चालु आव २०८१/८२ को साउनदेखि मङ्सिरसम्ममा कूल बजेटको करिब १२ प्रतिशत मात्र खर्च गर्न सकेको छ ।

प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार चालु आव २०८१/८२ को पाँच महिनाको अवधिमा कूल बजेटको ११ दशमलव ४२ प्रतिशत बजेट खर्च भएको छ ।

चालु आवका लागि प्रदेश सरकारले रू ६४ अर्ब ५४ करोड चार लाख ३१ हजारको बजेट ल्याएकोमा पाँच महिनामा रू सात अर्ब ३७ करोड १९ लाख २५ हजार बजेट खर्च भएको उनले बताए । बजेटमध्ये चालुको तुलनामा पुँजीगततर्फको बजेट कम खर्च भएको उनको भनाइ छ ।

विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले ३६ दशमलव २२ प्रतिशत, प्रदेशसभा सचिवालयले २३ दशमलव ९० प्रतिशत बजेट खर्च गरेको छ भने सबैभन्दा कम पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयले दुई दशमलव ५७ प्रतिशत बजेट खर्च गरेको मन्त्रालयले जनाएको छ ।

आवको पहिलो चौमासिकसम्म चालु खर्च बढी हुने र पुँजीगत खर्च कम हुने गरेको र कात्तिकदेखि मात्र कतिपय योजना कार्यान्वयनमा गएकाले अहिले खर्च कम देखिएको सूचना अधिकारी पौडेलले बताए ।