`

वर्तमान सरकारले भ्रष्टाचारको पक्षमा काम गरेको प्रचण्डको आरोप

कञ्चनपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार भ्रष्टाचारको संरक्षक भएको आरोप लगाएका छन् । कञ्चनपुरको पुनर्वासमा शनिबार आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले यो सरकारले भ्रष्टाचारको पक्षमा काम गरेको आरोप लगाएका हुन् ।

उनले माओवादी पार्टी बलियो र देशको एक नम्बरको पार्टी भए देशमा सुशासनको नयाँ युग सुरु हुने बताए । उनले आफ्नो सरकार आएपछि गिरिबन्धु, यती ओम्नी र वाइडबडीमा भएको भ्रष्टाचारको फाइल खोल्ने बताए ।

यसअघि पनि आफू नेतृत्वको सरकारले भ्रष्टाचारका फाइल खोल्न खोज्दा सरकार ढलेको बताए । उनले भने, ‘म तपाईंहरुलाई भन्न चाहन्छु–गिरीबन्धुको फाइल खुल्नेछ। त्यसलाई लुकाउने दिइने छैन। ओम्नीमा भएको भ्रष्टाचारको पनि फाइल खुल्नेछ र वाइडवडीको भ्रष्टाचार छोडिने छैन। यो सबैको निम्ति माओवादी केन्द्रलाई बलियो बनाउन जरुरी छ ।’

उनले आफू नेतृत्वको सरकारले गरेका कामका कारण देशभर माओवादी केन्द्रमा एकताबद्ध हुने र समायोजन हुने लहर चलेको बताए ।

त्रिविका दीक्षित विद्यार्थीलाई प्रधानमन्त्रीको आग्रहः विनयशील हुनु, घमण्ड नगर्नु

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली शान्तिपूर्ण, सम्मानित, समृद्ध र सुखी रुपमा बाँच्न पाउने अवस्था सृजनाका लागि प्राप्त ज्ञान प्रयोग गर्न आग्रह गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयको शनिबार आयोजित  ५०औँ दीक्षान्त समारोहमा विश्वविद्यालयलका कुलपति प्रधानमन्त्री ओलीले समाजलाई लोकतान्त्रिक, सु–संस्कृत र इमानदारपूर्ण बनाउन र विद्यावान् हुँ भन्ने कुनै घमण्ड नगरी विनयशील हुन पनि आग्रह गरे ।

प्रधानमन्त्री ओलीले उपाधि प्राप्त भएपछि अध्ययन पूरा नहुने तर्क गर्दै प्राप्त ज्ञानलाई व्यावहारिक जीवनमा उतारेर परिस्कृत गर्न आग्रह गरे । “आफैँसँग भएको विद्या व्यवहारमा उतार्न सकिएन भने त्यो विद्या काम लाग्दैन । ज्ञानलाई व्यावहारिक रुपमा र समाजको समग्र पक्षको भलाइका लागि प्रयोग गर्नुपर्छ ।”, प्रधानमन्त्री ओलीले भने, “हामीले मुलुकमा विद्यमान २० प्रतिशतको निरपेक्ष गरिबी अन्त्य गर्ने अभिभारा लिनुपर्छ । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाको यात्रालाई हामीले अगाडि बढाउनुपर्छ ।”

प्रधानमन्त्री ओलीले हाम्रो मुलुक ज्ञान, ध्यान, योग र संस्कृतिको भूमि भएको उल्लेख गर्दै पुर्खाको ज्ञानप्रति कृतज्ञ भएर उहाँहरुबाट सिक्नुपर्नेमा जोड दिए ।

प्रमुख अतिथि अर्थशास्त्री डा रामप्रकाश यादवले विद्यार्थी जीवनको सङ्घर्ष र इमानदारीले लक्ष्यप्राप्तिमा जोकोहीलाई सफलता हासिल हुने बताए ।

सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले अध्ययन–अध्यापनमा प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिइन् । विश्वविद्यालयका उपकुलपति प्रा डा केशरजङ्ग बरालले विश्वविद्यालय मातहतका क्याम्पसहरु गाभ्ने नीति लिइएको जानकारी दिए ।

हात्तीलाई बनभोज

चितवन सौराहामा  आयोजित १८औँ पर्यटन तथा हात्ती महोत्सवको शनिबार तेस्रो दिन अवसरमा हात्तीलाई बनभोज गराउँदै माउते।

तस्बिरः चन्द्रकला क्षेत्री/रासस

त्रिभुवन विश्वविद्यालयबाट १४ हजार विद्यार्थी दीक्षित

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका १४ हजार तीन सय आठ जना विद्यार्थी दीक्षित भएका छन्। प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबार आयोजित ५० औँ दीक्षान्त समारोहमा विद्यावारिधि गर्ने र सर्वोत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरे।

त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार स्नातक तहका नौ हजार ६८, स्नातकोत्तर तहका पाँच हजार ५५, एमफिलका ६३ र विद्यावारिधि (पिएचडी) का एक सय २२ जना विद्यार्थी दीक्षित भएका छन्।

त्रिभुवन विश्वविद्यालयबाट लिइएका विभिन्न तह एवं विषयका परीक्षामा सर्वप्रथम भएका विद्यार्थीलाई विभिन्न पदकबाट पुरस्कृतसमेत गरिएको छ। यस वर्षको त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ सहिद उपप्राध्यापक हरिराज अधिकारी स्वर्णपदक व्यवस्थापन संकायका हीरा श्रेष्ठलाई र श्री इन्द्रभक्त श्रेष्ठ स्वर्णपदक स्कुल अफ म्यानेजमेन्टका सुधा काफ्लेलाई प्रदान गरिएको छ।

यसैगरी, अमृत पदक रसायनशास्त्र केन्द्रीय विभागका सुशील पोखरेललाई, मदन विद्या वातावरण विज्ञान पुरस्कार वातावरण विज्ञान केन्द्रीय विभागका रिकिता भण्डारीलाई, नेपाल बैंक लिमिटेड सरदार गुञ्जमान सिंह स्वर्णपदक र रामकृष्ण न्हुच्छे प्रधान पुरस्कार काठमाडौँ मोडल कलेजका रेविका भण्डारीलाई प्रदान गरिएको छ।

नरेन्द्रमणि आचार्य दीक्षित पदक र डा. मोहनप्रसाद लाखे स्वर्णपदक रत्नराज्यलक्ष्मी क्याम्पसका सुदीक्षा घिमिरेले पाएकी छन्। शान्ति–नारायण मिश्र पदकबाट पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभागका सञ्जीवकुमार सिंह, डा. दुबसु क्षेत्री स्वर्ण पदकबाट अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागका प्रतीकराज जोशी, इमिरेट्स प्रा. डा रामप्रसाद चौधरी स्वर्ण पदकबाट वनस्पति शास्त्र केन्द्रीय विभागका श्रीणा क्षेत्री र नारायण शान्ति मिश्र पदकबाट पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका चेतना कुँवरबाछ पुरस्कृत भएका छन्।

तारपद चौधरी पदक, खगेन्द्रमान सिंह प्रधान पदक र चन्द्रराज ढुङ्गेल स्मृति पुरस्कार श्रीज्या काफ्लेले पाएका छन्। काफ्ले अर्थशास्त्र केन्द्रीय विभागकी छात्रा छन्। शील्पा विष्ट प्राज्ञिक उत्कृष्टता पुरस्कार शिक्षाशास्त्र केन्द्रीय विभागका सीताकुमारी श्रेष्ठले प्राप्त गरेकी छन्।

आप्रवासी सङ्कटका कारण सन् २०२४ मा अमेरिकामा घरबारविहीनको सङ्ख्या उच्च

वासिङटन । संयुक्त राज्य अमेरिकामा घरबार विहीनता उच्च स्तरमा पुगेको जो बाइडन प्रशासनको एक नयाँ रिपोर्टले देखाएको छ। देशमा करिब २० वर्षअघि सङ्घीय सरकारले यस बिषयमा रेकर्ड राख्न सुरु गरेको थियो ।

सन् २०२४ को जनवरीमा एकै रातमा करिब सात लाख ७२ हजार मानिस घरबारविहीन भएका थिए, जुन अघिल्लो वर्षको तुलनामा १८ प्रतिशतले बढी हो ।

ब्लुमबर्ग न्यूजले शुक्रबार सरकारी प्रतिवेदनलाई उदृत गर्दै भनेको छ, “यो सङ्ख्या सन् २०२३ को तुलनामा ३९ प्रतिशतले वृद्धि भएको र यसमध्ये ८० हजारभन्दा बढी बालबालिका भएका परिवार रहेका छन् ।’

जनवरीमा न्युयोर्क शहर, डेनभर, सिकागो र अन्य शहरहरूमा आप्रवासीहरूको आगमनले आश्रय प्रणालीलाई सङ्कटमा पार्दा पारिवारिक बेघर वा आश्रयविहीन जनसङ्ख्याको यो वृद्धि, लगभग ७ प्रतिशतले बढेको छ ।

सीमामा कमजोर सुरक्षाको कारण आप्रबासीहरूको प्रवेश बढेको र यसरी आएका आप्रबासी दक्ष र यसका कारण उनीहरू बेरोजगार बन्ने र घरबारबिहीन हुने क्रम बढ्ने गरेको छ । यसबाहेक दुव्र्यसनीका कारण पनि अमेरिकीहरूले आफ्नो आश्रयस्थल गुमाउँदा घरबारबिहीन बनने गरेका रिपोर्टमा उल्लेख गरिएको छ।

ह्वाइट हाउस र अमेरिकी आवास तथा शहरी विकास विभागका अधिकारीहरूका अनुसार बाइडेनले शरणको दाबीमाथि कडा कदम चालेपछि गत जुनदेखि नै यो सङ्कट कम भएको जनाएका छन् । अधिकारीहरूले गैरकानुनी रूपमा सीमा पार गर्ने क्रम निकै कम भएको बताएका छन् ।

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युनको पक्ष र विपक्षमा देशव्यापी विरोध प्रदर्शन

सियोल । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योलमाथि महाभियोग लगाइएको दुई सातापछि उनका समर्थक र विरोधीले शनिबार विरोध प्रदर्शन गरेका छन् ।

गत डिसेम्बरको शुरुमा सैनिक शासन लागू गर्न खोजेपछि युनको पक्ष र विपक्षमा व्यापक प्रदर्शन भएको छ र यसले देशलाई दशकौँ यताकै सबैभन्दा खराब राजनीतिक सङ्कटमा धकेलेको छ ।

युनको महाभियोग प्रक्रिया पूरा गर्न र उनलाई न्यायको कठघरामा ल्याउन माग गर्न अस्वीकार गरेपछि सांसदहरूले शुक्रबार युनको स्थानमा कार्यवाहक राष्ट्रपति बनेका हान डक–सोमाथि महाभियोग लगाएका थिए ।

युन र हानको भाग्यको फैसला संवैधानिक अदालतले गर्ने हो तर दुवै खेमाका प्रदर्शनकारीले यसबीचमा दबाब जारी राख्ने प्रतिबद्धता जनाएका छन् ।

“राष्ट्रपति युनको रक्षाका लागि करिब २० लाख मानिस एकजुट हुनेछन्,” सियोलमा आयोजित र्याली आयोजकमध्येका एक युनका समर्थक री काङ सानले भने ।

उनले भने, “महाभियोगविरुद्ध जनताको आवाजलाई अझ सशक्त बनाउने हाम्रो प्रयासलाई र्यालीले निरन्तरता दिएको छ।”

युन विरोधी र्यालीका आयोजकले उहाँविरूद्धको महाभियोगलाई समर्थन गर्नेहरुको आक्रोश ‘झनै चर्को रुपमा जलिरहेको’ बताए ।

र्यालीका सहभागीले ‘अब युनलाई तत्काल बर्खास्त गर्न र सजायको माग गरिरहेका’ बताएका छन् ।

विपक्षी र हानबीच उनले संवैधानिक अदालतमा रिक्त रहेका तीन थप न्यायाधीशहरू नियुक्त गर्न इन्कार गरेपछि द्वन्द्व बढेको र पछि यसैको शिलशिलामा उनले कोही ‘सैन्य कानुन’ कार्यान्वयन गर्ने घोषणापछि विपक्षी निलम्बित राष्ट्रपति र उहाँका मन्त्रीहरूप्रति आक्रोशित बनेका छन् ।

युनलाई महाभियोग लगाउने संसदको निर्णयलाई कायम राख्ने वा नराख्ने भन्ने विषयमा अहिलेका छ जना न्यायाधीशले निर्णय गर्न सक्ने भए पनि असहमति जनाउने मतले उनलाई पुनर्बहाली गर्नेछ ।

विपक्षीहरूले हानले नौ सदस्यीय बेन्च भर्नका लागि थप तीन जना मनोनीत व्यक्तिहरूलाई अनुमोदन गरोस् भन्ने चाहन्थे, जुन उहाँले गर्न अस्वीकार गर्नुभएको थियो । यसले गर्दा दुवै पक्ष गतिरोधमा परेका थिए।

दोस्रो महाभियोगले अर्थमन्त्री चोइ साङ मोकलाई कार्यवाहक राष्ट्रपति र प्रधानमन्त्रीको भूमिकामा नियुक्त गरेको छ । यसले देशलाई अनिश्चितताको शिकार बनाएको छ ।

इन्चोन नेसनल युनिभर्सिटीका प्राध्यापक ली जुन हानले भने, “हामीले यसअघि पनि कार्यवाहक राष्ट्रपति बनाएका थियौँ तर हामीले विकल्पको विकल्प खोज्दै एकपछि अर्को महाभियोग प्रस्तावमाथि छलफल र मतदान गरेको यो पहिलो पटक हो ।”

चोईले महाभियोगपछि जारी गरेको वक्तव्यमा भनिएको छ, “यस घडीमा सरकारी उथलपुथल कम गर्नु सबैभन्दा महत्वपूर्ण छ, सरकारले पनि आफ्नो सम्पूर्ण प्रयासलाई उथलपुथलको यस कालखण्डबाट पार पाउनका लागि समर्पित गर्नेछ ।”

हानजस्तै चोइले पनि नयाँ न्यायाधीशको नियुक्ति स्वीकार गर्न विपक्षीको दबाबको सामना गर्नुपर्नेछ । यदि उनले अस्वीकार गरेमा उनले पनि महाभियोगको सामना गर्नु पर्ने अवस्था आउनसक्छ ।

कृष्णसारको आहाराका लागि संरक्षण क्षेत्रभित्रै अनाज खेती

गुलरिया । कृष्णसारको आहारा सङ्कट टार्न बर्दियाको खैरापुरमा मौसमीखेती थालिएको छ । संरक्षण क्षेत्रभित्रै कृष्णसारको वासस्थान परिसरको आठ हेक्टर क्षेत्रफलमा खेती गरिएको छ ।

हिउँदमा कृष्णसारको आहारा मासिएपछि कृष्णसार संरक्षण क्षेत्रमा मौसमीखेती गर्नुपरेको कृष्णसार संरक्षण क्षेत्रका संरक्षण अधिकृत भोजराज पन्थले बताए ।

उनले भने, ‘पहिलो चरण गरिएको खेतीमा गहुँ, मकै, केराउ, मसुरोलगायत अनाज छरेका छौँ । यसले केही दिनलाई कृष्णसारको आहाराको जोहो हुन्छ ।’ पहिलो पटक छरेको अनाज कृष्णसारले खाएर सकेपछि पुनः दोस्रो चरणमा छर्ने तयारी कार्यालयको छ ।

वन्यजन्तु संरक्षण ऐन, २०२९ ले सूचीकृत गरेको वन्यजन्तु कृष्णसार प्राकृतिक बासस्थानमा लोप हुने खतरा बढेपछि सरकारले संरक्षण क्षेत्र घोषणा गरी यसको संरक्षण थालनी गरेको हो । कृष्णसारको प्राकृतिक वासस्थान खैरापुरमा सिरुलगायत दुबो पनि लगाइएको छ । कृष्णसारले यस्तो दुबोको टुसा खान मन पराउने बताइएको छ ।

गुलरिया नगरपालिकाको खैरी पटाहा क्षेत्रको प्राकृतिक वासस्थानमा भाले, पोथी बच्चा गरी दुई सय १७ वटा कृष्णसार रहेको कृष्णसार संक्षण क्षेत्र कार्यालयको तथ्याङ्क छ ।

कृष्णसारको बासस्थान अतिक्रमण, चरीचरण क्षेत्रमा पार्थेनियमलगायत मिचाहा प्रजाति, छाडा पशुको खुला चरीचरण कृष्णसार संरक्षणको प्रमुख चुनौती रहेको संरक्षण अधिकृत पन्थ बताउँछन् ।

यथेष्ट आर्थिक अभावकाबीच पनि संरक्षणमा चुनौती रहेको छ । हिउँदमा कृष्णसारको चरीचरण क्षेत्रका आहारा घाँस सुक्ने भएकाले पनि समस्या पर्ने गरेको कार्यालयले जनाएको छ ।

प्रमुख दलहरुको सहमतिमा संविधान संशोधन हुनेछ : सञ्चारमन्त्री गुरुङ

कास्की । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रमुख दलहरुसँगको  सहमतिमा संविधान संशोधन गरिने बताएका छन् ।

कास्कीको माछापुछ्रे गाउँपालिका–१ टुसेमा निर्माण भएको नानामोहन ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको शनिबार उद्घाटन गर्दै उनले प्रमुख राजनीतिक दलहरुको सहमतिमा संविधान संशोधन गरिने बताएका हुन् । उनले संशोधनका निम्ति संविधानको समीक्षा गरिने बताए ।

गुरुङले भने, ‘सरकारमा रहेका प्रमुख दुई दलको उच्चस्तरीय राजनीतिक संयन्त्र बनेको छ । यस संयन्त्रको पहिलो काम संविधान संशोधनका लागि प्रक्रियागत काम प्रारम्भ गर्नु हुनेछ । प्रतिनिधिसभा र राष्ट्रियसभाका समितिमा विचाराधीन विधेयकहरु शीघ्र अनुमोदन गर्ने र रोकिएका विधेयक मापदण्ड तयार गरी यथाशीघ्र टुङ्गो लगाउने सरकारको योजना छ ।’ 

उनले प्रदेश र स्थानीय तहका लागि आवश्यक कानुन चाँडै निर्माण गर्न प्रक्रियागत काम सरकारले अघि बढाएको जानकारी दिए । उनले ज्येष्ठ नागरिकका लागि सेवा केन्द्र स्थापना हनु सकारात्मक हो भन्दै केन्द्र सञ्चालनका लागि सरकारका तर्फबाट सहयोग हुने  प्रतिबद्धता व्यक्त गरे । 

त्यस अवसरमा स्वीट्जरल्याण्डका एहमान स्टिफटङको पाँच करोड आर्थिक सहयोगमा निर्माण भएको दिवा सेवाकेन्द्र भवन आमास्मृति प्रतिष्ठानलाई हस्तान्तरण गरिएको थियो । भवन निर्माणका लागि स्थानीय कर्णबहादुर गुरुङले आफ्ना स्वर्गीय आमा नाना र बुबा मोहनको स्मृतिमा चार रोपनी जग्गा प्रदान गरेका थिए  ।

पिएल प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा हुनुहुन्थ्योः सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौँ महानगरपालिका पूर्वप्रमुख पिएल सिंहलाई मुलुकको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धाको रुपमा स्मरण गरेका छन् ।

कांग्रेस जिल्ला कार्यसमिति काठमाडौँद्वारा स्वर्गीय सिंहको १३औँ पुण्यतिथिमा आज भएको श्रद्धाञ्जलीसभामा पूर्वप्रधानमन्त्री देउवाले जनसम्पर्क एवं लोकप्रियताका आधारमा उनी.समकालीन नेताहरुमा धेरै अगाडि रहेको स्मरण गरे ।

सभापति देउवाले प्रजातान्त्रिक आदर्श तथा सिद्धान्तप्रति प्रतिबद्ध उनले लौहपुरुष गणेशमान सिंहको परिवारको मात्र नभई सम्पूर्ण काठमाडौँवासीको सेवामा आफ्नो जीवन समर्पण गरेको बताए । कांग्रेसको संस्थागत साङ्गठनिक विकासमा उनले निर्वाह गरेको भूमिकाको सराहना गर्दै स्वर्गीय सिंहले देखाएको बाटोमा इमान्दार भएर लाग्न पार्टीका नेता तथा कार्यकतालाई उनले आह्वान गरे ।

एनपीएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’

महोत्तरी । नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो संस्करण विजेता जनकपुर बोल्ट्सका खेलाडीहरु महोत्तरीमा शनिबार आयोजित ‘ट्रफी परेड’मा सहभागी भएका छन् ।

मधेस प्रदेशका सबै जिल्लामा विजयोत्सव मनाउने क्रममा  शनिबार महोत्तरी आइपुगेको उक्त टोलीलाई मटिहानीका नगरबासीले भव्य स्वागत गरे ।

मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल, जनप्रतिनिधि र नगरबासीले विजेता टोलीको स्वागत गरेका थिए । विजेता टिमका खेलाडीलाई पूmलका माला तथा दोसल्ला ओढाएर नगरप्रमुख मण्डलले स्वागत गर्नुभयो । खेलाडीलाई ट्रफीसहित मटिहानी नगर परिक्रमा गराइएको थियो ।

खेलाडीलाई मुलुककै जेठो विद्यालय राजकीय संस्कृत माध्यमिक विद्यालय (गुरुकूल) मटिहानीका वटुकले न्यानो स्वागत गरेका छन् । नगर परिक्रमाका क्रममा गुरुकूल परिसर पुगेका जनकपुर बोल्टसका खेलाडीलाई वटुकले वैदिक मन्त्रले स्वस्तीवाचन गरेका थिए ।

मटिहानीको स्वागत ग्रहणपछि टोली आज जलेश्वर नगरपालिकातर्फ अघि बढेको थियो । जलेश्वरका नगरप्रमुख सुरेश साह सोनारले खेलाडीहरुको स्वागत गरेका थिए । नगरबासीले जनकपुर बोल्ट्सका खेलाडीलाई काँधमा बोकेर खुशी व्यक्त गरेका थिए ।

त्यस अवसरमा नगरप्रमुख सोनारले खेलमार्फत मुलुकको प्रतिष्ठा अभिवृद्धि गर्ने खेलाडीलाई नगरमा स्वागत गर्न पाउँदा निकै खुसी लागेको बताए । विजयी टोली जलेश्वरबाट एकडारा गाउँपालिका, मनराशिशवा नगरपालिका, सम्सी र सोनमा गाउँपालिकाका विभिन्न बस्तीहरुमा विजयोत्सव मनाउँदै सर्लाहीतर्फ प्रस्थान गर्नेछन् ।

जनकपुर बोल्टस्का प्रबन्ध निर्देशक निरज खतिवडाले आम नागरिकको चासो र आफूहरुले जितमा देखिएको खुसी एवं आत्मीयताबाट आफू्हरुलाई ऊर्जा मिलेको बताए ।

जनकपुर बोल्टस्ले एनपिएल जितेको खुशियालीमा मधेस प्रदेशका आठवटै जिल्लामा विजयोत्सव मनाउँदै छ । शुक्रबार धनुषाको जनकपुरधामबाट सुरु भएको ‘ट्रफी परेड’ आज महोत्तरी, सर्लाही र रौतहटमा आयोजना गरिएको हो । टोलीले आइतबार बारा र पर्सा, सोमबार सिरहा र सप्तरी पुग्ने तालिका छ ।

क्यानाडामा लहरे खोकीका विरामीको संख्या निरन्तर वृद्धि

ओटावा । क्यानडाका विभिन्न प्रान्त र क्षेत्रमा लहरेखोकी अर्थात् १०० दिनभन्दा बढी खोकीको समस्या भएका बिरामीको सङ्ख्या बढ्दै गएको सञ्चारमाध्यमले जनाएका छन् ।

क्यानडाका स्वास्थ्य अधिकारीहरूले यस वर्ष अहिलेसम्म लहरे खोकी (पर्टुसिस) का १९ हजारभन्दा बढी विरामीमा देखिएको छ । सामान्यतया, क्यानडामा एक हजारदेखि तीन हजारसम्म सङ्क्रमित भेटिने गरेकोमा यो बर्षको सङ्क्रमण दर निकै बढी भएको देखिन्छ, क्यानडाको सीटीभी न्यूजले जनाएको छ ।

क्यानडाका प्रमुख जनस्वास्थ्य अधिकृत डा. थेरेसा टामले सन् २०२५ सम्ममा आफ्नो सबैभन्दा ठूलो स्वास्थ्य समस्याबारे उजागर गर्दै भने, ‘लहरे खोकीलाई वर्षौंसम्मको निरन्तर खोपद्वारा नियन्त्रण गरिएको थियो र यो फेरि आउनुको एक कारण लहरे खोकीको लागि दिइने नियमित बाल्यकालको खोपमा अवरोध हो ।’

सीटीभी न्युजका अनुसार क्यानाडामा रुघाखोकीलाई ‘राष्ट्रिय स्तरमा देखिएको रोग’ को रूपमा लिइनछ र यसलाई क्यानेडियाली ‘नोटिफाइबल डिजिज सर्भिलेन्स सिस्टम’मार्फत निगरानी गरिन्छ।

टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन अघि नबढाउन अदालतलाई ट्रम्पको आग्रह

वासिङ्टन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो जनवरी २० को सपथअघि टिकटक लाई चिनियाँ मालिक बाइटडान्सले बिक्री नगरे प्रतिबन्ध लगाउने कानुन रोक्न सर्वोच्च अदालतलाई आग्रह गर्दै शुक्रबार संक्षिप्त निवेदन दर्ता गरेका छन् ।

ट्रम्पको कानुनी टोलीले लेखेको छ, ‘यस मुद्दाको नवीनता र कठिनाईलाई ध्यानमा राख्दै, अदालतले यी मुद्दाहरूलाई सम्बोधन गर्न थप समय प्रदान गर्न हालको वैधानिक समयसीमालाई स्थगन गर्न विचार गर्नुपर्छ।’

ट्रम्पले सन् २०१७/०२१ को पहिलो कार्यकालमा टिकटकको चर्को विरोध गरेका थिए र राष्ट्रिय सुरक्षाको कारण देखाउँदै भिडियो एपमाथि प्रतिबन्ध लगाउने असफल प्रयास गरेका थिए ।

चिनियाँ सरकारले अमेरिकी टिकटक प्रयोगकर्ताको तथ्याङ्क चोर्न सक्ने वा प्लेटफर्ममा जे देखिन्छ त्यसमा हेरफेर गर्न सक्ने भन्दै रिपब्लिकनले चिन्ता व्यक्त गर्दै प्लेटफर्ममाथि प्रतिबन्ध लगाउन माग माग गरेको थियो ।

अन्य अमेरिकी अधिकारीहरूले पनि युवाहरूमाझ भिडियो शेयरिङ एपको लोकप्रियतामा चिन्ता व्यक्त गरेका थिए र यसको मूल कम्पनी चीनको अधीनमा रहेको र एपको प्रयोग प्रोपोगान्डा फैलाउनका लागि गरिएको आरोप लगाएका थिए ।

ट्रम्पले बिक्री मूल्यमा सरकारको साझेदारीको साथ एक अमेरिकी कम्पनीलाई टिकटक खरिद गर्न प्रस्ताव गरेका छन् । समयक्रमसँगै, ट्रम्पको टिकटकप्रतिको धारणालाई पछ्याउँदै वर्तमान राष्ट्रपति जो बाइडेन एक चरण अगाडि बढेका छन् । उनले ट्रम्पले लगाएका समान कारणहरू देखाउँदै एपलाई प्रतिबन्ध लगाउने कानूनमा हस्ताक्षर गरेका छन् तर, अहिले ट्रम्पले आफ्नो बाटो परिवर्तन गरेका छन् ।

ब्लुमबर्गसँगको कुराकानीमा उनले भनेका छन्, ‘अहिले मेरो टिकटकबारे धारणा फरक बनेको छ । म टिकटकको पक्षमा छु किनकि हामीलाई प्रतिस्पर्धाको आवश्यकता छ।’

उनले भने, ‘यदि हामीसँग टिकटक छैन भने यसको विकल्पमा जुकरबर्गको फेसबुक र इन्स्टाग्राम हुनेछ । यसको एकाधिकारले सामाजिक सञ्जालमा प्रतिस्पर्धाको वातावरण रहने छैन।’

मार्क जुकरबर्गले स्थापना गरेको फेसबुक र मेटा सामाजिक साम्राज्यको एक हिस्सा हो । फेसबुकले सन् २०२१ जनवरी ६ मा अमेरिकी संसदमा ट्रम्पका समर्थकहरूले आक्रमण गरेपछि ट्रम्पमाथि प्रतिबन्ध लगाएको थियो । यो प्रतिबन्ध ट्रम्पले थप हिंसालाई बढावा दिनको लागी प्लेटफर्मको उपयोग गर्ने चिन्ता को कारण प्रेरित रहेको दाबी मेटाको थियो ।

ट्रम्पमाथि सामाजिक सञ्जाल प्लेटफर्ममा लगाइएको प्रतिबन्ध पछि हटाइएको थियो ।

विदेशबाट आइएमईमार्फत् रकम पठाएर एक करोड जितेकी प्रमिलालाई चेक हस्तान्तरण

काठमाडौं । विदेशमा कमाएको रकम आइएमईमार्फत पठाएर १ करोड रुपैयाँ जितेकी प्रमिला रोकायालाई आइएमई ग्रुपले चेक हस्तान्तरण गरेको छ ।

जापानको क्योदाइबाट आइएमई रेमिटमार्फत रकम पठाएकी प्रमिलालाई एक करोडको चेक हस्तान्तरण गरिएको हो । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ९ स्थित बल्मी टोलकी रोकायलाई शनिवार कैलाली पुगेर ग्लोवल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले चेक हस्तान्तरण गरेका हुन् ।

चेक बुझेपछि प्रमिलाले आइएमईमार्फत रकम पठाउँदा प्राप्त भएको रकमबाट बुबा आमाका लागि घर बनाइदिने योजना बनाएको बताइन् ।

आइएमईका ब्रान्ड एम्बेसडर दीपाश्री निरौलाले गत असोजमा काठमाण्डौंमा सार्वजनिक लक्की ड्र मार्फत सेवाग्राहीको नम्बर छनोट गर्दा प्रमिला रोकाया करोडपति क्याम्पेनको भाग्यशाली विजेता बन्न सफल भएकी हुन् ।

आइएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम–रेमिटेन्स मार्फत रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले गत वर्ष सञ्चालन गरेको ‘आइएमई गरौँ,करोडपति बनौँ’ योजना अन्तर्गत भाग्यशाली सेवाग्राहीको छनोट गरिएको थियो ।

भारतका पूर्वप्रधानमन्त्री सिंहको शनिबार राजकीय सम्मानसहित अन्त्येष्टि, दिल्लीमा श्रद्धाञ्जलि दिनेको भीड

नयाँदिल्ली । भारतको आर्थिक उदारीकरणका लागि महत्वपूर्ण भूमिका खेल्नुभएका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय अन्त्येष्टि अघि उनको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्न उनका शुभचिन्तक शनिबार भारतको राजधानी दिल्लीमा भेला भएका छन् ।

सन् २००४ देखि २०१४ सम्म राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नुभएका सिंहको बिहीबार ९२ वर्षको उमेरमा निधन भएपछि सात दिनको राष्ट्रिय शोक घोषणा गरिएको छ ।

फूलको मालाले ढाकिएको उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि नयाँ दिल्लीस्थित कांग्रेस पार्टीको मुख्यालयमा लगिएको छ ।

उनको पार्थिव शरीरलाई पूर्ण राजकीय सम्मानका साथ आजै अन्त्येष्टि गरिनेछ ।

उनको अन्त्येष्टिमा प्रधानमन्त्री नरेन्द्र मोदीलगायतका नेताहरूको सहभागिता हुने बताइएको छ । प्रधानमन्त्री मोदी सिंहलाई भारतका ‘विशिष्ट नेता’ मध्ये एक व्यक्ति भएको उल्लेख गरेका छन् ।

विपक्षी काङ्ग्रेसका नेता राहुल गान्धीले आफूले एक गुरु र मार्गदर्शक गुमाएको बताउँदै सिंहले अपार बुद्धि र निष्ठाका साथ भारतको नेतृत्व गरेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले सिंहलाई ’सच्चा राजनेता’ को संज्ञा दिँदै भने, “उहाँले आगामी पुस्ताका लागि भारत र समग्र विश्वलाई बलियो बनाउने ऐतिहासिक प्रगतिको खाका तयार पार्नुभएको छ ।”

कर्मचारीबाट राजनीतिमा आउनुभएका पूर्व प्रधानमन्त्री सिंहको पहिलो कार्यकालमा आर्थिक उछालका लागि उनलाई उच्च सम्मान गर्ने गरिएको छ ।

सिंहको दोस्रो कार्यकालमा भने केही भ्रष्टाचारका ठूला काण्ड, सुस्त आर्थिक वृद्धि र उच्च मुद्रास्फीतिको शृङ्खलापछि सन् २०१४ मा काङ्ग्रेसबाट प्रतिस्पर्धी भारतीय जनता पार्टीले सत्ता लिन सफल भएको थियो ।

सन् १९३२ मा हाल पाकिस्तानमा रहेको गह गाउँमा जन्मिएका सिंहले तत्कालीन बेलायतशासित भारतमा गरिबी उन्मूलनको उपाय खोज्न अर्थशास्त्रको अध्ययन गरेको बताउने गर्थे ।

उनले क्याम्ब्रिज विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए भने अक्सफोर्डबाट विद्यावारिधी पूरा गरेका थिए ।

सिंहले वरिष्ठ निजामती सेवामा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

भारतीय केन्द्रीय बैङ्कको गभर्नरको रूपमा काम गरेका उनले संयुक्त राष्ट्र सङ्घलगायत विश्वव्यापी निकायहरूमा विभिन्न कामको नेतृत्वसमेत लिएका थिए ।

सन् १९९१ मा तत्कालीन कांग्रेस प्रधानमन्त्री पीभी नरसिंह रावले उनलाई अर्थमन्त्रीको रूपमा सेवा गर्ने र भारतलाई आधुनिक इतिहासको सबैभन्दा खराब वित्तीय सङ्कटबाट मुक्त गर्ने जिम्मा दिएका थिए । उनी अर्थमन्त्रीका रूपमा दिएको सफलताले उनलाई दुई कार्यकालसम्म प्रधानमन्त्री बन्ने बाटो खुलेको थियो ।

आफ्नो पहिलो कार्यकालमा सिंहले नौ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य प्राप्ति गर्दै भारतीय अर्थतन्त्रलाई कुशल नेतृत्व प्रदान गरेका थिए ।

उनले संयुक्त राज्य अमेरिकासँग ऐतिहासिक आणविक सम्झौतामा हस्ताक्षर गर्नुभएको थियोे जसले भारतलाई भारतको बढ्दो ऊर्जा आवश्यकता पूरा गर्न मद्दत गर्नेछ ।

भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले सिंहलाई श्रद्धाञ्जलि दिँदै भनेकी छन्, “सिंहलाई राष्ट्रका लागि उहाँको सेवा, निष्कलङ्क राजनीतिक जीवन र परम विनम्रताको लागि सधैं सम्झना गरिनेछ।”

आरजु कैलालीबाट चुनाव लड्ने

धनगढी । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अबको निर्वाचनमा कैलालीबाट उम्मेदवार बन्ने बताएकी छिन् ।

कैलालीको धनगढीमा शनिबार आयोजित कार्यकर्ता घेटघाटमा मन्त्री राणाले यस्तो बताएकी हुन् । उनले भनिन्, ‘म यहाँ आएर चुनाव लडेको थिएँ तपाईँहरु सबैले त्यो बेला पनि सहयोग गर्नुभएको हो । प्राविधिक कारणले हारियो । फेरि पनि यहीँ आएर चुनाव लड्ने मेरो विचार छ ।’

२०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राणा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेकी थिइन् । उनी नेकपा (एमाले) का उम्मेदवार नारदमुनि रानासंग पराजित भएकी थिइन् । राना २७ हजार २ सय २ मत ल्याइ विजयी भएका थिए । आरजुले २२ हजार ३ सय २२ मत ल्याएकी थिइन् ।

क्षयरोग अन्त्यका लागि ढोरपाटनका वडा तहमै खोज अभियान

गलकोट । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेयले क्षयरोगको अन्त्यका लागि प्रदेश सरकारले वडा तहमै खोज्न थालेको बताएका छन्।

शनिबार ढोरपाटन नगरपालिका–८ को सेराबाङमा आयोजित एक्सरेद्वारा छातिरोगसम्बन्धी खोजपडताल कार्यक्रमको शुभारम्भ गर्दै मुख्यमन्त्री पाण्डेले क्षयरोग समयमै पत्ता लगाउन सकेमा उक्त रोगबाट मुक्त हुन सकिने बताए। उनले डिजिटल एक्सरे लिएर वडा तहमै स्वास्थ्यकर्मी पठाइरहेको बताए ।

बिरामी नभई अस्पताल नजाने बानीको अन्त्य गर्न सचेतना आवश्यक रहेकाले समय–समयमा स्वास्थ्य परीक्षण गर्न आवश्यक रहेको बताए।

दुर्गम गाउँमा स्वास्थ्य सेवा गण्डकी प्रदेशको प्राथमिकता रहेको मुख्यमन्त्रीको भनाइ छ । साथै उनले घरमै हुने सुत्केरी गराउने चलन अन्त्य गर्न गण्डकी प्रदेश सरकारले सचेतना अभियान चलाएको गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले जानकारी दिए ।

दूरदराजका बिरामीलाई सेवा दिन बुर्तिवाङमा ५० शय्याको अस्पताल स्थापना गरेको उनको भनाइ थियो । गण्डकी प्रदेशको क्षयरोग उपचार केन्द्रको आयोजना, स्वास्थ्य कार्यालय बागलुङ र ढोरपाटन नगरपालिकाको समन्वयमा खोजपडताल थालिएको छ ।

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न, पेट्रोल र मट्टितेल आयात सुरु

बागमती । भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पाइपलाइनबाटै पेट्रोलियम पदार्थको आयात गर्न परीक्षण सुरु भएको छ । यसका लागि पेट्रोलियम पाइपलाइन विस्तारको पूरा भएसँगै परीक्षण थालिएको हो ।

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन विस्तारको सम्पूर्ण काम सकिएको र परीक्षणका लागि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल आयात गर्न थालिएको नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख प्रलयंकर आचार्यले जानकारी दिए।

“पाइपलाइन परीक्षण गर्न तत्कालका लागि विस्तार गरिएको पाइपलाइनबाटै पेट्रोल पाँच हजार पाँच सय केएल र एक हजार केएल मट्टितेल ल्याएका छौँ”, प्रमुख आचार्यले भने, “पाइपलाइनबाट ल्याइएको पेट्रोलियम पदार्थको परीक्षण भइरहेको छ ।” यससँगै पाइपलाइनबाटै पेट्रोलियम पदार्थको नियमित आयात गर्नका लागि आवश्यक तयारीसमेत भइरहेको उनले जानकारी दिए ।

उनले भने, “जनवरी २०२५ देखि पाइपलाइनबाटै पेट्रोलियम पदार्थको नियमित आयात गर्ने भनिए पनि आवश्यक तयारी पूरा नभएकाले केही दिन ढिला हुने छ ।”

पाइलाइन विस्तार परियोजनाअन्तर्गत भारतीय आयल निगमले अमलेखगञ्जस्थित डिपोमा चार हजार एक सय किलो लिटर क्षमताका दुई पेट्रोल ट्याङ्क, दुई सय ५ं० किलोलिटर क्षमताका दुई ट्रान्समिक्स ट्र्याङ्क, पेट्रोल ढुवानीका लागि २४ पूर्ण स्वचालित लोडिङ वे–रिफिलर०, पम्प हाउस र प्रयोगशाला निर्माण गरेको प्रमुख आचार्यले बताए ।

सोही परियोजनाअन्तर्गत फायर फाइटिङ सिस्टमको स्तरोन्नति, पानी र तेल छुट्याउने ओडब्ल्युएस सिस्टम तथा पिएमसिसी कक्षसमेत निर्माण गरिएको छ । सन् २०२३ भित्र सम्पूर्ण पूर्वाधार निर्माण सम्पन्न गर्नेगरी लिखिता इन्फास्ट्रक्चर प्रालिलाई ठेक्का दिइएको थियो । तर विभिन्न कारणले केही दिनअघिमात्र पाइपलाइन विस्तारको काम सकिएको प्रमुख आचार्यले बताए ।

यस्तै पेट्रोल र डिजेल दुवै हुनसक्ने मिश्रित इन्धन राख्नका लागि दुई ट्रान्समिक्स ट्र्याङ्क र डिपोभित्रको सुरक्षाका लागि तीन हजार किलोलिटर क्षमताको फायरवाटर ट्र्याङ्क भारतीय आयल निगमनले निर्माण गरिदिएको छ ।

परियोजनाअन्तर्गत पहिलो चरणको काम सम्पन्न भई गत २०७६ साल भदौ २५ गतेदेखि पाइपलाइनबाट डिजेलको आयात भइरहेको छ । परियोजनाको दोस्रो चरणको सकिएपछि पाइपलाइनबाटै पेट्रोल र मट्टितेलकोसमेत आयात हुने जनाएको छ ।

“एउटै पाइपलाइनबाट पेट्रोल र मट्टितेल आयात गर्न सम्भव भए पनि भण्डारण गर्ने क्षमता नहुँदा ट्र्याङ्करबाटै पेट्रोलियम पदार्थ ल्याउनुपर्ने बाध्यता थियो”, प्रमुख आचार्यले भने “आयोजनाको काम सम्पन्न भएपछि पेट्रोल, डिजेल र मट्टितेल गरी तीनवटै पदार्थको नियमित आयात पाइपलाइनबाटै हुन्छ ।”

मेतिहारी–अमलेखगञ्ज पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात हुदाँ प्राविधिक नोक्सानी शून्य हुने, ढुवानी भाडासमेत बचत हुने तथा वातावरणीय प्रदूषण कम गर्न सहयोग पुग्ने कार्यालय प्रमुख आचार्यको भनाइ छ ।

यो आयोजना निर्माण सम्पन्न भएसँगै अमलेखगञ्ज डिपोमा डिजेलको भण्डारण क्षमता २४ हजार आठ सय ४० किलोलिटर र पेट्रोलको भण्डारण क्षमता १६ हजार छ सय ३० किलोलिटर पुग्नेछ ।

प्रवासी नेपालीद्वारा म्याग्दीको दुई विद्यालयलाई कम्युटर सहयोग

म्याग्दी । प्रवासी नेपालीले म्याग्दीको दुई विद्यालयलाई  ६ लाख पचास हजार मूल्य बराबरको सूचना प्रविधिका सामग्री उपलब्ध गराएका छन् ।

अमेरिकास्थित वाल्टिमोरमा बसोबास गर्ने नेपाली आबद्ध लायन्स क्लब अफ वाल्टिमोर नेप्लिजले बेनी नगरपालिका–८ कालिपुलको बालमन्दिर माध्यमिक र वडा नं. २ बगरफाँटको सरस्वती आधारभूत विद्यालयलाई कम्प्युटर उपलब्ध गराएका हुन् ।

सरस्वती आधारभूत र बालमन्दिर माविको अवस्थाका विषयमा अमेरिकामा क्लबले आयोजना गरेको वृत्तचित्रको विशेष प्रदर्शनी ‘च्यारिटी सो’ मार्फत सहयोग जुटाएर सहयोग गरिएको लायन्स क्लब अफ बाल्टिमोरका अध्यक्ष बैकुण्ठमान श्रेष्ठले बताए ।

क्लबले नौ थान कम्प्युटर उपलब्ध गराएको बालमन्दिर माविमा इन्टरनेट जडान, पुराना कम्प्युटर र विद्युत् मर्मत, रंगरोगन र सन्देशमूलक चित्र सहित रु। पाँच लाख ५० हजार मूल्य बराबरको सामग्री उपलब्ध गराएको छ ।

सरस्वती आधारभूतलाई रु। एक लाख मूल्य बराबरको दुई थान कम्प्युटर र एक थान रंङ्गिन प्रिन्टर सहयोग गरेको छ । क्लबका अध्यक्ष श्रेष्ठले आज बेनी नगरपालिकाका प्रमुख सुरत केसी, बनेपा–८ का अध्यक्ष उत्तम कर्माचार्य मार्फत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रअलाई सामग्री हस्तान्तरण गरेका थिए ।

यसैगरी सरस्वती आधारभूतको कक्षा ६ की छात्रा सृष्टि विकलाई रु। ३० हजार र बालमन्दिर आधारभूतको कक्षा ८ का रिजन बिक र कक्षा ५ की सोनिया क्षेत्रीको पठनपाठनका लागि रु। १५/१५ हजार सहयोग गरेको छ ।

अमेरिकामा रहेका बालमन्दिर माविका पुर्व विद्यार्थी प्रेम चर्माकार र लायन्स क्लब अफ बेनी लभ्लिहिलको समन्वयमा विद्यालयलाई प्रविधिका सामग्री सहयोग गरिएको हो । कम्प्युटर र शैक्षिक सामग्रीले विद्यालयको पठनपाठन तथा प्रशासनिक काममा प्रविधिको प्रयोग गर्न सहयोग पुगेको बालमन्दिर माविका प्रअ सुरेन्द्र केसीले बताए ।

सवस्टेशन निर्माणका लागि हुम्लामा ११० रोपनी जग्गा अधिग्रहण

काठमाडौँ । हुम्लाको सर्केघाट गाउँपालिकामा निर्माण हुन लागेको ४००/१३२ केभी सवस्टेशन निर्माणका लागि ११० रोपनी जग्गा अधिग्रहण गरिने भएको छ ।

राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले हुम्ला र मुगु जिल्लामा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारणमा समाहित गराउन आवश्यक सवस्टेशन निर्माणका जग्गा अधिग्रहणका लागि जिल्ला प्रशासन कार्यालय हुम्लालाई अनुरोध गरेसँगै जिप्रका हुम्लाले उक्त जग्गा अधिग्रहण गर्न लागेको हो ।

राष्ट्रिय प्रसारण ग्रीड कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा.नेत्र ज्ञवालीले हुम्ला कर्णाली र मुगु कर्णालीमा उत्पादित हुने दुई हजार ५०० मेगावाट विद्युतलाई राष्ट्रिय प्रसारण ग्रीडमा आबद्ध गराउनका लागि सर्केघाटमा सवस्टेशन निर्माण गर्न लागिएको जानकारी दिए ।

डा. ज्ञवालीले उक्त सवस्टेशन निर्माणले हुम्ला र मुगु क्षेत्रको जलविद्युत् विकासमा महत्त्वपूर्ण उपलब्धिसावित हुने बताए । कैलालीको दोधराबाट सुरु भई कालिकोट भएर हुम्ला जाने यो प्रसारण लाइन करिब २२० किलोमिटरको हुनेछ । हाल कैलालीको दोधरादेखि कालिकोटको फुकोटसम्मको प्रसारण लाइन निर्माणाधीन रहेको छ ।

उक्त जग्गा अधिग्रहण गरेपश्चात् हुम्ला–कालिकोट खण्डको ९० किलोमिटर खण्डको विस्तृत इन्जिनियरिङ र वातावरण अध्ययन सुरु गरिने र दुई वर्षपछि निर्माणमा जान सकिने राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले जनाएको छ ।

पहिलो पाँच महिनामा बागमती प्रदेश सरकारको करिब १२ प्रतिशत मात्र बजेट खर्च

हेटौँडा । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनाको अवधिमा बागमती प्रदेश सरकारको खर्च निराशाजनक देखिएको छ । प्रदेश सरकारले चालु आव २०८१/८२ को साउनदेखि मङ्सिरसम्ममा कूल बजेटको करिब १२ प्रतिशत मात्र खर्च गर्न सकेको छ ।

प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार चालु आव २०८१/८२ को पाँच महिनाको अवधिमा कूल बजेटको ११ दशमलव ४२ प्रतिशत बजेट खर्च भएको छ ।

चालु आवका लागि प्रदेश सरकारले रू ६४ अर्ब ५४ करोड चार लाख ३१ हजारको बजेट ल्याएकोमा पाँच महिनामा रू सात अर्ब ३७ करोड १९ लाख २५ हजार बजेट खर्च भएको उनले बताए । बजेटमध्ये चालुको तुलनामा पुँजीगततर्फको बजेट कम खर्च भएको उनको भनाइ छ ।

विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले ३६ दशमलव २२ प्रतिशत, प्रदेशसभा सचिवालयले २३ दशमलव ९० प्रतिशत बजेट खर्च गरेको छ भने सबैभन्दा कम पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयले दुई दशमलव ५७ प्रतिशत बजेट खर्च गरेको मन्त्रालयले जनाएको छ ।

आवको पहिलो चौमासिकसम्म चालु खर्च बढी हुने र पुँजीगत खर्च कम हुने गरेको र कात्तिकदेखि मात्र कतिपय योजना कार्यान्वयनमा गएकाले अहिले खर्च कम देखिएको सूचना अधिकारी पौडेलले बताए ।

अजरबैजानको विमान खस्नुमा रुस जिम्मेवार हुनसक्छ : अमेरिका

बीबीसी । ह्वाइटहाउसका प्रवक्ता जोन किर्बीले अजरबैजान एयरलाइन्स दुर्घटनाग्रस्त भएको घटनामा रुस जिम्मेवार हुनसक्ने “प्रारम्भिक सङ्केत“ अमेरिकाले पाएको बताएका छन् ।

गत बुधबार भएको दुर्घटनामा ३८ जनाको मृत्यु भएको थियो । किर्बीले त्यसबारे थप व्याख्या गरेनन् । तर उनले दुर्घटनाको अनुसन्धानका लागि अमेरिकाले सहायता गर्ने प्रस्ताव गरेको बताए । चेचन्यामा अवतरणको प्रयास गर्ने क्रममा उक्त विमानमा रुसी हवाई प्रतिरक्षा प्रणालीबाट प्रहार भएको ठानिएको छ ।

तर पछि उक्त विमान त्यसो नगरीकन क्यास्पिअन सागरतर्फ मोडिँदै काजाकस्तानतर्फ लागेको थियो जहाँ त्यो दुर्घटना हुन पुग्यो । यसबारे क्रेमलिनले प्रतिक्रिया जनाउन अस्वीकार गरेको छ । तर रुसी नागरिक उड्डयन निकायले चेचन्याको अवस्था त्यसमा हुने युक्रेनी ड्रोन हमलाका कारण ‘निकै जटिल’ रहेको जनाएको छ ।

किर्बीका अनुसार अमेरिकाले पाएका सङ्केत दुर्घटनाग्रस्त विमानका व्यापक रूपमा फैलिएका तस्बिरभन्दा भिन्न रहेको जनाएको वासिङ्टन पोस्टले लेखेको छ । अजरबैजानका उड्डयन विज्ञ र अन्यले ’इलेक्ट्रोनिक जामिङ’का कारण विमानको जीपिएस प्रणालीहरू प्रभावित भएको र त्यसपछि त्यो रुसी हवाई प्रतिरक्षा क्षेप्यास्त्र विस्फोटनबाट निस्किएको छर्रा लागेर नस्ट भएको बताएका छन् ।

अजरबैजानले रुसलाई आरोप नलगाए तापनि उक्त विमान ‘बाह्य हस्तक्षेप’को मारमा परेको र अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको त्यहाँका यातायात मन्त्रीले बताएका छन् । नबियबले अनुसन्धानहरूले ‘कस्ता खले अस्त्र वा अझ कस्तो खाले रकेट प्रयोग भएको थियो’ भनेर जाँच गर्ने बताए ।

सिचुवानको जहाज र उराठिलो माछापुछ्रे

राम थापा, गण्डकी । माछापुछ्रे हिमालको पृष्ठभूमिमा उडिरहेको सिचुवान एयरलाइन्सको जहाजको तस्बिर कैद गर्ने पोखराकी फोटो पत्रकार राधिका कँडेलले उक्त तस्बिरलाई लिएर धेरैको प्रशंसा बटुलिन्। राष्ट्रिय समाचार समितिका लागि उनले खिचेको उक्त तस्बिरलाई बीबीसीदेखि विभिन्न राष्ट्रिय/अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रयोग गरेका छन्। कैयन सामाजिक सञ्जाल प्रयोगकर्ताले जहाजको तस्बिर साझा गरेका छन्।

प्रवर्द्धनात्मक उडानका क्रममा पोखराका पत्रकार र व्यवसायीलाई लिएर बिहीबार दिउँसो काठमाडौंतर्फ गइरहेका बेला फोटो पत्रकार कँडेलले उक्त जहाजको तस्बिर खिचेकी थिइन्। त्यसअघि चार्टर उडानमार्फत पोखरामा आयोजित दोस्रो अन्तर्राष्ट्रिय ‘ड्रागन बोट रेस’ मा सहभागी हुने चिनियाँ खेलाडीलाई लिएर उक्त जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको उक्त जहाज माछापुछ्रे हिमालको नजिकबाट उडिरहेको दृश्य जति मनमोहक छ, त्योभन्दा कम छैन उक्त तस्बिरमा छचल्किएको हिमालको पीडा ! ‘कुमारी हिमाल’को पगरी पाएको माछापुछ्रे मध्य जाडोमा पनि फुस्रो र निर्जन छ। हिउँबिनाको चुचुरो फुङ्ग उडेको उराठिलो छ। त्रिभुजाकारको कालापत्थर छेउबाट जहाज उडेझैँ देखिन्छ। हिमालमा सेताम्मे हिउँ हुँदो त अझ कति खुल्दो उक्त तस्बिरको सौन्दर्य ?

प्रकृति र वातावरणप्रेमी जो कोहीको मनमा उब्जने प्रश्न हो यो। यो माछापुछ्रे मात्र नभएर हिउँविहीन बन्दै गएका हाम्रा हिमालहरूको साझा र दुःखदायी कथा हो। हिमालय क्षेत्रले झेलिरहेको वातावरणीय सङ्कटको ज्वलन्त प्रमाण हो। वर्षायाममा नाङ्गा र काला देखिने हिमाल अहिले हिउँदमा पनि उस्तै देखिन थालेका छन्। पुस महिना आधाउधी बितिसक्दा पनि हिउँ पर्ने कुनै छेकछन्द छैन।

जाडोको खासै महसुस गर्न नपाइ हिउँद बिताउनुपरेको अनुभव नौलो हुन छाडेका छन्। हामीले हेर्दाहेर्दै हिमालबाट हिउँ घटिरहेको छ, यसरी हिउँ निथ्रिदै गए हिमाल कसरी जोगिएलान् ? हिउँबिनाको हिमाल के हिमाल ! हिउँ भए र पो हिमालहरू छन्। हिउँबिना त ति केबल नाङ्गा र उजाड कालापत्थर न हुन्। हिमालबाट यसरी नै हिउँ रित्तिँदै गए हिमाल नियाल्न आउने पर्यटक पनि एकदिन निरास हुनेछन्। हिमालको सौन्दर्य र शोभा हराउँदै गए त्यसको प्रत्यक्ष असर नेपालको पर्यटन क्षेत्रले पनि अवश्य भोग्नेछ। विश्वव्यापी रूपमा गहिरिँदो जलवायु सङ्कटको सबैभन्दा ठूलो मार नेपालका हिमालमा परेको सो क्षेत्रका विज्ञ र अध्येताहरू बताउँछन्।

पर्यावरणीय अध्येता कुलचन्द्र अर्यालका अनुसार जलवायु सङ्कटको नकारात्मक असर पर्ने विश्वकै सबैभन्दा बढी संवेदनशील क्षेत्रमा नेपालको हिमालय क्षेत्र पर्छ। ‘विश्वको औषत तामपान वृद्धिको दरभन्दा हिमालय क्षेत्रको तापमान वृद्धि बढी उच्च रहेको छ’, उनी भन्छन्, ‘विश्वको औषत तापमान एक दशमलव पाँच प्रतिशतले बढ्दा हिमालय क्षेत्रमा एक दशमलव आठदेखि दुई डिग्री सेल्सियससम्म बढ्ने गरेको अध्ययनले देखाएको छ।’

जलवायु परिर्वतन र उष्णीकरणले नेपालको हिमालय क्षेत्रमा नकारात्मक असर पुर्‍याइरहेको पर्यावरणीय अध्यता अर्यालको भनाइ छ। विश्वव्यापी तापमान वृद्धिका कारण हिमालय क्षेत्रमा हिमगलन बढ्नुका साथै नयाँ हिमताल थपिने, विस्तार हुने र विष्फोटन हुने दर बढीरहेको उनी बताउँन्छन्। कम वर्षा र हिमपात उच्च हुने हिमाली क्षेत्रमा पछिल्लो समय अनपेक्षित रूपमा उच्च वर्षा हुँदा बाढीपहिरोका घटना बढीरहेको वातावरणीय अध्येता अर्यालको भनाइ छ।

कमजोर भू–बनोट, वनस्पतिविहीन नाँगो र भिरालो जमिन भएका कारणले हिमाली क्षेत्रले वर्षा थेग्न नसक्ने र त्यसले बाढीपहिरो तथा लेदो बग्ने समस्या निम्ताउने गरेको छ। सोही कारण हिमालय क्षेत्रमा अप्रत्यासति प्राकृतिक विपद्का घटना निम्तिने गरेका छन्। जलवायु विज्ञ डा विमल रेग्मीले अहिलेकै गतिमा हिउँ पग्लिँदै गएमा आउँदा केही दशकमा नेपालका हिमालहरू कालापत्थरमा परिणत हुने बताउँछन्।

विश्वव्यापी तापक्रम वृद्धिलाई एक दशमलव पाँच डिग्री सेल्सियसमा सीमित पार्दा पनि यही शताब्दीको अन्त्यसम्ममा हिन्दूकुश–हिमालय क्षेत्रको ३६ प्रतिशत हिउँ भण्डार रित्तिने अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द (इसिमोड)को अध्ययनले देखाएको डा रेग्मीको भनाइ छ। ‘अहिले नै विश्वव्यापी तापक्रम एक दशमलव एक डिग्री सेल्सियसले वृद्धि भएकामा पृथ्वीको तापमान दुई डिग्रीले बढ्ने हो भने हिमालय क्षेत्रको आधा हिउँ सकिने उक्त अध्ययनको निचोड छ’, डा रेग्मी भन्छन्, ‘हरित ग्यास उत्सर्जनलाई नियन्त्रण गर्न विश्वले उपयुक्त कदम नचाल्ने हो भने हिमालय क्षेत्रमा गम्भीर सङ्कट निम्तने खतरा छ, कुनै दिन हिमालको अस्तित्व नै नासिन सक्छ।’

उनका अनुसार सन् २०१५ मा भएको ‘पेरिस सम्झौता’मा संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धीका पक्ष राष्ट्रहरूले विश्वव्यापी तापक्रम वृद्धिलाई एक दशमलव पाँच डिग्री सेल्सियसमा सीमित पार्ने र दुई डिग्री सेल्सियसभन्दा बढ्न नदिने सहमति गरेका थिए। पृथ्वीको तापमान बढ्नुको मुख्य कारण हरित ग्याँसको उत्सर्जन रहेको डा रेग्मीको भनाइ छ। ‘कार्बनडाइअक्साइड, मिथेन जस्ता मानव उत्सर्जित हरितगृह ग्यासले सूर्यको तापक्रम सोसेर राख्ने हुँदा पृथ्वीको तापक्रम बढ्छ’, उनी भन्छन्, ‘विश्वव्यापी तापमान वृद्धिका कारण निम्तिएको जलवायु सङ्कटको ठूलो मार हाम्रा हिमालहरूमा परिरहेको छ।’

हिमालय क्षेत्रको तापक्रम अन्य क्षेत्रको भन्दा पाँच गुणा बढी अर्थात् बर्सेनि शून्य दशमलव ००६ प्रतिशतले बढिरहेको विभिन्न अध्ययनले देखाएको छ। जलवायुजन्य प्रकोपका घटना हिमालय क्षेत्रमा बढी भइरहेका छन्। हिउँ पुग्लेर हिमताल बन्ने क्रम बढ्दो छ। हिमनदी सुक्दै गएका छन्। हिमालको पारिस्थितिकीय प्रणालीमा उथलपुथल भइरहेको छ। जलवायु परिवर्तनका कारण पानीको चक्र फेरिएको छ। मनसुन ढिलो हुने, हिउँ नपर्ने, कुनैबेला हाँडीघोप्टे वर्षा हुने जस्ता समस्याहरू देखिन थालेका छन्।

जलवायु विज्ञ डा रेग्मीले हिमालबाट हिउँ हराउँदै गएमा पानीमा आधारित कृषि र जनजीवनमा ठूलो असर पर्ने बताए। हिमालय क्षेत्र दक्षिण एसियाका झण्डै दुई अर्ब मानिसको पानीको स्रोत रहेको उहाँको भनाइ छ। ‘हिमालमा हिउँ नरहे, नदीका स्रोत सुक्छन्, त्यसले तल्लो तटीय क्षेत्रका बासिन्दाको जीविकोपार्जनदेखि खानेपानी, सिँचाइ, कृषि आदिमा भयानक सङ्कट निम्तिन सक्छ’, उनी भन्छन्।

जलवायुजन्य घटना र हानिनोक्सानीका कारण नेपालको कुल गार्हस्थ्य उत्पादनमा वार्षिक दुई दशमलव पाँच प्रतिशतले ह्रास आइरहेको बताइन्छ। यो शताब्दीको अन्त्यसम्ममा १० देखि १२ प्रतिशतसम्म ह्रास हुने वन तथा वातावरण मन्त्रालयको अध्ययनले देखाएको छ। जलवायु न्यायको विषय रहेको भन्दै पर्यावरण संरक्षणमा अन्तर्राष्ट्रिय स्रोत जुटाउन सरकारले पहल लिनुपर्ने विज्ञहरूले बताउँदै आएका छन्।

अन्तर्राष्ट्रियस्तरका जलवायु तथा वातावरण कोषमा नेपालले पहुँच पुर्‍याउनु आवश्यक रहेको र जलवायुको विषयलाई सरकारले आफ्नो नीति तथा कार्यक्रममा मूल प्रवाहीकरण गर्नुपर्ने उनीहरूको सुझाव छ। जलवायु परिर्वतको कारकको रूपमा रहेको हरितगृह ग्यास उत्सर्जनमा नगन्य भूमिका हुँदाहुँदै पनि त्यसको असर खेप्नु परिरहेकाले नेपालले जलवायुजन्य हानिनोक्सानीको पुनर्भरण अर्थात् क्षतिपूर्ति प्राप्तिका लागि विश्वमञ्चमा आफ्नो आवाज सशक्त बनाउनुपर्ने जरूरी देखिन्छ।

कानुन संशोधनमा ढिलाइ हुँदा बजेट निर्माण कार्य प्रभावित

काठमाडौं । कानुन संशोधनमा ढिलाइ हुँदा सङ्घीय सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण कार्य प्रभावित भएको छ ।

सङ्घीय समपूरक तथा विशेष अनुदानसम्बन्धी कार्यविधि संशोधन हुन नसकेको भन्दै राष्ट्रिय योजना आयोगले ती शीर्षकमा प्रदेश र स्थानीय तहबाट योजना तथा कार्यक्रम माग्ने प्रक्रिया नै स्थगित गरेको छ ।

अर्कोतर्फ, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ संसदमा अड्किँदा आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया कसरी अघि बढाउने भनेर अर्थ मन्त्रालयसमेत अलमलमा छ ।

सङ्घीय समपूरक तथा विशेष अनुदानसम्बन्धी विद्यमान कार्यविधिको व्यवस्थाअनुसार योजना आयोगले प्रत्येक वर्ष मङ्सिर मसान्तभित्र सूचना प्रकाशन गरी प्रदेश र स्थानीय तहबाट आगामी आवका लागि यी शीर्षकको अनुदानमा सञ्चालन हुने आयोजना तथा कार्यक्रमको प्रस्ताव माग गरिसक्नुपर्छ ।

त्यस्तै, प्रदेश र स्थानीय तहले पुस मसान्तभित्रमा यस्तो अनुदान लिनका लागि आयोगमा प्रस्ताव पेस गरिसक्नुपर्ने हुन्छ ।

तर, गत कात्तिक ३० गते प्रधानमन्त्रीको अध्यक्षतामा बसेको राष्ट्रिय विकास समस्या समाधान समिति (एनडेक) को ५३ औं बैठकले समपूरक र विशेष अनुदानसम्बन्धी मौजुदा कार्यविधि संशोधन गर्ने निर्णय गरेपछि योजना आयोगले यी शीर्षकमा योजना तथा कार्यक्रमको प्रस्ताव माग्ने प्रक्रिया रोकेको हो ।

एनडेकले कार्यविधिको मस्यौदा तयार पारी तीन महिनाभित्र मन्त्रिपरिषद्मा पेस गर्न आयोगलाई निर्देशन दिएको थियो ।

समपूरक र विशेष अनुदानका योजना तथा कार्यक्रमको प्रस्ताव माग गर्न केही ढिलाइ हुने भए पनि नयाँ र परिस्कृत कार्यविधिअनुसार यो प्रक्रिया अघि बढ्ने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीको भनाइ छ ।

‘समपूरक र विशेष अनुदानसम्बन्धी कार्यविधिमा सुधार गरेर त्यसलाई समतामूलक बनाउन खोजेका हौँ । आयोगबाट कार्यविधि संशोधन भएर मन्त्रिपरिषद्मा पठाउने प्रक्रियामा छ’, उपाध्यक्ष अधिकारीले भने, ‘योजना प्रस्ताव माग गर्ने समय केहि ढिला हुने भए पनि विगतमा भन्दा परिस्कृत, समावेशी तथा समतामूलक ढङ्गले अनुदान बाँडफाँट हुनेछ । यी शीर्षकको अनुदान लिनका प्रस्ताव आह्वान गर्ने समय बढाइदिन्छौँ ।’

स्थानीय तह एवं प्रदेशको वित्तीय क्षमताअनुसार समपुरक अनुदानमा लगानीको हिस्सा वित्तीय क्षमतामैत्री हुनेगरी र सामाजिक–आर्थिक समता अभिवृद्धिमा योगदान दिने गरी समपूरक अनुदानसम्बन्धी कार्यविधि संशोधन गर्ने निर्णय एनडेक बैठकले गरेको थियो ।

त्यस्तै, विशेष अनुदानअन्तर्गत सञ्चालन भएका आयोजनारकार्यक्रमलाई सन्तुलित विकास गर्न, विभेदमा परेको वर्ग वा समुदायको उत्थान एवं विकासमा योगदान दिनेगरी मौजुदा कार्यविधिमा संशोधन गर्न लागिएको ‘एनडेक’ निर्णयमा उल्लेख छ ।

सरकारले हरेक वर्ष ल्याउने बजेटका सिद्धान्त एवं प्राथमिकता र नीति तथा कार्यक्रममाथि पर्याप्त छलफल हुन नसकेको र तारतम्यसमेत नमिलेको भन्दै सदनमा पटक–पटक कुरा उठ्ने गरेको थियो ।

‘बजेट क्यालेण्डर’ नमिलेकोले यसलाई संशोधन गर्नुपर्ने विषय संसदमा बारम्बार उठ्न थालेपछि गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटको बुँदा नम्बर २९ मा ‘आगामी आर्थिक वर्षदेखि मन्त्रालयगत बजेट सीमा निर्धारण भएपश्चात् फागुन मसान्तभित्र विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सङ्घीय संसदमा पेस गर्ने व्यवस्था मिलाइने’ उल्लेख गरियो ।

बजेटको यही व्यवस्था कार्यान्वयनका लागि सरकारले गत वर्ष माघमा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८०’ जारी गर्‍यो ।

उक्त अध्यादेशले सरकारलाई बजेटका सिद्धान्त तथा प्राथमिकता फागुन १५ गतेभित्रै संसदमा पेस गर्न बाटो खोल्यो भने बजेटको सीमा (सिलिङ) तोकिसक्ने साविकको समयसीमामा पनि संशोधन गरेको थियो ।

सोही अध्यादेशबाटै चालु आव २०८१/८२ को बजेटका सिद्धान्त प्राथमिकता, नीति तथा कार्यक्रम र बजेटसमेत ल्याइयो । तर उक्त अध्यादेश तोकिएको समयमा संसदबाट पारित हुन सकेन र खारेज भयो ।

अध्यादेश खारेज भए पनि बजेट क्यालेण्डर संशोधन गर्नका लागि सरकारले गत साउन ३२ गते ‘आर्थिक कार्यविधि तथा उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ प्रतिनिधिसभामा दर्ता गरेको छ ।

तर आगामी आर्थिक वर्षको बजेट बनाउँदा विद्यमान ऐनको समय तालिका पछ्याउने वा गत वर्ष अध्यादेशमा राखिएको र अहिले संसदमा विचाराधीन रहेको विधेयकको व्यवस्थाअनुसार जाने भन्नेमा अर्थ मन्त्रालय र योजना आयोग स्पष्ट हुन सकेको छैन ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन संशोधन प्रक्रिया र आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि कस्तो क्यालेण्डर बनाएर अघि बढ्ने भनेर सरकार चनाखो रहेको योजना आयोगका उपाध्यक्ष अधिकारीले बताए । तर कुन बजेट क्यालेण्डर पछ्याउने भन्ने विषयमा अझै स्पष्ट हुन नसकेको उनले स्वीकारे ।

त्यस्तै, अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराई ‘बजेट क्यालेण्डर’ नबिग्रने दावी गरे । ‘विगतका वर्षमा जस्तै स्थापित समय तालिकाबमोजिम बजेट तर्जुमाको काम अगाडि बढ्छ’, उनले भने ।

गत वर्षको अभ्यासअनुसार जाने हो भने सरकारले आउँदो फागुन १५ गतेभित्र आगामी आव २०८२/८३ को बजेटका सिद्धान्त र प्राथमिकता संसदमा पेस गरिसक्नुपर्ने हुन्छ ।

त्यसका लागि सरकारलाई कानुनी अड्चन छ । संसदको हिउँदे अधिवेशन नै कहिलेबाट सुरू हुन्छ भन्ने यकिन नभइसकेको अहिलेको अवस्थामा प्रतिनिधिसभामा विचाराधीन आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक चाँडो पारित भएर आउने र सोहीअनुसार सरकारले बजेट बनाउने सम्भावना न्यून छ ।

सोही कारण संसदबाट विधेयक फिर्ता लिएर यस वर्ष पनि अध्यादेशकै बाटो अपनाउने विकल्प माथि पनि अर्थ मन्त्रालयले आन्तरिक तयारी गरिरहेको छ । यद्यपि, संसद् चलेको अवस्थामा अध्यादेश ल्याउनुको साँटो विधेयकलाई नै चाँडो पारित गर्न जोडबल गर्न सकिने पनि अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

संशोधन किन आवश्यक ?

सङ्घीय सरकारबाट प्रदेश र स्थानीय तहलाई जाने समपूरक र विशेष शीर्षकको अनुदान वैज्ञानिक, वस्तुनिष्ठ र समतामूलक हुन नसकेको भन्दै लामो समयदेखि आलोचना भइरहेको थियो ।

यही विषयलाई सम्बोधन गर्न गत कात्तिक अन्तिम साता बसेको एनडेक बैठकले समपूरक अनुदानसम्बन्धी (तेस्रो संशोधन) कार्यविधि, २०७७ र विशेष अनुदानसम्बन्धी (तेस्रो संशोधन) कार्यविधि, २०७७ संशोधनका लागि मस्यौदा तयार पार्न राष्ट्रिय योजना आयोगलाई निर्देशन दिएको थियो ।

विद्यमान कार्यविधिअनुसार सङ्घीय समपूरक अनुदान पाउने योजना तथा कार्यक्रमका लागि कूल लागतको ५० प्रतिशत सम्बन्धित स्थानीय तह वा प्रदेशले व्यहोर्छ भने ५० प्रतिशत रकम सङ्घीय सरकारले उपलब्ध गराउँछ । तर राजस्वका आन्तरिक स्रोत नभएका, आर्थिकरूपमा कमजोर तथा दुर्गमका स्थानीय तहले ५० प्रतिशत लागत पनि व्यहोर्न सक्ने क्षमता हुन्थेन ।

आधा लागत सम्बन्धित स्थानीय तह वा प्रदेशले व्यहोर्नुपर्ने भएपछि उनीहरू आफ्नो स्रोत अभावमा योजना तथा कार्यक्रम प्रस्ताव नै गर्न नसक्ने अवस्था हुन्थ्यो । जसकारण स्रोतको समन्यायिक वितरणका लागि लागत साझेदारी घटाएर कम गर्नेगरी कार्यविधि संशोधन प्रक्रिया अघि बढेको थियो ।

संसद्मा विचाराधीन रहेको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ मार्फत मुख्यगरी बजेट क्यालेण्डर संशोधन गर्न लागिएको छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ ऐनको दफा ११ (१) मा प्रत्येक आवको लागि विनियोजन विधेयक पेस गर्नुभन्दा कम्तीमा १५ दिन अगावै अर्थमन्त्रीले विनियोजन विधेयकमा समावेश हुने सरकारका बजेट तथा कार्यक्रमका सिद्धान्त र आयोजना वा कार्यक्रमको प्राथमिकताको विवरण सङ्घीय संसद्मा प्रस्तुत गरिसक्नुपर्ने व्यवस्था रहेको थियो ।

यो व्यवस्थालाई विधेयकमार्फत संशोधन गरी ‘विनियोजन विधेयक ल्याइनुभन्दा तीन महिनाअगावै बजेटका सिद्धान्त र प्राथमिकतामा संसदमा पेस गरिनुपर्ने’ व्यवस्था ल्याउन लागिएको छ । त्यस्तै, बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकता माथि संसदमा छलफल भएर एक महिनाभित्र सरकारलाई सुझाव जाने व्यवस्था विधेयकमा राखिएको छ ।

विद्यमान ऐनअनुसार बजेटका सिद्धान्त तथा प्राथमिकता संसद्मा प्रस्तुत भएको सात दिनभित्र सांसदहरूले सुझाव सरकारलाई दिइसक्नुपर्ने हुन्छ ।

विधेयकमार्फत आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको दफा ७ मा संशोधन प्रस्ताव गरिएको छ । ऐनको उक्त दफामा स्रोतको अनुमान र खर्चको सीमा निर्धारण गर्ने (सिलिङ) सम्बन्धी व्यवस्था रहेको छ ।

दफा ७ (१) मा योजना आयोगले अर्थ मन्त्रालयसँगको समन्वयमा मध्यमकालीन खर्च संरचना तथा आगामी आवको बजेट र कार्यक्रम तर्जुमा गर्ने प्रयोजनका लागि आगामी तीन वर्षमा उपलब्ध हुने स्रोत तथा गर्न सकिने खर्चको सीमाको पूर्वअनुमान चालु आवको माघ १५ गतेभित्र गरिसक्नुपर्नेछ भनी व्यवस्था रहेको छ ।

विधेयकमा उक्त व्यवस्थालाई संशोधन गरी माघ मसान्तसम्म गरिसक्नुपर्ने व्यवस्था राखिएको छ ।

त्यस्तै, ऐनको दफा ८ (१) मा पनि संशोधन गर्न लागिएको छ । उक्त दफामा योजना आयोगले स्रोत अनुमान समितिबाट निर्धारित स्रोत तथा खर्चको सीमाको अधिनमा रही आगामी तीन वर्षको बजेट तर्जुमाका लागि बजेट सीमा, मध्यमकालीन खर्च संरचनाको खाकासमेत उल्लेख गरी बजेट तर्जुमासम्बन्धी मार्गदर्शन तथा ढाँचा चालु आवको माघ मसान्तभित्र सम्बन्धित मन्त्रालय, आयोग, सचिवालय वा निकायमा पठाइसक्नुपर्नेछ भनी व्यवस्था छ ।

तर, विधेयकले यो व्यवस्थामा संशोधन गरी स्रोत समितिले बजेट सिलिङ र मध्यमकालीन खर्च संरचनासम्बन्धी विवरण फागुन ७ गतेभित्र सम्बन्धित मन्त्रालयमा पठाइसक्न भनिएको छ ।

त्यसैगरी आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको दफा ६५ मा उल्लेखित नियम, कार्यविधि वा निर्देशिका बनाउने अधिकारमा पनि संशोधन गर्न लागिएको छ ।

ऐनको दफा ६५ (२) मा महालेखा नियन्त्रक कार्यालयले प्राविधिक मार्गदर्शन, कार्यविधि निर्देशिका तथा दिग्दर्शन बनाउन सक्नेछ भनी व्यवस्था रहेकोमा त्यसलाई संशोधन गरी अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयले उक्त काम गर्नुपर्ने व्यवस्था ल्याउन लागिएको छ ।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश वस्तीको हृदयघातबाट निधन

काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ । हृदयघातका कारण शुक्रबार राति उनको निधन भएको परिवारले जनाएको छ ।

नयाँबजारस्थित निवासमा गएराति हृदयाघात भएपछि वस्तीलाई थापाथलीस्थित नर्भिक अस्पताल पुर्याइएको थियो । तर उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । वस्तीका श्रीमती, ३ छोरी र १ छोरा छन् ।

उनले ६ वर्ष सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीश भएर सेवा गरेका थिए । २२ भदौं २०६५ मा नियुक्त भएका उनी पदावधि नथपिएपछि २९ चैत, २०७० मा अस्थाथी न्यायाधीशबाटै अवकाश भएका थिए ।

शेरा दरबारको जग्गा सरकारको नाममा ल्याउनुपर्ने अनुसन्धानको निष्कर्ष

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नुवाकोटस्थित शेरा दरबारको झण्डै एक सय ६८ रोपनी जग्गा दुरुपयोग भएकाले सरकारको नाममा ल्याउनुपर्ने निष्कर्ष निकालेको छ । 

सिआइबीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले अनुसन्धानमा जग्गा दुरुपयोग भएको पाइएकाले मालपोत ऐनअनुसार जग्गा सरकारको नाममा ल्याउनुपर्ने भनी भूमि व्यवस्थापन तथा अभिलेख विभागमा पत्राचार गरिएको जानकारी दिए ।
उनले उक्त जग्गाका विषयमा अख्तियारलाई समेत जानकारीसहितको पत्र पठाइएको बताए ।  सीआईबीले चार महिनाभन्दा बढी लगाएर उक्त जग्गाको अनुसन्धान गरेको जनाएको छ ।

तत्कालीन राजा पृथ्वीनारायण शाहले नुवाकोटमा एक सय ८४ रोपनीमा शीतकालीन दरबार निर्माण गरेका र त्यो जग्गामा अधिकांश व्यक्तिको फर्ममा पुगेको अनुसन्धानमा फेला परेको सीआइबीले जनाएको छ ।  पछिल्लो समयमा उक्त जग्गा व्यक्तिले लिएको विषयमा समाचार बाहिर आएको थियो । 

कञ्चनपुरमा प्रहरी जवानले आफैंमाथि गरे गोली प्रहार

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत एकजना प्रहरी जवानले आफैंलाई गोली प्रहार गरेका छन् । शुक्रबार साँझ प्रहरी जवान चक्रप्रसाद न्यौपानेले आफैंले आफैंमाथि गोली प्रहार गरेका हुन् । कार्यालयको हतियार राख्ने कोठाभित्र उनले आफूमाथि गोली चलाएका थिए ।

प्रहरीका अनुसार, गोली उनको निधारमा लागेको छ। घाइते न्यौपानेलाई तत्काल महाकाली अस्पताल पुर्याइएको थियो। तर, त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि अहिले धनगढी रेफर गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार, न्यौपाने फायरिङ तालिममा संलग्न थिए । हातहतियार मिलाउने र रेकर्ड राख्ने जिम्मा उनीमाथि थियो । घटना कसरी र किन भयो भन्ने विषयमा अनुसन्धान भइरहेको छ । न्यौपाने अछाम जिल्लाका स्थायी बासिन्दा हुन् ।

रास्वपाको केन्द्रीय संगठन विभाग र अनुशासन आयोगमा पाँच सदस्य मनोनयन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय विभाग र आयोगमा केही सदस्यहरू मनोनयन गरेको छ । शुक्रबार पार्टीका कार्यवाहक सभापति डीपी अर्यालको अध्यक्षतामा बसेको सचिवालय बैठकले केन्द्रीय संगठन विभाग र अनुशासन आयोगमा सदस्यहरू मनोनयन गरेको हो ।

केन्द्रीय अनुशासन आयोगमा नवलपरासीका कमलप्रसाद पोखरेल र ताप्लेजुङका हरिचन्द्र भट्टराई मनोनित भएका छन् ।

यस्तै केन्द्रीय संगठन विभागमा लमजुङका धर्म केसी, रूपन्देहीका गोपाल घिमिरे र सिरहाका डा विमल तिवारी मनोनित भएका छन् । बैठकले पार्टीको केन्द्रीय समितिको विस्तारित बैठक पुस १९, २० र २१ गते बस्ने निर्णय पनि गरेको छ ।

एकीकृत समाजवादी र एकता राष्ट्रिय अभियानबीच एकता प्रक्रिया सुरु

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) र एकता राष्ट्रिय अभियानबीच एकता प्रक्रिया सुरु भएको छ ।

दुवै पार्टीका तर्फबाट कार्यदल गठन गरी एकताका लागि वैचारिक दृष्टिकोण, कार्यदिशा, व्यवस्थापकीय जिम्मेवारीलगायत विषयमा सम्पूर्ण खाका तयार पार्न लागिएको हो ।

जनताको बहुदलीय जनवादलाई पार्टीको मार्गदर्शन तथा सैद्धान्तिक दृष्टिकोण हुनुपर्ने मूल विषयलाई एकता राष्ट्रिय अभियानले प्रस्ताव गरेको छ । एकीकृत समाजवादीले अगाडि सारेको २१औँ शताब्दीको समाजवादी कार्यक्रममा केही बुँदा थपघट गरी जनताको बहुदलीय जनवादलाई समेट्न सकिने जनाइएको छ ।

पार्टी प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले एकता प्रक्रियालाई दीर्घकालीन बनाउन दुवै पार्टीका शीर्षनेताहरूबीच अनौपचारिक भेटघाट तथा छलफलसमेत गरिएको जानकारी दिए । सोही छलफलका निष्कर्षका आधारमा एकता प्रक्रियालाई टुङ्गो लगाइने जनाइएको छ ।

समान राजनीतिक दृष्टिकोण राख्ने दल तथा वैचारिक रूपमा निकट समूहलाई एकीकृत गरी कम्युनिष्ट आदर्श तथा कम्युनिष्ट आन्दोलनलाई थप सशक्त बनाउने कार्ययोजना एकीकृत समाजवादीले हालै सम्पन्न महाधिवेशनबाट पारित गरेको छ ।

पछिल्लो समय एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र अभियानका संयोजक वामदेव गौतमबीच भएको छलफलपछि एकता प्रक्रियालाई अगाडि बढाउन समझदारी भएको हो ।

टेबलटेनिस मेयर कपमा ललितपुर–७ लाई स्वर्ण

काठमाडौँ । छैटौँ मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिताको ‘टिम इभेन्ट’मा पुरुषतर्फ ललितपुर महानगरपालिका–७ ले स्वर्ण पदक जितेको छ । स्वर्ण विजेता खेलाडी टोलीमा डिकेन महर्जन, एलेक्स महर्जन, एलेन महर्जन, मिजेन शाक्य र निकेश जोशी छन् ।

ज्याकी महर्जन टोली प्रशिक्षकको जिम्मेवारीमा छन् । पाटनमा आज भएको फाइनल खेलमा वडा नं ७ ले वडा नं ८ लाई ३–१ ले पराजित गर्‍यो । वडा नं ७ ले पहिलो सिङ्गल्स गुमाए पनि खेलमा पुनरागमन गर्‍यो र लगातार तीन सिङ्गल्स जित्दै स्वर्ण पदक हात पारेको हो ।

पहिलो सिङ्गल्समा एसियाली खेलकुदमा सहभागिता जनाइसकेका वडा नं ८ का रुविन महर्जनले वडा नं ७ का डिकेनलाई ११–५, ११–७, १०–१२ र ११–४ को सेटमा पराजित गरे । अन्य सिङ्गल्समा वडा नं ७ का एलेक्सले विपुल महर्जनलाई ११–८, ९–११, ११–५ र १५–१३ तथा रुविनलाई ११–९, ११–८, ८–११ र ११–७ को सेटमा हराए । एलेनले ज्ञानेश्वर महर्जनलाई ७–११, ११–६, ११–५ र ११–६ को सेटमा पाखा लगाए ।

ललितपुर महानगरपालिका वडा नं ९ द्वारा आयोजित प्रतियोगिताको ‘टिम इभेन्ट’ मा महिलातर्फ वडा नं १७ ले स्वर्ण, वडा नं ८ ले रजत तथा वडा नं १९ र १६ ले कास्य पदक जितेको छ । पुरुष भेट्रान टिम इभेन्टमा वडा नं २० पहिलो, वडा नं १६ दोस्रो र वडा नं ११ र ९ तेस्रो भएका छन् ।

संविधान र कानुनबमोजिम नागरिकता प्राप्तिलाई सहज बनाउँछौँ : गृहमन्त्री लेखक

काठमाडौं ।  गृहमन्त्री रमेश लेखकले संविधान र कानुनबमोजिम नागरिकता प्राप्तिमा सहजता बनाउने बताएका छन् ।

शुक्रबार गृह मन्त्रालयमा नागरिकता समस्या समाधान अध्ययन समितिको प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले भने, ‘जसले संविधान र कानुनबमोजिम नागरिकता प्राप्त गर्नुपर्ने हो । उसले नागरिकता पाउनै पर्छ । तर, नागरिकता प्राप्त गर्न नहुने मान्छेले नागरिकता पाउने अवस्था बन्नु हुँदैन । यी दुईवटा कुरामा स्पष्ट छौँ ।’

नागरिकता निकै संवेदनशील विषय भएको भन्दै यसलाई गम्भीर र जिम्मेवारीपूर्वक हेर्नुपर्ने गृहमन्त्री लेखकको भनाइ छ ।

‘मानिसहरूले सहज र सरल रूपमा नागरिकता नपाएको, संविधान र कानुनले नागरिकता पाउने कुराको ग्यारेन्टी गरेको छ,’ उनले भने, ‘तर, प्रक्रियागत झमेलाका कारणले नागरिकता नपाएको स्थिति र सम्मानित सर्वोच्च अदालतबाट पटक-पटक फैसला भएका छन् । पटक-पटक निर्देशन दिने काम भएका छन् । यी सबै कुरालाई मध्यनजर गरेर नागरिकता प्राप्तमा देखिएका समस्या समाधान गर्न सरकार अगाडि बढेको छ ।’

समितिले झण्डै तीन महिनामा सबै कुराको अध्ययन गरेर अहिलेसम्मका कार्यदलका प्रतिवेदन, अदालतका फैसला, हाम्रो मौजुदा कानुनी व्यवस्था, विभिन्न जिल्ला प्रशासनमा देखिएका जटिलतालाई अध्ययन गरेको छ । गृहमन्त्री लेखकले प्रतिवेदनको गम्भीरतापूर्वक अध्ययन गरेर कार्यान्यानमा लैजाने बताए ।

गृहमन्त्री लेखकले प्रतिवेदनमा नेपाली आमाबाट जन्मिएका सन्तानलाई नागरिकता पाउन सहज हुनेलगायतका सुझाव रहेको बताए । गत ३१ भदौमा गृह मन्त्रालयका सहसचिव डा. टोकराज पाण्डेको नेतृत्वमा उक्त समिति गठन भएको थियो ।

पाण्डे नेतृत्वको समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव, कानुन मन्त्रालयका उपसचिव, गृह मन्त्रालयको कानुन महाशाखाका प्रतिनिधि र नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका उपसचिव सदस्य थिए ।

सांसदहरुलाई कर्मचारी संगठनको चेतावनीः निजामती विधेयकका सन्दर्भमा हाम्रो अवमूल्यन गर्ने काम नहोस्

काठमाडौं । निजामती कर्मचारीका पाँच संगठनले पार्टीका सांसदलाई दम्भ नदेखाउन चेतावनी दिएका छन् । पाँच संगठनले शुक्रबार संयुक्त विज्ञप्ति जारी गरी निजामती विशेयकका सन्दर्भमा २०४६ सालको पहिलो जनआन्दोलन र २०६२ ६३ को दोस्रो जनआन्दोलनमा आफूहरुको योगदान नविर्सन चेतावनी दिएका हुन् ।


विज्ञप्तिमा भनिएको छ, ‘हाल प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलको क्रममा रहेको संघीय निजामती सेवा ऐनको विधेयकका बारेमा माननीयज्यूहरुले अस्वभाविक ढंगले संचार माध्यमबाट नकारात्मक टिप्पणीतर्फ बढी उन्मुख गराई रहनु भएको छ । यसले ऐन छिटो जारी गर्ने भन्दा पनि अनावश्यक बखेडाको वहानामा अझैं ढिला सुस्ती गर्ने र संघीय निजमती सेवा ऐन तत्काल जारी नगर्ने वातावरण तयार भैरहेको अवस्था छ । यसतर्फ निजामती क्षेत्रमा क्रियासिल राष्ट्रिय स्तरका ट्रेड युनियनहरुको गम्भीर ध्यानाकर्षण भएको छ । संघीय निजामती सेवा ऐन तत्काल जारी गर्न सरकारलाई पुनः स्मरण गराउँदछौं ।’


संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा  राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा दलगत ट्रेड युनियन राख्न नहुने विचार उठेको छ । त्यसप्रति कर्मचारी संगठनले आपत्ति जनाएका हुन् । 


समितिमा सङ्घीय निजामती सेवा विधेयकमाथिको संशोधकर्तासँगको छलफल शुक्रबार सकिएको छ । विधेयकमाथि एक सय २४ सांसदबाट एक हजार पाँच सय ८३ संशोधन परेको थियो । त्यसमध्ये ८६ संशोधकर्ताले समितिमा आफ्नो मत राखेका थिए ।


समिति सभापति रामहरि खतिवडाले निजामती विधेयकमाथिको छलफल निकै अगाडि बढिसकेकाले आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने गरी तयारी गएिको जानकारी दिए । ‘दफावार छलफलका लागि केही समय लाग्छ, त्यसपछि प्रतिवेदन लेखनको प्रक्रियामा जान्छौँ’, उनले भने, ‘साता/दश दिनमा सक्ने तयारी छ ।’


समितिले निजामती विधेयकका सम्बन्धमा राजनीतिक दलका प्रमुख सचेतक, सचेतक, विज्ञ, लोकसेवा आयोगका प्रतिनिधि, समिति सदस्य र संशोधनकर्तालगायतसँग छलफल गरिसकेको छ ।


‘विधेयकमाथि संशोधनकर्ता सांसदसँगको छलफल सकिएको छ, लोक सेवा आयोगको अन्तिम धारणा लिन्छौँ’, सभापति खतिवडाले भने, ‘त्यसपछि दफावार छलफलमा अघि बढ्छौँ ।’

जापानी सुजुकी कम्पनीका पूर्व अध्यक्ष ओसामुको निधन

टोकियो । साना चार पाङ्ग्रे सवारी साधन (कार) का लागि ख्याति कमाएका विशेषज्ञ ओसामु सुजुकीको ९४ वर्षको उमेरमा निधन भएको छ ।

कम्पनीले शुक्रबार विज्ञप्ति जारी गरी सुजुकी मोटरलाई विशेषगरी भारतमा ठूलो सफलता हासिल गराउने र अन्तर्राष्ट्रिय ब्राण्डका रुपमा विकास गर्न सफल सुजुकीको निधनको पुष्टि गरेकोे छ ।

सफल व्यवसायीको चार दशकलामो नेतृत्वपछि सन् २०२१ मा अवकास लिएका सुजुकीको कार्यकालमा कम्पनीको बिक्री १० गुणाभन्दा बढीले वृद्धि भएको थियो ।

सन् १९३० जनवरी ३० मा मध्य जापानी क्षेत्र गिफुमा जन्मिएका उनले फर्मको संस्थापकको परिवारमा विवाह गरेका थिए भने पछि सन् १९७८ मा यसको अध्यक्ष बनेका थिए ।

आफूलाई ‘सानो व्यवसायमा बूढो मानिस’ भन्न रूचाउने उनले हल्का वजनको ‘केई’ सवारी साधनहरू निर्माण गर्नमा ध्यान केन्द्रित गरे । ती सवारी साधनमध्ये धेरै उनीहरूको ईन्धन दक्षता र चलाउनका लागि सजिलो भएका कारण प्रसिद्ध थिए ।

उहाँले आफ्नो व्यवसाय विस्तार गर्न सक्रिय रूपमा अन्तर्राष्ट्रिय साझेदार र अवसरहरूको खोजी गर्नुभएको थियो । कार निर्माता कम्पनी सुजुकीले कुनै समय जनरल मोटर्स र फक्सवागनसँग सहकार्यका लागि सम्झौता गरेको थियो र सन् २०१९ मा टोयोटासँग पनि पूंजी परिचालनसम्बन्धी गठबन्धन गरेको थियो।

उनले भारतमा सुजुकीको उत्पादनलाई भारतमा विस्तार गरेका थिए । भारतमा कम्पनीको भारतीय शाखाबाट उत्पादित कारको बजारको अवस्था अहिले शीर्ष स्थितिमा रहेको छ ।

सन् २०२१ मा सुजुकीले कम्पनीको अध्यक्ष पदबाट अवकाश लिँदा कम्पनीको बिक्री ३.१८ ट्रिलियन येन (२० अर्ब अमेरिकी डलर) पुगेको थियो ।

निक्केई शिम्बुन आर्थिक दैनिकका अनुसार सन् १९७८ मा उनले कम्पनीको कार्यभार सम्हाल्दा कम्पनीको बिक्री ३२३ अर्ब येन थियो ।

दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपतिविरुद्धको महाभियोग प्रस्ताव पारित

सियोल ।  दक्षिण कोरियाका विपक्षी नियन्त्रित संसद् (नेसनल एसेम्बली) ले शुक्रबार कार्यवाहक राष्ट्रपति हान डक–सोलाई महाभियोग लगाउने प्रस्ताव पारित गरेपछि उनी पदबाट निलम्बित भएका छन्।

निवर्तमान राष्ट्रपति हान पदबाट निलम्बित भएपछि रिक्त हुन आएको उक्त पदमा अर्थतन्त्र चोई साङ मोकले शुक्रबारदेखि नै कार्यवाहक राष्ट्रपतिको कार्यभार सम्हाल्ने भएका छन्।

नेसनल एसेम्बलीले हानलाई महाभियोग लगाउने प्रस्ताव पारित गरेपछि कार्यवाहक राष्ट्रपति हान पदबाट निलम्बित भएको र उनको स्थानमा उपप्रधानमन्त्रीसमेत रहेका आर्थिक मामिलामन्त्री चोइले जिम्मेवारी सम्हाल्ने तयारी गरेको कोरियाली अधिकारीलाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

अर्थ मन्त्रालयका अनुसार चोईले हानसँग बैठक गर्ने र त्यसपछि सेना प्रमुखसँग फोनमार्फत् सम्वाद गरीसरकारका मन्त्रीहरूलाई निर्देशन दिने योजना बनाएको बताइएको छ।

कार्यवाहक राष्ट्रपतिले जनताका नाममा लिखित सम्बोधन गर्ने र साथै राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाउने कार्यक्रम तय भइसकेको मन्त्रालयले जनाएको छ।

सन् २०२४ मा निम्त्याएको विपत्तिले विश्वमा तीन खर्ब १० अर्ब डलर बराबरको क्षति

पेरिस । सानो र गरिब मायोटदेखि तेल-धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली सहरहरूदेखि अफ्रिकाका भिडभाड भएका झुपडपट्टीहरूसम्म कुनै पनि ठाउँ सन् २०२४ मा अत्यधिक जलवायु विपत्तिको विनाशकारी प्रभावबाट बच्न सकेन ।

यो वर्ष इतिहासकै सबैभन्दा तातो वर्ष हो । यहाँ वातावरण र महासागरहरूमा रेकर्ड-तोड्ने तापक्रमले विश्वभर चरम मौसमका लागि इन्धनको काम गर्‍यो ।

विश्वव्यापी तापक्रमले चरम घटनाहरूलाई कसरी प्रभावित गर्छ भन्ने बारेको विशेषज्ञ विश्व मौसम एट्रिब्युसन (डब्लुडब्लुए) ले विगत १२ महिनामा विश्लेषण गरिएका लगभग हरेक विपत्ति जलवायु परिवर्तनद्वारा तीव्र भएको बताएको छ । “जीवाश्म इन्धनको तापक्रम वृद्धिको प्रभाव सन् २०२४ भन्दा बढी स्पष्ट वा विनाशकारी कहिल्यै भएको छैन । हामी एउटा खतरनाक नयाँ युगमा बाँचिरहेका छौँ”, डब्लुडब्लुए सञ्जालको नेतृत्व गर्ने जलवायु वैज्ञानिक फ्रेडेरिक ओटोले भने।

गर्मी
जुनमा साउदी अरबमा मुस्लिम हज यात्राका क्रममा एक हजार तीन सयभन्दा बढी मानिसको मृत्यु भएको थियो । त्यहाँ तापक्रम ५१.८ डिग्री सेल्सियस (१२५ डिग्री फरेनहाइट) पुगेको थियो ।

कहिलेकाहीँ ‘साइलेन्ट किलर’ (मौन हत्यारा) भनिने चरम गर्मी थाइल्यान्ड, भारत र संयुक्त राज्य अमेरिकामा पनि घातक साबित भयो । मेक्सिकोमा अवस्था यति तीव्र थियो कि रुखबाट हाउलर बाँदरहरू खसेर मरेका थिए भने पाकिस्तानले पारो ५० डिग्री सेल्सियसभन्दा माथि पुगेका कारण लाखौँ बालबालिकालाई घरमै राखेको थियो ।

ग्रिसले आफ्नो सबैभन्दा प्रारम्भिक गर्मीको लहर रेकर्ड गर्‍यो र यसको प्रसिद्ध एक्रोपोलिसलाई बन्द गर्न बाध्य तुल्यायो । युरोपको अहिलेसम्मकै सबैभन्दा गर्मी गृष्म ऋतुको सुरुआतमा भयानक डढेलो फैलियो ।

बाढी
जलवायु परिवर्तन केवल तातो तापक्रम मात्र होइन, तातो महासागरहरूले बढी वाष्पीकरण गर्छन् र तातो हावाले बढी आर्द्रता सोस्छ । यो भारी वर्षाको लागि अस्थिर सूत्र हो ।

अप्रिलमा संयुक्त अरब इमिरेट्समा एक दिनमा दुई वर्षको बराबर वर्षा हुँदा मरुभूमि–राज्यका भागहरूलाई समुद्रमा परिणत गर्‍यो र दुबईको अन्तर्राष्ट्रिय विमानस्थललाई अवरुद्ध गर्‍यो । केन्या एक पुस्ताकै सबैभन्दा ठूलो खडेरीबाट मुक्त हुन नपाउँदै दशकौँकै सबैभन्दा खराब बाढीले पूर्वी अफ्रिकी राष्ट्रमा लगातार विपत्तिहरू निम्त्यायो ।

ऐतिहासिक बाढीले पश्चिम र मध्य अफ्रिकामा एक हजार पाँच सयभन्दा बढी मानिसको ज्यान लिएपछि ४० लाख मानिसलाई सहायताको आवश्यकता परेको थियो । युरोप विशेष गरी स्पेनले ठूलो वर्षाको सामना गर्दा घातक बाढी निम्तियो । सन् २०२४ मा अफगानिस्तान, रुस, ब्राजिल, चीन, नेपाल, युगान्डा, भारत, सोमालिया, पाकिस्तान, बुरुन्डी र संयुक्त राज्य अमेरिकामा बाढी आएको थियो ।

चक्रवात
तातो महासागरीय सतहले उष्णकटिबन्धीय चक्रवातहरूलाई जमिनतर्फ बढ्दा ऊर्जा प्रदान गर्छ र यसले तीव्र हावा र विनाशकारी क्षमता बढाउँछ ।

सन् २०२४ सिजनमा प्रमुख आँधीबेहरीले संयुक्त राज्य अमेरिका र क्यारेबियन विशेष गरी मिल्टन, बेरिल र हेलेनलाई औसतभन्दा माथि आँधीबेहरी गतिविधिको धक्का दियो । फिलिपिन्सले दक्षिणपूर्वी एसियामा फैलिएको टाइफुन यागीको सामना गरेको दुई महिनापछि नोभेम्बरमा मात्रै छवटा ठूला आँधीबेहरीको सामना गर्‍यो ।

विश्वव्यापी तापक्रमले चक्रवात चिनोलाई श्रेणी ४ आँधीबेहरीमा तीव्र बनाउन मद्दत गरेको डिसेम्बरमा वैज्ञानिकहरूले बताए । यो फ्रान्सको सबैभन्दा गरिब समुद्रपारको क्षेत्रलाई तहसनहस पार्दै मायोटसँग ठोक्किएको थियो ।

खडेरी र डढेलो
जलवायु परिवर्तनले वर्षाको ढाँचा परिवर्तन गर्दा केही क्षेत्रहरू ओसिलो हुन सक्छन् तर अन्य सुक्खा र खडेरीका लागि बढी संवेदनशील बन्दै छन् ।

सन् २०२४ मा अमेरिकाले गम्भीर खडेरीको सामना गर्‍यो र सामान्यतया पृथ्वीको सबैभन्दा ओसिलो ठाउँहरू मध्ये एक पश्चिमी संयुक्त राज्य अमेरिका, क्यानाडा र अमेजन बेसिनमा लाखौँ हेक्टरमा डढेलो लाग्यो ।

जनवरी र सेप्टेम्बरको बीचमा दक्षिण अमेरिकाभरि चार लाखभन्दा बढी आगलागी रेकर्ड गरिएको थियो । आगलागीबाट महादेशलाई घाँटी अवरुद्ध गर्ने धुवाँले ढाक्यो । विश्व खाद्य कार्यक्रमले डिसेम्बरमा दक्षिणी अफ्रिकामा दुई करोड ६० लाख मानिस भोकमरीको जोखिममा रहेको बताएको थियो । दक्षिणी अफ्रिकामा एक महिना लामो खडेरीले गरिब क्षेत्रलाई सुक्खा बनाएको थियो ।

आर्थिक क्षति
चरम मौसमले सन् २०२४ मा हजारौँको ज्यान लियो र अनगिन्ती मानिसलाई निराश गरिबीमा छाड्यो । यस्ता विपत्तिहरूको दीर्घकालीन क्षतिको मूल्याङ्कन गर्न असम्भव छ । जुरिचस्थित पुनर्बीमा दिग्गज स्विस रीले डिसेम्बरको सुरुआतमा जारी गरेको विज्ञप्तिमा आर्थिक नोक्सानीको हिसाबमा विश्वव्यापी क्षतिको बिल तीन खर्ब १० अरब डलर रहेको अनुमान गरेको छ ।

युरोपमा विशेष गरी स्पेनको भ्यालेन्सिया प्रान्तमा बाढी, तुफान हेलेन र मिल्टनले लागत बढाएको कम्पनीले जनाएको छ । भ्यालेन्सियामा अक्टोबरमा दुई सयभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । नोभेम्बर १ सम्म संयुक्त राज्य अमेरिकाले सन् २०२४ मा २४ वटा मौसम प्रकोपको सामना गरेको थियो । यसमा प्रत्येकले एक अर्ब डलरभन्दा बढी नोक्सान व्यहोरेको सरकारी तंथ्याकले देखाएको छ ।

ब्राजिलमा खडेरीले यसको कृषि क्षेत्रलाई जुन र अगस्टको बीचमा दुई अर्ब ७० करोड डलरको क्षति पुर्‍यायो । एक उद्योगका अनुसार ‘जलवायु चुनौतीहरूले’ विश्वव्यापी वाइन उत्पादनलाई सन् १९६१ पछि सबैभन्दा कम स्तरमा पुर्‍याएको छ ।

सकियो निजामती विधेयकमा संशोधनकर्ताको छलफल

काठमाडौँ ।  प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिमा सङ्घीय निजामती सेवा विधेयकमाथिको संशोधकर्तासँगको छलफल सकिएको छ । समितिले संशोधनकर्तालाई छलफलका लागि शुक्रबारसम्मको समय तोकेको थियो । 

विधेयकमाथि एक सय २४ सांसदबाट एक हजार पाँच सय ८३ संशोधन परेको थियो । त्यसमध्ये ८६ संशोधकर्ताले समितिमा आफ्नो मत राखेका थिए । प्रस्तुत विधेयकमा समूहगत रुपमा एकै जना सांसदले पाँच दर्जन बढी संशोधन राखे ।

समिति सभापति रामहरि खतिवडाले निजामती विधेयकमाथिको छलफल निकै अगाडि बढिसकेकाले आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने गरी तयारी गएिको जानकारी दिए । “दफावार छलफलका लागि केही समय लाग्छ, त्यसपछि प्रतिवेदन लेखनको प्रक्रियामा जान्छौँ”, उनले भने, “साता/दश दिनमा सक्ने तयारी छ ।”

समितिले निजामती विधेयकका सम्बन्धमा राजनीतिक दलका प्रमुख सचेतक, सचेतक, विज्ञ, लोकसेवा आयोगका प्रतिनिधि, समिति सदस्य र संशोधनकर्तालगायतसँग छलफल गरिसकेको छ । “विधेयकमाथि संशोधनकर्ता सांसदसँगको छलफल सकिएको छ, लोक सेवा आयोगको अन्तिम धारणा लिन्छौँ”, सभापति खतिवडाले भने, “त्यसपछि दफावार छलफलमा अघि बढ्छौँ ।”

समिति बैठकमा निजामती कर्मचारीको सेवा प्रवेश र अवकाश उमेर, ट्रेड युनियनसँगको आबद्धता, वृत्तिविकास र अन्तरप्रदेश सरुवालगायत बारेमा व्यापक बहस भएको थियो । समितिले ट्रेड युनियनसँग एक चरण छलफल गर्ने सोच बनाएको छ । विधेयकमाथिको छलफलमा अधिकांशले एउटा मात्रै ट्रेड युनियन रहने र त्यसमा शाखा अधिकृतभन्दा तलका कर्मचारीको आबद्धता हुने मत राखेको उनले जानकारी दिए ।

प्रशासनिक सङ्घीयता कार्यान्वयनसँग जोडिएको सो विधेयक आगामी अधिवशेनबाटै पारित गर्न सरकार र सबै राजनीतिक दलको साझा धारणासमेत बनेको छ ।  

विधेयकमाथि प्रस्तुत संशोधनलाई प्राप्त रायसुझावका आधारमा समिति आफैँले टुङ्ग्याउने छ । आगामी अधिवेशनमा समितिबाट चारमध्ये तीन वटा विधेयक सदनमा प्रस्तुत गर्ने तयारी गरिएको समिति सभापति खतिवडाको भनाइ छ ।

राज्य व्यवस्था समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७, भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७, सङ्घीय निजामती सेवा विधेयक, २०८० मा छलफल चलिरहेको छ । निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० लाई पनि छिट्टै अघि बढाउने समितिको तयारी छ ।

उच्च र जिल्लाका गरी २५ न्यायाधीशको सरुवा

काठमाडौं । न्याय परिषदले उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशहरुको सरुवाको सिफारिस गरेको छ । शुक्रबार बसेको परिषदको बैठकले उच्च अदालतका ९ जना र जिल्ला अदालतका १६ जना न्यायाधीशको सरुवाको लागि सिफारिस गरेको हो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानको निरन्तर पहल

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्ष पुग्न लागेको छ । सन् २०२३ जनवरी १ मा सञ्चालनमा आएको विमानस्थलमा अझै नियमित अन्तर्राष्ट्रिय उडान भने हुन सकेको छैन ।

पर्यटन राजधानीका रूपमा रहेको पोखरास्थित यो विमानस्थल सञ्चालनमा ल्याउन सके पर्यटन प्रर्द्धनमा उल्लेख्य टेवा पुग्ने भन्दै यहाँका सरोकार भएकाहरूले निरन्तर चासो दिँदै आएका छन् । विशेष गरी स्थानीय पर्यटन व्यवसायीहरू सरोकार भएका निकायसँगको छलफल तथा प्रवर्द्धनात्मक उडानमार्फत नियमित र व्यावसायिक रूपमा सञ्चालनका लागि ध्यानाकर्षण गराइरहेका छन् ।

नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीहरूसँग छलफल गर्दै प्रवद्र्धनात्मक उडानमार्फत पहल गरिरहेको छ ।

यसैबीच, पोखरामा हुन लागेको ड्रागन बोट रेसका लागि चीनको छेन्दुबाट बिहीबार चार्टर उडान गरिएको छ । उडानमा एक सय २९ खेलाडीसहित सिचुवान विमान पोखरा उत्रेको थियो । नाट्टाको पहलमा पोखराबाट उत्तिकै सङ्ख्यामा यात्रु बोकेर प्रवर्द्धनात्मक कार्यक्रमका लागि सो विमान काठमाडौँ अवतरण गर्यो । यसमा पत्रकार, पर्यटन व्यवसायी र प्रदेशका पर्यटनमन्त्रीहरूको सहभागिता रहेको थियो ।

यस उडानले बढी भार बोकेर जहाज उडान र अवतरण हुन नसक्ने भन्ने भ्रमलाई तोड्न सफल भएको व्यवसायीको भनाइ छ । पूर्ण क्षमतामा उडान र अवतरण भएसँगै विमानस्थल पूर्ण सुरक्षित रहेको सन्देश पनि प्रवद्र्धनात्मक उडानले दिएको छ ।

त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक प्रदीप अधिकारीले पोखरा विमानस्थलबाट उडान अवतरणमा कुनै समस्या नरहेको बताए। उनले भने, ‘पोखरा विमानस्थलले एयरबसजस्ता ठूला जहाज सहजै सञ्चालन गर्न सक्छ भन्ने प्रवर्द्धनात्मक उडानले पुष्टि गरेको छ । अब यो पूर्वाधारलाई पूर्ण क्षमतामा सञ्चालन गर्न सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्छ ।’

अधिकारीले विमानस्थलको प्रभावकारी उपयोगका लागि सरकारबाट नीतिगत सहयोग र निजी क्षेत्रबाट ठूलो लगानीको सदुपयोग गर्न अग्रसरता आवश्यक रहेकामा जोड दिए।

नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहालले पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुँदा पर्यटन क्षेत्र चलायमान बनाउन निकै समस्या भएको धारणा राखे।

‘पर्यटनमा ठूलो लगानी छ तर नियमित उडान नहुँदा पर्यटकीय गतिविधिमा उल्लेख्य सुधार हुनसकेको छैन, जसले लगानी जोखिममा परेको छ । अन्तर्राष्ट्रियस्तरमै नकारात्मक सन्देश गएको छ’, उनले भने । यस विषयमा क्यानका पदाधिकारी र सम्बन्धित निकायहरूमा निरन्तर ध्यानाकर्षण गराउँदै प्रवर्द्धनात्मक कार्यक्रमहरू आयोजना गरिएको जानकारी दिए ।

पर्यटन व्यवसायी र नेपाल पर्यटन बोर्डका पूर्वसदस्य वासु त्रिपाठीले विमानस्थलमा नियमित उडानको गर्नु राज्यको दायित्व भएको बताए ।

‘नागरिकको लगानी रहेको यो विमानस्थलमा उडान सुनिश्चित गर्नु सरकारको जिम्मेवारी हो । यात्रु खोज्ने काममा निजी क्षेत्रले पनि भूमिका खेल्नुपर्छ र यसका लागि नागरिक तहबाट निरन्तर दबाब आवश्यक छ’, उनले भने,’अब विमानस्थलबारे गलत र भ्रमपूर्ण कुरा छर्न कुनै पनि सभ्य नागरिकलाई छुट छैन । सबैको सामूहिक सहकार्य र समन्वयको खाँचो छ ।’

पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले नियमित उडानका लागि पहल भइरहेको र छिट्टै सकारात्मक नतिजा आउने विश्वास व्यक्त गरे ।

‘सञ्चालनको दुई वर्षसम्म चार्टर उडानमा सीमित विमानस्थललाई नियमित उडानमा लैजान पर्यटन सम्बद्ध सङ्घसंस्था, सञ्चारमाध्यम र नागरिक समाजले निरन्तर पहल गर्न आवश्यक छ । हामी आफ्नो तर्फबाट यसमा निरन्तर लागिरहेका छौँ । प्राविधिक र पूर्वाधारका चुनौतीहरू हट्दै गएकाले अब नियमित उडान हुने आशा छ’, उनले भने ।

चीन सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भएको यो विमानस्थल नेपाल–चीन सहकार्यको उदाहरण मानिन्छ । करिब  २२ अर्ब लागतमा निर्मित विमानस्थलको निर्माण कार्य चाइना सिएएमसी इन्जिनियरिङ कम्पनीले गरेको थियो ।

दुई दशमलव पाँच किलोमिटर लामो रनवे भएको यस विमानस्थलमा वाइडबडी जस्ता ठूला क्षमताका जहाजहरूलाई पनि सहज रूपमा अवतरण गर्न सकिन्छ । आधुनिक नेभिगेसन प्रणाली, अत्याधुनिक टर्मिनल भवन र दैनिक २० हजार यात्रुलाई सेवा दिने सक्ने यसका क्षमता रहेको प्राधिकरणले बताउने गरेको छ ।

गण्डकी प्रदेशको पर्यटकीय राजधानी पोखरामा अवस्थित यस विमानस्थललाई अन्नपूर्ण सर्किट, मुक्तिनाथ र कैलाश मानसरोवरजस्ता विश्वप्रसिद्ध गन्तव्यमा जान सहज हुने अपेक्षा गरिएको छ ।

गाउँपालिका, नगरपालिका र जिसस महासङ्घद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घले कार्यविस्तृतीकरण प्रतिवेदन परिमार्जनजस्ता विषयमा छलफल गर्न राष्ट्रिय समन्वय परिषद्को तेस्रो बैठक बस्नुपर्ने लगायत विभिन्न सातसूत्रीय ध्यानाकर्षणपत्र बुझाएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष लक्ष्मीदेवी पाण्डे, नगरपालिका सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गाना, जिल्ला समन्वय समिति महासङ्घका अध्यक्ष अशोककुमार घिमिरेसहितले ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

प्रधानमन्त्रीको अध्यक्षतामा रहेको समन्वय परिषद्को दोस्रो बैठक गत २०८० माघ २४ गतेपश्चात् नबसेकाले अघिल्लो बैठकमा पेस भई निर्णय हुन बाँकी रहेका विषयवस्तुमा छलफल हुनुपर्ने माग गरिएको छ ।

यस्तै समानीकरण अनुदान कटौती नगर्न, स्थानीय सरकारलाई वित्तीय हस्तान्तरणको आरका वृद्धि गर्न, राष्ट्रिय भूमि आयोगका काम छिटो सम्पादन गराउन र जिल्ला समन्वय समितिलाई स्रोत साधनसम्पन्न बनाउन पनि प्रधानमन्त्रीलाई आग्रह गरिएको छ ।

प्रधानमन्त्री ओलीले संविधानबमोजिम स्थानीय सरकारलाई अधिकार दिन र स्रोतले भ्याएसम्म बजेटको उचित प्रबन्ध गर्न सरकार प्रतिबद्ध रहेको बताएका थिए ।

कर्णाली र लुम्बिनी प्रदेश सरकारबीच विकास र समृद्धिमा सहकार्य गर्न १९ बुँदे सम्झौता


कर्णाली । कर्णाली प्रदेश सरकार र लुम्बिनी प्रदेश सरकारबीच अन्तर प्रदेश विकास र समृद्धिमा सहकार्यका लागि १९ बुँदे साझा प्रतिबद्धता गरेका छन् ।

शुक्रबार कर्णालीका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल र लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले साझा प्रतिबद्धतामा संयुक्तरूपमा हस्ताक्षर गरेका छन् ।

दुई प्रदेशको अन्तरआवद्धता र सहकार्यलाई सुदृढ गर्दै कर्णाली प्रदेश सरकार र लुम्बिनी प्रदेश सरकारबीच १९ बुँदे साझा प्रतिबद्धता जारी भएको हो । कार्यक्रममा दुबै मुख्यमन्त्रीले प्रतिबद्धता कार्यान्वयन गर्ने बताएका छन् ।

प्रतिबद्धतामा प्रदेशबाट तर्जुमा हुने र भएका कानूनको सम्बन्धमा पारस्परिक सहयोग, समन्वय र सहकार्य गरी एकरुपता कायम गर्ने, प्रदेश कानून बमोजिम लगाइने करका सम्बन्धमा दुवै प्रदेशबीच एकरुपता कायम गर्ने र प्राकृतिक स्रोत साधनबाट सङ्कलन हुने रोयल्टी बाँडफाँटको विषयमा सामञ्जस्यता कायम गर्ने, राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना शीघ्र सम्पन्न गर्न दुवै प्रदेश सरकारको तर्फवाट नेपाल सरकार समक्ष समन्वय गर्ने र स्थानीय स्तरका आयोजना सम्बद्ध सवालहरूमा स्थानीय तह समेतको समन्वयमा विवाद समाधानका लागि आवश्यक पहल गर्नेलगायत छन् ।

यी हुन् दुई प्रदेशका साझा प्रतिबद्धता

१. प्रदेशबाट तर्जुमा हुने र भएका कानूनको सम्बन्धमा पारस्परिक सहयोग, समन्वय र सहकार्य गरी एकरुपता कायम गर्ने ।

२. प्रदेश कानून बमोजिम लगाइने करका सम्बन्धमा दुवै प्रदेशबीच एकरुपता कायम गर्ने र प्राकृतिक स्रोत साधनबाट सङ्कलन हुने रोयल्टी बाँडफाँटको विषयमा सामञ्जस्यता कायम गर्ने ।

३. राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना शीघ्र सम्पन्न गर्न दुवै प्रदेश सरकारको तर्फवाट नेपाल सरकार समक्ष समन्वय गर्ने र स्थानीय स्तरका आयोजना सम्बद्ध सवालहरूमा स्थानीय तह समेतको समन्वयमा विवाद समाधानका लागि आवश्यक पहल गर्ने ।

४. अन्तर-प्रदेश आबद्ध भएका देहायका सडक पूर्वाधार निर्माणका लागि आवश्यकता अनुसार नेपाल सरकारसँग समन्वय गरी साझेदारी र सहकार्य गर्ने ।

(क) जमुनाह-हिल्सा सडक,

(ख) सुर्खेत-तेलपानी-भुरीगाउँ सडक,

(ग) राप्ती लोकमार्ग निर्माण,

(घ) कोहलपुर-सुर्खेत सडक विस्तार,

(ड) कोहलपुर-बबई तथा बबई-छिन्चु सुरूडमार्ग सम्भाव्यता अध्ययन ।

५. लुम्बिनी प्रदेशका विमानस्थलबाट कर्णाली प्रदेशका हिमाली जिल्लामा नियमित हवाई उडान गर्न आवश्यक पहल गर्ने ।

६. भैरहवा-सुर्खेत हवाई सेवा सञ्चालन गर्न नेपाल सरकारसँग अनुरोध गर्ने ।

७. कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तारमा देखिएका समस्या समाधानका लागि आवश्यक सहजीकरण गर्ने ।

८. दुबै प्रदेशको वृहत्तर हित गर्ने सहलगानीमा सञ्चालन हुन सक्ने सम्भावित ठूला आयोजनाको पहिचान गर्ने ।

९. विपद् व्यवस्थापनका लागि साझेदारी, सहकार्य र समन्वयात्मक ढङ्गवाट कार्य गर्ने ।

१०. लागुऔषध ओसारपसार प्रभावकारी रुपमा नियन्त्रण र रोकथामका लागि सुरक्षा निकायसँग समन्वय गरी कार्यक्रम सञ्चालन गर्ने।

११. लुम्बिनीमा आउने धार्मिक पर्यटकहरूलाई कर्णालीको साहसिक पर्यटकीय गन्तव्यसम्म जोड्ने गरी एकीकृत पर्यटन मार्ग (Integrated Tourism Circuit) निर्माण गर्न गुरुयोजना तयारी र लगानीमा सहकार्य गर्ने ।

१२. दुवै प्रदेशका पर्यटकीय क्षेत्रलाई जोडेर संयुक्त पर्यटन प्याकेज निर्माणको लागि निजी क्षेत्रसँग समन्वय र सहकार्य गर्ने ।

१३. दुवै प्रदेशको सीमानामा रहेका नदीनालाहरूमा जलविद्युत् उत्पादन, प्रसारण लाइन विस्तार, खानेपानी तथा सिंचाइ संरचना निर्माण गर्दा समन्वय र सहकार्य गर्ने ।

१४. प्रदेशका सीमा क्षेत्र नजिकका सडक, पुल जस्ता पूर्वाधारहरूको निर्माणमा सहलगानी तथा साझेदारी गर्ने ।

१५. वर्दिया जिल्लाको बाँसगढी नगरपालिका, वडा नं. १ र सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका, वडा नं. ५ को साँध सिमानाको विवाद प्रचलित कानून र प्रमाणका आधारमा समाधान गर्न नेपाल सरकार समक्ष अनुरोध गर्ने ।

१६. दुवै प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीको यात्रु भाडादर संयुक्त रुपमा निर्धारण गर्ने र सडक यातायात दुर्घटना जोखिम न्यूनीकरणका लागि सवारी गति नियन्त्रण र मादक पदार्थ सेवनको जाँच, चालक प्रशिक्षण, अनुगमन तथा निरीक्षण लगायतका कार्यक्रम सञ्चालन गर्ने ।

१७. कर्णाली प्रदेशको फलफूल, जडीबुटी, अर्गानिक तरकारी र अन्य उत्पादनलाई लुम्बिनी प्रदेशका मुख्य बजार केन्द्रहरूसम्मको पहुँच एवम् लुम्बिनी प्रदेशको खाद्यान्न लगायतका कृषि उत्पादनको प्रवर्द्धन गर्दै कर्णाली प्रदेशका बजार केन्द्रहरूसम्मको पहुँच बढाउन तथा बजार पूर्वाधार तयार गर्न समन्वय र सहकार्य गर्ने ।

१८. दुवै प्रदेशको विकास, समृद्धि र सुशासन प्रवर्द्धनको लागि सूचना प्रविधिको माध्यमबाट सेवाप्रवाहलाई प्रभावकारी बनाउन आवश्यक सहयोग, समन्वय र सहकार्य गर्ने ।

१९. दुवै प्रदेशको साझा सहकार्य, समन्वय र साझेदारीलाई प्रवर्द्धन गर्न समन्वयात्मक बैठकलाई निरन्तरता दिदै आगामी बैठक लुम्बिनी प्रदेश सरकारले आयोजना गर्ने ।

विचाराधीन विधेयक चाँडो टुङ्ग्याउन सांसदहरुलाई ‘आन्तरिक ह्विप’

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका विषयगत समिति पछिल्लो समय विचाराधीन विधेयकलाई आउँदो हिउँदे अधिवेशनको प्रारम्भमै ‘फुल हाउस’ पेस गर्नेगरी केन्द्रित भएका छन् । सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसले समितिका बैठकलाई परिणामुखी बनाउन आआफ्ना सांसदलाई निर्देशनसमेत दिएका छन् । 


सत्तारुढ दल एमालेका मुख्य सचेतक महेश बर्तौला समितिका बैठक नियमित राख्न नसकिएको, बैठकमा ‘कोरम’ नपुगेको यथार्थलाई स्वीकार गर्दै आगामी दिनमा त्यसलाई सुधारेर समितिलाई क्रियाशील बनाउन सत्ता साझेदार दलहरु केन्द्रित रहेको बताउँछन् ।


“समितिको बैठक नियमित राख्ने र हरेक बैठकअघि सम्बन्धित समितिका सभापति, प्रमुख सचेतक र सचेतकमार्फत पार्टीका सांसदलाई जानकारी दिन भनेका छौँ”, उनले भने, “सत्ता पक्षका सांसद अनुपस्थित भएर समिति बैठकमा कोरम पुगेन भन्ने छुट छैन ।”


पछिल्ला दिन संसदीय समितिका बैठक लगातार बसिरहेका छन् । हाल प्रतिनिधिसभाका विभिन्न समितिमा १५ र राष्ट्रियसभाको विधायन समितिमा चार वटा विधेयक छलफलकै क्रममा छन् । 


मुख्य सचेतक बर्तौलाले समितिका बैठक र कामकारबाहीबारे निगरानी गरिने र प्रत्येक दलले विशेष परिस्थितिबाहेक अन्य काममा जोडिएर विधि निर्माणको काममा उपस्थित हुन नसकेको भन्न नपाइने गरी सबै सांसदलाई निर्देशित गरिएको स्पष्ट पारे । 


विधेयक निर्माणमा भएको विलम्बलाई लिएर सांसदको आलोचना हुँदै आएको छ । राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रमेश लेखकले कानुन निर्माणमा ढिलाइ भएपछि समयसीमा तोकेर जान आवश्यक भएको धारणा व्यक्त गरेका थिए ।


“संसदीय समितिलाई परिणामुखी बनाउन सत्तारुढ दलका तर्फबाट एक प्रकारको ‘आन्तरिक ह्विप’ नै जारी गरिएको छ”, मुख्य सचेतक बर्तौलाले भने, “संसदीय मामिलामा अनिवार्य उपस्थिति भएर बैठकमा सहभागी हुने, विधेयकमा सक्रियताका साथ भूमिका निर्वाह गर्ने र छिटोभन्दा छिटो विचाराधीन विधेयकलाई प्रतिवेदनसहित सदनमा पेस गर्न निर्देशन दिएका छौँ ।”


प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा पाँच, राज्यव्यवस्था तथा सुशासन समितिमा चार, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दुई, पूर्वाधार विकास समितिमा दुई, कानुन, न्याय मानवअधिकार समितिमा एक र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा एक वटा विधेयक विचाराधीन छन् । 


“हाल सांसदहरू सिहंदरबारमा बैठकमा मात्रै बसिरहनुभएको छ, सांसदलाई भ्याइनभ्याइ छ, संशोधनकर्ता आफ्नो संशोधनको प्रतिरक्षा गर्न दौडिरहनुभएको छ”, सत्तारुढ दलका मुख्य सचेतक बर्तौलाले भने, “यही पुस २५ गतेभित्रमा १५ मध्ये महत्वपूर्ण पाँच÷सात वटा विधेयकहरुलाई संसद्मा पुर्याउँछौँ ।”


विधेयकलाई तीव्रता दिन सत्ता साझेदार दल एमाले र कांग्रेसले मसिनो ढङ्गले छलफल अघि बढाइरहेको जानकारी दिँदै उनले दुवै दलका तर्फबाट सांसदलाई समितिमा समय दिई विधि निर्माणमा जुट्न आग्रह गरिएको बताए ।


बर्तौलाले विधेयक निर्माणमा सांसदको भूमिका कस्ता रह्यो, संसदीय काम प्रक्रियामा ध्यानपूर्वक सहभागितालगायत कोणबाट पार्टीले मूल्याङ्कन गरिने बताउनुभयो । “सांसदको कामको मूल्याङ्कन गर्ने विधि संसदीय मामिला र विधेयक निर्माणमा खेलेको भूमिकालाई आधार बनाइने छ”, उनले भने । 


प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार सदन सरकार गठन गर्ने ठाउँका रूपमा मात्रै नभई जनसरोकारका विषयमा केन्द्रित हुनुपर्नेमा जोड दिन्छन् । “संसद्लाई प्रभावकारी तुल्याउन अहिलेको नियन्त्रणकारी अभ्यास हटाउनुपर्छ ”, उनले भने । संसदको अभ्यास र गतिशीलतालाई हेररे आफ्नो पार्टीले काम गरिरहेको उनको भनाइ छ । 


कुन समितिमा कुन विधेयक विचाराधीन ?


अर्थ समितिमा भन्सार विधेयक, २०८०, बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८०, सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०, धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन), २०८१ विधेयक विचाराधीन छन् । 


यस्तै, राज्यव्यवस्था समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७, भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७, निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० र सङ्घीय निजामती सेवा विधेयक, २०८० मा छलफल चलिरहेको छ । 


शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयक, २०८० र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०, पूर्वाधार विकास समितिमा विद्युत् विधेयक, २०८० र जलस्रोत विधेयक, २०८१, कानुन, न्याय तथा मानवअधिकार समितिमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा विद्युतीय व्यापार विधेयक, २०८० विचाराधीन छन् । 


सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले पछिल्लो पटक गठन भएको संसद्को चौथो अधिवेशनसम्म आइपुग्दा सदनमा ३७ सरकारी र तीन वटा गैरसरकारी गरी ४० विधेयक दर्ता भएकामा १७ वटा विधेयक दुवै सदनबाट पारित भएको जानकारी दिए । 


पहिलो अधिवेशनमा १०, दोस्रोमा ११, तेस्रोमा नौ र चौथो अधिवेशनमा १० विधेयक दर्ता भएका थिए । राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० भने सरकारले फिर्ता लिएको छ । 


संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९, विधायनसम्बन्धी विधेकय, २०८० र बैंकिङ कसुर तथा सजाय विधेयक (दोस्रो संशोधन) विधेयक, २०८० समितिको प्रतिवेदनसहित सदनमा पेस भइसकेका छन् । 


सरकारले यही पुस अन्तिम साता वा आगामी माघको पहिलो सातासम्म संसद्को हिउँदे अधिवेशन आह्वान गर्ने तयारी गरेको छ । संवैधानिक व्यवस्थाअनुसार एउटा र अर्को अधिवेशनको अवधि छ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्था छ ।


संसदको वर्षे अधिवेशन गत वैशाख २८ गते प्रारम्भ भई गत भदौ ३१ गते अन्त्य भएको थियो । सामान्यतय नेपालमा वर्षे र हिउँदे अधिवेशन गरी वर्षमा दुई अधिवेशन चल्ने गरेको छ । 


वर्षे अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र बजेटसम्बन्धी विषयमा छलफल, वहस हुन्छ भने हिउँदे अधिवेश विधेयक अर्थात् विधि निर्माणमा केन्द्रित हुने गरेको छ । हिउँदे अधिवेशन समान्यतयः पुसको अन्तिम साता सञ्चालन हुने तथा वर्षे अधिवेशन वैशाखको अन्तिम सातातिर चल्ने अभ्यास छ । 


जनप्रतिनिधिको सर्वोच्च थलोका रुपमा रहेको सङ्घीय संसद्ले कानुन निर्माण, सरकार गठन, सरकारको नीति तथा कार्यक्रम र बजेटमाथि छलफल, बहस र पारित, सरकारको कामकारबाहीको निगरानी, महाअभियोग, सन्धिसम्झौताको अनुमोदनलगायत मुख्य कार्यभार रही आएको छ ।