`

विज्ञापनको विश्वासले निम्त्याउने स्वास्थ्य सङ्कट

-डा. अरुणा उप्रेती

‘तपाईंको शरीरको तौल ४५ मिनेटमा नै कम हुनेछ, केही हप्ताभित्रमा सुडौल हुने’, ‘कपालमा भरिसकेका रौँहरु फेरि पलाउने’, ‘अनुहारमा भएका चायाहरु हट्ने फेरि जवान हुने’ आदि कामका लागि विभिन्न सञ्चारमाध्यममा अनेकौँ विज्ञापनहरु हेर्न, पढ्न र सुन्न सकिन्छ । कतिपयले ती विज्ञापनमा विश्वास गरी त्यस्ता सामग्री किनेर प्रयोग गर्दा आर्थिक हिसाबले नराम्ररी ठगिनु मात्र परेको छैन, त्यसले स्वास्थ्यमा गम्भीर जटिलता पनि ल्याएको छ ।

असम्भव कुरामा विश्वास गर्नु हुँदैन भन्ने थाहा पाउँदापाउँदै पनि विज्ञापनको जालोमा धेरै मानिस फसिरहेका छन् । विशेषगरी मानिसमा रहेका केही कमजोर पक्षहरुलाई समात्न विज्ञापन गर्ने संस्था र गर्न लगाउने कम्पनीले अनेक आकर्षक कुराहरु गरेर झुक्याउन सफल हुन्छन् । त्यही कमजोर पक्षलाई पकडेर गरिने विज्ञापन माछा जालमा फसे झैं हामी फसिरहेका हुन्छौँ ।

उदाहरणका लागि ‘मोटो मानिसका लागि खानेकुरा कम नगरे पनि हुने, व्यायाम गर्न नपर्ने, नथाकिने, खाली एक क्यापसुल औषधि बिहान बेलुका खाए पुग्ने’ जस्ता विज्ञापनले त मुटुमा यसरी छुन्छ कि मोटा व्यक्तिहरु त्यस्तो औषधि जताबाट पाउन पनि लालायित हुन्छन् । त्यस्तै प्रकारले ‘कम्मर पेटी बाँधेर केही छन बसेपछि पसिना निस्कन्छ अनि कम्मर त एक इन्च घटिहाल्छ’ भन्ने जस्ता लोभलाग्दो कुरा विज्ञापनमा भनेपछि कम्मर घटाउन चाहने मानिस दौडेर त्यो पेटी किन्न तयार हुन्छ । त्यसरी नै ‘छाला गोरो पार्न जिन्दगी सफल पार्न’ भन्दै थरिथरिका क्रिमहरुको विज्ञापन गरिन्छ, त्यसले विरामी फाइदा नपुगे पनि सम्बन्धित कम्पनीलाई राम्रै आम्दानी हुन्छ ।

यति हुँदाहुँदै पनि हामीहरुमध्ये धेरैले विज्ञापनमा भनिएका कुराहरु कति सत्य हुन् भन्ने कुरामा कहिल्यै सोचेका हुँदैनौँ । मोटोपन घटाउन वा औषधि वा कम्मर घटाउन बेल्टले कति सहायता दिन्छ होला त ? शरीरभित्र रहेको बोसो एकैचोटी पगाल्ने कुनै औषधि हुँदैन । यदि त्यस्तो हुँदो त अमेरिकामा २५ प्रतिशत जनसंख्याले त्यो औषधि प्रयोग गर्थे होलान् । कम्मर पेटी बाँधेर पसिना निस्कँदा कम्मरको नाम ३४ इन्चबाट ३३ इन्च हुँदो हो त, त्यस्तो खालको कम्मर पेटीको उत्पादन गर्ने कम्पनी हजारौँको सङ्ख्यामा हुने थिए होला । किनभने एक दिनमा एक इन्च घट्ने कम्मर १० दिनमा १० इन्च घट्दैन थियो होला त ? शरीरको कम्मरको नाप १० दिनमा १० इन्च घट्न शरीरको तौल कति कम हुनुपर्छ होला ? १० दिनमा के आश्चर्यजनक रुपले ‘केही नगरिकन’ तौल कम होला र ? तैपनि किन मानिसहरुले विश्वास गर्छन् र प्रयोग गर्छन् ।

विज्ञापनमा भनेका कुरा एक दिन–दुई दिन वा एकै दिनमा दशौँ चोटी सुनेपछि जो कोहीलाई पनि ‘हो कि, हो कि’ जस्तो लाग्न थाल्छ । त्यसमाथि पनि साँच्चीकै कुनै मानिसले त्यसमाथि पनि सुडौल खालकी महिलाले आएर ‘आफू पहिला मोटी भएको, तर औषधि खाएर वा कम्मरपेटी लगाएर पातलो भएर जीवन नै अर्को भएको कुरा’ भनेपछि विश्वास नगर्ने पनि कसरी ?’ भन्ने भावना आउँछ । हो यही भावनालाई पकडिएका छन् विज्ञापन निर्माता कम्पनीहरुले । यदि साँच्ची नै यसरी औषधि र पेटीको कारणले पातलोपन आउँदो हो त डाक्टरहरु त्यसमाथि पनि मुटु रोग विशेषज्ञहरुले बिरामीलाई यिनै औषधी वा पेटी किन्न लगाउँथे । चिनीका रोग भएको मोटा व्यक्ति, मुटुको रोग भएर तौल घटाउनु भन्ने रोगीलाई खानेकुरा कम गर्ने, व्यायाम गर्ने आदिको ठाउँमा यस्ता विज्ञापनको बढी काम लाग्थ्यो होला ।

उमेर बढ्दै जाँदा जीवनशैलीका कारणले (विशेषगरी बौद्धिक काम गर्ने) व्यक्तिहरुलाई त यही पेटी र औषधि प्रयोग गर्नु भन्ने बारेमा विशेषज्ञले बोल्थे होलान् । मोटो मानिसलाई खानेकुरा कम खाएर र व्यायाम गरेर महिनौँ लाग्ने काम त औषधीको एउटा चक्कीले हुने भए किन शारीरिक र मानसिक दुःख गरिरहनु पथ्र्यो र ? यदि साँच्चै यस्तो हुँदो त बिहानबिहान उठेर ‘मर्निङ वाक’ वा जीम गर्नेहरुले बिहानको मीठो निद्रा छोडेर गर्मी, जाडो, पानी नभनी किन दुःख गर्थे होलान् ? आधुनिक समाजमा मानिसहरुलाई विश्लेषण गर्ने समय छैन, विज्ञापनमा भनेको कुरा सुन्दासुन्दा हो जस्तो लाग्छ र फेरि त्यस्ता गलत विज्ञापनहरुको विरुद्धमा कसैले नबोल्ने र नलाग्ने हुनाले मानिसहरुलाई त हो न हो यो कुरा साँच्चीकै जस्तो लाग्छ ?

मुटुरोग विशेषज्ञ डा. प्रकाश रेग्मीको विचारमा यसरी औषधि प्रयोगबाट तौल घटाउँदा शरीरमा धेरै हानी गर्छ । यस्ता औषधिहरुले केही समयको लागि घटाए जस्तो हुन्छ तर वास्तवमा शरीरको पानी गएर तौल घटेको अनुभव हुन्छ । पसिना शरीरबाट गएर, पेटी बानेर ठूलो भइन्छ भन्ने त वाहियात विज्ञापन हो ।

विज्ञापनको अर्को पक्ष देखिन्छ विभिन्न थरिका सौन्दर्य सामग्रीमा । उमेर बढ्दै जाँदा हुँदै जाने शारीरिक भित्री र बाहिरी परिवर्तनहरु रोक्छन्, वा प्रकृतिबाट लिएर आफ्नो छालाको रङ फेर्न सकिने भन्ने गरी जसरी विज्ञापन दिइन्छ, त्यसले एउटा त गलत ज्ञान वा कुराहरु भनिरहेको हुन्छ, अर्को मानवीय दृष्टिकोणले पनि कुनै खास वर्णका मानिसहरुले सोही कारणले जीवनमा सफलता प्राप्त गर्न सक्दैनन् भन्ने जस्ता विचार पनि दिइरहेका हुन्छन् ।

शरीरको छालाको बनोट र रङ हामीहरुले जन्मेदेखि लिएर आएका हुन्छौँ । यसलाई बाहिरी वस्तुहरु लेपन गरेर रङ् परिवर्तन गर्न सकिँदैन । कुनै रोग लाग्यो भने जस्तो छालाको ‘ल्यूकोडर्मा’ (जसमा छालाको रङ दिने वस्तु–मेलानिन कम हुँदै जान्छ भने छालाका रङ बदलिन्छ । तर छालाको रङ कालोबाट गोरो हुने वस्तु चाहिँ हुँदैन । तर ‘गोरो’ हुनुपर्ने र गोरो भएपछि केटा र केटीले एक अर्कालाई मन पराउँछन् भन्ने जस्ता विज्ञापन दिएर सौन्दर्य सामग्री बनाउने कम्पनीले मालामाल हुने कारण पनि हाम्रो विश्वास हो ।

विज्ञापनबाट प्रेरित भएर हामी शरीरको छालालाई सफा राखेर, व्यायाम गरेर, पोषणयुक्त खाना खाएर स्वस्थ राख्नको सट्टामा सौन्दर्य सामग्री किनेर, लेप लगाएर राम्रो (गोरी) देखिन चाहन्छौं । तर यस्ता सौन्दर्य सामग्रीहरुको प्रयोग कति ठीक हो, विज्ञापनमा भनिएका कुरा कति सत्य हो, लामो समयसम्म यसको प्रयोग गरेपछि के हुन्छ भन्ने बारेमा हामी कहिले सोच्दैनौं । छाला रोग विशेषज्ञ डा. बिमला ओझा भन्नुहुन्छ, ‘‘यस्ता विज्ञापनहरु गलत सौन्दर्य र वैज्ञानिक दृष्टिकोणले पनि ठीक छैन । मानिसको शरीर स्वस्थ रह्यो भने अनुहारको चमक आफैं आउनेछ । यस्ता विज्ञापनहरुले गलत सन्देश दिन्छन् ।

त्यसरी नै विज्ञापन दिएर हाम्रो अर्थ व्यवस्थालाई कमजोर बनाउँदैछ खानेकुराको विज्ञापनले । विशेषगरी बच्चाहरुको खानेकुराको विज्ञापन विभिन्न रेडियो, टिभी, पत्रपत्रिकामा आउने यस्ता विज्ञापनहरुले गलत सूचना त दिइरहेका नै हुन्छन् । विश्व स्वास्थ्य सङ्गठनले हानीकारक, प्रयोग नगर्ने, यस्तो किसिमको सूचना दिन नहुने जस्ता बनाएका नियमहरुलाई पनि बेवास्ता गरिरहेका छन् ।

फलफूलको रसहरु ताजा फलफूलले बनाइएका बट्टामा बन्द गरी केही बाहिरी वस्तु नमिसाइएको, स्वस्थ भनेर प्रचार गरिन्छ र फलफूलको सट्टामा राखिएको रस हामी साँच्ची नै फलफूलको रस भनेर ल्याउँछौं । तर विचार गर्नुस् त ? के कुनै पनि बाहिरी वस्तु नमिसाई फलफूलको रस ताजा रहिरहन सक्छ ? अर्को कुरा फलफूलका रस बनाएर राख्दा त फलफूलमा भएका कतिपय पोषणतत्व नष्ट हुन्छन् भने अर्कोतिर कहिले बनाएर राखेको र बासी फलफूलको रस चाहिँ सधैं ताजा रहन्छ भन्ने विज्ञापनमा सन्देश दिइन्छ र हामी विश्वास पनि गर्छौं । बिहान पकाएको बेलुका नखाने हामीहरु महिनौंदेखि बासी बट्टामा राखिएको फलफूलको रस ताजा झैं स्वाद मानेर खान्छौं र स्वस्थ भयौं भन्ठान्छौंँ । आर्थिक र स्वास्थ्य दुवै दृष्टिकोणले यसरी बट्टामा राखिएका वस्तुहरुबाट हामीले के फाइदा गर्न सक्छौं त ?

विज्ञापनमा सुनिन्छ– ‘बढ्ने उमेरका बच्चाहरुका लागि घरको खाना मात्र पर्याप्त छैन । बढ्ने उमेरका बच्चाहरुलाई चाहिन्छ प्रोटिन र र अनेक किसिमका लवणहरु जुन यही फलफूलजन्य बट्टामा राखिएका वस्तुमा पाइन्छ । यो वस्तु किन्नु भयो भने तपाईंले सित्तैमा चम्चा, बाल्टिन, झोला, आदि पनि पाउनुहुन्छ ।’ अनि सित्तैमा पाइने वस्तुको लोभ र घरको खानाले बच्चालाई पोषण नपुग्ने भन्ने विश्वासमा परेर धेरैले त्यस्ता खानेकुरा किनेर ल्याउने गर्दछन् । मानिसहरुले यसमा विचार पु¥याएको देखिन्न कि त्यस्ता बट्टाहरुमा राखिएका भोजनहरु केबाट बनाइन्छन् ? प्रायः अङ्ग्रेजीमा साना अक्षरमा लेखिएका यी वस्तुहरुमा लेखिएको हुन्छ । प्रयोग गरिएका वस्तु– कोदो, चामल, गहुँ, जौ, दूध, चिनी आदि र त्यसमा यो पनि लेखिएको हुन्छ– अझ बढी क्याल्सियम मिसाइएको हुन्छ । यीमध्ये सबै वस्तु घरमा पाइन्छन् तर १० गुणा बढी मूल्य तिरेर किन्ने गरिन्छ । बाहिरका बट्टाका खानेकुरा स्वास्थ्यकर छैनन् ।

यस्तै साना शिशुहरुलाई खुवाइने पोषणका बारेमा त विश्व स्वास्थ्य सङ्गठन र युनिसेफजस्ता अन्तर्राष्ट्रिय संस्थाहरुले बनाएका नियमहरुलाई एकातिर फालेर शिशुका पोषण र दूधको लागि विज्ञापन गरिन्छ । बच्चाहरुलाई दूध बनाउने कम्पनीहरुले पहिले त आमाको दूधभन्दा बट्टाको दूध शिशुलाई फाइदा गर्छ भनेर विज्ञापन गर्थे । पछि स्वास्थ्यकर्मीहरुले त्यसको विरुद्धमा आवाज उठाएपछि विश्व स्वास्थ्य सङ्गठनले यससम्बन्धी नियम बनाएपछि यस्ता सन्देशहरु दिन चाहिं छोडेका छन् तर अन्य तरिकाले विज्ञापन र गलत सन्देश दिने काम त अझै जारी छ । घरमा रहेको जाउलो, रोटी, आलु छोडेर विज्ञापनबाट प्रेरित भएर त्यसमा बढी पैसा तिर्ने गर्दछन् । यसरी विज्ञापनको प्रभावमा परेर धेरैजना हरेक पलमा ठगिरहेका हुन्छन् । विज्ञापनकै प्रभावमा परेर हामीलाई आवश्यक नपरेका कुराहरु पनि किन्ने प्रवृत्ति छ । सही ढङ्गबाट विज्ञापन गर्ने नियम कार्यान्वयन तथा उपभोक्ताहरुमा स्वास्थ्यप्रतिको जनचेतनाको विकास नभएसम्म धेरै मानिसहरुले आर्थिक नोकसानीको साथै अनेक स्वास्थ्य समस्या भोग्नुपर्ने अवस्था रहिरहनेछ ।

(लेखक जनस्वास्थ्य तथा पोषणविद् हुनुहुन्छ)

जनकपुर बोल्ट्सका खेलाडीको ‘ट्रफी परेड’(फोटोफिचर)

धनुषा । नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सका खेलाडीहरु आज जनकपुरधाममा ‘ट्रफी परेड’मा सहभागी भएका छन्।

बिहीबार राति जनकपुर आइपुगेका खेलाडीहरुले आजदेखि मधेस प्रदेशमा ट्रफी परेड सुरु गरेका हुन्। जसअन्तर्गत पहिलो दिन जनकपुरधाममा भव्य नगरपरिक्रमा गरिएको हो।

रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालाबाट विहान सुरू भएको ट्रफी परेड थापा चोक हुँदै पिडारी चोक, रामानन्द चोक, बजरङ्ग चोक, भ्रमरपूरा चोक, जिरो माइल, विश्वकर्मा चोक, मुरली चोक, रामचोक हुँदै जानकी मन्दिरमा समापन भएका थियो। नगरपरिक्रमाका अवसरमा जनकपुरधामका नागरिक समाज, खेलप्रेमीलगायतको सहभागिता थियो।

यही पुस ६ गतेसम्पन्न एनपीएलको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै जनकपुर बोल्ट्स विजेता बनेको थियो। 

सरकारले जनतालाई झुटो आश्वासन मात्र दियोः बोलन साह

काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन साहले अहिले दुई तिहाइको सरकार भएपनि केही काम गर्न नसकेको आरोप लगाएका छन् ।

शुक्रबार काठमाडौंमा प्रथम कोटेश्वर महोत्सवको उद्घाटन गर्दै मेयर साहले ५० औं वर्षदेखि जग्गाको समस्याका कारण मुआब्जा नपाएको भन्दै सरकारले प्रकृयामा छ भनेर झुटो आश्वासन मात्र देखाएको आरोप लगाए ।

उनले सरकारले व्यक्तिको जग्गा लुटेर राखेको भन्दै अहिले सरकारमा प्रधानमन्त्री, गृहमन्त्रीदेखि अर्थमन्त्रीसम्म आफ्नै हुँदा पनि काम नभए अब कहिल्यै नहुने बताए ।

उनले भने, ‘कोही नेताले तपाईंहरुको काम प्रकृयामा छ । काम हुँदै छ भनेर आश्वासन दिन आउनुभएको छ भने नपत्याउनु होला । कुनै प्रोसेस भएको छैन । केही काम भएको छैन ।’

मेयर साहले दुई तिहाइको सरकार हुँदा पनि काम नहुने अवस्था आउनु दुःखद भएको बताए ।

सम्पदाहरुको बजारीकरण गरेर देशमै रोजगारीको अवसर सिर्जना गर्न सकिन्छ : उपप्रधानमन्त्री सिंह

भक्तपुर । उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्पदाहरुको बजारीकरण गर्न सके देशमै नयाँ रोजगारीको अवसर सिर्जना गर्न सकिने बताएका छन् । शुक्रबार मध्यपुर महोत्सवको उद्घाटन गर्दै उनले यस्ता महोत्सवले ऐतिहासिक सम्पदा, स्थानीय कला संस्कृतिको प्रवद्र्धन र अवसर सिर्जनामा टेवा पुर्याउने बताए ।

‘हाम्र पुर्खाले हामीलाई सिकाएर गएका सिपहरु, जुन संस्कृति र संस्कार छ । यी सबैलाई जीवन्त राख्नका लागि यो महोत्सवले टेवा पुर्याउँछ भन्ने मलाई विश्वास छ,’ उपप्रधानमन्त्री सिंहले भने ‘आफू जन्मेको ठाउँमा बसेर के नै गर्न सकिन्छ र ? भन्ने नकारात्मक खालको भाष्य बनाउन खोजिएको छ । काम गर्ने इच्छा भयो भने सम्भावना प्रशस्त मात्रामा रहेको कुरा पनि यो महोत्सवले देखाउन खोजेको छ । यसको साथै देशको अर्थतन्त्रलाई पनि लयमा ल्याउनको लागि महोत्सवले धेरै ठूलो प्रत्यक्ष रुपमा प्रभाव पार्छ ।’

मध्यपुर महोत्सवले कला संस्कृतिले सम्पन्न मध्यपुर ठिमिभित्र रहेका सबै मूर्त, अमूर्त सम्पदाहरुलाई विश्वसामु ल्याउन मद्दत गर्ने भन्दै उनले महोत्सव सफलताको शुभाकामना दिए ।

सिंहले भने, ‘मध्यपुर ठिमिभित्र रहेका सबै मूर्त, अमूर्त सम्पदाहरुलाई विश्वसामु चिनाउन, देखाउन, सम्झाउन र बुझाउनको लागि महोत्सव आयोजन भएको छ । महोत्सवको लागि जति मेहेनत गर्नु भएको छ र जुन लक्ष्य राख्नु भएको छ त्यो पूरा हुन्छ भन्ने पूरा विश्वास छ ।’ महोत्सव पुस १४ गतेसम्म चल्नेछ ।

कालीगण्डकी मत्स्य ह्याचरीद्वारा यस वर्ष आठ लाख भुरा उत्पादन

वालिङ (स्याङ्जा) ।स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मीस्थित कालीगण्डकी मत्स्य ह्याचरीले यस वर्ष आठ लाखभन्दा बढी माछाका भुरा उत्पादन तथा वितरण गरेको छ। नेपाल विद्युत् प्राधिकरण कालीगण्डकी ए जलविद्युत् परियोजनाअन्तर्गत ह्याचरी मिर्मीले कालीगण्डकी नदीसहित आँधीखोला तथा आसपासका खोलामा छाड्ने गरी भुरा उत्पादन गरी वितरण गरेको हो।

परियोजना सञ्चालन भएसँगै नार्कसँगको सहकार्यमा विभिन्न जातका माछाका भुरा उत्पादन गरी वितरण गर्न थालिएको परियोजना प्रमुख राजबाबु महर्जनले बताए। नदी तथा खोलामा पर्यावरण सन्तुलनलाई कायम राख्नका लागि परियोजनाको जलायश तथा त्यससँग प्रभावित अन्य खोलाहरूमा भुरा छाडिदै आएको उनले बताए।

ह्याचरीले विगतका वर्षमा जस्तै यस वर्ष पनि विभिन्न प्रजातिका आठ लाख २२ हजार माछाका भुरा उत्पादन गरी मागका आधारमा वितरण गरिएको कालीगण्डकी मत्स्य ह्याचरीका संयोजक डोलराज न्यौपानेले जानकारी दिए।

उनका अनुसार ह्याचरीमा उत्पादन भएकामध्ये यस वर्ष कालीगण्डकी जलविद्युत् परियोजनाको जलाशय मिर्मी आँधीमुहानमा तीन लाख ८० हजार, बिरुवा गाउँपालिकाअन्तर्गतका खोला आसपासमा ८७ हजार पाँच सय, अर्जुनचौपारी गाउँपालिकाअन्तर्गत दरौँ खोला र आसपासका खोलामा ५० हजार, रुरु हाइड्रोपावर क्षेत्रमा ४२ हजार पाँच सय माछाका भुरा वितरण गरिएका छन्।

ह्याचरीले स्थानीय जातका हाडे, गर्दी, सहर, कत्ले, हाडेसहित पोखरीमा पाल्नका लागि कमनकार्पलगायत माछाका भुरा उत्पादन तथा वितरण गर्दै आएको छ।

तीनवटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज

काठमाडौं । नेपाल राष्ट्र बैंकले तीनवटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज गरेको छ । बैंकले भाटभटेनी मनी ट्रान्सफर, मोर्डन रेमिट्यान्स र नमस्ते रेमिट इन्टरनेशनलको इजाजत खारेज गरेको हो ।

कारोबार गर्ने इजाजतको म्याद नवीकरण नगरेकाले खारेज गरेको राष्ट्र बैंकले जनाएको छ । खारेज भएका संस्थासँग रेमिट्यान्सको रकम लिनुदिनु बाँकी भएमा ३५ दिनभित्र लिखित जानकारी दिन पनि राष्ट्र बैंकले जनाएको छ।

ट्रम्प ह्वाइट हाउसमा फर्कनुअघि अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई चाँडै फर्कन विश्वविद्यालयहरूको आग्रह

वासिङ्टन । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्कने तयारीमा रहँदा सन् २०२५ जनवरीमा उनको शपथग्रहणले कलेज र विश्वविद्यालयहरूमा अमेरिकी आप्रवासन नीतिहरूमा हुनसक्ने परिवर्तनबारे चिन्ता उत्पन्न गरेको छ ।

देशभरका विश्वविद्यालयहरूले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई सल्लाह जारी गर्दै नयाँ प्रशासनअन्तर्गत कडा नियमहरूको अपेक्षामा सावधानीपूर्वक आफ्नो यात्राको योजना बनाउन आग्रह गरेको सिएनएनले जनाएको छ । 

डोनाल्ड ट्रम्पले सन् २०२४ को राष्ट्रपति चुनावमा डेमोक्रेटिक प्रतिद्वन्द्वी कमला ह्यारिसलाई पराजित गरेका थिए । उनले जनवरी २० मा अमेरिकी राष्ट्रपतिको दोस्रो कार्यकालका लागि औपचारिक रूपमा शपथ लिनेछन् ।

नोभेम्बर १८ मा अमेरिकी विदेश मन्त्रालय, शैक्षिक तथा सांस्कृतिक मामिला ब्युरोको अन्तर्राष्ट्रिय विद्यार्थीहरूको तथ्याङ्कअनुसार २०२३–२०२४ शैक्षिक वर्षमा दुई सय १० भन्दा बढी मूल स्थानका ११ लाख २६ हजार ६९० अन्तर्राष्ट्रिय विद्यार्थीले अमेरिकी उच्च शिक्षा संस्थाहरूमा अध्ययन गरेका छन् । यो आँकडा अघिल्लो शैक्षिक वर्षको तुलनामा ७ प्रतिशतले बढी हो ।

ट्रम्पको शपथग्रहण अघि कर्नेल विश्वविद्यालयको ग्लोबल लर्निङ कार्यालयले आफ्नो वेबसाइटमा नयाँ राष्ट्रपति प्रशासनअन्तर्गत आप्रवासन परिदृश्य परिवर्तन हुने सम्भावना रहेको जनाउँदै अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई आगामी वर्ष जनवरी २१ बाट सुरु हुने अर्को सेमेस्टर सुरु हुनुअघि फर्कन वा ‘यात्रा योजनाबारे सल्लाहकारसँग कुरा गर्न र ढिलाइका लागि तयार रहन’ सल्लाह दिएको छ ।

“शपथग्रहण पछि चाँडै यात्रा प्रतिबन्ध लागू हुने सम्भावना छ । यो प्रतिबन्धमा पहिलो ट्रम्प प्रशासनमा लक्षित देशहरू किर्गिस्तान, नाइजेरिया, म्यानमा, सुडान, तान्जानिया, इरान, लिबिया, उत्तर कोरिया, सिरिया, भेनेजुएला, यमन र सोमालियाका नागरिकहरू समावेश हुने सम्भावना छ । यस सूचीमा चीन र भारत जस्ता नयाँ देशहरू थपिन सक्छन् । यी ‘चिन्ताका क्षेत्रहरू’ बाहेकका अन्तर्राष्ट्रिय विद्यार्थी र विद्वानहरूलाई यात्रा प्रतिबन्ध वा लक्षित भिसा निलम्बनले प्रभावित गर्ने सम्भावना छैन”, कर्नेल विश्वविद्यालयको ग्लोबल लर्निङ कार्यालयले भन्यो ।

कार्यालयले भनेको छ, “उल्लिखित देशहरूका अन्तर्राष्ट्रिय विद्यार्थी, प्राध्यापक र कर्मचारीहरूले सन् २०२५ जनवरी २१ देखि सुरु हुने सेमेस्टरअघि नै अमेरिका फर्किनु राम्रो हुन्छ । यदि यो सम्भव छैन भने सल्लाहकारसँग आफ्नो यात्रा योजनाबारे कुरा गर्नुहोस् र ढिलाइका लागि तयार रहनुहोस् ।”

विद्यार्थी नेतृत्वको मिडिया साइट युएससी एनेनबर्ग मिडियाका अनुसार युनिभर्सिटी अफ साउदर्न क्यालिफोर्निया अफिस अफ इन्टरनेसनल सर्भिसले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई यात्रासँग सम्बन्धित ‘कुनै पनि चुनौतीबाट बच्नका लागि सबैभन्दा सुरक्षित तरिका’ जनवरी १३ मा वसन्त सेमेस्टर सुरु हुनुअघि अमेरिकामा शारीरिक रूपमा उपस्थित हुनु हो भनेर चेतावनी दिएको छ । 

राष्ट्रपति चुनावको नतिजापछि युसिएलएको आप्रवासन कानून तथा नीति केन्द्रले नोभेम्बर ६ मा विद्यार्थीहरूलाई दिएको सन्देशमा सन् २०२४ को राष्ट्रपति चुनावको नतिजाले संयुक्त राज्य अमेरिकाभरका आप्रवासी समुदायहरूका लागि गम्भीर प्रश्नहरू उठाएको बताएको छ ।

“आगामी ट्रम्प प्रशासनको नीति र भनाइले लाखौंँ आप्रवासीहरूमा दीर्घकालीन प्रभाव पार्नेछ । यसमा विद्यार्थी, कर्मचारी र प्राध्यापकको रूपमा क्यालिफोर्निया विश्वविद्यालय (युसी) को हिस्सा भएकाहरू पनि सामेल छन् । युसी नीतिअनुसार विश्वविद्यालयले न्यायिक वारेन्ट, सम्मन, अदालतको आदेश वा कानूनले अन्यथा आवश्यक नगरेसम्म गोप्य विद्यार्थी रेकर्डहरूमा रहेको आप्रवासन स्थिति वा सम्बन्धित जानकारी जारी गर्नेछैन”, युसिएलएले भन्यो ।

म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीले विद्यार्थीहरूलाई ‘नयाँ नीति/नियमहरूको भविष्यवाणी गर्ने सामाजिक सञ्जाल र समाचार रिपोर्ट वा हल्लाका आधारमा निर्णय नगर्न’ आग्रह गरेको छ । विश्वविद्यालयले विद्यार्थीहरूलाई हिउँदे बिदामा यात्रा योजनाको मूल्याङ्कन गर्नसमेत सल्लाह दिएको छ ।

“नयाँ प्रशासनले सन् २०२५ जनवरी २० मा शपथ लिनेछ । यात्रा र भिसा प्रक्रियामा प्रभाव पार्नसक्ने नयाँ कार्यकारी आदेशहरू त्यस मिति वा त्यसपछि कार्यान्वयन हुन सक्छन् । विद्यार्थी स्थितिमा अमेरिका फर्कन अमेरिकी दूतावास÷कन्सुलेटमा नयाँ प्रवेश भिसाका लागि आवेदन दिनुपर्ने विद्यार्थीहरूले लामो प्रक्रिया समयको सम्भावनाको मूल्याङ्कन गर्नुपर्छ र विदेश यात्रा गर्नुपर्ने र नयाँ प्रवेश भिसा जारी हुन पर्खनुपर्ने भएमा वैकल्पिक योजना बनाउनुपर्छ । कुनै पनि प्रक्रियागत ढिलाइले विद्यार्थीहरूको योजनाअनुसार अमेरिका फर्कने क्षमतामा प्रभाव पार्न सक्छ”, यसले भनेको छ ।

ट्रम्पले सन् २०२४ को राष्ट्रपति अभियानका क्रममा आप्रवासन र मुद्रास्फीति लगायत विभिन्न आन्तरिक मुद्दा समाधान गर्ने वाचा गरेका थिए । उनले आफ्नो ‘अमेरिका पहिलो’ विदेश नीतिमा फर्कने सङ्केत गरेका छन् । उनले कानूनी अनुमति बिना अमेरिकामा बसिरहेका आप्रवासीहरूको सामूहिक निर्वासनका लागि राष्ट्रिय आपत्काल घोषणा गर्ने पनि पुष्टि गरेका थिए ।

खाँदबारी–किमाथाङ्का सडक चाँडो सञ्चालनमा ल्याउन ऊर्जामन्त्री खड्काको आग्रह

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभाको सदरमुकाम खाँदबारीदेखि उत्तरी चीनतर्फको सीमानाका किमाथाङ्का जोड्ने सडक तत्काल सञ्चालनमा ल्याउन आग्रह गरेका छन् ।

ऊर्जामन्त्री खड्काले आज रक्षामन्त्री मानवीर राईलाई भेटेर खाँदबारी–किमाथाङ्का सडक निर्माणको गति सुस्त भएकामा रक्षामन्त्री राईको ध्यानाकर्षण गराए। उक्त सडक रक्षा मन्त्रालयअन्तर्गत रहेको नेपाली सेनाले निर्माण गरिरहेको छ ।

 भेटमा ऊर्जामन्त्री खड्काले सडकको वर्तमान अवस्थाका बारेमा जानकारी लिँदै उक्त सडक निर्माणमा संलग्न नेपाली सेनालाई चाँडो सडक सम्पन्न गरी सञ्चालनमा ल्याउन आग्रह गरे । छलफलमा मन्त्री खड्काले खाँदबारी किमाथाङ्का सडक कोशी ल्हासा राजमार्गअन्तर्गत रहेको र उक्त खण्ड जोडिएपछि यो सडकले त्रिदेशीय पारवाहनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

मन्त्री खड्काले यो त्रिदेशीय नाका जोड्ने सडक सञ्चालनमा आएपछि नेपाल–भारत र चीनका अलावा बङ्गलादेशले फाइदा लिनसक्ने उल्लेख गर्दै सडक सञ्चालनमा आएसँगै नेपालको आर्थिक क्षेत्रको विकासमा यो सडक कोशेढुङ्गा बन्नसक्ने बताए ।

किमाथाङ्का क्षेत्र हुँदै नेपालको प्रसिद्ध नदी अरुणको बहाव रहेकाले उक्त क्षेत्रमा अन्य धेरै जलविद्युत् आयोजना निर्माण गर्न सकिने र यो सडकको पहुँचमार्फत जलविद्युत् विकासमा उल्लेख उपलब्धि हासिल गर्न सकिने हुँदा यो सडक शीघ्र सञ्चालनको बहुआयमिक महत्व रहेको बताए ।

भेटमा रक्षामन्त्री राईले नेपाली सेनाद्वारा निर्माण भइरहेको उक्त सडक मुलुक विकासमा महत्वपूर्ण पूर्वाधारका रुपमा रहने भएको हुँदा निर्माणमा संलग्न सेनालाई गुणस्तरीय रुपमा यथाशीघ्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन आवश्यक निर्देशन दिए ।

दुई मन्त्रीको भेटमा रक्षामन्त्री राईले पूर्वको किमाथाङ्का नाका, पश्चिमको हिल्सा नाका र केरुङ नाकालाई सरकारले प्राथमिकतामा राखेको जानकारी गराए । भेटमा नेपाली सेनाका महासेनानी धर्मेन्द्रकुमार झाले खाँदबारी–किमाथाङ्का सडकखण्डको अतिविकट खण्डमा ट्र्याक खोल्ने कार्य अन्तिम चरणमा पुगेको बताए ।

उनले उक्त सडकका लागि हाल छुट्याइएको बजेट अपर्याप्त रहेको र बजेटको सुनिश्चितता भएमा आगामी दुई महिनाभित्र सडक निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन सकिने उनको भनाइ थियो ।

कोशी ल्हासा राजमार्गअन्तर्गतको जोगवनीदेखि सङ्खुवासभाको सदरमुकाम खाँदबारीसम्म यसअघि नै सडक कालोपत्र भई यातायात सञ्चालनमा रहेको अवस्था छ । खाँदबारीदेखि किमाथाङ्कासम्मको सडकखण्ड भने नेपाली सेनाले ट्रयाक खोल्ने तथा स्तरोन्नति गर्ने कार्य गरिरहेको छ ।

खाँदबारीदेखि किमाथाङ्कासम्मको दूरी १५८.५१ किलोमिटर रहेको छ । उक्त दूरीमा पनि आंशिक रुपमा यातायातका साधान सञ्चालनमा रहेका छन् । 

दशगजा वारिपारि पहेँलपुर तोरीबारी

चन्द्रकला भण्डारी, झापा । मेचीनगर नगरपालिका–७ गैरीगाउँकी १४ वर्षीया पार्वती ठकुरी विद्यालयबाट घर फर्केपछि साथीहरुसँग क्रिक्रेट खेल्न नेपाल र भारतको दशगजामा पुग्छिन् । उनको घर नजिकै सीमा क्षेत्रमा ९०/२ पिपी ५० नम्बरको सीमा स्तम्भ उभिएको छ । त्यही सीमा स्तम्भलाई आड लगाएर उनीहरुले चौका र छक्का हानेको क्रिक्रेट बल कहिले नेपालतिर र कहिले भारतीय भूमिको पहेँलपुर तोरीबारीमा पुग्ने गर्छ ।

चार वर्षअघि नेपाल र भारत दुवै मुलुकले दशगजा क्षेत्र खाली राख्ने निर्णय गरेसँगै गैरीगाउँको दशगजा क्षेत्र बालबालिकाका लागि खेलमैदान जस्तै भएको छभने स्थानीयवासीको गाईबाख्रा चराउने चरन बनेको छ । तीन दशकअघि सीमा अद्यावधिक गर्ने क्रममा ९०/२ पिपी ५० नम्बरको सीमा स्तम्भ गाडिएको थियो । गैरीगाउँको माझमा गाडिएको सो सीमा स्तम्भले स्थानीय बासिन्दालाई दुई देशको फरक भूगोलमा बाँडिदियो । अहिले गाउँको आधा भाग भारततिर परेको छ ।

स्थानीय कुलप्रसाद तिवारीको डेढ बिगाहा जग्गा त्यही बेलादेखि सीमा पारि भारतमा प¥यो । नेपाल र भारत दुवैतिर उनको खेतीपाती चलिरहेको छ । सीमा अद्यावधिक हुनुअघि दुवैतिरको जग्गाको उनीसँग नेपाली धनीपुर्जा थियो । उसबेला तिवारीले सरकारी मालपोत नेपालमै बुझाउँथ्यो। तर गैरीगाउँको माझमा सीमा स्तम्भ ठडिएपछि उनको जस्तै दर्जनौँ बासिन्दाले वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गा भारतीय भूभाग ठहरियो ।

तिवारीको जग्गामा यतिबेला तोरी फुलेर पहेँलपुर भएको छ । तोरीबारीको माझमा रहेको दशगजामा स्थानीय बालबालिका विद्यालय छुट्टी हुनासाथ क्रिक्रेट, फुटबल, भलिबल र कबड्डी खेल्न दिनहुँ झुत्तिन्छन् । “खेल्दाखेल्दै कहिलेकाहीँ भारततिरका एसएसबी (भारतीय सशस्त्र सीमा सुरक्षा बल)का अङ्कलहरु आउनुहुन्छ, कहिले नेपालका सशस्त्रको अङ्कलहरु आउनुहुन्छ,” काँकडभिट्टा माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत ठकुरी भन्छिन्, “दशगजा होस् कि बीसगजा होस्, हामीलाई खेल्न पाए भयो । अङ्कलहरुले राम्ररी खेल्नु भनेर हौस्याउनुहुन्छ । हामीलाई त उहाँहरुसँग केही डर लाग्दैन ।”

गैरीगाउँमा नेपाली धनीपुर्जा भएको पचासौँ बिगाहा जग्गा सीमा अद्यावधिकका कारण भारतीय भूमिमा परेको विवादास्पद प्रसङ्गले बेलाबेला सञ्चारमाध्यममा चर्चा पाउने गरेको छ । तर गाउँमा भने विवाद र भयको कुनै छनक छैन । नेपाली नागरिकता, जग्गा धनीपुर्जा र बिजुलीका मिटर रहेका दर्जनभन्दा बढी स्थानीयवासीको घर अहिले पनि भारतीय भूमिमा छ ।

“चार वर्ष अघिसम्म दशगजा क्षेत्रमा यतिबेला तोरीको फूलले पिल्लर नै छोपिएला जस्तो हुन्थ्यो,” गैरीगाउँको दशगजामै आँगन जोडिएका ५१ वर्षीय श्याम बाँतर भन्छन्, “अहिले दशगजा खाली गराइएको छ । मेरो घरको आँगन नै दशगजामा परेको छ । मानिसहरुले दशगजामा खेतीपाती गर्न छाडेका छन् ।”

गैरीगाउँमा ३० वर्षदेखि बसोबास गर्दै आएका उनले रिक्सा चलाएर आर्जेको पैसाले जोडेको १० धुर जग्गामध्ये अढाई धुर दशगजामा परेको बताए । दशगजाको दुवैतर्फ ३०/३० फिट जग्गा खाली गराउने दुवै देशबीच सहमति भएको छ । सरकारी अधिकारीहरुले दशगजामा परेको आँगन पनि खाली गरिदिन आग्रह गरिरहेको उनको भनाइ छ ।

भारततिरबाट एसएसबीको गस्ती नियमित रुपमा दशगजा क्षेत्रमा आउने गरेको र घर कसको भनेर सोध्ने गरेको उनले जानकारी दिए । दशगजामा आँगन जोडिएको बाँतर परिवारलाई सीमाको बसोबास शान्त नै लागेको छ । कहिलेकाहीँ वारिपारि धन्धा गर्नेहरुसँग नेपाली सुरक्षाकर्मीहरुको घम्साघम्सी पर्नेबाहेक सीमावर्ती गैरीगाउँका बासिन्दाले अन्तरदेशीय भूगोलका कारण कुनै सकस अनुभव गरेका छैनन् ।

गैरीगाउँका ३१ वर्षीय टीका चौधरी हजुरबुबाको पालादेखि नै नेपालमा बसोबास गर्दै आए तापनि सीमा स्तम्भको अद्यावधिकपछि आफूहरुको घर खेत सबै भारततिर परेको बताउँछन् । भारतीय भूमिमा परेको गैरीगाउँका बासिन्दाका बालबालिका पढ्नका लागि काँकडभिट्टाको सरकारी र निजी विद्यालय नै धाउने गर्छन् ।

चौधरी दिनहुँ दशगजा पार गरेर मेची भन्सार कार्यालयमा ‘लोड अनलोड’को मजदुरी गर्न आउने गर्छन् । भारततिर घर र जग्गा परे तापनि नेपालकै विद्युत् र पानी प्रयोग गरिरहेको चौधरीले बताए ।

दश वर्षअघि झापाको दक्षिणी गाउँ पृथ्वीनगरबाट सस्तोमा घडेरी खोज्दै गैरीगाउँमा सपरिवार बसोबास गर्न आएकी देवी पाण्डेले भारतीय सुरक्षा बल एसएसबीको गस्ती दशगजा नाघेर कहिल्यै पनि नेपालतिर नआएको बताइन् । पाण्डेको घर दशगजामै जोडिएको छ ।

“एसएसबीहरु दशगजा पारि नै डुल्छन्, प्यास लाग्यो भने सीमापारिबाटै पानी माग्छन्”, उनले भनिन्, “बोतलमा पानी भरेर लगिदिन्छौँ । नराम्रो कहिल्यै गरेका छैनन् ।” नेपाली सीमाको सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलको एउटा टोलीले उनको घर छेउमै टहरा बनाएर रातोदिन पहरा दिने गरेको छ ।

सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले रातदिन पहरा दिएका कारण गैरीगाउँका बासिन्दाले सुरक्षित अनुभूति गरेको पाण्डेले बताइन् । उनका तीन छोराछोरी काँकडभिट्टा माध्यमिक विद्यालयमा पढ्ने गर्छन् । उनका पति भाडाको सवारी साधन चलाउने गर्छन् ।

“बसाइँ सरेर आएको बेला दशगजा भन्ने नै थाहा थिएन,” उनले भनिन्, “घडेरीको पूर्वी सीमामा बडेमानको पिल्लर ठडिएको देख्दा सुरुमा निकै डर लागेको थियो । घडेरी त भारतमा पर्यो कि भनेर सोध्न जाँदा दशगजाबाट पश्चिमतिर नेपाल नै हो भनेर छिमेकीले मलाई आश्वस्त बनाएका थिएँ ।”

दशगजामै घर जोडिएको गैरीगाउँकी ६५ वर्षीया होमादेवी खनालले गाउँका बासिन्दा भारत र नेपाल जतातिर घरजग्गा परे तापनि मिलेर बसिरहेको बताइन् । “हिँड्ने बाटो र सौदा किन्ने बजार एउटै छ,” उनले भनिन्, “भारततिर घर भएकासँग ऐँचोपैँचो चलिरहेकै छ । आउजाउमा कुनै अप्ठेरो छैन । खेतीपाती दुवैतिरकाले जता गएर पनि गरिरहेकै छन् । कुन भारत, कुन नेपाल भन्ने सीमा पिल्लरले मात्रै छुट्याएको छ ।”

गैरीगाउँका अधिकांश बासिन्दा खेतीपाती र मजदुरी गर्छन् । नेपालतिर बसोबास गर्दै आएको ७७ वर्षीय टङ्कबहादुर राई दिनहुँ दशगजा पार गरेर भारतीय भूमितिर परेको आफ्नो जग्गामा तरकारीखेती गोडमेल गर्न जान्छिन् । उनले नेपाली धनीपुर्जा भएको आफ्नो १२ कट्ठा नम्बरी जग्गामध्ये सात कट्ठा मात्र दशगजा वारि रहेको र पाँच कट्ठा भारतीय भूमिमा परेको बताइन् ।

भारतीय भूमिमा रहेको जग्गामा उनले अहिले टमाटर र सिमी रोपेकी छिन् । मेचीको बगरमा रहेको उनको वर्षौंदेखिको भोगचलनको आठ कट्ठा बगरखेत समेत भारततिरै परेको छ । उक्त बगरखेतमा धानखेती हुँदै आएको छ ।

“जग्गाको धनीपुर्जा नेपालकै थियो, माझमा पिल्लर गाडिएपछि एकै रातमा सिमाना बदलिएर मेरो जग्गा भारततिर पर्यो,” उनले भनिन्, “अहिलेसम्म खनजोत गरेर खाइरहेकै छु । कसैले केही भनेको छैन । एकपटक एसएसबीहरु खेतमा आएर एउटा टमाटर खान पर्यो भनेका थिए । मैले एउटा मात्र किन दुई चारवटै खानुहोस् भनेको थिएँ ।”

सीमा क्षेत्रमा उत्पन्न हुने समस्याहरुको निराकरणका लागि सशस्त्र प्रहरी बलले स्थानीय वडाध्यक्षहरुको संयोजकत्वमा सीमा सहजीकरण समिति गठन गर्दै आएको छ । स्थानीयवासीले आफ्ना गुनासा र समस्याहरु समितिमार्फत सशस्त्र प्रहरी बलमा पुर्याउने गरेको मेचीनगर–७ का वडाध्यक्ष प्रह्लादमणि ओली बताउँछन् ।

झापामा भारतसँग सीमा जोडिएका २३ वटा वडाहरु छन् । बेलाबेलामा सशस्त्र प्रहरी बलको २ नं गण चन्द्रगढीले वडाध्यक्षहरुलाई सीमाका गुनासाहरुको सम्बोधन गर्नका लागि अभिमुखीकरण र अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै आएको छ ।

“झापाको कचनकवल जस्ता केही सीमा क्षेत्रमा खेतीपाती गर्ने र बाली उठाउने विषयमा वारिपारिका बासिन्दाबीच विवाद हुने गरेको सुनेका छौँ,” वडाध्यक्ष ओलीले भने, “तर, हाम्रो गैरीगाउँमा खेतीपातीका विषयमा भारततिरबाट समस्या आएको गुनासो सुनिएको छैन । त्यस्तो कुनै समस्या आइहालेछ भने पनि हामी सशस्त्र प्रहरी बलसँग मिलेर समाधानका लागि तत्कालै सहजीकरण गर्छौं ।” 

प्रधानमन्त्रीसमक्ष तीन विश्वविद्यालयका उपकुलपतिको शपथ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार भएको कार्यक्रममा कुलपतिका हैसियतामा प्रधानमन्त्री ओलीबाट नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा धनेश्वर नेपाल, पोखरा विश्वविद्यालयका उपकुलपति प्रा डा वेदराज केसी र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा डा शारदा थपलियाको शपथ लिएका हुन् । प्रधानन्त्री ओलीले नवनियुक्त उपकुलपतिहरुलाई कार्यकाल सफलताको कामना गरे । 

सो अवसरमा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, नेपाल सरकारका उच्चाधिकारीलगायत उपस्थित थिए । 

जापानमा वृद्ध जनसङ्ख्या र सुक्षाका लागि अहिलेसम्मकै धेरै बजेट विनियोजन

टोकियो । जापान सरकारले आगामी आर्थिक वर्षका लागि नयाँ बजेट पारित गरेको छ । बजेटले बृद्धहरू जनसङ्ख्याको व्यवस्थापनका लागिसामाजिक कल्याण र क्षेत्रीय खतरासँग जुध्न बजेटमा विशेष ध्यान दिएको छ ।

सरकारले सन् २०२५ को अप्रिलदेखि सुरु हुने वर्षका लागि ११५.५ ट्रिलियन येन अर्थात् ७३० अर्ब अमेरिकी डलरको बजेटमा ८.७ ट्रिलियन येन सुरक्षा खर्च समावेश गरेको छ ।

सामाजिक सुरक्षा खर्च पनि ३८.३ ट्रिलियन येन समावेश छ जुन अघिल्लो वर्षको ३७.७ ट्रिलियन येनभन्दा बढी हो ।

जापानका प्रधानमन्त्री शिगेरु इशिबाको चेतावनीलाई दोहो¥याउँदै जापानले दोस्रो विश्वयुद्धपछिको सबैभन्दा कठिन र जटिल सुरक्षा वातावरणको सामना गरिरहेको रक्षा मन्त्रालयले जनाएको छ ।

जापानसँग युद्धपछिको शान्तिवादी संविधान छ, जसले उसको सैन्य क्षमतालाई रक्षात्मक उपायहरूमा सीमित गर्दछ।

जापानले सन् २०२२ मा प्रमुख सुरक्षा र प्रतिरक्षा नीतिलाई अद्यावधिक गर्दै चीनले खडा गरेको चुनौतीलाई स्पष्ट रूपमा सङ्केत गर्दै सन् २०२७ सम्ममा आफ्नो रक्षा खर्चलाई कुल गार्हस्थ्य उत्पादनको दुई प्रतिशतको नाटोको मापदण्डमा दोब्बर बनाउने प्रतिबद्धता जनाएको छ ।

शुक्रबार स्वीकृत ८.७ ट्रिलियन येनले जापानको आत्मरक्षा बलमा भर्ती भएकाहरूलाई आकर्षित गर्न र ओकिनावाका स्थानीयहरूसँग अमेरिका र जापानी सेनाबीचको सम्बन्ध सुधार गर्न मद्दत पुर्याउने उपायहरूको लागि भुक्तानी गर्न मद्दत गर्नेछ ।

यसले उत्तर कोरियाले प्रहार गरेका ब्यालेस्टिक क्षेप्यास्त्रहरू र चीनसँग विवादित क्षेत्रसहित जापानको समुद्री क्षेत्रमा जहाजहरूको गतिविधिको बारेमा जानकारी सङ्कलन गर्ने उपग्रह प्रणालीतर्फ पनि जानेछ ।

योमिउरी पत्रिकाले बिहीबार आयोजना गरेको एक कार्यक्रममा इशिबाले भने, “हाम्रो प्रतिरक्षा क्षमतालाई बलियो बनाउने विषयमा हामी सक्रियताका साथ काम गरिरहेका छौं ।’

“अहिले हाम्रो सैन्य ट्याङ्क वा सवारी साधन जतिसुकै धेरै भएपनि यदि हामीसँग उनीहरूलाई सार्न पर्याप्त मानिस छैनन् भने त्यो निरर्थक छ,” नयाँ सेनाको अभावलाई पूरा गर्ने प्रतिबद्धता जनाएका प्रधानमन्त्री इशिबाले भने ।

देशले सामना गरिरहेको अर्को चुनौती भनेको लामो समयदेखि कम जन्मदर र आप्रवासनको लागि सतर्क दृष्टिकोणको कारण यसको वृद्ध जनसङ्ख्या हो।

जापान विश्वको सबैभन्दा पुरानो समाजमध्ये एक हो र यो वर्ष ६५ वर्ष वा सोभन्दा बढी उमेरका मानिसको अनुपात २९.३ प्रतिशत पुगेको छ ।

बजेटको मस्यौदा संसद्बाट पारित गर्नुपर्ने छ र सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी र यसको सानो गठबन्धन साझेदार कोमेइतोलाई विपक्षी दलहरूको सहयोग आवश्यक पर्नेछ ।

इशिबाले गठबन्धनलाई १५ वर्ष यताकै सबैभन्दा कमजोर चुनावी नतिजा प्राप्त गरेपनि प्रधानमन्त्रीको रूपमा जिम्मेवारीलाई निरन्तरता दिइरहेका छन् । सन् २०२५ को ग्रीष्मयाममा संसदको माथिल्लो सदनको निर्वाचन हुनेछ ।

नौ रुपैयाँको नुन किन्न २५ सय खर्च !

हुम्ला ।  सर्केगाड गाउँपालिका- १ तुम्च गाउँका नागरिकलाई अनुदानको नुन किन्नका लागि चर्को खर्च गर्नुपर्ने बाध्यता छ । अनुदानमा प्राप्त हुने  नौ रुपैयाँको नुनलाई उनीहरुले रु दुई हजार पाँच सयसम्म खर्च गरिरहेका छन् ।

नुन वितरणको डिपो कार्यालय गाउँभन्दा टाढा हुँदा महङ्गो गाडी भाडा तिरेर उनीहरु नुन किन्न जानु परेको छ । नुन लिन जाँदा र घर फर्कन मात्रै उक्त रकम खर्च हुने गरेको स्थानीय रामशरण रावतले बताए ।

केही दिनअघि साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले बिक्री गर्ने नुन खरिद गर्न सर्केगाडस्थित डिपोमा ठूलो खर्च भएको उनले बताए । उनले भने, ‘गाउँभन्दा पालिका केन्द्र टाढा छ । अनुदानमा  नौ  रुपैयाँ पर्ने नुन लिन जान  पच्चीस सय खर्च लाग्छ ।’

एक दिनको पैदलयात्रामा पुगिने ठाउँमा गाडीमा आवतजावत गर्दा रु २५ सय लाग्ने गरेको रतन रावतले बताए । साल्ट ट्रेडिङको सर्केगाड बजारमा रहेकाले डिपो केन्द्रमार्फत मात्र बिक्री गर्दा तुम्चका ९५ घरधुरीलाई समस्या हुने गरेको रावतको भनाइ छ ।

गाउँपालिका केन्द्र टाढा रहेकाले गाउँपालिकाबाट पाउने अन्य सेवा सुविधाबाट समेत बञ्चित भइ वडा कार्यालय जान समेत तीन घण्टा पैदल हिँड्नु पर्ने बाध्याता रहेको रावतले सुनाउनुभयो । वडा कार्यालय जैरमा भएकाले तीन घण्टाको उकालो हिँडेर विभिन्न सिफारिस लिनुपर्ने अवस्था छ ।

तुम्च गाउँका नागरीकले नुन सर्केगाड नपुर्याइ बालुकुना क्षेत्रबाट वितरण गर्दा आफूहरुलाई सहज र खर्च पनि बच्ने उनीहरुको भनाइ छ । साल्ट ट्रेडिङ कर्पोरेसन शाखा हुम्लाका प्रमुख राजबहादुर लामा भने दक्षिण भेगका चारवटा गाउँपालिकाका लागि सहज पहुँच पुग्ने गरी बिक्री केन्द्रबाट वितरण हुँदै आएको बताए ।

एक दुई पटक यहाँका नागरिकको समस्यालाई हेरी तुम्चका लागि बालुकुना मै वितरण भएको उहाँको भनाइ छ । अहिले चंखेली र सर्केगाडका लागि सर्केगाड बिक्री केन्द्र र अदानचुली र ताँजकोटका लागि अदानचुलीको श्रीनगरसम्म पुर्याउने सम्झौता भएको लामाले बताए ।

ती चारवटा गाउँपालिकाका लागि चालु आर्थिक वर्षमा १८ सय क्विइन्टल नुन पुर्याइनेछ । सर्केगाडका लागि पाँचसय, चंखेली चारसय, अदानचुली पाँचसय, ताँजकोट गाउँपालिकाका लागि चारसय क्विइन्टल नुन ढुवानी हुने भएको छ । अहिले दक्षिण भेगमा नुन ढुवानी भइरहेको बताइएको छ ।

घोराही उपमहानगरले चिकित्सा शिक्षा र इञ्जिनियरिङ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने

 दाङ। दाङको घोराही उपमहानगरपालिकाले चिकित्सा शिक्षा र इञ्जिनियरिङ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । घोराहीका सामुदायिक विद्यालयमा पढेका विद्यार्थीलाई इन्जिनियर र चिकित्सा शिक्षा पढ्न जनही तीन लाख र पाँच लाख छात्रवृत्ति दिने नगरप्रमुख नरुलाल चौधरीले जानकारी दिए ।

डाक्टर पढ्नेलाई छात्रवृत्तिबापत एकमुष्ट पाँच लाख र इञ्जिनियर पढ्नेलाई एकमुष्ट तीन लाख प्रदान गर्नेबारे उपमहानगर सार्वजनिक सूचनामार्फत सबैलाई सूचित गरेको छ । त्यस्ता विद्यार्थीले पुस ८ देखि माघ ८ गतेसम्म सामाजिक विकास महाशाखामा प्रमाण पुग्ने कागजसहित निवेदन दिनुपर्नेछ ।

यो सुविधा पाउने विद्यार्थीले एसइई तथा प्लस टू सामुदायिक विद्यालयबाट उत्तीर्ण गरेको प्रमाणसहितका अन्य तोकिएका मापदण्ड पूरा गर्नुपर्ने जनाइएको छ । 

फिल्म ‘रंगी’ को दोस्रो पोस्टर सार्वजनिक

काठमाडौं । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘रंगी’ को दोस्रो पोस्टर सार्वजनिक भएको छ । अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्म आगामी फागुन २ गतेदेखि प्रदर्शन हुँदैछ । फिल्म निर्माण टिमले शुक्रबार नयाँ पोस्टर सार्वजनिक गरेको हो ।

पोस्टरमा कलाकार सलोन बस्नेत, नम्रता श्रेष्ठ र बाल कलाकार आयुषी ढकाललाई स्थान दिइएको छ । पोस्टरमा साइकलमा रहेका सलोनले फुडमाण्डुको ब्यागमा आयुषीलाई बोकेका छन् । सलोन र आयुषी खुशी मुद्रामा छन् । सलोनको अगाडि नायिका नम्रता लजालु भावमा उभिएकी छन् ।

पात्रको पृष्ठभूमिमा वसन्तपुर दरबार स्क्वायरको गल्ली देख्न सकिन्छ । सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहेको फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ । ‘मिस वल्र्ड नेपाल २०२०’ विजेता नम्रता श्रेष्ठको यो डेब्यू फिल्म हो ।

प्रस्तुतकर्ता सलोनका अनुसार फिल्मले बाबुछोरीको कथा देखाउनेछ । सक्षम सुवेदी र करिश्मा केसी बस्नेतको निर्माण रहेको फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी र सुजता केसीको स्वर, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको शब्द, प्रिज्मा श्रेष्ठको मेकअप, रोमन बज्राचार्य, उदय पौडेल र विमल छिनलको सङ प्रोग्रामिङ, आइक्याच स्टुडियोको पब्लिसिटी डिजाइन, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ । फिल्मलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछ ।

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने

नयाँदिल्ली ।  सन् १९९० को दशकको सुरुमा देशको आर्थिक उदारीकरणका वास्तुकारमध्ये एक पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनपछि भारतले शुक्रबार सात दिनको राजकीय शोक मनाउने घोषणा गरेको छ ।

सन् २००४ देखि २०१४ सम्म प्रधानमन्त्रीको कार्यभार सम्हालेका सिंहको बिहीबार साँझ नयाँदिल्लीको अस्पतालमा ९२ वर्षको उमेरमा निधन भएको थियो । उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ ।

“दिवङ्गत महानुभावप्रति सम्मान स्वरूप सम्पूर्ण भारतमा सात दिनको राजकीय शोक मनाइने निर्णय गरिएको छ”, भारत सरकारले शुक्रबार एक विज्ञप्तिमा भनेको छ । शोक जनवरी १ सम्म मनाइनेछ ।

“स्वर्गीय डा. मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने निर्णय पनि गरिएको छ”, विज्ञप्तिमा उल्लेख छ । राष्ट्रिय झण्डा आधा झुकाइनेछ ।

अस्ट्रेलियासँग चौथो टेस्ट खेलिरहेको भारतीय क्रिकेट टोलीले शुक्रबार सिंहप्रति सम्मान प्रकट गर्न कालो हातको ब्यान्ड लिएर शुक्रबार मैदानमा पुगेको थियो । राजकीय अन्त्येष्टिको मिति तत्काल घोषणा नगरिए पनि कांग्रेस पार्टीका एक वरिष्ठ सदस्यले शनिबार हुनसक्ने सङ्केत गरेका छन् ।

सरल टेक्नोक्र्याट

पूर्वप्रधानमन्त्री एक सरल टेक्नोक्र्याट थिए । उनलाई पहिलो कार्यकालमा एसियाको चौथो ठूलो अर्थतन्त्रको आर्थिक वृद्धिको नेतृत्व गरेकामा प्रशंसा गरिएको थियो तर उनको दोस्रो कार्यकाल ठूला भ्रष्टाचार काण्ड, मन्द विकास र उच्च मुद्रास्फीतिका साथ समाप्त भयो ।

दोस्रो कार्यकालमा सिंहको अलोकप्रियता र तल्लो सदनमा हालका विपक्षी नेता नेहरू–गान्धी वंशज राहुल गान्धीको कमजोर नेतृत्वले सन् २०१४ मा प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो भारी जीतमा योगदान गर्यो ।

सन् १९३२ मा अहिले पाकिस्तानमा रहेको गाह गाउँको माटोको घरमा जन्मेका सिंहले विशाल राष्ट्रमा गरिबी उन्मूलन गर्ने तरिका खोज्न अर्थशास्त्रको अध्ययन गरे । राष्ट्रको सर्वोच्च पद लिनुअघि उनी कहिल्यै निर्वाचित पदमा बसेका थिएनन ।

उनले केम्ब्रिजबाट अर्थशास्त्रमा प्रथम श्रेणी र अक्सफोर्डबाट विद्यावारिधि हासिल गर्न छात्रवृत्ति पाएका थिए।

सिंहले वरिष्ठ निजामति सेवाका विभिन्न पदमा काम गरे, केन्द्रीय बैंङ्कको गभर्नरको रूपमा सेवा गरे र संयुक्त राष्ट्रसङ्घ जस्ता विश्वव्यापी एजेन्सीहरूमा विभिन्न पद सम्हाले ।

सन् १९९१ मा तत्कालीन कांग्रेसी प्रधानमन्त्री पीभी नरसिंह रावले उनलाई भारतको आधुनिक इतिहासको सबैभन्दा खराब वित्तीय सङ्कटबाट। देशलाई उकास्न जिम्मेवारी दिएका थिए ।

आफ्नो पहिलो कार्यकालमा सिंहले नौ प्रतिशतको आर्थिक वृद्धिको अवधिमा अर्थतन्त्रको नेतृत्व गरे। यसले देशलाई लामो समयदेखि खोजिरहेको अन्तर्राष्ट्रिय प्रभाव दियो ।

उनले अमेरिकासँग एउटा ऐतिहासिक आणविक सम्झौतामा पनि हस्ताक्षर गरे । उनले उक्त सम्झौताले भारतलाई आफ्नो बढ्दो ऊर्जा आवश्यकताहरू पूरा गर्न मद्दत गर्ने बताएका थिए।

रसुवामा निर्माणाधीन सुक्खा बन्दरगाहको काम ७२ प्रतिशत पूरा

रसुवा । चीनसँग सीमा जोडिएको मुलुकको उत्तरी नाका रसुवाको टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाह ७२ प्रतिशत पूरा भएको छ ।

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माणाधीन बन्दरगाहको काम ७२ प्रतिशत पूरा भएको नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले स्थलगत निरीक्षणपछि बताए ।

भोटेकोशी बगरमा सात सय मिटर लामो र साढे पाँच मिटर अग्लो सिमेन्टको पिलरसहित तटबन्ध निर्माण, बन्दरगाह प्रवेश र त्यहाँबाट प्रस्थान गर्ने सहायक मार्गको निर्माण, बगर सम्म्याउने, गोदामका दुई भवन निर्माण भएका छन् ।

आगामी असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको उनले बताए । बन्दरगाहमा संयुक्त निरीक्षणस्थल, गोदाम भवन, तीन सय मालबाहक र एक सय साना सवारी साधन पार्किङ गर्न सकिने छ ।

भीम रावललाई पार्टीले निकालेको होइन : महासचिव पोखरेल

भरतपुर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका पूर्वअध्यक्ष डा. भीम रावललाई पार्टी निकालेको नभई आफैंले पार्टी छाडेको बताएका छन् ।

शुक्रबार चितवनको भरतपुरमा प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले रावललाई पार्टीले हटाएको नभई उनी आफैं हटेको बताएका हुन् ।

उनले पार्टीविरुद्ध अभियान चलाउनेले पार्टीमा बस्न नमिल्ने बताए । उनले भने,‘उहाँले पार्टीविरुद्ध अभिव्यक्ति दिँदै हिँड्नुभयो । पार्टीविरुद्ध अभियान चलाउनेले म पार्टीको सदस्य हुँ भन्न मिल्दैन । त्यसैले उहाँलाई पार्टीले होइन आफैं निस्किएको हो।’

महासचिव पोखरेलले एमाले हुनका लागि एमालेको विधान र अनुशासनमा बस्नुपर्ने पनि बताए । पोखरेलले चितवनमै भएको दसौं महाधिवेशनमा रावललाई उपाध्यक्षको जिम्मेवारी लिनुस् भन्दा नमानेको पनि बताए ।

उनले कानुनी जटिलताको कारण विकास निर्माणले गति लिन नसकेको बताए । उनले भने, ‘कानुन भनेको काम गर्नको लागि सहजीकरण गर्ने विषय बन्नु पर्दछ, अवरोध गर्ने होइन । सामान्य तरिकाबाट आजको निराशालाई चिर्न र देशको अर्थतन्त्र विकास सकिँदैन ।’

राज्यको आर्थिक हिसाबले सामथ्र्य अतिकमजोर भएको अवस्थामा वर्तमान सरकार बनेकोले त्यसको सुधारको काम सरकारले गरिरहेको पोखरेलले बताए । नेपालमा अहिले निश्चित व्यक्तिहरूले निराशाको खेती गरिरहेका पोखरेलले बताए ।

यस्ता छन् मन्त्रिपरिषद बैठकका १२ निर्णय

काठमाडौं । सरकारले अनुमति नलिई क्यासिनो सञ्चालन गर्नेलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन अनुसारको कसुरमा मुद्दा चलाउने भएको छ ।

पुस ९ गते बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले अनुचित लेनदेन, खेलमा मिलोमतो र अनुमति नलिई क्यासिनो सञ्चालनका साथै मानव तस्करी, हुन्डी र भर्चुअल मुद्रा प्रयोगलाई समेत शुद्धीकरण निवारण ऐन अनुसारको कसुर तोक्ने निर्णय भएको जानकारी दिए ।

बैठकले सहकारीसम्बन्धी केहि नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ भने सवारी तथा यातायात व्यवस्था (दशौं संशोधन) नियमावली, २०८१ स्वीकृत गरेको छ ।

एनसेलको सेयर बिक्री रोक्न माग गरिएको रिट सर्वोच्चद्वारा खारेज

काठमाडौं । सर्वोच्च अदालतले एनसेलको सेयर बिक्री रोक्न माग गरिएको रिट खारेज गरेको छ । बिहीबार सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र टेकप्रसाद ढुंगानाको इजलासले रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको हो ।

यसअघि, मल्ल र ढुंगानाको इजलासले पुस १ गते उक्त मुद्दालाई हेर्दाहेर्दैमा राखेर सुनुवाइ गर्ने निर्णय गरेको थियो । सांसद अमरेशकुमार सिंहले २०८० मंसिर २२ गते एनसेलको सेयर खरिद बिक्री रोक्न सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनले परमादेशसमेत माग गरेका थिए ।

रिटमा एनसेल एक्जियाटा लिमिटेड, नेपाल दूर सञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, सञ्चार मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय/आन्तरिक राजस्व विभाग ठूला करदाता कार्यालयलाई विपक्षी बनाइएको थियो ।

मलेसियन कम्पनी आजियाटा लिमिटेडले एनसेलको ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट युके लिमिटेडलाई पाँच करोड अमेरिकी डलरमा बिक्री गरेको जानकारी दिइएको थियो । यस सेयर कारोबारमा नेपाल बाहिरको कारोबारी लेनदेन, नियामकीय निकायलाई जानकारी नगराइएको र मूल्यमा भएको भिन्नता लगायतका विवाद उठेका थिए ।

अधुरा आयोजनालाई सरकारले अगाडि बढाउने

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल–भारतबीच निर्माण हुन लागेका अधुरा आयोजनालाई वर्तमान सरकारले अगाडि बढाउने बताएका छन् ।

बुद्धिष्ट वल्र्ड पिस फाउण्डेसनद्वारा बिहीबार आयोजित ‘इन्डो नेपाल समरसता रत्न अवार्ड’ कार्यक्रममा उनले नेपाल–भारतबीच यसअघि सम्झौता भई अधुरा रहेका आयोजना अगाडि बढाउन वर्तमान सरकार लागिपरेको बताए।

‘सरकारले ढिलासुस्ती नगरी अधुरा कामलाई अगाडि बढाएर समृद्ध मुलुक निर्माणमा लागेको छ’, मन्त्री खड्काले भने। उनले यस्ता कार्यक्रमले नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ बनाउन थप सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

नेपालले भारतसँगै छिमेकी मुलुक चीन र अन्य राष्ट्रसँग पनि सुमधुर सम्बन्ध स्थापित गरेको मन्त्री खड्काले बताए। उनले दुई ठूला राजनीतिक दल मिलेर बनेको वर्तमान गठबन्धनको सरकार आगामी निर्वाचनसम्म जाने उल्लेख गरे।

‘हामीले आन्तरिक र अन्तराष्ट्रिय सम्बन्धलाई बलियो बनाउन सक्यौँ भने मात्र हाम्रा परराष्ट्र सम्बन्धहरू सुमधुर र स्थायी हुन्छन्, आन्तरिक सम्बन्धलाई मजबुत राखेर छिमेकीसँग पनि स्थायी र सुमधुर सम्बन्ध विस्तारमा लाग्नुपर्छ’, उनले भने ।

कार्यक्रममा पूर्वउपपराष्ट्रपति परमानन्द झा, उपसभामुख इन्दीरा राना, पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव, पूर्वमन्त्री अब्दुल खान, पूर्वमन्त्री राजेन्द्र महतो, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत व्यक्तिको उपस्थिति थियो ।

अर्थ समितिबाट सुरक्षित कारोबार  विधेयक पारित

काठमाडौँ । संसदको अर्थ समितिको बिहीबारको बैठकले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० पारित गरेको छ । बैठक सभापति सन्तोष चालिसेले समितिबाट विधेयक सर्वसम्मतिले पारित भएको घोषणा गरे ।

बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्झौतारत पक्षकाबीचको सामान्य त्रुटि भनी राखिएका विषयलाई हटाएर नियमावलीमै स्पष्ट पार्न सकिने जानकारी दिए । 

बैठकमा समितिका सदस्य उपेन्द्र यादवले सामान्य त्रुटि नराखी सोझै धितोसम्बन्धी भनेर उल्लेख गरिनुपर्ने बताए । समितिका अर्का सदस्य डा प्रकाशशरण महतले अन्तर्राष्ट्रिय कानुनमा सामान्य त्रुटिको परिभाषा गरिएकाले त्यसै अनुसार यसलाई समाधान गरेर अघि बढ्नुपर्ने सुझाव  दिए । समिति  सदस्य डा स्वर्णिम वाग्लेले सामान्य त्रुटिको परिभाषा अन्तर्राष्ट्रिय कानुनमा गरिएकाले विधेयकमा पनि व्यवस्था गरिनुपर्ने बताए । 

  समिति सदस्य ज्ञानबहादुर शाहीले सामान्य त्रुटि भनेको के के हो भन्ने उल्लेख हुनुपर्ने बताए । बैठकमा समितिका सदस्यहरु छिरिङडम्गुल लामा, जुलीकुमारी महतो, गङ्गा कार्की, नारायणप्रसाद आचार्यलगायतले सामान्य त्रुटिका विषयलाई मिलाएर विधेयक पारित गरिनुपर्ने सुझाव दिएका थिए ।

जलवायु परिवर्तनका चुनौतीको सामना गर्न सबै एकजुट हुनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका सबै संस्था तथा व्यक्ति एकजुट भएर जलवायु परिवर्तनका चुनौतीको सामना गर्न जुट्नुपर्ने बताएका छन् । 

वन तथा वातावरण मन्त्रालयद्वारा बिहीबार आयोजित २९औँ विश्व जलवायु सम्मेलनको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रकृतिलाई स्वच्छ राख्न र दिगो संरक्षणका लागि एक भएर लाग्नुपर्नेमा जोड दिए ।

सरकारले जलवायु परिवर्तनको चुनौतीको सामना गर्ने कामको नेतृत्वसहित जलवायु वित्तको व्यवस्था गर्ने उल्लेख गर्दै उनले जमिन सुख्खा हुँदै जाँदा कृषि क्षेत्रलाई प्रतिकूल असर पार्ने भएकाले वन जङ्गलमा डढेलो लाग्न नदिन वन मन्त्रालयसँगै अरु निकायले पनि जागरण फैलाउनुपर्ने बताए । मानव निर्मित वातावरण प्रदूषण रोक्न हरेक समुदाय सचेत हुनुपर्ने उनको भनाइ थियो ।

“हामीले विश्व तापमान वृद्धिका लागि कुनै त्यस्तो योगदान गरेका छैनौँ, तर त्यसको मार खेप्न बाध्य भएका छौँ । नबिराएको काममा सजाय भोग्नुपरेको छ । नेपाल प्रभावित हुनु हाम्रो मात्रै होइन, यो विश्वव्यापी मुद्दा हो”, प्रधानमन्त्री ओलीले भने, “हिमालय जलवायुको मुद्दा हिमालको मात्रै होइन, हिमालसँग विश्वको तापमान प्रणाली जोडिएको छ । हावालाई चिसो पार्ने क्षमता हिमालसँग छ । यस क्षमताको हस हुनु जलवायु चुनौती हो । त्यसकारण हामीले हिमालदेखि समुद्रसम्म रक्षाको अवधारणामा जानुपर्छ ।”

नेपाललाई जलवायु क्षतिपूर्ति दिइनुपर्छ भन्ने कुरा आफूले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा पनि सशक्तरुपमा राखेको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले यस धर्तीको वातावरण रक्षाका लागि नेपालले २४ प्रतिशत भू–भाग संरक्षित गरेको उल्लेख गरे । कोप–२९ को समिक्षासहित अहिलेदेखि नै कोप–३० को तयारी थाल्न उनले आग्रह गरे । 

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन प्रारुप महासन्धीका पक्ष राष्ट्रको २९औँ सम्मेलन गत कात्तिक २६ गतेदेखि मङ्सिर ७ गतेसम्म अजरबैजानको बाकुमा भएको थियो । सम्मेलनमा नेपालको सहभागिता र आगामी दिनमा जलवायुु परिवर्तनका क्षेत्रमा नेपालले लिनुपर्ने कदमका सम्बन्धमा समीक्षा गरिएको हो । उक्त सम्मेलनमा राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले भाग लिएको थियो ।

कार्यक्रममा गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी, सङ्घीय सांसद, संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि, नीति निर्माता, स्थानीय तहका जनप्रतिनिधिलगायतको सहभागिता थियो ।

हेटौंडाबाट गैँडाको खागसहित एक जना पक्राउ

मकवानपुर । चितवन राष्ट्रिय निकुञ्जका सेनाको टोलीले हेटौँडाबाट गैँडाको खागसहित एक जनालाई पक्राउ गरेको छ । बिहीबार बिहान ११ बजे मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ स्थित गर्दई र हेटौँडा–८ को सिमानास्थित प्लटिङमा निकुञ्जबाट खटिएको सेनाको टोलीले गैँडाको खागसहित तस्करलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए । 

खाग तस्कर भाग्न खोजेपछि पाँच राउण्ड हवार्ई फायर गरिएको उनले बताए । विशेष सुराकीका आधारमा चितवन राष्ट्रिय निकुञ्ज संरक्षण अधिकृतको नेतृत्वमा हेटौँडा आएको टोलीले गैँडाको खागसहित एक जनालाई पक्राउ गरेको प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले उल्लेख गरे ।

घटनाबारे पूर्ण जानकारी निकुञ्जमार्फत सार्वजनिक गरिने भन्दै उनले तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा लगिएको जानकारी दिए। प्रहरी उपरीक्षक खड्काका अनुसार विशेष सुराकीका आधारमा तस्कर पक्राउ गर्न दुई वटा सवारीसाधनमा हेटौँडा आएका आठ जना सेनाको टोलीले तस्कर भाग्न खोज्दा हवाई फायर गरेको थियो ।

धान खेत मासेर कागतीखेतीमा रमाउँदै किसान

दाङ । धान झुल्ने खेतमा यतिवेला लटरम्म कागती दाना पहेँलै भएका छन् । बिरुवाले रोपेको दुई वर्षमा फल दिन थालेपछि किसानको मुहारमा खुसी छाएको छ ।

घोराही उपमहानगरपालिका– ६ बचाहाका भीमप्रसाद खनालले व्यावसायिक रूपमा कागती खेती गरेका छन् । विष्णुदेवी बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फर्मको नामको फार्म दर्ता गरेर व्यावसायिक कागती खेती गरेको उनले बताए।

उनले आफ्नो १२ कट्ठा जमिनमा पाँच वर्षअघि रोपेका सुन कागतीले रोपेको दोस्रो वर्षदेखि फल दिन थालेका छन् । उनले फार्म रहेको जमिनमा तारजाली लगाएका छन् । बिरुवा र तारबार गर्दा आठ लाख लगानी लागेको बताए ।

‘सिँचाइ सुविधा नभएकाले धान खेती गर्न साह्रै गाह्रो भयो, मिहिनेतअनुसारको उत्पादन भएन,’ उनले भने, ‘त्यसैले धानखेत मासेर कागती लगाएको हुँ ।’ उनको बारीमा अहिले लटरम्म कागती फलेर पाकेका छन् । कागतीलाई बजारको समस्या छैन, समयमा बिउ, मल नपाइएला कि भन्ने पनि छैन । उनले भने, ‘कम मिहिनेत र थोरै लगानीमा बजार पनि राम्रो छ ।’ उनले २६५ कागतीका बोटबाट वार्षिक पाँच लाखसम्म आम्दानी हुने गरेको बताए।

बाँकी खेतमा तिहारका लागि रोपेको फूल बिक्री गरेर ७० हजार आम्दानी गरेको उनले बताए। उत्पादन भएको कागती घोराही बजारमा बिक्री हुने गरेको छ । फुटकर किलोमा एक सय रुपैयाँ र थोकमा चार सय रुपैयाँमा पाँच किलो बिक्री हुने गरेको उनले बताए। दैनिक ५० किलो बिक्री गर्ने गरेको उनले बताए ।

कागती फलेको समयमा सस्तो मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता रहेकाले कागती भण्डारणका लागि चिस्यान केन्द्र भएमा सजिलो हुने उनको भनाइ छ ।

पाकेको कागती लामो समयसम्म घरमा राख्न नसकिने र नजिकमा चिस्यान केन्द्र नहुँदा व्यापारीले भनेको मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता रहेको उनले बताए।

कृषि ज्ञान केन्द्र दाङका अनुसार दाङमा व्यावसायिक रूपमा कागती खेती गर्ने किसानको संख्या बर्सेनि बढ्दै गएको छ । कुनै वेला घरायसी प्रयोजनका लागि दुई-चार बोट लगाउनेहरूले अहिले व्यावसायिक रूपमा कागती खेती गर्न थालेका छन् । तीन वर्षअघि ५० हेक्टर क्षेत्रफलमा कागती खेती गरिँदै आएको थियो, अहिले २९१ हेक्टरमा कागती खेती हुने गरेको छ ।

ज्ञान केन्द्रका कृषि अर्थ विज्ञ तथा सूचना अधिकारी पृथ्वीराज लामिछानेका अनुसार अहिले ११० हेक्टरमा वार्षिक ५६० मेट्रिक टन कागती उत्पादन भइरहेको छ । सुन कागतीले रोपेको दुई वर्षभित्रमा आम्दानी दिन थालेपछि व्यावसायिक रूपमा खेती गर्नेको संख्या बढ्दै गएको उनले बताए।

बजारमा कागतीको माग दैनिक बढ्दै गएपछि पछिल्लो समय जिल्लामा कागती खेतीलाई नगदे बालीका रूपमा समेत किसानले लिन थालेका छन् । पछिल्लो समय धेरै किसान व्यावसायिक कागती खेतीमा लागेको उनी बताउँछन्।

सूचना अधिकारी लामिछानेले भने, ‘अन्य बालीको तुलनामा कम लगानी र कम मिहिनेतबाटै राम्रो आम्दानी लिन सकिने र बिक्रीका लागि बजारको पनि समस्या नहुँदा धेरै किसानकाे कागती खेतीप्रति आकर्षण बढेको छ ।’

स्ववियु निर्वाचनको तयारी गर्दै त्रिभुवन विश्वविद्यालय

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी थालेको छ । आगामी फागुन १५ गते हुने स्ववियु निर्वाचनका लागि त्रिविले तयारीलाई तीव्र पारेको छ । विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले स्ववियु निर्वाचन गराउने प्रक्रिया अगाडि बढाएको जानकारी दिए ।

उनले विद्यार्थी कल्याण परिषद्को बैठक राखेर स्ववियु निर्वाचनलाई तोकिएकै मितिमा सम्पन्न गर्ने छलफल गरिएको बताए । त्रिविले शैक्षिक क्यालेण्डरमा नै स्ववियु निर्वाचनको मिति तोकेको छ ।

निर्देशक अधिकारीले चाँडै नै विद्यार्थी सङ्गठनसँग छलफल गरी निर्वाचनको कामलाई अगाडि बढाउने बताए ।

अनेरास्ववियुका अध्यक्ष समिक वडालले स्ववियु निर्वाचनको तयारी आफ्नो सङ्गठनले गरिरहेको बताए । उनले स्ववियु निर्वाचनका लागि घोषणापत्र तयार पार्नका लागि उपाध्यक्ष गोविन्द गिरीको संयोजकत्वमा स्ववियु घोषणापत्र तयारी कमिटी गठन गरिएको छ ।

अध्यक्ष वडालले स्ववियु निर्वाचन लागि सङ्गठनले यही पुस २५ र २६ गते अनेरास्ववियुका जिल्ला अध्यक्ष भेला र आगामी माघ ६ देखि ८ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाएको बताए ।

यस्तै नेपाल विद्यार्थी सङ्घका प्रवक्ता सुरज सेजुवालले निर्वाचन हुने सबै क्याम्पसमा प्रतिनिधि खटाइसकेको जानकारी दिए । उनले सबै क्याम्पसमा सङ्गठन विस्तारका साथै स्ववियु निर्वाचन केन्द्रित कार्यक्रम सुरु गरिएको बताए ।

अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंहले क्याम्पस कमिटीलाई स्ववियु निर्वाचन तयारीमा जुट्न निर्देशन दिइसकेको बताइन् । “हामी अहिले महाधिवेशनमा रहेकाले पर्याप्त तयारी गर्न पाएका छैनौँ । महाधिवेशन सकिएलगत्तै नयाँ नेतृत्वको एकसूत्रीय माग स्ववियु निर्वाचन नै हो”, उनले भनिन्, “स्ववियु निर्वाचन समयमा नै हुन्छ । त्यसको तयारीमा हामी छौँ ।”

प्रत्येक दुई/दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालदेखि नियमित हुन सकेको छैन । विसं २०६५ चैत ६ गते भएको स्ववियु निर्वाचन एकैपटक आठ वर्षमा विसं २०७३ चैत १५ गते भएको थियो । त्यसपछि २०७९ चैत ५ गते देशभरि नै केही क्याम्पसबाहेक सम्पन्न भएको थियो ।

त्यतिबेला नौ वटा आङ्गिक क्याम्पस निर्वाचन हुन सकेको थिएन । स्ववियु निर्वाचनमा देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुनेछ । निर्वाचनमा २८ वर्षे उमेर हद बन्दी र मिश्रित निर्वाचन प्रणालीमा व्यवस्था गरिएको छ ।

नेप्सेमा चार अर्ब ३६ करोड रुपैयाँको कारोबार

काठमाडौं । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार नेप्से सामान्य बढेको छ । बिहीबार नेप्से ४ दशमलव १९ अङ्कले बढेर दुई हजार छ सय ३० दशमलव ७१ विन्दुमा पुगेको छ ।

आज बैंकिङ, लगानी, लघुवित्त र व्यापार समूहको शेयर सामान्य बढेको छ भने अरू समूहको शेयर घटेको छ । विकास बैंक समूहको शेयर राताम्मे देखिएको छ ।

आज आत्मनिर्भर लघुवित्त र सपोर्ट रघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज नारायणी विकास बैंक, कर्पोरेट विकास बैंक, जोशी हाइड्रोपावर र सप्तकोशी विकास बैंकको शेयर १० प्रतिशतले घटेको छ । आज दुई करोड नौ लाख ७८ हजार कित्ता शेयर चार अर्ब ३६ करोड रुपैयाँमा कारोबार भएका छन् ।

म्याग्दीमा टिपर दुर्घटना हुँदा राहुघाट जलविद्युत आयोजनामा काम गर्ने दुई भारतीय कामदारको मृत्यु

म्याग्दी (बेनी) । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ बुक्लमा बिहीबार  ट्रिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । निर्माणधीन राहुघाट जलविद्युत् आयोजनाको अडिट नं २ को सुरुङ जाने सडकबाट टिपर खस्दा आयोजनामा काम गर्ने दुई भारतीय मजदुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए ।

बिपी २– ए ७५६८ नम्बरको  टिपर सडकबाट करिब तीन सय मिटर तल खस्दा चालक भारतको उत्तर प्रदेश घर भएका ३३ वर्षका दशरथ यादब र सहचालक भारतको मध्यप्रदेशका ४० वर्षका सत्रुधन रजकको घटनास्थलमा मृत्यु भएको प्रहरी निरीक्षक पौडेलले बताए ।

गएराति करिब १ बजेदेखि काम गर्ने कार्यक्षेत्रबाटै बेपत्ता भएका उनीहरु आज विहान खोजतलास गर्ने क्रममा दुर्घटनामा परेर मृत्यु भएको अवस्थामा भेटिएका र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरी र जलविद्युत् आयोजना काम मजदुरको सहायताले दुर्घटनाग्रस्त ठाउँबाट शबलाई बाहिर निकालिएको छ । नेपालविद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनामा भारतीय कम्पनी जयप्रकाश एसोसियट्स (जेपी) सिभिल ठेकेदार निर्माण गरिरहेको छ ।

एनपीएलमा बिजेता र उपबिजेता शेख दाजुभाइलाई गृहजिल्लामा सम्मान

वीरगञ्ज । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि चुम्ने जनकपुर बोल्ट्सका टिम सदस्य आसिफ शेख र उपविजेता बन्ने सुदृरपश्चिम रोयल्स टिम सदस्य आरिफ शेखलाई उनीहरुको गृहजिल्ला पर्सामा नगदसहित प्रशंसापत्रले सम्मान गरिएको छ । 

हालै सम्पन्न भएको एनपिएलमा वीरगञ्ज महानगर–१२ मुर्ली नयाँटोलका शेख दाजुभाई फरक–फरक टिमबाट सहभागी हुनु भएको थियो ।  वीरगञ्ज–१० कार्यालयद्वारा आज यहाँ आयोजित कार्यक्रमा दुवै खेलाडीलाई जनही ५१ हजार नगदसहित प्रशंसापत्रले सम्मान गरिएकोे हो । वीरगञ्ज–१० का वडाध्यक्ष सुशील साह कानुले वीरगञ्जको प्रतिनिधित्व गर्दै दुवै खेलाडीले एनपीएलमा उत्कृष्ट प्रर्दशन गर्दै वीरगञ्जको नाम राख्न सफल भएको बताए । 

“दुवै खेलाडीले वीरगञ्जको नाम मात्र गर्वले उच्च बनाउनु भएको छैन, आगामी दिनमा युवा पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्न प्रेरणा पनि दिनुभएको छ,” उनले भने, “आगामी दिनमा दुवै खेलाडीले अझ ठूलो सफलता होस् भन्ने शुभकामना दिन चाहन्छु । वीरगञ्जलाई खेलकुदको माध्यमबाट राष्ट्रिय र अन्तरर्राष्ट्रियस्तरमा चिनाउने प्रयासमा म जहिले पनि साथ दिन तयार छु ।”

जनकपुर बोल्ट्सका टिमका सदस्य आसिफले यस्ता खालका सम्मानले खेलाडीलाई थप उत्साह थप्ने बताए । त्यस्तै सुदूरपश्चिम रोयल्स टिमका सदस्य आरिफले आगामी दिनमा खेललाई अझै निखार्दै उत्कृष्ट प्रदर्शन गर्ने प्रतिवद्धता व्यक्त गरे । 

सौराहामा हात्ती तथा पर्यटन महोत्सव सुरु

चितवन । चितवनको सौराहामा आजदेखि हात्ती तथा पर्यटन महोत्सव सुरु भएको छ । क्षेत्रीय होटल संघ चितवनको आयोजनामा बिहीबार बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा १८औँ संस्करणको महोत्सव सुरु भएको हो ।

महोत्सवको अवसर पारेर व्यवसायीले आन्तरिक तथा बाह्य पर्यटकका लागि १० प्रतिशत छुट दिने घोषणा गरेका छन्। व्यवसायीहरूले पुस १० देखि १६ गतेसम्म सौराहाका होटल तथा रेस्टुरेन्टमा खाना र आवासमा १० प्रतिशत छुटको व्यवस्था गरिएको जनाएका छन् ।

महोत्सवमा सरकारी र निजी गरी करिब ८० वटा हात्ती सहभागी छन् । महोत्सवमा हात्तीको श्रृंगार, हात्ती वनभोज, हात्तीमैत्री फुटबल पेनाल्टी, हात्तीमैत्री म्युजिकल वाक, हात्तीको स्वास्थ्य परीक्षण शिविर, पालिका स्तरीय डुंगादौड प्रतियोगिता, स्वदेशी तथा विदेशी टुर एन्ड ट्राभल एजेन्सीहरूबीच गोष्ठी, अन्तक्रिया लगायतका कार्यक्रम हुनेछन्।

तस्बिरः चन्द्रकला क्षेत्री/रासस

जलवायु परिवर्तनका कारण प्राकृतिक प्रकोपको समस्या पेचिलो बन्यो: गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले जलवायु परिवर्तनका कारण प्राकृतिक प्रकोपलाई अझ पेचिलो बनाउँदै गएको बताएका छन्।

काठमाडौँमा आजदेखि सुरु भएको तेस्रो राष्ट्रिय विपद् जोखिम न्यूनीकरण सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले विपद् जोखिम न्यूनीकरण आजको आवश्कता भएको बताए ।

“मुलुक भौगोलिक, प्राकृतिक र सामाजिक दृष्टिकोणले विविधतायुक्त छ, यहाँको भू–भाग, जलवायु र वातावरणीय संरचनाले हाम्रो देशमा प्राकृतिक र मानव सिर्जित विपद्को सम्भावना धेरै छ”, गृहमन्त्री लेखकले भने, “विपद् जोखिम न्यूनीकरणका लागि निर्माण भइसकेका संरचनालाई बलियो बनाउन जरुरी छ ।” सङ्घदेखि स्थानीय तहका वडासम्म विपद् जोखिम न्यूनीकरणसम्बन्धी संरचनालाई बलियो बनाउन आवश्यक रहेको उनको भनाइ थियो ।


मुलुक विपद् जोखिमको उच्च जोखिममा रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले सबै मिलेर विपद् जोखिम न्यूनीकरणका लागि पहल गर्नुपर्ने बताए ।

“देशभरका बहुक्षेत्रीय र बहुआयामिक साझेदारहरूलाई एकै ठाउँमा ल्याएर विपद्का चुनौतीहरूको विश्लेषण र समाधानका रणनीति तयार गर्ने यो सम्मेलन आफैँमा महत्वपूर्ण रहनेमा विश्वस्त छु”, उनले भने “नेपाल प्राकृतिक र मानवीय कारणले सिर्जित विपद् जोखिमका लागि संसारकै उच्च संवेदनशील मुलुकमध्ये एक हो । हिमाल, पहाड र तराईजस्ता विविध भूगोलले भरिएको छ, जसले हामीलाई प्राकृतिक सम्पदामा धनी बनाए पनि जोखिमको दृष्टिकोणले संवेदनशील बनाएको इतिहास छ ।”

जलवायु परिवर्तनका कारण पछिल्ला वर्षमा उल्लेख्य वृद्धि भएका बाढी, पहिरो, चट्याङ र अन्य जलवायुजन्य विपद् झन् जटिल हुँदै गएको गृहमन्त्री लेखकले बताए । “विपद्ले हामीलाई जलवायु परिवर्तनका चुनौतीप्रति थप संवेदनशील बनाएको छ”, उनले भने, “विपद् व्यवस्थापनका लागि हाम्रो दृष्टिकोण बहुआयामिक र वैज्ञानिक हुनु आवश्यक छ ।”

गृहमन्त्री लेखकले समुदायमा आधारित दृष्टिकोण, विपद् जोखिम न्यूनीकरणका लागि समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए । “स्थानीय तहमा विपद् व्यवस्थापन योजना निर्माण, क्षमता अभिवृद्धि र जनचेतना अभियानलाई प्राथमिकता दिनुपर्छ”, उनले भने, “प्रकोप व्यवस्थापनसम्बन्धी नीति तथा ऐनलाई बलियो बनाउनुका साथै त्यसको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न आवश्यक छ ।”

प्राकृतिक प्रकोपको पूर्वानुमान गर्न सकिने प्रविधि र सूचना प्रणालीलाई सुदृढ गर्दै विपद्बाट हुने क्षति न्यून गर्न सकिने गृहमन्त्री लेखकको भनाइ थियो । नेपालले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि नीति निर्माण र संरचनात्मक सुधारमा उल्लेखनीय प्रगति गरेको उनले जानकारी दिए ।

बाहिर गएका जनशक्ति फर्काउने विषयमा सम्मेलन प्रभावकारी बन्नेछः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले विदेशिएका जनशक्तिलाई स्वदेश कसरी फर्काउने भन्ने विषय चुनौतीपूर्ण रहेको बताएका छन्।

आजदेखि सुरू भएको नेपाल स्वास्थ्य सम्मेलनमा उनले विदेशिएका स्वास्थ्य क्षेत्रका जनशक्तिलाई स्वदेश फिर्ता गराउने विषय चुनौतीपूर्ण भए पनि सरकारले दक्ष जनशक्ति फर्काउन पहल गर्ने बताए। विदेशिएका दक्ष जनशक्तिलाई स्वदेश फर्काउन सम्मेलन प्रभावकारी हुने उनले विश्वास व्यक्त गरे।

‘उत्पादन भएका जनशक्तिलाई कसरी टिकाउन सकिन्छ भन्ने चुनौती छँदैछ, त्यसमाथि विदेशिएका जनशक्तिको दक्षता र अनुभवलाई कसरी उपयोग गर्ने र जोड्ने भन्ने चुनौती छ’, मन्त्री पौडेलले भने, ‘यो सम्मेलनमार्फत यसको विकल्प र योजनाका बारेमा छलफल भई निष्कर्ष निस्कन्छ भन्ने विश्वास छ।’

मन्त्री पौडेलले मुलुकभित्र र बाहिर रहेका नेपालीहरूको साझा उदेश्य देश बनाउनु रहेकाले यसमा सबैको सहकार्य आवश्यक रहेको बताए। उनले भने, ‘विदेशमा रहेर पनि स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याउनेसँग समन्वय अभावमा समस्या कहाँ छ ? फर्किएर नेपाल आउन के समस्या छ ? उहाँहरूको दक्षतालाई प्रयोग गर्न किन समस्या भयो ? यी विविध समस्याको पहिचान सम्मेलनले गर्ने आशा छ।’

‘नेपाल स्वास्थ्य सम्मेलन २०२४ः नेपालको स्वास्थ्य सेवाको सुदृढीकरणका लागि प्रवासी नेपालीहरूको संयोजन’ भन्ने नाराका साथ आयोजना गरिएको हो।

खैरहनी महोत्सवमा महकाे प्रवर्द्धन गरिँदै

चितवन । तेस्रो खैरहनी महोत्सवमा महको प्रवर्द्धन गर्न छुट्टै परिसर निर्माण गरिएको छ। यही पुस ५ गतेदेखि सुरु भएको महोत्सवमा महलाई प्रवर्द्धन गरी किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले छुट्टै परिसर निर्माण गरिएको हो। यहाँ मौरीको ठूलो डमीसमेत तयार गरिएको छ।

महोत्सवमा मह बिक्रीसँगै महको फाइदाका बारेमा परामर्शसमेत दिँदै आइएको छ। मह परिसरमा चितवनको खैरहनी र राप्तिका साथै मकवानपुरको राक्सिराङका मौरी व्यवसायी फार्मले महको स्टल राखेका छन्।

उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष कुमार खनालले खैरहनीलगायत पूर्वी चितवन महको प्रचुर सम्भावना रहेको क्षेत्र भएकाले यस पटकको महोत्सवमा महलाई प्राथमिकता दिइएको बताए। उनले भने, ‘मह स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ, यसको उपभोग बढाउन, व्यवसाय प्रवर्द्धन गर्न तेस्रो खैरहनी महोत्सवमा विशेष प्राथमिकता दिएका छौँ।’

महोत्सव आयोजक समितिका संयोजकसमेत रहेका खनालले चितवनको खैरहनी, राप्ती र कालिका नगरपालिकामा पर्याप्त मात्रामा मौरीपालन गरिँदै आएको जानकारी दिए। उनका अनुसार खैरहनीमा मौरी पकेट कार्यक्रम पनि लागु छ।

यसैबीच खैरहनी महोत्सवको सांस्कृतिक कार्यक्रमअन्तर्गत आज अस्मिता अधिकारीसहित राष्ट्रिय तथा स्थानीय कलाकारले सांगीतिक प्रस्तुति दिने मेला सांस्कृतिक समितिका संयोजक अर्जुन लम्सालले जानकारी दिए। पुस ५ गतेदेखि सुरु भएको महोत्सव १६ गतेसम्म सञ्चालन हुनेछ।  

राष्ट्रियसभाले बिजनेस पाउन नसकेको अध्यक्ष दाहालको गुनासो

चितवन। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाले बिजनेस पाउन नसकेको बताएका छन्। बिहीबार चितवनको भरतपुरमा स्थानीय तहका जनप्रतिनिधि र जिल्लाका विभिन्न कार्यालय प्रमुखहरुसँगको अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष दाहालले सरकारले सदनलाई बिजनेस दिनुपर्नेमा जोड दिएका हुन्।

उनले भने, ‘कानुन निर्माणको काम पनि जनचाहनाअनुसार हुन सकेको छैन। बल्लबल्ल बनेका कानुनसमेत थन्किएर बसेका छन्।’

आवश्यक ऐन बनाउन नसकिएको अध्यक्ष दाहालले स्वीकार गरे। फरक प्रसङ्गमा उनले स्थानीय तहसँगको समन्वय सम्पर्क र संवादको सबै तहमा कमी भएको अनुभूति भएको बताए। सातै प्रदेशका प्रदेशसभा सदस्य र पालिकासँगको छलफलबाट मात्रै वर्तमान समयमा तीनै तहका सरकारबीच देखिएका समस्या समाधान गर्न सकिने अध्यक्ष दाहालको भनाइ थियो।

सङ्खुवासभामा ३४ करोड भन्दाबढीको सुन्तला कारोबार

सङ्‍खुवासभा । सङ्‍खुवासभामा यो वर्ष ३४ करोड रुपैयाँ बढीको सुन्तला बिक्री भएको छ । सुन्तला उत्पादन बढेसँगै कारोबारमा पनि वृद्धि भएको हो ।

यो वर्षको हालसम्म ३४ करोड ८५ लाख रुपैयाँको सुन्तला बिक्री भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख छत्र विश्वकर्माले यावदले जानकारी दिए । पछिल्लो केहीवर्षयता उत्पादनमा निरन्तर ओरालो लागेकामा यस वर्ष भने वृद्धि भएको उनको भनाइ छ ।

‘यहाँ स्थानीय जातका सुन्तला उत्पादन हुन्छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई सुन्तला जोन लागू भई कृषकलाई प्रोत्साहन कार्यक्रममार्फत सहयोग पुर्‍याएपछि उत्पादन बढ्दै जान थालेको हो । जिल्लामा गत वर्ष १९ करोड ९३ लाख ९१ हजार रुपैयाँको सुन्तला बिक्री भएकामा यसवर्षको हालसम्म ३४ करोड रुपैयाँ बढीको कारोबार भइसकेको छ,’ प्रमुख यावदले भने ।

यो वर्ष जिल्लामा तीन हजार चार सय ८५ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । साथै एक सय १५ मेट्रिकटन किवी उत्पादन भएको छ ।

परियोजना कार्यान्वयन भएसँगै किसानलाई प्राविधिक सहयोग हुनुका साथै सुन्तलाका लागि उपयुक्त मौसम भएकाले पनि यसको उत्पादन बढेको प्रमुख यादवले बताए । उनका अनुसार जिल्लाभरि एक हजार एक सय ४८ हेक्टर खेतीयोग्य जमिनमध्ये छ सय २० हेक्टरमा सुन्तला उत्पादन हुने गरेको छ ।

उत्पादन भएको सुन्तला बगानबाट प्रतिकिलो एक सय रुपैयाँमा बिक्री भइरहेको छ । सङ्‍खुवासभाको मादी, खाँदबारी र चैनपुर नगरपालिकामा व्यावसायिक सुन्तला खेती हुने गरेको केन्द्रले जनाएको छ । यहाँ उत्पादित सुन्तला पूर्वी तराईका साथै काठमाडौंसम्म पुग्ने गर्दछ ।

जापान एयरलाइन्समा साइबर आक्रमण

जापान एयरलाइन्सले बिहीबार साइबर आक्रमणको रिपोर्ट गरेको छ । एयरलाइन्सले यसबाट घरेलु र अन्तर्राष्ट्रिय उडानहरूमा ढिलाइ भएको तर पछि उक्त कारण पत्ता लगाएर समाधान गरेको बतायो ।

एयरलाइन्सको ब्यागेज चेक–इन प्रणालीमा समस्याहरूले धेरै जापानी विमानस्थलमा एक दर्जनभन्दा बढी उडानमा ढिलाइ भएको तर कुनै सामूहिक रद्द वा ठूलो अवरोध नभएको सार्वजनिक प्रसारक एनएचकेले बतायो । जापान एयरलाइन्स (जेएएल) अल निप्पन एयरवेज (एएनए) पछिको देशको दोस्रो ठूलो एयरलाइन्स हो ।

“हामीले समस्याको कारण पत्ता लगायौँ र सम्बोधन गर्यौँ । हामी प्रणाली पुनःस्थापना स्थितिको जाँच गरिरहेका छौँ”, जेएएलले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक पोस्टमा भन्यो, “आज प्रस्थान गर्ने दुवै घरेलु र अन्तर्राष्ट्रिय उडानको बिक्री स्थगित गरिएको छ । कुनै पनि असुविधाका लागि हामी माफी चाहन्छौँ ।”

यसअघि बिहीबार जेएएलका प्रवक्ताले कम्पनीमाथि साइबर आक्रमण भएको बताए । स्थानीय समयानुसार बिहीबार बिहान ७ः२४ बजे नेटवर्क अवरोध सुरु भएको जेएएलले विज्ञप्तिमा जनायो । “त्यसपछि बिहान ८ः५६ बजे हामीले अवरोध सिर्जना गरिरहेको राउटर (नेटवर्कहरू बीच डाटा आदानप्रदान गर्ने उपकरण) लाई अस्थायी रूपमा अलग गर्यौँ”, विज्ञप्तिमा उल्लेख छ ।

यो खबर सार्वजनिक भएपछि जेएएलको शेयर बिहानको कारोबारमा २.५ प्रतिशतसम्म घट्यो । त्यसपछि केही सुधार भयो । एयरलाइन्स साइबर आक्रमणबाट प्रभावित हुने पछिल्लो जापानी कम्पनी मात्र हो ।

जापानको अन्तरिक्ष एजेन्सी जाक्साले सन् २०२३ मा अज्ञात संस्थाहरूले साइबर आक्रमण गरेर प्रवेश गरेको तर रकेट वा स्याटेलाइटबारे कुनै संवेदनशील जानकारी प्राप्त नभएको बताएको थियो ।

सोही वर्ष जापानको व्यस्त बन्दरगाहहरू मध्ये एक नागोया बन्दरगाह र्यान्समवेयर आक्रमणबाट प्रभावित भएको थियो । यसको दोष रुसमा आधारित साइबर अपराध सङ्गठन लकबिटलाई दिइएको थियो ।

जापानको साइबरट्याक्स विरुद्धको रक्षाका लागि जिम्मेवार एजेन्सी नेसनल सेन्टर अफ इन्सिडेन्ट रेडिनेस एन्ड स्ट्रेटेजी फर साइबरसिक्योरिटी (एनआइएससी) ले सन् २०२३ मा नै ह्याकरहरूले नौ महिनासम्म घुसपैठ गरेको बताएको छ ।

सन् २०२२ मा सरकारले टोयोटा आपूर्तिकर्तामा अवरोधको पछाडि साइबर आक्रमण भएको बताएको थियो । यसले शीर्ष बिक्री हुने अटो निर्मातालाई एक दिनका लागि घरेलु कारखानाहरूमा सञ्चालन रोक्न बाध्य तुल्याएको थियो ।

हालै लोकप्रिय जापानी भिडियो साझेदारी वेबसाइट निकोनिकोले ठूलो स्तरको साइबर आक्रमणको प्रभावमा परेको भन्दै जुन महिनामा आफ्ना सेवाहरू स्थगित गरेको थियो ।

क्रिसमसको शुभकामनामा पनामा नहर, क्यानाडा र ग्रिनल्यान्ड अधिग्रहण गर्ने दोहोरियो ट्रम्पको आह्वान

वासिङ्टन । अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा र आर्थिक लाभको कारण देखाउँदै पनामा नहर, क्यानाडा र ग्रिनल्यान्ड प्राप्त गर्ने आफ्नो आह्वान क्रिसमस शुभकामनामा दोहोर्‍याएका छन् ।

बुधबार आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा शृङ्खलाबद्ध पोस्टमार्फत उनले अमेरिकाका लागि यी क्षेत्रहरूको महत्त्वबारे आफ्नो लामो समयदेखि रहेको धारणा दोहोर्‍याए ।

“चीनका अद्भुत सैनिकहरू सहित सबैलाई क्रिसमसको शुभकामना, जसले प्रेमपूर्वक तर गैर कानुनी रूपमा पनामा नहर सञ्चालन गरिरहेका छन् (जहाँ हामीले ११० वर्षअघि यसको निर्माणमा ३८ हजार मानिस गुमायौँ) संयुक्त राज्य अमेरिकाले अरबौँ डलर ‘मर्मत’ रकम खर्च गर्छ भन्ने सुनिश्चित गर्दै, तर ‘केही कुरा’ मा पनि भन्ने कुरा हुनेछैन”, ट्रम्पले लेखे ।

ट्रम्पले भने, “क्यानाडाका गभर्नर जस्टिन ट्रुडोलाई पनि मेरी क्रिसमस, जसको नागरिक कर धेरै उच्च छ तर यदि क्यानाडा हाम्रो ५१ औँ राज्य बन्यो भने उनीहरूको कर ६० प्रतिशतभन्दा बढी कटौती हुनेछ, उनीहरूको व्यवसाय तुरुन्तै आकारमा दोब्बर हुनेछ र उनीहरूलाई विश्वका कुनै पनि देशले नपाएको सैन्य सुरक्षा प्राप्त हुनेछ ।”

ग्रिनल्यान्डका बारेमा उनले भने, “त्यस्तै ग्रिनल्यान्डका जनतालाई पनि जुन संयुक्त राज्य अमेरिकालाई राष्ट्रिय सुरक्षा प्रयोजनका लागि आवश्यक छ र जसले अमेरिका त्यहाँ हुनुपर्छ भन्ने चाहन्छन् र हामी गर्नेछौँ ।”

यसअघि ट्रम्पका छोरा एरिक ट्रम्पले क्यानाडा, ग्रिनल्यान्ड र पनामा नहर खरिद गरेको देखाउने मीम पोस्ट गरेर ‘हामी धेरै फर्केर आएका छौँ !!!’ शीर्षक दिएर अटकलबाजीलाई थप बढावा दिएका थिए ।

ट्रम्पले लामो समयदेखि ग्रिनल्यान्डमा चासो व्यक्त गर्दै यसको स्वामित्वलाई ‘विश्वभर राष्ट्रिय सुरक्षा र स्वतन्त्रताका लागि’ आवश्यक रहेको बताएका छन् ।

उनले पनामा नहरलाई ‘अमेरिकाको अर्थव्यवस्था र राष्ट्रिय सुरक्षामा यसको महत्त्वपूर्ण भूमिकाका कारण संयुक्त राज्य अमेरिकाका लागि महत्त्वपूर्ण राष्ट्रिय सम्पत्ति’ को रूपमा पनि उल्लेख गरे ।

ट्रम्पले क्यानाडालाई पनि कटाक्ष गर्दै ‘क्यानाडाले संयुक्त राज्य अमेरिकाको ५१ औँ राज्य बन्ने विचार गर्नुपर्छ किनभने यो कदमले क्यानडालीहरूलाई कम कर र सैन्य संरक्षणको माध्यमबाट फाइदा पुग्नेछ’ भने। राक्रिसमसको शुभकामनामा पनामा नहर, क्यानाडा र ग्रिनल्यान्ड अधिग्रहण गर्ने ट्रम्पको आह्वान दोहोरियो

अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा र आर्थिक लाभको कारण देखाउँदै पनामा नहर, क्यानाडा र ग्रिनल्यान्ड प्राप्त गर्ने आफ्नो आह्वान क्रिसमस शुभकामनामा दोहोर्‍याएका छन् ।

बुधबार आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा शृङ्खलाबद्ध पोस्टमार्फत उनले अमेरिकाका लागि यी क्षेत्रहरूको महत्त्वबारे आफ्नो लामो समयदेखि रहेको धारणा दोहोर्‍याए ।

“चीनका अद्भुत सैनिकहरू सहित सबैलाई क्रिसमसको शुभकामना, जसले प्रेमपूर्वक तर गैर कानुनी रूपमा पनामा नहर सञ्चालन गरिरहेका छन् (जहाँ हामीले ११० वर्षअघि यसको निर्माणमा ३८ हजार मानिस गुमायौँ) संयुक्त राज्य अमेरिकाले अरबौँ डलर ‘मर्मत’ रकम खर्च गर्छ भन्ने सुनिश्चित गर्दै, तर ‘केही कुरा’ मा पनि भन्ने कुरा हुनेछैन”, ट्रम्पले लेखे ।

ट्रम्पले भने, “क्यानाडाका गभर्नर जस्टिन ट्रुडोलाई पनि मेरी क्रिसमस, जसको नागरिक कर धेरै उच्च छ तर यदि क्यानाडा हाम्रो ५१ औँ राज्य बन्यो भने उनीहरूको कर ६० प्रतिशतभन्दा बढी कटौती हुनेछ, उनीहरूको व्यवसाय तुरुन्तै आकारमा दोब्बर हुनेछ र उनीहरूलाई विश्वका कुनै पनि देशले नपाएको सैन्य सुरक्षा प्राप्त हुनेछ ।”

ग्रिनल्यान्डका बारेमा उनले भने, “त्यस्तै ग्रिनल्यान्डका जनतालाई पनि जुन संयुक्त राज्य अमेरिकालाई राष्ट्रिय सुरक्षा प्रयोजनका लागि आवश्यक छ र जसले अमेरिका त्यहाँ हुनुपर्छ भन्ने चाहन्छन् र हामी गर्नेछौँ ।”

यसअघि ट्रम्पका छोरा एरिक ट्रम्पले क्यानाडा, ग्रिनल्यान्ड र पनामा नहर खरिद गरेको देखाउने मीम पोस्ट गरेर ‘हामी धेरै फर्केर आएका छौँ !!!’ शीर्षक दिएर अटकलबाजीलाई थप बढावा दिएका थिए ।

ट्रम्पले लामो समयदेखि ग्रिनल्यान्डमा चासो व्यक्त गर्दै यसको स्वामित्वलाई ‘विश्वभर राष्ट्रिय सुरक्षा र स्वतन्त्रताका लागि’ आवश्यक रहेको बताएका छन् ।

उनले पनामा नहरलाई ‘अमेरिकाको अर्थव्यवस्था र राष्ट्रिय सुरक्षामा यसको महत्त्वपूर्ण भूमिकाका कारण संयुक्त राज्य अमेरिकाका लागि महत्त्वपूर्ण राष्ट्रिय सम्पत्ति’ को रूपमा पनि उल्लेख गरे ।

ट्रम्पले क्यानाडालाई पनि कटाक्ष गर्दै ‘क्यानाडाले संयुक्त राज्य अमेरिकाको ५१ औँ राज्य बन्ने विचार गर्नुपर्छ किनभने यो कदमले क्यानडालीहरूलाई कम कर र सैन्य संरक्षणको माध्यमबाट फाइदा पुग्नेछ’ भने।

भारत र चीनका प्रतिनिधिबीच बेइजिङमा नेपाली भूभागको उपयोगबारे सहमति हुनु गम्भीरः अनेरास्ववियु

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले भारत र चीनबीच दार्चुलाको लिपुलेकलाई तीर्थ यात्रु आवतजावतको केन्द्र बनाउने भनेर गरेको सहमतिप्रति आपत्ति जनाएको छ ।

बिहीबार अनेरास्ववियुकी अध्यक्ष आरती लामाले विज्ञप्ति जारी गरी नेपाली भूमिको विषयमा दुई देशबीच भएको सहमतिप्रति आफ्नो संगठनको गम्भीर ध्यानाकर्षण भएको बताएकी हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘चीनको राजधानी बेइजिङमा भारत र चीनका प्रतिनिधिहरुबीच नेपाली भूभागको उपयोगबारे सहमति हुनु, त्यसबारे नेपाल सरकार बेखबर रहनु र विषय सार्वजनिक भइसक्दा समेत सरकारी तवरबाट कुनै प्रतिक्रिया नआउनु अत्यन्त लज्जास्पद भएको हाम्रो संगठनको निष्कर्ष छ । अनेरास्ववियूले छिमेकी मुलुकहरूले मच्चाएको सीमा आतङ्क र हेपाहा प्रवृत्तिविरुद्ध खेद प्रकट गर्दै नेपाल विरुद्धका गतिविधि रोक्न चेतावनी दिन चाहन्छ।’

गतसाता बेजिङमा चीन र भारतका उच्चस्तरीय नेताहरु सम्मिलित द्विपक्षीय सीमा बैठकमा भारतीय तीर्थयात्री र पर्यटकका लागि मानरोबर र कैलायको यात्रा सुचारु गर्ने सहमति भएको थियो ।

भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र चीनका विदेशमन्त्री वाङ यीले नेतृत्व गरेको सीमा वार्तामा नेपाली भूमि लिपलेक हुँदै मानसरोवर यात्रा सुरु गर्ने निर्णय गरिएको चीनको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कांग्रेसको स्वास्थ्य विभागमा दश सदस्य मनोनीत

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको स्वास्थ्य विभागमा दश सदस्य मनोनीत गरेका छन् । केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादव प्रमुख रहेको विभागमा १० सदस्यहरू मनोनीत भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम उनीहरूलाई देउवाले बिहीबार मनोनीत गरेका हुन् ।

ड्रागनबोट फेस्टिभलमा सहभागी हुने खेलाडी लिएर पोखरा आयो सिचुवान एयरको जहाज

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको जहाज छेङ्दुबाट एक सय २६ यात्रु लिएर अवतरण भएको छ । 


अङ्ग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर पोखरा महानगर, चिनियाँ दूतावास र ड्रागन बोट एशोसिएसनको आयोजनामा यही पुस १४ र १५ मा फेवा तालमा आयोजना हुने दोस्रो अन्तर्राष्ट्रिय ‘ड्रागन बोट रेस’मा सहभागी हुन आएका चार्टर उडानबाट चिनियाँ टोलीलाई पोखरा ल्याएको हो ।


चीन सरकारको अगुवाइमा नेपालमा पहिलो पटक सन् २०२३ मा ड्रागन बोट फेस्टिभल भएको थियो । पुस १७ गते पोखरा विमानस्थल उद्घाटन भएको दुई वर्ष पूरा हुँदैछ । विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान भने हुन सकेको छैन । 


चार्टर उडानबाट आशा जगाउने काम भने भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । सिचुवानको यो तेस्रो चार्टर उडान हो । यसअघि चीन, भुटान र भारतबाट सात चार्टर्ड र तीन अन्य अन्तर्राष्ट्रिय उडान सम्पन्न भएका छन् ।

नेपालका कम्युनिष्ट क्रान्तिकारी शक्तिहरु एकताबद्ध हुनुपर्छः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओत्सेतुङको विचार र प्रयोगबाट प्रेरणा लिँदै नेपालका कम्युनिष्ट क्रान्तिकारी शक्तिहरु एकताबद्ध हुनुपर्ने बताएका छन् । कम्युनिष्ट क्रान्तिकारी शक्तिहरु एकताबद्ध भएर नेपाली विशेषतासहितको समाजवाद निर्माण गर्नुपर्ने उनको भनाइ छ ।

माओको जन्मदिनको अवसरमा सन्देश जारी गर्दै प्रचण्डले भनेका छन्, ‘माओत्सेतुङको विचार र प्रयोगबाट प्रेरणा लिँदै नेपालका कम्युनिष्ट क्रान्तिकारी शक्तिहरु एकताबद्ध भएर नेपाली विशेषतासहितको समाजवाद निर्माणका लागि अध्ययन, अनुसन्धान र प्रयोगमा जुट्नु अपरिहार्य दायित्व बनेको छ ।’

चीनको हुनान प्रान्तको साओसानमा आजकै दिन अर्थात १८९३ डिसेम्बर २६ मा माओको जन्म भएको थियो । उनी चिनियाँ कम्युनिष्ट पार्टी र नयाँ जनवादी गणतन्त्र चीनका संस्थापक नेता हुन् । उनलाई संसारभरिका वर्गीय तथा राष्ट्रिय मुक्ति आन्दोलनको प्रेरणाको स्रोतको रुपमा समेत लिने गरिन्छ ।