`

गाजाको मुख्य अस्पताल वरपर भएको इजरायली हमलामा २९ जनाको मृत्यु

बेत लाहिया । गाजाको नागरिक सुरक्षा एजेन्सीले शुक्रबार उत्तरी शहर बेत लाहियामा एउटा प्रमुख अस्पतालको वरपर इजरायली हमलामा २९ जनाको मृत्यु भएको बताएको छ ।

उत्तरी गाजाको अन्तिम कार्यरत स्वास्थ्य केन्द्रहरू मध्ये एक कमाल अदवान अस्पताल बिहान धेरै आक्रमणको चपेटामा परेको एजेन्सी र अस्पताल निर्देशकले बताए ।

“अस्पतालको उत्तरी र पश्चिमी भागमा तीव्र र प्रत्यक्ष गोलीबारीसँगै श्रृङ्खलाबद्ध हवाई आक्रमण भएको थियो, आक्रमणमा चार कर्मचारीको मृत्यु भयो”, अस्पताल निर्देशक होसम अबु सफिहले भने ।

नागरिक सुरक्षा एजेन्सीका प्रवक्ता महमुद बासलले भने, “कमाल अदवान अस्पताल वरिपरि इजरायली गोलीबारीका कारण शुक्रबार बिहानदेखि कम्तीमा २९ जनाको मृत्यु भएको छ र दर्जनौँ घाइते भएका छन् ।”

इजरायली सेनाले अझैसम्म हमलाहरूबारे एएफपीको टिप्पणी अनुरोधको जवाफ दिएको छैन ।

इजरायली सेनाले अस्पतालमा प्रवेश गरी बिरामीहरूलाई निष्कासन गरी केही प्यालेस्टिनीलाई पक्राउ गरेको बासलले बताए ।

अबु साफिहले पछिल्लो आक्रमणपछि अब अस्पतालमा कुनै शल्यचिकित्सक बाँकी नभएको बताए ।

बेत लाहिया विगत दुई महिनादेखि तीव्र इजरायली सैन्य अपरेशनको स्थल भएको छ र यो हालैका दिनहरूमा फेरि बढेको छ । बम विस्फोटका बीच हजारौँलाई भाग्न बाध्य पारेको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ ।

इजरायली सेनाले करिब १४ महिनाअघि युद्ध सुरु भएदेखि कमाल अदवान अस्पतालमा पटक–पटक आक्रमण गरेको छ । अस्पतालले आफ्नो सघन उपचार एकाइका निर्देशक अहमद अल–काहलुतको पछिल्लो महिनाको हवाई आक्रमणमा मृत्यु भएको बताएको छ ।

संयुक्त राष्ट्रसङ्घको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले ६० दिनमा पहिलोपटक आपत्कालीन चिकित्सा टोली अस्पतालमा पुगेको बताएको केही दिनपछि पछिल्लो आक्रमण भएको हो ।

टोलीका शल्यचिकित्सक डा फराडिना सुलिस्तियानीले गाजा सहरबाट उनको टोलीका सबै सात जना सदस्य बम विस्फोट हुँदा हिँडेर परिसरबाट निस्किएको बताए ।

युनिसेफद्वारा दक्षिण सुडानका बालबालिकालाई सहयोग गर्न अपील

जुबा । संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) ले बढ्दो मानवीय सङ्कटको बीचमा दक्षिण सुडानमा सन् २०२५ सम्मका बालबालिकालाई सहयोग गर्न अमेरिकी डलर २७ करोड ८२ लाखको तत्काल अपील गरेको छ ।

युनिसेफले दक्षिण सुडानको बिग्रिरहेको अवस्थालाई प्रकाश ग¥यो, जहाँ कोषको अभावले मानवीय प्रतिक्रियालाई गम्भीर रूपमा बाधा पुर्याएको छ । “यहाँ लगभग नौ लाख मानिसहरूलाई मानवीय सहायताको खाँचो पर्नेछ, जसमा ४९ लाख बालबालिका, २२ लाख महिला र १४ लाख अपाङ्गता भएका व्यक्तिहरू छन्,” संयुक्त राष्ट्र एजेन्सीले भनेको छ ।

बढ्दो जोखिम, बढ्दो मानवीय आवश्यकता र सहायता बजेटमा महत्त्वपूर्ण कटौतीको साथ दक्षिण सुडानले चुनौतीपूर्ण सन् २०२५ को लागि तयारी गरिरहेको छ ।

दक्षिण सुडानमा प्रारम्भिक डिसेम्बरमा तय गरिएको आम चुनाव दुई वर्षको लागि स्थगित भएपछि राजनीतिक परिदृश्य नाजुक रहेको छ ।

युनिसेफले जलवायु परिवर्तन, द्वन्द्व, रोगको प्रकोप, आर्थिक ह्रास र सुडानमा युद्धबाट भागेर शरणार्थी र फर्केकाहरूको आगमन लगायतका सङ्कटको अभिसरणले देशको चुनौतिहरू बढाएको उल्लेख गरेको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२३ अप्रिलदेखि १० अक्टोबर सन् २०२४ सम्म सुडानमा भएको युद्धबाट भागेर चार लाख १५ हजार बालबालिकासहित आठ लाख २६ हजारभन्दा बढी मानिस दक्षिण सुडानमा प्रवेश गरेका थिए ।

युनिसेफले यस सङ्कटमा विशेष गरी कमजोर रहेको बालबालिकाहरूले दुर्व्यवहार, हिंसा, शोषण र मनोवैज्ञानिक सङ्कटको बढ्दो जोखिमको सामना गर्ने बताएको छ ।

अफ्रिकामा एमपक्सबाट मृत्यु हुनेको सङ्ख्या १२ सय पुग्यो

अदिस अबाबा । अफ्रिकामा चलिरहेको एमपक्स प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या १२ सय पुगेको छ । यो वर्ष अहिलेसम्म रेकर्ड गरिएका मामिलाहरूको सङ्ख्या ६२ हजार नाघेको छ ।

अफ्रिका सीडीसीका महानिर्देशक जीन क्यासियाले भने,“वर्षको सुरुदेखि २० अफ्रिकी देशहरूमा ६२ हजार १७१ एमपक्स मामिलाहरू रिपोर्ट गरिएको छ, जसमध्ये १३ हजार ५७९ पुष्टि भएको र मर्नेहरूको सङ्ख्या बढेर १२ सय पुगेको छ ।”

अफ्रिकी युनियनको विशेष स्वास्थ्य सेवा एजेन्सीले गत हप्ता मात्र अफ्रिकी महाद्वीपमा दुई हजार ७०८ नयाँ केसहरू रेकर्ड गरिएको जनाएको छ, जसमा ५६५ पुष्टि भएका घटनाहरू र ३६ मृत्युहरू छन् ।

कासियाले भने,“यदि हामीले जनवरीको पहिलो हप्तालाई नोभेम्बर सन् २०२३ को अन्तिम हप्तासँग तुलना गर्ने हो भने हामीसँग ७१६ प्रतिशतले वृद्धि भएको छ । यदि हामीले यो प्रवृत्तिलाई निरन्तरता दियौं भने, सन् २०२४ को अन्त्यसम्ममा हामीसँग केसहरूमा ८०० प्रतिशत भन्दा बढी वृद्धि हुनेछ । काभिड–१९ महामारी पछि एमपक्स अफ्रिकाले सामना गरिरहेको सबैभन्दा ठूलो प्रकोप हो ।”

एमपक्स पहिलो पटक सन् १९५८ मा भेटिएको थियो । यो एक दुर्लभ भाइरल रोग हो, जुन सामान्यतया शरीरको तरल पदार्थ, श्वासप्रश्वासको थोपा र अन्य दूषित पदार्थहरू मार्फत फैलिन्छ ।

यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रूपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३५ रूपैयाँ ८१ पैसा कायम भएको छ । 

युरोपियन युरो एकको खरिददर एक सय ४३ रूपैयाँ सात पैसा र बिक्रीदर एक सय ४३ रूपैयाँ ७१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७२ रूपैयाँ ५७ र बिक्रीदर एक सय ७३ रूपैयाँ ३३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ५४ रूपैयाँ आठ पैसा र बिक्रीदर एक सय ५४ रूपैयाँ ७६ पैसा कायम गरिएको छ । शुक्रबार अमेरिकी डलर एकको खरिददर एक सय ३५ रूपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३५ रूपैयाँ ८८ पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४२ रूपैयाँ ३९ पैसा र बिक्रीदर एक सय ४३ रूपैयाँ २ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७२ रूपैयाँ सात र बिक्रीदर एक सय ७२ रूपैयाँ ८३ पैसा, स्विस फ्र्याङ्क एकको खरिदर एक सय ५३ रूपैयाँ एक पैसा र बिक्रीदर एक सय ५३ रूपैयाँ ६९ पैसा कायम गरिएको थियो । 

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ८३ पैसा र बिक्रीदर ८७ रूपैयाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रूपैयाँ ३० पैसा र बिक्रीदर ९६ रूपैयाँ ७३ पैसा, सिङ्गापुर डलर एकको खरिदार एक सय रूपैयाँ ९२ पैसा र बिक्रीदर एक सय एक रूपैयाँ ३७ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रूपैयाँ ९८ पैसा र बिक्रीदर नौ रूपैयाँ दुई पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ६१ पैसा र बिक्रीदर १८ रूपैयाँ ६९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ र बिक्रीदर ३६ रूपैयाँ १५ पैसा, कतारी रियाल एकको खरिदर ३७ रूपैयाँ नौ पैसा र बिक्रीदर ३७ रूपैयाँ २५ पैसा कायम भएको छ । 

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रूपैयाँ ९८ पैसा र बिक्रीदर तीन रूपैयाँ ९९ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ८१ पैसा र बिक्रीदर ३६ रूपैयाँ ९८ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रूपैयाँ ५९ पैसा र बिक्रीदर ३० रूपैयाँ ७३ पैसा, साउथ कोरियन वन एक सयको खरिदर नौ रूपैयाँ ५२ पैसा र बिक्रीदर नौ रूपैयाँ ५६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ४३ पैसा र बिक्रीदर १२ रूपैयाँ ४९ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रूपैयाँ १८ पैसा र बिक्रीदर १९ रूपैयाँ २७ पैसा तोकिएको छ । 

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ३८ पैसा र बिक्रीदर १७ रूपैयाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४० रूपैयाँ ५ पैसा र बिक्रीदर चार सय ४२ रूपैयाँ, बहराइन दिनार एकको खरिददर तीन सय ५८ रूपैयाँ ५५ पैसा र बिक्रीदर तीन सय ६० रूपैयाँ १४ पैसा, ओमनि रियाल एकको खरिदर तीन सय ५१ रूपैयाँ  १९ पैसा, बिक्रिदर तीन सय ५२ रूपैयाँ ७५ पैसा र भारतीय रूपैयाँ एक सयको खरिददर एक सय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न एमालेले बोलायो सचिवालय बैठक

काठमाडौँ । नेकपा (एमाले)ले केन्द्रीय सचिवालय बैठक यही मङ्सिर २५ गते बस्ने भएको छ ।

पार्टी कार्यालयका सचिव डा भीष्म अधिकारीले मङ्सिर २५ गते अपरान्ह ४ बजे सचिवालय बैठक डाँकिएको जानकारी दिए ।

उनका अनुसार बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमण, उपनिर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुने छ । बैंठक ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्ने छ ।

दुर्गेश थापाको ‘रूपकी रानी, शेरको राजा’

काठमाडौं । दुर्गेश थापा र भारतकी ‘प्लानेट मिस इन्डिया वर्ल्ड २०१८’ नव्याश्री अभिनित ‘रूपकी रानी, शेरको राजा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ 

 गीतमा कृष्ण केसी र सदिक्षा कट्टेलले स्वर दिएका छन् । सङ्गीत कृष्ण केसीको रहेको छ भने शब्द रचना नव्याश्री आफैँले गरेकी हुन् ।

म्युजिक कड प्रोग्रेसन मदन केसीले गरेका छन् भने गीतको मिक्सिङ र मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका छन् । गीतको भिडियोमा दुर्गेश थापा र नव्याश्रीको प्रमुख भूमिका रहेको छ भने राजकुमार थापा र प्रकाश कँडेलले खलनायकको अभिनय गरेका छन् ।

भिडियोको निर्देशन, सम्पादन र भिएफएक्स क्रान्ति केसीले गरेका छन् । छायाङ्कन अजय रेग्मीले गरेका हुन् भने एक्सन निर्देशन रमेश मगरले गरेका छन् ।

जाडोमा रुघाखोकी र निमोनियाबाट कसरी जोगिने ?

काठमाडौं । काठमाडौँसहित देशभर अत्यधिक चिसो बढ्न थालिसकेकाले यो मौसममा रुघाखोकी लाग्दैमा औषधि किनेर नखान विज्ञहरूले सुझाव दिएका छन्।

जाडो मौसममा विशेषगरी बालबालिका तथा ज्येष्ठ नागरिकलाई बढी स्याहारको आवश्यकता पर्दछ। विज्ञहरूले जाडो मौसममा बालबालिकालाई श्वासप्रश्वाससम्बन्धी, रुघाखोकी, घाँटीको सङ्क्रमण, पेट दुखाइलगायत समस्या बढी देखिने भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन्।

कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ डा रामहरि चापागाईंले जाडोमा विशेषगरी श्वासप्रश्वाससम्बन्धी रुघाखोकी, निमोनिया, ‘कोल्ड डाइरिया’ (चिसोले हुने झाडापखाला) का समस्या बढी देखिने बताए।

‘चिसोबाट बालबालिकालाई जोगाउन पौष्टिक आहारको जरुरत पर्दछ। जुनसुकै समयमा पनि बालबालिकालाई पौष्टिक आहार आवश्यक पर्ने भए पनि जाडोमा अन्य समयमाभन्दा बढी चाहिन्छ। यसले साधारण रोग पचाउन सहयोग गर्छ’, उनले भने। साथै सरकारले उपलब्ध गराएका सबै खोप लगाउनुपर्ने उनको भनाइ छ।

‘खोप लगाएका बच्चालाई अरुलाई भन्दा कम रोग लाग्छ। दादुराको खोप लगाएका बच्चालाई निमोनिया हुने जोखिम कम हुन्छ’, डा चापागाईंले भने।जाडोमा बालबालिका चिसो मानेर नुहाउन नमान्ने, हात खुट्टा धुन गाह्रो मान्ने भएकाले पनि रोगको सङ्क्रमण बढी देखिने उनको भनाइ छ।

रुघाखोकी लाग्दैमा औषधि खानु वा खुवाउनु नहुने भन्दै कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ डा चापागाईंले निरन्तर रुघाखोकी लागेमा विशेषज्ञ चिकित्सको परामर्श लिनुपर्नेमा जोड दिए।

डा चापागाईंले भने, ‘सरसफाइमा ध्यान दिन सके जाडो वा गर्मीमा रोग लाग्ने सम्भावना कम रहन्छ। बच्चाहरू चिसोमा नुहाउन अल्छी मान्छन्। सरसफाइ नहुँदा छालाका रोग पनि देखिन सकिन्छ।’ उनले जाडो याममा कोठा न्यानो राख्न हिटर तथा कोइला बाल्दा जहिले पनि सफा हावाको आवतजावत हुने वातावरण बनाइराख्न र झ्याल तथा ढोका ड्याम्म नलगाउन आग्रह गरे।

त्रिवि शिक्षण अस्पतालकी बाल स्वास्थ्य नर्सिङ विभागकी सहप्राध्यापक अप्सरा पाण्डेले जाडो मौसम सुरु भएसँगै अभिभावकले आफ्ना बालबालिकालाई पर्याप्त मात्रामा झोलिलो खान, न्यानो लुगा लगाइदिन, दैनिक १५ देखि ३० मिनेट घाम ताप्न लगाउनेलायत काम गर्नुपर्ने बताइन्।

‘घाम ताप्दा शरीरलाई चाहिने भिटामिन डि प्राप्त हुन्छ र प्रतिरक्षा प्रणाली बलियो बनाउन सहयोग गर्छ। सङ्क्रमणको उच्च जोखिममा रहेका बालबालिकालाई स्वास्थ्यकर्मीको सल्लाह लिएर भाइरल फ्लूविरुद्धको खोपसमेत दिन सकिन्छ। श्वासप्रश्वासको सङ्क्रमण भएका व्यक्तिको सम्पर्कमा जाँदा मास्क लगाइदिनुपर्छ,’ उनले भनिन्।

बाल स्वास्थ्य नर्स सुरक्षा सुवेदीले पनि जाडोमा बालबालिकालाई अझ बढी स्याहारको आवश्यकता पर्ने हुनाले तातो तथा झोलिलो खानेकुरामा जोड दिनुपर्ने बताइन्। उनले भनिन्, ‘बिहान र साँझ अत्यधिक चिसो हुने भएकाले बच्चालाई चिसोमा खेल्न दिनुहुँदैन। रुखाखोकी लाग्दैमा जथाभाबी औषधि किनेर खुवाउनु हुँदैन। घरभित्रै उफ्रिने खालका व्यायाम गराउँदा उपयुक्त हुन्छ।’

सुवेदीले बालबालिकालाई राति सुत्ने समयमा न्यानो बनाउन मोजा र टोपी अनिवार्य लगाइदिन अभिभावनलाई आग्रह गरि्न। ‘जाडोमा छाला सुख्खा भइराख्ने हुनाले ‘मोस्चराइजर’ लगाइदिनुपर्छ। हिटर बालेर मसाज गर्दा पनि धेरै बेरसम्म बाल्नुहुँदैन। छालामा असर गर्न सक्छ,’ उनले भनिन्।

कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ डा चापागाईंले जाडोमा बालबालिकालाई रुघाखोकी बढी देखिने भएकाले अभिभावक आत्तिनु नहुने बताए। उनले भने, ‘जाडो याममा बच्चाहरूलाई गर्मीमा भन्दा बढी रुघाखोकी लाग्छ। रुघाखोकी लगाउने भाइरस जाडो मौसममा बच्चाको घाँटीमा बढी समयसम्म रहिरहन्छ। सर्न सक्ने सम्भावना पनि बढी हुन्छ।’

पौष्टिक आहार, झोलिलो खानपिन, पर्याप्त मात्रामा आराम गर्दा भाइरल रुघाखोकी पाँच–छ दिनमा हराएर जाने डा चापागाईंले बताए। उनले रुघाखोकी लाग्दैमा औषधि जथाभावी पसलबाट औषधि किनेर खुवाउन हतार नगर्न अभिभावकलाई सुझाए।

‘रुघाखोकी लागेमा न्यानो राख्ने, झोल खानेकुरामा ध्यान दिने र आराम गराउँदा बच्चा निको हुन्छ। रुघाखोकीसँगै सास फेर्न गाह्रो भएमा, कोखा हानेमा, धेरै ज्वरो आएमा, बच्चाले खाना कम गरेमा स्वास्थ्यकर्मीको सल्लाह अनुसार औषधि सेवन गर्नुपर्छ’, बालरोग विशेषज्ञ डा चापागाईंले भने। 

यो सरकारप्रति जनताको कुनै असन्तुष्टि छैनः सभापति देउवा

मोरङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक दलहरुको सहमतिमा संविधान संशोधन गरिने बताएका छन् ।

विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभापति देउवाले संविधान संशोधन गर्न दुई तिहाई बहुमत आवश्यक भएकाले दलहरुबीच वार्ता एवं सहमति कायम गर्ने प्रष्ट पारे ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको चीन भ्रमणको बेला बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई ) मा ऋण सम्बन्धी सम्झौता नभएको उल्लेख गरे ।

वर्तमान गठबन्धन सरकारप्रति जनताको कुनै असन्तुष्टि नभएको सभापति देउवाको भनाइ थियो । मुलुकमा राजनीतिक स्थायीत्व कायम हुनुका साथै मुलुक समृद्धितर्फ अगाडि बढेको उनको धारणा थियो । सभापति देउवाले पार्टीको महाधिवेशन तोकिएकै समयमा हुने र निर्वाचनवाट नेतृत्व चयन हुने बताए ।

बुद्ध एयरले थप्यो १९ औँ एटिआर विमान

काठमाडौँ । निजी क्षेत्रको हवाई कम्पनी बुद्ध एयरले १९ औँ एटिआर विमान भित्र्याएको छ । नयाँ एटिआर–७२ विमान थपेसँगै कम्पनीसँग एटिआर–७२ सिरिजका विमानको सङ्ख्या १६ पुगेको छ ।

नयाँ विमानको आवश्यक कागजी प्रक्रिया पुर्‍याई डिसेम्बर महिनाको अन्त्यबाट व्यावसायिक उडानमा ल्याइने बुद्ध एयरले विज्ञप्तिमार्फत जनाएको छ ।

बुद्ध एयरले कल साईन नाईन एन–एओजी विमान फ्रान्सको एटिआर कम्पनी, तुलुसबाट खरिद गरेर ल्याएको जनाएको छ । हाल सो कम्पनीसँग तीन वटा एटिआर–४२–३२० र १६ वटा एटिआर–७२–५०० जहाज रहेका छन् ।

हवाई उडानलाई सहज र सरल बनाउने प्रतिबद्धताअनुरूप नयाँ विमान थप गरिएको बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले जानकारी दिए ।

बुद्ध एयरले आन्तरिकतर्फ हाल दैनिक एकसय ४० भन्दा बढी उडान भरिरहेको जनाएको छ ।

नरहरिनाथको घ्यूले पाएन बजार

कालीकोट । कालीकोटको नरहरिनाथ गाउँपालिकाका किसानले उत्पादन गरेको घ्यूले बजार पाउन सकेको छैन । यहाँका किसानले पुस्तौदेखि पशुपालन गर्दै आएका छन् । वडा नं ९ लालुका भैँसीपालक किसान रजबहादुर शाहीले आफूहरूले उत्पादन गर्ने दूध, दही र घ्यूूले बजार पाउन नसकेको बताए ।

‘मैले जन्मेदेखि नै भैँसीपालन गर्दै आएको छु । विगतमा हामीले उत्पादन गरेको घ्यू बर्दियाको राजापुर र कैलालीको चिसापानी बजारमा लगेर बेच्ने गरेका थियौँ तर बजारमा आउने नयाँ, नयाँ आधुनिक तेलहन वस्तुका कारणले पनि घ्यूको महत्व घटेको होला, अचेल बिक्री हुँदैन’, उनले भने ।

यस क्षेत्रमा प्रशस्त चरिचरन क्षेत्र भएका कारण अधिकांश परिवारले पशुपालन गर्ने गरेको तर दुग्धजन्य उत्पादनले बजार नपाउँदा समस्या भएको वडा नं ७ का किसान रामबहादुर बटालाले गुनासो गरे ।

‘बजार अभावमा स्थानीयले उत्पादन गरेको घ्यू घरमै थन्किने गरेको छ’, उनले भने, ‘दूध बिक्री नहुने भएकाले घ्यू बनाउनु यहाँका किसानको बाध्यता छ । अब त्यही पनि बिक्री नभएपछि के गरेर जीविकोपार्जन गर्नु ।’

गाउँपालिका–५ रुप्साका कृषक रणबहादुर सहकारीले सबैको घरमा पशुपालन हुने भएकाले स्थानीयस्तरमा उत्पादन बिक्री नहुने र बाहिर पनि खासै बजार व्यवस्थापन गर्न नसकिएको बताए ।

गाउँपालिका पशु सेवा शाखा प्रमुख कटकबहादुर बुढाले पनि यहाँका अधिकांश किसानले गाईभैँसी पालन गरिरहेकाले बजार पाउन कठिनाइ भएको बताए। गाउँपालिकाका पूर्व अध्यक्ष धीरबहादुर विष्टले स्थानीय उत्पादनको बजारका लागि पालिकाले नै व्यवस्थापन गर्न जरूरी रहेको बताए ।

गाउँपालिका उपाध्यक्ष कमलबहादुर शाहले गाउँपालिकाले पशुपालन गर्ने किसानका लागि प्रोत्साहन दिने गरेको र यहाँ उत्पादन हुने दुग्धजन्य वस्तुको बिक्रीका लागि पहल थालिएको जानकारी दिए ।

‘पशुपालन क्षेत्र बढाउनका लागि गाउँपालिकाले विशेष योजना ल्याएर काम गरिरहेको छ, हाल पशुपालक किसानलाई मासिक रु एक हजार प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ । अब उत्पादनको बजार व्यवस्थापनमा लाग्छौँ’, उनले भने, ‘पालिकाले यहाँ उत्पादन हुने दुग्धजन्य वस्तुको बजारको खोजी रहेको छ । जुम्ला र हुम्ला जिल्लामा पठाउने विषयमा छलफल भइरहेको छ ।’ 

दशौँ राष्ट्रिय खेलकुद चैत २३ देखि कर्णाली प्रदेशमा हुने

काठमाडौँ । दशौँ राष्ट्रिय खेलकुद आगामी चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशमा गर्ने निर्णय राखेप बोर्ड बैठकले गरेको छ।

यसअघि मंसिर २ गतेदेखि ९ गतेसम्म दशौँ राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा हुने तय भए पनि राखेपले कुनै जानकारी बेगर नै प्रतियोगिता तुहाएको थियो।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा शुक्रबार बसेको ११८ औँ बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति घोषणा गरेको हो। राखेपका सदस्य सचिव टंकलाल घिसिङले दशौँ राष्ट्रिय खेलकुदको नयाँ मिति घोषणा गरेको बताए।

गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदको समापनका दिन २०७९ साल कात्तिक २ गते बसेको राखेपको ११५ औँ बोर्ड बैठकले गत मंसिर २ देखि ९ सम्म कर्णाली प्रदेशमा दशौँ राष्ट्रिय खेलकुद गर्ने निर्णय गर्दै कर्णाली प्रदेशलाई झन्डा हस्तान्तरण गरेको थियो।

यसअघि मन्त्री चौधरीले फागुनमा दशौँ राष्ट्रिय खेलकुद गर्ने बताएका भए पनि अहिले चैत अन्त्यमा गर्ने गरी निर्णय भएको हो।

पुटिनले डिसेम्बर १९ मा वार्षिक पत्रकार सम्मेलन गर्ने

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले डिसेम्बर १९ मा आफ्नो वार्षिक पत्रकार सम्मेलन गर्ने क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले शुक्रबार टेलिभिजन टिप्पणीमा भनेका छन् । पत्रकार सम्मेलनमा विदेशी मिडियाको समेत सहभागिता हुनेछ ।

टेलिभिजनमा प्रसारण गरिने म्याराथन कार्यक्रम अमेरिकी राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा पदभार ग्रहण गर्नुभन्दा एक महिनाअघि र रुसी सेनाले युक्रेनमा प्रगति गरिरहेको बेला हुनेछ ।

पुटिनले पत्रकारहरूको प्रश्नहरूको जवाफ दिने र जनताका सदस्यहरूबाट फोन कल स्वीकार गर्ने कार्यक्रमलाई ‘भ्लादिमिर पुटिनसँग वर्षको परिणाम’ भनिने पेसकोभले जानकारी दिए ।

रुसले गत वर्ष रुसमा काम गर्ने विदेशी पत्रकारहरूलाई प्रतिबन्ध र प्रवेश रोक लगाएको थियो । यसलाई रुसले ‘पारस्परिक कदम’ का रूपमा व्याख्या गर्दछ । तर पेसकोभले अन्तर्राष्ट्रिय मिडिया सहभागी हुनसक्ने पुष्टि गरे ।

‘सङ्घीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय मिडियाका पत्रकारहरूलाई मान्यता दिइनेछ’, उनले भने ।

पेसकोभका अनुसार अन्तर्राष्ट्रिय मिडियाका प्रतिनिधिहरू ‘मुख्यतया रुसमा हालको मान्यताअन्तर्गत काम गर्ने विदेशीहरू हुनेछन् । अन्य केही पश्चिमी मिडिया पनि उपस्थित हुनेछन् ।

राज्य समाचार संस्था तासका अनुसार कार्यक्रम मस्को समय अनुसार दिउँसो १२ बजे सुरु हुनेछ । गत वर्षको कार्यक्रमले चार घण्टाभन्दा बढी समय लिएको थियो ।

सिरियाली युद्धका कारण एक हप्तामा दुई लाख ८० हजार विस्थापित

जेनेभा । सिरियामा जारी द्वन्द्वका कारण एक साताको अवधिमा करिब दुई लाख ८० हजार मानिस विस्थापित भएका संयुक्त राष्ट्रसङ्घले शुक्रबार जनाएको छ ।

विश्व खाद्य कार्यक्रमका आपतकालीन समन्वय प्रमुख समर अब्देलजाबरले जेनेभामा पत्रकारहरूसँग भने, “नोभेम्बर २७ देखि अहिलेसम्म दुई लाख ८० हजार विस्थापित भएको हामीलाई जानकारी प्राप्त भएको छ ।

दमास्कसबाट प्राप्त समाचार अनुसार सिरियाली सेनाले सहयोगी राष्ट्र रूससहितका लडाकु विमानको सहयोगमा शुक्रबार हामा प्रान्तमा ‘विद्रोहीका सवारी साधन र भेला’ लाई निशाना बनाएको सिरियाली रक्षा मन्त्रालयले जनाएको छ ।

“हाम्रो सशस्त्र बलले हामा प्रान्तको उत्तर र दक्षिणमा रहेका विद्रोहीका सवारी साधन र भेलालाई तोपखाना, क्षेप्यास्त्र र सिरियाली–रूसी लडाकू विमानको प्रयोग गरी निशाना बनाइरहेको छ,” सैन्य स्रोतलाई उद्धृत गर्दै सिरियाली मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यसैबीच, लेबनानको राजधानी बेरुतबाट प्राप्त जानकारी अनुसार इस्लामवादी नेतृत्वको विद्रोहीले शुक्रबार सिरियाको तेस्रो शहर होम्सबाट केही दूरीमा रहेका दुई रणनीतिक सहरलाई आफ्नो नियन्त्रणमा लिएको सिरियाली युद्ध अनुगमनकारी संस्था (सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स) ले जनाएको छ ।

राइट्सका प्रमुख रामी अब्देल रहमानले भने, “हयात तहरीर अल–शाम र सहयोगी समूहहरू रास्तान र ताल्बिसेहलाई कब्जा गरेपछि होम्स शहरको बाहिरी इलाकाबाट पाँच किलोमिटर टाढा पुगेका छन् ।

उनले होम्सलाई नियन्त्रण गर्नाले विद्रोहीहरूले सिरियाली तटतर्फ जाने मुख्य सडक काट्न सक्ने बताएका छन् ।

सरकारबाट दोस्रो शहर अलेप्पो कब्जा गरेको केही दिनपछि इस्लामिक समूह एचटीएस र सहयोगी लडाकुहरूले बिहीबार कब्जा गरेको हामाको दक्षिणमा होम्स छ ।

विद्रोही सैन्य कमाण्डर हसन अब्देल घानीले शुक्रबार टेलिग्राममा एक वक्तव्य जारी गर्दै भने, “हाम्रो सेना होम्स शहरतर्फ निरन्तर अघि बढिरहेको छ ।

मार्च २०११ मा सिरियाको विद्रोह सुरु भएपछि शहरमा व्यापक विरोध प्रदर्शन भएका कारण होम्सलाई कुनै समय ‘क्रान्तिको राजधानी’ भनिएको थियो।

द्वन्द्वको प्रारम्भिक वर्षहरूमा, होम्सले विपक्षी गुटहरू र सिरियाली सेनाबीच भीषण युद्धको मार खेपेका थिए । सन् २०१७ को मार्च र मे महिनाको बीचमा होम्सको विद्रोहीको कब्जामा रहेको अन्तिम किल्ला वेरबाट युद्धविराम सहमति अनुरूप हजारौंलाई सुरक्षित स्थानमा सारिएको थियो । 

स्वीडेन र डेनमार्कबीच सैन्य सवारी साधनका लागि दुई अर्ब ३० करोड डलर सम्झौता

स्टकहोम, स्वीडेन । युक्रेनलाई अनुदान दिएपछि आफ्नो भण्डार पुनः पूर्ति गर्न स्वीडेन र डेनमार्कबीच २०५ बख्तरबन्द लडाकू सवारी साधनका लागि स्वीडेनको एक सैन्य उपकरण निर्माताकम्पनीसँग सम्झौतामा हस्ताक्षर गरेको छ ।

माग गरिएका २०५ थान सीभी ९० गाडीमध्ये ११५ डेनमार्क, ५० स्वीडेन र ४० युक्रेनमा डेलिभरी गरिने स्वीडेन सरकारले जनाएको छ ।

बीएई सिस्टम्स ह्याग्लुन्ड्ससँग २.३ अर्ब अमेरिकी डलरको सम्झौता भएको छ, जुन पहिले स्वीडेन र डेनमार्कले दान गरेको रकमबाट वित्तपोषित हुनेछ ।

स्वीडेनका रक्षामन्त्री पाल जोन्सनले भने, “यी लगानीले युरोप र विशेष गरी युक्रेनलाई सुरक्षित बनाउन सम्भव बनाउनेछ । चेक गणतन्त्र, डेनमार्क, इस्टोनिया, फिनल्यान्ड, नेदरल्याण्ड्स, नर्वे, स्लोभाकिया, स्वीडेन, स्विट्जरल्याण्ड र युक्रेन गरी १० वटा देशमा सीभी ९० लडाकु सवारी साधन छन् । 

एक महिनाभित्र एआई नीति ल्याउछौँ : सञ्चारमन्त्री गुरुङ

काभ्रे। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अब छिट्टै आर्टिफिसिएल इन्टिलिजेन्स् (एआई) नीति ल्याउने बताएका छन् । उनले काठमाडौं विश्वविद्यालयको कम्प्युटर क्लबद्वारा आज धुलिखेलमा आयोजित ‘आइटी मिट–२०२४’को उद्घाटन गर्दै एक महिनाभित्र एआईको नीति ल्याई आवश्यक कानुन बनाउने पक्षमा सरकार क्रियाशील रहेको बताए ।

‘एआईको कानुन बनाएपछि सूचना प्रविधिमार्फत थप कार्यक्रम ल्याउन सकिन्छ, यसका लागि मन्त्रालयमा गृहकार्य भइरहेको छ’, सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले भने ।

नेपाल आइटीको दशकमा प्रवेश गरेको भए पनि त्यसबाट अहिलेसम्म उल्लेख्य फाइदा लिन नसकेको चर्चा गर्दै उनले विषय विज्ञहरूसँग छलफल तथा अन्तरक्रिया गरी आवश्यक नियम कानुन बनाएर मुलुकलाई ‘आइटी हब’ का रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, ‘एआईको जमाना आइसक्यो, अहिलेसम्म नेपालका सबै सरकारी संयन्त्र ई–गभर्नेन्समा गइसक्नु पर्थ्यो, त्यस्तो हुन सकेको देखिएन, डिजिटल नेपाल फ्रेमवर्कका लागि भए पनि एआईसम्बन्धी कानुन यथाशक्य छिटो तयार गरी कार्यान्वयनमा जानेछौँ ।’

राज्य संयन्त्रअन्तर्गतका निकायमा ई–गभर्नेन्स लागू गर्न सकिए भ्रष्टाचार नियन्त्रण हुने विश्वास व्यक्त गर्दै सञ्चारमन्त्री गरुङले भने, ‘डिजिटल नेपाल फ्रेमवर्कमार्फत ई–गभर्नेन्सलाई लागू गर्न सक्छौँ, त्यसपछि मात्र भ्रष्टाचार नियन्त्रण गर्न सहज हुन्छ ।’

‘डिजिटल नेपाल फ्रेमवर्क’लाई पहिलो चरणमा सरकारी तहबाटै सुरु गर्ने पक्षमा वर्तमान सरकार रहेको जानकारी दिँदै सञ्चारमन्त्री गुरुङले भने, ‘अहिले २२ मन्त्रालय रहेको सङ्घीय सरकार, सात प्रदेश सरकार र सात सय ५३ वटा स्थानीय तहसमेत गरी देशमा सात सय ६१ सरकारसहित मातहतका सबै सरकारी कार्यालयमा ई–गभर्नेन्सको कार्यक्रम लागू गर्न सकिए भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ भन्नेमा म विश्वस्त छु, त्यसका लागि आवश्यक नियम–कानुन बनाउने कामलाई मन्त्रालयले उच्च प्राथमिकता दिएको स्पष्ट गर्दछु ।’

उनले आवश्यक नियम, कानुनसहित ई–गभर्नेन्स कार्यान्वयन भएपछि मुलुकका तीनै तहका सरकारका नीति तथा कार्यक्रम, योजना र बजेट व्यवस्थापन प्रक्रिया सहज भई अपेक्षित परिणाम प्राप्त हुने धारणा व्यक्त गर्दै त्यसका पक्षमा वर्तमान सरकार क्रियाशील रहेको बताए।

सञ्चारमन्त्री गुरुङले आइटी क्षेत्रको विकास एवं विस्तार गरी त्यसलाई उद्योग तथा उत्पादनमूलक क्षेत्रमा जोड्दै देश र जनतालाई लाभान्वित तुल्याउन पक्षमा क्रियाशील रहेको सरकारलाई आआफ्नो ठाउँबाट सक्दो सहयोग गर्न विषय विज्ञहरूको ध्यानाकर्षण गरे ।

कार्यक्रममा काठमाडौं विश्वविद्यालयका स्कुल अफ इञ्जिनियरिङका डिन मनिष पोखरेलले सूचना प्रविधिका क्षेत्रमा भएका विकास तथा देशभरिका प्रविधिमैत्री युवालाई एकत्रित गरी नयाँ अवसर र प्रेरणा प्रदान गर्ने सोचका साथ ‘आइटी मिट–२०२४’ आयोजना गरेको बताए ।

दुई दिनसम्म चल्ने कार्यक्रममा कोडिङ प्रतियोगिता, परियोजना प्रदर्शनी, गेमिङ इभेन्टस्, गुगलिङ प्रतियोगिता, केयुबिङ प्रतियोगिताजस्ता विविध गतिविधि सञ्चालन हुने विश्वविद्यालयले जनाएको छ ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीका लागि ४० जनाको नाम छनोट

काठमाडौँ । सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका लागि पदाधिकारी सिफारिस समितिले ४० जनाको नाम छनोट गरेको छ ।

समितिले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारीका लागि अध्यक्षमा आठ र सदस्यमा ३२ जनाको नाम छनोट गरेको समितिका सदस्य प्रवक्ता खम्बबहादुर खातीले जानकारी दिए ।

उनका अनुसार अध्यक्ष पदका लागि डिल्लीराज आचार्य, अच्युतप्रसाद भण्डारी, विजय सिजापती, विश्वराज कोइराला, सुदीप पाठक, महेश थापा, शेरबहादुर केसी र काशीराज दाहालको छनोट गरिएको छ ।

सरकारले गत कात्तिक २ गते पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा सिफारिस समिति गठन भएको थियो । समितिलाई दुई महिनाभित्र कार्यअवधि दिइएको थियो ।

दुई आयोगका पदाधिकारीका लागि एक सय ५६ जनाको आवेदन परेको थियो । सिफारिस समितिको कार्यअवधि आगामी पुस २ गतेसम्म रहेको छ ।

उच्च करदातालाई नेपाल उद्योग परिसङ्घको सम्मान

काठमाडौं ।  नेपाल उद्योग परिसङ्घले यस वर्षको राष्ट्रिय कर दिवसका अवसरमा नेपाल सरकारबाट सम्मानित भएका उच्च करदाताहरूलाई सम्मान गरेको छ ।

सरकारले राष्ट्रिय कर दिवसको अवसरमा १६ जना संस्था तथा व्यक्तिलाई उच्च करदाताका रूपमा सम्मान गरेको थियो ।

सम्मानित मध्ये दुई वटा सरकारी लगानी रहेका कम्पनी छन् भने १४ वटा निजी एवं सार्वजनिक क्षेत्रका छन् । परिसङ्घले निजी एवं सार्वजनिक क्षेत्रका १४ उच्च करदातालाई सम्मान गरेको हो ।

आज परिसङ्घ सचिवालयमा आयोजित सम्मान कार्यक्रममा परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले उच्च करदातालाई सम्मान गरेका हुन् ।

उनले उच्च करदाता हुनु व्यक्तिगत एवं संस्थागत उपलब्धि मात्रै नभएर राज्यप्रतिको महत्त्वपूर्ण योगदान भएको बताए ।

योगदानको कदर गर्दै उत्पादनमूलक तथा सेवामूलक उद्योगहरूको प्रतिनिधिमूलक संस्थाका रूपमा परिसङ्घले उच्च करदातालाई सम्मान गरेको उनले बताए ।

राष्ट्रिय कर दिवसमा आर्थिक वर्ष २०७८/७९ मा वस्तु निर्यात कारोबार मध्येबाट डाबर नेपाल, एकलौटी फर्ममध्येबाट श्रुती ट्रेडर्स, सूचना प्रविधिसम्बन्धी सेवा निर्यातको कारोबार गर्ने कोडावतार, कृषि एवं पशुपंछीजन्य उद्योगबाट पतञ्जली आयुर्वेद, बैंक तथा वित्तीय संस्था र बीमाबाट नबिल बैंकलाई परिसङ्घले सम्मान गरेको हो ।

अण्डाको मूल्य बढ्यो

चितवन । भोलिदेखि लागू हुने गरी अण्डाको मूल्य बढेको छ । नेपाल लेर्यस कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलले दुई सातादेखि अण्डाको मूल्य क्रमशः बढ्दै गएको र ठूलो अण्डाको फाम रेट प्रतिक्रेट (३० वटाको) रुपैयाँ चार सय ७० र मझौलाको रुपैयाँ चार सय ५५ कायम गरिएको छ ।

पोखरेलले जाडोका कारण उत्पादनमा कमी, अण्डा उत्पादन गर्ने कुखुरामा गिरावट, विद्यालय तथा क्याम्पस सञ्चालनमा आएसँगै अण्डाको मूल्य वृद्धि भएको बताए। उनका अनुसार यसअघि अण्डाको मूल्य रु पाँच सय पाँचसम्म पुगेर क्रमशः घटेको थियो ।

मूल्य बढेपछि किसान भने उत्साहित बनेका छन् । पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले उत्पादन घटेको र माग बढेकाले पूर्ववत् अवस्थामा अण्डाको मूल्य वृद्धि भएको बताए । हाल दैनिक २२ लाख गोटा हाराहारी अण्डा उत्पादन हुँदै आएका उनले जानकारी दिए । 

जनकपुरमा यसरी मनाइयो विवाह पञ्चमी(फोटोफिचर)

जनकपुरधाम । जनकपुरधाममा जारी सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको मुख्य दिन शुक्रबार रङ्गभूमि मैदानमा स्वयंम्बर कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार जनकपुरधामको जानकी मन्दिरबाट बाजागाजासहित कडा सुरक्षाबीच निस्केको डोला रङ्गभूमि मैदानमा पुगेपछि राम मन्दिरबाट गएको डोलालाई तीनपटक परिक्रमा गरेर स्वयंम्बर सम्पन्न भएको हो ।

साँझदेखि जानकी मन्दिरको परिसरमा निर्माण भएको आकर्षक विवाहमण्डपमा मिथिला परम्पराअनुसार भगवान् श्रीराम तथा माता सीताको प्रतीकात्मक विवाह हुने कार्यक्रम रहेको जानकी मन्दिरका सहमहन्त रामरोशन दास वैष्णवले जानकारी दिए ।

तत्कालीन मिथिलाका राजा जनकले गरेको प्रतिज्ञाअनुसार अयोध्याका राजा दशरथका ज्येष्ठ पुत्र भगवान् श्रीरामले भगवान् शिवको पिनाक धनुषमा प्रत्यञ्चा चढाउँदा तीन टुक्रा भएको थियो

। त्यसपछि मर्यादा पुरुषोत्तम भगवान् श्रीरामको शुभ विवाह आजैको पावन तिथिमा माता सीतासँग सम्पन्न भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा विवाह पञ्चमी महामहोत्सव आयोजना गर्ने चलन रहेको छ ।

आज राति हुने सो वैवाहिक कार्यक्रममा महिलाहरू विवाहका गीतहरू गाउने गर्छन् । विवाहपञ्चमीको सातौँ दिन भारतको अयोध्याबाट जन्तीको रूपमा आएका साधुसन्तलाई भोजन गराउँदै बिदाइ गरिन्छ ।

तस्बिरः अमरेन्द्रकुमार यादव÷रासस

एनपिएलमा पोखराको पहिलो जित

काठमाडौँ ।  नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले पहिलो जित हात पारेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको दोस्रो खेलमा लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै पोखराले पहिलो जित हात पारेको हो । 

लुम्बिनीले जितका लागि दिएको एक सय ७१ रनको लक्ष्य पछ्याएको पोखराले १६ दशमलव पाँच ओभरमा एक विकेट पनि नगुमाएर पूरा गरेको हो । पोखराको जितमा दुवै ओपनरको सानदार प्रदर्शन रह्यो । पोखराका लागि एन्ड्रिज गौसले शतकीय पारी खेले । उनले ५५ बलमा पाँच छक्का र १२ चौका प्रहार गर्दै अविजित एक सय चार रन बनाए । एनपिएलमा गौसले अहिलेसम्मकै बढी रन बनाएर एनपिएलमा शतक बनाउने पहिलो खेलाडी बनेका छन् । 

पोखराका अर्का ओपनर दिनेश खरेल अर्धशतकीय पारी खेले । उनले पनि अविजित रहँदै ६१ रन बनाए । छयालिस बलमा चार छक्का र चार चौकाको मद्दतले उनले ६१ रन बनाए । यो खेलमा पोखराले अतिरिक्त ११ रन पाएको छ । एनपिएलमा यो पोखराको पहिलो जित हो । 

पोखरा आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनको फराकिलो अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा जनकपुर बोल्ट्ससँग सात विकेटले पराजित भएको थियो । 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७० रन बनाएको थियो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले अर्धशतकीय पारी खेले । उनले अविजित रहँदै ५९ बलमा चार छक्का र १० चौका प्रहार गर्दै सर्वाधिक ९५ रन बनाए । टम मूर्सले ४५, सन्दीप जोराले १८ र विवेक यादवले दुई रनको योगदान दिए । 

लुम्बिनीका आशुतोष घिरैया र उन्मुक्त चन्द शुन्य रनमा आउट भएका थिए । यो खेलमा लुम्बिनीले अतिरिक्त १० रन प्राप्त गरेको थियो । पोखराका लागि विपिन खत्रीले दुई र म्याट क्रिचलेले एक विकेट हात पारेका थिए । एनपिएलमा लुम्बिनीको यो दोस्रो हार हो । यसअघि लुम्बिनी विराटनगर किङ्ग्ससँग दुई विकेटले पराजित भएको थियो । 

आइतबारदेखि मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न सकिने

काठमाडौँ । निर्वाचन आयोगले आइतबारदेखि सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता सुरु गर्ने निर्णय गरेको छ ।

यसअघि स्थानीय तह उपनिर्वाचन प्रयोजनको लागि देशभरबाट नियमित रूपमा भइरहेको मतदाता नामावली दर्ता गर्ने कार्य स्थगित गरिएकामा सो उपनिर्वाचन सम्पन्न भई परिणामसमेत प्राप्त भइसकेकाले नियमित मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सुरु गर्न लागिएको आयोगले जनाएको छ ।

कुनै व्यक्ति पेसा, व्यवसाय वा अन्य कुनै कारणले आफ्नो स्थायी ठेगानाभन्दा फरक अर्को कुनै जिल्लामा बसोबास गरिरहेको भए पनि निजले मतदाता नामावलीमा आफ्नो नाम दर्ताका लागि आवश्यक प्रमाणसहित आवेदन गरेमा निजको स्थायी ठेगानामा रहने गरी बाहिरी जिल्लाबाट समेत मतदाता नामावली दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ । मतदाता नामावलीमा नाम दर्ताका लागि नेपाली नागरिकताको प्रमाणपत्र आवश्यकपर्ने आयोगले जनाएको छ ।

नागरिकतामा उल्लिखित ठेगानाभन्दा फरक ठेगानामा मतदाता नामावली दर्ता गर्न नागरिकता, बसाइँसराइ वा विवाह दर्ताको प्रमाणपत्र पेस गर्नुपर्नेछ । आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार अब मतदाता नामावलीमा भएको त्रुटि सच्याउने, दोहोरो नाम हटाउने, मृत्यु तथा बसाइँसराइको विवरण अद्यावधिक गर्नेलगायत कार्य गर्न सकिने छ ।

सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न गुरुङ पक्राउ

काठमाडौँ । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई काठमाडौँबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा घर भएका कृष्ण गुरुङ रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

उनले भने, ‘गुरुङविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भइसकेको थियो । कतार जान लाग्दा अध्यागमनले रोकेपछि हाम्रो टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।’

न्यायालयलाई पारदर्शी र विश्वसनीय बनाउन गोला प्रणाली उपयुक्त छ : प्रधानन्यायाधीश राउत

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायालयलाई पारदर्शी र विश्वसनीय बनाउन गोला प्रणालीबाट पेसी व्यवस्थापन गरिएको बताएका छन् ।

सर्वोच्च अदालतमा गोला प्रणालीबाट हुने पेसी व्यवस्थापन प्रक्रिया अवलोकन गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रधानन्यायाधीश राउतले न्यायालयलाई पारदर्शी र विश्वसनीय बनाउन पेसी व्यवस्थापनमा गोला प्रणाली अवलम्बन गरिएको बताए ।

‘न्यायालयलाई पारदर्शी र विश्वसनीय बनाउन जरुरी छ, गोला प्रणालीको प्रयोगपछि यसले पूर्णता पाएको छ’, प्रधानन्यायाधीश राउतले भने, ‘हरेक दिन गोला प्रणालीले गर्दा इजलासमा आउने नयाँ विषयका विषयमा पनि छलफल गरिन्छ, समस्या देखिए कानुनी बाटो खोजेर सल्टाउने काम गरिन्छ ।’

उनले इजलासमा हरेक दिन केही नयाँ विषय आउने गरेको र पुराना मुद्दाका साथै धेरै मुद्दाको आदेश वा फैसला गरेका विषयमा पनि छलफल हुने गरेको जानकारी दिए ।

सर्वोच्च अदालतमा २०७८ मङ्सिर १५ गतेदेखि गोला प्रणालीबाट मुद्दाको पेसी व्यवस्थापन गर्न थालिएको हो । सोही वर्ष माघ २ गतेदेखि उच्च अदालत र जिल्ला अदालतमा पनि गोला प्रणालीबाट मुद्दाको पेसी व्यवस्थापन गर्न सुुरु गरिएको हो ।

सिसौँको काठमा फरक–फरक रङग लगाएका गोला रहेका छन् । ती गोलामा एकल इजलास, मुद्दाको समूह र न्यायाधीशको सङ्ख्या राखिएको हुन्छ । गोलाहरु कालो एउटा झोलामा राखिन्छ अनी न्यायाधीशले त्यसलाई निकाल्ने गर्छन् । गोला तानेपछि इजलास गठन हुन्छ र मुद्दा कुन कुन पर्छ भन्ने थाहा हुन्छ ।

सर्वोच्च अदालतमा दैनिक बिहान १० बजेर १० मिनेटमा गोला प्रणाली सुरु हुन्छ । सर्वोच्च अदालतमा आजसम्म २६ हजार ५१ थान मुद्दा रहेका छन् । आठ वर्ष नाघेका मुद्दा एक सय ५४ थान छन् ।

आठ वर्ष पुराना मुद्दा २०८२ सम्म शून्यमा झार्ने अभियानका साथ अदालतले काम गरिरहेको छ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसहित १७ न्यायाधीश छन् । नेपालको संविधानले प्रधानन्यायाधीशसहित २१ न्यायाधीश रहने व्यवस्था छ । तर समयमा पदपूर्ति नहुँदा न्यायाधीशको सङ्ख्या पूर्ण हुन सकेको छैन ।

एनपीएलमा चितवनलाई पराजित गर्दै कर्णालीको पहिलो जित

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल)मा कर्णाली याक्सले पहिलो जित दर्ता गरेको छ । शुक्रबार त्रिवि क्रिकेट मैदनमा भएको खेलमा कर्णालीले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको हो ।

पहिलो दुई खेलमा पराजित भएको कर्णालीको यो पहिलो जित हो । चितवनले दिएको १३१ रनको लक्ष्य कर्णालीले १९.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको हो । कर्णालीका लागि ओपनर शिखर धवनले ४५ रन बनाए ।

उनले ४१ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।च्याडविक वाल्टनले ३० रनको योगदान गरे । ओपनर देव खनालले २५ रन जोडे । जिशन मक्सुदले १२ रन बनाए ।

चितवनका लागि रवि बोपरा, कुशल मल्ल र जान निकोल लोफ्टी इटनले १–१ विकेट लिए । यसअघि ब्याटिङ गरेको चितवनले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा १३० रन बनाएको थियो । अर्को खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ ।

भारतको केन्द्रीय बैङ्कद्वारा ब्याजदर यथावत राख्ने निर्णय

नयाँदिल्ली । विश्वको पाँचौं ठूलो अर्थतन्त्र भारतको केन्द्रीय बैङ्कले मुद्रास्फीति जोखिमलाई आधार मानेर शुक्रबार ब्याजदरमा कुनै परिवर्तन गरेको छैन ।

रिजर्भ बैंक अफ इन्डियाले भनेको छ, “बैङ्कले सन् २०२३ फेब्रुअरीदेखि कायम रहेको महत्त्वपूर्ण ब्याजदर ६.५० प्रतिशतमा यथावत रहनेछ ।”

अमेरिकी फेडरल रिजर्भसहित विश्वका प्रमुख केन्द्रीय बैंकहरूले कम मुद्रास्फीतिलाई मध्यनजर गर्दै ब्याजदरलाई समायोजन गर्दै घटाउने सहज चक्र सुरु गरेका छन् । फेडले सेप्टेम्बरमा चार वर्षमा पहिलो पटक ब्याजदर कटौती गरेको थियो।

भारतमा खुद्रा सामानको मुद्रास्फीति मौद्रिक नीति निर्माताहरूको चार प्रतिशतको लक्ष्यभन्दा माथि रहेको छ र अक्टोबरमा १४ महिनाको उच्च ६.२१ प्रतिशतमा पुगेको छ ।

आरबीआईका गभर्नर शतीकान्त दासले बैङ्कको मौद्रिक नीति समितिले ‘आर्थिक वृद्धिको गति सुस्त भएको’ कुरालाई ध्यानमा राखेको तर भारतको दृष्टिकोण ‘लचिलो’ रहेको बताए ।

दासले भने, “प्रतिकूल मौसमी घटनाहरूको बढ्दो घटना, बढ्दो भूराजनीतिक अनिश्चितता र वित्तीय बजारको उतारचढावले मुद्रास्फीतिमा उल्टो जोखिम निम्त्याएको छ ।

भारतीय रिजर्व बैंक (आरबीआई) ले केन्द्रीय बैङ्कमा निक्षेप गर्न ऋणदाताहरूको न्यूनतम नगद मौज्दात अनुपात ४.५ प्रतिशतबाट घटाएर ४ प्रतिशतमा झारेको छ ।

कम नगद मौज्दात अनुपात तरलता बढाउने उपाय हो किनकि यसले बैङ्कहरूलाई ऋण दिनको लागी अधिक पैसा दिन्छ ।

आर्थिक वृद्धिमा मन्दीको सङ्केत देखिए पनि केन्द्रीय बैङ्कले ब्याजदरलाई स्थिर राख्ने निर्णय गरेको हो ।

भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को वृद्धिदर सेप्टेम्बर त्रैमासिकमा ५.४ प्रतिशत रहेको छ, जुन सुस्त उत्पादन क्षेत्र र सुस्त सहरी उपभोगका कारण प्रभावित भएको छ ।

तथ्याङ्कले भारतलाई विश्वको सबैभन्दा तीव्र गतिमा वृद्धि भइरहेको प्रमुख अर्थतन्त्रको सूचीमा राखेको छ, तर यो सात त्रैमासिकमा विश्लेषकहरूको ६.५ प्रतिशतको अपेक्षाभन्दा कम अर्थात् सुस्त वृद्धि दर थियो ।

केन्द्रीय बैङ्कले चालू आर्थिक वर्षको मार्च ३१ सम्ममा आर्थिक वृद्धिदर ६.६ प्रतिशतमा खुम्चिने प्रक्षेपण गरेको छ ।

आरबीआईले मे २०२२ देखि फेब्रुअरी २०२३ को बीचमा ब्याजदरमा २.५ प्रतिशत बिन्दुले वृद्धि गरेको थियो ।

भुटानी राजाले गरे स्वयम्भूनाथ र बौद्धनाथको पूजा र दर्शन

काठमाडौँ ।  भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुकले विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथको पूजा अर्चनासहित दर्शन गरेका छन् ।

यसअघि स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका पदाधिकारीले स्वयम्भूनाथ परिसरमा भुटानी नरेशलाई स्वागत गरेका थिए । करिब आधा घण्टा त्यहाँ रहेका भुटानी नरेशले स्वयम्भूनाथ परिसरबाट काठमाडौँ उपत्यकाको दृश्यावलोकन गरे ।

शुक्रबार बिहान नेपाल आइपुगेका भुटानी नरेशको स्वयम्भूनाथ दर्शनपछि बौद्धनाथ दर्शन गरेका थिए । भारतबाट स्वदेश फर्कने क्रममा काठमाडौँ आएका भुटानी नरेश आजै स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

तस्बिरः किरणराज विष्ट/रासस

तोलामा ६ सयले घट्यो सुनको  मूल्य 

काठमाडौँ  । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । तर चाँदीको मूल्य भने बढेको छ ।

बिहीबार प्रतितोला एक लाख ५० हजार सात सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार घटेर एक लाख ५० हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबारको तुलनामा सुनको मूल्य प्रतितोला  ६ सय रुपैयाँ घटेको हो ।

चाँदीको मूल्य भने प्रतितोला  १० रुपैयाँले बढेको छ । आज नेपाली बजारमा चाँदी प्रतितोला एक हजार आठ सय ९० मा कारोबार भइरहेको छ ।

सरकारले रविमाथि राजनीतिक प्रतिशोध साँध्योः बाबुराम भट्टराई

पोखरा । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राज्यले राजनीतिक प्रतिशोध साँधेको बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका सभापति लामिछानेलाई शुक्रबार भेटेर फर्केपछि भट्राईले सहकारी समस्यालाई अन्यत्र मोड्न र रविमाथि राज्यले राजनीतिक प्रतिशोध साँधेको बताएका हुन् ।

उनले राज्य बचतकर्ताको रकम सुरक्षा गर्नेतर्फ राज्य उदासीन भएको आरोप लगाए । उनले भने, ‘सहकारीको रकम हिनामिना गर्नेहरु राज्य सत्ताका आसेपासेलाई उन्मुक्ति दिइयो र विपक्षीमाथि प्रतिशोध साँध्ने काम भयो । खै त राज्यले सहकारी पीडितको रकम फिर्ताकोबारेमा चासो राखेको ? बचतकर्ताले आत्महत्या गर्ने अवस्था आइसक्यो ।’

भेटमा रविले आफूमाथि राज्यले प्रतिशोध साँधेको बताएका थिए । उनले कानुनी प्रक्रियामा आफूले राज्यलाई सहयोग गरिरहेको भट्टराईलाई बताएका थिए ।

चितवन राइनोजले कर्णाली याक्सलाई दियो १३१ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले कर्णाली याक्सलाई १३१ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा चितवनले ७ विकेटको क्षतिमा १३० रन बनाएको हो ।

चितवनका लागि रवि बोपाराले अविजित ५९ रन बनाए । उनले ३५ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे । कप्तान कुशल मल्लले २३, विपिन रावलले ११, जान निकोल लोफ्टी–इटन ९ , दीपक बोहरा ८ र लुक बेन्केनस्टाइन भने शून्यमा आउट भए ।

शरद भेषावकर ६ रनमा अविजित रहे । कर्णालीका लागि विपिन शर्माले ३, जिशान मक्सुदले २ तथा नन्दन यादव, र कप्तान सोमपाल कामीले १–१ विकेट लिए । टस जितेर कर्णालीले पहिले बलिङ रोजेको हो ।

भूटानी नरेश काठमाडौँमा

काठमाडौँ । भूटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुक अनौपचारिक भ्रमणका सिलसिलामा आज बिहान काठमाडौँ आइपुगेका छन् । उनलाई परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिन् ।

भूटानी नरेश वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गर्ने कार्यक्रम छ । भारतबाट स्वदेश फर्कने क्रममा उनी काठमाडौँ आएका हुन् । उनी आजै स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।