`

शेयर बजार सामान्य अंकले घट्यो

काठमाडौं । बिहीबार शेयर बजार नेप्से सामान्य अंकले घटेको छ । बुधबार उच्च अंकले बढेको नेप्से बिहीबार आठ दशमलव ३० अङ्कले घटेर दुई हजार सात सय ४८ दशमलव शून्य पाँच विन्दुमा झरेको छ ।

आज विकास बैंक, जीवन बीमा र लगानी बाहेक सबै समूहको शेयर घटेकोमा होटल, जलविद्युत्, उत्पादन, निर्जीवन बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज मानुषी लघुवित्त कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ । समग्रमा बजार घटेको दिन विशाल बजार कम्पनी र विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज कारोबार रकम पनि घटेको छ । आज तीन सय सात वटा कम्पनीका एक करोड ६६ लाख कित्ता शेयर आठ अर्ब ५४ करोड रुपैयाँमा कारोबार भएको छ ।

नेपालमा विज्ञान, इन्जिनियरिङ र जियोइन्जिनियरिङको क्षेत्रमा धेरै चुनौतीः उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालमा विज्ञान, इन्जिनियरिङ र जियोइन्जिनियरिङको क्षेत्रमा धेरै चुनौतीहरु रहेको बताएका छन् ।

बिहीबार दिगो पूर्वाधारका लागि जियोटेक्निक्स कार्यक्रमको उद्घाटन गर्दै नेपालमा जलवायु परिवर्तन, भूकम्प, बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपले धेरै प्रभाव पारेको चर्चा गर्दै नेपालमा जियोटेक्निक्स प्रयोगमा चुनौती देखिएको बताएका हुन् ।

‘नेपालमाभूकम्प, बाढी पहिरोले कति धेरै असर पारेको छ यसको साथै जलवायु परिवर्तन र ग्लोबल वार्मिङले पनि पछिल्लो समय देशमा धेरै परिवर्तन गरेको छ,’ उपप्रधानमन्त्री सिंहले भने,‘नेपालमा विज्ञान, इन्जिनियरिङ र जियोइन्जिनियरिङको क्षेत्रमा धेरै चुनौतीहरु छन् । सम्मेलनको उद्देश्यभनेको दिगो पूर्वाधारकालागिजियोटेक्निक्सको प्रयोग भन्ने रहेको छ र यो नेपालको सन्दर्भमा अत्यन्तै सान्दर्भिक छ ।’

विकासोन्मुख राष्ट्रको रूपमा नेपालप्राकृतिक घटनाहरू मात्र नभई पछिल्लो समय अव्यवस्थित सहरीकरण, नदीकिनारको अतिक्रमण, खराब इन्जिनियर संरचनाहरू, र अपर्याप्त डिजाइन मापदण्डहरू र निर्माण प्रविधिको कारणले पनिपीडित हुनुपरेको उनले बताए ।

उनले भने, ‘मलाई आशा छ कि यो अन्तर्राष्ट्रिय सम्मेलनलेहाम्रायुवा र अभ्यास गर्ने भू–प्राविधिकइन्जिनियरहरू र भू–वैज्ञानिकहरूलाई विश्वप्रविधिहरू, दिगो विकासबारे जान्नको लागि उपयुक्त मञ्च प्रदान गर्नेछ ।’

सम्मेलनमा २५ भन्दा बढी देशका १ सय ५० भन्दा बढी अन्तर्राष्ट्रिय प्रतिनिधिहरू र ३ सय भन्दा बढी सहभागी छन् भने सम्मेलनमा १५ जना प्रमुख वक्ता, १६ विशिष्ट वक्ता, ९० भन्दाबढी प्राविधिकपत्रहरू प्रस्तुत हुने आयोजक संस्था नेपाल जियोटेक्निलकल सोसाइटीका अध्यक्ष मन्दीप सुवेदीले जानकारी दिए । सम्मेलन शुक्रबारसम्म चल्नेछ ।

पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित

रामपुर । पाल्पामा यस वर्ष धान उत्पादनमा वृद्धि भएपछि किसान उत्साहित छन् । गुणस्तरीय बीउ, उन्नत वा हाइब्रिड जातका धानको प्रयोग, अनुकूल मौसमलगायत कारणले धान उत्पादन बढेको हो ।

जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार यो वर्ष जिल्लामा ३६ हजार आठ सय मेट्रिक टन धान उत्पादन भएको छ ।

गत वर्ष यहाँ ३४ हजार सात सय ६२ मेट्रिक टन उत्पादन भएकामा यस वर्ष तीन दशमलव छ प्रतिशतले उत्पादन वृद्धि भएको केन्द्रका प्रमुख सन्तोष चौधरीले जानकारी दिए। गुणस्तरीय र उन्नत जातका बीउको प्रयोग, अनुकूल मौसम, मलको उपलब्धतालगायत कारण धान उत्पादन बढेको उनले बताए।

‘केही स्थानमा धान पसाउने बेला रोग, कीराको समस्या देखिए पनि समग्र जिल्लाभर उत्पादन बढेको छ । किसानले उन्नत जातको बीउको प्रयोग गर्नु, यसवर्ष प्रयाप्त सिँचाइ, आधुनिक प्रविधिको प्रयोगलगायत कारणले उत्पादनमा वृद्धि आएको हो’, प्रमुख चौधरीले भने।

उनका अनुसार यस वर्ष जिल्लामा आठ हजार छ सय २० हेक्टर क्षेत्रफलमा धानखेती गरिएको छ । गतवर्ष आठ हजार दुई सय हेक्टर क्षेत्रमा खेती गरिएको थियो ।

गाउँगाउँमा स्थानीय, प्रदेश तथा सङ्घीय सरकारको सहयोगमा सिँचाइ आयोजना कार्यक्रम सञ्चालनमा आएपछि कुलो, नहर व्यवस्थित हुँदा धान लगाउने क्षेत्रफल बढ्न थालेको प्रमुख चौधरीले जानकारी दिए। सिँचाइको अभावले बाँझो रहेका जग्गामा पछिल्लो समय सिँचाइ सुविधा पुगेपछि बारी तथा बाँझिएका जमिनमा पनि किसानले धान लगाउने गरेका छन् ।

धानखेतीका लागि मौसम अनुकूल हुँदा उत्पादन वृद्धि भएको किसान सीता देवकोटाले बताए।

‘रोपाइँ गरेदेखि वर्षा भइरहेकाले सिँचाइ गर्न सजिलो भयो, वर्षदिनभरि खाने अनाज राम्रो उत्पादन हुँदा खुसी लागेको छ । भकारीभरि धान भएपछि मन ढुक्क छ, कतै बीउको समस्याले पसाउने बेला रोगकीरा देखिए पनि अधिकांश किसानले यसवर्ष अघिल्ला वर्षमा भन्दा धेरै धान भित्र्याउनु भएको छ’, उनले भने।

जिल्लामा सावित्री, साँवामन्सुली, रामधान, हाइब्रिड, उन्नतलगायत जातका धान चलनचल्तीमा छन् । स्थानीय सरकारले अनुदानमा उन्नत जातका गुणस्तरीय बीउ उपलब्ध गराउन थालेपछी विगतका वर्षमा भन्दा पछिल्ला वर्षमा उत्पादन क्रमिक रूपमा बढ्दै गएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।

नेपाल र फिनल्याण्डबीच सार्वजनिक लगानी परिचालन परियोजनासम्बन्धी सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल र फिनल्याण्डबीच सार्वजनिक लगानी परिचालन परियोजनासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

बिहीबार अर्थ मन्त्रालयमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र फिनल्याण्डका परराष्ट्र मन्त्रालयका वैदेशिक व्यापार तथा विकासमन्त्री भिल्ले ताभियोको उपस्थितिमा नेपाल र फिनल्याण्डबीच सार्वजनिक लगानी परिचालन परियोजनासम्बन्धी खाका सम्झौतामा हस्ताक्षर भएको हो ।

फिनल्याण्डको सार्वजनिक लगानी सुविधा योजनाअन्तर्गत वित्त परिचालन हुने परियोजनाको सम्झौतामा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनिराम शर्मा र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेइकाले हस्ताक्षर गरेका हुन् ।

यो सम्झौताको नेपालमा सामाजिक–आर्थिक पूर्वाधार सुदृढ गर्न र दिगो विकासलाई प्रोत्साहन गर्न परियोजनामा आधारित सहुलियतपूर्ण वित्तिय परिचालन गर्ने लक्ष्य छ ।

अनुदान प्राप्त परियोजनाहरूमार्फत नेपालले खानेपानी, फोहोर व्यवस्थापन, ऊर्जा र विद्युत्, डिजिटलाइजेसन, मौसम विज्ञान, स्वास्थ्य सेवा प्रविधि, विपद् व्यवस्थापन र उद्धार सामग्रीलगायत विविध सामाजिक–आर्थिक पूर्वाधारमा लगानी गर्न सक्छ ।

आर्थिक परिचालन प्रक्रिया सार्वजनिक क्षेत्र लगानी सुविधा मार्गदर्शनद्वारा निर्देशित हुनेछ, जुन आर्थिक सहयोग र विकास संगठन (ओईसीडी) ढाँचामा आधारित छ । नेपाल अतिकम विकसित देश (एलडीसी) को सूचीमा परेकाले ५० प्रतिशत आर्थिक सहायता अनुदानका रूपमा उपलब्ध गराइनेछ ।

कार्यक्रममा अर्थमन्त्री पौडेलले सम्झौता नेपालको आर्थिक सामाजिक क्षेत्रको पूर्वाधार विकासका लागि महत्त्वपूर्ण उपलब्धि हुने बताए । फिनल्याण्डका विकासमन्त्री ताभियोले सार्वजनिक लगानी परिचालन नेपाल र फिनल्याण्डबीच आर्थिक सहकार्य विकासका लागि महत्त्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गरेका थिए ।

कोरियाली युद्धमा मृत्यु भएका ४३ जना चिनियाँ सैनिकको अवशेष फिर्ता

चीन । युद्धको क्रममा मृत्यु भएका ४३ जना चिनियाँ जनसवयंसेवक (सिपीभी) सैनिकको अवशेष कोरियाबाट बिहीबार चीन फिर्ता गरिएको छ ।
.
चिनियाँ जनमुक्ति सेनाको हवाई बल वाई–२० विमानले मृतक सैनिकहरूको अवशेष लिएर चीनको लियाओनिङ प्रान्तको राजधानी शेनयाङमा अवतरण गरेको छ । अवशेषहरू शेनयाङको शहीदको चिहानमा राखिने जनाइएको छ ।

दक्षिण कोरियाले बिहीबार चिनियाँ पक्षका शहीदको अवशेष हस्तान्तरण गरेपछि, चीनले इन्चियन अन्तर्राष्ट्रिय विमानस्थलमा स्मारक समारोह आयोजना गरेको छ । समारोहमा, चिनियाँ राष्ट्रिय गान बजाइएको थियो भने प्रत्येक शवलाई राष्ट्रिय झण्डा ओढ्याइएको थियो । सहभागीहरूले शहीदहरूको पार्थिव शरीरमा पुष्पगुच्छा चढ्णएर सम्मान तथा श्रद्धाञ्जली अर्पण गरेका थिए ।

सन् २०१४ देखि सन् २०२३ सम्म, चीन र कोरियाले अन्तर्राष्ट्रिय कानुन र मानवीय सिद्धान्त अनुसार कोरियामा ९३८ सिपिभी शहीदहरूको अवशेष र सम्बन्धित कलाकृतिहरूलाई १० औँ पटक हस्तान्तरण गरेका थिए ।

चीनको स्थापना भएको आठ महिनापछि १९५० मा कोरियाली युद्ध भएको थियो । कोरियाको लोकतान्त्रिक जनवादी गणतन्त्रको अनुरोधमा सिपिभी अन्तर्गत चिनियाँ सेनाहरू युद्धमा होमिएका थिए ।

एक करोड २० लाख वर्ष पुरानो गोहीको अवशेष सार्वजनिक

लिमा ।। पेरुको मरुभूमिमा फेला परेको एक करोडदेखि एक करोड २० लाख वर्ष पुरानो एक युवा सामुद्रिक गोहीको अवशेषलाई पेरूका वैज्ञानिकहरूले सार्वजनिक गरेका छन् । राजधानी लिमाबाट करिब ३५० किलोमिटर दक्षिणमा रहेको पेरुको ओकुकाजे मरुभूमिमा सन् २०२३ को अन्त्यतिर करिब तीन मिटर (करिब १० फिट) लामो घडियाल गोहीको जीवाश्म फेला परेको थियो ।

“हामीले यो प्रजातिको किशोर घडियाल गोहीको अवशेष फेला पारेका छौँ, अहिलेसम्म यसको अधिकतम ठूलो आकार फेला परेको रेकर्ड थिएन। यसको एक करोड २० लाख वर्षभन्दा पहिले नै मृत्यु भएको थियो, मेरुदण्डी जीवाश्म विज्ञानका अनुसन्धाता मारियो ग्यामराले एक पत्रकार सम्मेलनमा भनिन् ।

खवशेषको पुनर्निर्माणको नेतृत्व गरेका ग्यामराका अनुसार यी नमूनाहरूको खप्पर र बङ्गारा आजका गोही र मगरमच्छ (गोही)हरूको भन्दा फरक छ ।

ग्यामराले भने, “तिनीहरूको लामो र चुच्चे मुख थियो र उनीहरूको आहार माछा मार्ने खालको थियो।” “यो गोहीको सबैभन्दा नजिकको जाती भारतीय घडियाल गोही हो,” उनले भने।

पेरुको ‘जियोलोजिकल, माइनिङ एन्ड मेटलर्जिकल इन्स्टिच्युट’ र ‘ला युनियन स्कुल’ले संयुक्त रुपमा उक्त खोज गरेका हुन् ।

पेरुको ओकुकाजे मरुभूमिमा चार खुट्टा भएका बौना ह्वेल, डल्फिन, शार्क र अन्य प्रजातिका मिओसिन कालका ५० लाख बर्षदेखि दुई करोड ३० लाख वर्ष पहिलेका अवशेष पत्ता लागेका छन् ।

मिसाइल खतराका कारण युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी

किएभ ।  धेरै क्षेत्रहरूमा मिसाइल प्रहार भएको जनाउदै युक्रेनी सेनाले थप हवाई आक्रमण हुनसक्ने भन्दै बिहीबार देशव्यापी चेतावनी घोषणा गरेको छ ।

युक्रेनी सेनाले टेलिग्राममार्फत खार्किभ, ओडेसा र अन्य आठ क्षेत्रहरूमा मिसाइल फेला परेको जानकारी गराउँदै स्थानीयलाई सुरक्षित आश्रयमा जान आग्रह गरेको छ ।

पछिल्लो मिसाइल साल्वो अमेरिकी राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पले कट्टर वफादार र सेवानिवृत्त जनरल किथ केलोगलाई आफ्नो युक्रेन दूतको रूपमा नियुक्त गरेको एक दिन पछि आएको छ । ट्रम्पले युक्रेनमा अढाई वर्षको रूसी आक्रमण समाप्त गर्ने प्रतिवद्धता व्यक्त गर्दै आएका छन्।

ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबिचको युद्धविराम सम्झौतामा आफूले चाँडै मध्यस्थता गर्ने उल्लेख गरेका छन् ।

यद्यपि ट्रम्पका आलोचकहरूले अमेरिकी सैन्य सहायताको फाइदा उठाउँदै रिपब्लिकनले किएभलाई स्थायी रूपमा कब्जा गरिएको क्षेत्रलाई त्याग्न वा नेटोमा सामेल नहुन सहमत हुने सम्झौतामा दबाब दिन प्रयोग गर्ने सम्भावना रहेको बताएका छन् ।

ट्रम्पले सामाजिक सञ्जालमा जारी गरेको विज्ञप्तिमा भने ‘म जनरल किथ केलगलाई राष्ट्रपतिको सहायक र युक्रेन र रूसका लागि विशेष दूतको रूपमा नियुक्त गर्न पाउँदा निकै खुसी छु ।’

सन् २०२२ फेब्रुअरीमा रूसले आक्रमण सुरु गरेदेखि युक्रेनले आफ्नो सशस्त्र सेनाका लागि वासिङ्टनबाट लगभग ६० अर्ब डलर प्राप्त गरेको छ, तर ट्रम्पले ह्वाइट हाउसमा प्रवेश गरेपछि हाल यस विषयमा डर थपिएको छ ।

ट्रम्प निकट अमेरिका फस्र्ट पोलिसी इन्स्टिच्युट थिंक ट्यांकका लागि केलगको अनुसन्धान पत्रमा भनिएको छ, ‘अमेरिकाले युक्रेनलाई हतियार बनाउन सहयोग जारी राख्ने र रूसले हमला नगर्ने र युद्धविराम वा शान्ति सम्झौतापछि आक्रमण नगर्ने सुनिश्चित गर्न आफ्नो सुरक्षा बलियो बनाउने उल्लेख छ । तथापि, भविष्यको अमेरिकी सैन्य सहायताले युक्रेनलाई रूससँग शान्ति वार्तामा भाग लिन आवश्यक हुनेछ ।’

केलगले जुलाईको रिपब्लिकन सम्मेलनमा भ्वाइस अफ अमेरिकालाई युक्रेनका विकल्पहरू ‘एकदम स्पष्ट’ भएको बताएका छन्। उनले युक्रेन वार्ता नचाहेमा ठूलो क्षति स्वीकार्न र भावी पुस्ताको असहजतालाई समेत आत्मसाथ गर्न तयार हुनु पर्ने बताए ।

उपत्यकाबाट हराएका २७ वटा मोटसाइकल फेला

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा विभिन्न सयमा हराएका २७ मोटरसाइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

 काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित कार्यक्रममा कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले १८ मोटरसाइकल र नौ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरे ।
      
उनले कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गरेका सवारी साधनलाई आज धनीलाई बुझाइएको बताए । कार्यालयले हराएका मोटरसाइकल काभ्रेपलाञ्चोक, कोटेश्वर, गौशाला, नँयाबसपार्क, सोह्रखुट्टे, मालिगाँउ, मङ्गलबजार, गोकर्ण, नगरकोट, ताथली र बुद्धनगर लगायतका स्थानबाट फेला पारेको थियो ।

 कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उमाप्रसाद चर्तुवेदीले हराएका सवारी साधन नम्बरप्लेट नक्कली हालेर चलाएको अवस्थामा फेला पारिएको बताए ।

ट्राफिक प्रहरीले हालसम्म २१० दुईपाङ्ग्रे सवारी साधन फेला पारेर सम्बन्धित धनीलाई बुझाइसकेको छ । यस्तै सवारी साधन चोरीमा संलग्न ३२ जनालाई पक्राउ गरी कारबाहीका लागि विभिन्न प्रहरी कार्यालय तथा वृत्तमा पठाइसकेको प्रवक्ता चर्तुवेदीले बताए ।

ट्राफिक प्रहरीले आव २०७९/८० मा ४९९ र २०८०/८१ मा ४१७ दुईपाङ्ग्रे सवारी साधन खोजतलास गरी सम्बन्धित धनीलाई बुझाइसकेको छ । सवारी साधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरन जडान गर्न सबैलाई ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

ऐतिहासिक गाजाको दह : पानी सुक्न थालेपछि स्थानीयवासी चिन्तित

बलेवा । बागलुङस्थित ऐतिहासिक गाजाको दह नजिकै व्यापार गर्दै आएका नरबहादुर थापाले दशक अघिसम्म दहमा पानीको सतह भरिभराउ देख्थे। पछिल्लो समय दहमा बिस्तारै पानी सुक्दै गएको छ ।

वर्षातमा हावा चल्दा तालको छालले छेउका घरमा असर गर्ने डर हुन्थ्यो । तर अहिले त वर्षातमा पनि यो ताल सुख्खा जस्तै भयो । भरिभराउ हुनुपर्ने तालको आधा पनि पानी नभरिएपछि स्थानीय बासिन्दा चिन्तामा छन् । २ हजार ५ सय मिटर उचाइको गाजा दहको पानी सुक्दा पर्यटकीय स्थल ओझेलमा पर्ने, तल्लो खण्डमा पानीको समस्या बल्झिने चिन्ता बढेको थापाले बताए ।

सयौं वर्षदेखि पहाडको धुरीमा रहेको बागलुङको प्रसिद्ध गाजाको दह पछिल्लो समय सुक्दै जान थालेको हो । हिउँदमा नसुक्ने, वर्षातमा धमिलो पनि नहुने विशेषता बोकेको यो दहमा डोजर लगाएर संरक्षण गर्न खोज्दा पानी घटेको स्थानीयको अनुमान छ ।

पाँच वर्षअघि यहाँ पर्खाल लगाएर पानी संरक्षण प्रयास गरिएको थियो । यसका लागि डोजर लगाएपछि पानीको सतह सुक्दै जान थालेको स्थानीयले जनाएका छन् । बागलुङ सदरमुकामदेखि २४ किमी पश्चिमको यात्राबाट पुगिने गाजाको दह पर्यटकीय र धार्मिक गन्तव्य हो । यहाँ सिद्ध बराहको थान छ । यो थानमा जैमिनी, गलकोट, बागलुङ नगरपालिका, काठेखोला र बरेङ गाउँपालिकाबासी पूजा गर्न पुग्छन् । त्यस बाहेक अन्यत्रबाट पनि घुम्न जानेहरू धेरै छन् ।

यो दहबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रेसहित मनास्लु हिमाल समेत देखिन्छ । उच्च पहाडमा भएकोले हिउँदमा हिउँ पर्छ । जंगल छेवैमा भएर पनि यो ताल सँधै सफा हुन्छ । यसैले यहाँ पर्यटक जानेआउने गर्छन् । यहाँबाट बागलुङसहित पर्वत, गुल्मी, म्याग्दी र स्याङजाका धेरै क्षेत्र देखिन्छन् । त्यसैले यहाँ पैदल यात्रा गरेर पनि पर्यटकहरू पुग्ने गर्छन् ।

‘यो दह धार्मिक रुपमा पनि प्रसिद्ध छ, तर संरक्षणको नाउँमा डोजर लगाएर पानी घट्यो’ स्थानीय थापाले भने ‘अब मौलिक रूपमै संरक्षण नगरे दहको अस्तित्व सकिन्छ ।’ सडक अप्ठ्यारो भएकोले गाजा दह पुग्ने सडकलाई स्तरीय बनाउन पनि उनले माग गरे।

गाजा दहको छेवैमा रहेको सिद्ध थानमा बैकुष्ठ चर्तुदशी तथा बाला चर्तुदशीमा मेला लाग्ने गरेको छ । बाला चतुर्दशीमा त सतबिज झर्नेको भीड समेत लाग्छ । पूर्णिमा मेला र विभिन्न चाडपर्वमा यहाँ गाजा दह नुहाउने भक्तजन पनि पुग्छन् । धार्मिक र पर्यटकीय स्थान भएकोले पर्यटन क्षेत्रको रुपमा घोषणा गर्नुपर्ने स्थानीयको माग छ ।

गण्डकी प्रदेश सरकारले यो दहलाई पर्यटन क्षेत्रमा सूचिकृत गरेको छ । तर पूर्वाधार निर्माणमा बजेट नदिएको स्थानीयले गुनासो गरेका छन् । सिद्ध बराह मन्दिर र ताल संरक्षण गर्न स्थानीयले महायज्ञ समेत लगाएका छन् । शनिबारदेखि शुरु भएको महायज्ञ सात दिन चल्ने जैमिनी नगरपालिका वडा नंं ३ का वडाध्यक्ष कृष्णबहादुर भुजेलले बताए। यो महायज्ञ धार्मिक मात्र नभई सास्कृति र दह संरक्षणको अभियान भएको उनको भनाइ छ ।

पानी सुक्दा पर्यटकीय गतिविधि पनि ठप्प हुने स्थानीय यानुकला कालामगरले गुनासो गरे । ताल छ भनेरै धेरै मानिस घुम्न आउने हो, पानी सुक्यो भने त यहाँ कोही आउँदैन’ कालामगरले भने, ‘यहाँको महत्व जोगाउनु पर्छ । ‘ गाजा दहको आसपासमा बस्ने मगर र छन्त्याल समुदाय बसोबास गर्दछन् । उनीहरुले यहाँको धार्मिक मठमन्दिरमा पूजा गर्छन्। साथै, मेलापर्व पारेर लोकदोहोरी, सोरठी, सालैज्यो र विनासालैज्यो जस्ता संस्कृति समेत देखाउने चलन छ ।

बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी ‘बेलिब्रिज’

खोटाङ। सगरमाथा राष्ट्रिय लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट खण्डको फोक्सिङटारस्थित सुनकोसी नदीमा अस्थायी बेलिब्रिज जडान गर्न तयारी सुरु गरिएको छ ।

खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने सुनकोसी नदीस्थित फोक्सिङटारको मोटरेबल पक्की पुल गत असोज १२ गते आएको बाढीले बगाएपछि अस्थायी बेलिब्रिज जडान गर्न तयारी सुरु गरिएको हो ।

फोक्सिङटारमा करिब ५० मिटर लामो अस्थायी बेलिब्रिज जडान गर्नेगरी ठेक्का आह्वान गरिएको सगरमाथा लोकमार्ग (गाईघाट–दिक्तेल) सडक आयोजना कार्यालय उदयपुरका आयोजना प्रमुख पशुपति ज्ञवालीले जानकारी दिए।

उनका अनुसार यही मङ्सिर १८ गतेसम्म ठेकेदार कम्पनीले दरखास्त हाल्न पाउनेगरी समयसीमा निर्धारण गरी सूचना प्रकाशन गरिएको छ । अहिले अस्थायी बेलिब्रिज जडान गरेर सञ्चालनमा ल्याउने र पुनः खोलेर राख्नेगरी ठेक्का आह्वान गरिएको गाईघाट–दिक्तेल सडक कार्यालयले जनाएको छ ।

फोक्सिङटारमा २०७९ सालमा एक सय २० मिटर लामो ‘आर्क’ डिजाइनको मोटरेबल पक्की पुल बनेपछि लामो समयदेखि बर्सेनि अस्थायी बेलिब्रिज जडान गरेर यातायात सञ्चालन गर्ने र झिकेर राख्नुपर्ने बाध्यता अन्त्य भएको थियो । दुई वर्ष नबित्दै बाढीले उक्त पुल बगाएपछि जिल्लावासीका लागि पुनःअस्थायी बेलिब्रिजको भर पर्नुपर्ने बाध्यता दोहोरिएको हो ।

पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा रहेको सुनकोसीस्थित फोक्सिङटारमा विसं २०७९ मा खोलेर राखिएका सामानलाई पुनः राख्ने तयारी गरिएको आयोजना प्रमुख ज्ञवालीले बताए। सो स्थानमा हिउँदमा राख्ने र वर्षा लाग्ने बित्तिकै झिक्ने गरी अस्थायी बेलिब्रिज जडान गरेर सञ्चालन गर्ने गरिएको थियो ।

निर्माण कम्पनी गौरी–पार्वती–वाईपी जेभीले फोक्सिङटारमा निर्माण गरिरहेको पुल ‘फिनिसिङ’ गर्न र हस्तान्तरण गर्न बाँकी छँदै विसं २०७९ पुस ७ गतेदेखि सञ्चालनमा ल्याइएको थियो । ठेकेदारको ढिलासुस्तीका कारण फोक्सिङटारमा मोटरेबल पक्की पुल बन्न १० वर्ष कुर्नुपरेको थियो ।

सडक कार्यालयले सूचना प्रकाशन गरेपछि संविधानसभा सदस्य विशाल भट्टराईले फोक्सिङटारमा आगामी पुस दोस्रो साताभित्र अस्थायी बेलिब्रिज जडान सम्पन्न गरेर सञ्चालनमा ल्याउनेगरी पहल भइरहेको जानकारी दिए। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोलिटब्युरो सदस्यसमेत रहेका उनले वर्षाद्को समयमासमेत निकाल्नु नपर्नेगरी पुल निर्माण गर्न पहल थालिएको उनले तदारुकताका साथ लागेको उल्लेख गरे।

प्रतिनिधिसभाका सांसद रामकुमार राई ‘पासाङ’ले फोक्सिङटारमा स्थायी पुल निर्माण गर्न सशक्त पहल गरिरहेको बताए।

‘फोक्सिङटारमा तत्काल अस्थायी बेलिब्रिज जडान गर्न पटकपटक सम्बन्धित निकायमा खबरदारी गरेपछि सडक पूर्वाधार कार्यालयले ठेक्का आह्वान भएको सूचना प्रकाशन गरेको छ । सम्भवतः आगामी पुसभित्र अस्थायी बेलिब्रिज जडान भएर सञ्चालनमा आउँछ’, उनले भने, ‘यहाँ स्थायी पुल नबनेसम्म समस्या समाधान हुँदैन । स्थायी पुल निर्माण गर्न पहल भइरहेको छ ।’

कोसी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले फोक्सिङटार पुलको स्थायी समाधान गर्ने प्रयास जारी रहेको उल्लेख गरे । प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राई ‘पिके’को सचिवालयले फोक्सिङटारमा स्थायी पुल बनाउन पहल गरिरहेको सामाजिक सञ्जालमार्फत जानकारी गराएको छ ।

यहाँको मोटरेलब पक्की पुल बाढीले बगाएपछि पूर्वी तराईसँगको सिधा सम्पर्क विच्छेद भएको वर्तमान अवस्थामा स्थानीय जनप्रतिनिधि र नागरिकको खबरदारीले यथाशीघ्र अस्थायी बेलिब्रिज जडान भएर सञ्चालनमा आउने अपेक्षा स्थानीयले गरेका छन् । मोटरेबल पक्की पुल बाढीले बगाएपछि जिल्लाको भौतिक पूर्वाधार विकास १० वर्ष पछाडि धकेलिएको जिल्लावासीको भनाइ छ ।

दिक्तेल–गाईघाट खण्डको महुरे–फोक्सिङटार ९४९ किलोमिटर० सडक कालोपत्रको काम अलपत्र छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा रहेको उक्त खण्डमा ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको स्थानीय बताउँछन् ।

प्रधानमन्त्रीसमक्ष सूचना आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगले आर्थिक वर्ष २०८०÷ ८१ को १६ औँ वार्षिक प्रतिवेदन बिहीबार पेस गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले  प्रतिवेदन प्रधानमन्त्री ओलीसमक्ष पेस गरेका हुन् ।

उक्त प्रतिवेदन प्रधानमन्त्रीमार्फत् सङ्घीय संसद्मा प्रस्तुत गरिने व्यवस्था रहेको छ । सोही अवसरमा आयोगको वर्तमान नेतृत्वको पाँच वर्षे कार्यकालमा निर्णय भएका ‘महत्वपूर्ण आदेश सङ्ग्रह’ को प्रधानमन्त्री ओलीबाट सार्वजनिक गरियो ।

प्रधानमन्त्री ओलीले सूचनाको हकलाई वास्तविक हकका रुपमा स्थापित गर्दै सरोकार भएका पक्षलाई आवश्यक सूचना दिने काममा सरकार र आयोगबीच सहकार्य हुनुपर्ने बताए । उनले लोकतन्त्रका पक्षमा सक्दो कार्यान्वयन गर्दै अराजकतालाई भने निरुत्साहन गर्नुपर्नेमा जोड दिए ।

प्रमुख आयुक्त गुरुङले आफूहरुको पाँच वर्षको कार्यकालमा पाँच हजार एक सय ८२ पुनरावेदन प्राप्त भएकामा ९५ प्रतिशत फस्र्याैट गरिएको जानकारी गराए । प्रमुख आयुक्त गुरुङ आयुक्तहरु कमला ओली थापा र रत्नप्रसाद मैनालीको कार्यकाल यही मङ्सिर २३ गते सकिँदैछ ।

 परराष्ट्रमन्त्री राणा चीन प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज चीन प्रस्थान गरेकी छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि उनी आज मध्याह्न त्यसतर्फ प्रस्थान गरेकी हुन् । 

डा राणा नेपालको परराष्ट्र मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक चीन भ्रमणमा गएकी हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राई र मन्त्रालयका अधिकारीहरूले बिदाइ गरेका थिए ।

भ्रमणका क्रममा मन्त्री डा राणाले चिनियाँ विदेशमन्त्री यीसँग द्विपक्षीय भेटवार्ता गर्नेछिन् । भेटवार्ता शुक्रबार चीनको सिचुआन प्रान्तस्थित छेन्दु सहरमा हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।   

चीनको औपचारिक भ्रमणका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भ्रमणको तयारीस्वरूप उनी आज चीन गएकी हुन् । प्रधानमन्त्री ओली अर्को साता चीन भ्रमणमा जाँदैछन् । परराष्ट्रमन्त्री डा राणा यही मङ्सिर १५ गते स्वदेश फर्कनेछिन् ।

चीनको हिरासतमा रहेका तीन अमेरिकी रिहा

वासिङ्टन । निवर्तमान राष्ट्रपति जो बाइडनको प्रशासनको प्रमुख लक्ष्य पूरा गर्दै चीनले संयुक्त राज्य अमेरिकासँगको कैदी आदानप्रदानमा हिरासतमा लिइएका तीन अमेरिकीलाई रिहा गरेको अमेरिकी अधिकारीले बुधबार बताएका छन्।

अमेरिकी विदेश मन्त्रालयले गलत तरिकाले हिरासतमा राखेको भनी वर्गीकृत गरेका तीन जना अमेरिकी कैदी मार्क स्विडन, काई ली र जोन लेउङ चीनका अन्तिम कैदी थिए।

यद्यपि अधिकारकर्मी र चीनमा हिरासतमा रहेका अन्य कैदीका परिवारहरूले थप अमेरिकी नागरिकहरूको मुद्दा उठाएका छन्।

“चाँडै नै उनीहरू फर्कनेछन् र धेरै वर्षपछि पहिलो पटक आफ्ना परिवारसँग पुनर्मिलन हुनेछन्,” अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले पारिवारिक पुनर्मिलनसँग जोडिएको अमेरिकी धन्यवाद दिवसको पूर्वसन्ध्यामा भने।

“यो प्रशासनको प्रयास र चीनसँगको कूटनीतिका कारण पीआरसीमा गलत तरिकाले हिरासतमा लिएका सबै अमेरिकीहरू स्वदेश फर्किएका छन्,” विदेश मन्त्रालयका प्रवक्ताले बताए।

यस मामिलासँग सम्बन्धित एक स्रोतका अनुसार अमेरिकी हिरासतमा रहेका तीन जना चिनियाँ नागरिकका लागि बेइजिङसँग अदलाबदली गरेर तीनै जनालाई रिहा गर्न लागिएको हो।

सन् २०१२ को अन्त्यतिर स्विदनलाई लागूऔषधको आरोपमा चीनको व्यापारिक भ्रमणका क्रममा पक्राउ गरिएको थियो। उनको परिवार र समर्थकहरूले उनिसँग लागूपदार्थ भएको कुनै प्रमाण नभएको र उनका ड्राइभर र अनुवादक सहयोगीले उनलाई दोष दिएको बताएका छन्।

चीनमा कैदीहरूलाई सहयोग गर्ने समूह डुइ हुवाका अनुसार हिरासतमा रहेको प्रारम्भिक समयमा, स्विडनले निद्रा र खानाबाट बञ्चित भएको र १०० पाउन्ड (४५ किलोग्राम) भन्दा बढी तौल गुमाएका छन्।

सन् २००६ देखि जेलमा रहेका पास्टर डेभिड लिनलाई सेप्टेम्बरमा संयुक्त राज्य अमेरिकाले रिहा गरेको थियो।

अमेरिकी अधिकारीहरूले उक्त रिहाई एक चिनियाँ नागरिकको लागि अदलाबदली को एक भाग भएको पछि स्वीकार गरेका थिए।

बाइडेन प्रशासनले आफ्नो कार्यकालको बाँकी समयमा कैदीहरूको रिहाई सुनिश्चित गर्ने आशा गरेको थियो, बाइडेनले यसै महिना पेरूमा एपेक शिखर सम्मेलनको क्रममा राष्ट्रपति सी जिनपिङसँग अन्तिम भेटमा ती मुद्दाहरू उठाएका थिए।

श्रीलङ्कामा आँधीका कारण चार जना बालबालिकाको मृत्यु

कोलम्बो । भारत तर्फ गइरहेको शक्तिशाली आँधीले निम्त्याएको भारी वर्षाका कारण आएको आकस्मिक बाढीका कारण चार बालबालिकाको मृत्यु भएको र बाढीका कारण डुबेका अन्य चार बालकलाई उद्धार गरिएको श्रीलङ्काली उद्धारकर्मीले बिहीबार बताएका छन् ।

उद्धार टोलीका अनुसार श्रीलङ्कामा बाढीका कारण दुई लाख ५० हजार भन्दा बढी मानिसहरू विस्थापित भएका छन् । भारतीय मौसम अधिकारीहरूले दक्षिणपश्चिम बङ्गालको खाडीमा रहेको आँधी चक्रवाती आँधीमा परिणत हुन सक्ने ‘सम्भावना’ रहेको बताएका छन् ।

उत्तरी अटलान्टिकमा आँधीबेहरी वा उत्तरपश्चिमी प्रशान्तमा चक्रवातको जोखिम भएजस्तै यस क्षेत्रका लागि पनि चक्रबातको खतरनाक जोखिम रहेको पाइन्छ । श्रीलङ्काको तट पार गरिसकेपछि, आँधी भारतको दक्षिणी तमिलनाडु राज्यतिर उत्तरतर्फ अघि बढिरहेको जनाइएको छ ।

भारतीय मौसम विभागले शनिबार भारतको दक्षिणी तमिलनाडु र पान्डेचरी तटवर्ती क्षेत्रमा ७० किलोमिटर प्रति घण्टा सम्मको गतिमा प्रवाह हुने अनुमान गरिएको छ ।

श्रील्ङ्काको विपद् व्यवस्थापन केन्द्रले विस्थापित आफ्नो घर जलमग्न भएपछि सार्वजनिक भवनमा अस्थायी आश्रय खोजिरहेको जनाएको छ । सरकारले सेनाको सहयोगमा राहत कार्य शुरु गरेको जनाएको छ ।

विपद् व्यवस्थापन केन्द्रले अझै पनि बेपत्ताहरुको खोजी गरिरहेको उल्लेख गरेको छ । दक्षिण एसियाली क्षेत्रले वर्षा सँग सम्बन्धित घातक बाढी र पहिरोजन्य जोखिम निरन्तर भोग्दै आएको छ । विज्ञहरूले भने जलवायु परिवर्तनका कारण यस्ता खालका समस्याहरू बढ्दै गएको उल्लेख गरेका छन् ।

उखुको जुस बेचेर मासिक ४० हजार आम्दानी

महोत्तरी । मिथिला–१ ढल्केबरका ३० वर्षीय पञ्चलाल साहले उखुको जुस बेचेर मासिक ४० हजार आम्दानी गर्दै आएका छन् । महोत्तरीको बर्दिबासचोकमा बिहानैदेखि साँझसम्म उखु पेलेर रस बेच्ने काम गर्दै आएका उनले आम्दानी गर्न विदेश जानु नपर्ने बताए ।


“हामीले कुरा नबुझी भौतारिन्छौँ, काम गर्न सके स्वदेशमा आन्दानीका प्रशस्त स्रोत छन्”, उखुको रस बेच्दै साहले भने, “आफ्नै ठाउँमा परिवारको साथमा काम गर्न र जीविकोपार्जन गर्न सकिन्छ । अवसर खोजी गरेर मेहनत गर्नुपर्छ, आम्दानीका स्रोत जति पनि भेटिन्छन् ।”


पछिल्ला तीन वर्षदेखि बर्दिबासलाई आफ्नो बजार बनाएका साहले उखुको रस बेचेको कमाइले परिवारको गुजारा चलाउनुका साथै यसअघि विदेश जाँदाको  चार लाख ऋण पनि तिरिसकेको बताए । “महिनामा रु ४० हजार कमाइ हुन्छ, किन जानु खाडी ?”, उनले प्रश्न गरे, “मैले अहिले विदेश जाने कुरा सोच्नै छाडें ।”


यसअघि गरिबीले थिचेर जीविकोपार्जनका लागि कतार र सउदीअरेबियामा पाँच वर्ष बिताउँदा ऋणको भार लिएर फर्केको साहको अनुभव छ । “घरको दुःख टार्न भनेर ऋण गरेर गएँ, दलालको चक्कर रहेछ, भनेको काम नपाएर ऋण बोकेर रुँदै घर फर्केँ”, उनले भने, “स्वदेश फर्केर दुई लाखमा उखु पेल्ने मोटर किनेर काम थालँे, अहिले परिवारको खर्च गर्न कुनै दुःख छैन ।” 


यहाँको कामले पुरानो ऋण तिरेर घरगुजारा चलाउँदै छरछिमेकमा पर्दा दुई÷चार सय सरसापट चलाउनसक्ने भएको साहले बताए । “मेरो छ जनाको परिवारलाई दैनिकी चलाउन, छोराछोरी पढाउन अहिले कुनै समस्या छैन”, उनले भने । साहले दुई छोराछोरीलाई बर्दिबासमा राखेर पढाइरहेका छन् ।


साहजस्तै ईश्वरपुर नगरपालिकाको श्रीनगरका २० वर्षीय विक्कीकुमार साहले पनि उखुको जुस बेच्ने काम गर्दै आएका छन् । खोजखाज गरेर राहदानी बनाएका विक्कीले विदेश जाने ऋण नपाएपछि सानो पुँजीले दुई वर्षअघि उखु पेलेर जुस बेच्न थालेको बताए । अहिले यसबाट कमाइ हुन थालेपछि छुटेको पढाइलाई निरन्तरता दिनुका साथै घर खर्चमा सहयोग गर्न थालेको उनले बताए ।


“दैनिक एक हजार भन्दा बढी आम्दानी हुन्छ, अहिले १२ कक्षाको पढाइलाई निरन्तरता दिन थालेको छु । अब ऋण काढेर विदेश जाने सोच छैन”, विक्कीले भने । बर्दिबासचोकमा मात्रै यही पेसा गरिरहेका छ÷सातजना भेटिन्छन् । सबैजसोले दैनिक काम गर्दा मनग्ये आम्दानी भइरहेको प्रतिक्रिया दिने गरेका छन् । 


महोत्तरी, सर्लाही र धनुषामा उखुखेती बढी हुने भएकाले यहाँ कच्चापदार्थ (उखु) खोज्न भौतारिनु नपर्ने र रस नगदमा जाने हुँदा उधारो करोबार नहुने विक्कीको भनाइ छ ।


मोटर गुडाउँदै उखु पेलेर रस बेच्ने काम गरिरहेकाहरूसँग किसान पनि खुसी छन् । यिनीहरूले चिनीमिलको भन्दा केही बढी मूल्यमा तत्कालै नगद दिएर उखु लाने हुँदा दैनिक गर्जो टार्न नगद आइरहेको बर्दिबास–२ का किसान क्षेत्रबहादुर भुजेलले बताए । 


बजारचोकमा उखुको जुस खाने बाक्लै आगन्तुक हुन्छन् । आफ्नै आँखा अगाडि पेलेर ताजा जुस दिने भएकाले उपभोक्ताको रोजाइमा परेको हो । “पसलमा राखिएका विभिन्न थरिका जुसभन्दा यो स्वस्थ्यकर र तत्काल ऊर्जा दिने हुन्छ”, स्थानीय स्वास्थ्यकर्मी गिरेन्द्रकुमार झाले भने । 


स्वदेशमा अवसर खोज्ने हो भने विदेश जानुपर्ने बाध्यता अन्त्य हुने झाको भनाइ छ । साना व्यावसायिलाई स्थानीय सरकारले जीविकोपार्जनमूलक सीप विकास, आर्थिक तथा प्राविधिक सहयोग गरी युवालाई विदेश जानबाट रोक्नुपर्नेमा उनले जोड दिए । 

‘सख्खर जस्तै गुलियो व्यापार’

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–८, का जिवस मण्डल सख्खर (गुण) व्यापारबाट सख्खरजस्तै गुलियो आम्दानी गरिरहेका छन् । उमेरले ६५ वर्ष पार गरिसकेका उनले आठ वर्षदेखि घर नजिकै उखु पेलेर सख्खर बनाउने कोल (क्रसर) सञ्चालन गरेका हुन् । खेती किसानी मुख्य पेसा भए पनि मौसमी पेसाको रुपमा कोल क्रसर चलाउने गरेको उनी बताउँछन् ।

तीनदेखि चार महिनाको बीचमा हुने यस पेसाबाट वर्षेनी सख्खर बेचेर पाँचदेखि सात लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको उनको भनाइ छ । ‘‘कोल चलाएको आठ वर्ष भयो, यसकै आम्दानीले घर व्यवहार गर्न र केही रकम बचत गर्न सकेको छु’’ उनले भने ।

विषेशगरी कात्तिक अन्तिम हप्ताबाट सुरु गरेर फागुन÷चैतसम्म उनी कोल चलाउने गर्छन् । दैनिक ५० क्विन्टलसम्म उखु क्रसिङ गर्ने मण्डलले पाँच सय केजीभन्दा बढी नै सख्खर बनाएर बजार पठाउने गर्छन् । उनले उत्पादन गरेको सख्खर ६० देखि एक सय २० रुपैयाँसम्ममा व्यापारीहरूले लैजाने गरेका छन् । उनले भने, ‘‘राम्रो सख्खरको धेरै मूल्य आउँछ । अलि फोहोर भयो भने, मूल्य कम आउँछ ।’’

नजिकैका खेतहरूमा लगाएको उखु किनेर पेल्ने गरेको मण्डलको भनाइ छ । जिल्लामा रहेका चिनी उद्योगहरू ढिला चल्ने हुँदा उखु हटाएर अन्य बाली लगाउने किसानलाई उखु काट्न हतारो हुने गर्दछ । अन्य मकै, गहुँ, तोरी, आलुलगायतको बाली लगाउन समयमै उखु बेच्नु पर्ने किसानहरूलाई चिनी उद्योग ढिलो चल्दा समस्या हुने गरेको छ । उनी तिनै किसानहरूको उखु खरिद गरिदिन्छन् र सख्खर बनाएर बिक्री गर्छन् । स्थानीय किसानहरु पनि चिनी उद्योगहरुले समयमै खरिद नगरिदिए पनि मण्डललाई बिक्री गरेर सानातिनो गर्जो टार्न सकेको बताउँछन् । यस वर्ष पनि मण्डलले प्रतिक्विन्टल चार सय ५० रुपैयाँमा उखु खरिद गरेको बताए । उद्योगले केही बढी मूल्य दिए पनि ढुवानी, खर्च, वर्षौंसम्म पैसा पाउन समस्या रहेकाले कोलमा उखु दिँदा सजिलो भएको बरहथवा–८ का उखु किसान रामजनम राय बताउँछन् ।

मण्डल भन्छन्, ‘‘मलाई उखु किसानको समस्या राम्ररी थाहा छ, किसानहरूलाई सात÷आठ दिनमै भुक्तानी गरिदिन्छु । यसले पनि किसानहरु आफैँ बोकेर उखु ल्याइदिन्छन् ।’’ कतिपय किसानलाई त आफूले उखु लिनुभन्दा पहिला नै खेती, लगाउन बिउ मल किन्न, घरखर्च टार्न पैसा दिने गरेको उनी बताउँछन् । मण्डलले क्रसरमा अन्य पाँच जनालाई काम समेत दिएका छन् । उनीहरुको पनि तीनदेखि चार महिनाको रोजीरोटी यसैबाट टरेको छ ।

मण्डलको जस्तै जिल्लामा झण्डै ५० वटाको हाराहारीमा सख्खर बनाउने कोल क्रसर सञ्चालनमा रहेका छन् । कोल क्रसरले मात्र वर्षेनी अढाई लाख क्विन्टल बढी उखु क्रसिङ गर्ने गर्दछन् । यस पेसामा २ सय ५० जना बढी कामदारको रुपमा कार्यरत छन् । सर्लाहीबाट मात्र दुई हजार पाँच सय केजी हाराहारीमा सख्खर उत्पादन हुने गरेको छ । यहाँ उत्पादन भएका सख्खर छिमेकी जिल्लामा मात्र नभई काठमाडौँ, चितवन, बिराटनगरलगायतका शहरहरुमा पनि पुग्ने गरेको स्थानीय व्यापारी दिनेश महतोले बताउँछन् ।

भारतीय सख्खरले स्थानीय किसान मारमा

भारतीय बजारबाट चोरी तस्करी भएर आउने सख्खरका कारण स्थानीय उत्पादनकर्ता मारमा पर्ने गरेको मण्डलले गुनासो छ । ‘‘भारत सरकारको किसानलाई ठूलो मात्रामा अनुदान दिने भएका कारण लागत कम छ’’ उनले भने, ‘‘कालोबजारीबाट किनेको मलखाद र बिउबिजनबाट उत्पादन भएको बालीले कसरी प्रतिस्पर्धा गर्नु ? हाम्रोमा लागत धेरै छ ।’’भारतबाट आउने सख्खरमा गुणस्तर समेत नभएको उनको दाबी छ । यसले गर्दा नेपाली उपभोक्ता ठगिन बाध्य भएको उनी बताउँछन्

। उनी भन्छन्, यसबारेमा अधिकांश उपभोक्तालाई थाहा हुँदैन । केही सस्तोमा पाइयो भन्छन् तर पछि पछुताउनु पर्ने हुन्छ ।’’ भारतको सिमावर्ती क्षेत्रबाट खुल्लमखुल्ला ट्रकका ट्रक भित्रिने गुणस्तरहीन सख्खर नियन्त्रण नगरेसम्म स्थानीय उत्पादनले बजार पाउन नसक्ने र उपभोक्ता पनि ठगिने अवस्था रहने उनको भनाइ छ ।

चिनी उद्योगलाई उखु तान्ने हतारो

सरकारले उखुको न्यूनतम् मूल्य निर्धारण गर्नुअघि नै चिनी उद्योगहरुले धमाधम किसानहरुसँग उखु खरिद गर्न थालेका छन् । जिल्लामा रहेका तीन वटा चिनी उद्योगले सञ्चालनको तयारी गर्दैगर्दा क्रसिङ सुरु गरेका छन् । लामो समय किसानको उखुको भुक्तानी नदिएर विवादग्रस्त बनेको जिल्लाको धन्कौँल अन्नपूर्ण चिनी उद्योगले किसानसँग उखु खरिद गर्न शुरु गरेको छ ।

यही मङ्सिर ६ गतेदेखि क्रसिङ शुरु गरेर चार दिनमा २६ हजार आठ सय ७१ क्विन्टल उखु क्रसिङ गरिसकेको उद्योगका प्रबन्धक शैलेन्द्र गुप्ताले जानकारी दिए । उखु खरिद गरेको भुक्तानी नदिने र किसानलाई दुख दिने छवि बनेको अन्नपूर्ण यतिबेला नयाँ उद्योगीबाट सञ्चालनमा आएसँगै किसानको भरोसा बटुल्न लागिपरेको स्थानीय किसानहरु बताउँछन् ।

यसवर्ष भने मङ्सिरको पहिलो हप्ताबाटै क्रसिङ गरेर उद्योगले किसानको भरोसा बटुल्ने प्रयास गरेको हो । अब किसानहरूसँग राम्रो समन्वय गरेर क्रसिङ शुरु गरेको गुप्ताले भने, ‘‘किसानको पुरानो बक्यौता रकम भुक्तान भइसकेको छ ।’’ उद्योगले यस वर्ष १८ लाख क्विन्टल हाराहारीमा उखु क्रसिङ गर्ने लक्ष्य राखेको उद्योगका प्रबन्धक पवनकुमार सिंहको भनाइ छ ।

विसं २०७९ मा नयाँ उद्योगीको निकै पहल पछि केही किसानले पुरानो भुक्तानी पाए । त्यसपछि उद्योग सञ्चालन भएको थियो । क्रसिङ सिजनको अन्तिममा सञ्चालनको प्रयास गरेको उद्योगले उपकरणमा आएको खराबीका कारण लगभग ६८ हजार क्विन्टल मात्र क्रसिङ गरेको थियो ।

अझै उद्योगलाई पूर्ण भरोसा गरेर उखु दिन नसकेको स्थानीय उखु किसानहरूले बताएका छन् । जिल्लाको धन्कौल गाउँपालिका–३, निवासी विन्देश्वर महतोले थोरै मात्रामा उखु दिएको बताउनुभयो । ‘‘मैले उखु रोप्नै छोडिसकेको छु ।’’ उनले भने, ‘‘थोरै खेतमा लगाएको उखु फेरि गाउँकै उद्योगलाई दिएको छु । बढीमा १५ दिनमा भुक्तानी दिने उद्योगीले बचन दिनुभएको छ ।’’ उद्योगमा प्रत्यक्ष जोडिएका स्थानीयले पहिलो चरणमा उखु दिएका छन् ।

यस क्षेत्रमा उत्पादन भएको उखु हरिवनको इन्दुशङ्कर चिनी उद्योग हरिवन, गोडैता नगरपालिकामा रहेको महालक्ष्मी चिनी उद्योग बगदहमा दिने गरेको महतोले बताए । जिल्लाका अन्य उद्योगले अहिले कटानी भएको उखुको चिनी राम्रो नपर्ने भन्दै उद्योग सञ्चालनमा ढिलाई गरिरहँदा अन्नपूर्णले भने किसानको मन जित्न समय अगावै उद्योग सञ्चालनमा ल्याएको हो ।

यस वर्ष उद्योगले कम्तीमा १५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेको उखु प्रबन्धक दिनेश अग्रहरीले जानकारी दिए । उद्योगी तथा व्यवस्थापन पक्षले खेतमै पुगेर किसानहरूलाई उखु दिन आग्रह गरिरहेका अर्का उखु किसान बृजेन्द्र रायले बताए ।

यस्तै गोडैता नगरपालिकास्थित बगदहमा रहेको महालक्ष्मी चिनी उद्योगले यस वर्षको क्रसिङ शुरु गरेको जनाएको छ । केही दिनदेखि उखु सङ्कलन गरेर उद्योग सञ्चालन गरिएको सिंहले जानकारी दिए ।

उद्योगले वर्षको केही भुक्तानी बाँकी राखेको र त्यो समेत एक/दुई सातामा भुक्तानी गरिने समेत उनको भनाइ छ । गत वर्ष यस उद्योगले १२ लाख ३७ हजार तीन सय क्विन्टल उखु क्रसिङ गरेको थियो । जिल्लाको अर्को चिनी उद्योग इन्दुशङ्करले पनि मङ्सिरको अन्तिम साताबाट क्रसिङ शुरु गर्ने जनाएको छ ।

देशमै व्यवस्थित मानिने जिल्लाको हरिवनमा रहेको इन्दुशङ्कर चिनी उद्योगले यस सिजनको लागि क्रसिङ तयारी अवस्थामा रहेको उद्योगका प्रशासकीय प्रमुख ठाकुर नेपालले बताए । उद्योगले यसवर्ष ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने जनाएको छ । यस उद्योगले अघिल्लो वर्ष २१ लाख ४८ हजार ६ सय ११ क्विन्टल उखु क्रसिङ गरेको थियो ।

उखुको अनुदान बापतको रकम भुक्तानीमा ढिलाइ भएका कारण जिल्लाको उद्योगहरू सञ्चालन हुन नसक्दा अन्य जिल्लाका उद्योगहरूले ठूलो परिमाणमा सर्लाहीको उखु लगेकाले यहाँका चिनी उद्योगहरूले पर्याप्त उखु नपाएको बताएका थिए । देशमै धेरै उखु खेती हुने सर्लाहीमा वर्षेनी ७० देखि ८० लाख क्विन्टल सम्म उखु उत्पादन हुने गरेको तथ्याङ्क छ ।

समर्थन मूल्य अन्योलमै

मङ्सिर आधा सकिनै लाग्दा समेत सरकारले यस सिजनको लागि उखुको समर्थन मूल्य तय नगर्दा किसान र उद्योगी दुवै अन्योलमा परेका छन् । उखु काटेर बेच्न लैजान समय घर्किदै गर्दा पनि अझै निर्णय नभएको उखु किसानहरूको गुनासो छ । ‘‘पहिला नै समर्थन मूल्य तय गर्ने व्यवस्था भए आफूलाई फाइदा भए उखु लगाउने नभए नलगाउने गर्न पाउँथ्यौँ, नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले भने ।

यता उखु उद्योगहरूले भने तत्काललाई गत वर्ष सरकारले तोकेको समर्थन मूल्य भुक्तानी गरेर उखु खरीद गर्ने तयारी गरेका छन् । पछि सरकारले तय गरेको समर्थन मूल्य दिने गरी अहिलेलाई अघिल्लो वर्षको मूल्यमा खरिद गर्ने व्यवस्था गरिएको महालक्ष्मी चिनी उद्योगले जनाएको छ । तर, किसानहरू भने सरकारले पछि थपेको बाँकी रकम नपाउने चिन्तामा छन् । अघिल्लोपटक प्रतिक्विन्टल पाँच सय ६५ रुपैयाँ तोकिएको थियो ।

म्याग्दीमा पर्यटन पूर्वाधार निर्माण गर्न ११ योजना

म्याग्दी । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ मा जिल्लाका धार्मिक र पर्यटकीय स्थलमा पूर्वाधार निर्माण गर्न विभिन्न ११ योजनाका लागि एक करोड ५० लाख बजेट विनियोजन गरेको छ । पर्यटन तथा उद्योग कार्यालयले कार्यान्वयन हुने १० योजनाका लागि रु. एक करोड २० लाख र पर्यटन, वाणिज्य तथा उपभोक्ता हकहित संरक्षण निर्देशनालय पोखरा अन्तर्गतको एक योजनालाई रु. ३० लाख विनियोजन भएको हो ।

प्रमुख पोषानाथ शर्माले बजेट विनियोजन भएका योजनाको सर्वेक्षण, लागत अनुमान तयार, उपभोक्ता समिति गठन र सम्झौताको प्रक्रिया अघि बढाएको बताए। धवलागिरि गाउँपालिका–४ मा पर्ने धौलागिरि चक्रीय पदमार्ग योजना भने निर्देशनालय मार्फत कार्यान्वयन हुने उनले बताए ।

अन्नपूर्ण गाउँपालिका–५ का खोप्रा लेकमा पर्यटकीय पूर्वाधार र रघुगङ्गा गाउँपालिकाको काली बराह मन्दिर हुँदै धवलागिरि आइसफल जाने पदमार्ग योजनाका लागि रु.२०/२० लाख बजेट प्राप्त भएको छ ।

रघुगङ्गा गाउँपालिका–४ को नागीदेवी मन्दिर संरक्षण, वडा न. ३ को गायत्री मन्दिर संरक्षण, वडा नं. –२ को माझखर्क–ओखरबोट हुँदै साझपानी पदमार्ग, बेनी नगरपालिका –७ को शान्तिपार्क, वडा नं.–२ को ध्यानकुटी पूर्वाधार, वडा नं. ६ को मसिनढुंगा थाकनपोखरी एकपाटे पदमार्ग, धवलागिरि गाउँपालिका–५ मल्कवाङ डाडाकटेरी ररावर हुँदै ग्यासखार पदमार्ग र मालिका–७ बिम–तल्लोगाउँ पदमार्गका लागि रु. १०/१० लाख बजेट प्राप्त भएको छ ।

म्याग्दीमा प्रदेश सरकारले पर्यटन सम्बन्धी योजनाका लागि आर्थिक वर्ष २०७८/७९ मा आठ वटा योजनालाई रु. २० लाख, आर्थिक वर्ष २०७९/८० मा २१ योजनालाई रु. एक करोड ९२ लाख, आर्थिक वर्ष २०८०/८१ मा १८ योजनालाई रु. एक करोड ५६ लाख बनियोजन गरेको थियो ।

प्रशस्त पर्यटकीय स्थल भएपनि गण्डकी प्रदेशका अन्य जिल्लाको तुलनामा म्याग्दीमा कम बजेट विनियोजन हुने र घट्नुका साथै योजनाले पूर्णता नपाउने समस्या देखिएको म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेश शाक्यले बताए।

आर्थिक वर्ष २०८०/८१ मा शुरु भएका १८ पदमार्ग सम्बन्धी योजना मध्य चार मात्र सम्पन्न भएका थिए । गत वर्ष शुरु भएको कालीबराह पदमार्ग बाहेकका योजनाले यो वर्ष निरन्तरता पाएका छैनन् । अधुरा योजनाबाट नागरिकले लाभ लिन नसक्ने भएकाले निर्माणाधीन कामका लागि बजेटको निरन्तरता आवश्यक पर्ने सरोकारवाला बताउँछन् ।

१९ करोडको लागतमा यसरी पुनर्निर्माण गरिँदैछ सानो गौचरन खेल मैदान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सानो गौचरन स्टेडियम पुनर्निर्माण थालनी गरेको छ । उपप्रमुख सुनिता डंगोलले शिलान्यास गरेर बिहीबारदेखि पुनर्निर्माणको काम थालनी गरिएको हो । २२ करोड ९५ लाख ९३ हजार ९९९ लागत अनुमान गरिएको काम गर्न आव्हान गरिएको बोलपत्रबाट १८ करोड ८६ लाख ७४ हजार ८२७ रुपैयाँ कबोल गरेर शुभ कन्स्ट्रक्सनले पुनःनिर्माणको जिम्मेवारी पाएको छ ।

स्टेडियम पुनर्निर्माणको शिलान्यास गर्दै महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, महानगरपालिकाले खेल पूर्वाधारमा लगानी बढाएको बताइन् । स्टेडियममा ९६×६२ मिटरको खेल मैदान हुनेछ ।

मैदानमा आकाशे पानी निकास प्रणालीसहितको कृत्रिम घाँस राखिनेछ । वरिपरि सीमा पर्खाल हुनेछ । यसमा २८ वटा चार पाङ्ग्रे र १७८ वटा २ पाङ्ग्रे सवारी साधन अट्ने क्षमताको पार्किङ हुनेछ ।

स्टेडियमको भुइँ तलामा महिलाका लागि २३ वटा र पुरुषका लागि १६ वटा शौचालय हुनेछन् । पहिलो तलामा ७ वटा महिलाका लागि र ५ वटा पुरुषका लागि शौचालय हुनेछन् ।

स्टेडियममा एउटा फिजियोथेरापी कक्ष, ३ वटा पुरुषका लागि ३ वटा महिलाका लागि गरेर ६ वटा कपडा फेर्ने कोठा, एउटा प्राथमिक उपचार कक्ष र २ वटा टिम लकर हुनेछन् ।

निर्माण कार्यको सार्वजनिक खरिदका लागि २०८१ वैशाख ३ गते सार्वजनिक सूचना जारी भएको थियो । यसबाट १६ जना आवेदकले प्रस्ताव पेश गरेका थिए ।

छनोट भएको निर्माण पक्षलाई कार्तिक २५ गते कार्यादेश दिइएको छ । यो काम २०८२ चैत मसान्तभित्र सम्पन्न गरिसक्नुपर्नेछ ।

रङ्गशाला १८ रोपनी १ आना २ पैसा ३ दान (९२११.५ वर्गमिटर) क्षेत्रफलमा निर्माण हुनेछ । यसमा दर्शक क्षमता १ हजार ५ सय जनाको हुनेछ ।

काभ्रेमा कांग्रेसको सय दिने अभियान: ‘सदस्यता घर-आँगन’

काभ्रेपलाञ्चोक । नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले जिल्लामा ‘सय दिने अभियान’ सुरु गरेको छ । अभियानअन्तर्गत जिल्ला समितिले ‘सदस्यता घर-आँगन’ कार्यक्रमलाई प्राथमिकता दिएको जनाएको छ ।

पार्टी सङ्गठन निर्माणमा बुधबारदेखि जिल्ला समितिद्वारा १३ वटै स्थानीय तहका १३५ वटै वडामा नेता कार्यकर्ता खटेका हुन् । अभियानका क्रममा मृत्यु, राजीनामा, विदेश, पार्टी परित्यागका कारण रिक्त रहेको सभापतिबाहेकको पदमा केन्द्र र जिल्लाको परिपत्रअनुसार पदपूर्तिको व्यवस्था गरिने जनाइएको छ ।

पार्टी विधानबमोजिम तोकिएको सदस्यतासम्बन्धी काम गर्ने, गराउने र सदस्यता विशेष अभियानको रुपमा ‘सदस्यता घर आँगन’ अभियान सञ्चालनलाई प्राथमिकता दिइएको जिल्ला समितिले जनाएको छ ।

यसैगरी पालिका-काठमाडौं सम्पर्क समिति गठन नभएका स्थानीय तहमा उक्त समिति गठन पनि गरिने जनाइएको छ । अभियानकै क्रममा पार्टी र जनप्रतिनिधिको बीचमा संयन्त्र गठन गरिने भएको छ । 

रामराजा बहुमुखी क्याम्पसका प्रमुख कुशवाहाको हत्याका मुख्य आरोपी पक्राउ

बारा । बाराको रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहाको हत्यामा संलग्न मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।

गत जेठमा कुशवाहा हत्याका आरोपी सुरेन्द्र कुशवाहालाई जिल्ला प्रहरी कार्यालय, बाराको टोलीले पक्राउ गरेको हो । मोरङ्ग जिल्लामा लुकिछिपी बसेका उनलाई जिल्ला प्रहरी कार्यालय बाराको टोलीले बुधबार पक्राउ गरी ल्याएको प्रहरीले जनाएको छ ।

सुरेन्द्रले जग्गासम्बन्धी विवादमा हरिभुषणको गोली हानी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । गत जेठ ३२ गते शुक्रबार बाराको आदर्शकोतवाल गाउँपालिका–३, बतरामा क्याम्पस प्रमुख कुशवाहामाथि गोली प्रहार भएको थियो ।

गम्भीर घाइते उनलाई बयोधा अस्पताल, वीरगञ्ज लगिएको थियो । त्यसबेला उनले गोली प्रहारमा सुरेन्द्रको संलग्नता रहेको बताएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको थियो ।

लिभरपुलद्वारा रियल मड्रिड पराजित

काठमाडौँ । इङ्लिस क्लब लिभरपुलले स्पेनिस क्लब रियल मड्रिडमाथि सानदार जित निकालेको छ । बुधबार राति भएको खेलमा लिभरपुलले रियललाई २–० ले पराजित गरेको हो ।

च्याम्पियन्स लिगको पाँचौं चरणको खेलसम्म अपराजित रहेको लिभरपुलले म्याक एलिस्टरको गोलमार्फत ५२औं मिनेटमा पहिलो अग्रता लिएको थियो । त्यसपछि खेलको ७६औं मिनेटमा कोडे गाक्पोको गोलमार्फत लिभरपुलले रियलमाथि २–० को जीत निकाल्यो ।

एनफिल्डमा भएको खेलमा एलेक्सिस म्याक एलिस्टरले ५२ र र कोडी गाक्पोले ७६ औ मिनेटमा लिभरपुलका लागि गोल गरेका हुन् ।

यो जितसँगै लिभरपुल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । रियलमाथि लिभरपुलको १५ वर्षपछिको यो पहिलो जीत हो । लिभरपुलले सन् २००९ यता रियल मड्रिडलाई पराजित गर्न सकेको थिएन ।

साबेल प्रहार गरी सँगै सुतेका साथीको हत्या

हेटौंडा । मकवानपुरमा गएराति सुतिरहेका बेला एकजना मजदुरको हत्या भएको छ । मकवानपुरको मनहरी गाउँपालिका–६, प्रतापुर लच्का निवासी जितबहादुर मोक्तानको हत्या भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनलाई सँगै मजदुरी गर्ने साथी अमरबहादुर लोप्चनले सुतिरहेको बेला गएराति १ बजेतिर सावेल प्रहार गरेर हत्या गरेका हुन् । प्रहरीका अनुसार, अम्मर बहादुर र जितबहादुर दुवै सँगै मजदुरी गर्ने साथी हुन् ।

गएराति जितबहादुरकै घरमा उनीहरु सुतेका थिए। आपसी विवादको क्रममा अम्मर बहादुरले जितबहादुरलाई कुटपिट सुरु गरेका थिए। सावेल प्रहारसहितको कुटपिटबाट गम्भीर घाइते भएका जितबहादुरलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल, चितवन पठाइएको थियो ।

उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जानकारी दिए।

उनको शव अहिले चितवनस्थित सरकारी अस्पतालमा राखिएको प्रवक्ता अर्यालले बताए । प्रहरीले कुटपिट गर्ने अम्मर बहादुरलाई नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया सुरु गरिएको जनाएको छ ।

स्थानीय तह उपनिर्वाचनः आजदेखि मौन अवधि सुरु हुँदै

काठमाडौँ । यही मंसिर १६ गते हुने स्थानीय तहको उपनर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदै छ । मतदानको समयभन्दा ४८ घण्टाअघि मौन अवधि रहने व्यवस्थाअनुसार आज राति १२ बजेदेखि नै लागू हुने निर्वाचन आयोगले जनाएको छ ।

मौन अवधिको समयमा कुनै पनि उम्मेदवार वा अन्य व्यक्तिले भौतिक वा सामाजिक सञ्जालमार्फत मत माग्नसमेत पाइने छैन । आगामी आइतबार ३३ जिल्लाका ४४ पदका लागि मतदान हुँदैछ ।

दुई जिल्ला समन्वय समिति प्रमुख, एक–एक मेयर र उपमेयर, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ र ३४ वडाध्यक्ष पदका लागि निर्वाचन हुन लागेको हो मतदानका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र कायम गरिएका छन् । निर्वाचनमा २ लाख २६ हजार ७९९ मतदाता छन् ।

पुरुष मतदाता एक लाख १४ हजार ९००, महिला मतदाता एक लाख ११ हजार ८९६ र अन्य मतदाता ३ जना छन् । ४४ पदमध्ये तीन पदमा एकल उम्मेदवारी परेकोले ४१ पदका लागि मात्रै मतदान हुनेछ ।

ओखलढुंगा जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसका टेकराज भट्टराई र कैलाली जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसकै टीकाकुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भइसकेका छन् । यसैगरी रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका–२ को वडाध्यक्षमा माओवादीका जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् ।

परराष्ट्रमन्त्री राणा आज चीन जाँदै

काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवा आज चीन जाने कार्यक्रम रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर १७ गतेदेखि हुने भ्रमणको तयारीका लागि उनी आज चीन जान लागेकी हुन् ।

परराष्ट्रमन्त्री राणाले शुक्रबार चिनियाँ समकक्षी वाङ यी सँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । भेटमा प्रधानमन्त्रीको भ्रमणको तयारीलगायत दुई देशबीचको आपसी हितका विविध विषयमा छलफल हुने बताइएको छ ।

मुख्यतः चीनको ठूलो परियोजना बीआरआई कार्यान्वयन सम्झौता गर्ने विषयमा कांग्रेस–एमालेबीच बिबाद कायमै रहेको बेला त्यसको पृष्ठभुमी तयारीका लागि परराष्ट्र मन्त्री पाँच दिन अगावै चीन जान लागेकी हुन् ।

गत सोमवार बसेको मन्त्री परिषद बैठकले परराष्ट्रमन्त्री राणाको चीन भ्रमण स्वीकृत गरिसकेको छ ।

‘बुलाकी’लाई ‘सर्वोत्कृष्ट फिल्म’को ट्रफी प्रदान

काठमाडौं । २०८० सालमा रिलिज भएका चलचित्रमध्ये बुलाकी सर्वोत्कृष्ट चलचित्र घोषित भएको छ । चलचित्र विकास बोर्डले बुधबार शीतलनिवासमा आयोजना गरेको चलचित्र पुरस्कार वितरण समारोहमा बुलाकीलाई ‘सर्वोत्कृष्ट फिल्म’को ट्रफी प्रदान गरिएको हो ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले २०८० सालमा प्रदर्शनमा आएका फिल्मको प्रतिस्पर्धामा उत्कृष्ट हुने फिल्मलाई १० विधामा पुरस्कार प्रदान गरे । उक्त अवसरमा राष्ट्रिय चलचित्र पुरस्कार २०८० र सोही वर्षको विशेष चलचित्र पुरस्कार वितरण गरिएको थियो । सर्वोत्कृष्ट निर्देशकको अवार्ड ‘दिमाग खराब’ का लागि निश्चल बस्नेतले पाएका छन् ।

सोही चलचित्रबाट स्वस्तिमा खड्का उत्कृष्ट अभिनेत्री घोषित भइन् । उत्कृष्ट अभिनेताको पुरस्कार भने ‘प्रसाद २’ बाट विपिन कार्कीलाई प्रदान गरिएको छ ।

बक्यौता नबुझाउने उद्योगको बैंक खाता रोक्न राष्ट्र बैंकलाई प्राधिकरणको पत्राचार

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता नबुझाउने उद्योगहरूको बैंक खाता र सेयर कारोबार रोक्का गर्न पत्राचार गरेको छ । नियमन आयोगले लाइन नकाटी अन्य विकल्पबाट बक्यौता उठाउन पत्रचार गरेपछि प्राधिकरणले बैंक खाता रोक्का र सेयर कारोबार गर्न नपाउनेलगायत विकल्पमा रोजेको हो ।

प्राधिकरणले नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, कम्पनी राजिस्ट्रार कार्यालयमा खाता तथा सेयर खरिदबिक्री रोक्काका लागि पत्राचार गरेको छ । पत्रमा प्राधिकरणले खाताबाट रकम झिक्न नपाउने, सेयर निष्कासन गर्न नपाउने माग गरेको छ ।

प्राधिकरणले ३४ वटा उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता बाँकी रहेका उद्योगहरूको विवरणसहित पत्राचार गरेको हो । प्राधिकरणका अनुसार, उक्त अवधिको जम्मा ६ अर्ब ४० करोड ९२ लाख ४० हजार ७०१ रुपैयाँ उठाउन बाँकी छ । ३४ बाहेकका अन्य उद्योग भने किस्ताबन्दीमा आइसकेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको सञ्चालक समितिको बुधबारको बैठकले उद्योगहरुमा विद्युत लाइन नकाट्ने निर्णय गरेको थियो । यसअघि सरकारले प्राधिकरणलाई १५ दिनको समय दिएर बक्यौता उठाउन र तत्काल लाइन जोड्न निर्देशन दिएको थियो ।

प्राधिकरणले त्यसपछि १५ दिनभित्र बक्यौता नतिरे उद्योगहरुको लाइन काट्ने जनाएको थियो । उक्त समयावधि आज सकिने भएपछि समितिको बैठक बसेको हो । उद्योगीले बक्यौता नतिरेको भन्दै लाइन काट्ने तयारीमा प्राधिकरण थियो ।

सञ्चालक समितिको बैठकमा ऊर्जामन्त्री दीपक खड्काले बैकल्पिक उपायबाट उद्योगहरुसँग पैसा उठाउने भन्दै अहिलेलाई लाइन नकाट्ने बताएका थिए । बैठकमा सञ्चालकद्वय कपिल अचार्य र भक्तबहादुर पुनले भने यसमा असहमति राखेका थिए ।

परराष्ट्रमन्त्री राणा बिहीबार चीनको औपचारिक भ्रमणमा जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा भोलिदेखि चीनको औपचारिक भ्रमणमा जाने भएकी छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य तथा विदेश मामिला केन्द्रीय आयोगको कार्यालयका निर्देशकसमेत रहेका वाङको निमन्त्रणमा मन्त्री राणाले यही मङ्सिर १३ देखि १५ गतेसम्म चीनको भ्रमण गर्न लागेकी हुन् ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री डा राणाले मङ्सिर १४ गते आफ्ना चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

भेटवार्तामा उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीनको औपचारिक भ्रमणको तयारीलगायत दुई देशबीचको आपसी हितका विविध विषयमा व्यापक छलफल गर्नेछन् । परराष्ट्रमन्त्री डा राणा मङ्सिर १५ गते स्वदेश फर्कने कार्यक्रम छ ।

एनपीएलमा स्वदेशी र विदेशी खेलाडीसहितको सन्तुलित टोली भएकाले उपाधि जित्ने जनकपुर बोल्ट्सको दाबी

मुना कार्की, काठमाडौँ । मधेश प्रदेशको प्रतिनिधित्व गर्ने टोली जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा उपाधि जित्ने दाबेदारी गरेको छ । स्वदेशी र विदेशी खेलाडीसहितको सन्तुलित टोली भएका कारण उपाधि जित्ने जनकपुर बोल्ट्सको दाबी छ । 


नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा पहिलो पटक हुन लागेको एनपिएल यही मङ्सिर १५ गतेदेखि सुरु हुँदैछ । प्रतियोगिताको सुरुआतमै जनकपुर बोल्ट्सले विराटनगर किङ्ग्सको सामना गर्नेछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा उद्घाटन खेल मध्यान्ह १२ः१५ बजे सुरु हुनेछ ।


जनकपुर बोल्ट्सको मार्की खेलाडीका रुपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर आसिफ शेख छन् । २३ वर्षीय आसिफले सन् २०१७ देखि नेपालको सिनियर टोलीमा डेब्यु गरेका हुन् । त्यसयता उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै आएका छन् ।


आसिफले आफनो टोलीमा चल्तीका विदेशी र नेपाली युवा खेलाडीका कारण राम्रो सन्तुलन मिलेको बताए । पुबुदु दसानायके जस्तो प्रशिक्षक पाएका कारण आफनो टोली भाग्यशाली रहेको उल्लेख गर्दै उनले जनकपुर बोल्ट्सलाई जसरी पनि उपाधि जिताउने उद्देश्यका साथ खेल प्रदर्शन गर्ने विश्वास दिलाए । मार्की खेलाडी शेखले आफनो टोलीमा सबै उत्कृष्ट खेलाडी  भएकाले प्रतियोगिताको उपाधि जित्ने दाबी गरे । 


यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलेसमेत सोमबार सुन्धारास्थित धरहरा परिसरमा एनपिएलको ट्रफी सार्वजनिक गर्दै जनकपुर बोल्ट्सका मार्की खेलाडी शेखको प्रशंसा गदै ‘क्याप्टेन कूल’को उपनाम दिनुपर्ने बताएका थिए । “जनकपुर बोल्ट्सका मार्की खेलाडी आसिफ शेखले स्पोर्टम्यानसिप देखाउँदै आयरल्यान्डका खेलाडीलाई रन आउट नगरेको त्यो भाइरल श्रव्यदृश्य मैले पनि हेरेको थिएँ । जनकपुर झैँ शान्त स्वभाव कायम रहोस् । आसिफ शेखलाई क्याप्टेन कूल, शान्त भनेर उपनाम दिएपनि हुन्छ जस्तो लाग्छ”, उनले शेखको प्रशंसा गर्दै भनेका थिए ।


जनकपुर बोल्ट्सका ‘हेड अफ अपरेशन’ निरोज खतिवडाले आफनो टोलीको तयारी राम्रो रहेकाले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै प्रतियोगिताको उपाधि जित्नेमा आफु विश्वस्त रहेको बताए । उनले नेपाली र विदेशी खेलाडीसहितको सन्तुलित टोलीकै कारण प्रतियोगितामा राम्रो नतिजा हातपर्ने उल्लेख गरे ।

खतिवडाले आफ्नो टोलीमा दुई विदेशी खेलाडी नेपाल आइसकेको र आजै बाँकी दुई विदेशी खेलाडी आउने जानकारी दिए । जनकपुर बोल्ट्समा मार्की खेलाडी आसिफसँगै नेपाली राष्ट्रिय क्रिकेट टोलीका  सदस्यद्वय अनिलकुमार साह र ललितनारायण राजवंशी समेत रहेका छन् । 


त्यसैगरी टोलीका अन्य नेपाली खेलाडीमा रुपेश सिंह, किशोर महतो, अरनिकोप्रसाद यादव, तुलबहादुर थापा मगर, आकाश त्रिपाठी, शुभ कङ्साकर, शेर मल्ल र हेमन्त धामी छन् । एनपिएलमा सहभागी प्रत्येक टोलीले कम्तीमा चार विदेशी खेलाडी अनुबन्ध गर्नुपर्ने प्रावधान छ । तर खेलाडीको आवश्यकता हेरेर ६ जनासम्म विदेशी खेलाडी राख्न पाउने प्रावधान रहेको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । 


जनकपुर बोल्ट्सले नेपाली खेलाडीसँगै ६ विदेशी खेलाडीलाई भित्राएको छ । जनकपुर बोल्ट्सले न्युजिल्यान्ड, पाकिस्तान र अमेरिकाका अनुभवी खेलाडीलाई भित्र्याउन सफल भएको छ । जसमा न्यूजिल्यान्डका जिमी निशम, अमेरिकाका जोशुआ ट्रोम्प, अमेरिकामा बसेर क्रिकेट खेल्ने श्रीलङ्काली मुलका लाहिरु मिलन्था तथा पाकिस्तानका शोएब मक्सुद र मोहमद मोहसिन खान छन् ।


न्युजिल्यान्डका नीशम विश्व क्रिकेटमा चिरपरिचित खेलाडी हुनुहुन्छ । नीशमले न्युजिल्याण्डका लागि टेस्टदेखि टी–ट्वान्टी खेल खेलिसक्नुभएको छ । बाँयाहाते ब्याटर नीशमसँग आइपीएल, बीबीएल, भाइटालिटी ब्लास्ट, द हन्ड्रेडलगायत फ्रेन्चाइज लिगहरू खेलको अनुभव छ ।


त्यसैगरी अमेरिकाका दाँयाहाते ब्याटर ट्रोम्पले अमेरिकाको घरेलु क्रिकेट लिगमा उत्कृष्ट खेल प्रदर्शन गर्दै आएका छन् । उनले अमेरिकी हौस्टन प्रिमियर लिग टी ट्वान्टी, सेन्ट्रल टेक्सास लिग टी–ट्वान्टीलगायतका प्रतियोगिता खेलिसकेका छन् । श्रीलङ्कामा जन्मिएर अमेरिकाबाट क्रिकेट खेल्दै आएका विकेटकिपर एवं ब्याटर मिलान्था अनुभवी खेलाडी हुन् । उनले अमेरिकाको विभिन्न घरेलु क्रिकेट प्रतियोगिता खेल्दै आएका छन् । मिलान्थाले यसअघि नेपालमै आएर क्रिकेट खेलिसकेका छन् ।


यस्तै पाकिस्तानी मक्सुद पनि अनुभवी खेलाडी हुन् । उनले पाकिस्तानका लागि एकदिवसीय, टी–२० लगायतका खेल खेलिसकेका छन् । पाकिस्तानका मोहसिन खान अलराउण्डर हुन् । उनले क्यारेबियन प्रिमियर लिग, अमेरिकी मेजर लिग र पाकिस्तान सुपर लिग खेलिसकेका छन् ।


जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा राष्ट्रिय सिनियर क्रिकेट टोलीका पूर्वप्रशिक्षक पुबुदु दासानायके छन् । दासानायकेले नेपाली क्रिकेटलाई माथिल्लो उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । सन् २०११ देखि राष्ट्रिय पुरुष टोली सम्हालेका उनकै प्रशिक्षणमा नेपालले विश्वकपसम्मको यात्रा तय गरेको थियो ।

नेपाली क्रिकेटको इतिहासमा प्रशिक्षक दासानयके बिर्सिन नहुने नाम हो । सुरुवातमा उनले सन् २०११ देखि २०१५ सम्म नेपाली टोलीको प्रशिक्षण सम्हालेका थिए ।

त्यसदौरान उनकै प्रशिक्षणमा नेपालले आइसीसी विश्व क्रिकेट लिग डिभिजन चारदेखि एकसम्मको यात्रा तय गरेको थियो । । नेपालले विभिन्न समयमा क्रिकेटको छनोट चरण पार गर्दै सन् २०१४ मा बङ्गलादेशमा भएको विश्वकपमा सहभागिता जनाएको थियो । उनकै प्रशिक्षणमा उपाधि जित्नेमा जनकपुर बोल्ट्स विश्वस्त रहेको छ ।

पाकिस्तानी खेलाडी मक्सुदले नखेल्ने  

जनकपुर बोल्ट्सका लागि अनुबन्धित पाकिस्तानी खेलाडी शोएब मक्सदु फिटनेशमा समस्या भएपछि प्रतियोगिता खेल्न नआउने निश्चित भएको छ । जनकपुर बोल्ट्सका हेड अफ अपरेशन खतिवडाका अनुसार मक्सुदको स्थानमा इङल्याण्डका अलराउण्डर बेन माइकलाई अनुबन्ध गरिएको छ । उनले पनि विभिन्न प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेका छन् ।


प्रतियोगितामा जनकपुर बोल्ट्सगै काठमाडौँ गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सको सहभागिता रहेको छ ।

युद्ध विरामपछि बेरुतका विस्थापित बासिन्दा घर फर्किँदै

बेरुत ।  युद्धविराम लागू भएपछि द्वन्द्वका कारण क्षति भएको बेरुतको दक्षिणी उपनगरबाट विस्थापित बासिन्दाहरू बुधबार घर फर्केका छन् । लामो समय पछि भएको युद्ध विराम कार्यन्वयनका लागि धेरैले हिजबुल्लाहको प्रशंसा गर्दै विजय उत्सव समेत मनाएका छन् ।

पछिल्लो समयमा इजरायलले दिनहुँ जसो आक्रमण गर्दा धेरै हदसम्म खाली भएको उक्त आवासीय क्षेत्रमा विस्थापितहरू एकै चोटी फर्किदा भीडभाड भई ट्राफिक जामसमेत भएको जनाइएको छ ।

विस्थापितहरू आफ्नो क्षतिग्रस्त घर र व्यवसाय देखेर आँसु बगाउदै उत्खननकर्ताहरूको सहयोगमा भग्नावशेष हटाउनका लागि पर्खिरहेका थिए ।

स्थानीय इन्जिनियर निजाम हमादेले आफ्नो घरतर्फ फर्किँदै हमलामा मृत्यु भएका हिजबुल्लाह नेता सैयद हसन नसरुल्लाहको उपनगरमा फर्किदा उनीहरूलाई धन्यवाद दिँदै फर्किएको एएफपीले जनाएको छ । दक्षिण बेरुत उपनगरले मंगलबार द्वन्द्वको सबैभन्दा तीव्र रुपको सामना गरेको थियो ।

युद्धविराम लागू भएपछि आफूहरू घर फर्किएको उक्त उपनगर निवासी फातिमाले बताए। बुधबार देखि युद्धविराम लागू भएपछि इरान समर्थित समूहले दक्षिण बेरुत र पूर्वी लेबनानको गढहरूमा भ्रमणको आयोजना गरिरहेको थियो ।

गाजा युद्धलाई लिएर हिजबुल्लाहले सुरु गरेको सीमापार हमलाको लगभग एक वर्षपछि, इजरायलले लेबनानमा हिजबुल्लाहको गढहरू लक्षित आक्रमण बढाई दक्षिणी सीमा पार सेना तैनाथ गरेको थियो ।

केही बासिन्दाहरू तुरुन्तै युद्ध , जुलुसलगायतमा आफ्ना प्रिय नेताको हत्या भएको स्थान तर्फ लागेको एएपीले जनाएको छ । यसै क्रममा हिजबुल्लाहका समर्थकहरूले नसरुल्लाह र हाशेम सफीद्दिनको तस्बिरहरू हस्तान्तरणसमेत गरिरहेको एएपीले जनाएको छ ।

इजरायल र हिजबुल्लाहद्वारा द्वन्द्व अन्त्य गर्ने अमेरिकी प्रस्ताव स्वीकार: बाइडेन

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले लेबनानी र इजरायलका प्रधानमन्त्रीसँग कुरा गरेको जनाउदै उनीहरुले द्वन्द्व अन्त्य गर्ने अमेरिकी प्रस्तावलाई स्वीकार गरेको घेषणा गरेका छन्। उनले सामाजिक सञ्जाल एक्स मार्फत यस्तो जानकारी मुलक समाचार सम्प्रेषण गरेका हुन् ।

बाइडेनले एक्समा उल्लेख गरेका छन्, “आज, मसँग मध्य पूर्वका लागि राम्रो समाचार छ, मैले लेबनान र इजरायलका प्रधानमन्त्रीसँग कुरा गरी यस्तो घोषणा गर्न पाउँदा खुसी छु उनीहरूले द्वन्द्व अन्त्य गर्ने अमेरिकी प्रस्तावलाई स्वीकार गरेका छन् ।”

अमेरिकी राष्ट्रपतिलाई समर्थन गर्दै इजरायलले जारी गरेको विज्ञप्तिमा “प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले राष्ट्रपति जो बाइडेनसँग कुरा गरी लेबनानमा युद्धविराम सम्झौता हासिल गर्नका लागि इजरायललाई दिएको स्वतन्त्रताको लागि धन्यवाद दिएको छ ।”

अमेरिकी राष्ट्रपति जो बाइडेन र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले जारी गरेको संयुक्त विज्ञप्तीमा, लामो समयको अथक कूटनीति पछि, इजरायल र लेबनानले आफुहरु विचको शत्रुता समाप्त भएको स्वीकार गरेका छन् । “

घोषणाले लेबनानमा लडाइँ बन्द गर्ने तथा हिजबुल्लाह र अन्य आतङ्कवादी सङ्गठनको खतराबाट इजरायललाई सुरक्षित गर्नेछ । यो घोषणाले स्थायी शान्ति पुनर्स्थापना गर्ने अवस्था सिर्जना गरी दुवै देशका बासिन्दाहरूलाई सुरक्षित रूपमा आफ्नो घर फर्कन अनुमति दिने जनाएको छ ।

अमेरिका र फ्रान्सले इजरायल र लेबनानसँग मिलि गरेको यो व्यवस्था पूर्ण रूपमा कार्यान्वयन गरी द्वन्द्वलाई थप हिंसात्मक बन्नबाट रोक्न कटिबद्ध रहेको बताएका छन् । अमेरिका र फ्रान्सले लेबनानी सेनाको क्षमता वृद्धि गरी यस क्षेत्रको स्थिरता र समृद्धिलाई अगाडि बढाउन लेबनानमा आर्थिक विकासका लागि अन्तर्राष्ट्रिय प्रयासहरूको नेतृत्व र समर्थन गर्नेसमेत प्रतिबद्धता व्यक्त गरेका छन् ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले पनि सामाजिक सञ्जाल मार्फत यो समाचार साभार गर्दै आफु इजरायल र लेबनानबीचको युद्धविराम सम्झौतालाई स्वागत गर्न चाहेका बताएका छन् ।

आफ्नो भाषणमा राष्ट्रपति बाइडेनले हमासले गत अक्टोबरमा गरेको आक्रमणको भोलिपल्ट देखि युद्ध सुरु भएको जनाउदै इजरायलले युद्ध सुरु नगरेको तथा लेबनान र अमेरिकाले त्यो युद्ध नचाहेको बताएका छन् ।

बाइडेनले हिजबुल्लाहसँगको युद्ध सुरु भएदेखि ७० हजार भन्दा बढी इजरायली तथा तीन लाख भन्दा बढी लेवनानी आफ्नै देशमा शरणार्थीका रूपमा बस्न बाध्य भएको जनाएका छन् ।

इजरायल र लेबनानका जनताका लागि स्थायी सुरक्षा युद्धको मैदानमा मात्र प्राप्त गर्न नसकिने बताउदै सम्झौता सीमापारको लडाइँ समाप्त गरी शत्रुताको स्थायी अन्त्यका लागि डिजाइन गरिएको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् ।

घोषणा अनुसार “आगामी ६० दिनमा, लेबनानी सेना एक पटक आफ्नो क्षेत्रको नियन्त्रण लिन तैनाथ हुनेछन् । दक्षिणी लेबनानमा हिजबुल्लाह आतंकवादी पूर्वाधार पुनर्निर्माण गर्न अनुमति दिइने छैन । आगामी ६० दिन भित्र, इजरायलले सेना फिर्ता गर्नेछ । अन्ततः दुवै पक्षका नागरिकहरू, चाँडै सुरक्षित रूपमा आफ्नो घर समुदायमा फर्र्की आफ्नो व्यवसाय सञ्चालन र जीवन यापनमा सक्रिय हुने छन् ।

बाइडेनले फ्रान्स र अन्य साझेदारहरूसँग मिलेर सम्झौता पूर्ण र प्रभावकारी रूपमा कार्यान्वयन गरी सुरक्षाको सुनिश्चित गर्न आवश्यक सहयोग प्रदान गरिने बताउदै यो प्रयासले लामो समयदेखि द्वन्द्वमा संलग्न इजरायल र लेबनानको भविष्य सुरक्षित हुने उल्लेख गरेका छन् ।

सुनसरीका किसानलाई मकै र गहुँ छर्न भ्याइनभ्याइ

 सुनसरी ।  सुनसरीको सदरमुकाम इनरुवासहित कोशी, भोक्राहा, हरिनगर, बर्जु, गढी, देवानगञ्ज, रामधुनीलगायत क्षेत्रका किसानले धान भित्र्याएसँगै अहिले मकै र गहुँ छर्न व्यस्त छन् । धानपछि उत्पादन बढी हुने मकै र गहुँ छर्न यतिबेला यहाँका किसानलाई भ्याइनभ्याइ छ ।

इनरुवा–९ बबियाका जसलाल यादवले चार बिघामा धानखेती गरेको थियो । उनले करिब एक लाख लगानी गरी चार बिघामा धानखेती गरेको बताउँदै धान थन्काएपछि मकै र गहुँ छर्ने बताए । गत वर्षभन्दा यस वर्ष धान ढिलो पाकेकाले अहिले बाली भित्र्याउने व्यस्तता बढेको उनको भनाइ छ । दुई बिघामा मकै र दुई बिघामा गहुँ लगाउने उनले जानकारी दिए ।

दसैँअघि धान भित्र्याउनुपर्नेमा समयमा धान नपाकेकाले अहिले उनलाई भ्याइनभ्याइ भएको हो । पाकेर घर भित्र्याउने समयमा पानी र असिनाले धान नष्ट गर्ने चिन्तासहित हतारमा बाली भित्र्याउन थालेको स्थानीय किसान रामचन्द्र यादवले बताए । धानसँगै मकै र गहुँ छर्नुपर्ने भएकाले धान भित्र्याउन हतार भएको किसान वीरेन्द्र यादवले बताए ।

सुनसरीमा ४८ हजार नौ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएकामा ९० प्रतिशत किसानले धान भित्र्याएर गँहु र मकै बाली लगाउन खेत तयार गर्न थालेका जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख निलकमल सिंहले बताए ।

जनकपुरमा विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजार भन्दाबढी सुरक्षाकर्मी परिचालन गरिने

धनुषा। मधेश प्रदेशको राजधानी जनकपुरधाममा यही मङ्सिर १६ गतेदेखि सुरु हुने श्री सीताराम विवाह पञ्चमी महामहोत्सवलाई व्यवस्थित तथा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न दुई हजार भन्दाबढी सुरक्षाकर्मी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले बताएका छन्।

प्रमुख जिल्ला अधिकारी कडरियाले भने, ‘विवाह पञ्चमीमा सहभागी हुन आउने लाखौँ तीर्थयात्रीहरूको सुरक्षाका लागि नेपाल प्रहरीले एक हजार चार सय प्रहरी परिचालन गरिनेछ।’

चोरी, डकैती, पाकेटमारलगायत अपराध रोक्न तालिम प्राप्त सादा पोसाकका प्रहरी परिचालन गर्ने तयारी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताए।

सिमानाबाट मेलासम्म शान्तिसुरक्षा, भन्सार सुरक्षासहितको क्षेत्रमा भारतीय सीमा सुरक्षा बलसँग समन्वय गरेर मेलामा सात सय पाँच सशस्त्र प्रहरी परिचालन गर्नाका साथै अत्यधिक भीड हुने ठाउँमा ड्रोनको सहायताले सुरक्षा निगरानी गर्ने तयारी गरिएको धनुषाका सशस्त्र प्रहरी उपरीक्षक दर्शन गिरीले जानकारी दिए।

मेलामा आउने सवारीसाधन तथा भीडलाई व्यवस्थापन गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले एक सय ४० ट्राफिक प्रहरी परिचालन गर्ने र मेलामा आउने सवारीसाधन तथा हल्का सवारीसाधनको पार्किङस्थलको व्यवस्थापन गरिने ट्राफिक प्रमुख प्रहरी निरीक्षक हरिबहादुर वलीले बताए। भिभिआइपीका लागि विशेष मार्ग छुट्याउने तयारी गरिएको उनले उल्लेख गरे।

जनकपुरधाम उपमहानगरपालिकाले नगर क्षेत्रमा गरेको सरसफाइ, बाह्र बिघा रङ्गभूमि मैदानमा एक सय अस्थायी शौचालय निर्माण, हनुमानगढीमा शौचालय तथा ठाउँठाउँमा चापाकल व्यवस्थापनको काम सुरु गरेको नगरप्रमुख मनोज साहले जानकारी दिए।

प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक डा जामुनप्रसाद सिंहले प्रादेशिक अस्पतालले २४सैँ घण्टा चिकित्सकलाई तयारी अवस्थामा राखेको बताए। मेलालाई लक्षित गरेर अस्पतालमा ७५ शय्या छुट्याउने, आवश्यक औषधिको व्यवस्थापनलगायत काम भइरहेको उनको भनाइ छ।

खानेपानी संस्थानले ठाउँठाउँमा धाराको जडान तथा विद्युत् प्राधिकरणले मेलामा विद्युत् नकाटिने गरी व्यवस्थापन गरेको छ। साथै नेपाल टेलिकमले मोबाइलको नेटवर्कमा समस्या नआओस् भन्ने उद्देश्यले टावरसहितको थप ओवी भ्यानको व्यवस्थापन गरेको छ।

सडक डिभिजन कार्यालयले सडकमा भएको खाल्डाखुल्डी पुर्ने काम अन्तिम चरणमा पुगेको डिभिजनल इञ्जिनियर दीपककुमार झाले बताए। नेपाल रेडक्रसको समन्वयमा मेलाको विभिन्न भागमा एक सय एक निःशुल्क स्वास्थ्य शिविरका साथै दुर्घटनामा परेकालाई रगत निःशुल्क दिने व्यवस्था मिलाएको रेडक्रसका सभापति नरेशप्रसाद सिंहले बताए।

जनकपुरधाम उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनोजकुमार साहले भने, ‘वाणिज्य सङ्घले मेलाको सुरक्षाका लागि आउने तीन सय ५० सुरक्षाकर्मीको बाँसको व्यवस्थापनका साथै बाहिरबाट आउने तीर्थयात्रीलाई आवास तथा भोजनको व्यवस्था गरेको छ। मङ्सिर १६ गतेदेखि नगर दर्शन सुरु भएर २२ गते रामकलेवासम्म सप्ताहव्यापी रूपमा विवाह पञ्चमी महामहोत्सव हुन लागेको छ।’

यसपटक भारतबाट पाँच सयको सङ्ख्यामा जन्ती आउन लागेका छन् भने पाँच वर्षको अन्तरालमा भारतको अयोध्याबाट जन्ती आउने परम्परा रहेको जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले बताए। श्रीराम जन्मभूमि ट्रस्टका केन्द्रीय मन्त्री राजेन्द्र सिंह पङ्कजको नेतृत्वमा अयोध्याबाट आजमगढ़, बक्सर पटना, मुजफ्फरपुर, दरभङ्गा, अहिल्या स्थान, सीतामढ़ी, विशौल, महोत्तरीको मटिहानी हुँदै जनकपुरधाम आउने उनले जानकारी दिए।

उपनिर्वाचन भ्रष्टाचारविरोधी महाअभियानलाई अगाडि बढाउने नयाँ संकल्पको रुपमा लिएका छौंः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनले आगामी आमनिर्वाचनको सन्देश दिने बताएका छन् ।

बुधबार सामाजिक संजालमार्फत भिडियो सन्देश जारी गरी अध्यक्ष प्रचण्डले ् उपनिर्वाचनलाई अवसरको रुपमा लिन मतदातालाई आह्वान गरेका हुन् ।

उनले उपनिर्वाचन आफूहरुले भ्रष्टाचारविरोधी महाअभियानलाई अगाडि बढाउने नयाँ संकल्पको रुपमा लिएको बताए ।

उनले भनेका छन्, ‘मेरो नेतृत्वको सरकारको तर्फबाट सुशासनको पक्षमा भ्रष्टाचारको विरुद्ध, सामाजिक न्यायको पक्षमा, आर्थिक संकटबाट देशलाई मुक्त गर्न निकै प्रयास गरेको थिएँ। त्यसको परिणाम देशमा एउटा सकारात्मक भाव पैदा भइराखेको छ। यो उपनिर्वाचन पनि हाम्रा लागि भ्रष्टाचारविरोध महाअभियानलाई अगाडि बढाउने नयाँ संकल्पको रुपमा लिएका छौं।’

उनले उपनिर्वाचन जनता सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्धमा रहेको प्रमाणित गर्ने अवसर पनि भएको बताए।

https://www.facebook.com/plugins/video.php?height=476&href=https%3A%2F%2Fwww.facebook.com%2Fprachanda.nepal%2Fvideos%2F2995296570625668%2F&show_text=false&width=476&t=0

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । बुधबार सर्वोच्चका न्यायाधीशद्वय नित्यान्द पाण्डेय र महेश शर्मा पौडेलको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरिदिएको हो ।

प्रसाईंलाई थुनामा राखेको दाबी गर्दै उनका छोरा निराजन प्रसार्ईंले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा करोडौं लगानी गरेको भन्दै अफवाह फैलाएपछि प्रहरीले उनलाई पक्राउ गरेको छ ।

जनसङ्ख्याका मुद्दालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रुपमा हेरिनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनसङ्ख्याका मुद्दालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रुपमा हेरिनुपर्ने बताएका छन् ।

छैटौँ एसियाली जनसङ्ख्या सम्मेलनको बुधबार उद्घाटन गर्दै उनले विकास र जनघनत्वका सहसम्बन्धलाई ध्यान दिएर सीमान्तकृत तथा विपन्न समुदायको सहज जीवनयापनका लागि आधारभूत आवश्यकताको परिपूर्ति गर्न सरकारका प्रयासहरु जारी रहेको बताए ।

प्रधानमन्त्री ओलीले काठमाडू मेडिकल कलेज अस्पतालमा भर्खरै जन्मिएका एक शिशुका मातासँग भर्चुअल संवाद गरेर सम्मेलनको उद्घाटन गरेका थिए ।

उनले समानता र समावेशी नीति अपनाएर धनी र गरिबबीचको खाडल मेटिनुनुपर्ने, आत्मसम्मानसहितको मानव अधिकार, स्वस्थ्य र आशासहिको विश्व निर्माणमा सबै एक हुनुपर्नेमा जोड दिए ।

उनले पृथ्वी र मानवको रक्षार्थ लाग्दै मानवीय विकास, असल जीवनयापनका समस्या र समाधानका उपायका लागि यस्ता विषयमा हुने सम्मेलनले गहन सुझाव दिने अपेक्षा गरे ।

उनले जलवायु परिवर्तनका मुद्दालाई सामना गर्न विश्वव्यापी साझेदारीलाई महत्वका साथ बढाउनुपर्ने भन्दै दिगो विकास, सुशासन र सामूहिक प्रयास अत्वावश्यक भएको बताए । प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ आकाङ्क्षालाई देखिने खालका उपलब्धिमा रुपान्तरित गर्नुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशजङ्ग बराल, एसियाली जनसङ्ख्या एशोसिएशनका अध्यक्ष रेइको हायाशीलगायतको सम्मेलनको उद्घाटन सत्रमा सहभागिता थियो । सम्मेलनमा विभिन्न विषयगत सत्र सञ्चालन हुनेछ ।

रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने

भैरहवा । रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकामा नेपाल आयल निगमका लुम्बिनी प्रदेशिक भण्डारण गृह निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न काठमाडौँ विश्वविद्यालयसँग सम्झौता भएको छ।

बुधबार यहाँ आयोजित कार्यक्रममा भण्डारण क्षमता वृद्धि परियोजनाका प्रमुख एवं निगमका उपनिर्देशक प्रदीप यादव र काठमाडौँ विश्वविद्यालय (कन्सल्टेन्सी विभाग)का प्रमुख विवेक बरालले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे।

सम्झौतअनुसार केयूले एक करोड ९५ लाख ७६ हजार पाँच सय ७८ रुपैयाँ ५५ पैसामा छ महिनाभित्र डिपिआर तयार गर्नेछ। डिपिआर तयार भएलगत्तै डिपो निर्माण अघि बढाइने र २०८४ मङ्सिरसम्म भलवारीस्थित डिपो स्थानान्तरण गरिने निगमका उपनिर्देशक यादवले जानकारी दिए।

यसअघि निगमले काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा रहेको हवाई इन्धन डिपो स्थानान्तरणका लागि डिपिआर निर्माण गर्न गत साता पुल्चोक इन्जिनियरिङ क्याम्पससँग सम्झौता गरेको थियो।

भैरहवा–बुटवल मुख्य राजमार्गसँग जोडिएको करिब साढे पाँच बिघा जमिनमा हालको लुम्बिनी प्रादेशिक कार्यालय अवस्थित छ। यहाँ पाँच सय १९ किलोलिटर पेट्रोल, तीन हजार ४० किलोलिटर डिजेल र एक सय ४० किलोलिटर मट्टितेल भण्डारण क्षमताका ट्याङ्कर छन्। बढ्दो खपतको तुलनामा हकालको भण्डारण क्षमता अत्यन्त न्यून रहेको निगमको भनाइ छ। अहिलेको भण्डारण क्षमताले पेट्रोलको दुई दिन र डिजेलको ५ दिनको माग मात्रै धान्न सक्ने अवस्था रहेको उपनिर्देशक यादवले बताए।

भलवारी डिपोमा जग्गा अभावका कारण ट्याङ्करलाई यथेष्ट पार्किङस्थल उपलब्ध गराउन नसक्दा सडकमै रोक्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ।

“डिपो सञ्चालनका क्रममा बढ्दै गएको सुरक्षा चिन्तालाई सम्बोधन गर्न तथा आधुनिक सुरक्षाका उपकरण जडान तथा विस्तार गर्न पनि नयाँ डिपो निर्माण गर्न आवश्यक छ”, भलवारी डिपो स्थानान्तरणको आवश्यकता प्रस्ट्याउँदै उपनिर्देशक यादवले भने।

डिपो स्थानान्तरण गर्नुपर्ने स्थानीय बासिन्दाको दबाब र बढ्दो पेट्रोलियम खपतलाई सम्बोधन गर्न रोहिणी खोला किनारमा नयाँ डिपो निर्माण गर्न लागिएको निगमले स्पष्ट परेको छ। निगमले चालु आवको नीति तथा कार्यक्रम र बजेटमा रोहिणी नदी किनारमा रहेको करिब १४ बिघा जमिनमा आधुनिक डिपो निर्माण गर्ने उल्लेख गरेको छ।

कन्सल्टेन्सी सेवा विभागका प्रमुख बरालले केयू र निगमबीच लामो समयदेखि अनुसन्धान मुलुक कार्यमा सहकार्य हुँदै आएको जानकारी दिँदै पेट्रोलियम भण्डारण गृहको डिपिआर निर्माण गर्न दिइएको जिम्मेवारी समयमै पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे। यसबाट सबै प्रकारका पूर्वाधार निर्माण गर्न नेपाली जनशक्ति सक्षम रहेको पुष्टि भएको उनको भनाइ छ।

निगमका उपनिर्देशक यादव पेट्रोलियम पूर्वाधार निर्माणमा इन्डियन आयल कर्पोरेसनको प्राविधिक टोलीको भर पर्नुपर्ने अवस्था अन्त्य गर्न त्रिभुवन विश्वविद्यालयअन्तर्गतको पुल्चोक क्याम्पस र काठमाडाँै विश्वविद्यालयबीच सम्झौता भएको बताउँछन्।

आधुनिक डिपो निर्माणसँगै प्रदेशभरको माग धान्ने ठूलो क्षमताको स्टोरेज ट्याङ्कसमेत बनाइनेछ। अब बन्ने डिपोमा डिजेल भण्डारणका लागि तीन हजार किलोलिटर क्षमताको तीन ठूलो भर्टिकल ट्याङ्की निर्माण गरिनेछ। यस्तै, पेट्रोल भण्डारणका लागि दुई हजार दुई सय ८० किलोलिटर र मट्टितेल भण्डारणका लािग पाँच सय किलोलिटरको ट्याङ्कर निर्माण हुनेछ।

डिपोभित्र कम्तीमा एक सय ५० वटा ट्रक तथा ट्याङ्कर सजिलै आवातजावत गर्न सक्ने पार्किङस्थल पनि बन्नेछ। अमेरिकन पेट्रोलियम इन्स्टिच्यूट (एपिआई) मापदण्डअनुसार निर्माण हुने डिपोमा नवीन प्रविधिको सुरक्षा प्रणाली जडान गरिने परियोजना प्रमुख यादवले जानकारी दिए।

निगमले रोहिणी खोला किनारमा भण्डारण गृह निर्माणका लागि गत वैशाखमा जमिन सम्याउने र पर्खाल लगाउने काम सुरु गरेको थियो।

निर्माण सुरु भएको तीन वर्षमा सक्ने योजना रहेको परियोजनाको कुल लागत रु तीन अर्ब २० करोड हुने प्रारम्भिक अनुमान छ। काठमाडौँ विश्वविद्यालयको विज्ञता सो परियोजनामा प्रयोग गर्न पाउँदा निगम अत्यन्त खुसी भएको जानकारी दिँदै उनले केयूको डिपिआरअनुसार तयार हुने परियोजना दिगो र आधुनिक सुविधा सम्पन्न हुने विश्वास व्यक्त गरे।

विसं २०२७ सालमा स्थापना भएको सरकारी स्वामित्वको निगमले नेपालमा पेट्रोलियम पदार्थको आयात, भण्डारण र वितरण गर्दै आइरहेको छ। निगमको हाल सातवटा प्रादेशिक कार्यालय, तीनवटा शाखा कार्यालय, १० वटा हवाई इन्धन डिपो र दुईवटा हवाई इन्धन रिफ्युलिङ स्टेसन सञ्चालनमा छन्।

निगमसँग विराटनगर, धनुषा, वीरगञ्ज, अमलेखगञ्ज, काठमाडौँ, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढीमा इन्धन भण्डारण गृह छ। हाल निगमको पेट्रोलियम पदार्थ भण्डारण क्षमता ६० हजार तीन सय ८४ किलोलिटर छ। पेट्रोलियम पदार्थका लागि आयातमा निर्भर रहेको नेपालका लागि निगमले भारतको सरकारी स्वामित्वको इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट इन्धन खरिद गर्दै आइरहेको छ।

शेयर बजारमा उच्च अंकको बृद्धि

काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजार नेप्से बढेको छ । बुधबार नेप्से ३८ दशमलव ८१ अङ्कले बढेर दुई हजार सात सय ५५ दशमलव ४७ विन्दुमा पुगेको छ ।

बुधबार फाइनान्स बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज विशाल बजार, कर्णाली विकास बैंक, कर्पाेरेट विकास बैंक, सिन्धु विकास बैंक, सर्पाेट माइक्रोफाइनान्स, सप्तकोशी विकास बैंक, मानुषी लघुवित्त, ग्रीन विकास बैंकको शेयर १० प्रतिशतले बढेको छ ।

समग्रमा बजार बढेको दिन मिथिला लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ । आज कारोबार रकम पनि बढेको छ । आज तीन सय १६ वटा कम्पनीका एक करोड ७१ लाख कित्ता शेयर नौ अर्ब ३२ करोड रुपैयाँमा कारोबार भएको छ ।

संघ संगठनमा आबद्ध व्यवसायीले मात्र सुन खरिद गर्न पाउने व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले सुन कारोबारमा लगाइएको सिण्डिकेट हटाउन आदेश दिएको छ । बुधबार सर्वोच्चको न्यायाधीशद्वय नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सुन व्यवसायसँग सम्बन्धित संघ संगठनमा आबद्ध व्यवसायीहरुले मात्र सुन खरिद गर्न पाउने व्यवस्था कार्यान्वयन नगर्न–नगराउन अन्तरिम आदेश जारी गरेको हो ।

नेपाल राष्ट्र बैंकले जारी गरेको ‘सुन आयात तथा बिक्री वितरणसम्बन्धी कार्यविधि,२०६८’ मा गहनाको पसल सञ्चालन वा सुनको कारोबार गर्न तोकिएको तीन वटा महासंघमध्ये एउटाको अनिवार्य सदस्य बन्नुपर्ने उल्लेख छ । महासंघको सिफारिसमा मात्र तोकिएको वाणिज्य बैंकबाट काँचो सुन खरिद गर्न सकिन्छ ।

त्यस व्यवस्थाले स्वतन्त्र रुपमा गहना पसल सञ्चालन गर्न नसकेको भन्दै सुन पसलेहरुले गुनासो पोख्दै आएका थिए । राष्ट्र बैंकले गहना व्यवसायमा सिण्डिकेट कायम गरेको उनीहरुको आरोप थियो । श्री रिद्धिसिद्धि ज्वेलर्स प्रालिको तर्फबाट अख्तियारप्राप्त सागर ढुंगानाले राष्ट्र बैंकसमेतलाई विपक्षी बनाएर सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

आदेशमा भनिएको छ, ‘व्यवसायीहरुको संघ संगठनमा आबद्ध सुनको कारोबार गर्ने अनुमतिप्राप्त व्यवसायीहरुले मात्र सुन खरिद गर्न पाउने व्यवस्था गर्दा त्यस्तो संघ संगठनमा आबद्ध नभएका व्यवसायीहरुले सुन खरिद गर्न नपाई पेशा व्यवसाय सञ्चालन गर्न पाउने संविधान प्रदत्त मौलिक हकमा आघात पुग्न जाने अवस्था देखिएको यस स्थितिमा निवेदकलाई नेपाल राष्ट्र बैंकद्वारा जारी सुन आयात तथा बिक्री वितरणसम्बन्धी कार्यविधि, २०६८ ले तोकेको अन्य कार्यविधि पुरा गरेको स्थितिमा व्यवसायीहरुका संघसंगठनमा आबद्ध नभएकै कारण सुन खरिद गर्न नरोक्नु,रोक नलगाउनु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४२ (२) बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ ।’

बीआरआई पुरानै सम्झौता भएकाले यसलाई अब टुङ्गोमा पुर्याउनुपर्छः महामन्त्री थापा

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दुई ठूला दलको सातबुँदे सहमतिलाई संस्थागत गर्न नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच राजनीतिक संयन्त्र बनेको बताएका छन् ।

विराटनगर विमानस्थलमा बुधबार पत्रकारसँगको भेटघाटमा महामन्त्री थापाले संविधान संशोधनको विषयमा पहिले नेपाली कांग्रेस र एमालेबीच साझा धारणा बन्ने र त्यसपछि अन्य दलहरुसँग छलफल गर्ने योजना रहेको बताए ।

उनले कसैले चाहेर पनि संविधानको मूलभूत विषयमा संशोधन नहुने तर्क गर्दै संविधान संशोधनका सन्दर्भमा जिम्मेवार सबै राजनीतिक दलसँग सौहाद्र्रपूर्ण वातावरणमा छलफल गरी आवश्यक निर्णय लिइने स्पष्ट गरे ।

महामन्त्री थापाले भने, ‘नेपाली कांग्रेसले संविधानको मर्म र भावना एवं पञ्चशीलको सिद्धान्तअनुसार सबै राष्ट्रसँग मित्रवत् सम्बन्ध राख्नेछ ।’

उनले बीआरआई नयाँ सम्झौता नभई पुरानै भएकाले सो सम्झौतालाई अब टुङ्गोमा पुर्याउनुपर्नेमा जोड दिए ।

बीआरआईका सन्दर्भमा उठ्ने गरेको आशङ्कका र अनावश्यक हल्ला चिर्न प्रधानमन्त्रीको आसन्न चीन भ्रमण सफल हुने विश्वास व्यक्त गर्दै महामन्त्री थापाले भने,’विकासका लागि ठूलो पुँजीको आवश्यकता पर्ने भएकाले हाम्रा मित्र राष्ट्रहरुबाट अहिलेलाई ऋण नभई अनुदान सहयोगको अपेक्षा राखेका छौँ । अमेरिका, चीन, भारत, जापान जस्ता देशबाट अनुदानको अपेक्षा गर्छौं । यो पटक चीन भ्रमणमा पनि हाम्रो अपेक्षा त्यही रहन्छ । नेकपा एमालेको धारणा पनि यो भन्दा फरक छैन ।’

उद्योगहरुमा तत्काल विद्युत लाइन नकाट्ने प्राधिकरणको निर्णय

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको बैठकले उद्योगहरुमा विद्युत लाइन नकाट्ने निर्णय गरेको छ ।

बुधबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले मंगलबार विद्युत नियमन आयोगले उद्योगमा तत्काल लाइन नकाट्न निर्देशन दिएपछि यस्तो निर्णय गरेको हो । यसअघि सरकारले प्राधिकरणलाई १५ दिनको समय दिएर बक्यौता उठाउन र तत्काल लाइन जोड्न निर्देशन दिएको थियो ।

प्राधिकरणले त्यसपछि १५ दिनभित्र बक्यौता नतिरे उद्योगहरुको लाइन काट्ने जनाएको थियो । उक्त समयावधि आज सकिने भएपछि समितिको बैठक बसेको हो ।

उद्योगीले बक्यौता नतिरेको भन्दै लाइन काट्ने तयारीमा प्राधिकरण थियो । सञ्चालक समितिको बैठकमा ऊर्जामन्त्री दीपक खड्काले बैकल्पिक उपायबाट उद्योगहरुसँग पैसा उठाउने भन्दै अहिलेलाई लाइन नकाट्ने बताएका थिए । तर मन्त्री खड्काले वैकल्पिक उपाय के हो भन्नेबारे भने उल्लेख गरेका छैनन् ।

विद्युत नियमन आयोगले एक दिनअघि नै डेडिकेटेड तथा ट्रंकलाइन फिडरको लाइन नकाट्न पत्र पठाएपछि त्यसैलाई सदर गरेको सञ्चालक सदस्य कपिल आचार्यले जानकारी दिए । बैठकमा सञ्चालकद्वय कपिल अचार्य र भक्तबहादुर पुनले भने यसमा असहमति राखेका थिए ।

नियमन आयोगले मन्त्रिपरिषद्को निर्णय अनुसार ऊर्जा मन्त्रालयले प्राविधिक समिति बनाएको हुनाले तथ्य स्थापित नगरेसम्म काम कारबाही यथास्थितिमा राख्ने भन्दै विद्युत प्राधिकरणलाई पत्राचार गरेको थियो ।

सरकारले तथ्य जाँचका लागि गठन गरेको समितिले आइतबारदेखि काम थालेको छ । लाल आयोगको प्रतिवेदनमा २०७२ माघ देखि २०७५ वैशाखसम्म डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत आपूर्ति लिने ग्राहकहरुबाट उठाउनु पर्ने विद्युत बक्यौता महसुल

उठाउन सकिने उल्लेख छ । तर यस्तो बक्यौता उठाउँदा हरेक दिनको टिओडी मिटरको विवरणका आधारमा उठाउन भनिएको छ ।