`

नौ करोड ५२ लाखको दूध तथा दुग्धजन्य पदार्थ बिक्री

बागमती । हेटौँडा दूध वितरण आयोजनाले चालु आर्थिक वर्षको चार महिनामा नौ करोड ५२ लाखको दूध तथा दुग्धजन्य पदार्थ बिक्री गरेको छ । गत आवको सोही अवधिको तुलनामा यो  दुई करोड ४० लाखले बढी हो ।

कार्यालय प्रमुख राजीव खनालका अनुसार आव २०८१/८२ को साउनदेखि कात्तिकसम्ममा रु नौ करोड ५२ लाखको दूध तथा दुग्धजन्य पदार्थ बिक्री भएको छ । आव २०८०/८१ को अवधिमा रु सात करोड १२ मूल्य बराबरको दूध तथा दुग्धजन्य पदार्थ बिक्री भएको थियो ।

बजारको मागभन्दा दूध तथा दुग्धजन्य पदार्थको उत्पादन बढी भएकाले आयोजना कार्यालयलाई भण्डारणमा समस्या भएको छ । दूध खरिद गरेअनुसारको बजारमा दुग्धजन्य पदार्थ बिक्री नहुँदा किसानलाई चार महिनादेखि दूधको भुक्तानी दिन नसकेको उनले बताए। कार्यालयले मकवानपुर, बारा, पर्सा, रौतहट र सर्लाहीका किसानबाट दूध खरिद गर्दै आएको छ ।

नेपाल प्रहरीमा १२ सय भन्दाबढी संख्यामा कर्मचारी माग

काठमाडौं । नेपाल प्रहरीले प्रहरी जवानसहित एक हजार दुई सय भन्दाबढी कर्मचारीको माग गरेको छ । प्रहरी प्रधान कार्यालयको नयाँ भर्नासम्बन्धी सूचनाअनुसार प्रहरी जवानतर्फ ११६५ जनाको माग गरिएको छ भने भान्छेतर्फ ४७ जनाको लागि दरखास्त आह्वान गरिएको छ ।

त्यस्तै कुचीकारतर्फ ११ जनाको विज्ञापन प्रकाशित गरेको छ । सूचनाअनुसार उक्त पदमा दरखास्त दिन चाहनेले यही मंसिर २७ गतेदेखि दिन सकिने पनि जनाइएको छ ।

अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प

बीबीसी । अमेरिकाको क्यालिफोर्नियामा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेका अनुसार भूकम्पको केन्द्र उत्तरी क्यालिफोर्नियाको फर्नडेलमा रहेको छ ।

भूकम्प आएलगत्तै उत्तरी क्यालिफोर्निया र दक्षिणी ओरेगनको तटमा सुनामीको चेतावनी जारी गरिएको थियो । तर, पछि उक्त चेतावनी हटाइएको छ । स्थानीय अधिकारीहरूले भूकम्पबाट हालसम्म मानवीय क्षति नभएको बताएका छन् ।

आज विवाह पञ्चमी पर्व : राम र सीताको विवाह उत्सव

काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व शुक्रबार देशभर श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर मनाइँदैछ।

त्रेतायुगमा आज अर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम–सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो।

मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ। गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नुभएअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन्।

त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारे। शिवधनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको भव्य समारोहबीच विवाह सम्पन्न भएको थियो।

रामायणअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवीदेवताको उपस्थिति रहेको विश्वास गरिन्छ।

सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हुन्छन्।

महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ। पौराणिक मान्यता अनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रङ्गभूमिमा पुरर्याइन्छ। त्यस्तै जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमा लगिन्छ।

रङ्गभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याइन्छ। त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ। यस अवसरमा निस्केको भगवान्को डोला शोभायात्रामा राज्यका विभिन्न स्थानलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनसमेत सहभागी हुने गर्छन्।

रङ्गभूमि मैदानमा वर र वधु पक्षबीच हुने गरेको हाँसो, ठट्टा तथा गाउँगाउँबाट आउने गरेको सीतारामको प्रतीकात्मक झाँकी र लाखौँ सङ्ख्यामा सम्मिलित भक्तजनको उत्साहले वास्तविक विवाहको रमितालाई उछिनेको हुन्छ। पहिले तिरहुतियागाछीमा मनाइने यो महोत्सव दुई दशकअघिदेखि रङ्गभूमिमा विशेष कार्यक्रमसहित मनाउने गरिएको छ।

श्रद्धालु भक्तजन बिहान सबेरैदेखि पवित्र सरोवर र नदीमा स्नान गरी पूजाअर्चना गर्ने गर्छन्। यस अवसरमा भजनकीर्तन, रामलीला, झाँकी र प्रवचनको पनि आयोजना हुँदै आएको छ। देवताको मानवीयकरणको भावनासँग सम्बद्ध विवाह महोत्सवमा सरिक भएपछि मनोवाञ्छित फल र मोक्ष प्राप्त हुने जनविश्वास छ।

उक्त महोत्सव पहिले एक महिनासम्म भव्य रूपमा मनाउने गरिएकामा हाल पाँच दिनसम्म मनाइन्छ। यसैगरी देशभरका राम–सीता मन्दिरमा पनि विशेष पूजा आराधना र महोत्सव गरी विवाह पञ्चमी पर्व मनाइँदैछ। आज विवाह गर्न साइत नचाहिने सामाजिक मान्यता छ।

भगवान् श्रीरामचन्द्रको जन्मभूमि चितवनको माडी नगरपालिकास्थित अयोध्यापुरी भएको सार्वजनिक चर्चापछि पुरातत्व विभागले यस क्षेत्रका विज्ञसहित सहभागी गराएर अध्ययन गरिरहेको जनाइएको छ। अध्ययन प्रतिवेदन प्राप्त भएपछि उत्खननलगायत काम अघि बढाइने भएको छ।

रामचन्द्र मन्दिर बत्तीसपुतलीमा विवाहपञ्चमी उत्सव

काठमाडौँ महानगरपालिका–९ बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरमा पनि आज विवाह महोत्सवको कार्यक्रम आयोजना गरिएको छ। श्रीरामचन्द्र मन्दिर जीर्णोद्धार एवं सम्वर्द्धन समितिको आयोजनामा यहाँ विवाह महोत्सव मनाउन लागिएको हो। विवाह महोत्सव बिहान ९ः०० देखि दिउँसो १ः०० बजेसम्म आयोजना गरिने मन्दिर व्यवस्थापन समितिले जनाएको छ।

यसैगरी गोकर्णेश्वर नगरपालिका–९ आरुबारी र वडा नम्बर २ को भूमिस्थलीस्थित श्रीरामचन्द्र मन्दिरमा पनि विभिन्न कार्यक्रम आयोजना गरी श्रीरामचन्द्र विवाह महोत्सव पर्व मनाइने जनाइएको छ। काठमाडौँ उपत्यका र बाहिरका श्रीरामचन्द्र मन्दिरमा पनि आज विधिपूर्वक श्रीराम सीताको पूजा, आराधनासहित विवाह गरिएिर महोत्सव मनाइने भएको छ।

विवाहपञ्चमीमा दीपोत्सव गर्न मुख्यमन्त्री सिंहको आग्रह

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विवाहपञ्चमी महोत्सवको धार्मिकता, पौराणिकता र सांस्कृतिक वैशिष्ठ्यलाई अक्षुण्ण राख्न तथा पर्वप्रति विद्यमान गहिरो आस्था अभिव्यक्त गर्न मङ्सिर २१ गते हरेक घरमा दीपोत्सव गर्न जनकपुरधामवासीलाई आह्वान गरेका हुन्।

बिहीबार भिडियो सन्देश जारी गर्दै मुख्यमन्त्री सिंहले विवाहपञ्चमीका दिन एघार वा एक्काइसवटा दीप भए पनि जनकपुरधामका प्रत्येक घरआँगनमा जलाएर रामजानकी विवाहप्रतिको श्रद्धाभक्ति तथा अनुष्ठान परम्परालाई थप भव्य बनाउन आग्रह गरेका हुन्।

जनकपुरधाममा अयोध्याबाट आएका जन्ती विभिन्न कार्यक्रममा सरिक भइरहेको भन्दै देश तथा विदेशका विभिन्न ठाउँबाट मेला भर्न जनकपुरधाम आएका श्रद्धालुभक्तजनलाई आफ्नै घरमा भए पनि बासको व्यवस्थापनमा सघाउन मुख्यमन्त्री सिंहले जनकपुरधामवासीसँग आग्रह गरेका छन्।

मुख्यमन्त्री सिंहले बाहिरबाट आएका श्रद्धालुभक्तजनलाई होटल तथा धर्मशाला आदिमा बास व्यवस्थापन नभए प्रदेश सरकार र जनकपुरधाम उपमहानगरपालिकाले सहरका विभिन्न ठाउँमा बनाएका पालमुनि आराम गर्न सुझाएका छन्। उनले प्रदेश सरकारले जनकपुरधामका रेल्वे स्टेशन, तिरहुतिया गाछी, कलवार कुट्टी र मणिमण्डप तथा जनकपुरधाम उपमहानगरपालिकाले बाह्रबिघा मैदानमा बनाएका अस्थायी आवासमा आवश्यक भएकालाई बस्न आग्रह गरेका हुन्।

उनले हिँडडुल गर्न नसक्ने र श्वासप्रश्वासजस्ता रोगका समस्या भएकालाई मेला भर्न यस वर्ष पालो पर्खन भन्दै विवहोत्सवमा सहभागी हुन आउने श्रद्धालुभक्तजन तथा साधुसन्तलाई न्यानो लुगा, सुत्न ओढ्ने कम्बल, तन्ना, चादर आदि ल्याउन आग्रह गरेका छन्।

वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएको विशेष अदालतको ठहर

काठमाडौं । विशेष अदालतले नेपाल वायुसेवा निगमका दुई वटा वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएको ठहर गरेको छ ।

बिहीबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले एक अर्ब ४७ करोड १० लाख रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै चार नेपालीलाई दोषी ठहर गरेको हो ।

अदालतले नेपाल वायु सेवा निगमका अध्यक्ष एवं पर्यटन सचिव शंकर अधिकारी, महाप्रबन्धक सुगतरत्न कंसाकार र सहसचिवहरू बुद्धिसागर लामिछाने र शिशिर ढुंगानालाई दोषी ठहर गरेको हो ।

अदालतले कंसाकारलाई २ वर्ष ६ महिना कैद सजाय तोकेको छ । तर उनी ज्येष्ठ नागरिक भएकाले कैद सजाय आधा मिनाहा गरिएको छ । त्यस्तै अदालतले शंकरप्रसाद अधिकारीलाई १ वर्ष ९ महिना कैद, शिशिरकुमार ढुंगानालाई १ वर्ष ६ महिना कैद र बुद्धिसागर लामिछानेलाई १ वर्ष ६ महिना कैद महिना कैद सजाय सुनाएको छ ।

अदालतले तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीसहित अरु आरोपितलाई भने सफाइ दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको भन्दै २२ चैत २०८० मा विशेष अदालतमा ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

गृहमन्त्रीको ‘प्रमुख स्वकीय हुँ’ भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं । गृहमन्त्री रमेश लेखकको ‘प्रमुख स्वकीय हुँ’ भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको भुमेश्वर गाउँपालिका–७ का २६ बर्षीय करनसिंह विष्ट रहेका छन् ।

उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको धुम्बाराहीबाट पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए ।

गृहमन्त्रीको सचिवालयले पनि नक्कली पीएको विषय सचिवालयमा आएपछि केही समय यता सुक्ष्म रुपमा जानकारी लिइरहेको थियो ।

नक्कली पीएले अनावश्यक दबाब दिएर फोन गर्न थालेपछि सचिवालको आग्रहमा पक्राउ गरिएको हो । गृहमन्त्रीको सचिवालयले पनि विभिन्न क्षेत्रमा पिए÷सल्लाहाकार हुँ भन्दै फोन गर्ने व्यक्तिहरुबाट सर्तक रहन आग्रह गरेको छ ।

श्रीलङ्काले यस वर्षको अन्त्यसम्ममा आइएमएफसँग नयाँ कर्जा सम्झौता गर्ने

कोलम्बो ।  आर्थिकरूपमा सङ्कटग्रस्त श्रीलङ्काले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले निर्धारण गरेको कडा राजस्व लक्ष्यलाई पालना गर्दै सन् २०२५ को बजेट आउनुभन्दा एक महिनाअघि नै वैदेशिक ऋणको पुनर्संरचना सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

खाद्य र इन्धनजस्ता अति आवश्यक आयातका लागि समेत विदेशी मुद्राको अभाव भएपछि सन् २०२२ को अप्रिलमा ४६ अर्ब अमेरिकी डलरको बाह्य ऋण तिर्न नसकेपछि श्रीलङ्काले सामानहरूको चरम अभावको सामनासमेत गर्नुपरेको थियो ।

अभावले जनता आक्रोशित हुँदा तत्कालिन सत्ताले जनतासमक्ष घुडा टेक्नु परेको थियो । चरम आभाव र महँगीको सामना गरिरहेका जनता सडकमा ओर्लिएपछि तत्कालिन राष्ट्रपति गोतबाय राजपाक्षले राजिनामा दिनुपरेको थियो ।

आईएमएफको उद्धार प्याकेज प्राप्त गरेपछि र सरकारको बर्बाद वित्तलाई सुधार गर्ने उद्देश्यले राजपाक्षेका उत्तराधिकारी बन्नुभएका रनिल विक्रमासिङ्गेले मितव्ययिताका निययमहरू लागू गरेपछि देशकोे अर्थव्यवस्थामा सुधार आएको छ।

आर्थिक विकास उपमन्त्री अनिल जयन्था फर्नान्डोले ऋण पुनर्संरचनामा दुई वर्षभन्दा बढी ढिलाइ भएको र यसबाट मुलुकलाई थप एक अर्ब ७० करोड अमेरिकी डलर सञ्चित ब्याज खर्च हुने बताएका छन् ।

फर्नान्डोले भने, “हामी डिसेम्बर ३१ सम्ममा द्विपक्षीय ऋण र अन्तर्राष्ट्रिय सार्वभौम ऋणपत्रको पुनर्संरचना पूरा गर्ने आशा गरिरहेका छौँ।”

वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकेले गत सेप्टेम्बरमा संसद्मा आफ्नो सरकारले आगामी वर्षको राजस्व र खर्चसम्बन्धी पहिलो प्रस्ताव आगामी फेब्रुअरीमा प्रस्तुत गर्ने बताएका थिए ।

गत महिना दिसानायकेले आईएमएफको चार वर्षे बेलआउट ऋण कायम राख्नको लागि एक प्रमुख शर्त १२.५५ अर्ब डलरको अन्तर्राष्ट्रिय सार्वभौम ऋणपत्रको पुनर्संरचना गर्न आफ्नो पूर्ववर्तीले सुरक्षित गरेको सम्झौताको सम्मान गर्ने बताएका थिए ।

ऋण पुनर्संरचना प्रक्रिया पूरा गर्न र श्रीलङ्कालाई नयाँ ऋण उठाउन अन्तर्राष्ट्रिय वित्तीय बजारमा फर्कन अनुमति दिने सम्झौतामा हस्ताक्षर हुन बाँकी छ।

दक्षिण एसियाली मुलुकका अधिकांश निजी ऋणदाताले गत सेप्टेम्बरमा आफ्नो ऋणमा २७ प्रतिशत कटौती गर्न सहमति जनाएका थिए ।

दिसानायकेको नेसनल पिपुल्स पावर (एनपीपी) गठबन्धनले यसअघि पुनर्संरचना सम्झौतालाई गरिब राष्ट्रमाथि अन्यायपूर्ण भन्दै आलोचना गरेको थियो र सत्तामा आएपछि मात्र पुनः वार्ता गर्ने प्रतिबद्धता जनाएको हो ।

गत महिना भएको मध्यावधि संसदीय चुनावमा जित हासिल गरेयता उनले आर्थिक पुनरुत्थान निकै कमजोर भएको भन्दै आफ्नो निर्णयलाई परिवर्तन गरेका छन् ।

सेप्टेम्बरमा सहमति भएको र नयाँ प्रशासनले अनुमोदन गरेको सम्झौताको एक भागको रूपमा, ऋणदाताहरूले बक्यौता ब्याज भुक्तानीमा ११ प्रतिशत कटौती गर्नेछन् ।

श्रीलङ्काले सन् २०२३ मा कर दोब्बर बनाउने, ऊर्जा अनुदान फिर्ता लिने र राज्यको राजस्व बढाउन अत्यावश्यक वस्तुको मूल्य वृद्धि गरेर अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को बेलआउट प्राप्त गरेको थियो ।

जलवायुजन्य सङ्कटसँग लड्न टापु मुलुकहरु एकजुट हुनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ, । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु न्यूनीकरण गर्न र जलवायुजन्य सङ्कटसँग जुध्नका लागि टापु मुलुकहरु एक हुनुपर्ने बताएकी छन् ।

बिहीबार काठमाडौँमा दक्षिण एशियाको विविध सामाजिक–सांस्कृतिक र भौगोलिक परिदृश्यमा जलवायु परिवर्तनका लागि घरपरिवारको अनुकूलन क्षमताको मूल्याङ्कन शीर्षकमा गरिएको अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा उनले जलवायुजन्य सङ्कटबाट बच्न एकजुट हुनुको विकल्प नभएको बताएकी हुन् ।

नेपाल पनि जलवायु परिवर्तनको उच्च जोखिम भएका मुलुकमा पर्ने उल्लेख गर्दै उनले समयमै समस्या पहिचान गरेर ती समस्या समाधानका उपाय खोजिनुपर्नेमा जोड दिईन् ।

“बाढी, पहिरो, डुबान, हिउँ पहिरो, हिमताल विस्पोट जस्ता जलवायुजन्य विपद्का कारण ठूलो धनजनको क्षति भइरहेको छ । मलुकको अर्थतन्त्र ह्रास ल्याउन सक्छ”, उनले भनिन्, “जलवायुजन्य यी र यस्ता सङ्कट समाधानका लागि भएका नीतिहरुको प्रभावकारी कार्यन्वयन हुनुपर्छ । सबैमा सहकार्य र एकता कायम गरी जलवायुले निम्ताउन सक्ने सम्भावित जोखिम न्यूनीकरणमा लाग्नुपर्छ ।”

भण्डारीले जलवायु परिवर्तनको असरका कारण हिमालको हिउँ पग्लिएर कालापत्थरमा परिणत हुँदै गएको बताईन् । उनले समयमै जलवायु परिवर्तनको असर न्यूनीकरणमा जुट्न नसके हिमाल र हिमाली क्षेत्रमा बसोबास गर्ने जनसमुदायको अस्तित्व नै मेटिने धारणा राखिन् ।

यसैगरी उनले समाजिक, आर्थिक पूर्वाधार विकास लगायतका क्षेत्रमा जलवायु परिवर्तनको असर परिरहेको उल्लेख गर्दै जलवायुमैत्री पूर्वाधार निर्माण हुनुपर्नेमा समेत जोड दिईन् ।

“जलवायु परिवर्तनको असरले कृषि उत्पादनमा कमी भई खाद्य सङ्कट समेत निम्तन सक्छ, मानिसहरुको रोजिरोटी नै खोसिन सक्छ, जीवनशैलीमा प्रत्यक्ष असर गर्न सक्छ”, उनले भनिन्, “अर्को समस्या भनेको कतिपय स्थानमा जलवायु परिवर्तनको असरले पानीको मुहान नै सुक्न गइ खानेपानीको चरम सङ्कट भोग्नुपरेको छ ।”

जलवायुको खतराले गरिबीको दर बढ्नसक्ने भन्दै समयमा नै सचेत हुनुपर्ने भण्डारीको आग्रह छ । उनले जलवायु अनुुकुलनका क्षेत्रमा दिगो र प्रभावकारी अनुसन्धान गर्दै नीति तथा योजना कार्यान्वयन प्रभावकारी हुनुपर्नेमा समेत जोड दिईन् ।

स्वास्थ्य मन्त्रालयमा गुनासो सुनुवाई एकाइ गठन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डा .अनुप बास्तोलाको संयोजकत्वमा गुनासो सुनुवाई एकाइ गठन गरेको छ ।

उक्त एकाइमा संयोजक बास्तोलासहित सूचना प्रविधि निर्देशक रमेशराज सुवेदी, शाखा अधिकृत गौरीप्रसाद आचार्य र सूचना अधिकारी सदस्यको रुपमा रहेका छन् ।

स्वास्थ्य मन्त्रालय र मातहत निकायहरुको काममा सेवाग्राही तथा सरोकारवालाको गुनासो सुनुवाई गर्न, सुझावहरुको कार्यान्वयन र जिज्ञासाको सम्बोधन गर्न उक्त एकाइ गठन गरिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले यही मङ्सिर १६ गते गुनासो सुन्ने एकाइ गठन गर्ने निर्णय गरेका थिए ।  एकाइले सेवाग्राहीबाट प्राप्त गुनासो सङ्कलन गर्ने, गुनासो सम्बोधनका लागि सम्बन्धित महाशाखामा तुरुन्त पेश गर्ने जनाइएको छ ।

ग्रामीण दूरसञ्चार विकास कोष कार्यान्वयन गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडिएफ) कार्यान्वयन गर्न नेपाल दूरसञ्चार प्राविधिकरणलाई निर्देशन दिएका छन् ।

प्राधिकरणको कार्यालय अनुगमनपछि मन्त्री गुरुङले बोर्ड निर्देशक एवं कर्मचारीलाई निर्देशन दिँदै सेवाप्रदायकसँग समन्वय गरेर जतिसक्दो छिटो आरटिडिएफ परिचालन गर्न निर्देशन दिएका हुन् ।

मन्त्री गुरुङले एकीकृत कार्यालय व्यवस्थापन प्रणाली डिजिटल नेपाल बनाउने अभियान साकार पार्न मन्त्रालय अन्तर्गतका संस्थानको सहकार्य आवश्यक रहेको बताए । उनले सुशासन कायम गर्नका लागि पनि डिजिटल नेपालको परिकल्पना महत्त्वपूर्ण भएको बताए ।

सबै स्थानीय त र प्रदेशमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जीआईओएमस) लागू गराउन सकियो भने भ्रष्टाचार नियन्त्रणमा ठूलो सहयोग पुग्ने उनको भनाइ थियो । उनले यस वर्ष जसरी भए पनि देशैभरी फोरजीको सेवा विस्तार गर्न निर्देशन समेत दिए ।

त्यसअवसरमा उनले काठमाडौँ महानगरपालिकामा फाइभजी सेवा सुरु गर्न लागिएको समेत जानकारी दिए । साथै आफ्नै सुरक्षण मुद्रण सञ्चालन गर्न लागिएको उल्लेख समेत उनले गरे ।

मन्त्री गुरुङसँगै अनुगमन पुग्नुभएका सञ्चार सचिव राधिका अर्यालले प्राधिकरणको नियमनकारी भूमिका थप प्रभावकारी बनाउन आवश्यक रहेकोमा जोड दिए । ‘सुरुवात भएका केही परियोजना लामो समयदेखि सम्पन्न हुन सकेका छैनन् भने नयाँ परियोजनामा प्रवेश गर्न सकिएको छैन,’ उनले भने, ‘सुरु गरिएका काम पूरा गर्नेतर्फ ध्यान दिनुहोला ।’

उनले दूरसञ्चार ऐन २०५३ संशोधनको प्रक्रियामा रहेको र यसका केही विषयमा बृहत छलफल आवश्यक रहेको समेत धारणा राखे ।

त्यसअवसरमा प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीले कार्यालयका समस्या, कार्य चुनौती र भावी योजनाबारे जानकारी गराएका थिए । उनले भाडाको घरमा बस्दै आएको प्राधिकरणको आफ्नै भवन बनाउन आवश्यक रहेको मन्त्री समक्ष सुनाए । यसका लागि जग्गा र बजेटको समेत व्यवस्थापन कार्य थालनी भएको उनको भनाइ थियो ।

मन्त्री गुरुङले पनि प्रविधिको विकास गर्न भौतिक संरचनाको व्यवस्थापन पहिलो आवश्यकता भएकाले भवन निर्माणमा मन्त्रालयको सहयोग रहने प्रतिबद्धता जनाए ।

वित्तीय साक्षरता र गरिबीको सम्बन्ध

-अचुतकुमार ओझा
वित्तीय साक्षता कार्यक्रमहरुमा आजकल केही चल्तिका प्रश्नहरुमा छलफल हुने गरेको पाइन्छ । के कुनै पनि व्यक्तिसँग वित्तीय शिक्षा प्रर्याप्त छ भने ऊ धनी हुन्छ ?  वित्तीय रुपमा साक्षर हुनु सम्पत्तिको मालिकका लागि हकदार हुनु हो ? वित्तीय साक्षरता भएर पनि मान्छे किन गरिब हुन्छ ? वित्तीय साक्षरताले भरिएकाहरु किन सीमित साधन स्रोतले आफ्नो जीविका धान्न बाध्य छन् ? स्वयम् साक्षरता सिकाउने व्यक्ति स्वतन्त्र छैन भने सिक्ने व्यक्ति स्वतन्त्र हुन सम्भव छ ?  त्यसो हो भने केका लागि वित्तीय साक्षरता सिक्न आवश्यक छ ? यस्ता प्रश्नहरुलाई एक ठाउँमा राखेर हेर्दा आर्थिक स्वतन्त्रताको पहिलो पाइला वित्तीय साक्षरता हो तर यो पूर्ण र अन्तिम होइन भन्न सकिन्छ । यसैले भनिन्छ धनको नियम नै सपना, साक्षरता, सङ्कल्प र सङ्घर्ष हो ।

मानिसले वित्तीय साक्षरताको माध्यमबाट सम्पन्नतासम्म पुग्ने बाटो पहिचान गर्न सक्छ तर बाटोको यात्रा यतिले मात्रै पूरा हुन सक्दैन । यसको लागि मार्गमा हिड्नु पर्छ, हिड्ने तयारी गरेर मात्रै गन्तव्यमा पुग्न सकिंदैन । केवल ज्ञानले मात्रै पुग्दैन, सँगसँगै अभ्यासमा जान नसक्ने हो भने मानिस वित्तीय ज्ञानी हुन सक्छ तर स्वतन्त्र हुन सक्दैन । हरेक ज्ञानलाई जबसम्म कार्यमा बदल्ने हिक्मत रहँदैन त्यो ज्ञानको कुनै अर्थ रहँदैन, त्यसले कुनै लक्ष्य भेट्न सक्दैन, त्यसले जीवनमा कुनै उपलब्धि ल्याउन सक्दैन । हामीले बुभm्नु पर्ने कुरा के हो भने कयौ शिक्षकले ज्ञान दिन्छन् त्यसलाई उ आफै कार्यमा रुपान्तरण गर्न लागि पर्दैन तर एउटा विद्यार्थी त्यही शिक्षकबाट प्राप्त ज्ञानलाई बजारको समस्या समधान गर्नको लागि कार्यमा रुपान्तरण गर्ने आँट गर्छ तब उ सफल भएर निस्कन सक्छ । तपाई आर्थिक सम्बृद्धि नभएका ज्ञान भएका व्यक्तिबाट नै शिक्षा लिएर त्यसलाई आयमा बदल्न थाल्नु भयो भने हो शिक्षा दिने व्यक्तिले स्वतन्त्रता नपाए पनि तपाईको आर्थिक स्वतन्त्रता कसैले रोक्न सक्दैन ।

वित्तीय ज्ञान हुने बित्तिकै आर्थिक स्वतन्त्रता सम्भव छैन तर स्वतन्त्रताको लागि बन्द रहेका ढोका ढकढकाउने एउटै उपाय हो वित्तीय साक्षरता । तसर्थ वित्तीय साक्षरता भएर पनि मान्छे गरिब हुने गर्छ । मानिसभित्र रहने निम्न केही पक्षहरुले नै मानिस धनी वा गरिब हुने गर्दछ ।

अभ्यास : आर्थिक स्वतन्त्रताको दृष्टिकोणले हेर्ने हो भने जबसम्म ज्ञानको चक्र तोडेर कर्ममा रुपान्तरण गरिदैन तबसम्म त्यो ज्ञान लाखौंपटक सिके पनि मानिस त्यही स्थानमा हुने छ, जुन स्थानमा उ ज्ञान लिनुभन्दा अगाडि थियो । त्यसैले तपाईंको सफलता कति पटक पढ्नु भयो, ज्ञान लिनु भयो वा सिक्नु भयोमा मात्रै निर्भर नभई त्यो ज्ञानलाई आफ्नो व्यवहारमा कति खरो ढङ्गले उतार्नुभयो कि भएन त्यसमा भर गर्छ । जब वित्तीय ज्ञान व्यक्तिले पाउँछ उ ज्ञानी त होला तर उसले त्यसलाई अभ्यासमा ल्याएन वा ल्याउन सकेन भने उ धनी हुन सक्दैन । यसैले मानिस वित्तीय ज्ञान भएर पनि गरिब हुने गर्छ । उदाहरणको रुपमा, एउटा व्यक्तिले पौडी खेल्ने सम्पूर्ण सैद्धान्तिक ज्ञान पटकपटक लिन्छ तर उ कहिले पौडी खेल्न अभ्यास गर्दैन भने के उसलाई कुनै खोलामा लगेर छोडिदिने हो भने पारि किनारामा पुग्न सम्भव छैन । हो वित्तीय साक्षरताले पनि मानिसलाई धनी हुनको लागि सिद्धान्त सिकाउँछ । यदि त्यसलाई अभ्यासमा ल्याउन नसक्ने हो भने मान्छे धनी हुन सक्दैन, त्यही पौडीबाज जस्तै हुनेछ । जबसम्म वित्तीय ज्ञानलाई अभ्यासमा रुपान्तरण गरिंदैन तबसम्म मान्छे गरिब नै रहन्छ ।

डर : रोर्बटी कियोसाकीले ‘धनी बुबा गरिब बुबा’ पुस्तकमा भने जस्तै हरेक व्यक्तिको मनभित्र डररुपी चल्ला हुने गर्छ । आर्थिक निर्णय गर्दैगर्दा मान्छेले परिवार, आफ्नो भविष्य, समाजको दबाब, प्रतिस्पर्धा, आफन्तको सुझाव, आफ्ना मूल्य, मान्यता र जिम्मेवारीका कारण जोखिम भएभन्दा बढी असुरक्षित महसुस गर्छ । यही डरका कारण मानिससँग वित्तीय ज्ञान भएर पनि प्रतिफलको लागि जोखिम बहन गर्न डराउँछ र उसले त्यो कारोबार नै गर्दैन, जसले उसलाई भविष्यमा आर्थिक स्वतन्त्रता दिन सक्ने थियो । उसले हरेक क्रियाकलापमा नकारात्मकता पाउँछ, घाटा देख्छ, प्रतिस्पर्धी आफूभन्दा बलियो रहेको ठान्छ, आफू प्रतिस्पर्धा गर्न असक्षम भएको महशुस गर्छ, बजारमा टिक्नै नसक्ने कमजोर ठान्छ । यसले गर्दा कतै आफ्नो मूल धन नै गुम्ने त होइन, फलानो बिग्रेको, ढिस्कानो ओरालो लागेको जस्ता उदाहरण लिदै आफ्नो हुँदाखाँदाको सहज जीवन कतै नबिग्रियोस् बरु यति नै ठीक छ भन्ने डरका कारण जब वित्तीय ज्ञान भएर पनि मानिस आफ्ना सीमित कर्ममा खुम्चन चाहन्छ । त्यस्तो डरका कारण वित्तीय ज्ञान भएर पनि मान्छे गरिब हुन सक्छ ।

लोभ : हरेक व्यक्तिमा आशा र लोभ हुने गर्छ । भलै कसैमा बढी होला, कसैमा कम हुने गर्छ तर प्रत्येक व्यक्तिभित्र लोभ छ भन्दा अन्यथा नरहला । जब मानिसहरुमा अत्यधिक लोभको मात्रा देखिन थाल्छ, तब उसले आफूले गरेका कारोबारहरुमा अझै मुनाफा हुने उच्च विश्वास राख्छ । यस्तो विश्वास तबसम्म भइरहन्छ, उसँग अझै धेरै कमाउने लोभ भइरहन्छ । यसले गर्दा उ आफूले खरिद गरेका वस्तुहरु बिक्री गर्न चाहँदैन । जब वस्तुको मूल्यले एउटा स्तर छुन्छ र फेरि ओरालो लाग्छ, त्यस समयमा यस्ता व्यक्तिहरु त्यसरी झरेको मूल्यबाट फर्किएर पहिला पुगेको उच्च विन्दुमा पुग्यो भने बिक्री गर्ने सोचमा पुग्छन् । त्यसपछि यथार्थमा बजारमा कारोबारको मूल्य बढ्न खोजेको जस्तो देखिन्छ तर पहिलाको उच्चविन्दुलाई भेट्न सक्दैन र त्यसैबाट तलतिर झर्न थाल्छ, तब वित्तीय साक्षरता भएर पनि आफूभित्रको लोभलाई नियन्त्रण गर्न नसक्दा यस्ता लगानीकर्ताहरु फेरि घाटामा बिक्री गर्न बाध्य हुन्छन् । यिनीहरुमा जब बजारमा मूल्य घट्न थाल्छ र पिंधमा आइपुग्छ अब कहिले बजार सुधार हुन सक्दैन भन्ने अत्यास देखापर्छ । तब आफ्नो सम्पत्ति कम मूल्यमा बेचबिखन गर्न तयार हुन्छन् । अब कहिले बजारमा नजाने भित्रभित्रै बाचा गर्छन् र घाटालाई स्वीकार्दै आफैँलाई धिकार्ने गरेको देखिन्छ । यसैले वित्तीय साक्षरता भएर पनि यस्ता मानिसहरु बढी लोभी हुँदा गरिब नै हुने गर्छन् ।

अनुशासन : कुनै व्यक्तिलाई हरेक दिन आफ्नो खातामा रु ५० राखेर वर्षमा रु १८ हजार दुई सय ५० प्रिमियमको इन्सोरेन्स गर्नु भन्यो भने कति जना तयार होलान् रु वा वार्षिक रु २२ हजार प्रिमियम पर्ने तिरेर त्यही किन्न सक्नु हुनेछ भनियो भने मानिसले कुन स्किम छनोट गर्छ होला रु केही घाटा नै भए पनि सजिलै अनुमान लगाउन सकिन्छ दोस्रो योजना छान्नेछ । पहिलो योजनाको लागि दोस्रोमा भन्दा बढी अनुशासनको जरुरी छ तर रु। तीन हजार सात सय ५० को फाइदा छ । मानिसले त्यो फाइदा थाहा पाएर पनि किन त्यसो गर्न चाहँदैन रु कारण एउटै छ मानिसले नाफाघाटा थाहा पाएर पनि उ आफू अनुशासनमा रहन नसक्दा महङ्गो खरिद गर्न तयार हुन्छ । मानौं कुनै खुत्रुकेमा दैनिक रु एकका दरले तीन सय ६५ दिन रु तीन सय ६५ जम्मा गर्नुहोस् भन्यो भने कति तयार हुन्छौँ । हो अनुशासन भनेको यही हो । हरेक व्यक्ति एकैपटक रु तीन सय ६५ हालेर खुत्रुके भर्न सक्छ तर प्रत्येक दिन रु एक हालेर रु तीन सय ६५ जम्मा गर्न सक्दैन । वित्तीय ज्ञान भएका व्यक्तिहरुसँग पनि लामो समयसम्मका लागि अनुशासन हुन नसक्दा लगानी गुम्ने गरेका छन् ।

अन्नपुर्ण चक्रिय वैकल्पिक पदमार्गमा पर्यटक बढ्दै

पर्वत । विश्वको दश उत्कृष्ट पदमार्गमा सूचिकृत अन्नपुर्ण चक्रिय पदमार्गमा सडक विस्तार भएपछि सञ्चालनमा आएको वैकल्पिक पदमार्गमा पर्यटकको आकर्षण बढ्दै गएको छ । 

कास्की जिल्लाको नयाँ पुलबाट पर्वतको मोदी गाउँपालिको ताङ्ले–भमरकोट–डाँडाकमेरे–माटे–जलजला–मोहोरेडाँडा–घोडेपानी जोड्ने पदमार्ग सञ्चालनमा आएपछि पर्यटकको आगमन बढ्न थालेको हो ।

नयाँपुलबाट पर्वतको मोदी र जलजला गाउँपालिका हुँदै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी जोड्ने नयाँ पदमार्ग तयार भएपछि पर्यटकको आगमन बढ्न थालेको स्थानीय पर्यटन व्यवसायी बताउँछन् ।

विशेषगरी युरोपियन, कोरियन, अस्टे«लियन, जर्मन तथा रसियन पर्यटकहरूले यो रुट प्रयोग गर्न थालेका छन्भने आन्तरिक पर्यटकको आगमन पनि बढेको होटल खड्का भिलेजका सञ्चालक रनबहादुर खड्काले जानकारी दिए । 

करिब १३ वर्षअघि पहिचान भएको नयाँपुल–मोहरिया–ताङले–भमरकोट–फलाटे–डाँडाकेटेरी–थामाको डिल–हम्पाल–जलजला–मोहरेडाँडा–फूलबारी–पुनहिल हुँदै घोडेपानी जोड्ने पदमार्ग सञ्चालनमा आएपछि पर्यटकको आकर्षण बढ्दै गएको पर्वत–भमरकोट–घोडेपानी पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष मनबहादुर खड्काले बताए । आधारभूतस्तरको पूर्वाधार तयार भएपछि उक्त वैकल्पिक पदमार्ग यस वर्षदेखि सञ्चालनमा आएको उनले जानकारी दिए । 

“पदमार्गमा आश्रयस्थल र खानेबस्ने ठाउँको व्यवस्थापन भएपछि पर्वत–भमरकोट–घोडेपानी पदमार्ग सञ्चालन गरिएको हो”, समितिका अध्यक्ष खड्काले  भने, “संस्कृति र प्रकृतिले भरिपूर्ण यो पदमार्ग साहसिक गन्तव्य हो ।” मनोरम हिमश्रृङ्खला, सुन्दर वनजङ्गल, हावापानी, सुर्योदय र सुर्यास्तको दृश्यावलोकन गर्नुका साथै तनाव व्यवस्थापनका लागि यो पदमार्ग निकै आकर्षक मानिएको उनको भनाइ छ । 

विसं २०६८ मा स्थापना भएको संस्थामार्फत तत्कालीन जिल्ला विकास समिति, सङ्घीतापछि गाउँपालिका, प्रदेश सरकार र सङ्घीय सरकारको गरी हालसम्म  एक करोड ६० लाख सहयोगमा नयाँ पुलबाट पर्वतको सबैभन्दा उच्च स्थानमा रहेको हम्पालसम्मको १६ किलोमिटर पदमार्ग निर्माण भएको खड्काले जानकारी दिए । “ढुङ्गाको सिँढी चिनेर पदमार्ग निर्माण गरिएको हो । पदमार्गमा १० वटा विश्रामस्थल निर्माण भएका छन्, उनले भने ।

हम्पालबाट जलजला जोड्ने पदमार्ग निर्माणका लागि गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा  ३० लाख बजेट विनियोजन गरेको गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले जानकारी दिए । उक्त पदमार्गलाई व्यवस्थित बनाउन आगामी बजेटमा पनि प्राथमिकता दिने उनले उल्लेख गरे ।  

पदमार्गले पर्वतको मोदी गाउँपालिका–१, २, ३ र ५, जलजला गाउँपालिका–५ र ६ तथा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, ७ र ८ वडालाई समेटेको छ । हिमाल, पहाडी भूगोल अवलोकन गर्दै यात्रा गर्न सकिने यो पदमार्गमा पर्ने लौँसीबोट, भूक र ताङ्ले तथा लेसपार्कमा घरबास (होमस्टे) सञ्चालन भएका छन् ।

साथै मगर, गुरुङ, दलित, क्षेत्री र ब्राह्मण समुदायको विविधतायुक्त संस्कार, संस्कृति, रहनसहन र जनजीवन यो पदमार्गको आकर्षण हो ।

दुई रात तीन दिनमा यात्रा गर्न सकिने यो पदमार्गमा पर्ने वनजङ्गलमा विभिन्न प्रजातिका जडीबुटी, वन पैदावर पाइनुका साथै मृगलगायत वन्यजन्तुको बसोबास छ । गाईभैँसीका घुम्ती गोठ पनि देख्न सकिन्छ भने धवलागिरि र अन्नपूर्ण रेञ्जका हिमाल अवलोकन गर्दै यात्रा गर्न पाइन्छ ।

पदमार्गमा पर्ने पर्वतको फलाटे, हम्पालस्थित वाइफाई डाँडा र जलजलामा चिया पसल र रेष्टुन्ट तथा सामुदायिक लज सञ्चालन भएका छन् । पूर्वजानकारी दिई आउने पर्यटकलाई पर्वत–भुमरकोट–घोडेपानी पर्यटन क्षेत्र विकास समितिले घुमाउने व्यवस्था मिलाउँदै आएको छ । 

पदमार्ग प्रवर्द्धनका लागि गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयको सहयोगमा टेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकीले पदमार्ग विस्तार, खोज तथा अनुसन्धान गर्दै आएको छ । उक्त कार्यमा पर्वतको मोदी र जलजला, कास्की र म्याग्दीका सम्बन्धित गाउँपालिकाले सहकार्य गरेका छन् । 

प्रदेशका उद्योग तथा पर्यटनमन्त्री बस्यालले अन्नपुर्ण चक्रिय पदमार्गमा सडकका कारण पर्यटकको पदयात्रा छोटिँदै गएका बेला नयाँ पहिचान भएको पदमार्गलाई प्रवर्द्धन गरी यसतर्फ पर्यटकको आकर्षण बढाउनुपर्नेमा जोड दिए । पदमार्गमा ठाउँठाउँमा खानेपानीको व्यवस्थापन चिया तथा चेमना गृहहरू, होटल तथा रेष्टुरेण्ट थप गर्नुपर्ने भन्दै प्रदेश सरकारले आवश्यक सहयोग गर्ने उनले प्रतिबद्धता जनाए । 

टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले अन्नपूर्ण चक्रीय पदमार्गको महत्वपूर्ण स्थल नयाँ पुल र घोडेपानीलाई जोड्ने उक्त पदमार्गमा पर्यटक भित्र्याउन चार दिने पदयात्रा आयोजना गरेरे प्रचारप्रसार, प्रवर्द्धन र विस्तारमा लागेको बताए । उनका अनुसार आपसी समन्वयका लागि मन्त्रालय, टान गण्डकीसहित सरोकार भएका निकायसहित ५० जनाको टोली अहिले पदयात्रामा छन् । 

सडकका कारण पुराना पदमार्ग विस्थापित हुँदा पोखरामा आउने पर्यटकको बसाइ छोटिएकाले नयाँ गन्तव्यको पहिचान र प्रर्वर्द्धनमा टानले जोड दिएको अध्यक्ष आचार्यले बताए । पोखराबाट नजिक पर्ने भएकाले पनि यो क्षेत्रमा पर्यटन विकासको सम्भावना प्रचुर रहेको उनको भनाइ छ । 

अध्यक्ष आचार्यका अनुसार प्रदेश सरकारले पर्वतको हम्पाल, घोडेपानी नजिकै कास्की र म्याग्दीको सिमानामा पर्ने मुण्डेलाई पोखराको स्याटेलाइट गन्तव्य घोषणा गरेको छ । सडकले छोटिएको अन्नपूर्ण चक्रीय पदमार्गमा सहायक गन्तव्य पहिचान गरेर पर्यटकको बसाइ लम्ब्याउन सरकार तथा निजी क्षेत्रले सक्रियता आवश्यक पर्नेमा उनले जोड दिए ।

कोशीका पूर्वमन्त्री अधिकारीलाई पक्राउ गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता

काठमाडौं । जापान मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारीमाथि मुद्दा नचलाउने निर्णयविरुद्ध बिहीबार सर्वोच्चमा रिट दर्ता भएको छ ।

अधिकारीमाथि मुद्दा नचलाउने सरकारी वकिलको निर्णय खारेज गर्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पेश गरेको रिट यसअघि सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको थियो ।

त्रिपाठीले त्यसविरुद्ध दिएको निवेदनमा सुनुवाइ गर्दै सर्वोच्चले रिट दर्ता गर्न आदेश दिएको थियो । उक्त रिटमाथिको सुनुवाइ आगामी आइतबारलाई तोकिएको छ ।

रिटमा पूर्वमन्त्री अधिकारीलाई तत्काल पक्राउ गरी प्रभावकारी अभियोजन गर्नुपर्ने निवेदकको माग छ । उनविरुद्ध मुद्दा नचलाउने गरी जिल्ला सरकारी वकिलबाट भएको निर्णय प्रथम दृष्टिमै गैरकानूनी र विधिको शासनविपरीत रहेको दाबी रिटमा गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँले अधिकारीलाई समेत प्रतिवादी बनाउन राय दिएको भए पनि सरकारी वकिल कार्यालयले उनको संलग्नता नदेखिएको भन्दै मुद्दा नचलाउने निर्णय गरेको थियो।

त्यसपछि अधिकारी रिहा भएका थिए। उनीसँग पक्राउ परेका अन्य ११ जनाविरूद्ध भने मुद्दा चलाइएको छ। मुद्दा चलाइएका मध्ये तीन जना पुर्पक्षका लागि जेल चलान भएका छन् तीन जना धरौटीमा र दुई जना साधारण तारेखमा रिहा भएका छन्।

दूध बेचेर वार्षिक २० लाख कमाइ

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–६ बिहुँका ४१ वर्षीय सुरेश कँडेल १० वर्ष अगाडि लन्डन पुगे । रोजगारीका लागि विदेशमा राम्रो कमाइ हुने आशाले लण्डन पुगेका कँडेल पाँच वर्षपछि स्वदेश फर्किए ।

विदेशको दुःख देखेपछि स्वदेश फर्किएका उनले काठमाडौँमा पाँच वर्ष होटल व्यवसाय गरे । होटल व्यवसाय राम्रो भए पनि उहाँलाई गाउँघरको यादले सताइ रह्यो । आधा दशक होटल व्यवसाय गरेका सुरेश अन्तत विसं २०७७ मा गाउँ फर्किए ।

उनी गाउँ फर्कने समयमा देशभर कोरोना सङ्क्रमणको फैलिँदो थियो । कोरोना सङ्क्रमणका कारण गाउँमा पनि अन्य काम गर्ने वातावरण थिएन । कँडेलका घरमा बाबाआमाले पहिलेदेखि नै सामान्य रुपमा दूध बिक्री गर्दै आएका थिए । गाउँपालिकाले दुग्ध उत्पादन गर्ने किसानलाई भैँसी अनुदान दियो ।

अनुदानमा पाएको भैँसीले सुरेशलाई दूध उत्पादनमा लाग्ने हौसला दियो । उनले थप दुई वटा भैँसी लिएर व्यावसायिक रुपमै दूध उत्पादन गर्ने निधो गरे । अहिले उनी जिल्लामै दुग्ध उत्पादन गर्ने अब्बल किसानका रुपमा परिचित छन् । सुरेशको भैँसीपालन व्यवसाय फस्टाउँदै गएपछि आम्दानी पनि राम्रो हुँदै गएको छ ।अहिले उनलाई लन्डनमा नमिलेको खुसी भैँसी पालेर मिलेको छ । उनले भैँसी पाल्न थालेपछि वरपरका अन्य किसानले पनि व्यावसायिक रुपमा दूध उत्पादनमा लागेका छन् ।

कँडेललाई अहिले घरपरिवारको पनि दरिदो साथ छ । चार वर्ष अगाडि फार्म दर्ता गर्नुभएका कँडेलले वार्षिक १५ हजार लिटर दूध बिक्री गर्दै आएका छन् । दुई लाखबाट सुरु गरेको व्यवसायमा हालसम्म रु २५ लाख बढी लगानी उनले गरिसकेका छन् । उनको फार्ममा हाल सात उन्नत जातका भैँसी छन् । बागलुङ बजार नजिक रहेको हुँदा दूध खपत राम्रो छ । कँडेलले वार्षिक रु २० लाखको दूध बिक्री गर्दै आएका छन्।

विदेशमा दुःख गर्नुभन्दा परिवारसँगै घरगोठ र बारीमा काम गरे पनि राम्रो आम्दानी गर्न सकिने उनको भनाइ छ । लन्डन पुगेका बेला स्पेन, पोर्चुगल, फ्रान्ससमेत घुमेको अनुभव सुनाउँदै त्यो ठाउँमा बस्न मन नलागेपछि स्वदेश फर्किएको कँडेलले बताए । विदेशको ठूलो सपना देखे पनि त्यहाँको जति दुःख आफ्नै खेतबारीमा गरे मनलाई सन्तुष्टि मिल्ने र आम्दानी पनि गर्न सकिने उनको भनाइ छ ।

“विदेशमा गएपछि सजिलै कमाइ हुन्छ भन्ने सोचेको थिएँ, त्यहाँ गएपछि दुःख त्यहाँको कामलाई हेरेर म आफ्नै ठाउँमा फर्किन्छु भनेर फर्किएँ, केही वर्ष होटल व्यवसाय गरे, त्यहाँ राम्रै भएको थियो, मलाई सहर बजारभन्दा गाउँनै ठिक लाग्यो र यहाँ आएँ”, कँडेलले भने, “अहिले मलाई गाउँ फर्किएकोमा कुनै पश्चाताप छैन, मैले जे गरे ठिक गरेँ जस्तो लाग्छ, मैले दुई वटा भैँसीबाट परीक्षणका लागि दूध उत्पादनमा लागेको थिएँ, अहिले मलाई लन्डनभन्दा भैँसीगोठमा सन्तुष्टि मिलेको छ ।”

कँडेलले गाउँमा सहर बजारभन्दा केही दुःख भए पनि सम्भावना धेरै रहेको बताए । पछिल्लो समय धेरै युवाको रोजाइ विदेश रहेको सुनाउँदै त्यहाँ (विदेश) गर्ने दुःख आफ्नै पाखा पखेरामा गरे राम्रो आम्दानी गर्न सकिने र आनन्दको जीवनयापन हुने उनको भनाइ छ । भैँसी पालेर दूध बिक्रीबाट आफ्नो परिवार राम्रोसँग चलेको कँडेल बताउँछन् ।

एनपीएलमा सुदूरपश्चिम रोयल्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले दोस्रो जित हात पारेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहीबार भएको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौँ गुर्खाजलाईलाई ७३ रनले हराएको हो । 

सुदूरपश्चिम रोयल्सले जितका लागि दिएको एक सय ६८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौँ गुर्खाज १५ दशमलव पाँच ओभरमा ९४ रन बनाउँदै अलआउट भयो ।

काठमाडौँका लागि स्टिफन एस्किनाजीले सर्वाधिक ३७ रन बनाए । उनले ३३ बलमा एक छक्का र पाँच चौकाको मद्दतले ३७ रन बनाएका हुन् । सुमित महर्जनले १४, भीम सार्की र गेरहार्ड इरासमसले समान १०/१० र प्रतिक श्रेष्ठले आठ रन बनाए । 

काठमाडौँका लागि माइकल लेविटले पाँच, शङ्कर राणाले तीन, रासिद खानले दुई रन बनाउँदा कप्तान करण केसी, नाथन सोटर र शाहब आलमले समान एक/एक रन जोडे । यो खेलमा काठमाडौँले अतिरिक्त दुई रन पायो । 

सुदूरपश्चिम रोयल्सका लागि नरन साउदले सर्वाधिक पाँच विकेट लिए । अभिनास बोहोराले दुई विकेट हात पार्दा ब्रान्डन म्याकमुलेन र सैफ जैबले समान एक/एक विकेट लिए । योसँगै सुदूरपश्चिम रोयल्सको यो दोस्रो जित हो । सुदूरपश्चिमले यसअघि विराटनगर किङ्गसलाई ९० रनले पराजित गरेको थियो । 

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ६७ रन बनाएको थियो । सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनको अर्धशतक प्रहार गरे ।

उनले ३६ बलमा चार छक्का र तीन चौकाको मद्दतले सर्वाधिक ५४ रन बनाए । कप्तान दीपेन्द्रसिंह ऐरीले २५ बलमा दुई छक्का र तीन चौका प्रहार गर्दै ४२ रन जोडेका छन् । 

यस्तै,  विनोद भण्डारीले ३५, सैफ जैबले ११, रोहन मुस्तफाले चार र आरिफ सेखले तीन रन बनाए । खेलमा अविजित रहँदै स्कट कुग्गेलिजनले सात र इशान पाण्डेले एक रनको योगदान दिए । यो खेलमा सुदूरपश्चिमले अतिरिक्त दश रन पायो । 

काठमाडौँका लागि रासिद खानले सर्वाधिक दुई विकेट लिए । गेरहार्ड इरासमस, शाहब आलम र कप्तान करण केसीले एक/एक विकेट लिएका थिए । एनपिएलमा काठमाडौँ गुर्खाजको यो दोस्रो हार हो । तीन खेल खेलेको काठमाडौँले यसअघि एक खेलमा विजयी भएको थियो ।  

अब भारत भ्रमणमा जान्छुः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भ्रमणको सुरुवात चीनबाट सुरु भएपनि छिट्टै भारत भ्रमणमा जाने बताएका छन् ।

बिहीबार चीन भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अब भारत भ्रमणमा जाने बताएका हुन् ।

उनले नेपाल उत्तरतिर ढल्केको भनाईको खण्डन गरे । उनले भने, ‘अब एरेन्ज गर्नुपर्छ। फर्केकै दिन कसरी भन्ने ? दक्षिणको मिडियाले मित्रहरुलाई भड्काउने, आक्षेप गर्ने कुरा गरेको छ भने त्यो राम्रो तरिका होइन। भारतका लिडरहरुले यस्तो गरेको थाहा छैन।’

उनले चीन भ्रमण सफल भएको र नेपालको विकासका लागि धेरै आयोजनामा सहमति र सम्झौता भएको बताए । उनले चीनसँग ऋण लिन लाग्यो भन्दै भ्रम छर्ने काम भएको भन्दै आपत्ति जनाए । उनले अबको १८ महिनासम्म आफू प्रधानमन्त्री रहने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने बताए ।

चीनसँग भएका सम्झौतामा ऋण सम्बन्धी कुरा चलेको छैनः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बीआरआई अन्तर्गतका परियोजनाबारे छुट्टै छलफल हुने बताएका छन् । बिहीबार चीनको चार दिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले अहिले चीन भ्रमणको क्रममा भएका सम्झौता ऋणमा हुने गरि नगरिएको जानकारी दिएका हुन् ।

उनले हरेक परियोजना कसरी कार्यान्वयन हुनेपछि छलफल हुने बताए । उनले भने, ‘ऋण सम्बन्धी कुरा पनि चलेको छैन । फेरि ऋणको कुरा कहाँबाट आउँछ ? सधैं ऋण–ऋण–ऋण यो रट किन साह्रै बजिरहेको छ ? होइन भनेर हामीले पटकपटक भनेका छौं ।’

उनले बीआरआई अन्तर्गतका परियोजनाबारे छुट्टै छलफल र सहमति गर्ने बताए । उनले भने, ‘ बीआरआई कार्यान्वयन गर्ने भन्ने सम्बन्धमा हरेक परियोजना अन्तर्गत पछि हामी छुट्टै छलफल र सहमतिहरू गर्छौं ।’

बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका थिए । त्यस अवसरमा उनीहरूबीच नेपाल–चीन सम्बन्धका साथै द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओली र उनका चिनियाँ समकक्षीको उपस्थितिमा नेपाल र चीनबीच विभिन्न समझदारी भएका छन् । दुवै देशका प्रधानमन्त्रीबीच द्विपक्षीय वार्तापछि पारस्परिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल र चीनबीच भएको टोखा–छहरे सुरुङमार्ग निर्माणसम्बन्धी समझदारीपत्रमा दुवै देशका सम्बद्ध अधिकारीले हस्ताक्षर गरेर आदानप्रदान गरेका छन् ।

यसैगरी नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । चीनले काठमाडौँको वसन्तपुरस्थित नौतले दरबार पुनःनिर्माण सम्पन्न गरेको प्रमाणपत्र आदानप्रदान भएको छ । यसका साथै भैँसीको मासु चीन निर्यातसम्बन्धी प्रोटोकलमा समझदारी भएको जनाइएको छ ।

यस्तै, विकास आयोजना, आर्थिक तथा प्राविधिक सहयोग तथा नगद सहयोगसम्बन्धी सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको छ । भ्रमणका अवसरमा स्वयम्सेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारी तथा नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

यसै अवसरमा नेपाल र चीनबीच बिआरआई फ्रेमवर्कसहित विभिन्न महत्वपूर्ण सम्झौता भएका छन् । सन् २०२५ मा चीनबाट धेरै पर्यटक नेपाल भित्राउनेबारे पनि उनीहरूबीच कुराकानी भएको जनाइएको छ ।

नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार नेप्से दोहोरो अंकले घटेको छ । बुधबार २४.९७ अंकले घटेको नेप्से बिहीबार १५.९३ अंकले घटेको छ ।

नेप्से घटेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा घटेको छ। आज ३०७ स्क्रिप्सको १ करोड ६७ लाख ९७ हजार ७२७ कित्ता सेयर ८ अर्ब ३६ करोड ९६ लाख ८६ हजार ४०२ रुपैयाँमा कारोबार भएको छ ।

आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट कारोबार भएन । खानीखोला हाइड्रोपावरको सेयर ९.९८ प्रतिशतले बढ्दा सुपर मादी हाइड्रोपावरको ९.९५,मानुषी लघुवित्त वित्तीय संस्थाको ९.८१ र लाइफ इन्स्योरेन्स कर्पोरेसनको ७.९९ प्रतिशतले मूल्य बढ्यो ।

कारोबार रकमका आधारमा नेपाल फाइनान्स समूह शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ४२ करोड मूल्य बराबरको सेयर कारोबार भयो। यसैगरी एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको २९ करोड,लाइफ इन्स्योरेन्स र रसुवागढी हाइड्रोपावरको २०/२० करोडको सेयर कारोबार भयो ।

गण्डकीका चार अस्पतालको स्तरवृद्धि गरिँदै

गण्डकी । स्थानीय तहअन्तर्गत रहेको गोरखाको आँपपिपल अस्पताल र बागलुङको बुर्तिबाङ अस्पताल गण्डकी प्रदेश सरकार मातहत आएको छ । दुवै अस्पताललाई ५० शय्यामा स्तरवृद्धि गरी नयाँ व्यवस्थापनका साथ सञ्चालन गर्न लागिएको प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै अस्पतालको नाम संशोधन गरेको मन्त्रालयका सचिव डा विनोदबिन्दु शर्माले जानकारी दिए । यसअघि ढोरपाटन नगरपालिकामा रहेको बुर्तिबाङ अस्पताल प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा सञ्चालित थियो । आँपपिपल अस्पताल गोरखाको पालुङटार नगरपालिकाअन्तर्गत रहँदै आएको थियो ।

त्यस्तै कास्कीस्थित गण्डकी आयुर्वेद अस्पताल र बागलुङको धवलागिरि आयुर्वेद अस्पताललाई पनि अन्तरङ्ग सेवासहित २५ शय्याको सुविधायुक्त आयुर्वेद अस्पतालका रूपमा स्तरवृद्धि गर्न लागिएको मन्त्रालय सचिव डा शर्माले जानकारी दिए । “चारवटै अस्पतालका कर्मचारीको सङ्गठन तथा व्यवस्थापन (ओएनएम)को काम यसै साताभित्र टुङ्गिन्छ”, उनले भने, “गुणस्तरीय व्यवस्थापन र स्तरीय सेवासहित यी अस्पताल सञ्चालन हुनेछन्, आगामी पुसभित्र उद्घाटनको तयारी भइरहेको छ ।”

स्थानीय तहले बुर्तिबाङ र आँपपिपल अस्पताललाई प्रदेश सरकारले जिम्मा लिइदिन आग्रह गरेपछि प्रदेश सरकारले आफू मातहत सञ्चालनको प्रक्रिया सुरु गरेको हो । प्रदेश मन्त्रिपरिषद्को प्रस्तावलाई सङ्घीय मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि ती दुई अस्पताल प्रदेश सरकारअन्तर्गत आएका हुन् ।

प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले गत कात्तिक १२ गते बसेको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्षभित्र गण्डकी र धवलागिरि आयुर्वेद अस्पतालमा अन्तरङ्ग सेवा विस्तार गर्ने निर्णय गरेको जानकारी दिए ।

“एक करोड २५ लाखको बजेट सुनिश्चित भइसकेको छ, सेवा विस्तारको काम तत्काल सुरु हुन्छ”, उनले भने, “आगामी आवको बजेटमा पनि आयुर्वेद अस्पतालका लागि प्राथमिकताका साथ बजेट विनियोजन गर्छौँ ।” मन्त्री पाठकका अनुसार गण्डकी प्रदेशभित्र रहेका आयुर्वेद अस्पतालमा पहिलोपटक अन्तरङ्ग सेवा सुरु गर्न लागिएको हो ।

प्रदेश सरकारले होमियोपेथिक, आयुर्वेद र प्राकृतिक चिकित्सा गरी तीनै क्षेत्रलाई महत्वका साथ अगाडि बढाइरहेको स्वास्थ्यमन्त्री पाठकले बताए । कास्की र बागलुङको आयुर्वेद अस्पतालमा भवनलगायत भौतिक पूर्वाधार थप गर्न स्रोत व्यवस्थापनको काम भइरहेको उनले उल्लेख गरे ।

“आयुर्वेद अस्पताल स्रोतसाधनको अभावमा गुज्रिरहेका थिए, सरोकार भएका निकायको पनि यसअघि खासै ध्यान पुग्न सकिरहेको थिएन”, मन्त्री पाठकले भने, “व्यवस्थित पूर्वाधार, स्रोतसाधनको प्रबन्ध गर्दै गुणस्तीय स्वास्थ्य सेवा दिने थलोका रूपमा आयुर्वेद अस्पताललाई विकास गर्दै लैजाने योजनामा मन्त्रालय छ ।”

एनपीएलमा सुदूरपश्चिम रोयल्सले दियो काठमाडौँलाई १६८ रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौँ गुर्खाजलाई जितका लागि १६८ रनको लक्ष्य दिएको छ । 

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १६७ रन बनाएको हो । सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनको अर्धशतक प्रहार गरे । उनले ३६ बलमा चार छक्का र तीन चौकाको मद्दतले सर्वाधिक ५४ रन बनाए । कप्तान दीपेन्द्रसिंह ऐरीले ४२ रन बनाए । ऐरीले २५ बलमा दुई छक्का र तीन चौका प्रहार गर्दै ४२ रन जोडेका हुन् । 

यस्तै विनोद भण्डारीले ३५, सैफ जैबले ११, रोहन मुस्तफाले चार र आरिफ सेखले तीन रन बनाए । खेलमा अविजित रहदैँ स्कट कुग्गेलिजनले सात र इशान पाण्डेले एक रनको योगदान दिए । सुदूरपश्चिमले अतिरिक्त दश रन पायो । 

काठमाडौँका लागि रासिद खानले सर्वाधिक दुई विकेट लिए । गेर्हार्ड इरास्मस, शाहब आलम र कप्तान करण केसीले एक÷एक विकेट हात पारे । अहिले काठमाडौँ गुर्खाजले जवाफी ब्याटिङ गरिरहेको छ ।

चीन भ्रमण पूरा गरी प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौँ । चीनको चार दिने औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार स्वदेश फर्किएका छन् ।

प्रधानमन्त्री ओलीलाई चीनका उपपरराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहीबार बिहान ११ बजे बिदाइ गरेका थिए ।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री, मन्त्रीहरू र उच्च पदस्थ अधिकारीहरूले स्वागत गरेका थिए । प्रधानमन्त्री ओली गत आइतबार नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गरेका थिए ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री, ली छ्याङ, चिनियाँ राष्ट्रिय जनकाँग्रेस (संसद्का) अध्यक्ष लगायतसँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा दुई देशबिच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएको छ ।

बीआरआई सम्झौतामा दश वटा परियोजना समेटिएका छन् । त्यस्तै चिनियाँ राष्ट्रपति सीले नेपाललाई करिब नौ अर्ब अनुदान सहयोग घोषणा गरेका थिए ।

बोक्से–सिगाना खण्ड स्तरोन्नति

गलकोट। एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’अन्तर्गत बागलुङ क्षेत्र नं १ मा पर्ने बोक्से–सिगाना खण्डको स्तरोन्नति सकिएको छ । उक्त सडक स्तरोन्नतिसँगै कालोपत्रे गर्न अलकत्रा बिछ्याउन बाँकी छ ।

विसं २०७९ साउन ३० गते ठेक्का सम्झौता भएको एक निर्वाचन क्षेत्र एक रणनीतिकअन्तर्गतको बागलुङ बजारबाट सिगना हुँदै शान्तिपुर जोड्ने सडक कालोपत्रेको चरणमा पुगेको हो ।

समयमा भुक्तानी नपाउँदा अघिल्लो असारदेखि गत असारसम्म एक वर्ष निर्माण ठप्प भएको सडक अहिले कालोपत्रका लागि ग्राभेल गरिएको छ । भौतिक पूर्वाधारको काम सकेको निर्माण व्यवसायीले भुक्तानी नपाउँदा निर्माणले गति लिन सकेको थिएन । पछिल्लो तीन महिनायता उक्त सडकको बागलुङ नगरपालिका–८ वडा कार्यालयसम्म कालोपत्रेको तयारी गरिएको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ ।

सम्झौता अघि काम सक्नेगरि निर्माणले गति लिएको सडक भुक्तानीमा समस्या भएर रोकिए पनि अहिले कालोपत्रेको काम गर्ने तयारीका लागि छ किलोमिटर ग्राभेल बिछ्याइसकिएको कार्यालयका प्रमुख हरि सुवेदीले जानकारी दिए। उनले सुरुमा सरकारले भुक्तानी दिन नसकेकाले एक वर्षसम्म निर्माणले गति लिन नसकेको स्वीकार गरे।

प्रमुख सुवेदीका अनुसार उक्त सडकको १० किमीमध्ये छ किमी कालोपत्रका लागि तयारी भएको र अन्य चार किमीमा पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको छ ।

‘सुरुमा निर्माण व्यवसायीले अत्यन्तै छिटो काम गरेको थियो, पछि आर्थिक समस्याले भुक्तानी दिन नसक्दा काम रोकिएको थियो’, उनले भने, ‘अहिले बोक्सेबाट वडा कार्यालयसम्म सबवेस र ग्राभेल बिछ्याएर कालोपत्रे गर्ने तयारी भएको छ । आगामी चैतसम्म कालोपत्रे सक्ने निर्माण व्यवसायीले कार्यसूची पेस गरेको छ ।’

चैतसम्म छ किमी सकड कालोपत्रे सक्ने तयारीका साथ निर्माणले अन्तिम रूप लिएको निर्माण व्यवसायी कर्ण विल्र्डस प्रमुख नवीन गुरुङले बताए। उनले सम्झौता अनुसार निर्धारित समयभित्र काम सक्नेगरि काम गरिए पनि भुक्तानी रोकिएपछि काम रोकिएको उल्लेख गरे।

सम्झौता अवधिभित्र छ किमी सडक कालोपत्रे गर्न अहिले धमाधम काम गरिरहेको बताउँदै बाँकी चार किमीमा पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको गुरुङले जानकारी दिए।

सडक निर्माण सुरु भएको पाँच महिनामा ४० प्रतिशत काम सम्पन्न भए पनि आर्थिक अभावले काम छोडेर निर्माण व्यवसायी हिँड्दा ढिलाइ भएको स्थानीय राजन जिसीले बताए। दश किमी कालोपत्रे गर्न रु २९ करोड ३७ लाख ८८ हजारमा ठेक्का सम्झौता भएको थियो ।

सडक चौडा पार्ने, नाली निर्माण गर्ने, पक्की पर्खाला, ग्याबिन जाली हाल्ने, कल्र्भट निर्माण, सबवेस तथा छ किमी सडकमा ग्राभेल बिछ्याउने, आधा दर्जन घुम्ती ढलानलगायत काम सम्पन्न भइसकेका छन् ।

महिलाविरुद्धको हिंसा सह्य हुँदैनः गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले महिलामाथि हुने जुनसुकै प्रकृतिका हिंसा सह्य नहुने बताएका छन् ।

बिहीबार सिंहदरबारस्थित गृहमन्त्रालयमा ३३औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्धको १६ दिन अभियानका सन्दर्भमा यहाँ कार्यरत २६ वटा नागरिक संस्थाले बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै सरकार महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्न प्रतिबद्ध रहेको बताए।

वैदेशिक रोजगारीमा महिला सुरक्षाको विषयमा पनि आफू गम्भीर रहेको उल्लेख गर्दै उनले आप्रवासी महिला कामदारलाई शोषण र दुव्र्यवहारबाट जोगाउन सरकारका संयन्त्रहरू क्रियाशील रहेको जानकारी दिए।

‘पछिल्लो समय सामाजिक सञ्जाल, डिजिटल मिडियामार्फत पनि महिला प्रताडित छन्’, गृहमन्त्री लेखकले भने, ‘लोकतन्त्रमा आलोचना, विरोध र धारणा राख्न पाइन्छ तर सभ्य र सुसंस्कृत ढङ्गबाट गर्नुपर्छ ।’

उनले डिजिटल मिडियामा आइरहेको घृणात्मक अभिव्यक्ति र हिंसा, दुर्व्यवहार नियन्त्रणका लागि पहल भइरहेको बताए।

संविधानको भावना अनुरुप समानुपातिक प्रतिनिधित्वलाई सुनिश्चित गर्न बन्दै गरेको एकीकृत निर्वाचन विधयेक सङ्घीय संसद्को आगामी अधिवेशनमा पेस हुने गरी गृहमन्त्रालय अघि बढेको मन्त्री लेखकको भनाइ थियो ।

जातीय आधारमा हुने विभेद, अपमान र सबैखाले हिंसा अन्त्यलगायतका १६ बुँदे ध्यानाकर्षण पत्र बुझाउन कोपिला नेपाल, विश्वास नेपाल, जागृति महिला महासङ्घ लगायतका २६ वटा संस्थाका प्रतिनिधि आएका थिए ।

दक्षिण कोरियाका राष्ट्रपतिमाथि प्रहरीको अनुसन्धान सुरु

बीबीसी । दक्षिण कोरियामा अप्रत्याशित रूपमा ‘मार्शल ल’ घोषणा गरेपछि सबैतिरबाट आलोचित राष्ट्रपति यून सुक यउललाई उनकै पार्टीले पदबाट राजीनामा दिन आग्रह गरेको छ ।

मङ्गलबार राति सैन्य शासन लगाउने घोषणा गरेर ‘विद्रोह’ गरेको आरोपबारे प्रहरीले राष्ट्रपतिमाथि छानबिन थालिएको एक वरिष्ठ प्रहरी अधिकारीले बिहीवार बताएका छन् । सांसदहरूले सैन्य अधिकारीहरूलाई बोलाएर मङ्गलबार रातिको अप्रत्याशित घोषणा र त्यसको कार्यान्वयनसँग सम्बन्धित विषयमा सोधपुछ गर्न थालेका छन् ।

विपक्षी दलले राष्ट्रपति यून र अन्य केही व्यक्तिविरुद्ध उजुरी दर्ता गरेपछि प्रहरीले छानबिन सुरु भएको बताइएको छ । दक्षिण कोरियाको कानुनअनुसार विद्रोहको अपराधमा राष्ट्रपतिलाई पनि उन्मुक्ति हुँदैन ।

उक्त अभियोगमा दोषी ठहर हुँदा मृत्युदण्डसम्म हुन सक्छ । विपक्षी दलका सांसदहरूले उनीविरुद्ध महाभियोग लगाउने प्रक्रिया थालेका छन्। त्यसका लागि एउटा प्रस्ताव संसद्मा पेस भइसकेको छ । महाभियोगको प्रस्तावमा शनिवार मतदान हुने ठानिएको छ । पूरै प्रकरणबारे राष्ट्रपति यूनले अहिलेसम्म कुनै सार्वजनिक टिप्पणी गरेका छैनन् ।

पूरै विश्वलाई चकित पार्ने गरी दक्षिण कोरियाली राष्ट्रपतिले मङ्गलवार राति घोषणा गरेको सङ्कटकालीन ‘सैन्य शासन’ एक रात पनि टिकेन। सैन्य कानुन लागु गराउने काममा आफ्नो भूमिकाका लागि क्षमायाचना गर्दै रक्षा मन्त्री किम योङ–ह्युनले राजीनामा दिइसकेका छन् ।

संसद्मा भएको सोधपुछका क्रममा सैन्य कानुन लागु गर्ने योजनाबारे धेरै कम व्यक्तिलाई जानकारी भएको थाहा भएको छ। उपरक्षामन्त्रीका अनुसार सैन्य कानुन लागु भएको कुरा उनले समाचारबाट मात्र थाहा पाएका थिए ।

विपक्षी दल डेमोक्र्याटिक पार्टीका एक सांसदले कार्यवाहक रक्षामन्त्री किम सिअन–होलाई ’मार्शल ल’ कार्यान्वयन गर्ने नेतृत्व गरेका सैन्य कमान्डरलाई राज्यविप्लवको आरोपमा पक्राउ गर्न आह्वान गरेका छन् ।

‘ओपेक प्लस’ले तेल आपूर्ति कटौती गर्नसक्ने अनुमान

भियना ओपेक तेल कार्टेल र यसका सहयोगीहरूले बिहीबार कच्चा तेलको विश्वव्यापी बजारमा मूल्यमा तीव्र गिरावट नआओस् भनेर आपूर्ति कटौतीको अवधि बढाउने अपेक्षा गरिएको छ ।

आइतबारका लागि तय गरिएको बैठकमा सदस्यहको उपस्थितिमा देखिएको ढिलाइले मूल्य वृद्धिको कटौतीलाई निरन्तरता दिन सकिनेमा केही शङ्का उत्पन्न भएको छ ।

“ओपेक प्लसले पहिलो त्रैमासिकको अन्त्यसम्म थप तीन महिनाका लागि उत्पादन वृद्धि स्थगित गर्ने बिहीबार निर्णय गर्ने अपेक्षा गरिएको छ,” कमर्स बैङ्कका विश्लेषक कार्स्टन फ्रिट्सले भने । “केही देशहरू उत्पादन बढाउन चाहन्छन् त्यसैले अझै पनि अनिश्चितताहरू छन्,”उनले भने ।

भियनास्थित ओपेक सङ्गठननिकट स्रोतका अनुसार भर्चुअल बैठक स्थानीय समयअनुसार बिहीबार ११ः३० बजे सुरु हुनेछ ।

“प्रति दिन २.२ मिलियन ब्यारेलको स्वैच्छिक अतिरिक्त उत्पादन कटौती गर्दै आएका आठ देशहरूले हाल जनवरीबाट उत्पादन बढाउन सुरु गर्ने तयारीमा छन् । उनीहरू नयाँ सम्झौता बिना नै उत्पादनलाई क्रमशः बढाउँदै सन् २०२२ को स्तरमा फर्काउन चाहेका छन् ।

अल्जेरिया, इराक, कजाकिस्तान, कुवेत, ओमान, रुस, साउदी अरब र संयुक्त अरब इमिरेट्स (युएई) ले अक्टोबर र त्यसपछि डिसेम्बरमा सुरु भएको उत्पादन वृद्धिलाई दुई पटक पछाडि धकेलिसकेका छन् ।

आपूर्ति कटौतीले बजारमा मौन प्रभाव मात्र पारेको छ, अमेरिकी राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पले अमेरिकी तेल उत्पादनलाई बढावा दिने नीतिहरू अपनाउने अपेक्षा गरिएको छ अर्थव्यवस्था कमजोर रहेको सन्दर्भले गर्दा चीनको माग दर कमजोर छ ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले गत महिना आफ्नो हालको सन्तुलनले ओपेक प्लस कटौती कायम रहे पनि विश्वव्यापी आपूर्ति अर्को वर्ष प्रति दिन १० लाख ब्यारेलभन्दा बढी अर्थात् मागभन्दा बढी हुने देखिन्छ।”

ओपेक प्लस राष्ट्रहरूले हाल दैनिक ६० लाख ब्यारेल तेल रोकेका छन्, जसमा दैनिक २२ लाख ब्यारेल तेल उत्पादन पनि समावेश छ जुन उनीहरूले बजारमा फिर्ता ल्याउने बारे छलफल गरिरहेका छन् ।

डीएनबी बैंकका विश्लेषकहरूले बजारमा ‘सन् २०२५ मा ओपेक + तेलको लागि अतिरिक्त कुनै ठाउँ छैन’ र उत्पादनमा वृद्धिले कच्चा तेलको मूल्यलाई तल धकेल्ने बताएका छन्।

यसले साउदी अरबलाई अप्रसन्न बनाएमा यसले उसको अर्थव्यवस्थालाई विविधीकरण गर्ने प्रयासहरूको लागि तेलको उच्च मूल्यमा निर्भर बनाउँछ ।

“भिजन २०३० का लागि साउदी अरब बलियो मूल्यमा अत्यधिक निर्भर छ र उत्पादन कटौतीका साथ संयुक्त ओपेकको आवश्यकता छ,” इनर्जी इन्टेलिजेन्सका विश्लेषक अमेना बकरले भने ।

साउदी अरब र रूसले ओपेक प्लसमा प्रभुत्व जमाएसँगै धेरै विश्लेषकहरूले आशा गरेका छन् कि उनीहरूले अन्ततः अन्य देशहरूलाई आपूर्ति वृद्धिको थप स्थगनमा सहमत हुन राजी गराउनेछन्।

रिस्टाड इनर्जीका विश्लेषक जर्ज लियोनले भने, “अन्य देशहरू उत्पादन बढाउन चाहन्छन् र यसका लागि विशेष गरी कजाखस्तान र संयुक्त अरब इमिरेट्समा ‘अतिरिक्त क्षमता’ छ ।”

उच्च मनोबलसहित प्रहरी सेवालाई प्रभावकारी बनाउँछुः प्रहरी महानिरीक्षक कुँवर

कास्की । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले उच्च मनोबलसहित प्रहरी सेवालाई थप प्रभावकारी बनाउँदै लैजाने बताएका छन् ।

कास्कीको पोखरा महानगरपालिका–६ स्थित वडा प्रहरी कार्यालय बैदामको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उनले प्रहरी सेवालाई थप प्रभावकारी बनाउँदै जनताको सेवामा समर्पित हुने बताएका हुन् ।

अपराध नियन्त्रण प्रति शून्य सहनशीलता अपनाउँदै प्रहरी संगठनले काम गर्दै आएको बताउँदै समाजमा हुने सबै प्रकारका विकृतिको विरुद्ध प्रहरी सक्रिय भएर आफ्नो सेवामा जुट्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे ।

पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेसँगै कास्की प्रहरीमा थप जिम्मेवारी थपिएको बताउँदै उनले पर्यटकीय राजधानी कास्कीमा स्वदेशी तथा विदेशी नागरिकको सुरक्षा थप जिम्मेवारपूर्ण बनेको उल्लेख गरे । उनले पर्यटकको सुरक्षामा पनि त्यतिकै ध्यान दिन कास्की प्रहरीलाई आग्रह गरे ।

रात्रिकालीन व्यवसायको सुरक्षाका साथै पर्यटकमैत्री वातावरण बनाउने काममा पनि सुरक्षाकर्मी लाग्नु पर्ने उनको भनाइ छ । विपद्का घटनाप्रति चनाखो हुँदै जतिसक्दो छिटो उद्धारमा सुरक्षाकर्मी पुग्नुुका साथै अपराध अनुसन्धान कार्यमा निष्पक्षता अपनाउन महानिरीक्षक कुँवरले आग्रह गरे ।

देशभर अपराधका घटना वार्षिक रुपमा २० देखि २३ प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाएकाले त्यसतर्फ प्रहरी संगठनको ध्यान केन्द्रित हुने उनको भनाइ छ ।

प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयको रु १० करोड ६० लाखको लागतमा उक्त भवन निर्माण सम्पन्न भएको हो । चार वर्षको अवधिमा दुई चरण गरी सुविधा सम्पन्न प्रशासनिक कार्यालय, ब्यारेक भवन, हिरासत कक्ष र भान्छा घर निर्माण गरिएको जानकारी उक्त अवसरमा दिइएको छ ।

पाँच रोपनी १२ आना क्षेत्रफलमा फैलिएको जग्गामा एक हजार ९०५ वर्गफिट क्षेत्रफलमा उक्त भवन बनेका हो । उक्त कार्यक्रमको अध्यक्षता गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले गरेका थिए ।

इतिहासकार पुरुषोत्तम शमशेर राणाको ९९ वर्षमा निधन

काठमाडौं । इतिहासकार पुरुषोत्तम शमशेर राणाको ९९ वर्षको उमेरमा निधन भएको छ । राणाको बिहीबार दिउँसो काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

उनले राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरू र श्री ३ हरुका वृतान्त पुस्तक लेखेका छन् । उनी रुद्र शमशेरका नाति र ईश्वर शमशेरका छोरा हुन् ।

सन् २०२५ का लागि नौ अर्ब ९० करोड डलर सहयोग जुटाउने युनिसेफको लक्ष्य

संयुक्त राष्ट्रसङ्घ। राष्ट्रसंघको बालबालिकासम्बन्धी निकाय (युनिसेफ)ले विश्वका युद्ध तथा अन्य संकटबाट प्रभावित लाखौं युवाका लागि अर्को वर्ष सहयोग उपलब्ध गराउन नौ अर्ब ९० करोड अमेरिकी डलर को आर्थिक सहायता आह्वान गरेको छ ।

’बालबालिकाको मानवीय आवश्यकताको मात्रा बढिरहेको र यसका लागि सहयोग रकममा पनि वृद्धि हुनु जरुरी रहेको युनिसेफकी कार्यकारी निर्देशक क्याथरिन रसेलले बताए ।

उनले भने, ‘हरेक दिन धेरै बालबालिका प्रभावित भएका छन् । यसका कारण बालबालिकाको मानवीय आवश्यकताको मात्रा ऐतिहासिक उच्च स्तरमा छ र यसका लागि सहयोगका लागि थप रकम जुटाउने लक्ष्य हाम्रो संस्थाले लिनु जरुरी छ।’

उक्त रकमले १० करोड ९० लाख बालबालिकालाई लक्षित गरी प्राथमिक स्वास्थ्य संस्था, मानसिक स्वास्थ्य सेवा, खानेपानी तथा शिक्षा, कुपोषण जाँच र लैंगिक हिंसा न्यूनीकरणमा पहुँचका लागि सहयोग गर्नेछ ।

‘हामीले सन् २०२५ मा १४६ देश र क्षेत्रका २१ करोड ३० लाख बालबालिकालाई मानवीय सहायताको आवश्यकता पर्नेछ । सहयोगका लागियो निकै ठूलो सङ्ख्या हो,’ रसेलले भने ।

सहयोगका लागि युनिसेफको यो अपिल विश्वले मानवीय गतिविधिका कारण दीर्घकालीन आर्थिक सङ्कटको सामना गरिरहेको समय आएको छ ।

गत वर्ष युनिसेफले ९।३ अर्ब अमेरिकी डलरका लागि अपील गरेको थियो ।

यो बर्ष सबैभन्दा बढी एक अर्ब अमेरिकी डलर बराबरको रकम अफगानिस्तानका लागि, त्यसपछि सुडान, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, प्यालेस्टिनी क्षेत्र र लेबनानका लागि गरिएको छ ।

यसैबीच, संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए) ले ५७ देशका चार करोड ५० लाख महिला तथा बालिकालाई सहयोग गर्न एक अर्ब ४० करोड अमेरिकी डलरको आह्वान गरेको छ ।

राष्ट्रसङ्घको यौन तथा प्रजनन स्वास्थ्य निकायले आफ्नो गतिविधिको एक हिस्साको रूपमा अनुमानित ११ मिलियन गर्भवती महिलाहरूलाई सहयोगका लागि ‘मिडवाइफ’हरू तैनाथ गर्दछ । यसका लागि सन् २०२५ मा ‘तत्काल’ सहयोगको आवश्यकता पर्ने बताएको छ।

युएनएफपीएकी कार्यकारी निर्देशक डा. नतालिया कनेमले भने, ‘हरेक द्वन्द्वग्रस्त क्षेत्र र विपतमा महिला तथा बालिकाले गम्भीर जोखिमको सामना गर्छन् । द्वन्द्वले उनीहरूको जीवन र कल्याणका लागि अत्यावश्यक सेवाहरूमा पहुँचलाई खतरामा पार्छ ।’

कनेमले भने, ‘कुनै पनि महिला बच्चा जन्माउने क्रममा ज्यान गुमाउन नपरोस् भनी हामी सबै मिलेर यो सहयोग रकमको जोहो गर्नु आवश्यक छ किनकि हरेक महिला, किशोरी वा बालबालिका सबैभन्दा विकट परिस्थितिमा पनि हानिबाट सुरक्षित रहन सकून् ।’

दक्षिण चीनमा रेलमार्ग निर्माणस्थल भत्किँदा १३ जना बेपत्ता

बेइजिङ ।  चीनको दक्षिणी शहर शेन्जेनमा एउटा प्रमुख रेलमार्गको निर्माणस्थलमा पहिरो खस्दा १३ जना बेपत्ता भएको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

बाओआन जिल्ला विपत व्यवस्थापन विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “शेन्जेन–जियाङमेन रेलमार्ग निर्माणस्थलकोे एक खण्डमुनिको जमिन खसेपछि त्यहाँ काम गरिरहेका एक दर्जनभन्दा बढी कामदार सम्पर्कमा आउन सकेका छैनन् ।”

बेपत्ताको खोजी कार्य बिहीबार बिहानदेखि जारी रहेको र दुर्घटनासम्बन्धमा अनुसन्धान भइरहेको अधिकारीले बताएका छन् । विपत व्यवस्थापन विभागका अनुसार अधिकारीहरूले नजिकैका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेका छन् ।

उद्धारकार्यका लागि बिहीबार बिहान घटनास्थल नजिकका प्रमुख द्रूत रेलमार्ग बन्द गरिएको शहरका अधिकारीहरूले बताएका छन् । दक्षिण चीनको गुआङ्ग्डोङ प्रान्तको शेन्जेनदेखि जियाङमेन जोड्ने रेलमार्गको निर्माण सन् २०२२ मा सुरु भएको थियो ।

कमजोर नियमन र फितलो सुरक्षा मापदण्डका कारण हुने औद्योगिक दुर्घटनालाई चीनमा सामान्यरूपमा लिने गरिएको छ । गत अगस्टमा दक्षिणपश्चिमी सिचुआन प्रान्तमा भएको खानी दुर्घटनामा परी आठ जनाको मृत्यु भएको थियो ।

उत्तरी चीनको हेबेई प्रान्तमा गत मार्चमा भएको ग्यास विस्फोटमा परी सात जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका थिए । पूर्वी शहर नानजिङमा गत फेब्रुअरीमा एक आवासीय भवनमा आगलागी हुँदा १५ जनाको मृत्यु भएको थियो ।

नारायण गोपालको ३४ औं स्मृति दिवसमा तीन श्रष्टा सम्मानित

काठमाडौँ । स्वरसम्राट नारायण गोपालको ३४औँ स्मृति दिवसका अवसरमा तीन श्रष्टालाई सम्मान गरिएको छ । नारायण गोपाल सङ्गीत कोषले बुधबार साँझ एक कार्यक्रम आयोजना गरी ‘नारायण गोपाल स्मृति सम्मान २०८१’ मार्फत सङ्गीततर्फ सङ्गीतकार बुलु मुकारुङ, गायनतर्फ कुमार बस्नेत र गीत रचनातर्फ शिवशङ्कर थापालाई सम्मान गरिएको हो ।

स्वरसम्राट नारायण गोपालसँग सामिप्यता रहेका र सङ्गीतमा विशेष योगदान दिएका श्रष्टालाई योगदानको कदरस्वरूप जनही ५१ हजार नगद र ताम्रपत्रबाट सम्मान प्रदान गरिएको कोषका अध्यक्ष दीपक केसीले जानकारी दिए ।

अध्यक्ष केसीले बुधबार देशभर उनको सम्झनामा विभिन्न कार्यक्रम पनि भएका जानकारी दिए । उनले धुम्वाराहीमा नारायण गोपाल सङ्गीत कोषले आफ्नो भवन निर्माण गरिरहेको पनि बताए । 

सम्मानित भएका सङ्गीतकार मुकारुङले नारायण गोपाल जस्तो व्यक्तिको नामसँग जोडिएको सम्मान पाउनु आफ्नो लागि विशेष महत्व रहेको बताए । उनले भने,“नारायण गोपाल सङ्गीतको विश्वविद्यालय हुनुहुन्छ । विगत छ दशकदेखि समकालीन सुरकर्मीसम्म उहाँको गीत पहिलो रोजाइमा पर्नुले उहाँको क्षमतालाई प्रस्ट्याउँछ । यस्ता धेरै कारणले उहाँ स्वरसम्राट हुनुभएको हो । यो सम्मान मेरो लागि अस्कर अवार्ड भन्दा ठूलो छ । उहाँको गीत प्रत्यक्ष सुन्न पाउनु, सामीप्यता राख्न पाउनु मेरा लागि गौरवको विषय हो ।” 

‘सम्झनामा नारायण गोपाल’ अन्तर्गत श्रष्टाहरूले उनलाई गीतमार्फत सम्झिएका छन् । गायक दीव्यकुमार सिटौलाले ‘मलाई छोडी मेरै छायाँ…’, गायक साजन लामाले ‘यति चोखो यति मिठो…’, गायक राजेन्द्र श्रेष्ठले ‘गल्ती हजार हुन्छन…..’, गायक महेन्द्र गुरुङ र रोजी श्रेष्ठले ‘ए कान्छा ठट्टैमा यो जोवन…’, गायक सम्भव जङ्गम थापा र सङ्गीत तिमिल्सिनाले ‘मेरो जोवन लौजाउ…’, गायक रामकृष्ण ढकालले ‘तिमीलाई भुल्दा…’, गायक छिरिङ भुटियाले ‘मन्दिरमा छकी मूर्तिमा माया…’ लगायत गीत प्रस्तुत गर्दै स्वरसम्राट नारायण गोपालको स्मरण गरे ।

विसं १९९६ असोज १८ गते जन्मिएका स्वरसम्राट नारायण गोपालको विसं २०४७ मङ्सिर १९ गते निधन भएको थियो । प्रत्येक वर्या मङ्सिर १९ गते उहाँ र गीतसङ्गीतलाई स्मरण गर्दै स्मृति दिवसलाई मनाउने गरिन्छ ।