`

पुर्ख्यौली पेसाप्रति जलारी युवाको घट्दो रुचि

जमुना वर्षा शर्मा, पोखरा। फेवातालको किनारमा रहेका जलारी समुदायका लागि माछा मार्ने पेसा पुर्ख्यौली परम्परा मात्र होइन, जीविकोपार्जनको आधार पनि हो। तर, अहिलेका जलारी युवाहरूको रुचि भने पुर्ख्यौली पेसाभन्दा वैकल्पिक पेसा एवं रोजगारीतर्फ आकर्षित हुन थालेको छ। जलारी पोखराको फेवाताल आसपास बसोबास गर्दै आएको परम्परागत माछा मार्ने समुदाय हो।

उनीहरूले आफ्नो मुख्य पुर्ख्यौली पेसा माछा मारेर र बेचेर जीविकोपार्जन गर्दै आइरहे पनि माछा उत्पादनमा आएको कमी, बजार व्यवस्थापनमा चुनौती र आधुनिक जीवनशैलीप्रतिको आकर्षणले यो समुदायको युवाले पुर्ख्यौली पेसाप्रति कम रुचि देखाउन थालेका हुन्।

जलारी मत्स्य सहकारी संघका अध्यक्ष ज्ञानबहादुर जलारीले परिवर्तित समयसँगै जलारी युवा पनि अन्य क्षेत्रतर्फ आकर्षित हुँदै गएको बताए। ‘अहिलेका युवाहरु पढेलेखेको र यो बाहेकका पेसामा पनि आफ्नो भविष्य देख्न थालेपछि उनीहरुको पुर्ख्यौली पेसामा सीमित हुन चाहेका छैनन्, अर्कोतर्फ तालमा माछा उत्पादन घट्दै जान थालेपछि जीविकोपार्जनमा पनि समस्या हुन थाल्यो’, उनले भने।

आफ्नो परम्परा र पुर्ख्यौली पेसामा नै आफ्नो समुदायका लागे हुन्थ्यो भन्ने लागे पनि पुस्ता हस्तान्तरण गरेर यसमा टिकाउन त्यति सहज नभएको उनको भनाइ छ। ‘आजका युवाहरूमा पुर्ख्यौली पेसाप्रति एक प्रकारको उदासिनता छ। तालको वातावरणीय संकट र पेसाबाट आउने आर्थिक समस्याका कारण उनीहरूले पुर्ख्यौली पेसामा रुचि देखाउन छाडेका छन्’, ज्ञानबहादुरले भने।

जलारी समुदायलाई पेसामा टिकाइराख्नको लागि राज्यस्तरबाटै व्यावसायिक प्रविधिको प्रयोग, ताल संरक्षण र सहकारीले माछा उत्पादनमा लगानी गर्नसक्ने दीर्घकालीन योजना आवश्यक रहेको उनको भनाइ छ। ‘युवा पुस्तालाई ताल र समुदायसँग जोड्न तालको दिगो व्यवस्थापन र आर्थिक रूपमा लाभप्रद बनाउनेतर्फ ध्यान दिन सकिएमा मात्र यो पेसा दिगो रूपमा बचाउन सकिन्छ’, उनले भने।

फेवाताल किनारमै जन्मेहुर्केर बाबुबाजेसँगै माछा मार्ने पेसालाई नजिकबाट नियालिरहनु भएका २० वर्षीय राजीव जलारी अहिले वैदेशिक रोजगारीको तयारीमा छन्। ‘मेरै बुबा-हजुरबुबाको पुर्ख्यौली पेसा भए पनि म यसमा राम्रो भविष्य देख्दिनँ, यो हाम्रो पुर्ख्यौली पेसा हो, माछा मारेर हाम्रो परिवारले पुस्तौँदेखि जीविकोपार्जन गर्‍यो तर अहिले म यसमा भविष्य नदेखेर विदेश जाने तयारीमा छु’, राजीव भन्छन्, ‘माछा घट्दै गएको छ, ताल प्रदूषित छ, अनि तालमै निर्भर हाम्रो समुदाय आर्थिक रुपमा सक्षम हुन सकेको छैन, पेसालाई निरन्तरता मात्र दिने कि सुरक्षित भविष्य पनि हेर्ने?’ उनी प्रश्न गर्छन्।

उनी थप्छन्, ‘हामी जस्तै धेरै जलारी युवा वैकल्पिक पेसा खोज्दैछौँ, यदि तालको संरक्षण, माछा उत्पादनमा वृद्धि र आधुनिक प्रविधिसँग युवालाई जोड्ने हो भने सायद हामीले पनि यो पेसा गर्वका साथ अगाल्न सक्थ्यौँ तर अहिलेलाई यो पेसा जारी राख्न सक्ने आधार गुम्दै छन्। गुजारा टार्ने काम मात्र भएको छ। यही परिस्थितिले गर्दा मैले विकल्प खोज्न थालेको हुँ।’

हर्पन फेवा मत्स्य सहकारी संस्थाका पूर्वअध्यक्ष एवं साइनो किचनका सञ्चालक शैलेन्द्र जलारीले आफ्नो समुदायको परम्परागत पेसालाई निरन्तरता दिन खोजे पनि आउने पुस्ताले रुचि देखाउन छाडेको बताए।

उनले भने, ‘पुर्ख्यौली पेसाप्रति हाम्रो अगाध प्रेम र लगाव छ तर तालको संरक्षण र माछा उत्पादन बढाउन ठोस् कदम नहुँदा वैकल्पिक पेसातर्फ युवाको आकर्षण बढ्न थालेको छ।’ उनले समुदायको पेसालाई जोगाउन सरकारी तथा गैरसरकारी निकायबाट ताल संरक्षण र माछा उत्पादनको दीर्घकालीन योजना बनाइनुपर्नेमा जोड दिए।

माछा उत्पादन बढाउन पोखरा महानगरपालिका र अन्य केही संस्थाले प्रयास गरे पनि ती प्रयास प्रभावकारी हुन नसकेको उनको भनाइ छ। ‘तालमा माछाका भुरा छोड्न केही प्रयास भए पनि समुदायले व्यावसायिक रूपमा माछा उत्पादनको विकास गर्न पर्याप्त स्रोत र सीप पाएका छैनन्। यो पेसा दिगो रहनका लागि व्यावसायिक उत्पादन, तालको उचित संरक्षण, र प्रविधिगत सुधार आवश्यक हुन्छ।’

उनले जलारी समुदायको परम्परागत पेसा जोगाउन जैविक विविधता, आर्थिक स्थायित्व र ताल संरक्षणका लागि दीर्घकालीन समाधान रणनीति आवश्यक रहेको बताए। फेवातालमा परम्परागत माछा मार्ने पेसा कठिनाइसँग जुधिरहेको बताउँछन् स्थानीय राजु जलारी। ‘मैले छ/सात वर्षदेखि माछा मार्न छोडेको छु। अहिले माछा खरिद गरेर बिक्रीवितरण गर्दैछु तर तालमा माछा उत्पादन घट्दा यो व्यवसाय गर्न पनि अझै गाहे हुँदै गएको छ।’

उनका अनुसार कुनै समय दिनमै एकसय ५० किलो माछा मारेको अनुभव छ तर अहिले मुस्किलले एक/दुई किलो मार्न पनि समस्या छ। ‘माछा उत्पादन घट्न थालेको छ, माछाका भुरा बगाउने समस्या पनि उस्तै छ। तालछेउमा बसेर तराईबाट माछा ल्याएर बेच्नुपर्ने अवस्था आउनु भनेको दुःखद् हो, हाम्रो समुदायको भविष्य नै अन्योल छ।’

उनले आफ्नो बीस वर्षीय छोराले पनि पुर्ख्यौली पेसामा भविष्य नदेखेपछि विदेश जान तयारीमा रहेको बताए। ‘आर्थिक रूपमा सुरक्षित भविष्य नदेखेपछि नयाँ पुस्ताले वैकल्पिक पेसा रोज्न थालेका छन्, योसँगै जलारी समुदायको परम्परागत पहिचान हराउने खतरा पनि बढेको छ’, उनले भने।

आफ्नो पुर्ख्यौली पेसालाई आत्मसम्मानका साथ निरन्तरता दिन चाहे पनि पछिल्लो समय धेरै चुनौती थपिएको उनको भनाइ छ। नयाँ प्रविधि र व्यावसायिक दृष्टिकोणबाट माछापालनलाई मजबुत बनाउन सकेमा जलारी समुदायको परम्परागत पेसा बच्ने र आत्मसम्मानका साथ नयाँ पुस्ताले अँगाल्ने बताए। प्राकृतिक रूपमा माछा उत्पादन गर्ने क्षमतामा आएको कमी, वातावरणीय असन्तुलन, प्रदूषण यसका प्रमुख कारण हुन्। यसले गर्दा माछा मार्ने पेसाबाट निरन्तरता नपाइने भएकाले नयाँ पुस्ताका लागि यो पेसा आकर्षक नरहेको उनको बुझाइ छ।

मत्स्य अनुसन्धान केन्द्र, पोखराका वरिष्ठ वैज्ञानिक डा मोहम्मद अकबाल हुसेनले जलारी समुदायका युवाको अन्य पेसा व्यवसायप्रति रुचि बढ्नु स्वभाविक भए पनि परम्परागत माछापालनलाई आधुनिक र व्यावसायिक बनाउन सकेमा युवाहरू पुनःयस पेसातर्फ आकर्षित गराउन सकिने बताउँछन्। उनले भने, ‘जलारी समुदायको हितका लागि आधुनिक सीप र प्रविधि आवश्यक छ, परम्परा र आधुनिकतालाई समन्वय गरेर आर्थिक सशक्तीकरणसँगै दिगोपना खोज्न नयाँ पुस्तालाई परम्परागत पेसाप्रति सकारात्मक दृष्टिकोण बनाउनुपर्छ।’

उनले पोखरा तालैतालको सहर भएकाले माछापालनबाटै आर्थिक निर्भर हुनसक्ने प्रशस्त आधार रहेको जनाउँदै जलारी समुदायको पुर्ख्यौली ज्ञान र सीपलाई नयाँ पुस्तामा जोड्न सके सम्भावना रहेको बताए। उनका अनुसार अहिले पोखराका फेवाताल, बेगनाताल र रुपातालबाट वार्षिक एक सय २० मेट्रिकटन माछा उत्पादन हुन्छ तर बजारको माग तीन सय मेट्रिक टनभन्दा बढी छ। जलारी समुदायको संरक्षणका लागि केन्द्रले माछाका भुरा छोड्ने र माछा पालनसम्बन्धी आवश्यक सरसल्लाहहरु साथै तालिम पनि प्रदान गर्दै आएको छ।

उनले पछिल्लो समय स्वास्थ्यका दृष्टिले पनि माछा राम्रो मानिएकाले स्थानीय तालको माछाप्रति ग्राहकको रुचि बढेसँगै माग पनि बढेको बताए। फेवातालको सौन्दर्य र जैविक विविधतासँगै जलारी समुदायको माछा मार्ने पेसा तालको सांस्कृतिक सम्पदासँग गहिरो रूपमा जोडिए पनि यो पेसामा नयाँ युवाको रुचि कम देखिएको बताउँछन् पोखरा पर्यटन परिषद्का उपाध्यक्ष एवं पर्यटन व्यवसायी हरि भुजेल। उनी जलारी समुदायको दीर्घकालीन सुदृढीकरणका लागि ताल संरक्षण, माछा उत्पादनमा वृद्धि, र युवा पुस्तालाई आकर्षित गर्ने नयाँ रणनीति आवश्यक रहेको बताउँछन्।

पोखरा महानगर आर्थिक महाशाखा प्रमुख मनहर कडरियाले जलारी समुदायको पुर्ख्यौली पेसा संरक्षण र उनीहरुको जीवनस्तर उकास्न महानगर तयार रहेको बताए। उनी भन्छन्, ‘जलारी समुदायका युवा पुस्ताको रुचि बढाउन र आवश्यक सीपका लागि तालिमको आवश्यकता समुदायले गरेमा महानगर साझेदारी गर्न तयार छ।’

युवा पुस्तालाई तालसँग जोड्न माछा उत्पादन बढाउन, ताल संरक्षणमा ध्यान दिन र आधुनिक तरिकाबाट आर्थिक रूपमा लाभप्रद बनाउने उपायहरूको खोजी नै उत्तम विकल्प हुनसक्ने उनको भनाइ छ।

अहिले फेवातालमा माछा मारेर जीविकोपार्जन गर्दै आउने करिब एकसय घरधुरी जलारी छन्। पोखरा महानगरले जलारी समुदायलाई माछा मार्न अनुमतिपत्र प्रदान गरेको छ। तोकिएको स्थानमा जलारी समुदायले माछा मार्दै आएका छन्। 

पोखरालाई सात विकेटले पराजित गर्दै एनपीएलमा जनकपुरको लगातार तेस्रो जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सले लगातार तेस्रो जित निकालेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखरा एभेन्जर्सलाई सात विकेटले पराजित गर्दै जनकपुरले तेस्रो जित निकालेको हो । 

पोखरा एभेञ्जर्सले जितका लागि दिएको एक सय ३९ रनको लक्ष्य जनकपुरले १७ दशमलव एक ओभरमा तीन विकेट गुमाउँदै पूरा गरेको हो । जनकपुरले यसअघि विराटनगर किङ्ग्स र कर्णाली याक्सलाई पराजित गरेको थियो । 

जनकपुरको जितमा लाहिरु मिलन्थाले सर्वाधिक ४५ रन बनाए । यस्तै, आशिफ सेखले ३२, अनिल शाहले एक रन बनाउँदा अविजित रहँदै जम्स निशमले ४० र हर्ष ठाकरले १३ रन जोडे ।  बलिङतर्फ पोखराका कप्तान कुशल भुर्तेल, माइकल लिस्क र विपीन खत्रीले समान एक/एक विकेट लिए । 

टस हारेर पहिले ब्याटिङको निम्तो पाएकोे पोखराले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३८ रन बनाएको थियो । पोखराका लागि मार्कस क्रिचले सर्वाधिक ३५ रन बनाए ।

माइकल लिस्कले २५, एन्ड्रिज गौसले २०, रेमन रेफरले १७ र दिलीप नाथले ११ रनको योगदान दिए । साथै दिनेश खरेलले १०, कप्तान कुशल भुर्तेलले छ रन जोडे भने अविजित रहँदै नारायण जोशीले पाँच र विपिन खत्रीले एक रन बनाए । 

जनकपुरका लागि ललित राजवंशीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै, जेम्स निशमले दुई, मोहम्मद मोहसिन र किशोर महतोले समान एक/एक विकेट लिए । 

जारी एनपिएलमा पोखरा एभेन्जर्सको यो दोस्रो हार हो । यसअघि पोखरालाई चितवनले ८७ रनको फराकिलो अन्तरले हराएको थियो ।  आज हुने दोस्रो खेलमा काठमाडौंँ गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच हुँदैछ । 

पर्यटकीय गन्तव्य बन्दै भोजपुरको अरुण डाँडा

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका-१ मा रहेको अरुण डाँडा (छिन्तालुङ) आन्तरिक पर्यटकको रोजाइमा परेको छ । गाउँपालिकाले पूर्वाधार विकाससँगै आवश्यक संरचना निर्माण गरेपछि पर्यटकीय क्षेत्रका रूपमा स्थापित भएको हो ।

सदरमुकामबाट नजिकको पर्यटकीय गन्तव्य भएकाले घुमघामसँगै सहरी जीवनशैलीको थकान मेटाउन यो ठाउँलाई आन्तरिक पर्यटकले रोज्ने गरेका छन् । गाउँपालिका र कोसी प्रदेश सरकारसँगको साझेदारीमा बुद्ध, शिव र एलम्बरको प्रतिमासँगै आवश्यक संरचना निर्माण गरेपछि यहाँ आउने पर्यटकको सङ्ख्या बढ्दै गएको गाउँपालिका अध्यक्ष किरण राईले बताए ।

अरुण डाँडालाई गाउँपालिकाको मुख्य पर्यटकीय क्षेत्रका रूपमा स्थापित गर्ने उद्देश्यले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर यहाँ पूर्वाधार विकासको काम भइरहेको बताउँदै पर्यटकीय गन्तव्य भएसँगै पालिकाको आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह हुने उनले विश्वास व्यक्त गरे ।

“अरुण डाँडा र यहाँ पुग्ने संरचनाको विकासका लागि आवश्यक काम भइरहेको छ”, अध्यक्ष राईले भने, “यहाँको बृहत्तर विकास गर्न करिब ८० रोपनी क्षेत्रमा विविध संरचना विस्तार गर्ने लक्ष्य छ । यो ठाउँलाई पर्यटनसँग जोडेर गाउँपालिकाको दिगो आर्थिक विकास र आम्दानीको स्रोतका रूपमा स्थापित गराउने लक्ष्यसहित काम भइरहेको छ ।”

यहाँ आइपुग्ने सडक विस्तारसँगै पैदल मार्ग तथा विश्राम स्थल निर्माण गरिएको पौवादुङमा–१ का वडाध्यक्ष राजेन्द्र तामाङले बताए । यहाँबाट विभिन्न हिमशृङ्खलाका सुन्दर दृश्य, समथर फाँटको अवलोकनसँगै यहाँ रहेको मन्दिरमा पूजाआजा गर्न पर्यटकहरू आउने गरेका उनको भनाइ छ ।

“पर्यटकीय क्षेत्र अरुण डाँडाको धार्मिक पनि महत्त्व छ”, वडाध्यक्ष तामाङले भने, “यो स्थान घुम्न आउने मानिसका लागि प्राकृतिक सुन्दरका साथै मन्दिरमा भाकल गरी भाकल पूरा भएपछि पूजाआजा तथा दर्शन गर्न पनि आउने गरेका छन् ।” यहाँ आउने पर्यटकको यकिन तथ्यांक नभए पनि यसअघि दैनिक १०–१५ जना आउने गरेकामा पूर्वाधार विकास भएसँगै दैनिक २५–३० जना आउने गरेका उनले जानकारी दिए ।

यस क्षेत्रको विकास गरी स्थानीयको जीवनस्तर उकास्ने गरी योजनाबद्ध रूपमा पूर्वाधार विकासको काम भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताए । यहाँको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धनमा जोड दिइएको उनले उल्लेख गरे । पर्यटकलाई लक्षित गरेर यहाँ चिया खेतीको सम्भावनाको अध्ययन गरी विस्तारको कामसमेत भइरहेको प्रशासकीय अधिकृत भट्टराईले बताए ।

पर्यटक प्राकृतिक आनन्दसँगै स्थानीय परिकारको स्वाद लिन यहाँ आउने गरेका स्थानीय लालबहादुर तामाङले बताए । सदरमुकामबाट नजिकको दूरीमा पर्ने अरुण डाँडा घुम्न आउने पर्यटकको सङ्ख्या बढेको उनको भनाइ छ । भोजपुर–लेगुवा मध्यपहाडी लोकमार्गबाट नजिक रहेकाले पनि पर्यटकको आवतजावतमा सहजता भएको उनले उल्लेख गरे ।

“गाउँपालिकाले अरुण डाँडाको विकासमा भूमिका खेलेसँगै पर्यटकको सङ्ख्या बढेको छ”, स्थानीय तामाङले भने, “बिदाको समयमा आन्तरिक पर्यटक बढी आउँछन् । पछिल्लो समय यो स्थान धेरैको रोजाइमा पर्न थालेको छ ।”

समुन्द्री सतहबाट दुई हजार तीन सय मिटर उचाइमा रहेको अरुण डाँडालाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा लिने गरिन्छ ।

बिटकोइनको मूल्य १ लाख डलर नाघ्यो

बीबीसी । बिटकोइनको मूल्य बढेर एक लाख डलरभन्दा माथि पुगेको छ । संयुक्त राज्य अमेरिकामा डोनल्ड ट्रम्प राष्ट्रपति पदमा निर्वाचित भएपछि उनले क्रिप्टोकरेन्सीलाई अनुकूल हुने खालका नीति अवलम्बन गर्ने आशामा बिटकोइनको मूल्य बढ्न थालेको बताइन्छ ।

ट्रम्पले भूतपूर्व सेक्युरिटी एन्ड एक्सचेन्ज कमिशन (एसईसी) का पूर्वआयुक्त पोल एट्किन्सलाई वाल स्ट्रीट नियमन गर्ने निकायमा नियुक्त गर्ने घोषणा गरेपछि सर्वाधिक प्रचलित यो क्रिप्टोकरेन्सीको मूल्य अहिलेसम्मकै उच्चतम बिन्दुमा पुगेको हो । एट्किन्सले क्रिप्टोकरेन्सीलाई अनुकूल हुने गरी काम गर्ने ठानिएको छ ।

एक बिटकोइनको मूल्य एकलाख डलर अर्थात् १.३५ करोड रुपैयाँभन्दा बढी भएपछि विश्वभरि क्रिप्टोकरेन्सीका प्रशंसकहरू उत्साहित देखिएका छन् ।

बिटकोइनको मूल्य एक लाख डलर पुग्ने अनुमान पहिला नै गरिएको थियो । मूल्य एक लाख डलरनजिकै पुग्दा संसारभरिबाट लाखौँ मानिसहरूले अनलाइन माध्यमबाट क्रिप्टोकरेन्सीप्रेमीहरूले उत्सव मनाएको हेरेका थिए ।

सन् २०२१ मा ट्रम्पले बिटकोइनलाई छल भनेका थिए। तर पछि उनले उक्त क्रिप्टोकरेन्सीका बारे आफ्नो धारणा फेरे। यो वर्ष निर्वाचनको प्रचारप्रसारका बेला उनले बिटकोइनका समर्थकहरूसमक्ष अमेरिकालाई ‘पृथ्वीको क्रिप्टो राजधानी’ बनाउने उद्घोष पनि गरे ।

बिटकोइनको मूल्य कहिले ह्वात्तै बढ्ने र कहिले ह्वात्तै घट्ने गरेको छ। तर यसको चर्चा मूल्यका कारण मात्र हुने गरेको छैन। सन् २००८ मा पहिलो पटक इन्टरनेटमा देखा परेदेखि नै बिटकोइनबारे निरन्तर समाचार बन्दै आएको छ ।

उपनिर्वाचनको नतिजाले ८४ को निर्वाचनको आधार तयार गरेको माओवादीको निष्कर्ष

काठमाडौं । नेकपा माओवादी केन्द्रले उर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणमा कार्यकक्ष खोलेको विषयमा असन्तुष्टि जनाएको छ ।

बिहीबार बिहान बसेको पार्टी पदाधिकारी बैठकले मन्त्रीले प्राधिकरणमा कार्यकक्ष खोल्नुले सरकार विचौलिया र भ्रष्टाचारीलाई बचाउनतिर लागेको स्पष्ट भएको निष्कर्ष निकालेको हो ।

माओवादी उपाध्यक्ष अग्नि सापकोटाले सरकार प्राधिकरणको काममा अवरोध सृजना गर्ने काम गरेको बताए । उनले भने, ‘सरकारले विद्युत प्राधिकरणले गरिरहेको काममा अवरोध सृजना गर्ने काम गरेको छ। सरकारले विचौलिया जोगाउने, भ्रष्टाचारीहरूलाई बचाउने काम गरिरहेको छ ।सरकारले कामकारवाहीमाथि निगरानी तथा खबरदारी गर्छौं।’

उनले  यसका लागि आगामी बस्ने स्थायी समिति बैठक र केन्द्रीय समिति बैठकमा छलफल गरी एजेण्डा बनाएर अघि बढ्ने बताए ।

त्यस्तै बैठकले स्थानीय तह उपनिर्वाचनमा आफ्नो पक्षमा आएको नतिजाले राम्रो सन्देश प्रवाह गरेको निष्कर्ष निकालेको छ । उपाध्यक्ष सापकोटाले गठबन्धन नगरी एक्लै चुनाव लड्ने पार्टीको निर्णयलाई जनताले अनुमोदन गरेको बताए ।

उनले भने,’विगतमा भएका कमीकमजोरीको समीक्षा गर्दै ८४ का लागि तयार गर्छौं । त्यसका लागि उपनिर्वाचनले निकै राम्रो आधार प्रदान गरेको छ।’

उनले बैठकमा उपनिर्वाचनको प्रारम्भिक समीक्षा, पालिका सम्मेलन र खबरदारी सभालगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको जानकारी दिए।

प्राधिकरणको जिन्सी शाखाबाट ७ करोडका सामान हराएपछि दोषीमाथि कारबाहीका लागि छानबिन समितिको सिफारिस

हेटौंडा ।  हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय जिन्सी व्यवस्थापन शाखाबाट ७ करोड बराबरका सामान हराएका छन् । सामान गायब भएपछि वास्तविकता पत्ता लगाउन गठन भएको छानबिन समितिले संलग्न व्यक्तिलाई कारबाहीको सिफारिस गरेको छ ।

विद्युत् प्राधिकरणको खरिद व्यवस्थापन महाशाखाबाट हेटौँडास्थित केन्द्रीय जिन्सी व्यवस्थापन शाखामा दाखिला भएका विद्युतीय सामान कर्मचारीको लापरबाहीका कारण गायब भएपछि प्राधिकरणले केन्द्रीयस्तरमा गठन भएको छानबिन समितिले सात करोड बराबरका सामान हराएका प्रतिवेदन दिएको प्राधिकरणको खरिद व्यवस्थापन महाशाखा प्रमुख जीतेन्द्रकुमार झाले जानकारी दिए ।

हेटौँडास्थित जिन्सी शाखाको तत्कालीन प्रमुख बुद्धकुमार कार्कीले वर्तमान प्रमुख रमेश पराजुलीलाई सामान बरबुझारथ गर्ने क्रममा अभिलेखअनुसारका सामान नपाइएपछि सामान हराएको वास्तविकता सार्वजनिक भएको हो ।

‘खरिद भएका सामानको अभिलेख छ, तर स्टोरमा अभिलेखबमोजिमका सामान छैनन्’, महाशाखा प्रमुख झाले भने, ‘अभिलेखमा भएका सामान कहाँकहाँ छन् भनेर खोज्दै जाँदा कतिपय सामान अन्य प्रदेशमा गएको पनि देखियो, तर सात करोड बराबरका सामान अझै गायब छन् ।’ तत्कालीन शाखा प्रमुखलगायत कर्मचारीउपर कारबाही अघि बढाइएको महाशाखा प्रमुख झाले बताए । 

पोखराले जनकपुरलाई दियो १३९ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग –एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई १३९ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको पोखरले निर्धारित ओभरमा ७ विकेट गुमाएर १३८ रन बनायो ।

पोखराका लागि दीनेश खरेल र आन्द्रेस गोउस ओपनिङका लागि आएका थिए । यी दुई ओपनरले पहिलो विकेटका लागि ३२ रनको साझेदारी गरे । पाँचौं ओभरको अन्तिम बलमा टिमको स्कोर ३२ रन हुँदा आन्द्रेस १६ बलमा २० रन बनाएर पभेलियन फर्किए ।

उनलाई ललित राजवंशीको बलिङमा आशिफ शेखले क्याच गरेका थिए । स्कोरबोर्डमा २ रन थपिएका बेला दिनेश खरेल पनि पभेलियन फर्किए ।

जेम्स निसमको बलमा तुल थापाबाट क्याच आउट भए । दिनेशले १७ बलमा १० रन बनाए । पहिलो विकेट पतन भएपछि क्रिजमा आएका कप्तान कुशल भुर्तेल आज पनि धेरै बेर टिकेनन् ।

उनले ६ बलमा ६ रन बनाएर आउट भए । अन्तिम ओभरमा लगातार तीन बल डट खेलेपछि चौथो बलमा माइकल लिस्क क्याच आउट भए । उनले १३ बलमा २५ रन बनाउँदा ३ छक्का प्रहार गरेका थिए ।

नेपाल– चीन पर्यटन प्रवर्द्धनको प्रयास

काठमाडौँ । नेपाल र चीनबीचको सम्बन्धलाई पर्यटनका माध्यमबाट पनि अझ सुमधुर गर्दै दुवै देशको भ्रमणमा एकअर्काका नागरिकलाई प्रेरित गर्ने उद्देश्यले पर्यटन व्यवसायी, विमान कम्पनीहरूसँगको साझेदारीमा बुधबार यहाँ चाइना कल्चरल सेन्टर (सिसिसी)द्वारा ‘निहाओ चाइना’ कार्यक्रम आयोजना गरियो ।

चीनको राष्ट्रिय ध्वजावाहक एयर चाइना, चाइना सदर्न एयरलाइन्स, चाइना इस्टर्न एयरलाइन्स र चाइना नेशनल टुरिष्ट कार्यालय काठमाडौँले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा यहाँस्थित सिसिसी कार्यालयका निर्देशक सियाओ जियाङले कार्यक्रमका माध्यमबाचट नेपाली पर्यटन व्यवसायीलाई चिनियाँ पर्यटन तथा त्यहाँका पर्यटकीय गन्तव्यबारे बुझ्न मद्दत पुगेको बताइन् । उनले चिनियाँ र नेपाली पर्यटन व्यवसायीबीचको सम्बन्ध स्थापना, सूचना आदानप्रदान र भावी सहकार्यका निम्ति अवसर मिल्ने विश्वास व्यक्त गरिन् ।

चाइना नेशनल टुरिष्ट अफिसका मोहन सुवालले पर्यटकीय उत्पादन, चिनियाँ खाना, सांस्कृतिक तथा ऐतिहासिक सम्पदा र चिनियाँ पर्यटनका अन्य सम्पदाको बारेमा जानकारी दिएकी थिइन् ।

कार्यक्रममा नेपाली पर्यटन व्यवसायीका साथै गुआङ्सी गुआङ्दा टुरिजम इन्भेष्टमेन्ट कम्पनी, तिब्बत यती इन्टरनेशनल ट्राभल सर्भिस र सिचुआन मिङ्यान ट्राभल एजेन्सीका चिनियाँ पर्यटक कम्पनीका प्रतिनिधिहरूको उपस्थिति थियो ।

नेपाल भ्रमण वर्ष २०२५ लाई सफल पार्न तथा नेपाल र चीनबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवका सन्दर्भमा द्विदेशीय पर्यटन प्रवर्द्धनका कार्यक्रम उपयोगी हुने कार्यक्रमका सहभागीहरूले व्यक्त गरेका थिए ।

जाजरकोटमा जिप दुर्घटना हुँदा मध्यपहाडी लोकमार्गमा कार्यरत दुई मजदूरको मृत्यु

कर्णाली । जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको । कार्कीगाउँबाट जतिपुरतर्फ जाँदै गइरहेको प्रदेश ३–०१–०२३ च ४७११ नम्बरको जिप गएराति सडकबाट ७ सय मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा मध्यपहाडी लोकमार्गमा कार्यरत कैलालीका २४ वर्षीय मनोज केसी र जुम्लाका २२ वर्षीय मिथुन हमालको मृत्यृु भएको जाजरकोटका प्रहरी प्रमुख पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।

उनकाअनुसार भेरी नगरपालिका–१० नुवागाउँ नजिकै जिप दुर्घटना भएको हो । दुर्घटनामा लोकमार्गकै मजदुर २२ वर्षका कमल चौधरी घाइते भएको र उनको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ ।

प्राज्ञिक भेलाद्वारा ७ बुँदे घोषणापत्र जारी

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको संयुक्त आयोजनामा गरिएको ‘प्राज्ञिक भेला –२०८१’ ले सात बुँदे घोषणापत्र जारी गरेको छ ।
यस्ता छन् सात बुँदे घोषणापत्र
१. हाल गठन भएका र भविष्यमा गठन हुने प्रदेश र पालिका स्तरका प्रतिष्ठान/प्राज्ञिक संस्थाहरूको उद्देश्य, नामाकरण, गठन, कार्यविधि आदिका बिचमा एकरूपता कायम गर्ने र यसको समन्वय एवम् नीति निर्माणका लागि नेपाल सरकारसमक्ष अनुरोध गर्ने ।

२. सङ्घ, प्रदेश र पालिका स्तरका प्रतिष्ठान÷प्राज्ञिक संस्थाहरूका बिचको सम्बन्ध र समन्वयको नीति निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत सरकारसमक्ष अनुरोध गर्ने ।

३.सङ्घीय स्तरमा वाङ्मय, ललितकला, नाट्य, सङ्गीत क्षेत्रका लागि तीनओटा प्रज्ञा–प्रतिष्ठान र विज्ञान प्रविधि क्षेत्रमा अलग्गै प्रज्ञा–प्रतिष्ठान रहेका तर प्रदेश र पालिका स्तरमा यी चारओटै विषय क्षेत्र समेटेर एउटै प्राज्ञिक संस्था निर्माण गर्नुपर्नेमा हाल गठन भएका प्रदेश र पालिका स्तरका प्रतिष्ठानहरूमा यी चारओटै विषय क्षेत्र समेटिएको पाइँदैन । यसर्थ विज्ञान प्रविधि क्षेत्रसमेत संस्कृतिका सबै क्षेत्र समेटेर प्राज्ञिक संस्थाको क्षेत्र विस्तार गर्ने ।

४. संस्कृतिकर्मी, स्रष्टा, कलाकारका साथै प्रतिष्ठान/प्राज्ञिक संस्थाहरूमा कार्यरत कर्मचारीहरूलाई सरकारी अस्पतालबाट स्वास्थ्योपचार सुविधा उपलब्ध गराउनका लागि पहल गर्ने ।

५. सङ्घ, प्रदेश र पालिका स्तरका प्रतिष्ठानहरूका कार्यक्रम, अनुसन्धान तथा प्रकाशनहरूको जानकारीको आदानप्रदान गर्ने, तिनको अभिलेखन गर्ने र उही कामको पुनरावृत्ति नगर्ने ।

६. वाङ्मय, ललितकला, नाट्य, सङ्गीत क्षेत्रको अध्ययनलाई स्थानीय पाठ्यक्रममा समावेश गर्न पहल गर्ने र प्रतिष्ठान गठन गर्न बाँकी रहेका प्रदेश तथा पालिकाहरूमा प्रतिष्ठान/प्राज्ञिक संरचना निर्माणका लागि आवश्यक पहल गर्ने ।

७. यसअघि २०८० साउन १३ गते पोखरामा भएको प्रज्ञा पोखरा घोषणा–पत्र २०८०, मिति २०८० पौष १३ गते भएको प्राज्ञिक भेला–काठमाडौँ घोषणापत्र –२०८०, मिति २०८१ साउन १२ गतेको प्राज्ञिक सम्मिलनका घोषणाको कार्यान्यवनका लागि आवश्यक पहल गर्ने ।

भेलामा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले प्राज्ञिक बहसले मुलुकको सफ्टपावर निर्माण गर्ने बताएका थिए । भेलाले प्रज्ञा–प्रतिष्ठानबिच विचार, संस्कृति र ज्ञानमा आधारित भइ छलफल भएको उनको भनाइ थियो ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले भेलाले सामाजिक रूपान्तरणमा हाम्रो कला, संस्कृतिलाई कसरी जोड्ने भन्ने विषयलाई उठाएको बताए ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानसँगै गण्डकी प्रज्ञा–प्रतिष्ठान, सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठान, आँबुखैरनी वाङ्मय परिषद्, भरतपुर प्रज्ञा–प्रतिष्ठान, सुनापति प्रज्ञा–प्रतिष्ठान, रत्ननगर वाङ्मय परिषद्, नीलकण्ठ प्रज्ञा–प्रतिष्ठान, माडी नगरपालिका, गल्याङ प्रज्ञा–प्रतिष्ठान, वालिङ प्रज्ञा–प्रतिष्ठान, गैँडाकोट नगर प्रज्ञा–प्रतिष्ठान, बर्दघाट प्रज्ञा–प्रतिष्ठान, खजुरा प्रज्ञा–प्रतिष्ठान, भीरकोट प्रज्ञा–प्रतिष्ठान, महाङ्काल प्रज्ञा–प्रतिष्ठान, बिर्तामोड भाषा साहित्य कला प्रतिष्ठान, लालबन्दी नगर वाङ्मय परिषद्, कोहलपुर वाङ्मय प्रतिष्ठान, बेलवारी प्रज्ञा–प्रतिष्ठान, कपुरकोट कला, साहित्य संस्कृति परिषद्, कालीगण्डकी प्रज्ञा–प्रतिष्ठान, सुनवल नगर वाङ्मय कला प्रतिष्ठान, ठाकुरबाबा प्रज्ञा–प्रतिष्ठान, व्यास नगर प्रज्ञा–प्रतिष्ठान, कोन्ज्योसोम वाङ्मय प्रतिष्ठान, ललितपुर, मैथिली विकास कोषका पदाधिकारी तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला को हुन् ?

राम थापा, गण्डकी । पर्यावरण अभियन्ता सिलसिला आचार्यका लागि त्यो खबर अप्रत्यासित थियो, जतिबेला उनले सन् २०२४ का लागि आफू बीबीसीको सय प्रेरक र प्रभावशाली महिलाको सूचीमा पर्न लागेको जानकारी पाइन् । बीबीसीले उक्त सूची मङ्गलबार सार्वजनिक गरे पनि सोबारे एक महिनाअघि नै आचार्यलाई सूचित गरेको थियो ।

नोबेल पुरस्कार विजेतासहित विश्वभरका सय प्रभावकारी महिलाको सूचीमा परेपछि आचार्यलाई यतिबेला बधाई थाप्न भ्याइनभ्याइ छ । उनले भनिन्, “मेलै प्रकृति र वातावरणको मुद्दामा निरन्तर गरिरहेको कामलाई समाजले ‘रिकोग्नाइज’ गर्दा यस क्षेत्रमा अझै दृढ भएर लाग्न हौसला मिलेको छ ।”

बागलुङकी आचार्यलाई नेपालमा प्लास्टिकको पुनः प्रयोगसम्बन्धी ‘अभनी भेन्चर्स’ नामको संस्था चलाएर सीमान्त समुदायका व्यक्तिलाई रोजगारीमा प्राथमिकता दिएको बीबीसीले उल्लेख गरेको छ । बीबीसीले विश्वभरबाट विभिन्न क्षेत्रमा उल्लेखनीय काम गरिरहेका सय प्रेरक र प्रभावशाली महिलाको सूची मङ्गलबार सार्वजनिक गरेको थियो ।

“यसबाट नेपालले झेलिरहेको वातावरणीय समस्याको पहिचान र उजागर गर्न थप मद्दत पुग्नेछ”, उनले भनिन्, “मानिसको कम प्राथमिकतामा परिरहेको वातावरणको मुद्दामा संवेदनशील हुन सम्बद्ध सबै पक्षलाई प्रेरित गरेको छ ।” कठिन परिस्थितिमा पनि विचलित नभइ पर्यावरणको क्षेत्रमा आफूले गरेको कामको सम्मान भएकामा उनले खुसी व्यक्त गरिन् ।

“यो उपलब्धि नेपालकै लागि गौरवको विषय हो, नेपालको पर्यावरणीय मुद्दालाई विश्वमञ्चमा स्थापित गर्न यसले सघाउ पुर्याउनेछ”, आचार्यले भनिन्, “वातावरण संरक्षणका क्षेत्रमा नीतिगत सुधार गर्न सरकारलाई पनि सकारात्मक दबाब पुगेको छ ।”

चिकित्सा विषय अध्ययनका लागि छात्रवृत्तिमा नाम निक्ले पनि आचार्यले पछि वातावरण विज्ञान रोजेकी थिइन् । काठमाडौँ विश्वविद्यालयमा वातावरण विज्ञानमा स्नातकसम्म पढेकी आचार्यले नर्वेबाट ‘बायो–डाइभर्सिटी इन्भाइरोमेन्ट साइन्स’ मा स्नातकोत्तर गरेकी थिइन् । स्नातकोत्तर अध्ययनका लागि उनले नेपाल र नर्बेजियन सरकारबाट छात्रवृत्ति पाएकी थिइन्।

स्नातकोत्तर सकेर नेपाल फर्केपछि उनले फोहरमैला व्यवस्थापनमा काम सुरू गरेकी हुन् । प्लास्टिक झोलाको प्रयोगलाई निरूत्साहित गर्न आचार्यले सन् २०१४ मा ‘धन्यवाद ! म आफैँ झोला बोक्छु’ अभियानको नेतृत्व गरेकी थिइन् । पर्यावरण अभियन्ताका रूपमा उनले नेपालका धेरै ठाउँमा काम गरिसकेकी छन्।

आचार्यले केही वर्षअघि स्थापना गरेकी ‘अभनी भेन्चर्स’ ले महिला र सीमान्तकृत समुदायका व्यक्तिलाई रोजगारी दिँदै आएको छ । फोहरको पुनःप्रयोगमार्फत उद्यमशीलता र दिगो विकासमा काम गर्दै आएकी आचार्यले जलवायु परिवर्तनको असर न्यूनीकरणमा नीतिगत तहमै रहेर काम गर्ने लक्ष्य रहेको सुनाइन् ।

“फोहरमैला व्यवस्थापनमा स्थानीय तहहरूसँग मिलेर नमूनायोग्न काम गर्ने योजना छ”, उनले भनिन्, “पर्यावरण उद्यममार्फत महिला र सीमान्तकृत समुदायलाई आयआर्जनसँग जोड्ने अभियान पनि निरन्तर चलिरहन्छ ।”

उनले फोहरमुक्त समाज र देश निर्माणको अभियानमा जोडिन सबैलाई आग्रह गरिन् । हरेक घरबाटै फोहर व्यवस्थापनको काम सुरू गर्नुपर्ने भन्दै पर्यावरण जोगाउन सबैले हातेमालो गर्नुपर्ने आचार्यको भनाइ छ । उनी ‘अभनी भेन्जर्स’को सह–संस्थापक र निर्देशक हुन् । पर्यावरण उद्यमी आचार्य हिमालहरूलाई प्रदुषणमुक्त बनाउने अभियानसमेत सक्रिय रहँदै आएकी छन् ।

आगाामी दिनमा हिमाल र पानीका स्रोत संरक्षणको मुद्दामा केन्द्रित भएर काम गर्ने सोच बनाएको उनको भनाइ छ । आचार्यले आरोहीहरूले हिमालमा छाडेको फोहर सङ्कलन गरी त्यसको प्रशोधनमार्फत विभिन्न सामग्री उत्पादन गरी आदिवासी महिलालाई उद्यमशीलतासँग जोडेकी थिइन् । सरकारले देशभर रहेको प्लास्टिकको मात्रा र व्यवस्थापनबारे गरिरहेको अध्ययनमासमेत आचार्य नेतृत्वदायी भूमिकामा छिन् ।

प्रधानमन्त्री ओलीद्वारा नेपालमा लगानी बढाउन चिनियाँ लगानीकर्तासँग आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी बढाउन चिनियाँ लगानीकर्तासँग आग्रह गरेका छन् । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले बेइजिङमा बुधबार आयोजित ‘नेपाल–चीन बिजनेस समिट’लाई सम्बोधन गर्दै नेपालमा लगानी वातावरण बन्दै गएको र धेरै क्षेत्र अझै पनि पर्याप्त लगानी भइनसकेकाले लगानीका लागि आग्रह गरे ।

नेपाल उद्योग वाणिज्य महासङ्घ, चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपिआइटी) र चीनस्थित नेपाली दूतावासले संयुक्त रुपमा आयोजना गरेको सम्मेलनमा उनले भने, ‘नेपालमा विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधारका काम भइरहेका छन् । थप नीतिगत र व्यावहारिक सुधार गरी लगानी विस्तार र व्यापार सहजीकरणका लागि तयार छौँ ।’

द्विपक्षीय व्यापार प्रवद्र्धन, पर्यटन क्षेत्रको विकास र नेपालमा चिनियाँ लगानी आकर्षित गर्ने उद्देश्यले आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री ओलीले नेपालमा लगानीको वातावरण सुधार हुँदै गइरहेको बताए । नेपाल र चीनको परम्परागत सम्बन्ध रहेको भन्दै दुई देशको आपसी सम्बन्धले आर्थिक विकास सम्भव भएको उनले बताए ।

प्रधानमन्त्री ओलीले निजी क्षेत्रको सहकार्यलाई सरकारले प्राथमिकता दिएको र सोहीअनुसार व्यावसायिक वातावरण बनाउँदै लगिएको बताए । उनले निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको र स्वदेशी एवं विदेशी लगानीको संरक्षणमा सरकार सधैँ तत्पर रहेको बताए ।

चीन नेपालमा धेरै लगानी गर्ने मुलुकमध्ये एक रहेको र व्यापारमा दोस्रो ठूलो मुलुक भए पनि दुई देशबीचको व्यापार घाटा चिन्ताको विषय रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । नेपालका कृषिजन्य उत्पादनको चीनमा बजार रहेकाले व्यापार सहजीकरणका लागि प्रयत्न गर्नुपर्ने उनले बताए । 

सम्मेलनलाई सम्बोधन गर्दै चिनियाँ वाणिज्य उपमन्त्री लिङ जीले चीन र नेपालबीचको सम्बन्ध निकै पुरानो रहेको एवं आर्थिक गतिविधि पनि बढिरहेको बताए । साथै नेपालमा चिनियाँले लगानी बढाइरहेको र आगामी दिनमा पनि लगानी बिस्तार हुने प्रतिबद्धताउनले  व्यक्त गरे ।

चीन नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार रहेको बताउँदै उपमन्त्री जीले चीनको बाटो भएर अन्य मुलुकमा पनि व्यापार बढाउन पारबहन सहजीकरण गरिने उल्लेख गरे । चीनले यही डिसेम्बरबाट अतिकम विकसित मुलुकका उत्पादनलाई दिएको भन्साररहित सुविधाले नेपाल लाभान्वित हुने उनको भनाइ छ ।

सम्मेलनमा महासङ्घ अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो एक नेपालले व्यावसायिक वातावरण बनाउन गरेको पहलबारे जानकारी गराए । सरकारले लगानी सहजीकरणसम्बन्धी आठ वटा कानुन एकसाथ संशोधन गरेको र द्विपक्षीय लगानी सम्झौताको खाका पनि तयार भएको उनको भनाइ छ ।

यसैगरी, पहिलोपटक नेपालको क्रेडिट रेटिङ भएको र उक्त रेटिङ दक्षिण एसियामा भारत पछि सबैभन्दा राम्रो आएको जानकारी पनि ढकालले गराए । यसले लगानीकर्ताहरु ढुक्क भएर लगानी गर्ने वातावरण तयार भएको उनको भनाइ छ ।

साथै उनले सीमा क्षेत्रको पूर्वाधार लगायतको स्तरोन्नति एवं भैरहवा र पोखरा विमानस्थलमा चीनबाट सिधा उडानका लागि दुवै देशका सरकार र निजी क्षेत्रले सक्रियतापूर्वक पहल गर्नुपर्नेमा जोड दिए ।

महासङ्घ अध्यक्ष ढकालले जलविद्युत्, पर्यटन, उत्पादनमूलक क्षेत्र र सूचना प्रविधिलगायतका सेवा क्षेत्रमा प्रशस्त सम्भावना रहेको बताए । पछिल्लो समय पर्यटन पूर्वाधारहरु जस्तै केबलकार, थिम पार्क, रिसोर्टलगायतमा विदेशी लगानीको बढी सम्भावना देखिएको उनले बताए । नेपाल चिनियाँ पर्यटकका लागि आकर्षक गन्तव्य भएको बताउनुहुँदै अध्यक्ष ढकालले चीन सरकारले नेपाललाई प्राथमिकतामा राख्न पनि आग्रह गरे ।

रवि लामिछानेविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी भएको छ । वीरगंजको सानो पाइला सहकारीको बचत अपचलनको विषयमा अनुसन्धान गर्न जिल्ला अदालत पर्साले बुधबार लामिछाने र गोरखा मिडियाका तत्कालीन संचालक छविलाल जोशीविरुद्ध पक्राउ पुर्जी जारी गरेको प्रहरीले जनाएको छ ।

प्रहरी उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गर्न अनुमतिका लागि अदालत गएको थियो । उक्त सहकारीबाट करिब ८ करोड रुपैयाँ गोर्खा मिडियामा गएको बताइएको छ ।

लामिछाने र जोशीविरुद्ध कास्की, रुपन्देही, काठमाडौं र चितवनबाट पक्राउ पुर्जी जारी भइ अनुसन्धान जारी छ । केही दिनअघि बयानका लागि लामिछानेलाई कास्कीबाट काठमाडौं ल्याइएको थियो । काठमाडौंमा तीन दिनमा बयान सकिएको थियो । त्यसपछि अहिले चितवनमा उनको बयान चलिरहेको छ ।

दसौँ राष्ट्रिय खेलकुद फागुन अन्तिममा हुन्छः खेलकुदमन्त्री चौधरी

गण्डकी ।  युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले केही दिनभित्रै १०औँ राष्ट्रिय खेलकुदको नयाँ मिति घोषणा हुने बताएका छन्।

पोखरा रंगशालामा बुधबार खेल क्षेत्रका विभिन्न व्यक्तिसँगको छलफलमा मन्त्री चौधरीले यसअघि मंसिरमा कर्णाली प्रदेशमा तय भएको प्रतियोगिता तयारीका लागि समय नपुगेको र केही पूर्वाधार निर्माणको काम बाँकी रहेकाले समयमै गर्न नसकिएको बताए। उनले आगामी फागुन अन्तिम साता गर्ने गरी तयारी गरिएको र शुक्रबार मिति घोषणा हुने जानकारी दिए।

‘खेल पूर्वाधार निर्माणको कार्य नसकिएकाले मंसिरमा राष्ट्रिय खेलकुद हुन सकेन। अब फागुन अन्तिम साता गर्ने लक्ष्य राखेका छौँ,’ मन्त्री चौधरीले भने। पोखरामा खेलकुदका पूर्वाधार निर्माणका लागि आगामी वर्षको बजेटमा व्यवस्था गर्ने उनको भनाइ थियो।

नेपालमा सन् २०२७ मा हुने यू–१९ महिला विश्वकप क्रिकेटका लागि पोखरामा समेत खेल सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गर्न बजेट विनियोजन गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री चौधरीले उल्लेख गरे।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को टोलीले सन् २०२७ मा हुने १९ वर्षमुनिको महिला विश्वकपका लागि केही दिनअघि पोखराको क्रिकेट मैदान निरीक्षण गरेको थियो। आइसिसीले खेल पूर्वाधार निर्माण भएको खण्डमा यहाँ खेलाउन सम्भव हुने जनाएको थियो।

पोखरामा खेलकुदको धेरै सम्भावना रहेको र खेल पूर्वाधारसमेत अन्यत्रभन्दा राम्रो रहेकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न सम्भव हुने मन्त्री चौधरीको भनाइ थियो।

नेपाल पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नेपाल पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै यसका लागि देशव्यापी खोप कार्यक्रम कार्यान्वयनको चरणमा रहेको बताएका छन् ।

इन्डोनेसियाको बालीमा आयोजित विश्वव्यापी खोप सहकार्य गाभीको बैठकमा सम्बोधन गर्दै मन्त्री पौडेलले पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि नेपालले आगामी माघ २२ गतेदेखि दुई सातासम्म किशोरीहरुलाई खोप अभियान सञ्चालन गर्न लागेको जानकारी दिए।

‘यो खोप अभियान नेपालका लागि मात्र होइन सर्भाइकल क्यान्सर अन्त्यको वैश्विक रणनीतिमा महत्वपूर्ण उपलब्धि हुनेछ’, मन्त्री पौडेलले भने ।

गाभीसँग सहकार्य गरेर नेपालले खोपलक्षित प्राथमिकता तय गर्ने उल्लेख गर्दै मन्त्री पौडेलले नेपालले राष्ट्रिय खोप कार्यक्रममार्फत हेपाटइटिस बी तथा हैजाबिरुद्धसमेत खोप कार्यक्रम ल्याउने योजना बनाएको जानकारी दिए।

‘हामी यसबारे बिमर्श गरिरहेका छौँ’, मन्त्री पौडेलले भने, ‘नेपालले यसका लागि चाँडै औपचारिक अनुरोध गर्नेछ ।’

नेपालमा खोप कार्यक्रम सञ्चालन गर्न कुल बजेटको कम मात्र अंश स्वास्थ्यका लागि विनियोजन हुनु तथा नयाँ सङ्घीय व्यवस्थामा जनशक्ति अभावजस्ता समस्यासँग जुधिरहनुपरेको मन्त्री पौडेलको भनाइ थियो ।

‘हाम्रो स्वास्थ्य क्षेत्र सुदृढीकरण सहायता क्षमता अभिवृद्धि सहायतामा तपाईंहरुबाट सहयोगको अपेक्षा गरेका छौ’, मन्त्री पौडेलले सम्बोधनका क्रममा भने, ‘यस्तो सहयोगले नेपाल र नेपालजस्ता देशहरुका लागि खोपहरुको पहुँच र सुलभता महत्वपूर्ण हुनेछ ।’

कोही पनि पूर्ण खोप अभियानबाट बञ्चित नहुन् भन्नका लागि नेपालले विश्वव्यापी खोप अभियानसँग गर्ने साझेदारी महत्वपूर्ण हुने उनको भनाइ थियो ।

एनपीएलमा विराटनगर किङ्ग्सको पहिलो जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्ग्सले लुम्बिनी लायन्सलाई पराजित गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा विराटनगरले लुम्बिनीलाई दुई विकेटले हराएको हो । यसअघि दुई खेलमा पराजित भएको विराटनगरको यो पहिलो जित हो । 

लुम्बिनी लायन्सले जितका लागि दिएको एक सय ९२ रनको लक्ष्य विराटनगरले १९ दशमलव पाँच ओभरमा आठ विकेट गुमाउँदै पूरा गरेको हो । विराटनगरको जितमा लोकेश बमले अर्धशतकीय पारी खेले । उनले ४७ बलमा ६ छक्का र तीन चौका प्रहार गर्दै सर्वाधिक ७१ रन बनाए । यस्तै, बसिर अहमदले ४०, मार्टिन गुप्टिलले २८, क्रिस सोलले १४ र दीपक बोहोराले नौ रनको योगदान दिए । 

बलिङतर्फ लुम्बिनीका लागि दुर्गेश गुप्ताले सर्वाधिक तीन विकेट लिए । यस्तै, रामोन सिमन्ड्स र सादबिन जफरले दुई दुई तथा विवेक यादवले एक विकेट लिए । 

त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ९१ रन बनाएको थियो । लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४६ रन बनाए ।

उनले २९ बलमा दुई छक्का र चार चौका प्रहार गरे । यस्तै, टम मूर्सले ३०, विवेक यादवले १९, अर्जुन साउदले १७, आशुतोष घिरैया र सादबिन जफरले समान १५÷१५ तथा सन्दीप जोराले १२ रन बनाए । लुम्बिनीले अतिरिक्त २९ रन पाएको थियो ।  

बलिङतर्फ विराटनगरका लागि कप्तान सन्दीप लामिछाने, इस्मत आलम र राजेश पुलामीले एक  विकेट लिए ।

चार महिनाभित्र लेखापरीक्षण गरिसक्न राष्ट्रिय जीवन बीमा कम्पनीलाई निर्देशन

काठमाडौँ। पछिल्लो नौ वर्षयता लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेडलाई अबको चार महिनाभित्र लेखापरीक्षण गरिसक्न अर्थ मन्त्रालयले निर्देशन दिएको छ।

राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेडका पदाधिकारीसहित अर्थ मन्त्रालयमा आज भएको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लामो समयसम्म लेखापरीक्षण नहुनु कसैका लागि पनि हितकर नभएको बताएका छन्।

उनले लेखापरीक्षण सम्पन्न गर्न आवश्यक पर्ने सहयोग उपलब्ध गराउन सरोकारवालाहरुलाई निर्देशन दिए।

राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७१/७२ देखि अन्तिम लेखापरीक्षण सम्पन्न हुनसकेको छैन। अन्तिम लेखापरीक्षण सम्पन्न भएपछि मात्र कम्पनीको साधारणसभा गर्न पनि अर्थ मन्त्रालयले निर्देशन दिएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ।

बैठकमा महालेखा परीक्षकको कार्यालय, नेपाल बिमा प्राधिकरण, अर्थ मन्त्रालय, राष्ट्रिय जीवन बिमा कम्पनीका पदाधिकारीहरुको उपस्थिति थियो।

चितवन जिल्लामा डेङ्गी सङ्क्रमण घट्दो क्रममा

चितवन । चितवन जिल्लामा डेङ्गीको सङ्क्रमण घट्दै गएको छ । यहाँका अस्पतालमा उपचार गर्न आउने बिरामीमध्ये दैनिक आठदेखि १० जनासम्ममा डेङ्गीको सङ्क्रमण देखिएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । 

कार्यालयका प्रमुख दिनेश रुपखेतीका अनुसार डेङ्गी सङ्क्रमण तीव्र फैलिएको समयमा दैनिक ३० जनामा सङ्क्रमण पुष्टि हुने गरेकामा कात्तिकको अन्तिम सातादेखि यो सङ्ख्या घट्दै गएको हो । उनले भने, “प्रयोगशालाका अनुसार अहिले आठदेखि १० जनामा मात्र सङ्क्रमण देखिन थालेको छ । यसले सङ्क्रमण दर घट्दै गएको सङ्केत गर्छ ।” 

गत वर्ष कात्तिकसम्म मात्रै देखिएको डेङ्गी अहिले मङ्सिरमा पनि देखिएकाले सतर्कता अपनाउन प्रमुख रुपखेतीले सबैलाई आग्रह गरे । उनका अनुसार जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका ११ हजार नौ सय १९ जनाको डेङ्गी परीक्षण गर्दा तीन हजार छ सय ८७ सङ्क्रमण पुष्टि भएको हो । 

सङ्क्रमितमध्ये दुई हजार आठ सय ४६ जना चितवनका र बाँकी जिल्ला बाहिरका रहेका छन् । रुपाखेतीका अनुसार सङ्क्रमितमध्ये एक जनाको मृत्यु भएको छ ।

जिल्लामा सङ्क्रमित भएकामध्ये सबैभन्दा बढी भरतपुर महानगरपािलकाका एक हजार एक सय ५३ बिरामी रहेका छन् । सबैभन्दा कम माडी नगरपालिकाका ३६ जना छन् । 

यो रोग घर वरिपरी बस्ने एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । यो लामखुट्टेले प्रायः बिहान र बेलुकाको समयमा टोक्ने भएकाले सो समयमा विशेष सावधानी अपनाउनुपर्ने प्रमुख रुपाखेतीले बताए ।

यो लामखुट्टेले प्लास्टिक, टिनका डब्बा, ड्रम, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फुल पार्ने गर्दछ । यी ठाउँमा जम्मा भएको पानीलाई सफा नगर्दा रोगको सङ्क्रमण बढ्ने जनस्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत बिमल पट्टेलले बताए ।

डेङ्गी हुँदा ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्छ । यो रोग लाग्दा आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीर दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशी दुख्ने, शरीरमा बिमिरा आउने र रक्तश्राव हुने, उच्च ज्वरो आउने जस्ता लक्ष्यण देखा पर्दछन् । त्यस्तै वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिँजाबाट रगत बग्नेलगायत लक्षण देखापर्ने जनस्वास्थ्य अधिकृत पट्टेलले जानकारी दिए ।

डेङ्गीको ज्वरोबाट बच्ने मुख्य उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु रहेको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । यस्तै आफू बस्ने ठाउँ वरिपरी फालिएका खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, पुराना टायर आदिमा पानी जम्न नदिने रहेको उनले बताए ।

रास्वपा कार्याकर्ता र प्रहरीबीच चितवनमा झडप , आठजना घाइते

चितवन । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।  रास्वपा सभापति रवि लामिछानेको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । झडपमा परेर आठ प्रहरी घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार प्रदर्शनकारीले  सरकारी वकिलको कार्यालय जाने बाटो अवरुद्ध गर्न खोज्दा झडप भएको हो । प्रदर्शनकारीले ढुङ्गा प्रहार गर्नथालेपछि उक्त कार्य रोक्नका लागि अश्रुग्यास र पानीको फोहोरा प्रयोग गर्नुपरेको उनले बताए । घाइते प्रहरीको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

“प्रहरीले बल प्रयोग गरेको छैन । प्रदर्शनकारीले ढुङ्गा हान्दा प्रहरी घाइते भएका हुन्”, प्रहरी उपरीक्षक मिश्रले भने । जिल्ला प्रहरी कार्यालय अगाडी सभापति लामिछानेको रिहाइको माग गर्दै प्रदर्शनकारीले निषेधित क्षेत्र नाघेपछि सो कार्य रोक्न खोज्दा झडप भएको उनले जानकारी दिए ।

प्रदर्शनकारीतर्फ १६ जना घाइते भएको रास्वपा चितवनका सभापति कृष्ण भुषालले जानकारी दिए । घाइतेको भरतपुर सामुदायिक  अस्पताल, नारायणी सामुदायिक अस्पताल, देव अस्पताल लगायतका अस्पतालमा उपचार भइरहेको उनले बताए ।

रास्वपा सभापति लामिछानेको बयान सरकारी वकिलको कार्यालयमा जारी छ । यहाँको साहारा सहकारीका बचतकर्ताको रकम अपचलन गरेको आरोप लागेपछि प्रहरीले उनलाई बयानका लागि मङ्गलबार काठमाडौँबाट चितवन ल्याएको हो । साहारा सहकारीबाट १० करोड ८० लाख गोर्खा मिडियामा गएको आरोप लागेपछि उनलाई बयानका लागि चितवन ल्याइएको हो ।

अब हुने क्रान्ति पहिलेजस्तो सशस्त्र नभएर जनताकै बलमा भ्रष्टाचार र बेथितिविरुद्ध हुनेछः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फेरि एकपटक नयाँ क्रान्ति आवश्यक भएको बताएका छन् ।

गणतन्त्र सेनानी कोषले बुधबार काठमाडौंमा आयोजना गरेको गणतन्त्र सेनानी सम्मान २०८१ लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले फेरि जनताको गणतन्त्रका लागि अर्को संघर्ष आवश्यक रहेको बताएका हुन् ।

उनले आफूले त्यतिबेलै अर्को संघर्ष आवश्यक पर्ने बताएको र त्यो समय आएको बताए । उनले भने, ‘हामीले उतिबेला हामीले अब देश गणतन्त्रमा त जान्छ जान्छ तर यसलाई प्रतिक्रियावादीहरूले आफूले चाहेजस्तो बनाउन खोज्नेछन्,  हामीले चाहेजस्तो बनाउन खोज्नेछौँ, त्यो बेला फेरि जनताको गणतन्त्रका लागि अर्को संघर्ष आवश्यक पर्न सक्छ भनेका थियौँ, त्यो बिन्दु अब नजिक आएको छ ।’

उनले अब हुने क्रान्ति पहिलेजस्तो सशस्त्र नहुने बरु जनतामा गएर जनताकै बलमा भ्रष्टाचार र बेथितिविरुद्ध आन्दोलन अघि बढाउने बताए ।

नयाँ क्रान्तिका लागि विभाजित माओवादीलाई एकताबद्ध गर्दै माओवादीको आफ्नै एजेन्डा र पहिचानमा अघि बढ्ने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले स्थानीय तहको उपनिर्वाचनमा एक्लै विजय प्राप्त गरेर त्यसको सुरुवात गरिसकेको बताए ।

कार्यक्रममा अध्यक्ष प्रचण्डलाई गणतन्त्र नायक सम्मानबाट सम्मानित गरिएको थियो । गणतन्त्र सेनानी कोषले उनलाई सो सम्मान गरेको हो ।

देशबाट राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना गर्न दश वर्षे युद्धको पहल, थालनी र नेतृत्व गर्दै जनआन्दोलन र संविधानसभाको निर्वाचन हुँदै गणतन्त्र घोषणा, गणतान्त्रिक संविधान निर्माण र गणतान्त्रिक सरकारको नेतृत्व गर्दै मुलुकलाई यहाँसम्म ल्याइपुगाउन कुशल नेतृत्व गरेकोमा गणतन्त्र नायकको सम्मान प्रदान गरिएको कोषले जनाएको छ ।

त्यसैगरी कोषले जनमुक्ति सेनाका डेपुटी कमान्डरहरु नन्दकिशोर पुन पासाङ, वर्षमान पुन, जनार्दन शर्मा र चक्रपाणि खनाललाई गणतन्त्र सेनानी सम्मान प्रदान गरेको छ ।

टोकियोमा सरकारी कर्मचारीका लागि हप्तामा तीन दिन बिदा दिने प्रस्ताव

टोकियो । टोकियोका गभर्नरले अभिभावकत्वलाई प्रोत्साहित गर्ने राष्ट्रव्यापी प्रयासअन्तर्गत राजधानीमा सरकारी कर्मचारीका लागि चार दिनको कार्यसप्ताह सुरु गर्ने प्रस्ताव गरेका छन् ।

जापानका प्रधानमन्त्री शिगेरु इशिबाले जापानको न्यून जन्मदरलाई ‘शान्त सङ्कटकालीन अवस्था’ को संज्ञा दिँदै लचिलो कार्य समयजस्ता नीति अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

जापानमा पनि कामकाजी आमाहरूले अझै पनि घरायसी बोझ बोक्नुपर्छ, छोराछोरी हुर्काउनुपर्छ र आफन्तहरूको हेरचाह गर्नुपर्छ भन्ने अपेक्षा नै बच्चाको अभावको मुख्य कारक मानिन्छ ।

आमाबाबुका लागि काम र जीवनको सन्तुलन लाई सजिलो बनाउन, गभर्नर युरिको कोइकेले टोकियो महानगरले सरकारी जागिरमा कार्यरत निजामती कर्मचारीहरूलाई अप्रिलबाट सुरु हुने नयाँ आर्थिक बर्षमा एक हप्तामा चार दिन काम गर्ने विकल्प प्रस्तुत गर्न चाहन्छन् ।

उनको प्रशासनले अर्को वर्ष टोकियो विधानसभामा लचिलो कार्य घण्टाको मस्यौदा प्रस्ताव पेश गर्ने योजना बनाएको छ ।

“महिला सशक्तीकरणमा पछि पर्नु जापानको लामो समयदेखिको मुद्दा हो, र यथास्थितिमाथि विजय प्राप्त गर्नु र समाजलाई थप विविधतापूर्ण र समृद्ध बनाउनु हाम्रो उज्ज्वल भविष्यका लागि महत्वपूर्ण छ,” उनले भने ।

उनले भने, “जापानी सरकारी कार्यालयमा काम गर्ने कर्मचारीलाई हप्तामा तीन दिन छुट्टी दिने अधिक लचिलो कार्यप्रणालीले हामीलाई काम र जीवनको सन्तुलनका लागि जनताको पूर्ण समर्थनको सुरूवात गर्न लागेका छौँ।”

टोकियो महानगर प्रशासन अन्तर्गत सरकारी कर्मचारी मामिलाहेर्ने अधिकारी सची इकेगामीले बुधबार एएफपीसँगको कुराकानीमा उनले भने, “यो योजनाअन्तर्गत सिफ्टमा काम गर्ने कर्मचारीबाहेक सरकारी कर्मचारीले हप्तामा तीन दिनबिदा लिन सक्नेछन् । साथै, उनीहरूले प्रति महिना थप १५५ घण्टा बिदा लिनुपर्नेछ ।

साना बच्चाहुर्काउने कर्मचारीहरूलाई पनि थप लचिलो घण्टाको प्रस्ताव गरिनेछ, कामको दिन दुई घण्टासम्म छोट्याइनेछ, इकेगामीले  भने ।

जापानमा चार दिनको कार्यसप्ताहको प्रस्ताव जापानका लागि अनौठो लाग्न सक्छ किनकि उनीहरू अधिक श्रम वा काममा व्यस्त रहने गर्छन् । तर, स्थानीय सरकारले आमाबाबुको सहयोगका लागि यस्तो प्रस्ताव ल्याउन लागेको हो ।

पछिल्लो समय, धेरै विकसित देशहरू कम जन्म दरको समस्या सँग सङ्घर्ष गरिरहेका छन्, यो समस्या विशेष गरी जापानमा गम्भीर छ । जापानको जनसङ्ख्या लगातार १५ वर्षदेखि घटिरहेको छ ।

यसको अपेक्षाकृत कडा आप्रवासन नियमको अर्थ यो बढ्दो श्रम अभावको सामना गरिरहेको छ भन्ने बुझिन्छ ।

सन् २०१६ देखि विश्वको सबैभन्दा ठूलो शहरमध्ये एक टोकियोमा शासन गर्दै आएका पूर्वमन्त्री तथा टेलिभिजन प्रस्तोता कोइकेले गत जुलाईमा तेस्रो कार्यकालका लागि टोकियोको सामाजिक कल्याणको लाभ बढाउने प्रतिबद्धता व्यक्त गर्दै मुद्रास्फीति र घट्दो जन्मदरजस्ता चुनौतीलाई स्वीकारेका थिए।

दक्षिण कोरियाका राष्ट्रपति युन सुकविरुद्ध महाभियोग प्रस्ताव पेस

बीबीसी । दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलविरुद्ध महाभियोग प्रस्ताव पेस गरिएको छ । विपक्षी सांसदहरूले उनलाई महाभियोग लगाउने प्रस्ताव संसदमा बुधबार पेस गरेका हुन् ।

मंगलबार राति सैनिक कानुन लगाउने युनको प्रयास असफल भएको थियो । त्यसपछि विपक्षी सांसदहरूले उनलाई महाभियोग प्रस्ताव पेस गरेका हुन् ।

दक्षिण कोरियाका सामाजिक अभियन्ताले राष्ट्रपति युनको राजीनामाको माग गर्दै देशभर केही दिनसम्म प्रदर्शन गर्ने तयारी पनि गरिरहेका छन् ।

यसैबीच, दक्षिण कोरियाको मुख्य श्रमिक संघले अनिश्चितकालीन हड्ताल सुरु गरेको छ । मंगलबार साँझ युनले देशमा मार्सल लको घोषणा गरेका थिए । राष्ट्रविरोधी तत्त्वलाई हटाउन यो कदम चालिएको उनले बताएका थिए । तर, बुधबार बिहान उनले सैनिक कानु लगाउने आदेश फिर्ता लिएका थिए ।

२४ अंकले घट्यो नेप्से

काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजार नेप्से दोहोरो अंकले घटेको छ । बुधबार नेप्से २४ दशमलव ९७ अङ्कले घटेको छ ।

बुधबार जलविद्युत्, उत्पादन र माइक्रोफाइनान्स बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, बीमा, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था र लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपाल कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर, रिभर फल्स पावर कम्पनीको शेयर भने झन्डै १० प्रतिशतले बढेको छ ।

आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । मंगलबार आठ अर्ब ५२ करोडको कारोबार भएकोमा बुधबार तीन सय २० वटा कम्पनीका दुई करोड तीन लाख कित्ता शेयर नौ अर्ब १३ करोड रुपैयाँमा कारोबार भएको छ ।

सामुदायिक विद्यालयको समस्या पहिचानमा जुट्दै पौवादुङमा

भोजपुर । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि पौवादुङमा गाउँपालिकाले जोड दिएको छ । खस्किदो शैक्षिक गुणस्तर सुधारका लागि गाउँपालिकाले योजनाबद्ध विकासमा जोड दिएको हो । 

सामुदायिक विद्यालयको समस्या पहिचान तथा शैक्षिक सुधारका लागि स्थानीय सरकारले गर्नुपर्ने कार्यहरुका विषयमा जानकारी लिन सरोकारवाला पक्षसँग आवश्यक सुझाव सङ्कलन थालेको छ ।

गाउँपालिकाले हालसम्मको शिक्षाको समसामयिक अवस्थाको विषयमा जानकारी गराउँदै शैक्षिक सुधारका लागि आगामी दिनमा सम्बद्ध पक्षले खेल्नुपर्ने भूमिकाका विषयमा योजनाबद्ध रुपमा काम अघि बढाएको छ । 

गाउँपालिकाले खस्किँदो शैक्षिक क्षेत्रको सुधारका लागि यहाँका ३२ वटा विद्यालयका सम्पूर्ण शिक्षक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा जनप्रनिधिसँग अन्तरक्रिया तथा उत्प्रेरणात्मक कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममार्फत समूह निर्माण गरेर शैक्षिक सुधारका लागि गर्नुपर्ने कार्यका बारेमा रणनीति तयार गरिएको हो । 

हालको नतिजालाई थप सुधारका लागि शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा गाउँपालिकाले गर्नुपर्ने कामको विषयमा सहभागीले आफ्नो लिखित सुझाव दिएका छन् ।

सहभागीहरुले आवश्यक कार्यविधि तयार गरेर गाउँपालिकाले अनुगमनमा जोड दिनुपर्ने साथै स्थानीय सरकारले पुरस्कार र दण्डको नीतिलाई अवलम्बन गरेर कडाइका साथ अघि बढ्नुपर्ने बताएका छन् । विद्यालयहरुको आवश्यकताका आधारमा गाउँपालिकाले कार्यक्रम सञ्चालन गर्नुपर्ने सहभागीको भनाइ छ । 

सामुदायिक विद्यालयहरुबाट राज्यको लगानी अनुसारको प्रतिफल आउन नसकेकाले शैक्षिक सुधारका लागि गर्नुपर्ने कामको विषयमा सरोकारवाला पक्षसँग आवश्यक सुझाव सङ्कलन थालिएको गाउँपालिका अध्यक्ष किरण राईले बताए ।

गाउँपालिकाको शिक्षाको क्षेत्रमा रहेका समस्याको पहिचान गरेर त्यसको समाधानमा जुट्दै सामुदायिक विद्यालयको गुणस्तर सुधारमा योजनाबद्ध रुपमा जुटेको उनको भनाइ छ ।

“गाउँपालिकाको शैक्षिक सुधारका लागि योजनाबद्ध रुपमा काम गरिरहेका छौँ”, अध्यक्ष राईले भने, “तथापि पनि सोचे अनुसारको परिणाम आउन सकेको अवस्था छैन, कसरी गुणस्तरीय शिक्षा दिन सकिन्छ भन्नका लागि सबै विद्यालयका शिक्षक तथा व्यवस्थापन समितिसँग छलफल गरेर आवश्यक योजना निर्माण गरिरहेका छौँ ।”

विगतका दिनहरुबाट विद्यालयको शैक्षिक सुधारका लागि गाउँपालिकाका तर्फबाट प्रोत्साहनका कार्यक्रम सञ्चालन भइरहेको अध्यक्ष राईको भनाइ छ । 

सामुदायिक विद्यालयको खस्किँदो गुणस्तर सुधारका लागि सबै पक्ष गम्भीर बन्न आवश्यक रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताए ।

शैक्षिक गुणस्तर सुधारका लागि सबैले आफ्नो क्षमतालाई सही ठाउँमा सदुपयोग गर्न आवश्यक रहेको उनको भनाइ छ । प्रविधिमूलक शिक्षणमा विद्यालयहरुले जोड दिन आवश्यक रहेको उनले बताए ।

पौवादुङमा एक विद्यार्थी बराबर राज्यका तर्फबाट वार्षिक रुपमा  ४४ हजार नौ सय ९२ लगानी भइरहेकाले यो लगानीको सदुयोगमा सबैले ध्यान दिनुपर्ने गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताइन् ।

गत वर्ष गाउँपालिकाको एसइई उत्तीर्ण प्रतिशत छ दशमलव पाँच रहेको शिक्षा शाखाले जनाएको छ । विद्यार्थीहरुको आन्तरिक मूल्याङ्कनको तथ्याङ्क राम्रो देखिए पनि बाह्य मूल्याङ्कनमा भने कमजोर देखिएको शाखाको भनाइ छ । 

कोशी प्रदेशसभा सदस्य विनोद वान्तावाले राज्यले शिक्षामा गरेको लगानीको प्रतिफल आउनेगरी शैक्षिक गतिविधिलाई अघि बढाउन आवश्यक रहेको बताए । नेपालको शिक्षा प्रणालीलाई प्रविधिमैत्री र जीवन उपयोगी बनाउन आवश्यक रहेको उनको भनाइ छ । 

गाउँपालिकाको कक्षा १ देखि ५ सम्म आन्तरिक मूल्याङ्कन मापदण्ड कार्यान्वयनको अन्तिम चरणमा रहेको गाउँपालिका शिक्षा शाखा प्रमुख सुनिता कट्वालले जानकारी दिइन् ।

अबका दिनमा शैक्षिक सुधारका लागि यसको आधारमा विद्यालयको आन्तरिक मूल्याङ्कन तथा अनुगमन गरिने उनको भनाइ छ । यहाँका सम्पूर्ण विद्यालयमा दुई हजार तीन सय हाराहारी विद्यार्थी अध्ययनरत रहेको जनाइएको छ ।

चलचित्र विकास बोर्डद्वारा चलचित्र भवनको सूची सार्वजनिक

काठमाडौँ । चलचित्र विकास बोर्डले देशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक गरेको छ । बोर्डले सूचना जारी गर्दै नेपालभर एक सय ६६ चलचित्र भवन रहेको तथ्याङ्क सार्वजनिक गरेको हो । 


सूचीअनुसार बागमती प्रदेशमा ६७, कोशी प्रदेशमा ३१, मधेस प्रदेशमा २६, गण्डकीमा १४, लुम्बिनीमा २४, कर्णालीमा तीन र सुदुरपश्चिममा एउटा चलचित्र भवन सञ्चालनमा  छन् । 


बोर्डले चलचित्र भवन र सिट सङ्ख्या समेत उल्लेख गरिएको छ । बोर्डले आगामी दिनमा सञ्चालनमा रहेका चलचित्र भवनको सङ्ख्या थपघट हुनसक्ने समेत जनाएको छ ।  


सार्वजनिक चलचित्र भवन बोर्डमा नवीकरण भइसकेको उल्लेख गर्दै ती भवनमा मात्रै प्रदर्शनका लागि चलचित्र उपलब्ध गराउन र वितरकलाई वितरण गर्न आग्रह समेत गरेको छ ।

धरानबाट तस्करलाई गोली हानेर ६ सय किलो गाँजा बरामद

धरान । प्रहरीले सुनसरीको धरानबाट मङ्गलबार राति ६ सय किलो गाँजा बरामद गरेको छ । धरान उपमहानगरपालिका–१३ शिवधाराबाट प्रहरीले उक्त गाँजा बरामद गरेको हो । 


गाँजा बरामद गर्ने क्रममा प्रहरीले चार राउण्ड गोलीसमेत प्रहार गरेको सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिए । धनकुटाबाट धरानतर्फ आउँदै गरेको अवस्थामा प्रहरीले बा१झ ५१२७ र बा१झ ४६०५ सरकारी नम्बर प्लेटका दुईवटा जिपलाई मङ्गलबार राति नियन्त्रणमा लिएको थियो ।


दुवै जिपलाई रोकेर जाँच गर्न खोज्दा चालक भाग्न खोजेपछि प्रहरीले गोली हानेर गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले जानकारी दिए ।


धनकुटाबाट गाँजा ल्याइँदैछ भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरान र वडा प्रहरी कार्यालय भानुचोकबाट खटिएको प्रहरी टोलीले गाँजा बरामद गरेको हो ।


गाँजा बरामद गर्ने क्रममा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैचा–११ का ३६ वर्षीय श्यामकुमार विक रहेका छन् । उनलाई इलाका प्रहरी कार्यलय धरानमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

राष्ट्रसङ्घद्वारा सन् २०२५ मा सहायतका लागि ४७ अर्ब अमेरिकी डलर रकम माग

जेनेभा । संयुक्त राष्ट्रसङ्घले बढ्दो द्वन्द्व र जलवायु सङ्कटका कारण लाखौं मानिसलाई सहायताको आवश्यक पर्ने भन्दै आगामी वर्षका लागि ४७ अर्ब अमेरिकी डलरभन्दा बढीको माग गरेको छ ।

संयुक्त राष्ट्रसङ्घका नयाँ मानवीय सहायता प्रमुख टम फ्लेचरले जेनेभामा पत्रकारसँग कुरा गर्दै सन् २०२५ लाई ‘चिन्ता’ का साथ हेरिरहेको स्वीकार गरेका छन् ।

गाजा, सुडान र युक्रेनजस्ता स्थानमा भीषण द्वन्द्व चर्किरहेको र जलवायु परिवर्तन र चरम मौसमले ठूलो क्षति पुर्याइरहेको अवस्थामा संयुक्त राष्ट्रसङ्घले आगामी वर्ष विश्वव्यापी रूपमा ३० करोड ५० लाख मानिसलाई कुनै न कुनै प्रकारको आपतकालीन सहायताको आवश्यकता पर्ने अनुमान गरेको हो ।

फ्लेचरले भने, ‘हामी अहिले विश्वव्यापी रूपमा कैयौँ–सङ्कटको सामना गरिरहेका छौँ र यो सहयोग विश्वमा बढी सङ्कट झेलिरहेका सबैभन्दा कमजोर मानिसहरूका लागि हो । जलवायु परिवर्तन र द्वन्द्वका कारण सिर्जित असमानताले आवश्यकताको ‘व्यापक माग’लाई निम्त्याएको छ।’

ग्लोबल ह्युमेनिटेरियन ओभरभ्यु’को शुभारम्भ गर्दै फ्लेचरले संयुक्त राष्ट्रसङ्घ र यसका साझेदारहरूले खाँचोमा परेका सबै व्यक्तिसम्म पुग्न नसक्ने बताए ।

संयुक्त राष्ट्रसङ्घका निकाय र अन्य मानवीय संस्थाहरूले सन् २०२५ का लागि ४७ अर्ब ४० करोड अमेरिकी डलर माग गरेका छन्, जुन यस वर्षको अपीलभन्दा केही कम हो। यो योजनापछि पनि अझै ११ करोड ५० लाख अमेरिकी अपुग हुने फ्लेचरले स्वीकार गरे ।

विश्वभरका मानवीय कार्यमा ‘दातृ निकायको थकान’ले सहायता कार्यक्रमलाई असर गरिरहेको तर्फ इङ्गित गर्दै उनले ‘यथार्थपरक’ योजना तयार पार्नुपर्नेमा जोड दिए । उनले भने, ‘यसका लागि प्राथमिकता र ‘वास्तवमै कठिन, कठिन छनौट’ को आवश्यकता पर्छ।’

गत महिनासम्ममा यस वर्षका लागि ५० अर्ब अमेरिकी डलर को अपीलमध्ये ४३ प्रतिशत मात्र पूरा भएको थियो ।

यस वर्ष सिरियामा खाद्य सहायतामा ८० प्रतिशतले कमी आएको, म्यान्मारमा सुरक्षा सेवामा कटौती गरिएको र हैजाप्रभावित यमनमा पानी तथा सरसफाइ सहायतामा कमी आएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

तथापि, सशस्त्र द्वन्द्वमा मानिसहरूलाई सहयोग र संरक्षण गर्न सबैभन्दा ठूलो अवरोध भनेको अन्तर्राष्ट्रिय कानूनको व्यापक उल्लङ्घन हो ।

सन् २०२४ मानवीय सहायताकर्मीका लागि सबैभन्दा घातक वर्ष भइसकेको छ । गत वर्ष २८० सहायताकर्मीको मृत्यु भएको थियो ।

फ्लेचरले भने,’विश्वव्यापी मानवीय प्रणाली ‘अत्यधिक बढ्दो गति’मा छ तर आवश्यकताको तुलनामा कम वित्तपोषित छ र यो शाब्दिक रूपमा भन्दा चिन्ताजनक अवस्थामा छ । हामीलाई विश्वव्यापी ऐक्यबद्धतामा वृद्धिको आवश्यकता छ।’

यसैबीच विश्वको सबैभन्दा ठूलो मानवीय दातृ निकाय अमेरिकामा डोनाल्ड ट्रम्पको राष्ट्रपतिमा पुनरागमनले आगामी वर्ष सहायता रकममा वृद्धिको साटो सहायता एजेन्सीको बजेट कटौती हुनसक्ने आशङ्का बढेको छ ।

फ्लेचरले आगामी महिनामा नयाँ प्रशासनसँग जोडिनका लागि वासिङ्टनमा धेरै समय बिताउने योजना रहेको बताए ।

‘धेरै कठिन वैश्विक जलवायु परिवर्तनको चिन्ता केवल अमेरिकाको कारण मात्र नभई अन्य दातृ मुलुकका कारण पनि निम्तिएको र यसलाई सम्बोधन गर्न थप कदम चाल्नु पर्ने आवश्यकता छ,’ फ्लेचरले भने ।

संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार सन् २०२४ को मध्यसम्ममा द्वन्द्वका कारण १२ करोड ३० लाख मानिस आफ्नो घरबाट विस्थापित भएर बाँचिरहेका छन् भने विश्वमा हरेक पाँच बालबालिकामध्ये एक जना द्वन्द्वग्रस्त क्षेत्रमा बसिरहेका छन् ।

अझ चिन्ताजनक कुरा के छ भने समुदाय, खाद्य प्रणालीलाई तहसनहस पार्ने र सामूहिक विस्थापन गर्ने जलवायुजन्य विपत्तिहरूले समस्या सिर्जना गरेका छन् ।

उनले भने, ‘मलाई चिन्ता के छ भने आवश्यकताका ती दुई ठूला चालकहरूले अहिले एक साथ समस्याको सिर्जना गरिरहेका छन् ।’

सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको उत्पादन सुरु

फुङ्लिङ। स्नो रिभर्स लिमिटेडले निर्माण गरेको १३ दशमलव पाँच मेगावाट क्षमताको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना औपचारिक रूपमा विद्युत् उत्पादन सुरु भएको छ ।

सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनस्थित आयोजनाको उत्पादन पाँचथरको हिलिहाङ गाउँपालिकामा रहेको नेपाल विद्युत् प्राधिकरणको एक सय ३२ केभिए क्षमताको अमरपुर सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।

आयोजनाको उत्पादन परीक्षण एक सातासम्म सञ्चालन गरी सफल भएपछि विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाले जानकारी दिए। याम्फुदिनस्थित विद्युत् गृहबाट ३१ किलोमिटर दूरीमा रहेको अमरपुर सबस्टेसनसम्मको विद्युत् प्रसारण प्रणाली निर्माण सम्पन्न गरिएको छ ।

विसं २०७९ मङ्सिर अन्तिम सातादेखि सुरु भएको आयोजनाको निर्माण रु दुई अर्ब ६३ करोड २९ लाख लागतमा छोटो अवधिमै सम्पन्न भएको हो । सुपर काबेली ‘ए’ आयोजनाको निर्माण सम्पन्न भएसँगै ताप्लेजुङमा उत्पादन भइरहेको जलविद्युत् आयोजनाको सङ्ख्या आठ पुगेको छ ।

ताप्लेजुङमा हालसम्मका सबैभन्दा ठूला आयोजनामध्ये ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजना प्रमुख हो । त्यसलाई सानिमा हाइड्रो कम्पनीले निर्माण गरेको हो । त्यस्तै, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीद्वारा सञ्चालित २५ मेगावाट क्षमताको काबेली ‘बी–१’ र १० मेगावाट क्षमताको काबेली ‘बी–१’ क्यासकेट आयोजना पनि यस क्षेत्रका महत्त्वपूर्ण आयोजना हुन् ।

इँवाखोला जलविद्युत् आयोजनामा नौ दशमलव नौ मेगावाट र माथिल्लो इँवाखोला आयोजनामा नौ दशमलव सात मेगावाट क्षमताको विद्युत् उत्पादन भइरहेको छ । यी आयोजना ताप्लेजुङ र पाँचथरको सिमानामा बग्ने इन्द्रावती खोलाबाट सञ्चालित छन् ।

पाथीभरा याङ्वरक गाउँपालिकास्थित फावाखोलामा युनिटेक हाइड्रोपावर कम्पनीद्वारा सञ्चालित पाँच दशमलव आठ मेगावाट र सिवानी हाइड्रोपावर कम्पनीद्वारा सञ्चालित पाँच मेगावाट क्षमताका आयोजनाबाट विद्युत् उत्पादन हुँदै आएको छ ।

ताप्लेजुङमा हाल डेढ दर्जनभन्दा बढी जलविद्युत् आयोजना निर्माणाधीन छन् । यी आयोजना सम्पन्न भएपछि जिल्लामा विद्युत् उत्पादन थप विस्तार हुने अपेक्षा गरिएको छ ।

राष्ट्रपति पौडेलको प्रोस्टेटसम्बन्धी शल्यक्रिया

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको बुधबार प्रोस्टेटसम्बन्धी शल्यक्रिया सम्पन्न भएको छ । उनको त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा प्रोस्टेटसम्बन्धी आधुनिक प्रविधिबाट शल्यक्रिया सम्पन्न भएको अस्पतालका निमित्त कार्यकारी निर्देश प्राडा घनश्याम गुरुङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति पौडेल आज बिहान भर्ना भएका थिए । हाल उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

नेपाल र चीनबीच ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा हस्ताक्षर

काठमाडौं । नेपाल र चीन सरकार बीच बेल्ट एवं रोड इनिसिएटिभ(बीआरआई) सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा चीन भ्रमणमा रहेका बेला बुधबार दुई देशका अधिकारीबीच फ्रेमवर्कमा हस्ताक्षर भएको हो ।

फ्रेमवर्कमा नेपालले ऋणको साटो अनुदानको प्रस्ताव गरेको थियो । तर चीनले अनुदानको नेपालको प्रस्तावलाई अस्वीकार गरेको बताइएको थियो । अहिले हस्ताक्षर भएको विषयको विस्तृत विवरण भने खुलाइएको छैन ।

यसअघि दुई देशबीच मंगलबार विभिन्न नौ विषयमा सम्झौता भएको थियो । तर बीआरआईमा सम्झौता भएको थिएन । बीआरआईमा सम्झौता नभएपछि विपक्षी दलले प्रधानमन्त्रीको चीन भ्रमण असफल भएको भन्दै आलोचना गरेका थिए ।

मंगलबार दुई देशबीच टोखा–छहरे सुरुङमार्ग निर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । त्यसैगरी नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

चीनले काठमाडौँको वसन्तपुरस्थित नौतले दरबार पुनःनिर्माण सम्पन्न गरेको प्रमाणपत्रको आदानप्रदानका साथै भैसीँको मासु चीन निर्यातसम्बन्धी प्रोटोकलमा समझदारी भएको छ ।

त्यस्तै विकास आयोजनासम्बन्धी सम्झौता, आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी, नगद सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भइ आदानप्रदान भएको छ भने स्वयम्सेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारी तथा नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । त्यस्तै चीनले नेपाललाई नौ अर्ब बराबरको अनुदान सहायताको घोषणासमेत गरेको छ ।