`

ईयुले साइबर सुरक्षा बलियो बनाउन नयाँ कानून अपनाउने

ब्रसेल्स ।  युरोपेली सङ्घ (ईयु) काउन्सिलले साइबर खतराप्रति उद्धार बनि सदस्य राष्ट्रहरूबीच बलियो साइबर ऐक्यबद्धता प्रवर्द्धन गर्ने उद्देश्यले सोमबार दुईवटा नयाँ कानून पारित गरेको छ ।

उक्त नयाँ कानूनहरू साइबर सुरक्षा विधायी प्याकेजको हिस्सा हो । यी उपायहरूले साइबर घटनाहरू विरुद्ध ईयुको तयारी र प्रतिक्रिया क्षमताहरूलाई सुदृढ पार्ने लक्ष्य राख्छन् ।

नयाँ नियमले राष्ट्रिय र सीमापार साइबर केन्द्रहरू मिलेर साइबर सुरक्षा चेतावनी प्रणाली स्थापना गर्ने प्रावधान पनि राखेको छ । कानूनले साइबर खतरा पत्ता लगाउन, प्रतिरोध गर्न तथा कृत्रिम बुद्धिमत्ता र उन्नत डाटा बिश्लेश्ण गर्न सघाउने अपेक्षा गरिएको छ भने स्वास्थ्य सेवा, यातायात र ऊर्जा जस्ता महत्वपूर्ण क्षेत्रमा परीक्षण क्षमतालाई पनि समर्थन गर्दछ ।

कानून निजी क्षेत्रबाट घटना प्रतिक्रिया सेवाहरू प्रदान गदै साइबर घटनामा ईयु सदस्य राज्य वा संस्थाको अनुरोधमा प्रयोग गर्न सकिन्छ । यसबाहेक, आपतकालीन प्रतिक्रिया प्रणालीको प्रभावकारिता मूल्यांकन गर्न घटना समीक्षा संयन्त्र स्थापना गरिनेछ ।

कानून आगामी हप्तामा ईयुको आधिकारिक जर्नलमा प्रकाशित हुनेछ भने प्रकाशनको २० दिन पछि लागू हुनेछ ।

दक्षिण कोरियामा ३८ जना भियतनामी पर्यटक बेपत्ता

सियोल ।  दक्षिण कोरियाको दक्षिणी रिसोर्ट टापु जेजुमा ३८ जना भियतनामी पर्यटक बेपत्ता भएको योन्हाप समाचार एजेन्सीले टापुको पर्यटन संगगठनलाई उद्धृत गर्दै जनाएको छ ।

गत नोभेम्बर– १४ मा चार्टर्ड भियेटजेट एयरको उडानबाट करिब ९० जना भियतनामी यात्रु टापुमा आइपुगेको स्रोतले जनाएको छ । तीनीहरु मध्ये ३८ जना पर्यटकहरु यहि स्थानबाट सम्पर्कविहिन भएको तथा बाँकी यात्रुहरु सोहि उडानमा फिर्ता भएको स्रोतले जनाएको छ ।

ती विदेशी यात्रुहरूलाई बिना भिसा ३० दिनसम्म उक्त टापुमा बस्न अनुमति दिइएको थियो । जसअनुसार ती भियतनामी पर्यटकहरू डिसेम्बर–१४ पछि अवैध आप्रवासी हुनेछन् ।

टापुस्थित अध्यागमन कार्यालयले वेपत्ता भियतनामीहरूको ठेगाना पत्ता लगाउन निगरानी गरिरहेको जनाएको छ ।

टोखा–छहरे सुरुङमार्ग निर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका चिनियाँ समकक्षी लि छ्याङको उपस्थितिमा नेपाल र चीनबीच विभिन्न समझदारी भएको छ । दुवै देशका प्रधानमन्त्रीबीच द्विपक्षीय वार्तापछि पारस्परिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।


नेपाल र चीनबीच टोखा–छहरे सुरुङमार्ग निर्माणसम्बन्धी समझदारीपत्रमा दुवै देशका सम्बद्ध अधिकारीले हस्ताक्षर गरेर आदानप्रदान गरेका छन् ।


त्यसैगरी नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । चीनले काठमाडौँको वसन्तपुरस्थित नौतले दरबार पुनःनिर्माण सम्पन्न गरेको  प्रमाणपत्रको आदानप्रदानका साथै भैसीँको मासु चीन निर्यातसम्बन्धी प्रोटोकलमा समझदारी भएको छ ।


परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालका अनुसार विकास आयोजनासम्बन्धी सम्झौता, आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी, नगद सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भइ  आदानप्रदान भएको छ भने स्वयम्सेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारी तथा नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रवक्ता ढकालले भने, ‘सम्पर्क सञ्जाल विस्तार, औद्योगिक तथा पूर्वाधार विकास, स्वास्थ्य क्षेत्रमा सहकार्य, कृषि, व्यापार, पर्यटन, लगानी, विज्ञान तथा प्रविधि, खेलकूद, प्राकृतिक प्रकोप व्यवस्थापन, दुई देशबीचको जनस्तरको सम्बन्ध, गरिबी निवारणलगायतका क्षेत्रमा थप सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको छ ।’

प्रधानमन्त्री ओलीद्वारा चिनियाँ जनक्रान्तिका सहिदका स्मारकमा पुष्पहार अर्पण

बेइजिङ (चीन) । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ जनक्रान्तिका सहिदका स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली प्रकट गरेका छन् । चीनको औपचारिक भ्रमणमा रहेका उनले मंगलबार बेइजिङको तियानमेनस्क्वायरस्थित चिनियाँ जनक्रान्तिका सहिदहरुको स्मारकमा पुष्पहार अर्पण गरेका हुन् । 


चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली सोमबार बेइजिङ आइपुगेका हुन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 


यसअघि प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय आपसीहितका विविध विषयमा विचार आदानप्रदान गर्नुका साथै नौ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही मङ्सिर २० गते स्वदेश फर्कने तालिका छ ।

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल भ्रमणमा आउँदै

वासिङ्टन, डिसी । अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लुले यसैसाता नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार आजदेखि उनी दक्षिण एसियाली मुलुकहरूको भ्रमणमा जानेछन् । सहायक विदेशमन्त्री डोनाल्ड पहिले श्रीलङ्का, त्यहाँबाट भारत र त्यसपछि नेपालको भ्रमणमा जानेछन् । उनको दक्षिण एसिया भ्रमण नेपालबाट समापन हुनेछ ।

नेपाल भ्रमणका क्रममा उनले शीर्ष नेतृत्वसँग पर्यावरण संरक्षण, महिला सशक्तीकरण र दिगो विकासका साथै नेपाल–अमेरिका सम्बन्धका विविध पक्षबारे युवा नेतासँग छलफल गर्नेछन् ।

पर्यटन तथा अर्थतन्त्रका मेरुदण्ड मानिएका नेपालका सांस्कृतिक सम्पदाको संरक्षणलगायत विषयमा पनि सहायक विदेशमन्त्रीले छलफल गर्ने विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

विराटनगरको लगातार दोस्रो हार

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्ग्सलाई पराजित गर्दै सुखद् सुरुवात गरेको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको पहिलो खेलमा सुदूरपश्चिमले विराटनगरलाई ९० रनले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो । विराटनगरले भने प्रतियोतिगामा लगातार दोस्रो हार बेहोरेको छ । यसअघि भएको पहिलो खेलमा विराटनगर जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको थियो । 


विराटनगरका  लागि बसिर अहमदले २८ बल खेल्दै दुई चौकाको सहयोगमा २४ रन बनाए । नौ बल खेलेका राजेश पुलामीले एक चौकाको मद्दतमा १५ रन बनाए । अनिल खरेलले १० रन बनाउनेबोहक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । 


त्यस्तै क्रिस सोलले नौ रन जोड्दा कप्तान सन्दीप लामिछाने आठ रनमा आउट भए । त्यस्तै इस्मत आलम ६ रनमा तगा निकोलस कीर्तोनले पाँच रन जोडे । 


बलिङतर्फ सुदूरपश्चिमका अभिनाश बोहोरा र स्कट कुगेलेइनले समान तीन तीन विकेट लिए भने ब्रान्डन म्याकमुलेन र सैफ अलि जैबले समान एक÷एक विकेट लिए । 


त्यसअघि दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा सुदूरपश्चिम रोयल्सले  निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ८२ रनको योगफल तयार गरेको थियो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमका कप्तान ऐरिले अविजित रहँदै २४ बलमा तीन चौका र पाँच छक्काको मद्दतमा ५७ रन बनाए । 


त्यसैगरी ब्रेन्डन म्यामुलेनले २६ बलमा दुई चौका र दुई छक्काको सहयोगमा ३६ रन जोडे । विनोद भण्डारीले २० बलमा चार चौकाको सहयोगमा २३ रन जोडे भने इशान पान्डेले १६ बलमा दुई चौका र एक छक्काको सहयोगमा २१ रन बनाए । आरिफ शेखले पाँच बलमा दुई चौकाको सहयोगमा नौ रन जोडे । सेफ जेबले १५ बलमा एक छक्काको सहयोगमा १४ रन जोडे ।


विराटनगरका लागि अनिल खरेलले तीन विकेट लिए भने इस्मत आलम, बसिर अहमद र क्रिस सोलले समान एक ÷एक विकेट लिए । 


नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा भएको नेपाल प्रिमियर लिग (एनपिएल) मा विभिन्न आठ टोली सहभागी छन् । जसमा काठमाडौँ गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, विराटनगर किङ्ग्स, जनकपुर बोल्ट्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स छन् । 


प्रतियोगिताअन्तर्गत आजै हुने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच आज दिउँसो सवा एक बजे प्रतिस्पर्धा हुँदैछ ।

सिलीगुडी–झापा र अमलेखगञ्ज चितवन पाइपलाइन विस्तारबारे दुई देशका अधिकारीबीच छलफल

काठमाडौं ।  भारत भ्रमणमा रहेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र उनका भारतीय समकक्षी पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदीपसिंह पुरीबिच नयाँदिल्लीमा भेटवार्ता भएको छ ।

सोमबार अपराह्न उनीहरूबिच भएको भेटवार्तामा दुईपक्षीय हितका साथै पारस्परिक चासोका विविध विषयमा कुराकानी भएको मन्त्री भण्डारीको निजी सचिवालयले जनाएको छ ।

उनीहरूबिच नयाँ पूर्वाधार योजनाअन्तर्गत सिलिगुडी–झापा र अमलेखगन्ज–चितवन पेट्रोलियम पाइपलाइन निर्माणबारे छलफल भएको थियो । साथै उनीहरूले विगतमा दुई देशबिच भएका सम्झौता तथा तिनको कार्यान्वयनका सम्बन्धमा पनि छलफल गरेका छन् ।

यसैबिच, सर्लाहीको ग्यास पाइपलाइन निर्माण, त्रिभुवन विमानस्थलको इन्धन डिपो स्थानान्तरण, भारतीय आयल कर्पोरेसन लिमिटेड र नेपाल आयल निगमबिचको साझेदारीलगायत विषयमा छलफल भएको तथा दुवै निकायद्वारा प्रस्तुत एकीकृत प्रतिवेदन प्राप्त भएपछि सक्दो सहयोग गर्न भारत तत्पर रहेको मन्त्री पुरीले बताएको मन्त्री भण्डारीले जानकारी दिए ।

त्यसैगरी, द्विपक्षीय सरकारी संयन्त्रका सबै बैठक नियमित रूपमा गर्न दुवै पक्ष सहमत भएकाे उनकाे भनाइ छ ।

भारतीय पक्षले नेपालको सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको मन्त्री भण्डारीले बताए ।

उपनिर्वाचनको परिणाम उत्साहवद्र्धक संकेतः कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको उपनिर्वाचनको परिणाम आगामी चुनावी रणनीतिका लागि महत्वपूर्ण भएको निष्कर्ष निकालेको छ ।

पार्टी महामन्त्री एवं उपनिर्वाचन केन्द्रीय संयोजनक समितिका संयोजक विश्वप्रकाश शर्माले मंगलबार विज्ञप्ति जारी गरी जित र हार व्यहोरेका सबै स्थानको कारण र प्रवृत्तिको वस्तुगत समीक्षा आगामी चुनावी रणनीति निर्माणका लागि महत्वपूर्ण रहने निष्कर्ष निकालेको जानकारी दिएका हुन् ।

उनले भनेका छन्, ‘२०७९ मा विजय पाएको केही स्थान हामीले गुमाएका छौं भने त्यसबेला अन्य दलले जितेका केही स्थानमा विजय हासिल गरेका छौं । लोकतन्त्रमा शतप्रतिशत स्थानमा जितको अपेक्षा लोकतान्त्रिक सोच हुन्न, तर जित र हार व्यहोरेका सबै स्थानको कारण र प्रवृत्तिको वस्तुगत समीक्षा आगामी चुनावी रणनीति निर्माणका लागि महत्वपूर्ण रहने हाम्रो निष्कर्ष छ । हामी यो गर्नेछौं ।’

त्यस्तै उनले गलत र भ्रमपूर्ण सूचनाहरूको बलमा मन र मत जित्न सकिने भ्रम आम रूपमा परास्त भएको पनि उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘उपनिर्वाचनमा आवेग र उत्तेजनाको राजनीति पनि मैदानमा देखियो । गलत र भ्रमपूर्ण सूचनाहरूको बलमा मन र मत जित्न सकिने भ्रम आम रूपमा परास्त भएको छ । निराशालाई मतमा बदल्न खोज्ने प्रवृत्तिसँग सजग रहँदै काममार्फत विश्वास जगाउन र सामाजिक सञ्जालमार्फतका भ्रमहरू चिर्न पार्टी पंक्तिको विशेष सतर्कता र कृयाशिलता जरुरी देखिएको छ । यो उपनिर्वाचनमा सामाजिक सञ्जाल मार्फत सकृय भुमिका निभाउने युवा पंक्तिलाई पार्टी सम्मान गर्दछ ।’

रिक्त ४४ स्थानमा भएको उपनिर्वाचनमा १९ स्थानमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । समग्रमा यो ४३.१८ प्रतिशत हो ।

नेपाल र चीनबीच आठ सहमतिपत्रमा हस्ताक्षर

बेइजिङ । नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदानलगायत विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली छ्याङबीच ग्रेट हल अफ पिपलमा दुईपक्षीय भेटवार्तापछि आपसी सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको होे ।

वार्ताअघि प्रधानमन्त्री ओलीलाई चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल चीनको औपचारिक भ्रमणमा हिजो बेइजिङ आइपुगेको हो ।

सुदूरपश्चिम रोयल्सद्वारा विराटनगर किंग्सलाई १८३ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १८३ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरमा ७ विकेट गुमाएर १८२ रन बनायो ।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले आक्रामक पारि खेल्दै टिमको स्कोर उच्च बनाउन महत्वपूर्ण भूमिका खेले । सातौं नम्बरमा क्रिजमा आएका दिपेन्द्रले २४ बलमा ५ छक्का र ३ चौकाको मद्दतले ५७ रनको नटआउट पारि खेले । यसैगरी ब्रेन्डन म्याकमलेनले २६ बलमा ३६ रनको पारि खेले ।

उनले समान दुई दुई चौका र छक्का प्रहार गरे । यसैगरी ओपनर विनोद भण्डारीले २० बलमा २३ रनको पारि खेल्दा ४ चौका प्रहार गरे । त्यस्तै, इशान पाण्डेले १६ बलमा २१ रन बनाउँदा सइफ जइबले १४ रन बनाए ।

स्कट कुजलेनिजिनले १० रन बनाए । यस्तै बसन्त खत्रीले ४ रनको नटआउट पारि खेले । विराटनगरका लागि अनिल खरेलले ३ विकेट लिँदा क्रिस सोल, इस्मत आलम र बसिर अहमदले एक एक विकेट लिए । जना खेलाडी भने रनआउट भएका थिए ।

जनता नयाँ नपाएर पुरानै दल रोज्न बाध्य भएः बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ विकल्प नपाएर जनता पुरानै दललाई छान्न बाध्य भएका टिप्पणी गरेका छन् ।

स्थानीय तहको उपनिर्वाचनको परिणामलाई लिएर सामामाजिक संजालमार्फत भट्टराईले यस्तो टिप्पणी गरेका हुन् । उनले ४१ तहको उपनिर्वाचनमा अधिकांश ठाउँमा पहिलेका दलनै एकअर्काको विकल्प बनेका भन्दै जनताले नयाँ छान्न विकल्प नपाएको बताएका छन् ।

उनले भनेका छन्, ‘दुई वर्षभित्रै भएको ४१ वटा स्थानीय तहको उपनिर्वाचनमा अधिकांश ठाउँमा पहिले जितेको दलले हारेको र अर्को दलले जितेको देखिएको छ। साथै केही ठाउँलाई छाडेर अधिकांश ठाउँमा तीन पुराना दलनै एक अर्कोको विकल्प बनेका छन् । यसको सोझो अर्थ हो जनता असन्तुष्ट छन्, विकल्प चाहन्छन्, तर नयाँ विकल्प नपाएर पुरानैमध्येबाट एउटालाई छान्न बाध्य छन्।’

उनले अब नयाँ र वैकल्पिक शक्तिले यसबाट पाठ सिकेर आफ्ना कमजोरी सच्याउनुपर्ने उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘नयाँ र वैकल्पिक शक्तिहरूले यसबाट पाठ सिकेर, आआफ्ना कमजोरीहरू सच्याएर अर्को पटक जनतालई विश्वासिलो र भरपर्दो विकल्प दिन सक्नुपर्छ। अन्यथा जनता अर्कै विकल्प खोज्न बाध्य हुनेछन्।’

काठमाडौंबाट रवि लामिछानेलाई लगियो चितवन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवन लगिएको छ । मंगलबार बिहान लामिछानेलाई बुद्ध एयरको जहाजमार्फत चितवनको भरतपुर लगिएको हो ।

साहारा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा चितवन प्रहरीमा मंसिर ५ गते पूरक निवेदन दर्ता भएपछि बयानको लागि काठमाडौँबाट लामिछानेलाई सिधै चितवन लगिएको हो ।

लामिछानेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा सोमबार बयान सकिएपछि उनलाई मंगलबार चितवन लगिएको हो । साहारा चितवन सहकारीको रकम हिनामिना अभियोगमा पूर्व डिआइजी छविलाल जोशी र रामबहादुर खनाललाई दुई दिन लगाएर बयान लिइएको थियो ।

उनीहरूलाई आइतबार चितवन ल्याएर सोमबार बयान सकिएको थियो । स्वर्णलक्ष्मी सहकारी ठगीसम्बन्धी अनुसन्धानका लागि केही दिनअघि लामिछानेलाई पोखराबाट काठमाडौं ल्याइएको थियो । अब चितवनमा बयान सकिएपछि उनलाई फेरि पोखरा लगिने प्रहरीले जनाएको छ ।

हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा माओवादीकी देवकी तिमिल्सिना निर्वाचित

कर्णाली । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी देवकी तिमिल्सिना निर्वाचित भएकी छिन् । कांग्रेसकी उम्मेदवार सविता बुढालाई पराजित गर्दै उनी निर्वाचित भएकी हुन् ।

तिमिल्सिना १६ सय ३६ मत ल्याइन् भने बुढाले १५ सय ९३ मत प्राप्त गरेकी छन् । २०७९ को स्थानीय तहको निर्वाचनमा सर्केगाडका चन्द्रसिंह कार्की विजयी भएका थिए । गत भदौमा दुर्घटनामा कार्कीको निधन भएपछि सर्केगाडको उपाध्यक्ष पदका लागि उपनिर्वाचन भएको हो ।

वेलका–९ को अध्यक्षमा माओवादी केन्द्रका भरत घिमिरे निर्वाचित

गाईघाट । उदयपुरको वेलका नगरपालिका –९ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका भरत घिमिरे निर्वाचित भएका छन् । घिमिरे ५५९ मतसहित निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मोहन खड्काले ५२५ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका नवरात बस्नेतले ४ सय ४ मत प्राप्त गरेका छन् ।

त्यस्तै, जसपाका राजकुमार राईले २ सय ७ मत प्राप्त गरेका छन् भने रास्वपाका तेजमान विश्वकर्माले १ सय १३ मत ल्याएका छन् । यसअघि २०७९ को निर्वाचनमा यहाँ कांग्रेसले जितेको थियो ।

दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा एमाले उम्मेदवार निर्वाचित

चरिकोट । दोलखाको गौरीशंकर गाउँपालिको उपाध्यक्षमा एमालेकी उमा लुंगेली मगर निर्वाचित भएकी छन् । मगर २८०५ मत ल्याएर उपाध्यक्षमा निर्वाचित भएकी हुन् । उनकी प्रतिस्पर्धी माओवादी केन्द्रकी निम लेकी शेर्पाले २६०० मत ल्याएकी छन् ।

त्यस्तै, कांग्रेसकी पासदिकी तामाङले १७२७ मत ल्याइन् । त्यस्तै राप्रपाकी मनकुमारी श्रेष्ठले ११८ र रास्वपाकी गोमा श्रेष्ठले एकसय मत ल्याइन् ।

२०७९ को स्थानीय तह निर्वाचनमा गौरीशंकरको उपाध्यक्ष कांग्रेसले जितेको थियो । ०७९ को निर्वाचनमा कांग्रेसबाट उपाध्यक्षमा निर्वाचित श्यामसुन्दर तामाङको २०८० असार ३१ गते हृदयाघातका कारण निधन भएको थियो ।

कीर्तिपुरको मेयरमा कांग्रेसको जित

काठमाडौँ । काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेस उम्मेदवार कृष्णमान डंगोल विजयी भएका छन् । डंगोल ५ हजार ३ सय ३४ मत ल्याई विजयी भएका हुन् ।

डंगोलका निकटतम् प्रतिस्पर्धी माओवादीका शिवशरण महर्जनले ४ हजार ५ सय ५५ मत ल्याए । त्यस्तै नेकपा एमालेका उम्मेदवार सुरेन्द्र मानन्धरले ४ हजार ३ सय ३७ मत ल्याए । यसअघि ०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित मेयर राजकुमार नकर्मीको गत साउन १० गते निधन भएपछि कीर्तिपुरमा उपचुनाव भएको हो ।

रुपन्देही क्रिकेट संघले सात खेलाडीलाई मासिक सुविधा दिने

भैरहवा ।  रुपन्देही क्रिकेट संघले चालु आर्थिक वर्षमा सात जना खेलाडीलाई मासिक सुविधा दिने निर्णय गरेको छ । खेलाडी कल्याणकारी कोषअन्तर्गत आर्थिक वर्ष २०८१-८२ का लागि मासिक पाँच हजार रुपैयाँ दिने गरी सात जना खेलाडी छनोट गरिएको संघका अध्यक्ष हरिबहादुर थापाले जानकारी दिए ।

थापाका अनुसार क्रिकेट खेलमा निरन्तर लागेका खेलाडीलाई पलायन हुनबाट रोक्नु कल्याणकारी कोषको मुख्य उद्देश्य हो । मासिक सुविधा पाउने खेलाडीमा सिनियरतर्फ दुई जना, यु–१९ तर्फ दुई र महिला क्रिकेट खेलाडीतर्फ तीन जना छन् ।

‘खेलाडीको संरक्षण गर्ने भनेर कल्याणकारी कोष खडा गरेका थियौँ,’ अध्यक्ष थापाले भने, ‘कोषमा उपलब्ध रकमबाट खेलाडी संरक्षण रकम प्रदान गर्दै आइरहेका छौँ ।’ संघका अनुसार चालु आर्थिक वर्षमा सिनियरतर्फ कृष्ण कार्की र अजय चौहानले मासिक पाँच हजार रुपैयाँ सुविधा पाएका हुन् ।

यस्तै, यु-१९ तर्फ सन्तोष यादव र रमेश कुर्मीले यो सुविधा प्राप्त गर्दा महिलातर्फ कृति अधिकारी, सन्ध्या चापागाईं र एञ्जिला पाठकले मासिक सुविधा पाएका छन् । थापाका अनुसार खेलाडी कल्याणकारी कोषका लागि रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष अरुण शाही र वडा नम्बर २ का वडाध्यक्ष जनार्दन यादवले आफूले पाउने पारिश्रमिक वापत कल्याणकारी कोषमा रकम उपलब्ध गराउँदै आएका छन् ।

‘हामीले दुईजना वडाध्यक्षले उपलब्ध गराएको रकम र रुपन्देही क्रिकेट एकेडेमीबाट हुने आम्दानीबाट खेलाडीलाई मासिक सुविधा दिइरहेका छौँ,’ थापाले भने, ‘सहयोगी दाताहरू थपिँदै जानुभएको छ । यसमा थप रकम जुटाउन पनि हामी लागिपरेका छौँ ।’

अध्यक्ष थापाका अनुसार कल्याणकारी कोषको रकम वृद्धि गर्न सकेमा कम्तिमा सिनियर, यु–१९ र महिला टिमका सबै सदस्यलाई मासिक सुविधा दिन सकिनेछ ।

प्रधानमन्त्री ओली बेइजिङमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको राजधानी बेइजिङ पुगेका छन् । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली चीनको स्थानीय समयअनुसार सोमबार साँझ ६ बजे बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थल पुगेको हो ।

विमानस्थलमा प्रधानमन्त्री ओलीलाई चिनियाँ कम्युनिस्ट पार्टीका वैदेशिक मामिला उपमन्त्री सुन बेइदोङले स्वागत गरेका छन् ।

प्रधानमन्त्री ओली नेतृत्वको टोली सोमबार बिहान ११ बजे हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट चीन प्रस्थान गरेको थियो ।

बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ। उनले आफ्ना चिनियाँ समकक्षी लीसँग प्रतिनिधिमण्डलस्तरमा द्विपक्षीय वार्ता गर्नेछन् । प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समिति अध्यक्ष झाओ लेजीले भेट गर्ने पनि कार्यतालिका छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा आयोजित कार्यक्रम तथा बेइजिङस्थित नेपाली दूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली चीनको भ्रमण पूरा गरी यही मंसिर २० गते स्वदेश फर्कनेछन्।

‘क्रेडिट रेटिङ’ले लगानीका लागि नेपाल अनुकूल छ भन्ने देखायोः अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको सार्वभौम साख मूल्याङ्कन ९सोभरेन क्रेडिट रेटिङ०बाट लगानीका लागि अनुकूल वातावरण देखिएको बताएका छन्।

अर्थ मन्त्रालयमा आयोजित विकास साझेदारहरूसँगको बैठकमा अर्थमन्त्री पौडेलले प्रमुख दुई ठूला राजनीतिक दल मिलेर सरकार बनेपछि मुलुकमा राजनीतिक र नीतिगत स्थायित्व कायम भएसँगै आर्थिक विकासमा सरकारको ध्यान केन्द्रित भएको बताए।

क्रेडिट रेटिङको नतिजाले लगानीका लागि नेपाल अनुकूल अवस्थामा रहेको देखाएको उल्लेख गर्दै अर्थमन्त्रीले यसले निजी क्षेत्र र लगानीकर्ताको मनोबल बढाउनाका साथै बाह्य लगानी वृद्धि हुने विश्वास व्यक्त गरे।

‘वर्तमान सरकार गठन भएसँगै प्रमुख आर्थिक सूचकमा सुधार हुँदै गएको छ। मुलुकको बाह्य क्षेत्र सन्तुलन र वित्तीय क्षेत्रको अवस्था अनुकूल अवस्थामा छ। चालु वर्षभित्र आर्थिक वृद्धिमा निरन्तर सुधार हुने अनुमान गरिएको छ, जुन यहाँहरूले गर्नुभएका कतिपय प्रक्षेपणले पनि उल्लेख गरेको छ’, विकास साझेदारलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले भने।

सरकारले पूर्वाधार विकास, मानव संसाधन विकास र निजी क्षेत्रका लागि लगानीको राम्रो वातावरण सिर्जना गर्न जोड दिएको बताउँदै अर्थमन्त्री पौडेलले भने, ‘चालु खाताको सन्तुलन, विद्युत् निर्यातमा उत्साहजनक वृद्धि, विप्रेषणमा वृद्धि र पर्यटकहरूको बढ्दो आगमन सङ्ख्या लगायतका कारण मुलुकको अर्थतन्त्र सुदृढीकरणमा योगदान पुग्दै गएको छ। तथापि, हाम्रो निर्यातलाई विविधीकरण गर्दै विस्तार गर्न आवश्यक छ, जसले दीर्घकालमा समेत बाह्य क्षेत्र सुदृढ बनाउन सकियोस्। पछिल्ला वर्षहरूमा पुँजीगत खर्च कम भएका कारण हाम्रो सार्वजनिक लगानीमा अपेक्षित सुधार हुन सकेको छैन्। यसका लागि आयोजनाको गुणस्तर सुधारमा प्राथमिकताका साथ काम गरिरहेका छौँ।’

सार्वजनिक ऋणको भारबाट तत्काल आँत्तिहाल्नुपर्ने अवस्था नरहेको उल्लेख गर्दै उनले लामो समयसम्म दिगो बनाई राख्न ऋण परिचालनलाई पुनः प्राथमिकीकरण गर्नुपर्ने आवश्यकता महसुस गरेको बताए।

नयाँ विकास सहायता परिचालन नीतिको मस्यौदा र सार्वजनिक क्षेत्रमा नवीन वित्त परिचालनसम्बन्धी नयाँ कानुन बनाउने प्रक्रिया अघि बढेको जानकारी दिँदै अर्थमन्त्री पौडेलले रचनात्मक सुझाव दिन विकास साझेदारहरूसँग अनुरोध गरे।

सार्वजनिक वित्त व्यवस्थापन प्रणाली सुधारमा पनि सरकारले जोड दिएको उल्लेख गर्दै अर्थमन्त्रीले सार्वजनिक लगानी र हरित अर्थव्यवस्था निर्माणमा लचिलो र एकीकृत दृष्टिकोण निर्माण गर्दै जलवायु न्यूनीकरण र अनुकूलनजस्ता समसामयिक एवं जल्दाबल्दा क्षेत्रमा विकास साझेदारहरूसँग सहकार्य गर्न सरकार तयार रहेको बताए।

‘सार्वजनिक वित्त सन्तुलनमा केही दबाब सामना गरिरहेका छौँ। हाम्रा केही प्रतिबद्ध खर्च बढ्दै गएका कारण पूर्वाधारमा हाम्रो लगानी सङ्कुचित भइरहेको छ। खासगरी सामाजिक सुरक्षा कार्यक्रमहरूप्रति हाम्रो प्रतिबद्धता र बढ्दो ऋण सेवा लागतका कारण पुँजीगत खर्चको अनुपात कम भएको छ’, नेपालको अर्थव्यवस्था चुनौतीमुक्त नभएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले भने, “प्रदेश र स्थानीय तहमा स्रोत परिचालनको ठूलो माग रहेकाले सोको व्यवस्थापन गर्नुपर्नेछ छ भने पहिले नै कार्यान्वयनमा गइसकेका रणनीतिक आयोजनामा बजेट विनियोजन गर्नुपर्ने दायित्व पनि सरकारसँग छ।’

उनले राजस्व परिचालनलाई दिगो बनाउन नयाँ राजस्व परिचालन रणनीति लागू गर्ने प्रतिबद्धता व्यक्त गर्दै विकासका सबै प्रयासका लागि वित्तीय स्रोत जुटाउन आन्तरिक प्रयासहरू मात्र पर्याप्त नभएको बताए।

विकास सहायता नेपालको वित्त व्यवस्थापनको एक महत्वपूर्ण आधारशिला भएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले अझ प्रभावकारी र दिगो परिणाम हासिल हुनेगरी साझा प्रयासहरूलाई अगाडि बढाउन विकास साझेदाहरूलाई आग्रह गरे।

कार्यक्रममा विकास साझेदारका प्रतिनिधिहरूले नेपालको आर्थिक विकासमा थप सहयोग गर्न आफूहरू तयार रहेको बताउँदै उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेकामा सरकारलाई धन्यवाद दिएका थिए। उनीहरूले क्रेडिट रेटिङको नतिजाले नेपालमा बाह्य लगानीलाई थप आकर्षण गरेको बताए।

एनपीएलमा जनकपुर बोल्ट्सको लगातार दोस्रो जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सले लगातार दोस्रो जित हासिल गरेको छ । सोमबार भएको खेलमा जनकपुरले कर्णाली याक्सलाई ८ विकेटले हरायो ।

कर्णालीले दिएको १ सय ४२ रनको लक्ष्य जनकपुरले १५ ओभर १ बलमा मात्र २ विकेट गुमाएर भेटायो । जनकपुरका कप्तान अनिल साहले नटआउट ६२ रन बनाए । यस्तै आसिफ शेखले ३६ रन जोडे ।

कर्णालीका मौसम ढकाल र जीशान मक्सूदले १/१ विकेट लिए । यसअघि कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४१ रन बनायो ।

कर्णालीका गुल्सन झाले ३६, अर्जुन घर्तीले ३३, कप्तान सोमपाल कामीले नटआउट २९ रन बनाए । यस्तै भारतीय खेलाडी शिखर धवन १४ रनमा आउट भए । जनकपुरका मोहम्मद मोहसिनले २ विकेट लिए । यसअघि जनकपुरले उद्घाटन खेलमा विराटनगर किङ्ग्सलाई हराएको थियो ।

यस कारण पर्दैन अन्तर्राष्ट्रिय मञ्चको प्राथमिकतामा पर्वतीय क्षेत्रमा जलवायु संवेदनशीलता

प्रगति ढकाल, काठमाडौँ  । पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनले पुर्‍याएको असरको विषयमा नेपालले गम्भीरताका साथ आवाज उठाए पनि अन्तर्राष्ट्रिय मञ्चहरुमा हालसम्म ती मुद्दाले प्राथमिकता पाउन सकेको छैन । केही दिनअघि अजरबैजानको बाकुमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रारुप महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको २९औँ शिखर सम्मेलन (कोप २९) को निर्णयमा पनि पर्वतीय मुद्दा समेटिन सकेन ।

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनबाट अत्यन्त प्रभावित हुने संवेदनशील क्षेत्रका रुपमा लिइन्छ । ती क्षेत्रका पारिस्थितिक प्रणाली, जैविक विविधता र मानव जीवन जलवायु परिवर्तनका कारण ठूला चुनौतीहरूको सामना गरिरहेको विभिन्न अनुसन्धानले देखाएको छ । तर कोपजस्ता अन्तर्राष्ट्रिय मञ्चमा पर्वतीय क्षेत्रका मुद्दाले प्राथमिकता पाउन सकेको छैन ।

कोप २९ लाई सम्बोधन गर्न नेपालको नेतृत्व गर्दै बाकु पुगेका राष्ट्रपति रामचन्द्र पौडेलले हिमाल र पृथ्वीको सुरक्षाका लागि आवाज उठाएको थियो । जलवायु परिवर्तनको असरका कारण बढेको र यसले निम्त्याएको जोखिमका उदाहरणसमेत प्रस्तुत गरेर उनी स्वदेश फर्किए ।

यसैगरी, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीलगायत अन्य उपस्थित प्रतिनिधिहरुले पनि पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरको विषयलाई प्राथमिकताका साथ पैरवी गरेको थियो ।

कोपमा नेपालको प्रतिनिधिमण्डल जलवायु वित्त, जलवायुजन्य हानि–नोक्सानी न्यूनीकरण, कार्बन व्यापार, उत्सर्जन मापन, पर्वतीय मुद्दा, प्राविधिक र क्षमता अभिवृद्धि, जलवायु परिवर्तन अनुकूलन, समावेशिता लगायतका विषयगत कार्यपत्र तयार गरी उपस्थित भएको थियो ।

त्यसो त गत वर्ष युएईको दुबईमा सम्पन्न कोप–२८ मा पनि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनको असरबाट हिमाललाई बचाउनुपर्ने भन्दै जोड्दार माग राखेको थियो । “म यहाँ ३० मिलियन नेपालीको सन्देश बोकेर आएको छु,” प्रधानमन्त्री दाहालले सम्बोधनको सुरुमै भनेको थियो, “तापक्रम वृद्धिले हिमालय क्षेत्रलाई आक्रान्त पारिरहेको छ, हाम्रो हिमाल बचाउने सन्देश पनि लिएर आएको हुँ ।”

सन् २००९ मा डेनमार्कको कोपनहेगनमा सम्पन्न १५औँ कोपमा भाग लिन तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा नेपाली प्रतिनिधि टोली सहभागी भएको थियो । त्यसबेलादेखि नै कोपमा नेपालले हिमालको मुद्दालाई प्राथमिकताका साथ उठाइरहेको छ ।

जलवायु परिवर्तनको असरले पर्वतीय क्षेत्रहरुको पारिस्थितिकीय प्रणाली, जनजीवन र जैविक विविधतामा पारिरहेको नकारात्मक असरहरुका बारेमा नेपालले सन् २००९ देखि जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन लगायतका अन्तर्राष्ट्रिय मञ्चहरुमा निरन्तर आवाज उठाएको छ ।

नेपालले १५ वर्षदेखि निरन्तर रुपमा उठाएको पर्वतीय क्षेत्रको मुद्दा कोपजस्तो ठूलो अन्तर्राष्ट्रिय मञ्चमा छुट्टै ‘एजेन्डा’को विषयवस्तु बन्न सकेको छैन । गत वर्षको २८औँ कोपमा पनि दस्तावेजीकरण मात्रै भएको पर्वतीय मुद्दा यस वर्ष बाकुमा सम्पन्न २९औँ कोपमा पनि दस्तावेजीकरण मात्रै गरिनुले कोपमा उपस्थित नेपाली प्रतिनिधिहरु नै असन्तुष्ट छन् ।

२९औँ कोपको निर्णयमा पर्वतीय क्षेत्रको मुद्दा दस्तावेजीकरणमा मात्रै राखिनुलाई आंशिक सफलता मात्रै मान्न मिल्ने प्रतिक्रिया दिन्छन्, वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन महाशाखा प्रमुख डा सिन्धुप्रसाद ढुङ्गाना ।

“पर्वतमा आधारित कार्य ‘ग्लोबल स्टेक’अन्तर्गत राखेर पेरिस सम्झौताको सफलता के कति भएका छन् रु भनेर ‘रिपोर्ट’ बुझाउनुपर्ने व्यवस्था गरिनुलाई चाहिँ सकारात्मक निर्णयका रुपमा लिन सकिन्छ । दस्तावेजीकरण हुनु नै आगामी कोपमा पर्वतका मुद्दालाई निर्णयमा राख्ने बाटो खुलेको हो,” उनले भने, “तसर्थ हामी असफल भयौँ भन्न पनि मिल्दैन । पर्वतको ‘एजेन्डा’लाई लिएर हेर्दा कोपको नतिजामा आंशिक सफलता मिलेको मान्न सकिन्छ ।”

उनले पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरको विषयमा पर्याप्त अनुसन्धान हुन नसक्दा कोपजस्ता अन्तर्राष्ट्रिय मञ्चहरुमा अझै पर्वतीय क्षेत्रका जलवायु सङ्कटका विषयले प्राथमिकता पाउन नसकेको स्पष्ट पारे ।

“जलवायु र पर्वतीय विषयमा वैज्ञानिक अनुसन्धानहरु सहितको ‘जर्नल आर्टिकल’ कम भएका छन् । पर्वतीय क्षेत्रमा जलवायुले पारेको असरको वैज्ञानिक प्रमाणहरु दिन आवश्यक छ,” उनले भने, “धनी र विकसित मुलुकहरुमा पर्वतीय क्षेत्रहरु कम भएकाले पनि उनीहरुले यस मुद्दालाई कोपको निर्णयमा पार्न आनाकानी गरिरहेका हुन् ।”

उनले नेपालले पर्वतीय क्षेत्रको नेतृत्व गर्दै निरन्त रुपमा पैरवी गर्दै आइरहेकाले विश्वका अन्य पर्वतीय मुलुकहरुसँग मिलेर आगामी कोपको निर्णयमा पर्वतीय मुद्दा समावेश गराउने गरी तयारी अगाडि बढाइने जानकारी दिए ।

नेपाल, कीर्गिस्तान, भूटान, चिली, इटली, माउन्टेन्ट पाटनरशिपलगायतले पनि पर्वतीय क्षेत्र र जलवायु सङ्कटका विषयवस्तुमा पैरवी भइरहेको प्रमुख ढुङ्गानाले जानकारी दिए ।

एलडिसीबाट बाहिरिए पनि जलवायु सुविधाका लागि पहल हुने

नेपालले सन् २०२६ सम्ममा अतिकम विकसित मुलुकहरुको समूह (एलडिसी) को श्रेणीबाट बाहिरिने लक्ष्य राखेको छ । एलडिसीबाट बाहिरिने प्रक्रिया विकासशील राष्ट्रहरूको सूचीमा उक्लिन नेपालको प्रगतिलाई सङ्केत गर्छ । संयुक्त राष्ट्रसङ्घले एलडिसीको वर्गीकरण निर्धारण गर्न आर्थिक, सामाजिक र पर्यावरणीय सूचकको मापदण्डमा हासिल गरेको प्रगतिपछि नेपाल एलडिसीको श्रेणीबाट बाहिरिने छ ।

नेपालका लागि यो चरणले विदेशी सहायता, व्यापार लाभ र विशेष अवसरमा परिवर्तन ल्याउन सक्छ । तर एलडिसीको चरणबाट बाहिरिए पनि पर्वतीय क्षेत्रमा जलवायुको सङ्कट बढिरहेको उल्लेख गर्दै प्रमुख डा ढुङ्गाना सधैँ जलवायु सुविधा उपलब्ध गराउनुपर्नेमा निरन्तर पैरवी गरिने बताउँछन् ।

“एलडिसीमा नरहे पनि हिमालय देशहरुलाई जलवायु सङ्कटको हिसाबले माथि नै राखेर जलवायु सुविधाहरु कायम राख्नुपर्छ भनेर पैरवी गरिरहेका छौँ,” उनले भने ।

धनी मुलुकको दबाब

धनी र विकसित मुलुकहरुको दबाब र प्रभावमा नै प्रायः कोपका निर्णयहरु आउने र पर्वतीय मुद्दाहरु कोपको निर्णय राख्न आनाकानी गर्दा कोपजस्ता अन्तर्राष्ट्रिय मञ्चको प्राथमिकतामा पर्वतीय क्षेत्रमा जलवायुले पारेको सङ्कटको विषयबस्तु प्राथमिकतामा नराखिने जलवायु व्यवस्थापनविद् डा धर्मराज उपे्रती बताउँछन् ।

“पर्वतीय क्षेत्रहरूमा बसोबास गर्ने जनसङ्ख्या कम भएकाले पनि यी क्षेत्रको आवाज अन्तर्राष्ट्रिय मञ्चमा कमजोर हुन्छ, साना अर्थतन्त्र भएका हुँदा उनीहरूको राजनीतिक प्रभाव पनि सीमित रहेकाले कम प्राथमिकतामा पर्छ,” उनले भने, “पर्वतीय क्षेत्रहरूका जलवायु प्रभावसम्बन्धी राम्रोसँग अनुसन्धान नहुँदा स्पष्ट तथ्याङ्क र प्रमाण छैन । तसर्थ यी क्षेत्रका मुद्दाहरूले अन्तर्राष्ट्रिय मञ्चमा ध्यान कम पाउँछन् ।”

जलवायु व्यवस्थापनविद् डा उपे्रतीका अनुसार जलवायु परिवर्तनको असरले पर्वतीय पारिस्थितिकीय प्रणाली, जीविकोपार्जन, कृषि प्रणाली, जैविक विविधता, भौतिक पूर्र्वाधार, पर्वतीय क्षेत्रको संस्कृतिमा पुर्‍याएको क्षति अन्तर्राष्ट्रियस्तरले चिन्दैचिन्दैन । “अब पर्वतीय तथा पहाडी क्षेत्रमा जलवायु लगानी बढाउनुपर्छ,” उनले भने ।

जटिल समस्या र बढी लागत

पृथ्वीमा बढ्दो तापमानका कारण पर्वतीय क्षेत्रका जलवायुजन्य सङ्कटका कारण हिमनदी पग्लिने, हिमताल विस्फोट, हिउँपहिरो पानीको स्रोत सुक्ने, भू–क्षय, र जैविक विविधता विनाश हुने लगायतका समस्या उत्पन्न भइरहेको जलवायुविद् मञ्जित ढकाल बताउँछन् ।

“जलवायुजन्य यस्ता जटिल समस्याहरू समाधान गर्न जलवायुका ठूला योजना चाहिन्छन् । सँगसँगै धेरै लागत आवश्यक पर्छ,” उनले भने, “जुन अन्तर्राष्ट्रिय मञ्चले चुनौतीपूर्ण रुपमा हेर्छ, तर हामी थाक्नु हुँदैन । निरन्तर दबाब दिइरहनुपर्छ ।”

सामूहिक आन्दोलनको कमी

जलवायु युवा अभियन्ता वर्षा लेखीले जलवायुजन्य सङ्कटबाट पर्वत बचाउनका लाागि पर्वतीय समुदायहरूबाट आफ्नो मुद्दामा विश्वव्यापी रूपमा एकीकृत आवाज उठाउन नसकेकाले पनि अन्तर्राष्ट्रिय मञ्चमा पर्वतका मुद्दाले कम प्राथमिकता पाएको बताए ।

“आगामी कोपहरुमा जानुअघि नै पर्वतीय समुदायहरूबीच एकता कायम गरी पर्वतका एजेन्डामा एकीकृत आवाज उठाउन पहल गर्नुपर्छ, यसको नेतृत्व बरु नेपालले पनि गर्न सक्छ,” उनले भने, “पर्वतीय क्षेत्रको विशिष्ट प्रभावलाई सम्बोधन गर्न छुट्टै अन्तर्राष्ट्रिय पहल र नीति बनाउन आवश्यक छ ।”

अपर्याप्त तयारी

जलवायुविद् डा पपुलर जेन्टल भुसालले भने नेपाललगायत पर्वतीय मुलुकहरुको तयारी पर्याप्त नहुँदा कोप–२९ मा पर्वतीय क्षेत्रका मुद्दामा कोपको निर्णय फलदायी नभएको प्रतिक्रिया दिए ।

“पर्वतको मुद्दामा निरन्तरण संवाद गर्नुपथ्र्यो, अनि पर्वतीय मुलुकहरुबीच कसरी साझा आवाज बनाउने भनेर पनि आवश्यक छलफल गर्नुपथ्र्यो,” उनले भने, “पर्वतको मुद्दामा हामी कोसँग मिलेर काम गर्ने भन्ने राम्रो तयारी नहुँदा कोप–२९ मा पर्वतको एजेन्डामा कुनै उपलब्धि नै भएन । कोप अगाडि अन्तर्राष्ट्रियस्तरको संवाद हुनुपर्छ ।” 

सुन्तलाखेतीतर्फ आकर्षण बढ्दै

डुम्रे । ‘बस्ने घर नभए पनि बाँझो जमिनलाई उपयोग गर्दै सुन्तलाखेतीमा लागेको छु,’ तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादी निवासी मोहन रानाभाट भन्छन्, ‘यहाँ बस्ने अवस्था छैन।’ उनी म्याग्दे–१ थानसिंस्थित जङ्गल बनेको पुर्ख्यौली जमिन सफाइ गरी सुन्तलाखेतीमा व्यस्त छन्।

पानी अभावले गाउँबाट नै बस्ती सरेर बेँसी गुणादीमा झरेका मोहन अहिले बाँझो जमिनमा सुन्तलाखेती गर्दै छन्। उनी भन्छन्, ‘अन्य खेती गर्न समस्या भए पनि सुन्तलाखेतीलाई कम पानीले पुग्ने भएकाले यसतर्फ आकर्षित भएको हुँ।’

बाँझिएको पुर्ख्यौली जमिनको उपयोग गर्दै उनी अहिले नौ रोपनी क्षेत्रफलमा सुन्तलाखेती गरिरहेका छन्। आर्थिक वर्ष २०८०/८१ मा उक्त बाँझिएको जमिन सफा गरी दुई सय ५० बिरुवा रोपेर उनी सुन्तलाखेतीमा लागेका छन्।

चालु वर्षमा भने उनले ४४ सुन्तलाका बिरुवा थपेका छन्। उनी भन्छन्, ‘कोभिड १९ को बन्दाबन्दीपछि गाउँमै गरिएको खेतीले सुरक्षित बनाउँछ भन्ने महसुस भएर सुन्तलाखेतीतर्फ लागेको हुँ, आफ्नो जमिन खेर फालेर अन्य पेसामा लाग्नुभन्दा आफ्नैमा नाफाघाटा बेहोरौँला भनेर जङ्गल बनेको बाँझो जमिनमा सुन्तला लगाएको छु, केही वर्षमा उत्पादन लिनसक्ने देखिएको छ।’ सिँचाइ अभाव भएकाले कृषि ज्ञान केन्द्र तनहुँबाट हिलट्याङ्क अनुदानमा पाएपछि सहज भएको उनी बताउँछन्।

उनीजस्तै व्यास नगरपालिका–१ हाई स्कुलटार निवासी नारायण रानाभाट पनि बाँझो जमिनको उपयोग गर्दै सुन्तलाखेतीतर्फ आकर्षित भएका छन्। बाँझिएर जङ्गल बनेको पुर्ख्यौली जग्गा फँडानी गरी सुन्तलाखेती गर्दै आएका छन्। बिहान सुन्तलाको रेखदेख गर्न बगैँचामा पुग्ने र साँझ घर फर्किने गरेको उनी बताउँछन्।

कृषि ज्ञान केन्द्रको सुन्तलाखेती विस्तार कार्यक्रमले सुन्तलाखेतीतर्फ किसान आकर्षित भएका छन्। झाडी बनेको जमिनको उपयोगलाई प्राथमिकता दिएर ल्याइएको सुन्तलाखेती विस्तार कार्यक्रमले यसतर्फ सर्वसाधारण आकर्षित भएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख गोपाल शर्मा लामिछाने बताउँछन्। उनका अनुसार धेरै ठाउँमा बाँझो जमिनमा सुन्तलाखेती विस्तार भइरहेको छ।

उनी भन्छन्, ‘झाडी सफाइ गरी अहिले किसानले सुन्तलाखेतीको स्याहारसुसारले उत्पादन बढ्दो रहेको छ, यसले कृषिमा युवाको आकर्षण बढेको तथ्याङ्कले देखाएको छ।’ सुन्तला बगैँचाबाट नै खरिदबिक्री हुने हुँदा पनि किसान यस खेतीतर्फ आकर्षित भएको उनी बताउँछन्। यहाँको सुन्तला विशेषगरी काठमाडौँ, चितवन, पोखरालगायत बजारमा बिक्री वितरण हुने गरेको छ।

बाँझो जमिनमा गत आर्थिक वर्ष पाँच हजार ६ सय बिरुवा रोपण गर्न अनुदान दिइएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवं बाली संरक्षण अधिकृत किरण परियारले बताए। उनका अनुसार जिल्लाका विभिन्न स्थानका दुई सय ५५ रोपनी क्षेत्रफलमा सुन्तलाखेती विस्तार गरिएको छ। तीमध्ये १० रोपनी क्षेत्रफलको सुन्तलाका बिरुवा मरेको उनी बताउँछन्।

उनले भने, ‘राम्रो बच्चा बनाउनका लागि सानो गरिएको स्याहारसुसारले भविष्यमा असल बनाउँछ भनिन्छ नि, त्यसैगरी सुन्तलाका साना बिरुवालाई पनि सरसफाइ तथा हेरचाह राम्रो भएमा उत्पादन राम्रो हुन्छ।’

जिल्लामा विशेषगरी बिज बिरुवा नै रोपण गर्ने गरिएको ज्ञान केन्द्रले जनाएको छ। ‘हाइब्रिडको प्राक्टिस भएको पाएका छैनौँ,’ सूचना अधिकारी परियारले भने। जिल्लाकै देवघाट गाउँपालिका–२ नरमस्थित नर्सरीमा उत्पादित सुन्तलाका बिज बिरुवा अनुदानमा अन्य क्षेत्रका किसानलाई वितरण गर्ने गरिएको उनले बताए।

बसाइँसराइ गरेका थानसिं गाउँका स्थानीय गाउँमा फर्केर झाडी बनेको बाँझो जमिनमा सुन्तलाखेती गर्ने क्रम बढ्दै गएको छ। म्याग्दे–२ सुन्तलाखेतीको प्रख्यात ठाउँ हो। यसका साथै १ र ३ नम्बर वडाका केही स्थानमा सुन्तलाखेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ। पकेट क्षेत्रको क्षेत्रफल बढ्ने क्रममा रहेको केन्द्रको तथ्याङ्कले देखाएको छ।

आर्थिक वर्ष २०७९/८० मा जिल्लाका एक हजार ६ सय ४० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएको थियो भने आर्थिक वर्ष २०८०/८१ मा एक हजार ६ सय ४५ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएको छ। आव २०७९/८० मा ११ हजार चार सय ६० मेट्रिकटन सुन्तला उत्पादन भएको थियो। त्यस्तै, आर्थिक वर्ष २०८०/८१ मा ११ हजार पाँच सय १८ मेट्रिकटन सुन्तला उत्पादन गरेको केन्द्रको तथ्याङ्मा उल्लेख छ।

चालु आर्थिक वर्षमा केही क्षेत्रफल वृद्धि हुनेगरी विस्तार भइरहेको केन्द्रले जनाएको छ। यस तथ्याङ्कका आधारमा पनि सुन्तलाखेतीको क्षेत्रफल वृद्धि भएको देखिन्छ। चालु आर्थिक वर्षमा सुन्तलाखेतीकै लागि बजेट छुट्याएर आएकाले अझ सहज भएको र यसको क्षेत्रफलसमेत वृद्धि हुने देखिएको केन्द्रले जनाएको छ। राष्ट्रिय फलका रुपमा सूचीकृत सुन्तलाखेतीमा सरसफाइ र स्याहार पुगेमा उत्कृष्ट सुन्तला यहाँ उत्पादन हुने केन्द्रले जनाएको छ।

किबी उत्पादन दोब्बर, बिक्री नहुँदा किसान मारमा

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदीका धनकुमार राईको फार्ममा लटरम्मै किबी पाकिसकेका छन् । १२ वर्ष अघिदेखि किबीको व्यावसायिक खेती सुरु गरेका राई जिल्लाकै पहिलो किबी किसान हुन् ।

सुरुका वर्षमा प्रति केजी  चार सय सम्मले बिक्री गरेका उनले यसवर्ष बोटमै किबी पाकिसक्दा पनि टिपेका छैनन् । उनको फार्ममा करिब चार हजार किलो किबी उत्पादन भएको अनुमान गरिएको छ ।

किबीका बेर्नासमेत उत्पादन गर्दै आएका राईले गत वर्ष मात्र रु १४ लाख बढीको बेर्ना बिक्री गरेका थिए। करिब २५ रोपनी जमिनमा किबी खेती गरेका राईले यस वर्ष बिक्री हुने सम्भावना नभएपछि ‘वाइन’, ‘हुस्की’, ‘जुस’ लगायतका पेयपदार्थ बनाउने तयारी गरेका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडेका दोर्जी शेर्पाले करिब ६० रोपनीमा किबी खेती गरेका छन् । एघार वर्षअघिदेखि किबी खेती सुरु गर्नुभएका शेर्पाको फार्ममा यसवर्ष ११ हजार केजीभन्दा बढी किबी फलेको छ ।

शेर्पाले उत्पादन गरेका किबी दिक्तेलबजार, हलेसी, धरान, विराटनगर, काठमाडौँलगायतका ठाउँमा बिक्रीका लागि पुर्‍याउने गरिएको छ । जिल्लाका स्थानीय हाटबजार तथा पसलहरुमा प्रतिकेजी रु एक सयदेखि रु एक सय ५० सम्ममा किबी बिक्री भइरहेको छ ।

विगतमा फार्मबाटै बिक्री भएको किबी यसवर्ष आफैँले ढुवानी खर्च व्यहोरेर बिक्रीका लागि बजार पठाउने गरेको शेर्पाले बताए । “मेरो फार्ममा तीन सय ७५ वटा वयस्क बोट छन् । एउटै बोटमा एक सय ५० केजीसम्म फलेको छ । दुईवटा बोटको मात्रै टिपेर बिक्री गरिरहेको छु”, उनले भने, “यो वर्ष सबै बोटको किबी बिक्री हुने सम्भावना कम छ । गत वर्षमा बिक्री गरिएको ठाउँ (धरान, विराटनगर, काठमाडौँलगायत)मा सम्पर्क गरिरहेको छु । त्यहाँ पनि बजार छैन भन्दै आएका छन् । यदि, दाना बिक्री नभएको खण्डमा वाइन, जुस र माडा बनाएर बिक्री गर्ने सोचमा छु ।” किबी बिक्री नहुने सम्भावना बढेपछि शेर्पा चिन्तित छन् ।

किबी उत्पादनमा वृद्धि भए पनि प्रशोधन केन्द्र नहुँदा किसानले चाहेजस्तो आम्दानी गर्न नसकेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित शुभ कृषि फार्मका सञ्चालक शुभचन्द्र राई बताउँछन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मात्रै गत वर्ष १५ मेट्रिकटन उत्पादन भएकामा यो वर्ष बढेर ४० मेट्रिक टन भन्दा बढी उत्पादन भएको नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले जानकारी दिए । गत वर्ष १५ मेट्रिकटन मात्र उत्पादन भए पनि यो वर्ष भने बोट वयस्क हुँदै गएपछि उत्पादनमा वृद्धि भएको हो ।

नगरपालिकाको सात हेक्टर खेतीयोग्य जमिनमा व्यावसायिक किबी खेती रहेको कृषि शाखा प्रमुख जैसीले जानकारी दिए । “किबी उत्पादन बर्सेनि बढ्दै जाने फल हो । जति वयस्क हुन्छ उतिनै उत्पादन पनि बढ्दै जान्छ । त्यही भएर यो वर्ष उत्पादनमा वृद्धि भएको हो”, उनले भने, “गत वर्ष दश मेट्रिकटन किबी किसानले बिक्री गरेका थिए । प्रति केजी रु एक सय ६० का दरले हिसाब गर्दा रु १६ लाख हुन आउँछ । यो वर्ष पनि रु एक सय ५० कै दरले अनुमान गर्दा ४० मेट्रिकटनको रु ६० लाख बराबरको हुन्छ ।”

नगरपालिकामा थप ३५ हेक्टरमा १५ हजार किबीको बिरुवा रोपिएको जनाइएको छ । यसमध्ये नगरपालिकाले सात हजार र जलाधारमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन परियोजनाले आठ हजार बिरुवा किसानलाई निःशुल्क वितरण गरेको छ । फलफूल खेतीबाटै नगरवासीको समृद्धि हासिल गर्ने लक्ष्य लिइएकाले उत्पादन, प्रशोधन र बजारीकरणलाई जोड दिइएको नगर उपप्रमुख विशन राईले बताए।

किबी लगायतका फलफूल प्रशोधन गर्न नगरपालिका–६ नेर्पाको तालखर्कमा रु एक करोडभन्दा बढीको प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा रहेको उहाँले जानकारी दिए । जिल्लाका अधिकांश लेकाली भेगमा बसोबास गर्ने किसानले पछिल्लो समय व्यावसायिक किबी खेती सुरु गरेका छन् । एउटै बोटबाट निरन्तर ५० वर्षसम्म उत्पादन दिने किबीको व्यावसायिक खेती सुरु गरेका किसान आफूले उत्पादन गरेका किबी बिक्री हुने छाडेपछि चिन्तित बनेका छन् ।

आठ जना डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा भएका आठ जना अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

सोमबार प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हन् ।

१७ मंसिरको गृहमन्त्रीस्तरीय निर्णयबाट उनीहरुको बढुवा भएको थियो । दर्ज्यानी चिह्न प्राप्त गर्नेहरुमा ध्रुवराज राउत, भोलाबहादुर रावल, गणेश चन्द, सिद्धिबिक्रम शाह, सुशील सिंह राठौर, उमाप्रसाद चतुरबेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर बिक छन् । उनीहरूलाई उत्कृष्ट ढंगबाट कार्यसम्पादन गर्न आईजी कुँवरले निर्देशन दिए ।

नेप्सेमा १० अर्ब ५४ करोडको कारोबार

काठमाडौं । साताको दोस्रो दिन शेयर बजार नेप्से दोहोरो अंकले बढेको छ । आइतबार ९.९९ अंकले घटेको नेप्से सोमबार भने १९.९७ अंकले बढेर २७५८.०४ विन्दुमा कायम भएको छ । नेप्स बढेसँगै कारोबार रकम पनि आइतबारको तुलनामा बढेको छ ।

आज ३१४ स्क्रिप्सको २ करोड ३० लाख ११ हजार ३६१ कित्ता सेयर १० अर्ब ५४ करोड १७ लाख ४६ हजार ५६४ रुपैयाँमा खरिदबिक्री भएको छ ।

तारागाउँ रिजेन्सी होटल,विशाल बजार,खानीखोला हाइड्रोपावर र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । नेपाल फाइनान्सका लगानीकर्ता भने सर्वाधिक गु्माए।

सो कम्पनीको सेयर ८.७२ प्रतिशतले घट्यो। चार समूहको उपसूचकबाहेक अन्यको सूचक सकारात्मक देखिएका छन्। आज ट्रेडिङ समूहको उपसूचक ९.७० प्रतिशतले बढेको हो ।

कांग्रेस-एमाले गठबन्धनलाई पराजित गर्दै पुथा उत्तरगंगामा माओवादीको जित

रुकुमपूर्व । रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)की नरपुरा बुढा निर्वाचित भएकी छन् । कांग्रेस एमाले गठबन्धनलाई पराजित गर्दै उपाध्यक्षमा बुढा निर्वाचित भएकी हुन् । उनी तीन हजार ६२७ मत प्राप्त गरेकी निर्वाचित भइन् ।

उनले नेपाली कांग्रेस र नेकपा (एमाले)का गठबन्धनका साझा उमेदवार केशकुमारी तुलाचनलाई पराजित गरेकी हुन् । तुलाचन कांग्रेसको चुनाव चिह्नमा उमेदवार बनेकी थिइन् । उनले दुई हजार १२८ मत प्राप्त गरिन् ।

 कर्णाली याक्सद्वारा जनकपुर बोल्ट्सलाई १४२ रनको लक्ष्य

काठमाडौँ ।  सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो खेलमा कर्णाली याक्सले जनकपुर वोल्ट्सलाई जितका लागि एक सय ४२ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरको खेलमा सात विकेट गुमाउँदै एक सय ४१ रन बनायो । कर्णाली याक्सका लागि गुल्सनकुमार झाले २७ बल खेल्दै तीन छक्का र एक चौकाको सहयोगमा सर्वाधिक ३६ रन जोडे । 

त्यस्तै अर्जुन घर्तीले २२ बलमा दुई चौका र दुई छक्का हान्दै ३३ रन बनाए । यस्तै कप्तान सोमपाल कामीले अविजित २९ रनको योगदान दिए । उनले १३ बल खेल्ने क्रममा एक छक्का र तीन चौका प्रहार गरे । भारतीय खेलाडी शिखर धवनले १४ बल खेल्दै तीन चौकाको मद्दतमा १४ रन बनाए । यस्तै हङकङका बाबर हायातले १२ रन बनाए ।  

बलिङतर्फ जनकपुर वोल्ट्सका लागि पाकिस्तानी खेलाडी मोहम्मद मोहसिन खानले दुई, जिमी निशम, हर्ष ठाकेर, ललितनारायण राजवंशी र किहोर महतोले एक एक विकेट लिए । अहिले जनकपुर वोल्ट्सले जवाफी ब्याटिङ गरिरहेको छ ।

एक सातामा धरहराबाट करिब १५ लाख राजस्व सङ्कलन

काठमाडौँ ।  विसं २०७२ को भूकम्पले पूर्ण क्षति भएपछि पुनः निर्माण सम्पन्न ऐतिहासिक धरहराबाट एक सातामा रु १४ लाख ७० हजार राजस्व सङ्कलन भएको छ। यही मङ्सिर ९ गतेदेखि सर्वसाधारणका लागि शुल्कसहित खुला गरिएको धरहराबाट १६ गते आइतबारसम्म रु १४ लाखभन्दा बढी राजस्व सङ्कलन भएको हो।

कामु आयोजना निर्देशक प्रकाश अर्यालले बुधबार बन्द हुने र अन्य दिन दैनिक करिब एक हजार दुई सयले धरहरा चढ्ने गरेको बताए।

‘९ गतेदेखि हालसम्म आठ हजार तीन सय १६ जनाले धरहरा चढिसकेका छन्। जसमा १२ वर्षमुनिका बालबालिकाको तथ्याङ्क राख्ने गरिएको छैन,’ उनले भनेर, ‘बिहान साढे १० देखि ३ बजेसम्म धरहरा चढ्ने व्यवस्था गरिएको छ। छोटो समयमा पनि नागरिकको उल्लेख्य उपस्थिति देखियो। समय अभावका कारण यहाँ आएका सबैलाई टिकटको व्यवस्था गर्न सकिएको छैन।’

बिहानदेखि साँझसम्म धरहरा चढ्ने व्यवस्था गर्न सक्ने हो भने दैनिक एक हजार पाँच सयले धरहरा चढेर अवलोकन गर्ने अनुमान रहेको अर्यालले बताए। धरहरा चढ्न प्रतिव्यक्ति रु दुई सय शुल्क तोकिएको छ।

विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका अपाङ्गता भएका व्यक्तिहरूले ५० प्रतिशत छुटमा धरहरा चढ्न पाउनेछन्। सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति रु पाँच सय र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति रु एक हजार शुल्क तोकिएको छ।

विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम शुल्क लिई यही मङ्सिर ९ देखि धरहरा सञ्चालन भएको हो। त्यसअघि यही मङ्सिर ६ गते बसेको मन्त्रिपरिषद् बैठकले धरहरा खुला गर्ने र शुल्क पनि स्वीकृत गर्ने निर्णय गरेको थियो। सहरी विकास मन्त्रालयको प्रस्तावअनुसार उक्त निर्णय भएको हो।

यहाँ पार्किङ गर्दा चार पाङ्ग्रेका लागि प्रतिघण्टा रु २० र दुई पाङ्ग्रेलाई रु १० तोकिएको छ। यस्तै, धरहरा परिसरमा प्रवेशका लागि भने रु ५० निर्धारण गरिएको बताइएको छ। धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन गर्न प्रतिघण्टा रु पाँच हजार तोकिएको छ। व्यावसायिक भिडियो छायाङ्कनका लागि प्रतिघण्टा रु पाँच हजार र फोटोग्राफीका लागि प्रतिघण्टा रु एक हजार तोकिएको छ। 

जनमत पार्टीले माग्यो सभामुखको राजीनामा

काठमाडौं । जनमत पार्टीले सभामुख देवराज घिमिरेको राजीनामा मागेको छ । समानुपातिक सांसद गोमा लाभ सापकोटालाई सभामुख घिमिरेले नहटाएकोप्रति आपत्ति जनाउँदै जनमत पार्टीले सभामुखको राजीनामा मागेको हो ।

जनमतका प्रवक्ता शरदसिंह यादवले सोमबार विज्ञप्ति जारी गरी सभामुख घिमिरे कुनै पार्टी विशेषको एउटा कार्यकर्ता बनेर आफ्नो क्षेत्राधिकार दुरुपयोग गरेको आरोप लगाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘कोही प्रतिनिधि सभा सदस्य सभामुखको नातेदार र समुदायको मान्छे पर्यो भन्दैमा र सभामुखको (पूर्व) पार्टी नेकपा एमालेमा जाने प्रतिबद्धता गर्यो भन्दैमा जनमत पार्टीको केन्द्रीय समितिले सम्पूर्ण प्रक्रिया पुर्याई कारबाही सदर गरिसकेको सदस्यलाई यसरी गैरसंवैधानिक कदमद्वारा रक्षा गर्ने सभामुखले अबिलम्ब राजीनामा दिनुपर्दछ ।’

प्लास्टिक प्रदूषणसम्बन्धी वार्ता निष्कर्षविहीन

बुसान । संयुक्त राष्ट्रसङ्घका वातावरण प्रमुख इन्गर एन्डरसनले ऐतिहासिक प्लास्टिक प्रदूषण सन्धिका लागि भएको वार्ता निष्कर्षमा पुग्न नसकेको बताएका छन् ।

सन् २०२२ मा तय गरिएको सम्झौताका लागि दुई वर्षको समयावधिलाई ‘अत्यन्त महत्त्वाकाङ्क्षी’ भन्दै एन्डरसनले एएफपीसँग भने, “यो अझै निश्कर्षमा पुग्न सकेको छैन, पक्कै पनि तर कतिपय सञ्चारमाध्यमहरूमा आएजस्तो असफल भएको छैन ।”

संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमका प्रमुख एन्डरसनले भने, “हामीले धेरै राम्रो प्रगति गरेका छौँ ।” दक्षिण कोरियाको बुसानमा नोभेम्बर २५ देखि करिब २०० देशले प्लास्टिक प्रदूषण नियन्त्रणका लागि विश्वको पहिलो सन्धिमा सहमति जनाउने लक्ष्यका साथ एक साता लामो वार्ता गरेका थिए ।

प्रयोगमा ल्याइएका ९० प्रतिशतभन्दा बढी प्लास्टिक रिसाइकल हुँदैनन् र हरेक वर्ष लाखौं टन प्लाष्टिकजन्य फोहरले वातावरणलाई फोहोर पार्छ ।

तर सोमबार बिहानै वार्ताकारहरूले यस सन्धिको उद्देश्यमाथि गम्भीर मतभेदहरू पूरा गर्न असफल भएको स्वीकार गर्दै वार्ताको लक्ष्यमा पुग्न नसकिएको बताएका थिए ।

दर्जनौं ‘उच्च महत्वाकाङ्क्षा’ भएका देशहरूले प्लास्टिकको नयाँ उत्पादनलाई सीमित गर्ने र केही रसायन र एकल–प्रयोग प्लास्टिक उत्पादनहरू चरणबद्ध रूपमा समाप्त गर्ने लक्ष्य निर्धारण गर्ने सम्झौताको प्रयास गरेका थिए ।

साउदी अरब र रूसलगायत तथाकथित ‘समान विचारधारा भएका’ राष्ट्रहरूले यसलाई बारम्बार अस्वीकार गर्दै कडा अडान राखेका थिए । यसले सम्झौतामा उत्पादनको कुनै सन्दर्भ नहुने कुरामा जोड दिए ।

यो समूह प्रायः तेल उत्पादन गर्ने देशहरू हुन् जसले प्लास्टिक बनाउन प्रयोग हुने जीवाश्म ईन्धन प्रदान गर्छन् ।

यो असहमतिले ७० पृष्ठभन्दा लामो र विरोधाभासी भाषाले भरिएको यसपहिले तयार सन्धिको मस्यौदा बुसानभन्दा अघि चार चरणको वार्ताको प्रगतिलाई अवरुद्ध बनाएको छ ।

उनले भने, “हामीले ७७ पृष्ठ लामो कागज लिएर यस विषयमा कुरा गर्यौं । अहिले ब हामीसँग सम्झौताका लागि गरिएको प्रस्ताव स्वच्छ र सुव्यवस्थित रूपमा छ ।” उनले भने, “त्यो अग्रगामी आन्दोलन महत्त्वपूर्ण छ र म स्पष्ट रूपमा उत्साही छु ।”

संशोधित पाठ पनि विरोधी विचारहरूले भरिएको भन्दै कतिपय सहभागी देशका प्रतिनिधिहरूले यसको सबै भागहरू कुनै पनि नयाँ चरणको वार्तामा पुनः छलफल र संशोधनको लागि खुला हुने बताएका छन् ।