`

यूएईमा यहुदी धर्मगुरुको हत्या, हत्यामा संलग्न भएको आरोपमा तीनजना पक्राउ

बीबीसी । यूएईमा हराइरहेका एकजना यहुदी धर्मगुरु रबाइको हत्या भएको भन्दै इजरायलले उनका हत्यारालाई खोजी गरिररहेको छ ।

आइबवार ती रबाइको शव फेला परेको खबरपछि प्रधानमन्त्री कार्यालयले भनेको छ, ‘तिस्भी कोगानको हत्या एक यहुदी विरोधी फौजदारी आतङ्कवादी घटना हो। इजरायलले यस मृत्युमा जिम्मेवार सबै अपराधीहरूलाई आफ्नो सबै सामर्थ्य लगाएर न्यायको दायरामा ल्याउनेछ।’

हत्यासँग जोडेर तीन जना मानिसहरूलाई पक्राउ गरिएको यूएईको आन्तरिक मामिला मन्त्रालयले आइतबार साँझ पुष्टि गरेको छ । रबाइ कोगान अर्थोडक्स यहुदी संस्था हबाद लुबाभित्सका एकजना प्रतिनिधि हुन् ।

गत बिहीबारदेखि उनी बेपत्ता भएपछि इजरायली गुप्तचर निकाय मोसाद र यूएईका अधिकारीहरू खोजतलासमा लागेका थिए । इजरायलले जारी गरेको विज्ञप्तिमा आफ्ना अधिकारीहरू ती इजरेली–मोल्डोभान नागरिकका परिवारसँग उनी बेपत्ता भएदेखि नै सम्पर्कमा रहेको जनाइएको छ ।

तिस्भी कोगानको घरभन्दा एक घण्टा पर गाडी चलाएर पुगिने दूरीमा उनको अलपत्र कार फेला परेपछि उनको शवको पत्ता लागेको हो ।

इजरायली राष्ट्रपति आइज्याक हर्गजले उनको हत्यालाई ‘एउटा घृणित, यहुदी विरोधी हमला’ भनेका छन् । मोसादका अनुसन्धानकर्ताहरूले रबाइको मृत्युमा जिम्मेवार मानिसहरूको पहिचान गर्न लागिपरेका छन् ।

हबाद एक धार्मिक फाउन्डेसन हो । त्यसले कतै नढल्किएका र निरपेक्ष वा यहुदी धर्मका अन्य हाँगाबिँगा समूहसँग सम्बन्ध कायम राखिराख्न खोज्छ । उक्त समूहको यूएईमा रहेको शाखाले हजारौँ यहुदी यात्रु र बासिन्दाहरूलाई सघाउने उसको वेबसाइटमा उल्लेख छ ।

बीआरआईले उपलब्ध गराएको जस्तोसुकै सम्भावनाको फाइदा उठाउनै पर्छ: बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणका क्रममा आफ्नो सार्वभौमसत्तालाई ख्याल राख्न सुझाव दिएका छन् ।

सामाजिक संजालमार्फत भट्टराईले आफू गोरखामा रहेकाले छलफलमा सहभागी हुन नसक्ने भन्दै प्रधानमन्त्रीलाई यस्तो सुझाव दिएका हुन् ।

प्रधानमन्त्री ओलीले आज बिहान ११ बजे चीन भ्रमणका तयारीमा सन्दर्भमा पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरुसँग छलफलका बैठक बोलाएका छन् ।

भट्टराईले दुई उदीयमान र प्रतिस्पर्धी शक्तिहरू चीन र भारत बीचको नेपालको विशिष्ट भूरणनीतिक, भूआर्थिक र भूराजनीतिक स्थितिलाई ध्यानमा राख्दै सबैसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्नेतर्फ सरकारले ख्याल गर्नुपर्ने उल्लेख गरेका छन् । उनले कमजोर अर्थतन्त्रलाई कम भन्दा कम समयमा विकसित चरणमा पुर्याउन वैदेशिक व्यापार, पूँजी, प्रविधि, ज्ञान र सद्भाव चाहिने उल्लेख गर्दै चीनको बीआरआईबाट फाइदा उठाउनै पर्नेमा जोड दिएका छन् ।

As I am leaving for my home district Gorkha today and won’t be able to attend the consultation meeting of former PMs called by @PM_nepal_ on his forthcoming China visit, here are my few thoughts for his considerations:

– Nepal is the oldest independent and sovereign country in…

— Baburam Bhattarai (@brb1954) November 25, 2024

नेपाल प्रहरीका आठ एसएसपी डीआईजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका आठ जना एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस भएका छन् । गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले बढुवा सिफारिसको सूची प्रकाशित गरेको हो ।

डिआइजी बढुवामा सिफारिस हुने एसएसपीहरूमा ध्रुबराज राउत, भोलाबहादुर रावल, गणेश चन्द, सिद्धिबिक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुरबेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक छन् ।

आत्मानन्द गोल्डकपमा सिरिजङ्घाको विजयी सुरुवात

इलाम । आइतबारदेखि इलाममा  १७ औँ संस्करणको आत्मानन्द गोल्डकप सुरु भएको छ । इलामको माङसेबुङ गाउँपालिकास्थित प्रस्तावित आत्मानन्द रङ्गशालामा भएको गोल्डकपको उद्घाटन खेलमा माङसेबुङ गाउँपालिकालाई ‘टाइब्रेकर’मा ४–३ गोल अन्तरमा रोक्दै मोरङको सिरिजङ्घा स्पोर्टिङ क्लब विजयी भएको छ । 


निर्धारित समयमा दुवै टोलीबाट गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । खेलमा विजेता सिरिजङ्घाका गोलरक्षक प्रमिस गच्छादार ‘म्यान अफ दी म्याच’ घोषित हुँदै नगद पाँच हजार प्राप्त गरे । 


सोमबार आयोजक आत्मा–पवित्र खेलकुद विकास समिति र झापाको भाङबारी स्पोर्टिङ क्लबबीच प्रतिस्पर्धा हुने आयोजक समितिकी सचिव सरिता राईले जानकारी दिइन् ।

गोल्डकमा नेपालको इलाम, झापा, पाँचथर र मोरङ तथा भारतको एक गरी आठ टोलीको सहभागिता छ । विजेताले नगद  तीन लाख ११ हजार एक सय ७१ र उपविजेताले नगद दुई लाख पाँच हजार एक सय ७१ प्राप्त गर्नेछन् । 


स्थानीय किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ९१औं जन्मोत्सवको अवसरमा आयोजित गोल्डकपको फाइनल मङ्सिर १७ गते हुनेछ । 

प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । आइतबार जिल्ला अदालतकी न्यायाधीश कमला पौडेलको इजलासले प्रसाईंलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

प्रसाईंले स्वास्थ्य समस्या देखाएर दिएको निवेदनमा न्यायाधीश पौडेलको इजलासले उपचारका लागि अनुमति दिएको काठमाडौं जिल्ला अदालतका श्रेष्तेदार रामु शर्माले जानकारी दिए ।

मंसिर ४ गते पक्राउ परेका प्रसाईंविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण, लिखत किर्ते, आपराधिक लाभ र संगठित अपराधमा अनुसन्धान गरिरहेको छ । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकम्युनिकेसन कम्पनीमा ३२ करोड लगानी गरेको भन्दै अफवाह फैलाएका थिए ।

राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरुको कामको गतिलाई तीव्रता दिने विषयमा आज सम्बन्धित मन्त्री, सचिव, आयोजना प्रमुखलगायतसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको उक्त छलफलमा विभिन्न २४ राष्ट्रिय गौरवका आयोजनाको हालको अवस्था, वित्तीय तथा भौतिक प्रगति, विद्यमान समस्या र समाधानका उपायको प्रस्तुतीकरण गरिएको छ । ती आयोजनामा स्रोत सुनिश्चितता, न्यून बजेट, जग्गा अधिग्रहण, रुख कटान, बाढी पहिरोका कारण सडकमा अवरोध, प्रक्रियागत झमेला, मुआब्जा विवाद, कानुनी मुद्दाजस्ता समस्या देखिएका छन् ।

हालसम्म ८० प्रतिशत प्रगति भएका आयोजनामा मेलम्ची खानेपानी आयोजना र पशुपति क्षेत्र विकास कोष रहेका छन् भने ५० देखि ८० प्रतिशत सम्पन्न भएका आयोजनामा पुष्पलाल (मध्यपहाडी) राजमार्ग, हुलाकी लोकमार्ग, उत्तर दक्षिण कोशी कोरिडोरमार्ग, रानी जमरा कुलरिया सिँचाइ आयोजना, भेरी बबई डाइभर्सन बहुद्देश्यीय आयोजना, लुम्बिनी विकास कोषलगायत छन् । अन्य आयोजना १० देखि ५० प्रतिशतको प्रगतिको स्थितिमा छन् भने १० प्रतिशतभन्दा कम काम भएका आयोजनामा बूढीगण्डकी जलविद्युत् आयोजना, पश्चिम सेती जलविद्युत् आयोजना र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल रहेका छन् ।

बैठकको प्रारम्भ गर्दै प्रधानमन्त्री ओलीले अहिलेको अवस्था सन्तोषजनक नभएकाले कामलाई गति दिन के के गर्न सकिन्छ ? वर्तमान सरकार आएपछि नयाँपनका साथ कामलाई गति दिन के के नयाँपन गरियो ? भन्ने विषयमा आयोजना प्रमुखहरुबाट स्पष्टता लिएका थिए । प्रधानमन्त्री ओलीले सधैँ झैँ काम गरेर नपुग्ने भएकाले नयाँ र परिवर्तित सोचका साथ उत्पादन र रोजगारी वृद्धि गर्नेगरी आयोजना अघि बढाउन आवश्यक रहेकाले उत्पादन गर्न सम्भव हुने क्षेत्रमा मुलुकलाई आत्मनिर्भर गराउन किन नसक्ने भन्ने प्रश्नलाई ध्यानमा राख्नुपर्ने बताए ।

छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, रक्षामन्त्री मानवीर राई, खानेपानीमन्त्री प्रदीप यादव, प्रधानमन्त्रीका आर्थिक मामिला सल्लाहकार डा युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, सम्बन्धित सचिवहरु र आयोजना प्रमुखहरुको सहभागिता रहेको छ ।

दुर्गा प्रसाईंलाई दुई दिनभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उपस्थित गराउन आदेश दिएको छ । आइतबार न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासले बन्दीप्रत्यक्षीकरणको रिटमा प्रसाईंलाई पक्राउ गर्नुको कारणसहित दुई दिनभित्रमा उपस्थित गराउन सरकारलाई आदेश दिएको हो । इजलासले विपक्षीको नाममा कारण देखाउ आदेशसमेत जारी गरेको छ ।

प्रसाईंका छोरा निराजनले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो र काठमाडौं जिल्ला अदालतलाई विपक्षी बनाएर शुक्रबार रिट दायर गरेका थिए । प्रसाईं ४ मंसिरमा भक्तपुरस्थित निवासबाटै पक्राउ परेका थिए । उनीविरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रसाईंले कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीको साढे ३२ अर्ब लगानी रहेको दाबी गरेका थिए । त्यसको भेलिपल्टै उनी पक्राउ परेका थिए ।

भारतीय स्थल सेनाध्यक्ष द्विवेदी पाँच दिने नेपाल भ्रमण पूरा गरी स्वदेश फिर्ता

काठमाडौँ । भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी तथा श्रीमती सुनिता द्विवेदी नेपालका पाँच दिवसीय औपचारिक भ्रमण पूरा गरी आइतबार स्वदेश फिर्ता भएका छन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी प्रेमध्वज अधिकारी र उनकी धर्मपत्नीले बिदाइ गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल भ्रमणका क्रममा जनरल द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गरेका थिए ।

प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा आउनुभएका जनरल द्विवेदीले प्रधानमन्त्री, रक्षामन्त्री र प्रधानसेनापतिसँग बेग्लाबेग्लै शिष्टाचार भेट गरेका थिए । उनले शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेज र पोखरास्थित पश्चिम पृतना हेडक्वाटरको भ्रमणका साथै मुस्ताङस्थित मुक्तिनाथ मन्दिरको दर्शन र माउन्टेन फ्लाइटमार्फत विभिन्न हिमालको अवलोकनसमेत गरे । 

यस भ्रमणले दुई देशबीच रहँदै आएको सौहाद्र्रपूर्ण सैनिक सम्बन्धलाई अझ सुमधुर एवं प्रगाढ पार्न मद्दत पुग्ने नेपाली सेनाले विश्वास लिएको जनाएको छ ।

नेपालले शान्ति स्थापनामा हासिल गरेको उपलब्धि अनुकरणीय छः सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपालले शान्ति स्थापना र मेलमिलापको क्षेत्रमा हासिल गरेका उपलब्धि विश्वका लागि अनुकरणीय रहेको बताएका छन् ।

कम्बोडियाको राजधानी नोम पेनमा आयोजित सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद (आइपिटिपी) को ११औँ पूर्ण सत्रलाई आज सम्बोधन गर्दै सभामुख घिमिरेले नेपाल भगवान् बुद्धको भूमि भएको बताए । उनले नेपालका तर्फबाट शान्ति, सहिष्णुताको सन्देश, द्वन्द्व व्यवस्थापन र स्थायित्वका लागि अन्तर्राष्ट्रिय समुदायलाई महत्त्वपूर्ण पाठ दिनसक्ने धारणा व्यक्त गरे ।

सभामुख घिमिरेले सन् २००६ मा सम्पन्न विस्तृत शान्ति सम्झौतालाई द्वन्द्वबाट शान्तितर्फको यात्रा ऐतिहासिक मोडका रूपमा रहेको बताए । “शान्ति सम्झौताले नेपालको संविधानसभामार्फत सङ्घीयता, समावेशी संरचना र प्रगतिशील शासन प्रणालीको मार्गप्रशस्त गरेको छ”, उनले भने ।

जलवायु परिवर्तन र साइबर खतराहरूलाई वर्तमान विश्वका प्रमुख चुनौतीका रूपमा चित्रित गर्दै सभामुख घिमिरेले साइबर सुरक्षाका लागि बहुपक्षीय दृष्टिकोण र अन्तर्राष्ट्रिय सहकार्यको खाँचो औँल्याए ।

शान्ति भनेको केवल युद्धको अनुपस्थिति नभई न्याय, समानता र अवसरको उपस्थिति पनि हो भन्ने कुरामा सभामुखले जोड दिए । समाजका सबै तहलाई समेटेर शान्ति निर्माणका संरचना विकास गर्न नेपालले देखाएको उदाहरणलाई उनले विश्वसामु प्रस्तुत गरे ।

सभामुखले सहिष्णुता, शान्ति र मेलमिलाप प्रवर्द्धनका लागि नेपाल सरकार, संसद् र नागरिक समाजको प्रतिबद्धता पुनःदोहर्‍याउँदै सबै राष्ट्रहरूलाई सहकार्य र समझदारीबाट अघि बढ्न आह्वान गरे । “शान्ति उपहार होइनस यो एउटा लक्ष्य हो”, उनले भने, “शान्तिको प्रवर्द्धनका लागि सामूहिक एकता र सृजनशील प्रयास आवश्यक छ ।” 

उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएका छन् । राष्ट्रपतिले संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालनका लागि स्वीकृति प्रदान गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत बिहीबार मन्त्रिपरिषद्को निर्णय अनुसार सेना परिचालनका लागि स्वीकृति दिन सिफारिस गरेका थिए ।

उपनिर्वाचनलाई सुरक्षित, भयरहित, निष्पक्ष एवम् शान्तिपूर्ण रूपमा सम्पन्न सेना परिचालनका लागि मन्त्रिपरिषद्ले सिफारिस गरेको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ । यही मंसिर १६ गते स्थानीय तहका रिक्त स्थानमा उपनिर्वाचन हुँदैछ ।

चित्रलेखा यादव अस्ट्रेलियाको राजदूत नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अस्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवलाई नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा यादवलाई आइतबार नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।


नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा राष्ट्रपतिले राजदूत नियुक्त गर्ने व्यवस्था छ ।

कोप–२९ सम्झौता जलवायु सहयोग र वित्तका लागि नयाँ युगको सङ्केत

ब्रसेल्स । युरोपेली सङ्घ (इयू) आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयेनले बाकुमा भएको कोप–२९ सम्झौतालाई ‘जलवायु सहयोग र वित्तका लागि नयाँ युग’को रुपमा चित्रण गरेको बताएकी छन् ।

उनले अजरबैजानको राजधानीमा भएको वार्तापछि ३०० अर्ब अमेरिकी डलरको सम्झौताले जिवाष्म इन्धनबाट हरित उर्जातर्फको सङ्क्रमणका लागि लगानी बढाउने, कार्बन उत्सर्जन घटाउने र जलवायु परिवर्तनको प्रभावलाई न्युनिकरण गर्नेतर्फ लचकता निर्माण गर्ने बताइन् ।

“ईयूले नेतृत्व जारी राख्नेछ, सबैभन्दा कमजोरका लागि सहयोग केन्द्रित गर्नेछ,” उनले भनिन् ।

यसैबीच, जलवायु परिवर्तनका कारण विश्वव्यापी तापमान वृद्धि भएको भन्दै कोप–२८ बाट जीवाष्म इन्धनबाट हरित उर्जातर्फको सङ्क्रमणको विकल्प खोज्ने सहमतिको बुँदा गायब भएको भन्दै जलवायुविद्हरूले चिन्ता व्यक्त गरेका छन् ।

दुबईमा कोप २८ को मुख्य उपलब्धि जीवाश्म ईन्धनबाट ‘विकल्प खोज्ने’ प्रतिवद्धता बाकुमा भएको अन्तिम सम्झौताबाट गायब भएकोमा जलवायु अधियानरकर्मीहरूले चिन्ता व्यक्त गरेका हुन् ।

ऐतिहासिक सम्झौताको कार्यान्वयनलाई सुदृढ पार्ने भनिएको पाठ अन्ततः कोप २९ को अन्त्यमा पारित गरिएको थिएन । लामो बहसपछि यसलाई पहिले नै सम्झौताको सारबाट धेरै हदसम्म खाली गरिसकिएको थियो।

अन्तिम दस्तावेजमा बाँकी रहेका सबै कुरा गत वर्ष अपनाइएका सम्झौताको अस्तित्वको अन्तर्निहित सन्दर्भ थियो।

एक जना युरोपेली वार्ताकारका अनुसार यसले उत्पादक देशहरूसितको ‘शैतानको मोलतोल’ लाई झल्काउँछ।

साउदी अरबले विरोध गरेको युरोपेली सङ्घको एउटा प्राथमिकता तेल, ग्यास र कोइलाबाट टाढा जाने प्रयासहरूको वार्षिक अनुगमनमा सहमत हुनु थियो। त्यो अन्तिम सम्झौतामा पुग्न सकेन ।

सुनिता र लक्ष्मणको ‘बिहे गरियो’

काठमाडौं । गायिका सुनिता बुढाक्षेत्री र इन्जिनियर लक्ष्मण न्यौपानेले नयाँ गीत ‘बिहे गरियो’ ल्याएका छन् । पञ्चेबाजा गीतलाई सुनिता बुढा क्षेत्री युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

लक्ष्मण न्यौपानले लेखेको गीतमा नन्दु परियारले संगीत भरेकी छिन् । गीतमा लक्ष्मण र सुनिताकै स्वर सुन्न सकिन्छ। गीतमा विनोद बाजुरालीको म्युजिक एरेन्ज रहेको छ । गीतको भिडियोमा श्रीमान श्रीमती सुनिता र लक्ष्मण फिचर्ड छन् ।

अस्ट्रेलिया सरकारले दुष्प्रचार र गलत सूचनासम्बन्धी प्रस्तावित विधेयक अघि नबढाउने

क्यानबेरा । अष्ट्रेलियाको सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई आफ्नो प्लेटफर्ममा दुष्प्रचार र गलत सूचनालाई नियमन गर्न बाध्य पार्ने प्रस्तावित कानूनहरू औपचारिक रूपमा खारेज गरेको छ ।

सञ्चारमन्त्री मिचेल रोल्याण्डले सिनेटमा भएको विरोधका कारण सरकारले गलत सूचना सम्बन्धी विधेयक अघि नबढाउने घोषणा गरेका हुन् ।

यदि यो कानून पारित भएको भए, यसले अष्ट्रेलियाली सूचना तथा मिडिया प्राधिकरण (एसीएमए) लाई सामाजिक सञ्जाल कम्पनीहरूलाई जरिवाना गर्ने अधिकार दिने थियो । यो कदमले सामाजिक सञ्जालमा दुष्प्रचार र गलत सूचनाको निगरानी र नियमन गर्न सहजता प्रदान गर्ने विश्वास सरकारले गरेको थियो ।

विपक्षी गठबन्धन, ग्रीन्स र धेरै स्वतन्त्र सिनेटरहरूले विधेयकलाई अस्वीकार गरेपछि सत्तारूढ लेबर पार्टीलाई विधेयकको पक्षमा आवश्यक बहुमत प्राप्त गर्न कठिन देखिएपछि प्रस्तावलाई अघि नबढाइएको हो ।

रोल्याण्डले सन् २०२४ को अन्तिम संसदीय बैठकको एक हप्ताअघि यो घोषणा गरेका हुन् ।

सरकारले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने विश्वकै पहिलो योजनाका लागि कानुनलाई द्रूत गतिमा अघि बढाएको थियो भने संसदले आगामी बुधबार वा बिहीबार विधेयक पारित गर्ने अपेक्षा गरिएको थियो ।

पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा चलेको साम्प्रदायिक भिडन्तमा कम्तीमा ८२ जनाको मृत्यु

पेशावर । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा तीन दिनदेखि चलेको साम्प्रदायिक भिडन्तमा कम्तीमा ८२ जनाको मृत्यु हुनुका साथै १५६ जना घाइते भएका छन् ।

पाकिस्तान सुन्नी बहुल देश हो तर अफगानिस्तानको सीमा नजिकै रहेको खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा शिया समुदायको बाहुल्यता छ र यो समुदाय दशकौँदेखि शुन्नी बहुसङ्ख्यक पाकिस्तानीको निशाना हुने गरेको छ ।

गत हप्ता प्रहरीको सुरक्षामा यात्रा गरिरहेका शिया मुसलमानका दुई छुट्टाछुट्टै समूहमाथि गत बिहीबार आक्रमण हुँदा कम्तीमा ४३ जनाको मृत्यु हुनुका साथै दुई दिनसम्म सशस्त्र झडप भएको थियो ।

“नोभेम्बर २१, २२ र २३ मा भएको झडप र प्रहरीका गाडीलाई लक्षित गरी गरिएका आक्रमणमा परी ८२ जनाको मृत्यु भएको छ भने १५६ जना घाइते भएका छन्,’ स्थानीय प्रशासनका एक अधिकारीले नाम नबताउने शर्तमा भने ।

“मृत्यु हुनेमा १६ जना सुन्नी र ६६ जना शिया समुदायका व्यक्ति रहेका छन्,” उनले भने।

शनिबार रातिसम्म हतियारसहित गोली हानाहान जारी रहेपछि करिब ३०० परिवार घर छोडी भागेका थिए ।

स्थानीय प्रशासनका एक अधिकारीले भने, “कुर्रममा मोबाइल नेटवर्क बन्द गरिएको छ र मुख्य राजमार्गमा यातायात अवरुद्ध छ।”

सन् २०१८ मा खैबर पख्तुनख्वामा गाभिएसम्म अर्धस्वायत्त संघीय प्रशासित जनजातीय क्षेत्रको हिस्सा रहेको कुर्रममा प्रहरीले नियमित रूपमा हिंसा रोक्न संघर्ष गर्दै आएको छ ।

प्रान्तीय सरकारको एक प्रतिनिधिमण्डलले शनिबार शिया समुदायसँग वार्ता गरेको थियो र आइतबारपछि सुन्नी समुदायलाई भेट्ने कार्यक्रम रहेको छ।

प्रान्तीय राजधानी पेशावरका एक सुरक्षा अधिकारीले एएफपीलाई बताएअनुसार वार्ताकारको हेलिकप्टर त्यस क्षेत्रमा आइपुग्दा आक्रमण भएको थियो।

प्रान्तीय कानून मन्त्री आफताब आलम अफ्रिदीले भने, “आज हाम्रो प्राथमिकता दुवै पक्षबीच युद्धविरामको मध्यस्थता गर्नु हो । एक पटक यो हासिल भएपछि, हामी अन्तर्निहित मुद्दाहरू सम्बोधन गर्न सुरु गर्न सक्दछौं ।”

गत महिना कुर्रममा भएको साम्प्रदायिक झडपमा तीन महिला र दुई बालबालिकासहित कम्तीमा १६ जनाको मृत्यु भएको थियो ।

यसअघि जुलाई र सेप्टेम्बरमा भएको झडपमा दर्जनौं मानिसको मृत्यु भएको थियो र युद्धविरामको आह्वान गरिएको जिरगा वा आदिवासी परिषद्पछि मात्र टुङ्गिएको थियो ।

पाकिस्तानको मानव अधिकार आयोगका अनुसार जुलाईदेखि अक्टोबरसम्म साम्प्रदायिक झडपमा परी ७९ जनाको मृत्यु भएको छ ।

यसैबीच, पाकिस्तानको दोस्रो ठूलो शहर लाहोर र देशको व्यापारिक केन्द्र कराँचीमा शुक्रबार सयौं मानिसले हिंसाको विरोधमा प्रदर्शन गरेका छन् ।

चिकित्सा शिक्षा आयोगको बैठकः पिजीको सुविधासम्बन्धी विवाद मिलाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल कलेजमा आवासीय चिकित्सक–स्नातकोत्तर तह (पिजी) को सुविधासम्बन्धी विवाद आपसी छलफलबाट मिलाउन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको चिकित्सा शिक्षा आयोगको १५औँ बैठकमा आयोगका अध्यक्ष प्रधानमन्त्री ओलीले निजी र सरकारी दुवै क्षेत्रका सरोकारवाला पक्षलाई सामेल गरेर समाधान खोज्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल र आयोगका उपाध्यक्ष प्रा डा अञ्जनीकुमार झालगायतलाई विवाद मिलाउन निर्देशन दिएका हुन् ।

निजी कलेजका आवासीय चिकित्सकलाई पनि आठौँ तहको सरकारी सरह मासिक ४८ हजार रुपैयाँ सुविधा कायमका लागि सहजीकरण गरिदिन भनी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पत्रका आधारमा यही मङ्सिर ११ गतेभित्र स्वमूल्याङ्कन फाराम भर्न आयोगले सूचना प्रकाशन गरेको थियो ।

प्रधानमन्त्री ओलीले हाल आवासीय चिकित्सकलाई जति सुविधा दिन सकिन्छ त्यति उल्लेख गरेर आयोगमा स्वमूल्याङ्कन फाराम आग्रह गर्दै समझदारीका साथ निचोडमा पुग्दा निजी मेडिकल कलेजको घाटा नाफाको पनि अध्ययन गर्न आग्रह गरे । 

बैठकमा एशोसिएसन अफ मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष डा ज्ञानेन्द्रमानसिंह कार्कीले पिजीका विद्यार्थीलाई सरकारी मेडिकल अधिकृतको तलबसरह निर्वाह भत्ता उपलब्ध गराउन भनेर आयोगले एकपक्षीय निर्णय गर्न नसक्ने भन्दै निकास दिन प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई आग्रह गरेका थिए ।

आयोगको जारी बैठकमा गत आर्थिक वर्षको प्रगति विवरण, चालुु आर्थिक वर्षको बजेट र कार्यक्रममा नीतिगत संशोधन, प्राविधिक तथा व्यावसायिक शिक्षातर्फको आशयपत्र र सम्बन्धन, स्वामित्व हस्तान्तरण, छात्रवृत्तिलगायत कार्यसूची रहेका छन् ।  

दोहोरो अंकले घट्यो नेप्से

काठमाडौँ ।  यो साता कारोबारको पहिलो दिन  आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १३ दशमलव शून्य तीन अङ्कले घटेर दुई हजार छ सय ६७ दशमलव ४० को बिन्दुमा कायम भएको हो ।

आइतबार  तीन सय २२ कम्पनीको एक करोड ५२ लाख ७० हजार एक सय ९७ कित्ता शेयर ७६ हजार चार सय १८ पटक खरिदबिक्री हुँदा रु सात अर्ब ७२ करोड ८८ लाख ६१ हजार दुई सय ५० को कारोबार भएको छ ।

लगानी समूह शून्य दशमलव शून्य आठ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ६८ प्रतिशतले बढेका छन् भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी विकास बैंक समूह एक दशमलव ६३ प्रतिशतले घटेको छ ।

बैंकिङ शून्य दशमलव ५४, वित्त शून्य दशमलव ३७, होटल तथा पर्यटन शून्य दशमलव ४९ र जलविद्युत् समूह शून्य दशमलव ४१ प्रतिशतले घटेको छ । त्यसैगरी जीवन बिमा शून्य दशमलव ५५, लघुवित्त शून्य दशमलव ९४, म्युचुअल फण्ड शून्य दशमलव १२, निर्जीवन बिमा शून्य दशमलव १७, व्यापार शून्य दशमलव शून्य सात र अन्य समूह शून्य दशमलव ७१ प्रतिशतले घटेका छन् ।

थ्रीस्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आज सबैभन्दा बढी नौ दशमलव ९१ प्रतिशतले बढेको छ । सबैभन्दा बढी घट्नेमा भने सेन्चुरी डिभेञ्चर २०८८ सात दशमलव ७५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी रु ६० करोड ८७ लाख ३६ हजार एक सय ५२ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा ङादी पावर लिमिटेडको सात लाख २० हजार आठ सय १३ कित्ता शेयर किनबेच भएको छ ।

रविलाई थप १५ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अदालतको अनुमति

पोखरा । अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । आइतबार जिल्ला अदालत कास्कीले लामिछानेलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

यसअघि कार्तिक २५ मा उनलाई १३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो । शुक्रवार म्याद सकिए पनि शनिबार सार्वजनिक बिदा भएकाले आइतबार रविलाई अदालतमा उपस्थित गराइएको थियो।

उनीविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ । उनी कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।

मृत्युपश्चात अंग दान गर्नेका दाताका परिवारलाई सरकारले दुई लाख सहयोग गर्ने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मृत्युपश्चात मानव अंग दान गर्न चाहने दाताका परिवारलाई २ लाख सहयोग गर्ने निर्णय गरेका छन् ।

भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमार्फत एक लाख रुपैयाँ दिने गरिएकामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दाताका परिवारलाई १ लाख थप गर्ने निर्णय मन्त्री पौडेलले गरेका हुन् । यसअघि मानवअंग दान गर्न चाहने त्यस्ता परिवारलाई १ लाख रुपैयाँ दिने गरिएको थियो ।

मन्त्री पौडेलको निर्णय कार्यान्वयनमा अर्थ मन्त्रालयले आन्तरिक श्रोतबाट व्यवस्थापन गर्ने गरी सहमति दिएको छ । मन्त्रालयको आन्तरिक श्रोतबाटै आवश्यक रकम व्यवस्थापन गर्ने गरी निर्णय गरिएको मन्त्री पौडेलले बताए ।

अंग दानमा सघाउने अस्पताललाई यसअघि दिने गरिएको ५० हजार रुपैयाँमा मन्त्रालयले २५ हजार रुपैयाँ थप गरेर ७५ हजार रुपैयाँ पुर्याएको छ । मन्त्री पौडेल स्वयंलेसमेत यसअघि नै अंगदान गर्ने घोषणा गरिसकेका छन् ।

एमालेद्वारा महानगरको जरिवानाको पत्र बुझ्न अस्वीकार

काठमाडौं । काठमाडौं महानगरपालिकाको जरिवानाको पत्र बुझ्न नेकपा एमालेले अस्वीकार गरेको छ । आइतबार जरिवानापत्र बुझाउन च्यासलस्थित एमालेको पार्टी कार्यालय पुगेको महानगरको टोलीलाई आफूहरू आयोजक नभएको भन्दै एमालेले पत्र बुझ्न अस्वीकार गरेको हो ।

गत शुक्रबार दरबारमार्गमा जागरणसभामा सडक तथा पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरले एमालेलाई एक लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको थियो ।

उक्त पत्र लिएर पुगेको टोलीलाई एमालेले पत्र नबुझि फिर्ता पठाएको छ । महानगरपालिकाले फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एमालेलाई जरिवाना गरेको थियो । त्यसअघि महानगरले गत चैतमा राप्रपालाई पाँच हजार जरिवाना गरेको थियो ।

उपत्यकाको फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल

काठमाडौँ । सहरी विकास मन्त्रालयले काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सरोकार भएकासँग छलफल गरेको छ । मन्त्रालयमा आइतबार भएको ‘बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइट सञ्चालनमा सहजरीकरण, समन्वय र अनुगमन गर्न गठित उच्चस्तरीय समिति’को बैठकले उपत्यकाको फोहर व्यवस्थापनमा देखिएका समस्या समाधानका गर्न विभिन्न निर्णय गरेको छ ।

बैठकमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा देखिएका चुनौती र समस्या सबैको सरोकारको विषय भएकाले समाधानका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताए ।

विसं २०७८ फागुन २६ गतेको मन्त्रिपरिषद्को बैठकले उक्त समिति गठन गरेको थियो । उपप्रधानमन्त्री सिंहले भने, “फोहर व्यवस्थापनमा सबैले आवश्यक मापदण्ड पालना गर्नुपर्छ । फोहर वर्गीकरण, पुनःप्रयोगलगायत विषयमा सबैले ध्यान दिन जरुरी छ । यसमा मन्त्रालयबाट आवश्यक सहयोग र समन्वय रहन्छ ।”

उपप्रधानमन्त्री सिंहले ल्याण्डफिल साइटका स्थानीयले राखेका माग सम्बोधन गर्न विकल्पका बारेमा छलफल गरी अघि बढ्न सकिने उल्लेख गरे । यसमा देखिएका समस्या समाधान गर्न तीनै तहका सरकार मिलेर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

आज भएको छलफलबारे जानकारी दिँदै मन्त्रालयका सचिव मणिराम गेलालले उपत्यकाको फोहर व्यवस्थापनको नेतृत्व काठमाडौँ महानगरपालिकाले लिने जनाउँदै स्थानीयको जायज माग व्यवस्थापनका लागि विभिन्न सुझाव आएका बताए । फोहर ओसार्न वैकल्पिक बाटो निर्माण, ल्याण्डफिल साइटको जग्गा अधिग्रहणका बारेमा स्पष्टता, कुहिने फोहर उपत्यकामा विसर्जन गरी मल बनाउनेलगायत विषयमा आज निर्णय भएको उनले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठ, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका भरतमणि सुवेदी, ललितपुर महानगरपालिका प्रमुख एवं उपत्यका मेयरर्स फोरमका अध्यक्ष चिरीबाबु महर्जन, विभिन्न नगरपालिकाका प्रमुख तथा प्रशासकीय अधिकृतलगायत उपस्थित थिए । 

मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने सहरबीच भगिनी सम्बन्ध

काठमाडौं । मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका र जापानको खागोसीमा प्रान्तस्थित मिनामिताने सहरबीच भगिनी सम्बन्ध स्थापना गरिएको छ ।

शनिबार जापानको खागोसीमा प्रान्तको तानेसीगामा आयोजित एक कार्यक्रममा मिनामिताने टाउनका प्रमुख हिरोयासु कोजोनो र मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बविकुमार राईको उपस्थितिमा सो सम्बन्ध सुरुआतको घोषणा गरिएको हो ।

जापानका पूर्वव्यवसायी एवं नेपाली कांग्रेसका नेता चिरञ्जीवी थापाको समन्वयमा यी दुई पालिकाबीच भगिनी सम्बन्ध कायम भएको हो ।

उक्त सम्बन्ध स्थापना गर्न शनिबार आयोजित कार्यक्रममा जापानका तर्फबाट खागोसीमा प्रान्तका गभर्नर कोइची सिओता, सभामुख सुन्लो सिओगामा र जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जाक्सा) का कार्यकारी निर्देशक मासासी ओकादा तथा नेपालबाट नेता थापाका साथै सांसद डा सुनिल शर्मा, व्यवसायी जीवन खड्का एवं जापानस्थित नेपाली राजदूतावासका प्रतिनिधि उपस्थिति रहेको सो दूतावासले जनाएको छ ।

भगिनी सम्बन्ध कायम गरिएको सो टाउन तानेसीगामा नगरमा पर्दछ । एरोस्पेस टाउनका रुपमा परिचित सो नगर जाक्साले अन्तरिक्षमा रकेट पठाउने ठाउँ हो ।

सो कार्यक्रममा नेपाली कांग्रेसका सांसद डा. शर्माले दुई पालिकाबीचको सम्बन्ध उदाहरणीय र ऐतिहासिक रहेको बताए । उनले भने, ‘खाना र आधारभूत शिक्षाका लागि सङ्घर्ष गरिरहेको नेपालको एक गाउँ र अन्तरिक्षमा रकेट पठाई मानवबस्ती बसाल्ने परिकल्पना गरिरहेको अर्काे सहरबीचको यो सम्बन्ध अत्यन्तै उदाहरणीय र सुमधुर बन्नेछ ।’

नेपाल र जापानबीचको सम्बन्ध सरकारका बीचको मात्र नभएर जनता जनताबीचमा पनि उत्तिकै पुरानो र सुमधुर रहेको डा शर्माले बताए ।मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बविकुमार राईले दुई पालिकाबीच कायम भएको भगिनी सम्बन्धले मिक्लाजुङको शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधारका क्षेत्रमा नयाँ आयाम थपिने विश्वास व्यक्त गरे ।

त्यसैगरी मिनामितानेका टाउनका प्रमुख हिरोयासु कोजोनोले नेपालबाट जापानसम्म आई दुई पालिकाबीच सम्बन्ध जोड्ने अवसर प्रदान गरेकामा धेरै खुसी लागेको बताए ।

नारायणी अस्पतालमा ‘मेमोग्राम’ जडान अन्तिम चरणमा

वीरगंज ।  नारायणी अस्पताल वीरगन्जमा स्तन क्यान्सरको पहिचान र परीक्षणका लागि ‘मेमोग्राम’ उपकरण जडान प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

अस्पतालका अनुसार एक साताभित्र मेमोग्राम उपकरण जडान सकेर नियमित सञ्चालन गरिने जनाएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. चुमनलाल दासले एक साताभित्र मेमोग्राम जडान गरिसक्ने लक्ष्य राखेर कामलाई तीव्रता दिइएको जानकारी दिए ।

‘स्तन क्यान्सरको पहिचान र परीक्षणका लागि आवश्यक पर्ने मेमोग्राम मशिन अस्पतालमा आएसँगै बायो मेडिकल इञ्जिनियरले मेसिन राख्न आवश्यक कोठाको तयारी भइरहेको छ । एक साताभित्र जडान गरिसक्ने लक्ष्य राखेका छौं,’ उनले भने ।​​

मेसु दासले मेमोग्राम जडान भएसँगै यहाँका बिरामीलाई सेवा प्राप्त गर्न सहज हुने बताए । ‘सेवा शुरू भएपछि स्तन क्यान्सर पहिचान र परीक्षणका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता अन्त्य हुनेछ,’ उनले भने ।

सङ्घीय सरकार मातहतको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट उक्त उपकरण यहाँ ल्याइएको हो ।

कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनित

काठमाडौं । नेपाली कांग्रेसको कोषाध्यक्षमा केन्द्रीय सदस्य उमेश श्रेष्ठ मनोनित भएका छन् । आइतबार कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (४) बमोजिम केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्य श्रेष्ठलाई पार्टीको केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष पदमा मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

कोप–२९ मा जलवायु वित्त बढाउन सहमति, कार्बन उत्सर्जन कटौतीका लागि भाका सारियो

प्रगति ढकाल, काठमाडौँ । बाकुको अजरबैजानमा जारी रहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रारुपमहासन्धी (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको २९औँ शिखर सम्मेलन (कोप–२९) टुङ्गिएको छ । शुक्रबार नै कोप सकिने पूर्वतालिका रहे पनि सहमति जुट्न नसकेपछि दुई दिन लम्बिएर कोप सकिएको हो ।

कोप–२९ ले जलवायु वित्त, कार्बन बजार, अनुकूलन, र लैङ्गिक समानताको क्षेत्रमा नयाँ आयाम थप्दै विश्वव्यापी जलवायु कार्यलाई एकीकृत गर्न महत्त्वपूर्ण योगदान दिएको र अब थप परिणाममुखी निर्णय लिन विश्वभरिका देशहरूले तयारी गर्ने युएनएसिसिसीको सचिवालयले जनाएको छ ।

नेपालको तर्फबाट कोपको वार्ता प्रक्रियामा भाग लिनुभएका जलवायुविद् मञ्जित ढकालले कोप वार्ता प्रक्रियाको उपलब्धिमा जलवायु वित्तको नयाँ लक्ष्य (एनसिक्युजी) का बारेमा विकसित देशहरुले विकासोन्मुख देशहरुलाई वार्षिक तीन सय विलियन डलरसम्म उपलब्ध गराउने सहमति नै कोपको मुख्य सकारात्मक उपलब्धि भएको बताए ।

“विकासोन्मुख राष्ट्रको माग वार्षिक १ दशमलव ३ ट्रिलियन डलर भएको छ । साथै, जलवायु वित्तमा सहज पहुँच हुनुपर्ने मागमा सामान्य प्रगति भएको छ”, उनले भने, “हानिनोक्सानीलाई जलवायु वित्तको नयाँ लक्ष्यका समावेश गराउनेबारे पनि सामान्य प्रगति भएको छ ।”

कार्बन उत्सर्जन घटाउनुपर्ने एजेण्डामा भने धनी मुलुक सकारात्मक नदेखिएको उनको भनाइ छ । “यसपटक कार्बन उत्सर्जन घटाएर पृथ्वीको तापमानलाई १ दशमलव ५ डिग्रीमा सन्तुलन ल्याउने विषयको छलफलमा धेरै प्रगति हुन सकेन । यसमा विशेषगरी पेट्रोलियम उत्पादन र बिक्रीमा आस्रित देशको भूमिका असहयोगी रह्यो ।”

ढकालका अनुसार हाम्रो जस्तो देशका लागि जहाँ जलवायुजन्य असर बढ्दो क्रममा रहेको र पृथ्वीको तापमान सन्तुलित बनाउन अत्यन्त जरुरी छ । यसका लागि धेरै कार्बन उत्सर्जन गर्ने देशहरु जिम्मेवार हुन जरुरी रहेको भन्दै ढकालले छलफल अर्को वर्ष जुन महिनामा फेरि छलफल हुनेगरी टुङ्गिएको जानकारी दिए ।

“कार्बन व्यापारसम्बन्धी छलफलमा धेरै वर्षपछि सहमति भएको छ । बजारमा आधारित कार्बन व्यापार र द्विपक्षीय सहमतिमा गरिने व्यापारलाई अघि बढाउने बाटो खुलेको छ”, ढकालले भने, “समग्रमा केही विषयमा प्रगति भए पनि बाँकी विषयको छलफललाई निरन्तरता दिने सहमति गर्दै, बाकु जलवायु सम्मेलन सम्पन्न भएको छ ।”

एनसिक्यूजीमा भएको सहमतिको प्रभावकारी कार्यान्वयन भएमा नेपालजस्ता मुलुकहरुले राखेका जलवायुका योजना कार्यान्वयनका लागि आवश्यकपर्ने वित्त सहयोग व्यवस्थापनमा केही सहज बाकुमै रहेका वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन महाशाखाका प्रमुख डा सिन्धुप्रसाद ढुङ्गानाको भनाइ छ ।

“जलवायु वित्तमा प्रगति भए पनि कार्बन उत्सर्जन कटौतीमा उत्सर्जक मुलुक तयार भएनन्, यसले तापमान वृद्धि सीमित राख्ने लक्ष्य पूरा हँुदैन कि भन्ने आशङ्का छ, तर निरन्तर पैरवी जारी राख्ने छौँ”, उनले भने, “तापमान वृद्धिले विशेषगरी नेपालको पर्वतीय क्षेत्रमा बढी असर गर्छ, हिउँ पग्लिने, हिमताल बिस्फोट हुने र हिमपहिरो गएर त्यहाँका बासिन्दालाई सुरक्षामा चुनौती हुनसक्छ, तसर्थ नेपालले पनि उत्सर्जन कटौती गर्नुपर्ने मुद्दामा प्राथमिकता दिएकोे हो ।”

‘महत्वाकाङ्क्षी परिणामको अपेक्षा थियो’

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कोप–२९ मा जलवायु वित्त सहयोग र पृथ्वीको तापमान वृद्धि १ दशमलव ५ डिग्री सीमित राख्न कार्बन उत्सर्जन न्यूनीकरणमा महत्वाकाङ्क्षी परिणामको अपेक्षा गरिएको बताए । उनले कोपको समापन गर्दै तापमान वृद्धिले जलवायुको सङ्कट निम्त्याइरहेको उल्लेख गरे ।

“यस पटकको प्राथमिकता नम्बर एक भनेकै वित्तीय सहयोग थियो, ऋणले थिचिएका, प्रकोपबाट प्रभावित र नवीकरणीय ऊर्जाको क्रान्तिमा पछाडि परेका विकासशील सहयोग जुटाउनु थियो”, उनले भने, “महत्वाकाङ्क्षाअनुसार कोपको परिणाम देखिएन तर कोपमा भएको यो सहमति एउटा आधार हो, यद्यपि यस सहमतिले थप निर्माण दिन सहयोग गर्ने विश्वास छ ।”

कोप–२९ ले उत्सर्जन कटौती र ऊर्जा रूपान्तरणलाई गति गत वर्ष भएका प्रगतिहरूलाई अगाडि बढाएको र कार्बन बजारमा सहमति पनि ल्याएको गुटेरेशको टिप्पणी छ । महासचिव गुटेरेसले भने, “म यसलाई सहमतिको आधारमा हेर्न र यसलाई थप अगाडि बढाउन आह्वान गर्दछु ।”

‘यात्रा कठिन थियो, तर हामीले एउटा सम्झौता हासिल गर्यौँ’

संयुक्त राष्ट्र जलवायु परिवर्तनका कार्यकारी सचिव साइमन स्टिलले जलवायुको न्याय सम्बोधन गर्दै सङ्कटका समाधान खोजिने एउटा कठिन यात्रा भएको बताए । उनले भने, “ कोप–२९ बाट प्राप्त उपलब्धिले जलवायु सङ्कटको सामना गर्न सहयोग गर्छ । तर कुनै पनि उपलब्धि तब मात्र प्रभावकारी हुन्छ जब यसको कार्यान्वन गरिन्छ । वाचा पूरा गरिनुपर्छ, जसले अर्बौं मानिसको जीवन रक्षा गर्न सकुन् ।”

प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीद्वारा पदबाट राजीनामा

काठमाडौँ । प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले पदबाट राजीनामा दिएका छन् । गत असारमा प्रतिनिधिसभाको सचिव बनेका अधिकारीले स्वस्थ्यको कारण देखाउँदै राजीनामा दिएका हुन् ।

उनले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा बुझाएका छन् । सभामुख देवराज घिमिरेको सिफारिसमा अधिकारी प्रतिनिधि सभाको सचिवमा नियुक्त भएका थिए ।

अध्यक्ष प्रचण्डद्वारा पूर्वराज्यमन्त्री राईप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौँ । नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  पार्टीका केन्द्रीय सदस्य पदमबहादुर राईको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

आइतबार पार्टी कार्यालय पेरिसडाँडास्थित केन्द्रीय कार्यालय परिसरमा राखिएको केन्द्रीय सदस्य राईको पार्थिव शरीरमा उनले झण्डा ओढाएर सम्मान व्यक्त गरेका हुन् ।

त्यस अवसमा उपाध्यक्षहरू अग्निप्रसाद सापकोटा र पम्फा भुसाल, पूर्वसभामुख ओनसरी घर्ती, पूर्वमन्त्री, सांसद, पार्टी नेता तथा कार्यकर्ताले उनीप्रति श्रद्धाञ्जली व्यक्त गरे ।

भोजपुरको षडानन्द नगरपािलका बोयामा लालबहादुुर राई र दौलती राईको कोखबाट  २०२३  पुस १५ गते जन्मिएका राईको मङ्सिर ८ गते बेलुका ५८ वर्षको उमेरमा पार्किन्सनको उपचारका क्रममा वीर अस्पताल निधन भएको थियो ।

विसं २०४६ बाट अनेरास्ववियु छैटौँबाट राजनीतिमा प्रवेश गरेका राई २०४७ सालमा स्थानीय इकाइ सदस्य हुँदै सुनसरी र मोरङ जिल्ला सदस्य, भोजपुर जिल्ला सचिव, भोजपुर–तेह्रथुम–सङ्खुवासभा इञ्चार्ज, जनमुक्ति सेनाको ब्रिगेड कमिसार तथा पार्टी केन्द्रीय सदस्य हुँदै पोलिटब्युरो सदस्यसम्मको जिम्मेवारी सम्हालेका थिए ।

विसं २०६३ मा अन्तरिम व्यवस्थापिका संसद सदस्य एवं भौतिक योजना राज्यमन्त्रीसमेत भएका उनी विसं २०६४ को संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नं १ बाट निर्वाचित भएका थिए । उनको निधनप्रति नेकपा (माओवादी केन्द्र)ले श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेको गरेको छ ।

पार्टी अध्यक्ष दाहालद्वारा जारी शोक वक्तव्यमा केन्द्रीय सदस्य राईको निधनले कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति पुगेको जनाउँदै आमपार्टी पङ्क्ति र जनसमुदायमा शोकलाई शक्तिमा बदल्न आह्वान गरेका छन् । उनको आजै पशुपतिस्थित विद्युतीय शवदाह गृहमा दाहसस्कार गरिने पार्टीले जनाएको छ । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।

जोर्डनस्थित इजरायली दूतावास नजिकै गोली चल्दा एक जनाको मृत्यु

जोर्डन । जोर्डनको राजधानी अम्मानमा इजरायली दूतावास रहेको क्षेत्रमा आइतबार बिहान गोली चल्दा एक जनाको मृत्यु हुनुका साथै सुरक्षा सेवाका तीन सदस्य घाइते भएका छन् ।

सार्वजनिक सुरक्षा निर्देशनालयले राजधानी अम्मानको राबिह क्षेत्रमा सञ्चालित गस्ती टोलीमाथि आइतबार बिहान गोली चलेको घटनालाई नियन्त्रणमा लिएको घोषणा गरेको सरकारी समाचार एजेन्सी पेट्राले जनाएको छ ।

एक बन्दुकधारीले गस्ती टोलीमाथि गोली चलाएको र पछि सुरक्षा बलले आक्रमणकारीलाई घेरा हालेको थियो । ती व्यक्तिले ‘सुरक्षा बलमाथि गोली चलाएपछि आक्रमणमा संलग्नलाई नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले चलामएको गोली लागि आक्रमणकारीको मृत्यु भएको पुष्टि भएको छ ।”

घटनामा परी तीन जना सुरक्षाकर्मी घाइते भएको र उनीहरुको उपचार भइरहेको जनाइएको छ ।

कोप–२९ सम्मेलनः धनी देशले प्रतिवर्ष कम्तीमा ३०० अर्ब अमेरिकी डलर तिर्ने सहमति

संयुक्त राष्ट्रसंघ । दुई साता लामो वार्तापछि अन्तिम सम्झौतामा विकसित राष्ट्रहरूले सन् २०३५ सम्ममा विकासोन्मुख देशहरूलाई आफ्नो अर्थतन्त्रलाई हरित बनाउन र अझ खराब विपत्तिको सामना गर्न सहयोग गर्न प्रतिवर्ष कम्तीमा ३०० अर्ब अमेरिकी डलर तिर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

यो रकम धनी देशहरूले समयावधि समाप्त हुने प्रतिबद्धताअन्तर्गत उपलब्ध गराएको १०० अर्ब अमेरिकी डलर र शुक्रबारको मस्यौदामा प्रस्तावित २५० अर्ब अमेरिकी डलरभन्दा बढी हो ।

जलवायु वित्त निर्माणको ‘जग’ तयारः गुटेर्रेस

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले अजरबैजानमा आइतबार बिहान भएको जलवायु वित्त सम्झौता पर्याप्त नभएको भन्दै यसलाई जलवायु वित्तको ‘आधार’का रुपमा हेर्न आग्रह गरेका छन् ।

गुटेर्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामीले सामना गरिरहेको ठूलो चुनौतीको सामना गर्न वित्त र न्यूनीकरण दुवैमा मैले अझ महत्वाकाङ्क्षी परिणामको आशा गरेको थिएँ, यो सम्झौतालाई आधारको रूपमा हेर्दै जलवायु वित्तको आधार निर्माण गर्न म सरकारहरूलाई अपील गर्दछु।’ उनले भने, ‘यो सम्झौतालाई पूर्णरूपमा समयमै सम्मान गर्नुपर्छ ।’

महासचिव गुटेर्रेसले भने, ‘प्रतिबद्धताहरू चाँडै नगदमा परिणत हुनुपर्दछ। यो नयाँ लक्ष्यको शीर्ष–अन्त पूरा गर्न सुनिश्चित गर्न सबै देशहरू एक साथ आउनुपर्छ।’

उनले भने, ‘तापमान वृद्धिको १.५ डिग्रीको सीमालाई जीवित राख्नको लागि कोप २९ मा एक सम्झौता नितान्त आवश्यक थियो र देशहरूले यसको कार्यान्वयन गर्न सहमत भएका छन् ।’

कार्य योजनाहरूलाई जारी राख्नको लागि थप दबाब दिने अभियानकर्मीहरुलाई सन्देशको साथ समापन सम्बोधन गर्दै उनले भने,’जीबास्म इन्धनको युगको अन्त्य अपरिहार्य छ त्यसैले राष्ट्रहरूले ‘कोप ३० भन्दा धेरै अगाडि’ अर्थव्यवस्थामा आधारित न्यायपूर्ण नयाँ जलवायु कार्य योजनाहरू प्रदान गर्न आह्वान गर्नुभयो ।’

‘संयुक्त राष्ट्रसंघ तपाईंहरूको साथमा छ । हाम्रो लडाइँ जारी छ । हामी कहिल्यै हार मान्दैनौं,’ गुटेर्रेसले भने ।

सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट

काठमाडौँ । पाँच दिने कम्बोडिया भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले संसदीय भेटघाट सुरु गरेका छन् । सभामुख घिमिरेले शनिबार साँझ कम्बोडियन समकक्षी तल्लो सदन नेसनल एसेम्ब्लीका अध्यक्षसँग शिष्टाचार भेट गरेका सभामुख घिमिरेको सचिवालयले जनाएको छ ।

भेटमा द्विपक्षीय हित, नेपालको शान्ति प्रक्रियाको प्रगति, संसदीय आदानप्रदानलगायत विषयमा छलफल भएको छ । सभामुख घिमिरेले शनिबार नै कम्बोडियाको राष्ट्रियसभाका अध्यक्ष सम्देच मोहा रथसपिथिकाथिपादेई खुऔन सुदारीसँग भेट गरे । भेटमा सभामुखले सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद्को ११औँ पूर्ण सत्रको आयोजना गरी आमन्त्रण गरेकामा धन्यवाद दिएका थिए ।

सभामुख घिमिरेले भेटमा नेपालको शान्ति प्रक्रियासँगै समावेशी र प्रगतिशील संरचना निर्माण भएको बताएका थिए । “नेपालमा सन् २००६ मा भएको विस्तृत शान्ति सम्झौताले स्थायित्व ल्याउनुका साथै संविधानसभाबाट संघीयतासहितको समावेशी र प्रगतिशील संरचना बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको छ”, सभामुखले भने ।

नेपालको शान्ति प्रक्रियामा प्राप्त गरेको सफलता र संसद्बाट हालै सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन पारित गरेको भन्दै सभामुखलाई कम्बोडियन संसद्ले ‘गार्ड अफ अनर’ दिएको छ ।

सभामुखले प्रधानमन्त्री सम्देच हुनमानेटको गतिशील नेतृत्वमा कम्बोडियाले सामाजिक-आर्थिक विकास गरेकामा खुसी व्यक्त गरे । उनले भने, “विगत दशकमा कम्बोडिया अधिराज्यले हासिल गरेको आर्थिक समृद्धिप्रति नेपाल सरकार, नेपालको संसद् र नेपाली जनताले प्रशंसा गर्दछन् ।”

सभामुख घिमिरेले नेपाल र कम्बोडिया सरकारबीच भर्खरै सम्पन्न भएको हवाई सेवा सम्झौताले दुई देशका जनताबीचको सम्बन्ध र सम्पर्कलाई एकापसमा जोड्न सघाउ पुग्ने विश्वास व्यक्त गरे । सभामुख घिमिरेले आज बिहान प्रधानमन्त्री हुनमानेटसँग अनौपचारिक भेट गरेका छन् ।

पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कम्बोडियाको राजधानी नोम पेन्ह पुगेका सभामुखले आज सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद्को ११औँ पूर्ण सत्रमा सम्बोधन गर्ने कार्यक्रम छ । सभामुख आगामी मङ्सिर ११ गते मंगलबार स्वदेश फर्कने छन् ।

सिनामंगलको एक होटलमा युवायुवती मृत फेला

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित एक होटलमा युवायुवती मृत भेटिएका छन् । आइतबार बिहान सिनामंगलस्थित होटल जन्मभूमिमा सुनसरीका ३४ वर्षीय रमेश रायमाझी र मोरङकी २९ वर्षीय शर्मिला माझी मृत भेटिएका हुन् । उनीहरु श्रीमान श्रीमती रहेका प्रहरीले जनाएको छ ।

उनीहरु झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले दुई जना मृत फेला परेका र अनुसन्धानका लागि प्रहरी टोली घटनास्थल पुगेको जानकारी दिए । उनीहरु शनिबार क्यानडाबाट नेपाल आएको खुलेको छ ।

यू-१९ एसिया कप खेल्ने १५ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौं । एसिसी यु–१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले टोली घोषणा गरेको हो ।

मंसिर १४ देखि २३ गते सम्म युएईमा आयोजना हुने प्रतियोगिगामा १८ सदस्यीय टोलि घोषणा भएका हुन्।

प्रतियोगिगामा नेपालसमूह बी मा रहेको छ । नेपाल रहेको समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् भने समूह ए मा भारत, पाकिस्तान, जापान र युएई रहेका छन्। टोलीको कप्तानि हेमन्त धामीले गर्नेछन्।

नेपाली टोलीः
हेमन्त धामी(कप्तान), उपकप्तानमा अर्जुन कुमाल, मयन यादव,उत्तम थापा,आकाश त्रिपाठी,युनिस विक्रम सिंह ठकुरी,नरेन साउद,नरेन भट्ट,युवराज खत्री,अपराजित पौडेल,सन्तोष यादव, रोशन विक, विपिन महतो, अभिषेक तिवारी र रन्जित कुमार।

१७ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा सुनको मूल्य १७ सय रुपैयाँ बढेर एक लाख ६७ हजार दुईसय रुपैयाँ पुगेको छ ।

गत शुक्रबार सुनको मूल्य तोलाको एक लाख ६५ हजार पाँचसय रुपैयाँ थियो । आज चाँदीको मूल्य पनि बढेको छ। गत शुक्रबार तोलाको एक हजार नौसय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको १५ रुपैयाँ बढेर एक हजार नौ सय ६० रुपैयाँ पुगेको छ।

रविलाई लामिछानेलाई म्याद थपका लागि कास्की अदालतमा उपस्थित गराइयो

पोखरा । सहकारीको रकम अपचलनको अभियोगमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।

शुक्रवार म्याद सकिए पनि शनिबार सार्वजनिक बिदा भएकाले आज रविलाई अदालतमा उपस्थित गराइएको हो । उनीविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ । उनी कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।

टोटनह्यामसँग सिटी ४–० ले पराजित

काठमाडौँ । इङ्लिस प्रिमियर लिगअन्तर्गत टोटनह्यामले म्यानचेस्टर सिटीमाथि शानदार जित हासिल गरेको छ । शनिबार राति सिटीको घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले सिटीलाई ४–० गोल अन्तरले पराजित गरेको हो।

टोटनह्यामको जितमा जेम्स माडिसनले दुई गोल गरेका थिए भने पेड्रो पोर्रो र ब्रेनान जोन्सनले एक एक गोल गरे । पहिलो हाफमा २–० को अग्रता बनाएको टोटनह्यामले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो।

यो जितपछि टोटनह्यामले महत्वपूर्ण तीन अंक हासिल गर्दै लिमा छैटौं स्थानमा उक्लिएको छ। 

टोटनह्यामको १२ खेलमा १९ अंक भएको छ। सिटीको यो लगातार पाँचौं हार हो। १२ खेलमा २३ अंक रहेको म्यानचेस्टर सिटी दोस्रो स्थानमा रहेको छ । एक खेल कम खेलेको लिभरपुलभन्दा पाँच अंकले पछाडी रहेको म्यानचेस्टर सिटीको उपाधि दौडमा यस हारले ठूलो धक्का लागेको छ ।

रविलाई म्याद थपका लागि आज अदालतमा उपस्थित गराइँदै

पोखरा । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज म्याद थपका लागि अदालतमा पेश गरिँदैछ ।

थुनामा राख्न दिइएको पछिल्लो १३ दिनको म्याद शुक्रबार सकिएपछि आज प्रहरीले कास्की अदालतमा लामिछानेलाई म्याद थपका लागि पेस गर्न लागेको हो । म्याद थप भएपछि प्रहरीले थप अनुसन्धान अघि बढाउने छ । उनी कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।

चलचित्र भवनमा नेपाली चलचित्रको दबदबा

काठमाडौं । गत दसैँदेखि प्रदर्शनमा आएका नेपाली चलचित्रले दर्शकको राम्रो साथ पाएका छन् । बेलाबखतमा उल्लेख्य शो सङ्ख्या नपाएको भन्दै चलचित्रको प्रदर्शन रोकिएता पनि गत दसैँदेखि प्रदर्शनमा आएका नेपाली चलचित्रले उल्लेख्य शो पाएका छन् । अहिले चलचित्र भवनमा स्वदेशी चलचित्रकै दबदबा देखिएको छ ।

गत तिहारलाई लक्षित गर्दै कत्तिक १५ गतदेखि प्रदर्शनरत चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले कीर्तिमानी व्यापार गरिरहेको छ । निर्माण पक्षले दाबी गरेअनुसार यसले घरेलु बजारमा ४० करोड बढीको व्यापार (ग्रस कलेक्सन) गरिसकेको छ । विदेशमा पनि यसले व्यापारमा कीर्तिमान बनाइरहेको छ ।

यस्तै, गत कात्तिक ३० गतेदेखि प्रदर्शनरत चलचित्र ‘ह्रस्व दीर्घ’ ले पनि आफ्नो लगानी सुरक्षित गरेको निर्मात्री तथा अभिनेत्री नीता ढुङ्गानाले जानकारी दिइन । “नेपाल प्रदर्शन, विदेशी प्रदर्शन अधिकार, ओटिटी प्रदर्शन अधिकारबाट लगानी सुरक्षित गर्न सफल भएका छौँ । भारतको ओटिटी प्लेटफर्ममा महङ्गो मूल्यमा बिक्री गरेका छौँ । तेलुगु भाषामा हामी भारतका चलचित्र भवनमा नै प्रदर्शन गर्दैछौँ । यसकारणले हाम्रो लगानी सुरक्षित भएको घोषणा गरेका हौँ”, उहाँले भन्नुभयो । अभिनेत्री ढुङ्गानाले स्वदेशी बजारमा एक सातामा रू पाँच करोड ५४ लाखको व्यापार गरेको जानकारी दिइन् ।

यस्तै चलचित्र ‘तेल भिसा’ ले पनि सुरूआती समयमा राम्रो व्यापार गरिरहेको वितरक करण श्रेष्ठले जानकारी दिए। उनले भने, “तेलभिसा हेर्न परिवार नै चलचित्र भवनमा देखेका छौँ । शुक्रबार र शनिबार बिहानी शोमा देखिनुभएका दर्शक र उहाँले दिनुभएको प्रतिक्रियाले हाम्रो चलचित्रको प्रचार उहाँहरूले नै गर्दिनुहुन्छ भन्नेमा ढुक्क छौँ । धेरै दर्शकको आँखा रसाएको पाएँ, किनकि यसमा विदेशमा रहेका परिवारको कथालाई देखाइएको छ ।”

चलचित्रमा अभिनेता विपिन कार्की, ऋचा घिमिरे, पूजा चन्द, वर्षा राउत, बुद्धि तामाङ, सुचित्रा उप्रेतीसहित अमेरिकी कलाकारहरूले अभिनय गरेका थिए । शङ्कर घिमिरेले निर्देशन गरेका चलचित्रमा छोराको सन्तान हुने भएपछि नेपालबाट अमेरिका गएकी आमाले बेहोर्नुपरेको कानुनी झमेलाको कथा देखाइएको छ ।

अभिनेता रमेश उप्रेतीले पछिल्लो समय बनिरहेका चलचित्रले नेपाली विषय र कथालाई उठान गरेका कारण दर्शकको रोजाइमा परिरहेको बताए । उनले भने, “पछिल्लो समय मैले हेरेका नेपाली चलचित्र निकै राम्रो बनेका छन् । नेपाली माटो सुहाउँदो कथा र प्रस्तुतीकरण भएका कारण दर्शक चलचित्रको विषय र पात्रसँग जोडिएको हुन सक्छन् । यी चलचित्र हेर्दा दर्शक सन्तुष्ट भएकै कारण एकपछि अर्को नेपाली चलचित्रले राम्रो व्यापार समेत गरिरहेको छ ।”

आज नेपाली चलचित्र हेर्न दर्शकको उपस्थिति विदेशी चलचित्रको तुलनामा बढी देखिएको छ । दसैँ अगाडि पर्याप्त शो नपाएको कारण देखाउँदै चलचित्र ‘बेहुली फ्रम मेघौली’ को निर्माण समूहले प्रदर्शन स्थगित गरेका थिए । तर अहिले चलचित्र भवनमा नेपाली चलचित्रकै दबदबा देखिएको छ । व्यापारमा पनि विदेशीभन्दा नेपाली चलचित्र निकै अगाडि देखिएका छन् ।

पूर्वमन्त्री पदम राईको निधन

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वराज्यमन्त्री पदम राईको निधन भएको छ । केही वर्षदेखि पार्किन्सन रोगले थला परेका राईको शनिबार निधन भएको हो ।

माओवादी विभाजित हुँदा उनी नेत्रविक्रम चन्दको नेकपामा लागेका थिए । शान्ति प्रक्रियापछि राई आवास तथा भौतिक योजना राज्यमन्त्री पनि भएका थिए । उनी २०६४ को संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नम्बर १ बाट सभासद बनेका थिए ।

एनसिक्युजीको मस्यौदामै एलडिसीको असन्तुष्टि

प्रगति ढकाल, काठमाडौं । नेपाललगायत अति कम विकसित मुलुकहरूको समूह (एलडिसी) ले नयाँ सामूहिक परिमाणात्मक लक्ष्य (एनसिक्यूजी) मा सार्वजनिक गरिएको जलवायु वित्तसम्बन्धी मस्यौदाप्रति असन्तुष्टि जनाएको छ ।

बाकुको अजरबैजानमा जारी रहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रारूप महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरूको २९औँ शिखर सम्मेलन (कोप–२९) मा सार्वजनिक गरिएको मस्यौदाले स्पष्ट रूपमा जलवायु वित्तको आकार बढाउनेलगायत विषयमा नखुलाइएको भन्दै असन्तुष्ट जनाइएको हो ।

पूर्वनिर्धारित तालिकाअनुसार शुक्रबार नै कोप सकिने भनिए पनि एलडिसी लगायतका समूहले राखेको ‘एजेन्डा’ का सबै बुँदामा सहमति जुट्न नसकेपछि आज पनि पैरवी भइरहेको छ । एलडिसी समूह, जी सेभेन्टी सेभेन एन्ड चाइनाको समूहले धनी तथा विकसित मुलुकहरूलाई यतिबेला एनसिक्युजीको एजेन्डा कार्यान्वयनका लागि दबाब दिइरहेका छन् ।

एनसिक्युजीसम्बन्धी सार्वजनिक गरिएका केही बुँदाहरू स्पष्ट नभएकाले एलडिसी लगायतको समूहको असन्तुष्टि देखिएको र पैरवी निरन्तर अघि बढिरहेको बताउनुहुन्छ, बाकुमै रहेका वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन माहाशाखाका प्रमुख डा सिन्धुप्रसाद ढुङ्गाना । “एनसिक्युजीअन्तर्गत धनी तथा विकासोन्मुख मुलुकहरूले जलवायु वित्तको आकार बढाएर सन् २०२६ पछि वार्षिक दुई सय ५० बिलियन हरेक वर्ष पु¥याउनुपर्ने भन्ने एलडिसी लगायतका समूहको माग थियो, तर मस्यौदामा तर सन् २०३५ सम्ममा भनिएको छ । सन् २०३४ पछि पो बढाउन लागिएको हो कि ! कति पैसा बढाउने भन्ने विषयमा मस्यौदाले स्पष्ट बोलेकै छैन,” उनले भने, “जलवायुको सङ्कट छिटोछिटो निम्तिरहेको छ । अब जलवायु वित्तको आकार बढाउने बढाउनुपर्ने दायित्व पनि छिटै पूरा गरौँ भनेर यतिबेला कोपमा पैरवी निरन्तर भई नै रहेको छ । आज रातिसम्ममा केही सकारात्मक नतिजा आउने अपेक्षा छ ।”

ढुङ्गानाले कोपका एजेन्डामा एनसिक्युजी समाहित हुन, विशेषगरी पर्वतमा आधारित कार्य र पेरिस सम्झौताअनुसार विश्वभर जलवायु परिवर्तन रोक्न गरिएका प्रयासहरूको समीक्षा गर्ने प्रक्रिया (ग्लोबल स्टकटेक) समाहित हुनु सकारात्मक पक्ष रहेको टिप्पणी गरे ।

एलडिसीका अध्यक्ष इभान्स न्जेवाले विज्ञप्ति जारी गर्दै आर्थिक सहयोग आवश्यक महत्वाकाङ्क्षाको स्तरमा नभएको भन्दै असन्तुष्टि जनाएका छन् ।

“यसले विकसित राष्ट्रहरूको वर्तमान प्रतिबद्धतालाई कमजोर बनाउँछ र विश्वव्यापी जलवायु कार्यका लागि आवश्यक महत्वाकाङ्क्षा झल्काउँदैन । हाम्रो समूह यो मस्यौदा पाठले हाम्रा तीन वर्षको कडा मेहनतलाई प्रतिबिम्बित नगरेको देख्दा निराश छ,” एलडिसीद्वारा जारी विज्ञप्तिमा न्जेवाले भनेका छन्, “यो मस्यौदा धेरै विषयमा कमजोर छ । यसले सबैभन्दा संवेदनशील राष्ट्रहरू, विशेषगरी कम विकसित देश (एलडिसी) र साना द्विपीय विकासशील देशहरू (एलआइडिएस) का मुद्दाहरूलाई ध्यानमा राखेको छैन ।”

प्रस्तावित वित्तीय परिमाण आवश्यकताभन्दा धेरै कम रहेको र एलडिसीका लागि न्यूनतम रकम छुट्याउने सुनिश्चिता नभएको र जलवायुजन्य हानि तथा क्षतिलाई सम्बोधन गर्नका लागि मस्यौदामा नयाँ लक्ष्यमा नदेखिएको एलडिसीको भनाइ छ ।

“जलवायु परिवर्तन सन्धि र पेरिस सम्झौताअन्तर्गत स्थापित कोषहरूमार्फत प्रवाहित हुने न्यूनतम हिस्साको सुनिश्चितता पनि छैन । पाठमा पहुँचसम्बन्धी व्यवस्था कमजोर छ र सबैभन्दा संवेदनशील समूहका लागि पहुँच सुधार गर्न स्पष्ट प्रतिबद्धता छैन,” विज्ञप्तिमार्फत एलडिसीले भनेको छ, “त्यसैगरी, जलवायु वित्तको परिभाषा अस्पष्ट छ, जसले हिसाब–किताबमा अन्योल सिर्जना गर्छ । दुबईमा गत वर्ष हामी सबैले सामूहिक रूपमा सहमति गरेको ग्लोबल स्टकटेक परिणामको कार्यान्वयनसम्बन्धी मस्यौदामा अझ धेरै काम गर्न आवश्यक छ ।”

सामूहिक रूपमा सहमति गरेका सबै स्टकटेक परिणामहरूको कार्यान्वयन सुनिश्चित गर्नुपर्ने, कार्यान्वयनका प्रविधिको व्यवस्था गरिनुपर्ने, तापक्रम वृद्धिलाई १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित गर्ने महत्वाकाङ्क्षालाई केन्द्रमा राख्नुपर्ने एलडिसीको माग छ ।

विज्ञप्तिमा भनिएको छ, “अन्यथा हाम्रो अस्तित्वलाई खतरामा पार्नेछ, यसको अर्थ हरेक देशका राष्ट्रिय निर्धारित योगदान (एनडिसी) लाई अद्यावधिक गरेर महत्वाकाङ्क्षा बढाउन बलियो आह्वान गर्नुपर्ने तथा एनडिसी कार्यान्वयनका लागि समर्थन सुनिश्चित गर्नुपर्छ । तर, हाल यो सबै विशेषता मस्यौदामा छैन ।”

कम विकसित देशहरूको समूह (एलडिसी) मा अफ्रिका, एसिया–प्रशान्त र क्यारिबियनका ४५ देशहरू सम्मिलित रहेको जसको संयुक्त जनसङ्ख्या एक अर्बभन्दा बढी छ । इभान्स न्जेवा कम विकसित देशहरूको समूहका वर्तमान अध्यक्ष र मालावी सरकारका जलवायु परिवर्तन तथा युएनएफसिसिसीका फोकल पर्सन हुन् ।

के हो ? एनसिक्युजी

नयाँ सामूहिक परिमाणात्मक लक्ष्य (एनसिक्युजी) जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना (युएनएफसिसिसी) अन्तर्गत विकसित राष्ट्रहरूले विकासशील राष्ट्रहरूलाई उपलब्ध गराउने वित्तीय सहयोगको परिमाणात्मक रूपमा तोकिएको नयाँ लक्ष्य हो । सन् २०२५ पछिका लागि जलवायु वित्तको व्यवस्थापन, वितरण र प्रभावलाई सुनिश्चित गर्न नयाँ दिगो र प्रभावकारी उपायको खोजी लक्ष्य एनसिक्युजीको हो ।

विकसित राष्ट्रहरूले २०२० सम्म प्रतिवर्ष एक सय अर्ब अमेरिकी डलर जुटाउने लक्ष्य पूरा गर्न नसकेकाले २०२५ पछिको वित्तीय संरचनामा सुधार गर्ने उद्देश्यले एनसिक्युजी सुरूआत गरिएको थियो । एनसिक्युजीले अनुकूलन, न्यूनीकरण, जलवायु क्षति र हानि सम्बोधनका लागि सहयोग गर्ने अपेक्षा छ । जलवायु जोखिममा रहेका देशहरूको आवश्यकताअनुसार वित्तीय प्रवाह सुनिश्चित गर्न, लक्ष्य परिमाण र पहुँच दुवैमा सुधार गर्ने एनसिक्युजीको अर्को लक्ष्य रहेको छ ।

जलवायुविद् मञ्जित ढकालले एनसिक्युजीले विकसित र विकासशील राष्ट्रबीच सहमति गरेर लक्ष्य निर्धारण गर्ने, ती लक्ष्यहरूको कार्यान्वयन सुनिश्चित गर्ने, यस लक्ष्यले जलवायु वित्तको क्षेत्रलाई थप दिगो र समावेशी बनाउने उद्देश्य लिएको बताए । एनसिक्युजीको सफल कार्यान्वयनले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न र जोखिम कम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।

“एनसिक्युजीले जलवायु परिवर्तनलाई सम्बोधन गर्न आर्थिक स्रोतको प्रभावकारी परिचालन गर्ने उद्देश्यले स्थापना गरिएको महत्वपूर्ण संरचना हो । यो लक्ष्य संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन संरचना सम्मेलन (युएनएफसिसिसी) अन्तर्गत विशेषगरी २०२५ पछि जलवायु वित्तको व्यवस्थापन गर्न विश्वव्यापी सहकार्यका लागि एउटा मार्गचित्र हो,” एनसिक्युजीको परिभाष अझै स्पष्ट गर्दै ढकालले भने, “एनसिक्युजीको मर्म भनेको जलवायु परिवर्तनको प्रभावको सामना गर्न विकासशील र कम विकसित राष्ट्रहरूको आवश्यकता पूर्ति गर्दै उनीहरूको दिगो विकासलाई सुनिश्चित गर्नु हो ।”

उनले कोपमा एनसिक्युजीको सफल कार्यान्वयनका लागि यतिबेला वार्ता चलिरहेको भन्दै सकारात्मक निचोडको समेत अपेक्षा गरे । एनसिक्युजी कार्यान्वयनले मात्रै जलवायुका नीतिहरू कार्यान्वयन गर्न सकिने उनको भनाइ छ ।

“विकासोन्मुख मुलुकहरूबाट वार्षिक एक दशमलव तीन ट्रिलियन अमेरिकी डलर आवश्यक पर्ने भनेर माग भएको छ । यस पनि सानो अर्थतन्त्र भएका अतिकम विकसित मुलुकका समूह (एलडिसी) लाई वार्षिक दुई सय बिलियन अमेरिकी डलर आवश्यक पर्छ भनिएको छ,” ढकालले भने, “तर सन् २०२२ सम्ममा एक सय २० बिलियन मात्रै उपलब्ध भएको देखिन्छ । जलवायु वित्तको माग र व्यवस्थापनबीच ठूलो अन्तर देखियो । तसर्थ कोपमा जलवायु बित्तको आकार बढाउन जोडबल भइरहेको छ ।”

चार महिनामा साढे चार खर्ब व्यापार घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा मुलुकले साढे चार खर्बभन्दा बढीको व्यापार घाटा व्यहोरेका छ ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको वैदेशिक व्यापारको विवरणअनुसार यस अवधिमा पाँच खर्ब १३ अर्ब ३८ करोड ८० लाख बराबरको आयात र ५२ अर्ब ६७ करोड बराबरको निर्यात भएको हो । यसरी कूल  पाँच खर्ब ६६ अर्ब पाँच करोड ६७ लाखको वैदेशिक व्यापारमा  चार खर्ब ६० अर्ब ७१ करोड ७३ लाख घाटा देखिएको विभागले जनाएको छ ।

     गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात शून्य दशमलव १७ र निर्यात चार दशमलव १६ प्रतिशतले बढेको छ । नेपालको सबैभन्दा ठूलो वैदेशिक व्यापार साझेदार भारतसँग मात्र चार महिनामा रू दुई खर्ब ८१ अर्ब ११ करोड ६६ लाख घाटा व्यहोरेको छ । कात्तिक मसान्तसम्ममा भारतबाट रू तीन खर्ब १६ अर्ब ८८ करोड ५३ लाख बराबरको वस्तु आयात हुँदा रू ३५ अर्ब ७६ करोड ८७ लाख बराबरको निर्यात भएको छ । 

त्यस्तै नेपालको अर्को ठूलो वैदेशिक व्यापार हुने मुलुक चीनसँग रू एक खर्ब तीन अर्ब १८ करोड २५ लाखको आयात र रू ६८ करोड २३ लाख ७७ हजारको निर्यात हुँदा रू एक खर्ब दुई अर्ब ५० करोडको व्यापार घाटा देखिएको छ ।  

पहिलो चौमासिकमा पेट्रोलियम पदार्थको आयात सबैभन्दा धेरै देखिएको छ । कात्तिक मसान्तसम्ममा रू २९ अर्ब चार करोड २० लाख बराबरको डिजेल, रू २१ अर्ब ५६ करोड २९ लाख बराबरको पेट्रोल र रू १८ अर्ब ८५ करोड ९३ लाख बराबरको एलपी ग्यास आयात भएको छ । त्यस्तै रू १५ अर्ब ९६ करोड ९२ लाख बराबरको फलामजन्य वस्तु, रू १३ अर्ब ४० करोड ४८ लाख बराबरको स्मार्टफोन आयात भएको विभागको तथ्याङ्कबाट देखिन्छ ।

बढी निर्यात भएका वस्तुमा भने कार्पेट पहिलो स्थानमा देखिएको छ । चार महिनामा रू तीन अर्ब ६० करोड आठ लाख बराबरको कार्पेट निर्यात भएको छ । त्यस्तै सोयाबिन तेल रू तीन अर्ब ४१ करोड, चिया रू दुई अर्ब २१ करोड र अलैँची रू एक अर्ब ९० करोड बराबरको निर्यात भएको छ ।