`

काभ्रेमा बाढीपहिरोबाट करिब १३ हजार रुख क्षति

काभ्रे । गत असोज दोस्रो साताको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा १३ हजार चार सय २७ वटा रुख क्षति भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको ‘वातावरण क्लस्टर’को प्रारम्भिक अध्ययन समितिद्वारा सार्वजनिक प्रतिवेदनमा ती संख्यामा रुख लडेको तथा बगाएको उल्लेख गरिएको छ ।

समितिका अनुसार जिल्लाका १३ स्थानीय तहका सामुदायिक, राष्ट्रिय तथा निजी वनका रुख लडेका हुन् । सरकारी वनमा रहेका पाटेसल्लो, ठिमुरे, उत्तिस, खयरलगायत रुखको करिब तीन सय क्युफिट काठ ढलेको प्रारम्भिक तथ्याङ्कले देखाएको हो ।

अग्लाअग्ला रुख भएका स्थानबाट पहिरो फुटेको, माटोको प्रकार बलौटे भएको, माटोले पानीलाई थेग्नसक्ने क्षमताभन्दा अत्यधिक पानी परेको र सो माटो आफैं तरल बनी बग्दै जाँदा सोही स्थानको चट्टान ढल्काइ वनजङ्गलमा भएका रुख प्रजातिको जराको प्रकृति एवं जरामुनि रहेको चट्टान बग्न गई पहिरो गएको निष्कर्ष निकालिएको छ ।

प्रतिवेदनमा सामुदायिक वन व्यवस्थापन हुन नसक्दा बुढा रुख भिरमा आफैंमा भार थाप्न नसकी ढलेको, झाडी सफाइ नभएको, अग्नीरेखा निर्माण नभएको, आगलागी भई वनको क्षयीकरण र हरितगृह ग्यासको उत्सर्जन भई जलवायु परिवर्तनमा टेवा पुगेको जनाइएको छ ।

भारी वर्षाका कारण ठूलो, बाढीपहिरो आई भौतिक, जैविक तथा सामाजिक वातावरणमा ठूलो क्षति भएका सन्दर्भमा प्रमुख समस्याको पहिचान, त्यसका कारण र प्रभाव पहिचान गरी आगामी दिनमा यस्तो जलवायुजन्य विपद् आउन नदिन चाल्नुपर्ने कदमका सन्दर्भमा भूगर्भविद्, वातावरणविद्ले स्थलगत अध्ययन गरी प्रारम्भिक प्रतिवेदन तयार गरिएको वन अधिकृत, वातावरण निरीक्षक देवराज घिमिरेले बताए ।

उनका अनुसार विपद्पछि जमिनको क्षयीकरण र भूक्षय भएको, पहिरो लडेको, नदीको धार परिवर्तन भएको, नदीको चौडाई ४ गुणासम्म बढेको, मानवीय, सामाजिक, आर्थिक र भौतिक पूर्वाधाको क्षति भएको पाइएको अध्ययन समितिको निष्कर्ष रहेको छ । अध्ययन समितिमा घिमिरेलगायत पुल्चोक इञ्जिनियरिङ क्याम्पसका भू–गर्भविद् प्रकाशचन्द्र घिमिरे र वातावरविद् निराजन श्रेष्ठ, तथा जिल्लास्थित सवडिभिजन वन कार्यालयका विज्ञ कर्मचारी, स्थानीय जनप्रतिनिधिको सहभागिता थियो ।

प्रतिवेदनमा बाढीपहिरोबाट क्षति हुनुका कारण उल्लेख गरिएको जनाइएको छ । ‘अब विस्तृत अध्ययन हुनेछ, त्यसपछि विशेषगरी वातावरणीय प्रभावबारे विस्तृत कारण पत्ता लाग्नेछ’, वन अधिकृत घिमिरेले भने ।

अध्ययन टोलीले गरेको पहिलो स्थलगत अध्ययनका आधारमा प्राविधिक, वातावरणीय, भौगोलिक, राजनीतिक, सामाजिक आर्थिक आयाम र जलवायुजन्य विपद् र समस्याले सृजना गरेका असर मुख्य कारण मानेको छ ।

यस्तै ग्रामीण सडक निर्माण गर्दा इञ्जिनियरिङ डिजाइन, वातावरणीय मूल्याङ्कन नगरी राजनीतिक दबाब र कार्यकर्ताको छनोटका आधारमा खनिनु प्रमुख कारण मानिएको प्रतिवेदनमा उल्लेख छ ।

चिलिमेका तीनवटै आयोजना सम्पन्न, एक सय ६८ मेगावाट केन्द्रीय प्रसारण प्रणालीमा थप

काठमाडौं ।  चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा शुरू भएका तीन वटा जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएको छ ।

ती जलविद्युत् आयोजना निर्माण सम्पन्न भई १६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । तीनवटै आयोजनाबाट उत्पादित विद्युत् रसुवाको आमाछोदिङ्मो गाउँपालिका थम्बुचेतस्थित प्राधिकरणले बनाएको २२०/१३२/३३ केभी सवस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको हो ।

कूल १४ दशमलव आठ मेगावाटको माथिल्लो साञ्जेन, ४२ दशमलव पाँच मेगावाटको साञ्जेन र एक सय ११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएका हुन् । ​

यसमध्ये माथिल्लो साञ्जेन गत वर्षको असोजमा निर्माण सम्पन्न भई व्यावसायिक रूपमा विद्युत् उत्पादन गरी हालसम्म करिब ३० करोडको विद्युत् बिक्री गरिसकेको छ ।

यस्तै, ४२ दशमलव पाँच मेगावाटको साञ्जेन जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरी शुक्रबारदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडी परीक्षणका रूपमा विद्युत् उत्पादन शुरू गरिएको छ । त्यस्तै, १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भई हाल परीक्षणका रूपमा विद्युत् उत्पादन गरिरहेको छ ।

परीक्षण उत्पादन सफल भएपछि एवं तोकिएको मापदण्ड पूरा गरेपछि साञ्जेन र रसुवागढीको व्यावसायिक रूपमा विद्युत् उत्पादन शुरू हुनेछ । दुवै आयोजनाबाट यही महिनाभित्रमा व्यावसायिक रूपमा विद्युत् उत्पादन हुनेछ ।

नदी प्रवाहमा आधारित ती आयोजनाबाट हिउँदयाममा करिब ८० मेगावाट मात्र विद्युत् उत्पादन हुन्छ । चिलिमे जलविद्युत् कम्पनीको अनुवाइमा दुई सय ७० मेगावाटका चार वटा आयोजना शुरू गरिएकामा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोसीबाहेक तीन वटा आयोजना सम्पन्न भएका हुन् ।

‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?

हेमन्त जोशी, काठमाडौं। प्रक्रिया सुरु भएको करिब छ वर्षपछि नेपालले आफ्नो सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) सम्पन्न गरेको छ। पहिलो पटक गराएको क्रेडिट रेटिङमा नेपालले ‘डबल बी माइनस’ (बीबी) स्कोर प्राप्त गरेको छ।

प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) र बाह्य ऋण भित्र्याउँदा लगानीकर्ताले खोज्ने महत्वपूर्ण सूचकका रुपमा क्रेडिट रेटिङ पर्दछ। यसकारण दातृ निकाय, विकास साझेदार तथा वैदेशिक लगानीकर्ता र नेपालको निजी क्षेत्रलेसमेत लामो समयदेखि क्रेडिट रेटिङ अतिआवश्यक रहेको बताउँदै आएका थिए।

नेपालले कोभिड-१९ महामारीअघि नै रेटिङ प्रक्रिया थालेको थियो। तर महामारीले अर्थतन्त्रमा गम्भीर सङ्कुचन देखिएको बेला क्रेडिट रेटिङ गर्दा खराब अवस्था देखिने भएपछि सरकारी प्रयासबाटै यो प्रक्रिया रोकियो। पहिलोपटक गराएको क्रेडिट रेटिङको नतिजा शुक्रबार सार्वजनिक गर्दै अर्थ मन्त्रालयले यसलाई ‘सन्तोषजनक’ देखिएको र आगामी दिनमा यो अवस्था सुधार गर्दै जाने बताएको छ।

यो रेटिङले नेपालको अर्थतन्त्रको संरचना, सार्वजनिक वित्तीय व्यवस्थापन र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था सुदृढ रहेको र लगानीमैत्री वातावरण रहेको देखाएको मन्त्रालयको भनाइ छ। लगानीकर्ताले प्रतिफल हेरेर लगानी गर्छन्। निर्धारण गर्ने आधारका रुपमा क्रेडिट रेटिङलाई हेर्ने गरिन्छ। नेपालमा सहज र सुदृढ लगानीको वातावरण छ भन्ने कुरा यो रेटिङको नतिजाले देखाएको छ।

विश्वका ३० भन्दाबढी देशमा वित्तीय सूचनासम्बन्धी सेवा उपलब्ध गराइरहेको रेटिङ एजेन्सी ‘फिच रेटिङ’ले नेपालको साखको स्वतन्त्र आँकलन पछि भनेको छ, ‘नेपालको सार्वजनिक ऋण र कूल गार्हस्थ्य उत्पादन (जीडीपी)को अनुपात सुविधाजनक अवस्थामै छ। नेपालले राखेको लक्षित आर्थिक वृद्धि र राजस्व सुदृढीकरणबाट यो अनुपात अहिलेकै अवस्थामा कायम रहन सक्छ। सहनशीलता राम्रो छ। बाह्य क्षेत्र राम्रो छ।’

पहिलोपटक सार्वभौम साख मूल्यांकन गराएर ऐतिहासिक उपलब्धि हासिल गरेको र त्यसको नतिजा पनि सन्तोषजनक देखिएको दाबी सरकारले गरिरहँदा नेपालले केकस्तो लाभ लिनसक्छ? र त्यसका लागि हामी कति तयार छौँ? भन्ने प्रश्न महत्वपूर्ण छ। मुलुकको विकास र समृद्धिका आकांक्षा पूरा गर्न आन्तरिक स्रोतले नभ्याउने अवस्थामा प्रत्यक्ष वैदेशिक लगानी र बाह्य ऋणको भर पर्नुपर्ने हुन्छ। तर लगानीकर्ताले भने सम्बन्धित देशमा भएको लगानीको उचित प्रतिफल पाइन्छ÷पाइँदैन वा दिइएको ऋण फिर्ता हुन्छ/हुँदैन भन्ने कुराको सुनिश्चितता खोज्ने गर्दछन्।

पूर्वअर्थसचिव शिशिरकुमार ढुंगाना सार्वभौम साख मूल्यांकनले नेपालको कर्जा तिर्नसक्ने क्षमता र लगानीको प्रतिफलको सुनिश्चितता राम्रो देखिएको बताउँछन्। ‘रेटिङले लगानी वातावरणका लागि आत्मविश्वास बढाउँछ। अहिलेको नतिजाले नेपालमा गरिएको लगानीको तिर्नसक्ने क्षमता (क्रेडिट बर्दिनेस) राम्रो छ भन्ने देखाएको छ। यसले यहाँ भएको लगानी डुब्दैन भन्ने सुनिश्चिता प्रदान गर्दछ’, उतले भने, ‘वित्तीय स्रोत परिचालनका लागि अझै ठाउँ छ भन्ने कुरा पनि रेटिङ नतिजाले देखाएको छ।’

नेपालको जीडीपी र सार्वजनिक ऋणको अनुपात अहिले ४४ प्रतिशत हाराहारी छ। जुन अनुपातले धेरै दबाब नरहेको देखाउने र थप ऋण लिनका लागि अझै ठाउँ रहेको देखाएको ढुंगानाले बताए। ‘हाम्रो वित्तीय खाडल (फिस्कल ग्याप) कम हुँदै गएको छ भन्ने देखिएको छ। यसले स्रोत परिचालनका लागि अझै पनि दायरा बाँकी छ भन्ने बुझाउँछ र यी सबै कुराले लगानीकर्ताको विश्वास बढाउने हो’, उनले भने।

साख मूल्यांकनमा राम्रो अवस्था देखिनुले सस्तो लगानी ल्याउनका लागि भूमिका खेल्ने पनि ढुंगानाले बताए। ‘विदेशीहरुले ऋण दिँदा अथवा सरकार वा निजी क्षेत्रले विदेशबाट पैसा ल्याउँदा ‘रिक्स प्रिमियम’ लगाउने गर्थे। ‘रिक्स प्रिमियम’को दर कम हुन्छ वा यस्तो प्रिमियम नलाग्ने हुन्छ। जसकारण लगानी सस्तो हुन्छ’, उनले भने, ‘लगानीको जोखिम कम भएपछि हेजिङको शुल्क पनि कम हुने भयो।’

नेपालको ऋण तिर्नसक्ने क्षमता राम्रो हुँदा सरकारले द्विपक्षीय तथा बहुपक्षीय ऋण स्वीकार गर्दा ‘नेगोसियसन’को क्षमता बढ्ने ढुंगानाको भनाइ छ। त्यस्तै निजी क्षेत्रले पनि वैदेशिक लगानी ल्याउँदा अथवा अन्तर्राष्ट्रिय बजारमा बण्ड स्वीकार गर्दा सहुलियत दरमा ‘नेगोसिय सन’ गर्न पाउँछन् । यसरी मुलुकको ऋण तिर्नसक्ने क्षमता राम्रो छ भन्नुको अर्थ विदेशी लगानीकर्तालाई लगानीको सुनिश्चितता हुने र नेपालमा आउने लगानीको लागत (कस्ट अफ फन्ड) कम हुने देखिन्छ।

नेपालको अवस्था राम्रो छ भन्ने देखिएपछि अब नेपालले कसरी लाभ लिनसक्छ भन्ने प्रश्नमा पूर्वअर्थसचिव ढुंगानाले भने, ‘सरकारले राम्रो प्रतिफल दिने र उपयुक्त आयोजना पहिचान गरेर ‘प्रोजक्ट बैंक’ तयार पारी लगानीकर्तासमक्ष प्रस्तुत गर्न सक्नुपर्छ। लगानी खोज्नका लागि सरकारले निजी क्षेत्रलाई अधिकतम परिचालन गरेर अब क्रेडिट रेटिङ पनि भयो र लगानी भित्र्याउ भन्न सक्नुपर्‍यो। निजी क्षेत्रले पनि विदेशी निजी क्षेत्रबाट लगानी प्राप्त गर्नका लागि उनीहरुसँग वार्ता र छलफल गरेर त्यस्तो लगानी भित्र्याउन सक्नुपर्‍यो।’

विदेशी साझेदारमार्फत नेपालमा लगानी भित्र्याउने निजी क्षेत्रको प्रयासमा अब क्रेडिट रेटिङको नतिजाले राम्रो प्रभाव देखिने नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल बताए। विदेशी लगानीकर्ताले कुनै पनि मुलुकमा लगानी गर्नका लागि सबैभन्दा पहिले कन्ट्री रेटिङको अवस्थालाई हेर्ने भएकाले अब नेपाललाई लगानी भित्र्याउन पहिलेकोभन्दा सहज हुने उनको बुझाइ छ। ‘कुनै पनि लगानीकर्ताले सबैभन्दा पहिले हेर्ने भनेको कन्ट्री रेटिङ नै हो। निजी क्षेत्रले पनि विदेशी लगानी ल्याउनका लागि प्रयास गर्ने हो, यसले त्यसमा सहयोग पुग्छ’, उनले भने, ‘अर्कोतर्फ सरकारले पनि कुनै ऋण लिँदा वा अन्तर्राष्ट्रिय बजारमा ऋणपत्र जारी गर्दा क्रेडिट रेटिङले सहयोग गर्छ।’

नेपालको सार्वजनिक र निजी क्षेत्रबाट भएको लगानीले लक्षित आर्थिक र पूर्वाधार विकास गर्न नसकिरहेको अवस्थामा वैदेशिक लगानी र ऋण अपरिहार्य हो। तर विदेशी लगानीकर्ताले भने सम्बन्धित मुलुकमा लगानी वातावरणको अवस्था कस्तो छ भनेर जान्न क्रेडिट रेटिङको अवस्था कस्तो छ भनेर हेर्ने। ‘विभिन्न मुलुकसँग नेपालमा लगानी गर्नका लागि उनीहरुसँग कुरा गर्दा कन्ट्री रेटिङ नै नभएको भन्ने गर्थे। के आधारमा विश्वास गर्ने भन्ने प्रश्न उठ्थ्यो अहिले राम्रो नतिजा आएको छ। त्यसले सकारात्मक प्रभाव पर्छ’, उनले भने, ‘उदाहरणका लागि नेपालले जलविद्युत् क्षेत्रमा सन् २०३५ सम्ममा २८ हजार पाँच सय मेगावाट क्षमताका आयोजना निर्माण सम्पन्न गर्ने भनिएको छ। त्यसका लागि हाम्रो लगानी मात्रले कन्ट्री रेटिङ भएपछि अब विदेशी लगानी ल्याउनका लागि।’ विगतमा कन्ट्री रेटिङ नभएका कारण ठूला कम्पनी नेपालमा लगानी गर्न नचाहेको अग्रवाल बताए।

दक्षिण एसियाली क्षेत्रका अन्य देशहरूको तुलनामा सन्तोषजनकस्तरको क्रेडिट रेटिङ नेपालले प्राप्त गरेको छ। यो नतिजाले सरकार, निजी क्षेत्र र सम्पूर्ण लगानीकर्तामा उत्साह थप्नु स्वाभाविक हो। पूर्वबैंकर अनलराज भट्टटराईले नेपालले सार्वभौम साख मूल्यांकन गर्नु आफैँमा एक महत्वपूर्ण उपलब्धि र गौरवको विषय रहेको बताउँछन्। उनले भने, ‘नतिजा राम्रो वा नराम्रो आउँछ भन्ने कुराभन्दा पनि हामी क्रेडिट रेटिङ गराएको मुलुकमा पर्‍यौँ, यो नै उपलब्धिको विषय हो। यसअघि हामी कुन अवस्थामा थियो भन्ने नै थाहा थिएन। तर अहिले हाम्रो अवस्था के हो भनेर देखिएको छ।’

नेपालको क्रेडिट रेटिङको नतिजाले छोटो समयका लागि वित्तीय स्थायित्व कायम रहेको र लामो समयका लागि भने केही असहज अवस्था रहेको देखाएको भट्टराईले बताए। त्यस्तै अब नेपालको अवस्थाबारे विश्वसमुदायलाई थाहा हुने र नेपालले पनि के कुरामा सुधार गर्नुपर्छ भनेर आफ्नो योजना बनाउनुपर्ने उनको बुझाइ छ। ‘अब हामीलाई कसैले मूल्यांकन गरिरहेको छ भनेर बुझ्नुपर्ने हुन्छ। रेटिङ एकपटक गरेपछि सकियो भन्ने होइन हाम्रो अवस्था सुधार गरेर अर्कोपटक गर्दा अहिलेकोभन्दा। राम्रो नतिजा आउन सक्छ’, भट्टराईले भने, ‘कति समयमा मूल्यांकन गर्ने भन्ने सम्बन्धित मुलुकमा भरपर्छ।’

नेपालले पछिल्ला वर्षमा कुनै पनि ऋण चुक्ता गर्न नसकेको (क्यापासिटी टु पे) वा गर्न नचाहेको (विलिङनेस टु पे) भन्ने नदेखिएकाले नेपालप्रति लगानीकर्ता विश्वस्त हुने आधार रहेको उनको बुझाइ छ। यद्यपि राजनीति अस्थिरताका कारण लगानीकर्ताले त्यस्तो जोखिमको शंका वा अनुमान गर्ने गरेको भट्टराईले बताए।

नेपालले आफ्नो कुल गार्हस्थ्य उत्पादनमा रेमिट्यान्स बाहेक अरु क्षेत्रको योगदान बढाउँदै जानुपर्ने तथा निजी क्षेत्रले विदेशी मुद्रामा ऋण लिँदा वा लगानी भित्र्याउँदा त्यसको प्रतिफल विदेशी मुद्रामा पाइन्छ वा पाइँदैन भन्ने कुराको आँकलन गर्नुपर्ने उनको बुझाइ छ। उनले भने, ‘निजी क्षेत्रले विदेशी मुद्रामा लगानी भित्र्याउँदा त्यसको प्रतिफल पनि विदेशी मुद्रामै जाने हो। त्यसका लागि निजी क्षेत्र सक्षम छ वा छैन भन्ने हेर्न जरुरी छ।’

यसरी सार्वभौम क्रेडिट रेटिङले कुनै पनि देशको लगानी वातावरणको मूल्यांकन गर्ने महत्वपूर्ण आधार प्रदान गर्दछ भने प्राप्त क्रेडिट रेटिङले नेपालको साख क्षमता उच्च रहेको देखाएको छ। जसले गर्दा नेपालले अन्तर्राष्ट्रिय बजारबाट न्यून ब्याजदरमा ऋण प्राप्त गर्न सहज बनाउने सम्भावना बढेको छ। निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्न सहयोग पुग्नुका साथै विदेशी लगानी आकर्षित गर्ने अवसर प्रदान गर्नेसमेत ठानिएको छ। 

घुस आरोपले भारतीय धनाढ्य अडानी समूहलाई धक्का

नयाँ दिल्ली । विश्वकै धनी व्यक्तिमध्येका एक भारतीय धनाढ्य गौतम अडानीलाई आफ्नो विश्वव्यापी ऊर्जा र पूर्वाधार साम्राज्य विस्तार गर्ने तीव्र प्रयासमा अमेरिकी घुसखोरीको आरोपले धक्का दिएको छ ।

कैयौँ बहुराष्ट्रिय कम्पनीका मालिक तथा अडानी समूहका अध्यक्ष समेत रहेका उनी र उनको समूहलाई आरोपले क्षणिक रूपमा क्षति पुर्‍याएको र आर्थिक पुनरागमन गर्न लामो समय नलाग्ने विश्लेषकले बताएका छन् ।

अडानी र उनका सहयोगीले आकर्षक सरकारी सम्झौताका निम्ति २५ करोड अमेरिकी डलरभन्दा बढी घुस दिएको दाबी गर्दै न्युयोर्कमा बुधबार भएको दोषारोपणले उनको कम्पनीको स्टकको उन्मादपूर्ण बिक्रीलाई प्रभावित पारेको छ ।

न्युयोर्कमा घुस दिएको दाबी गरिएको केही घण्टाभित्रै भारतका विपक्षी नेता राहुल गान्धीले अडानीलाई पक्राउ गर्न माग गरेका थिए । आरोपपछि केन्याका राष्ट्रपति विलियम रुटोले करिब २.५ अर्ब अमेरिकी डलरबराबरको विमानस्थल र बिजुली सम्झौता रद्द गरेको घोषणा गरेका छन् ।

अडानी समूहले घुसखोरीको आरोपलाई ‘आधारहीन’ भन्दै खारेज गरेको छ । तर, कर्पोरेट गभर्नेन्स एडभाइजरी फर्म इनगभर्न रिसर्च सर्भिसेजका संस्थापक श्रीराम सुब्रमण्यमले यसको ‘ठूलो’ प्रभाव रहेको बताएका छन् ।

सुब्रमण्यमले बैंग्लुरुबाट एएफपीसँग भने, “उनीहरूले अपिल गरेर आफ्नो रक्षा गर्नेछन् वा नयाँ सम्झौताका लागि जानेछन् ।”

उनले भने, “यो आफूहरूको प्रतिष्ठा र कर्पोरेट गभर्नेन्स अभ्यासका निम्ति ठूलो धक्का हो ।” 

श्रीलङ्काको नयाँ नेतृत्व आईएमएफको बेलआउट कार्यक्रमलाई अघि बढाउन सहमत

कोलम्बो । श्रीलङ्काको नयाँ वामपन्थी सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को विवादास्पद कर्जा सहयोग (बेलआउट) कार्यक्रमलाई अघि बढाउन सहमत भएको छ । कार्यक्रममा कडा मितव्ययिता र आर्थिक सुधार समावेश छ ।


आईएमएफले राष्ट्रपति अनुरा कुमारा दिसानायकेको प्रशासनसँग गत वर्ष पूर्वराष्ट्रपतिले गरेको चार वर्षे ऋणलाई निरन्तरता दिने सहमति भएको जनाएको छ ।

आईएमएफका टोली नेता पिटर ब्रुएरले नयाँ सरकारसँगको वार्ताको अन्त्यमा पत्रकारहरूसँग भने, ‘अधिकारीहरूले कार्यक्रमको परिधिभित्र रहन प्रतिबद्धता जनाएका छन् ।’

उनले नयाँ सरकारको प्रतिबद्धताले नीतिगत निरन्तरता सुनिश्चित गरेको बताए ।

ब्रुएरले भने, ‘सुधारको गतिलाई निरन्तरता दिनु कार्यक्रमबाट प्राप्त उपलब्धिको रक्षा गर्न र अर्थ व्यवस्थालाई दिगो पुनरुत्थान र स्थिर र समावेशी विकासको मार्गमा अगाडि बढाउन महत्वपूर्ण छ ।’

श्रीलङ्काले सन् २०२२ को अप्रिलमा अभूतपूर्व आर्थिक मन्दीका बेला ४६ अर्ब अमेरिकी डलरको बाह्य ऋण नतिरेपछि उद्धार प्याकेजका लागि आईएमएफमा गएको थियो ।

विदेशी मुद्राको अभावले देशलाई खाद्यान्न र इन्धनको सबैभन्दा आवश्यक आयातको लागि पनि वित्त पोषण गर्न असमर्थ बनाएपछि महिनौंसम्म भएको सडक प्रदर्शनले र तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेलाई राजीनामा दिन बाध्य बनाएको थियो ।

गत वर्षको सुरुमा प्राप्त २.९ अर्ब अमेरिकी डलरको ऋणमा कोलम्बोले कर वृद्धि गर्न, उदार ऊर्जा अनुदान हटाउन र घाटामा रहेका ५० भन्दा बढी राज्यद्वारा सञ्चालित उद्यमहरूको पुनर्संरचना गर्न सहमत हुन आवश्यक थियो ।

दिसानायकेका पूर्ववर्ती रनिल विक्रमासिङ्घेले चार वर्षमा २.९ अर्ब अमेरिकी डलरको ऋण वितरणसहित सङ्कटग्रस्त श्रीलङ्काको उद्धार सुनिश्चित गरेका थिए।

गत नोभेम्बर १४ मा भएको चुनावमा नेशनल पिपुल्स पावर पार्टीले भारी मतान्तरले विजय हासिल गरेपछि संसदमा आफ्नो पहिलो सम्बोधनमा दिसानायकेले बिहीबार अन्तर्राष्ट्रिय मुद्रा कोषको सम्झौताको समर्थन गरेका थिए ।

आर्थिक पतनका लागि जिम्मेवार ठहरिएका परम्परागत राजनीतिज्ञप्रतिको असन्तोष दिसानायकेको चुनावी सफलताको प्रमुख कारक थियो । दिसानायकेले अर्थतन्त्रको व्यवस्थापनमा कुनै गल्ती गर्ने ठाउँ नभएको बताउँदै आएका छन् ।

ब्रुएरका अनुसार भ्रष्टाचारविरुद्ध लड्ने नयाँ सरकारको प्रतिबद्धताले ‘शासकीय सुधारलाई पुनर्जीवित गर्नेछ’, आर्थिक विश्वासको पुनर्निर्माण गर्नेछ र आर्थिक वृद्धिलाई थप मजबुत र समावेशी बनाउनेछ ।

श्रीलङ्काले यस वर्षको अन्त्यसम्ममा अन्तर्राष्ट्रिय मुद्रा कोषको बोर्डको स्वीकृतिको अधिनमा रहेर थप ३३ करोड ३० लाख अमेरिकी डलर झिक्न सक्नेछ ।

गत महिना दिसानायकेको अन्तरिम मन्त्रिपरिषद्ले विक्रमासिङ्घेले सहमति गरेको १४.७ अर्ब अमेरिकी डलरको विदेशी व्यवसायिक ऋणको विवादास्पद पुनर्संरचनामा हस्ताक्षर गरेको थियो ।

सन् २०२२ मा ७.८ प्रतिशतले खुम्चिएको श्रीलङ्काको अर्थतन्त्रको पुनर्निर्माणका लागि ऋण पुनर्संरचना आईएमएफको प्रमुख माग हो । 

पाकिस्तानमा साम्प्रदायिक हिंसामा ३२ जनाको मृत्यु

पेशावर । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा भएको साम्प्रदायिक झडपमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । झडपमा ४७ जना घाइते भएको पाकिस्तानी सुरक्षा अधिकारीले शनिबार एएफपीलाई बताएका छन् ।

स्मरण रहोस्, पाकिस्तानको सोही क्षेत्रमा दुई दिनअघि भएको साम्प्रदायिक झडपमा कम्तीमा ४३ जनाको मृत्यु भएको थियो ।

‘शिया र सुन्नी समुदायबीच विभिन्न स्थानमा लडाइँ जारी छ। पछिल्लो रिपोर्टअनुसार १४ सुन्नी र १८ शियासहित ३२ जनाको मृत्यु भएको छ,’ सुरक्षालाई मध्यनजर गर्दै नाम नबताउने शर्तमा एक वरिष्ठ प्रशासनिक अधिकारीले भने । एक समय अर्ध स्वायत्त क्षेत्र रहेको कुर्रम जिल्लाका केही सुन्नी स्थानहरूमा शिया मुसलमानहरूले शुक्रबार साँझ आक्रमण गरेका थिए, जहाँ साम्प्रदायिक हिंसाका कारण वर्षौंदेखि सयौंको मृत्यु भएको छ।

कुर्रममा तैनाथ एक वरिष्ठ प्रहरी अधिकारीले भने, ‘स्थानीय समय अनुसार साँझ ७ बजेतिर आक्रोशित शिया समुदायको एक समूहले सुन्नी बहुल बगान बजारमा आक्रमण गरेको थियो।’

गोली चलेपछि उनीहरूले पूरै बजारमा पेट्रोल छर्केर आगो लगाइदिए। प्रारम्भिक रिपोर्टअनुसार ३०० भन्दा बढी पसल र १०० भन्दा बढी घर जलेर नष्ट भएका छन्।

स्थानीय सुन्नीहरूले पनि आक्रमणकारीमाथि जवाफी फायरिङ गरेको उनले बताए । शिया समुदायले लामो समयदेखि भेदभाव र हिंसा भोग्दै आएको सुन्नी बहुल पाकिस्तानमा आदिवासी र पारिवारिक कलह सामान्य छ ।

धान फल्ने खेतमा लगाएको सुन्तलाबाट दश लाख आम्दानी

म्याग्दी । १३ वर्षअघि अंश बापत पाएको पाँच रोपनी धान फल्ने खेतमा सुन्तलाका बिरुवा रोप्दा बेनी नगरपालिका-४ सुर्केमेलाका डिलबहादुर केसीलाई धेरैले गाली गरेका थिए ।

“बुवाले अंश दिएको १० रोपनी खेतमा सुन्तलाका बिरुवा लगाउँदा आफन्त र छिमेकीहरूले धान फल्ने खेतमा काडा रोपेर छोराछोरी भोकै पार्ने भईस भनेर गाली गरेका थिए,” ४४ वर्षीय केसीले भने “त्यस बेला गाली गर्नेहरू अहिले मैले सुन्तला बेचेर आम्दानी गरेको देखेर दंग परेका छन् ।”

बीस रोपनी पाखोबारी र खेतमा चार सय ५० बोट सुन्तला लगाएका केसीले यसपाली रु. १० लाखको सुन्तला बिक्री भइसकेको र थप रु. चार लाखको सुन्तला बिक्री गर्न बाँकी रहेको बताए । हाल दुई ५० बोट सुन्तलाले उत्पादन दिने गरेको छ ।

पाँच वर्ष युएई र मलेसियामा काम गरेर फर्किएका केसीले सुन्तला खेतीका साथै के.सी. मौरी पालन स्रोत केन्द्र सञ्चालन गरेर वार्षिक दुई सय देखि तीन सय मौरी सहितको घार बिक्री हुन्छ । सुन्तला र मौरीको आम्दानीले बागलुङमा पक्की घर बनाएका केसीले दुई छोरीलाई उच्च शिक्षा पढाउनुभयो । एक छोरा र छोरी निजी विद्यालयमा मावि तहको अध्ययन गर्दै छन् ।

“विदेशबाट फर्केपछि माछा, भैँसी र बंगुर पाले,” उनले भने “माछा र बंगुर मरेर ठूलो नोक्सान भयो । भैँसीबाट आम्दानी राम्रै भए पनि धेरै दुःख र झञ्जट भयो । सुन्तला र मौरी व्यवसायबाट सफलता मिल्यो ।” कुनै पनि काममा निरन्तरको प्रयासपछि सफलता प्राप्त हुने केसीको अनुभव छ ।

मौरी सहितको प्रतिघार मौरी रु. १० हजारका दरले बिक्री हुन्छ । म्याग्दीका साथै पर्वत, बागलुङ, कास्कीलगायत जिल्लाबाट मौरीको माग आउने गरेको छ । व्यापारीले अग्रिम पैसा दिएर सुन्तला किनेर लैजाने गरेका छन् । सुन्तला खेती र मौरी पालनबाट केसीको जीवनशैलीमा परिवर्तन आएको छ । छोराछोरी र श्रीमतीले केसीलाई कृषि फार्ममा साथ दिएका छन् ।

किसान केसीको सिको गरेर सुर्केमेलाका १६ कृषकहरूले व्यावसायिक सुन्तला खेती गरेका छन् । सुर्केमेलामा सुन्तला खेती गर्ने पहिलो कृषक केसी हुन् । चार सय बोट सुन्तला लगाएका सुर्केमेलाका धनराज पुनले अन्नबालीको तुलनामा धेरै गुणा बढी आम्दानी भएको बताए ।

वर्षमा आठ/दश मुरी धान फल्ने खेतमा लगाएको सुन्तलामा रु. दश लाख भन्दा बढी कमाई हुने उनले बताए । सिचाई सुविधा भएको सुर्केमेलाको भूगोल र हावापानी सुन्तला खेतीका लागि उपयुक्त मानिन्छ । रसिलो, स्वादिलो सुन्तला काठमाडौँ, पोखरा, बेनीका व्यापारीले किनेर लैजान्छन् । सुर्केमेलाका कृषकलाई कृषि ज्ञान केन्द्र र बेनी नगरपालिकाको कार्यालयले सघाएका छन् ।

इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान

काठमाडौँ । गैरआवासीय नेपालीको संयुक्त लगानीमा स्थापित इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ व्यवस्था गरिएको छ । धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका प्रवक्ता नवराज अधिकारीका अनुसार, इन्भेष्टमेन्ट कम्पनीको शेयरमा गैरआवासीय नेपालीले लगानी गर्नसक्ने र त्यस्तो शेयर दोस्रो बजारमा पनि उनीहरुले मात्रै खरिद बिक्री गर्न पाउने छन् ।

बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ मा आठौँ संशोधन गर्दै त्यसप्रकारको प्रबन्ध गरेको हो ।

गैरआवासीय नेपालीले नेपालका बैंक तथा वित्तीय संस्थामा खाता खोल्न सक्नेछन् । सोही खातामा आस्वा प्रणालीको प्रयोग गरी सरकार र गैरआवासीय नेपालीले स्थापना गरेको कम्पनीको शेयरमा आवेदन दिनसक्ने प्रबन्ध गरिएको उनले बताए ।

त्यसरी बिक्री गरिने शेयरमा आवेदन दिन सकिने न्यूनतम सीमा भने एक हजार कित्ता रहेको छ । शेयर खरिद गर्न चाहने गैरआवासीय नेपाली नागरिकले आफ्नो परिचयपत्र वा स्थायी लेखा नम्बर पेस गर्नुपर्नेछ ।

त्यस्तो कम्पनीको संस्थापकवा सर्वसाधारणका रुपमा लगानी गर्न सक्नेछन् । शेयरको कारोबार प्रणाली धितोपत्र बजारले व्यवस्थागरेबमोजिम हुनेछ । संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीले धितोपत्र निष्काशन गर्दा शेयरको प्रत्याभूतिसम्बन्धी व्यवस्था भने लागू हुने छैन ।

गैरआवासीय नेपालीलाई पुँजी बजारमा लगानीको अवसर उपलब्ध गराउन सरकार र बोर्डको उच्च प्राथमिकता रहेको प्रवक्ता अधिकारीको भनाइ छ ।

विश्वकपमा छनोट भएका महिला क्रिकेट खेलाडी  कञ्चनपुरमा  सम्मानित

कञ्चनपुर । विश्वकपमा छनोट भएको १९ वर्ष मुनिको महिला क्रिकेट टोलीका सदस्यलाई कञ्चनपुरमा नगदसहित सम्मान गरिएको छ ।

महेन्द्रनगरस्थित होली फेम्ली क्रिकेट एकेडेमीले यु–१९ महिला क्रिकेट टोलीका सदस्य सावित्री धामी र स्नेहा महरालाई आज रु ३०÷३० हजारसहित सम्मान गरेको हो । त्यसैगरी नेपाली महिला क्रिकेट टोलीकी उपकप्तान विन्दु रावललाई रु ५० हजार र टोलीका सहायक प्रशिक्षक जानकी भट्टलाई ३० हजार नगदसहित दोसल्ला ओढाएर सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले सम्मान गरे ।

खेलाडीलाई सम्मान गर्दै मन्त्री थापाले खेलाडीहरुको मेहनतले देशकै प्रतिष्ठा जोगिएको उल्लेख गर्दै प्रदेश सरकारबाट खेलकुदको विकासका लागि पहल गरिने बताए । 

जिल्ला क्रिकेट सङ्घ कञ्चनपुरका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले सरकारले क्रिकेटको विकासमा जोड दिनुपर्ने बताए ।
उनले खेलाडीका लागि खेलमैदान पहिलो आवश्यकता रहेकाले प्रदेश सरकारले खेलमैदान निर्माणका लागि सहयोग गर्नुपर्ने बताए ।

“यहाँ ठूलो प्रतियोगिता सञ्चालन गर्नका लागि राम्रो खेलमैदान छैन्, स्थानीय कबर्ड हलमा प्रतियोगिता गराउनुपर्छ”, उनले भने, “तीनै तहका सरकारले खेलकुदको विकासका लागि पूर्वाधारमा लगानी गर्न आवश्यक छ ।” 

होली फेम्ली क्रिकेट एकेडेमीका अध्यक्ष भुपालसिंह विष्टले खेलाडीको हौसलाका लागि सम्मान गरिएको बताए । गत महिना युनाइटेड अरब इमिरेट्स (युएई)मा भएको आइसिसी १९ वर्ष मुनिको महिला विश्वकपको एसिया छनोटको अन्तिम खेलमा युएईलाई आठ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको थियो । सन् २०२५ को जनवरीमा मलेसियामा हुने १९ वर्ष मुनिको महिला विश्वकपमा नेपालले सहभागिता जनाउनेछ ।

प्रधानमन्त्री ओलीका पिता अस्पताल भर्ना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पिता मोहनप्रसाद ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।  

महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा उपचाररत आफ्ना पिताको स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्रीले जानकारी शनिबार लिएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

सामाजिक सञ्जालमार्फत ओलीले भनेका छन्, ‘बुबालाई फोक्सोसम्बन्धी समस्या भएर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ, अहिले स्वास्थ्य स्थिति सामान्य छ ।’

कृषि आधुनिकीकरण परियोजनाको ‘धान जोन’ मा उत्पादन घट्यो

अत्तरिया । कैलालीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित ‘धान जोन’ मा उत्पादन घटेको छ । अघिल्लो वर्षको तुलनामा यसवर्ष बर्खे धान उत्पादनमा कमी आएको हो ।

गत वर्ष ‘धान जोन’ मा चार हजार २१६ मेट्रिकटन धान उत्पादन भएकामा यस वर्ष तीन हजार ६८८ मेट्रिकटन मात्रै धान उत्पादन भएको जिल्लास्थित प्रधानमन्त्री कृषि आधुनिकीकारण परियोजना कार्यान्वयन एकाइका सूचना अधिकारी लक्ष्मी शाहले जानकारी दिए।

उनकाअनुसार जिल्लामा ८०० हेक्टर क्षेत्रफलमा ‘धान जोन’ सञ्चालनमा रहेको छ । क्षेत्रफल एउटै भए पनि गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा ५२८ मेट्रिकटनले कमी आएको उनले जानकारी दिए। उत्पादन घटेसँगै उत्पादकत्व घटेको छ ।

गत वर्ष ‘धान जोन’ मा बर्खे धानको उत्पादकत्व पाँच दशमलव २७ मेट्रिकटन प्रतिहेक्टर रहेकामा यस वर्ष उत्पादकत्व घटेर चार दशमलव ६१ मेट्रिकटन प्रतिहेक्टर भएको सूचना अधिकारी शाहले जानकारी दिए। धान संकलन गर्ने समयमा भएको वर्षाले धानमा पुर्यायको क्षतिका कारण उत्पादनमा कमी आएको उनले बताए। कैलालीमा ‘धान जोन’ आव २०७८-७९ बाट सुरु भएको थियो ।

‘धान जोन’ जिल्लाका जोशीपुर गाउँपालिका, भजनी नगरपालिका र जानकी गाउँपालिकाका विभिन्न नौ वडामा सञ्चालनमा छ । लागत घटाएर कृषि आधुनिकीकारण गर्दै उत्पादकत्व बढाउन ५० प्रतिशत अनुदानमा किसानलाई बीउ, विषादी, कृषियन्त्र उपकरण वितरण गर्ने गरिएको छ । साथै परियोजनाले प्राविधिक सहयोग गर्ने गरेको जनाइएको छ ।

जिल्लामा आव २०७३-७४ बाट ‘गहुँ सुपरजोन’ र आव २०७४-७५ बाट ‘तेलहन जोन’ सञ्चालनमा रहेको छ । ‘गहुँ सुपरजोन’ जिल्लाको कैलारी गाउँपालिका, गौरीगङ्गा गाउँपालिका र घोडाघोडी नगरपालिकाका विभिन्न १८ वडामा तथा ‘तेलहन जोन’ जानकी, जोशीपुर र बर्दगोरिया गाउँपालिका, भजनी र घोडाघोडी नगरपालिकाका विभिन्न २९ वडा सञ्चालनमा रहेको जनाइएको छ ।

गुल्मीबाट अख्तियारमा ६० उजुरी दर्ता

गुल्मी । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयमा चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म जिल्लाका ६० उजुरी दर्ता भएका छन् । उजुरीमध्ये ३५ वटा फछर्यौट भएको र बाँकी २५ उजुरी छानविनकै क्रममा रहेको बताइएको छ ।

आयोगले जिल्लास्तरमा अन्तरक्रिया सरोकारवाला निकायबीच अन्तरक्रिया गरेको छ । अख्तियारले गुल्मीमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनसम्बन्धी जिल्लास्तरीय अन्तरक्रिया गरेको हो । पछिल्लो समयमा स्थानीय तहमा उजुरीको सङ्ख्या बढ्दै जान थालेसँगै स्थानीय तह र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबीचको दूरी कम गर्ने उद्देश्यले गुल्मीमा जिल्लास्तरीय रुपमा उक्त कार्यक्रम गरिएको हो ।

कार्यक्रममा दुई नगरसहित १२ स्थानीय तहका प्रमुख तथा अध्यक्ष, उपप्रमुख तथा उपाध्यक्षसहित प्रमुख प्रशासकीय अधिकृतलगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो । कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव रमेशकुमार केसीले अख्तियारले गर्ने कार्य र क्षेत्राधिकारका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलका प्रमुख राजेन्द्रकुमार पौडेलले गुल्मी जिल्लासहित कार्यक्षेत्रभित्र रहेका आठ जिल्लाका बारेमा जानकारी गराएका थिए। कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग आयोगको भूमिका, स्थानीय तहसँग सम्बन्धित भई आयोगमा पर्ने उजुरीका विषयवस्तु एवं स्थानीय तहलाई आयोगका सुझावका सम्बन्धमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपचारात्मक, निरोधात्मक र प्रवर्द्धनात्मक गरी मुख्य रुपमा तीन किसिमका रणनीतिक उपायमार्फत भ्रष्टाचार नियन्त्रणसम्बन्धी कार्य गर्दै आएको छ । कार्यक्रममा सहभागीले अख्तियारसँग सम्बन्धित केही जिज्ञासासमेत राखेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. हरि पौडेलले पछिल्लो समयमा अख्तियारसँग डराउने भाष्य निर्माण भएको भन्दै सही नियतले काम गर्दा कसैसँग डराउन नपर्ने बताए। उनले अख्तियारमा उजुरी पर्दैमा विकास निर्माणका काम रोक्ने गरेको भन्दै त्यसो नगर्न आग्रह गरे।

सार्क मुलुकका पर्यटकको आकर्षण बन्दै ‘हट एयर बेलुन’

जमुना वर्षा शर्मा, पोखरा । पर्यटकीय राजधानी पोखरा प्राकृतिक सुन्दरताले मात्र होइन साहसिक खेलहरूका लागि पनि उत्तिकै प्रसिद्ध छ । प्याराग्लाइडिङ, जिपलाइन र बञ्जीजम्प, स्काइडाइभ, क्यानोइङ, र्याफ्टिङ, हट एयर बेलुनलगायत साहसिक गतिविधि पोखरामा सञ्चालित छन् ।

प्राकृतिक सौन्दर्य र साहसिक अनुभवमा एकसाथ रमाउन सकिने भएकाले पछिल्लो समय ‘हट एयर बेलुन’ प्रति भने सार्क मुलुकका पर्यटकको आकर्षण बढ्न थालेको छ । बेलुन नेपाल प्रालिका अध्यक्ष विक्रम बाडेले सार्क मुलुकका पर्यटकले साहसिक यात्रा मन पराउन थालेको र त्यसमध्ये पनि उडानमा सहभागी यात्रुमध्ये ६० प्रतिशत यात्रु छिमेकी मुलुक भारतका हुने गरेका बताए ।

“पोखरा प्राकृतिक मात्र होइन साहसिक गतिविधिको सहर पनि हो र पछिल्लो समय हट एयर बेलुनप्रति सार्क राष्ट्रका पर्यटकको आकर्षण बढ्दै गएको छ”, बाडेले भने, “सूर्यको किरण हिमालमा पर्दा देखिने मनमोहक दृश्यदेखि हरियाली डाँडाकाँडा र तालतलैयाको दृश्यावलोकनमा रमाउन चाहने पर्यटकलाई बेलुनको साहासिक यात्राले लोभ्याउँदै लगेको छ ।”

उनले बेलुनको उडानले पाँच वर्ष उमेर माथि साहासिक गतिविधिमा रुचि राख्ने शारीरिक मानसिक तन्दुरुस्त भएका सबैका लागि साहसिकता र मनोरञ्जनको नयाँ ढोका खोलिदिएको बताए । बाडेले पर्यटकका लागि एउटा फरक र रोमाञ्चक अनुभव प्रदान गर्नुका साथै स्थानीय अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्ने विश्वाससहित यही डिसेम्बर २४ देखि जनवरी १ सम्म पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव आयोजना गर्न लागेको पनि जानकारी दिए ।

“पर्यटक आएर मात्र भएन आएपछि भुल्ने र रमाउने गतिविधि पनि हुनुपर्छ, हामीले यसप्रति पनि ध्यान दिएर पोखरालाई साहसिक गतिविधिको केन्द्रका रुपमा विकास गर्न महोत्सवको तयारी गरेका छौँ”,उनले भने ।

उनका अनुसार महोत्सवमा हट एयर बेलुनको नाइट ग्लो, टेथर्डलगायत प्रसिद्ध ब्याण्डका साङ्गीतिक कार्यक्रम, बेलुन प्रतियोगिता, डिजे म्युजिकलगायत कार्यक्रम हुनेछन् भने २० देशका व्यावसायिक बेलुन पाइलटले प्रतियोगितामा भाग लिनेछन् ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले हट एयर बेलुनले साहसिक गतिविधि रुचाउने पर्यटक मात्र नभई, प्राकृतिक सौन्दर्यमा रमाउन चाहने पर्यटकलाई पनि आकर्षित गर्न सफल भएको बताए ।

“पोखरा प्राकृतिक सुन्दरताको केन्द्र मात्रै नभएर साहसिक गतिविधिहरूको पनि महत्वपूर्ण सहर बनिसकेको छ, पछिल्लो समय सार्क राष्ट्रका पर्यटकका लागि हट एयर बेलुन विशेष आकर्षणको केन्द्र बनिरहेको छ”, उनले भने ।

अध्यक्ष पहारीले बेलुनले साहसिक खेल र पर्यटनमार्फत पर्यटकीय राजधानी पोखरालाई अन्तर्राष्ट्रिय मानचित्रमा स्थापित गर्दै नेपालको पर्यटनलाई समृद्ध बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । युरोपियन मापदण्डअनुसारका हट एयर बेलुन क्यानमा जाँच गरेरमात्र भित्राइन्छन् । काठमाडौँमा सनराइज बेलुनले सन् १९९१ हट एयर बेलुन भित्रएको थियो ।

काठमाडौँमा हवाइ चाप बढ्न थालेपछि बेलुन उडान बन्द भएको थियो । पोखरामा भने पहिलो पटक सन् २००९/१० मा बेलुन उडान प्रयास गरिए पनि व्यावसायिक रूपमा सन् २०१८ मा बेलुन नेपाल प्रालिले सुरू गरेको हो । अहिले कम्पनीसँग तीन वटा छुट्टाछुट्टै भारवहन क्षमताका हट एयर बेलुन छन् । त्यसमा पाँच, आठ र १२ जनाले उडान गर्न सक्छन् भने यसको मूल्य ७० लाखदेखि एक करोड ४० लाखसम्मका छन् ।

बेलुन उडानका लागि नेपालीलाई ११ हजार, सार्क मुलुकका पर्यटकलाई एक सय २० अमेरिकी डलर र अन्य मुलुकका नागरिकलाई एक सय ५० अमेरिकी डलर शुल्क लाग्छ । हट एयर बेलुनमा यात्रा गर्ने यात्रुको २० हजार डलरको यात्रु बिमा गरिन्छ । यो शुल्कमा उडानसँगै आकर्षक क्याप, लेकसाइडदेखि पामेसम्मको दुईतर्फी यातायात, फोटो, भिडियो र प्रमाणपत्रसमेत उपलब्ध गराइन्छ ।

बेलुन रिजर्भ गरी उडान गर्न मिल्ने सुविधा पनि उपलब्ध छ । असार, साउन र भदौमा वर्षायामको कारण उडान हुँदैन । उडान समय ४० मिनेटको हुन्छ । कम्पनीले सूर्योदय र सूर्यास्तको समयलाई मध्यनजर गर्दै बिहान ५ देखि ९ बजेसम्म र अपराह्न ४ देखि साँझ ६ बजेसम्म उडान गराउँदै आएको छ ।

बेलुन प्रालिका प्रबन्ध निर्देशक सविन महर्जनका अनुसार बेलुन पोखराको लौरुकदेखि उडेर चङ्खपुर क्षेत्रमा अवतरण हुने गर्दछ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टावर फ्रिक्वेन्सी सम्पर्कमा रहने गरी उडान हुँदै आएको छ ।

नागरिक उड्डयन प्राधिकरणबाट कम्पनीले नौ हजार फिटसम्मको अनुमति पाएपनि हाल छ हजारदेखि सात हजार फिटसम्मको उडान बेलुनले भर्दै आएको छ । अहिले स्पेनका क्लेटो र बेलायतका हार्भे एलेक्जेन्डरले पाइलट हुनुहुन्छ । कम्पनीका अनुसार गत वर्ष पोखरामा दुई हजार चार सय पर्यटकले बेलुन उडानको मजा लिएका थिए ।

हट एयर बेलुन एउटा विशेष प्रकारको हावाबाट भरिएको बेलुन हो । केही विशेष प्रक्रियाअनुसार गरिन्छ । तातो हावा प्रयोग गरी उडाउन सकिन्छ ।  बेलुनलाई उडाउन ग्यास वर्नर प्रयोग गरी बेलुनभित्र तातो हावा भरिन्छ । तातो हावाको घनत्व कम हुने भएकाले यो चिसो हावाभन्दा हल्का हुन्छ । त्यसले गर्दा बेलुन माथि उड्छ ।

उडान अघि र बेलुनको सुरक्षा अवस्थाको जाँच गरिन्छ । पाइलट र प्राविधिकहरूले बेलुनका सबै भागहरूको निरीक्षणपश्चात् हावा, मौसम र दिशा नियन्त्रण गर्दै बेलुनलाई सुरक्षित रूपमा उडान गर्दछन् । हावाको चाप, वर्षा वा हावाहुरीजस्ता प्रतिकूल अवस्था भएमा उडान स्थगित गरिन्छ ।

मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ः करिब एक लाख पर्यटक भित्र्याउने तयारी

खोटाङ । आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने ‘मुन्दुम ट्रेल’ (पदमार्ग) को थप पर्यटन प्रवर्द्धन गर्न आयोजना गर्न लागिएको ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ आगामी पुस १७ गतेबाट औपचारिक रुपमा सुरु हुँदैछ ।

मैयुङ–टेम्क–साल्पा–सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रको संयोजनमा आयोजना गर्न लागिएको ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ सफल पार्नका लागि आन्तरिक तयारीलाई तीव्रता दिइएको छ ।

‘मुन्दुम ट्रेल’ को स्तरोन्नति तथा पर्यटन प्रवर्द्धन गर्न आयोजना गरिएको ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ मा आन्तरिक तथा बाह्य गरी करिब एक लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको आयोजक मैयुङ–टेम्क–साल्पा–सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष रमेश राईले जानकारी दिए।

‘मुन्दुम ट्रेल पर्यटकका लागि भर्जिन गन्तव्य भएकाले कम्तीमा पनि एक लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको, यसका लागि आन्तरिक तयारीलाई तीव्रता दिएका छौँ’, उनले भने, ‘मैयुङ–टेम्के–साल्पा–सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रको संयोजकत्व र ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ मूल व्यवस्थापन समितिको बैठक बसेर मुन्दुम ट्रेलसँग जोडिएका स्थानीय तहहरूलाई आ–आफ्नो क्षेत्रमा विभिन्न महोत्सव र पर्यटकलाई लक्षित गरेर पर्यटकीय क्रियाकलाप आयोजना गर्न लगाउने निर्णय गरिएको छ, यसले बाह्य पर्यटकका लागि आकर्षित गर्ने अपेक्षा गरेका छौँ ।’

‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ को अवसरमा खोटाङको केपिलासगढी गाउँपालिकामा ‘हनी हन्टिङ’ महोत्सव तथा गोठ स्टे (गोठवास) महोत्सव, खोटाङकै साकेला गाउँपालिकामा उभौली साकेला तथा अन्य सांस्कृतिक महोत्सव, भोजपुरको टेम्के मैयुङ गाउँपालिकामा गुराँस, घोडचढी तथा फिल्म सुटिङ महोत्सव, भोजपुर नगरपालिकामा अल्ट्रा म्याराथुन, माउन्टेन साइकिलिङ, साल्पा सिलिछो गाउँपालिकामा नछोङ (धामी) महोत्सव, षडानन्द नगरपालिकामा रुद्राक्ष महोत्सव, महाकुलुङ गाउँपालिकामा चाकचाकुर महोत्सवलगायत कार्यक्रम आयोजना गरिने पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष राईले जानकारी दिए ।

पहिलो पटक आयोजना गरिएको ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ मा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि मुन्दुम ट्रेल आसपासका स्थानीयले धमाधम होम–स्टे (घरवास) तथा गेष्ट हाउस (पाहुनाघर) निर्माण गरिरहेका छन् ।

नेपाल सरकारको १०० पर्यटकीय गन्तव्य सूचीमा पर्ने ‘मुन्दुम ट्रेल’ करिब १०७ किलोमिटर लामो दुरीको छ ।

प्राकृतिक रुपमै पर्यटकीयस्थल रहेको ‘मुन्दुम ट्रेल’ स्तरोन्नतिमा तीनवटै तहका सरकारको करोडौँ लगानीसमेत भइरहेको छ ।

‘मुन्दुम ट्रेल’ पदमार्गको दाँयाबाँया चौडा गर्ने, सुक्खा ढुङ्गाको सिँढी लगाउने र ढुङ्गाकै सोलिङ गर्नेलगायत आधारभूत भौतिक पूर्वाधारको काम भएको छ । खोटाङ र भोजपुरको पर्यटन प्रवर्द्धन तथा विकासमा ‘मुन्दुम ट्रेल’ पदमार्गले ठूलो सहयोग पुगेको खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एव नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रामकुमार राईले बताए ।

साकेला गाउँपालिका क्षेत्रभित्र पर्ने ‘मुन्दुम ट्रेल’ पदमार्गखण्डमा स्थानीय सरकारको ३० प्रतिशत, प्रदेश सरकारको ३५ प्रतिशत र स्वीस सरकारको ३५ प्रतिशत गरी ९१ लाख ४५ हजार २५२ रुपैयाँ मा ‘मुन्दुम ट्रेल’ स्तरोन्नतिको काम गरिएको छ । त्रिपक्षीय सम्झौताको आधारमा निर्माण सुरु गरिएको ‘मुन्दुम ट्रेल’ को अवधारणा २०७५ पुस २१ गते औपचारिक रुपमा अघि सारिएको हो ।

प्रकृतिप्रेमी अर्थात् सौन्दर्यमा रमाउन चाहने तथा किराती संस्कार, संस्कृति अध्ययन एवं अनुसन्धान गर्न आउने पर्यटकका लागि ‘मुन्दुम ट्रेल’ रोजाइमा पर्ने गरेको छ । पूर्वीपहाडी जिल्ला खोटाङ, भोजपुर, सोलुखुम्बू तथा सङ्खुवासभा सीमामा पर्ने यो मुन्दुम ट्रेल किरात समुदायको ऐतिहासिकतासँग सम्बन्धित छ ।

खोटाङ र भोजपुरको सीमामा पर्ने खिदिमास्थित तावाभञ्ज्याङबाट सुरु भएको यो पदमार्ग तीन हजार १६५ मिटरको टेम्केडाँडा हुँदै मैयुङ, तीन हजार ७५० मिटरको साल्पापोखरी तथा चार हजार १६५ मिटरको सिलिचुङसम्म पुगेर टुङ्गिन्छ । पहाडैपहाडको चुचुरामा निर्माण सुरु गरिएको मुन्दुम ट्रेल पदमार्ग पूरा गर्न विदेशीका लागि करिब १३ दिन तथा नेपालीका लागि १० दिन लाग्ने गरेको छ ।

हिमाल नजिकै पुगेर त्यसको सौन्दर्यमा रमाउन चाहने आन्तरिक तथा बाह्य पर्यटकका लागि डाँडैडाँडा यात्रा गर्दा थकानको महसुस नहुने पर्यटन प्रवर्द्धन केन्द्रका अध्यक्ष राईले जानकारी दिए । पदमार्गमा अधिकांश किरात समुदायका बस्ती रहेको तथा उनीहरूको मौखिक ग्रन्थ ‘मुन्मुम’ मा उल्लेखित किराती जीवनशैली, संस्कार र संस्कृतिबारे वर्णन गरिने भएकाले पदमार्गको नाम ‘मुन्दुम ट्रेल’ राखिएको हो ।

ठूल्ठूला घाँसे मैदान, फराकिला चौरीखर्क तथा भेडीगोठका साथै घोडचढी अर्थात् घोडा चढ्न पाउनुले आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षित गर्दै आएको छ । दर्जनौँ प्रजातिका गुराँस, चाँप, कटुस, लोक्ता, विविध जडीबुटी तथा घना जङ्गल अवलोकनमा रम्न पाइने यस क्षेत्रको अर्को आकर्षण हो ।

मैयुङको हाँसपोखरी क्षेत्रमा पाइने विभिन्न प्रजातिका चराचुरुङ्गी, रेडपाण्डा, भीर मौरी र विभिन्न जङ्गली जनावरसँग त्यत्तिकै लुकामारी खेल्न पाइन्छ । सगरमाथाको चुचुरोमा पहिलो पाइला टेकेका तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले सन् २०१० मा यही पदमार्गको एउटा रुट (बाटो) प्रयोग गरेको बताइएको छ ।

मानव बस्ती कम पाइने ‘मुन्दुम ट्रेल’ पदमार्गमा पर्यटकको चहलपहल बढेसँगै उनीहरुका लागि स्थानीय गोठवालाले खाने तथा बस्ने व्यवस्था मिलाउने गरेका छन् । परम्परागतरुपमा सञ्चालन हुँदै आएको गोठलाई स्तरोन्नति गरेर गोठ–स्टे (गोठवास)को व्यवस्था मिलाएर स्थानीय परिकार, चौँरीको दूध, फापर, कोदो र गहुँको ढिँडो, लोकल कुखुरा, रायोको साग, आलु, सिमीलगायत स्थानीय उत्पादनलाई प्राथमिकता दिएका छन् ।

शल्यचिकित्सक समाजको चौधौँ राष्ट्रिय सम्मेलन पोखरामा

गण्डकी । शल्यचिकित्सक समाज नेपालको चौधौँ राष्ट्रिय सम्मेलन पोखरामा जारी छ । ‘साउथ एसियन सर्जिकल केयर सोसाइटी’सँगको सहकार्यमा शुक्रबारदेखि सुरु भएको सम्मेलनमा आठ सय भन्दाबढी सहभागी छन् ।

सम्मेलनमा दई सय जना अन्तर्राष्ट्रिय प्रतिनिधिले भाग लिएका समाजका महासचिव डा. शैल रुपाखेतीले जानकारी दिए । उनका अनुसार सम्मेलनमा चार वटा समानान्तर सत्रसहित दुई सय बढी वैज्ञानिक तथा अनुसन्धानमुलक कार्यपत्रको प्रस्तुती रहनेछ । यस्तै २५ भन्दा बढी सर्जिकल भिडियो सम्मेलनमा प्रदर्शन गरिने उनले बताए ।

कार्यपत्रमाथि विज्ञसहितले सामूहिक छलफल गर्ने कार्यक्रम रहेको उनको भनाई छ । सम्मेलनपूर्व बिहीबार स्तन क्यान्सर, ग्यास्ट्रेक्टोमीलगायत शल्यचिकित्साका विभिन्न विषयका कार्यशाला सञ्चालन गरिएको समाजले जनाएको छ ।

शनिबारसम्म चल्ने सम्मेलनमा शल्य चिकित्साका क्षेत्रमा भएका नयाँ वैज्ञानिक अनुसन्धान र खोजबारे गहन छलफल हुने जनाइएको छ ।

‘देशविदेशका शल्यचिकित्सकबीच ज्ञान, सीप र अनुभवको आदानप्रदानका लागि यो सम्मेलन फलदायी हुने अपेक्षा लिइएको छ’, महासचिव डा. रुपाखेतीले भने, ‘सम्मेलनका अवसरमा शल्यचिकित्सका क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तित्वहरुलाई विभिन्न पुरस्कार तथा सम्मानसमेत प्रदान गरिनेछ ।’

सम्मेलनमा अतिथिका रुपमा सहभागी गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्मेलनले स्वास्थ्य सेवाका क्षेत्रमा साझेदारी, सहकार्य र नवप्रर्वद्धनमा टेवा पुर्याउने विश्वास व्यक्त गरे । उनले हरेक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको उपलब्धता गराउन सबैको सामूहिक प्रयत्न जरुरी रहेको बताए । 

प्रदेशका सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले आधुनिक चिकित्सासँगै आयुर्वेद र प्राकृतिक चिकित्साको विकासमा पनि ध्यान दिनुपर्ने बताए । गण्डकी प्रदेशको स्वास्थ्य क्षेत्रका सुधारका लागि कार्ययोजना बनाएर काम सुरु गरिएको उनको भनाइ छ । 

सम्मेलनमा ‘साउन एसियन सर्जिकल केयर सोसाइटी’का अध्यक्ष डा. सुनिलकुमार शर्मा ढकाल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. विकास देवकोटा, नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. अनिलविक्रम कार्कीलगायतका वक्ताले सम्मेलनको महत्व र आयामबारे विचार व्यक्त गरेका थिए । सम्मेलनमा नेपालसहित भारत, पाकिस्तान, चीन, बङ्गलादेश, भूटान, जापान, कोरिया, अमेरिकालगायत मुलुकका शल्यचिकित्सक सहभागी छन् । 

रङ्गशाला निर्धारित समयमा सम्पन्न गर्न खेलकुदमन्त्री महर्जनको निर्देशन

मकवानपुर । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले हेटौँडा–६ मा निर्माणाधीन गौरिटार रङ्गशालाको काम समयमा सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएका छन् । उनले रङ्गशालाको निर्माण गर्दा गुणस्तर विशेष ध्यान दिन आग्रह गरे ।

शुक्रबार स्थलगत अनुगमन गर्दै मन्त्री महर्जनले रङ्गशाला परिसरमा निर्माणाधीन अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको क्रिकेट रङ्गशाला, पौडी पोखरी र फुटबल रङ्गशालालगायत पूर्वाधार निर्माण निर्धारित समयमा सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

उनले पूर्वाधार निर्माणको हालसम्मको प्रगति विवरणबारे जानकारी लिएका थिए । प्रदेश सरकारले खेलकुद क्षेत्रको विकासका लागि स्तरीय खेलकुदका संरचनासँगै खेलाडी प्रोत्साहनमा काम गर्ने लक्ष्य लिएको मन्त्री महर्जनले बताए ।

फुटबल रङ्गशाला निर्माण अन्तिम चरणमा पुगिसकेको भन्दै चाँडै निर्माणले पूर्णता पाउने प्रदेशस्थित खेलकुद परिषद्का सदस्य सचिव दीपक लामाले जानकारी दिए । अन्य संरचना निर्माणले पनि तीव्रता पाएको उनको भनाइ छ । प्रदेश सरकारले गत आवदेखि क्रिकेट रङ्गशाला निर्माण गर्न रु १२ करोड र स्वीमिङ पुल निर्माण गर्न रु नौ करोड बजेट विनियोजन गरी काम थालेको थियो ।

रङ्गशालामा पहिलो चरणमा छ सयभन्दा बढी दर्शक अट्ने क्षमताको एउटा प्याराफिटसहित पाँच वटा पिच, ७० मिटर रेडिएसनको ग्राउण्ड भिभिआइपी कक्ष, खेलाडी कक्ष, चेन्जिङ रुम, टिभी र रेडियो ब्रोडकास्टिङ कक्ष, मिडिया कक्ष, अपाङ्गमैत्री क्षेत्र, पार्किङलगायत संरचना निर्माण हुने परिषद्ले जनाएको छ ।

केन्द्रीय खेलकुद प्रतिष्ठानका रूपमा विकास गर्ने गरी तत्कालीन समयमा खेलकुद परिषद्ले संरचना निर्माण गर्न थालेको थियो । बजेटले निरन्तरता पाउन नसक्दा १४ वर्षसम्म यो रङ्गशाला निर्माणले गति लिन सकेको थिएन । विसं २०६४ जेठ २८ जेठ गते तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले रङ्गशालाको शिलान्यास गरेका थिए ।

महाराष्ट्रमा बिजेपी नेतृत्वको गठबन्धनलाई २१६ सीटमा अग्रता

मुम्बई । महाराष्ट्रमा नोभेम्बर २० मा सम्पन्न विधानसभा निर्वाचनको मत गणना शुरू भएको छ । प्रारम्भिक मत गणना अनुसार महाराष्ट्रमा मुख्य चुनावी प्रतिस्पर्धा सत्तारुढ महायुति र विपक्षी महा विकास अघाडीबीच छ ।

महायुतिमा भाजपा, एकनाथ शिन्देको शिवसेना र अजित पवार नेतृत्वको राष्ट्रवादी काङ्ग्रेस पार्टी (एनसीपी) छन् । महाविकास अघाडी (एमभिए) मा उद्धव ठाकरे नेतृत्वको शिवसेना (यूबीटी), शरदचन्द्र पवार नेतृत्वको राष्ट्रवादी काङ्ग्रेस पार्टी (एनसिपी) र भारतीय काङ्ग्रेस पार्टी समावेश छन्।

प्रारम्भिक मतगणना अनुसार माहायुती गठबन्धन अन्तर्गत बिजेपीको १२४, शिवसेनाको ५५ र अजित पवार नेतृत्वको एनसीपी ३७ सीट गरी २१६ स्थानमा अग्रता कायम गरेका छन् ।

त्यसैगरी एनभिए गठबन्धन अनतर्गत काङ्ग्रेसको १९, शरदचन्द्र पवार नेतृत्वको एनसिपी १३ र उद्धव ठाकरे नेतृत्वको शिवसेना (यूबीटी)ले २० सीट गरी ५२ स्थानमा अग्रता कायम गरेका छन् ।

महाराष्ट्रका नोभेम्बर २० मा २८८ विधानसभा सीटका लागि भएको निर्वाचनबाट चार हजारभन्दा बढी उम्मेदवारहरूको भाग्यको फैसला हुनेछ ।

सन् २०१४ को विधानसभा चुनावमा शिवसेनाले ५६, एनसिपीले ५४ र काङ्ग्रेसले ४४ सिट गरी १४४ सीट जितेका थिए ।

झारखण्डको विधानसभा निर्वाचनमा भाजपा र जेएमएमको प्रतिस्पर्धा, काङ्ग्रेस पछिपछि

झारखण्ड । झारखण्डको विधानसभाका ८१ सीटका लागि नोभेम्बर १३ र २० मा सम्पन्न निर्बाचनको मतगणना सुरू भएको छ । प्रारम्भिक मतगणना अनुसार झारखण्डमा भारतीय जनता पार्टी (बिजेपी) र झारखण्ड मुक्तिमोर्चा (जेएमएम) बिच प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रारम्भिक मतगणना अनुसार भारतीय काङ्ग्रेस सहभागी जेएमएम गठबन्धनले ५१ सीटमा अग्रता लिएको छ भने भाजपा नेतृत्वको गठबन्धनले २९सीटमा अग्रता लिएको छ । एक सीटमा अल झारखण्ड स्टुडेन्ट्स यूनियन (आजसू)ले अग्रता लिएको छ । जेएमएम गठबन्धनभित्र जेएमएमको २९, भारतीय काङ्ग्रेसको १५ सीटमा अग्रता देखिएको छ ।

नवलपुरमा गैँडाको आक्रमणबाट एकजनाको मृत्यु

त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गैँडाको आक्रमणबाट शनिबार बिहान एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मध्यविन्दु नगरपालिका–६, भण्डाराका ६५ वर्षीय नाथुराम थारु रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक जेसी शाहले बताए । खेतमा आलु रोपिरहेको समयमा थारुलाई गैँडाले आक्रमण गरेको थियो ।

जुम्लाका आठवटै स्थानीय तह साक्षर घोषणा

जुम्ला । जुम्लाका आठवटै स्थानीय तह साक्षर घोषणा भएका छन् । जिल्लामा एक नगरपालिकासहित सात गाउँपालिका एकैसाथ साक्षर घोषणा भएका हुन् ।

साक्षरताका १२ सूचकमध्ये अधिकांश सूचकहरू पूरा गरेपछि यहाँका सबै स्थानीय तहलाई साक्षर घोषणा गरिएको जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले जानकारी दिए। गत भदौ २१ गते हिमा गाउँपालिका पहिलो साक्षर पालिकाका रूपमा घोषणा भएको थियो ।

जिल्ला समन्वय समितिका अनुसार सबैभन्दा बढी चन्दननाथ नगरपालिकामा ९८ दशमलव ९१ प्रतिशत र सबैभन्दा कम तिला गाउँपालिकामा ९५ दशमलव चार प्रतिशत नागरिक साक्षर छन् ।

कनका सुन्दरी गाउँपालिकामा ९७ प्रतिशत, सिञ्जामा ९६ दशमलव पाँच, तातोपानीमा ९५ दशमलव ७७, गुठिचौरमा ९५ दशमलव ७३, हिमामा ९५ दशमलव ७२ र पातारासीमा ९५ दशमलव २४ प्रतिशत नागरिक साक्षर रहेका स्थानीय तहको शिक्षा शाखाले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।

साक्षरताका १२ सूचकमध्ये छ सूचक पूरा गर्ने पालिकालाई साक्षर पालिका घोषणा गर्ने प्रावधान रहेको जिल्ला समन्वय समितिका प्रमुख आचार्यले बताए। जिल्लाका ६० वटा वडाका बस्तीमा साक्षर सङ्ख्याको खोजी गरिएको थियो ।

साक्षरता पालिका घोषणा गर्न राष्ट्रभाषा वा मातृभाषाका वर्ण अक्षरको पढाइ तथा लेखाइ गर्न सक्ने, मूल्यसूची र बिल पढ्न सक्ने, परिवारको सदस्यको नाम, उमेर लेख्न र पढ्न सक्ने, मोबाइल र क्यालकुलेटरका अंक र अक्षर चिनेर प्रयोग गर्न सक्ने, शून्यदेखि नौसम्मका अक्षर र अंक लेख्न र चिन्न सक्नेलगायत सूचकहरू पूरा भएपछि पालिकालाई साक्षर घोषणा गरिएको तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिए।

सिञ्जा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले लामो समयको मेहिनत र लगाबपछि जुम्ला साक्षर जिल्ला घोषणाको मार्ग खुलेको बताए। उनले अब हरेक पालिकाले साक्षरबाहेक निरीक्षण जनशक्तिलाई साक्षर बनाएर शतप्रतिशत साक्षर नागरिक बनाउने योजना तर्जुमा गर्नुपर्ने आवश्यक औँल्याए ।

हरेक स्थानीय तह, शिक्षासँग सरोकार राख्ने निकायदेखि सर्वसाधारण नागरिक जिम्मेवार रूपमा प्रस्तुत हुनुपर्नेमा अध्यक्ष धितालले जोड दिए ।

केराखेतीबाट वार्षिक १० लाख आम्दानी

दोधारा । कञ्चनपुरको बेलौरी नगरपालिका–६ विद्यानगरका प्रताप राना सफल केरा किसानका रुपमा परिचित छन् । डेढ दशकदेखि व्यावसायिक रुपमा केराखेती गर्दै आएका रानाले केराखेतीबाट वार्षिक १० लाख बढी आम्दानी गरिरहेका छन् ।

राना जिल्लामा उत्कृष्ट कृषकका रुपमा सम्मानितसमेत भइसकेको छ । सुरुआतमा पाँच बिघा जग्गामा केराखेती सुरु गर्नुभएका रानाले हाल १७ बिघामा खेती विस्तार गरेका थिए ।

राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकबाट रु २९ लाख ५० हजार ऋण लिएर केराखेती सुरु गरेको उनले बताए । अहिले केराखेतीबाट वार्षिक रु १० लाख भन्दा बढी आम्दानी हुने गरेको उनले जानकारी दिए ।

“केराखेती मेरो आम्दानीको मुख्य स्रोत हो, म यसैमा सन्तुष्ट छु”, रानाले भने, “वार्षिक रु २८ देखि २९ लाखसम्मको कारोबार हुने गरेको छ, सबै खर्च कटाएर वार्षिक रु १० लाखसम्म आम्दानी हुन्छ ।” केराखेतीको आम्दानीबाट घरखर्च चलाउनुका साथै कृषि औजार जोड्ने गरेको उनले बताए ।

कृषिमा प्रविधिको प्रयोग गरेपछि कम लागतमा धेरै आम्दानी हुन थालेपछि उनले पछिल्लो समय आम्दानीको केही अंश कृषिऔजार खरिदमा लगाउने गरेको बताए । “कृषिमा अहिले थुप्रै प्रविधि आएको छ यसबाट कम लागतमा धेरै आम्दानी गर्न सकिन्छ”, रानाले भने, “अहिले खेती गर्दा प्रविधिको प्रयोग गर्ने गरेको छु, अहिले ड्रोन प्रविधिबाट खेती गर्ने प्रयास गरिरहेको छु ।”

कृषक रानाले केराखेती गर्न पर्याप्त जग्गा नहुँदा समस्या भएको गुनासो गरे । “मैले जग्गा भाडामा लिएर खेती गरिरहेको छु । यहाँ भाडामा पनि जग्गा पाइँदैन, पाइए पनि दुईरतीन वर्षका लागि मात्रै पाइन्छ”, रानाले भने “लामो समयका लागि जग्गा भाडामा नपाउँदा थोरै क्षेत्रफलमा खेती गर्नु परेको छ ।” उहाँले लामो समयसम्मका लागि जग्गा भाडामा पाइए केराखेती विस्तार गर्दै लैजाने योजना रहेको बताए । खेतीमा प्रविधिको प्रयोगले उत्पादन र आम्दानी राम्रो हुन थालेको उनको भनाइ छ ।

“बीउबिजन र विषादीलगायत आवश्यक कीटनाषक औषधि छर्कन ड्रोन प्रविधिबाट खेती गर्ने तयारीमा छौँ”, रानाले भने, “ड्रोन प्रविधिको प्रयोगले उत्पादन र आम्दानी बढ्ने आशा गरेका छौ ।” उनले पछिल्लो समय विषादी छर्किंदा किसानहरुको स्वास्थ्यमा समस्या हुने गरेको बताउँदै ड्रोन प्रविधिले कृषकको स्वास्थ्यमा हुने समस्या कम हुने विश्वास व्यक्त गरे ।

रानाले दुई जनालाई मासिक तलबमा कामदार राख्नुभएको छ भने खेतीको सिजनको बेला ३०र४० जनालाई रोजगारी दिने गरेको बताए । उत्पादन गर्नसके बजारको समस्या नरहेको उनको भनाइ छ ।

“अहिलेसम्म बजारको समस्या भोग्नुपरेको छैन”, रानाले भने, “स्वदेशमै मेहनतका साथ काम गरे विदेश जानुपदैन ।” उनले यहाँ उत्पादित केरा अत्तरिया, दिपायल, डडेल्धुरा र दाङको तुलसीपुरसम्मका बजारमा जाने गरेको जानकारी दिए । उनले राज्यले किसानलाई सहयोग गर्ने नीति ल्याउएमा किसानलाई हौसला प्राप्त हुनुका साथै उत्पादन वृद्धिमा सहयोग पुग्ने बताए ।

चिनियाँ दूतावासद्वारा ‘छत्रपाटी निःशुल्क चिकित्सालय’लाई विद्युतीय सवारी हस्तान्तरण

काठमाडौँ । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल छिमेकीसँगै अन्तर्राष्ट्रिय समुदायसँग मैत्रीपूर्ण सम्बन्ध राखेर अघि बढिरहेको स्पष्ट पारेका छन् ।


शनिबार काठमाडौँस्थिति चिनियाँ दूतावासले छत्रपाटी निःशुल्क चिकित्सालयलाई उपलब्ध गराएको विद्युतीय सवारी सधान हस्तान्तरण गर्न आयोजित कार्यक्रममा उनले दूतावासको सहयोग दुई देशबीचको सम्बन्धका कडीका रुपमा रहेको बताए । 


उपप्रधानमन्त्री सिंहले विश्वव्यापी रुपमा जलवायु परिवर्तनको असर बढ्दै गइरहेको अवस्थामा चिकित्सालयलाई विद्युतीय सवारी साधन उपलब्ध गराएकामा आभार प्रकट गरे ।


समुदायलाई चिकित्सा सेवा उपलब्ध गराउन क्लिनिकका रुपमा स्थापना भएको चिकित्सालयले सुविधा सम्पन्न अस्पतालकै जस्तो सेवा उपलब्ध गराउँदै आएको उनको भनाइ थियो । 


नेपालका लागि चिनियाँ राजदूत छन सङले नेपालको आर्थिक विकास र समृद्धिका लागि चीनले सहयोग गर्दै आएको उल्लेख गर्दै दुई देशबीच विविध क्षेत्रमा सहकार्यबाट महत्वपूर्ण नतिजा हासिल भइरहेको बताए ।


उनले छत्रपाटी निःशुल्क चिकित्सालयले सर्वसुलभ शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएकामा खुसी व्यक्त गरे । सो अवसरमा काठमाडौँस्थित चिनियाँ दूतावासले उपलब्ध गराएको विद्युतीय सवारी साधन हस्ताक्षरण गरिएको थियो । 

मानव बेचबिखन गर्न लागेको आरोपमा चितवनमा एक जना पक्राउ

चितवन । मानव बेचबिखनको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले एक जनालाई पक्राउ गरेको छ । पाँच जना युवतीलाई वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी भारत पठाउन लागेको अवस्थामा प्रहरीले मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१४ का ४४ वर्षीय राजु तामाङ भनिने राजकुमार थिङलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयले निजलाई नारायणगढबाट बुधबार पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको कार्यालयका प्रमुख गौतम मिश्रले जानकारी दिए । उनका अनुसार विभिन्न स्थानका युवतीहरुलाई नारायणगढमा भेला पारी सुनौली जाने बसमा चढाउन लागेको अवस्थामा थिङ्लाई पक्राउ गरिएको हो ।

मिश्रले भने, “थिङले युवतीहरुको पासपोर्ट सङ्कलन गरी भिसा लगाउनका लागि भारत पठाउन लागिएको थियो । भारतबाटै विदेश जानुपर्छ भनी युवतीहरुलाई लैजान लागेको सूचना पाएपछि पक्राउ गरिएको हो ।” मानव बेचबिखनको यो नयाँ स्वरुप भएको उनले बताए ।

मिश्रले भने, “थिङ्को नियत खराब भएको थाहा पाएपछि युवतीहरुले आफन्तमार्फत प्रहरीलाई खबर गरेका थिए ।” थिङलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत चितवनबाट चार दिनको म्याद थपगरी थप अनुसन्धान सुरु गरिएको जनाउँदै उनले युवतीहरुको संरक्षणका लागि सुरक्षित गृहमा पठाइएको बताए ।

धरहरा चढ्न विद्यार्थी, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई ५० प्रतिशत छुट

काठमाडौं । विद्यार्थीले, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिहरूले धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट पाउने भएका छन् । यसअघि परीक्षणका रूपमा निःशुल्क धरहरा खुला गरिएको थियो ।

अब धरहरा व्यवस्थित रूपमा सशुल्क सञ्चालन गर्न लागिएको हो । प्रतिव्यक्ति २ सय रूपैया शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई भने सो रकममा ५० प्रतिशत सहुलियत हुने शहरी विकास मन्त्रालयले जनाएको छ ।

विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म अन्तरिम रूपमा हाललाई शुल्क लिई २०८१ मङ्सिर ९ गतेदेखि धरहरा सञ्चालन गर्न बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले स्वीकृति दिँदै शुल्क पनि मन्त्रिपरिषद्ले नै स्वीकृत गरेको छ।

सहरी विकास मन्त्रालयले गरेको प्रस्ताव अनुसार प्रतिव्यक्ति २०० रुपैयाँ शुल्क तोकिएको छ भने सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५ सय र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति १ हजार रुपैयाँ शुल्क तोकिएको छ।

त्यस्तै धरहरामा पार्किङ गर्दा मन्त्रालयले चार पाङ्ग्रेका लागि प्रतिघन्टा २० रुपैयाँ र दुई पाङ्ग्रेलाई १० रुपैयाँ तोकेको छ । धरहरा परिसरमा प्रवेशका लागि भने ५० रुपैयाँ तोकिएको छ।

त्यस्तै धरहरा स्तम्भमा राष्ट्रिय महत्त्वका विज्ञापन गर्न प्रतिघन्टा ५ हजार तोकिएको छ। त्यस्तै धरहरा परिसरमा व्यावसायिक भिडियो छाँयाकन गर्न प्रतिघन्टा ५ हजार र फोटोग्राफीका लागि प्रतिघन्टा १ हजार रुपैयाँ तोकिएको छ।

दुई सय ८५ कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस

काठमाडौँ । सङ्घीय प्रोवेशन तथा प्यारोल बोर्डको शुक्रबारको बैठकले २८५ जना कैदीबन्दीलाई प्यारोलमा राख्न सिफारिस गरेको छ ।

महान्यायाधिवक्ता रमेश वडालको अध्यक्षतामा भएको बैठकले कारागार व्यवस्थापन विभागबाट फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ दफा ३८ बमोजिम असल चालचलन भएका कैदीबन्दीलाई प्यारोलमा राख्न बोर्डसमक्ष प्रस्ताव पेस भएबमोजिम उक्त सिफारिस गरेको हो ।

महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता सूर्यराज दाहालका अनुसार प्यारोल भनेको असल चालचलन भएका कैदीबन्दीलाई जेल बाहिर बस्न दिइने कानुनी व्यवस्था हो ।

उक्त ऐनअनुसार एक वर्षभन्दा बढी कैद सजाय पाई कैद सजायको दुई तिहाईभन्दा बढी अवधि भुक्तान गरिसकेको र राम्रो आचरण भएको कसुदारलाई प्यारोलमा राख्न सकिने व्यवस्था छ । यो जेल बाहिर स्वतन्त्र समाजमा बस्ने छुट दिन सक्ने व्यवस्था हो तर पूर्णरुपमा स्वतन्त्र भने हुदैनन् । कसुरदारले तोकेको कैद सजायको दुईतिहाई अवधि भुक्तान गरेपछि बाँकी सजाय असल आचरणमा रही स्वतन्त्र समाजमा बसेर पूरा गर्न पाइन्छ । तर प्यारोलमा छुटेकाहरू पूर्ण रुपमा स्वतन्त्र हुने छैनन् ।

उक्त ऐनले जन्मकैदको सजाय पाएका, भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसार पसार, संगठित अपराध, सम्पत्ति शुद्धीकरण, यातना वा क्रुर वा अमानवीय व्यवहारसम्बन्धी कसुर, मानवताविरुद्धको अपराध र राज्यविरुद्धको अपराधमा सजाय पाएकाहरुलाई प्यारोलमा राख्न बन्देज लगाएको छ ।

अमेरिकामा कार दुर्घटनामा दुई नेपालीको मृत्यु

अमेरिका । अमेरिकाको भर्जिनिया च्यान्टिली नजिकै भएको एउटा कार दुर्घटनामा दुई नेपालीको मृत्यु भएको छ । नोभेम्बर २२ मा भएको उक्त दुर्घटनामा अर्का एक नेपाली घाइते भएका छन् ।

दुर्घटनामा रुकुमको आठबिसकोट नगरपालिका वडा नम्बर ७ का सुरेश केसी र बर्दियाका विवेक सुवेदीको मृत्यु भएको हो । समाजसेवी योगेश श्रेष्ठकाअनुसार घाइते हुनेमा काठमाडौँका मेहुल श्रेष्ठ रहेका छन् ।

उनी अहिले अस्पतालमा उपचार गराइरहेका र उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ । कार चालक ३० वर्षीय विजय तामाङ भने सुरक्षित छन् । उनलाई दुई जनाको हत्या अभियोगमा लाउडाउन काउन्टी सेरिफ कार्यालयले मुद्दा चलाउने तयारी गरिरहेको रहेको छ ।

उक्त दुर्घटना लाउडाउन काउन्टी पार्क वे र ताल सेडार पार्क वे नजिक भएको थियो भने चालकले अत्यधिक मादक पदार्थ सेवन गरी कार चलाएको बेला दुर्घटना भएको आशङ्का प्रहरीले गरेको छ ।

गोरखाको द्रव्यशाह क्याम्पसमा दुनाटपरी गाँस्ने तालिम

गोरखा- द्रव्यशाह बहुमुखी क्याम्पसले क्याम्पसमा अध्ययनरत छात्रालाई दुनाटपरी गाँस्ने प्रशिक्षण दिएको छ। क्याम्पस प्रमुख एकदेव अधिकारीका अनुसार भोजभतेरमा प्लास्टिकका भाँडाको प्रयोग अत्यधिक बढ्दै गएकाले त्यसलाई निरुत्साहित गर्न तालिमको व्यवस्था गरिएको हो।

‘क्याम्पसमै कार्यक्रम गर्दा पनि प्लास्टिकका गिलास, प्लेटको प्रयोग गर्नुपर्ने अवस्था छ,’ क्याम्पस प्रमुख अधिकारीले भने, ‘अब क्याम्पसमा दुनाटपरी प्रयोग गरिनेछ।’

स्थानीय वनमा पाइने सालका पातबाट दुनाटपरी बनाउन जानेपछि थोरै भए पनि आय आर्जन गर्न सहज हुने तथा सीप पनि सिकिने भएकाले छात्राहरूलाई तालिमको व्यवस्था गरिएको उनको भनाइ छ। तालिमले उनीहरूमा उत्साह भरेको छ।

क्याम्पसले सञ्चालन गर्दै आएको ‘सिकौँ र सिकाऔँ’ अभियानअन्तर्गत छात्राहरुका लागि दुनाटपरी गाँस्ने तालिम सञ्चालन गरेको हो।

प्रधानमन्त्री ओली र अमेरिकी खर्बपति मस्कबीच भर्चुअल संवाद

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकाका खर्बपति व्यवसायी एलन मस्कबीच भर्चुअल संवाद भएको छ ।
शुक्रबार साँझ प्रधानमन्त्री ओली र स्पेश एक्स कम्पनीका मालिक मस्कबीच भर्चुअल संवाद भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

त्यसक्रममा मस्कले आफ्नो स्याटेलाइटमा आधारित इन्टरनेट सेवा स्टारलिंकका बारेमा जानकारी गराएको बताइएको छ । नेपालमा पनि स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवा विस्तार गर्न चाहिरहेको छ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कलाई ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी’ (डीओजीई) को प्रमुख पदमा नियुक्त गरेका छन् ।

सडकमा फोहोर छाडेको भन्दै एमालेलाई महानगरले गरायो एकलाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रमुख सत्तारुढ नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गराएको छ । शुक्रबार दरबारमार्गमा गरिएको जागरणसभाका क्रममा गरिएको फोहोर फुटपाथ र सडकमै छाडिएपछि महानगरले एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको हो ।

महानगरले भनेको छ, ‘प्रस्तुत विषयमा मिति २०८१ मंसिर ७ गते काठमाडौं महानगरपालिका वडा नं. १ दरबारमार्गस्थित खुल्ला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरि वातावरण प्रदूषण गरेकोले तपाईंलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एक लाख रुपैयाँ जरिवाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गर्दछु ।’

यसअघि गत चैत २७ गते राप्रपाले प्रदर्शन गर्ने क्रममा महानगरको विभिन्न क्षेत्र फोहोर गरेको र ट्राफिक आइल्यान्डमा क्षति पुर्याएको भन्दै महानगरले जरिवाना तिराएको थियो ।

काठमाडौं महानगरपालिकाले राप्रपालाई फोहोरमैला ऐन २०६८ को दफा ३९ अनुसार ५ हजार जरिवाना र स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ९७ अनुसार आन्दोलनका क्रममा ट्राफिक आइल्याण्ड मर्मतका लागि २ सय २२ रुपैयाँ ८१ पैसा लागेकाले सोही अनुरूप जरिवाना गरेको महानगरले जनाएको थियो ।

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौँ । सरकारले पूर्वसचिव रामेश्वरप्रसाद खनालको अध्यक्षतामा गठित ‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग’ मा निजी क्षेत्रबाट सदस्य थप गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रलायले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले निजी क्षेत्रबाट चन्द्रप्रसाद ढकाल (अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासङ्घ) राजेशकुमार अग्रवाल (अध्यक्ष, नेपाल उद्योग परिसङ्घ) र कमलेशकुमार अग्रवाल (अध्यक्ष, नेपाल चेम्बर अफ कमर्श) सदस्य थप गरिएको जानकारी दिए ।

त्यसैगरी सरकारले फिलिपिन्सको मनिलामा यही मङ्सिर २५ देखि २७ गतेसम्म आयोजना हुने दिगो यातायातसम्बन्धी छलफल कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने भएको छ ।

“चालु आर्थिक वर्षको मङ्सिरमा सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट निष्कासन हुने रु दुई अर्बको नागरिक बचतपत्रको अवधि पाँच वर्ष र ब्याजदर सात दशमलव पाँच प्रतिशत तोक्ने साथै, सोही कार्यालयबाट निष्कासन हुने रु ५० करोडको वैदेशिक रोजगार बचतपत्रको अवधि पाँच वर्ष र ब्याजदर आठ दमलव पाँच प्रतिशत तोक्ने मन्त्रिपरिषद्को निर्णय रहेको छ”, सरकारका प्रवक्ता गुरुङले भने ।

मन्त्रिपरिषद्ले स्वीट्जरल्याण्ड सरकारबाट सुरक्षित आप्रवासन (सामी) चौथो चरण कार्यक्रमका लागि प्राप्त हुने स्वीस फ््रयाङ्क ११ दशमलव ३४ मिलियन (करिब रु एक अर्ब ७६ करोड ९७ लाख) अनुदान सहायता स्वीकार गर्ने र आर्थिक ऐन, २०८१ को दफा १८ को उपदफा (२) र उपदफा (३) बमोजिमको भन्सार महसुल छुटसम्बन्धी निर्णय अर्थ मन्त्रालयबाट गर्ने निर्णय पनि गरेको छ ।

प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंंहदरबारमा शुक्रबार भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र भारतका सेनापतिबीच मानार्थ महारथीको आदानप्रदानको मौलिक परम्पराको निरन्तरता भएकामा खुसी व्यक्त गरे । उनले दुई मुलुकबीचको सहकार्य र सम्बन्धलाई थप विस्तार गर्नुपर्नेमा जोड दिए ।

सेनाध्यक्ष द्विवेदीले नेपाली सेनाको मानार्थ सेनापति हुन पाउँदा गर्वको महसुस गर्दै आफूलाई भाग्यमानी ठानेको बताउँदै दुई देशको सम्बन्धलाई थप विस्तारमा आफूले सक्दो भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुङ्गाना, नेपाली सेनाका उपरथी मधुकर कार्कीलगायत सहभागी थिए ।

स्थल सेनाध्यक्ष द्विवेदीले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह ग्रहण गरेका थिए ।

राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न तीन देशका राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।

नवनियुक्त राजदूतहरूले राष्ट्रपति भवनमा शुक्रबार आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

समारोहमा इजराइलका आवासीय राजदूत श्मुलिक एरी बास, स्पेनका गैरआवासीय राजदूत जुआन एन्टोनियो मार्च पुजोल र न्यूजिल्यान्डका गैरआवासीय राजदूत पैट्रिक जोन राटाले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।

उक्त समारोहमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका क्रममा १० वटाभन्दा बढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न निर्देशन दिएको छ । 


उपनिर्वाचनको प्रचारप्रसारका क्रममा आचारसंहिताविपरीतका छिटपुट घटना भएकाप्रति ध्यानाकर्षण भएको जनाउँदै आयोगले झण्डा र प्रचारप्रसारका सामग्री, पर्चा, साइनबोर्डको आकार, साइज, रङ तोकेकोभन्दा फरक नपार्न निर्देशन दिएको हो । प्रचारप्रसार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइनबोर्ड राख्न तथा श्रव्यसामग्री बजाउन र श्रव्यदृश्य सामग्री प्रदर्शन नगर्न पनि आयोगले सूचित गराएको छ । 


आचारसंहिता उल्लङ्घन भए÷गरेमा तत्कालै कारबाही गर्न निर्वाचन अधिकृत वा अनुगमनकर्ता र स्थानीय प्रशासनलाई निर्देशन दिइएको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।


        यही मङ्सिर १६ गते आइतवार हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न यही मङ्सिर २ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन आचारसंहिता लागू भइसकेको छ । उक्त आचारसंहिताको प्रभावकारी कार्यान्वयन लागि आयोगले विभिन्न संयन्त्र परिचालित गरेको छ ।


मतपत्रका नमुना सार्वजनिक
        
आयोगले स्थानीय तह उपनिर्वाचनका लागि आवश्यकपर्ने मतपत्रका नमुना सार्वजनिक गरेको छ । उम्मेदवारको सङ्ख्याका आधारमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्राप्त गरेका निर्वाचन चिन्ह मात्र समावेश गरी मतपत्र तयार गरिएको आयोगका प्रवक्ता पोखरेलले जानकारी दिइन् ।


        स्वीकृत डिजाइनबमोजिम प्रत्येक पदका लागि छुट्टाछुट्टै मतपत्र रहेका छन् । उक्त नमुना मतपत्रका आधारमा राजनीतिक दल तथा उम्मेदवारले प्रचारप्रसार एवं मतदाता शिक्षा अभियान सञ्चालन गर्न सक्ने आयोगले जनाएको छ ।

रूसद्वारा सेनाको बदलामा उत्तर कोरियालाई तेल,एन्टी–एयर मिसाइल र आर्थिक सहयोग प्रदान

सियोल । रूसले उत्तर कोरियालाई युक्रेन विरुद्ध मस्कोको युद्धलाई समर्थन गर्न पठाएको सेनाको बदलामा तेल, एन्टी–एयर मिसाइल का साथै आर्थिक सहयोग प्रदान गरेको सरकारी अधिकारीहरुले शुक्रबार जनाएका छन् ।

अमेरिका र दक्षिण कोरियाले उत्तरकारियाले रूसलाई युक्रेनसँग लड्न दश हजार भन्दा बढी सैनिकहरू पठाएको दावी गरेका छन् भने विज्ञहरूले किम जोङ उन्नत प्रविधि र बदलामा आफ्नो सेनाका लागि युद्धको अनुभव प्राप्त गर्न उत्सुक रहेको बताएका छन् ।

दक्षिण कोरियाका शीर्ष सुरक्षा सल्लाहकार शिन वोन–सिकले उत्तर कोरियाले सेना तैनातीको बदलामा आर्थिक सहयोगका साथै हवाई रक्षा प्रणालीलाई बलियो बनाउन आवाश्यक उपकरण, एन्टी–एयरक्राफ्ट मिसाइलहरू कोरियामा पठाइएको पुष्टि गरेका छन् ।

पछिल्लो आठ महिनामा एक दर्जन भन्दा बढी उत्तर कोरियाली तेल ट्याङ्करहरूले रुसको बन्दरगाहमा रहेको तेल टर्मिनलमा ४३ पटक यात्रा गरेको स्याटेलाइट तस्बिरहरू साभार गर्दै बीबीसीले जनाएको छ ।

बेलायती विदेश सचिव डेभिड लम्मीलाई उदृत गर्दै रिपोर्टले तेल हतियार र मिसायलले मस्को पठाएको सेनाको भुक्तानी लिएको जनाएको छ ।

उत्तर कोरियाली नेता किम र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत जुनमा क्रेमलिन प्रमुखको भ्रमणको क्रममा रणनीतिक साझेदारी सन्धिमा हस्ताक्षर गरेका थिए।

यसले दुवै राज्यलाई अर्कोमाथि आक्रमण भएमा सैन्य सहायता प्रदान गर्न र पश्चिमी प्रतिबन्धहरूको विरोध गर्न अन्तर्राष्ट्रिय सहयोग गर्न बाटो खोलेको थियो ।

विश्लेषकहरूका अनुसार सैनिकहरूको बदलामा रूसले उत्तर कोरियालाई तेल र ग्यास जस्ता अन्य प्राकृतिक स्रोतहरूमा पनि पहुँच दिन सक्छ ।

उत्तर कोरियाली विदेश मन्त्री चो सोन हुईले हालै मस्कोको भ्रमण गरी आफ्नो देश “विजय दिवससम्म रुसी कमरेडहरूसँग दृढतापूर्वक उभिने बताएका थिए।

भारतको छत्तीसगढमा सुरक्षाकर्मीसँगको भिडन्तमा १० बिद्रोहीको मृत्यु

रायपुर । भारतमा लामो समयदेखि चलिरहेको सशस्त्र द्वन्द्वलाई नियन्त्रण गर्ने प्रयासमा भारतीय सुरक्षा बलले शुक्रबार गरेको कारबाहीको क्रममा कम्तीमा दश जना माओवादी विद्रोहीको गोली लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

भारतका सीमान्तकृत आदिवासीहरूको अधिकारका लागि चलिरहेको आन्दोलनमा हाल सम्म दश हजार भन्दा बढी मानिसहरूको मृत्यु भइ सकेको जनाइएको छ भने बिद्रोह छत्तीसगढ राज्यको दुर्गम जङ्गल क्षेत्रमा भएको थियो।

“अहिलेसम्म दश जना माओवादीको शवका साथै विद्रोहीबाट धेरै स्वचालित हतियारहरू बरामद गरेको प्रहरीको माओवादी विरोधी कारबाहीका प्रमुख विवेकानन्द सिन्हालाई उदृत गर्दै एएफपीले जनाएको छ।

यसै विच भारतका गृहमन्त्री अमित शाहले विद्रोहीहरूलाई आत्मसमर्पण गर्न वा “पूर्ण आक्रमण“ को सामना गर्न चेतावनी जारी गरेका छन्।

सरकारी तथ्याङ्क अनुसार सुरक्षा बलले गरेको कारबाहीमा यस वर्ष २०० भन्दा बढी विद्रोहीको मृत्यु भएको छ।

इजरायली निकासी आदेश पछि बेरुतमा आक्रमण

बेरुत (लेबनान) । इजरायलले निकासी आदेश जारी गरेको केही समयपछि हिजबुल्लाह लडाकुहरूको गढ बेरुतको दक्षिणी उपनगरमा आक्रमण गरेको लेबनानी मिडिया र एएफपिटिभी फुटेजले शुक्रबार जनाएका छन् ।

लडाकु विमानहरूले दक्षिण बेरुतमा दुईवटा छापा मारेपछि लेबनानी विश्वविद्यालयको छेउछाउबाट बाक्लो धुवाँ उडिरहेको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ ।

इजरायली सेनाले तिनवटा स्थान खाली गर्न आदेश दिए पछि सामाजिक सञ्जालमा आक्रमणको चेतावनी दिँदै एएफपिटिभीको प्रत्यक्ष फुटेजले यस क्षेत्रको अवस्था देखाएको थियो ।

यस लगतै इजरायली सेनाले विज्ञप्ति मार्फत लडाकू जेटहरूले बेरुतको दक्षिणी उपनगरहरूमा आक्रमणको नयाँ चरण पूरा गरेको जनाएको छ ।

बेरुत र लेबनानको दक्षिण तथा पूर्वका अन्य क्षेत्र पछिको इजरायली आक्रमणमा इजरायलले इरान समर्थित हिजबुल्लाह लडाकुहरूलाई लक्षित गरेको बताएको छ ।

गाजा द्वन्द्वलाई लिएर इजरायल र हेजबोल्लाह बिच ११ महिना भन्दा बढीको सीमापार लडाँइ सेप्टेम्बरमा पूर्ण युद्धमा परिणत भएको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयले बिहीबार इजरायली हमलामा कम्तिमा ५२ जनाको र लेबनानको पूर्वमा करिब ४० को मृत्यु भएको जनाएको छ ।

इजरायली सेनाले शुक्रबार तटीय सहर टायर र नजिकैको बुर्ज अल–शेमाली प्यालेस्टिनी शरणार्थी शिविरका केही भागहरूका लागि निकासी चेतावनी पनि जारी गरेको थियो ।

इजरायल हिजबोल्लाह युद्धको अन्त्यका लागि मध्यस्थता गर्न अमेरिकी दूत अमोस होचस्टेनले बुधबार बेरुतको भ्रमण समाप्त गरेपछि लेबनानमा आक्रमणको गति बढेको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयले बिहीबार सन् २०२३ अक्टोबर देखिको हिंसामा कम्तीमा तीन हजार ५८३ जनाको मृत्यु भएको जनाएको जस मध्ये अधिकांश मृत्यु यस वर्षको सेप्टेम्बर देखि भएको हो ।

एआईजीद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षकद्वय बुद्धिराज गुरूङ र केदार ढकाललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

मन्त्रिपरिषद्को मङ्सिर ६ गतेको निर्णयअनुसार प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका गुरुङ र ढकाललाई शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

प्रहरी महानिरीक्षक कुँवरले सङ्गठनको हितको लागि सकल दर्जाको सामूहिक प्रतिबद्धता आवश्यक रहेको उल्लेख गर्दै आ–आफ्नो जिम्मेवारी र भूमिकामा सदैव क्रियाशील, चिन्तनशील र दृढ सङ्कल्पित रहन निर्देशन दिए ।

समाजमा कानुनी शासनको प्रयात्याभूति दिलाउनु प्रहरीको प्रमुख उद्देश्य रहेको चर्चा गर्दै उनले मानदारी र पारदर्शीताका साथ कार्य सम्पादन गरी नागरिकसँगको सम्बन्ध अझ बलियो बनाउँदै जानुपर्नेमा जोड दिए ।

स्वास्थ्य सेवा ऐन ल्याउने सरकारको तयारी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तीनै तहमा समायोजन भएका स्वास्थ्य सेवाका कर्मचारीको समस्या सम्बोधन गर्ने उद्देश्यकासाथ स्वास्थ्य सेवा ऐन ल्याउने तयारी गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीयताअनुरुपको स्वास्थ्य सेवा ऐन अघि बढाउन सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । हालसम्म नेपाल स्वास्थ्य सेवा ऐन २०५३ नै अस्तित्वमा रहेकामा यसले सङ्घीयताअनुरुप कर्मचारीको व्यवस्थापन गर्न नसकेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले ऐन ल्याउनका लागि प्रक्रिया अघि बढाउने उद्देश्यका साथ मन्त्रिपरिषद बैठकमा प्रस्ताव लागेका थिए ।

सङ्घीयताअनुरूपको नयाँ ऐन नआउँदा समायोजन भएका कर्मचारीको वृत्ति विकासमा समस्या देखिएको छ । मन्त्रालयले तीनै तहका कर्मचारीबीच अन्तरसम्बन्ध कायम गर्ने तथा स्वास्थ्य सेवामा रहने पदबारे आवश्यक व्यवस्था गर्ने गरी नयाँ ऐनको प्रस्ताव गर्नेछ ।

अब मन्त्रालयले ऐनको मस्यौदा तयार पारेर संसद्मा लैजानुअघि मन्त्रिपरिषद्मा पुनः स्वीकृतिका लागि लैजानेछ । ऐन कार्यान्वयनमा आए सङ्घीय स्वास्थ्य सेवामा रहेका २८ हजारका कर्मचारी तथा विभिन्न तहमा समायोजनमा रहेका गरी कूल ५८ हजार बढी स्वास्थ्य कर्मचारी लाभान्वित हुनेछन् । 

अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैनः प्रधानमन्त्री ओली

काठमाडौँ ।  प्रधानमन्त्री  केपी शर्मा ओलीले कानुन विपरीत काम र अपराध गर्नेलाई सरकारले नछाड्ने स्पष्ट पारेका छन् । 


नेकपा (एमाले) काठमाडौँ उपत्यकाका तीन जिल्ला कमिटीले शुक्रबार दरबारमार्गमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्थिरता र सुशासनका लागि सोच, विचार गरेरै एमाले र नेपाली कांग्रेस मिलेर सरकार बनाएकाले सरकार त्यस्ता गलत कार्यलाई नियन्त्रण गर्न सक्षम रहेको बताए ।


आफूहरुविरुद्ध अनेक हल्ला चलाइए पनि एमाले भ्रमको पछि नदौड्ने उल्लेख गर्दै प्रधानमन्त्रीले कागले कान लग्यो भन्दैमा आकाशतर्फ हेरेर कागका पछिपछि दौडन आवश्यक नरहेको बताए । 


‘आफैँ सहकारी ठगी गर्ने अनि अरूलाई दोष लगाउने, मुख छाड्ने, गाली गर्ने जस्ता काम भएका छन् । यस्ता कुनै पनि प्रकारका ठगी सैह्य हुँदैन । नेपाली जनता आफ्नो संस्कृतिको इतिहास र गौरवलाई कायम गर्दै ‘समृद्ध नेपाल सुखी नेपाली’को सङ्कल्पलाई पूूरा गर्न अघि बढ्नेछन् । नेपाली जनता भ्रममा पर्दैनन्’, प्रधानमन्त्री ओलीले भने, “अलोकतान्त्रिक बाटोबाट अराजकता सिर्जना गरेर समाजलाई भाँड्न खोज्नेहरुले सार्वभौम जनताको भविष्यलाई सङ्कटमा पार्ने प्रयास गरिरहेका छन् । यसमा हामी सचेत रहनुुपर्छ । हाम्रा लागि देश र जनता प्रमुख कुरा हुन् । त्यसमा हामी दृढ तथा एकताबद्ध भएर लाग्नुुपर्छ ।’


प्रधानमन्त्री ओलीले आफ्ना सन्तानलाई अकुत सम्पत्ति थुपारेर अर्बौँ रुपैयाँका मालिक बनेकाहरूले आफ्नाविरुद्ध आरोप लगाउँदै हिँडेका स्पष्ट पार्दै आफूमाथि भ्रष्टाचारको औँला ठड्याउनेलाई बहसमा आउन चुनौती दिए।


अहिलेको समीकरण र सरकारलाई कसैले हल्लाउन नसक्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकार समाज र समुदायबीच अनेक खालका विद्वेष फैलाउने कार्यलाई निरत्साहित गर्न लाग्ने बताए ।


बैंकको ऋण तिर्नुपर्दैन भन्नेहरुले देशको अर्थतन्त्रलाई ध्वस्त बनाउने उल्लेख गर्दै उनले उद्योगबाट बिलबमोजिम बक्यौता नउठाउने तर बिजुलीको लाइन काट्ने काम पनि देशको अर्थतन्त्र ध्वस्त पार्न खोज्ने शक्तिले गरेको दाबी गरे ।

विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छः प्रचण्ड

मुग्लिन ।  नेकपा  (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  विभाजन भएका माओवादी पार्टीहरु एकताको प्रक्रियामा रहेको बताएका छन् ।

चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा शुक्रबार पार्टी कार्यर्ताहरुसँगको भेटमा अध्यक्ष दाहालले विभाजनको शृङ्खला रोकिएको र एकताको प्रक्रिया सुरु भएको बताए ।

अध्यक्ष दाहालले भने, “अब मिल्नुको विकल्प छैन, विभाजनको  शृङ्खला रोकिएको छ, सबै माओवादी एकताको प्रक्रियामा छन् ।” देशको विकास तथा निकासका लागि पूर्ण समानुपातिक र प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली आवश्यक रहेको उनको भनाइ थियो । 

अध्यक्ष दाहालले भने, “हामीले पूर्ण समानुपातिक र प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली भनिरहेका छौँ, अहिले विस्तारै सबै पार्टीका बुद्धिजीवी पनि यो कुरा ठिकै हो भन्न थालेका छन् ।” अहिलेको  निर्वाचन प्रणालीले  राजनीतिक भ्रष्टाचार बढाउने उनको भनाइ थियो । 

कार्यकर्तालाई पार्टीले गरेका सम्पूर्ण राम्रा कामबारे जनतासामु प्रष्ट पार्न अध्यक्ष दाहालले निर्देशन दिए ।