`

विश्वकै दुर्लभ ह्वेलको अनुसन्धानमा न्युजिल्यान्डका वैज्ञानिक

वेलिङ्गटन । न्युजिल्यान्डका वैज्ञानिकहरूले सोमबारदेखि विश्वकै दुर्लभ मानिएको ह्वेलको विश्लेषण सुरु गरेका छन् । न्युजिल्यान्डको साउथ आइल्याण्डमा यसै वर्षको सुरुमा मृत भेटिएको कोदालीपाते दाँत भएको र चुच्चो मुख भएको समुद्रको गहिराइमा बस्ने स्तनपायी जनावर ह्वेलको अध्ययन गर्ने मौका मिलेको हो ।

पाँच मिटर (१६.४ फिट) लामो उक्त ह्वेललाई जुलाईमा समुद्र किनारबाट निकालिएको थियो र त्यसपछि उसलाई विशेष ‘फ्रिजर’मा राखिएको थियो ।

ह्वेल विशेषज्ञ एन्टोन भ्यान हेल्डेनका अनुसार वैज्ञानिकहरूले पहिलो पटक कोदालीपाते दाँत भएको ह्वेलको नमूनाको विश्लेषण गर्ने अवसर मिलेको हो । “यो एक उल्लेखनीय र विश्वव्यापी रूपमा महत्त्वपूर्ण अवसर हो,” उनले भने ।

सप्ताहव्यापी विच्छेदनले ह्वेलको व्यवहार, यसको आहार र यसको आधारभूत शरीर रचनाको बारेमा अहिलेसम्म प्राप्त गर्न नसकिएका जानकारी लिन मद्दत गर्नेछ ।

भ्यान हेल्डेनले भने, “चुच्चे ह्वेल संसारमा पाइने ठूला स्तनधारीहरूको सबैभन्दा रहस्यमय ह्वेल प्रजाती हो ।

उनले भने, “तिनीहरू गहिरो स्थानमा रहने ‘गोताखोर’ हरू हुन् जसलाई समुद्रमा विरलै देखिन्छ र यी समुद्री जनावरहरूको अनुसन्धानको लागि कमै अवसरहरू मिल्ने गर्छ ।”

“संसारको कुनै पनि ठाउँबाट ज्ञात सातौं नमूना मानिएको यो दुर्लभमध्ये सबैभन्दा दुर्लभ जन्तु हो र हामीले यसको चिरफार गरी अध्ययन गर्ने दुर्लभ अवसर पाएका छौँ।”

न्युजिल्याण्डको संरक्षण विभागले कोदालीपाते दाँत भएको ह्वेल ‘विश्वकै दुर्लभ ह्वेल’ भएको बताएको छ। सन् १८७४ मा न्युजिल्यान्डको पूर्वी तटमा रहेको चाथम टापुबाट सङ्कलन गरिएको तल्लो बङ्गारा र दुईवटा दाँतबाट यो प्रजातिको वर्णन गरिएको थियो।

उक्त नमूना र न्युजिल्यान्ड र चिलीमा भेटिएका अन्य दुई नमूनाका कंकालका अवशेषले वैज्ञानिकहरूलाई नयाँ प्रजाति पुष्टि गर्न आधार दिएको थियो ।

यति कम नमूनाहरू फेला परेका छन् र त्यहाँ कुनै जीवित दृश्यहरू छैनन्, कोदालो–दाँतेदार व्हेललाई न्यूजील्याण्ड थ्रेट वर्गीकरण प्रणाली अन्तर्गत तथ्याङ्क कम भएको जनावरको रूपमा वर्गीकृत गरिएको छ।

आगलागीबाट महोत्तरीमा एक करोड भन्दाबढीको क्षति

महोत्तरी । विद्युत् सट भई आगलागी हुँदा यहाँको बर्दिबास नगरपालिका–१४ मा एक करोड बढीको क्षति भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय महोत्तरीका अनुसार बर्दिबास–जलेश्वर सडकको औरहीरोडस्थित न्यू दुर्गा इलेक्ट्रिक सप्लायर्स पसलमा गएराति आगलागी हुँदा विद्युतीय सामान जलेको थियो ।

रामसेवक महतोको तीनतले घरको भूइँतलाका १३ वटा सटरमध्ये छ वटामा राखिएका सामान आगलागीबाट जलेका छन् । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१३ का सहाजिस नदाफले घर भाडामा लिइ विद्युतीय सामानको पसल सञ्चालन गर्दै आएका थिए ।

स्थानीय, सेना र प्रहरीका साथै रामगोपालपुर नगरपालिकासहितको चारवटा दमकल प्रयोग गरी आगो निभाइएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु प्रकरणमा दुईजना पक्राउ

सिरहा ।  स्कोरपियोको ठक्करबाट सिरहामा सशस्त्र प्रहरी नायब निरीक्षक (सई) को मृत्यु प्रकरणमा दुई जनालाई पक्राउ गरिएको छ । अनुसन्धानका क्रममा सोधपुछका लागि दुई जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई आइतबार नियन्त्रणमा लिई आवश्यक बयान लिने काम भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए। घट्नामा प्रयोग भएको गाडी र सङ्लग्न व्यक्तिको पनि पहिचान भइसकेको पनि प्रहरी उपरीक्षक पण्डितले बताए।

नम्बर नखुलेको स्कोरपियोको ठक्करबाट नेपाल–भारत सीमा नजिकै बडियारपट्टी–१ कचनारीको भित्री सडकमा गस्तीमा रहेका सशस्त्र प्रहरी नायब निरीक्षक ४८ वर्षीय लक्ष्मणप्रसाद यादवको आइतबार बिहान मृत्यु भएको थियो । ठक्कर दिएर उक्त स्कोरपियो भारततर्फ फरार भएको थियो ।

मृतक यादवको लहानस्थित प्रादेशिक अस्पतालमा शव परीक्षण गरी आइतबार साँझ नरहा गाउँपालिका ४ स्थित घरमा ल्याएर अन्त्येष्टि गरिएको थियो ।

नेपालमा लगानी गर्न उद्योगमन्त्री भण्डारीद्वारा विदेशी लगानीकर्तालाई आह्वान

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विदेशी लगानीकर्ताले ५० करोड रुपैयाँसम्म लगानी गर्न विदेशबाट आवेदन दिन सकिने बताएका छन् ।

भारतको वाणिज्य तथा उद्योग मन्त्रालय र भारतीय उद्योग परिसङ्घको आयोजनामा भारतको राजधानी नयाँ दिल्लीमा सोमबारदेखि सुरु भएको दुईदिने २९औँ साझेदारी शिखर सम्मेलनको पूर्ण सत्रमा मन्त्री भण्डारीले विदेशी लगानीकर्ताहरूले अनलाइन प्रणालीमार्फत स्वतः पूर्वस्वीकृति प्राप्त गर्ने जानकारी दिए ।

त्यसैगरी, एफडिआईको थ्रेसहोल्ड पाँच करोड रुपैयाँबाट घटाएर दुई करोड रुपैयाँमा पुर्याइएको र सूचना प्रविधि क्षेत्रमा लगानीको थ्रेसहोल्ड नभएको सो अवसरमा मन्त्री भण्डारीले सम्मेलनमा जानकारी दिए ।

उनले भने, ‘हामीले नेपालमा व्यापार गर्न नीतिगत र कानुनी पक्षमा सुधार गर्न ध्यान केन्द्रित गरेका छौँ, लगानीकर्तालाई दर्ता र सुविधा उपलब्ध गराउन १४ एजेन्सीलाई एउटै छानामुनि ल्याएर वन स्टप सर्भिस सेन्टर (ओएसएससी) स्थापना गरिएको छ ।’

मन्त्री भण्डारीले नेपालमा लगानी गर्ने विदेशी लगानीकर्ताहरूले आफ्नो लगानीको नाफा र पुँजीको ‘ग्यारेन्टी’सहित उच्च दरमा प्रतिफल प्राप्त गरिरहेका बताए । उनले भने, ‘बहुपक्षीय, क्षेत्रीय र द्विपक्षीय व्यापार सम्झौतामा हाम्रा प्रतिबद्धताले नेपाललाई अन्तर्राष्ट्रिय व्यापारका लागि सबैभन्दा उदार र खुला बजार बनाएको छ ।’

नेपालमा नवप्रवर्तन, उद्यमशीलता र लगानीलाई प्रवद्र्धन गर्न सक्षम व्यापारिक वातावरण सिर्जना गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले भने, ‘नियामक ढाँचालाई थप सुधार गर्न हाम्रा साझेदारहरूबाट प्रतिक्रिया र सुझावका लागि हामी खुला छौँ ।’

मन्त्री भण्डारीले शिखर सम्मेलनमा भएको छलफल र विचार विमर्शले दिगो विकास, नवप्रवर्तन, प्रविधि हस्तान्तरण र समृद्धिलाई अगाडि बढाउन अर्थपूर्ण साझेदारीका लागि मार्ग प्रशस्त गर्नेमा विश्वास व्यक्त गरे । उनले भने, ‘आर्थिक समृद्धिका हाम्रा साझा लक्ष्यलाई साकार पार्न पुँजी, नयाँ प्रविधि र विशेषज्ञता ल्याई हामीसँग साझेदार हुन सम्भावित क्षेत्रमा अन्वेषण गर्न म विश्वभरका व्यवसाय र लगानीकर्तालाई आमन्त्रित गर्दछु ।’

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय नारासहित नेपालले पर्यटन, जलविद्युत्, कृषि, औषधि र सुगन्धित वनस्पति, सूचना प्रविधि तथा उत्पादन जस्ता क्षेत्रमा लगानीका प्रशस्त अवसर प्रदान गरेको सो सम्मेलनमा मन्त्री भण्डारीले बताए । उनले भने, ‘अहिले हामी द्विपक्षीय र त्रिपक्षीय व्यवस्थाका साथ हाम्रा छिमेकी मुलुक भारत र बङ्गलादेशमा विद्युत् निर्यात गर्ने अवस्थामा छौँ ।’

साथै मन्त्री भण्डारीले नेपालले भारतसँगको आफ्नो बलियो र ऐतिहासिक सम्बन्धलाई महत्व दिएको उल्लेख गर्दै दुई देशको साझा इतिहास, सांस्कृतिक सम्बन्ध र आर्थिक अन्तर–निर्भरतामा यो सम्बन्धको जरा गहिरो रुपमा गाडिएको बताए । नेपालमा पर्यटन र प्रत्यक्ष वैदेशिक लगानीका हिसाबले भारत सबैभन्दा ठूलो स्रोत देश रहेको उनले उल्लेख गरे । सम्बोधन गर्नु पूर्वभारतीय समकक्षी पियुष गोयलले मन्त्री भण्डारीको स्वागत गरेका थिए ।

कोशीमा पालिका सभापतिहरुको भेलालाई लिएर कांग्रेसमा फेरि विवाद

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइराला पक्षले कोशी प्रदेशका पालिका सभापतिहरूको भेला आयोजना गर्ने तयारी गरेको भन्दै केन्द्रले कुनै भेला नभएको भन्दै परिपत्र गरेको छ ।

कोशी प्रदेशका १४ वटै जिल्ला सभापतिहरूलाई केन्द्रीय कार्यालयले परिपत्र गर्दै मंसिर २२ गतेको प्रदेश सम्मेलनबाहेक त्यसअघि अन्य कुनै भेला नभएको बताएको हो ।

परिपत्रमा भनिएको छ, ‘मसिर २२ पूर्व–कोशी प्रदेश स्तरीय पालिका सभापतिहरूको भेला भनि प्रचारित कार्यक्रममा सहभागी हुनुपर्ने–नपर्ने स्पष्टताका लागि जिल्लाहरूबाट केन्द्रमा सम्पर्क गरिएकाले, मंसिर २२ मा हुने सम्मेलन पूर्वप्रदेश स्तरीय पार्टीको कुनै पनि कार्यक्रम नरहेको जानकारी यस सम्बन्धमा प्रदेश अन्तर्गत रहेका सम्पूर्ण पालिकाहरूलाई आवश्यक जानकारी गराई दिन हुन समेत निर्देशानुसार अनुरोध छ।’

कांग्रेस प्रदेश समितिका सभापति संस्थापन पक्षमा रहेका नेता कृष्णप्रसाद सिटौला निकट उद्धव थापा छन् । थापा नेतृत्वको प्रदेश समितिले मंसिर २२ गते प्रदेश सम्मेलन गर्ने तय गरेको छ । तर त्यसअघि कोइराला पक्षले भने मंसिर १८ र १९ गते विराटनगरमा पालिका सभापतिहरूको भेला राखेको भन्दै पत्रकार सम्मेलन गरेको थियो ।

कुवेतको विमानस्थलमा फसेका ६० जना भारतीयको उद्धार

कुवेत । कुवेतमा गल्फ एयरको उडानमा फसेका यात्रुहरू कुवेतबाट सोमबार उद्धार गरेको कुवेतस्थित भारतीय दूतावासले विज्ञप्तिमार्फत जनाएको छ । दूतावासको टोली उद्धार उडान नभएसम्म मैदानमै रहेको विज्ञप्तिमा उल्लेख छ ।

सामाजिक सञ्जाल एक्समा गरिएको पोस्टमा ‘म्यानचेस्टरका लागि गल्फ एयरको उडान अन्ततः सोमबार बिहान ४ः३४ बजे भारतीय यात्रुहरूसहित प्रस्थान गरेको जनाइएको छ ।’

प्राविधिक समस्याका कारण गल्फ एयरको उडानलाई कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा फर्काइएपछि आइतबार भारतीय यात्रु १३ घण्टाभन्दा बढी समय कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा फसेका थिए ।

मुम्बईबाट म्यानचेस्टरका लागि गल्फ एयरको उडानमा यात्रा गरिरहेका यात्रुहरूले लामो पर्खाइको समयमा खाना, आवास वा आधारभूत सहायता नपाएको गुनासो गरेका छन् ।

यद्यपि, भारतीय दूतावासले ‘लाउन्ज’मा फसेका यात्रुहरूका लागि खाना र पानी उपलब्ध गराएको जनाएको छ भने दूतावासका अधिकारीहरूले यात्रुहरूलाई दुई वटा विमानस्थलको लाउन्जमा राखिएको बताएका छन् ।

बङ्गलादेशमा सौर्य ऊर्जा संयन्त्र निर्माणका लागि एडीबी र एमएसईएलबीच सम्झौता

मनिला । एसियाली विकास बैंक एडिबीले सोमबार बंगलादेशमा ग्रिड जडान गरिएको ‘सौर्य फोटोभोल्टिक पावर प्लान्ट’ स्थापना गर्न मुक्तागाचा सोलारटेक एनर्जी लिमिटेड (एमएसइएल)सँग २४.३ मिलियन अमेरिकी डलरको वित्तीय प्याकेजमा हस्ताक्षर गरेको छ ।

बंगलादेशस्थित ऊर्जा कम्पनी जुल्स पावर लिमिटेडको स्वामित्वमा रहेको एमएसइएलका लागि वित्तीय प्याकेजको व्यवस्था गरिएको एडिबीले जनाएको छ ।

परियोजनाले २० मेगावाट ग्रिडजडित सौर फोटोभोल्टिक पावर प्लान्ट निर्माण र सञ्चालन गर्नेछ भने वार्षिक ३७.९ गिगावाट–घण्टा बिजुली उत्पादन गर्ने गरी वार्षिक १८ हजार ३४४ टन कार्बनडाइअक्साइड उत्सर्जनबाट जोगाउने जनाइएको छ ।

परियोजनाको उद्देश्य बंगलादेशमा प्रगति र दिगो ऊर्जा समाधानहरू अगाडि बढाउनु हो । दीर्घकालीन वित्तपोषणले नवीकरणीय ऊर्जा विकासमा निजी क्षेत्रको संलग्नता प्रवर्द्धन गरी नवीकरणीय परियोजनाको पुँजी आवश्यकता सम्बोधन गर्ने निजी क्षेत्र सञ्चालनका लागि एडिबीका महानिर्देशक सुजैन गाबोरीले बताएका छन् ।

सुदूरपश्चिमको समृद्धिसँग जोडिएको सेती लोकमार्ग निर्माण सुस्त

अछाम । नेपाल सरकारको प्राथमिक योजना हो, सेती लोकमार्ग । सुदूरपश्चिमको समृद्धिसँग जोडिएको यो लोकमार्ग आर्थिक वर्ष २०६५/६६ बाट निर्माण सुरु गरिएको थियो । सुदूरपश्चिम प्रदेशको विकासमा फट्को मार्ने अपेक्षा गरिएको उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरव आयोजनाको निर्माण भने सुस्त गतिमा भइरहेको छ ।

भारतसँग जोडिएको कैलालीको टीकापुरस्थित तीकुने नाका हुँदै बौनियाबाट डोटी, अछाम, बाजुरा, बझाङको चैनपुर हुँदै यो सडक तिब्बतको ताक्लाकोटसम्म जोडिने लक्ष्य रहेको छ । नेपाल–भारत–चीन जोड्ने बहुउपयोगी यो सडक निर्माण गर्न दक्षिणखण्ड र उत्तरीखण्ड गरी दुई भागमा विभाजन गरिएको छ ।

लोकमार्गको दक्षिणखण्डअन्तर्गत अछाम तर्फको ८० किलोमिटर, बाजुरा १२ किमी, डोटी ४० किमी र कैलालीको ७२ किमीसहित दुई सय चार किमी सडक खण्ड पर्दछ ।

जसमध्ये अछाममा ५७ किमी र कैलालीमा ७० किमीसहित एक सय २७ किमी ट्र्याक खोलिएको आयोजनाले जनाएको छ । अछामखण्डको २३ र कैलालीको दुई किमी, डोटीको ४० र बाजुराको १२ किमी ट्रयाक खोल्न बाँकी रहेको छ ।

सडक विभागले बजेट सुनिश्चितता नगर्दा र दक्षिणीतर्फको डोटी खण्डको ४० किमी ट्रयाक खोल्न रूख कटानको आदेश नआउँदा निर्माणको काम अवरुद्ध भएको थियो । हालै मन्त्रिपरिषद्बाट रुख कटानको आदेश आएपछि चालु आर्थिक वर्षमा काम अगाडि बढाइने सेती लोकमार्ग (दक्षिण खण्ड) टीकापुर–लोडे–चैनपुर सडक योजना कार्यालय साँफेबगरका प्रमुख वीरेन्द्रबहादुर चन्दले जानकारी दिए ।

यस लोकमार्गमा आवश्यक केही प्रस्तावित पक्की पुलमध्ये कैलालीतर्फ एउटा पुलको निर्माण सम्पन्न भएको छ भने दुई वटा पुल निर्माणाधीन अवस्थामा छन् । त्यस्तै अछामतर्फ एउटा पुलको निर्माण सम्पन्न भएको छ भने थप एउटा पुल बोलपत्र प्रक्रियामा छ । उत्तरीखण्डअन्तर्गत बझाङ जिल्लामा एक सय २८ किलोमिटर सडक पर्दछ ।

कैलाली खण्डमा १४ किमी सडक कालोपत्रका लागि ठेक्का भइसकेको छ भने अछाम खण्डमा तीन किलोमिटर कालोपत्र भइसकेको छ । यस लोकमार्गको कुल लम्बाइ तीन सय ५९ किमी रहेको छ । चालु आर्थिक वर्षका लागि उत्तरी र दक्षिणीखण्डमा गरी रु ७० करोड बजेट विनियोजन गरिएको छ ।

लोकमार्गको १४४ किलोमिटर पहिलो पटक पैदलयात्रा

सुदूरपश्चिमको गौरव आयोजनाका रूपमा रहेको लोकमार्गको एक टोलीले पहिलोपटक पैदलयात्रा गरेर अवलोकन गरेको छ । सडक योजना कार्यालय साँफेबगरका प्रमुख वीरेन्द्रबहादुर चन्दको टोलीले हालै साँफेबगरदेखि कैलालीसम्मको एक सय ४४ किमी यात्रा गरेर सडकखण्डको वस्तुस्थित बुझेको हो । यो दूरी पार गर्न प्राविधिक टोलीले छ दिन लगाएको थियो । पहिलोपटक स्थलगत अवलोकन गरी दक्षिणखण्ड भित्रपर्ने सडक र पुलको अवस्थाबारे जानकारी लिइएको उनले बताए ।

सेती लोकमार्ग निर्माण भए सुदूरपश्चिम प्रदेशको विकासमा टेवा पुग्नेछ । यहाँको पर्यटकीय क्षेत्रमा पनि उल्लेखनीय टेवा पुग्नेछ । यसले नेपालको चार धाममध्येको वैद्यनाथ धाम क्षेत्र, खप्तडलगायत क्षेत्रको प्रवर्द्धन तथा सहज पहुंँचमा सहयोग हुनेछ । यस्तै, भारतबाट मानसरोवर क्षेत्र जाने तीर्थयात्रीहरूलाई पनि सहज हुनेछ ।

एनपीएलमा चितवन राइनोजद्वारा काठमाडौँ गुर्खाज पराजित

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा चितवन राइनोजले काठमाडौँ गुर्खाजलाई  पाँच विकेटले पराजित गरेको छ ।  

काठमाडौँ गुर्खाजले जितका लागि प्रस्तुत गरेको एक सय १२ रनको लक्ष्य चितवन राइनोजले १७ दशमलव एक ओभरमा पाँच विकेट गुमाएर पूरा ग¥यो । चितवनका लागि सन्तोष कार्कीले सर्वाधिक २८ रन बनाए ।

उनले ३१ बल खेल्ने क्रममा   दुई चौका र एक छक्का प्रहार गरे । यस्तै लुक बेन्केनस्टाइनले २२, हसन इशाखिलले १२, कप्तान कुशल मल्लले ११ र रवि बोपराले ११ तथा शरद भेषवाकरले अविजित ११ रन बनाए । 

बलिङतर्फ काठमाडौँ गुर्खाजका लागि शाहब आलमले तीन तथा गेहार्ड इरास्मस र डान डाउथवेटले एक एक विकेट लिए । 

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको काठमाडौँले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाउँदै एक सय ११ रन बनायो । काठमाडौँका लागि सुमित महर्जनले ४१ बल खेल्दै एक चौकाको सहयोगमा सर्वाधिक २९ रन जोडे । त्यस्तै माइकल लेभिटले १६ बलमा चार चौका र एक छक्का हान्दै २५ रन बनाए । डान डाउथवेटले अविजित १९ र शङ्कर रानाले १६ रन बनाए । 

बलिङतर्फ चितवन राइनोजका लागि सोहेल तन्भिर एक्लैले पाँच विकेट लिए । उनले चार ओभर बलिङ गर्दै २१ रन खर्चिए । यस्तै रिजन ढकाल, अमरसिंह राउटेला, कुशल मल्ल र लुक बेन्केनस्टाइनले एक एक विकेट लिए । 

केहीबेरमा अर्को खेल जनकपुर वोल्ट्स र कर्णाली याक्सबीच सुरु हुँदै छ ।  

जन्तीको स्वागतका लागि फूलमालाले यसरी सजाइयो मटिहानीस्थित लक्ष्मीनारायण मन्दिर

भारतको अयोध्याबाट विवाह पञ्चमीका लागि आज आउने जन्तीको स्वागतका लागि फूलमालाले सजाइएको महोत्तरीको मटिहानीमा रहेको प्रसिद्ध लक्ष्मीनारायण मन्दिर (मठ) ।

तस्बिर सौजन्यः मो.इसराफिल ऐबुल

तोलामा १२ सयले घट्यो सुनको मूल्य

काठमाडौँ । सोमबार सुनको मूल्य प्रतितोला एक हजार दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला एक लाख ५० हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य सोमबार घटेर प्रतितोला एक लाख ४९ हजार तीन सय रुपैयाँ कायम भएको छ ।

नेपाली बजारमा आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला २५ रुपैयाँले घटेर एक हजार आठ सय १५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

प्रधानमन्त्री ओली चीन प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमणका लागि बेइजिङ प्रस्थान गरेका छन् । 

चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा छिमेकी मित्रराष्ट्र चीनको औपचारिक भ्रमणका लागि सोमबार प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गरेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकले बिदाइ गरे । 

यसैगरी, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाल सरकारका उच्च पदस्थ अधिकृत तथा सुरक्षा निकायका प्रमुखहरुसमेत प्रधानमन्त्री ओलीको बिदाइका लागि विमानस्थल पुगेका थिए । प्रधानमन्त्री ओलीलाई यसअघि नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।  

  बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उनले आफ्ना चिनियाँ समकक्षी लीसँगको भेटमा द्विपक्षीय हितका विविध विषयमा विचार विमर्श गर्नेछन् । प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समिति अध्यक्ष झाओ लेजीले भेट गर्ने कार्यतालिका छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा आयोजित कार्यक्रम तथा बेइजिङस्थित नेपाली दूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, सांसदहरू, विशिष्ट श्रेणीका सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मीलगायत छन् ।

  प्रधानमन्त्री ओली चीनको भ्रमण पूरा गरी यही मङ्सिर २० गते स्वदेश फर्कने कार्यतालिका छ ।

बाइडनद्वारा फौजदारी मुद्दा खेपिरहेका आफ्ना छोरालाई क्षमादान

बीबीसी । अमेरिकी राष्ट्रपति जो बाइडनले दुईवटा फौजदारी मुद्दामा सजाय खेपिरहेका आफ्ना छोरा हन्टरलाई औपचारिक क्षमादान दिएका छन् ।

एक विज्ञप्तिमा राष्ट्रपतिले आफ्ना छोरालाई ‘एक्ल्याइएको’ भन्दै बाइडनले उनका मुद्दालाई ‘न्यायको एक गर्भपात’ भन्ने संज्ञा दिएका छन् । उनले भने,’मैले कार्यालय सम्हालेको दिनदेखि मैले न्याय मन्त्रालयको निर्णय प्रक्रियामा दखल पुर्याउँदिनँ भनेको थिएँ र मेरो छोराको अलग्गै रूपमा र अनुचित रूपमा अभियोजन भइरहँदासमेत मैले आफ्नो वचन कायम राखेँ ।’

राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले यस क्षमादानलाई न्यायको दुरूपयोग र गर्भपात बताए । हन्टर बाइडन सेप्टेम्बरको सुरुमा कर मामिलामा दोषी ठहरिएका थिए। त्यसैगरी जून महिनामा उनी गैरकानुनी रूपमा बन्दुक किनेको र आफ्नो लागूऔषध प्रयोगबारे झुटो बोलेकोमा दोषी ठहरिएका थिए ।

त्यससँगै उनी अपराधमा दोषी ठहरिने पहिलो बहालवाला राष्ट्रपतिका सन्तान बनेका थिए । राष्ट्रपतिले यसअघि आफ्नो छोरालाई क्षमादान नदिने बताए पनि अहिले पूर्ण र निसर्त क्षमादान जारी गरेका हुन् ।

गत सेप्टेम्बरमा मात्र ह्वाइटहाउसका प्रेस सेक्रेटरीले बाइडनले आफ्ना छोरालाई क्षमादान नदिने जनाएका थिए । तर आइतबार साँझ बाइडनले आफूले न्याय प्रणालीमा विश्वास गर्दा गर्दै पनि ‘राजनीतिले यस प्रक्रियालाई सङ्क्रमित पारिदिएको र त्यसले न्यायको गर्भपात गराएको’ बताए ।

त्यसको प्रतिक्रियामा जारी गरिएको विज्ञप्तिमा हन्टर बाइडनले दुर्व्यसनीका आफ्ना अँध्यारा दिनमा आफूले गरेको गल्तीलाई राजनीतिक खेलमा आफ्नो परिवारलाई ‘सार्वजनिक रूपमा शोषण र अपमानित’ गर्न प्रयोग गरिएको जनाएका छन् ।

उनले भने, ‘मलाई आजको दिन दिइएको क्षमादानलाई मैले कहिल्यै हलुका रूपमा लिनेछैन र अझै बिरामी र पीडामा रहेकालाई सहयोग गर्नमा मैले पुनर्स्थापित गरेको जीवन समर्पित गर्नेछु ।’

सेप्टेम्बरमा हन्टर सङ्घीय कर अपचलनमा दोषी ठहर भएका थिए, त्यसको सजाय तोक्न बाँकी छ त्यसमा उनलाई १७ वर्ष सम्मको जेल सजाय हुन सक्ने बताइन्छ । जून महिनामा बन्दुक खरिदसम्बन्धी अर्को अभियोगमा उनलाई २५ वर्षसम्मको सजाय हुन सक्ने बताइएको थियो । ती मुद्दामा सजाय तोक्ने दिन १२ र १६ डिसेम्बरमा तय गरिएको थियो ।

नलगाड नगरपालिकाको उपमेयरमा माओवादी केन्द्रकी देवका लामिछाने निर्वाचित

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिकाको उपमेयरमा माओवादी केन्द्रकी उम्मेदवार विजयी भएकी छन् । माओवादीकी देवका लामिछाने ४ हजार दुई सय ७२ मत ल्याउँदै निर्वाचित भएकी हुन् ।

उनले कांग्रेसकी इन्द्रा चन्द सिंहलाई हराएकी हुन् । कांग्रेसकी सिंहले तीन हजार एक सय ४७ मत प्राप्त गरिन् । २०७९ मा भएको निर्वाचनमा नलगाडको उपमेयर नेपाली कांग्रेसले जितेको थियो । यसअघि कांग्रेसबाट निर्वाचित उपाध्यक्ष सरिता सिंहको १७ कात्तिक २०७९ को भूकम्पमा परी मृत्यु भएपछि यहाँ उपनिर्वाचन भएको हो ।

ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादी उम्मेदवार विजयी

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार नमो नारायण माझी निर्वाचित भएका छन् ।

आइतबार भएको मतदानमा उनी ६ हजार ९ सय ६९ मतसहित निर्वाचित भएका निर्वाचन आयोगले जनाएको छ । उनका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार बलराम सरदार थारूले ५ हजार ३ सय ३३ मत ल्याएका छन् भने नेकपा (एमाले) का उम्मेदवार तुलसी राम विश्वासले ४ हजार १ सय ५९ मत ल्याएका छन् । २०७९ को निर्वाचनमा यहाँ नेपाली कांग्रेसले जितेको थियो ।

काठमाडौं –१६ को वडाध्यक्षमा रास्वपा उम्मेदवार विजयी

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर– १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार विजयी भएकी छन् । कांग्रेस उम्मेदवारलाई पराजित गर्दै वडाध्यक्षमा रास्वपाकी उम्मेदवार रोजिना श्रेष्ठ निर्वाचित भएकी छन् ।

रास्वपाकी उम्मेदवार श्रेष्ठले २९ सय २ मत ल्याएर निर्वाचित हुँदा कांग्रेस उम्मेदवार देवेन्द्र पाठकले २२१४ मत पाए । यो वडामा अघिल्लोपटक नेपाली कांग्रेस विजयी भएको थियो ।

कन्काई–६ को वडाध्यक्षमा स्वतन्त्र उमेदवार विजयी

झापा । झापाको कन्काई नगरपालिका–६ को वडाध्यक्षमा स्वतन्त्र उमेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका छन् । आइतबार भएको उपनिर्वाचनमा नेकपा (एमाले)का तुलाराम बस्नेतलाई १३७ मतले हराउँदै उनी निर्वाचित भएका हुन् ।

निर्वाचित भएका ओलीले ४९३ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बस्नेतले ३५६ मत पाए । यस्तै, नेपाली कांग्रेसका रामगोपाल ओलीले ३१७ मत पाउँदा नेकपा (माओवादी केन्द्र)का गणेशबहादुर थापाले २७७ मत पाए ।

ताप्लेजुङको सिरिजङ्घा–३ मा एमालेकी सावादेन निर्वाचित

फुङ्लिङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कुमारी सावादेन निर्वाचित भएकी छन् । आइतबार भएको उपनिर्वाचनमा उनी तीन सय ५३ मत प्राप्त गरी विजयी भएकी मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठले जानकारी दिए ।

सावादेनका निकटम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अम्वी सावादेनले दुई सय ५१ मत प्राप्त गरे । साथै नेपाली कांग्रेसका भीमकुमार लक्सम्वाले दुई सय १८ प्राप्त गर्दा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजेन्द्र लिम्बूले ५४ र राष्ट्रिय स्वतन्त्र पार्टीका देवीप्रसाद पौडेल सात मत प्राप्त गरे । 

कूल एक हजार पाँच सय २८ मतदातामध्ये आठ सय ९२ मत खसेको थियो । जसमा नौ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ ।

विसं २०७९ को स्थानीय तहको निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित दिलप्रसाद बोखिमले राजीनामा दिएपछि यहाँ उपनिर्वाचन भएको हो । 

 कुशे–७ मा कांग्रेसका सिंह विजयी

गोरखा । गोरखा नगरपालिका वडा नम्बर ५ मा नेकपा(माओवादी केन्द्र)का उम्मेदवार विष्णुबहादुर राना विजयी भएका छन् । माओवादीका मगर ४८६ मत ल्याएर विजयी भ एभने नेपाली कांग्रेसका भाइकाजी आलेले ४ सय २ मत ल्याए। एमालेकी दुर्गामाया थापाले ३४५ ल्याइन् ।

यसअघि यो वडा नेकपा एमालेले जितेको थियो । बाबुराम भट्टराइ नेतृत्वको नेपाल समाजवादी पार्टीका रूपेश मगरातीले भने जम्मा १० मत पाएका छन् ।

प्रधानमन्त्रीको चीन भ्रमणमा हुँदैछन् यस्ता सम्झौता

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले २० मिलियन अमेरिकी डलर नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । सो सम्बन्धी सहमति आदानप्रदान पत्रको मस्यौदा स्वीकृत गरी हस्ताक्षर गर्ने जिम्मेवारी अर्थ मन्त्रालयका सचिवलाई दिने निर्णय भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चारकर्मीलाई जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले संलग्न प्रस्तावित तीन सय मिलियन आरएमबी चिनियाँ युआन बराबरको आर्थिक तथा प्राविधिक अनुदान सहायता स्वीकार गर्ने सम्झौता स्वीकृत गर्ने निर्णय पनि गरेको उनले बताए । उक्त प्रस्तावमा हस्ताक्षर गर्ने अख्तियारी पनि अर्थ सचिवलाई नै दिइएको

संलग्न विकास योजना सन् २०२५ देखि सन् २०२९ सम्मको समझदारी पत्र पनि आजको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ । यसको हस्ताक्षर गर्ने जिम्मेवारी अर्थ मन्त्रालयका सचिवलाई दिइएको छ ।

यस्तै सार्वजनिक सेवा प्रसारण संस्था (रेडियो नेपाल र नेपाल टेलिभिजन) र चाइना मिडिया ग्रुप (सिएमजी) बीच हुने ‘मेमोरेबल अन्डरस्ट्यान्डिङ’ विषयक समझदारी पत्रलाई पनि मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको मन्त्री गुरुङले जानकारी दिए । यससम्बन्धी समझदारी प्रधानमन्त्री केपी शर्मा ओलीको सोमबारदेखि हुने चीन भ्रमणका क्रममा गरिने बताइएको छ ।

नेपाल सरकार र चिनियाँ सरकारबीच नेपालमा स्वयंसेवी चिनियाँ भाषा शिक्षक तालिम कार्यक्रम परिचालनका लागि तयार भएको समझदारी पत्र स्वीकृत गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ । समझदारी पत्रमा हस्ताक्षर गरी कार्यान्वयन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

मन्त्रिपरिषद् बैठकले प्राविधिक सहसचिव रामप्रसाद घिमिरेलाई प्राविधिक सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । बैठकले प्रधानमन्त्री ओलीको यही मङ्सिर १७ देखि २० गतेसम्म हुने चीन भ्रमण सफलताका लागि शुभकामना दिने निर्णय पनि गरेको छ । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओलीले चीनको औपचारिक भ्रमण गर्दैछन् ।

प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा एमओयु (लेटर अफ एक्सप्रेसन) हुने तय भएका आयोजनामा काठमाडौँ चक्रपथ सुधार, चौथो चरणको अरनिको राजमार्ग सुधार, हिल्सा–सिमीकोट सडक आयोजना, कोरोला नाकालाई व्यवस्थित गर्ने विषयसँग सम्बन्धित आयोजना, टोखा–छहरे सुरुङ मार्गलगायत रहेका छन् ।

यसैगरी बिपी कोइराला क्यान्सर अस्पताल चितवनमा बोन म्यारो ट्रान्सप्लान उपचार पद्धति सुरु गर्नेलगायत आयोजना रहेका छन् । एक सय विद्युतीय गाडी, एक सय  प्रहरी भ्यान, ५० स्कुल भ्यान, ५० एम्बुलेन्सका लागि पनि प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा सहमति हुनेगरी छलफल अघि बढेकाले यस विषयमा पनि ठोस उपलब्धि हुनसक्ने मन्त्री गुरुङले जानकारी दिए ।

ओखलढुंगामा एमालेले खोल्यो खाता, मोलुङ ५ मा तामाङ निर्वाचित

ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नम्बर ५ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । आइतबार भएको मतदानमा नेकपा एमालेका उम्मेदवार गंगाबहादुर तामाङ ३९९ मतसहित विजयी भएका हुन् ।

कांग्रेसका घनश्याम दाहालले १७७ मत ल्याए भने रास्वपाका उम्मेदवार विष्णु पोखरेलले १५१ र माओवादी केन्द्रका मानबहादुर सुनुवारले २३ मत मात्र प्राप्त गर्न गरे ।

रोल्पाको रून्टीगढी–४ को अध्यक्षमा कांग्रेस उम्मेदवार विजयी

रोल्पा । रोल्पाको रून्टीगढी गाउँपालिका वडा नम्बर–४ को अध्यक्षमा नेपाली कांग्रेसबाट भूपमणि पुन मगर निर्वाचित भएका छन् । मगर ६४३ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बेगम पुन मगरले ५३५ मत पाए । त्यस्तै नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेशजंग सिंहले ७० मत पाएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार पहलबहादुर वलीले १०, राष्ट्रिय स्वतन्त्र पार्टीका हिमबहादुर पुनले ७ र मंगोल नेसनल अर्गनाइजेसनबाट पूर्णबहादुर बुढा मगरले ७ मत पाएका छन् । यहाँ २०७९ सालमा पनि कांग्रेसकै टंकबहादुर पुन निर्वाचित भएका थिए। उनको मृत्यु भएपछि पुनः निर्वाचन भएको हो।

तिलागुफा–४ को वडाध्यक्षमा नेमकिपाका खड्गराज शाही निर्वाचित

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका–४ को वडाध्यक्षमा नेपाल मजदुर किसान पार्टीका खड्गराज शाही निर्वाचित भएका छन् । १४३ मतसहित शाही अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी नैसोभा शाहीले ११५ मत ल्याएका छन् ।

नेकपा एमालेका ऐनबहादुर शाहीले ७८, कांग्रेसका पैलबहादुर शाहीले ४९, रास्वपाका गगन बमले ५, राप्रपाका गोगनबहादुर शाहीले १७ मत ल्याएका छन् । खसेको मतमध्ये ४ मत बदर भएका छन् । यसअघि माओवादीका परबहादुर शाही अध्यक्ष थिए । उनको २०७९ मा मृत्यु भएको थियो।

एडीबीको ३२ मिलियन डलर ऋण स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले एशियाली विकास बैंकबाट नवीनतम यान्त्रिक सिँचाइ आयोजना कार्यान्वयनका लागि प्राप्त हुने १६ अर्ब ८८ करोड ५० लाख ऋण सहायता स्वीकृत गर्ने निर्णय गरेको छ ।

आइतवार सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्रिपरिषद बैठकले १४ अर्ब ८५ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण र २ अर्ब २ करोड ६२ लाख रुपैयाँ अनुदान सहायता स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए ।

उनले चालू आर्थिक वर्ष २०८१।८२ का लागि उखुको उत्पादन लागत ढुवानी भाडा र मुनाफासहित गरी कृषकले उत्पादन गरेको उखु न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ५८५ निर्धारण गर्ने निर्णय भएको बताए ।

उनले पोखरा महानगरका प्रमुख धनराज आचार्यको पुस ३ देखि १० गतेसम्मको गणतन्त्र कोरियामा फोहरमैला व्यवस्थापनसम्बन्धी अध्ययन भ्रमणमा सहभागी हुन स्वीकृति दिएको बताए ।

एसिया कपमा नेपाल बङ्गलादेशसँग पराजित

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई)मा जारी उन्नाइस वर्षमुनि (यु–१९) को एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल बङ्गलादेशसँग पराजित भएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आइतबार भएको खेलमा नेपाल बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको हो । योसँगै नेपालले प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको छ । यसअघि भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग पराजित भएको थियो ।

नेपालले जितका लागि दिएको एक सय ४२ रनको लक्ष्य पच्छ्याएको बङ्गलादेशले २८ दशमलव चार ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो । बङ्गलादेशका लागि ओपनर जबार अबररले सर्वाधिक ५९ रनको योगदान दिए ।

उनले ६५ बलमा पाँच चौका र चार छक्काको सहयोगमा ५९ रन बनाएका हुन् । यस्तै, कप्तान मोहम्मद हाकिमले ७२ बलमा दुई चौका र तीन छक्काको सहयोगमा ५२ रन जोडे । मोहम्मद फरिदले १३ रन जोडे ।

नेपालका लागि युवराज खत्रीले चार विकेट लिए भने हेमन्त धामीले एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४५ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय ४१ रनको योगफल बनाएको थियो ।

यस्तै ओपनर आकाश त्रिपाठीले ७७ बलमा सर्वाधिक ४३ बनाए । उत्तम थापा र अभिषेक तिवारीले समान २९/२९ रन जोडे । त्यसबाहेक अन्य नेपाली खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बङ्गलादेशका लागि अल फहाद, मोहम्मद इकबाल हसन इमोन र रिजन हुसेनले समान दुई÷दुई विकेट लिए । यसैगरी, साद इस्लाम, मोहम्मद रफी उज्जामान र मोहम्मद अजिजुल हाकिमले समान एक–एक विकेट लिए । यस जितसँगै बङ्गालादेशको भने यो लगातार दोस्रो जित हो । बङ्गलादेशले पहिलो खेलमा अफगानिस्तानलाई हराएको थियो ।

नेपालले समूह चरणको तेस्रो तथा अन्तिम खेल यही मङ्सिर १८ गते अफगानिस्तानसँग खेल्नेछ ।

उपनिर्वाचनमा करिव ६२ प्रतिशत मतदान

काठमाडौंं । स्थानीय तहको उपनिर्वाचनमा करिव ६२ प्रतिशत मतदान भएको छ । आइतबार साँझ विज्ञप्ति जारी गरी आयोगले ६२ प्रतिशत मतदान भएको जानकारी दिएको हो ।

निर्वाचन आयोगले आइतबार बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदानको समय निर्धारण गरेको थियो । उपनिर्वाचनमा दुई लाख २६ हजार ७९९ मतदाता थिए । मतदान शान्तिपूर्णरुपमा सम्पन्न भएको आयोगले जनाएको छ ।

ढुक्क हुनुहोस्, सरकार दायाँबायाँ हुँदैनः सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकार राजनीतिक स्थायित्वका साथै सङ्घीयताको सबलीकरणका लागि आवश्यक सुधारमा कटिबद्ध भएर लागिरहेको बताएका छन् ।

काठमाडौँमा आइतबार आयोजित बाह्रखरी कथा प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा उनले विगतमा देखिएका समस्या र चुनौतीहरूको व्यवस्थापन, राजीतिक परिस्थितिलाई सम्हाल्दै सरकार अगाडि बढिरहेको बताएका हुन् ।

मन्त्री गुरुङले वर्तमान गठबन्धन सरकार देशलाई नयाँ दिशा दिने गरी नीतिगत सुधारदेखि संस्थागत व्यवस्थापनका काममा कटिबद्ध भए लागिरहेको बताए ।

‘यो स्थायी सरकार हो । धेरैले यसको दीर्घायुको बारेमा विभिन्न कुरा गरिरहेको सुन्छु तर ढुक्क हुनुहोस्, यो सरकार दायाँबाँया हुँदैन । देशलाई नयाँ दिशा दिएरै छोड्छ’, उनले भने,’राज्यको पुराना नीति परिमार्जन, डिजिटल माध्यमबाट तीन वर्षमा करिब तीन लाख युवालाई रोजगारी, सङ्घीयतालाई मसिनो ढङ्गले विस्तार, वन, प्रहरी, निजामती सेवालगायत ऐनलाई आवश्यक परिमार्जन गर्ने काममा सरकार लागिरहेको छ ।’

मन्त्री गुरुङले विकासका लागि तीन खर्ब मात्रै बजेट छुटयाइएको अवस्थामा पनि पुँजीगत खर्च गर्न नसक्नु विडम्बना भन्दै अब सरकारले खर्चमा जोड दिने र त्यसका लागि नीतिगत र कानुनी सुधार गरिनेसमेत बताए ।

स्थानीय तह उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न

काठमाडौँ । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आज भएको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । 
बिहान ७ बजेदेखि सुरु भएको निर्वाचन अपराह्न ५ बजेसम्म सबै निर्वाचनस्थल र केन्द्रमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोख्रेल अर्यालले जानकारी दिइन् ।


नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ सहित ४१ पदका लागि आज मतदान भएको थियो । यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्रगरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धी छन् ।

प्रधानमन्त्री ओली सोमबार चीनको औपचारिक भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि भोलि सोमबार बिहान बेइजिङ प्रस्थान गर्दैछन् । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनले मङ्सिर १७ देखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्न लागेका हुन् ।


  भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।


यसैगरी प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय आपसीहितका विविध विषयमा विचार आदानप्रदान गर्नेछन् । प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीको समेत भेट हुने तालिका रहेको छ ।


भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा मुख्य सम्बोधन गर्ने कार्यक्रम छ । त्यस्तै उनले बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य रहनेछिन् ।


त्यस्तै प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, संसद्हरू, विशिष्ट श्रेणीका सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू, सञ्चारकर्मीहरूलगायत छन् । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही मङ्सिर २० गते काठमाडौँ फर्कने तालिका छ ।

रङरोगन र मङ्गलगानले सजिँदै मटिहानी

महोत्तरी । महोत्तरीको धार्मिक नगरी मटिहानी यतिबेला रङगरोगन र मङ्गलगानले सजिएको छ। रामजानकी विवाह महोत्सव (विवाहपञ्चमी) का जन्तीलाई स्वागत गर्न मटिहानीका नागरिक तयारीमा जुटेका छन्। भोलि सोमबार जन्ती अयोध्याबाट जनकपुरधामको मटिहानी आएर रात्रि विश्राम गर्ने तालिका भएसँगै स्थानीय तयारीमा जुटेका हुन्।

अहिले मटिहानी नगरका पुरातात्विक महत्वका मठ, देवालय, तलाउ परिसर रङरोगन गरिएर झकिझकाउ बनाइएका छन्। मुलुकभरिका मठहरूको नायक मानिने लक्ष्मीनारायण मठ, लक्ष्मीनारायण मन्दिर परिसर र रामजानकीको विवाहमा वेदी बनाउन माटो खनिएको विश्वास गरिने लक्ष्मीसागर तलाउ वरपर रङरोगन र सजावटले झकिझकाउ बनेको हो। नगरका चोकचोकमा रामजानकी विवाहको तयारीमा मङ्गलगान गुञ्जीरहेका छन्।

‘आजु मिथिला सुमङ्गल हे,
मङ्गल आजु मिथिला,
अति मन भावन हे !
आहे, मङ्गल दुलहा–दुलही ना।।
परम सुहागन हे।।!’

(आज मिथिला खुसी र उत्सवमय छ। आज मिथिला सबैको मनमा बस्ने सुन्दर र सुमधुर बनेको छ। हाम्रा दुलहा–दुलही ) श्रीराम र जानकी कहिल्यै नटुट्ने, नछुट्ने अति सुन्दर जोडी बन्दै छन्।

यसैगरी यहाँ गुञ्जिएका मङ्गलगानले अघि त्रेतायुगमा भएको रामसीता विवाहको झलक दिने गरेको छ।

‘मङ्गल मिथिला नगरियामें ,
चहुदिस मङ्गल हे,
आहे, झुमे न भूसकल जगत,
आहे, मगन धरातल हे !’

(जताततै हर्षबढाइँ छ मिथिलामा। चारैतिर खुशीयाली छ। यो खुसीमा सारा भू–मण्डल आज मस्त छ, पूरै धरातल खुसीले मग्न छ)

यहाँ अहिले गुञ्जिरहेका गीतले रामजानकीको विवाहको झल्को दिने गरेका मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालय (मटिहानी गुरुकूल) का प्रधानाध्यापक ईश्वरी पौडेलले बताउनुभयो। सोमबार मटिहानी आइपुग्ने जन्तीको स्वागतका लागि नगरवासी तयारीमा व्यस्त देखिन्छन्।

“मिथिलामा सबै शुभकार्यमा गीतको महत्वपूर्ण स्थान छ। त्यसमा पनि विवाहका प्रत्येक विधिसँग गीत जोडिएका हुन्छन्। अतिथि र जन्ती स्वागतमा पनि मिथिलानी ९मिथिलाका नारी० गीतबाट अहोभाव व्यक्त गर्दछन्”, उनले भने।

‘करु स्वागत सब हिलीमिली हे,
पाहुन ऐला आँगन ।
धन्य भेलै मोरा गामके,
आजु नैन जुरागेलै हे !!’

(सबै जना मिलेर स्वागत गरौँ आज आँगनमा पाहुना आएका छन्। आज धन्य भयो हाम्रो नगर, तपाईंहरूलाई यो आँखाले देख्न पाएको छ)

मटिहानीमा भोलि आउने जन्तीको स्वागत, खानपान र आवासलगायत सुविधाको उचित व्यवस्थापन गर्न नगरवासी सक्रियताका साथ थयारमिा व्यस्त छन्। “हाम्रो संस्कार र संस्कृतिमा अतिथिलाई अहोभावबाट स्वागत गर्ने परम्परा छ, त्यसमा पनि मर्यादा पुरूस्वत्तम श्रीरामको जन्ती आउने शुभ अवसरमा स्वागत गर्न पाएका छौँ, हामी जन्तीको स्वागतका लागि आतुर छौँ”, मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलले भने, “अतिथिलाई स्वागत गर्नु हाम्रो विशिष्ट र स्थापित संस्कृति हो।”

मटिहानीमा अहिले जन्ती प्रवेश गर्ने नेपालतर्फको प्रवेशद्वारदेखि स्वागत तोरण सजाइएका छन्। श्रीराम र जानकीको विवाहका जन्ती मिथिला क्षेत्रका अतिविशिष्ट अतिथि हुने भएकाले उनीहरूको स्वागत, खानपान र आवासमा कुनै त्रुटि नदेखियोस् भनेर तयारीलाई तीव्र र व्यवस्थित पारिएको नगरप्रमुख मण्डलले बताए।

रामजानकी विवाह महोत्सवका लागि प्रत्येक पाँच/पाँच वर्षमा साजसज्जाका साथ अयोध्याबाट जन्ती आउने परम्परा रहेको लक्ष्मीनारायण मठका सन्त डा रवीन्द्रदास वैष्णले बताए। यस वर्ष उक्त अवसर परेकाले यहाँ उत्सव र छाएको उनको भनाइ छ।

मटिहानीमा एक दिनको विश्रामपछि जन्ती जलेश्वर र पिपरा हुँदै जनकपुर प्रस्थान गर्ने चलन रहेको मठका सन्त डा वैष्णले जानकारी दिए। यसअनुसार महोत्तरीका जलेश्वर र पिपरामा पनि जन्तीको स्वागत गर्न स्थानीय तयारी अवस्थमा बसेका छन्।

मङ्गलबार बिहान मटिहानीबाट जलेश्वर पुग्ने जन्तीलाई जलेश्वरनाथ महादेवको दर्शन गराएर खाजा ख्वाउने तयारी छ। जन्तीले दिवा भोजन पिपरामा गर्ने जनाउँदै उनले ती दुवै स्थानमा सम्बन्धित क्षेत्रमा विशेष तयारी भइरहेको उनले बताए।

पिपरापछि जन्ती जनकपुर प्रस्थान गर्नेछन्। त्यहाँ जन्ती जानकी मन्दिरका अतिथि बनेर विवाह महोत्सवमा सरिक हुनेछन्। यस वर्षका लागि मङ्सिर २१ गते शुक्रबार रामजानकी विवाहको दिन परेको मठका सन्त डा वैष्णले जानकारी दिए। मङ्सिर शुक्ल पञ्चमी तिथिका दिन रामजानकीको विवाह भएको सम्झनामा बर्सेनि यो महोत्सव मनाइँदै आइएको उनको भनाइ छ।

सप्ताहव्यापी मनाइने यो महोत्सव जनकपुरधाममा आजदेखि सुरु भएको छ। अयोध्याका राजकुमार श्रीराम, भाई लक्ष्मण र गुरू विश्वामित्रका साथ जनकपुर आइपुगेकाे सम्झनामा महोत्सवको पहिलो दिन ‘जनकपुर नगर दर्शन’ को परम्परा रहेको संस्कृतिका जानकार बताउँछन्। आज मिथिलाञ्चलसहित जनकपुरमा यही उत्सव मनाइँदै छ।

यसैगरी क्रमशः भोलि फूलबारी लीला, मङ्गलबार धनुषयज्ञ, बुधबार तीलकोत्सव, बिहीबार मटकोर, शुक्रबार विवाह र शनिबार रामकलेवा उत्सव मनाउने गरिन्छ। सप्ताहव्यापी यस महोत्सवमा पूलबारी लीला जनकपुरमा अचानक बगैँचामा डुल्दै पुगेका रामलक्ष्मणसँग सीताको आमनेसामने भएको कथा वर्णित छ।

यसैगरी तीलकोत्सवमा राजा जनकबाट वरपूजन र वस्त्रआभुषण भेट, मटकोरमा विवाहको यज्ञवेदी बनाइने र कुलदेवता पूजन तथा रामकलेवामा जन्ती बिदाइका कार्यक्रम गरिने लक्ष्मीनारायण मठका सन्त डा वैष्णले जानकारी दिए।