`

‘फर्मासिष्ट’लाई अनिवार्य पोशाक र परिचयपत्रको व्यवस्था लागु गरिँदै

काठमाडौँ । नेपाल फार्मेसी परिषद्ले आगामी पुस ४ गतेदेखि ‘फर्मासिष्ट’लाई अनिवार्य पोशाक र परिचयपत्रको व्यवस्था लागु गर्ने भएको छ । उक्त व्यवस्था लागू गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक सहयोग गर्ने जनाएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको आग्रह बमोजिम परिषद्ले पहिलो चरणमा फर्मासिष्टको पहिचान खुलाउन पोशाक अनिवार्य गर्ने निर्णय गरेको थियो । परिषद्ले फर्मासिष्ट तथा सहायकका लागि सेतो एप्रोनसहितको पोशाक र पोशाकमै परिचयपत्र अनिवार्य गर्ने जनाएको छ ।

कुनै पनि सामुदायिक फार्मेसी वा अस्पताल फार्मेसीमा औषधि वितरणमा कार्यरत फर्मासिष्टले एप्रोनसँगै हरियो पृष्ठभूमिमा सेतो रङको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बर तथा फार्मेसी सहायकले निलो पृष्ठभूमिमा सेतो रङको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बर अनिवार्य राख्नुपर्ने निर्णय आगामी पुस ४ गतेदेखि लागू हुँदैछ । 

यस निर्णयले औषधि बिक्रीवितरणमा आधिकारिक व्यक्तिमात्र संलग्न हुने र कुनै कैफियत देखिएमा कारबाही गर्न सहयोग पुग्ने परिषद्का रजिस्टार सञ्जिवकुमार पाण्डेले बताए ।

मन्त्री पौडेलले यस व्यवस्थाको अनुगमन कडा गर्न आग्रह गर्दै मन्त्रालयले कार्यान्वयनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए । औषधि बिक्रीवितरणलाई व्यवस्थित र नियमित बनाउन मन्त्री पौडेलले औषधि व्यवस्था विभागलाई अनुगमन बढाउन सजग गराएका छन् । 

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले परिषद्को निर्णय कार्यान्वयनमा सहयोग गर्न मन्त्रालयले पत्राचार गर्ने बताए । यसका अलावा औषधि बिक्रीवितरणमा बेथिति देखिए नदेखिएको अनुगमन गर्ने र दोषी देखिएमा एकैसाथ कारबाही गरिने उनले बताए ।

औषधिको मूल्य समायोजन गर्न गठित समितिले काम गरिरहेको छ । समितिको सुझावअनुसार अधिकतम उपयोग हुने औषधिमा नागरिकलाई कम भार पर्नेगरी मूल्य समायोजन गर्ने मन्त्रालयको तयारी छ ।

नेत्रहिन विश्वकप क्रिकेटः सेमिफाइनलमा नेपाल पाकिस्तानसँग पराजित

काठमाडौँ । नेत्रहीन टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग पराजित भएको छ । 

पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा नेपाल पाकिस्तानसँग १० विकेटले पराजित भएको हो । यस हारसँगै नेपालको फाइन खेल्ने सपना समाप्त भएको छ । 

नेपालले दिएको ९५ रनको सामान्य लक्ष्य पाकिस्तानले पाँच दशमलव तीन ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । विभिन्न छ देश सहभागी विश्वकपको लिग चरणबाट चौथो स्थानमा रहँदै नेपालले सेमिफाइनलको यात्रा तय गरेको थियो ।

लिग चरणको खेलमा पनि नेपाल पाकिस्तानसँग समान १० विकेटले पराजित भएको थियो । त्यसैगरी नेपाल श्रीलङ्कासँग ७० र बङ्गलादेशसँग ६७ रनले पराजित भएको थियो भने अफगानिस्तालाई एक सय आठ र दक्षिण अफ्रिकाकालाई ११ रनले हराएको थियो ।

आजको जितमा पाकिस्तानका लागि कम्रन अख्तरले सर्वाधिक ६३ रनको योगदान दिए । उनले २१ बलमा १२ चौका र एक छक्काको मद्दतले सर्वाधिक ६३ रन बनाएका हुन् । यसैगरी बाबर अली ३२ रनमा अविजित रहे ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ९७ रनको योगफल तयार पारेको थियो । नेपालका लागि दुर्गादत्त पौडेलले सर्वाधिक ४० र रमेश बानियाँले अविजित १७ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । पाकिस्तानका लागि माती उल्लाहले तीन र बाबर मुनरिले एक विकेट लिए ।

११ महिनामा १० लाख ५५ हजार विदेशी पर्यटक भित्रिए

काठमाडौँ । सन् २०२४ को ११ महिनामा १० लाख ५५ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यस वर्षको जनवरीदेखि नोभेम्बरसम्म हवाई मार्ग भएर १० लाख ५५ हजार पाँच सय ३३ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् । 

तथ्याङ्क अनुसार सन् २०२४ मा १३ लाख १५ पर्यटक स्वागत गर्ने लक्ष्य हासिल गर्न कठिन हुने देखिएको छ । सन् २०२४ अन्त्य हुन अब एक महिना मात्र बाँकी छ । डिसेम्बरमा करिब ७० हजार पर्यटक आउने बोर्डले अनुमान गरेको छ । यसरी हेर्दा वर्ष २०२४ मा ११ लाख १५ हजार हाराहारी मात्रै पर्यटक भित्रिने देखिन्छ ।

नोभेम्बरमा मात्रै एक लाख १४ हजार पाँच सय एक पर्यटक आएका छन् । यो अघिल्लो वर्ष सन् २०२३ को सोही महिनाको तुलनामा पाँच दशमलव ४० प्रतिशत बढी हो । उक्त वर्षको नोभेम्बरमा एक लाख आठ हजार छ सय ३० पर्यटक भित्रिएका थिए ।

सन् २०१९ को नोभेम्बरमा एक लाख ३० हजार तीन सय तीन विदेशी पर्यटकले नेपाल भ्रमण गरेका बोर्डको तथ्याङ्कमा उल्लेख छ । बोर्डका निर्देशक मणिराज लामिछानेले हालसम्मको पर्यटक आगमन विश्लेषण गर्दा सन् २०२३ को तुलनामा झण्डै १० प्रतिशत मात्रै बढ्ने देखिएको बताए । सन् २०२३ मा १० लाख १४ हजार आठ सय ७१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका उनले जानकारी दिए ।

बोर्डले सन् २०२४ मा कोरोना महामारीपूर्व सन् २०१९ मा आएका पर्यटक भन्दा बढी आउने अनुमान गरेको थियो । सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ विदेशी पर्यटक नेपाल आएका थिए । एसिया प्यासिफिक क्षेत्रको भन्दा नेपालको पर्यटन पुनरुत्थान माथि रहेको बोर्डका निर्देशक लामिछानेले उल्लेख गरे ।

संयुक्त राष्ट्रसङ्घ विश्व पर्यटन सङ्गठन (युएनडब्लुटिओ) को छ महिनाको आँकडा अनुसार विश्वव्यापी रूपमा ९६ प्रतिशतले नेपालको पर्यटन पुनरुत्थान भएको छ  । उक्त अवधिमा विश्वव्यापी ९३ प्रतिशत पर्यटन पुनरुत्थान भएको जनाइएको छ । विभिन्न कारणले सन् २०२४ मा प्रक्षेपण गरिएको पर्यटक आगमन लक्ष्य भेट्टाउन कठिन भएको बोर्डका निर्देशक लामिछानेले उल्लेख गरे । 

‘हालसम्मको पर्यटक आगमन हेर्दा विश्वव्यापी रूपमा नेपालको पर्यटक आगमन सकारात्मक देखिन्छ’, उनले भने, ‘पर्यटनका विभिन्न सूचकलाई विश्लेषण गर्दा सन् २०१९ को भन्दा बढी पर्यटक आउने प्रक्षेपण गरिएको थियो । लामो समयसम्म बोर्डको अन्तर्राष्ट्रिय प्रवर्द्धन रोकिनु, विमान दुर्घटना र प्राकृतिक विपत्तिलगायत कारणले पर्यटक आगमन सुधार हुन नसकेको अनुमान गरिएको छ ।’

करिब छ महिना बोर्डको अन्तर्राष्ट्रिय प्रवर्द्धन रोकिनु, बीचमा विमान र हेलिकप्टर दुर्घटना हुनु, असोजको ११ र १२ गतेको अविरल वर्षापछिको बाढीपहिरोपछिका घटना र गत कात्तिक २३ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको १० घण्टा उडान बन्दलगायत कारणले अपेक्षित रूपमा पर्यटक आउन नसकेका बोर्डले विश्लेषण गरेको छ ।

बोर्डको विवरणमा नोभेम्बरमा भारतबाट १९ हजार नौ सय १५ पर्यटक आएका छन् । संयुक्त राज्य अमेरिकाबाट १० हजार नौ सय ८१ र चीनबाट नौ हजार चार सय ५८ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

संयुक्त अधिराज्य बेलायतबाट छ हजार पाँच सय ११, बङ्गलादेशबाट पाँच हजार एक सय ४८, अष्ट्रेलियाबाट चार हजार आठ सय २९, थाइल्याण्डबाट चार हजार दुई सय ६२, श्रीलङ्काबाट चार हजार तीन सय ९५, जर्मनीबाट तीन हजार नौ सय २६ र फ्रान्सबाट तीन हजार आठ सय ४१ पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

कुन महिनामा कति पर्यटक

मार्चमा सबैभन्दा बढी एक लाख २८ हजार एक सय ६७ र सबैभन्दा कम जुलाईमा ६४ हजार पाँच सय ९९ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अक्टोबरमा एक लाख २४ हजार तीन सय ९३, अप्रिलमा एक लाख ११ हजार तीन हजार ७६ पर्यटक आएका तथ्याङ्कमा उल्लेख छ । नोभेम्बरमा एक लाख १४ हजार पाँच सय एक, सेप्टेम्बरमा ९६ हजार तीन सय पाँच, जनवरीमा ७९ हजार एक सय, फेब्रुअरीमा ९७ हजार चार सय २६, मेमा ९० हजार दुई सय ११, जुनमा ७६ हजार सात सय ३६ र अगस्टमा ७२ हजार सात सय १९ पर्यटक नेपाल आएका छन् ।

इयूका नयाँ पदाधिकारी किएभ भ्रमणमा

किएभ । युरोपेली सङ्घका नयाँ उच्च कूटनीतिज्ञ काजा कल्लास र युरोपेली परिषद्का प्रमुख एन्टोनियो कोस्टाले जिम्मेवारी सम्हालेको पहिलो दिन इयूको नयाँ नेतृत्वको युक्रेनप्रतिको सद्धभाव प्रकट गर्न आइतबार किएभ आइपुगेका छन् ।

“हामी युक्रेनको साथमा छौं भन्ने स्पष्ट सन्देश दिन आएका हौं र हामीले आफ्नो पूर्ण समर्थन जारी राख्नेछौँ,” कोस्टाले पत्रकारसँगको कुराकानीमा भने ।

युरोपेली सङ्घको नयाँ नेतृत्व टोलीले युक्रेनका लागि खतरनाक क्षणमा किएभलाई समर्थन गर्न दृढ रहेको देखाउन चाहेको छ।

जनवरीमा डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेपछि अमेरिकी समर्थनको भविष्यलाई लिएर प्रश्नहरू उठिरहेका छन् र उनले छिटो शान्ति सम्झौताको खोजीमा किएभलाई दवाव दिनसक्ने चिन्ता यूरोपेली अधिकारीहरूको रहेको छ ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत महिना युक्रेनी राजधानीमा रहेका सरकारी भवनमा आफ्नो नयाँ ओरेश्निक क्षेप्यास्त्र प्रहार गर्ने चेतावनी दिएपछि अमेरिकालगायतका युक्रेनका सहयोगी यूरोपेली राष्ट्रहरूले युक्रेनप्रतिको समर्थन जारी रहने आश्वासन दिएका छन् ।

किएभले अमेरिकी र बेलायती क्षेप्यास्त्रले रूसभित्र आक्रमण गर्ने अनुमति पाएको प्रतिक्रियास्वरुप यो कदम चालेको र हतियार आपूर्ति गर्ने देशहरूविरुद्ध जवाफी हमला गर्ने चेतावनी दिएको रूसी नेता पुटिनले बताएको थियो ।

जाडो याम सुरु भएसँगै रूसले युक्रेनको विद्युत ग्रिडमाथि व्यापक आक्रमण पनि गरेको छ र अग्रपङ्क्तिमा रहेको किएभको थकित सेनाले मस्कोको निरन्तरको आक्रमणका कारण आधार गुमाइरहेका छन् ।

इस्टोनियाका पूर्व प्रधानमन्त्रीसमेत रहेका इयूका उच्च कूटनीतिज्ञ कल्लासले भने, “युक्रेनको अवस्था अत्यन्त गम्भीर छ । तर यसो गर्नु रूसको लागि पनि धेरै उच्च लागत पर्नेछ ।

युरोपेली आयोगका प्रमुख उर्सुला भोन डेर लेयेनसहित युरोपेली सङ्घका शीर्ष अधिकारीले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग वार्ता गर्ने कार्यक्रम तय भएको छ ।

जेलेन्स्कीले शुक्रबार सम्भावित शान्ति वार्ताअघि आफ्नो अडान सार्वजनिक गर्न थालेको देखिन्छ ।

उनले नेटोलाई ‘युद्धको आक्रामक चरण रोक्न’ किएभद्वारा नियन्त्रित युक्रेनका केही भागहरूमा सुनिश्चित गरिएको सुरक्षा प्रदान गर्न र त्यसपछि मात्र रूसद्वारा कब्जा गरिएको अन्य क्षेत्रहरू फिर्ता लिने अभियानलाई बढाइने व्यवस्था मिलाउन आह्वान गरे ।

जेलेन्स्कीले बेलायतको स्काई न्यूजसँगको अन्तवार्तामा भनेको थियो, “यदि हामी युद्धविरामको कुरा गर्छौं भने पुटिन पुनः युक्रेन आक्रमणमा फर्कने छैनन् भन्ने ग्यारेन्टी चाहिन्छ।”

कल्लासले भने, “सबैभन्दा बलियो सुरक्षा ग्यारेन्टी नेटोको सदस्यता हो।

उनले भने, “हामीले निश्चित रूपमा यस विषयमा छलफल गर्न आवश्यक छ । यदि युक्रेनले सीमा रेखा कोर्ने निर्णय गर्छ भने पुटिन अघि नआउने गरी हामी कसरी शान्ति कायम गर्न सक्छौं छलफल गर्नु आवश्यक छ।”

रूससँग युद्धमा तानिन सक्ने चेतावनी दिएका सदस्यहरूको एक समूहले विरोध जनाएका कारण नेटोका कूटनीतिज्ञहरूले युक्रेनलाई गठबन्धनको सदस्यता प्रदान गर्ने सम्भावना कमै रहेको बताएका छन ।

कल्लासले कुनै पनि युद्धविराम लागू गर्न मद्दत गर्न युरोपेली सेना पठाउने प्रश्नको सन्दर्भमा ईयूले कुनै पनि कुरालाई इन्कार गर्न नहुने बताए ।

छत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु

नयाँदिल्ली । छत्तीसगढ र तेलङ्गानाको सिमानामा पर्ने मुलुगु जिल्लामा प्रहरीले सात जना संदिग्ध माओवादीको हत्या गरेको दाबी गरेको छ ।

तेलङ्गना प्रहरीका अनुसार प्रहरीले सुराकीको आधारमा सशस्त्र लडाकूहरूको खोजी गरिरहेका समय ‘ग्रेहाउन्ड’का जवान र भारतीय माओवादी समूह (नक्सलवादी) बीच मुठभेड भएको हो ।

घटनास्थलबाट दुई थान एके–४७ राइफल, एक इन्सास राइफलका साथै अन्य हातहतियार, विष्फोटक पदार्थ र दैनिक उपभोग्य सामग्रीबरामद भएको प्रहरीले जनाएको छ ।

मुलुगु जिल्लाको चालापाका वन क्षेत्रमा बिहान ५ः३० बजे सन्दिग्ध माओवादी लडाकूसँग मुठभेड भएको थियो । एक घण्टाभन्दा बढी चलेको मुठभेडमा सात जना मारिएका थिए ।

उक्त क्षेत्रमा अहिले पनि खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अन्य केही माओवादी घाइते भएको हुन सक्ने अनुमान गरिएको छ ।

एफबीआईको नेतृत्व काश पटेललाई दिने अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्पको घोषणा

वासिङ्टन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना विश्वासपात्र काश पटेललाई सङ्घीय अनुसन्धान विभाग (एफबिआई) को नयाँ निर्देशक बनाउने लक्ष्य राखेको बताएका छन्।

ट्रम्पले ब्यूरोका वर्तमान् गतिविधिको आलोचना गर्दै आएका र तथाकथित सरकारी ‘डिप स्टेट’ को बारेमा आलोचक आफ्ना पूर्व सल्लाहकारसमेत रहेका पेन्टागनका अधिकारीलाई एफबिआई निर्देशक बनाउन लागेको उनको आफ्नै लगानीको सामाजिक सञ्जाल, ट्रुथ सोशल नेटवर्कमा उल्लेख गरेका छन् ।

एफबीआईका वर्तमान निर्देशक क्रिस्टोफर रेलाई सन् २०१७ मा १० वर्षे कार्यकालका लागि नियुक्त गरिएको थियो ।

ट्रम्पले नियुक्त गरेका रेको नेतृत्वमा एफबीआईले राष्ट्रपति निर्वाचित ट्रम्पमाथि समेत अनुसन्धान गरेको छ ।

ट्रम्पले ट्रुथ सोसलमा लेखेका छनु, “काश एक प्रतिभाशाली वकिल, अन्वेषक र ‘अमेरिका फस्र्ट’ अभियानका अभियान्ता हुनुहुन्छ । उहाँले आफ्नो सेवालाई भ्रष्टाचारको पर्दाफास गर्न, न्यायका लागि र अमेरिकी जनताको रक्षा गने कार्यमा लगानी गर्नुभएको छ ।”

आगामी राष्ट्रपतिका कट्टर समर्थक पटेलले ट्रम्पलाई पर्दा पछाडिबाट दबाउने काम गर्ने कथित पक्षपाती सरकारी नोकरशाहहरूको ट्रम्प विरोधी ‘डिप स्टेट’ को रिपब्लिकन कट्टरपन्थी धारणालाई समर्थन गर्छन् र यस बिषयमा एउटा पुस्तक समेत लेखेका छन् ।

भारतीय मुलका एक परिवारका सन्तान पटेलले ट्रम्पको पहिलो कार्यकालमा राष्ट्रिय सुरक्षा सल्लाहकार र कार्यवाहक रक्षामन्त्रीको चिफ अफ स्टाफका रुपमा काम गरेका थिए।

“काशले मेरो पहिलो कार्यकालमा अविश्वसनीय काम गर्नुभएको छ”, ट्रम्पले भने, “उहाँले अमेरिकामा बढ्दो अपराध महामारीको अन्त्य गर्न, आप्रवासी आपराधिक गिरोहलाई ध्वस्त पार्न र सीमापार मानव र लागूपदार्थ तस्करीको दुष्ट अभिशाप रोक्नका लागि काम गर्नुहुनेछ ।”

ट्रम्पले एफबीआईका पूर्व निर्देशक जेम्स कोमीलाई बर्खास्त गरेपछि कार्यवाहक निर्देशकको स्थानमा ट्रम्पले आफ्नो पहिलो कार्यकालमा रेलाई नियुक्त गरेका थिए ।

पूर्वराष्ट्रपति ट्रम्पको रूससँगको विस्तृत सम्बन्धबारे कोमीको नेतृत्वमा एफबीआईले गरेको अनुसन्धानबाट ट्रम्पलाई कोमीविरूद्ध आक्रोशित बनाएको थियो ।

रेको नेतृत्वमा एफबीआईले ट्रम्पस्वयंले सन् २०२२ मा उनको ‘मार–ए–लागो एस्टेट’मा गैरकानुनी रूपमा गोप्य कागजात राखेको आरोपमा अनुसन्धान गरेको थियो ।

ट्रम्पले सन् २०२१ को जनवरी ६ मा अमेरिकी संसद भवनमा हिंसात्मक आक्रमण गर्ने आफ्ना सयौं समर्थकको अनुसन्धानसहित ब्युरोको अनुसन्धानको लामो समयदेखि विरोध गर्दै आएका छन् ।

सीएनएनलाई दिएको बयानमा एफबीआईले भनेको छ, “रेको ध्यान एफबीआईका पुरुष र महिला, हामीसँग काम गर्ने व्यक्ति र हामीले काम गर्ने व्यक्तिहरूमा केन्द्रित भएको छ ।”

ट्रम्पले फ्लोरिडाका शेरिफ चाड क्रोनिस्टरलाई ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेसन (डीईए) को प्रशासकमा मनोनीत गरेका छन् ।

उनले ट्रुथ सोसलमा लेखेका छन्, “चाडले हाम्रा महान् महान्यायाधिवक्ता पाम बोन्डीसँग सीमा सुरक्षित गर्न, फेन्टानिल र अन्य अवैध लागूपदार्थको प्रवाह रोक्न र अमेरिकी नागरिकको जीवनको सुरक्षाका लागि काम गर्नुहुनेछ ।”

ट्रम्पका कट्टर सहयोगी तथा फ्लोरिडाका पूर्व महान्यायाधिवक्ता बोन्डी न्याय विभागको नेतृत्वका लागि अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्पको छनौट छन् ।

एफबीआई न्याय विभागको अनुसन्धान शाखा हो भने डीईए पनि यसको क्षेत्राधिकारभित्र पर्छ ।

बोन्डी र पटेलको नियुक्तिले ट्रम्पले आफ्नो दृष्टिकोण र नीतिगत झुकाव पूरा गर्न इच्छुक निकटस्थहरूलाई नियुक्ति गर्ने व्यक्तिहरूको सूचीमा राख्न इच्छुक रहेको सङ्केत गर्दछ । 

नेप्से नौ दशमलव ९९ अङ्कले घट्यो

काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । आइतबार परिसूचक नौ दशमलव ९९ अङ्कले घटेर दुई हजार सात सय ३८ दशमलव शून्य छको बिन्दुमा कायम भएको हो ।

आज तीन सय १४ कम्पनीको एक करोड ६७ लाख ६७ हजार एक सय ६८ कित्ता शेयर ८२ हजार छ सय दुईपटक खरिदबिक्री हुँदा आठ अर्ब ८३ करोड २२ लाख २५ हजार आठ सय ९२ बराबरको कारोबार भएको छ ।

व्यापार समूह नौ दशमलव शून्य सात, विकास बैंक समूह चार दशमलव ५२ र होटल तथा पर्यटन समूह शून्य दशमलव ३० प्रतिशतले बढेका छन् भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी वित्त समूह दुई दशमलव ९६ प्रतिशतले घटेको छ । 

बैंकिङ एक दशमलव ४७, जलविद्युत् एक दशमलव १४, लगानी एक दशमलव १५, जीवन बिमा एक दशमलव ३५, उत्पादन तथा प्रशोधन शून्य दशमलव ५७, लघुवित्त शून्य दशमलव ९२, म्युचुअल फण्ड शून्य दशमलव २३, निर्जीवन बिमा शून्य दशमलव शून्य एक र अन्य समूह एक दशमलव ३५ प्रतिशतले घटेको छ ।

पाँचवटा कम्पनीको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । विशाल बजार कम्पनी लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, सिन्धु विकास बैंक लिमिटेड, ग्रिन डेभलपमेन्ट बैंक लिमिटेड र सप्तकोसी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । जानकी फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्यमा भने आज नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको रू ३४ करोड ३१ लाख ४९ हजार सात सय १७ बराबरको कारोबार भएको छ । त्यस्तै, कारोबार भएको शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको पाँच लाख आठ हजार तीन सय ४१ कित्ता शेयर किनबेच भएको छ ।

एसिया कप क्रिकेटमा नेपालद्वारा बङ्गलादेशलाई एक सय ४२ रनको लक्ष्य

काठमाडौँ । एसियाली क्रिकेट काउन्सिल (एसिसी) अन्तर्गत पुरुष यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले बङ्गलादेशलाई जितका लागि एक सय ४२ रनको लक्ष्य दिएको छ ।

संयुक्त अरब इमिरेट्को दुबईस्थित अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएकोे नेपालले ४५ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय ४१ रनमा समेटिएको हो । 

नेपालका लागि ओपनर आकाश त्रिपाठीले सर्वाधिक ४३ रनको योगदान दिए । उनले ७७ बलमा पाँच चौकाको मद्दतमा ४३ रन बनाएका हुन् । त्यस्तै उत्तम थापा र अभिषेक तिवारीले समान २९÷२९ रन बनाए । त्यसबाहेक नेपालका अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । 

बङ्गलादेशका लागि मोहम्मद अल फहदा, मोहम्मद इकवाल र मोहम्मद होसैनले समान दुई÷दुई विकेट लिए । साथै साद रजिन, उज्जमान रफी र अजिजुल हकिमले समान एक÷एक विकेट लिए । बङ्गलादेश अहिले जवाफी ब्याटिङमा उत्रिएको छ ।

लुम्बिनी लायन्सको मुख्य प्रायोजकमा एनसेल

काठमाडौं । लुम्बिनी लायन्स क्लबले आफ्नो मुख्य प्रायोजकको रूपमा एनसेल आएको छ । हिल्टन काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा लुम्बिनी लायन्सले आफ्नो मुख्य प्रायोजक सार्वजनिक गरेको हो।

उक्त कार्यक्रममा महानायक तथा लुम्बिनी लायन्सका ब्राण्ड एम्बेसडर राजेश हमाल, लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल, बेलायतका क्रिकेटर टम मुर्स लगायत अन्य अन्तर्राष्ट्रिय खेलाडीहरु पनि उपस्थित रहेका थिए। यो साझेदारीले लुम्बिनी लायन्स क्लबको आगामी सिजनमा थप ऊर्जा र उत्साह भर्ने अपेक्षा गरिएको छ ।

लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जि.सीले एनसेलसँगको सहकार्यले नेपाली क्रिकेटको विकासमा महत्वपूर्ण योगदान पुऱ्याउने विश्वास ब्यक्त गरेको छ ।

नेपाल प्रिमियर लिगको सह प्रायोजक पनि रहेको एनसेलले लामो समयदेखि नेपाली समुदायको विकास र सशक्तीकरणमा महत्वपूर्ण योगदान दिंदै आएको छ। लुम्बिनी लायन्स क्लवको मुख्य प्रायोजकको रूपमा यो सहकार्यले नेपाली क्रिकेटको विकास र युवा प्रतिभाको प्रोत्साहनमा ठोस योगदान गर्ने विश्वास लिइएको छ । लुम्बिनी लायन्स क्लब र एनसेलबीचको यो सहकार्यले नेपाली खेलकुदको क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

८ टिम सहभागी रहेको नेपाल प्रिमियर लिगको प्रथम संस्करण हिजोदेखि पौष ६ गतेसम्म कीर्तिपुरस्थित टी. यू अन्तर्राष्ट्रिय मैदानमा हुँदैछ।

कृषि विश्वविद्यालयले प्रदर्शनी तथा किसान मेला गर्ने

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयको आयोजनामा कृषि प्रदर्शनी तथा किसान मेला हुने भएको छ । विसं २०७६ मा पहिलो पटक मेला आयोजना गरेको विश्वविद्यालयले पाँच वर्षपछि दोस्रो संस्करण सुरु गर्न लागेको हो ।

मेला आयोजक समारोह समतिका संयोजक एवं विश्वविद्यालयका अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक डा ऋषिराम कट्टेलका अनुसार यही मङ्सिर २९ गतेदेखि आगामी पुस ३ गतेसम्म मेलाको आयोजना गर्न लागिएको हो ।

विश्वविद्यालयले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी मेलाका बारेमा जानकारी गराएको हो । किसानको ज्ञान, सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गर्न लागिएको मेलामा १३५ कक्ष रहने छन् ।

कट्टेलका अनुसार विश्वविद्यालयको कृषि सङ्कायको परिसरमा हुने मेलामा कृषि प्रविधि, नवप्रवर्तन तथा अनुसन्धानका विषयमा समेत छलफल हुनेछ । यहाँ किसानलाई आवश्यक पर्ने नयाँ प्रविधिको प्रदर्शनी किसानले अवलम्बन गरेका प्रविधि, सीप तथा ज्ञानको विषयमासमेत छलफल हुने उनले बताए ।

कार्यक्रम अवधिभर कृषि क्षेत्रको नीतिगत बहस, कृषि रुपान्तरणका विषयमा कृषि उद्यमी तथा सरोकारवालासँग छलफल, दिगो पशुपालन भेटेरीनरी सेवा तथा मानव–वन्यजन्तु द्वन्द्वव्यवस्थापन लगायतका विषयमा समूहगत छलफल हुने कट्टेलले जानकारी दिए ।

मेलाबाट १० हजारभन्दा बढी किसानले लाभ लिने अपेक्षा गरिएको उनले बताए । मेला किसान, विद्यार्थी र अनुसन्धानकर्ताबीच छलफल तथा कृषि क्षेत्रमा देखिएका समस्याको समाधानका लागि कोशेढुङ्गा बन्ने उनको विश्वास छ । विश्वविद्यालयका निमित्त उपकुलपति प्राडा अर्जुनकुमार श्रेष्ठले मेला अवधिमा विश्वविद्यालयबाट अध्ययन गरी गएका र रामपुर क्याम्पस हुँदा उत्तीर्ण उद्यमशीलतामा लागेका विद्यार्थीलाई सम्मान गर्ने कार्यक्रमसमेत रहेको छ ।

उनले भने, “सबै विद्यार्थी हाम्रा लागि समान हुन्, सबैलाई सम्मान गर्ने छौँ ।” उद्यममा लागेकाबीच मूल्याङ्कन गरी तीन जनालाई पुरस्कृतसमेत गर्ने कार्यक्रम रहेको छ । विगतमा सुरुवात गरिएको मेला कोरोना लगायतका कारणले स्थगित भएको जनाउँदै उनले यस कार्यक्रमलाई अब हरेक दुई/दुई वर्षमा गरिने बताए ।

सिद्धेश्वर गुफाको प्रवर्द्धन गर्न विस्तृत अध्ययन

दमौली । तनहुँको म्याग्दे गाउँपालिका–७ पयरेमा अवस्थित नीलकण्ठेश्वर सिद्धेश्वर गुफाको प्रवर्द्धनका लागि विस्तृत अध्ययन गरिएको छ । म्याग्दे गाउँपालिकाका प्राविधिकहरूले मङ्सिर ९ देखि १२ गतेसम्म उक्त ठाउँको विस्तृत अध्ययन प्रतिवेदन तयार गरेका हुन् ।

यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित अध्ययन गरी सुधारका योजनासहितको प्रतिवेदन तयार गरिएको निलकण्ठेश्वर महादेव सिद्धेश्वर गुफा व्यवस्थापन समितिका अध्यक्ष श्रीभद्र आचार्यले बताए । पर्यटकीय सम्भावना भए पनि प्रचारप्रसारको अभावमा यो ठाउँ ओझेलमा परेपछि प्रवर्द्धनका लागि पहल गरिएको उनले बताए । यहाँको प्रचारप्रसार तथा पर्यटकीय सम्भावनालाई उजागर गरी धार्मिक गन्तव्यस्थल बनाउने उद्देश्यले स्थानीयवासी जुटेका हुन् ।

धेरै वर्ष पहिलादेखि यहाँ रहेको यो गुफाको आवश्यक संरक्षण र प्रवर्द्धन नहुँदा ओझेलमा परेको बताउँदै आचार्यले यसको संरक्षण गरेर पर्यटकीय गतिविधि विस्तारमा जोड दिइएको उल्लेख गरे ।

“यस गुफाका बारेमा धेरैलाई थाहा छैन, सामाजिक सञ्जालमार्फत हामीले प्रचारप्रसारमा जोड दिएका छौँ । स्थानीय सरकारलाई पनि यहाँ सम्भावना उजागरमा सहयोगसहित पूर्वाधार विकासका लागि अनुरोध गरेका छौँ । सोअनुरुप पहिलो चरणको अध्ययन सकिएको छ । अब पूर्वाधार निर्माणमा जोड दिनेछौँ ।”

आचार्यसहित स्थानीयवासीले केही समयअघि मात्रै गुफाभित्र शिवलिङ्ग, गणेश, नाग, शङ्खलगायत भगवान्का आकृतिसहितका संरचना फेला पारेका हुन् । उनले भने, “गुफाभित्र शिवलिङ्ग भएका बारेमा हामीलाई पनि थाहा थिएन, गुफा अवलोकनका क्रममा उक्त शिवलिङ्ग भेटियो । नजिक भएर पनि हामी अन्यौलमा रहेछौँ । शिवलिङ्गमा आफैँ जल चुहिने गरेको छ ।” शिवलिङ्गको माथिपट्टि रहेको ढुङ्गाबाट आफैँ जल चुहिएर शिवलिङ्गमा झर्ने गरेको उनको भनाइ छ ।

आचार्यले भने, “परापूर्वकालमा यस ठाउँमा भगवान् शिवजीले बास गरेको विश्वास स्थानीयमा छ । यहाँ एक सय आठ बेलका वृक्षहरू पनि छन् । यहाँको वस्तुस्थिति हेर्दा शिवको बास थियो भन्ने कुरामा द्विविधा छैन । यसको संरक्षण र प्रवर्द्धन गर्नुपर्छ भनेर हामी जुटेका हौँ ।”

सिद्धेश्वर गुफाको प्रवर्द्धनका लागि स्थानीय सरकारले पनि चासो देखाएको छ । यस ठाउँलाई म्याग्दे गाउँपालिकाको पर्यटकीयस्थलका रूपमा लिँदै आगामी दिनमा यसको व्यवस्थापनमा पालिकाले सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । उनले भने, “गाउँपालिकाले पालिकाभित्रका सबै पर्यटकीयस्थलको प्रचारप्रसार, प्रवर्द्धन, पूर्वाधार निर्माणमा सहयोग गरिरहेको छ । यहाँको विकासका लागि पालिकाले निरन्तर सहयोग गर्नेछ ।” 

हेटौँडाका एक सय दुई वर्षीय गोविन्द लामिछानेद्वारा मतदान

मकवानपुर । स्थानीय तह उपनिर्वाचनअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१२ का एक सय दुई वर्षका गोविन्द लामिछानेले मतदान गरेका छन् । आइतबार वडाध्यक्ष पदका लागि भएको मतदानमा उनी सहभागी भएका हुन् । उनले वडाको भोर्लेस्थित विष्णुज्योति आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

बिहान ७ बजेदेखि सुरु भएको मतदान कार्यक्रममा मतदाताहरूको उत्साहजनक उपस्थिति छ । निर्वाचन कार्यालयले दुई वटा मतदानस्थलको व्यवस्था गरेको छ । कूल आठ हजार ५३ मतदातामध्ये दिउँसो १ बजेसम्ममा चार हजार दुई सय २३ मतदाताले मतदान गरेका छन् । मतदान केन्द्रमा मतदाताहरू अहिले पनि मतदान गर्न लामबद्ध छन् । 

विष्णुज्योति आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा एक हजार आठ सय ४३ मत खसेको छभने वडाको सिग्रेनीस्थित प्रतिभा आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा दुई हजार तीन सय ८० मत खसेको मतदान अधिकृत सरोज पौडेलले जानकारी दिए । 

भारत र चीनबाट पर्यटक भित्र्याउन पोखरामा ‘नाईस–२०२५’ गरिँदै

काठमाडौँ । पर्यटन प्रवर्द्धन गरी छिमेकी मूलुक भारत र चीनबाट धेरै भन्दा धेरै पर्यटक भित्राउने उद्देश्यले संयुक्त रुपमा ‘नेपाल इन्डिया चाइना एक्सपो (नाईस–२०२५)’ गरिने भएको छ ।

आगामी फागुन १२ देखि १४ सम्म पोखरामा उक्त एक्सपो (मेला) आयोजना गर्न लागिएको प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले जनाएको छ ।

आयोजक पाटाका अनुसार एक्स्पोका लागि नेपाल पर्यटन बोर्ड, उद्योग तथा पर्यटन मन्त्रालय (गण्डकी प्रदेश), पोखरा महानगरपालिका, पोखरा टुरिजम काउन्सिल र अन्य प्रमुख पर्यटनसँग सम्बन्धित सङ्घसंस्थाको सहकार्य रहने जनाइएको छ ।

पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेशसिंह बुडालका अनुसार एक्स्पोमा एकसय भन्दा बढी क्रेता, ८० भन्दा बढी बिक्रेता, भारत र चीनका २५ भन्दा बढी सञ्चारकर्मी र विज्ञ वक्तालगायत गरी एकहजार बढीको सहभागिता रहनेछ ।

उनले एक्स्पो आयोजनाको मुख्य उद्देश्य दुई ठूला अर्थतन्त्र तथा पर्यटन स्रोतबजार भारत र चीनमा नेपालको पर्यटन सम्भाव्यता र एकीकृत व्यावसायिक अवसरलाई प्रवर्द्धन गर्नु रहेको बताए ।

‘नाईस फर माईस एण्ड मोर’ भन्ने नाराका साथ आयोजना हुने एक्स्पोले पोखरालाई पदयात्रा र साहसिक पर्यटन केन्द्रको रूपमा मात्र नभइ माईस पर्यटन (अर्थात् बैठक, सभा सम्मेलन, प्रोत्साहन, विवाह तथा अन्य उत्सव, महोत्सव, समारोह, मेला र प्रदर्शनी) का लागि आकर्षक गन्तव्यको रुपमा प्रवर्द्धन गर्ने पाटाले विज्ञप्तिमार्फत जनाएको छ ।

एक्स्पोका संयोजक सुनिल भट्टराईले छिमेकी पर्यटन स्रोतबजार (चीन र भारत) बाट पर्यटन सम्बद्ध व्यवसायी र निजी तथा सरकारी निकायका सरोकारवाला एव् सङ्घ संस्थालाई एकै थलोमा आमन्त्रण गरी आपसी व्यापार प्रवर्द्धन, सम्पर्क सञ्जाल विस्तार, तथा त्रिदेशीय पर्यटनको नयाँ आयाम उजागर गर्ने महत्वपूर्ण मञ्च बन्ने विश्वास व्यक्त गरे ।

पोखरा महानगरपालिकाका नगरप्रमुख धनराज आचार्यले पोखरामा हुने कार्यक्रमले पोखराको पर्यटनलाई उल्लेखनीय रूपमा प्रवर्द्धन गर्ने बताए ।

नेपाल पर्यटन बोर्डका सिइओ दीपकराज जोशीले दुई ठूला पर्यटन स्रोतबजारका क्रेता र विक्रेतालाई जोडेर पर्यटकीय गतिविधि र अनुभव आदानप्रदान गर्ने सो कार्यक्रम पर्यटन प्रवर्द्धनको महत्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गरे ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले नाईस कार्यक्रमलाई विशेष र प्रभावकारी बनाउन सबैको सक्रियता आवश्यक रहेको बताए।

रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा पाँच जनाको मृत्यु

रोल्पा । रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा पाँच जनाको मृत्यु भएको छ । आइतबार रोल्पाको सुनछहारी गाउँपालिका वडा नम्बर ३ गाममा निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किँदा पाँच जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सुनछहरी ३ बाहिरी गामका ४५ वर्षीय दुजमान परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुवित्रा परियार, २७ वर्षीया आइती परियार र ६६ वर्षीय देवीराम परियार छन् ।

रोल्पाका प्रहरी प्रमुख डिएसपी भरत लामाले टेवा पर्खाल भत्किएर दुर्घटना भएको जानकारी दिए । पुल निर्माणमा सात जना मजदूर खटिएकामा दुई जना भने भाग्न सफल भएका थिए ।

चार देशका राजदूतले राष्ट्रपतिसमक्ष लिए शपथ

काठमाडौँ । चार देशका नवनियुक्त राजदूतहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आइतबार राष्ट्रपति भवन शीतल निवासका आयोजित कार्यक्रममा अमेरिकाका लागि लोकदर्शन रेग्मी, जर्मनीका लागि डा. शैल रुपाखेती, साउदी अरबका लागि नरेशविक्रम ढकाल र अस्ट्रेलियाका लागि चित्रलेखा यादवले राजदूतका रूपमा शपथ लिएका हुन् ।

संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि उनीहरुलाई केही दिन अघि राष्ट्रपति पौडेलले राजदूत नियुक्त गरेका थिए ।

ओपनएआईलाई नाफामुलक उद्यममा परिणत हुनबाट रोक्न मस्कको आग्रह

वासिङ्टन । एलन मस्कले च्याटजिपिटी निर्माता कम्पनी ओपन एआईलाई नाफामूलक उद्यममा परिणत हुनबाट रोक्न अमेरिकी अदालतसमक्ष पुनः आग्रह गरेका छन्।

उनी र उनको एआई स्टार्टअप एक्सएआईको प्रतिनिधित्व गर्ने वकिलहरूले उक्त निवेदन अदालतसमक्ष शुक्रबार दायर गरेको वित्तीय समाचार साइटले जनाएको छ।

निवेदनले ओपन एआईलाई यसका लगानीकर्ताहरूलाई प्रतिस्पर्धी कम्पनीमा लगानी गर्न रोक्न पनि अनुरोध गरेको छ। सन् २०१५ मा समूहको सहस्थापना गरेका ओपन एआई र मस्कबिचको व्यापार विवादका रूपमा यो पछिल्लो घटनाक्रमको विकास भएको हो।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को बढ्दो क्षेत्रमा लोकप्रियता कमाएको ओपन एआईले हालैका वर्षहरूमा यसको भूमिका आकासिएको देखेको छ।

मस्कले ओपन एआईले आफ्ना लगानीकर्ताहरूलाई प्रतिद्वन्द्वीहरूबिच लगानी गर्नबाट रोक्छ, जसले अर्बौँ डलर जोखिममा रहेको क्षेत्रमा आफ्नो सुरूवातलाई हानि पुर्‍याउने आरोप लगाएका छन्।

ओपन एआई एक गैरलाभकारीको रूपमा स्थापित भएको थियो र त्यसपछि ‘क्याप्ड’ लाभकारी उद्यममा स्विच गरिएको छ। यो हाल एक ‘सार्वजनिक–लाभ निगम’ बन्न खोज्दै छ, जसले अधिक लगानी आकर्षित गर्न सक्छ।

सन् २०१८ मा क्लब छोडेपछि मस्कले सिइओ साम अल्टम्यानको नेतृत्वमा कम्पनीले लिइरहेको नाफामुखी दिशाबाट आफू असहज भएको बताएका थिए।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अनुसन्धानलाई सबैका लागि उपलब्ध गराउने आफ्नो मूल गैरनाफामूलक मिसनलाई तोडेको आरोप लगाउँदै उनले मार्चमा कम्पनीविरुद्ध मुद्दा दायर गरेका थिए।

मस्कको मुद्दा, साथै एआईका लागि ओपन सोर्स विकासको उनको दाबी कम्पनी छोडेपछि ओपन एआईको खोट देख्नुमा मात्र सीमित रहेको ओपन एआईको तर्क छ।

फेङ्गल आँधीका कारण दक्षिण भारतमा तीन जनाको मृत्यु

बैङ्लोर। भारतको दक्षिणी तटीय क्षेत्रमा आएको न्यूनस्तरीय चक्रवातजन्य दुर्घटनाका कारण कम्तीमा तीन जनाको मृत्यु भएको छ । आँधीबाट भौतिक संरचनामा व्यापक क्षति भने नभएको अधिकारीहरूले बताएका छन् ।

फेङ्गल नाम दिइएको चक्रवात शनिबार अबेर राति ७० देखि ८० किलोमिटर प्रतिघण्टा (४३–५० माइल प्रतिघण्टा) को गतिमा तमिलनाड राज्यको तटीय क्षेत्रमा अवतरण गरेको थियो ।

तमिलनाडुराज्यका विपद् व्यवस्थापन मन्त्री केकेएसएसआर रामचन्द्रनले शनिबार राति चेन्नईमा आएको आँधीका कारण तीन जनाको मृत्यु भएको र उनीहरूको करेन्ट लागेर मृत्यु भएको जानकारी दिए ।

तर आँधीबाट भएको अन्य क्षति भने ‘न्यून’ रहेको उनले बताए ।

‘द टाइम्स अफ इन्डिया’ले मृतकको सङ्ख्या चार रहेको उल्लेख गर्दै आँधीका कारण कतिपय क्षेत्रमा बाढी आएको र रुखहरू ढलेको तर अनुमान गरिएभन्दा कम क्षति भएको उल्लेख गरेको छ ।

उत्तरी एटलान्टिक महासागरमा आँधीबेहरी वा उत्तर–पश्चिमी प्रशान्त महासागरमा आँधीबेहरी र आँधीजन्य मौसमी विपत यस क्षेत्रका वस्तीहरूका लागि एक नियमित र घातक जोखिम हो ।

यो आँधी आइतबारपछि बिस्तारै कमजोर हुँदै जाने अनुमान गरिएको छ भने भारतको मौसम विज्ञान विभागले भारतको दक्षिणी क्षेत्रमा भारी वर्षा हुने चेतावनी दिएको छ ।

विभागले आँधीको जोखिम रहँदासम्म समूद्रमा माछा मार्ने वा अन्य गतिविधिबाट टाढा रहन स्थानीयलाई सुझाव दिएको छ भने केही क्षेत्रमा “मध्यमदेखि उच्च बाढीको जोखिमको’ रहेको बताएको छ।

फेङ्गलले यसै साताको सुरुमा श्रीलङ्काको समुद्री तटमा अवतरण हुँदा छ बालबालिकासहित कम्तीमा १२ जनाको मृत्यु भएको थियो ।

जीवाश्म ईन्धनको प्रयोगले हुने जलवायु परिवर्तनका कारण विश्वव्यापी तापमान वृद्धिसँगै शक्तिशाली आँधीबेहरीजन्य विपत् अझ बढ्न थालेको वैज्ञानिकहरूले चेतावनी दिएका छन् ।

समुद्रको तातो सतहले अधिक जलवाष्प छोड्छ, जसले आँधीबेहरीलाई अतिरिक्त ऊर्जा प्रदान गर्दछ र शक्तिशाली हावाहुरीमा परिणत गर्छ ।

राम्रो पूर्वानुमान र प्रभावकारी उद्धार योजनाले आँधीका कारण नाटकीय रूपमा हुने मृत्युको सङ्ख्यामा कमी ल्याएको छ ।

बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न

तनहुँ । तनहुँको व्यास नगरपालिका–१ र २ जोड्नेगरी कराङकाठ–बसपार्क जाने बुल्दीखोलामा सवारीसाधन सञ्चालन गर्न मिल्नेगरी पुल निर्माण सुरु भएको छ ।

व्यास नगरपालिकाको समपूरक योजनाअन्तर्गत रु छ करोड ११ लाख तीन सय २४ लागतमा निर्माणाधीन उक्त पुलको ५० प्रतिशत बढी भौतिक प्रगति भएको हो । पुल २५ मिटर लम्बाइ र आठ दशमलव ४० मिटर चौडाइको हुनेछ ।

पुल बनेपछि आवागमन सहज हुनुका साथै खोला किनारका करिब एक सय घर संरक्षणमा सहयोग पुग्ने सामुदायिक टोल विकास संस्था कराङकाठ बसपार्कका अध्यक्ष सोमनाथ पौडेल बताए ।

हाल पुल निर्माण गरिएको स्थान नजिक कजवेबाट (पाइप राखेर बनाइएको अस्थायी संरचना) सवारीसाधान आवतजावत हुँदै आएको थियो । वर्षायामको समयमा खोलामा बाढी आउँदा कजवेबाट पानी निकासा हुन नसक्दा खोला आसपासका बस्तीमा पानी पसेर क्षति हुने गरेको थियो ।

आगामी भदौ २२ गतेभित्र सम्पन्न गर्नेगरी निर्माण कम्पनी ज्वालामुखी कन्स्टक्सनसँग सम्झौता भएको व्यास नगरपालिकाका योजना शाखा अधिकृत भेषराज तिवारीले बताए । कम्पनीले गत वैशाखदेखि निर्माणलाई निरन्तरता दिएकाले छोटो अवधिमा उल्लेख्य प्रगति हासिल भएको उहाँको भनाइ छ ।

“सम्झौता अवधि भन्दा अगावै सम्पन्न गर्ने अपेक्षा गरिएको छ”, शाखा अधिकृत तिवारीले भने, “निर्माण कम्पनीले फागुनभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् ।” सम्झौता अगावै निर्माण सम्पन्न गरेमा नगरपालिकाले पुरस्कृत गर्ने योजना बनाएको उनले बताए ।

अयूमीले ल्याइन् ‘आफैंलाई’

काठमाडौं । गायिका अयूमी तामाङको ‘आफैंलाई’ बोलको आधुनिक पप गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
रचना, संगीत र स्वर अयूमीकै रहेको म्युजिक भिडियोमा उनी स्वयम् र उदयमान अभिनेता कुङसाङ बमजनले अभिनय गरेका छन् ।

म्युजिक भिडियोमा काठमाडौ र ललितपुर वरपर तामाङ बस्ती र संस्कृति सम्बन्धी दृश्यका अतिरिक्त आधुनिकतातर्फ लम्किरहेको जीवन परिवेशलाई समेत समावेश गरिएको छ । म्युजिक भिडियोमा युवा युवती गहिरो माया प्रेममा डुब्नु अघि पहिले आफूलाई अनि एक–अर्कालाई बुझ्न पर्छ भन्ने गहिरो सन्देश दिन खोजिएको छ ।

साथीभाइ र पारिवारिक जमघटमा भएको म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा अयूमी पिता गीतकार डा आशबहादुर तामाङले नेपाली लोक संस्कृति सबै गीत संगीतको आधार भएकाले कुनै श्रष्टाले आफनो देश, वेशभूषा, भाषा र संस्कृति भूल्न नहुने सुझाव दिए ।

यसअघि ‘जाने भए’ बोलको पप आधुनिक गीतमा पनि उनकै रचना, संगीत र स्वर थियो । अयूमीका बाजे/बजु चन्द्रबहादुर र धनमाया प्रख्यात लोक गायक/ गायिका थिए भने पिता डा आशबहादुर तामाङ र माता हेमा पनि लोक श्रष्टाको परिचय बनाउन सफल व्यक्तित्व हुन् । नेपालको लोक गीत/संगीतको संरक्षण र सम्बद्र्धनमा उहाँहरु तीन पुस्ताकै योगदान रहेको छ ।
गीत/संगीतको पारिवारिक वातावरण र प्रेरणामा अयूमीले सिर्जनामार्फत आफनो क्षमताको निखार र परिचय अघि बढाइरहेकी छन् ।

विदेशमा कार्यरत भएपनि नेपाली गीत/संगीतप्रतिको लगाव र तत्परतालाई जीवन्त तुल्याउन परिवारका अतिरिक्त साथीसङ्गीले समेत प्रेरणा दिइरहेका छन् । उनको पछिल्लो श्रृजनाले त्यस विषयलाई उजागर गरेको छ ।

अयूमीका हजुरआमा धनमायाले ७२ वर्षको उमेरमा गण्डकी प्रदेशमा प्रचलित ठेट, ठाडो तथा ढिला भाकाका दाइँ गीतजस्ता लोपोन्मुुख गीत रेकर्ड गरी एल्वम मार्फत् सार्वजनिक भएकी थिइन् । त्यसैगरी पिता डा आशबहादुरको रचना र संगीतमा तामाङ सेलो ‘ओई सोल्टीनी’ गतवर्ष सार्वजनिक भएको थियो ।

कञ्चनपुरमा प्रहरीका पूर्व असईद्वारा श्रीमतीको हत्या

सुदूरपश्चिम । कञ्चनपुरमा नेपाल प्रहरीका सेवा निवृत्त प्रहरी सहायक निरीक्षक(असई) ले श्रीमतीको हत्या गरेका छन् । भीमदत्त नगरपालिका– ८ तिलाचौरका ४९ वर्षीया नरेन्द्र विष्टले ३० वर्षीया श्रीमती ज्योती विष्टको हत्या गरेका प्रहरीले जनाएको छ ।

शनिबार साँझ घरसायी विवादको विषयलाई लिएर विष्टले श्रीमतीको घाँटी र हातमा धारिलो हतियार प्रहार गरेर हत्या गरेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) उमेशराज जोशीले जानकारी दिए ।

उनलाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ । विष्टले हत्या गरेका ज्योती उनकी कान्छी श्रीमती हुन् ।

मर्मतसम्भारको अभावमा वायु ऊर्जा उत्पादन ठप्प

मध्यविन्दु । बर्दघाट सुस्तापूर्वको हुप्सेकोट गाउँपालिका–५ धौवादी डाँडास्थित रुद्रपुरमा नमूना आयोजनाका रूपमा सञ्चालन भएको धौवादीमा वायु ऊर्जा केन्द्र मर्मतसम्भारको अभावमा ठप्प भएको छ ।

एसियाली विकास बैंकको आर्थिक तथा प्राविधिक सहयोगमा २०६८ सालमा रु दुई करोडको लागतमा स्थापना भएको केन्द्र टर्वाइन मर्मत तथा पुरानो ब्याट्री प्रतिस्थापन नहुँदा उत्पादनविहीन बनेको हो ।

हावाबाट पङ्खा घुमाएर टर्वाइनका माध्यमले ब्याट्री चार्ज भई बिजुली उत्पादन हुँदै आएकामा टर्वाइनमा समस्या भएपछि बन्द भएको तथा अन्य उपकरणका पुर्जा पनि काम नलाग्ने भएका हुप्सेकोट गाउँपालिका–५ का वडाध्यक्ष पदमबहादुर रानामगरले बताए ।

केन्द्रबाट दैंनिक १० किलोवाट उत्पादन हुँदै आएको थियो । “केही वर्ष पूर्ण क्षमतामा विद्युत् उत्पादन भए पनि पछि टर्वाइन र ब्याट्रीमा खराबी आएपछि उत्पादन बन्द भएको हो”, वडाध्यक्ष मगरले भने ।

हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले केन्द्रका उपकरण तत्काल मर्मत गर्न वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसमक्ष पटकपटक अनुरोध गरेको तर सुनुवाइ नभएको गुनासो गरे ।

उनले भने, “प्राविधिक टोली पठाउँछौँ भन्छन् तर आजसम्म कोही आएका छैनन् ।” स्थानीय सरकारको बजेटले मात्र मर्मत गर्न नसकिने भएकाले नसक्ने हुँदा केन्द्र सरकारलाई पनि गुहारिएको तर परिणाम प्राप्त नभएको उनले बताए ।

वायु ऊर्जा परियोजना सञ्चालनपछि केही वर्ष स्थानीयले चौबीसै घण्टा विद्युत् प्रयोग गर्न पाएका थिए । धौवादी क्षेत्रमा गत वर्षदेखि राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेपछि बिजुलीको समस्या नभए पनि नमूनाका रूपमा स्थापित वायु ऊर्जा केन्द्र सञ्चालन हुनुपर्नेमा अध्यक्ष पाण्डेको जोड छ ।

उपप्रधानमन्त्री सिंहद्वारा पक्नाजोलस्थित युवक मावि केन्द्रबाट मतदान

काठमाडौं । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले मतदान गरेका छन् । काठमाडौं महानगरपलिका वडा नं १६ मा जारी उपनिर्वाचनका क्रममा उनले मतदान गरेका हुन् ।

पक्नाजोलस्थित युवक मावि मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् । मतदानपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले लोकतन्त्रको सुदृढीकरणका लागि सबैले उत्साहपूर्वक मतदान गर्नुपर्नेमा जोड दिए । वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधनपछि रिक्त रहेको पदमा उपनिर्वाचन भएको हो ।

गाडीको ठक्करबाट सिरहामा सशस्त्र प्रहरीको मृत्यु

सिरहा । सिरहामा ड्युटीमा खटिएका एकजना सशस्त्र प्रहरीको सवारीसाधनको ठक्करबाट मृत्यु भएको छ । सिरहाको बरियारपट्टी गाउँपालिका–१ स्थित कचनारी बोर्डरको छेउमा नम्बर नखुलेको गाडीले आइतबार बिहान करिब ३ बजे ठक्कर दिँदा सशस्त्र प्रहरीका सई लक्ष्मण प्रसाद यादवको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी वीरेन्द्रकुमार पासमानका अनुसार गाडीको ठक्करबाट गम्भीर घाइते भएका यादवको उपचारका क्रममा प्रादेशिक अस्पताल लहानमा मृत्यु भएको हो । ठक्कर दिएको गाडीसहित चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

स्थानीय तह उपनिर्वाचनः शान्तिपूर्ण रूपमा मतदान हुँदै

काठमाडौँ । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि देशका विभिन्न स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।

हेटौँडाबाट हाम्रा स्थानीय प्रतिनिधिले जनाएअनुसार हेटौँडा उपमहानगरपालिका– १२ मा वडाध्यक्ष पदका लागि मतदान जारी छ । मतदाता उत्साहका साथ भोट खसाल्न उक्त उपमहानगरपालिका–१२ स्थित प्रतिभा आधारभूत विद्यालय र विष्णुज्योति आधारभूत विद्यालय मतदान केन्द्रमा लामबद्ध भएका छन् । सो वडामा आठ हजार ५३ मतदाता रहेका बागमती प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

गत निर्वाचनमा वडाध्यक्षमा निर्वाचित ललितबहादुर घलान मकवानपुर जिल्ला समन्वय समितिको प्रमुख भएपछि उक्त पद रिक्त भएको हो । सो वडाको वडाध्यक्षका लागि विभिन्न दलका नौ जना तथा तीन जना स्वतन्त्र गरी १२ जना चुनावी मैदानमा छन् ।

यसैगरी सप्तरीको राजविराजबाट सम्प्रेषण गरेको समाचारमा डाक्नेश्वरी नगरपालिका वडा नं. १ र ४ मा वडाध्यक्ष पदका लागि पाँच मतदान केन्द्रमा मतदान जारी छ । दुवै वडाबाट निर्वाचित वडाअध्यक्षको निधन भएपछि उपनिर्वाचन भएको हो । वडा नं. १ मा एक स्वतन्त्रसहित आठ जना तथा वडा नं. ४ मा पनि एक महिलासहित आठ जना उम्मेदवार छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार डाक्नेश्वरी नगरपालिका– १ मा दुई हजार ६३५ र वडा – ४ मा एक हजार २८१ मतदाता छन् ।

दैलेखस्थित रासस समाचादाताका अनुसार महावु गाउँपालिका–५ को वडाध्यक्ष पदका लागि दुई मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।

आज बिहान निर्धारित समयमा सुरु भएको मतदानमा ९२ वर्षीया जगत्कुमारी सिंहले पहिलो मतदान गर्नुभएको छ । उक्त निर्वाचनमा सात उम्मेवारबीच प्रतिस्पर्धा हुँदैछ । उक्त वडामा एक हजार सात सय ६० मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

त्यसैगरी हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष पदका लागि शान्तिपूर्ण रुपमा मतदान भइरहेको सिमकोटस्थित हाम्रा समाचारदाताले जनाएका छन् । सर्केगाडका देवल प्रावि, सरस्वती मावि, लालीगुँरास मावि, देवकोटा मावि, हिमज्योति मावि, भवानी मावी, धुमचुली मावि कल्लास, स्वयम्भू मावि, ईश्वर मावि, कोट मावि, अंशुवर्मा मावि र नीलकण्ठ सामुदायिक प्राविमा मतदान केन्द्रमा भोट हाल्न मतदाता लामबद्ध भएका छन् ।

लामबद्ध मतदाता
सिमकोट(हुम्ला), १६ मङ्सिर :
हुम्लाको सर्केगाड गाउँपालिकामा रिक्त पदका लागि भएको उपनिर्वाचनमा आइतबार बिहान पालिका केन्द्रमा रहेको हिमज्योती माध्यामिक विद्यालयको मतदान केन्द्रमा मतदानका लागि लामबद्ध मतदाता। तस्बिर : दाने बोहरा/रासस
लामबद्ध मतदाता
सिमकोट(हुम्ला), १६ मङ्सिर :
हुम्लाको सर्केगाड गाउँपालिकामा रिक्त पदका लागि भएको उपनिर्वाचनमा आइतबार सर्केगाड गाउँपालिका–३ स्थित देवकोटा आधारभूत विद्यालयमाको मतदान केन्द्रमा मतदानका लागि लामबद्ध मतदाता। तस्बिर : दाने बोहरा/रासस
काठमाडौँ, १६ मङ्सिर :
मतदानका लागि लामबद्ध मतदाता
काठमाडौँ महानगरपालिका वडा नं १६ मा रिक्त पदका लागि भएको उपनिर्वाचनमा आइतबार बिहान बालाजुस्थित तरुण मावि मतदान केन्द्रमा मतदानका लागि लामबद्ध मतदाता । तस्बिर : हरिराम भेटुवाल/रासस
नौगाड(दार्चुला), १६ मङ्सिर :
मतदान गर्दै मतदाता
दार्चुलाको दुहुँ गाउँपालिका-५ स्थित दुर्गा आधारभूत विद्यालय धारी मतदान केन्द्रमा वडा अध्यक्ष पदको लागि आइतबार भएको उपनिर्वाचनमा मतदान गर्दै मतदाता । तस्बिर : नरेन्द्रसिंह कार्की/रासस

कीर्तिपुरका २० स्थानमा मतदान जारी

काठमाडौं । कीर्तिपुर नगरपालिकाका २० स्थानमा नगरप्रमुख र दुई वडाध्यक्षका लागि उत्साहपूर्वक मतदान जारी छ ।

मतदान अधिकृत इन्दिरा कार्कीका अनुसार नगरप्रमुख र वडा नं १ र ४ का वडाध्यक्षका लागि जारी मतदानमा नगरप्रमुखमा दलीय र स्वतन्त्र गरी २० उम्मेदवार तथा वडा नं १ मा नौ र वडा नं ४ मा १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

नगरप्रमुख राजकुमार नकर्मी, वडा १ का अध्यक्ष हीरालाल महर्जन र वडा नंं ४ का अध्यक्ष श्यामराज अधिकारीको निधनपछि ती पद रिक्त भएका हुन् ।

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु

काठमाडौँ । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि मतदान सुरु भएको छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान प्रारम्भ भएको हो ।

निर्वाचन आयोगका प्रवक्ता नीता पोख्रेल अर्यालका अनुसार अपराह्न ५ बजेसम्म मतदानमा दुई लाख २६ हजार सात सय ९९ जनाले मताधिकार प्रयोग गर्नेछन् । यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् । शान्त र सहिष्णु वातावरणमा मतदान भइरहेको छ ।

आयोगले सक्कल मतदाता परिचयपत्र, नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र र वा सवारी चालक अनुुमतिपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था गरेको जनाएको छ ।

बीआरआईमा कांग्रेस र एमालेबीच समान धारणा बन्यो :महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बीआरआई कार्यान्वयनका सन्दर्भमा कांग्रेस र एमालेबीच समान धारणा बनेको बताएका छन् ।

शनिबार राति सामाजिक संजालमार्फत महासचिव पोखरेलले अव बीआरआई अन्तरगतको चिनियाँ सहयोग परिचालनका सन्दर्भमा साझा फ्रेमवर्क तयार भएसंगै परियोजना कार्यान्वयनमा सहजता हुने बताएका हुन् ।

उनले बीआरआईका सन्दर्भमा प्रमुख दलहरु बीचको सहमतिले अन्तर्राष्ट्रिय मामिलामा साझा राष्ट्रिय दृष्टिकोण तयार गर्ने सुखद प्रकृया आरम्भ भएको मान्न सकिने समेत बताएका छन् ।

उनले भनेका छन्, ‘बीआरआईको कार्यान्वयका सन्दर्भमा नेपालका प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस र नेकपा(एमाले)ले साझा धारणा बनाउने काम गरेका छन् । विगतमा बीआरआईका सन्दर्भमा नेपालले एमओयू हस्ताक्षर गरेपनि सो अन्तरगतका परियोजनाहरु अघि वढ्न सकेका थिएनन् । अब बीआरआई अन्तरगतको चिनियाँ सहयोग परिचालनका सन्दर्भमा साझा फ्रेमवर्क तयार भएसंगै परियोजना कार्यान्वयनमा सहजता हुनेछ । प्रधानमन्त्रीको आसन्न चीन भ्रमणमा यस सहमतिले सार्थकता पाएसँगै नेपालको विकासमा चिनियाँ सहयोग परिचालनमा तिव्रता आउनेछ । बीआरआईका सन्दर्भमा प्रमुख दलहरु बीचको सहमतिले अन्तर्राष्ट्रिय मामिलामा साझा राष्ट्रिय दृष्टिकोण तयार गर्ने सुखद प्रकृया आरम्भ भएको मान्न सकिन्छ ।’

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र हवाई इन्धनको मूल्य बढाएको छ । शनिबार मध्यरातिदेखि लागू हुनेगरी निगमले पेट्रोलमा १ रुपैयाँ मूल्य बढाएको हो ।

त्यस्तै निगमले आन्तरिक हवाई इन्धनमा २ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाइ इन्धनमा प्रति किलोलिटर काठमाडौंमा १५, पोखरामा ३४ र भैरहवामा ३३ अमेरिकी डलरले मूल्य वृद्धि गरेको हो ।

प्रधानमन्त्रीद्वारा आसन्न चीन भ्रमणबारे राष्ट्रपतिलाई ब्रिफिङ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणका विषयमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष जानकारी गराएका छन् ।

शनिबार शीतलनिवासमा भएको भेटमा आसन्न चीन भ्रमण र विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । भेटमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा पनि सहभागी थिइन् । परराष्ट्रमन्त्री राणा शनिबार मात्रै चीनबाट स्वेदश फर्किएकी हुन् ।

प्रधानमन्त्री ओली आगामी सोमबार चीनको औपचारिक भ्रमणमा जाँदैछन् ।

ओमानमा पहिलोपटक सामाजिक सुरक्षासम्बन्धी विशेष कार्यक्रम

 काठमाडौं । ओमानस्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्धता तथा योगदानको नियमितता गर्ने, श्रम एवं कन्सुलर सेवासम्बन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ ।

सो अवसरमा ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालले सामाजिक सुरक्षा कोष, श्रमिकको सुरक्षाका निम्ति नेपाल सरकारले चालेका कदमबारे जानकारी दिँदै आतिथेय मुलुकको कानुनको पूर्ण परिपालना गर्न सम्बद्ध सबैमा आग्रह गरे ।

सामाजिक सुरक्षा कोषका उपकार्यकारी निर्देशक विवेक पन्थीले सामाजिक सुरक्षा कोषमा आबद्ध हुने प्रक्रियाबारे जानकारी दिएका थिए ।

कार्यक्रममा श्रम तथा कन्सुलर सेवासम्बन्धी जानकारी दिइएको थियो । कार्यक्रमबाट दुई सय १५ जना सेवाग्राही लाभान्वित भएका राजदूतावासले आज जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

नेपाली राजदूतावास मस्कटबाट विगतमा कार्यालय खुलेको दिनमा सेवा लिन आउन असहज हुने नेपाली श्रमिकहरूलाई लक्षित गर्दै निजहरुको सहजताका लागि सार्वजनिक बिदाकै दिनमा राहदानी तथा कन्सुलर सेवासम्बन्धी शिविर सञ्चालन गर्दै आएको भए तापनि विदेशमा भने सामाजिक सुरक्षासम्बन्धी सेवा पहिलो पटक आयोजना गरिएको हो ।