`

सिरियामा भएको इजरायली हमलामा ३६ जनाको मृत्यु

दमास्कस । सिरियाको प्राचीन पाल्मिरा सहरमा बुधबार भएको इजरायली हमलामा ३६ जनाको मृत्यु भएको छ । साथै अन्य ५० जना भन्दा बढी घाइते भएको सिरियाली रक्षा मन्त्रालयले जनाएको छ ।

बेलायतमा आधारित युद्ध पर्यवेक्षक ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ ले भने इजरायली आक्रमणमा ६१ जनाको मृत्यु भएको जनाएको छ । जस मध्ये ३३ जना इरानी मिलिसियासँग सम्बन्धित सिरियाली, २२ जना गैर–सिरियाली, चार जना हिजबुल्लाह र दुई जना अज्ञात थिए ।

‘इजरायलले अल–तान्फ क्षेत्रको पाल्मिरा सहरका धेरै भवनहरूलाई निशाना बनाएर हवाई आक्रमण गरेको रक्षा मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको हो ।’

सिरियाको विदेश मन्त्रालयले पाल्मिरा सहर विरुद्धको क्रूर इजरायली आक्रमणको कडा निन्दा गर्दै यसले यस क्षेत्रका देशहरूका जनता विरुद्धको निरन्तरको अपराधलाई प्रतिबिम्बित गरेको जनाएको छ ।

युनेस्कोको विश्व सम्पदा सुचिमा समावेश स्थल पाल्मिरा सिरियाली गृहयुद्धको चरम अवस्थामा इस्लामिक राज्यका जिहादीहरूले कब्जा गरेका थिए ।

सिरियाका पुरातत्व तथा सङ्ग्रहालयका महानिर्देशक नाजिर अवादले पछिल्लो आक्रमणमा सहरका मन्दिरहरूमा प्रत्यक्ष क्षति नभएको बताएका छन् ।

सैनिक सहकार्य वार्तामा दुई देशका सैनिकबीच पारस्परिक साझेदारीका विषयमा छलफल

काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देल र नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी बीच दुई देशका सैनिकबीच पारस्परिक साझेदारी र हितमा केन्द्रित रहेर सैनिक मुख्यालय जङ्गी अड्डामा द्विपक्षीय वार्ता भएको छ ।

वार्ताका क्रममा नेपाली सेनाको कार्य जिम्मेवारी र सम्पादन गर्दै आएका कार्य बारेमा संक्षिप्त जानकारी प्रस्तुत गरिएको सैनिक प्रवक्ता सहायक रथी गौरवकुमार केसीले जानकारी दिए ।

त्यसअघि भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले उनको सम्मानमा नेपाली सेनाद्वारा प्रस्तुत सम्मान गारत निरीक्षण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । त्यसअवसरमा भारतीय सेनाध्यक्षले जङ्गी अड्डा परिसरमा वृक्षारोपण गरेका थिए ।

सो क्रममा भारतीय स्थल सेनाध्यक्षले सैनिक मञ्च टुँडिखेल रहेको वीर स्मारकमा पुष्पहार अर्पण गरेका थिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले आजै स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गर्ने कार्यक्रम छ । गत १६ असारमा सेनाध्यक्ष नियुक्त भएका द्विवेदीको यो पहिलो औपचारिक नेपाल भ्रमण हो । भोलि प्रधानमन्त्री केपी ओली र रक्षामन्त्री मानवीर राईसँग उनले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

सन् १९५० देखि नेपाल र भारतबीच एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा छ । यसअघि भारतका राष्ट्रपति रामनाथ कोविन्दले नेपालका तत्कालीन प्रधानसेनापति प्रभुराम शर्मालाई २०७८ कात्तिक २४ गते भारतीय स्थलसेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गरेका थिए ।

त्यस्तै भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ भदौ २० गते नेपाली सेनाको मानार्थ महारथी पद प्रदान गरेकी थिइन् ।

सन् १९५० मा भारतका सेनाध्यक्ष जनरल केएम परिअप्पालाई पहिलो पटक नेपाली सेनाको मानार्थ महारथी प्रदान गरिएको थियो भने २०२६ सालमा तत्कालीन प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई पनि पहिलो पटक भारतीय सेनाको मानार्थ महारथीबाट सुशोभित गरिएको थियो ।

छिमेकी देशका सेनाबीचको यस्तो सम्मान परम्पराले सम्बन्धलाई सुमधुर तुल्याउन र सौहार्दता कायम राख्न एउटा महत्वपूर्ण कडीका रुपमा भूमिका खेल्ने विश्वास गरिएको छ ।प्रधान सेनापति सिग्देलको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष द्विवेदी पाँच दिवसीय नेपाल भ्रमणका क्रममा बुधबार अपराह्न काठमाडौँ आएका हुन् । 

मन्त्री परिवर्तन हुने कुरा हल्ला मात्रः गृहमन्त्री लेखक

सुदूरपश्चिम । गृहमन्त्री रमेश लेखकले मन्त्री परिवर्तन हुने कुरा हल्ला मात्र रहेको बताएका छन् । बिहीबार धनगढीमा प्रेस युनियनले गरेको पत्रकार सम्मेनलमा गृहमन्त्री लेखकले आजका मितिसम्म मन्त्री हेरफेर हुने कुरामा कुनै छलफल नभएको बताएका हुन् ।

उनले प्रधानमन्त्रीय पद्धतिमा प्रधानमन्त्रीले आवश्यकताअनुसार मन्त्री हेरफेर गर्न सक्ने बताए । उनले भने, ‘दुई दलको सरकार भएकाले मन्त्री हेरफेर गर्दा छलफल गरेर मात्र हुन्छ तर अहिलेसम्म त्यस्तो छलफल भएको छैन।’

प्रधानमन्त्रीले गर्ने चीन भ्रमणका विषयमा दुई दलबीच खटपट भएको छ नि भन्ने सञ्चाररकर्मीको जिज्ञासामा गृहमन्त्री लेखकले सामान्य छलफलको विषयलाई ठूलो बनाएर बेकारको हल्ला चलाएको दाबी गरे ।

उनले भने, ‘एमाले र कांग्रेसबीच कुनै पनि विषयमा असमझदारी छैन, दुई दल मुख्य प्रतिस्पर्धी भए पनि मिलेर सरकार चलाइरहेका छौँ, २०८४ को निर्वाचनसम्म सहज मिलेर जान्छौँ।’

गृहमन्त्री लेखकले भारत वा चीन कुन देश अगाडि जाने भन्ने विषय सामान्य रहेको बताए । उनले भने, ‘प्रधानमन्त्रीको चीन भ्रमणको मिति तय भइसकेको छ, चीन भ्रमणलगत्तै भारत भ्रमण गर्नुहुन्छ।’

अन्नपूर्ण दोस्रो हिमाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । कास्की र मनाङको सिमानामा बिहीबार भूकम्पको गएको छ । बिहीबार बिहान १० बजेर १३ मिनेटमा अन्नपूर्ण दोस्रो हिमाल आसपास केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

खोला किनारको मापदण्ड खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं । काठमाडौं उपत्यकाका नदी तथा खोला किनारको मापदण्ड खारेज गर्न माग गर्दै र्‍याली निकालिएको छ । गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समिति तथा भूमि अधिकार संरक्षण संघर्ष समितिले बिहीबार र्‍याली निकालेका हुन् ।

‘जनतालाई उठिबास गर्ने गैर न्यायिक सडक तथा खोला मापदण्ड खारेज गर’ लगायत नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेर उनीहरुले र्याली निकालेका हुन् । ललितपुरको कुपण्डोलस्थित बागमती नदी किनारबाट शुरू भएको र्‍याली माइतीघर मण्डलासम्म पुग्ने छ ।

र्‍यालीमा अभियन्ता सुमन सायमीलगायत सहभागी छन् । २०८० पुस ३ मा सर्वोच्च अदालतले नदी क्षेत्र संरक्षणका लागि बागमती, विष्णुमतीलगायत उपत्यकाका ठूला नदी तथा खोलामा ४० मिटर जग्गा छाडेर मात्र संरचना निर्माणको अनुमति दिन आदेश दिएको थियो । यो कार्यान्वयन गर्दा सयौंको उठिबास लाग्ने भन्दै कतिपयले विरोध जनाएका छन् ।

चितवनमा धान उत्पादन घट्यो

चितवन । गत वर्षको तुलनामा यो वर्ष चितवनमा धान उत्पादनमा ह्रास आएको छ । कृषि विकास कार्यालयका अनुसार यस वर्ष वर्षे धान एक लाख १२ हजार ९२ दशमलव ४८ मेट्रिकटन उत्पादन भएको छ । गत वर्ष वर्ष एक लाख १४ हजार २६९ दशमलव चार मेट्रिक टन धान उत्पादन भएको थियो ।

यो वर्ष २७ हजार २७० हेक्टरमा धानखेती भएको थियो । कार्यालयले क्रप‘क्रपकटिङ्’माध्यमबाट लिएको तथ्याङ्कअनुसार यस वर्ष उत्पादकत्वमा पनि कमी आएको छ । प्रतिहेक्टर ४ दशमलव १२ मेट्रिक टन उत्पादन भएको छ ।

पूर्वी चितवनका केही स्थानमा सावा मन्सुली, सावित्री धानमा डट्टी पेनिकल, कालो पोके, राइस लिफ फोल्डर, गबारो र पतेरा प्यानीकल व्लाईट रोगका कारण उत्पादन घटेको उक्त कार्यालयले जनाएको छ ।

जिल्लामा चैते ५, सावित्री, वार, बहुगुणी २, हर्दिनाथ १, हर्दिनाथ ६, पिआरे, सावा मन्सुली, मोती, गोरखनाथ, जिरामसिनो, राम धानखेती हुने गरेको छ ।

राष्ट्रपतिद्वारा ढुङ्गानाको परिवारप्रति समवेदना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख एवं संविधानविद् दमननाथ ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनका शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले स्वर्गीय ढुङ्गानाको निवासमा पुगेर उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेका हुन् ।

पूर्वसभामुख ढुङ्गानाको उपचारका क्रममा ८३ वर्षको उमेरमा गत आइतबार निधन भएको हो । उनी लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट पीडित थिए ।

अदानीमाथि अमेरिकामा २५ करोड डलर बराबरको घूस दिने योजना बनाएको अभियोग

बीबीसी । भारतीय अर्बपति गौतम अदानीलाई अमेरिकामा जालसाजीको अभियोग लगाइएको छ। उनीमाथि २५ करोड अमेरिकी डलर बराबरको घूस दिने योजना बनाएको र अमेरिकामा रकम उठाउने क्रममा उक्त मामिला लुकाएको आरोप लागेको हो ।

न्यूयोर्कमा उनीविरुद्ध बुधबार त्यससम्बन्धी आपराधिक मामिलामा अभियोगपत्रहरू दर्ता भएका छन् । भारतका सबैभन्दा धनी व्यक्तिमध्येका एक ६२ वर्षे अदानीमाथि लागेको यो पछिल्लो गम्भीर आरोप हो । उनले व्यापार– व्यवसायको साम्राज्य खडा गरेका छन् र ती व्यापारहरूमा बन्दरगाह र विमानस्थल निर्माण तथा सञ्चालनदेखि नवीकरणीय ऊर्जाको विस्तारसम्म फैलिएका छन् ।

उनीविरुद्धको अभियोगमा अभियोजनकर्ताहरूले अदानी र अन्य वरिष्ठ कार्यकारीहरू २० वर्षमा २ अर्ब अमेरिकी डलर बराबरको नाफा कमाउने अपेक्षा गरिएको नवीकरणीय ऊर्जा कम्पनीको ठेक्का पाउनका लागि भारतीय अधिकारीहरूलाई घूस दिन सहमत भएको आरोप लगाएका छन् ।

यसबारे अदानी समूहलाई टिप्पणीका लागि अनुरोध गरिएको भए पनि उक्त समूहले हालसम्म प्रतिक्रिया दिएको छैन । विभिन्न कम्पनीहरूको एउटा ग्रुप बनाएर अमेरिकामा चलिरहेको उक्त समूह सन् २०२३ देखि शङ्काको घेरामा रहँदै आएको छ ।

त्यसबेला एउटा उच्च प्रतिष्ठित कम्पनीले जालसाजी गरेको आरोप लगाउँदै एउटा प्रतिवेदन सार्वजनिक गरेपछि त्यसले अदानी समूहमाथि शङ्का उत्पन्न गराएको हो । उक्त प्रतिवेदनमा गरिएका दाबीहरूलाई अदानीले अस्वीकार गरेका थिए र त्यहाँ उनको ठूलो बजार हिस्सा तत्कालै बिक्री भएको थियो । घूस दिएको भनिएको उक्त प्रतिवेदन महिनौँदेखि यताबाट उता र उताबाट यता भइरहेको छ ।

अमेरिकाले सन् २०२२ देखि अदानीको कम्पनीमाथि अनुसन्धान सुरु गरेको थियो र अभियोजनकर्ताहरूले अनुसन्धानमा अवरोध भएको अनुभव गरेका थिए ।

अभियोजनकर्ताहरूले अदानीको कम्पनीका कार्यकारी व्यक्तिहरूले आफ्नो समूहका घूसविरोधी नीतिहरू तथा घूससम्बन्धी अनुसन्धानका प्रतिवेदनहरूको नक्कली प्रतिहरू पेस गरेर झुक्याइमा पारेर अमेरिकी विभिन्न फर्महरूबाट ३ अर्ब डलर बराबरको कर्जा र बन्डहरू उठाएको अभियोग लगाएका छन्।

व्यावसायिक च्याउखेतीमा कैलालीका किसान

कैलाली । कैलालीका किसान व्यावसायिक च्याउखेतीमा आकर्षित भएका छन् । अन्य खेतीको तुलनामा च्याउखेतीबाट मनग्ये आम्दानी हुने भएकाले उनीहरूको यसमा आकर्षण बढेको हो ।

धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले व्यावसायिक च्याउखेतीबाट प्रशस्त आम्दानी गर्दै आएका छन् । उनले सुभाष बहुउद्देश्यीय कृषि फर्म दर्ता गरेर च्याउखेती गर्दै आएका हुन् ।

चार वर्षअघि ६० हजार लगानीमा एउटा टनेलबाट च्याउखेती थालेका उनले हाल पाँच वटा टनेलबाट च्याउ उत्पादन गर्दै आएका छन् ।

पाँच वटा टनेलबाट उत्पादन भएको च्याउ बिक्रीबाट सबै खर्च कटाएर छ महिनामा छ लाख बचत हुने उनले बताए । उनले भने,’हिउँदका छ महिना मात्रै च्याउ उत्पादन गर्छु । ‘किङ्ग ओइस्टर’ च्याउ उत्पादन गर्दै आएको छु । यो च्याउ प्रतिकिलो दुई सयदेखि दुई सय पचासमा बिक्री हुने गरेको छ । बजारको मागअनुसार आपूर्ति गर्न सकेको छैन । प्रतिदिन ७० देखि ८० केजी च्याउ बिक्री गर्दै आएको छु ।’

च्याउखेतीमा लगानी कम र आम्दानी बढी हुने उनी बताउँछन् । उनले भने, ‘यसमा लगानी कम भए पनि मेहनत बढी चाहिन्छ । चार जनाको परिवार छ,घर खर्च चलेको छ । पराल काट्ने मेसिन, मिनिटिर च्याउ बेचेर किनेको छु ।’ च्याउखेती विस्तार गर्दै जाने आफ्नो योजना उनले सुनाए ।

यसैगरी, गोदावरी नगरपालिका–८ फकलपुरकी राजकुमारी चौधरीले पनि सात व्यावसायिक रूपमा च्याउखेती गरेकी छन् । च्याउ बिक्रीबाट खर्च कटाएर वार्षिक दुई लाख बचत हुने गरेको उनले बताइन् । उनले भनिन्, ‘च्याउखेतीबाट छोटो समयमा प्रशस्त आम्दानी गर्न सकिन्छ ।’ च्याउ बिक्रीमा कुनै समस्या नभएको बरु माग धान्न कठिन भएको उनको अनुभव छ ।

च्याउसँगै डेढ कठ्ठा जग्गामा सागसब्जी पनि लगाएकी उनले त्यसबाट वार्षिक एक लाख बचत गर्दै आएको बताइन् ।

गिजोलिँदै महसुल बक्यौता विवाद

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन बक्यौता नबुझाउने २८ उद्योगको लाइन पछिल्लो पटक कात्तिक ८ गते काट्यो । उद्योगको लाइन काटिएपछि उद्योगीहरु प्राधिकरणलाई महसुल बुझाउनुको साटो राजनीतिक लबिङमा लागे । उद्योगी प्रधानमन्त्री, मन्त्री र दलका नेताको घरघरमा धाए । न प्रधानमन्त्रीले न मन्त्री र न त दलकै नेताले उनीहरुलाई महसुल बुझाउ भने । बरु उद्योगीले भनेअनुसार सरकार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही गर्ने मनसायले स्पष्टीकरण सोध्न थाल्यो । तर प्राधिकरण महसुल नबुझाई लाइन नजोड्ने अडानमा बस्यो । त्यसपछि कात्तिक २५ गते आइतबार बसेको मन्त्रिपरिषद बैठकले टीओडीका आधारमा बक्यौता उठाउने र काटिएको लाइन भोलिपल्ट(सोमबार) मध्यान्ह १२ बजेसम्म जोड्न प्राधिकरणलाई निर्देशन दियो । तर प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ लाइन जोड्न तयार भएनन् । अनि मंगलबार बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैकठले निर्णय गरेपछि मात्र विद्युत् लाइन जोडिएका हुन् । मन्त्रिपरिषद् बैठकले काटिएका लाइन जोड्ने र टाइम अफ डे (टिओडी) मिटरका आधारमा १५ दिनभित्र विवादित बक्यौता उठाउने निर्णय गरेको थियो । त्यसपछि कात्तिक २८ गते पत्रकार सम्मेलन गरी घिसिङले १५ दिनभित्र बक्यौता नबुझाए फेरि लाइट काट्ने बताएका छन् । बक्यौता उठाउने मन्त्रिपरिषद्को निर्देशन स्मरण गराउँदै उनले भने, ‘१५ दिनभित्र हामीले गरेको बिलअनुसारको रकम बुझाएन भने हामी आफ्नो प्रक्रियामा फेरि पनि लाग्नेछौँ। नेपाल सरकारले पनि भनिसकेको अवस्था छ– १५ दिनभित्र बक्यौता रकम असुलउपर गर्नू।’ त्यसपछि प्राधिकरणले १५ दिनको समय दिएर मंसिर १२ गतेभित्र बक्यौता बुझाउन सार्वजनिक सूचना नै जारी गरिसकेको छ ।

तर बक्यौता बुझाउनुपर्ने दिन नजिक आइरहेका बेला सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘डेडिकेटेड’ तथा ‘ट्रङ्कलाइन’ विवादमा नेपाल विद्युत प्राधिकरणले काटेका बिलबिजकको अध्ययन गर्न तीन सदस्यीय विज्ञ समिति गठन गरेको छ । मन्त्री दीपक खड्काले डेडिकेटेड तथा ट्रङ्कलाइन विद्युत् महसूल बक्यौतासम्बन्धी आवश्यक सत्यतथ्य विवरण÷प्रमाण संकलन गर्ने एवम् प्रमाणीकरण गर्ने कार्यादेशअनुसार नेसनल कलेज अफ इन्जिनियरिङ्का प्राडा अरविन्दकुमार मिश्रको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका हुन् । समितिको सदस्यमा ‘चार्टड एकाउन्टेन्ट’ सुजनकुमार काफ्ले र श्रीरामराज पाण्डे छन् । समितिले गिरिशचन्द्र लाल नेतृत्वको आयोगले गरेका सिफारिस र मन्त्रिपरिषद्ले गरेका निर्णयका आधारमा पहिले काटेका बिलबिजकलाई ‘टाइम अफ डे’ (टीओडी) मिटरका आधारमा पुनःगणना गरी जाँच गर्ने मन्त्री खड्काले बताएका छन् ।

महसुल बक्यौता विवाद अदालतमा पुगेर फैसला भइसकेको विषय हो । उद्योगीले हालेका सबै मुद्दामा प्राधिकरणका पक्षमा फैसला आइसकेको छ । तर मन्त्रिपरिषदले १५ दिनभित्र उठाउ भन्ने अनि मन्त्रीले विज्ञ समिति गठन गरेर फेरि यसलाई अड्को थाप्ने काम सुरु गरेका छन् ।

विद्युत प्राधिकरण संचालक समितिका अध्यक्ष एवं ऊर्जा मन्त्रीले प्राधिकरणले केही ठूला उपभोक्तालाई दिएको विद्युत महसुलको बिलमा त्रुटि भए नभएको जाँच्न अलग समिति बनाइदिएछन् । बिल पुनरावलोकन गराउने त्यस्तो सुविधा प्राधिकरणका सानातिना उपभोक्ताले पाउने कि नपाउने अब ? भन्दै उपभोक्ताले समेत प्रश्न गर्न थालेका छन् ।
प्राधिकरणले महसुल उठाउन लागेको बेला फेरि बीचमा मन्त्रालयले हस्तक्षेप गरेको भन्दै प्राधिकरण संचालक समितिका सदस्यसमेत यस विषयमा रुष्ट बनेका छन् । प्राधिकरण सञ्चालक समितिका सदस्य कपिल आचार्यले मन्त्रालयले प्राधिकरणमाथि अनावश्यक हस्तक्षेप गर्न खोजेको बताएका छन् । ऊर्जा मन्त्रालयले समिति बनाउने नै भए प्राधिकरण वा नियमन आयोगभित्र बनाउनुपर्नेमा त्यसो नगरिएको उनको भनाई छ । उनको प्रश्न छ, ‘समिति गठनको कानुनी आधार के ? अनि प्राधिकरणले जारी गरेको बिल बाहिरी मान्छेले कसरी जाँच गर्न सक्छन् ? कतिजनाको बिल जाँच गर्ने ?’

पूर्वउर्जासचिव अनुपकुमार उपाध्याय महसुल विवादबारे अदालतहरुबाट विगतमा पनि पटक पटक निर्णय भैसकेको बताउँछन् । उनी मन्त्रीले बनाएको समितिलाई बिल सच्याउने अधिकार नभएको र यो विवादलाई थप तन्काउने मन्त्रीको मनसाय भएको बताउँछन् । उनी भन्छन्, ‘डेडिकेटेड र ट्रंक लाईन महसुलबारे अदालतहरुबाट विगतमा पनि पटक पटक निर्णय भैसकेको छ। पैसाको कुरा आएपछि सामान्यतया कर्मचारीले नअसुल्ने निर्णय गर्दैनन् । नेपालको विगत हेर्दा कर्मचारीले गर्नु हुँदैन, भन्ने मेरो सल्लाह हो । यदि कसैले न्यायिक मन प्रयोग गरिहालेछन् भने तिनका तीन पुस्ता कुनै समयमा अपराधीमा दर्ज हुनेछन् । त्यसैले ‘अदालत शरणम गक्षामी’ मनन गरौं, जप गरौं ।’

विद्युत् नियमन आयोग ऐन, २०७४ ले जाँचबुझ तथा निरीक्षण गर्ने अधिकार स्पष्ट रूपमा आयोगलाई दिएको छ । ऐनको दफा १७ अनुसार अनुमतिप्राप्त संस्था (प्राधिकरणलगायत)हरूले ऐन र ऐनअन्तर्गतका नियम, विनियम, निर्देशिका वा मापदण्ड तथा प्रचलित अन्य कानुन वा सर्तबमोजिम कार्य गरे–नगरेको सम्बन्धमा आयोगले आवश्यक जाँचबुझ तथा निरीक्षण गर्न वा गराउन सक्नेछ भनिएको छ । यसअनुसार पछिल्लो बक्यौता विवादमा पनि आयोगले आवश्यक जाँचबुझ गर्न वा गराउन सक्नेछ । तर आयोगले हेर्ने विषयलाई नजरअन्दाज गर्दै मन्त्री खड्काले कानुनले पनि नचिन्ने समिति गठन किन गरे ? यो विषयलाई सरकार थप तन्काउनै लागेको हो त ?

अब कुरा छ प्राधिकरणले मंसिर १२ गतेभित्र महसुल बुझाउन सार्वजनिक सूचना जारी गरिसकेको छ । यदि मन्त्री यो विषयलाई थप तन्काउन खोज्ने र प्राधिकरणले महसुल नबुझाएको खण्डमा मंसिर १२ पछि उद्योगीको लाइन काट्यो भने यो विषय थप गिजोलिने निश्चित छ । अनि सरकार उद्योगीबाट महसुल उठाउन नभई उद्योगीको पक्षपोषणमा लागेको स्पष्ट हुनेछ ।

बढी भयो भत्काउने र इतिहास फर्काउनेको गफ

डा. युवराज संग्रौला ।
समाजको परिवर्तन ‘समय’ का रुपमा देखिन्छ । केही विलय हुँदै जान्छ, त्यसलाई पुरानो भनिन्छ । केही उत्पति हुँदै जान्छ त्यसलाई नयाँ भनिन्छ । यो नयाँ र पुरानोको भिन्नताको निर्माण समाज भित्रका अन्तरविरोधहरुले गर्दछन्, जसलाई कारण पनि भन्न सकिन्छ। तर यो परिवर्तनमा जुन कारण हुन्छ, त्यो परिणाममा समाहित भैसकेको हुन्छ ।

१. अहिले नेपालको राजनीति तथा आर्थिक संकटलाई यही नियमको सहयोगबाट बुझ्नुपर्छ । आज संकट पुरानो राजनीतिक विचारको विलयबाट पैदा भएको छ र यो संकटला मोचन गर्न नयाँ विचार आवश्यक हुन्छ। तर नेपाली समाजमा राजनीतिक बिमर्श छैन, र मानिसहरु एकथरी मान्छेलाई विस्थापित गरेर, नयाँ हाल्ने कुरामा बहकिएका छन् । मित्रहरू राजनीति तास फिटेजस्तो होइन, राजनीतिका समस्या र समाधान दुबै समाजको अन्तर्यसँग जोडिएका हुन्छन् । मानिसको गोठ बन्न सक्छ तर गोठ बन्नुनै राजनीतिक संकटको मोचन होइन।

२. राष्ट्रको राजनीतिमा अहिले दुईटा धार छन् । (क) केही नगरी सत्तामा बसिरहन पाउँ (ख) उनीहरुलाई हटाएर आफू पुगौं उनीहरु बीचको लडाइँ चुलिँदैछ । पहिलो निंरकुश शक्तिबाट थुनेर चुटेर विरोध मास्न सकिन्छ भन्ने मान्दछ । दोश्रो भत्काएर लथालिङ्ग पारिदिए पुग्ने ठान्छ । भत्काउन त २०६३ मा भत्काएकै हो । तर बनाउने सोच रहेनछ । आज पनि भत्काउने र इतिहास फर्काउनेको गफ ज्यादा छ । मित्रहरु लाँकुरी रोपेर अम्बा फल्दैन ।
नेपाली राजनीतिका भित्री समस्याको समाधान खोज्नुहोस्, नेतृत्व आफैं जन्मिन्छ। गोठले मान्छे भेला पार्छ, पार्टी बन्दैन।

हजार बुद्ध मन्दिरको पूजामा सहभागी हुन पूर्वराजा लुम्बिनी जाने

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह शुक्रबार लुम्बिनी भ्रमणमा जाने भएका छन् । लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुन पूर्वराजा लुम्बिनी जाने पूर्वराजा शाहका संवाद सचिव डा फणीराज पाठकले जानकारी दिए ।

शुक्रबार बुद्धको जन्मस्थल लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजा कार्यक्रम छ ।

सबैसँग सल्लाह गरेर मात्रै संविधान संशोधन हुन्छः सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै दल र सरोकारवालासँग सरसल्लाह गरेर मात्रै आवश्यक विषयमा संविधान संशोधन गरिने बताएका छन् ।

नेपाल डेमोक्रयाटिक लयर्स एसोसिएसन (डिएल नेपाल) को ३५औँ स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा सभापति देउवाले सत्ताघटक दलसँग सल्लाह भएर नै संविधान संशोधन गर्ने भनिएको बताएका हुन् ।

सभापति देउवाले आफू र आफ्नो पार्टीले कुनै पनि प्रजातान्त्रिक अधिकारसँग कुनै सम्झौता नगर्ने कुरामा ढुक्क हुन आग्रह गर्दै वतर्मान प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पनि प्रजातन्त्रका लागि लडेको व्यक्ति भएको बताए ।

उनले संविधान कार्यान्वयनका क्रममा देखिएका चुनौती र जनभावनाअनुसार मात्रै संविधान संशोधन गरिने बताउँदै भारतमा जस्तो उपराष्ट्रपतिलाई राष्ट्रियसभाको अध्यक्ष बनाउन सकिने तर्क गरे ।

डिएलए नेपालको कांग्रेसको कानुनी सल्लाह दिने संस्थाका रूपमा सहयोगी रहेको उल्लेख गर्दै सभापति देउवाले लोकतन्त्रको रक्षा र सुदृढीकरणका लागि डिएलए नेपालको ठूलो योगदान रहेको बताए । उनले संसदीय लोकतान्त्रिक व्यवस्था विश्वमै अन्य राजनीतिक व्यवस्थाको तुलनामा उत्तम कहिएको उल्लेख गर्दै यस व्यवस्थालाई सफल बनाउन डिएलएजस्ता संस्थाको योगदान महत्त्वपूर्ण हुनेमा जोड दिए ।

कार्यक्रममा कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनतामा आक्रोश र निराशा बढेका बेला केही व्यक्तिले त्यसमा स्वार्थसिद्ध गर्ने प्रयास गरेको उल्लेख गर्दै जनतामा देखिएको आक्रोश र निराशा चिर्ने जिम्मेवारी कांग्रेसमा बढेको बताए ।

साथै उनले मुलुकको सार्वभौमसत्ता र स्वतन्त्रतामा कांग्रेसले कहिल्यै पनि सम्झौता नगरेको इतिहास साक्षी रहेको स्मरण गराउँदै मुलुकको विकास र जनताको समृद्धिका लागि ठूला मुलुकहरूसँग सहकार्य गरेर ठूला आयोजनामा साझेदारी गर्न सकिने बताए ।

अहिले मुलुकमा केही व्यक्तिले अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोग गरेर प्रजातन्त्रमाथि प्रहार गरेको बताउँदै महामन्त्री थापाले प्रजातन्त्र जोगाउने र सुदृढीकरण गर्ने विषयमा राजनीतिक दलसँगै डिएलए जस्ता संस्थाको समेत जिम्मेवारी हुने उल्लेख गरे ।

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले आफूहरू बार र बेन्चको सम्बन्धमा बारेमा सचेत र संवेदनशील भएको बताउँदै बारलाई किनारा लगाएर न्यायापालिका सफल हुन नसक्ने जिकिर गरे ।

आयोगद्वारा उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । आयोगले बुधबार साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो ।

आयोगले सार्वजनिक गरेको अन्तिम नामावली अनुसार जिल्ला समन्वय समिति, नगरपालिका र गाउँपालिकाको प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका लागि उम्मेदवारी दिएका ४१० जनामध्ये ३ जना निर्विरोध निर्वाचित भएको र ३१ जनाले उम्मेदवारी फिर्ता लिएपछि ३७७ जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो ।

दुर्गा प्रसाईं पक्राउको सत्य तथ्य वास्तविकता बाहिर ल्याउन राष्ट्रिय स्वतन्त्र पार्टीको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउको विषयमा सत्यतथ्य छानबिन गरी वास्तविकता बाहिर ल्याउन माग गरेको छ ।

बुधबार बसेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीसँग जोडिएको विवादास्पद विषयमा केही व्यक्ति पक्राउ परेको सन्दर्भमा सत्यतथ्य छानबिन गरी बाहिर ल्याउन माग गरेको हो ।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘केही दिनयता सम्माननीय प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग जोडिएको विवादास्पद विषयमा केही व्यक्तिहरुसमेत पक्राउ भएको सन्दर्भमा सत्य तथ्य छानबिन गरी वास्तविकता प्रकाशमा ल्याउन सरकारसँग माग गर्दछ ।’

बैठकले सहकारीमा गरेको बचत फिर्ताको माग राखी सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले बुधबार राजधानीमा गरेको शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरी दमनको घोर भर्त्सना गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘आमनागरिकले पाइपाइ गरेर जम्मा गरेको बचत रकम फिर्ताको विशुद्ध उद्देश्यले आफ्ना आवाज बुलन्द गर्ने नागरिकको नैसर्गिक अधिकार हो । पीडित सर्वसाधारण नागरिकका हक प्राप्तिमा प्रभावकारी कदम चल्नुको सट्टा उठेको आवाज दबाउने कार्य सरकारको अधिनायकवादी कदम हो । यसले सरकार नागरिकका समस्याप्रतिको असंवेदनशीलता प्रदर्शन गरेको छ । तसर्थ सहकारी पीडितका मुद्दा समाधान तथा दोषी उपर अबिलम्ब कानुनी कारवाहीका लागि प्रभावकारी कदम चाल्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौं ।’

त्यस्तै बैठकले दोस्रो चरणको आन्दोलनको तात्कालिक स्वरुप स्थानीय निर्वाचनसँग सम्बन्धित अभियानका माध्यमबाट अगाडि बढाउने र गत कात्तिक २४ गतेको केन्द्रीय समितिको निर्णय बमोजिम आसन्न स्थानीय तहको उपनिर्वाचनका सन्दर्भमा स्थानीय जनजीविकाका समस्या, राजनीतिक प्रतिशोध र सहकारी, लघुवित्त, मिटरब्याज पीडित, भ्रष्टाचारका काण्डहरुको छानबिन, अर्थतन्त्र र युवा बेरोजगारी, प्रवास, संविधान संशोधन लगायतका राष्ट्रिय मुद्दाहरुको स्थानीयकरणमा केन्द्रित हुने निर्णय गरेको छ ।

सहारा सहकारीको रकम अपचलनको अभियोगमा चितवनमा रविविरुद्ध जाहेरी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध चितवनको सहारा सहकारी ठगीको आरोपमा जाहेरी परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनमा बुधबार सहकारी पीडितहरुको तर्फबाट २२ जनाले जाहेरी दिएका हुन् ।

लामिछाने र पूर्वडीआईजी छविलाल जोशीसहित १० जनाविरुद्ध जाहेरी परेको चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए । सहारा सहकारीको बचत रकम गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको उनीहरुको आरोप छ ।

यसअघि यही मुद्दामा जीबी राईसहित १७ जनाविरुद्ध मुद्दा दायर भइसकेको छ। पहिलो चरणको अनुसन्धानमा सहारा सहकारीबाट गोर्खा मिडियामा गएको ४७ करोड रुपैयाँको हिसाबकिताब प्रहरीले प्राप्त गर्न नसकेको भन्दै सरकारी वकिल कार्यालयले नै दोस्रो चरणको अनुसन्धान गर्नुपर्ने औंल्याएको थियो ।

सहारा सहकारीबाट गोर्खा मिडियामा ४७ करोड बराबरको कारोबार भएको देखिएको छ । पोखराको सूर्यदर्शन सहकारी संस्थाको ठगी आरोपमा पक्राउ परेका उनीहरुमाथि बुटवलको सुप्रिम सहकारी ठगीको आरोपमा पनि अनुसन्धान भइरहेको छ भने काठमाडौंको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको अभियोगका पक्राउ पुर्जी जारी भइसकेको छ ।

जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा कांग्रेसकी भुल निर्विरोध निर्वाचित

सुदूरपश्चिम । जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेपाली कांग्रेसका प्रत्यासी टीका चौधरी भुल निर्विरोध निर्वाचित भएकी छन् ।

जिल्ला समन्वय समितिको प्रमुखमा उम्मेद्वारी दिएका नागरिक उन्मुक्ति पार्टीका रुपमति डगौरा थारुले बुधबार उम्मेद्वारी फिर्तापछि उनी निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत प्रेमराज भट्टले जानकारी दिए ।

जिसस प्रमुखमा निर्वाचित भुल कैलाली गाउँपालिकाको वडासदस्यमा निर्वाचित हुन् । जिसस प्रमुखका लागि नेकपा(एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लगायतका दलले प्रत्यासी उठाएको थिएन । जिसस प्रमुखको निर्वाचनमा कैलाली जिल्लाका १३ स्थानीय तहका अध्यक्ष/उपाध्यक्ष, प्रमुख/उपप्रमुख गरी २६ मतदाता रहेका थिए ।

दुई वर्षअघि भएको स्थानीय तहको निर्वाचनमा कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित पदमबहादुर कलेलको निधनपछि पद रिक्त थियो ।

सुदूरपश्चिम प्रदेशमा रिक्त रहेको बाजुरा जिल्ला स्वामीकात्तिकखापर गाउँपालिकाको उपाध्यक्ष, कञ्चनपुर, भीमदत्त नगरपालिका–६, डोटी पूर्वीचौकी गाउँपालिका–६, दार्चुला दुहुँ गापा–५ र बझाङ सुर्मा गापा–४ को वडाध्यक्ष पदका लागि यही मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ ।

लोकतन्त्र, सुशासन र विधिको शासनको पक्षमा जागरणसभा : एमाले

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थातित्व, सुशासन, विकास र समृद्धिका बारेमा आमजनतालाई सुसूचित गराउने उद्देश्यले यही मङ्सिर ७ गते काठमाडौँमा जागरणसभा गर्न लागेको बताएका छन् ।

एमालेसम्बद्ध काठमाडौँ उपत्यकास्तरीय पार्टी कमिटीहरूको संयुक्त आयोजनामा हुन गइरहेको जागरणसभासहित समसामयिक राजनीतिक विषयमा बुधबार सम्पादकहरूसँगको अन्तरसम्बादमा ज्ञवालीले लोकतन्त्र र विधिको शासनमा विश्वास गर्ने सबैलाई कार्यक्रममा सहभागी हुन अनुरोध गरे ।

सम्पादकहरूको जिज्ञासामा ज्ञवालीले प्रजातन्त्रको पुनःस्थापनापछि सडक सञ्जाल, शिक्षा, स्वास्थ्य, सञ्चारलगायतका सबैक्षेत्रमा उल्लेख्य प्रगति भएको चर्चा गर्दै लोकतन्त्र स्थापनापछि मुलुकमा भएका राम्रा कामको प्रचारप्रसार गरी फैलाइएका भ्रम र हल्ला चिर्नुपर्ने दायित्व अहिले मुलुकका जिम्मेवार राजनीतिक पार्टी, नागरिक समाज र आमजनताको काँधमा आएको बताए ।

उनले भने,“पछिल्लो समय मुलुकमा अराजकता र अस्थिरता चाहने पक्षधर योजनाबद्ध रूपमा लोकतन्त्र समाप्त पार्ने गतिविधिमा सरिक भएको देखिन्छ, लोेकतन्त्र र विधिको शासनको विकल्प छैन, लोकतन्त्र, राजनीतिक स्थिरता र सुशासनका पक्षमा एक ठाउँमा उभिन सबैसँग अपिल गर्दछु ।”

उपमहासचिव ज्ञवालीले नेपालको विद्यमान संविधान कार्यान्वयन भएको करिब नौ वर्षको यस अवधिमा देखिएका कमीकमजोरीलाई सूक्ष्मरूपमा समीक्षा गरी सरोकारवाला भएका सबैको उचित रायसुझावलाई समेत समेटेर राष्ट्रिय सहमतिका साथ संविधान संशोधन गर्नुपर्ने पक्षमा एमाले रहेको स्पष्ट गरे ।

एमाले बागमती प्रदेश इन्चार्ज तथा जागरणसभा कार्यक्रमका संयोजक डा राजन भट्टराईले उपत्यकास्तरीय एमाले सम्बद्ध सङ्घ, सङ्गठनद्वारा आयोजना हुने जागरणसभमा एक लाख मानिसको उपस्थिति हुने अपेक्षा गरिएको बताए ।

भट्टराईले काठमाडौँ भद्रकालीबाट जुलुस सुरु भई रत्नपार्क हुँदै दिउँसो दरबारमार्गमा हुने जागरणसभालाई एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित पार्टीका वरिष्ठ नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

सो अवसरमा पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले लोकतन्त्र, विकास र सुशासनको पक्षमा जनतालाई सुसूचित गराउने उद्देश्यका साथ आमजनताको सहभागितामा शान्तिपूर्ण ढङ्गबाट जागरणसभा सम्पन्न गरिने बताए ।

राष्ट्रपतिद्वारा ‘नेपालका निधि’ पुस्तक लोकार्पण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले समाजमा पछाडि परेका क्षेत्र र वर्गको हित तथा आम नागरिकको जीवनस्तर सुधार गरेर यही व्यवस्थामा मात्रै मेरो भविष्य सुरक्षित छ भन्ने जनतालाई भरोसा जागृत गराउनु संघीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य भएको बताएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित महेन्द्रनारायण निधिको संघर्षमय जीवनीमा आधारित ‘नेपालका निधि’ नामक पुस्तक लोकार्पण गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रको यो लक्ष्य पूरा गर्न न्यायपूर्ण, समावेशी र समृद्ध आधुनिक नेपाल बनाउने काममा सबै जुट्नुपर्ने बताए ।

राष्ट्रपति पौडेलले जनतामा भरोसा जगाउनका लागि शासन प्रणाली पारदर्शी जवाफदेही र सुशासन पहिलो सर्त भएको उल्लेख गरेका थिए । उनले भने, ‘सत्ता र शक्तिमा बस्नेका कमजोरीले लोकतन्त्रका शाश्वत मूल्यमान्यता अनि पवित्रतालाई धुमिल बनाउने अवस्था आउन दिन हुँदैन । यो कुरामा ध्यान दिन सके नै लोकतन्त्रको मूल्यमा कसैसँग सम्झौता नगर्ने निधिजी लगायतका अग्रजहरूप्रति सच्चा सम्मान हुनेछ भन्ने पनि म ठान्दछु ।’

राष्ट्रपति पौडेलले महेन्द्रनारायण निधिका बहुआयामिक व्यक्तित्व, नेपालमा लोकतन्त्र स्थापना र पुनस्र्थापना तथा सामाजिक, सांस्कृतिक जागरणबारे जान्न र बुझ्न चाहनेका लागि पनि संग्रहणीय सामग्री हुने स्पष्ट परेका थिए ।

महेन्द्रनारायण निधि बिपी कोइराला र समाजवादी नेता राममनोहर लोहियाका चिन्तनबाट प्रभावित भएको र नेपालको लोकतान्त्रिक आन्दोलनको अग्रणी व्यक्ति भएको बताउँदै उनले देशको राजनीति, आर्थिक र सामाजिक परिवर्तनका लागि आफ्नो जीवन समर्पित गरेको स्मरण गरे ।

उनले भने, ‘जहानियाँ राणाशासन र एकदलीय पञ्चायत मात्र होइन रूढीवादी, पछौटेपन तथा कुसंस्कारबाट मुक्त गरी नेपाली समाजलाई परिवर्तनको उज्यालो मार्गमा अघि बढाउन निधिजीले खेल्नुभएको भूमिका सदैव अनुकरणीय छ । राजनीतिक जीवनका अनेकौँ उतारचढावका दिनमा मैले निधिजीलाई अन्यन्त, धैर्यवान्, सरल, सादगी नेताका रुपमा चिन्ने र बुझ्ने मौका पाएको छु ।’

कूटनीतिको विकासमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले खेल कूटनीतिको विकास र विस्तारका लागि आवश्यक सहयोग पुर्‍याउन नेपाल सरकारका खेल एवं साहसिक खेल क्षेत्रसँग सम्बद्ध मन्त्रालय, विभाग एवं पदाधिकारीहरूलाई आग्रह गरेकी छन् ।

परराष्ट्र मन्त्रालयमा बुधबार आयोजित साहसिक खेलसम्बन्धी उच्चस्तरीय परामर्श बैठकमा उनले नेपालमा साहसिक खेलका माध्यमबाट पनि खेल कूटनीतिको विकास र विस्तारका प्रशस्त सम्भावना रहेकाले त्यसतर्फ लाग्न सम्बद्ध पदाधिकारी एवं निकायहरूलाई आग्रह गरेकी हुन् ।

अहिले खेलकुदको आकर्षण र महत्व विश्वव्यापी रुपमा बढ्दै गएकाले अन्य क्षेत्रहरुजस्तै खेलका माध्यमबाट पनि नेपालले आफ्ना कूटनीतिक प्रयास र पहलहरुलाई अगाडि बढाउन सक्ने उनको भनाइ थियो ।

उनले भनिन्, ‘नेपालका हिमाल, पहाड, नदी तथा खोलाहरू साहसिक पर्यटनका लागि संसारमै प्रख्यात छन् । त्यसैले हामीले विश्वका पर्यटकलाई यस क्षेत्रमा आकर्षित गरी साहसिक खेलका माध्यमबाट पनि खेल कूटनीतिको विकास र विस्तार गर्न सकिन्छ । त्यसका लागि नेपालको पर्यटन तथा खेलकुद मन्त्रालयले समन्वयात्मक रुपमा काम गर्नुपर्दछ ।’

गत अक्टोबरमा कतारको दोहामा आयोजना भएको एसीडी (एसियन कोअपरेसन डायलग)को तेस्रो सम्मेलनमा खेल कूटनीतिलाई प्रमुख विषयका रुपमा राखिएको र नेपालले पनि खेल कूटनीतिको प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेकाले यसै विषयमा आवश्यक परामर्श एवं छलफल गर्न सम्बद्ध मन्त्रालय एवं निकायहरूसँग आज सो बैठक राखिएको थियो ।

मन्त्री डा. राणाले नेपालामा माउन्टनेयरिङ, र्‍याफ्टिङ आदि क्षेत्रका साहसिक खेलमा विश्वकै पर्यटकको रुचि बढ्दो देखिएको र यी क्षेत्रमा तालिम एवं कोर्षको व्यवस्थासमेत रहेकाले यसका माध्यमबाट पर्यटक भित्र्याई आर्थिक कूटनीतिका क्षेत्रमा ठूलो योगदान पुर्‍याउन सकिने बताइन्।

उनले खेलकुदलाई सांस्कृतिक पहिचानको प्रवर्द्धन गर्ने माध्यमका रुपमा विकास गर्नुपर्ने धारणा राख्दै नेपालको भौगोलिक अवस्थिति र प्राकृतिक सम्पदाका कारण यहाँ रहेको साहसिक खेलको सम्भावनालाई विश्वमै उजागर गर्न आवश्यक रहेको धारणा राखिन्।

हवाई इन्धन डिपो स्थानान्तरणका लागि डीपीआर निर्माण गर्न निगम र पुल्चोक इन्जीनियरिङ संस्थानबीच सम्झौता

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा रहेको नेपाल आयल निगमको हवाई इन्धन डिपो स्थानान्तरणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गर्न निगम र पुल्चोक इन्जिनियरिङ क्याम्पसबीच सम्झौता भएको छ ।

सिनामङ्गल डिपोमा बुधबार आयोजित कार्यक्रममा निगमका उपनिर्देशक प्रदीप यादव र पुल्चोक क्याम्पस, कन्सल्टेन्सी सेवाका सहप्राध्यापक नारायणप्रसाद गौतमले सम्झौतापत्रमा हस्तक्षर गरेका छन् । सम्झौताअनुसार पुल्चोक क्याम्पसले बढीमा ६ महिनाभित्र पीपीआर निगमसमक्ष हस्तान्तरण गर्नेछ ।

डीपीआर तयार गर्न निगमले एक करोड ९८ लाख ८४ हजार एक सय ८३ रुपैयाँ ७३ पैसा उपलब्ध गराउनेछ । विमानस्थलको गुह्येश्वरीतर्फ नागरिक उड्डयन प्राधिकरणले उपलब्ध गराएको ५० रोपनी जग्गामा ‘अमेरिकी पेट्रोलियम इन्ष्टिच्युट’ (एपिआइ) मापदण्डअनुसारको डिपो डिपो निर्माण गर्ने योजना छ ।

अन्तर्राष्ट्रिय मापदण्डभन्दा बाहिर रहेको सिनामङ्गलस्थित डिपोका कारण हवाई उड्डयन क्षेत्र समेत जोखिममा रहेको अवस्थालाई मध्यनजर गरी डिपो स्थानान्तरण गर्न लागिएको निगमका उपनिर्देशक यादवले जानकारी दिए । विमानस्थलको धावनमार्गदेखि ट्याक्सीे वे बीच हुनुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड कायम गर्न निगमको डिपो हटाउनुपर्ने अवस्था आएको उनको भनाइ छ ।

मुख्य धावनमार्गको केन्द्रदेखि ट्याक्सी वे बीचको दूरी एक सय ७२ दशमवलव ५ मिटर हुनुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड भए पनि हाल विमानस्थलसँगको सो दूरी करिब ९० मिटर मात्रै रहेको छ ।

‘पछिल्लो समय हवाई साधनको चाप बढेको छ, तर भण्डारण पर्याप्त छैन, हवाइ इन्धनको मौज्दात कम भयो’, डिपो स्थानान्तरणको आवश्यकतामाथि प्रष्ट पार्दै डिपो प्रमुख यादवले भने, ‘विमानस्थलको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले तयार पारेको गुरुयोजनाअनुसार यस डिपोलाई सार्नुपर्ने बाध्यता छ ।’

गत साउन २८ गतेको मन्त्रिपरिषद्को बैठककले एक वर्षभित्रमा हवाई इन्धन डिपो सुरक्षित र सुविधायुक्त स्थानमा सार्न निर्देशन दिएको थियो । विमानस्थलको हवाई यातायात क्षमता अभिवृद्धि गर्न प्राधिकरणले विमानस्थल स्तरोन्नति गरी फराकिलो र सुरक्षित बनाउन थालेको छ ।

सिनामङ्गल डिपोको भण्डारण क्षमता अत्यन्त कम रहेको र थप पूर्वाधार निर्माण गर्न पनि सो क्षेत्रमा सम्भव नदेखिएकाले डिपो सार्ने योजना अघि बढाइएको यादवले स्पष्ट पारे । विसं २०८४ मङ्सिरसम्म डिपो स्थानान्तरण गर्ने योजना छ ।

सामान्यतया आपतकालीन प्रयोगका लागि तीनदेखि पाँच दिन र नियमित अवस्थामा पाँचदेखि सात दिनका लागि इन्धन भण्डारण गर्ने गरिन्छ । तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान भर्ने विमानलाई सेवा दिन २० दिनको माग धान्न सक्ने क्षमताको भण्डारण आवश्यक पर्ने उनको भनाइ छ ।

करिब ५० वर्ष पुरानो सिनामङ्गल हवाई इन्धन डिपोको भण्डारण क्षमता सात हजार ६ सय ६० किलोलिटर छ । हाल यहाँबाट दैनिक चार सय किलोलिटर हवाई इन्धन बिक्री वितरण हुँदै आएको छ । यो डिपोमा एक हजार छ सय किलोलिटरका तीन वटा, सात सय ६० किलोलिटरका तीन वटा र ७० किलोलिटर क्षमताका आठ वटा इन्धन भण्डारण ट्याङ्क छन् ।

अब बन्ने डिपोमा तीन हजार किलोलिटर क्षमताका पाँच वटा भण्डारण ट्याङ्क रहनेछन् । नयाँ बन्ने डिपो अत्याधुनिक प्रविधिसहितको हुने पुल्चोक क्याम्पस, कन्सल्टेन्सी सेवाका सहप्राध्यापक गौतमले जानकारी दिए ।

नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको निगम विसं २०२७ मा स्थापना भई नेपालमा पेट्रोलियम पदार्थको आयात, भण्डारण र वितरण गर्दै आइरहेको छ । निगमले देशका विभिन्न स्थानमा १० वटा हवाई इन्धन डिपो र दुई वटा हवाई इन्धन ‘रिफ्युलिङ स्टेशन’ सञ्चालनमा ल्याएको छ ।

निगमले भारतको सरकारी स्वामित्वको इण्डियन आयल कर्पोरेसन (आइओसी)बाट इन्धन खरिद गरी देशभर बिक्री वितरण एवं भण्डारण गर्दै आएको छ । विराटनगर, धनुषा, वीरगञ्ज, अमलेखगञ्ज, काठमाडौँ, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढीमा इन्धन भण्डारण गृह छ । हाल निगमको पेट्रोलियम पदार्थ भण्डारण क्षमता ६० हजार तीन सय ८४ किलोलिटर रहेको छ ।

नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न विभिन्न खेल संस्थाको माग

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बेसबल खेल क्षेत्रका विभिन्न संस्थाले नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई विधिसम्मत् र पारदर्शी रुपमा सञ्चालन गर्न माग गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार ती संस्थाका प्रतिनिधिले ओलम्पिक कमिटीले नैतिक प्रशासनको मापदण्ड पालना गर्न, परादर्शिता, समावेशिता र लोकतन्त्रलाई प्रवद्र्धन गर्ने अन्तर्राष्ट्रिय दिशानिर्देशहरुसँग मिल्दोेजुल्दो गराई नेपाली खेलकुदको भविष्य सुनिश्चित गर्न माग गरेका हुन् ।

उनीहरुले अध्यक्ष जीवनराम श्रेष्ठ नेतृत्वको ओलम्पिक कमिटीले आफूहरुलाई वर्षौंदेखि मान्यता नदिएको र तेस्रो कार्यकालका लागि कमिटीको विधान संशोधनको प्रयास गरेकाले सरकारबाट आवश्यक निर्देशन भई त्यस्ता गतिविधि रोक्न आग्रह गरेका छन् । 

प्रधानमन्त्री ओलीले राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यता र विधिलाई ख्याल गर्दै खेल क्षेत्रका निकाय र संस्थाले आफूूलाई पारदर्शी बनाउनुुपर्नेमा जोड दिएका थिए ।

भेटका अवसरमा नेपाल इक्वेस्ट्रियन सङ्घका अध्यक्ष रवि राजकर्णिकार, नेपाल बेसबलका अध्यक्ष दीपक न्यौपाने, नेपाल स्के टिङ तथा स्केटबोर्डिङ सङ्घका अध्यक्ष अच्युत खनाल, नेपाल रुग्बी सङ्घका महासचिव गोविन्द घिमिरे, नेपाल क्लाइम्बिङ स्पोर्टस् सङ्घका अध्यक्ष रमेश पौडेल, अल्पाइन स्पोर्टस् फेडेरे सननेपालका अध्यक्ष गोविन्दप्रसाद भट्टराई र नेपाल रोइङ सङ्घका महासचिव सम्पन्न श्रेष्ठलगायत थिए । 

इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्यालेस्टाइनमाथि इजरायलले गरिरहेको हमलाविरुद्ध प्रस्तुत हुनुपर्ने माग गर्दै विभिन्न राजनीतिक दल र नागरिक संस्थाले ध्यानाकर्षणपत्र बुझाइएका छन् ।

बुधबार नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहित विभिन्न दल र नागरिक संस्थाका प्रतिनिधिले प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर इजरायलले प्यालेस्टाइन र लेबनानमाथि लगातार बलपूर्वक हमला गरेकाले त्यसको विपक्षमा नेपाल सरकार अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुनुपर्ने आग्रह गरेका हुन् ।

ध्यानाकर्षण पत्रमा नेपालको तटस्थ परराष्ट्र नीतिको मान्यतामा परिवर्तन गर्न र अन्यायमा परेकाको पक्षमा स्पष्ट रूपमा संयुक्त राष्ट्रसङ्घजस्ता मञ्चमा मत जाहेर गर्न माग गरिएको छ ।

ज्ञापनपत्रमा हमासको नियन्त्रणमा रहेका नेपाली विपीन जोशी र इजरायलमा रहेका हजारौँ नेपाली युवाहरुको जीवन रक्षाका लागि युद्धकालभरी नेपाल ल्याउने कार्य गर्न पनि माग गरिएको छ ।

प्रधानमन्त्री ओलीले नेपाल विश्वशान्ति, मानव अधिकार र न्यायका पक्षमा रहने स्पष्ट पारे । उनले तटस्थता भनेको बलियाले कुटिरहने र कमजोरले सही रहने भन्ने नभएको बताउँदै ध्यानाकर्षणपत्रमा उठाइएका विषयको विपरीत सरकार नजाने स्पष्ट गरे ।

‘हामी विश्वशान्तिका पक्षमा छौँ । कुनै शक्तिविरुद्ध आफैँ लड्न जाँदैनौँ । कुनै पनि सैन्य गठबन्धनमा रहँदैनौँ तर अन्याय सहेर बस्दैनौँ”, प्रधानमन्त्री ओलीले भने, ‘हामी विश्वमा निरीह शान्ति होइन, न्यायपूर्ण शान्ति र मानव अधिकारको रक्षामा हुनेछौँ ।’

भेटका अवसरमा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, राष्ट्रिय जनमोर्चाका नेतृ दुुर्गा पौडेल, नेकपा (एकीकृत समाजवादी) का सचिव शेरबहादुर कुँवर, क्रान्तिकारी कम्युनिष्ट पार्टीका वरिष्ठ नेता सिपी गजुरेल, जनता समाजवादी पार्टी नेपालका विदेश विभाग प्रमुख अर्जुन थापा, प्रगतिशील रुपान्तरण आन्दोलनका अभियन्ता श्याम श्रेष्ठलगायत सहभागी थिए ।

५० वटा युक्रेनी ड्रोन नष्ट गरेको रूसको दावी

मस्को । रूसले शुक्रबार र बुधबार गरी युक्रेनको सिमानामा ५० वटा युक्रेनी ड्रोन खसालेको दावी गरेको छ । रुसी रक्षा मन्त्रालयको एक विज्ञप्ति जारी गरी रुसी सुरक्षा प्रणालीले ४४ वटा युक्रेनी ड्रोनहरू नष्ट गरेको जनाएको छ ।

मन्त्रालयका अनुसार अधिकांश ड्रोनलाई नोभगोरोड क्षेत्रमा नष्ट गरेको थियो भने अन्य ड्रोनहरू कुर्स्क, बेलगोरोड र ब्रिन्स्कका साथै मस्को क्षेत्रमा नष्ट गरिएको थियो ।

यस बाहेक, क्षेत्रीय गभर्नर व्याचेस्लाभ फेडोरिस्चेभले अनुसार बुधबार बिहान समारामा छ वटा युक्रेनी ड्रोनहरू खसालेको बताए । ड्रोन आक्रमणले कुनै चोटपटक वा क्षति नपुर्याएको उनले टेलिग्राममार्फत उल्लेख गरेका छन् ।

पछिल्लो समयमा रूसले लगभग हरेक दिन आफ्नो क्षेत्रमा प्रहार गरिएका युक्रेनी ड्रोनहरू नष्ट गरेको घोषणा गर्दै आएको छ ।

यसै गरी किभले ऊर्जा केन्द्ररुलाई लाई लक्षित गरी गरिएका आक्रमण र विष्फोटको प्रतिक्रियामा ड्रोन आक्रमण गर्न बाध्य भएको जनाएको छ ।

इरानद्वारा आइएइएमा आफूलाई निन्दा गर्ने युरोपेली शक्तिहरूलाई चेतावनी

तेहरान । इरानका विदेशमन्त्री अब्बास अराघचीले बुधबारदेखि सुरु हुने अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) को बोर्ड बैठकअघि इरानको आलोचना गर्ने प्रस्ताव ल्याउन लागेकामा तीन युरोपेली शक्तिहरूलाई चेतावनी दिएका छन् ।

पछि कूटनीतिज्ञहरूका अनुसार पश्चिमी राष्ट्रहरूले मङ्गलबार मध्यरातपछि एजेन्सीको भियना मुख्यालयमा प्रस्ताव पेश गरेका छन् ।

बुधबार मन्त्रालयको विज्ञप्तिअनुसार अराघचीले आफ्ना फ्रान्सेली समकक्षी जीन–नोएल बारोटसँग कुरा गर्दै ‘जर्मनी, फ्रान्स र बेलायतका तीन देशले मस्यौदा पेस गर्ने निर्णयको कडा निन्दा गरे र यसले ‘मामिलालाई अझ जटिल मात्र बनाउनेछ’ भन्दै चेतावनी दिए ।

कूटनीतिज्ञहरूले पेरिस, बर्लिन र लन्डनले बिहीबार मतदानका लागि प्रस्ताव पेस गर्ने योजना बनाएको बताएका छन् ।

उनीहरूका अनुसार प्रस्तावित निन्दा इरानलाई आणविक नियमहरूको पालना गर्न र आइएइएको दीर्घकालीन चिन्ताहरूलाई सम्बोधन गर्न कूटनीतिक दबाब बढाउने आवश्यकताले प्रेरित छ ।

अराघचीले आफ्नो टेलिफोन वार्तामा युरोपेली शक्तिहरूको यो कदम ‘इरान र एजेन्सीबीचको अन्तरक्रियामा सिर्जना भएको सकारात्मक वातावरणसँग स्पष्ट विरोधाभास’ भएको पनि बताए ।

संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी निकाय (आइएइए) का प्रमुख राफेल ग्रोसी नोभेम्बर १३ मा दुई दिने भ्रमणका लागि तेहरान पुगेर फोर्डो र नतान्जमा रहेका इरानका प्रमुख संवर्धन स्थलहरूको भ्रमण गरेका थिए । इरानले यस भ्रमणलाई सकारात्मक मानेको थियो ।

तर इरानी आणविक प्रमुख मोहम्मद एस्लामीले आफ्नो आणविक कार्यक्रमलाई लक्षित गर्ने कुनै पनि ‘हस्तक्षेपकारी प्रस्ताव’ विरुद्ध चेतावनी दिँदै ‘तत्काल प्रतिकार्य’ को धम्की दिएका छन् ।

एजेन्सीले मङ्गलबार एएफपीले देखेको एक गोप्य प्रतिवेदनअनुसार इरानले अत्यधिक समृद्ध युरेनियमको भण्डार विस्तार रोक्ने दिशामा कदम चालेको बताएको छ ।

– तनाव –

इरान र एजेन्सीबीच सन् २०१५ को सम्झौता पश्चात् पटक–पटक तनाव बढेको छ । आइएइएले प्रतिबन्ध हटाउने बदलामा तेहरानको आणविक कार्यक्रमलाई नियन्त्रण गर्ने व्यवस्था गरेको थियो ।

सन् २०१८ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकतर्फी रूपमा सम्झौताबाट संयुक्त राज्य अमेरिका फिर्ता भएको घोषणा गरेपछि र इरानमाथि भारी प्रतिबन्धहरू पुनः लागु गरेपछि यो सम्झौता भङ्ग भयो ।

जवाफमा तेहरानले सम्झौताअन्तर्गतका आफ्ना जिम्मेवारीहरूबाट पछि हट्दै संवर्धना स्तर ६० प्रतिशतसम्म बढायो । यो आणविक बम विकास गर्न आवश्यक ९० प्रतिशत सीमानजिक छ ।

यद्यपि आणविक विकासहरू नागरिक र शान्तिपूर्ण उद्देश्यका लागि भएको भन्दै इरानले सधैँ आणविक हतियार खोजेको कुरालाई अस्वीकार गरेको छ ।

आइएइएका अनुसार तेहरान ६० प्रतिशत युरेनियम संवर्धन गर्ने एक मात्र गैर–आणविक हतियार भएको देश हो ।

इरानले हालैका महिनाहरूमा समृद्ध युरेनियमको भण्डार बढाएको एजेन्सीले मङ्गलबार बताएको छ । यो सन् २०१५ को आणविक सम्झौतामा तोकिएको सीमाभन्दा ३२ गुणा बढी पुगेको छ ।

अक्टोबर २६ सम्म भण्डार छ हजार ६०४.४ किलोग्राम रहेको अनुमान गरिएको छ । यो अगस्टको अन्तिम त्रैमासिक प्रतिवेदनभन्दा ८५२.६ किलो बढी हो ।

बिहीबार अराघचीले भ्रमणमा रहनुभएका आइएइए प्रमुखलाई इरान ‘राष्ट्रिय हित’ र ‘अपरिहार्य अधिकार’ को आधारमा ‘वार्ता गर्न तयार’ रहेको तर ‘दबाब र धम्कीको अधीनमा वार्ता गर्न तयार नरहेको’ बताएका थिए ।

उनले शनिबार पनि तेहरान विरुद्धको प्रस्ताव पारित भयो भने इरानले ‘हाम्रो आणविक कार्यक्रममा नयाँ उपायहरू लिनेछ जुन उनीहरूले निश्चित रूपमा मन पराउने छैनन्’ भने ।

अनुभवी कूटनीतिज्ञ अराघची सन् २०१५ को आणविक सम्झौतामा पुग्ने वार्तामा इरानका मुख्य वार्ताकार थिए । 

यसपटक चाँडै बेँसी झरे हिमाली भेगका भेडापालक किसान

अछाम । उच्च हिमाली भेगमा बसोबास गर्ने भेडापालक किसान चिसो बढ्न सुरु भएसँगै बेँसी झर्न थालेका छन् । हिउँदयामको सुरुआती चरणमै चिसो धेरै बढ्न थालेपछि बाजुराको उच्च हिमाली भेगमा बसोबास गर्ने भेडापालक किसान चिसो छल्न बेँसी झर्न थालेका हुन् ।

हिमाली भेगमा अत्यधिक चिसो बढेकाले बालबालिका तथा भेडासहित बेँसी झर्नेक्रम सुरु भएको बाजुराको बूढीनन्दा नगरपालिका–७ पाण्डुसैनका सुरत थापाले बताए ।

हरेक वर्ष चिसो मौसम सुरु भएसँगै हिमाली क्षेत्रका स्थानीय हिउँदेखेती लगाएर मङ्सिरको अन्तिमतिर बेँसी झर्ने गरिए पनि यसवर्ष चाँडै चिसो बढेकाले कात्तिक दोस्रो साताबाटै बेँसी झर्न सुरु भएको उनको भनाइ छ ।

‘विगतका वर्षमा मङ्सिरको अन्तिमतिर बेँसी झर्थ्यौ तर यसपटक चाँडै चिसो बढ्यो । त्यसैले कात्तिक दोस्रो सातादेखि नै चिसो छल्न हिँड्यौ । मसहित तीन जना किसान तीन सय भेडा लिएर अछाम आइसकेका छौँ । अरु पनि आउने क्रम जारी नै छ’, थापाले भने ।

चिसो मौसममा अछामको साँफेबगर, मेल्लेख, दर्नालगायत विभिन्न ठाउँमा करिब ६ महिना बसोबास गरी वैशाखदेखि पुनःआफ्नै गाउँको लेकतिर बसाइँ सर्ने प्रचलन रहेको छ । बसाइँ सर्ने क्रममा उनीहरू गन्तव्य नपुगुञ्जेल नदी खोला किनार र भेडा च्याङ्ग्राको चरन भएको ठाउँमा बास बस्दै अगाडि बढ्ने गर्छन् । 

भारतीय सेना प्रमुख द्विवेदी काठमाडौंमा

काठमाडौँ । भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदी काठमाडौं आइपुगेका छन् । उनी बुधबार काठमाडौँ आएका हुन् । नेपाली सेनाको मानार्थ महारथी दर्जा लिन उनी बुधबार काठमाडौँमा आइपुगेका हुन् ।

उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिने कार्यक्रम छ । नेपाल र भारतबीच एकअर्काका सेना प्रमुखलाई मानार्थ महारथीका रुपमा सम्मान गर्ने चलन छ ।

त्यही परम्परालाई निरन्तरता दिन भारतीय सेना प्रमुख द्विवेदी नेपाल आइपुगेका हुन् । भारतीय सेनाध्यक्ष द्विवेदीले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानवीर राई र समकक्षी प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गर्नेछन् ।

नेपाल भ्रमणका क्रममा सेनाध्यक्ष द्विवेदीले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण र जङ्गी अड्डामा सम्मान गारतको निरीक्षण गर्नेछन् । उनले कमाण्ड तथा स्टाफ कलेजका विद्यार्थीसँग अन्तक्रिया र पश्चिम पृतनाको भ्रमण गर्ने कार्यसूची छ ।

नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने अनुपम परम्परा छ । यसअघि भारतका राष्ट्रपति रामनाथ कोविन्दले नेपालका तत्कालीन प्रधानसेनापति प्रभुराम शर्मालाई २०७८ कात्तिक २४ गते भारतीय स्थलसेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गरेका थिए ।

छिमेकी देशका सेनाबीचको यस्तो सम्मान परम्पराले सम्बन्धलाई सुमधुर तुल्याउन र सौहार्दता कायम राख्न एउटा महत्वपूर्ण कडीका रुपमा भूमिका खेल्ने विश्वास गरिएको छ ।

यसअघिका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ भदौ २० गते नेपाली सेनाको मानार्थ महारथी पद प्रदान गरेकी थिइन् ।

सन् १९५० मा भारतका सेनाध्यक्ष जनरल केएम परिअप्पालाई पहिलो पटक नेपाली सेनाको मानार्थ महारथी प्रदान गरिएको थियो भने २०२६ सालमा तत्कालीन प्रधानसेनापति सुरेद्रबहादुर शाहलाई पनि पहिलो पटक भारतीय सेनाको मानार्थ महारथीबाट सुशोभित गरिएको थियो ।

आदिम कालदेखि नै नेपाल र भारतबीच धार्मिक, साँस्कृतिक र भौगोलिक सम्बन्ध रहिआएको छ । खुला सीमाना र एकैखाले साँस्कृतिक सम्बन्धले पनि दुई देशीबीच जनस्तरमा समेत प्रगाढ सम्बन्ध बनाएको छ ।

नेपाल र भारतका सैनिक सङ्गठनको घनिष्ट सम्बन्धले राजनीतिक र कूटनीतिक तहमा बेलाबखत उठ्ने प्रश्न स्वतः हराउँदै जाने गरेको छ । विश्वमा उदाउँदो ठूलो प्रजातान्त्रिक मुलुक भारत तथा संसारकै पुरानो स्वतन्त्र राष्ट्र नेपाल र सेनाबीचको यो सम्बन्धले एक–अर्काप्रति विश्वास र भरोसा प्रदान गरेको छ ।

यस्ता विशिष्ट परम्पराले आपसी असमझदारी र विवाद हटाउने सवालमा समेत महत्वपूर्ण भूमिका खेल्दैआएको छ । नेपाल र भारतका सैनिकबीच विभिन्न तह र तप्कामा हुँदै आएका सैन्य तालिमले प्राकृतिक विपत्तिमा एक–अर्कालाई सहयोग पुगिरहेको छ । लामो समयदेखि नेपाल र भारतबीच सञ्चालनमा रहेको ‘सूर्यकिरण सैनिक अभ्यास’लाई एउटा दृष्टान्तका रुपमा लिन सकिन्छ ।

नेपालमा २०७२ वैशाखमा गएको भूकम्पलगायत अन्य प्राकृतिक प्रकोपका समयमा भारतीय सैनिकले नेपाललाई गरेको सहयोग अविस्मरणीय छ । नेपाल र भारतबीच सैनिक तहमा स्थापित सम्बन्ध सैनिक कूटनीतिका क्षेत्रमा संसारकै लागि एउटा सशक्त उदाहरण बनिरहेको छ ।

नेपाल–भारतबीचको खुला सीमानाका कारण हुन सक्ने सुरक्षा चुनौतीलाई सम्बोधन गर्दै विश्वास र सहकार्यलाई अघि बढाउन मानार्थ महारथीको परम्पराले थप मलजल गरेको छ । नेपाल भ्रमणका क्रममा सेनाध्यक्ष द्विवेदीले पुशपतिनाथ र मुक्तिनाथको दर्शन गर्नुकासाथै पोखरा तथा सगरमाथा क्षेत्रको समेत अवलोकन भ्रमण गर्ने कार्यक्रम छ ।

शेयर बजारमा सामान्य अंकको बृद्धि

काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजार नेप्से सामान्य बढेको छ । मंगलबार ५१ अङ्कले घटेको नेप्से बुधबार भने ९ दशमलव शून्य नौ अङ्कले बढेर दुई हजार सात सय ११ दशमलव ७५ विन्दुमा पुगेको छ ।

आज बैंक, बीमा, उत्पादन र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक, फाइनान्स, जलविद्युत्, होटल समूहको शेयर उच्च अङ्कले बढेको छ । आज विकास बैंकमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

आज कर्पाेरेट विकास बैंक, सिन्धु विकास बैंक, नेपाल हाइड्रो डेभलपर्स, सप्तकोशी विकास बैंक, मानुषी लघुवित्त, कर्णाली विकास बैंक र जानकी फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

समग्रमा बजार बढेको दिन गुराँस लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ । आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । मंगलबार झन्डै साढे १० अर्बको शेयर कारोबार भएकोमा आज तीन सय २३ वटा कम्पनीका एक करोड ५४ लाख कित्ता शेयर सात अर्ब नौ करोड रुपैयाँमा किनबेच भयो ।

भारतलाई विद्युत बिक्री गरी ४ महिनामा १२ अर्ब ७२ करोड आम्दानी

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा नेपालले १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार बराबरको बिजुली भारत निर्यात गरेको छ ।

देशभित्र खपत गरी बढी भएको बर्खायामको एक अर्ब ६६ करोड ७८ लाख ९२ हजार युनिट विद्युत् भारततर्फ निर्यात गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । चार महिनामा भारततर्फ निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट सात रुपैयाँ ६३ पैसा छ ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) को ‘डेअहेड’ तथा ‘रियल टाइम मार्केट’मा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम हरियाणा र विहार राज्यमा बिक्री गरिरहेको छ ।

भारतको प्रसारण संरचनाको प्रयोग गरी बङ्गलादेशमा पनि विद्युत् निर्यात सुरु भइसकेको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने गरेको छ । त्यसैले प्राधिकरणले विद्युत् बिक्री गरी भारु आम्दानी गरिरहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले असोज महिनामा आएको बाढीपहिरोका कारण सञ्चालनमा रहेका जलविद्युत् केन्द्रहरु र प्रसारण लाइनमा क्षति पुगी विद्युत् उत्पादन बन्द हुँदा निर्यात प्रभावित भएको बताए । “सञ्चालनमा रहेका जलविद्युत् आयोजनाहरुमध्ये सबैभन्दा ठूलो चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशीका संरचनामा पहिरोले क्षति पुर्याउँदा विद्युत् उत्पादन बन्द छ । 

‘अन्य साना आयोजनाहरु पनि क्षति पुग्दा विद्युत् उत्पादन हुन सकेको छैन’, कार्यकारी निर्देशक घिसिङले भने, ‘काबेली करिडोर प्रसारण लाइनलाई माईखोलामा आएको बाढीले क्षति पुर्याउँदा उक्त लाइनमा जोडिएका विभिन्न आयोजनाको करिब दुई सय मेगावाट विद्युत् उत्पादन बन्द भयो । जसका कारण असोज र कात्तिकको विद्युत् निर्यात प्रभावित हुनपुग्यो । यसबाट चालु आवमा राखिएको करिब रु ३० अर्ब विद्युत् निर्यातको लक्ष्यसमेत प्रभावित हुने देखिएको छ ।’

प्राधिकरणका अनुसार माथिल्लो तामाकोशीको पुनर्निर्माण धमाधम भइरहेको छभने काबेली करिडोर प्रसारण लाइनको पुनर्निर्माण सम्पन्न गरी सञ्चालनमा आइसकेको छ ।

हिउँद सुरुभएसँगै नदी तथा खोलानालामा पानीको बहाव घट्ने भएकाले जलविद्युत आयोजनाहरुको विद्युत् उत्पादन कम हुनेछ । उत्पादनले आन्तरिक मागलाई मात्र धान्ने भएकाले अब विद्युत् निर्यात क्रमशः घट्दै जाने छ । हिउँदका केही महिनामा विद्युत् आयात गर्नुपर्नेछ ।  

प्राधिकरणले हालसम्म प्रतिस्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम भारतीय बजारमा २८ वटा आयोजनाबाट उत्पादित नौ सय ४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाएको छ ।

गत आवमा भारतबाट  १६ अर्ब ९३ करोडको विद्युत् आयात गरिएको थियो । यही अवधिमा  १७ अर्ब ६ करोडको विद्युत् निर्यात गरिएको थियो । गत आवमा आयातभन्दा रु १३ करोड बढीको विद्युत् निर्यात गरी खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको थियो ।

सुरक्षा परिषदद्वारा उपनिर्वाचनमा सेना परिचालनका लागि सरकारलाई सिफारिस

काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्ले यहीँ मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका क्रममा नेपाली सेना परिचालनका लागि अपनाउनुपर्ने विधि अवलम्बन गर्नका लागि मन्त्रिपरिषद्मा सिफारिस गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बसेको परिषद्को ३६औँ बैठकले स्थानीय तहको उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सेनाको परिचालनसम्बन्धी विधि मन्त्रिपरिषद्मा पठाउन सिफारिस गरेको रक्षा मन्त्रालयका सचिव रामेश्वर दङ्गालले जानकारी दिए ।

नेपालको संविधान २०७२ को धारा २६६ को उपधारा १ मा मुलुकको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षासम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेनाको परिचालन गर्नका लागि राष्ट्रिय सुरक्षा परिषद्ले मन्त्रिपरिषद्लाई सिफारिस गर्नुपर्ने व्यवस्था छ ।

बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री, परराष्ट्रमन्त्री, रक्षामन्त्री, मुख्यसचिव, नेपाली सेनाको प्रधानसेनापति र रक्षा सचिव उपस्थित थिए ।

अझै आएन सिञ्जा सभ्यता खस सङ्ग्रहालय सञ्चालनमा

जुम्ला । जुम्लाको सिञ्जा गाउँपालिका– २ मा निर्माणाधीन सिञ्जा सभ्यता खस सङ्ग्रहालय अझै सञ्चालनमा आएको छैन । विसं २०७६ असार ६ गते शिलान्यास गरी निर्माण सुरु भएको छ वर्ष बितिसक्दासमेत काम अझै अधुरै छ । चार हजार वर्गमिटर क्षेत्रफलमा निर्माण भइरहेको सो सङ्ग्रहालयका अधुरा संरचना पनि जीर्ण बन्दै गएका छन् ।

सङ्ग्रहालय निर्माण उपभोक्ता समितिका सचिव महेन्द्रराज तिवारीले सिञ्जा सभ्यताको ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक सम्पदा झल्किने तथा पर्यटकका लागि अवलोकन केन्द्रको रूपमा विकास गर्ने उद्देश्यले निर्माण सुरु भएको पनि पूर्णता पाउन नसकेको बताए । उनले मौलिकता झल्काउने गरी सङ्ग्रहालय बनाउनुपर्छ भन्दा सुनुवाइ नगरी कङ्क्रिटका भवनगायतका संरचना बनाउन सुरु गरे तिनले पूर्णता नपाउनु दुःखद भएको धारणा राखे ।

“सङ्ग्रहालयका लागि बनिरहेका संरचनाप्रति म व्यक्तिगत रूपमा सन्तुष्ट छैन । सुरूदेखि नै सङ्ग्रहालयका लागि कङ्क्रिट संरचना नबनाउ भनेकै तर सुनुवाइ भएन । काम सुरु भयो, केही भवनमात्रै बनाउने काम भएको छ तर यस्तो अवस्थामा कहिले कामले पूर्णता पाएर सञ्चालनमा आउने हो टुङ्गो छैन”, सचिव तिवारीले भने ।

यहाँका विभिन्न स्थानमा १३औँ शताब्दीमा निर्माण भएका चारवटा ऐतिहासिक देवल रहेका छन् । तीमध्ये तीन वटा सङ्ग्रहालयस्थल भन्दा बाहिर छन् । ती तीनवटै देवललाई काँडेतारले सुरक्षा गरिएका छन् । सोही गाउँमा तीबाहेक विभिन्न स्थानमा आठवटा सम्पदा रहेका सिञ्जा गाउँपालिका–२ का वडाध्यक्ष तीर्थ वडले जानकारी दिए ।

उनका अनुसार हाल सङ्ग्रहालयका लागि निर्माण गरिएका भवन सिमेन्ट, सरिया र जस्ता पाताको प्रयोग गरेर बनाइएका छन् । त्यहाँ साना ठूला गरी तीन वटा कङ्क्रिट भवन छन् । सोही स्थानमा रहेको परम्परागत माटोको घर भने जीर्ण बनेर भत्किँदै गएको छ ।

स्थानीयवासी उमेश बुढाले सिञ्जाको ऐतिहासिक पक्ष र यहाँको मौलिकता संरक्षणका लागि बनाइएको सङ्ग्रहालयको बाँकी काम सम्पन्न गरी तत्काल सञ्चालनमा ल्याउनुपर्ने बताए ।

सङ्ग्रहालयका लागि एक करोड ३४ लाख लगानी

नेपाली खस भाषाको उद्गमस्थल रहेको सिञ्जामा कर्णाली प्रदेश सरकार र भू–तथा जलाधार व्यवस्थापन कार्यालय जुम्लाको सहजीकरणमा सङ्ग्रहालय निर्माण हुन थालेको ६ वर्ष भयो । विसं २०७६ मै ५० लाखको लागतमा सङ्ग्रहालय निर्माण सुरु गरिएको थियो ।

हालसम्म सङ्घ, प्रदेश र स्थानीय सरकारको एक करोड ३४ लाखभन्दा बढी खर्च भइसकेको छ । यहाँ सिञ्जा गाउँपालिकाले समेत लगानी गरिरहेको छ । सुरुमा सङ्घीय सरकारबाट विनियोजन ५० लाखमध्ये २० लाख विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा खर्च भयो । बाँकी ३० लाख पर्खाल निर्माणमा खर्च भएको खस सङ्ग्रहालय निर्माण उपभोक्ता समितिका सचिव तिवारीले जानकारी दिए ।

गाउँपालिकाको २५ लाख लगानीमा पुस्तकालय भवन र आठ लाखमा परम्परागत भवन निर्माण सुरु भएको थियो । उक्त भवन दिनप्रतिदिन जीर्ण बन्दै गएको छ । ५१ लाखको लागतमा सङ्ग्रहालय भवन निर्माण गरिएको छ । यसमा कर्णाली प्रदेश सरकारको रु १० लाख र गाउँपालिकाको रु ४१ लाख खर्च भएको छ ।

सिञ्जा सभ्यताको संरक्षण र प्रवर्द्धनमा टेपा पुग्ने

विसं १४५५ मा राजा जालन्धरले सिञ्जा राज्य स्थापना गरेको इतिहास छ । राजा जालन्धर शिवभक्त भएकाले शिवको अघिल्लो अक्षर ‘शि’ र आफ्नो नामको अघिल्लो अक्षर ‘जा’ जोडेर सिञ्जा नाम रहन गएको इतिहासकारहरूले भन्ने गरेका छन् । यहाँ शिलालेख, ऐतिहासिकस्थल, पाण्डव गुफा, विराटदरबार, कनकासुन्दरी मन्दिरलगायत ढुङ्गाले कुँदिएका विभिन्न आकृति छन् तर तिनको संरक्षण हुन सकेको छैन । हाल तिनका भग्नावशेष मात्रै भेटिन्छन् ।

सङ्ग्रहालय क्षेत्रमा १२ देखि १५औँ शताब्दीको बीचमा निर्माण गरिएका देवल तथा शिलालेख अहिलेसम्म सुरक्षित रहेको सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए । उनले आगामी वैशाखसम्म बाँकी काम सम्पन्न गरी सङ्ग्रहालय सञ्चालनमा ल्याउने योजना रहेको बताए ।

“सङ्ग्रहालय सञ्चालनमा आएन भनेरै सबैले गुनासो गरिरहेका छन् । वास्तवमै यो यस क्षेत्रको ऐतिहासिक महत्वसँग जोडिएको बहुप्रतिक्षित योजना हो । यस विषयमा हामी सबै चिन्तित छौँ”, अध्यक्ष धितालले भने,“यो सञ्चालनमा आएमा सभ्याता संरक्षण मात्रै होइन, आन्तरिक तथा बाह्य पर्यटनदेखि खस भाषासम्बन्धी अनुसन्धान र अवलोकन सहज हुनेछ ।”

सङ्ग्रहालय नाग्म–गमगढी सडक खण्डअन्तर्गत सिञ्जा हुँदै मुगु राराताल जाने बाटो नजिककै रहेको छ । यसको निर्माण सम्पन्न भएमा राराताल जानेहरूलाई पनि आकर्षित गरी पर्यटन प्रवर्द्धन लाई आकर्षण गर्न गाउँपालिका अध्यक्ष धितालको भनाइ छ । 

पहिलो चौमासिकमा थपियो ८४ अर्ब सरकारी ऋण

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिक अवधिमा करिब ८४ अर्ब रुपैयाँ सरकारी ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार नेपालको कुल सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४४ प्रतिशत नाघेको हो ।

‘चालु आवको सुरुमा कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब नौ करोड रुपैयाँ रहेकामा कात्तिक मसान्तसम्ममा ८३ अर्ब ९५ करोड थप वृद्धि भई कुल सार्वजनिक ऋण २५ खर्ब १८ अर्ब पाँच करोड रुपैयाँ पुगेको छ,’ कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा भनिएको छ, ‘जुन कुल जीडीपीको ४४ दशमलव १४ प्रतिशत हुन आउँछ ।’

विदेशी मुद्राको विनिमय दरमा भएको परिवर्तनका कारण गत असोज मसान्तसम्मको तुलनामा कात्तिक मसान्तसम्ममा रु अर्ब ९८ करोड बराबर सार्वजनिक ऋण घटेको प्रतिवेदनमा उल्लेख छ । कार्यालयका अनुसार कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण दायित्व रु १२ खर्ब ५२ अर्ब १६ करोड १८ लाख र बाह्य ऋण दायित्व रु १२ खर्ब ६५ अर्ब ८९ करोड ७२ लाख बराबर छ । जीडीपीका आधारमा ऋण प्रतिशत हेर्दा आन्तरिक ऋण २१ दशमलव ९५ प्रतिशत र बाह्य ऋण २२ दशमलव १९ प्रतिशत हो ।

सरकारले चालु आवका लागि पाँच खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ । पहिलो चौमासिकसम्ममा एक खर्ब ६५ अर्ब ७२ करोड रुपैयाँ ऋण प्राप्त भइसकेको छ । वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति ३० दशमलव ३० प्रतिशत हो ।

चालु आवका लागि सरकारले तीन खर्ब ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेकामा वार्षिक लक्ष्यको ४३ दशमलव ६४ प्रतिशत अर्थात एक खर्ब ४४ अर्ब रुपैयाँ पहिलो चौमासिकमा उठाएको छ । त्यस्तै दुई खर्ब १७ अर्ब बाह्य ऋण उठाउने वार्षिक लक्ष्य रहेकामा कात्तिक मसान्तसम्ममा १० दशमलव एक प्रतिशत अर्थात २१ अर्ब ७२ करोड रुपैयाँ ऋण लिइएको छ ।

चालु आवमा सरकारी ऋणको साँवाब्याज भुक्तानी गर्नका लागि सरकारले चार खर्ब दुई अर्ब बराबर बजेट विनियोजन गरेको थियो । कात्तिक मसान्तसम्ममा एक खर्ब आठ अर्ब १४ करोड रुपैयाँ साँवाब्याज भुक्तानी भइसकेको कार्यालयको प्रतिवेदनमा उल्लेख छ । कुल जीडीपीको आधारमा कात्तिक मसान्तसम्ममा ऋणको साँवाब्याज तिर्न भएको खर्च एक दशमलव ९० प्रतिशत बराबर हो ।

किएभस्थित अमेरिकी दूतावासद्वारा हवाई आक्रमणको चेतावनी

वासिङ्टन। युक्रेनले पहिलो पटक रूसमा लामो दूरीको अमेरिकी क्षेप्यास्त्र प्रहार गरेपछि रूसले जवाफ दिने वाचा गरेसँगै किएभस्थित अमेरिकी दूतावासले बुधबार हवाई आक्रमणको चेतावनी दिएको छ ।

दूतावासले नोभेम्बर २० मा हवाई आक्रमणको विशेष सूचना प्राप्त गरेको उल्लेख गर्दै सावधानीका साथ दूतावास बन्द गर्ने र कर्मचारीलाई सुरक्षित ठाउँमा आश्रय लिन निर्देशन दिएको वेबसाइटमार्फत बताएको छ ।

“अमेरिकी दूतावासले अमेरिकी नागरिकहरूलाई हवाई सतर्कता घोषणा भएको खण्डमा तत्काल आश्रय लिन तयार रहन सिफारिस गर्दछ”, दूतवासले भनेको छ ।

युक्रेनले करिब तीन वर्षको युद्धमा पहिलो पटक लामो दूरीको अमेरिकी क्षेप्यास्त्र आफ्नो क्षेत्रमा प्रयोग गरेपछि रुसले मङ्गलबार यसको जवाफ दिने चेतावनी दिएको थियो ।

एक वरिष्ठ युक्रेनी अधिकारीका अनुसार मङ्गलबार रुसको ब्रायन्स्क क्षेत्रमा भएको आक्रमण “एटिएसिएमस क्षेप्यास्त्रद्वारा गरिएको थियो । यो अमेरिकी सेनाको सामरिक क्षेप्यास्त्र प्रणालीसँग सम्बन्धित रहेको ती अधिकारीले बताए ।

रुसी विदेशमन्त्री सर्गेई लाभरोभले आक्रमणले पश्चिमी देशहरूले द्वन्द्व ‘तीव्र’ पार्न चाहेको देखाएको बताए ।

“हामी यसलाई रुस विरुद्धको पश्चिमी युद्धको गुणात्मक रूपमा नयाँ चरणको रूपमा लिनेछौँ र हामी सोही अनुरूप प्रतिक्रिया दिनेछौँ”, ब्राजिलमा भएको जी–२० शिखर सम्मेलनमा आयोजित पत्रकार सम्मेलनमा लाभरोभले भने ।

वासिङ्टनले यस हप्ता युक्रेनलाई रुसभित्रका सैन्य लक्ष्यहरूमा एटिएसिएमएस प्रयोग गर्न स्वीकृति दिएको पुष्टि गरेको छ । यो युक्रेनको लामो समयदेखिको माग थियो । 

गाजा युद्धविरामका लागि अमेरिकी योजनाका बीच राष्ट्रसङ्घ पुनः मतदान

राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले युद्ध अन्त्यको पछिल्लो प्रयास स्वरुप गाजामा युद्धविरामको आह्वान गर्ने अर्को मस्यौदा प्रस्तावमा बुधबार मतदान गर्ने अपेक्षा गरिएको छ ।

तर यो मस्यौदालाई इजरायलको मुख्य सहयोगी अमेरिकाले अवरुद्ध गर्न सक्ने आकंलन गरिएको छ ।

प्रस्तावको पछिल्लो मस्यौदाले इजरायल र हमासबिचको युद्धमा “तत्काल,स्थायी युद्धविराम तथा सबै बन्धकहरूको बिना सर्त रिहाईको माग गरेको छ ।

यद्देपी यसले इजरायललाई आक्रोसित बनाएको छ भने स्थायी युद्धविरामको विषयमा अमेरिकी भिटोको डर बढाएको छ ।

यसै विच राष्ट्रसङ्घका लागि इजरायली राजदूत ड्यानी डेननले यो प्रयासलाई हास्यस्पद भन्दै राष्ट्रसङ्घले आफ्ना नागरिकहरूको सुरक्षा गर्नबाट इजरायललाई रोक्न नसक्ने बताएका छन् ।

अमेरिकी राजदूत रोबर्ट वुडले यो युद्धविराम र बन्धकहरूको रिहाइको सम्बन्धमा सुरुदेखि नै अमेरिकाको मुख्य भुमिका रहेको जनाएका छन् । 

दुर्गा प्रसाईंलाई पाँच दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पाँच दिन थुनामा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा मंगलबार पक्राउ परेका प्रसाईंलाई बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

प्रहरीले आज बिहान प्रसाईंलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो । प्रहरीले विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुर गरेको भन्दै उनलाई पक्राउ गरेको थियो ।

प्रसाईंले सोमबार प्रसाईंले प्रधानमन्त्री ओलीले कम्बोडियामा २० करोड डलर लगानी गरेको आरोप लगाएका थिए । फर्जी कागजात बनाएको कसुरमा प्रहरीले उनीविरुद्ध ‘किर्ते गर्न नहुने’ अभियोग लगाउने तयारीसमेत गरेको छ ।

एमालेले उम्मेदवारी फिर्ता लिएपछि पुथाउत्तरगंगा –२ को वडाध्यक्षमा माओवादी उम्मेदवार जगत घर्ती निर्विरोध

काठमाडौं । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका–२ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् ।

कांग्रेस–एमालेको गठबन्धनबाट उम्मेदवार बनेका एमालेका जीवन रोकाले उम्मेदवारी फिर्ता लिएपछि माओवादी केन्द्रका घर्ती वडाध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

यसको औपचारिक घोषणा भने हुन बाँकी छ । यसअघि माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका जसबहादुर शिर्पालीको दुर्घटनामा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

गत निर्वाचनमा पनि वडा नम्बर २ एमाले र कांग्रेसले गठबन्धन गरेर चुनाव लडेका थिए । तर माओवादी केन्द्रका उम्मेदवार जसबहादुर शिर्पाली विजयी भएका थिए ।

विश्वविजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे नेपाल आउँदै

काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्वविजेता खेलाडी अविरल घिमिरे ‘हिमचितुवा’ बिहीबार नेपाल आउने भएका छन् । किक बक्सिङ खेल क्षेत्रमा ऐतिहासिक कीर्तिमान बनाउन सफल भएका नेपाली युवा किक बक्सर घिमिरे जापानको नागोया सहरमा बस्दै आएका छन् । 


‘हिमालय चितुवा’ घिमिरेले इन्टरनेसनल स्पोर्टस् किक बक्सिङ एसोसिएसनद्वारा नागोया कंग्रेस सेन्टरमा गत कात्तिक १० गते आयोजित ‘इन्टरनेसनल किक बक्सिङ’ (इस्का)  प्रतियोगिताको उपाधि चुमेर विश्वविजेता बनेका थिए ।


यो प्रतियोगितामा उनले फ्रान्सका कडा प्रतिद्वन्द्वी एन्टोनिन मार्काेनीलाई ढाल्दै ‘वल्र्ड च्याम्पियन’ हुन सफल भएका थिए । यसका लागि बक्सर घिमिरेले आफ्नै खर्चमा थाइल्यान्डको फुकेट सहरमा रहेको टाइगर मोओथाई अन्तर्राष्ट्रिय क्लबमा दुई महिनाको विशेष बन्द प्रशिक्षण लिएका थिए । यो प्रशिक्षण लिने उनी पहिलो नेपाली बक्सरसमेत भएका थिए ।


इस्काको उपाधि चुमेपछि बक्सर घिमिरेले आफ्नो जितका लागि पिता तथा मुख्य प्रशिक्षक देव घिमिरे, आफूले प्रशिक्षण लिइरहेको सिमुरा डोजो, हलसम्म आएर हौसल प्रदान गर्ने नेपाली, कोरियन तथा जापानी खेलप्रेमीलाई विशेष धन्यवाद दिएका थिए ।


‘हिमालय चितुवा’ का रूपमा विश्वप्रसिद्ध भएका घिमिरे सो प्रतियोगितामा आमनेसामने हुने पहिलो नेपाली बक्सर भएका थिए  । प्रतियोगिताको मुख्य आकर्षणका रूपमा रहेको अन्तिम खेल (मेन इभेन्ट म्याच) मा घिमिरेले पहिलो राउन्डमै आफ्ना प्रतिस्पर्धी मार्कोेनीलाई रिङमा ढालेर  ‘इन्टरनेसनल किक बक्सिङ’को उपाधि चुमेका थिए ।


हालसम्म प्रोफेसनल किक बक्सिङ हिट प्रतियोगिताको १४ खेलको अपराजित यात्राको जित हासिल गर्ने क्रममा हिमचितुवाले चारपटक हिट प्रतियोगिताको ‘टाइटल म्याच’को उपाधि (बेल्ट) समेत रक्षा गर्दै ‘मिडल वेटको रेकर्ड’ समेत कायम राख्न सफल भएका छन् ।


उनले विश्वप्रसिद्ध के वान प्रोफेसनल किक बक्सिङ प्रतियोगितामा खेल्दै दुईवटा इभेन्ट आफ्नो पक्षमा पारी प्रतिस्पर्धीलाई ‘नक आउट’ गर्न सफल भएका थिए ।  हालसम्म फ्रान्स, जापान, दक्षिण कोरिया, ब्राजिल, बोलिभिया, नेदरल्यान्ड, थाइल्यान्डलगायत देशका बक्सरहरूलाई पराजित गरिसकेका युवा पुस्ताका चर्चित खेलाडी घिमिरेले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली झण्डा फहराउँदै विश्वमा नेपालको पहिचान बनाउन सफल भएका छन् ।  


जापानको नागोया सहरमा अविरल आफ्ना पिता पूर्वअन्तर्राष्ट्रिय किक बक्सर तथा फुल कन्ट्याक कराते खेलाडी देव घिमिरेको विशेष प्रशिक्षणमा रहँदै आएका छन् ।


कराते खेलाडी देव सन् २००४ मा कोरियाको सोलमा सम्पन्न ‘के वान प्राफेसलन किक बक्सिङ प्रतियोगिता’ मा सहभागी हुने पहिलो दक्षिण एसियाली खेलाडी हुन् । चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा बलम्बूका बासिन्दा उनको  परिवार हाल जापानको नागोया सहरमा बसोबास गर्दै आइरहेको छ । नेपाल बसाइका क्रममा अविरलले आफ्नो अनुभव युवा पुस्ताका बक्सरलाई जानकारी गराउनेछन् । 

सर्लाहीको ‘बर्थिङ सेन्टर’मा सुत्केरीको बिचल्ली

बरहथवा(सर्लाही) । सर्लाहीको हरिपुर्वा नगरपालिका–१, निवासी १८ वर्षकी बबिता पासवानलाई गत कात्तिक ३० साँझ एक्कासि सुत्केरी बेथाले च्याप्यो । उनलाई श्रीमान् अरुण पासवानले हतारहतार गाउँमा रहेको बर्थिङ सेन्टर पुर्याए । बबिताको पहिलो बच्चा जन्मदै थियो । उनले सोही बर्थिङ सेन्टरमा नियमित गर्भ परीक्षणसमेत गराएका थिए ।

स्वास्थ्यकर्मीहरुको नियमित निगरानीमा बच्चा र आमा स्वस्थ रहेकाले बच्चा सामान्य ढङ्गले जन्मिन्छ भनेपछि बबिताका श्रीमान् अरुण पनि ढुक्क थिए । बबितालाई दुई घण्टामै परिवारले बर्थिङ सेन्टर पुर्याएका थिए । बर्थिङ सेन्टर पुगेको १० मिनेटपछिनै उनको बच्चा जन्मियो । सामान्य ढङ्गले बच्चा जन्मिए पनि बच्चा ठूलो भएकाले योनीमा चोट अर्थात ‘भजाइन् टियरिङ’ भयो ।

त्यसपछि बर्थिङ सेन्टरमा कार्यरत स्वास्थ्यकर्मी र बिमारीका आफन्तलाई आपत आइलाग्यो । सुविधा सम्पन्न भनेर ल्याएको बर्थिङ सेन्टरमा सामान्य घाउ सिउनको लागि आवश्यक सियो(क्याटगड) समेत थिएन । उपचारमा खटिएकी स्वास्थ्यकर्मीले कतै मेडिकलबाट किनेर तत्काल ल्याउनु भन्दै आवश्यक सामानको सूची बबिताको श्रीमानको हातमा राखिदिइन् तर मध्यरातमा कुनै उपाय थिएन ।

यता बत्रिता रगत बगाउँदै शय्यामा छटपटाइरहेकी थिइन् । स्वास्थ्यकर्मीले बबितालाई ढाडस दिँदै आफूले सिकेको अनेक उपाय लगाएर रगत रोक्ने प्रयास गरिरहेकी थिइन् । भोलिपल्ट बर्थिङ सेन्टर नजिकैको मेडिकल खुलेपछि औषधि र सामान ल्याएर उपचार गरियो ।

बबिता जस्तै हरिपूर्वा नगरपालिका–६, निवासी १९ वर्षकी रेजिना कार्कीलाई पनि गत कात्तिक १२ गते सुत्केरी ब्यथा लाग्यो । परिवारले तत्काल बर्थिङ सेन्टर पुर्याएको केही समयमै सामान्य हिसाबलेबच्चा जन्मियो । तर, बच्चा जन्मने क्रममा रेजिनाको पनि भजाइन टेयरिङ भएर रक्तस्राव भयो ।

बर्थिङ सेन्टरमा सामान्य उपचारको सामान समेत नभएपछि उनको परिवारले पनि हातमा औषधिको सूची लिएर रातभर हारगुहार गर्नुपर्यो । तर, कुनै उपाय नलागेपछि बबिताले जस्तै रेजिनाले पनि जोखिमपूर्ण ढङ्गले भोलिपल्ट बिहान हुने पर्खाइमा पीडा सहेर बस्नुपरेको थियो ।

सामान्य उपकरण र औषधि नहुँदा बर्थिङ सेन्टर आउने बबिता र रेजिना जस्ता आमा र नवजात शिशुको ज्यान जोखिममा रहेको छ । सुविधा सम्पन्न भनिएको बर्थिङ सेन्टरमा सुत्केरी गराउन आउने गर्भवतीका आफन्तले आवश्यक पानीदेखि सियो धागो र स्वास्थ्यकर्मीको लागि पञ्जासम्म आफैँले किनेर ल्याउनुपर्ने बाध्यता रहेको रेजिनाका श्रीमान् अवधेशकुमार यादव बताउँछन् ।

सामान्य एउटा कोठालाई बीचमा बारेर दुई कोठा बनाएर बर्थिङ सेन्टर सञ्चालन गरिएको छ । रातको समयमा बिजुली गएको समयमा मोबाइलको बत्ती बालेर सेवा दिनुपर्ने बाध्यता रहेको स्वास्थ्यकर्मीको भनाइ छ ।

स्वास्थ्य चौकीका प्रमुख उमेशकुमार यादव नगरपालिकाबाट आवश्यक बजेट विनियोजन नहुँदा सेवा प्रवाहमा समस्या रहेको बताउँछन् । स्वास्थ्य चौकीमासमेत सरकारले निर्णय गरेको निःशुल्क वितरण गर्नुपर्ने १०/१५ प्रकारको औषधि सधँै अभाव हुने गरेको उनको भनाइ छ ।

अहिले चिसो समयमा धेरै रुघा, खोकी र ज्वरोका समस्या भएका बिमारी आउने गर्छन् तर आवश्यक औषधि नहुँदा बिमारी यसै फर्केर जाने गरेका छन् । एक गैरसरकारी संस्थाले केही उपकरण उपलब्ध गराएपछि पाँच वर्षअघि सुरु भएको बर्थिङ सेन्टरका अधिकांश उपकरण अहिले काम नलाग्ने भइसकेका छन् । नियमित मर्मत नहुँदा बच्चालाई तातो बनाउने(बेबी वार्मर), पानी तताउने भाँडो काम नलाग्ने भएको छ ।

यता हरिपूर्वा नगरपालिकाका प्रमुख विनोदकुमार साहले सबै नागरिकले गुणस्तरिय स्वास्थ्य सेवा पाइरहेको दाबी गरे । नगरका स्वास्थ्य चौकीहरुमा नियमित रुपमा निःशुल्क औषधि वितरण भइरहेको भन्दै तत्काल थप बुझेर समस्या समाधान गरिने बताए । नगर अस्पताल सञ्चालनको तयारी समेत गरिएको उनको भनाइ छ ।

गुल्मीमा एकजना किसानले फलाए चार सय मुरी धान

तम्घास (गुल्मी) । गुल्मीको धुर्कोट गाउँपालिका–६ रजस्थलका एउटै व्यक्तिले चार सय मुरी धान फलाएका छन् । स्थानीय मेघनाथ अर्यालले सो परिमाणमा धान फलाएका हुन् । एउटै व्यक्तिले यति धेरै धान फलाउने अर्याल जिल्लामै एक्लो व्यक्ति हुन् । हालसम्म उनले तीन सय मुरी धान खेतबाट उठाइसकेका छन् भने अझै सय मुरी उठाउन बाँकी छ ।

‘हालसम्म ७५ रोपनी क्षेत्रफलमा लगाएको तीन सय मुरी धान उठाएका छौँ, अब २५ रोपनीको करिब सय मुरी उठाउन बाँकी छ, धान काटेर सुकाउन राखेको छु । अब थ्रेसर लगाएर धान र पराल छुट्याउन मात्रै बाँकी छ’, अर्यालले भने ।

उनले सय रोपनीमध्ये ७२ रोपनी आफ्नो र २८ रोपनी भाडामा लिएर धानखेती गरेका हुन् । भाडामा लिएको जग्गाको वार्षिक प्रति रोपनी तीन हजारका दरले बुझाउँदै आएको अर्यालले बताए ।

यसरी उत्पादन गरिएको धानबाट चामल बनाउने र प्याकेजिङ गरेर बेच्ने उनको योजना छ । ‘पहाडमा सधैँ तराईबाट चामल आउने भएकाले त्यसलाई रोक्न पनि गाउँमै मिलको स्थापना गरी चामललाई बिक्री गर्ने योजना छ’, उनले भने, ‘मिलका लागि राज्यले सहयोग गरे त धेरै सहज हुने थियो ।’

धान खेतीका साथै उनले व्यावसायिक भैँसीपालन पनि गरेका छन् । उनीसँग अहिले २१ वटा माउ भैँसी, एउटा ठूलो राँगो र १४ वटा पाडापाडी छन् । उत्पादन भएको धानबाट चामललाई ब्रान्डिङ गरी बिक्री गर्ने र भुस भैँसीको आहारका रूपमा प्रयोग गर्ने योजना बनाइरहेको अर्यालले बताए । धान काटेलगत्तै उनले उक्त जग्गामा मकैखेती, घाँस वा अन्य तरकारी लगाउने उनले सुनाए ।

धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले एउटै किसानले यति धेरै परिमाणमा धान उत्पादन गर्नुले गरे के हुँदैन भनेर अरुलाई पनि राम्रो सन्देश दिएको बताए । यस्ता किसानलाई प्रोत्साहनका लागि पालिकाले आवश्यक सहयोग गर्ने उनको प्रतिबद्धता छ ।

‘मेघनाथले मिल स्थापनाका लागि सहयोग पाए हुन्थ्यो भन्ने गरेको सुनेका छौँ । यसमा लागत साझेदारी गर्न पालिका तयार छ । धुर्कोटमै चामलको मिल स्थापना हुने विषय पालिकाको लागि गौरवको विषय हो नि’, अध्यक्ष पोखरेलले भने ।

कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले गुल्मीमा उत्पादित चामललाई ‘ब्रान्डिङ’ गर्नुपर्ने बताए । गुल्मी जिल्लाभर यसवर्ष सात हजार हेक्टरमा बर्खे धान लगाएकामा २१ हजार मेक्ट्रिक टन उत्पादन भएको उनले जानकारी दिए । 

भारतका प्रधानमन्त्री मोदी गुयाना भ्रमणमा

गुयाना । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमणका लागि बुधबार गुयाना पुगेका छन् । उनी ५६ वर्षमा गुयानाको भ्रमण गर्ने पहिलो भारतीय प्रधानमन्त्री हुन् । प्रधानमन्त्री मोदी लाई एयरपोर्टमा गुयानाका राष्ट्रपति मोहम्मद इरफान अली तथा मन्त्रीहरूले स्वागत गरेका थिए ।

प्रधानमन्त्रीको आगमनको असरमा गुयानाले राष्ट्रपतिद्वारा शुभकामनासहित गुयानाको जर्जटाउनमा औपचारिक स्वागत र गार्ड अफ अनर प्रदान गरेको छ ।

भ्रमणको क्रममा प्रधानमन्त्री मोदीले गुयानाको संसदको विशेष बैठकलाई सम्बोधन गर्ने तथा भारत–क्यारिकम शिखर सम्मेलनमा क्यारेबियन साझेदार देशका नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्रीको गुयाना भ्रमण अघि पत्रकार सम्मेलनमा भनरतीय विदेश मन्त्रालयले गुयानाका राष्ट्रपति मोहम्मद इरफान अलीको निमन्त्रणामा प्रधानमन्त्रीको भ्रमण भएको उल्लेख गरेको थियो ।

विदेश मन्त्रालयका पुर्व सचिव जयदीप मजूमदारले भारत र गुयानाबिच उच्चस्तरीय सम्पर्क बढेको जनाउर्दै गुयानासँग लामो समयदेखि विकासलगायतका अन्य आवाश्यक साझेदारी गरेको उल्लेख गरे ।

गुयाना भ्रमणका बारेमा विस्तृत जानकारी दिँदै मजूमदारले प्रधानमन्त्री मोदी राष्ट्रपति इरफान अलीसँग प्रतिनिधिमण्डल स्तरको वार्तामा संलग्न हुने बताएका छन्।

विदेश मन्त्रालयका अधिकारीले गुयाना विश्वको सबैभन्दा तीव्र गतिमा अघि बढिरहेको अर्थतन्त्र भएको उल्लेख गर्दै भविष्यमा भारतले गुयानासँग विभिन्न थप क्षेत्रमा साझेदारी गर्ने अवसर पाउने बताएका छन् ।