`

चीन भ्रमण सफल पार्न भगीरथ प्रयास गर्छौंः प्रधानमन्त्री ओली

काठमाडौँ । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओलीबाट यही मङ्सिर १७ देखि २० गतेसम्म हुने चीनको औपचारिक भ्रमणको तयारी तीव्र गतिमा जारी छ ।

प्रधानमन्त्रीको यो भ्रमणले नेपाल र चीनबीच सरकारी र जनस्तरमा विद्यमान सुमधुर सम्बन्ध नयाँ उचाइमा पुग्ने अपेक्षा दुवै देशका नागरिकले गरेका छन् ।

भ्रमणको पूर्वसन्ध्यामा सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली काङ्ग्रेसका शीर्ष दल र संयन्त्रस्तरमा विभिन्न चरणमा ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ (बीआरआई) लगायत दुई मुलुकका सहयोग र सहकार्यका सम्भावित विषयमा घनीभूत छलफल भएको छ ।

चीन भ्रमणमा केन्द्रित रहेर प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली र काङ्ग्रेस सभापति शेरबहादुर देउवासहित नेताहरुबीच छलफल भएको छ । शनिबार प्रधानमन्त्री ओलीको उपस्थितिमा प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलका सदस्यहरुसँँग पनि विमर्श भएको छ ।

त्यस क्रममा प्रधानमन्त्रीले दुई देशबीचको सम्बन्धलाई अझ सुमधुर बनाउने भ्रमणको मूल उद्देश्य भएकाले त्यसलाई पूरा गर्न सबैले आफ्नो स्थानबाट सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिए ।

‘हाम्रो चीन भ्रमण सफल हुनेछ । हामी त्यसकै निम्ति भगीरथ प्रयास गर्छाैँ ।’ प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रको गरिमा बढाउन र दुई देशबीचको मैत्रिपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउनेमा हाम्रो ध्यान केन्द्रित हुनेछ ।’

परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राई, शिष्टाचार महापाल विष्णुप्रसाद गौतम र मन्त्रालयका प्रवक्ता एवं उत्तरपूर्वी एसिया महाशाखा प्रमुख कृष्णप्रसाद ढकालले क्रमशः दुई पक्षीय सम्बन्धका समग्र पक्षका साथै कूटनीतिक व्यवहार, शिष्टाचार एवं समारोह र बीआरआई फ्रेमवर्क’ बारे जानकारी दिएका थिए ।

प्रवक्ता ढकालले सम्पर्क सञ्जाल विस्तार, लगानी, व्यापार, पर्यटन, कृषि र पूर्वाधार विकासलगायत क्षेत्रमा सहयोग र सहकार्यका विषयमा चिनियाँ पक्षसँग घनीभूत छलफल हुने बताए ।

प्रधानमन्त्री ओलीले चीन भ्रमणको तयारीका क्रममा यही मङ्सिर १० गते पूर्वप्रधानमन्त्रीहरु र पूर्वपरराष्ट्रमन्त्रीहरुसँग छलफल गरेका थिए । यही मङ्सिर १३ गतेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको चीन भ्रमण र त्यसमा सम्मिलित प्रमण्डल स्वीकृत गरेको हो ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग बेइजिङमा शिष्टाचार भेट गर्ने कार्यक्रम छभने आफ्ना चिनियाँ समकक्षी लीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन् ।

प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीले पनि भेटर्वाता गर्ने कार्यक्रम छ । उनले पेकिङ विश्वविद्यालयमा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छभने बेइजिङस्थित नेपाली राजदूतावास चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिनिधिमण्डलमा प्रधानमन्त्रीपत्नी राधिका शाक्य परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, सङ्घीय संसद्का सदस्यलगायत रहनेछन् ।

बसको ढोकाबाट खसेर काठमाडौंको तारकेश्वरमा दुई जनाको मृत्यु

काठमाडौँ । बसको ढोकाबाट खसेर शनिबार दुई जनाको मृत्यु भएको छ । काठमाडौँको तारकेश्वर नगरपालिका–८ शेषमतीको लामबगरस्थित शान्तिटोल गेट नजिक बा४ख ७१११ नम्बरको बसको ढोकाबाट खसेर दुई जनाको मृत्यु भएको हो ।  

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार दुर्घटनामा नुवाकोट ककनी गाउँपालिका–५ बस्ने ५० वर्षीय सन्चबहादुर लामा र तादी गाउँपालिका–१ घर भई काठमाडौँ तारकेश्वर–८ लामबगर बस्ने ५८ वर्षीया सुन्तली ओझाको मृत्यु भएको हो ।  

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए ।  

बसबाट खसेर घाइते भएका बसका सहचालकलाई उपचारका लागि राष्ट्रिय ट्रमासेन्टर पठाइएको प्रहरी नायब महानिरीक्षक कार्कीले बताए । दुर्घटनापछि फरार रहेका बस चालकको प्रहरीले खोजी गरिरहेको छ । 

बीआरआई परियोजना सम्पन्न हुन समय लाग्ने भएकाले ऋणमा नभई अनुदान लिनु उपयुक्त हुन्छः उपप्रधानमन्त्री सिंह

कास्की । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत अनुदान नै उपयुक्त हुने बताएका छन् ।

नेपाल प्रेस युनियन कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटमा उपप्रधानमन्त्री सिंहले बीआरआई परियोजनाअन्तर्गत सडक, सुरुङलगायत भौतिक पूर्वाधारका क्षेत्र छनोट गरिनुपर्नेमा जोड दिए ।

‘वर्तमान आर्थिक अवस्थाका कारण ऋणका लागि ऋण लिनु उपयुक्त नहुने देखिन्छ । परियोजना सम्पन्न हुन समय लाग्ने र पछि सरकारलाई ऋण तिर्न गाह्रो हुने भएकाले अनुदान लिनु उपयुक्त हुन्छ’, उनले भने ।

मुलुकमा स्थायित्व कायम गर्न, आर्थिक समृद्धि हासिल गर्न र जनताका भावनाअनुरूप काम गर्न संसद्का दुई ठूला दल मिलेर वर्तमान सरकार गठन भएको बताउँदै उनले सहमति र सहकार्यका आधारमा सरकार अघि बढिरहेको उल्लेख गरे ।

सरकारले सहकारीसहित अन्य अनियमितताको कानुनअनुसार अनुसन्धान अघि बढाएको उपप्रधानमन्त्री सिंहले बताए । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न सरकार प्रयासरत रहेको बताए ।

एनपीएलमा जनकपुर वोल्सको विजयी सुरुवात

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको उद्घाटन  खेलमा जनकपुर बोल्ट्सले विराटनगर किङ्सलाई आठ विकेटले पराजित गरेको हो ।


टस हारेर पहिला ब्यटिङ गरेको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर एक सय २७ रन बनाएको थियो  एक सय २८ रनको विजयी लक्ष्य जनकपुर बोल्ट्सले १५ दशमलव तीन ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो ।


जनकपुर बोल्ट्सका लागि विदेशी खेलाडी लाहिरु मिलन्थाले अर्धशतक पारी खेले । उनले ५३ बल खेल्दै नौ चौका र तीन छक्काको मद्दतमा ७५ रन बनाए । यस्तै विदेशी खेलाडी हर्ष थाकेरले अविजित रहँदै २९ रन जोडे । यस क्रममा उनले ३३ बल खेल्दै दुई चौका प्रहार गरे । कप्तान अनिलकुमार साहले पाँच रनको योगदान दिए । आशिफ शेख शून्य रनमै पवेलियन फर्किए ।


बलिङतर्फ विराटनगरका लागि विदेशी खेलाडी क्रिस सोले र प्रतिश जिसीले एक/एक विकेट लिए । विराटनगरले जनकपुर बोल्ट्सलाई २२ रन अतिरिक्त दिएको थियो ।


यसअघि पहिला ब्याटिङ गरेको विराटनगर किङ्सले १९ ओभरमा सबै विकेट गुमाउँदै एक सय २७ रन बनाएको थियो । विराटनगर किङ्सका लागि विदेशी खेलाडी मार्टिन गप्टिलले अर्धशतक पारी खेले । उनले ४३ बल खेल्दै एक छक्का सात चौकाको मद्दतमा ५५ रन बनाए ।


यस्तै अकिब इलियासले १५, निकालेस किर्तनले नौ, लोकेश बलमे पाँच तथा बसिर अहमद, सन्दीप लामिछाने र अनिल खरेलले समान सात÷सात रन बनाए ।


बलिङतर्फ जनकपुर बोल्ट्सका लागि ललितनारायण राजवंशीले सर्वाधिक तीन विकेट लिए । यस्तै किशोर महतो र हर्ष थाकरेले समान दुई/दुई तथा मोहमद मोहसिन र बेन माइकले समान एक एक विकेट लिए ।

थाइल्यान्डमा बाढीका कारण नौ जनाको मृत्यु, हजारौं विस्थापित

थाइल्याण्ड । दक्षिणी थाइल्यान्डमा भारी वर्षा पछिआएको बाढीले नौ जनाको ज्यान लिनुका साथै १३ हजार भन्दा बढी विस्थापित भएका अधिकारीहरूले शनिबार बताएका छन् । उद्धार टोलीहरूले डुङ्गा लगायतका सामाग्रीको प्रयोग गरेर फसेका बासिन्दाहरूको उद्धार गर्ने प्रयास गरिरहेको उनीहरुले बताएका छन् ।

स्थानीय मिडियाहरुले प्रसारण गरेका फुटेजमा बासिन्दाहरू तथा गाढीहरू बाढीको सडकमा डुबेको देखाइएको छ ।

“दक्षिणी थाइल्यान्डका आठ प्रान्तमा आएको बाढीले पाँच लाख ५३ हजार ९२१ घरपरिवारलाई प्रभावित गरेको तथा एजेन्सीहरूलाई तत्काल सहायता परिचालन गर्न निर्देशन दिएको देशको विपद् एजेन्सीले आधिकारिक पेज मार्फत जनाएको छ ।

विस्थापितहरुलाई विद्यालय तथा मन्दिरहरूमा अस्थायी आश्रय स्थलहरू स्थापना गरी स्थानान्त्रण गरिएको स्रोतले जनाएको छ ।

तटीय सोङ्खला प्रान्तकी बासिन्दा नाम्पाले थाई पिबिएसलाई घट्दो खाद्यान्न आपूर्तिको बारेमा चिन्तित रहेको बताए ।

नजिकैको पट्टनी प्रान्तका दुई अस्पतालहरूले बाढीले चिकित्सा सुविधाहरूलाई क्षति पुग्ने भएकाले असपतालका सेवा स्थगित गरेका छन् ।

छिमेकी उत्तरी मलेसियामा, वर्षाले यस हप्ता कम्तिमा ८० हजार मानिसहरूलाई अस्थायी आश्रयमा सार्न बाध्य पारेको बताउदै विपद् अधिकारीहरूले कम्तिमा चार जनाको मृत्यु भएको बताएको पुष्टि गरेका छन् ।

थाई मौसम विभागले आगामी हप्तासम्म देशको दक्षिणका केही क्षेत्रहरूमा भारी वर्षा जारी रहन सक्ने चेतावनी दिएको छ ।

सरकारले प्रभावित बासिन्दाहरूलाई सहयोग गर्न उद्धार टोली तैनाथ गरेको छ भने प्रत्येक प्रान्तका लागि बाढी राहतमा १.७ मिलियन डलर तोकिएको छ ।

वैज्ञानिकहरूले मानव निर्मित जलवायु परिवर्तनले मौसम ढाँचामा परिवर्तन निम्त्याइरहेको जनाउदै यसले विनाशकारी बाढीको सम्भावना बढ्ने बताएका छन् ।

पाकिस्तानमा भएको साम्प्रदायिक झडपमा थप १३ जनाको मृत्यु

पाकिस्तान । उत्तरपश्चिम पाकिस्तानमा भएको साम्प्रदायिक झडपमा थप १३ जनाको मृत्यु भएको स्थानीय अधिकारीले शनिबार बताएका छन्। अधिकारीहरुका अनुसार यो सँगै झडपमा कुल मृत्युको सङ्ख्या १२४ पुगेको छ।

पाकिस्तान सुन्नी बहुल देश हो, यद्देपी अफगानिस्तानको सीमा नजिकैको खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा ठूलो शिया जनसङ्ख्या छ दुई समुदायहरू दशकौँदेखि द्वन्द्वमा छन्।

गत बिहीबार नयाँ लडाइँ सुरु भयो जब प्रहरी स्कर्टमा अन्तर्गत यात्रा गरिरहेका दुई अलग–अलग सवारीमाथि आक्रमण हुदाँ ४० जना भन्दा बढी मानिसहरुको मृत्यु हुनुका साथैे लडाइँ सुरु भएको थियो।

कुर्रम स्थानीय सरकारका एक अधिकारीले विगत दुई दिनमा झडपका कारण थप १३ जनाको मृत्यु भएको जनाउदै मृतकहरुमा दुई जना सुन्नी र ११ जना शिया समुदायका रहेको उल्लेख गरेका छन्।

नेपालमा सबैको साझा सहमतिका आधारमा बीआरआई कार्यान्वयन हुन्छः परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले चिनियाँ परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) सम्बद्ध सबै पक्षको सहमतिमा कार्यान्वयन गरिने बताएकी छन् ।

चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएकी उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीमाझ भनिन् ‘बीआरआई परियोजनाको फ्रेमवर्कमा नेपालले सन् २०१७ मा नै हस्ताक्षर गरिसकेको छ । हाल यसको कार्यान्वयन योजनाबारे छलफल जारी छ । यो नेपाल र चीनबीचको सहमति र समझदारीका साथै नेपालमा पनि सबैको साझा सहमतिका आधारमा कार्यान्वयन हुनेछ ।’

मन्त्री राणाले अहिले नेपाल ऋण लिने अवस्थामा नरहेकाले चीन सरकारसँग यसै विषयमा छलफल भएको बताइन् । उनले भनिन्, ‘यो परियोजना अनुदानमा कार्यान्वयन गर्न नेपाली काँग्रेसले औपचारिक निर्णय गरिसकेको छ । यो सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी एमालेलाई अवगत छ । अनुदानमा नै यो परियोजना कार्यान्वयन गर्न हामीले छलफलहरु गरिरहेका छौँ ।’

नेपाल र चीनबीच सदियौँदेखि घनिष्ठ एवं सम्बन्ध रहेको र यो मैत्रिपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाई जनस्तरमा विस्तार गर्न दुई देशबीच समय–समयमा हुने उच्चस्तरीय भ्रमणको आदानप्रदानले महत्वपूर्ण योगदान भएको चर्चा गर्दै उनले आफ्नो यो भ्रमण पनि त्यसैको निरन्तरता भएको बताइन् ।

आफ्ना चिनियाँ समकक्षीसँग शुक्रबार भएको भेटवार्ता द्विपक्षीय हितका विविध पक्षका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा केन्द्रित रहेको उनले जानकारी दिइन् ।

दुवै देशमा विद्यमान अवसर र सम्भावनाहरूलाई आपसी हितका लागि भरपूर सदुपयोग गर्दै सम्बन्धलाई थप सुमधुर बनाउने विषयमा छलफल भएको उनले बताइन् ।

चिनियाँ विदेशमन्त्रीसँग आफूले चीनसँगको व्यापार, पर्यटन, लगानी, अन्तरदेशीय यातायात सञ्जाल र आर्थिक– सामाजिक साझेदारी वृद्धिमा जोड दिएको बताइन् । चिनियाँ पक्षले पनि प्रस्तुत धारणाप्रति सकारात्मक जवाफ दिएको जानकारी परराष्ट्रमन्त्रीले दिइन् ।

साथै उनले द्विपक्षीय सम्झौता तथा समझदारीहरुलाई तदारुकताका साथ कार्यान्वयन गर्ने सहमति भएको बताइन् ।यो भ्रमणबाट आपसी विश्वास अभिवृद्धि गर्न मद्दत पुगेको परराष्ट्रमन्त्री राणाले बताइन् ।

एनपीएलमा विराटनगरद्वारा जनकपुरसामु १२८ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा विराटनगर किङ्ग्सले जनकपुर बोल्ट्सलाई जितका लागि १२८ रनको लक्ष्य दिएको छ । 

त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान कीर्तिपूरमा आज भएको खेलमा विराटनगरले बोल्ट्सलाई जितका लागि उक्त रनको लक्ष्य दिएको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर १२७ रन बनाएको हो । 

विराटनगरका लागि न्युजिल्यान्डका ब्याटर मार्टिन गप्टिलले अर्धशतक प्रहार गर्दै सर्वाधिक ५५ रन बनाए । उनले ४३ बलमा एक छक्का र सात चौकाको मद्दतले ५५ रन बनाएका हुन् । यस्तै अकिब इलियासले १५, निकोलस किर्टनले नौ र लोकेश बमले पाँच रनको योगदान दिए । बसिर अहमद, सन्दीप लामिछाने र अनिल खरेलले समान ७/७ रन बनाए । 

त्यस्तै विराटनगरका लागि क्रिस सोलले चार, प्रतिश जिसीले दुई र राजेश पुलामीले एक रन बनाए भने जितेन्द्र मुुखिया शुन्य रनमै आउट भए ।

विराटनगरले अतिरिक्त १५ रन प्राप्त गर्यो । जनकपुर बोल्ट्सका लागि ललित राजवंशीले सर्वाधिक तीन विकेट लिए । यस्तै किशोर महतो र हर्ष ठाकरले समान २/२ विकेट लिए । जनकपुरका मोहम्मद मोहसिन र बेन माइकले समान एक÷एक विकेट हात पारे । 

नेपालमा ९१ प्रतिशतले एचआइभी सङ्क्रमण घट्यो

काठमाडौँ । नेपालमा सन् २०२३ मा ९१ प्रतिशत एचआइभीको संक्रमण घटेको पाइएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले विश्व एड्स दिवसको अवसरमा जारी गरेको तथ्याङ्कमा सन् २००० को तुलनामा सन् २०२३ मा ९१ प्रतिशत एचआइभीको सङ्क्रमण घटेको पाइएको हो ।

केन्द्रका निर्देशक डा. सर्वेश शर्माका अनुसार सन् २०२३ मा ४५७ जना मात्र नयाँ एचआइभीका सङ्क्रमित भेटिएका छन् । सन् २००० मा पाँच हजार १०० जना नयाँ सङ्क्रमित भेटिएका थिए । उनले सरकारले एचआइभी उपचारमा उल्लेखनीय काम गरेकाले नयाँ सङ्क्रमित कम भइरहेको बताए । उनले सङ्क्रमितलाई उपचार प्रक्रियामा ल्याइएकाले सर्न कम भएर घटेको बताए ।

“हामीले सङ्क्रमितको पहिचान गरेर औषधि पद्धतिलाई राम्रो बनाएका छौँ”, उनले भने, “सबै सङ्क्रमित उपचारमा ल्याएका छौँ, ती उपचारमा रहेका सङ्क्रमितले औषधि खाएपछि अरूलाई सार्दैनन् र सङ्क्रमित कम हुँदै गएका छन् ।” औषधि खानेको शरीरमा भाइरसको भार न्यून हुने गरेको उनले बताए।

उनका अनुसार अहिले देखिएका सङ्क्रतिमध्ये ८७ प्रतिशतले औषधि सेवन गरिरहेका छन् । औषधि सरकारले नि:शुल्क उपलब्ध गराउँदै आएको छ । सन् २०२३ सम्म नेपालमा ३० हजार ३०० व्यक्ति एचआइभी सङ्क्रमित रहेका छन् ।

विश्वमा आठ करोड ८४ लाख मानिस एचआइभी सङ्क्रमित र चार करोड २३ लाख व्यक्तिको एड्सका कारणले मृत्यु भइसकेको छ । सन् २०२३ मा विश्वमा १३ लाख मानिस एचआइभी सङ्क्रमित भएका थिए ।

यस्तै एचआइभीबाट मृत्यु हुनेको सङ्ख्यामा कमी आएको छ । सन् २०२३ मा २३१ जनाको सङ्क्रमण कारणले मृत्यु भएको छ । सन् २०१० मा एक हजार सात सय जना व्यक्तिको एड्सको कारणले मृत्यु हुने गरेको थियो । नेपालमा सन् १९९८ मा पहिलो पटक एचआइभी एड्स देखिएको थियो ।

निर्देशक डा. शर्माले अझै पनि उपचारबाट बाहिर रहेका करिब पाँच हजार सङ्क्रमितलाई उपचारमा ल्याउने हो भने सरकारले तोकेको लक्ष्य पूरा हुने बताए ।

“अझै करिब पाँच हजार सङ्क्रमित उपचारभन्दा बाहिर रहेका छन्”, उनले भने, “हामी ती सङ्क्रमितको पहिचान गरेर उपचारमा ल्याउने प्रयासमा रहेका छौँ ।”

उनले एचआइभी सङक्रमितमाथि अझै समाजमा लाञ्छना र भेद्भाव रहेकाले हटाउन आवश्यक रहेको बताए । नेपालमा एचआइभी सङ्क्रमितमध्ये उच्च जोखिममा रहेका समूहमा सुईद्वारा लागूपदार्थ प्रयोग गर्ने, यौनकर्मी, पुरुष समलिङ्गी तथा तेस्रो लिङ्गी र रोजगारीका लागि बिदेसिने रहेका छन् ।

तीमध्ये सुईद्वारा लागूपदार्थ प्रयोग गर्ने र पुरुष समलिङ्गी यौनकर्मीमा सङ्क्रमणदर अरु जोखिम समूहभन्दा उच्च रहेको छ । सन् २०२० को राष्ट्रिय सर्वेक्षणअनुसार सुईद्वारा लागूपदार्थ प्रयोग गर्नेमा तीन प्रतिशतका दरले एचआइभी सङ्क्रमण रहेको पाइएको छ ।

यस्तै सन् २०१७/१८ मा गरिएको सर्वेक्षणमा महिला यौनकर्मीमा दुई दशमलव दुई प्रतिशत र पुरुष समलिङ्गीमा छ दशमलव दुई प्रतिशतका दरले एचआइभी सङक्रमण रहेको पाइएको छ ।

सन् २०२४ मा सम्पन्न राष्ट्रिय सर्वेक्षणअनुसार भारतमा कामदार नेपालीमा शून्य दशमलव दुई प्रतिशत सङ्क्रमण रहेको पाइएको छ । नेपालमा राष्ट्रिय एचआइभी रणनीतिक योजना २०२१–२०२६ ले निर्देश गरेअनुरूप उच्च जोखिममा रहेका समूह जस्तै सुईद्वारा लागूपदार्थ प्रयोग गर्ने, यौनकर्मी र तिनका ग्राहक, पुरुष समलिङ्गी तथा तेस्रो लिङ्गी र रोजगारका लागि बिदेसिने तथा तिनका दम्पती एवं जेलमा रहेका कैदीका लागि एचआइभी रोकथाम कार्यक्रम तथा सङ्क्रमित र प्रभावितका लागि उपचार, हेरचाह तथा सहयोग कार्यक्रम सञ्चालन भइरहेको छ ।

सोही योजनाअनुसार नेपालमा सन २०३० सम्ममा एड्स तथा एचआइभीलाई अन्त्य गर्ने रणनीति रहेको छ । अहिले अनुमानित एचआइभी सङ्क्रमिमध्ये ९५ प्रतिशतको पहिचान गर्ने, ९५ प्रतिशतको उपचार गर्ने र ९५ प्रतिशतको शरीरमा भाइरसको भार न्यून गर्ने योजना सरकारको रहेको छ ।

केन्द्रका निर्देशक डा.शर्माका अनुसार एचआइभी सङ्क्रमिमध्ये ९४ प्रतिशतको पहिचान, ८७ प्रतिशतको उपचार र ७४ प्रतिशतको शरीरमा भाइरसको भार न्यून भइसकेको जानकारी दिए ।

हाल ६१ जिल्लाका ८४ एआरटी सेन्टरबाट एन्टिरेट्रोभाइरल उपचार निःशुल्क उपलब्ध रहेको छ । देशका सबै जिल्लामा आमाबाट बच्चामा हुने सङ्क्रमण रोकथाम गर्न समुदायमा आधारित कार्यक्रम सञ्चालन भइरहेको छ । आइतबार डिसेम्बर १ तारिख नेपालसहित विश्वभरि नै ३७औँ विश्व एड्स दिवस ‘एड्स अन्त्यका लागि सबैको सुनिश्चितता गरौँ’ भन्ने नाराका साथ मनाइँदै छ ।

स्थानीय तह उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा

काठमाडौँ। स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आइतबार मतदान हुँदैछ । निर्वाचन आयोगले उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । निर्वाचन हुने सम्बन्धित स्थानीय तहमा स्थापना गरिएका मतदान केन्द्रमा भोलि बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।

नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तहमा सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगका सहसचिव नीता पोख्रेल अर्यालले जानकारी दिइन् ।

गर्भवती, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी तथा अन्य (लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक) मतदातालाई प्राथमिकताका आधारमा मतदान गर्ने व्यवस्था मिलाइएको उनले बताइन्।

आयोगका प्रवक्तासमेत रहेकी अर्यालका अनुसार मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएका मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुुमति पत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउनेछन् ।

कीर्तिपुर नगरपालिकाको प्रमुख र जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख, मोरङको ग्रामथान र दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष, दोलखाको गौरिशङ्कर, रुकुम (पूर्वी भाग) पुथा उत्तरगङ्गा, हुम्लाको सर्केगाड र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ ।

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ३, झापाको कन्काई नगरपालिका वडा नं ६, तेह्रथुमको लालिगुराँस नगरपालिका वडा नं ८, सुनसरीको गढी गाउँपालिका वडा नं ६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नं ५, उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ र बेलका नगरपालिका वडा नं ९, सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं १ र ४, धनुषाको धनुषाधाम नगरपालिका वडा नं १, महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं २, रौतहतको ईशनाथ नगरपालिका वडा नं ७, रौतहटका राजपुर नगरपालिका वडा नं ६ र गढीमाई नगरपालिका वडा नं ८ मा निर्वाचन हुनेछ ।

काठमाडौँको काठमाडौँ महानगरपालिका वडा नं १६, कीर्तिपुर नगरपालिका वडा नं १ र ४, नुवाकोटको ककनी गाउँपालिका वडा नं २, मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं १२, गोरखाको गोरखा नगरपालिका वडा नं ५, गुल्मीको मुसिकोट नगरपालिका वडा नं १, कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं १, रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४, बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं ४ र रुकुम (पश्चिम भाग)को सानीभेरी गाउँपालिका वडा नं ५ वडाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ ।

दैलेखको दुल्लु नगरपालिका वडा नं १३, जाजरकोटको कुसे गाउँपालिका वडा नं ७, कालीकोटको तिलागुफा नगरपालिका वडा नं ४, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ५, बझाङको सूर्मा गाउँपालिका वडा नं ४, डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं ६, दार्चुलाको दुहुँ गाउँपालिका वडा नं ५ र कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ मा निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्रतिस्पर्धा गर्दै छन् । यसअघि जिल्ला समन्वय समिति ओलखढुङ्गा र कैलालीका प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीकाकुमारी चौधरी (भूल) तथा रुकुम (पूर्वी भाग) पुगा उत्तरगङ्गा गाउँपालिका वडा नं २ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का जगत घर्ती निर्विरोध निर्वाचित भइसकेका छन् ।

उपनिर्वाचनका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता भएको थियो । मत परिणाम वेबसाइटमै मतदान कार्य सम्पन्न भई सबै मतपेटिका तोकिएको मतगणनास्थलमा सङ्कलन भएपछि मतगणना कार्य प्रारम्भ हुनेछ ।

कीर्तिपुरमा क्रिकेटप्रेमीको क्रेज(फोटोफिचर)

कीर्तिपुर क्रिकेट मैदानमा शनिबार नेपाल प्रिमियर लिगको पहिलो खेल विराटनगर किङ्स भर्सेस जनकपुर बोल्ट्सबीच खेल रुख चढेर हेर्दै दर्शक ।

तस्बिरः प्रदीपराज वन्त/रासस

लाङटाङ र गोसाइँकुण्डमा २२ हजार पर्यटक

रसुवा । हिमाली क्षेत्रको अवलोकनका लागि आन्तरिक एवं बाह्य पर्यटक आउने क्रम जारी रहेको छ। लाङटाङ राष्ट्रिय निकञ्जका अनुसार चालू आर्थिक वर्षको साउनदेखि मङ्सिर १४ गतेसम्म लाङटाङ तथा गोसाइँकुण्ड क्षेत्रमा २२ हजारभन्दा बढी आन्तरिक एवं बाह्य पर्यटकले भ्रमण गरिसकेको र हाल दैनिक २५ देखि ३० जनासम्म आउने गरेको धुञ्चेस्थित सुरक्षा जाँच चौकीले जनाएको छ।

निकुञ्जका वरिष्ठ संरक्षण प्रमुख श्यामकुमार साहका अनुसार निकुञ्जमा प्रवेश गरेबापत नियमानुसारको शुल्कबाट कुल एक करोड ६८ लाख ७५ हजार ८ सय राजस्व संकलन भएको छ। नेपालीलाई १ सय, सार्क राष्ट्रका नागरिकलाई एक हजार ५ सय र अन्य देशका लागि तीन हजार रूपैयाँ निकुञ्ज प्रवेश गरेवापत शुल्क लिने कानूनी प्रावधान रहेको बताइएको छ।

प्रत्येक वर्ष असोजदेखि पुस १५ र फागुनदेखि जेठ १५ गतेसम्म यी दुई याममा पर्यटकको आगमन हुने गरेको निकुञ्जले जनाएको छ। पर्यटकको सुविधाका लागि काठमाडौंमा भृकुटीमण्डप र रसुवाको धुञ्चे व्रावल तथा हेलम्बू पोष्टका स्थानबाट शुल्क लिने व्यवस्था मिलाइएको पर्यटकका अभिलेखकर्ता रेञ्जर केशव ढडारीले जानकारी दिए।

पवित्रतीर्थ गोसाइँकुण्ड रहेका कारण आन्तरिक पर्यटक भने बढी मात्रामा गोसाइँकुण्ड केन्द्रित हुने गरेको बताइएको छ। रसुवाको उच्च भागमा रहेका हिमश्रृङ्खला, सेताम्मे हिमाल, ताल तलैया, ककरो भीर, उकाली ओराली भञ्ज्याङ चौतारी, स्थानीय भेषभूषा, भर्ना, स्थानीय परिकारका खाना एवं विविध प्राकृतिक सम्पदाले रम्न पाइने गरेको व्यवसायी बताउँछन्।

पर्यटकीय मार्गको धुन्चे-गोसाइँकुण्ड, ठूलोस्याफ्रु, स्याफ्रु-लाङटाङका मार्गका सबै होटल तथा लज चालु रहेको र खान बस्न कुनै समस्या नहुने होटल व्यवसायी संघका जिल्ला अध्यक्ष निसान गजुरेलले जानकारी दिए।

यस्तै गोसाइँकुण्ड तथा लाङटाङ पदमार्गमा भ्रमण गर्दा निस्कने फोहर तोकिएको स्थानमा मात्र फ्याँक्न, बाटोमा भेटिने जनावरलाई माया गरी संरक्षण गरिदिन, कुनै पनि वनस्पति नकाट्न सबै यात्रुमा अनुरोध गरिएको वरिष्ठ संरक्षण प्रमुख साहले अनुरोध गरे।

बीआरआई स्वीकार गर्नुपर्छः झलनाथ खनाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री  झलनाथ खनाल चीनको ग्वान्जाओमा आयोजना हुने विश्व सम्मेलनमा सहभागी हुन शनिबार त्यसतर्फ प्रस्थान गरेका छन् ।


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुरा गर्दै उनले चीन सरकारले अघि सारेको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) परियोजना स्वीकार गर्नुपर्ने बताए । 


उनले भने,  ‘नेपालले आफ्नो आवश्यकता र हितलाई दृष्टिगत गरी बीआरआई स्वीकार गर्नुपर्छ । नेपाल र चीनबीचको सम्बन्धलाई अझ सुमधुर बनाउनुपर्छ । बीआरआईमार्फत हामीले ऋण र अनुदान लिन सक्छौँ । हामीले राष्ट्रहितमा  निर्णय गर्नुपर्छ ।’

गुगलद्वारा फिनल्याण्डमा डाटा सेन्टर विस्तार

हेलसिङ्की गुगलले आफ्नो डाटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा दुई करोड ७० लाख यूराकोे जग्गा खरिद गरेको छ ।
सरकार जारी गरेको विज्ञप्ति अनुसार गुगलले सन् २०११ देखि फिनल्याण्डमा डाटा सेन्टरहरू सञ्चालन गर्दै आएको छ ।

फिनल्याण्डमा गुगलले आफ्नो पहिलो डाटा सेन्टर सन् २००९ मा देशको राजधानी हेलसिङ्कीबाट १४५ किलोमिटर पूर्वमा रहेको सहर हमिनामा बनाएको थियो । उक्त डाटा सेन्टरमा हाल करिब ४०० पूर्णकालिक कर्मचारी कार्यरत छन् ।

स्थानीय सञ्चारमाध्यमका रिपोर्टका अनुसार यस वर्षको मे महिनामा अमेरिकी टेक कम्पनीले आफ्नो हमिना क्याम्पस विस्तार गर्न एक अर्ब युरोको नयाँ लगानी घोषणा गरेको छ, जसले आगामी दुई वर्षमा थप रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

भारतमा शक्तिशाली चक्रवातका कारण विद्यालय बन्द

भारत । भारतको दक्षिण क्षेत्रमा आएको शक्तिशाली चक्रवाती आँधीका कारण विद्यालयहरू बन्द गरिनुका साथै सयौं मानिसहरूलाई सुरक्षित आश्रयस्थलहरुमा सारिएको छ ।

चक्रवात फेङ्गलले ७०–८० किलोमिटर प्रतिघण्टाको हावाको साथ तमिलनाडु राज्यमा अवतरण गर्ने पूर्वानुमान गरिएको भारतको मौसम ब्यूरोले जनाएको छ ।

पूर्वानुमानले माछा मार्ने मानिसहरूलाई पानीबाट टाढा रहन आग्रह गर्दै बढ्दो छालहरूले तल्लो तटीय क्षेत्रहरूमा बाढीको खतरा निम्त्याउने जनाएको छ ।

तमिलनाडुका धेरै जिल्लाहरूमा विद्यालय तथा कलेजहरू बन्द गरिनुका साथै कम्तिमा ४७१ जनालाई राहत शिविरहरूमा सारिएको इकोनोमिक टाइम्स अखबारले जनाएको छ ।

पछिल्लो समयमा चक्रवातहरू–उत्तरी अटलान्टिकमा आँधीबेहरी वा उत्तरपश्चिमी प्रशान्तमा टाइफुन जस्तै –उत्तरी हिन्द महासागरमा नियमित खतराको रुपमा देखा परेका छन् ।

यस हप्ताको सुरुमा श्रीलङ्काको तटमा फेङ्गलले छ जना बालबालिका सहित कम्तीमा १२ जनाको ज्यान लिएको थियो ।

वैज्ञानिकहरूले जीवाश्म ईन्धनहरू जलन बाट सिर्जित जलवायु परिवर्तनका कारण विश्वको तापमान वृद्धि हुुँदा आँधी बेहरी अझै शक्तिशाली हुँदै गइरहेको चेतावनी दिएका छन् ।

जथाभावी फालिएका शिशाजन्य बोत्तल व्यवस्थापन गर्न आग्रह

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिकाभित्र जथाभावी छरिएका वा फालिएका शिशाजन्य बोत्तल ३५ दिनभित्र व्यवस्थापन गर्न व्यवसायीलाई अल्मिेटम दिएको छ ।

व्यवसायका नाममा बाहिरी जिल्लाबाट आयात हुने पेयपदार्थका बोत्तल प्रयोग गरिसकेपछि जथाभावी फालिएका कारण नगरपालिकाको पर्यावरणमा असर पुगेकाले यही मङ्सिर १४ गतेको मितिदेखि लागू हुनेगरी ३५ दिनभित्र व्यवस्थापन गर्न नगरपालिकाले व्यवसायीलाई अल्टिमेटम दिएको हो ।

नगरपालिकामा फोहर गर्ने व्यक्ति, पसल, कम्पनी अथवा थोक बिक्रेता स्वयंले उक्त फोहर सफा गर्नुपर्ने नगरपालिकाको स्वीकृत नीति तथा कार्यक्रममा उल्लेख भएकाले शिशाजन्य फोहर व्यवस्थापन गर्न व्यवसायीलाई अल्टिमेटम दिइएको नगरप्रमुख तीर्थराज भट्टराईले पत्रकार सम्मेलनमार्फत जानकारी दिए।

‘नगरपालिकाभित्रका धार्मिक तथा पर्यटकीय ठाउँमा जथाभावी शिशाका बोत्तल फालिएका छन्, फोहर गर्ने व्यक्ति, पसल, कम्पनी अथवा थोक बिक्रेता आफैँले उक्त फोहर सफा गर्नुपर्ने नगरपालिकाको स्वीकृत नीति तथा कार्यक्रममा उल्लेख छ’, उनले भने ‘जथाभावी फालिएका फोहर व्यवस्थापन गर्न यसअघि पन पटकपटक पत्राचार गरिएको छ, आफूले गरेको फोहर स्वयं व्यक्ति, पसल, कम्पनी अथवा थोक बिक्रेताले सफा नगरेको खण्डमा अबको ३५ दिनपछि कानुनबमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउँछौँ ।’

नगरपालिकाको निर्देशनलाई व्यवसायीले नमानेका खण्डमा आगामी दिनमा शिशाजन्य बोत्तल आयातमा पूर्ण प्रतिबन्ध लगाइने नगर प्रमुख भट्टराईले जानकारी दिए। नगरपालिकाको पर्यावरणलाई स्वच्छ र सफा राख्नका लागि सरोकारवाला निकायसँग पटकपटक छलफल तथा अन्तरक्रियासमेत गर्दै आइएको नगरपालिकाले जनाएको छ ।

जथाभावी फालिएका शिशाजन्य वस्तुका कारण जिल्लाका खेतीयोग्य जमिन तथा खोलाखोल्सीको वातावरण बिग्रिएको पर्यावरणका क्षेत्रमा काम गर्ने व्यक्तिहरुले बताउँदै आएका छन् । जिल्लाका सबै स्थानीय तहमा ग्रामीण सडकमार्फत यातायातका सवारीसाधन पुगेसँगै आयातीत खाद्य पदार्थ भित्रिँदा मानव स्वास्थ्य तथा वातावरणलाई दीर्घकालीन असर गर्ने शिशाजन्य वस्तु भित्रिएको हो ।

दश स्थानीय तह रहेको जिल्लामा पेयपदार्थ (रक्सी, बियर तथा अन्य पेय पदार्थ आदि)सँगै आयातीत पत्रुखाना उपभोग गर्नेको सङ्ख्या वृद्धि भएको सर्वेक्षणले देखाएको छ ।

गाउँघरमा उत्पादन हुने जैविक खाद्यवस्तुभन्दा आयातीत वस्तुहरु (चाउचाउ, बिस्कुट आदि) स्वादिलो र छिटो खान मिल्ने भएकाले पत्रु खाद्यपदार्थ उपभोग गर्ने उपभोक्ताको सङ्ख्या वृद्धि भएको हो ।

आयातीत खाद्यवस्तुले जिल्लावासीको स्वास्थ्यसँगै आर्थिक बचतमा ठूलो असर पुगेको कृषिविज्ञ मदन राईले बताए।

‘मानव स्वास्थ्य र आर्थिक बचतका बारेमा नागरिकलाई सचेत गराउने पहिलो जिम्मेवारी स्थानीय तहका जनप्रतिनिधिको हो, यसप्रति उनीहरुको ध्यान गएको देखिँदैन’, उहाँन भने, ‘मीठो स्वाद र क्षणिक सुख खोज्दा नागरिकलाई दीर्घकालीन असर गरिरहेको छ, सम्बन्धित निकायले बेलैमा ध्यान नदिएको खण्डमा ठूलो असर पुग्ने निश्चित छ ।’

बीस वर्षदेखि व्यावसायिक कृषि कर्ममा रमाइरहेका चन्द्रवंशी परिवार

धरान (सुनसरी) । जिल्लाको बराहक्षेत्र नगरपालिका-९ श्रीलङ्का टप्पुका अर्जुन चन्द्रवंशीले गोलभेँडा खेतीबाट वार्षिक रु ३० लाख आम्दानी गर्दै आएका छन् । विगत २० वर्षदेखि व्यावसायिक कृषि पेसामा आबद्ध उनले गोलभेँडा खेतीलाई प्रमुख उत्पादनको स्रोत बनाएका हुन् ।

श्रीलङ्का टप्पुका किसानका बारीमा अहिले मकै, सागसब्जी, आलु, कोपी, बोडीलगायत मौसमअनुसार तरकारी उत्पादन भइरहेका छन् । अर्जुनको व्यवसायमा उनका चार छोराले साथ दिइरहेका छन् । कृषि कर्मको आम्दानीबाट जीविकोपार्जन भइरहेको बताउँदै अर्जुनले गोलभेँडाबाट मात्रै सबै खर्च कटाएर रु २० लाख बचत हुने गरेको जानकारी दिए ।

अहिले करिब चार बिघा क्षेत्रफलमा गोलभेँडा खेती गरिरहेको अर्जुनका छोरा श्रीराम चन्द्रवंशीले बताए । गोलभेँडाबाट वार्षिक रु ३० लाख आम्दानी हुनेमा खेतीमा प्रयोग गर्ने मल, कर्मचारीलगायतको वार्षिक रु १० लाख जति खर्च हुने गरेको उनले बताए ।

श्रीराम भने, “कृषि कर्म हाम्रो पुर्खौली पेसा हो । सुरुआती समयमा सागसब्जी, आलु, कोपीलगायत खेती गर्दै आएका थियौँ । पछिल्लो समय गोलभेँडाबाट मनग्ये आम्दानी हुन थालेपछि यसप्रति बढी आकर्षित हुन थालेका हौँ ।” गोलभेँडा अहिले थोकमा प्रतिकेजी रु एक सयमा फार्मबाटै व्यापारीले खरिद गरेर लैजाने गरेका उनले बताए ।

“गत असोजमा आएको बाढीले चार कठ्ठा जति खेतीमा क्षति गर्‍यो । बारीमा छरेको मल बगाउनुका साथै केही डुबानमा पनि पर्‍यो । बाढीले करिब रु तीन लाख बढीको क्षति भएको थियो । अहिले भने मौसमले साथ दिएकाले उत्पादन राम्रो भइरहेको छ”, श्रीरामले भने । गोलभेँडाको माग प्रशस्त भएकाले बजारीकरणको समस्या नरहेको उनले बताए ।

“उत्पादित कृषि उपज बजार बोकेर लैजानुपर्दैन । व्यापारी आफैँ गोलभेँडासहित अन्य सागसब्जी खरिद गर्न खेतबारीमै आउँछन्। यहाँ आउनेलाई बजार मूल्यभन्दा रु २० कम लिने गरेका छौँ”, श्रीरामले भने । धनकुटा, धरान, इटहरी, गाईघाट, राजविराज, बराहक्षेत्रलगायत स्थानबाट व्यापारी फार्ममा गोलभेँडा खरिद गर्न आउने गरेका उनले जानकारी दिए ।

गोलभेँडा खेतीमा लगानी र दुःख बढी भए पनि मेहनत गरेअनुसार प्रशस्त उत्पादन हुने भएकाले नोक्सान नहुने श्रीरामले अनुभव सुनाए । परिवारका चार दाजुभाइसहित थप २० जनाले रोजगारी पाएका उनले बताए ।

गोलभेँडाको मौसममा कम मूल्यमा बिक्री गर्नुपरे पनि बेमौसममा रु एक सयदेखि रु एक सय ५० सम्ममा बिक्री हुने श्रीरामले जानकारी दिए । उनका अनुसार वार्षिक छ सय क्विन्टल बढी गोलभेँडा बिक्री हुने गरेको छ ।

अहिले करिब २० बिघा क्षेत्रफलमा कृषि खेती गर्दै आएको बताउँदै करिब चार बिघामा गोलभेँडा, चार बिघामा मकै र बाँकी जग्गामा कोपी, बोडीलगायत सागसब्जी खेती गरिरहेको श्रीरामले जानकारी दिए ।

जिल्लामा हाल आठ हजार एक सय ५३ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुँदै आएको जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकृत प्रविनलाल श्रेष्ठले जानकारी दिए । “जिल्लाको बराहक्षेत्र नगरपालिकामा बढी मात्रामा गोलभेँडा, कोपी, बोडीलगायत सागसब्जीको प्रशस्त उत्पादन हुन्छ”, उनले भने । उनका अनुसार गत असोजमा आएको बाढीले तीन सय ५४ हेक्टरभन्दा बढी खेती नष्ट गर्दा रु चार करोड ५२ लाख बराबरको क्षति भएको छ ।

सिँचाइ सुविधा, मलको उपलब्धतादगायत कारणले पछिल्लो समय नगरभित्र गोलभेँडासहित सागसब्जीको उत्पादन प्रशस्त हुन थालेपछि यहाँका अधिकांश परिवार यसतर्फ आकर्षित भएका नगरप्रमुख रमेश कार्कीले बताए । “यहाँका करिब ९० प्रतिशत परिवार तरकारी खेतीमा आबद्ध छन् । श्रीलङ्का टप्पु तरकारी खेतीका लागि प्रख्यात क्षेत्र मानिनुका साथै बजारीकरणको समस्या नभएकाले कृषकको आकर्षण बढेको हो”, उनले भने ।

नगरपालिकाले स्थानीय किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले जैविक तरकारीखेतीमा अनुदान, पशुपालन गर्नेलाई लगानीमा सहयोग, सिँचाइ सुविधा र उत्पादित वस्तुको बजारीकरणमा सहजीकरण, प्राविधिक परामर्शलगायत क्षेत्रमा आवश्यक सहयोग गर्दै आएको नगरप्रमुख कार्कीले बताए ।

जुम्लामा पहिलो चौमासिकमा करिब १२ प्रतिशत मात्र विकास खर्च

जुम्ला । जुम्लामा पहिलो चौमासिकमा करिब १२ प्रतिशत मात्र विकास खर्च भएको छ । जिल्ला स्थित कोष तथा लेखा नियन्त्रण कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकको विकास बजेटमा पहिलो चौमासिकका लागि  तीन अर्ब पाँच लाख ९५ हजार छुट्याइएकोमा जम्मा १२ दशमलव ७१ प्रतिशतअर्थात् रु ४० करोड ६९ लाख २१ हजार चार सय २७ खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय जुम्लाका प्रमुख हंशराज खनालले जानकारी दिए ।

उनले भने, “असारे विकासमा मोटो रकम निकासा हुनु पुरानै रोग हो । देशभर दोस्रो चौमासिकबाट काम सुरु हुने भए पनि जुम्लालगायत हिमाली जिल्लामा दोस्रो चौमासिकमा चिसोका कारण विकास निर्माणका काम सुरु गर्न मुस्किल हुन्छ ।”

पहिलो चौमासिक कामका निम्ति उपयुक्त समय भए पनि बजेट निकासा, कार्यान्वयनलगायतका कयौँ कठिनाइ हुन गरेका छन् । यस्तो अवस्थामा विगतका वर्षहरूझैँ यो वर्ष पनि जुम्लाको पहिलो चौमासिकमा विकास निर्माणका निम्ति गरिएको खर्च निराशाजनक रहेको कार्यालय प्रमुख खनालको भनाइ छ ।

जिल्लामा सङ्घअन्तर्गतका ३१ वटा सरकारी कार्यालयको बजेट कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत निकासा हुने गरेको छ । यहाँका आठवटै स्थानीय तहलाई विनियोजन गरिएको सङ्घीय अनुदानको बजेट कार्यालयले निकासा दिने गरेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत जिल्लाका अरु पाँचवटा अनुसन्धान केन्द्रहरू समेत कार्यालयकै मातहतमा पर्ने गरेको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख खनालले बताए ।

पहिलो चौमासिकका निम्ति कूल पाँच अर्ब २८ करोड ८९ लाख ७० हजारमध्ये चालु खर्च निकासा भएकोमा २९ दशमलव ४० प्रतिशतअर्थात् रु एक अर्ब ५५ करोड ४९ लाख ९८ हजार खर्च भएको छ । चालु र पुँजीगत गरी जम्मा २३ दशमलव ११ प्रतिशत खर्च भएको प्रमुख खनालको भनाइ छ ।

पहिलो चौमासिकमा सम्झौता भएका ठेकेदार कम्पनी र उपभोक्ता समितिलाई केही मात्रामा पेश्की रकम मात्रै निकासा गरिने भएको हुनाले खर्च कम देखिएको कोष तथा लेखा नियन्त्रण कार्यलयले जनाएको छ । प्रदेशअन्तर्गत जुम्लामा १४ वटा कार्यालय रहेका छन् । सो कार्यालयको निकासा प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयले गर्छ ।

चालु आव २०८१/८२ को पहिलो चौमासिकमा चालु खर्चका निम्ति रु ७१ करोड ३१ लाख निकासा भएकोमा १७ दशमलव ७२ प्रतिशतअर्थात् रु १२ करोड ६३ लाख खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख नन्दप्रसाद पाण्डेले जानकारी दिए ।

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे सम्मानित

काठमाडौँ । किक बक्सिङ खेल क्षेत्रमा ऐतिहासिक कीर्तिमान बनाउन सफल भएका नेपाली युवा किक बक्सर अविरल घिमिरे‘हिमचितुवा’ सम्मानित भएका छन् ।

बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र छामिछाने, युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महजर्ननले हिट किक बक्सिङ (एमएमए)द्वारा आज यहाँ आयोजित कार्यक्रममा इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्वविजेता घिमिरेलाई विशेष सम्मान गरेका हुन् ।

बक्सर घिमिरेले किक बक्सिङ खेल क्षेत्रमा ऐतिहासिक कीर्तिमान बनाई विश्वमा नयाँ ‘रेकर्ड’ कायम गरेको जनाउँदै शुक्रबार धनबहादुर खेलकुद प्रतिष्ठानले अभिनन्दन गरेको थियो । चन्द्रागिरि नगरपालिका-१२ गुर्जुधारा बलम्बूका उनी आफ्नो परिवारका साथ हाल जापानको नागोया सहरमा बसोबास गर्दै आएका थिए ।

करिब छ वर्षपछि यही मङ्सिर ६ गते नेपाल आएका विश्वविजेता खेलाडी घिमिरेलाई चन्द्रागिरि नगरपालिकाले सोही दिन नगरपरिक्रमा गराई अभिनन्दन गरेको थियो । नगरपालिकाले कलङ्की (खड्कुलेपुल)देखि धिमे, पञ्चेबाजासहित विश्वविजेता खेलाडी घिमिरेलाई गाडीमा राखेर नगरपरिक्रमा गराएको थियो ।

सो अवसरमा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, प्रशासकीय अधिकृत हेमराज अर्याल, उपप्रमुख बसन्ती श्रेष्ठ, प्रवक्ता कृष्णप्रसाद खड्गीले बक्सर घिमिरेलाई अभिनन्दन गरेका थिए ।

स्वदेश आउँदा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ, मदनभण्डारी स्पोर्ट एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठ, बागमती प्रदेशसभा सदस्य रमा आले, चन्द्रागिरि नगरपालिकाका प्रवक्ता खड्गी, काठमाडौँ जिल्ला खेलकुद परिषद्का अध्यक्ष भाइकृष्ण बलामीलगायत खेलाडीले स्वागत गरेका थिए ।

‘हिमालय चितुवा’ घिमिरेले इन्टरनेसनल स्पोर्टस् किक बक्सिङ एसोसिएसनद्वारा नागोया कंग्रेस सेन्टरमा गत कात्तिक १० गते आयोजित ‘इन्टरनेसनल किक बक्सिङ’ (इस्का) प्रतियोगिताको उपाधि चुमेर विश्वविजेता बनेका थिए । यो प्रतियोगितामा उनले फ्रान्सका कडा प्रतिद्वन्द्वी एन्टोनिन मार्कोनीलाई ढाल्दै ‘वल्र्ड च्याम्पियन’ हुन सफल भएका थिए ।

यसका लागि बक्सर घिमिरेले आफ्नै खर्चमा थाइल्यान्डको फुकेट सहरमा रहेको टाइगर मोओथाई अन्तर्राष्ट्रिय क्लबमा दुई महिनाको विशेष बन्द प्रशिक्षण लिएका थिए । यो प्रशिक्षण लिने उनी पहिलो नेपाली बक्सरसमेत थिए ।

इस्काको उपाधि चुमेपछि बक्सर घिमिरेले आफ्नो जितका लागि पिता तथा मुख्य प्रशिक्षक देव घिमिरे, आफूले प्रशिक्षण लिइरहेको सिमुरा डोजो, हलसम्म आएर हौसला प्रदान गर्ने नेपाली, कोरियन तथा जापानी खेलप्रेमीलाई विशेष धन्यवाद दिएका थिए ।

‘हिमालय चितुवा’ का रूपमा विश्व प्रसिद्ध भएका घिमिरे सो प्रतियोगितामा आमनेसामने हुने पहिलो नेपाली बक्सर भएका थिए। प्रतियोगिताको मुख्य आकर्षणका रूपमा रहेको अन्तिम खेल (मेन इभेन्ट म्याच) मा घिमिरेले पहिलो राउन्डमै आफ्ना प्रतिस्पर्धी मार्कोनीलाई रिङमा ढालेर ‘इन्टरनेसनल किक बक्सिङ’को उपाधि चुमेका थिए ।

हालसम्म प्रोफेसनल किक बक्सिङ हिट प्रतियोगिताको १४ खेलको अपराजित यात्राको जित हासिल गर्ने क्रममा हिमचितुवाले चारपटक हिट प्रतियोगिताको ‘टाइटल म्याच’को उपाधि (बेल्ट) समेत रक्षा गर्दै ‘मिडल वेटको रेकर्ड’ समेत कायम राख्न सफल भएका थिए ।

उनले विश्वप्रसिद्ध के वान प्रोफेसनल किक बक्सिङ प्रतियोगितामा खेल्दै दुई वटा इभेन्ट आफ्नो पक्षमा पारी प्रतिस्पर्धीलाई ‘नक आउट’ गर्न सफल भएका थिए। हालसम्म फ्रान्स, जापान, दक्षिण कोरिया, ब्राजिल, बोलिभिया, नेदरल्यान्ड, थाइल्यान्डलगायत देशका बक्सहरूलाई पराजित गरिसकेका युवा पुस्ताका चर्चित खेलाडी घिमिरेले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली झण्डा फहराउँदै विश्वमा नेपालको पहिचान बनाउन सफल भएका हुन् ।

जापानको नागोया सहरमा अविरल आफ्ना पिता पूर्वअन्तर्राष्ट्रिय किक बक्सर तथा फुल कन्ट्याक कराते खेलाडी देव घिमिरेको विशेष प्रशिक्षणमा रहँदै आएका छन्। कराते खेलाडी देव सन् २००४ मा कोरियाको सोलमा सम्पन्न ‘के वान प्राफेसलन किक बक्सिङ प्रतियोगिता’ मा सहभागी हुने पहिलो दक्षिण एसियाली खेलाडी छन् ।

लाप्साङ पोखरी र हिमाल

लाप्साङ पोखरी र हिमाल
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा पर्ने कञ्चनजङ्घा हिमालको दक्षिणी आधार शिविर पदमार्गअन्तर्गतको लाप्साङ पोखरी क्षेत्रबाट देखिएका छ हजार ६८२ मिटर उचाइको राथोङ पिक र सात हजार ३३५ मिटर उचाइको काब्रु पिक हिमालको मनमोहक दृश्य।

तस्बिरः दिलकुमार लिम्बू/रासस

विवाह गर्न दवाव दिएपछि धनुषामा प्रेमीले गरे प्रेमिकाको हत्या

जनकपुरधाम । धनुषामा प्रेमीले प्रेमिकाको हत्या गरेका छन् । विवाह गर्ने विषयमा विवाद हुँदा धनुषाको जनकनन्दिनी गाउँपालिका ५ उधा टोलकी २० वर्षीया रेखा कुमारी मण्डलको हत्या भएको हो ।

रेखाको शव जनकनन्दिनी गाउँपालिका ४ खजुरी स्थित आमा खोलामा हत्या गरी प्लास्टिकको बोरामा राखेर फालेको अवस्थामा गत मंसिर ८ गते दिउँसो फेला परेको थियो ।

उनको हत्या आरोपमा धनुषा प्रहरीले जनकनन्दिनी गाउँपालिका–३ का २२ वर्षीय राम ललित खत्वे मण्डल, २० वर्षीय ज्ञानेन्द्र दास र धनुषाको शहिदनगर नगरपालिका ८ नाथपट्टीका २४ वर्षीय रमेशकुमार मण्डललाई प्रहरीले पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहले जानकारी दिएका छन् । उनकाअनुसार मृतक रेखाको हत्याका मुख्य आरोपी रामललित हुन् ।

चारवर्षदेखि रेखा र रामललितबीच प्रेम सम्बन्ध रहेको र विवाह गर्ने विषयमा भएको विवादमा हत्या भएको अनुसन्धानबाट खुलेको छ । रेखाको परिवारले रामललितसँग विवाह सम्बन्ध स्वीकार नगरेको तर रेखाले आफ्नो घरबाट भागेर रामललितलाई दवाव दिएकी थिइन् । रामललितले भने नेपाली सेनामा फर्म भरेको हुँदा जागिर खाइसकेपछि मात्र विवाह गर्ने भनेपछि विवाद हुँदै आएको थियो ।

रामललितले रेखालाई घटनास्थलमा भेटघाटको लागि बोलाउन साथी ज्ञानेन्द्र र रमेशको सहयोग लिएका थिए । त्यहाँ रेखा आएपछि उनले ब्लेडले घाँटी रेटी हत्या गरेको अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध ज्यानसम्बन्धी कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पीपीएको भुक्तानी रोकेर बक्यौता असुली गर्ने प्राधिकरणको निर्णयप्रति सोपानको आपत्ति

काठमाडाैं । सौर्य ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (सोपान)ले डेडिकेटेड ट्रंकलाइन बक्यौता विवादमा ऊर्जा उत्पादक कम्पनीको विद्युत बिक्री सम्झौता (पीपीए) बमोजिम विद्युत् बिक्रीबापत प्राधिकरणबाट पाउनुपर्ने भुक्तानी रोकेर बक्यौता असुली गर्ने जानकारी गराएको भन्दै आपत्ति जनाएको छ ।

सोपानले विज्ञप्ति जारी गरी प्राधिकरणले पठाएको पत्र उर्जा उत्पादक कम्पनीहरुसँग भएको विद्युत् विक्रि सम्झौता विपरीत भएको बताएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘केवल साझा शेयरधनी रहेको आधारमा एउटा कम्पनीले भुक्तानी गर्नुपर्ने बक्यौता रकमको दायित्व बिल्कुलै स्वतन्त्र अस्तित्व रहेको अर्को कम्पनीलाई बहन गराउने कार्य कम्पनी कानुनको स्थापित सिद्धान्त विपरित हुन्छ ।’  

उर्जा कम्पनीहरुमा सार्वसाधारणहरु लगायत अन्य कैयन शेयरधनीहरुको लगानी हुने गरेकोले अर्कै उद्योगको बक्यौता असुलउपर गर्दा शेयरधनीको हक अधिकारमा समेत गम्भीर आघात पर्ने, प्राधिकरणको कदमले विदेशी लगानीमा समेत नकारात्मक असर गर्ने तथा आगामी १० वर्षमा १० हजार मेगावाट उत्पादनको लक्ष्यमा समेत गम्भिर असर पर्न जाने भन्दै सोपानको ठहर छ ।

नेपालका धेरै जलविद्युत् कम्पनीमा विदेशी लगानी रहेको र यस्ता निर्णयहरूले उनीहरूमा निराशा थपिएको छ। विदेशी साझेदारहरूले पारदर्शिता र विश्वसनीयता गुमेको भन्दै चासो व्यक्त गरेका छन्।

यस्तो अवस्थामा नेपालमा हुने वैदेशिक लगानीको माहोललाई कमजोर बनाउँदै लगानीकर्ताको विश्वासमा आँच पुर्याउन सक्ने खतरा रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

पशुपति क्षेत्रमा पितृको नाममा बत्ती बाल्ने भक्तजनको घुइँचो

काठमाडौँ । पशुपति क्षेत्रमा दिवङ्गत पितृका नाममा बत्ती बाल्ने भक्तजनको घुइँचो लागेको छ । आज पशुपतिनाथमा पितृका नाममा बत्ती बालेर रातभर जाग्राम बसेर शनिबार (चतुर्दशी) बिहान बागमतीमा स्नान गरी पाशुपत क्षेत्रमा शतबीज छर्ने परम्परा छ ।

दिवङ्गत पितृका नाममा बत्ती बाल्न आउनेलाई शुक्रबार दिउँसो २ बजेदेखि कैलाश डाँडामा प्रवेश गराइएको थियो ।

तस्बिर : हरिराम भेटुवाल/रासस

चिनियाँ विदेशमन्त्रीसँग छेङ्दुमा परराष्ट्रमन्त्री राणाको भेट

काठमाडौं । बिहीबारदेखि चीन भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । शुक्रबार उनीहरुबीच चीनको छेङ्दुमा भेटवार्ता भएको परराष्ट्रमन्त्रालयले जनाएको छ ।

भेटमा नेपाल र चीन दुवैतर्फका विदेश मन्त्रालयस्तरीय अधिकारीहरु पनि सहभागी थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका लागि राणा चीन गएकी हुन् ।

परराष्ट्रमन्त्री राणा शनिबार स्वदेश फर्कने कार्यक्रम छ । प्रधानमन्त्री ओली आगामी सोमबार ८७ सदस्यीय टोलीको नेतृत्व गर्दै चीनको औपचारिक भ्रमणमा जाँदैछन् ।

कर्णाली याक्सबाट एनपीएल खेल्न शिखर धवन आइपुगे नेपाल

काठमाडौं । कर्णाली याक्समा अनुबन्ध भएका भारतका खेलाडी शिखर धवन नेपाल आइपुगेका छन् । शुक्रबार काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सका मालिक झनक दत्त खनाल र गृहेन्द्र घिमिरेले स्वागत गरेका थिए ।

बायाँ हाते ओपनरले भारतसँगै आईपिएलको दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाव किंंग्सबाट खेलेका छन् । उनी विश्व क्रिकेटकै सर्वाधिक सफल खेलाडीमा चिनिन्छन् ।

उनले सन् २०१६ मा हैदरावादलाई आईपिएल जिताएका थिए । त्यस्तै, भारतलाई एसिसी एसिया कपको उपाधि जिताएका छन् । उनी एनपिएल खेल्ने सबैभन्दा ठूलो र चर्चित नाम हुन् । ज्ञानेन्द्र मल्ल प्रशिक्षक तथा सोमपाल कामी मार्की रहेको कर्णाली याक्सले चार विदेशी खेलाडी अनुबन्ध गरेको छ ।

वेस्ट इन्डिजबाट टेष्ट खेलिसकेका चादविक वाल्टन, हङकङबाट अन्तर्राष्ट्रिय खेल खेलिरहेका अनुभवी खेलाडी बाबर हायात र ओमानका पूर्व कप्तान जिसन मक्सूदलाई अनुबन्ध गरेको छ । प्रतियोगिता मंसिर १५ देखि पुस ६ सम्म हुँदै छ । कर्णाली याक्सले आफ्नो पहिलो खेलमा जनकपुरसँग खेल्नेछ ।

यु–१९ एसिया कप क्रिकेट: नेपाल श्रीलङ्कासँग पराजित

काठमाडौँ । यु–१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग पराजित भएको छ । शुक्रबार युएईको शारजहास्थित शारजहा क्रिकेट रङ्गशालामा भएको खेलमा नेपाल श्रीलङ्कासँग ५५ रनले पराजित भएको हो ।

टस जितेर व्याटिङको निम्तो पाएको श्रीलङ्काले नेपाललाई दुई सय ३४ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य पछ्याउने क्रममा नेपालले सबै विकेट गुमाएर जम्मा १७८ रन मात्र बनायो ।

श्रीलङ्काका लागि शरुजन षणमुगनाथनले सर्वाधिक ६२ रन बनाए । उनले ९९ बलमा दुई चौकाको मद्दतले ६२ रन बनाएका हुन् । लकविन अवेसिङ्घेले ५० रनको योगदान दिए ।

उनले ५३ बलमा एक छक्का र दुई चौकासमेत प्रहार गरे । दुल्निथ सिगेरा र विमथ दिनसाराले समान २४÷२४ रन बनाए । श्रीलङ्काका लागि कविजा गमागेले नटआउट ३७ रनको योगदान दिए ।

त्यस्तै, कप्तान विहास थेवमिकाले तीन, कुगदास मथुलन, पुलिन्दु परेरा र प्रवीण मनिषाले समान दुई/दुई रन बनाए । विरन चामुदिथाले एक रन पनि जोड्न सकेनन् । नेपालका लागि सन्तोष यादवले सर्वाधिक ४ विकेट लिए । यस्तै, युवराज खत्रीले दुई, हेमन्त धामी र नरेन साउदले समान एक÷एक विकेट हात पारे ।

‘जनकपुर बोल्टस्’ को डेकोर पार्टनरमा नेपोभिट टायल्स

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को टोली ‘जनकपुर बोल्टस्’ले नेपाल सेरामिक इण्डस्ट्रीसँग डेकोर पार्टनरको रूपमा सम्झौता गरेको छ ।

शुक्रबार काठमाडौँमा एक कार्यक्रमबीच जनकपुर बोल्टस्ले नेपाल सेरामिक इण्डस्ट्रीको उत्पादन नेपोभिट टायल्ससँग डेकोर पार्टनरको रूपमा सम्झौता गरेको हो ।

जनकपुर बोल्टस्का निर्देशक अमित श्रेष्ठ र नेपोभिट टायल्सका अध्यक्ष शम्भुनाथ झाले सम्झौतापत्रमा हस्ताक्षर गर्दै पत्र आदानप्रदान गरे ।

त्यस अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य मनिष झाले एनपीएलको सफलताका लागि शुभकामना दिए । नेपोभिट टाईल्सका अध्यक्ष झाले नेपोभिट टायल्सलाई जनकपुर बोल्टस्सँग जोड्न पाउनु गौरवको विषय भएको बताए ।

यस्तै, जनकपुर बोल्टस्का निर्देशक श्रेष्ठले नेपोभिट टायल्सलाई डेकोर पार्टनरका रूपमा स्वागत गर्न पाउँदा हर्षित महसुुस भएको जिकिर गरे । पहिलो संस्करणको एनपीएल शनिबारदेखि सुरु हुँदैछ ।

जापान मानव तस्करी प्रकरणमा तीन जनालाई थुनामा पठाउने आदेश

काठमाडौं । जापानमा मानव तस्करी गरेको आरोपमा कोसीका पूर्वमन्त्री लिलावल्ल्भ अधिकारीसँगै पक्राउ परेका अन्य तीन जना पुर्पक्षका लागि जेल चलान भएका छन् ।

शुक्रबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश बलराम लम्सालको इजलासले धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–६ का ३४ वर्षीय महेश पाण्डे, नुवाकोटको विदुर नगरपालिका–७ का २२ वर्षीय जुगल रिजाल र दोलखाको जिरी नगरपालिका–९ का ३० वर्षीय वीरबहादुर सुनुवारलाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो ।

अदालतले तीन जनालाई धरौटीमा र दुई जनालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको अदालतका श्रेस्तेदार रामु शर्माले जानकारी दिएका छन् ।

अदालतले पूर्वमन्त्री अधिकारीसँगै जापान पुगेका खोटाङको केपिलासगढी गाँउपालिका ४ का ४१ वर्षीय जनक राई, खोटाङकै ऐँसेलुखर्क गाँउपालिका–२ का ३७ वर्षीय दावा शेर्पा र रसुवाको कालिका गाँउपालिका–५ का २१ वर्षीय कन्चन देवकोटालाई जनही ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

अदालतले नक्कली कागजात तयार गरेको आरोपमा पक्राउ परेका खोटाङका ४१ वर्षीय नवीन राई र ३२ वर्षीया गुड्डी राईलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।

यो मुद्दामा विष्णु भट्टराई, दिवाकर भट्टराई र गौपाल गौतम भने फरार छन् । पक्राउ परेका पूर्वमन्त्री अधिकारीलाई प्रहरीले मुद्दा चलाउन सुझाव दिएपनि सरकारी वकिलको कार्यालयले भने मुद्दा नचलाउने निर्णय गरेको थियो ।

राजनीतिक स्थायित्वका लागि कांग्रेस-एमालेको सरकारः उपप्रधानमन्त्री सिंह

तनहुँ । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले स्थानीय सरकारले अब रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिएका छन् ।

तनहुँको भानु नगरपालिकामा नयाँ शहर आयोजना कार्यालय डुम्रे–भन्सार तनहुँको एकीकृत सरकारी भवनको शुक्रबार उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् । शिक्षा, स्वास्थ र पूर्वाधार विकाससँगै अब युवाहरूलाई गाउँमै रोजगारी सिर्जना गर्नेतर्फ पनि स्थानीय सरकारले योजनाहरू बनाउनुपर्न उनको सुझाव थियो ।

उनले एकीकृत सरकारी भवनले सेवा प्रवाह सहज हुने विश्वास व्यक्त गरे । उपप्रधानमन्त्री सिंहले नगरपालिकाका हरेक गतिविधिमा युवा, महिला,वृद्धवृद्धासहित समाजका सबै तहका व्यक्तिहरूलाई समेट्नुपर्नेमा जोड दिए ।

तल्लो तहबाटै अनुशासित स्वयंसेवी नागरिक बनाउन सके मात्रै असल समाज बन्ने भएकाले स्थानीय सरकारले त्यसतर्फ पनि ध्यान दिनुपर्ने उनले बताए ।

राजनीतिक स्थायित्व विना विकासले गति लिन नसक्ने भन्दै उनले राजनीति स्थीरताका लागि अहिले संसदका दुई ठुला पार्टी मिलेर सरकार बनाएको बताए । ‘राजनीतिक स्थिरता र स्थायित्व भयो भने मात्रै विकासले गति लिन्छ भन्ने कुरा तपाई हामी सबैलाई महसुस भएको हुनुपर्छ,’ उपप्रधानमन्त्री सिंहले भने, ‘त्यसैले अहिले संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनेको छ । राजनीति स्थिरताको जगमा विकास र समृद्धिलाई प्राथमिकताममा राखेर सरकारले काम गरिरहेको छ ।’

 एनपीएल क्रिकेट कोशेढुङ्गा बन्ने अपेक्षा

-राजु सिलवाल
नेपाल अहिले क्रिकेटमय बनेको छ । विश्व मानचित्रमा क्रिकेट खेलतर्फ आफ्नो पहिचान बनाइसकेको नेपालले विश्वकै क्रिकेटप्रेमी दर्शकहरुको ध्यान आकर्षित गरिरहेको छ । नेपाली तथा विभिन्न मुलुकका ख्याति प्राप्त क्रिकेट खेलाडीहरु बहुप्रतिक्षित नेपाल प्रिमियर लिग एनपिएलको पहिलो संस्करणमा प्रतिस्पर्धा गर्न काठमाडौँमा भेला भएका छन् । यही मङ्सिर १५ गते शनिबारदेखि आगामी पुस ६ गतेसम्म काठमाडौंँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा यो प्रतियोगिता सञ्चालन हुँदैछ । नेपाल क्रिकेट सङ्घले आयोजना गर्न लागेको घरेलु प्रतियोगितामध्ये एनपिएल सबैभन्दा ठूलो प्रतियोगिता मानिएको छ । नेपालमा व्यावसायिक क्रिकेटको विकास गर्ने लक्ष्यका साथ टि ट्वान्टी फरम्याटमा खेलाइने एनपिएलको नतिजा आफ्नो पक्षमा ल्याउन विभिन्न टिमबीच रोमान्चकारी प्रतिस्पर्धा हुनेछ ।

निजी क्षेत्रको सक्रियता

एनपिएल क्रिकेट प्रतियोगितामा मुलुकका व्यापारिक क्षेत्रको सक्रिय सहभागिता रहेको छ । विराटनगर किंग्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौँ गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स जस्ता आठ वटा टिममा व्यापारिक समूह जोडिएका छन् । विभिन्न टिम किन्नका लागि उद्योगपति तथा व्यापारीहरुले करोडौं रुपैंयाँ लगानी गरेका छन् । अन्य निजी सङ्घसंस्था तथा कम्पनीहरु पनि क्रिकेट टिमहरुसँग आबद्ध भएका छन् । क्रिकेटमा लगानी गर्दैमा तत्काल नाफा हुन सक्ने क्षेत्र होइन । स्वदेशी तथा विदेशी खेलाडीहरुको महङ्गो पारिश्रमिक, सिमित प्रायोजन, क्रिकेट मैदानको भौतिक अवस्था तथा दर्शक क्षमता, टिकट दर आदि कारणले  नेपालमा क्रिकेटमा लगानी गरेर तत्काल प्रतिफल उठन सक्ने अवस्था छैन । तापनि निरन्तर यथोचित लगानी गर्न सकेमा केही वर्षमा सन्तोषजनक अवस्था आउन सक्नेछ ।

नेपालका निजी क्षेत्रको सक्रिय सहभागिता रहेको फेन्चाइज लिगको अभ्यास नेपालमा कुनै नौलो होइन । यसअघि एभरेष्ट प्रिमियर लिग, धनगढी प्रिमियर लिग र पोखरा प्रिमियर लिगजस्ता तीनवटा फ्रेन्चाइज लिग आयोजना भैसकेका छन् । तर यसपालि विभिन्न टिममा लगानी गर्न धेरै व्यापारिक घराना तथा अन्य निजी क्षेत्रले देखाएको उत्साह उल्लेखनीय रहेको छ । विभिन्न १६ वटा फ्रेन्चाइजहरुले लगानी गर्न इच्छा देखाएकामा आठ वटा समूहले टिमहरुमा लगानी गर्ने अवसर पाएका छन् । टिममा लगानी गर्न इच्छुकहरुको बढदो सङ्ख्याका कारण आगामी वर्षहरुमा प्रतियोगितालाई निरन्तरता दिइदै जाने सम्भावना बढेको छ । यसैगरी निजी क्षेत्रका तर्फबाट घोषणा गरिएको खेलाडीको पारिश्रमिक तथा बिजेताले पाउने पुरस्कारले पनि खेलाडीहरुलाई प्रोत्साहित गर्न सक्ने देखिएको छ । व्यापारिक घराना शारडा समूहले प्रतियोगितामा प्लेयर अफ दि सिरिज घोषणा हुने नेपाली खेलाडीलाई कार पुरस्कार प्रदान गर्ने भएको छ ।

खेलेरै २० लाख 

नेपाली क्रिकेट क्षेत्रलाई व्यावसायिकताका तर्फ उन्मुख गराउन एनपिएल क्रिकेटले प्रयत्न गरेको छ । खेलाडीहरुलाई एउटा प्रतियोगिता खेलेको लाखौं रुपैयाँ पारिश्रमिक प्रदान गरिने व्यवस्था गर्नु सानो प्रयत्न होइन । मुलुकका सबै प्रदेशको प्रतिनिधित्व गरेका आठवटा टिममा नेपालका महत्वपूर्ण राष्ट्रिय खेलाडीहरुलाई मार्की खेलाडीका रुपमा समावेस गरी प्रत्येकलाई २० लाख रुपैयाँ पारिश्रमिक दिइने भएको छ । गोला प्रथाद्वारा छानिएका ती खेलाडीहरुमा विराटनगरमा सन्दीप लामिछाने, जनकपुरमा आसिफ शेख, चितवनमा कुशल मल्ल, काठमाडौँमा करण केसी, पोखरामा कुशल भुर्तेल, लुम्बिनीमा रोहित पौडेल, कर्णालीमा सोमपाल कामी र सुदूरपश्चिममा दीपेन्द्रसिंह ऐरी छन् । उनीहरुले एकै प्रतियोगिता खेलेर घोषित पारिश्रमिक पाउने छन। यसैगरी राष्ट्रिय टिमका अन्य खेलाडीहरुलाई पनि अक्सनमार्फत विभिन्न टिममा छनोट गरिएको छ । यसरी अक्सन गरिदा एउटा टिमलाई १० खेलाडी खरिद गर्ने अवसर दिइएको थियो । समूह ए मा परेका खेलाडीलाई १० देखि १५ लाख, समूह बी मा परेकालाई पाँचदेखि १० लाख तथा समूह सी मा छानिएकालाई दुई लाखदेखि पाँच लाख रुपैयाँ दिइने भएको छ । नेपालको सन्दर्भमा यस्तो पारिश्रमिक आकर्षक मानिएको छ । क्रिकेट खेलाडीहरुले आफ्नै गृह मैदानमा खेलेर लाखौं रुपैयाँ पारिश्रमिक पाउनु राम्रो कमाइ हो ।

नयाँलाई अवसर 

एनपिएल क्रिकेटकै सिलसिलामा खुल्ला प्रतिस्पर्धाको आधारमा पनि खेलाडीहरु छानिएका छन् । यसबाट ती खेलाडीहरुलाई आगामी दिनमा राष्ट्रिय टिमका साथै अन्य टिममा प्रवेश गर्ने ढोका खुल्न सक्ने सम्भावना देखिएको छ । त्यस्ता युवा खेलाडीले टिममा समावेश हुने मौका पाउनु उनीहरुको खेल जीवनकै महत्वपूर्ण उपलब्धि हो । नेपालकै राष्ट्रिय खेलाडीहरुका साथै विभिन्न मुलुकका क्रिकेट स्टारहरुसँग खेल्नाले उनीहरुले उल्लेखनीय शिक्षा प्राप्त गर्न सक्छन् । हाल विभिन्न खेलका खेलाडीहरु विदेश पलायन भैरहेको अवस्थामा युवा खेलाडीहरुले आफ्नै गृह मैदानमा एनपिएल खेल्न पाउने अवसर उनीहरुको भविश्यसँग पनि गाँसिएको छ । एनपिएल खेल प्रतियोगिता मात्र नभई देशमै खेलकुद संस्कार बसाउने प्रतियोगिताका रुपमा लिइएको धारणा नेपाल क्रिकेट सङ्घका सचिव पारस खडकाले स्पष्ट पारेका छन् ।

विश्व चर्चित खेलाडीको सहभागिता

एनपिएल क्रिकेट नेपाली खेलाडीहरुका लागि अन्तर्राष्ट्रिय खेलाडीहरुसँग कौशल सिक्ने महत्वपूर्ण अवसर पनि हो । विभिन्न मुलुकका क्रिकेट स्टारहरुले नेपाली टिमबाट खेल्दैछन् । भारतका बहुचर्चित क्रिकेटर शिखर धवन, इङ्गल्याण्डका टम मुर्स, क्यानडाका साद विन जाफर, न्युजिल्याण्डका स्कट कुगेलेइन,वेष्ट इण्डिजका रेमन रेइफर जस्ता विश्व चर्चित खेलाडीहरुले नेपाली खेलाडीहरु साथ सहकार्य गर्दैछन् । एउटा टिमले छ जनासम्म विदेशी खेलाडी अनुबन्ध गर्न पाउने आयोजकको नियम रहेको छ । तर उनीहरुलाई टिमका तर्फबाट दिनु पर्ने पारिश्रमिक खुलाइएको छैन । अझ उल्लेखनीय पक्ष त विभिन्न अन्तर्राष्ट्रिय प्रशिक्षकले नेपालको प्रदेशको टिमको प्रशिक्षक तथा मेण्टरको रुपमा टिमलाई उपाधि दिलाउन सक्रिय भूमिका निभाउँदै छन् ।

पहिलो पटक डिजिटल बोर्ड 

एनपिएलका लागि कीर्तिपुरस्थित क्रिकेट मैदानमा आवश्यक मर्मतसम्भार गरिएको छ । त्यहाँ पहिलो पटक डिजिटल बोर्डको जडान गरिएको छ । यस्तै खेल मैदानको पिचको स्तरमा सुधार गर्नुका साथै मैदानको बाउन्ड्री बढाइएको छ । क्रिकेट हेर्न जाने दर्शकहरुका लागि प्याराफिटमा चारवटा क्षेत्र बनाइएका छन् । कीर्तिपुर रङ्गशालामा एनपिएल हेर्न हजारौं दर्शकहरु उपस्थित हुने निश्चित छ । नेपालमा क्रिकेट प्रेमीहरुको संख्या उल्लेखनिय रहेको छ। अमेरिकामा विश्वकप क्रिकेटको बेला समेत नेपाली दर्शकहरु धेरै संख्यामा उपस्थित थिए । कीर्तिपुरमा बिगतमा क्रिकेट हुँदा रुखमा झुण्डिएर समेत खेल हेर्ने गरेका क्रिकेटप्रेमी दर्शकहरुका लागि यसपाली खेल हेर्न यसपाली बस्ने सुविधासहितको प्याराफिट निर्माण गरिएको छ । तर त्यहाँ फ्लड लाइट जडान गर्ने कार्य भने सकिएको छैन । यदि फ्लड लाइट जडान भएको भए राति पनि खेल संचालनका लागि सहज हुने थियो ।

विश्वव्यापी पहुँच

एनपिएल क्रिकेटको पहुँच विश्वव्यापी रुपमा हुँदैछ । टेलिभिजनको प्रत्यक्ष प्रसारणका साथै अन्तर्राष्ट्रिय खेलाडीहरुको सहभागिताका कारण विश्वकै क्रिकेटप्रेमीहरुको ध्यान नेपालतर्फ आकर्षित हुने भएको हो । अन्तर्राष्ट्रिय खेलकुद टेलिभिजन च्यानल स्टार स्पोर्टसमार्फत विश्वका विभिन्न मुलुकका क्रिकेटप्रेमीहरुले एनपिएलको प्रत्यक्ष प्रसारण हेर्ने अवसर पाउने भएका छन् । विभिन्न महत्वपूर्ण अन्तर्राष्ट्रिय क्रिकेट म्याचमा प्रत्यक्ष प्रसारण गरिसकेका कमेण्टेटरहरुको सहभागिता रहेको यसप्रकारको अन्तराष्ट्रिय प्रसारणबाट विश्वमा नेपालको प्रचारप्रसार हुन गई आगामी दिनमा पर्यटकहरुको वृद्धि हुन जाने अपेक्षा गरिएको छ । अन्तर्राष्ट्रिय ख्यातीप्राप्त क्रिकेट खेलाडीहरुको नेपाल आगमनका साथै अन्य गतिविधिको निरन्तर समाचार प्रचारप्रसारले पनि पनि विश्वको ध्यान आकर्षित गरेको छ ।

म्याच फिक्सिङतर्फ सतर्कता 

एनपिएलमा म्याच फिक्सिङ रोक्न विशेष सतर्कता अपनाइएको छ । प्रतियोगितामा सहभागी आठवटै टिममा सुरक्षा अधिकारी पनि समावेस गरिएको छ । नेपाल क्रिकेट सङ्घले प्रतियोगिताका गतिविधिहरु पारदर्शी रुपमा सञ्चालन गर्न विशेष तयारी गरिएको जनाएको छ । राष्ट्रिय खेलकुद परिषदअन्तर्गत एक सयभन्दा बढी खेल सङ्घ भएको तथा कयौं सङ्घ गतिविधिहीन अवस्थामा रहेको तथा खेल गतिविधि सञ्चालनका लागि सरकारी साधन श्रोतमै निर्भर भैरहेको बेलामा नेपाल क्रिकेट सङ्घले निजी क्षेत्रलाई व्यापक रुपमा जुटाएर एनपिएल क्रिकेट आयोजना गर्नु प्रशंसनीय कार्य मान्न सकिन्छ ।

अन्य खेल सङ्घले पनि निजी क्षेत्रलाई जुटाएर प्रतियोगिता गर्न प्रयास गर्नु पर्दछ । तर एनपिएल क्रिकेटजस्ता प्रतियोगिता पारदर्शी  रुपमा सञ्चालन गर्नु अति आवश्यक मानिएको छ । कुनै मिलोमतोमा म्याचको नतिजा नआओस् । आगामी दिनमा एनपिएललाई निरन्तरता दिन सकिने वातावरण संरचना सिर्जना गरी घरेलु क्रिकेटलाई मजबुत बनाउँदै लैजान सक्नुपर्छ । यसका लागि क्रिकेट एकेडेमीको स्थापनातर्फ जोड दिइनु पर्छ । यस्त,ै एनपिएललाई राजधानीमुखी मात्र नबनाएर आगामी संस्करण चितवन, पोखरा, भैरहवालगायतका क्रिकेट रङ्गशालामा पनि विस्तार गर्दै लैजान जरुरी मानिएको छ । यस्ता प्रतियोगिताबाट नेपाली खेलाडीहरु पनि खेलेर बाच्न सक्ने अवस्था बनाउन सहयोग पुग्ने भएकाले नेपाल प्रिमियर लिग क्रिकेट एनपिएल नेपाली क्रिकेट जगतका लागि कोशेढुङ्गा बन्नसक्ने अपेक्षा गरिएको छ ।

(लेखक खेल पत्रकार हुनुहुन्छ