`

प्रधानसेनापतिद्वारा रथी केसीलाई दज्र्यानी चिन्ह प्रदान

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले रथीमा दर्जामा पदोन्नति भएका प्रदीपजङ्ग केसीलाई दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।

मन्त्रिपरिषद्को यही मङ्सिर १० गतेको निर्णयबाट केसी रथीमा पदोन्नति भएका थिए । पदोन्नतिसँगै  उनलाई बलाध्यक्षमा नियुक्त गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

जाडोयाममा किन बढ्छ वायु प्रदूषण ?

प्रगति ढकाल, काठमाडौँ । बर्सेनि जाडोयाम सुरु भएसँगै वायु प्रदूषण बढ्ने गरेको छ । वातावरण विद्हरूले चिसोको समयमा वायु प्रदूषण बढ्दै गएको भन्दै सचेत रहन आग्रह गरेका छन् ।


‘एयर क्वालिटी इन्टेक्स’ का अनुसार आज मध्याह्नसम्म काठमाडौँ उपत्यकाको वायु प्रदूषण एक सय ५५ एक्युआइ छ । यो समाचार तयार गर्दासम्मको अवधिमा काठमाडौँ विश्वको छैटौँ प्रदूषित सहरका रूपमा सूचीकृत भएको छ ।

भारतको नयाँ डिल्लीमा अत्यधिक प्रदूषण बढेपछि विद्यालय बन्द गरिएका छन् । आज मध्यान्हसम्म चार सय ४८ एक्युआइ रहेको एयर क्वालिटी इन्टेक्सको तथ्याङ्कमा उल्लेख छ । आज पनि नयाँदिल्ली विश्वको पहिलो प्रदुषित सहरका रूपमा सूचीकृत भएको छ । भारतमा बढेको प्रदूषित हावा नेपालमा पनि भित्रिने गरेको भन्दै आवश्यक तयारी र सतर्कता अपनाउनुपर्ने विज्ञको सुझाव छ ।

विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीका अनुसार ० देखि एक्युआइ ५० राम्रो अर्थात् हरियो सङ्केतले चिनिन्छ । “५१ देखि एक सयसम्मको एक्युआइलाई होसियार रहनुपर्ने अथवा पहेँलो सङ्केतले चिनिन्छ । यसैगरी एक सय एकदेखि एक सय ५० सम्मलाई अस्वस्थ मानिन्छ । यसमा श्वासप्रश्वास र मुटुरोगीका बिरामीलाई असर गर्छ भन्न्ने बुझिन्छ”, उनले भने, “एक सय ५१ देखि दुई सय एकदेखिको एक्युआइलाई सबैलाई असर गर्ने र अस्वस्थ भन्ने बुझिन्छ । दुई सय एकदेखि तीन सय सयसम्मलाई धेरै अस्वस्थ मानिन्छ ।”

काठमाडौँ उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले पनि नेपाल सरकारले निर्धारण गरेको एक्युआइको मान तीन सयभन्दा बढी भएको अवस्थालाई विपद्का रूपमा लिने उल्लेख गरेको छ । यो विपद् रोक्न फोहर नबाल्ने, सडक सफा गर्न ब्रमुर तथा भ्याकुमको प्रयोग गर्ने, बालबालिका, ज्येष्ठ नागरिक, बिरामीले विशेष सावधानी अपनाउनुपर्ने कार्ययोजनामा उल्लेख छ ।

वातावरणविद् भूषण तुलाधारका अनुसार जाँडोको समयमा सामान्य अवस्थामा तातो हावा माथि जाने र चिसो हावा तल रहने भएकाले धुवाँलाई फैलिन मद्दत गर्ने बताउँदै सोही कारणले जाडोमा वायु प्रदूषण पनि बढ्ने उल्लेख गरे । “जाडोयाममा विषेशगरी रातको समयमा पृथ्वीको सतह छिटो चिसो हुन्छ, जमिन नजिकको हावा पनि चिसिन्छ, चिसो हावा माथिल्लो तातो हावाभन्दा भारी हुने भएकाले तलै रहन्छ, यसले गर्दा प्रदूषित हावा माथि उठेर जान सक्दैन र वायु प्रदूषण बढाउँछ”, उनले भने, “यसैगरी जाडोको समयमा बाक्लो तुवाँलो लाग्छ । तुवाँलो र प्रदूषणका कणहरूले सूर्यको प्रकाशलाई रोक्छ, जसले गर्दा तल्लो वायुमण्डल अझै चिसो रहन्छ र प्रदूषण हट्न गाह्रो हुन्छ ।”

तुलाधारले काठमाडौँ जस्तो भौगोलिक रूपमा थाल आकारको उपत्यकामा हावा बाहिर निस्किन अझ कठिन भएकाले पनि जाँडोको समयमा प्रदूषण बढ्ने बताए । जाडोयाममा घर तताउन तथा खाना पकाउन जैविक इन्धन (दाउँरा, कोइला) र तरल पेट्रोलियम ग्यासको प्रयोग बढ्ने, ग्रामीण क्षेत्रमा अझै पनि परम्परागत दाउारा जलाउने चलनले वायुमण्डलमा धुलो र प्रदूषक उत्सर्जन बढाउने उनको भनाइ छ ।

“राष्ट्रिय जनगणना २०७८ मा ५१ प्रतिशतले अझै दाउँरा र तीन प्रतिशतले गुइँठा बाल्ने गरको देखाउँछ, घरभित्रको प्रदूषणले महिला तथा बालबालिकालाई अझ बढी प्रभाव पार्छ”, तुलाधारले भने, “नेपालमा वार्षिक ४८ हजार पाँच सयको मृत्यु वायु प्रदूषणबाट हुने गरेको पछिल्लो अध्ययनले देखाएको छ, त्यसमा आधाभन्दा बढी घरभित्रको धुवाँले प्रदूषण बढाउँछ ।”

उनले सहरमा सवारीसाधनको इन्धन दहनको क्षमता जाडोयाममा घट्ने र यसले बढी कार्बन मोनोअक्साइड र नाइट्रोजन अक्साइड उत्सर्जित गर्दा पनि प्रदूषण बढ्ने बताए ।

“जाडोको समयमा ग्रामीण क्षेत्रमा हिउँदको समयमा खेती कटानीपछि बचेको पराल र अन्य जैविक फोहर जलाइन्छ । आगो ताप्नका लागि पनि प्लाष्टिक तथा अन्य वस्तुहरू बालिन्छ, यसले वायुमण्डलमा सूक्ष्म कणहरू अन्य हानिकारक ग्यासहरू बढाउँछ”, वातावरणविद् तुलाधारले भने, “इँटाभट्टा, ऊर्जा उत्पादन गर्ने कोइलाजन्य उद्योग र सिमेन्ट उद्योगले जाडोयाममा उत्पादन कायम राख्छन् । धुवाँ र प्रदूषक उत्सर्जन बढ्ने भएकाले जाडोयाममा प्रदूषण तीव्र हुन्छ ।”

यसैगरी जाडोयाममा हावाको बहावको गति सामान्यतया सुस्त हुँदा प्रदूषण गराउने तत्व लामो समयसम्म एउटा ठाउँमा रहँदा प्रदूषणको घनत्व पनि बढ्ने वातावरणविद् तुलाधारले बताए । “अब वन डडेलोको समय सुरु हुँदैछ, वन डडेलो लाग्न सुरु भएपछि अझै वायु प्रदूषण बढ्छ”, उनले भने ।

प्रदूषण न्यूनीकरणमा सहकार्य गर्दैछौँः वनमन्त्री शाही

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वायु प्रदूषण बढ्दा मानवीय स्वास्थ्यमा गम्भीर असर पारेकामा गम्भीर आपत्ति जनाउँदै न्यूनीकरणका लागि वातावरण सुधारका नीति कार्यान्वयन गर्न अन्तरसरकारी निकायबीच समन्वय गरिने बताएका छन् ।

“वायु प्रदूषण बढिरहेको छ । न्यूनीकरणका लागि सम्बन्धित निकायसँग समन्वय काम भइरहेको छ”, उनले भने, “वायु प्रदूषण न्यूनीकरणका तत्कालीन र दीर्घकालीन समाधान के हुन सक्छन् भनेर छलफल अगाडि बढाएका छौँ ।”

समाधानका उपाय

वातावरणविद् तुलाधारले प्रदूषण न्यूनीकरणका लागि जैविक इन्धनको उपयोग घटाउनु, परम्परागत दाउँरा र कोइलाको सट्टा नवीकरणीय ऊर्जा स्रोतहरू प्रयोग बढाउनु, सार्वजनिक यातायात प्रोत्साहन गर्नु, सवारीसाधनको प्रयोगलाई न्यून गर्न सरकारीस्तरमा नीतिगत कार्य गर्न आवश्यक रहेको बताए ।

“वातावरणीय नीति र कानुनको कार्यान्वयन, प्रदूषक उत्सर्जन गर्ने सवारीसाधन र उद्योगहरूलाई कडाइका साथ निगरानी, जाडोयाममा वायुमण्डलीय प्रदूषण घटाउन दीर्घकालीन योजना र तत्कालीन उपायहरूको संयोजन आवश्यक छ ।” फोहर जलाउन रोक लगाउने, सचेतना अभिवृद्धि गर्नु, प्रदूषण बढी भएमा विद्यालय बन्द गराउनुलगायत अन्य उपायहरू रहेका उनले बताए ।

स्वास्थ्यमा गम्भीर असर

जनस्वास्थ्यविद् डा समीर अधिकारीले बढ्दो वायु प्रदूषणले मानिसको श्वासप्रश्वासमा समस्या आउने, रुघाखोकी लाग्ने, दम बढाउने, फोक्सोको क्यान्सर, उच्च रक्तचाप, पक्षघात, हृदयाघातलगायत स्वास्थ्यमा गम्भीर असर पर्ने गरेको बताएको छ ।

“प्रदूषणका कारण तत्कालीन असरमा आँखा चिलाउने, छाला चिलाउने, दम बढ्नेलगायत समस्याहरू उत्पन्न हुन्छ । र दीर्घकालीन असरमा क्यान्सरजस्ता प्राणघातक रोगसमेत लाग्न सक्छ”, उनले भने, “प्रदूषण बढेका बेलामा सकेसम्म घर बाहिर निस्कन हुँदैन । बाहिर निस्कँदा मास्कको प्रयोग गर्नुपर्छ ।”

मौलिक हक हनन्

वरिष्ठ अधिवक्ता दिनेशमणि त्रिपाठीले वर्तमान संविधानको धारा ३० मा स्वच्छ वातावरणको हकलाई मौलिक हकका रूपमा राखे पनि नागरिकले स्वच्छ वातावरणमा बाच्न पाउने हकबाट बञ्चित हुनुपरेको बताए ।

“संविधानको धारा ४६ मा न्यायिक उपचारको हकको व्यवस्था गरिएको छ”, उनले भने, “संविधानले स्वच्छ वातावरणको हकलाई मौलिक हकमा राखेर वातावरणीय पक्षलाई प्राथमिकता दिएको छ । वातावरणीय न्याय कार्यान्वयनको पक्ष भने कमजोर छ । राज्यले प्रदूषितरहित वातावरणमा बाँच्न पाउने हक कार्यान्वयनका लागि स्पष्ट नीति बनाएर त्यसको प्रभावकारी कार्यान्वयन हुनु जरुरी छ ।”

पछिल्लो समय विश्वका अधिकांश मुलुकहरुले वातावरणीय हकलाई मौलिक हकका रुपमा राख्न थालेका छन् । वातावरण ऐन २०७६, वन ऐन २०७६ तथा राष्ट्रिय निकुञ्ज ऐन, २०२९ को व्यवस्था गरिएको छ ।

सरकारको रणनीति

राष्ट्रिय वातावरण नीति, २०७६ अनुसार प्रदूषण न्यूनीकरण गर्नका लागि जल, वायु, माटो, ध्वनि, विद्युत्–चुम्बकीय तरङ्ग, रेडियोधर्मी विकिरण, जोखिमपूर्ण रासायनिक प्रदूषण रोकथामसम्बन्धी राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयन गरिने सरकारी रणनीति छ । प्रमुख सहरहरू, औद्योगिक प्रतिष्ठानलगायत प्रदूषणको जोखिममा रहेका क्षेत्रमा गुणस्तर मापनकेन्द्र स्थापना र सञ्चालन गर्दै वायु, जल, ध्वनि गुणस्तरको नक्शाङ्कन गरिनेछ रणनीतिमा उल्लेख छ ।

“औद्योगिक तथा अन्य क्षेत्रबाट निष्काशन हुने प्रदूषित पानीको प्रशोधनको व्यवस्था गरिनेछ । उद्योग र अन्य व्यवसायबाट निष्काशन हुने प्रदूषणयुक्त धुवाँ, धुलो, पानीलाई व्यवस्थित गर्न वातावरणमैत्री प्रविधि कार्यान्वयनमा ल्याइनेछ”, नीतिमा उल्लेख छ, “घरभित्रको वायु प्रदूषणलाई न्यूनीकरण गर्नका लागि सौर्य चुल्हो, विद्युतीय चुल्हो, बायोग्यास, सुधारिएको चुल्हो, चिम्नीजस्ता उपकरणहरूको प्रवद्र्धन गरिनेछ । ऊर्जा किफायती भवन निर्माणमा जोड दिइनेछ ।”

प्रदूषण नियन्त्रणका लागि उत्सर्जनस्थल नक्साकनका लागि विक्षेपण जस्ता नवीनतम विधिहरूको प्रयोग गरिने पुनःप्रयोग गर्न नमिल्ने फोहरलाई आवश्यकतानुसार फोहर विसर्जन क्षेत्र , हानिकारक फोहर विसर्जन क्षेत्र भष्मीकरण यन्त्रका माध्यमबाट सुरक्षित तरिकाले विसर्जन गरिने तथा औद्योगिक प्रतिष्ठान, अस्पताल वा अन्य कुनै स्थान विशेषबाट निस्कने फोहरलाई एकीकृत भष्मीकरण यन्त्र स्थापना गरी विसर्जन गरिने रणनीतिमा उल्लेख गरिएको छ ।जाडोयाममा किन बढ्छ वायु प्रदूषण ?

बुद्धका शिक्षाको प्रचारक र अनुयायी हुन प्रधानमन्त्री ओलीको आग्रह

रुपन्देही। प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका दर्शन र शिक्षाको प्रचारक र अनुयायी भएर समाजमा प्रस्तुत हुन आग्रह गरेका छन्।

लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्त तथा २० औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै कुलपति एवम् प्रधानमन्त्री ओलीले सबै सुखी होउन् भन्ने बुद्धका सन्देशको अर्काे रुप नै आफूहरूले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा भएकाले यसलाई पूरा गर्न सबैमा आग्रह गरेका हुन्।

अभिभावको लगानी, माया र मेहनतबाट दीक्षित हुने अवस्थासम्मको सफलता प्राप्त गरेकामा अभिभावक र विद्यार्थीलाई बधाई दिँदै प्रधानमन्त्री ओलीले बुद्ध दर्शन, आचरण र शिक्षाको प्रचारक र अनुयायी भएर समाजमा प्रस्तुत हुन आग्रह गरे।

‘मानवीय गुण भनेको ढाँटछल, जालझेल र प्रपञ्च होइन। मानवीय गुण भनेको शान्ति, करुणा र प्रेमको गुण हो,’ प्रधानमन्त्री ओलीले भने, ‘घृणाले घृणा, अशान्तिले अशान्ति र शत्रुताले शत्रुता बढाउने तथा प्रेमले प्रेम, शान्तिले शान्ति र राम्रोले राम्रो नै बढाउने बुद्ध दर्शनलाई हामीले पछ्याउनुपर्छ। नराम्रो मार्गमा हिँड्न हुन्न भन्ने थाहा पाइकन पनि त्यस बाटोमा मान्छे हिँडिरहेको हुन्छ। त्यसबाट लाभ हुँदैन भन्ने थाहा पाएर गलत कामको लत बसाउनु हुँदैन। अशल मार्गमा हिँड्न सक्नुपर्छ।’

प्रधानमन्त्री ओलीले लुम्बिनी बुद्धको जन्मथलो र बौद्ध दर्शनको पनि थलो भएको उल्लेख गर्दै यसलाई पावनभूमिका रुपमा विकासित र प्रचारप्रसार गर्न सरकारले पहल गर्दै आएको बताए।

आफू पहिलो पटक प्रधानमन्त्री हुँदा लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको आयोजना गरेको र दोस्रो कार्यकालमा पाँच हजार जना सहभागी हुन सक्ने ध्यान केन्द्र बनाउने काम गरेको स्मरण गरेका छन्।

समारोहमा कुलपति ओलीबाट भिक्षुणी धम्मावती गुरुमालाई मानार्थ विद्यावारिधिसहित विभिन्न संकायमा उपाधिप्राप्त दुई सय ८९ जना दीक्षित भएका। प्रधानमन्त्री ओलीले जीवनमा कसैको कुभलो नचिताउने तथा सँधै सकारात्मक चिन्तन र व्यवहार प्रदर्शन गर्ने गुरुमाले मानार्थ विद्यावारिधिको सम्मान स्वीकार गरेर विश्वविद्यालयलाई थप सुपरिचित गराएको बताए।

दुर्गा प्रसाईंलाई थप पाँच दिन थुनामा राख्न अनुमति

काठमाडौं । अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन थुनामा राख्न अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले शुक्रबार प्रसाईंलाई थप ५ दिन थुनामा राख्न अनुमति दिएको हो । मंसिर ५ गते पक्राउ प्रसाईंलाई यसअघि आइतबार पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा करोडौं लगानी गरेको भन्दै अफवाह फैलाएपछि प्रसाईं पक्राउ परेका हुन् । प्रहरीले प्रसाईंले विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुर गरेको भन्दै उनलाई पक्राउ गरेको थियो ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका २८९ विद्यार्थी दीक्षित

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा दुई सय ८९ विद्यार्थी दीक्षित भएका छन् । विद्यावारिधिसहित विभिन्न सङ्कायका विद्यार्थी शुक्रबार प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीबाट दीक्षित भएका हुन् ।

सो अवसरमा प्रधानमन्त्री ओलीले भिक्षुणी धम्मावती गुरुमालाई मानार्थ विद्यावारिधि प्रदान गरे । ललितपुरमा जन्मिएकी ९१ वर्षीया गुरुमाले बौद्ध धर्म, दर्शन र शिक्षाको विकासमा दिएको अतुलनीय योगदानप्रति सम्मान गर्दै आजै सम्पन्न १७औँ विश्वविद्यालयसभाले गुरुमालाई सो सम्मान प्रदान गर्ने निर्णय गरेको थियो ।
यसैगरी प्रधानमन्त्री ओलीले पाँच जनालाई विद्यावारिधिको उपाधि प्रदान गरे ।

मलेसियामा बाढीका कारण ८० हजारभन्दा बढी विस्थापित

क्वालालम्पुर । मलेसियाका धेरै राज्यहरूमा भारी वर्षापछि आएको बाढीले कम्तीमा चार जनाको मृत्यु हुनुका साथै ८० हजारभन्दा बढी मानिसहरू विस्थापित भएको अधिकारीहरूले शुक्रबार बताएका छन्।

राष्ट्रिय विपद् कमान्ड सेन्टरका अनुसार यस हप्ता ८० हजार ५८९ बासिन्दालाई सात वटा राज्यका ४६७ वटा अस्थायी आश्रयमा सारिएको छ। बाढीका कारण उत्तरपूर्वी केलान्टान राज्य र तेरेङ्गानु सबैभन्दा बढी प्रभावित भएका छन्।

प्रभावित राज्यहरूमा केलान्टानमा उद्धार कार्यमा सहयोग गर्न खोजी र उद्धार टोली परिचालन गरिएको विपद् केन्द्रले विज्ञप्तिमार्फत जनाएको छ।

लामो समयसम्म परेको भारी वर्षा शनिबारसम्म देशव्यापी हुने पूर्वानुमान गरिएको मौसम विभागका प्रवक्ताले बताएका बताएका छन्।

नोभेम्बरदेखि मार्चसम्म भारी वर्षा ल्याउने उत्तरपूर्वी मनसुनका कारण दक्षिणपूर्वी एसियाली राष्ट्रमा बाढी नियमित वार्षिक दुर्घटनाजस्तै बनेको छ।

बर्नामा समाचार एजेन्सीका अनुसार उपप्रधानमन्त्री अहमद जहिद हामिदीले बिहीबार बाढी सन् २०१४ को भन्दा पनि गम्भीर हुने अपेक्षा गरिएको बताए।

बाढी प्रभावित राज्यहरूमा उद्धारका लागि डुङ्गा, चार पाङ्ग्रे सवारी साधन , हेलिकप्टरसहित हजारौँ आपतकालीन सेवाका कर्मचारीहरू तैनाथ गरिएको जनाइएको छ।

रामेछापमा सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु

मन्थली । रामेछापमा जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई पुरुष, दुई महिला र एक बालिका रहेका छन् ।  

काठमाडौंबाट  बेतालीतर्फ आउँदै गरको ना१ज ७१२३ नम्बरको जिप शुक्रबार दिउँसो गोकुलगङ्गा गाउँपालिका–६ फर्पुमा दुर्घटना हुँदा गोकुलगङ्गा–४ बेतालीका वडाध्यक्ष ४५ वर्षीय रामचन्द्र बस्नेतसहित पाँचजनाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए ।

दुर्घटनामा जिप चालक मन्थली नगरपालिका–१० का ३५ वर्षीय चालक हिराबहादुर कार्की, गोकुलगङ्गा–५ की ३० वर्षीया कविता कार्की र उनकी सात वर्षीया छोरी स्वस्तिका खड्काको समेत मृत्यु भएको छ । मृतक अन्य एक जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।  

दुर्घटनामा घाइते तीनैजनालाई उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा कास्कीको लेखनाथ नगरपालिका घर भएका ४२ वर्षीय केशव शर्मा र रामेछापको गोकुलगङ्गा–४ बेतालीकी २७ वर्षीया सरस्वती कार्की घाइते भएका छन् । अन्य एक घाइतेको नाम थर खुल्न नसकेको प्रहरीले जनाएको छ ।

यु-१९ एशिया कप क्रिकेटः श्रीलङ्काले नेपाललाई दियो २३४ रनको लक्ष्य

काठमाडौं । एसीसी यु-१९  पुरुष एशिया कप क्रिकेटमा श्रीलङ्काले नेपाललाई २३४ रनको लक्ष्य दिएको छ । शुक्रबार यूएईको शारहाजमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलङ्काले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ३३ रन बनायो । श्रीलङ्काका शारुजन शानमुगनाथनले ६२ रन बनाए ।

नेपालका सन्तोष यादवले ४ विकेट लिए । यूएईमा आजदेखि शुरू भएको प्रतियोगितामा आठ वटा देश सहभागी छन् । १९ वर्षमुनिको एशिया कप क्रिकेटको समूह ‘ए’ मा भारत, पाकिस्तान, जापान र यूएई छन् । समूह ‘बी’ मा नेपाल, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् ।

नेपालले समूह चरणको दोस्रो खेलमा आइतबार बङ्गलादेशसँग र तेस्रो तथा अन्तिम खेलमा मङ्सिर १८ गते अफगानिस्तानसँग खेल्नेछ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

लिलावल्लभ अधिकारीलाई पक्राउ गरी मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । कोशी प्रदेशका पूर्वमन्त्री लिलावल्लभ अधिकारीविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अधिकारीविरुद्ध मुद्दा चलाउन माग गर्दै रिट दिएका हुन् ।

रिट दर्ताका लागि प्रक्रियामा रहेको त्रिपाठीले जानकारी दिएका छन् । त्रिपाठीले भनेका छन्, ‘प्रवृत (alafide) भावना राखी बिना कुनै तर्कपूर्ण आधार प्रहरीद्वारा अनुसन्धानमा प्राप्त प्रमाणहरुलाई पूर्णरूपेण नजरअन्दाज गरि कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री लिला बल्लभ अधिकारीलाइ जिल्ला सरकारी वकिल कार्यालय, काठमाड़ौले मुद्दा नचलाउने÷प्रतिवादी नबनाउने निर्णय प्रथम दृष्टिमै गैरकानूनी, बदनीयतपूर्ण एव स्वेच्छाचारी भएकोले संविधानको धारा १३३(२)(३) बमोजिम उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरि निज लिला बल्लभ अधिकारीलाई तत्काल पक्राऊ गरि प्रभावकारी अभियोजन गर्नु भनि परमादेश समेतको माग गरेर आज मैले सम्मानित सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेको छु ।’

जापानमा मानव तस्करी गरेको आरोपमा पक्राउ परेका अधिकारीविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले दाबी नपुग्ने भन्दै मुद्दा नचल्ने निर्णय गर्दै अन्य ११ जनाविरुद्ध मात्र काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । वकिल कार्यालयको निर्णयसँगै अधिकारी रिहा भइसकेका छन् । तर अधिकारीविरुद्ध मुद्दा नचल्ने निर्णय सरकारको दवावमा भएको भन्दै सर्वत्र आलोचना भइरहेको छ ।

कर्णाली याक्सलाई महिन्द्रा अग्नि ग्रुपको साथ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी टोली कर्णाली याक्सलाई महिन्द्रा अग्नि ग्रुपले साथ दिएको छ।

कर्णालीको स्वामित्व रहेको हिमालयन बिल्डर्स प्रालि र महिन्द्रा अग्नि  ग्रुपबीच शुक्रबार आयोजित कार्यक्रमा कर्णालीका तर्फबाट अनर झनकदत्त खनाल र महिन्द्राका तर्फबाट उपाध्यक्ष वेदा सताषा श्रेष्ठले टोलीलाई मुख्य प्रायोजन गर्ने विषयको सम्झौतामा हस्ताक्षर गरे। कर्णालीको मार्की खेलाडीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामी रहेका छन्।

त्यसैगरी टोलीको मुख्य प्रशिक्षक राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल छन्। टोलीका विदेशी खेलाडीमा ओमानका पूर्वकप्तान जिशान मक्सुद, हङकङका बाबर हयात, वेस्ट इन्डिजका चाडविक वाल्टन तथा भारतका शिखर धवन रहेका छन्। वाल्टन, हायत र मक्सुद नेपाल आइसकेका छन् भने धवन आज साँझ नेपाल आइपुग्ने छन्।

त्यसैगरी टोलीको अन्य खेलाडीमा गुलशन झा, देव खनाल, नन्दन यादव, अर्जुन घर्ती, रित गौतम, मौसम ढकाल, भुवन कार्की, दीपेन्द्र रावत, युनिसविक्रमसिंह ठकुरी र दीपक डुम्रे छन्। कर्णालीले ट्यालेन्ट हन्टबाट विपीनप्रसाद शर्मालाई आइकोनिक खेलाडीका रूपमा छनोट गरिसकेको छ।

युनिस हाल संयुक्त अरब इमिरेट्समा चलिरहेको यु–१९ टोलीमा एसिया कप खेलिरहेका छन्। यसअघि कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ नियुक्त गरेको छ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुन लागेको नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्ससँगै काठमाडौँ गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, विराटनगर किंग्स, जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स गरी आठ टोली सहभागी छन्। प्रतियोगिताको उद्घाटन खेल यही मङ्सिर १५ गते विराटनगर किग्ंस र जनकपुर बोल्ट्सबीच हुनेछ। 

सरकारद्वारा प्रधानमन्त्रीको चीन भ्रमणको औपचारिक घोषणा, पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने

काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको औपचारिक जानकारी गराएको छ । शुक्रबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी प्रधानमन्त्री ओलीको चारदिने भ्रमणको औपचारिक घोषणा गरेको हो ।

चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणमा ओली मंसिर १७ गते चीन प्रस्थान गर्नेछन् भने २० गते स्वदेश फर्किनेछन्। प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङलगायत शीर्ष नेताहरूसँग भेटघाट गर्नेछन्। प्रधानमन्त्री ओलीले पेकिङ विश्विविद्यालयमा सम्बोधन गर्नेछन्।

यसैगरी उनी अन्य विभिन्न कार्यक्रममा सहभागी हुनेछन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत गरेको थियो। प्रधानमन्त्री ओलीको चीन भ्रमण टोलीमा ८७ सदस्य सहभागी हुनेछन् ।

अमेरिकी प्रस्ताव बारूदी सुरुङविरोधी विश्वव्यापी सन्धि प्रतिकूल

कम्बोडिया । रूसको आक्रमणविरुद्ध लड्न युक्रेनलाई कर्मचारी विरोधी खानी उपलब्ध गराउने अमेरिकी प्रस्तावले ऐतिहासिक विश्वव्यापी बारूदी सुरुङविरोधी सन्धिलाई ‘प्रभावित’ पारेको अभियानकर्मीहरूले शुक्रबार बताएका छन् ।

‘एन्टी पर्सनल माइन ब्यान कन्भेन्सन’ मा हस्ताक्षर गर्ने १६४ मुलकमध्ये युक्रेन पनि एक हो । सन्धिले बारूदी सुरङको प्रयोग, भण्डारण, उत्पादन र स्थानान्तरणलाई निषेध गर्दछ ।

‘एन्टी पर्सनल माइन ब्यान कन्भेन्सन’ मा हस्ताक्षर संयुक्त राज्य अमेरिकाले गत हप्ता युक्रेनलाई बारूदी सुरूङ हस्तान्तरण गर्ने बताएको थियो । यसको अधिकारवादी समूहहरूले निन्दा गरेका थिए ।

कम्बोडियाको सिएम रिपमा हस्ताक्षर गर्ने मुलुकहरूको बैठकमा अन्तर्राष्ट्रिय प्रतिबन्ध ल्यान्डमाइनका निर्देशक तामार गाबेल्निकले यो प्रस्तावले सन्धिलाई ‘सङ्कटमा’ पारेको बताए ।

उनले भने, “त्यसैले हामी आशा गर्दछौं अमेरिकाले प्रस्ताव गरेको बारूदी सुरूङ विछ्याउने प्रस्तावलार्ई युक्रेनले दृढतापूर्वक अस्वीकार गर्नेछ।

युक्रेनका रक्षा अधिकारी येभेनी किभशिकले शुक्रबार सिएम रिप सम्मेलनमा भने, “हामीले विश्व समुदायले उठाएका केही चिन्ताहरू सुनेका छौँ । तिनीहरूलाई युक्रेन सरकारलाई अवगत गराइनेछ ।”

सिएम रिपमा युक्रेनको प्रतिनिधिमण्डलले बारूदी सुरङको प्रस्तावबारे टिप्पणीका लागि सञ्चारकर्मीले पटक–पटक गरेको अनुरोधलाई अस्वीकार गरेको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी आक्रमण रोक्नका लागि यी खानी ‘अति महत्वपूर्ण’ भएको बताए ।

बिहीबार फिनल्याण्डको रक्षा मन्त्रालयका एक अधिकारीले ‘एन्टी पर्सनल ल्यान्ड माइन’ लाई आफ्नो शस्त्रागारमा फिर्ता ल्याउने कि नल्याउने भन्नेबारे विचार गरिरहेको बताएका थिए ।

फिनल्यान्डले माइन विरोधी सन्धिमा सामेल सन् २०१२ मा यो हतियार त्यागेको थियो तर यसको प्रयोगका पक्षधरहरूले युक्रेनमा रूसको युद्धका कारण देशको सुरक्षा वातावरण परिवर्तन भएको तर्क गरेका छन् ।

फिनल्यान्डले दशकौँ देखिको सैन्य असंलग्नतालाई त्यागेर गत वर्ष नेटोको सदस्य बनेको थियो ।

यो कदमले उसको १,३४० किलोमिटर (८३० माइल) लामो सीमा साझा रहेको पूर्वी छिमेकी रूसलाई क्रुद्ध बनाएको थियो । यो सीमा अमेरिकी नेतृत्वको रक्षा गठबन्धनमारूससँगको सबैभन्दा लामो साझा सीमा हो ।

सिएम रिप सम्मेलन पञ्चबर्षीय बैठक हो र यो एन्टी–ल्यान्डमाइन सन्धिमा हस्ताक्षर गरेका हस्ताक्षरकर्ताहरूद्वारा आयोजना गरिएको थियो । यो सम्मेलन ‘एन्टीपर्सनल’ खानीहरू बिनाको विश्वको परिकल्पनाका लागि यसको उद्देश्यमा प्रगतिको आँकलन गर्न आयोजित गरिएको थियो ।

युक्रेनलाई बारुदी सुरङ उपलब्ध गराउने वासिङ्टनको निर्णयको विरोधमा मङ्गलबार विश्वभरका बारूदी सुरङ पीडितहरू बैठकमा भेला भएका थिए।

इजरायली आक्रमणमा सात प्यालेस्टिनीको मृत्यु, कैयौँ घाइते

गाजा । गाजा पट्टीको नुसिरात क्याम्पमा रहेको घरमा भएको इजरायली हवाई आक्रमणमा चार जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै र अन्य कैयौँ व्यक्ति घाइते भएका छन् ।

लडाकु विमानहरूले माघाजी शिविरको उत्तरमा रहेको घरमा गोलाबारी गरेका र उक्त घटनामा कैयौँ घाइते भएका छन् भने देइर अल–बलाहको पश्चिममा आठ प्यालेस्टिनीहरू घाइते भएका छन् ।

गाजा सहर केन्द्रमा रहेको घरलाई लक्षित गरी भएको आक्रमणमा एक प्यालेस्टिनी महिला, उनको छोरा र नातिको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको जनाइएको छ ।

पछिल्लो २४ घण्टामा, इजरायली आक्रमणले गाजा पट्टीमा ४८ जनाको मृत्यु हुनुका साथै ५३ जना घाइते भएका छन् ।

रूसी रक्षामन्त्री उत्तर कोरिया भ्रमणमा

मस्को । रूसी रक्षा मन्त्री आन्द्रेई बेलोसोभ उत्तर कोरियाको भ्रमणका क्रममा शुक्रबार प्योङयाङ पुग्नु भएको रूसी समाचार निकायहरूले जनाएका छन् ।

प्योङयाङको भ्रमणका क्रममा बेलोसोभले उत्तर कोरियाका धेरै ‘सैन्य तथा राजनीतिक नेता’ सँग वार्ता गर्ने कार्यक्रम तय भएको स्रोतले जनाएको छ ।

उनलाई प्योङयाङमा उत्तर कोरियाली समकक्षी नो क्वाङ चोलले स्वागत गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

युक्रेनमा युद्ध सुरु भएदेखि नै रुस र उत्तर कोरियाले आफ्नो सैन्य सम्बन्ध बलियो बनाएका छन् ।

उनीहरूले जूनमा रणनीतिक साझेदारी सन्धिमा हस्ताक्षर गरेका थिए । सन्धिले आक्रमणको अवस्थामा एकअर्कालाई सैन्य सहायता प्रदान गर्न र पश्चिमी प्रतिबन्धहरूको विरोध गर्न सहयोग गर्न बाध्य पार्छ ।

अमेरिका र दक्षिण कोरियाले पनि आणविक हतियारद्वारा सुसज्जित उत्तर कोरियाले रूसलाई युक्रेनसँग लड्न मद्दत गर्न दश हजारभन्दा बढी सैनिकहरू पठाएको आरोप लगाएको छ । विज्ञहरूले नेता किम जोङ उन उन्नत प्रविधि र आफ्नो सेनाका लागि युद्धको अनुभव प्राप्त गर्न उत्सुक भएको जनाएका छन् ।

आणविक हतियार कार्यक्रम र युक्रेन युद्धका लागि उत्तर कोरिया र रूस दुवै संयुक्त राष्ट्रसङ्घद्वारा लगाएकोे प्रतिबन्धको सामना गरिरहेका छन् ।

एसिया र विश्वकप यो हातले उचाल्नु छ: कप्तान पूजा महतो(अन्तरवार्ता)

महोत्तरी । यू-१९ नेपाली महिला क्रिकेट टोलीकी कप्तान पूजा महतोले आसन्न एसियाकप र विश्वकप जित्नु अहिलेको अर्जुनदृष्टि भएको बताएकी छन्। यूएईमा सम्पन्न दुईवटै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको छनोट प्रतिस्पर्धा जितेर गृह जिल्ला महोत्तरी आएकी १८ वर्षीया पूजाले सङ्क्षिप्त कुराकानीमा मुलुक फर्कँदा सबै क्षेत्रबाट पाएको सम्मानले हर्षविभोर बनाउनुका साथै थप दायित्व बोध बढाएको बताइन्।

पछिल्लो समय खेलप्रति आम रुपमा जागेको चासो र विश्वासले नेपाली खेल जगत्ले अबका दिनमा झनझन सफलताको सिँढी चढ्ने उनको विश्वास छ। प्रस्तुत छ, कप्तान महतोको महोत्तरीको गौशाला–९ डुमरवानास्थित घरमै क्रिकेटमा उनको लगाव र भविष्यका बारेमा गरिएको सङ्क्षिप्त कुराकानीको सम्पादित अंश :

यूएईबाट छनोट प्रतिस्पर्धा जितेर फर्केदेखि तपाईंलाई सम्मान र पुरस्कार लिन भ्याइनभ्याइ परेको छ। यसमा कस्तो महसुस गर्नुभएको छ ?

यूएईबाट छनोट प्रतिस्पर्धा जित्न सक्दा म निकै हर्षविभोर छु। छनोट प्रतिस्पर्धाको जितले नै यहाँ कति उत्साह दिएको रहेछ भन्ने त मप्रति दर्साइएको स्नेह र सम्मानले नै देखाएको छ। यहाँ आइपुग्नासाथ मधेस प्रदेश सरकार, स्थानीय तहहरू, विभिन्न राजनीतिक दल, सामाजिक सङ्घसंस्था , खेलकुद जगत र आम सर्वसाधारणबाट पाएको स्नेह र सम्मानले अबका दिनमा अझ राम्ररी अघि बढ्न हौसला र ऊर्जा दिएको छ। खेलप्रति र खासमा क्रिकेटप्रति बढेको यो चासोले अबका दिन खेलका लागि राम्रो समय आउला भन्ने आशा जागेको छ।

तपाईं ग्रामीण परिवेशको सामान्य किसान परिवारमा जन्मनु भएकी महिला। क्रिकेटमा कसरी जोडिनु भयो ? 

हो, तपाईंले भन्नु भएजस्तै म ग्रामीण परिवेशको सामान्य किसान परिवारमै जन्मिएकी हुँ। यहाँको खेतीपातीले घर धान्न धौधौ परेपछि मेरा पिता रञ्जित महतो परिवारसहित कामको खोजीमा भारतको दिल्ली पुग्नुभयो। हामी तीन दिदीबहिनी र एउटा भाइ त्यहीं (दिल्ली) बस्न थाल्यौँ। मेरी कान्छी बहिनी आरती र भाइ कृष्ण दिल्लीकै एकेडेमीमा क्रिकेट सिक्थे। म उनीहरूलाई पुर्‍याउन जान्थे। त्यहींँ प्रशिक्षकले खै ममा के देख्नु भएर हो, मलाई पनि खेलाउन थाल्नुभयो। मैले चार वर्षदेखि  खेलको अभ्यास थालेकी हुँ।

केही समयपछि भाइ एउटा खेलमा सहभागी हुन नेपाल आए। उनको नेपाल क्रिकेट सङ्घ (क्यान) का उपाध्यक्ष रोशनकुमार सिंहसँग भेट भएछ। भेटमा भाइले ‘मेरी दिदी पूजा पनि राम्रो खेल्नुहुन्छ, उहाँलाई टिममा राख्नु न’ भनेछन्। भाइ दिल्ली फर्केर मेरो खेलका तस्बिर र भिडियोहरू उपाध्यक्ष सिंहलाई पठाउँदा रहेछन्। मेरो खेल भिडियो र तस्बिरमा हेर्नु भएका उपाध्यक्ष सिंहले मलाई नेपाल झिकाएर खेलाउने निर्णय लिएर मेरा पिताजीसँग समन्वय गर्नु भएअनुसार म काठमाडौ पुगेँ। उपाध्यक्ष सिंहको पितृवत् कुशल अभिभावकत्व पाएँ। उहाँकै निर्देशन पालना गर्दै अघि बढ्दै जाँदा  जिल्ला, प्रदेश हुँदै अहिले देशकै यू–१९ नेपाली महिला क्रिकेट टोलीको कप्तान बन्न सकेको छु। जे उपलब्धि देखिएको छ, पाइएको छ, त्यो क्यान र हाम्रो टोलीको साझा मेहनतको प्रतिफल हो।

अब के योजनामा हुनुहुन्छ ? 

ल, यो पनि भन्नु पर्छ र ! अब केही सातामै (नोभेम्बर मध्यमा)मलेसियामा एसियाकप प्रतियोगिता हुँदैछ। लगत्तै एक महिनापछि डिसेम्बरमा विश्वकप हुँदैछ। अब अहिलेको सपना भन्नुस्, ध्येय वा लक्ष्य भन्नोस्, यी दुवै प्रतियोगितामा सफलता हात पार्नु हो। मलेसियामा आयोजना हुने यी दुवै प्रतियोगिता जित्नु अहिले हाम्रो टोलीको एकमात्र अर्जुनदृष्टि हो।

अन्त्यमा केही भन्नुहुन्छ कि ? 

हजुर, मधेसमा प्रदेश सरकारले केही वर्षअघिदेखि ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान सञ्चालन गरेको छ। अब ‘बेटी खेलाउ’ पनि भन्न पर्‍यो भन्ने मेरो आग्रह छ। खेलले किशोर र युवा उमेरका हाम्रा दिदीबहिनीको शारीरिक सुगठन मजबुत हुनुको साथै घरबाहिरका गतिविधिमा सक्रियता बढाउँछ। अनुशासन सिकाउँछ। मनभित्रको दुर्वलता हटाउँछ। यसपालिको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान पनि अहिले जारी छ। खेलमा बढीभन्दा बढी महिला सहभागिताले लैङ्गिक विभेदविरुद्धको अभियानलाई पनि सघाउँछ भन्ने मेरो विश्वास छ। 

टोड्केमा मुला बिक्री हुन छाडेपछि लगाउनेको कमी

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-५ की गौमाया पाईजाले २० वर्ष पहिलेसम्म १० रोपनी भन्दा बढी पाखोबारीमा मुला खेती गर्थिन् । अहिले दुई रोपनीमा लगाएको मुला पनि बिक्री नभएर उनी चिन्तित छिन् ।

‘पहिले टोड्केको मुला किन्न बेनी, पुलाचौर, घतान, झिँ, पाखापानी, कुहुँ, बरंजादेखि मानिसहरु आउँथे,’ उनले भनिन्, “मुला बिक्री हुन छाडेपछि अहिले खेती पनि घटाउँदै लगेको छु ।’

रघुगङ्गा, मङ्गला र बेनी नगरपालिकाको सिमानामा पर्ने टोड्के मुला खेतीका लागि धौलागिरि क्षेत्रमै प्रसिद्ध थियो । कुनै समय प्रशस्त मुलाखेती हुने टोड्केको पाखोबारी पछिल्लो समय बाझिँदै गएको छ ।

टोड्केबासीले धान, गहुँ, मकै, फापर, कोदोसँग मुला सटही गर्ने चलन थियो । बसाईसराई, जनशक्तिको कमी र बजारको समस्याका कारण किसानहरूले टोड्केमा मुला खेती घटेको स्थानीय तिजमाया पाइजाले बताइन् ।

‘घरमा उपभोग गर्ने, आफन्तलाई कोसेली पठाउने र टोड्के घुम्न आउने पर्यटकलाई बेच्नका लागि थोरै जमिनमा मात्र मुला खेती गरेका छौ,’ उनले भनिन्, ‘चिसो हावापानीमा जैविक मलको प्रयोग हुने भएकाले यहाँको मुलाको छुट्टै महत्त्व छ ।’

साउन महिनामा रोपिने मुला कात्तिक मङ्सिरमा उखेल्ने गरिन्छ । एउटै मुलाको तौल छ किलोग्राम भएको किसानहरूले बताउँछन् । स्थानीय रातो र सेतो जातको मुला खेती हुने गर्छ ।

ताजा मुलाको अचार, सिन्की (गुन्द्रुक) र धजरा बनाएर तरकारीका रूपमा प्रयोग गर्न सकिन्छ । पछिल्लो समय हिउँद याममा टोड्के घुम्न आउने आन्तरिक पर्यटकहरूले ताजा मुला र धरजा किनेर लैजाने गरेका छन् । आकार अनुसार प्रतिगोटा मुला रु. २५ देखि ५० का दरले बिक्री हुने गरेको किसानको भनाइ छ ।

टोड्केको भ्रमणमा पुगेकी पर्वतको जलजला गाउँपालिका-२ बगरफाँटकी देवी जिसीले यहाँको मुला खानका लागि स्वादिष्ट हुने भएकाले कोसेलीका रूपमा किनेर ल्याएको बताइन् ।

हिमालको सम्मुख, चिसो हावापानी, स्थानीय उत्पादन र पर्यटकको रोजाइका कारण स्थानीय जातको मुला टोड्केको पहिचान हो । टोड्केमा हुँदै आएको स्थानीय जातको मुलाको संरक्षण, बजारीकरणका साथै सिन्की र अचार बनाउने सिप विकासको तयारी गरेको रघुगङ्गा गाउँपालिका-५ का वडा अध्यक्ष मनबहादुर शेरमञ्जाले बताइन् ।

कालीगण्डकी डाइभर्सन योजना अगाडि बढ्छः अर्थमन्त्री पौडेल

भैरहवा । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कालीगण्डकी–तिनाउ डाइभर्सन योजना अगाडि बढाउने बताएका छन् ।

लुम्बिनी प्रदेशको विकासका लागि महत्वपूर्ण रहेको कालीगण्डकी–तिनाउ डाइभर्सन अगाडि बढाउन अदालतले बाटो खोलिदिएकाले अब छिट्टै काम अघि बढ्ने उनको भनाइ थियो ।

भैरहवामा रहेको लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान एवं रिसर्च सेन्टर श्री रण अम्बिका आँखा अस्पतालको ४२औँ अस्पताल स्थापना दिवस समारोह तथा आधुनिक शल्यक्रिया भवन शिलान्यास कार्यक्रममा अर्थमन्त्री पौडेलले यस क्षेत्रकै लागि महत्वपूर्ण रहेको योजनाको डिपिआर निर्माणकै क्रममा केही पक्षले मुद्दा हालेकोमा अहिले अदालतले उक्त योजना अगाडि बढाउने पक्षमा फैसला गरेको बताए ।

‘राम्दीबाट सुरङ खनेर कालीगण्डकीको पानी दोभानमा तिनाउ नदीमा खसाल्ने र रूपन्देही, नवलपरासी र कपिलवस्तुमा डेढ लाख हेक्टरभन्दा बढी जग्गामा सिँचाइ सुविधा विस्तार गर्ने योजना हो’, उनले भने, ‘यससँगै करिब डेढ सय मेगावाट बिजुली उत्पादन गर्ने, पानी प्रशोधन गरि पिउने योग्य बनाउने र पर्यटन प्रवर्द्धनमा समेत सदुपयोग हुनेछ ।’

अर्थमन्त्री पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नियमित सञ्चालनका विषयमा नकारात्मक कुरा नफैलाउन पनि आग्रह गरेका छन्। उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल रूपन्देहीका लागि मात्र नभइ नेपालकै लागि महत्वपूर्ण रहेको बताउँदै यसको सञ्चालन कुनै पनि हालतमा नरोकिने जिकिर गरे।

‘कसैलाई यो विमानस्थलको बारेमा बोल्न सङ्कोच लाग्छ भने यसको विरोध पनि नगरे हुन्छ’, उनले भने ‘हुन्न, बन्दैन, चल्दैन किन भन्ने ?  सक्नुहुन्छ अलिकति योगदान गर्नुहोस्, यसबारे सकारात्मक विषय लेखिदिनुहोस् ।’

नेपाल नेत्रज्योति सङ्घद्वारा विसं २०४० मङ्सिर १३ गते स्थापना गरिएको नेपाल नेत्रज्योति सङ्घ, श्री लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आँखा अस्पतालले विगत ४२ वर्षदेखि अनवरत रुपमा आँखा रोगका बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

हाल यस अस्पतालले दैनिक औसतमा एक हजार दुई सय बहिरङ्ग सेवा तथा एक सय ५० आँखा रोगसँग सम्बन्धित विभिन्न शल्यक्रिया गर्दै आइरहेको नेपाल नेत्रज्योति सङ्घ रूपन्देहीका अध्यक्ष कमलराज जोशीले बताए। आँखाको सुन्दरता बनाउने शल्यक्रिया, आँखाको नानी प्रत्यारोपण, आँखाको पर्दा, न्यून दृष्टि आँखाको व्यायाम, बालशङ्खा उपचार सेवालगायतका विशिष्टकृत सेवा पनि अस्पतालले उपलब्ध गराउँदै आएको छ ।

अस्पतालको शल्यक्रिया भवनको श्री नव सिर्जनशील कन्स्ट्रक्सन कम्पनी प्रालीसँग पहिलो चरणको कार्य दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी २२ करोड २९ लाख, १० हजार ९७ मा कार्य सम्झौता गरिएको छ । भवनमा बिरामीको सुविधाका लागि करिब ९० शय्या क्षमताको जनरल वार्ड, डिलक्स कोठासमेत ३० कोठासहितको अन्तरङ्ग विभाग हुनेछ ।

भवनमा उच्चस्तरीय सुविधायुक्त करिब १२ कोठा रहेको शल्यक्रिया कक्ष हुनेछ ।

परराष्ट्रमन्त्री राणा छन्दुस्थित महावाणिज्यदूतावासमा

काठमाडौं ।  परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले आज चीनको सिचुवान प्रान्तस्थित छन्दुमा रहेको नेपाली महावाणिज्यदूतावासको निरीक्षण गरेकी छन्  ।

त्यस अवसरमा उनलाई महावाणिज्यदूत सुरेश राउतसहितका कर्मचारीहरूले स्वागत गरेका थिए । मन्त्री डा.राणालाई महावाणिज्यदूत राउतले महावाणिज्यदूतावासका कामकारबाहीका बारेमा जानकारी गराएको परराष्ट्र मन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्री डा.राणाले आगामी वर्ष नेपाल र चीनबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसर पारेर नेपाल र चीन सरकारद्वारा संयुक्त रूपमा घोषणा गरिएको नेपाल भ्रमण वर्ष २०२५ को स्मरण गराउँदै यस पृष्ठभूमिमा महावाणिज्यदूतावासलाई नेपालको पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्न सुझाव दिइन् ।

यस कार्यक्रमबाट दुवै देशको पर्यटन प्रवर्द्धन हुनुका साथै जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास उनले व्यक्त गरिन् । मन्त्री डा.राणाले नेपाली चिया, कफी, औषधिजन्य तथा सुगन्धित जडीबुटीजस्ता नेपालका विशिष्ट उत्पादनहरूलाई चिनियाँ बजारमा प्रवर्द्धन गर्ने कार्यमा लाग्न निर्देशन दिइन् ।

त्यस अवसरमा मन्त्री डा राणाले नेपाल चीन सम्बन्धलाई आर्थिक, सांस्कृतिक तथा जनस्तरमा थप सुदृढ बनाउनुपर्नेमा जोड दिएकी थिइन् । महावाणिज्यदूतावासमा आयोजित अन्तरक्रियामा चीनका लागि नेपाली राजदूत डा.कृष्णप्रसाद ओलीलगायत पनि सहभागी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सरकारको नेतृत्वले विश्वविद्यालयमाथि हस्तक्षेप बढाएको प्रचण्डको आरोप

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्वले विश्वविद्यालयमाथि हस्तक्षेप गरी शैक्षिक संस्थाहरूको नियमित प्रक्रिया रोक्ने र सुशासनका प्रयासहरूमाथि हमला गर्ने काम गरिरहेको आरोप लगाएका छन् ।

शुक्रबार काठमाडौँमा निजी तथा आवासीय विद्यालयहरूको छाता संगठन (प्याब्सन)को तेस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले देशको शिक्षा क्षेत्रलाई तहसनहस पार्ने सरकराको गतिविधि जनताहरुको निम्ति सैह्य नहुने चेतावनी दिए । उनले भ्रष्टाचार र बेथितिका विरूद्ध नयाँ शिराबाट संघर्षको झण्डा उठाउनेसमेत बताए ।

उनले भने, ‘त्रिभुवन विश्वविद्यालय लगायत देशका शैक्षिक प्रतिष्ठानमा प्रतिस्पर्धाका आधारमा पदाधिकारीहरू नियुक्त भए । तर, बिडम्वना ! अप्राकृतिक र अस्वाभाविक रूपमा नयाँ गठबन्धन बनेपश्चात् ती प्रयासहरूमाथि आक्रमण थालिएको छ । सरकारको नेतृत्वले विश्वविद्यालयमाथि हस्तक्षेप बढाएको छ । मेरिटोक्रेसीबाट आएको शैक्षिक नेतृत्वको मानमर्दन गर्ने, शैक्षिक संस्थाहरूको नियमित प्रक्रिया रोक्ने, सुशासनका प्रयासहरूमाथि हमला गर्ने लगायतका अवान्छित क्रियाकलाप भइरहेका छन्। यी सबै घटनाक्रमलाई मैले गम्भीरतापूर्वक हेरेको छु । देशको शिक्षा क्षेत्रलाई तहसनहस पार्ने यो गतिविधि सचेत नेपालीहरूका निम्ति सैह्य हुने छैन ।’

उनले शिक्षा ऐन कहिले आउँछ भन्ने सबैको प्रश्न रहेको भन्दै संसदको आगामी अधिवेशनबाट यसलाई पारित गर्ने वातावरणका निम्ति प्रमुख प्रतिपक्षी दलको अध्यक्षको हैसियतले सहजीकरण गर्ने विश्वास समेत दिलाए ।

सुस्मा कोइराला अस्पताललाई जलन उपचार केन्द्रमा विकास गरिने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सुस्मा कोइराला मेमोरियल अस्पताललाई जलन अस्पतालको रुपमा विकास गरिन लागेको जानकारी दिएका छन् ।

काठमाडौँको शङ्खरापुर नगरपालिकास्थित साँखुमा रहेको अस्पतालका संस्थापक देशीय निर्देयक हाइन स्टालको बिदाइ तथा नयाँ देशीय निर्देशक अल्बर्ट बेन्जिनको स्वागतमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री पौडेलले सरकारले पछिल्लो समय जलन उपचारलाई प्राथमिकता दिएर काम गरिरहेको बताए ।

उनले भने, ‘सुस्मा कोइराला मेमोरियल अस्पताल जलन उपचारका लागि एक विशिष्टिकृत अस्पताल हो, सरकारले भर्खरै देशभरका आठ अस्पताललाई जलन उपचार गर्न सकिने अस्पतालका रुपमा घोषणा गरेको छ, यसमा सुस्मा कोइराला अस्पताललाई समेत थप गरेर अगाडि बढ्न सकिन्छ ।’

स्वास्थ्यमन्त्री पौडेलले जर्मनको सहयोगमा सुस्मा कोइराला मेमोरियल ट्रष्टद्धारा सञ्चालित उक्त अस्पतालले अन्य अस्पतालमा कार्यरत चिकित्सक तथा नर्सलाई जलन उपचारसम्बन्धी तालिम प्रदान गर्न सक्ने बताए । जलन उपचारको नेतृत्व सुस्मा कोइराला अस्पतालले गर्न सक्ने उनको भनाइ थियो ।

कार्यक्रममा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले सुरुको समयमा दुर्गम क्षेत्रमा अस्पताल खोल्नका लागि निकै समस्या झेल्नुपरेको बताइन् । सुरुको बेलामा देशभर नै जलनको उपचार नहुँदा उक्त अस्पताल स्थापना गरिएको उनको भनाइ थियो ।

कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा चन्द्र भण्डारीले आफ्नो जीवनको महत्वपूर्ण २७ वर्ष नेपालका लागि दिएकोमा स्टाललाई धन्यवाद दिए ।

उनले देशैभर जलनको उपचार गर्ने अस्पताल आवश्यक रहेको उल्लेख गरे । शङ्खरापुर नगरपालिकाका प्रमुख रमेश नापितले सबैभन्दा पुरानो जलन हस्पिटलको रूपमा सुष्मा कोइराला मेमोरियल अस्पताल रहेको उल्लेख गर्दै जलनका बिरामी उपचारको लागि बाहिर जानुपर्ने अवस्था नरहेको उल्लेख गरे ।

अस्पतालका मेडिकल डाइरेक्टर सन्तोषविक्रम भण्डारीले अस्पताल निर्माणका क्रममा भोगेको समस्या र चुनौतीको उल्लेख गर्दै स्थानीय तथा कर्मचारीले गरेको साथ र सहयोगप्रति धन्यावाद दिए ।

जलनको उपचारका लागि नेपालकै पहिलो अस्पतालका रुपमा विस २०५४ सालमा सुस्मा कोइराला मेमोरियल अस्पतालको स्थापना गरिएको थियो । अस्पतालले स्थापना कालदेखि हालसम्म आइपुग्दा चार लाख ८३ हजार २२ जनाको उपचार गर्नुका साथै ३२ हजार ८६४ जनाको शल्यक्र्रिया सम्पन्न गरेको छ ।

जर्मनी सहयोगमा सञ्चालित उक्त अस्पतालले हालसम्म १५ हजार ३७५ जनाको निःशुल्क उपचारसमेत गरिसकेको छ । आठ जना डाक्टर तथा कर्मचारीबाट सुरु भएको उक्त अस्पतालमा हाल १०० कर्मचारी कार्यरत रहेको अस्पतालका प्रशासन प्रमुख प्रफुल्ल शर्माले जानकारी दिए ।

हेटौंडामा अटोको ठक्करबाट पैदलयात्रीको मृत्यु

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६, चौघडाबजारस्थित कान्तिलोकपथमा शुक्रबार बिहान अटोले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय शान्तिटोल बस्ने ६८ वर्षीय जनक राई रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता श्यामु अर्यालले जानकारी दिए । उनका अनुसार बिहान सवा ६ बजेको समयमा हेटौंडा बजारबाट चुच्चेखोलातर्फ जाँदै गरेको ना २ ह २६९२ नं.को अटोले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।

उनलाई तत्काल उद्धार गरी हेटौंडा अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रवक्ता अर्यालले बताए ।

अटो र अटो चालक सोही ठाउँ बस्ने ३१ वर्षीय शङ्कर सार्कीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रवक्ता अर्यालले बताए । 

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा कुनै पनि व्यवस्थामा भएन परिवर्तन

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेको छ । राष्ट्र बैंकले शुक्रबार त्रैमासिक समीक्षा सार्वजनिक गरेको हो ।

समीक्षामा मौद्रिक नीतिका कुनै पनि उपकरण र कार्यदिशा हेरफेर गरिएको छैन । बैंकले मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५ प्रतिशत, ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३.०० प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत राखेको छ भने अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातलाई यथावत राखिएको छ ।

राष्ट्र बैंकले विद्यमान अवस्था एवम् परिदृश्य, विदेशी विनिमय सञ्चितिको स्तर तथा मुद्रास्फीतिको विश्लेषणका आधारमा आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको सजगतापूर्ण लचिलो कार्यदिशालाई निरन्तरता दिएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिले मुद्रास्फीतिलाई ५.० प्रतिशतको हाराहारीमा राख्ने गरी मौद्रिक व्यवस्थापन गर्ने नीति लिइएकोमा पहिलो ३ महिनाको औसत उपभोक्ता मुद्रास्फीति ४.२६ प्रतिशत रहेको छ ।

२०८१ असोज महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धि ७.१८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धि ३.४९ प्रतिशत रही वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८२ प्रतिशत रहेको छ । यसैगरी कम्तिमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने मौद्रिक नीतिको लक्ष्य रहेकोमा २०८१ असोज मसान्तमा १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी विनिमय सञ्चिति रहेको छ ।

Posted in अर्थ समाचार, प्रमुख खबर

कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको ताँती

ताप्लेजुङ । कञ्चनजङ्घा क्षेत्रमा पर्यटक आगमनमा वृद्धि भएको छ। हाल यो क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको ताँती लागेको छ।

कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका सूचना अधिकारी तुभान लिम्बूका अनुसार कञ्चनजङ्घा आधार शिविरको भ्रमण गर्ने विदेशी पर्यटक बढेका हुन्।

चालु आर्थिक वर्षको चार महिनामा एक हजार ८५ विदेशी पर्यटकले कञ्चनजङ्घा हिमाल अवलोकन गरेका छन्।

२०५७ साल यता यहाँ यति धेरै पर्यटक आएका थिएनन्। आव २०५६/५७ मा सात सय ९९, आव २०५७/५८ मा आठ सय ७३ जना विदेशी पर्यटक आएका थिए।

विशेषगरी फ्रान्स, अस्ट्रेलिया, जर्मनी र अमेरिकाबाट पर्यटक आउने गरेका छन्। चाडपर्वका बेला आन्तरिक पर्यटकले कञ्चनजङ्घा क्षेत्रका होटल र लज भरिएका स्थानीय होटल व्यवसायीले बताएका छन्।

यो वर्ष होटलका आम्दानीमा ३० प्रतिशतभन्दा बढी वृद्धि भएको होटल व्यवसायी फुपुछोहाङ शेर्पा बताउँछन्।

कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले स्थानीय समुदाय र व्यवसायीसँग मिलेर पर्यटन प्रवर्द्धनमा काम गरिरहेको छ।

स्थानीय व्यवसायी पनि पर्यटकीय पूर्वाधार सुधार गर्न सक्रिय रहेका उनी बताउँछन्। यो क्षेत्रको पर्यटनलाई दिगो बनाउने उद्देश्यका साथ काम जारी छ।

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौंमा रविको बयान लिन सुरु

काठमाडौँ । पोखराबाट बिहीबार बेलुका काठमाडौँ ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग आजदेखि बयान सुरु गरिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा रविको बयान सुरु भएको हो । स्वर्णलक्ष्मी सहकारी ठगीमा अनुसन्धानका लागि काठमाडौँ ल्याइएका लामिछानेसँग बयान लिन थालिएको हो ।

पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा गत कात्तिक २ देखि कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका रविलाई काठमाडौँस्थित स्वर्णलक्ष्मी सहकारी ठगीमा पनि अनुसन्धान गर्नुपर्ने भएकाले यहाँ ल्याइएको हो । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको थियो ।

उनका साझेदार छविलाल जोशीलाई भने यसअघि नै बयान लिएर पोखरा फिर्ता पठाइसकेको छ । स्वर्णलक्ष्मीबाट रवि र जीबी राईले ४६/४६ लाख रुपैयाँ लिएको भेटिएको थियो ।

सुरुमा उनीमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान थालिएको थियो भने पछि कास्की प्रहरीले सम्पत्ति शुद्धिकरणको कसुरमा अनुसन्धान थालेको थियो । लामिछानेमाथि बुटवलको सुप्रिम सहकारी, चितवनको साहारा सहकारी लगायतमा भएको रकम हिनामिनामा पनि अनुसन्धान भइरहेको छ ।

प्रतिबन्धबीच रुसलाई ‘प्रविधि’ बेच्दै चिनियाँ कम्पनीहरू

बीबीसी । चिनियाँ कम्पनीहरूले सैन्य हतियार बनाउन आवश्यक पर्ने संवेदनशील प्रविधिहरू रुसलाई बिक्री गरेको खुलेको छ । प्रतिबन्धहरुलाई छल्दै चिनियाँ कम्पनीहरुले प्रविधि बिक्री गरेको बीबीसी विश्व सेवाले उल्लेख गरेको छ ।

तीमध्ये एउटा ’सिनो इलेक्ट्रोनिक्स’ले सन् २०२२ को सेप्टेम्बरमा अमेरिकाले आफूलाई प्रतिबन्धको सूचीमा राखेयता मात्रै झन्डै २० करोड डलरबराबरको सामग्री रुस पठाएको छ ।

‘सिनो नेटवर्क’ले पठाएका ‘माइक्रोचिप्स’,’क्यामेरा’ र ‘न्याभिगेशन उपकरण’ जस्ता प्राविधिक सामग्रीहरू युक्रेनको युद्धमा प्रयोग हुने रुसी हतियारहरूका निम्ति महत्त्वपूर्ण छन् । बीबीसीको निष्कर्षले आफ्ना हतियारका निम्ति आवश्यक पर्ने सामग्रीहरू सुनिश्चित गर्ने रुसको क्षमतालाई सीमित गर्ने योजनासहित लगाइएको अमेरिकी प्रतिबन्धको प्रभावकारिताबारे प्रश्न उठाएको छ ।

यस्ता प्रतिबन्धहरूको उद्देश्य रुससँग काम गरिरहेका कम्पनीहरूलाई निरुत्साहित गर्नु र गरिराखेकालाई दण्डित गर्नु हो। त्यसका निम्ति यसले उनीहरूलाई अमेरिकी वित्त प्रणालीबाट निकालेर विश्वस्तर र चीनमा व्यापार गर्न गम्भीर कठिनाइ उत्पन्न गराउने उद्देश्य राख्दछ ।

‘इम्पोर्ट–जीनिअस’ नामक व्यापारको तथ्याङ्क राख्ने एक अमेरिकी संस्थामार्फत् प्राप्त रुसको भन्सार विवरणहरूबारे बीबीसीले गरेको विश्लेषणले सन् २०२२ को अक्टोबरदेखि २०२४ को अप्रिलका बीचमा ‘सिनो नेटवर्क’ले संवेदनशील वस्तुका करिब २५,००० खेप रुस पठाएको देखाएको छ ।

उच्चस्तरका क्षेप्यास्त्र तथा ड्रोनसहितका विभिन्न किसिमका हतियारहरूमा प्रयोग गरिने ‘माइक्रोचिप्स’हरूले ती खेपका ७६ प्रतिशत हिस्सा ओगटेका छन् । घरेलु उत्पादनको सीमितताका कारण रुस ‘माइक्रोचिप्स’ का निम्ति आयातमा निर्भर छ।

‘माइक्रोचिप्स’का ठूला उत्पादकहरू ताइवान, दक्षिण कोरिया, चीन र अमेरिकामा छन्। यसअघि ती कम्पनीहरूले आफूद्वारा निर्मित ‘चिप्स’हरू धेरै पटक बिक्री र पुनःबिक्री भएका कारण अन्ततः कहाँ पुग्यो भनेर अनुगमन गर्न कठिन हुने बताएका थिए।

तर यी दुवै कम्पनीले आफ्ना प्रविधिहरू रुसी अस्त्रहरू बनाउने ठाउँसम्म नपुगून् भन्ने सुनिश्चित गर्न पर्याप्त कार्य नगरेको भन्दै अमेरिकी सांसदहरूको आलोचनाको सामना गरेका छन्।

बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले बालाचतुर्दशीका अवसरमा पशुपति क्षेत्रमा दिवङ्गत पितृका नाममा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने जनाएको छ ।

कोषले बालाचतुर्दशी पर्वका अवसरमा जानकारी दिन आज आयोजना गरेको पत्रकार सम्मेलनमा कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले आफैँ बसेर बत्ती बाल्नेका लागि कुनै शुल्क नलाग्ने बताए ।

बत्ती बालेर हिँड्न चाहनेका लागि कोषले नै दुई हजार एक सयको रसिद काटेर बत्ती कुरिदिने व्यवस्था गर्न लागेको उनले बताए । रातभर बसेर बत्ती बाल्नेलाई शुल्क लिन नपाइने र लिएमा कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने कोषाध्यक्ष सुवेदीको भनाइ छ ।

बालाचतुर्दशीका अवसरमा महँगा गहना लगाएर नआउन, सिसा एवं काँचका भाँडा नल्याउन र ढुङ्गा छापिएका स्थानमा सद्बीज नछर्न कोषाध्यक्ष सुवेदीले भक्तजनलाई आग्रह गरे ।

कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बालाचतुर्दशीका अवसरमा बत्ती कुरिदिने सेवाका लागि कोषका कर्मचारीबाहेक अरुले अनधिकृत रुपमा पैसा उठाए सुरक्षामा खटिएका प्रहरीलाई जानकारी दिन आग्रह गरे । बत्तीको सङ्कल्प गरेर फर्कनेलाई मात्र दुई हजार एक सय शुल्क लिने उल्लेख गर्दै उनले सो शुल्क कोषका कर्मचारीले लिने बताए ।

विगत वर्षमा कैलाशलगायत स्थानमा पसल राख्न दिँदा दिवङ्गत पितृका नाममा मार्ग शीर्ष कृष्ण त्रयोदशीका दिन राति बत्ती बाली चतुर्दशीका दिन बिहान सत्बीज छर्न आउने भक्तजनलाई असहज भएपछि यस वर्ष पसल राख्न निषेध गरिएको कोषले जनाएको छ ।

यस अवसरमा वनकाली क्षेत्रमा भने पसल राख्न दिइने छ । पसल राख्न ठाउँअनुसार केही शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ । पसल राख्ने शुल्क कोषअन्तर्गतको अमालकोट कचहरीले लिने छ ।

बालाचतुर्दशीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले त्रिपाल उपलब्ध गराएको छ । बालाचतुर्दशी पर्वका अवसरमा पशुपति क्षेत्रमा मासु, मदिरालगायत पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको अध्यक्षतामा हालै बसेको बैठकले यस्ता पदार्थ बिक्री वितरण गरे कानुनी कारबाही गर्ने निर्णय गरेको छ ।

दिवङ्गत पितृका नाममा बत्ती बाल्न आउनेलाई शुक्रबार दिउँसो २ बजेदेखि कैलाश डाँडामा प्रवेश गराइने छ । शुक्रबार पशुपति क्षेत्रमा आउने भक्तजनलाई आ–आफ्ना बालबालिकालाई नलिई आउन पनि कोषले आह्वान गरेको छ ।

पशुपतिमा बालाचतुर्दशीका अवसरमा लाग्ने मेलाको सबै तयारी पूरा भएको सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिए । पशुपतिनाथको मेलाका लागि काठमाडौँ महानगरपालिकाले निःशुल्क शौचालयको व्यववस्था गर्ने भएको छ ।

शौचालयका लागि काठमाडौँ महानगरपालिकाले सहयोग गर्ने जनाइएको छ । मेलामा सहभागी हुनेलाई स्नान गर्न पुग्नेगरी पानीको व्यवस्था गराउन काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई अनुरोध गरिएको छ ।

मेलाका लागि सुरक्षा व्यवस्था, सवारीसाधन व्यवस्थापन, सरसफाइको व्यवस्थाका लागि पनि तयारी पूरा भएको कोषका प्रवक्ता अधिकारीले जानकारी दिए ।

मेलामा सूचना प्रवाह, स्वास्थ्य सेवा, पानी व्यवस्थापन, बिजुली बत्ती व्यवस्थापन, मेला क्षेत्रमा राखिने पसलको व्यवस्थापन, स्वयंसेवी परिचालनलगायत तयारी पनि पूरा भएको कोषले जनाएको छ । मेला शनिबार मध्यान्ह १२ बजेसम्म सञ्चालन हुनेछ ।

मेला सकिए लगत्तै पशुपतिनाथ मूल मन्दिर क्षेत्रको फोहर व्यवस्थापन सुरु गरिने छ । अन्य स्थानको फोहर व्यवस्थापनका लागि भने केही समय लाग्ने कोषले जनाएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चितता गर्न व्यवसायीको माग

गण्डकी । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई उडान सुनिश्चित हुनुपर्नेमा जोड दिइएको छ ।

पोखरा उद्योग वाणिज्य सङ्घद्वारा बिहीबार पोखरामा आयोजित ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको सुनिश्चितता’का निम्ती भावी रणनीति तय गर्न आयोजित छलफलमा वक्ताहरूले विभिन्न कुनै पनि बहानामा अन्तर्राष्ट्रिय उडान गराउने कुरालाई प्रभावित पार्न नहुने बताएका हुन् ।

पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँग सङ्घको भावनात्मक सम्बन्ध गाँसिएको भन्दै यहाँबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताका लागि सङ्घले आवश्यक परे दबाबमूलक कार्यक्रमसमेत गर्ने बताए ।

सङ्घको विसं २०४२ मङ्सिर २ गते भएको कार्यसमितिको बैठकबाट पोखरा विश्वविद्यालय एवं पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका निम्ति दबाब दिने, पैरवी गर्ने निर्णयसँगै त्यसपछि विभिन्न चरणको लामो सङ्घर्षका जगमा विमानस्थल बनेको उनले स्मरण गरे ।

पछिल्लो समय विमानस्थलका प्राविधिक पक्षलाई लिएर भइरहेका विभिन्न टीकाटिप्पणीको उत्तर खोज्न र अन्तर्राष्ट्रिय उडान सुनिश्चित होस् भन्ने हेतुले नै कार्यक्रम आयोजना गरिएको उनले स्पष्ट गरे ।

नेपाल पर्यटन बोर्डका पूर्वसदस्य वासु त्रिपाठीले पोखराबाट अन्तर्राष्ट्रिय उडान भर्न ढिला भए पनि उडान नै हुँदैन भन्ने अफवाहलाई चिर्नुपर्ने बताए । उडान सुनिश्चित गर्नु सरकारको काम भएको र यात्रु खोज्ने काम निजी क्षेत्रले पनि गर्ने उल्लेख गर्दै उनले भने, “विमानस्थल चल्दैन भन्ने सोचलाई तत्काल खारेज गर्नुपर्छ ।”

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पोखराबाट तत्काल अन्तर्राष्ट्रिय उडान हुनुुपर्ने धारणा राख्दै उडान सञ्चालनका लागि सरकार तथा नागरिक उड्डयन प्राधिकरणले तत्काल पहल चाल्नुपर्ने बताए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका उपनिर्देशक जसुधा सुवेदीले विमानस्थल अत्याधुनिक रहेको भन्दै हालसम्म भएका नौवटा अन्तर्राष्ट्रिय उडानले पनि यो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानमा कुनै समस्या छैन भन्ने पुष्टि गरेको बताए ।

नागरिक उड्डयन प्राधिकरण पोखराका प्रबन्धक अनुप जोशीले पोखराको आकास साँघुरो भएको तथा वरपरका डाँडाहरुले केही समस्या पारे पनि अन्तर्राष्ट्रिय उडानका लागि कुनै अवरोध नभएको बताए ।

विमानस्थल बने पनि त्यसलाई सघाउने  खालका पूर्वाधार अझै बन्न नसकेको औँल्याउँदै उनले विमान कम्पनीहरुलाई आकर्षित गर्न यात्रुको सुनिश्चिता पनि हुनुपर्ने बताए ।

प्राधिकरणका उपप्रबन्धक इञ्जिनियर कृष्णप्रसाद पौडेलले जाजरकोट भूकम्पका बेला एक सय ७९ टन सामान बोकेर चिनियाँ जहाज पोखरा झरेको स्मरण गराउँदै प्राविधिक रुपले समस्या रहेकाजस्ता कुरा हल्लामात्र भएको जिकिर गरे । नागरिक उड्डयन प्राधिकरणका पूर्व उपनिर्देशक ओम शर्माले जहाज चल्नका लागि यात्रु हुनुपर्ने तर्क गरे ।

कार्यक्रममा सङ्घका महासचिव शोभा गौतम, पोखरा च्याम्बर अफ कमर्सका अध्यक्ष उमराज बास्तोला, पर्यटन परिषद्का महासचिव जीवन सापकोटालगायतले अन्तराष्ट्रिय उडान नहुुनुुका पछि भू–राजनीति, नागरिक उड्डयन प्राधिकरणकै लापर्वाहीलगायत धारणा आइरहँदा प्राधिकरणले नै ती प्रश्नको जवाफ दिनुपर्ने आवश्यकता औँल्याए ।

बद्री पंगेनी र समीक्षा अधिकारीको ‘कन्या राशि’

काठमाडौं । लोकदोहोरी गायक बद्री पंगेनीको नयाँ गीत ‘कन्या राशि’ सार्वजनिक भएको छ । गीतमा बद्रीलाई गायिका समीक्षा अधिकारीले साथ दिएकी छन् ।

यो गीतको भिडियोमा बद्रीकी छोरी बिहानी पंगेनी र मोडल प्रभातपाल ठकुरी फिचर्ड छन् । भिडियोको निर्देशन बद्री पंगेनी स्वयंले गरेका छन् ।

गृह मन्त्रालयद्वारा १२ जना उपसचिवको सरुवा

काठमाडौं । गृह मन्त्रालयले १२ जना उपसचिवको सरुवा गरेको छ । बिहीबार मन्त्रालयले सहायक प्रमुख जिल्ला अधिकारी, कारागार प्रशासकलगायतको सरुवा गरेको हो ।

चुडामणि शर्मा गौमलाई चितवनको सहायक प्रमुख जिल्ला अधिकारी र गीता घिमिरेलाई ललितपुरमा सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।

८७ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री ओली चीन जाने, मन्त्रिपरिषदद्वारा भ्रमण स्वीकृत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत भएको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत गरेको हो ।

प्रधानमन्त्री ओली आगामी मंसिर १७ गते चीनको औपचारिक भ्रमणमा जाँदैछन् । भ्रमणमा दलमा ३९ जना सरकारी र ४८ जना नीजी क्षेत्रका व्यक्ति सहभागी हुने निश्चित भएको छ ।

प्रधानमन्त्रीको चीन भ्रमणको तयारीका लागि बिहीबार परराष्ट्रमन्त्री आरजु राणा देउवा चीन प्रस्थान गरेकी छन् ।