`

अहिलेको गठबन्धनलाई अगाडि लैजाने सन्दर्भमा कांग्रेस इमान्दार छः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बनिदिनुपर्यो भन्दै हप्तामा एकपटक खबर पठाउने गरेको बताएका छन् ।

बिहीबार काठमाडौंको कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रचण्डले यस्तो प्रस्ताव गरेपनि आफूहरु यो गठबन्धनाई तीन वर्षसम्म लैजाने पक्षमा रहेको बताएका हुन् ।

उनले गठबन्धनलाई अगाडि लैजाने सन्दर्भमा इमान्दार रहेको बताए । उनले भने, ‘अहिले पनि प्रचण्डले हप्तामा एकपटक लौन प्रधानमन्त्री बनिदिनुपर्यो भनेर खबर पठाउनुहुन्छ । यो खबर पठाउने काम पहिला अर्कैले गर्थ्यो । हाम्रो दुश्मन कोही पनि छैन न प्रचण्ड हुनुहुन्थ्यो न केपी ओली नै । आज केपी ओलीसँग सरकारमा छौं । हामी इमान्दारितापूर्वक यो सरकारलाई तीन वर्ष पूरा गर्न चाहन्छौं । हामी सरकार तलमाथि गर्ने पक्षमा छैनौं । हामी परिणाम दिन चाहन्छौं।’

महामन्त्री थापाले कांग्रेस प्रधानमन्त्री बन्न नसक्ने भएकाले हिजो प्रचण्ड र आज ओलीलाई प्रधानमन्त्री बनाएर नहिंडेको बताए ।
उनले प्रचण्डले हतियार उठाउन लगाएर नेपालको दस वर्ष खेर गएको समेत बताए ।

उनले भने, ‘प्रचण्डजीले काम न काजको हतियार उठाउँदा नेपालको दस वर्ष खेर गयो। युवालाई रोजगारी दिनुपर्ने ठाउँमा बन्दुक बोक्न लगाएर, एके ४७ भारतबाट किन्ने कि चीनबाट किन्ने कि अमेरिकाबाट बारुद्ध ल्याउनेतिर लाग्यौं । तर, फेरि एकपटक मौका आएको छ। कतारभन्दा धेरै तलब यहाँ पाउने अवस्था बनाएरमात्रै आउँछन्। त्यो काम कांग्रेसले मात्र गर्न सक्छ।’

उनले कीर्तिपुरलाई सांस्कृतिक सहर बनाएर ललितपुर र भक्तपुरलाई जोड्न सकिने बताए। उनले स्थानीय सरकारले शिक्षा र स्वास्थ्यमा व्यापक काम गर्नुपर्ने आवश्यकता रहेको औंल्याए।

इन्डोनेसियाको उत्तरी सुमात्रामा भूस्खलन, २७ जनाको मृत्यु

जकार्ता । पश्चिमी इन्डोनेसियामा तीव्र वर्षाका कारण भएको बाढीबाट ज्यान गुमाउनेको सङ्ख्या २७ पुगेको उद्धार अधिकारीले बिहीबार बताएका छन् ।

राष्ट्रिय विपद् एजेन्सीको तथ्यांकअनुसार सप्ताहन्तमा उत्तरी सुमात्रा प्रान्तका चार जिल्लामा बाढी र भूस्खलनले कम्तीमा २० जनाको ज्यान गएको छ ।

भारी वर्षापछि मंगलबार उत्तरी सुमात्रा प्रान्तको डेली सर्डाङ जिल्लाको दुर्गम सडकमा पछिल्लो भूस्खलन भएको हो ।

‘आजसम्म सेम्बाहे गाउँमा भूस्खलनको घटनाबाट सात जनाको मृत्यु भएको छ’, स्थानीय खोजी र उद्धार एजेन्सीका प्रवक्ता सरिमन सिटोरसले बताए। भूस्खलन हुँदा त्यस क्षेत्रबाट गुज्रिएको पर्यटक बसबाट धेरैजना मृतकलाई निकालिएको उनले बताए।

खोजी कार्यमा सहयोग गर्न भारी उपकरण तैनाथ गरिएको छ । नजिकैको अस्पतालबाट प्राप्त तथ्यांकलाई उद्धृत गर्दै सरिमनले भूस्खलनमा कम्तीमा १६ जना घाइते भएको जानकारी दिए।

इन्डोनेसियामा वर्षाको मौसममा सामान्यतया नोभेम्बर र अप्रिलको बीचमा भूस्खलन हुने सम्भावना हुन्छ तर हालैका वर्षहरूमा प्रतिकूल मौसमका कारण केही प्रकोपहरू त्यस मौसम बाहिर भएका छन् ।

मे महिनामा पश्चिम सुमात्राको माराफी पर्वतको विस्फोटनबाट ढुङ्गा, बालुवा र ढुङ्गाको मिश्रण बगेर आवासीय क्षेत्रमा खसेपछि कम्तीमा ६७ जनाको मृत्यु भएको थियो ।

गृह मन्त्रालयमा गुनासो सुनुवाइ कक्ष स्थापना

काठमाडौं । गृह मन्त्रालयले मन्त्रालय र मातहतका निकायबाट प्रवाह हुने सेवासँग सम्बन्धित गुनासोको सम्बोधनलाई थप प्रभावकारी बनाउन ‘हेलो गृह मन्त्रालय गुनासो सुनुवाइ कक्ष’ स्थापना गरी सञ्चालनमा ल्याएको छ।

मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति जारी गरी मुलुकको शान्ति सुव्यवस्था, अपराध नियन्त्रण तथा कानुनको प्रभावकारी कार्यान्वयन गरी सुशासन कायम गर्न मन्त्रालय प्रतिवद्ध रहेको जनाउँदै त्यसका लागि मन्त्रालयसित सम्बन्धित नागरिकका गुनासो, जिज्ञासा र सुझावको विभिन्न माध्यमबाट सम्बोधन गर्दै आएको जनाएको हो।

‘मन्त्रालय र मातहतका निकायबाट प्रवाह हुने सेवासँग सम्बन्धित गुनासोको सम्बोधनलाई थप प्रभावकारी बनाउन गुनासो सुनुवाइ कक्ष स्थापना गरी सञ्चालनमा ल्याइएको हो,’ गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले भने, ‘मन्त्रालय मातहतका निकायबाट प्रवाह हुने सेवासँग सम्बन्धित गुनासो सेवाग्राहीले सम्बन्धित निकायकोको हकमा सोही निकायको प्रमुख वा विभागीय प्रमुख समक्ष गुनासो गर्न सकिनेछ।’

उनले गुनासो कक्षबाट मन्त्रालय र अन्तर्रगतका निकायमार्फत प्रवाह हुने सेवा सम्बन्धी गुनासो विभिन्न माध्यम र प्रक्रियाबाट राख्न सकिने जानकारी दिए।


गृहमन्त्री रमेश लेखकले मन्त्रालय र मातहतका निकायबाट प्रवाह हुने सेवा थप सुदृढ बनाउन गुनासो कक्ष स्थापनामा जोड दिएका थिए।

रवि लामिछानेलाई पोखराबाट काठमाडौं ल्याइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखराबाट काठमाडौं ल्याइएको छ । उनलाई बिहीबार साँझ जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतबाट बुद्ध एयरको जहाजमार्फत काठमाडौं ल्याइएको हो ।

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम अपचलनबारे बयान लिन उनलाई काठमाडौं ल्याइएको हो ।

उक्त सहकारीको बचत हिनामिना प्रकरणमा यसअघि नै लामिछाने र उनका साझेदार छविलला जोशीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ । रविका साझेदार जोशीलाई प्रहरीले यसअघि नै काठमाडौं ल्याएर बयानपछि कास्की प्रहरीकै हिरासतमा फर्काइसकेको छ ।

अन्तःशुल्क छपाइ प्रकरणः विकल र सफललाई जनही आठ वर्ष कैद सजाय

काठमाडौं । विशेष अदालतले अन्तःशुल्क छपाइ प्रकरणमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र निर्देशक सफल श्रेष्ठलाई जनही आठवर्ष कैद सजाय सुनाएको छ ।

बिहीबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय खुसीप्रसाद थारु र रितेन्द्र थापाको इजलासले उनीहरुको सजाय निर्धारण गरेको हो ।

यस मुद्दामा गत कात्तिक १४ फैसला भएको थियो । अदालतले दुवै जनालाई जनही ३ करोड ४२ लाख २२ हजार ८ सय रूपैयाँ बिगो र त्यति नै जरिवाना तोकेको छ । अदालतले तत्कालीन मुख्यसचिव वैकुण्ठ अर्याललाई भने सफाइ दिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार ९ गते उनीसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। अन्तःशुल्क स्टिकर खरिदमा अनियमितता गरेको कसुरमा अख्तियारले ३८ करोड ६७ लाख १७ हजार ६४० बिगो असुल गर्न माग दाबी गरेको थियो ।

अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठले मिलेमतोमा भ्रष्टाचार गरेको ठहर गरेको छ।

यो सरकार संविधान विरोधी होः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको उपनिर्वाचन भ्रष्टाचारको पक्ष र विपक्ष छुट्याउने जनमत संग्रह भएको बताएका छन् ।

बिहीबार कीर्तिपुरको नगाउँ दोबाटोमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले हेर्दा उपचुनाव भएपनि यो भ्रष्टाचारको पक्ष र विपक्ष छुट्याउने जनमत संग्रह भएको बताएका हुन् ।

उनले उपनिर्वाचनमा नेपाली जनता भ्रष्टाचारका पक्षमा छैनन् र भ्रष्टाचारका विरुद्धमा छन् भन्ने सन्देश दिने बताए । उनले एमाले–कांग्रेस मिलेर बनेको गठबन्धन सरकार संविधान मिचेर बनेको आरोप लगाए। उनले यो सरकार अप्राकृति भएको भन्दै भ्रष्टाचार र बिचौलियालाई बचाउन लागिपरेको बताए ।

उनले भने, ’संविधान मिचेर बनेको सरकार हो यो । यो सरकार संविधान विरोधी छ। अप्राकृतिक छ। लोकतान्त्रिक देशहरूमा दोस्रो पहिलो पार्टी मिलेर सरकार बनाउने चलन छैन । हिन्दूस्थानलाई हेरे हुन्छ।’

उनले अहिले सरकारको नेतृत्व गरिरहेकाहरूमा नै भ्रष्टाचारको तिर सोझिएपछि अप्राकृतिक ढंगबाट सरकार बन्न पुगेको बताए ।

उनले भने, ‘भ्रष्टाचारविरोधी अभियानको तीर ठूलो ठाउँमा पुग्ने भयो । त्यो अहिले सरकारको नेतृत्व गरेकाहरूकै ठाउँमा पुग्ने भयो । बेचन झा र प्रतिक थापा पक्राउ परेपछि अभियानको सुई कता सोझियो भन्ने बुझ्नुभएकै छ ।’

अध्यक्ष प्रचण्डले कीर्तिपुर नगरपालिकाको मेयरका उम्मेदवार प्राडा.शिवशरण महर्जनलाई समर्थन गर्न समेत आग्रह गरे ।

वर्ल्डलिङ्क कम्युनिकेसन्समा फिनफण्डको एक करोड युरो लगानी

काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक तथा देशकै अग्रणी आइसिटी कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडमा फिनल्याण्डको सरकारी फण्डिङ्ग कम्पनी फिनफण्डले एक करोड युरो लगानी गरेको छ ।फिनफण्डको लगानी विद्यमान फाइबर नेटवर्क विस्तार गर्न प्रयोग गरिने वर्ल्डलिङ्क कम्युनिकेसन्सले जनाएको छ ।

नेपालमा झन्डै आधा जनसंख्या अझै पनि ब्रोडब्यान्ड इन्टरनेटको पहुँचबाट वञ्चित हुनुका साथै सहरी र ग्रामीण क्षेत्रमा उल्लेखनीय असमानता हटाउँदै विश्वस्तरीय डाटा सेन्टरले नेपालको कनेक्टिभिटीमा सुधार र आर्थिक वृद्धिलाई टेवा पुर्‍याउने वर्ल्डलिङ्कले जनाएको हो । आज काठमाडौंमा आयोजित कार्यक्रममा फिनल्याण्डका वैदेशिक व्यापार तथा विकास मन्त्री भीले ट्याभियोको उपस्थितिमा वर्ल्डलिङ्कका अध्यक्ष दिलिप अग्रवाल र फिनफण्डको तर्फबाट वरिष्ठ लगानी प्रबन्धक कुट्टी किल्पेलेइनले लगानी सम्बन्धित सम्झौतापत्रमा हस्ताक्षर गरे ।

‘वर्ल्डलिङ्कले नेपालको ग्रामीण क्षेत्र र दुर्गम गाउँमा आफ्ना सेवा विस्तार गरेर डिजिटल विभाजनलाई कम गर्ने दिशामा काम गरिरहेको छ भने डिजिटल पूर्वाधारमा फिनफण्डको लगानीले समुदायलाई छिटो, गुणस्तरी र भरपर्दो इन्टरनेट सेवा उपलब्ध गराउन खोजेको छ’, फिनफण्डका किल्पेलेइनले भने, ‘फिनिश लगानीकर्ता भएकाले, हामी पक्कै पनि वर्ल्डलिङ्कले आफ्नो इन्टरनेट सेवा विस्तार गर्न उन्नत प्रविधि प्रयोग गर्छ भन्ने तथ्यलाई पनि महत्व दिन्छौँ ।’

फिनिश प्रविधि तथा उपकरण निर्माता नोकिया र वर्ल्डलिङ्कको सहकार्यले वल्र्डलिङ्कका ग्राहकलाई समग्र इन्टरनेट अनुभवलाई भरपर्दो, तीव्रगतिको र थप विश्वसनीय बनाउने लक्ष्य राखेको छ । डाटा सेन्टर क्षेत्रमा वर्ल्डलिङ्कको विस्तारले वर्ल्डलिङ्कका ग्राहकलाई मात्र नभई अन्य इन्टरनेट सेवा प्रदायक, टेलिकम र सार्वजनिक तथा निजी क्षेत्रका संस्थालाई पनि फाइदा पुग्ने विश्वास लिइएको छ ।

‘फिनफण्डको लगानी नेपालको हरेक कुनालाई तीव्र, भरपर्दो र किफायती इन्टरनेट नेटवर्कमा जोड्ने हाम्रो लक्ष्यमा एउटा महत्वपूर्ण कोसेढुङ्गा सावित हुनेछ’, वर्ल्डलिङ्कका अध्यक्ष दिलीप अग्रवालले भने, ‘हाम्रो फाइबर नेटवर्क विस्तार, विश्वस्तरीय डाटा सेन्टर स्थापना, सहर र ग्रामीण भेगबीचमा देखिएको डिजिटल विभेद्लाई हटाउँदै देशभर डिजिटल रुपान्तरणलाई गति दिने लक्ष्य राखेका छौँ ।’

उनका अनुसार वर्ल्डलिङ्कले पाँच हजारभन्दा बढी व्यक्तिहरुलाई रोजगारी प्रदान गरेको छ । कम्पनीसँग नेपालमा ३५ प्रतिशत ब्रोडब्यान्ड बजार र नौ लाखभन्दा बढी परिवारमा पहुँच प्रदान गरेको जनाउँदै कम्पनीले ७७ मध्ये ७३ जिल्लामा सेवा प्रदान गर्दै आएको उनले बताए । वर्ल्डलिङ्क ठूलो विदेशी लगानी भित्र्याउन नेपालको इन्टरनेट सेवा प्रदायकमध्येको पहिलो र एक मात्र कम्पनी हो । कम्पनीले यसअघि ब्रिटिश इन्टरनेसनल इन्भेस्टमेन्ट (बिआइआई) र डोल्मा इम्प्याक्ट फण्ड (डिआइएफआइआई) मार्फत विदेशी लगानी भित्र्याइसकेको छ ।

नास्टको ४८औँ प्राज्ञसभामा १२ विधामा पुरस्कार प्रदानको निर्णय

काठमाडौं ।  नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) को आज भएको ४८औँ प्राज्ञसभाले विभिन्न १२ विधामा वैज्ञानिक, प्राविधिज्ञ र प्रतिभाहरूलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकले नास्टका प्राज्ञको संयोजकत्वमा गठित छनोट तथा मूल्याङ्कन समितिको सिफारिसका आराधामा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

निकट भविष्यमा आयोजना हुने प्रतिष्ठानको वार्षिकोत्सवका अवसरमा ती पुरस्कार प्रदान गरिनेछ । बैठकमा योगदानमा आधारित निवृत्तिभरण कार्यान्वयन, आर्थिक प्रशासन नियमावली संशोधन, २०६६ संशोधनको प्रस्तावलाई थप गृहकार्यसहित छिट्टै बस्ने प्राज्ञसभामा ल्याउन प्रधानमन्त्री ओलीले निर्देशन दिए ।

उनले आवश्यक गुणस्तरीय रूपमा समयमा काम गर्ने प्रणाली स्थापित गर्न नास्टका पदाधिकारीलाई आग्रह गरे । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति विद्या भट्टराईले सार्वजनिक खरिद ऐनबमोजिम नास्टका खरिदसम्बन्धी प्रबन्ध गर्न ध्यानाकर्षण गराए । प्रतिष्ठानका उपकुलपति प्राडा दिलीप सुब्बाले आवश्यक गृहकार्य गरेर नियमावलीहरू संशोधनको प्रस्ताव ल्याइने बताए ।

‘हिउँ चितुवा संरक्षणमा लगानी बढाउनुपर्छ’

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले हिउँ चितुवा संरक्षणमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन्। आज हिउँ चितुवाको संरक्षण तथा यसको अध्ययन र अनुसन्धानमा प्रवर्द्धन गर्ने उद्देश्यले यहाँ आयोजित गोष्ठीमा उनले हिउँ चितुवा दुर्लभ बन्दै गइरहेकाले यसको संरक्षणका लागि लगानी बढाउनुपर्ने बताए।

मन्त्री शाहीले नेपालमा हिउँ चितुवाको बसोबास क्षेत्र, उसको बानी व्यवहार र संरक्षण रणनीतिका बारेमा गहन अनुसन्धान गर्दै लगानी गर्नुपर्ने अवस्था रहेको उल्लेख गरे। उनका अनुसार हिउँ चितुवा संरक्षण सफल बनाउन र द्वन्द्व कम गराउन संरक्षणमा स्थानीय समुदायको सहभागिता सुनिश्चित हुनुपर्ने देखिन्छ।

‘सङ्घीय सरकारले हिउँ चितुवासहित अन्य जीव संरक्षणका लागि स्थानीय साझेदारी आवश्यक पर्ने निष्कर्ष निकाल्दै समुदायसँग मिलेर संरक्षणका काम गर्नेगरि कार्ययोजना बनाएका छौँ। हालै हिउँ चितुवा संरक्षण कार्ययोजना २०२४–२०३० जारी गरेका छौँ’, मन्त्री शाहीले भने। कार्ययोजनामा यो प्रजातिको संरक्षणका लागि गरिनुपर्ने कार्य, भावी रणनीति, कार्यनीति र क्षमता अभिवृद्धि, बासस्थान सुधारलगायत विषय समावेश गरिएको उनले जानकारी दिए।

‘हिउँ चितुवाको संरक्षण गर्नु भनेको केवल वन्यजन्तु संरक्षणमात्र नभई जलवायु परिवर्तनको चुनौती सामना गर्न, हिमाली पर्यावरणीय प्रणालीलाई सुदृढ बनाउन स्थानीय समुदायको जीवनस्तर सुधार गर्न पनि मद्दत गर्छ’, मन्त्री शाहीले भने। नेपालको हिमाली क्षेत्र जैविक विविधतामा धनी रहेको उल्लेख गर्दै उहाँले वनस्पतिमा यार्सागुम्बा, चरामा डाँफेदेखि वन्यजन्तुमा हिउँ चितुवासम्म नेपालका हिमाली भेगमा पाइने जानकारी दिए।

‘तराईमा बाघ र हिमालमा हिउँ चितुवा हाम्रो पहिचान झल्काउने सूचक हुन्। हिमालको सांस्कृतिक, पर्यावरणीय र जैविक सम्पत्तिका रूपमा हिउँ चितुवालाई लिइँदै आएको छ। बासस्थान विनाश, चोरी शिकारी, मानवसँगको द्वन्द्व, जलवायु परिवर्तन यसका शत्रु बनेका छन्’, वनमन्त्री शाहीले भने, ‘हिमाली क्षेत्रमा हिउँ चितुवाले घरमा पालेका भेडा, गाईवस्तु तथा पशुचौपाया खाएका विषय आइरहेका हुन्छन्। यसले मानवसँगको द्वन्द्व बढाएको छ। सङ्घीय सरकारले विभिन्न समयमा यस्ता समस्या सम्बोधन गर्न नीति तथा योजना तर्जुमा गर्दै आएको छ।’

मन्त्री शाहीले संसारकै दुर्लभ प्रजातिभित्र पर्ने हिउँ चितुवा नेपाल र चीनसहित विश्वका १२ मुलुकमा पाइने जनाउँदै विश्वमा पाइने हिउँ चितुवामध्ये नेपालमा १० प्रतिशत पाइने आनुमान गरिएको बताए। उनका अनुसार यसको बासस्थान नेपालको ३० हजार वर्गकिलोमिटर अनुमान गरिएकामा ५८ प्रतिशत संरक्षित क्षेत्रभित्र पर्दछन्।

नेपाल सरकारले हिउँ चितुवा संरक्षणका लागि विभिन्न प्रयास गर्दै आएको छ। सन् २०१५ लाई हिउँ चितुवा संरक्षण वर्ष भनेर घोषणा गरी संरक्षित जीवको सूचिमा राखिएको छ। निकुञ्ज ऐनले पनि यसको चोरी शिकारीमा बन्देज लगाएको छ।

‘आफू हिउँ चितुवाको बासस्थान भएको जिल्ला मुगुवासी भएकाले यो कार्यशालाबाट प्राप्त सिकाइ हिउँ चितुवा संरक्षणमा टेवा पुग्ने विश्वास छ। नेपाल र छिमेकी मुलुक चीनका वैज्ञानिकबीच अनुसन्धानात्मक सहकार्यलाई अझ सुदृढ गर्न यो कार्यशाला महत्वपूर्ण हुने विश्वास लिएको छु’, मन्त्री शाहीले भने।

हिमालय पर्वतीय श्रृङ्खलाको संरक्षण गर्न एउटा देशले मात्रै नभएर अन्तरदेशीय सहकार्य आवश्यक रहेकामा जोड दिँदै उहाँले यस किसिमको सहकार्यले अनुसन्धान प्रवर्द्धन गर्ने धारणा राखे।

बिडिसिए कप क्रिकेटमा थालिगाडा विजयी

बैतडी । बैतडीमा जारी २१औँं संस्करणको रेडियन्ट ग्यास बिडिसिए कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा थालिगाडा क्रिकेट क्लब विजयी भएको छ । थालिगडाले बर्तोली क्रिकेट क्लबलाई ५९ रनले हराउँदै विजयी भएको हो । 

जितका लागि पाएको दुई सय ३१ रनको विशाल लक्ष्य पछ्याएको बर्तोलीले २५ ओभरमा एक सय ७१ रन मात्रै बनाउन सक्यो । नरेन्द्र भण्डारीले सर्वाधिक ३१ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । यो पराजयसँगै बर्तोली प्रतियोगिताबाट बाहिरिएको छ । बर्तोलीको यो दोस्रो हार हो । यसअघि बुधबार पञ्चकोटी क्रिकेट क्लबसँग एक सय ४३ रनले पराजित भएको थियो । बर्तोलीका सन्दीप भण्डारीले ४ विकेट झारे ।

थालिगडाका मनोज ऐरीले ५ विकेट झारे । उनी म्यान अफ द म्याचसमेत चुनिएका छन् । यसअघि दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा पहिला ब्याटिङ गरेको थालिगाडाले २५ ओभरमा छ विकेटको क्षतिमा दुई सय ३० रन बनायो । थालिगाडाका हरिस कार्की र नविन ठगुन्नाले अर्धशतक प्रहार गरे । हरिसले ५० र नविन ५४ रनमा अविजित रहे । 

बैतडी जिल्ला क्रिकेट सङघको आयोजना सञ्चालित प्रतियोगितालाई प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट छनोट प्रतियोगिताको रूपमा समेत लिइएको छ ।

यही मङ्सिर ११ गतेदेखि सुरु भएको प्रतियोगिता मङ्सिर ३० गतेसम्म सञ्चालन हुने जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिए । उनका अनुसार दुई चरणमा हुने प्रतियोगितामा पहिलो चरणमा हाल प्लेट च्याम्पियनसिपका खेल भइरहेका छन् ।

प्लेट च्याम्पियनसिप सम्पन्नपश्चात् मङ्सिर २० देखि इलाइट च्याम्पियनसिपका खेल सञ्चालन हुने जिल्ला क्रिकेट सङ्घका सचिव सिद्धराज बोकटीले जानकारी दिए । उनका अनुसार यो प्रतियोगिता पहिलोपटक ‘टर्फ पिच’मा भइरहेको छ । 

नेपाल क्रिकेट सङ्घको सहयोगमा दशरथचन्द खेलमैदान, सुन्दरखालीमा टर्फ पिच निर्माण गरिएको हो । प्रतियोगिताको प्रथम पुरस्कार  एक लाख, द्वितीय  पुरस्कार  ५० हजार र प्लेट च्याम्पियन हुने टोलीलाई  २५ हजार, म्यान अफ द सिरिजलाई  १५ हजार पुरस्कार दिइने आयोजकले जनाएको छ ।  

शेयर बजार सामान्य अंकले घट्यो

काठमाडौं । बिहीबार शेयर बजार नेप्से सामान्य अंकले घटेको छ । बुधबार उच्च अंकले बढेको नेप्से बिहीबार आठ दशमलव ३० अङ्कले घटेर दुई हजार सात सय ४८ दशमलव शून्य पाँच विन्दुमा झरेको छ ।

आज विकास बैंक, जीवन बीमा र लगानी बाहेक सबै समूहको शेयर घटेकोमा होटल, जलविद्युत्, उत्पादन, निर्जीवन बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज मानुषी लघुवित्त कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ । समग्रमा बजार घटेको दिन विशाल बजार कम्पनी र विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज कारोबार रकम पनि घटेको छ । आज तीन सय सात वटा कम्पनीका एक करोड ६६ लाख कित्ता शेयर आठ अर्ब ५४ करोड रुपैयाँमा कारोबार भएको छ ।

नेपालमा विज्ञान, इन्जिनियरिङ र जियोइन्जिनियरिङको क्षेत्रमा धेरै चुनौतीः उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालमा विज्ञान, इन्जिनियरिङ र जियोइन्जिनियरिङको क्षेत्रमा धेरै चुनौतीहरु रहेको बताएका छन् ।

बिहीबार दिगो पूर्वाधारका लागि जियोटेक्निक्स कार्यक्रमको उद्घाटन गर्दै नेपालमा जलवायु परिवर्तन, भूकम्प, बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपले धेरै प्रभाव पारेको चर्चा गर्दै नेपालमा जियोटेक्निक्स प्रयोगमा चुनौती देखिएको बताएका हुन् ।

‘नेपालमाभूकम्प, बाढी पहिरोले कति धेरै असर पारेको छ यसको साथै जलवायु परिवर्तन र ग्लोबल वार्मिङले पनि पछिल्लो समय देशमा धेरै परिवर्तन गरेको छ,’ उपप्रधानमन्त्री सिंहले भने,‘नेपालमा विज्ञान, इन्जिनियरिङ र जियोइन्जिनियरिङको क्षेत्रमा धेरै चुनौतीहरु छन् । सम्मेलनको उद्देश्यभनेको दिगो पूर्वाधारकालागिजियोटेक्निक्सको प्रयोग भन्ने रहेको छ र यो नेपालको सन्दर्भमा अत्यन्तै सान्दर्भिक छ ।’

विकासोन्मुख राष्ट्रको रूपमा नेपालप्राकृतिक घटनाहरू मात्र नभई पछिल्लो समय अव्यवस्थित सहरीकरण, नदीकिनारको अतिक्रमण, खराब इन्जिनियर संरचनाहरू, र अपर्याप्त डिजाइन मापदण्डहरू र निर्माण प्रविधिको कारणले पनिपीडित हुनुपरेको उनले बताए ।

उनले भने, ‘मलाई आशा छ कि यो अन्तर्राष्ट्रिय सम्मेलनलेहाम्रायुवा र अभ्यास गर्ने भू–प्राविधिकइन्जिनियरहरू र भू–वैज्ञानिकहरूलाई विश्वप्रविधिहरू, दिगो विकासबारे जान्नको लागि उपयुक्त मञ्च प्रदान गर्नेछ ।’

सम्मेलनमा २५ भन्दा बढी देशका १ सय ५० भन्दा बढी अन्तर्राष्ट्रिय प्रतिनिधिहरू र ३ सय भन्दा बढी सहभागी छन् भने सम्मेलनमा १५ जना प्रमुख वक्ता, १६ विशिष्ट वक्ता, ९० भन्दाबढी प्राविधिकपत्रहरू प्रस्तुत हुने आयोजक संस्था नेपाल जियोटेक्निलकल सोसाइटीका अध्यक्ष मन्दीप सुवेदीले जानकारी दिए । सम्मेलन शुक्रबारसम्म चल्नेछ ।

पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित

रामपुर । पाल्पामा यस वर्ष धान उत्पादनमा वृद्धि भएपछि किसान उत्साहित छन् । गुणस्तरीय बीउ, उन्नत वा हाइब्रिड जातका धानको प्रयोग, अनुकूल मौसमलगायत कारणले धान उत्पादन बढेको हो ।

जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार यो वर्ष जिल्लामा ३६ हजार आठ सय मेट्रिक टन धान उत्पादन भएको छ ।

गत वर्ष यहाँ ३४ हजार सात सय ६२ मेट्रिक टन उत्पादन भएकामा यस वर्ष तीन दशमलव छ प्रतिशतले उत्पादन वृद्धि भएको केन्द्रका प्रमुख सन्तोष चौधरीले जानकारी दिए। गुणस्तरीय र उन्नत जातका बीउको प्रयोग, अनुकूल मौसम, मलको उपलब्धतालगायत कारण धान उत्पादन बढेको उनले बताए।

‘केही स्थानमा धान पसाउने बेला रोग, कीराको समस्या देखिए पनि समग्र जिल्लाभर उत्पादन बढेको छ । किसानले उन्नत जातको बीउको प्रयोग गर्नु, यसवर्ष प्रयाप्त सिँचाइ, आधुनिक प्रविधिको प्रयोगलगायत कारणले उत्पादनमा वृद्धि आएको हो’, प्रमुख चौधरीले भने।

उनका अनुसार यस वर्ष जिल्लामा आठ हजार छ सय २० हेक्टर क्षेत्रफलमा धानखेती गरिएको छ । गतवर्ष आठ हजार दुई सय हेक्टर क्षेत्रमा खेती गरिएको थियो ।

गाउँगाउँमा स्थानीय, प्रदेश तथा सङ्घीय सरकारको सहयोगमा सिँचाइ आयोजना कार्यक्रम सञ्चालनमा आएपछि कुलो, नहर व्यवस्थित हुँदा धान लगाउने क्षेत्रफल बढ्न थालेको प्रमुख चौधरीले जानकारी दिए। सिँचाइको अभावले बाँझो रहेका जग्गामा पछिल्लो समय सिँचाइ सुविधा पुगेपछि बारी तथा बाँझिएका जमिनमा पनि किसानले धान लगाउने गरेका छन् ।

धानखेतीका लागि मौसम अनुकूल हुँदा उत्पादन वृद्धि भएको किसान सीता देवकोटाले बताए।

‘रोपाइँ गरेदेखि वर्षा भइरहेकाले सिँचाइ गर्न सजिलो भयो, वर्षदिनभरि खाने अनाज राम्रो उत्पादन हुँदा खुसी लागेको छ । भकारीभरि धान भएपछि मन ढुक्क छ, कतै बीउको समस्याले पसाउने बेला रोगकीरा देखिए पनि अधिकांश किसानले यसवर्ष अघिल्ला वर्षमा भन्दा धेरै धान भित्र्याउनु भएको छ’, उनले भने।

जिल्लामा सावित्री, साँवामन्सुली, रामधान, हाइब्रिड, उन्नतलगायत जातका धान चलनचल्तीमा छन् । स्थानीय सरकारले अनुदानमा उन्नत जातका गुणस्तरीय बीउ उपलब्ध गराउन थालेपछी विगतका वर्षमा भन्दा पछिल्ला वर्षमा उत्पादन क्रमिक रूपमा बढ्दै गएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।

नेपाल र फिनल्याण्डबीच सार्वजनिक लगानी परिचालन परियोजनासम्बन्धी सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल र फिनल्याण्डबीच सार्वजनिक लगानी परिचालन परियोजनासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

बिहीबार अर्थ मन्त्रालयमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र फिनल्याण्डका परराष्ट्र मन्त्रालयका वैदेशिक व्यापार तथा विकासमन्त्री भिल्ले ताभियोको उपस्थितिमा नेपाल र फिनल्याण्डबीच सार्वजनिक लगानी परिचालन परियोजनासम्बन्धी खाका सम्झौतामा हस्ताक्षर भएको हो ।

फिनल्याण्डको सार्वजनिक लगानी सुविधा योजनाअन्तर्गत वित्त परिचालन हुने परियोजनाको सम्झौतामा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनिराम शर्मा र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेइकाले हस्ताक्षर गरेका हुन् ।

यो सम्झौताको नेपालमा सामाजिक–आर्थिक पूर्वाधार सुदृढ गर्न र दिगो विकासलाई प्रोत्साहन गर्न परियोजनामा आधारित सहुलियतपूर्ण वित्तिय परिचालन गर्ने लक्ष्य छ ।

अनुदान प्राप्त परियोजनाहरूमार्फत नेपालले खानेपानी, फोहोर व्यवस्थापन, ऊर्जा र विद्युत्, डिजिटलाइजेसन, मौसम विज्ञान, स्वास्थ्य सेवा प्रविधि, विपद् व्यवस्थापन र उद्धार सामग्रीलगायत विविध सामाजिक–आर्थिक पूर्वाधारमा लगानी गर्न सक्छ ।

आर्थिक परिचालन प्रक्रिया सार्वजनिक क्षेत्र लगानी सुविधा मार्गदर्शनद्वारा निर्देशित हुनेछ, जुन आर्थिक सहयोग र विकास संगठन (ओईसीडी) ढाँचामा आधारित छ । नेपाल अतिकम विकसित देश (एलडीसी) को सूचीमा परेकाले ५० प्रतिशत आर्थिक सहायता अनुदानका रूपमा उपलब्ध गराइनेछ ।

कार्यक्रममा अर्थमन्त्री पौडेलले सम्झौता नेपालको आर्थिक सामाजिक क्षेत्रको पूर्वाधार विकासका लागि महत्त्वपूर्ण उपलब्धि हुने बताए । फिनल्याण्डका विकासमन्त्री ताभियोले सार्वजनिक लगानी परिचालन नेपाल र फिनल्याण्डबीच आर्थिक सहकार्य विकासका लागि महत्त्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गरेका थिए ।

कोरियाली युद्धमा मृत्यु भएका ४३ जना चिनियाँ सैनिकको अवशेष फिर्ता

चीन । युद्धको क्रममा मृत्यु भएका ४३ जना चिनियाँ जनसवयंसेवक (सिपीभी) सैनिकको अवशेष कोरियाबाट बिहीबार चीन फिर्ता गरिएको छ ।
.
चिनियाँ जनमुक्ति सेनाको हवाई बल वाई–२० विमानले मृतक सैनिकहरूको अवशेष लिएर चीनको लियाओनिङ प्रान्तको राजधानी शेनयाङमा अवतरण गरेको छ । अवशेषहरू शेनयाङको शहीदको चिहानमा राखिने जनाइएको छ ।

दक्षिण कोरियाले बिहीबार चिनियाँ पक्षका शहीदको अवशेष हस्तान्तरण गरेपछि, चीनले इन्चियन अन्तर्राष्ट्रिय विमानस्थलमा स्मारक समारोह आयोजना गरेको छ । समारोहमा, चिनियाँ राष्ट्रिय गान बजाइएको थियो भने प्रत्येक शवलाई राष्ट्रिय झण्डा ओढ्याइएको थियो । सहभागीहरूले शहीदहरूको पार्थिव शरीरमा पुष्पगुच्छा चढ्णएर सम्मान तथा श्रद्धाञ्जली अर्पण गरेका थिए ।

सन् २०१४ देखि सन् २०२३ सम्म, चीन र कोरियाले अन्तर्राष्ट्रिय कानुन र मानवीय सिद्धान्त अनुसार कोरियामा ९३८ सिपिभी शहीदहरूको अवशेष र सम्बन्धित कलाकृतिहरूलाई १० औँ पटक हस्तान्तरण गरेका थिए ।

चीनको स्थापना भएको आठ महिनापछि १९५० मा कोरियाली युद्ध भएको थियो । कोरियाको लोकतान्त्रिक जनवादी गणतन्त्रको अनुरोधमा सिपिभी अन्तर्गत चिनियाँ सेनाहरू युद्धमा होमिएका थिए ।

एक करोड २० लाख वर्ष पुरानो गोहीको अवशेष सार्वजनिक

लिमा ।। पेरुको मरुभूमिमा फेला परेको एक करोडदेखि एक करोड २० लाख वर्ष पुरानो एक युवा सामुद्रिक गोहीको अवशेषलाई पेरूका वैज्ञानिकहरूले सार्वजनिक गरेका छन् । राजधानी लिमाबाट करिब ३५० किलोमिटर दक्षिणमा रहेको पेरुको ओकुकाजे मरुभूमिमा सन् २०२३ को अन्त्यतिर करिब तीन मिटर (करिब १० फिट) लामो घडियाल गोहीको जीवाश्म फेला परेको थियो ।

“हामीले यो प्रजातिको किशोर घडियाल गोहीको अवशेष फेला पारेका छौँ, अहिलेसम्म यसको अधिकतम ठूलो आकार फेला परेको रेकर्ड थिएन। यसको एक करोड २० लाख वर्षभन्दा पहिले नै मृत्यु भएको थियो, मेरुदण्डी जीवाश्म विज्ञानका अनुसन्धाता मारियो ग्यामराले एक पत्रकार सम्मेलनमा भनिन् ।

खवशेषको पुनर्निर्माणको नेतृत्व गरेका ग्यामराका अनुसार यी नमूनाहरूको खप्पर र बङ्गारा आजका गोही र मगरमच्छ (गोही)हरूको भन्दा फरक छ ।

ग्यामराले भने, “तिनीहरूको लामो र चुच्चे मुख थियो र उनीहरूको आहार माछा मार्ने खालको थियो।” “यो गोहीको सबैभन्दा नजिकको जाती भारतीय घडियाल गोही हो,” उनले भने।

पेरुको ‘जियोलोजिकल, माइनिङ एन्ड मेटलर्जिकल इन्स्टिच्युट’ र ‘ला युनियन स्कुल’ले संयुक्त रुपमा उक्त खोज गरेका हुन् ।

पेरुको ओकुकाजे मरुभूमिमा चार खुट्टा भएका बौना ह्वेल, डल्फिन, शार्क र अन्य प्रजातिका मिओसिन कालका ५० लाख बर्षदेखि दुई करोड ३० लाख वर्ष पहिलेका अवशेष पत्ता लागेका छन् ।

मिसाइल खतराका कारण युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी

किएभ ।  धेरै क्षेत्रहरूमा मिसाइल प्रहार भएको जनाउदै युक्रेनी सेनाले थप हवाई आक्रमण हुनसक्ने भन्दै बिहीबार देशव्यापी चेतावनी घोषणा गरेको छ ।

युक्रेनी सेनाले टेलिग्राममार्फत खार्किभ, ओडेसा र अन्य आठ क्षेत्रहरूमा मिसाइल फेला परेको जानकारी गराउँदै स्थानीयलाई सुरक्षित आश्रयमा जान आग्रह गरेको छ ।

पछिल्लो मिसाइल साल्वो अमेरिकी राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पले कट्टर वफादार र सेवानिवृत्त जनरल किथ केलोगलाई आफ्नो युक्रेन दूतको रूपमा नियुक्त गरेको एक दिन पछि आएको छ । ट्रम्पले युक्रेनमा अढाई वर्षको रूसी आक्रमण समाप्त गर्ने प्रतिवद्धता व्यक्त गर्दै आएका छन्।

ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबिचको युद्धविराम सम्झौतामा आफूले चाँडै मध्यस्थता गर्ने उल्लेख गरेका छन् ।

यद्यपि ट्रम्पका आलोचकहरूले अमेरिकी सैन्य सहायताको फाइदा उठाउँदै रिपब्लिकनले किएभलाई स्थायी रूपमा कब्जा गरिएको क्षेत्रलाई त्याग्न वा नेटोमा सामेल नहुन सहमत हुने सम्झौतामा दबाब दिन प्रयोग गर्ने सम्भावना रहेको बताएका छन् ।

ट्रम्पले सामाजिक सञ्जालमा जारी गरेको विज्ञप्तिमा भने ‘म जनरल किथ केलगलाई राष्ट्रपतिको सहायक र युक्रेन र रूसका लागि विशेष दूतको रूपमा नियुक्त गर्न पाउँदा निकै खुसी छु ।’

सन् २०२२ फेब्रुअरीमा रूसले आक्रमण सुरु गरेदेखि युक्रेनले आफ्नो सशस्त्र सेनाका लागि वासिङ्टनबाट लगभग ६० अर्ब डलर प्राप्त गरेको छ, तर ट्रम्पले ह्वाइट हाउसमा प्रवेश गरेपछि हाल यस विषयमा डर थपिएको छ ।

ट्रम्प निकट अमेरिका फस्र्ट पोलिसी इन्स्टिच्युट थिंक ट्यांकका लागि केलगको अनुसन्धान पत्रमा भनिएको छ, ‘अमेरिकाले युक्रेनलाई हतियार बनाउन सहयोग जारी राख्ने र रूसले हमला नगर्ने र युद्धविराम वा शान्ति सम्झौतापछि आक्रमण नगर्ने सुनिश्चित गर्न आफ्नो सुरक्षा बलियो बनाउने उल्लेख छ । तथापि, भविष्यको अमेरिकी सैन्य सहायताले युक्रेनलाई रूससँग शान्ति वार्तामा भाग लिन आवश्यक हुनेछ ।’

केलगले जुलाईको रिपब्लिकन सम्मेलनमा भ्वाइस अफ अमेरिकालाई युक्रेनका विकल्पहरू ‘एकदम स्पष्ट’ भएको बताएका छन्। उनले युक्रेन वार्ता नचाहेमा ठूलो क्षति स्वीकार्न र भावी पुस्ताको असहजतालाई समेत आत्मसाथ गर्न तयार हुनु पर्ने बताए ।

उपत्यकाबाट हराएका २७ वटा मोटसाइकल फेला

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा विभिन्न सयमा हराएका २७ मोटरसाइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

 काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित कार्यक्रममा कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले १८ मोटरसाइकल र नौ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरे ।
      
उनले कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गरेका सवारी साधनलाई आज धनीलाई बुझाइएको बताए । कार्यालयले हराएका मोटरसाइकल काभ्रेपलाञ्चोक, कोटेश्वर, गौशाला, नँयाबसपार्क, सोह्रखुट्टे, मालिगाँउ, मङ्गलबजार, गोकर्ण, नगरकोट, ताथली र बुद्धनगर लगायतका स्थानबाट फेला पारेको थियो ।

 कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उमाप्रसाद चर्तुवेदीले हराएका सवारी साधन नम्बरप्लेट नक्कली हालेर चलाएको अवस्थामा फेला पारिएको बताए ।

ट्राफिक प्रहरीले हालसम्म २१० दुईपाङ्ग्रे सवारी साधन फेला पारेर सम्बन्धित धनीलाई बुझाइसकेको छ । यस्तै सवारी साधन चोरीमा संलग्न ३२ जनालाई पक्राउ गरी कारबाहीका लागि विभिन्न प्रहरी कार्यालय तथा वृत्तमा पठाइसकेको प्रवक्ता चर्तुवेदीले बताए ।

ट्राफिक प्रहरीले आव २०७९/८० मा ४९९ र २०८०/८१ मा ४१७ दुईपाङ्ग्रे सवारी साधन खोजतलास गरी सम्बन्धित धनीलाई बुझाइसकेको छ । सवारी साधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरन जडान गर्न सबैलाई ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

ऐतिहासिक गाजाको दह : पानी सुक्न थालेपछि स्थानीयवासी चिन्तित

बलेवा । बागलुङस्थित ऐतिहासिक गाजाको दह नजिकै व्यापार गर्दै आएका नरबहादुर थापाले दशक अघिसम्म दहमा पानीको सतह भरिभराउ देख्थे। पछिल्लो समय दहमा बिस्तारै पानी सुक्दै गएको छ ।

वर्षातमा हावा चल्दा तालको छालले छेउका घरमा असर गर्ने डर हुन्थ्यो । तर अहिले त वर्षातमा पनि यो ताल सुख्खा जस्तै भयो । भरिभराउ हुनुपर्ने तालको आधा पनि पानी नभरिएपछि स्थानीय बासिन्दा चिन्तामा छन् । २ हजार ५ सय मिटर उचाइको गाजा दहको पानी सुक्दा पर्यटकीय स्थल ओझेलमा पर्ने, तल्लो खण्डमा पानीको समस्या बल्झिने चिन्ता बढेको थापाले बताए ।

सयौं वर्षदेखि पहाडको धुरीमा रहेको बागलुङको प्रसिद्ध गाजाको दह पछिल्लो समय सुक्दै जान थालेको हो । हिउँदमा नसुक्ने, वर्षातमा धमिलो पनि नहुने विशेषता बोकेको यो दहमा डोजर लगाएर संरक्षण गर्न खोज्दा पानी घटेको स्थानीयको अनुमान छ ।

पाँच वर्षअघि यहाँ पर्खाल लगाएर पानी संरक्षण प्रयास गरिएको थियो । यसका लागि डोजर लगाएपछि पानीको सतह सुक्दै जान थालेको स्थानीयले जनाएका छन् । बागलुङ सदरमुकामदेखि २४ किमी पश्चिमको यात्राबाट पुगिने गाजाको दह पर्यटकीय र धार्मिक गन्तव्य हो । यहाँ सिद्ध बराहको थान छ । यो थानमा जैमिनी, गलकोट, बागलुङ नगरपालिका, काठेखोला र बरेङ गाउँपालिकाबासी पूजा गर्न पुग्छन् । त्यस बाहेक अन्यत्रबाट पनि घुम्न जानेहरू धेरै छन् ।

यो दहबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रेसहित मनास्लु हिमाल समेत देखिन्छ । उच्च पहाडमा भएकोले हिउँदमा हिउँ पर्छ । जंगल छेवैमा भएर पनि यो ताल सँधै सफा हुन्छ । यसैले यहाँ पर्यटक जानेआउने गर्छन् । यहाँबाट बागलुङसहित पर्वत, गुल्मी, म्याग्दी र स्याङजाका धेरै क्षेत्र देखिन्छन् । त्यसैले यहाँ पैदल यात्रा गरेर पनि पर्यटकहरू पुग्ने गर्छन् ।

‘यो दह धार्मिक रुपमा पनि प्रसिद्ध छ, तर संरक्षणको नाउँमा डोजर लगाएर पानी घट्यो’ स्थानीय थापाले भने ‘अब मौलिक रूपमै संरक्षण नगरे दहको अस्तित्व सकिन्छ ।’ सडक अप्ठ्यारो भएकोले गाजा दह पुग्ने सडकलाई स्तरीय बनाउन पनि उनले माग गरे।

गाजा दहको छेवैमा रहेको सिद्ध थानमा बैकुष्ठ चर्तुदशी तथा बाला चर्तुदशीमा मेला लाग्ने गरेको छ । बाला चतुर्दशीमा त सतबिज झर्नेको भीड समेत लाग्छ । पूर्णिमा मेला र विभिन्न चाडपर्वमा यहाँ गाजा दह नुहाउने भक्तजन पनि पुग्छन् । धार्मिक र पर्यटकीय स्थान भएकोले पर्यटन क्षेत्रको रुपमा घोषणा गर्नुपर्ने स्थानीयको माग छ ।

गण्डकी प्रदेश सरकारले यो दहलाई पर्यटन क्षेत्रमा सूचिकृत गरेको छ । तर पूर्वाधार निर्माणमा बजेट नदिएको स्थानीयले गुनासो गरेका छन् । सिद्ध बराह मन्दिर र ताल संरक्षण गर्न स्थानीयले महायज्ञ समेत लगाएका छन् । शनिबारदेखि शुरु भएको महायज्ञ सात दिन चल्ने जैमिनी नगरपालिका वडा नंं ३ का वडाध्यक्ष कृष्णबहादुर भुजेलले बताए। यो महायज्ञ धार्मिक मात्र नभई सास्कृति र दह संरक्षणको अभियान भएको उनको भनाइ छ ।

पानी सुक्दा पर्यटकीय गतिविधि पनि ठप्प हुने स्थानीय यानुकला कालामगरले गुनासो गरे । ताल छ भनेरै धेरै मानिस घुम्न आउने हो, पानी सुक्यो भने त यहाँ कोही आउँदैन’ कालामगरले भने, ‘यहाँको महत्व जोगाउनु पर्छ । ‘ गाजा दहको आसपासमा बस्ने मगर र छन्त्याल समुदाय बसोबास गर्दछन् । उनीहरुले यहाँको धार्मिक मठमन्दिरमा पूजा गर्छन्। साथै, मेलापर्व पारेर लोकदोहोरी, सोरठी, सालैज्यो र विनासालैज्यो जस्ता संस्कृति समेत देखाउने चलन छ ।

बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी ‘बेलिब्रिज’

खोटाङ। सगरमाथा राष्ट्रिय लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट खण्डको फोक्सिङटारस्थित सुनकोसी नदीमा अस्थायी बेलिब्रिज जडान गर्न तयारी सुरु गरिएको छ ।

खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने सुनकोसी नदीस्थित फोक्सिङटारको मोटरेबल पक्की पुल गत असोज १२ गते आएको बाढीले बगाएपछि अस्थायी बेलिब्रिज जडान गर्न तयारी सुरु गरिएको हो ।

फोक्सिङटारमा करिब ५० मिटर लामो अस्थायी बेलिब्रिज जडान गर्नेगरी ठेक्का आह्वान गरिएको सगरमाथा लोकमार्ग (गाईघाट–दिक्तेल) सडक आयोजना कार्यालय उदयपुरका आयोजना प्रमुख पशुपति ज्ञवालीले जानकारी दिए।

उनका अनुसार यही मङ्सिर १८ गतेसम्म ठेकेदार कम्पनीले दरखास्त हाल्न पाउनेगरी समयसीमा निर्धारण गरी सूचना प्रकाशन गरिएको छ । अहिले अस्थायी बेलिब्रिज जडान गरेर सञ्चालनमा ल्याउने र पुनः खोलेर राख्नेगरी ठेक्का आह्वान गरिएको गाईघाट–दिक्तेल सडक कार्यालयले जनाएको छ ।

फोक्सिङटारमा २०७९ सालमा एक सय २० मिटर लामो ‘आर्क’ डिजाइनको मोटरेबल पक्की पुल बनेपछि लामो समयदेखि बर्सेनि अस्थायी बेलिब्रिज जडान गरेर यातायात सञ्चालन गर्ने र झिकेर राख्नुपर्ने बाध्यता अन्त्य भएको थियो । दुई वर्ष नबित्दै बाढीले उक्त पुल बगाएपछि जिल्लावासीका लागि पुनःअस्थायी बेलिब्रिजको भर पर्नुपर्ने बाध्यता दोहोरिएको हो ।

पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा रहेको सुनकोसीस्थित फोक्सिङटारमा विसं २०७९ मा खोलेर राखिएका सामानलाई पुनः राख्ने तयारी गरिएको आयोजना प्रमुख ज्ञवालीले बताए। सो स्थानमा हिउँदमा राख्ने र वर्षा लाग्ने बित्तिकै झिक्ने गरी अस्थायी बेलिब्रिज जडान गरेर सञ्चालन गर्ने गरिएको थियो ।

निर्माण कम्पनी गौरी–पार्वती–वाईपी जेभीले फोक्सिङटारमा निर्माण गरिरहेको पुल ‘फिनिसिङ’ गर्न र हस्तान्तरण गर्न बाँकी छँदै विसं २०७९ पुस ७ गतेदेखि सञ्चालनमा ल्याइएको थियो । ठेकेदारको ढिलासुस्तीका कारण फोक्सिङटारमा मोटरेबल पक्की पुल बन्न १० वर्ष कुर्नुपरेको थियो ।

सडक कार्यालयले सूचना प्रकाशन गरेपछि संविधानसभा सदस्य विशाल भट्टराईले फोक्सिङटारमा आगामी पुस दोस्रो साताभित्र अस्थायी बेलिब्रिज जडान सम्पन्न गरेर सञ्चालनमा ल्याउनेगरी पहल भइरहेको जानकारी दिए। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोलिटब्युरो सदस्यसमेत रहेका उनले वर्षाद्को समयमासमेत निकाल्नु नपर्नेगरी पुल निर्माण गर्न पहल थालिएको उनले तदारुकताका साथ लागेको उल्लेख गरे।

प्रतिनिधिसभाका सांसद रामकुमार राई ‘पासाङ’ले फोक्सिङटारमा स्थायी पुल निर्माण गर्न सशक्त पहल गरिरहेको बताए।

‘फोक्सिङटारमा तत्काल अस्थायी बेलिब्रिज जडान गर्न पटकपटक सम्बन्धित निकायमा खबरदारी गरेपछि सडक पूर्वाधार कार्यालयले ठेक्का आह्वान भएको सूचना प्रकाशन गरेको छ । सम्भवतः आगामी पुसभित्र अस्थायी बेलिब्रिज जडान भएर सञ्चालनमा आउँछ’, उनले भने, ‘यहाँ स्थायी पुल नबनेसम्म समस्या समाधान हुँदैन । स्थायी पुल निर्माण गर्न पहल भइरहेको छ ।’

कोसी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले फोक्सिङटार पुलको स्थायी समाधान गर्ने प्रयास जारी रहेको उल्लेख गरे । प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राई ‘पिके’को सचिवालयले फोक्सिङटारमा स्थायी पुल बनाउन पहल गरिरहेको सामाजिक सञ्जालमार्फत जानकारी गराएको छ ।

यहाँको मोटरेलब पक्की पुल बाढीले बगाएपछि पूर्वी तराईसँगको सिधा सम्पर्क विच्छेद भएको वर्तमान अवस्थामा स्थानीय जनप्रतिनिधि र नागरिकको खबरदारीले यथाशीघ्र अस्थायी बेलिब्रिज जडान भएर सञ्चालनमा आउने अपेक्षा स्थानीयले गरेका छन् । मोटरेबल पक्की पुल बाढीले बगाएपछि जिल्लाको भौतिक पूर्वाधार विकास १० वर्ष पछाडि धकेलिएको जिल्लावासीको भनाइ छ ।

दिक्तेल–गाईघाट खण्डको महुरे–फोक्सिङटार ९४९ किलोमिटर० सडक कालोपत्रको काम अलपत्र छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा रहेको उक्त खण्डमा ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको स्थानीय बताउँछन् ।

प्रधानमन्त्रीसमक्ष सूचना आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगले आर्थिक वर्ष २०८०÷ ८१ को १६ औँ वार्षिक प्रतिवेदन बिहीबार पेस गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले  प्रतिवेदन प्रधानमन्त्री ओलीसमक्ष पेस गरेका हुन् ।

उक्त प्रतिवेदन प्रधानमन्त्रीमार्फत् सङ्घीय संसद्मा प्रस्तुत गरिने व्यवस्था रहेको छ । सोही अवसरमा आयोगको वर्तमान नेतृत्वको पाँच वर्षे कार्यकालमा निर्णय भएका ‘महत्वपूर्ण आदेश सङ्ग्रह’ को प्रधानमन्त्री ओलीबाट सार्वजनिक गरियो ।

प्रधानमन्त्री ओलीले सूचनाको हकलाई वास्तविक हकका रुपमा स्थापित गर्दै सरोकार भएका पक्षलाई आवश्यक सूचना दिने काममा सरकार र आयोगबीच सहकार्य हुनुपर्ने बताए । उनले लोकतन्त्रका पक्षमा सक्दो कार्यान्वयन गर्दै अराजकतालाई भने निरुत्साहन गर्नुपर्नेमा जोड दिए ।

प्रमुख आयुक्त गुरुङले आफूहरुको पाँच वर्षको कार्यकालमा पाँच हजार एक सय ८२ पुनरावेदन प्राप्त भएकामा ९५ प्रतिशत फस्र्याैट गरिएको जानकारी गराए । प्रमुख आयुक्त गुरुङ आयुक्तहरु कमला ओली थापा र रत्नप्रसाद मैनालीको कार्यकाल यही मङ्सिर २३ गते सकिँदैछ ।

 परराष्ट्रमन्त्री राणा चीन प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज चीन प्रस्थान गरेकी छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि उनी आज मध्याह्न त्यसतर्फ प्रस्थान गरेकी हुन् । 

डा राणा नेपालको परराष्ट्र मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक चीन भ्रमणमा गएकी हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राई र मन्त्रालयका अधिकारीहरूले बिदाइ गरेका थिए ।

भ्रमणका क्रममा मन्त्री डा राणाले चिनियाँ विदेशमन्त्री यीसँग द्विपक्षीय भेटवार्ता गर्नेछिन् । भेटवार्ता शुक्रबार चीनको सिचुआन प्रान्तस्थित छेन्दु सहरमा हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।   

चीनको औपचारिक भ्रमणका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भ्रमणको तयारीस्वरूप उनी आज चीन गएकी हुन् । प्रधानमन्त्री ओली अर्को साता चीन भ्रमणमा जाँदैछन् । परराष्ट्रमन्त्री डा राणा यही मङ्सिर १५ गते स्वदेश फर्कनेछिन् ।

चीनको हिरासतमा रहेका तीन अमेरिकी रिहा

वासिङ्टन । निवर्तमान राष्ट्रपति जो बाइडनको प्रशासनको प्रमुख लक्ष्य पूरा गर्दै चीनले संयुक्त राज्य अमेरिकासँगको कैदी आदानप्रदानमा हिरासतमा लिइएका तीन अमेरिकीलाई रिहा गरेको अमेरिकी अधिकारीले बुधबार बताएका छन्।

अमेरिकी विदेश मन्त्रालयले गलत तरिकाले हिरासतमा राखेको भनी वर्गीकृत गरेका तीन जना अमेरिकी कैदी मार्क स्विडन, काई ली र जोन लेउङ चीनका अन्तिम कैदी थिए।

यद्यपि अधिकारकर्मी र चीनमा हिरासतमा रहेका अन्य कैदीका परिवारहरूले थप अमेरिकी नागरिकहरूको मुद्दा उठाएका छन्।

“चाँडै नै उनीहरू फर्कनेछन् र धेरै वर्षपछि पहिलो पटक आफ्ना परिवारसँग पुनर्मिलन हुनेछन्,” अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले पारिवारिक पुनर्मिलनसँग जोडिएको अमेरिकी धन्यवाद दिवसको पूर्वसन्ध्यामा भने।

“यो प्रशासनको प्रयास र चीनसँगको कूटनीतिका कारण पीआरसीमा गलत तरिकाले हिरासतमा लिएका सबै अमेरिकीहरू स्वदेश फर्किएका छन्,” विदेश मन्त्रालयका प्रवक्ताले बताए।

यस मामिलासँग सम्बन्धित एक स्रोतका अनुसार अमेरिकी हिरासतमा रहेका तीन जना चिनियाँ नागरिकका लागि बेइजिङसँग अदलाबदली गरेर तीनै जनालाई रिहा गर्न लागिएको हो।

सन् २०१२ को अन्त्यतिर स्विदनलाई लागूऔषधको आरोपमा चीनको व्यापारिक भ्रमणका क्रममा पक्राउ गरिएको थियो। उनको परिवार र समर्थकहरूले उनिसँग लागूपदार्थ भएको कुनै प्रमाण नभएको र उनका ड्राइभर र अनुवादक सहयोगीले उनलाई दोष दिएको बताएका छन्।

चीनमा कैदीहरूलाई सहयोग गर्ने समूह डुइ हुवाका अनुसार हिरासतमा रहेको प्रारम्भिक समयमा, स्विडनले निद्रा र खानाबाट बञ्चित भएको र १०० पाउन्ड (४५ किलोग्राम) भन्दा बढी तौल गुमाएका छन्।

सन् २००६ देखि जेलमा रहेका पास्टर डेभिड लिनलाई सेप्टेम्बरमा संयुक्त राज्य अमेरिकाले रिहा गरेको थियो।

अमेरिकी अधिकारीहरूले उक्त रिहाई एक चिनियाँ नागरिकको लागि अदलाबदली को एक भाग भएको पछि स्वीकार गरेका थिए।

बाइडेन प्रशासनले आफ्नो कार्यकालको बाँकी समयमा कैदीहरूको रिहाई सुनिश्चित गर्ने आशा गरेको थियो, बाइडेनले यसै महिना पेरूमा एपेक शिखर सम्मेलनको क्रममा राष्ट्रपति सी जिनपिङसँग अन्तिम भेटमा ती मुद्दाहरू उठाएका थिए।

श्रीलङ्कामा आँधीका कारण चार जना बालबालिकाको मृत्यु

कोलम्बो । भारत तर्फ गइरहेको शक्तिशाली आँधीले निम्त्याएको भारी वर्षाका कारण आएको आकस्मिक बाढीका कारण चार बालबालिकाको मृत्यु भएको र बाढीका कारण डुबेका अन्य चार बालकलाई उद्धार गरिएको श्रीलङ्काली उद्धारकर्मीले बिहीबार बताएका छन् ।

उद्धार टोलीका अनुसार श्रीलङ्कामा बाढीका कारण दुई लाख ५० हजार भन्दा बढी मानिसहरू विस्थापित भएका छन् । भारतीय मौसम अधिकारीहरूले दक्षिणपश्चिम बङ्गालको खाडीमा रहेको आँधी चक्रवाती आँधीमा परिणत हुन सक्ने ‘सम्भावना’ रहेको बताएका छन् ।

उत्तरी अटलान्टिकमा आँधीबेहरी वा उत्तरपश्चिमी प्रशान्तमा चक्रवातको जोखिम भएजस्तै यस क्षेत्रका लागि पनि चक्रबातको खतरनाक जोखिम रहेको पाइन्छ । श्रीलङ्काको तट पार गरिसकेपछि, आँधी भारतको दक्षिणी तमिलनाडु राज्यतिर उत्तरतर्फ अघि बढिरहेको जनाइएको छ ।

भारतीय मौसम विभागले शनिबार भारतको दक्षिणी तमिलनाडु र पान्डेचरी तटवर्ती क्षेत्रमा ७० किलोमिटर प्रति घण्टा सम्मको गतिमा प्रवाह हुने अनुमान गरिएको छ ।

श्रील्ङ्काको विपद् व्यवस्थापन केन्द्रले विस्थापित आफ्नो घर जलमग्न भएपछि सार्वजनिक भवनमा अस्थायी आश्रय खोजिरहेको जनाएको छ । सरकारले सेनाको सहयोगमा राहत कार्य शुरु गरेको जनाएको छ ।

विपद् व्यवस्थापन केन्द्रले अझै पनि बेपत्ताहरुको खोजी गरिरहेको उल्लेख गरेको छ । दक्षिण एसियाली क्षेत्रले वर्षा सँग सम्बन्धित घातक बाढी र पहिरोजन्य जोखिम निरन्तर भोग्दै आएको छ । विज्ञहरूले भने जलवायु परिवर्तनका कारण यस्ता खालका समस्याहरू बढ्दै गएको उल्लेख गरेका छन् ।

उखुको जुस बेचेर मासिक ४० हजार आम्दानी

महोत्तरी । मिथिला–१ ढल्केबरका ३० वर्षीय पञ्चलाल साहले उखुको जुस बेचेर मासिक ४० हजार आम्दानी गर्दै आएका छन् । महोत्तरीको बर्दिबासचोकमा बिहानैदेखि साँझसम्म उखु पेलेर रस बेच्ने काम गर्दै आएका उनले आम्दानी गर्न विदेश जानु नपर्ने बताए ।


“हामीले कुरा नबुझी भौतारिन्छौँ, काम गर्न सके स्वदेशमा आन्दानीका प्रशस्त स्रोत छन्”, उखुको रस बेच्दै साहले भने, “आफ्नै ठाउँमा परिवारको साथमा काम गर्न र जीविकोपार्जन गर्न सकिन्छ । अवसर खोजी गरेर मेहनत गर्नुपर्छ, आम्दानीका स्रोत जति पनि भेटिन्छन् ।”


पछिल्ला तीन वर्षदेखि बर्दिबासलाई आफ्नो बजार बनाएका साहले उखुको रस बेचेको कमाइले परिवारको गुजारा चलाउनुका साथै यसअघि विदेश जाँदाको  चार लाख ऋण पनि तिरिसकेको बताए । “महिनामा रु ४० हजार कमाइ हुन्छ, किन जानु खाडी ?”, उनले प्रश्न गरे, “मैले अहिले विदेश जाने कुरा सोच्नै छाडें ।”


यसअघि गरिबीले थिचेर जीविकोपार्जनका लागि कतार र सउदीअरेबियामा पाँच वर्ष बिताउँदा ऋणको भार लिएर फर्केको साहको अनुभव छ । “घरको दुःख टार्न भनेर ऋण गरेर गएँ, दलालको चक्कर रहेछ, भनेको काम नपाएर ऋण बोकेर रुँदै घर फर्केँ”, उनले भने, “स्वदेश फर्केर दुई लाखमा उखु पेल्ने मोटर किनेर काम थालँे, अहिले परिवारको खर्च गर्न कुनै दुःख छैन ।” 


यहाँको कामले पुरानो ऋण तिरेर घरगुजारा चलाउँदै छरछिमेकमा पर्दा दुई÷चार सय सरसापट चलाउनसक्ने भएको साहले बताए । “मेरो छ जनाको परिवारलाई दैनिकी चलाउन, छोराछोरी पढाउन अहिले कुनै समस्या छैन”, उनले भने । साहले दुई छोराछोरीलाई बर्दिबासमा राखेर पढाइरहेका छन् ।


साहजस्तै ईश्वरपुर नगरपालिकाको श्रीनगरका २० वर्षीय विक्कीकुमार साहले पनि उखुको जुस बेच्ने काम गर्दै आएका छन् । खोजखाज गरेर राहदानी बनाएका विक्कीले विदेश जाने ऋण नपाएपछि सानो पुँजीले दुई वर्षअघि उखु पेलेर जुस बेच्न थालेको बताए । अहिले यसबाट कमाइ हुन थालेपछि छुटेको पढाइलाई निरन्तरता दिनुका साथै घर खर्चमा सहयोग गर्न थालेको उनले बताए ।


“दैनिक एक हजार भन्दा बढी आम्दानी हुन्छ, अहिले १२ कक्षाको पढाइलाई निरन्तरता दिन थालेको छु । अब ऋण काढेर विदेश जाने सोच छैन”, विक्कीले भने । बर्दिबासचोकमा मात्रै यही पेसा गरिरहेका छ÷सातजना भेटिन्छन् । सबैजसोले दैनिक काम गर्दा मनग्ये आम्दानी भइरहेको प्रतिक्रिया दिने गरेका छन् । 


महोत्तरी, सर्लाही र धनुषामा उखुखेती बढी हुने भएकाले यहाँ कच्चापदार्थ (उखु) खोज्न भौतारिनु नपर्ने र रस नगदमा जाने हुँदा उधारो करोबार नहुने विक्कीको भनाइ छ ।


मोटर गुडाउँदै उखु पेलेर रस बेच्ने काम गरिरहेकाहरूसँग किसान पनि खुसी छन् । यिनीहरूले चिनीमिलको भन्दा केही बढी मूल्यमा तत्कालै नगद दिएर उखु लाने हुँदा दैनिक गर्जो टार्न नगद आइरहेको बर्दिबास–२ का किसान क्षेत्रबहादुर भुजेलले बताए । 


बजारचोकमा उखुको जुस खाने बाक्लै आगन्तुक हुन्छन् । आफ्नै आँखा अगाडि पेलेर ताजा जुस दिने भएकाले उपभोक्ताको रोजाइमा परेको हो । “पसलमा राखिएका विभिन्न थरिका जुसभन्दा यो स्वस्थ्यकर र तत्काल ऊर्जा दिने हुन्छ”, स्थानीय स्वास्थ्यकर्मी गिरेन्द्रकुमार झाले भने । 


स्वदेशमा अवसर खोज्ने हो भने विदेश जानुपर्ने बाध्यता अन्त्य हुने झाको भनाइ छ । साना व्यावसायिलाई स्थानीय सरकारले जीविकोपार्जनमूलक सीप विकास, आर्थिक तथा प्राविधिक सहयोग गरी युवालाई विदेश जानबाट रोक्नुपर्नेमा उनले जोड दिए । 

‘सख्खर जस्तै गुलियो व्यापार’

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–८, का जिवस मण्डल सख्खर (गुण) व्यापारबाट सख्खरजस्तै गुलियो आम्दानी गरिरहेका छन् । उमेरले ६५ वर्ष पार गरिसकेका उनले आठ वर्षदेखि घर नजिकै उखु पेलेर सख्खर बनाउने कोल (क्रसर) सञ्चालन गरेका हुन् । खेती किसानी मुख्य पेसा भए पनि मौसमी पेसाको रुपमा कोल क्रसर चलाउने गरेको उनी बताउँछन् ।

तीनदेखि चार महिनाको बीचमा हुने यस पेसाबाट वर्षेनी सख्खर बेचेर पाँचदेखि सात लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको उनको भनाइ छ । ‘‘कोल चलाएको आठ वर्ष भयो, यसकै आम्दानीले घर व्यवहार गर्न र केही रकम बचत गर्न सकेको छु’’ उनले भने ।

विषेशगरी कात्तिक अन्तिम हप्ताबाट सुरु गरेर फागुन÷चैतसम्म उनी कोल चलाउने गर्छन् । दैनिक ५० क्विन्टलसम्म उखु क्रसिङ गर्ने मण्डलले पाँच सय केजीभन्दा बढी नै सख्खर बनाएर बजार पठाउने गर्छन् । उनले उत्पादन गरेको सख्खर ६० देखि एक सय २० रुपैयाँसम्ममा व्यापारीहरूले लैजाने गरेका छन् । उनले भने, ‘‘राम्रो सख्खरको धेरै मूल्य आउँछ । अलि फोहोर भयो भने, मूल्य कम आउँछ ।’’

नजिकैका खेतहरूमा लगाएको उखु किनेर पेल्ने गरेको मण्डलको भनाइ छ । जिल्लामा रहेका चिनी उद्योगहरू ढिला चल्ने हुँदा उखु हटाएर अन्य बाली लगाउने किसानलाई उखु काट्न हतारो हुने गर्दछ । अन्य मकै, गहुँ, तोरी, आलुलगायतको बाली लगाउन समयमै उखु बेच्नु पर्ने किसानहरूलाई चिनी उद्योग ढिलो चल्दा समस्या हुने गरेको छ । उनी तिनै किसानहरूको उखु खरिद गरिदिन्छन् र सख्खर बनाएर बिक्री गर्छन् । स्थानीय किसानहरु पनि चिनी उद्योगहरुले समयमै खरिद नगरिदिए पनि मण्डललाई बिक्री गरेर सानातिनो गर्जो टार्न सकेको बताउँछन् । यस वर्ष पनि मण्डलले प्रतिक्विन्टल चार सय ५० रुपैयाँमा उखु खरिद गरेको बताए । उद्योगले केही बढी मूल्य दिए पनि ढुवानी, खर्च, वर्षौंसम्म पैसा पाउन समस्या रहेकाले कोलमा उखु दिँदा सजिलो भएको बरहथवा–८ का उखु किसान रामजनम राय बताउँछन् ।

मण्डल भन्छन्, ‘‘मलाई उखु किसानको समस्या राम्ररी थाहा छ, किसानहरूलाई सात÷आठ दिनमै भुक्तानी गरिदिन्छु । यसले पनि किसानहरु आफैँ बोकेर उखु ल्याइदिन्छन् ।’’ कतिपय किसानलाई त आफूले उखु लिनुभन्दा पहिला नै खेती, लगाउन बिउ मल किन्न, घरखर्च टार्न पैसा दिने गरेको उनी बताउँछन् । मण्डलले क्रसरमा अन्य पाँच जनालाई काम समेत दिएका छन् । उनीहरुको पनि तीनदेखि चार महिनाको रोजीरोटी यसैबाट टरेको छ ।

मण्डलको जस्तै जिल्लामा झण्डै ५० वटाको हाराहारीमा सख्खर बनाउने कोल क्रसर सञ्चालनमा रहेका छन् । कोल क्रसरले मात्र वर्षेनी अढाई लाख क्विन्टल बढी उखु क्रसिङ गर्ने गर्दछन् । यस पेसामा २ सय ५० जना बढी कामदारको रुपमा कार्यरत छन् । सर्लाहीबाट मात्र दुई हजार पाँच सय केजी हाराहारीमा सख्खर उत्पादन हुने गरेको छ । यहाँ उत्पादन भएका सख्खर छिमेकी जिल्लामा मात्र नभई काठमाडौँ, चितवन, बिराटनगरलगायतका शहरहरुमा पनि पुग्ने गरेको स्थानीय व्यापारी दिनेश महतोले बताउँछन् ।

भारतीय सख्खरले स्थानीय किसान मारमा

भारतीय बजारबाट चोरी तस्करी भएर आउने सख्खरका कारण स्थानीय उत्पादनकर्ता मारमा पर्ने गरेको मण्डलले गुनासो छ । ‘‘भारत सरकारको किसानलाई ठूलो मात्रामा अनुदान दिने भएका कारण लागत कम छ’’ उनले भने, ‘‘कालोबजारीबाट किनेको मलखाद र बिउबिजनबाट उत्पादन भएको बालीले कसरी प्रतिस्पर्धा गर्नु ? हाम्रोमा लागत धेरै छ ।’’भारतबाट आउने सख्खरमा गुणस्तर समेत नभएको उनको दाबी छ । यसले गर्दा नेपाली उपभोक्ता ठगिन बाध्य भएको उनी बताउँछन्

। उनी भन्छन्, यसबारेमा अधिकांश उपभोक्तालाई थाहा हुँदैन । केही सस्तोमा पाइयो भन्छन् तर पछि पछुताउनु पर्ने हुन्छ ।’’ भारतको सिमावर्ती क्षेत्रबाट खुल्लमखुल्ला ट्रकका ट्रक भित्रिने गुणस्तरहीन सख्खर नियन्त्रण नगरेसम्म स्थानीय उत्पादनले बजार पाउन नसक्ने र उपभोक्ता पनि ठगिने अवस्था रहने उनको भनाइ छ ।

चिनी उद्योगलाई उखु तान्ने हतारो

सरकारले उखुको न्यूनतम् मूल्य निर्धारण गर्नुअघि नै चिनी उद्योगहरुले धमाधम किसानहरुसँग उखु खरिद गर्न थालेका छन् । जिल्लामा रहेका तीन वटा चिनी उद्योगले सञ्चालनको तयारी गर्दैगर्दा क्रसिङ सुरु गरेका छन् । लामो समय किसानको उखुको भुक्तानी नदिएर विवादग्रस्त बनेको जिल्लाको धन्कौँल अन्नपूर्ण चिनी उद्योगले किसानसँग उखु खरिद गर्न शुरु गरेको छ ।

यही मङ्सिर ६ गतेदेखि क्रसिङ शुरु गरेर चार दिनमा २६ हजार आठ सय ७१ क्विन्टल उखु क्रसिङ गरिसकेको उद्योगका प्रबन्धक शैलेन्द्र गुप्ताले जानकारी दिए । उखु खरिद गरेको भुक्तानी नदिने र किसानलाई दुख दिने छवि बनेको अन्नपूर्ण यतिबेला नयाँ उद्योगीबाट सञ्चालनमा आएसँगै किसानको भरोसा बटुल्न लागिपरेको स्थानीय किसानहरु बताउँछन् ।

यसवर्ष भने मङ्सिरको पहिलो हप्ताबाटै क्रसिङ गरेर उद्योगले किसानको भरोसा बटुल्ने प्रयास गरेको हो । अब किसानहरूसँग राम्रो समन्वय गरेर क्रसिङ शुरु गरेको गुप्ताले भने, ‘‘किसानको पुरानो बक्यौता रकम भुक्तान भइसकेको छ ।’’ उद्योगले यस वर्ष १८ लाख क्विन्टल हाराहारीमा उखु क्रसिङ गर्ने लक्ष्य राखेको उद्योगका प्रबन्धक पवनकुमार सिंहको भनाइ छ ।

विसं २०७९ मा नयाँ उद्योगीको निकै पहल पछि केही किसानले पुरानो भुक्तानी पाए । त्यसपछि उद्योग सञ्चालन भएको थियो । क्रसिङ सिजनको अन्तिममा सञ्चालनको प्रयास गरेको उद्योगले उपकरणमा आएको खराबीका कारण लगभग ६८ हजार क्विन्टल मात्र क्रसिङ गरेको थियो ।

अझै उद्योगलाई पूर्ण भरोसा गरेर उखु दिन नसकेको स्थानीय उखु किसानहरूले बताएका छन् । जिल्लाको धन्कौल गाउँपालिका–३, निवासी विन्देश्वर महतोले थोरै मात्रामा उखु दिएको बताउनुभयो । ‘‘मैले उखु रोप्नै छोडिसकेको छु ।’’ उनले भने, ‘‘थोरै खेतमा लगाएको उखु फेरि गाउँकै उद्योगलाई दिएको छु । बढीमा १५ दिनमा भुक्तानी दिने उद्योगीले बचन दिनुभएको छ ।’’ उद्योगमा प्रत्यक्ष जोडिएका स्थानीयले पहिलो चरणमा उखु दिएका छन् ।

यस क्षेत्रमा उत्पादन भएको उखु हरिवनको इन्दुशङ्कर चिनी उद्योग हरिवन, गोडैता नगरपालिकामा रहेको महालक्ष्मी चिनी उद्योग बगदहमा दिने गरेको महतोले बताए । जिल्लाका अन्य उद्योगले अहिले कटानी भएको उखुको चिनी राम्रो नपर्ने भन्दै उद्योग सञ्चालनमा ढिलाई गरिरहँदा अन्नपूर्णले भने किसानको मन जित्न समय अगावै उद्योग सञ्चालनमा ल्याएको हो ।

यस वर्ष उद्योगले कम्तीमा १५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेको उखु प्रबन्धक दिनेश अग्रहरीले जानकारी दिए । उद्योगी तथा व्यवस्थापन पक्षले खेतमै पुगेर किसानहरूलाई उखु दिन आग्रह गरिरहेका अर्का उखु किसान बृजेन्द्र रायले बताए ।

यस्तै गोडैता नगरपालिकास्थित बगदहमा रहेको महालक्ष्मी चिनी उद्योगले यस वर्षको क्रसिङ शुरु गरेको जनाएको छ । केही दिनदेखि उखु सङ्कलन गरेर उद्योग सञ्चालन गरिएको सिंहले जानकारी दिए ।

उद्योगले वर्षको केही भुक्तानी बाँकी राखेको र त्यो समेत एक/दुई सातामा भुक्तानी गरिने समेत उनको भनाइ छ । गत वर्ष यस उद्योगले १२ लाख ३७ हजार तीन सय क्विन्टल उखु क्रसिङ गरेको थियो । जिल्लाको अर्को चिनी उद्योग इन्दुशङ्करले पनि मङ्सिरको अन्तिम साताबाट क्रसिङ शुरु गर्ने जनाएको छ ।

देशमै व्यवस्थित मानिने जिल्लाको हरिवनमा रहेको इन्दुशङ्कर चिनी उद्योगले यस सिजनको लागि क्रसिङ तयारी अवस्थामा रहेको उद्योगका प्रशासकीय प्रमुख ठाकुर नेपालले बताए । उद्योगले यसवर्ष ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने जनाएको छ । यस उद्योगले अघिल्लो वर्ष २१ लाख ४८ हजार ६ सय ११ क्विन्टल उखु क्रसिङ गरेको थियो ।

उखुको अनुदान बापतको रकम भुक्तानीमा ढिलाइ भएका कारण जिल्लाको उद्योगहरू सञ्चालन हुन नसक्दा अन्य जिल्लाका उद्योगहरूले ठूलो परिमाणमा सर्लाहीको उखु लगेकाले यहाँका चिनी उद्योगहरूले पर्याप्त उखु नपाएको बताएका थिए । देशमै धेरै उखु खेती हुने सर्लाहीमा वर्षेनी ७० देखि ८० लाख क्विन्टल सम्म उखु उत्पादन हुने गरेको तथ्याङ्क छ ।

समर्थन मूल्य अन्योलमै

मङ्सिर आधा सकिनै लाग्दा समेत सरकारले यस सिजनको लागि उखुको समर्थन मूल्य तय नगर्दा किसान र उद्योगी दुवै अन्योलमा परेका छन् । उखु काटेर बेच्न लैजान समय घर्किदै गर्दा पनि अझै निर्णय नभएको उखु किसानहरूको गुनासो छ । ‘‘पहिला नै समर्थन मूल्य तय गर्ने व्यवस्था भए आफूलाई फाइदा भए उखु लगाउने नभए नलगाउने गर्न पाउँथ्यौँ, नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले भने ।

यता उखु उद्योगहरूले भने तत्काललाई गत वर्ष सरकारले तोकेको समर्थन मूल्य भुक्तानी गरेर उखु खरीद गर्ने तयारी गरेका छन् । पछि सरकारले तय गरेको समर्थन मूल्य दिने गरी अहिलेलाई अघिल्लो वर्षको मूल्यमा खरिद गर्ने व्यवस्था गरिएको महालक्ष्मी चिनी उद्योगले जनाएको छ । तर, किसानहरू भने सरकारले पछि थपेको बाँकी रकम नपाउने चिन्तामा छन् । अघिल्लोपटक प्रतिक्विन्टल पाँच सय ६५ रुपैयाँ तोकिएको थियो ।

म्याग्दीमा पर्यटन पूर्वाधार निर्माण गर्न ११ योजना

म्याग्दी । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ मा जिल्लाका धार्मिक र पर्यटकीय स्थलमा पूर्वाधार निर्माण गर्न विभिन्न ११ योजनाका लागि एक करोड ५० लाख बजेट विनियोजन गरेको छ । पर्यटन तथा उद्योग कार्यालयले कार्यान्वयन हुने १० योजनाका लागि रु. एक करोड २० लाख र पर्यटन, वाणिज्य तथा उपभोक्ता हकहित संरक्षण निर्देशनालय पोखरा अन्तर्गतको एक योजनालाई रु. ३० लाख विनियोजन भएको हो ।

प्रमुख पोषानाथ शर्माले बजेट विनियोजन भएका योजनाको सर्वेक्षण, लागत अनुमान तयार, उपभोक्ता समिति गठन र सम्झौताको प्रक्रिया अघि बढाएको बताए। धवलागिरि गाउँपालिका–४ मा पर्ने धौलागिरि चक्रीय पदमार्ग योजना भने निर्देशनालय मार्फत कार्यान्वयन हुने उनले बताए ।

अन्नपूर्ण गाउँपालिका–५ का खोप्रा लेकमा पर्यटकीय पूर्वाधार र रघुगङ्गा गाउँपालिकाको काली बराह मन्दिर हुँदै धवलागिरि आइसफल जाने पदमार्ग योजनाका लागि रु.२०/२० लाख बजेट प्राप्त भएको छ ।

रघुगङ्गा गाउँपालिका–४ को नागीदेवी मन्दिर संरक्षण, वडा न. ३ को गायत्री मन्दिर संरक्षण, वडा नं. –२ को माझखर्क–ओखरबोट हुँदै साझपानी पदमार्ग, बेनी नगरपालिका –७ को शान्तिपार्क, वडा नं.–२ को ध्यानकुटी पूर्वाधार, वडा नं. ६ को मसिनढुंगा थाकनपोखरी एकपाटे पदमार्ग, धवलागिरि गाउँपालिका–५ मल्कवाङ डाडाकटेरी ररावर हुँदै ग्यासखार पदमार्ग र मालिका–७ बिम–तल्लोगाउँ पदमार्गका लागि रु. १०/१० लाख बजेट प्राप्त भएको छ ।

म्याग्दीमा प्रदेश सरकारले पर्यटन सम्बन्धी योजनाका लागि आर्थिक वर्ष २०७८/७९ मा आठ वटा योजनालाई रु. २० लाख, आर्थिक वर्ष २०७९/८० मा २१ योजनालाई रु. एक करोड ९२ लाख, आर्थिक वर्ष २०८०/८१ मा १८ योजनालाई रु. एक करोड ५६ लाख बनियोजन गरेको थियो ।

प्रशस्त पर्यटकीय स्थल भएपनि गण्डकी प्रदेशका अन्य जिल्लाको तुलनामा म्याग्दीमा कम बजेट विनियोजन हुने र घट्नुका साथै योजनाले पूर्णता नपाउने समस्या देखिएको म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेश शाक्यले बताए।

आर्थिक वर्ष २०८०/८१ मा शुरु भएका १८ पदमार्ग सम्बन्धी योजना मध्य चार मात्र सम्पन्न भएका थिए । गत वर्ष शुरु भएको कालीबराह पदमार्ग बाहेकका योजनाले यो वर्ष निरन्तरता पाएका छैनन् । अधुरा योजनाबाट नागरिकले लाभ लिन नसक्ने भएकाले निर्माणाधीन कामका लागि बजेटको निरन्तरता आवश्यक पर्ने सरोकारवाला बताउँछन् ।

१९ करोडको लागतमा यसरी पुनर्निर्माण गरिँदैछ सानो गौचरन खेल मैदान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सानो गौचरन स्टेडियम पुनर्निर्माण थालनी गरेको छ । उपप्रमुख सुनिता डंगोलले शिलान्यास गरेर बिहीबारदेखि पुनर्निर्माणको काम थालनी गरिएको हो । २२ करोड ९५ लाख ९३ हजार ९९९ लागत अनुमान गरिएको काम गर्न आव्हान गरिएको बोलपत्रबाट १८ करोड ८६ लाख ७४ हजार ८२७ रुपैयाँ कबोल गरेर शुभ कन्स्ट्रक्सनले पुनःनिर्माणको जिम्मेवारी पाएको छ ।

स्टेडियम पुनर्निर्माणको शिलान्यास गर्दै महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, महानगरपालिकाले खेल पूर्वाधारमा लगानी बढाएको बताइन् । स्टेडियममा ९६×६२ मिटरको खेल मैदान हुनेछ ।

मैदानमा आकाशे पानी निकास प्रणालीसहितको कृत्रिम घाँस राखिनेछ । वरिपरि सीमा पर्खाल हुनेछ । यसमा २८ वटा चार पाङ्ग्रे र १७८ वटा २ पाङ्ग्रे सवारी साधन अट्ने क्षमताको पार्किङ हुनेछ ।

स्टेडियमको भुइँ तलामा महिलाका लागि २३ वटा र पुरुषका लागि १६ वटा शौचालय हुनेछन् । पहिलो तलामा ७ वटा महिलाका लागि र ५ वटा पुरुषका लागि शौचालय हुनेछन् ।

स्टेडियममा एउटा फिजियोथेरापी कक्ष, ३ वटा पुरुषका लागि ३ वटा महिलाका लागि गरेर ६ वटा कपडा फेर्ने कोठा, एउटा प्राथमिक उपचार कक्ष र २ वटा टिम लकर हुनेछन् ।

निर्माण कार्यको सार्वजनिक खरिदका लागि २०८१ वैशाख ३ गते सार्वजनिक सूचना जारी भएको थियो । यसबाट १६ जना आवेदकले प्रस्ताव पेश गरेका थिए ।

छनोट भएको निर्माण पक्षलाई कार्तिक २५ गते कार्यादेश दिइएको छ । यो काम २०८२ चैत मसान्तभित्र सम्पन्न गरिसक्नुपर्नेछ ।

रङ्गशाला १८ रोपनी १ आना २ पैसा ३ दान (९२११.५ वर्गमिटर) क्षेत्रफलमा निर्माण हुनेछ । यसमा दर्शक क्षमता १ हजार ५ सय जनाको हुनेछ ।

काभ्रेमा कांग्रेसको सय दिने अभियान: ‘सदस्यता घर-आँगन’

काभ्रेपलाञ्चोक । नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले जिल्लामा ‘सय दिने अभियान’ सुरु गरेको छ । अभियानअन्तर्गत जिल्ला समितिले ‘सदस्यता घर-आँगन’ कार्यक्रमलाई प्राथमिकता दिएको जनाएको छ ।

पार्टी सङ्गठन निर्माणमा बुधबारदेखि जिल्ला समितिद्वारा १३ वटै स्थानीय तहका १३५ वटै वडामा नेता कार्यकर्ता खटेका हुन् । अभियानका क्रममा मृत्यु, राजीनामा, विदेश, पार्टी परित्यागका कारण रिक्त रहेको सभापतिबाहेकको पदमा केन्द्र र जिल्लाको परिपत्रअनुसार पदपूर्तिको व्यवस्था गरिने जनाइएको छ ।

पार्टी विधानबमोजिम तोकिएको सदस्यतासम्बन्धी काम गर्ने, गराउने र सदस्यता विशेष अभियानको रुपमा ‘सदस्यता घर आँगन’ अभियान सञ्चालनलाई प्राथमिकता दिइएको जिल्ला समितिले जनाएको छ ।

यसैगरी पालिका-काठमाडौं सम्पर्क समिति गठन नभएका स्थानीय तहमा उक्त समिति गठन पनि गरिने जनाइएको छ । अभियानकै क्रममा पार्टी र जनप्रतिनिधिको बीचमा संयन्त्र गठन गरिने भएको छ । 

रामराजा बहुमुखी क्याम्पसका प्रमुख कुशवाहाको हत्याका मुख्य आरोपी पक्राउ

बारा । बाराको रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहाको हत्यामा संलग्न मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।

गत जेठमा कुशवाहा हत्याका आरोपी सुरेन्द्र कुशवाहालाई जिल्ला प्रहरी कार्यालय, बाराको टोलीले पक्राउ गरेको हो । मोरङ्ग जिल्लामा लुकिछिपी बसेका उनलाई जिल्ला प्रहरी कार्यालय बाराको टोलीले बुधबार पक्राउ गरी ल्याएको प्रहरीले जनाएको छ ।

सुरेन्द्रले जग्गासम्बन्धी विवादमा हरिभुषणको गोली हानी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । गत जेठ ३२ गते शुक्रबार बाराको आदर्शकोतवाल गाउँपालिका–३, बतरामा क्याम्पस प्रमुख कुशवाहामाथि गोली प्रहार भएको थियो ।

गम्भीर घाइते उनलाई बयोधा अस्पताल, वीरगञ्ज लगिएको थियो । त्यसबेला उनले गोली प्रहारमा सुरेन्द्रको संलग्नता रहेको बताएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको थियो ।