`

भक्तपुर अस्पतालमा मोतिविन्दुको शल्यक्रिया सेवा सुरु

भक्तपुर । भक्तपुर अस्पतालले मोतिविन्दुका शल्यक्रिया सेवा सुरु गरेको छ । अस्पतालले मंगलबारदेखि शल्यक्रिया सेवा प्रारम्भ गरेको हो ।

अस्पतालकी कार्यकारी निर्देशक डा. सुमित्रा गौतमका अनुसार अब प्रत्येक मङ्गलबार मोतिविन्दुको शल्यक्रिया गरिने छ । यसअघि अस्पतालले आँखाका बिरामीलाई बहिरङ्ग सेवा उपलब्ध गराउँदै आएको थियो । प्रदेश सरकारले उपकरण प्रदान गरेपटि सेवा सञ्चालन भएको हो ।

यसैबीच, वागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले प्रदेशको १३ वटा प्रादेशिक अस्पतालमध्ये भक्तपुर अस्पतालमा आँखाको शल्यक्रिया सेवा विस्तार भएको तथा प्रदेशका अन्य अस्पतालमा पनि यो सेवा उपलब्ध गराउन प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताए ।

अर्थ मन्त्रालयद्वारा विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा

काठमाडौं । अर्थ मन्त्रालयले विपद व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा गरेको छ । गत असोज दोस्रो साताको बाढीपहिरोले जनधनमा क्षति पुर्याएपछि मन्त्रिपरिषदले अर्थ मन्त्रालयबाट विपद् कोषमा एक अर्ब जम्मा गर्ने निर्णय गरेको थियो । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ अनुसार कोषमा जम्मा भएको रकम खर्च हुनेछ ।

विपद् जोखिम कोषमा व्यावसायिक तथा सामाजिक संघसस्था, विदेशमा रहेका नेपाली, बैंक तथा वित्तीय संस्थाले समेत रकम जम्मा गरेका छन् ।

सप्तरीमा १७ क्विन्टल गाँजासहित एकजना पक्राउ

सप्तरी । सप्तरीको राजगढ गाउँपालिका–४ बाट सप्तरी १७ क्विन्टल ३६ किलो गाँजासहित एक जनालाई नियन्त्रणमा लिइएको छ । बालुवा र गिट्टीले छोपेर उक्त परिमाणको गाँजा लिएर राजगढ गाउँपालिका–४ बेल्ही चपेना शनि मन्दिरस्थित भित्री सडक खण्डमा पत्थरगाढाबाट झुटकीतर्फ गइरहेको टिपर र त्यसका चालकलाई सोमबार राति पक्राउ गरिएको हो ।

कल्याणपुरस्थित इलाका प्रहरी कार्यालयका अनुसार टिपर निरीक्षण गर्दा ५६ बोरा गाँजा फेला परेको हो । टिपर चालक धनकुटाको सहिदभूमि गाउँपालिका–३ का ३३ वर्षीय यमजित राईलाई पक्राउ परेका छन् ।

उनलाई आज अदातलमा पेस गरिने छ । उनलाई हिरासतमा राखेर कारबाही अघि बढाउन प्रहरीले अदालतसँग अनुमति लिनेछ ।

ताजिकिस्तानमा दुई मैत्रीपूर्ण खेल खेलेर नेपाली राष्ट्रिय फुटबल टोली स्वेदश फिर्ता

काठमाडौं । ताजिकिस्तानमा दुई मैत्रीपूर्ण खेल खेलेर नेपाली राष्ट्रिय फुटबल टोली सोमबार साँझ स्वदेश फर्किएको छ ।

टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायत एन्फा पदाधिकारीले स्वागत गरेका थिए ।

फिफा विन्डो अन्तर्गत त्रिदेशिय मैत्रीपूर्ण खेल खेल्न नेपाल ताजिकिस्तान गएको थियो । जसअन्तर्गत गत बुधबार भएको पहिलो खेलमा नेपाल घरेलु टोली ताजिकिस्तानसँग ४–० ले पराजित भएको थियो । शनिबार भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले अफगानिस्तानलाई हराएको थियो ।

त्रिशुलीमा ट्रक खस्यो, तीन जनाको उद्दार

मलेखु । नवलपरासीबाट काठमाडौं गइरहेको ट्रक धादिङ्गको बेनिघाट रोराङ्ग गाउँपालिकास्थित हुग्दी खोला नजिकैबाट त्रिशुली नदीमा खसेको छ ।

नवलपरासीबाट चामल बोकेर काठमाडौं गइरहेको गरेको लु २ ख ३५० नम्बरको ट्रक मंगलबार बिहान पाँच बजेको समयमा धादिङ्गको बेनिघाट रोराङ्ग गाउपालिका वडा नम्बर १० स्थित हुग्दीखोला नजिकैबाट त्रिुशलीमा खसेको हो ।

दुर्घटनामा ३ जनाको उद्वार गरी काठमाडौ उपचारको लागि पठाइएको प्रहरीले जनाएको छ । त्रिशुलीमा ट्रकको केही भागमात्र देखिएको छ ।

उर्जा मन्त्रालयद्वारा ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘डेडिकेटेड’ तथा ‘ट्रङ्कलाइन’ विवादमा नेपाल विद्युत प्राधिकरणले काटेका बिलबिजकको अध्ययन गर्न तीन सदस्यीय विज्ञ समिति गठन गरेको छ ।

मन्त्रालयले डेडिकेटेड तथा ट्रङ्कलाइन विद्युत् महसूल बक्यौतासम्बन्धी आवश्यक सत्यतथ्य विवरण/प्रमाण संकलन गर्ने एवम् प्रमाणीकरण गर्ने कार्यादेशअनुसार नेसनल कलेज अफ इन्जिनियरिङ्का प्राडा अरविन्दकुमार मिश्रको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जानकारी दिए ।

समितिको सदस्यमा ‘चार्टड एकाउन्टेन्ट’ सुजनकुमार काफ्ले र श्रीरामराज पाण्डे छन् । “समितिले गिरिशचन्द्र लाल नेतृत्वको आयोगले गरेका सिफारिस र मन्त्रिपरिषद्ले गरेका निर्णयका आधारमा पहिले काटेका बिलबिजकलाई ‘टाइम अफ डे’ (टीओडी) मिटरका आधारमा पुनःगणना गरी जाँच गर्नेछ,” मन्त्री खड्काले भने ।

उक्त समितिलाई जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसअनुसार विसं २०७२ माघदेखि २०७५ वैशाखसम्म टीओडी मिटरसमेतको आधारमा डेडिकेटेड फिडर र ट्रङ्कलाइनबाट विद्युत् उपयोग गर्ने ग्राहकको वक्यौता विद्युत् महसुल निर्क्यौलसम्बन्धी आवश्यक सत्यतथ्य प्रमाण एवम् प्रमाणीकरण गर्ने मुख्य कार्यादेश दिएको मन्त्रालयले जनाएको छ ।

एनपिएलको उद्घाटन खेलमा विराटनगर र जनकपुर भिड्ने(तालिकासहित)

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को खेलतालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघले सोमबार साँझ एनपिएलको तालिका सार्वजनिक गरेको हो ।

तालिकाअनुसार एनपिएलको उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर वोल्टस भिड्ने भएका छन् । मंसिर १५ गते उद्घाटन खेल हुन छ ।

क्यानको आयोजनामा मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म प्रतियोगिता हुँदैछ । प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा सिद्धार्थ बैंक रहेको छ भने खेलहरु स्टार स्पोर्टसबाट प्रत्यक्ष प्रसारण हुनेछन् ।

बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा तीन सय तीन वटा पूर्वाधार सम्बन्धी योजना कार्यान्वयन गर्दैछ । गत असारको नगर सभाबाट छनौट भई बजेट विनियोजन भएका वडा स्तरीय दुई सय ७१ मध्य ४७ वटा सम्झौता र नगर स्तरीय ३२ मध्य आठ वटा ठेक्का प्रक्रियामा रहेका नगरपालिकाले जनाएको छ । सडक, खानेपानी, सिचाई, पहिरो तथा नदी नियन्त्रण, भवन, खेलमैदान निर्माण सम्बन्धी योजना छनौट भएका छन् ।

वडा स्तरीय १७ वटा योजना सम्पन्न भएका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए । रु. पाँच लाख सम्म बजेटका योजनाहरू वडा कार्यालयमै सम्झौता गर्ने व्यवस्था मिलाएको बेनी नगरपालिकाले १० वटा मध्य ७ र ८ नम्बर बाहेकका वडामा उपभोक्ता समिति गठन गरेर कार्यान्वयनका लागि अभिमुखीकरण गराएको छ ।

पूर्वाधार आयोजनाहरूका लागि रु. १२ करोड ४३ लाख २५ हजार बजेट विनियोजन भएकोमा साउन देखि कात्तिक महिनासम्म रु. ४५ लाख ९६ हजार खर्च भएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए ।

बेनी-अर्थुंगे तोरीपानी, बेनी-अर्थुंगे-पुलाचौर-भुतपानी, बेनी-लभ्लिहिल-ज्यामरुककोट, अर्थुंगे-पुलाचौर, महारानीथान–छाप डाडाखेत, बेनी-अुर्थंगे-तोरीपानी-पात्लेखेत सडक, खबरा र पुलाडाडा पुरुण्डी खानेपानी, रावण पार्क र जामुना खर्क नमुना विद्यालय भवन बेनी नगरपालिकाको चालु आर्थिक वर्षमा सञ्चालित ठूला आयोजना हुन् ।

गत आर्थिक वर्षमा ठेक्का सम्झौता भएको खबरा खानेपानी, बेनी-अर्थुंगे-पुलाचौर-भुतपानी र बेनी-अर्थुंगे-तोरीपानी सडक योजना निर्माण सकिएको ईञ्जिनियर सुदिप गौतमले बताए । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका २१ वटा योजना कार्यान्वयनको चरणमा छन् ।

न्यायिक समितिमा गत आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएको छ र नयाँ दर्ता भएका छ सहित १० वटा फस्यौट भएको र दुई प्रक्रियामा रहेका नगर उपप्रमुख ज्योति लामिछानेले बताए । रु. पाँच करोड आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको नगरपालिकाले पहिलो चौमासिकमा रु. ८० लाख २७ हजार १८ हजार राजस्व संकलन गरेको छ ।

चलचित्र हेरेपछि लाग्योः आँसुमै बग्यो ‘पूर्णबहादुरको सारङ्गी’ को मुद्दा

मधु शाही, काठमाडौँ । “हेलो ! मधु जी नमस्कार । फिल्म प्रदर्शन भएको तीन दिन भइसक्यो, केही लेखिदिनु पर्यो”, तिहारताका चलचित्र पूर्णबहादुर सारङ्गीका ‘हिरो’ विजय बरालले फोनमार्फत  भनेका थिए । उनको फोन आउँदा मर्दी हिमालको पदयात्रामा थिएँ । नेटवर्कको समस्याले आवाज राम्रोसँग सुनिएन । मैले काठमाडौँ फर्किएपछि लेखौँला भनेर फोन राखिदिएँ । चार दिनको पदयात्रा पूरा गरेर काठमाडाँै फर्किंदा फिल्मको बारेमा चर्चा नगर्ने सायदै कोही थिए । चर्चा मात्रै होइन फिल्म हेरेर सामाजिक सञ्जालका भित्तामा आँसु खसालेका दृश्य पनि सँगसँगै राखिरहेका थिए ।

नेपाली कलाकारिता क्षेत्रमा विजय बराल नौलो नाम होइन तर यो तहको चर्चा सायद पहिलोपटक भएको होला । अझ भनौँ उनी एकाएक ‘चर्चित’ भए । सामाजिक सञ्जालमा चलचित्र हेरेर रुँदै हलबाट निस्किने दृश्यले बरालको अभिनयको तारिफ जताततै भइरहेको थियो । मैले चलचित्र हेरेकी थिइनँ । त्यसैले रुने कुरा पनि भएन !

हल सबै ‘हाउसफुल’ थिए । एक साता धैर्य गरे । यद्यपि हल भरिएकै छ । जसरी बरालले फिल्म चलेन भनेर फोन गरेका थिए, मैले उसै गरी उनलाई फोन गरेर भने, “विजयजी फिल्म हेर्न पाइनँ, सबै हाउसफुल छ । कसरी समीक्षा गरौँ ?,” उनले निकै हार्दिकताले हने, “म मिलाउँछु नि !”

बराल अभियनले जति अब्बल छन्, यति नै लचिलो मानवीय स्वभाव छ । झन्डै १६ वर्षदेखि मण्डला थिएटरमा उनले रङ्गकर्मीका रुपमा निरन्तर गर्दै आएको सङ्घर्ष र अभिनयप्रतिको लगाव मैले प्रत्यक्ष देख्ने र लेख्ने अवसर पाएकी छु । अभिनय नै सबैथोक मान्ने कलाकारमध्ये उनी पनि एक छन् । जतिबेला नाटक मञ्चन गरी थिएटरबाट बाहिर निस्किन्थे उनको मप्रति उल्टो प्रश्न हुन्थ्यो, “मधुजी, मलाई प्रशंसा गरेर नलेख्नु । जे महसुस हुन्छ यथार्थ आलोचनात्मक लेख्नु है !”

जुन कलाकारले कटु आलोचनालाई पचाउन सक्दैन ऊ धारिलो हुँदैन । विजय बराल यस सन्दर्भमा असाध्यै लचिलो कलाकार हो । उनी अभिनीत पूर्णबहादुरको सारङ्गीको लोकप्रियताले यसको पुष्टि गरिसकेको छ ।

पूर्णबहादुरको सारङ्गी भनौँ या विजय बरालको सारङ्गी पर्यायवाची जस्तै छ अहिले, किनकि चलचित्रमा विजय बराल आफू हराएर पूर्णबहादुर पात्रका रुपमा उत्रिएका छन् । सायद उनी ओशोले कलाकारको सन्दर्भमा भएको भनाइबाट प्रभावित छन् । कुनै सन्दर्भमा ओशोले भनेका छन्, “जीवन अभिनय गरे जस्तै गरी जिउनु र अभिनय जीवन जिए जस्तै गरी गर्नु !” बरालले दिलोज्यान लगाएर यस फिल्ममा पात्र अनुकूल अभियन गर्नुभएको छ तर प्रश्न यतिमै टुङ्गिँदैन । एउटा चलचित्र के हो ? कल्पना, यथार्थ घटना, समाजको ऐना, रुपान्तरणको प्रयास वा व्यापार ?

साहित्यकार अमर न्यौपानले किताब जात्राको छैटौँ संस्करणको संवादका क्रममा भनेका छन् छ कि साहित्य समाजको ऐना हो भनेर मात्रै पुग्दैन, समाज रुपान्तरण र परिवर्तनका आधार सिर्जना गर्ने क्रान्ति पनि हो । लेखक न्यौपानेको बुझाइ सापटी लिने हो भने पूर्णबहादुरको सारङ्गी रुपान्तरण र क्रान्तिभाव जागरणमा चुकेको छ । समाजको अत्यन्त पिँधमा पारिएका दलित समुदायको प्रतिनिधित्व गर्ने पात्र हो, पूर्णबहादुर । उसले आफू अपमानित भइरहेको समाजबाट उन्मुक्त हुन नसकेको बेला छोराको चम्किलो भविष्य कसरी पूरा गर्न सक्छ ? चलचित्रले यो प्रश्नलाई भगवान्को भरोसा छोडिदएको छ ।

छोराले पूर्णबहादुरलाई पटक पटक सोध्छ, “तिमीलाई किन हेप्छन् बा ?” खासमा चलचित्रले यसको उत्तर दिनुपर्ने हो तर एउटा गाइने समुदायको गरिबी देखाएर मानवीय संवेदना बटुल्न खोज्दै चलचित्र व्यावसायिक बनाउनु न्यायोचित छैन । चलचित्रले उठाउने मुद्दा र पात्रहरुमा सकारात्मक रुपान्तरण ल्याउन जरुरी थियो, यदि साहित्य रुपान्तरणको आधार हो भने । चलचित्र समाजको दर्पण मात्रै हो भने त्यो दर्पण नेपाली समाजलाई देखाइरहन जरुरी छैन, थिएन । हाम्रो समाजले जातीय तथा लैङ्गिक आधारमा हुने हिंसा र अपमान, गरिबी, सीमान्तकृत हुनुको पीडाबारे हाम्रो समुदाय बेखबर वा अञ्जान छैन । बरु त्यो पीडा ‘कठै’ वा ‘विचरा’मा सीमित छ । अझ अगाडि भन्ने हो भने यो विचारमा मात्रै कैद छ । गणतान्त्रिक शासन व्यवस्था अपनाएको डेढ दशक नाघेको समाजले अब ती दलित र सीमान्तकृत पात्रलाई विचरा वा कठै वा विचारमा होइन, राज्य र समुदायले उसमाथि गर्दै आएको विभेदको आत्मग्लानी महसुस गरी व्यवहारमै ‘सुध्रिएको’ महसुस गर्न वा गराउन जरुरी छ ।

हामीले भुल्नु हुँदैन, पूर्णबहादुरले सारङ्गी बजाएर कला पस्किएको यो समाजले कहिल्यै इज्जत गरेन । बरु त्यही सारङ्गीकै कारण उसमाथि जातीय विभेदको चरम प्रातडना सहन बाध्य पारेको छ । र, यदाकदा भन्ने गरिन्छ,“दलित समुदायले आफ्नो जात, थर र पेसामाथि गर्व गर्न सिक्नुपर्छ ।” चलचित्र पूर्णबहादुरको सारङ्गीले पनि डाक्टर पढेपछि छोरोले गौरवका साथ सारङ्गी समाएको दृश्य देखिन्छ । कुनै पनि सम्प्रदायको जात, धर्म र थरमाथि न कथित दलित न कथित गैरदलित । कसैले न घृणा गर्न जरुरी छ न गर्व नै । यो मानवले आर्जेको कुनै पनि तत्व होइन, केवल मान्यताबाहेक तर त्यही थर, जात र पेसाले मान्छेको अस्तित्वमाथि नै प्रश्न गर्ने अवस्था सिर्जना हुन्छ भने त्यो सारङ्गी पुस्तान्तरण गर्नुको कुनै अर्थ छैन ।

दलित अधिकारकर्मी भन्छन्,“कथित दलित समुदायमाथिका विभेद राज्यद्वारा नीतिबद्ध बनाएर गरिएको विभेद हो । पूर्णबहादुर कुसल कला साधक हुन् । उनी सिर्जना सुनाएर आयआर्जन गर्छन् । उनी मगन्ते होइनन् ।” हो, चलचित्रले पूर्णबहादुरलाई मगन्ते बनाएको छ । जुन समाजले सारङ्गी बजाउनेलाई मगन्ते भन्दै आएकै थियो त्यही यथार्थ देखाइएको छ । खाँचो त पूर्णबहादुर मगन्ते होइनन्, उनी एक अब्बल र कर्मशील कलाकार हुन् भनेर साबित गराउनु थियो । चलचित्रमा पूर्णबहादुरले छोरालाई पढाएर चिकित्सक बनाएपछि उसले भोगे जस्तै अपमान र विभेद के अब उसको छोराले सहनु पर्दैन ? भन्ने जवाफको थियो ।

हाम्रो समाजमा प्रशस्तै घटना घटिरहेका छन् जातका आधारमा । यो ‘ब्राह्मणवादी’ सोचको पराकाष्ठा हो । समाजमा विद्यमान यो सोच चिरेर मान्छेले मान्छेमाथि गरिएको अमानवीय आचरणप्रति लज्जाबोध गराउनुपर्ने अहम् मुद्दालाई चलचित्रका निर्देशक (सरोज पौडेल)ले बेवास्ता गरेको देखिन्छ ।

आँसु बेच्न सजिलो छ, यदि ढङ्ग पुग्यो भने । पूर्णबहादुरको सारङ्गीले नेपाली चलचित्रको इतिहास नै रच्यो यस हिसाबले । अभियनले रुवाएको चलचित्रमा विषयवस्तु भने कुनै अनौठो र अपरिचत होइन । दलित समुदायको रोदनलाई सिँढी बनाएर सत्तामा पुगेपछि सबै भुले जस्तै चलचित्र पूर्णबहादुरको सारङ्गीले पनि समाजको चरम विभेदमा परेको समुदायमाथि न्याय गर्ने उद्देश्य गौण ठानेको देखिन्छ । कलाकारको अभिनयले रोदनको व्यापार गर्दैमा चलचित्रले इतिहास रच्न सक्छ तर सफल र चमत्कारपूर्ण चलचित्र भन्न सुहाउँदैन । पूर्णबहादुरको सारङ्गीले उठाउनुपर्ने थुप्रै सामाजिक मुद्दाहरु कलाकारको आँसुसँगै विलीन भएका छन् । अर्थहीन भएका छन् ।

उपनिर्वाचनका लागि सवारी साधन र विद्युतीय उपकरण मर्मत सम्भार गरी तयारी अवस्थामा राख्न आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचन हुने स्थानीय तहलाई आठबुँदे निर्देशन दिएको छ । आयोगले सोमबार उपनिर्वाचन हुने स्थानीय तहलाई राजनीतिक दल तथा उमेदवारहरूले कुनै पनि सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्ति प्रयोग वा अतिक्रमण वा दुरुपयोग वा क्षति पुर्याउने गरी कुनै काम गर्न/नगराउन निर्देशन दिएको हो ।

आयोगले स्थानीय तहको स्वामित्व रहेको निकाय, सामुदायिक विद्यालयको जग्गा, भवन, फर्निचर वा परिवहनको साधन अन्य भौतिक साधन प्रयोग गर्न पूर्णरूपमा रोक लगाउन आयोगको निर्देशन दिएको छ ।

आयोगले सभागृह, अतिथिगृह, सवारी साधन, विद्युतीय उपकरणहरु मर्मत सम्भार गरी तयारी अवस्थामा राख्न निर्देशन दिएको आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् । मतदान केन्द्रलाई ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता मैत्री बनाउन यथासम्भव प्रयत्न गर्न पनि निर्वाचन आयोगले निर्देशन दिएको छ ।

अमेरिका र फिलिपिन्सबीच सैन्य जानकारी आदान प्रदान गर्ने सम्झौता

किएभ । अमेरिका र फिलिपिन्सका रक्षा प्रमुखहरूले सोमबार वर्गीकृत सैन्य सूचना र प्रविधि आदान प्रदान गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् ।

अमेरिकी रक्षा सचिव लोयड अस्टिनले मनिला भ्रमणको क्रममा फिलिपिन्सका समकक्षी गिल्बर्टो टिओडोरोसँग सम्झौतामा हस्ताक्षर गरेका हुन् भने राष्ट्रपति फर्डिनान्ड मार्कोस पनि यस सम्झौतामा सहभागी रहेको जनाइएको छ ।

सैन्य सूचना सम्झौताले वर्गीकृत जानकारी आदान प्रदान गर्ने अनुमति दिई प्रविधिहरूको बिक्रीलाई सुव्यवस्थित गर्ने अधिकारीहरूले बताएका छन् ।

यसैगरी फिलिपिन्सको रक्षा मन्त्रालयले उक्त दस्तावेजलाई “फिलिपिन्स र अमेरिकाबीच सूचना साझेदारी बढाउने महत्वपूर्ण कार्य भएको जनाएको छ ।

मार्कोस सरकारले दक्षिण चीन सागरको अधिकांश भूभागमा बेइजिङको क्षेत्रीय दाबीको विरुद्धमा पछाडि धकेलेको छ भने राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प कार्यालयमा फर्कने तयारीमा छन्।

चीनले आफ्नो दाबीको कुनै कानूनी आधार नभएको अन्तर्राष्ट्रिय फैसला खारेज गरी सेना र तट रक्षक जहाजहरू तैनाथ गरेको छ ।

यसै गरी मनिलाले आफ्ना जहाजहरूलाई दबावमा पारी पानी ,केही चट्टान र टापुहरूमा पहुँचविहीन गराएको बताएको छ ।

यसले हिंसात्मक भिडन्त निम्त्याउँदा विगत १८ महिनामा कयाैँ फिलिपिनो कर्मचारीहरू घाइते हुनुका साथै उनीहरूका जहाजमा क्षति पुगेको जनाइएको छ ।

यसले फिलिपिन्ससँगको आपसी रक्षा सन्धिको कारण संयुक्त राज्य अमेरिका सशस्त्र द्वन्द्वमा पर्न सक्ने चिन्तालाई बढाएको छ ।

फिलिपिन्सको रक्षा मन्त्रालयले अस्टिनले मङ्गलबार पश्चिमी टापु पलावनको भ्रमण गर्ने र दक्षिण चीन सागरमा गस्ती र रक्षाका लागि जिम्मेवार फिलिपिन्सका सेनाहरूसँग बैठक गर्ने बताएको छ ।

बेरुतमा भएको इजरायली हमलामा हिजबुल्लाहका अधिकारीसहित ६ जनाको मृत्यु

बेरूत ।  मध्य बेरुतमा भएको दुई इजरायली आक्रमणमा छ जनाको मृत्यु भएको लेबनानले जनाएको छ। हिज्बुल्लाहले मृतक मध्यमा आफ्ना प्रवक्ता समेतरहेको पुष्टि गरेको छ।

गत सेप्टेम्बर–२३ मा पूर्ण युद्ध सुरु भएदेखि इजरायलले बेरुतको दक्षिणी उपनगर, हिजबुल्लाहको गढमा निरन्तर आक्रमण गरिरहेको छ भने मध्य बेरुतमा तुलनात्मक रुपमा कम आक्रमणहरू भएका छन्।

बेरुतको रास अल–नबा जिल्लामा भएको पहिलो आक्रमणमा हिजबुल्लाहको मिडिया प्रमुख मोहम्मद अफीफसहित चार जनाको मृत्यु भएको हिजबुल्लाह तथा इजरायली सेनाले जनाएको छ।

मार इलियासमा भएको दोस्रो आक्रमणमा दुई जनाको मृत्यु हुनुका साथै २२ जना घाइते भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आधिकारिक राष्ट्रिय समाचार एजेन्सीले इजरायलले मार इलियास क्षेत्रमा आक्रमण गर्दा उक्त स्थानमा द्वन्द्वबाट विस्थापित मानिसहरू पनि रहेका थिए ।

आक्रमणमा जलेको तीव्र गन्धको बिचमा विस्फोट र साइरनको आवाज सुनिएको जनाउदै एएफपीले घटनास्थलमा आगो लागेको र अग्नि नियन्त्रकहरुले नियन्त्रण गर्ने प्रयास गरिरहेको देखाएको छ।

लेबनानी सुरक्षा स्रोतले नाम नछाप्ने सर्तमा आक्रमणले इलेक्ट्रोनिक्स स्टोर र गाडीमा प्रहार गरेको जनाएको छ।

प्यालेस्टिनी उग्रवादी समूह हमास र लेबनानको हिजबुल्लाहसँग सम्बद्ध सुन्नी मुस्लिम समूहलाई उल्लेख गर्दै एनएनएले ‘जामा इस्लामिया केन्द्रलाई लक्षित’ गरेको बताएको छ।

यद्देपी जामा इस्लामियाका सांसद इमाद हाउटले समूहमा सम्बद्ध केन्द्र वा संस्था आक्रमणले लक्षित गरेको क्षेत्रमा अवस्थित नरहेको र समूहका कुनै पनि सदस्यलाई लक्षित नगरिएको जनजाएको छ।

यस अघि मध्य बेरुतको रास अल–नबा जिल्लामा गरिएको आक्रमणमा आफिफको मृत्यु भएको थियो। जसलाई इजरायली सेनाले हिजबुल्लाहको “प्रमुख प्रचारक“ भनेर वर्णन गरेको थियो।

उक्त घटनामा एक महिलासहित चार जनाको मृत्यु हुनुका साथै अन्य १४ जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आइतबारको आक्रमण पछि लेबनानका शिक्षा मन्त्री अब्बास हलाबीले बेरुत क्षेत्रका विद्यालय र उच्च शिक्षा संस्थानहरू दुई दिनका लागि बन्द रहने बताएका छन्।

लेबनानको दक्षिणी टायर क्षेत्रमा आइतबार इजरायली हमलामा ११ जनाको मृत्यु हुनुका साथै ४८ जना घाइते भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण

उत्तरप्रदेश (अयोध्या) । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उतरप्रदेशको अयोध्याधाममा आयोजित तिलकोत्सव समारोहमा भारतीय पक्षलाई निम्तोपत्र हस्तान्तरण गरेका छन् । विश्व हिन्दू परिषद् नेपाल धनुषाद्वारा सोमबार अयोध्याधाममा आयोजित समाराहेमा मुख्यमन्त्री सिंहले राममन्दिर ट्रष्टका महासचिव चम्पत रायलाई निमन्त्रणापत्र हस्तान्तरण गरेका हुन् ।

त्यस अवसरमा मुख्यमन्त्री सिंहले नेपाल र भारतबीच परापूर्वकालदेखि आर्थिक सामाजिक, धार्मिक र रोटी—बेटीकोसम्बन्ध रहेकाले आगामी दिनमा यो सम्बन्ध थप प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरे । उनले विवाहपञ्चमी समारोह हर्षोल्लासका साथ मनाउन नेपाल र भारतका नागरिकले खेलेको भूमिका अत्यन्त महत्वपूर्ण र सराहनीय रहेकोे राससलाई बताए ।

ट्रष्टका महासचिव रायले जनकपुरधाम र अयोध्याको सम्बन्धलाई थप प्रगाढ बनाउन नेपाल र भारत सरकारका साथै नागरिक तहमा रहेको सम्बन्ध महत्वपूर्ण रहेको बताए । उनले विवाहपञ्चमीको महत्व बढाउन दुवै देशका सरकारले सहयोग गर्नुपर्ने धारणा राखे ।

सोमबार भएको तिलकोत्सव समारोहका लागि मुख्यमन्त्री सिंहको नेतृत्वमा मधेस प्रदेशका वन तथा वातावरणमन्त्री त्रिभुवन साह, गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी, श्रम तथा यातायातमन्त्री कौशलकिशोर राय, उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सकिल अलि मियाँ, स्वास्थ तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंह, प्रदेशसभा सदस्य रुपा यादव र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहलगायत दुई ५१ जनाको टोली अयोध्या आएको छ ।

जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ । यही मङ्सिर २१ गते जनकपुरधाममा रामजानकी विवाहपञ्चमी हुँदैछ ।

पूर्वसभामुख ढुङ्गानाको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौँ । पूर्वसभामुख दमननाथ ढुङ्गानाको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले दिवंगत ढुङ्गानाको सम्मानमा शोक सलामी अर्पण गरेको थियो । ढुङ्गानाको पार्थिव शरीरमा उनका छोराहरुले दागबत्ती दिए।

सरकारको निर्णयअनुसार ढुङ्गानाको सम्मानमा १७ तोपको सलामी दिइयो। कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो ।

पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गर्न सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, उपसभामुख इन्दिरा राना, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री, मन्त्री गण, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, सांसद तथा विभिन्न पेसा व्यवसायमा आबद्ध व्यक्ति तथा सर्वसाधारण आर्यघाट पुगेका थिए।

निधन भएपछि ढुङ्गानाको पार्थिव शरीर ज्ञानेश्वरस्थित सानो गौचरणमा ल्याइ उनीप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । प्रधानमन्त्री, सभामुख, नेपाली कांग्रेसका सभापतिसहित विभिन्न राजनीतिक दलका नेता सानो गौचरन पुगेर उनीप्रति श्रद्धाञ्जली प्रकट गरे।

नेपाल सरकारले सोमबार नै उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो ।

नेपालमा बहुदलीय व्यवस्था, लोकतन्त्र, शान्ति र मानवअधिकारका पक्षमा जीवनपर्यन्त वकालत गरिरहनुभएका ढुङ्गानाले मुलुकमा विगतको माओवादी सशस्त्र द्वन्द्व अन्त्य गरी शान्ति बहाली गर्नसमेत महत्वपूर्ण भूमिका निर्वाह गरे। राजनीतिक क्षेत्रमा देखिएको विकृति र विसङ्गतिबारे स्पष्ट र खरो रुपमा प्रतिक्रिया दिँदै आएका उनी संविधान तथा कानुनका ज्ञाता हुन्।

२०४८ मा काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उनी प्रतिनिधिसभाको सभामुख भएका थिए। नेपालको संसदीय व्यवस्था र प्रजातान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्न उनको ठूलो योगदान छ ।

उनी विसं २०४७ को संविधान निर्माणका लागि गठित आयोगको सदस्यसमेत थिए।

सुदूरपश्चिम रोयल्सले धनगढीमा निकाल्योर्‍याली

काठमाडौं । नेपाल प्रिमियर लिगको टोली सुदूरपश्चिम रोयल्सले धनगढीको चौराहदेखि रंगशालासम्म र्‍याली निकालेको छ । सोमबार आयोजना गरिएको र्यालीमा क्रिकेटप्रेमीहरुको बाक्लो सहभागिता जनाएका थिए । विभिन्न विद्यालयका विद्यार्थीहरुले पनि र्‍यालीमा सहभागिता जनाएका थिए ।

सहभागीले ‘सुदूरको शान, मैदानमा तुफान’ जस्ता नारा लगाएका थिए । सुदूरपश्चिमका मार्की खेलाडी दीपेन्द्रसिंह ऐरी, मुख्य प्रशिक्षक जगत टमाटालगायत अन्य खेलाडीको सहभागिता थियो ।

नेपाल क्रिकेट संघ(क्यान)को आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ देखि पुस ६ गते सम्म एनपीएल हुँदैछ ।

जलवायु परिवर्तन न्यूनीकरणमा साझेदारी गर्न बङ्गादेशलाई नेपालको आग्रह

काठमाडौं। जलवायु परिवर्तन न्यूनीकरणका लागि साझेदारी गरेर अगाडि बढ्नका लागि नेपालले बङ्गादेशलाई आग्रह गरेको छ।

अरजरबैजानको बाकुमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको सम्मेलन कोप–२९ मा भाग लिन अजरबैजान गएका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी र बङ्गादेशका पर्यावरण, वन तथा जलवायु परिवर्तन र जलस्रोतमन्त्री स्येदा रिजवाना हसनबीच आज भएको द्धपक्षीय भेटमा जलवायु परिवर्तनको मुद्दालाई साझा एजेन्डा बनाउन जोड दिइएको हो।

नेपालले बङ्गलादेशलाई जलविद्युत् निर्यात गर्न सुरु गरेको उल्लेख गर्दै मन्त्री शाहीले जलविद्युत् सफा ऊर्जा भएकाले, जलवायु परिवर्तन न्यूनिकणको सन्दर्भमा महत्वपूर्ण रहेको बताए।

उनका अनुसार नेपालमा ऊर्जासम्बन्धी जिम्मेवारी ऊर्जा, जल स्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत भए पनि, जलवायु परिवर्तनको सन्दर्भमा महत्वपूर्ण हुने भएकाले, बङ्गलादेशले स्वच्छ ऊर्जा आयातलाई प्राथमिकतामा राखेको विषय महत्वपूर्ण रहेको बताए।

जलवायु परिवर्तन वार्तामा तीन देश (बङ्गलादेश, भुटान र नेपाल)बीचको सहकार्यको पहललाई अगाडि बढाउन तथा प्राविधिक टोलीलाई त्यसको तयारीका लागि अघि बढ्न र छिट्टै मन्त्रीस्तरीय बैठकको समय तय गर्न मन्त्री शाहीले आह्वान समेत गरेका छन्।

भेटमा बङ्गलादेशका मन्त्री हसनले नेपालसँगको ऊर्जा व्यापार सम्झौताका लागि सहकार्यको प्रशंसा गर्दै भविष्यमा यसलाई निरन्तरता दिँदै जाने आशा व्यक्त गरिन्।

‘यसले बङ्गलादेशलाई ऊर्जा क्षेत्रमा जीवाश्म इन्धनको प्रयोगलाई प्रतिस्थापन गर्दै स्वच्छ जलविद्युत् ऊर्जा प्रयोग गर्न मद्दत गर्नेछ। जलवायु परिवर्तन वार्तामा तथा साझा प्राथमिकतामा सहकार्य जरुरी छ,’ उनले भनिन्, ‘नेपाल, भूटान र बङ्गलादेशबीच समन्वयको आवश्यकता छ। हाम्रा साझा प्राथमिकतामा जलवायु वित्तको मुद्दा राख्नुपर्ने र तापक्रम १.५ भन्दा तल सीमित गर्नुपर्ने विषयलाई उच्च प्राथमिकतामा राख्नुपर्ने छ।’

दक्षिण एशियामा जलवायुजन्य हानि नोक्सानीसम्बन्धी वार्तालाई क्षेत्रीयस्तरमा अघि बढाउने विषयमा समेत छलफल भएको छ। बङ्गलादेश, भूटान र नेपालबीच मन्त्रीस्तरीय बैठक जति सक्दो चाँडो बङ्गलादेशमा आयोजना गर्ने सहमति भएको छ। बैठकको समय भने पछि तय गरिने छ।

ढुङ्गाना नेपालको लोकतान्त्रिक आन्दोलनको एउटा ऐतिहासिक व्यक्तित्वः प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले पूर्वसभामुख दमननाथ ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । सोमबार ज्ञानेश्वरस्थित सानो गौचरन पुगेर उनले ढुङ्गानाको पार्थिव शरीरमा माल्यार्पण गरी सम्मान व्यक्त गरे ।


त्यस क्रममा अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डले ढुङ्गाना नेपालको लोकतान्त्रिक आन्दोलनको एउटा ऐतिहासिक व्यक्तित्वका रुपमा नेपाली जनताले सधैँ सम्झिराख्ने प्रतिक्रिया दिए ।


उनले भने, “उहाँ र पद्यरत्न तुलाधर शान्ति सम्झौता र संविधानसभाको वातावरण बनाएर देशलाई लोकतान्त्रिक गणतन्त्रमा ल्याउन खेलेको भूमिका अविष्मरणीय छ ।”


नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले स्वर्गीय ढुङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै २०४६ सालको आन्दोलनलाई सकारात्मक विन्दुमा पुर्याउन लोकतान्त्रिक योद्धाका रुपमा योगदान गरेको स्मरण गरे ।


उनले भने, “संसदमा सभामुखका रुपमा निर्वाह गर्दा संसद् प्रतिपक्षको भएकाले उसका आवाज र भूमिकालाई उजागर दिनुपर्छ भन्ने मान्यतामा दृढ हुनुहुन्थ्यो ।”


यसैबीच प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले स्व ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गर्दै संसद्लाई बलियो तुल्याउने प्रेरणादायी स्रोतका रुपमा संसदीय इतिहासमा स्थापित भएको प्रतिक्रिया दिए ।


उनले भने, “ढुङ्गानाजीले स्थापित गरेका उदाहरण  र योगदानका पक्षलाई लिएर जानुपर्छ । त्यसलाई अठोट गरिसकेपछि व्यवहारमा उतार्न सकिन्छ, गर्नुपर्छ ।” 

मङ्सिर १५ गते ‘टुर दी बाँके नेसनल पार्क’ साइकल यात्रा आयोजना हुने

जानकी (बाँके) । राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली सेनाले ‘टुर दी बाँके नेसनल पार्क’ साइकल यात्रा कार्यक्रमको आयोजना गर्ने भएको छ ।

नेपालगञ्जको राँझास्थित श्री नं ४ वाहिनी अड्डा इमामनगर ब्यारेकको प्रमुख आयोजनामा मङ्सिर १५ गते नेपाली सेनाले बाँके राष्ट्रिय निकुञ्जको पर्यटन प्रवद्र्धन गर्नका लागि ‘टुर दी बाँके नेसनल पार्क’ साइकल यात्रा गर्न लागेको हो ।

ब्यारेकका प्रमुख सेनानी दीपक गुरुङले बाँके राष्ट्रिय निकुञ्जलाई साइकल यात्रामार्फत व्यापक प्रचारप्रसार गरी देश विदेशसम्म त्यहाँको पर्यापर्यटनलाई उजागर गर्ने र प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली सेनाले ‘टुर दी बाँके नेसनल पार्क’ कार्यक्रमको आयोजना गरिएको जानकारी दिए।

“बाँके राष्ट्रिय निकुञ्जभित्र रहेका वन्यजन्तु, विभिन्न प्रजातिका चराचुरुङ्गीलगायत स्तनधारी प्राणी र यहाँका मनमोहक चुरेका टाकुरालाई पर्यटनको विकासमा जोड्न सकियो भने यो निकुञ्जमा आन्तरिक र बाह्य पर्यटकको ओइरो लाग्न सक्ने सम्भावना भएको हुनाले नेपाली सेनाले यसको प्रर्वद्धनका लागि टुर दी बाँके नेसनल पार्कको आयोजना गर्न लागेको हो”, उनले भने ।

उनले कान्छो निकुञ्जका रुपमा उक्त बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएको बताउँदै यसलाई सधैँ कान्छो निकुञ्जका रुपमा नहेर्न सम्बन्धित सबै पक्षलाई आग्रहसमेत गरे ।

बाँके राष्ट्रिय निकुञ्जलाई नाघेर हजारौँ पर्यटक बर्दिया राष्ट्रिय निकुञ्जसम्म पुग्ने र उताबाट फर्किएर पुनः चितवन राष्ट्रिय निकुञ्जको सफारीमा जाने प्रचलन भएको हुँदा अब बाँके राष्ट्रिय निकुञ्जलाई नै पर्यटकहरुको ‘हब’ बनाउनमा नेपाली सेनाले कदम चालेको उनको भनाइ थियो ।

“यो निकुञ्जलाई पर्यटन प्रवद्र्धनमा अगाडि बढाउन निकुञ्जसँग जोडिएकै कोहलपुर र नेपालगञ्जमा सुविधासम्पन्न होटल छन्, निकुञ्जको नजिकै राँझामा विमानस्थलसमेत अवस्थित छ”, प्रमुख सेनानी गुरुङले भने, “प्रचुर मात्रामा सम्भावना बोकेको बाँके निकुञ्जलाई पर्यटन प्रवद्र्धन गरी संसारभर पुर्याउने र आन्तरिक तथा वाह्य पर्यटकलाई भित्र्याउने उद्देश्यका साथ यही मङ्सिर १५ गते शनिबार बिहान ‘टुर दी बाँके नेसनल पार्क’ कार्यक्रमको आयोजना गरेका छौँ ।”

बाँके राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको सहआयोजक रणबम गणका गणपति प्रमुख सेनानी प्रवीन थापाले निकुञ्जको पर्यटनलाई प्रवद्र्धन गर्नका लागि निकुञ्जको भित्री ‘कोर एरिया’मा १६ किलोमिटर साइकल यात्रामार्फत ‘टुर दी बाँके नेसनल पार्क’ हुने जानकारी दिए ।

“ढकेरीस्थित बच्चापुरको हात्तीसारबाट साइकल यात्रा सुरु गरेर निकुञ्ज भित्रको कोर एरिया हुँदै १६ किलोमिटर दूरी पार गरेर रणबम गण हेक्वा ओभरी पुगेर समाप्त हुनेछ”, उनले भने, “हरेक वर्ष बर्दिया राष्ट्रिय निकुञ्जको प्रवद्र्धनका लागि यहाँबाट साइकल यात्राको आयोजना गर्दै आएको देखियो, तर यस वर्ष बाँके राष्ट्रिय निकुञ्जमै यो कार्यक्रम गर्न लागेका हौँ, बाँके निकुञ्जलाई विश्वमाझ चिनाउन हरेक तह र तप्काबाट सहयोग हुनुपर्दछ ।”

मङ्सिर १५ गते हुन गइरहेको ‘टुर दी बाँके नेसनल पार्क’ कार्यक्रममा बाँके, बर्दिया, दाङ, सुर्खेत र बुटवलका करिब एक सय ‘साइक्लिष्ट’को सहभागिता हुनेछ । आयोजकका अनुसार ५० जना जति बाँके साइकल सङ्घमार्फत र बाँकी नेपाली सेना लगायतबाट सहभागिता रहनेछ । बाँके साइकल सङ्घका अध्यक्ष गगन थापाले नेपाली सेनाको आयोजनामा साइकल सङ्घको समन्वयमा साइकल यात्रा हुन लागेको बताए ।

उनले ‘टुर दी बाँके नेसनल पार्क’ मा साइकल सङ्घमार्फत ५० जना साइक्लिष्टको सहभागिता रहने पक्का भइसकेको बताए । साइकल यात्रामार्फत बाँके निकुञ्जलाई चिनाउनका लागि ‘टुर दी बाँके नेसनल पार्क’ महत्वपूर्ण हुने उनले बताए ।

‘टुर दी बाँके नेसनल पार्क’ कार्यक्रमले निकुञ्जको संरक्षण, वन्यजन्तु, चराचुरुङ्गी, ताल तलैया जलाशय, जडीबुटी, वनजङ्गल, बोटबिरुवा लगायतको संरक्षण र प्रवद्र्धनमा टेवा पुर्याउने अपेक्षा गरिएको ४ नं वाहिनी अड्डाले जनाएको छ ।

बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएको तीन वर्षपछि सुरक्षा प्रदान गर्ने र वन्यजन्तु चोरी सिकारी रोक्ने उद्देश्यले विसं २०७० देखि नेपाली सेनाको गोरखदल गणले सुरक्षा प्रदान गरेको थियो । उक्त गणलाई नेपाली सेनाको पहिलो गणका रुपमा यहाँ स्थापना गरी सुरक्षा व्यवस्थाका लागि खटाइएको थियो । विसं २०७४ साउन ७ गतेदेखि श्रीमेहर गण तैनाथ रहेकामा विसं २०७७ देखि श्री अर्जुनवाण गण हुँदै हाल श्री रणबम गणले निकुञ्जको सुरक्षा गरिरहेको छ । 

श्रीलङ्कामा नवनियुक्त मन्त्रीहरुद्वारा शपथ ग्रहण

कोलम्बो । श्रीलङ्काको कोलम्बोस्थित राष्ट्रपति सचिवालयमा सोमबार नवगठित मन्त्रिपरिषदमा समावेश मन्त्रीहरूले राष्ट्रपति अनुरा कुमार दिसानायके समक्ष शपथ लिएका छन् । दिसानायकेको उक्त मन्त्री परिषदमा २१ जना मन्त्रीहरु रहेका तथा उपमन्त्रीहरूले पछि शपथ लिने कार्यक्रममा घोषणा गरिएको थियो ।

दिसानायकले सेप्टेम्बर–२१ को राष्ट्रपति चुनाव जितेपछि हरिनी अमरसुरिया र विजिता हेराथको सामायोनमा मन्त्रीमण्डल निर्माण गरेका छन् ।

नयाँ मन्त्री परिषदमा नोभेम्बर–१४ को संसदीय चुनावमा निर्वाचित नेसनल पिपुल्स पावर (एनपीपी) का १५९ संसद मध्येबाट नयाँ मन्त्रीहरू चुनिएको जनाइएको छ ।

श्रीलङ्कामा समानुपाती प्रतिनिधित्व प्रणाली लागु भएपछि संसदमा कुनै राजनीतिक पार्टीले दुई तिहाइ बहुमत प्राप्त गरेको यो पहिलो पटक हो ।

नयाँ मन्त्रीमण्डलमा अमरसूरियालाई प्रधानमन्त्री र हेराथलाई विदेश मामिला, विदेश रोजगार र पर्यटन मन्त्रीको रूपमा पुनः नियुक्त गरिएको छ ।

नयाँ मन्त्रीमण्डललाई सम्बोधन गर्दै राष्ट्रपति दिसानायकले श्रीलङ्काको राजनीतिक र आर्थिक मार्ग परिवर्तन गर्न जनताले सेप्टेम्बर र नोभेम्बरमा लगातार दुईपटक एनपीपीलाई मतदान गरेको उल्लेख गरेका छन् ।

जनताले एनपीपीको नीति र पार्टी सदस्यहरूको अखण्डताको आधारमा विश्वास गरेको बताउदै उनले आथामी दिनमा जनताको सरकारको रूपमा काम गर्ने जनाएका छन् ।

दिसानायकले श्रीलङ्काका जनताले जातीय र धार्मिक विभाजनको बीचमा आफुहरुलार्ई मतदान गरेको जनाउदै जनताको अधिकारको संरक्षण र वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बङ्गलादेशको विशेष न्यायाधिकरणले हसिनालाई पक्राउ गर्ने कदमबारे प्रहरीको प्रगति सुन्ने

ढाका । बङ्गलादेशको विशेष न्यायाधिकरणले सोमबार देशका सुरक्षा निकायहरूले पदच्युत पूर्वप्रधानमन्त्री शेख हसिना र उनका नजिकका सहयोगीहरूलाई पक्राउ गर्न के–के गरेका छन् भन्ने बारेमा अपडेट सुन्नेछ । यी व्यक्तिमाथि यस गृष्म ऋतुमा भएको जन विद्रोहमा सयौँ मानिसको मृत्युको आरोप लागेको छ ।

विद्यार्थी नेतृत्वको विरोध प्रदर्शनका बीच अगस्ट ५ मा देश छोडेर हसिना भारतमा निर्वासनमा बसिरहेका छन्।

ढाकास्थित अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले अक्टोबर १७ मा हसिना र पूर्व क्याबिनेट मन्त्रीहरू, सल्लाहकारहरू र सैन्य र नागरिक अधिकारीहरू सहित अन्य ४५ जनाका लागि पक्राउ पुर्जी जारी गरेको थियो । बङ्गलादेश अहिले नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले सञ्चालन गरिरहेको छ ।

न्यायाधिकरणका अभियोजक बि।एम। सुल्तान महमुदका अनुसार पूर्वकानून मन्त्री र हसिनाका निजी क्षेत्रका सल्लाहकार रहेका एक व्यवसायीसहित कम्तीमा १४ जना सोमबार न्यायाधिकरण समक्ष उपस्थित हुनेछन् । न्यायाधिकरणका अधिकारीहरूका अनुसार अन्य छ जना बुधबार उपस्थित हुनेछन् । यस मुद्दामा कम्तीमा २० जना शङ्कास्पद व्यक्ति पक्राउ परेका छन् ।

न्यायाधिकरणले हसिनासहित अन्य शङ्कास्पद व्यक्तिहरूलाई पक्राउ गर्ने क्रममा प्रहरीको प्रगतिबारे पनि अपडेट माग्नेछ ।

न्यायाधिकरणका मुख्य अभियोजकले हसिनालाई पक्राउ गर्न देशको प्रहरी प्रमुखमार्फत इन्टरपोलको सहयोग मागिसकेका छन् । आइतबार राष्ट्रलाई सम्बोधन गर्दै युनुसले उनको प्रशासनले भारतबाट हसिनाको सुपुर्दगी माग गर्ने बताए ।

अधिकारीहरूका अनुसार जुलाई र अगस्टमा भएको विद्रोहमा मुख्यतया सरकारी जागिरका लागि प्रारम्भिक विरोध प्रदर्शन रोक्न खोज्ने सुरक्षा एजेन्टहरूद्वारा सयौँ मानिस मारिएका थिए । हसिनाको १५ वर्षको शासनको अन्त्य गर्दै विरोध प्रदर्शन थप रक्तपातका साथ सरकार विरोधी आन्दोलनमा परिणत भएपछि हिंसा तीव्र भएको थियो । हसिनाले यसअघि पनि हत्याको अनुसन्धानको माग गरेको थियो ।

वायु प्रदूषणका कारण नयाँदिल्लीमा विद्यालय बन्द

नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीले बढ्दो विषाक्त धुवाँका कारण सोमबारदेखि अर्को सूचना नहुँदासम्म विद्यालयहरूलाई अनलाइन कक्षामा रूपान्तरण गरेको छ । यो विशाल महानगरको स्वास्थ्य सङ्कट कम गर्ने पछिल्लो प्रयास हो ।

आइतबार साँझ विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेको दैनिक अधिकतम मात्राभन्दा ५७ गुणा बढी पीएम२.५ प्रदूषकहरू (फोक्सोमार्फत रक्त प्रवाहमा प्रवेश गर्ने खतरनाक क्यान्सर–कारक सूक्ष्म कणहरू) रेकर्ड गरिएको थियो ।

सोमबार बिहान यी मात्राहरू चेतावनी सीमाभन्दा करिब ३९ गुणा माथि थिए र सहर बाक्लो खैरो र पीडादायक धुवाँले ढाकिएको थियो ।

यो सहर प्रत्येक वर्ष पीडादायक धुवाँले ढाकिने गर्दछ । विशेष गरी छिमेकी क्षेत्रहरूमा किसानहरूले जोत्नका लागि आफ्नो खेतहरू सफा गर्न पराल जलाउने, साथै कारखाना र सवारी साधनको धुवाँलाई दोष दिइन्छ ।

हावाको गुणस्तर ‘अझ बिग्रनबाट रोक्ने प्रयासमा’ सहरका अधिकारीहरूले यी प्रतिबन्धहरू लगाएका हुन् । अधिकारीहरूले बच्चाहरूलाई घरमै राखेर सवारी साधनको चाप उल्लेख्य रूपमा घटाउन सकिने आशा राखेका छन् ।

“कक्षा १० र १२ बाहेक सबै विद्यार्थीका लागि भौतिक कक्षाहरू बन्द गरिनेछ”, एउटै नाम प्रयोग गर्ने मुख्यमन्त्री आतिशीले आइतबार राति जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्राथमिक विद्यालयहरूलाई बिहीबार व्यक्तिगत कक्षाहरू बन्द गर्न आदेश दिइएको थियो । सोमबार डिजेल सञ्चालित ट्रकहरू र निर्माण कार्य सीमित गर्ने लगायत थप प्रतिबन्धहरू लगाइएको छ ।

सरकारले बालबालिका र वृद्धवृद्धाका साथै फोक्सो वा मुटुको समस्या भएका व्यक्तिहरूलाई ‘सकेसम्म घरभित्रै बस्न’ आग्रह गरेको छ ।

सहरका धेरैले एयर फिल्टर किन्न सक्दैनन् । उनीहरूसँग हजारौँ समयभन्दा अघि नै मृत्यु हुने कारण मानिएको दुर्गन्धित हावाबाट प्रभावकारी रूपमा जोगिन सक्ने घरहरू पनि छैनन् ।

यी आदेश सोमबार बिहानदेखि लागू भएका छन् ।

तीन करोडभन्दा बढी मानिस बस्ने नयाँदिल्ली र यसको वरिपरिको महानगरीय क्षेत्र हिउँदमा वायु प्रदूषणको विश्व र्याङ्किङमा लगातार शीर्ष स्थानमा रहन्छ ।

चिसो तापक्रम र सुस्त गतिको हावाले हरेक हिउँद मध्य अक्टोबरदेखि कम्तीमा जनवरीसम्म घातक प्रदूषकहरूलाई समातेर स्थिति झन् खराब बनाउँछ ।

भारतको सर्वोच्च अदालतले गत महिना स्वच्छ हावा मौलिक मानव अधिकार भएको फैसला गर्दै केन्द्र सरकार र राज्यस्तरका अधिकारीहरू दुवैलाई कारबाही गर्न आदेश दिएको थियो ।

प्रधानमन्त्रीको चीन भ्रमणमा विशिष्टीकृत अस्पतालको एजेण्डा समावेश गर्न गण्डकी सरकारको प्रस्ताव

गण्डकी । गण्डकी प्रदेश सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा पोखरामा क्यान्सर, मुटु, मिर्गौला, जलन, मातृ तथा बाल रोगसहितको विशिष्टीकृत अस्पताल निर्माणको एजेण्डा समावेश गर्न प्रस्ताव गरेको छ ।

प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले मन्त्रीस्तरीय निर्णय र प्रदेश मन्त्रिपरिषद्को सिफारिससहितको उक्त प्रस्ताव आइतबार सङ्घ सरकारका मुख्यसचिव एकनारायण अर्यालसमक्ष पेस गरेका हुन् ।

स्रोतसाधन र बजेटको अभावमा एक हजार शय्याको विशिष्टीकृत अस्पताल निर्माणको काम अगाडि बढ्न नसकेकाले भौतिक पूर्वाधार निर्माण, शय्या, औँजार, उपकरणलगायतमा चीन सरकारको सहयोगको अपेक्षासहित उक्त प्रस्ताव गरिएको मन्त्री पाठकले बताए ।

“प्रदेश स्थापना भएपछि पहिलो प्रदेश सरकारले प्रदेश गौरवको आयोजनाका रुपमा विशिष्टीकृत अस्पताल बनाउने निर्णय गरे पनि स्रोतको अभावमा उक्त काम अझैसम्म अगाडि बढ्न सकेको छैन”, उनले भने, “प्रधानमन्त्रीको चीन भ्रमणको एजेण्डाका रुपमा यो अस्पताल समावेश भएर परियोजना कार्यान्वयन हुनसक्यो भने गण्डकी प्रदेशवासीले महत्वपूर्ण लाभ लिन सक्छन् ।”

मन्त्री पाठकले गण्डकी प्रदेश चीनको भू- भागसँग जोडिएको र हालै यसै प्रदेशमा पर्ने कोराला नाकामा अध्यागमन कार्यालयसमेत स्थापना भएको अवस्थामा द्विपक्षीय लगानी तथा सहयोग आदानप्रदानमा थप सहजता थपिएको उल्लेख गरे ।

“विशिष्टीकृत अस्पताल निर्माणमा गण्डकी प्रदेश सरकार र चीन सरकारबीच सहकार्य हुँदाको अवस्थामा दुवै देशका स्वास्थ्य क्षेत्रका अनुसन्धानकर्ता र विशेषज्ञका लागि अध्ययन तथा अनुसन्धानको अवसरसमेत सिर्जना हुन्छ”, उनले भने ।

उक्त अस्पताल स्थापना भएपछि क्यान्सर, मुटु, मिर्गौला रोग, जलन जस्ता जटिल स्वास्थ्य समस्यामा हुँदा सर्वसाधारणले प्रदेशमै गुणस्तरीय सेवा पाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । अस्पतालमा एयर एम्बुलेन्ससहित आपतकालीन उद्धार सेवा उपलब्ध भई दुर्घटना तथा स्वास्थ्य विपद् व्यवस्थापनमा सहयोग पुग्ने जनाइएको छ ।

प्रस्तावित उक्त अस्पतालबाट परम्परागत चिनियाँ उपचार, आयुर्वेद चिकित्सा जस्ता सेवासमेत उपलब्ध गराउने उद्देश्य लिइएको मन्त्री पाठकले बताए । पछिल्लो समय मुटु, मिर्गौला, क्यान्सर जस्ता रोगको बिरामीको सङ्ख्या बढ्दै गएकाले यी रोगको उपचारका लागि जिल्ला अस्पतालको रिफरल अस्पतालका रुपमा एकीकृत सेवासहितको विशिष्टीकृत अस्पताल निर्माणको योजना अगाडि बढाइएको उनको भनाइ छ ।

मन्त्री पाठकले केही समयअघि प्रधानमन्त्री ओलीलाई भेटी कास्कीको पोखरा महानगरपालिका–१६ स्थित जौवारी सिँचाइ विभागको २०० रोपनी जग्गा सोही अस्पताल निर्माण प्रयोजनका लागि प्रदेश सरकारलाई उपलब्ध गराइदिन माग गरेका थिए।

प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममा विशिष्टीकृत अस्पतालको योजना समेटिँदै आए पनि जग्गा र बजेट अभावका कारण कार्यान्वयनमा आउन सकेको छैन । “प्रधानमन्त्रीसमक्ष जग्गा व्यवस्थापनलगायत विभिन्न १२ वटा माग मन्त्रालयकातर्फबाट पेस गरिएको छ, प्रधानमन्त्रीले आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाउनुभएको छ”, उनले भने।

जटिल रोगको उपचार सेवाका लागि सर्वसाधारण काठमाडौँ जानुपर्ने बाध्यता अन्त्यका लागि पोखरामा सुविधासम्पन्न विशिष्टीकृत अस्पताल अत्यावश्यक रहेको मन्त्री पाठकले बताए । स्वास्थ्य क्षेत्र सुधारको लक्ष्यसहित अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर मन्त्रालयले काम सुरु गरेको मन्त्री पाठकको भनाइ छ । स्वास्थ्य क्षेत्रको नीतिगत, संस्थागत र संरचनागत सुधारको खाकासहित भावी कार्ययोजना बनाइएको उनले बताए ।

आगन्तुक चराको चिरबिरले मनमोहक घोडाघोडी

घोडाघोडी (कैलाली) । घोडाघोडी ताल क्षेत्रमा आगन्तुक चराहरूको चहलपहल बढेको छ । सन् २००३ अगस्तमा विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी क्षेत्र चराका लागि उपयुक्त बासस्थान मानिन्छ ।

पर्याप्त आहारा र सन्तुलित तापक्रमका कारण प्रत्येक वर्ष यहाँ हजारौँ आगन्तुक चरा आउने गरेका छन् । यस वर्ष पनि आगन्तुक चराको चिरबिर आवाज र चहलपहलले घोडाघोडी ताल क्षेत्रको माहोल थप रमणीय र मनमोहक भएको छ ।

उत्तरी ध्रुवका साइबेरिया, मङ्गोलिया, उत्तरी चीन, रसिया, कोरिया, जापान, युरोपलगायत क्षेत्रमा तापक्रम शून्य डिग्री सेल्सियसभन्दा न्यून भई तालतलैया तथा पोखरीमा बरफ जम्ने भएकाले चराहरू उचित तापक्रम र वातावरणको खोजी गर्दै यहाँ आउने गरेको चराविद् डा हेमसागर बराल बताउँछन् ।

अत्यधिक चिसोमा अनुकूलन हुन नसक्दा र आहारा कमीका कारण चिसो छल्न नेपाललगायत दक्षिण क्षेत्रतर्फ बसाइँसराइ गर्ने चराहरूको सङ्ख्या ठूलो रहेको उनले बताए ।

“अत्यधिक चिसो भएपछि तालतलैया बरफमा परिणत हुन्छन् । चराको आहारामा नोक्सान हुन्छ । त्यसैले चराहरू नेपाललगायत दक्षिण क्षेत्रमा आउँछन्”, चराविद् बरालले भने, “यस बेला यहाँको मौसम अनुकूल हुने र आहार पनि पर्याप्त पाइने भएकाले हरेक वर्ष चराहरू आउँछन् ।”

सेप्टेम्बरको अन्तिम सातादेखि आगन्तुक चराहरू आउने गरेको नेपाल पक्षीविद् सङ्घका अध्यक्ष हठन चौधरीले बताए । उनका अनुसार नेपालमा एक सय ५३ प्रजातिका आगन्तुक चराहरू आउने गर्छन्, यो क्रम डिसेम्बरसम्म चल्छ । जसमध्ये धेरैजसो हाँस प्रजातिका हुन्छन् । यहाँ आइपुगेका चरा फेरि अप्रिलमा आएकै ठाउँतिर फर्किन्छन् ।

पन्छी संरक्षण सङ्घका फिल्ड अधिकृत हिरुलाल डगौराले यो बेला विभिन्न देशबाट हजारौँ किलोमिटर यात्रा पार गरेर ठूलो सङ्ख्यामा आगन्तुक चराहरू आउने गरेको जानकारी दिए । “दशकौँदेखि कैलालीको घोडाघोडीका साथै महादेवा, लौकाहा–भौकाहा, चिरैयाँ, नकरोड, कोइलही, सोनियाँ–रुपियाँ, जम्नेहटा, घोड्ताललगायत कर्णालीको तल्लो तटीय क्षेत्रमा विभिन्न प्रजातिका हिउँदे आगन्तुक चरा आउने गर्दछन्”, उनले भने ।

चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष दयाराम चौधरीका अनुसार संसारमा चराका नौवटा उडानमार्ग रहेका छन् । तीमध्ये नेपालमा दुई उडानमार्ग पर्छन् । अधिकांश चराहरू मध्य एसिया उडानमार्ग हुँदै घोडाघोडी पुग्ने गरेको उनले जानकारी दिए । घोडाघोडीमा हाल आगन्तुक चराका रूपमा सुनजुरे, खडखडे, मालक, बेल्चाठुडे, कालीजुरे, कैलो टाउके, सिन्दूरे, हरियो टाउकेलगायत हाँस प्रजातिका जलपन्छी आएका छन् ।

पूर्व–पश्चिम राजमार्गको छेउमा रहेको घोडाघोडी ताल क्षेत्र दुर्लभ चराचुरुङ्गीले विचरण गर्ने शान्त र सुरक्षित बासस्थान हो । विश्व जलचर इतिहासमा सङ्कटापन्न दर्जनौँ जातका रैथाने माछाका प्रजाति, पुतली तथा अन्य दुर्लभ चराचुरुङ्गीको संरक्षणका कारण यो ताल सन् २००३ मा विश्व रामसार सूचीमा सूचीकृत भएको चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष चौधरी बताउँछन् ।

रामसारको प्रावधानअनुसार विश्वका आठमध्ये दुई महत्वपूर्ण अन्तर्राष्ट्रिय चराहरूको सूचक यस तालमा उपलब्ध छन् । हरिहाँस, बगाले सिम कुखुरा तथा नादुन हाँसले घोडाघोडी ताल क्षेत्रमा मात्रै प्रजनन गर्ने गरेको उनले बताए ।

“विश्वभरका एक हजार तीन सय १४ रामसार क्षेत्रमध्ये केही विशेष स्थानीय प्रजातिका माछा र पुतली यस ताल क्षेत्रमा मात्र पाइन्छन् । त्यसैले पनि विश्वका सङ्कटापन्न जलचर, स्थलचर तथा जैविक विविधताका दृष्टिले घोडाघोडी ताल महत्वपूर्ण छ”, पन्छी संरक्षण सङ्घका फिल्ड अधिकृत डगौराले भने ।

यहाँ हरिहाँस, मगर गोही र वनधान सूचक प्रजातिका रूपमा छन् । चौधरीका अनुसार विश्वव्यापी रूपमा लोप हुँदै गएका भुडिफोड गरुण, सेतो गिद्ध, सानो खैरे गिद्ध, राज लाहाचे, राज धनेसलगायत प्रजातिका चराहरू पनि यहाँ बसोबास गर्छन् ।

चराहरूको महत्वपूर्ण बासस्थल भएकाले २७ फागुन २०७८ मा घोडाघोडी क्षेत्रलाई नेपालको पहिलो ‘बर्ड सेन्चुरी चरा अभय आरक्षण क्षेत्र’ घोषणा गरिएको थियो ।

‘प्रतिपक्षले रुचाएका सभामुख ढुङ्गाना’

काठमाडौँ । प्रजातन्त्र पुनःस्थापनापछिको आमनिर्वाचनमा बहुमत प्राप्त नेपाली कांग्रेस र सशक्त प्रतिपक्षका रूपमा रहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच संसद्मा देखिएको रस्साकस्सीलाई सन्तुलित बनाउन तत्कालीन सभामुख दमननाथ ढुङ्गानाले खेलेको तटस्थताको भूमिका नेपालको संसदीय अभ्यासमा अझै पनि खाँचो देखिएको छ ।

विसं २०४८ को प्रतिनिधिसभा निर्वाचनमा एक सय ११ सिटसहित कांग्रेस बहुमतमा थियो ।  पार्टीका सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकार र एमालेका तत्कालीन महासचिव मदन भण्डारीको नेतृत्वमा रहेको ६८ सिटसहितको प्रतिपक्षी दलबीच सदनमा हुने आरोपप्रत्यारोप र गरमागर्मी बहसलाई सन्तुलित तुल्याएकै कारण उनी प्रतिपक्षीले रुचाएको सभामुखका रूपमा स्थापित भए ।

विभिन्न राजनीतिक दलका नेताहरूले करिब तीन वर्ष सभामुखको जिम्मेवारीमा रहँदा ढुङ्गानाले संसदीय लोकतान्त्रिक मूल्यमान्यतालाई सन्तुलित रूपमा स्थापित गराउन सशक्त भूमिका निर्वाह गरेको भनी स्मरण गरेका छन् । कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो ।

नेपालको राजनीतिमा अपूरणीय क्षतिःरघुजी पन्त, नेता नेकपा (एमाले)

दमनाथ ढुङ्गाना भनेको नेपालको लोकतान्त्रिक योद्धा हो । उहाँले लोकतन्त्र प्राप्ति र सुदृढीकरणमा योगदान दिनुभयो । उहाँले राजनीतिक बन्दीका रूपमा जेल बस्नुभयो र अरू नेताहरूलाई छुटाउनका लागि लागिपर्नुभयो । बहुदल ल्याउनका लागि सङ्घर्षशील योद्धा, वरिष्ठ अधिवक्ताका रूपमा रहनुभयो । प्रजातन्त्र पुनर्बहालीपछि प्रतिनिधिसभाको करिब तीन वर्षको अवधिमा उहाँले आफ्नो क्षमता देखाउनुभयो । तथापि, त्यो क्षमताअनुसारको राजनीतिक भूमिका भने पाउनुभएन । आफूलाई लागेको कुरा स्पष्ट बोल्ने बानीका कारण पार्टीले पछिल्लो समय भूमिका दिएन । उहाँ अत्यन्त सफल सभामुख हो । सन्तुलित ढङ्गले संसद्लाई सञ्चालन गर्न सक्ने खुबी भएको, दूरदृष्टि र लोकतन्त्रप्रति प्रतिबद्ध सभामुख हुनुहुन्थ्यो । सफल राजनीतिक व्यक्तित्वका साथै मानवअधिकारवादी पनि हुनुहुन्थ्यो । लोकतन्त्रका लागि आजीवन योगदान दिनुभएका ढुङ्गानाको देहवसान नेपालको राजनीतिमा दुःखद र अपूरणीय क्षति हो ।

सफल सभामुखः विजय सुब्बा, नेता नेकपा (एमाले)

दमननाथ ढुङ्गाना प्रजातन्त्र पुनःस्थापनापछिको पहिलो प्रतिनिधिसभाको सफल सभामुख हुनुहुन्थ्यो । सभामुख पद ठूलो भए पनि त्यसको नेतृत्व गरिरहँदा उहाँमा त्यो भावना कहिल्यै देखिएन । आफ्ना सदस्यका बारेमा पर्याप्त सूचना राख्नुहुन्थ्यो । सदनलाई सन्तुलित रूपमा सञ्चालन गर्न उहाँले ठूलो भूमिका खेल्नुभयो । संसद् भनेको प्रतिपक्षको हो, प्रतिपक्षीलाई अवसर दिनुपर्छ र उसको कुरा सुन्नुपर्छ भन्नेमा स्पष्ट हुनुुहुन्थ्यो । उहाँ स्पष्ट वक्ता र धेरैले श्रद्धा गर्ने हुनुहुन्थ्यो ।

सत्ता सरकारको र संसद् प्रतिपक्षको हो भन्नेमा स्पष्टः सोमबहादुर थापा, पूर्वसचिव, संसद् सचिवालय

  दमननाथ ढुङ्गाना असल विधयक र राजनीतिज्ञ हो । लोकतन्त्र, प्रजान्त्र र सामाजिक न्यायको पक्षमा उभिने उहाँ कसैप्रति अन्याय नहोस् भन्ने भावना राख्नुहुन्थ्यो । मानवअधिकारवादीका रूपमा पनि आफूलाई स्थापित गर्नुभयो । उहाँ सफल सभामुख हो । उहाँले ‘सरकार भनेको सत्ता सञ्चालनका लागि हो, संसद्मा विपक्षीको आवाज उठ्नुपर्छ, विपक्षीलाई समय दिनुपर्छ र उसका कुरा सुन्नुपर्छ’ भन्ने नयाँ लोकतान्त्रिक मूल्यमान्यता ल्याउनुभयो । ‘बहुमतका आधारमा पेल्ने’ सोच अस्वीकार गर्दै त्यसलाई व्यवहारमा उतार्नुभयो । राजनीतिक दलहरूले दमनाथ ढुङ्गानालाई आ–आफ्ना ढङ्गले प्रयोग गरे पनि उहाँका विचार र विशेषतालाई आत्मसात् गरेनन् । मानवअधिकार, मूल्यमान्यता, स्वतन्त्रता, न्यायिक मूल्यमान्यता अहिले पनि अभ्यासमा छैनन् । उहाँको नेतृत्वमा रहेको संसद्को ओज लामो समयसम्म कायम रहन सकेन । ढुङ्गानाको नेतृत्वमा रहेको संसदीय अध्ययन अनुसन्धान केन्द्रमार्फत संविधान संशोधनको बहस चलिरहेको थियो ।

ढुंगानाको निधनमा दुई दिन पार्टीको झण्डा आधा झुकाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

केन्द्रीय कार्यसमितिको सोमबार बसेको आकस्मिक बैठकले आज र भोलि (सोमबार र मंगलबार) दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

बैठकले मंगलबार एक दिन केन्द्रीय कार्यालय बन्द गर्ने निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार कांग्रेसले ढंगानाको स्वर्गारोहणको १३ औं दिनमा केन्द्रमा शोक सभाको आयोजना गर्ने भएको छ ।

कांग्रेस नेता तथा पूर्वसभामुख ढुंगानाको ८३ वर्षको उमेरमा आइतबार काठमाडौंको फ्रन्ट लाइन अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

चेक बाउन्स मुद्दामा दुई वर्ष कैद सजाय सुनाइएका सत्यमान लामा पक्राउ

काठमाडौँ । चेक बाउन्स मुद्दामा कैदसहित जरिवाना फैसला सुनाइएका काभ्रेपलाञ्चोकको तेमाल घर भई हाल काठमाडौँ महानगरपालिका–४ बस्ने सत्यमान लामालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत काठमाडौँले विसं २०८० चैत २७ गते दुई वर्ष कैद र ३० लाख बिगो तथा ३० लाख जरिवाना सजाय हुने फैसला गरेपछि फरार रहेका लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनले भने, ‘लामालाई हामीले पक्राउ गरेका छौँ, सजाय भुक्तानीका लागि अदालतमा उपस्थित गराएर कारागार पठाइने छ ।’

पक्राउ परेका लामा बुद्धचित्त र रक्तचन्दन व्यापारमा पनि मुछिएका तथा विसं २०७५ मा किसानको बुद्धचित्त लुटपाट गरेको आरोपमा पनि उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।

नेपाल वायुसेवा निगमको ‘मकालु’ जहाज अब नियमित उडानमा

काठमाडौँ । नेपाल वायुसेवा निगमको ए–३३० वाइडबडी जहाज ‘नाइन एन–एएलजेड’ (मकालु) आजदेखि पुनः नियमित उडानमा जाने भएको छ ।

जहाजको नियमित सि–चेकको मर्मतपश्चात् नियमित उडान गर्न लागिएको निगमका प्रवक्ता रमेश पौडेलले बताए । जहाज मर्मतका लागि तीन महिनाअघि इटाली लगिएको थियो ।

उनले भने, ‘अन्तर्राष्ट्रिय विधिसम्मत प्रक्रिया पूरा गरी सि–चेकको मर्मतसम्भारपछि जहाज आइपुगेको छ । जहाज बिहान ८ बजेर ५२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थिया । आज बेलुकाबाटै उडान सुरु हुनेछ ।’

उक्त जहाजसहित निगमका चारवटै जहाजले अन्तर्राष्ट्रिय क्षेत्रमा नियमित उडान गरेसँगै यात्रुलाई थप सेवा पुग्ने विश्वास गरिएको प्रवक्ता पौडेलले बताए ।

पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि सानो गौचरणमा

काठमाडौँ । पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा ल्याइएको छ । कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो ।

त्यसलगत्तै ढुङ्गानाको पार्थिव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शव गृहमा राखिएको थियो । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका नेता तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरु अस्पतालमा आई उनीप्रति श्रद्धाञ्जलि प्रकट गरेका छन् ।

अहिले सानो गौचरणमा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको छ । सानो गौचरणमा श्रद्धाञ्जलिपछि पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिनेछ । नेपाल सरकारले राजकीय  सम्मानका साथ पूर्वसभामुख ढु्ुङ्गानाकोे अन्त्येष्टि गर्ने निर्णय गरिसकेको छ ।

नेपालमा बहुदलीय व्यवस्था, लोकतन्त्र, शान्ति र मानवअधिकारका पक्षमा जीवनपर्यन्त वकालत गरिरहनुभएका ढुङ्गानाले मुलुकमा विगतको माओवादी सशस्त्रद्वन्द्व अन्त्य गरी शान्ति बहाली गर्नसमेत महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

राजनीति क्षेत्रमा देखिएका विकृति र विसङ्गतिबारे स्पष्ट र खरो रुपमा प्रतिक्रिया दिँदै आएका उनी संविधान र कानुनका ज्ञाता थिए । विसं २०४८ मा काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उनी प्रतिनिधिसभाको सभामुख बनेका थिए ।नेपालको संसदीय व्यवस्था र प्रजातान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्न उनको उल्लेखनीय योगदान छ ।
विभिन्न राजनीतिक दलका नेता तथा सर्वसाधारण ढुङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त गर्न सानो गौचरणमा भेला भएका छन् ।

पूर्वमुख्यसचिव अर्यालले दिए पदबाट राजीनामा

काठमाडौं । पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्यालले पदबाट राजीनामा दिएका छन् । अर्यालले आजदेखि लागू हुने गरी राजीनामा दिएका हुन् ।

पछिल्लो समय सरकारले उनलाई राष्ट्रिय योजना आयोगमा मुख्य सचिव सरह भूमिका दिएर नियुक्त गरेको थियो । अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचारमा उनी संलग्न भएको भन्दै गत असार ९ गते अख्तियार दुरूपयोग असुन्धानमा आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि मुख्यसचिव रहेका उनी त्यतिबेला निलम्बनमा परेका थिए ।

तर यस मुद्दामा उनले कात्तिक १४ गतेसफाइ पाएका थिए । मुद्दाबाट सफाइ पाएपछि उनको निलम्बन फुकुवा भएर सरकारले राष्ट्रिय योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेणी पद सिर्जना गरी पदमा सार्ने निर्णय गरेको थियो । अर्याल निलम्बनमा परेपछि सरकारले मुख्य सचिवमा एकनारायण अर्याललाई बढुवा गरेको थियो ।

सडकको पहुँचले मलैबासीलाई सहज

तुलसीपुर । दाङको विकट भनिने बबई गाउँपालिका–७ मलैबासीका लागि अहिले विगतमा जस्तो दुःख छैन । विगतमा सडकको सहज पहुँच नहुँदा स्ट्रेचर वा डोकोमा बोकेर बिरामीलाई अस्पताल लैजानुपर्थ्यो । बीचबाटोमा जङ्गल भएकाले जनावरको पनि उत्तिकै डर हुन्थ्यो । तर, अहिले सडकको पहुँचले धेरै सहज भएको छ ।

“पहिलो सडक नहुँदा धेरै गाह्रो थियो, चालु आर्थिक वर्षमा प्रदेश सरकारले सडक स्तरोन्नतिका लागि रु ५० लाख बजेट विनियोजन गरेको छ । उक्त बजेटबाट बर्खामा पनि सवारी चलाउन मिल्ने गरी सडक स्तरोन्नति गरिनेछ”, स्थानीय बमबहादुर बुढाले भने । उनले प्रदेशसभा सदस्य धनबहादुर मास्कीलाई अनुरोध गरेपछि बजेट विनियोजन भएको उल्लेख गर्दै बजेटलाई बहुवर्षीय बनाउने गरी पहल भइरहेको बताए।

साथै पछिल्लो समय यहाँ सञ्चारको पनि सुविधा पुगेको छ । केही वर्षअघिसम्म फोन गर्नका लागि दुई घण्टा हिँडेर डाँडोमा जानुपर्थ्यो । हाल कप्तानेमा टेलिकमको टावर निर्माण भइरहेको छ । आगामी वैशाखदेखि टेलिकमको पनि सेवा पुग्ने वडाध्यक्ष तिलकराम भण्डारीले बताए । “फोन नलाग्ने यहाँको मुख्य समस्या हो”, उनले भने, “टावर निर्माण भइरहेको छ, वैशाखदेखि सेवा सञ्चालनमा आउँछ ।”

मलैको बस्ती राष्ट्रिय निकुञ्जसँग जोडिएकाले बँदेल, बाँदरलगायतबाट बाली जोगाउन गाह्रो हुन्छ । केही स्थानमा तारबार लगाइए पनि अधिकांश ठाउँमा तारबार छैन । राष्ट्रिय निकुञ्जलाई अनुरोध गरेकाले त्यसलाई सम्बोधन गर्ने आश्वासन आएको स्थानीय टोपबहादुर बस्नेतले बताए ।

मलैमा दुई वटा विद्यालय छन् । तीमध्ये सरस्वती प्रावि जलजलामा कक्षा ५ सम्म पढाइ हुन्छ भने देउती मावि तल्लो मलइमा कक्षा १० सम्म पढाइ हुन्छ । कक्षा ११ देखिमाथिको कक्षाका लागि भने तुलसीपुर वा घोराही पुग्नुपर्ने अवस्था छ । कक्षा १२ सम्म सोही ठाउँमा पढाइ हुने वातावरण मिलाउनुपर्ने स्थानीय बस्नेतले बताए ।

खानेपानी र सिँचाइको भने सहज पहुँच छ । विद्युत् पनि दुई वर्ष अघि पुगेको छ । विद्युत् पुगेपछि त्यहाँका नागरिकलाई थप सहजता भएको छ । एउटा स्वास्थ्य चौकी छ । त्यसलाई थप सुविधा सम्पन्न बनाउन आवश्यक रहेको उनले बताए।

बसाइँसराइ बढ्दै

सोही क्षेत्रबाट बसाइँसराइ गरेर बाहिर जानेको सङ्ख्या भने घटेको छैन । प्रत्येक वर्ष १० देखि १५ परिवार बसाइँसराइ गरेर बाहिर जाने गरेका छन् । तर, अब सञ्चार र सडकको पहुँच पुग्ने बित्तिकै बसाइँसराइ पनि घट्ने अपेक्षा गरिएको स्थानीय सिवानी बस्नेतले बताए । “सडक र सञ्चारको विकास हुन लागेको छ”, उनले भने, “त्यो विस्तार भएमा बसाइँसराइ पनि घट्छ कि भन्ने लागेको छ ।” जनगणना २०७८ अनुसार तीन सय २५ घरधुरी भए पनि अहिले करिब दुई सय मात्रै बाँकी छन् ।

इंग्ल्याण्डसँग आयरल्याण्ड ५–० गोल अन्तरले पराजित

काठमाडौँ । युइएफए नेसन्स लिगमा इंग्ल्याण्डले फराकिलो जित निकालेको छ । सोमबार विहान घरेलु मैदान बेम्ब्लीमा १० खेलाडीमा समेटिएको रिपब्लिक अफ आयरल्याण्डलाई ५–० गोल अन्तरले पराजित गरेको हो । युरो २०२४ को उपविजेता इंग्ल्याण्डले प्रशिक्षक ली कास्लीको अन्तिम खेल सम्झनलायक बनायो । अब इंग्ल्याण्डको प्रशिक्षणको रुपमा थोमस टुचेल रहने छन् ।

पहिलो हाफमा आयरल्याण्डले उत्कृष्ट प्रदर्शन गर्दै इंग्ल्याण्डलाई रोकेको थियो । तर, दोस्रो हाफको सुरुमै ५१औं लियाम स्केल्सले जुड बेलिंघमलाई रोक्दा फाउल गरेपछि रातो कार्ड पाउँदा आयरल्याण्ड १० खेलाडीमा समेटियो । त्यतिबेला इंग्ल्याण्डले पेनाल्टीको अवसर पनि पायो । कप्तान ह्यारी केनले पेनाल्टीमा गोल गर्दै इंग्ल्याण्डलाई सुरुआती अग्रता दिलाए ।

५५औं मिनेटमा इंग्ल्याण्डले अग्रता दोब्बर बनाउन सफल भयो । टिनो लिभ्रामेन्टोको डिफ्लेक्टेड क्रसमा आएको बल एन्टोनी गोर्डनले भली प्रहार गर्दै करियरको पहिलो अन्तर्राष्ट्रिय गोल गरे ।

यसैगरी ५८ औं मिनेटमा कर्नरबाट आएको बललाई कोनर गालाघरले पनि पहिलो गोल गर्दा इंग्ल्याण्ड ३–० ले अघि बढेको थियो । ज्यारोड बोवेनले मैदान प्रवेश गरेलगत्तै ७५ औं मिनेटमा गोल गर्दै इंग्ल्याण्डको अग्रता थप मजबुत बनाएका थिए ।

टेलर हार्वुड–बेलिसले पनि आफ्नो डेब्यू खेलमा जुड बेलिङ्घमको क्रसमा हेड गर्दै ७९ औं मिनेटमा टिमका लागि पाँचौं गोल गरेका थिए । जितसँगै इंग्ल्याण्ड समूह बीको २ मा १५ अंकसहित शीर्ष स्थानमा रहेको छ ।

रुसमाथि लामो दुरीको हतियार प्रयोग गर्न युक्रेनलाई अमेरिकी अनुमति

बीबीसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसमाथि लामो दुरीको हतियार प्रयोग गर्न युक्रेनलाई अनुमति दिएका छन् । रुसलाई सहयोग गर्न उत्तर कोरियाली सेना त्यहाँ पुगेपछि अमेरिकाले लामो दुरीको हतियार प्रयोग गर्न युक्रेनलाई अनुमति दिएको हो ।

दक्षिणी रुसी क्षेत्र कस्र्कमा अहिले ५० हजार उत्तर कोरियाली सैनिक रहेको अनुमान गरिएको छ । सोही स्थानमा गत वर्ष युक्रेनले प्रत्याक्रमण स्वरूप आक्रमण सुरु गरेको थियो ।

अमेरिकाको यो सन्देश आर्मी टेक्टिकल मिसाइल सिस्टम प्रयोग गर्नका लागि हो । बाइडेनले यो मिसाइल फेब्रुअरी महिनामा तयार पारीसकेका थिए। अप्रिल महिनामा यो युक्रेनलाई हस्तान्तरण गरिएको हो।

जेलेन्सकीले पहिलेदेखि नै युद्धमा एउटा मोमेन्टमकै लागि पनि सो हतियार रुसी भूमिका प्रयोग गर्न अनुमति खोजिरहेका थिए । रुसले आइतबार युक्रेनमाथि ठूलो ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेको थियो ।

आक्रमणलाई अधिकारीहरूले पछिल्ला महिनाहरूको सबैभन्दा ठूलो भनी वर्णन गरेका छन् । जाडोअघि मस्कोले युक्रेनको विद्युत् उत्पादन क्षमतालाई तहसनहस पार्ने मनसाय राखेको बारे चिन्ता बढिरहेको बेला यो आक्रमण भएको हो ।

राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका अनुसार रुसले युक्रेनभर ठूलो मात्रामा कूल एक सय २० क्षेप्यास्त्र र ९० ड्रोन प्रक्षेपण गरेको छ । उनले विभिन्न प्रकारका ड्रोनहरू प्रयोग गरिएको र यसमा इरान–निर्मित शाहेदहरूका साथै क्रुज, ब्यालिस्टिक र विमान–प्रक्षेपित ब्यालिस्टिक क्षेप्यास्त्रहरू समावेश रहेको जानकारी दिए ।

स्थानीय तहका ४२ पदका लागि चार सय सात जनाको उम्मेदवारी दर्ता

काठमाडौँ । आसन्न स्थानीय तह उपनिर्वाचनअन्तर्गत विभिन्न ४२ पदका लागि चार सय सात जनाको मनोयन पत्र दर्ता भएको छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त आठ पदका लागि ३५ महिला, ४८ पुरुष र एक अन्य गरी ८४ जना उम्मेदवारको मनोनयन पत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

गाउँपालिका र नगरपालिका वडा अध्यक्षको रिक्त ३४ पदका लागि २९ महिला, दुई सय ९३ पुरूष र एक अन्य गरी जम्मा तीन सय २३ जनाको मनोयन पत्र दर्ता भएको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् । कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा दुई महिला र ओखलढुङ्गा जिल्ला समन्वय समितिको प्रमुखमा एक जना पुरुष उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ ।

धनुषामा सबैभन्दा धेरै तथा रुकुम पूर्वमा र बझाङ जिल्लामा सबैभन्दा कम उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ । सबैभन्दा धेरै धनुषाको धनुषाधाम नगरपालिका वडा नं १ को वडा अध्यक्ष पदमा २१ जना र सबैभन्दा कम रूकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–२ र बझाङको सुर्मा गाउँपालिका–४ को वडा अध्यक्ष पदमा तीन÷तीन जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको आयोगले जनाएको छ ।

स्थानीय तह उपनिर्वाचनका लागि आज बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक एवं शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोयनपत्र दर्ता भएको आयोगका सहसचिव पोखरेलले जानकारी दिइन् ।

यही मङ्सिर ३ गते विहान १० देखि अपरान्ह ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने र मङ्सिर ४ गते अपरान्ह ५ बजेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ तथा निर्णय गरी सोही दिन ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।

मङ्सिर ५ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र अपरान्ह ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ । यही मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा २६ स्थानमा मात्र उम्मेदवारी दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तहको उपनिर्वाचन हुने ४२ मध्ये २६ स्थानमा मात्र उम्मेदवार उठाएको छ ।

ओखलढुंगा, सप्तरी रौतहट, रुकुम पूर्व, रुकुम पश्चिम, बाजुरा, बझाङ, डोल्पा, दार्चुला, कैलाली जिल्लाहरुमा हुने उपनिर्वाचनमा रास्वपाले उम्मेदवार नउठाएको हो । रास्वपाले उपनिर्वाचनका लागि आइतबार मनोनयन दर्ताको समय थियो ।

नेपालद्वारा कर्नाटक १२१ रनले पराजित

काठमाडौं । यू–१९ एसियाकपको तयारीमा रहेको नेपालले भारतको कर्नाटक यू–१९ लाई १२१ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

आइतबार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा जित निकालेसँगै नेपालले ५ खेलको सिरिजमा २–१ को अग्रता पनि लिन सफल भएको छ । जितका लागि २ सय ८३ रनको लक्ष्य पछ्याएको कर्नाटकले ४०.२ ओभरमा सबै विकेट गुमाएर १६१ रनमा समेटिन पुग्यो ।

टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर २८२ रनको बलियो योगफल तयार पारेको थियो । २८३ रनको जवाफी लक्ष्यसहित मैदान उत्रिएको कर्णाटकको मध्यम सुरुवात गरेको थियो । कर्नाटकले ४०.२ ओभरमा सवै विकेट गुमाएर १६१ रनमात्रै बनाउन सक्यो ।

अभिनेता दयाहाङ राई विराटनगर किंग्सको ब्राण्ड एम्बेसडर

काठमाडौं । विराटनगर किंग्सको गुडविलले चर्चित अभिनेता दयाहाङ राईलाई आगामी नेपाल प्रिमियर लिग (एनपिएल) का लागि आफ्नो ब्राण्ड एम्बेसडर घोषणा गरेको छ ।

आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा राईलाई ब्राण्ड एम्बेसडर घोषणा गरिएको हो । ब्राण्ड एम्बेसेडरको रूपमा विराटनगर किङ्ग्समा आबद्ध भई राईले नेपाली खेलकुदमा पनि आफ्नो उपस्थिति जनाएका हुन् ।

उनले यो टिमसँग जोडिन पाउँदा खुसी लागेको बताए । साथै उनले क्रिकेटले गर्दा नेपाली खेलहरुलाई नजिकबाट बुझेको बताए । उनले खेलले नै हामी सबैलाई ठूलो धैर्यता सिकाएको बताए । नेपाल प्रिमियर लिग (एनपीएल) आगामी १५ मंसिरदेखि ६ पुससम्म चल्नेछ ।

नर्सिङ शिक्षामा सहज भर्नाका विषयमा प्रधानमन्त्री ओलीको चासो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि आइतबार चिकित्सा शिक्षा आयोगका पदाधिकारीसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको  छलफलमा सरकारी मेडिकल कलेजमा क्षमता भएबमोजिम विद्यार्थीको सिट सङ्ख्या निर्धारण तथा निजी मेडिकल कलेजमा तोकेबमोजिम शुल्क र छात्रवृत्ति व्यवस्थापन गर्न राय परामर्श गरिएको थियो ।

स्वदेशभित्रै सहज र गुणस्तरीय रूपमा चिकित्सा शिक्षा उपलब्ध गराउन तथा उत्पादित दक्ष जनशक्तिलाई स्वास्थ्य संस्थामा रोजगारीको वातावरण सृजना गरी मुलुकको समृद्धिमा कसरी योगदान दिन सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित रहेको थियो ।

यस्तै नर्सिङ शिक्षामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट सम्बन्धन प्राप्त सबै संस्थामा सहज भर्नाका विषयमा प्रधानमन्त्री ओलीले चासो दिएका थिए । उनले आयोगको बैठक छिट्टै राखेर आवश्यक निर्णय लिने र चिकित्सा शिक्षामा सहजताका लागि विद्यमान ऐन–नियममा सामयिक संशोधनको गृहकार्य गर्ने विषयमा परामर्श गरेका थिए ।

“हामीले राष्ट्रिय स्वार्थ र न्यायोचित कुरालाई हेर्नुपर्छ । देशको समृद्धिमा कसरी लाभ पुुग्छ भन्ने कुरालाई केन्द्रमा राख्नुपर्छ”,  प्रधानमन्त्री ओलीले भने, “कुनै लहड, स्वार्थ वा नेपालका विद्यार्थी विदेशमा पढ्न जान बाध्य बनाउने गलत स्वार्थमा लाग्नु हुँदैन ।”

राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १२ मा विद्यार्थीको पढाइ र अभ्यासका लागि मेडिकलतर्फ कम्तीमा तीन सय तथा डेन्टल र नर्सिङतर्फ एक सय शय्याको अस्पताल सञ्चालन नभएसम्म सम्बन्धित विषयको कुनै पनि कार्यक्रम सञ्चालन नगर्ने भन्ने व्यवस्थाका कारण नर्सिङ शिक्षा सञ्चालनमा असहजता देखिँदै आएको छ । आयोग र परिषद्को वार्षिक क्यालेन्डरमा एकरुपतामा ल्याउन पनि कठिनाइ हुँदै आएको छ ।

आयोगका उपाध्यक्ष प्रा डा अञ्जनीकुमार झाले अब बस्ने आयोगको बैठकबाट सात नयाँ संस्थालाई आशयपत्र र २८ संस्थालाई विद्यार्थीको कोटा निर्धारणलगायत कार्यसूूची हुने अवगत गराए । आयोगले चिकित्सा शिक्षाको एकीकृत नियमन, अनुगमन, प्रवेश परीक्षा सञ्चालन, शिक्षण संस्थाको विद्यार्थी सिट सङ्ख्या र शिक्षण शुल्क निर्धारणसम्बन्धी कार्यहरु गर्दै आएको छ ।

यसैबीच प्रधानमन्त्री ओलीले आजै काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पताल बीचको विवाद मिलाउने सम्बन्धमा विश्वविद्यालयका पूर्वउपलकुलपतिहरु डा सुरेशराज शर्मा, डा रामकण्ठ मकाजु श्रेष्ठलगायतसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति ओलीले दुवै संस्था अन्तर्राष्ट्रियस्तरमा समेत ख्यातिप्राप्त भएकाले एकापसमा मिलेर जाँदा उचित हुने भएकाले आपसी गृहकार्य गरी समाधानको उपाय ल्याउन यसअघिको सिनेट बैठकमा निर्देशन दिएका थिए । उक्त विवाद मिलाउन नेपाल सरकारका प्रतिनिधि, दुवै संस्थाका पदाधिकारी र जनप्रतिनिधि रहेको कार्यदल गठन गरिएको छ । कार्यदलको प्रतिवेदन प्राप्त भएपछि विश्वविद्यालयको सिनेट बैठकमा प्रस्तुत गरिनेछ ।

रवि लाछिानेविरुद्ध काठमाडौंमा पनि पक्राउ पुर्जी जारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ ।

गोर्खा मिडिया नेटवर्कमा रहँदा काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन प्रकरणमा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

सहकारीको बचत अपचलन प्रकरणमा गोर्खा मिडियाका अध्यक्ष जीबी राई सहित २४ जनाविरुद्ध यसअघि नै पक्राउ गर्न अदालतले अनुमति दिइसकेको छ ।

गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने र तत्कालीन उपाध्यक्ष रहेका जोशी हाल कास्की प्रहरीको हिरासतमा छन् । दुवैजनाविरुद्ध पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलनको अनुसन्धान भइरहेको छ ।

सिकलसेल रोगको उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  छुट्टै  वार्ड स्थापना

काठमाडौँ । सिकलसेल उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छुट्टै वार्ड स्थापना गरिएको छ । आइतबारदेखि प्रतिष्ठानमा भर्ना हुनेका लागि १० शय्या र दिवा उपचारका लागि पाँच शय्या सहितको वार्ड स्थापना गरिएको प्रतिष्ठानका उपकुलपति डा विकास लामिछानेले जानकारी दिए ।

यो सँगै थारू समुदायको प्रमुख स्वास्थ्य समस्याका रूपमा रहेको सिकलसेल एनिमिया रोगको उपचारका लागि नै स्थापना गरिएको वार्डको सङ्ख्या दुई पुगेको छ ।

यसअघि नेपालगञ्जको भेरी अस्पतालमा यो रोगको उपचारका लागि वार्ड स्थापना गरिएको थियो । वंशाणुगत रोग सिकलसेल थारू समुदायको प्रमुख स्वास्थ्य समस्याका रूपमा रहँदै आएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सिकलसेलबाट समुदायका झन्डै १२ प्रतिशत नागरिक प्रभावित छन् । यसअघि दिउँसो मात्र उपचार गर्ने गरिएकामा अब अन्य समयमा पनि प्रतिष्ठानबाट उपचार सहज हुने उपकुलपति डा लामिछानेले बताए ।  

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले गत कात्तिक २० गते मन्त्रिस्तरीय निर्णय गर्दै भेरी अस्पताल नेपालगञ्जमा बेग्लै वार्ड स्थापना गर्न लगाएका थिए । सिकलसेलको औषधिसमेत निःशुल्क उपलब्ध गराउने उनले प्रतिबद्धता व्यक्त गरेका थिए ।

पोखराका प्रेमप्रसादको एकीकृत कृषि

गण्डकी ।  पोखरा महानगरपालिका–२४ लौरुकका किसान प्रेम अधिकारीका फार्ममा उत्पादन भएका कृषिजन्य वस्तु लेकसाइड आसपासमा खरिद गर्नेको घुइँचो हुन्छ। बजार पुर्‍याइएका तरकारी बिक्री हुँदैन की भन्ने उनलाई चिन्ता लाग्दैन।

प्रेमप्रसादले बजारमा जितिरहेको विश्वास उनको एकीकृत कृषिप्रतिको लगाब र मेहनत हो। पहिचान अर्गानिक कृषि फार्म सञ्चालन गरिहेका अधिकारीले फार्ममा एकीकृत रूपमा पशुपालसँगै तरकारीखेती पनि गरिरहेका छन्। गोठमा भैँसीपालन गरिहेका अधिकारीले दैनिक ४५ लिटर दूध बेचिरहेका छन् भने तिनै भैँसीको मलले चारवटा टनेलमा विभिन्न किसिमका मौसमी तथा बेमौसमी तरकारी लगाएका छन्।

सुरुमा गाउँका स्थानीयकोसमेत दूध सङ्कलन गरी सात सय लिटरसम्म बजारमा बिक्री गर्न लैजाने गरेको अधिकारीले बताए। फार्ममा पालिएका भैँसीको मल आफ्नै तरकारीखेतीमा प्रयोग गरी अर्गानिक उत्पादनमा जोड दिएको उनको भनाइ छ।

उनले भने, ‘विषादिरहित मल प्रयोग भएकाले उत्पादित तरकारीको माग पनि बजारमा बढी छ।’

आफ्नो जीवनकालमा विभिन्न अनुभव पनि सँगालेको बताउँदै अधिकारीले सन् २००० देखि २००५ सम्म कतारमा वैदेशिक रोजगारी गरेको जानकारी दिए। त्यसयता लेकसाइडमा होटेल सञ्चालन गरेका उनले २०७२ सालको भूकम्पपछि कृषितर्फ लागेको जानकारी दिए।

अर्गानिक खेतीका लागि चाहिने मल गोठबाट उपलब्ध हुने गरेको भन्दै अधिकारीले गोठमा अहिले १८ वटा भैँसी रहेका उल्लेख गरे। लोकल कुखुरापालन पनि गरिरहेका उनले बजारको माग अनुसार कृषिजन्य उत्पादन पुर्‍याउन नसकेको बताए। आफैँ बजारीकरणमा लाग्नुका साथै र परिवारका सदस्यले पनि सहयोग गर्दा काम गर्न सहज भएको अधिकारीको भनाइ छ।

व्यावसायिक कृषिमा परिवारजनबाट सहयोग पाएको बताउँदै उनले एकीकृत कृषिबाट जोकोही लाभान्वित हुनसक्ने अनुभव सुनाए। परिवारको सहयोगसँगै उहाँले अन्य दुई जनालाई दैनिक ज्यालादारीमा रोजगारीसमेत दिँदै आएका छन्।

‘मेरो व्यावसायिक कृषिमा श्रीमती, छोराछोरी, आमा सबैको निरन्तर साथ र सहयोग छ’, उनले भने, ‘एकीकृत रूपमा पशुपालन र तरकारीखेती गरेकाले उपभोक्तालाई शुद्ध प्राङ्गारिक उत्पादन पुर्‍याउन सकेको छु।’

उत्पादित वस्तुको बजार लेकसाइड रहेको बताउँदै अधिकारीले धेरै उत्पादन हुँदा पोखरा महानगरपालिकाद्वारा सञ्चालित कृषि एम्बुलेन्स सहयोगी बन्ने उल्लेख गरे। सुरुमा रु १० लाखबाट व्यावसायिक कृषिमा लगानी सुरु गरेको जनाउँदै उनले त्यसयता टनेल निर्माण, गोठलगायत पूर्वाधार निर्माणमा लगानी बढाउँदै लगेको बताए। उत्पादित वस्तुको सहज बजारीकरणका साथै आम्दानी पनि प्रशस्तै भइरहेकाले सन्तुष्ट रहेको उनको भनाइ छ।

अघिल्लो वर्ष रु एक लाखको साग, रु एक लाखको काँक्रो बिक्री गरेको अधिकारीले जानकारी दिए। धनियाँ, गोलभेडालगायत उत्पादनबाट पनि सोहीअनुसार फाइदा भएको उनले अनुभव सुनाए। गत वर्ष राँगा बिक्रीबाट सबै खर्च कटाएर रु एक लाख ५० हजार आम्दानी भएको उहाँले जानकारी दिए।

अधिकारीले गरेका एकीकृत कृषि अरुका लागि पनि अनुकरणीय भएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताए।

‘पशुपालनसँगै तरकारीजन्य उत्पादन गर्दै आउनुभएका अधिकारीले एकीकृत रूपमा कृषिकर्म गर्नुभएको छ’, उनले भने, ‘घरमा पशु पालन भएकाले खेतबारीमा पशुमल प्रयोग भएकाले अर्गानिक तरकारी उत्पादनमा सहयोग पुगेको छ।’

‘हाम्रो परिवेशमा एउटै किसानको सयौंँ रोपनी जग्गा हुने अवस्था पनि छैन’, कडरियाले भने, ‘थोरै जग्गामा अधिकतम लाभ लिन अब अधिकारीले जस्तै अरुले पनि एकीकृत कृषि प्रणाली अपनाउनु जरुरी छ।’