`

लिभरपुलद्वारा रियल मड्रिड पराजित

काठमाडौँ । इङ्लिस क्लब लिभरपुलले स्पेनिस क्लब रियल मड्रिडमाथि सानदार जित निकालेको छ । बुधबार राति भएको खेलमा लिभरपुलले रियललाई २–० ले पराजित गरेको हो ।

च्याम्पियन्स लिगको पाँचौं चरणको खेलसम्म अपराजित रहेको लिभरपुलले म्याक एलिस्टरको गोलमार्फत ५२औं मिनेटमा पहिलो अग्रता लिएको थियो । त्यसपछि खेलको ७६औं मिनेटमा कोडे गाक्पोको गोलमार्फत लिभरपुलले रियलमाथि २–० को जीत निकाल्यो ।

एनफिल्डमा भएको खेलमा एलेक्सिस म्याक एलिस्टरले ५२ र र कोडी गाक्पोले ७६ औ मिनेटमा लिभरपुलका लागि गोल गरेका हुन् ।

यो जितसँगै लिभरपुल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । रियलमाथि लिभरपुलको १५ वर्षपछिको यो पहिलो जीत हो । लिभरपुलले सन् २००९ यता रियल मड्रिडलाई पराजित गर्न सकेको थिएन ।

साबेल प्रहार गरी सँगै सुतेका साथीको हत्या

हेटौंडा । मकवानपुरमा गएराति सुतिरहेका बेला एकजना मजदुरको हत्या भएको छ । मकवानपुरको मनहरी गाउँपालिका–६, प्रतापुर लच्का निवासी जितबहादुर मोक्तानको हत्या भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनलाई सँगै मजदुरी गर्ने साथी अमरबहादुर लोप्चनले सुतिरहेको बेला गएराति १ बजेतिर सावेल प्रहार गरेर हत्या गरेका हुन् । प्रहरीका अनुसार, अम्मर बहादुर र जितबहादुर दुवै सँगै मजदुरी गर्ने साथी हुन् ।

गएराति जितबहादुरकै घरमा उनीहरु सुतेका थिए। आपसी विवादको क्रममा अम्मर बहादुरले जितबहादुरलाई कुटपिट सुरु गरेका थिए। सावेल प्रहारसहितको कुटपिटबाट गम्भीर घाइते भएका जितबहादुरलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल, चितवन पठाइएको थियो ।

उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जानकारी दिए।

उनको शव अहिले चितवनस्थित सरकारी अस्पतालमा राखिएको प्रवक्ता अर्यालले बताए । प्रहरीले कुटपिट गर्ने अम्मर बहादुरलाई नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया सुरु गरिएको जनाएको छ ।

स्थानीय तह उपनिर्वाचनः आजदेखि मौन अवधि सुरु हुँदै

काठमाडौँ । यही मंसिर १६ गते हुने स्थानीय तहको उपनर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदै छ । मतदानको समयभन्दा ४८ घण्टाअघि मौन अवधि रहने व्यवस्थाअनुसार आज राति १२ बजेदेखि नै लागू हुने निर्वाचन आयोगले जनाएको छ ।

मौन अवधिको समयमा कुनै पनि उम्मेदवार वा अन्य व्यक्तिले भौतिक वा सामाजिक सञ्जालमार्फत मत माग्नसमेत पाइने छैन । आगामी आइतबार ३३ जिल्लाका ४४ पदका लागि मतदान हुँदैछ ।

दुई जिल्ला समन्वय समिति प्रमुख, एक–एक मेयर र उपमेयर, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ र ३४ वडाध्यक्ष पदका लागि निर्वाचन हुन लागेको हो मतदानका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र कायम गरिएका छन् । निर्वाचनमा २ लाख २६ हजार ७९९ मतदाता छन् ।

पुरुष मतदाता एक लाख १४ हजार ९००, महिला मतदाता एक लाख ११ हजार ८९६ र अन्य मतदाता ३ जना छन् । ४४ पदमध्ये तीन पदमा एकल उम्मेदवारी परेकोले ४१ पदका लागि मात्रै मतदान हुनेछ ।

ओखलढुंगा जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसका टेकराज भट्टराई र कैलाली जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसकै टीकाकुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भइसकेका छन् । यसैगरी रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका–२ को वडाध्यक्षमा माओवादीका जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् ।

परराष्ट्रमन्त्री राणा आज चीन जाँदै

काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवा आज चीन जाने कार्यक्रम रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर १७ गतेदेखि हुने भ्रमणको तयारीका लागि उनी आज चीन जान लागेकी हुन् ।

परराष्ट्रमन्त्री राणाले शुक्रबार चिनियाँ समकक्षी वाङ यी सँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । भेटमा प्रधानमन्त्रीको भ्रमणको तयारीलगायत दुई देशबीचको आपसी हितका विविध विषयमा छलफल हुने बताइएको छ ।

मुख्यतः चीनको ठूलो परियोजना बीआरआई कार्यान्वयन सम्झौता गर्ने विषयमा कांग्रेस–एमालेबीच बिबाद कायमै रहेको बेला त्यसको पृष्ठभुमी तयारीका लागि परराष्ट्र मन्त्री पाँच दिन अगावै चीन जान लागेकी हुन् ।

गत सोमवार बसेको मन्त्री परिषद बैठकले परराष्ट्रमन्त्री राणाको चीन भ्रमण स्वीकृत गरिसकेको छ ।

‘बुलाकी’लाई ‘सर्वोत्कृष्ट फिल्म’को ट्रफी प्रदान

काठमाडौं । २०८० सालमा रिलिज भएका चलचित्रमध्ये बुलाकी सर्वोत्कृष्ट चलचित्र घोषित भएको छ । चलचित्र विकास बोर्डले बुधबार शीतलनिवासमा आयोजना गरेको चलचित्र पुरस्कार वितरण समारोहमा बुलाकीलाई ‘सर्वोत्कृष्ट फिल्म’को ट्रफी प्रदान गरिएको हो ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले २०८० सालमा प्रदर्शनमा आएका फिल्मको प्रतिस्पर्धामा उत्कृष्ट हुने फिल्मलाई १० विधामा पुरस्कार प्रदान गरे । उक्त अवसरमा राष्ट्रिय चलचित्र पुरस्कार २०८० र सोही वर्षको विशेष चलचित्र पुरस्कार वितरण गरिएको थियो । सर्वोत्कृष्ट निर्देशकको अवार्ड ‘दिमाग खराब’ का लागि निश्चल बस्नेतले पाएका छन् ।

सोही चलचित्रबाट स्वस्तिमा खड्का उत्कृष्ट अभिनेत्री घोषित भइन् । उत्कृष्ट अभिनेताको पुरस्कार भने ‘प्रसाद २’ बाट विपिन कार्कीलाई प्रदान गरिएको छ ।

बक्यौता नबुझाउने उद्योगको बैंक खाता रोक्न राष्ट्र बैंकलाई प्राधिकरणको पत्राचार

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता नबुझाउने उद्योगहरूको बैंक खाता र सेयर कारोबार रोक्का गर्न पत्राचार गरेको छ । नियमन आयोगले लाइन नकाटी अन्य विकल्पबाट बक्यौता उठाउन पत्रचार गरेपछि प्राधिकरणले बैंक खाता रोक्का र सेयर कारोबार गर्न नपाउनेलगायत विकल्पमा रोजेको हो ।

प्राधिकरणले नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, कम्पनी राजिस्ट्रार कार्यालयमा खाता तथा सेयर खरिदबिक्री रोक्काका लागि पत्राचार गरेको छ । पत्रमा प्राधिकरणले खाताबाट रकम झिक्न नपाउने, सेयर निष्कासन गर्न नपाउने माग गरेको छ ।

प्राधिकरणले ३४ वटा उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता बाँकी रहेका उद्योगहरूको विवरणसहित पत्राचार गरेको हो । प्राधिकरणका अनुसार, उक्त अवधिको जम्मा ६ अर्ब ४० करोड ९२ लाख ४० हजार ७०१ रुपैयाँ उठाउन बाँकी छ । ३४ बाहेकका अन्य उद्योग भने किस्ताबन्दीमा आइसकेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको सञ्चालक समितिको बुधबारको बैठकले उद्योगहरुमा विद्युत लाइन नकाट्ने निर्णय गरेको थियो । यसअघि सरकारले प्राधिकरणलाई १५ दिनको समय दिएर बक्यौता उठाउन र तत्काल लाइन जोड्न निर्देशन दिएको थियो ।

प्राधिकरणले त्यसपछि १५ दिनभित्र बक्यौता नतिरे उद्योगहरुको लाइन काट्ने जनाएको थियो । उक्त समयावधि आज सकिने भएपछि समितिको बैठक बसेको हो । उद्योगीले बक्यौता नतिरेको भन्दै लाइन काट्ने तयारीमा प्राधिकरण थियो ।

सञ्चालक समितिको बैठकमा ऊर्जामन्त्री दीपक खड्काले बैकल्पिक उपायबाट उद्योगहरुसँग पैसा उठाउने भन्दै अहिलेलाई लाइन नकाट्ने बताएका थिए । बैठकमा सञ्चालकद्वय कपिल अचार्य र भक्तबहादुर पुनले भने यसमा असहमति राखेका थिए ।

परराष्ट्रमन्त्री राणा बिहीबार चीनको औपचारिक भ्रमणमा जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा भोलिदेखि चीनको औपचारिक भ्रमणमा जाने भएकी छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य तथा विदेश मामिला केन्द्रीय आयोगको कार्यालयका निर्देशकसमेत रहेका वाङको निमन्त्रणमा मन्त्री राणाले यही मङ्सिर १३ देखि १५ गतेसम्म चीनको भ्रमण गर्न लागेकी हुन् ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री डा राणाले मङ्सिर १४ गते आफ्ना चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

भेटवार्तामा उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीनको औपचारिक भ्रमणको तयारीलगायत दुई देशबीचको आपसी हितका विविध विषयमा व्यापक छलफल गर्नेछन् । परराष्ट्रमन्त्री डा राणा मङ्सिर १५ गते स्वदेश फर्कने कार्यक्रम छ ।

एनपीएलमा स्वदेशी र विदेशी खेलाडीसहितको सन्तुलित टोली भएकाले उपाधि जित्ने जनकपुर बोल्ट्सको दाबी

मुना कार्की, काठमाडौँ । मधेश प्रदेशको प्रतिनिधित्व गर्ने टोली जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा उपाधि जित्ने दाबेदारी गरेको छ । स्वदेशी र विदेशी खेलाडीसहितको सन्तुलित टोली भएका कारण उपाधि जित्ने जनकपुर बोल्ट्सको दाबी छ । 


नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा पहिलो पटक हुन लागेको एनपिएल यही मङ्सिर १५ गतेदेखि सुरु हुँदैछ । प्रतियोगिताको सुरुआतमै जनकपुर बोल्ट्सले विराटनगर किङ्ग्सको सामना गर्नेछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा उद्घाटन खेल मध्यान्ह १२ः१५ बजे सुरु हुनेछ ।


जनकपुर बोल्ट्सको मार्की खेलाडीका रुपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर आसिफ शेख छन् । २३ वर्षीय आसिफले सन् २०१७ देखि नेपालको सिनियर टोलीमा डेब्यु गरेका हुन् । त्यसयता उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै आएका छन् ।


आसिफले आफनो टोलीमा चल्तीका विदेशी र नेपाली युवा खेलाडीका कारण राम्रो सन्तुलन मिलेको बताए । पुबुदु दसानायके जस्तो प्रशिक्षक पाएका कारण आफनो टोली भाग्यशाली रहेको उल्लेख गर्दै उनले जनकपुर बोल्ट्सलाई जसरी पनि उपाधि जिताउने उद्देश्यका साथ खेल प्रदर्शन गर्ने विश्वास दिलाए । मार्की खेलाडी शेखले आफनो टोलीमा सबै उत्कृष्ट खेलाडी  भएकाले प्रतियोगिताको उपाधि जित्ने दाबी गरे । 


यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलेसमेत सोमबार सुन्धारास्थित धरहरा परिसरमा एनपिएलको ट्रफी सार्वजनिक गर्दै जनकपुर बोल्ट्सका मार्की खेलाडी शेखको प्रशंसा गदै ‘क्याप्टेन कूल’को उपनाम दिनुपर्ने बताएका थिए । “जनकपुर बोल्ट्सका मार्की खेलाडी आसिफ शेखले स्पोर्टम्यानसिप देखाउँदै आयरल्यान्डका खेलाडीलाई रन आउट नगरेको त्यो भाइरल श्रव्यदृश्य मैले पनि हेरेको थिएँ । जनकपुर झैँ शान्त स्वभाव कायम रहोस् । आसिफ शेखलाई क्याप्टेन कूल, शान्त भनेर उपनाम दिएपनि हुन्छ जस्तो लाग्छ”, उनले शेखको प्रशंसा गर्दै भनेका थिए ।


जनकपुर बोल्ट्सका ‘हेड अफ अपरेशन’ निरोज खतिवडाले आफनो टोलीको तयारी राम्रो रहेकाले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै प्रतियोगिताको उपाधि जित्नेमा आफु विश्वस्त रहेको बताए । उनले नेपाली र विदेशी खेलाडीसहितको सन्तुलित टोलीकै कारण प्रतियोगितामा राम्रो नतिजा हातपर्ने उल्लेख गरे ।

खतिवडाले आफ्नो टोलीमा दुई विदेशी खेलाडी नेपाल आइसकेको र आजै बाँकी दुई विदेशी खेलाडी आउने जानकारी दिए । जनकपुर बोल्ट्समा मार्की खेलाडी आसिफसँगै नेपाली राष्ट्रिय क्रिकेट टोलीका  सदस्यद्वय अनिलकुमार साह र ललितनारायण राजवंशी समेत रहेका छन् । 


त्यसैगरी टोलीका अन्य नेपाली खेलाडीमा रुपेश सिंह, किशोर महतो, अरनिकोप्रसाद यादव, तुलबहादुर थापा मगर, आकाश त्रिपाठी, शुभ कङ्साकर, शेर मल्ल र हेमन्त धामी छन् । एनपिएलमा सहभागी प्रत्येक टोलीले कम्तीमा चार विदेशी खेलाडी अनुबन्ध गर्नुपर्ने प्रावधान छ । तर खेलाडीको आवश्यकता हेरेर ६ जनासम्म विदेशी खेलाडी राख्न पाउने प्रावधान रहेको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । 


जनकपुर बोल्ट्सले नेपाली खेलाडीसँगै ६ विदेशी खेलाडीलाई भित्राएको छ । जनकपुर बोल्ट्सले न्युजिल्यान्ड, पाकिस्तान र अमेरिकाका अनुभवी खेलाडीलाई भित्र्याउन सफल भएको छ । जसमा न्यूजिल्यान्डका जिमी निशम, अमेरिकाका जोशुआ ट्रोम्प, अमेरिकामा बसेर क्रिकेट खेल्ने श्रीलङ्काली मुलका लाहिरु मिलन्था तथा पाकिस्तानका शोएब मक्सुद र मोहमद मोहसिन खान छन् ।


न्युजिल्यान्डका नीशम विश्व क्रिकेटमा चिरपरिचित खेलाडी हुनुहुन्छ । नीशमले न्युजिल्याण्डका लागि टेस्टदेखि टी–ट्वान्टी खेल खेलिसक्नुभएको छ । बाँयाहाते ब्याटर नीशमसँग आइपीएल, बीबीएल, भाइटालिटी ब्लास्ट, द हन्ड्रेडलगायत फ्रेन्चाइज लिगहरू खेलको अनुभव छ ।


त्यसैगरी अमेरिकाका दाँयाहाते ब्याटर ट्रोम्पले अमेरिकाको घरेलु क्रिकेट लिगमा उत्कृष्ट खेल प्रदर्शन गर्दै आएका छन् । उनले अमेरिकी हौस्टन प्रिमियर लिग टी ट्वान्टी, सेन्ट्रल टेक्सास लिग टी–ट्वान्टीलगायतका प्रतियोगिता खेलिसकेका छन् । श्रीलङ्कामा जन्मिएर अमेरिकाबाट क्रिकेट खेल्दै आएका विकेटकिपर एवं ब्याटर मिलान्था अनुभवी खेलाडी हुन् । उनले अमेरिकाको विभिन्न घरेलु क्रिकेट प्रतियोगिता खेल्दै आएका छन् । मिलान्थाले यसअघि नेपालमै आएर क्रिकेट खेलिसकेका छन् ।


यस्तै पाकिस्तानी मक्सुद पनि अनुभवी खेलाडी हुन् । उनले पाकिस्तानका लागि एकदिवसीय, टी–२० लगायतका खेल खेलिसकेका छन् । पाकिस्तानका मोहसिन खान अलराउण्डर हुन् । उनले क्यारेबियन प्रिमियर लिग, अमेरिकी मेजर लिग र पाकिस्तान सुपर लिग खेलिसकेका छन् ।


जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा राष्ट्रिय सिनियर क्रिकेट टोलीका पूर्वप्रशिक्षक पुबुदु दासानायके छन् । दासानायकेले नेपाली क्रिकेटलाई माथिल्लो उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । सन् २०११ देखि राष्ट्रिय पुरुष टोली सम्हालेका उनकै प्रशिक्षणमा नेपालले विश्वकपसम्मको यात्रा तय गरेको थियो ।

नेपाली क्रिकेटको इतिहासमा प्रशिक्षक दासानयके बिर्सिन नहुने नाम हो । सुरुवातमा उनले सन् २०११ देखि २०१५ सम्म नेपाली टोलीको प्रशिक्षण सम्हालेका थिए ।

त्यसदौरान उनकै प्रशिक्षणमा नेपालले आइसीसी विश्व क्रिकेट लिग डिभिजन चारदेखि एकसम्मको यात्रा तय गरेको थियो । । नेपालले विभिन्न समयमा क्रिकेटको छनोट चरण पार गर्दै सन् २०१४ मा बङ्गलादेशमा भएको विश्वकपमा सहभागिता जनाएको थियो । उनकै प्रशिक्षणमा उपाधि जित्नेमा जनकपुर बोल्ट्स विश्वस्त रहेको छ ।

पाकिस्तानी खेलाडी मक्सुदले नखेल्ने  

जनकपुर बोल्ट्सका लागि अनुबन्धित पाकिस्तानी खेलाडी शोएब मक्सदु फिटनेशमा समस्या भएपछि प्रतियोगिता खेल्न नआउने निश्चित भएको छ । जनकपुर बोल्ट्सका हेड अफ अपरेशन खतिवडाका अनुसार मक्सुदको स्थानमा इङल्याण्डका अलराउण्डर बेन माइकलाई अनुबन्ध गरिएको छ । उनले पनि विभिन्न प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेका छन् ।


प्रतियोगितामा जनकपुर बोल्ट्सगै काठमाडौँ गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सको सहभागिता रहेको छ ।

युद्ध विरामपछि बेरुतका विस्थापित बासिन्दा घर फर्किँदै

बेरुत ।  युद्धविराम लागू भएपछि द्वन्द्वका कारण क्षति भएको बेरुतको दक्षिणी उपनगरबाट विस्थापित बासिन्दाहरू बुधबार घर फर्केका छन् । लामो समय पछि भएको युद्ध विराम कार्यन्वयनका लागि धेरैले हिजबुल्लाहको प्रशंसा गर्दै विजय उत्सव समेत मनाएका छन् ।

पछिल्लो समयमा इजरायलले दिनहुँ जसो आक्रमण गर्दा धेरै हदसम्म खाली भएको उक्त आवासीय क्षेत्रमा विस्थापितहरू एकै चोटी फर्किदा भीडभाड भई ट्राफिक जामसमेत भएको जनाइएको छ ।

विस्थापितहरू आफ्नो क्षतिग्रस्त घर र व्यवसाय देखेर आँसु बगाउदै उत्खननकर्ताहरूको सहयोगमा भग्नावशेष हटाउनका लागि पर्खिरहेका थिए ।

स्थानीय इन्जिनियर निजाम हमादेले आफ्नो घरतर्फ फर्किँदै हमलामा मृत्यु भएका हिजबुल्लाह नेता सैयद हसन नसरुल्लाहको उपनगरमा फर्किदा उनीहरूलाई धन्यवाद दिँदै फर्किएको एएफपीले जनाएको छ । दक्षिण बेरुत उपनगरले मंगलबार द्वन्द्वको सबैभन्दा तीव्र रुपको सामना गरेको थियो ।

युद्धविराम लागू भएपछि आफूहरू घर फर्किएको उक्त उपनगर निवासी फातिमाले बताए। बुधबार देखि युद्धविराम लागू भएपछि इरान समर्थित समूहले दक्षिण बेरुत र पूर्वी लेबनानको गढहरूमा भ्रमणको आयोजना गरिरहेको थियो ।

गाजा युद्धलाई लिएर हिजबुल्लाहले सुरु गरेको सीमापार हमलाको लगभग एक वर्षपछि, इजरायलले लेबनानमा हिजबुल्लाहको गढहरू लक्षित आक्रमण बढाई दक्षिणी सीमा पार सेना तैनाथ गरेको थियो ।

केही बासिन्दाहरू तुरुन्तै युद्ध , जुलुसलगायतमा आफ्ना प्रिय नेताको हत्या भएको स्थान तर्फ लागेको एएपीले जनाएको छ । यसै क्रममा हिजबुल्लाहका समर्थकहरूले नसरुल्लाह र हाशेम सफीद्दिनको तस्बिरहरू हस्तान्तरणसमेत गरिरहेको एएपीले जनाएको छ ।

इजरायल र हिजबुल्लाहद्वारा द्वन्द्व अन्त्य गर्ने अमेरिकी प्रस्ताव स्वीकार: बाइडेन

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले लेबनानी र इजरायलका प्रधानमन्त्रीसँग कुरा गरेको जनाउदै उनीहरुले द्वन्द्व अन्त्य गर्ने अमेरिकी प्रस्तावलाई स्वीकार गरेको घेषणा गरेका छन्। उनले सामाजिक सञ्जाल एक्स मार्फत यस्तो जानकारी मुलक समाचार सम्प्रेषण गरेका हुन् ।

बाइडेनले एक्समा उल्लेख गरेका छन्, “आज, मसँग मध्य पूर्वका लागि राम्रो समाचार छ, मैले लेबनान र इजरायलका प्रधानमन्त्रीसँग कुरा गरी यस्तो घोषणा गर्न पाउँदा खुसी छु उनीहरूले द्वन्द्व अन्त्य गर्ने अमेरिकी प्रस्तावलाई स्वीकार गरेका छन् ।”

अमेरिकी राष्ट्रपतिलाई समर्थन गर्दै इजरायलले जारी गरेको विज्ञप्तिमा “प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले राष्ट्रपति जो बाइडेनसँग कुरा गरी लेबनानमा युद्धविराम सम्झौता हासिल गर्नका लागि इजरायललाई दिएको स्वतन्त्रताको लागि धन्यवाद दिएको छ ।”

अमेरिकी राष्ट्रपति जो बाइडेन र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले जारी गरेको संयुक्त विज्ञप्तीमा, लामो समयको अथक कूटनीति पछि, इजरायल र लेबनानले आफुहरु विचको शत्रुता समाप्त भएको स्वीकार गरेका छन् । “

घोषणाले लेबनानमा लडाइँ बन्द गर्ने तथा हिजबुल्लाह र अन्य आतङ्कवादी सङ्गठनको खतराबाट इजरायललाई सुरक्षित गर्नेछ । यो घोषणाले स्थायी शान्ति पुनर्स्थापना गर्ने अवस्था सिर्जना गरी दुवै देशका बासिन्दाहरूलाई सुरक्षित रूपमा आफ्नो घर फर्कन अनुमति दिने जनाएको छ ।

अमेरिका र फ्रान्सले इजरायल र लेबनानसँग मिलि गरेको यो व्यवस्था पूर्ण रूपमा कार्यान्वयन गरी द्वन्द्वलाई थप हिंसात्मक बन्नबाट रोक्न कटिबद्ध रहेको बताएका छन् । अमेरिका र फ्रान्सले लेबनानी सेनाको क्षमता वृद्धि गरी यस क्षेत्रको स्थिरता र समृद्धिलाई अगाडि बढाउन लेबनानमा आर्थिक विकासका लागि अन्तर्राष्ट्रिय प्रयासहरूको नेतृत्व र समर्थन गर्नेसमेत प्रतिबद्धता व्यक्त गरेका छन् ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले पनि सामाजिक सञ्जाल मार्फत यो समाचार साभार गर्दै आफु इजरायल र लेबनानबीचको युद्धविराम सम्झौतालाई स्वागत गर्न चाहेका बताएका छन् ।

आफ्नो भाषणमा राष्ट्रपति बाइडेनले हमासले गत अक्टोबरमा गरेको आक्रमणको भोलिपल्ट देखि युद्ध सुरु भएको जनाउदै इजरायलले युद्ध सुरु नगरेको तथा लेबनान र अमेरिकाले त्यो युद्ध नचाहेको बताएका छन् ।

बाइडेनले हिजबुल्लाहसँगको युद्ध सुरु भएदेखि ७० हजार भन्दा बढी इजरायली तथा तीन लाख भन्दा बढी लेवनानी आफ्नै देशमा शरणार्थीका रूपमा बस्न बाध्य भएको जनाएका छन् ।

इजरायल र लेबनानका जनताका लागि स्थायी सुरक्षा युद्धको मैदानमा मात्र प्राप्त गर्न नसकिने बताउदै सम्झौता सीमापारको लडाइँ समाप्त गरी शत्रुताको स्थायी अन्त्यका लागि डिजाइन गरिएको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् ।

घोषणा अनुसार “आगामी ६० दिनमा, लेबनानी सेना एक पटक आफ्नो क्षेत्रको नियन्त्रण लिन तैनाथ हुनेछन् । दक्षिणी लेबनानमा हिजबुल्लाह आतंकवादी पूर्वाधार पुनर्निर्माण गर्न अनुमति दिइने छैन । आगामी ६० दिन भित्र, इजरायलले सेना फिर्ता गर्नेछ । अन्ततः दुवै पक्षका नागरिकहरू, चाँडै सुरक्षित रूपमा आफ्नो घर समुदायमा फर्र्की आफ्नो व्यवसाय सञ्चालन र जीवन यापनमा सक्रिय हुने छन् ।

बाइडेनले फ्रान्स र अन्य साझेदारहरूसँग मिलेर सम्झौता पूर्ण र प्रभावकारी रूपमा कार्यान्वयन गरी सुरक्षाको सुनिश्चित गर्न आवश्यक सहयोग प्रदान गरिने बताउदै यो प्रयासले लामो समयदेखि द्वन्द्वमा संलग्न इजरायल र लेबनानको भविष्य सुरक्षित हुने उल्लेख गरेका छन् ।

सुनसरीका किसानलाई मकै र गहुँ छर्न भ्याइनभ्याइ

 सुनसरी ।  सुनसरीको सदरमुकाम इनरुवासहित कोशी, भोक्राहा, हरिनगर, बर्जु, गढी, देवानगञ्ज, रामधुनीलगायत क्षेत्रका किसानले धान भित्र्याएसँगै अहिले मकै र गहुँ छर्न व्यस्त छन् । धानपछि उत्पादन बढी हुने मकै र गहुँ छर्न यतिबेला यहाँका किसानलाई भ्याइनभ्याइ छ ।

इनरुवा–९ बबियाका जसलाल यादवले चार बिघामा धानखेती गरेको थियो । उनले करिब एक लाख लगानी गरी चार बिघामा धानखेती गरेको बताउँदै धान थन्काएपछि मकै र गहुँ छर्ने बताए । गत वर्षभन्दा यस वर्ष धान ढिलो पाकेकाले अहिले बाली भित्र्याउने व्यस्तता बढेको उनको भनाइ छ । दुई बिघामा मकै र दुई बिघामा गहुँ लगाउने उनले जानकारी दिए ।

दसैँअघि धान भित्र्याउनुपर्नेमा समयमा धान नपाकेकाले अहिले उनलाई भ्याइनभ्याइ भएको हो । पाकेर घर भित्र्याउने समयमा पानी र असिनाले धान नष्ट गर्ने चिन्तासहित हतारमा बाली भित्र्याउन थालेको स्थानीय किसान रामचन्द्र यादवले बताए । धानसँगै मकै र गहुँ छर्नुपर्ने भएकाले धान भित्र्याउन हतार भएको किसान वीरेन्द्र यादवले बताए ।

सुनसरीमा ४८ हजार नौ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएकामा ९० प्रतिशत किसानले धान भित्र्याएर गँहु र मकै बाली लगाउन खेत तयार गर्न थालेका जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख निलकमल सिंहले बताए ।

जनकपुरमा विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजार भन्दाबढी सुरक्षाकर्मी परिचालन गरिने

धनुषा। मधेश प्रदेशको राजधानी जनकपुरधाममा यही मङ्सिर १६ गतेदेखि सुरु हुने श्री सीताराम विवाह पञ्चमी महामहोत्सवलाई व्यवस्थित तथा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न दुई हजार भन्दाबढी सुरक्षाकर्मी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले बताएका छन्।

प्रमुख जिल्ला अधिकारी कडरियाले भने, ‘विवाह पञ्चमीमा सहभागी हुन आउने लाखौँ तीर्थयात्रीहरूको सुरक्षाका लागि नेपाल प्रहरीले एक हजार चार सय प्रहरी परिचालन गरिनेछ।’

चोरी, डकैती, पाकेटमारलगायत अपराध रोक्न तालिम प्राप्त सादा पोसाकका प्रहरी परिचालन गर्ने तयारी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताए।

सिमानाबाट मेलासम्म शान्तिसुरक्षा, भन्सार सुरक्षासहितको क्षेत्रमा भारतीय सीमा सुरक्षा बलसँग समन्वय गरेर मेलामा सात सय पाँच सशस्त्र प्रहरी परिचालन गर्नाका साथै अत्यधिक भीड हुने ठाउँमा ड्रोनको सहायताले सुरक्षा निगरानी गर्ने तयारी गरिएको धनुषाका सशस्त्र प्रहरी उपरीक्षक दर्शन गिरीले जानकारी दिए।

मेलामा आउने सवारीसाधन तथा भीडलाई व्यवस्थापन गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले एक सय ४० ट्राफिक प्रहरी परिचालन गर्ने र मेलामा आउने सवारीसाधन तथा हल्का सवारीसाधनको पार्किङस्थलको व्यवस्थापन गरिने ट्राफिक प्रमुख प्रहरी निरीक्षक हरिबहादुर वलीले बताए। भिभिआइपीका लागि विशेष मार्ग छुट्याउने तयारी गरिएको उनले उल्लेख गरे।

जनकपुरधाम उपमहानगरपालिकाले नगर क्षेत्रमा गरेको सरसफाइ, बाह्र बिघा रङ्गभूमि मैदानमा एक सय अस्थायी शौचालय निर्माण, हनुमानगढीमा शौचालय तथा ठाउँठाउँमा चापाकल व्यवस्थापनको काम सुरु गरेको नगरप्रमुख मनोज साहले जानकारी दिए।

प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक डा जामुनप्रसाद सिंहले प्रादेशिक अस्पतालले २४सैँ घण्टा चिकित्सकलाई तयारी अवस्थामा राखेको बताए। मेलालाई लक्षित गरेर अस्पतालमा ७५ शय्या छुट्याउने, आवश्यक औषधिको व्यवस्थापनलगायत काम भइरहेको उनको भनाइ छ।

खानेपानी संस्थानले ठाउँठाउँमा धाराको जडान तथा विद्युत् प्राधिकरणले मेलामा विद्युत् नकाटिने गरी व्यवस्थापन गरेको छ। साथै नेपाल टेलिकमले मोबाइलको नेटवर्कमा समस्या नआओस् भन्ने उद्देश्यले टावरसहितको थप ओवी भ्यानको व्यवस्थापन गरेको छ।

सडक डिभिजन कार्यालयले सडकमा भएको खाल्डाखुल्डी पुर्ने काम अन्तिम चरणमा पुगेको डिभिजनल इञ्जिनियर दीपककुमार झाले बताए। नेपाल रेडक्रसको समन्वयमा मेलाको विभिन्न भागमा एक सय एक निःशुल्क स्वास्थ्य शिविरका साथै दुर्घटनामा परेकालाई रगत निःशुल्क दिने व्यवस्था मिलाएको रेडक्रसका सभापति नरेशप्रसाद सिंहले बताए।

जनकपुरधाम उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनोजकुमार साहले भने, ‘वाणिज्य सङ्घले मेलाको सुरक्षाका लागि आउने तीन सय ५० सुरक्षाकर्मीको बाँसको व्यवस्थापनका साथै बाहिरबाट आउने तीर्थयात्रीलाई आवास तथा भोजनको व्यवस्था गरेको छ। मङ्सिर १६ गतेदेखि नगर दर्शन सुरु भएर २२ गते रामकलेवासम्म सप्ताहव्यापी रूपमा विवाह पञ्चमी महामहोत्सव हुन लागेको छ।’

यसपटक भारतबाट पाँच सयको सङ्ख्यामा जन्ती आउन लागेका छन् भने पाँच वर्षको अन्तरालमा भारतको अयोध्याबाट जन्ती आउने परम्परा रहेको जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले बताए। श्रीराम जन्मभूमि ट्रस्टका केन्द्रीय मन्त्री राजेन्द्र सिंह पङ्कजको नेतृत्वमा अयोध्याबाट आजमगढ़, बक्सर पटना, मुजफ्फरपुर, दरभङ्गा, अहिल्या स्थान, सीतामढ़ी, विशौल, महोत्तरीको मटिहानी हुँदै जनकपुरधाम आउने उनले जानकारी दिए।

उपनिर्वाचन भ्रष्टाचारविरोधी महाअभियानलाई अगाडि बढाउने नयाँ संकल्पको रुपमा लिएका छौंः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनले आगामी आमनिर्वाचनको सन्देश दिने बताएका छन् ।

बुधबार सामाजिक संजालमार्फत भिडियो सन्देश जारी गरी अध्यक्ष प्रचण्डले ् उपनिर्वाचनलाई अवसरको रुपमा लिन मतदातालाई आह्वान गरेका हुन् ।

उनले उपनिर्वाचन आफूहरुले भ्रष्टाचारविरोधी महाअभियानलाई अगाडि बढाउने नयाँ संकल्पको रुपमा लिएको बताए ।

उनले भनेका छन्, ‘मेरो नेतृत्वको सरकारको तर्फबाट सुशासनको पक्षमा भ्रष्टाचारको विरुद्ध, सामाजिक न्यायको पक्षमा, आर्थिक संकटबाट देशलाई मुक्त गर्न निकै प्रयास गरेको थिएँ। त्यसको परिणाम देशमा एउटा सकारात्मक भाव पैदा भइराखेको छ। यो उपनिर्वाचन पनि हाम्रा लागि भ्रष्टाचारविरोध महाअभियानलाई अगाडि बढाउने नयाँ संकल्पको रुपमा लिएका छौं।’

उनले उपनिर्वाचन जनता सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्धमा रहेको प्रमाणित गर्ने अवसर पनि भएको बताए।

https://www.facebook.com/plugins/video.php?height=476&href=https%3A%2F%2Fwww.facebook.com%2Fprachanda.nepal%2Fvideos%2F2995296570625668%2F&show_text=false&width=476&t=0

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । बुधबार सर्वोच्चका न्यायाधीशद्वय नित्यान्द पाण्डेय र महेश शर्मा पौडेलको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरिदिएको हो ।

प्रसाईंलाई थुनामा राखेको दाबी गर्दै उनका छोरा निराजन प्रसार्ईंले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा करोडौं लगानी गरेको भन्दै अफवाह फैलाएपछि प्रहरीले उनलाई पक्राउ गरेको छ ।

जनसङ्ख्याका मुद्दालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रुपमा हेरिनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनसङ्ख्याका मुद्दालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रुपमा हेरिनुपर्ने बताएका छन् ।

छैटौँ एसियाली जनसङ्ख्या सम्मेलनको बुधबार उद्घाटन गर्दै उनले विकास र जनघनत्वका सहसम्बन्धलाई ध्यान दिएर सीमान्तकृत तथा विपन्न समुदायको सहज जीवनयापनका लागि आधारभूत आवश्यकताको परिपूर्ति गर्न सरकारका प्रयासहरु जारी रहेको बताए ।

प्रधानमन्त्री ओलीले काठमाडू मेडिकल कलेज अस्पतालमा भर्खरै जन्मिएका एक शिशुका मातासँग भर्चुअल संवाद गरेर सम्मेलनको उद्घाटन गरेका थिए ।

उनले समानता र समावेशी नीति अपनाएर धनी र गरिबबीचको खाडल मेटिनुनुपर्ने, आत्मसम्मानसहितको मानव अधिकार, स्वस्थ्य र आशासहिको विश्व निर्माणमा सबै एक हुनुपर्नेमा जोड दिए ।

उनले पृथ्वी र मानवको रक्षार्थ लाग्दै मानवीय विकास, असल जीवनयापनका समस्या र समाधानका उपायका लागि यस्ता विषयमा हुने सम्मेलनले गहन सुझाव दिने अपेक्षा गरे ।

उनले जलवायु परिवर्तनका मुद्दालाई सामना गर्न विश्वव्यापी साझेदारीलाई महत्वका साथ बढाउनुपर्ने भन्दै दिगो विकास, सुशासन र सामूहिक प्रयास अत्वावश्यक भएको बताए । प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ आकाङ्क्षालाई देखिने खालका उपलब्धिमा रुपान्तरित गर्नुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशजङ्ग बराल, एसियाली जनसङ्ख्या एशोसिएशनका अध्यक्ष रेइको हायाशीलगायतको सम्मेलनको उद्घाटन सत्रमा सहभागिता थियो । सम्मेलनमा विभिन्न विषयगत सत्र सञ्चालन हुनेछ ।

रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने

भैरहवा । रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकामा नेपाल आयल निगमका लुम्बिनी प्रदेशिक भण्डारण गृह निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न काठमाडौँ विश्वविद्यालयसँग सम्झौता भएको छ।

बुधबार यहाँ आयोजित कार्यक्रममा भण्डारण क्षमता वृद्धि परियोजनाका प्रमुख एवं निगमका उपनिर्देशक प्रदीप यादव र काठमाडौँ विश्वविद्यालय (कन्सल्टेन्सी विभाग)का प्रमुख विवेक बरालले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे।

सम्झौतअनुसार केयूले एक करोड ९५ लाख ७६ हजार पाँच सय ७८ रुपैयाँ ५५ पैसामा छ महिनाभित्र डिपिआर तयार गर्नेछ। डिपिआर तयार भएलगत्तै डिपो निर्माण अघि बढाइने र २०८४ मङ्सिरसम्म भलवारीस्थित डिपो स्थानान्तरण गरिने निगमका उपनिर्देशक यादवले जानकारी दिए।

यसअघि निगमले काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा रहेको हवाई इन्धन डिपो स्थानान्तरणका लागि डिपिआर निर्माण गर्न गत साता पुल्चोक इन्जिनियरिङ क्याम्पससँग सम्झौता गरेको थियो।

भैरहवा–बुटवल मुख्य राजमार्गसँग जोडिएको करिब साढे पाँच बिघा जमिनमा हालको लुम्बिनी प्रादेशिक कार्यालय अवस्थित छ। यहाँ पाँच सय १९ किलोलिटर पेट्रोल, तीन हजार ४० किलोलिटर डिजेल र एक सय ४० किलोलिटर मट्टितेल भण्डारण क्षमताका ट्याङ्कर छन्। बढ्दो खपतको तुलनामा हकालको भण्डारण क्षमता अत्यन्त न्यून रहेको निगमको भनाइ छ। अहिलेको भण्डारण क्षमताले पेट्रोलको दुई दिन र डिजेलको ५ दिनको माग मात्रै धान्न सक्ने अवस्था रहेको उपनिर्देशक यादवले बताए।

भलवारी डिपोमा जग्गा अभावका कारण ट्याङ्करलाई यथेष्ट पार्किङस्थल उपलब्ध गराउन नसक्दा सडकमै रोक्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ।

“डिपो सञ्चालनका क्रममा बढ्दै गएको सुरक्षा चिन्तालाई सम्बोधन गर्न तथा आधुनिक सुरक्षाका उपकरण जडान तथा विस्तार गर्न पनि नयाँ डिपो निर्माण गर्न आवश्यक छ”, भलवारी डिपो स्थानान्तरणको आवश्यकता प्रस्ट्याउँदै उपनिर्देशक यादवले भने।

डिपो स्थानान्तरण गर्नुपर्ने स्थानीय बासिन्दाको दबाब र बढ्दो पेट्रोलियम खपतलाई सम्बोधन गर्न रोहिणी खोला किनारमा नयाँ डिपो निर्माण गर्न लागिएको निगमले स्पष्ट परेको छ। निगमले चालु आवको नीति तथा कार्यक्रम र बजेटमा रोहिणी नदी किनारमा रहेको करिब १४ बिघा जमिनमा आधुनिक डिपो निर्माण गर्ने उल्लेख गरेको छ।

कन्सल्टेन्सी सेवा विभागका प्रमुख बरालले केयू र निगमबीच लामो समयदेखि अनुसन्धान मुलुक कार्यमा सहकार्य हुँदै आएको जानकारी दिँदै पेट्रोलियम भण्डारण गृहको डिपिआर निर्माण गर्न दिइएको जिम्मेवारी समयमै पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे। यसबाट सबै प्रकारका पूर्वाधार निर्माण गर्न नेपाली जनशक्ति सक्षम रहेको पुष्टि भएको उनको भनाइ छ।

निगमका उपनिर्देशक यादव पेट्रोलियम पूर्वाधार निर्माणमा इन्डियन आयल कर्पोरेसनको प्राविधिक टोलीको भर पर्नुपर्ने अवस्था अन्त्य गर्न त्रिभुवन विश्वविद्यालयअन्तर्गतको पुल्चोक क्याम्पस र काठमाडाँै विश्वविद्यालयबीच सम्झौता भएको बताउँछन्।

आधुनिक डिपो निर्माणसँगै प्रदेशभरको माग धान्ने ठूलो क्षमताको स्टोरेज ट्याङ्कसमेत बनाइनेछ। अब बन्ने डिपोमा डिजेल भण्डारणका लागि तीन हजार किलोलिटर क्षमताको तीन ठूलो भर्टिकल ट्याङ्की निर्माण गरिनेछ। यस्तै, पेट्रोल भण्डारणका लागि दुई हजार दुई सय ८० किलोलिटर र मट्टितेल भण्डारणका लािग पाँच सय किलोलिटरको ट्याङ्कर निर्माण हुनेछ।

डिपोभित्र कम्तीमा एक सय ५० वटा ट्रक तथा ट्याङ्कर सजिलै आवातजावत गर्न सक्ने पार्किङस्थल पनि बन्नेछ। अमेरिकन पेट्रोलियम इन्स्टिच्यूट (एपिआई) मापदण्डअनुसार निर्माण हुने डिपोमा नवीन प्रविधिको सुरक्षा प्रणाली जडान गरिने परियोजना प्रमुख यादवले जानकारी दिए।

निगमले रोहिणी खोला किनारमा भण्डारण गृह निर्माणका लागि गत वैशाखमा जमिन सम्याउने र पर्खाल लगाउने काम सुरु गरेको थियो।

निर्माण सुरु भएको तीन वर्षमा सक्ने योजना रहेको परियोजनाको कुल लागत रु तीन अर्ब २० करोड हुने प्रारम्भिक अनुमान छ। काठमाडौँ विश्वविद्यालयको विज्ञता सो परियोजनामा प्रयोग गर्न पाउँदा निगम अत्यन्त खुसी भएको जानकारी दिँदै उनले केयूको डिपिआरअनुसार तयार हुने परियोजना दिगो र आधुनिक सुविधा सम्पन्न हुने विश्वास व्यक्त गरे।

विसं २०२७ सालमा स्थापना भएको सरकारी स्वामित्वको निगमले नेपालमा पेट्रोलियम पदार्थको आयात, भण्डारण र वितरण गर्दै आइरहेको छ। निगमको हाल सातवटा प्रादेशिक कार्यालय, तीनवटा शाखा कार्यालय, १० वटा हवाई इन्धन डिपो र दुईवटा हवाई इन्धन रिफ्युलिङ स्टेसन सञ्चालनमा छन्।

निगमसँग विराटनगर, धनुषा, वीरगञ्ज, अमलेखगञ्ज, काठमाडौँ, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढीमा इन्धन भण्डारण गृह छ। हाल निगमको पेट्रोलियम पदार्थ भण्डारण क्षमता ६० हजार तीन सय ८४ किलोलिटर छ। पेट्रोलियम पदार्थका लागि आयातमा निर्भर रहेको नेपालका लागि निगमले भारतको सरकारी स्वामित्वको इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट इन्धन खरिद गर्दै आइरहेको छ।

शेयर बजारमा उच्च अंकको बृद्धि

काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजार नेप्से बढेको छ । बुधबार नेप्से ३८ दशमलव ८१ अङ्कले बढेर दुई हजार सात सय ५५ दशमलव ४७ विन्दुमा पुगेको छ ।

बुधबार फाइनान्स बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज विशाल बजार, कर्णाली विकास बैंक, कर्पाेरेट विकास बैंक, सिन्धु विकास बैंक, सर्पाेट माइक्रोफाइनान्स, सप्तकोशी विकास बैंक, मानुषी लघुवित्त, ग्रीन विकास बैंकको शेयर १० प्रतिशतले बढेको छ ।

समग्रमा बजार बढेको दिन मिथिला लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ । आज कारोबार रकम पनि बढेको छ । आज तीन सय १६ वटा कम्पनीका एक करोड ७१ लाख कित्ता शेयर नौ अर्ब ३२ करोड रुपैयाँमा कारोबार भएको छ ।

संघ संगठनमा आबद्ध व्यवसायीले मात्र सुन खरिद गर्न पाउने व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले सुन कारोबारमा लगाइएको सिण्डिकेट हटाउन आदेश दिएको छ । बुधबार सर्वोच्चको न्यायाधीशद्वय नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सुन व्यवसायसँग सम्बन्धित संघ संगठनमा आबद्ध व्यवसायीहरुले मात्र सुन खरिद गर्न पाउने व्यवस्था कार्यान्वयन नगर्न–नगराउन अन्तरिम आदेश जारी गरेको हो ।

नेपाल राष्ट्र बैंकले जारी गरेको ‘सुन आयात तथा बिक्री वितरणसम्बन्धी कार्यविधि,२०६८’ मा गहनाको पसल सञ्चालन वा सुनको कारोबार गर्न तोकिएको तीन वटा महासंघमध्ये एउटाको अनिवार्य सदस्य बन्नुपर्ने उल्लेख छ । महासंघको सिफारिसमा मात्र तोकिएको वाणिज्य बैंकबाट काँचो सुन खरिद गर्न सकिन्छ ।

त्यस व्यवस्थाले स्वतन्त्र रुपमा गहना पसल सञ्चालन गर्न नसकेको भन्दै सुन पसलेहरुले गुनासो पोख्दै आएका थिए । राष्ट्र बैंकले गहना व्यवसायमा सिण्डिकेट कायम गरेको उनीहरुको आरोप थियो । श्री रिद्धिसिद्धि ज्वेलर्स प्रालिको तर्फबाट अख्तियारप्राप्त सागर ढुंगानाले राष्ट्र बैंकसमेतलाई विपक्षी बनाएर सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

आदेशमा भनिएको छ, ‘व्यवसायीहरुको संघ संगठनमा आबद्ध सुनको कारोबार गर्ने अनुमतिप्राप्त व्यवसायीहरुले मात्र सुन खरिद गर्न पाउने व्यवस्था गर्दा त्यस्तो संघ संगठनमा आबद्ध नभएका व्यवसायीहरुले सुन खरिद गर्न नपाई पेशा व्यवसाय सञ्चालन गर्न पाउने संविधान प्रदत्त मौलिक हकमा आघात पुग्न जाने अवस्था देखिएको यस स्थितिमा निवेदकलाई नेपाल राष्ट्र बैंकद्वारा जारी सुन आयात तथा बिक्री वितरणसम्बन्धी कार्यविधि, २०६८ ले तोकेको अन्य कार्यविधि पुरा गरेको स्थितिमा व्यवसायीहरुका संघसंगठनमा आबद्ध नभएकै कारण सुन खरिद गर्न नरोक्नु,रोक नलगाउनु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४२ (२) बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ ।’

बीआरआई पुरानै सम्झौता भएकाले यसलाई अब टुङ्गोमा पुर्याउनुपर्छः महामन्त्री थापा

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दुई ठूला दलको सातबुँदे सहमतिलाई संस्थागत गर्न नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच राजनीतिक संयन्त्र बनेको बताएका छन् ।

विराटनगर विमानस्थलमा बुधबार पत्रकारसँगको भेटघाटमा महामन्त्री थापाले संविधान संशोधनको विषयमा पहिले नेपाली कांग्रेस र एमालेबीच साझा धारणा बन्ने र त्यसपछि अन्य दलहरुसँग छलफल गर्ने योजना रहेको बताए ।

उनले कसैले चाहेर पनि संविधानको मूलभूत विषयमा संशोधन नहुने तर्क गर्दै संविधान संशोधनका सन्दर्भमा जिम्मेवार सबै राजनीतिक दलसँग सौहाद्र्रपूर्ण वातावरणमा छलफल गरी आवश्यक निर्णय लिइने स्पष्ट गरे ।

महामन्त्री थापाले भने, ‘नेपाली कांग्रेसले संविधानको मर्म र भावना एवं पञ्चशीलको सिद्धान्तअनुसार सबै राष्ट्रसँग मित्रवत् सम्बन्ध राख्नेछ ।’

उनले बीआरआई नयाँ सम्झौता नभई पुरानै भएकाले सो सम्झौतालाई अब टुङ्गोमा पुर्याउनुपर्नेमा जोड दिए ।

बीआरआईका सन्दर्भमा उठ्ने गरेको आशङ्कका र अनावश्यक हल्ला चिर्न प्रधानमन्त्रीको आसन्न चीन भ्रमण सफल हुने विश्वास व्यक्त गर्दै महामन्त्री थापाले भने,’विकासका लागि ठूलो पुँजीको आवश्यकता पर्ने भएकाले हाम्रा मित्र राष्ट्रहरुबाट अहिलेलाई ऋण नभई अनुदान सहयोगको अपेक्षा राखेका छौँ । अमेरिका, चीन, भारत, जापान जस्ता देशबाट अनुदानको अपेक्षा गर्छौं । यो पटक चीन भ्रमणमा पनि हाम्रो अपेक्षा त्यही रहन्छ । नेकपा एमालेको धारणा पनि यो भन्दा फरक छैन ।’

उद्योगहरुमा तत्काल विद्युत लाइन नकाट्ने प्राधिकरणको निर्णय

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको बैठकले उद्योगहरुमा विद्युत लाइन नकाट्ने निर्णय गरेको छ ।

बुधबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले मंगलबार विद्युत नियमन आयोगले उद्योगमा तत्काल लाइन नकाट्न निर्देशन दिएपछि यस्तो निर्णय गरेको हो । यसअघि सरकारले प्राधिकरणलाई १५ दिनको समय दिएर बक्यौता उठाउन र तत्काल लाइन जोड्न निर्देशन दिएको थियो ।

प्राधिकरणले त्यसपछि १५ दिनभित्र बक्यौता नतिरे उद्योगहरुको लाइन काट्ने जनाएको थियो । उक्त समयावधि आज सकिने भएपछि समितिको बैठक बसेको हो ।

उद्योगीले बक्यौता नतिरेको भन्दै लाइन काट्ने तयारीमा प्राधिकरण थियो । सञ्चालक समितिको बैठकमा ऊर्जामन्त्री दीपक खड्काले बैकल्पिक उपायबाट उद्योगहरुसँग पैसा उठाउने भन्दै अहिलेलाई लाइन नकाट्ने बताएका थिए । तर मन्त्री खड्काले वैकल्पिक उपाय के हो भन्नेबारे भने उल्लेख गरेका छैनन् ।

विद्युत नियमन आयोगले एक दिनअघि नै डेडिकेटेड तथा ट्रंकलाइन फिडरको लाइन नकाट्न पत्र पठाएपछि त्यसैलाई सदर गरेको सञ्चालक सदस्य कपिल आचार्यले जानकारी दिए । बैठकमा सञ्चालकद्वय कपिल अचार्य र भक्तबहादुर पुनले भने यसमा असहमति राखेका थिए ।

नियमन आयोगले मन्त्रिपरिषद्को निर्णय अनुसार ऊर्जा मन्त्रालयले प्राविधिक समिति बनाएको हुनाले तथ्य स्थापित नगरेसम्म काम कारबाही यथास्थितिमा राख्ने भन्दै विद्युत प्राधिकरणलाई पत्राचार गरेको थियो ।

सरकारले तथ्य जाँचका लागि गठन गरेको समितिले आइतबारदेखि काम थालेको छ । लाल आयोगको प्रतिवेदनमा २०७२ माघ देखि २०७५ वैशाखसम्म डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत आपूर्ति लिने ग्राहकहरुबाट उठाउनु पर्ने विद्युत बक्यौता महसुल

उठाउन सकिने उल्लेख छ । तर यस्तो बक्यौता उठाउँदा हरेक दिनको टिओडी मिटरको विवरणका आधारमा उठाउन भनिएको छ ।

कीर्तिपुर नगरपालिका उपनिर्वाचन : मतदाता रिझाउँदै उम्मेदवार

नारायण न्यौपाने/भीष्मराज ओझा, कीर्तिपुर (काठमाडौँ) । यही मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकामा उम्मेदवारहरु मतदाता रिझाउनमा व्यस्त छन् । कीर्तिपुर नगरपालिकामा नगरप्रमुखसहित वडा नम्बर १ र ४ को वडाध्यक्षका लागिसमेत उपनिर्वाचन हुँदैछ ।

निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार मतदानको ७२ घण्टा अगाडि अर्थात् मङ्सिर १३ गते राति १२ बजेदेखि मौन अवधि सुरु हुनेछ । त्यसैले यहाँ सबै उम्मेदवार मतदाता रिझाउने अन्तिम प्रयासमा जुटिरहेका छन् । कीर्तिपुर नगरपालिकामा मतदाता शिक्षा कार्य र आचारसंहिता पालनाका सम्बन्धमा प्रभावकारी अनुगमन भइरहेको उनले बताए ।

कीर्तिपुर नगरपालिकामा कूल ३१ हजार एक सय १२ मतदाता रहेका छन् । कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा स्वतन्त्र र विभिन्न दलका गरी जम्मा २० उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ । त्यसमध्ये नौ उम्मेदवार विभिन्न राजनीतिक दल, एक यौनिक अल्पसङ्ख्यक तथा ११ स्वतन्त्र उम्मेदवार छन् ।

कीर्तिपुर नगरपालिकाका प्रमुख निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार सङ्घीय राजधानीमै रहेको र सबैभन्दा बढी प्रतिनिधि छान्ने स्थानीय तह भएकाले यहाँ सबैको चासो र ध्यान केन्द्रित भएको देखिन्छ । “सबै दलका र स्वतन्त्र उम्मेदवारले आ–आफ्नो ढङ्गले चुनावी प्रचारप्रसार गरिरहनुभएको छ, उहाँहरु बोलाएका समयमा सर्वदलीय बैठकमा आएर सहयोग गरिरहनुभएको छ”, उनले भनिन् ।

कीर्तिपुरमा १५ हजार ९५ पुरुष, १६ हजार १५ महिला र दुई अन्य मतदाता रहेका निर्वाचन अधिकृत कार्कीले जानकारी दिइन् । कीर्तिपुरमा चुनावी माहोल सौहाद्र्ध रुपमा अघि बढिरेको छ । निर्वाचन कार्यालयलाई सबै राजनीतिक दल र उम्मेदवारबाट पूर्ण सहयोग भइरहेको तथा सबै निर्णय बहुमतबाट नभइ सर्वसम्मतिका आधारमा भइरहेको उनले बताइन् । आचारसंहिताको परिधिभित्रै रही उम्मेदवारले चुनावी सभा र घरदैलो कार्यक्रम गर्दै मत मागिरहेका छन् ।

मुख्य प्रतिस्पर्धा प्रमुख तीन दलबीच

मतदातासँगको छलफल र कुराकानीका आधारमा प्रमुख दलबीच नै बढी प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । यद्यपि स्वतन्त्र उम्मेदवारको पक्षमा पनि मतदाताको अभिमत जान सक्ने अवस्थालाई नकार्न भने सकिन्न । नेपाली कांग्रेसबाट नगरप्रमुखका उम्मेदवार कृष्णमान डङ्गोलले चुनाव प्रचारप्रसारको काम प्रारम्भिक रुपमा १० वटै वडामा पूरा गरेको उल्लेख गर्दै बेथिति र विकृति अन्त्य गरी विकास र समृद्धिका लागि कांग्रेसको नेतृत्व आवश्यक रहेको जनभावना बुझेको प्रतिक्रिया दिए ।

उनले भने, “नगरका प्राथमिकता शिक्षा, स्वास्थ्य, रोजगार, वातावरण, सडक र खानेपानी नै हुन । अव्यवस्थित बसोबासको अन्त्य र खानेपानीको कमी हटाइ पर्याप्त खानेपानीको व्यवस्था गरी बाह्ैमहिना आपूर्तिमा ध्यान पु¥याइने छ ।”

नेकपा (एमाले)बाट नगरप्रमुखका उम्मेदवार डा सुरेन्द्र मानन्धरले आफू निर्वाचित भएको खण्डमा शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन, भौतिकपूर्वाधार, कला, संस्कृति, सङ्गीत, खेलकुद, फोहरमैला व्यवस्थापन, खानेपानी, ज्येष्ठ नागरिक, प्रशासनिक सुधार गर्ने जनता समक्ष प्रतिबद्धता गर्दै मतदाताको घरदैलो गरिरहेको बताए ।

यस्तै माओवादी केन्द्रबाट नगरप्रमुखका उम्मेदवार शिवशरण महर्जनले भ्रष्टाचारको अन्त्य र सुशासनको प्रवद्र्धलाई मुख्य एजेण्डा बनाउँदै नगरमा शिक्षा, स्वास्थ्य, खानेपानीलगायत समस्या समाधान गर्न लागिपर्ने प्रतिबद्धता जनाए ।

नेपाल समाजवादी पार्टी (नयाँशक्ति) का उम्मेदवार दिलकुमार महर्जनले स्वच्छ, सुन्दर र समृद्ध कीर्तिपुर बनाउन तथा नगरक्षेत्रका यावत समस्या सम्बोधन गर्न आफूले उम्मेदवारी दिएको बताए । चुनावी प्रचारप्रसारका लागि घरदैलो अभियानमा रहेका नेपाल मजदुर किसान पार्टीका उम्मेदवार श्रीकृष्ण महर्जन भन्छन्, “नेमकिपा देशको स्वाधिनताको रक्षा र जनतालाई माया गर्ने दल भएकाले राम्रो सद्भाव पाएको छु । निर्वाचित हुनेमा विश्वस्त छु ।”

नगरप्रमुखका स्वतन्त्र उम्मेदवार दिनेशकुमार अधिकारीले आफूले दलका उम्मेदवारभन्दा राम्रो काम गरेर देखाउने भन्दै मतदाता रिझाउने प्रयासमा रहेको प्रतिक्रिया दिए ।

निर्वाचनको प्रकाशित कार्यतालिका अनुसार उम्मेदवारी दर्ता र चुनाव चिन्ह प्रदान गर्ने कार्य सम्पन्न भइसकेको छ । नगरपालिकाका १० वटै वडामा रहने २० स्थलका र ३८ केन्द्रको अनुगमन, सुरक्षा तथा कर्मचारी व्यवस्थापन, मतदान अधिकृतका लागि अभिमुखीकरण तालिमलगायत कार्य पूरा भइसकेको निर्वाचन अधिकृत कार्कीले बताए । सबै मतदानस्थल र केन्द्र पहिले नै निर्धारण गरिएकाले सोही बमोजिम व्यवस्थापन गरिएको छ । कीर्तिपुर–१ को वडाध्यक्षमा सात पुरुष र एक महिलासहित आठ उम्मेदवार चुनावी मैदानमा छन्। वडाध्यक्ष पदमा पाँच राजनीतिक दल र तीन स्वतन्त्र उम्मेदवारले चुनाव लड्दै छन् ।

यसैगरी कीर्तिपुर–४ को वडाध्यक्षका लागि एक यौनिक अल्पसङ्ख्यक समुदाय, दुई महिला र नौ पुरुष उम्मेदवार मैदानमा छन् । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का उम्मेदवारले विगत जस्तै खानेपानी, सडक, शिक्षा, स्वास्थ्यका एजेण्डा प्रस्तुत गर्दै मत मागिरहेका छन् । बाक्लो बस्ती रहेको कीर्तिपुर क्षेत्रका सडकमा सबैजसो राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले सडकमै सभा र ¥याली गरी मतदातालाई आफूप्रति आकर्षित गरीरहेका छन्।

केही पार्टीले चुनावमा खटिने कार्यकर्तालाई प्रशिक्षण दिँदै आफना उम्मेदवारको पक्षमा मत माग्न मतदाताको ढोका–ढोकामा पुग्न दलसँग आबद्ध भातृ सङ्गठनका प्रतिनिधिलाई निर्देशन दिइरहेकोसमेत देखिन्थ्यो । नगरपालिकाको सभाहलमा मतगणनास्थल कायम गर्ने गरी सर्वदलीय सहमति भइसकेको छ । मतपत्र नगरप्रमुख र वडाध्यक्षको फरक फरक भएकाले मतदान भएको दुई दिनभित्रै मतगणना सम्पन्न गरिने निर्वाचन कार्यालयले जनाएको छ ।

चलचित्रमा फर्किएका पुराना अभिनेत्री

काठमाडौँ  । अभिनयबाट टाढा रहेका अभिनेत्रीहरू यस वर्ष पुनः चलचित्र र टेली शृङ्खलामार्फत पर्दामा फर्किएका छन् । कुनै समय चलचित्रमा धेरै देखिने अभिनेत्रीहरू पूजा चन्द, विपना थापा, रेजिना उप्रेतीलगायतले एक दशकपछि यस वर्ष अभिनयमार्फत दर्शकसँग साक्षात्कार गरे । चलचित्रको प्रस्तुतीकरण र कथ्य शैलीमा आएको परिवर्तनसँगै उनीहरू पर्दाबाट हराए तापनि चलचित्रमा पुनरागमन गर्न सफल भए ।

एक दशकअगाडि ‘वरदान’ नामक चलचित्रमा देखिएकी अभिनेत्री रेजिना उप्रेतीले गत साउनमा प्रदर्शन भएको ‘मोदीबेनी’ चलचित्रमा अभिनय गरिन् । विशेषतः डिजिटल प्रविधिमा चलचित्र बन्ने क्रम बढेपछि उनी चलचित्रबाट टाढा भएकी थिइन् । उनको आगमनसँगै सुरु भएको पुराना अभिनेत्रीहरूको चलचित्रमा पुनरागमनले निरन्तरता पाईरहेको छ ।

गत कात्तिक ३० गतेदेखि प्रदर्शन भएको चलचित्र ‘ह्रस्व दीर्घ’ मार्फत अभिनेत्री विपना थापा ठूलो पर्दामा फर्किइन् । उनले केही समय अगाडिको योजना भए तापनि अवस्था अनुकूल भएपछि चलचित्रमा काम गर्ने हौसला प्राप्त भएको बताइन् ।

“पारिवारिक कारणले गर्दा लामो समय यस क्षेत्रबाट टाढा भएँ । अहिले काममा फर्किएकी छु । यसपटक काम गर्दा पहिलो चलचित्र झैँ अनुभव गरेँ । छायाङ्कन अनुभवलाई शब्दमा व्यक्त गर्न सक्दिन”, अभिनेत्री थापाले भनिन्, “कुनै समय हामी अभिनेत्रीको भूमिकामा देखिएका थियौँ, अहिले सहायक भूमिकामा देखिने गरेका छौँ । पात्र जस्तो भए पनि त्यसको प्रभाव समग्र कथामा देखिनुपर्छ । अब मैले अभिनयलाई निरन्तरता दिने सोचअनुसार काम गरिरहेकी छु ।”

गत मङ्सिर ७ गतदेखि प्रदर्शनमा रहेको चलचित्र ‘तेल भिसा’ मार्फत अभिनयमा पुनरागमन गरेकी अभिनेत्री पूजा चन्दले राम्रो चर्चा बटुलिरहेकी छिन् ।

अभिनेता विपिन कार्कीको श्रीमतीको भूमिकालाई उनले न्याय गरेको प्रतिक्रिया दर्शक र चलचित्रकर्मीले दिएका छन् । यसले गर्दा आगामी चलचित्रमा पनि उनको भूमिका देख्न सकिने अनुमान लगाइएको छ । यही चलचित्रमार्फत अभिनेत्री ऋचा घिमिरे पनि अभिनयसँगै निर्माणमा फर्किएकी छिन् ।

“विविध कारण चलचित्रकर्मकै कारण विदेश गइयो । त्यहाँको जीवनशैली र रहनसहनले गर्दा फर्किन समय लागेको हो । तर पुनः फिल्म कर्ममै फर्किएकी छु । यसलाई अब निरन्तरता दिनेछु”, अभिनेत्री घिमिरेले भनिन् । अभिनेत्री घिमिरे झैँ पछिल्लो समय अमेरिकामा बसोबास गरिरहेकी अभिनेत्री अरुणिमा लम्साल ‘घरः बट इन अमेरिका’ नामक वेब शृङ्खलामार्फत अभिनयमा ‘कमब्याक’ गर्दै छिन् । 

युक्रेन संङ्कटको कूटनीतिक सम्झौता तत्काल असम्भव: रूसी विदेशमन्त्री

मस्को  । युद्धको स्थिति बढ्दै गएको उल्लेख गर्दै रूसी विदेश मन्त्री सर्गेई लावरोभले युक्रेन सङ्कटको कूटनीतिक समाधान तत्काल सम्भव नहुने बताएका छन्।

लावरोभले रुसको आधिकारिक अखबार रोसिस्काया गजेटासँगको अन्तर्वार्तामा भने, ‘युद्धको मैदानमा हेर्दा, हामी अझै पनि संकटको राजनीतिक र कूटनीतिक समाधानबाट टाढा छौँ । वासिङ्टन र यसका सहयोगीहरू रुसका लागि रणनीतिक पराजय हासिल गर्न दृढ छन् ।’

रूसी भूभागमा भएका पछिल्ला क्षेप्यास्त्र आक्रमणलाई ‘बढ्दो कदम’ का रूपमा वर्णन गर्दै उनले त्यस्ता कार्यहरूको प्रतिक्रिया दिने मस्कोको चेतावनीलाई बेवास्ता गरिएको बताएका छन्।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले शत्रु पक्षको कुनै क्रियाकलापले रूसलाई लक्ष्यहरू प्राप्त गर्नबाट पछि हट्न बाध्य नपार्ने भन्दै आफू सधैँ शान्तिपूर्ण माध्यमबाट विवाद समाधान गर्ने पक्षमा रहेको बताएका छन् । 

श्रीलङ्कामा प्रतिकुल मौसमका कारण ८२ हजार भन्दा बढी प्रभावित

श्रीलङ्का । श्रीलङ्कामा खराब मौसमका कारण ८२ हजारभन्दा बढी मानिसहरु प्रभावित हुनुका साथै एक जनाको मृत्यु भएको एक अधिकारीले बुधबार बताएका छन् ।

विपद् व्यवस्थापन केन्द्रका सहायक निर्देशक (डिएमसी) जनक हन्डुनपथिराजाले १५ वटा जिल्लाका २४ हजार १५९ परिवारका ८२ हजार ७९६ जना प्रभावित भएको बताएका छन् । उनले मौसमी प्रभावले छ जना घाइते भएको तथा सयौँ घरहरू क्षतिग्रस्त भएको उल्लेख गरेका छन् ।

मौसम विज्ञान विभागले प्रतिकुल मौसमी प्रभाव दक्षिणपश्चिम बङ्गालको खाडीसहित पूर्वी श्रीलङ्काको ट्रिन्कोमालीबाट १९० किलोमिटर दक्षिणपूर्वमा कायम रहेको बुधबार बताएको छ ।

विभागका अनुसार मौसमी प्रभाव श्रीलङ्काको पूर्वी तटको नजिक सर्ने र बुधबार थप तीव्र भइ चक्रवाती आँधीमा परिणत हुने सम्भावना रहेको छ ।

धरहराबाट उपत्यका नियाल्ने रहर

प्रगति ढकाल, काठमाडौँ । काठमाडौँमा पढ्दै गरेकी छोरी भेट्न जुम्लाबाट आएका दर्शन सुनारको मनमा नयाँ बनेको धरहरा हेर्ने चाहना जाग्यो । उमेरले ७० वर्ष नाघिसकेका उनलाई कसैले धराहरा हेर्दा शिरको टोपी नै खस्ने अग्लो छ भन्ने सुनाएपछि नजिकबाट हेर्ने अभिलाषा लाग्नु स्वाभाविकै थियो । छोरीलाई साथमा लिएर उनी सुन्धारा पुग्दा नभन्दै जीवनमा कहिल्यै नदेखेको अग्लो घर देख्दा उनी आश्चर्यचकित बने । 


पहिलोपटक काठमाडौँ आएका उनलाई धरहराको माथि चढेर वरपर हेर्दा सपना देखेजस्तै लाग्यो । उनी भन्छन्, “आहो, काठमाडाँै सहर त जम्मै देखिने रहेछ । यहाँका घर त कति गुजुमुज्ज हो, तिलको गेडा राख्ने ठाउँ पनि रहेनछ । नजिकैको टुँडिखेल देखाउँदै अलिकति यहाँनेर घर बनाउन बाँकी रहेछ ।” गाउँ फर्केपछि अरूलाई धरहराको बखान गर्ने उनले बताए । धरहरा चढ्न बुबासँगै आएकी उनकी छोरी दीपकली सुनारको पनि धरहरा चढ्ने धोको पूरा भएको छ ।  


विसं २०७२ को भूकम्पले धरहरा भत्काएसँगै दीपकलीलाई धरहरा चढ्ने इच्छा पनि त्यही भूकम्पले भत्काएको थियो । उनी भन्छिन्, “भूकम्पले धराहरा भत्काइहाल्यो भन्ने सुनेपछि अब त धराहरा चढ्ने इच्छा पनि पूरा भएन भन्ने लागेको थियो । यस्तो राम्रो नयाँ धरहरा बनिसकेछ । धन्न इच्छा चाहिँ पूरा भयो ।”


उनले पनि धरहराको बारेमा सुन्नु र पढेकी रहिछन् । धराहरा टेलिभिजनका समाचारबाट भिडियो देखेकी रहिछन् । कतै किताबमा मात्रै चित्र देखेकी रहिछन् । प्रत्यक्ष रुपमा धरहरा अवलोकन गरेर चढ्नै पाउँदा आज उनी धेरै हर्षित देखिन्थिन् । उनी बुबाको घरहरा चढ्ने रहर पूरा भएकामा झनै खुसी छिन् ।  


भर्खरै पुनर्निर्माण गरिएको धरहराको आकर्षणले हजारौँ मानिसलाई तानिरहेको छ । काठमाडौँको मध्यभागमा ठडिएको यो ऐतिहासिक धरोहर नजिकैको भीडले अझै धरहराको महत्वलाई झल्काउँछ । आधुनिकताको सङ्गम धरहरा अहिले पर्यटनको प्रमुख गन्तव्य बनेको पनि छ । धरहरा केवल एउटा भौतिक संरचना होइन, यो धेरै नेपालीको सपना हो । 


सोलुखुम्बुबाट पहिलोपटक धरहरा चढ्न आएकी सीतामाया तामाङलाई पनि भूकम्पपछि डठिएको धरहराले मनमोहक तुल्याएको छ । “म पनि पहिलोपटक नै सोलुबाट धरहरा चढ्न काठमाडौँ आएको हुँ । भूकम्पले अब धरहरा चढ्न पाइँदैन कि भन्ने लागेको थियो, यस्तो राम्रो बनेछ,” उनी भन्छिन् ।


दोलखा जिल्ला घर भई हाल भक्तपुर लोकन्थलीमा बस्दै आएकी पार्वती केसी पनि धरहरा चढ्नकै लागि बिहान खाना खाएपछि सुन्धारा आएकी थिइन् ।


“झन्डै तीन घण्टा लाइन बसेर बल्लबल्ल धरहरा चढ्नलाई टिकट पाएको छु । पैसै तिरेर पनि कति गाह्रो हो टिकट पाउन ?”, उनी भन्छिन्, “धरहरा भूकम्पले भत्काउनुअघि चाहिँ चढेको थिएँ । नयाँ बनेको धरहरा पनि कहिले चढ्न पाइएला भन्ने खुल्दुली थियो, आज पूरा भयो ।”


गोरखा घर भई स्वयम्भू बस्ने तीर्थबहादुर थापा पैसा तिरेरै भए पनि चढ्न पाउँदा खुसी छन् । धरहरा चढ्नका लागि टिकट लिनेहरुको लाइनमा भेटिएका उनी लामो लाइन देखेर चाहिँ आज पालो पो नपाउने हो कि भन्ने चिन्तामा थिए । आज पालो नपाइए अर्को दिन चाँडै आएर लाइन बसेरै धरहरा चडिछाड्ने उनले बताए । 


धरहराबाट उपत्यका नियाल्ने चाहनाले आउनेहरु उनीहरु मात्रै होइन, नयाँ बनेको धरहरा हेर्न उत्सुक हुनेहरुको सङ्ख्या बाक्लै थियो । कतिले अझै पनि धरहरा चढ्न निःशुल्क भइदिए हुन्थ्यो भन्ने चाहेको पाइयो ।


धरहराको व्यवस्थापनका लागि पनि सधैँभर सबैलाई निःशुल्क धरहरा खुलाउन सम्भव नदेखिए पनि ज्येष्ठ नागरिक, अशक्त तथा निम्नवर्गका व्यक्तिहरुलाई भने निःशुल्क वा सहुलियत उपलब्ध गराउनुपर्ने सुझाव पनि भीडबाटै आएको थियो । 


सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले धरहराको व्यवस्थापनका लागि पनि निःशुल्क खुला गर्न सम्भव नहुने भएपछि आइतबारदेखि धरहराको शुल्क लिन सुरु गरिएको बताए । “धरहराको व्यवस्थापन गर्नका लागि पनि केही शुल्क त लिनैपर्छ, विश्वका अन्य देशहरुमा पनि यस्ता ठाउँहरुको शुल्क लिने गरिन्छ,” उनले भने, “शुल्क लिए पनि धरहरा चढ्न आउनेको सङ्ख्या घटेको छैन ।”


विभागअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाइका आयोजना प्रमुख प्रकाश अर्यालले गत सोमबार मात्रै करिब एक हजारको हाराहारीमा सर्वसाधारण धरहरा चढ्न आएको बताए । “शुल्क लिन थालेपछि टिकट काट्नुप¥यो, पहिलाको जस्तो सरासर पठाउन पाइएको त छैन तर सर्वसाधारणको सङ्ख्यामा कमी आएको छैन,” उनले भने, “हामीले नै व्यवस्थापन गर्न सक्यौँ भने अझै बढाउन सकिन्छ ।”


तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले १८८८ सालमा महारानी त्रिपुरा सुन्दरीदेवीका लागि धरहरा निर्माण गर्नुभएको इतिहासमा उल्लेख छ । १९९० सालको भूकम्पले ११ तले धरहरा भत्काएको थियो । १९९० सालपछि पुनर्निर्माण गर्दा तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले पहिलेको ११ तले धरहराको उचाइ घटाएर नौ तलाको बनाउन लगाएको इतिहास छ । २०७२ सालको भूकम्पले धराहरा पूर्ण रुपमा भत्काएको थियो भने अहिले झन्डै नौ वर्षपछि सञ्चालनमा आएको छ । 


धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशतसम्म छुट


सहरी विकास मन्त्रालयले विद्यार्थी, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई धरहरा चढ्न ५० प्रतिशत छुट दिइएको छ । यसअघि परीक्षणका रूपमा निःशुल्क धरहरा खुला गरिएको थियो । आइतबारदेखि नै धरहरा व्यवस्थित रूपमा सशुल्क सञ्चालन गरिएको छ । धरहरा चढ्नका लागि प्रतिव्यक्ति दुई सय रूपैयाँ शुल्क तोकिएको छ ।


विद्यार्थी, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई भने सो रकममा ५० प्रतिशत सहुलियत हुने सहरी विकास मन्त्रालयले जनाएको छ । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म अन्तरिम रूपमा हाललाई शुल्क लिई २०८१ मङ्सिर ९ गतेदेखि धरहरा सञ्चालन गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिँदै शुल्क पनि नै स्वीकृत गरेको छ । मन्त्रालयले गरेको प्रस्तावअनुसार प्रतिव्यक्ति रु दुई सय शुल्क तोकिएको छ । 


यसैगरी, सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति रु पाँच सय र सार्कबाहेक अन्य राष्ट्रका नागरिकलाई प्रतिव्यक्ति रु एक हजार शुल्क तोकिएको छ । त्यस्तै, धरहरामा पार्किङ गर्दा मन्त्रालयले चारपाङ्ग्रेका लागि प्रतिघण्टा रु २० र दुईपाङ्ग्रेलाई रु १० तोकेको छ ।


धरहरा परिसरमा प्रवेशका लागि भने रु ५० तोकिएको छ । त्यस्तै, धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन गर्न प्रतिघण्टा रु पाँच हजार तोकिएको छ । त्यस्तै, धरहरा परिसरमा व्यावसायिक भिडियो छाङ्याङ्कन गर्न प्रतिघण्टा रु पाँच हजार र फोटोग्राफीका लागि प्रतिघण्टा रु एक हजार तोकिएको छ ।

प्रधानमन्त्री ओलीलाई राष्ट्रिय ज्यापु दिवसका लागि परम्परागत निमन्त्रणा

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष २१औँ राष्ट्रिय ज्यापू दिवसका लागि परम्परागत निमन्त्रणा (ग्वय् दाँ तयेगु ज्वाइव) दिइएको छ।

प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार संघीय सांसद कृृष्णगोपाल श्रेष्ठ, ज्यापू संस्कृति विकास कोषका अध्यक्ष मङ्गलकृष्ण महर्जनसहित करिब सय जनाको समूहले नेवारी बाजागाजा प्रस्तुत गर्दै सगुन दिएर दिवसको प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री ओलीलाई निमन्त्रणा गरेको हो।

यस वर्षको ज्यापू दिवस तथा योमरी पुन्ही यही मङ्सिर ३० गते मनाइनेछ। उक्त दिन काठमाडौँमा र्‍यालीसहित वसन्तपुरमा मुख्य कार्यक्रम हुनेछ। कार्यक्रममा ज्यापू प्रतिभा पुरस्कार पनि प्रदान गरिने आयोजकले जनाएको छ।

परम्परागत निमन्त्रणा ग्रहण गर्दै प्रधानमन्त्री ओलीले नेवारी संस्कृति नेपाली संस्कृतिको पहिचान दिने मौलिक, उन्नत र परिस्कृत तथा इतिहास बोकेको संस्कृति भएकाले सबै मिलेर यसको संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए। उनले ज्यापू गुठीका लागि अक्षयकोषमा सक्दो रकम वृद्धि गर्न सरकारले सहयोग गर्ने बताए। 

कर्णाली याक्समा खेल्न आइपुगे बाबर हायत

काठमाडौं । कर्णाली याक्समा अनुबन्ध भएका हङकङका बाबर हायत नेपाल आइपुगेका छन्। । हायत बुधबार नेपाल आइपुगेका हुन् ।

उनलाई अन्तर्राष्ट्रिय विमानस्थलमा कर्णाली याक्सका मालिक झनक दत्त खनाल, सह–मालिक गृहेन्द्र घिमिरे र प्रशिक्षक ज्ञानेन्द्र मल्लले स्वागत गरेका छन् ।

३२ वर्षीय बाबरले हङकङका लागि ७९ टी–२० आई खेलमा एक हजार ९ सय १० रन बनाएका छन् । ज्ञानेन्द्र मल्ल प्रशिक्षक तथा सोमपाल कामी मार्की रहेको कर्णाली याक्सले चार विदेशी खेलाडी अनुबन्ध गरेको छ । कर्णाली याक्सले गत साता विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाईसमेत टोलीमा अनुबन्ध गरिसकेको छ ।

टोलीमा नेपाल राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्सन झा, देव खनालसहित नन्दन यादव छन्। ‘बी’ श्रेणीबाट अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन्।

‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिसविक्रमसिंह ठकुरीसँगै दीपक डुम्रे छन्। ट्यालेन्ट हन्टबाट विपिनप्रसाद शर्मालाई आइकोनिक प्लेयर्सका रूपमा छनोट गरिसकेको छ।

तोलामा नौ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ ।  पछिल्लो दुई दिन लगातार घटेको सुनको मूल्य बुधबार भने बढेको छ । बुधबार प्रतितोला नौ सय रुपैयाँले बढेर एक लाख ४९ हजार छ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको मूल्य प्रतितोला  १० रुपैयाँले बढेर एक हजार आठ सय ३० रुपैयाँ कायम भएको छ ।

२९७ किलोमिटर प्रसारणलाइन निर्माणका लागि एमसिए–नेपालद्वारा पुनः बोलपत्र आह्वान

काठमाडौँ । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले २९७ किलोमिटर विद्युत प्रसारण लाइन निर्माणका लागि पुनः बोलपत्र आह्वान गरेको छ । मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) नेपाल कम्प्याक्ट कार्यक्रम अन्तर्गत निर्माण गरिने उक्त प्रसारण लाइनले नेपालको विद्युत् प्रसारण सञ्जाललाई सशक्तीकरण गर्नेछ ।

लप्सीफेदी–रातमाटे–नयाँ हेटौँडा, रातमाटे–नयाँ दमौली र नयाँ दमौली–नयाँ बुटवल गरी तीन वटा खण्डमा विभाजन गरिएको उक्त प्रसारण लाइनका निर्माणका लागि बोलपत्र प्रस्तुत गर्ने समयसीमा आगामी माघ १७ गतेसम्मलाई तोकिएको छ ।

अघिल्लो बोलपत्र आह्वान प्रक्रियाको विस्तृत समीक्षापछि पुनः बोलपत्र आह्वान गरिएको बोलपत्रमा परिमार्जित डिजाइन, टावर निर्माण स्थलमा सहज पहुँच र बोलपत्रदाताहरूको सुझावका आधारमा संशोधित व्यावसायिक प्रावधानहरू समेटिएको छ । यी समायोजनले थप कार्यान्वयनयोग्य र लागत प्रभावकारी प्रस्तावहरू प्राप्त हुने सुनिश्चित गर्दै अघिल्लो बोलपत्र आह्वानमा पहिचान गरिएका मुख्य लागत निर्धारकहरूलाई सम्बोधन गरेका छन् ।

एमसिए–नेपालले बुटवल– गोरखपुर प्रसारण लाइन अन्तर्गत नेपालमा पर्ने १८ किलोमिटर प्रसारण लाइन निर्माणका लागि १२३.६० लाख अमेरिकी डलरको सम्झौता ट्रान्सरेल लाइटिङ लिमिटेडसँग २०८१ भदौ १४ गते गरिसकेको छ । उक्त प्रसारण लाइन २१ महिनाको अवधिमा निर्माण गरिनेछ ।

एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले भने, ‘निर्माणाधीन प्रसारण लाइनमध्ये १८ किलोमिटर खण्डको निर्माणका लागि सम्झौता सम्पन्न भइसकेको वर्तमान अवस्थामा परिमार्जित प्रावधानहरूका कारण बाँकी २९७ किलोमिटर प्रसारण लाइन निर्माणका लागि बोलपत्रदाताहरूको अभिरुचि उल्लेख्य रूपमा बढ्ने र प्रतिस्पर्धात्मक बोलपत्रहरू आकर्षित हुने कुरामा हामी विश्वस्त छौँ ।’

गतवर्ष उल्लेख्य प्रगति हासिल गरेको एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमका सन्दर्भमा यो बोलपत्र पुनःआह्वान अर्काे उपलब्धि हो ।

तीनवटा ४०० केभी सबस्टेसन र १८ किलोमिटर प्रसारणलाइन निर्माण कार्यमा ठेकेदार कम्पनीहरूले काम सुरू गरिसकेका छन्।

रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी

पर्वत । स्वदेशमा उद्यम–व्यवसायका अथाह सम्भावना हुँदाहुँदै दैनिक सयौँ युवायुवती विदेशिने क्रम बढेका बेला यहाँका एकजना पूर्वराष्ट्रसेवक एवं जनप्रतिनिधिले रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी गरेका छन् ।

मोदी गाउँपालिका–२ देउपुरका विकास तिमिल्सिनाले गाउँमै रेन्बो ट्राउट माछापालनबाट यति धेरै आम्दानी गर्न सफल भएको हो । एक्काइस वर्ष लामो प्रहरी सेवा र २०७४ सालको स्थानीय तहको निर्वाचनमा मोदी–२ देउपुरको वडाध्यक्ष बनेर कार्यकाल सकेका तिमिल्सिनाले अन्य चार जना स्थानीयवासीको लगानीमा रेन्बो ट्राउन फार्म सञ्चालन गरेको हो ।

मोदी–५ बाजुङको टिमुरेस्थित पातीखोलाको मुहानमा झण्डै ३० रोपनी क्षेत्रमा सञ्चालित फार्मबाट वार्षिक तीन करोडसम्म आम्दानी हुने गरेको उनले बताए । फार्ममा उत्पादन क्षमता रहेको ३० टन माछा बिक्रीबाट तीन करोड आम्दानी भएको उनी बताउँछन् ।

लामो समय ट्राफिक प्रहरीमा रहेर प्रहरी सहायक निरीक्षकबाट अवकाश लिएका तिमिल्सिना जागिर छाडेको तीन महिनामै जनप्रतिनिधि बने । जनप्रतिनिधि निर्वाचित भएसँगै व्यवसायमा जोडिएका तिमिल्सिनाको समय हाल माछापालनमा बित्ने गरेको छ ।

चारैतिर वन र दुईतिर खोलाको बीचमा रहेको मोदी रेम्बो ट्राउट प्रालि चिसो पानीमा हुर्कने रेन्बो ट्राउट माछापालनका लागि उपयुक्त हावापानी भएको ठाउँ हो । पोखरा–बागलुङ राजमार्गअन्तर्गत पातिचौर बजारबाट पाँच किलोमिटरको दूरीमा पुग्न सकिने उनको फार्म जोकोहीका लागि मन लोभ्याउने केन्द्र बन्न पुगेको छ ।

उनका फार्म यतिबेला विभिन्न क्लब, सङ्घसंस्था, विद्यालय तथा कलेजका विद्यार्थी एवं किसानका लागि अवलोकनस्थल पनि बनेको छ । पछिल्लो समय बाह्य पर्यटक तथा मत्स्यप्रेमी अवलोकन, माछा मार्न, विभिन्न परिकार बनाएर खानका लागि फार्ममै आउने गरेका छन् । उत्पादित ट्राउट माछा पोखरा–काठमाडौँका माछा पारखीसम्म पुर्याउन भ्याइनभ्याई छ । वार्षिक तीस टन माछा उत्पादन हुने फार्ममा हाल पाँच जनाले रोजगारी पाएका छन् ।

विसं २०७१ देखि सुरु भएको उक्त फार्म केही वर्षअघि आएको बाढीले पूर्ण रुपमा क्षति भएपछि नजिकै थप जग्गा व्यवस्थापन गरी विकास तिमिल्सिना, यामप्रसाद शर्मा, प्रेम पौडेल, राजेश शाही र राजु खड्काले सामूहिक लगानीमा पुनः सञ्चालन गरेको थियो । फार्मबाट भएको आम्दानीमध्ये सबै खर्च कटाएर करोड १५ लाख बचत हुने गरेको छ ।

अस्थायी र स्थायी गरी ३७ वटा पोखरी रहेका सो फार्ममा सुरुमा तत्कालीन कृषि विकास कार्यालय पर्वतले प्राविधिक सहयोग उपलब्ध गराएको थियो । पछिल्लो समयमा कृषि ज्ञान केन्द्रले केही प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छभने मत्स्य विकास केन्द्रले पनि फार्मको स्तरोन्नति तथा पोखरी निर्माणका लागि आर्थिक सहयोग गरेको छ ।

रेम्बो ट्राउट प्रतिकेजी एक हजारमा बिक्री हुन्छ । स्थानीय लोकल मोदीखोलाको माछाको स्वादमा पाइने उनको फार्मको माछा धेरैको रोजाइमा छ । कुश्मा–बागलुङको बजारका अतिरिक्त पोखरा, काठमाडौँकामा माछाको माग रहेको तिमिल्सिनाले बताए । गत वर्षदेखि उनले भुरा आफैँ उत्पादन गर्न थालेका छन् ।