`

तनहुँको बन्दीपुरस्थित गोरेचौतारामा दुई वटा बस ठोक्किदा २९ यात्रु घाइते

दमौली (तनहुँ) । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ नयाँपुल गोरेचौतारामा आज दिउँसो दुई वटा बस ठोक्किदा २९ यात्रु घाइते भएका छन् ।

गण्डकी जिएए ००७० नम्बरको बस र भे १ ख ३४८७ नम्बरको बस एक आपसमा ठक्कर खाँदा २९ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।

बसमा च्यापिएका यात्रुलाई मुग्लिन पोखरा सडक योजनाको डोजरको सहयोगमा उद्धार गरिएको छ । हाल घाइतेहरूको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पूर्वसभामुख ढुङ्गानाको निधनप्रति राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत उनले ढुङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल रहेका परिवारमा समवेदना प्रकट गरेका हुन् ।

‘पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनले मर्माहत भएको छु, राजनीतिकर्मी, वरिष्ठ अधिवक्ता, नागरिक अगुवाको पहिचान बनाउनुभएका ढुङ्गानाले लोकतान्त्रिक आन्दोलनमा पुर्याउनुभएको योगदान सधै स्मरण हुनेछ, प्रिय ढुङ्गानाप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दछु’, राष्ट्रपतिले भनेका छन् ।

राष्ट्रपति पौडेलले नेपालको संवैधानिक र संसदीय इतिहासमा ढुङ्गानाको योगदान विशिष्ट रहेको स्मरण गरेको उनका  प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । 

बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा आइतबार दिउँसो १ः३० बजे उनको निधन भएको हो । वरिष्ठ अधिवक्ता समेत रहेका ढङ्गाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत थिए । 

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी रास्वपाले आन्दोलन घोषणा गरेको हो ।

पार्टी सभापति रवि लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरिएको भन्दै रास्वपाले दोस्रो चरणको आन्दोलन घोषणा गरेको पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिएका छन् ।

झाले मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलन हुने जानकारी दिए । रास्वपाको दोस्रो चरणको आन्दोलनमा सहकारीपीडित र मिटरब्याजपीडितलाई न्याय दिनुपर्ने विषयसमेत समेटिएको छ ।

त्यस्तै रास्वपाले उच्च ओहदामा रहेका सबैको सम्पत्ति छानबिन गरी सार्वजनिक गर्नुपर्ने मागसमेत गरेको छ । पार्टी सभापति लामिछाने पक्राको विरोधमा रास्वपाले दिनहुँ विरोध प्रदर्शन गर्दै आएको छ ।

उसले लामिछानेलाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्नुपर्ने माग गर्दै आएको छ । प्रहरीले भने लामिछानेविरुद्ध सहकारी ठगीकासाथै सम्पत्ति शुद्धीकरण र संगठित अपराधमासमेत अनुसन्धान गरिरहेको छ ।

ट्रम्पको विजयले रुससँगको युद्ध छिटो अन्त्य हुनेमा युक्रेनी राष्ट्रपति जेलेन्स्की आशावादी

बीबीसी । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले अमेरिकाको राष्ट्रपतिमा डोनल्ड ट्रम्प विजयी भएसँगै अब रुससँगको युद्ध अन्यथा अवस्थामा भन्दा ‘छिटो अन्त्य’ हुने कुरामा आफू ढुक्क रहेको बताएका छन् ।

अमेरिकी चुनावमा ट्रम्पको विजयपछि आफूहरूबीच फोनमा कुराकानी हुँदा ‘रचनात्मक संवाद’ भएको उनको दाबी छ । रुससँगको वार्ताका लागि ट्रम्पले कुनै माग राखेनराखेकोबारे केही नबताए पनि ट्रम्पले युद्धबारे युक्रेनको अडानभन्दा विपरीत हुने गरी कुनै कुरा गरेको आफूले नसुनेको जेलेन्स्कीले बताए ।

ट्रम्पले युद्धको अन्त्य आफ्नो प्राथमिकतामा रहेको बारम्बार बताएका छन्। सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि सुरु गरेको आक्रमणपछि सुरु भएको युद्धमा किएभलाई सैन्य सहायताका रूपमा दिइएको अमेरिकी स्रोतसाधन नाश भएको उनको भनाइ छ ।

केही महिनाअघि अमेरिकाको संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टटिभ्सले युक्रेनलाई ६१ अर्ब अमेरिकी डलरबराबरको सैन्य सहायता प्याकेज दिन स्वीकृति दिएको थियो ।

अमेरिका युक्रेनलाई सबैभन्दा धेरै हातहतियार उपलब्ध गराउने देश पनि हो। युद्ध सुरु भएदेखि सन् २०२४ को जुनसम्ममा युक्रेनलाई उसले ५५.५ अर्ब अमेरिकी डलरबराबरको हातहतियार तथा उपरकण उपलब्ध गराएको जर्मन अनुसन्धान संस्था कील इन्स्टिच्यूट अफ वर्ल्ड ईकनमिक्सले जनाएको छ ।

आफ्ना चुनावी अभियानहरूमा रिपब्लिकन उम्मेदवार ट्रम्पले ‘एक दिनमै’ युद्ध अन्त्य गरिदिने कुरा बारम्बार दोहोर्याएका थिए । तर युद्ध अन्त्य गर्ने उनको रणनीति के हुन्छ भन्ने अझै स्पष्ट भइसकेको छैन ।

यद्यपि त्यसैप्रति आशावादी हुँदै जेलेन्स्कीले एक युक्रेनी सञ्चारमाध्यमलाई दिएको अन्तरवार्तामा भनेका छन्, ‘अब ह्वाइट हाउसको नेतृत्व गर्ने टोलीको नीतिले छिटो युद्ध अन्त्य गर्ने कुरा निश्चित छ। यो उनीहरूको दृष्टिकोण र उनीहरूले आफ्ना नागरिकप्रति गरेको वाचा हो।’

साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्न

काठमाडौँ । नेपाल राष्ट्र बैंक वित्तीय जानकारी इकाइले ‘रणनीतिक विश्लेषण प्रतिवेदन २०२४’ (स्ट्राटेजिक एनालिसिस रिपोर्ट २०२४) सार्वजनिक गरेको छ ।

इकाइले यस वर्ष साइबर प्रविधिमा आधारित ठगी (साइबर इनेबल्ड फ्रड) का विषयमा तयार पारेको प्रतिवेदन सरकारसमक्ष पेस गरी आइतबार सार्वजनिक गरिएको हो ।

सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा १० को खण्ड (क) मा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानीसम्बन्धी कसूरको प्रकार कसूर गर्ने प्रविधि, पद्धति तथा प्रवृत्ति समेतका विवरण संलग्न गरी आफ्नो काम कारवाहीसम्बन्धी वार्षिक प्रतिवेदन राष्ट्र बैंकमार्फत नेपाल सरकारसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ ।

प्रतिवेदनमा साइबर प्रविधिमा आधारित ठगीका विशेषता र यस्तो ठगीमार्फत प्राप्त सम्पत्तिको शुद्धीकरणमा प्रयोग गरिने पद्धतिको चर्चा गरिएको छ । साथै प्रतिवेदनमा ती ठगीमा सामाजिक सञ्जाल र भुक्तानी प्रणालीमा रहेका विशेषताको दुरुपयोगको विषयमा समेत विश्लेषण गरिएको छ । 

प्रतिवेदनमा सन् २०२४ को पहिलो पाँच महिनामा प्राप्त भएका साइबर प्रविधिमा आधारित ठगीसम्बन्धी शङ्कास्पद कारोबार विवरणको विस्तृत रूपमा विश्लेषण गरिएको छ । उक्त विश्लेषणबाट यस प्रकारको शङ्कास्पद कारोबारमा १८ देखि २४ वर्ष उमेर समूहका व्यक्ति र पेसामा ‘विद्यार्थी’ उल्लेख गरेका व्यक्तिहरू सबैभन्दा बढी संलग्न रहेको देखिएको छ ।

यसैगरी, अधिकांश शड़कास्पद खातामा त्यस्तो खाता सञ्चालन भएको तीन महिनाभित्र शङ्कास्पद कारोबार भएको पाइएको छ । साइबर प्रविधिमा आधारित ठगीका लागि मुख्य रूपमा उपहार तथा तथा पार्सल ठगी, सामाजिक सञ्जालका माध्यामबाट हुने ठगी, अनलाईन व्यापारसम्बन्धी झुटा प्लेटफर्म, ओटिपी फ्रड, लट्री फ्रडलगायतका तरिकाको प्रयोग भएको पाइएको छ ।

प्रतिवेदनको निष्कर्षका आधारमा साइबर प्रविधिमा आधारित ठगी न्यूनीकरण गर्न सूचक संस्था, कानुन कार्यान्वयन गर्ने निकाय अनुसन्धानकारी निकाय र नियामक तथा सुपरिवेक्षकीय निकायलाई आवश्यक सुझावहरू सिफारिस गरिएको छ । साथै यस्तो ठगी न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय जगतमा भएका प्रयासका बारेमा समेत चर्चा गरिएको छ ।

दमननाथ ढुङ्गानाको निधनको खबरले अत्यन्त दुःखी छु : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।  सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले ढुङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहेका परिवारमा गहिरो समवेदना प्रकट गरेका छन् । 

‘विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापना भएपछि निर्वाचित पहिलो प्रतिनिधिसभाका सभामुख, मेरा मित्र दमननाथ ढुङ्गानाको निधनको खबरले अत्यन्त दुःखी छु । नेपालमा मानव अधिकार रक्षाको आन्दोलन र संसदीय अभ्यासको प्रवद्र्धनमा उहाँको योगदान सम्झिरहेको छु’, प्रधानमन्त्रीले भनेका छन् ।

बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा आइतबार दिउँसो १ः३० बजे ढुंगानाको निधन भएको हो । वरिष्ठ अधिवक्ता समेत रहेका  ढङ्गाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत थिए । 

हुस्सु र कुहिरोले केही दिनदेखि अधिकांश विमानस्थलमा हवाई उडान प्रभावित

सिबी अधिकारी, काठमाडौं । बिहानीपख बाक्लो हुस्सु र कुहिरोले ‘भिजिबिलिटी’ कमजोर हुँदा मुलुकको हवाई उडान प्रभावित भएको छ । विशेष गरी तराई क्षेत्रका विमानस्थलमा हवाई उडान अवरुद्ध भइरहेको छ । 

पछिल्लो एक सातादेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हुस्सु र कुहिरोले उडान प्रभावित भएको छ । गत बिहीबार थाइल्याण्डको बैंककबाट आएको थाइ एयर एसियाको विमान भैरहवा माथिको आकाशमा करिब एक घण्टा फन्को लगाउने ‘होल्ड’ भएको थियो । केही दिनयता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी कमजोर हुदाँ अन्तर्राष्ट्रिय उडान प्रभावित भइरहेका छन् । 

बिहानका लागि निर्धारित उडान ‘डिले’ हुने गरेका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार बिहान हुस्सु र कुहिरोले भिजिबिलिटी कमजोर हुँदा उडान प्रभावित भइरहेको छ । बिहानका उडान डिले भइरहेका छन् । केही दिनयता बिहान ११ र १२ बजेपछि मात्रै आकाश राम्ररी खुलेर उडान तथा अवतरण भइरहेको उनले बताए ।
      
काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि केही दिनयता बिहान हुस्सु लाग्ने गरेकाले उडान सामान्य प्रभावित भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार जाडो समय भएकाले पनि बिहानको समय हुस्सु बढिरहेको छ । केहि दिनअघिदेखि बिहान समस्या रहे पनि मध्यान्ह आकाश खुल्दै जानेक्रम चलिरहेको छ । 

महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले बिहान हुस्सु र कतिपय स्थानमा कुहिरो लागेकाले भिजिबिलिटी कमजोर भइरहेको जानकारी दिए । उनका अनुसार देशका पूर्वी र मध्य तराई क्षेत्रमा बाक्लो हुस्सु तथा कतिपय स्थानमा कुहिरो लाग्ने गरेकाले हवाई उडानमा समस्या भइरहेको छ । तुलनात्मक रुपमा पश्चिम तराईका विमानस्थलमा यो समस्या कम छ । बिहान चाँडै आकाश खुल्ने गरेको छ ।
      
मौसमविद् अधिकारीका अनुसार विश्वव्यापी मापदण्डअनुसार एक किलोमिटरभन्दा कम भिजिबिलिटी भएको अवस्थालाई कुहिरो भनिन्छ । एकदेखि पाँच किलोमिटरसम्मको पारदर्शितालाई हुस्सु भन्ने गरिएको छ । अहिले तराई क्षेत्रमा हुस्सु र कुहिरोले बढी समस्या भइरहेको छ । तराईका धेरै स्थानमा हुस्सु र केही स्थानमा कुहिरो लागेको छ ।
      
“अहिले पहाडी र हिमाली क्षेत्रमा पारदर्शिता राम्रो देखिन्छ, नौदेखि १० किलोमिटर पारदर्शिता छ, तर तराईमा हुस्सु, कुहिरोले लाग्दा बढी समस्या देखिएको छ, तराईका धेरै स्थानहरुमा हुस्सु र केही स्थानमा कुहिरो लागेको छ”, मौसमविद् अधिकारीले भने । तत्कालै वर्षाको सम्भावना नरहेको र लामो समयदेखि वायुमण्डल प्रदूषण भएका कारण पनि हुस्सु र तुँवालो लाग्ने गरेको उनले उल्लेख गरे ।
      
पछिल्ला दिनमा आन्तरिक र अन्तर्राष्ट्रिय हवाई सेवा कम्पनीले उडान प्रभावित बनिरहेको यात्रुलाई विभिन्न माध्यमबाट जानकारी गराइरहेका छन् । विराटनगर, जनकपुर, सिमरा, भैरहवा, भरतपुर, नेपालगञ्ज, धनगढी, सुर्खेत, लुम्लिङ्टारलगायत विमानस्थलमा निर्धारित समयमा उडान हुन सकिरहेको छैन । काठमाडौँ बाहिरका विमानस्थल समयमै खुल्न नसक्दा काठमाडौँ विमानस्थलको उडान तालिकासमेत प्रभावित बनेको छ ।
      
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार काठमाडौँको भिजुअल फ्लाइट रुल्स (भिएफआर) उडानमा समस्या नरहे पनि अन्य विमानस्थलको उडान प्रभावित भइरहेको छ ।

भैरहवा र सिमरा विमानस्थलमा उडान भर्खरै खुलेको छ । आज बिहान झापाको चन्द्रगढी विमानस्थलबाहेक तराई क्षेत्रका सबैजसो विमानस्थल बन्द रहेको र अहिले भिजिबिलिटीमा सुधार आएपछि क्रमशः विराटनर, जनकपुर, सिमरा, भैरहवा विमानस्थल खुलेको प्रवक्ता शेर्पाले जानकारी दिए । 

उनका अनुसार सबैभन्दा ढिला खुलेका भैरहवा र सिमरा विमानस्थल हो । गौतमबुद्ध विमानस्थल आज मध्याह्न १२ः५० मा खुलेको छ । काठमाडौँ बाहिरका गन्तव्यमा उडान डिले भइरहेका छन् । विमानस्थल बिहान ढिला खुलेकाले उडानहरु डिले भइरहेका हुन् । “उडान नियमित भइरहकेका छन् तर निर्धारित समयमा हुनसकेका छैनन्”, प्रवक्ता शेर्पाले भने ।
      
काठमाडौँमा पनि बिहानीपख हुस्सु लाग्ने गरेकाले हवाई उडान सामान्य प्रभावित बनिरहेको छ । अहिले काठमाडौँको आकाशमा भिजिबिलिटी छ किलोमिटर छ । आज बिहान ६ देखि १० बजेसम्म न्यूनतम पारदर्शिता तीन हजार ५०५ सय मिटर रहेको थियो । बिहान ६ देखि १० बजेको समयमा हुस्सु थियो ।
      
देशभर पश्चिमी वायु तथा पहाडी भूभागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाउँदै महाशाखाले कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

नेप्सेमा ११ अर्ब ७२ करोडको कारोबार

काठमाडौँ । साताको पहिलो कारोबारको दिन  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढेको छ । आइतबार परिसूचक चार दशमलव ९८ अङ्कले बढेर दुई हजार सात सय ५३ दशमलव ७६ को बिन्दुमा कायम भएको छ ।

आज विभिन्न कम्पनीका तीन सय २६ कम्पनीको दुई करोड ४४ लाख २६ हजार नौ सय कित्ता शेयर एक लाख १३ हजार दुई सय ५२ पटक खरिदबिक्री हुँदा ११ अर्ब ७२ करोड ६७ लाख ५६ हजार नौ सय चार बराबरको कारोबार भएको छ ।

आज बैंकिङ शून्य दशमलव २१, वित्त एक दशमलव ६३, उत्पादन तथा प्रशोधन एक दशमलव १३ र निर्जीवन बीमा समूह शून्य दशमलव ६९ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूहको उपसूचक दुई दशमलव २१ प्रतिशतले बढेको छ । 

त्यस्तै, विकास बैंक शून्य दशमलव ६२, जलविद्युत् शून्य दशमलव ८५, लगानी शून्य दशमलव १७, जीवन बीमा शून्य दशमलव २१, लघुवित्त एक दशमलव २८, म्युचुअल फन्ड शून्य दशमलव २९, व्यापार शून्य दशमलव २४ र अन्य समूह शून्य दशमलव ११ प्रतिशतले घटेको छ ।

उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने समृद्धि फाइनान्स कम्पनी लिमिटेड र गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको रु ४५ करोड १७ लाख १० हजार तीन सय ७२ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडको सबैभन्दा धेरै १२ लाख ४२ हजार तीन सय ८९ कित्ता शेयर किनबेच भएको छ ।

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । ढुंगानाको उपचारका क्रममा आइतबार दिउँसो निधन भएको उनका भाञ्जा सुरज भट्टराईले जानकारी दिए ।

ढुंगाना २०४८ सालदेखि २०५१ सम्म सभामुख भएका थिए । उनी वरिष्ठ अधिवक्तासमेत हुन् । ढुंगानाले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन महत्वपूर्ण भूमिका पनि खेलेका थिए ।

उनी २०७४ को आमनिर्वाचनमा भक्तपुर क्षेत्र नम्बर २ बाट कांग्रेसको उम्मेदवार भई पराजित भएका थिए।

ग्राहक सेवामा सुधार गर्न नेपाल टेलिकममा रोबोट सेवा सुरु

काठमाडौँ । नेपाल टेलिकमले ग्राहक सेवामा सुधार गर्ने उद्देश्यले रोबोट प्रविधिको प्रयोग सुरु गरेको छ । सुन्धारास्थित टेलिकमको कार्यालयमा आइतबार ‘एआई ज्याक’ नामक रोबोट सेवा सञ्चालन गरिएको कार्यालय प्रमुख दिनेशचन्द्र पन्थीले जानकारी दिए ।

उनका अनुसार कार्यालयमा दैनिक दुई सयदेखि तीन सय सेवाग्राही आउँछन् । जनशक्ति पर्याप्त नहुँदा छिटो सेवा दिन कठिन थियो । ‘अब भने रोबोटले धेरै काम सहजिलो बनाउने अपेक्षा लिएका छौँ’, उनले भने, “सामान्य सोधपुछदेखि एनटिसी सेवाका ६ सय जति प्रश्नको उत्तर ग्राहकले रोबोटमार्फत सुन्न सक्नेछन् ।’

रोबोटलाई अझै प्रभावकारी बनाउन नयाँ प्रणाली जडान गर्ने योजना रहेको प्रमुख पन्थीले जानकारी दिए । रोबोटले सेवाग्राहीका एनटिसीका विषयमा सोधिएका प्रश्नका जवाफ दिनेछ ।

साथै कुन सेवा लिन कुन शाखामा जाने नक्सा विवरण पनि रोबोटले दिनेछ । प्रमुख पन्थीले विदेशीलाईसमेत सुविधा दिने उद्देश्यले रोबोटमा अङ्ग्रेजी र नेपाली भाषाबाट सेवाको व्यवस्था मिलाइएको बताए ।

हाइटीमा सामूहिक हिंसाका कारण चार दिनमा २० हजारभन्दा बढी विस्थापित

अमेरिका । हैटीको राजधानी पोर्ट–ओ–प्रिन्समा चार दिनमा २० हजारभन्दा बढी मानिस विस्थापित भएका संयुक्त राष्ट्रसङ्घको एक निकायले जनाएको छ ।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनका हाइटी प्रमुख ग्रेगोइर गुडस्टीनले भने, “पोर्ट–ओ–प्रिन्सको अलगावले लामो समयदेखि गम्भीर मानवीय स्थितिलाई बढावा दिइरहेको छ।”

“सहायता प्रदान गर्ने हाम्रो क्षमता यसको सीमासम्म फैलिएको छ। तत्काल अन्तर्राष्ट्रिय सहयोग बिना यो पीडा अझ विकराल हुनेछ,” गुडस्टीनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

आइओएमका अनुसार हालै बसाइँ सर्न बाध्य भएका करिब २० हजारमध्ये करिब १७ हजार मानिस पहिलेदेखि नै अस्थायी आवासमा थिए र धेरै पटक विस्थापित भइसकेका छन् ।

“सन् २०२३ को अगष्टदेखि हाइटीमा यति ठूलो सङ्ख्यामा विस्थापन भएको देखिएको थिएन,” आप्रवासन एजेन्सीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

हाइटीका प्रधानमन्त्री एलिक्स डिडिएर फिल्स–एमेले निवर्तमान प्रधानमन्त्री गैरी कोनिलेको स्थानमा सोमबार सपथ लिएक छन् ।

पोर्ट–ओ–प्रिन्समा हिंसात्मक अपराध उच्च छ, शहरको लगभग ८० प्रतिशत नियन्त्रण गरेका सशस्त्र गिरोहहरूले नियमित रूपमा नागरिकहरूलाई लक्षित गर्छन् । यद्यपि, कोनिले नेतृत्वको अन्तर्राष्ट्रिय बललाई हाइटीको प्रहरीलाई सुव्यवस्था बहाल गर्न मद्दत गर्न तैनाथ गरिएको छ।

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयका अनुसार यस वर्ष सामूहिक हिंसाका कारण करिब चार हजार व्यक्तिको मृत्यु भएको छ ।

पोर्ट–ओ–प्रिन्समा पुग्ने वा प्रस्थान गर्ने तीन वटा जेटलाइनरमा गोली चलेपछि संयुक्त राज्य अमेरिकाले एक महिनाका लागि सबै नागरिक उडानमा प्रतिबन्ध लगाएपछि हाइटीले गत हप्ता बाँकी विश्वसँग ठूलो सम्बन्ध गुमाएको थियो।

इजरायली हवाई आक्रमणमा गाजामा २० जनाको मृत्यु

गाजा । गाजामा इजरायलले गरेको पछिल्लो आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको छ । गाजाको नागरिक सुरक्षा निकायले आइतबार इजरायली हवाई आक्रमणमा चार महिला र तीन बालबालिकासहित कम्तीमा २० जनाको मृत्यु भएको जनाएको छ । मध्य गाजाको बुरेज शरणार्थी शिविरमा भएको आक्रमणमा परी १० जनाको मृत्यु भएको नागरिक सुरक्षा प्रवक्ता महमुद बसालले जानकारी दिए ।

शिविरको एक घरमा भएको अर्को आक्रमणमा परी कम्तीमा एक महिलाको मृत्यु हुनुका साथै १० जना घाइते भएका छन् । दक्षिणी शहर राफामा आइतबार बिहान इजरायली ड्रोनले आक्रमण गरिएको र यसका कारण कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै ११ जना घाइते भएको बासलले बताए ।

मध्य गाजाको नुसिरात शिविरको पश्चिममा रहेको एक घरमा रातभर भएको आक्रमणमा परी तीन महिला र एक बालकसहित अन्य चार जनाको मृत्यु भएको उनले बताए।

गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार १३ महिनाभन्दा बढी चलेको युद्धमा अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ४३ हजार ७९९ पुगेको जनाएको छ । मृत्यु हुनेमा अधिकांश सर्वसाधारण रहेको मन्त्रालयको तथ्याङ्कले देखाएको छ र यसलाई संयुक्त राष्ट्रसङ्घले भरपर्दो मानेको छ ।

सन् २०२३ को अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा परी एक हजार २०६ जनाको मृत्यु भएको एएफपीलाई उपलब्ध गराइएको इजरायली तथ्याङ्कमा उल्लेख छ ।

ठेक्का लागेको पाँच वर्षमा पनि भएन सडक कालोपत्र

म्याग्दी । बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरवाङ) खण्ड कालोपत्र गर्ने योजनाले पाँच वर्षसम्म पनि पूर्णता पाएको छैन ।

रणनीतिक महत्वको रूपमा रहेको उक्त खण्ड मङ्गला गाउँपालिका–२ रणवाङबाट मालिकाको केन्द्र दरवाङसम्मको आठ किलोमिटर सडक कालोपत्र गर्न विसं २०७६ जेठ ३१ गते म्याग्दीको रणनीतिक महत्वको निर्माण कम्पनी र पूर्वाधार विकास कार्यालय म्याग्दीबीच रु २२ करोड ५७ लाख नौ सय ३२ मा ठेक्का सम्झौता भएको थियो ।

विसं २०७८ जेठमा सकिनुपर्ने योजनाको हालसम्म भौतिक प्रगति करिब ८० प्रतिशत रहेको कार्यालयले जनाएको छ । म्याग्दीको लाइफलाइन मानिएको बेनी–दरवाङ सडक निर्माणमा भएको ढिलाइले यात्रुलाई सास्ती, दुर्घटनाको जोखिम र यातायात सञ्चालनमा असहज भएको छ । ‘कालोपत्र गर्ने भनेर दुई वर्षअघि सम्माएर ‘सबबेस’ हालेर छाडेका थिए,’ मङ्गला–२ का श्रीराम पौडेलले भने, ‘कालोपत्र नहुँदा दुर्घटनाको जोखिम बढ्नुका साथै धुलोका कारण स्थानीयलाई सास्ती भएको छ ।’

गण्डकी प्रदेशको ‘एक निर्वाचन क्षेत्र एक सडक’ कार्यक्रमअन्तर्गत जिल्लास्थित पूर्वाधार विकास कार्यालयमार्फत सञ्चालित यो सडक आयोजनाका निर्माण व्यवसायीलाई पटक–पटक ताकेता गरेपनि बेवास्ता गरेका कार्यालयका प्रमुख विष्णु पौडेलले बताए । ‘रणवाङ–तोलावाङ–ढाँडखर्क खण्डको चार किमिमा सबबेस राखिसकेको निर्माण व्यवसायीले कार्यतालिका पेस गरेका छन् । बेस, कोट राखेर कालोपत्र गर्न भने ढिलाइ गरिरहेका छन्,’ उनले भने, ‘फोन सम्पर्क नभएपछि निर्माण कम्पनीका सञ्चालकलाई पत्र काटेर ताकेता गरेका छौँ ।’

ठेकेदारले निर्माण सामग्रीको व्यवस्थापन, मजदुर र उपकरण परिचालन गर्न नसक्दा सडक निर्माणमा ढिलाइ भएको बताइएको छ । सो खण्डमा पर्ने बाङ्गेपहिरो क्षेत्र पहिरोग्रस्त र जोखियुक्त छ । पहिलो प्रभावित बाहेक रणवाङबाट ढाँडखर्कसम्म सडक फराकिलो बनाएर नाली र पर्खाल निर्माण सकिएको निर्माण कम्पनीका सञ्चालक चन्द्र थकालीले बताए । नदीजन्य निर्माण सामग्री नपाउँदा समयमा काम गर्न समस्या भएको उनको भनाइ छ ।

मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने २४ किमी दूरीको यो सडक विसं २०६३ मा मार्ग खुलेको थियो । बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि प्रयोग गर्ने मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प भएकाले यसलाई रणनीति महत्वका रूपमा मानिएको हो ।

बेनीबाट सिमसम्म १२ दशमलव पाँच किमी तीन वर्षअघि कालोपत्र भएको थियो । सिम–पानाबगर खण्डको चार किमी गत जेठमा काम सकिएको छ । गण्डकी प्रदेशसभाका सांसद रेशम जुग्जालीले सहजीरण र समन्वय गरेपनि निर्माण कम्पनीले विभिन्न बाहना बनाएर सडक कालोपत्र गर्न ढिलाइ गरेको बताए । ‘गत आर्थिक वर्षमा काम सम्पन्न पुग्नेगरि पाँच करोड बजेट विनियोजन भएको थियो,’ उनले भने, ‘चालु आवमा पनि रु एक करोड ५० लाख विनियोजन भएको छ ।’

अब पनि काम सुरु नगरे निर्माण कम्पनीका प्रतिनिधिसँग छलफल गरी स्थानीय र प्रदेश सरकारले आवश्यक विकल्प खोज्नु जरुरी रहेको उनको भनाइ छ ।

माओवादीबाट कीर्तिपुरको मेयरमा महर्जनको उम्मेदवारी दर्ता

काठमाडौं । काठमडौंको कीर्तिपुर नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रबाट प्रा.डा.शिवशरण महर्जनले उम्मेदवारी दर्ता गराएका छन् । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको लागि महर्जनले आइतबार मनोनयन दर्ता गराएका हुन् ।

कीर्तिपुरमा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीच तालमेल गरेर जाने सहमति भएको छ । माओवादीलाई कीर्तिपुरमा एकीकृत समाजवादीले सघाउने र काठमाडौं महानगरको वडा नम्बर १६ को वडा अध्यक्षमा एकीकृत समाजवादीलाई माओवादीले सघाउने सहमति भएको छ ।

एकीकृत समाजवादीले काठमाडौंको वडा नम्बर १६ मा मीनबहादुर मानन्धरलाई उम्मेदवार बनाएको छ ।

वीरगञ्जको सुक्खाबन्दरगाहबाट राजस्व सङ्कलन २० करोडले घट्यो

वीरगञ्ज  । वीरगञ्जको सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा १६ अर्ब ५५ करोड २६ लाख ९९ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले चार महिनाको अवधिमा कूल वार्षिक लक्ष्यको २७ दशमलव ५७ प्रतिशत राजस्व सङ्कलन गरेको हो ।

सुक्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले विदेशी मुलुकबाट वस्तु तथा सामान आयात घट्दा राजस्व सङ्कलनमा कमी आएको बताए ।

चाडपर्वको समयमा धेरै बिदा भएकाले पनि पछिल्ला महिनामा विदेशबाट वस्तु तथा सामानको आयात घटेको भन्दै उनले राजस्व सङ्कलन पनि घटेको उल्लेख गरे ।

चालु आवको साउनमा तीन अर्ब ७५ करोड, भदौमा चार अर्ब ६४ करोड, असोजमा चार अर्ब ३६ करोड र कात्तिकमा तीन अर्ब ७९ करोड राजस्व सङ्कलन भएको भन्सार अधिकृत बरुवालले जानकारी दिए ।

कार्यालयले गत आवको चार महिनामा १६ अर्ब ७५ करोड ३१ लाख ५५ हजार राजस्व सङ्कलन गरेको थियो । गत आवको चार महिनाको तुलनामा चालु आवको सोही अवधिमा २० करोड चार लाख ५६ हजारले राजस्व सङ्कलनमा कमी आएको छ ।

एमालेबाट कीर्तिपुरको मेयरमा सुरेन्द्र मानन्धरको उम्मेदवारी दर्ता

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयरमा नेकपा एमालेको तर्फबाट सुरेन्द्र मानन्धरले उम्मेदवारी दिएका छन् । आइतबार उम्मेदवारी दिन नेकपा एमालेका नेता, कार्यकर्ता गाजाबाजासहित निर्वाचन कार्यालयमा पुगेका थिए ।

त्यस्तै कीर्तिपुरको वडा नम्बर १ मा हर्ष मर्हजन र वडा नम्बर ४ मा बद्री बुढाथोकीले उम्मेदारी दिएका छन् । यही मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । निर्वाचनका लागि आज मनोनयन पत्र दर्ताको समय तोकिएको छ ।

राप्रपाबाट कीर्तिपुरको मेयरमा ध्रुव महर्जनको उम्मेदवारी दर्ता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट कीर्तिपुरको मेयरमा ध्रुव महर्जनले उम्मेदवारी दर्ता गराएका छन् । आइतबार निर्वाचन अधिकृतको कार्यालय पुगेर महर्जनले उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यस्तै सोही नगरपालिकाको वडा नम्बर १ मा सुरेन्द्रप्रसाद उप्रेती र वडा नम्बर ४ को अध्यक्षमा विजेश बस्नेतले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको लागि आज मनोनयन दर्ता गरिँदैछ ।

कस्तो छ नेपाल–भारत सैनिक सम्बन्ध ?

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भारतका स्थलसेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीलाई आगामी बिहीबार नेपाली सेनाको ‘मानार्थ महारथी’को सम्मान प्रदान गर्दैछन् । नेपाली सेनाका परमाधिपतिसमेत रहेका राष्ट्रपति पौडेलले सेनाध्यक्ष द्विवेदीलाई मानार्थ महारथीको दज्र्यानी प्रदान गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

भारतीय स्थल सेनाध्यक्ष नेपालको पाँच दिवसीय भ्रमणमा यही मङ्सिर ५ गते काठमाडौँ आउने कार्यक्रम छ । नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्को देशका सेना प्रमुखलाई ‘मानार्थ महारथी’को दज्र्यानी चिह्न प्रदान गर्ने अनुपम परम्परा छ । छिमेकी देशका सेनाबीचको यस्तो सम्मान परम्पराले सम्बन्धलाई सुमधुर तुल्याउन र सौहार्दता कायम राख्न एउटा महत्वपूर्ण कडीका रुपमा भूमिका खेल्ने विश्वास गरिएको छ ।

‘नेपाल–भारत सैनिक कूटनीति उदाहरणीय’: हिमालय थापा, पूर्वउपरथी

नेपाल र भारतबीच सैनिक सम्बन्ध प्रगाढ छ । यसको संवेदनशीलता र महत्व राजनीतिभन्दा अलग छ । यो सम्बन्ध धेरैअघिदेखिकै हो । पहिलो र दोस्रो विश्वयुद्धदेखि नै नेपाली युवाले गोर्खा सैनिकमा भर्ना भई योगदान दिइरहेका छन् । द्वन्द्वका हिसाबले चुनौती देखिएका ठाउँमा साहासिक र व्यावसायिक विश्वास आर्जन गरेका गोर्खा सैनिक खटाउँदै आएको देखिन्छ । विगतमा भारतीय सेनाले नेपाली सेनाको सङ्गठन पुनःसंरचनामा सघाएदेखि नै दुई देशबीचको सैनिक सम्बन्ध प्रगाढ हुँदै गएको छ । दुई सङ्गठनबीच सम्बन्धमा कहिल्यै चिसोपन देखिन्न ।

विसं २०७२ को भूकम्प भएलगत्तै खोजी, उद्धार र राहतका लागि हेलिकप्टरसहितको जनशक्तिको सहयोग नेपाललाई प्राप्त भएको थियो । दुवै देशका सेना प्रमुखलाई एकअर्को मुलुकले मनार्थ महारथी दिने चलन अनुपम छ । विगतका नाकाबन्दी खुलाउने विषयमा पनि भारतीय सेनाले नेपाललाई सहयोग गरेकै हो । राजनीतिक क्षेत्रबाट कुनै प्रश्न उठेमा सैनिक कूटनीतिका माध्यमद्वारा सम्बोधन गर्न सकिन्छ भन्ने उदाहरणका रुपमा त्यसलाई लिन सकिन्छ । नेपाल–भारतबीचको सम्बन्ध बहुआयामिक छ । नेपाल र भारतबीच सैनिक तहमा स्थापित सम्बन्ध सैनिक कूटनीतिका क्षेत्रमा संसारकै लागि एउटा सशक्त उदाहरण बनिरहेको छ ।

‘सैनिक सङ्गठनबीचको सहयोग आपसमा फलदायी’ : गौरवकुमार केसी, प्रवक्ता, नेपाली सेना

नेपाली सेनाका प्रधान सेनापति र भारतीय स्थल सेनाध्यक्षमा नियुक्ति भएपछि सेनाप्रमुखका हैसियतले एक–अर्को देशको औपचारिक भ्रमण गर्ने पुरानो प्रचलन र संस्कृति जस्तै बनेको छ । सोही सिलसिलामा भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदी यही मङ्सिर ५ गतेदेखि नेपाल भ्रमणमा आउन लागेका छन् । नेपाल र भारतबीच भ्रमणका क्रममा एकअर्का मुलुकले मानार्थ महारथी प्रदान गर्ने विशिष्टखाले परम्परा छ । यो प्रचलन अविछिन्नरुपमा चलिआएको छ ।

नेपाल र भारतबीच सैनिक सम्बन्ध मात्र नभई समानखाले सामाजिक, सांस्कृतिक, धार्मिक, भाषिक र भौगोलिक अवस्थाले पनि जनस्तरमा समेत गहिरो र विशिष्ट सम्बन्ध छ । यसले एकअर्काबीचमा सहयोग, सम्बन्ध र सम्पर्क बलियो तुल्याएको छ । दुवै राष्ट्रका सैनिक सैनिक सङ्गठनबीच विभिन्न तहमा तालिम, अभ्यास र भ्रमण आदान प्रदान निरन्तर हुँदै आएका छन् । नेपाली फौज भारतमा र भारतीय फौज नेपालमा आई गरिँदै आइएको संयुक्त अभ्यासले विश्वमा विकास भइरहेको सैनिक रणनीति तथा अनुभव र ज्ञान साटासाटमा योगदान पुर्याएको छ ।

अर्कातर्फ भारतीय सेनामा ठूलै सङ्ख्यामा नेपाली युवा कार्यरत रहनुले पनि जनस्तरमा समेत एक खाले आत्मियता छ । यसले नेपाल र भारतबीच जनस्तरमा समेत विशिष्ट तथा माथिल्लोस्तरको सम्बन्ध कायम राख्न मलजल गरेको छ । सैनिक सङ्गठनबीच हुने सहयोग, समन्वय, भ्रमण, तालिम, अभ्यास र अन्य गतिविधिले दुवै देशबीचको सम्बन्धलाई फलदायी तुल्याएको छ । प्राकृतिक विपत्ति र प्रकोपका समयमा तत्क्षणमै सहयोग प्राप्त भइरहेको छ ।

‘मानार्थ महारथी’ उपाधि छिमेकीबीचको असल अभ्यास’: रामचन्द्र खत्री, पूर्वसैनिक सहचारी, नयाँदिल्ली

भारतीय सेनाको प्राथमिकता ठूला तथा शक्तिशाली देश पर्नेभए तापनि नेपालको विकास र समृद्धि तथा नेपाली सैनिकको क्षमता अभिवृद्धिलाई भारतले उत्तिकै प्राथमिकतामा राखेको छ । दक्षिण एशियाकै पुरानो सङ्गठन नेपाली सेना अन्तर्राष्ट्रियस्तरमा जानकार, साहासिक, व्यावसायिक र अनुशासित भन्ने छिमेकीको बुझाइ रहेको छ । भारतले हरतरहले नेपाली सेनालाई सहयोग गर्न तयार देखिन्छ ।

सैनिक सम्बन्ध, ‘मिलिटरी डिप्लोमेसी’ वा सैनिक कूटनीतिक जुन भाषा प्रयोग गरे पनि प्रत्येक देशका सेनाको पहिलो कर्तव्य भनेको राष्ट्रियहित तथा स्वाधीनताको संरक्षण र सम्वद्र्धन नै हो । देशको प्रमुख राष्ट्रिय सुरक्षा अङ्ग सेनालाई परराष्ट्र नीति, सैनिक कूटनीति र राष्ट्रिय सुरक्षा नीतिले दिएको कार्य जिम्मेवारीलाई पूरा गर्ने मुख्य ध्येय हुन्छ ।

सैनिक सहचारीको जिम्मेवारीमा नयाँदिल्लीमा रहँदा भारतीय सेना र नेपाली सेनाबीच सैनिक सम्बन्धलाई सुदृढ तुल्याउनमै भूमिका केन्द्रित रह्यो । कमीकमजोरीलाई हटाउँदै सैनिक सम्बन्धलाई बलियो तुल्याउने विषयमा खबर आदानप्रदान, सम्पर्क स्थापना र समन्वय गर्ने कार्य निरन्तर भयो । कूटनीति, सैनिक, सूचना र आर्थिक राष्ट्रिय हितका महत्वपूर्ण आयाममध्ये सुरक्षा त्यतिकै महत्वपूर्ण पक्ष हो । त्यसआधारमा नेपाल र भारतका सैनिक सङ्गठनले आफ्ना ढङ्गले सम्बन्धलाई अघि बढाइरहेको अवस्था छ ।

मुलुकको परराष्ट्र नीतिमा पनि राष्ट्रिय सुरक्षालाई सम्वद्र्धन र प्रवद्र्धन गर्ने भनेको छ भने राष्ट्रिय सुरक्षा नीतिले सैनिक कूटनीतिलाई मिल्दोरुपमा संरक्षण गर्ने भन्ने उल्लेख छ । नेपाल र भारतका फौजले सैनिक कूटनीतिका माध्यमबाट जुनसुकै समस्या र उठेका प्रश्न हल गर्न सकिन्छ भन्ने विगतका विभिन्न घटनाबाट पुष्टि भइसकेको छ ।

यसैबीच सैनिक सहचारीलाई सङ्गठनले बेग्लै कार्यादेश दिएको छ । दिल्लीमा रहनेलाई भारतीय सेनाले प्राथमिकतामा राख्दै अन्य सुरक्षा फौजसँग पनि सन्तुलित रुपमा सम्बन्ध कायम गर्नुपर्ने दायित्व रहन्छ ।

नेपाल र भारतबीच सन् १९५० पछि एकअर्को देशका सैनिक प्रमुखलाई मानार्थ महारथीबाट विभूषित गर्ने परम्परा छ । नयाँदिल्लीमा विभिन्न देशका कूटनीतिक नियोगमा ६० भन्दाबढी सैनिक सहचारी छन् । उनीहरुले नेपाल र भारतका सेना प्रमुखलाई प्रदान गरिँदै आएको ‘मानार्थ महारथी’ लाई छिमेकीबीचको असल अभ्यासका रुपमा हेर्ने गरेको पाइन्छ ।

यस्ता प्रचलनलाई अरु देशले पनि आत्मसात् गरिनुपर्ने उनीहरुको भनाइ थियो । छिमेकीबीचमा अटल सैनिक सम्बन्ध विस्तारमा यस्तो संस्कृतिको ठूलो भूमिका रहन्छ । दुवै देशले मानार्थका विषयलाई उत्तिकै महत्व दिँदै आएका छन् । भारतीय सेनाले भौतिक पूर्वाधारका अतिरिक्त तालिम, अभ्यास, प्रविधि हस्तान्तरण र स्वास्थ्य क्षेत्रमा समेत नेपाली सेनालाई सहयोग गरिरहेको छ ।

आपसी सहमतिमा नेपाली सेनालाई क्षमता अभिवृद्धिका लागि तालिम र भौतिक सामग्री बेग्लै विधिद्वारा उपलब्ध गराउँदै आएको छ । नेपाली सेनालाई आवश्यकपर्ने सैन्य रणकौशल (ट्याक्टिकल), ‘अप्रेशनल’ र रणनीतिक तहका व्यवसायिक तालिममध्ये राष्ट्रिय प्रतिरक्षा तालिम (एनडिसी) मा भारतले उपलब्ध गराउने ‘कोटा’मा नेपाललाई प्राथमिकता दिँदै आएको छ । नेपाल र भारतीय सेनाबीचको सहकार्यलाई अघि बढाउने सन्दर्भमा दुवै मुलुकबीच नियमित बैठक हुँदै आएका छन् ।

गुणस्तरमै नियमित एक–अर्का देशमा हुँदै आएको ‘अभ्यास सूर्यकिरण’ले पछिल्ला वर्षमा सैनिक सङ्गठनबीचको सम्बन्ध सुदृढ तुल्याउन कोशेढुङ्गाको काम गरेको छ । दुवै देशका सेना सम्मिलित ‘माउण्ट एभरेष्ट आरोहण’ पनि विगतमा भएको थियो । नेपालमा विभिन्न तहका लागि सञ्चालित संयुक्त राष्ट्र सङ्घीय शान्ति कार्य, आर्मी कमाण्ड तथा स्टाफ कलेज, अधिकृत आधार, माउण्टेन बारफेयर, जङ्गल बारफेयर र प्यारा बेसिक तालिममा भारतीयसहित १५ भन्दाबढी देशका सैनिक सम्मिलित हुँदै आएका छन् ।

दुवै सेनालाई चाहिने तालिम र अरु आवश्यक सामग्री व्यवस्थापन गर्न बेग्लै नीतिगत व्यवस्था बनाउनुपर्ने तथा पूर्वसैनिक प्रमुखबीच निरन्तर छलफल, भेटघाट र भ्रमण आदानप्रदान गर्न बलियो प्रणाली बेलाबखत अभाव खड्केको छ । यस्ता क्रियाकलापले दुवै सङ्गठनबीच विश्वास र सहयोगका लागि योगदान पुर्याउँछ ।

(नेपाल–भारत सैनिक सम्बन्ध र एकअर्का देशका सेना प्रमुखलाई प्रदान गरिने ‘मानार्थ महारथी’ उपाधिका सन्दर्भमा केन्द्रित रही नेपाली सेनाका प्रवक्ता केसी, पूर्वउपरथी थापा र सहायकरथी खत्रीसँग राससले गरेको कुराकानीमा आधारित)

समुद्री सतहमुनि रहेको बाकुबाट सर्वाेच्च शिखर सगरमाथाको सन्देशः ‘हिमालको हिउँ जोगाऔँ’

अजरबैजान । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) यही कात्तिक २६ गतेदेखि अजरबैजानको राजधानी बाकुमा जारी छ ।

बाकु सहर समुन्द्री सतहबाट २८ मिटर (९२ फिट) तल अवस्थित छ । यो समुद्री सतहबाट विश्वकै सबैभन्दा तल्लो सतहमा रहेको राजधानी सहर हो । यही सहरबाट समुद्री सतहदेखि आठ हजार आठ सय ४८ मिटर उचाइको विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको देश नेपालले हिमालको हिउँ जोगाउनका लागि पहल गर्न विश्वको ध्यानाकर्षण गराएको छ ।

सम्मेलनमा नेपालले जलवायुसम्बन्धी आफ्नो चासो, हित र आवश्यकताका मुद्दाबारे प्राथमिकता साथ आवाज बुलन्द गरिरहेको छ । नेपालले खासगरी विभिन्न उच्चस्तरीय बैठक, छलफल र वार्तामा पर्वतीय क्षेत्रको पारिस्थितिकीय प्रणालीमा जलवायुले पारेका असरलाई प्राथमिकतासाथ उठाइरहेको छ ।

यही मङ्सिर ७ गतेसम्म चल्ने कोप–२९ सम्मेलन कात्तिक २६ गते भव्य समारोहका बीच उद्घाटन भएको थियो । कात्तिक २७ र २८ गते भएको उच्चस्तरीय सत्रमा विश्वभरका नेताहरुले जलवायु परिवर्तनका बारेमा चिन्ता र चासो व्यक्त गर्दै सिर्जित समस्या साझा नीति तथा कार्यक्रमसहित एकीकृत रुपमा समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।

सम्मेलनमा नेपालको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई कात्तिक २७ गते सम्बोधन गरेका थिए । उनले आफ्नो सम्बोधनमा विश्व तापमानमा भएको वृद्धिका कारण हिमालको हिउँ पग्लिनेक्रम बढेको उल्लेख गर्दै त्यसलाई जोगाउनका लागि कार्बन बढी उत्सर्जन गर्ने विकसित र ठूला राष्ट्रले पहल गर्नुपर्नेमा जोड दिएका थिए ।

त्यस्तै नेपालले कात्तिक २८ गते सम्मेलनमा छुट्टै उच्चस्तरीय कार्यक्रम गरी जलवायुको असरले निम्त्याएका प्राकृतिक विपद्का बारेमा विश्वको ध्यानाकर्षण गराएको थियो । विभिन्न देशका राष्ट्रपति, मन्त्री र उच्च अधिकारी सहभागी उक्त कार्यक्रममा पनि नेपालका तर्फबाट राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका कारण अर्बौं मानिसको खानेपानीको स्रोतका रुपमा रहेको हिमाल प्रभावित भई तल्लो तटीय क्षेत्रमा पनि असर पारेकामा विश्व समुदायको ध्यानाकर्षण गरेका थिए ।

उक्त कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनसँगै विश्व तापमानमा भएको वृद्धिले विशेषगरी हिमाल तथा हिमाली मुलुक बढी प्रवाहित भएको र त्यसबाट समग्र विश्व प्रभावित हुने धारणा व्यक्त गर्दै हिमाल तथा पर्वतीय क्षेत्रको संरक्षणमा विश्व समुदायको ध्यान जानुपर्नेमा जोड दिए ।

कोप–२९ सम्मेलनको पाँचौँ दिन कोपको अध्यक्ष मण्डलले आयोजना गरेको उच्चस्तरीय कार्यक्रममा नेपालले हिमाली क्षेत्रको पारिस्थितिकीय प्रणालीमा जलवायु परिवर्तनले गरेका असरबारे सशक्त रुपमा ध्यानाकर्षण गराएको थियो ।

वनमन्त्री शाही सहभागी उक्त कार्यक्रमा उनका तर्फबाट वनसचिव डा. दीपककुमार खरालले पर्वतीय क्षेत्रको महत्व र हिमालमा जलवायु परिवर्तनले गरेका असर तथा गर्नुपर्ने कामकाबारेमा ध्यानाकर्षण गराएका थिए । सम्मेलनमा निर्णयको छलफलका लागि एजेण्डा तय गर्ने कोपको अध्यक्षको समूहले राखेको बैठकमा यसरी हिमालका मुद्दा पहिलो पटक छलफल भएको हो ।

नेपालले बैठकमा यसरी हिमालका विषय प्रत्येक कोपमा छलफल होस् भनी माग राखेको थियो । नेपालको उक्त प्रस्तावमा भूटान, ताञ्जानियालगायत राष्ट्रले समर्थन गरेका थिए । यो छलफलले यस सम्मेलनको निर्णयमा हिमालका मुद्दाका सन्दर्भमा केही हुने अपेक्षा गरिएको मन्त्री शाहीका जलवायु सल्लाहकार मञ्जित ढकालले जानकारी दिए ।

राष्ट्रपति पौडेल स्वेदश फर्किएपछि नेपालको नेतृत्व गरेका वनमन्त्री शाहीले सम्मेलनमा भएका हरेक बैठक, छलफल र भेटवार्तामा आफूले हिमालका मुद्दालाई नछुटाएको उल्लेख गरे । साथै उनले कोप–२९ सम्मेलनको पूर्वसन्ध्यामा मन्त्रालयले ‘साथसाथै’ संस्थाको सहकार्यमा कर्णालीको रारामा दुईदिने जलवायुसम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको बताए । जलवायुले हिमाली क्षेत्रका स्थानीयको जनजीवनमा पारेको असरसम्बन्धी जारी गरिएको ‘रारा घोषणा पत्र’का विषयमा कोप–२९ सम्मेलनमा उठाइएको उनले जानकारी दिए ।

कोप–२९ मा जलवायु परिवर्तनको चेतना जगाउन र युएनएफसीसीसी वार्ता प्रक्रियामा पर्वतीय एजेन्डालाई अगाडि बढाउन नेपालले विभिन्न प्रयास जारी राखेको मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव डा. सिन्धुप्रसाद ढुङ्गानाले जानकारी दिए । साथै उनले हिमाली क्षेत्रमा जलवायु सङ्कट बढ्दै गइरहेको सन्दर्भमा विश्व समुदायबाट पर्वतीय राष्ट्रहरूका समस्याको पहिचान र सम्बोधन तत्काल हुन जरुरी रहेको बताए ।

सहसचिव डा. ढुङ्गानाका अनुसार कोप–२९ सम्मेलनमा अनुकूलन, हानिनोक्सानी, जलवायु वित्त, प्रविधि विकास र हस्तान्तरण, क्षमता विकास, अल्पविकसित राष्ट्रहरुको विषय, जलवायु प्रतिकार्य कार्यान्यवनको प्रभाव, पेरिस सम्झौताको दफा ६ सहित सो सम्झौतामा उल्लिखित वैश्विक मापन, महासन्धीको दीर्घकालीन विश्वव्यापी लक्ष्यको प्रगति, ‘जस्ट ट्राञ्जिसन’सम्बन्धी कार्यक्रम, न्यूनीकरणसम्बन्धी ‘वर्क प्रोग्राम’, लैङ्गिक र जलवायु परिवर्तनलगायत विषयमा छलफल भइरहेको छ ।

कोप–२८ को निर्णयमा पहिलो पटक हिमालका मुद्दा स्वीकार
गत वर्ष युएईको दुबईमा सम्पन्न कोप–२८ का दस्तावेजमा पहिलो पटक जलवायुले हिमालमा पारेका असरका बारेमा समावेश गरिएको थियो ।

हिमाली मुलुक नेपालले खासगरी सन् २००९ मा डेनमार्कको कोपनहेगनमा भएको कोप–१५ देखि नै जलवायु परिवर्तनले हिमाली पारिस्थितिकीय प्रणालीमा पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउँदै आएको वन मन्त्रालयका सहसचिव बुद्धिसागर पौडेलले बताए ।

त्यसयताका अधिकांश सम्मेलनमा नेपालले प्राथमिकताका साथ हिमालका मुद्दा उठाउँदै आएको छ । सहसचिव पौडेलले अन्तर्राष्ट्रिय सम्मेलनहरुमा नेपालले गरेको छलफल, वार्ता र पैरवीका कारण हिमालका मुद्दा स्थापित हुँदै गएकोसमेत बताए ।

पेरिस सम्झौताअनुसार विश्व समुदायले यस शताब्दीको अन्त्यसम्ममा पृथ्वीको तापक्रम एक दशमलव पाँच डिग्री सेल्सियसभन्दा बढ्न नदिने सहमति गरे तापनि सन् २०५० भन्दा पहिले नै हिमाली क्षेत्रको तापक्रम सरदर एक दशमलव आठ डिग्री सेल्सियसभन्दा बढी हुने अनुमान गरिएको वन मन्त्रालयका अर्का सहसचिव डा. महेश्वर ढकालले बताए । साथै उच्च तापक्रम वृद्धिले गर्दा यस क्षेत्रमा रहेका हिमालका दुई तिहाइ हिम भण्डारहरू पग्लिने अनुमान गरिएको छ ।

विगतका तीन–चार दशकको तथ्याङ्क हेर्दा हिमालमा प्रतिदशक शून्य दशमलव शून्य पाँच डिग्री सेल्सियसका दरले तापक्रम बढिरहेको छ । यसको असरले खासगरी हिमनदी पग्लिने क्रम तीव्र बढिरहेको छ । विश्व तापमान वृद्धिले सन् १९८० देखि २०१० सम्मको अवधिमा करिब २५ प्रतिशत हिमनदीको क्षेत्रफल घटेको देखिएको छ । यसैगरी हाल नेपालमा सम्भावित जोखिमा रहेका तालको सङ्ख्या २१ रहेको छ । चीनको तिब्बतका २५ र भारतको एउटा हिमताल फुट्दा तिनको असर नेपालमा पनि पर्नेछ । नेपालमा दुई हजार ७० हिमताल छन् ।

पर्वतीय मुद्दालाई विश्व मञ्चमा उजागर गर्ने उद्देश्यले यसअघि नेपाल सरकारले सन् २०२४ मे २२ र २३ मा काठमाडौंमा ‘हिमाल, मानव र जलवायु’सम्बन्धी अन्तर्राष्ट्रिय विज्ञ संवादको आयोजना गरेको सहसचिव डा. ढकालले जानकारी दिए । जलवायु परिवर्तनको चेतना जगाउन र युएनएफसीसीसी वार्ता प्रक्रियामा पर्वतीय एजेण्डालाई अगाडि बढाउन गरिएको ‘हिमाल, मानव र जलवायु परिवर्तनसम्बन्धी विज्ञ संवाद’ले नेपालसहित विश्वभरका दुई सय ५० भन्दाबढी प्रतिनिधिबीच छलफल भएको थियो ।

उक्त संवादले हिमाली क्षेत्रमा जलवायु सङ्कट बढ्दै गइरहेका सन्दर्भमा पर्वतीय राष्ट्रहरूका समस्याको पहिचान र सम्बोधन तत्काल हुन जरुरी रहेकामा जोड दिँदै घोषणापत्र निकालेको थियो ।

आन्तरिक पर्यटकको रोजाइमा डडेल्धुराको कस्याडाँडा

डडेल्धुरा । अमरगढी नगरपालिका–७ मा अवस्थित कस्याडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनेको छ । सूर्योदय र सूर्यास्तको रमणीय दृश्य अवलोकन गर्न सकिने भएकाले पछिल्लो सयम यहाँ आन्तरिक पर्यटकको आगमन बढ्न थालेको हो ।

सूर्योदय र सूर्यास्तका साथै सदमुकाम अमरगढी नगरपालिका, नवदुर्गा, गन्यापधुरा, अजयमेरु गाउँपालिकाका अधिकांश भू–भागको दृश्यावलोकन गर्न दैनिक सयभन्दा बढी आन्तरीक पर्यटक पुग्ने गरेका छन् ।

डडेल्धुरा–बैतडी राजमार्गको पश्चिम खण्डसँगै जोडिएको कस्याडाँडाले धार्मिक एवं ऐतिहासिक महत्व बोकेको छ । डडेल्धुरा–बैतडी जोड्ने महाकाली राजमार्गको सुर्कालबाट १५ मिनेट पैदल उकालो चढ्दा कस्याडाँडा पुग्न सकिन्छ । जिल्लाको सबैभन्दा अग्लो डाँडामध्ये यसलाई प्राचीन, धार्मिक तथा ऐतिहासिक महत्व बोकेको डाँडाका रूपमा मानिने स्थानीय बताउँछन् ।

डोड्याली राजा नागी मल्लसहित लेगी समैजी, शिखर, शैलेश्वर महादेव, भूमिराज, उग्रतारा भगवती माताको धार्मिक क्षेत्रका रूपमा पनि कस्यालाई लिने गरिन्छ । यो डाँडा समुद्री सतहबाट छ हजार पाँच सय फिट उचाइमा अवस्थित छ ।

भारतमा बस्दै आएका अजयमेरु–३ का महेश ऐरले घर आएको मौकामा यहाँ पुगेको भन्दै कस्याडाँडा घुम्नै पर्ने रमणीय स्थानका रूपमा रहेको बताए । “पहिला यहाँ आउन पाएको थिएन, यो ठाउँ निकै रमाइलो रहेछ”, उनले भने, “यहाँबाट सूर्योदय र सूर्यास्तको रमणीय दृश्य राम्रोसँग हेर्न सकिन्छ ।”

आलितालका मीना साउँदले पनि साथीभाइसँग रमाइलो गर्न कस्याडाँडा पुगेको बताए । रमाइलो र नजिकैको पर्यटकीय गन्तव्य भए पनि प्रचारप्रसारको कमीले ओझेलमा परेको उनले प्रतिक्रिया दिए ।

डडेल्धुरा बजारबाट हिँड्दै पनि पुग्न सकिने यो ठाउँमा बैतडी, डोटीलगायत सुदूरपश्मिका आन्तरिक पर्यटकका लागि नजिकको सुन्दर गन्तव्य बन्न सक्ने साउँदले उल्लेख गरे । उनले भने, “यहाँ पुग्ने बाटो पनि व्यवस्थित छ, स्थानीय सरकारले यसको प्रवर्द्धन गर्न सके स्थानयिको आयस्तर वृद्धि हुनुका साथै रोजगारीका अवसर पनि सृजना हुने छन् ।”

पहिला सुनसानजस्तै रहेको यो ठाउँमा पर्यटकको चहलपहल बढ्न थालेको छ–सात वर्ष भयो । अहिले दिनमा एक सयको हाराहारीमा आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका स्थानीय अटोचालक धौलि दमाइँले बताए । उनका अनुसार यहाँ आउने अधिकांशले आफैँले खानेकुरा बोकेर आउँछन् । यहाँ नजिक बस्ती र होटल नरहेकाले खानापिनमा समस्या हुने भन्दै उनले यसलाई थप व्यवस्थित बनाउँदै नजिक होटल सञ्चालन भएका पर्यटकीय गतिविधि बढ्ने उनले उल्लेख गरे ।

पछिल्लो समयमा स्थानीयसहित अमरगढी–७ को ब्राइट भिजन क्लबले कस्या टाकुरो (डाँडा) को पर्यटकीय सम्भावनाका बारेमा प्रचारप्रसार गरेपछि अमरगढी नगरपालिकाकोे सहयोगमा भ्यूप्वाइन्ट, दृश्यावलोकन स्तम्भ, डाँडाको टुप्पोसम्म पुग्ने पैदल बाटो, बस्ने ठाउँलगायत पूर्वाधार निर्माण भएका छन् ।

कस्याडाँडामाथि भ्यूटावर निर्माण गरी आन्तरिक एवं बाह्य पर्यटक भित्रयाउन सके आर्थिक गतिविधि चलायमान हुने क्लबका अध्यक्ष दीपकराज भट्टराईले विश्वास व्यक्त गरे ।

नागरिक अगुवा सिद्धराज पाठकका अनुसार कस्याडाँडा र आसपासका क्षेत्रमा आन्तरिक पर्यटकका लागि आकर्षक स्थल निर्माण भएका छन् । होटलसहित अन्य पूर्वाधार निर्माण गरी आर्थिक र व्यावसायिक रूपमा यसलाई प्रवर्द्धन गर्न स्थानीय सरकारले नीति बनाएर अघि बढ्नुपर्नेमा उनले जोड दिए । यहाँबाट महाभारत पर्वत शृङ्खलासहित डोटी, आछाम, बैतडी र भारतको केही भूभाग देख्न सकिने उनले जानकारी दिए ।

डडेल्धुराबाट कस्याडाँडा पुग्न पक्की बाटो बनेको छ । कस्याडाँडा सदरमुकाम भन्दा १२ किलोमिटर उत्तरतर्फ महाकाली राजमार्गसँगै जोडिएको छ । हिँडेर जाँदा करिब तीन घण्टा र मोटरसाइकल वा गाडीमा जाँदा २५ देखि ३० मिनेटमा पुगिन्छ ।

कस्याडाँडाको इतिहास

कस्याडाँडामाथि ठूलो मैदान रहेको भन्दै यो प्राचीनकालमा निर्माण भएको आफूले सुन्दै आएको अमरगढी–७ का ६२ वर्षीय केशव भण्डारीले बताए । “सुनेको आधारमा यहाँ एउटा बुढी महिला पछिसम्म बस्थिन् । यसको बारेमा कुनै सत्यता वा अभिलेख भने छैन । अमरगढी–६, ७ र ८ का बुढापाकाले सुनाउने कुराका आधारमा कस्याडाँडामा राजकोट थियो”, उनले भने ।

अहिले यहाँ कुनै कोटको संरचना नरहेको स्थानीय महेश भट्टराईले बताए । “यस डाँडाको इतिहास दुई हजार पाँचसय वर्षभन्दा पुरानो हो । गाउँ पुरिँदा यहाँ कैयौँले ज्यान गुमाउनु परेकाले सुरुमा यसलाई काल अर्थात् सुर्काल भनिन्थ्यो”, उनले भने ।

यससँगै डाँडाबाट करिब एक हजार पाँचसय मिटर तल ढुङ्गाको ओखल पनि देखिन्छ । उक्त स्थानलाई अहिले ओखलढुङ्गा भन्ने गरिएको भट्टराईले बताए । ओखलढुङ्गाको पूर्वउत्तरमा डाँडु खोला छ । इतिहासका बारेमा अध्ययन र अनुसन्धान गरी तथ्य पत्ता लगाउन उनले स्थानीर सरकार र सरोकार भएका निकायलाई आग्रह गरे ।

यहाँको तथ्य अध्ययन गरी पर्यटन प्रवर्द्धन गर्न सके कस्याडाँडालाई सुदूरपश्चिम क्षेत्रकै रमणीय पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने स्थानीय जानकार बताउँछन् । 

गृहमन्त्री लेखकसँग एसएसबीका महानिर्देशकको भेट, सीमा सुरक्षाबारे छलफल

काठमाडौँ । गृहमन्त्री रमेश लेखकसँग भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक अमृतमोहन प्रसादसहितको उच्चस्तरीय टोलीले भेटवार्ता गरेको छ ।

आइतबार सिंहदरबारस्थित गृहमन्त्रालयमा भएको भेटवार्तामा सशस्त्र प्रहरी बल नेपाल र भारतीय सीमा सुरक्षा बल (एसएसबी)का बीच दुई देशको सीमा सुरक्षाका क्षेत्रमा सौहार्दपूर्ण वातावरणमा भइरहेको कामका विषयमा छलफल भएको थियो ।

भेटवार्ताका क्रममा गृहमन्त्री लेखकले सीमा क्षेत्रमा हुने लागुऔषधको अवैध कारोबार र ओसारपसार तथा मानव बेचबिखन नियन्त्रणका साथै आपराधिक गतिविधि नियन्त्रणमा सहयोग र सहकार्य गर्न जोड दिए ।

गृहमन्त्री लेखकले जनताले कष्ट नपाउनेगरी सौहार्दपूर्ण वातावरणमा शान्तिसुरक्षा र अपराध नियन्त्रणतर्फ दुवैतर्पmको ध्यान जानुपर्नेमा जोड दिँदै गृहमन्त्री लेखकले नेपाल–भारत सीमा नाकामा ओहोरदोहोर गर्ने नागरिकहरुलाई मर्यादित व्यवहार गर्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिए।

“नेपाल–भारतबीच सदियौं पुरानो सम्बन्ध रहिआएको छ”, गृहमन्त्री लेखकले भने, “सीमासुरक्षा बलका काम कारबाहीले दुई देशबीचको सम्बन्ध थप बलियो हुनेमा विश्वस्त छु, सहयोग र सहकार्य गरी सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणसहित सीमा आवतजावतका क्रममा सम्मानजनक व्यवहार गरी दुवै देशका जनताको विश्वास जितौँ ।”

भेटवार्ताका अवसरमा गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी बल नेपालका प्रहरी महानिरीक्षक राजु अर्याल र भारतीय एसएसबीका महानिर्देशक अमृत मोहनप्रसादससहित उच्च अधिकारीको सहभागिता थियो ।

सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच हरेक वर्ष हुने समन्वय बैठकमा भाग लिन महानिर्देशक प्रसादको नेतृत्वमा एसएसबीको उच्चस्तरीय टोली काठमाडौँ आएको हो ।

रास्वपाले कीर्तिपुरको मेयरमा उम्मेदवारी नदिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कीर्तिपुर नगरपालिको मेयरमा उम्मेदवारी नदिने भएको छ । रास्वपा काठमाडौं संयोजक प्रदीप विष्टले नगरपालिका मेयरको उम्मेदवारी नदिने बताए ।

यसअघि मेयरका लागि नगरसभापति जयराम कार्कीको नाम केन्द्रमा सिफारिस भएको थियो । तर, रास्वपाले अन्तिम समयमा आएर उम्मेदवारी नदिने निर्णय गरेको छ । यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज उमेदवारी दर्ताको कार्यक्रम भइरहेको छ ।

आणविक शक्ति सम्पन्न भारतद्वारा आफ्नो पहिलो हाइपरसोनिक मिसाइल प्रक्षेपण

नयाँदिल्ली । आणविक शक्ति सम्पन्न भारतले आफ्नो पहिलो हाइपरसोनिक क्षेप्यास्त्रको परीक्षण गरेको छ । प्रतिद्वन्द्वी चीनले आफ्नो नवीनतम सैन्य उड्डयन शक्ति प्रदर्शन गरेको केही दिनपछि उच्च प्रविधियुक्त शक्तिशाली हतियारको प्रचार गर्दै रक्षा मन्त्री राजनाथ सिंहले आइतबार यस सफलताका लागि योगदान पुर्याउने भारतीय टोलीको उच्च प्रशंसा गरेका छन् ।

हाइपरसोनिक्स प्रविधि मिसाइल प्रविधिको नयाँ आविस्कार हो । तिनीहरू ब्यालिस्टिक मिसाइलभन्दा कम उड्छन् तर पत्ता लगाउन गाह्रो हुन्छ । हाइपरसोनिक्स मिसाइल लक्ष्यहरूमा छिटो पुग्न सक्दछन्, र मध्य–उडानमा लक्ष्य परिवर्तन गर्न आदेश दिन पनि सकिन्छ ।

संयुक्त राज्य अमेरिका, रुस, चीन र उत्तर कोरियाले हाइपरसोनिक क्षेप्यास्त्रको परीक्षण गरिसकेका छन्।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले लामो दूरीको हाइपरसोनिक क्षेप्यास्त्रको सफल परीक्षण गरेर भारतले ठूलो उपलब्धि हासिल गरेको बताए ।

छिमेकी प्रतिद्वन्द्वी चीनले ‘जे–३५ए स्टेल्थ फाइटर जेट’ र ‘अट्याक ड्रोन’ प्रदर्शन गरेर ‘एयर शोमा’ आफ्नो विस्तारित उड्डयन क्षमता प्रदर्शन गरेको केही दिनपछि यो परीक्षण उडान भएको हो । चीनका अनुसार यसमा ब्यालेस्टिक क्षेप्यास्त्र र हाइपरसोनिक ग्लाइड मिसाइललाई रोक्न बनाइएको ‘हेडक्वार्टर–१९’ सतहबाट हावामा मार हान्न सक्ने क्षेप्यास्त्र प्रणालीको सुरुवात पनि समावेश छ ।

उक्त हाइपरसोनिक हतियार शनिबार पूर्वी तटको अब्दुल कलाम टापुमा खसेको भारतको डिफेन्स रिसर्च एन्ड डेभलपमेन्ट अर्गनाइजेसन (डीआरडीओ) ले सार्वजनिक गरेको श्रव्यदृश्यमा देखिएको थियो । उक्त श्रव्यदृश्यमा रातको आकाशमा एउटा पातलो क्षेप्यास्त्र विस्फोट भएको देखिएको छ ।

“यो ऐतिहासिक क्षण हो र यो महत्वपूर्ण उपलब्धिले हाम्रो देशलाई यस्ता महत्वपूर्ण र उन्नत सैन्य प्रविधिको क्षमता भएका चुनिन्दा राष्ट्रहरूको समूहमा राखेको छ,” सिंहले भने । क्षेप्यास्त्रको बारेमा थप विवरण दिइएको छैन ।

नयाँ दिल्लीले हालैका वर्षहरूमा संयुक्त राज्य अमेरिका, जापान र अष्ट्रेलियासँग क्वाड गठबन्धनसहित पश्चिमी देशहरूसँग रक्षा सहयोगलाई गहिरो बनाएको छ।

अर्बौं डलरको सम्झौतालाई लिएर अमेरिकी प्रतिबन्धको चेतावनीका बावजुद मस्कोको एस–४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलगायत रूसी सैन्य सामग्रीको पनि भारत प्रमुख क्रेता हो ।

बङ्गलादेशको सेनालाई प्रदत्त न्यायिक अधिकार थप दुई महिनाका लागि बिस्तार

ढाका । बङ्गलादेशको अन्तरिम सरकारले पूर्वनेता शेख हसिनालाई अपदस्थ गर्ने अगस्टमा भएको आन्दोलनपछि सशस्त्र बललाई प्रदान गरिएकोे न्यायिक अधिकारलाई विस्तार गरेको छ ।

नोभेम्बर १५ मा जारी गरिएको सरकारी आदेशमा सशस्त्र बललाई पक्राउ गर्नेलगायतका दैनिक क्रियाकलापमा संलग्न हुन पाउने अधिकार थप दुई महिनाका लागि बिस्तार गरिएको हो ।

सेनाका प्रवक्ता सामी उद–दौला चौधरीले आइतबार भने, “सरकारले दिएको आदेशलाई हामीले पालना गर्नेछौँ ।”

पूर्व प्रधानमन्त्री शेख हसिनाले गत अगस्ट ५ मा भारत पलायन हुनुअघि विद्यार्थीको नेतृत्वमा भएको विरोध प्रदर्शनलाई दबाउन प्रहरीलाई आदेश दिएकी थिइन् ।

उनको १५ वर्षे शासनकालमा विपक्षीहरूलाई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्नबाट रोक्ने घटनाहरू भएका आरोप लागेका थिए ।

हसिनाका भारत पलायनपछि नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा रहेको कामचलाउ सरकारलाई लोकतान्त्रिक सुधार लागू गर्ने र निर्वाचन गराउने जिम्मेवारी दिइएको छ ।

धेरै मानिसहरूले प्रहरीमाथिको विश्वास गुमाइसकेकाले सुरक्षा पुनस्र्थापित गर्न सेनाको प्रयोग गरिएको थियो ।

उच्च अदालतका वकिल इमाम हसन तारिकले क्याप्टेन वा सोभन्दा माथिको दर्जाका अधिकारीलाई मात्र पक्राउ गर्न अनुमति दिइएको बताएका छन् ।

तटरक्षक बल र सीमा सुरक्षा एकाइलाई समेट्ने गरी अधिकार विस्तार गरिएको छ ।

कीर्तिपुरको मेयरमा नेपाल समाजवादी पार्टीबाट महर्जनको उमेदवारी दर्ता

काठमाडौं । नेपाल समाजवादी पार्टीको तर्फबाट काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयरमा दिलकुमार महर्जनले उमेदवारी दर्ता गराएका छन् ।

बाबुराम भट्टराई नेतृत्वको नेसपाबाट महर्जनले आइतबार मनोनयनपत्र दर्ता गराएका हुन् । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि आज बिहान १० देखि अपराह्न ५ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गरिँदै छ ।

सौराहामा आठ देशका चिकित्सक र नर्सद्वारा ‘क्रिटिकल केयर’ मेडिसिन सम्बन्धी अनुभव आदानप्रदान

चितवन । पर्यटकीय क्षेत्र सौराहामा रहेर नेपालसहित विभिन्न देशका चिकित्सक र नर्सहरुले ‘क्रिटिकल केयर’ मेडिसिन सम्बन्धी कार्यशालामा अनुभव आदानप्रदान गरेका छन् ।

क्रिटिकल केयरमा काम गर्ने चिकित्सकहरुको संस्था ‘नेपलिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिन’ र ‘क्रिटिकल केयर नर्स एशोसिएसन अफ नेपाल’को आयोजनामा भएको कार्यशालामा उनीहरुले बृहत छलफल गरेका हुन् ।

सोसाइटीको छैठौं अन्तर्राष्ट्रिय सम्मेलन र एसोसिएसनको तेस्रो राष्ट्रिय सम्मेलनमा उपस्थित भएका चिकित्सक नर्सहरुले कार्यपत्र प्रस्तुत गर्दै त्यसमाथि छलफल गरेका हुन् । सोसाइटीका अध्यक्ष प्राडा शितल अधिकारीका अनुसार कार्यशालामा नेपालसहित भारत, फिलिपिन्स, बङ्गलादेश, श्रीलङ्का, थाइल्याण्ड, न्यूजिल्याण्ड र बेलायतमा सघन उपचार कक्षमा कार्यरत चिकित्सक नर्सहरुको सहभागिता रहेको थियो ।

कार्यशालामा ६५० प्रतिनिधि रहेको जनाउँदै अधिकारीले आयोजकसहित यो सङ्ख्या ७५० हाराहारी पुगेको बताए । उनीहरुले शुक्रबार र शनिबार सौराहामा रहेर छलफल गरेका थिए ।

सोसाइटीका कार्यशाला संयोजन गरेका डा हेमराज पनेरुका अनुसार दुई दिनमा ६० चिकित्सकको र ४० नर्सहरुका कार्यपत्र प्रस्तुत गरी ती कार्यपत्रमाथि छलफल गरिएको थियो । पनेरुले छलफलका क्रममा सरकारका तर्फबाट गर्नुपर्ने नीतिका बारेमा समेत सुझाव दिनसक्ने गरी निष्कर्ष तयार पारेको बताए ।

एसोसिएसनका तर्फबाट कार्यशाला संयोजन गरेकी परिस्मा ताम्राकारले छलफलमा आफूहरुले आर्जन गरेका प्राविधिक र व्यवहारिक ज्ञानलाई एक अर्कोमा आदानप्रदान गर्न सहयोगी बनेको बतााइन् । यो कार्यशालाबाट फर्किएपछि जो कोहीलाई काममा उर्जा मिल्ने उनको भनाइ छ ।

अत्यन्तै संवेदनशील ठाउँमा रहेर काम गर्नुपर्ने भएकाले समय समयमा यस्ता कार्यक्रम आयोजना गरेर सीप र दक्षता अभिवृद्धि गर्नुपर्नेमा उनको जोड थियो । कार्यक्रममा सोसाइटी र एसोसिएसनका विभिन्न तहमा रहेका अधिकारी, विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि, सामाजिक सङ्घ–संस्थाका प्रतिनिधिले कार्यक्रममा शुभकामना व्यक्त गरेका थिए ।

सो अवसरमा संस्थाका संस्थापक अध्यक्ष एवं नेपाल मेडिकल कलेजका प्रिन्सिपल प्राडा मोदनाथ मरहठ्ठाले अत्यन्तै संवेदनशील ठाउँमा रहेर काम गर्नुपर्ने जनशक्तिको यो खालको अन्तक्र्रियाले नेपालको उपचार पद्धतिमा टेवा पुग्ने बताए ।

नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा अनिलविक्रम कार्कीले सघन उपचार कक्षको उपचारमा चिकित्सक र नर्सको उत्तिकै भूमिका हुने भन्दै यो कार्यक्रमले नेपालका चिकित्सक र नर्सलाई थप परिस्किृत गर्दै लैजान सहयोग पुग्ने बताए ।

कतारलाई आफ्नो देशमा रहेको हमासको कार्यालय बन्द गर्न अमेरिकी दबाव

बीबीसी । कतार सरकारले इजरायल र हमासबीच शान्ति सम्झौता गराउने आफ्नो प्रयास वार्तामा बस्ने दुवै पक्षको अनिच्छाका कारण रद्द गरेको जनाएको छ । दोहालाई आफ्नो देशमा रहेको हमासको कार्यालय बन्द गर्न अमेरिकी दबाव आइरहेको भनिएका विवरण समेत सार्वजनिक भएका छन् ।

कतारको विदेश मन्त्रालयले इजरायल र हमासबीच शान्ति सम्झौताको मध्यस्थता गर्ने प्रयास स्थगित गरेको जनाएको छ । तर उसले दोहामा हमासको कार्यालय बन्द गर्ने भनिएका खबरलाई खारेज गरेको छ ।

त्यसयता इजरायल सरकारले कतारप्रति रोष व्यक्त गर्दै उसले हमासलाई साथ दिइरहेको र आतङ्कवादी समूहलाई मलजल गरेको आरोप लगाएको छ । कतारले मध्यपूर्वमा आफूलाई शान्ति स्थापकको पहिचान बनाएको भएपनि उसलाई वर्तमान इजरायल–हमास द्वन्द्वमा युद्धविरामका लागि मध्यस्थता गर्न सकस परिरहेको छ ।

कतार पर्सिअन खाडीमा अवस्थित ११,६०० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको एउटा सानो देश हो । तर यसले ठूलो परिमाणमा प्राकृतिक ग्यास निर्यात गर्छ र यो प्रतिव्यक्ति आय धेरै हुने संसारको छैटौँ देश हो ।

त्यहाँको सरकारले आफूलाई अन्तर्राष्ट्रिय शान्ति स्थापकको भूमिकामा उभ्याउँदै पछिल्लो दुई दशकमा मध्यपूर्व, युरोप र अफ्रिकाका युद्धरत पक्षबीच कैयौँ युद्धविराम र शान्ति सम्झौताका लागि मध्यस्थता गरेको छ ।

सन् २०२३ को नोभेम्बरमा उसले इजरायल र हमासबीच एक अस्थायी युद्धविरामका लागि वार्ता गराएको थियो । त्यसक्रममा १०५ जना इजरायली बन्धक २४० जना प्यालेस्टिनी बन्दीहरूसँग साटफेर गरिएका थिए ।

सन् २०२० मा कतारले तालिबान र अमेरिकाबीच एउटा शान्ति सम्झौता मध्यस्थता गर्दै अफगानिस्तानमा दुई दशक चलेको युद्ध अन्त्य हुने अवस्था बनाएको थियो । त्यससँगै अमेरिका र उसका साझेदार देशहरू त्यहाँबाट फर्किए र तालिबानले उक्त देशमा आफ्नो शासनसत्ता सुरु गर्यो ।

सन् २०२३ मा कतारले अमेरिका र इरानबीच एउटा बन्दी साटासाट सम्झौता गर्नमा समेत मध्यस्थता गरेको थियो । सोही वर्ष उसले रुस र युक्रेनबीच दुई देशबीचको जारी युद्धमा युक्रेनबाट रुस लगिएका बालबालिकालाई फिर्ता ल्याउने वार्ताको मध्यस्थता गरेको थियो ।

सन् २०२२ मा कतारले चाड सरकार र ४० विपक्षी समूहहरूबीच युद्धविराम गराउन मध्यस्थता गर्यो । अनि सन् २०१० मा उसले सुडान सरकार र त्यहाँको पश्चिमी प्रान्त डार्फरका सशस्त्र समूहबीच शान्ति सम्झौता गराएको थियो ।

एक विद्यार्थीको चक्कु प्रहारबाट चीनमा ८ जनाको मृत्यु

बीबीसी । पूर्वी चीनको एक विद्यालय बाहिर छुरा प्रहारको घटनामा आठ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । वुसी यिक्सिङ आर्ट्स एन्ड क्राफ्ट्स भोकेस्नल टेक्निकल कलेजबाहिर भएको चक्कु प्रहारको घटनामा आठ जनाको मृत्यु भएको हो ।

स्थानीय समयअनुसार शनिबार उक्त घटना भएको हो । चक्कु प्रहार गर्ने २१ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ । ती युवक परीक्षामा असफल र आफ्नो इन्टर्नशिपको तलबबाट दुःखी रहेका प्रहरीले जनाएको छ ।

उनले प्रहरीसमक्ष ‘बिना हिचकिचाहट’ आफ्नो अपराध स्वीकार गरेका छन् । गत सोमबार दक्षिणी सहर झुहाईको एक स्टेडियममा चालकले भीडमा कार कुदाउँमा कम्तीमा ३५ जनाको मृत्यु भएको थियो ।

माओवादी र एकीकृत समाजवादीबीच काठमाडौंमा चुनावी तालमेल गर्ने सहमति

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच स्थानीय तहको उपनिर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भएको छ । सहमतिपत्रमा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा र नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले हस्ताक्षर गरेका छन् ।

दुई दलबीच काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर र काठमाडौं महानगरपालिका वडा नं १६ को अध्यक्षमा तालमेल गर्ने सहमति भएको हो ।

सहमतिअनुसार कीर्तिपुरको मेयरमा माओवादी केन्द्रका उम्मेदवार प्रा.डा.शिवशरण महर्जनलाई नेकपा एकीकृत समाजवादीले सघाउनेछ भने काठमाडौं महानगरको १६ नम्बर वडाध्यक्षमा नेकपा एकीकृत समाजवादीका मीनबहादुर मानन्धरलाई माओवादीले सघाउनेछ ।

रोशी गाउँपालिकाद्वारा बाढीपहिरो पीडितका लागि दुई करोड ८० लाख बजेट विनियोजन

काभ्रे । काभ्रेको रोशी गाउँपालिकाले बाढीपीडितलाई सघाउन चालु आर्थिक वर्षको बजेट संशोधन गरेको छ । जाडोयाम सुरु भइसकेकाले गाउँपालिकाले तत्काल बाढीपीडितलाई सहयोग गर्न गाउँसभाको विशेष अधिवेशनले बजेट व्यवस्थापन गरेको हो ।

गाउँसभाको १५औँ अधिवेशनले विपद्कोषमा  दुई करोड ८० लाख, विनियोजन गर्दै आवश्यकताअनुसार पीडितलाई प्रदान गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिए । सहायता रकम क्षतिग्रस्त भौतिक पूर्वाधार निर्माणमा खर्च गरिने छ ।

उक्त पालिकामा बाढीपहिरोमा परी १२ जनाको ज्यान गएको थियो भने चार सय ८२ घरमा पूर्ण र आठ सय ८३ घरमा आंशिक क्षति भएको थियो । यसैगरी, दुई हजार पाँच सय ४४ परिवारको खेतबारीमा पनि क्षति भएको थियो ।

बाढीले एक सय ६० खानेपानी आयोजना, एउटा पक्की पुल, छ सय ४७ विद्यालय, चार स्वास्थ्य केन्द्र, १० शय्याको अस्पताल, चिस्यान केन्द्र र औद्योगिक ग्राममा नोक्सानी भएको थियो ।

पहिरो नियन्त्रणपछि फर्किए विस्थापित गाउँ

गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ स्थित खारुङगाउँ वि.सं. २०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पले तहसनहस बन्यो । गाउँका सबैजसो घर क्षतिग्रस्त भए । भूकम्पले थिलोथिलो बनाएको आफ्नो थातथलोमा खारुङवासी फेरि जसोतसो घर मर्मत र पुनःनिर्माण गरेर बसे तर भूकम्पको पीडा भुल्न नपाउँदै सोही असारमा अविरल वर्षाले सिङ्गो गाउँ नै पहिरोको जोखिममा पर्यो । पहिरोले गाउँ नै भासिने अवस्था आएपछि खारुङका केही परिवार विस्थापित भएर कोही चितवन, कोही गोरखाबजार र कोही छेवेटारलगायतका ठाउँमा बसाइँ सरे ।

पहिराले सिङ्गो गाउँ नै जोखिममा परेपछि गाउँपालिकाले भू तथा जलाधार व्यवस्थापन कार्यालय र संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) को सहयोगमा पहिरो नियन्त्रणका काम अघि बढाएसँगै यहाँ पहिरो नियन्त्रणमा आएको छ । पहिरो नियन्त्रणमा आएसँगै बाध्यताले गाउँ छाडेका पुरानै थाकथलोमा फर्किन थालेको स्थानीयवासी सुकबहादुर तामाङले बताए । “पहिरोले गाउँले सबै तितरवितर भएका थिए”, उनले भने, ‘अहिले पहिरो नियन्त्रणमा आएपछि गाउँ छाडेकाहरू पनि फर्किन थालेका छन्, यो वर्षदेखि बल्ल अलि ढुक्क भएको छ ।”


जोखिमयुक्त ठाउँमा ‘ग्याविन वाल’सहित अम्रिसो, उतिस, रानी खनायोलगायत वृक्षरोपण गरेर पहिरो नियन्त्रण गरिएको एफएओका विपद् जोखिम न्यूनीकरण विशेषज्ञ लीलाजङ्ग गुरुङले जानकारी दिए । पहिरो नियन्त्रण भएपछि गाउँ छाडेर बसाइँ गरेकाहरू अहिले गाउँमै फर्किएको उहाँको भनाइ छ । अहिलेसम्म पहिरोले विस्थापित भएका छ घरपरिवार गाउँ फर्किसकेको गुरुङले जानकारी दिएका छन् ।

“पहिरोले गाउँ नै लैजान थालेपछि परिवार नै गाउँ छाडेर बसाइँ सरेका थियौँ । नजिक बस्ने ठाउँ थिएन, घरवरपर जताततै पहिरोको त्रासले झण्डै चार वर्ष चितवनमा गएर बसे पनि पहिरो रोकिएपछि गाउँ फर्किएका छौँ”, पहिरोबाट विस्थापित भएका स्थानीय शेरबहादुर गुरुङले भने। पहिरो नियन्त्रण भएसँगै गाउँमा ढुक्कले बस्नसक्ने अवस्था रहेको उनको भनाइ छ ।

पहिरो नियन्त्रणका लागि वृक्षरोपण गरेका क्षेत्रमा गाउँलेहरूले पशुवस्तु चरनमा समेत पूर्ण रूपमा रोक लगाएका छन् । पहिरो नियन्त्रणका लागि लगाइएको अम्रिसोबाट समूह बनाएर आयआर्जन गर्ने लक्ष्यसमेत लिएको उनको भनाइ छ । गाउँमा अहिले पहिरोको पूर्वसूचना दिन पूर्णचेतावनी प्रणाली जडान भएकाले स्थानीयले सुरक्षित महसुस गर्न थालेका छन् ।

मैत्रीपूर्ण खेलमा अफगानिस्तानमाथि नेपालको जित

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ । शनिबार राति ताजिकिस्तानको दुशान्बेमा भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले अफगानिस्तानलाई २–० ले पराजित गरेको हो ।

नेपालको जितमा फरवार्ड जिलेस्पी जंग कार्की र डिफेन्डर रोहित चन्दले गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।

तर, दोस्रो हाफमा सानदार प्रर्दर्शन गर्दै जित हासिल गरेको हो । यसअघि पहिलो मैत्रीपूर्ण खेलमा नेपाल घरेलु टोली ताजकिस्तानसँग ४–० गोलले पराजित भएको थियो।

प्रचण्डलाई ‘चाइना कार्ड’ अभिव्यक्ति फिर्ता लिँदै माफी माग्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘चाइना कार्ड’ बारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदी माफी माग्न आग्रह गरेको छ ।

एमालेको परराष्ट्र विभाग प्रमुख रघुवीर महासेठले शनिवार विज्ञप्ति जारी गरी प्रचण्डले भारतीय अखबार ‘द हिन्दु’सँगको अन्तर्वार्तामा गरेको टिप्पणीको घोर भर्त्सना गर्दै टिप्पणी फिर्ता गर्न र जनतासँग माफी माग्न आग्रह गरेका हुन् र प्रचण्डले प्रधानमन्त्री ओली र सरकारका बारेमा गरेको टिप्पणीमा चाइना कार्ड शब्द प्रयोग गरेका थिए ।

एमालेले प्रचण्डको उक्त अभिव्यक्ति आधारहीन, गैरजिम्मेवारपूर्ण र नेपालको सार्वभौम हित तथा परराष्ट्र नीतिमा ‘गम्भीर’ क्षति पुरयाउने खालको रहेको उल्लेख गरेको छ ।

त्यस्तो टिप्पणीले नेपालले सार्वभौम राष्ट्रका रूपमा आफैँ निर्णय लिन पाउने स्वतन्त्रताको अपमान गर्ने एमालेको ठहर छ । विज्ञप्तिमा भनिएको छ, ‘नेपाललाई कुनै पनि परराष्ट्रको अनुमोदन आवश्यक छैन । प्रधानमन्त्रीको चीन भ्रमण नेपालले पालना गरेको स्वतन्त्र परराष्ट्र नीतिको प्रतिविम्ब हो, न कि ‘कार्ड कूटनीति’को हिस्सा, जस्तो भ्रामक रूपमा दाबी गरिएको छ ।’

मुलुकको विकासलाई सर्वोपरि मानेर सरकारले काम गरिरहेको छः महासचिव पोखरेल

भक्तपुर । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मुलुकको विकासलाई सर्वोपरि मानेर सरकारले काम गरिरहेको बताएका छन् ।
नेकपा एमाले सूर्यवनायक नगर कमिटीको दोश्रो नगर अधिवेशनको  शनिबार उद्घाटन गर्दै उनले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको संयुक्त सरकारले निराशालाई चिर्दै सकारात्मक सोचका साथ विकास–निर्माणका काममा तल्लीन भएको बताएका हुन् ।
उनले भने, ‘नेकपा एमालेको नेतृत्वमा सरकार भएपनि पनि एकल निर्णय र एजेण्डा बाकेर हिड्न पाएको छैन, साझा एजेण्डामा सरकार सञ्चालन भइरहेको छ  ।’

राज्य र जनता मिलेर देश बनाउनुपर्नेमा जोड दिँदै उनले राजनीतिक स्थायित्व भएमा देशलाई समृद्धिको मार्गमा डोर्याउन धेरै समय नलाग्ने बताए ।

त्यस अवसरमा नेकपा एमाले स्थायी कमिटी सदस्य राजन भट्टराई, पोलिटव्यूरो सदस्य  महेश बस्नेत, केन्द्रीय सदस्यहरु सोमप्रसाद मिश्र, निर्मल भट्टराई, तुलसा दाहाल, गोविन्द दुवाल, बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेल, जिल्ला अध्यक्ष बचन देउजा, उपाध्यक्ष किरण थापाले ‘एमालेको मिसन ०८४ अभियान’लाई सफल पार्न सबै नेता, कार्यकर्ता एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । 

इजरायली निकासी आदेशपछि दक्षिण बेरुतमा पुनः इजरायली आक्रमण

बेरुत । इजरायली सेनाले निकासी आदेश जारी गरेको केही समय पछि लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरमा शनिबार पुनः आक्रमण भएको एएफपिटिभीले जनाएको छ ।

इजरायलले हिजबुल्लाहको गढ रहेको सहरको दक्षिणी उपनगरहरूमा मङ्गलबारदेखि निरन्तर आक्रमण गरेको जनाउदै एएफपिटिभीले शनिबार बिहान उक्त क्षेत्रका भवनहरूबाट धुवाँ उडेको देखाइएको छ ।

आक्रमणको केही समयअघि, इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईले सामाजिक सञ्जाल एक्सको पोष्टमा हारेट ह्रीक उपनगरका बासिन्दाहरूलाई उक्त क्षेत्र खाली गर्न आह्वान गर्नु भएको थियो ।

पोष्टमा अरबी भाषामा “तपाईँ हिजबुल्लाहका सुविधाहरु नजिक हुनुहुन्छ, यसको बिरूद्ध इजरायली सेनाले सिग्र आक्रमण गर्नेछ“, भन्दै कम्तिमा ५०० मिटर टाढा जान आग्रह गरिएको थियो ।

लेबनानको राष्ट्रिय समाचार एजेन्सी –एनएनए) ले “इजरायलले“ तीनवटा हवाई आक्रमण गरेको र हारेट ह्रीक नजिकै भएको आक्रमणले त्यस क्षेत्रका भवनहरू ध्वस्त पारेको जनाएको छ ।

पछिल्लो समयमा दक्षिण बेरुतमा भएको बारम्बारको इजरायली हवाई आक्रमणले यस क्षेत्रबाट नागरिकहरूको ठूलो पलायन निम्त्याएको छ ।

दक्षिणी लेबनानमा, इजरायलले शुक्रबार राति र शनिबार बिहान धेरै आक्रमणहरू गरेको एनएनएले जनाएको छ ।

यसै गरी हिजबुल्लाहले रातारात, उत्तरी इजरायलमा सेनाको मुख्यालयलाई लक्षित गरी दुईवटा रकेट आक्रमण गरेको दाबी गरेको छ ।

गत सेप्टेम्बर–२३ देखि, इजरायलले लेबनानमा हवाई आक्रमण बढाएको छ, भने हिजबुल्लाहले स्थलगत सेना तैथान गरेकोे छ ।

लेबनानी अधिकारीहरूका अनुसार गत वर्षको अक्टोबरमा हिजबुल्लाह र इजरायल विच आक्रमण सुरु भए देखि तीन हजार ४४० भन्दा बढी मानिसहरुको मृत्यु भएको छ ।

द्वन्द्वले लेबनानमा पाँच अर्ब डलर भन्दा बढी आर्थिक नोक्सान पुर्याउनुका साथै संरचनात्मक क्षति अर्बौ भन्दा बढी भएको विश्व बैङ्कले जनाएको छ ।

अफगानिस्तानमा सवारी दुर्घटनामा आठ जनाको मृत्यु

अफगानिस्तान । उत्तरी अफगानिस्तानको बदख्सान प्रान्तको कोक्चा नदीमा यात्रुबाहक गाडी खस्दा महिला तथा बालबालिकासहित आठ जनाको मृत्यु भएको छ ।

उक्त गाडी शुक्रबार राती प्रान्तीय राजधानी फैजाबाद सहरतर्फ गइरहेको बेला दुर्घटना ग्रस्त भएको प्रान्तीय सूचना तथा संस्कृति निर्देशक जबिहुल्लाह अमिरीले जानकारी दिए ।

अमिरीका अनुसार स्थानीय तथा उद्धारकर्ताहरू घटनास्थलमा पुगी शवहरू निकाल्न खोजिरहेका थिए ।

मृतकमध्ये एक जना चालक र अन्य तीन महिला तथा चार बालबालिकालगायतका मानिसहरु रहेका उनले बताए ।

गण्डकी प्रदेस महोत्सव :जातीय परम्परागत घर अवलोककर्ताको रोजाइमा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोट–२ स्थित नारायणी नदी किनारमा सञ्चालन भइरहेको दोस्रो संस्करणको गण्डकी प्रदेस महोत्सव–२०८१ मा जातीय संस्कृति संरक्षणको प्रयास गरिएको छ । महोत्सवमा नवलपुरमा रहेका विभिन्न आदिवासी जनजातिहरुको मौलिक संस्कृति संरक्षण गर्न उनीहरुको परम्परागत घर नै बनाएर महोत्सव पुग्नेलाई सांस्कृतिक बोध गराइएको छ ।

महोत्सवमा थारु, मगर, गुरुङ, तामाङ र चेपाङ जातिको घर निर्माण गरी उनीहरुले प्रयोग गर्ने परम्परागत घरायसी उपकरण प्रदर्शनीसँगै मौलिक खाना प्रदर्शनी गरिएको छ । गत कात्तिक २६ गतेदेखि सञ्चालन भइरहेको महोत्सवमा चेपाङ जातिको सांस्कृतिक घरसँगै उनीहरुको पोसाक, उनीहरुको खाद्यान्न बनतरुल, गिठा, भ्याकुर, पिँडालु र स्याखु राखिएको छ । त्यस्तै, मगर जातिको सांस्कृतिक घरमा उनीहरुले प्रयोग गर्ने औजारहरु न्हाङली (नाङ्ग्लो), पिराँखु (पेरुङ्गो), खुर्पा ट्याक, खँचरी, मुजुरा, जाँतो, ओदान, ढिकी राखिएको छ। त्यसैगरी, मगर जातिको पर्वहरुमा खाइने मासको बटुक त्यहीँ पकाउँदै आगन्तुकहरुको स्वागत गर्ने गरिएको नेपाल मगर सङ्घ गैँडाकोट नगर अध्यक्ष मस्राङ्गी मगरले बताए ।

महोत्सवको सांस्कृतिक समितिका संयोजक समेत रहेका मगरले जनजातिहरुको संस्कृति लोप हुँदै गएकाले नयाँ पुस्तालाई यसबारे बुझाउन तथा संरक्षणका लागि स्थानीय सरकारलाई ध्यानाकर्षण गराउन महोत्सवमा सांस्कृतिक घरहरु राखिएको बताए । जातीय सांस्कृतिक घरसँगै ती जातिहरुले प्रयोग गर्ने परम्परागत सामग्री उपलब्ध भएसम्म राखिएको उनको भनाइ छ । ‘नयाँ पुस्ताले चासो नदिँदा आदिवासी जानजातिहरुको संस्कृति हराउँदै गइरहेको छ’ उनले भने, ‘हाम्रो प्रयासले नयाँ पुस्तालाई संरक्षणप्रति जागरण आउनसक्छ भने अन्य समुदायका व्यक्तिहरुलाई हाम्रो संस्कृति बुझ्न सहज हुन्छ ।’

नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष एवम् महोत्सव मूल समिति संयोजक अमृत भट्टचनले आफूहरु आर्थिक उपार्जनसँगै संस्कृति संरक्षणप्रति पनि सचेत रहेको बताए । ‘जाजातिहरुको सांस्कृतिक घरमा अवलोकनसँगै उनीहरुको संस्कृतिबारे र प्रयोग गर्ने सामग्रीको बारेमा समेत जानकारी लिन पाइन्छ’ उनले भने, ‘जातीय खानाहरुसमेत सांस्कृतिक घरमा राखिएकाले फरक फरक संस्कृति एकैठाउँमा बुझ्न पाउने वातावरणसमेत बनेको छ ।’ सांस्कृतिक घरमा ती जातिले खाने परम्परागत खाद्यान्नहरु प्रदर्शन तथा बिक्रीका लागि समेत राखिएको उनले जानकारी दिए ।

‘थारुको सांस्कृतिक घरमा घोँङी, चिचर, हाँसका परिकार, ढिकर (चामलको पिठोलाई पानीको वाफमा उसिनेर पकाइने एकप्रकारको रोटी) प्रदर्शनी तथा बिक्रीका लागि राखिएको छ’, अध्यक्ष भट्टचनले भने, ‘त्यहाँ उनीहरुले माछा मार्न प्रयोग गर्ने ढडीया, जाल, ढिकी, जाँतो, हलो, जुवा, नारा लगायतका परम्परागत औजारहरु समेत राखिएका छन् ।’ पाँच वटै जातिका घरमा उनीहरुले प्रयोग गर्ने परम्परागत तर, लोपोन्मुख सामग्रीहरु प्रदर्शन गरिइएको छ ।

अध्यक्ष भट्टचनले जातजातिहरुको मौलिक संस्कृति लोप हुने अवस्थामा पुगेका कारण यसको संरक्षणका लागि महोत्सवमा सांस्कृतिक घरहरु निर्माण गरिएको बताए । ‘परम्परागत बस्ती र संस्कृतिबारे अहिलेका पुस्तालाई जानकारी नै छैन’, उनले भने, ‘उनीहरुलाई हाम्रो जातजातिको सांस्कृतिक कुराहरुसहित भेषभूषा, रहनसहनबारे जानकारी गराउने उद्देश्यले लोपोन्मुख जातिलाई समेटर यस्तो घर निर्माण गरिएको हो ।’ मेला महोत्सवमा सांस्कृतिक घर निर्माण गरिँदा सबै समुदायलाई जातजातिको संस्कृति बारे जानकार र सचेत गराउन तथा संस्कृति पुस्ता हस्तान्तरणको लागि समेत महत्वपूर्ण हुने भट्टचनले बताए ।

महोत्सवको सांस्कृतिक समिति संयोजक मगरले नेपालको तराईदेखि पहाड र हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायलाई समेटेर महोत्सवमा सांस्कृतिक घर निर्माण गरिएको बताए । पहाडका गुरुङ, मगर तामाङ, भावर क्षेत्रका चेपाङ तथा तराईका थारु समुदायका कला, संस्कृति र उनीहरुको रहनसहन झल्किने सांस्कृतिक घरले इतिहासलाई जीवन्त राख्नुका साथै महोत्सवमा आकर्षण समेत बढाएको मगरले बताए । अहिलेका युवा पुस्ताले सुन्ने गरेको तर पहिले प्रयोगमा आउने गिठा, भ्याकुरको स्वाद लिन र संस्कृतिबारे प्रत्यक्ष अवलोकन गरेर बुझ्नका लागि सांस्कृतिक घरमा दर्शकहरु आउने गरेको उनले बताए ।

आदिवासी जनजाति महासङ्घ गैँडाकोटका पूर्वनगर अध्यक्ष ललितबहादुर गुरुङले जनजातिको मात्रै नभएर क्षेत्री, ब्राह्मण समुदायका सांस्कृतिक घरहरु समेत मेला महोत्सवमा राख्नुपर्ने बताए । ‘क्षेत्री, ब्राह्मण समुदायको समेत आफ्नै खालको कला र संस्कृति हुन्छ, ती लोप हुने अवस्थामा पुगेका छन् ।’ आफ्नो कला र संस्कृति सबैलाई प्यारो हुने उल्लेख गर्दै मेला महोत्सवमा राखिने सांस्कृतिक पहिचानले एकअर्काको संस्कृति बुझ्न तथा नेपालीहरुको बीचमा भाइचाराको सम्बन्ध प्रगाढ बनाउन अझ मद्दत पुग्ने पूर्व अध्यक्ष गुरुङको भनाइ छ ।

अन्यत्रबाट आएर नवलपुरमा बसोबास गर्दै आएका जातजतिको पहिचान र उनीहरुको मौलिकताका लागि सांस्कृतिक घर निर्माणमा पहल गरेको उनले बताए । आफूहरुको संस्कृति लोप हुने अवस्थामा पुगेका कारण हरेक दर्शकले देखुन् र जान्न पाउन् भन्नकै लागि महोत्सवमा सांस्कृतिक घरसँगै उनीहरुको रहनसहन झल्किने परम्परागत औजार तथा खाद्यान्नहरु राखिएको गुरुङको भनाइ छ । यस महोत्सवमा प्रवेश गर्ने जो कोहीको आँखा प्रवेशद्वारसँगै रहेको सांस्कृतिक घरमा गएर ठोक्किने गरी सुरुमै निर्माण गरिएकाले पनि चासोका साथ यसलाई लिइएको छ ।

निकै कलात्मक तरिकाले निर्माण गरिएका घरहरुको छानो खरले छाएका छन् । बाँसले बेरिएको घरमा माटोले लिपपोत गरेर भित्तामा जातीय संस्कृति झल्किने विभिन्न कला र आकृति कोरिएको देख्न पाइन्छ । महोत्सवमा सांस्कृतिक घर निर्माणका लागि तिनै जातिका कालीगढहरु प्रयोग गरिएको थियो । चितवनको भरतपुरमा महोत्सव हेर्न आएका युवा रामप्रसाद खनालले महोत्सवमा रहेका सांस्कृतिक घरले जनजातिको कला र संस्कृतिबारे नजिकबाट बुझ्न आफूलाई मद्दत गरेको बताए ।

‘भावर क्षेत्रमा बसोबास गर्ने चेपाङको बारेमा धेरै सुनेको थिएँ, उनीहरुले खाने कन्दमुलको बारेमा सुनेको थिएँ, तर देख्न पाएको थिइनँ’, खनालले भने, ‘गण्डकी प्रदेश महोत्सवमा आएर चेपाङसहित अन्य जातिको जातीय पहिचानको बारेमा प्रत्यक्षरुपमा देख्न र बुझ्न पाएँ ।’ महोत्सवमा उहाँले जनजातिको परम्परागत घरसँगै उनीहरुको मौलिकता झल्किने खाना तथा संस्कृति राखिनु संस्कृति संरक्षणको राम्रो प्रयास भएको बताए ।

कास्कीको पोखराबाट यस महोत्सवमा पुगेकी सुजाता कुँवरले जीवनमा कहिल्यै अनुभव नगरेको ढिकर, घोँङी देख्न र चाख्न पाउँदा रमाइलो लागेको बताइन् । ‘हाम्रो मौलिकता झल्किने सामग्रीहरुले हाम्रो इतिहास, कला र संस्कृतिबारे बुझ्न त मद्दत गरेकै हुन्छ’, उनले भनिन्, ‘त्यसका साथ साथै आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धनका सँगै संस्कृति संरक्षणमा समेत महत्वपूर्ण टेवा पुर्‍याएको हुन्छ ।’ संस्कृति बुझ्न र उनीहरुले प्रयोग गर्ने परिकार पकाएको र पकाउने तरिकाबारे बुझ्दा खानाका पारखीहरुका लागि फाइदा पुग्ने उहाँको भनाइ छ। 

धर्मका नाममा हुने राजनीतिलाई निषेध गर्नुपर्छ : प्रधानमन्त्री ओली

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले धर्मका नाममा हुने राजनीतिलाई निषेध गर्नुपर्नेमा जोड दिएका छन् ।

बौद्ध विहार संघ ललितपुरको शनिबार अक्षश्वर महाविहारमा आयोजित ४९औँ वार्षिकोत्सव तथा स्वर्ण जयन्ती वर्ष शुभारम्भ कार्यक्रममा उनले धर्म निरपेक्ष हाम्रो मुलुकमा सबैलाई स्वतन्त्रतापूर्वक आफ्नो आस्थाअनुसार धर्ममा लाग्ने अधिकार रहेको तर यसलाई राजनीतिका रूपमा स्वीकार्य गर्न नसकिने दोहोर्‍याए ।

प्रधानमन्त्रीले धार्मिक सहिष्णुता कायम गर्दै अहिंसा, शान्ति र एकताका साथ धार्मिक अभ्यास गर्नुपर्ने बताउँदै भने, ‘बुद्ध धर्म र उनका विचारलाई राजनीतिका लागि दुरुपयोग गर्नुहुँदैन । बुद्धको दर्शन नै शान्ति, अहिंसा र मानवताका लागि हो । कुनै जीवको हिंसा नगर भन्ने बुद्धवादको सार हो । बुद्ध धर्मका शिष्यहरू नै यस धर्मका रक्षक हुन् । हामीले बुद्धवादलाई युवाहरूमाझ फैलाउनुपर्छ । त्यसका लागि म मेरो तर्फबाट सक्दो काम गर्छु । यस धर्ममा करुण, स्नेह र मानवीयता छ । निःस्वार्थपन छ । त्यसैले यसलाई राजनीतिक हिसाबले दुरुपयोग गर्ने कुरालाई निषेध गर्नुपर्छ ।’

पाँच वर्षअघि भियतनाममा भएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा आफूले भाग लिएको र त्यस्ता सम्मेलन संयुक्त राष्ट्रसंघको आयोजनामा नेपालमा गर्ने कुराकानी भएका बेला कोभिड महामारीले असर गरेको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री ओलीले लुम्बिनीमा आफूले पाँच हजार क्षमताको अन्तर्राष्ट्रिय ध्यान केन्द्र निर्माण गराएको स्मरण गरे।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले बुद्धका शिक्षा र दर्शनलाई प्रचार र प्रवर्द्धनमा योगदान दिने लोटस रिसर्च सेन्टर र डुण्डुबहादुर बज्राचार्यलाई सम्मान गरे ।

बौद्ध विहार संघ ललितपुरका अध्यक्ष नानीकाजी शाक्यले पुर्खाहरूले सृजना गरेको बौद्ध धर्मसम्बन्धी सम्पदाले पर्यटन प्रवर्द्धनमा उल्लेख्य योगदान दिएको बताए । बौद्ध विहार संघको स्थापना २०३२ साल मङ्सिर १ गते भएको हो ।

भ्रष्टाचारको विरोध गर्नेहरुलाई सरकारले दबाउन खोज्योः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेको उद्देश्य भ्रष्टाचारीहरुलाई रक्षा गर्ने भएको आरोप लगाएका छन् ।

माओवादी काभ्रे–काठमाडौं सम्पर्क समितिको भेलालाई शनिबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भ्रष्टाचारको विरोध गर्नेहरुलाई सरकारले केही न केही बहानामा दबाउन खोजेको आरोप लगाएका हुन् ।

उनले भने, ‘भ्रष्टाचारीहरुलाई जोगाउनकै लागि अप्राकृतिक ढंगले पहिलो र दोस्रो पार्टी मिलेर सरकार बनाएका छन् । यहाँसम्म आउँदा उनीहरुको उद्देश्य सुशासन होइन, भ्रष्टाचारीहरुलाई रक्षा गर्ने र त्यसका विरोध गर्नेहरुलाई कुनै न कुनै रुपले दमन गर्नेतिर केन्द्रित छन् ।’

उनले कांग्रेस र एमाले जस्ता संसदवादीसँग मिल्दा फोहोर आएकोले पखाल्न पनि नयाँ आन्दोलनमा जानुपर्ने बताए । उनले अहिले सरकारबाट बाहिरिएपछि माओवादीलाई चुनौतीसँगै अवसर प्राप्त भएको बताए ।

रुकुम पश्चिममा बस दुर्घटना हुँदा नौ जना घाइते

त्रिवेणी (रुकुम पश्चिम) । काठमाडौँबाट राडीतर्फ आउँदै गरेको बस रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ रिठामा दुर्घटना हुँदा नौ जना घाइते भएका छन् ।


प्रदेश ३–०१ ००५ ख ९९६६ नम्बरको बस आज भेरी करिडोरअन्तर्गत रिठा नजिकै दुर्घटना हुँदा धादिङ खाग्री गाउँपालिका–१ का ३१ वर्षीय चालक खड्कबहादुर तामाङ, सोही गाउँपालिका–६ का २८ वर्षीय भीमबहादुर भुलन, रुकुम पश्चिमको आठबिसकोट–९ का ३१ वर्षीय प्रकाश गौतम, दोलखा भिमेश्वर नगरपालिका–७ का २६ वर्षीय प्रकाश मगराठी घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी, प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए । 


अन्य घाइतेमा आठबिसकोट–११ का १७ वर्षीय गणेश रसाइली, जाजरकोट नलगाड नगरपालिका–८ का ४५ वर्षिया भीमकुमारी चँदारा, उनका १० वर्षीय छोरा मानबहादुर चँदारा, मोरङ खेरुवा नगरपालिका–५ का २८ वर्षीय आकाश काफ्ने र जाजरकोट नलगाड–१२ की २५ वर्षिया किसङकुमारी विक रहेका छन् । 


घाइते सबै अहिले नगर अस्पताल राडीमा उपचार भइरहको प्रहरी निरीक्षक पाठकले जानकारी दिए । बस अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको थियो ।