`

गुल्मीमा धान उत्पादनमा वृद्धि

गुल्मी ।  गुल्मीमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । गत वर्ष २४ हजार चार सय २६ मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष २५ हजार एक सय ४३ मेट्रिक टन धान फलेको छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख नरेश धितालका अनुसार जिल्लामा धान उत्पादनमा वृद्धि भए पनि धानखेती गरिएको क्षेत्रफल भने यो वर्ष घटेको छ । गत वर्ष सात हजार चार सय ३९ हेक्टरमा धानखेती गरिएकामा यो वर्ष सात हजार दुई सय ८८ हेक्टरमा त्यो सीमित रह्यो ।

समयमा वर्षा, उन्नत तथा हाइब्रिड बीउको प्रयोग, यान्त्रिकीकरण र समयमा रासायनिक मलको उपलब्धताले उत्पादन बढेको हो गत वर्षभन्दा यस वर्ष बर्खे धान उत्पादनमा भने १४ प्रतिशतले कमी आएको छ । यस वर्ष बर्खे धान एक हजार दुई सय ८६ मेट्रिक टन र हिउँदे धान २४ हजार ४३ मेट्रिक टन उत्पादन भएको छ ।

जिल्लाका इस्माको चौरासी, सत्यवतीको जोहाङ, उर्लीखोला कालीगण्डकीको अर्बेनी, कनौटा, छापचौर, सत्यवतीको जुहार खैरेनी, अस्लेवा, चन्द्रकोटको मजुवा, रुपाकोट फाँट धान उत्पादनका निम्ति उर्वर मानिन्छन् ।

मुसिकोट नगरपालिकाको तल्लाफाँट, इन्द्रेगौडा, बडीगाढको सुदी खोलाको आसपासका क्षेत्र, मालिका गाउँपालिकाको सिमलटारी, फूलबारी, मदानेको सिर्सेनी, धुर्कोटको छल्दी र पनाहा फाँट, गुल्मी दरबारको गरमटारी, छत्रकोटको खर्ज्याङ, मनबागलगायत फाँटमा पनि अधिक धान उत्पादन हुने गरेको छ ।

गुल्मीमा हंसराज, झोत्री, काठे, भिनुवा, सानोभट्टे, ठूलोभट्टे, कोडे, मँडियारे, रातोे मार्सी र मार्सीलगायत जातका धान उत्पादन हुँदै आएको छ ।

आगामी साता पूर्वराजा मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रको भ्रमणमा निस्कने

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह आगामी साता मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रको भ्रमणमा निस्कने भएका छन् । संवाद सचिवालयका अनुसार आगामी साता कोमल शाहको साथ ज्ञानेन्द्र मध्यपश्चि र सुदूरपश्चिम क्षेत्रका केही जिल्लाको भ्रमणको सिलसिलामा नेपालगन्ज जान लागेका हुन् ।

भ्रमणको क्रममा विभिन्न शक्तिपीठको दर्शन गर्नुका साथै स्थानीयसँग छलफलको कार्यक्रम पनि तय भएको बताइएको छ ।

ताप्लेजुङको फलेटार र घुन्सा क्षेत्रमा परीक्षणका रूपमा स्याउखेती

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–६ घुन्सा र फलेटारका स्थानीय र केही संस्थाले परीक्षणका रूपमा स्याउखेती गर्न थालेका छन् । ग्याप्ला र फलेटार क्षेत्रमा विगतदेखि नै स्याउखेती हुँदै आएको भए पनि घुन्सामा परीक्षण गरिएको हो ।

इटालीबाट आयात गरिएका ‘फुजी’ र ‘गोल्डेन डेलिसियस’ प्रजातिका बिरुवाले पहिलो पटक फल दिएका छन् ।बिरुवामा फल लागेपछि किसानहरू उत्साहित भएका छन् ।

मनाङ एग्रो फार्मको समन्वयमा बिरुवा ल्याएर परीक्षणका रूपमा रोपिएका र फल लागेकामा दङ्ग स्याउ किसान मिङ्मा शेर्पाले व्यावसायिक रूपमा स्याउखेत गर्न सकिने बताए ।

फलेटार र घुन्सामा दुई रोपनी जग्गामा नमूना स्याउ बगैँचा विस्तार गरिएको छ । स्वीटजरल्याण्डको टोली, स्थानीय समुदाय र पुतली सहयोग योजना नामक संस्थाको साझेदारीमा नमूना स्याउ बगैँचामा दिगो पर्यावरणीय कृषि प्रणाली कार्याक्रमअन्तर्गत नमूना स्याउ बगैँचा सुरु गरेको पुतली सहयोग योजना संस्थाका जिल्ला कार्यक्रम संयोजक दावाछिरिङ शेर्पाले बताए ।

शेर्पाका अनुसार परियोजनाले स्याउ उत्पादनमात्र नभएर अन्य कृषि उपजका माध्यमबाट किसानलाई आर्थिक रूपमा सशक्त बनाउन स्याउखेती गर्न थालिएको हो । घुन्सा स्याउ नमूना बगैँचामा ६० वटा जापनिज फुजी (पोथी), १० वटा गोल्डेन डेलिसियस (भाले) र १० काला (भाले) प्रजातिका स्याउका बिरुवा फल्ने क्रममा रहेको संयोजक शेर्पाले बताए ।

स्याउ बगैँचामा जैविक विविधता कायम गर्न पाँच घार मौरी र कुखुरापालन गरेको संस्थाले जनाएको छ । फलेटार क्षेत्रमा रहेको नमूना स्याउ बगैँंचामा उस्तै प्रकार स्याउका बिरुवा लगाइएको छ । संस्थाले स्याउ बगैँचा हेरचारका लागि एक जना कृषि प्रविधिक राखेको छ भने अन्य सहयोगीको समेत व्यवस्था गरेको छ ।

स्याउखेतीको सम्भाव्यता अध्ययन गर्न फलेटार र घुन्साको माटो तीन वर्षअघि स्वीट्जरल्याण्डमा परीक्षण भएको थियो। यस वर्ष परीक्षणका रूपमा ४०–४० बिरुवा रोपिएको छ ।

प्रारम्भिक नतिजाले स्याउखेती सफल हुने सङ्केत दिएको छ तर पूर्ण रूपमा खेती सफल हुन तीन वर्षसम्मको परीक्षणलाई पर्खनुपर्ने पुतली सहयोग योजनाले जनाएको छ।

स्याउखेती गरिएका क्षेत्रमा कुखुरा र मौरीपालन गरिएको छ । कुखुराको मलले माटो उर्वर बनाउन सहयोग पुर्‍याएको छ भने मौरीले स्याउका फूलको परागसेचनमा योगदान दिएको छ। तर हिउँदमा अत्यधिक चिसोका कारण मौरीपालनमा चुनौती छ ।

इजरायल र लेबनानबीच युद्धविराम सम्झौता

बीबीसी । इजरायल र लेबनानबीच युद्धविराम सम्झौता भएको छ । मंगलबार राति इजरायली सुरक्षा क्याबिनेटले युद्धविरामको प्रस्तावलाई स्वीकार गरेको हो ।

युद्धविराम भएको घोषणा अमेरिकी राष्ट्रपति जो बाइडेनले घोषणा गरेका थिए । इजरायलले हिजबुल्लाहलाई लक्षित गर्दै लेबनानमा आक्रमण गरेपछि दुई देशबीच युद्ध जारी थियो । इजरायलको वार क्याबिनेटले लेबनामा इजरायल र हिजबुल्लाहबीच ६० दिनसम्म युद्धविराम गर्ने सम्झौताको अनुमोदन गरेको छ ।

अमेरिकी प्रतिक्रिया दिएको छ । राष्ट्रपति जो बाइडेनले युद्धविरामको स्वगत गरेका छन् । उनले यसलाई स्थायी युद्धविरामका लागि उठाइएको कदम भनेका छन् । नेतान्याहुले हिजबुल्लाहले सम्झौता उल्लंघन गरे फेरि आक्रमण गर्ने चेतावनी दिएका छन् ।

युद्धविरामभन्दा केही समयपहिले इजरायलले लेबनानमा गरेको आक्रमणमा परी १० जनाको मृत्यु भएको थियो । युद्धविरामलाई संयुक्त राष्ट्रसंघले स्वागत गरेको छ । महासचिव एन्टोनियो गुटेरेसले युद्धविरामको सम्झौतालाई कडाइका साथ पालना गर्न दुवै पक्षलाई आह्वान गरेका छन् ।

स्वास्थ्य क्षेत्रको सुधारका लागि बागमतीका स्वास्थ्यमन्त्री थापाको सक्रियता

काठमाडौं । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले मंगलबार नुवाकोट र रसुवाका स्वास्थ्य संस्थाको अनुगमन तथा निरीक्षण गरेका छन् ।

मन्त्री थापाले नुवाकोटस्थित हाइवे तथा वैकल्पिक चिकित्सालय, जिल्ला जनस्वास्थ्य कार्यालय र त्रिशुली अस्पतालको निरीक्षण गरेका छन् ।

त्यस्तै उनले रसुवा अस्पताल, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रसुवाको निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा मन्त्री थापाले स्वास्थ्य संस्थामा सेवा प्रवाह सहजरुपमा गर्न निर्देशन दिएका थिए । त्यसक्रममा कार्यालय प्रमुखहरुले आआफ्ना कामकारबाही र समस्याबारे मन्त्री थापालाई जानकारी गराएका थिए ।

अनुगमन टोलीमा मन्त्रालयका प्रवक्ता डा. खगेश्वर गेलाल, सांसद डम्बर तामाङ, डब्लूएचओका प्रदेश स्वास्थ्य अधिकृत हरि भूसाललगायत सहभागी थिए ।

मन्त्री नियुक्त भएदेखि नै थापाले प्रदेशमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने घोषणा गरेका थिए । मन्त्री नियुक्त भएलगत्तै थापाले विपन्न परिवारका प्रदेशवासी क्यान्सरपीडितलाई स्वास्थ्य उपचारका लागि एक लाख सहुलियत प्रदान गर्ने निर्णय गरेका थिए ।

त्यस्तै गत असोजमा आएको बाढीपहिरोमा परी घाइते भएका विरामीको निःशुल्क उपचार गराउन मन्त्री थापाले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । त्यस्तै मन्त्री थापाले प्रदेशमा डेंगु रोग नियन्त्रणका लागि पनि पहल गरेका थिए ।

बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय मातहत १३ वटा प्रादेशिक अस्पताल छन् । मन्त्री थापा यी अस्पतालहरुको स्तरोन्नतिदेखि सेवा प्रवाहलाई चुस्त बनाउन आफैं अनुगमन निरीक्षणमा गएर त्यसका लागि योजना बनाउने तयारीमा छन्।

आइसिसीका प्रतिनिधिद्वारा पोखरा क्रिकेट मैदान निरीक्षण

कास्की । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का प्रतिनिधिले पोखरा रङ्गशालास्थित क्रिकेट खेल मैदानको मंगलबार निरीक्षण गरेका छन् ।

आइसिसीको टोलीले सन् २०२७ मा हुने १९ वर्षमुनिको महिला विश्वकपका लागि पोखराको क्रिकेट खेल मैदान निरीक्षण गरेको हो । नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दसहित पोखरा आएको टोलीमा आइसिसीका सिनियर म्यानेजर रोहित पोदार र एसिया रिजनका डेभलपमेन्ट म्यानेजर मोहमद इमान्युल इस्लाम छन् ।

आइसिसी टोलीले पोखरा क्रिकेट खेल मैदानमा विश्वकप क्रिकेट प्रतियोगिता सञ्चालनका लागि रहे पनि आवश्यक पूर्वाधारका लागि सरकारका तर्फबाट निर्माणको प्रतिबद्धता खोजेको गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए ।

उनले भने, ‘पोखरा महिला विश्वकप क्रिकेटका लागि योग्य रहे पनि आवश्यक पूर्वाधार निर्माण हुनुपर्नेमा उहाँहरूको जोड रहेको छ । खेल पूर्वाधार निर्माण गर्न सकेमा पोखरामा विश्वकप सम्भव हुन्छ भन्नुभएको छ ।’

टोलीले आजनै गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापासँग भेट गरेका छन् । भेटमा मन्त्री थापाले प्रदेश सरकार विश्वकपको खेल पोखरामा गर्न आतुर रहेको जनाउँदै सरकारकोतर्फबाट सहयोग गर्ने बताएका थिए ।

पोखरा महानगर प्रमुख धनराज आचार्यले महानगरको तर्फबाट गर्नुपर्ने कार्यका लागि आफू तयार रहेको प्रतिबद्धता जनाए । प्रमुख आचार्यले आइसिसीका प्रतिनिधिलाई विश्वकपका लागि के–के पूर्वाधारको आवश्यकता पर्ने हो त्यसबारेमा जानकारी गराउनसमेत आग्रह गरे ।

यसैगरी नेपाल प्रिमियर लिग (एनपिएल)को टोली पोखरा एभेन्जर्सले कास्की जिल्ला क्रिकेट सङ्घलाई डकआउट (खेलाडी बस्ने ठाउँ) हस्तान्तरण गरेको छ । पोखरा क्रिकेट मैदानलाई घरेलु मैदानको रूपमा लिएको एभेन्जर्सले सो डकआउट हस्तान्तरण गरेको हो ।

चीनसँग राष्ट्र र जनहितका कुरा गर्दा आउने विरोधसँग प्रधानमन्त्री डराउनु पर्दैनः विप्लव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्माले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटरमा भएको भेटमा विप्लवले चीनसँग राष्ट्र र जनहितका कुरा गर्दा आउने अवरोध र विरोधसँग नडराउन आग्रह गरेका छन् ।

भेटमा महासचिव विप्लवले देशको स्थिति जटिल र अराजकता मौलाउन खोजेको भन्दै त्यसको समाधान नयाँ ढङ्गले खोज्नुपर्ने बताए । त्यस्तै भेटमा तीन बुँदे सहमति कार्यान्वयनलगायत समसामयिक राजनीतिक बिषयमा छलफल भएको प्रकाण्डले जानकारी दिएका छन् ।

जवाफमा प्रधानमन्त्री ओलीले तीन बुँदे सहमति कार्यन्वयनमा सरकार दृढ रहेको भन्दै चीन भ्रमण सकेर फर्केपछि यस बिषयमा थप छलफल गर्ने बताएका थिए।

इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा हजारौँको प्रदर्शन

बीबीसी । पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानलाई जेलमुक्त गर्नुपर्ने मागसहित उनका समर्थक विरोध प्रदर्शनमा उत्रिएका छन् ।

हजारौँ विपक्षी प्रदर्शनकारीहरूले डि–चौक भनिने ठूलो चोकमा भेला भएर धर्ना दिने कार्यक्रम गर्न चाहेका थिए । उक्त स्थान राजधानीका सबै सरकारी निकायहरूको नजिकमा पर्दछ ।

नेता इमरान खानका समर्थकहरूको भिडलाई राजधानीको केन्द्रमा पुग्नबाट रोक्ने प्रयासमा सुरक्षा सैन्यसँग विभिन्न झडपका घटनाहरू भएका छन् भने भिडमाथि अश्रुग्यास र रबरका गोली प्रहार गरिएको छ ।

राजधानीका केही क्षेत्रमा सेना समेत परिचालन गरिएको छ । प्रहरीका अनुसार तीव्र गतिमा आइरहेको एक सवारीसाधनलाई रोक्ने प्रयास गरेका चार सुरक्षाकर्मीहरूको ज्यान गएको छ ।

पाकिस्तानका भूतपूर्व क्रिकेट खेलाडीसमेत रहेका नेता खान थुनामा रहँदा पनि देशको राजनीतिमा ठूलो र शक्तिशाली व्यक्तित्व बन्न पुगेका छन् ।

गत फेब्रुअरी महिनामा भएको निर्वाचनमा उनको पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीए) पार्टी प्रतिबन्धित थियो र आफ्ना उम्मेदवारहरूलाई स्वतन्त्र रूपमा निर्वाचनमा खडा गर्नुपरेको थियो। त्यसो हुँदा पनि उक्त पार्टी आफूले उठाएका स्वतन्त्र उम्मेदवारहरूको विजयी सङ्ख्याले गर्दा सबैभन्दा ठूलो एकल समूह बन्न सफल भएको थियो।

दृष्टिविहीन टी–२० विश्वकप क्रिकेटमा नेपालको दोस्रो जित

काठमाडौँ । दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले दक्षिण अफ्रिकालाई पराजित गर्दै लगातार दोस्रो जित दर्ता गराएको छ ।

पाकिस्तानको लाहोरमा मंगलबार भएको खेलमा नेपालले दक्षिण अफ्रिकालाई ११ रनले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको हो ।

यसअघि सोमबार भएको खेलमा नेपालले अफगानिस्तानलाई एक सय आठ रनले पराजित गरेको थियो । यो जितसँगै नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनेको छ । यस्तै त्यसअघि भएको पहिलो खेलमा भने नेपाल श्रीलङ्कासँग र दोस्रो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो ।

नेपालले दिएको एक सय ९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै एक सय ८७ रनमा समेटियो । दक्षिण अफ्रिकाका लागि ओपनर बुहले भिडलाले अविजित रहँदै शतक प्रहार गरे पनि जितका लागि त्यो अङ्क पर्याप्त बनेन । उनले ७१ बल खेल्दै आठ चौकासहित एक सय रनको योगदान दिए । त्यस्तै लेसिबा एफ्राइम माथापो ४६ र एडरिक तेर हारले ६ रनमा बनाए । लेसेडी लेसुफी ११ रनमा अविजित रहे ।

यसअघि पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ९८ रनको योगफल बनाएको थियो । नेपालका ओपनर नरेश चौधरीले सर्वाधिक ८० रन बनाए । उनले ५७ बल खेल्दै चार चौका प्रहार गरे । सागर लामा ४०, पदम बडैला ३४ र भरत थापा ११ रनमा आउट हुँदा सुनिल मगर एक रनमा अविजित रहे । बलिङतर्फ दक्षिण अफ्रिकाका भिडलाले एक विकेट लिए ।

डेडिकेटेड तथा ट्रंकलाइन विवादमा प्राधिकरणलाई उद्योगको लाइन नकाट्न नियमन आयोगको निर्देशन

काठमाडौं । विद्युत् नियमन आयोगले नेपाल विद्युत् प्राधिकरणलाई डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता उठाउँदा लाइन नकाट्न निर्देशन दिएको छ ।

मंगलबार प्राधिकरणलाई पत्र पठाउँदै आयोगले लाइन नकाटी बक्यौता उठाउन निर्देशन दिएको हो । आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले अनुसार मन्त्रिपरिषद्ले जाँचबुझ समिति बनाएकाले त्यसको रिपोर्ट नआउँदासम्म अन्य निर्णय नगर्न प्राधिकरणलाई भनेका छन् ।

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले १५ दिनभित्र महसुल नबुझाए लाइन काट्ने चेतावनी दिएका थिए । मन्त्रिपरिषद्को निर्णयअनुसार प्राधिकरणको सञ्चालक समितिले उद्योगीलाई दिएको समय भोलि सकिँदैछ ।

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई कार उपहार

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले ब्रान्ड न्यू कार प्रदान गर्ने भएको छ । यस संस्करणमा ‘प्लेयर अफ द सिरिज’ घोषित हुने नेपाली खेलाडीले यो विशेष सम्मान पाउने भएका हुन् ।

एनपीएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक प्रालि र क्यानको संयुक्त पहलमा यो सम्झौता गरिएको हो । सम्झौतापत्रमा ब्रान्ड डिजिटल लजिकका प्रमुख कार्यकारी अधिकृत रोशन निरौला र शारडा समूहअन्तर्गतको एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले हस्ताक्षर गरे ।

एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले यो सहकार्यले नेपालमा क्रिकेटको प्रवर्द्धन र विकासका लागि टेवा पुर्याउने विश्वास व्यक्त गरे । ब्रान्ड लजिकका सिईओ रोशन निरौलाले ‘प्लेयर अफ द सिरिज’ का रूपमा यो पुरस्कार नेपालको खेल इतिहासमा हालसम्मको सबैभन्दा ठूलो पुरस्कार भएको बताएका छन् ।

साथै एसपीजी अटोमोबाइल्सको ‘ओमोडा एन्ड जेइको’ले एनपीएलको पहिलो संस्करणमा ‘ड्रिभन बाई’ सह प्रायोजकको रूपमा साझेदारी गरेको छ । एनपीएलको पहिलो संस्करणमा ८ टिमबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता मंसिर १५ देखि पुष ६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आयोजना हुनेछ ।

पार्टी अध्यक्ष र महासचिवमाथि गाली गरेको आरोपमा एमाले प्रदेश सांसद चौधरी निलम्बित

काठमाडौं । नेकपा एमालेले लुम्बिनी प्रदेशसभा सदस्य दुर्गा चौधरीलाई पार्टीबाट निलम्बन गरेको छ । सांसद चौधरीले पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसहितको मानहानी गरेको आरोपमा पार्टीको जिल्ला कमिटी बाँकेले उनलाई सबै जिम्मेवारीबाट निलम्बन गरेको हो ।

पार्टीका बाँके जिल्ला अध्यक्ष निरक गुरुङले मंगलबार पत्र जारी गरी चौधरीलाई पार्टीबाट निलम्बन गरिएको जानकारी दिएका हुन् ।

चौधरीले पार्टी अध्यक्ष ओली र महासचिव पोखरेलसहितको मानहानी हुने गरी सार्वजनिक रुपमा गालीगलौज गर्ने, समाजिक सञ्जालमा लेख्ने, कार्यकर्तालाई खुइल्याउने र पार्टीविरुद्धमा समाचार लेखाउने जस्ता गतिविधि गरेको आरोप छ । चौधरी बाँके क्षेत्र नम्बर १ (ख) बाट लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित सांसद हुन् ।

एसिया कप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौँ । एसिसी यु–१९ एसिया कपमा सहभागी हुन संयुक्त अरब इमिरेट्स (युएई) तर्फ लागेका नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान)ले सफलताको शुभकामना दिँदै बिदाइ गरेको छ ।

क्यानद्वारा मंगलबार आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङ, क्यानका सचिव पारस खड्कालगायतले नेपाली टोलीलाई बिदाइ गरेका हुन् ।

एसिया कप यही मङ्सिर १४ देखि २३ गतेसम्म हुँदैछ । उक्त प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ । नेपालको समूहमा अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्का छन् । नेपालले प्रतियोगिता उद्घाटनकै दिन श्रीलङ्कासँग खेल्नेछ । त्यस्तै नेपालले दोस्रो खेल १६ गते बङ्गलादेशसँग खेल्नेछ भने तेस्रो खेल १८ गते अफगानिस्तानसँग खेल्ने छ ।

टोलीको मुख्य प्रशिक्षकमा शक्ति गौचन छन् भने सहायक प्रशिक्षकमा धिरेन्द्र चन्द छन् । मुख्य प्रशिक्षक गौचनले नेपाली टोलीले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । 

नेपाली टोलीको कप्तानमा हेमन्त धामी छन्भने उपकप्तानमा अर्जुन कुमाल छन् ।  त्यस्तै टोलीको अन्य सदस्यमा आकाश त्रिपाठी, रञ्जित कुमार,उत्तम थापामगर, मायन यादव, नरेन साउद, युनिशविक्रम सिंह ठकुरी, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, नरेन भट्ट, विपिनकुमार महतो, अपराजित पौडेल र अभिषेक तिवारी छन् ।

सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षाको दायरालाई विस्तार गरिने घोषणा गरेका छन् ।
सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषद्वारा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्रीले आगामी ९० दिनपछि योगदानकर्ताका छोराछोरी पनि कोषबाट लाभान्वित हुने र एक लाखभन्दा बढी उपचार खर्च लाग्ने योगदानकर्तालाई कूल खर्चको ५० प्रतिशत कोषबाट व्यहोरिने घोषणा गरे ।

प्रधानमन्त्री ओलीले संविधानमा भएको मौलिक हकका व्यवस्था र दायित्वप्रति सरकार जिम्मेवार र जवाफदेही हुने बताउँदै मुलुकलाई समृद्ध बनाउन सरकार क्रियाशील रहेको बताए ।

त्यस अवसरमा कोषअन्तर्गत बढी योगदानकर्ता र सेवा प्रदायक व्यक्ति र संस्थालाई प्रधानमन्त्रीले पुरस्कार प्रदान गरे ।

कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र

काठमाडौं । स्थानीय तहको उपनिर्वाचन नजिकिएसँगै कीर्तिपुर नगरपालिकामा प्रचार–प्रसार तीव्र रुपमा अघि बढेको छ । राजनीतिक पार्टीसम्बद्ध उम्मेदवारहरू पार्टीको झण्डा र ब्यानरसहित जनताको घरदैलो पुगी आफ्नो पक्षमा मत माग्न व्यस्त देखिन्छन् ।

यसैगरी, स्वतन्त्र उम्मेदवारहरू पनि राजनीतिक पार्टीहरू असफल भएको भन्दै विकल्पका रूपमा साथ दिन जनतासँग अनुरोध गर्दैै दौडधुप गरिहेका भेटिन्छन् ।

कीर्तिपुर नगरपालिकामा प्रमुख र दुईवटा वडाअध्यक्षका लागि चुनाव हुन लागेकाले अन्य विषयवस्तु ओझेल पर्नेगरी चुनावी सभा र घरदैलो अभियानले यतिबेला कीर्तिपुरको राजनीतिक माहोल तातिएको अवस्था छ ।

यही मङ्सिर १६ गते हुन गइरहेको उपनिर्वाचनअन्तर्गत कीर्तिपुर नगरपालिकाको प्रमुखमा राजनीतिक दलका आठ र स्वतन्त्र १२ गरी २० जनाले उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका कृष्णमान डङ्गोल हाल घरदैलो अभियानमा व्यस्त छन् । उनले कीर्तिपुरको विकास र सम्पदा संरक्षण आफ्नो मुख्य मुद्दा भएको बताए ।

‘कीर्तिपुरका सम्पदा संरक्षण गर्दै विकास कार्य अघि बढाउँछु, यसो गर्दा कीर्तिपुरलाई सांस्कृतिक सहरमा परिणत गर्न सकिन्छ भन्ने विश्वास छ’, उनको भनाइ छ ।

आर्थिक अभावका कारण कोही पनि बालबालिकालाई विद्यालय जानबाट वञ्चित हुन नदिने र विद्यालयमा प्राविधिक शिक्षा अघि बढाउने आफूसँग स्पष्ट योजना रहेको उनले बताए ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नगरप्रमुखका उम्मेदवार डा सुरेन्द्र मानन्धर आमजनतासँग जोडिएको विकास निर्माणसँग सम्बन्धित प्रक्रिया अघि बढाउँदा स्थानीय जनताको भावना र विषयविज्ञका रायसुझावसहित जनता केन्द्रित कार्यक्रमले प्राथमिकता पाउनुपर्छ भन्ने पक्षमा आफू रहेको स्पष्ट गरे ।

‘कीर्तिपुरलाई कीर्तिपुरकै सांस्कृतिक र प्राकृतिक सम्पदाहरुले पाल्न सक्छन् भन्ने विश्वास मलाई छ । ती सम्पदाको विकास र प्रयोग गर्दै ‘एआई’सँग रमाइरहेका अहिलेको ‘स्मार्ट’पुस्ता सुहाउँदो कीर्तिपुर बनाउने मेरा योजना छ’, उनले भने ।

कीर्तिपुरको सबैभन्दा ठूलो समस्या अव्यवस्थित र खाल्डाखुल्डीयुक्त सडक भएको बताउँदै डा मानन्धरले त्यसलाई सडक बोर्ड बनाएर स्थायी समाधान गर्ने अवधारणा आफूसँग रहेको बताए ।

नेकपा (माओवादी केन्द्र)का तर्फबाट प्रमुखमा उम्मेदवारी दिएका प्रा.डा शिवशरण महर्जन कीर्तिपुरमा समृद्धि ल्याउनु नै आफ्नो मुख्य ‘एजेन्डा’ रहेको बताउँछन् ।

उनले नगरपालिकाका कामकाजमा सुशासन कायम गर्ने, पुस्तकालय एवं सङ्ग्रहालय स्थापनासहित विकास निर्माणलाई जोड दिने तथा त्रिभुवन विश्वविद्यालयसँग नगरपालिकाको समन्वय गराउने पक्षमा आफ्नो उम्मेदवारी रहेको बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दिएका इन्जिनियर ध्रुव महर्जन नगरपालिकामा सुशासन, खानेपानीको उचित व्यवस्थापन र सार्वजनिक विद्यालयमा प्राविधिक शिक्षाको व्यवस्था आफ्नो मुख्य चुनावी एजेण्डा रहेको बताउँछन् ।

नेपाल मजदुर किसान पार्टीले श्रीकृष्ण महर्जनलाई उम्मेदवार बनाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले कीर्तिपुर नगरपालिकामा उम्मेदवारी दिएको छैन ।

यसैगरी नगरप्रमुख पदमा उम्मेदवारी दिने स्वतन्त्र उम्मेदवारहरुले पनि चुनावी प्रचार–प्रसार अघि बढाएका छन् । उनीहरूले विकास निर्माण, सुशासन, सांस्कृतिक सम्पदाको संरक्षण गर्न यसअघि राजनीतिक पार्टीबाट निर्वाचित मेयरहरू असफल भएको भन्दै यसपटको निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई साथ दिन कीर्तिपुरवासीसँग आग्रह गरेका छन् ।

यसरी स्वतन्त्र उम्मेवारका पक्षमा मतदान गर्न आग्रह गर्नुहुनेहरूमा कविकुमार महर्जन, नरेश महर्जन, आनन्द महर्जन, राजमान मानव, डा नवरथ बानियाँलगायत छन् ।

प्रमुखबाहेक कीर्तिपुर नगरपालिका–१ र ४ मा वडाअध्यक्ष पदका लागि हुन गइरहेको उपनिर्वाचनमा पनि प्रमुख राजनीतिक पार्टीसहित स्वतन्त्र उम्मेदवारहरूले निर्वाचन प्रचारप्रसारलाई तीव्र बनाएका छन् । सबैजसो उम्मेदवारहरूले वडास्तरीय विकास र सुशासनलाई चुनावी मुद्दा बनाएको देखिन्छ ।

दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतमा उपस्थित गराइयो

काठमाडौँ । साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालत लगिएको छ ।

प्रसाईंलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै छोरा निराजनले गत शुक्रबार बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरेका थिए ।

सर्वोच्चमा अहिले उनको बयान चलिरहेको छ । प्रसाईं गत आइतबार वीर अस्पताल भर्ना भएका थिए । अदालतले आइतबार उनलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

शेयर बजारमा सात अर्ब ४४ करोडको कारोबार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार बढेको छ । मंगलबार नेप्से ३३ दशमलव ४१ अङ्कले बढेर दुई हजार सात सय १६ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स, अन्य, लगानी समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, युनाइटेड आईडीआई मर्दी आरबी हाइड्रोपावर र कुथेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन थ्री स्टार हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ । आज कारोबार रकम पनि बढेको छ ।

आज तीन सय १२ वटा कम्पनीका एक करोड ४२ लाख कित्ता शेयर सात अर्ब ४४ करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनीको ४५ करोड रुपैयाँको शेयर किनबेच भयो ।

धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर

झापा । मेचीनगर नगरपालिका-९ र १० स्थित धुलाबारी बजार क्षेत्रमा सडक अतिक्रमण गरेर वर्षौँदेखि बनाइएका घर टहरा नगरपालिकाले आजदेखि हटाउन थालेको छ । विश्व बैंकको सहयोगमा सडक स्तरोन्नति हुन लागेकाले अतिक्रमित संरचना छिटो हटाउनु पर्ने बाध्यता भएको नगरप्रमुख गोपाल बुढाथोकीले बताए ।

धुलाबारी बजार क्षेत्रको सहिद मार्गमा विश्व बैंकको सहयोगमा सहरी शासकीय सुधार तथा पूर्वाधार आयोजना अन्तर्गत रु. २७ करोड २१ लाख तीन हजार नौ सय ३१ बजेटमा पाँच दशमलव तीन किलोमिटर सडक कालो पत्रसहित स्तरोन्नति सुरु गरिएको छ ।

उक्त सडक १२ मिटर चौडाइ, दुई लेन र ड्रेनसहित बन्ने भएको हो । सडकको पूर्वतर्फको आधा भागमा ठूला पक्की घर र पसल बर्सौँ अघि थिए । आज बिहानदेखि नगरपालिकाका नगर प्रहरीहरू डोजरसहित ती संरचना भत्काउन खटिएका छन् । धुलाबारी मोडदेखि उत्तरतर्फ एक सय मिटरको दूरीमा रहेका अतिक्रमित सबै संरचना भत्काइएका छन् ।

भत्किएको स्थानबाट घरधनी तथा पसलेहरूले आफ्ना सामान सुरक्षित स्थानमा सारेका छन् । मेचीनगर-१० का वडाध्यक्ष नारायण खनालले सडक मिचेर बनाइएका सबै संरचना हटाइने जनाउँदै पाँच दिनभित्रमा सडकको ४२ मिटर क्षेत्र खाली गरिने बताए । बजार क्षेत्रमा अतिक्रमण गरेर ५२ वटा सटर बनेको वडाध्यक्ष खनालले बताए । उनले भने, “सडकको मापदण्डभित्र ४२ मिटर क्षेत्र पर्छ । त्यसभित्रका संरचनामा डोजर चल्छ ।”

धुलाबारी मुलुककै पुरानोमध्येको एक बजार हो । कुनै बेला हङकङ मार्केटको रूपमा यसको ख्याति दार्जिलिङ, कोलाकाता, आसाम र भुटानसम्म फैलिएको थियो । उताका व्यवसायी तथा धनाढ्यहरू महँगा चिनियाँ सामान किन्न धुलाबारी आउने गर्थे । भारत र चीनबीच नाका खुला गर्ने नयाँ व्यापार सम्झौता भएपछि धुलाबारी बजार सुस्ताउँदै गएको थियो ।

गुल्जार भएका बेला धुलाबारी बजार क्षेत्रमा व्यापारिक उद्देश्यले जथाभाबी घर तथा पसल निर्माणको लहर चल्यो । त्यही बेला पक्की संरचना सडक सीमा क्षेत्रभित्रै बनेका थिए । विसं २०८२ असार ३१ गतेभित्र निर्माण पूरा गर्ने गरी भारत विहारको निर्माण कम्पनी एनएनटी डेभलोपर्स प्रालिले सडकको ठेक्का पाएको छ ।

नेटो र युक्रेनबीच नयाँ रूसी क्षेप्यास्त्र प्रहारका विषयमा वार्ता

ब्रसेल्स । युक्रेन र नेटोका ३२ सदस्य राष्ट्रका राजदूतहरूले गत हप्ता रूसले प्रयोगात्मक हाइपरसोनिक मध्यवर्ती दूरीको क्षेप्यास्त्र प्रहार गरेको विषयमा केन्द्रित रहेर मङ्गलबार ब्रसेल्समा भेट वार्ता गरेका छन् ।

रूसले बिहीबार युक्रेनी सहर डिनिप्रोमा आक्रमण गरेको थियो जसलाई राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो नयाँ ओरेसनिक मिसाइलको परीक्षण भएको बताएका थिए ।

क्रेमलिनका नेताले युक्रेनलाई रूस विरुद्ध आफ्नो हतियार प्रयोग गर्न दिने देशहरूमा सैन्य सुविधाहरूमा आक्रमण गर्न मस्कोलाई ‘अधिकार’ प्राप्त भएको भएको चेतावनी दिएका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणलाई रूसको मुर्खाता भन्दै पछिल्लो लडाइँ र नयाँ खतरालाई सामना गर्न अद्यावधिक हवाई–रक्षा प्रणालीका लागि अपील गरेका हुन् ।

नेटो–युक्रेन काउन्सिलको बैठक पछि किभले ‘ठोस र अर्थपूर्ण परिणामहरू’ प्राप्त गर्ने आशा गरेको छ । यद्देपी नेटोका कूटनीतिज्ञ र अधिकारीहरूले मङ्गलबारको परामर्शबाट कुनै नतिजाको खुलासा गरेका छैनन् ।

मस्कोको नयाँ हतियारको तैनातीले “नेटोका सहयोगीलाई युक्रेनलाई समर्थन गर्नबाट नरोक्ने वार्ताका सहभागीहरुले जनाएका छन् ।

बैठकले युक्रेनको हालको सुरक्षा अवस्थाबारे छलफल गरी भिडियो लिङ्कमार्फत युक्रेनी अधिकारीहरूबाट ब्रीफिंग समावेश गर्ने नेटोका एक अधिकारीले बताएका छन् ।

मुख्य नेटो शक्ति संयुक्त राज्य अमेरिकामा डोनाल्ड ट्रम्प पुनः निर्वाचित भएपछि पश्चिमी समर्थनको भविष्यका बारेमा प्रश्नहरू उठिरहेको समयमा युक्रेनलाई तनाव बढेको छ ।

ट्रम्पले किएभका लागि वासिङ्टनको सैन्य सहायता कायम राख्नमा शङ्का व्यक्त गर्दै युद्ध अन्त्य गर्न द्रुत सम्झौताको वाचा गरेका छन् ।

नेटोका वरिष्ठ कमान्डर रोब बाउरले भने, ‘म कल्पना गर्न सक्दिन कि पुटिनलाई विजेताका रूपमा ती सम्भावित वार्ताबाट बाहिर निस्कन अनुमति दिनु अमेरिकाको हितमा छ ।’ युद्ध मैदानमा युक्रेनका थकित सैनिकहरू देशको पूर्वमा रूसी सेनाको प्रगति रोक्न सङ्घर्ष गरिरहेका छन् ।

नेटो र युक्रेनले सन् २०२३ मा संयुक्त परिषद्को स्थापना गरी किएभलाई उपयुक्त देखिएमा गठबन्धनसँग बैठक बोलाउन अनुमति दिएका थिए ।

क्रसर उद्योग नवीकरण गर्न सरकारसँग महासंघको माग

काठमाडौँ । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घले कानुन अनुसार दर्ता भएका क्रसर, बालुवा तथा खानी उद्योगबाट नियमानुसार दस्तुर लिई अविलम्ब नवीकरणको व्यवस्था मिलाउन माग गरेको छ ।

महासङ्घले मंगलबार ‘तेस्रो महाधिवेशनबाट निर्वाचित कार्यसमितिको पदभार ग्रहण तथा सम्मान’ कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रमका सहभागीले २०७७ सालमा क्रसर, बालुवा उद्योगमाथि लगाइएको दुरीसम्बन्धी मापदण्डबारे सर्वोच्च अदालतको आदेशमा मापदण्डलाई अति लचकता अपनाइ पुनःविचार गर्न भने तापनि हालसम्म मापदण्ड संशोधन नगरेकाले व्यवहारिक हुनेगरी संशोधन गर्न माग गरेको छ ।

महासङ्घका नवनिर्वाचित अध्यक्ष सीताराम न्यौपानेले प्रशोधित निर्माणजन्य सामाग्री विदेश निर्यात गर्ने व्यवस्था गरी देशलाई आर्थिक लाभ हुने मार्ग प्रशस्त गर्न सरकारसँग अनुरोध गरे ।

महासङ्घको हालै सम्पन्न महाधिवेशनले अध्यक्षमा न्यौपाने, वरिष्ठ उपाध्यक्षमा चन्द्रमणि अधिकारी, क्षेत्रीय उपाध्यक्षमा कोशी प्रदेशबाट रोहितबहादुर कार्की, मधेशबाट रामनारायणप्रसाद यादव, बागमतीबाट देवराज लुइँटेल, गण्डकीबाट लीलाधर बराल र लुम्बिनीबाट मीनबहादुर शाही निर्वाचित भएको छ । महासचिवमा देवराज तामाङ चुनिएको छ ।

महाधिवेशनमा देशभरका सात सय ८० क्रसर बालुवा तथा खानी उद्योगका प्रतिनिधि सहभागी थिए । सोही अवसरमा प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले क्रसर उद्योगमा देखिएका समस्या समाधानमा सहयोग गर्ने प्रतिबद्धता जनाए । 

नेपालमा स्की खेलको सम्भावना

-राजु सिलवाल

विश्व मानचित्रमा नेपाल साहसिक खेलकुदका लागि महत्वपूर्ण गन्तव्यका रुपमा परिचत रहँदै आएको छ । बर्सेनि हजारौँ आरोही हिमाल आरोहणलगायतका साहसिक गतिविधिमा सहभागिता जनाउन नेपाल आउने गरेका छन् । विश्वको विभिन्न मुलुकका आरोहीहरुलाई गन्तव्यसम्म लैजाँदै सफलता दिलाउन खासगरी हिमाली भेगका शेर्पा, तामाङ समुदायका पर्वतीय पथ प्रदर्शकहरुले रुपमा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेका छन् । सगरमाथा आरोहण गर्ने आरोहीहरुमा सबैभन्दा बढी सङ्ख्या नेपालीकै रहेको छ ।

यस्तै, अन्य मुलुकमा समेत नेपाली पथप्रदर्शकले यस्ता साहसिक गतिविधिमा सक्रियता जनाउने गरेका छन् । तर उच्च भागमा खेलाइने अन्तर्राष्ट्रिय खेलकुद गतिविधिमा नेपालको सहभागिता उल्लेख्य हुन सकेको छैन । वाल क्लाइम्बिङ जस्ता प्रतियोगिता ओलम्पिकमा समावेश गरिएको छ । यस्तै हिउँमा खेलाइने स्की जस्ता साहसिक खेलकुद हिउँदे ओलम्पिक तथा एसियाली खेलकुदमा समावेस गरिएको भएता पनि नेपालले हालसम्म त्यस्ता खेलकुदमा कुनै पहिचान कायम गर्न सकेको छैन् ।  पर्याप्त सम्भावना भएर पनि नेपालमा यस्ता साहसिक खेलको विकासमा अपेक्षित उपलब्धि हासिल गर्न नसकेको वास्तविकता छ । हिमालै हिमालको देशको रूपले परिचित नेपालका डाँडाकाँडामा पर्ने हिउँले स्की खेललाई सम्भावना प्रस्टाउँछ  । उत्तरतर्फ चाँदीजस्तै टलक्क टल्कने हिमाल, हिमचुली र मौसममा पर्ने हिउँका कारण स्की नेपालका लागि धेरै सम्भावना भएको खेल हो ।

नेपालमा हालसम्म पनि सयौं यस्ता हिमालहरु छन्, जसको हालसम्म नामाकरण गर्न समेत सकिएको छैन । यसैगरी विश्वमै प्रसिद्धी कमाएका विभिन्न हिमालहरुमा पनि पर्वतारोहणवाहेक हिउँमा गर्न सकिने विभिन्न गतिविधि खासै सञ्चालन हुन सकेका छैन । संसारमा रहेका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालमध्ये आठ वटा हिमाल नेपालमै पर्दछ । यसमध्ये विश्वको सर्वोच्च शिखर सगरमाथा पनि एक हो । नेपालमा रहेका हिमालहरु आरोहणका लागि विश्व प्रसिद्ध मानिएको छ । यस्तै पदयात्राका लागि पनि नेपालका महत्वपूर्ण हिमालहरु आकर्षक गन्तव्यका रुपमा परिचित छन् । विगत केही वर्ष अघिदेखि नेपालका केही हिमालमा खेलाइने स्की जस्ता खेल पनि विश्वमा लोकप्रिय बन्दै गइरहेको छ ।

नेपालका अन्नपूर्ण, मनास्लु, धवलागिरिलगायतका हिमालमा स्की खेल खेलाइने गरिएको छ । धवलागिरि पुठा हिउँचुली स्कीका लागि लोकप्रिय मानिएको छ । यसैगरी केही वर्षदेखि मेरापिक, यालापिकजस्ता हिमालमा आरोहण तथा स्की गराइने गरिएको छ । थोरङ्गला पास, मुक्तिनाथ जस्ता पर्वतीय क्षेत्रमा पदयात्रा तथा स्की साथसाथै गराइने गरिएको छ । अछामको खप्तड, बागलुङको ढोरपाटन र दोलखाका विभिन्न स्थामा स्की खेल्न सकिन्छ ।

राष्ट्रिय स्की च्याम्पियनसीपको तयारी 

नेपालका हिमाली भेगमा विगत केही वर्षदेखि स्की खेलसम्बन्धी प्रतियोगिता आयोजना हुँदै आइरहेको छ । अग्ला हिमाल र चुली प्रशस्त रहेको नेपालमा हिउँमा चिप्लिएर खेलिने साहसिक खेल स्कीको विकास एवम् प्रवद्र्धनको प्रयास सुरु भएको छ । नेपाल स्की सङ्घले आगामी जनवरी महिनाको अन्यसम्ममा स्की खेलको पाचौं राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने लक्ष्य राखेको जानकारी सार्वजनिक भएको छ । नेपालमा सन् २००६ मा स्की सङ्घको स्थापना भएको थियो । सङ्घले २०७२ सालको भूकम्पपछि रसुवाको क्यानजिङमा राष्ट्रिय स्की च्याम्पियनसीपको आयोजना गरेको थियो ।

विगतमा राष्ट्रिय प्रतियोगिता भैसकेको मुस्ताङमा यसपालि पनि प्रतियोगिता गर्ने लक्ष्य राखिएको छ । स्की प्रतियोगिता सञ्चालन गर्न सकिने अन्य स्थानको पनि खोजी भैरहेको छ । दुई वर्षदेखि स्कीको राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सकिएको छैन । एमेच्योर खेलाडीहरुले स्की खेल्न सक्ने सम्भावित स्थानहरुमा हिउँ नपरेको कारण प्रतियोगिताको आयोजना गर्न नसकिएको हो ।

ओलम्पिकमा प्रतिनिधित्व 

नेपालले सन् २००२ को हिउँदे ओलम्पिकमा पहिलोपटक स्की खेलमा प्रतिस्पर्धा गरेको थियो । त्यतिखेर जयराम खडकाले डेढ किलोमिटर दूरीको प्रतिस्पर्धा चार मिनेट ४८ दशमलव ४ सेकेण्ड टुङ्ग्याई ७० औं स्थान प्राप्त गर्नु भएको भने १० किलोमिटर दूरीको प्रतिस्पर्धामा भने ७९ औं स्थान हासिल गर्नु भएको थियो । त्यसपछि नेपालको विभिन्न हिउँदे ओलम्पिक तथा हिउँदे एसियाली खेलकुदमा सहभागिता रहेको थियो । तर त्यतिखेर विदेशमा रहेका नेपालीहरुलाई नेपालको तर्फबाट प्रतिनिधित्व गराइने गरिएको थियो । सन २०१४ देखि विभिन्न कारणले नेपालको हिउँदे ओलम्पिकमा सहभागिता हुन सकेको छैन ।

सन् २०१४ मा रसियाको सोचीमा आयोजित हिउँदे ओलम्पिकमा स्विजरल्याण्डमा बस्ने नेपाली दाछिरी शेर्पाले नेपालको प्रतिनिधित्व गर्नु भएको थियो । त्यतिखेर १५ किलोमिटरको क्रस कन्ट्री स्की प्रतियोगितामा उहाँ ८६ औं हुनु भएको थियो । शेर्पाले विभिन्न दुई वटा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्नु भएको थियो । सोची ओलम्पिकपछि दुई वटा हिउँदे ओलम्पिकमा नेपालको सहभागिता हुन सकेन । कोभिडको प्रकोपलगायत अन्य कारणले हिउँदे ओलम्पिकमा सहभागी नभएको नेपालले सन् २०२६ मा इटलीको टोरिनोमा आयोजना हुने हिउँदे ओलम्पिकमा भाग लिनका लागि नेपाली खेलाडीको छनोट गरिने भएको छ ।

चीनको डारबिनमा यही फेब्रुवरीमा हुन गइरहेको हिउँदे एसियाली खेलकुदमा पनि नेपालले भाग लिने निश्चित भैसकेको छ । यसअघिका हिउँदे एसियाली खेलकुदमा पनि नेपाली स्की खेलाडीहरुले खेल्दै आइरहेका छन् । बिगतमा जस्तो विदेशमा रहेका नेपालीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाउनु पर्ने अवस्था अहिले छैन । नेपाल स्की सङ्घले नेपालमै खेलाडीहरुको उत्पादन गरी हिउँदे एसियाली खेलकुद, युथ ओलम्पिक जस्ता प्रतियोगितामा भाग लिन पठाउने गरेको छ । तर नेपालमा स्की खेलका लागि आवश्यक भौतिक पूर्वाधारको व्यवस्था गर्न सकिएको छैन । नेपालमा स्की प्रशिक्षण केन्द्र नभएकाले खेलाडीहरुलाई विदेशमा प्रशिक्षणका लागि पठाउनु पर्ने अवस्था रहेको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको छात्रवृत्तिको आधारमा खेलाडीहरुले यस्ता महत्वपूर्ण प्रशिक्षण हासिल गर्ने अवसर पाउने गरेका छन् ।

पर्वतीय प्रशिक्षण प्रतिष्ठानको सक्रियता 

नेपालमा पर्वतारोहणसम्बन्धी स्नातकोत्तर स्तरसम्म अध्यापन सञ्चालन गर्दै आइरहेको नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले पनि स्की खेलको विकासका लागि प्राथमिकता दिएको छ । अन्तर्राष्ट्रिय पर्वतीय पथप्रदर्शक बन्नका लागि स्कीको प्रशिक्षण अनिवार्य भएकाले प्रतिष्ठानले विगतमा भारतको मोनालीमा पथप्रदर्शकहरु पठाउने गरेको थियो । हाल यस्तो प्रशिक्षणका लागि नेपाली प्रशिक्षकहरुलाई स्विजरल्याण्ड तथा फ्रान्समा पठाउने गरिएको छ । यसबाहेक विदेशमै स्कीसम्बन्धी प्रशिक्षण लिएर अन्तर्राष्ट्रिय पथप्रदर्शक बन्नेहरु पनि बढ्दैछन् । यस्ता तालिम प्राप्त जनशक्तिलाई हिउँदे ओलम्पिक तथा एसियाली खेलकुदमा खेलाडी तथा प्रशिक्षकका रुपमा सहभागी गराउनसके नेपाल पदकको दाबेदार बन्न सक्ने सम्भावना नकार्न सकिँदैन ।

नेपालमा स्की खेलको प्रचुर सम्भावना भए पनि त्यसको विकास तथा विस्तारका लागि सरकारको सक्रियता अपेक्षित मानिएको छ । स्कीको सम्भावना भएका हिमालहरु खुल्ला गर्दै त्यस्ता गतिविधिमा इच्छुक नेपालीहरुको संलग्नता पनि बढाउँदै लैजानु पर्दछ । साहसी आरोहीका रुपमा विश्व कीर्तिमान कायम गरिसकेका नेपालीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा समावेश गराउन सरकारका तर्फबाट ठोस कदम अपेक्षित मानिएको छ । आगामी दिनमा यस्ता तालिम प्राप्त जनशक्तिलाई खेलाडी तथा प्रशिक्षकका रुपमा सहभागी गराउन सके नेपालले हालसम्म पाउन नसकेको ओलम्पिक पदकको दाबेदार बन्नसक्ने सम्भावना रहेको छ ।

हिमालको आधारशिविर, चुली एवम् हिमाली क्षेत्रमा हिउँ पाइने भएकाले स्की खेलको विकास गरेर पर्यटक आकर्षित गर्न सकिन्छ । स्की तथा स्नोबोर्डिङ नेपालमा पर्यटक आकर्षित र प्रवद्र्धन गर्ने साहसिक खेलका रुपमा विकास गर्न सकिन्छ । दक्षिण कोरिया, चीन, स्विट्जरल्याण्डलगायत पहाड भएका देशले साहसिक खेलकै माध्यमबाट पर्यटक भित्र्याएर करोडौँ नगद जम्मा पारेका छन् । स्की खेल विशेषगरी युरोपमा निकै लोकप्रिय छ । दक्ष खेलाडी उत्पादन गरी राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा खेलको विकास गर्दै पर्यटनसँग जोड्न सके स्कीले फड्को मार्ने र यसतर्फ आकर्षण बढ्ने देखिन्छ ।

(लेखक खेल पर्यटनका जानकार हुनुहुन्छ)

सरकारले बीआरआईमा ऋण लिँदैनः सञ्चारमन्त्री गुरुङ

काभ्रे । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चिनियाँ परियोजना बेल्ट एण्ड रोड इनिसिएटभ (बीआरआई) अन्तर्गत सरकारले ऋण नलिने स्पष्ट गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी साता हुने चीन भ्रमणका क्रममा सरकारले ऋण नलिने तर अनुदान सम्झौता गर्नसक्ने उनले बताए ।

काभ्रेपलाञ्चोकबाट सञ्चालित ‘मदानी बिट डटकम’ समाचार ‘पोर्टल’को प्रथम वार्षिकोत्सवका अवसरमा मंगलबार धुलिखेलमा आयोजित कार्यक्रममा उनले भने,’बीआरआई लागू गर्ने वा नगर्नेबारे दुई कोणबाट विचार आइरहेको छ, तर सरकार बिआरआई सम्झौता गरिहाल्नुपर्छ, भन्नेमा छैन, एमओयू गरेकाले कार्यान्वयन गर्नुपर्छ ।’

उनले सरकारको नीति जहाँबाट पायो त्यहाँबाट ऋण लिने पक्षमा नभएको दोहोर्याए । उनले भने, ‘जुनसुकै मुलुकबाट हामी ऋण लिइहाल्दैनौँ, अनुदान भने लिन्छौँ, चीनले अनुदान दिएमा त्यो स्वीकार गर्छौं, त्यसमा सम्झौता हुनसक्छ ।’ 

मन्त्री गुरुङले बीआरआईप्रति मतान्तर हुनु अस्वाभाविक नभएको उल्लेख गर्दै भने,’बुझेर बीआरआई परियोजनामा सम्झौता गर्ने देशहरुले राम्रो पनि गरिराखेका छन्, ती मुलुकमा ती आयोजना ‘गेम चेन्जर’का रुपमा कार्यान्वयन भएका हामीले देखिरहेका छौँ।’ 

सन् २०२३ मा ८५ हजार महिला तथा बालिकाको हत्या : राष्ट्रसंघ

भियना ।  सन् २०२३ मा विश्वभर करिब ८५ हजार महिला तथा बालिकाको हत्या भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। जसमा ६० प्रतिशत हत्या साथी तथा परिवारका सदस्यहरूद्वारा गरिएको उल्लेख छ।

संयुक्त राष्ट्रसंघको लागुऔषध तथा अपराध कार्यालय (युएनओडिसी) र राष्ट्रसंघको महिला विभागले महिलाविरुद्धको हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस मनाउन प्रकाशित गरेको प्रतिवेदनले गत वर्ष हरेक १० मिनेटमा एक महिलाको हत्या भएको जनाएको छ।

प्रतिवेदनअनुसार अफ्रिकाले गत वर्ष साझेदार र परिवारसँग सम्बन्धित महिला हत्याको उच्चतम दर रेकर्ड गरेको छ। त्यसपछि अमेरिका र ओसिनिया रहेका छन्।

प्रतिवेदनले अपराधीहरूलाई जवाफदेही बनाई अब्बल न्याय प्रणालीका लागि जीवितहरूलाई सहयोग सुनिश्चित गर्नुपर्ने बताउँदै युएनओडिसीका कार्यकारी निर्देशक घडा वलीले लैंगिक पूर्वाग्रह तथा महिलाविरुद्धको हिंसालाई अन्त्य गर्न आह्वान गरेका छन्।

पाकिस्तानमा भएको साम्प्रदायिक झडपमा ८८ जनाको मृत्यु

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा भएको साम्प्रदायिक झडपमा ज्यान गुमाउनेको संख्या बढेर ८८ जना पुगेको अस्पताल प्रशासनले जनाएको छ ।

गत बिहीबार पाराचिनार क्षेत्रमा शिया मुसलमान यात्रुहरू बोकेको गाडीमा आक्रमण गर्दा भएको हिंसामा ठूलो हताहत भएको थियो ।

आक्रमणले सिया र सुन्नी समुदायहरूबीच साम्प्रदायिक हिंसाको लहर निम्त्याएको छ भने पछिल्ला दिनहरूमा धेरै आक्रमणहरूले मृतकको संख्या अझै बढ्दै गएको छ ।

हाल प्रान्तीय सरकारको प्रतिनिधिमण्डलले प्रभावित जिल्लाको स्थलगत भ्रमण गरी दुवै सम्प्रदायबीच सात दिनका लागि युद्धविराम गर्ने सहमति भएको छ ।

गण्डकीमै पहिलो पटक एआई एक्सरे मेसिन सञ्चालनमा

बलेवा (बागलुङ) । गण्डकी प्रदेश सरकारले (आर्टिफिसियल इन्टिलिजेन्स) एआई एक्सरे मेसिन सञ्चालनमा ल्याएको छ । छाती रोगसम्बन्धी खोजपड्तालका लागि गण्डकी प्रदेशमा नै पहिलो पटक बागलुङको गलकोटबाट सेवा शुभारम्भ भएको हो ।

गलकोट नगरपालिका–११ रिघा स्वास्थ्यचौकीमा आयोजना गरिएको एक्सरेद्धारा छातीरोग खोजपड्ताल कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले मेसिनको शुभारम्भ गरे ।

अत्याधुनिक प्रविधिसहितको मेसिनको प्रयोगद्धारा छातीरोगको समयमा खोजी र उपचारका लागि प्रदेश सरकारले काम थालेको उनले बताए।

क्षयरोग उपचार केन्द्र गण्डकी प्रदेश पोखराले एक करोड ७५ लाख खर्च गरी खरिद गरेको एआई एक्सरे मेसिनले प्रदेशभरी खोजपड्ताल कार्यक्रम आयोजना गरेर छाती रोगकको पहिचान गरिने मन्त्री पाठकले बताए ।

क्षयरोग लागयतका छातीसम्बन्धी रोगको समयमा उपचार नहुँदा नागरिकले ज्यान गुमाउनुपर्ने बाध्यता अन्त्यका लागि प्रविधि, जनशक्ति र उचारमा प्रदेश सरकारले कार्यक्रम ल्याएको उनले बताए । 

विद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द

बागलुङ । विद्यार्थी संख्या न्यून भएपछि यहाँको जैमिनी नगरपालिकाका १० विद्यालय बन्द गरिएका छन् । नगरपालिकाले तत्कालै पाँच विद्यालय बन्द गर्ने निर्णय गरेको छभने बाँकी पाँच विद्यालय आगामी शैक्षिक सत्रदेखि बन्द गर्नेगरी समायोजन गरेको छ ।

पाँच विद्यालयका शिक्षक दरबन्दी अन्यत्र मिलान गरिएकोे छ । पाँच विद्यालयमा एकजना मात्रै दरबन्दी कायम गरिएको छ ।

नगरपालिकाले विद्यालय समायोजन तथा शिक्षक दरबन्दी मिलान कार्यान्वयन निर्देशिका २०८० अनुसार आगामी शैक्षिक सत्रदेखि लागू हुनेगरी पाँचवटा विद्यालय समायोजन गर्ने निर्णय गरेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिए ।

शर्माले विद्यार्थी नभएका विद्यालयमा दरबन्दी रहने र विद्यार्थी धेरै भएको स्थानमा शिक्षक अभाव हुने अवस्थाको अन्त्य गर्न समायोजन गरिएको बताए ।

तत्काल बन्द भएका विद्यालय प्राथमिक तहका हुन् । चारजना भन्दा थोरै विद्यार्थी भएका पाँच प्राथमिक विद्यालय बन्द गरेर ११ शिक्षक दरबन्दी अन्य विद्यालयमा मिलान गरिएको छ ।

बन्द हुने विद्यालयमा जनज्योति प्रावि, जनभावना प्रावि दमेक, टारा ज्योति प्रावि छिस्ती, क्वाङ्गदी प्रावि, छिस्ती र सर्वोदय प्रावि सकुर्वा रहेका छन् । जसमध्ये सर्वोदय प्रावि र टारा ज्योति प्रावि छिस्तीमा विद्यार्थी सङ्ख्या शून्य थियो । अन्य तीन विद्यालयमा विद्यार्थी सङ्ख्या चारजना भन्दा कम भएपछि विद्यालय बन्द गरी समायोजन गरिएको हो ।

‘विद्यालय बन्द हुँदा मारमा परेका टाढाका विद्यार्थीलाई आवासीय सुविधासहित ‘लिड’ विद्यालयको अवधारणा ल्याएका छौँ,’ उपप्रमुख शर्माले भने,’आवासीय सुविधासहित एकै स्थानमा पढाउँदा शैक्षिक गुणस्तर वृद्धि हुन्छ र लगानी खेर जाँदैन ।’

शिक्षा समितिको सिफारिसमा पाँच प्राथमिक विद्यालयलाई आगामी वर्ष समायोजन गर्ने गरी एकजना मात्रै दरबन्दी कायम गरिएको नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्यले जानकारी दिए ।

एक शिक्षकको मात्रै दरबन्दी कायम गरिएको विद्यालयमा जैमिनी प्रावि कुश्मिसेरा, सिद्धिगणेश प्रावि कुश्मिशेरा, एकता प्रावि पैयुथन्थाप, दिव्यज्योति प्राथमिक विद्यालय दमेक र शंकर प्रावि राङ्खानी रहेका छन् ।

बढ्दो बसाइँसराइका कारण विद्यालयमा विद्यार्थीको सङ्ख्या घटेपछि नगरपालिकाले दुई वर्ष अघिदेखि अगुवा विद्यालय, आवासीय विद्यालय, पढ्दै कमाउँदै र प्राविधिक अध्ययनको अवधारणा अघि सारेको जनाएको छ ।

विद्यार्थी र अभिभावकलाई आम्दानीसँग जोड्ने, आवासीय सहितको विद्यालय बनाउँदै नगरकै शैक्षिक हब बनाउन जैमिनी नगरपालिका- ५ बिनामारेस्थित सर्वोदय जनक माविलाई अगुवा (लिड) विद्यालयका रुपमा अगाडि बढाएको छ ।

सिक्टा सिंचाई आयोजनामा विलम्ब नगर्न संसदीय समितिको निर्देशन

नेपालगञ्ज । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनासँग सम्बन्धित समस्या स्थानीय तहमा नै समाधान गर्न आग्रह गरिएको छ । नीतिगत समस्याका कारण दुई दशक बितिसक्दा पनि आयोजना पूरा नभएकामा चिन्ता व्यक्त गर्दै स्थानीयले द्रुत गतिमा आयोजनाको काम हुनुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधिसभा, पूर्वाधार विकास समितिका प्रतिनिधिहरूसँगको छलफलमा स्थानीय र सरोकारवालाहरूले कानुनको परिधिभित्र रहेर आयोजनाका उल्झन टुङ्ग्याउनुपर्ने समितिका सदस्य ठाकुर गैरेले बताए । उनले स्थानीय तहबाट हुने काम स्थानीय रूपमा नै सम्पादन गर्न सुझाए ।

बाँकेका जनताको हितका लागि सो परियोजना आएको उल्लेख गर्दै सदस्य गैरेले नहर क्षेत्रमा भएको अतिक्रमणलाई स्थानीय तहसँग समन्वय गरेर हल गर्नुपर्ने बताए । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न प्रधानमन्त्री केपी ओली नेतृत्वको वर्तमान सरकार प्रतिबद्ध रहेकाले समितिले प्रस्तुत गर्ने अध्ययन प्रतिवेदनलाई सकारात्मक रूपमा ग्रहण गर्दै आयोजना निर्माणमा सघाउने विश्वास व्यक्त गरे ।

राष्ट्रिय जल उपभोक्ता महासंघका अध्यक्ष शालिकराम डाँगीले सिक्टा सिँचाइ आयोजनाले पूर्णता पाउन अझै ४० वर्ष लाग्ने आशंका व्यक्त गरे । उनले गौरवको आयोजना भनिए पनि बाँकेका किसानको भावनाको कदर नभएको गुनासो गरे ।

स्थानीय भीम ओलीले आयोजनाको विस्तृत परियोजना प्रतिवेदन ‘डिपिआर’मा नै त्रुटि रहेको आरोप लगाउँदै त्यसलाई संशोधन गर्नुपर्नेमा जोड दिए ।

दश वर्षभित्रै ३४ हजार हेक्टर कृषियोग्य जमिनमा सिँचाइ पुर्‍याउने योजनाका साथ थालिएको सिक्टा थप नौ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्‍याउने योजना बनिसक्दा कार्य प्रगति भने आशाजनक छैन ।

आयोजनास्थलको निरीक्षणमा प्रतिनिधिसभा सदस्य सूर्य ढकाल, दीपा शर्मा, प्रदेशसभा सदस्य बादशाह कुर्मी, भण्डारीलाल यादव, नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टलगायत जनप्रतिनिधि सहभागी भएका थिए । सिक्टा सिँचाइ आयोजना प्रमुख राजु आचार्य र प्राविधिक सम्मिलित टोलीले आयोजनाका काम तीव्र गतिमा अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।

सेती नदीको पुल निर्माणको २८ प्रतिशत भौतिक प्रगति

गण्डकी ।  पोखरा–मुग्लिन सडक आयोजनाअन्तर्गत सेती नदीमाथिको निर्माणाधीन पुलको भौतिक प्रगति २८ प्रतिशत पुगेको छ । ‘केबल–स्टेड’ प्रविधिको उक्त पुलको तीनवटा जगको काम पूरा भएको र एउटा निर्माणको क्रममा रहेको आयोजनाका इन्जिनियर सौजन्य नेपालले जानकारी दिए ।

निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सनले गत वर्षको असोजदेखि पुल निर्माण शुरू गरेको थियो । दुई वर्षअघि ठेक्का सम्झौता भए पनि डिजाइन स्वीकृत गर्न र निर्माणस्थलमा रहेका अवैध संरचना हटाउन समय लागेकाले पुल निर्माण ढिला शुरू गरिएको हो । निर्माणको सम्झौता अवधि अझ एक वर्ष बाँकी छ ।

‘तीनतिर टावरको काम शुरू भइसकेको छ, चालू आवभित्रमा तल्लो भाग निर्माण सक्ने लक्ष्य लिइएको छ,’ इन्जिनियर नेपालले भने, ‘जग निर्माणमा समय बढी लाग्यो, अब टावरलगायत माथिल्लो संरचनाको काम तीव्र गतिमा हुन्छ ।’

उनका अनुसार हालको चाइना पुलको तल र माथि गरी आकर्षक बनावटका दुई वटा ‘सिग्नेचर’ पुल बन्नेछन् ।

एसियाली विकास बैंकको अनुदान सहयोगमा सडक विभागमार्फत उक्त पुल बन्न निर्माण भइरहेको हो । भ्याटबाहेक रु ९४ करोडको ठेक्का लागेको हो ।

उक्त पुल बनेपछि पर्यटकीय राजधानी पोखराको आकर्षण थप बढ्ने आशा गरिएको छ । पुलको डिजाइन आकर्षक रहेको इन्जिनियर नेपालले बताए ।

निर्माणमा कुनै बाधा नआए आगामी एक वर्षभित्र पुल निर्माण सम्पन्न हुने निर्माण कम्पनीले जनाएको छ । एक सय ९० मिटरको उक्त पुल निर्माणमा कङ्क्रिट र फलामको प्रयोग हुने जनाइएको छ । पुल निर्माणपूर्व विदेशी प्राविधिकसहितको टोलीले पुलको डिजाइन गरेको थियो ।

भान्छामा नै छ बालबालिकाको पौष्टिक भोजन

-डा. अरुणा उप्रेती
अभिभावकहरुले यदि आफ्ना, शिशु र छाराछोरीलाई माया गर्नुहुन्छ भने उनीहरुलाई धेरै नयाँनयाँ लुगा, नयाँ मोबाइल दिनुभन्दा उनीहरुको भोजन कति पौष्टिक छ भन्ने कुरामा बढी ध्यान दिनुपर्छ । साना शिशु र बालबालिकाको स्वास्थ राम्रो पार्न र उनीहरुलाई रोगसँग लड्ने शक्ति दिलाउन बाहिरका प्याकेटका खाना, सिसीमा राखेका महङ्गो खाना, उचाइ र बुद्धि बढाउने भनेर विज्ञापन गरिएका गलत खाना होइन, आफ्नो भान्छामा जे छ त्यसैलाई शिशुको रुचिअनुसार र उसले खानसक्ने गरी बनाएर दिनुपर्छ ।

अहिलेका बालबालिका आमाबुबाले माया गरेर बाहिरका खानेकुरा दिएको देख्दा दुःख लाग्छ । एउटा त यसले बच्चाको स्वाथमा नराम्रो असर पार्छ, अर्कोतिर बच्चाले जीवनभरको लागि घरको खानाभन्दा बाहिरको खाना उत्तम हुन्छ भन्ने सिक्छ । अनि युवावस्था नपुग्दै उच्च रक्तचाप, मधुमेहको शिकार हुन्छ । प्याकेटका खानेकुरालाई राम्रोसँग सुरक्षित राख्न बढी नून र चिनी दुबै हालेको हुन्छ । बच्चाको सानो मृगौलामा त्यसले नराम्रो असर पर्छ ।

जब स्कुल जाने केटाकेटीको खाना बट्टामा बाबुआमाले नै खाजाको रुपमा चाउचाउ, बिस्कुट, कुरमुरे, दुनोट हालेको देख्छु मेरो मन कटक्क काट्छ । कतिलाई त भन्ने गर्छु, “तपाईंले बच्चालाई मन परेको भनेर यस्ता खाना दिनुहुन्छ । तर यसले त बच्चालाइ मन्द विषको काम गर्छ । मिर्गौला, मुटु, आद्रा सबै विस्तारै खराब हुँदैं जान्छ ।” यसो भन्दा कतिले ‘ए हो र ! हामीलाई थाहा थिएन’ भनेर बच्चाको हातबाट खोस्छन् पनि, कतिले चाही पल्र्लक्क आँखा पल्ट्याउँदै भन्छन्, ‘तपाईलाई के चासो, मेरो छोराछोरीलाई म जे मन लाग्छ दिन्छु ।’ कतिले चाँही “हो हामीलाई थाहा छ, तर के गर्नु बच्चाले रोएर, मान्दैमान्दैन, अनि दिक्क लागेर दिन्छु” भन्छन् । त्यस्ता बाबुआमालाई मेरो एउटै प्रश्न हुन्छ, “के तपाईको बच्चाले रक्सी र चुरोट खान्छु भनेर लडीबुडी गरे दिनुहुन्छ ?” तुरुन्तै जवाफ आउँछ, “अहँ, दिन्न नि, त्यो त स्वास्थ्यको लागि खराब हुन्छ ।” भन्छन् अनि म भन्छु” हो, त्यसरी नै यस्ता प्याकेटका खानाले तपाईंको बच्चालाई हानि गर्छ । भोलि स्वस्थ्य युवायुवती बन्नुको सट्टा उनीहरु रोगी बन्छन् ।”

गाउँ र शहरमा बालबालिका र शिशुको खानेकुरा भनेर महङ्गो बट्टा र प्याकेटमा बेचेको देख्दा प्रायः बाबुआमाले हो त नि त्यस्तै खाना बच्चालाई दिए बच्चा शारीरिक र मानसिक रुपमा स्वस्थ बन्छ भन्ने विचार राख्छन् । कतिले भन्छन् “हाम्रो भान्छामा त शिशुलाई खुवाउनयोग्य वस्तु नै छैन ।” अनि कतिचोटी सञ्चारमाध्यमहरुमा बजारका प्याकेटका खानाको विज्ञापन आउँछ, “बच्चा एक वर्षको भएपछि घरको खानाले पुग्दैन । घरको खानामा प्रोटीन र भिटामिन हँुदैन । त्यसैले प्याकेटका खाना नै खुवाउनुपर्छ ।” विज्ञापनको प्रभावमा परेर यस्ता प्याकेटका खाना बच्चालाई दिनु हुँदैन । यस्ता खाना त गहुँ, चामल, मकैबाट नै बनाइएका हुन्छन्, जुन हाम्रो घरमा हुन्छन् नै । प्याकेटमा राखेपछि यसको मूल्य बीसौंै गुना बढ्न जान्छ । फेरि यस्ता प्याकेटमा राखेका अन्न कुहिएका वा म्याद नाघेको हुन्छन् कसलाई थाहा नै हुँदैन । त्यसैले शिशु र बालबालिकालाई आफ्नै भान्छाको खाना दिनपर्छ् ।

पास्नीपछि जब शिशुलाई अन्न दिन सुरु गरिन्छ, त्यसपछि थोरै थोरै चामलको पिठोको हलुवा खुवाउन सकिन्छ । शिशुलाई खान दिंदा उसलाई पहिले स्वाद लाग्दैन । शुरुशुरुमा थु थु गर्छ होला, तर विस्तारै धैर्यपूर्वक खुवाउनै जानुपर्छ । शिशुले खाएन भनेर धेरै चिनी हालेर खुवाउँदा एकछिन त शिशुले खान्छ तर चिनीले उसको स्वास्थमा राम्रो प्रभाव पार्दैन । चामलको पिठो, गहुँको पिठो आदिबाट हलुवा, लिटो बनाएर शिशुलाई खुवाउन शुरु गर्न सकिन्छ । गहुँ र चामलका पिठो, सुजी त प्रत्येकको भान्छामा हुन्छ । एक चम्चाबाट खुवाउन शुरु गरेर विस्तारै बढाउन सकिन्छ । शिशुको पेट सानो हुन्छ, त्यसैले एकैपल्ट धेरै खुवाउनु हुँदैन भन्ने हेक्का त राख्नै पर्छ । आलुलाई उसिनेर लिटो जस्तो बनाएर शिशुलाई खान दिने चलन त पुरानै हो । आलु शिशु र बालबालिकाको लागि शक्ति र विभिन्न किसिमका भिटामिन दिने राम्रो भोजन हो । तर आलुलाई बेस्सरी तेलमा तारेर वा फ्रच फ्राई जस्तो गरेर दिनु हुँदैन ।

शिशुलाई रक्तअल्पता नहोस् भनेर ध्यान पु¥याउनैपर्छ । भटमासको पिठो, बदामको पिठो अलिकता दूधमा पकाएर दिनाले शिशुको शरीरमा प्रोटिन पुग्छ । गाउँघरको चलनअनुसार फलामको भाँडामा पकाएको खानेकुराले शिशुलाई फाइदा गर्छ । विभिन्न प्रकारका दाल, भुटेर, चामल र मकै पनि भुटेर त्यसको सर्वोत्तम पिठो बनाएर त्यो दूध वा पानीमा पकाएर हलुवा वा मोहनभोग जस्तो गरेर दिन सकिन्छ । शिशुलाई दिनभरिमा पाँच÷छ पटक खुवाउँदा शिशुको स्वास्थ राम्रो हुन्छ । खाना खुवाउँदा शिशुलाई गाली गरेर, तर्साएर, पिटेर जबर्जस्ती कोच्याएर खुवाइयो भने त्यसले शिशुको शरीरिक र मानसिक दुवै स्वास्थमा नराम्रो असर गर्दछ । कति जनाले शिशुलाई एक÷दुई चोटी खुवाउन कोशिस गर्दा नखाएपछि, “आ, फुर्सद छैन । पछि खाइहाल्छ” भनेर बेवास्ता गरिदिन्छन् । यसरी हरेक दिन शिशुले लामो समय भोको बस्यो भने उसलाई कुपोषण, रक्तअल्पता, विभिन्न खनिज पदार्थको कमी हुनसक्छ । शिशुलाई रक्तअल्पता भयो भने उसको रोगसँग लड्ने शक्ति पनि कम भएर जान्छ र बारम्बार रुखाखोकी लाग्ने, छातीमा सङ्क्रमण हुने हुन्छ । साथै, उनीहरुको नयाँ कुरा सिक्ने क्षमता पनि कमी हुन्छ ।

शिशुहरुलाई आफ्नो शरीरको जति तौल हो, त्यो अनुपातमा तीन–चार गुना बढी प्रोटिन जरुरत पर्छ । उदाहरणको लागि, आठ किलो तौल भएको शिशुको लागि २४–३२ ग्राम प्रोटिन चाहिन्छ । तर यो कुनै औषधि वा क्याप्सुलको माध्यमबाट दिएर हुँदैन, भोजनबाटै नै दिइनुपर्छ । घरमा पाइने दलहन, गहुँ, कोदो, फापरको पिठो उचित तरिकाले पकाएर खान दिंदा शिशुले पोषण प्राप्त गर्छ । यी वस्तुमा भिटामिन, फोलिक एसिड, भिटामिन सी आदि पनि हुन्छन् अर्थात शरीरलाई चाहिने पौस्टिक तत्व सहजै पाइन्छ ।

रक्तअल्पता नहोस् भनेर सफा गरिएको हरियो सागलाई फलामको भाडामा पकाएर त्यसलाई हातले मुछेर अलिकता कागती हालेर खुवाउँदा सागमा रहेको लौहत्व शरीरमा राम्रोसँग शोषण हुन्छ । अहिले प्रेसरकुकरमा साग वा दाल पकाउँदा सफा फलामको डल्नो हालेर पकाउने चलन पनि छ । अमेरिकाबाट निस्किएको ‘डाक्टर नभएमा’ भन्ने प्रसिद्ध किताबमा प्रेसरकुकर नहुने ठाउँमा एउटा गिलासमा सफा पानीमा फलामको टुक्रा राख्ने र आधा घन्टापछि फलामको टुक्रा झिकेर कागतीको रस राखेर कही बेर छोडिदिनु र केही समय पछि त्यसको पानी प्रयोग गर्दा पनि लौह तत्व शरीरमा प्राप्त हुन्छ भनेर लेखिएको छ ।

शिशुलाई दिने लिटो फलामको भाँडामा पकाउन सकियो भने पनि लौहतत्व प्राप्त हुन्छ । दूध शिशुको लागि राम्रो भोजन हो वा त्यसमा लौह तत्व हुँदैन । यदि दूधलाई फलामको भाँडामा उमालेर शिशुलाई खान दिइयो भने त्यसबाट पनि शिशुलाई लौहतत्व प्राप्त हुन्छ । शिशु एक वर्षको भएपछि अलिकता दाँत आउन थालेपछि जब केही टोक्न खोज्छ उसलाई सानो, टुक्रा गाजर टोक्न दिन सकिन्छ । शिशुलाई गाजर, फर्सी, लौका आदि उसिनेर, मुछेर गिलो बनाएर दिन सकिन्छ । यी सबै तरकारी विभिन्न खनिज तत्वले भरिपूर्ण हुन्छन् र यसको प्रयोगले गर्दा शरीरमा रेशादार पदार्थ पनि पुग्छ । रेशादार पदार्थले शिशु र बालबालिकालाई कब्जियतबाट बचाउँछ ।

कतिपय बाबुआमाले बच्चालाई बाहिरका भिटामिन, क्याल्सियम, प्रोटिन आदि औषधिको रुपमा खान दिनुपर्छ भन्ने विश्वास गर्छन् । अनि बच्चाका लागि भिटामिनका ठूलाठूला बोतल किनेर ल्याउँछन् र बच्चालाई राम्रो स्वास्थ्य दिएका छाँै भनेर खुशी हुन्छन् । तर ५० वर्षअघि जब नेपालमा भिटामिनका सिसी पाइँदैनथ्यो, हाम्रा बाबुआमाले त हामीलाई राम्रो स्वास्थ हुर्काएका थिए । यो घरकै खानाबाट सम्भव भएको हो भन्ने कुरा बिर्सन हुँदैन ।

गाउँघरमा अहिले कतिपय आमाले चाउचाउ, बिस्कुट, कुरमुरे आदि अनेकथरिका भिटामिन पाइन्छ भनेर सुनेका हुन्छन् र उनीहरुले छ महिनाको शिशुलाई चाउचाउ पकाएर दिन्छन् । मेरो मन काटिन्छ । यस्तो देखेको बेलामा त अभिभावकलाई भन्छु प्याकेटको कुराले तपाईको बच्चाको स्वास्थ साह्रै नराम्रो पार्छ, नदिनोस् । उनीहरु छक्क पर्छन्, कतिले त मैले झुटो बोलेको ठान्छन् । कुपोषित बालबालिकालाई अस्पतालमा लैजादा प्रायः स्वास्थकर्मी र चिकित्सकले, कुपोषणको ठीक पार्न गोली र भिटामिनका सिसीको भर पर्न हुन्न, भान्छाकै खानेकुरालाई राम्रोसँग बनाएर दिनुपर्छ भनेर त पक्कै भन्छन् तर अभियभावकले यसतर्फ ध्यान नै दिंदैनन् ।

शहरका अभिभावकहरुलाई चाहीँ शायद शिशुलाई भोजन भान्छामा बनाएर ख्वाउन फुर्सद हँुदैन, अनि बाहिरका प्याकेटका खानाको भर पर्छन् । जब बच्चा बिरामी पर्छन् तब डाक्टर र अस्पतालमा जाँदा जसरी भएपनि फुर्सद निकाल्छन् । बाबुआमा, बाजेबज्यै, दिदीदाजु सबैको जिम्मेवारी शिशु र बालबालिकाको भोजन र स्वास्थको लागि उतिकै हुन्छ । शिशु र बालबालिकालाई तरल पदार्थ दिने नाममा विभिन्न थरिका बट्टाका फलफूलका रस दिने चलन पनि बढ्दो छ । तर यस्ता जुसमा ८० प्रतिशतसम्म चिनीको मात्रा हुन्छ । यसले बच्चालाई एकछिन गुलियो स्वाद त दिन्छ तर कुनै पौष्टिकता दिदैन, हानी नै पु¥याउँछ । यसरी फलफुलको रस बनाउने कारखानामा कुहिएका, सडेका फलफूल पनि प्याकेटमा राखेपछि केही थाहा हुन्न ।

बालबालिकालाई मौसम अनुसारको कुनै पनि फलफूल अमला, अम्बा, नास्पती, आँप, लिची नै दिए स्वस्थ्य रहन मद्दत गर्छ । एउटा कुरा चाहि के विचार गर्नु पर्छ भने समय भन्दाअघि पाकेको आँप, लिची, तरबुजा आदि औषधि हालेर पकाइएका पनि हुन सक्छन् र यिनले बच्चालाई पेट दुख्न, झाडापखाला लाग्ने आदि समस्या हुन सक्छ ।

साना शिशुलाई त अभिभावकले आफूले चाहेअनुसार पौष्टिक तत्वले भरिपूर्ण भोजन दिन सक्छन् तर जब बच्चा स्कुल जान थाल्छ तब उसलाई घरको खानेकुराभन्दा बाहिरको प्याकेटको खानेकुरा खान मन लाग्ने हुन्छ । उनीहरु अरुको देखासिकी गरेर र विज्ञापनको प्रभावमा परेर प्याकेटको खानेकुरामा आकर्षित हुन्छन् । ‘टाइम्स अफ इण्डिया’ पत्रिकामा केही समयअघि प्रकाशित लेखमा प्याकेटमा राखेका खानेकुराहरुमा स्वाद बढाउन विभिन्न रसायनिक पदार्थ र चिल्लो पदार्थ राखिएको हुन्छ, जसले गर्दा खानेकुरा लामो समय बिग्रन दिदैन र खानेकुरा सधैँ ताजा जस्तै त देखिन्छन् तर वास्तवमा यी हानिकारक नै हुन्छन् भनी उल्लेख गरिएको थियो । त्यसैले बालबालिकाले स्कूलमा खाना वा खाजा लैजाँदा प्याकेटको वस्तु लैजान दिनु हुँदैन । घरबाट लगेको खाजा फोहोरी होइन स्वास्थ्य राम्रो हो भन्ने बुझाउनुपर्छ । यसो गर्न सकिएमा आजका बालबालिका भोलिका स्वस्थ नागरिक हुन सक्छन् ।

(लेखक जनस्वास्थ्य तथा पोषणविद् हुनुहुन्छ)

सर्वोच्चको अदालतको बोर्डमा कालो छ्यापेको अभियोगमा बिनु यादव पक्राउ

काठमाडौं । श्रीमानबाट हिंसामा परेको दाबी गर्दै आएकी बिनु यादवलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार सर्वोच्च अदालतको बोर्डमा कालो रङ्ग छ्यापेर विरोध प्रदर्शन गरेकी यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पठाओमा आएर सर्वोच्चको बोर्डमा उनले कालो छ्यापेको प्रहरीले जनाएको छ ।

यादवसँग विवाह गरेका रामेछापका एक युवकले सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गराएका थिए । अदालतले सम्बन्ध बिच्छेदको फैसला सुनाएपछि उनले अदालत परिसरमै विष सेवन समेत गरेकी थिइन् ।