`

नेपालबाट पहिलो पटक बंगलादेशमा विद्युत निर्यात सुरु

काठमाडौं । नेपालबाट पहिलोपटक तेस्रो मुलुक बंगलादेशमा विद्युत निर्यात गरिएको छ । यसअघि भारतमा मात्रै विद्युत निर्यात भइरहेकोमा शुक्रबार बंगलादेशमा विद्युत निर्यात सुरु भएको हो ।

शुक्रबार नेपाल, भारत र बंगलादेशका मन्त्रीहरूको भर्चुअल उपस्थितिमा ४० मेगावाट विद्युत् निर्यातको सुरुवात गरिएको हो । नेपालले भारतीय ग्रिडको प्रयोग गरी ४० मेगावाट विद्युत पठाएको हो । नेपाल र बंगलादेशबीच जुन १५ देखि नोभेम्बर १५ सम्म ४० मेगावाट बिजुली निर्यात गर्ने सम्झौता छ ।

प्राधिकरणले बंगलादेश निर्यातका निम्ति चिलिमे र त्रिशूली जलविद्युत् आयोजनाको नाम प्रस्ताव गरेको थियो । यी दुवै यसअघि भारतीय बजारमा बिक्री भइरहेका आयोजना समेत हुन् । विद्युत् व्यापार गर्ने विषयमा गत असोज १७ गते नेपाल, भारत र बङ्गलादेशका उच्च अधिकारीबीच त्रिपक्षीय सम्झौता भएको थियो ।

सम्झौतामा नेपालका तर्फबाट प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हस्ताक्षर गरेका थिए । प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय लाइनमार्फत भारतीय प्रणालीमा बिजुली उपलब्ध गराउनेछ ।

सो बिजुली भारतीय नोडल एजेन्सी एनभिभीएनले आफ्नो प्रसारण प्रणालीमार्फत बङ्गलादेश पुर्याउनेछ । प्राधिकरणले प्रतियुनिट आठ रुपैयाँ ६४ पैसामा बिजुली निर्यात गरिने जनाएको छ ।

बङ्गलादेशले सन् २०४० सम्म नेपालबाट नौ हजार मेगावाट बिजुली लैजाने यसअघि नै घोषणा गरिसकेको छ । सरकारले सन् २०३५ सम्म तय गरेको कार्ययोजनामा २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको छ । त्यसमा १३ हजार मेगावाट आन्तरिक खपतमा प्रयोग गर्ने र १५ हजार मेगावाट भारत र बङ्गलादेश निर्यात गर्ने रणनीतिक लक्ष्य निर्धारण गरिएको छ ।

छारे रोगले निम्त्याउने स्वास्थ्य सङ्कट

-डा. राजीव झा
हाम्रो मस्तिष्कमा करोडौँ स–साना नसाका न्यूरोनहरुको प्रवाह भएको हुन्छ । तिनै नसाले हाम्रो शरीरका जति पनि अङ्गहरु छन्, तिनको सञ्चालन गरेका हुन्छन् । मस्तिष्कलगायत स्नायु प्रणालीका अङ्ग विद्युतीय तरङ्ग जस्तो प्रतिक्रियाबाट चलेको हुन्छ । शरीरका विभिन्न अङ्ग चल्दा पनि फरक फरक विद्युतीय तरङ्गले काम गरेको हुन्छ। शरीर सञ्चालन गर्ने वा रोक्ने तिनै विद्युतीय तरङ्गमा सन्तुलन नभएमा मानिस बेहोस हुने, कुनै अङ्ग नचल्ने वा अन्य असामान्य अवस्था सिर्जना हुने हुन्छ । कतिपय अङ्गका कामहरु हामीले देख्न, अनुभव गर्न सक्छौं भने कतिपय देख्न र अनुभव पनि गर्न सकेका हुदैनौँ । केही कारणले त्यो प्रवाहमा अवरुद्ध भयो भने त्यहाँ असामान्य अवस्था हुन्छ र त्यसले अस्वाभाविक तरङ्ग पैदा गर्छ । त्यसले शरीरको कुनै भागमा झड्का हुने वा पूर्ण रुपमा बेहोस हुने गर्दछ, त्यसलाई नै हामी छारेरोग भन्ने गर्छौं । मस्तिष्कको जुन भागको नसामा छारे रोगको असर पर्छ त्यही भागमा लक्षण देखिने गर्दछ ।


छारे रोग भनेको मस्तिष्कबाट उत्पन्न हुने एक प्रकारको रोग हो । यस रोगमा मस्तिष्कमा क्षणिक खराबी उत्पन्न हुँदा होस हराउने, लड्ने, बेहोस हुने, कम्पन हुने, चोटपटक लाग्नसक्ने हुन्छ । छारेरोगमा बेहोसै हुनुपर्छ भन्ने छैन । यस्ता बिरामीको कुनै अङ्ग अस्वाभाविक रुपमा चल्ने, आँखा फर्फराउने, कोही बेहोस नै हुने हुन्छन् । कतिपयले जिब्रो टोक्ने, आँखा बाङ्गिने, मुखमा फिज आउने, र्याल आउने, ओठ टोक्ने, घाँटी बटार्ने, शरिर काठजस्तै कडा बनाउने गर्छन् । कतिपय क्षणमा दिसा पिसाब समेत नियन्त्रणमा हुँदैन।सामान्यतयाः यस्तो अवस्था २०–३० सेकेण्ड रहन्छ र विस्तारै पहिलेकै अवस्थामा आउँछन् । 


नेपालमा कति मानिस यस रोगबाट ग्रसित छन् भन्ने यकिन तथ्याङ्क छैन । विश्व स्वास्थ्य संगठनले कुल जनसङ्याको एक प्रतिशतलाई छारे रोग हुन्छ भनेको छ। त्यस आधारमा नेपालमा साढे तीन लाखभन्दा बढी छारे रोगका बिरामी रहेको अनुमान गर्न सकिन्छ।विश्वभरि ५० मिलियन मानिसलाई छारे रोग छ।त्यसको ८० प्रतिशत समस्या हाम्रो जस्तो देशहरूमा छ। छारेरोग विश्वमा नसासम्बन्धी रोगहरुमध्ये पहिलो स्थानमा रहेको छ । नेपालमा छारेरोग ठूलो जनस्वास्थ्य समस्याको रुपमा रहेको पाइन्छ । छारे रोगकै कारण कतिपय बालबालिकाले बीचमै विद्यालय छाडेका छन् भने कतिपयले रोजगारी गुमाएका छन् । अझ महिलाहरुमा यो जटिलता अझ बढी रहेको पाइन्छ । बिबाह नै नहुने, भइहाले पनि पारिवारिक विचलन आउने गरेको देखिन्छ ।


नेपालमा छारेरोग भएकामध्ये ७० प्रतिशत मानिसले उपचारबाट बञ्चित छन् । जबकि, उपचार गरियो भने छारेरोग लागेकामध्ये ७० प्रतिशतको रोग निको हुन सक्छ भने बाँकी ३० प्रतिशत बिरामीले आफूलाई छारेरोग भएको पत्तो नै पाएका छैनन् । उनीहरुलाई औषधिको सेवनबाट रोगलाई नियन्त्रणमा राख्न ससकिन्छ । कतिपय बिरामी चिकित्सकको सम्पर्कमा आउन नचाहने हुन्छन् । अझै पनि गाउँघरमा यसलाई लुकाउने, झारफुक गर्ने जस्ता प्रवृत्ति रहेको छ । कति बिरामीले आफूखुसी औषधि छोड्ने गर्दा पनि रोग निको हुन गाह्रो हुन्छ।यसबारे जनचेतना, विज्ञ र उपचारको सहज पहुँच नुहँदा यो गम्भीर समस्याको रुपमा रहेको छ । 


कस्ता व्यक्तिमा लाग्दछ ?


यो रोग यति नै उमेर समूहको मानिसमा लाग्छ भन्ने छैन, मान्छेको जन्मदेखि अन्तिम अवस्थासम्म पनि छारेरोग हुनसक्छ ।किनकी यो रोग मस्तिष्कको विकारका कारण हुने गर्दछ । खासगरी १२ वर्षदेखि ४० वर्षसम्मको उमेर समूहलाई यसले बढी देखिएको छ । कतिपय व्यक्तिमा जन्मजात नै मस्तिष्कमा अनेक दागहरु हुन्छ । बच्चाको दिमागमा अक्सिजन नपुग्ने, दिमागमा जुकाको कारण हुने सङ्क्रमण, क्षयरोग वा प्यारासाइटर भएमा, मस्तिष्क रक्तश्राव वा मस्तिष्कघात हुँदा पानी जमेमा, ट्यमर भएमा, चोट लागेमा छारेरोग हुने उच्च सम्भावना रहन्छ । यस्ता बिरामीलाई शल्यक्रियाबाट निको पार्न सकिन्छ ।   


रोगको उपचार विधि के के छन् ?


यस्ता लक्षणहरूको आधारमा बिरामीको परीक्षण हुन्छ र त्यसकै आधारमा उपचार गरिन्छ । नियमित रूपमा औषधि प्रयोग गरेमा ७० देखि ८० प्रतिशत निको हुन्छ। छारेरोगलाई लापरबाही भने गर्नु हुँदैन । यसले अन्य जटिल अवस्था ल्याउन सक्छ । सामान्यतः छारेरोगले मानिसको ज्यानै लिने नभएपनि यसले बिरामीको व्यक्तिगत, पारिवारिक र सामाजिक रुपमा निकै ठूलो असर पारेको हुन्छ र उनीहरुको व्यक्तित्व विकासमा अवरोध सिर्जना गर्दछ । यस्ता बिरामीलाई एक्लै बाहिर जान नदिने, अन्य व्यक्तिसरह जोखिमपूर्ण काममा नलगाउने जस्ता कारणले उनीहरु थुप्रै अवसरहरुबाट बञ्चित हुनु पर्दछ । 


सबैभन्दा पहिले त औषधिबाटै छारे रोगको उपचार गरिन्छ । औषधिको सेवनले पनि निको भएन भने शल्यक्रियामार्फत पनि उपचार गरिन्छ । यसमा दुईवटा परीक्षणबाट रोगको पहिचान गरीशल्यक्रिया गर्न मिल्छ कि मिल्दैन भनेर थाहा पाउन सकिन्छ । पहिलो मस्तिष्कको एमआरआई हो । यसका लागि एमआरआईको प्रोटोकलअनुसारको परीक्षण गरिनुपर्छ । दोस्रो इइजी अर्थात मस्तिष्कको चाल हेर्ने । यी दुवै परीक्षणबाट ७५ देखि ८० प्रतिशत मात्र कारण पत्ता लाग्न सक्छ । अझै २५–३० प्रतिशतमा के कारणले छारेरोग लागेको हो भन्ने थाहा हुन सकेको छैन । यस्ता खालका बिरामीलाई लामो समयसम्म छारेरोगको औषधि खुवाउनुपर्छ । उनीहरुलाई दुई वर्षसम्म औषधि दिएर त्यसको प्रभाव हेरेपछि विस्तारै बन्द गर्ने गरिन्छ । कतिपयमा दोहोरिएको पनि छ । त्यसरी दोहोरिएको अवस्थामा उनीहरुले जीवनभर नै औषधि खानुपर्ने हुन्छ । 


औषधिले पनि निको नभए भिएनएस (भेगर्स नर्भ स्टिमुलेशन) प्रविधिबाट उपचार गरिन्छ । भिएनएस भन्नाले एक किसिमको उपकरण हो, जसलाई सामान्य शल्यक्रिया गरी शरिमा जडान गरिन्छ । यो प्रविधि निकै महंगो छ । नेपालमा सामान्यतः यसको मूल्य १३/१४ लाख रुपैया पर्न आउँछ । विश्वमा यस प्रविधिको विकास भएको दुई/तीन वर्ष मात्रै भएको छ भने नेपालमा भित्रिएको छ/सात महिना मात्रै भएको छ । हाल यो सुविधा बीर अस्पताल, अन्नपूर्ण न्यूरो अस्पताल र नर्भिक अस्पतालमा मात्रै उपलब्ध छ । छारेरोगका बिरामीले नियमित औषधि खानुपर्ने भएकाले सरकारले सकेसम्म निःशुल्क उपलब्ध गराउन पहल गर्नुपर्ने, त्यसो नभए पनि केही अनुदान दिन सके विपन्न वर्गका जनतालाई निकै सहज हुने देखिन्छ । 


छारेरोगबाट बच्ने कसरी ?


कुनै पनि रोग लागेपछि उपचार गर्नुभन्दा लाग्नै नदिनु नै सबैभन्दा उपयुक्त बाटो हो । तर यसो भन्दैमा सबै मानिस निरोगी हुन्छन् भन्ने पनि होइन । अन्य रोगजस्तै छारेरोगबाट पनि मानिस ग्रसित हुने गर्दछ । छारेरोगबाटबच्नका लागि केही उपायहरुमा ध्यान दिन सकिन्छ । 


–गर्भावस्थामा र बच्चा जन्मिने बेला विशेष ध्यान दिनुपर्छ । यस्तो बेला बच्चाको मस्तिष्कमा चोट लाग्नसक्छ र त्यसले पछि बच्चा छारेरोगी हुन पुग्छ । 
–रक्सीको सेवन गर्ने व्यक्तिमा यो रोग लाग्ने सम्भावना उच्च हुन्छ । रक्सीसेवन गरेपछि जहाँसुकै लड्ने हुँदा मस्तिष्कमा चोट लाग्नसक्छ र त्यसले छारेरोग हुन सक्छ । 
–सवारीसाधन चलाउँदा सावधानीपूर्वक चलाउनुपर्छ । कुनै दुर्घटना हुँदा टाउकोमा चोट लाग्न गएमा रक्तश्राव वा रगत जम्न गई छारेरोग हुने सम्भावना रहन्छ । 
–छारेरोगबाट बच्ने अर्को उपाय भनेको पक्षघातबाट बच्नु भनेको पनि हो । त्यसैले पक्षघातबाट बच्न राम्रो खानपान, व्यायाम गर्ने, मोटोपन घटाउनुपर्छ । 
–मधुमेह तथा उच्च रक्तचाप हुनबाट बच्न सके पनि छारेरोगको जोखिम धेरै हदसम्म कम हुन्छ । 
अरुको भूमिका कस्तो हुनुपर्छ ?


छारेरोग जोकोहीलाई पनि हुनसक्ने हुँदा उनीहरुलाई नकारात्मक व्यवहार नगरी मित्रवत् व्यवहारको खाँचो पर्दछ । उनीहरुमा उच्च मनोबल ल्याउनुपर्छ । छारे रोगको समस्या भएको मान्छेले त्यसलाई नियन्त्रण गर्न सक्दैनन् । केहीजानी बिरामी ढलेको छ भने उसको वरपर भएको चोट लाग्ने वस्तुलाई हटाइदिनुपछ, ताकी टाउकोमा चोट लाग्न नपाओस् । त्यस्तो अवस्थामा वरपरको व्यक्तिले उसलाई सम्हाल्नुपर्ने हुन्छ । ढलेको व्यक्तिको वरिपरि भीडभाड गरिदिनुहुँदैन । बरु यसलाई सजिलोसँग बस्न वा सुत्न सहज वातावरण मिलाइदिनुपर्छ । 


परिवार वा समाजमा कसैलाई छारेरोगको लक्षण देखिएमा चिकित्सककोमा लैजाने वा जाने सल्लाह दिनुपर्छ । जुनसुकै समयमा पनि छारेरोगका बिरामीलाई छोप्ने हुँदा उनीहरुको साथमा परिचयपत्र भएमा आफन्तलाई सम्पर्क गर्न सजिलो हुन्छ । यस रोगका बिरामीलाई सही परामर्शले निको गर्न मद्दत पुग्दछ । मस्तिष्कका कतिपय भाग शल्यक्रिया गर्न नमिल्ने किसिमका हुन्छन्। त्यस्तो ठाउँमा शल्यक्रिया गर्दा रोग निको भए पनि मान्छेको बोली बन्द हुने, कान नसुन्ने, सोच्न नसक्ने जस्ता अनेक समस्या आउन सक्ने भएकाले चिकित्सकले विशेष ध्यान दिनुपर्छ । त्यसैले औषधि, परामर्श र शल्यक्रियाबाट  छारे रोगको उपचार हुन्छ ।
(वीर अस्पतालको स्नायुरोग विभाग प्रमुख र नर्भिक इन्टरनेसनल अस्पतालको न्युरो सर्जरी विभाग प्रमुख प्रा डा झासँग गरिएको कुराकानीमा आधारित)

गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाको मृत्यु

गण्डकी । गत पुस/माघदेखि गण्डकी प्रदेशमा १८ हजार तीन सय ३९ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त रोगका कारण आठ जनाले ज्यान गुमाएका छन् । यस वर्ष पहिलोपटक गत साउन १० गते तनहुँका ४८ वर्षीया पुरुषको डेङ्गी सङ्क्रमणबाट मृत्यु भएको थियो । 

त्यसयता साउन २२ मा कास्कीका ४० वर्षीया पुरुष, साउन ३१ गते कास्कीकै ५२ वर्षीया महिला र भदौ १९ गते म्याग्दीका ६१ वर्षीया पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कास्कीमा भदौ २१, असोज २, १४ र कात्तिक ४ गते गरी क्रमशः ८१, ७०, ७५ र २६ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । 

यस अवधिमा कास्कीमा सबैभन्दा बढी आठ हजार नौ सय ७९ जना र सबैभन्दा कम मनाङमा मात्र छ जनामा डेङ्गी सङ्क्रम पुष्टि भएको मन्त्रालयका सूचना अधिकारी एवं वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रशान्तराज शर्माले जानकारी दिए । 

प्रदेश राजधानीसमेत रहेको कास्कीको पोखरा महानगरपालिकामा मात्रै आठ हजार आठ सय ५८ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको उनको भनाइ छ । प्रदेशका १२ वटा स्थानीय तहमा भने अहिलेसम्म डेङ्गीको सङ्क्रमण देखिएको छैन । गत जनवरीमा जम्मा ७० जनामा डेङ्गी देखिएकामा गत सेप्टेम्बरमा छ हजार दुई सय ६७ जना डेङ्गीबाट सङ्क्रमित भएका थिए ।  

अक्टुबरमा छ हजार ४४ र नोभेम्बर सुरु भएयता हालसम्म जम्मा नौ सय ४७ जनामा डेङ्गी देखिएको मन्त्रालयले जनाएको छ । पछिल्लो तथ्याङ्क अनुसार कास्कीपछि सबैभन्दा बढी  तनहुँमा तीन हजार आठ सय १७, पर्वतमा एक हजार चार सय ३१, बागलुङमा एक हजार तीन सय ८४, गोरखामा एक हजार एक सय दुई, स्याङ्जामा सात सय २६, म्याग्दीमा चार सय ५६, नवलपुरमा दुई सय ९७, लमजुङमा एक सय २५, मुस्ताङमा १६ र मनाङमा छ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । 

असारदेखि कात्तिकसम्म डेङ्गी सङ्क्रमणको बढी जोखिम हुने र चार प्रकारको भाइरसबाट मानिसमा डेङ्गी सङ्क्रमण हुने गरेको चिकित्सक बताउँछन् । चिसो मौसम सुरु भएसँगै लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी रोगको सङ्क्रमण घट्दै गएको प्रदेश स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काले बताए । 

“चिसो याम सुरु भएकाले अब विस्तारै सङ्क्रमण कम हुँदै जान्छ, फागनुदेखि फेरी सङ्क्रमण बढ्न थाल्छ”, उनले भने । डेङ्गीको फाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुडा आदिमा जम्मा भएको सफा पानीमा बस्ने हुँदा तिनलाई खाली गर्नुपर्ने जनाइएको छ । 

डेङ्गी ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ । यो लामखुट्टले जम्मा भएको सफा पानीमा फुल पार्ने र लार्भा हुर्काउने गर्छ । डेङ्गीको सङ्क्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा पर्ने गरेको छ । 

श्रीलङ्कामा वाम गठबन्धनको शानदार जित

कोलम्बो । श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकेको वाम गठबन्धनले मध्यावधि विधानसभा चुनावमा शानदार जित हासिल गरेको छ ।

माक्र्सवादी दिसानायकेले भ्रष्टाचारविरुद्ध लड्ने र चोरी भएको सम्पत्ति फिर्ता गर्ने वाचाका साथ सेप्टेम्बरमा भएको राष्ट्रपतीय चुनावमा विजय हासिल गरेका थिए ।

तत्काल चुनाव गराउने र आफ्नो एजेन्डाका लागि संसदीय समर्थन सुरक्षित गर्ने उनको निर्णयलाई समर्थन मिलेको छ । दिसानायकेको नेशनल पिपुल्स पावर (एनपीपी) गठबन्धनले २२५ सदस्यीय विधानसभामा कम्तिमा १२३ सिट जितिसकेको छ भने मतगणना भइरहेका अन्य केही स्थानमा पनि अग्रता कायम भएको छ ।

समाचार तयार पार्दासम्म गणना भएका तीन चौथाइभन्दा बढी मतमध्ये गठबन्धनले ६२ प्रतिशत मत प्राप्त गरेको छ भने विपक्षी नेता सजिथ प्रेमदासाको पार्टी १८ प्रतिशत मतका साथ निकै पछि परेको छ ।

“जनताले भ्रष्टाचार र भ्रष्ट प्रणालीबाट छुटकारा पाउनका लागि मतदान गरेका छन्,” चुनावमा एनपीपीलाई समर्थन गर्ने सूचना प्रविधिका व्यवसायी चानाका राजपाक्षले बताए ।

अल्पसङ्ख्यक तमिल समुदायको बाहुल्य रहेको उत्तरी जिल्ला जाफनामा उनको पार्टीले सबैभन्दा बढी मत प्राप्त गरेको छ ।

एक मजदुर परिवारमा जन्मिएका ५५ वर्षीय राष्ट्रपति दिसानायकेले बिहीबारको चुनावमा मतदान गरेपछि संसद्मा ‘सशक्त बहुमत’ साथ आफ्नो गठबन्धनलाई अगाडि बढाउने अपेक्षा गरेको बताएका थिए ।

उनले भने, “हामीलाई विश्वास छ, यो एक महत्वपूर्ण चुनाव हो जसले श्रीलङ्कामा एउटा परिवर्तनको सङ्केत गर्नेछ । यो चुनावमा एनपीपीले संसद्मा बलियो बहुमतका लागि जनादेश पाउने हाम्रो विश्वास छ।”

प्रहरीका अनुसार, हालका वर्षहरूमा अधिकांश मतदानको विपरित नौ घण्टाको मतदान अवधि कुनै हिंसात्मक घटना बिना बितेको छ । तर ड्युटीमा रहेका बेला एक प्रहरी हवल्दारसहित तीन जना निर्वाचन कार्यकर्ताको रोगका कारण मृत्यु भएको थियो।

श्रीलङ्कामा गत सेप्टेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमाभन्दा कम ७० प्रतिशतको हाराहारीमा खसेको सञ्चारमाध्यमले जनाएका छन् ।

करिब २५ वर्षदेखि सांसद रहँदै आएका वर्तमान राष्ट्रपति दिसानायकेले केही समयका लागि कृषिमन्त्रीको रूपमासमेत काम गरेका थिए । उनको एनपीपी गठबन्धनले निवर्तमान विधानसभामा जम्मा तीन सिट मात्र जितेको थियो।

देशलाई सन् २०२२ को आर्थिक सङ्कटतर्फ धकेलेको आरोप लागेका संस्थापन पक्षका राजनीतिज्ञहरूबाट आफूलाई सफलतापूर्वक अलग्गै राखेपछि उनी सेप्टेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनबाट राष्ट्रपति पदका लागि निर्वाचित भएका थिए ।

विद्युत निर्यात बढ्दै जाँदा मुलुकको आर्थिक समृद्धिमा महत्त्वपूर्ण योगदान पुग्छः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विद्युत निर्यात बढ्दै जाँदा मुलुकको आर्थिक समृद्धिमा महत्त्वपूर्ण योगदान पुग्ने बताएका छन् ।

नेपालले बंगलादेशमा विद्युत निर्यात गर्न लागेको सन्दर्भमा शुक्रबार सामाजिक संजालमार्फत प्रचण्डले विद्युत् निर्यात बढ्दै जाँदा मुलुकको आर्थिक समृद्धिमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिएको बताएका हुन् ।

उनले भनेका छन्, ‘आज पहिलो पटक नेपालबाट बङ्गलादेशमा विद्युत निर्यात हुन थालेको खबरले हर्षित बनाएको छ । २०८० जेठमा प्रधानमन्त्रीको रुपमा भएको मेरो भारत भ्रमणका क्रममा नेपालबाट बंगलादेशमा विद्युत निर्यात गर्न दिन भारत सरकार सहमत भएको थियो । त्यसपछि आवश्यक प्रक्रिया पूरा गर्दै आज बङ्गलादेशमा विद्युत निर्यात हुन थालको हो । विद्युत् निर्यात बढ्दै जाँदा मुलुकको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छु।’

नेपालले शुक्रबारदेखि बंगलादेश विद्युत् निर्यात गर्दैछ । गत असोज १७ मा भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालले ४० मेगावाट बिजुली बंगलादेश पठाउने भएको हो ।

म्याग्दीको पर्यटकीयस्थल पुनहिलमा विद्युत र खानेपानीको समस्या

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल पुनहिलमा विद्युत् र खानेपानीको समस्या भएको छ । खानेपानी र विद्युत् सुविधाको अभावमा समुिद्र सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा रहेको पुनहिलमा हिमाल, सूर्योदय, जङ्गल, पहाडी भूगोलको दृष्यअवलोकन गरि प्रकृतिमा रमाउन जाने पर्यटकलाई समस्या भएको हो ।

घोडेपानीदेखि एकाबिहानै उकालो हिँडेर पुनहिल जाने क्रममा पदमार्गमा उज्यालो, मोबाइल, क्यामेरालगायत सामग्री चार्ज गर्न बिद्युत्, पिउन र शौचालयमा प्रयोग गर्ने पानी नहुँदा समस्या भएको काठमाडौँबाट आएका श्याम रञ्जितकारले गुनासो गरे ।

“अध्यारोमा उकालो हिँड्न पदमार्गमा सडक बत्ती र मोबाइल, क्यामेरामा ब्याट्री सकिँदा पुनहिलमै चार्ज गर्ने सुविधा भए पर्यटकलाई सजिलो हुने थियो,” उनले भने, “पानीको अभावमा शौचालय जाँदा समस्या भयो । बोकेर लगेको पानी महँगो पर्ने रहेछ् ।”

पर्यटकको सहजताका लागि पदमार्ग उज्यालो बनाउन, विद्युतीय उपकरण चार्ज गर्न र केही तल रहेको मूलबाट पानी तान्ने उद्देश्यले विसं २०८० पुष महिनामा नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रले घोडेपानीदेखि १५ वटा पोल र एक किलोमिटर एबिसी तार तानेर पुनहिलसम्म लाइन पुर्याए पनि स्थानीयवासी र गाउँपालिकाले मिटरबक्स जडानमा बेवास्ता गर्दा बिजुली नबोलेको हो ।

केन्द्रका प्रमुख सत्यनारायण गामीले स्थानीयवासीको माग अनुसार पुनहिलमा करिब २५ लाख खर्चेर बिजुलीको लाइन पुर्याइएको बताए । घोडेपानी टोल सुधार समितिका उपाध्यक्ष जुली ठकुरी पुनले मिटरबक्स जडानका लागि गाउँपालिकाले बेवास्ता गरेको गुनासो गरिन् ।

पुनहिलमा घोडेपानीबाट ग्यालिन, बोत्तल र ड्रममा बोकेर पानी लैजाने गरिएको छ । एक घण्टा लगाएर उकालोमा पानी बोकेर लैजानुपर्ने भएकाले पुनहिलमा तातोपानी, चिया, कफीको मूल्य बढी तिर्नुपर्दा पर्यटकले मर्कामा परेको गुनासो गरेका छन् ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले पुनहिलको जग्गा गाउँपालिकाको नाममा नभएकाले त्यहाँ मिटरबक्स राख्न समस्या भएको बताए । पुनहिल र तातोपानी कुण्डलगायत पर्यटकीयस्थलमा विद्युत् आपूर्तिका लागि एकै पटक पाँच वटा मिटरबक्स खरिद गर्न लागिएको उनले बताए ।

चुरेन, पुथा, गुर्जा, धौलागिरि, मानापाथी, निलगिरि, अन्नपूर्ण, बराह शिखर, माछापुच्छ्रे, लमजुङ र मनास्लु हिमालका साथै सूर्योदयको अवलोकन गर्न सकिने पुनहिलमा यहाँ वार्षिक ३० हजार जनाको अनुपातमा विदेशी र त्यो भन्दा बढी आन्तरिक पर्यटक पुग्ने गर्छन् ।

पुनहिल भ्रमणका लागि अन्नपूर्ण गाउँपालिकालाई नेपालीले प्रतिव्यक्ति ५० र विदेशीले एक सय ५० रुपैयाँका दरले प्रवेश शुल्क तिर्नुपर्छ । चालु आर्थिक वर्षमा पुनहिल प्रवेश शूल्क र चिया पसल सञ्चालनका लागि गाउँपालकाले चालिस लाख एक सय रुपैयाँमा ठेक्का लगाएको छ ।

‘परालको आगो’मा आधारित फिल्म बन्ने

काठमाडौं । कथाकार गुरुप्रसाद मैनालीद्वारा लिखित कथा ‘परालको आगो’मा आधारित चलचित्र बन्ने भएको छ । मैनाली कथा पुरस्कार ट्रस्टले हरिओम सिने मेकर्स निर्माता कम्पनीलाई चलचित्र निर्माणका लागि सहमति दिएको हो ।

‘परालको आगो’ मैनालीको कथा संग्रह ‘नासो’मा संग्रहित छ । चलचित्रको निर्माता सुशीलकुमार पोखरेललाई कथाकार मैनालीका छोरा माधवप्रसादले ‘कथाको मर्म नबिग्रने गरी’ निर्माणको अनुमति दिएका हुन् ।

सुशील पोखरेलको निर्माणमा लक्ष्मण सुनारको निर्देशनमा चलचित्र निर्माण हुनेछ । यसको छायाँकन फागुनबाट सुरु हुने र कलाकारहरु छनोट भइरहेको पोखरेलले जानकारी दिए ।

कमला नदीमा लागेको भूतमेला(फोटोफिचर)

धनुषा र सिरहालाई जोड्ने कमला नदीस्थित बसपिट्टा घाटमा कात्तिक पूर्णिमाको अवसरमा शुक्रबार बिहान कमला स्नान गर्ने भक्तजनहरुको घुइँचो । नदीमा आज अनौठो भूतमेला समेत लागेको छ ।

तस्बिरः अमरेन्द्रकुमार यादव / रासस

टुकुचाको ढलमा सङ्क्रामक पोलियो जीवाणु नभएको पुष्टि

काठमाडौँ । गत असारमा टुकुचाखोलाको ढलमा भेटिएको जीवाणु पोलियो सङ्क्रामक नभएको पुष्टि भएको छ ।

थाइल्याण्डको ब्याङ्ककमा गरिएको नमूना परीक्षणबाट उक्त जीवाणु पोलियो सङ्क्रामक नभएको राष्ट्रिय जनस्वास्वास्थ्य प्रयोगशालाकी मेडिकल प्रमुख लिली श्रेष्ठले जानकारी दिइन् ।

‘टुकुचाखोलामा भेटिएको पोलियो भाइरस सर्यो वा सरेन भन्ने यनिक गर्न हामीले खोलामा मिसाइएको ढल र अन्य ठाउँबाट नमूना सङ्कलन गरेर पटकपटक परीक्षण गर्दा पुनः पोलियो भाइरस भेटेनौं’, उनले भनिन्, “यदि उक्त भाइरस सङ्क्रमण भएको भए खोलाको ढलको नमूनामा फेरि त्यो भेटिन्थ्यो । पोलियो भाइरस नदेखिएपछि हामीले सङ्क्रमित होइन भनेर पुष्टि गरौं।’

गत असारमा काठमाडौँ महानगरपालिका–१२, त्रिपुरेश्वर नजिकै बागमती र टुकुचाखोला सङ्गमबाट नमूना सङ्कलनपछि परीक्षण गर्दा पोलयो फेला परेको थियो ।

स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले टुकुचाखोलामा पोलियो जीवाणु देखिएपछि निरन्तर नमूना सङ्कलन गरेर १३ पटक परीक्षण गर्दा त्यो पुनः नभेटिएको बताए ।

सन् २०१७ देखि खोप शाखाले ढलबाट नमूना सङ्कलन गरेर पोलियो जीवाणु परीक्षण गर्दै आएको छ । काठमाडौँका उपत्यकाका बागमती, धोबीखोला, मनहरा, विष्णुमतीबाट नमूना सङ्कलन गरेर महिनाको दुईपटक यस्तो परीक्षण गर्दै आएको खोप शाखा प्रमुख डा गौतमले बताए ।

काठमाडौँ उपत्यका बाहिर पोखरा, विराटनगर र जनकपुरका एक–एक स्थानबाट नमूना लिएर महिनाको एकपटक पोलियो जीवाणुको परीक्षण हुनेगरेको छ ।

सन् २०१० यता मुलुकमा पोलियो सङ्क्रमण भेटिएको छैन । पोलियो जीवाणुबाट फैलने पोलियो सङ्क्रामक रोग हो । पोलियो सङ्क्रमणका बिरामीलाई ज्वरो आउने, पखाला लाग्ने, जिउ दुख्ने, थकान महसुस हुनेलगायत लक्षण देखिन्छन् ।

दैलेखका किसानको ‘गुणे’ धानमा अधिक आकर्षण

दैलेख । कर्णाली प्रदेश सरकारले परम्परागत बालीमा प्रवर्द्धनका कार्यक्रम कार्यान्वयन गरेसँगै दैलेखका किसानको आकर्षण गुणे धानमा बढेको पाइएको छ । यद्यपि यहाँका किसानले डेरादुने, झ्याले, भुरसाले, कालेगुणेको खेती गरेका छन् ।

नारायण नगरपालिका–७ बिजौराका किसान रोहित खत्रीले आफ्नो नौ रोपनी खेतमध्ये पाँच रोपनीमा गुणे धान फलाएको बताए । सोही नगरपालिका–११ बिन्ध्यवासिनीकी पदमा विकले पनि नौ रोपनीमा गुणे धान फलाएकी छन् । केही दिनपछि यो धान भित्र्याउने तयारीमा खत्री र विक छन् ।

अन्य धानको तुलनामा गुणेको मूल्य बढी पाइने भएकाले आफूहरूले यो जातको धान लगाएको भैरवी गाउँपालिका–४ डाँडीमाडीका राजकुमारी आचार्यले बताइन् । दैलेखका नौमुले, डुङेश्वर, राकम कर्णाली, भैरवी, पादुकालगायत स्थानका खेतमा हाल गुणे र कालोगुणे झुलिरहेका छन् । जिल्लाको कुल खेतीयोग्य ४१ हजार १३१ हेक्टरमध्ये झण्डै आठ हजार हेक्टरमा धानखेती हुने गरेको कृषि विकास कार्यालयका प्रमुख राजु भूजले बताए । एक हजार हेक्टरमा भने हुने गुणे खेती भएको छ ।

हरेक वर्ष दैलेखमा ३० हजार क्विण्टल टन गुणे धान उत्पादन हुने गरेको भएपनि बजारको माग पूरा हुन नसकेको दैलेखका व्यापारीहरूले बताएका छन् ।

कोप–२९ मा सहभागी भई राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको राजधानी बाकुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९) मा सहभागी भएर शुक्रबार बिहान स्वदेश फर्किएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसमभाका अध्यक्ष नारायणप्रसाद दाहाल, गृहमन्त्री रमेश लेखकले स्वागत गरे ।

राष्ट्रपतिको स्वागतका लागि मन्त्री, सरकारका उच्च पदस्थ अधिकृत तथा सुरक्षा निकायका प्रमुख विमानस्थलमा उपस्थित थिए । नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिलाई सम्मानगारतबाट सम्मान गरेको थियो ।

राष्ट्रपति पौडेल अजरबैजानका आफ्ना समकक्षी इलहम अलियेभको निमन्त्रणामा सम्मेलनमा सहभागी हुन यही कात्तिक २५ गते बाकुतर्फ प्रस्थान गरेका थिए ।

राष्ट्रपति पौडेलका साथ प्रथम महिला सविता पौडेल, राष्ट्रपतिका जल तथा वातावरणविज्ञ डा परमेश्वर पोखरेल, राष्ट्रपति कार्यालयका सचिव नाराणप्रसाद शर्मा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि पुष्कर,राष्ट्रपतिका प्रमुख स्वकीय सचिव अवज्ञा पौडेल, परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राई, राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, राष्ट्रपतिका सञ्चारविज्ञ किरणकुमार पोखरेल पनि स्वदेश फर्किएका छन् ।

संघीय सरकारले फोहोरलाई राजनीतिक हतियार बनाएको बालेनको आरोप

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले काठमाडौंको फोहोर व्यवस्थापन गर्न संघीय सरकारले असहयोग गरेको आरोप लगाएका छन् ।

शुक्रबार सामाजिक संजालमार्फत मेयर साहले काठमाडौंको फोहोर व्यवस्थापन गर्नुभन्दा फोहोरलाई स्थायी राजनीतिक हतियार बनाउने गरी संघीय सरकारले असहयोग गरिरहेको आरोप लगाएका हुन् । उनले भनेका छन्, ‘संघीय सरकारले फोहोरको स्थायी समाधान गर्ने भन्दा फोहोरलाई स्थायी राजनीतिक हतियार बनाउनेमा ध्याउन्नमा असहयोग मात्र गरिरह्यो । हाम्रो अधिकार माथि पनि केन्द्र सरकारको हस्तक्षेप रह्यो ।’

यस्तो छ बालेनको भनाई
हामीले चुनाव पहिले काठमाडौं फोहोरसम्बन्धि धेरै कुरा गरेका थियौँ । आफ्ना योजना सुनाएका थियौँ । निर्वाचित भएपछि त्यही अनुसार हामीले धेरै विकल्पहरू हेर्यौं । धेरै देशको व्यवस्थापन हेर्यौं । पुराना, नयाँ प्रविधि हेर्यौं । नेपालका सयौँ मान्छे र कम्पनीसँग भेट्यौँ । हाम्रो टोली भारत, चीन, जापान लगायत धेरै ठाउँमा पुग्यो । तर हामीले भोगेको जस्तै समस्याबाट पार पाएको इन्दोर हाम्रा लागि उपयुक्त नमूना बन्न सक्ने देख्यौँ । त्यहाँका असफलता नि हेर्यौं । त्यसलाई सुधारेर पाएको सफलता पनि थाहा पायौँ । फोहोरका किसिम होस् या समाजको फोहोर व्यवस्थापनको सोच होस्, अथवा विगतमा पाएको फोहोरको समस्या होस्, इन्दोर धेरै कुरामा हाम्रो लागि उपयुक्त नमूना थियो । हामीले इन्दोरको मोडल नेपालमा स्थापना गर्न त्यहाँका विज्ञहरूसँग विगत एकबर्षदेखि परामर्शदाताकारूपमा निकट भएर काम गरिरहेका छौँ । केही पहिले प्रचण्ड प्रधानमन्त्री हुँदा उहाँ उता गएर हामीले पनि यस्तै गर्न सकिने रैछ भन्नु भएको थियो । अनि काठमाडौंबाहेक धेरै नगरपालिकाहरू पनि त्यो मोडल हेरेर चित्त बुझेर त्यो मोडलमा काम गर्न खोज्दै हुनुहुन्छ । तर कसरी जम्मा गर्ने, कसरी व्यवस्थापन गर्ने उपयुक्त कार्यविधि र कानून नै थिएन ।

हामीले कानून बनायौँ । अनि त्यसको कार्यान्वयनको तिर लाग्यौँ । तर विभिन्न किसिमका अवरोधहरू सिर्जना गरिदिने काम भइरह्यो । त्यही पनि हामीले केही वडाबाट पाइलट प्रोजेक्ट शुरू गर्यौं । फोहोरलाई वर्गीकरण गर्ने ती वडाहरूमा सफलतापूर्वक काम हुँदैछ भने अर्गानिकलाई मल बनाउने काम पनि हुँदैछ । हामीले सही र दिगो समाधान गर्नका लागि वैधानिक मापदण्ड अनुसार टेन्डर गरेका थियौँ । तर त्यसमा नेपवेस्ट नामको कम्पनीले अवरोध सिर्जना गर्न मुद्दा दर्ता गर्न पुग्यो । त्यो कम्पनीले काठमाडौंको फोहोर व्यवस्थापनमा अवरोध सिर्जना गरिरहेको पहिलो पटक थिएन । राज्यको सबै स्रोत साधन प्रयोग गरेर गरैकानुनि रुपमा अर्बौ कमाउने उक्त कम्पनीको स्वार्थ सधै हाबी रह्यो, यतिसम्मकी प्रचण्ड प्रधानमन्त्री हुँदा चीन जाँदा समेत उक्त कम्पनीबारे चर्चा भएको थियो । एक पटक त्यही कम्पनीको सौजन्यमा बसेको बैठकले अघिल्लो बैठकमा उसलाई नदिने निर्णय भए पनि त्यही कम्पनीको सौजन्यमा उपत्यका मेयर्स फोरमको बैठक बसेको थियो । मैले त्यसको सार्वजनिक असहमति प्रकट गर्दै १ नोभेम्बर २०२३ मा लेखेको थिएँ, ’१७ वटा नगरपालिकाले कुनै प्राइभेट कम्पनीबाट पैसा खाएर बसाएको बैठक बहिष्कार गरेको हो, कसैको अपमान गरेको होइन । नेताज्यूहरुले त देशनै बेच्न खोजिसक्नु भो, तर काठमाडौं महानगर बिक्रीमा छैन । तपाईंहरुले पुरै देशनै बेच्नुभो भने पनि, काठमाडौं एक्लै नेपाल भनेर उभिनेछ ।’

उक्त कम्पनी र छिमेकी नगरपालिकाहरूको असहयोगसँगै काठमाडौंको फोहोर व्यवस्थापनले भोगिरहेको अर्को समस्या हो, संघीय सरकारको हस्तक्षेप । संघीय सरकारले फोहोरको स्थायी समाधान गर्ने भन्दा फोहोरलाई स्थायी राजनीतिक हतियार बनाउनेमा ध्याउन्नमा असहयोग मात्र गरिरह्यो । हाम्रो अधिकार माथि पनि केन्द्र सरकारको हस्तक्षेप रह्यो ।

संघीय सरकार र छिमेकी नगरपालिकाले उक्त कम्पनीकोलाई नै फोहोरको जिम्मा दिएर काठमाडौंको फोहोरमा एकाधिकार लाद्ने र कहिलै दिगो समाधान नहुने बाटोमा लागे पनि हामी त्यसलाई वैधानिकरूपमा नै तोड्न क्रियाशील छौँ । यसैले हामीले सही र दिगो समाधान गर्नका लागि वैधानिक मापदण्ड अनुसार टेन्डर गरेका थियौँ । त्यसमा नेपवेस्टमार्फत मुद्दा हालियो । तर, सम्मानित अदालतले यो अधिकार काठमाडौं महानगरमै निहित रहेको भन्ने आदेश दिएपछि काठमाडौंको फोहोर व्यवस्थापनमा रहेको एकखालको अवरोध पाखा लागेको छ । फोहोरको दिगो व्यवस्थापनमा हामी एक कदम अगाडि बढेका छौँ । अवरोध, हस्तक्षेप र राजनीतिका खराब दाउपेच अझै पनि हुन सक्छन् । तर हामी रोकिने छैनौँ । फोहोरमा राजनीति गर्ने र गराउने दिन सकिएको पुनः जानकारी गराउँछौँ । यसैले सबै किसिमका दाउपेच छोडेर, राजनीतिक पूर्वाग्रह त्यागेर महानगरको काममा सहयोगी बन्न आग्रह गर्दछौँ ।

हामी स्पष्ट छौँ, काठमाडौंको फोहोरको दिगो समाधान सम्भव छ । यो काठमाडौंबासीको अधिकारको ¬कुरा हो । हामीले फोहोर थुपारेर वर्षौँदेखि अन्याय गरिरहेको सिस्डोल र बञ्चरेडाँडा लगायत स्थानका पीडितहरूको न्यायको कुरा हो । यो हजारौँको रोजगारी र देशभरको गौरव जोडिएको बिषय हो । हामी समस्या समाधानको बाटोमै छौं अबरोध अझै आउन सक्छन् तर यसमा रत्तिभर पनि सम्झौता नगरी अगाडि बढ्नेछौं ।

दार्चुलामा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुग्यो

दार्चुला । दार्चुलामा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुगेको छ । दार्चुलाको मालिकार्जुन मन्दिरमा लागेको जात्राबाट फर्कने क्रममा जिप दुर्घटना हुँदा दुई भारतीयसहित आठ जनाको मृत्यु भएको हो ।

मालिकार्जुनबाट गोकुलेश्वरतर्फ गइरहेको म १ ज ३३८ नम्बरको जिप शुक्रबार बिहान ४ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

जिप दुर्घटनामा शैल्यशिखर–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, २८ वर्षीया शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी–५ का १५ वर्षीय संजिव बोहरा, वीरेन्द्र बोहरा, शैल्यशिखर नगरपालिका–९ नकतडकी ४० वर्षीया मिना लेखक तथा भारतको उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र १८ वर्षीय मोहमद बसिमको मृत्यु भएको दार्चुलाका प्रहरी प्रमुख डीएसपी प्रकाश दाहालले जानकारी दिए ।

जिप चालक मालिकार्जुन गाउँपालिका–८ पस्तीका सुनिल जोशीको अवस्था गम्भीर रहेको छ । ५ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते सबैको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

इटाली र फ्रान्स नेसन्स लिगको क्वाटरफाइनलमा

काठमाडौँ । इटाली र फ्रान्स नेसन्स लिगको क्वाटरफाइनलमा पुगेका छन् । बिहीबार राति भएको खेलमा इटलीले लिग–वान ग्रुप–टुको खेलमा बेल्जियमलाई १–० ले हरायो ।

त्यसमा सान्ड्रो टोनालीले १ मात्र गोल गरे । इटालीका लागि उनको यो पहिलो अन्तर्राष्ट्रिय गोल पनि रह्यो । फ्रान्सले भने इजरायलसँग गोलरहित बराबरी खेल्यो । लिग–बी ग्रुप–टुको खेलमा भने इंग्ल्यान्डले ग्रिसलाई ३–० र आयरल्यान्डले फिनल्यान्डलाई १–० ले हरायो ।

एथेन्समा भएको खेलमा ओली वाट्किन्सन र कर्टस जोन्सले १÷१ गोल गरे । अर्को गोल आत्मघाती रह्यो । यससँगै इंग्ल्यान्डले यसअघि ग्रिसविरुद्ध बेहोरेको हारका बदला पनि लिएको छ ।

यस्तै लिग–बी ग्रुप–थ्रीमा नर्वेले स्लोभानियालाई ४–१ ले पराजित ग¥यो र यसमा इर्लिङ हालान्डले दुई गोल गरे । उनी नर्वेका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् । उनले यो कीर्तिमानलाई ३५ गोल पुर्याएका छन् ।

चितवन राइनोजमा इंग्ल्याण्डका रवि बोपारा अनुबन्ध

काठमाडौँ । आसन्न नेपाल प्रिमियर लिग (एनपीएल)का लागि चितवन राइनोजले इंग्ल्याण्डका रवि बोपारालाई अनुबन्ध गरेको छ ।

इंग्ल्याण्डबाट १७१ अन्तर्राष्ट्रिय क्रिकेट म्याच खेलेका उनले तीन वटै (टेस्ट, एक दिवसीय र टी–२०) फर्म्याटमा उत्कृष्ट प्रर्दशन गरेका छन् ।

३९ वर्षीय क्रिकेटर बोपाराले २००२ मा फस्ट क्लास क्रिकेटमा डेब्यु गरेका थिए । त्यसपछि उनले यु १९ विश्वकपमा इंग्ल्याण्डबाट खेलेका थिए । उनी सन् २०१६ मा इंग्ल्याण्डको टिमको कप्तान पनि भएका थिए ।

पछिल्लो समय राष्ट्रिय टिमबाट विदा भए पनि उनले फ्रेन्चाइज क्रिकेट भने खेल्दै आएका छन् । टी–२० लिगहरूमा ४७८ खेलबाट ९ हजार ४८६ रन र २९१ विकेट लिएका छन् । उनीसँग इन्डियन प्रिमियर लिग आइपीएल, बंगलादेश प्रिमियर लिग, पाकिस्तान सुपर लिग खेलेको पनि अनुभव छ ।

चितवन राइनोजपछि बोपाराले नेपालमा क्रिकेटप्रतिको क्रेज र समर्थनबारे जानकार रहेको बताउँदै नेपालमा आएर खेल्नका लागि उत्साहित रहेको बताएका छन् । त्यसैगरी चितवन राइनोजका प्रबन्ध निर्देशक आयुष न्यौपानेले बोपाराको उपस्थितिले टिम सन्तुलित हुनुका साथै ड्रेसिङ रुममा पनि उत्कृष्ट हुने बताए ।

शान्तिश्री र नेत्रको ‘आधा मुटु’

काठमाडौं । शान्तिश्री परियार र नेत्र भण्डारीको स्वरमा नयाँ गीत ‘आधा मुटु’ आएको छ । प्रेम, विवाह र डिभोर्सको कथा समेटिएको गीतको म्यूजिक भिडियोमा अभिनेता सुशान्त कार्की र मोडल तथा अभिनेत्री गरिमा शर्माको अभिनय रहेको छ । गीतमा रमेश परियारको शब्द रचना तथा गायक भण्डारीको संगीत छ ।

रिजन नेपालको युट्युब च्यानलकाट सार्वजनिक भएको गीतलाई कृष्ण केसीले एरेञ्ज गरेका हुन् । गीतको भिडियोमा जेरी भण्डारीको निर्देशन, कथा र पटकथा रहेको छ । भिडियोको नवराज उप्रेतीले छायाँकन गरेका हुन् ।

‘लेक टु लेक साइकल ट्र्याक’ निर्माणमा एडिबीको सहयोग

कास्की । नेपालको विकास साझेदार एसियाली विकास बैंक (एडिबी)ले पोखरामा तालबाट तालसम्म ‘लेक टु लेक साइकल ट्र्याक’ निर्माणका लागि सहयोग गर्ने भएको छ । पोखरा महानगरपालिका क्षेत्रमा रहेका सात वटा तालहरूलाई जोड्ने उक्त परियोजना निर्माण गर्न महानगरले गत वर्षदेखि योजना अघि बढाएको हो ।

‘लेक टु लेक साइकल ट्र्याक’को गुरुयोजनाका बारेमा छलफल सुरु भएको छ । पोखराको दिगो पर्यटन विकासअन्तर्गत यो परियोजना सञ्चालनका लागि गुरुयोजना निर्माण गर्न लागिएको महानगरप्रमुख धनराज आचार्यले बताए ।

उनका अनुसार एडिबीको रु एक अर्ब आर्थिक सहयोगमा निर्माण हुने परियोजनाले पोखरामा रहेका सबै तालहरूलाई एक आपसमा जोड्ने छ । उनले ८५ किमी लम्बाइको ‘लेक टु लेक जोड्ने साइकल ट्र्याक’ पोखराका लागि महत्पूर्ण पर्यटकीय पूर्वाधार बन्ने बताए ।

नगरप्रमुख आचार्यले भने, “यसले संसारभरिका साइकल प्रेमीहरूलाई पोखरामा आकर्षण गर्नेछ, पर्यटकलाई हिमाल हेर्दै तालको किनारमा गरिने साइक्लिङको आनन्द प्रदान गर्नेछ भने पोखराको पर्यटन प्रवर्द्धनमा यो महत्वपूर्ण कोशेढुङ्गा सावित हुने विश्वास लिएका छौँ ।”

पोखरा महानगर वातावरणीय हिसाबले स्वच्छ, सुन्दर र आकर्षक रहेकाले यहाँ बन्ने साइकल ट्र्याक मानव स्वास्थ्य र पर्यावरणको संरक्षणप्रति समर्पित एक दिगो पूर्वाधार बन्ने आचार्यले उल्लेख गरे ।

पोखरामा रहेका तालहरूलाई एकआपसमा (भित्र पर्नेगरी र तालहरू बाहिर पर्नेगरी) जोड्ने गरी ‘इनर’ र ‘आउटर’ दुई वटा रुटसहित विभिन्न स्थानमा कनेक्ट रुटहरू निर्माण गर्दा करिब ८५ किमी लम्बाइको साइकल ट्र्याक बन्ने महानगरले जनाएको छ ।

नेपाली यू–१९ महिला क्रिकेट टोलीलाई विमानस्थलमा भव्य स्वागत

काठमाडौँ । नेपाली यू–१९ महिला क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको छ । सन् २०२५ मा मलेसियामा हुने विश्वकप र एसिया कपमा स्थान सुरक्षित गरेको टोली बिहीबार साँझ स्वदेश फर्किएको हो ।

टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेप सदस्य सचिव टंकलाल घिसिङलगायतले स्वागत गरेका थिए । युनाइटेड अरब इमिरेट्स (युएई) मा भएको आइसीसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको अन्तिम खेलमा युएईलाई आठ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो ।

एसिया छनोटका ६ खेलमध्ये नेपालले पाँच खेलमा जित हासिल गरेको थियो भने एक खेलमा नेपाल पराजित भएको थियो । त्यस्तै यू–१९ महिला क्रिकेट टोलीले आगामी मंसिर ३० गतेदेखि मलेसियामा हुने एसीसी यू–१९ महिला एसिया कपमा सहभागी जनाउनेछ ।

एसिया कपमा नेपालसहित छ टोलीको सहभागिता रहने छ । एसियाली क्रिकेट परिषद् (एसीसी) अनुसार समूह ‘ए’ मा नेपालसहित भारत र पाकिस्तान छन् भने समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का र मलेसिया छन् । नेपालले आगामी पुस १ गते पाकिस्तानसँग र पुस २ गते भारतसँग प्रतिष्पर्धा गर्नेछ ।

काठमाडौंमा एकै परिवारका तीन जना मृत फेला

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वरस्थित आफ्नै घरभित्र एकैपरिवारका तीन जना मृत भेटिएका छन् । गोकर्णेश्वर नगरपालिका–३ कुमारी गाम्छा बस्ने कान्छा नगरकोटीकी श्रीमती, छोरी र छोरा घरको कोठाभित्र मृत भेटिएका हुन् ।

कान्छा नगरकोटीकी श्रीमती सीता दङ्गाल, १५ वर्षीया छोरी अंशु मोक्तान र दुईमहिने छोरा आफ्नै कोठाभित्र मृत भेटिएका जिल्ला प्रहरी परिसर काठमाडौँ प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

कान्छा नगरकोटीले यही कात्तिक १६ गतेदेखि हराइरहेको भन्दै बिहीबार दिउँसो प्रहरीवृत्त बौद्धमा खोजतलासका लागि निवेदन दिएका थिए ।

सोही आधारमा खोजतलासमा खटिएको प्रहरी टोलीले अपराह्न घरको कोठाभित्रै उनीहरु मृत फेला परेको प्रहरी उपरीक्षक अधिकारीले उल्लेख गरे । प्रहरीवृत्त बौद्ध र प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

प्राधिकरणले शुक्रबारदेखि बंगलादेश विद्युत निर्यात गर्ने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले शुक्रबारदेखि ४० मेगावाट विद्युत बंगलादेश निर्यात गर्ने भएको छ । भारतले अन्तिम स्वीकृति दिएसँगै बंगलादेश विद्युत निर्यात गर्न लागिएको हो ।  प्राधिकरणका प्रवक्ता चन्दन घोषले शुक्रबारदेखि नेपालको विद्युत बंगलादेशमा निर्यात हुने जानकारी दिए ।

यसअघि नै नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट र भारतको विद्युत व्यापार निगमबीच त्रिपक्षीय सम्झौता भइसकेको छ । भारतीय प्रसारणलाइन प्रयोग गरेर नेपालको बिजुली बंगलादेश लैजानुपर्ने भएकाले त्रिपक्षीय सम्झौता भएको हो ।

सम्झौता भएपनि भारतले प्रसारणलाइन प्रयोग गर्ने अनुमति दिएको थिएन । बीपीडीबीले २०८० पुस १६ गते नेपालबाट उत्पादित ४० मेगावाट विद्युत् बंगलादेश, भारत र नेपालका निकायहरुबीचको त्रिपक्षीय सम्झौताअनुसार हुनेगरी पाँच वर्षसम्म खरिदका लागि बोलपत्र (टेण्डर) आह्वान गरेको थियो ।

प्राधिकरणले विद्युत बिक्रीका लागि तोकिएको ढाँचामा बिक्री गरिने विद्युत्को दरसहितको बोलपत्र सम्बन्धी कागजात पेस गरेको थियो । पेस गरिएका बोलपत्र सम्बन्धी कागजात मूल्याङ्कन गरी त्यसलाई सम्बन्धित निकायबाट स्वीकृत भएको जानकारी दिँदै बिपिडिबीले बोलपत्र स्वीकार गर्ने आशयको सूचना प्राधिकरणलाई दिएको थियो ।

प्राधिकरणले भारतीय अनुदानमा निर्माण भएको तथा आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत बंगलादेश निर्यात गर्ने तयारी गरेको छ । यी दुवै भारतमा विद्युत निर्यातका लागि स्वीकृति पाइसकेका आयोजनाहरु हुन् ।

विश्वकपमा छनौट यू–१९ महिला क्रिकेटरले जनही २ लाख ५० हजार पुरस्कार पाउने

काठमाडौँ । आईसीसी यू–१९ विश्वकपमा छनौट नेपाली महिला टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले जनही दुई लाख ५० हजार रुपैयाँ पुरस्कारको घोषणा गरेको छ ।

क्यानले नेपाली टोलीका १४ खेलाडीलाई जनही २ लाख ५० हजार रुपैयाँ दिने घोषणा गरेको हो । त्यस्तै नेपाली टोलीका अफिसियलहरुले जनही १ लाख ५० हजार पाउने क्यानले जनाएको छ ।

यूएईबाट विश्वकपको यात्रा तय गरेको नेपाली टोली आजै स्वदेश फर्कदैछ । नेपालले बुधबार यूएईलाई निर्णायक खेलमा ८ विकेटले पराजित गरी आगामी जनवरीमा हुने आईसीसी यू–१९ विश्वकपलाई छनोट भएको थियो ।

‘कूटनीतिक समाधानमा पुग्ने’ प्रयासमा राष्ट्रसङ्घका आणविक प्रमुख इरानमा

तेहरान । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हाल्नुभन्दा केही हप्ताअघि तेहरानमा आणविक वार्ता सुरु गरेका बेला अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका प्रमुख राफेल ग्रोसीले बिहीबार इरानका उच्च कूटनीतिज्ञसँग भेटवार्ता गरेका छन् ।

सन् २०१७ देखि २०२१ सम्म ह्वाइट हाउसमा आफ्नो पहिलो कार्यकालको दौडान ट्रम्पले ‘अधिकतम दबाब’ नामक नीतिको अख्तियारी गरेका थिए । उक्त कदमले सन् २०१५ को ऐतिहासिक आणविक सम्झौताअन्तर्गत हटाइएका अमेरिकी आर्थिक प्रतिबन्धहरूलाई पुनः लागू गरेको थियो ।

बुधबार राति तेहरान आइपुगेका ग्रोसीले देशका शीर्ष आणविक तथा राजनीतिक अधिकारीहरूसँग वार्ता गर्ने अपेक्षा गरिएको इरानको सरकारी समाचार संस्था ( इरना) ले जनाएको छ ।

ग्रोसीले सन् २०१५ को सम्झौतामा इरानका प्रमुख वार्ताकार तथा वर्तमान् विदेशमन्त्री अब्बास अरागचीसँगको भेटलाई ‘अपरिहार्य’ भनेका छन् ।

ग्रोसीले इरानको आणविक ऊर्जा सङ्गठनका प्रमुख मोहम्मद इस्लामीसँग पनि भेट गरेको तस्नीम समाचार संस्थाले जनाएको छ ।

यसपछि आईएईए प्रमुखले राष्ट्रपति मसूद पेजेस्कियानसँग यस वर्षको सुरुमा निर्वाचित भएपछि पहिलो वार्ताका लागि भेट्ने अपेक्षा गरिएको छ ।

तेहरानका लागि ग्रोसीको यो भ्रमण यो वर्ष दोस्रो हो तर ट्रम्प पुनः निर्वाचित भएपछिको पहिलो हो ।

पाकिस्तानमा विषाक्त धुवाँका कारण एकै दिनमा १५ हजारभन्दा बढी सङ्क्रमित

लाहोर । लाहोरलगायत पाकिस्तानका अन्य भागहरूमा विषाक्त धुवाँ फैलिँदा २४ घण्टामा १५ हजारभन्दा बढी व्यक्तिमा श्वासप्रश्वास जन्य सङ्क्रमण भएको एरी न्यूजले जनाएको छ।

लाहोरका अस्पताल सुख्खा खोकी, सास फेर्न गाह्रो, निमोनिया र छातीमा सङ्क्रमण भएका बिरामीहरूले भरिएका एरी न्यूजले उल्लेख गरेको छ।

मेयो अस्पतालमा चार हजार बिरामी, जिन्ना अस्पताल तीन हजार छ सय बिरामी, गङ्गाराम अस्पतालमा तीन हजार बिरामी र बाल अस्पतालमा दुई हजार बिरामीलगायतका प्रमुख सरकारी अस्पतालमा अधिकांश श्वासप्रश्वासजन्य सङ्क्रमणबाट ग्रसित भएको भेटिएका छन्।

पाकिस्तानका चिकित्सा विज्ञहरूले प्रदुषणका कारण दम र मुटुको रोगजस्ता समस्या भएका बालबालिका तथा बिरामीहरू अत्यधिक रूपमा अस्पतालमा उपचारका लागि पुगेका छन्। उनीहरुले प्रदुषण र धुवाँले निमोनिया, छातीको सङ्क्रमण र छालाका रोगहरूसहित विभिन्न भाइरल रोगहरूमा वृद्धि गरेको जनाएका छन्।

पाकिस्तानका विभिन्न भागहरूमा धुलो तथा धुवाँको प्रदुषण बढेको भन्दै यातायात विभागले नयाँ निर्देशन जारी गरी यातायातका साधनलाई अतिआवश्यक कामका लागि बाहेक पालो मिलाएर सेवा दिन निर्देशन गरेको छ भने विद्यालय र कलेजहरू बन्द गरिएका छन्।

पछिल्लो समयमा उत्तरी पाकिस्तानमा फैलिएको धुवाँलाई नासाको ‘मोडरेट रिजोलुसन इमेजिङ स्पेक्ट्रोरेडियो मिटर’ ले पनि रिपोर्ट गरेको छ ।

सन् २०२४ को ‘नोभेम्बरको सुरुमा उत्तरी पाकिस्तानी आकाश धुवाँले ढाँकिदा हावाको गुणस्तर घटेकाले विद्यालयहरू बन्द भएको र सयौँ मानिसहरू अस्पतालमा पठाइएको नासा मोडिसले जनाएको छ।

नासाले देशमा एक्यूआईको घट्दो स्तरलाई पनि ध्यानमा राख्दै पाकिस्तानको पञ्जाब क्षेत्रका केही भागहरूमा वायु गुणस्तर सूचकाङ्क नोभेम्बर १० मा एक हजार ९०० भन्दा माथि पुगेको जनाएको छ।

पाकिस्तानी मिडिया स्रोतका अनुसार पाकिस्तानको पञ्जाब प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणले प्रदुषण ‘प्रकोप’ घोषणा गरी आपतकालीन उपायहरू सुरु गरेको घोषणा गरेको थियो।

प्रदूषणबारे जानकारी दिँदै मोडिसले धुवाँको सतह बाक्लो भएकाले पाकिस्तानको परिदृश्यलाई पूर्ण रूपमा अस्पष्ट पारेको बताएको छ। पछिल्लो समयमा विश्वको सबैभन्दा बढी प्रदूषित सहरहरूको सूचीमा पाकिस्तानको लाहोर सहर परेको छ।

ब्राजिलको सर्वोच्च अदालत नजिकै विष्फोट, एक जनाको मृत्यु

ब्राजिल । ब्राजिलको सर्वोच्च अदालत नजिकै ‘आत्मघाती आक्रमण’मा विस्फोटक पदार्थ बोकेका एक व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जी–२० शिखर सम्मेलनको तयारी भइरहेका समय सम्मेलन हुनुभन्दा केही दिनअघि उक्त आक्रमण भएको हो ।

ब्रासिलियाका उपराज्यपाल सेलिना लेओकाअनुसार प्रारम्भिक जानकारीअनुसार यो ‘आत्मघाती’ आक्रमण प्रयास थियो । उनले भने, “अदालत नजिकैको नजिकैको कारमा विस्फोट भएको र केही सेकेन्डपछि उक्त व्यक्ति बाहिर निस्केको देखिएको बताए

“आक्रमणकारी कारमा बसेर सङ्घीय सर्वोच्च अदालतमा पुगी प्रवेश गर्ने प्रयास गरेको तर सुरक्षा सतर्कताका कारण प्रवेश गर्न असफल भएको र पछि प्रवेशद्वारमा विस्फोट भएको थियो,” लेओले भने । आक्रमणबाट ‘अन्य कसैलाई पनि चोट पटक लागेको छैन ।

उनले भने, “मृतकलाई विस्फोटक उपकरणसहित रहेको अवस्थामा घटनास्थलबाट सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्।”

सङ्घीय प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आक्रमणको अनुसन्धानका लागि प्रहरी अनुसन्धान सुरु गरिनेछ ।”

अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति सी चिनफिङसहित विश्वका नेताहरूको सहभागितामा आगामी सोमबारदेखि सुरु हुने जी–२० शिखर सम्मेलनको पूर्वसन्ध्यामा अधिकारीहरूले देशमा सुरक्षा व्यवस्था कडा पारिसकिएको बताएका छन् ।

राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा विस्फोटको समयमा राष्ट्रपति कार्यालयमा नभएको बताइएको छ ।

नेपाली सेनाद्वारा गणेश हिमाल आधार शिविर जाँदै गर्दा बिरामी परेका दुईको उद्धार

काठमाडौं । गणेश हिमाल आधार शिविर जाँदै गर्दा बिरामी परेका दुई जनालाई नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार गरेको छ । पर्यटन प्रवर्द्धनका लागि गणेश हिमाल आधार शिविर जाँदा बिरामी परेका डिभिजन वन कार्यालय, धादिङका प्रमुखसहित दुई जनालाई उद्धार गरेर काठमाडौं ल्याइएको हो ।

पर्यटन प्रवर्द्धनका लागि गणेश हिमाल आधार शिविर जाँदै गर्दा डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णुप्रसाद आचार्य र प्राविधिक सहायक अनुसिया ढुंगानालाई श्वासप्रश्वासको समस्या देखिएको थियो ।

उनीहरूको २७ घण्टापछि बिहीबार दिउँसो साढे १ बजे उद्धार गरिएको नेपाली सेनाले जनाएको छ । आधार शिविर नपुग्दै आँखुखोला नजिक बिरामी परेपछि १६ जनाको टोली बीच बाटोमै रोकिएको थियो ।

चिनियाँ महासङ्घको टोलीद्वारा भक्तपुर अवलोकन

भक्तपुर। प्रवासमा बसेर चीन फर्किएका प्रवासी चिनियाँ महासङ्घको प्रतिनिधिमण्डलले आज भक्तपुरको ऐतिहासिक स्थल अवलोकन भ्रमण गरेका छन् ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले महासङ्घका उपाध्यक्ष छङ स्युएयुआनको नेतृत्वमा आएको टोलीलाई भक्तपुर दरबार क्षेत्रको प्रवेशद्धारमा पुष्पगुच्छा, भादगाउँले टोपी, खादा र परम्परागत थैली प्रदान गरेर स्वागत गरेका थिए ।

नगर प्रमुख प्रजापतिले चिनियाँ नेताले भक्तपुरका कला, संस्कृति संरक्षणलाई अवलोकनका क्रममा विशेष ध्यान दिएको बताए। यस्ता भ्रमणले नेपाली जनता र चिनियाँ जनताबीचको सम्बन्ध अझ मजबुत हुने विश्वास व्यक्त गरे ।

महासङ्घका उपाध्यक्ष स्युएयुआनले सभ्यता र सँस्कृतिको आदान–प्रदानमार्फत दुई देशबीचको सम्बन्धलाई बलियो बनाउनुपर्ने बताउँदै भक्तपुर गहिरो साँस्कृतिक जग भएको कलात्मक सहर भएको उल्लेख गरे। उनले चीन–नेपालबीचको सम्बन्ध इतिहास जत्तिकै पुरानो रहेको स्मरण गरे।

चिनियाँ टोलीमा महासङ्घका चु ल्यउ, लीन सियाओफान, चाओ रूओछन्, वाङ सङ हुई र चिनियाँ दुतावासबाट काउन्सिलर छिन वनछ्, वाङ तोङ, नेपाल प्रवासी चिनियाँ संगठनका अध्यक्ष चीन सियाओतोङलगायतको सहभागिता रहेको थियो ।

प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा अवस्थित राष्ट्रिय कला सङ्ग्रहालय, स्वर्णद्वार, पचपन्न झ्याले दरबार, सिद्धिलक्ष्मी मन्दिर, सिलु महादेव मन्दिर र चतुर्ब्रह्म महाविहार अवलोकन गर्दै टौमढी क्षेत्रको पाँचतले मन्दिर, भैवनाथ मन्दिर, गःहिटीको लक्ष्मीनरसिंह मन्दिर हुँदै तालाक्व क्षेत्रमा मृत्तिका कलाको पनि अवलोकन गरेको थियो ।

अदालतले भन्यो-पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हकको दाबी पुग्दैन

काठमाडौँ ।  काठमाडौँ जिल्ला अदालतले २१ वर्षदेखि मारवाडी सेवा समितिको कब्जामा रहेको पशुपति क्षेत्र विकास कोष स्वामित्वको पशुपति गौशाला धर्मशालाको जग्गाजमिनमा मोहियानी हक नलाग्ने फैसला गरेको छ ।


न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले गत असोज १६ गते गरेको फैसलाको पूर्णपाठमा पशुपति गौशाला धर्मशालाको साविक पशुपति वडा नं. २ को कित्ता नम्बर ८३ को चार रोपनी १५ आना दुई दाम र कित्ता नम्बर ८५ को चार रोपनी १० आना जग्गामा समितिको मोही हक नलाग्ने ठह–याएको छ । समितिले धर्मशालाको जग्गामा आफ्नो मोही हक दावी गरेपनि सो जग्गामा मोही रहेको तथ्य अस्वीकार गरिएको फैसलामा उल्लेख छ ।


‘साविकदेखि पशुपति गौशाला धर्मशाला नामक कुनै पनि संस्था अस्तित्वमा रहेको देखिँदैन । सो तथ्यलाई वादी मारवाडी सेवा समितिले २०६० जेठ १२ गते पशुपति अमालकोट कचहरीसँग सम्झौता गर्दा स्वीकार गरेको देखिन्छ,’ फैसलामा भनिएको छ ।


फैसलामा जग्गा श्री पशुपति अमालकोट कचहरीमा दर्ता भएको गुठीको जग्गा भन्ने तथ्यमा विवाद नदेखिए पनि श्री पशुपतिनाथ अमालकोट कचहरीबाट मोही दर्ता भई मोही दर्ताको प्रमाणपूर्जा प्राप्त गरेको भनी सोको छायाँप्रति पेश गरी सो दर्ता अभिलेखमा दावीको जग्गाको मोही महलमा श्री पशुपति गौशाला धर्मशाला रहेको तथ्यलाई मुख्य आधार लिएको देखिएको उल्लेख छ ।


‘वादी (समिति) आफैँले गरेको करार सम्झौताको शर्तबाट यी बादी विवन्धित रहेको हुँदा दावीको जग्गामा आफ्नो मोही हक रहेको छ भनी भन्न पाउने अवस्था देखिँदैन । साथै सर्वोच्च अदालतबाट आफै पक्ष भएको फैसलालाई अवज्ञा गर्ने छुट यी वादीलाई नभएकाले उक्त जग्गामा मारवाडी सेवा समितिलाई मोही हक दावी गर्ने कुनै आधार देखिएन,’ फैसलामा भनिएको छ ।


फैसलामा ‘सार्वजनिक सम्पत्तिको विषयमा मनोमानी एवं अपारदर्शी ढङ्गले सम्झौता गरिएका रहेछन् भने त्यसरी गरिएका सम्झौता अपरिवर्तनीय हुन्छन् भन्ने अर्थ गर्न मिल्ने देखिँदैन’ भनिएको छ ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६० जेठ १२ गते भएको सम्झौतामा समयावधि उल्लेख नभएकाले समयावधि किटान गरी सम्झौता गर्न, विशेष अदालतले २०६७ जेठ ३१ गते गरेको फैसला र सर्वोच्च अदालतले २०६८ असार २७ गते गरेको फैसलामा वार्षिक रु ५१ हजार बुझाउनेलगायत सम्झौताको शर्त संशोधन गर्न सकिने भए पनि त्यसो नगरिएका कारण सम्झौता खारेज गर्ने कोषको २०८० साउन १७ गतेको निर्णय सदर हुने फैसला अदालतले गरेको हो ।


फैसलामा सार्वजनिक सरोकारको, धार्मिकस्थलको जग्गा तथा भौतिक संरचनाको उपयोग एवं संरक्षणको जिम्मेवार रहेको पदाधिकारीले त्यस्तो सम्पत्तिको संरक्षण र उपयोगको व्यवस्थापन गर्दा पूर्णजवाफदेही एवं पारदर्शी ढंगले हुनुपर्ने भनिएको छ ।


समितिले सम्झौता रद्द गर्ने निर्णयपछि कोषसहितलाई विपक्षी बनाई २०८० साउन २४ गते काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।


कोषका सदस्य सचिव डा मिलनकुमार थापाले अदालतबाट पशुपतिनाथको सम्पत्ति फिर्ता भएसँगै अब सरकारी निकायकै समन्वयमा गैरनाफामूलकरुपमा सञ्चालन गरिने बताए । विगतमा पशुपतिनाथको सम्पत्ति स्वार्थ समूह र नियोजितरुपमा कुनै समूहलाई दिने सम्झौता भए पनि त्यसलाई न्यायालयले सच्याइसकेकाले पशुपति गौशाला धर्मशाला अब पूर्णतःफिर्ता भएको उल्लेख गरे ।


मारवाडी सेवा समितिले २०६० मा श्रीपशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष)सँग भएको सम्झौताअनुसार वार्षिक ५१ हजार ‘सहयोग’ बुझाएर होटल, लज, रेस्टुरेन्ट, डायलासिस सेन्टर सञ्चालन गरी र जर्सी गाई पालेर व्यापार गर्दै आएको थियो ।


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं कोषका अध्यक्ष बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा गत असोज २० गते बसेको बैठकले धर्मशाला कोष आफँैले सरकारी निकायको समन्वयमा सञ्चालन गर्ने निर्णय गरेको छ । समितिको दाबी नपुग्ने फैसलापछि कोषले असोज २२ गते महानगरसँग पशुपति गौशाला धर्मशाला सञ्चालन र व्यवस्थापन गर्ने सहमति गरेको छ ।


गौशाला धर्मशालाको इतिहास

विसं १९९९ जेठ ५ गतेको पुर्जीले पशुपतिमा छोडिएका दुध कटुवा नन्दी (साँढे)को संरक्षणका लागि जुनेलो घाँस लगाउन हरिनारायण भनिने रामकुमार मारवाडीलाई एक रोपनी दुई आना जग्गा उपलब्ध गराएको दस्ताबेजमा उल्लेख छ । साविक पशुपति पञ्चायत वडा नं २ ‘क’ को कित्ता नं ८३ को चार रोपनी दुई आना र किनं ८५ को चार रोपनी १० आना गरी जम्मा नौ रोपनी नौ आना दुई पैसा जग्गामा कोही पनि मोही नरहेको तथ्य कोषको अभिलेखमा देखिन्छ ।

आइटी उद्योगमार्फत रोजगार सिजर्ना गर्न सकिन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी तीन वर्षभित्र तीन लाख युवालाई ‘आइटी’ उद्योगमार्फत रोजगारी सिर्जना गर्न सकिने बताएका छन्।

काठमाडौँमा आज लिभिङ विथ आइसिटीले आयोजना गरेको ‘स्टार्टअप एन्ड आइडिया फेस्ट २०२४’ उद्घाटन गर्दै मन्त्री गुरुङले आइटी उद्योग विकासमा सरकारसँगै निजी क्षेत्रकोसमेत उत्तिकै सहयोगको अपेक्षा गरे।

उनले पहिलो वर्ष नीति परिमार्जन गर्दै दोस्रो वर्ष बजेट व्यवस्थापन गरी आईटी क्षेत्रमा आवश्यक काम थालनी गर्ने बताए। यसका लागि सरकारले ‘एआई’ नीति ल्याउने, आईटी पूर्वाधार तयार पार्ने, बजेट विनियोजन गर्ने लगायतका योजना रहेको उनले जानकारी गराए।

आफ्नै कार्यकालमा काठमाडौँमा आईटी पार्क र ज्ञान पार्क (नलेज पार्क) निर्माण गर्नेसमेत प्रतिबद्धता जनाए। मुलुकलाई डिजिटल बनाउने उद्देश्यको सुरुवात स्थानीय निकायका सरकारी काम प्रविधिमैत्री बनाइ सुरु गरिने उनले बताए।

‘स्थानीय तहबाट डिजिटल नेपाल सुरु गर्छौँ, विस्तारै व्यापक बनाउदै लैजान्छौँ’, उनले भने, ‘डिजिटल नेपाल बनाउने भनाइ र गराइ एकातिर भइरहेको छ। यसलाई सुधारेर नीतिगत व्यवस्था, पूर्वाधार निर्माण र योजनावद्ध शैलीमा सूचनाप्रविधिको विकास थालनी गर्दै छौँ।’

कार्यक्रममा आइटी काउन्सिलका अध्यक्ष अजितकुमार साहले सरकारले हाल सूचनाप्रविधिको क्षेत्रमा गर्दै आएको कामलाई निरन्तरता दिन सकेमा सफलता हासिल गर्न सकिने बताए। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का सचिव रवीन्द्र ढकालले युवालाई स्वदेशमा टिकाउन प्रोत्साहन आवश्यक भएको बताउँदै यसका लागि औद्योगिक प्रतिष्ठानको सहकार्य जरुरी रहेको बताए।

चेम्बर अफ कर्मसका सदस्य पङ्कज जलनले नीतिगत सुधार गरेर सरकारले युवालाई स्वदेशमै टिकाउने रणनीति ल्याउन आवश्यक रहेको बताए। ‘डिजिटल पेमेन्ट’मासमेत भ्याट लाग्दा प्रविधि प्रयोगकर्ता हतोत्साही भएको उल्लेख गर्दै उनले भ्याट हटाउन सरकार समक्ष अनुरोध गरे। पूर्वमन्त्री गणेश साहले नेपालमा आइटी हबको सम्भावना प्रशस्त भएको बताउँदै बेरोजगारी समस्या कम गर्न सकिने चर्चा गरे।

लिभिङ विथ आइसिटीका अध्यक्ष राजन लम्सालले सरकारको डिजिटल फ्रेमवर्क उद्देश्य पूरा गर्न डिजिटल पूर्वाधार निर्माण, नीतिगत सुधारसँगै असल शासन आचरण पालना गर्न सुझाव दिए। शुक्रबारसम्म सञ्चालन हुने स्टार्टअप एन्ड आइडिया फेस्टमा विभिन्न आइटीसम्बन्धी नवीन कार्य प्रदर्शनीमा राखिएका छन्।

बोकेर भारतका बजारमा पुर्याइन्छ ‘छुसा’ छुर्पी

पाँचथर । पाँचथरका उच्च पहाडी क्षेत्रमा उत्पादन हुने ‘छुसा’ छुर्पी भरिया र जनाबरले बोकेर भारतका बजारमा पुर्याउने गरिएको छ । चिल्लो (फ्याट)को मात्रा अत्यधिक भएको यो छुर्पी भारतमा रुचाउने गरिन्छ ।

पाँचथरको याङवरक तथा फालेलुङ गाउँपालिकासहित ताप्लेजुङ र इलामका उच्च पहाडी क्षेत्रमा उत्पादन हुने छुसा छुर्पी विगतमा भारतका व्यापारीले सिक्किम राज्यमा लैजाने गर्दथे । अहिले भने पूर्वी भारतका धेरै बजारसम्म यो छुर्पी पुग्ने गरेको याङवरक गाउँपालिका––१ का छुर्पी उत्पादक राजेन्द्र खालिङ राईले जानकारी दिए ।

उनका अनुसार यहाँ उत्पादित यो छुर्पी भरियाले बोकेर नेपाल–भारत सीमासम्म पुर्याउने गर्दछन् । त्यहाँबाट भारततर्फका व्यापारीले बम्जु (गोरु)लाई बोकाएर बजारसम्म पुर्याउने गरेका छन् ।

शेर्पा भाषाको ‘छुसा’को अर्थ टुक्रा भन्ने हुन्छ । विशेषतः सिक्किमका व्यापारीले नेपालमै आई छुर्पी उत्पादकलाई यसको सीप सिकाएर गएपछि यहाँ यो छुर्पी उत्पादन थालिएको हो ।

“व्यापारीहरु आफैंँ आएर टुक्रा बनाउन र टुक्राको माला बनाउन सिकाएर गएपछि यो छुर्पी बनाउन थालेका हौंँ”, खालिङले भने, “हामीले उत्पादन गरेको सबै छुर्पीले बजार पाइरहेको छ ।”

उच्च पहाडका दुग्ध डेरी तथा गोठालाहरुले यो छुर्पी बनाउने गर्दछन् । छुर्पी बनेपछि व्यापारीले दिएको आकारमै टुक्रा पारी डोरीमा माला उनेर सुकाउने गरिएको छ । उच्च पहाडमा यातायातको पहुँच राम्रो नभएका कारण भारतका व्यापारीले आफैंँ भरिया खोजेरसमेत यो छुर्पी गोठ–गोठबाट सङ्कलन गर्ने गरेको खालिङको भनाइ छ । नेपालका धेरै छुर्पी उत्पादकले कुकुरले खाने (डगइट) छुर्पी उत्पादन गर्ने गर्दछन् ।

डगइट छुर्पीको तुलनामा यसको मूल्य कम भए पनि यहाँका किसानले यही छुर्पी बनाउने गरेका छन् । “अर्को छुर्पी बनाउन गाह्रो छ, यहाँ घाम कम लाग्ने हुँदा सुकाउन समस्या हुन्छ, कहिलेकाहीँ छुर्पी फुलिने समस्या हुन्छ”, पाँचथरको याङवरक–१ वडाध्यक्षसमेत रहेका खालिङले भने, “तर छुसामा बिग्रिने समस्या हुँदैन ।” अर्कोतर्फ यो छुर्पी जति समय भण्डारण गरेर राखे पनि बिग्रिदैन ।

यो छुर्पी प्रतिमाला रु एक सय ८० मा बिक्री हुने गरेको छ । खालिङका अनुसार यो छुर्पीमा चिल्लोको मात्रा अत्यधिक हुने गर्दछ । डगइट छुर्पी बनाउन दूध फटाएर दुईदेखि तीन पटक धोएर सुकाउने गरिन्छ । तर छुसा छुर्पी भने फाटेको दूध नधोइ थप दूध लगाइ बनाइने खालिङले जानकारी दिए । यो छुर्पी खाँदा रसिलो हुने गरेको उत्पादक बताउँछन् ।

उच्च पहाडमा गुणस्तरीय छुसा छुर्पी उत्पादन हुने भए पनि नेपाली बजारले चिन्न नसकेको खालिङको भनाइ छ । “नेपालको बजारमा यो छुर्पी पुर्याउन र उपभोक्तालाई स्वाद चखाउन सके राम्रोसँग चल्ने थियो”, खालिङले भने, “सबैले रसिलो छुर्पी खान पनि पाउँथे ।”

खालिङको परिवारले यो छुर्पी उत्पादन गर्न थालेको तीन वर्ष हुन लाग्यो । विगतमा डगइट छुर्पी उत्पादन गर्ने उत्पादकले उक्त छुर्पीले बजार नपाउँदा धेरै सास्ती पनि भोग्नुपर्यो । “अहिले हामी महिनामा ५०० देखि ६०० माला यो छुर्पी बनाउछौँ”, खालिङले भने, “अहिलेसम्म यो छुर्पीमा कुनै समस्या खेप्नु परेको छैन् ।” 

राजनीति सेवा गर्ने स्थल हो : उपप्रधानमन्त्री सिंह

पाटन (ललितपुर) । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीति भनेकै सेवा गर्ने उत्कृष्ट स्थल भएको बताएका छन् ।

नेपाल प्रजातन्त्र सेनानी सङ्घ ललितपुरको तेस्रो जिल्ला सम्मेलन एवं सम्मान कार्यक्रममा उनले संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था र संविधान जारी गर्न नेपाली कांग्रेसकोे योगदान अग्रस्थानमा रहेको बताए ।

‘आस्था र सिद्धान्तको राजनीति गर्नेले ज्यादै कठिन परिस्थितिको सामना गर्नुपर्ने रहेछ, राजनीतिक आस्थाले चाक्सीबरी छोडेर डेरामा बसेर गुजारा टार्नु पर्याे, गणेशमान र मङ्गलादेवीले त धेरै दुःख भोग्नु पर्याे भने दूरदराजका जनताले कति दुःख भोग्नु । परेको थियो होला ! यो हामीले बुझ्नुपर्छ, राजनीति सेवा गर्ने प्रभावकारी माध्यम हो, तर अहिले फाइदा लिने प्रबृत्ति बढेको छ, राजनीति भनेको त सिद्धान्त, आदर्श हो नि !’ उनले भने ।

विकसित देशले गरेका जलवायु परिवर्तनका प्रतिबद्धता पूरा गर्नुपर्छः राष्ट्रपति पौडेल

बाकु, (अजरबैजान) । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका असरहरु सम्बोधन गर्न भनी व्यक्त गरिएका प्रतिबद्धताहरु पूरा गर्न सबै विकसित मुलुकहरुलाई आग्रह गरेका छन् ।

राष्ट्रपति पौडेलले गणतन्त्र अजरबैजानका समकक्षी ईल्हाम अलियेभसँग बिहीबार भएको भेटवार्तामा यस्तो आग्रह गरेका हुन् ।

‘जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताप्रति नेपालको पूर्ण प्रतिबद्वता छ, विश्वव्यापी लक्ष्यभन्दा पाँच वर्ष अगावै सन् २०४५ सम्म नेपालले शून्य कार्वन उत्सर्जनको उपलब्धि हासिल गर्ने लक्ष्य राखेकाले हामी सबै विकसित मुलुकहरुलाई जलवायु परिवर्तनका असरहरु सम्बोधन गर्न व्यक्त गरिएका आफ्ना प्रतिबद्धताहरु पूरा गर्न आग्रह गर्दछौंँ’, राष्ट्रपति पौडेलको भनाइ उदृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले भने ।

राष्ट्रपति पौडेलले नेपालले अत्यन्त न्यून कार्बन उत्सर्जन गरे पनि जलवायु परिवर्तनको ठूलो प्रभाव बेहोरी रहेको बताए । उनले हिमालमा भएको हिउँ पग्लिरहेको, तल्लो तटीय क्षेत्रका जनसङ्ख्यालाई स्वच्छ खानेपानीको स्रोत घटीरहेको एवं जलवायु परिवर्तनबाट सृजित प्राकृतिक विपद्बाट हरेक वर्ष ठूलो जनधनको क्षति भइरहेको जानकारी दिँदै यसवर्ष पनि बेमौसमी भारी वर्षाका कारण नेपालले देशव्यापी जनधनको ठूलो क्षति व्यहोर्नुपरेको स्मरण गरे ।

‘सरकारले हरेक वर्ष बजेटको ठूलो हिस्सा जलवायुबाट प्रभावित जनसङ्ख्याका लागि खर्च गर्नु परिरहेको छ’, राष्ट्रपति पौडेलले भने । पर्वतीय भू–बनोट तथा भू–परिवेष्ठित अवस्थितिका कारण हामीबीच भौगोलिक समानता मात्र नभइ पर्वतीय मुलुकले सामना गर्नुपरेका संरचनागत चुनौती र असरहरु पनि समान रहेको उल्लेख गर्दै उनले भने, ‘जलवायु परिवर्तन विश्वको साझा विषय हो, पर्वतीय भू–भाग रहेको हाम्रा दुवै मुलुकले जलवायु परिवर्तनका खराब असरहरू सामना गर्नुपरिरहेको छ, नेपालले पर्वतीय मुलुकहरुले सामना गर्नुपरेका विषयलाई कोपलगायत मञ्चहरुमा उठाउँदै आएकाले यसमा अजरबैजानी सरकारको ऐक्यबद्धताका लागि आग्रह गर्न चाहन्छु ।’

सन् १९९१ मा स्वतन्त्र भएपछि अजरबैजानले हासिल गरेको बृहत् विकास र आर्थिक रूपान्तरणको राष्ट्रपति पौडेलले प्रशंसा गरे । उनले राजनीतिक परिवर्तनपछि नेपाल हाल आर्थिक विकासको बाटोमा अघि बढिरहेको र सरकारको प्राथमिकता दिगो आर्थिक विकास भएको बताए ।

‘आर्थिक रूपान्तरण र विकासबिना हामीले हासिल गरेका राजनीतिक उपलब्धि संस्थागत गर्न सकिँदैन’, राष्ट्रपति पौडेलले भने । उनले अजरबैजानका समकक्षी अलियेफको सक्षम नेतृत्वमा आयोजना भइरहेको कोप–२९ को पूर्ण सफलताका लागि बधाई दिँदै सम्मेलनले पारित गर्ने घोषणापत्रले नेपाल जस्ता अत्यन्त न्यून कार्वन उत्सर्जन गर्ने तर जलवायु परिवर्वनको ठूलो असर व्यहोरिरहेका मुलुकको हकहित संरक्षण गर्ने विश्वास व्यक्त गरे । उनले नेपालमा कृषि, पर्यटन र जलस्रोतका क्षेत्रमा लगानीको राम्रो सम्भावना रहेकोतर्फ ध्यानाकर्षण गराएका थिए ।

भेटवार्तामा अजरबैजानका राष्ट्रपति अलियेभले आफू अझै एक वर्ष कोपको अध्यक्ष रहने सन्दर्भमा जलवायु परिवर्तनसम्बन्धी मुद्दामा नजिक गरेर काम गर्ने बताएको सल्लाहाकार पोखरेलले जानकारी दिए । राष्ट्रपति अलियेफले नेपालले प्रस्ताव गर्ने क्षेत्रमा लगानी गर्न आफ्नो देश सकारात्मक रहेको बताए ।

सन् १९९५ मा नेपाल र अजरबैजानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । दुवै देशले संयुक्त राष्ट्रसङ्घलगायत बहुपक्षीय मञ्चमा दीगो विकास तथा जलवायु परिवर्तन जस्ता साझा चासोका विषयमा सहकार्य गरिरहेका छन् ।

राष्ट्रपति पौडेलले कोप–२९ अन्तर्गत उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई मङ्गलबार सम्बोधन गरेका थिए । सम्मेलनका क्रममा नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउन कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन गरेको थियो ।

राष्ट्रपति पौडेलले किर्गिस्तानद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका थिए । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिओ गुटेरेसले अल्पविकसित राष्ट्रहरूका राष्ट्र÷सरकार प्रमुखहरूसँग गर्नुभएको सामूहिक भेटघाट कार्यक्रममा समेत उनी सहभागी भएका थिए ।

यही कात्तिक २६ गतेदेखि सुरु भएको सम्मेलन आगामी मङ्सिर ७ गतेसम्म चल्नेछ । सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल कतारको दोहा हुँदै सोमबार गणतन्त्र अजरबैजानको राजधानी सहर बाकु आइपुगेका हुन् । अजरबैजानका समकक्षीसँगको भेटपछि राष्ट्रपति पौडेल स्वदेश फर्कने क्रममा आजै बाकुबाट कतारको दोहाका लागि प्रस्थान गर्नेछन् । राष्ट्रपति पौडेल शुक्रबार बिहान काठमाडौँ पुग्ने कार्यतालिका छ ।

प्रथम नेपाल चिकित्सक सङ्घ खेलकुद प्रतियोगिता हुने

काठमाडौँ । नेपाल चिकित्सक सङ्घको आयोजनामा प्रथम नेपाल चिकित्सक सङ्घ (एनएमए) खेलकुद प्रतियोगिता हुने भएको छ ।

एनएमएका महासचिव डा सञ्जीव तिवारीले बिहीबार विज्ञप्ति जारी गरी चितवनको भरतपुरस्थित कासी खेल तथा मनोरञ्जन केन्द्रमा उक्त प्रतियोगिता हुन लागेको जानकारी दिए ।

यही कात्तिक ३० र मङ्सिर १ गते हुने उक्त प्रतियोगितामा फुटसल, भलिबल, बास्केटबल, टेबुलटेनिस, ब्याडमिन्टन, चेस तथा पौडीलगायतका खेल हुनेछन् ।

नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा अनिलविक्रम कार्कीले देशभरका युवा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई व्यस्त दिनचर्याबाट केही राहत महसुस गराउन तथा मनोरञ्जनका लागि प्रोत्साहित गर्न उक्त प्रतियोगिता आयोजना गरिएको बताए ।

प्रतियोगिताले चिकित्सक तथा स्वास्थ्यकर्मीको कार्यकौशलतामा सहयोग पुग्ने सङ्घले जनाएको छ । प्रतियोगितामा सहभागिता जनाउन सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सङ्घले अनुरोध गरेको छ ।

नेप्सेमा १० अर्ब ३२ करोडको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ९५ अङ्कले उकालो लागेर दुई हजार सात सय ४८ दशमलव ७८ मा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ३३ अङ्कले उकालो लागेर चार सय ८६ दशमलव शुन्य तीनमा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर मूल्य ओरालो लाग्दा सात उपसमूहको शेयर मूल्य भने उकालो लागेको हो ।

कूल दुई करोड १६ लाख ६० हजार छ सय ३९ कित्ता शेयर रु १० अर्ब ३२ करोड तीन लाख ३१ हजार चार सय ३६ मूल्यमा कारोबार भएको छ ।

नेप्सेका अनुसार, गुराँस लघुवित्त, स्वाभिमान लघुवित्त, अप्पर हेवाखोला हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्म्क सर्किट लागेको छ । न्यादी ग्रुप पावर नौ दशमलव ७९ र माछापुच्छ्रे बैंकको लगानीकर्ताले नौ दशमलव ५६ प्रतिशतले कमाएका छन् ।

यस्तै, रावा इनर्जी नौ दशमलव १२, कुर्थली कुखरी स्मल हाइड्रोपावर सात दशमलव ३२, पिपल्स हाइड्रोपावर छ दशमलव ०८, सुपर माई हाइड्रोपावर चार दशमलव ९२ र समृद्धि फाइनान्स कम्पनीका लगानीकर्ताले चार दशमलव ३६ प्रतिशतले गुमाएका छन् । 

जाडो मौसममा यसरी जोगिन सकिन्छ निमोनियाबाट

चितवन । चिसो मौसममा निमोनिया गराउने ‘भाइरस’ सक्रिय हुने हुँदा यसबाट बच्न विज्ञ चिकित्सकको सुझाव छ। जाडो मौसममा बालबालिकादेखि बृद्ध बृद्धासम्मलाई निमोनियाको संक्रमण धेरै हुने जनाउँदै सावधानी अपनाउन सुझाव दिइएको हो।

केही वर्ष अघिसम्म राजधानी बाहिर विशिष्टिकृत सेवा अभाव हुँदा बिरामीहरु काठमाण्डौं केन्द्रीत हुने गर्दथे। पछिल्ला दिनहरुमा विशिष्टिकृत सेवा राजधानी बाहिर पनि उपलब्ध हुन थालेपछि निमोनियाका कारण अकालमा ज्यान जाने क्रम घटेको छ।

चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा सेवा दिंदै आएका प्रा.डा. शीतल अधिकारी चिसो मौसममा अन्य समयमा भन्दा बढी निमोनिया हुन सक्ने बताउँछन्।

उनी भन्छन् “चिसोले निमोनिया बनाउने भन्दा पनि चिसो वातावरणमा निमोनिया हुन सक्छ। इन्फ्लुएन्जा भाइरस चिसोमा सक्रिय हुने भएकाले निमोनिया हुने सम्भावना बढी हुन्छ।”

रुघा, खोकी, ज्वरो आउनेबित्तिकै बोलीचालीको भाषामा निमोनिया लाग्यो भनिने भए पनि त्यो निमोनिया नभएको उनको भनाई छ। उनले भने “निमोनियामा साधारणतया एक्सरे गरेर हेर्‍ यो भने फोक्सोमा सेतो दाग देखिन्छ त्यो निमोनिया हो।”

निमोनिया फोक्सोमा हुने एक प्रकारको संक्रमण भएको भन्दै उनले कोभिडको बेलामा भाइरसले निमोनिया बनाएको बताए। सामान्यतया धेरैजनालाई हुने इन्फ्लुएन्जा भाइरसले गर्दा निमोनिया हुने भन्दै अन्य ब्याक्टेरियाले गर्दा पनि निमोनिया हुने उनले सुनाए। उनले भने “मधुमेह नियन्त्रणमा नभएको वा रोगसँग लड्ने क्षमता कम भएको व्यक्तिहरूलाई यो बाहेक फङ्गस (ढुसी) ले पनि निमोनिया गराउँछ।” फोक्सोमा संक्रमण भएपछि खोकी लाग्ने, ज्वरो आउने र छाती दुख्ने गर्दछ।

साधारण भाषामा निमोनिया भनेको फोक्सो पाक्ने समस्या भएको भन्दै उनले भने “फोक्सोको एक भाग अथवा पुरै भाग पाक्ने हो। त्यसको वरिपरि पानी जम्ने र त्यो इन्फेक्टेड भयो भने पीप जस्तो हुन्छ।”

निमोनियाको दुई प्रकृति रहेको छ। ब्याक्टेरियल निमोनिया अर्थात् भाइरस निमोनियाको समयमै उपचार भयो भने खासै खतहरू बस्दैन। तर कुनै–कुनै निमोनिया जस्तैः कोभिड निमोनिया निको भएपनि फोक्सोमा खतहरु देखिएको उनले जानकारी दिए।

समयमा उपचार भयो र अन्य जटिलताहरु जस्तो पीप बनेन भने साधारणतया निमोनिया निको हुने रोग अन्तर्गत पर्ने उनको भनाई छ। उनले भन्छन् “रोगसँग लड्ने क्षमता, समयमै सही एन्टिबायोटिकको प्रयोग र बिरामीको केयर कस्तो छ भन्ने अवस्थाले निमोनिया निको हुने वा नहुने भन्ने कुरामा भर पर्दछ।”

साधारणतया निमोनिया हुने कारणमा भाइरस र ब्याक्टेरिया नै मुख्य कारण हुन्। धेरैजसो बिरामीलाई इन्फ्लुएन्जा, कोभिड र श्वासप्रश्वासमा असर गर्ने भाइरस नै हो। त्यस्तै ब्याक्टेरियाका कारणले हुने निमोनियामा सामान्तया स्ट्रेप्टोकोकस निमोनिया हो। यो धेरैजसो भीडभाडमा जाँदा हुने निमोनियामा पर्दछ।

निमोनियाबाट बच्नको लागि भिडभाडमा जाँदा मास्कको प्रयोग गर्ने, रुघा लागिरहेको व्यक्तिको अगाडि नजान, खोक्दा, हाच्छ्यु गर्दा सर्ने भएकाले कोभिडको बेलामा प्रयोग गरेका मापदण्डहरु प्रयोग गर्न उनले सुझाव दिए। अहिले निमोनियाको भ्याक्सिन समेत पाईने उनले बताए।

समयमै उपचार गरेमा प्रायःजसो निमोनिया निको हुन्छ। रोगसँग लड्ने क्षमता कम भएको अवस्थामा सबैजना निको हुँदैनन्। करिब १० प्रतिशतलाई निको पार्न नसकिने उनी बताउँछन्।

उनले भने “पानी धेरै जमेको छ, निमोनिया ठूलो छ र कहिलेकाहीँ खकारहरु ननिस्केर भएको निमोनिया छ भने त्यो जटिल नै हुन्छ।”

नागढुंगा सडक एक साताका लागि दिनमा आंशिक रुपमा बन्द हुने

काठमाडौँ  । नागढुङगा सडक आजदेखि आउँदो मङ्सिर ५ गतेसम्म दिनमा आंशिक रुपमा बन्द हुने भएको छ।

नागढुङ्गा सुरुङ मार्गको पश्चिम पोर्टल त्रिभुवन राजमार्गअन्तर्गत धादिङको सिस्ने खोलामा स्लोप कटिङ गर्नुपर्ने भएकाले सडक बन्द गरिने नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले जनाएको छ।

सो आयोजनाले एक सूचना प्रकाशित गरी आजदेखि उक्त सडक आउँदो मङ्सिर ५ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म आंशिक रुपमा बन्द हुन जनाएको छ।

उक्त अवधिको २० मिनेट भने दुवैतर्फ सडक बन्द हुने सूचनामा उल्लेख गरिएको छ। यसैगरी २०/२० मिनेटमा खोल्ने र बन्द गर्ने गरी काम गरिने आयोजनाले जनाएको छ।

सडक बन्द हुँदा वैकल्पिक सडक प्रयोग गर्नसमेत आयोजनाले सूचनामार्फत आग्रह गरेको छ।

मुस्ताङको स्याउ : बढ्दो माग, पुरयाउन धौधौ

गण्डकी । मुस्ताङको स्याउ बिक्रि हुने मुख्य बजार पोखरा हो । पोखरामा मुस्ताङको स्याउको माग बढ्दो क्रममा छ । मुस्ताङमा उत्पादित कूल स्याउको करिब ९० प्रतिशत पोखरामा नै खपथ हुने गरेको छ ।

पछिल्लो समयमा मुस्ताङमा बढ्दो पर्यटकको आगमनले त्यहाँबाट कोसेलीका रुपमा स्याउ बिक्रीसमेत हुने भएकाले यसको बजारका लागि भने कुनै समस्या नरहेको विगत लामो समययता स्याउको व्यावसायिक खेती गर्दै आएका ‘टुकुचे स्याउ नर्सरी’का सञ्चालक राजन शेर्पा बताउँछन् ।

पोखराका साथै यहाँको स्याउ काठमाडौँसहित देशका अन्य बजारमा पनि खपत हुने गरेको छ । “उत्पादन गर्न सके स्याउ बिक्री गर्न बजारको समस्या छैन”, शेर्पाले भने, “यहाँ उत्पादन भएको स्याउ थोक मूल्यमा ठेकेदारले नै खरिद गरेर लैजाने गरेका छन् ।”

विगतमा परम्परागतरुपमा स्याउखेती गरिँदै आएकामा पछिल्लो समय नवीनतम प्रविधिमा आधारित हाइडेन्सिटी स्याउ बगैँचा कार्यक्रमका कारण उत्पादन बढेको किसान बताउँछन् ।

“नर्सरीमा नेदरल्याण्ड्सबाट ल्याएको हाइडेन्सिटी प्रजातिको स्याउका बिरुवा उत्पादन गरेका छौँ”, शेर्पा भन्छन्, “उत्पादित बिरुवा उपल्लो डोल्पा, रुकुम, रोल्पालगायतका स्थानसम्म पुगेको छ ।” बर्सेनि १८ हजारसम्म स्याउका बिरुवा बिक्रीवितरण गरिरहेको उनले बताए ।

मुस्ताङको मुख्य फलफूलखेतीका रूपमा रहेको स्याउको व्यावसायिक खेती २०२२ पछि मात्र सुरु भएकोे पाइन्छ । विसं २०२२ मा तत्कालीन कृषि मन्त्रालय, फल उद्यान विभागले भारतीय राजदूतावासको सहयोगमा भारतको काश्मीरबाट स्याउका बिरुवा ल्याएर मुस्ताङमा वितरण गरेको थियो ।

स्थानीयवासीका अनुसार तत्कालीन समयमा प्रत्येक घरमा स्याउका तीन÷तीन बिरुवा वितरण गरिएको थियो । त्यसयता स्याउको व्यावसायिक खेतीले बर्सेनि गति लिएको छ । स्थानीयवासीले स्याउको व्यापारसँगै यसबाट रक्सीसमेत बनाउन थालेका छन् ।

मुस्ताङमा पछिल्ला वर्षमा स्याउ खेतीतर्फ किसानको आकर्षण बढिरहेको कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख राजेश गुरुङले जानकारी दिए । राजेशका अनुुसार मुस्ताङमा कूल आठ सय ९० हेक्टर क्षेत्रफलमा स्याउको खेती भइरहेकामा ६ सय १६ हेक्टरमा स्याउको उत्पादन भइरहेको छ । जिल्लामा गत वर्ष रु ९१ करोड ८६ लाखको स्याउ बिक्री भएकामा त्यसको ९० प्रतिशत जिल्ला बाहिर बिक्री भएको थियो ।

जिल्लामा रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन डेलिसयस, रिचा रेड डेलिसियस, फुजी जस्ता स्थानीय जातका स्याउका साथै उन्नत जातका माला मेमा, रेड डेलिसियस किङरोट, फुजी के कु फुब्रिक्स, गोल्डेन मेमा डेलिसियस स्याउको खेती गरिएको छ । पछिल्ला वर्षमा स्याउको उत्पादन ३० देखि ३५ प्रतिशतले वृद्धि भएको प्रमुख राजेश गुरुङ बताउँछन्

“पछिल्लो समय किसान उच्च घनत्व प्रविधिमा स्याउ लगाउन आकर्षित बनेका छन्”, उनले भने । कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई, शीतोष्ण बागबानी विकास केन्द्रमार्फत तथा स्थानीय तहको समन्वयमा यसमा लाग्ने रोगकिरा व्यवस्थापनलाई प्राथमिकता दिएपछि स्याउको उत्पादन बढ्दै गएको प्रमुख गुरुङको भनाइ छ ।

स्थानीय जातको स्याउले लगाएको सात र आठ वर्षमा मात्र फल दिने गर्दछ भने हाइडेन्सिटी प्रविधिबाट लगाइएको बिरुवाले दुई तीन वर्षपछि नै फल दिने गरेका कारण यसतर्फ किसानको आकर्षण बढेको हो । सामान्यतः स्याउ चैत र वैशाखमा फुल्ने, जेठमा फल लाग्ने गर्दछ भने भदौको दोस्रो सातापछि पाक्ने र बजारमा जाने क्रम सुरु हुन्छ ।

युवा मामिलासम्बन्धी अमेरिकी विशेष दूत काठमाडौंमा

काठमाडौं । युवा मामिला सम्बन्धी अमेरिकी विशेष दूत एबी फिनकेनाउर काठमाडौं आएकी छन् । विशेष दूत एबी बिहीबार काठमाडौं आएकी काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।

विशेष दूत फिनकेनाउरले नेपाल भ्रमणको क्रममा नेपाली युवा नेतृत्वकर्तासँग भेटघाट गर्ने र लोकतन्त्र र नागरिक संलग्नता प्रवर्द्धन गर्ने युवा केन्द्रित कार्यक्रमहरूमा सहभागी हुनेछिन् ।

उनको यो भ्रमणले अन्तर्राष्ट्रिय सम्बन्धहरूलाई प्रगाढ बनाउनका साथै युवाहरूलाई लोकतान्त्रिक भविष्य र समृद्ध नेपाल निर्माणका लागि मद्दत गर्न सहयोग गर्ने दूतावासले जनाएको छ ।

इजरायलद्वारा दक्षिणी बेरुतमा आक्रमण

बेरुत । इजरायलले लेबनानको राजधानी बेरूतको दक्षिणी उपनगरमा रहेका हिजबुल्लाहको गढका रूपमा मानिएका केही भाग खाली गर्न दिएको निर्देशन पछि बिहीबार उक्त क्षेत्रमा हवाई आक्रमण गरेकोे छ ।

एएफपिटिभीले आक्रमणस्थलको तस्बिरसहित इजरायली आक्रमण र ध्वस्त संरचनालाई टेलिभिजनबाट प्रशारण गरेको छ ।

सेप्टेम्बरमा इजरायलले इरान समर्थित जिहादी समूह हिजबुल्लाहविरुद्ध आफ्नो अभियान तीव्र बनाएसँगै पछिल्लो आक्रमणपछि यस क्षेत्रमा धेरै क्षति पुगेको छ ।

आक्रमण हुनुभन्दा केही समय अघि इजरायलले उक्त क्षेत्रका बासिन्दाहरूलाई आफ्नो घर तथा वासस्थान खाली गर्न चेतावनी दिएको थियो ।

सेनाका प्रवक्ता अविचाय अद्राईले सामाजिक सञ्जाल एक्समार्फत जारी विज्ञप्तिमा भनिएको छ, “तपाईँहरू हिजबुल्लाहको प्रभाव क्षेत्रनजिकै अवस्थित हुनुहुन्छ भने सावधानी अपनाउनु होला । इजरायली सेनाले निकट भविष्यमा उक्त क्षेत्रमा आक्रमण गर्दैछ ।”

विज्ञप्तिमा शौइफत अल–ओमरोसिया र घोबीरी क्षेत्रका भवनहरू पहिचान गर्ने नक्सासमेत समावेश गरिएको थियो ।

उसागी आँधीका कारण फिलिपिन्समा उच्च सतर्कताका लागि चेतावनी जारी

मनिला । फिलिपिन्सले उसागी नाम दिइएको बिनाशकारी आँधीको चेतावनीपछि बिहीबार प्रभावित क्षेत्रका हजारौं मानिसहरूलाई खाली र सुरक्षित क्षेत्रमा सारेको छ । आँधीको प्रभाव यसपहिले नै अर्को आँधीबाट प्रभावित उत्तरतर्फ अघि बढ्दै गएपछि आँधीबेहरीको चेतावनी जारी गरिएको हो ।

प्रति घण्टा १८५ किलोमिटर सम्मको निरन्तर हावासँगै उसागी आँधी लुजनको मुख्य टापुमा अवतरण गर्ने सम्भावना रहेको जनाइएको छ ।

बिनाशकारी मौसमी लहरले यसअघि नै १५९ जनाको ज्यान लिएको छ भने राष्ट्रसङ्घलाई प्रभावित क्षेत्रहरूका लागि तीन करोड २० लाख ९० हजार अमेरिकी डलर सहयोगको प्रस्ताव अन्तर्राष्ट्रिय समुदायसँग गरेको छ ।

राष्ट्रिय मौसम विभागका अनुसार आँधीले हल्का सामग्रीको संरचनामा लगभग पूर्ण क्षति पुर्याउन सक्छ ।

भारी वर्षा र तीन मिटरसम्मको सम्भावित कडा छालहरूको पूर्वानुमान गरी आँधीको चेतावनी उच्च चरणमा लागु गरिएको छ ।

कागायन प्रान्तमा आँधीले अवतरण गर्ने अपेक्षा गरिएकाले बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले जनाएका छन् ।

कागायनका नागरिक सुरक्षा प्रमुख रूएली राप्सिङले स्थानीय सरकारहरूले ४० हजार मानिसहरूलाई आश्रयमा लैजाने बताएका छन् ।

उसागीपछि, उष्णकटिबन्धीय आँधी म्यान–यीले पनि यस सप्ताहन्तमा राजधानी मनिला वरपर फिलिपिन्सको जनसङ्ख्याको केन्द्रमा प्रहार गर्ने पूर्वानुमान गरिएको छ ।

“आँधीहरू आउने क्रम जारी रहेको बताउँदै समुदायहरूले आघातबाट निको हुने प्रयास गरेसँगै, अर्को उष्णकटिबन्धीय आँधीले फिलिपिन्सलाई फेरि प्रभावित गरिरहेको संयुक्त राष्ट्रसङ्घ फिलिपिन्सका मानवीय संयोजक गुस्ताभो गोन्जालेजले बताए ।

हालैको एक अध्ययनले एसिया–प्रशान्त क्षेत्रमा जलवायु परिवर्तनका कारण आँधीबेहरीको असर तटीयरेखामा तीव्र र लामो समयसम्म रहने गरेको देखाएको छ ।

सर्वोच्चमा रास्वपाका नेताहरुविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । पार्टी सभापति रवि लामिछानेमाथि सहकारीको रकम अपचलनमा अनुसन्धान भइरहेका बेला अदालतको गतिविधिविरुद्ध आन्दोलन गरेको दाबीसहित बिहीबार सर्वोच्च अदालतमा रिट दर्ता भएको हो ।

अधिवक्ता अनुपम भट्टराईले अनुसन्धानमा रहेको चरणमै अदालतलाई दबाब दिने उद्देश्यले अवरोध गर्न खोजेको दाबी मुद्दा दर्ता गराएका हुन् । रिटमा रास्वपाका सांसदहरू डा. स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, सुमना श्रेष्ठ, विराजभक्त मर्हजन, तोषिमा कार्की, सोबिता गौतमलगायतलाई विपक्षी बनाइएको छ ।

रिटको मङ्सिर तीन गतेको लागि पेसी तोकिएको छ । यसअघि उक्त रिट सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गर्दै दरपीठ गरेको थियो । त्यसविरुद्ध भट्टराईले कात्तिक २१ गते इजलासमा निवेदन दिएका थिए ।

उक्त निवेदनमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश शर्माको इजलासले दरपीठ बदर गरेसँगै मुद्दा दर्ता भएको हो । रिटमा रास्वपाका नेताहरुलले न्याय निरूपण प्रक्रियाको उपहास गरी सभा गर्ने, न्यायपालिका बारे तथ्यहीन र आधारहीन कुरा जनतामा फैलाउने लगायतका कार्य गरी स्वतन्त्र न्यायपालिका माथि जनमानसमा भ्रम सिर्जना गर्ने काम गरेको दाबी गरिएको छ ।

सहकारी ठगी प्रकरणमा सभापति लामिछानेविरुद्ध अनुसन्धान भइरहेका बेला रास्वपाका नेताहरुले विरोध प्रदर्शन गर्दै आएका छन् ।