`

प्रकाश भुजेलको कारको ठक्करबाट मृत्यु भएका नगरकोटी दम्पतीका २ छोरीको अभिभावक बन्ने प्रचण्डको घोषणा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई झाँक्री बताउने प्रकाश भुजेलको गाडीको ठक्करबाट मृत्यु भएका नगरकोटी दम्पतीका छोराछोरीको अभिभावक बन्ने घोषणा गरेका छन् ।

सोमबार साँझ मृतकका परिवार भेट्न पुगेका अध्यक्ष प्रचण्डले गाडीको ठक्करबाट ज्यान गुमाएका ३८ वर्षीय नारायण नगरकोटी र उनकी जीवन संगिनी ३२ वर्षीया सानुमाया नगरकोटीलाई श्रद्धाञ्जली अर्पण गर्नुका साथै परिवारजनमा समवेदना प्रकट गरे ।

त्यसक्रममा अध्यक्ष प्रचण्डले कीर्तिशेष नारायण र सानुमायाका दुई छोरी गरिमा र अनु नगकोटीको अभिभावक बनेर परिवारको दुःखमा पार्टी र आफू सँगै रहने बताएको प्रचण्डको सचिवालयले जनाएको छ ।

गत कात्तिक २८ गते दिउँसो शंखरापुर नगरपालिका–९, स्थित साँखु–थली सडकखण्डमा प्रकाश भुजेलले चलाएको कारले मोटरसाइकललाई ठक्कर दिँदा नगरकोटी दम्पतीको मृत्यु भएको थियो । दुर्घटनापछि भुजेल अहिले प्रहरी हिरासतमा छन् ।

ट्रम्पविरुद्ध चुनावी नतिजा उल्टाउन खोजेको मुद्दा फिर्ता

बीबीसी । अमेरिकामा एकजना न्यायाधीशले राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले सन् २०२० को निर्वाचनमा आफू पराजित भएपछि नतिजा उल्टाउने प्रयास गरेको आरोप लगाइएको एक फौजदारी मुद्दालाई खारेज गरिदिएका छन् ।

न्याय मन्त्रालयको नीतिले बहालवाला राष्ट्रपतिलाई अभियोजन चलाउन रोकेकाले विशेष अभियोजनकर्ता ज्याक स्मिथले यसअघि आफैंले अघि सारेको उक्त अभियोग फिर्ता गर्नका लागि अनुरोध गरेका थिए ।

न्यायाधीशले ‘बिना पूर्वाग्रह’ उक्त अभियोग खारेज गरेको बताएकाले ती अभियोगहरू ट्रम्पले आफ्नो दोस्रो कार्यकाल पूरा गरेसँगै पुनः दायर हुन सक्छन् । ट्रम्पले ह्वाइटहाउस छाडेपछि गोप्य दस्ताबेजहरूलाई राम्रोसँग नसम्हालेको आरोपविरुद्धको मुद्दा समेत अगाडि नबढाउने स्मिथले बताए ।

ट्रम्पले जनवरी २० तारिखबाट नयाँ राष्ट्रपतिको पद सम्हाल्दैछन्। उनले ती दुवै सङ्घीय मुद्दामा आफू निर्दोष रहेको बताएका छन् । सन् २०२१ को जनवरी ६ मा अमेरिकी संसद् भवन ‘क्यापिटल’मा दङ्गाकारीहरू प्रवेश गरेका थिए । यसअघि ह्वाइटहाउसबाट बाहिरिएसँगै ट्रम्पले अभूतपूर्व कानुनी चुनौतीहरू सामना गरेका थिए ।

स्टोर्मी ड्यान्यल्स नामक एक पोर्न स्टारलाई रकम दिएको मुद्दामा फौजदारी मुद्दा खेप्ने र पछि दोषी ठहर हुने पहिलो पूर्वअमेरिकी राष्ट्रपति ठहरिएका थिए ।

चिसो बढेसँगै कालीगण्डकीमा जलयात्रा बन्द

पर्वत । चिसो बढेसँगै कालीगण्डकी नदीमा सञ्चालित र्याफ्टिङ (जलयात्रा) बन्द भएको छ । वर्षायाममा पानीको बहाब घटेसँगै असोजदेखि सुरु भएको जलयात्रा आइतबारदेखि बन्द गरिएको हो । आइतबार अन्तिम टोलीले तीन दिनको जलयात्रा पूरा गरेसँगै यस वर्षको जलयात्रा बन्द गरिएको रिभर एक्सप्लोरर नेपालका सञ्चालक होम पुनले जानकारी दिए ।

पहिलो याममा सेप्टेम्बरमध्यदेखि नोभेम्बर अन्तिम सातासम्म सञ्चालन गरिएको हो । विगतका वर्षभन्दा ढिलोगरी चिसो बढेकाले यस वर्ष दुई साता ढिलोसम्म र्याििफ्टङ सञ्चालन गरिएको पुनले बताए । नदीमा पानी अत्यधिक चिसो भइसकेकाले अब मार्चदेखि जुनसम्म अर्को यामको जलयात्रा सुरु हुने उनको भनाइ छ ।

छोटो र पारिवारिक जलयात्राका लागि कालीगण्डकी नदीमा आउने पर्यटक कोभिड सङ्क्रमणपछि यस वर्ष उच्च रहेको सलोम र्याफ्टिङ ट्रेक एण्ड एक्सपेन्डिसनका सञ्चालक देव रेग्मीले जानकारी दिए । उनका अनुसार लामो, समथर र कम बहाव भएकाले विदेशी नागरिक अन्य नदीभन्दा कालीगण्डकीलाई नै रोज्ने गर्दछन् । र्याफ्टिङका लागि कालीगण्डकी नदीमा अहिले विदेशी पर्यटकसँगै स्वेदशी पर्यटकको पनि आकर्षण पनि बढ्दै गएको उनले बताए ।

कालीगण्डकी नदीमा यस वर्ष तीन हजारभन्दा बढीले जलयात्रा गरेको रेग्मीले बताए । दैनिक दुई–तीन समूहमा पर्यटक आउने गर्दछन् । अन्य नदीको तुलनामा पर्यटकले यसलाई पहिलो रोजाइमा पार्दै आएकाले पनि पर्यटकको आगमन कोभिडपछि यस वर्ष उच्च मात्रामा बढेको रेग्मीको भनाइ छ ।

“यो नदीलाई रोजेर पर्यटक बढी नै आउने गरेका छन्”, उनले भने, “कालीगण्डकीलाई र्याफ्टिङको पहिलो गन्तव्य बन्दै गएको छ । पोखरा हुँदै अन्नपूर्ण पदमार्गमा पदयात्रा र कालीगण्डकीको जलयात्रालाई प्याकेज बनाउने पर्यटक बढ्दै गएका छन् ।”

कुश्मा नगरपालिका–१ पाङस्थित नयाँपुल र कुश्मा नगरपालिका वडा नं ५ गोपाङघाटबाट सुरु हुने र्याफ्टिङ स्याङ्जा, पर्वत र गुल्मीको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् परियाजनाको जलासयमा पुगेर टुङ्गिन्छ ।

तीन दिन लाग्ने सो जलयात्रा पर्यटकका लागि निकै आकर्षक गन्तव्यका रूपमा रहेको छ । कालीगण्डकीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न वनस्पति, जलचरको अवलोकन, प्रदूषणरहित हावापानीबाट पर्यटक आकर्षित हुने गर्दछन् । यहाँ धेरै इजरायली पर्यटक आउने गरेका छन्भने अष्टेलिया, रसियन, युरोपियन मुलुक र अमेरिकी पर्यटकको रोजाइमा पनि कालीगण्डकी नदी पर्दै आएको छ ।

विदेशमा समेत जलयात्रा गर्दै आएका पर्यटक कालीगण्डकीको जलयात्रा अन्यत्रको भन्दा अत्यन्त रोमाञ्चक हुने गरेको अनुभव सुनाउँछन् । अमेरिका र अष्ट्रेलियालगायत नदीमा हुने जलयात्राभन्दा कालीगण्डकीमा नयाँ खालको अनुभव भएकाले पर्यटकको आकर्षण बन्न पुगेको हो ।

पर्यटकले नयाँपुल–मोदीवेणी खण्डमा पहिलो दिनको यात्रा बनाएर जाने साथै दोस्रो दिनमा पर्वतकै विहादी गाउँपालिका बर्राचौरको पूर्तिघाट नजिक बस्ने र तेस्रो दिनमा मिर्मी हुँदै पोखरा जानेगरी पर्यटकले यात्रा तय गर्ने गरेका छन् । यात्राका क्रममा बस्ने ठाउँमा भौतिक संरचनाको विकास गर्न र कुश्मा नगरपालिकाको आर्मादी नजिकै खोलाको बीचमा रहेका ठूला ढुङ्गाहरू नहटाउँदा समस्या आउने गरेको पर्यटक गाइड नवीन केसीले बताए ।

कालीगण्डकीको दोहनसँगै पछिल्लो समय विभिन्न ठाउँमा डुङ्गा शयरमा समस्या आउने गरेको छ । पर्वततर्फ निर्माण गरिएको कालीगण्डकी लोकमार्ग र बागलुङ–गुल्मीतर्फको कालीगण्डकी करिडोरबाट खसेका ढुङ्गामाटोले पनि नदी साँघुरिँदै गएकाले पहिलेजस्तो सहज नरहेको पर्यटन व्यवसायी होम पुनले गुनासो गरे ।

राष्ट्रिय गौरवको आयोजनाले बदलिँदै दुर्गमको परिचय

बलेवा (बागलुङ) । काठमाडौँको बसपार्क क्षेत्रमा सञ्चालनमा रहेको ‘होटल’को शाखा अहिले गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीमा फस्टाइरहेको छ । दुवै छिमेकी राष्ट्र भारत र चीनलाई जोड्ने छोटो दूरीको कालीगण्डकी करिडोरले काठमाडौँमा चलिरहेको होटलको शाखा अर्बेनीमा ल्याएको हो ।

पहाडी जिल्लाका लागि कोशेढुङ्गा बनिरहेको करिडोर धमाधम कालोपत्र हुन थालेपछि होटलका सञ्चालक बाबुराम न्यौपाने काठमाडौँ छाडेर अर्बेनी आए । काठमाडौँमा चलेको होटल छोराको जिम्मा लगाए । अर्बेनी झरेका न्यौपाने दम्पतीलाई अहिले उत्तरबाट दक्षिण र दक्षिणबाट उत्तर घुम्न आउने पर्यटकलाई स्वागत गर्न भ्याइनभ्याई छ ।

राष्ट्रिय गौरवको यो आयोजनाले धेरै ग्रामीण क्षेत्रलाई जोड्दै उत्तर–दक्षिण छोएको छ । कालीगण्डकी नदीको किनारैकिनार बनेको राजमार्गले बागलुङ र पर्वतका दुर्गम गाउँलाई सहरसँग जोडेको छ । यसले गर्दा ग्रामीण क्षेत्रमा विस्तारै व्यावसायिक वातावरण बन्दै छ ।

गुल्मीमा न्यौपाने मात्र होइन सदरमुकामबाट टाढा रहेका दुर्गम बस्तीलाई राष्ट्रिय राजमार्गले जोडेपछि गाउँको परिचय बदलिएको छ । कयौँ होटल तथा रेष्टुराँ व्यवसायी करिडोर आसपासमा व्यवसाय सुरु गरेका छन्भने कुना–कन्दराका किसानले उत्पादनको बजारीकरणको सम्भावना देख्न थालेका छन् ।

आर्थिक वर्ष २०६७÷६८ बाट निर्माण सुरु भएको आयोजनाको कालोपत्रको गर्ने काम तीव्रगतिमा भइरहेको छ । नेपाल–भारत बेलहिया (सुनौली) नाकाबाट मुस्ताङको कोरलानाका जोड्ने उद्देश्यले सुरु गरिएको उत्तर–दक्षिण व्यापारिक पारवहन मार्ग कालीगण्डकी करिडोर चार सय ३५ किलोमिटर लामो छ ।

कालीगण्डकी करिडोर (गैंडाकोट, राम्दी मालढुङ्गा) सडक आयोजनाले झण्डै दुई सय किलोमिटर कालोपत्रको चरणमा छ । “पर्यटक मात्र यो बाटो भएर हिँड्दा पनि व्यावसायिक वातावरण बन्छ”, होटल व्यवसायी न्यौपानेले भने, “ठूला सहरभन्दा नयाँ राजमार्गको आसपासका व्यवसाय फस्टाउँदो देखेर नै लगानी गरेका छौँ ।”

करिडोरको पूर्व नवलपरासीको गैँडाकोटबाट बागलुङको मालढुङ्गा तल्लो खण्ड दुई सय ४० किलोमिटर छ । यस्तै मालढुङ्गाबाट मुस्ताङको चीन जोड्ने कोरलानाकाको दूरी एक सय ९५ किलोमिटर छ । दुवै खण्डमा धमाधम स्तरोन्नति र कालोपत्रको काम चलिरहेकाले व्यावसायिक वातावरण बढ्दै गएको बागलुङ सरङ्गेका व्यवसायी विजय केसीले बताए ।

बुटवलबाट अब बागलुङ सदरमुकाम एक सय ५० किलोमिटर दूरीमा खुम्चिएको छ । नारायणगढ, मुग्लिन, पोखरा हुँदै बागलुङ जान दैनिक आठदेखि १० घण्टाको यात्रा अब चार घण्टामा छोटिँदै छ । यो सडक निर्माण पूरा भएसँगै देशको मुहार फेर्ने देखिन्छ । मालढुङ्गा, बेनी, जोमसोम हुँदै कोरला एक सय ९५ किलोमिटरको सडक ट्रयाक विस्तारको काम तीव्रगतिमा भइरहेको छ ।

माथिल्लो खण्ड बेनी तातोपानी, तातोपानी घाँसा, घाँसा कागबेनी, कागबेनीहुँदै जोमसोम खण्ड खण्डमा ठेक्का लगाएर काम भइरहेको छ । यो एक सय ९५ मिटर खण्डको लागत रु छ अर्बभन्दा बढी छ ।

करिडोर ११ मिटर चौडाइको हुन्छ । त्यसमध्ये सात मिटर कालोपत्र र दायाँ–बायाँ एक–क मिटर किनारा तथा एक मिटरको नाली निर्माण गरिएको छ । करिडोरका लागि सरकारले बजेटको सुनिश्चितता गर्न नसक्नु, प्रत्येक वर्ष बजेट कटौतीले लक्ष्य अनुरूप काम हुन नसकेको हर्मिचौर–बलेवा ४४ किलोमिटर खण्डमा कालोपत्रको काम गरिरहेको कालिका कन्ट्रक्सनका प्रतिनिधि छकबहादुर गुरुङले बताए ।

करिडोरले दुई प्रदेशका ६ जिल्लाका २० लाख बढी जनसङ्ख्यालाई सिधा सडक सञ्जालमा जोड्दै छ । करिडोरले यी क्षेत्रको कृषिजन्य उत्पादन, पर्यटन विकास, विद्युत् उत्पादनमा समेत ठूलो सहयोग पुर्याएको छ ।

“एक दशकअघिसम्म सडक सञ्जालले जोड्न नसक्दा गाउँबाट ठूलो सङ्ख्यामा सहरमा बसाइँसराइ गर्ने क्रम थियो”, बागलुङको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा भने, “जब करिडोरको ट्रयाक खुल्यो, तब बसाइँ सरेर केही मात्रामा भए पनि रोकिएसँगै धेरै आयामहरूको परिवर्तन ल्याएको छ ।”

करिडोरका कारण जनताको जीवनस्तरमा परिवर्तन आएको छ । व्यापार व्यवसायदेखि कृषि उत्पादनमा समेत वृद्धि भएको छ । किसानको उत्पादन गाउँदेखि सहरसम्म पुर्याउन सकिएको स्थानीय शिक्षक राजेन्द्र शर्मा बताउँछन् ।

चिनियाँ बौद्ध धर्मावलम्बीहरू बौद्ध शिक्षा अध्ययनका लागि लुम्बिनी तथा भारतको पटना यही मार्ग भएर पुगेको विश्वास गरिन्छ । भारतीय व्यवसायी कालीगण्डकीको किनारैकिनार चीनको कोरला पुग्ने गर्थे ।

कालीगण्डकीको किनारैकिनार निर्माणाधीन करिडोरलाई सरकारले आर्थिक समृद्धिको ‘लाइफलाइन’ भन्दै राष्ट्रिय गौरवको आयोजनामा राखेको छ । गरिबी निवारण, दिगो आर्थिक विकास र विकेन्द्रीकरणमा सहयोग पुर्याउने अवधारणाअनुसार १३ वर्षअघिदेखि निर्माण सुरू भएको करिडोरमा नेपाली सेना र सडक विभागले ट्रयाक खोल्ने काम गरेका थिए ।

सुन तोलामा २६ सय रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । सोमबार तोलामा १५ हजार ९ सय रुपैयाँले घटेको सुनको मूल्य मंगलबार २६ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन प्रतितोला एक लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेर प्रतितोला एक हजार ८२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा

काठमाडौँ । जापानमा मानव तस्करी गरेको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई रिहा गरिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँको निर्णयअनुसार पूर्वमन्त्री अधिकारीलाई सोमबार साँझ रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।  

उनले भने, ‘जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँको निर्णयअनुसार उहाँलाई उहाँकै श्रीमतीको जिम्मामा पठाइएको छ ।’

जिल्ला प्रहरी परिसर काठमाडौँले अधिकारीलाईसमेत प्रतिवादी बनाउन राय दिएको भए पनि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले अधिकारीको संलग्नता नदेखिएको भन्दै उनलाई मुद्दा नचलाउने निर्णय गरेको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता सिताराम अर्यालले उहाँले नै जापान पुगेर अध्यागमनलाई खबर गरेको देखिएको  र मन्त्री आफैंले अनुरोध गरेर फिर्ता आएको देखिएको बताए । 

प्रहरीले अधिकारीसहितलाई ३ वटा कसुरमा मुद्दा चलाउनु पर्ने राय  दिएको थियो। जापानमा मानव बेचबिखन गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान सकेर शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । अन्य ११ जनाविरूद्ध भने जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ ।

सरकारी वकिल कार्यालय काठमाडौंले जनक राई, दावा शेर्पा, कञ्चन देवकोटा, महेश पाण्डे, जुगल रिजाल, वीरबहादुर सुनुवार, गुडी राई, नवीन राई, दिवाकरबाबु भट्टराई, विष्णुप्रसाद भट्टराई र गोपाल भन्ने योगराज गौतमविरूद्ध मुद्दा दर्ता गरेको छ ।

जापानमा हुने इन्टरनेसनल कन्फरेन्स अन ओपन एक्सेस टु कल्चर २०२४ को सात दिने कार्यक्रममा अधिकारीसहित चार जना कात्तिक ११ गते गएका थिए। उनीसँगै गएका जनक राई, दावा शेर्पा र कञ्चन देवकोटालाई जापानको अध्यागमनले डिपोर्ट गरेको थियो । राई, शेर्पा र देवकोटाविरूद्ध अध्यागमनले ‘एक्सक्लुसन अर्डर’ पठाएको न्यायाधिवक्ता अर्यालले बताए ।

मानव तस्करीको आरोप लागेपछि अधिकारीले कात्तिक २१ गते पत्रकार सम्मेलन गरी मन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि प्रहरीले उनलाई कात्तिक २५ गते विराटनगरबाट पक्राउ गरी काठमाडौं ल्याइएको थियो । 

यस्तो छ एनपीएलको टिकटको मूल्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को टिकट मूल्य तोकिएको छ । यही मंसिर १५ देखि पुस ६ गतेसम्म आयोजना हुन लागेको पहिलो संस्करणको एनपीएलको टिकट मूल्य सोमबार नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजानिक गरेको छ।

एनपीएलको उद्घाटन खेलमा सामान्यका तर्फ ३ सय र भिआइपी तर्फ ७ सय रुपैयाँ तोकिएको छ । त्यस्तै, अन्य लिग खेलका लागि सामान्यतर्फ ३ सय र भिआइपीतर्फ लगि ५ सय रुपैयाँ तोकिएको छ।

प्लेअफका खेल हुने दिन सामान्यतर्फ ५ सय र भिआइपी तर्फका लागि ७ सय तोकिदा फाइनल खेलको लागि सामान्यतर्फ ५ सय र भिआइपीतर्फ एक हजार रुपैयाँ टिकट मूल्य रहेको छ।

यता, सिजनल पासका लागि सामान्यतर्फ ४ हजार ४८० र भिआइपीतर्फका लागि ८ हजार २४० रुपैयाँ तोकिएको छ। यसमा क्यानले २० प्रतिशत छुट पनि दिएको छ।

परराष्ट्रमन्त्री राणाको चीनको भ्रमण स्वीकृत

काठमाडौं । सरकारले परराष्ट्रमन्त्री डा आरजु राणाको चीनको भ्रमण स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले परराष्ट्रमन्त्री राणासहितको प्रतिनिधिमण्डलको चीनको भ्रमण स्वीकृत गरेको सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

परराष्ट्रमन्त्री राणा प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको पूर्वतयारीका लागि चीन जाँदैछिन् ।

धितोपत्र बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त

काठमाडौं । धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले श्रेष्ठलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । धितोपत्र बोर्ड गत वर्ष पुस २० देखि नेतृत्वविहीन रहँदै आएको थियो ।

यसअघि, आइतबार सिफारिस समितिले श्रेष्ठसहित डा. नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठको नाम सिफारिस गरेको थियो । उनीहरूमध्येबाट मन्त्रिपरिषद्ले श्रेष्ठलाई नियुक्त गरेको हो ।

त्यस्तै बैठकले परराष्ट्रमन्त्री डा आरजु राणा देउवासहितको प्रतिनिधि मण्डलको चीनको भ्रमण स्वीकृत गरेको छ । परराष्ट्रमन्त्री राणा प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको पूर्वतयारीका लागि चीन जाँदैछिन् ।

विश्वमा हरेक १० मिनेटमा एक महिलाको हत्या हुने गरेको राष्ट्रसङ्घको भनाइ

भियना । सन् २०२३ मा विश्वमा हरेक १० मिनेटमा एक जना महिलाको साथी वा नातेदारबाट हत्या भएको संयुक्त राष्ट्रसङ्घीय निकायहरूद्वारा सार्वजनिक गरिएको छ ।

लागूऔषध तथा अपराधसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय कार्यालय (युएनओडीसी) र संयुक्त राष्ट्रसङ्घीय महिला एजेन्सीले सोमबार सार्वजनिक गरेको संयुक्त प्रतिवेदनअनुसार गत वर्ष करिब ८५ हजार महिला तथा किशोरीको हत्या भएको थियो ।

करिब ६० प्रतिशत अर्थात् ५१ हजारभन्दा बढी महिला तथा किशोरीको मृत्यु आफ्नो पार्टनर वा नातेदारको हातबाट भएको प्रतिवेदनमा उल्लेख छ । यो भनेको हरेक दिन १४० जना वा प्रत्येक १० मिनेटमा एक जना महिलाको हत्या हुनु बराबर हो ।

रिपोर्टमा भनिएको छ, “यो महिला र किशोरीका लागि घातक उत्पीडनको जोखिमको हिसाबले सबैभन्दा खतरनाक स्थान घर हो।”

महिलाहरूको तुलनामा पुरुषहरू हत्याको सिकार हुने सम्भावना चार गुणा बढी भए तापनि गत वर्ष भएका सबै हत्यापीडितमध्ये ८० प्रतिशत पुरुषहरू अपरिचित व्यक्तिको हातबाट मरेका थिए ।

अफ्रिकामा सन् २०२३ मा २१ हजार ७०० महिलाको मृत्यु भएको थियो । सबैभन्दा कम महिला हत्या दर युरोप र एशियामा रहेको रिपोर्टमा उल्लेख छ ।

केही देशहरूमा नारी हत्या रोक्न प्रयास गरिए तापनि लैङ्गिक असमानता र हानिकारक रूढीवादका कारण त्यहाँ नारी हत्याको सङ्ख्या ‘भयानक’ छ ।

यूएनओडीसीका कार्यकारी निर्देशक घाडा वालेले भने, “हामीले महिलाविरुद्ध हिंसालाई कायम राख्ने लैङ्गिक भेदभाव, शक्ति असन्तुलनजस्ता विभेदजन्य मान्यताविरूद्ध लड्नुपर्छ र अन्त्य गर्नुपर्छ ।”

‘युएन वुमन’की कार्यकारी निर्देशक सिमा बहौसले महिलाविरुद्ध हुने हिंसा रोक्न सशक्त कानून, बृहत्तर सरकारी जवाफदेहीता र महिला अधिकारवादी संस्था तथा संस्थागत निकायका लागि बढ्दो आर्थिक सहयोग आवश्यक रहेको बताए ।

उनले भने, “यसबाहेक, मिडिया रिपोर्टहरू सहित विभिन्न राष्ट्रिय स्रोतहरूबाट सुधारिएको तथ्याङ्क सङ्कलन र ‘शून्य सहनशीलता संस्कृति’ महिला हत्याको सामना गर्न आवश्यक छ ।”

यो प्रतिवेदन १०७ देश वा क्षेत्रबाट उपलब्ध तथ्याङ्क र यूएनओडीसीले सदस्य राष्ट्रहरूले प्रस्तुत गरेका प्रतिक्रियाहरूबाट सङ्कलन गरिएको जानकारीमा आधारित रहेको छ । संयोगबस, यो प्रतिवेदन अन्तर्राष्ट्रिय महिला हिंसा उन्मूलन दिवस नजिकिँदै गर्दा सार्वजनिक भएको छ ।

युक्रेनद्वारा रूसी तेल तथा उर्जा केन्द्रमा प्रहार

युक्रेन । युक्रेनले सोमबार रूसी क्षेत्र कालुगाको इन्धन तथा ऊर्जा सुविधामा ड्रोन हमला गरेको जनाएको छ ।

युक्रेनी सहर खार्किभका अधिकारीहरूले रूसको सीमा नजिकैको सहरको केन्द्रमा रूसी क्षेप्यास्त्र प्रहारबाट १९ जना घाइते भएको बताएका छन् ।

पछिल्लो समयमा मस्को र किएभले सीमापार ड्रोन तथा क्षेप्यास्त्र आक्रमणलाई तीव्र बनाइरहेका छन् । रूसले गत हप्ता युक्रेनमा नयाँ ओरेसनिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ ।

“युक्रेनको डिफेन्स इन्टेलिजेन्स” को अपरेसन परिणाम स्वरूप, रूसको कालुगा क्षेत्र स्थित इन्धन तथा ऊर्जा सुविधामा रातारात आक्रमण भएको स्रोतले जनाएको छ ।

कालुगाका रूसी गभर्नरले यस क्षेत्रमा भएको ड्रोन हमलाबाट एउटा “औद्योगिक उद्यम“ मासमेत आगलागी भएको पुष्टि गरेका छन् ।

स्रोतका अनुसार आक्रमणको लक्ष्य कालुगानेफ्टप्रोडक्ट जेएससीको तेल डिपो थियो, जुन युक्रेनविरुद्ध रूसको सशस्त्र आक्रमणलाई समर्थन गर्नका लागी प्रयोगमा छ ।

यसै क्रममा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत हप्ता निप्रो सहरमा गरिएको आक्रमण सबैभन्दा नयाँ रूसी मध्य–दूरी मिसाइल प्रणाली मध्ये एक रहेको बताउदै त्यस्ता थप “परीक्षणहरू“ गर्ने वाचा गरेका छन् ।

ब्लड बैंकको काम प्रदर्शनीमार्गस्थित नयाँ भवनबाट सुरु

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीको रक्त सञ्चार सेवा सोमबारदेखि प्रदर्शनीमार्गस्थित केन्द्रीय रक्त सञ्चार सेवा भवनबाट सुरु भएको छ । गोरखा भूकम्पबाट रक्त सञ्चार भवनमा क्षति पुगेपछि नेपाल रेडक्रसले सोल्टीमोडमा अस्थायी संरचना बनाई सेवा दिँदै आएको थियो ।

नेपाल रेडक्रसले नेपालमा पहिलो पटक २०२३ साल साउन १२ गते काठमाडौँमा वीर अस्पतालले उपलब्ध गराएको सानो कोठाबाट रक्तसञ्चार सेवा सुरु गरेको थियो । विसं २०३९ असोज ६ गतेदेखि अष्ट्रेलियन रेडक्रसको सहयोगमा प्रदर्शनी मार्गमा निर्मित भवनबाट सेवा प्रदान गर्दै आएको रेडक्रसका महामन्त्री भूपतिलाल श्रेष्ठले जानकारी दिए ।

विसं २०७२ साल वैशाख १२ को विनासकारी भूकम्पले प्रदर्शनीमार्गस्थित केन्द्रीय रक्तसञ्चार सेवा भवनमा क्षति पुगेपछि यहाँबाट ललितपुरको बालकुमारी हुँदै रेडक्रसको केन्द्रीय कार्यालय ताहचलबाट रक्तसञ्चार सेवा प्रदान हुँदै आएको थियो । थाइल्याण्ड सरकारबाट थाई रेडक्रसको सहयोगमा प्रदर्शनी मार्गमा सुविधा सम्पन्न नयाँ केन्द्रीय रक्तसञ्चार सेवा भवन निर्माण गरिएको छ ।

प्राकृतिक प्रकोपमा ज्यान गुमाउने अधिकांश आदिवासी जनजाति

काठमाडौँ । काभ्रेको भुम्लु गाउँपालिका–८  स्थित सिन्दुरेचौर हुँदै मध्यपहाडी लोकमार्ग निर्माणाधीन छ । दुई वर्षअघि लोकमार्गको ट्रयाक खन्दादेखि सिन्दुरेचौरको माझीबस्ती जोखिममा परेको थियो । गत असोज ११ र १२ गतेको वर्षासँगै राजमार्गमाथिबाट झरेको पहिरोले सो बस्ती बगायो ।

पहिरोले जितबहादुर र रामबहादुर माझीको दुई घरको नाम निशाना रहेन । रामबहादुरको ५१ वर्षीया आमा बाटुली माझीले घटनास्थलमै ज्यान गुमाइन् । गम्भीर घाइते अवस्थामा चारजनालाई स्थानीय र सेनाले उद्धार गरी उपचारका लागि अस्पताल पुर्याए । बाटुलीको परिवार अति विपन्न तथा सिमान्तकृत समुदायको परिवार हो । उक्त परिवारले मजदुरी गरेर जिविका चलाउँदै आएका थिए ।

उनीहरू माछा मार्ने पुख्र्यौली पेशाबाट समेत विस्थापित भइसकेका छन् । स्थानीय सरकारले खोलाबाट ढुङ्गा, गिटी, बालुवा झिक्ने ठेक्का लगाउन थालेपछि माछा मार्ने स्थल अभाव हुँदा परम्परागत पेशा छाडेर मजदुरी गर्दै आएको सोही वडाका वडा अध्यक्ष मोतीलाल तामाङले बताए ।

“उनीहरूसँग भएको जग्गा जमिनले चार महिना पनि खान पुग्दैन”, अध्यक्ष तामाङले भने, “परम्परागत पेशा लोप भएपछि जहाँ जे काम पायो, त्यही गर्दै आएका उनीहरूलाई मध्यपहाडी लोकमार्गकै कारण सुरू भएको पहिरोले विस्थापित बनायो र एकजनाको ज्यान पनि लग्यो ।”

काभ्रेपलाञ्चोककै रोशी गाउँपालिकाले गत असोजको बाढी पहिरोमा सबैभन्दा बढी मानवीय क्षति व्यहोरेको छ । जम्मा १४ जनाको ज्यान गएकामा वडा नं ४ मै एकै परिवारको पाँच जनाले ज्यान गुमाए । बस्तीमाथीबाट आएको ढिस्कोले घरै बगाएपछि चन्द्रबहादुर तामाङ र उहाँकी श्रीमति कान्छीमाया, छोरा डिल्लीबहादुर, नाति सफल र नातिनी बुद्धिमायाको एकै चिहान भयो ।

भिरालो जमिनमा बसोबास गरेका उनीहरूको खेती गर्ने जग्गा जमिन थोरै थियो । सोही वडाका अध्यक्ष तेजबहादुर मगरका अनुसार उनीहरू पुस्तौँदेखि मजदुरी गरेर साँझ बिहानको छाक टार्ने परिवार हुन् । विसं २०२८ सालमा पनि पहिरोजाँदा जोगिएका चन्द्रबहादुरको परिवार यसपालीको पहिरोबाट भने जोगिन सकेनन् । उक्त परिवारका तीन सदस्य मात्र अब जीवित छन् ।

गत साउन ३२ गते सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे खोलाको बाढीले थामे गाउँका १५ घर पूर्ण रूपमा क्षति पु¥याएको थियो । थामे गाउँदेखि केही माथी रहेको हिम पोखरी विष्फोट हुँदा उक्त बाढी आएको थियो । बाढीबाट क्षति भएका सबै घरपरिवार शेर्पा समुदायका थिए । स्थानीय, प्रदेश र सङ्घीय सरकारले तत्काल केही राहत रकम उपलब्ध गराए पनि अझै विस्थापित परिवारहरू पुनःस्थापित हुन सकेका छैनन् । दिउँसै बाढी आएको कारण मानवीय क्षति नभए पनि करोडौँ मूल्य बराबरको भौतिक क्षति हुनाका साथै गाउँको भौगोलिक स्वरूप नै परिवर्तन भएको छ ।

प्रस्तुत तीन उदाहरणले पनि प्रष्ट हुन्छ कि यसवर्षको प्राकृतिक प्रकोपमा कसरी आदिवासी जनजाति समुदायले भौतिक तथा मानवीय क्षति व्यहोरे । प्राकृतिक प्रकोपमा यी समुदाय सधैँ उच्च जोखिममा छन् । यसवर्षको मनसुनबाट ज्यान गुमाउनेको तथ्याङ्क विश्लेषण गर्ने हो भने पनि उक्त तथ्य पुष्टि हुन्छ ।

विपदमा ज्यान गुमाउने ४१.५४ प्रतिशत आदिवासी जनजाति

यसवर्षको मनसुन (वैशाखदेखि असोज सम्म) मा बाढीपहिरो लगायतका प्राकृतिक प्रकोपबाट मृत्यु भएका चार सय ४३ मध्ये आदिवासी जनजातिको सङ्ख्या एक सय ८४ जना छन् । उक्त तथ्याङ्कअनुसार कुल मृतकको ४१ दशमलव ५४ प्रतिशत आदिवासी जनजातिले ज्यान गुमाएका हुन् ।

मृतकमध्ये चार जनाको पहिचान हुन बाँकी छ । बेपत्ताको सङ्ख्या ६६ जना रहेको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ । तर बेपत्ताको नामथरसहितको विवरण केन्द्रसँग उपलब्ध छैन । बेपत्ताको समेत विवरण यकिन हुने हो भने ज्यान गुमाउने आदिवासीको सङ्ख्या अझै धेरै हुनसक्ने अनुमान गर्न सकिन्छ ।

कुल मृतक तथा बेपत्ताको सङ्ख्या जोड्ने हो भने जम्मा पाँच सय नौ जनाले यसवर्षको मनसुनमा ज्यान गुमाएका छन् । मनसुनी विपद्मा परी दुई सय २८ महिला तथा बालबालिकाको मृत्यु भएको छ । कुल मृतक सङ्ख्यालाई आधार मान्ने हो भने ५१ दशमलव ४७ प्रतिशत महिला तथा बालबालिकाको मृत्यु भएको छ ।

जसमध्ये ६० जना बालबालिका छन् । कुल मृतकमध्ये १३ दशमलव ५५ प्रतिशत बालबालिकाले ज्यान गुमाएका छन् । ज्यान गुमाएका बालबालिकामध्ये ३५ बालक र २५ बालिका छन् ।

प्रदेशगत विवरणअनुसार यसवर्षको मनसुनमा सबैभन्दा बढी बागमती प्रदेशमा दुई सय ६७ जनाले ज्यान गुमाए । कोशीमा ४३,  गण्डकी ५५, लुम्बिनी २९, कर्णाली १६, सुदुरपश्चिम १६ र मधेश प्रदेशमा १३ जनाले ज्यान गुमाएका छन् ।

जलवायु विज्ञहरूका अनुसार गत असोज ११ गतेदेखि १७ गतेभित्रको मनसुनी विपद जलवायु परिवर्तनको असर प्रमुख कारण मानिएको छ । असोजमा मात्रै तीन सय तीन जनाको ज्यान गयो । यसवर्षको मनसुनमा ज्यान गुमाउने कुल सङ्ख्यालाई आधार मान्ने हो भने असोजको बेमौसमी बर्सातका कारण गएको बाढीपहिरोबाट ६८ दशमलव ३९ प्रतिशतले ज्यान गुमाए ।

उक्त अवधिमा काभ्रेपलाञ्चोक जिल्लाले सबैभन्दा ठूलो क्षति व्यहोर्नुप¥यो । बाढीपहिरोबाट काभ्रेमा मात्रै ७९ को मृत्यु, ७८ घाइते र छ जना बेपत्ता भए । जिल्ला प्रशासन कार्यालय काभ्रेले उपलब्ध गराएको उक्त तथ्याङ्क अझ विस्तृत रूपमा तयार हुन बाँकी रहेको सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले बताए ।

सो अवधिमा काभ्रेमा मृत्यु भएका ७९ मध्ये ३८ जना आदिवासी जनजाति समुदायका छन् । उक्त सङ्ख्या काभ्रेमा मृत्यु भएका कुल सङ्ख्याको ४८ दशमलव ११ प्रतिशत हो । जसमा तीनजना माझी, दुई मगर, एक श्रेष्ठ र बाँकी ३२ जना तामाङ समुदायका छन् ।

विसं २०७८ को जनगणनाअनुसार हिमाली, पहाडी र मधेसका जनजातिको सङ्ख्या एक करोड दुई लाख १८ हजार पाँच सय ७० रहेको छ । उक्त जनसङ्ख्या कूल जनसङ्ख्याको ३५ दशमलव ०४ प्रतिशत हुन आउँछ । यही तथ्यलाई आधार मान्ने हो भने पनि यस वर्षको मनसुनजन्य प्राकृतिक प्रकोपमा आदिवासी जनजातिले धेरै ज्यान गुमाउनुको साथै भौतिक क्षति व्यहोरेका छन् । जनसङ्ख्याको अनुपातमा आदिवासी समुदायले अधिकांश प्राकृतिक प्रकोपमा बढी क्षति भोग्दै आएको देखिन्छ ।

उपेक्षामा आदिवासी समुदाय

जुनसुकै प्राकृतिक प्रकोपमा आदिवासी जनजाति समुदायले बढी ज्यान गुमाउनु परेको र राज्यले सधैँ यस समुदायलाई उपेक्षा गर्ने गरेको आदिवासी अधिकारकर्मीहरू ठम्याइ छ ।

नेपाल आदिवासी जनजाति महासङ्घका महासचिव दिवस राईले समग्र विपद्लाई आधार मान्ने हो भने जहिल्यै ८० प्रतिशत क्षति आदिवासी जनजाति समुदायमा हुने गरेको दाबी गरे । “आदिवासी जनजाति समुदाय किन धेरै पीडित हुन्छन् भने यो समुदायको निकटता बढी प्रकृतिसँग हुन्छ । त्यही भएर उनीहरू हिमाल मुनी, खोला किनारमा, ताल तलैया वनक्षेत्र नजिक बस्छन्”, उनले भने, “यो समुदाय प्राकृतिक स्रोत साधनसँग जोडिएर काम गर्न सकिने ठाउँमा हुन्छन् । त्यसैले बढी क्षति उनीहरूले व्यहोर्नुपर्छ ।”

आदिवासी समुदायको परम्परागत ज्ञान, प्रथाहरू प्रकृतिसँग सम्बन्ध राख्ने हुँदा प्राकृतिक प्रकोप वा जलवायु परिवर्तनको मूल असर आदिवासी समुदायलाई पर्ने गरेको उनले बताए । आदिवासी समुदाय अहिले पनि विज्ञान प्रविधिभन्दा बढी रैथाने ज्ञान परम्परामा रूचाउन चाहने उनको भनाइ छ ।

राज्यले पक्ष राष्ट्रका रूपमा हस्ताक्षर गरेका अधिकांश अन्तर्राष्ट्रिय महासन्धिहरूमा आदिवासी जनजातिलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता गरेपनि व्यवहारमा उपेक्षा गर्ने गरेको आदिवासी अधिकारकर्मी बताउँछन् । हालै अजरबैजानको बाकुमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धीका पक्ष राष्ट्रहरूको सम्मेलन, कोप–२९ मा पनि विश्वभरका आदिवासी समुदायले सम्मेलन अवधिभर नारा जुलुस गरेको नेपाल आदिवासी जनजाति महासङ्घका केन्द्रीय अध्यक्ष गेल्जे शेर्पाले बताए ।

“आदिवासी जनजाति समुदायलाई राज्यले उपेक्षा गर्ने चलन संसारभर नै देखिन्छ । सबैभन्दा बढी क्षति आदिवासीले भोग्ने तर त्यसबापत्को क्षतिपूर्ति वितरणमा सो समुदायको अधिकार नहुने ठूलो विभेद छ”, अध्यक्ष शेर्पाले भने, “त्यसैका विरूद्ध हामी निरन्तर अधिकारको लडाईँमा छौँ ।”

कार्बन सञ्चितीकरण अर्थात् वन विनाश तथा क्षयीकरण घटाए बापत् हाल राज्यले प्राप्त गर्दै आएको कुनै पनि बजेट आदिवासी समुदायलाई केन्द्रित गरेर विनियोजन नगरिएको उनले बताए । जलवायु नीति २०७६ कार्यान्वयनमा पनि अझै चुनौति देखिएको अधिकारकर्मी बताउँछन् ।

नेपालमा फिल्म सुटिङ गर्न उत्साहित हुन्छु : बलिउड निर्देशक कबिर खान(अन्तरवार्ता)

काठमाडौँ । बलिउडका पछिल्लो पुस्ताका सर्वाधिक सफल निर्देशकमा पर्छन् कबिर खान । ‘काबुल एक्सप्रेस’बाट सिनेमा निर्देशनमा होमिएका कबिरले त्यसयता ‘न्यूयोर्क’, ‘एक था टाइगर’, बजरङ्गी भाइजान’, ‘८३’, ‘चन्दु च्याम्पियन’ लगायतका सिनेमा निर्देशन गरिसकेका छन्। यसै साता उनी काठमाडौँ आएको थियो । फिल्म साउथ एसिया महोत्सवको प्रमुख अतिथिका रुपमा उनी काठमाडौँ आएको हो ।

कविरले यही महोत्सवमा आफ्नो डकु–ड्रामा ‘द फर्गटन आर्मी’ बाट २५ वर्षअगाडि सन् १९९९ को संस्करणमा ‘ग्य्रान्ड जुरी अवार्ड’ हात पारेको थियो । फिल्म साउथ एसियाको उद्घाटन सत्रमा सम्बोधन गर्दै कबिरले सो अवार्ड नै आफूले आफ्ना कामका लागि पाएको पहिलो अवार्ड भएको स्मरण गरे । सो अवार्डले नै आफूलाई फिल्म निर्माणमा अगाडि बढ्न मद्दत गरेको भनाइ सो कार्यक्रममा राखेको थियो ।

आज बलिउडको मूलधारे सिनेमामा आफ्नो बेग्लै नाम र पकड बनाउन सफल भएका कबिर खानसँग राससले महोत्सवका दौरानमा संवाद गरेको थियो । संवादमा उनले कथाले नेपाल खोजेको दिनमा सिनेमा छायाङ्कन गर्ने आउने बताउनाका साथै सिनेमा भविष्य खोज्न चाहनेहरुले प्रशस्त अध्ययन र सिनेमा हेर्नुपर्ने सुझाव दिए ।

उनी निर्देशक आफूले भन्न खोजेको कथामा अडिग भएर कथाको माग अनुसारको पटकथा लेख्नुपर्ने बताउँछन् । यसका लागि अध्ययनसँगै ती चीज पहिचान गर्नसक्ने क्षमता सो व्यक्तिभित्र हुनुपर्ने उनले बताए । प्रस्तुत छ, बलिउडका निर्देशक खानसँग राससका समाचारदाता अशेष अधिकारीले गरेको संवादको सम्पादित अंशः

तपाईंले फिल्ममेकर बन्ने बारेमा कहिले सोच्नुभयो ?

– यो एउटा क्रमिक प्रक्रिया जसरी सुरु भयो । मलाई स्टिल फोटोग्राफीमा रुचि थियो । म पदयात्रामा धेरै नै जाने गर्थें । यसले गर्दा म आफू जहाँ घुम्न जान्थेँ, ती ठाउँहरुलाई कैद गर्ने गर्थें । यिनै कुराहरुबाट म यो दृश्ययात्रामा छिरेँ । स्कुल–कलेजमा मैले केही मात्रामा रङ्गमञ्च पनि गरेँ । थाहै नपाई सिनेमाप्रति निकट हुँदै गइयो । मेरी आमा एकदमै सिनेमाप्रेमी हुनुहुन्थ्यो । उहाँले नै हामीलाई धेरै सिनेमा देखाउन लानुभयो । सिनेमाप्रति एक प्रकारको माया थियो तर त्यहाँ म व्यावसायिक रुपमै हुनेछु भनेर चाहिँ कुनै सोच बनाएको थिइन । स्नातक तह सकेपछि मात्रै यता लागेँ । मेरी दिदी एउटा फिल्म स्कुलमा आवेदन दिँदै हुनुहुन्थ्यो, अनि मैले पनि मेरा लागि पनि एउटा प्रवेश फारम ल्याइदिन भनेँ । मैले विना कुनै सोच आवेदन दिएँ र जामिया फिल्म स्कुलमा प्रवेश पाएँ । जब मैले यो सुरु गरेँ, तब मैले यो कुरा महसुस गरेँ । जब फिल्म स्कुलमा प्रवेश मेरो भयो, तब यो नै त्यो कुरा हो जससँग म प्रीतकर हुनेछु भनेर सोच्न थालेँ ।

जामिया प्रवेशअघि तपाईंको झुकाव कस्ता सिनेमातिर हुन थाल्यो ?

मैले हरप्रकारका सिनेमा हेरेँ । घरमा हामी हरप्रकारका सिनेमाहरु हेथ्र्यौं । मेरी आमाका प्रिय कलाकार अमिताभ बच्चन थिए, उहाँ श्याम बेनेगलका सिनेमाको पनि प्रशंसक हुनुहुन्थ्यो । त्यसकारण हामी धेरै प्रकारका सिनेमा हेथ्र्यौं ।

सिनेमा कर्म गम्भीर काम हो भन्ने बुझेपछि तपाईंले हेर्ने सिनेमाको छनेटमा कुनै परिवर्तन आए कि?
यो बुझिसक्दा म फिल्म स्कुलमा आइसकेको थिएँ र सिनेमासँगको परिचय फराकिन थालिसकेको थियो । हामी संसारभरका हरप्रकारका सिनेमा हेर्न थालिसकेका थियौँ । अब तपाईंले ठ्याक्कै कुन कुन सिनेमा हेर्नुभयो भनेर सोध्नुभयो भने यो–यो खाले भनेर ठ्याक्कै भन्न सक्दिनँ तर भारतीय फिल्मकर्मीमा कसलाई पछ्याइयो भन्नुहुन्छ भने ती व्यक्ति मणिरत्नम हुन् । मणिरत्नमका सिनेमामा सधैंँ मानवीय कथाहरु हुने गर्छन्, जसको नेपथ्यमा ठूलाठूला राजनीतिक परिदृश्यहरु हुने गर्छन् । म यी कुराहरुतिर आकर्षित थिएँं र मौका मिल्दा यस्तै सिनेमा गर्ने मेरो इच्छा रहेको थियो । मूलधारका सिनेमामा राजनीतिक र ऐतिहासिक सन्दर्भसँग गाँसिएका मानवीय कथाहरु भन्न चाहन्थे ।

डकुमेन्ट्री सिनेमामा लागेकाहरुमा मूलधारका सिनेमा गर्ने उतिसारो मोह भएको पाइँदैन, तपाईंमा यो मोह कसरी जाग्यो ?

म मूलधारको सिनेमा गर्नेमा सधैँ स्पष्ट थिएँ । ती दिनहरुमा डकुमेन्ट्री सिनेमाका लागि दर्शकहरु ज्यादै नै अभाव थियो । ती दर्शकहरुसँग पुग्न मलाई कठिन भइरहेको थियो । आजजस्तो ओटिटीलगायत डिजिटल प्ल्याटफर्महरु पनि थिएनन् । योसँगै मैले यो देशमा मूलधारका सिनेमा नै शक्तिशाली भएको बुझिसकेको थिएंँ र यसैले पनि यतातिर आएँ ।

पहिलो सिनेमा ‘पिच’ गर्न कति गाह्रो–सजिलो भयो ?

सजिलो त भएन । जब म मेरो यात्रालाई फर्केर हेर्छु, त्यो त्यति खराब पनि थिएन, एक वर्षसम्म कुनै निर्माताले लगानी गर्ला भने स्क्रिप्ट बोकेर हिँडिरहेको थिएँ । त्यो समयमा चाहिँ मलाई एकदमै कठिन र लामो यात्रा जस्तो लागेको थियो । मेरो पहिलो सिनेमा ‘काबुल एक्सप्रेस’ त्यो समयका हिसाबले पृथक थियो । त्यसमा कुनै प्रेमकथा वा प्रेमका गीतहरु थिएनन्, बिल्कुलै फरक थियो । तर अन्त्यमा अचम्मसँगले बलिउड सिने उद्योगको ठूलो नाम ‘यसराज फिल्मस्’ले मेरो स्क्रिप्ट लियो र तीनवटा सिनेमाका लागि अनुबन्धसमेत ग¥यो ।

‘काबुल एक्सप्रेस’पछि निर्देशकका हिसाबले तपाईं बुझाइ र भोगाइ कस्तो रह्यो ?

सपना साकार भएझैँ भयो । ठूलो पर्दामा त्यो सिनेमा ल्याउनु एक प्रकारले बोनसजस्तो भयो । म सौभाग्यशाली रहेँ, जसले आदित्य चोपडाजस्तो निर्माता पायो । उनले मलाई तीन भिन्न प्रकारका सिनेमा बनाउने अवसर प्रदान गरेँ । मैले यसराजका लागि ‘काबुल एक्सप्रेस’, ‘न्युयोर्क’ र ‘एक था टाइगर’ गरी तीनवटा सिनेमा बनाएँ र ती तीनवटै सिनेमा एकअर्काभन्दा फरक थिएँ । त्यसकारणले त्यो एकदमै ठूलो प्रशिक्षण मैदान जस्तो भयो सिनेमा निर्माणको ।

आदित्यले किन तपाईंको ‘काबुल एक्सप्रेस’ सिनेमा छनोट गरेजस्तो लाग्छ, यो सिनेमालाई लिएर उनको प्रतिक्रिया के थियो ?

‘काबुल एक्सप्रेस’पछि मात्र होइन, बनाउनुभन्दा पहिले पनि धेरै छलफलहरु भए । ती छलफलहरु सिनेमाको सोच–शैली तथा स्क्रिप्ट इत्यादिका बारेमा थिए । उनले ‘काबुल एक्सप्रेस’लाई नयाँ समय र सोचको सिनेमाका रुपमा सोच्थेँ । यो उनीहरुले बनाइरहेका सिनेमाभन्दा फरक थियो । उनी त्यसमा परिवर्तन ल्याउन चाहन्थे । उनी यसलाई आफ्नो सहजताभन्दा बाहिरको सिनेमाका रुपमा लिन्थेँ ।

सिनेमाका लागि तपाईं कथा कसरी खोज्नुहुन्छ?

जो कोहीबाट पनि कथा आउनसक्छ । तपाईंको व्यक्तिगत अनुभवबाट पनि आउनसक्छ जस्तो ‘काबुल एक्सप्रेस’मा मलाई आएको थियो । अखबारमा तपाईंले पढ्नु भएको समाचार पनि हुनसक्छ, जस्तो ‘चन्दु च्यामपियन’ । यो अखबारमा मैले पढेको लेखबाट आएको हो र ती ऐतिहासिक सन्दर्भबाट पनि हुनसक्छन् वा कसैले तपाईंले सुनाएको कुराबाट पनि हुनसक्छ, जसबाट ‘बजरङ्गी भाइजान’ बन्यो । त्यो मलाई विजयन्त्रप्रसादले हैदराबादबाट पठाई दिनुभएको थियो, जुन मलाई पढ्ने बित्तिकै मन परेको थियो । त्यसकारण कथाका जुनकुनै तरिकाबाट तपाईंले पाउनसक्नुहुन्छ । त्यसपछि हो त्यसलाई स्क्रिप्टमा ढाल्ने ।

पटकथाको छनोट कसरी गर्ने गर्नुहुन्छ ?

तपाईंभित्रको ‘गट फिलिङ इन्स्टिङ’ले छनोट गर्ने हो । तपाईंमा व्यक्तिगत रुपमा त्यसले आकर्षण उत्पन्न गराउनुप¥यो । जब म कुनै कथा सुन्छु, त्यसले मलाई उत्साहित गराउनुप¥यो कि हो यो कथा म भन्न चाहन्छु भनेर । म मलाई यो किन मनप¥यो भनेर विश्लेषण गर्छु र लेखन प्रक्रियामा लैजान्छु तर मेरो पहिलो आधार भने ‘गट फिलिङ इन्स्टिङ’ हो ।

निर्देशकका रुपमा कथा भेटेपछि तपाईं के कुरामा ज्यादा उत्साहित बन्नुहुन्छ ?

– जस्तो कि मैले भनिसकेँ यसमा एउटै चीज मात्र हुन्न, सबै कुराले हुन्छ । जस्तो कि पात्रहरुको जुगलबन्दी, कथाले भन्न खोजिरहेको कुरा, चरित्रको नेपथ्य जसले त्यसलाई निर्माण गर्छ अर्थात् कथाका रूपमा त्यसले तपाईंको संवेदनालाई जगाउनुपर्छ, उत्साहित पार्ने खालको हुनुपर्छ । फिल्मकारका रुपमा यति भइसकेपछि तपाईं सिनेमा सुरु गर्नसक्नुहुन्छ । यो एउटा लामो प्रक्रिया हो । जब तपाईं सिनेमा बनाउने भनेर आउनुहुन्छ, तब तपाईं त्यो सोचप्रति वर्ष–डेढ वर्षसम्म प्रतिबद्ध हुनुपर्छ । त्यसमा तपाईंको लगावले मात्र काम गर्नसक्छ ।

स्क्रिप्ट सिनेमाका लागि महत्वपूर्ण हुन्छ, निर्देशकका हिसाबले स्क्रिनप्लेमा तपाईंका चेकलिस्टहरु केके हुन् ? र राम्रो स्क्रिनप्लेका लागि त्यसमा केके हुनुपर्ला ?

स्क्रिप्टमा स्क्रिनप्ले एकदमै महत्वपूर्ण हुन्छ । स्क्रिनप्लेले कथा कसरी खुल्दै जान्छ, कसरी एउटा दृश्यबाट अर्को दृश्यमा गएर दर्शकलाई बाँधिराख्छ भन्ने कुरा धेरै महत्वपूर्ण हुन्छ । स्क्रिनप्ले लेख्ने कुरा तपाईंले अरू सिनेमाहरु हेरेर सिक्न सक्नुहुन्छ । किताब अध्ययन गरेर पनि सक्नुहुन्छ । यी कुराले सहयोग गर्छन् नै तर अन्ततोगत्वा तपाईंभित्र प्रतिभा भने हुनैपर्छ । प्रशंसा गरिएका अरुका स्क्रिप्ट पनि पढ्नुपर्छ। यो निरन्तरको सिकाइ प्रक्रिया हो । प्रत्येक सिनेमाले भिन्नभिन्न स्क्रिनप्लेको माग गर्छ, त्यसकारण तपाईंले भन्न खोजेको कुरालाई अनुभूति गर्नुपर्छ र कसरी भन्न चाहेको हो त्यो बुझ्नुपर्छ । किनकि कथाअनुसार त्यो कहिले लिनियर त कहिले नन–लिनियर हुने गर्छ ।

एउटा फिल्म निर्माताले धेरैभन्दा धेरै सिनेमा हेर्नुपर्छ कि पढ्नुपर्छ ? यसले उनीहरुलाई कसरी र कस्तो सहयोग पुर्याउँछ ?

–दुवै गर्नुपर्छ । यसले भिन्न संसारका मानिसहरूको अभिव्यक्ति हेर्ने झ्याल प्रदान गर्दछ, जसको अनुभव वा पढाइ तपाईंले गर्नुभएको छैन । अध्ययन र सिनेमा हेर्ने दुवै कामले एकदमै सहयोग गर्छ । भिन्न दृष्टिकोण बुझ्न, वरिपरि के भइरहेको छ त्यो बुझ्न, संसारमा मानिसहरु के कसरी सोचिरहेका छन्, उनीहरुका अभिव्यक्ति, शिल्पका बारेमा बुझ्न सहयोग गर्छ । मलाई धेरैभन्दा धेरै सिनेमा हेर्ने र अध्ययन गर्ने बाहेकका अरू विकल्प छन् जस्तो लाग्दैन ।

सिनेमा सफल हुँदा र असफल हुँदा निर्देशकका रुपमा तपाईं के सोच्नु हुन्छ?

–कुनै बेला किन काम गरे–गरेनन् भनेर विश्लेषण गर्ने कोसिस गर्छु । कुनै बेला फेरि त्यो कुरा बुझ्न समय लाग्नसक्छ । तर मलाई के लाग्छ भने सिनेमा सफल हुँदामा ज्यादा उत्साहित हुने र असफल हुँदैमा धेरै गम्भीर हुनुहुँदैन । यो खेलको नियम नै त हो । सफलता र असफलताले तपाईंको सिनेमाप्रति रहेको भिजनलाई तपाईंबाट पर लान सक्दैन । तपाईंले भन्न खोजेको कथाहरु पनि प्रभावित हुँदैनन् । सफलता–असफलता दुवै कुराबाट तपाईं प्रभावित बन्नुहुँदैन ।

निर्देशकका हिसाबले नयाँ फिल्म निर्माताका लागि तपाईंका केही सुझावहरु छन् ?

–मलाई लाग्छ तपाईं आफ्नो दृष्टिकोण र दृश्यमा अटल हुनुपर्छ । यो उद्योगमा नाम दाम र चर्चाका कारण छिट्टै पथान्तर हुने सम्भावना रहन्छ । यो हुँदा यी नै मा आफूलाई हराउने खतरा रहन्छ । प्रत्येक सिनेकर्मीको आफ्नो आवाज हुन्छ र त्यो हराउने खतरा हुन्छ । मानिसहरुले तपाईंको सिनेमालाई एउटा हस्ताक्षरका रुपमा हेरिराखेका हुन्छ, त्यसैले तपाईं त्यसमा अडिग भइराख्नु जरुरी छ ।

केही वर्षयता दक्षिण भारतीय सिनेमाहरुले आफ्नो प्रभाव विस्तार गरिरहेका छन्, बलिउडले त्यताका सिनेमालाई कसरी हेरिरहेको छ?

– यो एउटा स्वागतयोग्य परिवर्तन हो । हामीले भारतमा यो बलिउडको यो दक्षिणको वा यो पञ्जाबको सिनेमा भन्दा पनि यी भारतीय सिनेमा हुन् । हामीले दर्शकलाई हलसम्म ल्याउन सफल भइरहेका छौंँ, यो नै महान् उपलब्धि हो, जसको फाइदा समग्र उद्योगलाई नै पुगिरहेको छ ।

बितेका केही समयमा बलिउडले सोचेजस्तो व्यावसायिक सफलता हात नपारिरहेको बताइन्छ, जुन उनीहरुले पहिले पाउने गर्थे । यसका कारणहरु के होलान् ?

– त्यस्तो पनि होइन । कोभिडपछि केही समय हामीले मानिसहरुले अझै पनि सामान्यकरणतर्फ फर्किएका छैनन् भनेर सोच्यौँ । मानिसहरुमा पहिलेझैँ सिनेमाघर आउने बानी बसिसकेको छैन । तर केहीपछि नै धेरै भारतीय हिन्दी सिनेमाले ठूलो व्यापार गरेका छन् । पठान, स्त्री–२, जवानलगायतका सिनेमाले ठूलो मात्रामा व्यापार गरेका छन् । मानिसहरु अब हलमा आउन थालिसकेका छन् यद्यपि कोभिडअघि जति आउँथे त्यति आइरहेका छैनन् । विस्तारै यो बढ्दै जानेछ ।

तपाईं बलिउडले जस्ता सिनेमा बनाइरहेको छ, ती सिनेमाको निर्माणबाट खुसी हुनुहुन्छ?

– दर्शकका हिसाबले मेरा लागि बनाइरहेको छैन होला तर अरू दर्शकहरुले त रुचाइरहनुभएको छ । व्यक्तिगत रुपले भन्नुहुन्छ भने म पोस्ट कोभिडपछि आएका सिनेमाहरुबाट सन्तुष्ट भइरहेको छैन, त्यस्तो आइरहेको छैन । तर सिनेमाहरु बनिरहेका छन्, मानिसहरु हेर्न आइरहेका छन् जुन एउटा खुसी हुनुपर्ने कारण बनिरहेको छ ।

धेरै दक्षिण भारतीय सिनेमाहरुले पछिल्लो समय नेपाललाई सुटिङ गन्तव्य बनाइरहेका छन्, कबिर खानलाई नेपालमा कहिले सुटिङ गर्दै गरेको देख्न पाइएला?

– मलाई फेस्टिबलको संवाद सत्रमा पनि भनिसकेको छु । म नयाँ कथाको खोजीमा रहेको छु र नेपालको सेटिङ भएको उत्साहजनक कथा भेटियो भने म नेपालमा सुटिङ गर्न उत्साहित हुनेछु । नेपाल सुटिङका हिसाबले मनमोहक ठाउँ हो र यो प्राकृतिक रुपमा मात्र नभई काठमाडौँको चरित्र, यहाँका मानिसहरुका कारण पनि राम्रो ठाउँ हो । सही कथा र काठमाडौँको कथा भएमा अवश्य नै मेरो छायाङ्कनस्थल काठमाडौँ बन्नेछ ।

यहाँ आएपछि कुनै नेपाली सिनेमा हेर्नुभयो कि भएन ?

– छैन । म यहाँ आएको दुई दिन मात्र भयो तर मैले हाल चलिरहेको सिनेमाका बारेमा एकदमै राम्रो चर्चा सुनेको छु, नामचाँहि पूरा बिर्से (पूर्ण बहादुरको सारङ्गी) । कुनै विन्दुमा हेर्छु होला तर यो यात्रामा चाहिँ अलिक सम्भव छैन किनकि महोत्सवमै व्यस्त भएकाले त्यसका लागि समय निकाल्न सक्दिनँ मैले । स्थानीय दर्शकबाट यसरी साथ पाउनु एकदमै राम्रो कुरा हो । यसरी आफ्नाको साथ पाउनु आफैँमा एउटा महान् कुरा हो ।

तपाईंको अर्को वृत्तचित्र सिनेमा कहिले हेर्न पाइएला ?

– मलाई कहिले पाइन्छ भनेर साँच्चै थाहा छैन । फिचर फिल्ममै व्यस्त छु त्यसैले कुन विन्दुमा वृत्तचित्र फिल्म बनाउँछु थाहा छेन तर मलाई वृत्तचित्रफिल्म बनाउन मनपर्छ मलाई यसको संरचनाले उत्साहित बनाउँछ । ड्रामा फिक्सनभन्दा वृत्तचित्रको संरचनाले कथा अझ राम्रोसँग भन्न सक्छन् ।

तपाईंका आफ्नै फिल्ममध्येको प्रिय सिनेमाचाहिँ कुन हो ?

– मेरो सिनेमाबाट भन्नुभयो ? यो भन्न एकदमै गाह्रो छ किनकि यो कसैलाई तपाईंको प्रिय सन्तान कुन हो भनेर सोध्नुजत्तिकै हो । त्यसकारण मेरो प्रिय सिनेमा यो भनेर कुनै नाम दिन सक्दिनँ । तर कहिलेकाहीँ सिनेमा निर्माणको प्रक्रियाले चाहिँ मनको छेउमा राख्ने काम गर्छ । त्यो सिनेमा बनाउँदाको विधिप्रक्रिया र यात्राले चाहिँ एउटा निर्देशकलाई त्यो कथा सिनेमाका लागि लिँदा एउटा लक्ष्य लिएर काम गरिरहेको हुन्छ र त्यसलाई कसरी कुशलतापूर्वक सिनेमामा परिणत गर्नुभयो भन्ने कुराले एउटा उपलब्धि हासिल गरेँ भन्ने गराउँछ । जस्तै ‘८३’ र ‘चन्दु च्यामपियन’ यी दुवै सिनेमा मैले पर्दामा म जसरी ल्याउन चाहन्थेँ, त्यसैगरी ल्याउन सकेँ । त्यसैले यी दुई सिनेमा मेरो धेरै नै निकट छन् । 

उच्चस्तरीय दरबन्दी पुनरावलोकन कार्यदलद्वारा काम सुरु

काठमाडौं । उच्चस्तरीय दरबन्दी पुनरावलोकन कार्यदलले आफ्नो कार्य शुरू गरेको छ । मंसिर ९ गते शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीको उपस्थितिमा कार्यदलको बैठक बसी कार्यदल र कार्यशर्तका सम्बन्धमा छलफल भएको हो ।

उक्त छलफलमा मन्त्री भट्टराईले २०७५ सालको कार्यदलको प्रतिवेदनलाई मुख्य आधार मानी जनसंख्या, विद्यालयस्तरीय शैक्षिक तथ्याङ्क, विगतको शिक्षक विद्यार्थी अनुपात तथा भौगोलिक अवस्था आदिलाई ध्यान दिई वैज्ञानिक आधारमा प्रतिवेदन तयार गर्दा राम्रो हुने बताइन् ।

अब प्रतिवेदन तयार गर्दा जनसंख्या तथा बसाइसराईको अवस्थालाई ध्यान दिँदै शिक्षाका सरोकारवालाहरु खासगरी विद्यालय व्यवस्थापन समिति, गाउँपालिका/नगरपालिका महासंघका साथै स्थानीय तहका पदाधिकारीहरूसँग समेत राय सल्लाह लिँदा ठीक हुने उनले बताइन् ।

छलफलमा शिक्षा सचिव, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष तथा २०७५ सालको शिक्षक दरबन्दी मिलान समितिका संयोजकले आ–आफ्नो विचार तथा सुझाव प्रदान गरेका थिए ।

जापान मानव तस्करीको आरोपमा पक्राउ परेका पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय

काठमाडौं । जापानमा मानव तस्करी गरेको आरोपमा पक्राउ परेका कोसी प्रदेशका पूर्वमन्त्री एवं एमाले सांसद लिलावल्लभ अधिकारीविरुद्ध मुद्दा नचल्ने भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले अधिकारीलाईसमेत प्रतिवादी बनाउन राय दिएको भए पनि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले अधिकारीको संलग्नता नदेखिएको भन्दै उनलाई मुद्दा नचलाउने निर्णय गरेको जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता सिताराम अर्यालले जानकारी दिएका छन् ।

उनले भने, ‘उहाँको संलग्नता देखिँदैन। उहाँले नै जापान पुगेर अध्यागमनलाई खबर गरेको देखिन्छ । र मन्त्री आफैले अनुरोध गरेर फिर्ता आएको देखिन्छ ।’

प्रहरीले अधिकारीसहितलाई ३ वटा कसुरमा मुद्दा चलाउनु पर्ने राय दिएको थियो। जापानमा मानव बेचबिखन गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान सकेर शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । अन्य ११ जनाविरूद्ध भने जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ ।

सरकारी वकिल कार्यालय काठमाडौंले जनक राई, दावा शेर्पा, कञ्चन देवकोटा, महेश पाण्डे, जुगल रिजाल, वीरबहादुर सुनुवार, गुडी राई, नवीन राई, दिवाकरबाबु भट्टराई, विष्णुप्रसाद भट्टराई र गोपाल भन्ने योगराज गौतमविरूद्ध मुद्दा दर्ता गरेको छ ।

जापानमा हुने इन्टरनेसनल कन्फरेन्स अन ओपन एक्सेस टु कल्चर २०२४ को सात दिने कार्यक्रममा अधिकारीसहित चार जना कात्तिक ११ गते गएका थिए।

उनीसँगै गएका जनक राई, दावा शेर्पा र कञ्चन देवकोटालाई जापानको अध्यागमनले डिपोर्ट गरेको थियो । राई, शेर्पा र देवकोटाविरूद्ध अध्यागमनले ‘एक्सक्लुसन अर्डर’ पठाएको न्यायाधिवक्ता अर्यालले बताए ।

मानव तस्करीको आरोप लागेपछि अधिकारीले कात्तिक २१ गते पत्रकार सम्मेलन गरी मन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि प्रहरीले उनलाई कात्तिक २५ गते विराटनगरबाट पक्राउ गरी काठमाडौं ल्याइएको थियो ।

चिसोबाट बचाउने पूर्वतयारी गर्न एमाले विपद् व्यवस्थापन विभागको प्रधानमन्त्रीलाई आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा (एमाले) को केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले तराई मधेस र देशभरका जिल्लाका नागरिकलाई चिसो मौसममा ठण्डीबाट बचाउने पूर्वतयारी गर्न आज ध्यानाकर्षणपत्र गराएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा विभागका प्रमुख खिमलाल भट्टराईसहितको टोलीले जाडोको समयमा न्यानो कपडा र दाउराको अभावमा मधेस देशभरका विपन्न वस्ती र परिवारलाई बढी पीडा दिने गरेको सन्दर्भमा पूर्वतयारी गर्न आग्रह गरेको हो ।

ध्यानार्कषणपत्रमा गत असोज ११ र १२ गते आएको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका साथै सिन्धुपाल्चोक, काभ्रे, रामेछाप, दोलखा, सिन्धुलीलगायतका जिल्लामा धेरै बस्तीहरू डुबान र पहिरोमा परेकाले प्राकृतिक प्रकोपबाट उठीबास भएकाहरूलाई जाडो समयमा थप सुरक्षा प्रबन्ध गर्न राज्यका सम्बन्धित निकाय तथा संस्थाहरू लाग्नुपर्ने उल्लेख छ ।

प्रधानमन्त्री ओलीले उक्त ध्यानाकर्षणपत्रलाई गृह मन्त्रालयमार्फत सम्बन्धित निकायका सम्बोधनका लागि तत्काल पठाइने बताउँदै विपद्को पूर्व तयारी र विपद्पछिको खोज, उद्धारमा लाग्नुपर्नेमा जोड दिए।

उखु उत्पादन र प्रवर्द्धनमा प्रदेश सरकारले सहयोग गर्छ : मुख्यमन्त्री कार्की

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा उखु उत्पादन वृद्धि गर्न तथा प्रवर्द्धनका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् ।

‘नेपाल फार्मस एड्भाइजरी काउन्सिल प्रालि’ सिनामङ्गल काठमाडौँद्वारा आज विराटनगरमा आयोजित उखुखेती प्रवर्द्धनका लागि किसानको सीपमूलक तथा आय अभिवृद्धि अभिमुखीकरण कार्यक्रमको उद्‌घाटन गर्दै मुख्यमन्त्री कार्कीले उखु उत्पादनमा वृद्धि, बजारीकरण र मूल्यका लागि आगामी तीन महिनाभित्र कृषक, उखु मिल र सरकारबीच त्रिपक्षीय छलफलसहित निष्कर्ष निकाली सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

मुख्यमन्त्री कार्कीले प्रदेशमा कृषि उत्पादनमा वृद्धिका लागि कृषकले सिँचाइमा प्रयोग गर्ने विद्युत् र मलखादमा आवश्यक अनुदान दिने जानकारी दिए। उनले मुलुकमा रहेका उद्योगलाई आवश्यक पर्ने कृषि कच्चापदार्थ उत्पादन गर्न किसानलाई आग्रह गर्दै यसबाट आयात प्रतिस्थापन भई विदेशी मुद्रा बचत हुने उल्लेख गरे।

तराईमा छिटो उत्पादन भई प्रतिफल दिने उखु, धान, सनपाट र मकैको उत्पादन प्रवर्द्धनका लागि आगामी आर्थिक वर्ष २०८२-८३ को वार्षिक नीति तथा कार्यक्रम ल्याउनुका साथै बजेटको व्यवस्था गर्ने मुख्यमन्त्री कार्कीले जानकारी दिए।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले कृषकले आफ्नो उत्पादनको मूल्य आफै निर्धारण गर्न पाएमा मात्र उत्पादन वृद्धि हुने बताए।

प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेले प्रदेशमा छ हजार हेक्टरमा उखुखेती हुनाका साथै वार्षिक तीन लाख ५० हजार मेट्रिक टन उखु उत्पादन हुने जानकारी दिए।

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले कृषकलाई सिँचाइ, प्राविधिक ज्ञान, कृषि उत्पादनको उचित मूल्य निर्धारणमा गर्नुपर्ने सुझाव दिए। प्रदेश योजना आयोगका सदस्य सीताराम बस्नेतले उखु नगदे बाली भए पनि किसानले समयमा भुक्तानी नपाएर समस्या हुने गरेको बताए।

‘दी नेपाल डिस्ट्रिलरिज प्रालि’ काठमाडौँका प्रमुख अधिकृत जनकराज रेग्मी र पूर्वसचिव डा. योगेन्द्रकुमार कार्कीले स्वदेशी पुँजी विदेश जान नियन्त्रण गर्न, वैज्ञानिक खेती, उखु उत्पादनलाई आधुनिकीकारण गर्न, प्रविधिको प्रयोग, ज्ञान, मल, सिँचाइलगायत विषयमा किसानलई अभिमुखीकरण गर्नु कार्यक्रमको उद्देश्य रहेको बताए।

एकदिने अभिमुखीकरण कार्यक्रममा नेपाल कृषि अनुसन्धान परिषद्का वैज्ञानिक जगत्बन्धु अर्यालयले खुट्टी बालीको महत्व तथा उन्नत व्यवस्थापन र मलखाद, डा. दिलराज यादवले उखुका उत्कृष्ट जातहरू तथा उन्नत उत्पादन प्रविधि, उखु बालीको प्रमुख रोग र कीराहरु तथा तिनको व्यवस्थापन र पूर्वसचिव डा. कार्कीले नेपालमा उखु खेतीको महत्व र सम्भावना विषयमा किसानलाई अभिमुखीकरण गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा मोरङ, झापा र सुनसरीका गरी ४० किसानको सहभागिता रहेको छ ।

पुर्खाले छाडेर गएको सम्पदालाई व्यवस्थित गरेर संसारलाई चिनाउनुपर्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल संसारलाई देखाउन सक्ने सम्पदाहरुले भरिपूर्ण देश भएको बताएका छन् । विश्व शहरी दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले पुर्खाहरुले नेपाललाई सुन्दर शहरहरु दिएर गएको बताए ।

‘संसारलाई देखाउनसक्ने सम्पदाले भरिएको देश हो नेपाल । पुर्खाले छाडेर गएका ती सम्पदालाई राम्रोसँग व्यस्थित गरेर संसारलाई चिनाउनुपर्छ,’ उपप्रधानमन्त्री सिंहले भने ।

उनले विगतमा अहिलेको काठमाडौं काष्ठमाण्डपका रुपमा रहेको सन्दर्भ चर्चा गर्दै तत्कालिन समयमा काष्ठमण्डप आर्थीक गतिविधिको केन्द्र रहेको स्मरण गरे ।

उपत्यकाभित्र पशुपतिनाथ मन्दिर, बौद्ध स्तूपा, चाँगुनारायण मन्दिर, भक्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, हनुमान ढोका दरबार र स्वयम्भू महाचैत्य विश्व सम्पदा सूचीमा समावेश छन् । यीनै सम्पदाको जगेर्ना गर्दै पर्यटक आकर्षित गर्न सकिने भन्दै उनले व्यवस्थित शहरीकरणमा आफ्नो जोड रहेको बताए ।

शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेपछि दिर्घकालिन रुपमा असर गर्ने भएकाले नीतिगत कुरामै जोड दिएको भन्दै उनले शहरी नीति ०८१ मन्त्रिपरिषद्मा अन्तिम चरणमा रहेको जानकारी गराए । शहरी नीति मन्त्रिपरिषद्बाट स्विकृत भएलगत्तै त्यसलाई कार्यान्वयनमा लैजानका लागि आवश्यक पर्ने ऐन बनाउन तदारुकताका साथ मन्त्रालय अघि बढिरहेको पनि उपप्रधानमन्त्री सिंहले बताए ।

त्यस्तै, उपप्रधानमन्त्री सिंहले युवाहरुसँग नयाँ आइडिया हुने भन्दै योजना निर्माणको प्रक्रियामा युवा र स्थानीय तहलाई भूमिका दिनुपर्नेमा जोड दिए । युवा उत्प्रेरित स्थानीय योजना र प्रयासः जलवायुमैत्री दिगो आवास र शहरी विकास नाराका साथ यस वर्षको विश्व शहर दिवस र विश्व शहर योजना दिवस मनाइएको हो ।

कार्यक्रममा यसवर्षको उत्कृष्ट शोधपत्रका लागि पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्रवल दाहाल र ख्वप इन्जिनियरिङ कलेजका विराट शाक्यलाई उत्कृष्ण शोधपत्र पुरस्कार वितरण गरिएको थियो । नेपाल क्षेत्रीय तथा शहरी योजनाकार समाज (रुप्सन)ले उत्कृष्ट सोधपत्र पुरस्कारको संयोजन गरेको थियो ।

धानको मूल बीउ उत्पादन गर्दै व्यावसायिक कीट विकास फर्म

चितवन । चितवनको व्यावसायिक कीट विकास फर्मले विगत दुई वर्षदेखि धानको मूल बीउ उत्पादन गर्दै आएको छ । फर्मका नाममा रहेको दुई बिगाहा जग्गामा विभिन्न जातका धानको बीउ उत्पादन थालेको हो ।

कार्यालय प्रमुख पूर्णिमा क्षेत्रीका अनुसार राष्ट्रिय धानबाली अनुसन्धान कार्यालय धनुषाबाट प्रजनन बीउ ल्याएर मूल बीउ उत्पादन सुरु गरिएको हो । अघिल्लो आर्थिक वर्षमा मकवानपुर १ र बहुगुणी १ को बीउ उत्पादन गरिएको भए पनि यस वर्ष भने सावित्रीको मूल बीउ उत्पादन गरिएको उनले जानकारी दिए ।

गत वर्ष ४० क्विन्टल बीउ उत्पादन भए पनि २० क्विन्टल मात्र बीउका लागि प्रयोग भएको थियो । उनले भने, “निजी क्षेत्रबाट धानको बीउ उत्पादन हुँदै आएको भए पनि प्रदेश सरकारका तर्फबाट यो पहिलो हो ।” गत वर्ष उत्पादित बीउमध्ये २० क्विन्टल बीउका लागि र २० क्विन्टल खाद्यान्नका लागि बिक्री भएको उनले बताए ।

क्षेत्रीले भने, “मकवानपुर १ धानको बीउको माग आयो तर बहुगुणीको माग आएन ।” अन्न बालीमा धानको बीउ राम्रो उत्पादन गरेर बिक्री वितरणका लागि तयार पार्ने गरिएको उनले बताए । उनका अनुसार बीउ उत्पादनमा सहज र किसानले राम्रो बीउ पाउन सकून् भन्ने उद्देश्यका साथ बीउ उत्पादन थालिएको हो ।

यहाँ उत्पादित बीउलाई आफूहरुले सहकारीलाई बिक्री गरेर एक वर्ष सहकारीले समेत बीउ उत्पादन गरेपछि मात्र किसानकामा बीउका रुपमा पुग्ने उनले जानकारी दिए । यस वर्ष कार्यालयले ६० क्विन्टल मूल बीउ उत्पादन हुने अनुमान गरिएको छ । यस कार्यालयले अहिले धानसँगै च्याउ र मेवाको बीउ तथा बिरुवा उत्पादन गर्न सुरु गरेको छ । 

दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालद्वारा अफगानिस्तान पराजित

काठमाडौँ । दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ । नेपालले अफगानिस्तानलाई एक सय आठ रनले हराएको हो ।

पाकिस्तानको लाहोरमा जारी दृष्टिविहीन विश्वकप क्रिकेटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आज टस हारेपछि पहिला ब्याटिङ गरेको थियो । नेपालले जितका लागि अफगानिस्तानसामु दुई सय २९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर अफगानिस्तानले सवै विकेट गुमाएर एक सय २० रन मात्र बनाउन सक्यो ।

नेपालका लागि उपकप्तान पदमबहादुर बडैला र नरेश चौधरीले अद्र्धशतकीय पारी खेले । बडैलाले ५१ बलमा अविजित रहेर ९२ रन तथा चौधरीले ६२ बलमा अविजित ७२ रन बनाए । यस्तै भरत थापाले २१ तथा सागर लामाले चार रन बनाए । अफगानिस्तानका बलरहरुले नेपाललाई ३९ अतिरिक्त रन दिएका थिए ।

यस्तै नेपालविरुद्ध ब्याटिङ गर्दै अफगानिस्तानका अबाशीनले ५२, द्वारनले २१ तथा शराफतले १३ रन बनाए । बलिङतर्फ नेपालका लागि सुनिल राना मगरले तीन तथा भरत थापा, अमिश गुरागाईँ र सुनिल सुवेदी क्षेत्रीले एक एक विकेट लिए ।

नेपालले मङ्गलबार दक्षिण अफ्रिकासँग चौथो खेल खेल्ने छ । यसअघि नेपाल पहिलो खेलमा श्रीलङ्कासँग तथा दोस्रो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो । दृष्टिविहीन विश्वकप क्रिकेट प्रतियोगितामा नेपालसहित, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र दक्षिण अफ्रिका सहभागी छन् ।

सौगात मल्लको ‘बम बहादुर’को टिजर सार्वजनिक

काठमाडौं । अभिनेता सौगात मल्ल प्रमुख भूमिकामा रहेको चलचित्र ‘बम बहादुर’को टिजर सार्वजनिक गरिएको छ । टिजर सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मिति पनि तय गरिएको छ । चलचित्र गामी पुस ५ गते नेपाल र भारतमा एकैसाथ प्रदर्शनमा आउनेछ ।

बम बहादुरले भारतका रहेका नेपालीभाषी, विशेष गरी दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको संघर्षका पलहरूलाई उजागर गर्ने बताइएको छ ।

यो चलचित्र सन् १९८० को दशकमा भएका घटनाहरूमाथि आधारित रहेको निर्माण टिमले जनाएको छ । बिस्ट ब्रदर्स फिल्मस् प्रालिको निर्माणमा बनेको यस चलचित्रमा सौगातसँगै प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, भरत वशिष्ठ, अजय प्रधान, शान्तिला तामाङ, रिया भुजेल, वशिस्ट कार्की, सुरेश पन्चकोटी लगायतको अभिनय छ । जोन राई र रुपेश तामाङको कथा र पटकथा रहेको चलचित्रलाई जोनले निर्देशन गरेका छन् । सञ्जीव सार्की चलचित्रका निर्माता हुन् ।

प्रधानमन्त्री ओलीको नजरमा एनपिएलका आठ मार्की खेलाडी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी सार्वजनिक गरे । उनले सुन्धारास्थित धरहरा परिसरमा ट्रफी सार्वजनिक गरेका हुन् ।

सो अवसरमा प्रधानमन्त्री ओलीले गौरवशाली धरहराको काखमा एनपीएलको ट्रफी सार्वजनिक कार्यक्रमले खेलकुदमा नयाँ जाँगर पैदा गरेको जिकिर गरे । उनले आजको दिन नेपाली खेलकुद क्षेत्रका लागि विशेष महत्वको दिन रहेको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले नेपाली क्रिकेट खेलाडी तथा एनपीएलका आठ टोलीकै मार्की खेलाडीको खुलेर प्रशंसासमेत गरे । उनले सम्बोधनको क्रममा सुरुमै जनकपुर बोल्ट्सका कप्तान आसिफ शेखको प्रशंसा गरे ।

उनले शेखले स्पोर्टम्यानसीप देखाउँदै आयरल्यान्डका खेलाडीलाई रन आउट नगरेको श्रव्यदृश्य आफूले पनि हेरेको उल्लेख गर्दै उनलाई ‘क्याप्टेन कूल’को उपनाम दिनुपर्ने बताए ।

उनले भने, “जनकपुर बोल्ट्सका मार्की खेलाडी आसिफ शेखले स्पोर्टम्यानसिप देखाउँदै आयरल्यान्डका खेलाडीलाई रन आउट नगरेको त्यो भाइरल श्रव्यदृश्य मैले पनि हेरेको थिएँ । जनकपुर झैँ शान्त स्वभाव कायम रहोस् । आसिफ शेखलाई क्याप्टेन कूल, शान्त भनेर उपनाम दिएपनि हुन्छ जस्तो लाग्छ ।”

प्रधानमन्त्री ओलीले काठमाडौंँ गुर्खाजका मार्की खेलाडी करण केसीलाई ‘भ्यालेन्टाइन बोय’ सम्बोधन गरे । करणले राजधानीको नाम राख्ने आफूले आशा लिएको उनले जिकिर गरे ।

“काठमाडौँ गुर्खाजका कप्तान करण केसीलाई भ्यालेन्टाइन बोय भनेर सम्बोधन गर्ने कुरा थाहा पाएको थिएँ”, उनले भने, “उहाँले राजधानीको नाम राख्ने आशा लिएको छु ।”

सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले पोखरा एभेन्जर्सका मार्की खेलाडी कुशल भुर्तेललाई विश्वले नै बलर हुन् कि ब्याटर छुट्याउनै नसकेको बताए । उनले यस पटक ९९ रनमा आउट हुन् नपरोस् भन्दै शतक हान्न शुभकामना दिए ।

“पोखरा एभेन्जर्सका मार्की खेलाडी कुशल भुर्तेल बलर हुन् कि ब्याटर छुट्याउनै गाह्रो हुने उहाँको कौशल छ । विश्वले नै छुट्याउन सकिरहेको छैन् जस्तो लाग्छ । मैले मात्रै होइन”, कुशलको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले भने, “यसपटक ९९ रनमा आउट हुन नपरोस् । शतक हान्नु भन्ने मेरो शुभकामना छ ।”

प्रधानमन्त्री ओलीले चितवन राइनोजलाई आफूले ‘गैँडाज’ भन्ने बताए । चितवन राइनोजका मार्की खेलाडी कुशल मल्लको छक्का हान्ने शैली मनपर्ने उल्लेख गर्दै उनले आँखिर चितवन गैँडाजका कप्तान हो नि ! भन्दै प्रशंसा गरे ।

“हाम्रो साथीहरुले चितवन राइनोज भन्नुभएको छ, मैले चितवन गैँडाज भन्छ”, उनले भने–“चितवन राइनोज अर्थात् गैँडाजका कप्तान कुशल मल्ल हेर्दा अल्लि सानो/सानो लाग्ने । ज्यानमा ताकत बोकेर छक्का हान्ने शैली साह्रै मनपर्छ ।”

लुम्बिनी लायन्सका मार्की खेलाडी रोहितकुमार पौडेलको नाम सुन्दै गर्व लाग्ने भन्दै प्रधानमन्त्री ओलीले उनको प्रसंशा गरे । जसले जिते पनि रोहितलाई फाइदा हुने भन्दै प्रधानमन्त्री ओलीले नेपाली क्रिकेटका कप्तान भएको नाताले उनले जितेकै हुने धारणा राखे ।

“लुम्बिनी लायन्सका रोहित पौडेलको नाम सुन्यो कि मलाई गर्व लाग्छ । रोहितको कप्तानीले लुम्बिनीको भावना मैदानमा देख्नेछ । जसले जिते पनि रोहितलाई फाइदा छ, आँखिर देशले जित्छ र नेपाली क्रिकेटका कप्तान भएको नाताले उहाँले जितेकै हुनेछन्”, प्रधानमन्त्री ओलीले भने ।

विराटनगर किङग्स्का मार्की खेलाडी सन्दीप लामिछाने नेपाली क्रिकेटको ब्रान्ड एम्बासडर जस्तै भएको प्रधानमन्त्री ओलीले बताए ।

उनले बीबीएलदेखि आइपीएलसम्म सन्दीपको बलले धेरै ब्याट्सम्यानलाई नाच्न बाध्य पारेको सुनाए । “विराटनगर किङ्सका सन्दीप लामिछाने त हाम्रो क्रिकेटको ब्रान्ड एम्बासडर जस्तै हुनुभयो । बीबीएलदेखि आइपीएलसम्म सन्दीपको बलले धेरै ब्याट्सम्यानलाई नाच्न बाध्य पारेको छ ।”, उनले भने, “त्यसैले त मैले भनेको थिएँ, नेपालीले चान्स पायो भने गर्छ ।”

कर्णाली याक्सका मार्की खेलाडी सोमपाल कामीका योरकरलाई भुल्न नसकिने प्रधानमन्त्री ओलीले बताए । उनले सोमपालले कर्णालीको चिसो पानीको ताकत मैदानमा देखाउने उल्लेख गर्दै अर्को टी– ट्वेन्टी विश्वकप खेल्ने तयारीमा राम्ररी जुट्न सुझाव दिए ।

“कर्णाली याक्सका सोमपाल कामीका ती योरकरलाई कसले भुल्न सक्छ र ? सोमपालले कर्णालीको चिसो पानीको ताकत मैदानमा देखाउनेछन्”, प्रधानमन्त्री ओलीले भने, “नेपाललाई अर्को टी– ट्वान्टी विश्वकप खेल्ने तयारीमा राम्ररी जुट्न मेरो सल्लाह छ ।”

प्रधानमन्त्री ओलीले सुदूरपश्चिम रोयल्सलका मार्की खेलाडी दीपेन्द्रसिंह ऐरीलाई बाघको संज्ञा दिए । उनले ऐरीको ६ छक्काको कीर्तिमान आफुलाई स्मरण रहेको उल्लेख गर्दै यस्ता थुप्रै कीर्तिमान बताउन समेत शुभकामना दिए । “अन्तिममा हिरोको पालो आउँछ, मेरो फेभरेट नै जस्तो भनौँ । नेपाली क्रिकेटका बाघ दीपेन्द्रसिंह ऐरीको ६ छक्काको कीर्तिमान मलाई स्मरण छ”, उनले भने, “एनपीएलमा यस्ता थुप्रै कीर्तिमान बनुन् । सुदूरपश्चिम रोयल्सलाई पनि विशेष शुभकामना छ ।”

पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) यहीँ मङ्सिर १५ गतेदेखि सुरु हुँदैछ । प्रतियोगिताका खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछन् ।

शेयर बजारमा ६ अर्ब ३४ करोडको कारोबार

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार नेप्से बढेको छ । आइतबार घटेको नेप्से सोमबार १५ दशमलव ८३ अङ्कले बढेर दुई हजार ६ सय ८३ दशमलव २४ विन्दुमा पुगेको छ ।

आज उत्पादन र म्युचल फन्ड बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक, फाइनान्स, होटल, बीमा समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज बेस्ट फाइनान्स, सुपर मादी हाइड्रोपावर, कर्पाेरेट विकास बैंक, स्वाभिमान लघुवित्त र सप्तकोशी विकास बैंकको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन ङादी ग्रुप पावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

आज नेप्से बढे पनि कारोबार रकममा भने कमी आएको छ । आइतबार सात अर्ब ७२ करोडको शेयर कारोबार भएकोमा सोमबार तीन सय नौ वटा कम्पनीका एक करोड २२ लाख कित्ता शेयर ६ अर्ब ३४ करोड रुपैयाँमा किनबेच भएको छ ।

लिथुआनियामा विमान दुर्घटना हुँदा एक जनाको मृत्यु

भिल्नियस (लिथुआनिया) । जर्मनीबाट लिथुआनियातर्फ उडेको डीएचएल कार्गो विमान सोमबार राजधानी भिल्नियसको विमानस्थल नजिकै दुर्घटना हुँदा एक जनाको मृत्यु भएको अग्नि नियन्त्रकहरूले बताएका छन् ।

“विमान भिल्नियस विमानस्थलमा अवतरण गने क्रममा केही किलोमिटर टाढा दुर्घटना ग्रस्त भएको जनाउदै अग्निनियन्त्रक तथा आपतकालीन सेवा एकाईका प्रमुख रेनाटास पोजेलाले चालक दलका एक जनाको मृत्यु भएको बताएका छन् ।

उनका अनुसार दुर्घटनाको क्रममा एउटा घरमा आगलागीसमेत भएको थियो ।

राष्ट्रिय सङ्कट व्यवस्थापन केन्द्रका प्रमुख विल्मान्टास भिटकाउस्कसले उक्त घरभित्र रहेका सबैलाई उद्धार गरी बाहिर निकालिएको बताएका छन् ।

डीएचएलका अधिकारी आउसरा रुटकाउस्किनले दुर्घटनाग्रस्त विमान आफ्नै कम्पनीको रहेको पुष्टि गरेका छन् । 

लेबनानमा भएको इजरायली हमलामा दर्जनौँको मृत्यु

बेरुत ।  लेबनानमा भएको इजरायली हमलममा दर्जनौं मानिसहरुको मृत्यु भएको जनाइएको छ । जसमामध्ये बेरुतको बास्टा क्षेत्रको बहुमंजिला आवासीय भवनमा भएको हमलामा २९ जनाको मृत्यु भएको छ ।

इजरायली सेनाका अनुसार सेनाले १२ वटा हिजबुल्लाह कमान्ड सेन्टरमा आक्रमण गरेको थियो । हिजबुल्लाहको इन्टेलिजेन्स युनिट, कोस्ट–टु–सी मिसाइल युनिट र युनिट–४४००–सिरियाहुँदै इरानबाट लेबनानमा हतियार तस्करीका लागि सक्रिय छन् ।

सेनाले यी कमान्ड सेन्टरहरू इजरायलविरुद्ध आतङ्कवादी आक्रमणको योजना बनाउन, कार्यान्वयन गर्न र दक्षिणी लेबनानमा सक्रिय सैनिकहरू विरुद्धको आतङ्कवादी गतिविधिको निगरानी गर्न प्रयोग गरिएको जनाएको छ ।

यसैबीच, लेबनानको स्वास्थ्य मन्त्रालयले मृत्यु हुनेको सङ्ख्या वृद्धि भइ २० जना पुष्टि भएको तथा मृतकको सङ्ख्या बढ्न सक्ने रिपोर्ट गरेको छ ।

युद्धविराम प्रयासका बावजुद इजरायललले हिजबुल्लाहविरुद्ध आफ्नो सैन्य अभियान जारी राख्दा बेरुतमा हवाई आक्रमण भएको हो । सेनाले हमला बेरुतको दक्षिणी उपनगरहरूमा हिजबुल्लाहका स्थानहरूलाई लक्षित गरी गरेको पुष्टि गरेको छ ।

यस अघीनै इजरायली सेनाले नागरिक क्षति कम गर्न, भवनहरू खाली गर्ने आदेश जारी गरेको थियो । गत आइतबारको हवाई आक्रमणमा हिजबुल्लाहका प्रवक्ताको मृत्यु भएपछिमध्ये बेरुतमा इजरायली हवाई आक्रमणमा वृद्धि भएको सिएनएनले जनाएको छ ।

इजरायली हवाई आक्रमणले पूर्वी लेबनानको बालबेक–हर्मेल क्षेत्रमा पनि प्रहार गरेको छ, जहाँ चार बालबालिका सहित कम्तिमा १३ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

आक्रमणले लेवनान वपरका क्षेत्रमा कम्तिमा ११ जनाको मृत्यु हुनुका साथै ३२ जना घाइते भएका छन् भने टायर सहर लक्षित आक्रमणमा पाँच जनाको मृत्यु तथा १९ जना घाइते भएका थिए ।

सेप्टेम्बरदेखि, इजरायली हवाई आक्रमणले धेरै हिजबुल्लाह कमान्डरहरूको नरसंहार गर्नुका साथै मुख्य पूर्वाधार लक्षित गर्दा दक्षिणी लेबनानमा व्यापक विनाश निम्त्याएको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार लेबनानमा द्वन्द्वका कारण तीन हजार भन्दा बढी मानिसहरुको मृत्यु भएको छ भने दश लाखभन्दा बढी विस्थापित भएका छन् ।

सन् २०२३ को अक्टोबर देखि ११ हजार भन्दा बढी प्यालेस्टिनी हिरासतमा

रामल्ला । सन २०२३ अक्टोबर –७ देखि इजरायलको जेलमा वेस्ट ब्याङ्क र जेरुसेलमका प्यालेस्टिनीहरूको सङ्ख्या बढेर एघार हजार ८०० भन्दा बढी पुगेको छ, जसमा ४३५ जना महिला ७७५ बालबालिका र १३६ पत्रकारहरू रहेका छन् ।

बन्दी मामिला आयोग, प्यालेस्टिनी प्रिजनर्स क्लब, र प्रिजनर सपोर्ट एन्ड ह्युमन राइट्स एसोसिएसन (एडडमीर) ले संयुक्त विज्ञप्तिमा प्यालेस्टिनीमाथि इजरायली आक्रमण सुरु भएदेखि प्रशासनिक नजरबन्द आदेश दश हजार नाघेको जनाएका छन् । जसमा नवीकरण आदेशहरू केही बालबालिका तथा महिलाहरू विरुद्ध जारी गरिएको थियो ।

विज्ञप्ति का अनुसार अक्टोबर –७ देखि कम्तिमा ४५ कैदीहरू इजरायली जेलहरूमा शहीद भएका छन् ।

यसै गरी धेरै जना हिरासतमा शहीद भएकोहरुको इजरायली अधिकारीहरूले पहिचान गरेका छैनन् भने दर्जनौंलाई मृत्युदण्ड दिइएको छ ।

आधिकारिक रूपमा मृतक घोषणा गरिएका ४३ जना शहीदको शव, अझै पनि इजरायली अधिकारीहरूले गुपचुप राखेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बन्दीहरूमा आक्रमण सुरु भएदेखि नै उनीहरूको घर तथा सैन्य चौकीहरूमा पक्राउ परेका, दबाबमा आत्मसमर्पण गरेका र बन्धकको रूपमा राखिएका व्यक्तिहरू समावेश छन् । 

चीन भ्रमणमा नेपालको हितमाबाहेक अरु कुनै काम गर्दैनौँः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा ऋणसम्बन्धी सम्झौता नहुने स्पष्ट पारेका छन् । आसन्न चीन भ्रमणका सम्बन्धमा सोमबार पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले बीआरआई ऋणको परियोजना नभएको उल्लेख गर्दै चीनसँग ऋण लिने र नलिने भन्ने अहिले विवादको विषय नभएको स्पष्ट पारेका हुन् ।

उनले भने, ‘हामीलाई आवश्यक भएमा जुनसुकै मुलुक र निकायबाट राष्ट्रिय स्वार्थका आधारमा ऋण वा अनुदान लिन सक्छौँ । ऋणको पासोमा पार्न ऋण लिइँदै छ भनेर गरिने अनावश्यक हल्लामा लाग्नुहुँदैन । विश्व शान्ति र नेपालको हितमा बाहेक अरु कुनै काम गर्दैनौँ म साथीहरुलाई यसमा ढुक्क हुन आग्रह गर्दछु ।’

उनले चीन भ्रमणमा विशेषगरी विगतमा भएका सहमति र सम्झौताको प्रभावकारी कार्यान्वयनका साथै प्रसारण लाइन विस्तार, नेपालको उत्पादन चीनमा निर्यात र अन्य सहयोगका विषयमा छलफल हुनेगरी तयारी भएको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले अर्को छिमेकी भारतसँग पनि उस्तै मित्रवत सम्बन्ध रहेको स्पष्ट गर्दै दुई देशको मैत्री सम्बन्धको लाभ नेपालको आर्थिक विकासमा हुनेगरी लिन सक्नुपर्नेमा जोड दिए ।

उनले नेपालका कार्यकारी प्रमुखको औपचारिक भ्रमण पहिला कुन मुलुकबाट गर्ने भन्ने यहाँको आवश्यकता र निर्णयका आधारमा हुने भएकाले यस्ता विषयलाई कुनै देशविरुद्ध ‘कार्ड’ का रुपमा कसैले लिन नहुने आग्रह गरे ।

छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले विगतमा पहिला चीन भ्रमण गरेर परम्परा तोडेको बताउँदै आफूले चीन कार्ड खेल्न खोजेको भन्ने आशयले नभई मुलुककै राजनीतिक उतारचढावका विषयमा कार्ड खेल्न नहुने भनी अभिव्यक्ति दिएको स्पष्ट गरे । उनले गतवर्ष आफू प्रधानमन्त्री हुँदा चीनसँग भएका सम्झौताहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिए ।

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले चीन भ्रमणका सवालमा सत्तारुढ दुई दलीय संयन्त्रबाट एजेण्डाका विषयमा गृहकार्य भइरहेको छ र प्रधानमन्त्री तहबाट चाँडै सबै एजेण्डालाई अन्तिम रुप दिने बताइन् । उनले यस विषयमा दुई दलमा बाहिर आएजस्तो कुनै विवाद नरहेको बताइन् ।

छलफलमा पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल, माधवकुमार नेपाल, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, पूर्वपरराष्ट्रमन्त्रीहरु ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, भेषबहादुर थापा, एनपी साउद, महेन्द्रबहादुर पाण्डे, डा. प्रकाशचन्द्र लोहनी र डा. विमला राई पौड्याललगायत सहभागी थिए ।

विमान चालकको समस्या छिट्टै समाधान हुन्छः निगम

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले निर्धारित समयमा उडान नभएर अलपत्र परेका यात्रुलाई गन्तव्यमा लगिएको जनाएको छ ।

सेवासुविधाको माग गर्दै निगमका विमान चालक (पाइलट) ले बिदामा बसेर विरोध जनाएपछि आइतबार निगमको विभिन्न गन्तव्यका करिब आधा दर्जन उडान प्रभावित भएका थिए । उडान अवरुद्ध हुँदा विभिन्न गन्तव्यमा जाने सयौँ यात्रु समस्यामा परेका थिए । भारतको नयाँ दिल्ली, मुम्बई, दुबईलगायत गन्तव्यमा उडानहरू प्रभावित भएको निगमले जनाएको छ ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार पाइलटको असहयोगका कारण उडान अवरुद्ध हुँदा काठमाडौँमा रोकिएका यात्रुलाई गन्तव्यमा लगिएको जनाएको छ । यात्रुलाई आइतबार राति मुम्बई र सोमबार बिहान दुबई लगिएको छ ।

उनले पाइलटको मागका सम्बन्धमा निगम व्यवस्थापन गम्भीर रहेको, यस सम्बन्धमा तालुक मन्त्रालय र अर्थ मन्त्रालयसँग आवश्यक समन्वय तथा छलफल भइरहेकाले छिट्टै समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

निगममा कार्यरतमध्ये केही क्याप्टेनले यही मङ्सिर ६ गतेदेखि ‘सिक रिपोर्ट’ र ‘अर्जेन्ट वर्क रिपोर्ट’ गर्दै आएकामा मङ्सिर ८ गते शनिबारदेखि उडानमा प्रभाव देखिन थालेको थियो ।

निगममा रहेका ४३ क्याप्टेनमध्ये आठ जनाले विरोध जनाएको बुझिएको छ । निगमको अन्तर्राष्ट्रिय उडानमा दुई वाइडबडी र दुई न्यारोबडी विमान छन् । निगमका पाइलटहरूको सेवासुविधा सम्बन्धमा निगम व्यवस्थापनका तर्फबाट विभिन्न चरणमा अद्यावधिक जानकारी गराइएको र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत अर्थमन्त्रालयमा प्रक्रियामै रहेको निगमले उल्लेख जनाएको छ ।

निगमको उडानमा पर्न गएको असरले आर्थिक नोक्सानी मात्र नभई निगमको साख र इज्जतमा समेत नकारात्मक प्रभाव परेको भन्दै यसलाई व्यवस्थापनले गम्भीर रुपमा लिएको निगमको अपरेसन्स विभागका कामु निर्देशक दीपुराज ज्वारचनद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ । निगमलाई पर्ने आर्थिकलगायत सम्पूर्ण नोक्सानीको सम्बन्धमा नियमानुसार हुने जनाउँदै सम्पूर्ण विमानचालकलाई आ–आफ्नो रोस्टरअनुसार उडान सञ्चालन गर्न सूचित गरिएको छ ।

एमालेलाई हुलाक र इमेलबाट महानगरको जरिवानाको पत्र

काठमाडौं । काठमाडौँ महानगरपालिले नेकपा एमालेलाई जरिवानाको पत्र हुलाक र इमेलबाट पठाएको छ । आइतबार महानगरले एमाले केन्द्रीय कार्यालयमा पुगेर पत्र बुझाउन खोज्दा एमालेले जरिवानाको सूचना बुझ्न अस्वीकार गरेको थियो ।

त्यसपछि महानगरले सोमबार हुलाक र इमेलबाट पत्र पठाएको हो । मेयर बालेन साहका स्वकीय सचिव भूपदेव साहले सोमबार बिहान हुलाक र इमेलबाट पत्र पठाएको जानकारी दिए ।

मंसिर ७ गते नेकपा एमालेले दरबारमार्गमा आयोजना गरेको जागरणसभामा फोहार गरेको भन्दै काठमाडौँ महानगरले १ लाखा जरिवाना गरेको थियो । जरिवानाको पत्र बुझाउन महानगर प्रहरी एमाले केन्द्रीय कार्यालय पुग्दा आफूहरु आयोजक नभएको भन्दै फर्काइएको थियो ।एमालेलाई हुलाक र इमेलबाट महानगरको जरिवानाको पत्र