`

नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो, मंसिरभित्र पुनः काम सुरु नभए ठेक्का तोडिने

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको निर्माणमा भएको ढिलाइका विषयमा छिट्टै टुङ्गोमा पुगिने बताएका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार उक्त सडक खण्डमा हाल निर्माणको काम रोकिएको विषयमा सम्बन्धित मन्त्री, मन्त्रालयका अधिकारी, रुपन्देही, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का सांसद, जनप्रतिनिधिलगायतसँगको छलफलमा प्रधानमन्त्री ओलीले आउँदो मङ्सिरभित्र काम सुरु नभएमा बाध्यतावश ठेक्का तोड्नुको विकल्प नहुने बताए । 

विश्वसनीयरुपमा काम गर्छ भने जिम्मेवारी लिएको निर्माण कम्पनीलाई काम लगाउन उचित हुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले काम गर्ने जिम्मा लिएर २८ वर्षदेखि आयोजना ‘होल्ड’ गर्ने प्रवृत्तिबाट बच्नुपर्ने बताए ।

‘जुन अपेक्षा र तीव्रताका साथ काम गर्न सोचेका थियौँ, त्यो हुन सकेन । त्यस क्षेत्रका बासिन्दाले लामो समयदेखि कष्टपूर्णरुपमा धुलो–मैलोमा बस्नुपरेको छ । आर्थिक विकासका गतिविधिमा पनि असर परेको छ’, प्रधानमन्त्री ओलीले भने, ‘यस विषयलाई गम्भीरताका साथ लिएर सरकारका सम्बन्धित निकायले काम गनुपर्ने देखिन्छ । यसमा मेरो पनि गम्भीर ध्यान गएको छ । हामी निर्णायक कदम चाल्नुपर्ने अवस्थामा पुगेका छौँ ।’

नवलपरासी (सुस्ता पूर्व) का जिल्ला समन्वय प्रमुख भगौती यादव रुदलले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएका थिए । चाइना स्टेट कम्पनीसँग उक्त सडक खण्ड २०७९ साउन २२ सम्ममा निर्माण सम्पन्न गर्ने गरी २०७५ चैत ८ गते ठेक्का सम्झौता भएको थियो ।

सो सडक खण्डको हालसम्म ४४ प्रतिशत भुक्तानी भइसकेको र ५२ प्रतिशत काम भएको बताइएको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, भूमी व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारी, भौतिक मन्त्रालयका सचिव केशव शर्मालगायत सहभागी थिए ।

भौतिक मन्त्री दाहालले निर्माण कम्पनीलाई पटकपटक ताकेता गर्दा पनि काम सुरु हुन नसकेको र आउँदो डिसेम्बर अन्त्यसम्ममा काम सुरु गर्ने आश्वासन प्राप्त भएको जानकारी गराए ।

सो अवसरमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सुकुम्बासी समस्या समाधान गर्न प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका थिए ।

ज्वालामुखी विस्फोटका कारण अवरुद्ध बालीका उडान सेवा पुनः सञ्चालनमा

जकार्ता ।  ज्वालामुखी विस्फोटका कारण अवरुद्ध भएका इन्डोनेसियाली रिसोर्ट टापुमा आउने र जाने उडानहरू पुनः सञ्चालनमा आएको विमान कम्पनीहरूले बिहीबार जनाएका छन्।

विगत दुई हप्तादेखि भएको ज्वालामुखी विस्फोटका कारण कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै हजारौंलाई सुरक्षित स्थानमा सारिएको थियो।

मौसम ‘सुध्रिएको’ अवस्थालाई उल्लेख गर्दै क्वान्टास र जेटस्टारले बालीमा आफ्नो सेवा पुनः सुरु गरेको विज्ञप्तिमार्फत जनाएका छन्।

एयरएशियाले बिहीबारदेखि बाली जाने उडानहरू पुनः सुरु गर्ने जनाएको छ भने अस्ट्रेलियाले आफ्नो वेबसाइटमा उडानहरू पुनः सुरु गर्ने बताएको छ।

यसैबीच, सिङ्गापुरको स्कुट एयरलाइन्सले लेवोटोबी लाकी–लाकीको ज्वालामुखी गतिविधिको कारण सिङ्गापुरबाट बाली र सुराबायाका लागि उडानहरू पुनर्निर्धारित गरेको जनाएको छ।

विमानस्थललका महाप्रबन्धक अहमद स्योगी साहाबले माउन्ट लेवोटोबी लाकी–लाकीबाट ज्वालामुखीको खरानी बुधबार साँझदेखि विमानस्थलबाट टाढा गइरहेको बताउनु भएको छ।

ज्वालामुखी विज्ञान विभागका अनुसार लेवोटोबी बिहीबार पुनः विस्फोट हुदाँ यसको खाडलबाट बाक्लो खरानी स्तम्भ र लाभा बगिरहेको देखिएको थियो।

विमानस्थलको इन्स्टाग्राम अनुसार ज्वालामुखी नजिकैको लाबुआन बाजोको पर्यटक स्थलमा रहेको विमानस्थल बिहीबार पुनः खोलिएको छ।

‘पूर्णबहादुरको सारङ्गी’ ले १४ दिनमा कमायो २७ करोड

काठमाडौँ । लक्ष्मीपूजालाई लक्षित गर्दै यही कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ नेपालमा सर्वाधिक कमाउने चलचित्र बनेको छ ।

निर्माता विनोद पौडेलले चलचित्रले प्रदर्शनको १४औँ दिनसम्म आइपुग्दा रु २७ करोड सङ्कलन गरेको जानकारी दिए ।

उनले भने,’हाम्रो गाउँघरको मौलिक कथालाई नेपालसँगै विश्वभर दर्शकले दिनुभएको मायालाई धन्यवाद भन्ने शब्द हामीसँग छैन, यस चलचित्रमार्फत हामीले विदेशी चलचित्रसँग डराउनुपर्ने प्रवृतिलाई पनि अन्त्य गरेका छौँ, नेपाली दर्शकसम्म जानकारी पुगेमा उहाँले नेपाली चलचित्रलाई नै माया गर्नुहुन्छ भन्ने प्रमाणित भएको छ ।’

उनले चलचित्रले मङ्गलबारसम्म रु २५ करोड तीन लाख र बुधबार रु दुई करोडको हाराहारीमा व्यापार गरेको बताए । नेपालभर चलचित्र हेर्ने दर्शकको चाप उस्तै भएपछि निर्माण समूह मोफसल भ्रमणमासमेत निस्किएको छ ।

निर्माता पौडेलले आजदेखि पूर्वबाट सुरु हुने भ्रमणमा मोफसलका चलचित्र भवनमा पुगेर दर्शकलाई धन्यवाद व्यक्त गर्ने जानकारी दिए ।

‘हामी गाईघाटबाट भ्रमण सुरु गर्दैछौँ, ग्रामीण भेगका चलचित्र भवनमा पुगेर त्यहाँका दर्शकलाई धन्यवाद दिनेछौँ, उहाँहरुको मायाले हामी मात्र नभइ नयाँ निर्मातालाई पनि हौसला मिलेको छ,’ निर्माता पौडेलले भने ।

उक्त भ्रमणमा निर्माता पौडेलसँगै अभिनेता विजय बराल, अभिनेत्री अञ्जना बराइलीलगायत छन् ।

यो चलचित्रले एकै दिन रु तीन करोड ८९ लाखको व्यापार गर्दै एक दिनमा सर्वाधिक कमाउने नेपाली चलचित्र र ९८ चलचित्र भवनमा चार सय ६५ भन्दा बढी सो पाएको रेकर्डसमेत बनाएको छ ।

यसअगाडि चलचित्र ‘कबड्डी ४ः द फाइनल म्याच’ ले रु २३ करोड ५० लाखको व्यापार गरेको बताइएको छ ।

गगन थापालाई रवीन्द्र मिश्रको १२ बुँदे खुलापत्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले कांग्रेस महामन्त्री गगन थापालाई खुलापत्र लेखेका छन् ।

बिहीबार सामाजिक संजालमार्फत मिश्रले महामन्त्री थापालाई १२ बुँदामा समेटेर खुलापत्र लेखेका हुन् । उनले ’मध्य दक्षिणपन्थी’ धारबाट कांग्रेसलाई पूर्णतः ’प्रचण्डमार्गी मध्य–बामपन्थी’ धारमा आँखा चिम्लेर रूपान्तरण गरेकोलगायतका विभिन्न आरोप लगाएका छन् ।

यस्तो छ मिश्रको पत्र

१. तपाईंजत्तिको राजनीतिकर्मीले यति पतित राजनीति भएको देशमा राजनीतिक नियुक्तिको त्यति जोडदाररूपमा बचाऊ गरेको सुन्दा अत्यन्तै, अत्यन्तै दु:खी छु।

२. तपाईंले ‘थुप्रै अरू democracy को अभ्यास भएका ठाऊँ’ भनेर ‘असल प्रजातन्त्र’को अभ्यास भएको देशको उदाहरण दिन चाहानुभएको हो भने, तपाईंले बुझ्न जरूरी छ कि ती देशका राजनीतिकर्मीमा हाम्रा देशका राजनीतिकर्मी भन्दा इमान र क्षमता एक हजार गुणा बढी हुन्छ।

३. ‘असल प्रजातन्त्र’ भएको देशमा राजनीतिक नियुक्ति नै भएको हो भने पनि, अपवादलाई छोडेर, नियुक्ति पाउनेहरू इमान र विधिको एउटा तहबाट तल जाँदैनन्। त्यसै ती देश सुशासनयुक्त विकशित देश बनेका होइनन्। नेपालजस्ता देशका नागरिक मरिहत्ते गरेर जान खोज्ने देश बनेका होइनन्।

४. तपाईंहरूले बनाएको ‘[प्रचण्ड]को संविधान २०७२’ ले नै सर्वोच्च अदालत लगायतका संवैधानिक निकायमा राजनीतिक भागबण्डालाई सुनिश्चित गरिदिएको छ। तपाईंहरूले बनाएको कानूनले सरकारी वेतनधारी र पेशाकर्मीहरूको ‘दलीय’ भातृ संगठनलाई सुनिश्चित गरिदिएको छ।

५. तपाईंले राजनीतिक नियुक्तिको जसरी र जुन तर्क दिएर गर्वका साथ बचाऊ गर्नुभयो त्यसबाट तपाईं किन कर्मचारीतन्त्र/विश्वविद्यालयलाई राजनीतिकरण गर्न हुँदैन भन्नुहुन्छ तर सरकारी वेतनधारीको दलीय भातृ संगठन भङ्ग गर्नुपर्छ भन्नु हुँदैन भन्नेमा म प्रष्ट भएँ।

६. तपाईंले ‘असल प्रजातन्त्र’ भएको देशको उदाहरण दिन खोज्नुभएको हो भने मलाई बताइदिनोस्, संसारमा त्यस्तो कुन देश छ जसले एउटा मन्त्रालयमा ७ वटा युनियनको बोर्ड झुण्डाएर प्रगति गरेको होस्?

७. तपाईंहरूको राजनीतिले अपवादबाहेकका पत्रकारलाई त हरेक पार्टीको टोपी-संगठन बनाउन वाध्य पारिदियो र पत्रकारिताको आधारभूत मुल्य-मान्यताबाट विमुख बनाइदियो। अनि राजनीतिरूपमा नियुक्त अन्य उच्च पदाधिकारीले नियुक्तिपछि राजनीतिक टोपी फुकाल्छन् भन्ने अपेक्षा गर्ने?

८. तपाईंले भनेजस्तो नेपालको लोकतन्त्र ‘कतिपय ठाऊँमा’ मात्र चुकेको भए तपाईंले ‘दोबाटोमा लोकतन्त्र’ नामक बहसमा भागै लिन पर्ने थिएन र बहस गराउने कैलाश शिरोहियाले ‘लोकतन्त्रको आधारशीला खतरामा छ’ भन्नै पर्ने थिएन। चुकेको ‘कतिपय ठाऊँमा’ होइन। चुकेको ‘अधिकांश ठाऊँमा’ हो, त्यसैले आज यो स्थिति आयो।

९. तर आज यो स्थिति आयो भन्दा, तपाईं उदाहरण दिनुहुन्छ लोकतन्त्र विग्रेका पाकिस्तान, बंगलादेश, श्रीलङ्का जस्तो देशको। तपाईंको न्यूनतम मापदण्ड नै ‘तल’ भएपछि तपाईंबाट ‘उचाइ’ कसरी अपेक्षा गर्ने?

१०. सारांशमा, तपाईंहरूले नेपाली कांग्रेसलाई समाजवादका केही अंश अवलम्बन गरेको ‘मध्य दक्षिणपन्थी’ धारबाट जब पूर्णत: ‘प्रचण्डमार्गी मध्य-बामपन्थी’ धारमा आँखा चिम्लेर रूपान्तरण गर्नुभयो, यो देश सम्हालि नसक्नु हिसाबले क्षयिकृत भएर गएको छ।

११. यो देश अस्तित्वको संकट (Existential Crisis) उन्मुख छ। भावी पुस्ताको भविष्य बर्बाद छ। भावी पुस्ता भन्नाले तपाईं र मेरा छोराछोरी भनेको होइन। उनीहरू त राम्रो स्कूल जान्छन्/गए। राम्रो विश्वविद्यालयमा पढ्छन्/पढे। मैले यो देशको संभवत: ९० प्रतिशत छोराछोरीको कुरा गरेको। देश र भावी पुस्ताको बारेमा सोच्ने कि नसोच्ने?

१२. तपाईंहरूको ‘राजनीतिक Sunk Cost Fallacy’ बाट बाहिर ननिस्किने जिद्दी र हठले यो देश नै सिद्याउने भयो। विचार गर्नुहोला। भोली देश भड्खालोमा पर्यो भने ‘३० वर्षे पञ्चायति शासनकालले गर्दा यस्तो स्थिति आयो’ नभन्नुहोला। बाँकी तपाईंको मर्जी!

साँच्चिकै शुभचिन्तक
रविन्द्र  मिश्र

https://www.facebook.com/plugins/video.php?height=476&href=https%3A%2F%2Fwww.facebook.com%2Frabin.mishra%2Fvideos%2F890311936564264%2F&show_text=false&width=267&t=0

परराष्ट्रमन्त्री राणाको स्वागतका लागि फूलमालासहित उपस्थित हुन डडेल्धुरा कांग्रेसको आग्रह

काठमाडौं । नेपाली कांग्रेसले परराष्ट्रमन्त्री डा. आरजु राणा गृहजिल्ला आउँदा फूलमालासहित स्वागतका लागि उपस्थित हुन आग्रह गरेको छ ।

पार्टीका डडेल्धुरा जिल्ला सभापति भीमबहादुर साउदले विज्ञप्ति जारी गरी शुक्रबार दिउँसो परराष्ट्रमन्त्री राणा डडेल्धुरा आउने कार्यक्रम रहेकाले स्वागतका लागि फूलमालासहित उस्थित हुन आग्रह गरेका हुन् । परराष्ट्र मन्त्री राणालाई डडेल्धुरा बसपार्कमा भेला भएर स्वागत गर्ने कार्यक्रम छ।

रोशी गाउँपालिकाले विपद्प्रभावितको पुनःस्थापना एवं पुनर्बासका लागि विशेष बजेटको व्यवस्था गर्ने

काभ्रे । रोशी गाउँपालिकाले विपद् प्रभावितको राहत, पुनःस्थापना एवं पुनर्बासका लागि बजेट व्यवस्थापन गर्न गाउँसभाको बिशेष अधिवेशन आह्वान गरेको छ ।

जाडोयाम सुरु भैसकेकाले गाउँपालिकाले आफैं पुनर्बासको योजना तयार गरेर तत्काल बाढीपहिरो प्रभावितलाई ‘न्यानो’ प्रदान गर्न छुट्टै बजेट ब्यवस्थापन गर्न गाउँसभाको बिशेष अधिवेशन आह्वान गरेको जनाएको छ ।

गत असोज दोस्रो साताको अविरल बर्षाका कारण बाढीपहिरोले जनधनको क्षति पुर्याएपछि १५औं अधिबेशनले चालु आर्थिक बर्षको योजनाका लागि बिनियोजित बजेटबाट केही प्रतिशत कटौती गरी विपद् ब्यवस्थापन गर्न विशेष सभाको आह्वान गरिएको गाउँपालिकाले जनाएको छ ।

विपद् प्रभावित परिवारका लागि राहत, पुनःस्थापन एवं पुनर्बासका कार्यक्रम सञ्चालन गर्न बिशेष अधिबेशन बोलाइएको अध्यक्ष दिनेश लामाले बताए । “बिशेष अधिबेशनमार्फत केही साधारण योजना कटौती एवं केही योजनाको केही प्रतिशत कटौती गर्न लागेका हौँ”, उनले भने ।

गाउँपालिकलो शुक्रबार गाउँसभाको बिशेष अधिवेशन आह्वान गरेको हो । कार्यालयले बागमती प्रदेशको गाउँ, नगर र जिल्ला सभा सञ्चालन कार्यविधि सम्बन्धि ऐन–२०७५, को दफा ३ को उपदफा १ बमोजिम गाउँसभाको बिशेष अधिवेशन आह्वान गरेको जनाएको छ । अधिवेशन सकिएलगत्तै विपद व्यवस्थापनका लागि योजना तयार गरिने अध्यक्ष लामाले बताए ।

उक्त गाउँपालिकामा बाढीपहिरोले १२ जनाको अकालमा निधन भएको थियो । कार्यालयका अनुसार बाढीपहिरोबाट चार सय ८२ परि पूर्णरुपमा तथा आठ सय ८३ घर आंशिक रुपमा क्षति पुगेको थियो । यस्तै दुई हजार पाँच् सय ४४ परिवारको खेतबारीमा क्षति पुगेको जनाइएको छ । यसैगरि एक सय ६० खानेपानी आयोजना, एक पक्की पुल, छ ४७ विद्यालय, चार स्वास्थ्य केन्द्रमा क्षति पुगेको थियो ।

बाढीपहिरोले भर्खरै निर्माण सम्पन्न भएको डम्फू उद्यान, १० शैय्याको अस्पताल, चिस्यान केन्द्रसहितको औद्योगिक ग्राम बगाएको छ ।

कार्यालयले खोज, उद्धारको काम सकिएसँगै प्रभावित परिवारलाई खाद्यान्न, लत्ताकपडा, भाडाकुँडा वितरण तथा बाढीपहिरोबाट पूर्णरुपमा घर क्षति भई मृतक तथा समस्यामा परेका एक सय १० परिवारलाई प्रारम्भिक नगद तथा अन्य राहत उपलब्ध गराइएको तथा बाढीपहिरोका परी मृत्यु भएका परिवारलाई गाउँपालिकाले किरिया खर्च वापत रु ५० हजार थप गरी नगद राहत हस्तान्तरण गरेको जनाएको छ । 

तोलामा २२ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ । सुनको मूल्य बिहीबार तोलामा दुई हजार दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला एक लाख ६२ हजार दुई सयमा कारोबार भएको छापावाला सुन बिहीबारका लागि एक लाख ६० हजार रुपैयाँ निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ । बुधबार प्रतितोला एक हजार नौ सय ४० रुपैयाँ मा कारोबार भएको चाँदी बिहीबारका लागि भने एक हजार नौ सय पाँच रुपैयाँ निर्धारण भएको महासङ्घले जनाएको छ ।

बाढीपीडितलाई कर्मचारी महासंघद्वारा सात लाख ७७ हजार सहयोग

काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय कर्मचारी महासंघले बाढीपहिरो पीडितका लागि सात लाख सतहत्तर हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।

महासंघले बिहीबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सात लाख सतहत्तर हजार सात सय सतहत्तर रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

महासंघका अध्यक्ष मणिरत्न श्रेष्ठ, महासचिव प्रेम खनाल, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टलगायत महासंघ र संगठनका पदाधिकारीहरूले चेक हस्तान्तरण गरेका हुन् ।

यो सहयोग संकलनमा नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनको महत्त्वपूर्ण भूमिका रहेको महासंघले जानकारी गराएको थियो ।

सहयोग ग्रहण गर्दै अध्यक्ष प्रचण्डले राष्ट्रसेवासँगै जनताले भोग्नुपरेको विपत्तिमा कर्मचारीहरूले सहयोग संकलन गरेकोमा धन्यवाद दिए ।

प्राकृतिक विपत्तिले सिर्जना गरेको संकट समाधानका लागि सरकारमा हुँदा पनि नहुँदा पनि आफ्नो पार्टी निरन्तर अग्र मोर्चामा रहेर काम गरेको उल्लेख गर्दै उनले पार्टीनिकट शुभेच्छुक संगठनहरुले पनि यसमा योगदान गर्दा पार्टीलाई थप ऊर्जा प्राप्त हुने बताए ।

यस पटकको बाढीपहिरोको बेलामा आफ्नो पार्टीले सबैभन्दा पहिले पहलकदमी लिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले प्रभावित स्थलमा निरन्तर खटेर उद्धार, राहत र पुनर्स्थापनामा लाग्ने सबैलाई धन्यवाद पनि दिए ।

राहत र पुनर्स्थापनाका कामले अझै गति नलिएको उल्लेख गर्दै उनले दुई वर्षअघिका भूकम्पपीडितदेखि अहिलेका बाढीपहिरो पीडित सबैलाई पुरानै अवस्थामा फर्काउन सबै लाग्नुपर्ने र त्यसमा कर्मचारीहरूले आफ्नो कार्यक्षेत्रबाट बढी योगदान गर्नुपर्ने बताए ।

एकीकृत पाठ्यक्रम परिमार्जनको कार्ययोजना एक हप्ताभित्र पेस गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले भट्टराइले एकीकृत पाठ्यक्रम परिमार्जनको कार्ययोजना एक हप्ताभित्र पेस गर्न निर्देशन दिएकी छन् ।

बिहीबार सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शैक्षिक सामग्री विकास र पुस्तकालय सम्बद्ध शाखाको निरीक्षणका क्रममा मन्त्री भट्टराईले एकीकृत पाठ्यक्रम परिमार्जनको कार्ययोजना एक हप्ताभित्र पेस गर्न र पाठ्यसामग्रीलाई भाषिक र चित्राङ्कनका दृष्टिले त्रुटिरहित बनाउन निर्देशन दिएकी हुन् ।

त्यसक्रममा मन्त्री भट्टराइले चिकित्सा शिक्षा आयोग, मान्यता तथा समकक्षता, छात्रवृत्ति र वैदेशिक सम्बधनमा सञ्चालित विद्यालय सम्बद्ध काम गर्ने शाखाको निरीक्षण गरी कार्यप्रवाह, समस्या र चुनौतीबारे जानकारी समेत लिएकी थिइन् ।

शैक्षिक गुणस्तर परीक्षण केन्द्रसँगको अन्तरक्रियामा मन्त्री भट्टराइले अनुसन्धानलाई वास्तविक बनाई अनुसन्धानका उपलब्धिलाई कार्यान्वयन गर्नका निम्ति योजनासहित अन्तर निकाय समन्वय गर्न सुझाव दिइन् ।

उनले शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विकास गरेका श्रब्यदृश्य सामग्रीलाई विद्यार्थीको सहज पहुँचमा पुर्याई विशेषतः कक्षा १० र १२को उपलब्धि सुधार गर्न सक्रिय हुन सबैलाई सचेत गराइन् । प्राप्त स्रोत साधनबाट छिटो छरितो सेवा प्रदान भइरहेको वैदेशिक अध्ययन अनुमति पत्र (NOC) र छात्रवृत्तिसम्बन्धी कामप्रति सन्तुष्टि व्यक्त गर्दै जनसेवामा समर्पित हुन कर्मचारीलाई आग्रह गरिन् ।

जाडो छल्न आगन्तुक चरा चितवनमा

चितवन । जाडो मौसमसँगै विभिन्न देशबाट जाडो छल्न चरा चितवन आउने क्रम शुरू भएको छ । चितवनका तीन खोलामा कम्बोडिया, चीन, साइवेरिया, रुसलगायत देशबाट चराहरू आएका हुन् ।

नेपाल पक्षीविद् सङ्घ बागमती प्रदेशका संयोजक वासु विडारीका अनुसार अहिले राप्ती, नारायणी र रिउ खोलामा ४० भन्दा बढी प्रजातीका चरा आएका छन् । उनले भने, ‘अहिले नदी किनारमा आगन्तुक चार देख्न थालिएको छ । योसँगै चराहरू हेर्नका लागि आउने पर्यटकसमेत आइरहेका छन् ।’

चखेवा, जलेवा, कालोगरुड, सुरसुरे हाँस, कमन क्रेन, खोया हाँसलगायत चराहरू आएको उनले बताए । नेपालमा आउने पर्यटकमध्ये चार प्रतिशत पर्यटक चरा हेर्न आउने गरेको उनको भनाइ छ ।

विभिन्न देशमा जाडो बढेसँगै हिउँ पर्ने र नदीहरू हिउँले ढाकिने हुँदा आहाराको खोजीमा चरा आउने गरेको उनले जानकारी दिए । यो समयमा एक सय ५० देखि एक सय ६० प्रजातीका चार यहाँ आउने गरेको उनको भनाइ छ ।

‘अहिले आएका चराहरूले बच्चा कोरल्ने काम गर्दैनन् । गर्मी मौसम शुरू भएसँगै यी फर्कने गर्दन्’ उनले भने । तराईको कोशी टापुदेखि कर्णालीसम्म पानीमा आश्रित चरा नेपाल आउने गरेको उनले जानकारी दिए ।

अहिले हाँस प्रजातिका चराहरू आइसकेको जनाउँदै उनले अन्य चराहरू पनि आउने क्रम जारी रहेको बताए ।

आठ करोडको लागतमा त्रिशूलीमा नयाँ पक्की पुल निर्माण

त्रिशूली । विसंं २०२० सालमा त्रिशुली तर्न निर्माण भएको ‘ट्रस ब्रिज’ जीर्ण भएपछि सोही स्थानमा आठ करोडको लागतमा नयाँ पक्की पुल निर्माण गरिएको हो ।

विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठका अनुसार भारी सवारी साधन पनि सञ्चालन गर्न मिल्ने उक्त पुल बनेपछि नुवाकोट र धादिङका सर्वसाधारणको आवागमन सहज भएको छ ।

एघार मिटर चौडा भएको दुई ‘लेन’को पुल निर्माणको लागि सरकारको रु आठ करोड लगानी भएको छ । ‘डिजाइन एण्ड बिल्ड मोडल’ अन्तर्गत ‘बक्स कडर प्रिस्टेस’ प्रविधिमा नयाँ निर्माण भएको पुल सुरक्षित, बलियो र तोकिएभन्दा अधिक भारवहन क्षमता भएको पुल निर्माणकर्ता भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ । नवनिर्मित पुलबाट यातायातका साधन सञ्चालन भएका छन् ।

यसअघिको ट्रस ब्रिज आठ मेट्रिक टन क्षमताको एक लेनको थियो । यो पुलको भारवहन क्षमता ३५ मेट्रिक टन छ ।

ट्रम्प र बाइडेनबीच ह्वाइटहाउसमा भेटवार्ता

बीबीसी । अमेरिकी राष्ट्रपति जो बाइडेन र नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भेटवार्ता भएको छ ।

दोस्रोपटक राष्ट्रपतिमा निर्वाचित भएपछि ह्वाइट हाउस पुगेका ट्रम्पलाई बाइडेनले सौहार्द रूपमा सत्ता हस्तान्तरण गर्ने बताएका छन् । भेटमा बाइडेनले ट्रम्पलाई राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई दिएका थिए ।

बाइडेनले भने, ‘हामी सहज रूपमा सत्ता हस्तान्तरणको आशा गर्दछौँ । तपाईंलाई त्यसमा कुनै कठिनाई नपुगोस् भन्ने हाम्रो चाहना छ ।’

जवाफमा ट्रम्पले सहज रूपमा सत्ता हस्तान्तरण हुनु राम्रो भएको बताएका थिए ।

उद्योगीहरुलाई मंसिर १२ गतेभित्र बक्यौता बुझाउन प्राधिकरणको समय सीमा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको उद्योगीहरुलाई डेडिकेटेड तथा ट्रंकलाइन प्रयोग गरेबापतको महसुल मंसिर १२ गतेभित्र बुझाउन आग्रह गरेको छ ।

बिहीबार सूचना जारी गरी प्राधिकरणले मंसिर १२ भित्र महसुलको बक्यौता बुझाउन उद्योगीलाई आग्रह गरेको हो । मन्त्रिपरिषद्को कात्तिक २५ गतेको बैठक र प्राधिकरण सञ्चालक समितिको कात्तिक २७ को बैठकबाट बक्यौता महसुल १५ दिनभित्र असुलउपर गर्ने निर्णय भएको भन्दै प्राधिकरणले तोकिएको समयभित्र बक्यौता बुझाउन आग्रह गरेको हो ।

सूचनामा भनिएको छ, ‘वितरण केन्द्रहरूबाट सम्बन्धित उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्म टीओडी मिटरमा रेकर्ड भएको डिमान्ड तथा आईआई र टाइम इन्टरभलमा रेकर्ड भएको खपत इनर्जीको आधारमा गणना गरिएको छुट बिल प्राप्त गर्नु भएकै होला । उक्त बिल अनुसारको बक्यौता महसुल १५ दिन (मंसिर १२ गते) भित्र सम्बन्धित वितरण केन्द्रमा बुझाउनु होला ।’

तोकिएको समयमा बक्यौता महसुल भुक्तानी नभए नियमानुसार प्रक्रिया अगाडि बड्ने प्राधिकरणले चेतावनी दिएको छ ।

भारतीय क्रिकेटर शिखर धवनले कर्णाली याक्सबाट खेल्ने

काठमाडौं । भारतीय क्रिकेटर शिखर धवनले नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्सबाट खेल्ने भएका छन्। हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णालीले धवनलाई टोलीमा अनुबन्ध गरेको हो ।

कर्णाली याक्सले बिहीबार भारतीय राष्ट्रिय टिमबाट सबै फरम्याटको क्रिकेट खेलिसकेका धवनलाई अनुबन्ध गरेको जानकारी गराएको हो । धवनले इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाव किंंग्सबाट खेलिसकेका छन् ।

कर्णाली याक्समा ज्ञानेन्द्र मल्ल मुख्य प्रशिक्षक छन् । मार्की खेलाडीमा नेपाली राष्ट्रिय टोलीका तीव्रगतिका बलर सोमपाल कामी छन्। प्रतियोगिता मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म काठमाडौंमा सञ्चालन हुँदैछ।

मधेशका मेलामा कुस्तीको ‘क्रेज’

सिरहा  । सिरहाको मिर्चैया नगरपालिका-९ मा अवस्थित पौराणिक तथा धार्मिक पर्यटकीयस्थल कमलदहमा हरिबोधनी एकादशीको अवसरमा लाग्दै आएको ‘कमलदह धार्मिक हरिबोधनी एकादशी मेला’मा पहलमानबीच हुने कुस्ती खेलको ‘क्रेज’ बढ्दै गएको छ। मङ्गलबारदेखि सुरु भएको खेल हेर्न यहाँ हजारौँ दर्शकको भीड लाग्ने गरेको छ।

मेलामा आयोजित कुस्ती प्रतियोगिताको दोस्रो दिनसम्ममा नेपाल र भारतका विभिन्न ठाउँबाट पहलवान सहभागी भएका मेला समितिका अध्यक्ष रामअधार यादवले बताए। उनले भने, “मेलालाई भव्य बनाउनका लागि विगतमा जस्तै यसपाली पनि नेपाल र भारतका नाम चलेका पहलवानको कुस्ती, मनोरञ्जनात्मक र सांस्कृतिक कार्यक्रम भइरहेका छन्।”

प्रत्येक वर्ष हरिबोधिनी एकादशीदेखि तीनदिनसम्म लाग्ने कमलदह मेलामा सिरहा, सप्तरी, धनुषा एवम् भारतको विभिन्न राज्यबाट श्रद्धालु भक्तजन आउने गर्दछन्। मेलामा अत्यधिक भीड हुने भएकाले शान्ति सुरक्षाका लागि सुरक्षा निकाय, स्थानीय स्वयंसेवक पनि खटिएको मेला समितिका अध्यक्ष यादवको भनाइ छ।

पौराणिक एवं धार्मिक महत्त्व बोकेको कमल फूलको नामले परिचित कमलदहमा स्नान गरेर पूजापाठ गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको छ। यहाँ स्नान एवम् पूजापाठ गर्न हरिबोधिनी एकादशीका साथै तीनै दिन भक्तजन तथा दर्शनार्थी आउने गर्दछन्।

प्रत्येक वर्ष लाग्ने यस मेलाले ऐतिहासिक तथा धार्मिकस्थल कमलदहको संरक्षण सम्बर्द्धनसँगै पर्यटकीय क्षेत्र बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको मिर्चैया नगरपालिका प्रमुख श्रवणकुमार यादवले बताए। मेलामा कुस्तीप्रेमीले यस खेललाई उत्सवकै रूपमा लिने गरेकाले यसको संरक्षण र सम्बर्द्धनमा नगरले विशेष महत्त्व दिएको उनको भनाइ छ।

‘ह्रस्व दीर्घ’ को ‘भगवान नै आमा हुन्’

काठमाडौं । नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । फिल्मको ‘भगवान नै आमा हुन्’ बोलको गीत सार्वजनिक गरिएको हो ।

गीतमा सत्यराज आचार्यले स्वर दिएका छन् । गीतमा आमाको महिमा वर्णन गरिएको छ। गीतमा बाबुल गिरीको शब्द रचना र संगीत छ । सन्तानका लागि एक आमाले गर्ने संघर्ष, त्याग र समर्पणको भाव गीतमा प्रस्तुत गरिएको छ ।

भिडियोमा अभिनेत्री बिपना थापालाई आमाको रूपमा चित्रित गरिएको छ। नीता फिल्मस्को प्रस्तुति, चन्द्र पन्त निर्देशित फिल्ममा नेपाली र भारतीय कलाकारहरूको अभिनय छ । फिल्म नेपाली, तेलुगु र हिन्दी गरी तीन भाषामा आगामी शुक्रबार रिलिज हुँदैछ ।

मैत्रीपूर्ण खेलमा नेपाल ताजकिस्तानसँग चार शून्यले पराजित

काठमाडौं । ताजकिस्तानमा भएको थ्री नेसन्स मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले घरेलु टोलीसँग फराकिलो अन्तरले पराजित भएको छ ।

बुधबार राति ताजकिस्तानको दुसान्वी सेन्ट्रल स्टेडियममा भएको खेलमा नेपाल ताजकिस्तानसँग ४–० को फराकिलो अन्तरले पराजित भएको हो ।

ताजिकिस्तानलाई जित दिलाउन अलिशेर ड्जहालिलोभ र शेर्भोनी माबात्शोएभले समान एक/एक गोल गरे । खेलको १९ औं मिनेटमा शेर्भोनीले गोल गर्दै ताजिकिस्तानलाई शुरुवाती अग्रता दिलाएका थिए । २९ औं मिनेटमा अलिशेरले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए ।

४५ औं मिनेटमा शेर्भोनीले व्यक्तिगत दोस्रो गोल गर्दै ताजिकिस्तानलाई पहिलो हाफमा ३–० गोलको अग्रता दिलाएका थिए ।

५० औं मिनेटमा अलिशेरले गोल गर्दै ताजिकिस्तानलाई ४–० गोलको स्थितिमा ल्याएका थिए । अब नेपालले दोस्रो खेल मंसिर १ गते अफगानिस्तानसँग खेल्नेछ ।

उमा कुङफु सङ्घको अध्यक्षमा राई चयन

काठमाडौँ । नेपाल उमा कुङफु सङ्घको बुधबार सम्पन्न पाँचौँ साधारणसभाले सञ्जितकुमार राईको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ । यसअघि उनी केन्द्रीय कार्यसमितिको उपाध्यक्ष थिए ।

राईले दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा दुई स्वर्ण र एक कास्यपदक जितेका छन् । सन् २०२२ मा स्लोभेनियामा भएको विश्व मार्सल आर्ट्स खेलमा उहाँले एक स्वर्ण र एक कास्य तथा २०२४ मा अमेरिकाको न्युजर्सीमा भएको ब्याटल अफ ड्रागन मार्सल आर्ट्स च्याम्पियनसिपमा स्वर्ण जित्नुभएको थियो । राष्ट्रिय उमा कुङफु प्रतियोगिताको दुई संस्करणमा राईले दुई स्वर्ण जित्नुभएको छ ।

भारत, अस्ट्रिया र जर्मनीमा भएको प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरि सकेका राईले विभिन्न घरेलु प्रतियोगितामा पनि मुख्य निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।

केन्द्रीय कार्यसमितिको उपाध्यक्षमा रमेश महर्जन, सिद्धार्थ लामा तामाङ, मुन्नी सुवेदी तामाङ, राजदिस नेम्कुल, भूपेन्द्र गुरुङ र अनिमेशलाल श्रेष्ठ चयन हुनुभयो । त्यस्तै कमल मगर महासचिव, कृष्णकुमार मगर सचिव र सूर्य तामाङ कोषाध्यक्ष पदमा चयन भएका छन् । त्यसैगरी गुना गुरुङ, रत्न थापा राणा, रोजी श्रेष्ठ, शेरबहादुर गुरुङ र सुजन कक्षपति सदस्यमा चयन भए ।

साधारण सभामा नेपाल राष्ट्रिय मार्सल आर्ट्स गेम्स सङ्घका अध्यक्ष सुदीप पण्डित क्षेत्रीलगायतको उपस्थिति रहेको थियो ।

यी हुन् उपनिर्वाचनमा रास्वपाका उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तहको उपनिर्वाचनमा १७ जना उम्मेदवार छनोट गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि १७ उम्मेदवार छनोट गरेको हो । रास्वपाले प्रारम्भिक निर्वाचन (प्राइमरी) मार्फत उम्मेदवार टुंग्याउने घोषणा गर्दै आन्तरिक निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो ।

जस अनुसार बुधबारसम्म सबै ठाउँमा उम्मेदवार चयन/निर्वाचित गर्ने कार्यतालिका बनाएको थियो। तर, रास्वपाले बुधबार अबेर सार्वजनिक गरेको विवरण अनुसार अधिकांश ठाउँमा उम्मेदवार टुंग्याउने प्रक्रियामा रहेको उल्लेख गरिएको छ। १६ मंसिरमा दुई ४४ पदका लागि उपनिर्वाचन हुँदैछ ।

काठमाडौँ–तराई द्रुतमार्गको प्रगति सोचेभन्दा राम्रो रहेको संसदीय समितिको निष्कर्ष

काठमाडौं । संसदको राज्यव्यवस्था तथा सुशासन समितिले काठमाडौँ–तराई–मधेस द्रुतमार्ग आयोजनाको हालसम्मको कार्य प्रगति सन्तोषजनक रहेको जनाउँदैले समयमै पूरा हुने विश्वास लिएको छ । समितिका सभापति रामहरि खतिवडाको नेतृत्वमा रहेको संसदीय टोलीले बुधबार गरेको अनुगमनबाट सोचेभन्दा राम्रो प्रगति हासिल भएको निष्कर्ष निकालेको हो ।

        समिति सभापति रामहरि खतिवडाले द्रुतमार्गको काम द्रुततर गतिमा भइरहेको प्रतिक्रिया दिए । उनले भने, “नेपाली सेना अहोरात्र खटेर आयोजना सम्पन्न गर्ने दिशामा अघि बढिहरकोे छ । केही व्यवधान छन् भने त्यसलाई छलफलका माध्यमबाट समाधान गर्न सकिन्छ । सन्तोषजनक रुपमा काम भएको छ । सेनालाई धन्यवाद दिन चाहन्छौँ ।”

विकास निर्माणका लागि सबैले द्रुतगतिमा काम गर्ने हो भने मुलुक समृद्ध हुन धेरै समय नलाग्ने बताउँदै सभापति खतिवडाले भने, “यहाँको प्राविधिक टोलीको काम हेर्दा सुरुङ निर्माण गर्न नेपाली सेनासक्षम हुने देखिएछ । गौरवका आयोजना समयमै सम्पन्न गर्न पाइएमा मुलुकले ठूलो लाभ लिन सक्छ ।”

उनले राष्ट्रिय गौरवको सर्वाधिक महत्त्वको सो आयोजना निर्धारित समयमै सम्पन्न गर्न सरकारले आवश्यक साधनस्रोत उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

द्रुतमार्ग २०८३ चैत मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य लिइएको छ । आयोजनालाई विभिन्न १३ वटा प्योकजमा छुट्याएर निर्माण काम भइरहेको छ । प्रस्थान बिन्दु ललितपुरको खोकना र अन्तिम बिन्दु बाराको निजगढ रहेको सो सडकको कूल लम्बाइ ७० दशमलव ९७७ किलोमिटर छ ।

       द्रुतमार्ग पहाडी भू–भागमा २५ मिटर र तराई भू–भागमा २७ मिटर फराकिलो हुनेछ । आयोजनाअन्तर्गत ललितपुरमा नौ, काठमाडौँमा चार दशमलव छ, मकवानपुर ४९ दशमलव ७७ र बारामा सात दशमलव सात दशमलव छ किमी सडक रहनेछ ।

द्रुतमार्गमा १० दशमलव ३०९ किमी लम्बाइको छ वटा सुरुङ रहनेछ । सो सडकमा विभिन्न स्थानमा कूल १२ दशमलव ८८५ किमी लम्बाइको ८९ वटा पुल निर्माण हुनेछ । बुदुनेमा दुई वटा विश्रामस्थल तथा खोकना, बुदुने र निजगढमा एक÷एक वटा इनटरचेञ्ज र ट्राल प्लाजा निर्माण गरिनेछ ।

        मन्त्रिपरिषद्को २०७४ वैशाख २१ गतेको निर्णयानुसार सो आयोजना निर्माण व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिइएको थियो । सो आयोजनाको २०७४ जेठ १४ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको निजगढमा शिलान्यास गरेका थिए । एसियाली मापदण्डका आधारमा निर्माण भइरहेको सो सडक आयोजनाको कूल लागत  दुई खर्ब ११ अर्ब  ९३ करोड लागत रहेको छ ।  सो आयोजनामा हालसम्म ६४ अर्ब ६२ करोड खर्च भइसकेको छ ।

        सांसद चित्रबहादुर केसीले काठमाडौँमा बसेर गरिएको अन्दाजभन्दा सडक निर्माणमा भएको प्रगति भिन्न रहेको प्रतिक्रिया दिए । “फास्ट ट्र्याकबारे पढ्थेँ, राज्यव्यवस्था समितिमा पनि कुराकानी हुन्थ्यो, काठमाडौँमा बसेर जे अन्दाज गरेका थिएँ, त्योभन्दा अहिले यहाँ आउँदा बेग्लै देखेँ”, उनले भने, “धेरै राम्रो काम भएको छ, बाँकी काम पूरा गरौँ, त्यसलाई समयमा सम्पन्न गर्न आफ्नोतर्फबाट सक्दो कोसिस गर्छु ।”

नेपाल यु-१९ महिला टी–२० विश्वकप क्रिकेटमा छनोट

काठमाडौं । यूएईलाई हराउँदै नेपाल आईसीसी यु १९ महिला टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ । यु १९ महिला टी–२० विश्वकपको एशिया छनोटको निर्णायक खेलमा नेपालले यूएईलाई ८ विकेटले हरायो । यूएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४ ओभर ४ बलमा २ विकेट गुमाएर भेटायो ।

नेपालकी सना प्रवीनले ३१, कप्तान पूजा महतोले २१, सोनी पाख्रिनले १७, सावित्री धामीले १२ रन बनाइन् । यूएईकी मेहक ठाकुरले २ विकेट लिइन् ।

यसअघि घरेलु मैदान सेभेन्स स्टेडियममा टस जितेर ब्याटिङ गरेको यूएईले २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनायो । चार वटा देश सहभागी प्रतियोगितामा नेपाल शीर्ष स्थानमा रहेर पहिलो पटक १९ वर्षमुनिको महिला टी–२० विश्वकपमा छनोट भएको हो ।

नेपालले ६ खेलमा १० अङ्क जोड्यो । यूएईको पनि ६ खेलमा १० अङ्क भए पनि नेट रन रेटका आधारमा दोस्रो भयो । यस्तै थाइल्यान्ड ६ खेलमा ४ अङ्कसहित तेस्रो र कुवेत ६ वटै खेल हारेर पुछारमा रह्यो । यु १९ महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अर्काे वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।

वीरगञ्ज क्रिकेट मैदानको मुआब्जा विवाद समाधान गरिने

वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले वीरगञ्ज क्रिकेट मैदानको मुआब्जा सम्बन्धी विवाद छिट्टै टुङ्गो लगाउने बताएका छन् ।

नारायणी रङ्गशाला परिसरमा रहेको उक्त मैदान निरीक्षण गर्दै बुधबार उनले वर्षाैंदेखिको मुआब्जा विवाद आफ्नै कार्यकालभित्र टुङ्गो लगाउने प्रतिबद्धता जनाएका हुन् ।

“आजै म काठमाडौँ जाँदैछु, सङ्घीय युवा तथा खेलकुदमन्त्रीसँग भेटेरै मुआब्जा विवाद सम्बन्धी फाइल अर्थ मन्त्रालय पठाउन आवश्यक पहलकदमी गर्नेछु”, उनले भने, “राज्यको न्यून लगानीको बाबजुद पनि खेलाडीले मेहनत गरिरहनुभएको छ । खेलाडीको प्रोत्साहनका लागि प्रदेश सरकारले पनि हातेमालो गरेर अघि बढ्न चाहन्छ ।”

उनले प्रदेश सरकारसँग सीमित स्रोतसाधन भएकाले पर्याप्त बजेट विनियोजन गर्न नसकेको बताए । “प्रदेश सरकारले क्रिकेट मैदानका लागि थोरै बजेट विनियोजन गरेको छ । सो बजेट पर्याप्त छैन । यद्यपि आगामी आवको बजेटमा थप गर्नेछौँ”, उनले भने ।

क्रिकेट स्ङ्घ पर्साका अध्यक्ष मनिष सिंहले मुआब्जा विवादका कारण क्रिकेट मैदानलाई तारजालीले घेराबेरा गर्न समेत नसकेको गुनासो गरे । “करिब चार कट्ठा जग्गाको मुआब्जा विवाद टुङ्गो नलाग्दा मैदान संरक्षणको काम गर्न समस्या भइरहेको छ”, उनले भने, “हालसालै वीरगञ्ज क्रिकेट मैदानको ‘पिच’लाई स्तरोन्नति गरी खेल्न मिल्ने बनाइसकेका छौँ ।”

सेतो रगत बनाउने उपकरण अभावमा बिरामी ‘रिफर’

बागलुङ । धौलागिरि अस्पतालमा अहिले विशेषज्ञसहितको सेवा छ । जटिल प्रकारका रोगको समयमै अस्पतालमा उपचार भइरहेको छ । अस्पतालमा पछिल्लो समय जटिल प्रकारका शल्यक्रियासमेत भइरहेका छन् । उपचार र परीक्षणमा समेत नयाँ आधुनिक उपकरण भित्रिँदा बिरामीलाई सहज भएको छ । अस्पतालमा सेतो रगतको आवश्यक पर्ने बिरामीलाई भने उपचारमा समस्या भएको छ ।

रक्त सञ्चार केन्द्रमा सेतो रगत (प्लेटलेट्स) नपाइँदा अस्पतालले जटिल प्रकारको समस्या देखिएर सेतो रगत चाहिने बिरामीलाई पोखरा पठाउनुपर्ने बाध्यता छ । गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले बागलुङ स्थित रक्तसञ्चार केन्द्रलाई दिएको रातो र सेतो रगत छुट्याउने उपकरण (कम्पानेन्ट सेन्ट्रिफ्युज) प्रयोगमा आउन सकेको छैन ।

थप उपकरण र प्राविधिक जनशक्ति अभावमा उक्त उपकरण एक वर्षदेखि थन्किएको हो । विशेषगरी पछिल्लो समय डेङ्गीको सङ्क्रमण भई सेतो रगतको मात्रा घटेका बिरामीलाई सेतो रगत आवश्यक पर्दछ । यसो त डेङ्गीमा मात्र होइन, सर्पले टोक्दा, शल्यक्रिया गर्दा, अत्यधिक रक्तस्राव भएका बिरामीलाई समेत सेतो रगत आवश्यक पर्दछ । रक्त सञ्चार केन्द्र बागलुङमा सेतो रगत निर्माण गर्ने उपकरण अभावले समस्या छ ।

अस्पतालले डेङ्गी, कोभिड, क्यान्सर र सर्पले टोकेका, सेतो रगत कम उत्पादन हुने बिरामी, शल्यक्रिया गर्दा अत्याधिक रक्तस्राव भएका बिरामीलाई सेवा दिनका लागि सेतो रगत नभएको धौलागिरि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. किरण तिवारीले बताउनुभयो । उहाँले सेतो रगतकै कारण उपचार सम्भव हुने बिरामीलाई समेत पोखरा, काठमाडौँ पठाउनुपर्ने बाध्यता रहेको बताउँदै रक्त सञ्चार र धौलागिरि अस्पतालले सेतो रगत उत्पादन गर्ने व्यवस्थाका लागि प्रक्रिया थालेको जानकारी दिए ।

सेतो रगतको अभाव हुँदा समस्या भएपछि अस्पतालले र रेडक्रसको रक्त सञ्चार केन्द्रको समन्वयमा समस्याको समाधानका लागि मिलेर काम गरिरहेको तिवारीको भनाइ छ । “डेङ्गीका बिरामीमा सेतो रगतको अभाव देखिन्छ, बिरामीको अवस्था हेरेर र ३० हजारभन्दा तल प्लेटलेट्स भएमा सेतो रगतको आवश्यकता हुन्छ, डेङ्गी लागेका सबै बिरामीलाई रगतै आवश्यकता पर्छ भन्ने छैन, जटिल अवस्थाका बिरामीलाई रगत आवश्यकता भएमा हामीले पोखरा पठाउँछौँ”, तिवारीले भने ।

यसरी बिरामीहरु जिल्लाबाहिर उपचार गर्न जानुपर्दा अनावश्यक खर्चसमेत हुने गरेको छ । स्वास्थ्य उपचारमा अत्यावश्यक रहेको सेतो रगत निर्माण गर्ने रु २२ लाखको उपकरण तीन वर्षदेखि रेडक्रसको रक्त सञ्चार केन्द्रमा थन्किएको छ । रक्त सञ्चार केन्द्रमा उपकरण थप, पूर्वाधार निर्माण गरी सेतो रगतको व्यवस्था मिलाउन पहल भइरहेको नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापति जगन्नाथ आचार्यले जानकारी दिए ।

उनले सेतो रगतका लागि अहिलेको २२ लाखको उपकरणमा थप उपकरण ल्याउन ७२ लाख आवश्यक पर्ने बताए । तत्कालै सेवा सञ्चालनका लागि रु ३२ लाख रकम चाहिने बताउँदै स्थानीय पालिकाले सहयोग गर्ने आश्वासन दिएको अचार्यको भनाइ छ ।

गण्डकी प्रदेश सरकारले सेतो रगत निर्माणका लागि रु १५ लाख, जैमिनी नगरपालिकाले रु तीन लाख र गलकोट नगरपालिकाले रु दुई लाख बजेट विनियोजन गरेको उनले जानकारी दिए ।

“रु २२ लाखको उपकरण भित्रिएको तीन वर्ष भयो, अन्य सहायक उपकरण र पूर्वाधार नभइ सेतो रगत निर्माण गर्न सकिएको छैन, यो वर्ष अन्य पालिकाले समेत रकम दिएमा सेतो रगत उत्पादन थाल्छौँ”, आचार्यले भने, “शल्यक्रिया गर्दा, सर्पले टोक्दा, कोभिड र डेङ्गीजस्ता रोगमा सेतो रगत अत्यावश्यक रहेछ, सेतो रगत बनाउन थालेपछि धौलागिरि अस्पतालमै जटिल प्रकारका बिरामीको उपचार हुने र बिरामीको आर्थिक भार कम हुन्छ ।”

दान गरेको रगतबाटै सेतो रगत बनाउन सकिने रातो रगत, प्लेटलेट्स र प्लाज्मा छुट्याउनलाई कम्पोटेन्ट मेसिन आवश्यकता पर्दछ ।

लमजुङमा भरुवा बन्दुकसहित एकजना पक्राउ

सुन्दरबजार । लमजुङको क्व्होलासोथार गाउँपालिका–९ छापागाउँबाट अवैध भरुवा बन्दुकसहित पक्राउ परेका ५० वर्षीय मंगले परियारलाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

प्रहरीलाई प्राप्त विशेष सूचना र सुराकिको आधारमा प्रहरी चौकी गिलुङ लमजुङबाट खटिएको टोलीले निजलाई आइतबार पक्राउ गरेको थियो ।

घर नजिक जंगलको भिरमा लुकाइछिपाइ राखेको अवस्थामा एकनाले भरुवा बन्दुकसहित परियारलाई आइतबार पक्राउ गरी आवश्यक सोधपुछ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले बताए ।

‘सोमबारसम्म बन्दुक आफ्नो भएको स्वीकार नगरेपछि सोमबार छोडिएको थियो । आवश्यक अनुसन्धानका क्रममा उक्त बन्दुक आफ्नो भएको स्वीकार गरेपछि निजलाई पुनःपक्राउ गरी आज सार्वजनिक गरिएको हो’, प्रनाउ श्रीवास्तवले भने। योसँगै कारबाही प्रक्रिया अघि बढाइएको उनले उल्लेख गरे।

परियारमाथि जिल्ला अदालतबाट मंगलबार सात दिनको म्याद थप गरी हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा थप अनुसन्धान गर्न थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

एमालेले मंसिर ७ गते काठमाडौंमा जागरण सभा गर्ने

काठमाडौं । नेकपा एमालेले मंसिर ७ गते काठमाडौंमा जागरण सभा गर्ने भएको छ । पार्टीको काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको संयुक्त आयोजनामा जागरण सभा गर्न लागेको हो ।

सभा तयारीका लागि बुधबार महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले मंसिर ७ गतेको जागरण सभालाई व्यवस्थित गर्नको लागि बागमती प्रदेशको इन्चार्ज राजन भट्टराईको संयोजकत्वमा ११ सदस्यीय जागरण सभा संयोजन समिति गठन गरेको छ ।

समितिको सहसंयोजक कैलाश ढुंगेल र सदस्यहरूमा टुका हमाल, प्रेमकुमार पराजुली, श्यामकुमार बस्नेत, दीपक निरौला, बचन देउजा, पुरुषोत्तम आचार्य, क्षितिज थेवे, शमिक बडाल, जनक चौधरी रहेका छन्।

जागरण सभा संयोजन समितिको बुधबार बसेको प्रथम बैठकले सभालाई प्रभावकारी बनाउन, जनपरिचालन, जनसभा, जनप्रदर्शन समेतको व्यवस्था मिलाएको जनाएको छ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी दिव्य श्रेष्ठ ललितपुरको जावलाखेलबाट पक्राउ परेका छन् ।

धनुषाको जनकपुर उपमहानगरपालिका–९का ३७ वर्षीय श्रेष्ठलाई उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उच्च अदालत पाटनले अघिल्लो असार ३ गते निजलाई बैंकिङ कसूर मुद्दामा दुई महिना कैद, बिगो रु दुई करोड ५० लाख जरिवाना र क्षतिपूर्तिबापत पीडित राहतकोषमा रु १० लाख जम्मा गराउने ठहर गरेको थियो । फैसलालगत्तै उनी फरार भएका थिए ।

प्रतिवादी श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर लगनखेल पठाइएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

वैदेशिक रोजगारीमा ठगी गर्ने पक्राउ

वैदेशिक रोजगारमा अल्बानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–१ का २९ वर्षीय मणिकुमार तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

तामाङले अल्बानिया पठाइदिन्छु भन्दै एक जना पीडितबाट नगद पाँच लाख तीन हजार नौ सय लिई सम्पर्कविहीन भएका थिए । पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले उनलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका–६ दक्षिणढोकाबाट पक्राउ गरेको हो ।

तामाङलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ । 

यसरी बन्यो ‘रैँया चाँदीको…’

गण्डकी । चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’मा समावेश ‘रैँया चाँदीको…’ बोलको गीतलाई पनि श्रोता/दर्शकले उत्तिकै रुचाएका छन् । यही कात्तिक ७ गते युट्युबमा सार्वजनिक उक्त गीतलाई हालसम्म ५० लाखभन्दा बढी पटक सुनिएको/हेरिएको छ । गायक आशिष अविरल र गायिका मेलिना राईद्वारा स्वरबद्ध उक्त गीतमा सङ्गीत पनि गायक अविरलकै रहेको छन् भने शब्द नवराज पन्तले लेखेका हुन् ।

ठेट शब्द, मौलिक भाका र गायकीका कारण उक्त गीत श्रोता/दर्शकको रोजाइमा पर्न सफल भएको हो । दर्शकको अपार साथसहित दोस्रो सातामा चलिरहेको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’सँगै यस गीतले पनि चर्चा बटुलिरहेको छ । गायक तथा सङ्गीतकार आशिष अविरलका अनुसार ‘रैँया चाँदीको…’ थेगो र भाका एक वर्षअघि नै तयार भइसकेको थियो । गीतकार नवराज पन्तले थेगो दिएपछि आफूले धुन भरेको अविरलले सुनाए ।

‘गीत ल्याउने भन्दाभन्दै झन्डै एक वर्ष बितिसकेको थियो, शब्दले पनि पूर्णता पाइसकेको थिएन’, उनले भने, ‘अहिले सोही गीत चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’मा समावेश भयो, श्रोता/दर्शकले पनि अत्यधिक रुचाइदिनुभएको छ ।’ चलचित्र निर्माताले ३० को दशकमा प्रचलित भाखा र शैलीको गीत मागेपछि शब्द तथा सङ्गीतमा सामान्य परिमार्जनसहित उक्त गीत उपलब्ध गराइएको अविरलले बताए ।

चलचित्रको विषय र कथानकसँग मिल्दोजुल्दो भावमा बनेकाले निर्माताले पनि एकैपटकमा उक्त गीतलाई स्वीकारेको उनको भनाइ छ । बागलुङे हुनुको नाताले गीतमा प्रयुक्त ‘रैँया चाँदीको, म त बागलुङे, मैँया मादीको…’ बोलको गीत गाउन पाउनु आफ्ना लागि विशेष रहेको अविरलले बताए ।

‘यो गीत मेरो जिल्लावासीका लागि एउटा उपहारजस्तो पनि हुनपुग्यो, इतिहास बनाउन सफल चलचत्रिका लागि गीत गाउन र सङ्गीत दिन पाउनु मेरा लागि सौभाग्यको विषय हो’, उनले भने ।

गीतकार पन्तका लागि पनि यो गीत उनको गीत लेखनको यात्रामा नयाँ मोड बन्न आइपुगेको छ । ‘सालको पातको टपरी…’ जस्तो सर्वाधिक सफल लोकदोहोरी गीत रचना गरेका पन्तको पहिलोपटक चलचित्रका लागि गीत लेखेका हुन् । ‘सेतो धर्ती’ उपन्यास पढ्दै गर्दा ‘रैँया चाँदीको…’ थेगो फुरेको गीतकार पन्तले बताए ।

‘उपन्यासकी पात्र ताराले मादी खोलो तरेको प्रसङ्ग आउँदा एक्कासी मलाई यो गीतको शब्द फुर्यो, भोलिपल्ट घरमा गुन्गुनाउँदै थेगो तयार पारेँ’, उनले भने, ‘आशिष दाइले भाखा तयार गरिसकेपछि गीत सार्वजनिक गर्ने हाम्रो योजना थियो तर काम अगाडि बढ्न सकेको थिएन, अहिले अचानक चलचित्रका लागि गीत माग भएपछि गीतले पूर्णता पायो ।’

गीतकार पन्तले थेगो परिवर्तन नगर्ने सर्तमा मात्र आफूले उक्त गीत चलचित्रका लागि उपलब्ध गराउन तयार भएको बताए । ‘चलचित्र निर्माताले पनि सहजै रुपमा हाम्रो आग्रहलाई स्वीकार गरे, चलचत्रिको सार सुन्दै ३० को दशकको परिवेश झल्कने गरी रोधी बसेको शैलीमा शब्द लेखेँ, थेगो भने पुरानै कायम भयो’, उनले भने । ‘सुपरहिट’ चलचित्रमा गीतकारका रुपमा प्रस्तुत हुँदा आफूलाई भाग्यशाली सम्झेको उनले सुनाए ।

हाल अमेरिकामा रहेका गीतकार पन्त डेढ दशकदेखि गीत लेखनमा सक्रिय छज् । बागलुङका पन्तले लेखेका ‘सालको पातको टपरी…’, ‘डाँडै फर्के सल्लो…’, ‘मायालुको सहरमा…’ लगायत गीत चर्चित छन् । लोकदोहोरीसँगै पञ्चेबाजा, सालैजो, यानिमाया, सुनिमायालगायत मौलिक गीतमासमेत पन्तले शब्द लेखेका छन् । नेपाली लोकजीवन, संस्कृति, मानिसका व्यवहार र भोगाइलाई सजीव ढङ्गले शब्दमा उतार्न उनी सिपालु छन् ।

रास्वपामा उम्मेदवारी मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकार कार्यबाहक महामन्त्री बुर्लाकोटीलाई

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तहको उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकार कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीलाई दिने निर्णय गरेको छ ।

यसअघि पार्टी सचिवालयको बैठकले पार्टीको तर्फबाट मनोनयन गरिने उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकार पार्टी सभापति रवि लामिछानेलाई दिने निर्णय गरेको थियो ।

“वर्तमान अनपेक्षित परिस्थितिलाई मध्यनजर गर्दै उक्त उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकार पार्टी कार्यवाहक महामन्त्री बुर्लाकोटीलाई दिने सर्वसम्मत निर्णय गरेको छ”, कार्यवाहक प्रवक्ता मनिष झाले भने ।

पार्टीको केन्द्रीय समितिको गत असोज १३ गते बसेको बैठकले आसन्न उपनिर्वाचनका लागि रास्वपाको उम्मेदवारी दर्ताको आधिकारिकता दिने अधिकार पार्टी सभापतिलाई दिने निर्णय गरेको थियो ।

मङ्गलबार बसेको पार्टीको सचिवालय बैठकले कार्यवाहक महामन्त्री बुर्लाकोटीलाई उक्त अधिकार दिने निर्णय गरेको हो ।

योसँगै पार्टीको औपचारिक पत्र प्रदान गर्ने पदाधिकारीको विवरण तथा दस्तखत हेरफेर गरिदिन निर्वाचन आयोगमा पत्राचार गरिएको कार्यवाहक प्रवक्ता झाले जानकारी दिए ।

नेप्से दोहोरो अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ ।बुधबारको कारोबारमा नेप्से परिसूचक १४ दशमलव १२ अङ्कले ओरालो लागेर दुई हजार सात सय ३४ दशमलव ८३ मा आएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ०८ अङ्कले ओरालो लागेर चार सय ८३ दशमलव ६९ मा सीमित भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्य उकालो लाग्दा नौ उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ ।

आजको कारोबारमा कुल एक करोड ५३ लाख ६२ हजार दुई सय छ कित्ता शेयर रु सात अर्ब ९१ करोड १९ लाख ७६ हजार चार सय ४९ मूल्यमा खरिदबिक्री भएको छ । नेप्सेका अनुसार सप्तकोशी डेभलपमेन्ट बैङ्क र सृजनशील लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । पोखरा फाइनान्स नौ दशमलव ९९, समृद्धि फाइनान्स नौ दशमलव ९९ र मक्कर जितुमाया सुरी हाइड्रोपावरको शेयरमूल्यमा नौ दशमलव ९९ प्रतिशतले वृद्धि भएको छ ।

आजको कारोबारमा कुथेली बुखरी हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले घटेको छ । समाज लघुवित्त चार दशमलव ९३ प्रतिशत, एनएलजी इन्सुरेन्स चार दशमलव ०४ प्रतिशत र बुटवल पावर कम्पनीको शेयर मूल्य तीन दशमलव ६३ प्रतिशतले घटेको छ । 

चकलेट पाउँदा आफूलाई मनिषा झैँ ठानेँः विपना थापा

काठमाडौँ । ‘नेपाली कांग्रेसको सक्रिय राजनीतिमा रहेकी अभिनेत्री विपना थापाका बाबु आफ्नी राम्री छोरीलाई पनि मनिषा कोइराला जस्तै नायिका बनाउँछु’, भन्ने गर्थिन् । सायद राजनीतिक विरासत बोकेको परिवारमा जन्मिएकी अभिनेत्री मनिषाको छायाँ उनले आफ्नी छोरीमा पनि देखेको हुनुपर्छ ।


भारतको बलिउड नगरीमा एउटी नेपाली छोरीको ओजपूर्ण चर्चाले उनमा त्यो सोच आएको हुनुपर्छ । तर विडम्बना थापाका बाबुले छोरीलाई नायिकाका रुपमा सिनेमाको पर्दामा कहिल्यै देख्न पाएनन् । विपना छ वर्षको हुँदा उनी दिवङ्गत भए । उनलाई बुबाको त्यतिधेरै सम्झना पनि छैन ।


आफ्ना बाबुको सपना सुनेकी अभिनेत्री विपना सानै उमेरदेखि नाच्नमा पारगङ्त थिइन् । काठमाडौँ स्युचाटारमा जन्मिएकी विपनासँग स्कुले जीवनमा के हुने र के गर्ने कुनै लक्ष्य थिएन । चर्चित नृत्याङ्गना विमला श्रेष्ठ उनको छिमेकी थिइन् । नाच्न सिपालु विपना विमलालाई हेर्दै आफूलाई त्यस्तै बनाउने कल्पना गर्थिन् र आफैँलाई भन्थिन्, “कुनै दिन म यी विमला फुपूजस्तै नाच्ने हुन्छु ।”


नभन्दै विपना नाच्नमा यति सिपालु थिइन् कि कक्षा ९ मा पढ्दै गर्दा नै स्कुलको वार्षिकोत्सवका लागि अरूलाई नृत्य सिकाउँथिन् । आफ्ना बाबुको मनिषा जस्तै बनाउने सपना र तर्फ विमला फूपु झैँ नृत्यङ्गना हुने चाहनाका बीच १३ वर्षको उमेरमा नै उनका लागि अभिनयको ढोका खुल्यो । त्यो मौका उनलाई निर्देशक रेशराज आचार्यले दिएका थिए ।


उनी बाल कलाकारका रुपमा भएको अभिनय यात्रा यसरी सम्झना गर्छिन्, “उहाँ मेरो बाबाको साथी हो । उहाँले मलाई ‘आमा’ भन्ने टेलिशृङ्खलामा छोरीको भूमिकामा पहिलोपटक अभिनय गराउनुभएको थियो । मेरो अभिनय यात्रा सोही टेलिशृङ्खलाबाट बाल कलाकारका रुपमा भएको हो । त्यो टेलिशृङ्खलाको सुटिङ सकिँदासम्म म १४ वर्षको भइसकेकी थिएँ । त्यो टेलिशृङ्खला छायाङ्कन भए पनि कहिले पनि ‘रिलिज’ भने हुन पाएन ।” टेलिशृङ्खला प्रसारणमा नआए पनि यसले उनको अभिनयको लामो यात्रा कोरिदिने काम भने गर्यो ।


यो २०५१ सालतिरको कुरा हो । आचार्यले त्योसँगै विपनालाई शक्ति साबुनको विज्ञापनमा समेत अभिनय गराए । ‘आमा’ टेलिशृङ्खलाको सुटिङका दौरानमा कलाकार तथा निर्देशक मोहन निरौला सुटिङस्थल पुगेका थिए । दुवै जनाको पुरानै मित्रताको चिनाजानी थियो । उनले सुटिङमा विपनालाई सिनेमा गर्ने प्रस्ताव गरे ।


त्यतिबेला मोहन एउटा सिनेमा निर्देशनको तयारी गरिरहेका थिए । भर्खर १४ वर्ष लागेकी विपनाले टेलिश्रृंखलालाई नै सिनेमा मानिरहेकी थिइन् र उनले अबोध शैलीमा मोहनको प्रस्तावमा ‘मैले त खेलिसकेँ’ भन्ने जवाफ दिइन् ।


निरौलाले विपनालाई पुनः ‘ठूलो पर्दाको फिल्म खेल्ने हो’ भनेर सोधेपछि भने विपनाले ‘मेरो घरमा आएर सोध्नुस्’, भन्ने जवाफ दिइन् । त्यसपछि निर्माता छविराज ओझा, राजकुमार शर्मा, निरौलालगायतका विपनाको घरमै पुगे र परिवारसँग कुरा गरे । “एसएलसी दिएको पर्सिपल्टको कुरा हो यो”, उनले भनिन् । परिवारले विपना थापालाई सिनेमा गर्ने अनुमति दियो । यसरी ‘जन्मभूमि’ उनको डेब्यू सिनेमा हुनपुग्यो ।


नायिका हुने पक्का भएको दिन उनले आफ्नो पिताजीले भनेको कुरा स्मरण गरिन् र यस्तो सोचिन्, ‘‘ओहो ! म त कत्रो ठूलो के–के भइछु लागेको थियो किनभने मैले अभिनेत्री भनेर चिनेको–सुनेको नाम मनिषा कोइराला थियो । उहाँ राजनीतिक परिवारमा जन्मिएकी र हुर्केकी मान्छे । अनि मेरो बुबाले पनि यसलाई त मनिषाजस्तो नायिका बनाउनुपर्छ भन्नुहुन्थ्यो सानैदेखि । त्यसैले नायिका हुने पक्का हुनेबित्तिकै मैले मनिषा म आफू नै हो कि भनेर अनुभव गरिरहेकी थिएँ । म पनि त्यस्तै बन्ने भएँ भन्ने लागेको थियो ।”


विपनाले आफ्नो पहिलो सिनेमाका लागि पारिश्रमिक पाँच हजार रुपैयाँ र मुट्ठीभरि त्यतिबेलाको लोकप्रिय ह्वाइट र्याबिट चक्लेट पाइन् । पाँच हजार पैसाले धेरै खुसी भइन् या एक मुट्ठी चकलेटले भन्ने प्रश्नमा उनी हासिन् । ‘ओहो ! पाँच हजार रुपैयाँ भयो । त्यो पनि आजभन्दा करिब २८–२९ वर्ष अगाडि, आजको पाँच लाख सरहको पैसा होला त्यो सायद ।’


पाँच हजारमा पहिलो सिनेमा खेलेकी विपनालाई त्यस वर्ष सिनेमाको ओइरो नै लाग्यो । त्यो वर्ष डेब्यू सिनेमा ‘जन्मभूमि’सहित सात वटा सिनेमामा काम गरिन् । पाँच हजार र एक मुठ्ठी ह्वाइट र्याबिट चक्लेटबाट सुरु भएको उनको पारिश्रमिक बाँकी छ सिनेमामा कुनैमा २० त कुनैमा २५ हजार रुपैयाँ पारिश्रमिक लिइन् । ठ्याक्कै सम्झना नभए पनि उनले सोही वर्ष ३५ हजारसम्म पैसा पाएको सम्झना छ ।


सिनेमा उद्योगबाट बिदा नहुँदासम्म अधिकतम पाँच लाख रुपैयाँ बुझिन् । यो रकम लिँदा नेपाली रजतपट बृत्तमा ठूलै हल्लाखल्ला भएको विपना बताउँछिन् । “त्यो बेलामा राजेश हमाल–विपना थापाले त एउटै सिनेमाको पाँच लाख रुपैयाँ लिन्छन् भनेर ठूलै हल्लाखल्ला भएको याद छ । यो पैसा मैले ‘वरमाला’ र ‘बहादुर’ भन्ने दुई वटाका लागि मात्र लिएकी थिएँ”, थापाले भनिन् । २०५१ सालमा सुरु भएको उनको त्यो अभिनय यात्रा २०६५ सालसम्म करिब १५ वर्ष लगातार व्यस्ततामै बित्यो ।


उनी आफूलाई अभिनेत्रीका हिसाबले डेब्यू सिनेमा ‘जन्मभूमि’ले नै परिपक्व बनाएको बताउँछिन् । यसो हुनुको पछाडि उनीसँग सो सिनेमामा सँगै काम गरेका त्यतिबेलाका चर्चित र प्रतिभाशाली कलाकारलाई दिन्छिन् । त्यो सिनेमामा त्यतिबेलाका चर्चित अनुहारहरु सरोज खनाल, शिव श्रेष्ठ, मौसमी मल्ल, गीताञ्जलि तथा सुनिल थापालगायतका कलाकारको पल्टन नै थियो ।


“चर्चित कलाकारहरुको भिडमा म १४ वर्षकी सानी केटी पहिलोपटक सिनेमा खेल्दै थिएँ । उहाँहरुबीच म पहिलोपटक ठूलो पर्दाको सिनेमा खेल्दै गरेकी केटीलाई अभिनय सिकाउने प्रतिस्पर्धाजस्तो हुन्थ्यो”, उनले भनिन्, “सरोज दाइसँग सिन पर्दा बसुन्धरा भुसाल दिदी आएर सरोजले आफ्नो मात्र अनुहार देखाउला नि नानी भन्नुहुन्थ्यो, मौसमी दिदीले त्यस्तै भनेर गाइड गर्ने, सरोज दाइले त्यस्तै भन्ने । सब मेरो गुरुजस्तो हुनुभयो र सिकाउनुभयो ।” विपनाका अनुसार दिग्गज कलाकारहरुको मार्गदर्शन र सिकाइले सिनेमाको लाइट, क्यामरासँग कसरी साक्षात्कार गर्ने भनेर उहाँलाई दोस्रो सिनेमाको अनुभव आवश्यक परेन ।


त्यो वर्ष लगातार सात सिनेमामा अभिनय गरेकी विपनाले डेब्यू वर्षमा नै सर्वोत्कृष्ट नवअभिनेत्री अवार्ड उचाल्न सफल भइन् । “यो वर्ष डेब्यू सिनेमा ‘जन्मभूमि’सँगै, गोठालो, अपहरण, चुनौती गरी सात सिनेमा खेलेँ । त्यो वर्ष मैले सर्वोत्कृष्ट नवअभिनेत्री तथा व्यस्त अभिनेत्रीको अवार्ड जितेँ”, उनले सुनाइन् ।


त्यो समयमा यो–त्यो भूमिका कथा विषयवस्तु नभनी सिनेमाहरु गर्ने गरेको उनी बताउँछिन् । उनी प्रस्ताव आएका र समयले भ्याएसम्मका सिनेमा गरेको सम्झन्छिन् । हामी यो त्यो सिनेमा गर्दैनथ्याँै । प्रस्ताव आएका सबै सिनेमा गथ्र्यौं । समय मिलायो काम गर्यो, अब अहिलेजस्तो परिपक्व भएर पनि आइएको हुँदैनथ्यो । हामी निर्देशकले जे भन्यो त्यो गथ्यौँ । यो गर्छु, त्यो गर्दिन, यस्तो खाँदिन भन्ने पनि हुन्नथ्यो । एउटा पारिवारिक माहोलमा काम गथ्र्थौंं ।”


पर्दामा उनको कुशल नृत्यकौशल र अभिनय क्षमताबाट नै दर्शकमाझ लोकप्रिय बन्न सफल भइन् । उनी आधुनिक युवती, बुहारीलगायतका सबै भूमिकामा फिट लाग्थिन् र सबैभन्दा बढी एउटा मेहनती कलाकारको परिचय उनले बनाएकी थिइन् । करिब एक सय १४ वटा सिनेमामा अभिनय गरेको बताउने विपनाले धेरै सिनेमा उस्तै खालको भूमिका गरे पनि ‘तँ त साह्रै नै बिग्रिस नि बद्री !’ सिनेमामा निर्वाह गरेको चरित्रलाई कहिल्यै बिर्सन सक्दिनन् । सुरुमा उनलाई नायिकाको सकारात्मक भूमिकामा काम गराउने सहमति भए पनि परिस्थितिवश नकारात्मक भूमिका गर्नुपर्ने बाध्यता आइपर्यो । उनले त्यो भूमिकालाई खुबै टार्न खोजिन् । सो भूमिका नगराइयोस् भनेर सिनेमाका निर्माता–निर्देशकसँग रोइन् पनि ।


त्यो समयमा सकारात्मक भूमिका गर्दै आएको अभिनेत्रीले नकारात्मक भूमिका गर्नु ‘करियर’कै लागि ठीक नहुने सोचिन्थ्यो र कलाकारहरु पनि सोही कुरामा विश्वास मान्थे । विपनाले सो सिनेमा खेल्नुअघि नायिकाका रुपमा सकारात्मक भूमिकामा देखिँदै आएकी थिइन् । यो सिनेमामा नकारात्मक भूमिका खेल्दा भोलिका दिनमा आफूलाई असर गर्नसक्ने उनको बुझाइ थियो । पछि उनको बिहेमा कन्यादानसमेत दिएका निर्माता किरण केसीले सम्झाएपछि मात्र मनले नमानीनमानी अभिनय गरिन् ।


सो सिनेमाको ‘ह्विस्की’ नामको पात्र आजसम्म पनि उनलाई मन पर्दैन । ‘अर्काको श्रीमानसँग लाग्ने र घरमा श्रीमती हुँदाहुँदै अर्की श्रीमती पनि बनाउन खोज्ने मान्छे मलाई पहिलोदेखि नै मन नपर्ने । मेरो पात्र ठ्याक्कै त्यस्तै सिनेमामा । त्यो पात्र मलाई पटक्कै गर्न मन लागेको थिएन । तर हरिवंश आचार्य र किरण केसीले यो एउटा चरित्र हो, कलाकार भएपछि हरेक किसिमको भूमिका गर्नुपर्छ, यसले तिम्रो फिल्मी ‘करियर’मा कुनै पनि नकारात्मक असर गर्दैन भनेर कर गरेपछि मैले गरँे ।’ सिनेमा ‘रिलिज’ भएपछि उनले जे सोचेर डर मानेकी थिइन्, ती कुनै पनि कुराले उनलाई असर गरेन । उनी त्यसपछि पनि सकारात्मक भूमिकाको रोजाइमा परी नै रहिन् ।


विपना थापाको रुपमा आज पाइरहेको परिचयका लागि नेपाली सिनेमा उद्योगलाई आफूले सधैँ सम्झिराख्ने उनको भनाइ छ । नेपाली सिनेमामा नआएको भए आजकी विपना अर्को कुन संसारमा हुन्थेँ भन्ने जवाफ आफूसँग नभएको बताउँछिन् । ‘१४ वर्षबाट सुरु मेरो सिनेमा यात्राका सक्रिय वर्षहरु हरेकवर्ष पाँच÷सातवटा सिनेमा खेल्दैमा बिते । अन्तिम सिनेमा गर्दासम्म म व्यस्त नै थिएँ । १४–१५ वर्षको त्यो उमेरमै सिनेमामा नभए कता हुन्थे भनेर कहिले सोच्ने फुर्सद नै भएन ।’


आफ्ना जीवनका व्यस्त दैनिकीमा उनले लगातार ३६ घण्टासम्म लखतरान भएर ढल्ने गरीसम्म काम गरेको सम्झन्छिन् । ‘मलाई याद छ । मैले नसुतीनसुती लगातार ३६ घण्टा सिनेमाको सुटिङ गरेको छु । अर्जुन भन्ने सिनेमामा धिरन शाक्यसँग बालाजुको बाइसधारा सिनेमामा त्यसरी काम गरेको थिएँ । त्यो बेला सुटिङ गर्दागर्दै बाइसधारा माथिबाट सिधै भुइँमा लडेँ । धिरेन दाइले नसमात्नुभएको भए आज विपना जीवित हुँदैन थिएँ होला । लगातार ३६ घण्टा काम गर्दा म निकै कमजोर भएको थिएँ ।


त्यस्तो व्यस्तालाई चट्टै छोडेर घरजममा लागेकी विपना १७ वर्ष पछाडि ‘ह्रस्वदीर्घ’ सिनेमामार्फत पुनः नेपाली रङ्गीन दुनियाँमा फर्किंदैछिन् । यो आफ्ना पति र छोराका कारण सम्भव भएको उनी बताउँछिन् । “अहिले सिनेमामा फर्किनुको कारण मेरो छोरा र श्रीमान् हो । बाबुछोराले नै काम गर्न मन लागेको छ भने गर्नु भनेपछि फर्किएकी हुँ ।” विपनाका श्रीमानले “यो जीवन भनेको तिम्रो आफ्नो रोजाइको जीवन हो भनेर होस्याउनुभयो भने छोराले पनि म आफूलाई हेर्नसक्छु तपाईं काम गर्नुस् भने । त्यसो त उनकी सासू पनि बुहारीको इच्छा मार्ने पक्षमा थिइनन् तर विवाहपछि छोराको जन्म र अन्य घरायसी परिस्थितिले विपना सिनेमामा फर्कन पाइनन् ।


“मेरो सासूलाई मेरो सुटिङ हेर्ने असाध्यै रहर थियो । विवाह लगत्तै एक÷डेढ वर्षमै म गर्भवती भएँ । सन्तानका कारण काम गर्ने कुरा भएन, त्यसपछि मेरो सासूलाई क्यान्सर भयो । घरको जेठी बुहारी भएपछि उहाँलाई हेर्नुपर्यो”, उनले भनिन्, “त्यसपछि ससुरा बिरामी पर्न थाल्नुभयो, फेरि उहाँको हेरविचार गर्नुप¥यो । यस्ता कुराले चाहेर पनि परिवारको समर्थन हुँदाहुँदै पनि मैले आफूलाई निरन्तरता दिन सकेकी थिइन । अहिले जिम्मेवारी कम छ, कामका लागि समय छ ।”


यस बीचमा सामाजिक सञ्जालमा पोस्टहरु हाल्दा उनलाई सिनेमामा फर्किनुपर्ने सुझावहरु प्रशस्तै आए । यसले पनि उहाँलाई सिने क्षेत्रमा फर्किन हौस्यायो । अहिले उनको हातमा तीन–चारवटा सिनेमा छन् । वर्षौंपछि ‘सुटिङसेट’मा पुग्दा उनी भावुक हुन पुगिन् । विछोडिएको बछेडीले आमा भेटेजस्तो । “वर्षौंदेखि मन परेको मान्छेलाई भेट्दा कति रुन मन लाग्छ, मलाई त्यस्तै भयो । त्यो सम्झिदा अहिले पनि मेरो आँखा भरिन्छन् । पुराना पत्रकार साथीहरुलाई भेट्दा पनि मलाई भावुक बनायो ।’ यही कात्तिक ३० गते उनी अभिनित ‘हस्व दीर्घ’ रिलिज हुँदैछ ।

ज्वालामुखी विस्फोटपछि इन्डोनेशियाको बालीतर्फ जाने उडान रद्द

जकार्ता । इन्डोनेसियाको लेवोटोबी ज्वालामुखी विस्पोटपछि अस्ट्रेलिया, हङकङ, भारत, मलेसिया र सिङ्गापुरलगाएतका एयरलाइन्सहरूले बुधबार इन्डोनेसियाको रिसोर्ट टापु बाली जाने उडानहरू रद्द गरेका छन्।

ज्वालामुखीले विमानस्थल नजिकैको आकाशको केही किलोमिटर टाढादेखि खरानीले टावरलाई ढाकेपछि उडानहरु रद्द गरिएको एयरलाइन्सहरूले जनाएका छन्।

अष्ट्रेलियाको जेटस्टार, क्वान्टास र भर्जिन अष्ट्रेलियाले फ्लोरेस टापुको माउन्ट लेवोटोबी लाकी–लाकीले एक दिन अघि सबै उडानहरू रद्द गरेका थिए।

मलेसिया एयरलाइन्स, एयरएशिया, भारतीय इन्डिगो र सिङ्गापुरको स्कुट एयरलाइन्सले पनि बुधबार उडानहरू रद्द गरेको एएफपीलाई प्राप्त सूचनामा उल्लेख छ।

हवाई मार्गको वरपर ज्वालामुखीको खरानी फैलिएका कारण विमानको सुरक्षित सञ्चालनमा खतरा खडा भएपछि उडान रद्द गर्ने घोषणा एयर एशियाले जनाएको छ।

हालैका हप्ताहरूमा एक हजार ७०३ मिटरको उचाइबाट ज्वालामुखी विस्फोट हुँदा नौ जनाको मृत्यु हुनुका साथै ३१ जना घाइते भएको तथा ११ हजारभन्दा बढी प्रभावितहरूलाई सुरक्षित स्थानमा सारिएको इन्डोनेसियाको प्रकोप न्युनिकरण निकायले जनाएको छ।

विष्फोटपछि उडेको खरानी र धुलोले विमानको शिशा र हवाई मार्गलाई छेक्ने र विमान उडानका लागि आवश्यक भिजिविलिटी कम हुने जोखिम रहने र धुलाले इन्जिनहरूलाई क्षतिसमेत पुर्याउन सक्ने जनाइएको छ।

यसैगरी, हङकङको क्याथे प्यासिफिक एयरलायन्सले पनि बिहीबारसम्म बाली जाने र त्यहाँबाट फिर्ता हुने उडानहरू रद्द गरिएको जनाएको छ।

इन्डोनेसियामा ज्वालामुखीको प्रभावका कारण अस्ट्रेलियाले हालको उडान तालिकामा केही परिवर्तन गरेको तथा सिड्नी र मेलबर्नका लागि तय गरिएका उडानहरू रद्द गरिएको जनाएको छ।

जेटस्टारले बाली जाने सबै उडानहरू बिहीबार दिउँसोसम्म रोकिने बताएको छ। इन्डोनेसियामा माउन्ट लेवोटोबीमा ज्वालामुखी विस्फोटका कारण कारण उडानहरू सुरक्षित नभएकाले उडान बन्द गरेको जेटस्टार कम्पनीले जनाएको छ।

लेवोटोबीबाट आएको ज्वालामुखीको खरानीका कारण बालीको डेनपासर विमानस्थल जाने उडानहरू अवरुद्ध भएको क्वान्टासले पनि जनाएको छ।

मलेसिया एयरलाइन्सले आफ्नो वेबसाइटमा एक विज्ञप्ति जारी गर्दै बुधबार छ वटा उडानहरू रद्द गरेको जनाएको छ। एयरलाइन्सले ज्वालामुखीको अवस्थाको निगरानी गरी उडानहरू अद्यावधिक गराउने जनाएको छ।

बालीको अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक अहमद स्योगी साहाबले विस्पोटका कारण मङ्लबार १२ वटा आन्तरिक तथा २२ वटा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको बताएका छन्।

यसैबीच, बालीको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन शाखाले बुधबार आफ्नो हवाई क्षेत्रमा परीक्षण गर्दा ज्वालामुखीको हानीकारक खरानी फेला नपरेको उल्लेख गर्दै विमानस्थल सामान्य रूपमा सञ्चालन भइरहेको जनाएको छ।

‘गाउँ छोड्दै युवा, बाझिँदै जमिन’

आठबिसकोट (रुकुम पश्चिम) । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–३ खदी गाउँको करिब तीन सय रोपनी खेतीयोग्य जमिन अहिले बाँझो छ । गाउँका युवा उच्च शिक्षा र रोजगारीका लागि गाउँ छोडेर सहर तथ विदेश जान थालेसँगै यहाँको खेतीयोग्य जमिन बाझिँदै गएको हो ।

एक दश अघिसम्म खदी गाउँका खेतमा प्रशस्त अन्न, तरकारी र फलफूल उब्जन्थ्यो । अहिले युवाशक्तिको अभावमा करिब चार सय ५० परिवारका अधिकांश जग्गा बाँझो रहेका स्थानीय बुद्धिजीवी हरिबहादुर बुढामगरले बताए । खदी गाउँको कालजुरा, लहाँ, चिन्चौर, बाँस्तला बजिनीलगायत गाउँका अधिकांशले आजभोलिल खेती गर्न छोडेका छन् ।

बुढामगरले भने, “जनशक्ति अभावकले खदीका स्थानीय खेतीयोग्य जमिन बाँझै छाड्न बाध्य छन् । अध्ययन र रोजगारीका सिलसिलामा युवा पलायन हुँदा खुदी गाउँको रौनक हराएको छ ।”

तलि, सल्लेरी र पाटा गाउँ मिलेर खदी गाउँ बनेको छ । कुनै बेला युवा बाहुल्य रहेको खदी गाउँमा आजभोलि विस्तारै बस्ती पातलिँदै गएको छ । युवा जनशक्ति शिक्षा र रोजगारीको खोजीमा गाउँ छोडेर बाहिरिँदा कालजुरा, लहाँ, बाँस्तला, चिन्चौरलगायतको बस्ती खाली हुने अवस्थामा पुगेका बुढामगरले बताए ।

गाउँघरमा चल्ने अर्मपर्ममा युवा भेट्नै मुस्किल हुन थालेको छ । टोल छिमेकमा मर्दापर्दा तथा सामुदायिक कार्यक्रममा युवाको सहभागिता कमै देखिन्छ । सरसफाइ, खानेपानी र बाटोघाटो निर्माणलगायत का वृद्धवृद्धाको भरमा सञ्चालन हुने गरेको उनले बताए ।

कालजुरा, लहाँ, चिन्चौरलगायत स्थानमा पहिले बाक्लो बस्ती थियो । यहाँका किसान खेतीपाती र पशुपालनबाट आत्मानिर्भर थिए । कुनै समय गुल्जार भएका ती गाउँ आजभोलि सुनसान छन् । मकै र गहुँ उत्पादन हुने यी गाउँका खेतीयोग्य जमिन बाँझिएका छन् । खेतीयोग्य जमिन बाँझो रहनुको कारण युवा पलयन हुनु र बाँदरबाट उत्पादित खेती बचाउन नसक्नु रहेको बुढामगरको भनाइ हो ।

परम्परागत कृषिबाट गुजारा नचलेपछि खदीका केही घरधुरी आठबिसकोट नगरपालिकाको राडी बजार, सदरमुकाम मुसिकोट, दाङ, सुर्खेतलगायत सहरमा बसाइँ सरेका छन् । वैदेशिक रोजगारीमा गएका कतिपय युवाले पनि सहरबजारतिर जमिन जोडेका छन् ।

बाध्यताले गाउँ छाडेर सहर पुगेका युवा त्यहीँ रमाएर गाउँ नर्फकिँदा गाउँ रित्तिँदै गएको स्थानीय शिक्षक कमल रोकाको अनुमान छ । उच्च शिक्षाका लागि केही समय काठमाडौँमा रहेका उनले भने, “स्वास्थ्य, शिक्षा, रोजगारीलगायत आधारभूत आवश्यकताको उचित प्रबन्ध हुन नसक्दा अवसरको खाजीमा गाउँ छाडेका युवा पुनः गाउँ फर्कदैनन् ।”

आठबिसकोट–३ का वडाध्यक्ष केशरमान विकले युवा पुस्ताले धमाधम गाउँ छाड्दा जनशक्ति अभावले खेतीयोग्य जमिन बाँझिदै गएकामा चिन्ता व्यक्त गरे । नगरपालिकाले आधुनिक कृषि प्रणाली अपनाएर उत्पादन वृद्धि गरी स्थानीयलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ काम गरिरहेको भन्दै उनले युवाको अभावमा नगरको आत्मनिर्भर अभियान कार्यान्वयनमा समस्या देखिएको उल्लेख गरे ।

अहिले खदी गाउँमा खसी, राँगा तथा स्थानीय प्रजातिका कुखुरापालन हुन छोडेको स्थानीय नरबहादुर बुढाले बताए । “गाउँमा बाटो पुगेसँगै पहिलेको भन्दा सेवासुविधा पनि बढेको छ । यसवा अवसरको खोजीमा गाउँ बाहिर जाँदा खेती गर्ने, पशुचौपालन गर्नेको कमी हुँदै गएको छ”, उनले भने । उनका अनुसार कुनै समय झारमारे, जलजला, बसेरा चरनक्षेत्र र बुकीपाटन पशुचौपायाले भरिनेमा अहिले पशुपालन नभएपछि बुकीपाटन रित्ता देखिन्छन् ।

“बर्खायाममा गोठाला र पशुचौपायाले रमझम हुने खर्कहरु अहिले सुनसान छन् । कतिपय घरपरिवारले भने भेँडापालनलाई निरन्तरता दिँदै आएका छन्”, स्थानीय सुरेश विकले भने ।

जनशक्ति अभाव हुँदा जीर्ण बनेका घर पुनःनिर्माण भएका छैनन्, भत्केका घर झाँडीमा परिणत भएका छन् भने जमिन बाँझा छन् । कतिपय बस्तीसम्म सडक सञ्जाल विस्ता नहुँदा किसान काम गर्न घण्टौँ पैदल हिँडेर पुग्नुपर्ने बाध्यता छ ।

अत्यावश्यक पूर्वाधारको कमी, आधारभूत सेवाको पहुँच नहुुनु तथा युवा जनशक्तिको अभावलगायत कारणले खदी गाउँका स्थानीय कृषि पेसाबाट पलायन हुन थालेका स्थानीय बुद्धिजीवी रणबहादुर परियारले बताए । “पहिले गाउँलेहरु वर्षभरि खाना पुग्ने अन्न उत्पादन गर्न गाउँगाउँ गएर परम्परागत कृषिमा आबद्ध हुन्थये । अहिले पारिवारिक सदस्य कम हुँदा विस्तारै परम्परागत कृषि पेसा छोड्दै गएका छन् ।”

रणबहादुरले घरमा काम गर्ने सक्ने सदस्यको कमी रहेको बताउँदै भएको बारी बेच्ने योजना बनाएको बताए । “छोराछोरी साना छन् । घरबारी बिक्री गर्न चाहे पनि खरिद गर्ने कोही छैनन् । सबैले गाउँ छाडेपछि किन्ने मान्छे पनि पाइँदैन”, उनले भने ।

खदी गाउँका अधिकांश परिवारमा रणबहादुरको कथा छ । वडा नं ३ का करविर परियारले काल्जुराको घर छाडेको आठ वर्ष भएको बताए । “बसोबास नभएपछि पुर्खाको घर भत्केको छ”, उनले भने, “काम गर्ने जनशक्ति नभएपछि अहिले थोरै क्षेत्रफलमा खेतीपातीसँगै बाख्रापालन गरेको छु ।”

सबैले घर छाडेपछि भत्किएका घरमा बाँदरको रजाइँ छ । बाबु, बाजेले रगतपसिना बगाएर जोहो गरेको पुख्र्यौली ठाउँमा शिक्षा, स्वास्थ्य, रोजगारीलगायत अवसर सृजना गरी युवा पलायनदर रोक्नुपर्ने स्थानीय बताउँछन् । खदी गाउँ पर्यटकीय सम्भावनाले भरिपूर्ण छ । यहाँबाट झारमारे लेक, जलजला, सिस्ने हिमाल र चित्रिपाटनको दृश्यावलोकन गर्न सकिन्छ । गाउँलाई व्यवस्थित गरी अवसर सृजना गर्न सके आन्तरिक तथा बाह्य पर्यटक भित्रयाएर आर्थिकस्तर सुधार गर्न सकिने स्थानीयको भनाइ छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्छौंः प्रधानमन्त्री ओली

जुम्ला । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप प्रभावकारी रुपमा सञ्चालन गरी गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा दिइने बताएका छन् ।

प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले कर्णालीका जनताले आफ्नै ठाउँमा गुणस्तरीय स्वास्थ्य सुविधा पाउन थालेकामा खुसी व्यक्त गरे । उनले भने, “राकम कर्णालीमा सय शय्याको अस्पताल बनाउने प्रक्रिया सुरु भइसकेको छ । ”

प्रधानमन्त्री ओलीले प्रतिष्ठानमा आवश्यक थप सेवासुविधामा उपलब्ध सरकार प्रतिबद्ध रहेको बताए । प्रतिष्ठानको परिकल्पनादेखि नै आफूू जानकार रहेको र चुनौतीका बीच विगतमा आफू प्रधानमन्त्री हुँदा चिकित्सा शिक्षा आयोगको बैठकबाट स्वीकृति गराएर प्रतिष्ठानमा चिकित्सा कक्षा सञ्चालन भई पहिलो दीक्षान्तसम्म आइपुगेकामा उनले खुसी व्यक्त गरे ।

“अभिभावकको लगानी, आशा र विश्वासका साथै तपाईंहरुको मेहनत र लगावका कारण आज यो सफलता हासिल भएको छ । दीक्षित विद्यार्थीहरुलाई हरेक क्षेत्रमा सफलता हासिल गरी नयाँ नयाँ कीर्तिमान कायम गर्नुहने मैले विश्वास लिएको छु । यस सफलतालाई दूरदराजका जनताको गुणस्तरीय स्वास्थ्य सेवा दिन लाग्नुहोस् । ”

दीक्षित विद्यार्थीलाई प्रधानमन्त्री ओलीको आग्रह थियो, “म खुसी व्यक्त गर्न चाहन्छुु, कर्णाली अगाडि बढ्दैछ । कर्णाली र सुदूरपश्चिमका गरी १३ जिल्लाका जनताले यहाँबाट स्वास्थ्य सेवा पाउनु असम्भव जस्तै ठानिएको सपना पूरा भएको अवसर हो । अब यसलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्नु हामी सबैको दायित्व हो ।”

संयुक्त राज्य अमेरिकाको हार्वड मेडिकल कलेज सेन्टर फर प्राइमरी केयर र सिस्टम स्ट्रेन्थेनिङका निर्देशक प्रा डा क्रिस्टिन मसेङ्गर प्रमुुख अतिथि रहेको समारोहमा जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन पूरा गरेका ५८ विद्यार्थी दीक्षित भएका प्रतिष्ठानका प्रशासकीय अधिकृत अमृतबहादुर भण्डारीले जानकारी दिए ।

समारोहमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा डा अञ्जनीकुमार झालगायत सहभागी छन् ।

१६ लाख किशोरीलाई पाठेघरको क्यान्सरविरुद्धको खोप निःशुल्क लगाइने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सरबाट जोगाउन देशैभरका किशोरीहरुलाई निःशुल्क खोप लगाउने निर्णय गरेका छन् ।

मंगलबार मन्त्रीस्तरीय निर्णयपछि यही माघ २३ गते क्यान्सर दिवसको अवसर पारेर देशव्यापी खोप अभियान थाल्ने मन्त्रालयको तयारी छ । १५ दिन सञ्चालन हुने अभियानअन्र्तगत देशैभरका किशोरीहरुलाई खोप दिइनेछ ।

यस निर्णयबाट देशभरका ७ देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार नौ सय किशोरी लाभान्वित हुने मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले जानकारी दिए ।

हाल नेपालमा हरेक दिन ४ जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान गैरहेको मन्त्रालयको तथ्यांकले देखाएको छ ।किशोरीहरुलाई सानै उमेरबाट नै क्यान्सरबाट जोगाउन यस्तो निर्णय गरिएको मन्त्री पौडेलले जानकारी दिए ।

‘हामीले धेरै महिलाले पाठेघरको मुखको क्यान्सरका कारण ज्यान गुमाएको देखेका छौं,’ मन्त्री पौडेलले भने, ‘किशोरावास्थामै खोप दिन सकिए धेरै ज्यान जोगाउन सकिन्छ भनेर अभियानकै रुपमा खोप थाल्ने निर्णय गरेका हौं ।’

मन्त्री पौडेलले आगामी वर्षबाट नियमित खोप अभियानमा समेत पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप समावेश गराउने निर्णय गरेका छन् ।

जसअनुसार यसै वर्ष नियमित खोपमा समावेश हुन चाहने कक्षा ६ अध्ययनरत वा १० वर्षका बालिकालेसमेत यो खोप लगाउन पाउनेछन् । आगामी वर्षबाट भने सबै किशोरीले नियमित रुपमा खोप लगाउन पाउने गरी व्यवस्था गरिएको प्रवक्ता डाक्टर बुढाथोकीले जानकारी दिए ।

मन्त्री पौडेलले आफ्नो योजना तथा प्राथमिकतामा किशोरीहरुको पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि खोप अभियान सञ्चालन गर्ने उल्लेख गरेका थिए । साथै, मन्त्रीका रुपमा उनले गरेको पहिलो निर्णय राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीतिले पनि सानै उमेरदेखि नै क्यान्सरबाट जोगाउन खोप दिने विषय समेटेको छ ।

सोहीअनुरुप मन्त्री पौडेलले किशोरीलक्षित निर्णय गरेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । मन्त्री पौडेलले विश्व स्वास्थ्य सिखर सम्मेलनका क्रममा जर्मनीमासमेत विश्व स्वास्थ्य संगठनका महानिर्देशकलगायत अधिकारीहरुसँग नेपालले सञ्चालन गर्न लागेको खोप अभियानबारे जानकारी गराउँदै आवश्यक सहयोगका लागि आग्रह गरेका थिए । भ्याक्सिनसम्बन्धी विश्व सञ्जाल गाभीलेसमेत मन्त्रालयलाई साथ दिने निर्णय गरिसकेको छ ।

देशका ७७ जिल्ला नै पूर्ण खोप घोषणा

काठमाडौँ । देशका ७७ जिल्ला नै पूर्ण खोप घोषणा भएका छन् । पछिल्लो पटक नुवाकोट पूर्ण खोपयुक्त जिल्ला घोषणा भएको हो ।

स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाप्रमुख डा अभियान गौतमले ती सबै जिल्लाका दुई वर्षमुनिका शत्प्रतिशत बालबालिकाले सरकारले उपलब्ध गराएको खोप लगाएपछि पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको बताए । नेपालमा पहिलोपटक अछाम र पाल्पा पूर्ण खोप जिल्ला घोषित भएका थिए ।

“हामीले जन्मेदेखि बालबालिकालाई १५ महिनासम्म विभिन्न खोपका १८ मात्रा दिने गर्दर्छौं”, उनले भने, “ती खोप सबै बालबालिकाले खोप पाएपछि ती जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गर्दछौँ ।” सरकारले जन्मिनेबित्तिकै क्षयरोग विरुद्धको बिसिजी खोप लगाउने गर्दछ ।

यस्तै, छ हप्ता र १० हप्तामा दुईपटक रोटा भाइरस, पोलियो भाइरस, निमोनिया, भ्यागुते रोग, लहरे खोकी, धनुष्टङ्कार, हेपाटाइटटिस–बी इन्फ्लुएन्जा–बी लगायतका रोगविरुद्ध क्रमशः रोटा, पोलियो, पिसिभि, डिपिटी र हेप बी–हिब खोप लगाउने गरिन्छ । चौध हप्तामा पोलियो, भ्यागुते रोग, लहरे खोकी, धनुष्टङ्कार, हेपाटाइटटिस–बी इन्फ्एन्जा–बी विरुद्धका खोप क्रमशः पोलियो विरुद्धको खोप, एचआइपिभी, डिपिटी र हेप बी–हिब खोप लगाउने गरिन्छ ।

नौ महिनामा पोलियो, दादुरा र रुबेला तथा निमोनिया विरुद्धको खोप क्रमशः एफआइपिभी, दादुरा तथा रुबेला विरुद्धको खोप र पिसिसी खोप तथा १२ महिनामा जापानिज इन्सेफ्लाइटिस् विरुद्धको खोप तथा १५ महिनामा दादुरा र रुबेला तथा टाइफाइड विरुद्धको खोप दिने गरिन्छ ।

खोप शाखा प्रमुख गौतमले शिशुलाई जन्मेदेखि १५ महिनासम्म दिइन नसकेको खोप १६ महिनादेखि २३ महिनाभित्र दिइने बताए । उनका अनुसार सबै जिल्ला पूर्ण खोप घोषित गरे पनि जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले अझै पनि १२ देखि २३ महिनासम्ममा चार प्रतिशत बालबालिकाले कुनै खोप नपाएको उल्लेख गरिएको छ । उनले १६ देखि २३ महिनासम्म पनि खोप नलगाएका बालबालिकालाई पाँच वर्षसम्म पनि खोप लगाइने बताए ।

कुलमान भन्छन्-उद्योगीले १५ दिनभित्र महसुल तिरेनन् भने फेरि लाइन काट्छौं

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले उद्योगीले अबको १५ दिनभित्र डेडिकेटेड र ट्रंकलाइन बक्यौता नबुझाए प्राधिकरण फेरि लाइन काट्ने प्रक्रियामा जाने बताएको छ ।

बुधबार पत्रकार सम्मेलन गरी प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अबको १५ दिनभित्र उद्योगीहरुले बक्यौता नतिरे प्राधिकरण फेरि लाइन काट्ने प्रक्रियामा जाने बताएका हुन् ।

उनले सरकारले पनि १५ दिनभित्र बक्यौता असुलउपर गर्न निर्देशन दिइसकेकाले प्राधिकरण त्यसैअनुरुप अघि बढ्ने बताए ।

उनले भने, ‘हामीले गरेको बिल अनुसारको महसुल उद्योगीहरुले १५ दिनभित्र तिरेनन् भने हामी आफ्नो प्रक्रियामा फेरि लाग्नेछौ ।’

उनले यसअघि पनि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन र विद्युत नियमन आयोगको निर्देशन अनसुार तीन महिना उद्योगीलाई सुविधा दिएको बताए । उनले अब सरकार, ऊर्जा मन्त्रालय र प्राधिकरणको मात्र चासोको विषय नरहेकाले यो सर्वसाधारण सरोकारवालाको चासोको विषयसमेत भएको बताए ।

उनले अब लाइन काट्ने र जोड्ने गर्नुभन्दा पनि दिर्घकालीन रुपमा समस्याको समाधान गर्नुपर्ने बताए । उनले भने, ‘अब प्राधिकरण लाइन काट्दै बक्यौता उठाउने बाटोतिर जाँदैन । हामीले अब लाइन काट्नेतिर नलागौँ भनेका छौँ । अहिले यो समस्या समाधानको अन्तिम चरणमा आइसकेको थियो। हामीले यस पटक पनि नेपाल सरकारको निर्देशन पालना गरेका छौँ।’

सरकारको निर्देशनपछि प्राधिकरणले लाइन काटेका उद्योगको बुधबार सबैमा लाइन जोडिसकेको छ ।

जलवायु समस्या र गरिबी निवारण कार्यक्रमलाई एकीकृत रूपमा सम्बोधन गर्नुपर्छः राष्ट्रपति पौडेल

अजरबैजान । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु समस्या र गरिबी निवारण कार्यक्रमलाई एकीकृत रूपमा सम्बोधन गर्नुपर्ने बताएका छन् ।

अजरबैजानको बाकुमा सोमबारदेखि सुरु भएको कोप-२९ सम्मेलनका क्रममा किर्गिस्तानद्वारा बुधबार बाकुमा आयोजित उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण पीडित हुनेहरूलाई न्याय दिने हो भने उनीहरूले भोगेका समस्यालाई एकीकृत रूपमा सम्बोधन गर्नुपर्ने बताएका हुन् ।

“जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्रका युवा विदेश पलायन हुँदा गरिब, महिला, बालबालिका र वृद्ध वृद्धा अझ बढी प्रभावित भएका छन्, उनीहरूलाई न्याय दिने हो भने उनीहरूले भोगेका जलवायु समस्या र गरिबी निवारण कार्यक्रमलाई एकीकृत रूपमा सम्बोधन गर्नुपर्ने हुन्छ”, राष्ट्रपति पौडेलले भने ।

पर्वतीय क्षेत्रका नागरिकले व्यहोरेका जलवायु समस्या उनीहरूको आफ्नै कारणले नभई त्यो द्रुत गतिमा प्राकृतिक स्रोतको दोहन गरेर धनी भएका विकसित राष्ट्रहरूले गरेको कार्बन उत्सर्जनका कारण भएको उनको धारणा थियो । “उनीहरूलाई जलवायु न्याय दिनमा कोप-२९ सफल हुनेछ भन्ने मेरो पूर्ण विश्वास छ”, राष्ट्रपति पौडेलले भने ।

जलवायु परिवर्तनका प्रभाव हरेक वर्ष बढ्ने क्रममा रहेको र त्यसले नयाँ ‘रेकर्ड’ कायम गर्दै गएको बताउँदै त्यसका कारण पर्वतीय क्षेत्र तुलनात्मक रूपमा बढी जोखिममा परेको उनको भनाइ थियो ।

गत अगस्तमा नेपालको सगरमाथा क्षेत्रमा हिउँताल फुट्दा सोलुखुम्बुको थामेगाउँका ३५ भन्दा बढी घरधुरी विस्थापन भई करोडौँको हानि नोक्सानी व्यहोर्नु परेको सन्दर्भ उल्लेख गर्दै उनले गत मनसुन ‘सिजन’मा आएको बाढीपहिरोमा नेपालका पाँच सय बढी नागरिकले जीवन गुमाउनु परेको जानकारी दिए ।

“यसको पीडा अझै सञ्चो भएको छैन, आउँदा दिनमा यो समस्या अझ बल्झिनेछ र विकराल अवस्था सृजना गर्नेछ भन्ने आकलन अहिले नै गरेनौँ र उपयुक्त सावधानी लिएनौँ भने भोलि अझ बढी हानि नोक्सानी व्यहोर्नुपर्नेछ”, राष्ट्रपति पौडेलले भने ।

उनले नेपाल र किर्गिस्तान दुवै पर्वतीय मुलुक भएकाले हामीहरूले भोगेका जलवायु परिवर्तनका असर र प्रभाव पनि समान छन् भने । साथै, नेपाल र किर्गिस्तानले विगतमा हिउँ चितुवा संरक्षणमा सहकार्य गरेको अनुभव उनले स्मरण गरे । सो कार्यक्रममा किर्जिकिस्तानका राष्ट्रपति, मंगोलियाका राष्ट्रपति, अजरबैजानका विदेश मामिलामन्त्रीलगायतले बोलेका थिए ।

अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेदेखि सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप-२९) अन्तर्गत मंगलबार राष्ट्रपति पौडेलले उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई सम्बोधन गरेका थिए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५८ विद्यार्थी दीक्षित

जुम्ला । प्रधानमन्त्री केपी शर्मा ओलीले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५८ विद्यार्थीलाई दीक्षित गरेका छन् ।

मंगलबार प्रतिष्ठानमा आयोजित प्रथम दीक्षान्त समारोहमा जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरेका ५८ विद्यार्थी दीक्षित भएका हुन् ।

यसअघि गत भदौ २३ गते दीक्षान्त समारोह तय गरिएको थियो । तर त्यतिबेला प्रधानमन्त्री उपस्थित हुन नसक्ने भएपछि स्थगित भएको थियो ।

दीक्षान्त समारोहमा कुलपति तथा प्रधानमन्त्री ओलीसहित स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राध्यापक डा अञ्जनीकुमार झा, अमेरिकास्थित हार्डवेयर मेडिकल कलेज सेन्टर फर प्राइमरी केयर र सिस्टम स्ट्रेन्थेनिङका निर्देशक क्रिस्टिन मसेङ्गर पनि समारोहमा सहभागी भएका प्रतिष्ठानका शिक्षाध्यक्ष डा डबलबहादुर धामीले बताए ।

उनले भने, ‘स्नातकतर्फ बिपीएचमा ३८, एमबिबिएस १३ र स्नातकोत्तरतर्फ एमडिजीपीमा तीन, एमडी एनेस्थेसियामा एक र एमडी पेडियाट्रिक्समा एक गरी ५८ विद्यार्थी दीक्षित हुन योग्य छन् ।’

प्रधानमन्त्री ओलीले दीक्षान्त समारोहमा भाग लिएपछि प्रतिष्ठानको शैक्षिक भवनको उद्घाटनसमेत गरेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र अनुसन्धानको क्षेत्रमा महत्त्वपूर्ण योगदान गरिरहेको प्रशासकीय अधिकृत अमृतबहादुर भण्डारीले जानकारी दिए ।

सिन्धुपाल्चोकमा नदीजन्य पदार्थको ठेक्का लगाउन सास्ती

चौतारा (सिन्धुपाल्चोक)। सिन्धुपाल्चोकका स्थानीय तहले नदीजन्य पदार्थको ठेक्का लगाउन सकिरहेका छैनन् । स्थानीय तहले नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी र बालुवा) को ठेक्का लगाउन पटकपटक बोलपत्र आह्वानको सूचना प्रकाशित गरे पनि ठेक्का सम्झौता हुन सकेको छैन ।

चालु आर्थिक वर्ष सुरु भएको करिब चार महिना पुगिसक्दासमेत १२ स्थानीय तहमध्ये तीनको मात्रै ठेक्का लागेको छ । मेलम्ची नगरपालिका, बाह्रबिसे र बलेफी गाउँपालिकाले ठेक्का लगाएका हुन् ।

मेलम्ची, चौतारा साँगाचोकगढी र बाह्रबिसे नगरपालिका तथा ईन्द्रावती, त्रिपुरासुन्दरी, सुनकोसी र बलेफी गाउँपालिकाले ईन्द्रावती र भोटेकोसी नदीबाट नदीजन्य सामग्री उत्खनन गर्दा सोबापत कर सङ्कलन गर्ने गरेको थियो । पटकपटक सूचना प्रकाशित गरे पनि चालु आवमा ठेक्का नलागेको ती स्थानीय तहले जानकारी दिएका छन् ।

बाह्रबिसे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी शर्माका अनुसार दुईवर्ष अघि सुनकोशी नदी क्षेत्रको बाह्रबिसेबाट जुरेसम्मको क्षेत्रमा नदीजन्य पदार्थ उत्खननबापत एक करोडमा ठेक्का आह्वान गरिएको थियो ।

यस वर्षका लागि पुलबाट तल्लो खण्डमा भ्याटबाहेक ७५ लाख र माथिल्लो खण्डमा २८ लाख गरी जम्मा एक करोड तीन लाखमा ठेक्का लागेको उनले जानकारी दिए । गत वर्षको तुलनामा प्रतिघनफिट दुई घटाएर ठेक्का आह्वान गरिएको शर्माले उल्लेख गरे ।

बलेफी गाउँपालिकामा गत वर्ष ठेक्का नलागेकामा यस वर्ष स्थानीय सुनिलकुमार श्रेष्ठ, श्रेष्ठ कन्ट्रक्सनको नाममा २६ लाखमा ठेक्का परेको छ । बाह्र स्थानीय तहमध्ये सबैभन्दा बढी नदीजन्य पदार्थबाट राजस्व सङ्कलन गर्ने मेलम्ची नगरपालिकामा पनि गत वर्षभन्दा १० करोड कम हुने गरी ठेक्का लागेको राजस्व शाखा प्रमुख राजेन्द्र दुलालले जानकारी दिए । उनका अनुसार २३ करोड ५२ लाखमा सुदिपा ट्रेनिङ प्रालिलाई उक्त ठेक्का परेको हो ।

नगरपालिकाले गत वर्ष ३३ करोडमा प्रतिघनफिट नौ का दरले ठेक्का परेकामा चालु आवमा दुई घटाउँदा करिब १० करोड नोक्सानी भएको राजस्व शाखा प्रमुख दुलालले बताए ।

जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह चौतारा साँगाचोकगढी नगरपालिकामा पनि ठेक्का लाग्न सकेको छैन । नगरका प्रमुख इञ्जिनियर विकास श्रेष्ठका अनुसार चालु आवका लागि ईन्द्रावतीतर्फ ११ करोड पाँच लाख ७९ हजार एक सय ६१ र सुनकोशीतर्फ दुई करोड ८४ लाख ७३ हजार सात सय २७ को बोलपत्र आह्वान जारी भए पनि ठेक्का लाग्न सकेको छैन । गत आवमा ईन्द्रावतीतर्फ १५ करोड ४९ लाख छ हजार सात सय ९४ र सुनकोसीतर्फ चार करोड ७५ लाख ६० हजार दुई सय ९३ मा सम्झौता भएको लागेको थियो ।

ईन्द्रावती गाउँपालिकाले गत आवमा १२ करोडमा ठेक्का लगाएकामा चालु आवमा प्रतिघनमिटर दुई घटाएर सातौँ पटक आह्वान गर्दा पनि सम्झौता नभएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिए । पालिकामा कार्यरत करारका कर्मचारीलाई आन्तरिक आम्दानीबाट तलब खुवाउने गरिएको भन्दै राजस्व सङ्कलन नभएपछि तलब व्यवस्थापनमा समस्या भइरहेको उनले बताए ।

त्रिपुरासुन्दरी गाउँपालिकाले २१ लाखमा बोलपत्र आह्वान गरेपनि हालसम्म ठेक्का नलागेको पालिकाका अध्यक्ष भक्तध्वज बोहोराले बताए । सुनकोसी गाउँपालिकाको चालु आवका लागि २२ लाखमा बोलपत्र जारी गरे पनि ठेक्का लागेको छैन ।

“सातौँ पटकसम्म सूचना प्रकाशित गरेका छौँ । घाटघाट अनुसार पनि छुट्ट्याएर ठेक्का निकाल्दासमेत सम्झौता भएको छैन”, सुनकोसी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले भने । पालिका प्रशासकीय अधिकृत युगबहादुर खड्काका अनुसार तीन वर्ष अगाडि ६० लाखको ठेक्का लागेकामा त्यसपछि ठेक्का लाग्न सकेको छैन् ।

सिन्धुपाल्चोकको सुनकोशी, ईन्द्रावती र भोटेकोसी नदी आसपसामा दुई दर्जन बढी क्रसर उद्योग सञ्चालनमा छन् । पूर्वाधार निर्माण नहुँदा क्रसरले उत्पादन गरेका बालुवा, गिट्टीलगायत सामग्री बिक्री हुन छाडेको क्रसर सञ्चालकको भनाइ छ । 

भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी मङसिर ५ गते नेपाल भ्रमणमा आउँदै

काठमाडौँ । छिमेकी मुलुक भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी आगामी मङ्सिर ५ गते पाँच दिवसीय नेपाल भ्रमणमा आउँदैछन् । राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले त्यसअवसरमा उनलाई मङ्सिर ६ गते नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 


भारतीय सेनाध्यक्ष द्विवेदीले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानवीर राई र समकक्षी प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गर्नेछन् ।


नेपाल भ्रमणका क्रममा सेनाध्यक्ष द्विवेदीले सैनिक मञ्च टँुडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण र जङ्गी अड्डामा सम्मान गारतको निरीक्षण गर्नेछन् । उनले कमाण्ड तथा स्टाफ कलेजका विद्यार्थीसँग अन्तक्रिया र पश्चिम पृतनाको भ्रमण गर्ने कार्यसूची छ ।


प्रधानसेनापति सिग्देलको औपचारिक निमन्त्रणामा सेनाध्यक्ष द्विवेदी नेपाल भ्रमणमा आउन लागेका हुन् ।  नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने अनुपम परम्परा छ । 


यसअघि भारतका राष्ट्रपति रामनाथ कोविन्दले नेपालका तत्कालीन प्रधानसेनापति प्रभुराम शर्मालाई २०७८ कात्तिक २४ गते भारतीय स्थलसेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गरेका थिए ।


  छिमेकी देशका सेनाबीचको यस्तो सम्मान परम्पराले सम्बन्धलाई सुमधुर तुल्याउन र सौहार्दता कायम राख्न एउटा महत्वपूर्ण कडीका रुपमा भूमिका खेल्ने विश्वास गरिएको छ ।


यसअघिका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ भदौ २० गते नेपाली सेनाको मानार्थ महारथी पद प्रदान गरेकी थिइन् । 


सन् १९५० मा भारतका सेनाध्यक्ष जनरल केएम परिअप्पालाई पहिलो पटक नेपाली सेनाको मानार्थ महारथी प्रदान गरिएको थियो भने २०२६ सालमा तत्कालीन प्रधानसेनापति सुरेद्रबहादुर शाहलाई पनि पहिलो पटक भारतीय सेनाको मानार्थ महारथीबाट सुशोभित गरिएको थियो ।


        आदिम कालदेखि नै नेपाल र भारतबीच धार्मिक, साँस्कृतिक र भौगोलिक सम्बन्ध रहिआएको छ । खुला सीमाना र एकैखाले साँस्कृतिक सम्बन्धले पनि दुई देशीबीच जनस्तरमा समेत प्रगाढ सम्बन्ध बनाएको छ ।


       नेपाल र भारतका सैनिक सङ्गठनको घनिष्ट सम्बन्धले राजनीतिक र कूटनीतिक तहमा बेलाबखत उठ्ने प्रश्न स्वतः हराउँदै जाने गरेको छ । विश्वमा उदाउँदो ठूलो प्रजातान्त्रिक मुलुक भारत तथा संसारकै पुरानो स्वतन्त्र राष्ट्र नेपाल र सेनाबीचको यो सम्बन्धले एक–अर्काप्रति विश्वास र भरोसा प्रदान गरेको छ ।


        यस्ता विशिष्ट परम्पराले आपसी असमझदारी र विवाद हटाउने सवालमा समेत महत्वपूर्ण भूमिका खेल्दैआएको छ । नेपाल र भारतका सैनिकबीच विभिन्न तह र तप्कामा हुँदै आएका सैन्य तालिमले प्राकृतिक विपत्तिमा एक–अर्कालाई सहयोग पुगिरहेको छ । लामो समयदेखि नेपाल र भारतबीच सञ्चालनमा रहेको ‘सूर्यकिरण सैनिक अभ्यास’लाई एउटा दृष्टान्तका रुपमा लिन सकिन्छ ।
       
नेपालमा २०७२ वैशाखमा गएको भूकम्पलगायत अन्य प्राकृतिक प्रकोपका समयमा भारतीय सैनिकले नेपाललाई गरेको सहयोग अविस्मरणीय छ । नेपाल र भारतबीच सैनिक तहमा स्थापित सम्बन्ध सैनिक कूटनीतिका क्षेत्रमा संसारकै लागि एउटा सशक्त उदाहरण बनिरहेको छ ।


       नेपाल–भारतबीचको खुला सीमानाका कारण हुन सक्ने सुरक्षा चुनौतीलाई सम्बोधन गर्दै विश्वास र सहकार्यलाई अघि बढाउन मानार्थ महारथीको परम्पराले थप मलजल गरेको छ । नेपाल भ्रमणका क्रममा सेनाध्यक्ष द्विवेदीले पुशपतिनाथ र मुक्तिनाथको दर्शन गर्नुकासाथै पोखरा तथा सगरमाथा क्षेत्रको समेत अवलोकन भ्रमण गर्ने कार्यक्रम छ ।