`

बीआरआई परियोजना ऋणमा लिनुहुन्नः सभापति देउवा

जनकपुरधाम । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ परियोजना बीआरआईमार्फत अनुदान सहयोग मात्रै लिइने बताएका छन् ।

सोमबार जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले बीआरआईमार्फत ऋण नलिएर अनुदानमा मात्रै सहयोग लिइने कांग्रेसको अडान रहेको स्पष्ट पारे ।

‘बीआरआई परियोजनामा हामी स्पष्ट छौं, ऋण होइन अनुदान लिनुपर्छ,’ सभापति देउवाले भने,‘बीआरआई परियोजनामा छलफल जारी छ, छिट्टै एउटा निष्कर्षमा पुगिन्छ ।’ उनले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण फलदायी हुने पनि बताए ।

त्यस्तै सभापति देउवाले सत्ता गठबन्धनमा कुनै खटपट नरहेको समेत बताए । ‘संघीय सरकारमा कुनै खटपट छैन । यो गठबन्धन रहिरहन्छ,’ देउवाले भने,‘मधेश प्रदेश सरकारको हकमा भने कांग्रेसको मात्रै निर्णयले पुग्दैन । अरु दलहरुले पनि निर्णय गर्नुपर्ने हुन्छ ।’ देउवा प्रजातन्त्र सेनानी अरबिन्द ठाकुरको शालिक अनावरण गर्न जनकपुरधाम आइपुगेका हुन् ।

चीन भ्रमण देशको हितमा उपयोग गर्न प्रधानमन्त्रीलाई माधव नेपालको सुझाव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणबारे पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरुसँग सुझाव लिएका छन् । सोमबार प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री ओलीले सुझावका लागि उनीहरुलाई बोलाएका थिए ।

त्यसक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एकीृकत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्रीलाई चीन भ्रमण देशको हितमा उपयोग गर्न सुझाव दिएका छन् । उनले छिमेकीहरुको संवेदनशीलतालाई बुझेर र देशको हितमा ध्यान राखेर सम्झौता गर्न सुझाव दिए । उनले बीआरआई परियोजना राष्ट्रको हितमा रहेको भन्दै यसलाई स्वीकार गर्नुपर्ने बताए।

उनले भने, ‘बीआरआई नेपालको हितको विरुद्धमा छैन । नेपालजस्तो देशले लाभ लिनुपर्छ। लाभ लिने कुरामा सबैसँग समधुर सम्बन्ध राखेका छौं। बीआरआईलाई अघि बढाउनुपर्छ।’

राजापुरवासीले रगतकै लागि भौतारिने अवस्था हट्दै

राजापुर (बर्दिया)। बर्दियाको राजापुर नगरपालिका–५, जयपुरकी सुष्मा चौधरीकी सासूआमा भगवती थारू सिकलसेल एनिमियाबाट पीडित छिन् । उमेरसँगै थपिएको रोगबाट ग्रस्त सासूआमाका आफ्नै व्यथा छन्, त्योभन्दा बढी पीडा सुष्मालाई छ ।

उपचारका लागि आर्थिक चाँजोपाँजो मिलाउने, अस्पताल पुर्‍याउनेदेखि रोगले थलिएकी सासूआमाको जीवनमा प्राण भर्ने जिम्मेवारी बुहारी सुष्माकै काँधमा छ । अरू चाँजोपाँचो त जेनतेन भइहेकै हुन्छ तर महिनाको दुई पटकसम्म रगत चढाउनुपर्ने भए पनि नजिकै ‘ब्लड बैङ्क’ नभएको पीडा अझ बढी छ ।

“घर नजिकै ब्लड बैङ्क छैन । रगतकै लागि ७३ किलोमिटर टाढा रहेको बाँकेको नेपालगञ्जसम्म पुग्नुपर्दा निकै सास्ती खेप्नुपर्‍यो । बर्दियाबाट भेरी अस्पताल जानुको विकल्प नै थिएन । त्यति टाढा गएर पनि एकै दिनमा रगत चढाउन पाइँदैन थियो । त्यहाँ जानै समस्या, गए पनि अधिकांश दिनमा रक्त अभावले पालो कुरेर उतै चार÷पाँच दिनसम्म बस्नुपर्दाको सास्ती भनिसाध्य छैन”, सुष्माले भनिन् ।

उनले घण्टौँ लगाएर अस्पताल पुगे पनि रगत अभावमा अस्पतालको शय्यामा कुर्नुपर्दाको सास्ती र बसाइँ लम्बिँदा हुने खर्चको तनावले थप पीडा दिने गरेको सुनाइन् । यसरी उपचारका क्रममा कैयौँ दिन अस्पतालमा भोकै बस्नुपरेको दिन अहिले पनि सुष्माको मानसपटलमा ताजै छ । “त्यति टाढा पुगेर पनि रगत पाइन्छ भन्ने निश्चित हुँदैनथ्यो । कति पटक चार दिनसम्म पालो कुर्दा भोकभोकै बस्नुपरेको थियो । अहिले त्यो पीडा सम्झिन पनि चाहन्न”, उनले भनिन् ।

राजापुर क्षेत्रमा रगत नपाइने र चाहिएको बेला रक्त समूह नमिल्ने भएकाले सुष्मालाई दुःख भोगेर भए पनि नेपालगञ्ज जानैपर्ने बाध्यता थियो । पछिल्लो चार महिनादेखि भने यो बाध्यता हट्दै गएको छ । राजापुर नगरपालिकाले राजापुर बजारमै रक्त सङ्कलन केन्द्र तथा भण्डारण केन्द्र (ब्लड बैङ्क) स्थापना गरेपछि सुष्मालाई ठूलो राहत भएको छ । नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र, राजापुरमा ब्लड बैङ्क स्थापना गरेको हो ।

सुष्मा र उनकी सासूआमा भागिरथी त प्रतिनिधिपात्र मात्रै हुन् । नगर स्वास्थ्य शाखाले दिएको जानकारीअनुसार राजापुरमा भागिरथी जस्तै दुई सय २४ जना सिकलसेल एनिमियाका बिरामी रहेको तथ्याङ्क छ । यी सबैजसो बिरामी र तिनका परिवारको समस्या उस्तै थियो । स्थानीयस्तरमै रक्त सङ्कलन केन्द्र स्थापना भएपछि यी सबैलाई ठूलो राहत भइरहेको छ ।

“मेरो छोरा दुई वर्षको हुँदादेखि उसमा सिकलसेल एनिमिया देखिएको थियो, जसकारण उसलाई बेलाबेलामा रगत चढाउनु पर्छ । अहिले छोरो १० वर्षको भयो, आठ वर्षसम्म नेपालगञ्ज गएर रगत चढाइयो । तर अहिले नगरमै ब्लड बैङ्क सञ्चालनमा आएपछि घर आँगनमै सेवा लिएको अनुभव गरेको छु । यसले वर्षौंदेखि पीडा भुलाएको छ”, बिरामी राजीव चौधरीका बुबाले भने ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढाले रक्त सङ्कलन केन्द्र स्थापना भएपछि धेरै नागरिक लाभान्वित भएको बताए । “नजिकै रक्त सङ्कलन तथा भण्डारण केन्द्र नहुँदा दीर्घरोगीले त समस्या भोग्नु परेकै थियो, आकस्मिक घटना हुँदा अकालमै ज्यान गुमाउनुपर्ने अवस्था थियो । नगरले यो समस्या समाधानका लागि केन्द्र स्थापना गरेको हो । त्यसले स्थानीयस्तरमा निकै राहत पुगेको छ”, उनले भने ।

राजापुर नगरपालिकाले एकजना ‘ल्याब असिस्टेन्ट’ को दरबन्दी राखेर रु आठ लाखको लागतमा ब्लड बैङ्कको स्थापना गरेको हो । प्राथमिक स्वास्थ्य केन्द्र राजापुरको भवनबाट ब्लड बैङ्कको सञ्चालन भइरहेको छ । गत साउन १ गतेदेखि सञ्चालनमा आएको यस केन्द्रबाट हालसम्म ५५ जनाले सुविधा लगिसकेका छन् जसमा ९५ प्रतिशत सिकलसेलका बिरामीले सेवा लिएका छन्भने बाँकी पाँच प्रतिशत गर्भवती र अन्यले सेवा लिएका ल्याब असिस्टेन्ट महेश चौधरीले जानकारी दिए ।

सिकलसेल एनिमियाका प्रायः थारू समुदायका नागरिकमा देखिने रोग हो । भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा निराजन सुवेदीले भने, “सिकलसेल एनिमिया एक गम्भीर अनुवांशिक रक्तरोग हो । यस रोगमा रातो रक्त कोष हँसिया (सिकल) आकारमा बदलिने हुँदा शरीरमा अक्सिजनको आपूर्ति कम हुन्छ, जसले रक्तअल्पता, असह्य पीडा र शरीरका अङ्गहरूमा अक्सिजन नपुग्ने समस्या निम्त्याउँछ । थारू समुदायको विशिष्ट जैविक बनावट र परम्परागत वैवाहिक अभ्यासहरूले यो रोग पुस्तान्तर हुँदै आएको छ ।”

राजापुर नगरपालिकामा ६९ हजार आठ सय ७३ जनसङ्ख्या रहेको छ । कुल जनसङ्ख्यामध्ये करिब ८१ प्रतिशत थारू समुदायको रहेको छ । थारू बाहुल्य क्षेत्र भएकाले सिकलसेलको जोखिम पनि सोही अनुसार रहेको अनुमान छ । अब गाउँमै रक्त सङ्कलन केन्द्र स्थापना भएपछि धेरैलाई सहज भए पनि चाहिएको समयमा रक्त समूह मिल्ने रगत व्यवस्थापन भने चुनौतीपूर्ण रहेको ल्याब असिस्टेन्ट चौधरीले बताए । यस्तो अवस्थामा टीकापुर, मधुवन र भेरी अस्पतालबाट रगतको जोहो गर्नुपरिरहेको उनले जानकारी दिए ।

“नगरपालिका आफैँले वर्षमा तीनपटक, गैरसरकारी संस्था युनिक नेपालले तीनपटक र विभिन्न सङ्घसंस्थाले आयोजनाले गर्ने रक्तदान शिविरबाट रक्त सङ्कलन भइरहेको छ तर भण्डारण क्षमता कम भएकाले कहिलेकाहीँ छिमेकी अस्पतालहरूबाट रगतको जोहो गर्नुपर्छ”, ल्याब असिस्टेन्ट चौधरीले भने, “थारू समुदायको ठूलो बस्ती रहेकाले सिकलसेलको जोखिम र आकस्मिक रूपमा चाहिने रगतका लागि यस केन्द्रको स्तरोन्नति आश्वयक छ । भर्खरै सञ्चालनमा आएकाले नगरपालिकाले समस्या र आवश्यकता हेरेर त्यो काम गर्ने नै छ ।”

नगरप्रमुख दीपेश थारूले ब्लड बैङ्कको सेवालाई थप प्रभावकारी बनाउँदै लैजाने विषयमा आफूहरू सचेत रहेको बताए । उनले स्थानीय नागरिकको माग र आवश्यकताअनुसार सेवा थप विस्तार गरिने बताए । “नगरपालिकामा १५ शय्या अस्पताल सञ्चालन हुँदैछ, काम अगाडि बढिरहेको छ । त्यहाँ पनि ब्लड बैङ्क रहनेछ । ब्लड बैङ्क सेवालाई अझ प्रभावकारी बनाउने र रगतको भण्डारण बढाउन नियमित रूपमा रक्तदान कार्यक्रम गरेर सेवा विस्तार गर्ने योजनामै छौँ”, नगरप्रमख थारूले भने । यस सेवाबाट नगर क्षेत्रका मात्रै होइन छिमेकी गेरुवा गाउँपालिका र ठाकुरबाबा नगरपालिका क्षेत्रका नागरिक पनि लाभान्वित हुन थालेका छन् । 

रुकुम पश्चिममा छोराले गरे बाबुको हत्या

रुकुम । रुकुम पश्चिममा छोराले आफ्नै बुबाको हत्या गरेका छन् । जिल्लाको आठबिसकोट नगरपालिका-१० घारीखोलाका २० वर्षीय वीरबहादुर खत्रीले ५० वर्षीय बुबा दर्वे खत्रीको हत्या गरेका हुन् ।

आइतबार साँझ वीरबहादुरले चक्कु प्रहार गरेर आफ्नै बुबाको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए । उनका अनुसार बुबाको हत्या गर्ने वीरबहादुर फरार रहेका छन् ।

फरार वीरबहादुरको खोजीका लागि इलाका प्रहरी कार्यालय आठबिसकोटका प्रहरी निरीक्षक गणेश खनालको कमान्डमा १० प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक पाठकले जानकारी दिए । घटनाको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।

आफ्नो चीन भ्रमणबारे प्रधानमन्त्री ओली पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरूसँग छलफलमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका विषयमा पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरूसँग छलफल थालेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी छलफलमा प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरूसँग चीन भ्रमणका विषयमा सुझाव लिइरहेका छन् ।

बैठकमा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल तथा अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी उपस्थित छन् । त्यस्तै बैठकमा पूर्वपरराष्ट्रमन्त्रीहरू नारायणकाजी श्रेष्ठ, एनपी साउद, डा. प्रकाशचन्द्र लोहनीलगायत पनि सहभागी छन् । प्रधानमन्त्री ओली १७ मंसिरमा चीन भ्रमणमा जाँदैछन् ।

कपिलवस्तुबाट पाटे बाघको छालासहित एक जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुबाट पाटे बाघको छालासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देही बुटवल उप–महानगरपालिका– ५ गोलपार्कका ४१ वर्षीय विष्णुप्रसाद भट्टराई रहेका छन् ।

प्रहरी निरिक्षक सुजन शाहको कमान्डमा खटिएको प्रहरी टोलीले उनलाई पाटे बाघको छालासहित शिवराज नगरपालिका– २ हल्लानगरबाट पक्राउ गरेको हो ।

उनको साथबाट टाउकोदेखि पुच्छरसम्म करिब ६ फिट लम्बाइ भएको बाघको छाला बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका भट्टराईलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय चन्द्रौटा कपिलवस्तु पठाइएको प्रहरीले जनाएको छ ।

एनपीएलले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई उजागर गर्नेछः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) ले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न प्रत्यक्ष सहयोग पुग्ने बताएका छन् ।

सोमबार ऐतिहासिक धरहरा परिसरबाट एनपिएलको ट्रफी अनावरण गर्दै प्रधानमन्त्रीले लिगका लागि सरकारले सक्दो सहयोग र प्रोत्साहन गर्ने विश्वास दिलाए ।

प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकासका लागि सरकार सधैँ खेलाडीको साथमा रहेको बताए । उनले एनपिएलले नेपाली क्रिकेटमा नयाँ आयाम थप्ने अपेक्षा व्यक्त गरे ।

‘क्रिकेट हाम्रो पुस्ताको सपना र गौरवको विषय पनि हो । यस लिगको माध्यमबाट नेपाली क्रिकेटमा नयाँ आयाम थप्न सकियोस्’,प्रधानमन्त्री ओलीले भने,’सरकार यहाँहरूकै साथमा छ । व्यक्तिगत रूपमा म सरकारमा हुँदा वा नहुँदा जहिल्यै पनि मेरो रुचि र अपनत्व रहनेछ । सहभागी खेलाडी सबैलाई जितको शुभकामना दिन चाहन्छु ।’

उनले यस खेलमार्फत युवा प्रतिभाको उजागर र नेपालीले अवसर पाएमा केही गर्छ भन्ने मान्यतालाई स्थापित होस् भन्ने कामनासमेत गरे ।

गौतमबुद्ध विमानस्थलमा हवाई सेवा सञ्चालन गर्न कम्बोडियालाई सभामुखको आग्रह

कम्बोडिया । पाँच दिनको कम्बोडिया भ्रमणमा रहेका प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले कम्बोडियाका प्रधानमन्त्री सम्देच हुन मानेट र माथिल्लो सदन सिनेटका अध्यक्ष सम्देच हुन सेनसँग शिष्टाचार भेट गरेका छन् ।

कम्बोडियाको पिस प्यालेसमा भएको भेटमा दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने महत्त्वपूर्ण विषयहरूमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

भेटमा सभामुख घिमिरेले नेपालको बुद्ध जन्मस्थल लुम्बिनी र कम्बोडियाको अंगकोरबाट हिन्दु तथा बौद्ध सम्पदाहरूलाई प्रवर्द्धन गर्न प्रत्यक्ष हवाई सेवा सुरु गर्नुपर्नेमा जोड दिएका थिए ।

यसले धार्मिक पर्यटन र सांस्कृतिक आदानप्रदानलाई थप प्रोत्साहन गर्ने सभामुखको विश्वास रहेको थियो । नेपाल र कम्बोडियाबीच २०७५ सालमा नै हवाई सम्झौता भएको थियो ।

भेटमा दुवै देशका नागरिकबीच आदानप्रदानका कार्यक्रमलाई बढावा दिनेबारे छलफल भएको थियो । सभामुख घिमिरेले नेपाल भ्रमणका लागि कम्बोडियाका प्रधानमन्त्रीलाई औपचारिक निमन्त्रणासमेत दिएका छन् ।

प्रधानमन्त्री मानेटले साना राष्ट्रहरूको सहकार्यका लागि सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद् (आईपीटीपी) को अन्तर–संसदीय सभा उत्कृष्ट मञ्च भएको बताउँदै समय मिलाएर नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गरेको जनाइएको छ । भेटलाई दुई देशबीचको आर्थिक, सांस्कृतिक र कूटनीतिक सहकार्यलाई थप सुदृढ बनाउने महत्त्वपूर्ण अवसरको रूपमा हेरिएको छ ।

यसैबीच, सभामुख घिमिरेले आइतबार साँझ नै माथिल्लो सदन सिनेटका अध्यक्ष सम्देच हुन सेनसँग भेट गरेका छन्। कम्बोडिया पिपल्स पार्टी मुख्यालयमा भएको भेटका क्रममा दुवै पक्षले दुई देशका विधायिकाबीच सम्बन्धलाई थप बलियो बनाउने विषयमा छलफल गरेका थिए ।

भेटमा दुई देशबीचको दीर्घकालीन सम्बन्धलाई अझ सुदृढ बनाउने, संसदीय अभ्यास, क्षेत्रीय सहयोग र साझा चासोका विषयमा सहकार्यको सम्भावनाबारे छलफल भएको थियो ।

सभामुखले नेपाली शान्ति प्रक्रियाको अद्वितीय सफलताको अनुभव बाँड्दै दुवै देशले साझा हितका क्षेत्रमा थप समझदारी र साझेदारी गर्न सक्ने धारणा राखेका थिए ।

सभामुख घिमिरेले शनिबार साँझ भने कम्बोडियाको राष्ट्रिय सभाका अध्यक्ष सम्देच मोहा रथसपिथिका थिपादेई खुऔन सुदारीसँग भेट गरेका थिए ।

पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कम्बोडियाको राजधानी नोम पेन्ह पुगेका सभामुखले आइतबार सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ औँ पूर्ण सत्रमा सम्बोधन गरेका छन् । सभामुख मङ्गलवार साँझ स्वदेश फर्कने कार्यक्रम छ ।

तोलामा १५ हजार ९ सयले घट्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १५ हजार ९०० रुपैयाँ घटेको हो ।

महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५१ हजार ३०० रुपैयाँ कायम भएको छ । सरकारले सुन र चाँदीमा लाग्दै आएको भन्सार दर घटाउने निर्णय गरेसँगै बजारमा भारी गिरावट आएको हो ।

मन्त्रिपरिषद्को मंसिर ६ गते बसेको बैठकको निर्णय अनुसार सुन र चाँदीको भन्सार दर १० प्रतिशत कायम भएको छ । यसअघि सुनको भन्सार दर २० प्रतिशत र चाँदीको १५ प्रतिशत कायम थियो ।

प्रधानमन्त्रीद्वारा एनपीएलको ट्रफी सार्वजनिक(फोटोफिचर)

काठमाडौं । पहिलो संस्करणको ‘सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग’ (एनपीएल) को ट्रफी सार्वजनिक गरिएको छ । सोमबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा परिसरमा एनपीएलको ट्रफी सार्वजनिक गरेका हुन् । उक्त ट्रफीको मुख्य आकर्षण सगरमाथाको आधार शिविर कालापत्थरको ढुंगा रहेको बताइएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले यो ट्रफीमात्र नभई विश्वलाई हिमाल संरक्षण गर्ने सन्देश समेत रहेको बताए ।

आरोहीद्वय निमा शेर्पा र मिङ्मा शेर्पाले एनपीएलको ट्रफीमा प्रयोग गरिएको ढुंगा ल्याएका थिए । एनपीएलको पहिलो संस्करण यही मंसिर १६ गतेदेखि सुरु भई पुस ६ गते सम्पन्न हुने छ ।

यूएईमा यहुदी धर्मगुरुको हत्या, हत्यामा संलग्न भएको आरोपमा तीनजना पक्राउ

बीबीसी । यूएईमा हराइरहेका एकजना यहुदी धर्मगुरु रबाइको हत्या भएको भन्दै इजरायलले उनका हत्यारालाई खोजी गरिररहेको छ ।

आइबवार ती रबाइको शव फेला परेको खबरपछि प्रधानमन्त्री कार्यालयले भनेको छ, ‘तिस्भी कोगानको हत्या एक यहुदी विरोधी फौजदारी आतङ्कवादी घटना हो। इजरायलले यस मृत्युमा जिम्मेवार सबै अपराधीहरूलाई आफ्नो सबै सामर्थ्य लगाएर न्यायको दायरामा ल्याउनेछ।’

हत्यासँग जोडेर तीन जना मानिसहरूलाई पक्राउ गरिएको यूएईको आन्तरिक मामिला मन्त्रालयले आइतबार साँझ पुष्टि गरेको छ । रबाइ कोगान अर्थोडक्स यहुदी संस्था हबाद लुबाभित्सका एकजना प्रतिनिधि हुन् ।

गत बिहीबारदेखि उनी बेपत्ता भएपछि इजरायली गुप्तचर निकाय मोसाद र यूएईका अधिकारीहरू खोजतलासमा लागेका थिए । इजरायलले जारी गरेको विज्ञप्तिमा आफ्ना अधिकारीहरू ती इजरेली–मोल्डोभान नागरिकका परिवारसँग उनी बेपत्ता भएदेखि नै सम्पर्कमा रहेको जनाइएको छ ।

तिस्भी कोगानको घरभन्दा एक घण्टा पर गाडी चलाएर पुगिने दूरीमा उनको अलपत्र कार फेला परेपछि उनको शवको पत्ता लागेको हो ।

इजरायली राष्ट्रपति आइज्याक हर्गजले उनको हत्यालाई ‘एउटा घृणित, यहुदी विरोधी हमला’ भनेका छन् । मोसादका अनुसन्धानकर्ताहरूले रबाइको मृत्युमा जिम्मेवार मानिसहरूको पहिचान गर्न लागिपरेका छन् ।

हबाद एक धार्मिक फाउन्डेसन हो । त्यसले कतै नढल्किएका र निरपेक्ष वा यहुदी धर्मका अन्य हाँगाबिँगा समूहसँग सम्बन्ध कायम राखिराख्न खोज्छ । उक्त समूहको यूएईमा रहेको शाखाले हजारौँ यहुदी यात्रु र बासिन्दाहरूलाई सघाउने उसको वेबसाइटमा उल्लेख छ ।

बीआरआईले उपलब्ध गराएको जस्तोसुकै सम्भावनाको फाइदा उठाउनै पर्छ: बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणका क्रममा आफ्नो सार्वभौमसत्तालाई ख्याल राख्न सुझाव दिएका छन् ।

सामाजिक संजालमार्फत भट्टराईले आफू गोरखामा रहेकाले छलफलमा सहभागी हुन नसक्ने भन्दै प्रधानमन्त्रीलाई यस्तो सुझाव दिएका हुन् ।

प्रधानमन्त्री ओलीले आज बिहान ११ बजे चीन भ्रमणका तयारीमा सन्दर्भमा पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरुसँग छलफलका बैठक बोलाएका छन् ।

भट्टराईले दुई उदीयमान र प्रतिस्पर्धी शक्तिहरू चीन र भारत बीचको नेपालको विशिष्ट भूरणनीतिक, भूआर्थिक र भूराजनीतिक स्थितिलाई ध्यानमा राख्दै सबैसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्नेतर्फ सरकारले ख्याल गर्नुपर्ने उल्लेख गरेका छन् । उनले कमजोर अर्थतन्त्रलाई कम भन्दा कम समयमा विकसित चरणमा पुर्याउन वैदेशिक व्यापार, पूँजी, प्रविधि, ज्ञान र सद्भाव चाहिने उल्लेख गर्दै चीनको बीआरआईबाट फाइदा उठाउनै पर्नेमा जोड दिएका छन् ।

As I am leaving for my home district Gorkha today and won’t be able to attend the consultation meeting of former PMs called by @PM_nepal_ on his forthcoming China visit, here are my few thoughts for his considerations:

– Nepal is the oldest independent and sovereign country in…

— Baburam Bhattarai (@brb1954) November 25, 2024

नेपाल प्रहरीका आठ एसएसपी डीआईजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका आठ जना एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस भएका छन् । गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले बढुवा सिफारिसको सूची प्रकाशित गरेको हो ।

डिआइजी बढुवामा सिफारिस हुने एसएसपीहरूमा ध्रुबराज राउत, भोलाबहादुर रावल, गणेश चन्द, सिद्धिबिक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुरबेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक छन् ।

आत्मानन्द गोल्डकपमा सिरिजङ्घाको विजयी सुरुवात

इलाम । आइतबारदेखि इलाममा  १७ औँ संस्करणको आत्मानन्द गोल्डकप सुरु भएको छ । इलामको माङसेबुङ गाउँपालिकास्थित प्रस्तावित आत्मानन्द रङ्गशालामा भएको गोल्डकपको उद्घाटन खेलमा माङसेबुङ गाउँपालिकालाई ‘टाइब्रेकर’मा ४–३ गोल अन्तरमा रोक्दै मोरङको सिरिजङ्घा स्पोर्टिङ क्लब विजयी भएको छ । 


निर्धारित समयमा दुवै टोलीबाट गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । खेलमा विजेता सिरिजङ्घाका गोलरक्षक प्रमिस गच्छादार ‘म्यान अफ दी म्याच’ घोषित हुँदै नगद पाँच हजार प्राप्त गरे । 


सोमबार आयोजक आत्मा–पवित्र खेलकुद विकास समिति र झापाको भाङबारी स्पोर्टिङ क्लबबीच प्रतिस्पर्धा हुने आयोजक समितिकी सचिव सरिता राईले जानकारी दिइन् ।

गोल्डकमा नेपालको इलाम, झापा, पाँचथर र मोरङ तथा भारतको एक गरी आठ टोलीको सहभागिता छ । विजेताले नगद  तीन लाख ११ हजार एक सय ७१ र उपविजेताले नगद दुई लाख पाँच हजार एक सय ७१ प्राप्त गर्नेछन् । 


स्थानीय किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ९१औं जन्मोत्सवको अवसरमा आयोजित गोल्डकपको फाइनल मङ्सिर १७ गते हुनेछ । 

प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । आइतबार जिल्ला अदालतकी न्यायाधीश कमला पौडेलको इजलासले प्रसाईंलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

प्रसाईंले स्वास्थ्य समस्या देखाएर दिएको निवेदनमा न्यायाधीश पौडेलको इजलासले उपचारका लागि अनुमति दिएको काठमाडौं जिल्ला अदालतका श्रेष्तेदार रामु शर्माले जानकारी दिए ।

मंसिर ४ गते पक्राउ परेका प्रसाईंविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण, लिखत किर्ते, आपराधिक लाभ र संगठित अपराधमा अनुसन्धान गरिरहेको छ । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकम्युनिकेसन कम्पनीमा ३२ करोड लगानी गरेको भन्दै अफवाह फैलाएका थिए ।

राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरुको कामको गतिलाई तीव्रता दिने विषयमा आज सम्बन्धित मन्त्री, सचिव, आयोजना प्रमुखलगायतसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको उक्त छलफलमा विभिन्न २४ राष्ट्रिय गौरवका आयोजनाको हालको अवस्था, वित्तीय तथा भौतिक प्रगति, विद्यमान समस्या र समाधानका उपायको प्रस्तुतीकरण गरिएको छ । ती आयोजनामा स्रोत सुनिश्चितता, न्यून बजेट, जग्गा अधिग्रहण, रुख कटान, बाढी पहिरोका कारण सडकमा अवरोध, प्रक्रियागत झमेला, मुआब्जा विवाद, कानुनी मुद्दाजस्ता समस्या देखिएका छन् ।

हालसम्म ८० प्रतिशत प्रगति भएका आयोजनामा मेलम्ची खानेपानी आयोजना र पशुपति क्षेत्र विकास कोष रहेका छन् भने ५० देखि ८० प्रतिशत सम्पन्न भएका आयोजनामा पुष्पलाल (मध्यपहाडी) राजमार्ग, हुलाकी लोकमार्ग, उत्तर दक्षिण कोशी कोरिडोरमार्ग, रानी जमरा कुलरिया सिँचाइ आयोजना, भेरी बबई डाइभर्सन बहुद्देश्यीय आयोजना, लुम्बिनी विकास कोषलगायत छन् । अन्य आयोजना १० देखि ५० प्रतिशतको प्रगतिको स्थितिमा छन् भने १० प्रतिशतभन्दा कम काम भएका आयोजनामा बूढीगण्डकी जलविद्युत् आयोजना, पश्चिम सेती जलविद्युत् आयोजना र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल रहेका छन् ।

बैठकको प्रारम्भ गर्दै प्रधानमन्त्री ओलीले अहिलेको अवस्था सन्तोषजनक नभएकाले कामलाई गति दिन के के गर्न सकिन्छ ? वर्तमान सरकार आएपछि नयाँपनका साथ कामलाई गति दिन के के नयाँपन गरियो ? भन्ने विषयमा आयोजना प्रमुखहरुबाट स्पष्टता लिएका थिए । प्रधानमन्त्री ओलीले सधैँ झैँ काम गरेर नपुग्ने भएकाले नयाँ र परिवर्तित सोचका साथ उत्पादन र रोजगारी वृद्धि गर्नेगरी आयोजना अघि बढाउन आवश्यक रहेकाले उत्पादन गर्न सम्भव हुने क्षेत्रमा मुलुकलाई आत्मनिर्भर गराउन किन नसक्ने भन्ने प्रश्नलाई ध्यानमा राख्नुपर्ने बताए ।

छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, रक्षामन्त्री मानवीर राई, खानेपानीमन्त्री प्रदीप यादव, प्रधानमन्त्रीका आर्थिक मामिला सल्लाहकार डा युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, सम्बन्धित सचिवहरु र आयोजना प्रमुखहरुको सहभागिता रहेको छ ।

दुर्गा प्रसाईंलाई दुई दिनभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उपस्थित गराउन आदेश दिएको छ । आइतबार न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासले बन्दीप्रत्यक्षीकरणको रिटमा प्रसाईंलाई पक्राउ गर्नुको कारणसहित दुई दिनभित्रमा उपस्थित गराउन सरकारलाई आदेश दिएको हो । इजलासले विपक्षीको नाममा कारण देखाउ आदेशसमेत जारी गरेको छ ।

प्रसाईंका छोरा निराजनले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो र काठमाडौं जिल्ला अदालतलाई विपक्षी बनाएर शुक्रबार रिट दायर गरेका थिए । प्रसाईं ४ मंसिरमा भक्तपुरस्थित निवासबाटै पक्राउ परेका थिए । उनीविरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रसाईंले कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीको साढे ३२ अर्ब लगानी रहेको दाबी गरेका थिए । त्यसको भेलिपल्टै उनी पक्राउ परेका थिए ।

भारतीय स्थल सेनाध्यक्ष द्विवेदी पाँच दिने नेपाल भ्रमण पूरा गरी स्वदेश फिर्ता

काठमाडौँ । भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी तथा श्रीमती सुनिता द्विवेदी नेपालका पाँच दिवसीय औपचारिक भ्रमण पूरा गरी आइतबार स्वदेश फिर्ता भएका छन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी प्रेमध्वज अधिकारी र उनकी धर्मपत्नीले बिदाइ गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल भ्रमणका क्रममा जनरल द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गरेका थिए ।

प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा आउनुभएका जनरल द्विवेदीले प्रधानमन्त्री, रक्षामन्त्री र प्रधानसेनापतिसँग बेग्लाबेग्लै शिष्टाचार भेट गरेका थिए । उनले शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेज र पोखरास्थित पश्चिम पृतना हेडक्वाटरको भ्रमणका साथै मुस्ताङस्थित मुक्तिनाथ मन्दिरको दर्शन र माउन्टेन फ्लाइटमार्फत विभिन्न हिमालको अवलोकनसमेत गरे । 

यस भ्रमणले दुई देशबीच रहँदै आएको सौहाद्र्रपूर्ण सैनिक सम्बन्धलाई अझ सुमधुर एवं प्रगाढ पार्न मद्दत पुग्ने नेपाली सेनाले विश्वास लिएको जनाएको छ ।

नेपालले शान्ति स्थापनामा हासिल गरेको उपलब्धि अनुकरणीय छः सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपालले शान्ति स्थापना र मेलमिलापको क्षेत्रमा हासिल गरेका उपलब्धि विश्वका लागि अनुकरणीय रहेको बताएका छन् ।

कम्बोडियाको राजधानी नोम पेनमा आयोजित सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद (आइपिटिपी) को ११औँ पूर्ण सत्रलाई आज सम्बोधन गर्दै सभामुख घिमिरेले नेपाल भगवान् बुद्धको भूमि भएको बताए । उनले नेपालका तर्फबाट शान्ति, सहिष्णुताको सन्देश, द्वन्द्व व्यवस्थापन र स्थायित्वका लागि अन्तर्राष्ट्रिय समुदायलाई महत्त्वपूर्ण पाठ दिनसक्ने धारणा व्यक्त गरे ।

सभामुख घिमिरेले सन् २००६ मा सम्पन्न विस्तृत शान्ति सम्झौतालाई द्वन्द्वबाट शान्तितर्फको यात्रा ऐतिहासिक मोडका रूपमा रहेको बताए । “शान्ति सम्झौताले नेपालको संविधानसभामार्फत सङ्घीयता, समावेशी संरचना र प्रगतिशील शासन प्रणालीको मार्गप्रशस्त गरेको छ”, उनले भने ।

जलवायु परिवर्तन र साइबर खतराहरूलाई वर्तमान विश्वका प्रमुख चुनौतीका रूपमा चित्रित गर्दै सभामुख घिमिरेले साइबर सुरक्षाका लागि बहुपक्षीय दृष्टिकोण र अन्तर्राष्ट्रिय सहकार्यको खाँचो औँल्याए ।

शान्ति भनेको केवल युद्धको अनुपस्थिति नभई न्याय, समानता र अवसरको उपस्थिति पनि हो भन्ने कुरामा सभामुखले जोड दिए । समाजका सबै तहलाई समेटेर शान्ति निर्माणका संरचना विकास गर्न नेपालले देखाएको उदाहरणलाई उनले विश्वसामु प्रस्तुत गरे ।

सभामुखले सहिष्णुता, शान्ति र मेलमिलाप प्रवर्द्धनका लागि नेपाल सरकार, संसद् र नागरिक समाजको प्रतिबद्धता पुनःदोहर्‍याउँदै सबै राष्ट्रहरूलाई सहकार्य र समझदारीबाट अघि बढ्न आह्वान गरे । “शान्ति उपहार होइनस यो एउटा लक्ष्य हो”, उनले भने, “शान्तिको प्रवर्द्धनका लागि सामूहिक एकता र सृजनशील प्रयास आवश्यक छ ।” 

उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएका छन् । राष्ट्रपतिले संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालनका लागि स्वीकृति प्रदान गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत बिहीबार मन्त्रिपरिषद्को निर्णय अनुसार सेना परिचालनका लागि स्वीकृति दिन सिफारिस गरेका थिए ।

उपनिर्वाचनलाई सुरक्षित, भयरहित, निष्पक्ष एवम् शान्तिपूर्ण रूपमा सम्पन्न सेना परिचालनका लागि मन्त्रिपरिषद्ले सिफारिस गरेको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ । यही मंसिर १६ गते स्थानीय तहका रिक्त स्थानमा उपनिर्वाचन हुँदैछ ।

चित्रलेखा यादव अस्ट्रेलियाको राजदूत नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अस्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवलाई नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा यादवलाई आइतबार नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।


नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा राष्ट्रपतिले राजदूत नियुक्त गर्ने व्यवस्था छ ।

कोप–२९ सम्झौता जलवायु सहयोग र वित्तका लागि नयाँ युगको सङ्केत

ब्रसेल्स । युरोपेली सङ्घ (इयू) आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयेनले बाकुमा भएको कोप–२९ सम्झौतालाई ‘जलवायु सहयोग र वित्तका लागि नयाँ युग’को रुपमा चित्रण गरेको बताएकी छन् ।

उनले अजरबैजानको राजधानीमा भएको वार्तापछि ३०० अर्ब अमेरिकी डलरको सम्झौताले जिवाष्म इन्धनबाट हरित उर्जातर्फको सङ्क्रमणका लागि लगानी बढाउने, कार्बन उत्सर्जन घटाउने र जलवायु परिवर्तनको प्रभावलाई न्युनिकरण गर्नेतर्फ लचकता निर्माण गर्ने बताइन् ।

“ईयूले नेतृत्व जारी राख्नेछ, सबैभन्दा कमजोरका लागि सहयोग केन्द्रित गर्नेछ,” उनले भनिन् ।

यसैबीच, जलवायु परिवर्तनका कारण विश्वव्यापी तापमान वृद्धि भएको भन्दै कोप–२८ बाट जीवाष्म इन्धनबाट हरित उर्जातर्फको सङ्क्रमणको विकल्प खोज्ने सहमतिको बुँदा गायब भएको भन्दै जलवायुविद्हरूले चिन्ता व्यक्त गरेका छन् ।

दुबईमा कोप २८ को मुख्य उपलब्धि जीवाश्म ईन्धनबाट ‘विकल्प खोज्ने’ प्रतिवद्धता बाकुमा भएको अन्तिम सम्झौताबाट गायब भएकोमा जलवायु अधियानरकर्मीहरूले चिन्ता व्यक्त गरेका हुन् ।

ऐतिहासिक सम्झौताको कार्यान्वयनलाई सुदृढ पार्ने भनिएको पाठ अन्ततः कोप २९ को अन्त्यमा पारित गरिएको थिएन । लामो बहसपछि यसलाई पहिले नै सम्झौताको सारबाट धेरै हदसम्म खाली गरिसकिएको थियो।

अन्तिम दस्तावेजमा बाँकी रहेका सबै कुरा गत वर्ष अपनाइएका सम्झौताको अस्तित्वको अन्तर्निहित सन्दर्भ थियो।

एक जना युरोपेली वार्ताकारका अनुसार यसले उत्पादक देशहरूसितको ‘शैतानको मोलतोल’ लाई झल्काउँछ।

साउदी अरबले विरोध गरेको युरोपेली सङ्घको एउटा प्राथमिकता तेल, ग्यास र कोइलाबाट टाढा जाने प्रयासहरूको वार्षिक अनुगमनमा सहमत हुनु थियो। त्यो अन्तिम सम्झौतामा पुग्न सकेन ।

सुनिता र लक्ष्मणको ‘बिहे गरियो’

काठमाडौं । गायिका सुनिता बुढाक्षेत्री र इन्जिनियर लक्ष्मण न्यौपानेले नयाँ गीत ‘बिहे गरियो’ ल्याएका छन् । पञ्चेबाजा गीतलाई सुनिता बुढा क्षेत्री युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

लक्ष्मण न्यौपानले लेखेको गीतमा नन्दु परियारले संगीत भरेकी छिन् । गीतमा लक्ष्मण र सुनिताकै स्वर सुन्न सकिन्छ। गीतमा विनोद बाजुरालीको म्युजिक एरेन्ज रहेको छ । गीतको भिडियोमा श्रीमान श्रीमती सुनिता र लक्ष्मण फिचर्ड छन् ।

अस्ट्रेलिया सरकारले दुष्प्रचार र गलत सूचनासम्बन्धी प्रस्तावित विधेयक अघि नबढाउने

क्यानबेरा । अष्ट्रेलियाको सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई आफ्नो प्लेटफर्ममा दुष्प्रचार र गलत सूचनालाई नियमन गर्न बाध्य पार्ने प्रस्तावित कानूनहरू औपचारिक रूपमा खारेज गरेको छ ।

सञ्चारमन्त्री मिचेल रोल्याण्डले सिनेटमा भएको विरोधका कारण सरकारले गलत सूचना सम्बन्धी विधेयक अघि नबढाउने घोषणा गरेका हुन् ।

यदि यो कानून पारित भएको भए, यसले अष्ट्रेलियाली सूचना तथा मिडिया प्राधिकरण (एसीएमए) लाई सामाजिक सञ्जाल कम्पनीहरूलाई जरिवाना गर्ने अधिकार दिने थियो । यो कदमले सामाजिक सञ्जालमा दुष्प्रचार र गलत सूचनाको निगरानी र नियमन गर्न सहजता प्रदान गर्ने विश्वास सरकारले गरेको थियो ।

विपक्षी गठबन्धन, ग्रीन्स र धेरै स्वतन्त्र सिनेटरहरूले विधेयकलाई अस्वीकार गरेपछि सत्तारूढ लेबर पार्टीलाई विधेयकको पक्षमा आवश्यक बहुमत प्राप्त गर्न कठिन देखिएपछि प्रस्तावलाई अघि नबढाइएको हो ।

रोल्याण्डले सन् २०२४ को अन्तिम संसदीय बैठकको एक हप्ताअघि यो घोषणा गरेका हुन् ।

सरकारले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने विश्वकै पहिलो योजनाका लागि कानुनलाई द्रूत गतिमा अघि बढाएको थियो भने संसदले आगामी बुधबार वा बिहीबार विधेयक पारित गर्ने अपेक्षा गरिएको थियो ।

पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा चलेको साम्प्रदायिक भिडन्तमा कम्तीमा ८२ जनाको मृत्यु

पेशावर । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा तीन दिनदेखि चलेको साम्प्रदायिक भिडन्तमा कम्तीमा ८२ जनाको मृत्यु हुनुका साथै १५६ जना घाइते भएका छन् ।

पाकिस्तान सुन्नी बहुल देश हो तर अफगानिस्तानको सीमा नजिकै रहेको खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा शिया समुदायको बाहुल्यता छ र यो समुदाय दशकौँदेखि शुन्नी बहुसङ्ख्यक पाकिस्तानीको निशाना हुने गरेको छ ।

गत हप्ता प्रहरीको सुरक्षामा यात्रा गरिरहेका शिया मुसलमानका दुई छुट्टाछुट्टै समूहमाथि गत बिहीबार आक्रमण हुँदा कम्तीमा ४३ जनाको मृत्यु हुनुका साथै दुई दिनसम्म सशस्त्र झडप भएको थियो ।

“नोभेम्बर २१, २२ र २३ मा भएको झडप र प्रहरीका गाडीलाई लक्षित गरी गरिएका आक्रमणमा परी ८२ जनाको मृत्यु भएको छ भने १५६ जना घाइते भएका छन्,’ स्थानीय प्रशासनका एक अधिकारीले नाम नबताउने शर्तमा भने ।

“मृत्यु हुनेमा १६ जना सुन्नी र ६६ जना शिया समुदायका व्यक्ति रहेका छन्,” उनले भने।

शनिबार रातिसम्म हतियारसहित गोली हानाहान जारी रहेपछि करिब ३०० परिवार घर छोडी भागेका थिए ।

स्थानीय प्रशासनका एक अधिकारीले भने, “कुर्रममा मोबाइल नेटवर्क बन्द गरिएको छ र मुख्य राजमार्गमा यातायात अवरुद्ध छ।”

सन् २०१८ मा खैबर पख्तुनख्वामा गाभिएसम्म अर्धस्वायत्त संघीय प्रशासित जनजातीय क्षेत्रको हिस्सा रहेको कुर्रममा प्रहरीले नियमित रूपमा हिंसा रोक्न संघर्ष गर्दै आएको छ ।

प्रान्तीय सरकारको एक प्रतिनिधिमण्डलले शनिबार शिया समुदायसँग वार्ता गरेको थियो र आइतबारपछि सुन्नी समुदायलाई भेट्ने कार्यक्रम रहेको छ।

प्रान्तीय राजधानी पेशावरका एक सुरक्षा अधिकारीले एएफपीलाई बताएअनुसार वार्ताकारको हेलिकप्टर त्यस क्षेत्रमा आइपुग्दा आक्रमण भएको थियो।

प्रान्तीय कानून मन्त्री आफताब आलम अफ्रिदीले भने, “आज हाम्रो प्राथमिकता दुवै पक्षबीच युद्धविरामको मध्यस्थता गर्नु हो । एक पटक यो हासिल भएपछि, हामी अन्तर्निहित मुद्दाहरू सम्बोधन गर्न सुरु गर्न सक्दछौं ।”

गत महिना कुर्रममा भएको साम्प्रदायिक झडपमा तीन महिला र दुई बालबालिकासहित कम्तीमा १६ जनाको मृत्यु भएको थियो ।

यसअघि जुलाई र सेप्टेम्बरमा भएको झडपमा दर्जनौं मानिसको मृत्यु भएको थियो र युद्धविरामको आह्वान गरिएको जिरगा वा आदिवासी परिषद्पछि मात्र टुङ्गिएको थियो ।

पाकिस्तानको मानव अधिकार आयोगका अनुसार जुलाईदेखि अक्टोबरसम्म साम्प्रदायिक झडपमा परी ७९ जनाको मृत्यु भएको छ ।

यसैबीच, पाकिस्तानको दोस्रो ठूलो शहर लाहोर र देशको व्यापारिक केन्द्र कराँचीमा शुक्रबार सयौं मानिसले हिंसाको विरोधमा प्रदर्शन गरेका छन् ।

चिकित्सा शिक्षा आयोगको बैठकः पिजीको सुविधासम्बन्धी विवाद मिलाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल कलेजमा आवासीय चिकित्सक–स्नातकोत्तर तह (पिजी) को सुविधासम्बन्धी विवाद आपसी छलफलबाट मिलाउन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको चिकित्सा शिक्षा आयोगको १५औँ बैठकमा आयोगका अध्यक्ष प्रधानमन्त्री ओलीले निजी र सरकारी दुवै क्षेत्रका सरोकारवाला पक्षलाई सामेल गरेर समाधान खोज्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल र आयोगका उपाध्यक्ष प्रा डा अञ्जनीकुमार झालगायतलाई विवाद मिलाउन निर्देशन दिएका हुन् ।

निजी कलेजका आवासीय चिकित्सकलाई पनि आठौँ तहको सरकारी सरह मासिक ४८ हजार रुपैयाँ सुविधा कायमका लागि सहजीकरण गरिदिन भनी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पत्रका आधारमा यही मङ्सिर ११ गतेभित्र स्वमूल्याङ्कन फाराम भर्न आयोगले सूचना प्रकाशन गरेको थियो ।

प्रधानमन्त्री ओलीले हाल आवासीय चिकित्सकलाई जति सुविधा दिन सकिन्छ त्यति उल्लेख गरेर आयोगमा स्वमूल्याङ्कन फाराम आग्रह गर्दै समझदारीका साथ निचोडमा पुग्दा निजी मेडिकल कलेजको घाटा नाफाको पनि अध्ययन गर्न आग्रह गरे । 

बैठकमा एशोसिएसन अफ मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष डा ज्ञानेन्द्रमानसिंह कार्कीले पिजीका विद्यार्थीलाई सरकारी मेडिकल अधिकृतको तलबसरह निर्वाह भत्ता उपलब्ध गराउन भनेर आयोगले एकपक्षीय निर्णय गर्न नसक्ने भन्दै निकास दिन प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई आग्रह गरेका थिए ।

आयोगको जारी बैठकमा गत आर्थिक वर्षको प्रगति विवरण, चालुु आर्थिक वर्षको बजेट र कार्यक्रममा नीतिगत संशोधन, प्राविधिक तथा व्यावसायिक शिक्षातर्फको आशयपत्र र सम्बन्धन, स्वामित्व हस्तान्तरण, छात्रवृत्तिलगायत कार्यसूची रहेका छन् ।  

दोहोरो अंकले घट्यो नेप्से

काठमाडौँ ।  यो साता कारोबारको पहिलो दिन  आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १३ दशमलव शून्य तीन अङ्कले घटेर दुई हजार छ सय ६७ दशमलव ४० को बिन्दुमा कायम भएको हो ।

आइतबार  तीन सय २२ कम्पनीको एक करोड ५२ लाख ७० हजार एक सय ९७ कित्ता शेयर ७६ हजार चार सय १८ पटक खरिदबिक्री हुँदा रु सात अर्ब ७२ करोड ८८ लाख ६१ हजार दुई सय ५० को कारोबार भएको छ ।

लगानी समूह शून्य दशमलव शून्य आठ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ६८ प्रतिशतले बढेका छन् भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी विकास बैंक समूह एक दशमलव ६३ प्रतिशतले घटेको छ ।

बैंकिङ शून्य दशमलव ५४, वित्त शून्य दशमलव ३७, होटल तथा पर्यटन शून्य दशमलव ४९ र जलविद्युत् समूह शून्य दशमलव ४१ प्रतिशतले घटेको छ । त्यसैगरी जीवन बिमा शून्य दशमलव ५५, लघुवित्त शून्य दशमलव ९४, म्युचुअल फण्ड शून्य दशमलव १२, निर्जीवन बिमा शून्य दशमलव १७, व्यापार शून्य दशमलव शून्य सात र अन्य समूह शून्य दशमलव ७१ प्रतिशतले घटेका छन् ।

थ्रीस्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आज सबैभन्दा बढी नौ दशमलव ९१ प्रतिशतले बढेको छ । सबैभन्दा बढी घट्नेमा भने सेन्चुरी डिभेञ्चर २०८८ सात दशमलव ७५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी रु ६० करोड ८७ लाख ३६ हजार एक सय ५२ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा ङादी पावर लिमिटेडको सात लाख २० हजार आठ सय १३ कित्ता शेयर किनबेच भएको छ ।

रविलाई थप १५ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अदालतको अनुमति

पोखरा । अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । आइतबार जिल्ला अदालत कास्कीले लामिछानेलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

यसअघि कार्तिक २५ मा उनलाई १३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो । शुक्रवार म्याद सकिए पनि शनिबार सार्वजनिक बिदा भएकाले आइतबार रविलाई अदालतमा उपस्थित गराइएको थियो।

उनीविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ । उनी कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।

मृत्युपश्चात अंग दान गर्नेका दाताका परिवारलाई सरकारले दुई लाख सहयोग गर्ने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मृत्युपश्चात मानव अंग दान गर्न चाहने दाताका परिवारलाई २ लाख सहयोग गर्ने निर्णय गरेका छन् ।

भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमार्फत एक लाख रुपैयाँ दिने गरिएकामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दाताका परिवारलाई १ लाख थप गर्ने निर्णय मन्त्री पौडेलले गरेका हुन् । यसअघि मानवअंग दान गर्न चाहने त्यस्ता परिवारलाई १ लाख रुपैयाँ दिने गरिएको थियो ।

मन्त्री पौडेलको निर्णय कार्यान्वयनमा अर्थ मन्त्रालयले आन्तरिक श्रोतबाट व्यवस्थापन गर्ने गरी सहमति दिएको छ । मन्त्रालयको आन्तरिक श्रोतबाटै आवश्यक रकम व्यवस्थापन गर्ने गरी निर्णय गरिएको मन्त्री पौडेलले बताए ।

अंग दानमा सघाउने अस्पताललाई यसअघि दिने गरिएको ५० हजार रुपैयाँमा मन्त्रालयले २५ हजार रुपैयाँ थप गरेर ७५ हजार रुपैयाँ पुर्याएको छ । मन्त्री पौडेल स्वयंलेसमेत यसअघि नै अंगदान गर्ने घोषणा गरिसकेका छन् ।

एमालेद्वारा महानगरको जरिवानाको पत्र बुझ्न अस्वीकार

काठमाडौं । काठमाडौं महानगरपालिकाको जरिवानाको पत्र बुझ्न नेकपा एमालेले अस्वीकार गरेको छ । आइतबार जरिवानापत्र बुझाउन च्यासलस्थित एमालेको पार्टी कार्यालय पुगेको महानगरको टोलीलाई आफूहरू आयोजक नभएको भन्दै एमालेले पत्र बुझ्न अस्वीकार गरेको हो ।

गत शुक्रबार दरबारमार्गमा जागरणसभामा सडक तथा पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरले एमालेलाई एक लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको थियो ।

उक्त पत्र लिएर पुगेको टोलीलाई एमालेले पत्र नबुझि फिर्ता पठाएको छ । महानगरपालिकाले फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एमालेलाई जरिवाना गरेको थियो । त्यसअघि महानगरले गत चैतमा राप्रपालाई पाँच हजार जरिवाना गरेको थियो ।