`

उपत्यकाको फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल

काठमाडौँ । सहरी विकास मन्त्रालयले काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सरोकार भएकासँग छलफल गरेको छ । मन्त्रालयमा आइतबार भएको ‘बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइट सञ्चालनमा सहजरीकरण, समन्वय र अनुगमन गर्न गठित उच्चस्तरीय समिति’को बैठकले उपत्यकाको फोहर व्यवस्थापनमा देखिएका समस्या समाधानका गर्न विभिन्न निर्णय गरेको छ ।

बैठकमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा देखिएका चुनौती र समस्या सबैको सरोकारको विषय भएकाले समाधानका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताए ।

विसं २०७८ फागुन २६ गतेको मन्त्रिपरिषद्को बैठकले उक्त समिति गठन गरेको थियो । उपप्रधानमन्त्री सिंहले भने, “फोहर व्यवस्थापनमा सबैले आवश्यक मापदण्ड पालना गर्नुपर्छ । फोहर वर्गीकरण, पुनःप्रयोगलगायत विषयमा सबैले ध्यान दिन जरुरी छ । यसमा मन्त्रालयबाट आवश्यक सहयोग र समन्वय रहन्छ ।”

उपप्रधानमन्त्री सिंहले ल्याण्डफिल साइटका स्थानीयले राखेका माग सम्बोधन गर्न विकल्पका बारेमा छलफल गरी अघि बढ्न सकिने उल्लेख गरे । यसमा देखिएका समस्या समाधान गर्न तीनै तहका सरकार मिलेर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

आज भएको छलफलबारे जानकारी दिँदै मन्त्रालयका सचिव मणिराम गेलालले उपत्यकाको फोहर व्यवस्थापनको नेतृत्व काठमाडौँ महानगरपालिकाले लिने जनाउँदै स्थानीयको जायज माग व्यवस्थापनका लागि विभिन्न सुझाव आएका बताए । फोहर ओसार्न वैकल्पिक बाटो निर्माण, ल्याण्डफिल साइटको जग्गा अधिग्रहणका बारेमा स्पष्टता, कुहिने फोहर उपत्यकामा विसर्जन गरी मल बनाउनेलगायत विषयमा आज निर्णय भएको उनले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठ, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका भरतमणि सुवेदी, ललितपुर महानगरपालिका प्रमुख एवं उपत्यका मेयरर्स फोरमका अध्यक्ष चिरीबाबु महर्जन, विभिन्न नगरपालिकाका प्रमुख तथा प्रशासकीय अधिकृतलगायत उपस्थित थिए । 

मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने सहरबीच भगिनी सम्बन्ध

काठमाडौं । मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका र जापानको खागोसीमा प्रान्तस्थित मिनामिताने सहरबीच भगिनी सम्बन्ध स्थापना गरिएको छ ।

शनिबार जापानको खागोसीमा प्रान्तको तानेसीगामा आयोजित एक कार्यक्रममा मिनामिताने टाउनका प्रमुख हिरोयासु कोजोनो र मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बविकुमार राईको उपस्थितिमा सो सम्बन्ध सुरुआतको घोषणा गरिएको हो ।

जापानका पूर्वव्यवसायी एवं नेपाली कांग्रेसका नेता चिरञ्जीवी थापाको समन्वयमा यी दुई पालिकाबीच भगिनी सम्बन्ध कायम भएको हो ।

उक्त सम्बन्ध स्थापना गर्न शनिबार आयोजित कार्यक्रममा जापानका तर्फबाट खागोसीमा प्रान्तका गभर्नर कोइची सिओता, सभामुख सुन्लो सिओगामा र जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जाक्सा) का कार्यकारी निर्देशक मासासी ओकादा तथा नेपालबाट नेता थापाका साथै सांसद डा सुनिल शर्मा, व्यवसायी जीवन खड्का एवं जापानस्थित नेपाली राजदूतावासका प्रतिनिधि उपस्थिति रहेको सो दूतावासले जनाएको छ ।

भगिनी सम्बन्ध कायम गरिएको सो टाउन तानेसीगामा नगरमा पर्दछ । एरोस्पेस टाउनका रुपमा परिचित सो नगर जाक्साले अन्तरिक्षमा रकेट पठाउने ठाउँ हो ।

सो कार्यक्रममा नेपाली कांग्रेसका सांसद डा. शर्माले दुई पालिकाबीचको सम्बन्ध उदाहरणीय र ऐतिहासिक रहेको बताए । उनले भने, ‘खाना र आधारभूत शिक्षाका लागि सङ्घर्ष गरिरहेको नेपालको एक गाउँ र अन्तरिक्षमा रकेट पठाई मानवबस्ती बसाल्ने परिकल्पना गरिरहेको अर्काे सहरबीचको यो सम्बन्ध अत्यन्तै उदाहरणीय र सुमधुर बन्नेछ ।’

नेपाल र जापानबीचको सम्बन्ध सरकारका बीचको मात्र नभएर जनता जनताबीचमा पनि उत्तिकै पुरानो र सुमधुर रहेको डा शर्माले बताए ।मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बविकुमार राईले दुई पालिकाबीच कायम भएको भगिनी सम्बन्धले मिक्लाजुङको शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधारका क्षेत्रमा नयाँ आयाम थपिने विश्वास व्यक्त गरे ।

त्यसैगरी मिनामितानेका टाउनका प्रमुख हिरोयासु कोजोनोले नेपालबाट जापानसम्म आई दुई पालिकाबीच सम्बन्ध जोड्ने अवसर प्रदान गरेकामा धेरै खुसी लागेको बताए ।

नारायणी अस्पतालमा ‘मेमोग्राम’ जडान अन्तिम चरणमा

वीरगंज ।  नारायणी अस्पताल वीरगन्जमा स्तन क्यान्सरको पहिचान र परीक्षणका लागि ‘मेमोग्राम’ उपकरण जडान प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

अस्पतालका अनुसार एक साताभित्र मेमोग्राम उपकरण जडान सकेर नियमित सञ्चालन गरिने जनाएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. चुमनलाल दासले एक साताभित्र मेमोग्राम जडान गरिसक्ने लक्ष्य राखेर कामलाई तीव्रता दिइएको जानकारी दिए ।

‘स्तन क्यान्सरको पहिचान र परीक्षणका लागि आवश्यक पर्ने मेमोग्राम मशिन अस्पतालमा आएसँगै बायो मेडिकल इञ्जिनियरले मेसिन राख्न आवश्यक कोठाको तयारी भइरहेको छ । एक साताभित्र जडान गरिसक्ने लक्ष्य राखेका छौं,’ उनले भने ।​​

मेसु दासले मेमोग्राम जडान भएसँगै यहाँका बिरामीलाई सेवा प्राप्त गर्न सहज हुने बताए । ‘सेवा शुरू भएपछि स्तन क्यान्सर पहिचान र परीक्षणका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता अन्त्य हुनेछ,’ उनले भने ।

सङ्घीय सरकार मातहतको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट उक्त उपकरण यहाँ ल्याइएको हो ।

कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनित

काठमाडौं । नेपाली कांग्रेसको कोषाध्यक्षमा केन्द्रीय सदस्य उमेश श्रेष्ठ मनोनित भएका छन् । आइतबार कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (४) बमोजिम केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्य श्रेष्ठलाई पार्टीको केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष पदमा मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

कोप–२९ मा जलवायु वित्त बढाउन सहमति, कार्बन उत्सर्जन कटौतीका लागि भाका सारियो

प्रगति ढकाल, काठमाडौँ । बाकुको अजरबैजानमा जारी रहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रारुपमहासन्धी (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको २९औँ शिखर सम्मेलन (कोप–२९) टुङ्गिएको छ । शुक्रबार नै कोप सकिने पूर्वतालिका रहे पनि सहमति जुट्न नसकेपछि दुई दिन लम्बिएर कोप सकिएको हो ।

कोप–२९ ले जलवायु वित्त, कार्बन बजार, अनुकूलन, र लैङ्गिक समानताको क्षेत्रमा नयाँ आयाम थप्दै विश्वव्यापी जलवायु कार्यलाई एकीकृत गर्न महत्त्वपूर्ण योगदान दिएको र अब थप परिणाममुखी निर्णय लिन विश्वभरिका देशहरूले तयारी गर्ने युएनएसिसिसीको सचिवालयले जनाएको छ ।

नेपालको तर्फबाट कोपको वार्ता प्रक्रियामा भाग लिनुभएका जलवायुविद् मञ्जित ढकालले कोप वार्ता प्रक्रियाको उपलब्धिमा जलवायु वित्तको नयाँ लक्ष्य (एनसिक्युजी) का बारेमा विकसित देशहरुले विकासोन्मुख देशहरुलाई वार्षिक तीन सय विलियन डलरसम्म उपलब्ध गराउने सहमति नै कोपको मुख्य सकारात्मक उपलब्धि भएको बताए ।

“विकासोन्मुख राष्ट्रको माग वार्षिक १ दशमलव ३ ट्रिलियन डलर भएको छ । साथै, जलवायु वित्तमा सहज पहुँच हुनुपर्ने मागमा सामान्य प्रगति भएको छ”, उनले भने, “हानिनोक्सानीलाई जलवायु वित्तको नयाँ लक्ष्यका समावेश गराउनेबारे पनि सामान्य प्रगति भएको छ ।”

कार्बन उत्सर्जन घटाउनुपर्ने एजेण्डामा भने धनी मुलुक सकारात्मक नदेखिएको उनको भनाइ छ । “यसपटक कार्बन उत्सर्जन घटाएर पृथ्वीको तापमानलाई १ दशमलव ५ डिग्रीमा सन्तुलन ल्याउने विषयको छलफलमा धेरै प्रगति हुन सकेन । यसमा विशेषगरी पेट्रोलियम उत्पादन र बिक्रीमा आस्रित देशको भूमिका असहयोगी रह्यो ।”

ढकालका अनुसार हाम्रो जस्तो देशका लागि जहाँ जलवायुजन्य असर बढ्दो क्रममा रहेको र पृथ्वीको तापमान सन्तुलित बनाउन अत्यन्त जरुरी छ । यसका लागि धेरै कार्बन उत्सर्जन गर्ने देशहरु जिम्मेवार हुन जरुरी रहेको भन्दै ढकालले छलफल अर्को वर्ष जुन महिनामा फेरि छलफल हुनेगरी टुङ्गिएको जानकारी दिए ।

“कार्बन व्यापारसम्बन्धी छलफलमा धेरै वर्षपछि सहमति भएको छ । बजारमा आधारित कार्बन व्यापार र द्विपक्षीय सहमतिमा गरिने व्यापारलाई अघि बढाउने बाटो खुलेको छ”, ढकालले भने, “समग्रमा केही विषयमा प्रगति भए पनि बाँकी विषयको छलफललाई निरन्तरता दिने सहमति गर्दै, बाकु जलवायु सम्मेलन सम्पन्न भएको छ ।”

एनसिक्यूजीमा भएको सहमतिको प्रभावकारी कार्यान्वयन भएमा नेपालजस्ता मुलुकहरुले राखेका जलवायुका योजना कार्यान्वयनका लागि आवश्यकपर्ने वित्त सहयोग व्यवस्थापनमा केही सहज बाकुमै रहेका वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन महाशाखाका प्रमुख डा सिन्धुप्रसाद ढुङ्गानाको भनाइ छ ।

“जलवायु वित्तमा प्रगति भए पनि कार्बन उत्सर्जन कटौतीमा उत्सर्जक मुलुक तयार भएनन्, यसले तापमान वृद्धि सीमित राख्ने लक्ष्य पूरा हँुदैन कि भन्ने आशङ्का छ, तर निरन्तर पैरवी जारी राख्ने छौँ”, उनले भने, “तापमान वृद्धिले विशेषगरी नेपालको पर्वतीय क्षेत्रमा बढी असर गर्छ, हिउँ पग्लिने, हिमताल बिस्फोट हुने र हिमपहिरो गएर त्यहाँका बासिन्दालाई सुरक्षामा चुनौती हुनसक्छ, तसर्थ नेपालले पनि उत्सर्जन कटौती गर्नुपर्ने मुद्दामा प्राथमिकता दिएकोे हो ।”

‘महत्वाकाङ्क्षी परिणामको अपेक्षा थियो’

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कोप–२९ मा जलवायु वित्त सहयोग र पृथ्वीको तापमान वृद्धि १ दशमलव ५ डिग्री सीमित राख्न कार्बन उत्सर्जन न्यूनीकरणमा महत्वाकाङ्क्षी परिणामको अपेक्षा गरिएको बताए । उनले कोपको समापन गर्दै तापमान वृद्धिले जलवायुको सङ्कट निम्त्याइरहेको उल्लेख गरे ।

“यस पटकको प्राथमिकता नम्बर एक भनेकै वित्तीय सहयोग थियो, ऋणले थिचिएका, प्रकोपबाट प्रभावित र नवीकरणीय ऊर्जाको क्रान्तिमा पछाडि परेका विकासशील सहयोग जुटाउनु थियो”, उनले भने, “महत्वाकाङ्क्षाअनुसार कोपको परिणाम देखिएन तर कोपमा भएको यो सहमति एउटा आधार हो, यद्यपि यस सहमतिले थप निर्माण दिन सहयोग गर्ने विश्वास छ ।”

कोप–२९ ले उत्सर्जन कटौती र ऊर्जा रूपान्तरणलाई गति गत वर्ष भएका प्रगतिहरूलाई अगाडि बढाएको र कार्बन बजारमा सहमति पनि ल्याएको गुटेरेशको टिप्पणी छ । महासचिव गुटेरेसले भने, “म यसलाई सहमतिको आधारमा हेर्न र यसलाई थप अगाडि बढाउन आह्वान गर्दछु ।”

‘यात्रा कठिन थियो, तर हामीले एउटा सम्झौता हासिल गर्यौँ’

संयुक्त राष्ट्र जलवायु परिवर्तनका कार्यकारी सचिव साइमन स्टिलले जलवायुको न्याय सम्बोधन गर्दै सङ्कटका समाधान खोजिने एउटा कठिन यात्रा भएको बताए । उनले भने, “ कोप–२९ बाट प्राप्त उपलब्धिले जलवायु सङ्कटको सामना गर्न सहयोग गर्छ । तर कुनै पनि उपलब्धि तब मात्र प्रभावकारी हुन्छ जब यसको कार्यान्वन गरिन्छ । वाचा पूरा गरिनुपर्छ, जसले अर्बौं मानिसको जीवन रक्षा गर्न सकुन् ।”

प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीद्वारा पदबाट राजीनामा

काठमाडौँ । प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले पदबाट राजीनामा दिएका छन् । गत असारमा प्रतिनिधिसभाको सचिव बनेका अधिकारीले स्वस्थ्यको कारण देखाउँदै राजीनामा दिएका हुन् ।

उनले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा बुझाएका छन् । सभामुख देवराज घिमिरेको सिफारिसमा अधिकारी प्रतिनिधि सभाको सचिवमा नियुक्त भएका थिए ।

अध्यक्ष प्रचण्डद्वारा पूर्वराज्यमन्त्री राईप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौँ । नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  पार्टीका केन्द्रीय सदस्य पदमबहादुर राईको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

आइतबार पार्टी कार्यालय पेरिसडाँडास्थित केन्द्रीय कार्यालय परिसरमा राखिएको केन्द्रीय सदस्य राईको पार्थिव शरीरमा उनले झण्डा ओढाएर सम्मान व्यक्त गरेका हुन् ।

त्यस अवसमा उपाध्यक्षहरू अग्निप्रसाद सापकोटा र पम्फा भुसाल, पूर्वसभामुख ओनसरी घर्ती, पूर्वमन्त्री, सांसद, पार्टी नेता तथा कार्यकर्ताले उनीप्रति श्रद्धाञ्जली व्यक्त गरे ।

भोजपुरको षडानन्द नगरपािलका बोयामा लालबहादुुर राई र दौलती राईको कोखबाट  २०२३  पुस १५ गते जन्मिएका राईको मङ्सिर ८ गते बेलुका ५८ वर्षको उमेरमा पार्किन्सनको उपचारका क्रममा वीर अस्पताल निधन भएको थियो ।

विसं २०४६ बाट अनेरास्ववियु छैटौँबाट राजनीतिमा प्रवेश गरेका राई २०४७ सालमा स्थानीय इकाइ सदस्य हुँदै सुनसरी र मोरङ जिल्ला सदस्य, भोजपुर जिल्ला सचिव, भोजपुर–तेह्रथुम–सङ्खुवासभा इञ्चार्ज, जनमुक्ति सेनाको ब्रिगेड कमिसार तथा पार्टी केन्द्रीय सदस्य हुँदै पोलिटब्युरो सदस्यसम्मको जिम्मेवारी सम्हालेका थिए ।

विसं २०६३ मा अन्तरिम व्यवस्थापिका संसद सदस्य एवं भौतिक योजना राज्यमन्त्रीसमेत भएका उनी विसं २०६४ को संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नं १ बाट निर्वाचित भएका थिए । उनको निधनप्रति नेकपा (माओवादी केन्द्र)ले श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेको गरेको छ ।

पार्टी अध्यक्ष दाहालद्वारा जारी शोक वक्तव्यमा केन्द्रीय सदस्य राईको निधनले कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति पुगेको जनाउँदै आमपार्टी पङ्क्ति र जनसमुदायमा शोकलाई शक्तिमा बदल्न आह्वान गरेका छन् । उनको आजै पशुपतिस्थित विद्युतीय शवदाह गृहमा दाहसस्कार गरिने पार्टीले जनाएको छ । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।

जोर्डनस्थित इजरायली दूतावास नजिकै गोली चल्दा एक जनाको मृत्यु

जोर्डन । जोर्डनको राजधानी अम्मानमा इजरायली दूतावास रहेको क्षेत्रमा आइतबार बिहान गोली चल्दा एक जनाको मृत्यु हुनुका साथै सुरक्षा सेवाका तीन सदस्य घाइते भएका छन् ।

सार्वजनिक सुरक्षा निर्देशनालयले राजधानी अम्मानको राबिह क्षेत्रमा सञ्चालित गस्ती टोलीमाथि आइतबार बिहान गोली चलेको घटनालाई नियन्त्रणमा लिएको घोषणा गरेको सरकारी समाचार एजेन्सी पेट्राले जनाएको छ ।

एक बन्दुकधारीले गस्ती टोलीमाथि गोली चलाएको र पछि सुरक्षा बलले आक्रमणकारीलाई घेरा हालेको थियो । ती व्यक्तिले ‘सुरक्षा बलमाथि गोली चलाएपछि आक्रमणमा संलग्नलाई नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले चलामएको गोली लागि आक्रमणकारीको मृत्यु भएको पुष्टि भएको छ ।”

घटनामा परी तीन जना सुरक्षाकर्मी घाइते भएको र उनीहरुको उपचार भइरहेको जनाइएको छ ।

कोप–२९ सम्मेलनः धनी देशले प्रतिवर्ष कम्तीमा ३०० अर्ब अमेरिकी डलर तिर्ने सहमति

संयुक्त राष्ट्रसंघ । दुई साता लामो वार्तापछि अन्तिम सम्झौतामा विकसित राष्ट्रहरूले सन् २०३५ सम्ममा विकासोन्मुख देशहरूलाई आफ्नो अर्थतन्त्रलाई हरित बनाउन र अझ खराब विपत्तिको सामना गर्न सहयोग गर्न प्रतिवर्ष कम्तीमा ३०० अर्ब अमेरिकी डलर तिर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

यो रकम धनी देशहरूले समयावधि समाप्त हुने प्रतिबद्धताअन्तर्गत उपलब्ध गराएको १०० अर्ब अमेरिकी डलर र शुक्रबारको मस्यौदामा प्रस्तावित २५० अर्ब अमेरिकी डलरभन्दा बढी हो ।

जलवायु वित्त निर्माणको ‘जग’ तयारः गुटेर्रेस

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले अजरबैजानमा आइतबार बिहान भएको जलवायु वित्त सम्झौता पर्याप्त नभएको भन्दै यसलाई जलवायु वित्तको ‘आधार’का रुपमा हेर्न आग्रह गरेका छन् ।

गुटेर्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामीले सामना गरिरहेको ठूलो चुनौतीको सामना गर्न वित्त र न्यूनीकरण दुवैमा मैले अझ महत्वाकाङ्क्षी परिणामको आशा गरेको थिएँ, यो सम्झौतालाई आधारको रूपमा हेर्दै जलवायु वित्तको आधार निर्माण गर्न म सरकारहरूलाई अपील गर्दछु।’ उनले भने, ‘यो सम्झौतालाई पूर्णरूपमा समयमै सम्मान गर्नुपर्छ ।’

महासचिव गुटेर्रेसले भने, ‘प्रतिबद्धताहरू चाँडै नगदमा परिणत हुनुपर्दछ। यो नयाँ लक्ष्यको शीर्ष–अन्त पूरा गर्न सुनिश्चित गर्न सबै देशहरू एक साथ आउनुपर्छ।’

उनले भने, ‘तापमान वृद्धिको १.५ डिग्रीको सीमालाई जीवित राख्नको लागि कोप २९ मा एक सम्झौता नितान्त आवश्यक थियो र देशहरूले यसको कार्यान्वयन गर्न सहमत भएका छन् ।’

कार्य योजनाहरूलाई जारी राख्नको लागि थप दबाब दिने अभियानकर्मीहरुलाई सन्देशको साथ समापन सम्बोधन गर्दै उनले भने,’जीबास्म इन्धनको युगको अन्त्य अपरिहार्य छ त्यसैले राष्ट्रहरूले ‘कोप ३० भन्दा धेरै अगाडि’ अर्थव्यवस्थामा आधारित न्यायपूर्ण नयाँ जलवायु कार्य योजनाहरू प्रदान गर्न आह्वान गर्नुभयो ।’

‘संयुक्त राष्ट्रसंघ तपाईंहरूको साथमा छ । हाम्रो लडाइँ जारी छ । हामी कहिल्यै हार मान्दैनौं,’ गुटेर्रेसले भने ।

सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट

काठमाडौँ । पाँच दिने कम्बोडिया भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले संसदीय भेटघाट सुरु गरेका छन् । सभामुख घिमिरेले शनिबार साँझ कम्बोडियन समकक्षी तल्लो सदन नेसनल एसेम्ब्लीका अध्यक्षसँग शिष्टाचार भेट गरेका सभामुख घिमिरेको सचिवालयले जनाएको छ ।

भेटमा द्विपक्षीय हित, नेपालको शान्ति प्रक्रियाको प्रगति, संसदीय आदानप्रदानलगायत विषयमा छलफल भएको छ । सभामुख घिमिरेले शनिबार नै कम्बोडियाको राष्ट्रियसभाका अध्यक्ष सम्देच मोहा रथसपिथिकाथिपादेई खुऔन सुदारीसँग भेट गरे । भेटमा सभामुखले सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद्को ११औँ पूर्ण सत्रको आयोजना गरी आमन्त्रण गरेकामा धन्यवाद दिएका थिए ।

सभामुख घिमिरेले भेटमा नेपालको शान्ति प्रक्रियासँगै समावेशी र प्रगतिशील संरचना निर्माण भएको बताएका थिए । “नेपालमा सन् २००६ मा भएको विस्तृत शान्ति सम्झौताले स्थायित्व ल्याउनुका साथै संविधानसभाबाट संघीयतासहितको समावेशी र प्रगतिशील संरचना बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको छ”, सभामुखले भने ।

नेपालको शान्ति प्रक्रियामा प्राप्त गरेको सफलता र संसद्बाट हालै सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन पारित गरेको भन्दै सभामुखलाई कम्बोडियन संसद्ले ‘गार्ड अफ अनर’ दिएको छ ।

सभामुखले प्रधानमन्त्री सम्देच हुनमानेटको गतिशील नेतृत्वमा कम्बोडियाले सामाजिक-आर्थिक विकास गरेकामा खुसी व्यक्त गरे । उनले भने, “विगत दशकमा कम्बोडिया अधिराज्यले हासिल गरेको आर्थिक समृद्धिप्रति नेपाल सरकार, नेपालको संसद् र नेपाली जनताले प्रशंसा गर्दछन् ।”

सभामुख घिमिरेले नेपाल र कम्बोडिया सरकारबीच भर्खरै सम्पन्न भएको हवाई सेवा सम्झौताले दुई देशका जनताबीचको सम्बन्ध र सम्पर्कलाई एकापसमा जोड्न सघाउ पुग्ने विश्वास व्यक्त गरे । सभामुख घिमिरेले आज बिहान प्रधानमन्त्री हुनमानेटसँग अनौपचारिक भेट गरेका छन् ।

पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कम्बोडियाको राजधानी नोम पेन्ह पुगेका सभामुखले आज सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद्को ११औँ पूर्ण सत्रमा सम्बोधन गर्ने कार्यक्रम छ । सभामुख आगामी मङ्सिर ११ गते मंगलबार स्वदेश फर्कने छन् ।

सिनामंगलको एक होटलमा युवायुवती मृत फेला

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित एक होटलमा युवायुवती मृत भेटिएका छन् । आइतबार बिहान सिनामंगलस्थित होटल जन्मभूमिमा सुनसरीका ३४ वर्षीय रमेश रायमाझी र मोरङकी २९ वर्षीय शर्मिला माझी मृत भेटिएका हुन् । उनीहरु श्रीमान श्रीमती रहेका प्रहरीले जनाएको छ ।

उनीहरु झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले दुई जना मृत फेला परेका र अनुसन्धानका लागि प्रहरी टोली घटनास्थल पुगेको जानकारी दिए । उनीहरु शनिबार क्यानडाबाट नेपाल आएको खुलेको छ ।

यू-१९ एसिया कप खेल्ने १५ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौं । एसिसी यु–१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले टोली घोषणा गरेको हो ।

मंसिर १४ देखि २३ गते सम्म युएईमा आयोजना हुने प्रतियोगिगामा १८ सदस्यीय टोलि घोषणा भएका हुन्।

प्रतियोगिगामा नेपालसमूह बी मा रहेको छ । नेपाल रहेको समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् भने समूह ए मा भारत, पाकिस्तान, जापान र युएई रहेका छन्। टोलीको कप्तानि हेमन्त धामीले गर्नेछन्।

नेपाली टोलीः
हेमन्त धामी(कप्तान), उपकप्तानमा अर्जुन कुमाल, मयन यादव,उत्तम थापा,आकाश त्रिपाठी,युनिस विक्रम सिंह ठकुरी,नरेन साउद,नरेन भट्ट,युवराज खत्री,अपराजित पौडेल,सन्तोष यादव, रोशन विक, विपिन महतो, अभिषेक तिवारी र रन्जित कुमार।

१७ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा सुनको मूल्य १७ सय रुपैयाँ बढेर एक लाख ६७ हजार दुईसय रुपैयाँ पुगेको छ ।

गत शुक्रबार सुनको मूल्य तोलाको एक लाख ६५ हजार पाँचसय रुपैयाँ थियो । आज चाँदीको मूल्य पनि बढेको छ। गत शुक्रबार तोलाको एक हजार नौसय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको १५ रुपैयाँ बढेर एक हजार नौ सय ६० रुपैयाँ पुगेको छ।

रविलाई लामिछानेलाई म्याद थपका लागि कास्की अदालतमा उपस्थित गराइयो

पोखरा । सहकारीको रकम अपचलनको अभियोगमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।

शुक्रवार म्याद सकिए पनि शनिबार सार्वजनिक बिदा भएकाले आज रविलाई अदालतमा उपस्थित गराइएको हो । उनीविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ । उनी कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।

टोटनह्यामसँग सिटी ४–० ले पराजित

काठमाडौँ । इङ्लिस प्रिमियर लिगअन्तर्गत टोटनह्यामले म्यानचेस्टर सिटीमाथि शानदार जित हासिल गरेको छ । शनिबार राति सिटीको घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले सिटीलाई ४–० गोल अन्तरले पराजित गरेको हो।

टोटनह्यामको जितमा जेम्स माडिसनले दुई गोल गरेका थिए भने पेड्रो पोर्रो र ब्रेनान जोन्सनले एक एक गोल गरे । पहिलो हाफमा २–० को अग्रता बनाएको टोटनह्यामले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो।

यो जितपछि टोटनह्यामले महत्वपूर्ण तीन अंक हासिल गर्दै लिमा छैटौं स्थानमा उक्लिएको छ। 

टोटनह्यामको १२ खेलमा १९ अंक भएको छ। सिटीको यो लगातार पाँचौं हार हो। १२ खेलमा २३ अंक रहेको म्यानचेस्टर सिटी दोस्रो स्थानमा रहेको छ । एक खेल कम खेलेको लिभरपुलभन्दा पाँच अंकले पछाडी रहेको म्यानचेस्टर सिटीको उपाधि दौडमा यस हारले ठूलो धक्का लागेको छ ।

रविलाई म्याद थपका लागि आज अदालतमा उपस्थित गराइँदै

पोखरा । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज म्याद थपका लागि अदालतमा पेश गरिँदैछ ।

थुनामा राख्न दिइएको पछिल्लो १३ दिनको म्याद शुक्रबार सकिएपछि आज प्रहरीले कास्की अदालतमा लामिछानेलाई म्याद थपका लागि पेस गर्न लागेको हो । म्याद थप भएपछि प्रहरीले थप अनुसन्धान अघि बढाउने छ । उनी कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।

चलचित्र भवनमा नेपाली चलचित्रको दबदबा

काठमाडौं । गत दसैँदेखि प्रदर्शनमा आएका नेपाली चलचित्रले दर्शकको राम्रो साथ पाएका छन् । बेलाबखतमा उल्लेख्य शो सङ्ख्या नपाएको भन्दै चलचित्रको प्रदर्शन रोकिएता पनि गत दसैँदेखि प्रदर्शनमा आएका नेपाली चलचित्रले उल्लेख्य शो पाएका छन् । अहिले चलचित्र भवनमा स्वदेशी चलचित्रकै दबदबा देखिएको छ ।

गत तिहारलाई लक्षित गर्दै कत्तिक १५ गतदेखि प्रदर्शनरत चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले कीर्तिमानी व्यापार गरिरहेको छ । निर्माण पक्षले दाबी गरेअनुसार यसले घरेलु बजारमा ४० करोड बढीको व्यापार (ग्रस कलेक्सन) गरिसकेको छ । विदेशमा पनि यसले व्यापारमा कीर्तिमान बनाइरहेको छ ।

यस्तै, गत कात्तिक ३० गतेदेखि प्रदर्शनरत चलचित्र ‘ह्रस्व दीर्घ’ ले पनि आफ्नो लगानी सुरक्षित गरेको निर्मात्री तथा अभिनेत्री नीता ढुङ्गानाले जानकारी दिइन । “नेपाल प्रदर्शन, विदेशी प्रदर्शन अधिकार, ओटिटी प्रदर्शन अधिकारबाट लगानी सुरक्षित गर्न सफल भएका छौँ । भारतको ओटिटी प्लेटफर्ममा महङ्गो मूल्यमा बिक्री गरेका छौँ । तेलुगु भाषामा हामी भारतका चलचित्र भवनमा नै प्रदर्शन गर्दैछौँ । यसकारणले हाम्रो लगानी सुरक्षित भएको घोषणा गरेका हौँ”, उहाँले भन्नुभयो । अभिनेत्री ढुङ्गानाले स्वदेशी बजारमा एक सातामा रू पाँच करोड ५४ लाखको व्यापार गरेको जानकारी दिइन् ।

यस्तै चलचित्र ‘तेल भिसा’ ले पनि सुरूआती समयमा राम्रो व्यापार गरिरहेको वितरक करण श्रेष्ठले जानकारी दिए। उनले भने, “तेलभिसा हेर्न परिवार नै चलचित्र भवनमा देखेका छौँ । शुक्रबार र शनिबार बिहानी शोमा देखिनुभएका दर्शक र उहाँले दिनुभएको प्रतिक्रियाले हाम्रो चलचित्रको प्रचार उहाँहरूले नै गर्दिनुहुन्छ भन्नेमा ढुक्क छौँ । धेरै दर्शकको आँखा रसाएको पाएँ, किनकि यसमा विदेशमा रहेका परिवारको कथालाई देखाइएको छ ।”

चलचित्रमा अभिनेता विपिन कार्की, ऋचा घिमिरे, पूजा चन्द, वर्षा राउत, बुद्धि तामाङ, सुचित्रा उप्रेतीसहित अमेरिकी कलाकारहरूले अभिनय गरेका थिए । शङ्कर घिमिरेले निर्देशन गरेका चलचित्रमा छोराको सन्तान हुने भएपछि नेपालबाट अमेरिका गएकी आमाले बेहोर्नुपरेको कानुनी झमेलाको कथा देखाइएको छ ।

अभिनेता रमेश उप्रेतीले पछिल्लो समय बनिरहेका चलचित्रले नेपाली विषय र कथालाई उठान गरेका कारण दर्शकको रोजाइमा परिरहेको बताए । उनले भने, “पछिल्लो समय मैले हेरेका नेपाली चलचित्र निकै राम्रो बनेका छन् । नेपाली माटो सुहाउँदो कथा र प्रस्तुतीकरण भएका कारण दर्शक चलचित्रको विषय र पात्रसँग जोडिएको हुन सक्छन् । यी चलचित्र हेर्दा दर्शक सन्तुष्ट भएकै कारण एकपछि अर्को नेपाली चलचित्रले राम्रो व्यापार समेत गरिरहेको छ ।”

आज नेपाली चलचित्र हेर्न दर्शकको उपस्थिति विदेशी चलचित्रको तुलनामा बढी देखिएको छ । दसैँ अगाडि पर्याप्त शो नपाएको कारण देखाउँदै चलचित्र ‘बेहुली फ्रम मेघौली’ को निर्माण समूहले प्रदर्शन स्थगित गरेका थिए । तर अहिले चलचित्र भवनमा नेपाली चलचित्रकै दबदबा देखिएको छ । व्यापारमा पनि विदेशीभन्दा नेपाली चलचित्र निकै अगाडि देखिएका छन् ।

पूर्वमन्त्री पदम राईको निधन

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वराज्यमन्त्री पदम राईको निधन भएको छ । केही वर्षदेखि पार्किन्सन रोगले थला परेका राईको शनिबार निधन भएको हो ।

माओवादी विभाजित हुँदा उनी नेत्रविक्रम चन्दको नेकपामा लागेका थिए । शान्ति प्रक्रियापछि राई आवास तथा भौतिक योजना राज्यमन्त्री पनि भएका थिए । उनी २०६४ को संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नम्बर १ बाट सभासद बनेका थिए ।

एनसिक्युजीको मस्यौदामै एलडिसीको असन्तुष्टि

प्रगति ढकाल, काठमाडौं । नेपाललगायत अति कम विकसित मुलुकहरूको समूह (एलडिसी) ले नयाँ सामूहिक परिमाणात्मक लक्ष्य (एनसिक्यूजी) मा सार्वजनिक गरिएको जलवायु वित्तसम्बन्धी मस्यौदाप्रति असन्तुष्टि जनाएको छ ।

बाकुको अजरबैजानमा जारी रहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रारूप महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरूको २९औँ शिखर सम्मेलन (कोप–२९) मा सार्वजनिक गरिएको मस्यौदाले स्पष्ट रूपमा जलवायु वित्तको आकार बढाउनेलगायत विषयमा नखुलाइएको भन्दै असन्तुष्ट जनाइएको हो ।

पूर्वनिर्धारित तालिकाअनुसार शुक्रबार नै कोप सकिने भनिए पनि एलडिसी लगायतका समूहले राखेको ‘एजेन्डा’ का सबै बुँदामा सहमति जुट्न नसकेपछि आज पनि पैरवी भइरहेको छ । एलडिसी समूह, जी सेभेन्टी सेभेन एन्ड चाइनाको समूहले धनी तथा विकसित मुलुकहरूलाई यतिबेला एनसिक्युजीको एजेन्डा कार्यान्वयनका लागि दबाब दिइरहेका छन् ।

एनसिक्युजीसम्बन्धी सार्वजनिक गरिएका केही बुँदाहरू स्पष्ट नभएकाले एलडिसी लगायतको समूहको असन्तुष्टि देखिएको र पैरवी निरन्तर अघि बढिरहेको बताउनुहुन्छ, बाकुमै रहेका वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन माहाशाखाका प्रमुख डा सिन्धुप्रसाद ढुङ्गाना । “एनसिक्युजीअन्तर्गत धनी तथा विकासोन्मुख मुलुकहरूले जलवायु वित्तको आकार बढाएर सन् २०२६ पछि वार्षिक दुई सय ५० बिलियन हरेक वर्ष पु¥याउनुपर्ने भन्ने एलडिसी लगायतका समूहको माग थियो, तर मस्यौदामा तर सन् २०३५ सम्ममा भनिएको छ । सन् २०३४ पछि पो बढाउन लागिएको हो कि ! कति पैसा बढाउने भन्ने विषयमा मस्यौदाले स्पष्ट बोलेकै छैन,” उनले भने, “जलवायुको सङ्कट छिटोछिटो निम्तिरहेको छ । अब जलवायु वित्तको आकार बढाउने बढाउनुपर्ने दायित्व पनि छिटै पूरा गरौँ भनेर यतिबेला कोपमा पैरवी निरन्तर भई नै रहेको छ । आज रातिसम्ममा केही सकारात्मक नतिजा आउने अपेक्षा छ ।”

ढुङ्गानाले कोपका एजेन्डामा एनसिक्युजी समाहित हुन, विशेषगरी पर्वतमा आधारित कार्य र पेरिस सम्झौताअनुसार विश्वभर जलवायु परिवर्तन रोक्न गरिएका प्रयासहरूको समीक्षा गर्ने प्रक्रिया (ग्लोबल स्टकटेक) समाहित हुनु सकारात्मक पक्ष रहेको टिप्पणी गरे ।

एलडिसीका अध्यक्ष इभान्स न्जेवाले विज्ञप्ति जारी गर्दै आर्थिक सहयोग आवश्यक महत्वाकाङ्क्षाको स्तरमा नभएको भन्दै असन्तुष्टि जनाएका छन् ।

“यसले विकसित राष्ट्रहरूको वर्तमान प्रतिबद्धतालाई कमजोर बनाउँछ र विश्वव्यापी जलवायु कार्यका लागि आवश्यक महत्वाकाङ्क्षा झल्काउँदैन । हाम्रो समूह यो मस्यौदा पाठले हाम्रा तीन वर्षको कडा मेहनतलाई प्रतिबिम्बित नगरेको देख्दा निराश छ,” एलडिसीद्वारा जारी विज्ञप्तिमा न्जेवाले भनेका छन्, “यो मस्यौदा धेरै विषयमा कमजोर छ । यसले सबैभन्दा संवेदनशील राष्ट्रहरू, विशेषगरी कम विकसित देश (एलडिसी) र साना द्विपीय विकासशील देशहरू (एलआइडिएस) का मुद्दाहरूलाई ध्यानमा राखेको छैन ।”

प्रस्तावित वित्तीय परिमाण आवश्यकताभन्दा धेरै कम रहेको र एलडिसीका लागि न्यूनतम रकम छुट्याउने सुनिश्चिता नभएको र जलवायुजन्य हानि तथा क्षतिलाई सम्बोधन गर्नका लागि मस्यौदामा नयाँ लक्ष्यमा नदेखिएको एलडिसीको भनाइ छ ।

“जलवायु परिवर्तन सन्धि र पेरिस सम्झौताअन्तर्गत स्थापित कोषहरूमार्फत प्रवाहित हुने न्यूनतम हिस्साको सुनिश्चितता पनि छैन । पाठमा पहुँचसम्बन्धी व्यवस्था कमजोर छ र सबैभन्दा संवेदनशील समूहका लागि पहुँच सुधार गर्न स्पष्ट प्रतिबद्धता छैन,” विज्ञप्तिमार्फत एलडिसीले भनेको छ, “त्यसैगरी, जलवायु वित्तको परिभाषा अस्पष्ट छ, जसले हिसाब–किताबमा अन्योल सिर्जना गर्छ । दुबईमा गत वर्ष हामी सबैले सामूहिक रूपमा सहमति गरेको ग्लोबल स्टकटेक परिणामको कार्यान्वयनसम्बन्धी मस्यौदामा अझ धेरै काम गर्न आवश्यक छ ।”

सामूहिक रूपमा सहमति गरेका सबै स्टकटेक परिणामहरूको कार्यान्वयन सुनिश्चित गर्नुपर्ने, कार्यान्वयनका प्रविधिको व्यवस्था गरिनुपर्ने, तापक्रम वृद्धिलाई १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित गर्ने महत्वाकाङ्क्षालाई केन्द्रमा राख्नुपर्ने एलडिसीको माग छ ।

विज्ञप्तिमा भनिएको छ, “अन्यथा हाम्रो अस्तित्वलाई खतरामा पार्नेछ, यसको अर्थ हरेक देशका राष्ट्रिय निर्धारित योगदान (एनडिसी) लाई अद्यावधिक गरेर महत्वाकाङ्क्षा बढाउन बलियो आह्वान गर्नुपर्ने तथा एनडिसी कार्यान्वयनका लागि समर्थन सुनिश्चित गर्नुपर्छ । तर, हाल यो सबै विशेषता मस्यौदामा छैन ।”

कम विकसित देशहरूको समूह (एलडिसी) मा अफ्रिका, एसिया–प्रशान्त र क्यारिबियनका ४५ देशहरू सम्मिलित रहेको जसको संयुक्त जनसङ्ख्या एक अर्बभन्दा बढी छ । इभान्स न्जेवा कम विकसित देशहरूको समूहका वर्तमान अध्यक्ष र मालावी सरकारका जलवायु परिवर्तन तथा युएनएफसिसिसीका फोकल पर्सन हुन् ।

के हो ? एनसिक्युजी

नयाँ सामूहिक परिमाणात्मक लक्ष्य (एनसिक्युजी) जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना (युएनएफसिसिसी) अन्तर्गत विकसित राष्ट्रहरूले विकासशील राष्ट्रहरूलाई उपलब्ध गराउने वित्तीय सहयोगको परिमाणात्मक रूपमा तोकिएको नयाँ लक्ष्य हो । सन् २०२५ पछिका लागि जलवायु वित्तको व्यवस्थापन, वितरण र प्रभावलाई सुनिश्चित गर्न नयाँ दिगो र प्रभावकारी उपायको खोजी लक्ष्य एनसिक्युजीको हो ।

विकसित राष्ट्रहरूले २०२० सम्म प्रतिवर्ष एक सय अर्ब अमेरिकी डलर जुटाउने लक्ष्य पूरा गर्न नसकेकाले २०२५ पछिको वित्तीय संरचनामा सुधार गर्ने उद्देश्यले एनसिक्युजी सुरूआत गरिएको थियो । एनसिक्युजीले अनुकूलन, न्यूनीकरण, जलवायु क्षति र हानि सम्बोधनका लागि सहयोग गर्ने अपेक्षा छ । जलवायु जोखिममा रहेका देशहरूको आवश्यकताअनुसार वित्तीय प्रवाह सुनिश्चित गर्न, लक्ष्य परिमाण र पहुँच दुवैमा सुधार गर्ने एनसिक्युजीको अर्को लक्ष्य रहेको छ ।

जलवायुविद् मञ्जित ढकालले एनसिक्युजीले विकसित र विकासशील राष्ट्रबीच सहमति गरेर लक्ष्य निर्धारण गर्ने, ती लक्ष्यहरूको कार्यान्वयन सुनिश्चित गर्ने, यस लक्ष्यले जलवायु वित्तको क्षेत्रलाई थप दिगो र समावेशी बनाउने उद्देश्य लिएको बताए । एनसिक्युजीको सफल कार्यान्वयनले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न र जोखिम कम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।

“एनसिक्युजीले जलवायु परिवर्तनलाई सम्बोधन गर्न आर्थिक स्रोतको प्रभावकारी परिचालन गर्ने उद्देश्यले स्थापना गरिएको महत्वपूर्ण संरचना हो । यो लक्ष्य संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन संरचना सम्मेलन (युएनएफसिसिसी) अन्तर्गत विशेषगरी २०२५ पछि जलवायु वित्तको व्यवस्थापन गर्न विश्वव्यापी सहकार्यका लागि एउटा मार्गचित्र हो,” एनसिक्युजीको परिभाष अझै स्पष्ट गर्दै ढकालले भने, “एनसिक्युजीको मर्म भनेको जलवायु परिवर्तनको प्रभावको सामना गर्न विकासशील र कम विकसित राष्ट्रहरूको आवश्यकता पूर्ति गर्दै उनीहरूको दिगो विकासलाई सुनिश्चित गर्नु हो ।”

उनले कोपमा एनसिक्युजीको सफल कार्यान्वयनका लागि यतिबेला वार्ता चलिरहेको भन्दै सकारात्मक निचोडको समेत अपेक्षा गरे । एनसिक्युजी कार्यान्वयनले मात्रै जलवायुका नीतिहरू कार्यान्वयन गर्न सकिने उनको भनाइ छ ।

“विकासोन्मुख मुलुकहरूबाट वार्षिक एक दशमलव तीन ट्रिलियन अमेरिकी डलर आवश्यक पर्ने भनेर माग भएको छ । यस पनि सानो अर्थतन्त्र भएका अतिकम विकसित मुलुकका समूह (एलडिसी) लाई वार्षिक दुई सय बिलियन अमेरिकी डलर आवश्यक पर्छ भनिएको छ,” ढकालले भने, “तर सन् २०२२ सम्ममा एक सय २० बिलियन मात्रै उपलब्ध भएको देखिन्छ । जलवायु वित्तको माग र व्यवस्थापनबीच ठूलो अन्तर देखियो । तसर्थ कोपमा जलवायु बित्तको आकार बढाउन जोडबल भइरहेको छ ।”

चार महिनामा साढे चार खर्ब व्यापार घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा मुलुकले साढे चार खर्बभन्दा बढीको व्यापार घाटा व्यहोरेका छ ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको वैदेशिक व्यापारको विवरणअनुसार यस अवधिमा पाँच खर्ब १३ अर्ब ३८ करोड ८० लाख बराबरको आयात र ५२ अर्ब ६७ करोड बराबरको निर्यात भएको हो । यसरी कूल  पाँच खर्ब ६६ अर्ब पाँच करोड ६७ लाखको वैदेशिक व्यापारमा  चार खर्ब ६० अर्ब ७१ करोड ७३ लाख घाटा देखिएको विभागले जनाएको छ ।

     गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात शून्य दशमलव १७ र निर्यात चार दशमलव १६ प्रतिशतले बढेको छ । नेपालको सबैभन्दा ठूलो वैदेशिक व्यापार साझेदार भारतसँग मात्र चार महिनामा रू दुई खर्ब ८१ अर्ब ११ करोड ६६ लाख घाटा व्यहोरेको छ । कात्तिक मसान्तसम्ममा भारतबाट रू तीन खर्ब १६ अर्ब ८८ करोड ५३ लाख बराबरको वस्तु आयात हुँदा रू ३५ अर्ब ७६ करोड ८७ लाख बराबरको निर्यात भएको छ । 

त्यस्तै नेपालको अर्को ठूलो वैदेशिक व्यापार हुने मुलुक चीनसँग रू एक खर्ब तीन अर्ब १८ करोड २५ लाखको आयात र रू ६८ करोड २३ लाख ७७ हजारको निर्यात हुँदा रू एक खर्ब दुई अर्ब ५० करोडको व्यापार घाटा देखिएको छ ।  

पहिलो चौमासिकमा पेट्रोलियम पदार्थको आयात सबैभन्दा धेरै देखिएको छ । कात्तिक मसान्तसम्ममा रू २९ अर्ब चार करोड २० लाख बराबरको डिजेल, रू २१ अर्ब ५६ करोड २९ लाख बराबरको पेट्रोल र रू १८ अर्ब ८५ करोड ९३ लाख बराबरको एलपी ग्यास आयात भएको छ । त्यस्तै रू १५ अर्ब ९६ करोड ९२ लाख बराबरको फलामजन्य वस्तु, रू १३ अर्ब ४० करोड ४८ लाख बराबरको स्मार्टफोन आयात भएको विभागको तथ्याङ्कबाट देखिन्छ ।

बढी निर्यात भएका वस्तुमा भने कार्पेट पहिलो स्थानमा देखिएको छ । चार महिनामा रू तीन अर्ब ६० करोड आठ लाख बराबरको कार्पेट निर्यात भएको छ । त्यस्तै सोयाबिन तेल रू तीन अर्ब ४१ करोड, चिया रू दुई अर्ब २१ करोड र अलैँची रू एक अर्ब ९० करोड बराबरको निर्यात भएको छ ।

काभ्रेमा बाढीपहिरोबाट करिब १३ हजार रुख क्षति

काभ्रे । गत असोज दोस्रो साताको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा १३ हजार चार सय २७ वटा रुख क्षति भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको ‘वातावरण क्लस्टर’को प्रारम्भिक अध्ययन समितिद्वारा सार्वजनिक प्रतिवेदनमा ती संख्यामा रुख लडेको तथा बगाएको उल्लेख गरिएको छ ।

समितिका अनुसार जिल्लाका १३ स्थानीय तहका सामुदायिक, राष्ट्रिय तथा निजी वनका रुख लडेका हुन् । सरकारी वनमा रहेका पाटेसल्लो, ठिमुरे, उत्तिस, खयरलगायत रुखको करिब तीन सय क्युफिट काठ ढलेको प्रारम्भिक तथ्याङ्कले देखाएको हो ।

अग्लाअग्ला रुख भएका स्थानबाट पहिरो फुटेको, माटोको प्रकार बलौटे भएको, माटोले पानीलाई थेग्नसक्ने क्षमताभन्दा अत्यधिक पानी परेको र सो माटो आफैं तरल बनी बग्दै जाँदा सोही स्थानको चट्टान ढल्काइ वनजङ्गलमा भएका रुख प्रजातिको जराको प्रकृति एवं जरामुनि रहेको चट्टान बग्न गई पहिरो गएको निष्कर्ष निकालिएको छ ।

प्रतिवेदनमा सामुदायिक वन व्यवस्थापन हुन नसक्दा बुढा रुख भिरमा आफैंमा भार थाप्न नसकी ढलेको, झाडी सफाइ नभएको, अग्नीरेखा निर्माण नभएको, आगलागी भई वनको क्षयीकरण र हरितगृह ग्यासको उत्सर्जन भई जलवायु परिवर्तनमा टेवा पुगेको जनाइएको छ ।

भारी वर्षाका कारण ठूलो, बाढीपहिरो आई भौतिक, जैविक तथा सामाजिक वातावरणमा ठूलो क्षति भएका सन्दर्भमा प्रमुख समस्याको पहिचान, त्यसका कारण र प्रभाव पहिचान गरी आगामी दिनमा यस्तो जलवायुजन्य विपद् आउन नदिन चाल्नुपर्ने कदमका सन्दर्भमा भूगर्भविद्, वातावरणविद्ले स्थलगत अध्ययन गरी प्रारम्भिक प्रतिवेदन तयार गरिएको वन अधिकृत, वातावरण निरीक्षक देवराज घिमिरेले बताए ।

उनका अनुसार विपद्पछि जमिनको क्षयीकरण र भूक्षय भएको, पहिरो लडेको, नदीको धार परिवर्तन भएको, नदीको चौडाई ४ गुणासम्म बढेको, मानवीय, सामाजिक, आर्थिक र भौतिक पूर्वाधाको क्षति भएको पाइएको अध्ययन समितिको निष्कर्ष रहेको छ । अध्ययन समितिमा घिमिरेलगायत पुल्चोक इञ्जिनियरिङ क्याम्पसका भू–गर्भविद् प्रकाशचन्द्र घिमिरे र वातावरविद् निराजन श्रेष्ठ, तथा जिल्लास्थित सवडिभिजन वन कार्यालयका विज्ञ कर्मचारी, स्थानीय जनप्रतिनिधिको सहभागिता थियो ।

प्रतिवेदनमा बाढीपहिरोबाट क्षति हुनुका कारण उल्लेख गरिएको जनाइएको छ । ‘अब विस्तृत अध्ययन हुनेछ, त्यसपछि विशेषगरी वातावरणीय प्रभावबारे विस्तृत कारण पत्ता लाग्नेछ’, वन अधिकृत घिमिरेले भने ।

अध्ययन टोलीले गरेको पहिलो स्थलगत अध्ययनका आधारमा प्राविधिक, वातावरणीय, भौगोलिक, राजनीतिक, सामाजिक आर्थिक आयाम र जलवायुजन्य विपद् र समस्याले सृजना गरेका असर मुख्य कारण मानेको छ ।

यस्तै ग्रामीण सडक निर्माण गर्दा इञ्जिनियरिङ डिजाइन, वातावरणीय मूल्याङ्कन नगरी राजनीतिक दबाब र कार्यकर्ताको छनोटका आधारमा खनिनु प्रमुख कारण मानिएको प्रतिवेदनमा उल्लेख छ ।

चिलिमेका तीनवटै आयोजना सम्पन्न, एक सय ६८ मेगावाट केन्द्रीय प्रसारण प्रणालीमा थप

काठमाडौं ।  चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा शुरू भएका तीन वटा जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएको छ ।

ती जलविद्युत् आयोजना निर्माण सम्पन्न भई १६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । तीनवटै आयोजनाबाट उत्पादित विद्युत् रसुवाको आमाछोदिङ्मो गाउँपालिका थम्बुचेतस्थित प्राधिकरणले बनाएको २२०/१३२/३३ केभी सवस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको हो ।

कूल १४ दशमलव आठ मेगावाटको माथिल्लो साञ्जेन, ४२ दशमलव पाँच मेगावाटको साञ्जेन र एक सय ११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएका हुन् । ​

यसमध्ये माथिल्लो साञ्जेन गत वर्षको असोजमा निर्माण सम्पन्न भई व्यावसायिक रूपमा विद्युत् उत्पादन गरी हालसम्म करिब ३० करोडको विद्युत् बिक्री गरिसकेको छ ।

यस्तै, ४२ दशमलव पाँच मेगावाटको साञ्जेन जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरी शुक्रबारदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडी परीक्षणका रूपमा विद्युत् उत्पादन शुरू गरिएको छ । त्यस्तै, १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भई हाल परीक्षणका रूपमा विद्युत् उत्पादन गरिरहेको छ ।

परीक्षण उत्पादन सफल भएपछि एवं तोकिएको मापदण्ड पूरा गरेपछि साञ्जेन र रसुवागढीको व्यावसायिक रूपमा विद्युत् उत्पादन शुरू हुनेछ । दुवै आयोजनाबाट यही महिनाभित्रमा व्यावसायिक रूपमा विद्युत् उत्पादन हुनेछ ।

नदी प्रवाहमा आधारित ती आयोजनाबाट हिउँदयाममा करिब ८० मेगावाट मात्र विद्युत् उत्पादन हुन्छ । चिलिमे जलविद्युत् कम्पनीको अनुवाइमा दुई सय ७० मेगावाटका चार वटा आयोजना शुरू गरिएकामा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोसीबाहेक तीन वटा आयोजना सम्पन्न भएका हुन् ।

‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?

हेमन्त जोशी, काठमाडौं। प्रक्रिया सुरु भएको करिब छ वर्षपछि नेपालले आफ्नो सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) सम्पन्न गरेको छ। पहिलो पटक गराएको क्रेडिट रेटिङमा नेपालले ‘डबल बी माइनस’ (बीबी) स्कोर प्राप्त गरेको छ।

प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) र बाह्य ऋण भित्र्याउँदा लगानीकर्ताले खोज्ने महत्वपूर्ण सूचकका रुपमा क्रेडिट रेटिङ पर्दछ। यसकारण दातृ निकाय, विकास साझेदार तथा वैदेशिक लगानीकर्ता र नेपालको निजी क्षेत्रलेसमेत लामो समयदेखि क्रेडिट रेटिङ अतिआवश्यक रहेको बताउँदै आएका थिए।

नेपालले कोभिड-१९ महामारीअघि नै रेटिङ प्रक्रिया थालेको थियो। तर महामारीले अर्थतन्त्रमा गम्भीर सङ्कुचन देखिएको बेला क्रेडिट रेटिङ गर्दा खराब अवस्था देखिने भएपछि सरकारी प्रयासबाटै यो प्रक्रिया रोकियो। पहिलोपटक गराएको क्रेडिट रेटिङको नतिजा शुक्रबार सार्वजनिक गर्दै अर्थ मन्त्रालयले यसलाई ‘सन्तोषजनक’ देखिएको र आगामी दिनमा यो अवस्था सुधार गर्दै जाने बताएको छ।

यो रेटिङले नेपालको अर्थतन्त्रको संरचना, सार्वजनिक वित्तीय व्यवस्थापन र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था सुदृढ रहेको र लगानीमैत्री वातावरण रहेको देखाएको मन्त्रालयको भनाइ छ। लगानीकर्ताले प्रतिफल हेरेर लगानी गर्छन्। निर्धारण गर्ने आधारका रुपमा क्रेडिट रेटिङलाई हेर्ने गरिन्छ। नेपालमा सहज र सुदृढ लगानीको वातावरण छ भन्ने कुरा यो रेटिङको नतिजाले देखाएको छ।

विश्वका ३० भन्दाबढी देशमा वित्तीय सूचनासम्बन्धी सेवा उपलब्ध गराइरहेको रेटिङ एजेन्सी ‘फिच रेटिङ’ले नेपालको साखको स्वतन्त्र आँकलन पछि भनेको छ, ‘नेपालको सार्वजनिक ऋण र कूल गार्हस्थ्य उत्पादन (जीडीपी)को अनुपात सुविधाजनक अवस्थामै छ। नेपालले राखेको लक्षित आर्थिक वृद्धि र राजस्व सुदृढीकरणबाट यो अनुपात अहिलेकै अवस्थामा कायम रहन सक्छ। सहनशीलता राम्रो छ। बाह्य क्षेत्र राम्रो छ।’

पहिलोपटक सार्वभौम साख मूल्यांकन गराएर ऐतिहासिक उपलब्धि हासिल गरेको र त्यसको नतिजा पनि सन्तोषजनक देखिएको दाबी सरकारले गरिरहँदा नेपालले केकस्तो लाभ लिनसक्छ? र त्यसका लागि हामी कति तयार छौँ? भन्ने प्रश्न महत्वपूर्ण छ। मुलुकको विकास र समृद्धिका आकांक्षा पूरा गर्न आन्तरिक स्रोतले नभ्याउने अवस्थामा प्रत्यक्ष वैदेशिक लगानी र बाह्य ऋणको भर पर्नुपर्ने हुन्छ। तर लगानीकर्ताले भने सम्बन्धित देशमा भएको लगानीको उचित प्रतिफल पाइन्छ÷पाइँदैन वा दिइएको ऋण फिर्ता हुन्छ/हुँदैन भन्ने कुराको सुनिश्चितता खोज्ने गर्दछन्।

पूर्वअर्थसचिव शिशिरकुमार ढुंगाना सार्वभौम साख मूल्यांकनले नेपालको कर्जा तिर्नसक्ने क्षमता र लगानीको प्रतिफलको सुनिश्चितता राम्रो देखिएको बताउँछन्। ‘रेटिङले लगानी वातावरणका लागि आत्मविश्वास बढाउँछ। अहिलेको नतिजाले नेपालमा गरिएको लगानीको तिर्नसक्ने क्षमता (क्रेडिट बर्दिनेस) राम्रो छ भन्ने देखाएको छ। यसले यहाँ भएको लगानी डुब्दैन भन्ने सुनिश्चिता प्रदान गर्दछ’, उतले भने, ‘वित्तीय स्रोत परिचालनका लागि अझै ठाउँ छ भन्ने कुरा पनि रेटिङ नतिजाले देखाएको छ।’

नेपालको जीडीपी र सार्वजनिक ऋणको अनुपात अहिले ४४ प्रतिशत हाराहारी छ। जुन अनुपातले धेरै दबाब नरहेको देखाउने र थप ऋण लिनका लागि अझै ठाउँ रहेको देखाएको ढुंगानाले बताए। ‘हाम्रो वित्तीय खाडल (फिस्कल ग्याप) कम हुँदै गएको छ भन्ने देखिएको छ। यसले स्रोत परिचालनका लागि अझै पनि दायरा बाँकी छ भन्ने बुझाउँछ र यी सबै कुराले लगानीकर्ताको विश्वास बढाउने हो’, उनले भने।

साख मूल्यांकनमा राम्रो अवस्था देखिनुले सस्तो लगानी ल्याउनका लागि भूमिका खेल्ने पनि ढुंगानाले बताए। ‘विदेशीहरुले ऋण दिँदा अथवा सरकार वा निजी क्षेत्रले विदेशबाट पैसा ल्याउँदा ‘रिक्स प्रिमियम’ लगाउने गर्थे। ‘रिक्स प्रिमियम’को दर कम हुन्छ वा यस्तो प्रिमियम नलाग्ने हुन्छ। जसकारण लगानी सस्तो हुन्छ’, उनले भने, ‘लगानीको जोखिम कम भएपछि हेजिङको शुल्क पनि कम हुने भयो।’

नेपालको ऋण तिर्नसक्ने क्षमता राम्रो हुँदा सरकारले द्विपक्षीय तथा बहुपक्षीय ऋण स्वीकार गर्दा ‘नेगोसियसन’को क्षमता बढ्ने ढुंगानाको भनाइ छ। त्यस्तै निजी क्षेत्रले पनि वैदेशिक लगानी ल्याउँदा अथवा अन्तर्राष्ट्रिय बजारमा बण्ड स्वीकार गर्दा सहुलियत दरमा ‘नेगोसिय सन’ गर्न पाउँछन् । यसरी मुलुकको ऋण तिर्नसक्ने क्षमता राम्रो छ भन्नुको अर्थ विदेशी लगानीकर्तालाई लगानीको सुनिश्चितता हुने र नेपालमा आउने लगानीको लागत (कस्ट अफ फन्ड) कम हुने देखिन्छ।

नेपालको अवस्था राम्रो छ भन्ने देखिएपछि अब नेपालले कसरी लाभ लिनसक्छ भन्ने प्रश्नमा पूर्वअर्थसचिव ढुंगानाले भने, ‘सरकारले राम्रो प्रतिफल दिने र उपयुक्त आयोजना पहिचान गरेर ‘प्रोजक्ट बैंक’ तयार पारी लगानीकर्तासमक्ष प्रस्तुत गर्न सक्नुपर्छ। लगानी खोज्नका लागि सरकारले निजी क्षेत्रलाई अधिकतम परिचालन गरेर अब क्रेडिट रेटिङ पनि भयो र लगानी भित्र्याउ भन्न सक्नुपर्‍यो। निजी क्षेत्रले पनि विदेशी निजी क्षेत्रबाट लगानी प्राप्त गर्नका लागि उनीहरुसँग वार्ता र छलफल गरेर त्यस्तो लगानी भित्र्याउन सक्नुपर्‍यो।’

विदेशी साझेदारमार्फत नेपालमा लगानी भित्र्याउने निजी क्षेत्रको प्रयासमा अब क्रेडिट रेटिङको नतिजाले राम्रो प्रभाव देखिने नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल बताए। विदेशी लगानीकर्ताले कुनै पनि मुलुकमा लगानी गर्नका लागि सबैभन्दा पहिले कन्ट्री रेटिङको अवस्थालाई हेर्ने भएकाले अब नेपाललाई लगानी भित्र्याउन पहिलेकोभन्दा सहज हुने उनको बुझाइ छ। ‘कुनै पनि लगानीकर्ताले सबैभन्दा पहिले हेर्ने भनेको कन्ट्री रेटिङ नै हो। निजी क्षेत्रले पनि विदेशी लगानी ल्याउनका लागि प्रयास गर्ने हो, यसले त्यसमा सहयोग पुग्छ’, उनले भने, ‘अर्कोतर्फ सरकारले पनि कुनै ऋण लिँदा वा अन्तर्राष्ट्रिय बजारमा ऋणपत्र जारी गर्दा क्रेडिट रेटिङले सहयोग गर्छ।’

नेपालको सार्वजनिक र निजी क्षेत्रबाट भएको लगानीले लक्षित आर्थिक र पूर्वाधार विकास गर्न नसकिरहेको अवस्थामा वैदेशिक लगानी र ऋण अपरिहार्य हो। तर विदेशी लगानीकर्ताले भने सम्बन्धित मुलुकमा लगानी वातावरणको अवस्था कस्तो छ भनेर जान्न क्रेडिट रेटिङको अवस्था कस्तो छ भनेर हेर्ने। ‘विभिन्न मुलुकसँग नेपालमा लगानी गर्नका लागि उनीहरुसँग कुरा गर्दा कन्ट्री रेटिङ नै नभएको भन्ने गर्थे। के आधारमा विश्वास गर्ने भन्ने प्रश्न उठ्थ्यो अहिले राम्रो नतिजा आएको छ। त्यसले सकारात्मक प्रभाव पर्छ’, उनले भने, ‘उदाहरणका लागि नेपालले जलविद्युत् क्षेत्रमा सन् २०३५ सम्ममा २८ हजार पाँच सय मेगावाट क्षमताका आयोजना निर्माण सम्पन्न गर्ने भनिएको छ। त्यसका लागि हाम्रो लगानी मात्रले कन्ट्री रेटिङ भएपछि अब विदेशी लगानी ल्याउनका लागि।’ विगतमा कन्ट्री रेटिङ नभएका कारण ठूला कम्पनी नेपालमा लगानी गर्न नचाहेको अग्रवाल बताए।

दक्षिण एसियाली क्षेत्रका अन्य देशहरूको तुलनामा सन्तोषजनकस्तरको क्रेडिट रेटिङ नेपालले प्राप्त गरेको छ। यो नतिजाले सरकार, निजी क्षेत्र र सम्पूर्ण लगानीकर्तामा उत्साह थप्नु स्वाभाविक हो। पूर्वबैंकर अनलराज भट्टटराईले नेपालले सार्वभौम साख मूल्यांकन गर्नु आफैँमा एक महत्वपूर्ण उपलब्धि र गौरवको विषय रहेको बताउँछन्। उनले भने, ‘नतिजा राम्रो वा नराम्रो आउँछ भन्ने कुराभन्दा पनि हामी क्रेडिट रेटिङ गराएको मुलुकमा पर्‍यौँ, यो नै उपलब्धिको विषय हो। यसअघि हामी कुन अवस्थामा थियो भन्ने नै थाहा थिएन। तर अहिले हाम्रो अवस्था के हो भनेर देखिएको छ।’

नेपालको क्रेडिट रेटिङको नतिजाले छोटो समयका लागि वित्तीय स्थायित्व कायम रहेको र लामो समयका लागि भने केही असहज अवस्था रहेको देखाएको भट्टराईले बताए। त्यस्तै अब नेपालको अवस्थाबारे विश्वसमुदायलाई थाहा हुने र नेपालले पनि के कुरामा सुधार गर्नुपर्छ भनेर आफ्नो योजना बनाउनुपर्ने उनको बुझाइ छ। ‘अब हामीलाई कसैले मूल्यांकन गरिरहेको छ भनेर बुझ्नुपर्ने हुन्छ। रेटिङ एकपटक गरेपछि सकियो भन्ने होइन हाम्रो अवस्था सुधार गरेर अर्कोपटक गर्दा अहिलेकोभन्दा। राम्रो नतिजा आउन सक्छ’, भट्टराईले भने, ‘कति समयमा मूल्यांकन गर्ने भन्ने सम्बन्धित मुलुकमा भरपर्छ।’

नेपालले पछिल्ला वर्षमा कुनै पनि ऋण चुक्ता गर्न नसकेको (क्यापासिटी टु पे) वा गर्न नचाहेको (विलिङनेस टु पे) भन्ने नदेखिएकाले नेपालप्रति लगानीकर्ता विश्वस्त हुने आधार रहेको उनको बुझाइ छ। यद्यपि राजनीति अस्थिरताका कारण लगानीकर्ताले त्यस्तो जोखिमको शंका वा अनुमान गर्ने गरेको भट्टराईले बताए।

नेपालले आफ्नो कुल गार्हस्थ्य उत्पादनमा रेमिट्यान्स बाहेक अरु क्षेत्रको योगदान बढाउँदै जानुपर्ने तथा निजी क्षेत्रले विदेशी मुद्रामा ऋण लिँदा वा लगानी भित्र्याउँदा त्यसको प्रतिफल विदेशी मुद्रामा पाइन्छ वा पाइँदैन भन्ने कुराको आँकलन गर्नुपर्ने उनको बुझाइ छ। उनले भने, ‘निजी क्षेत्रले विदेशी मुद्रामा लगानी भित्र्याउँदा त्यसको प्रतिफल पनि विदेशी मुद्रामै जाने हो। त्यसका लागि निजी क्षेत्र सक्षम छ वा छैन भन्ने हेर्न जरुरी छ।’

यसरी सार्वभौम क्रेडिट रेटिङले कुनै पनि देशको लगानी वातावरणको मूल्यांकन गर्ने महत्वपूर्ण आधार प्रदान गर्दछ भने प्राप्त क्रेडिट रेटिङले नेपालको साख क्षमता उच्च रहेको देखाएको छ। जसले गर्दा नेपालले अन्तर्राष्ट्रिय बजारबाट न्यून ब्याजदरमा ऋण प्राप्त गर्न सहज बनाउने सम्भावना बढेको छ। निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्न सहयोग पुग्नुका साथै विदेशी लगानी आकर्षित गर्ने अवसर प्रदान गर्नेसमेत ठानिएको छ। 

घुस आरोपले भारतीय धनाढ्य अडानी समूहलाई धक्का

नयाँ दिल्ली । विश्वकै धनी व्यक्तिमध्येका एक भारतीय धनाढ्य गौतम अडानीलाई आफ्नो विश्वव्यापी ऊर्जा र पूर्वाधार साम्राज्य विस्तार गर्ने तीव्र प्रयासमा अमेरिकी घुसखोरीको आरोपले धक्का दिएको छ ।

कैयौँ बहुराष्ट्रिय कम्पनीका मालिक तथा अडानी समूहका अध्यक्ष समेत रहेका उनी र उनको समूहलाई आरोपले क्षणिक रूपमा क्षति पुर्‍याएको र आर्थिक पुनरागमन गर्न लामो समय नलाग्ने विश्लेषकले बताएका छन् ।

अडानी र उनका सहयोगीले आकर्षक सरकारी सम्झौताका निम्ति २५ करोड अमेरिकी डलरभन्दा बढी घुस दिएको दाबी गर्दै न्युयोर्कमा बुधबार भएको दोषारोपणले उनको कम्पनीको स्टकको उन्मादपूर्ण बिक्रीलाई प्रभावित पारेको छ ।

न्युयोर्कमा घुस दिएको दाबी गरिएको केही घण्टाभित्रै भारतका विपक्षी नेता राहुल गान्धीले अडानीलाई पक्राउ गर्न माग गरेका थिए । आरोपपछि केन्याका राष्ट्रपति विलियम रुटोले करिब २.५ अर्ब अमेरिकी डलरबराबरको विमानस्थल र बिजुली सम्झौता रद्द गरेको घोषणा गरेका छन् ।

अडानी समूहले घुसखोरीको आरोपलाई ‘आधारहीन’ भन्दै खारेज गरेको छ । तर, कर्पोरेट गभर्नेन्स एडभाइजरी फर्म इनगभर्न रिसर्च सर्भिसेजका संस्थापक श्रीराम सुब्रमण्यमले यसको ‘ठूलो’ प्रभाव रहेको बताएका छन् ।

सुब्रमण्यमले बैंग्लुरुबाट एएफपीसँग भने, “उनीहरूले अपिल गरेर आफ्नो रक्षा गर्नेछन् वा नयाँ सम्झौताका लागि जानेछन् ।”

उनले भने, “यो आफूहरूको प्रतिष्ठा र कर्पोरेट गभर्नेन्स अभ्यासका निम्ति ठूलो धक्का हो ।” 

श्रीलङ्काको नयाँ नेतृत्व आईएमएफको बेलआउट कार्यक्रमलाई अघि बढाउन सहमत

कोलम्बो । श्रीलङ्काको नयाँ वामपन्थी सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को विवादास्पद कर्जा सहयोग (बेलआउट) कार्यक्रमलाई अघि बढाउन सहमत भएको छ । कार्यक्रममा कडा मितव्ययिता र आर्थिक सुधार समावेश छ ।


आईएमएफले राष्ट्रपति अनुरा कुमारा दिसानायकेको प्रशासनसँग गत वर्ष पूर्वराष्ट्रपतिले गरेको चार वर्षे ऋणलाई निरन्तरता दिने सहमति भएको जनाएको छ ।

आईएमएफका टोली नेता पिटर ब्रुएरले नयाँ सरकारसँगको वार्ताको अन्त्यमा पत्रकारहरूसँग भने, ‘अधिकारीहरूले कार्यक्रमको परिधिभित्र रहन प्रतिबद्धता जनाएका छन् ।’

उनले नयाँ सरकारको प्रतिबद्धताले नीतिगत निरन्तरता सुनिश्चित गरेको बताए ।

ब्रुएरले भने, ‘सुधारको गतिलाई निरन्तरता दिनु कार्यक्रमबाट प्राप्त उपलब्धिको रक्षा गर्न र अर्थ व्यवस्थालाई दिगो पुनरुत्थान र स्थिर र समावेशी विकासको मार्गमा अगाडि बढाउन महत्वपूर्ण छ ।’

श्रीलङ्काले सन् २०२२ को अप्रिलमा अभूतपूर्व आर्थिक मन्दीका बेला ४६ अर्ब अमेरिकी डलरको बाह्य ऋण नतिरेपछि उद्धार प्याकेजका लागि आईएमएफमा गएको थियो ।

विदेशी मुद्राको अभावले देशलाई खाद्यान्न र इन्धनको सबैभन्दा आवश्यक आयातको लागि पनि वित्त पोषण गर्न असमर्थ बनाएपछि महिनौंसम्म भएको सडक प्रदर्शनले र तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेलाई राजीनामा दिन बाध्य बनाएको थियो ।

गत वर्षको सुरुमा प्राप्त २.९ अर्ब अमेरिकी डलरको ऋणमा कोलम्बोले कर वृद्धि गर्न, उदार ऊर्जा अनुदान हटाउन र घाटामा रहेका ५० भन्दा बढी राज्यद्वारा सञ्चालित उद्यमहरूको पुनर्संरचना गर्न सहमत हुन आवश्यक थियो ।

दिसानायकेका पूर्ववर्ती रनिल विक्रमासिङ्घेले चार वर्षमा २.९ अर्ब अमेरिकी डलरको ऋण वितरणसहित सङ्कटग्रस्त श्रीलङ्काको उद्धार सुनिश्चित गरेका थिए।

गत नोभेम्बर १४ मा भएको चुनावमा नेशनल पिपुल्स पावर पार्टीले भारी मतान्तरले विजय हासिल गरेपछि संसदमा आफ्नो पहिलो सम्बोधनमा दिसानायकेले बिहीबार अन्तर्राष्ट्रिय मुद्रा कोषको सम्झौताको समर्थन गरेका थिए ।

आर्थिक पतनका लागि जिम्मेवार ठहरिएका परम्परागत राजनीतिज्ञप्रतिको असन्तोष दिसानायकेको चुनावी सफलताको प्रमुख कारक थियो । दिसानायकेले अर्थतन्त्रको व्यवस्थापनमा कुनै गल्ती गर्ने ठाउँ नभएको बताउँदै आएका छन् ।

ब्रुएरका अनुसार भ्रष्टाचारविरुद्ध लड्ने नयाँ सरकारको प्रतिबद्धताले ‘शासकीय सुधारलाई पुनर्जीवित गर्नेछ’, आर्थिक विश्वासको पुनर्निर्माण गर्नेछ र आर्थिक वृद्धिलाई थप मजबुत र समावेशी बनाउनेछ ।

श्रीलङ्काले यस वर्षको अन्त्यसम्ममा अन्तर्राष्ट्रिय मुद्रा कोषको बोर्डको स्वीकृतिको अधिनमा रहेर थप ३३ करोड ३० लाख अमेरिकी डलर झिक्न सक्नेछ ।

गत महिना दिसानायकेको अन्तरिम मन्त्रिपरिषद्ले विक्रमासिङ्घेले सहमति गरेको १४.७ अर्ब अमेरिकी डलरको विदेशी व्यवसायिक ऋणको विवादास्पद पुनर्संरचनामा हस्ताक्षर गरेको थियो ।

सन् २०२२ मा ७.८ प्रतिशतले खुम्चिएको श्रीलङ्काको अर्थतन्त्रको पुनर्निर्माणका लागि ऋण पुनर्संरचना आईएमएफको प्रमुख माग हो । 

पाकिस्तानमा साम्प्रदायिक हिंसामा ३२ जनाको मृत्यु

पेशावर । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा भएको साम्प्रदायिक झडपमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । झडपमा ४७ जना घाइते भएको पाकिस्तानी सुरक्षा अधिकारीले शनिबार एएफपीलाई बताएका छन् ।

स्मरण रहोस्, पाकिस्तानको सोही क्षेत्रमा दुई दिनअघि भएको साम्प्रदायिक झडपमा कम्तीमा ४३ जनाको मृत्यु भएको थियो ।

‘शिया र सुन्नी समुदायबीच विभिन्न स्थानमा लडाइँ जारी छ। पछिल्लो रिपोर्टअनुसार १४ सुन्नी र १८ शियासहित ३२ जनाको मृत्यु भएको छ,’ सुरक्षालाई मध्यनजर गर्दै नाम नबताउने शर्तमा एक वरिष्ठ प्रशासनिक अधिकारीले भने । एक समय अर्ध स्वायत्त क्षेत्र रहेको कुर्रम जिल्लाका केही सुन्नी स्थानहरूमा शिया मुसलमानहरूले शुक्रबार साँझ आक्रमण गरेका थिए, जहाँ साम्प्रदायिक हिंसाका कारण वर्षौंदेखि सयौंको मृत्यु भएको छ।

कुर्रममा तैनाथ एक वरिष्ठ प्रहरी अधिकारीले भने, ‘स्थानीय समय अनुसार साँझ ७ बजेतिर आक्रोशित शिया समुदायको एक समूहले सुन्नी बहुल बगान बजारमा आक्रमण गरेको थियो।’

गोली चलेपछि उनीहरूले पूरै बजारमा पेट्रोल छर्केर आगो लगाइदिए। प्रारम्भिक रिपोर्टअनुसार ३०० भन्दा बढी पसल र १०० भन्दा बढी घर जलेर नष्ट भएका छन्।

स्थानीय सुन्नीहरूले पनि आक्रमणकारीमाथि जवाफी फायरिङ गरेको उनले बताए । शिया समुदायले लामो समयदेखि भेदभाव र हिंसा भोग्दै आएको सुन्नी बहुल पाकिस्तानमा आदिवासी र पारिवारिक कलह सामान्य छ ।

धान फल्ने खेतमा लगाएको सुन्तलाबाट दश लाख आम्दानी

म्याग्दी । १३ वर्षअघि अंश बापत पाएको पाँच रोपनी धान फल्ने खेतमा सुन्तलाका बिरुवा रोप्दा बेनी नगरपालिका-४ सुर्केमेलाका डिलबहादुर केसीलाई धेरैले गाली गरेका थिए ।

“बुवाले अंश दिएको १० रोपनी खेतमा सुन्तलाका बिरुवा लगाउँदा आफन्त र छिमेकीहरूले धान फल्ने खेतमा काडा रोपेर छोराछोरी भोकै पार्ने भईस भनेर गाली गरेका थिए,” ४४ वर्षीय केसीले भने “त्यस बेला गाली गर्नेहरू अहिले मैले सुन्तला बेचेर आम्दानी गरेको देखेर दंग परेका छन् ।”

बीस रोपनी पाखोबारी र खेतमा चार सय ५० बोट सुन्तला लगाएका केसीले यसपाली रु. १० लाखको सुन्तला बिक्री भइसकेको र थप रु. चार लाखको सुन्तला बिक्री गर्न बाँकी रहेको बताए । हाल दुई ५० बोट सुन्तलाले उत्पादन दिने गरेको छ ।

पाँच वर्ष युएई र मलेसियामा काम गरेर फर्किएका केसीले सुन्तला खेतीका साथै के.सी. मौरी पालन स्रोत केन्द्र सञ्चालन गरेर वार्षिक दुई सय देखि तीन सय मौरी सहितको घार बिक्री हुन्छ । सुन्तला र मौरीको आम्दानीले बागलुङमा पक्की घर बनाएका केसीले दुई छोरीलाई उच्च शिक्षा पढाउनुभयो । एक छोरा र छोरी निजी विद्यालयमा मावि तहको अध्ययन गर्दै छन् ।

“विदेशबाट फर्केपछि माछा, भैँसी र बंगुर पाले,” उनले भने “माछा र बंगुर मरेर ठूलो नोक्सान भयो । भैँसीबाट आम्दानी राम्रै भए पनि धेरै दुःख र झञ्जट भयो । सुन्तला र मौरी व्यवसायबाट सफलता मिल्यो ।” कुनै पनि काममा निरन्तरको प्रयासपछि सफलता प्राप्त हुने केसीको अनुभव छ ।

मौरी सहितको प्रतिघार मौरी रु. १० हजारका दरले बिक्री हुन्छ । म्याग्दीका साथै पर्वत, बागलुङ, कास्कीलगायत जिल्लाबाट मौरीको माग आउने गरेको छ । व्यापारीले अग्रिम पैसा दिएर सुन्तला किनेर लैजाने गरेका छन् । सुन्तला खेती र मौरी पालनबाट केसीको जीवनशैलीमा परिवर्तन आएको छ । छोराछोरी र श्रीमतीले केसीलाई कृषि फार्ममा साथ दिएका छन् ।

किसान केसीको सिको गरेर सुर्केमेलाका १६ कृषकहरूले व्यावसायिक सुन्तला खेती गरेका छन् । सुर्केमेलामा सुन्तला खेती गर्ने पहिलो कृषक केसी हुन् । चार सय बोट सुन्तला लगाएका सुर्केमेलाका धनराज पुनले अन्नबालीको तुलनामा धेरै गुणा बढी आम्दानी भएको बताए ।

वर्षमा आठ/दश मुरी धान फल्ने खेतमा लगाएको सुन्तलामा रु. दश लाख भन्दा बढी कमाई हुने उनले बताए । सिचाई सुविधा भएको सुर्केमेलाको भूगोल र हावापानी सुन्तला खेतीका लागि उपयुक्त मानिन्छ । रसिलो, स्वादिलो सुन्तला काठमाडौँ, पोखरा, बेनीका व्यापारीले किनेर लैजान्छन् । सुर्केमेलाका कृषकलाई कृषि ज्ञान केन्द्र र बेनी नगरपालिकाको कार्यालयले सघाएका छन् ।

इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान

काठमाडौँ । गैरआवासीय नेपालीको संयुक्त लगानीमा स्थापित इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ व्यवस्था गरिएको छ । धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका प्रवक्ता नवराज अधिकारीका अनुसार, इन्भेष्टमेन्ट कम्पनीको शेयरमा गैरआवासीय नेपालीले लगानी गर्नसक्ने र त्यस्तो शेयर दोस्रो बजारमा पनि उनीहरुले मात्रै खरिद बिक्री गर्न पाउने छन् ।

बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ मा आठौँ संशोधन गर्दै त्यसप्रकारको प्रबन्ध गरेको हो ।

गैरआवासीय नेपालीले नेपालका बैंक तथा वित्तीय संस्थामा खाता खोल्न सक्नेछन् । सोही खातामा आस्वा प्रणालीको प्रयोग गरी सरकार र गैरआवासीय नेपालीले स्थापना गरेको कम्पनीको शेयरमा आवेदन दिनसक्ने प्रबन्ध गरिएको उनले बताए ।

त्यसरी बिक्री गरिने शेयरमा आवेदन दिन सकिने न्यूनतम सीमा भने एक हजार कित्ता रहेको छ । शेयर खरिद गर्न चाहने गैरआवासीय नेपाली नागरिकले आफ्नो परिचयपत्र वा स्थायी लेखा नम्बर पेस गर्नुपर्नेछ ।

त्यस्तो कम्पनीको संस्थापकवा सर्वसाधारणका रुपमा लगानी गर्न सक्नेछन् । शेयरको कारोबार प्रणाली धितोपत्र बजारले व्यवस्थागरेबमोजिम हुनेछ । संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीले धितोपत्र निष्काशन गर्दा शेयरको प्रत्याभूतिसम्बन्धी व्यवस्था भने लागू हुने छैन ।

गैरआवासीय नेपालीलाई पुँजी बजारमा लगानीको अवसर उपलब्ध गराउन सरकार र बोर्डको उच्च प्राथमिकता रहेको प्रवक्ता अधिकारीको भनाइ छ ।

विश्वकपमा छनोट भएका महिला क्रिकेट खेलाडी  कञ्चनपुरमा  सम्मानित

कञ्चनपुर । विश्वकपमा छनोट भएको १९ वर्ष मुनिको महिला क्रिकेट टोलीका सदस्यलाई कञ्चनपुरमा नगदसहित सम्मान गरिएको छ ।

महेन्द्रनगरस्थित होली फेम्ली क्रिकेट एकेडेमीले यु–१९ महिला क्रिकेट टोलीका सदस्य सावित्री धामी र स्नेहा महरालाई आज रु ३०÷३० हजारसहित सम्मान गरेको हो । त्यसैगरी नेपाली महिला क्रिकेट टोलीकी उपकप्तान विन्दु रावललाई रु ५० हजार र टोलीका सहायक प्रशिक्षक जानकी भट्टलाई ३० हजार नगदसहित दोसल्ला ओढाएर सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले सम्मान गरे ।

खेलाडीलाई सम्मान गर्दै मन्त्री थापाले खेलाडीहरुको मेहनतले देशकै प्रतिष्ठा जोगिएको उल्लेख गर्दै प्रदेश सरकारबाट खेलकुदको विकासका लागि पहल गरिने बताए । 

जिल्ला क्रिकेट सङ्घ कञ्चनपुरका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले सरकारले क्रिकेटको विकासमा जोड दिनुपर्ने बताए ।
उनले खेलाडीका लागि खेलमैदान पहिलो आवश्यकता रहेकाले प्रदेश सरकारले खेलमैदान निर्माणका लागि सहयोग गर्नुपर्ने बताए ।

“यहाँ ठूलो प्रतियोगिता सञ्चालन गर्नका लागि राम्रो खेलमैदान छैन्, स्थानीय कबर्ड हलमा प्रतियोगिता गराउनुपर्छ”, उनले भने, “तीनै तहका सरकारले खेलकुदको विकासका लागि पूर्वाधारमा लगानी गर्न आवश्यक छ ।” 

होली फेम्ली क्रिकेट एकेडेमीका अध्यक्ष भुपालसिंह विष्टले खेलाडीको हौसलाका लागि सम्मान गरिएको बताए । गत महिना युनाइटेड अरब इमिरेट्स (युएई)मा भएको आइसिसी १९ वर्ष मुनिको महिला विश्वकपको एसिया छनोटको अन्तिम खेलमा युएईलाई आठ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको थियो । सन् २०२५ को जनवरीमा मलेसियामा हुने १९ वर्ष मुनिको महिला विश्वकपमा नेपालले सहभागिता जनाउनेछ ।

प्रधानमन्त्री ओलीका पिता अस्पताल भर्ना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पिता मोहनप्रसाद ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।  

महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा उपचाररत आफ्ना पिताको स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्रीले जानकारी शनिबार लिएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

सामाजिक सञ्जालमार्फत ओलीले भनेका छन्, ‘बुबालाई फोक्सोसम्बन्धी समस्या भएर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ, अहिले स्वास्थ्य स्थिति सामान्य छ ।’