`

‘किन छिन् छिन्’ लिएर आए विनय

काठमाडौं । गायक विनय कार्की क्षेत्रीले नयाँ गीत ‘किन छिन् छिन’ बोलको गीत ल्याएका छन् । कमल खत्रीको रचना तथा संगीतमा तयार भएको गीतमा उनले अञ्जना सारुसँग युगल गायन गरेका छन् ।

यस्तै यो गीतको भिडियो नितिन चन्दको निर्देशनमा तयार पारिएको छ। गीतको भिडियोमा श्रद्धा क्षेत्री, विक्रम पोखरेल तथा आरोही कार्की क्षेत्रीको अभिनय रहेको छ।

काठमाडौं महानगरपालिकाले कान्ति बाल अस्पतालमा मोडुलर अपरेसन थिएटर बनाइदिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कान्ति बाल अस्पतालमा मोडुलर अपरेसन थिएटर निर्माण गरिदिने भएको छ । सोमबार महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र अस्पतालका निर्देशक पङ्कज रायले निर्माण तथा उपकरण जडान सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

आधारभूत र आकस्मिक स्वास्थ्य सेवालाई सरल, सहज, पारदर्शी र पहुँच योग्य बनाउन आन्तरिक क्षमतासँगै अन्य सरकारी स्वास्थ्य सेवाको क्षमता बढाउन सहकार्य गरिएको हो ।

चालु आर्थिक वर्षमा कान्ति बाल अस्पतालसँगको सहकार्यका लागि ५ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । महानगरबासीको सरल पहुँचमा स्वास्थ्य सेवा विस्तारसँगै समय समयमा आउने विश्वव्यापी महामारीका जोखिमको प्रतिकार्य, रोकथाम र पुनःस्थापनाका लागि समन्वयात्मक काम गर्नु सम्झौताको उद्देश्य हो ।

सम्झौताबमोजिम अस्पतालले मोडुलर ओटी बनाउन लागतअनुमान तयार पार्नेछ । सम्झौतामा उल्लेख भएको ५ करोड ५० लाख रुपैयाँभन्दा धेरै लागत आएमा त्यसको दायित्व अस्पतालकै हुनेछ ।

लागत र ड्रइङ् डिजाइनका आधारमा खुला बोलपत्र आव्हान गर्ने, मूल्याङ्कन गर्ने, निर्माण पक्ष छनोट गर्ने र निर्माण कार्य गराउने दायित्व अस्पतालको हुनेछ । महानगरपालिकाले प्रगतिका आधारमा बढीमा ३ किस्तामा सम्झौताबमोजिमको रकम उपलब्ध गराउनेछ । यसरी रकम उपलब्ध गराउँदा नेपाल सरकार वा अन्य निकायबाट प्राप्त रकमसँगा दोहोरो नहुने सुनिश्चित गर्नेछ । यसरी उपलब्ध गराएको रकमबाट निर्माण हुने संरचनाको अनुगमन गर्नेछ ।

अस्पतालले आयोजनाको पारदर्शिताका लागि सूचना बोर्ड राख्नु पर्नेछ । निर्माणका लागि अन्य निकायबाट अनुदान वा सहयोग रकम उपलब्ध भएमा त्यसको विवरण महानगरपालिकामा बुझाउनु पर्नेछ । प्रचलित पद्धतिको पालना गरेर वेरुजु नहुने गरी काम गर्नु पर्नेछ । यसबाट कुनै प्रकारको वेरुजु देखिए यसलाई फस्र्योट गर्ने दायित्व अस्पतालकै हुनेछ । यस्तै अन्तिम लेखा परीक्षण गराएर रकम उपयोगलाई चुस्त बनाउनुपर्नेछ ।

निर्माण तथा उपकरण जडान कार्य २०८२ ज्येष्ठ मसान्तभित्र सम्पन्न गर्नुपर्नेछ । हस्ताक्षरपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले, महानगरबासीप्रति महानगरपालिकाले पूरा गर्नु पर्ने स्वास्थ्य सेवाको पहुँच सम्बन्धी दायित्व पूरा गरिएको बताए । यस्तै स्वास्थ्य सल्लाहकार डा. जगदीश अग्रवालले, बाल रोगको उपचारका लागि महानगरबासीले विशेष सहुलियत प्राप्त हुने अपेक्षा व्यक्त गरे ।

प्रचण्डसँग अब कहिल्यै झुक्किन्नँः बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अब कहिल्यै नझुक्किने प्रण गरेका छन् । मंगलबार सामाजिक संजालमार्फत भट्टराईले सबैलाई सधैं झुक्याउन नसिकने र आफू प्रचण्डसँग कहिल्यै नझुक्किने बताएका हुन् ।

उनले भनेका छन्, ‘प्रसिद्ध भनाइ छ, ‘सबैलाई केही समय झुक्याउन सकिन्छ, केहीलाई सधैंभर झुक्याउन सकिन्छ; तर सबैलाई सधैंभर झुक्क्याउन सकिन्न।’ परन्तु लामो सत्ताले मदहोश भएका प्रचण्ड जस्ता केही मान्छे ठान्दछन्– सबैलाई सधैंभर झुक्क्याउन सकिन्छ। उनको पछिल्लो हर्कत त्यसैको दसी हो । अब उनीबाट झुक्किने नझुक्किने सबैले आफैं सोच्ने कुरा हो। मैले त ३५ वर्षको प्रत्यक्ष अनुभव पछि गम्भीर आत्मसमीक्षासहित अब कहिल्यै नझुक्किने प्रण गरेको छु।’

सुप्रिम सहकारीको रकम अपचलनबारे अनुसन्धान गर्न रविलाई पोखराबाट रुपन्देही लगिँदै

पोखरा । प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि रुपन्देही लैजाँदै छ । सहकारीको रकम घोटाला प्रकरणमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई प्रहरीले आज रुपन्देही लैजान लागेको हो । बुटवल लैजनाका लागि प्रहरीले रविलाई कडा सुरक्षाका बीच पोखरा विमानस्थल पुर्याएको छ ।

सहकारीको रकम अपचलन गरेको कसुरमा अनुसन्धानका लागि प्रहरीले उनलाई २ कात्तिकमा काठमाडौंबाट पक्राउ गरेको थियो । त्यसपछि उनलाई अनुसन्धानका लागि पोखरा लगिएकोमा पटक–पटक म्याद थप भएको छ ।

आइतबार मात्रै उनलाई १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद थप गरिदिएको छ । कास्की प्रहरीले पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेलगायतको प्रकरणमा अनुसन्धान गरिरहेको छ ।

रुपन्देही प्रहरीले भने उनीमाथि बुटवलमा रहेको सुप्रिम सहकारीलगायतको रकम अपचलनमा अनुसन्धान गर्न लागेको हो । जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई पक्राउ गर्न अनुमति प्रहरीलाई दिइसकेको छ ।

सन् २०२४ अहिलेसम्मकै सर्वाधिक गर्मी वर्ष हुन सक्ने

बीबीसी । संयुक्त राष्ट्रसङ्घले सन् २०२४ अभिलेख राख्न थालिएदेखि अहिलेसम्मकै सर्वाधिक गर्मी वर्ष हुन सक्ने चेतावनी दिएको छ । अजरबैजानमा आयोजित विश्व जलवायु सम्मेलन (कोप२९) को पहिलो दिन प्रकाशित जलवायुसम्बन्धी प्रतिवेदनमा राष्ट्रसङ्घको एउटा निकायले त्यस्तो चेतावनी दिएको हो। राष्ट्रसङ्घको विश्व मौसम सङ्गठन (डब्ल्यूएमओ) ले जलवायु परिवर्तनका सन्दर्भमा ‘रेड अलर्ट’ जारी गरेको छ ।

तर त्यसको अर्थ विश्वले दीर्घकालीन तापमान वृद्धि औद्योगिकीकरण हुनुभन्दा अघिको तहसँग तुलना गर्दा १.५ डिग्रीभन्दा कममा सीमित पार्न विफल भएको भन्ने नलाग्ने सो निकायले जनाएको छ ।

‘कोप२९’ मा सहभागी हुन बाकुमा भेला भएका नेताहरू विकासशील देशलाई जलवायुसम्बन्धी गतिविधिका लागि प्रस्तावित १० खर्ब डलरको प्याकेज उपलब्ध गराउनुपर्ने दबावमा छन् ।

आगामी दुई सातासम्म चल्ने उक्त सम्मेलनमा विश्वका झन्डै २०० राष्ट्रका शीर्ष नेताहरू सहभागी हुँदैछन्। सम्मेलनको मुख्य ध्यान पेरिस सहमति २०१५ ले निर्धारण गरेअनुरूप राष्ट्रहरूले दीर्घकालीन तापमान वृद्धिलाई कसरी १.५ डिग्री मा सीमित पार्ने गरी योजना बनाउँछन् भन्नेमा छ ।

यो वर्ष औसत तापमान वृद्धि १.५ डिग्री सेल्सिअस भएको छ। तर राष्ट्रसङ्घले आफूले दीर्घकालीन प्रवृत्तिको कुरा गरेको हुनाले त्यस्तो वृद्धिले लक्ष्य भने प्रभावित नभएको जनाएको छ।

डेडिकेटेड र ट्रंक लाइन विवादसम्बन्धी लाल आयोगको प्रतिवेदन सार्वजनिक

काठमाडौँ । सरकारले डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादसम्बन्धमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको समितिको प्रतिवेदन सार्वजनिक गरेको छ ।

आइतबारको मन्त्रिपरिषद्को बैठकले डेडिकेटेड फिडर र ट्रङ्क लाइनको विद्युत् महशुलको विवाद समाधानका लागि गठित जाँचबुझ आयोग, २०८० को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयका आधारमा सोमबार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतिवेदन सार्वजनिक गरिएको हो ।

आयोगको प्रतिवेदनमा विवादको विषय, डेडिकेटेड र ट्रङ्क लाइनको परिभाषा, त्यसको उद्देश्य र मापदण्ड, महशुल निर्धारणसम्बन्धी मापदण्ड, महशुल छुट बिल तथा विभिन्न अदालतबाट भएका फैसला उल्लेख छ ।

ऊर्जा मन्त्रालयले सर्वोच्च अदालतका पूर्वन्यायाधीश लालको अध्यक्षतामा ऊर्जा मन्त्रालयका सचिव र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव सदस्य रहने समिति गठन गरेको थियो ।

मन्त्रिपरिषद्को २०८० पुस २४ को निर्णयअनुसार उक्त आयोग गठन गरिएको थियो । पत्रकार सम्मेलनमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले लाल आयोगको प्रतिवेदन सार्वजनिक भएसँगै कार्यान्वयनमा जाने जानकारी दिए । उनले मन्त्रिपरिषद्ले १५ दिनभित्र महशुल उठाउने र के कति हो भनेर निर्धारण गर्ने जिम्मेवारी प्राधिकरणको भएको निर्णय भएकाले उसले नै आफ्नो प्रक्रिया पूरा गर्ने बताए । मन्त्री खड्काले अब तत्कालै लाइन काटिएका उद्योगको बिजुली जोडिने उल्लेख गरे ।

मन्त्रिपरिषद् प्राधिकरणको सञ्चालक समितिभन्दा माथि भएकाले तत्काल बैठक नबसे पनि मङ्गलबारका लागि बैठक बोलाइएको जानकारी दिए । उद्योगको लाइन काटेर समस्या समाधान नहुने भएकाले प्राधिकरणले बिजुली प्रयोग गरेको बिल दिने उद्योगीले महशुल तिर्नुपर्ने भनेर नै मन्त्रालयले सहजीकरण गरिदिएको मन्त्री खड्काको प्रष्टोक्ति थियो ।

खासगरी आयोगले तीन अवधिमा विवाद रहेको ठहर गरेको छ । विसं २०७२ साउनदेखि २०७२ पुससम्मको पहिलो अवधि, नेपालका लोडसेडिङ अन्त्य हुनुअघिको अवधि २०७२ माघदेखि २०७५ वैशाखसम्म र नेपालमा लोडसेडिङ अन्त्य भएपछिको अवधि २०७५ जेठदेखि २०७७ सम्मको अवधि मानिएको छ । त्यसमा पहिलो र तेस्रोलाई छाडेर दोस्रो अवधिको महशुल उठाउनुपर्ने विषयलाई स्पष्टका साथ उल्लेख गरेको छ ।

पत्रकार सम्मेलनमा ऊर्जा सचिव सुरेश आचार्यले २०७२ पुस अघि अदालतको आदेश बमोजिम हुने र २०७५ वैशाखपछि लोडसेडिङ अन्त्य भएको जानकारी दिए । आयोगको सिफारिश बमोजिम बिल काटेर बक्यौता रकम असुल गरिने उनको भनाइ छ ।

https://drive.google.com/file/d/13dlk-pUrs9PlMaOXW00G08F0WUKOqLRg/preview

खेलकुदमा चीनको सहयोग सराहनीयः सदस्य सचिव घिसिङ

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङले चीन सरकारले नेपालको खेलकुदलगायत विभिन्न क्षेत्रमा गरेको सहयोग सराहनीय रहेको बताएका छन् ।

चीनको युनान प्रदेश खेलकुद प्रशासनका निर्देशक याङ झोङ हुआसहितको प्रतिनिधिमण्डलसँग सोमबार त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा भएको भेटमा सदस्य–सचिव घिसिङले भने, “चीन सरकारले खेलकुदसहित नेपालको विभिन्न क्षेत्रमा गर्दै आएको सहयोग प्रशंसनीय र सराहनीय छ । यसले नेपाल र चीनबीच रहँदै आएको सुमधुर सम्बन्धलाई अझ प्रगाढ बनाउनेमा विश्वस्त छु ।”

सदस्य–सचिव घिसिङले दुई देशबीच खेलकुदका क्षेत्रमा दिगो हिसाबले सहकार्य गर्नका लागि छलफल र गृह कार्यगरी अगाडि बढ्न तयार रहेको जानाउँदै राखेपलाई खेल सामाग्री र खेलकुद विज्ञान ‘रिसर्च ल्याब’ का लागि सामग्री सहयोग गरेकोमा धन्यवाद दिए ।

निर्देशक याङसहितको प्रतिनिधिमण्डल पोखरामा भएको ‘क्रस कन्ट्री’ दौडका लागि नेपाल आएको थियो । सोही कार्यक्रमका दौरान निर्देशक याङले राखेपलाई सामग्री हस्तान्तरण गरेका थिए ।

निर्देशक याङले नेपालसँग खेलकुद, पर्यटन र सांस्कृतिक क्षेत्रमा विशेषगरी युवा लक्षित कार्यक्रममा सहकार्य गर्न चाहेको बताउँदै युनान भ्रमणका लागि निमन्त्रणा गरे । उनले यो कार्यका लागि दूतावासको समन्वयमा छलफल गरेर अगाडि बढ्न सम्झौता गर्नुपर्नेमा जोड दिँदै ‘आउटडोर स्पोर्ट्स’ का लागि युनान एक उत्कृष्ट स्थल भएको बताए ।

भेटका दौरान नेपालका लागि चीन दूतावासका प्रतिनिधिको पनि उपस्थिति रहेको थियो । भेटपछि निर्देशक याङसहितको प्रतिनिधिमण्डल स्वदेश फर्कन त्रिपुरेश्वरबाटै विमानस्थल गएको थियो ।

प्राधिकरणले उद्योगमा लाइन जोड्दिन भन्न पाउँदैनः संचारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सरकारको निर्णय कार्यान्वयन नगर्ने कुरा क्षम्य नहुने बताएका छन् ।

आइतबारको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले विद्युत आपूर्ति बन्द गरेका उद्योगहरुको लाइन जोड्ने सरकारको निर्णय प्राधिकरणले मान्नुपर्ने बताए ।

उनले सरकारले गरेका निर्णयहरुमा कर्मचारीले आफ्ना मत राख्न पाउने तर निर्णय कार्यान्वयन गर्दिन भन्नेकुरा क्षम्य नहुने बताए । प्राधिकरणका कर्मचारीहरुले भने बक्यौता असुलपछि मात्र लाइन जोड्नुपर्ने बताउँदै आएका छन् ।

उनले उद्योगहरुमा विद्युत बन्द गर्दा मुलुकको औद्योगिक क्षेत्रलाई असर गरेको, रोजगारी, राजस्वमा प्रभाव परेको भन्दै सरकारले यस्तो निर्णय लिएको स्पष्ट पारे । उनले सरकारले डेडिकेटेड फिडर र ट्रंक लाइनको विद्युत महशुल पनि बिलअनुसार १५ दिनभित्र बुझाउन सरकारले निर्देशन दिएको बताए ।

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र अधिकृत नियुक्त(सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू नियुक्त गरेको छ । आयोगले सोमबारदेखि लागू हुनेगरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू नियुक्त गरेको हो ।

आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम ३२ जना जिल्ला न्यायाधीशहरूलाई मुख्य निर्वाचन अधिकृत र ६ जना राजपत्राङ्कित कर्मचारीलाई निर्वाचन अधिकृतको पदमा नियुक्त गरेको हो । आगामी मंसिर १६ गते स्थानीय तहका विभिन्न ४४ पदमा निर्वाचन हुँदैछ।

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले दिएको राजीनामा स्वीकृत गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले लोहनीको राजीनामा स्वीकृत गरेको छ ।

त्यसैगरी बैठकले भन्सार महशुल नियमावली, २०८१ र राहदानी (दोस्रो संशोधन) नियमावली, २०८१ पनि स्वीकृत गरेको छ। मन्त्रिपरिषद् विधेयक समितिबाट सुझावसहित आएका ती विधेयकहरु पनि मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

राष्ट्रपति पौडेल र महासचिव गुटेरेसबीच भेट

बाकु (अजरबैजान) । राष्ट्रपति रामचन्द्र पौडेल र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच संक्षिप्त भेट भएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन कतारको दोहाबाट अजरबैजानको बाकु जानेक्रममा जहाजमा उनीहरुबीच भेट भएको हो । 


भेटमा उनीहरुबीच जलवायु परिवर्तनबाट उत्पन्न समस्याबारेमा संक्षिप्त कुरा भएको हो । ‘जलवायु परिवर्तन हामी सबैको साझा समस्या हो । हिमाल, पृथ्वी र मानव समुदायको रक्षाका लागि यो समस्या समाधान गर्न हामी सबै जुट्नुपर्छ’, कुराकानीका क्रममा राष्ट्रपति पौडेलको भनाइ उदृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । 


महासचिव गुटेरेसले राष्ट्रपति पौडेल बसेको ठाउँमा आएर भेटेका थिए । 


आजबाट सुरु भएको कोप–२९ सममेलनमा  भाग लिन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल कतारको दोहा हुँदै सोमबार बाकु आइपुगेका हुन् । 

महिला सशक्तीकरणका क्षेत्रमा धेरै उपलब्धि भएपनि चुनौती अझै छन्ः परराष्ट्रमन्त्री राणा

काठमाडाैं। परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालमा लैङ्गिक समानता र महिला सशक्तिकरणका क्षेत्रमा गएका तीन दशकयता धेरै नै उपलब्धि भए पनि चुनौतीहरु पनि रहेका उल्लेख गरेकी छन्।

युएन वुमनद्वारा सोमबार राजधानीमा आयोजित बेइजिङ प्लस तीसको सिभिल सोसाइटी रिपोर्ट सार्वजनिक गर्दै मन्त्री डा राणाले ३० बर्षअघि बेइजिङमा सम्पन्न विश्वका नेताहरुको सम्मेलनपछि नेपालमा पनि महिला अधिकार, लैंगिक समानता तथा महिला सशक्तिकरणका क्षेत्रमा धेरै काम भएका बताएकी हुन्।

सो कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, “मलाई लाग्छ नेपालका महिलाहरुले अहिले प्राप्त गरेका संवैधानिक लगायतका अधिकारहरुको बिजारोपण ३० बर्षअघिको बेइजिङ सम्मेलनमा भएको हो। सो चौथो विश्व महिला सम्मेलनले लैंगिक समानता, महिला सशक्तिकरण, महिला विरुद्धका हिंसाको उन्मूलनलगायतका १२ ओटा क्षेत्रका प्रतिबद्धता अघि सारेको थियो।”

सो बेइजिङ सम्मेलनमा आफ्नो सक्रिय सहभागिता रहेको स्मरण गर्दै त्यसयता नेपालका महिलाहरुले अघि बढाएको अभियानले देशमा महिलाका क्षेत्रमा धेरै काम भएका तथा प्रजनन् स्वास्थ्यदेखि धेरै अधिकारहरु महिलाले संवैधानिक रुपमै प्राप्त गरेका उनले बताइन्।

सो सम्मेलनपछिका ३० बर्षमा महिला अधिकार र लैंगिक समानताका क्षेत्रमा उल्लेखनीय प्रगति भएपनि अझै धेरै काम गर्न भने बाँकी रहेको मन्त्री डा राणाको भनाइ थियो।

उनले भनिन्, “महिला र यहाँका बालिकाहरूले आर्थिक सहभागिता, शिक्षा, स्वास्थ्य, रोजगारी, न्यायमा समान पहुँच आदि क्षेत्रमा अहिले पनि चुनौतीहरूको सामना गर्नु परिरहेको छ। यसबारेमा पनि सोच्नुपर्छ र तिनको समाधानका लागि सरकार र नागरिक समाज एकताबद्ध भइ अघि बढ्नुपर्छ।”

मन्त्री डा राणाले बालिकाहरूको विद्यालय भर्ना, श्रम बजारमा महिलाको सहभागिता, मातृ स्वास्थ्य, बालबिवाहमा न्यूनिकरण एवं सम्पत्तिमा महिला अधिकार आदि क्षेत्रका सूचकांकमा नेपालले प्रगति गरेको उल्लेख गरिन्।

उनले हाम्रा नीतिहरू लैंगिक दृष्टिकोणलाई मूलप्रवाहीकरण गर्नुका साथै सीमान्तकृत समुदायका महिला, आदिवासी, दलित र अपाङ्गता भएकाहरुप्रति केन्द्रित रहेका जानकारी दिइन्।

मन्त्री डा राणाले संवैधानिक र कानुनी प्रत्याभूतिका कारण नेपालमा पनि राजनीतिमा महिला सहभागिता बढ्दै गएको स्पष्ट गर्दै तर पनि महिलामाथि हुने गरेका विभेद र डिजीटल युगमा बढ्दो भ्रमपूर्ण सूचनाले महिलालाई बढी तारो बनाउने गरेको आफूले पाएको धारणा राखिन्।

आफ्नै उदारहण प्रस्तुत गर्दै उनले भनिन्, “बढ्दो डिजीटल युगसँगै गलत सूचनाहरुले महिलालाई बढी शिकार बनाएको मेरो अनुभव छ। जस्तो कि यहाँ मेरा बारेमा पनि कतिधेरै गलत सूचनाहरु सप्रेषण गरिएका थिए। विश्वका महिला नेतृहरुको पनि यस्तै अनुभव रहेछ। म हालै सहभागी भएको क्यानाडा र संयुक्त राष्ट्रसङ्घीय महासभामा विश्वका महिला नेतृहरुले पनि यो अनुभव सेयर गर्नुभएको थियो।”

उनले यी सबैखाले चुनौतीका विरुद्धमा लडेरै अघि बढ्नुपर्ने भनाइ राखिन्। उनको भनाइ थियो, “महिला सशक्तिकरणका लागि हामीले बाटो बनाएका छौं। हामीले दिशा पनि निर्धारण गरेका छौं। हामीले कामका लागि गति सिर्जना गरेका छौं। तर पनि कहिलेकाहीँ यो बाटोबाट पछाडि धकेल्ने प्रयासहरू हुने भएकाले प्राप्त गरेका उपलब्धिहरूको रक्षागर्दै थप उपलब्धिका लागि अझ अघि बढ्दै जानुपर्छ।”

सबै खाले चुनौतीहरुको पहिचान गरी कति बर्षमा के कसरी समाधान गर्ने भन्ने स्पष्ट खाका एवं कार्ययोजना नै बनाएर अघि बढ्नुपर्ने उनको धारणा थियो।

सिकलसेलको औषधि ल्याएर वितरण गर्ने प्रधानमन्त्रीको घोषणा

धरान ।  प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारतमा उत्पादन र परीक्षण भएको सिकलसेलको औषधि ल्याएर नेपालका बिरामीलाई वितरण गर्ने बताएका छन् । नेपालमा थारू समुदायमा यो रोग बढी देखिने गरेको छ ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको १३औँ दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीले इमानदार र लगनशील भएर काम गरेमा सफलता प्राप्त हुने भएकाले उत्पादित नयाँ चिकित्सकहरुलाई सिकलसेलको औषधि वितरण गर्न तयार हुनुपर्ने बताए ।

नेपालको यही धर्तीबाट ऋषि चरकले स्वास्थ विज्ञानको थालनी गरेको सन्दर्भ उल्लेख गर्दै उनले सकभर निरोगी हुने र बिरामी भए सुलभ रूपमा उपचार पद्धतिका लागि सरकारले ध्यान दिएको बताए ।

प्रधानमन्त्री ओलीले नेपालका स्वास्थ संस्थामा चिकित्सक विद्यार्थीको कोटा थप्न, यस क्षेत्रलाई प्रभावकारी र सुशासनयुक्त बनाउन सरकार प्रतिबद्ध रहेकोे स्पष्ट गरे । समारोहमा स्नातक तहका ६ सय ५७ विद्यार्थी दीक्षित भएका छन् ।

नौ सय ७४ मेगावाट बराबरका ६४ सौर्य ऊर्जा परियोजना छनोट

काठमाडौँ । ऊर्जा मिश्रणको अवधारणालाई व्यवहारिक रुपमा कार्यान्वयन गर्ने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले ६४ वटा ऊर्जा कम्पनी छनोट गरेको छ ।

प्राधिकरणले प्रतिस्पर्धाका आधारमा ती कम्पनी छनोट गरेको जनाएको छ । ऊर्जा मिश्रण अवधारणा कार्यान्वयन गर्ने र हिउँदको ऊर्जा माग सम्बोधन गर्ने लक्ष्यका साथ सौर्य परियोजनालाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न मार्ग प्रशस्त गरेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार तराईका विभिन्न जिल्लामा सौर्य परियोजनालाई अगाडि बढाउन लागिएको हो । प्राधिकरणले एक हजार मेगावाट क्षमता बराबरका आयोजना अगाडि बढाउन लागेको हो ।

प्राधिकरणले यसअघि आठ सय मेगावाट बराबरको सौर्य परियोजना अगाडि बढाउने निर्णय गरेको थियो । त्यसमा २० प्रतिशत थप गर्ने निर्णय भएको थियो । प्राधिकरणले छनोट गरेका आयोजनाको क्षमता एकदेखि ५० मेगावाट बराबर छन् । हाल छनौट भएका ६४ परियोजनाको कूल क्षमता भने नौ सय ७४ मेगावाट बराबर छ ।

प्राधिकरणले प्रतिकिलोवाट चार रुपैयाँ ९९ पैसादेखि पाँच रुपैयाँ ५५ पैसासम्मको दर तय गरेको छ । विहान ६ बजेदेखि साँझ ६ बजेसम्म खरिद गर्ने गरी प्राधिकरणले सौर्य ऊर्जा उत्पादक कम्पनीसँग आवश्यक प्रक्रिया अगाडि बढाइने जनाएको छ । 

हिउँदमा नदीको जलस्तर घटन गई ऊर्जा उत्पादन केन्द्रहरुले कम क्षमतामा मात्रै बिजुली उत्पादन गर्ने भएकाले सौर्य परियोजनाको अवधारणा अगाडि सारिएको हो । दिनभरको माग सम्बोधन गर्न सौर्य ऊर्जा प्रभावकारी हुने ठहरसहित तत्कालका लागि झण्डै एक हजार मेगावाट बराबरको बिजुली प्रणालीमा जोडन लागिएको हो ।

दिनको माग धान्न वैकल्पिक व्यवस्था गर्न सकिए साँझ वा रातको माग भने जलविद्युत् आयोजनाले सम्बोधन गर्ने विश्वास लिइएको छ । सरकारले ठूला जलाशयुक्त आयोजनाको अवधारणा अगाडि सारेपनि निर्माण सम्पन्न गर्न लामो समय लाग्ने देखिन्छ ।

केही जलाशययुक्त आयोजनाको प्रक्रिया अगाडि बढाइएको भएपनि लगानीको ढाँचालगायतका विषयमा सहमति जुटन नसक्दा निर्माणमा जान ढिलाइ भइरहेको छ । जानकारहरुका अनुसार एकदेखि डेढ बर्षभित्रमा सौर्य परियोजनाले बिजुली उत्पादन गर्ने भएकाले प्रणाली व्यवस्थापन गर्न सहज हुने छ ।

राष्ट्रपति पौडेल अजरबैजानको बाकुमा

बाकु (अजरबैजान) ।  राष्ट्रपति रामचन्द्र पौडेल सोमबार अजरबैजानको बाकु आइपुगेका छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९)मा भाग लिन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल कतारको दोहा हुँदै सोमबार यहाँ आइपुगेका हुन् ।

उनलाई यहाँस्थित हैदर अलियभ अन्तर्राष्ट्रिय विमानस्थलमा अजरबैजान सरकारका न्यायमन्त्री फारिद तरुव अहमदोभलगायतका उच्च पदस्थ पदाधिकारीहरूले स्वागत गरे । 

भ्रमण दलमा प्रथम महिला सबिता पौडेल, राष्ट्रपतिका विज्ञ÷सल्लाहकारसहित नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको सहभागिता छ ।  भ्रमण दलका सदस्य वन तथा वातारण मन्त्री ऐनबहादुर शाही भने यसअघि नै बाकु आइपुगिसकेका छन् । 

कोप–२९ अन्तर्गतको सम्मेलनमा राष्ट्रपति पौडेलले उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई सम्बोधन गर्ने कार्यक्रम छ । 

सम्मेलनका क्रममा नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउन यही कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन गर्ने कार्यसूची छ । 

बढ्दो जलवायु चुनौतीको सम्बोधन गर्ने उद्देश्यले बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र फ्रेमवर्क कन्भेन्सन (कोप–२९) सम्मेलन आजदेखि सुरु भएको छ । 

सम्मेलन आगामी मङ्सिर ७ गतेसम्म चल्नेछ । सम्मेलनमा भाग लिएर राष्ट्रपति पौडेल यही कात्तिक ३० गते स्वदेश फर्कने कार्यतालिका छ ।

प्रधानमन्त्रीबाट बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका  ६५७ विद्यार्थी दीक्षित

धरान । प्रधानमन्त्री केपी शर्मा ओलीबाट बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको १३औँ दीक्षान्त समारोहमा सोमबार ६ सय ५७ विद्यार्थी दीक्षित भएका छन् ।


प्रतिष्ठानका सन् २०१० देखि सन् २०१७ ब्याचका एमबिबिएस, बिडिएस, एमडी, एमएस, एमडिएस, डिएम, एमसिएच बिएससी नर्सिङ र सन् २०१२ देखि सन् २०१८ सम्मका एएससी नर्सिङ, बिएमएलटी, बिएमआइटी, एपिएस र पिएडी उपाधि हासिल गरिसकेका विद्यार्थीहरुलाई कुलपति ओलीले दीक्षित गरेका हुन् ।


भारतका शिक्षाविद् प्राडा ज्योतिर्मोय पलँ विषेश अतिथि रहेको कार्यक्रममा सहकुलपति एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललगायत सहभागी थिए ।


कार्यक्रममा प्रतिष्ठानले प्रदान गर्दै आएको विभिन्न पुरस्कार उत्कृष्ट विद्यार्थीहरुलाई वितरण गरिएको थियो ।

२२ अंकले बढ्यो नेप्से

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार नेप्से दोहोरो अंकले बढेको छ । आइतबार साढे ६२ अङ्कले बढेको नेप्से सोमबार २२ दशमलव १४ अङ्कले बढेर दुई हजार सात सय ६० दशमलव २१ विन्दुमा पुगेको छ ।

सोमबार विकास बैंक, फाइनान्स, होटल, जलविद्युत् र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर बढेकोमा जीवन बीमा, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज सपोर्ट माइक्रोफाइनान्स, सामुदायिक लघुवित्त, गुराँस लघुवित्त, मानुषी लघुवित्त, शृजनशील लघुवित्त र माछापुच्छ्रे बैंकको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन इस्टर्न हाइड्रोपावर कम्पनीको शेयरमा भने नकारात्मक सर्किट लागेको छ । आज कारोबार रकम झन्डै दुई महिनायताकै उच्च भएको छ ।

आज तीन सय दुई वटा कम्पनीका दुई करोड ४५ लाख कित्ता शेयर ११ अर्ब ३१ करोड रुपैयाँमा कारोबार भएको छ ।

अमेरिकाको टस्केगी विश्वविद्यालयमा गोली चल्दा एक जनाको मृत्यु, १६ घाइते

वासिङ्टन । अमेरिकाको अलाबामा राज्यको टस्केगी विश्वविद्यालयमा गोली चल्दा एक जनाको मृत्यु हुनुका साथै अन्य १६ जना घाइते भएका छन् ।

घटनाको अनुसन्धानका लागि मेसिनगन राखेको आरोपमा २५ वर्षीय एक व्यक्तिलाई पक्राउ गरिएको अलाबामा कानून प्रवर्तन एजेन्सीले एक समाचार विज्ञप्तिमार्फत जनाएको छ । विज्ञप्तिअनुसार मेसिनगन रूपान्तरण उपकरणका साथ ह्यान्डगन लिएर आरोपित घटनास्थलबाट बाहिर जाँदै गर्दा पक्राउ गरिएको थियो ।  

विश्वविद्यालयले कानून प्रवर्तनले घटनास्थललाई सुरक्षित गरेको र अलाबामा ब्युरो अफ इन्भेस्टिगेसनले अनुसन्धान गरिरहेको बताएको छ ।

संयुक्त राज्य अमेरिकामा यस वर्ष अहिलेसम्म रिपोर्ट गरिएको कम्तीमा चार स य ५४ वटा सामूहिक गोलीबारीमध्ये यो पनि एक हो ।

गत अक्टोबर १९ मा अल्बानी स्टेट युनिभर्सिटीमा भएको गोली हानाहानमा एक जनाको मृत्यु भएको थियो भने अन्य धेरै घाइते भएका थिए । सोही दिन मिसिसिपीमा गोली चल्दा तीन जनाको मृत्यु भएको थियो भने अन्य आठ जना घाइते भएका थिए ।

पाकिस्तानका प्रधानमन्त्रीसँग राजदूत अधिकारीको बिदाइ भेट

काठमाडौँ । पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीले पाकिस्तानका प्रधानमन्त्री मुहम्मद सहबाज सरिफसँग बिदाइ भेट गरेका छन् । आफ्नो कार्यकाल पूरा गरी स्वदेश फिर्ता हुने क्रममा राजदूत अधिकारीले इस्लामाबादस्थित प्रधानमन्त्री कार्यालयमा बिदाइ भेट गरेका हुन् ।

त्यस अवसरमा नेपाल र पाकिस्तानबीचको द्विपक्षीय सम्बन्ध, दक्षिण एसियाली सहयोग संगठन (सार्क)मार्फत क्षेत्रीय सहकार्यलगायतका विषयमा छलफल भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

पाकिस्तानीका प्रधानमन्त्री सरिफले राजदूत अधिकारीको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ मजबुद भएको उल्लेख गर्दै अधिकारीको आगामी कार्यकाल सुखद होस् भनी कामना गरेका थिए ।

त्यस अवसरमा पाकिस्तानका उपप्रधानमन्त्री, परराष्ट्रमन्त्री मुहम्मद इशक दर, प्रधानमन्त्री सरिफका परराष्ट्र मामिलासम्बन्धी विशेष सहायक तारिक फतेमी, पाकिस्तानका परराष्ट्र सचिव अमना बोलाचका साथै नेपाली दूतावास उपप्रमुख मिसन लोकबहादुर क्षेत्रीलगायतको उपस्थिति थियो ।

लुम्बिनी लायन्सको ब्राण्ड एम्बेसडरमा महानायक राजेश हमाल

काठमाडौं । लुम्बिनी लायन्सले नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाललाई आफ्नो टोलीको ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ । सोमबार पत्रकार सम्मेलन गरी हमाललाई टोलीको ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको घोषणा गरिएको हो ।

ब्राण्ड एम्बेसेडरको रुपमा नियुक्त भएपछि हमालले यो सहकार्यमार्फत लुम्बिनी लायन्स तथा नेपालीे क्रिकेटको प्रवद्र्धनमा आफ्नो योगदान रहने बताए । नेपाल प्रिमियर लिग (एनपीएल) आगामी १५ मंसिरदेखि ६ पुससम्म चल्नेछ ।

आन्तरिक लेखापरीक्षणबाट सङ्घ र प्रदेश सरकारको साढे २१ अर्ब बेरुजु देखियो

काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा सङ्घ र प्रदेश सरकारको बेरुजु २१ अर्ब ५१ करोडभन्दा बढी देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले महालेखापरीक्षकको कार्यालयलाई बुझाएको ‘केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण’अनुसार सङ्घ तथा प्रदेश सरकारको गत आर्थिक वर्ष २०८०/८१ मा आन्तरिक लेखापरीक्षणबाट कायम भएको बेरुजु रकम २१ अर्ब ५१ करोड ९६ लाख छ ।

जसमा नियमित गर्नुपर्ने बेरुजु एक अर्ब १३ करोड ५० लाख, असुल गर्नुपर्ने बेरुजु एक अर्ब ९२ करोड ९६ लाख र पेश्की बेरुजु १० अर्ब ४५ करोड ४९ लाख रहेको जनाइएको छ ।

महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार सरकारको गत आर्थिक वर्षको सङ्घीय सञ्चित कोष, वैदेशिक अनुदान र ऋण सहायता, लगानी एवम् नेपाल सरकारका बजेटरी तथा गैर बजेटरी निकायको विनियोजन, राजस्व, धरौटी तथा अन्य कोषहरूको कारोबारलगायतका विषयहरु समेटेर केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण तयार पारी महालेखापरीक्षकको कार्यालयलाई बुझाइसकेको छ ।

‘केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण यहि कात्तिक १४ गते महालेखापरीक्षकलाई बुझाइसकेको छौँ । यसरमा सरकारको गत आर्थिक वर्षको कारोबारको यथार्थ वित्तीय अवस्थाको चित्रण छ’, उनले भने ।

उक्त विवरणअनुसार गत आर्थिक वर्षमा सङ्घीय सञ्चित कोष कुल दुई खर्ब २४ अर्ब ९९ करोड १३ लाखले ऋणात्मक छ ।

‘आर्थिक वर्ष २०८०/८१ को सुरूमा सङ्घीय सञ्चित कोष कुल एक खर्ब ८१ अर्ब २६ करोड ७३ लाखले ऋणात्मक रहेकोमा यस वर्ष कुल प्राप्ति १३ खर्ब ३५ अर्ब ९२ करोड ७४ लाख रहेको र कुल भुक्तानी १३ खर्ब ९३ अर्ब ३९ करोड ४२ लाख तथा विनिमय दर वा अन्य समायोजन १४ अर्ब ४४ करोड २८ लाख भएबाट यस आर्थिक वर्षको सुरूको मौज्दात समेतको समायोजनबाट आर्थिक वर्षको अन्त्यमा सङ्घीय सञ्चित कोष कुल रू दुई खर्ब २४ अर्ब ९९ करोड १३ लाखले ऋणात्मक रहेको छ’, महालेखा नियन्त्रक कार्यालयले तयार पारेको विवरणमा भनिएको छ ।

गत आवमा सरकारको बजेटरी निकायको नगद तथा बैङ्क मौज्दात रू ८४ अर्ब ७८ करोड ४८ लाख ऋणात्मक रहेको छ । गैर बजेटरी निकायको सोही अवधिको नगद तथा बैङ्क मौज्दात भने रु ७१ अर्ब ८२ करोड ७३ लाख धनात्मक रहेको छ । यसरी गत आर्थिक वर्षमा सरकारको नगद तथा बैङ्क मौज्दात रु १२ अर्ब ९५ करोड ७५ लाखले ऋणात्मक देखिन्छ ।

गत आर्थिक वर्षका लागि सरकारले रू १२ खर्ब ४७ अर्ब ६३ करोड ४२ लाख राजस्व उठाउने लक्ष्य राखेकोमा रू नौ खर्ब ५६ अर्ब २६ करोड ५६ लाख मात्रै सङ्कलन भएको छ । त्यस्तै, सरकारले गत आर्थिक वर्षमा रू १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बजेट खर्च गर्ने लक्ष्य राखेकोमा रू १३ खर्ब ९३ अर्ब ३९ करोड ४२ लाख बराबरको मात्रै खर्च भएको देखिएको छ ।

‘कुल खर्च रकममध्ये सङ्घीय सञ्चित कोषमाथि व्ययभार हुने रकमतर्फ रू तीन खर्ब पाँच अर्ब ६३ करोड १५ लाख खर्च भएको छ भने सङ्घीय सञ्चित कोषबाट विनियोजन हुने व्ययतर्फ सोझै भुक्तानी बाहेक रू १० खर्ब ४० अर्ब ५८ करोड छ लाख खर्च भएको छ’, केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरणमा भनिएको छ ।

सरकारले गत आर्थिक वर्षमा प्रदेश र स्थानीय तहलाई सङ्घीय सञ्चित कोषबाट रू चार खर्ब आठ करोड ७० लाख बजेट हस्तान्तरण गर्ने लक्ष्य राखेकोमा रू तीन खर्ब ३९ अर्ब ४१ करोड ६२ लाख बराबर मात्रै हस्तान्तरण भएको छ । जसमा प्रदेश सरकारलाई रू ७६ अर्ब एक करोड ९९ लाख र स्थानीय तहलाई रू दुई खर्ब ६३ अर्ब ३९ करोड ६२ लाख बराबर हस्तान्तरण देखिन्छ ।

गत आर्थिक वर्षमा सरकारको विभाज्य कोषमा सङ्कलन भएको कुल रकम रू चार खबै १९ अर्ब ६४ करोड ३१ लाख मध्येबाट रू तीन खर्ब ८० अर्ब ८१ करोड ८८ बाँडफाँट भएको र रू ३८ अर्ब ८२ करोड ४३ लाख बाँडफाँट हुन बाँकी रहेको पनि महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

गत आवमा सरकारको कुल रू १८ अर्ब १२ करोड १२ लाख पेश्की बाँकी रहेको पनि उक्त विवरणमा उल्लेख छ । जसमा म्याद ननाघेको पेश्की रू सात अर्ब ६६ करोड ६३ लाख र म्याद नाघेको पेश्की रू १० अर्ब ४५ करोड ४९ लाख रहेको छ ।

गत आर्थिक वर्षमा सरकारले कुल रू तीन खर्ब ६० अर्ब आठ करोड ७५ लाख बराबर ऋण उठाएको देखिन्छ । जसमध्ये वैदेशिक ऋण रू एक खर्ब २५ अर्ब ६६ करोड ६१ लाख र आन्तरिक ऋण रू दुई खर्ब ३४ अर्ब ४२ करोड १४ लाख रहेको छ । त्यस्तै, गत आर्थिक वर्षमा सरकारले सार्वजनिक ऋणको साँवा तिर्नका लागि रू दुई खर्ब २३ अर्ब २७ करोड ९५ लाख खर्च गरेको छ ।

केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा सरकारबाट रू ४१ अर्ब ७५ करोड ७८ लाख आन्तरिक ऋण लगानी भएको छ । त्यस्तै, सार्वजनिक संस्थानमा रू छ अर्ब ९९ करोड ४३ लाख बराबरको शेयर लगानी भएको तथा वैदेशिक शेयर लगानी रू २१ करोड ६० लाख बराबर रहेको महालेखा नियन्त्रक कार्यालयको विवरणमा उल्लेख छ ।

गत आर्थिक वर्षमा सरकारले वैदेशिक ऋण तथा अनुदानबाट शोधभर्ना लिनुपर्ने करिब रू २४ अर्ब बराबर शोधभर्ना हुन बाँकी रहेको देखिएको छ । “शोधभर्ना हुन बाँकी वैदेशिक ऋण रकम रू १७ अर्ब नौ करोड २१ लाख छ । त्यस्तै वैदेशिक अनुदान तर्फ रू छ अर्ब ७४ करोड पाँच लाखसमेत गरी शोधभर्ना हुन कुल बाँकी रकम रू २३ अर्ब ८३ करोड २६ लाख छ ।

सरकारका बजेटरी निकायसँग रू ९७ अर्ब ८४ लाख र गैर बजेटरी निकायहरूसँग रू १९ अर्ब ९९ करोड ७० लाख रकमको जिन्सी तथा सम्पत्ति रहेको अभिलेख रहेको पनि कार्यालयले जनाएको छ ।

ट्रम्पद्वारा आप्रवासन अधिकारी टम होमनलाई ‘बोर्डर जार’का रूपमा घोषणा

वासिङ्टन। अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले आइतबार आगामी प्रशासनमा देशको सिमानाको निरीक्षण गर्न कट्टर आप्रवासन अधिकारी टम होमनलाई फिर्ता ल्याउने बताएका छन् ।

अठहत्तर वर्षीय रिपब्लिकन उद्योगपतिले आफ्नो राष्ट्रपति कार्यकालको पहिलो दिनदेखि नै अमेरिकी इतिहासकै सबै भन्दा ठूलो कागजातविहीन आप्रवासीहरूको निर्वासन अभियान सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

“म पूर्व आइसिई निर्देशक र सीमा नियन्त्रणका दृढ समर्थक टम होमन हाम्रो राष्ट्रको सीमाको जिम्मेवारीमा (‘बोर्डर जार’का रूपमा) ट्रम्प प्रशासनमा सामेल हुने घोषणा गर्न पाउँदा खुसी छु । मैले टमलाई लामो समयदेखि चिन्छु र हाम्रो सीमाको प्रहरी र नियन्त्रणमा उनी भन्दा राम्रो कोही छैन ।” ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेको छ ।

ट्रम्पले होमनलाई ‘सबै गैर कानुनी विदेशीलाई उनीहरूको मूल देशमा फिर्ता पठाउने’ जिम्मेवारी दिइने बताए ।

सन् २०२० को राष्ट्रपति निर्वाचनमा हार स्वीकार नगरेका ट्रम्पले नोभेम्बर ५ को मतदानमा उल्लेखनीय पुनरागमन गरेका छन् । यसले उनको कट्टर दक्षिणपन्थी दृष्टिकोणले प्रभुत्व जमाएको एक दशकभन्दा बढी अमेरिकी राजनीतिको सुरुआत गर्ने देखिन्छ ।

आफ्नो चुनावी अभियानमा उनले कागजातविहीन आप्रवासीहरू विरुद्ध बारम्बार आक्रोश व्यक्त गरे र अमेरिकाको ‘रगत विषाक्त पार्ने’ व्यक्तिहरूका बारेमा हिंसात्मक भाषा प्रयोग गरे ।

अमेरिकी सरकारले मेक्सिकोसँगको दक्षिणी सीमा व्यवस्थापनमा वर्षौँदेखि संघर्ष गरिरहेको भए पनि अमेरिकीहरूलाई बलात्कार र हत्या गर्ने आप्रवासीहरूद्वारा ‘आक्रमण’ भइरहेको दाबी गर्दै ट्रम्पले चिन्ता व्यक्त गरेका छन ।

र्‍याली भाषणहरूमा उनले स्थानीय तनावहरूलाई अत्यधिक बढाइचढाइ गरे र आफ्ना श्रोताहरूलाई आप्रवासन तथ्यांक र नीतिबारे भ्रममा पारे । ट्रम्पको शासनकालमा बढेको हिंसात्मक अपराध राष्ट्रपति जो बाइडेनको प्रशासनमा हरेक वर्ष घटेको छ ।

आप्रवासीहरूले स्थानीय जनसङ्ख्याको अनुपातमा कम अपराधहरू गर्छन् । यद्यपि महिला र बालबालिकामाथि हिंसात्मक आक्रमणका केही उच्च–प्रोफाइल मामिलाहरूमा विदेशी संदिग्धहरूको नाम राखिएको छ । यसले रिपब्लिकनहरूलाई क्रोधित बनाएको छ ।

मेक्सिकोबाट गैरकानुनी रूपमा सीमा पार गर्ने आप्रवासीहरूसँग अमेरिकी सीमा गस्ती मुठभेडहरूको सङ्ख्या अहिले ट्रम्पको राष्ट्रपतिको अन्तिम वर्ष सन् २०२० मा जस्तै छ । यो सन् २०२३ डिसेम्बरमा मासिक रेकर्ड दुई लाख ५० हजारमा पुगेको थियो ।

ट्रम्पले सन् १७९८ को एलियन एनिमिज एक्ट प्रयोग गरेर आप्रवासी गिरोहहरूलाई सम्बोधन गर्ने वाचा गरे । उक्त एक्टले संघीय सरकारलाई शत्रु देशहरूका विदेशीहरूलाई पक्रन र निर्वासन गर्न अनुमति दिन्छ । यो ‘अपरेसन अरोरा’ नाम दिएको सामूहिक निर्वासन अभियानको हिस्सा हो ।

अरोरामा एक भाइरल भिडियोमा सशस्त्र ल्याटिनोहरूले एउटा अपार्टमेन्ट ब्लकमा उपद्रो मच्चाएको देखाइएको थियो । यसले ल्याटिन अमेरिकी आप्रवासीहरूले शहरमा आतंक मच्चाएको भन्ने झूटो कथाहरू फैलाएको थियो ।

ओहायोको स्प्रिंगफिल्डमा हाइटीका आप्रवासीहरूले बासिन्दाहरूको घरपालुवा जनावर खाँदै छन् भन्ने काल्पनिक कथालाई पनि ट्रम्पले प्रचार गरेका छन् ।

कोप–२९ सम्मेलन अजरबैजानमा सुरु

बाकु । बढ्दो जलवायु चुनौतीको सम्बोधन गर्ने उद्देश्यले अजरबैजानको राजधानी बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र फ्रेमवर्क कन्भेन्सन (कोप–२९) सम्मेलन सोमबारदेखि सुरु भएको छ ।

सम्मेलनमा विश्वभरका नेताहरू छलफल र विश्वव्यापी सहकार्यका लागि नोभेम्बर २२ सम्म बाकुमा भेला भई जलवायु सङ्कटको सामनामा केन्द्रित रहने जनाइएको छ ।

देशहरूले उत्सर्जनमा कटौती र विश्वव्यापी आपूर्ति शृङ्खलामा थप उदारलगायतका व्यवस्था गर्न नसकेसम्म कुनै पनि अर्थव्यवस्था जी–२० सहित–अनियन्त्रित विश्वव्यापी उष्णताबाट बाँच्न नसकिने तथा गम्भीर मुद्रास्फीति प्रभावबाट उम्कन नसक्ने राष्ट्रसङ्घले जनाएको छ ।

राष्ट्रसङ्घका अनुसार सम्मेलनले पछिल्लो समयमा विश्वव्यापी तापक्रम उच्च हुँदा बढ्दै गएका प्रतिकूल मौसमी घटनाहरूले कोप–२९ सम्बन्धित सबैलाई विश्वव्यापी मुद्दाको समाधानका लागि एकताबद्ध बनाउनेछ ।

जलवायु परिवर्तनकोे प्रभावबाट जीवन रक्षा गर्न खर्बौं डलर आवश्यक रहेकाले कोप–२९ को मुख्य ध्यानाकर्षण आर्थिक मामलामा हुने तथा देशहरूलाई हरित गृह ग्यास उत्सर्जन घटाउन आवाह्न गर्न रहने जनाइएको छ ।

यस वर्षको सम्मेलन नयाँ वित्तीय प्रतिबद्धतामा केन्द्रित छ । जसलाई ‘न्यु कलेक्टिभ क्वान्टिफाइड गोल (एनसिक्युजी)’ नाम दिइएको छ । एनसिक्युजी वा ‘फाइनान्स कोप’ भनेर चिनिने नयाँ लक्ष्य यस सम्मेलनमा छलफल हुने र सन् २०२५ देखि प्रभावकारी हुने लक्ष्य राखिएको छ ।

जलवायु वित्तसम्बन्धी स्वतन्त्र उच्चस्तरीय विशेषज्ञ समूहको सन् २०२२ को प्रतिवेदनअनुसार विकासशील देशहरूलाई जलवायु वित्त आवश्यकताहरू पूरा गर्न सन् २०२५ सम्ममा प्रतिवर्ष १० खर्ब अमेरिकी डलर तथा सन् २०३० सम्ममा २४ खर्ब अमेरिकी डलर चाहिन्छ ।

कोप–२९ को मुख्य उद्देश्य जलवायुसम्बन्धी चुनौतीहरूको सामना गर्ने कमजोर देशहरूलाई सहयोग गर्न वित्तीय लक्ष्यहरूमा सम्झौताहरू सुरक्षित गर्नु हो । आज एक सय ९८ देशले प्रगति मूल्याङ्कन गर्न र जलवायु सङ्कटको प्रतिक्रियाहरू बनाउन वार्षिक बैठकहरूमा भाग लिने स्रोतले जनाएको छ ।

‘युएनइपी उत्सर्जन ग्याप रिपोर्ट २०२४’ का अनुसार तापक्रम क्रमशः दुई डिग्री सेल्सियस तथा एक दशमलव पाँच डिग्री सेल्सियसभन्दा कम राख्ने र सन् २०३० सम्म वार्षिक उत्सर्जन पाँच दशमलव पाँच प्रतिशत र नौ प्रतिशतले घटाउनु पर्नेछ ।

कोप–२९ का विषयवस्तुहरूले वित्त, ऊर्जा सङ्क्रमण, मानव पूँजी, जैविक विविधता, खाद्य सुरक्षालगायत जलवायुका पक्षहरूलाई सम्बोधन गर्नेछन् । वर्ल्ड लिडर्स क्लाइमेट एक्सन समिटजस्ता उल्लेखनीय सत्रहरूले उच्चस्तरीय छलफललाई सहज बनाई युवा, स्वास्थ्य र सहरीकरणका संवादलाई बढावा दिनेछन् ।

प्रमुख लक्ष्यहरूमा नयाँ विश्वव्यापी जलवायु वित्त लक्ष्य स्थापना, अनुकूलन उपायहरू मापन गर्ने र एक दशमलव पाँच डिग्री सेल्सियस लक्ष्यसँग प्रतिबद्धताहरू प्राप्त गर्ने समावेश छन् ।

रुसी आक्रमणमा ६ जनाको मृत्यु भएपछि युक्रेनद्वारा हवाई सतर्कता जारी

किएभ । देशको दक्षिणी भागमा रुसी आक्रमणबाट कम्तीमा छ जनाको मृत्यु भएपछि युक्रेनी अधिकारीहरूले देशको अधिकांश भागमा हवाई आक्रमणको सतर्कता जारी गरेका छन् ।

“ध्यान दिनुहोस् ! सम्पूर्ण युक्रेनमा क्षेप्यास्त्रको खतरा ! मिग-३१ के उडान भयो”, युक्रेनी वायुसेनाले टेलिग्राममा रुसी बमवर्षक विमानहरू हावामा रहेको पुष्टि गर्दै पोस्ट गरेको छ ।

यसअघि रुसी हवाई आक्रमणमा दक्षिणी युक्रेनमा कम्तीमा छ जनाको मृत्यु भएको छ । यो घटना मस्को र किएभले एक अर्कामाथि रेकर्ड सङ्ख्यामा राति ड्रोन आक्रमण गरेको एक दिनपछि भएको हो ।

क्षेत्रीय गभर्नरका अनुसार दक्षिणी शहर मिकोलाइभमा पाँच जनाको मृत्यु भएको छ भने जापोरिझ्जियामा भएको आक्रमणमा एक जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको अधिकारीहरूले बताएका छन् ।

“पाँच जनाको मृत्यु भएको छ”, मिकोलाइभका गभर्नर भिटाली किमले सोमबार बिहान टेलिग्राममा लेखे । यसअघि चार जनाको मृत्यु भएको बताइएको थियो । आक्रमणमा धेरै आवासीय भवनमा आगलागी भएको थियो ।

पूर्वतर्फ करिब तीन सय किलोमिटर टाढा जापोरिझ्जियामा युक्रेनको राज्य आपत्कालीन सेवा एजेन्सीले रुसले गरेको तीन वटा हवाई आक्रमणमा एक पुरुषको मृत्यु भएको र धेरै भवन क्षतिग्रस्त भएको जनाएको छ ।

जापोरिझ्जियाका गभर्नर इभान फेडोरोभका अनुसार पाँच बालबालिकासहित १८ जना घाइते भएका छन् ।

“चार, १६ र १७ वर्षका बालक र १५ र १७ वर्षका बालिकाले आवश्यक चिकित्सा सहायता पाएका छन्”, उनले टेलिग्राममा भने ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका अनुसार शनिबार रातिदेखि आइतबार बिहानसम्म रुसले युक्रेनमाथि एक सय ४५ वटा ड्रोन प्रहार गरेको छ । यो जुन द्वन्द्वका क्रममा एकै रातको आक्रमणमा अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

रुसले आइतबार मस्कोतर्फ लक्षित ३४ वटा युक्रेनी ड्रोन खसालेको पनि बताएको छ । यो सन् २०२२ मा युद्ध सुरु भएयता राजधानीमाथि गरिएको सबैभन्दा ठूलो आक्रमण प्रयास थियो ।

कोशीका पूर्वमन्त्री अधिकारी पक्राउबारे प्रदेशसभाले दियो सार्वजनिकरुपमा जानकारी

विराटनगर । कोशी प्रदेशसभाले पूर्वमन्त्री एवं सांसद लिलाबल्लभ अधिकारी प्रहरीले पक्राउ गरेको जानकारी गराएको छ ।

सोमबार प्रदेशसभाका कार्यबाहक सचिव गौतमराज अमात्यले सूचना प्रकाशित गरी सांसद अधिकारी पक्राउ परेको जानकारी गराएका हुन् ।

सांसद अधिकारीलाई आइतबार प्रहरीले विराटनगरमा पक्राउ गरेर काठमाडौं पठाएको थियो । मानव तस्करी अभियोगमा मुछिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डलाई अनेरास्ववियुको ध्यानाकर्षण पत्र

काठमाडौँ। राष्ट्रिय परीक्षा उत्तरपुस्तिका परीक्षणमा लापरबाही हुन नदिन आग्रह गर्दै अनेरास्ववियु काठमाडौँ जिल्ला कमिटीले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

बोर्डका उत्तरपुस्तिका निरीक्षकले जाँच गर्दा लापरबाही गर्ने गरेको भन्दै अध्यक्ष शर्माको ध्यानाकर्षण गराइएको अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज धर्मराज तिमिल्सिनाले जानकारी दिए।

खोटाङ केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरस्थित थर्पुडाँडा माध्यमिक विद्यालयका छात्र शिवकुमार राईको उत्तरपुस्तिका नियतवश केरमेट गरेर परीक्षकले अनुत्तीर्ण गराएको आरोपसहित ती छात्रका आफन्तले बोर्डमा उजुरी दिएको र उजुरीका आधारमा राष्ट्रिय परीक्षा बोर्डले पुनः उत्तरपुस्तिका परीक्षण गरी उत्तीर्ण भएको सूचना सार्वजनिक भएपछि अनेरास्ववियुले घटनामा सङ्लग्न दोषीलाई कारबाही गर्न पनि माग गरेको छ ।

तिमिल्सिना नेतृत्वको टोलीले परीक्षा नियन्त्रक नन्दलाल पौडेलसँग यस विषयमा छलफल गरेको थियो । परीक्षा नियन्त्रकका अनुसार २०८० को एसइई नतिजा हेर्दा पुनर्योगको लागि निवेदन दिने १८ हजार ६ सय १२ जना विद्यार्थीमध्ये आठ सय ४८ जना विद्यार्थीको नतिजा परिवर्तन भएको पाइएको अनेरास्ववियुले जनाएको छ ।

तीमध्ये दुई सय विद्यार्थीले उत्तरपुस्तिका हेर्न पाउँ भनेर निवेदन दिएकामा ३६ जनाले विज्ञसँग बसेर उत्तरपुस्तिका हेरेका सङ्गठनले जनाएको छ । विज्ञले पुनःपरीक्षण नगर्न दबाब दिँदादिँदै १६ जना विद्यार्थीले पुनःपरीक्षणका लागि निवेदन दिएकामा १० जनाको नतिजा परिवर्तन भएर आएको तथ्याङ्कलाई हेर्दा उत्तरपुस्तिका पुनःपरीक्षण गर्दा ६२ दशमलव ५५ प्रतिशत विद्यार्थीको नतिजामा परिवर्तन आउने देखिएको अनेरास्ववियुले जनाएको छ ।

यसले राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, मातहतका संयन्त्रहरू तथा सम्बन्धित सरोकारवालाले लापरबाही गरेको देखिएको भन्दै ध्यानाकर्षण पत्र बुझाइएको जनाइएको छ ।

वीरगञ्जमा यात्रुसँग दोब्बर भाडा असुल्दै सार्वजनिक यातायात 

वीरगञ्ज । छठ मनाएर काठमाडौं फर्किने यात्रुसँग वीरगञ्जका सार्वजनिक यातायातमा दोब्बर भाडा असुल्न थालिएको छ । वीरगञ्जबाट हेटौँडा–काठमाडौं चल्ने टाटा सुमो, इलेक्ट्रिक बस तथा लामो रुटमा चल्ने सवारीसाधनमा साविकको भन्दा दोब्बर भाडा असुल्न थालिएको तर प्रशासनले भने कारबाही गर्न नसकेको यात्रुहरूको गुनासो छ । हाल वीरगञ्जका बस काउन्टरमा यात्रुले टिकट पाउनसमेत मुस्किल छ ।

वीरगञ्ज महानगरपालिका–१५ लक्ष्मणवा बस्ने जयमोद ठाकुरले गत शनिबार आफ्नो छोरा वीरगञ्ज–हेटौँडा हुँदै काठमाडौं जाँदा इलेक्ट्रिक बसले दोब्बर भाडा असुलेको गुनासो गरे । ‘मेरो छोरालाई वीरगञ्जबाट काठमाडौं पठाउँदा अन्य बेलाभन्दा दोब्बर भाडा तिरेर पठाए । अरु बेला वीरगञ्जबाट काठमाडौं जाँदा आठ सय ५० रुपैयाँसम्म लिने गरिन्थ्यो तर अहिले यातायात व्यवसायीले एक हजार पाँच सयसम्मको भाडा मागे । यसरी जथाभावी ढङ्गले भाडा असुल्नेलाई प्रहरीले कारबाही गर्न सकिरहेको छैन,’ उनले भने ।

ठाकुरले वीरगञ्जका यातायात व्यवसायीले बढी भाडा असुलेको विषयलाई लिएर आइतबार सामाजिक सञ्जाल फेसबुकमा भिडियोसमेत पोष्ट गरेका छन् । व्यवसायीले अरु बेला टिकट दिने गरे पनि हाल टिकट छैन भनेर बढी मूल्य दिनेलाई मात्रै उपलब्ध गराउने गरेको आरोप उनले लगाए । वीरगञ्ज बसपार्कमा यात्रु सहायता कक्ष राखेको भए पनि प्रहरी प्रशासनले यात्रुलाई राहत र बिचौलियालाई कानुनी दायरामा ल्याउन नसकेको ठाकुरको भनाइ छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख लोकराज भट्ट भने बढी भाडा लिएको भन्दै गुनासो आएपछि अनुगमनमा जाँदा गुनासोकर्ता नै सम्पर्कमा नआउँदा कारबाही गर्न समस्या भइरहेको दाबी गर्छन् । ‘शनिबार पनि बढी भाडा लिएको भन्दै फोनमा गुनासो टिपाएपछि हामी त्यसबारे बुझ्न जाँदा पीडितपक्ष सम्पर्कमा नै आएनन्, अनि के आधारमा कारबाही गर्नु,’ उनले भने, ‘हामीले परवानीपुरमा पनि नियमित जाँच गरिरहेका छौँ । कतिपय यात्रु बढी भाडा तिरेर जाँदा पनि ट्राफिक प्रहरीलाई रिपोर्ट नगर्दा त्यस्ता सवारीसाधनलाई कारबाही गर्न समस्या भइरहेको छ ।’

पर्साका ट्राफिक प्रहरी प्रमुख भट्टले वीरगञ्जको गण्डकचोकबाट बढी भाडा लिएको गुनासो आएसँगै आइतबार एउटा सवारीसाधनलाई बढी भाडा लिएको भन्दै फिर्ता गराउन लगाएको जानकारी दिए । ‘आइतबार बढी भाडा लिएको भन्ने एउटा सवारीसाधनबाट बढी भाडा फिर्ता पनि गरायौँ,’ उनले भने, ‘बढी भाडा लिएको सवारीसाधनलाई आवश्यक कारबाही गर्न यातायात व्यवस्था कार्यालय वीरगञ्जलाई सिफारिस गरेका छौँ ।’ 

बक्यौता असुलपछि मात्र उद्योगमा लाइन जोड्न प्राधिकरणका कर्मचारीको माग

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कर्मचारीले बक्यौता महसुल नउठाई उद्योगको लाइन जोडिए आन्दोलन गर्ने चेतावनी दिएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबार मध्यान्ह १२ बजेसम्म काटिएका उद्योगमा बिजुली जोड्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको थियो ।

तर सरकारको निर्णयप्रति आपत्ति जनाउँदै विद्युत् प्राधिकरणका कर्मचारी संगठनले महसुल नउठाइ लाइन जोडिए आन्दोलनको चेतावनी दिएका छन् ।

कर्मचारी संगठनले उर्जामन्त्री दीपक खड्कालाई पठाएको पत्रमा भनिएको छ, ‘डेडिकेटेड फिडर तथा ट्रंक लाइनको विद्युत् महसुल बक्यौता रकम नबुझाई लाइन जोडिएमा सर्वसाधारण जनतालाई समेत सुसूचित गराई संघर्षका कार्यक्रमहरू दिन बाध्य हुने व्यहोरा अनुरोध गर्दछौँ ।’

सरकारको यो निर्णयले प्राधिकरण आगामी दिनमा थप धरासायी हुने पनि पत्रमा उल्लेख छ । यसले सानालाई ऐन र ठूलालाई चैन भन्ने उक्ति चरितार्थ हुनुका साथै प्राधिकरणको दैनिक कार्यसम्पादनमा समेत प्रतिकुल प्रभाव पर्ने पत्रमा उल्लेख छ ।

पार्कर खेलाडी दिनेशलाई यस वर्षको अन्तर्राष्ट्रिय मदर टेरेसा पुरस्कार प्रदान

काठमाडौं ।  नेपालका पार्कर खेलाडी दिनेश सुनारलाई यस वर्षको ‘अन्तर्राष्ट्रिय मदर टेरेसा’ पुरस्कार प्रदान गरिएको छ। १८ पटक गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल सुनारले खेल क्षेत्रसँगै समाजमा पुर्‍याएको उत्कृष्ट योगदानको कदर गर्दै नयाँदिल्लीमा आयोजित विशेष समारोहमा सो पुरस्कार प्रदान गरिएको हो।

दिनेश सुनारले आफ्नो प्लेटफर्म र पार्कर कौशललाई विश्व रेकर्ड कायम राख्न मात्र नभई युवाहरूलाई प्रेरणा दिन, स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गर्न र नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउँदै आएका छन्।

मानवतावादी सेवा, सामाजिक कार्य र शान्ति निर्माणका क्षेत्रमा योगदान दिने व्यक्तिहरू र संस्थाहरूलाई सम्मानित गरिने यो पुरस्कार स्वर्ण भारत परिवार नामक संस्थाले प्रदान गर्दै आएको छ।

भारतका डा. बेनेट फर्नान्डेज, मेक्सिकोकी रिता अगुइलर गोन्जालेज, सिंगापुरकी डा. म्यारी एङ, अमेरिकाकी डा. लिनोरा पिटरसन, जिम्बाबेकी डा. प्याट्टसिया गोन्डे, बेलायतकी अलिसन चिवारालगायत समाजका विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएका एक हजार एकजनामध्ये उनी नेपालबाट एकजना मात्र रहेका छन्।

समर्पण र अनुशासनमार्फत सुनारले आफ्नो शारीरिक तन्दुरुस्ती र जोसले विशेषगरी खेलकुद र पहिचानको अवसर सीमित रहेका ग्रामीण समुदायमा सकारात्मक प्रभाव पार्न योगदान पुर्‍याउँदै आएका छन्। मदर टेरेसाका मूल्य–मान्यतासँग मेल खाने योगदानलाई प्रोत्साहित गर्न र प्रवर्द्धन गर्न स्थापना गरिएको यो पुरस्कार उपेक्षित समुदायको उत्थान, वञ्चित वर्गका लागि स्वास्थ्य सेवा र शिक्षा प्रदान गर्न तथा विश्व शान्ति र सौहार्दताको भावना जागृत गराउन करुणा र निःस्वार्थ सेवा गरेबापत प्रदान गर्ने गरिन्छ।

पुरस्कार प्राप्त गरेपछि सुनारले विश्वभरिका सामाजिक रूपमा प्रभावशाली र बौद्धिक व्यक्तित्वसँगै आफू पनि सम्मानित हुन पाउँदा आफूले गरेको मिहिनेतले सार्थकता पाएको महसुस भएको बताउँदै नेपाललाई विश्वभर चिनाउन सकेकामा गौरवान्वित भएको बताए।

हाल अमेरिकामा रहेर पार्करजस्तो उल्लेखनीय कलाबाट नेपाली खेलकुद र सांस्कृतिक आदानप्रदानमा सक्रिय हुने क्रममा विभिन्न प्रदर्शनी र विश्वकीर्तिमानी प्रवर्द्धनमा सक्रिय हुँदै आएका छन्। उनको यो अदभूत कला सिटी अफ एक्रोनका मेयर डेनियल होरिगानले गत २१ अप्रिललाई दिनेश सुनार डे नै घोषणा गरेका थिए भने अमेरिकाको हाउस अफ रिप्रेजेन्टेटिभले १० फेब्रुअरीमा सम्मान गरेको थियो।

यति मात्र होइन, गिनिज वर्ल्ड रेकर्डस् डेमा संसारका उत्कृष्ट पाँच रेकर्ड होल्डरभित्र उनी पनि परेका थिए। उनले २०२१ मा अक्रोन, ओहोयोमा भुटानिज कम्युनिटी एसोसिएसन इन्क, अक्रोनको सहयोगमा सनसाइन तेक्वान्दो एकेडेमीद्वारा आयोजित कार्यक्रममा ३० सेकेन्डमा सबैभन्दा पूर्ण ट्विस्ट ब्याकफ्लिप्सका लागि विश्वकीर्तिमान तोडेका थिए भने ९ मार्च २०२३ मा न्युयोर्कमा जिपिके फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा एक मिनेटमा सबैभन्दा धेरै २१ पटक डाइभिङ गर्ने गिनिज वर्ल्ड रेकर्ड तोडेका थिए।

आर्थिक सुधारका काम हुँदैछन्ः प्रधानमन्त्री ओली

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक सुधार र संविधान संशोधनको विषयमा आवश्यक छलफल भइरहेको बताएका छन् ।

सोमबार विराटनगर विमानस्थलको अतिविशिष्ट कक्षबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले देशको आर्थिक सुधार र संविधान संशोधनका विषयमा छलफल भइरहेको बताएका हुन् ।

सो अवसरमा प्रधामन्त्री ओलीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश कमिटीका इन्चार्ज एवं पूर्वमुख्यमन्त्री शेरधन राई र पार्टी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, सुरक्षा निकायका प्रमुखहरु, पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए । 

प्रधानमन्त्री ओली बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको १३औँ दीक्षान्त समारोहमा  सरिक हुने क्रममा आज यहाँ आएका हुन् । प्रधानमन्त्री ओली सो प्रतिष्ठानको कुलपति हुन् । 

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घट्यो

काठमाडौँ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाला सुन तोलामा एक लाख ६६ हजारमा कारोबार भएकामा सोमबारका लागि भने एक लाख ६५ हजार निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको छ । आइतबार प्रतितोला एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भएकामा सोमबारका लागि भने एक हजार नौ सय ५५ रुपैयाँ निर्धारण भएको छ ।

माओवादी पदाधिकारी बैठकद्वारा उपनिर्वाचनका उम्मेदवारको नाम अनुमोदन

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि सिफारिस भइ आएका उम्मेदवारको नाम अनुमोदन गरेको छ ।

सोमबार बिहान बसेको पार्टी पदाधिकारी बैठकले तल्ला कमिटीबाट सिफारिस भएका उम्मेदवारको नाम अनुमोदन गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

प्रवक्ता सापकोटाले उपनिर्वाचनमा आफ्ना उम्मेदवारहरूलाई जिताउनका लागि एकतावद्ध भएर पहल कदमीका लागि नेता तथा कार्यकर्ताहरूलाई अपील गर्ने निर्णय गरेको बताए ।

यसैगरी उपनिर्वाचनमा जित आफ्नो पक्षमा पार्न योजना तथा कार्यक्रम बनाएको उनले बताए । बैठकले पार्टीको अघिल्लो निर्णयअनुसार आगामी मंसिरमा पालिका सम्मेलन र खबरदारी कार्यक्रम गर्ने निर्णय भएको उनको भनाइ छ । त्यस्तै बैठकले आगामी पुस २ गते केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरेको छ ।

युक्रेन र रुसद्वारा एकअर्कामाथि अहिलेसम्मकै भीषण ड्रोन हमला

बीबीसी । रुस र युक्रेनले युद्ध सुरु भएयता एकअर्काविरुद्ध सबैभन्दा भीषण ड्रोन हमला गरेका छन् । रुसको रक्षा मन्त्रालयले आफूले विभिन्न ६ स्थानबाट ८४ वटा युक्रेनी ड्रोनलाई निष्क्रिय तुल्याएको जनाएको छ ।

तीमध्ये कतिपय मस्कोतर्फ आइरहेका थिए र ती ड्रोनका कारण राजधानीका तीनवटा प्रमुख विमानस्थलबाट उडानहरू अन्यत्र मोड्नुपरेको थियो ।

युक्रेनको वायुसेनाका अनुसार रुसले शनिवार राति १४५ वटा ड्रोन आफ्नो देशका विभिन्न ठाउँमा पठाएको र तीमध्ये अधिकांशलाई खसालिएको थियो । अमेरिकामा राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले दुवै पक्षलाई द्वन्द्व अन्त्य गर्न दबाव दिन सक्ने अपेक्षा गरिएकै बेला यी आक्रमणहरू भएका हुन् ।

मस्कोमा हमला गर्ने युक्रेनको प्रयासलाई युद्ध सुरु भएयताकै उसको सबैभन्दा ठूलो आक्रमण भनिएको छ । एक क्षेत्रीय गभर्नरले त्यसलाई ‘भीषण’ भनेका छन् । अधिकारीहरूले अधिकांश ड्रोनहरू रामनस्कोय, कोलोम्ना र डेमडियाडोभा डिस्ट्रिक्टमा खसालिएको जनाएका छन् ।

मस्कोबाट दक्षिणपश्चिममा पर्ने रामनस्कोयमा ड्रोनलाई खसाल्दा त्यसका भग्नावशेषबाट पाँच जना घाइते भएका र चारवटा घरमा आगलागी भएको रुसी रक्षा मन्त्रालयले जनाएको छ। उक्त नगरबाट ३४ वटा ड्रोन खसालिएको उसको भनाइ छ ।

गत सेप्टेम्बरमा रामनस्कोयमा गरिएको एउटा ड्रोन हमलामा एक महिला घाइते भएकी थिइन्। गएको वर्षको मे महिनामा दुईवटा ड्रोनलाई मध्यमस्कोको क्रेम्लिननजिकै ध्वस्त पारिएको थियो भने मस्को सिटी बिज्नेस डिस्ट्रिक्टमा कैयौँ हमलाहरू भएका थिए ।

युक्रेनी वायुसेनाले इरानमा निर्माण भएका ६२ वटा रुसी ड्रोन खसालिदिएको र ६७ वटा “हराएका“ जनाएको छ । थप १० वटा युक्रेनी हवाई क्षेत्र छाडेर रुसतर्फ नै फर्किएका थिए र केही छिमेकी बेलारुस र मोल्डोभातर्फ गएका थिए ।

‘इन्स्टिट्यूट फर द स्टडी अफ वार’को तथ्याङ्कलाई विश्लेषण गर्दा ड्रोनहरूको यस्तो भीषण आक्रमण सन् २०२२ मार्च यता गत महिना रुसी सेनाले सबैभन्दा ठूलो भौगोलिक उपलब्धि हात पारेपछि भएको हो।

चेल्सी र आर्सनलले बराबरी खेल्दै बाँडे अंक

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र आर्सनलले एक एक अंक बाँडेका छन् । चेल्सीको मैदान स्टामाफोर्ड ब्रिजमा आइतबार राति भएको खेलमा दुवै टिमले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

खेलको अन्तिम क्षणमा आर्सनलले महत्वपूर्ण गोल गर्ने मौका गुमाउँदा स्पष्ट ३ अंक लिन असफल भयो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

६० औं मिनेटमा आर्सनलका गेब्रियल मार्टिनेलीले गोल गर्दै अग्रता दिलाएका थिए । यसैखेलमा कप्तान मार्टिन ओडोगार्डले कमब्यायाक गरेका थिए । चोटपछि पहिलो पटक मैदान उत्रिएका उनैले दिएको पासमा मार्टिनेलीले गोल गरेका थिए ।

तर, खेलको ७० औं मिनेटमा चेल्सीका पेड्रो नेटोले बललाई २५ यार्ड टाढाबाट गोल गर्दै खेललाई बराबरीमा पु¥याए । त्यसपछि थप गोल नहुँदा दुवै टिमले अंक बाँडे ।

चेल्सी र आर्सनलको बराबरीले बराबरीले लिभरपुल शीर्ष स्थानमा मजबुत रहेको छ भने आर्सनललाई लिभरपुलसँगको दूरी कम गर्न चुनौती थपिएको छ । आर्सनलले पछिल्लो चार खेलमा जित निकाल्न नसक्दा लिग तालिकामा चौथो स्थानमा छ भने चेल्सी तेस्रो स्थानमा छ ।

दुवै टिमले समान ११ खेलबाट १९ अंक बनाएका छन् । म्यानचेस्टर सिटी २३ अंकका साथ दोस्रो स्थानमा रहँदा लिभरपुल भने २८ अंकका साथ शीर्ष स्थानमा छ ।

टुकुचाखेलाको सरसफाइमा जुट्यो महानगर(फोटोफिचर)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रका नदी सफाइ अभियानलाई तीव्रता दिएको छ । महानगरको मध्य क्षेत्र भएर बग्ने इच्छुमती (टुकुचा) मा सोमबार महानगरअन्तर्गतको वातावरण विभागले सफाइ गरेको छ ।

इच्छुमतीको भद्रकाली, सिंहदरबार क्षेत्रमा सफाइ गरिएको विभागका उपनिर्देशक सानुमाया महर्जनले जानकारी दिइन् । इच्छुमतीभित्र जम्मा भएको फोहर निकालेर महानगरका सफाइ कर्मचारीले किनारमा थुपारेका छन् ।

विभागले यसअघि असारमा पनि यसरी नै इच्छुमतीलगायत नदी सफाइ गरेको थियो । छ महिना नबित्दै फेरि नदीमा जम्मा भएको बोत्तल, प्लाष्टिकलगायत नकुहिने फोहर सफाइ गरिएको हो । महानगरले सफाइसँगै फोहर गर्नेलाई समातेर कानुनी कारबाहीको दायरामा ल्याउने तयारी पनि गरेको जनाइएको छ ।

महानगरले काठमाडौँ उपत्यकामा भएर बग्ने वाग्मती, विष्णुमती, रुद्रमती, बल्खुलगायत नदीमा पनि यसरी सफाइ गर्दै आएको छ । नागरिकस्तरबाट सुरु भएको वाग्मती सफाइ महाअभियान छ सयौँ हप्तामा प्रवेश गरे पनि उपत्यकाका अन्य नदी भने सफा हुन सकेका छैनन् ।

तस्बिर : विष्णु नेपाल / रासस

पर्यटन क्षेत्रका चुनौती

राजेन्द्र बजगाईं ।
व्यापक क्षति भइसकेपछि नागरिक उड्डयनमन्त्रीको यो एक कदमको प्रयास ठिकै छ तथापि, उड़ानहरू कटौती भइसके दुवईसम्मको एकतर्फको टिकट १,४०,००० रुपैयाँसम्म पुगेको छ । नेपाल वायु सेवा निगम, प्राधिकरण, निषेधित क्षेत्र, इयू मुद्धा के हुन्छ मन्त्रीलाई प्रश्न पठाईदिनु होला । अर्थशास्त्रमा, मूल्य सीमा (प्राइस सिलिङ) भनेको सरकारद्वारा तोकिएको अधिकतम मूल्य हो, जसमा कुनै बिक्रेताले उत्पादन वा सेवाको लागि शुल्क लिन सक्छ । मूल्य सीमाको उद्देश्य आवश्यक वस्तु वा सेवाहरू उपभोक्ताहरूका लागि अझ सस्तो बनाउनु हो । मूल्य सीमा आपूर्ति र मागको सिद्धान्तमा आधारित हुन्छ । प्रभावकारी हुनका लागि, मूल्य सीमा बजार सन्तुलन मूल्यभन्दा तल सेट गर्नुपर्छ – जुन मूल्यमा उत्पादकहरूले आपूर्ति गरेको मात्रासँग उपभोक्ताहरूले खरिद गर्न चाहेको मात्रा मिल्दोजुल्दो हुन्छ ।

तर, नेपालको पर्यटन क्षेत्रमा गम्भीर चुनौतीहरू देखापरेका छन् । अन्तर्राष्ट्रिय पर्यटकहरू र स्वदेशी आगन्तुकहरू सरकारी नीतिगत कार्यहरूमा ढिलासुस्ती, असक्षमता र विशेषगरी पर्यटनमन्त्रीको तर्फबाट सहयोगको अभावको कारण प्रभावित भएका छन् । मन्त्रीलाई पर्यटन र श्रमिक क्षेत्रको सहयोगमा आवश्यक कदम चाल्न असफल भएको, अदालतको मुद्दाहरूबीच दोहोरो क्यासिनो लाइसेन्स जारी गरेको, र अदालतका फैसलाहरूको बेवास्ता गरेको आरोप लगाइएको छ। यस किसिमको निष्क्रियता र पक्षपातले पर्यटकहरूलाई अन्य गन्तव्यतर्फ मोड्न बाध्य पारेको छ, जसको कारण होटल ओक्युपेन्सीमा कमी आई नेपालको अर्थतन्त्रमा नकारात्मक असर परेको छ।

मन्त्रीमाथि नेपाल नागरिक उड्डयन प्राधिकरण (CAAN) का भ्रष्ट अधिकारीहरूसँग मिलेर काम गरेको आरोप पनि लागेको छ, जसले सार्वजनिक विश्वासलाई थप कमजोर बनाएको छ र पर्यटन क्षेत्रको वृद्धिमा अवरोध सिर्जना गरेको छ । पारदर्शी र समयमै नीति लागू गर्न असफल भएकाले नेपालको पर्यटन गन्तव्यको रूपमा प्रतिष्ठामा क्षति पुगेको छ र यसले आतिथ्य सेवा तथा पर्यटन उद्योगमा आर्थिक क्षति पुर्याएको छ ।

म्याग्दीको मालिकामा स्थापनाको चार दशकपछि विद्यालयको पक्की भवन

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–१ खहरेमा रहेको सिद्ध आधारभूत विद्यालय स्थापना भएको चार दशकपछि पक्की भवन निर्माण भएको छ ।

विभिन्न निकायको अनुदान सहयोगमा तीनवटा कक्षा कोठा भवन निर्माण भएको हो । श्रमदानसहित कूल  एक करोड ७७ हजार पाँच सय ३४ को लागतमा निर्माण भएका तीनवटा भवनमा आठवटा कोठा रहेका प्रधानाध्यापक मोतिराज गौतमले जानकारी दिए ।

“विसं २०३९ मा खरको टहरामा सुरु गरिएको विद्यालय करिब करिब चार दशक कच्ची भवनमा सञ्चालन भएको थियो”, विद्यालयको स्थापनाकालदेखिनै त्यहाँ कार्यरत गौतमले भने, “चार दशक पुरानो भवन जीर्ण भएर पानी चुहिन थालेको थियो । भत्कने त्रास थियो ।” जग्गा व्यवस्थापन गरी नयाँ भवन निर्माण गरेपछि सुरक्षित र सहज रुपमा पठनपाठन हुने वातावरण सिर्जना भएको प्रअ गौतमले बताए ।

तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको अनुदान र श्रमदान गरी कूल ८६ लाख ९१ हजार छ सयको लागतमा दुईतले चार कोठे भवन निर्माण भएको थियो । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको अनुदान सहयोगमा दुई÷दुई कोठे एकतले भवन निर्माण भएको हो ।

कक्षा ८ सम्मको पठनपाठन हुने विद्यालयमा हाल एक सय ५० जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा कम्प्युटर प्रयोगशाला पनि रहेको छ । संविधानसभा सदस्य नवराज शर्मा, गण्डकी प्रदेशका पूर्वमन्त्री नरदेवी पुन र जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले भवनको आइतबार उद्घाटन गरेका थिए ।

भवन उद्घाटन समारोहमा विद्यालयका संस्थापक गङ्गबहादुर पुन, देवीप्रसाद आचार्य, दलमान पुन, पुरुषोत्तम शर्मा र पतिराम सिउथानीको नाम उल्लेखित शिलालेखको पनि अनावरण गरिएको थियो । संस्थापक आचार्यलाई सम्मान समेत गरिएको छ ।

पुस्तकालय र चमेना गृहका लागि थप दुई कोठा आवश्यक रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानसिङ सापकोटाले बताए । “बस्तीमाथि खनिएको सडकबाट आउने बाढी खेलमैदानमा पसेर दुःख दिने गरेको छ”, उनले भने, “बाढी नियन्त्रण र कोठा थप गर्न गाउँपालिका, प्रदेश र सङ्घीय सरकारका निकायमा प्रस्ताव गरेका छौँ ।”

बेरुतको उत्तरमा इजरायली आक्रमणमा सात बालबालिकासहित २३ जनाको मृत्यु

बेरुत । राजधानी बेरुतको उत्तरी भेगमा रहेको अल्माट गाउँमा भएको इजरायली आक्रमणमा सात बालबालिका सहित २३ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

एएफपिटिभीको फुटेजमा उद्धारकर्ताहरूले खाली हातले पूर्ण रूपमा ध्वस्त भएको घरको भग्नावशेषबाट कम्बलमा लपेटिएका शवहरू बाहिर निकाल्दै उत्खननकर्ताले भग्नावशेष हटाइरहेको देखाइएको छ ।

बेरुतबाट करिब ३० किलोमिटर टाढा रहेको अल्माटको शिया मुस्लिम बहुल गाउँ प्रायः इसाई क्षेत्रमा अवस्थित छ । यो दक्षिण बेरुत र दक्षिण र पूर्वी लेबनानको हिजबुल्लाहको परम्परागत गढ बाहिर छ । यहाँ इजरायलले सेप्टेम्बरको अन्त्यदेखि इरान समर्थित आन्दोलन विरुद्धको युद्धमा भारी बमबारी गरेको छ ।

“जेबिल जिल्लाको अल्माटमा इजरायली शत्रुको आक्रमणमा सात बालबालिकासहित २३ जनाको मृत्यु भएको छ, तर यो अद्यावधिक गरिएको अन्तिम सङ्ख्या भने होइन”, स्वास्थ्य मन्त्रालयले विज्ञप्तिमा भनेको छ । घटनास्थलबाट शरीरका अङ्गहरू बरामद गरिएको र पहिचान भइरहेको पनि मन्त्रालयले बताएको छ ।

जेबिल जिल्लाको प्रतिनिधित्व गर्ने संसद्हरू मध्ये एक हिजबुल्लाह सांसद रायद बेरो आक्रमण स्थलमा उपस्थित भई हिजबुल्लाहका सदस्यहरू वा हतियारहरू नागरिकहरूमा समाहित भएको इजरायली दाबीलाई अस्वीकार गरे ।

“महत्त्वपूर्ण सैन्य र सुरक्षा व्यक्तित्वहरू सामान्यतया पछाडि नभई अग्रभागमा हुन्छन्”, उनले भने, “भग्नावशेषमुनि बालबालिका, वृद्ध पुरुष र महिला मात्रै छन् ।”

इजरायलले सेप्टेम्बर २३ देखि मुख्यतया लेबनानमा रहेका हिजबुल्लाहका गढहरूमा हवाई आक्रमण तीव्र पारेको थियो र एक हप्तापछि स्थल सेना पठाएको थियो ।

यो तीव्रता हमासको सन् २०२३ अक्टोबर ७ को इजरायलमाथिको आक्रमणपछि सुरु भएको गाजा युद्धमा आफ्नो मित्र हमासलाई समर्थन गर्दै हिजबुल्लाहले गरेको लगभग एक वर्षको कम–तीव्रताको सीमापार आक्रमणपछि आएको हो ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार सीमापार आदानप्रदान सुरु भएयता तीन हजार एक सय ३० भन्दा बढी मानिसहरू मारिएका छन् तीमध्ये धेरैजसो सेप्टेम्बर २३ यताका छन् ।

चार वटा सञ्चारमाध्यम काउन्सिलको कालोसूचीमा, ७ वटामाथि विशेष अनुगमन

काठमाडौं । प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकुल कार्य गरेको भन्दै विभिन्न ४ वटा सञ्चारमाध्यमलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ। त्यस्तै विभिन्न ७ वटा सञ्चारमाध्यमलाई विशेष अनुगमनमा राखी छानबिन गरिरहेको छ। काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको आइतबारको बैठकले यस्तो निर्णय गरेको हो।

काउन्सिलको निर्देशन अटेर गर्ने, एकपक्षीय र तथ्यगत पुष्ट्याइँबेगर सूचना सामग्री सम्प्रेषण गर्ने ती सञ्चारमाध्यमलाई कारबाही गरिएको प्रेस विज्ञप्ति मार्फत जानकारी दिइएको हो। दसैँअघि काउन्सिलले ३ वटा सञ्चारमाध्यमलाई कालोसूचीमा राखेको थियो।

आइतबार एक साप्ताहिक, एक टेलिभिजन र २ अनलाइन सञ्चारमाध्यमलाई कालोसूचीमा राखी थप कारबाही गर्ने निर्णय भएको प्रेस काउन्सिलले जनाएको छ। काउन्सिलले कालोसूचीमा राखेका सञ्चार माध्यमको जानकारी सूचना तथा प्रसारण विभाग, विज्ञापन बोर्ड र सम्बन्धित प्रदेशका सञ्चार रजिस्ट्रारको कार्यालयलाई समेत दिएको छ।

कालोसूचीमा पर्ने सञ्चारमाध्यमहरुमा त्रिनेत्रपोष्ट साप्ताहिक, योहो टेलिभिजन, कोशीपोष्ट डटकम, खोजतलासअनलाइन डटकम छन्। काउन्सिलले भ्रामक सूचना सम्प्रेषण गर्ने एक युट्युब च्यानललाई आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीको साइबरब्युरोमा समेत पठाएको छ।

त्यसैगरी आचारसंहिताकै विषयमा गम्भीर प्रश्न उठेपछि आवश्यक कारबाहीका लागि काउन्सिलले ७ वटा सञ्चार माध्यमलाई विशेष अनुगमनमा राखी छानबिन थालेको छ। त्यसमा दियोपोष्ट डटकम, मोटिभेटन्यूज डटकम, एवननेपालन्युज डटकम, अनलाइनटिभिनेपाल डटकम, राइटसञ्चार डटकम, ताजाखबर टिभि र विजीटिभी (युट्युब च्यानल) छन्।

काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेत, सदस्यहरू ठाकुर बेल्वासे, लालबाबु शेष, विजयराज अधिकारी, शरदप्रसाद अधिकारी, नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष बाला अधिकारी, नेपाल बार एसोसिएसनका महासचिव अन्जिता खनाल, काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल सहभागी बैठकले यससम्बन्धी निर्णय गरेको हो। काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिमा पत्रकार महासंघ र बार एसोसिएसनको समेत प्रतिनिधित्व हुन्छ।

प्रेस काउन्सिलले विभिन्न युट्युब च्यानल, सामाजिक सञ्जालका ग्रुपसहितमा स्वअनुगमन समेत गरिरहेको जनाएको छ।

बैठकपछि सहप्रवक्ता एवं सूचना अधिकारी रामशरण बोहोराद्वारा जारी विज्ञप्तिमा पत्रकारिताको मूल्य र मान्यताविपरित, गलत, समाजमा उत्तेजना, अफवाह फैलाउने, सामाजिक सद्भाव भड्काउने, अर्यादित र अश्लील सामग्री सम्प्रेषण नगर्न सम्बन्धित सबैलाई आग्रह समेत गरिएको छ।

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विद्युत् बक्यौतासम्बन्धी सुझाव दिन गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्दै कार्यान्वयनमा लैजाने निर्णय गरेको हो ।

त्यस्तै बैठकले सोमबार मध्यान्ह १२ बजेभित्र उद्योगीका काटिएका लाइन जडान गर्न मन्त्रालयमार्फत विद्युत् प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । साथै १५ दिनभित्र बक्यौता टीओडी मिटर बमोजिम असुल गर्ने निर्णय समेत बैठकले गरेको छ ।