`

मेक्सिकोको बारमा बन्दुकधारीको आक्रमण, १० जनाको मृत्यु

मेक्सिको सिटी । मेक्सिकोको मध्य भागमा रहेको क्वेरेटारो सहरको एक बारमा शनिबार बन्दुकधारीले आक्रमण गर्दा १० जनाको मृत्यु भएको छ।

क्वेरेटारोको सार्वजनिक सुरक्षा विभागका प्रमुख जुआन लुइस फेरुस्काका अनुसार आक्रमणकारीले शहरको लस क्यान्टारिटोस बारभित्र गोली चलाएका थिए ।

उनले सामाजिक सञ्जालमा आक्रमणस्थलको एक भिडियो पोष्ट गर्दै भनेका छन्, “आपतकालिन सेवाहरू घटनास्थलमा पुगेका छन् र एउटा पिकअप ट्रकमा लामो हतियारले सुसज्जित कम्तीमा चार जना व्यक्ति आएको पुष्टि भएको छ ।

उनले भने, “आक्रमणबाट घटनास्थलमा १० जनाको मृत्यु भएको थियो भने कम्तीमा सात जना घाइते भएका थिए।”

फेरुस्काका अनुसार एक संदिग्धलाई नियन्त्रणमा लिइएको छ र आक्रमणमा प्रयोग गरिएको गाडी बेवारिसे अवस्थामा फेला परेको छ ।

क्वेरेटारोलाई बढ्दो हिंसा, यसको अधिकांश हिस्सा लागुऔषध तस्करी र गिरोहसँग जोडिएको मेक्सिकोको सुरक्षित शहरमध्ये एक मानिन्छ ।

मेक्सिकोमा सन् २००६ देखि अहिलेसम्म चार लाख ५० हजार मानिसको हत्या भएको छ । 

जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा भाग लिन राष्ट्रपति पौडेल बाकु प्रस्थान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु शहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन त्यसतर्फ प्रस्थान गरेका छन् ।

अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्लको नेतृत्व गर्दै आइतबार साँझ बाकु प्रस्थान गरेका हुन् ।

राष्ट्रपति पौडेलले यही कात्तिक २७ र २८ गते हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई कात्तिक २७ गते सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्मेलनमा ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन’ विषयक उच्चस्तरीय बैठकसमेत हुनेछ । विश्वमै नेपाल जलवायुको असरबाट सबैभन्दा बढी प्रभावित मुलुकमध्ये पर्छ ।

बैठकमा नेपालले मेलम्ची, मुस्ताङ, कञ्चनपुर, थामे, काठमाडौँ उपत्यकालगायत क्षेत्रमा असामान्य मौसमीजन्य घटनाका कारण आएको बाढीपहिरोबाट भएको क्षतिबारे जानकारी गराउनेछ ।

नेपालले जलवायु परिवर्तनसम्बन्धी विभिन्न महासन्धिको पक्ष राष्ट्रका हैसियतले सन् २०५० सम्म कार्यान्वयन गर्ने राष्ट्रिय अनुकूलन कार्यक्रम तयार गरी कार्यान्वयन गरिरहेको छ । सम्मेलन यही कात्तिक २६ सुरु भई आगामी मङ्सिर ७ गतेसम्म सञ्चालन हुनेछ । सम्मेलनमा सहभागी भई राष्ट्रपति पौडेल यही कात्तिक ३० गते शुक्रबार स्वदेश फर्कने कार्यतालिका छ ।

लमजुङमा जिल्लामै उत्पादित विद्युत् वितरण सुरु

लमजुङ । लमजुङमा जिल्लामै उत्पादित विद्युत् वितरण सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरण लमजुङ वितरण केन्द्रले मर्स्याङ्दी करिडोरको उदीपुरस्थित २२०/१३२/३३ केभी सबस्टेसनबाट जिल्लामा विद्युत् वितरण सुरु गरेको हो ।

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उदीपुर सबस्टेसनसहित जिल्लाका अन्य प्रसारण लाइनको निरीक्षणपछि उदीपुर सबस्टेसनबाट विद्युत् वितरण सम्भव रहेको जनाएसँगै आजदेखि जिल्लामै उत्पादित वितरण सुरु गरिएको वितरण केन्द्रका प्रमुख मेघनाथ भट्टराईले जानकारी दिए ।

यसअघि जिल्लामा दमौलीबाट आउने ३३ केभी प्रसारण लाइनबाट विद्युत् वितरण हुँदै आएको थियो ।

‘यहाँ उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिएर पुनः लमजुङ आउन ६० किमी दुरी पार गर्नुपर्ने थियो । उदीपुरस्थित सबस्टेसनबाट वितरण भएसँगै अब दुई किमी दुरी पार गर्नुपर्ने हुन्छ । यसले करिब ५८ किमी क्षेत्रको विद्युत्मा समस्या हुँदा लमजुङमा आपूर्ति बन्द हुने समस्या अन्त्य हुनेछ ।’, केन्द्रका प्रमुख भट्टराईले भने ।

दमौलीबाट वितरण हुँदा अन्य ठाउँमा भएका समस्याले जिल्लामा विद्युत् आपूर्ति बन्द हुने गरेको थियो । अहिलेसम्म दमौलीको लाइनका कारण लमजुङमा विद्युत् आपूर्तिमा अवरोध हुन्थ्यो ।

यहाँ उत्पादित विद्युत् जडान गरेपछि विद्युत् ट्रिपिङ (झ्याप्प झ्याप्प बिजुली जाने) को समस्या धेरै हदसम्म न्यूनीकरण हुने केन्द्र प्रमुख भट्टराईले बताए ।

म्यागङमा सुन्तला टिप्न सुरु

त्रिशूली (नुवाकोट) । सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा रहेको नुवाकोटको म्यागङ गाउँपालिकाका किसानले सुन्तला टिप्न सुरु गरेका छन् । सुन्तलाको मौसम सुरु भएसँगै बोटबाट प्रतिकिलो एक सयभन्दा बढी मूल्य पाएपछि किसानले सुन्तला टिप्न सुरु गरेका हुन् ।

विगतका वर्षमा मङ्सिर लागेपछि मात्रै बजारमा पुग्ने सुन्तला अहिले ठूलो एकादशी (देवीघाट) र दुप्चेश्वर महादेव मन्दिर (शिखरवेसी) मा लाग्ने जात्रालाई लक्षित गर्दै टिप्न थालिएको म्यागङ–२ बुङ्ताङका किसान छेप्पोन तामाङले बताए । उनले अहिले सुन्तलामा ग्लुकोज (गुलियोपन) पस्न थालेको भन्दै खानयोग्य भएकाले टिप्न थालिएको जानकारी दिए ।

गत वर्ष प्रतिकिलो ८० मा बिक्री भएको सुन्तला यस वर्ष ‘ग्रेडिङ’ नहुँदै एक सयभन्दा बढी पाइपछि बिक्री गर्न थालिएको तामाङले बताए । “व्यवसायीले बगैँचा नै जिम्मा लिन आएपछि बजारको समस्या भएन”, उनले भने, “गत वर्षभन्दा बढी मूल्य पाएका छौँ । यस वर्ष सुन्तलाबाट मनग्य आम्दानी हुने अपेक्षा गरेका छौँ ।”

म्यागङ–२ स्थित बुङ्ताङमा दुई दशकअघि धान फल्ने खेत र मकै, कोदो लगाउने बारी फाडेर सुन्तलाखेती विस्तार गरिएको थियो । पछिल्ला वर्षमा यहाँका किसानले जिल्लाका साथै मुलुकका अन्य जिल्लामा पनि सुन्तला पु¥याएर प्रशस्त आम्दानी लिँदै आएका सुन्तलाखेतीका अगुवा किसान गरबहादुर तामाङले बताए ।

“विसं २०६० मा सुरु गरेको सुन्तलाखेतीलाई अरु किसानले नपत्याउँदा व्यावसायिक उत्पादन चुनौतीपूर्ण बनेको थियो । पछिल्लो पाँच वर्षयता बुङ्ताङलाई ‘सुन्तला गाँउ’को नामबाट चिन्न थालिएको छ, अहिले यहाँको सुन्तला गाउँको पहिचान बनेको छ”, उनले भने ।

सुन्तला यहाँको पहिचान बन्नुका साथै उत्पादन वृद्धि भइरहेकाले गाँउपालिकाले व्यावसायिक खेतीलाई जोड दिँदै आएको उपाध्यक्ष सीता तामाङले बताइन् । उनका अनुसार म्यागङ–२ बुङ्ताङ, वडा नं ४ किम्ताङ, वडा नं ५ र ६ सामरीका किसानले व्यावसायिक रूपमा सुन्तलाखेती गर्दै आइरहेका छन् ।

कम लगानीमा बढी आम्दानी हुने भएकाले यहाँका किसानले अहिले धान लगाउने खेतमा सुन्तलाको व्यावसायिक उत्पादन सुरु गरेका उपाध्यक्ष तामाङले बताइन् । किसानलाई गाँउपालिकाले निःशुल्क तथा सहुलियत शुल्कमा बिरुवा उपलब्ध गराउनुका साथै प्राविधिक ज्ञान, तालिम, बजारीकरणलगायत क्षत्रमा सहयोग गर्दै आएको उनले जानकारी दिइन् ।

उपाध्यक्ष तामाङका अनुसार पालिकामा क्रमशः सम्भाव्यता देखिएका अन्य क्षेत्रमा पनि सुन्तलाखेतीको विस्तार गर्ने योजना रहेको छ । एक पटकको लगानी र मुख्य मौसममा गरिने हेरचाहबाट राम्रो उत्पादन लिन सकिने भएकाले जिल्लाको म्यागङसहित आसपासका क्षेत्रमा सुन्तलाखेती विस्तार हुँदै गएको उनले उल्लेख गरिन् ।

हरेक वर्ष खेती र उत्पादन वृद्धि हुँदै गएको यहाँको सुन्तलाले जिल्लाको मागसहित काठमाडौँ, पोखरालगायत सहरको माग पनि धानिरहेको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । 

तिहार र छठ सकिएसँगै सप्तरीका किसान धान काट्न व्यस्त

राजविराज (सप्तरी) । तिहार र छठ सकिएसँगै सप्तरीको पूर्वी भेगका किसान धान काट्न र भित्र्याउने व्यस्त हुन थालेका छन् । यो वर्ष समयमा वर्षा भएकाले उत्पादन राम्रो हुनुका साथै भित्र्याउने बेला पनि मौसमले साथ दिएपछि किसान उत्साहित छन् ।

जिल्लाको सप्तकोशी, कञ्चनरुप र हनुमाननगर कङ्कालिनी नगरपालिका तथा तिरहुत, महादेव र अग्निकृष्णासवरण गाउँपालिकाका किसान धान भित्र्याउन व्यस्त हुन थालेका हुन् । अग्निकृष्णासवरण–४ का किसान रमेश यादवले मौसमले साथ दिएकाले धान भित्र्याउन सहज भएको बताए । धान काटिसकेर गहुँ लगाइने भन्दै उनले पानी नपर्दै गहुँ छर्नुपर्ने भएकाले हतारमा काम भइरहेको उल्लेख गरे ।

“गाउँका अधिकांश युवा वैदेशिक रोजगारमा गएकाले गाउँघरमा धान काट्ने मजदुरको अभाव छ । वर्षभरि घर खर्च चलाउन १० कठ्ठा जग्गामा धान रोपेका छौँ । समयमा भित्र्याएर गहुँ छरेपछि अलि फुर्सद हुन्छ”, यादवले भने ।

स्थानीय सरस्वतीदेवी यादवले पनि परिवारलाई सघाउँदै छिन् । उनले खेतीपाती गर्न मेहनत आवश्यक पर्ने भन्दै सरोकार भएका निकायले किसानलाई आवश्यक अनुदान तथा प्राविधिक सहयोग गर्नुपर्नेमा जोड दिइन् ।

यहाँका किसानले खेतको धान भित्र्याएपछि तोरी, आलु, तरकारी, मकै र गहुँ लगाउने गर्दछन् । धान वर्षभरिको खर्च जुटाउने मुख्य बाली भएकाले परिवारका सबे सदस्य काममा खटिएको सरस्वतीदेवीले बताइन्।

पाकेको बाली काटर मात्रै राख्दा झरेर जाने समस्या आउने भएकाले कुट्ने, झार्ने, थन्काउने काममा अग्निकृष्णासवरणको बनौली, टेङगरी, चिमटीलगायत क्षेत्रका किसान व्यस्त भएका स्थानीय मनोजकुमार यादवले बताए । “विगतका वर्षमा भन्दा यसवर्ष धान उत्पादन राम्रो छ । दुई बिघा जग्गामा धान रोपाइँ गरेको थिएँ, मनग्य उत्पादन भएपछि उत्साहित छौँ”, उनले भने ।

गत असोज ११ र १२ गते परेको अविरल वर्षासँगै आएको बाढीले सप्तकोशी, मोहुली, जीतालगायत खोला किनारमा रहेका अधिकांश किसानको धानखेत बगरमा परिणत भएको थियो ।

तिरहुत–३ का बुधिलाल यादवले भित्र्याउने बेला भएको धानखेत बगर बनेपछि पीडित अहिले राहत र सहयोगको पर्खाइमा रहेका बताए । यहाँस्थित चन्द्रनहरबाट समयमा सिँचाइ सुविधा नपाउँदा किसान अकाशे पानीको भरमा बस्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । आठ महिनादेखि नहरको पुलहरू पुनःनिर्माण भइरहेकाले सिँचाइ अभाव भउको स्थानीय बताउँछन् ।

चन्द्रनहरअन्तर्गत सप्तरीको सप्तकोशी नगरपालिकाको फतेपुरबाट महादेवा गाउँपालिकाको पकरीस्थित खाँडो खोलासम्म तत्काल ३२ वटा नयाँ ‘साइफन’ पुनःनिर्माण भइरहेका छन् ।

जिल्लाको पूर्वी भेग तोपा, मन्सापुर, भगवतपुर, अकवरपुर, महादेवा, सोनरा, पकरी, कजौली, बथनाहा, इनर्वा, भारदह, चक्ला, विषहरियालगायत गाउँमा किसानले यसअघि चन्द्रनहरबाट सिँचाइ सुविधा पाउने गरेकामा अहिले महँगोमा डिजल तथा विद्युतीय प्रणालीमार्फत सिँचाइ व्यवस्था मिलाइएको महदेवा गाउँपालिकाका किसान महेन्द्रप्रसाद यादवले बताए ।

जिल्लास्थित कृषि ज्ञान केन्द्रले यसवर्ष समयमा रोपाइँ सकिएकाले विगतका वर्षभन्दा यसवर्ष बढी उत्पादन हुने अनुमान गरेको छ ।

उखु उत्पादक र चिनी उद्योगका समस्या समाधान गर्न मन्त्री भण्डारीको प्रस्ताव

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उखु उत्पादक किसान र चिनी उद्योगका समस्या दीर्घकालीन रूपमा समाधान गर्न प्रस्ताव गरेका छन्।

नेपाल चिनी उद्योग सङ्घका पदाधिकारीसँगको आज मन्त्रालयमा भएको छलफलका क्रममा उनले उखु किसान र चिनी उत्पादक उद्योगीका समस्या सरकारले दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने भएकाले सरोकारवालासहित एक विशेष कार्यदल बनाउन प्रस्ताव राखे।

‘उद्योग मन्त्रालयको आपूर्ति तथा उपभोक्ता हित महाशाखाका सहसचिवको नेतृत्वमा कृषि मन्त्रालय, चिनी उत्पादक उद्योगी, उखु उत्पादक किसान, चिनी आयातकर्ता र नेशनल साल्ट्र ट्रेडिङका प्रतिनिधि सम्मिलित विशेष कार्यदल बनाएर १५ दिनभित्र समस्या समाधानको निष्कर्ष निकाल्न मेरो अनुरोध छ, यो प्रक्रिया छिट्टै थाल्न म मन्त्रालयको मातहतका निकायमा निर्देश गर्छु’, मन्त्री भण्डारीले भने।

उनले जहिले पनि उखु उत्पादक किसान र चिनी उत्पादक उद्योगीले समस्या ल्याएर सरकारलाई गुहारिरहनुपर्ने अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिँदै उखु किसानलाई खेती गर्नेतर्फ अभिप्रेरित गर्न आग्रह गरे। चिनी उद्योगीका समस्या समाधानमा सरकार सधैँ सकारात्मक मात्र नभई आवश्यक सहयोगका लागि तयार रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले उद्योगीलाई उखु किसानका मर्का सम्बोधन गर्न पनि अनुरोध गरे।

नेपाल चिनी उद्योग सङ्घका अध्यक्ष शशिकान्त अग्रवालसहितको टोलीले सरकारले भारतबाट चोरी निकासी भएर ल्याइने चिनी बन्द गर्नुपर्ने, उखु किसानलाई उन्नत बीउ वितरण गर्नुपर्ने लगायतका माग राखेको थियो। चिनी उद्योगबाट मङ्सिरदेखि चैतसम्मको कुल उत्पादित मोलासेसको पचास प्रतिशत सञ्चित गरी बाँकी पचास प्रतिशतसम्म निकासी गर्न दिने व्यवस्था भएकामा हाल विभिन्न आन्तरिक राजस्व कार्यालयबाट सो नियमको अपव्याख्या गरिएको भन्दै सङ्घले मन्त्री भण्डारीको ध्यानाकर्षण गराएको छ।

स्वदेशमा समेत बिक्री गरिएको मोलासेसको परिमाण घटाई बाँकी रहेको मोलासेसको पचास प्रतिशत मात्रको अनुमति स्वीकृत गर्ने गरेकाले निकासीमा बाधा अवरोध खडा गरिएकामा सङ्घले मोलासेस निकासी गर्नुको विकल्प नभएको हुँदा त्यसको समाधानका लागि माग गरेको छ।

रित्तिँदै ‘तिब्बतीयन क्याम’, जीर्ण बन्दै घर

बागलुङ । ढोरपाटन उपत्यका नजिकै एउटा सानो बस्ती छ । बस्तीमा पुग्दा केही चिटिक्क सजिएका, केही जीर्ण बनेका घर देखिन्छन् । काठैकाठ र माटोढुङ्गाले बनेका बार्दलीसहितका अधिकांश घरमा ताला लगाइएको छ ।

एक दशक अघिसम्म ती घरमा मानिसको बसोबास थियो । अहिले भने यहाँका अधिकांश घर सुनसान छन् । दशकौँदेखि बस्दै आएका तिब्बतीयन शरणार्थीले ढोरपाटन छोड्दै गएपछि बस्ती रित्तो बन्दै गएको हो । विसं २०१८ मा तिब्बतबाट आएका शरणार्थी पोखरा, काठमाडौँलगायत ठूला सहरमा जान थालेपछि बस्ती रित्तिन थालेको हो ।

ढोरपाटन नगरपालिका–६ को छेन्तुङ र वडा नं ९ को स्यालपाखेमा बस्दै आएका तिब्बतीयन शरणार्थीले ढोरपाटन छोड्न थालेपछि यहाँ बनेका घर जीर्ण बन्दै गएका स्थानीय बताउँछन् ।

खेतीपाती र पशुपालन गरेर जीविकोपार्जन गर्दै आएका शरणार्थीले अवसर खोज्दै सहर पस्न थालेपछि बस्ती रित्तो बन्दै गएको ढोरपाटन होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पुनले बताए । पहिले स्यालपाखे र छेन्तुङ गाउँमा ठूलो सङ्ख्यामा शरणार्थी बस्ने गरेमा अहिले बसोबास गर्ने घट्दै गएका उनको भनाइ छ ।

“ढोरपाटनमा पहिले धेरै शरणार्थीको बसोबास थियो, अहिले विस्तारै बस्ती खाली हुन थालेको छ । अवसर खोज्दै बजारतिर बसाइँसराइ गनृ गलेपछि अहिले गाउँमा बुढापाका मात्र छन्”, पुनले भने, “विकासका हिसाबले ढोरपाटन पछाडि रहेकाले पनि युवा अवसर खोज्न सहर तथा विदेश फस्न थालेका हुन् ।”

नोर्जेलिङ तिब्बतीयन क्याम्प ढोरपाटनकी सचिव छिरिङ भुदीले अहिले ढोरपाटनमा करिब ४० जनाको मात्र बसोबास रहेको जानकारी दिए । आफ्नो बाउ र बाजे करिब ५३ वर्ष अघि यहाँ आएका भन्दै अहिले क्याम्पमा बुढापाका मात्र रहेका उनले उल्लेख गरे ।

राज्यबाट यहाँका शरणार्थीलाई आधारभूत सेवा उपलब्ध हुनुपर्नेमा भुदलिे जोड दिए । क्याम्पमा बस्दै आएका हुनेखानेहरू सहर झरेपछि अहिले सामान्य परिवारका शरणार्थी मात्रै यहाँ बस्ने गरेका उनले बताए । “पहिला यहाँ धेरै शरणार्थी बस्ने गरेका बुबा र हजुरबुबाले भन्नुहुन्थ्यो । अहिले घटेर ४० जना भएका छौँ”, भुदीले भने, “मानिस बसाइँ सरी जान थालेपद्धि अधिकांश घर जीर्ण बन्दै गएका छन् ।”

जिल्ला प्रशासन कार्यालय बागलुङका अनुसार पछिल्लो तीन वर्षमा शरणार्थी परिचयपत्र नवीकरण गर्नेको सङ्ख्या पनि कम हुँदै गएको छ । आर्थिक वर्ष २०७८ /७९ मा ५६, आव २०७९/८० मा ५३ र गत आवमा ५० जनाले परिचयपत्र नवीकरण गरेका छन् ।

कोशीका पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । जापान मानव तस्करी गरेको आरोपमा आइतबार पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई अदालतले दुई दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश खिमानन्द भुसालको एकल इजलासले अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइएको हो ।

आइतबार बिहान विराटनगरबाट पक्राउ परेका अधिकारीलाई दिउँसो प्रहरीले काठमाडौं ल्याएको थियो । अधिकारीमाथि जापान भ्रमणका क्रममा मानव तस्करी गरेको आरोप लागेको छ । घटना सार्वजनिक भएपछि अधिकारीले राजीनामा दिइसकेका छन् भने पार्टीले पनि उनलाई निलम्बन गरिसकेको छ ।

कालीकोटमा जिप दुर्घटना, ६ जनाको मृत्यु

कालीकोट । कालीकोटको पलाँता गाउँपालिका–३ राडुनेटा नजिकै जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको जिप आइतबार दिउँसो दुर्घटनामा परेको हो ।

दुर्घटनामा ज्यान गुमाएकाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका सात यात्रुको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । घाइतेहरुलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको उनले बताए ।

रविलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति

पोखरा । सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

आइतबार जिल्ला अदालतले लामिछानेलाई अनुसन्धानका लागि १३ दिन हिरासतमा राख्न अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिएका छन् ।

अदालतले उनीसहित गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक छविलाल जोशी, लीला पछाईं र रामबहादुर खनाललाई १३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

लामिछानेलाई कात्तिक २ मा रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरेर कास्की ल्याइएको थियो । उनीविरुद्ध प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।

मानव तस्करीको आरोपमा पक्राउ परेका एमाले सांसद अधिकारीलाई काठमाडौं ल्याइयो

काठमाडौं । मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री तथा सांसद लिलाबल्लभ अधिकारीलाई प्रहरीले काठमाडौं ल्याएको छ ।

आइतबार बिहान विराटनगरस्थित घरबाट पक्राउ परेका अधिकारीलाई दिउँसो प्रहरीले यति एयरजको जहाजबाट काठमाडौं ल्याएको हो । त्रिभुवन विमानस्थलबाट अधिकारीालई काठमाडौं प्रहरी परिसर लगिएको छ । अधिकारीमाथि पदको दुरूपयोग गर्दै गैरकानुनी तरिकाले मानिसहरू जापान पुरयाउन खोजेको आरोप छ।

एमालेले शनिबार नै उनलाई निलम्बन गरिसकेको छ । अधिकारी कोशी मन्त्रिपरिषद् र संघीय सरकारसँग अनुमति नै नलिई जापान उडेका थिए ।

तर जापानको अध्यागमनले अधिकारीसहित उनीसँगै गएका खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटालाई डिपोर्ट गरेपछि यो प्रकरणको सार्वजनिक भएको थियो । यो घटना सार्वजनिक भएपछि अधिकारीले भन्दै पदबाट राजीनामा दिएका थिए ।

जापानले डिपोर्ट गरेका तीन जना प्रहरी हिरासतमा छन् भने उनीहरुको बयानका आधारमा प्रहरीले जुगल रिजाल, वीरबहादुर सुनुवार र महेश पाण्डे पनि सोही अभियोगमा पक्राउ परेका छन् । पक्राउ परेकाहरूले आफूहरूले जापान जानका लागि १० देखि १३ लाख रूपैयाँसम्म बुझाएको बताएका छन् ।

शेयर बजारमा ६२ अंकको बृद्धि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिँदा करिब  १० अर्ब बराबरको कारोबार भएको छ । आइतबार नेप्से परिसूचक ६२ दशमलव ५४ अङ्कको वृद्धि पछि दुई हजार सात सय ३८ दशमलव ०६ को अङ्कमा कायम भएको हो ।

तीन सय २५ कम्पनीको दुई करोड २४ लाख ७४ हजार दुई सय ८१ कित्ता शेयर एक लाख छ सय ५१ पटक खरिदबिक्री हुँदा  नौ अर्ब ७७ करोड ११ लाख २४ हजार ७३ बराबरको कारोबार भएको छ ।

आज जलविद्युत् समूहको उपसूचकमा सबैभन्दा बढी चार दशमलव २६ प्रतिशतको वृद्धि देखिएको छ । बैंकिङ एक दशमलव ६२, विकास बैंक दुई दशमलव ७१, वित्त दुई दशमलव ४८, होटल तथा पर्यटन शून्य दशमलव ९६ र लगानी समूह दुई दशमलव ५६ प्रतिशतले बढेको छ ।

जीवन बिमा दुई दशमलव १६, उत्पादन तथा प्रशोधन दुई दशमलव ३२, लघुवित्त एक दशमलव ५१, म्युचुअल फण्ड शून्य दशमलव ६२, निर्जीवन बिमा एक दशमलव ९५, व्यापार एक दशमलव १५ र अन्य समूह दुई दशमलव ५२ प्रतिशतले बढेको छ ।

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड, सृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेड र सुपरमादी हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी सानिमा ग्रोथ फण्डको शेयर मूल्य छ दशमलव ७६ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडको रु ३८ करोड चार लाख ३७ हजारको शेयर किनबेच भएको छ । त्यस्तै, कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा बढी हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी प्रमोटर शेयर १० लाख ४७ हजार ३५ कित्ता शेयर किनबेच भएको छ ।

१५ औं गोल्डेन ड्रागन च्याम्पियनसिपमा भूपेन्द्रलाई रजत

काठमाडौं । नेपालका भूपेन्द्र गुरुङले १५ औं गोल्डेन ड्रागन च्याम्पियनसिपमा रजत जितेका छन् । अमेरिकाको क्यालिफोर्नियास्थित आर्काडिया हाइ स्कुल जिम्नाजियममा नोभेम्बर ९ तारिखमा भएको प्रतियोगितामा भूपेन्द्रले २ स्पर्धामा २ रजत जितेका हुन् ।

ट्रेडिसनल चाइनिज मार्सल आर्टस् फेडरेसन, युएसएद्वारा आयोजित प्रतियोगितामा भूपेन्द्रले ३६ वर्षमाथि उमेरसमूहमा ताइची र ट्रेडिसनल चाइनिज फम्समा प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा विभिन्न ३० राष्ट्रका २ सय ५० भन्दा बढी खेलाडीको सहभागिता रहेको बताइएको छ । भूपेन्द्रको यो पाँचौं अन्तर्राष्ट्रिय पदक हो । यसअघि उनले विभिन्न ३ अन्तर्राष्ट्रिय प्रतियोगितामा ३ स्वर्ण पदक जितेका छन् ।

एनपिएल रोक्न माग गर्दै दायर रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश जारी गर्न अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रिमियर लिग रोक्न माग गर्दै दायर भएको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।

आइतबार रिटमाथि सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालको इजलासले सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । यसले क्यानलाई राहत भएको छ ।

जोरा स्पोर्ट्स म्यानेजमेन्ट प्रालिका आमिर अख्तरले नेपाल प्रिमियर लिग नाम आफूले यसअघि नै सञ्चालन गरेको र दर्ता गरेको दाबी गर्दै सोही नाममा अर्को लिग गर्न नपाइने दाबीसहित सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्चले यो प्रकरणमा कारण देखाऊ आदेश जारी गरेको छ ।

अख्तरले यसअघि नेपाल प्रिमियर लिगको नाममा क्रिकेट फ्रेन्चाइज लिग आयोजना गरेका थिए । तर, त्यसमा विवाद भएपछि उनी आफैँले अर्को संस्करण भने सो नामबाट नगरी एभरेस्ट प्रिमियर लिग नामबाट प्रतियोगिता आयोजना गरेका थिए ।

त्यतिबेला क्यान आईसीसीको निलम्बनमा रहेकाले क्यानबाहिरबाट यस किसिमका तीनवटा लिग हुने गरेका थिए । गतवर्ष क्यान आफैँले सञ्चालन गरेको नेपाल क्रिकेट लिग पनि विवादमा आएको थियो ।

त्यसपछि यो वर्ष भने क्यानले नेपाल प्रिमियर लिगको नाममा प्रतियोगिता गर्दैछ । प्रतियोगिताको धेरै काम पूरा भइसकेको छ । टिम चयनदेखि खेलाडी चयनसम्म भइसकेको छ ।

अमेरिका र चीनका लागि नेपाली राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चीनका लागि प्रा. डा. कृष्णप्रसाद ओली र अमेरिकाका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मीलाई नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले आइतबार संविधानको धारा २८२ (१) बमोजिम ओल र रेग्मीलाई राजदूत नियुक्त गरेका हुन् । संसदीय समितिले अनुमोदन गरेर एग्रिमो आएपछि राष्ट्रपति पोडेलले ओली र रेग्मीलाई राजदूत नियुक्त गरेका हुन् ।

नृपध्वज निरौला र नित्यानन्द पाण्डेय सर्वोच्चको न्यायाधीश नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नृपध्वज निरौला र नित्यानन्द पाण्डेयलाई सर्वाेच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका छन् ।

न्याय परिषद्को सिफारिसमा संसदीय समितिबाट अनुमोदित निरौला र पाण्डेयलाई राष्ट्रपति पौडेलले आइतबार सर्वाेच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका हुन् । दुवै जना उच्च अदालतको न्यायाधीशबाट सर्वाेच्चको न्यायाधीश बनेका हुन् ।

धान बिक्री गर्ने किसानलाई चेकमार्फत भुक्तानी

कञ्चनपुर । धान बिक्री गर्न आउने किसानलाई खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले चेकमार्फत भुक्तानी गर्न थालेको छ । किसानको सहजताका लागि धान खरिद गरेसँगै भुक्तानीको व्यवस्था मिलाइएको कार्यालयका प्रमुख सुर्दशन थापाले जानकारी दिए ।

भीमदत्त नगरपालिकाको महेन्द्रनगर र शुक्लाफाँटा नगरपालिकाको झलारीमा खाद्यले धान खरिद केन्द्र सञ्चालनमा ल्याएको छ । जनशक्ति अभावमा बेदकोट नगरपालिकामा स्थापन गर्ने भनिएको खरिद केन्द्र सञ्चालनमा ल्याउन नसकिएको उनले उल्लेख गरे ।

“प्रदेश कार्यालयलाई यथाशीघ्र जनशक्ति उपलब्ध गराउन सरोकार भएका निकायसँग आग्रह गरेका छौँ”, प्रमुख थापाले भने, “जनशक्ति व्यवस्थापन भएसँगै एक–दुई दिनमा धान खरिद केन्द्र सञ्चालनमा ल्याउछौँ ।” उनका अनुसार सञ्चालनमा रहेका दुई वटै केन्द्रबाट हालसम्म आठ सय १२ क्वीन्टल धान खरिद गरिएको छ ।

प्रचारप्रसारको कमीले थोरै किसान मात्र धान बिक्रीका लागि केन्द्रमा पुगेकाले अहिले गाउँगाउँमा जानकारीसहित किसानलाई आवश्यकता अनुसार धान बिक्री गर्न अनुरोध गरिएको प्रमुख थापाले बताए ।

कम्पनीले प्रतिक्विन्टल तीन हजार चार सय १० रुपैयाँ ५१ पैसामा धान खरिद गरिरहेको छ । कम्पनीको १५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य रहेको छ । गत वर्ष सोही लक्ष्य अनुसार दुई हजार नौ सय क्विन्टल धान खरिद गरिएको कम्पनीले जनाएको छ ।

धेरै वर्षपछि कम्पनीले शाखा कार्यालय बाहिर खरिद केन्द्र सञ्चालन गरी किसानलाई सहजीकरण गरेको हो । किसानबाट माटो नभएको, भुस, पराल नभएको, नभिजेको गुणस्तरीय धान कम्पनीले खरिद गरिरहेको छ ।

कम्पनीको शाखा कार्यालयले खरिद गरेको धान कुटानी गरी माग भएका क्षेत्रमा आपूर्ति गर्दै आएको छ । शाखा कार्यालयमा कार्यलय प्रमुख, सहयोगीसहित तीन जना कर्मचारी कार्यरत छन् ।

बुढापाकाले पाउदुरे नाच संरक्षण गर्दै

दमौली (तनहुँ) । तनहुँको दमौली निवासी ओमबहादुर गुरुङ, टेकप्रसाद गुरुङ र इन्द्रध्वज गुरुङले मारुनी बनेर पाउदुरे नाच्दै आएका छन् । व्यास नगरपालिकास्थित तमु सुधार समाजमा आबद्ध उनीहरू लामो समयदेखि पाउदुरे नाच संरक्षण अभियानमा जुटेका हुन्। समाजमा युवा नभएपछि बुढापाकाले पाउदुरे नाच संरक्षण गर्दै आएका हुन् ।

पाउदुरे नाचका लागि ख्यामबहादुर गुरुङ र चामबहादुर गुरुङले गुरुबाको भूमिका निभाउँदै आएको छ । त्यस्तै हिरालाल गुरुङ, ओमराज गुरुङले मादलेको भूमिका निभाउँछन् ।

युवाहरू शिक्षा, रोजगारीको सिलसिलामा गाउँ बाहिर रहेकाले बुढापाकाले सांस्कृतिक पहिचान बोकेको नाच संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले नाच्दै आएका समाजका अध्यक्ष मनबहादुर गुरुङले बताए ।

उनले भने, “पाउदुरे नाच लोप हुन नदिन युवा नभएपनि बुढापाका यसको संरक्षण अभियानमा जुटेका छौँ ।” पाउदुरे गुरुङ जातिको लोपोन्मुख नृत्य भएकाले यसको संरक्षण गर्नुपर्छ भनेर आफूहरू लागिपरेको गुरुङको भनाइ छ ।

पछिल्लो पुस्तालाई पाउदुरे नाच सिकाएर यसको संरक्षण र सम्वर्द्धन अभियानमा सहभागी गराउने योजना रहेको ओमबहादुर गुरुङले बताए ।

उनले भने, “पाउदुरे नाच गुरुङ जातिको प्रसिद्ध नाच भएकाले यसको संरक्षणमा हामीहरू जुटेका छौँ । गाउँमा भएका युवालाई नाच सिकाएर पुस्ता हस्तान्तरण गरी यसको संरक्षण र प्रवर्द्धन गर्ने योजना बनाएका छौँ ।”

तमु विद्यार्थी छोंज धिंको शनिबारदेखि दमौलीमा सुरु भएको बाह्रौ महाधिवेशन उद्घाटन समारोहमा उनीहरुको समूहले पाउदुरे नाच प्रस्तुत गरेको थियो । कार्यक्रममा सहभागीले नाच आकर्षित रहेको प्रतिक्रिया दिएका थिए ।

ओमबहादुरका अनुसार पाउदुरे नाचमा बिजबारे, मारुनी, मादले, गुरुलगायत व्यक्ति आवश्यक पर्दछ । “यो नाच पुरुषले गुन्यूचोली र गरगहना लगाएर महिलाजस्तै बनेर नाच्ने प्रचलन छ । छेउमा नाच्ने दुई पुरुषलाई मारुनी र बीचमा नाच्नेलाई बिजबारे भनिन्छ”, उनले भने ।

नाचका क्रममा बिजबारेको भावभङ्गी समातेर मारुनीले आफूलाई प्रस्तुत गर्नुपर्ने गुरुङ समुदायका अगुवा बताउँछन् । गीत गाउने मुख्य व्यक्तिलाई गुरुबा भनिन्छ । गुरुबाले गीत गाउने र लहरै बसेका तीन जना मादलेलगायत अन्यले पनि गीतलाई छोप्दै लय मिलाउने गर्दछन् । पाउदुरे नाच्दा चारै दिशाका देवीदेवतालाई सम्झने चलन रहेको ओमबहादुरले जानकारी दिए ।

रास्वपा लक्षित देउवाको टिप्पणीः हाम्रा साथीलाई मुद्दा लाग्दा हामीले कहिल्यै होहल्ला गरेनौं

सुदूरपश्चिम । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान कांग्रेस–एमालेको गठबन्धन सरकार २०८४ सम्मै जाने बताएका छन् ।

धनगढी विमानस्थलमा आइतबार पत्रकारसँग संक्षिप्त कुरा गर्दै देउवाले वर्तमान गठबन्धनमा कुनै समस्या नरहेकाले यो पूरै कार्यकाल टिक्ने विश्वास व्यक्त गरे ।

सहकारी प्रकरणका विषयमा सोधिएको प्रश्नमा देउवाले भने, ‘हाम्रा साथीलाई मुद्दा लाग्दा हामीले कहिल्यै होहल्ला गरेनौं, यो अदालती प्रक्रियामा छ ।’

देउवा गृह जिल्ला डडेल्धुराका विभिन्न कार्यक्रममा सहभागी हुन जानेक्रममा आज धनगढी आइपुगेका हुन् । कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका प्रवक्ता सुरत रावतले सभापति देउवा पार्टीको जिल्ला कार्यसमिति बैठक, पालिका स्तरीय भेटघाट, उग्रतारामा लाग्ने मेला, गन्यापधुरा गाउँपालिकामा हुने कार्यक्रममा सहभागी हुने जानकारी दिए ।

तिलिचो तालको आधार शिविरमा पुग्यो राष्ट्रिय ग्रीडको बिजुली

काठमाडौं । हिमाल पारिको जिल्ला मनाङस्थित पर्यटन गन्तव्य तिलिचो तालको आधार शिविर (बेस क्याम्प) मा राष्ट्रिय प्रसारण ग्रिडको बिजुली पुगेको छ ।

मनाङ ङिस्याङ गाउँपालिका–९ खाङ्सारस्थित समुद्र सतहबाट ४ हजार २ सय ५० मिटर उचाइमा रहेको बेस क्याम्पमा राष्ट्रिय प्रसारण लाइन पुर्‍याएर विद्युत् आपूर्ति सुरु गरिएको हो । बेस क्याम्पमा ५० केभीए क्षमताको वितरण ट्रान्सफर्मर राखी विद्युत् आपूर्ति गरिएको हो ।

बेस क्याम्पमा १० होटल, स्वास्थ्य चौकी र स–साना रेस्टुरेन्ट सञ्चालनमा छन् । बेस क्याम्पमा विद्युत ग्राहक संख्या १५ छ । राष्ट्रिय प्रसारण लाइन पुग्नु पहिले बेस क्याम्पमा सौर्य ऊर्जा र डिजेल जेनेरेटरबाट विद्युत् उत्पादन गरी आपूर्ति हुँदै आएको थियो । उक्त स्थान अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्छ ।

सौर्य ऊर्जाको ब्याकअपले नधान्दा पर्यटकीय स्थलमा विगतमा विद्युत् आपूर्तिको ठूलो समस्या रहेको उल्लेख गर्दै ङिस्याङ गाउँपालिका–९ का अध्यक्ष च्योल्पा गुरुङले राष्ट्रिय प्रसारण लाइन पुगेपछि अहिले धेरै सहज भएको बताए ।

‘राष्ट्रिय लाइन पुगेपछि बेस क्याम्पबाट तिलिचो ताल जाने पैदलयात्रीको अक्सिजन तह मापन गर्न मेसिन राखिएको छ, विद्युत् प्रयोग गरी पानी उमाल्न थालिएको छ जसले ग्यास प्रयोग करिब ४० प्रतिशतले कटौती भएको छ,’ बेस क्याम्पमा होटलसमेत चलाइरहेका वडाध्यक्ष गुरुङले भने, ‘लामो लाइन भएकाले ट्रिपिङ हुने समस्या छ, लाइन भरपर्दो र गुणस्तरीय बनाउन सकिए होटलमा एसी राख्न र खाना पकाउन विद्युतीय चुलो इन्डक्सन प्रयोग गरी ग्यास प्रयोग पूर्णरूपमा कटौती गर्न सकिन्छ ।’

उनले उक्त क्षेत्रमा दाउरा महँगो हुने भएकाले खाना पकाउन, पानी उमाल्न ग्यास प्रयोग हुने गरेको बाए ।

केही दिनअघि खाङ्सार पुगेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले धार्मिक एवं पर्यटकीय क्षेत्र उज्यालो बनाउने अभियान अन्तर्गत तिलिचो तालको बेस क्याम्पमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पर्‍याइएको बताए ।

वडाध्यक्ष सहित स्थानीयसँगको छलफलमा कार्यकारी निर्देशक घिसिङले भने, ‘बेस क्याम्पमा राष्ट्रिय ग्रिड पुर्‍याउन केन्द्रित थियौं, ठूलो संख्यामा स्वदेशी तथा विदेशी पर्यटक आवतजावत हुने मनाङ जिल्लाको समग्र विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय बनाउन लाइन सुधार लगायत काम उच्च प्राथमिकतामा राखी अगाडि बढाउने छौं ।’

लमजुङ मस्र्याङ्दी गाउँपालिका–५ घेर्मुस्थित राधी साना जलविद्युत् केन्द्र सबस्टेसनबाट ३३ केभी विद्युत् प्रसारण लाइन चामे गाउँपालिका–१ स्याक्र्युस्थित ३३/११ केभी सबस्टेसन पुर्‍याइएको छ । उक्त सबस्टेसनबाट ११ केभी लाइन सदरमुकाम चामे हुँदै बेस क्याम्पमा पुर्‍याइएको हो ।

प्राधिकरणले मनाङमा विद्युत् आपूर्तिका लागि ४५ किलोवाटको चामे साना जलविद्युत् र ८० किलोवाटको मनाङ साना जलविद्युत् केन्द्र सञ्चालन गरेको छ ।

राष्ट्रिय प्रसारण लाइन ट्रिपिङ भई बन्द भएका बेला साना जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन गरी आपूर्ति दिने गरिएको प्राधिकरण मनाङ वितरण केन्द्र प्रमुख राजु महतोले बताए ।

मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत मनाङ नासोँ गाउँपालिका–१ धारापानीमा २२० केभी क्षमताको सबस्टेसन निर्माण सम्पन्न भई त्यहाँबाट लाइन दिन सुरु गरेपछि मनाङको विद्युत् आपूर्तिमा सुधार हुनेछ ।

धारापानी सबस्टेसनमा स्थानीय रूपमा विद्युत आपूर्तिका लागि आवश्यक संरचना व्यवस्था गरिएको छ । उक्त सबस्टेसनबाट लाइन दिन थालेपछि प्रसारण लाइन लम्बाइ घटी विद्युत् अपूर्तिमा सुधार हुनेछ । धारापानी सबस्टेसन डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ ।

डेङ्गु सङ्क्रमण घट्दै

काठमाडौँ । घट्दो तापक्रम र डेङ्गु नियन्त्रणका लाागि गरिएका विभिन्न अभियानले डेङ्गु सङ्क्रमण घट्दै गएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा(ईडीसीडी)का किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले तथ्याङ्कले डेङ्गु सङ्क्रमणको ट्रेन्ड घट्दै गएको बताए ।

उनले भने, “डेङ्गु नियन्त्रणका लागि पालिकादेखि खोज र नष्ट अभियान सञ्चालन भएका छन् । तापक्रम घट्नु पनि यसको कारण हो । प्राकृतिक रुपमै चिसोमा लामखुट्टेले अण्डा उत्पादन गर्ने प्रक्रिया कम हुन्छ ।”

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही समयअघि डेङ्गु नियन्त्रणका लागि देशव्यापी रुपमा लामखुट्टेको बास स्थानको खोजी र नष्ट अभियान सुरु गरेको थियो ।

मन्त्रालयले हरेक शुक्रबार १० बजेर १० मिनेटमा मन्त्रालय, विभाग, निजामति कर्मचारी, सुरक्षा निकाय, सामाजिक अभियन्ताका साथै आम नागरिकलाई सहभागी हुन आह्वान गरेको थियो । सरकारी तथा गैरसरकारी संस्था तथा नागरिकस्तरमा यो अभियान सञ्चालन भइरहेको छ ।

दाहालले विगतका वर्षको भन्दा अहिले सङ्क्रमण दर घटेको बताए । उनले भने, “त्यस्ता खालका अभियानले पनि घट्न मद्दत गरेको छ । डेङ्गु विश्वव्यापी खतराको रुपमा देखिएको छ । अरु देशको अनुभव हेर्नु भयो भने सङ्क्रमण र अस्पताल भर्ना हुनेको दर पनि बढ्दो छ । हामीले अझै धेरै गर्नुपर्नेछ तर पनि हाम्रो प्रयास र मेहनतले गर्दा सङ्क्रमणलाई घटाएका छौँ ।”

ईडिसिडीले उपलब्ध गराएको नोभेम्बर ८ सम्मको तथ्याङ्कअनुसार हाल सबैभन्दा बढी कास्कीमा सात हजार दुई सय ८६ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । त्यसैगरी काठमाडौँमा चार हजार आठ सय तीन, तनहुँमा दुई हजार तीन सय ७३ , पर्वतमा एक हजार सात सय ४९, ललितपुरमा एक हजार दुई सय ४१, बाग्लुङमा एक हजार दुई सय, चितवनमा एक हजार एक सय ७५, भक्तपुरमा एक हजार ३४ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।

डेङ्गुबाट मृत्यु हुनेको सङ्ख्या भने हाल १२ छ भने ७६ जिल्लामा सङ्क्रमण फैलिएको छ । प्रत्येक वर्षको जुनदेखि अगस्टसम्मको समयलाई सामान्यतया डेङ्गुले महामारीको रूप लिन सक्ने समय मानिन्छ ।

नोभेम्बर ५ को तथ्याङ्क तुलना गर्ने हो भने समष्टिगत रुपमा चार दिनमा देशभर एक हजार दुई सय ४९ मा डेङ्गु सङ्क्रमण देखिन्छ । जुन अघिल्लो हप्ताको तथ्याङ्क हेर्दा कम हो ।

प्रमुख डा दाहालले भने, “चार हप्तामा डेङ्गु सङ्क्रमण दुर्य हजार पाँच सयबाट तल आएको छ । यसको ट्रेन्ड एक महिनायता बिस्तारै घट्दो क्रममा छ ।” विसं २०८० को पुस मसान्तसम्म देशभर झन्डै ५२ हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि भएकोमा २० जनाको मृत्यु भएको थियो ।

डेङ्गु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो । लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्यांकी पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेला झुलको प्रयोग गर्नाले यसबाट बच्न सकिन्छ । 

इजरायली आक्रमणमा १३ बालबालिकासहित ३० जनाको मृत्यु

वासिङ्टन । गाजाको नागरिक सुरक्षा निकायले प्यालेस्टिनी भूभागको उत्तरमा दुई घरमा इजरायली आक्रमणमा परी १३ बालबालिकासहित ३० जनाको मृत्यु भएको जनाएको छ ।

उत्तरी गाजाको जबालियाको एक घरमा आइतबार बिहान भएको पहिलो आक्रमणमा १३ बालबालिकासहित कम्तीमा २५ जनाको मृत्यु हुनुका साथै ३० जनाभन्दा बढी घाइते भएका नागरिक सुरक्षा निकायले जनाएको छ ।

गत अक्टोबर ६ देखि इजरायली सेनाले उत्तरी गाजाको जबालियालगायत क्षेत्रमा हमास लडाकूसमूहलाई पुनः सङ्गठित हुनबाट रोक्न चाहेको भन्दै हवाई तथा स्थलगत आक्रमण गरिरहेको छ ।

गाजा शहरको साबरा क्षेत्रमा भएको अर्को आक्रमणमा पाँच जनाको मृत्यु भएको छ भने अन्य अझै बेपत्ता छन् ।

“अझै पनि धेरै सर्वसाधारण भग्नावशेषमुनि पुरिएका छन्,” प्यालेष्टिनी सुरक्षा निकायले भनेको छ।

सन् २०२३ को अक्टोबर ७ मा दक्षिणी इजरायलमा एक हजार २०६ जनाको मृत्यु भएको हमासले गरेको आक्रमणपछि गाजामा युद्ध सुरु भएको थियो।

इजरायलको जवाफी कारबाहीमा गाजामा ४३ हजार ५५२ जनाको मृत्यु भएको मृतकमध्ये अधिकांश सर्वसाधारण रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । गाजा युद्ध जारी छ र यो क्रमशः लेवनानतर्फ विस्तार भएको देखिन्छ । 

अमेरिकी लडाकु विमानद्वारा यमनमा आक्रमण

वासिङ्टन । अमेरिकी लडाकू विमानले यमनी हुथी समुहको अत्याधुनिक हतियार भण्डारण केन्द्रमा शनिबार राति थुप्रै आक्रमण गरेको पेन्टागनले जनाएको छ। हुथी समूह यमनमा सक्रिय रहेको इरान समर्थित विद्रोही समूह हो ।

पेन्टागनले एएफपीलाई उपलब्ध गराएको जानकारीअनुसार यी सुविधाहरूमा ‘रेड सी’ र एडेनको खाडीमा अन्तर्राष्ट्रिय जलक्षेत्रमा यात्रा गर्ने सैन्य र नागरिक जहाजहरूलाई लक्षित गर्न प्रयोग गरिने विभिन्न हतियारहरू थिए।

हुथीद्वारा सञ्चालित अल मसिराह टेलिभिजन नेटवर्कले राजधानी सानाको दक्षिणी अल सबिन जिल्लालाई लक्षित गरी तीन अमेरिकी र बेलायती आक्रमण भएको पुष्टि गरेको छ ।

“प्रत्यक्षदर्शीहरूले राजधानी सानाका विभिन्न भागमा विस्फोटका साथै तीव्र गतिमा भएका उडानको आवाज सुनेको बताएका छन्,” अल मसिराहले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

संयुक्त राज्य अमेरिका र बेलायतले जनवरीदेखि यमनको हुथी समूहले रेड सी र एडेनको खाडीमा विद्रोहीहरूले गरेको आक्रमणको जवाफमा पटक–पटक आक्रमण गर्दै आएका छन्।

विद्रोहीहरूले विश्वव्यापी रूपमा महत्वपूर्ण जलमार्गमा सामुद्रिक यातायातअवरुद्ध गरेको र ती आक्रमण इजरायलको स्वामित्व भएका वा यससँग जोडिएका जहाजहरूलाई लक्षित गरी भएका जनाएका छन् ।

हुथीले गाजा युद्धका बेला प्यालेस्टिनीहरूप्रति ऐक्यबद्धता जनाउने उद्देश्यले आक्रमण गरेका बताइएको छ।

यी आक्रमणहरूले विश्व व्यापारको १२ प्रतिशत हिस्सा ओगट्ने ‘रेड सी’ मार्गलाई गम्भीर रूपमा अवरुद्ध पारेको छ।

करिब एक वर्षको अवधिमा १०० भन्दा बढी हुथी आक्रमणमा चार नाविक मारिएका छन् भने दुई जहाज डुबेका छन् । त्यस्तै एउटा जहाज र यसका चालक दलका सदस्यलाई गत नोभेम्बरमा अपहरण गरी हिरासतमा राखिएको छ ।

हुथी विद्रोही नेता अब्दुल मलिक अल हुथीले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई समर्थन गरेको भन्दै आलोचना गरेको तीन दिनपछि शनिबारको आक्रमण भएको हो ।

ट्रम्पले मध्यस्थता गरेको अरब मुलुक र इजरायलबीच भएको सामान्यीकरण सम्झौताले मध्यपूर्वको द्वन्द्व अन्त्य गर्न नसकेको र उहाँको दोस्रो कार्यकालमा हुने मध्यस्थता पनि फेरि असफल हुने हुथी अधिकारीले बताएका छन् ।

बाइडेन र ट्रम्पबीच ह्वाइट हाउसमा बुधबार भेटवार्ता हुने

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले चार वर्षअघिको चुनावमा आफूले पराजित गरेको रिपब्लिकन पार्टी र यसका नेता डोनाल्ड ट्रम्पलाई व्यवस्थित रूपमा सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएपछि दुई नेताबीच बुधबार ह्वाइट हाउसमा भेटवार्ता हुनेभएको छ।

सन् २०२० को चुनावमा हार अस्वीकार गरेका ट्रम्पले नोभेम्बर ५ मा भएको मतदानबाट अमेरिकी राष्ट्रपति पदमा उल्लेखनीय बहुमतसहित पुनरागमन गर्नुभएपछि राष्ट्रपति बाइडेनले व्यवस्थित रूपमा सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका छन्।

निवर्तमान र भावी राष्ट्रपतिहरूबीच यस प्रकारको भेटघाटलाई परम्परागत मानिन्छ तर जनवरी ६, २०२१ को क्यापिटल दङ्गामा परिणत भएको अप्रमाणित चुनावी धाँधलीको दाबी गर्दै ट्रम्पले तत्कालिन समयमा राष्ट्रपति निर्वाचित बाइडेनलाई व्यवस्थित सत्ता हस्तान्तरण र भेटवार्ताका लागि निमन्त्रणा गरेका थिएनन्।

त्यस्तै ट्रम्पले आफ्ना आलोचक निक्की हेली र माइक पोम्पेओलाई आफ्नो मन्त्रीमण्डलमा समावेश नगर्ने बताएका छन् ।

नयाँ मन्त्रीमण्डल गठन गर्ने तयारीमा रहेका ट्रम्पले उनीहरूले पहिले गरेको कामका लागि धन्यवाद दिँदै अबको मन्त्रीमण्डलमा भने समावेश नगर्ने बताएका हुन् ।

साउथ क्यारलाइनाकी पूर्व गर्भनर हेली यस वर्षको सुरुवातमा रिपब्लिकन पार्टीका राष्ट्रपति पदका दावेदारहरूमध्ये ट्रम्पको सबैभन्दा बलियो प्रतिद्वन्द्वी थिइन् । उनले ट्रम्पको आलोचना गर्दै ‘क्रेजी’ भनेको कुरा समेत अन्तर्राष्ट्रिय सञ्चारमाध्ययमा चर्चा पाएको थियो ।

माइक पोम्पेओ ट्रम्प पहिलोपटक राष्ट्रपति बन्दा विदेशमन्त्री थिए । पोम्पेओमाथि पर्दा पछाडि बसेर विशेष समूहहरूको स्वार्थका लागि काम गर्ने प्रतिनिधि भएको आरोप लाग्ने गरेको छ ।

ट्रम्पनिकट सहयोगीहरूले निक्की र माइकलाई ट्रम्पविरुद्ध काम गरेको आरोप लगाउँदै उनीहरुले ट्रम्पको ‘अमेरिका फर्स्ट’ भन्ने एजेन्डालाई कमजोर पार्न सक्ने बताउँदै आएका छन् । त्यसैले ट्रम्प उनीहरूलाई मन्त्रीमण्डलमा नसमेट्ने निष्कर्षमा पुगेका हुन् ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा भेटेरिनरी अध्ययनतर्फ थपियो ५० कोटा

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) मा पशु विज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान सङ्कायमा स्नातक तह अध्ययनका लागि ५० कोटा थप गरिएको छ ।

सो सङ्कायमा ५० जनाको कोटा रहेकामा अब यही शैक्षिक सत्रदेखि एक सय विद्यार्थीले अध्ययन गर्न पाउने भएका छन् । सङ्कायका डीन प्रा डा होमबहादुर बस्नेतले नेपाल भेटेरिनरी काउन्सिलबाट थप ५० सिटका लागि अस्थायी मान्यता प्राप्त गरी विद्यार्थी भर्नाका लागि सूचना प्रकाशन गरेको जानकारी दिए ।

विश्वविद्यालयले यही कात्तिक १३ गते सूचना प्रकाशित गरी आगामी मङ्सिर १३ गतेसम्म योग्यता पुगेका विद्यार्थीबाट आवेदन माग गरेको छ ।

साविकको ५० कोटामध्ये योग्यताक्रम (मेरिट)का आधारमा २०, प्रादेशिक सात, स्थानीय दुई, छात्रा दुई, दलित, आदिवासी जनजाति, मधेसी, अपाङ्ग, द्वन्द्वपीडित र सहिद परिवार र कर्मचारी कोटामा एक/एक जनालाई पूर्ण तथा आंशिक सहुलियतसहित बाँकी १४ काटाको हकमा पूर्ण शुल्क लिएर भर्ना गर्ने व्यवस्था विश्वविद्यालयले गरेको छ ।

विश्वविद्यालय विकास कोष कोटाअन्तर्गत अध्ययन गर्ने १४ विद्यार्थीले पाँच वर्षको ६ लाख बुझाउनुपर्छ । अहिले थप गरिएका ५० कोटामा अध्ययन गर्ने विद्यार्थीले भने १२ लाख शुल्क किस्ताबन्दीमा बुझाउनुपर्ने प्रावधान रहेको डीन बस्नेतले जानकारी दिए ।

साविक ५० कोटाअन्तर्गतका विद्यार्थी भर्ना गरेपछि मात्रै थपिएको ५० कोटामा भर्ना गरिने छ । सोही सङ्कायले मत्स्य विज्ञानका २१ सिटमा विद्यार्थी भर्नाका लागि आवेदन खुला गरेको छ । मत्स्य विज्ञान अध्ययन गर्ने विद्यार्थीले रु.तीन लाख १० हजार शुल्क बुझाउनुपर्ने विश्वविद्यालयले जनाएको छ ।

जापानमा मानव तस्करीको आरोपमा कोशीका पूर्वमन्त्री अधिकारी पक्राउ

विराटनगर । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी विराटनगरबाट पक्राउ परेका छन् । मानव तस्करीको आरोप लागेका अधिकारीलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

उनलाई विराटनगरबाट काठमाडौं ल्याइँदैछ । नक्कली परिचयपत्र बनाई संगठित गिरोहलाई मोटो रकम बुझाएर गत साता जापान पुगेका तीन युवा अध्यागमनबाट फिर्ता गरिएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेर प्रहरी अनुसन्धानमा थिए ।

तर उनीहरूसँगै सेटिङमा जापान पुगेर फर्काइएका कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारी भने अझै अनुसन्धानको दायराबाहिरै थिए । एमालेले उनलाई शनिबार पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरिसकेको छ । जापान भ्रमणका क्रममा मन्त्रालयकै परिचयपत्र बनाएर मानव तस्करीमा संलग्न भएको पुष्टि भएपछि अधिकारीले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

त्यसपछि उनलाई कारबाही गर्न सरकारकाथि दबाब परेको थियो । कोशी प्रदेश मन्त्रिपरिषद् र संघीय सरकारको अनुमतिबिनै अधिकारी जापान उडेका थिए । उनले आफ्नो भ्रमण टोलीको सदस्य बनाउन युवाहरूलाई मन्त्रालयको नक्कली परिचयत्र दिएका थिए ।

उनले खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवाका २२ वर्षीय कञ्चन देवकोटालाई जापान लैजान खोजेका थिए । नक्कली कागजात बनाएर जापान जान खोज्ने तीनजना र उनीहरूलाई जापान जाने व्यवस्था मिलाएका तीनजना अहिले काठमाडौं प्रहरीको हिरासतमा छन् ।

उनीहरूलाई जापान जाने बन्दोबस्तीमा संलग्न जुगल रिजाल, वीरबहादुर सुनुवार र महेश पाण्डेलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । तीन जना युवाले आफूहरू जापान जान लागेको पूर्वसूचना पूर्वमन्त्री अधिकारीलाई रहेको बयान दिएका छन् । उनीहरूले जनही १० देखि १३ लाख रुपैयाँ बुझाएर जापान जान खोजेको बताएका छन् ।

ट्रम्पले निक्की हेली र माइक पोम्पेओलाई आफ्नो प्रशासनमा जिम्मेवारी नदिने

बीबीसी । अमेरिकी राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले आफूले निक्की हेली वा माइक पोम्पोओलाई आफ्नो प्रशासनमा जिम्मेवारी नदिने बताएका छन् ।

उपराष्ट्रपति कमला ह्यारिसविरुद्ध स्पष्ट जित हासिल गरेपछि उनी अहिले आफ्नो भावी मन्त्रिपरिषद्लाई स्वरुप दिने प्रयास गरिरहेका छन् । उनले सामाजिक संजालमा लेखेका छन्, ‘म विगतमा उनीहरूसँग काम गर्दा प्रसन्न भएँ र त्यसको प्रशंसा गर्छु र उनीहरूलाई हाम्रो देशको सेवा गरेकोमा धन्यवाद दिन चाहन्छु ।’

ट्रम्पका नजिकका सहयोगीरूले हेली र पोम्पेओलाई ’डिप स्टेट’ अर्थात् पर्दा पछाडि बसेर विशेष समूहहरूको स्वार्थ रक्षाका लागि काम गर्ने गोप्य सरकारी संयन्त्रको प्रतिनिधि भएको आरोप लगाउने गर्छन् ।

दुवैले ट्रम्पको ‘अमेरिका पहिलो’ नारालाई अवमूल्यन गर्ने उनीहरूको तर्क छ । जनवरी २० मा पदभार ग्रहण गर्ने तयारी गरिरहेका ट्रम्पले पदबाट बाहिरिने राष्ट्रपति जो बाइडनलाई आगामी दिनमा भेटनेछन् ।

यसैवर्षको चुनावी प्राइमेरीमा ट्रम्पलाई रिपब्लिकन दलको राष्ट्रपति उम्मेदवार पदमा चुनौती दिनेमा हेली पनि एक थिइन् । प्रइमेरीमा पार्टीका मतदाताहरूले ह्वाइट हाउसका लागि आफ्नो दलको उम्मेदवार तय गरेका थिए ।

उक्त प्रतिस्पर्धामा साउथ क्यारलाइनाकी पूर्व गर्भनर हेलीले ट्रम्पको चर्को आलोचना गरेकी थिइन्। एउटा बिन्दुमा उनले उनलाई ‘मानसिक रूपमा अस्थिर’ रहेको आरोप लगाएकी थिइन् । तर उक्त प्रतिस्पर्धा आफ्नो पक्षमा पार्न ट्रम्प सफल भए।

ट्रम्पको पहिलो कार्यकालमा सन् २०१७ देखि २०२१ सम्म राष्ट्रसङ्घको स्थायी प्रतिनिधि रहेकी हेलीले अन्ततः ट्रम्पलाई अनुमोदन गरेकी थिइन् । तर उनले आफ्नो अभियानको अन्तिम चरणमा सहयोग गर्न हेलीलाई निम्तो भने दिएनन् ।

प्रतितोला पाँच सयले घट्यो सुनको मूल्य

काठमाडौँ । सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला एक हजार ६६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आइतबारका लागि भने एक लाख ६६ हजार रुपैयाँ निर्धारण भएको छ ।

यस्तै चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला एक हजार नौ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबारका लागि भने एक हजार नौ सय ६० रुपैयाँ निर्धारण भएको छ ।

‘पूर्णबहादुरको सारङ्गी’ ले उपन्यास ‘सङ्ग्रामपुर’ को कथा चोरी गरेको आरोप

काठमाडौं । नेपाली चलचित्र बजारमा इतिहास गरिरहेको फिल्म ‘पूर्ण बहादुरको सारंगी’लाई एक उपन्यासको कथा चोरेको आरोप लागेको छ । उपन्यास ‘सङ्ग्रामपुर’ का लेखक डा. शिवशंकर बस्यालले फिल्मको मूल कथा आफ्नो उपन्यास ‘सङ्ग्रामपुर’सँग मिलेको दाबी गरेका हुन् । उनले भनेका छन्, ‘कुनै लोभ लालच प्रपञ्चले मैले यसो भनिरहेको छैन । एउटा स्रष्टाको जन्मदाताको हैसियतले रुपरङ्ग मिल्दा बोल्ने नैतिक दायित्व मेरो पनि हो ! म अब नबोलौला, तर इतिहासमा यो कोलाहाल रहिरहनेछ । मन जितिरहेको यो चलचित्रले अरु मान्छेहरुको मन जितिरहोस् । मेरो यही शुभकामना !’

सङ्ग्रामपुर उपन्यासका लेखक डा. शिवशंकर बस्याल यस्तो लेख्छन्: 
पूर्णबहादुरको सारङ्गी र सङ्ग्रामपुर उपन्यास ।
बजारमा मन जितिरहेको पूर्णबहादुरको सारङ्गीले मेरो पनि मन तानिरहेको थियो। पहिले ट्रेलरहरू आइपुग्दाखेरि कहीँ न कहीँ परिचित परिवेश जस्तै लागिरहेको थियो । यसैबीचमा संग्रामपुर उपन्यास पढेका एकजना भाइले चलचित्र हेरेपछि यसको कथा सङ्रामपुर उपन्यासभित्र रहेको कथासँग मिलेको कुरा बताए । यसले मलाई केही कौतुहल बनायो । त्यसपछि म बिरामी अवस्थामै हल पुगें । पूर्णबहादुरको सारङ्गीलाई एकपटक सङ्ग्रामपुर उपन्याससँग जुधाएँ । चलचित्रको मूल कथाको स्वरूपमा संग्रामपुर उपन्यासका मूल मिलेका मूल प्रसङ्ग मात्र यी पाएँ ।

१. पूर्णबहादुर र कमल चलचित्रका दुई मात्र मूलपात्र हुन् । जसरी सङ्ग्रामपुर उपन्यासमा रूपमान र समीर ।

२. पूर्णबहादुरको स्त्री बिछोडको रहस्यमयी प्रसङ्ग संग्रामपुरमा रुपमानको स्त्री बिछोडको प्रसङ्ग जस्तै रहस्यमयी छ ।

३. छोराको पालनपोषणमा दिलोज्यान मरिमेटी पूर्णबहादुरको शैली रुपमानसँग मिल्दा छन्।

४.  आमाको रहस्यमय कथा पूर्णबहादुरका अगाडि कमलले सोधेजस्तै पटकपटक रूपमानलाई समिरले निरन्तर सोधिरहने प्रसङ्ग मिल्दो छ ।

५ . जसरी कमललाई विद्यालयका प्रधानाध्यापकले समाजको निम्न जात भनेर अपमान गरेर व्यङ्ग्य गरेका छन्, समिर लगायत रूपमानलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्थात् मुखिया र छोराले उस्तै शैलीमा अपमानित गरेका छन् ।

६. पूर्णबहादुरको सारङ्गीको कमल पनि सङ्ग्रामपुर उपन्यासको समिर जस्तै टप विद्यार्थी हुनु ।

७. त्यही टप भएको खबर सङ्ग्रामपुर उपन्यासको समिरकै शैलीमा दौडिदै पूर्णबहादुरको सारङ्गीमा कमलले उही भावमा बाबुलाई खबर बताउनु ।

८ . संग्रामपुर उपन्यासको समीरले जस्तै पूर्णबहादुरको सारङ्गीको कमल गन्धर्वले मेडिकलमा नाम निकाल्नु ।

९ . बालाई आर्थिक जोहो गर्न कठिन हुन्छ भनेर सङ्ग्रामपुर उपन्यासको समिरले मेडिकल पढ्न नखोजेजस्तै कमल गन्धर्वले पनि यही भावले मेडिकल पढ्न जान नखोज्नु ।

१०.  रुपमानकै जोर जबरजस्तीले समीर मेडिकल पढ्न गए जस्तै पूर्णबहादुरकै जबरजस्तीले कमल मेडिकल पढ्न जानु ।
यी यी त कथाका मूल प्रसङ्गहरू हुन् । यी बाहेक सूक्ष्म ढङ्गले सङ्ग्रामपुर उपन्यासको प्रभाव त्यहाँभित्र देख्न पाइन्छ ।

पूर्णबहादुरले नाचेको नाचको भाव, छोराको परिचयबाट चिनिने प्रसङ्ग, आफ्नो तिब्रामा बल छ भन्ने दृश्यहरू पनि उपन्यासको छायाचित्रसँग मिल्छन् ।

केही प्रसङ्गहरू बिल्कुल विपरीत रुपमा प्रयोग गरिएका छन् । पुर्णबहादुरको सारङ्गीमा पूर्णबहादुर गन्धर्व छ , सङ्ग्रामपुर उपन्यासमा रूपमान भरिया । सङ्ग्रामपुर उपन्यासमा बाबु छोराको प्रेमसहित समिर सहरबाट फर्केपछि क्रान्तिकारी काममा लाग्छ। पूर्णबहादुरको सारङ्गीमा क्रान्तिका कुरा गर्छ तर क्रान्तिलाई नफरत गर्छ ।

माथिका मूल बुँदाहरू नै पूर्णबहादुरको सारङ्गीको मूल कथा हो । मैले यसलाई साहित्यिक रूप मात्र प्रस्तुत गरें । यो भन्दा अरु कथामा नौलो भेटिन । तसर्थ यो संयोग होइन, यो नियोजित हो । एउटा क्रान्तिकारी उपन्यासलाई क्रान्ति विरोधी कार्यमा लगाउने प्रपञ्च । कुनै लोभ लालच प्रपञ्चले मैले यसो भनिरहेको छैन। एउटा स्रष्टाको जन्मदाताको हैसियतले रुपरङ्ग मिल्दा बोल्ने नैतिक दायित्व मेरो पनि हो ! म अब नबोलौला, तर इतिहासमा यो कोलाहाल रहिरहनेछ । मन जितिरहेको यो चलचित्रले अरु मान्छेहरुको मन जितिरहोस् । मेरो यही शुभकामना !

बाढीले बगर बनायो गोटीखेल बजार, ६ अर्बका संरचना ध्वस्त

पाटन । दक्षिणपूर्वी ललितपुर गोटीखेल बजार बगर बनेको छ । गत असोज ११ र १२ गतेको टुङ्गुन र धामीखोला बाढीले बजारलाई बगरमा परिणत गरेको हो ।

जिल्लाका विभिन्न भागमा बाढीपहिरोबाट ६  अर्ब बराबरको भौतिक क्षति भएको महाङ्काल गाउँपालिका–३ का अध्यक्ष मनोजकुमार पराजुलीले बताए । उक्त रकम बराबरको क्षति सार्वजनिक र निजी संरचनामा भएको हो ।

‘त्यहाँ पर खुवा कम्पनी थियो, त्यहीँ वैतर्णी मन्दिर थियोे,१०८ शिवलिङ्ग थिए, हवन कुण्ड, पक्की भवन थियो। संस्कृत पढाउने उद्देश्यले निर्माणाधीन पक्की भवनमा ठूलो क्षति भयो,’ वडा कार्यालयबाट औँलाले देखाउँदै अध्यक्ष पराजुलीले भने ।

निरन्तरको झरिले पहिरो मात्र खसेन धामीखोलामा थुप्रिएको बालुवा, ढुङ्गा, माटो, रुखसहित बाढी गाउँबस्ती पसेपछि अकल्पनीय क्षति भएको हो ।

बाढीपीडित स्थानीय प्रेम श्रेष्ठले भने, ‘मेरो र भाइ उत्तमको एउटा दुईतले पक्की भवन थियो, अर्को कच्ची दुवै बगे । वन, प्रहरी कार्यालय र सवारीसाधन सबै बगे । बाढीपहिरोमा परेर गाउँका तीन जनाको मृत्यु भयो । उनीहरूका घर भएका स्थान बगरमा परिणत भयो ।’

विसं २०५३ देखि विद्युत् उत्पादन गरिरहेको यहाँको साना जलविद्युत्गृहमा आंशिक क्षति भएको छभने बाढीले प्रहरीका दुईवटा आवासीय टहराका साथै हिलसाइड माध्यमिक विद्यालयको भवनमा पनि क्षति भएको गाउँपालिका अध्यक्ष गणेशबहादुर केसीले बताए ।

खानेपानीका अधिकांश ट्याङ्की र पाइप नष्ट भएका छन् । दुई हजार तीन सय घरमध्ये ७५ प्रतिशतलाई खानेपानीको व्यवस्था गर्न हम्मेहम्मे परेको छ । हालसम्म बाढीले बगाएका सडकको मर्मतसम्भार नहुँदा मूलसडकमा पुग्न कठिनाइ भएको अध्यक्ष केसीले बताए ।

यसैबीच, दैवीप्रकोप पीडितहरूका लागि प्रदेश सरकारले  २० लाख दिएको छभने सङ्घले क्षतिको आधारमा गाउँपालिकालाई ‘क’ वर्गमा वर्गीकरण गरी एक करोड प्रदान गरेको छ ।

बिस्थापितहरुको पुनर्वासका साथै नासिएका मासिएका भौतिक संरचनाको पुनःनिर्माणका लागि बहुवर्षीय योजनाअनुसार काम गर्न सङ्घ, प्रदेश र स्थानीय तहसँग समन्वय गरिने जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुँयालले बताए ।

‘विस्थापितहरूलाई सुरक्षित स्थानमा स्थानान्तरणको व्यवस्था गर्न आधा रोपनी जग्गा स्थानीय तहले सिफारिस गरिसकेको छ, अब जिल्ला प्रशासन कार्यालयमार्फत मन्त्रिपरिषद्बाट निर्णय हुनेमा हामी आशावादी छौँ’, उनले भने ।

सांसदलाई होइन, विज्ञलाई मन्त्री बनाउने प्रणाली आवश्यक छः प्रचण्ड

हेटौंडा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले बिचौलियाको काम गरिरहेको आरोप लगाएका छन् ।

आइतबार मकवनपुरको थाहा नगरपालिकामा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले सरकारको एकसय दिनको काम र जनतामा बढेको आक्रोशले यसको पुष्टि गरेको बताए । उनले सरकारले संविधान संशोधन गरेर प्राप्त उपलब्धिलाई उल्टाउने तयारीमा लागेको भन्दै त्यसो हुन नदिने बताए ।

भ्रष्टाचार प्रणालीमै रहेको भन्दै प्रचण्डले चुनावी प्रणालीमा सुधार आवश्यक रहेकोमा जोड दिए। उनले सांसद हुनुका लागि निकै ठूलो धनराशी खर्च गर्नुपर्ने, सांसद भएपछि मन्त्री बन्नैपर्ने र खर्च उठाउनैपर्ने मान्यताका कारण सुशासन कायम हुन नसकेको तर्क गरे ।

उनले आफ्नो पार्टी अहिले सबैभन्दा सहज स्थितिमा रहेको र जनतामा गएर समीक्षा गर्ने अवसर पाएको बताए । प्रचण्डले वर्तमान सरकारले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता गर्न सक्ने आशंका गरे ।

विगतमा केपी ओलीले सैद्धान्तिक सहमतिसमेत दिइसकेको भन्दै प्रचण्डले अब सम्झौता गर्न सक्ने आशंका गरे । उनले भने, ‘एमसीसीभन्दा अझ गम्भीर प्रकृतिको अर्को चिज छ एसपीपी । त्यो एसपीपीलाई पनि अहिलेका प्रधानमन्त्रीजीले अघिल्लोपटक नै सैद्धान्तिक सहमति दिइसकेको कुरा अमेरिकन मिडियाहरुमा आइसकेको छ र अमेरिकन सरकारले त्यसलाई आधिकारिक रुपले भनी पनि सकेको छ । यो गम्भीर चिन्ताको विषय छ । त्यसमा अब सम्झौतै गर्नेतिर जाने हो कि भन्ने स्थिति छ ।’

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी पराजित

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी पराजित भएको छ । सिटीले खेलेको पछिल्ला चार खेलमा लगातार पराजयको सामना गर्नु परेको हो ।

शनिबार राति भएको खेलमा ब्राइटन एण्ड होभ अल्बिओनभसँग २–१ गोलको हार व्यहोर्न पुग्यो । सिटीले सुरुआती अग्रता लिए पनि दोस्रो हाफमा अग्रता जोगाउन असफल भएको थियो ।

सिटीका लागि पहिलो गोल २३औं मिनेटमा स्टार स्ट्राइकर एर्लिङ हालान्डले गरेका थिए । तर ब्राइटनले दोस्रो हाफमा कमब्याक गर्न सफल भयो । जोआओ पेड्रोले ७८औं मिनेटमा बराबरी गोल गरेका थिए ।

यसैगरी म्याट ओरिलिले ८३ औं मिनेटमा गोल गर्दै खेल ब्राइटनको पक्षमा ल्याए । पेप ग्वार्डियोलाको कोचिङ करियरमा यो उनको पहिलो पटक लगातार चार खेलमा पराजय भएको हो । जसले सिटीलाई शीर्ष स्थानको दौडमा पछि पारेको छ ।

ब्राइटनसँगको पराजयले म्यानचेस्टर सिटीलाई ११ खेलमा २३ अङ्कसहित दोस्रो स्थानमा राखेको छ । शीर्ष स्थानको लिभरपुलले एस्टन भिल्लालाई हराउँदै सिटीलाई पाँच अङ्कले पछि पारेको छ । ब्राइटन भने १९ अङ्कसहित चौथो स्थानमा पुगेको छ ।

फुलहमले लन्डनका प्रतिद्वन्द्वी क्रिस्टल प्यालेसलाई २–० ले हराउँदै तालिकामा सातौं स्थानमा चढेको छ । बन्टफोर्डले बर्नमाउथलाई ३–२ ले हराउँदै शीर्ष १० भित्र आफ्नो स्थान सुरक्षित गरेको छ ।

वुल्भ्सले पनि उत्कृष्ट प्रदर्शन गर्दै साउथह्याम्प्टनलाई २–० ले हराउँदै तालिकाको तल्लो स्थानबाट बाहिरिएको छ । पाब्लो साराबियाले दोस्रो मिनेटमै गोल गर्दै वुल्भ्सका लागि प्रिमियर लिगमा सबैभन्दा छिटो गोल गरेका छन् । यसैगरी, वेस्ट ह्याम युनाइटेड र एभर्टनबीचको खेल भने गोलरहित बराबरीमा सकिएको छ ।

धवलागिरि आयुर्वेद औषधालयको स्तरोन्नति

बागलुङ । गण्डकी प्रदेश सरकारले धवलागिरि आयुर्वेद औषधालयमा भर्ना भएरै बिरामीको उपचार गर्ने तयारी थालेको छ । औषधालयमा हाल बहिरंग सेवा मात्र सञ्चालनमा रहेको यस अस्पतालमा अन्तरंग सेवा थप गर्ने गरी बजेट विनियोजन भएको हो ।

धवलागिरि आयुर्वेद औषधालयलाई स्तरोन्नति गरी २५ शय्याको बनाउन गण्डकी प्रदेश सरकारले रु. एक करोड ३६ लाख बजेट व्यवस्थापन गरिसकेको छ । पछिल्लो समय आयुर्वेद औषधालयप्रति बिरामीको आकर्षण बढ्न थालेपछि गण्डकी सरकारले चालु आर्थिक वर्षमा सेवा सञ्चालन गर्ने गरी औषधालय स्तरोन्नति गर्न बजेट विनियोजन गरेको हो ।


अहिले रहेको औषधालयको भवनलाई मर्मतसम्भार गरी सेवा सञ्चालनका लागि तत्कालै रु. एक करोड ३६ लाख पठाउने तयारी भएको र आगामी वर्ष नीति तथा कार्यक्रममार्फत बजेट थप हुने गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले जानकारी दिए ।

मन्त्री पाठकले चालु आवमा सेवा सञ्चालन गर्ने गरी धवलागिरि आयुर्वेद औषधालयको काम थालिएको बताउँदै २५ शय्यमा स्तर वृद्धि गरिएको अस्पतालले नागरिकको आयुर्वेदसम्बन्धी भरोसालाई थप वृद्धि गर्ने जानकारी दिए । “तत्कालै अस्पतालका लागि थप जनशक्ति, पूर्वाधार व्यवस्थापन, मर्मतसम्भार, औजार तथा उपकरण, औषधि निर्माण र खरिदका लागि बजेट व्यवस्थापन गरिएको हो”, पाठकले भने, “आगमी आवमा औषधालयमा दरबन्दी थप्ने र पूर्वाधार निर्माणका लागि थप बजेट व्यवस्थापन हुन्छ ।”

यही कात्तिक १२ गतेको मन्त्रिपरिषद् बैठकले चालु आवमा धवलागिरि आयुर्वेद औषधालय र कास्कीको गण्डकी आयुर्वेद औषधालय २५ शय्यामा स्तर वृद्धि गर्ने निर्णय भएको स्वास्थ्यमन्त्री पाठकले बताए । उक्त निर्णयपछि जनशक्ति व्यवस्थापन र पूर्वाधारसहित सामग्री व्यवस्थापनको काम मन्त्रालयले थालिसकेको छ ।

होमियोपेथिक, आयुर्वेद र प्राकृतिक चिकित्सा गरी तीनै क्षेत्रलाई महत्वलाई प्राथमिकतामा राखेर उपचार गर्ने तयारीमा धवलागिरि आयुर्वेद औषधालय रहेको छ । अहिले भइरहेको अस्पताल भवनलाई नयाँ व्यवस्थापन गरी सेवा सञ्चालनको तयारी थालिएको औषधालयका प्रमुख डा. शरद पन्थीले जानकारी दिए । अस्पतालमा अहिले तीन डाक्टर कार्यरत रहेको भन्दै केही जनशक्ति थप हुनासाथ सेवा सुरु गर्ने तयारी रहेको पन्थीले जानकारी दिए ।

अहिले भवनको तल्लो तलालाई अन्तरंग सेवाका लागि प्रयोग गर्न मिल्ने बनाउने योजना औषधालयको छ । आयुर्वेद चिकित्साप्रति नागरिकको आकर्षण बढिरहेको बताउँदै पन्थीले गण्डकी प्रदेशको निर्णयानुसार अस्पतालको स्तर वृद्धिका लागि तयारी थालिएको छ । अस्पताल स्तर वृद्धिपछि भौतिक संरचना भने बिस्तारै वृद्धि गर्नुपर्ने पन्थीको भनाइ छ ।

उपनिर्वाचनका लागि एमालेले टुंग्यायो उम्मेदवार(सूचीसहित)

काठमाडौं । नेकपा एमालेले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ । शनिबार बसेको सचिवाल बैठकले जिल्ला र प्रदेश कमिटीले सिफारिस गरेका उम्मेदवारको नामलाई अनुमोदन गरेको हो ।

निर्वाचनमा स्थानीय आवश्यकताको आधारमा राजनीतिक दलसँग सहकार्य हुनसक्ने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकले किर्तिपुर नगरपालिकाको प्रमुखका डा सुरेन्द्र मानन्धर, मोरङ्गको ग्रामथान गाउँपालिकाको अध्यक्षमा तुलसीराम विश्वास, दोलखाका गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्षमा उमा लुङगेली शेर्पा, रुकुम पूर्वपुथा उत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष केशकुमारी तुलाचन उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यस्तै जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख सुनिता बोहरा, गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष जान शाही, बाजुराको स्वामीकात्तिक खापर गाउँपालिकाका उपाध्यक्ष सुलोचनाकुमारी भण्डारी बोहरालाई उम्मेदवार बनाउने निर्णय गरेको उनले बताए । निर्णय हुन बाँकी उम्मेदवारको प्रदेश कमिटीलाई अख्तियारी दिने निर्णयसमेत गरिएको उनले बताए ।

अन्तर्राष्ट्रिय क्रसकन्ट्री दौड : समूहगतमा नेपाली र व्यक्तिगत स्पर्धामा चिनियाँ खेलाडी च्याम्पियन

कास्की। नेपाल र मित्रराष्ट्र चीनका खेलाडीकाबीच पोखरामा आज सम्पन्न तेस्रो संस्करणको अन्तर्राष्ट्रिय पर्वतिय क्रस कन्ट्री दौडमा ‘समूहगत स्पर्धा’ मा नेपाली धावक ‘च्याम्पियन’ भएका छन्। यसैगरी ‘व्यक्तिगत स्पर्धा’को महिला तथा पुरुष दुवैतर्फ चिनियाँ धावक विजेता भएका सफल भए।

समूगत स्पर्धामा नेपालका सुशीलकुमार शाही, सिर्जना पौडल र श्रीकाश राई सम्मिलित टोलीले रनिङ, साइक्लिङ र रोइङसहितको निर्धारित ५० किमी दूरी ४ घण्टा २० मिनेट १४ सेकेण्डमा पार गरी उपाधि जितेको हो।

नेपाली सेनाका करन रावत, नरेन्द्र सिंह रावत र निर्मला राई सम्मिलित टिमले ४ घण्टा २२ मिनेट २९ सेकेण्डमा दौड पूरा गरी उपविजेता बने। यसैगरी सशस्त्र प्रहरी बलका लक्ष्मण मल्ल, निरज भट्ट र पुष्पा भण्डारीको टोलीले ४ घण्टा २३ मिनेट आठ सेकेण्डमा दौड पूरा गरी तृतीय भएको छ।

प्रतियोगिताको समूगत स्पर्धातर्फका बिजेताले रु चार लाख ५८ हजार चार सय, उपविजेताले रु तीन लाख ४३ हजार आठ सय र तृतीयले रु दुई लाख २९ हजार दुई सय पुरस्कार पाए। यसैगरी ‘व्यक्तिगत स्पर्धा’ मा पुरुषतर्फ चीनका धावक एङ ज्याङ जेनले निर्धारित ५० किमी दौड ३ घण्टा ४४ मिनेट १२ सेकेण्डमा पार गरी विजेता भए। नेपाली धावक कुलबहादुर बस्नेतले तीन घण्टा ४८ मिनेट दुई सेकेण्डमा दूरी पार गरी द्वितीय भए। नेपालकै होमलाल श्रेष्ठले ३ घण्टा ५३ मिनेट ३३ सेकेण्डमा दौड पूरा गरी तृतीय बने।

महिलातर्फ चीनका झेङ वाङ रोङले ४ घण्टा १४ मिनेट ४८ सेकेण्डमा दौड पूरा गरी उपाधि जिते। नेपाली धाविका जुम्लाका कल्पना बुढा उपविजेता बने। उनले निर्धारित दूरी ४ घण्टा ५० मिनेटमा पार गरिन्। नेपाल प्रहरीका राम माया बुढाले ५ घण्टा आठ मिनेट १८ सेकेण्डमा दौड पूरा गरी तृतीय भइन्।

‘व्यक्तिगत स्पर्धा’ दौडतर्फको पुरुष तथा महिला दुवैतर्फको विजेताले रु एक लाख ५२ हजार आठ सय, उपविजेताहरूले रु एक लाख १४ हजार छ सय र तृतीय हुने दुवै तर्फकाले रु ७६ हजार चार सयका साथमा मेडल तथा प्रमाणपत्र पुरस्कार प्राप्त गरे। नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका र काठमाडौंस्थित चिनियाँ राजदूतावासको संयुक्त आयोजना तथा हिमालयन टुरिजम फोरमको व्यवस्थापनमा प्रतियोगिता सम्पन्न भएको हो।

प्रतियोगितामा टिम इभेन्टतर्फ १९ र चीनतर्फका चार समूह तथा व्यक्तिगततर्फ नेपाली महिला तथा पुरुष ८७ चीन तर्फका २९ जनाले प्रतिस्पर्धा गरेको हिमालय टुरिजम फोरमका मिडिया संयोजक इन्जिरियन प्रतीकराज पहारीले जानकारी दिए।

_

रास्वपाले दोस्रो चरणको आन्दोलनलाई सशक्त बनाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले दोस्रो चरणको आन्दोलनलाई थप सशक्त बनाउने भएको छ । शनिबार बसेको केन्द्रीय समितिको बैठकले राज्यसत्ताको स्वेच्छाचारी, अधिनायकवादी प्रवृत्तिविरुद्ध साथै साझा राष्ट्रिय मुद्धाहरुमा केन्द्रित रही सञ्चालन गर्न गइरहेको दोस्रो चरणको संयुक्त सशक्त आन्दोलनमा साथ दिन आमनेपाली जनतालाई आह्वान गर्ने निर्णय गरेको हो ।

बैठकले गत माघमा प्रधानमन्त्रीलाई बुझाएको ‘सहकारी र लघुवित्त संस्थाहरुको समस्या समाधानका नीतिगत उपाय र योजना’ विषयक प्रतिवेदनका सिफारिसहरुलाई आधार मान्दै सहकारी, लघुवित्त एवं मिटरब्याज पीडितहरुको सरोकार सम्बन्धी तृणमूल अभियानलाई गति दिन १ महिनाभित्र रास्वपाका सम्बन्धित पालिका संरचनाहरुले आआफ्नो क्षेत्रमा सहकारी नियमनको अवस्था यकीन गरी कार्ययोजना बनाएर पीडितहरुको सरोकार बमोजिम बचत रकम फिर्ता गराउन दबाबमूलक कार्यक्रमहरुको अगुवाई गर्ने निर्णय पनि गरेको छ ।

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको लागि मेची–महाकाली अभियान चलाउँछौंः प्रचण्ड

हेटौँडा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय व्यवस्थाको लागि मेची–महाकाली अभियान चलाउने बताएका छन् ।

मकवानपुरको थाहा नगरपालिकामा शनिबार आयोजित योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) को दोस्रो नगर सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिबाट पाँच वर्षसम्मको स्थिर सरकार सञ्चालन भएमा अस्थिरताको सवाल नै नआउने भन्दै व्यवस्था परिवर्तनको सुरुवाती दिनदेखि नै आफूहरूले उक्त मुद्दा उठाउँदै आएको बताए ।

आफूले पहिलोपटक प्रधानमन्त्री हुँदा ३० हजारसम्मको कर्जा मिनाहा गरेर जनतालाई राहत दिएको र दोस्रो पटकमा उज्यालो नेपालको अवधारणा अनुरूप विद्युतभार कटौती हटाएको अध्यक्ष प्रचण्डले स्पष्ट पारे ।

उनले भने, ‘मैले पहिलोपटक प्रधानमन्त्री हुँदा ऋण मिनाह गरेँ, नेपालको पूर्व–पश्चिम जोड्न मध्यपहाडी लोकमार्गको काम अगाडि बढाएँ, म अझै थाकेको छैन, तेसैले अझ परिवर्तनको लहर ल्याएर नै छाड्नेछु ।’

उनले मकवानपुर तथा थाहा नगरका केही विकास योजनालाई प्रभावकारी बनाइने उल्लेख गर्दै धेरै योजना माओवादीकै पहलमा अघि बढिरहेको बताए ।

उनले थानकोन–चित्लाङ–चन्द्रागिरी सडक गणेशमान राजमार्ग स्तरोन्नतिसहित कालोपत्रे गर्ने, फोदगाउँ वस्ती बचाउ कार्यक्रममा सहयोगका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

माओवादी केन्द्रको पहलकदमीमा बागमती सरकारको लगानीमा कबर्ड हल सम्पन्न हुने चरणमा रहेको र शीतभण्डार स्थानीय सरकारको विशेष पहलमा निर्माण भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले दामगाडे महादेववेशी सडक ९८ करोडको लगानीमा निर्माण भइरहेको, एकीकृत सहरी पूर्वाधार कार्यक्रमअन्तर्गत कञ्छाल कलेचानी सडकसहित १० करोडको प्याकेज सञ्चालनमा रहेको र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय थाहाको चित्लाङमा स्थापना भएको बताए ।

एमालेद्वारा उपनिर्वाचनमा सिफारिस उम्मेदवारको नाम अनुमोदन

काठमाडौं । नेकपा एमालेले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा सिफारिस उम्मेदवारको नाम अनुमोदन गरेको छ ।

शनिबार बसेको सचिवालय बैठकले एमालेको तर्फबाट सिफारिस भई आएका उम्मेदवारको नाम अनुमोदन गरेको र सिङ्गो पार्टी पंक्तिलाई उपनिर्वाचनमा एमालेको विजयीका निम्ति परिचालन हुन आह्वान गर्ने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

बैठकले बदलिँदो भूराजनीति र अन्तर्राष्ट्रिय कुटनीतिमा विकसित घटनाक्रमहरूबारे छलफल गर्दै एमालेले भारत र चीन दुवै छिमेकी देशहरूप्रति असल, सन्तुलित र राष्ट्रिय हितमा केन्द्रीत परराष्ट्र सम्बन्ध कायम गरेर अघि बढ्नु अहिलेको आवश्यकता भएको निष्कर्ष निकालेको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका विषयमा समेत छलफल भएको थियो । बैठकपछि पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बैठकले दुई छिमेकीसँगको सन्तुलित सम्बन्ध अघि बढाउनुपर्नेमा जोड दिएको बताए ।

उनले भने, ‘अहिलेको अन्तर्राष्ट्रिय परिस्थितिलाई नियालेर हामीले राष्ट्रिय हितलाई केन्द्रमा राखेर दुवै छिमेकीसँग असल, सन्तुलित र राष्ट्रिय हितमाथि आधारित परराष्ट्र सम्बन्धलाई अगाडि बढाउनुपर्छ भन्ने कुरामा हामीले जोड दिएका छौँ । बैठकले प्रधानमन्त्रीको चीन भ्रमण अधिकतम राष्ट्रिय हितमा उपयोग गर्नका लागि समेत सरकारलाई आग्रह गरिएको छ ।’

त्यस्तै बैठकले सरकारको चार महिने कार्यकालको समीक्षा गरेको छ ।

पाँच किलोमिटर दौडमा पुरुषतर्फ कार्की र महिलातर्फ भण्डारी प्रथम

लेखनाथ (कास्की) । पोखरामा सम्पन्न तेस्रो अन्तर्राष्ट्रिय क्रस कन्ट्री प्रतियोगिताअन्तर्गत पाँच किलोमिटर दूरीको विद्यार्थी दौड (महिला÷पुरुष) मा पुरुषतर्फ बादल कार्की र महिलातर्फ नारायणी भण्डारी प्रथम भएका छन् ।

प्रतियोगितामा पुरुषतर्फ कृष्ण परियार र रमेश बुढाले क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरेका हुन् । महिलातर्फ स्वीकृति कार्की र जुही राई तेस्रो भएका छन् । यो दौड फेवा किनाराको बाराही घाटबाट सुरु भई गौरीघाट, सहिदचोक, राष्ट्र बैंक चोक हुँदै ड्यामसाइटबाट पुनः राष्ट्र बैंक चोक हुँदै बाराहीघाट पुगेर सम्पन्न भएको थियो ।

विद्यार्थी दौडमा शीर्ष छ/छ (महिला र पुरुष) खेलाडीलाई नगद, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ । प्रथम हुनेले ३० हजार, दोस्रोले २५ र तेस्रोले २० हजार राशि पुरस्कार प्राप्त गर्नेछन् । चौँथोदेखि छैँठौँ हुने खेलाडीले १०/१० हजार पाउनेछन् । प्रतियोगितामा पाँच सयभन्दा बढी विद्यार्थी सहभागी थिए ।

हवाई भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति

काठमाडौँ । हवाई भाडा नियन्त्रणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले सरोकारवाला पक्षसँग पाँच बुँदे सहमति गरेको छ । शनिबार बसेको प्राधिकरण, सरकार र स्वदेशी तथा विदेशी एयरलाइन्स वायुसेवा कम्पनीहरुका प्रतिनिधिको बैठकमा यस्तो सहमति भएको हो ।

सहमति अनुसार एयरलाइन्स कम्पनीहरुले ट्राभल एजेन्सीलाई पछि टिकट बिक्री गर्नेगरी एकमुष्ट रुपमा टिकट बिक्री गर्ने अधिकार (टीबीए) खारेज गरिदिएको छ ।

त्यस्तै, एयरलाइन्स हवाई सेवा सञ्चालनसम्बन्धी द्विपक्षीय सम्झौता बमोजिमको शर्त पालना गर्दै यात्रुलाई मर्का नपर्ने गरि हवाई भाडादर कायम गर्ने सहमति समेत भएको छ । बैठकले हवाइ टिकटको मूल्यसूची तोक्ने र सार्वजनिक गर्ने तथा ट्राभल एजेन्सीसँग टिकट बेच्ने सम्झौता गर्दा निश्चित परिमाणमामात्रै गर्ने समेत निर्णय भएको छ ।