`

लगानी गर्न उद्योगी व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लगानी मैत्री वातावरण निर्माण भइरहेकाले लगानी गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका छन् । 

नेकपा (एमाले) काठमाडौँ उपत्यकाका तीन जिल्ला कमिटीले शुक्रबार दरबारमार्गमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार नेपालमा शान्ति सुरक्षा कायम गरेर ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने अभियानमा रहेकाले ढुक्क भएर लगानी गर्न आग्रह गरे । 

“नेपालको आर्थिक अवस्था खराब अवस्थामा थियो । अहिलेको एमाले–कांग्रेसको सहकार्यमा बनेको सरकारले लिएको नीति र योजनाका कारण अर्थव्यवस्थामा सुधार भइरहेको छ”, प्रधानमन्त्री ओलीले भने । 

आर्थिक सुशासन र आर्थिक वृद्धि नभएसम्म देशमा विकासको गति बढ्न नसक्ने भएकाले नेपालका उद्योगी व्यवसायीसँगै बहुराष्ट्रिय कम्पनीहरुलाई समेत लगानी गर्न प्रधानमन्त्री ओलीले आग्रह गरे । ‘तपाईहरु लगानी गर्नुस्, सरकारले सुरक्षा र सुशासनको व्यवस्था गर्नेछ’, उनले भने ।

चीन भ्रमण घुम्नका लागि नभइ देश र जनताको हितमा केन्द्रित हुन्छः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमण अत्यन्त सफल हुने बताएका छन् ।

नेकपा (एमाले) काठमाडौँ उपत्यकाका तीन जिल्ला कमिटीले शुक्रबार दरबारमार्गमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यही मङ्सिर १७ गतेदेखि हुने छिमेकी मुलुक चीनको भ्रमण केवल घुम्नका लागि नभइ देश र जनताको हितमा केन्द्रित हुने स्पष्ट गरे ।

प्रधानमन्त्री ओलीले अहिले कतैबाट पनि सकेसम्म ऋण नलिने र आफ्नो उत्पादन वृद्धि गर्ने नीति लिइने  बताए ।

यो सत्तासमीकरण ०८४ सम्म टिक्छः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अनेक षड्यन्त्र र भ्रम चिरेर आफूहरु विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेको बताएका छन् ।

नेकपा (एमाले) काठमाडौँ उपत्यकाका तीन जिल्ला कमिटीले शुक्रबार दरबारमार्गमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकारको गठबन्धन आगामी  निर्वाचनसम्म रहने स्पष्ट गर्दै अराजकता र अस्थिरताको विपक्षमा रहेर देशमा साम्प्रदायिक सद्भाव कायम गरी आर्थिक समृद्धि ल्याउन सबै लाग्नुपर्नेमा जोड दिए  ।

कुनै पनि प्रकारको ठगी, तस्करी, भ्रष्टाचार, चरित्र हत्या र अश्लिलता स्वीकार्य नहुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले देशको अद्योगतिलाई माथि लैजान एमाले र नेपाली कांग्र्रेसको सहयात्रा गरिएको बताए । 

एमालेलाई समाप्त पार्न अनेक प्रपञ्च भइरहेको छः महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई समाप्त पार्न अनेक प्रपञ्च भइरहेको बताएका छन् । शुक्रबार काठमाडौंको दरबारमार्गमा भएको पार्टीको जागरण सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले एमाले देश बनाउने अभियानमा रहेको सच्चाइलाई आम जनताले बुझ्नुपर्ने बताएका हुन् ।

उनले एमालले राष्ट्रको विकास र समृद्धिको यात्रामा जनता र राष्ट्रको हितका पक्षमा काम गर्दै आएको बताए । उनले राष्ट्रलाई संकटबाट माथि उठाउन संसदका दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र एमाले एक ठाउँमा आएको बताए।

उनले सरकार मुलुकमा राजनीतिक स्थायीत्वको आधार तयार गर्दै विकास र समृद्धिको बाटो तय गरेर अगाडि बढिरहेको बेला अनेक षड्यन्त्र भइरहेको आरोप लगाए। महासचिव पोखरेलले कम्बोडियामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले लगानी गरेको प्रमाणित गर्ने व्यक्तिलाई जति लगानी गरिएको भनिएको छ, त्यसको दोब्बर दान दिने बताए ।

केही दिनअघि मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कम्बोडियाको टेलिकममा २० करोड डलर लगानी रहेको आरोप लगाएका थिए । प्रधानमन्त्रीलाई यस्तो आरोप लगाएपछि प्रसाईं अहिले प्रहरी हिरासतमा छन् ।

त्यस्तै उनले नेपालमा लोडसेडिङको अन्त्य गर्ने कामको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको दाबी गर्दै जस अरुले लिएको बताए । उनले भने, ‘दैनिक १८ घण्टा लोडसेडिङ हुन्थ्यो, केपी ओली प्रधानमन्त्री भएपछि नेपालको जलस्रोतमा देखिएका समस्या समाधान गरेर आधारभूत लोडसेडिङ एक वर्षभित्र हल गर्ने योजना तयार गर्ने प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओली रहनुभयो । तर अहिले जस अरुले लिएका छन् । यो बिडम्बना हो ।’

उनले मुलुकलाई सही दिशामा लैजान हरेक यात्रामा एमालेले पहलकदमी गर्दै आएको बताए। तैपनि पार्टीका विरुद्ध चौतर्फी घेराबन्दी आक्रमण भइरहेको उनको भनाइ छ। महासचिव पोखरेलले महाकाली सन्धीलाई अगाडि बढाउन खोज्दा पार्टीलाई बदनाम मात्रै गर्न खोजिएन विभाजन गर्ने प्रयास समेत भएको जिकिर गरे।

उनले भने,’अहिले पार्टीलाई समाप्त पार्नका लागि अनेक प्रपञ्च गरिएका छन्। कहिले महाकाली सन्धीका नाममा यो पार्टीलाई विभाजित गर्न दुष्कर्म गर्न खोजियो। महाकाली सन्धी नेपालको राष्ट्रिय हितका विपक्षा थियो भने उहिल्यै खारेज भइसक्या हुन्थ्यो। महाकाली सन्धीलाई अगाडि बढाउन खोज्दा पार्टीलाई बदनाम मात्रै गर्न खोजिएन विभाजन गर्ने प्रयास भयो।’

बीआरआईको विषयमा व्यापक छलफल नभएसम्म सम्झौता गर्न हुँदैन भन्नेमा कांग्रेस प्रष्ट छः नेता निधि

जनकपुरधाम । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले बीआरआईको विषयमा तत्काल हस्ताक्षर गर्नु नेपालको हितमा नरहेको बताएका छन् ।

शुक्रबार जनकपुरधाममा पत्रकारहरुसँग कुरा गर्दै नेता निधिले बीआरआईको विषयमा व्यापक छलफल नभएसम्म त्यो सम्झौता गर्न नहुने पक्षमा नेपाली कांग्रेस रहेको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणको तयारीमा रहेको र उनलाई कुनै पनि ऋण सम्झौतामा हस्ताक्षर नगर्न नेपाली कांग्रेसले भनिसकेको निधिले जानकारी दिए । उनले भने ‘प्रधानमन्त्री ओली चीन भ्रमणको तयारीमा हुनुहुन्छ, कांग्रेसले अनुदान सम्झौता मात्रै भनेको छ, ऋण सम्झौता नगर्न पहिले नै भनिसकेका छौँ ।’

यता बीआरआईको विषयलाई लिएर सरकारको भविष्य संकटमा रहेको विषय निराधार रहेको उनले बताए । निधिले २ वर्षसम्मलाई ओलीजी प्रधानमन्त्री हुनुहुन्छ २ वर्षपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने विषयमा दुबै नेताबीच सहमति भएकाले सरकारको भविष्यलाई लिएर शंका उपशंका नगर्न आग्रह गरे ।

प्रादेशिक अस्पताल जलेश्वरका उपकरण प्रयोगविहीन

जलेश्वर। मधेस प्रदेश सरकारले महोत्तरीको सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालका लागि खरिद गरेको उपकरण प्रयोगविहिन अवस्थामा छ।

करिब तीन वर्ष पहिला जलेश्वर अस्पतालका लागि रु दुई करोड ५५ लाख ५२ हजारको लागतमा खरिद गरिएका भेन्टिलेटर, मोनिटर, इको तथा सघन उपचारका उपकरण प्रयोगविहीन अवस्थामा रहँदा पनि सञ्चालनका लागि कुनै पहल नभएको नगरवासीको गुनासो छ।

आव २०७७/०७८ मा कोरोना नियन्त्रणका लागि पाँच थान भेन्टिलेटर, श्यया, मोनिटर, इको र सघन उपचारका उपकरण खरिद गरी ५० श्ययाकोे कोरोना विशेष अस्पतालका रूपमा सञ्चालन गरिएको थियो।

कोरोना नियन्त्रणका लागि विगत तीन वर्षअघि विभिन्न शीर्षकमा गरी रु १० करोडभन्दा बढी खर्च गरिए पनि महामारीका बेलामा भेन्टिलेटर र सघन उपचारकक्ष सञ्चालनका लागि दक्ष जनशक्ति नपाएर अस्पतालले ती उपकरण प्रयोगमा ल्याउन सकेको थिएन।

तीन वर्षदेखि प्रयोगविहीन बनेका उपकरणको ग्यारेन्टी र वारेन्टी पनि उपकरण थन्काइएका अवस्थामा नै सकिसकेको छ। जलेश्वर नगरपालिका–२ का लोसपा नेपाल नेता शिवचन्द्र चौधरीले ‘रेफर’ अस्पतालको रूपमा परिचित यस अस्पताल अहिले प्रादेशिक अस्पतालमा परिणत भइसक्दा पनि सरोकारबाला निकायको बेवास्ता र लापर्बाहीका कारण यसकोे सेवास्तर झन खस्किँदै गइरहेको आरोप लगाए।

स्थानीय नेकपा(माओवादी)का नेता मनोज साहले प्रदेशस्तरको यस अस्पतालमा सरकारले तोकेको निःशुल्क औषधिसमेत रोगीले नपाइरहेको गुनासो गर्नुभयो भने अर्का युवा नेता नवीन पाण्डेले पनि नेपाल सरकारले सरकारी अस्पतालमा ७० किसिमको औषधि रोगीका लागि निःशुल्क गरे पनि औषधि व्यवसायी र चिकित्सकको कमिसनका कारण अस्पतालमा रहेको समान्य औषधिसमेत रोगीले नपाइरहेको आरोप लगाए ।

उक्त अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मनिषा भारद्वाजले यत्रो ठूलो अस्पतालमा आफू एक्ली स्थायी चिकित्सक रहेको र सबै क्षेत्र एक्लैले हेर्न नभ्याउँदा अस्थायी र करारको कर्मचारीबाट अस्पताल चलाइरहेको बताइन्।

उनले अस्पतालमा बाहिर चर्चा गरेजस्तो औषधि अभाव नरहेको र उपलब्ध औषधि बिरामीलाई वितरण गर्न कुनै कन्जुस्याइँ नभएको जिकिर गरिन्।

मधेस प्रदेशकी सामाजिक विकासमन्त्री सुरिता साहले दक्ष जनशक्तिको अवाभमा भेन्टिलेटर र सघन उपचार कक्ष सञ्चालनमा ल्याउन नसकिएकामा अब चाँडै ती उपकरण सञ्चालन गर्न आवश्यक दक्ष जनशक्ति र प्राविधिक पठाएर व्यवस्थितरुपमा सञ्चालनमा ल्याइने प्रतिबद्धता व्यक्त गरिन्। 

दुई किलो सुनसहित रसुवामा एकजना पक्राउ

रसुवा । रसुवामा दुई किलो सुनसहित एक जना पक्राउ परेका छन् । कालिका गाउँपालिका–१, ग्राङबाट करिब २ किलो सुनसहित गोसाइकुण्ड गाउँपालिका–३, ब्रिद्धिमका ३४ वर्षीय कर्मा सोनाम लामा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय, रसुवाकाअनुसार लामालाई सुनसहित बिहीबार बेलुका पक्राउ गरिएको हो । अस्थायी प्रहरी पोष्ट ग्राङबाट खटिएको प्रहरीले कालिकातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०४३ प २४३४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा सुन फेला पारेको थियो । प्रहरीका अनुसार लामाले सुन आफूले लगाएका दुवै जुत्ताभित्र राखेका थिए ।

पाकिस्तानमा भएको साम्प्रदायिक हमलामा ४३ जनाको मृत्यु

पेसावर । उत्तरपश्चिम पाकिस्तानमा भएको साम्प्रदायिक हमलामा ४३ जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार बताएका छन् । अधिकारीहरुका अनुसार प्रभावित जिल्लामा कर्फ्यू लगाएको लगाई मोबाइल सेवासमेत बन्द गरेको बताएका छन् ।

अफगानिस्तान सीमा नजिकैको खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा प्रहरी एस्कसँग यात्रा गरिरहेका शिया मुसलमानको दुईवटा छुट्टै समुहमा बन्दुकधारीले बिहीबार गोली हानेका थिए । लामो समय देखि यस क्षेत्रमा सुन्नी र शिया मुस्लिम जनजातिहरूबीच झडप भईरहेको छ ।

एक वरिष्ठ प्रशासनीक अधिकारी जावेद उल्ला महसुदले कुर्रममा भएको हमलाको पुष्टि गरेका छन् । उनका अनुसार पीडितहरू मध्ये सात जना महिला र तीन जना बालबालिकासमेत रहेका छन् भने आक्रमणमा १६ जना घाइते भएका छन् ।

एक वरिष्ठ प्रशासनिक अधिकारीले नाम नछाप्ने सर्तमा शुक्रबार जिल्लाभर मोबाइल सेवा बन्द गरिएको जनाउदै मुख्य सहर पाराचिनारमा स्थानीयले धरना तथा प्रदर्शन गर्दा स्थिति तनावपूर्ण भएको बताएका छन् ।

माथिल्लो र तल्लो कुर्रम जोड्ने मुख्य सडकमा कर्फ्यू लगाइएको तथा बजार र यातायात बन्द गरिएको अधिकारीले बताएक छन् ।

हिंसाको पाकिस्तानी अधिकारी र मानव अधिकार समूहहरूले निन्दा गरेका छन् । पाकिस्तानको स्वतन्त्र मानव अधिकार आयोग (एचआरसीपी) ले विज्ञप्ति मार्फत घटनाले सरकारले नागरिकको सुरक्षा गर्न असफल भएको पुष्टि गरेको छ । यसै गरी हिंसाको चक्रलाई तत्काल रोकी निर्णायक कदम चाल्न माग गरिएको छ । 

चीनद्वारा २९ देशका लागि एकपक्षीय भिसा मुक्त नीति लागू

बेइजिङ । चीनले अन्तर्राष्ट्रिय यात्रालाई बढावा दिने प्रयास स्वरुप फ्रान्स, जर्मनी लगायत २९ वटा देशका लागि एकपक्षीय भिसा–मुक्त नीति लागू गरेको विदेश मन्त्रालयका अधिकारीले जनाएका छन् ।

पत्रकार सम्मेलनमा मन्त्रालयको कन्सुलर विभागका अधिकारी टोङ जुएजुनले चीनले २५ वटा देशहरूसँग पूर्ण भिसा छुट प्राप्त गरेका बताएका छन् ।

मन्त्रालयले सन् २०२३ डिसेम्बर–१ देखि फ्रान्स, जर्मनी, इटाली, नेदरल्यान्ड्स, स्पेन र मलेसियाका साधारण पासपोर्ट धारीको लागि एकपक्षीय भिसा–मुक्त प्रवेश परीक्षणको घोषणा गरेको हो ।

यस नीति अन्तर्गत योग्य व्यक्तिहरूले व्यापार, पर्यटन, पारिवारिक भ्रमणलगायतका लागि १५ दिनसम्म चीनमा रहन सक्ने छन् ।

चीनले आफ्ना दूतावासमा भिसा आवेदन अघि अपोइन्टमेन्टको आवश्यकतालाई रद्द गर्दै फिंगरप्रिन्ट सङ्कलनको छुट विस्तार गरी भिसा शुल्क २५ प्रतिशतले घटाएको टोङले बताएका छन् ।

सन् २०२४ को तेस्रो त्रैमासिकमा, चीनमा विदेशीद्वारा गरिएको ८.१९ मिलियन यात्राहरू रेकर्ड गरेको छ, जुन गत वर्षको समान अवधिको तुलनामा ४८.८ प्रतिशतले बढी हो । अधिकारीका अनुसार तीमध्ये ४.८९ मिलियन भिसा–मुक्त व्यवस्था मार्फत आएका थिए ।

मन्त्रालयले विशेष गरी व्यापारिक गतिविधिमा संलग्न व्यक्तिहरूका लागि सीमापार यात्रालाई सहज बनाउन भिसा–मुक्त प्रवेश नीतिलाई परिष्कृत गरी जारी राख्ने टोङले उल्लेख गरेका छन् । 

जागरणसभाअघि काठमाडौंमा एमालेको र्‍याली (फोटोफिचर)

काठमाडौँ । नेकपा एमालेको आज काठमाडौँमा हुन लागेको जागरणसभाको र्‍याली भद्रकालीबाट सुरु भएको छ । भद्रकालीबाट सुरु भएको र्‍याली शहिद गेट, सुनधारा, वीर अस्पताल, जमल हुँदै दरबारमार्गमा पुगेर जागरणसभामा परिणत हुने कार्यक्रम छ ।

कार्यक्रमलाई एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । एमाले अध्यक्ष ओली कार्यक्रम स्थलमा दिउँसो १ः३० बजे पुग्ने कार्यक्रम रहेको छ । र्‍यालीको नेतृत्व नेकपा (एमाले) वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेलले गरेका छन् ।

र्‍याली मा बाजागाजासहित पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा शुभचिन्तकहरू सहभागी छन् । एमालेले आजको सभामा एक लाखभन्दा बढीको मानिस उपस्थिति गराउने लक्ष्य लिएको छ ।

तस्बिरः हरिराम भेटुवाल/रासस

कानुन पर्खिरहेको ‘मोटरबोट’ व्यवसाय

काठमाडौँ । मुलुकको पर्यटन क्षेत्रमा पछिल्लो समय थपिएको नयाँ ‘प्रडक्ट’ हो, ‘मोटरबोट टुरिजम’ । पूर्वदेखि पश्चिमसम्मका विभिन्न नदी र जलाशयमा यतिबेला करिब एक सय २० मोटरबोट सञ्चालनमा छन् । यी मोटरबोटहरुले स्थानीय तहमा पर्यटकीय तथा आर्थिक गतिविधि मात्रै बढाएका छैनन्, स्थानीय तहको राजस्वको गतिलो माध्यम पनि बनेका छन् । साथै, मोटरबोटप्रतिको आकर्षणले ती क्षेत्रमा पर्यटनको नयाँ सम्भावना पनि बढेको छ ।

अधिकांश स्थानमा मनोरञ्जनका लागि सञ्चालनमा ल्याइएका यी मोटरबोट केही स्थानमा भने यात्रु ओसारपसार र सामान ढुवानीमा पनि प्रयोग भइरहेका छन् । सरोकारवालाका अनुसार मोटरबोट सञ्चालनबाट विभिन्न स्थानीय तहले वार्षिक औसतमा न्यूनतम रु १० लाखदेखि झण्डै रु एक करोडसम्म राजस्व सङ्कलन गरिरहेका छन् । त्यतिमात्रै होइन, यसबाट हजारौँको सङ्ख्यामा प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी पनि सिर्जना भइरहेको जानकारहरु बताउँछन् ।

पर्यटन क्षेत्रलाई चलायमान बनाउन र आर्थिक गतिविधि बढाउनका लागि महत्वपूर्ण भूमिका खेलेको मोटरबोट व्यवसाय भने आफैँ कानुनको पर्खाइमा छ । स्पष्ट कानुन नहुँदा यसको दर्तादेखि सञ्चालन र व्यवस्थापनमा चुनौती थपिएको छ ।

नेपालमा मोटरबोट उत्पादन र सञ्चालनमा क्रियाशील बोटेबोरा कम्पनीका अध्यक्ष विष्णु ढकाल स्पष्ट कानुन नहुँदा व्यवसाय सञ्चालनमा कठिनाइ भएको बताउँछन् । कानुनको अभावमा यसको सञ्चालन, नियमन, व्यवस्थापनदेखि अन्तर्राष्ट्रियस्तरमा मान्यता प्राप्त हुन नसकेको उनको भनाइ छ ।

ढकालको बोटेबोरा कम्पनीले मुलुकका विभिन्न स्थानमा मोटरबोट सञ्चालन गर्दै आएको छ भने उनकै कम्पनी नेपाल सीप एण्ड बोट बिल्डिङले मोटरबोट उत्पादन गर्दै आएको छ । ‘हाल विभिन्न स्थानमा मोटरबोट सञ्चालन त भइरहेका छन्, तर स्पष्ट कानुन भने छैन, जसका कारण व्यवसाय सञ्चालन, राजस्व सङ्कलन र व्यवस्थापनलगायतमा एकरुपता कायम हुन सकेको छैन’, उनले भने ।

ढकालका शब्दमा कानुन नबन्दा प्रमुख पर्यटकीय गन्तव्यहरु पोखराको फेवा र मुगुको रारालगायतका तालमा क्रुजसमेत सञ्चालन गरी पर्यटकीय आकर्षण बढाउन सकिएको छैन। कानुन भयो भने विभिन्न जलाशय तथा नदीलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिन्छ ।

कानुनको पर्खाइ

प्रधानमन्त्री केपी शर्मा ओलीको अग्रसरतामा २०७५ फागुन २ गते ललितपुरको एकान्तकुनामा पानीजहाज कार्यालय स्थापना भएको थियो । यसको उद्देश्य नेपालका साथै समुन्द्रमा नेपाली ध्वजावाहक पानीजहाज सञ्चालन गर्नु थियो तर ऐन निर्माणमा भएको ढिलाइले पनि कार्यालयले अपेक्षाकृत रुपमा काम गर्न सकेको छैन।

नयाँ ऐन बन्न नसक्दा सञ्चालन भइरहेका जल यातायातको दर्ता तथा नियमनमा समस्या भइरहेको सो कार्यालयका सूचना अधिकारी राजन प्रधानको भनाइ छ ।

हाल नेपालमा पानीजहाजसम्बन्धी ५४ वर्षअघिको ऐन कार्यान्वयनमा छ । तत्कालीन समयमा पानीजहाज दर्ता ऐन, २०२७, नेपाल पानीजहाज (प्रमाणपत्र, रोजनामचा), २०२७, नेपालको व्यापारिक पानीजहाजको झण्डासम्बन्धी ऐन, २०२७ र नेपाली पानीजहाज दर्ता नियमावली, २०२८ बनेका थिए । तर ती कानुन अहिले समयसापेक्ष नभएकाले पर्याप्त छैनन् ।

बोटेबोरा कम्पनीका सञ्चालक ढकाल आफू यो क्षेत्रको विकास, नियमन र व्यवस्थापनका लागि जतिसक्दो छिटो ऐन निर्माण हुनुपर्ने बताउँछन् । ‘यो पर्यटकीय र आर्थिक दृष्टिले निकै सम्भावना भएको क्षेत्र हो, सरकारले यस क्षेत्रलाई नियमन र व्यवस्थापनका लागि जतिसक्दो छिटो कानुन बनाउँछ, त्यति नै छिटो यसको विकास र विस्तार गर्न सकिन्छ, यसबाट लाभ लिन सकिन्छ ।’

पानीजहाज कार्यालयका सूचना अधिकारी प्रधानका अनुसार हाल भौतिक पूर्वाधार तथा यातायात र कानुन तथा संसदीय मामिला तथा अर्र्थ मन्त्रालयलगायतबाट स्वीकृत भई संसदमा पस हुने तयारीमा छ। ‘तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले विधेयकको मस्यौदालाई मन्त्रिपरिषद्बाट समेत पारित गरिसकेको छ, संसदको आगामी अधिवेशनमा सम्भवतः पेस हुनेछ’, उनले भने । उनका अनुसार ऐन निर्माणपछि विदेशी लगानीका विषयदेखि हाल सञ्चालनमा भइरहेका मोटरबोट नियमन गर्न सहज हुनेछ ।

चितवनको नारायणी नदीमा मोटरबोट व्यवसाय सञ्चालन गरिरहनुभएका रङमहल रिभर ल्याण्ड प्रालिका अध्यक्ष आशीष मल्ल पनि ऐन नबन्दा सञ्चालन र नियमनमा समस्या भइरहेको बताउँछन् । उनका अनुसार मोटरबोटको बिमालगायतको पनि समस्या छ। ‘कानुन नहुँदा एक प्रकारकाले असुरक्षित रुपमा व्यवसाय सञ्चालन भइरहेको जस्तो छ, कानुन बन्यो भने धेरै समस्या सम्बोधन हुन्छ, साथै यस व्यवसायबाट पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्नुका साथै सरकारको राजस्वमा पनि थप योगदान हुने देखिन्छ’, उनले भने ।

अहिले पनि सम्भावना भएको भनिएको चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पनि मोटरबोट सञ्चालन गरी पर्यटकीय गतिविधि बढाउन पाइएको छैन। उक्त क्षेत्रमा २०५४ सालमा मध्यवर्ती क्षेत्रमा मोटरबोट सञ्चालनका प्रारम्भिक वातावरणीय मूल्याङ्कन (आइई) गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो। त्यसका लागि तत्कालीन जलस्रोत मन्त्रालय, गृह मन्त्रालय, वन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र पर्यटन मन्त्रालयबाट पनि सहमति आइसकेको थियो।

आर्थिक वर्ष २०७९/८० मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले चितवन राष्ट्रिय निकुञ्जलाई निकुञ्जको मध्यवर्ती क्षेत्रमा डुङ्गा चलाउने विषयमा जानकारी माग गरेको थियो । निकुञ्जले अमलटारीलाई पत्राचार गर्दै डुङ्गा चलाउँदा केही समस्या हुन्छ वा हुँदैन भन्ने विषयमा राय लिएको थियो ।

अमलटारीले केही समस्या छैन भनेर राय पनि दिएको थियो । त्यति हुँदा पनि विभागले भने नियमावली नभएको बाहनामा सञ्चालनको अनुमति नै दिएको छैन । हाल सञ्चालनमा भइरहेका मोटरबोटहरुले कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता तथा पर्यटन विभागबाट साहसिक खेलको अनुमति लिएका छन् ।

कानुन नहुँदा दुर्घटना बिमा भएको व्यवस्था भए पनि मोटरबोट र इञ्जिनको बिमा हुन सकेको छैन । त्यति मात्रै होइन, यसका लागि आवश्यक जनशक्तिका लागि तालिम दिन संस्था स्थापनाका लागि कानुन जरुरी छ ।

कानुन अभावमा प्रारम्भिक वातावरणीय मूल्याङ्कन (आइई) पनि समस्या छ । जस्तै कुनै स्थानमा एउटा कम्पनीले आइई गरेर सेवा सञ्चालन गरिरहेको छ भने अर्को कम्पनी आउँदा फेरि आइई गर्नुपर्ने अवस्था छ। उदाहरणका लागि, नारायणगढस्थित नारायणी नदीमा १३ वटा कम्पनीले छुट्टाछुट्टै आइई गर्नुपर्ने अवस्था रहेको व्यवसायी बताउँछन् ।

सहमति कार्यान्वयनका लागि ऐन जरुरी

तत्कालीन प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा नेपाल–भारत पारवहन सन्धि १९९९ संशोधनसहित नवीकरण भएपछि नेपालबाट समुन्द्रससम्म पानीजहाज सञ्चालनको बोटो खुलेको थियो। यसबाट नेपाललाई भारत र तेस्रो देशसम्मको व्यापारका लागि जलमार्ग प्रयोग गर्न सक्ने गरी सुविधा उपलब्ध भएको थियो ।

आवश्यक कानुनहरूको अभावले जल यातायातको सञ्चालन हुन सकेको छैन । उक्त सहमति कार्यान्वयन भए नेपालको दासढुङगासम्म साना आकारका पानीजहाज ल्याउन सकिने देखिन्छ । त्यति मात्रै होइन, कानुन बनेपछि निकुञ्ज मध्यवर्ती क्षेत्रमा पनि मोटरबोट चलाउने बाटो खुल्ने जानकार बताउँछन् ।

नाविक किताब (सिमेन बुक) को आवश्यकता

हाल ठूलो सङ्ख्यामा नेपालीहरु समुन्द्रमा चल्ने जहाजमा काम गरिरहेका छन् । ती जहाजमा काम गर्नका लागि नाविक किताब (सिमेन बुक) आवश्यक पर्छ । तर कानुन नबन्दा नेपालबाट हालसम्म सिमेन बुक जारी भएको छैन । पानीजहाज ऐनको मस्यौदामा नाविक किताबको व्यवस्था गरिएको छ । साथै अन्तर्राष्ट्रिय नाविक किताब प्राप्तहरुलाई पनि नेपालमा मान्यता दिन सकिने व्यवस्था मस्यौदाले गरेको छ।

नेपालको परराष्ट्र मन्त्रालयले यसअघि नौ सय वटा नाविक किताबका लागि बोलपत्र आह्वान नै गरे पनि कानुन नहुँदा त्यो कार्यान्वयनमा आएन। जसरी राहदानीले अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त गर्छ, नाविक किताबले पनि सोही प्रकारको मान्यता पाउँछ।

हाल नेपालीहरु भारत, पानामा, थाइल्याण्डलगायतका मुलुकमा पुगेर तालिम लिने र यसप्रकारको लाइसेन्स लिँदै आएका छन् । विकसित देशमा अध्यागमनमा राहदानी र नाविक किताब लिनका लागि प्रवेश छुट्टै हुन्छ । सिमेन बुक धारकले सोही आधारमा प्रवेशाज्ञा पाउँछन् ।

विमान सञ्चालनका लागि अन्तर्राष्ट्रियस्तरमा इन्टरनेशनल सिभिल एभिएसन अर्गनाइजेसन (आइकाओ) भए जस्तै जल यातायातका लागि इन्टरनेशनल मरिटाइम अर्गनाइजेसन (आइएमओ) छ ।

नेपालले जलयातायात सञ्चालनका लागि यसको सदस्य लिन जरुरी हुन्छ । कानुन निर्माणपछि यसको सदस्यता लिन, समुन्द्रमा पानीजहाज चलाउन र यसको नियमन र अनुगमनका लागि बाटो खुल्छ ।

जनशक्ति उत्पादन

मोटरबोट सञ्चालनमा आकर्षण बढ्दै गएपछि पछिल्लो समय विभिन्न स्थानीय तहले पनि आफनो क्षेत्राधिकारमा पर्ने नदी र जलाशयमा मोटरबोट सञ्चालनका लागि चासो देखाएका छन् । तर कानुन नहुँदा जनशक्ति उत्पादन गर्न सकिएको छैन । पछिल्लो बनेको पानीजहाज ऐनको मस्यौदाले यो विषयलाई भने समेटेको छ ।

यो ऐन पारित भएमा त्यस्ता तालिम केन्द्रमा हस्पिटालिटीदेखि, गोताखोर, फायर, फुड एण्ड हाइजिन, रेस्क्युलगायतमा तालिम दिन सकिन्छ ।

हाल यसप्रकारका जनशक्ति उत्पादनका लागि तालिम लिन विदेशमा जानुपर्ने अवस्था छ । त्यति मात्रै होइन, यहाँ तालिम लिने व्यक्तिले समुन्द्री जहाजमा काम गर्नका लागि पनि लाइसेन्स प्राप्त गर्ने भएकाले वैदेशिक रोजगारीका लागि नयाँ विकल्प खुल्नेछ ।

क्षेत्राधिकारमा समस्या

मुलुक संघीय संरचनामा गइसकेको अवस्थामा केन्द्र, प्रदेश र स्थानीय तहका आफनै क्षेत्राधिकार छन् । त्यसबाहेक, वन तथा निकुञ्जका पनि आफनै समस्या छन् । ती सबै समस्या समाधानका लागि एकद्वार प्रणाली आवश्यक हुन्छ ।

यसलाई पनि कानुनले सम्बोधन गर्नुपर्ने अवस्था छ । यसरी सडक निर्माण भएपछि गाडी सहजै गुडाउन सकिन्छ त्यसरी नै जलमार्गमा कसैको क्षेत्राधिकार नभई सञ्चालन गर्न पाउनुपर्छ । यहाँ त पानीमा पनि वडा तहसम्मको अधिकारले सञ्चालनमा समस्या भइरहेको छ ।

उदाहरणका लागि, नेपालमा विद्युत् उत्पादनका लागि बाँध बनाएर जम्मा गरिने पानीमाथिको अधिकार कस्को हो भन्ने प्रश्न छ । नेपालले गरेको अन्तर्राष्ट्रिय सन्धिमा बाँधमा भएको पानीमा स्थानीयको अधिकार हुन्छ । तर विद्युत् उत्पादक कम्पनीले आफ्नो क्षेत्राधिकारमा पर्छ भन्छ । यस्तो अवस्थामा पानीको उपयोग गर्नबाट स्थानीय बञ्चित भएको अवस्था छ । यदि कानुनले नै त्यो पानीमा स्थानीयको अधिकार हुन्छ भन्ने हो भने त्यहाँ मोटरबोट सञ्चालन गरी आर्थिक लाभ लिन सकिन्छ ।

उत्पादनभन्दा आयात सस्तो

हाल नेपालमा बोट उत्पादन गर्ने दुई कम्पनी सञ्चालनमा छन् । त्यसमध्येको नेपाल ‘सीप एण्ड बोट बिल्डिङ’ले हालसम्म एक सय आठ वटा बोट उत्पादन गरिसकेको छ । सो कम्पनीका सञ्चालक विष्णु ढकाल नेपालमै बोट उत्पादनका लागि उद्योगमैत्री कानुन नभएको बताउँछन्।

उनका अनुसार हाल विदेशबाट बोट आयात गर्नुभन्दा स्वदेश उत्पादन गर्नु महँगो पर्ने गरेको छ । ‘मोटरबोट निर्माणका लागि सामानहरु विदेशबाट आयात गर्नुपर्छ, जुन अत्यधिक महँगो छ, तयारी अवस्थाका मोटरबोट आयात गर्दा पाँच प्रतिशत मात्रै भन्सार लाग्छ भने मोटरबोट निर्माणका लागि सामान आयात गर्दा १५ देखि ३० प्रतिशतसम्म भन्सार कर बुझाउनुपर्छ’, उनले भने ।

यदि स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने हो भने करका दरमा पुनरावलोकन आवश्यक भएको ढकालको सुझाव छ । उनका अनुसार हाल रु २० लाखमा उत्पादन भइरहेका बोट करको दरमा पुनरावलोकन गर्ने हो भने रु १६ देखि १७ लाखमै उत्पादन गर्न सकिन्छ ।

सरकारले करका दर सस्तो बनाएर यसबाट हुने अन्य आम्दानीमा जोड दिनुपर्ने उनको भनाइ छ । ‘मोटरबोटका सामान आयात गर्दा महँगो शुल्क लगाउनुको साटो स्वदेशमै हुने उत्पादनलाई जोड दिएर यसबाट हुने रोजगारी सिर्जना, आर्थिक गतिविधि चलायमान बनाउनेतर्फ ध्यान दिनु जरुरी छ, सरकारले यस विषयमा सोच्नु आवश्यक हुन्छ”, उनले भने ।

कहाँकहाँ भए सम्भाव्यता अध्ययन ?

पानीजहाज कार्यालयले यसअघि नेपालका नदीहरुमा जलयान सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरेको थियो । जसमा कर्णाली नदीमा खक्रौला-खिमडीमा एक सय १५ किलोमिटर, कालीगण्डकी नदीको राम्दी-देवघाटमा ९५ किलोमिटर, कोशीको अरुण नदीअन्तर्गतको चतरा-तुम्लिङटारमा ७५ किलोमिटरमा जलयान सञ्चालन गर्न सकिने भनिएको छ ।

साथै उक्त अध्ययनले नारायणी नदीमा देवघाट-गण्डक क्षेत्रको ८५ किलोमिटर, राप्ती नदीको सिक्टा-भालुवाङको एक सय दुई किलोमिटर दूरीमा जलयान सञ्चालन गर्र्न सकिने भनेको छ ।

उक्त अध्ययनले कर्णाली, नारायणी, कालीगण्डकी र कोसी नदीमा एक सय टनसम्म क्षमताका जलयान सञ्चालन गर्न सकिने देखाएको छ । सम्भाव्यता अध्ययनका क्रममा नदीको हरेक एक सय मिटरको दूरीमा ‘लग्जिटयुडनल’ र ‘क्रस सेक्सन’ सर्भे गरी गहिराइ मापन गरिएको कार्यालयको भनाइ छ । कार्यालयले ती क्षेत्रमा जल यातायात सञ्चालनअघि नदीमा डिग्रेडिङ, च्यानलिङ र स्पर निर्माणलगायतका काम गरी जलमार्गलाई सञ्चालनयोग्य र सुरक्षित बनाउन पनि सुझाव दिएको छ ।

क्रेडिट रेटिङपछि वैदेशिक लगानी आकर्षित गर्न सहयोग पुग्छः अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपालमा लगानी गर्ने वातावरण सृजना भएको बताएका छन् । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले नेपालले सार्वभौम क्रेडिट रेटिङमा बीबी स्कोर प्राप्त गरेपछि नेपालमा लगानी गर्नका लागि उपयुक्त वातावरण बनेको उल्लेख गरे ।

रेटिङले नेपालको अर्थतन्त्रको संरचना, सार्वजनिक वित्त परिचालन र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था लगानीमैत्री र उन्नत रहेको सङ्केत गरेको उनको भनाइ थियो ।

उनले भने, “क्रेडिट रेटिङको नतिजाले नेपालको साख क्षमता उच्च रहेको, वित्तीय तथा आर्थिक क्षमता सवल रहेको र अन्तर्राष्ट्रिय बजारबाट ऋण लिनु पर्दा न्यून ब्याजदरमा ऋण प्राप्त गर्न सक्ने अवस्था सिर्जना गरेको छ ।” यसले निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्न र वैदेशिक लगानी आकर्षित गर्न समेत सहयोग पुग्नेमा उनले विश्वास व्यक्त गरे ।

सार्वभौम क्रेडिट रेटिङमा मूलतः अर्थतन्त्रका चार क्षेत्रहरु अर्थतन्त्रको संरचनगत पक्ष, समष्टिगत आर्थिक उपलब्धि, सार्वजनिक र बाह्य क्षेत्रका आर्थिक परिसूचकको विस्तृत रुपमा लेखाजोखा गर्ने गरिन्छ । मुलुकको सार्वभौम क्रेडिट रेटिङ गर्दा यस्ता पक्षलाई विभिन्न सार्वभौम रेटिङ मोडल र गुणात्मक मापन विधिबाट स्वतन्त्र रुपमा मूल्याङ्कन गरी प्राप्त स्कोरलाई न्यूनतमदेखि अधिकतमसम्म रेटिङ प्रदान गर्ने गरिन्छ । 

रेटिङमा नेपालको आर्थिक संरचना, सार्वजनिक वित्तको अवस्था, आन्तरिक तथा वैदेशिक ऋणको अवस्था, मौद्रिक तथा वित्तीय क्षेत्रका सूचकको अवस्था, बाह्य क्षेत्रका आर्थिक परिसूचक, सोह्रौ योजनाले परिलक्षित गरेका आर्थिक वृद्धिको मध्यकालिन तथा दीर्घकालिन खाकालगायतका विवरण र तथ्याङ्कको विश्लेषण गरिएको थियो । 

त्यसका साथै गुणात्मक मूल्याङ्कनको चरणअन्तर्गत नेपालको स्थलगत भ्रमण भई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंकलगायतका सरकारी निकायका उच्च पदाधिकारसँग परामर्श र छलफल गरेको थियो । 

साथै निजी क्षेत्र र नेपालस्थित द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार निकायका अधिकारीसँग समेत परामर्श गरिएको थियो । नेपालले प्रस्तुत गरेको पूर्वाधार विकासको मध्यकालिन र दीर्घकालीन योजनाको कार्यान्वयनको मूल्याङ्कन गर्न नमूनाका रुपमा नागढुङ्गा सुरुङमार्गको अवलोकन समेत गरेको थियो ।

सार्वभौम क्रेडिट रेटिङलाई विश्वका लगानीकर्ता तथा वित्तीय सेवा प्रदान गर्ने निकायले कुनै पनि मुलुकको लगानीको वातावरण मूल्याङ्कनका आधारका रुपमा लिने मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसालले जानकारी दिए ।

त्यसले मुलकको अर्थतन्त्रको संरचना र अवस्थालाई स्वतन्त्र विज्ञको आँखावाट मूल्याङ्कन गरी यथार्थ अवस्थालाई विश्वभरका लगानीकर्ता समक्ष पुर्याउने उनको भनाइ छ । 

“यस अर्थमा सार्वभौम क्रेडिट रेटिङलाई मुलुकले आफ्नो अर्थतन्त्रलाई विश्वसामू खुलारुपमा मूल्याङ्कन गराई पारदर्शिता कायम गरेको रुपमा समेत लिन सकिन्छ, नेपालको सार्वभौम क्रेडिट रेटिङले नेपालको अर्थतन्त्रलाई अन्तर्राष्ट्रिय समुदायसम्म प्रस्तुत गरेको छ, सार्वभौम क्रेडिट रेटिङ विगतका तथ्याङ्क विश्लेषणको नतिजा मात्र नभएर भविश्यपरक दृष्टिकोण समेत हो”, उनले भने ।

यसले अर्थतन्त्रको भावी दिशा र सम्भावनाको आकलन गर्दै मुलुकले भविश्यमा आफ्नो ऋण दायित्व पूर्णरुपमा र समयमै भुक्तानी गर्न सक्ने क्षमताको मापन गर्दछ । नेपाल सन् २०२६ मा अल्पविकसित राष्ट्रबाट स्तरोन्नति भई नविनतम एवं वैकल्पिक वित्तका स्रोत परिचान गर्नुपर्ने अवस्थाको पूर्व तयारीका रुपमा समेत सार्वभौम क्रेडिट रेटिङलाई लिन सकिने बताए ।

सुरुङ, रेल र पानी जहाजको योजना अघि सार्नु गलत हो ?

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमाले नेतृत्वका विरुद्धमा षडयन्त्रपूर्ण कुप्रचार कसको प्रायोजनमा भइरहेको छ भन्दै प्रश्न गरेका छन् ।

शुक्रबार जागरणसभा सुरु हुनुअघि सामाजिक संजालमार्फत महासचिव पोखरेलले नौ प्रश्न गरेका हुन् । उनले अस्थिरता सिर्जना गर्ने उद्देश्य अनुरुप प्रायोजित रुपमा सिर्जित षड्यन्त्र र भ्रमवाट समाज र राजनीतिलाई मुक्त गर्नुपर्ने बताएका छन् ।

उनले नेपालको गुमेको भूभाग समेटेर नक्सा प्रकाशित गर्नु अपराध हो ? भन्दै प्रश्न गरेका छन् ।

यस्ता छन् महासचिव पोखरेलका प्रश्नः

१.नेकपा (एमाले) र त्यसको नेतृत्वका विरुद्धमा षडयन्त्रपूर्ण कु प्रचार किन र कसको प्रायोजनमा भइरहेको छ ?

२. के नेकपा (एमाले) ले स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितका पक्षमा अडान लिनु र नेपालको गुमेको भूभाग समेटेर नक्सा प्रकाशित गर्नु अपराध हो ?

३.नेपालको विकास र समृद्धिका लागि मेघा परियोजनाहरू अघि बढाउनु, सुरुङ, रेल र पानी जहाजको योजना अघि सार्नु गलत हो ?

४. नेपालको विकासका लागि छिमेकी मित्र राष्ट्रहरुवाट सहुलियतपूर्ण ऋण सहायता लिनु के गलत हो ?

५. नेपाललाई भूपरिवेष्टित मुलुकबाट भूजडित मुलुकमा वदल्नका लागि उत्तरी छिमेकी चीनसँग व्यापार र पारवहन सम्झौता गर्नु गलत हो ?

६.के भारतको कलकत्ता पोर्टको विकल्पका रूपमा भारतबाट थप बन्दरगाह प्रयोगको अधिकार सुनिश्चित गर्नु गलत हो ?

७. के नेपालले भैरहवा गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि भारतसँग अनुकूल एअर रुटको माग गर्नु गलत हो ?

८. के नेपालले आफूलाई स्वाधीन राष्ट्रका रुपमा समनताका आधारमा व्यवहारको माग गर्नु गलत हो ?

९. के राष्ट्रको विकास र समृद्धिका लागि सहुलियतपूर्ण ऋण सहायता परिचालन गर्नु गलत हो ?

पोखरेलले एमालेले यस्ता काम गर्नु गलत लागे मात्र विरोध जायज हुन सक्ने बताएका छन् । उनले भनेका छन्, ‘होइन भने देश बनाउनका लागि उसले गरेका राम्रा काममा साथ देऊ । काम गर्नेलाई हौसला देऊ । कमीकमजोरी भए सुझाव देऊ । विकल्प भए विकल्प देऊ । ‘

१५ सय रुपैयाँले बढ्यो तोलामा सुनको मूल्य

काठमाडौं । शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा १५ सय रुपैयाँले बढेर तोलाको १ लाख ६५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन तोलाको एक लाख ६४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको स्थिर रहेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर तोलाको १९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

जागरणसभाका लागि एमालेको र्‍याली सुरू

काठमाडौं । नेकपा एमालेको आज दरबारमार्गमा हुने जागरणसभाका लागि र्‍याली सुरु भएको छ ।  जागरणसभाका लागि भद्रकालीबाट र्‍याली सुरु भएर दरबारमार्ग पुगेर सभामा परिणत हुनेछ ।


एमालेको जागरणसभाका काठमाडौँ, भक्तपुर, ललितपुरलगायत आसपासका जिल्लाबाट एक लाख मानिस उपस्थित गराउने तयारी रहेको छ ।


एमाले काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा आज दरबारमार्गमा जागरण सभाको कार्यक्रम हुँदैछ । कार्यक्रमलाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।


राष्ट्रिय सद्भाव र राष्ट्रिय एकता कायम गर्ने उद्देश्यले उक्त जागरणसभा आयोजना गर्न लागिएको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

पोखरामा सामुदायिक विद्यालयमा छोराछोरी पढाउने अभिभावकको निःशुल्क बीमा

कास्की । पोखरा महानगरपालिका–१२ ले सामुदायिक विद्यालयमा छोराछोरी पढाएका सबै अभिभावकको निःशुल्क पारिवारिक स्वास्थ्य बीमा कार्यक्रम सुरुवात गरेको छ ।

सरकारी विद्यालयहरुप्रति आकर्षण वृद्धि गर्नका लागि चालू आर्थिक वर्षदेखि कार्यान्वयन हुने गरी कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष सन्तोष बास्तोलाले जानकारी दिए । यस कार्यक्रमबाट सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीको शिक्षा र स्वास्थ्य दुबै निःशुल्क हुने उनले बताए ।

वडाध्यक्ष बास्तोलाले भने,’सरकारी विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गरेर विद्यार्थी आकर्षण बढाउने गरी हाकीले काम गरिरहेका छौँ । सोही अनुसार वडामा स्थायी बसोबास रहेका र सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका परिवारको बीमा गर्ने छौँ ।’

पोखरा–१२ मा अमरसिँह माध्यमिक विद्यालय, शितलादेवी सामुदायिक विद्यालय र सरस्वती आधारभूत विद्यालय गरी तीन विद्यालय छन् । यी विद्यालयमा चार हजार तीन सय विद्यार्थी अध्ययन गर्दछन् ।

पारिवारिक विमा कार्यक्रमबाट सामुदायिक विद्यालयप्रतिको आकर्षण वृद्धि गर्ने र वडावासीको स्वास्थ्यमा पहुँच समेत बढाउने अपेक्षा गरिएको वडाध्यक्ष वास्तोलाले बताए ।

चालु वर्षमा बीमा कार्यक्रमका लागि १० लाख बजेट विनियोजन गरिएको वडाले जनाएको छ । स्वास्थ्य विमा कार्यक्रममा वार्षिक तीन हजार पाँच सय प्रिमियम तिरेर परिवारका पाँच जना सदस्यले एक लाख बराबरको स्वास्थ्य उपचार सुविधा पाउने व्यवस्था रहेको छ । विमा प्रिमियम बापतको रकम वडाले भुक्तानी गर्नेछ ।

बीमा कार्यक्रममा सहभागिताका लागि वडामा स्थायी बसोबास खुल्ने अभिभावकको नागरिकता, विद्यालयका सिफारिस र विद्यार्थी परिचयपत्रको प्रतिलिपि सहित निवेदन आह्वान गरिएको वडा सचिव शारदा सापकोटाले बताइन् ।

यसैगरी वडाले चालू वर्षदेखि सामुदायिक विद्यालयहरुमा संस्कार शिक्षा पाठ्यक्रम लागू गरेको छ । सामुदायिक विद्यालयहरुमा कक्षा ७ र कक्षा ११ मा संस्कार शिक्षा लागू गरिएको हो ।

वडाध्यक्ष बास्तोलाले अन्य निजी विद्यालयहरुमा पनि संस्कार शिक्षा लागू गर्ने भनेर गृहकार्य भइरहेको जानकारी दिए । उनले भने,’हाम्रो संस्कार, संस्कृति, परम्परा र माटो संरक्षण सँगै पुस्तान्तरण गर्नु पनि हाम्रो कर्तव्य हो ।’

युक्रेनलाई अस्त्र दिने देशका सैन्य संरचनामा पनि आक्रमण गर्ने पुटिनको चेतावनी

बीबीसी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनाले युक्रेनमा प्रहार गरेको अस्त्र अन्तरमहादेशीय बलिस्टिक मिसाइल (आईसीबीएम) नभएको दाबी गरेका छन् । उनका अनुसार रुसले युक्रेनको डिनिप्रो क्षेत्रमा बिहीबार बिहान ‘नयाँ परम्परागत मध्यमदूरीको क्षेप्यास्त्र’ प्रहार गरेको हो ।

पुटिनका अनुसार युक्रेनले अमेरिका र बेलायतले उपलब्ध गराएका हतियार प्रयोग गरेर आफ्नो भूमिमा आक्रमण गरेको जवाफ दिन रुसले ‘ओरेश्निक’ नामक क्षेप्यास्त्र प्रहार गरेको हो । उनले युक्रेनलाई रुसी भूभागमा आक्रमण गर्न हतियार उपलब्ध गराउने देशहरूका सैन्य संरचनामा पनि रुसले आक्रमण गर्न सक्ने चेतावनी दिएका छन् ।

अमेरिका र बेलायतले आफ्नो पुरानो नीतिमा परिवर्तन गर्दै यसै साता युक्रेनलाई अमेरिकी ‘आर्मी ट्याक्टिकल मिसाइल सिस्टम’ (एटीएसीएमएस) र बेलायतको ‘स्टोर्म श्याडो’ क्षेप्यास्त्र प्रयोग गर्ने अनुमति दिएका थिए ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले नयाँ क्षेस्यास्त्र प्रहार गर्नु ‘अझ युद्ध चर्काउने’ कदम भएको बताएका छन् । उनले भने, ‘पुटिनले युद्ध लम्ब्याइरहेको मात्रै हैनन्, उनले वास्तवमै शान्ति चाहने विश्वका मानिसहरूका मुखमा थुकिरहेका पनि छन्।’

यसअघि जेलेन्स्कीले रुसी क्षेप्यास्त्रमा आईसीबीएमको विशेषता रहेको बताएका थिए। तर यसमा पश्चिमा अधिकारीहरूले संशय व्यक्त गरेका थिए ।

अमेरिकी नेशनल सेक्युरिटी काउन्सिलले पनि ‘युक्रेनविरुद्ध परीक्षणकालीन मध्यम दूरीको क्षेप्यास्त्र’ प्रहार भएको जनाएको छ । अमेरिकी निकायले रुससँग यस्ता हतियार ‘औँलामा गन्न सकिने सङ्ख्यामा मात्रै’ रहेको र यसले युद्धमा ठूलो भिन्नता नल्याउने बताएको छ ।

झापाबाट ११ करोडको चिया निर्यात

 झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले  ११ करोड ४३ लाख ६१ हजार बराबरको चिया भारत निर्यात गरेको छ । संस्थाले तीन लाख ६४ हजार ४४ केजी तयारी चिया निर्यातबाट उक्त रकम आर्जन गरेको हो ।

‘गुणस्तरीय चिया उत्पादनमा जोड दिइरहेका छौँ । चियाखेती गर्ने किसान हाम्रो सहकारीका सदस्य हुनुहुन्छ । चियाखेती किसानहरूले गर्नुहुन्छ, हामी पत्ती किनेर तयारी चिया उत्पादन गर्छौं ‘, संस्थाका व्यवसाय प्रमुख रवीन्द्र पाण्डेले भने ।

इलामको सूर्योदय–१, माइजोगमाई–१ र झापाको मेचीनगर–५ मा संस्थाले तीनवटा चिया प्रशोधन कारखाना सञ्चालनमा ल्याएको छ । इलाममा उत्पादित चियालाई उपभोक्ताले रुचाएकाले त्यहाँ उत्पादित हरियोपत्ती संस्थाले खरिद गर्दै आएको छ । संस्थामा तीन सय ५० जना चिया किसान आबद्ध रहेका र चिया व्यवसायमा  १३ करोड लगानी भएको उनले बताए ।

संस्थाको चिया व्यवसायमा ५२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । संस्थाले ‘एनएमसी’ ब्रान्डमा ब्ल्याक टी, अर्थोडक्स टी र ग्रीन टी उत्पादन गर्दै आएको छ । उत्पादित चियामध्ये १० प्रतिशत स्वदेशमा खपत हुने र बाँकी निर्यात हुँदै आएको जानकारी उनले दिए ।

बचत तथा ऋण कारोबार, कृषि फार्म, डेरी उद्योग र सहकारी ‘सुपर मार्केट’ सञ्चालन गरिरहेको उक्त संस्थाले किसानबाट सोझै चियापत्ती खरिद गरेपछि उनीहरू लाभान्वित भएका छन् । उनीहरूले अघिल्लो महिनाको भुक्तानी सहज रूपमा हरेक महिनाको १५ गते पाउने गरेका छन् ।

दुईवटा मोटरसाइकल आसपमा ठोकिँदा मोरङमा तीन जनाको मृत्यु

विराटनगर । मोरङमा दुईवटा मोटरसाइकल आसपमा ठोकिँदा तीन जनाको मृत्यु भएको छ । बिहीबार साँझ पूर्व–पश्चिम राजमार्गमा पर्ने मोरङको उर्लाबारी –३ मंगलबारे भन्ने ठाउँमा दुईवटा मोटरसाइकल आपसमा ठोकिँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मृत्यु हुनेमा मोरङको पथरीशनिश्चरे नगरपालिका –५ का ३३ वर्षीय दीपक धिमाल, कानेपोखरी गाउँपालिका –४ धम्कुवाका २८ वर्षीय किशोर गुरुङ र बेलबारी नगरपालिका –८ का २६ वर्षीय अमित लिम्बू रहेका जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी बेद जोशीले जानकारी दिएका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका विष्णु धिमालको झापाको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था पनि चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

एमालेले आज राजधानीमा शक्ति प्रदर्शन गर्दै

काठमाडौं । नेकपा एमालेले आज राजधानीमा शक्ति प्रदर्शन गर्दै छ । जागरण सभा नाम दिइएको प्रदर्शन मध्यान्ह साढे १२ बजे काठमाडौँको दरबारमार्गमा हुन लागेको छ ।

सभाअघि बिहान साढे ११ बजे काठमाडौँको शहीद गेटबाट जुलुस सुरु भएर जुलुस वीर अस्पताल, जमल हुँदै दरबारमार्ग पुग्ने बताइएको छ ।

दरबारमार्गमा हुने सभालाई अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम छ । एमालेले आफ्नो पार्टी र नेतृत्वविरुद्ध सडकबाट देखाइदिने भन्दै अफवाह फैलाइरहेकाहरुलाई जवाफ दिन यो सभा गरेको बताउँदै आएको छ ।

सभालाई सफल बनाउन एमालेले भक्तपुर, ललितपुर र काठमाडौंसहित उपत्यका वरपरका जिल्लाहरूबाट ठूलो सङ्ख्यामा मानिस ल्याउने तयारी गरेको छ ।

काठमाडौंको कीर्तिपुर केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौं । काठमाडौंको कीर्तिपुरलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । बिहीबार राति १० बजेर ४६ मिनेटमा २.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि बिहीबार कास्की र मनाङको सिमानामा ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

गुरुङ र ढकाललाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले नेपाल प्रहरीका डीआईजीद्वय बुद्धिराज गुरुङ र केदार ढकाललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई बढुवा गर्ने निर्णय गरेको हो । गुरुङ अख्तियार दुरुपयोग अनुसन्धान आयोग र ढकाल प्रहरी प्रधान कार्यालयस्थित प्रशासन विभागमा कार्यरत छन् । बढुवा समितिको कार्तिक १४ गते उनीहरूलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

श्रीलंकाको राजदूतमा नेपाली सिफारिस

काठमाडौं । सरकारले श्रीलंकाका लागि नेपाली राजदूतमा पूर्णबहादुर नेपालीलाई सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कपिलवस्तुका नेपालीलाई श्रीलंकाको राजदूतमा सिफारिस गरेको हो ।

बैठकले डा. वैकुण्ठ अर्यालको राजीनामा स्वीकृत गरेको छ । राष्ट्रिय योजना आयोगमा मुख्यसचिव सरहको जिम्मेवारी तोकिएका अर्यालले गत आइतबार राजीनामा दिएका थिए ।

माछापुछ्रे छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

गण्डकी । कास्कीको माछापुछ्रे गाउँपालिकामा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’भन्ने मूल नाराका साथ माछापुछ्रे गाउँपालिकाद्वारा आयोजित प्रतियोगिता मङ्सिर ८ गतेसम्म चल्नेछ । लाहाचोकस्थित महेन्द्र माविको खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा पालिकाभित्रका १२ वटा माध्यमिक विद्यालयहरुको सहभागिता छ ।

प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य गणेशमान गुरुङले बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि खेलको विशेष महत्व हुने बताए ।

खेलका माध्यमबाट व्यक्ति, समाज र राष्ट्रलाई चिनाउन सकिने हुँदा खेलकुदलाई हरेक क्षेत्रले प्राथमिकतामा राख्नुपर्ने उनले बताए ।

गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले खेल क्षेत्रमा गुणात्मक प्रगति गर्नका लागि गाउँपालिकाले आगामी दिनमा अझै रचनात्मक कार्यक्रमलाई अघि बढाउने विश्वास व्यक्त गरिन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले गत वर्ष जस्तो यस वर्ष सङ्घीय सरकारबाट सहयोग प्राप्त नभए तापनि खेलकुदलाई प्राथमिकतामा राखेर पालिकाको आर्थिक लगानीमा यस प्रतियोगितालाई निरन्तरता दिइएको बताए ।

माछापुछ्रे गाउँपालिका–२ का अध्यक्ष एवं प्रवक्ता गणेश आचार्य, वडा नं ९ का अध्यक्ष एवं सामाजिक विकास समिति संयोजक हरिबहादुर क्षेत्रीलगायतले खेलकुदले व्यक्तिगत एवं सामाजिक रुपमा पार्ने प्रभावलगायत विषयमा आआफ्ना धारणा राखे । प्रतियोगिताअन्तर्गतका मार्चपास, विभिन्न दूरीका दौड, लङजम्प, नृत्यलगायत केही खेल आज सम्पन्न भएको आयोजकले जनाएको छ ।

बीआरआई सम्झौता गर्न सरकारलाई पूर्वप्रधानमन्त्री खनालको सुझाव

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले चीन अघि सारेको वेल्ट एण्ड रोड इनिसिएटिभ(बीआरआई) बारे अनावश्यक विवाद नगरी नेपालको राष्ट्रिय हितलाई सर्वोपरि राखेर अघि बढ्नुपर्ने बताएका छन् ।

बिहीबार विज्ञप्ति जारी गरी खनालले चीनले अघि सारेको भए पनि अब बीआरआई विश्वव्यापी अवधारणा र परियोजना बताएका हुन् । उनले नेपालका एकपछि अर्का सरकारहरु पश्चिमा शक्तिहरुको चीन विरोधी कुप्रचारको शिकार भएर बीआरआई सहयोगलाई ‘ऋण पासो’ का रुपमा व्याख्या गर्दै नेपाल र नेपालीको भाग्य माथि खेलवाड गरिरहेका उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘फेरि पनि बीआरआई गर्ने कि नगर्ने भन्ने विषयमा नै सत्तारुढ दुई दल बीच वहस भैरहनु र ठोस निर्णय गर्न नसक्नु मुलुककै निम्ति विडम्वना बन्न पुगेको छ । त्यही बीआरआई विश्वका १५३ देशहरुका लागि हितकर हुने तर नेपालको निम्ति ‘ऋण पासो’ कसरी हुन्छ ? यो कहाँको स्टान्डर हो ? सत्तारुढ दलहरु नेपाली बुद्धिले चल्छन् कि पश्चिमाहरुको निर्देशनमा चल्छन ? नेपाली जनता आश्चर्य चकित भइरहेका छन् ।’

उपत्यकाका नदी किनारमा थप २० मिटरभित्र संरचना बनाउन नपाइने फैसला पुनरावलोकन हुने

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं उपत्यकाका खोला किनारका संरचना हटाउन यसअघि गरेको फैसला पुनरावलोकन गर्ने भएको छ ।

बिहीबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू कुमार चुडाल र नित्यानन्द पाण्डेको पूर्ण इजलासले सरकारको माग बमोजिम निस्सा प्रदान गर्न अनुमति दिएको हो । पूर्ण इजलासको यो आदेशसँगै फैसला पुनरवलोकनका लागि सरकारलाई बाटो खुलेको छ ।

सर्वोच्चले यसअघि काठमाडौं उपत्यकाको बागमती र यसका सहायक नदी किनारमा थप २० मिटरभित्र संरचना बनाउन नपाइने फैसला गरेको थियो ।

सोही फैसलाविरुद्ध सरकारले पुनरावेदनका लागि निवेदन दिएको थियो । सर्वोच्चको फैसलाबारे अध्ययन गर्न सहरी विकास मन्त्रालयका सहसचिव पदमकुमार मैनालीको संयोजकत्वमा ८ सदस्यीय कार्यदल बनेको थियो ।

कार्यदलले दिएको प्रतिवेदनका आधारमा सरकारले फैसलामा पुनरावलोकन गरि पाउँ भन्दै सर्वोच्च अदालतमा निवेदन दिएको थियो ।

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरेलाई अभिनन्दन

काठमाडौँ । किक बक्सिङ खेल क्षेत्रमा ऐतिहासिक कीर्तिमान बनाउन सफल भएका नेपाली युवा किक बक्सर अविरल घिमिरे‘हिमचितुवा’लाई अभिनन्दन गरिएको छ । चन्द्रागिरि नगरपालिकाद्वारा आज आयोजित कार्यक्रममा इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्वविजेता खेलाडी घिमिरे आज नगरपरिक्रमा गराइ अभिनन्दित भएको हो ।

नगरपालिकाले कलंङ्की (खड्कुलेपुल)देखि धिमे,पञ्चेबाजा सहित विश्वविजेता खेलाडी घिमिरेलाई गाडीमा राखेर नगरपरिक्रमा गराएको थियो । सो अवसरमा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, प्रशासकीय अधिकृत हेमराज अर्याल ,उपप्रमुख बसन्ती श्रेष्ठ, प्रवक्ता कृष्णप्रसाद खड्गीले बक्सर घिमिरेलाई अभिनन्दन गरेको थियो ।

जापानको नागोया सहरमा बस्दै आएको बक्सर घिमिरे आज अपराह्न स्वदेश आएको थियो । उनलाई त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ, मदनभण्डारी स्पोर्ट एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठ, बागमती प्रदेशसभा सदस्य रमा आले, चन्द्रागिरि नगरपालिकाका प्रवक्ता खड्गी, काठमाडौ जिल्ला खेलकूद परिषद्का अध्यक्ष भाइकृष्ण बलामी लगायत खेलाडीले स्वागत गरेको थियो ।

सो अवसरमा बक्सर घिमिरेले सञ्चारकर्मीसंग सङ्क्षिप्त कुराकानी गर्दै इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्वविजेता बन्न पाउनु नेपालका लागि गौरवको विषय रहेको बताए । उनले भने,“ अगामी दिनमा आफ्नो मेहनत जारी रहन्छ । नेपालको झण्डा लिएर गेम खेलेर नेपालको नाम अझ उँचो बनाउने छु । ”

‘हिमालय चितुवा’ घिमिरेले इन्टरनेसनल स्पोर्टस् किक बक्सिङ एसोसिएसनद्वारा नागोया कंग्रेस सेन्टरमा गत कात्तिक १० गते आयोजित ‘इन्टरनेसनल किक बक्सिङ’ (इस्का) प्रतियोगिताको उपाधि चुमेर विश्वविजेता बनेको थियो । यो प्रतियोगितामा उनले फ्रान्सका कडा प्रतिद्वन्द्वी एन्टोनिन मार्कोनीलाई ढाल्दै ‘वल्र्ड च्याम्पियन’ हुन सफल भएको थियो । यसका लागि बक्सर घिमिरेले आफ्नै खर्चमा थाइल्यान्डको फुकेट सहरमा रहेको टाइगर मोओथाई अन्तर्राष्ट्रिय क्लबमा दुई महिनाको विशेष बन्द प्रशिक्षण लिएको थियो । यो प्रशिक्षण लिने उनी पहिलो नेपाली बक्सरसमेत भएको थियो ।

इस्काको उपाधि चुमेपछि बक्सर घिमिरेले आफ्नो जितका लागि पिता तथा मुख्य प्रशिक्षक देव घिमिरे, आफूले प्रशिक्षण लिइरहेको सिमुरा डोजो, हलसम्म आएर हौसल प्रदान गर्ने नेपाली, कोरियन तथा जापानी खेलप्रेमीलाई विशेष धन्यवाद दिएको थियो ।

‘हिमालय चितुवा’ का रूपमा विश्वप्रसिद्ध हुनुभएका घिमिरे सो प्रतियोगितामा आमनेसामने हुने पहिलो नेपाली बक्सर भएको थियो । प्रतियोगिताको मुख्य आकर्षणका रूपमा रहेको अन्तिम खेल ९मेन इभेन्ट म्याच० मा घिमिरेले पहिलो राउन्डमै आफ्ना प्रतिस्पर्धी मार्कोेनीलाई रिङमा ढालेर ‘इन्टरनेसनल किक बक्सिङ’को उपाधि चुमेको थियो ।

हालसम्म प्रोफेसनल किक बक्सिङ हिट प्रतियोगिताको १४ खेलको अपराजित यात्राको जित हासिल गर्ने क्रममा हिमचितुवाले चारपटक हिट प्रतियोगिताको ‘टाइटल म्याच’को उपाधि (बेल्ट) समेत रक्षा गर्दै ‘मिडल वेटको रेकर्ड’ समेत कायम राख्न सफल भएको थियो ।

उनले विश्वप्रसिद्ध के वान प्रोफेसनल किक बक्सिङ प्रतियोगितामा खेल्दै दुईवटा इभेन्ट आफ्नो पक्षमा पारी प्रतिस्पर्धीलाई ‘नक आउट’ गर्न सफल भएको थियो । हालसम्म फ्रान्स, जापान, दक्षिण कोरिया, ब्राजिल, बोलिभिया, नेदरल्यान्ड, थाइल्यान्डलगायत देशका बक्सरहरूलाई पराजित गरिसकेका युवा पुस्ताका चर्चित खेलाडी घिमिरेले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली झण्डा फहराउँदै विश्वमा नेपालको पहिचान बनाउन सफल भएको छ ।

जापानको नागोया सहरमा अविरल आफ्ना पिता पूर्वअन्तर्राष्ट्रिय किक बक्सर तथा फुल कन्ट्याक कराते खेलाडी देव घिमिरेको विशेष प्रशिक्षणमा रहँदै आएको छ । कराते खेलाडी देव सन् २००४ मा कोरियाको सोलमा सम्पन्न ‘के वान प्राफेसलन किक बक्सिङ प्रतियोगिता’ मा सहभागी हुने पहिलो दक्षिण एसियाली खेलाडी हुन् । चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा बलम्बूका बासिन्दा उनको परिवार हाल जापानको नागोया सहरमा बसोबास गर्दै आइरहेको छ । 

निगमको अन्तर्राष्ट्रिय उडानमा २५ सयदेखि पाँच हजारसम्म छुट

काठमाडौं । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानको भाडादर घटाएको छ । निगमले बिहीबार विज्ञप्ति जारी गरी न्यूनतम २ हजार ५ सयदेखि अधिकतम ५ हजार रुपैयाँसम्म भाडा घटाएको हो ।

निगमले भारतको नयाँदिल्ली, मुम्बई र बैंगलोर, युनाइटेड अरब इमिरेट्स (यूएई) को दुबई, साउदी अरबको दमाम, मलेसियाको क्वालालम्पुर, हङकङ, थाइल्यान्डको बैंकक र जापानको नारिता उडानमा छुट घोषणा गरेको हो ।

पहिलो चौमासिकमा राजस्व सङ्कलन १७ प्रतिशतले वृद्धि

काठमाडौँ ।  चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकको राजस्व सङ्कलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १७ प्रतिशतले वृद्धि भएको छ । 

अर्थ मन्त्रालय उच्च व्यवस्थापन समितिको बिहीबारको बैठकमा प्रस्तुत गरिएको विवरण अनुसार गत वर्ष यही अवधिमा दुई खर्ब ७६ अर्ब राजस्व सङ्कलन भएको थियो । चालु आर्थिक वर्षको चार महिनामा  तीन खर्ब २३ अर्ब २४ करोड राजस्व सङ्कलन भएको छ । 

सरकारले लक्ष्यअनुसार राजस्व उठाउन सकेको भने देखिदैँन । पछिल्लो पाँच वर्षको राजस्व परिचालनको तुलनात्मक अवस्थालाई हेर्दा आव २०७६/७७ मा ११ खर्ब १२ अर्ब तीन करोड लक्ष्य रहेकोमा ७१ दशमलव ३८ प्रतिशत प्रगति भएको थियो ।

आर्थिक वर्ष २०७७/७८ मा  १० खर्ब ११ अर्ब ७६ करोड लक्ष्य रहेकामा ९२.५० प्रतिशत, आव २०७८/७९ मा  ११ खर्ब ८० अर्ब ६० करोड राजस्व सङ्कलनको लक्ष्य रहेकामा ९०.२४ प्रतिशत, आव २०७९÷८० मा रु १४ खर्ब तीन अर्ब १५ करोड राजस्व सङ्कलनको लक्ष्य रहेकामा ६८.२३ प्रतिशत र गत आव २०८०/८१ मा रु १४ खर्ब २२ अर्ब ५४ करोड राजस्व सङकलनको लक्ष्य रहेकामा ७४.५४ प्रगति भएको थियो । 

चालु आवको वार्षिक राजस्व सङ्कलनको लक्ष्य रु १४ खर्ब १९ अर्ब ३० करोड रहेको मन्त्रालयले जनाउको छ । यो लक्ष्य भनेको गत आवको यथार्थ असुलीको तुलनामा करिब ३४ प्रतिशतको वृद्धि हो । 

यसैमध्ये चालु आवको प्रथम चार महिना (साउन, भदौ, असोज र कात्तिक) मा रु चार खर्ब ६ अर्ब ३७ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकामा रु तीन खर्ब २३ अर्ब २४ करोड अर्थात् लक्ष्यको करिब ८० प्रतिशत राजस्व सङ्कलन भएको छ । यो गत वर्षको यसै अवधिको राजस्व सङ्कलनको तुलनामा १६.८५ प्रतिशत वृद्धि बढी हो ।  

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व स्कलनको लक्ष्य प्राप्त गर्न स्रोत र खर्च व्यवस्थापन महत्वपूर्ण रहेको उल्लेख गर्दै करको दायरा विस्तार, बक्यौता असुली, कर प्रशासनको प्रभावकारिता, कर्मचारीको आचारण, अन्तरमन्त्रालय समन्वय, भन्सार विन्दुभन्दा बाहिरका गतिविधि, कर प्रशासनमा सिर्जना गर्न खोजिएका चुनौतीलगायत पक्षलाई ध्यान दिएर अघि बढ्न आवश्यक रहेको बताए ।

उनले कर सङ्कलन प्रणाली तोड्न (सिस्टम ब्रेक) खोज्नेलाई कानुन बमोजिम हदैसम्मको कारबाही गर्नसमेत निर्देशन दिए । 

अर्थ सचिव डा रामप्रसाद घिमिरेले राजस्वको लक्ष्य पूरा गर्ने गरी मन्त्रालय अघि बढ्ने बताउँदै राजस्व सङ्कलन रणनीति कार्यान्वयनमा जोड दिए । उनले राजस्वको लक्ष्य प्राप्त गर्न सरोकार भएका सबैले थप मेहनतका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । 

अर्थ मन्त्रालयमा प्रवक्ता महेश भट्टराईले विगतको तुलनामा राजस्व सङ्कलन वृद्धि भए पनि चालु आवको लक्ष्य पूरा गर्न कर प्रशासनसँग सम्बन्धित सबै पक्षबीच समन्वय तथा सहयोग जरुरी रहेको जनाउँदै त्यसलाई मन्त्रालयले प्राथमिकता दिएर काम गरिरहेको बताए ।  

भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनी र आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्यले राजस्व सङ्कलनका क्षेत्रमा देखा परेका अवसर र कमजोरीलाई ख्याल गर्दै राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न आफूहरूले सक्दो पहल गरिरहेको बताएका थिए ।

बेलायतका पूर्वउपप्रधानमन्त्री जोन प्रेस्कटको निधन

लन्डन । बेलायतका पूर्वउपप्रधानमन्त्री जोन प्रेस्कटको ८६ वर्षको उमेरमा निधन भएको छ । प्रेस्कटले जलवायु परिवर्तन सम्बन्धि सन् १९९७ को अन्तर्राष्ट्रिय क्योटो प्रोटोकलमा बेलायतका लागि वार्ताको नेतृत्व गरेका थिए ।

अमेरिकाका पूर्व उपराष्ट्रपतिलगायतले उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै जलवायु सङ्कट समाधान गर्ने उनको प्रतिबद्धताप्रति सदाका लागि आभारी हुने बताए ।

बेलायती लेबर पार्टीबाट प्रधानमन्त्री बनेका कीर स्टारमरले प्रेस्कट श्रम आन्दोलनको अभियान्ताको रुपमा श्रमजीवी जनताको समर्थक र ट्रेड युनियनवादी रहेको बताए ।

चार दशकसम्म उत्तरी इङ्गल्यान्डको संसद सदस्यको रूपमा सेवा गरेका पूर्व व्यापारी नाविक तथा ट्रेड युनियन कार्यकर्ता प्रेस्कटको ‘शान्तिपूर्वक’ मृत्यु भएको उहाँकी श्रीमती पाउलिन र छोराहरूले स्पष्ट पारेका छन् ।

प्रेस्कटलाई सन् –२०१९ मा प्यारालाईस भएको थियो भने अल्जाइमरको समस्याका कारण गत जुलाईमा संसदको माथिल्लो सदनको सदस्य पद छोडेका थिए ।