`

नेप्सेमा ३१ अंकको गिरावट

काठमाडौं । बिहीबार शेयर बजार उच्च अङ्कले घटेको छ । बिहीबार नेप्से ३१ दशमलव ३१ अङ्कले घटेर दुई हजार ६ सय ८० दशमलव ४४ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेको छ ।

सबै समूहको शेयर घटेको दिन विकास बैंक, फाइनान्स, होटल, बीमा, उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।आज जानकी फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले घटेको छ ।

बजार उच्च अङ्कले ओरालो लागेको दिन सामुदायिक लघुवित्त र थ्री स्टार हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ । आज कारोबार रकम भने बढेको छ । हिजो सात अर्ब नौ करोडको कारोबार भएकोमा आज तीन सय १४ वटा कम्पनीका एक करोड ८४ लाख कित्ता शेयर आठ अर्ब २५ करोड रुपैयाँमा किनबेच भएको छ ।

कर्मा र कुटुम्बले एकसाथ ‘कन्सर्ट’ गर्ने

काठमाडौँ । कीर्तिपुरमा कर्मा र कुटुम्ब ‘ब्यान्ड’ले एकसाथ कन्सर्ट गर्ने भएका छन् । ‘एकै स्वरमा कीर्तिपुर’ शीर्षकमा यही मङ्सिर २२ गते कन्सर्ट हुने भएको हो । कर्मा कीर्तिपुरमा स्थापना भएको ब्यान्ड हो । कुटुम्बसँग सहकार्य गरेर उक्त ब्यान्डले कीर्तिपुरवासीलाई सङ्गीतद्वारा मनोरञ्जन प्रदान गर्ने तयारी गरेको कर्मा ब्यान्डका गायक सुरेन्द्रमान सिंहले बताए ।

आदि ग्रुप र एएसक्युको संयुक्त आयोजनामा कीर्तिपुरको ल्याबरोटरी विद्यालयको प्राङ्गणमा कन्सर्ट आयोजना गरिएको छ । कर्मा ब्यान्डको एकल प्रस्तुती सँगै कुटुम्बसित सहकार्य गरेर करिब आधा दर्जन गीत प्रस्तुत गरिने छन् ।

कार्यक्रममा विभिन्न जाति, समुदाय र विशेष गरी नेवार संस्कृति झल्किने नृत्य एवं झाँकी प्रस्तुत गरिने गायक सिंहले जानकारी दिए ।

कन्सर्टमा कर्मा ब्यान्डका गीतमा कुटुम्बको मौलिक धुन समावेश हुनेछ । ब्यान्डले ‘कहाँ होला घरबार’, ‘हुक्का मेरो डल्ले डल्ले’, ‘को हौ तिमी’, ‘मौनता’, ‘नयाँ सपना’, ‘यानीमाया’, ‘सुपारीदाना’ लगायत गीत प्रस्तुत गर्नेछ । कन्सर्टबाट प्राप्त रकम कीर्तिपुर नगरपालिकाको सामाजिक सेवा र विकासका काममा लगानी गरिने सिंहले जानकारी दिए । 

भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी प्रदान गरेका छन् । बिहीबार राष्ट्रपति निवास शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले भारतीय सेनापति द्विवेदीलाई उक्त दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षा मन्त्री मानवीर राईलगायत विशिष्टहरुको उपस्थिति रहेको थियो । भारतीय स्थल सेनाका सेनाध्यक्ष द्विवेदी बुधबार नेपाल आएका हुन् ।

यसअघि आज बिहान प्रधानसेनापति अशोकराज सिग्देल र भारतीय सेनाध्यक्ष द्विवेदी बीच दुई देशका सैनिकबीच पारस्परिक साझेदारी र हितमा केन्द्रित रहेर सैनिक मुख्यालय जङ्गी अड्डामा द्विपक्षीय वार्ता भएको थियो ।

त्यसअघि भारतीय स्थल सेनाध्यक्ष द्विवेदीले उनको सम्मानमा नेपाली सेनाद्वारा प्रस्तुत सम्मान गारत निरीक्षण को गरेका थिए । त्यसअवसरमा भारतीय सेनाध्यक्षले जङ्गी अड्डा परिसरमा वृक्षरोपण गरेका थिए । त्यसक्रममा भारतीय स्थल सेनाध्यक्षले टुँडिखेलस्थित सैनिक मञ्च वीर स्मारकमा पुष्पहार अर्पण गरेका थिए ।

यी हुन् आईक्यापको १२ औं अधिवेशनमा भाग लिन कम्बोडिया गएका नेपाली नेता

काठमाडौं । आईक्यापको १२ औं अधिवेशनमा भाग लिन नेपाली नेताहरु कम्बोडिया प्रस्थान गरेका छन् । नेकपा एमालेका नेता राजन भट्टराईले सामाजिक संजालमार्फत कम्बोडिया जाने नेताहरूको सूची सार्वजनिक गरेका गरेका हुन् ।

कम्बोडिया जानेहरुको बारेमा विभिन्न आशंका गरिएपछि भट्टराईले नेताहरुको सूची सार्वजनिक गरेका छन् । केही दिनअघि मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको भन्दै दुष्प्रचार गरेका थिए । त्यसपछि भट्टराईले कम्बोडिया जाने नेताहरुको सूची सार्वजनिक गरेका हुन् ।

भ्रमण टोलीमा एमालेबाट भट्टराई, एमाले विदेश विभाग प्रमुख रघुवीर महासेठ, कांग्रेसकी नेतृ सुजाता कोइराला र पूर्वसांसद दिव्यमणि राजभण्डारी, माओवादीका अग्नी सापकोटा र गोकर्णप्रसाद भाट, राप्रपा नेता उद्धव पौडेल र केदारबहादुर अधिकारी, जनमतका सीके राउत, एकनाथ ढकाललगायतका नेता छन् ।

राष्ट्रिय प्रसारण लाइनमा जोडियो रसुवागढी जलविद्युत आयोजनाको विद्युत

काठमाडौं  । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा निर्माण भएको १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

रसुवाको गोसाइकुण्ड गाउँपालिकामा निर्माण भएको आयोजनाका ३७-३७ मेगावाटका तीनवटा युनिटमध्ये एउटा युनिटबाट बुधबारदेखि परीक्षणका रुपमा विद्युत् उत्पादन सुरु गरिएको छ ।

आयोजनाले बुधबार परीक्षणका रुपमा ४.२ मेगावाट विद्युत् उत्पादन गरेको थियो । परीक्षण सफल भएपछि अब क्रमशः विद्युत् उत्पादन बढाउँदै लगिने छ । सबै युनिटबाट परीक्षण उत्पादन र तोकिएका मापदण्ड पूरा गरी करिब एक महिनाभित्रमा आयोजनाबाट व्यवसायीक रुपमा विद्युत् उत्पादन सुरु गरिने आयोजनाको प्रवर्द्धक रसुवागढी हाइड्रोपावर कम्पनीका प्रबन्ध–सञ्चालक छवि गैरेले बताए ।

टिमुरे (तातोपानी)स्थित विद्युतगृहबाट आयोजनालेनै निर्माण गरेको १० किलोमिटर १३२ केभी प्रसारण लाइनमार्फत उत्पादित विद्युत् रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित प्राधिकरणले बनाएको २२० (१३२(३३ केभी सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको छ ।

उक्त विद्युत् चिलिमे–त्रिशूली र त्यहाँबाट त्रिशूली–काठमाडौं २२० केभी केभी प्रसारण लाइन हुँदै राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ । चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनलाई निर्माण सम्पन्न गरी गत कात्तिक २१ गतेबाट सञ्चालनमा ल्याइएको थियो ।

रसुवागढीबाट उत्पादित विद्युत्बाट हिउँदयाममा काठमाडौं उपत्यकाका हुने विद्युत् माग व्यवस्थापनका लागि सहज हुनेछ । सुख्खायाम सुरुसँगै भोटेकोशी नदीमा पानीको वहाव घट्न सुरु भइसकेकाले रसुवागढी आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुने छैन । हिउँदयाममा आयोजनाबाट करिब ३७ मेगावाट मात्र विद्युत् उत्पादन हुनेछ ।

इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा विद्युतगृह, बाध, सुरुङलगायतका सिभिल संरचना र इलेक्ट्रोमेकानिकल काम गर्न चाइना इन्टरनेसनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेसन पुस २०७० (५ जनवरी २०१४)मा ठेक्का सम्झौता भएको थियो । इलेक्ट्रोमेकानिकल कार्यका लागि भोइथ हाइड्रो प्रालि, भारतसँग १५ साउन २०७१ (३१ जुलाइ २०१४) मा ठेक्का सम्झौता भएको थियो ।

आयोजनाबाट वार्षिकरूपमा ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत उत्पादन हुने छ । उक्त विद्युत बिक्रीबाट कम्पनीलाई वार्षिक ३ अर्ब २५ करोड रुपैयाँ आम्दानी हुने छ ।

‘फार्मासिष्ट’ले अनिवार्य सेतो ‘एप्रोन’ लगाउनुपर्ने

काठमाडौं ।  आगामी पुस ४ गतेदेखि फार्मासिष्टहरूले सेतो एप्रोन लगाएर मात्र औषधि वितरण गर्नुपर्ने अनिवार्य व्यवस्था लागु गरिएको छ।

नेपाल फार्मेसी परिषद्ले एक सूचना जारी गर्दै कुनै पनि सामुदायिक फार्मेसी वा अस्पतालका फार्मेसीमा औषधि वितरकका रूपमा कार्यरत फार्मासिष्ट र फार्मेसी सहायकले औषधि वितरण गर्दा नामसहितको सेतो एप्रोन(बाहिरी पोसाक) अनिवार्य लगाउनुपर्ने व्यवस्था गरेको हो।

परिषद्का रजिष्ट्रार सञ्जीवकुमार पाण्डेले फर्मासिष्ट र फार्मेसी सहायकले यसको उल्लंघन गरेमा परिषद्को आचारसंहिता पालना नगरेको मानेर नियमानुसार कारबाही गरिने बताए।

‘ड्रेसकोडको पालना भए/नभएको परिषदबाट नियमित अनुगमन हुनेछ। पालना नभएको अवस्थामा परिषद्को नियमावली, २०५९ अनुसार कारबाही प्रक्रिया अघि बढाइन्छ,’ उनले भने।

परिषद् ऐनको दफा ९ को उपदफा (क) ले दिएको अधिकार प्रयोग गरी फार्मेसी परिषद्ले फर्मासिष्टले हरियो पृष्ठभूमिमा सेतो रङ्गको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बर उल्ल्लेख गरिएको ड्रेसकोड लगाउनुपर्ने नियम बनाएको छ।

त्यस्तै, फार्मेसी सहायकले निलो पृष्ठभूमिमा सेतो रङ्गको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बरसहितको एप्रोन लगाउनुपर्ने व्यवस्था गरेको हो।

अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित

फुङ्लिङ  । कालो सुनको उपमा पाएको अलैँचीको मूल्य यस वर्ष उच्च विन्दुमा पुगेको छ । बजार माग बढेसँगै अलैँचीको बजार मूल्य उच्च विन्दुमा पुगेको हो ।

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा अलैँचीको आज गुणस्तरका आधारमा प्रतिमन (४० किलोग्राम)को एक लाख सात हजारसम्ममा खरिद बिक्री भइरहेको छ । अलैँची व्यवसायी कमल बरालका अनुसार उच्च गुणस्तर र मध्यम गुणस्तर दुई प्रकारले खरिद बिक्री भइरहेको छ ।

ठूलो दाना भएको, पुच्छर काटेको, धुलोरहितको अलैँची प्रतिमन एक लाख सात हजार र मध्यम गुणस्तरको अलैँची अर्थात् सानो दाना, पुच्छर काटेको, धुलोरहित अलैँची प्रतिमन एक लाख चार हजारमा खरिद बिक्री भइरहेको छ । सामान्य गुणस्तर भएको अलैँची प्रतिमन एक लाख एक हजारमा कारोबार भइरहेको छ ।

ताप्लेजुङमा साउनदेखि अलैँची टिपाइ सुरु हुन्छ । लेकाली क्षेत्रहरूमा अहिले पनि टिपाइ भइरहेको छ । मङ्सिर अन्तिम साता सम्म टिपाइ हुने गर्दछ । साउनदेखि यस वर्ष अलैँची बजारमा आउन थालेको अलैँची व्यवसायीको भनाइ छ । सुरुवाती समयमै प्रतिमन रु ६० हजारभन्दा माथि मूल्य पाइयो ।

कृषि विज्ञहरूका अनुसार सामान्यतया बजारमा नयाँ उत्पादन आउन थालेपछी मूल्य घट्ने सम्भावना हुन्छ । यस वर्षको अवस्थामा भने उल्टो देखिएको छ । मूल्य निरन्तर वृद्धि हुँदै गएको छ । अलैँची व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्ष भद्रविर रेग्मीले भदौको पहिलो साताबाट बजारमा निस्किएको अलैँचीको मूल्य लगातार बढिरहेको बताए।

ताप्लेजुङ नेपालकै सबैभन्दा धेरै अलैँची उत्पादन गर्ने जिल्लामा पर्दछ । यहाँको करिब ४५ हजार हेक्टर क्षेत्रफलमा अलैँचीखेती गरिँदै आएको छ । कृषि ज्ञान केन्द्रका अनुसार यस क्षेत्रबाट करिब तीन हजार मेट्रिकटन अलैँची उत्पादन हुने गरेको छ । यस वर्षको उत्पादन राम्रो भएकाले किसानहरू पनि उच्च आम्दानीको अपेक्षामा छन् ।

विज्ञहरुका अनुसार अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढ्नुले प्रत्यक्ष असर गरेको, भारत र चीनजस्ता प्रमुख आयातकर्ता देशमा महामारीपछि माग बढेको, नेपालको अलैँची उत्पादनमा प्रतिकूल मौसम र रोगका कारण केही कमी आउँदा आपूर्तिमा कमी भएकाले मूल्य बढाएको हो । अलैँचीको मूल्यमा निरन्तर वृद्धिले किसानहरूमा उत्साह थपेको छ ।

फक्ताङलुङ गाएँपालिका–५ का किसान पूर्ण लिम्बूले भने, ‘यो वर्षको मूल्यले विगतका घाटा पुरा गर्न सहयोग गर्नेछ, हामीलाई यस्तो मूल्यमा अलैँची बेच्न पाउनु ठूलो कुरा हो ।’

यद्यपि मूल्य वृद्धिले उत्साह थपे पनि व्यवसायीहरू सावधानी अपनाउनुपर्ने बताउँछन् । मौसम, बजारको स्थिरता र गुणस्तरमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याइएको छ ।

अलैँची उत्पादनलाई अझ वृद्धि गर्न किसान आधुनिक प्रविधि अपनाउन थालेका छन् । सुकाउने प्रक्रियामा सुधार, राम्रो बीउको छनोट र जैविक मलको प्रयोगले उत्पादन वृद्धि हुने आशा गरिएको छ । कृषि ज्ञान केन्द्रले किसानलाई प्रविधि र जानकारीमा सहयोग गरिरहेको जनाएको छ ।

व्यवसायीहरुका अनुसार अलैँचीको मूल्यमा अहिले देखिएको वृद्धि सधैं यस्तै रहने ग्यारेन्टी छैन । बजारमा माग र आपूर्तिको सन्तुलनले आगामी महिनामा मूल्यमा उतारचढाव ल्याउन सक्छ । हालको मूल्य वृद्धिले भने किसानलाई ठूलो राहत प्रदान गरेको र भविष्यमा पनि मूल्य स्थिर रहेमा अलैँची उत्पादनमा थप प्रोत्साहन पाइनेछ ।

अलैँचीले ताप्लेजुङका किसानलाई आय आर्जनको मुख्य स्रोतका रूपमा राहत दिएको छ । मूल्य वृद्धिले स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुर्याएको छ । अबका दिनमा पनि अलैँचीको मूल्य स्थिर रहने र अन्तर्राष्ट्रिय बजारमा नेपालको अलैँचीको माग बढ्ने अपेक्षा गरिएको छ ।

किसानहरूले गुणस्तर कायम राख्ने र उत्पादनमा ध्यान दिनुपर्ने चुनौती रहेको छ ।

तिहारमा फूलमाला बिक्रीबाट पाँच लाख बचत

घोराही (दाङ) । दाङको घोराही उपमहानगरपालिका-१३ डुम्मर गाउँका इन्द्रा बुढाको पेसा फूलखेती हो । उनले यो पेसा गर्न थालेको आठ वर्ष भयो । विगत लामो समयदेखि गर्दै आएको व्यवसायप्रति इन्द्रा खुसी छिन् । सुरुका दिनमा फूलको व्यावसायिक खेती गर्दा छिमेकीले फूल पनि बेच्ने भनेर गिज्याउने गरेको उनीसँग अनुभव छ ।

“पछिल्लो समय स्थानीय उत्पादनलाई प्रयोग गर्नुपर्छ भन्नेको सङ्ख्या बढ्दै गएको छ”, उनले भनिन्, “जसका कारण यसवर्ष फूलमाला बिक्री गर्न कुनै समस्या भएन ।” इन्द्राको बारीमा चाडपर्वको समयमा मात्रै नभई अघिपछि पनि सयपत्रीको फूल फुलिरहेको हुन्छ । जिल्लामा हुने विभिन्न सभा, सम्मेलन, विद्यालयमा हुने कार्यक्रम लगायतमा पनि फूल लैजाने गरेको उनी बताउछिन्।

उनी यस वर्षको तिहारमा मात्रै खर्च कटाएर रु पाँच लाख बचत गर्न सफल भएकी छन् । आठ हजार माला काठमाडौँ, स्याङजा, पोखरा, धनगढी, बुटवल पठाएको र धेरैजसो जिल्लामै बिक्री गर्ने गरेको इन्द्राले बताइन्। फूलमाला टिप्दा, उन्दा आफ्ना आफन्तले सहयोग गर्ने भएकाले त्यति धेरै खर्च नहुने उनी बताउछिन् । उनले फूलखेतीबाट पनि यसरी पैसा कमाउन सकिएला भनेर आफूले सुरुवातका दिनमा नसोचेको बताइन् ।

उनले १० कठ्ठा जग्गामा फूलको व्यावसायिक खेती गर्दै आएकी छन् । “विगत आठ वर्षदेखि यही खेती गरिरहेको छु, विशेषगरी तिहारलगायत चाडपर्वका बेलामा बढी माग हुन्छ”, उनले भनिन् । यसपटक पनि राम्रो आम्दानी भयो, आगामी दिनमा अझै क्षेत्रफल बढाउने योजना उनको छ । लगानी पनि धेरै नलाग्ने र अन्य खेतीभन्दा धेरै मेहनत गर्न नपर्ने भएकाले फूलखेती राम्रो हुँदै गएको उनले बताइन्। यस वर्षको तिहारमा रु १०० देखि २०० सम्म मालाको आकारअनुसार बिक्री गरेको इन्द्राले बताइन् ।

“स्थानीय उत्पादनको प्रयोग गर्नेको सङ्ख्या बढ्दै गएकाले बिक्रीमा समस्या छैन”, उनले भनिन्, “सयपत्रीको व्यावसायिक उत्पादन तथा बजारीकरणमा सहज भयो, बजार राम्रो पायौंँ ।” बोटमा फूल फुल्ने क्रम जारी रहेको र मङ्सिरको महिनाभर उत्पादन लिन सकिने उनले बताइन् ।

इन्द्रा व्यावसायिक रूपमा फूलखेती गर्ने किसानको सङ्ख्या बढ्दै गए पनि यसको माग पनि उत्तिकै बढेकाले बजारीकरणको समस्या नहुने बताउछिन् । आजभोलि विवाहलगायत अन्य कार्यक्रमका लागि पनि मागका आधारमा माला बनाउने गरेको उनी बताउछिन्।

सरकारी स्तरबाट पनि फूलखेती गर्न चाहने किसानलाई तालिमलगायत अन्य कृषि औजार, अनुदानका कार्यक्रम ल्याएमा अझ सहज हुने उनले बताइन्। साथै प्लास्टिकजन्य मालालाई पनि पूर्ण रूपमा प्रतिबन्ध लगाउन आवश्यक रहेको उनी बताउछिन् । पहिलेको तुलनामा केही परिवर्तन भए पनि अझ पर्याप्त नभएको उनको भनाइ छ ।

प्यालेस्टाइनद्वारा गाजा युद्धविरामको माग गर्दै राष्ट्रसङ्घको प्रस्तावमा अमेरिकी भिटोको निन्दा

रामल्लाह (प्यालेस्टाइन) । प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले गाजामा इजरायली आक्रमणको अन्त्य र युद्धविरामको आह्वान गर्ने राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावमा बुधबार भिटो प्रयोग गरेकोमा अमेरिकाको निन्दा गरेका छन्।

राष्ट्रपति अब्बासले अमेरिकाले चौथो पटक भिटो प्रयोग गरी इजरायललाई प्यालेस्टिनी तथा लेबनानी जनता विरुद्धको “अपराध” र अन्तर्राष्ट्रिय कानूनको उल्ङघन गरेको उल्लेख गरेको प्यालेस्टिनी समाचार एजेन्सी डब्लुएएफए जनाएको छ ।

वक्तव्यमा यहाँले राष्ट्रसङ्घीय सुरक्षा परिषद र अन्तर्राष्ट्रिय समुदायमा प्यालेस्टाइनको माग स्पष्ट रहेको जनाउदै “आक्रमण” रोक्न, युद्धविराम लागू र इजरायलले प्यालेस्टिनी जनता विरुद्ध गरेको “अपराध” लाई सम्बोधन आवाह्न गरेका छन् ।

विज्ञप्तिमा मानवीय सङ्कट तथा भोकमरी अन्त्य गर्न तुरुन्तै कार्य गरेर प्यालेस्टिनी जनताको जिम्मेवारी लिन आग्रह गरिएको छ ।

प्यालेस्टिनी अख्तियारका विदेश मामिला तथा प्रवासी राज्यमन्त्री फार्सिन शाहिनले अमेरिकी भिटोलाई “अन्यायपूर्ण, र अन्तर्राष्ट्रिय समुदायको इच्छा विपरित भनेका छन् ।

यसै गरी हमासले एक विज्ञप्ति मार्फत भिटो प्रयोग गरेर अमेरिकाले आक्रमणको प्रत्यक्ष साझेदार बनेको प्रमाणित गरेको जनाएको छ । वक्तव्यमा अमेरिकालाई शत्रुतापूर्ण नीति“ रोक्न आह्वान गर्दै युद्धको अन्त्य गरी यस क्षेत्रमा सुरक्षा र स्थिरता कायम गर्न आह्वान गरेको छ ।

अमेरिकाले बुधबार गाजामा तत्काल युद्धविरामको आह्वान गर्ने राष्ट्रसङ्घीय सुरक्षा परिषद्को मस्यौदा प्रस्तावमा भिटो प्रयोग गरे पछि सयुक्त राष्ट्रका अधिकांश सदस्यहरूले कडा आलोचना गरेका छन् ।

परिषद्का–१० लगायत गैर–स्थायी सदस्यहरूले मस्यौदामा तत्काल, स्थायी युद्धविरामका साथै बन्धकको रिहाइको माग गरेका छन् ।

सुरक्षा परिषदका सदस्यहरुमा १४ ले काउन्सिलले प्रस्तावको पक्षमा मतदान गरे भने अमेरिकाले यसलाई रोक्न स्थायी काउन्सिल सदस्यको रूपमा आफ्नो भिटो प्रयोग गरेको छ ।

११ जिल्ला न्यायाधीशको सरुवा

काठमाडौं । न्यायपरिषदले ११ जिल्ला न्यायाधीशको सरुवा गरेको छ । बुधबार बसेको न्यायपरिषदको बैठकले उनीहरुको सरुवा गरेको छ । त्यस्तै बैठकले उच्च अदालतका तीन न्यायाधीशको पनि सरुवा गरेको छ ।

उच्च अदालत जनकपुरका न्यायाधीश किरणकुमार पोखरेललाई उच्च अदालत बिराटनगरको इलाम इजलासमा काज सिफारिस गरिएको छ। त्यस्तै उच्च अदालत तुलसीपुरकी न्यायाधीश रेखा पाण्डेलाई उच्च अदाल विराटनगरको इलाम इजलासमा काज सिफारिस गरिएको छ ।

त्यस्तै सोलुखुम्बु जिल्ला अदालतका न्यायाधीश शंकरबहादुर राई, जुम्ला जिल्ला अदालतका न्यायाधीश राजेशकुमार कटुवाल र काठमाडौँ जिल्ला अदालतका न्यायाधीश श्यामलाल घिमिरे लगायत छन्।

सिरियामा भएको इजरायली हमलामा ३६ जनाको मृत्यु

दमास्कस । सिरियाको प्राचीन पाल्मिरा सहरमा बुधबार भएको इजरायली हमलामा ३६ जनाको मृत्यु भएको छ । साथै अन्य ५० जना भन्दा बढी घाइते भएको सिरियाली रक्षा मन्त्रालयले जनाएको छ ।

बेलायतमा आधारित युद्ध पर्यवेक्षक ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ ले भने इजरायली आक्रमणमा ६१ जनाको मृत्यु भएको जनाएको छ । जस मध्ये ३३ जना इरानी मिलिसियासँग सम्बन्धित सिरियाली, २२ जना गैर–सिरियाली, चार जना हिजबुल्लाह र दुई जना अज्ञात थिए ।

‘इजरायलले अल–तान्फ क्षेत्रको पाल्मिरा सहरका धेरै भवनहरूलाई निशाना बनाएर हवाई आक्रमण गरेको रक्षा मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको हो ।’

सिरियाको विदेश मन्त्रालयले पाल्मिरा सहर विरुद्धको क्रूर इजरायली आक्रमणको कडा निन्दा गर्दै यसले यस क्षेत्रका देशहरूका जनता विरुद्धको निरन्तरको अपराधलाई प्रतिबिम्बित गरेको जनाएको छ ।

युनेस्कोको विश्व सम्पदा सुचिमा समावेश स्थल पाल्मिरा सिरियाली गृहयुद्धको चरम अवस्थामा इस्लामिक राज्यका जिहादीहरूले कब्जा गरेका थिए ।

सिरियाका पुरातत्व तथा सङ्ग्रहालयका महानिर्देशक नाजिर अवादले पछिल्लो आक्रमणमा सहरका मन्दिरहरूमा प्रत्यक्ष क्षति नभएको बताएका छन् ।

सैनिक सहकार्य वार्तामा दुई देशका सैनिकबीच पारस्परिक साझेदारीका विषयमा छलफल

काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देल र नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी बीच दुई देशका सैनिकबीच पारस्परिक साझेदारी र हितमा केन्द्रित रहेर सैनिक मुख्यालय जङ्गी अड्डामा द्विपक्षीय वार्ता भएको छ ।

वार्ताका क्रममा नेपाली सेनाको कार्य जिम्मेवारी र सम्पादन गर्दै आएका कार्य बारेमा संक्षिप्त जानकारी प्रस्तुत गरिएको सैनिक प्रवक्ता सहायक रथी गौरवकुमार केसीले जानकारी दिए ।

त्यसअघि भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले उनको सम्मानमा नेपाली सेनाद्वारा प्रस्तुत सम्मान गारत निरीक्षण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । त्यसअवसरमा भारतीय सेनाध्यक्षले जङ्गी अड्डा परिसरमा वृक्षारोपण गरेका थिए ।

सो क्रममा भारतीय स्थल सेनाध्यक्षले सैनिक मञ्च टुँडिखेल रहेको वीर स्मारकमा पुष्पहार अर्पण गरेका थिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले आजै स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गर्ने कार्यक्रम छ । गत १६ असारमा सेनाध्यक्ष नियुक्त भएका द्विवेदीको यो पहिलो औपचारिक नेपाल भ्रमण हो । भोलि प्रधानमन्त्री केपी ओली र रक्षामन्त्री मानवीर राईसँग उनले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

सन् १९५० देखि नेपाल र भारतबीच एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा छ । यसअघि भारतका राष्ट्रपति रामनाथ कोविन्दले नेपालका तत्कालीन प्रधानसेनापति प्रभुराम शर्मालाई २०७८ कात्तिक २४ गते भारतीय स्थलसेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गरेका थिए ।

त्यस्तै भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ भदौ २० गते नेपाली सेनाको मानार्थ महारथी पद प्रदान गरेकी थिइन् ।

सन् १९५० मा भारतका सेनाध्यक्ष जनरल केएम परिअप्पालाई पहिलो पटक नेपाली सेनाको मानार्थ महारथी प्रदान गरिएको थियो भने २०२६ सालमा तत्कालीन प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई पनि पहिलो पटक भारतीय सेनाको मानार्थ महारथीबाट सुशोभित गरिएको थियो ।

छिमेकी देशका सेनाबीचको यस्तो सम्मान परम्पराले सम्बन्धलाई सुमधुर तुल्याउन र सौहार्दता कायम राख्न एउटा महत्वपूर्ण कडीका रुपमा भूमिका खेल्ने विश्वास गरिएको छ ।प्रधान सेनापति सिग्देलको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष द्विवेदी पाँच दिवसीय नेपाल भ्रमणका क्रममा बुधबार अपराह्न काठमाडौँ आएका हुन् । 

मन्त्री परिवर्तन हुने कुरा हल्ला मात्रः गृहमन्त्री लेखक

सुदूरपश्चिम । गृहमन्त्री रमेश लेखकले मन्त्री परिवर्तन हुने कुरा हल्ला मात्र रहेको बताएका छन् । बिहीबार धनगढीमा प्रेस युनियनले गरेको पत्रकार सम्मेनलमा गृहमन्त्री लेखकले आजका मितिसम्म मन्त्री हेरफेर हुने कुरामा कुनै छलफल नभएको बताएका हुन् ।

उनले प्रधानमन्त्रीय पद्धतिमा प्रधानमन्त्रीले आवश्यकताअनुसार मन्त्री हेरफेर गर्न सक्ने बताए । उनले भने, ‘दुई दलको सरकार भएकाले मन्त्री हेरफेर गर्दा छलफल गरेर मात्र हुन्छ तर अहिलेसम्म त्यस्तो छलफल भएको छैन।’

प्रधानमन्त्रीले गर्ने चीन भ्रमणका विषयमा दुई दलबीच खटपट भएको छ नि भन्ने सञ्चाररकर्मीको जिज्ञासामा गृहमन्त्री लेखकले सामान्य छलफलको विषयलाई ठूलो बनाएर बेकारको हल्ला चलाएको दाबी गरे ।

उनले भने, ‘एमाले र कांग्रेसबीच कुनै पनि विषयमा असमझदारी छैन, दुई दल मुख्य प्रतिस्पर्धी भए पनि मिलेर सरकार चलाइरहेका छौँ, २०८४ को निर्वाचनसम्म सहज मिलेर जान्छौँ।’

गृहमन्त्री लेखकले भारत वा चीन कुन देश अगाडि जाने भन्ने विषय सामान्य रहेको बताए । उनले भने, ‘प्रधानमन्त्रीको चीन भ्रमणको मिति तय भइसकेको छ, चीन भ्रमणलगत्तै भारत भ्रमण गर्नुहुन्छ।’

अन्नपूर्ण दोस्रो हिमाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । कास्की र मनाङको सिमानामा बिहीबार भूकम्पको गएको छ । बिहीबार बिहान १० बजेर १३ मिनेटमा अन्नपूर्ण दोस्रो हिमाल आसपास केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

खोला किनारको मापदण्ड खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं । काठमाडौं उपत्यकाका नदी तथा खोला किनारको मापदण्ड खारेज गर्न माग गर्दै र्‍याली निकालिएको छ । गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समिति तथा भूमि अधिकार संरक्षण संघर्ष समितिले बिहीबार र्‍याली निकालेका हुन् ।

‘जनतालाई उठिबास गर्ने गैर न्यायिक सडक तथा खोला मापदण्ड खारेज गर’ लगायत नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेर उनीहरुले र्याली निकालेका हुन् । ललितपुरको कुपण्डोलस्थित बागमती नदी किनारबाट शुरू भएको र्‍याली माइतीघर मण्डलासम्म पुग्ने छ ।

र्‍यालीमा अभियन्ता सुमन सायमीलगायत सहभागी छन् । २०८० पुस ३ मा सर्वोच्च अदालतले नदी क्षेत्र संरक्षणका लागि बागमती, विष्णुमतीलगायत उपत्यकाका ठूला नदी तथा खोलामा ४० मिटर जग्गा छाडेर मात्र संरचना निर्माणको अनुमति दिन आदेश दिएको थियो । यो कार्यान्वयन गर्दा सयौंको उठिबास लाग्ने भन्दै कतिपयले विरोध जनाएका छन् ।

चितवनमा धान उत्पादन घट्यो

चितवन । गत वर्षको तुलनामा यो वर्ष चितवनमा धान उत्पादनमा ह्रास आएको छ । कृषि विकास कार्यालयका अनुसार यस वर्ष वर्षे धान एक लाख १२ हजार ९२ दशमलव ४८ मेट्रिकटन उत्पादन भएको छ । गत वर्ष वर्ष एक लाख १४ हजार २६९ दशमलव चार मेट्रिक टन धान उत्पादन भएको थियो ।

यो वर्ष २७ हजार २७० हेक्टरमा धानखेती भएको थियो । कार्यालयले क्रप‘क्रपकटिङ्’माध्यमबाट लिएको तथ्याङ्कअनुसार यस वर्ष उत्पादकत्वमा पनि कमी आएको छ । प्रतिहेक्टर ४ दशमलव १२ मेट्रिक टन उत्पादन भएको छ ।

पूर्वी चितवनका केही स्थानमा सावा मन्सुली, सावित्री धानमा डट्टी पेनिकल, कालो पोके, राइस लिफ फोल्डर, गबारो र पतेरा प्यानीकल व्लाईट रोगका कारण उत्पादन घटेको उक्त कार्यालयले जनाएको छ ।

जिल्लामा चैते ५, सावित्री, वार, बहुगुणी २, हर्दिनाथ १, हर्दिनाथ ६, पिआरे, सावा मन्सुली, मोती, गोरखनाथ, जिरामसिनो, राम धानखेती हुने गरेको छ ।

राष्ट्रपतिद्वारा ढुङ्गानाको परिवारप्रति समवेदना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख एवं संविधानविद् दमननाथ ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनका शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले स्वर्गीय ढुङ्गानाको निवासमा पुगेर उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेका हुन् ।

पूर्वसभामुख ढुङ्गानाको उपचारका क्रममा ८३ वर्षको उमेरमा गत आइतबार निधन भएको हो । उनी लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट पीडित थिए ।

अदानीमाथि अमेरिकामा २५ करोड डलर बराबरको घूस दिने योजना बनाएको अभियोग

बीबीसी । भारतीय अर्बपति गौतम अदानीलाई अमेरिकामा जालसाजीको अभियोग लगाइएको छ। उनीमाथि २५ करोड अमेरिकी डलर बराबरको घूस दिने योजना बनाएको र अमेरिकामा रकम उठाउने क्रममा उक्त मामिला लुकाएको आरोप लागेको हो ।

न्यूयोर्कमा उनीविरुद्ध बुधबार त्यससम्बन्धी आपराधिक मामिलामा अभियोगपत्रहरू दर्ता भएका छन् । भारतका सबैभन्दा धनी व्यक्तिमध्येका एक ६२ वर्षे अदानीमाथि लागेको यो पछिल्लो गम्भीर आरोप हो । उनले व्यापार– व्यवसायको साम्राज्य खडा गरेका छन् र ती व्यापारहरूमा बन्दरगाह र विमानस्थल निर्माण तथा सञ्चालनदेखि नवीकरणीय ऊर्जाको विस्तारसम्म फैलिएका छन् ।

उनीविरुद्धको अभियोगमा अभियोजनकर्ताहरूले अदानी र अन्य वरिष्ठ कार्यकारीहरू २० वर्षमा २ अर्ब अमेरिकी डलर बराबरको नाफा कमाउने अपेक्षा गरिएको नवीकरणीय ऊर्जा कम्पनीको ठेक्का पाउनका लागि भारतीय अधिकारीहरूलाई घूस दिन सहमत भएको आरोप लगाएका छन् ।

यसबारे अदानी समूहलाई टिप्पणीका लागि अनुरोध गरिएको भए पनि उक्त समूहले हालसम्म प्रतिक्रिया दिएको छैन । विभिन्न कम्पनीहरूको एउटा ग्रुप बनाएर अमेरिकामा चलिरहेको उक्त समूह सन् २०२३ देखि शङ्काको घेरामा रहँदै आएको छ ।

त्यसबेला एउटा उच्च प्रतिष्ठित कम्पनीले जालसाजी गरेको आरोप लगाउँदै एउटा प्रतिवेदन सार्वजनिक गरेपछि त्यसले अदानी समूहमाथि शङ्का उत्पन्न गराएको हो । उक्त प्रतिवेदनमा गरिएका दाबीहरूलाई अदानीले अस्वीकार गरेका थिए र त्यहाँ उनको ठूलो बजार हिस्सा तत्कालै बिक्री भएको थियो । घूस दिएको भनिएको उक्त प्रतिवेदन महिनौँदेखि यताबाट उता र उताबाट यता भइरहेको छ ।

अमेरिकाले सन् २०२२ देखि अदानीको कम्पनीमाथि अनुसन्धान सुरु गरेको थियो र अभियोजनकर्ताहरूले अनुसन्धानमा अवरोध भएको अनुभव गरेका थिए ।

अभियोजनकर्ताहरूले अदानीको कम्पनीका कार्यकारी व्यक्तिहरूले आफ्नो समूहका घूसविरोधी नीतिहरू तथा घूससम्बन्धी अनुसन्धानका प्रतिवेदनहरूको नक्कली प्रतिहरू पेस गरेर झुक्याइमा पारेर अमेरिकी विभिन्न फर्महरूबाट ३ अर्ब डलर बराबरको कर्जा र बन्डहरू उठाएको अभियोग लगाएका छन्।

व्यावसायिक च्याउखेतीमा कैलालीका किसान

कैलाली । कैलालीका किसान व्यावसायिक च्याउखेतीमा आकर्षित भएका छन् । अन्य खेतीको तुलनामा च्याउखेतीबाट मनग्ये आम्दानी हुने भएकाले उनीहरूको यसमा आकर्षण बढेको हो ।

धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले व्यावसायिक च्याउखेतीबाट प्रशस्त आम्दानी गर्दै आएका छन् । उनले सुभाष बहुउद्देश्यीय कृषि फर्म दर्ता गरेर च्याउखेती गर्दै आएका हुन् ।

चार वर्षअघि ६० हजार लगानीमा एउटा टनेलबाट च्याउखेती थालेका उनले हाल पाँच वटा टनेलबाट च्याउ उत्पादन गर्दै आएका छन् ।

पाँच वटा टनेलबाट उत्पादन भएको च्याउ बिक्रीबाट सबै खर्च कटाएर छ महिनामा छ लाख बचत हुने उनले बताए । उनले भने,’हिउँदका छ महिना मात्रै च्याउ उत्पादन गर्छु । ‘किङ्ग ओइस्टर’ च्याउ उत्पादन गर्दै आएको छु । यो च्याउ प्रतिकिलो दुई सयदेखि दुई सय पचासमा बिक्री हुने गरेको छ । बजारको मागअनुसार आपूर्ति गर्न सकेको छैन । प्रतिदिन ७० देखि ८० केजी च्याउ बिक्री गर्दै आएको छु ।’

च्याउखेतीमा लगानी कम र आम्दानी बढी हुने उनी बताउँछन् । उनले भने, ‘यसमा लगानी कम भए पनि मेहनत बढी चाहिन्छ । चार जनाको परिवार छ,घर खर्च चलेको छ । पराल काट्ने मेसिन, मिनिटिर च्याउ बेचेर किनेको छु ।’ च्याउखेती विस्तार गर्दै जाने आफ्नो योजना उनले सुनाए ।

यसैगरी, गोदावरी नगरपालिका–८ फकलपुरकी राजकुमारी चौधरीले पनि सात व्यावसायिक रूपमा च्याउखेती गरेकी छन् । च्याउ बिक्रीबाट खर्च कटाएर वार्षिक दुई लाख बचत हुने गरेको उनले बताइन् । उनले भनिन्, ‘च्याउखेतीबाट छोटो समयमा प्रशस्त आम्दानी गर्न सकिन्छ ।’ च्याउ बिक्रीमा कुनै समस्या नभएको बरु माग धान्न कठिन भएको उनको अनुभव छ ।

च्याउसँगै डेढ कठ्ठा जग्गामा सागसब्जी पनि लगाएकी उनले त्यसबाट वार्षिक एक लाख बचत गर्दै आएको बताइन् ।

गिजोलिँदै महसुल बक्यौता विवाद

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन बक्यौता नबुझाउने २८ उद्योगको लाइन पछिल्लो पटक कात्तिक ८ गते काट्यो । उद्योगको लाइन काटिएपछि उद्योगीहरु प्राधिकरणलाई महसुल बुझाउनुको साटो राजनीतिक लबिङमा लागे । उद्योगी प्रधानमन्त्री, मन्त्री र दलका नेताको घरघरमा धाए । न प्रधानमन्त्रीले न मन्त्री र न त दलकै नेताले उनीहरुलाई महसुल बुझाउ भने । बरु उद्योगीले भनेअनुसार सरकार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही गर्ने मनसायले स्पष्टीकरण सोध्न थाल्यो । तर प्राधिकरण महसुल नबुझाई लाइन नजोड्ने अडानमा बस्यो । त्यसपछि कात्तिक २५ गते आइतबार बसेको मन्त्रिपरिषद बैठकले टीओडीका आधारमा बक्यौता उठाउने र काटिएको लाइन भोलिपल्ट(सोमबार) मध्यान्ह १२ बजेसम्म जोड्न प्राधिकरणलाई निर्देशन दियो । तर प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ लाइन जोड्न तयार भएनन् । अनि मंगलबार बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैकठले निर्णय गरेपछि मात्र विद्युत् लाइन जोडिएका हुन् । मन्त्रिपरिषद् बैठकले काटिएका लाइन जोड्ने र टाइम अफ डे (टिओडी) मिटरका आधारमा १५ दिनभित्र विवादित बक्यौता उठाउने निर्णय गरेको थियो । त्यसपछि कात्तिक २८ गते पत्रकार सम्मेलन गरी घिसिङले १५ दिनभित्र बक्यौता नबुझाए फेरि लाइट काट्ने बताएका छन् । बक्यौता उठाउने मन्त्रिपरिषद्को निर्देशन स्मरण गराउँदै उनले भने, ‘१५ दिनभित्र हामीले गरेको बिलअनुसारको रकम बुझाएन भने हामी आफ्नो प्रक्रियामा फेरि पनि लाग्नेछौँ। नेपाल सरकारले पनि भनिसकेको अवस्था छ– १५ दिनभित्र बक्यौता रकम असुलउपर गर्नू।’ त्यसपछि प्राधिकरणले १५ दिनको समय दिएर मंसिर १२ गतेभित्र बक्यौता बुझाउन सार्वजनिक सूचना नै जारी गरिसकेको छ ।

तर बक्यौता बुझाउनुपर्ने दिन नजिक आइरहेका बेला सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘डेडिकेटेड’ तथा ‘ट्रङ्कलाइन’ विवादमा नेपाल विद्युत प्राधिकरणले काटेका बिलबिजकको अध्ययन गर्न तीन सदस्यीय विज्ञ समिति गठन गरेको छ । मन्त्री दीपक खड्काले डेडिकेटेड तथा ट्रङ्कलाइन विद्युत् महसूल बक्यौतासम्बन्धी आवश्यक सत्यतथ्य विवरण÷प्रमाण संकलन गर्ने एवम् प्रमाणीकरण गर्ने कार्यादेशअनुसार नेसनल कलेज अफ इन्जिनियरिङ्का प्राडा अरविन्दकुमार मिश्रको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका हुन् । समितिको सदस्यमा ‘चार्टड एकाउन्टेन्ट’ सुजनकुमार काफ्ले र श्रीरामराज पाण्डे छन् । समितिले गिरिशचन्द्र लाल नेतृत्वको आयोगले गरेका सिफारिस र मन्त्रिपरिषद्ले गरेका निर्णयका आधारमा पहिले काटेका बिलबिजकलाई ‘टाइम अफ डे’ (टीओडी) मिटरका आधारमा पुनःगणना गरी जाँच गर्ने मन्त्री खड्काले बताएका छन् ।

महसुल बक्यौता विवाद अदालतमा पुगेर फैसला भइसकेको विषय हो । उद्योगीले हालेका सबै मुद्दामा प्राधिकरणका पक्षमा फैसला आइसकेको छ । तर मन्त्रिपरिषदले १५ दिनभित्र उठाउ भन्ने अनि मन्त्रीले विज्ञ समिति गठन गरेर फेरि यसलाई अड्को थाप्ने काम सुरु गरेका छन् ।

विद्युत प्राधिकरण संचालक समितिका अध्यक्ष एवं ऊर्जा मन्त्रीले प्राधिकरणले केही ठूला उपभोक्तालाई दिएको विद्युत महसुलको बिलमा त्रुटि भए नभएको जाँच्न अलग समिति बनाइदिएछन् । बिल पुनरावलोकन गराउने त्यस्तो सुविधा प्राधिकरणका सानातिना उपभोक्ताले पाउने कि नपाउने अब ? भन्दै उपभोक्ताले समेत प्रश्न गर्न थालेका छन् ।
प्राधिकरणले महसुल उठाउन लागेको बेला फेरि बीचमा मन्त्रालयले हस्तक्षेप गरेको भन्दै प्राधिकरण संचालक समितिका सदस्यसमेत यस विषयमा रुष्ट बनेका छन् । प्राधिकरण सञ्चालक समितिका सदस्य कपिल आचार्यले मन्त्रालयले प्राधिकरणमाथि अनावश्यक हस्तक्षेप गर्न खोजेको बताएका छन् । ऊर्जा मन्त्रालयले समिति बनाउने नै भए प्राधिकरण वा नियमन आयोगभित्र बनाउनुपर्नेमा त्यसो नगरिएको उनको भनाई छ । उनको प्रश्न छ, ‘समिति गठनको कानुनी आधार के ? अनि प्राधिकरणले जारी गरेको बिल बाहिरी मान्छेले कसरी जाँच गर्न सक्छन् ? कतिजनाको बिल जाँच गर्ने ?’

पूर्वउर्जासचिव अनुपकुमार उपाध्याय महसुल विवादबारे अदालतहरुबाट विगतमा पनि पटक पटक निर्णय भैसकेको बताउँछन् । उनी मन्त्रीले बनाएको समितिलाई बिल सच्याउने अधिकार नभएको र यो विवादलाई थप तन्काउने मन्त्रीको मनसाय भएको बताउँछन् । उनी भन्छन्, ‘डेडिकेटेड र ट्रंक लाईन महसुलबारे अदालतहरुबाट विगतमा पनि पटक पटक निर्णय भैसकेको छ। पैसाको कुरा आएपछि सामान्यतया कर्मचारीले नअसुल्ने निर्णय गर्दैनन् । नेपालको विगत हेर्दा कर्मचारीले गर्नु हुँदैन, भन्ने मेरो सल्लाह हो । यदि कसैले न्यायिक मन प्रयोग गरिहालेछन् भने तिनका तीन पुस्ता कुनै समयमा अपराधीमा दर्ज हुनेछन् । त्यसैले ‘अदालत शरणम गक्षामी’ मनन गरौं, जप गरौं ।’

विद्युत् नियमन आयोग ऐन, २०७४ ले जाँचबुझ तथा निरीक्षण गर्ने अधिकार स्पष्ट रूपमा आयोगलाई दिएको छ । ऐनको दफा १७ अनुसार अनुमतिप्राप्त संस्था (प्राधिकरणलगायत)हरूले ऐन र ऐनअन्तर्गतका नियम, विनियम, निर्देशिका वा मापदण्ड तथा प्रचलित अन्य कानुन वा सर्तबमोजिम कार्य गरे–नगरेको सम्बन्धमा आयोगले आवश्यक जाँचबुझ तथा निरीक्षण गर्न वा गराउन सक्नेछ भनिएको छ । यसअनुसार पछिल्लो बक्यौता विवादमा पनि आयोगले आवश्यक जाँचबुझ गर्न वा गराउन सक्नेछ । तर आयोगले हेर्ने विषयलाई नजरअन्दाज गर्दै मन्त्री खड्काले कानुनले पनि नचिन्ने समिति गठन किन गरे ? यो विषयलाई सरकार थप तन्काउनै लागेको हो त ?

अब कुरा छ प्राधिकरणले मंसिर १२ गतेभित्र महसुल बुझाउन सार्वजनिक सूचना जारी गरिसकेको छ । यदि मन्त्री यो विषयलाई थप तन्काउन खोज्ने र प्राधिकरणले महसुल नबुझाएको खण्डमा मंसिर १२ पछि उद्योगीको लाइन काट्यो भने यो विषय थप गिजोलिने निश्चित छ । अनि सरकार उद्योगीबाट महसुल उठाउन नभई उद्योगीको पक्षपोषणमा लागेको स्पष्ट हुनेछ ।

बढी भयो भत्काउने र इतिहास फर्काउनेको गफ

डा. युवराज संग्रौला ।
समाजको परिवर्तन ‘समय’ का रुपमा देखिन्छ । केही विलय हुँदै जान्छ, त्यसलाई पुरानो भनिन्छ । केही उत्पति हुँदै जान्छ त्यसलाई नयाँ भनिन्छ । यो नयाँ र पुरानोको भिन्नताको निर्माण समाज भित्रका अन्तरविरोधहरुले गर्दछन्, जसलाई कारण पनि भन्न सकिन्छ। तर यो परिवर्तनमा जुन कारण हुन्छ, त्यो परिणाममा समाहित भैसकेको हुन्छ ।

१. अहिले नेपालको राजनीति तथा आर्थिक संकटलाई यही नियमको सहयोगबाट बुझ्नुपर्छ । आज संकट पुरानो राजनीतिक विचारको विलयबाट पैदा भएको छ र यो संकटला मोचन गर्न नयाँ विचार आवश्यक हुन्छ। तर नेपाली समाजमा राजनीतिक बिमर्श छैन, र मानिसहरु एकथरी मान्छेलाई विस्थापित गरेर, नयाँ हाल्ने कुरामा बहकिएका छन् । मित्रहरू राजनीति तास फिटेजस्तो होइन, राजनीतिका समस्या र समाधान दुबै समाजको अन्तर्यसँग जोडिएका हुन्छन् । मानिसको गोठ बन्न सक्छ तर गोठ बन्नुनै राजनीतिक संकटको मोचन होइन।

२. राष्ट्रको राजनीतिमा अहिले दुईटा धार छन् । (क) केही नगरी सत्तामा बसिरहन पाउँ (ख) उनीहरुलाई हटाएर आफू पुगौं उनीहरु बीचको लडाइँ चुलिँदैछ । पहिलो निंरकुश शक्तिबाट थुनेर चुटेर विरोध मास्न सकिन्छ भन्ने मान्दछ । दोश्रो भत्काएर लथालिङ्ग पारिदिए पुग्ने ठान्छ । भत्काउन त २०६३ मा भत्काएकै हो । तर बनाउने सोच रहेनछ । आज पनि भत्काउने र इतिहास फर्काउनेको गफ ज्यादा छ । मित्रहरु लाँकुरी रोपेर अम्बा फल्दैन ।
नेपाली राजनीतिका भित्री समस्याको समाधान खोज्नुहोस्, नेतृत्व आफैं जन्मिन्छ। गोठले मान्छे भेला पार्छ, पार्टी बन्दैन।

हजार बुद्ध मन्दिरको पूजामा सहभागी हुन पूर्वराजा लुम्बिनी जाने

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह शुक्रबार लुम्बिनी भ्रमणमा जाने भएका छन् । लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुन पूर्वराजा लुम्बिनी जाने पूर्वराजा शाहका संवाद सचिव डा फणीराज पाठकले जानकारी दिए ।

शुक्रबार बुद्धको जन्मस्थल लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजा कार्यक्रम छ ।

सबैसँग सल्लाह गरेर मात्रै संविधान संशोधन हुन्छः सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै दल र सरोकारवालासँग सरसल्लाह गरेर मात्रै आवश्यक विषयमा संविधान संशोधन गरिने बताएका छन् ।

नेपाल डेमोक्रयाटिक लयर्स एसोसिएसन (डिएल नेपाल) को ३५औँ स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा सभापति देउवाले सत्ताघटक दलसँग सल्लाह भएर नै संविधान संशोधन गर्ने भनिएको बताएका हुन् ।

सभापति देउवाले आफू र आफ्नो पार्टीले कुनै पनि प्रजातान्त्रिक अधिकारसँग कुनै सम्झौता नगर्ने कुरामा ढुक्क हुन आग्रह गर्दै वतर्मान प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पनि प्रजातन्त्रका लागि लडेको व्यक्ति भएको बताए ।

उनले संविधान कार्यान्वयनका क्रममा देखिएका चुनौती र जनभावनाअनुसार मात्रै संविधान संशोधन गरिने बताउँदै भारतमा जस्तो उपराष्ट्रपतिलाई राष्ट्रियसभाको अध्यक्ष बनाउन सकिने तर्क गरे ।

डिएलए नेपालको कांग्रेसको कानुनी सल्लाह दिने संस्थाका रूपमा सहयोगी रहेको उल्लेख गर्दै सभापति देउवाले लोकतन्त्रको रक्षा र सुदृढीकरणका लागि डिएलए नेपालको ठूलो योगदान रहेको बताए । उनले संसदीय लोकतान्त्रिक व्यवस्था विश्वमै अन्य राजनीतिक व्यवस्थाको तुलनामा उत्तम कहिएको उल्लेख गर्दै यस व्यवस्थालाई सफल बनाउन डिएलएजस्ता संस्थाको योगदान महत्त्वपूर्ण हुनेमा जोड दिए ।

कार्यक्रममा कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनतामा आक्रोश र निराशा बढेका बेला केही व्यक्तिले त्यसमा स्वार्थसिद्ध गर्ने प्रयास गरेको उल्लेख गर्दै जनतामा देखिएको आक्रोश र निराशा चिर्ने जिम्मेवारी कांग्रेसमा बढेको बताए ।

साथै उनले मुलुकको सार्वभौमसत्ता र स्वतन्त्रतामा कांग्रेसले कहिल्यै पनि सम्झौता नगरेको इतिहास साक्षी रहेको स्मरण गराउँदै मुलुकको विकास र जनताको समृद्धिका लागि ठूला मुलुकहरूसँग सहकार्य गरेर ठूला आयोजनामा साझेदारी गर्न सकिने बताए ।

अहिले मुलुकमा केही व्यक्तिले अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोग गरेर प्रजातन्त्रमाथि प्रहार गरेको बताउँदै महामन्त्री थापाले प्रजातन्त्र जोगाउने र सुदृढीकरण गर्ने विषयमा राजनीतिक दलसँगै डिएलए जस्ता संस्थाको समेत जिम्मेवारी हुने उल्लेख गरे ।

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले आफूहरू बार र बेन्चको सम्बन्धमा बारेमा सचेत र संवेदनशील भएको बताउँदै बारलाई किनारा लगाएर न्यायापालिका सफल हुन नसक्ने जिकिर गरे ।

आयोगद्वारा उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । आयोगले बुधबार साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो ।

आयोगले सार्वजनिक गरेको अन्तिम नामावली अनुसार जिल्ला समन्वय समिति, नगरपालिका र गाउँपालिकाको प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका लागि उम्मेदवारी दिएका ४१० जनामध्ये ३ जना निर्विरोध निर्वाचित भएको र ३१ जनाले उम्मेदवारी फिर्ता लिएपछि ३७७ जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो ।

दुर्गा प्रसाईं पक्राउको सत्य तथ्य वास्तविकता बाहिर ल्याउन राष्ट्रिय स्वतन्त्र पार्टीको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउको विषयमा सत्यतथ्य छानबिन गरी वास्तविकता बाहिर ल्याउन माग गरेको छ ।

बुधबार बसेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीसँग जोडिएको विवादास्पद विषयमा केही व्यक्ति पक्राउ परेको सन्दर्भमा सत्यतथ्य छानबिन गरी बाहिर ल्याउन माग गरेको हो ।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘केही दिनयता सम्माननीय प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग जोडिएको विवादास्पद विषयमा केही व्यक्तिहरुसमेत पक्राउ भएको सन्दर्भमा सत्य तथ्य छानबिन गरी वास्तविकता प्रकाशमा ल्याउन सरकारसँग माग गर्दछ ।’

बैठकले सहकारीमा गरेको बचत फिर्ताको माग राखी सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले बुधबार राजधानीमा गरेको शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरी दमनको घोर भर्त्सना गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘आमनागरिकले पाइपाइ गरेर जम्मा गरेको बचत रकम फिर्ताको विशुद्ध उद्देश्यले आफ्ना आवाज बुलन्द गर्ने नागरिकको नैसर्गिक अधिकार हो । पीडित सर्वसाधारण नागरिकका हक प्राप्तिमा प्रभावकारी कदम चल्नुको सट्टा उठेको आवाज दबाउने कार्य सरकारको अधिनायकवादी कदम हो । यसले सरकार नागरिकका समस्याप्रतिको असंवेदनशीलता प्रदर्शन गरेको छ । तसर्थ सहकारी पीडितका मुद्दा समाधान तथा दोषी उपर अबिलम्ब कानुनी कारवाहीका लागि प्रभावकारी कदम चाल्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौं ।’

त्यस्तै बैठकले दोस्रो चरणको आन्दोलनको तात्कालिक स्वरुप स्थानीय निर्वाचनसँग सम्बन्धित अभियानका माध्यमबाट अगाडि बढाउने र गत कात्तिक २४ गतेको केन्द्रीय समितिको निर्णय बमोजिम आसन्न स्थानीय तहको उपनिर्वाचनका सन्दर्भमा स्थानीय जनजीविकाका समस्या, राजनीतिक प्रतिशोध र सहकारी, लघुवित्त, मिटरब्याज पीडित, भ्रष्टाचारका काण्डहरुको छानबिन, अर्थतन्त्र र युवा बेरोजगारी, प्रवास, संविधान संशोधन लगायतका राष्ट्रिय मुद्दाहरुको स्थानीयकरणमा केन्द्रित हुने निर्णय गरेको छ ।

सहारा सहकारीको रकम अपचलनको अभियोगमा चितवनमा रविविरुद्ध जाहेरी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध चितवनको सहारा सहकारी ठगीको आरोपमा जाहेरी परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनमा बुधबार सहकारी पीडितहरुको तर्फबाट २२ जनाले जाहेरी दिएका हुन् ।

लामिछाने र पूर्वडीआईजी छविलाल जोशीसहित १० जनाविरुद्ध जाहेरी परेको चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए । सहारा सहकारीको बचत रकम गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको उनीहरुको आरोप छ ।

यसअघि यही मुद्दामा जीबी राईसहित १७ जनाविरुद्ध मुद्दा दायर भइसकेको छ। पहिलो चरणको अनुसन्धानमा सहारा सहकारीबाट गोर्खा मिडियामा गएको ४७ करोड रुपैयाँको हिसाबकिताब प्रहरीले प्राप्त गर्न नसकेको भन्दै सरकारी वकिल कार्यालयले नै दोस्रो चरणको अनुसन्धान गर्नुपर्ने औंल्याएको थियो ।

सहारा सहकारीबाट गोर्खा मिडियामा ४७ करोड बराबरको कारोबार भएको देखिएको छ । पोखराको सूर्यदर्शन सहकारी संस्थाको ठगी आरोपमा पक्राउ परेका उनीहरुमाथि बुटवलको सुप्रिम सहकारी ठगीको आरोपमा पनि अनुसन्धान भइरहेको छ भने काठमाडौंको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको अभियोगका पक्राउ पुर्जी जारी भइसकेको छ ।

जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा कांग्रेसकी भुल निर्विरोध निर्वाचित

सुदूरपश्चिम । जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेपाली कांग्रेसका प्रत्यासी टीका चौधरी भुल निर्विरोध निर्वाचित भएकी छन् ।

जिल्ला समन्वय समितिको प्रमुखमा उम्मेद्वारी दिएका नागरिक उन्मुक्ति पार्टीका रुपमति डगौरा थारुले बुधबार उम्मेद्वारी फिर्तापछि उनी निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत प्रेमराज भट्टले जानकारी दिए ।

जिसस प्रमुखमा निर्वाचित भुल कैलाली गाउँपालिकाको वडासदस्यमा निर्वाचित हुन् । जिसस प्रमुखका लागि नेकपा(एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लगायतका दलले प्रत्यासी उठाएको थिएन । जिसस प्रमुखको निर्वाचनमा कैलाली जिल्लाका १३ स्थानीय तहका अध्यक्ष/उपाध्यक्ष, प्रमुख/उपप्रमुख गरी २६ मतदाता रहेका थिए ।

दुई वर्षअघि भएको स्थानीय तहको निर्वाचनमा कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित पदमबहादुर कलेलको निधनपछि पद रिक्त थियो ।

सुदूरपश्चिम प्रदेशमा रिक्त रहेको बाजुरा जिल्ला स्वामीकात्तिकखापर गाउँपालिकाको उपाध्यक्ष, कञ्चनपुर, भीमदत्त नगरपालिका–६, डोटी पूर्वीचौकी गाउँपालिका–६, दार्चुला दुहुँ गापा–५ र बझाङ सुर्मा गापा–४ को वडाध्यक्ष पदका लागि यही मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ ।

लोकतन्त्र, सुशासन र विधिको शासनको पक्षमा जागरणसभा : एमाले

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थातित्व, सुशासन, विकास र समृद्धिका बारेमा आमजनतालाई सुसूचित गराउने उद्देश्यले यही मङ्सिर ७ गते काठमाडौँमा जागरणसभा गर्न लागेको बताएका छन् ।

एमालेसम्बद्ध काठमाडौँ उपत्यकास्तरीय पार्टी कमिटीहरूको संयुक्त आयोजनामा हुन गइरहेको जागरणसभासहित समसामयिक राजनीतिक विषयमा बुधबार सम्पादकहरूसँगको अन्तरसम्बादमा ज्ञवालीले लोकतन्त्र र विधिको शासनमा विश्वास गर्ने सबैलाई कार्यक्रममा सहभागी हुन अनुरोध गरे ।

सम्पादकहरूको जिज्ञासामा ज्ञवालीले प्रजातन्त्रको पुनःस्थापनापछि सडक सञ्जाल, शिक्षा, स्वास्थ्य, सञ्चारलगायतका सबैक्षेत्रमा उल्लेख्य प्रगति भएको चर्चा गर्दै लोकतन्त्र स्थापनापछि मुलुकमा भएका राम्रा कामको प्रचारप्रसार गरी फैलाइएका भ्रम र हल्ला चिर्नुपर्ने दायित्व अहिले मुलुकका जिम्मेवार राजनीतिक पार्टी, नागरिक समाज र आमजनताको काँधमा आएको बताए ।

उनले भने,“पछिल्लो समय मुलुकमा अराजकता र अस्थिरता चाहने पक्षधर योजनाबद्ध रूपमा लोकतन्त्र समाप्त पार्ने गतिविधिमा सरिक भएको देखिन्छ, लोेकतन्त्र र विधिको शासनको विकल्प छैन, लोकतन्त्र, राजनीतिक स्थिरता र सुशासनका पक्षमा एक ठाउँमा उभिन सबैसँग अपिल गर्दछु ।”

उपमहासचिव ज्ञवालीले नेपालको विद्यमान संविधान कार्यान्वयन भएको करिब नौ वर्षको यस अवधिमा देखिएका कमीकमजोरीलाई सूक्ष्मरूपमा समीक्षा गरी सरोकारवाला भएका सबैको उचित रायसुझावलाई समेत समेटेर राष्ट्रिय सहमतिका साथ संविधान संशोधन गर्नुपर्ने पक्षमा एमाले रहेको स्पष्ट गरे ।

एमाले बागमती प्रदेश इन्चार्ज तथा जागरणसभा कार्यक्रमका संयोजक डा राजन भट्टराईले उपत्यकास्तरीय एमाले सम्बद्ध सङ्घ, सङ्गठनद्वारा आयोजना हुने जागरणसभमा एक लाख मानिसको उपस्थिति हुने अपेक्षा गरिएको बताए ।

भट्टराईले काठमाडौँ भद्रकालीबाट जुलुस सुरु भई रत्नपार्क हुँदै दिउँसो दरबारमार्गमा हुने जागरणसभालाई एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित पार्टीका वरिष्ठ नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

सो अवसरमा पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले लोकतन्त्र, विकास र सुशासनको पक्षमा जनतालाई सुसूचित गराउने उद्देश्यका साथ आमजनताको सहभागितामा शान्तिपूर्ण ढङ्गबाट जागरणसभा सम्पन्न गरिने बताए ।

राष्ट्रपतिद्वारा ‘नेपालका निधि’ पुस्तक लोकार्पण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले समाजमा पछाडि परेका क्षेत्र र वर्गको हित तथा आम नागरिकको जीवनस्तर सुधार गरेर यही व्यवस्थामा मात्रै मेरो भविष्य सुरक्षित छ भन्ने जनतालाई भरोसा जागृत गराउनु संघीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य भएको बताएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित महेन्द्रनारायण निधिको संघर्षमय जीवनीमा आधारित ‘नेपालका निधि’ नामक पुस्तक लोकार्पण गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रको यो लक्ष्य पूरा गर्न न्यायपूर्ण, समावेशी र समृद्ध आधुनिक नेपाल बनाउने काममा सबै जुट्नुपर्ने बताए ।

राष्ट्रपति पौडेलले जनतामा भरोसा जगाउनका लागि शासन प्रणाली पारदर्शी जवाफदेही र सुशासन पहिलो सर्त भएको उल्लेख गरेका थिए । उनले भने, ‘सत्ता र शक्तिमा बस्नेका कमजोरीले लोकतन्त्रका शाश्वत मूल्यमान्यता अनि पवित्रतालाई धुमिल बनाउने अवस्था आउन दिन हुँदैन । यो कुरामा ध्यान दिन सके नै लोकतन्त्रको मूल्यमा कसैसँग सम्झौता नगर्ने निधिजी लगायतका अग्रजहरूप्रति सच्चा सम्मान हुनेछ भन्ने पनि म ठान्दछु ।’

राष्ट्रपति पौडेलले महेन्द्रनारायण निधिका बहुआयामिक व्यक्तित्व, नेपालमा लोकतन्त्र स्थापना र पुनस्र्थापना तथा सामाजिक, सांस्कृतिक जागरणबारे जान्न र बुझ्न चाहनेका लागि पनि संग्रहणीय सामग्री हुने स्पष्ट परेका थिए ।

महेन्द्रनारायण निधि बिपी कोइराला र समाजवादी नेता राममनोहर लोहियाका चिन्तनबाट प्रभावित भएको र नेपालको लोकतान्त्रिक आन्दोलनको अग्रणी व्यक्ति भएको बताउँदै उनले देशको राजनीति, आर्थिक र सामाजिक परिवर्तनका लागि आफ्नो जीवन समर्पित गरेको स्मरण गरे ।

उनले भने, ‘जहानियाँ राणाशासन र एकदलीय पञ्चायत मात्र होइन रूढीवादी, पछौटेपन तथा कुसंस्कारबाट मुक्त गरी नेपाली समाजलाई परिवर्तनको उज्यालो मार्गमा अघि बढाउन निधिजीले खेल्नुभएको भूमिका सदैव अनुकरणीय छ । राजनीतिक जीवनका अनेकौँ उतारचढावका दिनमा मैले निधिजीलाई अन्यन्त, धैर्यवान्, सरल, सादगी नेताका रुपमा चिन्ने र बुझ्ने मौका पाएको छु ।’

कूटनीतिको विकासमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले खेल कूटनीतिको विकास र विस्तारका लागि आवश्यक सहयोग पुर्‍याउन नेपाल सरकारका खेल एवं साहसिक खेल क्षेत्रसँग सम्बद्ध मन्त्रालय, विभाग एवं पदाधिकारीहरूलाई आग्रह गरेकी छन् ।

परराष्ट्र मन्त्रालयमा बुधबार आयोजित साहसिक खेलसम्बन्धी उच्चस्तरीय परामर्श बैठकमा उनले नेपालमा साहसिक खेलका माध्यमबाट पनि खेल कूटनीतिको विकास र विस्तारका प्रशस्त सम्भावना रहेकाले त्यसतर्फ लाग्न सम्बद्ध पदाधिकारी एवं निकायहरूलाई आग्रह गरेकी हुन् ।

अहिले खेलकुदको आकर्षण र महत्व विश्वव्यापी रुपमा बढ्दै गएकाले अन्य क्षेत्रहरुजस्तै खेलका माध्यमबाट पनि नेपालले आफ्ना कूटनीतिक प्रयास र पहलहरुलाई अगाडि बढाउन सक्ने उनको भनाइ थियो ।

उनले भनिन्, ‘नेपालका हिमाल, पहाड, नदी तथा खोलाहरू साहसिक पर्यटनका लागि संसारमै प्रख्यात छन् । त्यसैले हामीले विश्वका पर्यटकलाई यस क्षेत्रमा आकर्षित गरी साहसिक खेलका माध्यमबाट पनि खेल कूटनीतिको विकास र विस्तार गर्न सकिन्छ । त्यसका लागि नेपालको पर्यटन तथा खेलकुद मन्त्रालयले समन्वयात्मक रुपमा काम गर्नुपर्दछ ।’

गत अक्टोबरमा कतारको दोहामा आयोजना भएको एसीडी (एसियन कोअपरेसन डायलग)को तेस्रो सम्मेलनमा खेल कूटनीतिलाई प्रमुख विषयका रुपमा राखिएको र नेपालले पनि खेल कूटनीतिको प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेकाले यसै विषयमा आवश्यक परामर्श एवं छलफल गर्न सम्बद्ध मन्त्रालय एवं निकायहरूसँग आज सो बैठक राखिएको थियो ।

मन्त्री डा. राणाले नेपालामा माउन्टनेयरिङ, र्‍याफ्टिङ आदि क्षेत्रका साहसिक खेलमा विश्वकै पर्यटकको रुचि बढ्दो देखिएको र यी क्षेत्रमा तालिम एवं कोर्षको व्यवस्थासमेत रहेकाले यसका माध्यमबाट पर्यटक भित्र्याई आर्थिक कूटनीतिका क्षेत्रमा ठूलो योगदान पुर्‍याउन सकिने बताइन्।

उनले खेलकुदलाई सांस्कृतिक पहिचानको प्रवर्द्धन गर्ने माध्यमका रुपमा विकास गर्नुपर्ने धारणा राख्दै नेपालको भौगोलिक अवस्थिति र प्राकृतिक सम्पदाका कारण यहाँ रहेको साहसिक खेलको सम्भावनालाई विश्वमै उजागर गर्न आवश्यक रहेको धारणा राखिन्।