`

हवाई इन्धन डिपो स्थानान्तरणका लागि डीपीआर निर्माण गर्न निगम र पुल्चोक इन्जीनियरिङ संस्थानबीच सम्झौता

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा रहेको नेपाल आयल निगमको हवाई इन्धन डिपो स्थानान्तरणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गर्न निगम र पुल्चोक इन्जिनियरिङ क्याम्पसबीच सम्झौता भएको छ ।

सिनामङ्गल डिपोमा बुधबार आयोजित कार्यक्रममा निगमका उपनिर्देशक प्रदीप यादव र पुल्चोक क्याम्पस, कन्सल्टेन्सी सेवाका सहप्राध्यापक नारायणप्रसाद गौतमले सम्झौतापत्रमा हस्तक्षर गरेका छन् । सम्झौताअनुसार पुल्चोक क्याम्पसले बढीमा ६ महिनाभित्र पीपीआर निगमसमक्ष हस्तान्तरण गर्नेछ ।

डीपीआर तयार गर्न निगमले एक करोड ९८ लाख ८४ हजार एक सय ८३ रुपैयाँ ७३ पैसा उपलब्ध गराउनेछ । विमानस्थलको गुह्येश्वरीतर्फ नागरिक उड्डयन प्राधिकरणले उपलब्ध गराएको ५० रोपनी जग्गामा ‘अमेरिकी पेट्रोलियम इन्ष्टिच्युट’ (एपिआइ) मापदण्डअनुसारको डिपो डिपो निर्माण गर्ने योजना छ ।

अन्तर्राष्ट्रिय मापदण्डभन्दा बाहिर रहेको सिनामङ्गलस्थित डिपोका कारण हवाई उड्डयन क्षेत्र समेत जोखिममा रहेको अवस्थालाई मध्यनजर गरी डिपो स्थानान्तरण गर्न लागिएको निगमका उपनिर्देशक यादवले जानकारी दिए । विमानस्थलको धावनमार्गदेखि ट्याक्सीे वे बीच हुनुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड कायम गर्न निगमको डिपो हटाउनुपर्ने अवस्था आएको उनको भनाइ छ ।

मुख्य धावनमार्गको केन्द्रदेखि ट्याक्सी वे बीचको दूरी एक सय ७२ दशमवलव ५ मिटर हुनुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड भए पनि हाल विमानस्थलसँगको सो दूरी करिब ९० मिटर मात्रै रहेको छ ।

‘पछिल्लो समय हवाई साधनको चाप बढेको छ, तर भण्डारण पर्याप्त छैन, हवाइ इन्धनको मौज्दात कम भयो’, डिपो स्थानान्तरणको आवश्यकतामाथि प्रष्ट पार्दै डिपो प्रमुख यादवले भने, ‘विमानस्थलको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले तयार पारेको गुरुयोजनाअनुसार यस डिपोलाई सार्नुपर्ने बाध्यता छ ।’

गत साउन २८ गतेको मन्त्रिपरिषद्को बैठककले एक वर्षभित्रमा हवाई इन्धन डिपो सुरक्षित र सुविधायुक्त स्थानमा सार्न निर्देशन दिएको थियो । विमानस्थलको हवाई यातायात क्षमता अभिवृद्धि गर्न प्राधिकरणले विमानस्थल स्तरोन्नति गरी फराकिलो र सुरक्षित बनाउन थालेको छ ।

सिनामङ्गल डिपोको भण्डारण क्षमता अत्यन्त कम रहेको र थप पूर्वाधार निर्माण गर्न पनि सो क्षेत्रमा सम्भव नदेखिएकाले डिपो सार्ने योजना अघि बढाइएको यादवले स्पष्ट पारे । विसं २०८४ मङ्सिरसम्म डिपो स्थानान्तरण गर्ने योजना छ ।

सामान्यतया आपतकालीन प्रयोगका लागि तीनदेखि पाँच दिन र नियमित अवस्थामा पाँचदेखि सात दिनका लागि इन्धन भण्डारण गर्ने गरिन्छ । तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान भर्ने विमानलाई सेवा दिन २० दिनको माग धान्न सक्ने क्षमताको भण्डारण आवश्यक पर्ने उनको भनाइ छ ।

करिब ५० वर्ष पुरानो सिनामङ्गल हवाई इन्धन डिपोको भण्डारण क्षमता सात हजार ६ सय ६० किलोलिटर छ । हाल यहाँबाट दैनिक चार सय किलोलिटर हवाई इन्धन बिक्री वितरण हुँदै आएको छ । यो डिपोमा एक हजार छ सय किलोलिटरका तीन वटा, सात सय ६० किलोलिटरका तीन वटा र ७० किलोलिटर क्षमताका आठ वटा इन्धन भण्डारण ट्याङ्क छन् ।

अब बन्ने डिपोमा तीन हजार किलोलिटर क्षमताका पाँच वटा भण्डारण ट्याङ्क रहनेछन् । नयाँ बन्ने डिपो अत्याधुनिक प्रविधिसहितको हुने पुल्चोक क्याम्पस, कन्सल्टेन्सी सेवाका सहप्राध्यापक गौतमले जानकारी दिए ।

नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको निगम विसं २०२७ मा स्थापना भई नेपालमा पेट्रोलियम पदार्थको आयात, भण्डारण र वितरण गर्दै आइरहेको छ । निगमले देशका विभिन्न स्थानमा १० वटा हवाई इन्धन डिपो र दुई वटा हवाई इन्धन ‘रिफ्युलिङ स्टेशन’ सञ्चालनमा ल्याएको छ ।

निगमले भारतको सरकारी स्वामित्वको इण्डियन आयल कर्पोरेसन (आइओसी)बाट इन्धन खरिद गरी देशभर बिक्री वितरण एवं भण्डारण गर्दै आएको छ । विराटनगर, धनुषा, वीरगञ्ज, अमलेखगञ्ज, काठमाडौँ, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढीमा इन्धन भण्डारण गृह छ । हाल निगमको पेट्रोलियम पदार्थ भण्डारण क्षमता ६० हजार तीन सय ८४ किलोलिटर रहेको छ ।

नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न विभिन्न खेल संस्थाको माग

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बेसबल खेल क्षेत्रका विभिन्न संस्थाले नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई विधिसम्मत् र पारदर्शी रुपमा सञ्चालन गर्न माग गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार ती संस्थाका प्रतिनिधिले ओलम्पिक कमिटीले नैतिक प्रशासनको मापदण्ड पालना गर्न, परादर्शिता, समावेशिता र लोकतन्त्रलाई प्रवद्र्धन गर्ने अन्तर्राष्ट्रिय दिशानिर्देशहरुसँग मिल्दोेजुल्दो गराई नेपाली खेलकुदको भविष्य सुनिश्चित गर्न माग गरेका हुन् ।

उनीहरुले अध्यक्ष जीवनराम श्रेष्ठ नेतृत्वको ओलम्पिक कमिटीले आफूहरुलाई वर्षौंदेखि मान्यता नदिएको र तेस्रो कार्यकालका लागि कमिटीको विधान संशोधनको प्रयास गरेकाले सरकारबाट आवश्यक निर्देशन भई त्यस्ता गतिविधि रोक्न आग्रह गरेका छन् । 

प्रधानमन्त्री ओलीले राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यता र विधिलाई ख्याल गर्दै खेल क्षेत्रका निकाय र संस्थाले आफूूलाई पारदर्शी बनाउनुुपर्नेमा जोड दिएका थिए ।

भेटका अवसरमा नेपाल इक्वेस्ट्रियन सङ्घका अध्यक्ष रवि राजकर्णिकार, नेपाल बेसबलका अध्यक्ष दीपक न्यौपाने, नेपाल स्के टिङ तथा स्केटबोर्डिङ सङ्घका अध्यक्ष अच्युत खनाल, नेपाल रुग्बी सङ्घका महासचिव गोविन्द घिमिरे, नेपाल क्लाइम्बिङ स्पोर्टस् सङ्घका अध्यक्ष रमेश पौडेल, अल्पाइन स्पोर्टस् फेडेरे सननेपालका अध्यक्ष गोविन्दप्रसाद भट्टराई र नेपाल रोइङ सङ्घका महासचिव सम्पन्न श्रेष्ठलगायत थिए । 

इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्यालेस्टाइनमाथि इजरायलले गरिरहेको हमलाविरुद्ध प्रस्तुत हुनुपर्ने माग गर्दै विभिन्न राजनीतिक दल र नागरिक संस्थाले ध्यानाकर्षणपत्र बुझाइएका छन् ।

बुधबार नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहित विभिन्न दल र नागरिक संस्थाका प्रतिनिधिले प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर इजरायलले प्यालेस्टाइन र लेबनानमाथि लगातार बलपूर्वक हमला गरेकाले त्यसको विपक्षमा नेपाल सरकार अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुनुपर्ने आग्रह गरेका हुन् ।

ध्यानाकर्षण पत्रमा नेपालको तटस्थ परराष्ट्र नीतिको मान्यतामा परिवर्तन गर्न र अन्यायमा परेकाको पक्षमा स्पष्ट रूपमा संयुक्त राष्ट्रसङ्घजस्ता मञ्चमा मत जाहेर गर्न माग गरिएको छ ।

ज्ञापनपत्रमा हमासको नियन्त्रणमा रहेका नेपाली विपीन जोशी र इजरायलमा रहेका हजारौँ नेपाली युवाहरुको जीवन रक्षाका लागि युद्धकालभरी नेपाल ल्याउने कार्य गर्न पनि माग गरिएको छ ।

प्रधानमन्त्री ओलीले नेपाल विश्वशान्ति, मानव अधिकार र न्यायका पक्षमा रहने स्पष्ट पारे । उनले तटस्थता भनेको बलियाले कुटिरहने र कमजोरले सही रहने भन्ने नभएको बताउँदै ध्यानाकर्षणपत्रमा उठाइएका विषयको विपरीत सरकार नजाने स्पष्ट गरे ।

‘हामी विश्वशान्तिका पक्षमा छौँ । कुनै शक्तिविरुद्ध आफैँ लड्न जाँदैनौँ । कुनै पनि सैन्य गठबन्धनमा रहँदैनौँ तर अन्याय सहेर बस्दैनौँ”, प्रधानमन्त्री ओलीले भने, ‘हामी विश्वमा निरीह शान्ति होइन, न्यायपूर्ण शान्ति र मानव अधिकारको रक्षामा हुनेछौँ ।’

भेटका अवसरमा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, राष्ट्रिय जनमोर्चाका नेतृ दुुर्गा पौडेल, नेकपा (एकीकृत समाजवादी) का सचिव शेरबहादुर कुँवर, क्रान्तिकारी कम्युनिष्ट पार्टीका वरिष्ठ नेता सिपी गजुरेल, जनता समाजवादी पार्टी नेपालका विदेश विभाग प्रमुख अर्जुन थापा, प्रगतिशील रुपान्तरण आन्दोलनका अभियन्ता श्याम श्रेष्ठलगायत सहभागी थिए ।

५० वटा युक्रेनी ड्रोन नष्ट गरेको रूसको दावी

मस्को । रूसले शुक्रबार र बुधबार गरी युक्रेनको सिमानामा ५० वटा युक्रेनी ड्रोन खसालेको दावी गरेको छ । रुसी रक्षा मन्त्रालयको एक विज्ञप्ति जारी गरी रुसी सुरक्षा प्रणालीले ४४ वटा युक्रेनी ड्रोनहरू नष्ट गरेको जनाएको छ ।

मन्त्रालयका अनुसार अधिकांश ड्रोनलाई नोभगोरोड क्षेत्रमा नष्ट गरेको थियो भने अन्य ड्रोनहरू कुर्स्क, बेलगोरोड र ब्रिन्स्कका साथै मस्को क्षेत्रमा नष्ट गरिएको थियो ।

यस बाहेक, क्षेत्रीय गभर्नर व्याचेस्लाभ फेडोरिस्चेभले अनुसार बुधबार बिहान समारामा छ वटा युक्रेनी ड्रोनहरू खसालेको बताए । ड्रोन आक्रमणले कुनै चोटपटक वा क्षति नपुर्याएको उनले टेलिग्राममार्फत उल्लेख गरेका छन् ।

पछिल्लो समयमा रूसले लगभग हरेक दिन आफ्नो क्षेत्रमा प्रहार गरिएका युक्रेनी ड्रोनहरू नष्ट गरेको घोषणा गर्दै आएको छ ।

यसै गरी किभले ऊर्जा केन्द्ररुलाई लाई लक्षित गरी गरिएका आक्रमण र विष्फोटको प्रतिक्रियामा ड्रोन आक्रमण गर्न बाध्य भएको जनाएको छ ।

इरानद्वारा आइएइएमा आफूलाई निन्दा गर्ने युरोपेली शक्तिहरूलाई चेतावनी

तेहरान । इरानका विदेशमन्त्री अब्बास अराघचीले बुधबारदेखि सुरु हुने अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) को बोर्ड बैठकअघि इरानको आलोचना गर्ने प्रस्ताव ल्याउन लागेकामा तीन युरोपेली शक्तिहरूलाई चेतावनी दिएका छन् ।

पछि कूटनीतिज्ञहरूका अनुसार पश्चिमी राष्ट्रहरूले मङ्गलबार मध्यरातपछि एजेन्सीको भियना मुख्यालयमा प्रस्ताव पेश गरेका छन् ।

बुधबार मन्त्रालयको विज्ञप्तिअनुसार अराघचीले आफ्ना फ्रान्सेली समकक्षी जीन–नोएल बारोटसँग कुरा गर्दै ‘जर्मनी, फ्रान्स र बेलायतका तीन देशले मस्यौदा पेस गर्ने निर्णयको कडा निन्दा गरे र यसले ‘मामिलालाई अझ जटिल मात्र बनाउनेछ’ भन्दै चेतावनी दिए ।

कूटनीतिज्ञहरूले पेरिस, बर्लिन र लन्डनले बिहीबार मतदानका लागि प्रस्ताव पेस गर्ने योजना बनाएको बताएका छन् ।

उनीहरूका अनुसार प्रस्तावित निन्दा इरानलाई आणविक नियमहरूको पालना गर्न र आइएइएको दीर्घकालीन चिन्ताहरूलाई सम्बोधन गर्न कूटनीतिक दबाब बढाउने आवश्यकताले प्रेरित छ ।

अराघचीले आफ्नो टेलिफोन वार्तामा युरोपेली शक्तिहरूको यो कदम ‘इरान र एजेन्सीबीचको अन्तरक्रियामा सिर्जना भएको सकारात्मक वातावरणसँग स्पष्ट विरोधाभास’ भएको पनि बताए ।

संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी निकाय (आइएइए) का प्रमुख राफेल ग्रोसी नोभेम्बर १३ मा दुई दिने भ्रमणका लागि तेहरान पुगेर फोर्डो र नतान्जमा रहेका इरानका प्रमुख संवर्धन स्थलहरूको भ्रमण गरेका थिए । इरानले यस भ्रमणलाई सकारात्मक मानेको थियो ।

तर इरानी आणविक प्रमुख मोहम्मद एस्लामीले आफ्नो आणविक कार्यक्रमलाई लक्षित गर्ने कुनै पनि ‘हस्तक्षेपकारी प्रस्ताव’ विरुद्ध चेतावनी दिँदै ‘तत्काल प्रतिकार्य’ को धम्की दिएका छन् ।

एजेन्सीले मङ्गलबार एएफपीले देखेको एक गोप्य प्रतिवेदनअनुसार इरानले अत्यधिक समृद्ध युरेनियमको भण्डार विस्तार रोक्ने दिशामा कदम चालेको बताएको छ ।

– तनाव –

इरान र एजेन्सीबीच सन् २०१५ को सम्झौता पश्चात् पटक–पटक तनाव बढेको छ । आइएइएले प्रतिबन्ध हटाउने बदलामा तेहरानको आणविक कार्यक्रमलाई नियन्त्रण गर्ने व्यवस्था गरेको थियो ।

सन् २०१८ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकतर्फी रूपमा सम्झौताबाट संयुक्त राज्य अमेरिका फिर्ता भएको घोषणा गरेपछि र इरानमाथि भारी प्रतिबन्धहरू पुनः लागु गरेपछि यो सम्झौता भङ्ग भयो ।

जवाफमा तेहरानले सम्झौताअन्तर्गतका आफ्ना जिम्मेवारीहरूबाट पछि हट्दै संवर्धना स्तर ६० प्रतिशतसम्म बढायो । यो आणविक बम विकास गर्न आवश्यक ९० प्रतिशत सीमानजिक छ ।

यद्यपि आणविक विकासहरू नागरिक र शान्तिपूर्ण उद्देश्यका लागि भएको भन्दै इरानले सधैँ आणविक हतियार खोजेको कुरालाई अस्वीकार गरेको छ ।

आइएइएका अनुसार तेहरान ६० प्रतिशत युरेनियम संवर्धन गर्ने एक मात्र गैर–आणविक हतियार भएको देश हो ।

इरानले हालैका महिनाहरूमा समृद्ध युरेनियमको भण्डार बढाएको एजेन्सीले मङ्गलबार बताएको छ । यो सन् २०१५ को आणविक सम्झौतामा तोकिएको सीमाभन्दा ३२ गुणा बढी पुगेको छ ।

अक्टोबर २६ सम्म भण्डार छ हजार ६०४.४ किलोग्राम रहेको अनुमान गरिएको छ । यो अगस्टको अन्तिम त्रैमासिक प्रतिवेदनभन्दा ८५२.६ किलो बढी हो ।

बिहीबार अराघचीले भ्रमणमा रहनुभएका आइएइए प्रमुखलाई इरान ‘राष्ट्रिय हित’ र ‘अपरिहार्य अधिकार’ को आधारमा ‘वार्ता गर्न तयार’ रहेको तर ‘दबाब र धम्कीको अधीनमा वार्ता गर्न तयार नरहेको’ बताएका थिए ।

उनले शनिबार पनि तेहरान विरुद्धको प्रस्ताव पारित भयो भने इरानले ‘हाम्रो आणविक कार्यक्रममा नयाँ उपायहरू लिनेछ जुन उनीहरूले निश्चित रूपमा मन पराउने छैनन्’ भने ।

अनुभवी कूटनीतिज्ञ अराघची सन् २०१५ को आणविक सम्झौतामा पुग्ने वार्तामा इरानका मुख्य वार्ताकार थिए । 

यसपटक चाँडै बेँसी झरे हिमाली भेगका भेडापालक किसान

अछाम । उच्च हिमाली भेगमा बसोबास गर्ने भेडापालक किसान चिसो बढ्न सुरु भएसँगै बेँसी झर्न थालेका छन् । हिउँदयामको सुरुआती चरणमै चिसो धेरै बढ्न थालेपछि बाजुराको उच्च हिमाली भेगमा बसोबास गर्ने भेडापालक किसान चिसो छल्न बेँसी झर्न थालेका हुन् ।

हिमाली भेगमा अत्यधिक चिसो बढेकाले बालबालिका तथा भेडासहित बेँसी झर्नेक्रम सुरु भएको बाजुराको बूढीनन्दा नगरपालिका–७ पाण्डुसैनका सुरत थापाले बताए ।

हरेक वर्ष चिसो मौसम सुरु भएसँगै हिमाली क्षेत्रका स्थानीय हिउँदेखेती लगाएर मङ्सिरको अन्तिमतिर बेँसी झर्ने गरिए पनि यसवर्ष चाँडै चिसो बढेकाले कात्तिक दोस्रो साताबाटै बेँसी झर्न सुरु भएको उनको भनाइ छ ।

‘विगतका वर्षमा मङ्सिरको अन्तिमतिर बेँसी झर्थ्यौ तर यसपटक चाँडै चिसो बढ्यो । त्यसैले कात्तिक दोस्रो सातादेखि नै चिसो छल्न हिँड्यौ । मसहित तीन जना किसान तीन सय भेडा लिएर अछाम आइसकेका छौँ । अरु पनि आउने क्रम जारी नै छ’, थापाले भने ।

चिसो मौसममा अछामको साँफेबगर, मेल्लेख, दर्नालगायत विभिन्न ठाउँमा करिब ६ महिना बसोबास गरी वैशाखदेखि पुनःआफ्नै गाउँको लेकतिर बसाइँ सर्ने प्रचलन रहेको छ । बसाइँ सर्ने क्रममा उनीहरू गन्तव्य नपुगुञ्जेल नदी खोला किनार र भेडा च्याङ्ग्राको चरन भएको ठाउँमा बास बस्दै अगाडि बढ्ने गर्छन् । 

भारतीय सेना प्रमुख द्विवेदी काठमाडौंमा

काठमाडौँ । भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदी काठमाडौं आइपुगेका छन् । उनी बुधबार काठमाडौँ आएका हुन् । नेपाली सेनाको मानार्थ महारथी दर्जा लिन उनी बुधबार काठमाडौँमा आइपुगेका हुन् ।

उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिने कार्यक्रम छ । नेपाल र भारतबीच एकअर्काका सेना प्रमुखलाई मानार्थ महारथीका रुपमा सम्मान गर्ने चलन छ ।

त्यही परम्परालाई निरन्तरता दिन भारतीय सेना प्रमुख द्विवेदी नेपाल आइपुगेका हुन् । भारतीय सेनाध्यक्ष द्विवेदीले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानवीर राई र समकक्षी प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गर्नेछन् ।

नेपाल भ्रमणका क्रममा सेनाध्यक्ष द्विवेदीले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण र जङ्गी अड्डामा सम्मान गारतको निरीक्षण गर्नेछन् । उनले कमाण्ड तथा स्टाफ कलेजका विद्यार्थीसँग अन्तक्रिया र पश्चिम पृतनाको भ्रमण गर्ने कार्यसूची छ ।

नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने अनुपम परम्परा छ । यसअघि भारतका राष्ट्रपति रामनाथ कोविन्दले नेपालका तत्कालीन प्रधानसेनापति प्रभुराम शर्मालाई २०७८ कात्तिक २४ गते भारतीय स्थलसेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गरेका थिए ।

छिमेकी देशका सेनाबीचको यस्तो सम्मान परम्पराले सम्बन्धलाई सुमधुर तुल्याउन र सौहार्दता कायम राख्न एउटा महत्वपूर्ण कडीका रुपमा भूमिका खेल्ने विश्वास गरिएको छ ।

यसअघिका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ भदौ २० गते नेपाली सेनाको मानार्थ महारथी पद प्रदान गरेकी थिइन् ।

सन् १९५० मा भारतका सेनाध्यक्ष जनरल केएम परिअप्पालाई पहिलो पटक नेपाली सेनाको मानार्थ महारथी प्रदान गरिएको थियो भने २०२६ सालमा तत्कालीन प्रधानसेनापति सुरेद्रबहादुर शाहलाई पनि पहिलो पटक भारतीय सेनाको मानार्थ महारथीबाट सुशोभित गरिएको थियो ।

आदिम कालदेखि नै नेपाल र भारतबीच धार्मिक, साँस्कृतिक र भौगोलिक सम्बन्ध रहिआएको छ । खुला सीमाना र एकैखाले साँस्कृतिक सम्बन्धले पनि दुई देशीबीच जनस्तरमा समेत प्रगाढ सम्बन्ध बनाएको छ ।

नेपाल र भारतका सैनिक सङ्गठनको घनिष्ट सम्बन्धले राजनीतिक र कूटनीतिक तहमा बेलाबखत उठ्ने प्रश्न स्वतः हराउँदै जाने गरेको छ । विश्वमा उदाउँदो ठूलो प्रजातान्त्रिक मुलुक भारत तथा संसारकै पुरानो स्वतन्त्र राष्ट्र नेपाल र सेनाबीचको यो सम्बन्धले एक–अर्काप्रति विश्वास र भरोसा प्रदान गरेको छ ।

यस्ता विशिष्ट परम्पराले आपसी असमझदारी र विवाद हटाउने सवालमा समेत महत्वपूर्ण भूमिका खेल्दैआएको छ । नेपाल र भारतका सैनिकबीच विभिन्न तह र तप्कामा हुँदै आएका सैन्य तालिमले प्राकृतिक विपत्तिमा एक–अर्कालाई सहयोग पुगिरहेको छ । लामो समयदेखि नेपाल र भारतबीच सञ्चालनमा रहेको ‘सूर्यकिरण सैनिक अभ्यास’लाई एउटा दृष्टान्तका रुपमा लिन सकिन्छ ।

नेपालमा २०७२ वैशाखमा गएको भूकम्पलगायत अन्य प्राकृतिक प्रकोपका समयमा भारतीय सैनिकले नेपाललाई गरेको सहयोग अविस्मरणीय छ । नेपाल र भारतबीच सैनिक तहमा स्थापित सम्बन्ध सैनिक कूटनीतिका क्षेत्रमा संसारकै लागि एउटा सशक्त उदाहरण बनिरहेको छ ।

नेपाल–भारतबीचको खुला सीमानाका कारण हुन सक्ने सुरक्षा चुनौतीलाई सम्बोधन गर्दै विश्वास र सहकार्यलाई अघि बढाउन मानार्थ महारथीको परम्पराले थप मलजल गरेको छ । नेपाल भ्रमणका क्रममा सेनाध्यक्ष द्विवेदीले पुशपतिनाथ र मुक्तिनाथको दर्शन गर्नुकासाथै पोखरा तथा सगरमाथा क्षेत्रको समेत अवलोकन भ्रमण गर्ने कार्यक्रम छ ।

शेयर बजारमा सामान्य अंकको बृद्धि

काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजार नेप्से सामान्य बढेको छ । मंगलबार ५१ अङ्कले घटेको नेप्से बुधबार भने ९ दशमलव शून्य नौ अङ्कले बढेर दुई हजार सात सय ११ दशमलव ७५ विन्दुमा पुगेको छ ।

आज बैंक, बीमा, उत्पादन र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक, फाइनान्स, जलविद्युत्, होटल समूहको शेयर उच्च अङ्कले बढेको छ । आज विकास बैंकमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

आज कर्पाेरेट विकास बैंक, सिन्धु विकास बैंक, नेपाल हाइड्रो डेभलपर्स, सप्तकोशी विकास बैंक, मानुषी लघुवित्त, कर्णाली विकास बैंक र जानकी फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

समग्रमा बजार बढेको दिन गुराँस लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ । आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । मंगलबार झन्डै साढे १० अर्बको शेयर कारोबार भएकोमा आज तीन सय २३ वटा कम्पनीका एक करोड ५४ लाख कित्ता शेयर सात अर्ब नौ करोड रुपैयाँमा किनबेच भयो ।

भारतलाई विद्युत बिक्री गरी ४ महिनामा १२ अर्ब ७२ करोड आम्दानी

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा नेपालले १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार बराबरको बिजुली भारत निर्यात गरेको छ ।

देशभित्र खपत गरी बढी भएको बर्खायामको एक अर्ब ६६ करोड ७८ लाख ९२ हजार युनिट विद्युत् भारततर्फ निर्यात गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । चार महिनामा भारततर्फ निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट सात रुपैयाँ ६३ पैसा छ ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) को ‘डेअहेड’ तथा ‘रियल टाइम मार्केट’मा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम हरियाणा र विहार राज्यमा बिक्री गरिरहेको छ ।

भारतको प्रसारण संरचनाको प्रयोग गरी बङ्गलादेशमा पनि विद्युत् निर्यात सुरु भइसकेको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने गरेको छ । त्यसैले प्राधिकरणले विद्युत् बिक्री गरी भारु आम्दानी गरिरहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले असोज महिनामा आएको बाढीपहिरोका कारण सञ्चालनमा रहेका जलविद्युत् केन्द्रहरु र प्रसारण लाइनमा क्षति पुगी विद्युत् उत्पादन बन्द हुँदा निर्यात प्रभावित भएको बताए । “सञ्चालनमा रहेका जलविद्युत् आयोजनाहरुमध्ये सबैभन्दा ठूलो चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशीका संरचनामा पहिरोले क्षति पुर्याउँदा विद्युत् उत्पादन बन्द छ । 

‘अन्य साना आयोजनाहरु पनि क्षति पुग्दा विद्युत् उत्पादन हुन सकेको छैन’, कार्यकारी निर्देशक घिसिङले भने, ‘काबेली करिडोर प्रसारण लाइनलाई माईखोलामा आएको बाढीले क्षति पुर्याउँदा उक्त लाइनमा जोडिएका विभिन्न आयोजनाको करिब दुई सय मेगावाट विद्युत् उत्पादन बन्द भयो । जसका कारण असोज र कात्तिकको विद्युत् निर्यात प्रभावित हुनपुग्यो । यसबाट चालु आवमा राखिएको करिब रु ३० अर्ब विद्युत् निर्यातको लक्ष्यसमेत प्रभावित हुने देखिएको छ ।’

प्राधिकरणका अनुसार माथिल्लो तामाकोशीको पुनर्निर्माण धमाधम भइरहेको छभने काबेली करिडोर प्रसारण लाइनको पुनर्निर्माण सम्पन्न गरी सञ्चालनमा आइसकेको छ ।

हिउँद सुरुभएसँगै नदी तथा खोलानालामा पानीको बहाव घट्ने भएकाले जलविद्युत आयोजनाहरुको विद्युत् उत्पादन कम हुनेछ । उत्पादनले आन्तरिक मागलाई मात्र धान्ने भएकाले अब विद्युत् निर्यात क्रमशः घट्दै जाने छ । हिउँदका केही महिनामा विद्युत् आयात गर्नुपर्नेछ ।  

प्राधिकरणले हालसम्म प्रतिस्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम भारतीय बजारमा २८ वटा आयोजनाबाट उत्पादित नौ सय ४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाएको छ ।

गत आवमा भारतबाट  १६ अर्ब ९३ करोडको विद्युत् आयात गरिएको थियो । यही अवधिमा  १७ अर्ब ६ करोडको विद्युत् निर्यात गरिएको थियो । गत आवमा आयातभन्दा रु १३ करोड बढीको विद्युत् निर्यात गरी खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको थियो ।

सुरक्षा परिषदद्वारा उपनिर्वाचनमा सेना परिचालनका लागि सरकारलाई सिफारिस

काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्ले यहीँ मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका क्रममा नेपाली सेना परिचालनका लागि अपनाउनुपर्ने विधि अवलम्बन गर्नका लागि मन्त्रिपरिषद्मा सिफारिस गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बसेको परिषद्को ३६औँ बैठकले स्थानीय तहको उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सेनाको परिचालनसम्बन्धी विधि मन्त्रिपरिषद्मा पठाउन सिफारिस गरेको रक्षा मन्त्रालयका सचिव रामेश्वर दङ्गालले जानकारी दिए ।

नेपालको संविधान २०७२ को धारा २६६ को उपधारा १ मा मुलुकको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षासम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेनाको परिचालन गर्नका लागि राष्ट्रिय सुरक्षा परिषद्ले मन्त्रिपरिषद्लाई सिफारिस गर्नुपर्ने व्यवस्था छ ।

बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री, परराष्ट्रमन्त्री, रक्षामन्त्री, मुख्यसचिव, नेपाली सेनाको प्रधानसेनापति र रक्षा सचिव उपस्थित थिए ।

अझै आएन सिञ्जा सभ्यता खस सङ्ग्रहालय सञ्चालनमा

जुम्ला । जुम्लाको सिञ्जा गाउँपालिका– २ मा निर्माणाधीन सिञ्जा सभ्यता खस सङ्ग्रहालय अझै सञ्चालनमा आएको छैन । विसं २०७६ असार ६ गते शिलान्यास गरी निर्माण सुरु भएको छ वर्ष बितिसक्दासमेत काम अझै अधुरै छ । चार हजार वर्गमिटर क्षेत्रफलमा निर्माण भइरहेको सो सङ्ग्रहालयका अधुरा संरचना पनि जीर्ण बन्दै गएका छन् ।

सङ्ग्रहालय निर्माण उपभोक्ता समितिका सचिव महेन्द्रराज तिवारीले सिञ्जा सभ्यताको ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक सम्पदा झल्किने तथा पर्यटकका लागि अवलोकन केन्द्रको रूपमा विकास गर्ने उद्देश्यले निर्माण सुरु भएको पनि पूर्णता पाउन नसकेको बताए । उनले मौलिकता झल्काउने गरी सङ्ग्रहालय बनाउनुपर्छ भन्दा सुनुवाइ नगरी कङ्क्रिटका भवनगायतका संरचना बनाउन सुरु गरे तिनले पूर्णता नपाउनु दुःखद भएको धारणा राखे ।

“सङ्ग्रहालयका लागि बनिरहेका संरचनाप्रति म व्यक्तिगत रूपमा सन्तुष्ट छैन । सुरूदेखि नै सङ्ग्रहालयका लागि कङ्क्रिट संरचना नबनाउ भनेकै तर सुनुवाइ भएन । काम सुरु भयो, केही भवनमात्रै बनाउने काम भएको छ तर यस्तो अवस्थामा कहिले कामले पूर्णता पाएर सञ्चालनमा आउने हो टुङ्गो छैन”, सचिव तिवारीले भने ।

यहाँका विभिन्न स्थानमा १३औँ शताब्दीमा निर्माण भएका चारवटा ऐतिहासिक देवल रहेका छन् । तीमध्ये तीन वटा सङ्ग्रहालयस्थल भन्दा बाहिर छन् । ती तीनवटै देवललाई काँडेतारले सुरक्षा गरिएका छन् । सोही गाउँमा तीबाहेक विभिन्न स्थानमा आठवटा सम्पदा रहेका सिञ्जा गाउँपालिका–२ का वडाध्यक्ष तीर्थ वडले जानकारी दिए ।

उनका अनुसार हाल सङ्ग्रहालयका लागि निर्माण गरिएका भवन सिमेन्ट, सरिया र जस्ता पाताको प्रयोग गरेर बनाइएका छन् । त्यहाँ साना ठूला गरी तीन वटा कङ्क्रिट भवन छन् । सोही स्थानमा रहेको परम्परागत माटोको घर भने जीर्ण बनेर भत्किँदै गएको छ ।

स्थानीयवासी उमेश बुढाले सिञ्जाको ऐतिहासिक पक्ष र यहाँको मौलिकता संरक्षणका लागि बनाइएको सङ्ग्रहालयको बाँकी काम सम्पन्न गरी तत्काल सञ्चालनमा ल्याउनुपर्ने बताए ।

सङ्ग्रहालयका लागि एक करोड ३४ लाख लगानी

नेपाली खस भाषाको उद्गमस्थल रहेको सिञ्जामा कर्णाली प्रदेश सरकार र भू–तथा जलाधार व्यवस्थापन कार्यालय जुम्लाको सहजीकरणमा सङ्ग्रहालय निर्माण हुन थालेको ६ वर्ष भयो । विसं २०७६ मै ५० लाखको लागतमा सङ्ग्रहालय निर्माण सुरु गरिएको थियो ।

हालसम्म सङ्घ, प्रदेश र स्थानीय सरकारको एक करोड ३४ लाखभन्दा बढी खर्च भइसकेको छ । यहाँ सिञ्जा गाउँपालिकाले समेत लगानी गरिरहेको छ । सुरुमा सङ्घीय सरकारबाट विनियोजन ५० लाखमध्ये २० लाख विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा खर्च भयो । बाँकी ३० लाख पर्खाल निर्माणमा खर्च भएको खस सङ्ग्रहालय निर्माण उपभोक्ता समितिका सचिव तिवारीले जानकारी दिए ।

गाउँपालिकाको २५ लाख लगानीमा पुस्तकालय भवन र आठ लाखमा परम्परागत भवन निर्माण सुरु भएको थियो । उक्त भवन दिनप्रतिदिन जीर्ण बन्दै गएको छ । ५१ लाखको लागतमा सङ्ग्रहालय भवन निर्माण गरिएको छ । यसमा कर्णाली प्रदेश सरकारको रु १० लाख र गाउँपालिकाको रु ४१ लाख खर्च भएको छ ।

सिञ्जा सभ्यताको संरक्षण र प्रवर्द्धनमा टेपा पुग्ने

विसं १४५५ मा राजा जालन्धरले सिञ्जा राज्य स्थापना गरेको इतिहास छ । राजा जालन्धर शिवभक्त भएकाले शिवको अघिल्लो अक्षर ‘शि’ र आफ्नो नामको अघिल्लो अक्षर ‘जा’ जोडेर सिञ्जा नाम रहन गएको इतिहासकारहरूले भन्ने गरेका छन् । यहाँ शिलालेख, ऐतिहासिकस्थल, पाण्डव गुफा, विराटदरबार, कनकासुन्दरी मन्दिरलगायत ढुङ्गाले कुँदिएका विभिन्न आकृति छन् तर तिनको संरक्षण हुन सकेको छैन । हाल तिनका भग्नावशेष मात्रै भेटिन्छन् ।

सङ्ग्रहालय क्षेत्रमा १२ देखि १५औँ शताब्दीको बीचमा निर्माण गरिएका देवल तथा शिलालेख अहिलेसम्म सुरक्षित रहेको सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए । उनले आगामी वैशाखसम्म बाँकी काम सम्पन्न गरी सङ्ग्रहालय सञ्चालनमा ल्याउने योजना रहेको बताए ।

“सङ्ग्रहालय सञ्चालनमा आएन भनेरै सबैले गुनासो गरिरहेका छन् । वास्तवमै यो यस क्षेत्रको ऐतिहासिक महत्वसँग जोडिएको बहुप्रतिक्षित योजना हो । यस विषयमा हामी सबै चिन्तित छौँ”, अध्यक्ष धितालले भने,“यो सञ्चालनमा आएमा सभ्याता संरक्षण मात्रै होइन, आन्तरिक तथा बाह्य पर्यटनदेखि खस भाषासम्बन्धी अनुसन्धान र अवलोकन सहज हुनेछ ।”

सङ्ग्रहालय नाग्म–गमगढी सडक खण्डअन्तर्गत सिञ्जा हुँदै मुगु राराताल जाने बाटो नजिककै रहेको छ । यसको निर्माण सम्पन्न भएमा राराताल जानेहरूलाई पनि आकर्षित गरी पर्यटन प्रवर्द्धन लाई आकर्षण गर्न गाउँपालिका अध्यक्ष धितालको भनाइ छ । 

पहिलो चौमासिकमा थपियो ८४ अर्ब सरकारी ऋण

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिक अवधिमा करिब ८४ अर्ब रुपैयाँ सरकारी ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार नेपालको कुल सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४४ प्रतिशत नाघेको हो ।

‘चालु आवको सुरुमा कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब नौ करोड रुपैयाँ रहेकामा कात्तिक मसान्तसम्ममा ८३ अर्ब ९५ करोड थप वृद्धि भई कुल सार्वजनिक ऋण २५ खर्ब १८ अर्ब पाँच करोड रुपैयाँ पुगेको छ,’ कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा भनिएको छ, ‘जुन कुल जीडीपीको ४४ दशमलव १४ प्रतिशत हुन आउँछ ।’

विदेशी मुद्राको विनिमय दरमा भएको परिवर्तनका कारण गत असोज मसान्तसम्मको तुलनामा कात्तिक मसान्तसम्ममा रु अर्ब ९८ करोड बराबर सार्वजनिक ऋण घटेको प्रतिवेदनमा उल्लेख छ । कार्यालयका अनुसार कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण दायित्व रु १२ खर्ब ५२ अर्ब १६ करोड १८ लाख र बाह्य ऋण दायित्व रु १२ खर्ब ६५ अर्ब ८९ करोड ७२ लाख बराबर छ । जीडीपीका आधारमा ऋण प्रतिशत हेर्दा आन्तरिक ऋण २१ दशमलव ९५ प्रतिशत र बाह्य ऋण २२ दशमलव १९ प्रतिशत हो ।

सरकारले चालु आवका लागि पाँच खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ । पहिलो चौमासिकसम्ममा एक खर्ब ६५ अर्ब ७२ करोड रुपैयाँ ऋण प्राप्त भइसकेको छ । वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति ३० दशमलव ३० प्रतिशत हो ।

चालु आवका लागि सरकारले तीन खर्ब ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेकामा वार्षिक लक्ष्यको ४३ दशमलव ६४ प्रतिशत अर्थात एक खर्ब ४४ अर्ब रुपैयाँ पहिलो चौमासिकमा उठाएको छ । त्यस्तै दुई खर्ब १७ अर्ब बाह्य ऋण उठाउने वार्षिक लक्ष्य रहेकामा कात्तिक मसान्तसम्ममा १० दशमलव एक प्रतिशत अर्थात २१ अर्ब ७२ करोड रुपैयाँ ऋण लिइएको छ ।

चालु आवमा सरकारी ऋणको साँवाब्याज भुक्तानी गर्नका लागि सरकारले चार खर्ब दुई अर्ब बराबर बजेट विनियोजन गरेको थियो । कात्तिक मसान्तसम्ममा एक खर्ब आठ अर्ब १४ करोड रुपैयाँ साँवाब्याज भुक्तानी भइसकेको कार्यालयको प्रतिवेदनमा उल्लेख छ । कुल जीडीपीको आधारमा कात्तिक मसान्तसम्ममा ऋणको साँवाब्याज तिर्न भएको खर्च एक दशमलव ९० प्रतिशत बराबर हो ।

किएभस्थित अमेरिकी दूतावासद्वारा हवाई आक्रमणको चेतावनी

वासिङ्टन। युक्रेनले पहिलो पटक रूसमा लामो दूरीको अमेरिकी क्षेप्यास्त्र प्रहार गरेपछि रूसले जवाफ दिने वाचा गरेसँगै किएभस्थित अमेरिकी दूतावासले बुधबार हवाई आक्रमणको चेतावनी दिएको छ ।

दूतावासले नोभेम्बर २० मा हवाई आक्रमणको विशेष सूचना प्राप्त गरेको उल्लेख गर्दै सावधानीका साथ दूतावास बन्द गर्ने र कर्मचारीलाई सुरक्षित ठाउँमा आश्रय लिन निर्देशन दिएको वेबसाइटमार्फत बताएको छ ।

“अमेरिकी दूतावासले अमेरिकी नागरिकहरूलाई हवाई सतर्कता घोषणा भएको खण्डमा तत्काल आश्रय लिन तयार रहन सिफारिस गर्दछ”, दूतवासले भनेको छ ।

युक्रेनले करिब तीन वर्षको युद्धमा पहिलो पटक लामो दूरीको अमेरिकी क्षेप्यास्त्र आफ्नो क्षेत्रमा प्रयोग गरेपछि रुसले मङ्गलबार यसको जवाफ दिने चेतावनी दिएको थियो ।

एक वरिष्ठ युक्रेनी अधिकारीका अनुसार मङ्गलबार रुसको ब्रायन्स्क क्षेत्रमा भएको आक्रमण “एटिएसिएमस क्षेप्यास्त्रद्वारा गरिएको थियो । यो अमेरिकी सेनाको सामरिक क्षेप्यास्त्र प्रणालीसँग सम्बन्धित रहेको ती अधिकारीले बताए ।

रुसी विदेशमन्त्री सर्गेई लाभरोभले आक्रमणले पश्चिमी देशहरूले द्वन्द्व ‘तीव्र’ पार्न चाहेको देखाएको बताए ।

“हामी यसलाई रुस विरुद्धको पश्चिमी युद्धको गुणात्मक रूपमा नयाँ चरणको रूपमा लिनेछौँ र हामी सोही अनुरूप प्रतिक्रिया दिनेछौँ”, ब्राजिलमा भएको जी–२० शिखर सम्मेलनमा आयोजित पत्रकार सम्मेलनमा लाभरोभले भने ।

वासिङ्टनले यस हप्ता युक्रेनलाई रुसभित्रका सैन्य लक्ष्यहरूमा एटिएसिएमएस प्रयोग गर्न स्वीकृति दिएको पुष्टि गरेको छ । यो युक्रेनको लामो समयदेखिको माग थियो । 

गाजा युद्धविरामका लागि अमेरिकी योजनाका बीच राष्ट्रसङ्घ पुनः मतदान

राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले युद्ध अन्त्यको पछिल्लो प्रयास स्वरुप गाजामा युद्धविरामको आह्वान गर्ने अर्को मस्यौदा प्रस्तावमा बुधबार मतदान गर्ने अपेक्षा गरिएको छ ।

तर यो मस्यौदालाई इजरायलको मुख्य सहयोगी अमेरिकाले अवरुद्ध गर्न सक्ने आकंलन गरिएको छ ।

प्रस्तावको पछिल्लो मस्यौदाले इजरायल र हमासबिचको युद्धमा “तत्काल,स्थायी युद्धविराम तथा सबै बन्धकहरूको बिना सर्त रिहाईको माग गरेको छ ।

यद्देपी यसले इजरायललाई आक्रोसित बनाएको छ भने स्थायी युद्धविरामको विषयमा अमेरिकी भिटोको डर बढाएको छ ।

यसै विच राष्ट्रसङ्घका लागि इजरायली राजदूत ड्यानी डेननले यो प्रयासलाई हास्यस्पद भन्दै राष्ट्रसङ्घले आफ्ना नागरिकहरूको सुरक्षा गर्नबाट इजरायललाई रोक्न नसक्ने बताएका छन् ।

अमेरिकी राजदूत रोबर्ट वुडले यो युद्धविराम र बन्धकहरूको रिहाइको सम्बन्धमा सुरुदेखि नै अमेरिकाको मुख्य भुमिका रहेको जनाएका छन् । 

दुर्गा प्रसाईंलाई पाँच दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पाँच दिन थुनामा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा मंगलबार पक्राउ परेका प्रसाईंलाई बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

प्रहरीले आज बिहान प्रसाईंलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो । प्रहरीले विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुर गरेको भन्दै उनलाई पक्राउ गरेको थियो ।

प्रसाईंले सोमबार प्रसाईंले प्रधानमन्त्री ओलीले कम्बोडियामा २० करोड डलर लगानी गरेको आरोप लगाएका थिए । फर्जी कागजात बनाएको कसुरमा प्रहरीले उनीविरुद्ध ‘किर्ते गर्न नहुने’ अभियोग लगाउने तयारीसमेत गरेको छ ।

एमालेले उम्मेदवारी फिर्ता लिएपछि पुथाउत्तरगंगा –२ को वडाध्यक्षमा माओवादी उम्मेदवार जगत घर्ती निर्विरोध

काठमाडौं । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका–२ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् ।

कांग्रेस–एमालेको गठबन्धनबाट उम्मेदवार बनेका एमालेका जीवन रोकाले उम्मेदवारी फिर्ता लिएपछि माओवादी केन्द्रका घर्ती वडाध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

यसको औपचारिक घोषणा भने हुन बाँकी छ । यसअघि माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका जसबहादुर शिर्पालीको दुर्घटनामा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

गत निर्वाचनमा पनि वडा नम्बर २ एमाले र कांग्रेसले गठबन्धन गरेर चुनाव लडेका थिए । तर माओवादी केन्द्रका उम्मेदवार जसबहादुर शिर्पाली विजयी भएका थिए ।

विश्वविजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे नेपाल आउँदै

काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्वविजेता खेलाडी अविरल घिमिरे ‘हिमचितुवा’ बिहीबार नेपाल आउने भएका छन् । किक बक्सिङ खेल क्षेत्रमा ऐतिहासिक कीर्तिमान बनाउन सफल भएका नेपाली युवा किक बक्सर घिमिरे जापानको नागोया सहरमा बस्दै आएका छन् । 


‘हिमालय चितुवा’ घिमिरेले इन्टरनेसनल स्पोर्टस् किक बक्सिङ एसोसिएसनद्वारा नागोया कंग्रेस सेन्टरमा गत कात्तिक १० गते आयोजित ‘इन्टरनेसनल किक बक्सिङ’ (इस्का)  प्रतियोगिताको उपाधि चुमेर विश्वविजेता बनेका थिए ।


यो प्रतियोगितामा उनले फ्रान्सका कडा प्रतिद्वन्द्वी एन्टोनिन मार्काेनीलाई ढाल्दै ‘वल्र्ड च्याम्पियन’ हुन सफल भएका थिए । यसका लागि बक्सर घिमिरेले आफ्नै खर्चमा थाइल्यान्डको फुकेट सहरमा रहेको टाइगर मोओथाई अन्तर्राष्ट्रिय क्लबमा दुई महिनाको विशेष बन्द प्रशिक्षण लिएका थिए । यो प्रशिक्षण लिने उनी पहिलो नेपाली बक्सरसमेत भएका थिए ।


इस्काको उपाधि चुमेपछि बक्सर घिमिरेले आफ्नो जितका लागि पिता तथा मुख्य प्रशिक्षक देव घिमिरे, आफूले प्रशिक्षण लिइरहेको सिमुरा डोजो, हलसम्म आएर हौसल प्रदान गर्ने नेपाली, कोरियन तथा जापानी खेलप्रेमीलाई विशेष धन्यवाद दिएका थिए ।


‘हिमालय चितुवा’ का रूपमा विश्वप्रसिद्ध भएका घिमिरे सो प्रतियोगितामा आमनेसामने हुने पहिलो नेपाली बक्सर भएका थिए  । प्रतियोगिताको मुख्य आकर्षणका रूपमा रहेको अन्तिम खेल (मेन इभेन्ट म्याच) मा घिमिरेले पहिलो राउन्डमै आफ्ना प्रतिस्पर्धी मार्कोेनीलाई रिङमा ढालेर  ‘इन्टरनेसनल किक बक्सिङ’को उपाधि चुमेका थिए ।


हालसम्म प्रोफेसनल किक बक्सिङ हिट प्रतियोगिताको १४ खेलको अपराजित यात्राको जित हासिल गर्ने क्रममा हिमचितुवाले चारपटक हिट प्रतियोगिताको ‘टाइटल म्याच’को उपाधि (बेल्ट) समेत रक्षा गर्दै ‘मिडल वेटको रेकर्ड’ समेत कायम राख्न सफल भएका छन् ।


उनले विश्वप्रसिद्ध के वान प्रोफेसनल किक बक्सिङ प्रतियोगितामा खेल्दै दुईवटा इभेन्ट आफ्नो पक्षमा पारी प्रतिस्पर्धीलाई ‘नक आउट’ गर्न सफल भएका थिए ।  हालसम्म फ्रान्स, जापान, दक्षिण कोरिया, ब्राजिल, बोलिभिया, नेदरल्यान्ड, थाइल्यान्डलगायत देशका बक्सरहरूलाई पराजित गरिसकेका युवा पुस्ताका चर्चित खेलाडी घिमिरेले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली झण्डा फहराउँदै विश्वमा नेपालको पहिचान बनाउन सफल भएका छन् ।  


जापानको नागोया सहरमा अविरल आफ्ना पिता पूर्वअन्तर्राष्ट्रिय किक बक्सर तथा फुल कन्ट्याक कराते खेलाडी देव घिमिरेको विशेष प्रशिक्षणमा रहँदै आएका छन् ।


कराते खेलाडी देव सन् २००४ मा कोरियाको सोलमा सम्पन्न ‘के वान प्राफेसलन किक बक्सिङ प्रतियोगिता’ मा सहभागी हुने पहिलो दक्षिण एसियाली खेलाडी हुन् । चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा बलम्बूका बासिन्दा उनको  परिवार हाल जापानको नागोया सहरमा बसोबास गर्दै आइरहेको छ । नेपाल बसाइका क्रममा अविरलले आफ्नो अनुभव युवा पुस्ताका बक्सरलाई जानकारी गराउनेछन् । 

सर्लाहीको ‘बर्थिङ सेन्टर’मा सुत्केरीको बिचल्ली

बरहथवा(सर्लाही) । सर्लाहीको हरिपुर्वा नगरपालिका–१, निवासी १८ वर्षकी बबिता पासवानलाई गत कात्तिक ३० साँझ एक्कासि सुत्केरी बेथाले च्याप्यो । उनलाई श्रीमान् अरुण पासवानले हतारहतार गाउँमा रहेको बर्थिङ सेन्टर पुर्याए । बबिताको पहिलो बच्चा जन्मदै थियो । उनले सोही बर्थिङ सेन्टरमा नियमित गर्भ परीक्षणसमेत गराएका थिए ।

स्वास्थ्यकर्मीहरुको नियमित निगरानीमा बच्चा र आमा स्वस्थ रहेकाले बच्चा सामान्य ढङ्गले जन्मिन्छ भनेपछि बबिताका श्रीमान् अरुण पनि ढुक्क थिए । बबितालाई दुई घण्टामै परिवारले बर्थिङ सेन्टर पुर्याएका थिए । बर्थिङ सेन्टर पुगेको १० मिनेटपछिनै उनको बच्चा जन्मियो । सामान्य ढङ्गले बच्चा जन्मिए पनि बच्चा ठूलो भएकाले योनीमा चोट अर्थात ‘भजाइन् टियरिङ’ भयो ।

त्यसपछि बर्थिङ सेन्टरमा कार्यरत स्वास्थ्यकर्मी र बिमारीका आफन्तलाई आपत आइलाग्यो । सुविधा सम्पन्न भनेर ल्याएको बर्थिङ सेन्टरमा सामान्य घाउ सिउनको लागि आवश्यक सियो(क्याटगड) समेत थिएन । उपचारमा खटिएकी स्वास्थ्यकर्मीले कतै मेडिकलबाट किनेर तत्काल ल्याउनु भन्दै आवश्यक सामानको सूची बबिताको श्रीमानको हातमा राखिदिइन् तर मध्यरातमा कुनै उपाय थिएन ।

यता बत्रिता रगत बगाउँदै शय्यामा छटपटाइरहेकी थिइन् । स्वास्थ्यकर्मीले बबितालाई ढाडस दिँदै आफूले सिकेको अनेक उपाय लगाएर रगत रोक्ने प्रयास गरिरहेकी थिइन् । भोलिपल्ट बर्थिङ सेन्टर नजिकैको मेडिकल खुलेपछि औषधि र सामान ल्याएर उपचार गरियो ।

बबिता जस्तै हरिपूर्वा नगरपालिका–६, निवासी १९ वर्षकी रेजिना कार्कीलाई पनि गत कात्तिक १२ गते सुत्केरी ब्यथा लाग्यो । परिवारले तत्काल बर्थिङ सेन्टर पुर्याएको केही समयमै सामान्य हिसाबलेबच्चा जन्मियो । तर, बच्चा जन्मने क्रममा रेजिनाको पनि भजाइन टेयरिङ भएर रक्तस्राव भयो ।

बर्थिङ सेन्टरमा सामान्य उपचारको सामान समेत नभएपछि उनको परिवारले पनि हातमा औषधिको सूची लिएर रातभर हारगुहार गर्नुपर्यो । तर, कुनै उपाय नलागेपछि बबिताले जस्तै रेजिनाले पनि जोखिमपूर्ण ढङ्गले भोलिपल्ट बिहान हुने पर्खाइमा पीडा सहेर बस्नुपरेको थियो ।

सामान्य उपकरण र औषधि नहुँदा बर्थिङ सेन्टर आउने बबिता र रेजिना जस्ता आमा र नवजात शिशुको ज्यान जोखिममा रहेको छ । सुविधा सम्पन्न भनिएको बर्थिङ सेन्टरमा सुत्केरी गराउन आउने गर्भवतीका आफन्तले आवश्यक पानीदेखि सियो धागो र स्वास्थ्यकर्मीको लागि पञ्जासम्म आफैँले किनेर ल्याउनुपर्ने बाध्यता रहेको रेजिनाका श्रीमान् अवधेशकुमार यादव बताउँछन् ।

सामान्य एउटा कोठालाई बीचमा बारेर दुई कोठा बनाएर बर्थिङ सेन्टर सञ्चालन गरिएको छ । रातको समयमा बिजुली गएको समयमा मोबाइलको बत्ती बालेर सेवा दिनुपर्ने बाध्यता रहेको स्वास्थ्यकर्मीको भनाइ छ ।

स्वास्थ्य चौकीका प्रमुख उमेशकुमार यादव नगरपालिकाबाट आवश्यक बजेट विनियोजन नहुँदा सेवा प्रवाहमा समस्या रहेको बताउँछन् । स्वास्थ्य चौकीमासमेत सरकारले निर्णय गरेको निःशुल्क वितरण गर्नुपर्ने १०/१५ प्रकारको औषधि सधँै अभाव हुने गरेको उनको भनाइ छ ।

अहिले चिसो समयमा धेरै रुघा, खोकी र ज्वरोका समस्या भएका बिमारी आउने गर्छन् तर आवश्यक औषधि नहुँदा बिमारी यसै फर्केर जाने गरेका छन् । एक गैरसरकारी संस्थाले केही उपकरण उपलब्ध गराएपछि पाँच वर्षअघि सुरु भएको बर्थिङ सेन्टरका अधिकांश उपकरण अहिले काम नलाग्ने भइसकेका छन् । नियमित मर्मत नहुँदा बच्चालाई तातो बनाउने(बेबी वार्मर), पानी तताउने भाँडो काम नलाग्ने भएको छ ।

यता हरिपूर्वा नगरपालिकाका प्रमुख विनोदकुमार साहले सबै नागरिकले गुणस्तरिय स्वास्थ्य सेवा पाइरहेको दाबी गरे । नगरका स्वास्थ्य चौकीहरुमा नियमित रुपमा निःशुल्क औषधि वितरण भइरहेको भन्दै तत्काल थप बुझेर समस्या समाधान गरिने बताए । नगर अस्पताल सञ्चालनको तयारी समेत गरिएको उनको भनाइ छ ।

गुल्मीमा एकजना किसानले फलाए चार सय मुरी धान

तम्घास (गुल्मी) । गुल्मीको धुर्कोट गाउँपालिका–६ रजस्थलका एउटै व्यक्तिले चार सय मुरी धान फलाएका छन् । स्थानीय मेघनाथ अर्यालले सो परिमाणमा धान फलाएका हुन् । एउटै व्यक्तिले यति धेरै धान फलाउने अर्याल जिल्लामै एक्लो व्यक्ति हुन् । हालसम्म उनले तीन सय मुरी धान खेतबाट उठाइसकेका छन् भने अझै सय मुरी उठाउन बाँकी छ ।

‘हालसम्म ७५ रोपनी क्षेत्रफलमा लगाएको तीन सय मुरी धान उठाएका छौँ, अब २५ रोपनीको करिब सय मुरी उठाउन बाँकी छ, धान काटेर सुकाउन राखेको छु । अब थ्रेसर लगाएर धान र पराल छुट्याउन मात्रै बाँकी छ’, अर्यालले भने ।

उनले सय रोपनीमध्ये ७२ रोपनी आफ्नो र २८ रोपनी भाडामा लिएर धानखेती गरेका हुन् । भाडामा लिएको जग्गाको वार्षिक प्रति रोपनी तीन हजारका दरले बुझाउँदै आएको अर्यालले बताए ।

यसरी उत्पादन गरिएको धानबाट चामल बनाउने र प्याकेजिङ गरेर बेच्ने उनको योजना छ । ‘पहाडमा सधैँ तराईबाट चामल आउने भएकाले त्यसलाई रोक्न पनि गाउँमै मिलको स्थापना गरी चामललाई बिक्री गर्ने योजना छ’, उनले भने, ‘मिलका लागि राज्यले सहयोग गरे त धेरै सहज हुने थियो ।’

धान खेतीका साथै उनले व्यावसायिक भैँसीपालन पनि गरेका छन् । उनीसँग अहिले २१ वटा माउ भैँसी, एउटा ठूलो राँगो र १४ वटा पाडापाडी छन् । उत्पादन भएको धानबाट चामललाई ब्रान्डिङ गरी बिक्री गर्ने र भुस भैँसीको आहारका रूपमा प्रयोग गर्ने योजना बनाइरहेको अर्यालले बताए । धान काटेलगत्तै उनले उक्त जग्गामा मकैखेती, घाँस वा अन्य तरकारी लगाउने उनले सुनाए ।

धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले एउटै किसानले यति धेरै परिमाणमा धान उत्पादन गर्नुले गरे के हुँदैन भनेर अरुलाई पनि राम्रो सन्देश दिएको बताए । यस्ता किसानलाई प्रोत्साहनका लागि पालिकाले आवश्यक सहयोग गर्ने उनको प्रतिबद्धता छ ।

‘मेघनाथले मिल स्थापनाका लागि सहयोग पाए हुन्थ्यो भन्ने गरेको सुनेका छौँ । यसमा लागत साझेदारी गर्न पालिका तयार छ । धुर्कोटमै चामलको मिल स्थापना हुने विषय पालिकाको लागि गौरवको विषय हो नि’, अध्यक्ष पोखरेलले भने ।

कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले गुल्मीमा उत्पादित चामललाई ‘ब्रान्डिङ’ गर्नुपर्ने बताए । गुल्मी जिल्लाभर यसवर्ष सात हजार हेक्टरमा बर्खे धान लगाएकामा २१ हजार मेक्ट्रिक टन उत्पादन भएको उनले जानकारी दिए । 

भारतका प्रधानमन्त्री मोदी गुयाना भ्रमणमा

गुयाना । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमणका लागि बुधबार गुयाना पुगेका छन् । उनी ५६ वर्षमा गुयानाको भ्रमण गर्ने पहिलो भारतीय प्रधानमन्त्री हुन् । प्रधानमन्त्री मोदी लाई एयरपोर्टमा गुयानाका राष्ट्रपति मोहम्मद इरफान अली तथा मन्त्रीहरूले स्वागत गरेका थिए ।

प्रधानमन्त्रीको आगमनको असरमा गुयानाले राष्ट्रपतिद्वारा शुभकामनासहित गुयानाको जर्जटाउनमा औपचारिक स्वागत र गार्ड अफ अनर प्रदान गरेको छ ।

भ्रमणको क्रममा प्रधानमन्त्री मोदीले गुयानाको संसदको विशेष बैठकलाई सम्बोधन गर्ने तथा भारत–क्यारिकम शिखर सम्मेलनमा क्यारेबियन साझेदार देशका नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्रीको गुयाना भ्रमण अघि पत्रकार सम्मेलनमा भनरतीय विदेश मन्त्रालयले गुयानाका राष्ट्रपति मोहम्मद इरफान अलीको निमन्त्रणामा प्रधानमन्त्रीको भ्रमण भएको उल्लेख गरेको थियो ।

विदेश मन्त्रालयका पुर्व सचिव जयदीप मजूमदारले भारत र गुयानाबिच उच्चस्तरीय सम्पर्क बढेको जनाउर्दै गुयानासँग लामो समयदेखि विकासलगायतका अन्य आवाश्यक साझेदारी गरेको उल्लेख गरे ।

गुयाना भ्रमणका बारेमा विस्तृत जानकारी दिँदै मजूमदारले प्रधानमन्त्री मोदी राष्ट्रपति इरफान अलीसँग प्रतिनिधिमण्डल स्तरको वार्तामा संलग्न हुने बताएका छन्।

विदेश मन्त्रालयका अधिकारीले गुयाना विश्वको सबैभन्दा तीव्र गतिमा अघि बढिरहेको अर्थतन्त्र भएको उल्लेख गर्दै भविष्यमा भारतले गुयानासँग विभिन्न थप क्षेत्रमा साझेदारी गर्ने अवसर पाउने बताएका छन् ।

तीन वर्षपछि बिपी क्यान्सर अस्पतालमा पुनः ‘मेमोग्राफी’ सेवा

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा पुनः ‘मेमोग्राफी’ सेवा सुरुवात गरिएको छ । स्तन क्यान्सर पहिचानका लागि निकै उपयोगी मेसिन बिग्रिएपछि विगत तीन वर्षदेखि सेवा बन्द रहेको थियो । नयाँ मेसिन जडान गरी पुनः सेवा सुरु गरिएको हो ।

अस्पतालका उपनिर्देशक डा उमेश नेपालका अनुसार इटालीमा बनेको ‘डिजिटल मेमोग्राफी’ स्वास्थ्य सेवा विभागले खरिद गरी अस्पताललाई उपलब्ध गराएको छ ।

विगतमा अस्पतालमा यो मेसिन भए पनि बिग्रिएपछि विगत तीन वर्षदेखि सेवा बन्द रहेको उहाँको भनाइ छ । बिग्रिएको मेसिन मर्मत हुन नसक्ने भए पनि नयाँ खरिदका लागि स्वास्थ्य मन्त्रालयमा आग्रह गरिएको थियो ।  

मेसिन एक महिनाअघि नै अस्पतालमा आएको भए पनि जडानका लागि प्राविधिकहरु आइपुग्न ढिलो हुँदा अहिले सञ्चालनमा ल्याइएको उनले जानकारी दिए ।

स्तन क्यान्सरको परीक्षणमा अति प्रभावकारी यो मेसिन जडान र सेवा सुरु भएसँगै स्तन क्यान्सर समयमै पत्ता लगाई प्रभावकारी उपचार सुरु गर्न अझ बढी सहयोग मिल्ने उनको भनाइ छ ।

अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले  तीन करोड हाराहारी पर्ने उक्त मेसिन आएसँगै सेवालाई चुस्त बनाउन सहयोग मिलेको बताए । उनका अनुसार पछिल्लो समय अस्पतालमा भएका पुराना मेसिन उपकरणको मर्मत र नयाँ खरिद गरी सेवालाई थप प्रभावकारी बनाइएको छ । 

क्यान्सरको उपचार र परीक्षण प्रक्रिया आफैँमा लामो हुने भन्दै कार्यकारी निर्देशक डा पौडेलले भने, “बिरामी लामो पालो कुर्नुपर्ने अवस्थालाई घटाउँदै लगेका छौँ । अब रेडियोलोजी, शल्यक्रिया, प्रयोगशाला जस्ता सेवामा धेरै लामो पालो कुर्नुपर्ने अवस्था छैन ।” 
विगतमा कतिपय प्रयोगशाला परीक्षण बाहिर पठाउनुपर्ने बाध्यताको अन्त्य गरिएको भन्दै उनले दुईवटा सिटी स्क्यान मेसिन सञ्चालन गरेर नियमित सेवा दिएको बताए ।

कार्यकारी निर्देशक डा पौडेलले भने, “अब कुनै पनि परीक्षण र शल्यक्रियाका लागि अस्पताल बाहिर जानु पर्ने बाध्यता छैन ।” अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणका लागि समेत चिनियाँ सरकारको सहयोगमा काम भइरहेको छ  ।

एनपिएलमा सुदूरपश्चिम रोयल्सलाई नेपाल टेलिकमद्वारा प्रायोजन

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)मा सहभागी टोली सुदूरपश्चिम रोयल्सलाई नेपाल टेलिकमले प्रायोजन गरेको छ । 

यही मङ्सिर १५ गतेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुने उक्त प्रतियोगितामा सहभागी टोली सुदूरपश्चिम रोयल्सलाई नेपाल टेलिकमले सहयोग गर्ने विषयमा एक कार्यक्रमबीच प्रायोजनसम्बन्धी समझदारीपत्र आदान–प्रदान भयो । 

नेपाल टेलिकम, केन्द्रीय कार्यालयमा सुदूरपश्चिम रोयल्स टिमको टेलिकम पार्टनरका रुपमा नेपाल टेलिकम रहनेछ । उक्त समझदारीपत्रमा नेपाल टेलिकमका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्याल तथा सुदूरपश्चिम रोयल्सका तर्फबाट टिमका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक अर्यालले नेपालको खेलकुद क्षेत्रको बृहत्तर विकासका लागि नेपाल टेलिकमले सदैव योगदान दिँदै आएको र नेपाली क्रिकेटसँग पनि लामो समयदेखि जोडिरहेको सन्दर्भ उल्लेख गर्दै सुदूरपश्चिम रोयल्समार्फत एनपिएलमा जोडिन पाउँदा खुसी लागेको बताइन् ।

  उनले एनपिएलमार्फत नेपाली क्रिकेटले नयाँ उचाइ प्राप्त गर्ने र यो प्रतियोगिता नेपाली खेलकुद विकासक्रमकै महत्वपूर्ण कोसेढुङ्गाका रुपमा स्थापित हुने बताउँदै सुदूरपश्चिमाञ्चल रोयल्स टिमलाई सहकार्यका लागि हार्दिक आभारका साथै प्रतियोगितामा सफलताका लागि शुभकामना पनि व्यक्त गरिन् । 

सुदूरपश्चिमको मार्की खेलाडीमा दीपेन्द्रसिंह ऐरी छन् । मेन्टरमा अष्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक जगत टमाटा रहेका छन् । सुदूरपश्चिम रोयल्सको टोलीमा ऐरीसहित, आरिफ शेख, अभिनाश बोहोरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, ब्रान्डन मक्मलेन, सेफ अली जेब, स्कट कुगेलेइन, रोहन मुस्तफा, भोजराज भट्ट, नरेन साउद  र अमित श्रेष्ठ छन् ।

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्दै समृद्ध मुलुक निर्माणका लागि सहकार्य गर्न प्रचण्डको अपील

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्दै समृद्ध मुलुक निर्माणका लागि सहकार्य र एकताकासाथ अघि बढ्न सबैमा अपील गरेका छन् ।

विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेको ऐतिहासिक दिनको अवसरमा बुधबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गरी अध्यक्ष प्रचण्डले आफूहरुले शान्ति प्रक्रियाका बाँकी काम पूरा गरेर नेपालमा शान्तिको नयाँ मोडल स्थापित गर्न चाहेको बताएका हुन् ।

उनले भनेका छन्, ‘आज विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेको ऐतिहासिक दिन, दिवङ्गत नेता गिरिजाप्रसाद कोइरालासहित यो प्रक्रियामा सहकार्य गर्ने सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु । शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्दै समृद्ध मुलुक निर्माणका लागि सहकार्य र एकताका साथ अघि बढ्न पनि सबैमा हार्दिक अपील गर्दछु।’

उनले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रका निम्ति जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, मधेस आन्दोलनलगायत सबै न्यायपूर्ण आन्दोलनमा सहादत प्राप्त गर्ने सम्पूर्ण सहिदहरुप्रति उच्च सम्मान व्यक्त गरेका छन्।

म्याद थपका लागि दुर्गा प्रसाईंलाई अदालतमा पेस

काठमाडौँ । साइबर अपराधसम्बन्धी कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

नेपाल प्रहरीको साइबर ब्युरो (सिआइबी) ले प्रसाईंलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

उनले भने, ‘प्रसाईंलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको र उनीविरुद्ध साइबर अपराधसम्बन्धी कसूरमा म्याद लिएर अनुसन्धान गरिनेछ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मिथ्या र गलत सामग्रीबारे दुष्प्रचार गरेको आरोपमा प्रसाईंलाई मंगलबार सिआइबीले पक्राउ गरेको थियो ।

तोलामा नौ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा नौसय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ६३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य पाँच रुपैयाँ घटेर प्रतितोला एक हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ९५५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा विमानस्थल

राम थापा, गण्डकी । उद्घाटन भएको दुई वर्षमा केही ‘चार्टर’ उडान भएपनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान हुनसकेको छैन । सन् २०२३ को जनवरी १ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएको यस विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा छ । झण्डै २२ अर्ब रुपैयाँ ऋणमा बनेको यस विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसक्दा राज्यले अपेक्षित लाभ लिन सकेको छैन । 

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने ५० वर्षअघिको योजनाले सार्थकता पाएपनि विमानस्थल पूर्ण रुपमा सञ्चालनमा आउन नसक्दा स्थानीयवासीमा गुनासो बढ्दो छ । पर्यटकीय राजधानीसमेत रहेको पोखरा अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिएर ठूलो संख्यामा विदेशी पर्यटक भित्रने आशमा रहेका पर्यटन व्यवसायी पनि विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुँदा निराश बनेका छन् । यस विमानस्थल बनेपछि पोखराको पर्यटनमा झण्डै एक खर्ब रुपैयाँ लगानी थपिएको बताइन्छ । 

नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्न प्रेदश सरकार, पोखरा महानगरपालिका, पर्यटन व्यवसायीलगायतले पटक–पटक सङ्घ सरकारसमक्ष आग्रह गरेपनि हालसम्म कुनै परिणाम निस्कन सकेको छैन । मङ्गलबार मात्र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालसहितको टोलीले सोही आग्रह गरेको थियो । उक्त अवसरमा प्रधानमन्त्री ओलीले पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न आवश्यक रहेको र सोका लागि पहल गर्ने बताएको मन्त्री बस्यालले जानकारी दिए ।

“प्रदेश सरकारका तर्फबाट प्रधानमन्त्रीज्यू र नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीसमक्ष अन्तर्राष्ट्रिय उडान सञ्चालनका सम्बन्धमा ज्ञापनपत्र बुझाएका छौँ”, उनले भने, “दुवै पक्षबाट पोखरा विमानस्थललाई पूर्ण रुपमा सञ्चालन गर्न आवश्यक पहल र तयारी गर्ने प्रतिबद्धता आएको छ, छिट्टै पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान हुनेमा हामी आशावादी छौँ ।” मन्त्री बस्यालले सङ्घ सरकारले कुटनीतिक पहलमार्फत विभिन्न देशमा अन्तर्राष्ट्रिय उडान हुने वातावरण निर्माण गर्नुपर्ने बताए । 

“विमानस्थल उद्घाटन भएको पनि दुई वर्ष बित्न लाग्यो, नियमित अन्तर्राष्ट्रिय उडान सुरु नहुँदा विभिन्न प्रश्नहरु उब्जेका छन्, नागरिकमा पनि गुनासो बढ्दो छ”, उनले भने, “ऋणमा बनेको विमानस्थल भएकाले पूर्ण रुपमा सञ्चालनमा नआउँदा राज्यले उल्टो घाटा व्यहोरीरहनुपरेको छ, केही प्राविधिक समस्याहरु छन् भनेपनि तिनलाई तत्काल समाधान गरेर अन्तर्राष्ट्रिय उडानको वातावरण बनाउनुपर्छ ।”

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष आनन्दराज मुल्मीले विमानस्थल बनाउने ५० वर्षदेखिको पोखरेलीको सपना पूरा भएपनि अन्तर्राष्ट्रिय उडान हुन नसक्नु दुःखद् भएको बताए । सरकारले शीघ्र कुटनीतिक पहल सुरु गरेर अन्तरदेशीय उडान सुरु गर्नुपर्ने उनको भनाइ छ । अन्तर्राष्ट्रिय उडान नहुँदा विमानस्थलबारे अनेक टिकाटिप्पणी हुन थालेको भन्दै उनले विमानस्थल पूर्ण सञ्चालनमा ढिलाइ गर्न नहुने बताए । 

पोखराबाट अन्तर्राष्ट्रिय उडान नभएसम्म पर्यटकीय राजधानीका रुपमा पोखराले यथोचित लाभ लिन नसक्ने उनको भनाइ छ । पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान राष्ट्रिय ध्वजावहाक नेपाल एयरलाइन्सबाट सुरु गर्नुपर्ने उनले बताए ।  सरकारको नीति अनुसार उचित सहुलियत (प्याकेज) घोषणा गरी पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्नुपर्ने पर्यटन व्यवसायीको माग छ । 

पर्यटन व्यवसायी एवं पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले अन्तर्राष्ट्रिय उडान नहुँदा विमानस्थललाई हेरेर लगानी गरेका पर्यटन व्यवसायीसमेत मारमा परेको बताए । “पोखराको पर्यटन क्षेत्रमा करिब छ खर्बको लगानी रहेको अनुमान छ, अहिले पनि तारे होटल धमाधम बनिरहेका छन्, विमानस्थललाई हेरेर लगानी गरेका होटल व्यवसायी अहिले समस्यामा छन्”, उनले भने, “सरकारले जतिसक्दो चाँडो पोखराबाट नियमित अन्र्तराष्ट्रिय उडान सञ्चालन गरोस् भन्ने हाम्रो माग छ ।” 

पोखरा र सिङ्ग्रो गण्डकी प्रदेशको समृद्धिको आधार मानिएको पोखरा अन्र्तराष्ट्रिय विमानस्थललाई पूर्ण रुपमा सञ्चालनमा ल्याउन सके पर्यटकीय राजधानी पोखराले पर्यटनमा ठूलो फड्को मार्ने उनले बताए । विमानस्थल बनेको लामो समयसम्म अन्तर्राष्ट्रिय उडानका लागि सरकारले पहल गर्न नसकेकामा उनले दुःख पोखे । “विमानस्थल बन्दा उत्साहित बनेका पोखरेलीहरु अहिले निराश छन”, उनले भने ।

छिमेकी देश चीन र भारतसम्म नियमित उडान सेवा सुरु गर्न सकेपनि पोखरामा बर्सेनि ठूलो संख्यामा पर्यटक भित्राउन सकिने पर्यटन व्यवसायीको भनाइ  छ । व्यवसायीहरुले पोखराबाट अन्र्तराष्ट्रिय उडान गर्न आवश्यक नीति, नियममा सहजीकरण गर्नुपर्ने, भारत र चीनका मुख्य सहरमा उडान गर्न राष्ट्रियस्तरका हवाई कम्पनीहरुलाई अनुमति दिनुपर्नेलगायतका माग राख्दै आएका छन् । 

हवाई मार्गबाट देशका ठूला सहरसँग जोडिएको पोखराबाट अन्तर्राष्ट्रिय गन्तव्यमा भने नियमित उडान हुन सकेको छैन । वायुसेवा प्रदायक कम्पनीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सङ्घीय राजधानी काठमाडौँ, भरतपुर, भैरहवालगायतका गन्तव्यमा आन्तरिक उडान गर्दै आएका छन् ।     

रङ्गीविरङ्गी छाताले सिँगारियो धार्मिक पर्यटकीयस्थल दोमुखा

झापा । कनकाई नदी किनारमा अवस्थित धार्मिक पर्यटकीयस्थल दोमुखालाई यतिबेला बेहुलीझैं सिँगारिएको छ । पहाडको फेदमा रहेको यो क्षेत्र जिल्लाको आकर्षक पर्यटकीय गन्तव्यमध्येको एक हो । आन्तरिक एवं बाह्य पर्यटक आकर्षित गर्न ४५ हजार लागतमा उक्त स्थललाई तीन सय वटा विभिन्न रङका छाताले बेहुलीझैँ सिँगारिएको छ ।

शिवसताक्षी नगरपालिका–१० मा पर्ने दोमुखा पूर्वपश्चिम राजमार्ग माईधार बजारबाट उत्तर तीन किलोमिटरमा छ । धार्मिक पर्यटकीयस्थलको रुपमा परिचित दोमुखामा नवदम्पतीको फोटो खिच्न, विभिन्न म्युजिक भिडियो, चलचित्र छायाङ्कन र टिकटक बनाउन आउनेहरू पछिल्लो समय बढेका दोमुखा पर्यटन विकास समितिका अध्यक्ष धनप्रसाद लावतीले बताए ।

‘हामीले पर्यटन प्रवर्द्धन गर्न वर्षैँपिच्छे नयाँ योजना कार्यान्वयन गरेका छौँ’, उनले भने, ‘पर्यटकको मनोभावना बुझेर त्यहीअनुसारका संरचना निर्माण गरेका हौँ ।’

दोमुखामा आकर्षक बुद्धपार्क, व्यवस्थित वनभोजस्थल, बाल उद्यन, बहुसांस्कृतिक सङ्ग्रहालयलगायत संरचना छन् । दोमुखा सडकको प्रवेशद्धार माईधारमा आकर्षक द्धार निर्माण गरिएको छ । यहाँ आउने पर्यटकलाई मध्यनजर गरी ३० वटा बढी सानाठूला होटलसमेत सञ्चालनमा छन् । पालिकाले यस क्षेत्रका सडकका दुवैतिर सडकबत्ती जडान गरेर झिलीमिली बनाउने कार्यलाई अघि बढाएको शिवसताक्षी नगरपालिकाका प्रमुख रोशन थोप्राले जानकारी दिए । दोमुखामा साँझमा पनि पर्यटक आउने वातावरण बनाउन सन्ध्याकालीन कार्यक्रम पनि आयोजना गरिने योजना नगरप्रमुख थोप्राले बताए ।

कनकाई नदीबाट नहरमा बाँध निर्माण गरिएको र चुरे क्षेत्रसँग जोडिएको मनोरम क्षेत्र दोमुखामा मङ्सिरदेखि चैतसम्म पूर्वी नेपालका विभिन्न जिल्लाका साथै भारतको पश्चिम बङ्गाल, सिक्किम, विहारलगायत स्थानबाट पर्यटक आउने गरेका छन् । वार्षिक एक लाख बढी आन्तरिक तथा बाह्य पर्यटक यस क्षेत्रमा आउने गरेका छन् ।

महारभारत पर्वत शृङ्खलाबाट उत्पति भई चुरे पहाड हुँदै पूर्व मोहडा बनाई निस्कने कनकाई नदीको दक्षिणतर्फ नहर निर्माण गरी नदीलाई दुई मुखमा विभाजन गरेको हुँदा यस क्षेत्रको नाम दोमुखा रहेको हो ।

दोमुखालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न २०६२ सालमा दोमुखा धार्मिक तथा पर्यटकीय विकास समिति गठन भएको हो । हाल सो समितिमार्फत नगरपालिका, प्रदेश र सङ्घीय सरकारको आर्थिक सहयोगमा दोमुखामा कैयौँ भौतिक संरचना निर्माण भएका छन् ।

अर्जेन्टिनासँग पेरु पराजित

काठमाडौँ । दक्षिण अमेरिकी विश्वकप छनोट अन्तर्गतको खेलमा अर्जेन्टिनाले पेरुलाई पराजित गरेको छ । बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले पेरुलाई एक शून्यले पराजित गरेको हो ।

अर्जेन्टिनाको जितमा लाउतारो मार्टिनेजले खेलको ५५औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। मार्टिनेजले सो गोल लियोनल मेस्सीको असिस्टमा गरेका थिए ।

जितसँगै विश्वकप छनोटमा अर्जेन्टिनाको १२ खेलमा २५ अंकसहित शीर्ष स्थानमा छ। पराजित पेरुको भने १२ खेलमा केवल ७ अंकसहित अंकतालिकाको पुछारमा छ।

पर्यटनमन्त्री पाण्डेसँग सांसद बजगाईंले मागे माफी

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई लक्षित गरी आफूले दिएको अभिव्यक्तिप्रति माफी मागेका छन् ।

आफूले दिएको अभिव्यक्तिले मन्त्री र उनको परिवारलाई चोट पुगेको भन्दै क्षमा मागेका हुन् । बुधबार सामाजिक संजालमार्फत सांसद बजगाईंले यस विषयमा महामन्त्री विश्वप्रकाश शर्मा र अनुशासन समितिका संयोजक आनन्द ढुंगानासँग छलफल भएको र आफूले लगाएको आरोपले मन्त्रीजीलाई निकै चोट परेको पाएकाले फिर्ता लिएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘सामाजिक संजाल एक्स र फेसबुकमा मैले दिएको अभिव्यक्ति उपर केन्द्रीय कार्यालयमा महामन्त्री विश्वप्रकाश शर्मा र अनुशासन समिति संयोजक आनन्द ढुंगानासँग छलफल भयो । मैले लगाएको आरोपले उहाँ मन्त्रीजीलाई निकै चोट परेको पाएँ त्यसकारण उक्त लांछित अभिव्यक्ति फिर्ता लिएको छु । टिप्पणीबाट परिवारजनमा परेको चोटप्रती पनि क्षमाप्रार्थी छु।’

केही दिनअघि सांसद बजगाईंले मन्त्री पाण्डेले क्यासिनेको लाइसेन्स दिन ठूलो रकम लिएको आरोप लगाएका थिए । उनको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै मन्त्री पाण्डेले उनीविरुद्ध पार्टीको केन्द्रीय अनुशासन समितिमा उजुरी दिएका थिए । अनुशासन समितिले सांसद बजगाईंसँग स्पष्टीकरण लिएको थियो ।

वृद्ध अवस्थाका दुःख, पीडा समेटिएको ‘बुढेसकाल’

काठमाडौं । वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ अभिनित ‘बुढेसकाल’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा स्वर पनि श्रेष्ठकै छ ।

हरिभक्त बुढाथोकीले लेखेको गीतमा चेतन चुडालको संगीत, चन्दन साहको एरेञ्ज र महेश्वरमान राजभण्डारीको मिक्सिङ/माष्टरिङ रहेको छ । संकेत अगस्तिको निर्देशन रहेको गीतको भिडियोमा श्रेष्ठसँगै अभि सुनार, मारिया कार्की, जेशिका पोख्रेल, राधिका गजमेरको अभिनय छ । गीतको भिडियोमा वृद्ध अवस्थाका दुःख, पीडा र पारिवारिक अपहेलनालाई प्रस्तुत गरिएको छ ।