`

यस्तो छ ‘ह्रस्व दीर्घ’को ट्रेलर

काठमाडौं । फिल्म ‘ह्रस्व दीर्घ’को ट्रेलर सार्वजनिक भएको छ । अभिनेता हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगानाको प्रेम सम्बन्धमा आउने उतार–चढाव नै फिल्मको कथावस्तु हो ।

देवधाममा राज गरेका बसेका महामन्थ (प्रदीप रावत)की छोरी नारायणी (नीता)सँग हरि (हरिहर)को प्रेम अंकुराएको छ । तर, हरिहरको गरिमा शर्मासँग पनि प्रेम बसेको खुलेपछि उत्पन्न परिस्थितिलाई ट्रेलरमा चित्रण गरिएको छ ।

हरिहर रोमान्टिक र एक्सन अवतारमा प्रस्तुत छन् । अभिनेत्री विपना थापाले हरिहरकी आमाको भूमिका निभाएकी छन् । साउथ अभिनेता ब्रह्मानन्दम नीताको मामाको भूमिकामा देखिएका छन् भने ‘पुष्पा’ भिलेन सुनिल बर्मा नकारात्मक भूमिकामा प्रस्तुत छन् ।

साउथका कलाकारहरु अली, कबीर दुहन सिंहसहित नेपाली कलाकारहरु सरोज खनाल, रेखा थापा, सञ्चिता लुइँटेल, प्रशान्त ताम्राकार, किरण केसी, रविन्द्र झा, आदर्श मिश्र लगायतलाई पनि ट्रेलरमा स्थान दिइएको छ । नीता फिल्म्सले निर्माण गरेको यो फिल्म कात्तिक ३० गते नेपाल र भारतमा समेत रिलिज हुँदैछ ।

छठका लागि झकिझकाउ कमलपोखरी(फोटोफिचर)

काठमाडौं । छठ पर्वको रौनक यतिबेला काठमाडौं उपत्यकामा पनि बढेको छ । काठमाडौँ उपत्यकाकाभित्रका विभिन्न नदी यतिबेला झिलीमिली पारिएका छन् ।

छठ पर्व मनाउन महानगरपालिकाले नदी सफाइ र पालको व्यवस्था गरेको छ । यस वर्ष काठमाडौँ महानगर क्षेत्रभित्र ८ स्थानमा छठ पर्व मनाउने व्यवस्था मिलाइएको छ । महानगरले गौरीघाट, कोटेश्वर दोभान, कमलपोखरी, वंशीघाट, बालाजु बाइसधारा, धौखेल खोला, कुमारी क्लब, र भुवनेश्वरी मन्दिरमा छठ मनाउने व्यवस्था मिलाएको छ ।

सूर्यसँग मानवसहित प्राणी जगतको सम्बन्धमा आधारित सांस्कृतिक पर्व छठका लागि काठमाडौँ महानगरपालिका वडा नम्बर १ मा रहेको कमलपोखरी श्रद्धालुहरुको उपासनाका लागि तयार गरिएको छ । बत्तीको उचित व्यवस्थापन गरेर आकर्षक बनाइएको छ । छठ पूजाका लागि यसरी सिंगारिएको छ कमलपोखरी

तस्बिरः काठमाडौं महानगरपालिका

प्रधानमन्त्रीको चीन भ्रमण तयारीको नेतृत्व आरजुले गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीको संयोजनको जिम्मा परराष्ट्रमन्त्री डा. आरजु राणालाई दिइएको छ ।

मंगलबार बसेको कांग्रेस एमालेको दुई दलीय राजनीतिक संयन्त्रको बैठकले प्रधानमन्त्रीको चीन भ्रमणको तयारीको संयोजनको जिम्मेवारी परराष्ट्रमन्त्री राणालाई दिइएको हो ।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, चिनियाँ प्रधानमन्त्री लि छियाङको निमन्त्रणामा आगामी डिसेम्बर महिनामा हुने सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको मित्रराष्ट्र चीनको औपचारिक भ्रमणको तयारीको संयोजन प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्देशनमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गर्ने । दुई नेताको निर्देशन अनुरुप संयन्त्रको कार्यदलले भ्रमणका लागि आवश्यक गृहकार्यमा सहजिकरण गर्ने ।’

चिनियाँ प्रधानमन्त्री ली छ्याङले आगामी २–६ डिसेम्बर (मंसिर १७–२१) मा प्रधानमन्त्री ओलीलाई चीन भ्रमणको निम्तो पठाएका छन् ।

उपनिर्वाचनका लागि कांग्रेसले सातै प्रदेशमा खटायो केन्द्रीय नेता

काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा समन्वय गर्न र पार्टीका उम्मेदवारलाई विजयी बनाउन नेताहरुलाई जिम्मेवारी तोकेको छ ।

बुधबार महामन्त्री विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले उप–निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई विजयी बनाउन प्रदेश, जिल्ला र स्थानीय कार्यसमितिसँग आवश्यक, समन्वय र सहजीकरण गर्न नेताहरुलाई जिम्मेवारी तोकेको हो ।

कांग्रेसले बागमती प्रदेशमा महालक्ष्मी उपाध्याय ‘डिना’, कोशी प्रदेशमा भीष्मराज आङ्दम्बे, मधेश प्रदेशमा महेन्द्र यादव, कर्णाली प्रदेश एवं गण्डकी प्रदेशमा जीवन परियार, अन्तर पार्टी समन्वय गर्न डा. प्रकाशशरण महत, सुदूरपश्चिम प्रदेशमा एनपी. साउद, लुम्बिनी प्रदेश एवं निर्वाचन आयोग समन्वयमा पुष्पा भुसाल, प्रचार प्रसार संयोजनमा मीन विश्वकर्मा, स्थानीय तह समन्वयमा मधु आचार्य र नानु बाँस्तोलालाई सचिवालय व्यवस्थापनको जिम्मेवारी तोकेको छ ।

बैठकले उप–निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई विजयी गराउन सम्पूर्ण एकता, सालिनता र सकृयताका साथ अघि बढ्ने निर्णय पनि गरेको छ ।

सरकारलाई सघाउन कांग्रेस-एमालेले बनाए आठ सदस्यीय संयन्त्र

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले सरकारलाई सफल बनाउन आठ सदस्यीय संयन्त्र बनाएका छन् । दुई दलका तर्फबाट चार–चारजना सदस्य रहने गरी दुई दलले संयन्त्र बनाएका हुन् ।

संयन्त्रमा कांग्रेसबाट महामन्त्री गगन थापा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा रहेका छन् ।

त्यस्तै, एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल रहेका छन् ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सरकारका कामलाई प्रभावकारी बनाउन आवश्यक समन्वयका लागि संयन्त्र निर्माण गरेको जानकारी दिए । यस्तो संयन्त्र केन्द्र, प्रदेश र जिल्लासम्म बन्नेछ ।

सरकार निर्माणका बेला भएको संविधान संशोधनलगायत सात बुँदे सहमति कार्यान्वयन र सरकारको साझा न्यनुतम कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यानवयनमा लैजान भूमिका खेल्ने नेताहरुको भनाइ छ ।

विश्वकपको एसिया छनोटमा नेपालको विजयी सुरुवात

काठमाडौँ । आइसिसी महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालले थाइल्यान्डलाई पराजित गर्दै प्रतियोगतामा सुखद सुरुवात गरेको छ ।

संयुक्त अरब इमिरेट्स (युएई) को द सेभेन क्रिकेट रङ्गशालामा बुधबार भएको खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगिताको उद्घाटन खेलमा सुखद सुरुवात गरेको हो ।

नेपालले प्रस्तुत गरेको एक सय तीन रनको लक्ष्य पछ्याएको थाइल्यान्ड ११ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ३५ रनमै समेटियो । थाइल्यान्डका लागि अपिसरा सुवान्चोरथीले १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

नेपालका लागि रचनाकुमारी चौधरी एक्लैले चार विकेट लिइन् भने कप्तान पूजा महतो र रिया शर्माले समान दुई/दुई विकेट लिए । त्यसैगरी करिश्मा गुरुङ र मनिषाकुमारी उपाध्यायले समान एकरएक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय दुई रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि पूजा महतोले सर्वाधिक ३५ रनको योगदान दिइन् । उनले ४० बलमा तीन चौका र एक छक्काको मद्दतले ३५ रन जोडेकी हुन् । यसैगरी सीमाना केसी र सोनी पाख्रिनले समान १९/१९ रन बनाए ।

थाइल्यान्डका लागि चारुकन साइमाले दुई तथा सुनिसा बोङ्कोडफोंगम्पाईले एक विकेट लिइन् । यही कात्तिक २९ गतेसम्म चल्ने उक्त प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् ।

सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली विश्वकपमा छनोट हुनेछ । नेपालले भोलि आफ्नो दोस्रो खेल कुवेतसँग खेल्नेछ । विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।

कतारको संविधान संशोधन परियोजना जनमत सङ्ग्रहबाट स्वीकृत

दोहा । कतारको संविधान संशोधन परियोजना राष्ट्रिय जनमतसंग्रहबाट स्वीकृत भएको सरकारी समाचार एजेन्सी क्युएनएले बुधबार जनाएको छ ।

आन्तरिक मन्त्री तथा जनमत संग्रह समितिका अध्यक्ष शेख खलिफा बिन हमद बिन खलिफा अल थानीको नेतृत्वको जनमत सङ्ग्रह समितिले सन् २०२४ का लागि देशको स्थायी संविधान संशोधनको मस्यौदामा जनमत सङ्ग्रहको परिणाम स्वीकृत गर्ने घोषणा गरेको हो । थानीले जारी गरेको विज्ञप्तिअनुसार कतारको संविधानको संशोधनको परियोजनाले कुल वैध मतको ९०.६ प्रतिशत लोकप्रिय स्वीकृति पाएको छ ।

यसअघि गत अक्टोबर २९ मा कतारका अमिर शेख तमिम बिन हमद अल–थानीले १८ वर्ष वा सोभन्दा माथिका सबै नागरिकलाई जनमत सङ्ग्रहमा सहभागी हुन आह्वान गर्दै आदेश जारी गरेका थिए ।

कतारी समाजका विभिन्न वर्गहरूबिच एकताको समावेश गरेको यस राष्ट्रिय कार्यक्रममा प्राप्त सफलताहरूको कदर गर्दै जनमतसङ्ग्रह समितिले बुद्धिमान् नेतृत्व र उदार कतारी जनतालाई धन्यवाद दिएको छ ।

क्युएनएको अघिल्लो रिपोर्टका अनुसार पछिल्लो संवैधानिक संशोधनले कतारको आन्तरिक र विदेश नीति ढाँचामा महत्वपूर्ण अद्यावधिक प्रस्तुत गरेको छ जसमा विधायी सीटहरूका लागि सीमित मतदान समाप्त गर्ने कि नगर्ने भन्ने उल्लेख छ । 

इजरायलमाथि हतियार प्रतिबन्ध लगाउन राष्ट्रसङ्घ समक्ष इजिप्ट र टर्कीको माग

कायरो । इजिप्ट र टर्कीको नेतृत्व तथा दर्जनौं देशहरूको समर्थनमा संयुक्त राष्ट्रसङ्घ समक्ष इजरायलमाथि हतियार प्रतिवन्धको आवाह्न गरिएको छ । पछिल्लो समयमा लेबनानमा हेजबुल्लाहविरुद्धको चरम युद्ध भइरहेको अवस्थामा यस्तो आह्वान आएको हो ।

इजिप्टको विदेश मन्त्रालयले  जारी गरेको विज्ञप्तिमा अन्तर्राष्ट्रिय मानवीय कानूनको निरन्तर उल्लङ्घन रोक्न इजरायललाई दबाब दिने अन्तर्राष्ट्रिय प्रयासको एक हिस्साको रूपमा यस्तो आह्वानमा सामेल भएको जनाएको छ ।

आर्यान्वयनले प्यालेस्टिनीविरुद्धको ‘इजरायली दमन रोक्ने र नागरिकहरूको सुरक्षा गर्ने लक्ष्य राखेको’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अङ्काराले इजरायललाई हतियार आपूर्ति रोक्न आह्वान गर्दै ५२ देशहरूले हस्ताक्षर गरेको पत्र पेस गरेपछि राष्ट्रसङ्घका लागि इजरायली राजदूत ड्यानी डेननले सोमबार टर्कीलाई ‘यड्यन्त्र’ गरेको आरोप लगाएका छन् ।

इजिप्ट सन् १९९७ मा इजरायलसँग शान्ति सन्धिमा हस्ताक्षर गर्ने पहिलो अरब देश थियो भने सन् १९९४ हस्ताक्षर गर्दै शान्ति सन्धिमा सहमति जनाउने जोर्डन दोस्रो अरब मुलुक बनेको थियो ।

७२ अर्बका पाँचवटा आयोजनाको तयारी ‘फास्ट ट्र्याक’मा गरिने

काठमाडौँ । विश्व बैंकको सहयोगमा नेपालमा सञ्चालन गरिने करिब ७२ अर्ब बराबरका पाँचवटा आयोजनाको तयारी ‘फास्ट ट्रयाक’मा गरिने भएको छ ।

अर्थ मन्त्रालयमा मंगलबार बसेको बैठकले पूर्व–पश्चिम राजमार्गको बागमती–पथलैया खण्ड विस्तार, तेस्रो पुल तथा सुधार तथा सम्भार, विद्युत् वितरण प्रणाली आधुनिकीकरण तथा सुधारको आयोजनाको पूर्व तयारी छिटो सम्पन्न गर्ने निर्णय गरेको हो ।

यसैगरी तेस्रो चरणको रानीजमरा कुलरिया सिँचाइ र पहुँच तथा उत्थानशिलताका लागि डिजिटल सेवा रुपान्तरणसम्बन्धी आयोजनाको तयारी पनि फास्ट ट्र्याकमा गर्ने निर्णय भएको छ ।

विश्व बैंकको सहुलियतपूर्ण ऋण लगानीमा सञ्चालित हुने आयोजनाको सम्बन्धित मन्त्रालयले सरोकारवालासँग छलफल गरी पूर्व तयारी गर्नेछन्, भने आवशयकता अनुसार अर्थ मन्त्रालयले सहजीकरण गर्नेछ ।

बैठकले सन् २०२५ को फेब्रुअरीसम्ममा आयोजनासँग सम्बन्धित सबै विषयको टुङ्गो लगाइ पूर्व तयारीका काम सक्ने निर्णय भएको छ । तयारी पूरा भएपछि सन् २०२५ को मार्चमा बस्ने विश्व बैंकको बोर्ड बैठकमा ती आयोजनाका प्रस्ताव पेस गरिने योजना छ ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आयोजनाको पूर्व तयारीमा विशेष ध्यान दिन र आयोजनाहरु स्वीकृत भएपछि कार्यान्वयनमा तदारुकताका साथ लाग्न निर्देशन दिए । उनले नेपालले आफ्नो आवश्यकता अनुसार सहयोग लिने र अधिकतम प्रतिफल दिने ठाउँमा लगानी गर्ने बताए ।

बैठकमा अर्थ मन्त्रालय, भौतिक तथा यातायात मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधि र सम्बद्ध पदाधिकारीको उपस्थिति थियो ।

आशामै बित्यो रोशीका बाढीपीडितको एक महिना

पेमा लामा, धुलिखेल । अविरल परेको वर्षाका कारण रोशी खोलामा आएको बाढीले बस्ने घर र खाने अन्न फलाउने खेत सबै बगाएपछि पनौती नगरपालिका–१२ रोशी बजारका गीता केसी छिमेकीको घरमा बस्दै आएकी छन्। ‍भएको घरबार, लत्ताकपडा अनि पकाएर खाने भाँडाकुँडा सबै बगाएपछि राज्यले केही गरिदिन्छ कि भन्ने आशामा बस्दै दिनगन्ती गरेको एक महिना पनि बढी भयो।

राज्यले बासस्थान बनाइदिने भन्ने कुराले मनमा आशा पालेर बसेका बाढी, पहिरोपीडितको एक महिना त्यतिकै बितेको छ। अहिलेसम्म उचित व्यवस्थापनसमेत नगरेको उनको गुनासो छ।

पाँच रोपनी जग्गामा लहलह झुलेको धान सबै सखाप हुनेगरी नजिकै रहेको घरबारसँगै बाढीले बगाएपछि अहिले उनीहरु छिमेकीको घरमा रात बिताउँदै आएका छन्। ‘बाढीले ल्याएर थुपारेको ढुङ्गा, दाउरा र काठ पन्छाएर भए पनि अन्न फलाउने खेत त बनाउनै पर्‍यो’, यत्रतत्र छरिएका काठ र दाउरा टिप्दै उनले भनिन्, ‘आफ्नो भएको जग्गा नै यही हो, अरू विकल्प केही छैन।’

खाद्यान्न चाहिँ अलिअलि पाइरहेको र केही दिनअगाडि जस्तापाता बाँडेकाले लिएर राखेको उनले सुनाइन्। सरकारले छिट्टै बास बस्ने ठाउँको उचित व्यवस्थापन गरिदिए बाढीले बगाएर खोलासँगै धमिलिएको मन केही भए पनि सफा हुने उनी बताउँछिन्।

बाढीले ढलाएको घर हेर्दै खोलाको बगरमाथि त्रिपालमा सुकाएको धान सफा गरिरहेकी माथिल्लो रोशी बजारका मनकुमारी तामाङले खाने र बस्ने स्थानको सुनिश्चितताको आशामा दिन बितिरहेको बताइन्। पनौतीमा कोठा लिएर बस्दै आएका उनीहरु बस्ने घर नै नभएपछि त्यहीको नजिक रहेको जस्ताको सानो टहरामा धान भित्र्याउने सुरसारमा छन्।

‘सधैँ त कोठा लिएर बस्न सकिँदैन’, उनले भनिन्, ‘अब कसरी बनाउने भन्ने चिन्ताले सताइरहेको छ।’ खेती किसानी गरेर जीविको चलाउँदै आएकि र परिवारको आम्दानीका रुपमा रहेको फर्निचरसमेत घरसँगै बाढीले बगाएपछि एक महिनादेखि कष्टकर जीवन बिताइरहेको उनले सुनाइन्।

अर्का स्थानीय बासिन्दा मैना तामाङले घर ढलेको पीरसँगै खल्लो गरी बिताएको दसैँ, तिहार सकिए पनि घरबार र खाने कमाउने कुनै टुङ्गो नभएको सुनाइन्। सोही ठाउँका नवराज गुरुङ गाउँका युवाहरुलाई ज्यालामा लगाएर बाढीले थुपारेको गेग्रानहरु पन्छाउन थालेका छन्। यसअघि खोलाको बाढी र काम गर्ने मान्छे पनि नपाएको अवस्था रहेकामा विस्तारै पुरिएको बासस्थान व्यवस्थित गर्न थालेको उनले बताए।

दुईतले घर बगाएपछि बिचल्लीमा रहेको शङ्कर तामाङ छिमेकीको घरमा बस्दै आएका छन्। बस्ने घर बनाउन पैसा नै नभएको र खाने अन्नपात सङ्घसंस्थाले वितरण गरेकाबाट चलाइरहेको उनी राज्यले सुरक्षित बस्ने ठाउँको व्यवस्थापन गरिदिने आशामा रहेको बताउँछन्।

सोही गाउँका रवीन्द्र नगरकोटीले बाढी, पहिरो गएको एक महिना बितिसक्दा पनि के कस्तो समस्या छ र खाने बस्नेको अवस्था के कस्तो छ भनेर स्थानीय सरकार एकपटक पनि सोध्न नआएको गुनासो गरे। सबै चीज बगाएपछि बालबालिकाको पढ्ने ठाउँ र बस्ने स्थानको सुनिश्चित नहुँदा समस्यामा परेको उनको भनाइ छ ।

स्थानीय राजेन्द्र केसीले व्यक्तिको घरबारी र खेत सबै बगाएपछि बिचल्लीमा परेका नागरिकलाई सुरक्षित ठाउँमा आवासको व्यवस्थापन गर्न अपरिहार्य रहेको बताए। ‘विपद्पछि उद्धार र राहतसँगै बाटोघाटो त बन्यो, तर उहाँहरुलाई त्यसले खासै छोएको छैन’, उनले भने, ‘सुरक्षित तरिकाले बस्ने आवास छैन, कमाई खाने ठाउँ छैन। राज्यले यहीको भूगोललाई छनोट गरेर एकीकृत रुपमा बस्ने आवासको व्यवस्थापन गर्न आवश्यक छ। बस्ने घर नै नहुँदा बालेको बिजुली, पुर्‍याएको मोटरबाटो र खानेपानी कसरी उपभोग गर्ने?’

पनौती नगरपालिका–१२ का वडाध्यक्ष जयराम केसी यहाँका नागरिकका लागि बगरमा बाढीको र डाँडापाखामा पहिरोको डर भएकाले व्यवस्थित एवं एकीकृत बस्ती विकासतर्फ सरकारको ध्यान जानुपर्ने बताउँछन्। बासस्थानका लागि उचित ठाउँको अभाव भएको कारण तिहारपछि जनप्रतिनिधिको बैठक बसेर आवास व्यवस्थापनका लागि आवश्यक कदम चाल्ने उनले बताए। यस पटकको बाढीपहिरोबाट यस वडामा पाँचजनाको मृत्यु भएको र तीन सयभन्दा बढी घरमा पूर्ण क्षति भएको छ।

त्यस्तै, ७० भन्दा बढी गाईभैँसी, पाँच हजारभन्दा बढी कुखुरा र दुई सयभन्दा बढी खसीबोका पुरिएको छ। अझै विवरणहरु सङ्कलन भइरहेको र सडक, विद्युत्, खानेपानीलगायत कामलाई व्यवस्थित गर्दै अगाडि बढिरहेको वडा कार्यालयले जनाएको छ।

पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले पहिलो आवश्यकता आवास भएकाले त्यसको आवश्यक व्यवस्थापन गर्ने कार्यमा जोड दिइएको बताए। उनले भने, ‘बस्ने ठाउँको व्यवस्थापन गर्न सकेको अवस्थामा बस्तुभाउ पालेर पुनः जीवनयापनलाई बिस्तारै पुरानै लयमा फर्काउन सकिनेछ।’ उनले यस खालको विपद् फेरि पनि सहन नपरोस् भन्नका लागि पनि राज्यले सुरक्षित रुपमा बसोबासको व्यवस्थापन गर्न सङ्घीय सरकारबाट नै सहयोग आवश्यक रहेकामा जोड दिए।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले तत्कालका लागि खाद्यान्नलगायत आवश्यक व्यवस्थापनका लागि विभिन्न सङ्घसंस्थाहरुले वितरण गर्ने नगद सहयोगमा वितरणमा पाँच जनासम्मको परिवार भएकालाई रु १५ हजार र त्यसभन्दा बढी भएको परिवारलाई रु २० हजारका दरले एकरुपता हुने गरेर वितरण गर्ने निर्णय भएको जनाए।

बासस्थान निर्माण गर्ने विषयमा जोखिमयुक्त बस्तीको भौगोलिक अवस्था अध्ययनका लागि राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सहरी विकास तथा भवन कार्यालयलाई अनुरोध गर्ने निर्णय भएको छ।

विपद्पछिको एक महिनामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), गृहमन्त्री रमेश लेखक, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल र उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलगायतले बाढीपहिरो प्रभावित क्षेत्र पनौती–१२ रोशी बजार क्षेत्र कलाँती भूमिडाँडाको स्थलगत निरीक्षण गरिसकेका छन्।

इजरायलको राजदूतमा पण्डित नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलका लागि नेपाली राजदूतमा प्रा धनप्रसाद पण्डितलाई नियुक्त गरेका छन् ।

नेपालको संविधानअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले पण्डितलाई इजरायलका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ । 

ह्यारिसलाई पराजित गर्दै ट्रम्प अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित

बीबीसी । अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प दोस्रो पटक विजयी भएका छन् । डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै ट्रम्प अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

ट्रम्पले कम्तीमा २ सय ७७ इलेक्टोरल मत पाउने निश्चित भएको हो । अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन कुल ५ सय ३८ मतमध्ये कम्तीमा २ सय ७० इलेक्टोरल मत ल्याउनुपर्छ ।

ट्रम्पलाई विश्वभरका नेताहरुको बधाई

बीबीसी । विश्वका नेताहरूले डोनल्ड ट्रम्पलाई अमेरिकी राष्ट्रपति बन्ने निश्चित भएकोमा बधाई दिन थालेका छन् । मतपरिणामको प्रक्षेपणका आधारमा रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प पुनः राष्ट्रपति निर्वाचित हुने देखिएको छ ।

त्यसलाई उनले ‘ऐतिहासिक चुनावी जित’ भनेका छन् । बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले डोनल्ड ट्रम्पलाई बधाई दिँदै भनेका छन्, ‘आगामी वर्षहरूमा म तपाईँसँग काम गर्न तयार रहेको छु।’ स्टार्मरले ‘सबैभन्दा नजिकको साझेदारका रूपमा’ स्वतन्त्रता र लोकतन्त्रका ‘साझा मूल्य’ रक्षाका लागि ट्रम्पसँग ’काँधमा काँध’ मिलाएर खडा हुने विश्वास व्यक्त गरेका छन् ।

उनले आगामी वर्षहरूमा सुरक्षा, नवप्रवर्तन, प्रविधिलगायतको विकास र सुरक्षाका विषयमा बेलायत र अमेरिकाको ‘विशेष सम्बन्ध’ थप विस्तार हुने ठानेको जनाएका छन् । इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले पनि ट्रम्पलाई बधाई दिएका छन् ।

उनले भनेका छन्, ‘तपाईँको ऐतिहासिक पुनरागमनका लागि बधाई ! ह्वाइट हाउसमा तपाईँको फिर्तीले अमेरिकाका लागि नयाँ सुरुवात र इजरेल तथा अमेरिकाबीचको महान् साझेदारीको शक्तिशाली पुनः प्रतिबद्धतालाई दर्शाउँछ।’

युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले आफूले अमेरिका–युक्रेन साझेदारीको ‘दरिलो युग’को पर्खाइमा रहेको बताउँदै रुसविरुद्धको युद्धमा लगातारको अमेरिकी सहयोगका लागि आशावादी रहेको जनाएका छन् ।

फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोँले युरोपको हितको रक्षा गर्दै ट्रम्पसँग “सम्मान र महत्वाकांक्षा“का साथ काम गर्न तयार रहेको बताएका छन् ।

हङ्गेरीका दक्षिणपन्थी राष्ट्रपति भिक्टर ओर्बानले ‘विश्वका लागि अति आवश्यक विजय’ भनेका छन् । ताजा विवरणअनुसार डोनल्ड ट्रम्पले राष्ट्रपति निर्वाचित हुन आवश्यक २७० इलेक्टोरल कलेज मत मात्र नभई कुल मत वा कुल लोकप्रिय मतमा पनि जित्ने प्रक्षेपण गरिएको छ ।

सन् २०१६ मा उनले पहिलोपल्ट राष्ट्रपति निर्वाचन जित्दा लोकप्रिय मतमा भने हिलरी क्लिन्टन अगाडि थिइन् । पछिल्लो आँकडामा ट्रम्पले ६ करोड ९० लाखभन्दा धेरै मत पाएका छन् भने कमला ह्यारिसले ६ करोड ३७ लाखभन्दा धेरै मत पाएकी छन्। मतगणना अझै जारी छ।

ह्वाइट हाउसमा फर्किएपछि उनले इतिहासमै सबभन्दा धेरै आप्रवासीलाई देशनिकाला गर्ने, वैदेशिक व्यापारमा थप शुल्कहरू लगाउने अनि युक्रेन र मध्यपूर्वका युद्ध अन्त्य गर्ने वाचा गरेका छन्।

नेपालले थाइल्याण्डबिरुद्ध ब्याटिङ गर्दै

काठमाडौँ । आइसीसी यु–१९ महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोटअन्तर्गत अहिले नेपालले थाइलैन्डबिरुद्ध ब्याटिङ गरिरहेको छ । थाइल्याण्डले टस जितेर फिल्डिङ राजेपछि नेपालले ब्याटिङ गर्न पुगेको हो ।  

आजदेखि सुरु छनोटको खेलमा नेपालले आजै थाइल्यान्डको सामना गर्दैछ । युएईको अजमानस्थित द सेभेन डिस्ट्रिक्ट स्टेडियममा नेपाल र थाइल्यान्डबीचको खेल नेपाली समयनुसार दिउँसो ३ः१५ मा हुनेछ । 

युनाइटेड अरब इमिरेट्स (युएई) मा आजदेखि सुरु भएको उक्त प्रतियोगिता यही कात्तिक २८ गतेसम्म चल्ने छ । प्रतियोगितामा नेपालसहित युएई, कुवेत र थाइल्यान्ड सहभागी छन् । 

प्रत्येक टोलीले एकअर्कासँग दुई दुई खेल खेल्ने छन् । नेपालले आफ्नो दोस्रो खेल यही कात्तिक २२ गते कुवेतसँग खेल्ने छ । प्रतियोगितामा शीर्ष स्थानमा रहने टोलीले सन् २०२५ मा मलेसियामा हुने आइसीसी यु–१९ महिला टी–ट्वान्टी विश्वकपमा स्थान बनाउनेछ । 

एसिया छनोट खेलिरहेको नेपाली टोलीमा पूजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), ज्योत्सिन्का मरासिनी, कृश्मा गुरुङ, सावित्री धामी, साना प्रवीण, कुसुम गोदार, सीमा केसी, एलिसाकुमारी यादव, मनिषाकुमारी उपाध्याय, रिया शर्मा, स्नेहा महरा, रचनाकुमारी चौधरी र तृष्णा विश्वकर्मा रहेका छन् ।

लुम्बिनीलाई पराजित गर्दै सुदूरपश्चिमलाई यु-१९ राष्ट्रिय क्रिकेटको उपाधि

काठमाडौं । नरेश श्रेष्ठ स्मृति यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ । लुम्बिनी प्रदेशलाई आठ रनले हराउँदै सुदूर च्याम्पियन बनेको हो ।

बुधबार सुदूरपश्चिमले दिएको १२८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ४३.१ ओभरमा विकेट गुमाउँदै ११९ रन मात्रै बनाउन सक्यो । लुम्बिनीका लागि कप्तान आकाश त्रिपठीले ४४ बलमा २२ रन बनाए। विजय कोहर १९, सन्तोष यादव १२ रन बनाउँदा समीर अली मुस्लिमले १८ रन बनाए ।

यस्तै, शिव कुँवर २० रनमा अविजित रहे पनि लुम्बिनीको हार टार्न सकेनन् । सुदूरपश्चिमको जितमा हेमन्त धामीले चार विकेट लिए। सचिन भट्ट दुई र नरेन साउद दुई विकेट लिए।

अशोक धामीको नामा एक रह्यो । त्यसअघि विराटनगरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले ३७.३ ओभरमा सबै विकेट गुमाउँदै १२७ रन बनाएको थियो ।

सुदूरपश्चिमाका लागि अभिषेक थापाले २९, नरेन भट्टले २७, नरेन साउदले १५, राजेश ऐरले १४ र दीपक रोकायाले ११ रन बनाए । लुम्बिनीका लागि सन्तोष यादवले १० ओभरमा दुई मेडनसहित २८ रन खर्चिएर पाँच विकेट लिए।

यसैगरी रमेश कुर्मीले तीन र शिव कुँवरले एक विकेट हात पारे । समूह चरणबाट लुम्बिनी शीर्ष र सुदूरपश्चिम दोस्रो स्थानमा रहँदै फाइनल पुगेका हुन्।

रौतहटमा जङ्गली हात्तीले गर्‍यो धान र केराखेती नष्ट

चन्द्रपर  ।  रौतहटका गाउँमा जङ्गली हात्ती पस्न थालेपछी स्थानीय त्रसित भएका छन् । जङ्गली हात्ती गाउँ छिरेपछि अहिले जिल्लाको गुजरा, वृन्दावन र चन्द्रपुर नगरपालिकाका स्थानीय त्रसित बनेका हुन् ।

हात्तीले भित्र्याउने बेलाको धान नष्ट गर्न थालेपछी किसान चिन्तित छन् । गत आइतबार मात्रै रौतहटको गुजरा नगरपालिका–२ को चोचा, मैरालगायत गाउँमा हात्तीले भित्र्याउने बेला भएको धानबाली नष्ट गरेको थियो ।

करिब पाँच बिघाभन्दा बढी खेतमा लगाइएको धानबाली हात्तीले नष्ट गरेको गुजरा–२ का वडाध्यक्ष अशोककुमार चौधरीले जानकारी दिए । हात्तीले लक्ष्मी चौधरी, रामविश्वास चौधरी, जगदीश माझी, खहेरु साहलगायत स्थानीयको धान नष्ट गरेको उनले बताए।

केहीदिनअघि मात्रै चन्द्रपुर नगरपालिका–२ वनटोलमा जङ्गली हात्ती पसेर धान तथा उखुबाली नष्ट गरेको थियो । बिहानै धानबारीमा हात्ती देखेपछि स्थानीय त्रसित भएका थिए । हात्तीले वनटोलको धान तथा उखुबाली पूर्ण रुपमा नष्ट गरेको स्थानीय बाबुराम घिसिङले जानकारी दिए।

चन्द्रपुर–३ गैँडाटारमा हात्तीले केराखेतीमा क्षति गरेको छ । गाछी टोलमा दर्जनौँ हात्ती केरा बारीमा प्रवेश गरी क्षति पुर्‍याएको स्थानीय गोपाल फुँयालले जानकारी दिए। सो गाउँको एक बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको केराखेती हात्तीले नष्ट गरेको उनले बताए।

त्यसैगरी वृन्दावन नगरपालिका–१ बलेरी क्षेत्रमा पनि जङ्गली हात्तीको आतंकले स्थानीय त्रसित बनेका छन् । साँझ पर्ने बित्तिकै सधैँ गाउँ आउने जङ्गली हात्तीको समूहले किसानको धानबालीमा क्षति पुर्याउन थालेपछी स्थानीय चिन्तित बनेका हुन् ।

स्थानीय सुरेन्द्र पटेलका अनुसार श्री भगवान् ठाकुर, ठाकुर राउतसहित दर्जनौँ किसानका खेतमा लगाइएको धान हात्तीले नष्ट गरेको छ । उक्त गाउँका बासिन्दा हात्तीका कारण रातभरि जाग्राम बस्न बाध्य छन् ।

गत साता मात्रै फतुवा विजयपुर–११ बुटुवा राँगीमा हात्तीको आक्रमणबाट पातलीमाया तामाङको ज्यान गएको थियो । गत शुक्रबार बिहानै फतुवा विजयपुर–११ राँगीमा बस्ने ७० वर्षीया तामाङको हात्तीको आक्रमणबाट ज्यान गएको जिल्लास्थित डिभिजन वन कार्यालयले जनाएको छ । घरमा सुतिरहेको अवस्थामा हात्तीले आक्रमण गर्दा तामाङको ज्यान गएको थियो । जङ्गली हात्तीले एक्कासि घरमाथि आक्रमण गर्दा मृतकका श्रीमान् भागेर ज्यान बचाउन सफल भएका थिए ।

धान पाक्ने बेला भएपछि पर्सा राष्ट्रिय निकुन्जबाट बर्सेनि हात्ती रौतहटको गैँडाटार, जुडिबेला, पौराई, चन्द्रनिगाहपुर, गुजराको चोचा, मैरा, जङ्गलसहिया गाउँ, वृन्दावनको बलरी, फतुवा विजयपुर नपाको राँगी बुटुवालगायत गाउँमा पस्ने गर्दछन् । हात्तीले खासगरी उखु, धान, केराखेतीमा क्षति पुर्‍याउँदै आएका छन् । गतवर्ष मात्रै हात्तीको आक्रमणबाट चन्द्रपुरमा घाँसदाउँरा गर्न गएका दुईजना महिलाले ज्यान गुमाएका थिए । हात्ती आतङ्कले गर्दा यहाँका नागरिक घाँसदाउँरा गर्न जङ्गल जानसमेत छाडेका छन् ।

हात्तीले क्षति पुर्‍याएकाको परिवारलाई डिभिजन वन कार्यालयले क्षतिपूर्ति दिने निर्णय गरेको छ । डिभिजन वन कार्यालयमा हात्तीले क्षति पुर्‍याएका पीडितपरिवारले राहतका लागि निवेदन दिएका छन् ।

हालसम्म करिब २० जनाले राहतका लागि निवेदन दिएको डिभिजन वन प्रमुख हेमन्तप्रसाद साहले जानकारी दिए। हात्तीको आक्रमणबाट ज्यान गुमाएका, घाइते भएका, घर भत्किाएका, बाली क्षति भएकाको यकिन विवरण संकलन गरेर क्षतिपूर्ति दिने प्रावधान रहेको उनले उल्लेख गरे ।

कानुन अनुसार पीडित परिवारलाई क्षतिपूर्ति दिइने भन्दै क्षतिको विवरण संकलन भइरहेको साहले जानकारी दिए। हात्तीको आक्रमणबाट बच्न जङ्गलको छेउछाउमा बस्ने स्थानीयलाई डिभिजन वन कार्यालयले सचेत गराउँदै आएको बताउँदै उनले सर्वसाधारण आफैँ पनि सचेत र चनाखो भएर बस्नुपर्नेमा जोड दिए।

नेप्सेमा पाँच अर्ब २२ करोडको कारोबार

काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजार नेप्से सामान्य अंकले घटेको छ । बुधबार नेप्से एक दशमलव ८८ अङ्कले घटेर दुई हजार ६ सय ७५ दशमलव ५१ विन्दुमा झरेको छ ।

आज विकास बैंक, फाइनान्स, जलविद्युत्, म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, होटल समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज कुथेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा धेरै साढे नौ प्रतिशतले घटेको छ ।

बजार सामान्य घटेको दिन नारायणी विकास बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ भने बलेफी हाइड्रोपावर र पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज बजार घटे पनि कारोबार रकम भने बढेको छ । मंगलबार चार अर्ब २० करोडको शेयर कारोबार भएकोमा बुधबार एक करोड १६ लाख कित्ता शेयर पाँच अर्ब २२ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा संलग्न चिकित्सकका अनुसार स्वास्थ्य परीक्षणका सबै रिपोर्टहरु सामान्य रहेको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली सामान्य ज्वरोका कारण मङ्गलबारदेखि अत्यावश्यकबाहेक अन्य कुनै भेटघाट र कार्यक्रम नराखी बालुवाटारमा आराम गरिरहेका छन् ।

काठमाडौं उपत्यकामा यसरी गरिँदैछ छठघाट निर्माण(फोटोफिचर)

काठमाडौँ । तिहार सकिएलगत्तै काठमाडौँ उपत्यकामा छठको रौनक सुरु भएको छ । काठमाडौँ उपत्यकाका गौरीघाट, थापाथली, कमलपोखरीलगायतका स्थानमा छठका लागि गरिएको तयारी अन्तिम चरणमा पुगेको छ ।

छठ पूजाका लागि काठमाडौँका नदी किनार झिलिमिल बत्तीसहित सिङ्गारिएका छन् । पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा आकर्षक रुपमा छठघाट निर्माण थालिएको छ ।

गुह्येश्वरीबाट गौरीघाटसम्म आकर्षक रुपमा सजाएर छठघाट अर्थात् पूजास्थल निर्माण गरिएको छ । उक्त क्षेत्रमा पाँच सय ६७ छठघाट अर्थात् पूजा कक्ष निर्माण गर्न लागिएको गुह्येश्वरी गौरीघाट छठ पूजा समितिका सदस्य चन्द्रकान्त झाले जानकारी दिए ।

उनले भने, ‘हामीले पाँच सय ६७ छठ घाट निर्माण गरेका छौँ, आज बिहानसम्म पाँच सय ५० वटा स्टल बुक भइसकेका छन् ।’

पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा हुने छठका लागि पशुपति क्षेत्र विकास कोषले तीन लाख उपलब्ध गराउने भएको गुह्येश्वरी गौरीघाट छठ पूजा समितिका कोषाध्यक्ष धीरेन्द्रकुमार गुप्ताले बताए ।

यसैगरी कमलपोखरीमा पनि छठको तयारी भइरहेको र टेन्ट राख्ने काम लगभग सकिएको छठ पूजा समाजले जनाएको छ । कमलपोखरीमा २६० वटा टेन्ट बनाएको समितिले जनाएको छ । छठका लागि काठमाडौँका गौरीघाट, थापाथली, कमलपोखरीलगायतका स्थानमा रहेका नदीहरुको सरसफाइ गरिएको छ ।

तस्बिरः नवीन पौडेल/रासस

टिकटक नेपालमा आधिकारिक रुपमा दर्ता

काठमाडौं । टिकटक नेपालमा आधिकारिक रुपमा दर्ता भएको छ । मंगलबार नेपालमा आधिकारिक रूपमा सामाजिक सञ्जाल टिकटक दर्ता भएको हो ।

दर्ता भएसँगै अब टिकटकले कानूनी वैधानिकता पाएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले बताए । सरकारले राखेका सबै शर्त र नेपालका कानुनी व्यवस्था मान्न तयार भएपछि गत १९ भदौमा टिकटक माथिको प्रतिबन्ध हटेको थियो ।

टिकटक  नेपालमा दर्ता भएको तेस्रो सामाजिक सञ्जाल हो । यसअघि भाइबर र विटक नेपालमा दर्ता भएका थिए । सामाजिक सद्भाव खलबल्याएको भन्दै सरकारले २७ कात्तिक २०८० मा टिकटक बन्द गरेको थियो । नेपालमा सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्ने व्यक्ति, कम्पनी वा संस्थाले मन्त्रालयमा सूचीकरण गर्नुपर्ने व्यवस्था छ ।

सन् २०५० सम्ममा विश्वमा क्यान्सरबाट मृत्यु हुनेको सङ्ख्या दोब्बर हुने अनुमान

सिड्नी । अस्ट्रेलियाको एक अध्ययनले सन् २०५० सम्ममा विश्वभर क्यान्सरका कारण हुने मृत्युको सङ्ख्या झण्डै दोब्बर हुने प्रक्षेपण गरेको छ।

अध्ययनले सन् २०५० मा विश्वमा एक करोड ८५ लाख मानिसको क्यान्सरका कारण मृत्यु हुने अनुमान गरेको छ, जुन सन् २०२२ को ९७ लाखको तुलनामा ८९.७ प्रतिशतले बढी हो।

युनिभर्सिटी अफ क्विन्सल्याण्डका हब्तामु बिजुआयेहुको नेतृत्वमा अनुसन्धानकर्ताहरूले १८५ देशका ३६ प्रकारका क्यान्सरका बिरामी र मृत्युदरको विश्लेषण गरी सन् २०५० को संयुक्त राष्ट्रसङ्घको जनसङ्ख्या पूर्वानुमानमा यो दर लागू गरेर भविष्यका क्यान्सरका बिरामी र मृत्युको प्रक्षेपण गरेका थिए।

सन् २०२२ मा दुई करोड क्यान्सर भएकामा सन् २०५० मा तीन करोड ५३ लाख पुग्ने अनुमान गरिएको छ।

संयुक्त राष्ट्रसङ्घको मानव विकास सूचकाङ्क (एचडीआई) मा कम वरियता भएका देशहरूमा सन् २०५० सम्ममा क्यान्सरका बिरामी र मृत्यु दर तीन गुणाले बढ्ने अनुमान गरिएको छ।

सन् २०५० मा फोक्सोको क्यान्सर यस रोगका कारण हुने मृत्युको प्रमुख कारण रहने अनुमान गरिएको छ, जुन सन् २०२२ मा १८.७ प्रतिशत रहेको थियो।

सन् २०२२ देखि २०५० को बीचमा महिलाको तुलनामा पुरुषमा क्यान्सरका बिरामी र मृत्यु हुनेको सङ्ख्या केही बढी हुने अध्ययनले देखाएको छ। 

इजरायली प्रधानमन्त्री नेतान्याहुद्वारा रक्षामन्त्री ग्यालन्टलाई बर्खास्त

तेल अभीभ, इजरायल । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्ना रक्षामन्त्री याओव ग्यालन्टलाई विश्वास गर्ने वातावरण नदेखिएको कारण देखाउँदै पदबाट बर्खास्त गरेका छन् ।

टाइम्स अफ इजरायलका अनुसार लिकुड पार्टीका ग्यालेन्टको स्थानमा विदेश मन्त्री इजरायल काट्जलाई ल्याइने भएको छ । काट्जको स्थानमा गिदोन सारलाई विदेशमन्त्रीको जिम्मेवारी दिने तयारी गरिएको छ ।

टाइम्स अफ इजरायलले प्रधानमन्त्री कार्यालयलाई उद्धृत गर्दै नेतान्याहूले ग्यालन्टलाई रक्षा मन्त्रीको रूपमा पत्र प्राप्त भएको ४८ घण्टाभित्र पद समाप्त हुने जानकारी दिएको जनाएको छ ।

युद्धको सुरुवाती समयमा विश्वाससहितका कामहरु भएको भएपनि पछिल्लो समयमा विश्वसनियता घट्दै गएको जनाउदै नेतन्याहूले बर्खास्तको विज्ञप्ति जारी गरेको टाइम्स अफ इजरायलले जनाएको छ ।

रक्षामन्त्रीसँगको विश्वासको सङ्कटले सैन्य अभियानलाई उचित मार्गदर्शन र सक्षम बनाउन नसकिने बताउँदै नेतान्याहूले यस्तो निर्णय गरेको बताएका छन् ।

बर्खास्त भएपछि, ग्यालन्टले इजरायलको सुरक्षाका लागि सक्रिय रहने वाचा गर्दै सामाजिक सञ्जाल एक्सको पोस्टमा इजरायलको सुरक्षा सधैं आफ्नो जीवनको लक्ष्य हुने र यसका लागि सधैँ लागिरहने बताएका छन् ।

ग्यालन्टले ‘हमासद्वारा अपहरण गरिएका इजरायली ‘छोरा–छोरी’लाई फिर्ता ल्याउने नैतिक प्रतिबद्धतामा पनि जोड दिएका छन् । उनीहरू जीवित रहँदै सकेसम्म चाँडो उद्धार गर्नुपर्ने जनाउदै उनले विज्ञप्ति जारी गरेका छन् ।

बन्धकहरूलाई फिर्ता ल्याउन सम्भव रहेको बताउँदै उनले त्यसको लागि उचित सम्झौता आवश्यक रहेको बताएका छन् । मृत्यु भइसकेका बन्धकहरूलाई फिर्ता ल्याउन नसके पनि बाँकी बन्धकका लागि आवश्यक पहल गर्न जरूरी रहेको ग्यालान्टले उल्लेख गरेका छन् ।

टाइम्स अफ इजरायलका अनुसार दर्जनौँ दक्षिणी इजरायली समुदायमा भएका आक्रमणमा ज्यान गुमाएका करिब एक हजार २०० मानिसको साथै २५१ जनालाई बन्धक बनाएको अक्टोबर–७ हमास आक्रमणको सरकारी अनुसन्धानका लागि पनि उनले आह्वान गरेका छन् । 

जाडो बढेसँगै डेङ्गी सङ्क्रमण घट्दै

काठमाडौँ । नेपालमा डेङ्गी सङ्क्रमण घट्दै गएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले जाडो बढ्नुका साथै सरकारले डेङ्गी सार्ने लामखुट्टे नियन्त्रण अभियान सञ्चालन गरेपछि कात्तिकयता सङ्क्रमण घट्दै गएको बताए ।


सरकारले डेङ्गीको सङ्क्रमण बढ्न थालेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुका साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गरिरहेको छ । उनका अनुसार अहिले नेपालमा ४२औँ हप्ताबाट डेङ्गी सङ्क्रमण घट्न थालेको हो । नेपालमा अहिले डेङ्गी सङ्क्रमणको ४५औँ हप्ता चलिरहेको छ ।  


डा दाहालले ४२औँ हप्तामा मात्रै दुई हजार पाँच सय ८२, ४३ औँ हप्तामा दुई हजार दुई सय चार, ४४ औँ हप्तामा एक हजार ७१ र ४५औँ हप्ता चलिरहँदा ५५ जनामा मात्र सङ्क्रमण देखिएको जानकारी दिए । “जाडो बढेसँगै डेङ्गी सङ्क्रमण घटिरहेको छ”, उनले भने, “४५ हप्तामा आइपुग्दा फाट्टफुट्ट मात्र देखिन थालेका छन् । सङ्क्रमण घटेपनि सावधानी अपनाउनुपर्छ ।” 


अहिलेसम्म २९ हजार एक सय ५८ मा सङ्क्रमण भएको भन्दै १२ जनाको निधन भएको किटजन्य रोग शाखाका प्रमुख डा दाहालले जानकारी दिए । उनका अनुसार डेङ्गी सङ्क्रमण हुम्ला बाहेक सबै जिल्लामा देखिएको छ । 


सबैभन्दा बढी कास्कीमा सात हजार दुई हजार २४ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्गी रोग लाग्दछ । 


उपत्यकामा छ हजारभन्दा बढीमा सङ्क्रमण


उपत्यकामा छ हजार छ सय १२ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । काठमाडौँमा चार हजार पाँच सय ९५, भक्तपुरमा आठ सय ३१ र ललितपुरमा एक हजार एक सय ८६ जनामा डेङ्गी सङ्क्रमण देखिएको हो ।

यो अमेरिकी जनताको शानदार विजय होः डोनल्ड ट्रम्प

अमेरिका । फ्लोरिडास्थित आफ्नो निर्वाचन अभियानको मुख्यालयमा उपस्थित समर्थकहरूको भिडलाई सम्बोधन गर्दै रिपब्लिकन नेता डोनल्ड ट्रम्पले रिपब्लिकनहरूले आजको दिनलाई भविष्यमा फर्केर हेर्दा ‘आफ्नो जीवनको सबभन्दा महत्वपूर्ण दिनमध्ये एक मान्ने’ बताएका छन् ।

‘अमेरिकाले हामीलाई अभूतपूर्व र बलियो जनादेश दिएको छ,’ उनले सिनेटमा पनि रिपब्लिकनको नियन्त्रण पुनःस्थापित भएकोतर्फ सङ्केत गर्दै भने । उनले सीमा व्यवस्थापन गर्ने र देशलाई एकीकृत गर्दै अघि बढ्ने प्रतिवद्धता जाहेर गरे ।

सम्बोधनका क्रममा उनले आफ्नी श्रीमति मेलानियाका साथै परिवारका सदस्यसहित सम्पूर्ण शुभेच्छुक मतदाताहरूलाई धन्यवाद दिएका छन् । उनले समर्थकहरूलाई गरेको सम्बोधनलाई आफ्नो विजय भाषणको रूपमा प्रयोग गरेका छन् ।

मतपरिणामको आधिकारिक घोषणा भइसकेको छैन तर निर्वाचन परिणामका प्रक्षेपणहरूले ट्रम्प जितको नजिक पुगेको जनाइरहेका छन्।

समाचार तयार पार्दासम्म ट्रम्पले ६ करोड ८८ लाख ७७ हजार २९३ मत प्राप्त गरेका छन् भने ह्यारिसले छ करोड ३६ लाख १३ हजार ९५१ मत प्राप्त गरेकी छन् ।

नेपाली समय अनुसार बुधबार मध्यान्नसम्ममा रिपब्लिकन नेता ट्रम्पले मङ्गलबार खसेको कुल मतको ५१.१ प्रतिशतभन्दा बढी मत प्राप्त गरेका छन् भने डेमोक्र्याटिक पाटीका तर्फबाट उम्मेदवार भएकी उपराष्ट्रपति कमला ह्यारिसले ४७.२ प्रतिशत मत प्राप्त गरेकी छन् ।

रिपब्लिकन नेता ट्रम्पले २६६ इलेक्टोरल मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी ह्यारिसले २१९ इलेक्टोरल मत प्राप्त गरेकी छन् । यसरी हेर्दा ट्रम्पलाई राष्ट्रपति पदमा जितको लागि दुई इलेक्टोरल सङ्ख्या २७० मा पुग्न अब मात्र चार इलेक्टोरल मतको आवश्यक हुनेछ ।

अमेरिकी समाचार संस्था फक्स न्यूजले ट्रम्प निर्वाचित भएको घोषणा गरेको छ । फक्स न्यूजले ट्रम्पलाई २७० भन्दा माथि थप केही सीट प्राप्त हुने जनाएको छ ।

गजुरीमा दुईवटा बस आपसमा ठोक्किँदा १३ जना घाइते

मलेखु (धादिङ) । पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारमा दुईवटा बस एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन् ।

काठमाडौँबाट गोरखातर्फ जाँदै गरेको बा४ख ४४७६ नम्बरको बस तथा चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको बा५ख ३४९५ नम्बरको बस एकापसमा ठोक्किएका हुन् ।

घाइतेलाई उपचारका लागि आदमघाट र गजुरीका स्वास्थ्य संस्थामा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रल्हाद सिलवालले जानकारी दिए । दुर्घटनाग्रस्त बस सडकबाट पन्छाएर अवरुद्ध यातायात पुनः सञ्चालन गर्ने प्रयास भइरहेको उनले बताए ।
तीब्र गतिमा गुडिरहेका दुवै बस अनियन्त्रित भई एकापसमा ठोक्किएका प्रहरीले जनाएको छ ।

‘आफ्नै खेतबारीमा नङग्रा खियाउँदा सन्तुष्टी मिल्दो रहेछ’

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ रोहोटेका चन्द्रबहादुर घिमिरे तरकारी खेतीबाट गाउँमै स्वरोजगार र आत्मनिर्भर बनेका छन् । गाउँकै माटोमा तरकारी खेतीमार्फत खुसी र समृद्धि आर्जन गरेका घिमिरे रोजगारीको खोजीमा विदेश भौतारिने युवाहरूका लागि प्रेरणाको स्रोत बनेका छन् ।

आफ्नो देशमै केही गर्ने र परिवारसँगै बस्ने योजनाले नौ वर्ष साउदी अरबको बसाइलाई बिट मारेर स्वदेश फर्केका रोहोटेका ५० वर्षीय घिमिरे साउदी अरबको भन्दा दुई गुणा बढी आम्दानी गर्न सफल भएका छन् । ‘जहाँ भए पनि काम नगरी सुःख पाइदैन,’ उनले भने, ‘विचौलियालाई लाखौँ पैसा दिएर आफैँलाई बेचेर विदेशमा पुगेर अर्काको नोकर बन्नुभन्दा आफ्नै खेतबारीमा नङ्ग्रा खियाउँदा सन्तुष्टि मिल्दो रहेछ ।’

पाँच हाइटेक प्रविधिको टनेलमा तरकारी खेती गरेका घिमिरेको बारीमा अहिले मौसमी र बेमौसमी तरकारीहरू लटरम्मै झुलिरहेका छन् । काउली, बन्दा, मटरकोसा, गोलभेँडा, मूला, साग, धनियाँदेखि लिएर काँक्रा र तितेकरेलाजस्ता बेमौसमी तरकारी फलाएर घिमिरेले एक याममा ४ लाखभन्दा बढी कमाइ हुने बताए ।

अमृता कृषि फार्म सञ्चालन गरेका घिमिरेले आफ्नै ठाउँमा गरे के हुँदो रहेनछ भन्ने उदाहरण प्रस्तुत गरेका छन् । उनले गोलभेडा, काउली, बन्दा, आलु, साग, मौसमी तरकारी र बेमौसमी तरकारीको उत्पादन गरेर बेनी बजारमा बिक्री गर्दै आएका छन् ।

घिमिरेको कृषि फार्ममा श्रीमती र छोराले पनि साथ दिएका छन् । छोरालाई उच्च शिक्षा पढाउन र घरब्यवहार चलाउन तरकारी खेतिले सहज भएको उनले बताए । कृषि ज्ञान केन्द्रले हाइटेक प्रविधिको टनेल स्थापना गर्न सहयोग गरेको छ । केन्द्रका प्रमुख सञ्जीवी बाँस्तोला चन्द्रबहादुर मिहिनेती, परिश्रमी, संघर्षशील र सफल अगुवा कृषकको पहिचान बनाउन सफल भएको बताउँछन् ।

कोशीका आन्तरिक मामिलामन्त्री अधिकारीले दिए पदबाट राजीनामा

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिएका छन् । मन्त्रिपरिषद्बाट स्वीकृत नगरी जापान भ्रमणमा गएको भन्दै विवादमा परेपछि मन्त्री अधिकारीले बुधबार राजीनामा दिएका हुन् ।

उनले बुधबार बिहान मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामा बुझाएका छन् । मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले मन्त्री अधिकारीले राजीनामा बुझाएको जानकारी दिए ।

मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने व्यवस्था छ । तर मन्त्री अधिकारी मन्त्रिपरिषद्को स्वीकृति नलिई जापान भ्रमणमा गएका थिए । मन्त्री अधिकारी कात्तिक १३ गते टोकियो महानगरले आयोजनामा भएको कार्यक्रममा भाग लिन जापान गएका थिए ।

रविलाई हिरासत बाहिर रहेर अनुसन्धान गर्न सकिने कानुनी प्रबन्धको कार्यान्वयन गर्न रास्वपाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले पार्टी सभापति रवि लामिछानेलाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्न माग गरेको छ ।

बुधबार पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गरी पार्टी सभापति लामिछानेलाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्न माग गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, संसदीय छानबिन समितिले अनुसन्धान गरी सहकारीको बचत अपचलनमा पार्टी सभापति लामिछानेको संलग्नता नरहेको स्पष्ट पारे पनि सरकारले सहकारी ठगीसहित सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान अगाडि बढाएको छ । हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने आधार र कारण नभए पनि एकपछि अर्को म्याद थप्दै पार्टी सभापति लामिछानेको हिरासत बसाई लम्ब्याउने प्रतिशोधपूर्ण प्रयास भइरहेकाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । तसर्थ हिरासत बाहिर रहेर पनि अनुसन्धान गर्न सकिने कानुनी प्रबन्धको कार्यान्वयनका लागि पनि सम्बद्ध सबैको ध्यानाकर्षण गराउँछौं ।’


त्यस्तै रास्वपामा मंगलबार पोखरामा भएको प्रहरी धरपकडप्रति पनि आपत्ति जनाएको छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई मंगलबार थप दश दिन थुनामा राखेर अनुसन्धान गर्न कास्की अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

पार्टी सभापति पक्राउ परेपछि रास्वपाका नेताहरुले प्रधानमन्त्री, गृहमन्त्रीलगायतसँग भेट गरी हिरासत बाहिरै राखेर अनुसन्धान गर्न माग गर्दै आएका छन् ।

तर प्रधानमन्त्रीले रवि पक्राउ संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा भएकाले त्यसमा सरकारले केही गर्न नसक्ने जवाफ दिएका छन् । तर रास्वपाले रवि पक्राउलाई राजनीतिक प्रतिशोधको विषय बताउँदै दैनिकजसो विरोध प्रदर्शन गर्दै आएको छ ।

अमेरिकी राष्ट्रपति निर्वाचनः ह्यारिसलाई पछि पार्दै ट्रम्पको अग्रता कायमै

वासिङ्टन । अमेरिकी राष्ट्रपतिका लागि मङ्गलबार भएको निर्वाचनमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेद्वार रहेकी उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन उम्मेद्वार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा देखिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार अहिलेसम्म उपराष्ट्रपति ह्यारिसले क्यालिफोर्निया, न्यूयोर्कलगायत १४ वटा राज्यमा बहुमत ल्याउने सुनिश्चित भएको छ भने नेता ट्रम्पले टेक्सास, ओहायो, नर्थ क्यारोलाइना र अन्य भरपर्दो रिपब्लिकन झुकाव भएका राज्यसहित २३ राज्यमा जित हासिल गर्ने देखिएको छ ।

अहिलेसम्म ट्रम्पले २४३ र ह्यारिसले १९४ इलेक्टोरल मत प्राप्त गरेका छन् । राष्ट्रपति पदमा जीतको लागि जादुई इलेक्टोरल सङ्ख्या २७० रहेको छ।

पर्यवेक्षकहरूले ह्वाइट हाउसका लागि भएको निर्वाचनमा यस पहिले नै प्रक्षेपण गरिए अनुसार दुबै उम्मेदवारको झण्डै बराबर मत रहेको अनुमान गरिएका केही राज्य निर्णायक हुनेछन् ।

एपी, सीएनएन, फक्स न्यूज, एमएसएनबीसी/एनबीसी न्यूज, एबीसी र सीबीएसलगायत अमेरिकी मिडियाको अनुमानको आधारमा प्रत्येक उम्मेदवारले जितेका राज्यहरूको सूची र इलेक्टोरल मतहरूको सम्बन्धित सङ्ख्या निम्नानुसार छ।

डेमोक्र्याटिक नेता ह्यारिस पाएका कूल १९४ इलेक्टोरल मतमध्ये क्यालिफोर्नियामा ५४, कोलोराडोमा १०, कनेक्टिकटमा सात, डेलावेयरमा तीन, कोलम्बियामा तीन, हवाईमा चार, इलिनोइसमा, १९, मेरिल्याण्डमा १०, म्यासाचुसेट्समा ११ र न्यू मेक्सिकोमा पाँच, न्यूयोर्कमा २८, ओरेगनमा आठ, रोएड आइल्याण्डमा चार, भर्मोन्टमा तीन, भर्जिनियामा १३, वासिङ्टनमा १२ रहेका छन् ।

त्यसैगरी, ट्रम्पले पाएका कूल २४३ इलेक्टोरल मतमध्ये अलबामामा नौ, अर्कान्ससमा छ, फ्लोरिडामा ३०, आइडाहामो चार, इन्डियानामा ११, आयोवामा छ, कन्सासमा छ, केन्टकीमा आठ, लुसियानामा छ, मिसिसिपीमा छ, मिसौरीमा १०, मोन्टानामा चार, नर्थ क्यारोलिनामा १६, नर्थ डकोटामा तीन, ओहायोमा १७, ओक्लाहोमा सात, साउथ क्यारोलिनामा नौ, साउथ डकोटामा तीन, टेनिसीमा ११ टेक्सासमा ४०, यूटामा छ, वेस्ट भर्जीनियामा चार, वायोमिङमा तीन रहेका छन् ।

पहिलेसिनेटमा नियन्त्रण गर्ने संघारमा रिपब्लिकन

बीबीसी । ओहायो राज्यका वर्तमान सिनेटर शेरड ब्राउन पराजित भएपछि अब सिनेटमा डेमोक्र्याटिक पार्टीले आफ्नो नियन्त्रण बनाइराख्ने सम्भावना झिनो बन्दै गएको छ । उक्त पार्टीले दुई सीट गुमाइसकेको छ भने मन्टानामा पनि जोन टेस्टर जोखिममा परेका छन्।

अन्यत्र डेमोक्र्याटहरूले नजिते अब सिनेटको नियन्त्रण रिपब्लिकनको हातमा पुग्ने छ । यतिखेर डेमोक्र्याट उम्मेदवारले सिनेट सदस्य जित्ने अन्य ठाउँ खासै देखिँदैन । फ्लोरिडा र टेक्ससमा रिपब्लिकन उम्मेदवारले जितिसके। नेब्रास्कामा ६९ प्रतिशत मतगणना भइसक्दा रिपब्लिकन उम्मेदवार डेब फिशर स्वतन्त्र उम्मेदवार ड्यान अस्बोर्नभन्दा थोरैले अगाडि छन् ।

अस्बोर्नले जिते पनि सिनेटमा उनी डेमोक्र्याटहरूको पक्षमा लाग्छन् भन्न सकिँदैन । यदि डोनल्ड ट्रम्प राष्ट्रपति अनि जेडी भान्स उपराष्ट्रपतिमा निर्वाचित भए भने जेडी भान्सले सिनेटमा ‘टाइ–ब्रेकिङ’ अर्थात् निर्णायक भोट हाल्न पाउने हुनाले नेब्रास्कामा जेसुकै भएपनि त्यसले महत्त्व राख्ने छैन । यो रात रिपब्लिकनहरूका लागि हर्षको रात हुने जस्तो देखिँदै छ ।

ताजा विवरणहरूका अनुसार डोनल्ड ट्रम्पले महत्त्वपूर्ण स्विङ स्टेट नोर्थ क्यारोलाइनामा जित हासिल गर्दै १६ इलेक्टोरल कलेज मत पाएका छन् । ट्रम्प अभियानको निम्ति यो सुखद समाचार हो किनभने यसले उनलाई आवश्यक न्यूनतम २७० इलेक्टोरल कलेज भोट पाउने मार्ग थप प्रशस्त गर्छ ।

तर कडा प्रतिस्पर्धा हुने ठानिएका राज्यमध्ये अधिकांशमा नतिजा यस्तै हुन्छ भन्न सकिने स्थिति छैन। ती सात राज्यको परिणामले उम्मेदवारलाई ह्वाइट हाउस पुग्ने बाटो खोलिदिन्छ ।

‘रस्ट बेल्ट स्टेट’ भनिने विस्कन्सिन, पेन्सिल्भेनिआ र मिशिगन तीनवटै राज्यमा जितिन् भने कमला ह्यारिसले अझै पनि बाजी मार्न सक्छिन् । रिपब्लिकनहरूका निम्ति नोर्थ क्यारलाइनाको जित ठूलो हो तर उक्त राज्यमा विगतका चुनावी नतिजाहरूसँग भने यो प्रवृत्ति मेल खान्छ। सन् २०१६ र सन् २०२० मा पनि यहाँ ट्रम्पले जितेका थिए। यो राज्य जित्ने पछिल्लो डेमोक्र्याटिक उम्मेदवार भनेको सन् २००८ मा बराक ओबामा हुन्।

पोखरामा विशिष्टीकृत अस्पताल निर्माण गर्न जग्गा अभाव

गण्डकी । प्रदेश गौरवको आयोजनामा समेटिएको क्यान्सर, मुटु, मिर्गौला र बाल रोग सम्बन्धी एकीकृत सेवासहितको विशिष्टीकृत अस्पताल निर्माणका लागि गण्डकी प्रदेश सरकारले सङ्घीय सरकारसँग जग्गा माग गरेको छ ।

प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले हालै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेर कास्कीको पोखरा महानगरपालिका–१६ स्थित जौवारी सिँचाइ विभागको दुई सय रोपनी जग्गा प्रदेश सरकारलाई उपलब्ध गराइदिन माग गरिएको जानकारी दिए ।

प्रदेश स्थापनापछि गठित पहिलो सरकारले प्रदेश राजधानी पोखरामा उक्त विशिष्टीकृत अस्पताल स्थापना गर्ने निर्णय गरेपनि जग्गा व्यवस्थापनको जटिलतालगायत कारणले कार्यान्वयन हुन सकेको छैन । प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममा पनि उक्त योजना समेटिँदै आएको स्वास्थ्यमन्त्री पाठकले बताए ।

‘प्रधानमन्त्रीसमक्ष जग्गाव्यवस्थापनलगायत विभिन्न १२ मागहरु मन्त्रालयकातर्फबाट पेस गरिएको छ, प्रधानमन्त्रीले आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाउनुभएको छ’, उनले भने । 

मन्त्री पाठकले जग्गा अभावकै कारण विशिष्टीकृत अस्पताल निर्माणमा बिलम्ब भइरहेको बताए । उनले प्रदेशमा एकीकृत सेवासहितको मातृशिशु, महिला तथा बाल अस्पताल स्थापनाका लागि पनि पहल भइरहेको जानकारी दिए ।

जटिल रोगको उपचार सेवाका लागि सर्वसाधारण काठमाडौँ जानुपर्ने बाध्यता अन्त्यका लागि पोखरामा सुविधासम्पन्न विशिष्टीकृत अस्पतालको जरुरी रहेको उनको भनाइ छ । मन्त्री पाठकले अन्तरङ्ग सेवासहित २५ शय्याको गण्डकी आयुर्वेद अस्पताल र धवलागिरि आयुर्वेद अस्पतालको स्तरवृद्धिका लागि आवश्यक बजेटको प्रबन्ध गरिदिन सङ्घ सरकारसँग माग गरिएको बताए । 

प्रदेश सरकारले प्राकृतिक चिकित्सा, आयुर्वेद उपचार पद्धति र मेडिकल विज्ञानसमेत सेवालाई एकै ठाउँबाट प्रवाह हुने गरी स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापनाको लक्ष्य लिएको उनले बताए ।

उक्त केन्द्रका लागि राष्ट्रिय खेलकुद परिषद्को नाममा पोखरा रङ्गशाला परिसरमा रहेको पाँच रोपनी सात आना जग्गा प्राप्तिका लागिसमेत सहजीकरण गरिदिन प्रधानमन्त्रीसमक्ष माग राखिएको मन्त्री पाठकको भनाइ छ । 

गण्डकी प्रदेश सरकार र स्थानीय तहअन्तर्गत सञ्चालित अस्पताल र स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार निर्माणदेखि स्वास्थ्य सेवाको गुणस्तर वृद्धिका लागि आवश्यक स्रोतसाधनको व्यवस्थाका लागि सङ्घ सरकारसँग माग गरिएको उनले बताए । 

स्वास्थ्य क्षेत्र सुधारको लक्ष्यसहित अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर मन्त्रालयले काम सुरु गरेको मन्त्री पाठकको भनाइ छ ।  स्वास्थ्य  क्षेत्रको नीतिगत, संस्थागत र संरचनागत सुधारको खाकासहित भावी कार्ययोजना बनाइएको उनले बताए । 

मन्त्रालयको कार्ययोजनाअन्तर्गत कानूनी सुधार, सुशासन, आपूर्ति व्यवस्थापन, मातृ तथा शिशु स्वास्थ्य सेवा सुदृढीकरण, संस्थागत क्षमता विकास तथा विस्तार, सेवा प्रवाह तथा गुणस्तरको सुनिश्चितता, सूचना व्यवस्थापन, जनस्वास्थ्य आपतकालीन तयारी र प्रतिकार्य, सर्ने तथा नसर्ने रोगको व्यवस्थापनलगायतका विषय समेटिएका छन् ।  ‘नागरिकलाई सर्वसुलभ र गुणस्तीय स्वास्थ्य सेवा प्रवाहका लागि स्वास्थ्य मन्त्रालय प्रतिबद्ध छ’ मन्त्री पाठकले भने । 

चितवनमा स्थानीय जातका गाई संरक्षण गर्न एक करोडको अक्षयकोष स्थापना

चितवन । चितवनको भरतपुर महानगरपालिका–१ स्थित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रमा स्थानीय जातका गाई संरक्षण गर्न एक करोड एक लाख रुपैयाँको अक्षयकोष स्थापना भएको छ ।

केन्द्रका संयोजक नवराज ढकालका अनुसार २०३९ सालदेखि केन्द्रमा गाई संरक्षण थालिएको हो । योगी नरहरिननाथबाट गौ संरक्षण सुरु भएको भन्दै उनले त्यसलाई निरन्तरता दिइएको बताए ।

अक्षयकोषका लागि ११ हजार एक सय रुपैयाँको आजीवन सदस्य र एक लाख एक हजार रुपैयाँको संरक्षक सदस्य बनाइएको छ । ४५ जना संरक्षक सदस्य र ३२५ जना आजीवन सदस्य छन् ।

विसं २०७४ बाट कोष स्थापना गरी रकम संकलन गर्न थालिएको हो । कोषमा १० करोड रुपैयाँ जम्मा गर्ने लक्ष्य छ । यो तिहारमा १८ लाख रुपैयाँभन्दा बढी संकलन भएको गौ संरक्षण केन्द्रका संयोजक ढकालले जानकारी दिए ।

गौ संरक्षण केन्द्रले २५० भन्दा बढी स्थानीय जातका गाई पालेको छ । ती गाई पाल्न कोष स्थापना गरिएको हो । केन्द्रका पूर्वसंयोजक टंकनाथ पौडेलले दीर्घकालसम्म गाईको संरक्षण गर्न सकियोस् भनेर कोषको अवधारणा ल्याइएको बताए ।

दाताले पराल, चोकरलगायत सहयोग गर्दै आएका छन् । योगी नरहरिनाथले स्थानीय जातका श्री गाई लोप नहुन् भन्ने भावनाका साथ गाईको वंश संरक्षण गर्ने उद्देश्यले केन्द्र स्थापना गरेका हुन् । केन्द्रमा उत्पादित गोबर र गहुँत बिक्री पनि हुने गरेको छ ।

काठमाडौँ महानगरपालिकाले आठ स्थानमा छठ मनाउन व्यवस्थापन गर्दै

काठमाडौं । यसवर्ष काठमाडौँ महानगर क्षेत्रभित्रका आठ स्थानमा छठ पर्व मनाउने तयारी गरिएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले महानगर क्षेत्रभित्रका आठ स्थानमा छठ मनाउने व्यवस्था मिलाइएको मिलाइएको जानकारी दिएका छन् ।

महानगरले गौरीघाट, कोटेश्वर दोभान, कमलपोखरी, वंशीघाट, बालाजु बाइसधारा, धौखेल खोला, कुमारी क्लब, र भुवनेश्वरी मन्दिरमा छठ मनाउने व्यवस्था मिलाएको मेयर साहले जानकारी दिए ।

यी स्थानमा छठ पर्व मनाउनका लागि पोखरी सरसफाइ, पोखरी वरिपरि रङ्गरोगन र छठ पर्व स्थल व्यवस्थापनको कामलाई द्रुतता दिएको उनले बताए ।

युईएफए च्याम्पियन्स लिगमा रियल मड्रिड पराजित

काठमाडौं । युईएफए च्याम्पियन्स लिगमा साविक विजेता रियल मड्रिड पराजित भएको छ । मंगलबार राति भएको खेलमा रियल मड्रिड इटालियन क्लब एसी मिलानसँग ३–१ गोलले पराजित भएको हो ।

हारसँगै जारी प्रतियोगितमा चार खेलबाट दुई हारसँगै १७औँ स्थानमा छ। यता, एसी मिलन भने समान खेलबाट समान अंकसहित १८औँ स्थानमा छ।

यस्तै गएराति नै भएको अर्को खेलमा स्पोर्टि सिपीले म्यानचेस्टर सिटीलाई ४–१ गोलले हराएको हो । स्पोर्टीलाई जित दिलाउन भिक्टोर ग्योकेरेसले ह्याट्रिक पूरा गर्दा माक्सिमिलानो अरौजोले एक गोल गरे ।

सिटीको लागि फिल फोडेनले एक गोल गरे । जितसँगै स्पोर्टि ४ खेलबाट १० अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ । समान खेलबाट ७ अंक जोडेको सिटी छैटौं स्थानमा रहेको छ ।

साढे पाँच किलो सुनसहित त्रिभुवन विमानस्थलबाट तीन विदेशी पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित तीन विदेशी नागरिक पक्राउ परेका छन् ।

चिनियाँ नागरिक जियानझोङ तथा म्यानमारका सातनाइनटुङ र इन ङोन फू मंगलबार साँझ सुनसहित पक्राउ परेका हुन् ।

उनीहरु एयर अरेबियाको उडानबाट काठमाडौं आएका थिए । उनीहरु भन्सार ब्यागेज क्षेत्रमा पुनः जाँच गर्ने क्रममा लगेज भित्र राखेको १२ थान स्पिकरमा लुकाइराखेको अवस्थामा सुनसहित पक्राउ परेका हुन् ।

उनीहरुलाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखिएको सशस्त्र प्रहरीका डिएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

पोखराको मित्र मिलन सहकारीका उपाध्यक्ष पक्राउ

पोखरा । प्रहरीले पोखराको मित्र मिलन सहकारीका उपाध्यक्ष विजय लम्साललाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले लम्लासलाई मंगलबार पक्राउ गरेको हो ।

यो सहकारी ठगी प्रकरणमा अध्यक्ष रमण पौडेल, कार्यकारी अधिकृत किरण अधिकारीसहित पत्रकार अर्जुन गिरी, सञ्चालक सदस्य गोपाल खनाल, सल्लाहकार/शेयर सदस्य राजु बराल, शेयर सदस्य बुद्धिसागर पौडेल थुनामै छन् ।

मित्रमिलन सहकारी ठगीमै जोडिएका राष्ट्रिय सहकारी बैंक लिमिटेडका कास्कीका पूर्व व्यवस्थापक सन्तोष घिमिरे पनि पुर्पक्षकै लागि थुनामै छन् ।

यो सहकारी ठगीमा ३१ करोड बिगोसहित कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । सहकारी रजिष्ट्रारको कार्यालय पोखराले छानबिनको क्रममा यस सहकारीको २६ करोडभन्दा बढी रुपैयाँ हिनामिना भएको तथ्य फेला परेको थियो।

ज्यान मार्ने उद्योगमा सांसद दीपक मनाङे दोषी ठहर

काठमाडौँ । गण्डकी प्रदेशका सांसद दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका छन् । मंगलबार सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले मनाङेलाई दोषी ठहर गरेको हो ।

यसअघि उनलाई उच्च अदालत पाटनले ज्यान मार्ने उद्योगको मुद्दामा दोषी ठहर गरेको थियो । उच्चको फैसलाविरुद्ध मनाङे सर्वोच्च पुगेका थिए । उच्च अदालतले मनाङेलाई पाँच वर्ष कैद सजाय तोकेको थियो ।

सर्वोच्चले उच्चको फैसला सदर गरेको छ । उनी मनाङ प्रदेश सभा–२ बाट २०७४ र २०७९ स्वन्त्रबाट निर्वाचित भएका थिए भने पटक पटक मन्त्री बनेका थिए ।

प्राधिकरणलाई बक्यौता उठाउने बाटो खुल्यो, डेडिकेटेड र ट्रंकलाइनको महसुल उठाउने निर्णयविरुद्धको रिट खारेज

काठमाडौं । सर्वोच्च अदालतले डेडिकेटेड र ट्रंकलाइनको महसुल उठाउने नेपाल विद्युत् प्राधिकरणको निर्णयविरुद्ध दायर भएको रिट खारेज गरिदिएको छ ।

मंगलबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश महेश शर्मा पौडेलको इजलासले रिट खारेज गरिदिएको हो । प्राधिकरणको निर्णयविरुद्ध हिमाल आइरन एन्ड स्टिलले रिट दायर गरेको थियो । यससँगै प्राधिकरणलाई बक्यौता उठाउने बाटो खुलेको छ ।

डेडिकेटेड र ट्रंकलाइनको महसुल उठाउने प्राधिकरणको निर्णयविरुद्ध हिमाल आइरन एन्ट स्टिलले २०७५ फागुन ९ गते सर्वोच्चमा रिट दर्ता गरेको थियो ।

सो उद्योगले १३ करोड ६५ लाख एकहजार ९०२ रुपैयाँ बक्यौता तिर्न बाँकी छ । मुलुकमा दैनिक १८ घण्टा लोडसेडिङ भइरहँदा प्राधिकरणबाट विशेष सुविधा पाएर विद्युत खपत गरेका ४९ वटा उद्योगबाट ६ अर्ब रुपैयाँ भन्दाबढी बक्यौता उठाउन बाँकी छ।

हसिनाको शासनकालमा अपहरण गरिएका दुई सय बङ्गलादेशी नागरिक अझै बेपत्ता

ढाका ।  अपदस्थ प्रधानमन्त्री शेख हसिनाको शासनकालमा सेनाले अपहरण गरेका करिब २०० जना बङ्लादेशीहरू अझै बेपत्ता रहेको जबरजस्ती बेपत्ता भएका घटनाहरूको अनुसन्धान आयोगका सदस्य नूर खानले बताएका छन्।

गत अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहमा भएको प्रदर्शन पछि हसिना हेलिकप्टर मार्फत छिमेकी देश भारत भागेकी थिइन्।

हसिना सरकारमाथि मानव अधिकार हननको आरोप तथा सयौंको गैरकानुनी अपहरण र बेपत्ता भएको आरोप लगाइएको थियो।

हाल कार्यवाहक सरकारले गठन गरेको अनुसन्धान आयोगले हसिनाको निष्कासनपछि पाँच जनालाई गोप्य हिरासत केन्द्रबाट रिहा गरिएको तर अझै धेरैको विवरण नआएको जनाएको छ।

आयोगका अध्यक्ष मोइनुल इस्लाम चौधरीले सरकार र न्यायपालिकामा संस्थागत विच्छेदले पनि हसिनाको नेतृत्वमा दण्डहीनताको वातावरण फस्टाएको बताए।

उनीहरूले कानून प्रवर्तन एजेन्सीलाई सार्वजनिक हितमा नभइ आफ्नै एजेन्डा र राजनीतिक हितका लागि प्रयोग गरेको उनको दाबी छ।

आयोग नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको अन्तरिम सरकारका लोकतान्त्रिक सुधारहरू कार्यान्वयन गर्ने प्रयासको हिस्साको रूपमा स्थापना गरेको थियो।

लेबनानमा मानवीय अवस्था बिग्रँदै गएको राष्ट्रसङ्घको चेतावनी

न्यूयोर्क । मानवीय मामिला समन्वयका लागि राष्ट्र सङ्घीय कार्यालय (ओसिएचए) ले लेबनानको मानवीय अवस्था बढ्दो वैमनस्यताको बीचमा बिग्रदै गएको जनाएको छ ।

यस क्षेत्रको स्वास्थ्य सेवाले निरन्तर आक्रमणको सामना गरिरहेको र कर्मचारी तथा स्रोत अभावले लेबनानको नाजुक स्वास्थ्य पूर्वाधारमा थप तनाव आइरहेको संयुक्त राष्ट्रका प्रवक्ता स्टेफन डुजारिकले बताएका छन् ।

उनले दक्षिणी लेबनानको बिन्ट जेबिल जिल्लाको टेबिन सरकारी अस्पताल नजिकै इजरायली हवाई आक्रमणले अस्पतालमा क्षति पुर्‍याउदा, दर्जनौं मानिस घाइते हुनुका साथै अस्पतालमा क्षति पुर्‍याएको जनाएका छन्।

सन् २०२३ अक्टोबर देखि लेबनानमा भएका स्वास्थ्य केन्द्र लक्षित ६० वटा आक्रमणमा ११० जना स्वास्थ्य सेवाकर्मीको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

उनले लेबनानमा संयुक्त राष्ट्रसङ्घका सैन्यलगायतका सुविधाहरू अझै पनि आक्रमणबाट प्रभावित रहेको पुष्टि गर्दै राष्ट्रसङ्घको शान्ति सेनाहरूको रक्षा गर्न सबै पक्षहरूलाई आह्वान गरेका छन् ।

सन् २०२३ अक्टोबर देखि लेबनान इजरायली आक्रमणको सिकार भएको छ, तर सेप्टेम्बर २०२४ को अन्त्य देखि, इजरायलले आक्रमणको गति बढाउदा हजारौं लेबनानीहरूले मृत्युवरण गरेको स्रोतले जनाएको छ ।