`

सुदूरपश्चिम रोयल्स र एसपिएबीच सम्झौता

कैलाली । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमको प्रतिनिधित्व गर्ने ‘सुदूरपश्चिम रोयल्स’ क्लब र धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए) बीच ‘एजुकेसन पार्टनर’ का लागि सहकार्य गर्ने सम्झौता भएको छ ।

सम्झौतापछि आज क्लबका मालिक स्वतन्त्रप्रताप शाहले सुदूरपश्चिममा क्रिकेटको विकास गर्ने लक्ष्य लिइरहँदा एसपिएसँग सहकार्य गर्न पाउनु उपलब्धिपूर्ण भएको बताए । एसपिएका प्रबन्ध निर्देशक सुभाष शाहीले सम्झौताले क्रिकेटका माध्यमबाट खेलकुदलाई नयाँ उचाइमा पुर्‍याउन सक्ने विश्वास व्यक्त गरे ।

एसपिएले नेपाल क्यान निलम्बनमा रहँदा फ्रेन्चाइज लिगको अवधारणाअनुसार धनगढी प्रिमियर लिग (डिपिएल) आयोजना गरेर नेपाली क्रिकेटलाई जीवन्त राखेको थियो । धनगढीलाई क्रिकेटको सहरका रूपमा चिनाउन एसपिएले निरन्तर योगदान दिइरहेको छ ।

‘सुदूरपश्चिम रोयल्स’को टोलीलाई सोमबार धनगढीमा स्वागत गरिएको थियो । यसअघि एनपिएलका लागि फ्रेन्चाइज टोली ‘सुदूरपश्चिम रोयल्स’ले धनगढीको क्रिकेट मैदानमा ‘ट्यालेन्ट हन्ट’ पनि पूरा गरिसकेको छ । रोयल्सले धनगढीको फाप्ला खेल मैदान र महेन्द्रनगरमा बन्द प्रशिक्षण थालेको छ ।

रोयल्सले आफ्नो कोटाका चार विदेशी खेलाडी ब्रान्डन मक्मलेन (स्कटल्याण्ड), सेफअलि जेब (इङ्ल्याण्ड), स्कट कुगेलेइन (न्युजिल्याण्ड) र रोहन मुस्तफा (युएई) लाई अनुबन्ध गरिसकेको छ ।

टोलीमा दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, अभिनास बोहरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद र अमित श्रेष्ठ छन् । यही मङ्सिर १५ देखि आगामी पुस ६ गतेसम्म काठमाडौँमा हुने एनपिएलमा रोयल्स टोलीको प्रमुख प्रशिक्षकमा जगत टमटा रहेका छन् ।

आठ टिमको सहभागिता रहने एनपिएलमा ‘सुदूरपश्चिम रोयल्स’को मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन् । उनी सुदूरपश्चिमवासी हुन् ।

विराटनगर किंग्सको जर्सी सार्वजनिक

विराटनगर । नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टोली विराटनगर किंग्सले जर्सी सार्वजनिक गरेको छ । मंगलबार विराटनगर किंग्सका खेलाडी सन्दीप लामिछानेले जर्सी सार्वजनिक गरेका हुन् ।

जर्सी सार्वजनिक कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एनपिएलमा विराटनगर किंग्सले सफलता पाउने बताए । कार्यक्रममा सन्दीप लामिछनेले खेलप्रति दर्शकको माया र साथले ट्रफी जितेर ल्याउने अठोट व्यक्त गरे ।

विराटनगर किंग्सका मालिक पारस लुनियाले क्रिकेट क्षेत्रको विकासका लागि सबै लाग्नुपर्नेमा जोड दिए । टोलीको जर्सी अनावरण कार्यक्रममा विराटनगर किंग्सका खेलाडीहरू लोकेश चन्द, दीपक बोहोरा, सुवास भण्डारी, विनोद गुरुङ, प्रतिश जिसीलगायतको उपस्थिति थियो ।एनपिएल यही मंसिर १५ गतेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुँदैछ ।

नेपाल प्रिमियर लिगको ‘पावर्ड बाई’ प्रायोजकमा एनसेल

काठमाडौं । फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग(एनपीएल) को ‘पावर्ड बाई’ प्रायोजकका रुपमा एनसेल आबद्ध भएको छ । नेपाल क्रिकेट संघ (क्यान)सँग साझेदारी घोषणा गर्दै एनसेलले लिगमा ‘पावर्ड बाई’ साझेदारको रूपमा आवद्ध भएको हो।

समझदारी पत्रमा एनसेलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ र क्यानका सचिव पारस खड्काले हस्ताक्षर गरेका हुन् । यसअघि प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा सिद्धार्थ बैंक आबद्ध भइसकेको छ ।

प्रतियोगिता मंसिर १५ देखि पौष ६ गतेसम्म कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आयोजना हुँदैछ । आठ टोलीको सहभागिता रहने प्रतियोगितामा विभिन्न देशका खेलाडीलेपनि सहभागिता जनाउँदै छन् । प्रतियोगिताको प्रत्यक्ष प्रशारण भारतको चर्चित खेलकुद च्यानल स्टार स्पोर्ट्सले गर्नेछ ।

अराजकता फैलाउने ९ युट्युव कारबाहीमा, पत्रकार आचारसंहिताको सीमामा बस्न अध्यक्ष बस्नेतको आग्रह

काठमाडौं । प्रेस काउन्सिल नेपालले गलत र भ्रमपूर्ण अभिव्यक्ति प्रसारण गरी अराजकता फैलाएको भन्दै विभिन्न ९ वटा युट्युव च्यानललाई मंगलबार कारवाही गरेको छ ।

ती मध्ये दर्ता, सूचीकरण विना चलेका ३ वटालाई आवश्यक अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्यूरोमा पत्राचारसमेत गरेको छ ।

सूचीकरण भएका अन्य सामाजिक सञ्जाल (युट्युव च्यानल)मा भएका अप्रमाणित र एकपक्षीय सामाग्रीलाई तत्काल हटाउन वा स्थगन गर्न समेत काउन्सिलले निर्देशन दिएको छ ।

काउन्सिलले पछिल्लोसमयमा कार्यविधि बनाई कुनै मिडियासँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेष गरी युट्युब च्यानल र फेसबुक पेजबाट सम्प्रेषित सामाग्रीको विशेष अनुगमन गरिरहेको छ ।

केही सामाजिक सञ्जालबाट हालै प्रधानमन्त्री केपी शर्मा ओलीका विषयमा अपुष्ट, एकपक्षीय आरोपसहित गालीगलौज र अफवाहपूर्ण सामाग्री प्रसारित भएपछि त्यस्ता माध्यमलाई कारवाही गरेको काउन्सिलले जनाएको हो ।

काउन्सिलका सहप्रशासकीय अधिकृत एवं सहप्रवक्ता रामशरण बोहराद्धारा जारी विज्ञप्तिमा आधिकारिक एवं विश्वसनीय सूचना प्रवाहबाट मात्र पत्रकारिता बलियो र प्रभावकारी हुने भन्दै भ्रम फैलाउने सूचना सामग्री नफैलाउन सम्बद्ध सबैलाई आग्रह समेत गरिएको छ ।

अभिव्यक्ति स्वतन्त्रता भनेको अराजकता र स्वच्छन्दता कदापी होइन, प्रेस काउन्सिलले विज्ञप्तिमार्फत भनेको छ ।
विज्ञप्तिमा कारवाहीमा परेका माध्यमहरुको विवरण समेत राखिएको छ ।

काउन्सिलले पछिल्लो समयमा सामाजिक सञ्जालमार्फत भइरहेको अराजकता रोक्न विशेष सक्रियता देखाइरहेको छ । यसअघि विभिन्न युट्युव च्यानल, फेसबुक पेजलाई तथ्यपूर्ण र सन्तलित सामाग्री दिन विशेष अपील जारी गरेको थियो भने अटेर गर्नेमाथि कारबाही समेत गरेको छ ।

अध्यक्ष बालकृष्ण बस्नेतले मिडियाको परिचय दिई सूचना सामग्री दिने कुनै पनि माध्यम कानुन र पत्रकार आचारसंहिताको सीमामा बस्नुपर्ने बताए ।

’कानुनभन्दा माथि कोही छैन । अन्य निकायलाई प्रश्न उठाउने कुनै पनि सञ्चारमाध्यम, मिडियाको परिचय बोकेका सामाजिक सञ्जाल गैरजिम्मेवार र अनुत्तरदायी हुनुहुँदैन । प्रेस स्वतन्त्रताको अर्थ स्वच्छन्दता हुँदै होइन,’अध्यक्ष बस्नेतले भने ।

युक्रेनलाई हतियार दिने बाइडेनको निर्णयपछि पुटिनद्वारा नयाँ रुसी आणविक सिद्धान्तमा हस्ताक्षर

मस्को । राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार एक संशोधित आणविक सिद्धान्तमा हस्ताक्षर गर्दै आणविक शक्तिद्वारा समर्थित कुनै पनि राष्ट्रले रूसमाथि गरेको परम्परागत आक्रमणलाई उनको देशमाथि संयुक्त आक्रमण मानिने घोषणा गरेका छन् ।

पुटिनको नयाँ आणविक प्रतिरोध नीतिको समर्थन सन् २०२२ फेब्रुअरी २४ मा उनले युक्रेनमा सैनिक पठाएको एक हजार दिनमा आएको छ ।

यो अमेरिकी राष्ट्रपति जो बाइडेनको युक्रेनलाई अमेरिकी–आपूर्ति गरिएका लामो दूरीका क्षेप्यास्त्रहरूले रूसभित्रका लक्ष्यहरूमा आक्रमण गर्न दिने निर्णयपछि आएको हो ।

रुसमा कुनै पनि ठूलो हवाई आक्रमणले आणविक प्रतिक्रियालाई ट्रिगर गर्न सक्छ भन्ने सिद्धान्तमा हस्ताक्षर गर्दा मस्कोले युक्रेनमा सुस्त गतिमा आक्रमण गरिरहेको बेला पश्चिमलाई पछाडि हट्न बाध्य पार्न देशको आणविक हतियार प्रयोग गर्न पुटिनको तयारीलाई देखाउँछ ।

बाइडेनको निर्णयपछि जानाजानी अद्यावधिक गरिएको सिद्धान्त जारी गरिएको हो कि भनेर सोधिएको प्रश्नमा क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले उक्त दस्तावेज ‘समयमै’ प्रकाशित भएको र पुटिनले सरकारलाई यस वर्षको सुरुमा यसलाई ‘वर्तमान स्थितिअनुरूप’ बनाउन निर्देशन दिएको बताए ।

पुटिनले सेप्टेम्बरमा प्रस्तावित संशोधनहरू छलफल गर्ने बैठकको अध्यक्षता गर्दा आणविक सिद्धान्तमा परिवर्तनहरूको पहिलो घोषणा गरेका थिए ।

युक्रेनलाई पश्चिमी–आपूर्ति गरिएका लामो दूरीका हतियारहरू रूसी क्षेत्रमा प्रहार गर्न दिनुको अर्थ रूस र नाटो युद्धमा छन् भन्ने हुनेछ भन्दै पुटिनले पहिले नै अमेरिका र अन्य नाटो सहयोगीहरूलाई चेतावनी दिएका थिए ।

‘आणविक शक्तिको सहभागिता वा समर्थन’ भएको गैर–आणविक शक्तिद्वारा रुसविरुद्धको आक्रमणलाई उनीहरूको ‘रूसी सङ्घमाथि संयुक्त आक्रमण’ का रूपमा हेरिने अद्यावधिक गरिएको सिद्धान्तमा भनिएको छ ।

सिद्धान्तले रूस र यसको सहयोगी बेलारुसको ‘सार्वभौमिकता र क्षेत्रीय अखण्डताका लागि महत्त्वपूर्ण खतरा’ उत्पन्न गर्ने आणविक आक्रमण वा परम्परागत आक्रमणको प्रतिक्रियामा रुसले आणविक हतियारहरू प्रयोग गर्नसक्ने जोड दिन्छ । यो व्याख्याका लागि व्यापक स्थान छोड्ने अस्पष्ट सूत्रीकरण हो ।

यस्तो आक्रमणले आणविक प्रतिक्रियालाई आवश्यक रूपमा ट्रिगर गर्नेछ कि भनेर यसले निर्दिष्ट गर्दैन । यसले आणविक प्रतिरोधका प्रमुख सिद्धान्तहरूमध्ये ‘आणविक प्रतिरोधको सम्भावित प्रयोगको मापन, समय र स्थानको अनिश्चितता’ उल्लेख गर्दछ ।

सैन्य गठबन्धन वा गठबन्धनको सदस्यद्वारा रुसविरुद्धको आक्रमणलाई ‘सम्पूर्ण ब्लकद्वारा आक्रमण’ का रूपमा हेरिने पनि दस्तावेजमा उल्लेख गरिएको छ । यो नाटोलाई स्पष्ट सन्दर्भ हो ।

साथै उनीहरूले ब्यालेस्टिक र क्रुज मिसाइल, विमान, ड्रोन र अन्य उडान वाहनहरू समावेश भएको ठूलो हवाई आक्रमणको स्थितिमा प्रयोग गर्न सकिने उल्लेख गर्दै यसले सिद्धान्तका पहिलेका संस्करणहरूको तुलनामा अधिक विस्तृत रूपमा आणविक हतियारहरू प्रयोग गर्ने अवस्थाहरू उल्लेख गर्छ । 

विस्तृत सूत्रले कागजातको अघिल्लो संस्करणको तुलनामा सम्भावित आणविक हतियार प्रयोगका लागि ट्रिगरहरूलाई उल्लेखनीय रूपमा फराकिलो बनाएको देखिन्छ । यसले ब्यालेस्टिक मिसाइलले आक्रमण गरेमा रुसले आफ्नो आणविक हतियारहरू प्रयोग गर्नसक्ने बताएको छ ।

तीस वर्षभन्दा बढी समयदेखि बेलारूसमा कठोर शासन गर्नुभएका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्को रूसी अनुदान र समर्थनमा भर परेका छन् । उनले रूसलाई युक्रेनमा सैनिक पठाउन र केही रणनीतिक आणविक हतियार तैनाथ गर्न आफ्नो देशको भूभाग प्रयोग गर्न अनुमति दिएका छन् ।

पुटिनले युक्रेनमा सैनिक पठाएयता उनी र अन्य रूसी आवाजहरूले किएभलाई समर्थन बढाउनबाट रोक्न पश्चिमलाई रूसको आणविक भण्डारको बारम्बार धम्की दिएका छन् । 

अघिल्लो संस्करणले पश्चिमलाई युक्रेनलाई सहयोग बढाउनबाट रोक्न असफल भएको र मस्कोले आणविक हतियारको सहारा लिने छैन भन्ने धारणा सिर्जना गरेको तर्क गर्दै रुसी बाजहरूले महिनौँदेखि यो सिद्धान्तलाई कडा बनाउन आह्वान गर्दै आएका छन्।

नेपाल संवत् राष्ट्रिय र मौलिक संवत्ः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिककालदेखि नै नेपाली जनताको धार्मिक, सांस्कृतिक र सामाजिक जीवनसँग समीप रहेको नेपाल संवत् हाम्रो देशको राष्ट्रिय र मौलिक संवत् भएको बताएका छन् ।

समाज सुधारक शङ्खधर साख्वाः लाई राष्ट्रिय विभूति घोषणा गरिएको २५ वर्ष पुगेको अवसरमा मंगलबार राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा उनले आफ्नै देशको नामबाट स्थापित विश्वको एउटै मात्र संवत् भएकाले नेपाल संवत् सम्पूर्ण नेपाली जनताको गौरवमय राष्ट्रिय सम्पदा पनि भएको बताए ।

राष्ट्रपति पौडेलले भने, “बहुभाषिक, बहुसांस्कृतिक, बहुजातीय मुलुक नेपालको सांस्कृतिक विविधतालाई एकताको सूत्रमा अक्षुण्ण राख्न नेपाल संवत्को भूमिका महत्वपूर्ण रहेको छ भन्ने मलाई लाग्दछ ।”

राष्ट्रपति पौडेलले शङ्खधर साख्वाःले आफूले आर्जन गरेको निजी सम्पत्तिलाई समाजका गरिब एवं उत्पीडित समुदायको हितमा प्रयोग गर्नु विश्वका लागि पनि एक उदाहरणीय कार्य भएको बताउँदै उक्त लोककल्याणकारी कार्य तत्कालीन नेपाली समाजका लागि आफैमा एक क्रान्तिकारी कदम भएको उल्लेख गरे ।

बागमती प्रदेशका पर्यटन संस्कृति मन्त्री विमल ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश प्रमुख दिपकप्रसाद देवकोटा, मुख्यमन्त्री बहादुरसिंह लामा, प्रदेश सरकारका मन्त्रीहरूको उपस्थिति थियो । त्यस अवसरमा काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका र मध्यपुर ठिमी नगरपालिकालाई सम्मान गरिएको थियो । 

बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब भन्दाबढीको क्षति

काठमाडौँ । गत असोज ११ र १२ गते देशभर परेको अविरल वर्षाको कारण आएको बाढीपहिरोका कारण ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति भएको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट असोज १४ गते गठित समितिले मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई बुझाएको प्रतिवेदनमा देशभर बाढीपहिरोबाट जलविद्युत, सिँचाइ, तटबन्धन र प्रसारण लाइनमा १३ अर्ब बढीको क्षति भएको उल्लेख छ ।

समितिले नेपाल विद्युत् प्राधिकरण, प्राधिकरणका सहायक कम्पनी र निजी क्षेत्रबाट निर्माण भएका तथा निर्माणाधीन विद्युत् तथा प्रसारण लाइन आयोजनामा भएको क्षति, सिँचाइ तथा नदी नियन्त्रणमा भएको क्षतिबारे अध्ययन गरेको थियो ।

अध्ययनमा निर्माण सम्पन्न भएका विभिन्न २७ वटा जलविद्युत् आयोजना, निर्माणाधीन १९ आयोजनामा ६ अर्ब बराबरको क्षति भएको पाइएको छ । यस्तै, प्रसारण र वितरण लाइनतर्फ करिब १६ करोड बराबरको क्षति भएको अध्ययन समितिका सदस्य–सचिव एवं मन्त्रालयका सिडिइ शालिग्राम भण्डारीले जानकारी दिए ।

यसैगरी, सङ्घीय सिँचाइ तथा नदी नियन्त्रणतर्फ चार अर्ब ९८ करोड र बागमती प्रदेशतर्फ रु दुई अर्ब ४३ करोड, ग्रामीण विद्युतीकरणतर्फ रु २० करोड ७१ लाख बराबरको क्षति भएको समितिले बुझाएको प्रतिवेदनमा उल्लेख छ ।

समितिले क्षतिको विवरण तयार गरी भविष्यमा यस्तो प्रकोपबाट क्षति हुनबाट रोक्न अवलम्बन गर्नुपर्ने उपाय तथा क्षतिग्रस्त आयोजनालाई प्रदान गर्नुपर्ने÷गर्न सकिने राहतका विषयमा समेत सुझाव दिएको छ ।

प्रतिवेदन बुझ्दै ऊर्जामन्त्री खड्काले निकै मेहनतका साथ तयार गरिएको प्रतिवेदनलाई कार्यान्वयन गर्न मन्त्रालय लाग्ने बताए ।

उनले बाढीपहिरो र डुबानका कारण क्षति भएका माथिल्लो तामाकोसी जलविद्युत् आयोजना र निजी क्षेत्रका जलविद्युत् आयोजनालगायत समग्र विद्युत् क्षेत्र तथा नदी नियन्त्रण र सिँचाइ आयोजनामा भएको क्षतिको मूल्याङ्कन गरी नेपाल सरकारले प्रदान गर्नसक्ने राहतबारे प्रतिवेदन पेस गर्न ऊर्जा मन्त्रालयका सहसचिव जीवछ मण्डलको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेका थिए ।

उक्त समितिको सदस्यमा विद्युत् विकास विभागका उपमहानिर्देशक सुनिल पौडेल, जलस्रोत तथा सिँचाइ विभागका उपमहानिर्देशक डा सन्तोष कैनी, नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ र सदस्य–सचिवमा शालिग्राम भण्डारी थिए ।

मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री अधिकारीलाई थप पाँच दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं । जापानमा मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीको पूर्वमन्त्री एवं एमाले कोशी प्रदेशका सांसद लिलाबल्लभ अधिकारीसहित ९ जनालाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले ९ जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो । यसअघि कात्तिक २७ गते उनीहरुलाई अदालतले ७ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । मन्त्री पदको दुरुपयोग गर्दै अवैध रूपमा मानिसहरू जापान लगेको आरोपमा उनी विराटनगरबाट पक्राउ परेका थिए ।

कांग्रेस सांसद बजगाईंलाई पार्टीले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसले सांसद राजेन्द्र बजगाईंलाई स्पष्टीकरण सोधेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डेयनमन्त्री बद्री पाण्डेले कमिसन खाएको भन्दै बजागाईंले सामाजिक सञ्जालमा पोष्ट गरेको र बोलेका विषयमा कांग्रेसले उनीसँग स्प्ष्टीकरण सोधेको हो ।

उनलाई स्पष्टीकरण दिन बुधबारसम्मको समय दिइएको छ । उनलाई अनुशासन समितिका संयोजक आनन्द ढुङ्गानाले पार्टी केन्द्रीय कार्यालयमा बोलाएर मौखिक स्पष्टीकरण समेत लिएका थिए ।

मन्त्री पाण्डेले गत साता बजगाईंलाई अनुशासनको कारबाहीको माग गर्दै पार्टीमा उजुरी दिएका थिए ।

नेपालको विद्युत विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने

काठमाडौँ । जर्मनीले नेपाललाई एक करोड युरो (करिब एक अर्ब ४६ करोड) अनुदान सहायता उपलब्ध गराउने भएको छ ।
अर्थ मन्त्रालयमा मंगलबार एक औपचारिक कार्यक्रमकाबीच नेपालका लागि जर्मनीका राजदूत डा थोमस प्रिन्ज र अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक समन्वय तथा सहयोग महाशाखाका सहसचिव धनीराम शर्माबीच अनुदान सम्झौतामा हस्ताक्षर भएको हो ।

उक्त अनुदान रकम नेपाल विद्युत् प्राधिकरणमार्फत् विद्युत वितरण सुदृढीकरण परियोजनामा खर्च हुनेछ । नेपालको विद्युत् वितरण संरचना सुदृढ गर्दै वातावरणमैत्री प्रविधिको प्रयोग गरी भरपर्दो र प्रभावकारी विद्युत् आपूर्ति सुनिश्चित गर्नेगरी अनुदान रकम खर्च गरिने जनाइएको छ ।

यस परियोजना अन्तर्गत भरतपुर (बागमती प्रदेश), बुटवल–भैरहवा (लुम्बिनी प्रदेश) र पोखरा (गण्डकी प्रदेश) लगायतका क्षेत्रलाई प्राथमिकता दिइनेछ ।

ऊर्जा दक्षता र विद्युत् आपूर्ति विश्वसनीयता सुधार गर्दै लक्षित क्षेत्रका जनतालाई दिगो रूपमा विद्युत् पहुँच सुनिश्चित गर्ने लक्ष्य परियोजनाको छ । सन् २०२५ देखि सुरु हुने विद्युत् वितरण सुदृढीकरण परियोजनालाई सरकारको वार्षिक बजेट प्रणालीमा समावेश गरिने सम्झौतामा उल्लेख छ ।

सम्झौता हस्ताक्षर कार्यक्रममा सहसचिव शर्माले लक्षित क्षेत्रमा विद्युत् आपूर्तिको विश्वसनीयता अभिवृद्धिमा यस सहयोगले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे । साथै, उनले जर्मनी सरकारप्रति नेपालको ऊर्जा क्षेत्र सुदृढीकरणमा निरन्तर प्रतिबद्धताका लागि आभार व्यक्त गरे ।

राजदूत डा प्रिन्जले जलवायु–मैत्री प्रविधिको प्रयोग गर्दै नेपालमा विद्युत् वितरण प्रणाली सुदृढीकरणमा सहयोग गर्न पाएकोमा सन्तोष व्यक्त गरे ।

प्रधानमन्त्री ओलीसँग अष्ट्रेलियाका राजदूतको भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत लिन जोन्स्टनले मंगलबार प्रधानमन्त्रीको कार्यकक्षमा मंगलबार अपराह्न शिष्टाचार भेट गरेकी छन् ।

त्यस अवसरमा उनीहरुबीच नेपाल–अष्ट्रेलिया सम्बन्धका साथै आपसी हित र चासोका साझा विषयमा विचार–विमर्श भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । नेपाल र अष्ट्रेलियाबीच ६४ वर्षअघि कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।

युक्रेनमा पुनः रूसी हमला, सात जनाको मृत्यु

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सुमीको पूर्वी युक्रेनी क्षेत्रमा भएको रुसी हमलामा एक बालकसहित सात जनाको मृत्यु भएको बताएका छन् ।

सुमी रूसको कुर्स्क क्षेत्रको सीमामा अवस्थित क्षेत्र हो जहाँ युक्रेनी सेनाले गत अगस्टमा आक्रमण गरी धेरै भूभाग कब्जा गरेको थियो ।

सोमबार राति, ड्रोनले प्रहार गरी एक स्थानीय शैक्षिक संस्थाको छात्रावास ध्वस्त पारेको उल्लेख गर्दै आक्रमणमा हाल सम्म एक बालकसहित सात जनाको मृत्यु भएको जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

उनले घटनास्थलबाट पोस्ट गरेको भिडियोमा उद्धारकर्मीहरूले भग्नावशेषको छानविन गदै गरेको तथा आक्रमणमा मृत्यु भएकाहरुलाई निकालिरहेको देखाइएको थियो ।
उनले अझैपनि भग्नावशेषमुनि मानिसहरू फसेका हुन सक्ने बताएका छन् ।

सुमीमा रूसी क्षेप्यास्त्र हमलाबाट एक बालकसहित आठ जनाको मृत्यु भएको दुई दिनपछि यो आक्रमण भएको हो । रूसको निरन्तरको आक्रमणले सीमा नजिकैका सम्पूर्ण जिल्लाहरूलाई अति प्रभावित बनाउनुका साथै युक्रेनमा ऊर्जा संरचना ध्वस्त पारेको छ ।

चिनियाँ र पाकिस्तानी सेनाले आतङ्कवाद विरोधी संयुक्त अभ्यास गर्ने

बेइजिङ । चिनियाँ जनमुक्ति सेनाको पश्चिमी कमान्डले नोभेम्बरको अन्त्यदेखि डिसेम्बरको मध्यसम्म संयुक्त आतङ्कवाद विरोधी अभ्यासमा भाग लिन पाकिस्तानमा सेना पठाउने चिनियाँ रक्षा मन्त्रालयले मङ्गलबार घोषणा गरेको छ ।

‘योद्धा–VIII’ कोड गरिएको यो अभ्यास आतङ्कवाद विरोधी अपरेसनहरूमा केन्द्रित हुने जनाइएको छ । दुवै पक्ष बहु–स्तरीय तथा मिश्रित प्रशिक्षणमा संलग्न भई वास्तविक लडाई प्रक्रिया अनुसार प्रत्यक्ष सैन्य अभ्यास आयोजना गर्ने मन्त्रालयले जनाएको छ ।

यो चिनियाँ र पाकिस्तानी सेनाहरू बीचको श्रृंखलाको आठौं संयुक्त अभ्यास हो, जसको उद्देश्य व्यावहारिक आदानप्रदान र सहयोगलाई सुदृढ बनाई संयुक्त आतंकवाद विरोधी अपरेसनहरू सञ्चालन गर्ने क्षमता बढाउनु रहेको छ ।

यस अघि यस शृङ्खलाको अन्तिम संयुक्त अभ्यास सन् २०१९मा भएको थियो ।

विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा चालु खाता र शोधनान्तर स्थिति बचतमा देखिएको छ भने विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च देखिएको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आवको तीन महिनाको तथ्याङकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीयस्थिति प्रतिवेदनअनुसार उक्त अवधिमा चालु खाता एक खर्ब ११ अर्ब ८७ करोडले बचतमा छ ।

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५९ अर्ब ६५ करोडले बचतमा थियो । यस अवधिमा खुद पुँजीगत ‘ट्रान्सफर’ दुई अर्ब कायम भएको छ भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह चार अर्ब ८१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद पुँजीगत ट्रान्सफर रू एक अर्ब १५ करोड कायम भएको थियो भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (ईक्विटि मात्र) तीन अर्ब ३८ करोड रहेको थियो ।

पहिलो तीन महिनामा शोधनान्तर स्थिति एक खर्ब ८४ अर्ब ९९ करोडले बचतमा रहेको छ । त्यस्तै गत असार मसान्तसम्ममा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति तीन महिनामा नौ दशमलव चार प्रतिशतले वृद्धि भई गत असोज मसान्तमा २२ खर्ब ३२ अर्ब २८ करोड पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा १५ अर्ब २७ करोड रहेकामा असोज मसान्तमा आठ दशमलव सात प्रतिशतले वृद्धि भई १६ अर्ब ६० करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकको सञ्चिति १९ खर्ब ८८ अर्ब पुगेको छ । बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति दुई खर्ब ४४ अर्ब २७ करोड कायम भएको छ । गत असोज मसान्तसम्मको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१ दशमलव नौ प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्षको तीन महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति र वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।

नेप्सेमा ५१ अंकको गिरावट

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । मंगलबार नेप्से परिसूचक ५१ दशमलव ११ अङ्कले घटेर दुई हजार सात सय दुई दशमलव ६५ को विन्दुमा कायम भएको हो । यो एक दशमलव ८५ प्रतिशतको गिरावट हो ।

आज तीन सय १० कम्पनीको दुई करोड २५ लाख ८८ हजार दुई सय ४७ कित्ता शेयर एक लाख पाँच हजार आठ सय २७ पटक खरिदबिक्री हुँदा  १० अर्ब ४६ करोड ८३ लाख २० हजार पाँच सय २१ बराबरको कारोबार भएको छ । आज सबैभन्दा धेरै होटल तथा पर्यटन समूह तीन दशमलव १७ र जलविद्युत् समूह तीन दशमलव ०७ प्रतिशतले घटेको छ । 

बैंकिङ एक दशमलव ११, विकास बैंक दुई दशमलव २९, वित्त दुई दशमलव ३१, लगानी दुई दशमलव ०८, जीवन बीमा एक दशमलव ९४ र उत्पादन तथा प्रशोधन एक दशमलव ४८ प्रतिशतले घटेको छ ।

लघुवित्त समूह एक दशमलव ५०, म्युचुअल फन्ड शून्य दशमलव १५, निर्जीवन बीमा एक दशमलव ६९, व्यापार दुई दशमलव २१ र अन्य समूह एक दशमलव ५८ प्रतिशतले घटेको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा ङादी ग्रुप पावर लिमिटेडको नौ दशमलव २५ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा ङादी ग्रुप पावर लिमिटेडको सबैभन्दा उच्च देखिएको छ । आज यो कम्पनीको रु ४६ करोड ६८ लाख ९९ हजार आठ सय पाँच बराबरको आठ लाख ८८ हजार तीन सय १९ कित्ता शेयर किनबेच भएको छ ।

शारीरिक सुगठनमा विजयी खेलाडी प्रधानमन्त्रीबाट सम्मानित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै मालदिभ्समा सम्पन्न १५ औँ शारीरिक सुगठन प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई सम्मान गरेका छन् ।

विभिन्न तौल समूहमा पदक जितेर देशको गरिमा बढाएका रुपेश शाही, प्रज्ज्वल शाक्य, रजनी शाक्य र सोनाम मुलगुठीलाई मंगलबार प्रधानमन्त्री निवासमा उनले सम्मान गरेका हुन् ।

प्रधानमन्त्री ओलीले शारीरिक सुगठनलाई खेलकुदका रुपमा विकास गर्न पर्याप्त सम्भावना रहेकाले राज्यका तर्फबाट यो खेलको विस्तारका निम्ति सरकारले प्रोत्साहन गर्ने बताए ।

नेपाल शाररीक सुुगठन महासङ्घका अध्यक्ष राजेशबाबु श्रेष्ठले यो खेलका माध्यमबाट पर्यटन प्रवर्द्धनमा सहयोग हुने भएकाले यो खेलको विकासका निम्ति सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिए । त्यस अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यलगायत सहभागी थिए ।

पढ्नका लागि विदेशिने विद्यार्थीले तीन महिनामा लगे ३२ अर्ब १८ करोड

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिना (साउन, भदौ र असोज)मा खुद सेवा आय २३ अर्ब २९ करोड रुपैयाँले घाटामा रहेको छ ।

अघिल्लो वर्ष यही अवधिमा खुद सेवा आय २९ अर्ब ३९ करोडले घाटामा थियो । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार तीन महिनाको अवधिमा विदेशीले नेपालमा गर्ने खर्च साढे तीन प्रतिशतले बढेर १७ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ ।

नेपालीले विदेश गएर गर्ने खर्चको तुलनामा कम नै भए पनि पर्यटक आगमन बढ्दा भ्रमण आम्दानी ३.५ प्रतिशतले वृद्धि भई १७ अर्ब ७२ करोड पुगेको हो । गतवर्ष यस्तो आम्दानी १७ अर्ब १३ करोड रुपैयाँ थियो ।

यस्तै नेपालीले विदेशमा गर्ने खर्च पनि झन्डै आठ प्रतिशतले बढेर ५५ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । तीन महिनामै विदेशमा पढ्नका लागि ३२ अर्ब १८ करोड रुपैयाँ बाहिरिएको राष्ट्र बैंकले जनाएको छ ।

खाद्यवस्तुको मूल्यवृद्धि उच्च

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो तीन महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गैरखाद्य वस्तुको तुलनामा खाद्य वस्तुको मूल्यवृद्धि भएको छ । मुख्यगरी तरकारी र गेडागुडीको मूल्यमा उच्च वृद्धि देखिएको हो ।

‘२०८१ असोजमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव ८२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति सात दशमलव ५० प्रतिशत रहेको थियो’, प्रतिवेदनमा भनिएको छ, ‘समीक्षा महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति सात दशमलव १८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ४९ प्रतिशत रहेको छ ।’

खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २५ दशमलव १५ प्रतिशतले वृद्धि भएको छ । जुन सबैभन्दा उच्च मूल्यवृद्धि हो । त्यस्तै, दाल तथा गेडागुडीको १० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको नौ दशमलव ५७ प्रतिशत र घ्यू तथा तेलको चार दशमलव ९८ प्रतिशतले वृद्धि भएको छ ।

यो अवधिमा केही वस्तुको मूल्य भने घटेको छ । माछा तथा मासु उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क एक दशमलव १८ प्रतिशत, मरमसलाको शून्य दशमलव ७९ प्रतिशत र चिनी तथा चिनीजन्य पदार्थको शून्य दशमलव ७८ प्रतिशतले घटेको छ ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १० दशमलव ४९, मदिराजन्य पेय पदार्थको छ दशमलव ३२, कपडाजन्य तथा जुत्ता चप्पलको छ दशमलव १२ प्रतिशत र घरायसी उपकरणको चार दशमलव ८८ प्रतिशतले बढेको छ ।

गत असोजमा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क पाँच प्रतिशतले वृद्धि भएको छ भने सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क चार दशमलव ७६ प्रतिशतले वृद्धि भएको छ ।

प्रदेशगत रुपमा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति छ दशमलव २६, मधेश प्रदेशको पाँच दशमलव ०८, बागमती प्रदेशको चार दशमलव २४ र गण्डकी प्रदेशको तीन दशमलव ९८ प्रतिशत रहेको छ । त्यस्तै, लुम्बिनी प्रदेशको चार दशमलव ४२, कर्णालीको तीन दशमलव २५ प्रतिशत र सुदूरपश्चिम प्रदेशको छ दशमलव ५६ प्रतिशत रहेको छ ।

 काठमाडौँ उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव ५०, तराईको पाँच दशमलव २३, पहाडको चार दशमलव ३२ प्रतिशत र हिमालको पाँच दशमलव ०८ प्रतिशत रहेको छ ।

कर बक्यौता बर्सेनि बढ्दो, दुई खर्ब ५४ अर्ब उठाउन बाँकी

काठमाडौँ । लक्ष्यअनुरुप कर सङ्कलन गर्न हम्मेहम्मे परिरहेको अवस्थामा आर्थिक वर्ष २०८०/८१ मा दुई ५४ अर्ब तीन करोड कर असुल गर्न बाँकी रहेको पाइएको छ ।

आन्तरिक राजस्व विभागका अनुसार तीन लाख १९ हजार तीन सय ८१ करदाताको दुई खर्ब ५० करोडभन्दा बढी बक्यौता देखिएको हो ।

‘आर्थिक वर्ष २०८०/८१ को अन्तसम्ममा आईपुग्दा कर बक्यौता, ब्याज, थप दस्तुर विलम्ब शुल्कसमेत उठ्न बाँकी कुल बक्यौता रकम एक खर्ब ३० अर्ब २४ करोड छभने कर कार्यालयबाट भएको कर निर्धारणप्रति विमति जनाउँदै आन्तरिक राजस्व विभागमा पुनरावलोकनमा रहेको तथा अन्य न्यायिक निकायमा अपिलमा रहेको विवादित रकम एक खर्ब २३ अर्ब ८० करोड छ’, विभागको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

विभागका महानिर्देशक रामप्रसाद आचार्य न्यायिक निरुपणमा जाँदा मुद्दा फछ्र्यौटमा ढिलाई हुँदा बक्यौता पनि बढेको बताउँछन् ।

विभागले भने धमाधम पुनरावलोकनका मुद्दा फछ्र्यौटमा गर्दै आएको छ । ‘बक्यौता रकममध्ये ५५ देखि ६० प्रतिशत विभिन्न न्यायिक निकायमा विचाराधीन छन् । विभागमा प्रशासनिक पुनरावलोकन, राजस्व न्यायाधिकरण, विभिन्न अदालतमा मुद्दा छिनोफानो नहुँदा बक्यौता बढेको हो’, उनले भने ।

चालु मुद्दा फछ्र्यौट भएका जानकारी दिँदै महानिर्देशक आचार्यले भने, ‘प्रशासकीय पुनरावलोकनमा गएका मुद्दा यथाशक्य चाँडो फछ्र्यौैट गरेका छौँ । धेरैभन्दा धेरै जनशक्ति परिचालन गरेर काम भएको छ । हामीले निर्धारण गरेको करउपर चित्त नबुझेमा न्यायिक निकायमा जान पाउने करदाताको अधिकार हो । तर, त्यस्ता मुद्दा फछ्र्यौट चाँडो हुँदा त्यसले बक्यौता असुली गर्न पनि सहज हुन्छ ।’

कर बक्यौता र मुद्दा मामिलामा गएर अपिलमा रहेकामध्ये आयकरसँग सम्बन्धित बढी छन् । प्रतिवेदनअनुसार एक लाख ९६ हजार चार सय ६३ करदाताबाट  एक खर्ब ८६ अर्ब ७८ करोड आयकर उठ्न बाँकी छ । आयकर तर्फ सात सय १८ करदाता प्रशासकीय पुनरावलोकनमा जाँदा  एक खर्ब ११ अर्ब ६५ करोड आयकरबाट राज्य वञ्चित भएको छ ।

मूल्य अभिवृद्धि कर (भ्याट)तर्फ एक लाख २० हजार आठ सय ३२ करदाताबाट रू ५९ अर्ब ९० करोड असुली हुन बाँकी छ । अन्तःशुल्क तीन सय ७४ करदाताबाट  चार अर्ब ३१ करोड उठाउन बाँकी छ । अन्य एक हजार सात सय १२ करदाताले रू तीन अर्ब चार करोड राज्य कोषमा दाखिला गरेका छैनन् ।

बक्यौता कर सङ्कलनमा यसरी अवरोध हुँदा सरकारको राजस्व सङ्कलनको लक्ष्य प्रभावित भएको छ । आर्थिक वर्ष २०८०/८१देखि चालु आर्थिक वर्ष का लागि एक हजार सात सय ४२ वटा प्रशासनिक पुनरावलोकनका निम्ति दर्ता हुँदा राज्य कोषमा रकम अपर्याप्तताको चाप बढेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा  ६ खर्ब ७७ अर्ब ७३ करोड कर असुली गर्ने लक्ष्य निर्धारण भएकामारू पाँच खर्ब ३३ अर्ब तीन करोड मात्र उठेको थियो ।

आव २०७९/८० देखि जिम्मेवारी सरेका र आव २०८०/८१ मा दर्ता भएका जम्मा दुई हजार दुई सय ४४ निवेदनमध्ये गत आवमा जम्मा पाँच सय दुई वटा फछ्र्यौट भएका छन् । एक हजार सात सय ४२ निवेदन आव २०८१/८२ को लागि सारिएका छन् ।

गत आर्थिक वर्षसम्ममा आन्तरिक राजस्व विभाग र अन्तर्गतका कार्यालयहरूको रु २३ अर्ब ५० करोडभन्दा बढी बेरुजु थपिएको छ । उक्त आवको प्रारम्भमा कुल बेरुजु रकम  ७६ अर्ब एक करोड ४२ लाख रहेकामा आवको अन्त्यमा त्यो बढेर  ९९ अर्ब ५७ करोड ७८ लाख ८४ हजार पुगेको छ ।

नेतृत्व चयनका लागि निर्वाचन सुनिश्चित गर्न माग गर्दै अखिल क्रान्तिकारीका तीन नेता आमरण अनसनमा

काठमाडौँ । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको स्थगित बन्द सत्र सुरु गर्न माग गर्दै तीन नेताले आमरण अनसन सुरु गरेका छन् ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबारदेखि विद्यार्थी नेता केशव रावल, खकेन्द्र रावल र जनक ढुंगानाले आमरण अनसन सुरु गरेका हुन् ।

अखिल क्रान्तिकारीको निवर्तमान केन्द्रीय उपाध्यक्ष केशव रावलको अग्रसरतामा सुरु भएको अनसनमा निवर्तमान केन्द्रीय सदस्य खकेन्द्र रावल र जनक ढुंगाना अनसन बसेरै सहयोग गरेका छन् ।

नेतृत्व चयन नगरी स्थगित भएको अखिल क्रान्तिकारीको बन्दसत्र यही मंसिर २३ गते नै सुरु गर्न र संगठनको नयाँ नेतृत्व चयनको लागि निर्वाचन सुनिश्चित गर्न माग गर्दै आमरण अनसन सुरु गरिएको निवर्तमान केन्द्रीय रावलको भनाइ छ ।

गत असोज १० गतेदेखि काठमाडौँमा सुरु भएको अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन नयाँ नेतृत्व चयन नै नगरी स्थगित भएको थियो।

एक महिनाभित्रै औषधिको मूल्य समायोजन गर्छौँः स्वास्थ्यमन्त्री पौडेल

पर्वत । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एक महिनाभित्रै सबै प्रकारका औषधिको मूल्य समायोजन गरिने बताएका छन् ।

पर्वत अस्पतालको निरीक्षण तथा डिजिटलाइजेशन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उनले औषधिमा फार्मेसी व्यवसायी र कम्पनीबाट भइरहेको मनोमानी अन्त्य गर्नका लागि मूल्य समायोजन गर्न थालिएको बताए ।

सरकारले मूल्य समायोजन गरेपछि सोही मूल्यसूचीका आधारमा मुलुकभर औषधि खरिद बिक्री हुने र बिरामी ठगिन नपर्ने उनको भनाइ छ । उनले औषधिको मूल्य समायोजनको कार्य अन्तिम चरणमा पुगेको बताए ।

मन्त्री पौडेलले नागरिकलाई सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सुविधा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए । विपन्न र असहाय नागरिकले पनि सहज रुपमा सबैखाले स्वास्थ्य सुविधा उपभोग गर्न सकुन र उपचारको अभावमा कोही पनि अकालमा मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले स्वास्थ्य क्षेत्रको सुधारका काम भइरहेको उनको भनाइ छ ।

मन्त्री पौडेलले तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाको पालामा सुरु भएको स्वास्थ्य बीमा कार्यक्रमलाई परिमार्जन गर्ने तयारी भइरहेको बताए । उनले तत्कालीन अवस्थामा रु एक लाखको स्वास्थ्य बीमा रहेकामा अब यसलाई बढाएर रु पाँच लाख पुर्याउने योजना रहेको बताए ।

उनले यसका लागि रोजगारीमा आबद्ध कर्मचारीबाट मासिक तलबको दुई प्रतिशत स्वास्थ्य बीमा कोषमा जम्मा गर्ने व्यवस्था गरिनुपर्ने बताए  । यसबाट पैसा नभएकाको पनि उपचार गर्न सहज हुने उनको भनाइ छ ।

सरकारले उठाउने सबैखाले करमा पनि शून्य दशमलव पाँच प्रतिशत बीमा कोषमा जाने व्यवस्था गरिनुपर्ने भन्दै उनले अहिले उठ्ने स्वास्थ्य बीमा करलाई तेब्बर बनाउनुपर्ने बताए ।

मन्त्री पौडेलले मुलुकभरीका १६ लाख किशोरीलाई पाठेघरको क्यान्सरविरुद्धको खोप लगाउने व्यवस्था गरिएको जनाउँदै अहिले खोप भण्डारणको काम भइरहेको बताए । त्यस्तै १४ वर्ष मुनिका बालबालिकाको क्यान्सरको निःशुल्क उपचार गरिने जस्ता कार्यक्रमले धेरै लाभान्वित भएको बताए ।

अर्को प्रसङ्गमा मन्त्री पौडेलले स्रोतको अभावका कारण स्वास्थ्य क्षेत्रलाई चाहेअनुरुप विकास गर्न नसकिएको बताएका छन् । उनले स्रोतको व्यवस्थापन गरेर स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय र सर्वसुलभ बनाउँदै लजाने योजना समेत सुनाए ।

सो अवसरमा पर्वत अस्पताल विकास समितिका अध्यक्ष शङ्कर गिरीले अस्पतालको सुधारका लागि आवश्यक विभिन्न कुरा समेटिएको मागपत्र पेस गरेका छन् ।

मन्त्री पौडेलले मागपत्र बुझ्दै पर्वत अस्पतालको विकास र गुणस्तरीय सेवा प्रवाहका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

तीन महिनामा भित्रियो चार खर्ब सात अर्ब रेमिट्यान्स

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विप्रेषण आप्रवाह ११ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत असोज मसान्तसम्ममा विप्रेषण आप्रवाह वृद्धि भई चार खर्ब सात अर्ब ३१ करोड पुगेको छ ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह तीन अर्ब चार करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । गत असोज मसान्तसम्ममा खुद द्वितीय आय (खुद ट्रान्सफर) चार खर्ब ४२ अर्ब ४४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय चार खर्ब चार अर्ब सात करोड रहेको थियो ।

असोज मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख १० हजार छ सय ५४ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ५९ हजार नौ सय ३९ रहेको छ ।

युद्धविराम वार्ताका लागि अमेरिकी विशेष दूत अमोस होचस्टेन लेबनानमा

बेरुत । अमेरिकी विशेष दूत अमोस होचस्टेन अधिकारीहरूसँग युद्धविराम वार्ताका लागि मङ्गलबार लेबनान आइपुगेका छन् । हाल अमेरिका र फ्रान्सले इजरायल र हिजबोल्लाहबीच युद्धविरामको नेतृत्व गरेका छन् जसको नेतृत्व गर्दै होचस्टेन लेवनान आएको स्रोतले जनाएको छ ।

सन् २०२३ अक्टोबर–७ को आक्रमणबाट गाजामा युद्ध सुरु भए देखि प्यालेस्टिनी सहयोगी हमासको समर्थनमा हिजबुल्लाहले गरेको आक्रमणामा करिव एक वर्षपछि, सेप्टेम्बर–२३ मा, इजरायलले सेना पठाउनु अघि लेबनानमा हवाई आक्रमण भएको छ ।

लेबनानका एक अधिकारीले अमेरिकी युद्धविराम प्रस्तावको बारेमा सरकारको सकारात्मक दृष्टिकोण रहेको बताए भने अर्का अधिकारीले लेबनान उनीसग निर्धारित बुँदामा समीक्षा गर्न होचस्टेनको आगमनको पर्खाइमा रहेको बताएका छन् ।

लेवनान भ्रमणको जनाकारी गराउदै अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यू मिलरले वासिङ्टनले लेबनान र इजरायली सरकारहरूसँग निर्धारित प्रस्तावहरूमा समन्वय गरिरहेको बताएका छन् ।

मिलरले अमेरिकाले राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्ताव–१७०१ को ‘पूर्ण कार्यान्वयन’ को लागि दबाब दिइरहेको बताउदै लेबनानी र राष्ट्रसङ्घीय सेना बाहेक सबै सेनाहरू इजरायलको सिमाना लेबनानबाट फिर्ता लिन आवश्यक रहेको बताए ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले भने सम्झौता भए पनि इजरायलले उक्त समूहलाई पुनःर्निर्माण गर्नबाट रोकी हिजबुल्लाह विरुद्ध कारबाही गर्ने बताएका छन् ।

यस अघि एक लेबनानी अधिकारीले अमेरिकी दूत लिसा जोनसनले बिहीबार प्रधानमन्त्री नाजिब मिकाती र हिजबुल्लाह–सहयोगी संसदीय अध्यक्ष नबीह बेरीसँग उक्त योजना बारे छलफल गरेको बताए ।

कुनै सहमति भएमा अमेरिका र फ्रान्सले संयुक्त विज्ञप्ति जारी गने बताउदै उनले ६० दिनको युद्धविराम पछि लेबनानले इजरायल नजिकैको दक्षिणी सीमा क्षेत्रमा सेना पुनः तैनाथ गर्ने जानकारी दिए ।

लेबनानी अधिकारीहरूले गत वर्षको अक्टोबरमा झडप सुरु भएदेखि यस क्षेत्रमा तीन हजार ५१० भन्दाबढी मानिसको मृत्यु भएको तथा सेप्टेम्बरको अन्त्यदेखि सबैभन्दा बढी मृत्यु भएको बताएका छन् ।

पाकिस्तानमा भएको आतंकवादी आक्रमणमा आठ सैनिकको मृत्यु

पाकिस्तान। उत्तरपश्चिम पाकिस्तानमा भएको आक्रमणमा आठ जना सैनिकको मृत्यु हुनुका साथै सात जना प्रहरी अपहरणमा परेको प्रहरी तथा गुप्तचर अधिकारीलाई उदृत गर्दै एएफपीले मङ्गलबार जनाएको छ ।

खैबर–पख्तुनख्वा प्रान्तको तिराह क्षेत्रमा भएको झडपमा आठ सैनिक र नौ आतङ्कवादी मारिएको एकजना गुप्तचर अधिकारीले नाम न छाप्ने सर्तमा बताएका छन् ।

पाकिस्तानी तालिबान (टिटिपी) ले यस घटनाको जिम्मेवारी लिएको छ ।  तालिबानले प्रान्तमा भएको छुट्टै आक्रमणमा, एउटै चौकीका सात जना प्रहरी अधिकारीहरू अपहरण गरेको वरिष्ठ प्रहरी अधिकारीले बताएका छन् ।

अधिकारीका अनुसार आक्रमणकारीहरूले अधिकारीहरूका हात हतियारहरू पनि जफत गरेका थिए ।

अफगानिस्तानसँगको सिमानामा टिटिपीको आक्रमण बढेको बताउदै प्रहरी अधिकारी मुहम्मद जिया उद–दिनले घटनाको पुष्टि गरेको छ । तालीवान समूहले अक्टोबर–२५ मा दश जना प्रहरी अधिकारीहरूको हत्या गरेको थियो ।

यस अघि प्रान्तीय राजधानीको रेल स्टेसनमा सोही समूहले गरेको बम विस्फोटमा–१४ जना सैनिकसहित २६ जनाको मृत्यु भएको थियो भने एक हप्तापछि शनिबार पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा उनीहरुले सात जना सैनिकको हत्या गरेका थिए । 

जी –२० नेताहरूद्वारा प्रमुख चुनौतिहरू र सङ्कटलाई तत्काल सम्बोधन गर्न आह्वान

 ब्राजिल । जी–२० नेताहरूले प्रमुख भूराजनीतिक, सामाजिक आर्थिक, जलवायु र वातावरणीय चुनौतिहरू तथा सङ्टलाई तत्काल सम्बोधन गर्न मङ्गलबार जारी जी–२० रियो दी जेनेरियो घोषणापत्र मार्फत आह्वान गरेका छन् ।

नेताहरूले जी–२० को भूमिकालाई दोहार्‍याउदै अत्यावश्वक अन्तर्राष्ट्रिय सहयोग र राजनीतिक अभियानको माध्यमबाट वर्तामान चुनौतिलाई सम्बोधन गर्न उपयुक्त रहेको औल्याउदै दिगो विकासका लक्ष्यप्रति दृढ प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनीहरूले घोषणपत्र मार्फत विश्व अर्थतन्त्रको सुधारिदो सम्भावनालाई आत्मा साथ गर्दै बलियो, दिगो, सन्तुलित र समावेशी विकासका साथ सहज जीवनयापन र वित्तीय दिगोपनको रक्षा गर्ने वाचासमेत गरेका छन् ।

भूगर्भमै मात्रै सीमित बागलुङका तामा खानी

डम्मर बुढामगर, ढोरपाटन (बागलुङ) । चारैतिर अग्ला पहाड । कतै खोँच त कतै समथर जमिन । बस्ती नजिकै जङ्गल । बागलुङ तमानखोला गाउँपालिका–६ मा पर्ने नर्जाखानी गाउँ जिल्लाकै सबैभन्दा उच्च स्थानमा रहेको बस्ती पनि हो । जिल्ला सदरमुकामदेखि दूरीमा रहेको नर्जाखानी पुग्न कयौँ भिर, पहरा र जङ्घार पार गर्नुपर्छ । बस्तीदेखि जङ्गलसम्म जताततै तामाखानी छन् तर उत्खनन हुन नसक्दा नर्जाखानीवासी टुकीमुनिको अँध्यारो बन्नु परेको छ ।

यहाँका बारीका कान्ला, घरका करेसादेखि जङ्गलका बीचमा पनि तामाखानी छन् । वर्षौं अगाडि तामा निकालिएको ठाउँमा अहिले डोबहरु भेटिन्छन् । ठूला–ठूला सुरुङ र खाडल झाडीले पुरिएको देखिन्छ । तमानखोलाभरि खानैखानी हुँदा पनि अहिलेसम्म कुनै पनि स्थानमा उत्खनन भएको छैन । नर्जाखानीसहित तमानखोलामा बोङ्गाखानी, खुङ्खानी, बोङखानीलगायत धेरै गाउँहरु छन् । तमानखोला गाउँपालिकामा रहेका गाउँको नामको पछाडि खानी जोडिएको छ, ती सबै ठाउँमा सयौँ वर्ष अगाडि तामा निकाएको डोबहरु भेटिन्छन् ।

गाउँमा सयौँको सङ्ख्यामा रहेको डोबहरुमा बेला–बेलामा स्थानीयले स–साना तामाका धाउहरु फेला पर्ने गर्छन् । बारीमा भेटिने तामाखानी उत्खनन गर्नका लागि स्थानीयले मागसमेत गर्दै आएका छन् । स्थानीयका अनुसार यस क्षेत्रमा करिब एक सय २० वर्ष अगाडिसम्म तामा निकालिएको पाइन्छ । अन्य गाउँको तुलनामा नर्जाखानीमा धेरै खानी रहेको पाइन्छ । नर्जाखानीका ९५ वर्षीय लालबहादुर छन्त्यालले आफ्नो बाउबाजेका पालासम्म यहाँ खानीबाट तामा निकालेको बताए । भिर पहराबाट निकालेको तामा बेचेर अघिल्लो पुस्ताले जीविकोपार्जन गरेको उनको भनाइ छ ।

“पहिले–पहिले पहिरोले बारीका कान्ला भत्किँदा पनि तामाका धाउ भेटिन्थे, अहिले पनि तामा जस्ता देखिने वस्तुहरु धेरै नै भेटिने गर्छन्, यहाँ त जता गयो त्यतै खानीको डोबहरु भेटिन्छन्, ठूला–ठूला खाडलहरु पनि देखिन्छ,” छन्त्यालले गाउँ नजिकको भिरलाई देखाउँदै भने, “ती पारीका भिरपहरा जहाँसुकै खानी छन्, खानीका गणना हुनै सकेको छैन, हाम्रा बाउबाजेले उतिबेलाको जमानामा निकै दुःख गरेर तामा निकाल्नुभएको रहेछ ।”

दशकौँ अगाडि त्यस क्षेत्रका स्थानीय तामाखानीबाटै आत्मनिर्भर भए पनि अहिले पूर्ण रुपमा खानी बन्द छन् । स्थानीय पाका व्यक्तिका अनुसार छन्त्याल जातिले तामा उत्खनन गरेर निकाल्ने, दलित जातिले त्यसको धाउ निर्माण गर्ने र थकाली जातिले खाना व्यवस्थापन गर्ने प्रचलन थियो । तामा निकालेको ठाउँबाहेक नर्जाखानी क्षेत्रमा तत्कालीन समयका नागरिकले बसोबास गरेको ठाउँहरुको भग्नावशेषलगायतका वस्तु भेटिने गरेको तमानखोला गाउँपालिका–६ का अध्यक्ष चित्रहादुर छन्त्यालले जानकारी दिए। तत्कालीन सरकारले अत्यधिक कर बढाएपछि स्थानीयवासीले तिर्न नसक्दा तामा निकाल्न छोडेको उनको भनाइ छ ।

तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको पालादेखि यस क्षेत्रमा तामाखानी बन्द भएको अध्यक्ष छन्त्याल बताउँछन् । “हामी सानो हुँदा बुबाले तामाको धाउ निकाल्नु भएको थियो, त्यसमा पूरै तामा थियो, अहिले कसैले पनि निकालेका छैनन्, तत्कालीन सरकारले स्थानीय बासिन्दाले निकालेको तामाभन्दा बढी मूल्यको कर बुझाउन भनेपछि तामा निकाल्न छोडेको हुन् । ठ्याक्कै यकिन मिति त भएन, तर सय वर्षअघि देखि बन्द भएको अनुमान छ,” अध्यक्ष छन्त्यालले भने, “त्यसबेला अहिलेको जस्तो प्रविधि थिएन, धेरै समय र मिहेनत गरेर तामा निकाल्ने गरिन्थ्यो, सरकारले कर धेरै तिर्न आदेश गरेपछि तामा निकाल्ने काम बन्द भएको थियो रे । अब नयाँ तरिकाले उत्खनन गर्नुपर्छ ।”

चारैतिर खानीहरु भएको हुँदा गाउँको नाम नै नर्जाखानी भनिएको स्थानीय तुलबहादुर छन्त्याल बताउँछन् । उनले छन्त्याल जातिलाई ‘अनपढ वैज्ञानिक’ भन्ने गरिएकाले उनीहरुले माटो सुँघेर तामाखानी पत्ता लगाउने गरेको बताए । गाउँभरि तामाखानी भए पनि राज्यको ध्यान जान नसक्दा उत्खनन् हुन नसकेको उनको भनाइ छ । छन्त्यालले आफ्ना पुर्खाहरुले खाली खानीमा मात्रै काम गर्ने गरेको हुँदा खेती गर्नसमेत नजानेको उनको भनाइ छ । प्रत्येक ठाउँमा तामाहरु भेटिने र यसको परिणाम कस्तो छ भन्ने विषयमा परीक्षण गर्न जरुरी रहेको छन्त्याल बताउँछन् ।

उनले भने, “हाम्रा पुर्खालाई ‘अनपढ वैज्ञानिक’ भन्ने गरिन्छ, उतिबेला अहिलेको जस्तो प्रविधिको विकास भएको थिएन र पनि खानी पत्ता लगाए, उनीहरुले माटो सुँघेर खानीहरु पत्ता लगाउँथे र उत्खनन गर्ने गर्थे ।” बूढापाकाले भनेअनुसार उतिबेला छन्त्याल जातका मानिसहरु खेतीपाती गर्न जान्दैनथे, उनीहरुलाई खानीमा गर्ने कामबाहेक अरू आउँदैनथ्यो । गाउँमा बारी खनजोत गर्दा पनि स्थानीयवासीले तामा भेटाउने गर्थे, कतिले त भेटाएको तामाबाट गाग्री, ताउलो लगायतका भाँडाकुँडा पनि बनाउने गरेको उनको भनाइ छ ।

नर्जाखानीसँगै तमानखोला गाउँपालिका–५ को खुङ्खानीमा पनि धेरै खानी रहेका छन् । यस गाउँ पनि खानी खन्नेहरुकै गाउँका रुपमा लिन्छ । तमानखोलाको धेरै ठाउँमा छन्त्याल समुदायकै बाहुल्यता रहेको छ । खुङ्खानी वरपर खानी नै खानी भएको हुँदा यस ठाउँलाई खुबैखानी भन्ने गरिकामा अहिले त्यसको अपभ्रंश भएर खुङ्खानी भन्न थालिएको स्थानीय बुद्धिबहादुर छन्त्यालले बताए । खानीलाई व्यवस्थित तरिकाले निकाल्न सके विकास निर्माणमा ठूलो टेवा पुग्ने उनी बताउँछन् ।

“पछिल्लो समय खानी उत्खननका लागि धेरै प्रविधिको विकास भएको छ, नयाँ–नयाँ यन्त्र उपकरणहरु आविष्कार भएका छन्, उतिबेलाको हाम्रा पुर्खाहरुले वन जङ्गलमा पाइने बाँस र एउटा निगालोकै भरमा त्यति ठूला–ठूला पहरा काटेर तामा निकाल्नुभएको रहेछ, अहिले राज्यले चाह्यो भने खानी उत्खनन गर्न धेरै समस्या छैन”, उनले भने, “त्यसबेला छन्त्याल जातिहरु भिर–पहरामा गएर खानी उत्खनन गर्नु हुन्थ्यो रे, उहाँहरुले एउटा निगालामा आगो बालेर सुरुङभित्र पसेर घण्टौँपछि तामा निकाल्नुभएको कुरा अहिले सुनिन्छ ।”

तमानखोला गाउँपालिका–२ बोङ्खानीका जालप्रसाद छन्त्यालले पहिलेदेखि नै यस क्षेत्रमा जनजाति र दलित समुदायले तामाखानीमा काम गरेको बताए । सामान्य घरेलु औजारको प्रयोग गरेर उतिबेला तामा निकाल्ने गरेको उनको भनाइ छ । खासगरी खानीभित्रै पसेर सीप भएका छन्त्याल जातिले तामाका धाउ निकाल्ने, विश्वकर्मा जातिले त्यसको प्रशोधन गर्ने र थकाली जातिले बजारीकरण गर्ने गरेको छन्त्याल बताउँछन् । अहिले आफ्नो घर वरपर ठूलाठूला खानीका सुरुङहरु रहेको उनको भनाइ छ । बोङ्खानीमा पश्चिमबाट आएर छन्त्याल जातिहरुले खानी सञ्चालन गरेको उनले बताए ।

छन्त्यालले भने, “तमानखोलामा जति पनि खानीहरुका नामबाट गाउँ बनेको छ, त्यहाँ धेरैजसो छन्त्याल समुदायको बाहुल्यता रहेको छ, छन्त्याल जाति र खानीको निकै घनिष्ठ सम्बन्ध रहेको छ, पहिला–पहिला हाम्रा अग्रजहरुले खानीबाटै आफ्नो जीविका चलाएका रहेछन् । अहिले आएर समय फेरियो, जुग जमाना फेरियो, त्यसले गर्दा खानीहरु पनि बन्द भए, पहिले उत्खनन भएका खानीका थुप्रै अवशेषहरु अझै पनि भेटिन्छन् । फेरि उत्खनन गर्न थाल्ने हो भने यहाँका नागरिकको जीवनस्तर उकासिने थियो, आयआर्जनको माध्यम बढ्ने थियो भने रोजगार पनि सिर्जना हुने थियो ।”

तमानखोलासहित बागलुङका धेरै ठाउँको नाम खानीबाट बनेका छन् । बागलुङ नगरपालिका–९ तित्याङमा पनि तामाखानी छ । त्यहाँ पनि तामाको कच्चापदार्थ निकाल्दा ठूलो सुरुङ निर्माण भएको छ । सिसाखानी, पाण्डवखानी, छापाखानी, लाम्मेलाखानी, राङ्खानी, भुङ्खानी, खोलाखानी, फलामखानीलगायत थुप्रै खानीका नाम छन् । यी ठाउँहरुमा विगतमा खानी रहेको जानकारहरु बताउँछन् । पहिले खानी रहेको स्थानमा हाल झाडी पलाएर पुरिएको छ ।

तमानखोलामा अझै बढी खानी रहेको हुँदा स्थानीयले उत्खनन गर्नका लागि माग गर्दै आइरहेका छन् । तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले तमानखोलामा क्षेत्र खानीले घरिएको हुँदा उत्खननका लागि केन्द्र सरकारसँग सहकार्य गर्ने बताए । गाउँपालिकाभित्रै धेरै खानी भए पनि के कति छन् भनेर यकिन गर्न नसकेको उनको भनाइ छ ।

गाउँपालिकाको वडा नं ६ को नर्जाखानीमा रहेको तामाखानी उत्खननका लागि खानी विभागबाट अनसमिति लिएर एउटा विज्ञ टोली अनुसन्धान गरिरहेको उनको भनाइ छ । तामाको परीक्षणका लागि नमूना प्रयोगशालामा पठाएको उनले बताए । भारतका दुईसहित चार जनाको विज्ञ टोलीले नर्जाखानीमा अध्ययन गरिरहेको छ ।

तीन पटकसम्म विज्ञ टोली आएर यहाँ अनुसान्धान गरेको छ, राम्रो गुणस्तरको तामा निकाल्न सकिने सम्भावना रहेको बताइएको छ । अध्यक्ष बुढा मगरले भने, “खानी उत्खनन थालेपछि यहाँबाट ठूलो सङ्ख्याले रोजगार पाउन सक्नेछन्, त्यसका लागि तीनै तहका सरकारले सहकार्य गर्नेछौँ, नागरिकले रोजगार पाउनेछन्भने उनीहरुको जीवनस्तर पनि उकासिनेछ ।” 

सुरक्षा निकायलाई नवीन सोचका साथ काम गर्न गृहमन्त्री लेखकको निर्देशन

सुदूरपश्चिम । गृहमन्त्री रमेश लेखकले नवीन सोचका साथ कार्यसम्पादन गर्न सुरक्षा निकायका अधिकारीलाई निर्देशन दिएका छन्।

धनगढीमा मंगलबार आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्‌घाटन गर्दै गृहमन्त्री लेखकले सिमानाको रक्षा, आपराधिक गतिविधिको नियन्त्रण, विपद् व्यवस्थापन र सामाजिक सद्भाव कायम राख्न हरदम प्रहरी सक्रिय रहनुपर्नेमा जोड दिए।

उनले भने, ‘जनताले आफ्ना अधिकारलाई प्रयोग गर्न पाउने स्थितिलाई सुनिश्चित गर्नुपर्छ, मुलुकमा अमनचयन, विधिको शासन, शान्तिसुरक्षा र अनुशासन कायम गर्न जरुरी छ ।’

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ऐनलाई समयानुकूल बनाउन नयाँ कानुन संसद्को आगामी अधिवेशनमा पेस गरिने गृहमन्त्रीले बताए।

गृह मन्त्रालय र प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा भएको गोष्ठीमा प्रदेशका सबै नौ जिल्लाका सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिको सहभागिता छ ।

दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)को टोलीले मंगलबार भक्तपुरस्थित निवासबाट पक्राउ गरेको एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

प्रसाईंले सोमबार पत्रकार सम्मेलन कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीको साढे ३२ अर्ब लगानी रहेको भन्दै अपत्यारिला कागजात सार्वजनिक गरेका थिए ।

प्रसाईंले केही समयदेखि प्रधानमन्त्री ओलीविरुद्ध विभिन्न आरोप लगाउँदै आएका छन् । दसैंअघि पनि प्रसाईं साइबर अपराधको अभियोगमा पक्राउ परी धरौटीका छुटेका थिए ।

हङकङमा प्रमुख प्रजातन्त्रवादी नेता ताईलाई देशद्रोहको अभियोगमा १० वर्षसम्मको जेल सजाय

बीबीसी । हङकङमा एउटा अदालतले त्यहाँका प्रमुख प्रजातन्त्रवादी नेता तथा कार्यकर्तालाई देशद्रोहको अभियोगमा १० वर्षसम्मको जेल सजाय सुनाएको छ। राष्ट्रिय सुरक्षाको मुद्दामा भएको विवादास्पद सुनुवाइपछि उनीहरूलाई यसअघि नै दोषी ठहर गरिएको थियो ।

सजाय पाउनेमा ‘हङ्कङ ४७’ भनिने समूहका बेनी ताई र जोशुआ वङसहित ४५ जना छन् । ताईलाई १० वर्ष र वोङलाई चार वर्षभन्दा बढीको जेल सजाय हुने भएको छ ।

उक्त समूहले स्थानीय चुनावमा प्रतिपक्षी उम्मेदवारहरू उठाउन खोजेको थियो। उनीहरूको अभियानमा कुल ४७ जना प्रतातन्त्र पक्षधर कार्यकर्ता, प्रतिपक्षी सांसद र सर्वसाधारण सहभागी थिए । उनीहरू देशद्रोहको षड्यन्त्र गरेको अभियोगमा दोषी ठहर भएका थिए भने उनीहरूविरुद्ध तीन वर्षअघि मुद्दा परेको थियो ।

केही महिनाअघि ४७ अभियुक्तमध्ये दुई जनाले जनाले सफाइ पाएका थिए । अधिकारीहरूले आठ महिला र ३९ पुरुष गरी कुल ४७ जनाविरुद्ध सन् २०२० मा सरकार फ्याल्न खोजेको आरोप लगाउँदै मुद्दा हालेका थिए ।

उनीहरूको मुद्दामा भएको सुनुवाइ र सजायलाई सन् २०१९ मा हङ्कङमा भएको व्यापक प्रजातान्त्रिक प्रदर्शनपछि चीनले लागु गरेको राष्ट्रिय सुरक्षासम्बन्धी कानुनको व्यापक प्रयोग मानिएको छ।

पर्यवेक्षकहरू यसबाट हङ्कङमा प्रजातन्त्र पक्षधर आन्दोलन र त्यहाँको कानुनी शासन निकै कमजोर हुने ठान्छन् । उनीहरूका अनुसार यसबाट हङ्कङमा चीनलाई आफ्नो नियन्त्रण बढाउन अझ सजिलो भएको छ ।

अमेरिकाले यो सुनुवाइलाई ‘राजनीतिक रूपमा प्रेरित’ भनेको छ । मङ्गलबार सजाय सुनाइएका अन्य चर्चित प्रजातन्त्रवादी कार्यकर्ताहरूमा ग्वेनेथ हो पनि छन्। उनी पूर्वपत्रकार हुन् र पछि राजनीतिमा सक्रिय भएका थिए ।

त्यस्तै पूर्वविधायक क्लाउडिया मो र लिउङ क्वोक–हुङलगायतलाई पनि सजाय सुनाइएको छ । उनीहरूले चारदेखि सात वर्षसम्मको जेल सजाय पाएका छन्।

मध्यपहाडी लोकमार्गको खरङ्वा–यावरा खण्ड कालोपत्र

तेह्रथुम । सात वर्षदेखि रोकिएको पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत तेह्रथुमको फेदाप गाउँपालिकास्थित खरङ्वा खोलाबाट यावरासम्मको १० किलोमिटर सडक कालोपत्र सुरु भएको छ ।

तेह्रथुममा पर्ने लोकमार्गको अन्य खण्ड यसअघि नै कालोपत्र भइसके पनि उक्त खण्ड कालोपत्र हुनसकेको थिएन ।

प्रमुख जिल्ला अधिकारी मीना अर्यालको अध्यक्षतामा सरोकारवाला र निर्माण व्यवसायीसहित हालै बसेको बैठकमा निर्माण व्यवसायीले आगामी पुस मसान्तभित्र कालोपत्र गरिसक्ने प्रतिबद्धता जनाएसँगै कालोपत्रको काम सुरु गरिएको हो ।

सो सडक खण्ड कालोपत्र गर्ने जिम्मा पाएको निर्माण कम्पनीका प्रतिनिधि दिपेश खतिवडाले मङ्सिरभित्र छ किलोमिटर सबवेस र चार किलोमिटर कालोपत्र गरिसक्ने गरी काम सुरु गरिएको बताए ।

उक्त खण्ड कालोपत्रका लागि दुई वर्षमा काम सम्पन्न गर्नेगरी २०७२ सालमा ठेक्का सम्झौता भएको थियो । तर हालसम्ममा छपटक म्याद थप भइसकेको छ । पछिल्लोपटक थपिएको म्याद यही पुस मसान्तमा सकिँदैछ । यसपल्ट निर्धारित समयमा काम सम्पन्न गर्ने निर्माण कम्पनीका प्रतिनिधि प्रमोद अधिकारी र शारदा ढकालले प्रतिबद्धता जनाएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताइन् ।

पुष्पलाल मध्यपहाडी लोकमार्गको उक्त खण्ड कालोपत्र नहुँदा यात्रीले सास्ती भोग्नुपरेको फेदाप गाउँपालिका- २ हाङसुरुङका राजेन्द्र सुवेदीले बताए । हिउँदमा धुलाम्मे सडकमा जसोतसो सवारी चले पनि वर्षायाममा धेरै सास्ती व्यहोर्नुपरेको उनको भनाइ छ ।

उक्त सडकखण्ड सदरमुकाम म्याङलुङलाई जिल्लाको फेदाप गाउँपालिका, आठराई गाउँपालिका र पाँचथर सदरमुकाम फिदिम जोड्ने मुख्य मार्ग हो ।

फेदाप गाउँपालिकाकै यावराबाट पञ्चमीसम्मको सडकमा भने ठेकेदारले काम नगरेपछि ठेक्का तोडिएको छ ।